Tag: प्रधानमन्त्री

  • प्रधानमन्त्री ओलीको सपथग्रहण दिउँसाे साढे २ बजे

    प्रधानमन्त्री ओलीको सपथग्रहण दिउँसाे साढे २ बजे

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण आज दिउँसो साढे २ बजे हुने भएको छ ।

    तीन वर्षपछि दोस्रोपल्ट प्रधानमन्त्री नियुक्त भएका ओलीको सपथग्रहणका लागि राष्ट्रपति भवल शीतल निवासमा तयारी भइरहेको छ ।

    गठबन्धन सरकारका लागि दिएको समयसीमा घर्किएपछि हिजो राति अवेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताको रुपमा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

    ओलीले आजै मन्त्रिपरिषद गठन गर्ने र केहि मन्त्रीहरुले सपथ गराइने बताइएको छ ।

  • प्रधानमन्त्रीले गोदावरी सम्मेलन केन्द्रको भर्चुअल माध्यमबाट उद्घाटन गर्ने

    प्रधानमन्त्रीले गोदावरी सम्मेलन केन्द्रको भर्चुअल माध्यमबाट उद्घाटन गर्ने

    काठमाडौं । ललितपुरको गोदावरीमा निर्माण गरिएको देशकै ठूलो सम्मेलन केन्द्रको प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने भएका छन ।

    ‘गोदावरी सनराईज’ नामक सम्मेलन केन्द्रको शुक्रबार प्रधानमन्त्री केपी सर्मा ओलीले बालुवाटारबाट नै उद्घाटन गर्न लागेका हुन ।

    शहरी विकास मन्त्रालयद्वारा एक विज्ञप्ति जारी गरी कोभिड–१९ को विषम परिस्थितीको कारण प्रधानमन्त्री निवास बालुवाटार र उद्घाटन स्थल गोदावरीमा सिमित व्यक्तिको उपस्थितिमा जनस्वास्थ्यसम्बन्धी प्रोटोकलको पालना गरी कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।

    काेभिड-१९ को विषम परिस्थितिका बारेमा मन्त्रालय सजग र सचेत रहेकोले जनाउदै विज्ञप्तिमा कसैबाट पनि सामाजिक संजाल लगायतका माध्यमबाट भ्रम सिर्जना हुने गरी समाचार प्रकाशन तथा प्रशारण नगरि दिनुहुन भनिएको छ ।

    ‘यस्ता भ्रामक समाचारबाट भ्रममा नपर्नुहुन समेत सर्वसाधारणहरुमा मन्त्रालय अनुरोध गर्दछ ।’ सम्मेलन केन्द्रको उद्घाटनको विषयलाई लिएर सामाजिक सञ्जालमा र केही मिडियामा आएको टिप्पणीलाई लक्षित गर्दै विज्ञप्तिमा उल्लेख छ ।

  • प्रधानमन्त्री ओली पदमुक्त, संसदले दिएन विश्वासको मत

    प्रधानमन्त्री ओली पदमुक्त, संसदले दिएन विश्वासको मत

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा बहुमत गुमाएका छन् । प्रतिनिधिसभाको विशेष अधिवेशनमा ओलीले विश्वासको मत लिन राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्रीको बहुमत गुमेको हो ।

    विश्वासको मतको पक्षमा ९३ र विपक्षका १२४ सांसदहरुले मतदान गरेका छन् । १५ जना सांसदहरूले पक्ष वा विपक्ष दुवैतर्फ मत दिएनन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा २३२ जना सांसद उपस्थित रहेका थिए । सभामुख अग्नि सापकोटाले प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेको घोषणा गरे ।

    प्रधानमन्त्रीले संविधानको धारा १०० बमोजिम विश्वासको मत लिन चाहेका थिए । धारा १०० को १ मा ‘प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्न सक्ने’, उल्लेख छ ।

    सोही धाराको उपधारा ३ मा विश्वासको मत लिने प्रस्ताव ‘प्रतिनिधि सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुने’ उल्लेख छ । संविधानको सोही प्रावधान अनुसार प्रधानमन्त्री ओली पदमुक्त भएका छन् । अब नयाँ सरकार गठन नहुँदासम्म ओली नेतृत्वको मन्त्रिपरिषद्ले काम चलाउ सरकारको रूपमा काम गर्नेछ ।

  • विश्वासको मत नपाए मार्ग प्रशस्त गरिदिन्छु : प्रधानमन्त्री ओली

    विश्वासको मत नपाए मार्ग प्रशस्त गरिदिन्छु : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले आदेश दिए आफूले मार्गप्रशस्त गर्ने बताएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले आफूले अस्थिरताका लागि नभइ स्थिरताका लागि विश्वासको मत मागेको बताएका छन् ।

    ‘यो संसदले सुविचारित ढंगले निर्णय गरोस् । संसदले विश्वास गर्दैन भने मैले मार्गप्रशस्त गर्नैपर्छ’, ओलीले भने ।

    सरकारलाई काम गर्न नदिने र विकल्प पनि नदिने प्रयत्नका विरुद्ध आफू विकल्प बोकेर आएको बताए । ‘अढाई महिनादेखि मेरो विरोध भएको देख्छु तर विकल्पमा कोही आउँदैन । विरोध गरेको छ विकल्प दिएको छैन । म राजीनामा गर्थे नि, बहुमत छ आफूसंग कसरी राजीनामा दिनु ? मैले विश्वासको मत लिन्छु भनेपछि मात्रै समर्थन फिर्ता गरियो’, ओलीले भने ।

    अध्यादेशबाट देश चलायो भन्ने आरोपको जवाफमा प्रधानमन्त्री ओलीले अध्यादेश संवैधानिक व्यवस्था रहेको स्मरण गराए । ‘अध्यादेश संवैधानिक विषय हो । संसदलाई आवश्यक लागेन भने भोलि फेल गरे भैगो नि’, ओलीले भने । संसद विघटनको लागि बाटो बनाएको आरोप निराधार रहेको भन्दै प्रधानमन्त्री ओलीले शंका लागेको भए विश्वासको मत दिएर संसद विघटनको प्रयास असफल बनाउन ओलीले आग्रह गरे ।

  • माओवादीलाई प्रधानमन्त्रीले भने- अझै पनि केही विग्रेको छैन, फेरि मत दिए भइगो

    माओवादीलाई प्रधानमन्त्रीले भने- अझै पनि केही विग्रेको छैन, फेरि मत दिए भइगो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँग पनि विश्वासको मत मागेका छन् ।

    पार्टी अलग हुँदा पनि समर्थन फिर्ता लिएको ओलीले बताए । ‘पार्टी अलग भइसक्दा, विश्वासको मत छैन भन्दा पनि सर्मथन फिर्ता लिनु भएन,’ ओलीले भने।

    आफूले विश्वासको मत लिने निर्णय गरेपछि मात्रै समर्थन फिर्ता लिएको भन्दै फेरि पनि मत दिन आग्रह गरे।

    ‘म आफैंले विश्वासको मत लिन्छु भन्दा समर्थन फिर्ता लिनु भयो,’ ओलीले ठट्यौली शैलीमा भने, ‘फिर्ता भएको तीन चार दिन भयो । त्यसैले अझै पनि केही विग्रको छैन्, फेरि मत दिए भइगो।’

  • ‘कुनै पनि हिसाबले विश्वास नगर्नुपर्ने वर्तमान सरकार होइन’ 

    ‘कुनै पनि हिसाबले विश्वास नगर्नुपर्ने वर्तमान सरकार होइन’ 

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका पक्षमा विश्वासको मत मागेका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले सत्यलाई पच्छ्याए वर्तमान सरकारलाई अविश्वास गनुपर्ने कुनै कारण नभएको बताए।

    ‘आवद्धता र संलग्नतालाई हेरेर होइन, सत्यलाई पच्छाएर निर्णय गनुपने अवस्था छ,’ ओलीले भने, ‘ यदि हामीले सच्चाइलाई पछ्याउँछौं भने वर्तमान सरकार कुनै पनि हिसाबले विश्वास नगर्नुपर्ने सरकार होइन ।’

    राष्ट्रियताको प्रवर्द्धनमा सरकारले राम्रो काम गरेको दावी गरे। ‘राष्ट्रियताको संरक्षण, भौगोलिक अखण्डताको रक्षा र पहरेदारी गर्ने सन्दर्भमा र राष्ट्रिय स्वाभिमनालाई माथि उठाउने कुरामा कुनै प्रयास बाँकी नराखेको बारे तथ्य आफैं बोल्छन्,’ उनले भने, ‘हामीले लिएका अडान आफैं बोल्छन् । हामीले प्राप्त गरेका उपलब्धी आफैं बोल्छन् । ’

    सरकारले सुशासनका पक्षमा समेत राम्रो काम गरेको ओलीको दावी छ।

  • कोरोना पराजित गर्न एकजुट हुनुपर्ने बेला अप्ठ्यारो मात्रै पार्न खोजियो : प्रधानमन्त्री

    कोरोना पराजित गर्न एकजुट हुनुपर्ने बेला अप्ठ्यारो मात्रै पार्न खोजियो : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि शुरू भएको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गरिरहेका छन् । ओलीले कोभिड नियन्त्रण गर्ने सरकारका प्रयासमा साथ दिन आग्रह गरे ।

    ‘सरकारक प्रयासहरूमा साथ सहयोग दिन । यस अभियानमा सबै पक्ष एकजुट भएर सामेल हुन र कोभिडलाई पराजित गर्ने उत्तरदायित्व बहन गर्न म आग्रह गर्न चाहन्छु ,’ओलीले भने।

    महामारी नियन्त्रण गर्न लाग्नुपर्ने भए पनि त्यसो नभएकोप्रति आफूलाई दुःख लागेको उनले बताए।

    ‘यस्तो परिस्थितिमा आज हामी स्थिरता र स्थायित्वका साथ एकतावद्ध भएर यस काममा एकजुट भएर लागेको हुनुपर्थ्यो,’ ओली भने, ‘तर, दुःखका साथ भन्नुपर्छ हामीले त्यसो गर्न सकेनौं । हाम्रा प्रयास, ध्यान जे कुरामा केन्द्रित हुनुपर्थ्यो, त्यो हुन सकेन ।’

    सरकारले अप्ठ्याराको मात्रै सामना गर्नुपरेको भन्दै उनले भने, ‘सरकारले आफ्नो ध्यान कोभिड, जनजीवन, विकास निर्माणमा लगायो तर सरकारले अनेक अप्ठ्यारो समाना गर्नुपर्‍यो ।

  • माधव पक्षलाई ओलीको आग्रह- हतारमा अप्रिय निर्णय नलिनुस्,आउनुस् सँगै बसेर छलफल गरौं

    माधव पक्षलाई ओलीको आग्रह- हतारमा अप्रिय निर्णय नलिनुस्,आउनुस् सँगै बसेर छलफल गरौं

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई हतारोमा कुनै पनि अनुचित निर्णय नलिन ध्यानाकर्षण गराएका छन् । एमालेका सांसदहरूलाई सम्बोधन गर्दै उनले छलफलको लागि आह्वान गरेका हुन् ।

    ओलीले ट्वीटरमार्फत नेपाल पक्षलाई सम्बोधन गर्दै आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने बताएका छन् ।

    ओलीले भनेका छन्, ‘हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरुको ध्यानाकर्षण गराउन चाहन्छु । आउनुस् केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं ।’

  • प्रधानमन्त्री ओलीले गराए कोरोना परीक्षण

    प्रधानमन्त्री ओलीले गराए कोरोना परीक्षण

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षणको लागि थ्रोट स्वाब नमूना संकलन गरिएको छ ।

    बालुवाटारमा प्रधानमन्त्री ओलीसँगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित १०० जनाभन्दा बढीको स्वाब संकलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले बताए ।

    प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते संसद बैठक डाकिएकाले यसअघि नै प्रतिनिधिसभा सांसदहरूको समेत कोरोना परीक्षण गरिसकिएको छ ।

  • महामारीबाट अर्थतन्त्र र रोजगारीका क्षेत्रलाई ध्वस्त हुन नदिन सरकार सचेत छ (पूर्णपाठ)

    महामारीबाट अर्थतन्त्र र रोजगारीका क्षेत्रलाई ध्वस्त हुन नदिन सरकार सचेत छ (पूर्णपाठ)

    २० बैशाख २०७८
    आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,

    – एकवर्ष अघि यसै समयतिर हामीहरु कोभिड–१९ को प्रारम्भिक असर भोग्दै थियौं । मानिसको जीवन र अर्थतन्त्रको रक्षा बीच कसरी सन्तुलन कायम गर्ने भन्नेमा बहस जारी थिए । हामीले ‘जीवन पहिला’ भन्यौं र त्यही अनुरुप योजनाहरु बनायौं । एकबर्षपछि समीक्षा गर्दा हाम्रो निर्णय सही थियो भन्नेमा अहिले द्विविधा रहेन । देशवासीको जीवन रक्षा, महामारी रोकथाम, नियन्त्रण तथा उपचारमा हाम्रो क्षमताको अधिकाधिक प्रयोग भयो । सबैको सहयोगमा गत वर्षको कात्तिक अन्त्यसम्ममा हामी महामारीलाई नियन्त्रण गर्ने स्थितिमा आइपुगेका थियौं ।

    – यस सफलताको लागि महामारी बिरुद्ध अग्रपंक्तिमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, चालक र सफाइकर्मी सहित सबै तह र तप्काका राष्ट्रसेवक कर्मचारीहरुको भूमिका उल्लेखनीय रह्यो । त्यस असमान्य घडीमा सङ्क्रमितहरूको उपचार र व्यवस्थापनमा अहोरात्र खट्ने सबैको त्याग, समर्पण र लगनशीलताको म उच्च प्रशंसा गर्दछु ।

    – अहिले हामी कोभिड-१९ महामारीको दोस्रो लहरको सामना गर्दैछौं । कोभिडको यो लहर नयाँ स्वरुपमा थप घातक रुपमा देखा परेको छ । संक्रमणको दर र मृत्युदर गतबर्षको तुलनामा बढी छ । हिजोको २४ घन्टाको तथ्याङ्कलाई उदाहरणको रुपमा लिँदा, पीसीआर परीक्षण गरिएका १६ हजार ७७० केसमध्ये झण्डै ४३ प्रतिशत अर्थात ७ हजार २११ मा संक्रमण देखिएको छ ।

    – हिजो साँझसम्म कूल संक्रमित संख्या ३ लाख ३६ हजार ३० पुगेको छ । कूल संक्रमितमध्ये निको भएका संक्रमित ८४.५ प्रतिशत, निको हुने क्रममा रहेका संक्रमित १४.५ प्रतिशत र ज्यान गुमाउनेको संख्या ०.९९ प्रतिशत छ । ३० जिल्लामा २०० भन्दा बढी र १५ जिल्लामा ५०० भन्दा बढी संक्रमित संख्या छ । ७२ जिल्लामा कोभिड-संक्रमित रेकर्ड भएका छन् । बैशाख १९ गतेसम्मको कूल संक्रमितमा ३८.४ प्रतिशत काठमाडौं जिल्लामा मात्रै र ५०.४ प्रतिशत काठमाडौं उपत्यकामा मात्रै छन् ।

    – यस महामारीबाट संक्रमित भई अस्पतालमा उपचार गराइरहुनु भएका र घरमै आइसोलेसनमा बसी स्वास्थ्यलाभ गरिरहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

    – हालसम्म ३ हजार भन्दा बढी देशवासीले अनाहकमा यस महामारीबाट जीवन गुमाउनु परेकोमा दुःख व्यक्त गर्दछु र उहाँहरुका शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।

