Tag: नेकपा एमाले

  • एमाले बैठक शुरू, अरुका एजेण्डा बोकेर आउनेलाई स्थान नदिइने अध्यक्ष ओलीको प्रष्टोक्ति

    एमाले बैठक शुरू, अरुका एजेण्डा बोकेर आउनेलाई स्थान नदिइने अध्यक्ष ओलीको प्रष्टोक्ति

    काठमाडौं । नेकपा एमाले केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवारमा शुरू भएको छ ।

    बैठकको अध्यक्षता गर्दै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र अरुका एजेण्डा बोकेर आउनेहरूलाई कुनै स्थान नरहेको र व्यक्तिगतरूपमा हरेक सदस्यलाई उचित जिम्मेवारी दिइने बताएका छन् ।

    बैठकको शुरूमै अध्यक्षको सम्बोधन चलिरहेको र त्यसपछि महासचिव ईश्वर पोखरेलले सांगठानिक प्रतिवेदन पेस गर्ने केन्द्रीय सदस्य विशाल भट्टराईले जानकारी दिए ।

    बैठकमा यसअघि सहभागी नभएका माधव नेपाल पक्षधर केन्द्रीय सदस्य सोम मिश्र र विष्णु रिजाल पनि सहभागी भएका छन् ।

    बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले हौं भनेर एमालेकैविरुद्ध मतदान गर्ने,पार्टीविरुद्ध गतिविधि गर्ने र समानान्तर कमिटीहरु चलाउनेमाथि थप कारवाही हुने चेतावनी समेत दिएका छन् ।

  • एमाले केन्द्रीय समिति बैठक आज बस्दै, माधव पक्ष सहभागी नहुने

    एमाले केन्द्रीय समिति बैठक आज बस्दै, माधव पक्ष सहभागी नहुने

    काठमाडाैं । सत्तारुढ नेकपा एमालेको केन्द्रीय समिति बैठक आज बस्दैछ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो १ बजे बैठक बोलाइएको छ ।

    एमालेको केन्द्रीय समितिलाई दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिमा रुपान्तर गरेपछि आज पहिलो बैठक बस्न लागेको हो। बैठकमा सबै सदस्यलाई अनिवार्य उपस्थित हुन भनिएको छ। तर, माधव नेपाल पक्ष सहभागी नहुने भएका छन् ।

    बैठकमा राजनीतिक प्रतिवेदन, कार्यविभाजन, केही संगठनात्मक प्रस्ताव, उपनिर्वाचनको तयारी र समसामयिक प्रस्तावलगायतबारे छलफल र निर्णय हुने एमाले महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।

  • भोलिको बैठक रोकेर एकताको पहल गर्न एमाले अध्यक्षलाई अमृत बोहराको आग्रह

    भोलिको बैठक रोकेर एकताको पहल गर्न एमाले अध्यक्षलाई अमृत बोहराको आग्रह

    काठमाडौं । नेकपा एमालेको नवौं महाधिवेशनबाट निर्वाचित अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले पार्टीलाई एकताबद्ध राख्न अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् ।

    माधव नेपाल पक्षमा रहेका नेता बोहराले पार्टीलाई पुनः एकताबद्ध बनाउन एउटा पक्षमात्र सामेल भएर गरेको फागुन २८ को निर्णय अबिलम्ब फिर्ता लिन र विधिविपरीत थपघट गरिएका र हटाइएका सबै निर्णय सच्याउन आग्रह गरेका छन् ।

    बोहराले आइतबार पार्टीलाई एकताबद्ध बनाउन विशेष ध्यानाकर्षण अपिल सार्वजनिक गर्दै विधानको व्यवस्था बमोजिम केन्द्रीय कमिटी, केन्द्रीय निकाय तथा मातहतका सबै कमिटीका बैठकहरू तत्काल बोलाउन आग्रह गरेका छन् ।

    उनले भनेका छन्, ‘अहिलेको बिग्रिरहेको स्थितिलाई सुधार गर्न विविध उपायहरू खोजिनुपर्नेमा उल्टै वैशाख ६ गते आयोजक कमिटीको बैठक भनेर स्थितिलाई थप असहज बनाउने काम गरिँदैछ । यसलाई तकाल रोकिनुपर्छ । उत्तेजना, आवेग र अभिमान हावी भएर कुनै पनि निर्णय गर्नु हुँदैन ।’

    एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक भोलि सोमवार काठमाडौंमा बस्दैछ । सो बैठकको पूर्वसन्ध्यामा अनुशासन आयोगका अध्यक्षको तर्फबाट बोहोराले बैठक रोक्न माग गरेका हुन् ।

