Tag: नेकपा एस

  • धनकुटामा नेकपा एसको जिल्ला कमिटी नै एमालेमा फर्कियो

    धनकुटामा नेकपा एसको जिल्ला कमिटी नै एमालेमा फर्कियो

    काठमाडौं । विघटित नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी धनकुटा नेकपा एमालेमै फर्किएको छ ।

    शुक्रबार जिल्ला कमिटीको बैठकको निर्णय अनुसार नयाँ गठन भएको पार्टी निर्माणको पक्षमा सामेल नभई नेपाल कम्युनिष्ट पार्टीको मूल प्रवाह नेकपा एमालेमा पूर्ण रुपले समाहित हुने उल्लेख छ ।

    अध्यक्ष अर्जुन राई, उपाध्यक्ष खगेन्द्र सुवेदी र सचिव जेबी राईले जारी गरेको संयुक्त विज्ञप्तिमा जेनजी आन्दोलनपश्चात उत्पन्न राष्ट्रिय राजनीतिक परिस्थिति र विकसित राष्ट्रिय राजनीतिक घटनाक्रम, यसबाट सिर्जित चुनौतीहरु र नेपाली जनताको परिवर्तन एवम् समृद्धिको आकांक्षा पूरा गर्न जिम्मेवार, सशक्त र जनउत्तरदायी राष्ट्रिय राजनीतिक शक्तिको आवश्यक्ता महसुस गर्दै नेकपा एमालेमा समाहित भएको उल्लेख छ ।

  • नेकपा एकीकृत समाजवादीमा संयोजक तोकिए घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीमा संयोजक तोकिए घनश्याम भुसाल

    काठमाडौं । एकता विवादका कारण विभाजित नेकपा एकीकृत समाजवादीको पुनर्गठन पक्षधरले पार्टी संयोजकमा घनश्याम भुसाललाई तोकेको छ । विभाजनपूर्व उनी पार्टी महासचिव थिए ।

    शनिबार राति ६७ जना केन्द्रीय सदस्यको भर्चुवल (जुम) मिटिङले उनलाई संयोजक तोकेको बैठकमा सहभागी केन्द्रीय सदस्य अमृतसागर बस्नेतले बताए । पार्टीको नाम, झण्डा र चुनाव चिह्न यथावत राख्ने, यद्यपि कानूनी र संसदीय व्यवस्थाका विषयलाई अध्ययन गर्दै आवश्यकताका आधारमा अगाडि बढ्ने निर्णय मिटिङले गरेको छ ।

    विशेष महाधिवेशनअघि मंसिरमै राष्ट्रिय भेला आयोजना गरिने भएको छ । त्यसको मिति आजभोलिमै तोकिने बस्नेतले बताए । कतिपय नेता–कार्यकर्तामा रहेको अन्यौलता चिर्न सबैले पहल गर्ने जुम मिटिङले निर्णय गरेको उनले बताए ।

  • दामोदर अर्यालको टिप्पणी : माओवादीसँगको एकता अभियुक्तहरूसँगको एकता हो

    दामोदर अर्यालको टिप्पणी : माओवादीसँगको एकता अभियुक्तहरूसँगको एकता हो

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले माओवादीसँग हुने एकता वाम एकता नभई अभियुक्त एकता हुने टिप्पणी गरेका छन् ।

    माओवादीसँग एकताबारे पार्टीको जारी केन्द्रीय समिति बैठकमा छलफल चलिरहेको बेला उनी एकताको विपक्षमा उभिएका हुन् ।

    ‘माओवादी अध्यक्ष प्रचण्ड सम्पत्ति शुद्धीकरणको छानविनमा पर्नुभएको छ । उपाध्यक्ष पासाङ सुन तस्करीसम्बन्धी छानबिनमा हुनुहुन्छ । अर्का उपाध्यक्ष महरा सुन तस्करी आरोपमा जेलमा हुनुहुन्छ । प्रवक्ता अग्निजी ज्यान मुद्दामा तारेख खेपिरहनु भएको छ’ उनले भने, ‘त्यसकारण यतिखेर माओवादीसँग एकता गर्नु भनेको वाम एकता होइन, अभियुक्त एकता हुन्छ ।’

    उनले अभियुक्त एकताको विरोध गरेर वास्तविक वाम एकताको पहल थाल्न पार्टी पङ्क्तिमा आग्रह गरेका छन् । अध्यक्ष माधव नेपालले आफू अनुकूल केन्द्रीय सदस्य थप गरेको प्रति अर्यालले असन्तुष्टि जनाए । ‘मनोनित गर्दै जानुहोस्, बहुमत सिद्ध गर्दै जानुहोस्, तर याद गर्नोस् कमरेड, तपाईंको कमिटीको बहुमतले समाजको बहुमत सिद्ध गर्दैन । समाजमा हामी निरन्तर अल्पमतमा पर्दै गइरहेका छौ ।’

  • चाडपर्वको संरक्षणले सहअस्तित्वसहितको समाज निर्माणमा सहयोग पुग्छ-अध्यक्ष नेपाल

    चाडपर्वको संरक्षणले सहअस्तित्वसहितको समाज निर्माणमा सहयोग पुग्छ-अध्यक्ष नेपाल

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विद्यमान सबै जाति, समुदायका चाडपर्वले सामाजिक विविधतालाई एकताबद्ध गर्ने बताएका छन् ।

    तिहारका अवसरमा शुभकामना दिँदै उनले नेपालीको मौलिक पहिचान बोकेको पर्व, संस्कृतिको संरक्षणबाट राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

    स्वेदश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै अध्यक्ष नेपालले तिहारले आपसी सम्मान भावका लागि अनुपम सन्देश दिएको बताए । उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विशेषताले भरिपूर्ण रहेको नेपाली समाजमा सबै जाति र सम्प्रदायका चाडपर्व, संस्कृतिले सहयोग गर्ने उल्लेख गरे।

    चाडपर्वले समाजलाई सहअस्तित्वसहितको असल बाटोमा अघि बढाउन हामी सबैलाई अभिप्रेरित गर्ने बताउँदै अध्यक्ष नेपालले सबै समुदायकाबीच आपसी सहयोग, सद्भाव, भ्रातृत्व कायम गरी सामाजिक न्याय, समानता, सुशासनयुक्त राज्य निर्माणमा जोड दिए ।

    पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले खराब प्रवृत्तिको अन्त्यसहित सबैको अस्तित्वलाई ग्रहण गर्दै देश विकासमा क्रियाशील हुन सबैमा प्रेरित गरोस् भन्ने शुभकामना व्यक्त गरे ।

  • एकीकृत समाजवादीले नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने

    एकीकृत समाजवादीले नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने सैद्धान्तिक आधार तयार गरेको छ ।

    पार्टी अध्यक्ष माधवकुमार नेपालले हालै जारी गरेको अपानीमा कम्युनिष्ट पार्टीको कार्यशैलीमा सुधार गर्ने र कमीकमजोरी सच्याएर आन्तरिक लोकतन्त्रको सुदृढीकरण तथा नेतृत्व हस्तान्तरणको विषयलाई प्राथमिकतामा राखेका थिए ।