    दिदीबहिनी तथा दाजुभाइहरु,

    – गतबर्ष यो महामारी नेपाल भित्रिनुअघि नै सरकारले यसको रोकथाम र नियन्त्रणका लागि सरकारी निकायबीच समन्वय गरी प्रभावकारी काम गर्न माननीय उपप्रधानमन्त्रीको संयोजकत्वमा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रीय निर्देशक समिति गठन गरेको सबैलाई जानकारी नै छ । त्यसैको योजनामा देशभर होल्डिङ सेन्टर र आइसोलेसन केन्द्र बनाइएको थियो, क्वारेन्टिनको व्यवस्थापन र अस्पतालहरूमा शीघ्र उपचारको व्यवस्था मिलाइएको छ । शून्यको संख्यामा रहेको पीसीआर परीक्षण ल्याव संख्या क्रमशः बढाउँदै लगिएको थियो । हाल सरकारी र निजीस्तरका गरी ८७ स्थानमा पीसीआर परीक्षण हुने गरेको छ । सबैजसो अस्पताललाई कोभिडको उपचार गर्नसक्ने स्थितिमा पु¥याइएको छ । गत एक वर्षको तुलनामा स्वास्थ्य संरचनामा उल्लेखनीय सुधार गरिएको छ । सबै स्थानीय तहमा ५ देखि १५ शैयाका आधारभूत अस्पताल निर्माण र केद्र तथा प्रदेशमा संक्रामक रोग अस्पताल निर्माणलाई तीब्रता दिइएको छ ।

    – अप्ठ्याराकै बीचमा हामीले कोभिड–१९ विरुद्ध सबैलाई निःशुल्क खोप उपलब्ध गराउने प्रक्रिया शुरु गरिसकेका छौं । आप्mना देशवासीलाई कोरोना बिरुद्ध खोप लगाउनेमा हामी दक्षिण एशियामै भारतपछि पहिलो मुलुक हौं । हाल सम्ममा करिब २१ लाखलाई पहिलो डोज खोप लगाइ सकिएकोे छ । दोस्रो डोज खोप लगाउन आरम्भ गरिएको छ, अहिलेसम्म झण्डै ३ लाख ७० हजारले दोस्रो डोज खोप लगाइसकेका छन् । यस संख्यामा स्वास्थ्यकर्मी लगायत अन्य अग्रपंक्तिमा खटिने व्यक्तिहरू रहेका छन् ।

    – मित्रराष्ट्रहरूबाट सहायताका रूपमा प्राप्त खोपका अतिरिक्त नेपाल सरकारले आफैं आवश्यक मात्रामा खोप खरिद प्रक्रिया शुरु गरिसकेको छ । चीन, रुस लगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटोभन्दा छिटो पर्याप्त मात्रमा खोप ल्याइसक्न नेपाल सरकार प्रयत्नशील छ ।

    दिदीबहिनी तथा दाजुभाइहरु,

    – कुनै पनि नागरिक स्वास्थ्य सुविधाबाट बञ्चित हुनु नपरोस् र महामारीका कारण कसैले जीवन गुमाउनु नपरोस् भन्नेमा सरकार संवेदनशील छ । नागरिकको जीवनरक्षा यस सरकारको पहिलो दायित्व हो भन्नेमा म पुनः जोड दिन चाहन्छु ।

    – त्यसैले महामारीको दोस्रो लहरको रोकथाम र नियन्त्रणका लागि सरकारका सबै संयन्त्र परिचालित छन् । सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वयात्मक एवम् प्रभावकारी ढङ्गले कोभिड बिरुद्धको लडाईँलाई कार्य अघि बढाउन प्रदेश केन्द्रित हुनेगरी अहिले नेपाल सरकारका एक/एक जना मन्त्रीलाई ‘फोकल व्यक्ति’ तोकिएको छ ।

    – संक्रमणको साङ्लो चुडाउन अस्पताल वा आइसोलेशन केन्द्रको व्यवस्था गरेर मात्रै पुग्दैन, एकहदसम्म लकडाउन आवश्यक हुन्छ भन्ने विज्ञहरुको सल्लाह अनुसार केही अवधिको लागि निषेधाज्ञा जारी गरिएको छ । यसलाई थप कडाई गरिंदैछ र प्रभावकारी ढंगले लागू गर्न पहिलेझैं सबैबाट सहयोग हुने अपेक्षा सरकारले राखेको छ :

    – यही २०७८ बैशाख २० गते राति १२ बजेदेखि बैशाख मसान्तसम्म आन्तरिक उडान बन्द गर्ने निर्णय गरिएको छ ।

    – २०७८ बैशाख २३ गते राति १२ बजेदेखि बैशाख मसान्तसम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरिएको छ ।

    – स्थलमार्गबाट विदेशी नागरिकको आवागमन बन्द गरिएको छ । नेपाली नागरिक प्रवेशका लागि नेपाल भारतबीच रहेका सीमा नाकामध्ये १३ नाका मात्र सञ्चालनमा ल्याइएको छ । आपूर्ति व्यवस्था प्रभावित नहुने गरी सोसँग सम्बन्धित ढुवानीका साधन भने यथावत सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।

    – भारतसँग सिमाना जोडिएका नाकामा रहेका हेल्थ डेस्कबाट एन्टिजेन परीक्षण गरेर मात्र सीमा प्रवेश गर्ने व्यवस्था मिलाइने छ । सबै तहमा कन्ट्याक ट्रेसिङ बढाउन लगाइएको छ ।

    – स्थलमार्ग, चार्टर्ड वा उद्धार हवाई उडानबाट आउने हरेक व्यक्तिलाई परीक्षण गरिने छ । कोही सङ्क्रमित पाइएमा उनीहरुलाई उपचार गरेर मात्र समुदायमा पठाउने व्यवस्था मिलाइएको छ ।

    – प्रत्येक स्थानीय निकायले नेपाल बाहिरबाट आउने व्यक्तिको अभिलेख राखी क्वारेन्टिन, आइसोलेसन तथा उपचारको व्यवस्था गर्ने र घर तथा संस्थागत आइसोलेसनको नियमित अनुगमन गर्ने प्रबन्ध गरिएको छ ।

    – सरकारी तथा अन्य कार्यालयमा एक चौथाई कर्मचारीबाट कार्यसम्पादन गराउन शुरु गरिएको छ । अत्यावश्यक बाहेक अन्य कार्यालय, संघसंस्था बैशाख मसान्तसम्म बन्द रहनेछन् ।

    – नेपाली सेनालाई प्रदेश तथा राजधानीमा शीघ्र १ हजार शैयाको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिइएको छ ।

    – वीर अस्पतालको नयाँ भवन र नेपाली सेनाको त्रि–चन्द्र मिलिटरी अस्पताल, काठमाडौं उपत्यकाका धेरै शैया भएका मेडिकल कलेज, ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालको रूपमा सञ्चालन गरिनेछ ।

    – प्रदेश सरकारले पनि उक्त प्रदेशमा रहेका मेडिकल कलेज तथा ठूला अस्पताललाई कोभिड अस्पतालको रूपमा र साना अस्पताललाई नन–कोभिड अस्पतालको रूपमा सञ्चालन गर्नेछन् ।

    – सबै प्रकारका सार्वजनिक एवं सामुदायिक स्थल, रङ्गशाला, सभाहल, पार्टी प्यालेस, होटल, कारखाना, गोदामघर लगायतका संरचनाहरू प्रयोग गरी सुविधायुक्त क्वारेन्टिन, आइसोलेसन केन्द्र र आवश्यक होल्डिङ सेन्टरको प्रबन्ध गर्न लगाइएको छ ।

    – सबै सरकारी तथा निजी अस्पतालले आफूकहाँ उपलब्ध शैया र तीमध्ये प्रयोग भएका वा नभएका शैयाको दैनिक विवरण अद्यावधिक गर्ने र त्यस विवरण तत्काल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पठाउनु पर्नेछ । कुनै अस्पतालले विवरण पूरा नपठाई शैया लुकाएको भेटिएमा कारबाही हुनेछ ।

    – ठूला अस्पताल तथा मेडिकल कलेजमा अक्सिजन प्लान्टको स्थापना गरिनेछ । सञ्चालनमा नआएका अक्सिजन प्लान्टलाई शीघ्र मर्मत गरी सञ्चालनमा ल्याइनेछ । लिक्विड अक्सिजनको अवैध निर्यात गर्नेलाई कडा कारबाही गरिनेछ । लिक्विड अक्सिजन तथा अक्सिजन जेनेरेटर खरिद गरेर मौज्दात राखिने छ । देशभरका अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन हाललाई अस्पताल र उपचारको प्रयोजनका लागि मात्र प्रयोग गर्नेगरी अन्य क्षेत्रमा आपूर्ति गर्न रोक लगाइएको छ ।

    – कोभिडको उपचारमा प्रयोग हुने एन्टिभाइरल औषधि तथा अन्य जीवनरक्षक औषधि प्रत्येक अस्पतालले मौज्दातमा राख्नुपर्ने व्यवस्था गरिएको छ । यस्ता औषधिको कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेलाई कडा कारबाही गरिनेछ ।

    – स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन सङ्घ, प्रदेश र स्थानीय तहमा अवकाशप्राप्त चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गरिनेछ । कोभिड–१९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारप्रसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, चालक तथा सहचालक र सफाइकर्मीका साथै कर्मचारीहरूलाई शुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता, परिवारको उपचार र बिमाको व्यवस्था गरिनेछ ।

    – जनस्वास्थ्य मापदण्ड पालना गराउन सुरक्षाकर्मीलाई टोल, बस्ती, गल्ली तथा अन्य ठाउँमा परिचालन गरी चौबीसै घण्टा अनुगमन र निगरानी गरिनेछ । मापदण्डको उल्लङ्घन गर्नेलाई कानुनबमोजिम दण्डित गरिनेछ ।

    – सङ्क्रमणको साङ्लो तोड्नको लागि जारी गरिएको निषेधाज्ञा तथा बन्दाबन्दीका कारण कसैलाई पनि भोकै पर्न नदिनेमा सरकार सचेत रहन्छ । महामारी नियन्त्रण भएसंगै अर्थतन्त्र र रोजगारीका क्षेत्रलाई ध्वस्त हुन नदिन आवश्यक प्रबन्ध गरिने नै छ ।

    – जनस्वास्थ्यका मापदण्ड पालनाको नेतृत्व गृह मन्त्रालयले र जनचेतनाको नेतृत्व सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले गर्नेछन् । परीक्षण, उपचार तथा अन्य विषय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले र खोप आयातको नेतृत्व परराष्ट्र मन्त्रालयले गर्नेछन् । अन्तर मन्त्रालय समन्वयमा काम गरिनेछ ।

    दिदीबहिनी तथा दाजुभाइहरु,

    – महामारीको सङ्क्रमण बढ्न नदिन सरकारले आफ्नो दायित्व हर हालतमा पूरा गर्छ । यसलाई प्रभावकारी बनाउन सरकारका साथै आम नगारिकको पनि उत्तिकै भूमिका हुन्छ । त्यसैले,

    – सकभर घरमै बसौं, घरबाहिर निस्कनुपरेमा अनिवार्य रूपमा सही तरिकाले मास्क लगाऔं,

    – समय समयमा साबुनपानीले हात धोऔं वा स्यानिटाइजरले हात सफा गर्ने गरौं

    – भोजभतेर तथा पर्व घरमै मनाउँ

    – भौतिक दूरी कायम गरौं, भीडभाडबाट टाढै रहौं ।

    – हल्ला र अफवाहहरूबाट भ्रमित र प्रभावित नहोऔं

    – चिकित्सक, विज्ञ तथा प्राविधिकहरुको सल्लाहलाई पालना गरौं ।

    – धैर्य गरौं, संयमता अपनाऔं ।

    – सावधान होऔं तर आतङ्कित नहोऔं ।

    – गतवर्ष गरिएको बन्दाबन्दी र जारी गरिएको निषेधाज्ञाका समयमा हामीले पालना गरेको अनुशासनले महामारीको असर धेरै हदसम्म कम हुन गएको थियो । यसमा भएको हेलचेक्रयाईले क्रमशः महामारी फैलिन बल पुर्‍याएको तथ्यलाई हामी सबैले मनन गरौं । नभुलौं, महामारीले कसैलाई पनि छाड्दैन ।

    – अन्त्यमा, महामारी नियन्त्रणका लागि सरकारले चालेका कदम र लिएका पहलमा सबैको साथ सहयोग प्राप्त हुने अपेक्षा गर्दछु । चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, चालक÷सहचालक, सफाइकर्मी एवम् सम्बद्ध सबैलाई विचलित नभई आ–आफ्नो कर्तव्य निर्वाह गर्न म हार्दिक आह्वान गर्दछु ।

    – राजनीतिक दलका नेता/कार्यकर्ता, सामाजिक संघसंस्था एवम् प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरूलाई कोभिडविरुद्ध जनचेतना जगाउन र असहायलाई सहयोग गर्न समेत आग्रह गर्दछु ।

  • प्रधानमन्त्रीको आग्रह- कोरोना नियन्त्रण गर्न सरकारले चालेको कदमलाई सहयोग गरौं

    प्रधानमन्त्रीको आग्रह- कोरोना नियन्त्रण गर्न सरकारले चालेको कदमलाई सहयोग गरौं

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ महामारी नियन्त्रण, रोकथाम र उपचार गर्न सरकारले चालेका कदमलाई सहयोग गर्न देशवासीलाई आग्रह गरेका छन् ।

    सोमबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले जनस्वास्थ्यका मापदण्डलाई कडाइको साथ पालना गर्न आग्रह गरे । कोभिड संकटसँग जुध्ने अभियानमा नेपाललाई सहयोग गर्न प्रधानमन्त्रीले अन्तराष्ट्रिय समुदायसँग अपिल पनि गरे ।

    अहिले लागु गरिएको निषेधाज्ञालाई कडाइ गरिने बताउँदै प्रधानमन्त्रीले निषेधाज्ञाको कारण कसैलाई भोकै हुन नदिनेमा सरकार सचेत रहेको समेत उनले बताए ।

    सरकारले चीन र रुससँग खोप खरिद प्रक्रिया सुरु गरेको जानकारी दिँदै प्रधानमन्त्रीले कोभ्याक्स सुविधामार्फत खोप ल्याउन सरकार प्रयत्नशिल रहेको पनि बताए ।

    नागरिकको जीवन रक्षा सरकारको प्रमुख दायित्व रहेको बताउँदै प्रधानमन्त्रीले स्वास्थ्य सुविधाबाट कोही पनि बन्चित हुन नपरोस् भन्नेतर्फ सरकार गम्भिर रहेको पनि उनले बताए ।

    संघ र प्रदेशबीच समन्वात्मक ढंगले कोभिडविरुद्ध एकजुट हुन सरकारका मन्त्रीलाई फोकल पर्सन तोकिएको जानकारी दिँदै प्रधानमन्त्रीले महामारीविरुद्ध एकजुट हुन राजनीतिक दलहरुलाई पनि आग्रह गरे ।

    महामारी ब्यापकरुपमा फैलिने क्रम सुरु भएसँगै कन्ट्याक्ट ट्रेसिङ र संक्रमित पहिचान बनाउने काम थालिएको उनले जनाए । अत्यावश्यक लिक्विड अक्सिजन गैरकानूनी निर्यात गर्नेलाई कार्वाही गर्ने बताउँदै प्रधानमन्त्रीले देशमा उत्पादित अक्सिजनलाई अन्य क्षेत्रमा प्रयोग गर्न रोक लगाइने बताए ।