  • एमालेको आदिवासी जनजाति महासंघ विभाजित, माधव पक्षले बनायो समानान्तर संगठन (सूचीसहित)

    एमालेको आदिवासी जनजाति महासंघ विभाजित, माधव पक्षले बनायो समानान्तर संगठन (सूचीसहित)

    काठमाडाैं । नेकपा एमाले आबद्ध लोकतान्त्रिक आदिवासी जनजाति महासंघ पनि औपचारिक रुपमा विभाजन भएको छ । माधव नेपाल पक्षको भेलाले महासंघको अलग्गै नेतृत्व चयन गरेसँगै एमालेका आदिवासी जनजाति घटक संगठनहरु पनि विभाजित भएका हुन् ।

    शनिवार काठमाडौंमा सम्पन्न माधव नेपाल पक्षको भेलाले राष्ट्रियसभाका सांसद परशुराम मेघी गुरुङको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्ष पासाङ शेर्पा चयन भएका छन् भने महासचिव टासी ह्योल्मोलाई चयन गरिएको छ ।

    माधव नेपालको उपस्थितिमा भएको भेलाले १० जना उपाध्यक्ष, ५ जना उपमहासचिव र २० जना सचिव सहितको पदाधिकारी टोली समेत चयन गरेको छ ।

    लोकतान्त्रिक आदिवासी जनजाति महासंघको अध्यक्ष शेरवहादुर तामाङ छन् । त्यसको समानान्तर कमिटी माधव नेपाल पक्षले घोषणा गरेको हो ।

    माधव नेपाल पक्षले घोषणा गरेका पदाधिकारीको सूची यस प्रकार छ ।

    अध्यक्ष

    १. परशुराम मेघी गुरूड

    वरिष्ठ उपाध्यक्ष

    २. पासाङ शेर्पा

    ३. चित्र थापा

    उपाध्यक्ष

    ४. भवानी खापुङ- प्रदेश नं १ ईन्चार्ज

    ५. शिव गुरूङ- घटक संघ ईन्चार्ज

    ६. रामप्रसाद चौधरी- लुम्बिनी प्रदेश ईन्चार्ज

    ७. वीरबहादुर बढाथोकी मगर- सुदूरपश्चिम प्रदेश ईन्चार्ज

    ८. माईलाबाबु घौला- बागमती प्रदेश ईन्चार्ज

    ९. सुरेन्द्र लामा- प्रदेश २ ईन्चार्ज

    १०. याम बहादुर गुरुङ- गण्डकी प्रदेश ईन्चार्ज

    ११. टामिन्द्र राई-प्रदेश १ सह ईन्चार्ज

    १२. मिना कुमारी लामा- महिला उपाध्यक्ष

    १३. सकुन्तला लेप्चा- अल्पसंख्यक उपाध्यक्ष

     महासचिव

    १४. टासी ह्यल्मो

    उपमहासचिव

    १५. राम चन्द्र वल

    १६. रन्जना मास्के

    १७. चेत बहादुर गुरूङ

    १८. नरेन्द्र कन्दङवा

    १९. गोपाल श्रेष्ठ

    सचिव

    २०. गिरेन राई- १ नं प्रदेश

    २१. कृष्ण चेन्जोङ- १ नं प्रदेश

    २२. वज्रकुमार राई- १ नं प्रदेश

    २३. पृथ्वीचन्द्र चौधरी- २ नं प्रदेश

    २३. रामललित मण्डल- २ नं प्रदेश

    २४. ममता चौधरी- २ नं प्रदेश

    २५. सुमन श्रेष्ठ- बागमती प्रदेश

    २६. चन्द्र तामाङ- बागमती प्रदेश

    २७. लाप्साङ लामा तामाङ- बागमती प्रदेश

    २८. राजाराम स्याङतान- बागमती प्रदेश

    २९. देउप्रसाद छन्त्याल- गण्डकी प्रदेश

    ३०. लालबहादुर थापा- गण्डकी प्रदेश

    ३१. पिताम्बर सारू- लुम्बिनी प्रदेश

    ३२. चक्र बुढामगर- कर्णाली प्रदेश

    ३३. योगिता राई- बागमती प्रदेश

    ३४. लक्ष्मी चौधरी- सुदूरपश्चिम प्रदेश

    ३५. रेवत राई- १ नं प्रदेश

    ३६. दूधप्रसाद घले- गण्डकी प्रदेश

    ३७. देवेन्द्र गुरूङ- लुम्बिनी प्रदेश

    ३८. चुनकुमारी चौधरी- सुदूरपश्चिम प्रदेश

     कोषाध्यक्ष

    ३९. श्याम श्रेष्ठ

    सह-कोषाध्यक्ष

    ४०. गोविन्दराम चेपाङ

    ४१. रोजिना राई

    ४२. र, अमला श्रेष्ठ

    घटक संगठनका इन्चार्ज पनि तोकिए

    माधव नेपाल पक्षले लोकतान्त्रिक आदिवासी जनजाति महासंघ अन्तर्गतका २७ वटा जातीय संगठनमासमेत नयाँ नेतृत्व चयन गरेको छ । ती घटक संगठनका इन्चार्ज तोकिएको बरिष्ठ उपाध्यक्ष पासाङ शेर्पाले जानकारी दिए । घटक संगठनका इन्चार्जहरुको सूची यस प्रकार छ ।