    पार्टीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रियता हुने, पार्टीको रणनीतिक लक्ष्य समाजवाद हुने, समाजवादी कार्यदिशा अगाल्ने, नेपाली विशेषताको समाजवादी कार्यक्रम अंगिकार गर्नेलगायत सैद्धान्तिक आधार तयार गरिएको अपानीमा समान वैचारिक दृष्टिकोण भएका समूह तथा दलसँग एकताका लागि पार्टीको मार्गदर्शक सिद्धान्त माक्सवाद लेनिनवादलाई मानिएको छ ।

    नेपाली जनता र पूँजीपती वर्गबीचको अन्तरविरोध समाधान गर्ने, नव उपनिवेशवादको विरोध गर्ने नीति पार्टीले अवलम्बन गर्ने छ । वामपन्थी शक्ति, कम्युनिष्ट तथा समाजवादी विचारधारा भएका पार्टीसँग एकताका लागि छलफल सुरु गरेको पार्टीले एकताका लागि अशोक राई नेतृत्वको जसपा, नेकपा (माओवादी केन्द्र), विप्लव नेतृत्वको नेकपासँग छलफल गरेको जनाइएको छ ।

  • नेकपा एसको विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्षमा पराजुली, सदस्यमा को-को परे ?

    नेकपा एसको विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्षमा पराजुली, सदस्यमा को-को परे ?

    काठमाडौं । नेकपा एसले विद्यार्थी विशेष जिल्ला कमिटी गठन गरेको छ । कमिटीको अध्यक्षमा अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सुदेश पराजुली चयन भएका छन् ।

    कमिटीको सदस्यहरुमा ३३ जनाको नाम सिफारिस गरिएको अनेरास्ववियूले जनाएको छ ।

    सिफारिस भएकाहरु

    १. सुदेश पराजुली, अध्यक्ष
    २. उत्तर खड्का
    ३. प्रकाश शाही
    ४. मनोज चन्द
    ५. हर्क बम
    ६. डा. निश्चल गुप्ता
    ७. मनिषा कार्की
    ८. लक्ष्मी क्षेत्री विसी
    ९. अनु आँकुरा
    १०. प्रदिप थापा
    ११. देवीराम जैसी
    १२. अम्मर पुन
    १३. अञ्जलिका श्रेष्ठ
    १४. प्रविण विष्ट
    १५. ओम अधिकारी
    १६. किरण पौडेल
    १७. न्यूसन लामिछाने
    १८. सन्तोष शेर्पा
    १९. आकाश खनाल
    २०. मुकेश कुँवर
    २१. प्रकाश श्रेष्ठ
    २२. आशिष थपलिया
    २३. गौरव थापा
    २४. सुदिप घिमिरे
    २५. अविचल पाण्डे
    २६. शोभा बम ठकुरी
    २७. टुपेन्द्र प्रसाई
    २८. तर्क शाही
    २९. मनोज शाही
    ३०. प्रदिप खनाल
    ३१. सरु रिजाल
    ३२. नरेश न्यौपाने
    ३३. सुमन पौडेल

    उनीहरुको सपथग्रहण भोलि हुनेछ ।

  • पार्टीले फिर्ता बोलाएकोबारे नेकपा एसका मन्त्रीहरु बेखबर

    पार्टीले फिर्ता बोलाएकोबारे नेकपा एसका मन्त्रीहरु बेखबर

    काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले पार्टीको तर्फबाट सरकारमा सहभागीलाई फिर्ता बोलाउन गरेको निर्णयबारे मन्त्रीहरु नै बेखबर रहेको पाइएको छ । पार्टीको सचिवसमेत रहेकी सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफूहरुसँग सल्लाह नै नगरी पार्टीले उक्त निर्णय गरेको बताइन् । ‘आधिकारिक जानकारी थिएन, सञ्चारमाध्यमबाट पार्टीको निर्णयबारे सुनेको हुँ’, उनले भनिन् ।

    पार्टीका केन्द्रीय सदस्यसमेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले पनि पार्टी निर्णयबारे आफू बेखबर रहेको बताए । ‘हामीलाई त्यस्तो कुनै जानकारी थिएन, सञ्चारमाध्यमबाट थाहा पाएँ’, उनले भने ।

    नेकपा (समाजवादी)कै केन्द्रीय सदस्य रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पनि आफुलाई मन्त्रीबाट फिर्ता बोलाएको बारेमा आधिकारिक जानकारी नआएको बताए ।

    उनले नेपाल प्रेससँग भने, ‘आधिकारिक रुपमा जानकारी नआए पनि पार्टीको बैठकले फिर्ता बोलाएको र अरु साथीहरुलाई सिफारिस गरेको भन्ने सुनियो । सुरुमा नै ६ महिनाका लागि भनेर हामीहरुलाई मन्त्रीमा पठाइएको हो । २ महिना थपेर ८ महिनासम्म काम गर्ने मौका पार्टीले दियो । यसमा मेरो कुनै पनि गुनासो र चित्त दुखाई छैन । मन्त्री बनाउने र हटाउने जिम्मेवारी पार्टीलाई छ । त्यसैले मैले मन्त्रालय सम्हालेपछी गरेका काम प्रती म एकदमै खुसी छु । पार्टीको निर्णय अनुसार छाती फुलाएर बाहिरिन तयार छु ।’

    बाँकी मन्त्रीले पनि फिर्ता बोलाएको बारेमा आफूहरुलाई आधिकारिक जानकारी नभएको बताएका छन् । नेकपा एसले हिजो सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री सिफारिस गर्ने निर्णय गरेको थियो । नयाँ मन्त्रीहरुको आजै सपथग्रहण कार्यक्रम राखिएको छ ।

  • जिल्लाभर एक वडा सदस्य जित्दा पनि नेकपा एस मख्ख, भन्यो- जनताको अपार माया पायौं

    जिल्लाभर एक वडा सदस्य जित्दा पनि नेकपा एस मख्ख, भन्यो- जनताको अपार माया पायौं

    रुपन्देही । १० पालिका र ९६ वडा रहेको कपिलवस्तुमा नेकपा एसले एक वडा सदस्य मात्रै जितेपनि निर्वाचनको नतिजा पार्टीका लागि सन्तोषजनक भएको निष्कर्ष निकालेको छ ।

    पार्टीको जिल्ला सचिवालय बैठकले चुनावको समीक्षा गर्दै स्थानीय चुनावमा आफ्नो पक्षमा परिणाम निकाल्ने गरी नतिजा नआए पनि गठबन्धन दल र आफ्नो पार्टीलाई जनताको अपार माया प्राप्त भएको निष्कर्ष निकालेको हो ।