    जीवनदायिनी औषधीको कृत्रिम अभाव सिर्जना गर्नेलाई कार्वाही गर्ने बताउँदै प्रधानमन्त्रीले जनस्वास्थ्यको मापदण्ड कार्यान्वयन गराउन सुरक्षाकर्मीलाई टोल तथा वस्तीमा अनुगमनमा पठाउने प्रधानमन्त्रीले जनाए ।

    जनस्वास्थ्य मापदण्ड पालनाको नेतृत्व गृह, सचेतनाको नेतृत्व संचार मन्त्रालय र खोप आयातको नेतृत्व परराष्ट्र मन्त्रालयले गर्ने जानकारी पनि प्रधानमन्त्रीले दिए ।

    २० गते रातीदेखि आन्तरिक उडान र २३ गते रातीदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने जानकारी दिँदै उनले नेपाललाई आवश्यक पर्ने स्वास्थ्य सामाग्री र खोप उपलब्ध गराएकोमा मित्रराष्ट्रलाई धन्यवाद समेत दिए ।

  • प्रधानमन्त्रीले भने- माथिल्लो तामाकोशीमा अस्वभाविक ढिलाइ भयो, अब सहन्न (भिडियो)

    प्रधानमन्त्रीले भने- माथिल्लो तामाकोशीमा अस्वभाविक ढिलाइ भयो, अब सहन्न (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन माथिल्लो तामाकोशी परियोजनामा अस्वभाविक ढिलाइ भएको बताएका छन् । अब यस्तो ढिलासुस्ती नसहने उनले चेतावनी दिए ।

    नापि विभागद्वारा आयोजित ‘मेरो कित्ता’ शुभारम्भ गर्दै प्रधानमन्त्रीले अबको जोड पेट्रोल, डिजेलभन्दा विद्युततर्फ रहने बताए । यस सन्दर्भमा माथिल्लो तामाकोशीलाई सरकारले अब विशेष चासोका साथ हेर्ने उनको भनाइ छ ।

    ओलीले भने, ‘मैले १ वर्षदेखि एउटै कुरा सुनेको छु । एउटा सानो पाइप कि के जाति मेसिन जडान गर्नु छ । १ वर्ष अगाडि त्यही सुनेँ, ६ महिना अगाडि त्यही सुनेँ, ३ महिना अगाडि, १ महिना अगाडि पनि त्यही सुनेको हो । जबकि एक दिन ढिलाइ हुँदा प्रत्यक्ष ५ करोड र परोक्ष १३ करोडको नोक्सानी हुन्छ ।’

    अब यस आयोजनालाई आफूले विशेष ध्यान राख्ने उनले बताए ।

    ‘हामीले कडाइ नगरेको भए मेलम्चीको पानी पनि आउने थिएन । हरेक दिनजसो ताकेता गरेर काम सकाएका हौं । अपर तामाकोशीमा पनि काममा ढिलासुस्ती गर्ने, व्यवधान खडान गर्ने पक्षले क्षतिको जिम्मा लिनुपर्छ । विलम्ब स्वीकार्य हुँदैन।’

  • एमसीसी संसदमा निर्णयार्थ पेस नगरिएकोमा प्रधानमन्त्रीको असन्तुष्टि

    एमसीसी संसदमा निर्णयार्थ पेस नगरिएकोमा प्रधानमन्त्रीको असन्तुष्टि

    काठमाडौं । प्रधामनमनत्री केपी शर्मा ओलीले एमसीसी संसदमा निर्णयार्थ पेस नगरिएको भन्दै सभामुख अग्नी सापकोटाप्रति असन्तुष्टि जनाएका छन् ।

    नयाँ वर्षका अवसरमा सिंहदरबारबाट प्रत्यक्ष टेलिभिजन सम्वोधन गर्दै उनले सभामुखको नाम नलिइकन सापकाेटाले संविधान नमानेको आरोप लगाए ।

    ओलीले भने, ‘नेपाली कांग्रेस र नेकपा माओवादी सरकारमा हुँदा सम्झौता गरिएको थियो । त्यसलाई संसदमा टेबल गरेका छौं । निर्णयार्थ प्रस्तुत गर्न हामीले माग गरिरहेका छौं । सरकारले प्रस्तुत गरिसकेपछि राेक्ने संवैधानिक अधिकार कसैसँग हुँदैन । तर, संविधानै नमान्ने र जिद्दी गर्ने काम भइरहेको छ ।’

     

  • प्रधानमन्त्रीको सम्वोधनः कोभिडका बाबजुद २०७७ साललाई निरर्थक हुन दिएनौं

    प्रधानमन्त्रीको सम्वोधनः कोभिडका बाबजुद २०७७ साललाई निरर्थक हुन दिएनौं

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७८ को सम्पूर्ण नेपालीहरुलाई शुभकामना दिएका छन् । टेलिभिजनबाट प्रत्यक्ष सम्वोधन गर्दै उनले कोभिड-१९ ले पूर्णरुपमा प्रभावित बनाए पनि २०७७ साललाई निरर्थक हुन नदिइएको दावी गरे ।

    प्रधानमन्त्री ओलीले भने, ‘हामीले कोभिड १९ को प्रतिकुल अवस्थामा पनि हामीले धेरै महत्वपूर्ण उपलब्धी हासिल गरेका छौं । यसलाई असफल होइन, सफल वर्ष नै मान्नुपर्छ ।’

    उनले हिंसाको बाटो लिइरहेको समूहलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा फर्काइएको, मेलम्चीलाई काठमाडौंवासीका धारामा पुर्‍याइएको लगायत कुराहरुलाई सरकारको सफलताको रुपमा चर्चा गरे ।

    सरकारले सही नीतिहरुको अवलम्बनबाट कोभिड १९ को क्षति न्यूनीकरण गर्न सफल भएको पनि उनले बताए ।

    ‘हामीले धेरै आशा जगाउने काम गरेका छौं । केही पनि भएन भनेर जनतामा असन्तुष्टि जगाउने प्रयास भए पनिसरकार विचलित भएन । सरकारका क्रियाकलापप्रति भरोसा जगाउने कामहरु लगातार गर्‍यौं,’ आलीले भने ।

    कोभिडको महामारी न्यूनीकरण हुँदै गए पनि चैतबाट फेरि यसको प्रभाव बढ्न थालेको भन्दै प्रधानमन्त्रीले जनतालाई सजकता अपनाउन आग्रह गरे ।

    ‘७७ सालको पीडा यस वर्ष दोहोरिन नपाओस । तीव्र संक्रमण र जनधनको क्षति हुन नपाओस, अर्थतन्त्रलाई प्रतिकुल असर पार्न नपाओस भनेर हामी सजग हुनुपर्छ । त्यसैले सरकारले जारी गरेका मापदण्डहरुका पालना गर्न म सबैमा आग्रह गर्छु,’ ओलीले भने ।

  • कोरोनाको दोस्रो जोखिम नियन्त्रणबारे सरकारको अपिल रोकियो, भोलि प्रधानमन्त्रीले नै सम्बोधन गर्ने

    कोरोनाको दोस्रो जोखिम नियन्त्रणबारे सरकारको अपिल रोकियो, भोलि प्रधानमन्त्रीले नै सम्बोधन गर्ने

    काठमाडौं । नयाँ भेरियन्टको कोरोना संक्रमण बढेपछि जनस्वास्थ्यका नयाँ मापदण्ड र सरकारको नीतीतिबारे जानकारी दिन उपप्रधानमन्त्री ईश्वर पोखरेल सहितका मन्त्रीहरुले गर्ने भनिएको अपिल अन्तिम घडीमा स्थगित भएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्रकार सम्मेलनमार्फत कोभिड १९ को दोस्रो चरणको जोखिम नियन्त्रणमा सरकारको नीति र सर्वसाधारणले पालना गर्नुपर्ने नियमबारे जानकारी दिने भनिएको थियो ।

    नयाँ वर्षको दिन बुधवार विहान प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्ने क्रममा ती विषय पनि समेटिने भएपछि अन्तिम घडीमा आएर स्थगित भएको उपप्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।

  • संसदमा विश्वासको मत माग्ने प्रधानमन्त्रीको संकेत

    संसदमा विश्वासको मत माग्ने प्रधानमन्त्रीको संकेत

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जारी राजनीतिक गतिरोध अन्त्य गर्न संसदमा विश्वासको मत माग्ने संकेत गरेका छन् । आज बसेको मन्त्रीपरिषद वैठकमा उनले विश्वासको मत मागेर त्यसबाट आउने परिणामका आधारमा अघि बढ्ने संकेत गरेको एक मन्त्रीले बताए ।

    मन्त्रीपरिषद वैठक कोभिड-१९ विरुद्धको रणनीतिका विषयमा केन्द्रित थियो । ती मन्त्रीका अनुसार वैठकको अन्त्यमा प्रधानमन्त्रीले थोरै राजनीतिक प्रसंग निकालेका थिए ।

    ‘परिस्थितिअनुसार अब विश्वासको मत माग्नेतर्फ पनि जान सकिन्छ भन्ने प्रधानमन्त्रीले आशय व्यक्त गर्नुभयो,’ ती मन्त्रीले भने ।

    सर्वोच्च अदालतको फैसलाले संसद पुनःस्थापना भएदेखि प्रधानमन्त्री ओलीमाथि राजीनामा गर्न दवाव पर्दै आएको थियो । तर, उनले राजीनामा नदिइ संसदको सामना गर्ने अडान लिए । सर्वोच्चकै अर्को फैसलाले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी भंग भइ नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँतिएपछि ओली गठवन्धन सरकारको प्रधानमन्त्री बनेका छन् । माओवादी केन्द्रले यो सरकार ढालेर नयाँ बनाउने प्रयास गरिरहे पनि सरकारलाई दिएको समर्थन भने फिर्ता लिन सकेको छैन ।

    प्रधानमन्त्री ओलीले सोमबार एक भाषणमा पुनः एकपटक माओवादीलाई समर्थन फिर्ता लिन चुनौति दिएका छन् । तर, सरकारविरुद्ध बहुमत नजुटेकाले माओवादीले निर्णय लिन सकेको छैन । कांग्रेस र जनता समाजवादी पार्टी पनि अनिर्णयकै अवस्थामा छन् । यो अनिर्णयले राजनीतिक गतिरोध उत्पन्न भएपछि समाधानका निम्ति प्रधानमन्त्रीले विश्वासको मत माग्ने मनस्थिति बनाएको बुझिएको छ ।

    ‘माओवादीले समर्थन फिर्ता पनि नलिने तर सरकार ढाल्न प्रयास गरिरहने स्थिति अन्त्य गर्न प्रधानमन्त्रीले यस्तो निर्णय लिनुभएको देखिन्छ,’ अर्का एक मन्त्रीले भने ।

    संविधानमा प्रधानमन्त्रीले चाहेको समय विश्वासको मत लिन पाउने प्रावधान छ । यदि प्रधानमन्त्रीलाई संसदले विश्वासको मत दिएको खण्डमा वर्तमान सरकारको आयू थप दुई वर्ष निश्चित हुनेछ र त्यसपछि नियमित चुनाव हुनेछ । एकपटक विश्वासको मत लिएपछि दुई वर्षसम्म अविश्वास प्रस्ताव राख्न नपाइने संवैधानिक प्रावधान छ ।

    अर्कोतर्फ सरकारले विश्वासको मत नपाएको खण्डमा नयाँ प्रक्रियामा जानुपर्ने हुन्छ । त्यो भनेको संविधानको धारा ७६(३) अनुसार ठूलो दलको हैसियतले ओली नै प्रधानमन्त्रीमा कायम रहन सक्छन् । त्यसपछि चुनाव गराउन उनलाई बाटो खुल्छ । यदि विपक्षीहरुले अविश्वास प्रस्ताव दर्ता गरेको खण्डमा त्यो पारित नहुने प्रधानमन्त्रीको विश्वास रहेको ती मन्त्री बताउँछन् ।

  • माओवादीलाई प्रधानमन्त्रीको चुनौती- तिम्रो समर्थन चाहिएको छैन, फिर्ता लैजाऊ

    माओवादीलाई प्रधानमन्त्रीको चुनौती- तिम्रो समर्थन चाहिएको छैन, फिर्ता लैजाऊ

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग संसदमा बहुमत रहेकाले राजीनामा नदिने दोहोर्‍याएका छन् । आफूलाई प्रधानमन्त्रीबाट हटाउन मन भए समर्थन फिर्ता लिनसमेत ओलीले चुनौती दिएका छन् ।

    पार्टीको भातृ संगठन उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने- ‘मसँग बहुमत छ, किन राजीनामा दिने ? बहुमतबाट हटाउन मन छ भने फिर्ता लेऊ । चाहिएको छैन मलाई तिम्रो समर्थन लैजाऊ ।’

    आफू समर्थन फिर्ता लिएर केही गर्न नसक्ने तर राजीनामा माग्ने प्रचण्डको शैली हरुवा अभिव्यक्ति भएको भन्दै ओलीले माओवादीको समर्थन आफूलाई नचाहिएको बताए ।

    समर्थन फिर्ता नलिई कांग्रेस र जसपा गुहार्दै हिँडेको र एमालेको माधव नेपाल पक्षले साथ दिइरहेको ओलीको भनाइ छ । यस्ता धाक धक्कुसँग आफू नडराउने समेत प्रधानमन्त्रीले बताए ।

    प्रधानमन्त्रीले प्रतिनिधिसभा पुनःस्थापनाले राजनीतिक अस्थिरता ल्याएको र संसदले काम गर्न नसक्ने बताए । अदालतको फैसला आफूहरूले माने पनि यो संसदबाट पार नलाग्ने र नयाँ सरकार पनि बन्ने अवस्था नरहेको दावी गरे ।

    कांग्रेस नेताहरू पनि संसद विघटनको विकल्प छैन भनेर चुनावको पक्षमा उभिएको भन्दै ओलीले माओवादी र माधव नेपालहरू चुनावबाट भागिरहेको आरोप लगाए ।

  • प्रधानमन्त्रीको आग्रह : छिमेकी मुलुकमा कोरोना बढ्यो, सतर्क होऔं

    प्रधानमन्त्रीको आग्रह : छिमेकी मुलुकमा कोरोना बढ्यो, सतर्क होऔं

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारतमा कोरोना संक्रमणमा वृद्धि भएको बताउँदै सतर्क रहन आग्रह गरेका छन् ।

    चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारण सभालाई विहिबार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्रीले खुला सीमाका कारण कोभिड जोखिम बढेको भन्दै सतर्क रहन भनेका हुन् ।

    अहिले नै सतर्कता नअपनाए जनजीवन ठप्प पार्नुपर्ने स्थिती आउन सक्ने चेतावनी दिँदै प्रधानमन्त्रीले सावधानीका उपाय अपनाउन आग्रह गरे । उनले भने, ‘यदि हामी सावधान भएनौं भने, हाम्रो जनजीवनलाई पनि ठप्प नगरौं तर, बाध्य भएरै ठप्प पार्ने स्थिती आउन सक्छ ।’

    कोभिड–१९ विरुद्धको खोपले शतप्रतिशत काम नगर्ने भएकाले सावधानी अपनाउनु नै सुरक्षित विधि रहेको उनले बताए । ओलीले तातो पानीको बाफ लिने, नुनपानीले कुल्ला गर्ने बानी बसाल्दा कोभिड संक्रमणबाट जोगिन सकिने उनको भनाई छ ।

  • ऋषि धमलाको प्रशंसा गर्दै ओलीले भने- उहाँले त चमत्कारै देखाउनुभएको छ (भिडियो)

    ऋषि धमलाको प्रशंसा गर्दै ओलीले भने- उहाँले त चमत्कारै देखाउनुभएको छ (भिडियो)