  • माधव नेपाललाई शान्ता चौधरीको चेतावनी : तपाईको विधि पद्धतिसँग एमाले मूकदर्शक बन्दैन

    माधव नेपाललाई शान्ता चौधरीको चेतावनी : तपाईको विधि पद्धतिसँग एमाले मूकदर्शक बन्दैन

    काठमाडौं । नेकपा एमाले केन्द्रीय सदस्य तथा सचेतक शान्ता चौधरीले माधव नेपाल पक्षलाई जहाँ प्रेम छ त्यहिँ बसेर सघाउन सुझाव दिएकी छन् । उनले एमाले हौं भनेर एमालेको घर भाँड्ने छुट नभएको समेत प्रष्ट पारेकी छन् ।

    चौधरीले माधव नेपालको विधि र पद्धतिले एकता होइन विभाजनको माग गरेको भन्दै हिजो नेकपा हुँदा पनि पार्टी अध्यक्षलाई धेरैपटक कारवाही गरेको र अहिले एमाले भएपछि पनि विधि पद्धतिका नाममा समानान्तर गतिबिधि गरिरहेको आरोप लगाएकी छन् ।

    चौधरी पनि तत्कालिन नेकपामा प्रचण्ड-माधव पक्षको कारवाहीमा परेकी थिइन् । उनले माधव नेपालको विधि पद्धतिसँग नेकपा एमाले कर्णाली प्रकरणपछि अब मूकदर्शक बनेर नबस्ने चेतावनी दिएकी छन् ।

    चौधरीले आफ्नो वक्तव्यमा भनेकी छन् -हिजो नेकपा हुँदा पनि तपाईको पद्धतिले सूर्य चिन्ह छिटो हामीलाई दे भनेर निर्वाचन आयोगतिर फर्केर चिच्याउँदै थियो । पार्टीको अध्यक्षलाई तपाईको पद्धतिले धेरै पटक कारवाही गरेको थियो । अब तपाईको बिधी पद्धतिसँग नेकपा एमाले सिंगो पार्टी मूकदर्शक बन्दैन । तपाईले जनताको प्यारो पार्टी लाख प्रयत्न गरे पनि हराउन सक्नुहुन्न । अन्ततोगत्वा तपाईको अनुचित विधी र पद्धतिले हार्नेछ । जहाँ प्रेम छ त्यहीँ बसेर हो सघाउने,घर भाँड्न तपाईलाई छुट छैन कमरेड ।

  • कार्यकर्तालाई भीम रावलको निर्देशन : पार्टीको नाम र चिन्ह फरक पर्न सक्छ, तयार रहनू !

    कार्यकर्तालाई भीम रावलको निर्देशन : पार्टीको नाम र चिन्ह फरक पर्न सक्छ, तयार रहनू !

    काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई विभाजनतर्फ लगेको आरोप लगाएका छन् । आगामी निर्वाचनभन्दा अघि पार्टी अलग हुन सक्ने उनले संकेत गरे ।

    नेपाल उत्पीडित जातीय मुक्ति समाज सुदूरपश्चिम प्रदेशको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले भने, ‘निर्वाचनमा जाने कामको लागि पार्टीको कुनै एउटा स्थिति आइपर्‍यो भने जुनसुकै कदम पनि चाल्नुपर्छ ।’

    उनले पार्टीको नाम र चिन्ह फरक पर्न सक्ने भन्दै कार्यकर्ताहरूलाई तयार रहन निर्देशन दिए । अध्यक्ष ओलीले नै एमाले विभाजन गर्न खोजेको र आफूहरुले त्यसलाई रोक्न खोजेको रावलको दावी थियो ।

    २०३५ साल देखि ०४७ सालसम्म नेकपा माले रहेको भन्दै परिस्थिति अनुसार पार्टीको नाम र चुनाव चिन्ह परिवर्तन हुन सक्ने उनले बताए ।
    ‘केही गरी एमाले पार्टीको नाम बदल्नु परे पनि हाम्रो अर्को पार्टी कसरी हुन्छ र ? पछिल्लो समय यस्ता प्रश्न आइरहेका छन्,’ रावलले भने, ‘आजभन्दा ३ वर्ष अहिले कुन पार्टीमा काम गर्‍यौँ ? नेकपा एमाले थियो रु नेपाल कम्युनिस्ट पार्टी थियो ।’

