Tag: प्रवास

  • पत्रकार महासंघ जापानको शपथ ग्रहण तथा पदभार हस्तान्तरण

    पत्रकार महासंघ जापानको शपथ ग्रहण तथा पदभार हस्तान्तरण

    जापान । नेपाल पत्रकार महासंघ जापान शाखाको छैटौँ अधिवेशनबाट निर्वाचित कार्यसमितिको शपथ ग्रहण तथा पदभार हस्तान्तरण भएको छ ।

    टोकियोमा आइतबार पत्रकार महासंघ जापान शाखाको छैटौँ अधिवेशनबाट रविन्द्र श्रेष्ठको नेतृत्वमा निर्वाचित कार्यसमितिको शपथ ग्रहण तथा पदभार हस्तान्तरण भएको हो । महासंघ जापान शाखाका निवर्तमान अध्यक्ष शान्त पहरीले नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई संस्थागत बुझबुझारथ गरे ।

    पदभार कार्यक्रममा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले प्रवासमा रहेका पत्रकार एकजुट भएर काम गर्न आग्रह गर्दै प्रवासबाट पत्रकारिता गरे पनि पत्रकार आचारसंहिता पालना गर्न सबै पत्रकारलाई आग्रह गरिन् । फरक प्रसंगमा अध्यक्ष शर्माले तोकिएको समयमै निष्पक्ष निर्वाचन हुनुपर्ने कुरामा जोड दिइन् ।

    महासंघले ‘प्रवासमा जिम्मेवार पत्रकारिता र सामाजिक सञ्जालको प्रयोग’ विषयक एकदिने प्रशिक्षण कार्यक्रम गरेको छ।

    प्रशिक्षण कार्यक्रमको सहजिकरण गर्दै शर्माले प्रवासमा काम गर्ने पत्रकारले तथ्यपरक सूचना, पेशागत आचारसंहिता र सामाजिक सञ्जालको जिम्मेवारीपूर्ण प्रयोगमा विशेष ध्यान दिनुपर्ने बताइन् ।

  • नेपाल पत्रकार महासंघ जापानको अध्यक्षमा श्रेष्ठ

    नेपाल पत्रकार महासंघ जापानको अध्यक्षमा श्रेष्ठ

    जापान । नेपाल पत्रकार महासँघ जापान शाखाको अध्यक्षमा रविन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।

    जापानको टोकियोमा सम्पन्न छैठौ अधिशनमा अध्यक्षका प्रत्यासी राजन गौतमलाई १२ मत अन्तरले पराजित गर्दै श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन ।

    श्रेष्ठले ४४ मत प्राप्त गर्दा गौतमले ३२ मत प्राप्त गरे । ८६ सदस्य रहेको महासँघ जापान शाखाको निर्वाचनमा ७७ मत खसेको थियो |

    अध्यक्ष, उपाध्यक्ष, महिला उपाध्यक्ष र सचिवमा निर्वाचन भएपनि अन्य पदमा सर्वसम्मत भए |

    श्रेष्ठ अघिल्लो कार्यसमितिको उपाध्यक्ष र गौतम सचिव हुन् । खुल्ला उपाध्यक्ष पदमा मनिषा चौलागाई ३० मत, महिला उपाध्यक्षमा लक्ष्मी पौडेल ४५ मत, सचिवमा अर्जुन लामिछानेले ४५ मत प्राप्त गरि विजयी भए । विश्वास आचार्यल ३२ मत पाएका थिए ।

    कार्समितिको खुल्ला सहसचिवमा विष्णुप्रसाद सापकोटा र समावेशी सहसचिमा फुर्वा शेर्पा, कोषाध्यक्ष भुलबहादुर राना निशान, सदस्यहरु दिनेश थापा, दुर्गाप्रसाद आचार्य, भवानी भट्ट, भुवन भण्डारी, रामचन्द्र गिरी, विनोद ढकाल सर्वसम्मत चयन भएका हुन् ।

  • डेनमार्कमा नेपाली व्यवसाय प्रवर्द्धन र आर्थिक कूटनीति विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

    डेनमार्कमा नेपाली व्यवसाय प्रवर्द्धन र आर्थिक कूटनीति विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

    काठमाडौं । डेनमार्कस्थित नेपाली दूतावास र नेपलिज बिजनेस एसोसियसन डेनमार्कले २०२५ नोभेम्बर २३ मा संयुक्त रूपमा नेपाली व्यवसाय प्रवर्द्धन तथा आर्थिक कूटनीति सुदृढीकरणमा केन्द्रित एक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन्।

    राजदूत शुम्निमा तुलाधरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दूतावासतर्फबाट नियोग उपप्रमुख सावित्रा ओली, तृतीय सचिव अमृत लोप्चान, तथा एनईबीएका उपाध्यक्ष शशी श्रेष्ठ, लेखा परीक्षक नविन पौडेल, सदस्यहरू बुद्धि सापकोटा, सुवर्ण गौतम, योगेश भट्टराई सहित डेनमार्कभरिका नेपाली व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    सहभागीहरूले डेनमार्कमा नेपाली उद्यमीहरूले सामना गर्ने अवसर र चुनौतीबारे विचार–विमर्श गर्दै नेपाली उत्पादन, आईटी सेवा, स्टार्टअप, क्षमता विकास तथा सांस्कृतिक पहिचानमार्फत आर्थिक कूटनीति अघि बढाउन दूतावास र व्यवसायीबीचका सम्भावित सहकार्यका क्षेत्रहरू पहिचान गरे।

    राजदूत तुलाधरले नेपाली समुदाय र व्यवसायीलाई प्रत्यक्ष–अप्रत्यक्ष सहयोग गर्न दूतावास सदैव तत्पर रहेको उल्लेख गर्दै, ‘नेपाल फेस्विल’ मार्फत नेपाललाई डेनमार्कमा अझ प्रभावकारी रूपमा चिनाउने प्रतिवद्धता व्यक्त गरिन् ।

    त्यसैगरी, एनईबीएका संस्थापक अध्यक्ष मिलन टि. श्रेष्ठले कार्यक्रमले डेनमार्कभर विखरिएका नेपाली व्यवसायीहरूलाई एउटै प्लेटफर्ममा ल्याई सामूहिक पहिचान मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको बताए।

    “हामी ठूलो संख्यामा नभए पनि मेहनत, संस्कार र इमानदारीका कारण ‘नेपाली’ नामले डेनमार्कमा विशेष सम्मान पाएको छ,” उनले भने। नयाँ उद्यम सुरु गर्न चाहने नेपालीलाई स्वागत गर्दै उनले डेनमार्क सीप, लगनशिलता र सद्भाव भएका सबैका लागि ठूलो अवसर प्रदान गर्ने देश भएको बताएका थिए।