    काठमाडौं । ऋषि धमलाले स्थापना गरेको र उनी आफैं अनवरत अध्यक्ष रहेको रिपोर्टर्स क्लवले आज आफ्नो २३ औं वार्षिकोत्सव मनायो । राष्ट्रिय सभागृहमा आयोजित वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि थिए प्रधानमन्त्री केपी शर्मा ओली ।

    ओलीको भाषणशैली अनुसार आजको कार्यक्रममा उनले रिपोर्टर्स क्लव र धमलाको विषयमा नबोल्ने सम्भावना नै थिएन । प्रमुख अतिथिको रूपमा उनले आज औसतभन्दा छोटो (करिब ४५ मिनेट मात्र !) भाषण गरे । ऋषि धमलाको प्रशंसाबाट भाषण शुरू गरेका ओलीले धमलाको प्रशंसाबाटै अन्त्य पनि गरेका थिए । बीचमा चाहिँ प्रचण्डदेखि कृष्ण खनालसम्मलाई प्रहार गर्न भ्याए ।

    धमलाको रिपोर्टर्स क्लवले स्वच्छ र निस्पक्ष पत्रकारिताको अभ्यास गरिरहेको उनले बताए ।

    ‘रिपोर्टस क्लवले मिसन पत्रकारिता गर्दैन,’ ओलीले आफ्नो ठहर सुनाए, ‘मैले देखेसम्म, बुझेसम्म, अनुभव गरेसम्म यसले मिसन पत्रकारिताभन्दा स्वच्छ र निष्पक्ष पत्रकारितामा विश्वास गरेको छ । मिसन पत्रकारिताको विगविगी भएका बेला साँचो पत्रकारिताको साझा मञ्चको रुपमा रिपोर्टर्स क्लवले आफूलाई प्रस्तुत गरेको छ ।’

    ओलीले यसो भनिरहँदा मञ्चमा बसेका धमला खुशीले मखलेल देखिएका थिए ।

    धमलालाई अझै फुर्क्याए ओलीले । ग्रासरुटबाट उठेर धमलाले नेपालमा चमत्कार नै देखाएको उनको टिप्पणी थियो ।

    ‘ऋषि धमलाको मिहिनेत, परिश्रम हेर्नुस । ग्रासरुटबाट उठेर मिडिया हाउसकै मालिकको रूपमा आइसकेको, कलिलै उमेरमा भन्नुपर्छ । एउटै कपाल फुलेको छैन । यति चमत्कार देखाइसक्नुभएको छ,’ उनले भने ।

    ओलीले थपे, ‘मन परोस कि नपरोस् धमलाको हमला जतिसुकै झेल्नुपरोस्, तर पनि त्यो टीभीमा मान्छे जान्छ । सबैलाई थाहा छ त्यहाँ पुगेपछि फर्काइ-फर्काइ दिन्छ धमलाले । फर्काइफर्काइ दिने हो । चर्को हमलाको सामना गर्नुपर्छ भनेर घरदेखि मन बनाएर जानुपर्छ । कसैले उपेक्षा गर्न सक्दैन । जाने हो । बोलाएपछि जानैपर्छ ।’

    ओलीले धमलाको अर्को क्षमताका पनि चर्चा गरे ।

    ‘उहाँका अर्को क्षमता छ, कोही आउँदिन भन्यो भने क्रेनले उठाएर ल्याउन सक्छन् । यस्तो म्याग्नेट छ ऋषि धमलासँग, जुन म्याग्नेटले टपक्कै तानिहाल्छ । त्यो खालको चुम्बकत्व छ । त्यसैले रिपोर्टर्स क्लव आज यहाँ छ ।’

    ‘नसोचेका इस्यूहरू सट्ट सामनेमा ल्याउने, कुन इस्यू कतिबेला ल्याउने हो त्यो बहुत कुशलतापूर्वक गरिआएको छ रिपोर्टर्स क्लवले । त्यसमा सबैभन्दा बढी स्मार्टनेस ऋषि धमलाको छ । त्यसैले ऋषि धमलालाई स्मार्ट पत्रकार पुरस्कार दिनु उचित हुन्छ । मेरो सिफारिस है ।’

  • ओलीको चेतावनी- प्रचण्डजी ! ती दिन त गए, तपाईंसँग न हतियार न सेना

    ओलीको चेतावनी- प्रचण्डजी ! ती दिन त गए, तपाईंसँग न हतियार न सेना

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आफ्नो उमेर र समयलाई ध्यान दिन आग्रह गरेका छन् । पहिलेको जस्तो ह्याकुलाले मिचेर हिँड्ने शैली त्याग्न उनले प्रचण्डलाई सुझाव दिए ।

    रिपार्टर्स क्लवको वार्षिकोत्सव कार्यक्रममा ओलीले नेकपाको दर्ता खारेज गर्ने अदालतको फैसलाको बचाउ गर्ने क्रममा यस्तो सुझाव दिएका हुन् ।

    उनले भने, ‘अदालते नमागेको न्याय दियो भन्नुभएको छ । तपाईंले नमागेको थियो होला, ऋषि कट्टेलले त मागेको थियो नि त । अर्काको नाममा पार्टी दर्ता गरेर ह्याकुलाले मिच्न खोज्ने ?’

    ओलीले थपे, ‘उहाँहरूको मिच्ने बानी परेको क्या । जे गरे पनि हुने, विनाश गरे पनि हुने, लुटे पनि हुने, कुटे पनि हुने, काटे पनि हुने । जुरो हल्लाको छ, हिँडेको छ । बानी बिग्रेको ।’

    ‘ती दिन गए प्रचण्ड जी, त्यो अब चल्दैन थ्यो । एउटा समय थियो ममात्रै बोल्थेँ । तपाईंका हतियार, लडाकुसँग डराउने समय थियो । तर, म नडराइ बोल्थेँ, लल्कार्थेँ । आज त तपाईंका कथित सेना पनि छैन । हतियार पनि छैन । ती दिन त गए त अब ।’

    ‘एकजना हजुरबा हुनुहुन्थ्यो । केटाहरुले छेलो फ्याँकेको देखेर यति जाबो डुंगा त म फुत्त फ्याक्दिन्छु भनेर अघि सर्नुभयो तर फुत्त फ्याँक्दा कम्मर सड्किएर ढल्नुभयो । उहाँले आफू बुढो भएको थाहा पाउनुभएन छ । प्रचण्डजीलाई पनि म उमेर सम्झिन आग्रह गर्न चाहन्छु । उमेर सम्झिएर छेलो फ्याक्न नखोज्नुस, ढाड सड्किन्छ । त्यो जमाना गयो । समय यस्तो चिज हो त्यो फर्केर आउँदै, आउँदैन । अगाडिमात्रै जान्छ ।’

  • सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट बढ्छ : प्रधानमन्त्री

    सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट बढ्छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षबाट सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् । रिपोर्टर्स क्लवको वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले सो घोषणा गरेका हुन् ।

    ओलीले भने, ‘सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट बढ्छ । यो सुन्दा मान्छेहरूलाई अर्को छट्पटी शुरू होला । कसैलाई आपत्ति लाग्छ भने लागोस् । कसैलाई निद्रा लाग्दैन भने नलागोस् ।’

  • ओलीले भने- यो देश प्रचण्ड भन्ने मान्छेको स्वार्थको सती जानुपर्ने हो ? (भिडियो)

    ओलीले भने- यो देश प्रचण्ड भन्ने मान्छेको स्वार्थको सती जानुपर्ने हो ? (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीको एकता भंग गर्ने अदालतको निर्णयप्रति गरिएको पुनरावलोकनलाई लिएर प्रचण्डको आलोचना गरेका छन् । पार्टी एकता पहिल्यै भंग भइसकेकाले अदालतले पार्टी फुटाएको भन्नु नै गलत हुने उनको टिप्पणी छ ।

    रिपोर्टर्स क्लवको वार्षिकोत्सव कार्यक्रममा बोल्दै ओलीले अदालतले गरेको फैसलाको बचाउ गरे ।

    उनले भने, ‘तपाईंहरूले एउटा क्लासमा जाँच दिएर फेल भएपछि उही क्लासमा फर्किनुहुन्छ नि । अदालतले हाम्रो दर्ता खारेज भयो भनेपछि पहिलेकै ठाउँमा आयो । आदालतले निर्वाचन आयोगलाई १५ दिनको म्याद देउ भनेको थियो । नयाँ नाम लिएर फेरि एउटै पार्टी बनाउन सकिन्थ्यो नि ? एकता गर्नै खोजेको हो भने नयाँ नाम लिएर जाँदा हुन्थ्यो ।’

    उनले पुनः एकताको विषयमा कुरा गर्न आफूले प्रचण्डलाई फोन गरेको बताए ।

    ओलीले भने, ‘मैले प्रचण्डजीलाई फोन गरेँ । पार्टी अलग-अलग भयो । हामी बसेर कुरा गरौं भने । उहाँले केन्द्रीय समितिको वैठक छ, सकिएपछि फोन गर्छु भन्नुभयो । एकछिनपछि अनलाइनमा आयो, ‘ओलीले फोन गरेका थिए, मैले भेट्न मन छैन भनेर टार्दिएँ । उहाँले यसमा अखबारवाजी गर्नुभयो ।’

    ओलीले नेकपाको एकता सर्वोच्चको फैसला अघि नै तोडिएको बताए ।

    ‘एकता बाँकी थियो र अदालतले भंग गर्ने ? जहाँ अध्यक्षलाई दलको नेताबाट, पार्टीको साधारण सदस्यबाट समेत हटाइन्छ, त्यहाँ एकता थियो भनेर ढाँट कुरा गर्ने ? तैपनि मैले कुरा गर्नलाई फोन गरेँ । उहाँले मजाक बनाएर अखबारवाजी गर्नुभो । अहिले एकताको कुरा गर्दै हुनुहुन्छ । दिँदा नखाने राति गएर कोल चाट्ने ?’

    ओलीले प्रचण्डको स्वार्थका पछाडि देश सती जान नसक्ने बताए । प्रचण्डसँग आधा-आधा प्रधानमन्त्री चलाउने पूर्वसहमति प्रचण्डले नै च्यातेको बताए ।

    ‘आधा-आधा भनेको थियो खोइ त भन्छन् ? त्यो सहमति बिचैमा च्यातेर पाँच वर्षै तपाईं गर्नुस् भनेको होइन उहाँले ? यो देश प्रचण्ड भन्ने मान्छेको स्वार्थको सती जानुपर्ने हो ?’

  • महन्थले भने- प्रधानमन्त्रीलाई धन्यवाद, तर सरकारमा जान हाम्रो हातगोडा बाँधिएको छ

    महन्थले भने- प्रधानमन्त्रीलाई धन्यवाद, तर सरकारमा जान हाम्रो हातगोडा बाँधिएको छ

    काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्रीले मधेसका समस्या समाधानमा चासो देखाएको भन्दै धन्यवाद दिएका छन् । यद्यपि, ओली सरकारमा सहभागी हुन भने अझै आफूहरूको हातगोडा बाँधिएको उनले बताए ।

    रिपोर्टर्स क्लवको वार्षिकोत्सव कार्यक्रममा बोल्दै ठाकुरले भने, ‘म धन्यवाद दिन चाहन्छु प्रमलाई । उहाँले आफूले गर्न सक्ने गर्छु भन्नुभएको छ । प्रक्रिया शुरू भएको छ भन्नुभएको छ । उहाँलाई बहुत-बहुत धन्यवाद छ ।’

    ठाकुरले आफूहरुको प्राथमिकता सरकार नभइ मुद्दा भएको बताए ।

    ‘ओलीजी प्रधानमन्त्री बन्नुभएदेखि नै हामीलाई आउनुस भन्नुभएको हो । तर, हाम्रो जवाफ छ, हाम्रो मुद्दातिर ध्यान दिनुस् । हाम्रो हातगोडा बाँधिएको छ, कसरी सरकारमा आउने ?’ ठाकुरले भने ।

    आज पनि प्रधानमन्त्रीनिकटका व्यक्ति भेट्न आएको ठाकुरले बताए ।

    ‘हाम्रो मुद्दाको समाधानमा प्रक्रिया अगाडि बढाइएको छ भन्नुभयो, तर पूरा सूचना दिनुभएन । तैपनि प्रधानमन्त्रीलाई धन्यवाद छ,’ उनले भने ।

  • फुटबल हेर्न प्रधानमन्त्री रंगशालामा (तस्विरहरु)

    फुटबल हेर्न प्रधानमन्त्री रंगशालामा (तस्विरहरु)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल र बंगलादेशबीचको फुटबल म्याच हेर्न रंगशाला पुगेका छन् । थ्रि नेसन्स कपको फाइनलमा प्रधानमन्त्री पुग्दा दर्शकले तालीको गड्गडाहटले स्वागत गरेका थिए ।

    प्रधानमन्त्री ओलीको उपस्थितिलाई नेपाली टिमले खल्लो हुन दिएन । मध्यान्तरपूर्व नेपालले बंगलादेशविरुद्ध दुई गोलको अग्रता लिएको छ । नेपालका लागि संयोग राई र विशाल राईले गोल गरेका छन् ।

    नेपालले गोल गर्दा प्रधानमन्त्री ओलीले ताली बजाएर खेलाडीहरुको हौसला बढाएका थिए ।

  • संसदको अधिवेशन चाँडै अन्त्य हुन्छः प्रधानमन्त्री

    संसदको अधिवेशन चाँडै अन्त्य हुन्छः प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको हिउँदे अधिवेशन चाँडै अन्त्य हुने जनाउ दिएका छन् । आज पार्टीको संसदीय दल बैठकमा बोल्दै उनले केही समयपछि बर्खे अधिवेशन बोलाउनुपर्ने भएकाले हिँउदे अधिवेशन अन्त्य गर्नुपर्ने बताए ।

    बैठकपछि एमाले प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री ओलीलाई उद्वृत गर्दै भने, ‘हामी अहिले संसद अधिवेसनको उत्तरार्द्धमा छौं । बीचमा प्रतिनिधिसभा विघटन भयो । त्यो पुन:स्थापना भएपछि ढिलो अधिवेशन प्रारम्भ भयो । बैशाखबाट बर्खे अधिवेशन प्रारम्भ गर्नुपर्छ । त्यसैले चालु अधिवेशन चाँडै अन्त्य हुन्छ ।’

    ओलीले अबको बजेट अधिवेशनमा संसदहरूबाट महत्वपूर्ण सल्लाह सुझावहरू प्राप्त हुने अपेक्षा व्यक्त गरे । संसदीय दलको बैठक नियमित बस्ने र सांसदहरूको क्षमता अभिवृद्धिमा पार्टीले सहजीकरण गर्ने ओलीले बताएका थिए ।

  • ‘कृषिविद्’ प्रधानमन्त्री ! पाउडर दुधदेखि भातका सीतासम्मका टिप्स

    ‘कृषिविद्’ प्रधानमन्त्री ! पाउडर दुधदेखि भातका सीतासम्मका टिप्स

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको समकालिन अन्य नेताहरुभन्दा फरक एउटा विशेषता छ । अरु नेताहरु जस्तोसुकै कार्यक्रममा भाषण गर्दा पनि राजनीतिबाहेकका कुरा गर्दैनन् । ओलीचाहिँ कार्यक्रमको विषयवस्तुअनुसार सहभागीको नाडी छामेर आफ्नो भाषणलाई ‘स्पेसलाइज्ड’ गर्न माहिर छन् ।