    उनले थपे, ‘जब हामी नेकपा र माओवादी मिल्यौं, तपाईंहरुले हँसिया हथौडामा पनि भोट दिनु भयो । अनि माओवादी केन्द्रकाले पनि सूर्य चिन्हमा भोट हालेका त हुन् ।’

    रावलले फागुन २८ को निर्णय कुनै पनि अवस्थामा मान्य नहुने स्पष्ट पारे । उनले विधान संशोधनलाई पनि अवैध बताए । ‘हामीले पार्टी बनाउने, हामीलाई पार्टीबाट निष्कासन गर्ने र कहिल्यै एमाले नै नभएको लेखराज भट्टलाई इन्चार्ज बनाउने ओलीको निर्णय सच्चाउनु पर्छ’ उनले भने ‘हामी त्यो निर्णय मान्दैनौँ ।’

    ओली अवैधानिक अध्यक्ष भइसकेको समेत रावलले दावी गरे । ‘केपी ओली अवैधानिक अध्यक्ष भइसकेका छन् । अवैध अध्यक्षले गरेको निर्णय लागू हुँदैन,’ उनले भने । उनले नवौँ महाधिवेशन ओलीले भन्दा बढी मत आफूले पाएको समेत जिकिर गरेका थिए । सुरुवाती समयमा पार्टी निर्माणमा गर्दा ओलीको भूमिका नरहेको दावी उनको थियो ।

    ‘३२ सालमा पार्टी निर्माण गर्दा झिँगा पनि मार्नुभएन, उहाँ त त्यो बेला ज्यान मुद्दामा जेलमा हुनुहुन्थ्यो,’ रावलले भने । कर्णाली प्रदेशको प्रसङ्ग ल्याउँदै उनले सबै प्रदेशमा सोही अनुसार परिस्थिति विकसित हुनसक्ने आशय व्यक्त गरे ।

    ‘४ सांसदले ह्वीप उल्लंघन गरेका होइनन्, पार्टी जोगाएका हुन्,’ उनले भने, ‘अवस्था सृजना भयो भने त्यो देशैभरी हुन सक्छ ।’ कर्णाली प्रदेशमा पनि केपी ओलीले नै अस्थिरता ल्याएको रावलको आरोप थियो । ‘केपी ओलीले पद जान्छ भन्दैमा जाँदैन । म ग्यारेन्टी गर्छु’ रावलले भने, ‘हामी पद जाने धाक धम्कीबाट डराउने वाला छैनौँ ।’

  • सरकार ढाल्ने खेलको प्रतिवाद गर्न ईश्वर पोखरेलको आग्रह, आउने बजेटमा सामाजिक सुरक्षा भत्ता बढ्ने

    सरकार ढाल्ने खेलको प्रतिवाद गर्न ईश्वर पोखरेलको आग्रह, आउने बजेटमा सामाजिक सुरक्षा भत्ता बढ्ने

    काठमाडौं । उपप्रधानमन्त्री तथा नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले मुलुकको राजनीति गलत दिशामा गईरहेको भन्दै त्यसको प्रतिवादमा उत्रन आव्हान गरेका छन् ।

    शनिवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री पोख्रेलले सरकार ढाल्ने खेल भईरहेको भन्दै यस्ता गलत क्रियाकलाप विरुद्ध सबै जनता प्रतिकारमा उत्रनुपर्ने बताए ।

    जनताले सही र गलत क्रियाकलाप छुट्याएर हर क्षेत्रमा देखिएको गलत कार्य विरुद्ध प्रतिवाद गर्नुपर्ने पोखरेलले बताए ।

    निर्वाचित सरकारले निश्चित समयावधि पनि लिएर आएको भन्दै त्यसअघि नै सरकार ढाल्ने प्रयास भए मुलुक र जनताका लागि ठूलो र्दुभाग्य हुने बताउ । सरकारले गरेका काम सबै सार्वजनिक भएको र सरकारका राम्रा काम र कमजोरीको हिसाबकिताब चुनावमा हुने भन्दै पोखरेलले सरकार ढाल्ने ,जनतामा निराशा फैलाउने र अस्तव्यस्त श्रृजना गर्ने प्रयास भए राम्रो नहुने चेतावनी दिए ।

