Tag: पाल्पा

  • पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

    पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

    पाल्पा । पाल्पाको रामपुर नगरपालिका –३ ओईरीघाटस्थित भित्री कच्ची सडक खण्डमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

    रामपुरको लाम्टाङ भन्ने ठाउँबाट ओरीघाटतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०९–००४ प ८०३९ नम्बरको स्कुटर दुर्घटना हुँदा स्कुटरका चालक सोही ठाउँका ७५ वर्षीय पदमबहादुर ठाडा मगरको मृत्यु भएको हो ।

    स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक ठाडा घाइते हुनु भएको थियो । घाइते ठाडालाई स्थानीयले उद्धार गरी उपचारको लागि रामपुर अस्पताल पठाए पनि उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

    घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।

    आज नयाँ वर्षको नाममा मादक पदार्थ सेवन र लागूपदार्थ सेवनको कारण दुर्घटना हुन सक्ने भएकोले ठाउँ ठाउँमा सवारी चेक जाँच र प्रहरी गस्ती बढाएको पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बताए ।

  • पाल्पामा पाण्डेको ओझेलबाट उम्केपछि देखियो गैरेको ‘पावर’

    पाल्पामा पाण्डेको ओझेलबाट उम्केपछि देखियो गैरेको ‘पावर’

    रुपन्देही । पाल्पाका दशै स्थानीय तहमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेविरुद्ध पाँचदलीय बन्यो । एमालेलाई हराउन वडा तहसम्मै पाँच दलबीच गठबन्धन भएको थियो । तर, अघिल्लोपटक भन्दा यसपालि पाल्पामा एमालेले झन् धेरै मत ल्याएको छ र अघिल्लोपटक जितेका ६ वटै स्थानीय तह जोगाउन सफल भएको छ । कठिन परिस्थितिबीच पनि पाल्पामा एमालेले पाएको यो सफलताको जस पाएका छन्, युवा नेता ठाकुर गैरेले ।

    ठाकुर गैरेको क्षमता अनेरास्ववियुको नेतृत्वम रहँदादेखि नै एमालेवृत्तमा बहस हुने गर्दथ्यो । अनेरास्ववियुको नेतृत्वपछि पार्टीको जिम्मेवारीमा लागेका गैरे सुरुवातदेखि नै सोमप्रसाद पाण्डेको समूहमा थिए ।

    विद्यार्थी संगठनमा गैरेले देखाएको क्षमता पार्टीको नेतृत्व तथा संसदीय फाँटमा नजाँदासम्म परीक्षण नै हुन पाएको छैन । यसको मूल कारण हो, उनले सधै ‘टेको समाएका’ सोमप्रसाद पाण्डेको पछाडि लाग्नु ।

    पार्टीको आठौं महाधिवेशनबाट एमालेको केन्द्रीय कमिटीमा निरन्तर रहेका उनले अहिलेसम्म कुनै संसदीय फाँटमा जिम्मेवारी पाएका छैनन् । यति लामो समय एमालेभित्र माधव नेपाल समूहमा रहेका पाण्डेको पक्षमा रहँदा सधैं गैरे अवसरबाट बन्चित भएको कतिपय एमाले कार्यकर्ताको विश्लेषण छ । पार्टीको जिम्मेवारी र संसदीय फाँटमा अग्रज भएका कारण पाण्डेलाई छोड्नुपर्ने बाध्यता हटेसँगै गैरले आफूलाई झन् सशक्तरुपमा प्रस्तुत गरिरहेका छन् ।

    नेकपा एसमा लागेका सोमप्रसाद पाण्डेसँगै नगएर ठाकुर एमालेमै रहका छन् । पाण्डेको आझेलबाट मुक्त भएपछि गैरे चम्किएका छन् । नेता पाण्डे नेकपा एसका अध्यक्ष माधवकुमार नेपालका सम्धी भएका कारण पहिला एमालेमै हुँदा पनि अवसरहरुबाट गैरे बञ्चित हुनपथ्र्यो । त्यतिबेला गैरेका समर्थकहरु भनेका थिए– सोमप्रसादको तप्केनीबाट मुक्त भएका गैरेले अब आफ्नो क्षमता देखाउन पाउनेछन् । आफ्ना समर्थकहरुले गरेको विश्लेषण अहिले ठाकुरले सत्य सावित गरेका छन् ।

    गैरे अहिले पार्टीको पोलिब्युरो सदस्य तथा पाल्पाको जिल्ला इन्चार्जको जिम्मेवारीमा छन् । केन्द्र, प्रदेश तथा जिल्लाको नेतृत्वमा समन्वय गरेर अगाडि बढेका उनी जिल्लाभर पाँच दलले गरेको बलियो गठबन्धन भत्काएर एमालेलाई पहिलो शक्ति बनाउन सफल भएका छन् । तर गैरेले यो जस आफ्नो मात्रै नहुने बताउँछन् ।

    ‘पाल्पामा पोलिटब्युरो सदस्य तथा प्रदेश सहइन्चार्ज दलबहादुर राना, प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, जिल्ला इन्चार्ज धनेन्द्रराज घिमिरेसहितको सिंगो टीमले काम गरेको हो, मैले इन्चार्जको हैसियतमा समन्वय गरेको हुँ, टिमवर्कका कारण यो नतिजा आएको हो’, गैरेले भने ।

    अघिल्लो स्थानीय तहको निर्वाचनमा पाल्पामा एमालेले ६ पालिकामा जितेको थियो । अहिलेको कठिन परिस्थितिमा पनि त्यो संख्या घटेन, एमालेबाहेकका सबै शक्ति वडा तहसम्म लिखित घोषणा गरेर गठबन्धन गरेको अवस्था थियो तर कठिन मेहनतले नतिजा हाम्रो पक्षमा आयो, केही पालिकामा अझै हामीले पाउने संभावना थियो, झिनो मतान्तरले नेतृत्व गुमाएका छौं’, उनले भने ।

    गैरेका अनुसार पाल्पामा एमालेको बलियो संगठनात्मक जनाधार, गठबन्धनविरोधी स्थानीयको मत र यसअघि एमाले नेतृत्वमा रहेका स्थानीय सरकारले गरेका सकारात्मक काम नै अहिले जितका मुख्य आधार हुन् ।

    कहाँ कहाँ कसले जित्यो ?