    श्रेष्ठले संस्थाका उद्देश्यहरू-सहकार्य र नेटवर्क विस्तार, नयाँ उद्यमीलाई परामर्श, कानुनी तथा प्रणालीगत प्रक्रियामा सहयोग, नेपाल–डेनमार्क बीच व्यापार तथा लगानी प्रवर्द्धन, र नेपाली पहिचानलाई दिगो रूपमा संरक्षण-लाई पुनः स्पष्ट पार्दै, सामूहिकताबाट साझा आर्थिक लाभ लिन सकिने उदाहरणहरू पनि प्रस्तुत गरे।

    “एक भएर काम गर्न सकेमा सबै लाभान्वित हुन्छौँ,” भन्दै उनले सदस्यहरूलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे।

  • शिक्षा मन्त्रालयलाई यूएईको उच्च समिति एचसीएफले गर्‍यो सम्मान

    शिक्षा मन्त्रालयलाई यूएईको उच्च समिति एचसीएफले गर्‍यो सम्मान

    अबुधाबी । मानव भ्रातृत्वको लागि उच्च समिति (एचसीएफ) ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सम्मानस्वरूप प्रशंसापत्र प्रदान गरेको छ। एक विशेष समारोहमार्फत सो प्रशंसापत्र नेपाली दूतावास आबुधावीलाई हस्तान्तरण गरियो ।

    उच्च समितिका तर्फबाट महासचिव महामहिम डा. खालिद घानम अल घाइथले प्रदान गरेको सो प्रशंसापत्र नेपाली दूतावासकी काउन्सिलर, उप नियोग रञ्जिता दाहालले ग्रहण गरेको नेपाली दूतावास आबुधावीले जनाएको छ ।

    शिक्षा मन्त्रालयले मानव भ्रातृत्वका लागि उच्च समिति एचसीअफ र जापानमा आधारित अन्तर्राष्ट्रिय संस्था अरिगातो इन्टरनेशनल, तथा युनेस्कोसँग संयुक्त रूपमा कार्यान्वयन गर्दै आएको नीति-नैतिकता शिक्षासम्बन्धी कार्यक्रममा गरेको महत्वपूर्ण योगदान र निरन्तर सहकार्यमाथि आधारित भएर नेपाललाई सम्मान गरिएको जनाएको छ।

    यस पटक नेपालसहित बंगलादेश, केन्या, इन्डोनेसिया, मौरिसस र सेसेल्सलाई सम्मान गरिएको हो । साथै संयुक्त अरब इमिरेट्सका विविध मन्त्रालय तथा संस्थाहरूले पनि उक्त कार्यक्रमलाई सहयोग गरेको भन्दै अन्तर्राष्ट्रिय सहिष्णुता दिवसको अवसर पारेर आबुधावीमा सम्मानित गरिएको हो ।

    समारोहमा नेपाली दूतावासका तर्फबाट प्रथम सचिव भूपेन्द्र घिमिरे समेत सहभागी थिए ।

  • योगदान राष्ट्रका लागि- युएईका पदाधिकारी र सदस्यहरूले दिए सामूहिक राजीनामा

    योगदान राष्ट्रका लागि- युएईका पदाधिकारी र सदस्यहरूले दिए सामूहिक राजीनामा

    काठमाडौं । योगदान राष्ट्रका लागि- युएईका सम्पूर्ण पदाधिकारी र सदस्यहरूले सामूहिक राजीनामा दिएका छन् । संस्थाभित्रै धेरै व्यक्तिगत त्रुटि, असहयोगी र अस्वीकार्य व्यवहार देखिन थालेपछि आफूहरू सामूहिक रूपमा बाहिरिएको उनीहरूको भनाई छ ।

    सुधार गर्ने धेरै प्रयास गरिए पनि केन्द्रीय तहका व्यक्तिहरूसँग संस्थागत विषयमा कुरा राख्दा दुर्व्यवहार, अपमानजनक बोली र असान्दर्भिक आरोप लगाइएको उनीहरूको भनाई छ ।

    उनीहरूले भनेका छन्- केन्द्रीय अध्यक्ष/परिकल्पनाकार स्वयम् नै सदस्यहरूमाथि “खा* पा*, भिखारी, तो*” जस्ता अत्यन्तै तुच्छ शब्द प्रयोग गरी अपमान गर्न थालेको कार्य अत्यन्तै दुःखद र निन्दनीय रहेको छ। युएई अध्यक्ष राजु शर्मा जस्ता समर्पित व्यक्तिलाई जबरजस्ती संस्थाबाट निष्कासन गरिनु र उहाँको नैतिकता र चरित्रमाथि अनावश्यक र बेसलेस आरोप लगाई प्रश्न उठाइनु हामी सबैका लागि अत्यन्त पीडादायी रह्यो।

    सामूहिक राजीनामा दिनेहरूको विवरण :

    १) राजु शर्मा (अध्यक्ष )

    २) मुक्ति उप्रेती (उपाध्यक्ष )

    ३) भूमि राज कँडेल (कोषाध्यक्ष )

    ४) नरेन्द्र खड्का (सदस्य )

    ५) शर्मिला कार्की (महिला संयोजक)

    ६) प्रकृति रेग्मी (सदस्य/आजीवन सदस्य)

    ७) राजु खत्री (सल्लाहकार/आजीवन सदस्य)

    ८) देव शर्मा (सल्लाहकार/ आजीवन सदस्य)

    ९) राम प्रसाद तिवारी (सांस्कृतिक संयोजक )

    १०) हरि प्रसाद ढकाल(सल्लाहकार )

    ११) सोभा कडरिया (साधारण सदस्य )

    १२) रन्जिता कुँवर (सदस्य महिला विभाग)

    १३) दीपक खनाल (सदस्य)

  • अमेरिकाबाट अमानवीय व्यवहार गर्दै फर्काइए ३५ नेपालीः हातखुट्टामा नेल र हत्कडी, सामान बोरामा

    अमेरिकाबाट अमानवीय व्यवहार गर्दै फर्काइए ३५ नेपालीः हातखुट्टामा नेल र हत्कडी, सामान बोरामा

    काठमाडौं । अमेरिकाको अप्रवासन नीतिविपरीत त्यहाँ बसोबास गर्दै आएका ३५ नेपाली मंगलबार राति अमानवीय व्यवहारसहित काठमाडौं फिर्ता (डिपोर्ट) भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणलगत्तै प्रहरीको मानव बेचबिखन अनुसन्धान व्युरोमा सोधपुछपछि उनीहरू आ-आफ्नो बासस्थान फर्किए ।

