Tag: नेकपा एमाले

  • माधवपक्षीय भेलाको पूर्वसन्ध्यामा यस्तो देखियो चहलपहल

    माधवपक्षीय भेलाको पूर्वसन्ध्यामा यस्तो देखियो चहलपहल

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले बुधबारदेखि राष्ट्रिय कार्यकर्ता भेला गर्दैछ ।

    दुई दिने राष्ट्रिय भेलाका लागि भेन्यूका रूपमा ललितपुरको सानेपा हाइटस्थित हेरिटेज ब्यान्क्वेटलाई चयन गरिएको छ ।

    पार्टीभित्रको विवादबारे निर्णायक कदम चाल्नुअघि नेपाल पक्षले कार्यकर्ताको पनि ‘मुड’ बुझ्न चाहिरहेको छ । त्यसै अनुसार आयोजान गर्न लागिएको कार्यकता भेलाबारे जानकारी दिन मंगलबार पत्रकार सम्मेलन आयोजना गरियो ।

    भेलामा करिब तीन हजार कार्यकर्ता भेला हुने माधव पक्षको दाबी छ । भेलाको पूर्वसन्ध्याम हेरिटेज ब्यान्क्वेटको चहलपहल भने बढेको देखिन्छ ।

             
  • भोलिको भेला पार्टी एकताका लागि हो : सुरेन्द्र पाण्डे

    भोलिको भेला पार्टी एकताका लागि हो : सुरेन्द्र पाण्डे

    काठमाडौं । सत्तारुढ नेकपा एमालेको असन्तुष्ट समूहले भोलि र पर्सि आयोजना गरिएको गुट भेला पार्टी एकताकै लागि भएको दाबी गरेको छ । आज आयोजित पत्रकार सम्मेलनमा नेताहरूले केपी ओली समूह पार्टी फुटाउन अग्रसर रहेको प्रत्यारोप लगाए ।

    नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले पत्रकार सम्मेलनमा बोल्दै भने, ‘पार्टी विभाजनको आरम्भ ओलीजीले गर्नुभएको हो । २८ गतेको बालुवाटार वैठकले विभाजनको बिजारोपण गरेको हो । ती सबै निर्णय फिर्ता नभएसम्म पार्टी एकता सम्भव छैन ।’

    आफूहरुले गरेको गुट भेला भने विधानसम्मत रहेको उनले प्रष्ट पारे ।

    ‘पार्टीको विधानले यस्ता भेला तथा राजनीतिक गतिविधि गर्ने छुट दिएको छ । भोलि र पर्सिको भेला पार्टी एकताको सुदृढीकरणका लागि हो ’, पाण्डेले भने ।

    अध्यक्ष ओलीले भोलिको भेलामा उपस्थित हुनेहरुलाई कारबाहीको चेतावनी दिनुभएको छ नि ? भन्ने पत्रकारको प्रश्नमा पाण्डेले ओलीमाथि नै कारबाही हुन सक्ने बताए ।

    उनले भने, ‘आफैं गलत आधारमा खडा भएको अध्यक्ष कारबाहीको भागीदार हुन्छ कि हुँदैन ? त्यो अस्तिको कदम नै गलत र कारबाहीयोग्य थियो । यसप्रकारको कारबाहीको कुरा गर्नु कार्यकर्तालाई अनावश्यक तर्साउन खोजिएको मात्र हो ।’

  • ओलीलाई योगेशको चुनौती – कारबाही भोग्न लामबद्ध छौं, तपाईंलाई इतिहासले कठोर कारबाही गर्नेछ (भिडियो)

    ओलीलाई योगेशको चुनौती – कारबाही भोग्न लामबद्ध छौं, तपाईंलाई इतिहासले कठोर कारबाही गर्नेछ (भिडियो)

    काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले केपी ओलीको कारबाही भोग्न आफूहरु तयार रहेको बताएका छन् ।

    बुधवार शुरू हुने माधव नेपाल पक्षधर राष्ट्रिय कार्यकर्ता भेलाको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले इतिहासले ओलीलाई निर्मम कारबाही गर्ने चेतावनीसमेत दिए ।

    भट्टराईले भने, ‘आज उहाँले बालुवाटारबाट हामीलाई कारबाहीको धम्की दिनुभएछ । हामी एकपछि अर्को कारबाही भोग्न लामबद्ध भएका छौं । इतिहासले तपाईंलाई पनि कठोर कारबाही गर्नेछ र त्यो बेला तपाईंका निम्ति दुई थोपा आँशु झार्ने मान्छे पनि हुने छैनन् । त्यसैले धम्कीको भाषा नाबोलौं, दुई वर्ष बालुवाटारमा चैनका साथ बस्नुस्, बारुदका गन्ध नफैलाउनुस् ।’

    भट्टराईले कार्यकर्ता भेलाको प्रमुख अतिथि भएर उद्घाटन गर्न ओलीलाई आग्रहसमेत गरे ।

  • ओलीको चेतावनी- एमालेमा भाँडभैलो चल्दैन, अन्यथा कानून र विधान अनुसार हुनेछ

    ओलीको चेतावनी- एमालेमा भाँडभैलो चल्दैन, अन्यथा कानून र विधान अनुसार हुनेछ

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षको राष्ट्रिय कार्याकर्ता भेला पार्टीविरोधी रहेको भन्दै त्यस्ता गतिविधिमा संलग्न हुनेलाई संविधान,कानून र पार्टीको विधान बमोजिम कारबाही गर्ने चेतावनी दिएका छन् ।

    केन्द्रीय सदस्य तथा सांसदहरूलाई बालुवाटारमा सम्बोधन गर्दै अध्यक्ष ओलीले बुधवारबाट हुने भनिएको माधव नेपाल पक्षको भेलामा सहभागी नहुन एमाले नेता कार्यकर्तालाई सचेत समेत गराए । ओलीले अब एमालेमा जंगली राज र भाँडभैलो स्वीकार्य नहुने बताए ।

    ओलीले भने, ‘अनुशासनहीन भएमा देशको कानून, संविधान, पार्टीको विधान, संसदको नियमावली, राजनीतिक दल सम्बन्धी ऐन छ । यी सबै कुरातिर म ध्यानाकर्षण गर्न चाहान्छु । भोलिको गुटगत भेलामा सरिक नहुन, नजान र सहभागी नबन्न म सबै नेता कार्यकर्तालाई सचेत गराउँछु ।’

    एमालेमा कसैमाथि अन्याय नहुने र विधि पद्धतिका नाममा बाटोबाटै अध्यक्ष र संसदीय दलको नेता हटायौं भन्ने छुट पनि नहुने ओलीले बताए । हिजो एकदमै अपराध गर्नले आज पनि तमासा देखाउन खोजेको भन्दै ओलीले त्यतातिर पनि एक नजर रहने उनले चेतावनी दिए ।

    ओलीले भने, उनीहरुले त अध्यक्ष र महासचिवलाई निष्कासन गरे । दलको नेतालाई बाटोबाटै हटायौं भने । उनीहरु यस्ताखाले विधि पद्धति रुचाउँछन् । तर, एमालेमा अब त्यो छुट कसैलाई छैन । अब उप्रान्त अराजकता, उच्छृखंलता, एकताविरोधी क्रियाकलापमा छुट हुने छैन, यी कुरा मान्य हुने छैनन् ।

              

     

  • बालुवाटारमा चियापान, बैकुण्ठ महतले नचाए एमाले सांसदलाई

    बालुवाटारमा चियापान, बैकुण्ठ महतले नचाए एमाले सांसदलाई

    काठमाडौं । नेकपा एमाले पुनःस्थापित भएको खुसियालीमा प्रधानमन्त्री निवास बालुवाटारमा एमालेका सांसद र केन्द्रीय सदस्यहरु नाचेका छन् ।

    प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले आयोजना गरेको चियापानमा सहभागीहरूलाई गायक बैकुण्ठ महतले छमछमी नचाएका हुन् ।

    महतले ‘अधिकार खोज्नेको कर्तब्य चाहिँ खोइ ?’ भन्ने गीत गाएपछि यसअघि प्रचण्ड-माधव पक्षमा हस्ताक्षर गरेकी सांसद माया ज्ञवालीसमेत नाचेकी थिइन् । महत र प्रिया भण्डारीले यो गीत पुस ७ गते नेकपा फुटेपछि गाएका थिए ।

    चियापानमा माधव नेपाल पक्षका नेताहरू भने सहभागी भएका छैनन् । ओलीले पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरूलाई आज चियापानका लागि बालुवाटारमा बोलाएका हुन् ।

    माधव नेपाल पक्षले फागुन २८ गतेको निर्णय बदर हुनुपर्ने माग गरेको छ । तर, अध्यक्ष ओलीले ती सबै विषय केन्द्रीय कमिटी बैठकमा छलफल गरिने भन्दै नेपाल पक्षको शर्त अस्वीकार गरेका छन् ।

  • ‘तपाईंहरूले बच्चालाई ढुंगामा बजारेजस्तै गर्नुभयो, अदालतले मेरो राजनीतिक जीवन जोगायो’

    ‘तपाईंहरूले बच्चालाई ढुंगामा बजारेजस्तै गर्नुभयो, अदालतले मेरो राजनीतिक जीवन जोगायो’

    काठमाडौं । आइतवार साँझ माधव नेपालसहित एमालेका ११ जना स्थायी कमिटी सदस्यहरूको संयुक्त वक्तव्य आएपछि अब केपी ओली र माधव नेपाल पक्ष तीन महिनाको बीचमा दोस्रोपटक विभाजित हुँदैछन् भन्ने धेरैको आँकलन थियो ।

    जसरी असोज तेस्रो साता माधव नेपालहरूसहितको सहभागितामा प्रचण्डले ओलीविरुद्ध प्रस्तुत गरेको लिखित ‘अभियोगपत्र’ ले अन्ततः नेकपा फुटेको थियो, लगभग त्यही अवस्थातिर पुनःस्थापित एमाले पुग्न लागेको बेला अचानक दुवै पक्ष एकै ठाउँमा बस्ने वातावरण ओलीले नै तयार पारे ।

    शुरूमा दुवै पक्षबाट चार-चारजना नेता बसेर छलफल गर्ने भनिएपनि धुम्बाराही पुग्दा त्यो संख्या बढेको थियो । झलनाथ खनालको अनुपस्थितिलाई अर्थपूर्णरूपमा लिइए पनि झलनाथसँग नजिक मानिने नेताहरूको समेत सहभागिताले एमाले फुट्न नदिने पहलको शुरूआतका रूपमा लिन सकिन्छ ।

    वार्तामा सहभागी दुवै पक्षका नेताहरूले अनौपचारिक कुराकानीका क्रममा एउटै कुरा भने- हामी भौतिक रूपमा पुस ७ गते केपी ओलीलाई नेकपाका अध्यक्षबाट हटाएको घोषणा गरेकै दिनदेखि फुटिसकेका हौं । अदालतको फैसलाले कानुनी रुपमा एमाले बनाए पनि राजनीतिकरूपमा अहिलेपनि फुटकै अवस्थामा छौं भन्ने आजको वार्तामा पनि प्रकट भयो ।

    एक नेताका अनुसार माधव नेपाल पक्षका अन्य नेताहरू विभाजनको बाटोमा जानु हुँदैन, केही न केही उपाय निकालेर एमाले एकढीक्का राख्नुपर्छ भन्नेमा सकारात्मक देखिए । बरु नेपाल आफैं चाहिँ धुम्बाराहीको वार्तामा आक्रामक रूपमै प्रस्तुत भएको वार्तामा सहभागी नेताले बताए ।

    ती नेताले नेपाल प्रेससँग भने, ‘अरु साथीहरू मिल्ने ठाउँ खोजौं भन्नेमा सकारात्मक रूपमै आउनुभयो । तर माधव कमरेड चाहिँ एकदमै ‘इरिटेटिङ’ ढंगले प्रस्तुत हुनुभयो । उहाँमा कति पनि रियलाइजेशन देखिएन । बरु हार्डलाइनर भनिएका साथीहरूले सकारात्मक उपाय खोजौं भनेर चिन्तित रूपमा कुरा राख्नुभयो ।’

    वार्तामा महासचिव ईश्वर पोखरेल माधव नेपाल पक्षलाई ‘ह्युमिलियट’ गर्ने ढंगले प्रस्तुत भएको अर्को पक्षको नेताले बताए । पोखरेलले आफ्नो अध्यक्ष र प्रधानमन्त्रीविरुद्ध फौजदारी अभियोग लगाइएकोमा माफी माग्नुपर्ने भन्दै अब एमालेमा बहुकेन्द्र बनाउने र फेरि नेकपाकै बेलाको ‘ल्याङल्याङ’ स्वीकार्य नहुने बताएका थिए ।

    २ घण्टा १० मिटेको छलफलमा ओली र नेपालबीच पटक-पटक सवाल-जवाफ र घोचपेच चलेको थियो । ओलीले बोलिरहँदा नेपालले पटक-पटक आपत्ति जनाएका थिए ।

    प्रधानमन्त्रीको मार्मिक मन्तव्य

    वार्तामा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले केही समय लिएर लामै कुरा राखेका थिए । वार्तामा सहभागी नेताका अनुसार ओलीले मार्मिकरूपमा आफूमाथि प्रचण्डसँग मिलेर माधव नेपाल पक्षले सकेजति सबै ज्यादती गरेको भन्दै तर अब बिगत सम्झेर बदला लिने सोच आफूमा नरहेको बताएका थिए ।

    ओलीको भनाइ उदृत गर्दै ती नेताले भने, ‘तपाईंहरूले त सक्ने भए मलाई के बाँकी राख्नुहुन्थ्यो । एउटा बच्चालाई लगेर ढुंगामा बजारेको जसरी तपाईंहरूले केही बाँकी राख्नुभएन । अदालतको फैसलापछि एउटा स्थितिले मेरो राजनीतिक जीवन जोगिएको हो नत्र सिध्याउनै लाग्नुभएको थियो । मैले तपाईंहरूबाट अपेक्षा गर्ने भनेको त्यो गल्तीको रियलाइजेशन हो । सबै कुरा कोट्याएर जान चाहान्न ।’