    सत्तासाझेदार दलहरुले गठबन्धन गरेर जिल्लाका १० मध्ये नेपाली कांग्रेसले ६, नेकपा माओवादी केन्द्रले २ र नेकपा एकीकृत समाजवादीले २ स्थानीय तहमा प्रमुख पदको भागबण्डा गरेका थिए ।

    रामपुर र तानसेन नगरपालिका, रैनादेवी छहरा, बगनासकाली, माथागढी र निस्दी गाउँपालिकाको प्रमुखमा कांग्रेस, तिनाउ र रिब्दीकोट गाउँपालिकामा माओवादी केन्द्र र पूर्वखोला र रम्भा गाउँपालिकामा एकीकृत समाजवादीबाट प्रमुख पदको उम्मेदवार थिए । तर बगनासकाली, माथागढी, निस्दी, तिनाउमा एमालेले जितेको छ ।

    पूर्वखोला र निस्दी गाउँपालिकामा त एमालेले सत्ता गठबन्धनलाई क्लिनस्वीप नै गरेको छ । पाल्पामा एमालेका तत्कालीन नेता एवं पूर्वमन्त्री सोमप्रसाद पाण्डे एकीकृत समाजवादीमा गएको र सत्तागठबन्धनले साझा उम्मेदवार उठाएकाले गठबन्धनका उम्मेदारले एमाले हराउनसक्ने आंकलन गरिएको थियो । दलहरुले एमालेलाई रोक्न २०७४ को नतिजा र वर्तमान संगठनात्मक अवस्था हेरेरै भागबण्डा गरेका थिए ।

    गठबन्धनबाट एकीकृत समाजवादीले मीनप्रसाद गिरीलाई अध्यक्ष उठाएको पूर्वखोला गाउँपालिकामा एमालेले क्लिनस्वीप गरेको छ ।

    गठबन्धनका गिरीले एक हजार २५७ मत पाउँदा झण्डै पाँच गुणा बढी मतसहित एमालेका नुनबहादुर थापाले जिते । अध्यक्ष दोहोरिएका थापाले गठबन्धनका उम्मेदवारविरुद्ध ६ हजार ३९ मत ल्याए । उपाध्यक्षमा पनि एमालेका भागिरथी शर्माले फराकिलो अन्तरले जितिन् ।

    शर्माले पाँच हजार ८९४ मत ल्याएर जित्दा कांग्रेसका विष्णुकुमारी आचार्यले दुई हजार २५० मत मात्रै ल्याइन् । थापा र शर्माले ०७४ मा जित्दा ल्याएको भन्दा धेरै मत ल्याए । मतान्तर बढ्दा पूर्वखोला गाउँपालिकाका ६ वटै वडामा एमालेका उम्मेदवार मात्रै विजयी भए ।

    पूर्वखोलापछि निस्दी गाउँपालिकामा पनि एमालेले गठबन्धनलाई क्लिनस्वीप गरेको छ । यो पालिकामा भने गठबन्धनबाट कांग्रेसका गोविन्दप्रसाद अर्याल उम्मेदवार थिए । तर अर्यालले तीन हजार ४६६ मत पाउँदा एमालेका मुक्तबहादुर सारुले ६ हजार ६५२ मत ल्याएर अध्यक्ष जिते ।

    २०७४ मा पनि एमालेबाट मुक्तबहादुर नैैै उम्मेदवार थिए । त्यसबेला कांग्रेसका शालिकराम पाण्डेले दुई हजार ९२३ मत पाउँदा उनले पाँच हजार ३२० मत ल्याएर जितेका थिए । यसपटक गठबन्धन हुँदा पनि कांग्रेसले एमालेलाई रोक्न सकेन ।

    उपाध्यक्षमा त माओवादी केन्द्रका रामप्रसाद खत्रीभन्दा एमालेकी तीरनकुमारी श्रेष्ठले झण्डै आठ गुणा बढी मत ल्याएर जितिन् । गठबन्धनका उम्मेदवार खत्रीले ८३० मत पाउँदा एमालेकी श्रेष्ठले ६ हजार ६३८ मत ल्याइन् । यो पालिकामा पनि गठबन्धनका कोही उम्मेदवारले जित्न सकेन ।

    त्यसैगरी अन्य पालिकामा पनि एमालेले यसपटक मत बढाएको छ । २०७४ मा कांग्रेसले जितेको माथागढी गाउँपालिकामा यसपटक एमालेका यमबहादुर चिदीले जितेका छन् । गठबन्धनले २०७४ मा अध्यक्ष जितेका सन्तोषकुमार थापालाई नै उम्मेदवार बनाएको थियो । तर कांग्रेसका थापाले पाँच हजार ५५४ मत ल्याउँदा एमालेका चिदीले ६ हजार १०९ मत ल्याएर नतिजा आफ्नो पक्षमा पारे ।