    पार्टी गठनको ८ महिनामै चुनावमा होमिनुपर्ने बाध्यता, जिल्लामा सुदृढ भइनसकेको संगठनात्मक संरचना, गठबन्धनका नाममा अल्झिनुपरेको अवस्थाबीच पनि अधिकांश पालिकामा उम्मेदवार उठाउनु र कतिपय स्थानमा राम्रो मत ल्याउनुलाई एकीकृत समाजवादी कपिलवस्तुले सन्तोषजनक मानेको हो ।

    जिल्लाभर कलम चुनाव चिह्नको प्रचारलाई समाजवादीले प्रगतिको एक कदम मानेको छ ।

    ‘जनताको बीचमा कलम स्थापित हुन सक्नु नै हाम्रा लागि सुखद पक्ष हो’, नेकपा एसका जिल्ला अध्यक्ष लंकबहादुर हमालले भने, ‘यद्यपि कतिपय स्थानमा जित्ने आकंलन गरेपनि विभिन्न परिस्थितिका कारण पराजय ब्यहोर्न पुग्यौं । यस विषयमा निर्मम ढंगले समीक्षा गरेका छौं ।’

    जिल्लाभर अधिकांश स्थानमा नेकपा एसका उम्मेदार रहेपनि कृष्णनगर नगरपालिका वडा नम्बर १० को वडा सदस्यमा मुतर्जा मुसलमानले वडा सदस्य जितेका छन् ।

  • नेकपा एसको निर्णय- गठबन्धन नभएका र आफ्ना उम्मेदवार पनि नउठेका स्थानमा एमालेविरुद्ध मतदान गर्ने

    नेकपा एसको निर्णय- गठबन्धन नभएका र आफ्ना उम्मेदवार पनि नउठेका स्थानमा एमालेविरुद्ध मतदान गर्ने

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले पाँच दलीय गठबन्धन नभएको र आफ्नो पार्टीको एकल उम्मेदवार पनि नभएका स्थानीय तहमा एमालेविरुद्ध मतदान गर्न कार्यकर्तालाई निर्देशन दिएको छ ।

    अध्यक्ष माधवकुमा नेपालको अध्यक्षतामा मंगलबार साँझ बसेको सचिवालय बैठकले नेकपा एससँग गठबन्धन नभएका तथा आफ्ना उम्मेदवार पनि नभएका पालिकामा ‘दक्षिणपन्थी अवसरवादी एवं प्रतिगामी शक्तिका विरुद्ध मतदान गर्ने’ निर्णय गरेको महासचिव डा. बेदुराम भुसालले विज्ञप्तिमार्फत जनाएका छन् ।

    नेकपा एसले एमालेको नाम नलिइ गठबन्धनमा आफूहरु नभएका ठाउँमा पनि उसका विरुद्ध मतदान नगर्न भनेको हो । बैठकले गठबन्धन दलबीच सहमति कायम गर्न अझै पनि अन्तिमसम्म प्रयत्न गर्ने निर्णय गरेको छ ।

    महानगरपालिका तथा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारलाई जिताउन सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय भएको भुसालले बताएका छन् ।

  • ताप्लेजुङमा पनि गठबन्धनसँग नेकपा एस रिसायो, सिंगल चुनाव भिड्ने चेतनावनी

    ताप्लेजुङमा पनि गठबन्धनसँग नेकपा एस रिसायो, सिंगल चुनाव भिड्ने चेतनावनी

    काठमाडौं । ताप्लेजुङमा पनि गठबन्धनमा आबद्ध अरु दलसँग नेकपा एस रिसाएको छ । उम्मेदवार छनोटमा मनमौजी गरेको भन्दै नेकपा एस रुष्ट भएको हो ।

    नेकपा एस ताप्लेजुङले एक विज्ञप्ति जारी गर्दै ‘परि आए एक्लै चुनाव लड्ने’ चेतावनीसमेत दिएको छ । गठबन्धनमा आबद्ध दलहरूले आफूहरूको असहमतिका बाबजूद मनमौजी ढंगले बैठक बसी मापदण्ड उल्लंघर गरी भागबण्डा गरेको भन्दै नेकपा एसले आपत्तिसमेत जनाएको छ ।

    विज्ञप्तिमार्फत् गठबन्धनमा आबद्ध दलहरूले मापदण्ड विपरीतका गतिविधि कायम राखेको खण्डमा गठबन्धनबाट बाहिरिएर आफ्नो पार्टी अघि बढ्नेतर्फ दलहरूको ध्यानाकर्षण गरिएको छ ।

    साथै नेकपा एस ताप्लेजुङले आफ्ना नेता, कार्यकर्ता एवं शुभेच्छुकहरूमा पनि गठबन्धनबाट बाहिरिएर अघि बढ्नुपर्ने स्थितिसँग सचेत हुन आग्रह गरेको छ।

  • डोल्पामा एमालेबाट जितेका दुई गाउँपालिका अध्यक्ष नेकपा एसमा प्रवेश

    डोल्पामा एमालेबाट जितेका दुई गाउँपालिका अध्यक्ष नेकपा एसमा प्रवेश

    काठमाडौं । डोल्पामा नेकपा एमालेबाट चुनाव जितेका दुई गाउँपालिका अध्यक्ष नेकपा एसतिर लागेका छन् । कर्णाली प्रदेश कमिटी सदस्य एवम् काईके गाउँपालिका अध्यक्ष अंगत राना र जिल्ला कमिटी सदस्य एवम् छार्का ताङसोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङले एमाले त्यागेको घोषणा गर्दै नेकपा एसतिर लाग्ने घोषणा गरेका हुन् ।

    उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्– संविधान संघिय लोकतन्त्र, गणतन्त्र लाई संस्थापन गर्न कमरेड माधव कुमार नेपालले लिनुभएको कदममा सहमति जनाउँदै हामी नेकपा एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरी नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छौं।

    उनीहरुले एमालेमाथिको भरोसा टुटेका कारण नेकपा एस प्रवेश गर्नुपरेको बताएका छन् ।

  • लुम्बिनीको गठबन्धनमा नेकपा एस पनि समेटियो

    लुम्बिनीको गठबन्धनमा नेकपा एस पनि समेटियो

    रुपन्देही । बुधबार लुम्बिनी प्रदेशमा सत्तारूढ चार दलमात्र बैठक बसेर गठबन्धन गरी नेकपा एसलाई समावेश नगरेको विज्ञप्ती बाहिरिएपछि पुनः पाँचदलीय गठबन्धनबीच स्थानीय चुनावमा तालमेल गर्ने सहमतिपत्र सार्वजनिक गरिएको छ ।

    यसअघि नेकपा एकीकृत समाजवादीका प्रतिनिधिविनै गठबन्धनका दलहरूको बैठक बसेर निर्णय बाहिर आएपछि नेकपा एसलाई साँच्चै गठबन्धनमा नराखिएको हो ? भन्ने विषयमा चर्चा भएको थियो ।