    ओलीले अदालतको फैसलाबाट एमाले पुनःस्थापित नभएको भए आफ्नो राजनीतिक जीवन नै धरापमा परेको सुनाएका थिए । आफ्नै अध्यक्षलाई चार-चारपटक निष्कासनको घोषणा गरेको, फौजदारी अभियोग लगाइएकाजस्ता प्रसंग उठाउँदै ओलीले सक्नेजति गरेर पनि नसकेपछि अदालतको फैसलाबाट नयाँ ठाउँमा पुगिएको बताए ।

    वार्तामा सहभागी एमाले संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले प्रधानमन्त्रीले हिजो आफूमाथि गरिएका भद्दा कारबाहीहरूको प्रसंग उठाएपनि ती कुरा बिर्सेर पार्टीलाई एकताबद्धरूपमा अघि बढाउन तयार रहेको बताए । नेपाल प्रेससँग कुरा गर्दै नेम्वाङले हिजो अर्को पक्षसँग मिलेर गरिएका त्यस्ता कुराप्रति आत्मालोचित हुनु राम्रो हुने बताए ।

    नेम्वाङले भने, ‘साथीभाइहरूले सक्नेजति त गरेकै हुन् । हिजो गल्ती भयो भनेर आउनु धेरै राम्रो हुन्छ । तरपनि प्रधानमन्त्री तथा पार्टी अध्यक्षले हिजोका कुरा बिर्सेर अघि बढौं भन्नुभएको छ । सर्वोच्च अदालतले एमाले पार्टी फिर्ता आएको छ, यसलाई एकताबद्ध बनाउँ भन्नुभयो । तर, उहाँहरू सहमत भइसक्नुभएको छैन ।’

    वार्तामा सहभागी एमाले उपाध्यक्ष भीम रावलले भने तीन महिनापछि एकै ठाउँमा बसेर वार्ता गर्ने बाहेक ठोस कुनै प्रगति नभएको प्रतिक्रिया दिए । नेपाल प्रेससँग कुरा गर्दै रावलले अध्यक्ष ओली फागुन २८ को निर्णयबाट पछि नहट्ने देखिएकाले आफूहरू राष्ट्रिय भेलासहितका गतिविधिमै रहने बताए ।

    एमाले प्रवक्ता प्रदीप ज्ञवालीले वार्ता हुनु आफैंमा सकारात्मक रहेको र यसले पार्टीलाई एकताबद्ध राख्नुपर्छ भन्ने पंक्तिलाई बल पुगेको बताए । तर, फागुन २८ गतेको विशेष केन्द्रीय कमिटीको निर्णय भने कार्यन्वयनमा गइसकेको ज्ञवालीको भनाइ छ ।

    फागुन २८ को निर्णयबाट आफू पछि नहट्ने ओलीले प्रष्ट पारेपछि नेपाल पक्ष अब एकताको सम्भावना नरहेको निष्कर्षमा पुगेको छ । यद्यपि छलफल जारी राखिने रावलले बताए ।

  • ओलीको चियापान माधव पक्षले बहिष्कार गर्ने, केन्द्रीय सदस्य र सांसदलाई अर्याल होटलमा बोलाइयो

    ओलीको चियापान माधव पक्षले बहिष्कार गर्ने, केन्द्रीय सदस्य र सांसदलाई अर्याल होटलमा बोलाइयो

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बालुवाटारमा आयोजना गरेको चियापान कार्यक्रम बहिष्कार गर्ने भएको छ ।

    धुम्बाराहीको वार्ता सहमतिमा नपुगेकाले चियापानमा जानुको औचित्य नरहेको उपाध्यक्ष भीम रावलले बताए । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार एमालेका केन्द्रीय सदस्यहरुलाई चियापानका लागि बोलाइएको छ ।

    नेपाल पक्ष चैत ७ गते बोलाइएको केन्द्रीय कमिटी बैठकमा पनि सहभागी नहुने भएको छ । सहमतिबिना बैठकमा जानु औचित्यहीन रहेको रावलले नेपाल प्रेसलाई बताए ।

    यसैबीच आज धुम्बाराहीमा भएको वार्ताको बारेमा जानकारी गराउन नेपाल पक्षले केन्द्रीय सदस्य तथा सांसदहरूलाई नयाँ बानेश्वरको अर्याल इन्टरनेशनल होटलमा बोलाएको छ ।

    अहिले केहीबेरमा केन्द्रीय सदस्य,स्थायी कमिटी सदस्य र सांसदहरूको भेला हुन लागेको एक नेताले बताए ।

    नेपाल पक्षले चैत ४ र ५ गतेको राष्ट्रिय भेला पनि यथावत रहेको जनाएको छ ।

  • बैठकपछि माधव नेपालको प्रतिक्रिया – मिठो-मिठोबाट शुरू भएर आ-आफ्नै अडानमा सकियो

    बैठकपछि माधव नेपालको प्रतिक्रिया – मिठो-मिठोबाट शुरू भएर आ-आफ्नै अडानमा सकियो

    काठमाडौं । धुम्बराहीमा आज भएको दुवै पक्षको वार्तापछि बाहिरिएका एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बैठक शुरूमा मिठो-मिठोबाट शुरु भएर अन्त्यमा आफ्ना-आफ्ना अडानमा सकिएको बताएका छन् ।

    ‘हाम्रो एउटै भनाइ थियो । पूर्वएमालेहरूको पहिलेको जुन अवस्था थियो त्यो ठाउँमा फर्कौं, २८ गतेको बैठक वैधानिक छैन’ नेपालले भने, ‘ २८ गतेको बैठकलाई शून्य अवस्थामा पुर्‍याइदिउँ र सिंगो पार्टीको बारेमा बसेर छलफल गरौं भन्ने प्रस्तावमा त्यो स्वीकार नभएपछि बैठक सकियो ।’

    एमाले र माओवादी ब्युँताउने सर्वोच्च अदालतको फैसलापछि अलग भएको एमालेमा ओली र माधवबीचको संवादहीनताको स्थिति तोड्दै दुवै पक्षका नेताहरू आज करिब २ घण्टा वार्तामा बसेका थिए ।

    वार्तामा माधव पक्षले चैत ४ र ५ मा डाकेको भेला स्थगित गर्न संस्थापन पक्षले आग्रह गरेको छ भने । २८ गते बालुवाटार विशेष बैठकबाट गरिएका निर्णय फिर्ता लिनुपर्ने अडान माधव पक्षको छ ।

    बैठक सकारात्मक भएको र अझै छलफल जारी रहने दुवै पक्षका नेताहरूले बताएका छन् ।

  • धुम्बाराही बैठक : नेपाल पक्षको भेला स्थगित गर्न संस्थापनको आग्रह

    धुम्बाराही बैठक : नेपाल पक्षको भेला स्थगित गर्न संस्थापनको आग्रह

    काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षले असन्तुष्ट पक्षद्वारा चैत ४ र ५ गते बोलाइएको भेला स्थगित गर्न आग्रह गरेको छ ।

    पार्टी कार्यालय धुम्बाराहीमा आज भएको बैठकमा सो आग्रह गरिएको पार्टी सचिव प्रदीप ज्ञवालीले पत्रकारहरूलाई जानकारी दिए ।

    ‘यस्तो भेलाले पार्टी एकतालाई बल पुर्‍याउँदैन भन्ने हाम्रो धारणा हो, यही कुरा उहाँहरूसमक्ष राख्यौं,’ ज्ञवालीले भने । नेपाल पक्षले भने संस्थापन पक्षद्वारा गत २८ गते आयोजना गरिएको विशेष वैठकका निर्णयहरू रद्द गर्नुपर्ने शर्त राखेको छ ।

    पार्टी उपाध्यक्ष भीम रावलले भने, ‘यदि २८ गतेको निर्णय उहाँहरूले फिर्ता लिने हो भने हामी भेला स्थगित गर्न सक्छौं ।’

  • धुम्बाराही बैठक सौहार्दपूर्ण तर निस्कर्षहीन

    धुम्बाराही बैठक सौहार्दपूर्ण तर निस्कर्षहीन

    काठमाडौं । नेकपा एमालेको संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच धुम्बाराहीमा भएको वार्ता विनानिष्कर्ष सकिएको छ ।

    वार्ताबाट निस्केका माधव नेपालपक्षीय नेताहरूले वैठक सौहार्दपूर्ण भए पनि निष्कर्ष पुग्न नसकेको बताए ।

    एमाले उपाध्यक्ष भीम रावलले गत २८ गतेको बालुवाटार बैठकबाट लिइएका निर्णय फिर्ता लिनुपर्ने अडान आफूहरुले प्रस्तुत गरेको तर प्रधानमन्त्रीबाट सकारात्मक जवाफ नआएको बताए ।

    ‘हामीले सर्वोच्चको फैसलाअनुसार पार्टीलाई ३ वर्षअगाडिको अवस्थामा नै फर्काउनुपर्ने कुरा राख्यौं । यसका लागि २८ गतेको वैठकले गरेका निर्णय रद्द गर्नुपर्छ । तर, प्रधानमन्त्रीले भने अस्तिको बालुवाटार वैठकबाट भएका निर्णय फिर्ता लिने इच्छा देखाउनुभएन ’, रावलले भने ।

    आजको वार्तालाई आफूहरुले सकारात्मकरुपमै लिएको रावलले बताए ।

    ‘यति लामो मतभेद एकचोटि बस्दैमा मिल्दैन सक्दैन । तर, बैठकलाई हामीले सकारात्मक रुपमा लिएका छौं,’ उनले भने । रावलका अनुसार अर्को छलफलको मिति तय भएको छैन ।

  • धुम्बाराही बैठक : २८ गतेको निर्णय फिर्ता लिनुपर्ने नेपाल पक्षको अडान

    धुम्बाराही बैठक : २८ गतेको निर्णय फिर्ता लिनुपर्ने नेपाल पक्षको अडान

    काठमाडौं । नेकपा एमालेको संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच धुम्बाराहीमा भएको पहिलो वार्ता सकिएको छ ।

    वार्तामा नेपाल पक्षले २८ गतेको वालुवाटारबाट भएका निर्णयहरु फिर्ता लिनुपर्ने अडान राखेको छ । वार्ता सकेर बाहिर निस्किँदै माधव नेपालपक्षीय नेता रघुजी पन्तले आफूहरुले २८ गतेको निर्णय फिर्ता लिनुपर्ने विषयमा अडान प्रस्तुत गरेको तर प्रधानमन्त्रीबाट ठोस जवाफ नआएको बताए ।

    ‘अदालतले हामी सबैलाई एकै ठाउँमा ल्याइदिएको सन्दर्भमा एमालेलाई एकताबद्ध, सुदृढ दिशातिर अघि बढ्नुपर्ने विषयमा बैठकमा छलफल भयो’, पन्तले पत्रकारसँग भने ।

    अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा विशेष बैठक राखेर माओवादीतर्फका २३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुका साथै केही नेताहरूको जिम्मेवारी हेरफेर गरेका थिए । त्यसप्रति माधव पक्षले असन्तुष्टि जनाउँदै आएको छ ।

  • धुम्बाराही वैठकमा नेताहरूको बसाइ व्यवस्थापन : नेपाल पक्षलाई सम्मान

    धुम्बाराही वैठकमा नेताहरूको बसाइ व्यवस्थापन : नेपाल पक्षलाई सम्मान

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका दुई समुहबीच अहिले धुम्बाराहीस्थित पार्टी कार्यालयमा वैठक जारी छ ।

    वैठकको बसाइ व्यवस्थापन हेर्दा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले नेपाल पक्षलाई पुरानै मर्यादाक्रम अनुसार सम्मान दिएको देखिन्छ ।

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको हँसिया-हतौडा अंकित ब्यानरका अगाडि नेताहरुले आसन जमाएका छन् । अगाडिको पंतिमा अध्यक्ष ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल र महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल छन् । उनीहरुको वरिपरी उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल, सचिवद्वय गोकर्ण विष्ट र प्रदीप ज्ञवाली, नेताहरु सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ र रघुजी पन्त   छन् ।


    बसाइको स्टाइल राउन्ड टेबल भए पनि सबै नेताहरूलाई छुट्टाछुट्टै टेबलको व्यवस्था गरिएको छ ।

    प्रधानमन्त्रीलाई विशेष आसन छैन

    धुम्बाराही वैठकमा बसाइ व्यवस्थापनको अर्को विशेषता भनेको सबैको कुर्सी र टेबल उस्तै छन् । यसअघि प्रधानमन्त्री तथा अध्यक्ष ओलीका लागि विशेष कुर्सी-टेबलको प्रबन्ध हुने गरेको थियो । त्यसलाई लिएर पनि नेपाल पक्षले बेलाबखत असन्तुष्टि जनाउने गरेको थियो । तर, आजको वैठकमा भने ओली र अन्य नेताहरुको कुर्सी-टेबल उही छ ।

    केही दिनअघि बालुवाटारमा ओलीले विशेष वैठक बोलाएर माओवादीबाट आएका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुका साथै विभिन्न नेताहरुको जिम्मेवारी हेरफेर गरेका थिए । तर, पदाधिकारीहरु भने यथावत राखिएको संस्थापन पक्षले जनाएको छ । यद्यपि, मिडियामा भने ओलीले महासचिवबाहेक सबै पदाधिकारी हटाएको समाचारहरू आएका थिए । यसले माधव नेपाल समूह सशंकित बनेको थियो ।