    अनुसन्धान व्युरोका प्रमुख एसएसपी कृष्णप्रसाद पंगेनीका अनुसार फर्किएका ३५ मध्ये सबै तल्लो बाटो, अर्थात् ‘डंकी रुट’ प्रयोग गरेका थिए । सबैले विभिन्न दलाललाई पैसा बुझाएका थिए । तर, ती दलाल को-को हुन् भन्नेबारे केही बताउन चाहेनन् । प्रहरीको प्रश्न थियो, ‘कोहीमाथि उजुरी गर्नुपर्ने छ कि ?’ यसको जवाफमा सबैले उजुरी नगर्ने भनेका थिए ।

    फर्किने क्रममा आफ्ना सामान बोरामा हालेर ल्याइएको, अमेरिकाबाट जहाजमा चढेदेखि नै हातमा हत्कडी र खुट्टामा नेल लगाइएको थियो । हात र खुट्टा नै बाँधिएका कारण जहाजमा राम्रोसँग सुत्न नपाएको गुनासो गरेका थिए ।

    उनीहरूले प्रहरीलाई भने, ‘निद्रा पुगेको छैन, खान पनि राम्रोसँग पाइएन ।’ निराश र हतास मनस्थितिमा देखिएका उनीहरुले अमेरिका जाने क्रममा पैसा दिइएका व्यक्तिसँग आफैँले सम्पर्क गर्ने भनेका छन् । कतिपयलाई अमेरिका पठाउने एजेण्टले रकम फिर्ता दिने भनेका कारण उजुरी गर्न चाहेनन् ।

    सोमबार फर्काइएकामा ३६ वर्षीया शाह थरकी एक्ली महिला छन्, त्यस्तै १९ वर्षीय किशोर पनि छन् । डिपोर्ट गरिएकामध्ये केही विद्यार्थी उमेरका नेपाली छन् ।

    ‘डंकी रुट’ बाट अमेरिका गएर पनि अध्ययनसँगै काम गरिरहेका ती युवा बढी निराश देखिएको सोधपुछ गर्ने प्रहरीले नेपाल प्रेसलाई बताए ।

    डिपोर्ट भएका नेपालीको सूची–

  • क्यानडामा नेपाली समुदायले शतबीज छरेर बालाचतुर्दशी मनाए

    क्यानडामा नेपाली समुदायले शतबीज छरेर बालाचतुर्दशी मनाए

    काठमाडौं । क्यानडामा रहेका नेपाली समुदायले पितृको स्मरणमा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाएका छन् । क्यानडा अन्टारियोस्थित इस्ट गाराफ्य्राक्समा आयोजित मेलामा नेपाली समुदाय सहभागी भएर शतबीज छरेका हुन् ।

    मेलाको आयोजना नेप्लिज क्यानेडियन हेरिटेज सेन्टरले गरेको थियो । नेपाली संकृतिको संरक्षण र दिवङ्गत पितृको सम्झना गर्न कार्यक्रम आयोजना गरिएको सेन्टरका अध्यक्ष लीला भण्डारीले जानकारी दिए ।

    हेरिटेज सेन्टरकै अगुवाइमा ब्रामटनमा सन् २०१६ देखि पशुपति मन्दिर सञ्चालनमा ल्याएको छ । ठूलो पशुपति मन्दिर तथा बौद्घ स्तूप निर्माणका लागि सेन्टरले १० एकड जमिनसमेत खरिद गरेको छ ।

    बालाचतुर्दशी मेला पनि मन्दिर निर्माणका लागि खरिद भएको नेपाली समुदायको उक्त जमिनमा आयोजना गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो । मेला मन्दिरका पुजारीले शिवश्तोत्र, गणेशस्तुति वाचन र दीप प्रज्वलन गर्दै सुरुआत गरेका थिए ।

    पितृ उद्धारका लागि गरिएको मेला तथा अन्य विभिन्न पर्वका अवसरमा गरिने सांस्कृतिक गतिविधिले परदेशमा पनि नेपालीपन झल्किरहने एनआरएन क्यानडाका अध्यक्ष जगन सापकोटाले बताए । नेपाली समुदायका लागि गरिने सानाठूला कार्यक्रममा सकेको योगदान गर्नुपर्ने भन्दै उनले नेपालीबीच भाइचाराको भावना बढाउँदै संकृति संरक्षणमा सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिए ।

     

  • राजदूत शिवमायाबारे सरकारका प्रवक्ताको टिप्पणीले कोरियाका नेपालीबीच खैलाबैला

    राजदूत शिवमायाबारे सरकारका प्रवक्ताको टिप्पणीले कोरियाका नेपालीबीच खैलाबैला

    सिओल । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले दक्षिण कोरियाका लागि नेपाली राजदूत डा.शिवमाया तुम्बाहाम्फेका बारेमा गरेका टिप्पणीलाई लिएर कोरियाका नेपालीहरुबीच खैलाबैला र आरोप प्रत्यारोप चलेको छ ।

    गत साता कोरिया भ्रमणमा रहेका बेला मन्त्री खरेलले राजदूत शिवमाया ‘कामको आधारमा नभई प्रधानमन्त्रीकै आग्रहमा महिला राजदूतलाई फिर्ता नबोलाउने नीतिबमोजिम जोगिएको’ बताएका थिए । सरकारले विभिन्न देशका राजदूत फिर्ता बोलाउने क्रममा डा.शिवमायालाई भने यथावत राखेको थियो ।

    उनी एमाले स्थायी कमिटी सदस्य भए पनि महिला भएको र कुनै विवादित गतिविधिमा संलग्न नरहेकाले फिर्ता नबोलाएको प्रधानमन्त्रीले केही दिनअघि बताएकी थिइन् ।

    कोरियाको भ्रमणका क्रममा त्यहाँ रहेका नेपाली संघ–संस्था, व्यापारी, मजदुर तथा विद्यार्थीहरूसँग गरिएको उक्त अन्तरक्रिया कार्यक्रममा मन्त्री खरेलले दिएको यो अभिव्यक्तिले त्यहाँका नेपालीहरुबीच आरोप प्रत्यारोप समेत चलेको थियो । राजदूतवको बारे कोरियाका नेपालीहरु राजनीतिक आधारमा विभाजित छन् ।

    खासमा मन्त्री खरेल कोरियास्थित नेपाली राजदूतावाप्रति सन्तुष्ट नभएको उनका अभिव्यक्तिले प्रष्ट पारेको थियो । आफूले कोरियामा आयोजना हुने कार्यक्रमको पत्र तीन साता अगाडि पठाए पनि कुनै मन्त्रीस्तरीय भेटघाट वा सम्झौता तय गर्न नसकिएको भन्दै राजदूत र दूतावासप्रति मन्त्रीले असन्तुष्टि जनाएका थिए ।

    तर दूतावासले भने मन्त्री आउने जानकारी पत्र नोभेम्बर ५ तारिखमा मात्र प्राप्त गरेको जनाएको छ । मन्त्रीको भ्रमणबारे जानकारी आए पनि कुनै द्विपक्षीय सम्झौता वा सहयोगबारे परराष्ट्र मन्त्रालयबाट कुनै जानकारी नआएकाले त्यसबारे दूतावासले कुनै पनि समन्वय गर्न आवश्यक नरहेको जनाएको छ।