    तर बिहीबार बसेको गठबन्धन बैठकले पाँचदलीय गठबन्धनलाई चुनावसम्म लैजाने र चुनावी तालमेललाई व्यवहारिक रूपमा कार्यान्वयन गर्ने निर्णय गरेका छन् ।
    ‘वैशाख ३० मा हुने स्थानीय चुनावमा लुम्बिनीमा गठबन्धन बलियो तथा बजबुत बनाउनको लागि नियमित बैठक बस्ने, मत विश्लेषण गर्ने र निर्वाचन योजना निर्माण गर्ने निर्णय गरियो,’ बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

    यस्तै लुम्बिनीका एक सय ९ स्थानीय तहमा गठबन्धनको धरातलीय अवस्था पठाउन सम्बन्धित जिल्लाहरूलाई आग्रह गर्ने निर्णय भएको छ ।

    जिल्लाहरूमा पनि पाँचदलीय गठबन्धन बैठक बस्न निर्देशन दिने निर्णय पनि उनीहरूले गरेका छन् । साथै अर्को बैठक चैत २७ मा बस्ने जनाइएको छ ।

    बैठकमा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन मगर, नेकपा माओवादी केन्द्रका लुम्बिनी अध्यक्ष सुदर्शन बराल, नेकपा एकीकृत समाजवादीका लुम्बिनी

    अध्यक्ष मेटमणी चौधरी, जसपाका अध्यक्ष अशोककुमार यादव र राष्ट्रिय जनमोर्चा नेपालका उपाध्यक्ष बद्री आलम उपस्थित थिए ।

    बैठकपछि उनीहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पाँचदलीय गठबन्धनलाई बलियो बनाउँदै लैजाने उल्लेख गरेका छन् ।

    नेकपा एसले समयमै खबर नगरी ४ दलको मात्र गठबन्धनको निर्णय बाहिर सार्वजनिक गरेपछि असन्तुष्टि जनाएको थियो । गठबन्धन दलमा भागवण्डाका विषयमा कुरा नमिलेपछि र नेकपा एसको जनाधारका विषयमा प्रश्न उठाएपछि यो विषय सन्तुलनका लागि बाहिर आएको अनुमान गठबन्धन दलका एक सदस्यले बताए ।

  • नेकपा एसको सचिवालय बैठक सुरु, यी हुन् एजेण्डा

    नेकपा एसको सचिवालय बैठक सुरु, यी हुन् एजेण्डा

    काठमाडौं । नेकपा एसको सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय कोटेश्वरमा सुरु भएको हो ।

    बैठकमा पार्टीको राजनीतिक प्रतिवेदन, जनपरिचालन अभियान, विभागको पूर्णता, पार्टी प्रवेश, घोषणापत्र र प्रचार कार्ययोजनाका एजेण्डामा छलफल हुने नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।

    नेकपा एसले आगामी निर्वाचनमा गठबन्धनमा आवद्ध दलबीच चुनावी तालमेल हुनपर्नेमा जोड दिइरहेको छ । बैठकमा चुनावी रणनीतिबारे पनि छलफल हुने बताइएको छ ।

  • चुनावसम्म गठबन्धन जोगाउन नेकपा एसले बेग्लै संयन्त्र बनाउने

    चुनावसम्म गठबन्धन जोगाउन नेकपा एसले बेग्लै संयन्त्र बनाउने

    काठमाडौं । सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्नेबारे संवाद गर्न छुट्टै संयन्त्र बनाउने भएको छ । पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सचिवालय बैठकबाट संयन्त्र बनाइने जानाकारी दिए । सचिवालय बैठकको मिति भने टुंगो लाग्न बाँकी छ ।

    दुई दिनभित्र बैठक बस्ने तयारी भइरहेको खतिवडाले बताए । स्थानीय निर्वाचनमा एकीकृत समाजवादी गठबन्धन बनाएर जानुपर्ने पक्षमा छ । गठबन्धन बनाएर निर्वाचनमा जानुपर्नेमा सत्तारूढ अर्को दल नेकपा (माओवादी केन्द्र)को पनि जोड छ ।

    नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनबारे सकारात्मक छन् । गठबन्धनविरुद्धमा उभिएका पार्टीका केही पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई जथाभावी नबोल्न देउवाले निर्देशनसमेत दिइसकेका छन् ।

    तर, गठबन्धनले स्थानीय निर्वाचनमा निरन्तरता पाउँछ भन्ने निश्चित छैन ।

    कांग्रेस नेतृत्वमा रहेको वर्तमान पाँच दलीय गठबन्धन ८ जेठमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक संसद् विघटन गरेपछि बनेको हो ।

    गठबन्धन बनाउन अधिक जोडबल गर्ने नेताहरू माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल हुन् ।

  • नेकपा एसको केन्द्रीय कमिटी बैठक बस्दै, समसामयिक विषयमा छलफल हुने

    नेकपा एसको केन्द्रीय कमिटी बैठक बस्दै, समसामयिक विषयमा छलफल हुने

    काठमाडौं । समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा एसको केन्द्रीय कमिटी बैठक बस्दैछ । काठमाडौं बबरमहलस्थित कार्की ब्यांकेटमा आज र भोलि चल्ने बैठकमा संसदबाट एमसीसी पारित भइसकेपछिको परिस्थिति र सत्तागठबन्धनबारे छलफल हुने बताइएको छ ।

    बैठक ११ बजेका लागि डाकिएको छ ।

    नेकपा एस जसरी पनि सत्तागठबन्धन जोगााउन चाहन्छ । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका केही नेताले नेकपा एस र माओवादी केन्द्रले कांग्रेसको ओत खोजेको भन्दै कडा टिप्पणी गर्दा पनि नेताहरु निरीह बनेको आरोप लागेको छ ।

  • नेकपा एसले बोलायो केन्द्रीय कमिटी बैठक

    नेकपा एसले बोलायो केन्द्रीय कमिटी बैठक

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बैठक फागुन २५ र २६ गते काठमाडौंमा सम्पन्न हुने संगठन विभागका सचिव लक्ष्मण केसीले बताए ।

    बैठकमा आसन्न स्थानीय निर्वाचनको तयारीसहित विविध समसामयिक एवं सांगठानिक विषयमा छलफल हुने सचिव केसीले बताए ।

    उक्त बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन र महासचिव बेदुराम भुसालले सांगठानिक प्रतिवेदन पेश गर्ने तयारी छ । बैठकमा विभिन्न विभाग, निकाय र भूगोलका कार्ययोजना, रणनीति र कार्यक्रमबारे छलफल हुने सचिव केसीले बताए ।

  • नेकपा एस एमसीसीमाथिको छलफलमा सहभागी हुने

    नेकपा एस एमसीसीमाथिको छलफलमा सहभागी हुने

    काठमाडों । माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को सैद्धान्तिक छलफलमा सहभागी हुने भएको छ ।

    आजबाट प्रतिनिधिसभा बैठकमा एमसीसीका बारेमा हुने सैद्धान्तिक छलफलमा नेकपा एसले आफ्नो धारणा राख्ने तर पूर्ववतः मान्यताअनुसार संसोधनबिना अनुमोदन गराउन नहुने तर्क राख्ने पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