    झलनाथ अनुपस्थित

    पार्टी संस्थापनसँग वार्ता गर्न माधव नेपालसहित उनको समूहका ६ जना छन् । संस्थापन पक्षबाट भने पाँच जना उपस्थिति छन् ।

    एमालेका दोस्रो वरियताका नेता झलनाथ खनाल भने धुम्बाराही गएका छैनन् । वार्तामा जानुअघि वानेश्वरमा भएको आपसी वार्तामा भने झलनाथ सहभागी थिए । उनी धुम्बाराही वैठकमा नजानुको कारण भने खुलेको छैन ।

  • विवाद मिलाउन एमालेको दुई पक्षबीच धुम्बाराहीमा वार्ता

    विवाद मिलाउन एमालेको दुई पक्षबीच धुम्बाराहीमा वार्ता

    काठमाडौं । नेकपा एमालेको विवाद मिलाउन दुवै पक्ष वार्तामा बसेका छन् । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले माधव नेपाल पक्षलाई छलफलका लागि बोलाएपछि दुवै पक्षका नेताहरू छलफलमा जुटेका हुन् ।

    धुम्बाराहीस्थित पार्टी कार्यालयमा अहिले छलफल भइरहेको छ । छलफलमा ओलीलगायत नेताहरू ईश्वर पोख्रेल, सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली उपस्थित छन् । त्यस्तै माधवकुमार नेपालसहित भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट पनि सहभागी छन् । नेता झलनाथ खनाल भने गएका छैनन् ।

    पार्टी विभाजन हुन नदिन अध्यक्ष ओलीले असन्तुष्ट पक्षलाई संवादका लागि बोलाएको निकट स्रोतले जनाएको छ । पुस ५ गते प्रतिनिधिसभा विघटनपछि विभाजित भएका नेताहरु एमाले ब्युँतिएपछि पहिलो पटक औपचारिक छलफल भएको हो ।

  • संसद विघटनपछि पहिलोपटक माधव समूह धुम्बाराही कार्यालयमा (तस्बिरहरू)

    संसद विघटनपछि पहिलोपटक माधव समूह धुम्बाराही कार्यालयमा (तस्बिरहरू)

    काठमाडौं । नेकपा एमालेको माधव समूह धुम्बाराहीस्थित एमाले पार्टी कार्यालयमा प्रवेश गरेको छ । तीन महिनायता पहिलोपटक माधव नेपाल लगायतका नेताहरुले धुम्बाराही कार्यालयमा पाइला टेकेका हुन् ।

    धुम्बाराहीमा नेताहरू आउने क्रम शुरू भएको छ ।अध्यक्ष ओली, माधव नेपाल, विष्णु पौडेल सुवास नेम्वाङ, भीम रावललगायतका नेता आइपुगेका छन् । पार्टी कार्यालय वरपर सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।

    प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत ५ पुसमा संसद विघटन गरेकी थिइन् । त्यसले तत्कालीन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीमा अनौपचारिक विभाजन ल्यायो र दुई समूह अलगअलग भए ।

    विभाजनसँगै आ-आफ्नो लिगेसीअनुसार नेकपाको धुम्बाराही कार्यालय ओली पक्षले र पेरिसडाँडा कार्यालय प्रचण्ड-माधव पक्षले प्रयोग गर्दै आएको थियो । त्यसयता ओली समूहका नेता पेरिसडाँडा पुगेका छैनन् भने माधव नेपाल समूह धुम्बराही धाएको थिएन ।

    सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी ब्यूँताइदिएपछि फेरि ओली-नेपाल-खनाल एउटै पार्टीमा आइपुगेका छन् । एमाले अध्यक्ष ओली हुन् भने नेपाल-खनाल वरिष्ठ नेता छन् । फेरि फुटतर्फ अग्रसर भएको एमालेलाई आजको बैठकले एकतातर्फ मोड्ने अपेक्षा नेता-कार्यकर्ताले लिएका छन् ।

  • पार्टी कार्यालय जानुअघि माधव नेपाल पक्षको बानेश्वरमा बैठक

    पार्टी कार्यालय जानुअघि माधव नेपाल पक्षको बानेश्वरमा बैठक

    काठमाडौं । अध्यक्ष केपी ओलीसँग वार्तामा बस्नुअघि नेकपा एमालेको माधव नेपाल पक्ष आन्तरिक छलफलमा जुटेको छ । नयाँ बानेश्वरमा झलनाथ खनाल, माधव नेपालसहितका नेताहरूबीच छलफल भइरहेको छ ।

    ओलीसँग वार्ता गर्न चारजना नेता धुम्बाराही पार्टी कार्यालयमा जाँदैछन् । वार्तामा को को जाने भन्ने पनि सोही छलफलबाट तय हुने एक नेताले बताए । संस्थापन पक्षबाट अध्यक्ष ओलीसहित महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल र प्रदीप ज्ञवाली वार्तामा बस्दैछन् ।

    नेपालनिकट नेताका अनुसार चैत ३ र ४ गते आयोजना गरिने माधव नेपाल पक्षको राष्ट्रिय भेलाको तयारीका लागि छलफल भएको हो । यसबीचमा अध्यक्ष ओलीसँग वार्ता गर्नुपर्ने भएकाले सोही छलफलबाट आफ्नो टोलीसहित नेताहरू धुम्बाराही जानेछन् ।

    नेपालले आफू निकट नेताहरुसँग अध्यक्ष ओलीले बालुवाटारमै बोलाए पनि आफूले टीमसहित कार्यालयमा छलफल गर्ने प्रस्ताव राखेपछि ओली सहमत भएको बताएका छन् ।

  • एमाले अध्यक्ष ओलीले माधव नेपाल पक्षसँग छलफल गर्दै, धुम्बाराहीमा दुवै पक्षबीच वार्ता

    एमाले अध्यक्ष ओलीले माधव नेपाल पक्षसँग छलफल गर्दै, धुम्बाराहीमा दुवै पक्षबीच वार्ता

    काठमाडौं । नेकपा एमालेको विवाद मिलाउन दुवै पक्ष वार्तामा बस्ने भएका छन् । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीले माधव नेपाल पक्षलाई छलफलका लागि बोलाएका छन् ।

    एमाले स्रोतका अनुसार आजै विहान ११ बजे दुवै पक्षका नेताहरु वार्तामा बस्ने भएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा हुने वार्तामा अध्यक्ष ओली सहित महासचिव ईश्वर पोखरेल,उपमहासचिव विष्णु पौडेल र सचिव प्रदिप ज्ञवाली सहभागी हुनेछन् ।

    त्यस्तै अर्को पक्षबाट झलनाथ खनाल र माधव नेपालसहित अन्य दुई नेता सहभागी हुने भएका छन् । माधव नेपाल पक्षले आइतवारमात्रै ओलीविरुद्ध संयुक्त वक्तव्य जारी गर्दै कम्युनिस्ट आन्दोलन विसर्जन गर्न लागेको आरोप लगाएको थियो ।

    पार्टी विभाजन हुन नदिन अध्यक्ष ओलीले अशन्तुष्ट पक्षलाई संवादका लागि बोलाएको निकट स्रोतले जनाएको छ । पुस ५ गते प्रतिनिधिसभा विघटनपछि विभाजित भएका नेताहरु एमाले ब्युँतिएपछि पहिलो पटक औपचारिक छलफलमा बस्दैछन् ।

  • ‘प्रचण्डले यता विवाद बढाइदिएर फाइदा लिने हिसाबले बोल्नुभयो होला’

    ‘प्रचण्डले यता विवाद बढाइदिएर फाइदा लिने हिसाबले बोल्नुभयो होला’

    नेकपा एमालेका केन्द्रीय सदस्य राजेन्द्रकुमार राईको अध्यक्ष केपी शर्मा ओलीसँगको सम्बन्ध प्रायः सधैँ १२/३६ को आँकडा जस्तै बन्यो । केपी ओलीलाई अध्यक्ष बनाउने नवौं महाधिवेशनको हलमा राईले ओलीविरुद्ध लेखेको पुस्तक बाँडिएपछि केही समय महाधिवेशन नै अवरुद्ध भएको थियो ।

    एमाले-माओवादी एकीकरणपछि बसेको नेकपाको केन्द्रीय कमिटी बैठकस्थलमा ओली र प्रचण्डको फोटो टाँगिएको विषय राईले उठाएपछि बैठक हलबाट फोटो हटाइएको थियो । राई सैद्धान्तिक,वैचारिक कुरामा निर्ममरूपमा प्रस्तुत हुने गर्छन् । यही स्वभाव राजनीतिमा छलाङ मार्न चाहिँ बेला-बेला बाधक हुने गर्छ उनलाई ।

    पछिल्लो समय सर्वोच्च अदालतको फैसलापछि फेरि ओलीसँग मिसिने सन्दर्भमा पनि राईको आफ्नै मत रहेको छ । वैचारिक राजनीतिक विषयमा प्रष्ट नभई गरिएको पहिलेको पार्टी एकताको समेत उनी आलोचक थिए ।

    अब नेकपा एमाले फेरि विभाजनको दिशामा गएको हो ? माधव नेपालको टीमका एक प्रभावशाली नेता राईसँग नेपाल प्रेसकर्मी श्यामकृष्ण दाहालले गरेको कुराकानी प्रस्तुत छ, नेपाल टकमा ।

    सर्वोच्च अदालतको आदेशसँगै नेकपा एमाले ब्युँतिएको छ । सँगसँगै नेता कार्यकर्तामा तिक्तता किन निम्तियो ?

    नेकपा एमालेभित्र स्पष्ट दुई धार छन् । त्यसमा अध्यक्ष केपी शर्मा ओलीको धारले चाहीँ आफूले जितेको, माधव नेपाल पक्षले हारेको, उहाँहरू अगाडिदेखि त्यही घरमा रहेको अरु चाहिँ प्रवेश गर्न खोजेकोजस्तो सोचाइ र त्यसै अनुसारको अभिव्यक्ति र व्यवहारले यो तिक्तता उत्पन्न गरिरहेको छ ।

    झन् पार्टी पुरानै अवस्थामा फर्किएको अवस्थामा खुशी हुनुपर्नेमा यो तितोपनाले राम्रो गरेको देखिएन नि होइन र ?

    नेकपाभित्र माधव नेपाल प्रचण्ड एक ठाउँमा थिए । तर, अदालतको फैसलापछि माधव नेपालले अब नेकपा एमाले नै अगाडि बढाउनुपर्छ र अदालतको फैसलालाई स्वीकार्नुपर्छ भनेर तुरुन्तै प्रचण्डसँग छुट्टिएर नेकपा एमालेमै समाहित हुन आउँदा पनि त्यसलाई केपी शर्मा ओली पक्षले सहजताका साथ नस्वीकारेका कारणले यो समस्या भइरहेको छ । यो हुनु राम्रो होइन र यसले राम्रो पनि गर्दैन ।

    केही दिनअघि अर्याल होटलमा भएको तपाईंहरूको भेलाले जिम्मेवारी दिएर तपाईंहरू पनि त एक कदम अघि बढिसक्नुभयो नि ?

    हाम्रो चाहिँ क्रियाले उत्पन्न गरेको प्रतिक्रिया हो । खासगरी यहाँले उठाउनुभएको २८ गतेको बालुवाटारमा केपी ओलीको भेला खासमा त्यो बैठक होइन । त्यसमा एक त सबैलाई खबर गरिएको छैन र त्यहाँ बहुसंख्यकको उपस्थिति पनि छैन । र, अनधिकृत मानिस पनि त्यहाँ उपस्थित छन् । त्यस हिसावले त्यो बैठक पनि होइन र त्यो भेलाले फेरि अनधिकृत खालको निर्णय गरेको हुनाले क्रियाको प्रतिक्रियाको रूपमा हामीले भेला गरेकोमात्रै हो । र, त्यो जिम्मेवारी अहिले बाहिर आएजस्तो स्थायी खालको इन्चार्ज अर्थात विभागीय प्रमुखको जिम्मेवारी होइन । केही हाम्रा कार्यक्रम तय भएका छन् त्यसलाई संयोजन गर्नका लागि दिइएको जिम्मेवारी मात्र हो ।

    फेरि पनि क्रियास्वरूप प्रतिक्रिया गर्दै जाने हो भने मुठभेट सिर्जना हुने अवस्था आउने देखिन्छ । केपी शर्मा ओलीसँग मिल्ने बटमलाईन चाहिँ के हो त ?

    यसमा त हाम्रो साधारण कुरा छ नि । खासगरी अब अदालतले जे फैसला गर्‍यो त्यसको आसयमा सबै उभिन पर्‍यो । तिमीहरू एकताअघिकै लाइनमा आउ भनेर अदालतले निर्णय गर्‍यो । भनेपछि माओवादी माओवादीतिर भए एमाले एमालेतिरै भए । पुराना कमिटी र सबै जिम्मेवारी यथावत रहने, त्यसपछि पार्टीलाई पद्धति, नियम र विधान अनुसार चलायो भने त अरु कुनै समस्या नै छैन । ठूलो माग नै छैन ।

    बैठकहरू बस्दा प्रक्रियासंगत ढंगले बस्ने र निर्णयहरू लिने र भविष्यका जिम्मेवारीहरू हुन्छन् सरकारको जिम्मेवारी होला, पार्टीगत जिम्मेवारीहरू होला, त्यसमा काखापाखा नगरीकन योग्यता र वरिष्ठताको आधारमा दिने । कसैलाई अपमान गर्नेगरी बोल्ने, छेडखानी गर्ने जस्ता कुराहरूलाई रोक्ने भने यो एकताको वातावरण बन्छ ।

    ओली पक्षले त यो पुरानो एमाले होइन, अहिलेको एमाले हो । माओवादी केन्द्रबाट आएका नेतालाई पनि समेट्नुपर्ने भएकाले यस्तो निर्णय गरिएको हो । माधव नेपाल त सधैँ एमालेमै हुनुहुन्छ र उहाँलाई त सधैँ स्वागत र खुला छ भनिराको छ नि त ?