    २०७४ मा कांग्रेस एक्लै चुनावी प्रतिस्पर्धामा उत्रँदा थापाले एमालेका विमलप्रसाद काफ्लेभन्दा दुई हजारभन्दा बढी मत ल्याएर अध्यक्ष जितेका थिए । त्यसबेला थापाले ६,७९९ मतसहित अध्यक्ष जित्दा एमालेका काफ्लेले तीन हजार ८०६ मत ल्याएका थिए । यसपटक भने गठबन्धन हुँदा पनि एमालेले यो पालिका जित्यो ।

    तिनाउ गाउँपालिकामा गठबन्धनबाट माओवादी केन्द्रका नेता राजेश श्रेष्ठलाई हराउँदै पनि एमालेले जितेको छ । माओवादी केन्द्रका राजेशले चार हजार ४६६ मत पाउँदा एमालेका प्रेम श्रेष्ठले पाँच हजार ९० मत ल्याएर जितेका हुन् । यसअघि पनि यहाँ एमालेले जितेको थियो ।

    २०७४ मा कांग्रेसले जितेको रामपुर नगरपालिकामा निवर्तमान मेयर रमणबहादुर थापा विजय भएका छन् । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट उनी उम्मेदार बनेका थिए ।

    २०७४ मा कांग्रेसले जितेको अर्को गाउँपालिका बगनासकालीमा पनि एमालेकै सरस्वती दर्लामीले जितेकी छन् । यसअघि एमालेले नै जितेको रम्भा गाउँपालिकामा पनि एमालेले जितेको छ । रम्भा गाउँपालिका प्रमुखमा एमालेका उम्मेदवार विष्णुप्रसाद भण्डारी ५,५८६ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेकपा एसका उम्मेदवार दुर्गाप्रसाद अधिकारीलाई १,०४४ मतान्तरले पराजित गरेका हुन् । पराजित दुर्गाप्रसाद अधिकारीले ४,५४२ मत ल्याएका छन् ।

    यस्तै उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार राधाकुमारी श्रेष्ठ ५,७१९ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विष्णुकुमार थापाले ५,०५८ मत ल्याएका छन् । तर यसअघि एमालेले जितेको तानसेन नगरपालिका एमालेले गुमाएको छ । रैनादेवी छहरा गाउँपालिकामा कांग्रेससँग र रिब्दीकोट गाउँपालिका माओवादी केन्द्रसँग एमाले पराजित भएको छ । ०७४ मा रैनादेवीमा कांग्रेस र रिब्दीकोटमा एमालेले जितेको थियो ।

    योसँगै पाल्पामा एमालेको एकल जिल्ला समन्वय समिति बन्ने भएको छ । १० पालिकाका २० पदमा ११ र ८१ वडामध्ये ४३ वटामा एमालेले जितेको छ ।

  • पाल्पाका १८ वडाको नतिजा आयो, एमाले ११ र कांग्रेस ६ वडाध्यक्ष जित्यो

    पाल्पाका १८ वडाको नतिजा आयो, एमाले ११ र कांग्रेस ६ वडाध्यक्ष जित्यो

    रुपन्देही । पाल्पामा मतगण्ना सम्पन्न १८ वडामध्ये नेकपा एमालेले ११ वडामा विजय हासिल गरेको छ भने नेपाली काग्रेसले ६ वडा, नेकपा माओवादी केन्द्रले १ वडामा विजय हासिल गरेको छ । १ वडाको परिणाम स्थगित भएको छ।

    नेकपा एमालेबाट निस्दी गाउँपालिको वडा नंं १ वाकामलाङमा यमबहादुर राना विजयी भए। उनले नेपाली काग्रेसका पुर्ण बहादुर खाँणलाई २८ मतले पराजित गरे।

    वडा नंं २ सहलकोटमा एमालेकै फत्ते सिं दर्लामी विजयी भए। उनले नेपाली काग्रेसका यम बहादुर मश्राङ्गीलाई ३१७ मत अन्तरले पराजित गरे। रामपुर नगरपालिका वडा नंं १० मा नेकपा एमालेका तोयनाथ सारु विजयी भए। सारुले नेपाली काग्रेसका थमन बहादुर सारु लाई पराजित गरे।

    पुर्वखोला गाउँपालिका वडा नंं १ मा नेकपा एमाले बाट गिरमान आले विजयी भए। आलेले नेपाली काग्रेसका चुन बहादुर थापा लाई १००२ मतले पराजित गरे। वडा नंं २ जल्पामा नेकपा एमलेकै निर बहादुर सारु विजयी भए। सारुले नेपाली काग्रेसका गोपाल राना लाई ३२३ मतले पराजित गरे।

    वडा नं। ३ रिङनेरहमा नेकपा एमालेका कृष्ण प्रसाद भट्टराई विजयी भए। भट्टराईले नेपाली काग्रेसका उमान सिं सुनारी लाई ८१७ मतले पराजित गरे।

    माथागढी गाउँपालिका वडा नं। १ चिदीपानीमा नेकपा एमालेका राजकुमार पंन्थी विजयी भए। पन्थीले नेपाली काग्रेसका महेन्द्र बहादुर जि।सी। लाई २२१ मतले पराजित गरे।

    रिव्दीकोट गाउँपालिका वडा नंं १ ख्याहामा नेकपा एमालेका चिरञ्जिवी पोखरेल विजयी भए। पोखरेलले नेपाली काग्रेसका रामचन्द्र पाण्डेलाई ६ मतले पराजित गरे।