    उनले भने– तर, यसरी छलफलमा सहभागी भए पनि संसोधनबिना एमसीसी पारित गर्न हुँदैन भन्ने पार्टीको धारण स्पष्ट राख्ने छौं ।

  • नेकपा एसका प्रवक्ता भन्छन्- सहमतिबिना एमसीसी अघि बढाए देउवाले प्रधानमन्त्री पद त्याग्नुपर्ने हुनसक्छ (भिडिओ)

    नेकपा एसका प्रवक्ता भन्छन्- सहमतिबिना एमसीसी अघि बढाए देउवाले प्रधानमन्त्री पद त्याग्नुपर्ने हुनसक्छ (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले गठबन्धनको सहमतिबिना एमसीसी अनुमोदन गर्न खोजिए प्रधानमन्त्री शेरबहादुर देउवाले पद त्याग्नुपर्ने अवस्था आउने चेतावनी दिएका छन् ।

    नेकपा एसको स्थायी कमिटी बैठकपछि नेपाल प्रेससँग कुरा गर्दै प्रवक्ता खतिवडाले एमसीसी टेबल हुनु र सांसदहरुले छलफलमा भाग लिन पाउनु स्वभाविक भए पनि अहिले संसद अवरोध भएकाले त्यो अघि बढ्न नसक्ने बताए ।

    खतिवडाले भने– संसदको अवरोध हटेपछिमात्र सोच्न सकिन्छ । टेबल गर्नु कुनै अनौठो होइन । सांसदहरुले विचार विमर्श गर्न पाउनुपर्छ । तर कानूनका समस्या र संसद अवरोधका कारण त्यो सम्भव छैन । गठबन्धनले नचाहेसम्म उहाँल अघि बढाउन सक्नुहुन्न । गठबन्धनले नचाहेको र संसदको अवरोध कायम भएको बेला उहाँले अघि बढाएमा उहाँ अल्पमतमा पर्नुहुन्छ र प्रधानमन्त्री पद पनि त्याग्नुपर्ने अवस्था आउनसक्छ ।

    नेकपा एसको बैठकमा सम्मानित नेता झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलले एमसीसीबारेको प्रतिवेदन पेश गरेको थियो । कार्यदलमा प्रमेश हमाल, डा.विजय पौडेल र जगन्नाथ खतिवडा छन् ।

  • एमसीसी सम्झौता संसदमा टेबल हुन दिनुपर्ने नेकपा एसको निष्कर्ष (भिडिओ)

    एमसीसी सम्झौता संसदमा टेबल हुन दिनुपर्ने नेकपा एसको निष्कर्ष (भिडिओ)

    काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीले संसद सचिवालयमा दर्ता भएको एमसीसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा टेबल गर्न दिनुपर्ने निष्कर्ष निकालेको छ । यद्यपि यसका कतिपय प्रावधान संशोधन हुनुपर्ने पार्टीको अडान भने यथावत रहेको छ ।

    स्थायी कमिटीको शनिबार बसेको बैठकमा एमसीसीलाई पास वा फेल जे भए पनि छलफलका लागि टेबल गर्न दिनुपर्ने निष्कर्ष निस्किएको प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए ।

    सार्वभौम संसदमा छलफल भएर देशको हितका पक्षमा निर्णय हुनुपर्ने पार्टीले ठहर गरेको छ । एमसीसीका कारण गठबन्धन टुट्न नहुनेमा समेत नेकपा एसका नेताहरुको जोड छ ।

  • नेकपा एसको स्थायी कमिटी बैठक सुरु, एमसीसी र गठबन्धनबारे निर्णय लिने

    नेकपा एसको स्थायी कमिटी बैठक सुरु, एमसीसी र गठबन्धनबारे निर्णय लिने

    काठमाडौं । एमसीसी र गठबन्धनबारे निर्णय लिन नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक बानेश्वरस्थित अर्याल होटलमा सुरु भएको हो ।

    बैठकले एमसीसी र गठबन्धनबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने बताइएको छ ।

    नेकपा एसले एमसीसी अध्ययन कार्यदलले केन्द्रीय सचिवालयमा बुझाएको प्रतिवेदनमाथि छलफल गरेर निष्कर्ष निकाल्ने बताइएको छ । सरकारले एमसीसी संसदमा टेबल गर्ने तयारी गरे पनि सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादी विरोधमा छन् ।

    माओवादीले अहिलेको अवस्थामा एमसीसी अगाडि बढाउन नहुने निर्णय गरिसकेको छ । एकीकृत समाजवादीले भने आज निर्णय लिनेछ ।

    आइतबार सत्ता गठबन्धनको बैठक बस्दैछ । प्रतिनिधिसभा बैठक पनि आइतबार नै तय भएको छ ।

  • एमसीसी र गठबन्धनबारे छलफल गर्न नेकपा एसको स्थायी कमिटी बैठक बस्दै

    एमसीसी र गठबन्धनबारे छलफल गर्न नेकपा एसको स्थायी कमिटी बैठक बस्दै

    काठमाडौं । एमसीसी र गठबन्धनबारे छलफल गर्न नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक बस्दैछ । बैठक बिहान ११ बजे बानेश्वरमा बस्ने प्रवक्ता जगन्ननाथ खतिवडाले जानकारी दिए ।

    बिहान ११ बजे अर्याल होटेलमा बस्न लागेको स्थायी कमिटिको बैठकले एमसीसी र गठबन्धनबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने बताइएको छ ।

    उनका अनुसार एमसीसी अध्ययन कार्यदलले केन्द्रीय सचिवालयमा बुझाएको प्रतिवेदनमाथि छलफल गरेर निष्कर्ष निकालिनेछ । सरकारले एमसीसी संसदमा टेबल गर्ने तयारी गरे पनि सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादी विरोधमा छन् ।

    माओवादीले अहिलेको अवस्थामा एमसीसी अगाडि बढाउन नहुने निर्णय गरिसकेको छ । एकीकृत समाजवादीले भने आज निर्णय लिनेछ ।

    आइतबार सत्ता गठबन्धनको बैठक बस्दैछ । प्रतिनिधि सभा बैठक पनि आइतबार नै तय भएको छ ।

  • कर्णालीमा एमाले र सरकारबीच भएको सहमतिप्रति नेकपा एसको आपत्ति

    कर्णालीमा एमाले र सरकारबीच भएको सहमतिप्रति नेकपा एसको आपत्ति

    सुर्खेत । संसदको गतिरोध हटाउनेबारे कर्णाली सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच भएको सात बुँदे सहमतिप्रति सत्तारुढ नेकपा एकीकृत समाजवादीले आपत्ति जनाएको छ । सहमतिप्रति असन्तुष्ट एकीकृत समाजवादी कर्णाली प्रदेशका अध्यक्ष अम्मरबहादुर थापा आफ्नै दलबाट सरकारकारमा सहभागी मन्त्री चन्द्रबहादुर शाहीलाई भेटेर ‘सम्झौता गर्नुको कारण’बारे सोधेका थिए ।