    दूतावास र मन्त्रीबीचको यो असमझदारीको असर मन्त्री सहभागी कर्यक्रममा देखिएको टिप्पणी गैरआवासीय नेपाली संघका नेताहरुले बताए । कोरियामा समानान्तर गतिविधि सञ्चालन गरिरहेको महेश श्रेष्ठ समूहको एनआरएनले सरकारलाई बुझाएको विज्ञप्तिका क्रममा समेत केही तनावपूर्ण वातावरण बनेको थियो।

    विज्ञप्तिमा “राजदूतले एमाले संगठनको मात्र काम गरे” भन्ने आरोप आएपछि एक सहभागीले खुलेर प्रतिवाद गरेका थिए। उनले आफू एमाले प्रवास संगठनको उपसचिव भएको भन्दै प्रतिवाद गर्दा मन्त्रीले “पछि बोल्नुस” भन्दै रोकेका थिए ।

    मन्त्री सहभागी उक्त कार्यक्रममा राजदूत शिवमाया भने उपस्थित थिइनन् । यसअघि मन्त्री र राजदूतसहितको टोलीबीच कोरियामा रहेका नेपालीहरुको समस्यालगायतका विषयमा छलफल भने भएको थियो । तर दूतावासले उच्चस्तरीय भेटघाटको चाँजो नमिलाएकोमा मन्त्री असन्तुष्ट थिए भने दूतावासले भने परराष्ट्रमार्फत हुनुपर्ने प्रोटोकलको विषय उठाएको थियो ।

  • बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने

    बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने

    बेलायत । बेलायतस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडी र हिमालयन सेन्टर फर आर्ट एण्ड कल्चर संस्थाको कार्यसमितिबीच द्विपक्षीय सहकार्य र सहयोगका विषयमा छलफल भएको छ ।

    बेलायतमा नेपाली कला र संस्कृतिको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान दिएको हिमालयन सेन्टर फर आर्ट एण्ड कल्चर संस्थाका पदाधिकारी तथा सदस्य र कार्यवाहक राजदूत दुवाडीबीच स्कण्डल्याण्डमा छलफल भएको हो ।

    सो अवसरमा संस्थाको संरक्षण र विकासका लागि कसरी विदेशमा रहेका नेपालीहरूलाई जोड्न सकिन्छ भन्ने विषयमा छलफल भएको गैर आवासीय नेपाली अभियन्ता शशि शार्कीले जानकारी दिए ।

    सो अवसरमा बेलायतमा रहेका अग्रज नेपाली,गैर आवासीय नेपाली संघ आबद्ध व्यक्तित्वहरूले हिमालयन सेन्टर हाम्रो पहिचान, कला–संस्कृति र सामुदायिक कल्याणको प्रमुख आधार रहेको र यसलाई दिगो, सक्षम र समुदाय–केन्द्रित बनाउने मार्ग खोज्न दूतावाससँगको संवाद महत्त्वपूर्ण रहेको बताएका थिए ।

    विदेशमा नेपाल र नेपालीको पहिचानको महत्त्वपूर्ण थलो बनेको हिमालयन सेन्टर फर आर्ट एण्ड कल्चर नामको संस्था रहेको भवन आर्थिक अभावका कारण जर्जर भएको अवस्थामा संस्थाको कार्यसमिति र स्थानीय नेपालीहरुबीच संस्थाको संरक्षण र विकास एवं यसको महत्वलाई सधैँभरी चिरस्थायी बनाउन २ लाख ५० हजार पाउण्ड संकलन गरिने प्रस्ताव पनि गरिएको संस्थाका निर्देशक शशी कार्कीले जानकारी दिए ।

    सो अवसरमा गैर आवासीय नेपालीका प्रतिनिधि,स्थानीय समाजसेवी लगायतले संस्थाको संरक्षणको अभिभावकत्व ग्रहण गर्न कार्यवाहक राजदूत दुवाडीलाई आग्रह गरेका थिए । सो अवसरमा दुवाडीले बेलायतमा रहेका नेपालीहरूसँग सहकार्य र समन्वय गरेर दूतावास अघि बढ्ने प्रतिबद्धता जनाए । संस्थाका अध्यक्ष मनिश खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन समितिकी निर्देशक कमला श्रेष्ठले गरेकी थिइन् ।

    छलफलमा बौद्धिक व्यक्तित्वहरू मोती खरेल, श्याम लिम्बु , सरोज राज जोशी तथा गैर आवासीय नेपाल संघ (एनआरएनए) बेलायतका महासचिव दिवाकर पाण्डे, महिला उपाध्यक्ष कमला श्रेष्ठ, फाईफ कम्युनिटीका पूर्ब अध्यक्ष राम बगाले, एनआरएनए बेलायतका पूर्वसचिव तारानाथ भण्डारी, एनआरएनए स्कट्ल्याण्डका पूर्ब अध्यक्ष काशीराम भण्डारी लगायतले संस्थाको संरक्षणका बारे धारणा राखेका थिए ।

  • राहदानी बनाउन पोर्चुगलको फारोबाट एक सय २० को आवेदन

    राहदानी बनाउन पोर्चुगलको फारोबाट एक सय २० को आवेदन

    लिस्बन । विद्युतीय राहदानी (ई-पासपोर्ट) बनाउनका लागि पोर्चुगलको फारोबाट एक सय बढी नेपालीको राहदानी आवेदन सङ्कलन गरिएको छ ।

    लिस्बनस्थित नेपाली दूतावासको टोलीले अल्गार्भको फारोमा सञ्चालन गरेको राहदानी नवीकरण तथा कागजात प्रमाणीकरण (कन्सुलर सेवा) सम्बन्धी दुईदिने घुम्ती शिविरबाट १२० जना नेपालीको विद्युतीय राहदानीका लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गरेको हो ।

    शिविरबाट १२० जनाको राहदानी नवीकरण, २८ वटा प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) र ३६ वटा अन्य कागजात प्रमाणीकरण गरी झन्डै २०० नेपालीलाई सेवा प्रदान गरिएको टोली प्रमुख एवं लिस्बनस्थित नेपाली दूतावासका प्रथम सचिव रामबाबु नेपालले जानकारी दिए ।

    उनका अनुसार शिविरबाट १८ हजार ५१५ युरो अर्थात् ३० लाख २० हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । अल्गार्भ क्षेत्रमा देखिएको राहदानीलगायतका कागजातसम्बन्धी समस्यालाई सम्बोधन गर्ने योजनाअनुरुप पहिलोपटक सञ्चालन गरिएको शिविरबाट नेपाली सेवाग्राही लाभान्वित भएको उनले बताए ।