    तिनाउँ गाउँपालिका वडा नंं १ कचलमा नेकपा एमालेका भुवन सिं चिदी विजयी भए। चिदीले नेपाली काग्रेसका हस्त बहादुर रास्कोटीलाई १६२ मतले पराजित गरे।

    वडा नंं २ दोभानमा नेकपा एमालेका यादव प्रसाद अर्याल विजयी भए। अर्यालले नेकपा माओवादी केन्द्रका दिनेश घर्ति क्षेत्री लाई ९४ मतले पराजित गरे।

    रैनादेवी छहरा गाउँपालिका वडा नंं ८ सत्यवतीमा नेकपा एमालेका रेम बहादुर राना विजयी भए। रानाले नेपाली काग्रेसका थमान बहादुर रानालाई पराजित गरे।

    यसैगरी नेपाली काग्रेसले ६ वडामा विजय हासिल गरेको छ। तानसेन नगरपालिकाको वडा नंं १ मिशन गोर्खेकोटमा सुनिल कुमार बस्याल विजयी भएका छन।

    बस्यालले नेकपा एमालेका खडानन्द न्यौपाने लाई ३२४ मतले पराजित गरे। वडा नं। २ मेहलधारा, बडीज्ञानटोलमा नेपाली काग्रेसका महेश्वरलाल श्रेष्ठ विजयी भए। श्रेष्ठले नेकपा एमालेका मदनलाल बज्राचार्य लाई ४१२ मतले पराजित गरे।

    रामपुर नगरपालिका वडा नंं १ गाँडाकोटमा कपिल बहादुर खाँण विजयी भए। कपिलले नेकपा एमालेका मिन बहादुर खाँण लाई १९६ मतले पराजित गरे।

    माथागढी गाउँपालिका वडा नंं ८ बहादुरपुरमा नेपाली काग्रेसका दिल बहादुर ढेंगा विजयी भए। ढेगांले नेकपा एमालेका नारायण सिं ठाडा लाई १०४ मतले पराजित गरे। वडा नंं ७ रहवासमा नेपाली काग्रेसका जंग बहादुर दर्लामी विजयी भए। दर्लामीले नेकपा एमालेका नेत्र बहादुर थापा लाई १०५ मतले पराजित गरे।

    बगनासकाली गाउँपालिका वडा नंं ९ चापपानीमा नेपाली काग्रेसका थानेश्वर तिमिल्सिना विजयी भए। तिमिल्सीनाले नेकपा एमालेका रण प्रताप खाण लाई ३९६ मतले पराजित गरे।

    नेकपा माओवादी केन्द्रले १ वडामा विजय हासिल गरेको छ। रैनादेवी छहरा गाउँपालिका वडा नंं १ सिद्धेश्वरमा नेकपा माओवादी केन्द्रका सोम बहादुर दर्लामी विजयी भए। दर्लामीले नेकपा एमालेका रोशन बुढा लाई ३५ मतले पराजित गरे।

    यसैगरी रम्भा गाउँपालिका वडा नंं ५ ताहुँमा नेकपा एमाले विजय भएको घोषणा गरिएपनि खसेको मत भन्दा परिणामको मत बढी भएपछि मतगणना स्थगित भएको छ।

    पाल्पाको अहिले सम्मको परिणाममा जनताले पाटी, उम्मेदवार परिवर्तन गरेका छन। नेकपा एमालेले २०७४ सालको स्थानीयतह निर्वाचनमा गुमाएका ४ वडामा जित हासिल गरेको छ भने नेपाली काग्रेसले २०७४ सालको स्थानीयतह निर्वाचनमा गुमाएका २ वडामा जित हासिल गरेको छ।

    नेकपा माओवादी केन्द्रले २०७४ सालको स्थानीयतह निर्वाचनमा जितेको १ वडा गुमाएको छ। अन्य १२ वटा वडामा २०७४ सालकै परिणाम कायम रहेको छ।

  • रामपुरका मेयरसहित नगरपालिकाविरुद्ध अवहेलना मुद्दा, पुस १९ गतेलाई पेसी तोकियो

    रामपुरका मेयरसहित नगरपालिकाविरुद्ध अवहेलना मुद्दा, पुस १९ गतेलाई पेसी तोकियो

    काठमाडौं । पाल्पाको रामपुर नगरपालिकाका मेयर रमणबहादुर थापासहित नगरपालिकाका पदाधिकारीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ ।

    अधिवक्ता राजाराम घिमिरे र तुलसीराम पोखरेलले दर्ता गरेको रिटमाथि पुस १९ गते सुनुवाइको पेसी तोकिएको छ । अवहेलना मुद्दामा मेयर थापा,उपमेयर विष्णुदेवी आचार्यसहितलाई विपक्षी बनाइएको छ ।

    सर्वोच्च अदालतले गत असार २९ गते रामपुर नगरपालिकालाई कालिगण्डकी नदीबाट गिटी बालुवा लगायत नदीजन्य पदार्थ निकाल्ने कार्य नगर्न,नगराउन अन्तरिम आदेश दिएको थियो ।

    अदालतको आदेशविपरीत मेयर थापाले मंसिर २२ गते नगरपालिकाको १२६ औं बैठक राखी नदीजन्य पदार्थका कारण कालीगण्डकीको वहाव परिवर्तन हुन गइ खेतीयोग्य जमिनलगायत भूगोलको संरचना बिग्रन गएको भन्दै जनप्रतिनिधिको प्रत्यक्ष निगरानीमा पुस १० देखि १९ गतेसम्म नदीजन्य सामग्री निकाल्न अनुमति दिने निर्णय गराएका थिए ।