    उपप्रधानमन्त्री पोख्रेलले पछिल्लो समय मुलुकमा देखापरेको राजनैतिक खिचातानीले कामै गर्न नसकिने वातावरण श्रृजना भएको बताए । पोखरेलले आगामी आर्थिक बर्षको बजेटमा सामाजिक सुरक्षा भत्ता बढाईने पनि बताए ।

  • कर्णालीमा एमालेको संसदीय दल बैठक बस्दै, पाँच सांसदमाथि कारवाही हुने

    कर्णालीमा एमालेको संसदीय दल बैठक बस्दै, पाँच सांसदमाथि कारवाही हुने

    काठमाडौं । कर्णाली प्रदेश सरकारको पक्षमा पार्टीका पाँच सांसदले मतदान गरेपछि एमालेको संसदीय दलको आकस्मिक बैठक शुरू भएको छ । बैठकले ‘फ्लोर क्रस’ गर्ने पाँच सांसदहरूलाई कारवाहीको सिफारिस गर्नेछ ।

    पार्टीका ह्वीप उल्लंघन गर्दै सांसदहरूले सरकारलाई विश्वासको मत दिएपछि उनीहरूलाई सांसद पदबाट निलम्बन गर्न लागिएको हो । आज प्रदेश सभामा भएको मतदानमा प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गरेका थिए ।

    उनीहरूले विश्वासको मतको पक्षमा मतदान गरेपछि महेन्द्रबहादुर शाहीको सरकार जोगिएको छ ।

    एमालेकै सांसद देवी ओलीले भने विश्वासको मतको पक्षमा दिएको मत सभामुखले निर्धारण गरेको समयमा सच्याएकी थिइन् । विश्वासको मतको पक्षमा बहुमत पुगेको थाहा पाएपछि उनले मत सच्याएकी हुन् ।

  • तनहुँका एमाले र युवा संघका नेताहरु नेपाल पक्षको समानान्तर कमिटीबाट अलग

    तनहुँका एमाले र युवा संघका नेताहरु नेपाल पक्षको समानान्तर कमिटीबाट अलग

    तनहुँ । नेकपा एमालेमा माधव नेपाल पक्षले समानान्तर कमिटी अभियान चलाइरहेका बेला नेपाल पक्षका नेताहरु त्यसबाट अलग हुँदै संस्थापन पक्षमा खुल्ने क्रम चलेको छ ।

    एमाले तनहुँका जिल्ला उपसचिव बिष्णुभक्त सिग्देल र युवा संघको केन्द्रीय सदस्यहरुले मंगलवार एमाले नेता तथा पूर्वमन्त्री महेश बस्नेतको उपस्थिति रहेको कार्यक्रमबाट आफूहरु माधव नेपाल पक्षमा नरहेको घोषणा गरेका छन् ।

    बस्नेत तनहुँ पुगेका छन। तनहुँको राष्ट्रिय युवा संघ नेपालको जिल्ला स्तरीय र्‍याली तथा आमशभामा सम्बोधन गर्न उनी आएका हुन।

    सो कार्यक्रममा एमाले तनहुँका जिल्ला उपसचिव बिष्णुभक्त सिग्देल र नरेस साहीको नेतृत्वको युवा संघको केन्द्रीय सदस्यहरु नारायण थापा र सुशील सिग्देल ले माधव नेपाल पक्षको साथ छाडेको घोषणा गरेका छन।

    आबुखैरेनी, डुम्रे,भिमाद, शुक्लागण्डकी लगाएत स्थानबाट आएको मोटर साइकल र्‍यालीले दमौली बजार परिक्रमा गरेको थियो। युवा इन्चार्ज महेश बस्नेत, केन्द्रिय अध्यक्ष वचन बहादुर सिं, सह अध्यक्ष किरण पौडेल लगाएतको टिम तीनवटा अभियान लिएर हिडेको छ। केपी ओलीको पक्षमा माहौल बनाउने र साइबर सेना तयार पार्ने भन्दै युवा संघका नेताहरुलाई लिएर बस्नेले अभियान चलाएका छन् ।

  • पार्टीको ३० लाख व्यक्तिको खातामा, भीम रावलसहित तीनजना विरुद्ध मुद्दा दर्ता गर्ने कर्ण थापाको तयारी

    पार्टीको ३० लाख व्यक्तिको खातामा, भीम रावलसहित तीनजना विरुद्ध मुद्दा दर्ता गर्ने कर्ण थापाको तयारी

    धनगढी । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीको खातामा रहेको ३० लाख रकम व्यक्तिको खातामा रकमान्तर गरेको खुलेको छ ।

    प्रदेश पार्टी कार्यालयका सचिव दिनेश चन्द्र सुबेदीको खातामा पार्टीको ३० लाख रकम रहेको खुलेको हो ।