    शनिबार र आइतबार गरी दुई दिनसम्म सञ्चालन भएको शिविरमा राहदानीको म्याद सकिएका, राहदानीको म्याद एक वर्षभन्दा कम भएका, क्षति भएका, हराएका र बालबालिकाको विद्युतीय राहदानीका लागि आवेदन सङ्कलन गरिएको थियो भने प्रहरी ‘रिपोर्ट’लगायतका कागजात प्रमाणीकरणसम्बन्धी सेवा प्रदान गरिएको थियो ।

    शिविरमा लागोस, फारो, अल्बुफेइरा, पोर्टिमाओ, भिलामौरा, ताभिरालगायतका क्षेत्रमा बसोबास गर्ने नेपालीले सेवा लिएको दूतावासले जनाएको छ । शिविरमा दूतावासका प्रथम सचिव नेपाल, तृतीय सचिव अनिल राना र स्थानीय कर्मचारीको टोली खटिएको थियो ।

    राहदानी नवीकरण तथा प्रहरी रिपोर्टलगायतका कागजात प्रमाणीकरणको समस्या भोगिरहेका अल्गार्भ क्षेत्रका नेपालीहरूको सहजताका लागि घुम्ती शिविरमार्फत सेवा प्रदान गरिएको पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले बताए ।

  • मलेसियाको श्रम आप्रवासनमा फेरि एकाधिकारको खतरा : व्यवसायी मञ्चद्वारा कडा विरोध, आन्दोलनको चेतावनी

    मलेसियाको श्रम आप्रवासनमा फेरि एकाधिकारको खतरा : व्यवसायी मञ्चद्वारा कडा विरोध, आन्दोलनको चेतावनी

    काठमाडौं । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपालले मलेसियाको श्रम आप्रवासन व्यवस्थापनमा पुनः एकाधिकार (सिन्डिकेट) कायम गराउन खोजिएको भन्दै नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

    करिब पाँच लाख नेपाली श्रमिक कार्यरत मलेसियाको रोजगारी क्षेत्रलाई प्रभावित पार्ने गरी ल्याइएको १० बुँदे मापदण्डलाई मञ्चले एकाधिकारको नयाँ स्वरूप भन्दै तत्काल रोक्न माग गरेको छ ।

    मञ्चका अध्यक्ष जनक रावलले मलेसिया सरकारले श्रम व्यवस्थापनका लागि आउटसोर्स गरेको निजी कम्पनीले विगतमा जस्तै विभिन्न मोड्युल मार्फत् एकाधिकार स्थापित गर्न खोजेको बताए । उनले भने, ‘नयाँ मापदण्ड लागू भएमा एकाधिकारमा सूचीकृत व्यवसायीले प्रति कामदार ४ हजार ५ सय मलेसियन मुद्रा तिर्नुपर्ने आन्तरिक सर्त राखिएको छ । यो सिन्डिकेट लागू भएमा श्रमिकको लागत अत्यधिक बढाउने र वैदेशिक रोजगार व्यवसायलाई धराशायी बनाउने निश्चित छ । त्यसै कारणले हामी यसलाई रोक्न लागेका छौँ ।’

    म्यानपावर व्यवसायी संघका तत्कालीन अध्यक्ष राजेन्द्र भण्डारीले मन्त्रालय नेतृत्वविहीन र राजदूत फिर्ता बोलाइएको मौका छोपेर नयाँ सरकारका प्रतिनिधिलाई भ्रममा पारेर एकाधिकारको बाटो सजिलो बनाउने खोजेको बताए ।

    उनले भने, ‘नयाँ मापदण्डमा व्यवसाय रहेको घरको क्षेत्रफल र यती कामदार पठाएको हुनुपर्ने भनेको छ । यी विदेश विदेशीले तोक्ने होइन । नेपालीले गएर त्यो देशमा ठूला ठूला निर्माणको काम गरेका छन् । हामीले कामदार पठाउने हो । नेपाली व्यवसायीलाई असमान हुने कुनै सिन्डिकेट हामीलाई मान्य हुँदैन ।’

    नेपालको संविधान र श्रम ऐनले सबैलाई समान अवसरको अधिकार सुनिश्चित गरेकोले कुनै पनि निजी कम्पनीको मापदण्डको नाममा श्रमिक र व्यवसायीमाथि आर्थिक तथा पेसागत एकाधिकार कायम गर्न खोज्नु कानुन र श्रमिक अधिकारविरुद्ध रहेको भण्डारीले बताए ।

    मञ्चले सरकारलाई सूक्ष्म अध्ययन गरी सबै सरोकारवालासँग छलफल गरेर न्यायोचित समाधान खोज्न अनुरोध गरेको छ । एकाधिकार रोक्न कुशल कूटनीतिक पहल नगरिए शान्तिपूर्ण धर्ना सहित आन्दोलनका कार्यक्रमहरू घोषणा गरिने चेतावनी मञ्चले दिएको छ ।

  • मलेसियाले मेनपावरबारे तोकेको नयाँ मापदण्डमा प्रधानमन्त्रीको चासो, कूटनीतिक पहल गर्ने

    मलेसियाले मेनपावरबारे तोकेको नयाँ मापदण्डमा प्रधानमन्त्रीको चासो, कूटनीतिक पहल गर्ने

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मलेसिया सरकारले वैदेशिक रोजगार व्यवसायीका लागि तोकेको नयाँ मापदण्डबारे चासो लिएकी छन् । यसबाट पर्न सक्ने असर अध्ययन गरी आवश्यक पहल कदमीका लागि गृहकार्य गर्न कार्कीले श्रम मन्त्रालयका सचिव कृष्णहरि पुष्करलाई निर्देशन दिएकी छन् ।

    प्रधानमन्त्रीले बिहीबार बिहान सचिव पुष्करलाई कार्यकक्षमा बोलाएर यस विषयमा जानकारी लिइन् । सचिव पुष्करले मलेसियाले जारी गरेको नयाँ मापदण्डबारे जानकारी भएको भन्दै यसको कूटनीतिकरूपमा सम्बोधन गर्नुपर्ने बताए ।

    प्रधानमन्त्री कार्कीले परराष्ट्र, अर्थ र श्रम मन्त्रालयसँग पनि समन्वय गरेको सचिवालयले जनाएको छ । मलेसिया नेपाली कामदार वैदेशिक रोजगारीमा जाने प्रमुख गन्तव्यमध्येको एक हो ।

    नेपालमा करिब १२०० वैदेशिक रोजगारी व्यवसायीमध्ये ९०० वटा मलेसियाकै व्यवसायमा आश्रित छन् ।