    राजनीतिक भाषणमा विरोधीहरुलाई घोचपेच गरेर घाइते तुल्याउने प्रधानमन्त्री ओलीले गैरराजनीतिक कार्यक्रममा भाषण गर्दा उनको विद्वताको स्तर झल्किन्छ । इतिहासदेखि भूगोलसम्म, विज्ञानदेखि आध्यात्मसम्म कुनै पनि विषयवस्तुमा उनी लामो र रोचक प्रवचन दिन सक्छन् ।

    बिहिबार प्रधानमन्त्री ओली कृषि मन्त्रालयको कार्यक्रममा भाषण गर्न पुगे । कार्यक्रमको सन्दर्भ थियो, नेपाल ४ वटा पशुपंक्षीजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा । यो सरकारीस्तरमा कार्यक्रमै आयोजना गरेर घोषणा गर्नुपर्ने विषय त थिएन, तर ओलीलाई रहर चल्यो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा निम्त्याइएका उनले १ घन्टाभन्दा लामो भाषण गरे । तर, राजनीतिक विषयलाई कहिँकतै प्रवेश गराएनन् । उनी कृषि क्षेत्रमै सेरोफेरोमा केन्द्रित भए ।

    ओलीले आफ्नै शैलीमा सरकारको कामको बढाइचढाइ गरेर मन्तव्य सुरु गरे । ‘हरेक दिन एक कदम अगाडि’ को अवधारणामा सरकारले काम गरिरहेको भन्दै उनले दिनहुँजसो देशमा नयाँ-नयाँ उपलब्धी हासिल भइरहेको गफ दिए ।

    ‘हाम्रो तरिका त्यो हो,’ ओलीले भने, ‘हामीलाई एकै ठाउँमा उभिएर बस्ने छुट छैन ।’

    ओलीले पाउडर दुधसहित चार उत्पादनमा नेपाल आत्मनिर्भर भएको विषय उठान गरे । उनले आजैबाट सरकारले पाउडर दुध उत्पादन गरेर बजारमा पुठाउन थालेको बताए । तर, पाउडर दुधलाई ‘ह्वाइटनर’ भनिएकोमा उनले सम्वन्धित निकायसँग असन्तुष्टि प्रकट गरेः

    ‘आजैबाट हामीले धुलो दुध बजारमा पुर्याउन थाल्यौं । तर, यसलाई ह्वाइटनर भनिएको रहेछ । मिल्क ह्वाइटनर…। ह्वाइटनर भनेको त सेतो बनाउने कुरा हो । यो नाम किन राख्नुभयो, कसरी राख्नुभयो म बुझ्दिन । अंग्रेजीका पछि किन कुद्नुभो थाहा छैन । तर, यो सेतो बनाउने कुरा होइन । यो दुध नै हो । पाउडर दुध वा धुलो दुध भन्नुपर्छ मेरो विचारमा । कमसेकम मिल्क पाउडर भन्नुस् । ह्वाइटनर भनेपछि त मलाई नै पत्यार लाग्दैन । चियामा हाल्दा सेतो बनाउने त होला भन्ने हुन्छ । त्यसकारण यसलाई नेपालीमा ‘धुलो दुध’ न लेख्दा राम्रो हुन्छ ।

    एउटा दुध हुन्छ, गाई–भैंसीबाट दुहेको । मेसिनले ड्राइ गरेर सुख्खा बनाएपछि यो धुलो दुधमा परिणत हुन्छ । त्यही फरक हो । हामीले खाली सुकाएर धुलो बनाएको मात्रै हो । परिणत गरेर झोल दुधलाई प्रविधिले धुलोमा परिणत गर्यौं । डेरी ह्वाइटनर भन्दा पनि धुलो दुध नै हो भन्ने मेरो विश्वास छ ।’

    पाउडर दुधलाई कसरी सुरक्षित राख्ने भन्ने उपाय ओलीले सिकाए । उनले यसलाई खोलेर लामो समय ओसिलो ठाउँमा राख्नु नहुने बताए ।

    ‘मैले अस्ति पनि भनेको, यो बजार पठाउनसँगै कसरी राख्ने र कसरी प्रयोग गर्ने कसरी भन्ने पनि बताउन जरुरी हुन्छ उपभोक्तालाई । ओसिलो ठाउँमा राखिदियो भने दुध डल्ला पर्छ, बिग्रिन्छ, गन्हाउँछ । अनि डेरीलाई आरोप लाग्छ । अलिकति प्वाल पालेर अनि १० दिन ओसिलो ठाउँमा राख्नु् हुँदैन । प्याकेट खोलेपछि लगातार खानुपर्छ । लोभ गरेर राखे बिग्रिन्छ, फटाफट खानुपरो ।

    उपभोक्तालाई विश्वास दिलाउनुपर्छ कि यसको प्रयोग र दुधको प्रयोगमा खासै फरक छैन । दुध बरु ढाडिएपछि राम्रो हुँदैन । पाउडर दुध ढाडिँदैन, सुख्खा बस्छ । लामो समय ताजा बस्छ । यो झोल दुधभन्दा प्रयोग गर्न सजिलो छ । किनभने फाट्ला कि भन्ने पिर हुँदैन । झोल दुध त गर्मी लागेपछि फाट्छ । तर यो फाट्दैन । ओभानो ठाउँमा राख्यो भने बिग्रिदैन ।’

    प्रधानमन्त्री ओलीले इनर्जी ड्रिंंक्सका ठाउँमा मोही पिउन सल्लाह दिए । उनले भने, ‘हामीकहाँ इनर्जी ड्रिंक्स आउछ नि । पिएपछि ड्रिंक्स त भन्नैपर्यो । तर, त्यो ड्रिंस्क्स पनि होइन र त्यसले इनर्जी पनि दिँदैन । यो म्याङ्गो, रियल केकेजाती भनेका सबै केमिकल फ्लेभर हुन् ।

    हामीले त मोही पिउनुपर्छ । मोहीमा बानी पार्नुपर्छ । यो गर्मीमा कहाँको इनर्जी ड्रिंक्स ? मोही खान छोडेर कहाँबाट बोकेर ल्याएको बासी पानी खाने ? त्योभन्दा मोही कस्तो गजब छ । आज र भोली खान मिठो हुन्छ, पर्सीबाट अमिलो हुन्छ । त्यसैले त्यसलाई ल्याएपछि फ्रिजमा राख्ने । मोहीमा जुन तागत र तत्व हुन्छ कहाँ अरु ड्रिंक्समा पाउनु ?

    दुधको उत्पादन बढी भयो भने त्यसबाट दही मोही मात्र होइन, चकलेट बनाएर विदेश पठाउनुपर्ने प्रधानमन्त्रीले बताए । मिल्क होलिडेको अवधारणा नै गलत रहेको उनको भनाइ थियो ।

    ‘अहिलेसम्म मान्छेहरुलाई दुध–दहीमा मात्रै बानी परोको छ । मैले भनेको छु, डेरी प्रोडक्ट धेरै भयो भने पाउडर बनाउनुस् । त्यो पनि नभए चकलेट बनाएर निर्यात गरौं । किन स्वीट्जरल्याण्डको, बेल्जियमको चकलेट यहाँ ल्याउने ? हामील हिमालयन चकलेट, अन्नपूर्ण चकलेट, माछापुच्छ्रे चकलेट, फोक्सुन्डो चक्लेट अरु पनि विभिन्न नाम हुन सक्छन् । यसरी ब्रान्डिङ गर्न सकिन्छ ।

    हाँसो गुञ्जिन्छ…

    ‘हामीले प्रयोग गर्न नसकेर दुध फ्याकिरहेका छौं । डेरीले मिल्क होलिडे मनाउने भन्छन् । के हो यो मिल्क होलिडे ? खपत गर्न नसकेर त हो नि । नत्र मिल्कमा पनि होलि डे हुन्छ ? गाइ–भैंसीले शनिबार थाहा पाउँछ ? मिल्क होलिडे भनेको त धेरै भएर हामी किन्न सक्दैनौं, पोख भनेको न हो । भाषा अंग्रेजीमा मिलाइदिएको न हो । होलिडे–सोलिडे होइन सदुपयोग गर्नुपरो अधिकतम । हाम्रो आवश्यकता त्यो हो ।

    दुधबाट उक्लेर ओलीले च्याङ्ग्राको मासुको चर्चा गर्न थाले :

    ‘हाम्रो चौरीको दुध, चौरीको दुधबाट बनेका चीज इत्यादिलाई हामीले… च्याङ्ग्राको दुध र मासुमा औषधीय गुण हुन्छ । त्यसैले अलिक महंगो पर्छ । दुई–चार दिन खाइहेर, इनर्जी आएन भने हामीलाई भन भनेर मार्केटिङ गर्नुपर्यो । यो साँचो कुरा हो । हामी भूट्ट बोल्नै पर्दैन । मुस्ताङको च्याङ्ग्रा दशैंमा काठमाडौं आइपुग्न भ्याउँछ ? पोखराले बीचमै झ्याप पार्छ । दमौलीको पुल त तर्दै तर्दैन । किनभने त्यसमा औषधीय गुण छ भन्ने मान्छेलाई थाहा भइसक्यो । बिक्दैन भन्ने नै छैन ।

    ओलीले कुनै पनि वस्तुलाई विदेशमा निर्यातयोग्य बनाउनका लागि ठूलो स्केलमा उत्पादन आवश्यक रहेकोमा जोड दिए । ठूलो उत्पादनका लागि पैसा र श्रमको सन्तुलन मिल्नुपर्ने उनको भनाइ छ ।

    ‘लगानी भन्दा मान्छेले सोझो हिसाबले पैसा मात्रै बुझ्छन् । पैसाको लगानी मात्रै गरेर हुन्छ र ? श्रम र प्रविधिको लगानी पनि त्यत्तिकै चाहियो । तीनै चिजको लगानीको सन्तुलन मिल्नुपर्छ । होइन भने टन्न पैसा डोकामा लगेर बारीमा छरेर फल्छ त ?

    दुग्धजन्य उत्पादनको आपूर्तिमा कुनै पनि व्यवधान आउनु नहुने ओलीले बताए । यसलाई चिनाउनका लागि मन्त्रालयले लोगो समेत बनाएको उनले जानकारी दिए ।

    ‘आज हामीले एउटा लोगो पनि बनाएका छौं । यस लोगोले गर्दा… हुन त अब नेपालमा हड्तालको आवश्यकता छैन । तर कहिलेकाहीँ झोक चल्यो भने… श्रीमतीसँग झगडा गरेर बाहिर सडक जाम गर्छन् । पार्टीमा झगडा बाहिर सडक जाम गर्छन् । यस्तो देशमा कतिबेला सडक जाम हुन्छ भन्न सकिने स्थिति हुँदैन । त्यसैले लोगो भएपछि सजिलो हुने भयो ।

    लोगो देखाउँदै…

    ‘गाइले दुध बोक्या छ यहाँ । थोपा–थोपा संकलन गरेर जम्मा गरिएको संकेत पनि छ । यो चिन्ह हामीले सबैलाई चिनाउनुपर्छ । यो अत्यावश्यक सेवाभित्र पर्छ । बिमारीलाई, बालबालिकालाई, जेष्ठ नागरिकलाई खुवाउने चिज हो नि ।’

    प्रधानमन्त्री ओलीले कृषि क्षेत्र निर्वाहमुखी मात्र नहुनेमा जोड दिए । यो क्षेत्रलाई आधुनिकीकरण गरेर कृषकको जीवनस्तर माथि उठाउनुपर्ने उनको भनाइ छ ।

    ‘दुईवटा बाख्रा पालेर जिविका चल्दैन । ५० वटा बाख्रा पाल्यो भने चल्छ । १०० वटा वाख्रा पाल्यो भने राम्रै मुनाफा कृषकले कमाउँछ । १०–२० वटा पालेर त अल्झिने काम मात्रै हुन्छ । अल्प रोजगार हुन्छ ।

    किसानको आम्दानीलाई बचतमा जानेगरी उत्थान गर्नुपर्यो । त्यसैगरि हाम्रा फ्याक्ट्रीलाई वचतको स्थितिमा जानुपरो । तवमात्रै सस्टेन हुन सक्छ । नत्र कति दिन घाटा व्यहोर्न सक्छन् ?’

    ओलीले कृषिबिमाको प्रसंग पनि उठाए । उनले कृषि बिमाको प्रिमियममा अनुदान दिने काम बन्द गरिने संकेत गरे ।

    ‘म बैंकहरुलाई पनि आग्रह गर्न चाहन्छु । कृषि बिमाको प्रिमियम कम गर्नुस । विस्तारै सरकारले प्रिमियममा दिने अनुदान हटाउँदै लैजान्छ । प्रिमियममा अनुदान दिइरहनुपर्ने नै होइन । मुनाफा बिमा कम्पनीले कमाउने, फाइदा उसले लिने अनि किसानका नाममा अनुदान सरकारले किन हालिरहने ? त्यसैले बिमाको प्रिमियम किसान आफैंले तिर्नसक्ने गरी घटाउनुपर्छ ।

    त्यसो त उनले बिमा कम्पनीहरुलाई पनि कसरी फाइदामा जाने भनेर आइडिया दिन छुटाएनन् ।

    ‘बिमालाई ब्यापक विस्तार परेपछि घाटा पर्दैन । सानो स्केलमा गरेपछि घाटा पर्न जाने हो । जस्तो कि जम्माजम्मी एउटा केराबारीको बिमा गर्नुभयो भने त्यसमा हुरी चलेर ढल्न सक्छ । अनि बिमा कम्पनीलाई घाटा हुन्छ । प्रिमियमले अफिस पनि मेन्टेन नहोला । त्यसैले उसले केरा खेति कति छ भन्ने हेरेर बिमा गर्नुपर्यो । कृषकले पनि यति उत्पादन गर्नुपरो कि जहाँ बिमा कम्पनी आकर्षित हुन सकोस । कम्पनीले धान, मकै, फलफुल, आँप लिची, पशुपंक्षी सबैमा बिमा गर्यो भने केही ठाउँमा नोक्सान भए पनि बाँकीले फाइदामा लैजान्छ । त्यसैल बिमाको क्षत्र बढाएर प्रिमियम घटाउनुपरो । कृषि क्षेत्र सुरक्षित सम्मानित फलदायी हुनुपर्छ । सुरक्षित हुनका लागि बिमा नै हो ।

    सरकारले रसायनिक मलको अभाव पूर्ति गर्न सरकारले चाँडै मल कारखाना खोल्ने तयारी गरिरहेको ओलीले जानकारी दिए ।

    ‘कृषि क्षेत्रमा आत्मनिर्भर हुनु छ भने रसायनिक मलको कारखाना खोल्नैपर्छ । हामीले नेपालमै मल कारखाना खोल्ने भनेका छौं । हाम्रोलागि सबैभन्दा सजिलो विद्युतबाट हुन सक्छ । यस सम्वन्धमा छलफल भइरहेको छ । महंगो पर्छ भने पनि केही छेन । एउटा प्रोजेक्ट नै डेडिकेटेड गर्न सक्छौं ।

    एटोमिक थर्मलमा त कुनै हालतमा जाँदैनौं, त्यसबाट दुर्घटना हुन सक्छ । अर्को भुस, कोल इत्यादि थर्मलमा पनि जाँदैनौं । अर्को ग्यासको प्रयोगबाट जाने एउटा वाध्यताका स्थिति देखिन्छ । सबैभन्दा सििजलोसँग हुने त्यसैमा हो । अष्ट्रेलिया, जर्मनमा विद्युतले महंगो पर्ने भएकाले गर्न सकेका छैनन् भन्ने कुराहरु छन् । हामी त्यसलाई हाइड्रोजनको प्रयोगबाट गर्न सक्छौं कि ? एकपटक खर्च हुन्छ । त्यसपछि आत्मनिर्भरताको बाटोमा जान्छ ।