    यसले सर्वोच्च अदालतको अन्तरिम आदेशको अवज्ञा गरेको तथा अदालतमा विचाराधीन रहेको विषयमा न्याय सम्पादनको कार्यमा अवरोध भएको भन्दै अवहेलनामा कारबाही गर्न माग गर्दै मुद्दा परेको छ ।

  • पाल्पाका दशै पालिकामा माओवादीकाे नयाँ नेतृत्व (सूचीसहित)

    पाल्पाका दशै पालिकामा माओवादीकाे नयाँ नेतृत्व (सूचीसहित)

    रुपन्देही । नेकपा माओवादी केन्द्र पाल्पाले जिल्लाका दश पालिकामा अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको जनाएको छ । शनिबार सम्पन्न अधिवेशनले सबै पालिलकामा नयाँ नेतृत्व चयन गरेको हो ।

    यी हुन् पाल्पाका १० पालिकाका माओवादी अध्यक्ष र पदाधिकारीहरू

    तानसेन नगरपालिका

    अध्यक्ष- प्रतीक्षा गाहा सिंजाली
    उपाध्यक्ष- शान्ता सारु, मञ्जु वि.क, अमर राना
    सचिव- नवराज बस्याल
    सहसचिव- गोकुल पौडेल

    रामपुर नगरपालिका

    अध्यक्ष- यमबहादुर सुनार
    उपाध्यक्ष- वीरबहादुर कुमाल, पदम अधिकारी, लक्ष्मी ढकाल
    सचिव- पिताम्बर भट्टराई
    सहसचिव- जयलाल वि.क.
    कोषाध्यक्ष- श्याम भट्टराई

    तिनाउ गाउँपालिका

    अध्यक्ष- राजेश श्रेष्ठ
    उपाध्यक्ष- दिनेश जि.सी, पम्फा थापा, रेवन्त छहरी
    सचिव- गणेश रास्कोटी
    सहसचिव- छवि गहतराज
    कोषाध्यक्ष- विक्रम राना

    बगनाशकाली गाउँपालिका

    अध्यक्ष- कृष्णप्रसाद भुसाल
    उपाध्यक्ष- कौशल न्यौपाने, जितेन्द्र गाहा
    सचिव- दीपेन्द्र ढकाल
    कोषाध्यक्ष- लोककुमारी बस्याल

    रिब्दीकोट गाउँपालिका

    अध्यक्ष- नारायणबहादुर कार्की
    उपाध्यक्ष- मिरा राना, हरि कुँवर, विजय श्रेष्ठ
    सचिव- नारायण लामटाङ्गे
    सहसचिव- नवराज ज्ञवाली
    कोषाध्यक्ष- विधान कार्की

    पूर्वखोला गाउँपालिका

    अध्यक्ष- लिला सोमै
    उपाध्यक्ष- तेजेन्द्र सिंजाली, कृष्ण खनाल, चन्द्र बर्मेली
    सचिव- अमृत कामु
    सहसचिव- हरि बाह्रघरे
    कोषाध्यक्ष- धातानन्द भट्टराई

    निस्दी गाउँपालिका

    अध्यक्ष- रामप्रसाद खत्री
    उपाध्यक्ष- नवलकुमार बयम्बु, जगत सुनारी, झममाया सुनारी
    सचिव- भुपिन सुनारी
    सहसचिव- नविन आले
    कोषाध्यक्ष- वेद खण्डलुक

    रैनादेवी छहरा गाउँपालिका

    अध्यक्ष- तुलराम गरम्जा
    उपाध्यक्ष- कृष्ण भण्डारी, ढुण्डिराज ज्ञवाली
    सचिव- प्रदीप पौडेल

    माथागढी गाउँपालिका

    अध्यक्ष- हरि चौहान,
    उपाध्यक्ष- मानबहादुर जिसी, प्रकाश जिसी, तीलकुमारी पोखरेल
    सचिव- राजेश नेपाली,
    सहसचिव- चिन्तबहादुर बराल
    कोषाध्यक्ष- कमला जिसी

    रम्भा गाउँपालिका

    अध्यक्ष- हिमाल अर्याल
    उपाध्यक्ष- धनबहादुर सिंजापति
    सचिव- विजय केसी
    कोषाध्यक्ष- पदम नेपाली

  • एमाले पाल्पाको पालिका अधिवेशन- सबैमा सर्वसम्मत नेतृत्व चयन (सूचिसहित)

    एमाले पाल्पाको पालिका अधिवेशन- सबैमा सर्वसम्मत नेतृत्व चयन (सूचिसहित)

    रूपन्देही । आसन्न राष्ट्रिय महाधिवेशनको तयारीअनुसार वडा हुँदै पालिकास्तरको अधिवेशन देशभर मंगलबार सम्पन्न भयो । केहि स्थानीय तहबाहेक देशका अधिकांश पालिकाहरुमा अधिवेशन सम्पन्न भएका छन् ।

    २ नगर पालिका र ८ गाउँपालिकासहित १० वटा स्थानीय तह भएको पाल्पामा नेकपा एमालेले सबैमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । अधिकांश स्थानीय तहमा युवाको नेतृत्व आएको छ ।

    यस्तो छ सूचि

    १. तानसेन नगरपालिका
    अध्यक्ष– गुराँस आत्रेय
    उपाध्यक्ष– शशी श्रेष्ठ
    सचिव– महेशलाल शाक्य

    २. रामपुर नगरपालिका
    अध्यक्ष- विष्णु रेग्मी
    उपाध्यक्ष- तोयानाथ सारु
    सचिव- कृतिनाथ श्रेष्ठ