    मलेसियाको नयाँ मापदण्डले नेपालका करिब एक दर्जन ठूला कम्पनी मात्र उक्त मुलुकमा कामदार पठाउन योग्य हुने वैदेशिक रोजगारी व्यवसायीहरूले बताएका छ्न् ।

  • दक्षिण कोरियामा माओवादी र नेकपा एससम्बद्ध जनसङ्गठनको एकता

    दक्षिण कोरियामा माओवादी र नेकपा एससम्बद्ध जनसङ्गठनको एकता

    काठमाडौं । नेकपा माओवादी केन्द्र  र नेकपा एकीकृत समाजवादी सम्बद्ध जनसङ्गठनको एकता  दक्षिण कोरियाबाट सुरु भएको छ ।

    माओवादी केन्द्र निकट प्रवासी सङ्गठन नेपाली जनप्रगतिशील मञ्च र एकीकृत समाजवादी निकट प्रवासी नेपाली एकता मञ्चबीच आज दोङ्देमुनस्थित नेपाल थाई रेस्टुरेन्टको सभाहलमा एकता घोषणा सम्पन्न भएको हो ।

    No description available.

    एकता सहमति पत्रमा जनप्रगतिशील मञ्चका अध्यक्ष जीवन खतिवडा र मञ्चका अध्यक्ष राजु राईले हस्ताक्षर गर्दै एकतालाई औपचारिकता दिएका हुन् ।

    नेपाली जनप्रगतिशील मञ्चका प्रवक्ता सन्तोष पौडेलका अनुसार आज एकताले औपचारिकता पाएको र अन्य विषय आपसी समझदारीमा टुङ्गो लाग्ने छ ।

  • आइयूसीएनको साउथ एण्ड इस्ट एसियाको रिजनल काउन्सिलरमा नेपालबाट रोशनी अधिकारी निर्वाचित

    आइयूसीएनको साउथ एण्ड इस्ट एसियाको रिजनल काउन्सिलरमा नेपालबाट रोशनी अधिकारी निर्वाचित

    काठमाडौं । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयूसीएन) को साउथ एण्ड इस्ट एसियाको रिजनल काउन्सिलरमा नेपालबाट रोशनी अधिकारी पाठक निर्वाचित भएकी छन् ।

    आइयूसीएनका सदस्य राष्ट्रका प्रतिनिधिले गरेको मतदानमा अधिकारीले सर्वाधिक दोश्रो मत पाएकी हुन् । सात देशका उम्मेदवार रहेकोमा पाँच देशका उम्मेदवार निर्वाचित भएका छन् ।

    रोशनी अधिकारीले यसअघि आइयूसीएनसँग आवद्ध विभिन्न नेपाली सदस्य संस्थाहरूमा अनुभव बटुलेकी छिन्।

    उनी नेपाल वातावरण पत्रकार समूहकी पूर्वअध्यक्ष, बर्ड कन्जरभेसन नेपालकी आजीवन सदस्य तथा स्मल म्यामल्स कन्जरभेसन एण्ड रिसर्च फाउण्डेसनको बोर्ड सदस्य पनि रहेकी छन्। सञ्चार र संरक्षण क्षेत्रमा उनको दुई दशकभन्दा लामो अनुभव छ।

  • अबको एनआरएनएको बाटो : एकता या विसर्जन

    अबको एनआरएनएको बाटो : एकता या विसर्जन

    नेपालको राजनीतिक भूकम्प कहिल्यै केवल सीमित भूभागमा सीमित हुँदैन। जेनजी विद्रोहपछिको सत्ता परिवर्तनले जसरी देशको नेतृत्वको नक्सा उल्ट्यायो, त्यसको प्रभाव विदेशमा रहेका नेपाली समुदायमाझ पनि गहिरो रूपमा परेको छ।

    आन्दोलनको हुरीले प्रधानमन्त्री ओलीलाई पदच्युत गरिदिँदा, देउवा र प्रचण्ड पनि नयाँ शक्ति सन्तुलनका परिधिबाट बाहिरिए। नेपालका ठूला नेतापंक्ति, कार्यकर्तापंक्ति, प्रवासी नेतृत्व र मिडियाहरू यस परिवर्तनमा एकमत नभए पनि, एउटा कुरा निर्विवाद छ- राजनीतिक रूपान्तरणले सधैँ सामाजिक मनोविज्ञान र संस्थागत सोचमा असर गर्छ। त्यो प्रभाव अहिले गैर–आवासीय नेपाली संघ (एनआरएनए) मा स्पष्ट देखिन्छ। देशभित्र सत्ताको फेरबदल हुँदै गर्दा, देशबाहिर रहेका नेपालीहरूको साझा मञ्च पनि दिशाहीनतासँग जुधिरहेको छ।

    प्रश्न अब यही हो- एनआरएनएको बाटो के हो ? एकता, सुधार, या विसर्जन ?

    वर्तमान अवस्था- असमझदारी र अवसरबीचको द्वन्द्व हो। एनआरएनएको आन्तरिक विवाद र नेतृत्व टकराब नयाँ होइन। तर पछिल्ला वर्षहरूमा यसले नयाँ रूप लिएको छ। अभियान हो कि संगठन- के हो भन्ने बारेमा अझै अलमलमा देखिन्छ। संस्थाको पछिल्ला दुईवटा वक्तव्यलाई केलाउने हो भने, अझै संस्था नबनेको र लोकप्रियतालाई मध्यनजर गरेर संस्थाको स्थापित मूलभूत मान्यताबाट अलि पर धकेलिएको अनुभूति सहजै हुन्छ।

    सर्वोच्च अदालतको निर्देशनपछि उच्च-स्तरीय मध्यस्थता समिति गठन गरियो, भलै यसबारे पनि थुप्रै आलोचनात्मक तर्कहरू गर्न सकिन्छ नै, जसको उद्देश्य संगठनलाई पुनः एकताको बाटोमा फर्काउने थियो। त्यसपछि ‘एकताको अधिवेशन’ त बोलाइयो, तर ‘एकताको अधिवेशन’ नभई ‘एकल अधिवेशन’को रूप लियो। तर त्यो प्रयास सजिलो रहेन। सरकार प्रमुख (प्रम), खास गरी परराष्ट्र मन्त्रालय र संगठनबीचको मतभेद, कानुनी अस्पष्टता र राजनीतिक प्रभावका कारण भ्रम अझै मेटिएको छैन। २०२५ मेमा सम्पन्न अधिवेशनबाट महेश श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति बने पनि, त्यो पुनर्जागरण होइन, थप अन्योलको प्रतीक बन्यो। यद्यपि विभाजनमा थकित प्रवासी समुदाय अहिले पनि एकता र पुनर्स्थापनाको आकांक्षामा छ।