    ‘दुग्ध उत्पादनमा आत्मनिर्भर हुनुको अर्थ पशुपालन हाम्रो राम्रो छ । हामी कम्पोस्ट मल र प्राङ्गारिक मलमा काम गर्न सक्छौं । संगठित ढंगले लान सकिन्छ । अर्को काम विद्युत उत्पादन पनि गर्ने र मल उत्पादन पनि गर्ने । आफ्नो फार्ममा, आफ्नो पोल्ट्रीमा आफैंले विद्युत र मल उत्पादन गरेर विक्री गर्न सकिन्छ । त्यस्ता काम गर्न सक्छौं । बहुद्देश्यीय खालका आयोजना पनि चलाउन सक्छौं । त्यसको एउटा सर्कल पनि बनाउन सक्छौं । यसमा ‘चेन अफ युज’ मा ध्यान दिनएर अगाडि बढौं ।

    ‘हाम्रो कृषि क्षेत्रमा दुइतिहाइ जनसंख्या निर्भर छ । त्यो जनसंख्यालाई अन्त सिफ्ट गराउन चाहन्छांैं । ३० प्रतिशत बाँकी राखेर अरुलाई अरु क्षेत्रमा विस्ताफित गर्ने उद्देश्य छ । यसबाट डरानुपर्ने आवश्यकता छैन । कृषिलाई आधुनिकीकरण, मसिनीकरण गरिन्छ । कृषिमा आंशिक रोजगारीको स्थितिबाट उपलब्धीपूर्ण रोजगारी सिर्जन गछौं ।

    रोजगारी दिएको भनेको छ । दुईटा बाख्रा पालेको छ । एक सर्को बारी छ । तील लगायो भने दुई माना तेल हुन्छ । दूई माना तेलले के हुन्छ ? फिरंगे भन्ने हुन्छ नि अचार खाने । त्यो दुई माना पनि आउँदैन । दुई माना फिरिंगे उमारेर कृषकले रोजगारी पायो ? जमिनसँगको नाता भनेर के हुन्छ ? जमिनसँगको नाता तोडेर पनि अर्को राम्रो काम दिन सकिन्छ ।

    हामीलाई कृषकको कामको वचत चाहियो । उसको कामबाट आएको आम्दानी वचतको स्थितिमा पुग्नुपरो । त्यसका लागि यही पेशासँग सम्वन्धित हुनुपर्छ भन्ने होइन । अर्को पेशामा जानुपर्यो भने पनि ठीक छ । जुन पेशामा छ, त्यो पेशामा दक्ष हुनुपरो । मलाई क्यामरामा राखिदिनुभयो भने गतिलो फोटो आउला ? तालीमप्राप्त चाहिन्छ । फोकस कसरी गर्ने, जुम कसरी सेट गर्नु जान्नुपरो, तब न फोटो गतिलो हुन्छ । त्यसैले हरेक ठाउँमा स्किल्ड म्यानपावर र प्रविधिको प्रयोग हुनुपर्छ ।’

    प्रधानमन्त्री ओलीले फेरि एकपटक लामा चामलको चर्चा गरे । लामा सीता भएका चामल नक्कली हुने र त्यसले कुनै पौष्टिकता नदिने उनले ठोकुवा गरे ।

    ‘खाद्यान्न मात्र होइन, खाद्य वस्तुहरुमा हामी आत्मनिर्भर छौं । तर आनीबानी आदिको कारणले हामीलाई भात धेरै खानुपर्छ । सब्जी कम खान्छौं । सब्जी खाउँ मजाले भने कसैले किन्न सक्ला, कसैले सक्दैन । भातबाट धेरै सब्जी खाने भयौं भने सब्जीको सप्लाइ नै पुग्दैन । दलहनहरुबाहेक धेरै सब्जी ताजा हुन्छन् । साग यताउति । ताजा चिज खान पाइन्छ । यतापट्टि जान जरुरी छ ।

    बोक्रा उप्काएपछि कुनै पनि चिज ‘डेड’ हुन्छ । धानको बोट उप्कायो भने त्यो जिवित नै हुन्छ । त्यसलाई रोप्दा विरुवा पलाइहाल्छ । तर बोक्रा उप्काएपछि डेड भो । डेड चिज जति लामो समय राख्यो त्यति बिग्रन्छ । डेड चिज इज डेड चिज । बिस्तारै पौष्टिकता खतम भएर जान्छ ।

    हामी अहिले यति लामो–लामो सिता भएको चामल खान्छौं । त्यो चामल नै होइन । चामललाई पिठो बनाएर पेलेर चामलको जस्तो सिता बनाएको हो । एक इन्च लामो धान देख्नुभएको छ कतै ? एक इन्च लामो सिता भन्नेबित्तिकै त्यो नक्कली कुरा हो । हामी त किसान हौं । मैले सबै काम गरेको छु । धान कस्तो हुन्छ थाहा छ नि ।

    हाम्रो शास्त्रले के भन्छ भने पहिलो वर्षको अन्न बिउमा लगाउँ । बिउका लागि त्यो राम्रो, फ्रेस हुन्छ । दोस्रो वर्षको चामल खानामा प्रयोग गरौं । तेस्रो वर्षको होम होमादीलाई काम लाग्छ । होम होमादीलाई पनि काम नलाग्ने भएर बिग्रेपछि त्यही लामो चामल भएर हाम्रोमा आउँछ । धुलोपिठो, किराले खाएको सबै पिसेर लामा लामा चामल बनाइन्छ । आकर्षक नाम हुन्छन्- लालकिल्ला, इन्डिया गेट केकेजाति । तर यो कुनै सक्कली चामल होइन । मैले यसो भन्दा व्यापारीले भन्लान् प्रधानमन्त्रीले हाम्रो चामलको किन खेदो गरेको होला भनेर । तर म त जनस्वास्थ्यको हिसाबले भनिरहेको छु । मैल भन्नैपर्छ ।

    लामा चामलमा पौष्टिकता हुँदैन । यसबाट सुगर बढ्दैन रे । के चैं बढ्नु ? के छ र त्यसमा ? न सुगर ने केही । खाएका बेला पेट चाहिँ एकछिन बढ्छ । तर पौष्टिक तत्व केही हुँदैन ।

    हामीले ताजा खाने गनुपर्छ । यस वर्ष उत्पादन गरो यसै वर्ष खायो । यो शैली ठिक छ । दोस्रो वर्षभन्दा उता गएपछि सड्छ ।

    हाम्रो खानेकुराका आनीबानी बदल्ने छौं । उत्पादन हाम्रो पपुलेसनलाई पुग्न गरी छ । तर आनिबानीले गर्दा हामी अर्बौंको आयात गरिरहेका छौं । चामल मात्रै ३५ अर्बको किन्छौं । कृषि प्रधानदेश भयो त यसरी ? यो त आयातप्रधान भयोउ । किनेर खाने प्रधान भयाउे । यस देशलाई निर्यातप्रधान बनाउनुपर्छ । कृषिप्रधान नै बनाउने हो भने आधुनिकताले थिच्नुपर्छ । हाम्रो परम्परागत ज्ञानमा आधुनिक परिक्षणबाट आएका प्रतिफललाई जोड्नु पर्छ ।’

  • प्रधानमन्त्रीको घोषणा- मासु, धुलो दूध, अण्डा र बटरमा नेपाल आत्मनिर्भर

    प्रधानमन्त्रीको घोषणा- मासु, धुलो दूध, अण्डा र बटरमा नेपाल आत्मनिर्भर

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ४ कृषि तथा पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा गरेका छन् ।

    कृषि मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा उनले मासुजन्य उत्पादन, धुलो दूध, अण्डा र बटरमा नेपाल आत्मनिर्भर बनेको बताए ।

    प्रधानमन्त्री ओलीले कार्यक्रमा भने, ‘हामी हाम्रो देशलाई एक क्षेत्रमा एक कदम अगाडि बढाउन सफल भएका छौं । यो राष्ट्रिय खुशीको अवसर हो ।’
    यस सफलतामा धेरैले योगदान दिएको प्रधानमन्त्रीले बताए । ‘हरेक दिन एक कदम अगाडि’को नारा सार्थक पार्ने दिशामा सरकार अघि बढेको उनको भनाइ छ ।

    ‘हामी हरेक दिनजसो नयाँ-नयाँ उपलब्धि हासिल गर्दै, नयाँ-नयाँ उचाइ छुँदै अगाडि बढिरहेका छौं,’ ओलीले भने ।

  • केपी ओली- जिरोबाट हिरो, चित्त अलि साँघुरो

    केपी ओली- जिरोबाट हिरो, चित्त अलि साँघुरो

    राजनीतिलाई सामान्यतया चेस खेलसँग तुलना गरिन्छ । विपक्षीका चालहरुको पूर्वानुमान गर्दै ‘स्टेपबाइ स्टेप’ रणनीतिक कदम चाल्नसक्ने ‘खेलाडी’ चेस र राजनीति दुबैमा सफल हुन्छ ।

    तर, नेपाली राजनीतिको पछिल्लो परिदृष्य भने चेसभन्दा ‘लुँडो’ सँग मिल्दोजुल्दो देखिएकोे छ । लुँडोमा कुनै गोटी सर्पले निलिदिएर एकाएक सिरानबाट फेदमा पुग्छ, अनि फेदमा रहेको गोटी लामो भर्‍याङ उक्लिन पायो भने एकैपटक सिरानमा उक्लिन्छ । ठ्याक्कै त्यही शैलीमा प्रधानमन्त्री शर्मा ओली र उनका विरोधी खेमाको राजनीतिक हैसियत उथलपुथल भएको छ ।

    धेरै होइन, मात्र १७ दिनपछाडि फर्केर हेर्ने हो भने ओलीको राजनीति टिठलाग्दो अवस्थामा थियो । आफूले गरेको संसद विघटनलाई सर्वोच्चले उल्टाइदिएपछिको परिस्थितिमा उनी खल्ती रित्तिएको जुवाडे झैं बनेका थिए । पदबाट राजीनामाका लागि उनीमाथि चौतर्फी दबाब थियो ।

    पार्टीभित्रको विपक्षी समूह र प्रमुख प्रतिपक्षी दल मात्र होइन, उनीहरुसँग लय मिलाउँदै ‘स्वतन्त्र बुद्धिजीवी’ देखि ‘स्वतन्त्र मिडिया’ सम्मले प्रधानमन्त्रीको तत्काल राजीनामा मागिरहेका थिए । अन्यथा माओवादीले समर्थन फिर्ता लिइहाल्ने वा कांग्रेसले अविश्वास प्रस्ताव ल्याएर सरकार गर्ल्याम्म ढालिहाल्ने चर्चा गरम थियो ।

    अर्कोतिर ओलीकोे दल नेकपा दुई फ्याक भएको थियो । पूर्वएमालेका थुप्रै नेतासहित एउटा ठूलो फ्याक प्रचण्डले गुट्मुटाएर लगेका थिए । बबुरा ओलीसँग पार्टी फुटाउनका लागि चाहिने संख्या पनि थिएन । यसप्रकारले उनी टेक्ने हाँगो भाँच्चिएको र समात्ने हाँगा पनि नुहेको दयनीय अवस्थामा थिए ।

    त्यसबेला कतिले ओलीको राजनीतिक भविष्य नै समाप्त भएको घोषणा गरे । कसैले उनी नयाँ कम्युनिष्ट पार्टीको सानो नाङ्लेपसल थापेर सीपी मैनालीको आडैमा बस्ने अनुमान गरे । यता, प्रचण्ड–माधव नेपालको समूह जितको उल्लासमा थियो । नेताहरु लड्डु खुवाएर खुशी मनाइरहेका थिए भने कायकर्ता दीपावली गरिरहेका थिए । तर, फागुन २३ गते अदालतको अर्को ‘गेमचेञ्जिङ’ फैसला आएपछि कथाले नयाँ मोड लियो । ओली भुईंबाट धुलो टक्टक्याउँदै उठे र जुँगामा ताउ लगाउँदै विरोधीहरुको लिस्ट बनाउन थाले ।

    अर्कोतर्फ प्रचण्ड-माधव खेमातर्फ कोलाहल सुरु भयो । पेरिसडाँडाबाट माओवादीले माधव नेपाल समूहलाई अन्माएर धुम्बाराही पठायो । तर, पेरिसडाँडा छोडेको माधव नेपाल समूह केपी ओलीलाई गर्ल्याम्म अंगालो हाल्न सकिरहेको छैन । न ओलीसँग वैधानिकरुपमा अलग्गिन नै सकेको छ । भाषणमा जति चर्को स्वर गरे पनि अन्तरवार्तामा जति कडा कुराहरु गरे पनि यतिबेला माधव नेपाल समूह बाटो भुलेको यात्रीजस्तो विलखबन्द अवस्थामा देखिन्छ ।

    माधव नेपाल समूह मात्र होइन, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसदेखि नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसमेत किंकर्तव्यविमूढ बनेका छन् । सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन कोही अघि सरेको छैन । फलतः ओलीलाई एकछिन पनि प्रधानमन्त्रीको कुर्सीमा देख्न नचाहने राजनीति बाहिरको एउटा बौद्धिक समूहमा चिड्चिडाहट बढ्दो छ ।

    शक्ति केन्द्रीकरणमा ओली

    लामो समयदेखि नेपाली राजनीतिको केन्द्र भागमा बिराजमान छन् केपी ओली । पछिल्लो करिब एक दशक उनकै वरिपरी घुमिरहेको राजनीति । चर्चा, सफलता, विवाद, प्रशंसा, गाली केको मात्र कमी छ उनलाई ? अहिले यो छ कि, कुनै पनि राजनीतिक टिप्पणी लेख्नुपर्‍याे भने ओलीबाट सुरु गर्नुपर्ने र ओलीमै अन्त्य गर्नुपर्ने अवस्था छ । कुनै पनि नेताका भाषण सयाैंपटक ओलीको नाम नलिई पूरा हुँदैनन् ।

    नेपालमा प्रजातन्त्र पुन:स्थापनायता यो तहको राजनीतिक प्रभूत्व कायम गरेका नेताहरु कमै थिए । गिरिजाप्रसाद कोइरालाले लामो सत्तामा रजाईं गरे, तर ओलीजति समाचारमा उनी छाएनन् । पछिल्लो कालखण्डमा अन्तर्राष्ट्रिय स्तरमा सबैभन्दा चर्चा पाएका नेपाली नेता पनि उनै हुन् । नाकाबन्दीयता नेपालको छिमेकी देश भारतका लागि उनी एउटा हाउगुजी नै बनेका छन् । ओलीका अन्तरवार्ताहरु भारतीय मिडियाका लागि ठूलै खुराक बन्छन् ।

    प्रधानमन्त्रीका रुपमा ओलीले जस्तो शक्ति अभ्यास पनि यसअघिका प्रधानमन्त्रीले सायदै गरेका थिए । दोस्रोपटक प्रधानमन्त्री भएदेखि सत्ताका महत्वपूर्ण अवयवहरु उनले आफ्नो मातहतमा राखेका छन् । राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति सुद्धीकरण, सतर्कता केन्द्र, र राजश्व अनुसन्धानजस्ता महत्वपूर्ण निकायहरुलाई आफ्नो मातहतमा ल्याएका छन् । रक्षा मन्त्रालयको कार्यभार उनी आफैंले सम्हालेका छन् । नेकपा एकीकृत हुँदासम्म सरकारका कामकारवाहीमा पार्टीको अड्चन थियो । अहिले त त्यो पनि छैन । सरकारका नियुक्ति, सरुवा–बढुवादेखि विभिन्न विकास आयोजनाका कामहरु ओलीको तजविजमा भइरहेको छ ।