    प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गरेको बेला नेकपामा विवाद बढेपछि पार्टी अध्यक्ष कर्ण थापालाई जानकारी नगराई १३ पुसमा कृषि विकास बैंकबाट ३० लाख रकम झिकिएको थियो । उक्त रकम सुबेदीको खातामा भेटिएको छ ।

    साबिक नेकपा प्रदेश अध्यक्ष कर्ण थापा,सचिव नेप बहादुर चौधरी र कार्यालय सचिव दिनेशचन्द्र सुवेदीको हस्ताक्षर मध्ये कुनै दुई जनाको हस्ताक्षरले खाता सञ्चालन हुन सक्ने व्यवस्था गरिएको थियो । चौधरी र सुवेदी मिलेर सो रकम निकालेका थिए ।

    नेकपामा विवाद बढेपछि प्रदेश इन्चार्ज भीम रावलको निर्देशनमा चौधरी र सुबेदीको हस्ताक्षरले पार्टीको रकम निकालिएको थापाको आरोप छ ।

    कृषि विकास बैङ्कमा रहेको २८२२५०१२६५४७७०१४ नम्बरको खाताबाट ३० लाख रकम सुवेदीको ०८२१९०१२७५८७६०१७ नम्बरको खातामा रकमान्तर गरिएको कृषि विकास बैङ्क धनगढी शाखाले नै पुष्टि गरेको छ।

    भीम रावललाई मुद्दाको तयारी

    पार्टीको रकम व्यक्तिको खातामा राख्न लगाएको भन्दै एमाले नेता भीम रावल लगायतलाई मुद्दा दायर गर्ने तयारी भइरहेको छ ।

    वित्तीय अपराध अन्तर्गत मुद्दा दायर गरिने थापाले बताए । उनले रावल सहित नेपवहादुर चौधरी, दिनेश चन्द्र सुबेदी र केशव रावल विरुद्ध मुद्दा दायरको तयारी अन्तिम चरणमा रहेको बताए ।

    रावलकै निर्देशनमा माग फारम बिना केशव रावललाई पनि ५ लाखको चेक काटिएको थापाको आरोप छ ।

    ‘पार्टीको खातामा ३८ लाख थियो । त्यसबाट ५ लाखको चेक केशव रावलको नाममा काटिएको छ । प्रयोजन नखुलाई चेक काट्नु पनि अवैधानिक हो,’ थापाले भने ‘सबै विरुद्ध हामी मुद्दा दायर गर्दै छौँ ।’

    पार्टीको रकम व्यक्तिको खातमा पठाउने बैंकलाई पनि मुद्धा दायर गरिने उनको भनाइ छ ।

    माओवादी भागबन्डा खोज्दै

    नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका सचिव नेप बहादुर चौधरीले भने उक्त रकम भागबन्डा हुने बताए । उनले रकम सुरक्षित रहेको बताउँदै पार्टी पूर्ववत् अवस्थामा फर्किएपछि दुवैको हक रहेको दाबी गरे।

    ‘पार्टीको सम्पत्ति हिनामिना हुने देखेपछि, हामीले झिकेर राखेका हौँ,’उनले भने,‘रकम सुरक्षित छ,अहिले पार्टी फुटिसकेको छ। अब रकम भागबन्डा हुन्छ।’

    एमाले अध्यक्ष थापाले भने उक्त रकम एमालेको नै रहेको बताए ।

    ‘हामीले जोगाएर राख्दै आएको रकम हो त्यो,’ अध्यक्ष थापाले भने, ‘पार्टी एक हुँदा नेकपाको नामबाट खाता खोलेर रकम राखेका थियौं, त्यसमा माओवादी केन्द्रको कुनै हिस्सा छैन,सबै रकम एमालेकै हो।’

  • गण्डकीमा सत्ताको खेलकुद: जनमोर्चाको निर्णय पर्खिने कांग्रेसको निर्णय

    गण्डकीमा सत्ताको खेलकुद: जनमोर्चाको निर्णय पर्खिने कांग्रेसको निर्णय

    पोखरा । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार परिवर्तनका लागि अहिले सत्ताइतरका पार्टीको दौडधुप तीव्र छ । कुनै पनि दल एक्लैले नेकपा एमाले नेतृत्वको सरकारको विकल्पमा उभिन नसक्ने अवस्थापछि नयाँ समिकरणको खेल आरम्भ भएको हो ।

    संसदमा तीन सिट रहेको जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एक सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने संकेत गरेपछि नयाँ समिकरणको ढोका उघ्रिएको थियो । तर, केन्द्रमा जस्तै यहाँ पनि दल एकअर्काको मुख ताक्न थालेका छन् ।