    होइन, उहाँहरूले नयाँ एमाले बनाउने भनेको नयाँ पार्टी बनाउने हो ? नयाँ पार्टी बनाउने हो भने त एमाले छोडेर जानुपर्छ अनि मात्र उहाँहरुले नयाँ पार्टी बनाउन सक्नुहुन्छ । ठीक छ, नयाँ साथीहरु जुनसुकै पार्टीबाट उहाँहरूलाई प्रवेश गराउने, जिम्मेवारी दिने काम स्वागतयोग्य छ । तर, त्यसलाई पनि प्रक्रिया पुर्‍याएर गर्नुपर्‍यो । प्रक्रिया मिलाउने भनेको के भने पुरानो एकताभन्दा पहिलेको केन्द्रीय कमिटिका सबै सदस्यको उपस्थितिमा बैठक बस्नुपर्‍यो र त्यो बैठकले निर्णय गरेर नयाँ आउने साथीहरीलाई कुन कुन ठाउँमा जिम्मेवारी दिने त्यो जिम्मेवारी दिन सकिन्छ ।

    तर घटनाक्रम हेर्दै जादाँ त्यस्तो देखिँदैन । यसरी नै जाने हो भने त पार्टी अर्को मोडमा पो पुग्ने देखियो त ?

    त्यो भनेको ओली पक्षधर र अध्यक्ष केपी शर्मा ओलीको व्यवहारले चाहिँ पार्टीलाई विभाजित गर्ने, दुर्घटनामा पनि पुर्‍याउने र सिंगो कम्युनिष्ट आन्दोलनलाई नेपालबाट बिदाबारि गर्ने दिशामा अगाडि बढिरहेको छ । तर, त्यो कुरालाई रोक्ने, यो कम्युनिष्ट आन्दोलनलाई जोगाउने हदैसम्मको लचिलो प्रयास हामी गरिरहेका छौं । आशा गरौं त्यो सफलता पक्कै पनि हात पार्न सकिएला भन्नेमा छौं ।

    अब चैत ७ गते केन्द्रीय कमिटी बैठक बोलाइएको छ । सहभागी हुनुहुन्छ कि हुनुहुन्न ?

    बैठक बोलाइएको भन्ने कुरा पनि विवाद नै छ । बैठक कसरी बोलाउने भन्नेपनि त्यसका विधि र प्रक्रिया छन् । सचिवालय भन्ने बनेको छ । त्यसले बैठकको एजेण्डा तय गर्ने काम गर्छ । त्यो एउटा विधि र प्रक्रिया भयो । अर्को प्रक्रिया भनेको साविकको कमिटीका सदस्यलाई मात्र बोलाउनुपर्‍यो । अघि अदालतको प्रसंग मैले बताइसकें । अदालतले फैसला गरेअनुसारको भनेको एकताभन्दा अगाडिको अर्थात २०७५ जेठ २ गतेभन्दा अगाडिको कमिटीलाई मात्र बैठकमा बोलाउनुपर्‍यो । अहिले हामीलाई सूचना प्राप्त भए अनुसार अस्ति भर्खरै थपिएका मानिसहरू, त्योभन्दा पनि एमालेभित्रका अरु मानिसलाई समेत केन्द्रीय सदस्यका नाममा बैठकमा बोलाइएको हुनाले त्यो बैठक आफैंमा विवादास्पद छ । त्यस्तो विवादास्पद बैठकमा पहिले नै छलफल गरेर सहमति नभइकन जाने अवस्था आउँदैन ।

    भनेपछि अहिलेको अवस्थामा त्यो बैठकमा सहभागी भइँदैन ?

    अहिलेको अवस्थामा जान सकिँदैन ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र तिनका नेताले माधव नेपालहरू एमाले कब्जा गर्न गएका हुन् यतै फर्किनुहुन्छ भन्दैछन् त ?

    एक ठाउँमा रहुन्जेल एउटै पार्टीको हितमा बोलिन्छ भने अब पार्टी विभाजित भएपछि प्रचण्डलगायत उनका नेता कार्यकर्ताले माओवादीको हितमा र एमालेका नेताले एमालेकै हितमा बोल्छन् नि । अब उहाँले एकातिर विवाद बढाइदिएर फाइदा लिन सकिन्छ भन्ने हिसावले उहाँले बोल्नुभएको होला । त्यसमा अहिलेको अवस्थामा फेरि त्यतातिर जोडिहाल्ने कुनै सम्भावना छैन र सोचाइ पनि छैन । तर, यति हो कि सिद्धान्त त अथवा योभन्दा अगाडिदेखि कै मान्यता के हो भने नेपालमा यो कम्युनिष्टको छुट्टाछुट्टै स-साना दल खोल्नु हुँदैन । त्यो गर्दाखेरि अरुले सत्ता कब्जा गर्ने, सरकार कब्जा गर्ने अवस्था आउँछ । त्यसो हुदाँखेरि एकीकृत भएर जानुपर्छ भन्ने मान्यता चाहिँ छ । त्यो कुरा माओवादीसँग पनि हो त्यो कुरा नेपाल मजदुर किसान पार्टी, जनमोर्चालगायत सबैसँग हो । त्यहाँमात्र केन्द्रिकृत भएर सोच्नुपर्ने अहिले कुनै आवश्यकता छैन ।

    तर, यदि यो सिद्धान्त अथवा अगाडिदेखिकै हाम्रो मान्यता के हो भने नेपालमा कम्युनिष्टहरुको सानासाना दल खोल्नु हुँदैन । त्यो गर्दाखेरि अरुले सत्ता कब्जा गर्ने, अरुले सरकार कब्जा गर्ने अवस्था आउँछ । त्यसो हुँदा एकीकृत भएर जानुपर्छ भन्ने मान्यता चाहिँ छ । त्यो कुरा माओवादीसँग पनि हो, जनमोर्चालगायत अरू सबैसँग हो ।

    मान्यताको जुन कुरा गर्नु भयो, यसको मतलब परिआउँदा मिल्न पनि सकियो ?

    परिआउँदा खेरि आन्दोलनमा अथवा चुनावमा मोर्चा बनाउने सक्दा पार्टी एकता गर्ने, त्यो माओवादीसँग मात्रै होइन । विचार र कार्यक्रम मिल्ने जुनसुकै कम्युनिष्ट पार्टीसँग पनि मिल्न सकिन्छ ।

    तपाईंहरूको भेला र बैठकले त तलसम्म समानान्तर कमिटी बनाउने, ओलीलाई जसरी नि गलाउने । अन्तिममा केही नलागे विद्रोहसम्म गर्ने निष्कर्ष निकालेको छ । विद्रोह भनेको फुट्ने नै अवस्था होला । त्यो टार्न कसले के गर्नुपर्छ ?

    पहिलो कुरा एकताभन्दा अगाडिको सम्पूर्ण कमिटी र जिम्मेवारी जस्ताको तस्तै ब्युँतिनुपर्‍यो । त्यसपछि बैठकहरू बस्दा प्रक्रियासंगत ढंगले बस्ने र निर्णयहरू लिने र भविष्यका जिम्मेवारीहरू हुन्छन् सरकारको जिम्मेवारी होला, पार्टीगत जिम्मेवारीहरू होला, त्यसमा काखापाखा नगरीकन योग्यता र वरिष्ठताको आधारमा दिने । कसैलाई अपमान गर्नेगरी बोल्ने, छेडखानी गर्ने जस्ता कुराहरूलाई रोक्ने भने यो एकताको वातावरण बन्छ ।

    राजनीतिक दलमा नेता/कार्यकर्ताबीच जुँगाको लडाईँ हुने, एकअर्काले निषेधको राजनीति गर्ने बढ्दो छ । यस्तै पाराले जनताका मुद्दा, विकासका मुद्दा ओझेलमा पर्दैनन् ?

    एकदमै ओझेलमा परेका छन् । यो एउटा दुर्भाग्य हो । हिजोका दिनमा हाम्रो सम्पूर्ण समय आन्दोलनमा मात्रै खर्च भयो । हामीले जनताको एजेन्डालाई कार्यान्वयन गर्ने ठाउँमा हामी रहँदै रहेनौं । र यो गएको चुनावमा हामीले ऐतिहासिक विजय प्राप्त गरेर एउटा कम्युनिष्टहरुको संयुक्त मोर्चाले ऐतिहासिक विजय प्राप्त गरेर हाम्रा एजेन्डाहरु, जनताका एजेन्डाहरु, हामीले हिजो भनेका प्रतिवद्धताहरुलाई, देखेका सपनाहरुलाई साकार पार्ने मौका प्राप्त भएको थियो । त्यो अवस्थाको लडाईंले त्यो मौका गुमिहालेको छैन, तर गुम्न लागेको छ । यो अवश्य पनि दुर्भाग्यपूर्ण हो ।

    सबैभन्दा निर्णायक पनि र जिम्मेवारी पनि अब अध्यक्ष नै हो, नेतृत्व नै हो । त्यो कुरा हाम्रो चाहनाभित्रको कुरा होइन । उहाँले त्यो रोक्नु भयो भने गणितको खेल रोकिन्छ, अरुले रोकेर रोकिँदैन । अध्यक्षले नै रोक्नुपर्‍यो । त्यो हाम्रो कामना पनि र चाहना पनि हो ।

    तपाईं एउटा जनप्रतिनिधि पनि दुर्भाग्य पनि महसुस गर्ने । अब फेरि जनतामाझ के भनेर जाने त ?

    अब यसमा माफी मागेर जाने हो । अलग-अलग भएर गइयो भने एकले अर्कालाई दोष देखाएर जाने हो । एउटै भएर गइयो भने माफी मागेर, गल्ती गरियो एकपटकलाई क्षमा दिनुहोस् अब यो दोहोर्‍याउँदैनौं भनेर जाने हो ।

    जनताले माफी चाहिँ दिन्छन् त ?

    जनताले विचार गर्लान् । धेरैले माफी देलान् केहीले नदेलान् । पहिलेको जत्तिकै समर्थन त नआउन सक्छ ।

    तपाईंले अर्याल होटलको बैठकमा पनि केपी ओलीसँग सहकार्य हुँदैन, पार्टी केपी ओलीसँग हिजै फुटेको हो, उनलाई हिजै निकालिसकेको हो, जो व्यक्ति कम्युनिष्ट आन्दोलन नेतृत्व गर्न योग्य छोइनन्, कम्युनिष्ट हुँदै होइन, भनेर हटाइयो, अदालतको फैसलाको आधारमा फेरि उनैलाई नेता मानेर हिँड्दा हिजोको कारबाहीको ‘जस्टिफाइ’ कसरी हुन्छ ?

    अब त्यो मैले केपी ओलीको व्यक्तिगत रुपमा मिल्ने नमिल्नेभन्दा पनि यो कम्युनिष्‍ट आन्दोलनको शुरूआत गरिएको छ । यो एकतालाई चाहिँ नभत्काउँ, त्यसमा केपी ओलीलाई पनि तानौं, अरु साना दललाई पनि तानेर यसलाई जोगाएरै लानुपर्छ भन्ने मेरो भनाइ हो । उहाँसँग (केपी ओली) पक्षसँग मिल्नै हुँदैन भन्ने भनाइ मेरो होइन । अब जहाँसम्म हिजोको कारबाहीको सन्दर्भमा त्यो नेकपाभित्र हुँदाको केपी कमरेडले गरेका गल्ती कमजोरीको हकमा त्यो कारबाहीको अवस्था थियो भने अब नयाँ अध्याय शुरू भएको हुनाले अब फेरि हिजोको विषय अब एमालेभित्र बनाउन मिल्दैन । कतिपय राप्रपाका मानिसहरू आउँछन्, हिजो राप्रपा थियो भनेर यहाँ प्रवेश रोक्ने हुँदैन । त्यसो भएको हुनाले नेकपाभित्र भएका गल्ती कमजोरीहरू त्यतै छुटेर गए । अब नयाँ अध्याय शुरू हुन्छ । अब मिलेर राम्रो गरेर जानुपर्छ ।

    व्यक्ति त उनै हुन् नि ?

    व्यक्ति नै रुपान्तरण हुन्छन्, व्यक्तिका कामहरू परिवर्तित हुँदै जान्छन् । त्यसैको आधारमा मूल्याङ्कन हुँदै जाने हो ।

    हिजो पनि उहाँको एउटा भाषण आयो, यीनीहरूले सक्ने भए के गर्ने रहेछन्, अहिले पनि गणित खेल गरेर फेरि मलाई हटाउन सकिन्छ कि भनेर आएका हुन्, भन्ने कुरा छ, अब त्यस्तो खालको गणितको खेल नेकपा एमालेमा नगरे हुँदैन ?

    त्यसको सबैभन्दा निर्णायक पनि र जिम्मेवारी पनि अब अध्यक्ष नै हो, नेतृत्व नै हो । त्यो कुरा हाम्रो चाहनाभित्रको कुरा होइन । उहाँले त्यो रोक्नु भयो भने गणितको खेल रोकिन्छ, अरुले रोकेर रोकिँदैन । अध्यक्षले नै रोक्नुपर्‍यो । त्यो हाम्रो कामना पनि र चाहना पनि हो ।

    तपाईं प्रदेश १ सभाको सदस्य पनि हुनुहुन्छ, आफ्नै पार्टीका नेता मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षरकर्तामध्ये एक तपाईं पनि हो । त्यो प्रस्ताव फिर्ता हुने वा पुनरावलोकन हुने, सम्भावनाहरू के छन् ?

