Tag: नेकपा एमाले

  • ‘नेकपा’ बाट निर्वाचित भएका सांसद के हुन्छन् ?

    ‘नेकपा’ बाट निर्वाचित भएका सांसद के हुन्छन् ?

    काठमाडौं । सर्वोच्च अदालतले साविकका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँझिएको फैसला गरेसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी खारेज भयो । तर, २०७५ मा दुई पार्टीबीच एकता भइ बनेको नेकपाले उपनिर्वाचन र राष्ट्रियसभा निर्वाचनमा समेत सहभागी भएर जित हासिल गरिसकेको हकमा के हुने भन्ने अन्योल देखिएको छ ।

    संसदले सत्तारुढ नेकपालाई मान्यता नदिएको अवस्थामा नेकपा नामबाट निर्वाचित भएका पदाधिकारीबारे अन्योल भएको हो । कानुनका जानकार भने उनीहरु अबैध नहुने बताउँछन् । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले नेकपा खारेज भए पनि यस नामको पार्टीबाट निर्वाचित जनप्रतिनिधिको पद खारेज नहुने धारणा राखे ।

    अर्का बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पनि उही राय दिए । ‘भए, गरेको काम बदर हुँदैन,’ उनले भने, ‘भइसकेको काम जे भयो त्यो रहिराख्छ ।’ गत १४ मंसिर २०७६ मा उपनिर्वाचन भएको थियो ।

    कास्की क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपाकी सांसद विद्या भट्टराई निर्वाचित भएकी थिइन् । त्यस्तै ९ माघ २०७६ मा भएको राष्ट्रिय सभाको निर्वाचनमा नेकपाका नारायणकाजी श्रेष्ठलगायत निर्वाचित भएका थिए ।

  • सुवास नेम्वाङ भन्छन्- संसदमा अब नेकपा छैन, प्रधानमन्त्रीले एमाले-माओवादी मिलाएर लैजानुहुन्छ

    सुवास नेम्वाङ भन्छन्- संसदमा अब नेकपा छैन, प्रधानमन्त्रीले एमाले-माओवादी मिलाएर लैजानुहुन्छ

    काठमाडौं । संविधानसभाका अध्यक्ष तथा पुनःस्थापित नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले संसदमा अब नेकपा नरहेको बताएका छन् । उनले आफूहरुलाई अब नेकपा नभन्न समेत आग्रह गरेका छन् ।

    सर्वोच्चको फैसलापछि प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दल बैठकमा भाग लिन हिंडेका नेम्वाङले नेपाल प्रेससँग कुरा गर्दै भने, ‘अब नेकपा छैन, हामीलाई पुनःस्थापित नेकपा एमाले भन्नुस्, उहाँहरूलाई माओवादी केन्द्र भन्नुस् ।’

    नेम्वाङले पुनःस्थापित नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई मिलाएर लैजान प्रधानमन्त्रीले पहल गर्ने बताए ।

    उनले अब नेकपाको सांसदको नाममा कुनै पनि सदस्यले अनुशासनहीन ढंगले सरकारविरुद्ध गतिविधि गरेमा एमालेको विधान बमोजिम कारबाही हुने समेत चेतावनी दिएका छन् ।

  • ओलीले बोलाए संंसदीय दलको बैठक, एमाले र माओवादी दुवै पक्षका सांसदलाई खबर

    ओलीले बोलाए संंसदीय दलको बैठक, एमाले र माओवादी दुवै पक्षका सांसदलाई खबर

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् ।

    सर्वोच्च अदालतबाट खारेज भएको नेकपाको संसदीय दलका सबै सदस्यहरूलाई साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको मुख्य सचेतक विशाल भट्टराईले नेपाल प्रेस लाई जानकारी दिए ।

  • माओवादीले समर्थन फिर्ता लिए एमालेलाई सरकार टिकाउन १७ सांसद आवश्यक

    माओवादीले समर्थन फिर्ता लिए एमालेलाई सरकार टिकाउन १७ सांसद आवश्यक

    काठमाडौं । सर्वोच्च अदालतको फैसलासँगै नेपाल कम्युनिष्‍ट पार्टी (नेकपा) को वैधता समाप्त भएको छ । अब नेकपाको बहुमतको सरकारको स्टाटसमाथि पनि प्रश्न उठेको छ ।

    नेकपा कानुनीरूपमा विभाजित नभएसम्म प्रचण्ड-माधव पक्षले दाबी गरेपनि केपी ओली नै बहुमतप्राप्त संसदीय दलको नेता थिए । अब नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएसँगै ओली नेतृत्वको सरकार एकल बहुमतको नभई संयुक्त सरकारमा परिणत हुनेछ ।

    प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो भने केपी ओली नेतृत्वको सरकार अल्पमतमा पर्नेछ । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सांसद चाहिन्छ ।

    अहिले कांग्रेसका २ जना र जसपाका १ जना सांसद निलम्बित अवस्थामा छन् । प्रतिनिधिसभामा साबिक एमालेको १२१ सिट छ । उसलाई बहुमतका लागि बढीमा १७ जना सांसद चाहिन्छ ।

    माओवादीले समर्थन नगरेमा ओलीले कांग्रेस वा जसपाको साथ लिनुपर्नेछ । जसपा विभाजनको चर्चा चलिरहेका बेला नेकपाको विवादमा अदालतले गरेको फैसला आफैंमा महत्वपूर्ण छ ।

    प्रतिनिधिसभामा अब १२१ सिट सहित एमाले सबैभन्दा ठूलो दलका रुपमा रहनेछ भने ६१ सिट सहित कांग्रेस दोस्रो र ५२ सिट सहित माओवादी केन्द्र तेस्रो दलका रुपमा रहनेछन् । जसपा ३४ सिट सहित चौथो दल हुनेछ ।

    साना दलमध्ये राप्रपा,राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टीका एक एक जना सांसद छन् । स्वतन्त्र सांसद छक्कवहादुर लामा नेकपा एकीकरणपछि पार्टी प्रवेश गरेका थिए । उनी माओवादीबाटै बागी उठेर जितेकाले माओवादीमै लागेमा सो पार्टीको ५३ सिट हुनेछ ।