    स्रोतका अनुसार एकीकृत समाजवादीका केन्द्रीय उपमहासचिव प्रकाश ज्वाला र पूर्वमन्त्री कुर्मराज शाहीले समेत एमालेसँगको समझदारी रुचाएका छैनन् । त्यस्तै माओवादीका पनि धेरै नेताले एमालेसँगको उक्त सहमति रुचाएका छैनन् । माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले पनि बाध्य भएर सम्झौतामा हस्ताक्षर गरेको बताइएको छ ।

    तत्कालीन माओवादी नेतृत्वले सरकारले ल्याएको बजेट उल्ट्याउने नियतका साथ उक्त सहमति भएको केही माओवादी नेताको बुझाइ छ ।

    प्रतिपक्षी एमालेका सांसद सुशील थापाले भने सहमति ऐतिहासिक भएको बताएका छन् ।

    सरकार र एमालेबीच १८ गते संसदको अवरोध हटाउनेबारे सात बुँदे सहमति भएको थियो ।

  • एमालेमा केन्द्रीय सदस्य नपाएका कर्माचार्यलाई नेकपा एसले पोलिटब्यूरो सदस्य बनाउँदै

    एमालेमा केन्द्रीय सदस्य नपाएका कर्माचार्यलाई नेकपा एसले पोलिटब्यूरो सदस्य बनाउँदै

    काठमाडौं । नेकपा एमालेसँगको ४० वर्ष लामो आबद्धता त्यागेको घोषणा गरेका पूर्वसांसद सुवास कर्माचार्यलाई नेकपा एकीकृत समाजवादीले केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।

    नेकपा एसको सचिवालय बैठकले सिन्धुपाल्चोकका नेता कर्माचार्यलाई केन्द्रीय सदस्य मनोनीत गरेको हो । उनलाई अब बस्ने बैठकबाट पोलिटब्यूरो सदस्य बनाएर सिन्धुपाल्चोकको इन्चार्जको जिम्मेवारी दिने तयारी भइरहेको नेकपा एसका एक नेताले बताए ।

    नेकपा एमालेमा केन्द्रीय सदस्य नपाएपछि कर्माचार्यले विद्रोहको बाटो रोजेका थिए । उनको पार्टी प्रवेश कार्यक्रम भने केही पछि सिन्धुपाल्चोकमै हुने नेकपा एसका नेता गम्भीरलाल श्रेष्ठले बताए ।

  • नेकपा एस र नेकपा जनवादीबीच एकता (तस्बिरहरू)

    नेकपा एस र नेकपा जनवादीबीच एकता (तस्बिरहरू)

    काठमाडौं । नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता भएको छ । राष्ट्रियसभा गृहमा आयोजित एक समारोहका बीच दुई पार्टीले एकता गरेका हुन् ।

    एमालेबाट अलग भएर नयाँ पार्टी खोलेका माधव नेपालले माओवादीबाट अलग्गिएर देवेन्द्रसिंह महता नेतृत्वको नेकपा जनवादीसँग एकीकरण गरेका हुन् ।

    माओवादी सशस्त्र युद्धकालमै चुनवाङ बैठकबाट प्रचण्डको कार्यदिशामा असहमति जनाउँदै २०६२ सालमा महतासहितले विद्रोह गरेका थिए ।

    महतासहित जानुका श्रेष्ठ, हिमालचन्द्र खरेल, साधुराम चौलागाई, श्यामबहादुर बूढा, छत्र लाखे, विनोद थापा, मिना गिरीलगायतका नेता एकीकृत समाजवादीमा समाहित भएका छन् ।

  • आउँने सबै चुनाव माओवादी, नेकपा एस र जसपा गठबन्धनले जित्नेछ : झाँक्री

    आउँने सबै चुनाव माओवादी, नेकपा एस र जसपा गठबन्धनले जित्नेछ : झाँक्री

    काठमाडौं । नेपाल इन्जियिरर्स एशोसियसनको आसन्न निर्वाचनमा सत्तारुढ ५ दलीय गठबन्धन विभाजित भएको छ । नेपाली कांग्रेससमर्थित इन्जिनियरभित्रै दुई प्यानल हुने अवस्थामा गठबन्धनका अन्य घटकले आफ्नै प्यानल घोषणा गरेका छन् ।

    नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत र जनता समाजवादी पार्टीनिकट इन्जिनियरको प्यानल घोषणामा तीनवटा विकासे मन्त्रालयको नेतृत्व गरिरहेका भौतिक पूर्वाधार मन्त्री रेणु यादव, ऊर्जामन्त्री पम्फा भुसाल र शहरी विकास मन्त्री रामकुमारी झाँक्रीसहित शीर्ष नेता उपस्थित भएका थिए ।

    उम्मेदवारी घोषणासभालाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले यो गठबन्धनलाई हार्ने छुट नभएको भन्दै जिताउनका लागि जुनसुकै सहयोग गर्न आफूहरू तयार रहेको बताइन् ।

    मन्त्री झाँक्रीले एमालेप्रति लक्षित गर्दै यो चुनावबाट एकथरी प्रवृत्तिलाई साइजमा राख्नु आवश्यक रहेको भन्दै अब मुलुकमा लगातार चुनाव आउने भएकाले गठबन्धन बलियो बनाउनुपर्नेमा जोड दिइन् ।

    उनले भनिन्, ‘यो गठबन्धनले स्थानीय तह, प्रदेश र संघीय तहमा उल्लेख्य सफलता पाउँनेछ भन्ने मानक तपाईंहरूले बनाउनुपर्छ । हाम्रोतर्फबाट सबै सहयोग हुनेछ ।’

  • ओलीलाई कंस, रावण र हिटलरसँग तुलना गर्दै माधव नेपालले भने – वाक्क भएर विद्रोह गर्‍यौं (भिडिओ)

    ओलीलाई कंस, रावण र हिटलरसँग तुलना गर्दै माधव नेपालले भने – वाक्क भएर विद्रोह गर्‍यौं (भिडिओ)

    सल्यान । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले अब इतिहासको विषय भइसकेको भन्दै सूर्य चिन्हमा ग्रहण लागिसकेको टिप्पणी गरेका छन् ।

    सल्यानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेमा अब कोही पनि बस्न नसक्ने दाबी गरे । नेपालले एमाले अध्यक्ष केपी ओलीलाई कंस,रावण र हिटलरसँग तुलना गर्दै आफूहरू वाक्क भएर विद्रोह गरेको बताए ।

    नेपालले भने, ‘सूर्यमा ग्रहण लागिसक्यो । अब कलम लिएर आएका छौं, अबको चुनावमा सूर्यमा होइन कलममा भोट हाल्नुपर्छ । एमाले त अब समाप्त भइसक्यो ।’