    हामी अदालतको फैसलापछि यो सबै मिल्नका लागि आएको हुनाले त्यो चुट्कीको भरमा फिर्ता भइ नै हाल्थ्यो । तर, अब यहाँ केपी ओली पक्षले फेरि हामीलाई दुर्व्यवहार र सौतेले व्यवहार गरिरहेको हुनाले फेरि थाँती रह्यो । केन्द्रको विवादले कस्तो रूप लिन्छ, केन्द्रको मिल्यो भने त्यहाँ पनि मिलिहाल्छ, केन्द्रको मिलेन भने यथावत रहन्छ, बल्झेर जान्छ ।

  • ओली कम्युनिष्ट आन्दोलनलाई बिदा गर्नेतिर लागे, अहिलेकै अवस्थामा ७ गतेको बैठकमा जाँदैनौं : राजेन्द्रकुमार राई

    ओली कम्युनिष्ट आन्दोलनलाई बिदा गर्नेतिर लागे, अहिलेकै अवस्थामा ७ गतेको बैठकमा जाँदैनौं : राजेन्द्रकुमार राई

    काठमाडौं । पुन:स्थापित नेकपा एमालेको चैत ७ गते बोलाइएको केन्द्रीय कमिटी बैठक विधि प्रक्रिया अनुसार नभएको भन्दै माधव नेपाल पक्ष नजाने भएको छ ।

    नेपाल प्रेससँग कुराकानी गर्दै सो पक्षका नेता एवं एमाले केन्द्रीय सदस्य राजेन्द्रकुमार राईले एकताअघि (२०७५ जेठ २) को कमिटीलाई बैठकमा बोलाइएमात्र जाने बताए । भर्खरै थपिएका सदस्यहरूलाई पनि सहभागी गराउने गरी बैठक बोलाइएकोले अहिलेको अवस्थामा बैठकमा सहभागी नहुने उनले बताए ।

    ‘अदालतले जे फैसला गर्‍यो त्यसको आसयमा सबै उभिनुपर्‍यो । एकताअघिकै अवस्थामा तिमीहरू फर्क भनेर अदालतले फैसला गर्‍यो । माओवादी माओवादीतिरै भयो एमाले एमालेतिरै भयो । पार्टीलाई पद्धति र विधान अनुरूप चलाए भने त कुनै ठूलो कुरा होइन नि ।’

    ओली पक्षले माओवादीबाट आएका २३ जनालाई केन्द्रीय सदस्य बनाएसँगै अबको एमाले ‘नयाँ एमाले’ भन्दै गरेको सन्दर्भमा राईले भने’ , नयाँ एमाले बनाउने भनेको नयाँ पार्टी बनाउने हो । एमाले छाडेर जानुहुन्छ भने मात्र नयाँ एमाले बनाउन सक्नुहुन्छ । ठीक छ । नयाँ साथीहरू जुनसुकै पार्टीबाट आएपनि प्रवेश गराउने जिम्मेवारी दिने काम स्वागतयोग्य छ । त्यसका लागि एकताभन्दा अगाडिको केन्द्रीय कमिटीको सबैको उपस्थितिमा बैठक बस्नुपर्‍यो । जिम्मेवारी दिन सकिन्छ नि त ।’

    अध्यक्ष केपी ओलीले पार्टीलाई विभाजित गर्ने, दुर्घटनामा पुर्‍याउने र सिंगो कम्युनिष्ट आन्दोलनलाई नेपालबाट बिदाबारी गर्ने दिशामा अघि बढिरहेकोले आफूहरू त्यसलाई रोक्न र जोगाउन अघि बढिरहेको राईको दाबी छ ।

    राईसँगको विस्तृत अन्तर्वार्ता नेपाल टकमा केहीबेरपछि प्रकाशन हुनेछ ।

  • माधव नेपाल पक्षका केन्द्रीय सदस्यको मोबाइलमा जब बालुवाटारको एसएमएस पुग्यो…

    माधव नेपाल पक्षका केन्द्रीय सदस्यको मोबाइलमा जब बालुवाटारको एसएमएस पुग्यो…

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षसहित सबै केन्द्रीय सदस्यहरुलाई चैत ३ गते चियापानका लागि बालुवाटारमा बोलाएका छन् ।

    चैत ७ गतको केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा ओलीले केन्द्रीय सदस्यहरूलाई चियापानका लागि प्रधानमन्त्री निवास बोलाएका हुन् ।

    आइतवार अपरान्ह माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरुको मोबाइलमा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव ईन्द्र भण्डारीको एसएमएस एकैपटक गएको थियो ।

    अध्यक्ष ओलीले एकलौटी ढंगले जिम्मेवारी हेरफेर गरेपछि माधव नेपाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । सो भेलाको अघिल्लो दिन पारेर ओलीले चियापान आयोजना गरेका हुन् ।

    माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरूलाई बालुवाटारको एसएमएस आएपछि उनीहरु आफूलाई मात्र आएको हो कि भनेर एक अर्कामा बुझ्न थाले । यसअघि झुक्किएर सुरेन्द्र पाण्डे र राजेन्द्र राईलाई शुक्रबारको बैठकको एसएमएस पुगेको थियो ।

    त्यस्तै हो कि भनेर सोधपुछ गर्दा चियापानको निम्तो अरुलाई पनि गएको रहेछ । चियापानमा जाने वा नजाने भन्नेबारे भने नेताहरुसँग छलफल गरेपछि टुंगो लाग्ने एक केन्द्रीय सदस्यले बताए ।

  • भोजपुरमा एमाले माधव पक्षले राख्यो छुट्टै कार्यालय

    भोजपुरमा एमाले माधव पक्षले राख्यो छुट्टै कार्यालय

    भोजपुर । अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा विशेष बैठकमार्फत कमिटीहरू पुनर्गठन गरेपछि माधव पक्षले काउण्टर दिने बताइरहेको बेला त्यसको ‘र्‍याक्सन’ तल्लो तहमा पनि देखिन थालेको छ ।

    एमालेको नेपाल पक्षले भोजपुरको षडानन्द नगर कमिटीको छुट्टै कार्यालय स्थापना गरेको छ ।

    नगरपालिकाको केन्द्र दिङ्ला बजारमा जिल्ला कमिटी सचिव शरणकुमार राईको नेतृत्वमा साइनबोर्ड राखेर छुट्टै कार्यालय खडा गरिएको हो ।

    सर्वोच्चको आदेशले एमाले पुन:स्थापना भएसँगै पदाधिकारीलाई समेत थाहै नदिई ओली पक्षले बोर्ड फेर्ने र कार्यालय राख्न थालेकोले यसको प्रतिवाद गर्न थालिएको सचिव राईले बताए ।

    कार्यालय स्थापना गर्न राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष सन्दीप राई, स्ववियू सभापति प्रकाशसिं राई, अनेरास्ववियूका अध्यक्ष ध्रुवराज राईलगायत पुगेका थिए ।

  • को को हुन् माओवादी छाडेर एमाले भएका १३ सांसद ? (सूचीसहित)

    को को हुन् माओवादी छाडेर एमाले भएका १३ सांसद ? (सूचीसहित)

    काठमाडौं । नेकपा माओवादी (केन्द्र) ले दिएको २४ घण्टे म्यादभित्र नेकपा एमालेमा लागेका कुनै पनि सांसद नफर्किएपछि आज बस्ने केन्द्रीय कमिटी बैठकले कारबाही प्रक्रिया अघि बढाउने सम्भावना छ ।

    सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताइदिएपछि संघीय संसद र प्रदेशसभाका गरी १३ जना प्रत्यक्ष निर्वाचित सांसद एमालेको केन्द्रीय कमिटी सदस्यमा मनोनीत भएका छन् ।

    पुस ५ गते प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि विभाजित भएको तत्कालीन नेकपाको ओली पक्षमा लागेका प्रदेश सांसदहरू एमाले, माओवादी ब्युँतिएपछि माओवादीमा फर्किन चाहेनन् । उनीहरूले बरु सांसद पद त्याग्न तयार रहेको तर ओलीलाई छाड्न नसकिने बताए ।

    माओवादीले दल त्याग गरेका सांसदहरूको संसद सदस्यता खारेजीका लागि कानूनी प्रक्रिया अघि बढाउने भनिसकेको छ । यद्यपि यसका विभिन्न चरणहरु पार गरेपछिमात्र संसद सदस्यता रिक्त हुनेछ ।

    प्रतिनिधिसभामा ५३ सिट रहेको माओवादी केन्द्रका चारजना सांसद एमालेमा लागेका छन् । उनीहरू माओवादीमा नफर्किने निश्चित भएकाले अब प्रतिनिधिसभामा माओवादी पार्टी ४९ सिटमा सिमित भएको छ ।

    त्यस्तै राष्ट्रियसभाका दुईजना सांसद एमालेमा लागेका छन् । प्रदेशसभातर्फ प्रदेश १ का एकजना, प्रदेश २ का एकजना, लुम्बिनीका दुईजना, कर्णालीका २ जना र सुदूरपश्चिमका एकजना प्रदेशसभा सदस्य माओवादी छाडेर एमाले बनेका छन् ।

    प्रतिनिधिसभा

    १. टोपवहादुर रायमाझी, अर्घाखाँची

    २. लेखराज भट्ट,कैलाली- ४

    ३. गौरीशंकर चौधरी, कैलाली-३

    ४. प्रभु साह, रौतहट ३

    राष्ट्रियसभा

    १. रामबहादुर थापा ‘बादल’

    २. चन्द्रबहादुर खड्का

    प्रदेशसभा

    १. टंक आङवोहाङ,ताप्लेजुङ

    २. ज्वालाकुमारी साह,बारा

    ३. दधिराम न्यौपाने, रुपन्देही

    ४. दिनेश पन्थी,गुल्मी

    ५. ठम्मर विष्ट, सुर्खेत

    ६. धर्मराज रेग्मी, दैलेख

    ७. झपट बोहरा, अछाम

  • एमाले भोजपुर-काठमाडौं सम्पर्क मञ्च पुनर्गठन

    एमाले भोजपुर-काठमाडौं सम्पर्क मञ्च पुनर्गठन

    काठमाडौं । नेकपा एमाले भोजपुर-काठमाडौं सम्पर्क मञ्च पुनर्गठन गरिएको छ ।

    मञ्चको अध्यक्षमा श्रीकृष्ण श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । भेलाले उपाध्यक्ष कृष्ण गिरी, सचिव फुर्बा तेन्जिङ शेर्पा, उप-सचिव ईश्वर आचार्य र कोषाध्यक्षमा ढोकल आले लाई चयन गरेको छ । भेलामा ओली पक्षका कार्यकर्ताहरू सहभागी थिए ।

    सदस्यहरुमा तुल ब. राई, रेस्मा खत्री, जमुना राई, ऐश्वर्य श्रेष्ठ, देवकुमार राई, सुनिता घिमिरे, फुर्लाक्पा शेर्पा, अनन्त राई, ईन्दिरा भट्टराई, पर्शुराम रोक्का, खगेन्द्र वि.क., महेन्द्र घिमिरे, नारायण कार्की, विक्रम राई, सन्जिव राई, लाक्पा शेर्पा, ओम ब. श्रेष्ठ, र्फुतेन्जि शेर्पा, गंगा ब. श्रेष्ठ, कमल प्रधान, दिपेन्द्र कार्की, गोविन्द राई, असोक कार्की, सुमन राई, प्रिन्स अधिकारी, पेम्नुरी शेर्पा, सुरज राई, टेक ब. मगर, अनुजा श्रेष्ठ, रेश्मा पौडेल, रन्जना शेर्पा, विजय राई, पर्वत शंकर, कविता राई, पेम्बा शेर्पा, आङकाजी शेर्पा र मनिकला राई निर्वाचित भएका छन् ।

    प्रदेश सम्पर्क संगठन कमिटी १ का अध्यक्ष ईन्द्र भण्डारीले निर्वाचित पदाधिकारी तथा सदस्यको नाम सार्वजनिक गरे । प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरेले निर्वाचित पदाधिकारी तथा सदस्यलाई सपथ गराए ।

  • लुम्विनीका ४ सांसद बने एमाले केन्द्रीय सदस्य, पद छाड्ने तर ओली नछाड्ने

    लुम्विनीका ४ सांसद बने एमाले केन्द्रीय सदस्य, पद छाड्ने तर ओली नछाड्ने

    रुपन्देही । साबिक नेकपा विभाजनका तीन महिनासम्म प्रचण्ड-माधव पक्षले आफ्नै समूहमा राखेका गुल्मीबाट निर्वाचित माओवादीका प्रदेशसभा सदस्य दिनेश पन्थी अचानक एमालेको केन्द्रीय सदस्य मनोनित हुँदा लुम्विनीमा खैलाबैला मच्चियो ।

    गुल्मीमा गोकर्ण विष्टको निर्वाचन क्षेत्रबाटै प्रदेशसभामा जितेका पन्थी गोकर्ण जत्तिकै लोकप्रिय नेता मानिन्छन् । विभाजनको शुरुदेखिनै केपी ओलीलाई साथ दिएका टोपवहादुर रायमाझीले माओवादीका अन्य तीन सांसद समेत एमालेमा लगेपछि यस क्षेत्रमा माओवादी थप कमजोर बनेको छ ।

    नेकपा विवादकै शुरुवातीदेखि माओवादी खेमाबाट प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीलाई लुम्बिनी प्रदेशबाट साथ दिएका ४ जनालाई नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्यको जिम्मेवारी दिएको छ ।

    अर्घाखाँचीबाट प्रतिनिधि सभामा निर्वाचित ऊर्जामन्त्री टोपबहादुर रायमाझी, राष्ट्रिय सभा सदस्य अर्घाखाँचीका चन्द्रबहादुर खड्का तथा रुपन्देहीबाट लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित दधिराम न्यौपाने र गुल्मीबाट निर्वाचित दिनेश पन्थी नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनित भएका हुन् ।

    सर्वोच्च अदालतको पछिल्लो फैसलाले नेकपा एमाले र माओवादी केन्द्र अलग अलग भए पनि उनीहरुले आफूहरु माओवादी केन्द्रबाट चुनाव लडेपनि अब मन्त्री तथा सांसद पद नरहेपनि केपी ओलीले नेतृत्व गरेको नेकपा एमालेमा रहने घोषणा गरेका थिए ।