    संसारभरका नेपालीहरूका लागि एउटै साझा संस्थाको आवश्यकता अझै कायम छ- सीप, लगानी र नागरिकता, प्रवासबाट मतदान जस्ता साझा केन्द्रीय मुद्दाहरू छायामा परेका छन्। चुनावदेखि चुनावसम्म र यसैको घनचक्करले सृजना गरेको अविश्वास र असमझदारीले संघ थिलथिलो भएको छ। जसले गर्दा लोकतन्त्रको सुन्दर पक्ष- बहुमतले नेतृत्व गर्ने र अल्पमतको संरक्षण गर्ने विषय- स्थान पाउन सकेन। यति सहज र सामान्य कुरालाई आत्मसात् नगर्दा सङ्घभित्र चरम विवाद त बन्यो नै, विवादको प्रतीक भनेको चुनाव बन्यो। एनआरएनएको निर्वाचन अब लोकतान्त्रिक अभ्यास होइन, संघर्ष र विभाजनको मैदान बनिरहेको छ। अहिलेको मूलभूत समस्या यही हो।

    हरेक दुई-दुई वर्षमा हुने चुनावले संगठनलाई एकजुट गर्ने होइन, चोइट्याउने काम गर्दै आएको छ। राजनीतिक, क्षेत्रगत, जातीय, व्यावसायिक र व्यक्तिगत गुटहरू निर्माण हुँदै गए- सिड्नी र मेलबर्नबीच मतभेद, न्यूयोर्क र बोस्टनबीच टकराब, लन्डनका नेपालीहरूबीच आफ्ना समूहहरू।

    २०१७ को निर्वाचन विशेष रूपमा विवादास्पद रह्यो- मत खरिद, नक्कली सदस्यता, प्रतिनिधि मतदान र ‘टेक्निकल त्रुटि’का मुद्दाहरूले संगठनको साखमा चोट पुर्‍याए। महिनौँसम्म कानुनी लडाइँ चलिरह्यो। अन्ततः नतिजा भन्दा बढी, संस्थाको विश्वसनीयता र नैतिक बल दुवै कमजोर बने। हरेक निर्वाचनपछि  असल मानिसहरू गुम्दै गइरहेका छन् । जो सेवा गर्न आएका थिए, उनीहरू राजनीतिबाट  थाकेर टाढा जान्छन्। २०२० मा अनलाइन मतदान ल्याइयो, तर पारदर्शिताको सट्टा नयाँ विवाद जन्मियो। भर्चुअल मतदानले पारदर्शिता ल्याउने भनिए पनि अवधारणामा विश्वास घट्यो। फेसबुक लाइभ र जुमका बहसहरूमा एनआरएनएको आन्तरिक विवाद प्रत्यक्ष प्रसारित हुन थाल्यो। संगठन अब केवल प्रशासनिक निकाय होइन, आमजनताको मनोरञ्जनको विषय बन्न पुग्यो- एक प्रकारको सार्वजनिक नाटक जसले आफ्नो उद्देश्य हरायो। मिडिया र प्रवासी दृष्टि- असहमतिको साझा स्वर बन्यो एनआरएनए विवाद।

    नेपालका प्रमुख मिडियादेखि सामाजिक सञ्जालसम्म, एनआरएनएको विषयमा ठूला छलफलहरू भइरहेका छन्। अन्नपूर्ण एक्सप्रेसको विश्लेषण अनुसार, “एनआरएनएले आफ्नो मूल उद्देश्य- एकता, लगानी र सेवा- बिर्सेर व्यक्तिगत र राजनीतिक प्रतिस्पर्धाको मैदानमा रूपान्तरित भइरहेको छ।” हिमालयन टाइम्स लेख्छ- “एनआरएनए नेपालका दलहरूको परछायाँ जस्तो बन्दै गएको छ, जहाँ प्रवासी एकता भन्दा राजनीतिक हित बलियो देखिन्छ।” अर्को पत्रिकाले थप्यो- “सामाजिक सञ्जालमा एनआरएनएको सक्रियता बढेको छ, तर संस्थागत विश्वसनीयता घट्दै गएको छ।”

    यी सबै विश्लेषणहरूले एउटै कुरा देखाउँछन्- एनआरएनएको संकट व्यक्ति होइन, संरचना र संस्कृति दुवैमा निहित छ। अब एनआरएनएको लागि सुधार विलासिता होइन, अस्तित्वको शर्त बनेको छ। संस्था बचाउन पाँच आधारभूत दिशामा आमूल रूपान्तरण आवश्यक छ।

    १. सबैभन्दा पहिले कानूनी ठोसता र पारदर्शिता। संगठनले सर्वोच्च अदालतका निर्देशनहरू केवल औपचारिकता स्वरूप होइन, व्यवहारमा उतार्नुपर्छ। सम्पूर्ण आर्थिक लेनदेन, निर्णय र परियोजनाका विवरण सार्वजनिक गर्नुपर्छ। जब नागरिकहरूलाई संस्थाको कार्यशैली देखिन्छ, विश्वास आफैँ फर्किन्छ।

    २. दोस्रो दिशा- निर्वाचन प्रणालीमा प्रविधिमैत्री सुधार। एनआरएनएको निर्वाचनलाई स्वतन्त्र निकायको निगरानीमा ल्याउँदै, ब्लकचेन प्रविधिबाट सुरक्षित, हेरफेर–रहित मतदान प्रणाली अपनाउनुपर्छ। एस्टोनिया, भारत, अमेरिका र जापानले यो प्रविधि सफलतापूर्वक प्रयोग गरिसकेका छन्। एनआरएनएले पनि यसबाट पारदर्शिता र विश्वास पुनः स्थापित गर्न सक्छ।

    ३. तेस्रो कुरा- सदस्यताको स्वरूप परिवर्तन गर्नुपर्छ। सदस्यता केवल नाम लेखाउने होइन, योगदान र जिम्मेवारीको प्रतीक हुनुपर्छ। जो संगठनका लागि समय, सीप वा स्रोत दिन्छ, उसले मात्र नेतृत्व र निर्णयमा भाग लिन पाओस्। यसरी सदस्यता संख्या होइन, समर्पणको मापन बन्न सक्छ।

    ४. चौथो दिशा- स्थानीय सशक्तीकरण। एनआरएनएको शक्ति संसारभरका शाखाहरू हुन्, तर निर्णय अझै केन्द्रमा सीमित छ। यदि संगठन साँच्चै विश्वव्यापी हो भने, निर्णय पनि तलबाट माथि आउनुपर्छ। स्थानीय शाखाहरूलाई स्रोत र अधिकार दिइँदा संगठनको मेरुदण्ड बलियो हुन्छ।

    ५. अन्तिम, तर अत्यन्तै महत्त्वपूर्ण कुरा- सरकारसँगको सम्बन्धमा स्पष्ट सीमारेखा। एनआरएनएले सरकारले बनाएको निकाय होइन, साझेदार संस्थाको रूपमा रहनुपर्छ। राजनीतिक हस्तक्षेपले यसको स्वतन्त्रता नोक्सान पुर्‍याउँछ। सहकार्य आवश्यक छ, तर नियन्त्रण अस्वीकार्य।