    ३. तिनाउ गाउँपालिका
    अध्यक्ष- प्रेम श्रेष्ठ
    उपाध्यक्ष- रोम बहादुर लम्तरी
    सचिव- यादव अर्याल

    ४. रम्भा गाउँपालिका
    अध्यक्ष- योगेन्द्रप्रसाद गैरे
    उपाध्यक्ष- उमानसिंह सारु
    सचिव- विजय रानाभाट

    ५. रैनादेवी छहरा गाउँपालिका
    अध्यक्ष- रामप्रसाद ज्ञवाली
    उपाध्यक्ष- दानबहादुर थामी
    सचिव- मानबहादुर थामी

    ६. रिब्दीकोट गाउँपालिका
    अध्यक्ष- आशिष विश्वकर्मा
    उपाध्यक्ष- भीम सारु
    सचिव- दान बहादुर कुवँर

    ७. बगनासकाली गाउँपालिका
    अध्यक्ष- हरि पाठक
    उपाध्यक्ष- सरस्वती चिदी
    सचिव- ओमप्रकाश गैरे

    ८. माथागढी गाउँपालिका
    अध्यक्ष- तेज घर्तीमगर
    उपाध्यक्ष- शेरबहादुर विक
    सचिव- शंकर दर्लामी

    ९. पूर्वखोला गाउँपालिका
    अध्यक्ष स् जीवन आचार्य
    उपाध्यक्ष स् मान बहादुर सारु
    सचिव तिर्थ सारु

    १० निस्दी गाउँपालिका
    अध्यक्ष- नरेश सुनारी
    उपाध्यक्ष- किरण श्रेष्ठ
    सचिव- मेख सुनारी

  • पाल्पाको रम्भा गाउँपालिकाका वडा सदस्यको डेंगुबाट मृत्यु

    पाल्पाको रम्भा गाउँपालिकाका वडा सदस्यको डेंगुबाट मृत्यु

    रूपन्देही । डेंगु रोगबाट पाल्पाको रम्भा गाउँपालिका-१ मा नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित हुमबहादुर सिंजालीको मृत्यु भएको छ ।

    गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीका अनुसार रम्भा-१ बिसौना घर भएका सिंजालीको डेंगुका कारण मृत्यु भएको हो । ५७ वर्षीय सिंजालीको उपचारका क्रममा बुटवलको गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा मृत्यु भएको हो ।

    आइतबार हात दुख्ने समस्या देखिएर स्याङ्जाको गल्याङ सामुदायिक अस्पताल पुगेका उनलाई सामान्य उपचारपछि घर पठाइएको थियो । निको नभएपछि तानसेनको युनाइटेड मिसन अस्पताल हुँदै सिंजालीलाई बुटवल ल्याइएको थियो ।

    वडा सदस्यको मृत्यु भएपछि गाउँपालिकामा शोक बिदा दिइएको छ ।

  • नेकपा एसको पाल्पा अध्यक्षमा पाण्डे, गैरे सचिव

    नेकपा एसको पाल्पा अध्यक्षमा पाण्डे, गैरे सचिव

    रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पाल्पामा खिमानन्द पाण्डे (कमल)को अध्यक्षतामा जिल्ला कमिटी गठन गरेको छ ।

    शनिबार पाल्पामा आयोजित भेलाले पाण्डेको अध्यक्षतामा ७५ सदस्यीय पाल्पा जिल्ला कमिटी गठन गरेको हो । पाल्पा कमिटीको उपाध्यक्षमा रमा घर्ती, सचिवमा मोहन गैरे र उपसचिवमा कमल सेन रहेका छन् ।

    नेकपा एमालेमा हुँदा माधव कुमार नेपाल पक्षधरहरुले नेपालका धेरै ठाउँमा समानान्तर जिल्ला कमिटी गठन गरेको भएपनि पाल्पामा भने समानान्तर कमिटी गठन भएको थिएन ।

    कार्यक्रमलाई सम्बोधन गर्दै एकीकृत समाजवादीका केन्द्रीय कमिटी सदस्य सोमप्रसाद पाण्डे निर्वाचन चुनाव चिह्नले जित्ने नभइ जनताको मनले जित्न सकिने बताएका थिए ।

    भेलाले लेखनाथ पोखरेलको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । अहिले अध्यक्ष बनेका खिमानन्द पाण्डे (कमल) तत्कालीन एमालेका जिल्ला उपसचिव हुन् ।

  • पाल्पामा घर भत्कँदा ११ वर्षीया बालिकाको मृत्यु, बुटवलमा पहिरोले दर्जन घरमा क्षति

    पाल्पामा घर भत्कँदा ११ वर्षीया बालिकाको मृत्यु, बुटवलमा पहिरोले दर्जन घरमा क्षति

    रूपन्देही । अविरल वर्षापछि आज विहान आएको पहिरोले बुटवल उपमहानगरपालिका-३ ज्योतिनगरमा एक दर्जन घरमा क्षति पुर्‍याएको छ । २०५५ सालमा पहिरो गएको स्थानमा पुनः पहिरो खसेपछि सो क्षेत्र थप प्रभावित बनेको हो ।

    चुरेबाट खसेको पहिरोले मनमाया भाट क्षेत्री लगायत एक दर्जन घरमा क्षति पुगेको स्थानीयले जनाएका छन् । बुटवल वडा-४ का अध्यक्ष टंक पराजुलीले गैरीगाउँका केही घरमा क्षति पुराएको र वर्षा निरन्तर भएकाले उद्दारमा कठिनाइ भएको बताए ।