    सरकारमा मात्र नभएर पार्टीमा पनि ओलीको एकाधिकार स्थापित भएको छ अहिले । एमाले ब्यूँतिएपछि माधव नेपाल नेपाल समूहलाई थाहै नदिइकन उनले बालुवाटारमा वैठक राखे । पूर्वमाओवादीका २३ जना नेतालाई केन्द्रीय समितिमा प्रवेश गराएर नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसे । अस्ति फेरि केन्द्रीय समिति वैठक डाकेर थप शक्ति हातमा लिएका छन् । समानुपातिकको बन्दसूची आफूले हेरफेर गर्न सक्ने देखिलिएर पार्टीका कमिटीहरु चलाउने सम्मका कामहरु उनले अब आफ्नो एकल निर्णयमा गर्न सक्छन् ।

    पार्टीमा असन्तुष्ट समूह अनुपस्थित हुँदा ओलीको बोली नै पार्टीको विधानसरह हुने अवस्था आएको छ । उनको कार्यशैली हेर्दा उनी अब विरोधीहरुलाई पार्टीमा ठाउँ दिन चाहँदैनन् भन्ने देखिन्छ । एमालेमा आफ्नो प्राधिकार स्थापित गर्नेतर्फ उनी अग्रसर छन् । परम्परागत कम्युनिष्ट पार्टीमा जस्तो ‘चेयरम्यानसिप’ को अभ्यास उनले गर्न थालेका छन्, जुन अभ्यास जनयुद्धकालमा प्रचण्डले गरेका थिए ।

    लोकप्रियताको पुनर्स्थापना

    राजनीतिकरुपमा शक्ति आर्जन गरेका ओलीले आफ्नो गुम्दै गएको जनविश्वास र लोकप्रियतालाई पनि केही हदसम्म पुनर्स्थापन गर्न सफल भएका छन् । उनका लागि अहिले सर्वाधिक सन्तोषको पाटो यही नै हो ।

    मूलधारका सबैजसो सञ्चारमाध्यमले लगातार खलनायकको रुपमा प्रस्तुत गर्दा पनि ओलीलाई ‘अलोकप्रिय’ बनाउन नसकेकै हुन् । अब नेपालमा कथित मुलधारका सञ्चारमाध्यमले जनमत निर्माण गर्न सक्दैनन् भन्ने निश्कर्ष यसबाट निकाल्न सकिन्छ । बरु पछिल्लो समय देशको युवापुस्तामा ओलीको क्रेज अनायास बढेको छ । कुनै राजनीतिक दलप्रति झुकाव नराख्ने युवाहरु उनको भाषण-अन्तरवार्ता चाख लिएर सुन्न थालेका छन् ।

    टिकटकदेखि यूट्यूवसम्मा आउने कमेन्टहरु हेर्ने हो भने ओलीको पक्षमा बलियो जनमत खडा भएको मान्नुपर्ने हुन्छ । अधिकांश नेताका भाषण अन्तरवार्तामा नकारात्मक प्रतिक्रिया दिने जमातले ओलीलाई प्रशंसा गर्न थालेको छ । ओलीको कतिपय हठ र बलमिच्याइँपूर्ण कार्यशैलीलाई पनि सकारात्मकरुपमा हेर्न थालिएको छ । साथै, विकास–निर्माणका कामहरुमा देखाइरहेको तदारुकता र सक्रियताले पनि उनको सकारात्मक छवि निर्माणमा मद्दत गरेको छ । यही माहोलले गर्दा मूलधारकै सञ्चारमाध्यम पनि पहिलेजस्तो ओलीविरुद्ध ‘हार्डलाइन’ मा जान सकिरहेका छैनन् ।

    आफूविरुद्ध जनसमर्थनको भेउ पाएर ओलीको मनोबल उच्च भएको छ । मनोबल मात्र होइन, उनको दम्भ पनि बढेको छ । झन् हौसिएर पार्टीका विरोधीहरुलाई घोचपेच र प्रहार गरिरहेका छन् । अभिव्यक्ति तथा व्यवहारमा नरमपनाको अभाव झन् टड्कारो देखिएको छ । यही शैलीले उनलाई देशको एउटा ‘टावरिङ फिगर’ बन्न दिइरहेको छैन ।

    रणनीति बदल्ने बेला

    यावत् अनुकुलताका बाबजुद ओलीका आगामी दिनहरु सहज भइसकेका छैनन् । उनको सामू सरकार जोगाउने सबैभन्दा ठूलो र तत्कालीक चुनौति छ । ओलीका अभिव्यक्तिहरुबाट उनी सरकारको आयू दुई वर्ष लम्ब्याउन इच्छुक छन् भन्ने स्पष्ट देखिन्छ । तर, यसका लागि स्पष्ट र सही रणनीति उनले अंगीकार गर्न सकेका छैनन् । फलतः सर्वोच्चको फैसलाले आफूलाई प्राप्त भएको लाइफलाइन सदुपयोग गर्न उनी चुकिरहेका छन् ।

    केही दिनअघि नेपाल प्रेससँगको अन्तरवार्तामा ओलीले भनेका थिए, ‘उहाँहरु वाम गठवन्धनको कुरा गरिरहनु भएको छ, यो वाम गठवन्धनकै सरकार त हो नि । यही सरकारलाई निरन्तरता दिए भइगो नि ।’

    निश्चय पनि ओलीलाई सत्ता लम्ब्याउने सजिलो र छोटा बाटो भनेको माओवादीसँगको यही वाम गठवन्धनलाई निरन्तरता दिनु हो । यही नै राजनीतिक स्थिरताको पक्षमा पनि हुन्छ । तर, ओलीले उल्टो माओवादीलाई समर्थन फिर्ता लिन उक्साउने खालको अभिव्यक्ति दिइरहेका छन् ।

    उनी भनिरहेका छन्, ‘खोइ माओवादीले मलाई दिएको समर्थन फिर्ता लिएको ? एक महिना भइसक्यो त । सक्ने भए लिइहाल्थे नि ।’

    अर्कोतर्फ ओलीमा सरकार ढलिहाल्ने त्राश पनि देखिन्छ । यो सरकार यदि ढल्यो भने आगामी चुनावमा फेरि दुई तिहाइ बहुमत ल्याएर प्रधानमन्त्री बन्ने धक्कु पनि लगाइरहेका छन् उनी । सरकार जोगाउनका लागि कुनै अवाञ्छित सम्झौता नगर्ने बताइरहेका छन् । तर, सँगसँगै जनता समाजवादी पार्टीलाई संविधान संसोधनदेखि रेशम चौधरीलाई रिहाइ गर्ने सम्वन्धमा सकारात्मक आश्वासन पनि दिइरहेका छन् । यस्तो विरोधाभाषबाट उनी चाँडै मुक्त हुन आवश्यक छ । किस्तीमा प्रधानमन्त्री पद बाँडेको भनेर माधव-प्रचण्डलाई उडाएका ओलीले अहिले आफैं मन्त्री पदको पसल थाप्नु अमिल्दो देखिएको छ ।

    खासमा एमाले ब्यूँतिएलगत्तै पार्टीभित्रका विरोधि समूहलाई विश्वासमा लिएर ओलीले माओवादीसँग संवाद थालिहाल्नुपर्थ्याे । माधव नेपाल र प्रचण्ड दुवै ‘पराजित’ मानसिकतामा रहेका बेला ओलीसँग सहजै सम्झौता गर्न सक्थे । संसद वैठकबाट निस्किँदा झलनाथ खनालले पत्रकारसँग स्पष्ट शब्दमा भनेका थिए, ‘अब हामी एमाले भयौं, र थप दुई वर्ष एमालेको सरकार जोगाउन लाग्छौं ।’

    ओलीले माधव-झलनाथ समूहलाई साथमा लिएर माओवादीसँग सहकार्यको हात बढाएको भए त्यो प्राकृतिक हुन्थ्यो । तर, उनले वैचारिक हिसाबले धेरै टाढा रहेको जनता समाजवादी पार्टीसँग सहकार्य गर्न चाहे । जसपालाई फुटाएर सरकारमा ल्याउने गलत योजनामा उनी लम्किएका छन् । त्यसका लागि पार्टी विभाजनसम्वन्धी अध्यादेश ल्याउन पनि उनी तयार देखिएका छन् । जुन अस्त्रले ओलीलाई विगतमा आलोचित बनायो फेरि त्यही अस्त्र झिके भने उनी आलोचनाको अर्को भूमरीमा फस्ने पक्का छ । कुनै अमूक पार्टी फुटाउनकै लागि देशको कानून नै बदल्ने कुरा नैतिक पनि हुँदैन ।

    मिलनबिन्दू के ?

    माधव-झलनाथ समूहलाई केवल ‘फेससेभिङ’ चाहिएको थियो, जुन ओलीले दिन चाहेका छैनन् । आफ्नो सत्ता दाउमा राखेर भए पनि उनीहरुलाई पाठ सिकाउने मुडमा देखिएका छन् ओली । आफूलाई साधारण सदस्यताबाट हटाएको भन्दै त्यसको गम्भिर प्रतिशोध लिने उनको चेस्टा प्रकट भएको छ । यो गलत प्रवृत्ति हो ।

    माधव-झलनाथहरु प्रचण्डलाई छोडेर लु्रुलुरु ओलीसँग आउनु नै उनीहरुका लागि ठूलो सजाय थियो । ‘पोइल गएकी’ श्रीमती पूर्वश्रीमान खोज्दै घर फर्केको भन्दा कम लाचारी होइन यो । तर, ओली भने थप सजाय दिन खोजिरहेका छन् । त्यसो त माधव नेपालसँग अब साथ हिँड्न नसक्ने निस्कर्षमा पुगिसकेको उनका अभिव्यक्ति तथा उनले चालेका कदमहरुबाट बुझ्न सकिन्छ ।

    ओलीले बुझ्नुपर्ने के हो भने अहिले जति दयनीय अवस्थामा भए पनि माधव नेपालसँग एमालेको एउटा हिस्सा छ । माधव नेपाललाई पन्छाउँदा त्यो हिस्सा ओलीले गुमाउने छन् । नेपालसँगै नेता र कार्यकर्ताको एउटा पङ्ति गुमाउनु भनेको एमाले कमजोर हुनु हो । ओली कमजोर पार्टीको अध्यक्ष हुनु हो । यसले उनलाई फाइदा गर्दैन । अहम्ता र प्रतिशोधको भावनाले ग्रस्त बनेका ओली पार्टीलाई एकजुट बनाउन चुकिरहेका छन् ।

    त्यसो त माधव नेपाल समूहका हर्कतहरु पनि ठीक छैनन् । एमालेमा फर्किने निर्णय सँगसँगै गुट भेला सुरु गरेर उनीहरुले ओलीलाई उत्तेजित तुल्याएकै हुन् । त्यसयता उनीहरुका गतिविधि फुटपरस्त नै छन् ।

    नेपाल प्रेसले ओलीलाई माधव नेपाललाई भित्तामा पुर्‍याउनै खोज्नुभएको हो ? भन्ने प्रश्न गर्दा उनले जवाफ दिएका छन्, ‘कहाँ मैले भित्तामा पुर्याउनु, उहाँहरु आफैं भित्तामा गएर उभिनुभएको हो ।’

    ओलीको यो जवाफमा केही हदसम्म सत्यता छ । एमालेमा भित्रिनु अगावै गुटगत गतिविधि गरेर उनीहरु भित्तामा उभिन पुगेका थिए । एउटै पार्टी भइसकेपछि पनि प्रधानमन्त्री ओलीप्रति उनीहरुको आक्रमकता विपक्षी पार्टीहरुको भन्दा बढी छ ।

    यसका बाबजुद पनि अहिले पार्टीमा एकता कायम गर्न पहलकदमी लिनुपर्ने ओलीले नै हो । देशलाई नै समेट्नुपर्ने भूमिकामा रहेका उनले आफ्नै पार्टीलाई समेट्न सकेनन् भने त्यो उनको असफलता ठहर्छ । त्यसैले उनले आफ्नो चित्त साँघुरो बनाउनु हुँदैन । एकताको पक्षधर पार्टीको ठूलो पंतिलाई निराश बनाउनु हुँदैन । अझै पनि समय घर्किसकेको छैन । दुवै पक्षले पार्टी एकताका निम्ति केही न केही लचकता देखाउनैपर्छ ।

    यो सरकारको पक्षमा यदि एमाले एकजुट भयो भने त्यसले अहिलेको गठवन्धन निरन्तरताका लागि वातावरण बन्न सक्छ । पाँच वर्षको म्यान्डेट पाएका सरकार बीच बाटोमा भत्किनु देश हितमा छैन । त्यसले अस्थिरताको नयाँ श्रृंखला आरम्भ हुन सक्छ । प्रदेशदेखि स्थानीयतहरु सम्म हल्लिन्छन् । कर्मचारीतन्त्रमा नयाँ उथलपुथल सुरु हुन्छ । र, आगामी दुई वर्ष यस्तै व्यवस्थापनमा बित्छ । त्यसैले सरकार जोगाउनका लागि पनि एमालेको एकता आवश्यक छ ।

    यही सरकारलाई निरन्तरता दिने शर्तमा ओलीले पार्टीको विपक्षी समूह र माओवादीसँग पहलकदमी अगाडि बढाउनुपर्छ । यसका लागि २८ गते वैठकबाट गरिएका निर्णयबाट ब्याक हुन पर्छ भने पनि उनले त्यसमा हिच्कचाउनु हुँदैन । त्यो वैठकले गरेका निर्णयकाे वैधानिकतामा प्रश्न उठाउने ठाउँ छन् नै । ओलीले २८ गतेका निर्णय निस्क्रिय बनाउने र नेपाल पक्षले यो बीचमा गरेका विभाजनजन्य क्रियाकलापका लागि आत्मालोचना गर्ने हो भने मिलनविन्दू भेटिन सक्छ । विपक्षी समूहको फेस सेभिङ गरिदिएर पार्टीमा एकता कायम गर्न सफल भए भने त्यसले ओलीको उचाई घट्दैन, बढ्छ ।

  • प्रधानमन्त्रीसँग भेट्न समय मागेको छु : सभामुख

    प्रधानमन्त्रीसँग भेट्न समय मागेको छु : सभामुख

    काठमाडौं । सभामुख अग्नि सापकोटाले संसदको कामकारबाहीलाई अगाडि बढाउने विषयमा प्रधानमन्त्रीसँग भेट्न आफूले समय मागेको बताएका छन् ।

    यसअघि कानुनमन्त्रीमार्फत भेटबारे कुराकानी भइरहे पनि आज बंगलादेश भ्रमणमा जानेक्रममा राष्ट्रपतिको बिदाइ गर्न गएको बेला एयरपोर्टमा पनि कुरा भएको र भेट्न समय मागेको सापकोटाको भनाइ छ ।

    ‘कानूनमन्त्रीमार्फत कुरा भइरहेको थियो, आज राष्ट्रपतिज्यूलाई बिदाइ गर्ने क्रममा एयरपोर्टमा पनि प्रधानमन्त्रीसँग कुराकानी भयो,’ संसदीय मामिला सम्बन्धी पत्रकारहरूसँग सिंहदरबारमा भएको भेटमा उनले भने, ‘समय मागेको छु, खबर आउला ।’

    सभामुख सापकोटाले संसदमा रहेका अध्यादेश अगाडि बढाउन संसद तयार रहेको र सरकारले ल्याएका कुरा अड्काउनुपर्छ भन्ने मानसकितामा आफू नरहेको बताए । ‘सरकारले ल्याएका कुरा अड्काउनु पर्छ भन्ने मलाई लागेको छैन, अड्काउने मनसाय पनि छैन,’ उनले भने, ‘निष्पक्ष र तटस्थताका साथ अगाडि बढ्छु।’