    सोमबार बसेको नेपाली कांग्रेसको संसदीय दल बैठकले जनमोर्चाको स्पष्ट निर्णय पर्खिने निर्णय गरेको छ । नेपाली कांग्रेसका सांसद तथा नयाँ सरकार गठन गर्न अन्य सत्ताइतर दलसँग वार्ता गर्न गठित समिति संयोजक कुमार खड्काले जनमोर्चाको स्पष्ट निर्णय पर्खिने बैठकले निष्कर्ष निकालेको जानकारी दिए ।

    ‘प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने ४ वटै दल र स्वतन्त्र माननीय ज्युसँग पनि छलफल गर्यौं । सबैबाट सकारात्मक कुरा आएको छ,’ सांसद खड्काले भने, ‘तर राष्ट्रिय जनमोर्चाको आधिकारिक निर्णय आइसकेपछि मात्रै प्रदेश सभामा कुरा लैजानेगरी निर्णय पर्खेर बसेका छौं ।’

    सांसद खड्काले जनमोर्चाले २-३ दिनमै आफ्नो आधिकारिक निर्णय दिने संकेत आफूहरुले पाइसकेको दाबी गरे । जनमोर्चाले निर्णय दिइसकेपछि सरकारको विकल्पमा अगाडि बढ्ने उनले सुनाए ।

    ‘सकेसम्म भोलि नै नभए बैशाखको पहिलो साताभित्रमा यो सरकारको विकल्पमा अगाडि जाने संसदीय दलमा जानकारी गरायौं,’ उनले भने, ‘आगामी दिनमा वार्ता समितिले फेरि यही विषयलाई अगाडि बढाएर निक्र्यौलमा पुर्याउने प्रतिवद्धता व्यक्त गर्यौं ।’

    ६० सिट रहेको गण्डकीमा सत्तारुढ दल नेकपा एमालेको २७ सिट छ । एमालेको समर्थनमा स्वतन्त्र चुनाव जितेका राजीव गुरुङ ‘दीपक मनाङे’ को साथ पाउँदा एमालेसँग कुल २८ सिट हुन आउँछ । बहुमत जुटाउन थप दुई सिट चाहिन्छ ।

    तत्कालीन नेकपा सरकारलाई सुरुआती समयदेखि नै ३ सिट रहेको राष्ट्रिय जनमोर्चाले समर्थन गर्दै आइरहेको थियो । जनमोर्चाले साथ दिने आश्वासनमा मुख्यमन्त्री पद सुरक्षित हुनेमा मुख्यमन्त्री ढुक्कै थिए । तर, जनमोर्चा अध्यक्ष केसीले सार्वजनिक रुपमै अब सत्तारुढ दललाई समर्थन गर्न नसकिने र अविश्वास प्रस्ताव आए साथ दिने अभिव्यक्ति दिएपछि उनको चिन्ता सुरु भएको छ ।

    सत्ताइत्तरका ३ दल आ–आफ्नो नेतृत्वमा सरकार चलाउने ध्याउन्नमा छन् । मुख्यतः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्रले सरकारको नेतृत्वमा दावी गरेका छन् । तर, उनीहरु निर्णयमा उनीहरु पुग्न सकेका छैनन् । आफूहरुले अविश्वासको प्रस्ताव नलैजाने तर, लगिएमा समर्थन जनाउने धारणा दिँदै आएको जनमोर्चाको ‘आधिकारिक प्रतिवद्धता’ को पर्खाइमा नेपाली कांग्रेस छ ।

    गुरुङ नेतृत्वको सरकारको विकल्पमा अन्य कुनै पनि दलको स्वतन्त्र अस्तित्व नभएकाले पार्टीका केन्द्रीय निर्देशनमा चल्नुपर्ने बाध्यता रहेको खड्काको भनाइ छ । ‘हामीले के चाहन्छौं, के निर्णय गर्छौं भन्ने महत्वपूर्ण होइन, हाम्रो केन्द्रले के निर्णय गर्छ र के निर्देशन दिन्छ भन्ने महत्वपूर्ण हो,’ उनले भने ।

    केन्द्रको निर्देशनविपरीत जनमोर्चा पनि नजाने खड्काको विश्वास छ । ‘आदरणीय चित्रबहादुर केसीजीले बोल्नुभएभन्दा फरक निर्णय हुन्छ जस्तो लाग्दैन, अक्षरश पालना हुन्छ भन्नेमा विश्वस्त छौं,’ उनले भने, ‘यसबारे हामी जनमोर्चाका साथीसँग छलफल पनि गरिरहेका छौं । उहाँहरुले पनि लिखित निर्देशन आएपछि एउटा निर्णयमा पुग्छौं केही दिन पर्खिनुस् भन्नुभाछ ।’

    विश्वासको मत कि अविश्वास प्रस्ताव ?