    स्थानीयका अनुसार ३ घरमा पहिरो पसेको छ । उज्यालो भइसकेको हुँदा मानवीय क्षति भने भएको छैन । यहि भदौ ११ गते उक्त वस्ती माथिको चुरेमा पहिरो गएपछि स्थानीयहरु सावधानी अपनाउँदै आएका थिए ।

    पहिरो गएपछि स्थानीयले क्षति पुगेका घरका सरसामान सार्ने काम गरिरहेका छन् । त्यसैगरी पहिरोले क्षति पुग्नसक्ने घरबाट समेत सामान अन्यत्र सार्ने तयारी गरिरहेका छन् ।

    पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने रिङरोड र त्यहाँ रहेको विजुलीको पोल बगाएको छ । बुटवलको वडा नम्बर ३ र ४ माथि रहेको चुरेमा २ वटा ठूला पहिरो गएकोमा यससँगै ३ ठूला पहिरो गएको छ ।

    उक्त ठाउँमा २०५५ साल भदौ २० गते पनि पहिरो खस्दा ५ दर्जन घरमा क्षति पुगेको थियो । पहिरोमा परेका ५७ घरपरिवारलाई सरकारले क्षतिपूर्ती दिएको थियो । पहिरोले बुटवलको वडा नम्बर ३ र २ मा क्षति पु¥याएको नगर प्रमुख शिवराज सुवेदीले बताए ।

    उता पाल्पाको तानसेनमा घर भत्केर पुरिँदा एक जना १० वर्षीया बालिकाको मृत्यु भएको छ । तानसेन नगरपालिका-५ कैलासनगरमा एकतले ढुङ्गा माटोले बनेको घर भत्किएर पुरिँदा स्थानीय नारायण दर्जीकी १० वर्षीया छोरी नैना दर्जीको मृत्यु भएको हो ।

    राती सुतिरहेकै अवस्थामा घरको पछाडिको गारो भत्किर पुरिएर गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा मिशन अस्पताल तानसेनमा निधन भएको हो ।

  • पाल्पामा पहिरोले ५ घर बगायो, १ जनाको मृत्यु, सिद्धार्थ राजमार्ग अवरुद्ध

    पाल्पामा पहिरोले ५ घर बगायो, १ जनाको मृत्यु, सिद्धार्थ राजमार्ग अवरुद्ध

    रूपन्देही । केही दिनदेखिको वर्षाका कारण खसेकाे पहिरोमा पुरिएर पाल्पाको तिनाउ गाउँपालिका–५ मा बिहीबार एकजनाको मृत्यु भएको छ । पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।

    सिद्धार्थ राजमार्गअन्तर्गत हिउँदेखोला नजिकै खसेको पहिरोमा चार वर्षीय बालक बेपत्ता छन् भने ७ जना घाइते छन् । हिउँदे खोलामा खसेको पहिरोले ६ घर बगाएको छ । तिनाउ–५ कै अन्दाजी ४५ वर्षीय वीरबहादुर गुरुङको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । पूजा परियारका चार वर्षीय छोरा आरोप बेपत्ता भएका छन् ।

    दोभान प्रहरी चौकीका अनुसार नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर पहिरोले बगाएको छ ।

    पहिरोले सिद्धबाबा क्षेत्रमा पहिरो खसेर सिद्धार्थ राजमार्ग अवरुद्ध भएपनि नियमित पानी परिरहेकाले खुलाउने काम शुरू हुन नसकेको प्रदेश ट्राफिक कार्यालय बुटवलका प्रवक्ता डिल्लीनारायण पाण्डेले बताए ।

  • पाल्पाका दुई स्थानीय तहद्वारा कोरोना खोप खरिदका लागि स्वास्थ्य मन्त्रालयमा पत्राचार

    पाल्पाका दुई स्थानीय तहद्वारा कोरोना खोप खरिदका लागि स्वास्थ्य मन्त्रालयमा पत्राचार

    रुपन्देही । पाल्पाका दुई स्थानीय तहले आफैं स्रोत व्यवस्थापन गरी खोप खरिदको गर्न स्वास्थ्य मन्त्रालयसँग अनुमति मागेका छन् ।

    रामपुर नगरपालिका र रम्भा गाउँपालिकाले आर्थिक व्यस्थापन आफैंले गर्ने गरी मन्त्रालसँग अनुमति मागेका हुन् । रामपुर नगरपालिकाले ५० हजार डोज र रम्भा गाउँपालिकाले २० हजार डोज कोरोना खोप खरिदको लागि मन्त्रालयसँग अनुमति माग गर्दै पत्राचार गरेका छन् ।

    विपद व्यवस्थापन कोषमा १ करोड ५० लाख रुपैयाँ, कोरोना कहरको कारण खर्च हुन नसकेको विकास बजेट, रामपुर क्षेत्रबाट विदेशमा रहेका व्यक्तिहरुको सहयोगमा कोभिड खोप खरिदको लागि बजेट व्यवस्थापन गरिएको रामपुर नगरपालिकाका नगर प्रमुख थापाले बताए ।

    रम्भा गाउँपालिकाले विपद् व्यवस्थापन कोषमा ७० लाख रुपैयाँ रहेको, थप बजेट चालू आर्थिक वर्षमा सम्झौता नभएका विकास निर्माणको योजनाबाट परिपूर्ति हुनेगरी मिलाएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।

    महामारीको समयमा विकास निर्माणको कामभन्दा जनताको ज्यान बचाउनु पहिलो प्राथमिकता भएकोले गाउँपालिकाले खोपलाई पहिलो प्राथमिकता दिई खोप खरिदको लागि प्रक्रिया अगाडि बढाएको अध्यक्ष भण्डारीले बताए ।