    प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक मञ्चबाटै संसद नियमित गर्नेतर्फ सभामुखको भूमिका सकारात्मक नभएको टिप्पणी गरिरहेका छन् । प्रतिनिधिसभा पुनःस्थापनायता प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता भएको छैन ।

  • एमालेका ४१ समानुपातिक सांसदमध्ये १२ जना उभिए माधवको पक्षमा

    एमालेका ४१ समानुपातिक सांसदमध्ये १२ जना उभिए माधवको पक्षमा

    काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिक सांसद तथा उम्मेदवारहरूको सूची हेरफेर गर्ने र आवश्यक पत्राचारको अधिकारसमेत अध्यक्ष केपी शर्मा ओलीलाई दिएपछि समानुपातिक सांसदहरूबीच खैलाबैला हुन थालेको छ ।

    नेकपा विभाजनमा प्रचण्ड-माधव पक्षमा लागेका र पुन.स्थापनापछि एमाले बनेका माधव नेपाल पक्षका सांसदहरू प्रतिनिधिसभामा ३८ जना थिए । यसबीचमा कृष्णभक्त पोखरेल, गोपाल बम र माया ज्ञवाली संस्थापन पक्षमा खुलेका छन् ।

    माधव नेपाल पक्षमा अहिले पनि प्रतिनिधिसभाका १२ जना समानुपातिक र २३ जना प्रत्यक्ष निर्वाचित सांसदहरू छन् । समानान्तर कमिटीहरू गठन गर्न भेला बोलाएको र पार्टी फुटाउन खोजेको भन्दै केन्द्रीय कमिटी बैठकले माधव नेपालसहित चारजना नेतासँग स्पष्टीकरण माग्ने निर्णय गरिसकेको छ ।

    स्पष्टीकरण मागिने चारैजना नेता माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे,भीम रावल र घनश्याम भुसाल प्रत्यक्ष निर्वाचित हुन् । रामकुमारी झाँक्रीलाई पनि स्पष्टीकरण सोध्ने प्रसंगमा अध्यक्ष ओलीले स्पष्टीकरणका लागि ‘वजन’ नपुगेको र समानुपातिकलाई पार्टीले हटाउन सक्ने जवाफ दिएको बताइन्छ ।

    यदि पार्टी विवाद बढ्दै गएर अलग हुने अवस्था वा संसदमा ह्वीप उल्लंघन हुने अवस्था आएमा ओलीले समानुपातिकतर्फका सांसदहरूलाई पार्टी निर्णय अनुसार हटाएर यसअघि निर्वाचन आयोगमा रहेको बन्दसूचीभित्रका अन्य उम्मेदवारलाई जिताउने अधिकार लिएका छन् ।

    एमालेबाट निर्वाचित ४१ जना समानुपातिक सांसदमध्ये क्लस्टर अनुसार पुरुषतर्फ जनजातिबाट विजय सुब्बा र खस आर्यबाट मुकुन्द न्यौपाने हुन् । सुब्बा संस्थापन पक्षका हुन् भने न्यौपाने माधव नेपाल पक्षमा छन् ।

    खसआर्यतर्फ बन्दसूचीमा मुकुन्द न्यौपानेपछि सोमनाथ प्यासीको नाम थियो । उनी प्रदेश प्रमुख भइसकेका छन् । तेस्रो नम्बरमा डा.पुष्प कडेलको नाम बन्दसूचीमा छ । उनी अहिले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुन् ।

    आदिवासी जनजाति महिलाबाट निर्वाचित १० जना समानुपातिक सांसदमध्ये माधव नेपालको पक्षमा रामकुमारी झाँक्री र बिनादेवी बुढोथोकी मगर छन् ।

    त्यस्तै खस आर्य महिलाबाट निर्वाचित ११ जनामध्ये माधव नेपालको पक्षमा कल्याणीकुमाारी खड्कामात्र छिन् । थारु क्लस्टरबाट जितेका तीनजनामध्ये दुई लक्ष्मीकुमारी चौधरी र गंगा चौधरी सतगौंवा माधव नेपाल पक्षमा छन् ।

    त्यस्तै दलित महिलाबाट जितेका समानुपातिकतर्फका ६ जनामध्ये माधव नेपाल पक्षमा निरादेवी जैरु र पार्वतीकुमारी विसुंखे उभिएका छन् ।

    मधेशी महिलाबाट निर्वाचित चार समानुपातिक सांसदमध्ये डा.पुष्पाकुमारी कर्ण र सरलाकुमारी यादव माधव नेपाल पक्षमा उभिएका छन् ।

    एमालेबाट निर्वाचित दुवै मुस्लिम महिला कलिला खान र समिना हुसेन माधव नेपाल पक्षमा छन् ।

    माधव नेपाल पक्षका समानुपातिक सांसद

    १. रामकुमारी झाँक्री, गुल्मी

    २. बिनादेवी बुढाथोकी मगर, कञ्चनपुर

    ३. मुकुन्द न्यौपाने, काठमाडौं

    ४. कल्याणीकुमारी खड्का, रौतहट

    ५. लक्ष्मीकुमारी चौधरी, कैलाली

    ६. गंगा चौधरी सत्गौवा, दाङ

    ७. निरादेवी जैरु, डडेलधुरा

    ८. पार्वतीकुमारी विसुङ्खे, दैलेख

    ९. पुष्पाकुमारी कर्ण यादव, पर्सा

    १०. सरलाकुमारी यादव, रौतहट

    ११. कालिला खान, तनहुँ

    १२. समिना हुसेन, रौतहट

    २०७४ सालमा एमालेका निर्वाचित ८० जना प्रत्यक्ष निर्वाचित सांसदमध्ये माधव नेपालको पक्षमा प्रतिनिधिसभा विघटनपछिसम्म पनि २७ जना थिए । यसबीचमा शेरवहादुर तामाङ, कृष्णभक्त पोखरेल, लालबाबु पण्डित र गोपाल बम संस्थापन पक्षमा लागेका छन् ।

    माधव नेपाल पक्षका सांसद

    प्रत्यक्ष निर्वाचित

    १. योगेश भट्टराई, ताप्लेजुङ

    १. झलनाथ खनाल, इलाम १

    ३. पवित्रा निरौला खरेल, झापा २

    ४. जयकुमार राई,सुनसरी १

    ५. भवानी खापुङ,तेह्रथुम

    ६. यज्ञराज सुनुवार, ओखलढुंगा

    ७. गणेश पहाडी, सिन्धुली १

    ८. माधवकुमार नेपाल,काठमाडौं २

    ९. जीवनराम श्रेष्ठ,काठमाडौं ८

    १०.नारायण खतिवडा, नुवाकोट १

    ११. विरोध खतिवडा,मकवानपुर २

    १२. सुरेन्द्र पाण्डे,चितवन १

    १३. घनश्याम भुसाल,रुपन्देही ३

    १४. गोकर्ण विष्ट,गुल्मी २

    १५. मेटमणी चौधरी,दाङ १

    १६. हिराचन्द्र केसी, दाङ ३

    १७. ध्रुव शाही,सुर्खेत १

    १८. राजवहादुर बुढा,दैलेख २

    १९. झपट रावल, कैलाली २

    २० . भीम रावल, अछाम १

    २१ . कृष्णलाल महर्जन, ललितपुर २

    २२ . सोमप्रसाद पाण्डे, पाल्पा २

    २३ . दिपकप्रकाश भट्ट,कञ्चनपुर ३

  • प्रधानमन्त्रीद्वारा २१० स्थानीय तहको केन्द्र जोड्ने सडक शुभारम्भ, यसै वर्ष ५ अर्ब बजेट

    प्रधानमन्त्रीद्वारा २१० स्थानीय तहको केन्द्र जोड्ने सडक शुभारम्भ, यसै वर्ष ५ अर्ब बजेट

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहका केन्द्रसँग जोड्ने २१० वटा सडकको शुभारम्भ गरेका छन् ।

    प्रधानमन्त्री ओलीले आइतबार भर्चुअल कार्यक्रममार्फत एकैपटक देशैभरका २१० वटा स्थानीय तहका केन्द्र जोड्ने पक्की सडक निर्माणको शुभारम्भ गरेका हुन् ।

    सरकारले २१० स्थानीय तहसँग केन्द्र जोड्ने सडक निर्माणका लागि चालु आर्थिक वर्षका लागि ५ अर्ब रूपैयाँ बजेट छुट्याइएको छ ।

    त्यस अवसरमा प्रधानमन्त्री ओलीले भने, ‘संघ, प्रदेश वा स्थानीय तह अब पक्की र सुरक्षित सडक निर्माण कार्य शुरू भएको छ । अब बन्ने सडक दुर्घटना नहुने गरी निर्माण सुरक्षित सडकको रूपमा बनाउन आवश्यक छ ।’

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहसँग केन्द्र जोड्ने सडक निर्माण र मर्मतको प्रस्ताव पेश गर्न भनेको थियो । त्यसमध्ये ३९२ वटा स्थानीय तहले सडक निर्माण र मर्मतको प्रस्ताव पेश गरेका थिए । कतिपयले दोहोरिने गरी कार्यक्रम पेश भएकाले २१० सडक छनोट भएको मन्त्रालयले जनाएको छ ।

    आयोजना कार्यान्वयनका लागि मन्त्रिपरिषद्‍बाट स्वीकृत गरिएको कार्यविधिअनुसार १० किलोमिटरसम्मको सडक निर्माणका लागि संघीय सरकारले ६५ प्रतिशत, प्रदेश सरकारले १० प्रतिशत र स्थानीय तहले २५ प्रतिशत योगदान गर्नेछन् । १० किलोमिटरदेखि २० किलोमिटरसम्म लम्बाई भएका सडक निर्माणमा संघले ७० प्रतिशत, प्रदेशले १० प्रतिशत र स्थानीय तहले २० प्रतिशत योगदान गर्नेछन् ।

    २० किलोमिटरभन्दा लामो सडक बनाउन संघीय सरकारले ७५ प्रतिशत, प्रदेश सरकारले १० प्रतिशत र स्थानीय तहले १५ प्रतिशत रकम साझेदारी गर्नेछन् ।

    पछिल्लो समय सरकारले ठूला आयोजना र परियोजनाहरूको शिलान्यास र उद्घाटन गरिरहेको छ ।

  • लैंगिक समानता र महिला विकासमा उल्लेख्य प्रगति भएको छ– प्रधानमन्त्री

    लैंगिक समानता र महिला विकासमा उल्लेख्य प्रगति भएको छ– प्रधानमन्त्री

    काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यले ल्याएका नीतिहरुको कार्यान्वयनसँगै लैंगिक समानता र महिला विकासमा उल्लेख्य प्रगति भएको बताएका छन् ।

    १११औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले राज्यको तर्फबाट नीतिगत, कानूनी, संरचनात्मक र प्रक्रियागत सुधारको फलस्वरुप राजनीतिक र प्रशासन क्षेत्रमा महिलाको सहभागितामा उल्लेखनीय वृद्धि भएको बताए ।

    ‘शिक्षा, स्वास्थ्य, रोजगारीका सूचकहरुमा सकारात्मक सुधार भएको छ । लैंगिक विकास सूचकांकमा भएको सुधारबाट पनि सरकारको प्रयासले राम्रो प्रतिफल दिएको छ भनेर बुझ्न सकिन्छ’ प्रधानमन्त्रीले वक्तव्यमा भनेका छन्, ‘यद्यपि समाजको न्यूज चेतनाका कारण महिला उत्पीडन, महिला हिंसा र दुर्व्यवहारका अवशेषहरु बाँकी छन् । यसलाई निरुत्साहित गर्न सबैको सहकार्यमा जनचेतनाको आवश्यकता रहन्छ ।’

    नेपालको संविधानमा महिलाको हकलाई मौलिक हकको रुपमा व्याख्या गरिएको तथा महिला तथा किशोरीमाथि हुने बलात्कार र अन्य हिंसा नियन्त्रणका लागि कानूनी व्यवस्थालाई थप कडा बनाइएको प्रधानमन्त्रीको दाबी छ । ‘लैंगिक रुपमा हुने हिंसाको अन्त्य र सामाजिक न्याय तथा सम्मानपूर्ण जीवनयापनकाे अधिकार सुनिश्चित गरी हामी देशलाई समृद्ध र जनतालाई सुखी बनाउने अभियानमा छौं,’ प्रधानमन्त्रीको वक्तव्यमा भनिएको छ ।

  • संसद भवन पुगे प्रधानमन्त्री

    संसद भवन पुगे प्रधानमन्त्री

    काठमाडौं । प्रतिनिधिसभाको बैठक केहीबेरमा बानेश्वरस्थित संसद भवमा शुरू हुँदैछ ।

    प्रधानमन्त्री केपी शर्मा ओली भर्खरै संसद भवन प्रवेश गरेका छन् । ४ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिको पत्र पढेर सुनाउने तथा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ ।

  • दोस्रो चरणको खोप आजदेखि, प्रधानमन्त्री पुगे शिक्षण अस्पताल

    दोस्रो चरणको खोप आजदेखि, प्रधानमन्त्री पुगे शिक्षण अस्पताल

    कोरोना भाइरस (कोभिड–१९) विरुद्धको दोस्रो चरणको खोप अभियान आजदेखि शुभारम्भ हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओली खाेप अभियान सुरु गर्न शिक्षण अस्पताल पुगेका छन् ।

    प्रधानमन्त्रीले खाेप लगाएसँगै आजदेखि दाेस्राे चरणकाे खाेप अभियान सुरु हुनेछ । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमका अनुसार प्रधानमन्त्री ओलीले भारतबाट ल्याइएको कोभिशिल्ड खाेप लगाउन लागेका छन् ।

    दोस्रो चरणको अभियानअन्तर्गत आजदेखि देशभर ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने छ ।

    यस्तै हिमाली भेगका १५ जिल्लामा भने ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिनेछ । दोस्रो चरणमा करिब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने उनले जनाए ।

    खोप अभियान ६ हजार खोप केन्द्रबाट सञ्चालन हुनेछ । यसअघि गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन गरिएको थियो । पहिलो चरणमा ४ लाख २९ हजारलाई खोप प्रदान गरिएको थियो ।

  • प्रचण्डले भने- ओलीले अविश्वास प्रस्ताव ल्याउन बाध्य पारे, अब त्यही बाटो हिंड्छौं (भिडियो)

    प्रचण्डले भने- ओलीले अविश्वास प्रस्ताव ल्याउन बाध्य पारे, अब त्यही बाटो हिंड्छौं (भिडियो)

    काठमाडौं । विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कांग्रेसलगायतका दलहरूसँग मिलेर अविश्वास प्रस्ताव ल्याउने बताएका छन् ।

    आफूपक्षीय सांसदहरूको बैठकबाट दलको नेता चयन भएपछि पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले ओलीपक्ष बाहेकका अन्य दलहरूसँग मिलेर नयाँ सरकार गठनको प्रक्रिया एक/दुई दिनभित्रै शुरू हुने बताए ।

    प्रचण्डले भने, ‘केपी ओलीले अविलम्ब राजीनामा दिनु उहाँको लागि पनि र देशको लागि पनि सहज हुन्छ । दिनु भएन भने संविधान अनुसार हामी संसदबाटै समाधान खोज्छौं । उहाँले त्यही बाटो (अविश्वास प्रस्ताव) जान बाध्य पार्नुभयो, अब हामी जान्छौं ।’

    प्रचण्डले आफूलाई करिब ११५ जना सांसदको समर्थन रहेको बताए । उनले ओली पक्षमा लागेका सांसदहरूलाई पनि आफूतिर आउन आग्रह गरेका छन् ।