    माओवादीले कारवाही प्रक्रिया अघि बढाएमा लुम्विनीका संघीय र प्रदेश सांसदगरि चारजनाको पद जान सक्छ । लुम्विनीकै नेता कपिलवस्तु इन्चार्ज गिरिधारीलाल न्यौपानेले पनि माओवादी छाडेर एमालेको केन्द्रीय सदस्य बनेका छन् ।

    एमालेमा लागेका केन्द्रीय सदस्य तथा सांसद न्यौपानेले पद अस्थायी कुरा भएकाले विचारका आधारमा आफूहरु एमालेमा लागेको बताए । उनले प्रचण्डमा अस्थिरता रहेको भन्दै माओवादी धाराको राजनीति असफल भइसकेको प्रतिक्रिया दिएका छन् ।

  • लेखराज सुदूरपश्चिम इन्चार्ज बनेपछि माओवादी पंक्ति एमालेतिर थपिँदै

    लेखराज सुदूरपश्चिम इन्चार्ज बनेपछि माओवादी पंक्ति एमालेतिर थपिँदै

    कैलाली । साबिक नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विभाजन हुँदा केपी ओली समूहमा देखिएका प्रदेश सभा सदस्य महेशदत्त जोशी केही दिनअघि माओवादीमा फर्किएका थिए ।

    ‘राजनीतिमा नयाँ समीकरण भएको छ’ उनले नेपाल प्रेसलाई भनेका थिए ‘गोलाकारभित्रको हँसिया हथौडाबाट चुनाव जितेको थिएँ अहिले त्यहीँ फर्किएँ ।’ सर्वोच्च अदालतले नेकपा विभाजन गर्दै एमाले र माओवादी ब्यूँतिए र उनी माओवादीतर्फ लागे ।

    यता माओवादीबाटै प्रदेश सभा सदस्य हुँदै मन्त्री बनेका झपट बोहरा भने एमाले लाइनमा लागेका छन् । उनले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

    ओली समूहमा रहेको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेपछि प्रदेश अर्थमन्त्री बोहराले राजीनामा दिएका थिए । शुक्रवार रामबहादुर थापा बादल समूहबाट एमालेमा थपिएका २३ जना केन्द्रीय सदस्यहरूमा बोहरा पनि छन् ।

    माओवादी केन्द्रबाट एमालेको केन्द्रीय सदस्यको जिम्मेवारी पाए लगत्तै शुक्रबार साँझ अनेरास्ववियू कैलाली तथा युवा सङ्घ नेपालका नेता तथा कार्यकर्ताहरुले उनलाई सम्मान गरेका थिए ।

    पूर्व मन्त्री बोहराले सम्मान कार्यक्रममा फेरि माओवादीमा फर्किने सम्भावना नरहेको स्पष्ट पारेका थिए । ‘मैले त्यो बेला मन्त्री त त्यागेँ’ उनले भने, ‘अहिले सांसद पदको धेरै चिन्ता छैन ।’

    अहिले सुदूरपश्चिम प्रदेशमा सबैभन्दा ठूलो समीकरणका खेलाडी लेखराज भट्ट बनेका छन् । माओवादी केन्द्रमा हुँदा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको सबै भन्दा विश्वास पात्रको रूपमा चिनिएका भट्ट अहिले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र बनेका छन् ।

    नेकपा विवाद हुँदा ओलीलाई समर्थन गरेका भट्टले अहिले एमाले सुदूरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी समेत पाएका छन् । उनी पनि अब माओवादीमा फर्किने बाटो बन्द भएको बताउँछन् ।

    वर्तमान सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशङ्कर चौधरी पनि अहिले एमालेमा छन् । उनी माओवादी केन्द्रबाट प्रतिनिधि सभा सदस्य हुँदै मन्त्री भएका हुन् । उनी पनि अब माओवादीमा फर्किन नसकिने बताउँछन् ।

    केन्द्रदेखि जिल्ला र गाउँ टोलमा पनि अहिले माओवादीबाट एमालेमा र एमालेबाट माओवादीमा जाने चर्चा बढिरहेको छ । सुदूरपश्चिम प्रदेशमा एमालेबाट माओवादीमा जाने अहिलेसम्म देखिएका छैनन् ।

    माओवादी केन्द्रबाट भने ठूलो सङ्ख्यामा एमालेमा जाने क्रम बढेको छ । लेखराज भट्टले प्रदेश इन्चार्जको जिम्मेवारीपछि माओवादी केन्द्रमा भट्ट निकट रहेका नेता कार्यकर्ताहरू एमालेमा प्रवेश गर्ने क्रम बढेको हो ।

    शनिवारमात्रै नेकपा माओवादी केन्द्र बाजुराका संयोजक भरत बुढासहित ६ जना माओवादी केन्द्रका नेता नेकपा एमालेमा लागेका छन् । बुढासहित पोलिट ब्युरो सदस्य सहदेव बोगटी र मिलन खत्री, केन्द्रीय आयोजक कमिटी सदस्य अर्जुन रोकाया, काली धराला र सुरेश रोकाया पनि एमालेमा प्रवेश गरेका हुन् ।

    सुदूरपश्चिमबाट लेखराज भट्टले माओवादी छाड्दा त्यसको असर कन्चनपुरसम्म परेको छ । एमाले-माओवादी एकीकरणपछि कन्चनपुरको अध्यक्ष बनेका बनेका वीरवहादुर थापा पनि माओवादीमा फर्किएनन् ।

    सुदूरपश्चिमका ९ जिल्लाबाट तत्कालिन माओवादीले प्रत्यक्षतर्फ तीन सिट जितेको थियो । तीमध्ये विना मगरमात्र माओवादीमा छन् भने लेखराज र गौरीशंकर एमालेको केन्द्रीय सदस्य भइसकेका छन् ।

    तत्कालीन एमालेबाट जितेका प्रत्यक्ष निर्वाचित ११ जना सांसदमध्ये अछामका भीम रावल, कैलालीका झपट रावल र कञ्चनपुरका दिपकप्रकाश भट्ट माधव माधव नेपाल पक्षमा छन् । अरु सबै सांसद केपी ओली निकट छन् ।

    एमाले पुनःजीवित भएपछि भीम रावलको सुदूरपश्चिम इन्चार्ज पद खोसिएको छ । यसअघि नेकपा विभाजनकै बेला ओली पक्षले इन्चार्ज बनाएका लेखराजलाई नै एमलेले तत्कालको लागि इन्चार्जमा निरन्तरता दिएको छ ।

    यसबीचमा भीम रावल पक्ष र लेखराज भट्ट पक्षबीच एमालेको आधिकारिक नेतृत्व को भन्ने विषयमा विवाद हुँदा प्रेदश कार्यालयमा झपड समेत भएको थियाे। प्रादेशिक रुपमा हेर्दा प्रचण्डलाई सबैभन्दा ठूलो क्षति पनि सुदूरपश्चिमै भएको छ ।

    सुदूरपश्चिममा माओवादीका सबैभन्दा ठूला नेता लेखराज नै थिए । उनी एमाले भएपछि अब त्यस क्षेत्रको नेतृत्व सम्भवतः खगराज भट्टले गर्नेछन् । मुख्यमन्त्री त्रिलोचन भट्टको सरकार समेत एमाले-माओवादी व्यूँतिएसँगै संकटमा छ ।

  • विभाजन रोक्न नेपाल समूहका तीन शर्त, ७ गते हुन सक्छ वार कि पार

    विभाजन रोक्न नेपाल समूहका तीन शर्त, ७ गते हुन सक्छ वार कि पार

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले पार्टी एकताको सम्भावना लगभग समाप्त भएको निस्कर्ष निकाले पनि संस्थापन पक्षसित अनौपचारिक रूपमा तीन शर्तहरू पेश गरेको छ । ती शर्तहरू पूरा भए फेरि केपी ओलीसँग मिल्नेबारे सोच्न सकिने नेताहरूले बताएका छन् ।

    संस्थापन पक्षले हिजो नेपालपक्षीय नेताहरूको जिम्मेवारी खोस्ने एकतर्फी निर्णय गरेपछि शनिबार काठमाडौंमा केन्द्रीय कमिटी सदस्य र प्रतिनिधिसभाका सांसदहरूबीच बैठक डाकिएको थियो । सो बैठकमा नेताहरूले ओलीले पार्टीलाई विभाजनतर्फ लगेको धारणा राखे ।

    अब तीन वटा शर्तमा मात्र एकता कायम हुन सक्नेबारे बैठकमा छलफल भएको थियो । नेपालपक्षीय नेताहरूका अनुसार पहिलो शर्त हो- पार्टीलाई २०७५ जेठकै संगठन संरचनामा फर्काउनुपर्ने । सर्वोच्च अदालतको २३ फागुनको फैसलाले एमाले पुनर्स्थापित भएको र पार्टी पुन: नेकपा माओवादी केन्द्रसँगको एकतापूर्वको अबस्थामा फर्किएको बुझाइ माधव नेपाल पक्षको छ ।

    त्यसअनुसार २०७५ जेठ अघिको एमालेको संगठन संरचना अहिले कायम भएको भन्दै त्यसलाई हुबहु मान्न ओली पक्ष तयार हुनुपर्ने अडान नेपाल पक्षका नेताहरूले राखेका छन् । एमालेको पुरानो संरचना तलमाथि भए त्यो कुनै पनि हालतमा स्वीकार नगर्ने नेता भीम रावलले बताए । माधव पक्षले यसो भनेको भए पनि ओली पक्ष भने यसलाई मान्न तयार छैन ।

    नेपाल पक्षको दोस्रो शर्त हो, वाम गठबन्धनको सरकार । अन्तरक्रियाले वाम एकतालाई छाड्न नुहनेमा जोड दिएको छ । वाम गठबन्धनको सरकारको कुरा गर्दा ओली हट्नु पर्ने या नपर्नेबारे आफूहरूले अहिले केही पनि नभनेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए ।

    उनले भने- ‘पहिले हाम्रो माग ओली सरकारबाट बाहिरिनु अनिवार्य छ भन्ने थियो । तर, हामीले वाम गठबन्धनको कुरा गर्दा ओली हुँदै-हुँदैन वा ओलीबाहेक भन्ने कुरा राखेका छैनौं ।’

    कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन वाम एकता आवश्यक भएको भन्दै सबै वामलाई एक ठाउँमा ल्याउनुपर्ने शर्त नेपाल पक्षको छ । तर, ओली पक्षले भने माओवादी केन्द्रसँग भने पुन: एकता नहुने बताएको छ ।

    तेस्रो शर्त भने प्राविधिक छ । पार्टीका बैठकहरू प्रधानमन्त्री निवास बालुवाटारमा बस्न नहुनेमा नेपाल पक्षका नेताहरू एकमत भएका छन् । माधव नेपाल पक्षले बालुवाटारमा राखिने कुनै पनि बैठकमा नजाने अडान लिएको छ । बैठक पार्टी कार्यालय धुम्बाराहीमै हुनुपर्ने शर्त उनीहरूको छ ।

    ओली पक्ष भने बैठक आवश्यकता अनुसार जहाँ पनि राख्न सकिने बताउँछ । ‘अध्यक्ष र महासचिवले बैठकको मिति र स्थान तय गर्नुहुन्छ,’ प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई भन्छन्, ‘यहाँ बसे हुने, त्यहाँ बसे नहुने भन्ने कुरा हुँदैन । बैठक जहाँ सहज र सजिलो हुन्छ त्यहाँ बस्छ ।’

    ७ गते बोलाइएको केन्द्रीय कमिटी बैठकको स्थान भने अझै तोकिएको छैन । मुलतः यी शर्त पुरा नभए केपी ओलीसँग कुनै पनि हालतमा नझुक्ने नेपाल पक्षको अडान छ ।

    कार्यकर्ताको ‘मुड’ बुझ्ने

    नेपाल पक्षले दुई दिने राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । नेता भीम रावलका अनुसार काठमाडौंमा हुने उक्त भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्यहरू, संघीय संसद र प्रदेश सभामा रहेका सबै सांसद, प्रदेश कमिटीका सबै पदाधिकारी र सदस्य, जिल्ला कमिटीका पदाधिकारी, सबै पालिकाका निर्वाचित प्रमुख र उपप्रमुखलाई बोलाइएको छ ।

    नेपाल पक्ष पार्टी विभाजनबारे महत्वपूर्ण निर्णय लिनुअघि कार्यकर्ताको मुड बुझ्ने पक्षमा छ । करिब तीन हजार कार्यकर्ता सहभागी हुने उक्त भेलापछि महत्वपूर्ण निर्णय लिइने केन्द्रीय सदस्य बलराम बास्कोटा बताउँछन् ।

    ‘४ र ५ गते जुन राष्ट्रिय कार्यकर्ता भेला छ, त्यसले जसरी निर्देश गर्छ, त्यसरी जान्छौं,’ उनी भन्छन्, ‘किनभने हाम्रो पार्टी जनआधारित पार्टी हो । यो संकटलाई कसरी समाधान गर्ने भन्नेबारे चाहिँ आम कार्यकर्ताको राय लिएर नै भावी कार्यदिशा तय गर्छौं ।’

    चैत ७ निर्णायक

    एमाले विभाजनमा आगामी चैत ७ निर्णायक हुने देखिएको छ । ओली पक्षीय केन्द्रीय कमिटीको विशेष बैठकले ७ चैतमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । उक्त बैठकमा माधव नेपाल पक्षलाई पनि बोलाइएको छ ।

    ओली पक्षले बालुवाटारमै केन्द्रीय कमिटीको बैठक बोलाउने र नेपाल पक्ष त्यहाँ नजाने सम्भावना बलियो छ । त्यस्तो भए नेपाल पक्षलाई कारबाही गर्ने संकेत प्रधानमन्त्री केपी ओलीले दिइसकेका छन् ।

    एमालेको विधानमा ‘लगातार तीनपटक बैठकमा अनुपस्थित भएमा कारबाही हुने’ व्यवस्थातर्फ संकेत गर्दै ओलीले नेपाल पक्षलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

    शनिबार भृकुटीमण्डपमा आयोजित अखिल नेपाल महिला संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले भने- ‘उहाँहरू पेरिसडाँडाबाट भर्खर अर्याल होटलमा आइपुग्नुभएको छ रे । एक दुई रात त्यहाँ बास बसेर आउनुहोस् भनेर चैत ७ गते बालुवाटारमा बैठक बोलाएको छु । कसैले थाहा पाइनँ नभन्नुहोला, अनुपस्थित रहँदै जानुभयो भने विधान व्यवस्थाअनुसार हुँदै जानेछ ।’

    नेपाल पक्ष अध्यक्ष र महासचिव बाहेकका पदाधिकारीलाई ओलीले हिजोको बैठकबाटै हटाएकोमा सशंकित छ । हिजोको बैठकमा कोरम नपुगेकाले त्यो वैधानिक नहुने डरले ओली पक्षले निर्णय सार्वजनिक नगरेको र त्यसलाई ७ चैतको बैठकमा अनुमोदनका लागि अघि सारिने आशंका माधव नेपाल पक्षले गरेको छ ।

    पदाधिकारीमा नेपाल पक्ष बुहमतमा छ । यदि त्यस्तो भएमा एमाले विभाजनमा त्यो ‘टर्निङ प्वाइन्ट’ सावित हुने नेपाल पक्षका नेताहरूको भनाइ छ ।

  • ओली पक्षले बनाएका सबै कमिटी एमालेमा रुपान्तरण, कसले के जिम्मेवारी पाए ?