    एनआरएनएले स्वतन्त्र रहँदै सरकारसँग नीति-स्तरमा सहकार्य गर्न सके, त्यो दीर्घकालीन विश्वसनीयताको आधार बन्न सक्छ। यी पाँच सुधारहरू केवल सिफारिस होइनन्- यी नै एनआरएनएको नयाँ विधानका संशोधनका मापदण्ड पनि हुन्। कानूनी स्पष्टता, प्रविधिमैत्री चुनाव, योगदान–केन्द्रित सदस्यता, स्थानीय सशक्तीकरण र स्वतन्त्र नीति-निर्माण- यी सबैले संगठनलाई पुनर्जन्म दिने शक्ति बोकेका छन्।

    एकता सम्भव छ, सुधारका साथ। एनआरएनएको भविष्य अहिले दोबाटोमा उभिएको छ- एकातिर सुधार र पुनर्जागरणको आशा, अर्कातिर विभाजन र विसर्जनको खतरा। विसर्जन सजिलो विकल्प हो, तर त्यो अन्तिम गल्ती हुनेछ। सुधार भने कठिन छ, तर भविष्य त्यहीमा अडिएको छ। एनआरएनए केवल एउटा संस्था होइन- यो लाखौँ प्रवासी नेपालीहरूको पहिचान हो। त्यसैले नेतृत्वले स्वार्थभन्दा माथि उठ्नुपर्छ, सदस्यहरूले सचेत र इमानदार सहभागिता जनाउनुपर्छ, र सरकारले यसको स्वतन्त्रता सुनिश्चित गर्नुपर्छ। यदि हामीले विवेक, पारदर्शिता र सहकार्य रोज्यौँ भने, एनआरएनए फेरि गर्वका साथ उठ्न सक्छ। इतिहासले त्यही लेख्नेछ – “एनआरएनए भत्किएन, पुनर्जन्म भयो।” तर यदि पुरानै गल्ती दोहोरिए, त्यो पुनर्जन्म होइन- विसर्जनको घोषणा हुनेछ।

    लेखकको टिप्पणी:

    यो लेख हालको राजनीतिक परिवेश, प्रवासी नेपाली समुदायको मनोवृत्ति, अदालतका निर्णय, एनआरएनए उच्च-स्तरीय समितिको पहल, र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामा प्रकाशित विचारहरूमा आधारित छ। यसको उद्देश्य कुनै पक्षको समर्थन होइन- संस्थाको आत्मा र अस्तित्व जोगाउने साझा चेतना जगाउने हो।

    (लेखक अस्ट्रियाको भियनामा बस्दै समसामयिक विषयमा कलम चलाउने गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समिति मिडिया कमिटीकी उप-संयोजक हुन्।)

  • यी हुन् प्रवासबाट चुनिएका एमाले महाधिवेशन प्रतिनिधि (सूचीसहित)

    यी हुन् प्रवासबाट चुनिएका एमाले महाधिवेशन प्रतिनिधि (सूचीसहित)

    काठमाडौं । नेकपा (एमाले)ले आसन्न १०औं राष्ट्रिय महाधिवेशनका लागि प्रवास क्षेत्रबाट पनि प्रतिनिधि चयन गरेको छ ।

    चयन भएका महाधिवेशन प्रतिनिधिले १०-१२ मंसिरमा चितवनमा हुने महाधिवेशनमा भाग लिनेछन् । तथा मतदान प्रक्रियामा सहभागिता जनाउनेछन् ।

    विभिन्न देशको प्रतिनिधित्व हुने गरी प्रवास कमिटीहरुमध्येबाट ३० जना महाधिवेशा प्रतिनिधि छानिएका छन् ।

    अन्तर्राष्ट्रिय कमिटी
    १. भक्त गुरुङ
    २. रमेश पाण्डे
    ३. प्रभुराम थापा
    महिला
    ४. कुन्ती थापा
    ५. डा. विमला भण्डारी

    अमेरिका
    १. कृष्णप्रसाद लामिछाने
    २. रामहरि खड्का , क्यानडा
    ३. बेनीमाधव कँडेल (गोपाल)
    महिला
    ४. यमुना भट्टराई
    ५. यमुना घिमिरे

    पूर्वी एसिया
    १. भक्त गुरुङ, हङकङ
    २. हरिचन्द्र पौडेल, जापान
    ३. मोहनसिंह रायमाझी, जापान
    महिला
    ४. सिर्जना नेपाली, दक्षिण कोरिया
    ५. सुमित्रा रायमाझी बस्न्यात, जापान

    ओशिनिया
    १. डा. विनोद श्रेष्ठ,अष्ट्रेलिया
    २. राम घिमिरे, अष्ट्रेलिया
    ३. केशव जोशी, अष्ट्रेलिया
    महिला
    ४. सीता केसी थापा,अष्ट्रेलिया
    ५. भावना नेपाल, न्यूजिल्यान्ड

    मध्यपूर्व
    १. कमलमणी गुरागाईं, कतार
    २. शालिकराम पन्त, बहराइन
    ३. महेश गिरी, यूएई
    महिला
    ४. ज्योति शर्मा, इजराइल
    ५. रेनु कार्की, कतार

    युरोप
    १. भक्त वाग्ले, फ्रान्स
    २. मुक्त गुरुङ, स्पेन
    ३. गोविन्द पौडेल, पोर्चुगल
    महिला
    ४. सरस्वती चापागाईं, वेल्जियम
    ५. कल्पना त्रिपाठी, बेलायत

  • कोशी अस्पताललाई जापानमा रहेका पूर्वेली नेपालीको सहयोग

    कोशी अस्पताललाई जापानमा रहेका पूर्वेली नेपालीको सहयोग

    काठमाडौं । पूर्वी नेपाल घर भई जापानमा रहेकाहरूले विराटनगरको कोशी अस्पताललाई पीपीई सहयोग गरेका छन् ।

    विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीमार्फत ५० थान पीपीई सहयोग गरिएको हो । मेयर पराजुलीले अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष साजेन मल्ल र मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासलाई ती सामग्री हस्तान्तरण गरे ।

    विपदको समयमा प्रवासमा रहेर पनि आफ्नो जन्मभूमि सम्झिने सहयोगी हातलाई मेयर पराजुलीले धन्यवाद दिएका छन् ।

    यसैगरी मेची अस्पतालमा समेत कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा प्रयोग हुने सामग्री सहयोग गर्ने तयारी भइरहेको पुर्वेली सेवा समाजका संयोजक भूषण कोइरालाले जानकारी दिए ।