    ओलीप्रति चरम घृणा प्रकट गर्दै नेपालले देशकै खराब नागरिकको संज्ञा दिए । अब एमालेलाई कसैले पनि भोट नदिने भन्दै सबै जनता नेकपा एसको पक्षमा उभिएको दाबी नेपालले गरे ।

  • माधव नेपालको आरोप- संसदमा मेरो उपस्थितिले ओलीको सातो गएको छ

    माधव नेपालको आरोप- संसदमा मेरो उपस्थितिले ओलीको सातो गएको छ

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संसदमा आफ्नो उपस्थितिले एमाले अध्यक्ष केपी शर्मा ओलीको सातो गएको आरोप लगाएका छन् ।

    पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा उनले एमालेले संसदमा संविधानको सम्मान गर्ने नारा लगाए पनि कहिल्यै सम्मान नगरेको दाबी गरे । एमालेले संसदीय मर्यादाको समेत पालना नगरेको उनको टिप्पणी छ ।

    ‘कमसेकम मेरो उपस्थितिले केपी ओलीको सातो गइरहेको छ नि । सातो जाओस् । केही मतलव छैन । नेपाली जनताको सातो कायम रहनुपर्छ । नेपाल राष्ट्रको गरिमा माथि उठ्नुपर्छ । कम्युनिष्ट आन्दोलन जोगिनुपर्छ । कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाउनुपर्छ’, नेपालले भने, ‘केपी ओलीको कब्जामा रहेको, उनको प्राइभेट कम्पनीमा रुपान्तरण भएको कथित नेकपा (एमाले) हाम्रो सबैभन्दा पहिलो प्रतिद्वन्द्वी पार्टी बन्न पुगेको छ । उसले हामीलाई शत्रु घोषणा गरेको छ । हाम्रो अनुहार पनि हेर्दिन भनेको छ । तर, कस्तो संयोग, नेपाली कांग्रेसको कार्यक्रममा अनुहार हेर्दै जानु परेको छ । रमाइलो भा’छ । कांग्रेसको कार्यक्रममा आउन हुने, एउटै स्टेजमा बस्न पनि हुने, तर अन्य ठाउँमा हामीलाई छुवाछुतको व्यवहार गर्ने । अहिले आइरहेका छैनन् संसद बैठकहरूमा ।’

    उनले संसदीय मर्यादाको कुरा गरे पनि एमालेले सदनमा अमर्यादित नारा लगाएको आरोप लाए ।

  • सभामुखलाई माधव नेपालको ढाडस-  अघि बढ्नुस्, हामी तपाईंको साथमा छौं

    सभामुखलाई माधव नेपालको ढाडस-  अघि बढ्नुस्, हामी तपाईंको साथमा छौं

    कास्की । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको साथमा आफ्नो पार्टी रहेको बताएका छन् । नेकपा एमालेद्वारा जारी संसद अवरोधलाई लक्षित गर्दै नेपालले सभामुखलाई दृढताका साथ अघि बढ्न आड दिएका छन् ।

    नेकपा एस गण्डकी प्रदेश कमिटीले आज पोखरामा आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा उनले कानुनको शासनपालना गर्ने र संविधानको सर्वोच्चताको स्वीकार गर्नेहरूले सर्वोच्च अदालतको फैसला स्वीकार गर्नुपर्ने बताए । उनले भने, ‘सभामुखज्यू तपाईं एक्लो हुनुहुन्न, तपाईंको साथमा हामी पनि छौँ । दृढताका साथ अगाडि बढनुहोस् ।’

    तत्कालीन एमाले पार्टीबाट विद्रोह गरेर कम्युनिष्ट आन्दोलन जोगाउन र बचाउन कानूनको आधारमा साहसिक कदम चालिएको उनको दाबी छ । उनले नेपालको राजनीतिमा कम्युनिष्ट पार्टीलाई स्थापित गर्दै माक्र्सवाद र लेनिनवादप्रति पूर्ण प्रतिबद्ध रहेर कम्युनिष्ट मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात् गरी बेतिथि, गरिबीलाई समाप्त गरेर सुन्दर समाजको निर्माणमा आफ्नो पार्टी लाग्ने बताए ।

    कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठले गण्डकी प्रदेशमा आगामी दिनमा एकीकृत समाजवादीलाई पहिलो पार्टीका रुपमा स्थापित गरिने दाबी गरे ।
    – रासस

  • वागमती प्रदेशमा नेकपा एसका दुई मन्त्री थपिँदै

    वागमती प्रदेशमा नेकपा एसका दुई मन्त्री थपिँदै

    काठमाडौं । वागमती प्रदेशमा आज हुन लागेको मन्त्रिपरिषद् विस्तारमा नेकपा एकीकृत समाजवादीले दुईजना मन्त्रीको नाम टुंगो लगाएको छ । प्रमुख सचेतक मुनु सिग्देलका अनुसार काभ्रेका बसुन्धरा हुमागाई र काठमाडौंका वसन्त मानन्धर मन्त्री बन्दैछन् ।

    नवनियुक्त मन्त्रीहरूको आजै सपथग्रहण हुँदैछ ।

    सत्ताघटक माओवादी केन्द्रले पनि दुई युवा नेतासहित तीनजनालाई मन्त्री सिफारिस गरेको छ। मन्त्रीका लागि दोलखाबाट निर्वाचित प्रदेशसभा सदस्य विशाल खड्का, काभ्रेका रत्न ढकाल र चितवनका घनश्याम दाहाल छन् ।

  • जीवनराम श्रेष्ठ नेकपा एसको प्रमुख सचेतक, राष्ट्रियसभामा शेरबहादुर

    जीवनराम श्रेष्ठ नेकपा एसको प्रमुख सचेतक, राष्ट्रियसभामा शेरबहादुर

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले संघीय संसदका दुवै सदनका लागि प्रमुख सचेतक चयन गरेको छ ।

    दलका नेता माधवकुमार नेपालको अध्यक्षतामा आइतवार बसेको बैठकले प्रतिनिधिसभा सदंसदीय दलको प्रमुख सचेतकमा जीवनराम श्रेष्ठलाई चयन गरेको हो ।

    नेकपा एसका प्रमुख सचेतक श्रेष्ठ पार्टीका सचिव समेत हुन् । त्यस्तै राष्ट्रियसभाको प्रमुख सचेतकमा शेरबहादुर कुँवर चयन भएका छन् । पहिलो र दोस्रो दलले मात्र सचेतकको सुविधा पाउने भएकाले नेकपा एसले प्रमुख सचेतकमात्र मनोनयन गरेको हो ।

  • अरु पार्टीबाट नेकपा एसमा आएका नेताको जिम्मेवारी तोकियो, कसलाई के जिम्मेवारी ?

    अरु पार्टीबाट नेकपा एसमा आएका नेताको जिम्मेवारी तोकियो, कसलाई के जिम्मेवारी ?