    ओली पक्षले बनाएका सबै कमिटी एमालेमा रुपान्तरण, कसले के जिम्मेवारी पाए ?

    काठमाडौं । पुनःस्थापित नेकपा एमालेको पहिलो केन्द्रीय कमिटी बैठक माधव नेपाल पक्षले थाहै नपाइ महत्वपूर्ण निर्णयसहित टुंगिएको छ । बैठकले महाधिवेशनको मिति तोक्नुका साथै नेताहरूको जिम्मेवारी समेत तोकेको छ ।

    बैठकले नेकपा माओवादी केन्द्रबाट एमालेमा समाहित भएका रामबहादुर थापा बादललाई वागमती प्रदेशको इन्चार्ज बनाएको छ । बादलसहित २३ जना माओवादी नेता एमालेको केन्द्रीय कमिटीमा मनोनीत भएका छन् ।

    त्यस्तै सातै प्रदेशका इन्चार्ज र सहइन्चार्ज पनि तोकिएका छन् । प्रदेश १ मा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिममा लेखराज भट्ट इन्चार्ज तोकिएका छन् ।

    त्यस्तै बैठकले संगठन विभागको प्रमुखको जिम्मा विष्णु पौडेललाई दिएको छ भने विदेश विभागको जिम्मेवारी डा. राजन भट्टराईले पाएका छन् ।

    प्रचार विभाग प्रमुख तथा प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीले पाएका छन् । स्कूल विभाग प्रमुखको जिम्मेवारी भने ओली आफैंले लिएका छन् । अध्यक्ष र महासचिवबाहेक अरु पदाधिकारी भने नराख्ने जानकारी ओलीले गराएका छन् ।

    नेकपा विभाजनपछि ओली पक्षले बनाएका सबै कमिटी र जनसंगठनका नेतृत्वसमेत हाललाई यथावत रहने अध्यक्ष केपी शर्मा ओलीले बैठकमा जानकारी दिएका छन् ।

    ओलीले अर्को बैठक चैत ७ गते बस्ने जानकारी दिदै आजको बैठकमा नआएका माधव नेपालहरुलाई पनि जानकारी दिन महासचिव ईश्वर पोखरेललाई निर्देशन दिएको एक केन्द्रीय सदस्यले बताए ।

    ओलीको भनाइ उदृत गर्दै ती सदस्यले भने, ‘खबर गर्न छुट्नुभएकाहरुलाई अर्को बैठकमा खबर गर्नू । माधवजीहरुलाई खबर पुगेको रहनेछ भने पनि पुर्‍याइदिनू । आउनु हुन्छ कि आउनुहुन्न तर पनि खबर चाहिँ गर्नुपर्छ ।’

  • एमाले महाधिवेशन मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय

    एमाले महाधिवेशन मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय

    काठमाडौं । एमालेको दशौं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले महाधिवेशनको मिति तय गरेको हो । बैठकमा माधव नेपाल पक्ष भने सहभागी थिएन ।

  • बालुवाटारमा आफूनिकट केन्द्रीय सदस्यहरूसँग प्रधानमन्त्रीको छलफल

    बालुवाटारमा आफूनिकट केन्द्रीय सदस्यहरूसँग प्रधानमन्त्रीको छलफल

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट केन्द्रीय सदस्यहरूलाई बालुवाटारमा बोलाएर छलफल गर्दैछन् । त्यसका लागि केन्द्रीय सदस्यहरू बालुवाटार पुग्‍ने क्रम जारी छ ।

    नेकपा एमालेको नवौं महाधिवेशन र त्यसपछि मनोनीत केन्द्रीय सदस्यहरूसँग प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले अनौपचारिक छलफल गर्न बोलाएको स्रोतले जनाएको छ ।

    एमालेको २०५ सदस्यीय केन्द्रीय कमिटीका निधन भएका र रिक्त रहेका बाहेक सदस्यहरूमध्ये १०५ जना सदस्य ओली पक्षमा छन् । यसबीचमा माधव नेपाल पक्षले केन्द्रीय सदस्य र स्थायी कमिटी सदस्यहरूसँग छलफल गरेको थियो ।

    ओलीले यसअघि माओवादी केन्द्रबाट सरकारकाे प्रतिनिधित्व गर्ने नेताहरुसँग छलफल गरेका थिए । आन्तरिक छलफलपछि नेकपा एमाले केन्द्रीय कमिटीको बैठक चैत १ गते बोलाइएको छ ।

  • ओलीले बोलाए केन्द्रीय कमिटी बैठक, बालुवाटारमा रणनीतिक छलफल

    ओलीले बोलाए केन्द्रीय कमिटी बैठक, बालुवाटारमा रणनीतिक छलफल

    काठमाडौं । पुनःस्थापित नेकपा एमालेको पहिलो केन्द्रीय कमिटी बैठक चैत १ गते बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको परामर्शमा महासचिव ईश्वर पोखरेलले केन्द्रीय कमिटी बैठक बोलाएको कार्यालय सचिव ईश्वरी रिजालले नेपाल प्रेसलाई बताए ।

    बैठकको मिति तय भए पनि स्थान भने अझै टुंगो नभएको रिजालले बताएका छन् । माधव नेपाल पक्षले बालुवाटारमा बैठक बोलाइए नजाने निर्णय गरेको छ । बैठकमा नवौं महाधिवेशनबाट निर्वाचित र त्यसपछि मनोनीत केन्द्रीय सदस्यहरु सहभागी हुनेछन् ।

    बैठकको रणनीति र एजेण्डाहरु तय गर्न प्रधानमन्त्री तथा अध्यक्ष ओलीले नेताहरुसँग परामर्श थालेका छन् । यसबीचमा आफ्नो सरकारमा रहेका पुनःस्थापित माओवादी केन्द्रका नेताहरुसँग चरण चरणमा उनले छलफल गरेका थिए ।

    ती नेताहरुलाई नेकपा एमालेको केन्द्रीय कमिटी र माओवादी केन्द्रबाट जोडिएका अन्य नेता कार्यकर्तालाई विभिन्न कमिटीहरुमा समायोजन गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लगिने भएको छ ।

    आज प्रधानमन्त्री ओलीले आफू निकट नेताहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन् । माधव नेपाल पक्षसँग भने ओलीले छलफल गरेका छैनन् । प्रचण्डलाई छाडेपछि पनि गुटका बैठक र भेलाहरु जारी राखेको भन्दै ओली पक्षले आपत्ति जनाएको छ ।

  • माधवपक्षीय भेलाको निष्कर्ष : ओलीले पेलेर गए छुट्टिन तयार

    माधवपक्षीय भेलाको निष्कर्ष : ओलीले पेलेर गए छुट्टिन तयार

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले माओवादीसँग एकीकरणअघिकै पार्टी संरचना क्रियाशील गराउनुपर्ने विषयलाई मुख्य एजेण्डाको रूपमा उठाउने भएको छ ।

    बानेश्वरस्थित अर्याल होटलमा बुधबार अपरान्ह भएको केन्द्रीय सदस्यहरूको भेलामा केही नलागे र आवश्यक पर्दा अन्त्यमा छुट्टिनुपर्ने हुन सक्छ भन्दै त्यसका लागि पनि मानसिकता बनाउन नेताहरूले निर्देशन दिएका छन् ।

    ‘केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालय बैठकमा पार्टीको साविककै संरचनालाई यथावत् राख्न केपी ओलीलाई निरन्तर दबाब दिने टुंगोमा पुगिएको छ, एक केन्द्रीय सदस्यले नेपाल प्रेससँग भने, ‘यसो गर्दा पनि ओलीले पेलेर गए विद्रोह गर्ने र अर्कै बाटो समात्नुपर्ने सम्भावनाबारे छलफल भएको छ ।’

    प्रधानमन्त्री ओलीलाई साथ दिएका रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, मणि थापालगायतका माओवादी नेताहरूलाई समायोजन गरी पदाधिकारीमा ल्याउने कुरालाई माधव पक्षले स्वीकार नगर्ने भएको छ । यदि मान्छे टिपेर आफूखुशी ल्याइए त्यसको प्रतिवाद गर्ने र समानान्तर कमिटीको अभ्यास गरिने ती नेताले बताए । उनले भने ‘ओलीका कार्यकर्ताले देशव्यापी रूपमा पार्टी कार्यालय कब्जा गरेर पार्टीलाई ‘पेवा’ बनाउन लागेकोले त्यसका विरुद्ध ‘ठाउँको ठाउँ’ प्रतिवाद गर्नेछौं ।’

    केन्द्रीय सदस्य यज्ञराज सुनुवारले भने, ‘एमाले बनाउने झलनाथ र माधव नेपाल हुन् । केपी होइनन् । हामीलाई हीनताबोध गराउने प्रयास भइरहेको छ ।’

    भेलाले एमालेको तत्कालीन जिल्ला र प्रदेश कमिटीमा आफ्नो दरिलो उपस्थितिलाई कायमै राख्ने रणनीतिका साथ निरन्तर दबाब दिने पनि निचोड निकालेको छ । साथै पार्टी मुख्यालय धुम्बाराहीबाहेकका ठाउँमा बोलाइने बैठक (बालुवाटार) मा सहभागी हुन नहुनेमा पनि सहभागीले जोड दिएका छन् ।

    झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, अष्टलक्ष्मी शाक्य, भीम आचार्यलगायतका नेताहरूले आगामी रणनीतिबारे धारणा राखेका थिए । योगेश भट्टराई भने बैठक शुरू भएको केहीबेरमै बाहिरिएको बताइएको छ ।

  • एमालेको सुदूरपश्चिम संयोजक स्वतः म हुँ, कर्ण थापाले गुण्डागर्दी गरेः भीम रावल

    एमालेको सुदूरपश्चिम संयोजक स्वतः म हुँ, कर्ण थापाले गुण्डागर्दी गरेः भीम रावल

    काठमाडौं । सत्तारूढ नेकपा (एमाले) का उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेशका संयोजक डा. भीम रावलले प्रदेश कार्यालयमा गरिएको तोडफोडलाई गुण्डागर्दी र अराजकताको संज्ञा दिएका छन् । कर्ण थापाको निर्देशनमा केही कार्यकर्ता गुण्डागर्दी शैलीमा प्रस्तुत भएको उनको दाबी छ ।

    राजधानीमा आयोजित एक कार्यक्रममा रावलले घटनामा संलग्नलाई कारबाही नगरिए उक्त घटना सरकार संरक्षित थियो भन्ने पुष्टि हुने बताए । घटनाको बारेमा आफूले गृह प्रशासन र पार्टी नेतृत्व पंक्तिलाई पनि सूचित गराएको उनले जानकारी दिए ।

    ‘सरकारी पक्ष भनौं वा हामी बाहेकको अर्को गुटको पक्ष भनौं कि आज बिहान साढे ११ बजे, अकस्मात्, कैलाली र कञ्चनपुरका विभिन्न गाउँबाट आफ्ना पक्षका मान्छेलाई बोलाएर, जबरजस्ती कार्यालयमा पसेर तोडफोड गर्ने काम भयो । हाम्रो भानुभक्त जोशीजीको कार्यालयमा ताला लगाइएको थियो । पाँचवटा कुर्सी भाँचेका छन्’, रावलले भने ।

    उनले थपे, ‘बाजुराका कर्ण थापाको निर्देशनअनुसार केही कार्यकर्ता गुण्डागर्दी शैलीमा प्रस्तुत भए । बाजुराको अर्का व्यक्तिले पनि हाम्रा साथीलाई आक्रमण गरे । म यो घटनाको निन्दा गर्छु । आज गुण्डागर्दी कर्ण थापाबाट भएको हो । यो गतिविधिले नेकपा एमालेलाई पनि फुटाउने हो ।’

    कर्ण थापाले स्वघोषित अध्यक्ष घोषणा गरेर गलत काम गरेको टिप्पणी रावलले गरे ।

    उनले भने, ‘तर, आज त्यहाँ उनी गुण्डागर्दी शैलीमा प्रस्तुत भए । यसो नगर्नुहोस् भनिएको थियो । अदालतको फैसलाअनुसार मैले नै नेकपा एमालेको साइनबोर्ड राख्न निर्देशन दिएको थिएँ । सोहीअनुसार राखिएको थियो ।’