    दुबै स्थानीय सरकारले भारतका विभिन्न ३ वटा कम्पनीसँग खोप खरिदको लागि कुराकानी भइरहेकोले मन्त्रालयसँग अनुमति मागेको जनाएका छन् ।

  • बहुप्रतीक्षित सिद्धबाबा सुरुङ मार्गको टेण्डर आह्वान

    बहुप्रतीक्षित सिद्धबाबा सुरुङ मार्गको टेण्डर आह्वान

    रुपन्देही । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको विशेष योजनामा रहेको रुपन्देही र पाल्पाको सीमा क्षेत्रमा रहेको सिद्धबाबा सुरुङ मार्गको टेण्डर आह्वान गरिएको छ ।

    यसअघि अर्थमन्त्री भएको समयमा यो सुरुङमार्गलाई प्राथमिकता साथ योजनामा राखेर बजेट बिनियोजन गर्न थालेका अर्थमन्त्री पौडेलले दोस्रोपटक अर्थमन्त्री भएपछि बजेट सुनिश्चित गरी अगाडि बढाएका हुन् ।

    सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डमा सुरुङमार्ग बनाउन बजेट सुनिश्चित भएपछि आज टेण्डर भएको हो । ‘मृत्यु मार्ग’का रुपमा चिनिने यो सडक पहिरोको उच्च जोखिमयुक्त क्षेत्र हो । जोखिमयुक्त सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग बनाउन संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रक्रिया थालेको थियो ।

    सुरुङ मार्ग निर्माण गर्न अर्थ मन्त्रालयले १० अर्ब बजेटको सुनिश्चितता दिएको र सोही आधारमा प्रकृया अगाडि बढाइएको सडक विभागका उपमहानिर्देशक विजय जैसीले नेपाल प्रेसलाई बताए ।

    ‘अहिले ५ वर्षको समय तोकेर टेण्डर आह्वान भएको छ, यसका विभिन्न संरचनागत सम्झौताहरुमा स्पष्ट उल्लेख छन्, ४५ दिनको समय राखेर सूचना सार्वजनिक गरिएको छ, त्यसपछि निर्माणको काम अगाडि बढ्नेछ,’ उनले भने ।

    मंसिर १ गतेको अर्थमन्त्रीस्तरीय निर्णयले सुरुङका लागि बहुवर्षीय योजनामा काम गर्ने गरी बजेट स्वीकृति दिएको हो । ‘ग्लोबल टेन्डर आह्वान गर्छौं, आर्थिक वर्षभित्रै निर्माण सुरु हुनेछ,’ उनले भने । सुरुङमार्ग ५ वर्षभित्र बनाइसक्ने टेण्डरमा उल्लेख छ । करिब ५ कि.मी. को यो सिद्धबाबा सुरुङमार्ग आयोजनामध्ये ११२६ मिटरको टनेल, ७८० मिटरको डबल लेन रक सेड, माथिल्लो भागमा रक नेट, स्लोप पोटेक्सन लगायतका कामहरु हुनेछन् ।

    सिद्धबाबामा सुरुङ मार्ग बनाउने विषयमा केही वर्षयता बहस भइरहेको थियो । लुम्बिनीबाट गण्डकीको राजधानी पोखरा जोड्ने महत्वपूर्ण सडकमा सुरुङ नै समस्याको समाधान भएको निष्कर्षसहित निर्माण प्रक्रिया थालिएको हो ।

    अर्थमन्त्री तथा रुपन्देहीबाट प्रतिनिधिसभाका सदस्य विष्णु पौडेलले सुरुङ मार्गसँगै डबल लेनको सडकसमेत निर्माण हुने बताएका छन् ।

    ‘सुनौली–कोरला सडकको दीर्घकालीन सोचसहित सिद्धबाबामा सुरुङ बनाउने निष्कर्ष निकालिएको हो,’ उनले भने, ‘रुपन्देही र पाल्पावासीका लागि मात्र होइन यो देशकै पहिलो र नमुना योजनाका रुपमा अगाडि बढेको योजना हो, सबैको साथले समयमै निर्माण सम्पन्न हुनेछ ।’

    रुपन्देही र पाल्पाको सीमानामा पर्ने सिद्धबाबा क्षेत्रमा स्वीस सरकार विकास सहयोगमार्फत सुरुङ मार्गको भौगर्भिक अध्ययन गरिएको थियो । ड्रिलिप नेपालले प्लानेट टेस्ट प्रालिमार्फत गरेको अध्ययनले सुरुङ मार्ग बनाउन सकिने प्रतिवेदन दिएको थियो ।

    सुरुङ मार्ग पाल्पाको सिद्धबाबा मन्दिरको उत्तरतर्फको चिडियाखोलाको छेउबाट सुरु हुनेछ । चिडियाखोला खोंचबाट सुरु हुने सुरुङ दोभाननजिकै रामापिथेकस पार्कको उत्तरतर्फ निस्कनेछ । यो करिब ११ सय मिटरको हुने अनुमान छ ।

    सिद्धार्थ राजमार्ग सिद्धबाबा क्षेत्रकै पहिरोका कारण असुरक्षित मानिन्छ । यहाँ पछिल्ला पाँच वर्षमा करिब डेढ सयको मृत्यु भएको छ भने सयौंको अंगभंग भएको छ । सिद्धबाबा क्षेत्र पत्रे चट्टानको भएकाले यो सडकमा पहिरो खस्नका लागि पानी पर्नुपर्दैन ।