    काठमाडौं। नेकपा (एकीकृत समाजवादी)ले पछिल्लो समय आफ्ना पार्टीमा आएका विभिन्न नेताहरुलाई पार्टीमा जिम्मेवारी दिएको छ। शुक्रबार जारी नेकपा एसको अन्तरपार्टी निर्देशन–३ अनुसार हालै माओवादी परित्याग गरी आएका नेता रामचन्द्र झालाई स्थायी कमिटीमा नियुक्त गरेर कानून विभाग प्रमुख बनाइएको छ।

    त्यस्तै हालै बंगलादेशको नेपाली राजदूतको कार्याकाल सकाएर आएका बंशिधर मिश्रलाई पनि स्थायी समितिमा नियुक्त गर्दै जलस्रोत विभाग प्रमुख बनाएको छ। हालै एमाले परित्याग गरी आएका अम्मर गरिलाई अनुशासन आयोग सदस्यको जिम्मेवारी दिइएको छ।

    नेकपा एमालेको तत्कालीन डडेल्धुरा कमिटीको बहुमत पदाधिकारीसहित आएका जिल्ला अध्यक्ष डा. तारा जोशीलाई उद्यमशीलता विकास विभाग प्रमुख बनाइएको छ। एमाले नै परित्याग गरी आएका भानुभक्त जैशीलाई स्थायी कमिटीमा नियुक्त गर्दै वन तथा वातावरण विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

  • नेकपा एसको बाँके जिल्ला कमिटीले पूर्णता पायो, बन्यो ३०३ सदस्यीय कमिटी

    नेकपा एसको बाँके जिल्ला कमिटीले पूर्णता पायो, बन्यो ३०३ सदस्यीय कमिटी

    रुपन्देही । बाँकेमा नेकपा एकीकृत समाजवादी पार्टीले पूर्णता पाएको छ । पार्टी केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज नेता अशोक कोइरालाको अध्यक्षतामा भएको भेलाले इन्द्रबहादुर थापाको अध्यक्षतामा ३ सय ३ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।

    नवगठित जिल्ला कमिटीको उपाध्यक्षमा सम्सुद्दिन सिद्दिकी, भद्रप्रसाद देवकोटा, सचिव दिपक जीएम, सहसचिव किशोर थापा, भगवति अधिकारी, कप्तान पाठक रहेका छन् । उनीहरुलाई समाजवादीका पोलिटब्यूरो सदस्य दलबहादुर सुनारले सपथ ग्रहण गराएका थिए ।

    त्यसअघि कार्यक्रममा बोल्दै नेता सुनारले जिल्ला कमिटीलाई जिल्लामा पार्टी बलियो बनाउन लागि पर्नका लागि आग्रह गरेका थिए ।

    यसअघि जिल्ला अध्यक्षको समेत जिम्मेवारीमा रहेका बाँके इन्चार्ज कोइरालाले कार्यभार नयाँ कार्यसमितिका अध्यक्ष थापालाई हस्तान्तरण गरेका थिए ।

     

  • हाम्रो विद्रोह जायज थियो भन्ने चितवनको तमासाले पुष्टि गर्‍यो : माधव नेपाल (भिडिओ)

    हाम्रो विद्रोह जायज थियो भन्ने चितवनको तमासाले पुष्टि गर्‍यो : माधव नेपाल (भिडिओ)

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेले अब कम्युनिष्ट आन्दोलनमा योगदान गर्न नसक्ने बताएका छन् ।

    राष्ट्रिय जनसांस्कृति महासंघको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलन जोगाउनकै लागि आफूहरूले एमालेबाट विद्रोह गरेको बताए । उनले एमालेमा विद्रोहको आवश्यकता थियो भन्ने तथ्य चितवनबाट पुष्टि भएको बताए ।

    ‘हामीले एमालेबाट किन विद्रोह गर्‍यौं भनेर भन्नै नपर्ने भयो । चितवनको तामासा नै पर्याप्त छ । त्यहाँ फरक मत राख्ने व्यक्तिमाथि जसरी अपमान भइरहेको छ, त्यो नै पर्याप्त छ । जबजको गफ हाँक्ने, कुनै जनवादी अधिकार प्रदान नगर्ने र आदेशको मात्रै पालना गराउने प्रवृत्तिले स्पष्ट पार्छ कि अब एमाले दक्षिणपन्थी बाटोमा गइसकेको छ’, नेपालले भने ।

    उनले एमालेको प्रशंसा विदेशी दलालले मात्रै गर्नसक्ने भन्दै राप्रपाको महाधिवेशनमा एमाले नेतृत्वको उच्च प्रशंसा हुनु शोभनीय नभएको बताए । संविधान मास्न चाहने शक्तिहरूबाट मुलुकलाई मुक्ति दिलाउन ५ दलीय गठबन्धन गरेको भन्दै अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनका उपलब्धी जोगाउन चाहनेहरू एकीकृत समाजवादीमा आउनुपर्ने बताए ।

  • कलाकारसँग रमझममा माधव नेपाल (तस्बिरहरू)

    कलाकारसँग रमझममा माधव नेपाल (तस्बिरहरू)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको राष्ट्रिय जनसांस्कृतिक महासंघले काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा समाजवादी जनसांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।

    कार्यक्रममा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल प्रमुख अतिथिका रुपमा सहभागी भएका छन् । कार्यक्रममा जन सांस्कृतिक महासंघ आबद्ध कलाकर्मीहरूले सांस्कृति प्रस्तुति दिएका छन् ।

    नेकपा एमाले दशौं महाधिवेशनका लागि चितवनमा व्यस्त भइरहँदा एमाले विभाजनबाट बनेको नेकपा एस भने जनसांस्कृतिक कार्यक्रममा व्यस्त रहेको हो ।

  • जनकपुरमा पार्टी कार्यालय उद्घाटन गर्दै माधव नेपालले भने- आफूलाई मालिक ठान्दैनौं

    जनकपुरमा पार्टी कार्यालय उद्घाटन गर्दै माधव नेपालले भने- आफूलाई मालिक ठान्दैनौं

    जनकपुरधाम । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनकपुरमा जिल्ला पार्टी कार्यालयको उद्घाटन गरेका छन् ।

    जनकपुरको भानु चोकस्थित किशोरी नगरमा भाडामा लिएको भवनमा अध्यक्ष नेपालले जिल्ला पार्टी कार्यालयको उद्घाटन गरेका हुन् । कार्यालय परिसरमा उनले निमको विरुवासमेत रोपे ।

    उनले अगामी सबै तहको निर्वाचनमा गठबन्धन हुने भन्दै केपी ओली पतन हुने दाबी गरे ।

    अध्यक्ष नेपालले समाजवाद स्थापना गर्ने बाटोमा आफूहरू अघि बढेको बताए । ‘यो पार्टी नौजवानको हो’, उनले भने, ‘हामी जनताको साथ -साथ हिँड्छौं । सु:ख-दु:खमा साथ दिन्छौं ।’

    आफूलाई मालिक नठान्ने र जनतालाई नोकरको व्यवहार नगर्ने उनको प्रतिबद्धता थियो ।