    उनले यसरी नै गुण्डागर्दी, अराजकता, मनपरीतन्त्र गर्ने हो भने आफूहरुले पनि सशक्त प्रतिवाद गर्ने चेतावनी दिए । सबैले हिजोको नकारात्मक कुराबाट शिक्षा लिनुपर्ने पनि उनले बताए ।

    ‘अदालतको फैसला आएपछि एमाले र माओवादी केन्द्र अलग–अलग भएको अवस्थामा लेखराज भट्टलाई इन्चार्ज बनाएर मेरो बोर्ड हटाउने हो त ?’ रावलले प्रश्न गर्दै भने, ‘कसैको साइनबोर्ड तोडेर आफ्नो मान हुन्छ त ? गृह प्रशासनलाई खबर गरेको छु । हाम्रो सुरक्षा हामी आफैं गर्छौं भनेको छु । हाम्रो पार्टीका महासचिवलाई पनि जानकारी गराएको छु । कम्युनिष्ट आन्दोलनलाई जोगाउने उद्देश्य छ भने यस्तो काम बन्द गर्नुपर्छ । एमालेलाई पनि चकनाचुर गर्छौं भन्ने हो भने बेग्लै कुरा। यसमा प्रधानमन्त्रीको पनि ध्यान जानुपर्छ ।’

    उनले आफू सुदूरपश्चिम संयोजक भएको बताए ।

    ‘हिजो सुदूरपश्चिम प्रदेशको म नै संयोजक थिएँ । मलाई नेतृत्व गर्ने अधिकार दिइएको थियो । म स्वतः संयोजक हुँ । एमालेले सुदूरपश्चिम प्रदेशमा मेरो नेतृत्वमा अभूतपूर्व सफलता हासिल गरेको हो ।’

  • मुख्यमन्त्री गुरुङको चेतावनी- एमालेमा फर्केर फेरि ओलीसँग झगडा गर्ने सपना नदेखे हुन्छ

    मुख्यमन्त्री गुरुङको चेतावनी- एमालेमा फर्केर फेरि ओलीसँग झगडा गर्ने सपना नदेखे हुन्छ

    पोखरा । नेकपा एमालेका सचिव तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फेरि केपी ओलीसँग झगडा गर्ने र ओलीलाई पराजित गर्ने भनेर माधव नेपालहरु एमालेमा आएको हो भने त्यस्तो सपना नदेख्न चेतावनी दिएका छन् ।

    पोखरा महानगरको स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री गुरुङले समकालीन नेपाली राजनीतिमा ओलीलाई पराजित गर्ने हैसियत कसैसँग नरहेको दाबी गरे । गुरुङले एमाले माओवादी भइसक्दा पनि माधव नेपालहरू पेरिसडाँडामा गएर प्रचण्डको अध्यक्षतामा बैठक गरेकोमा आपत्ति जनाए ।

    गुरुङले भने, ‘फेरि झगडा गर्न जाने हो, फेरि केपी ओलीलाई पराजित गर्न जाने हो भनेर खुल्लमखुल्ला अर्को पार्टीको हेडक्वार्टरमा गएर आफ्नो पार्टीको विरुद्धमा निर्णय गरेर उहाँहरु फर्किनुभएको छ । उहाँहरू के गर्नुहुन्छ त्यो थाहा छँदैछ, तर पनि एमालेको सचिवको नाताले उहाँहरुलाई म स्वागत गर्न चाहन्छु ।’

    मुख्यमन्त्री गुरुङले केपी ओलीविरुद्ध अझै पनि रिस पोख्ने हो भने अब सात मध्ये ६ प्रदेशमा एमालेकै सरकार बन्ने दावी गरे । उनले माधव नेपालहरुले पार्टीमा बसेर प्रचण्डको सेवा गर्ने काम नरोके उनीहरुलाई अप्ठेरो पर्ने चेतावनी समेत दिए ।

    गुरुङले भने, ‘पूर्व प्रधानन्यायाधीशहरू, पूर्व प्रमुख निर्वाचन आयुक्तहरू, विभिन्न पार्टी, नागरिक समाजको नामका गेरुबस्त्र धारण गर्नेहरू सबैले केपी ओलीविरुद्ध मोर्चाबन्दी गरेकै हुन् । यी सबैको सामना गरेर हामी अघि बढ्यौं, अहिलेको राजनीतिमा ओलीलाई पराजित गर्ने कुनै नेता छैन ।

    अर्को प्रसंगमा गुरुङले रामबहादुर थापा ‘बादल’ लगायतका माओवादी नेताहरूले सांसद पद गए पनि ओलीलाई नछाड्ने भनेर इमान, विचार र नैतिकताको राजनीति प्रदर्शन गरेको बताए ।

    उनले हिजो प्रचण्डसँग लागेर फर्किने एमालेहरूभन्दा ओलीसँग लागेर एमालेमै बस्ने माओवादीहरूमा नैतिकताको राजनीति देखिएको टिप्पणी गरे ।

  • एमाले ब्युँतिएसँगै माधव नेपालको वरीयता घटुवा

    एमाले ब्युँतिएसँगै माधव नेपालको वरीयता घटुवा

    काठमाडौं । सर्वोच्च अदालतको फैसलाबाट नेकपा एमाले पुनःस्थापित भएसँगै वरिष्ठ नेता माधवकुमार नेपालको वरीयता घटुवा भएको छ ।

    शुक्रवारसम्म विभाजित नेकपाको एउटा पक्षको अध्यक्ष रहेका नेपाल एमाले ब्युँतिएसँगै झलनाथ खनालभन्दा तल्लो वरीयतामा घटुवा भएका हुन् । पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा प्रचण्डपछिको दोस्रो कुर्सीमा नेपाल बसेका थिए ।

    बुधबारको बैठकमा भने सत्तापक्ष एमालेका सांसदहरू बस्ने लहरको पहिलो सिटमा झलनाथ खनाल बसे भने त्यसपछि नेपाल बसेका थिए । एमालेमा निवर्तमान पार्टी प्रमुख अध्यक्षपछिको वरिष्ठतामा रहने भएकाले झलनाथ खनालको वरीयता स्वतः माधव नेपालभन्दा माथि परेको हो ।

    एमाले-माओवादी एकीकरणपछि बनेको नेकपामा शुरूमा ओली र प्रचण्डपछि माधव नेपाललाई तेस्रो वरीयता राखिएको थियो । पछि फेरि ओलीको प्रस्तावमा झलनाथ तेस्रो वरीयतामा पारेर नेपाललाई चौथो वरीयतामा झारिएको थियो ।

    नेकपा राजनीतिकरूपमा विभाजित भएपछि माधव नेपाल झलनाथ खनालकै प्रस्तावमा खारेजीमा परेको नेकपाको प्रचण्ड-माधव पक्षको अध्यक्ष घोषित भएका थिए । प्रचण्ड र माधव नेपालबीच बरियता पनि आलोपालो गर्ने सहमति भएको थियो ।

  • ओली रोजेका माओवादीलाई एमालेमा २० प्रतिशत हिस्सा, बादल उपाध्यक्ष !

    ओली रोजेका माओवादीलाई एमालेमा २० प्रतिशत हिस्सा, बादल उपाध्यक्ष !

    काठमाडौं । नेकपा एमालेले विघटित नेकपाको विभाजनमा केपी ओली पक्षलाई साथ दिएका माओवादी केन्द्रका नेता कार्यकर्तालाई सबै तहमा सम्मानजनकरूपमा समायोजन गर्ने भएको छ ।

    मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा एमाले र ओली पक्षधर माओवादी केन्द्रका नेताहरूबीचको छलफलपछि सबै कमिटीमा समायोजनको मोडालिटी बनाइने भएको हो ।

    माओवादी स्थायी कमिटी सदस्यहरू रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रदेश २ का अध्यक्ष प्रभु साहलगायतका मन्त्रीहरूसँग एमाले अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतले छलफल गरिरहेका छन् ।

    केन्द्रदेखि स्थानीय तहसम्म उल्लेख्य संख्यामा माओवादी केन्द्रका नेता कार्यकर्ता पार्टी विभाजनसँगै ओली पक्षमा लागेकोले उनीहरूको व्यवस्थापनमा उदारता देखाइने एमालेले जनाएको छ । अरु नेता कार्यकर्ताहरु पनि माओवादी केन्द्र छाडेर एमालेमा आउन वार्ता गरिरहेको उपमहासचिव विष्णु पौडेलले नेपाल प्रेसलाई बताए ।

    पौडेलले भने, ‘हिजो नेकपा हुँदा हामीसँग रहनुभएका र अब एमालेमा समाहित हुने सबै कमरेडहरुको व्यवस्थापन हुन्छ । यति बुझ्नुस् सबैलाई चित्त बुझ्नेगरी धेरै राम्रो व्यवस्थापन हुन्छ । यो सन्देश तलैसम्म दिन चाहन्छौं ।’

    नेकपा विभाजनसँगै ओली पक्षमा लागेका नेताहरुले आफ्नो सांसद पद गए पनि ओलीको साथ नछाड्ने बताइसकेका छन् । उनीहरुलाई अब एमालेको विधान अनुसार अर्को पार्टी एकताबाट आउनेहरुका लागि व्यवस्था भए अनुसार २० प्रतिशतसम्म केन्द्रीय कमिटी सदस्य बनाइने एमाले स्रोतले जनाएको छ ।

    माओवादीतर्फका केन्द्रीय सदस्यहरूको सूची बन्ने क्रममा रहेको र प्रदेशदेखि जिल्ला र स्थानीय तहसम्म सोही अनुसार समायोजन गरिने बताइएको छ । अहिले माओवादी केन्द्रका नेताहरू थप नेता कार्यकर्ता एमालेमा तान्नका लागि छलफलमा छन् ।

    एमाले स्रोतका अनुसार रामबहादुर थापा ‘बादल’ लाई उपाध्यक्ष बनाएर टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साहलाई स्थायी कमिटीमा समायोजन गर्नेबारे छलफल हुँदैछ । एमालेको नवौं महाधिवेशनबाट निर्वाचित पाँच जना उपाध्यक्षमध्ये विद्यादेवी भण्डारी राष्ट्रपति भएपछि एक उपाध्यक्ष खाली छ ।

    अरु पदाधिकारी थप्न विधान संशोधन गर्नुपर्ने हुन्छ । बादललाई वामदेवपछि दोस्रो बरियताको उपाध्यक्ष बनाउने सम्भावना छ । एमालेको विधान संशोधन गर्न राष्ट्रिय प्रतिनिधि परिषद् बोलाउनुपर्छ, सो संरचना पनि एमालेमा स्वतः ब्युँतिएको छ ।

    विधानमा उल्लिखित ७० वर्ष पुगेका नेताले कार्यकारी जिम्मेवारीबाट बिदा हुनुपर्ने विषयलाई माधव नेपाल पक्षले उठाउन थालेको छ ।

  • एमाले-माओवादी ब्युँतिएको पत्र संसदमा, आजबाट प्रचण्ड-माधवको बसाइ अलग

    एमाले-माओवादी ब्युँतिएको पत्र संसदमा, आजबाट प्रचण्ड-माधवको बसाइ अलग

    काठमाडौं । प्रतिनिधिसभामा आजदेखि नेकपा एमाले र नेकपा (माओवादी)केन्द्र अलग संसदीय दलको रुपमा अस्तित्वमा आएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा माओवादी केन्द्र सत्तापक्षमा बस्छ कि प्रतिपक्षमा भन्ने चाहिं टुंगो लागेको छैन ।

    नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले त्यसबारे छलफल भइरहेको बताए । एमाले र माओवादी अलग भए पनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छैन । आफूहरु सत्ता पक्ष वा प्रतिपक्ष कहाँ बस्ने भन्ने कुरा संसद सचिवालयले व्यवस्था गरे अनुसार हुने गुरुङले बताए ।

    निर्वाचन आयोगले केपी शर्मा ओलीलाई नेकपा एमाले र पुष्पकमल दाहाल प्रचण्डलाई माओवादी केन्द्र दिइएको पत्र संसद सचिवालयलाई मंगलबार नै पठाइसकेको छ । सो पत्र सबै प्रदेशसभा सचिवालयहरुमा पनि पुगेको छ ।

    संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले निर्वाचन आयोगको पत्र बमोजिम अब एमाले र माओवादी केन्द्रका सांसदहरुको बस्ने सिट व्यवस्थापन मिलाइने बताए । माओवादी केन्द्र विपक्षमा गएको सूचना नआएकाले आज सत्तापक्षकै अर्को लहरमा व्यवस्था हुने पाण्डेले नेपाल प्रेसलाई जानकारी दिए ।

    उनले भने, ‘आयोगको पत्र प्राप्त भएको छ । अहिलेसम्म उहाँहरु सत्तापक्षमै रहेको हुनाले सत्तापक्षकै लहरमा अर्को व्यवस्थापन गरिन्छ । हिजोसम्म एउटै दलको हुनाले एकै ठाउँमा हुनुहुन्थ्यो, आजबाट नजिकै अरु व्यवस्था गरिन्छ ।’

    पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकका दिनसम्म सत्तापक्षका सांसदको पहिलो लहरमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र सुवास नेम्वाङ बस्ने गरेका थिए । आजबाट प्रचण्ड सत्तापक्षकै लहरमा रहे पनि माधव नेपाल झलनाथहरुसँग बस्ने छैनन् ।

    अब प्रतिनिधिसभामा माओवादी केन्द्र तेस्रो दल बनेको छ । चौथो दलका रुपमा जसपा रहनेछ भने अन्य साना दलहरु राप्रपा, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका एक एक सांसद छन् ।