    गुरुङ नेतृत्वको सरकारबाट माओवादी केन्द्रले आफ्ना दुई जना मन्त्रीलाई फिर्ता बोलाइसकेको छ । मन्त्री फिर्ता बोलाए पनि अहिलेसम्म समर्थन भने फिर्ता लिएको छैन् ।

    दुई फरक दल मिलेर बनेको सरकारबाट फिर्ता भएपछि कानुनी रुपमै मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्छ भन्ने नेपाली कांग्रेसको अडान छ । तर, कांग्रेस आफैंले भने अविश्वासको प्रस्ताव लैजान सकेको छैन् ।

    नेपाली कांग्रेसको संसदीय दल बैठकले जनमोर्चाको निर्णय आइसकेपछि ३ दलको मोर्चामा ४ दल हुने र त्यसपछि मात्रै मुख्यमन्त्रीलाई विश्वासको मत लिन लगाउने वा उनीविरुद्ध अविश्वासको प्रस्ताप अघि बढाउने निर्णय भएको सांसद खड्काले जानकारी दिए । ‘त्यो पछि ४ दलको मोर्चाले संयुक्त रुपमा बैठक बसेर निर्णय गर्छ हाेला,’ उनले भने ।

  • संसदीय समितिमा एमालेको हैसियत अनुसार हेरफेर, सुनुवाइ समितिमा भने यथावत (सूचीसहित)

    संसदीय समितिमा एमालेको हैसियत अनुसार हेरफेर, सुनुवाइ समितिमा भने यथावत (सूचीसहित)

    काठमाडौं । संसदीय समितिहरुमा हेरफेर भएको छ । संसदीय सुनुवाइ समितिबाहेक संसदका सबै विषयगत समितिमा हेरफेर भएको सभामुख अग्नि सापकोटाले सोमबारको प्रतिनिधिसभा बैठकमा जानकारी दिए ।

    सभामुखले बैठकमा पेस गरेको नाम अुनमोदनसमेत भएको छ । २३ फागुनको सर्वोच्च अदालतको फैसलापछि एमाले संसदको सबैभन्दा ठूलो दल बनेपछि त्यसलाई स्वीकार गर्दै समितिमा हेरफेर गरिएको हो ।

     

     

    यो पनि पढ्नुहोस्:

  • यी हुन् एमाले स्थायी कमिटीका सम्भावित अनुहार

    यी हुन् एमाले स्थायी कमिटीका सम्भावित अनुहार

    काठमाडौं । अहिले नेकपा एमालेमा अध्यक्ष र महासचिवबाहेक कोही पदाधिकारी छैनन् । अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलबाहेक अरु सबैको हैसियत दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्य हो ।

    वैशाख ६ गते बस्ने एमाले केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी गठन गर्ने एजेण्डा रहेकाले अब नियमित कार्य सम्पादनका लागि उपल्लो कमिटी गठन हुने सम्भावना छ ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले चैत १३ गते जारी गरेको अन्तरपार्टी निर्देशनको ९ नम्बर बुँदामा स्थायी कमिटीको नामावली तयार गरी केन्द्रीय कमिटीको आगामी बैठक समक्ष निर्णयार्थ पेश गर्ने जिम्मेवारी अध्यक्ष र महासचिवलाई सुम्पेको उल्लेख छ ।

    पोलिटब्यूरो गठनको तत्काल सम्भावना नभए पनि एमालेको तत्कालीन पोलिटब्युरो कमिटीमा रहेका नेताहरूमध्येबाट स्थायी कमिटी सदस्यमा थप गर्ने ढंगले शीर्ष नेतृत्वमा अनौपचारिक छलफल चलेको छ ।

    पार्टी बैठकहरूमा सहभागी नभई समानान्तर गतिविधि गरिरहेको माधव नेपाल पक्षका नेताहरूलाई स्थायी कमिटीमा राख्ने वा नराख्ने भन्ने निधो नभइसकेको एक नेताले बताए ।

    तर, समानान्तर कमिटी गठन गर्न लागेको भन्दै माधव नेपालसहित चार नेतालाई केन्द्रीय सदस्यबाट समेत निलम्बन गरिएको अवस्थामा सो अभियानमा लागेकाहरुलाई नियमित कामकाज गर्नुपर्ने कमिटीमा राख्ने सम्भावना नरहेको उनको भनाइ छ ।

    स्थायी कमिटी कति सदस्यीय बनाउने भन्ने पनि टुंगो लागिसकेको छैन । यसबीचमा नेताहरूबीच छलफलबाट संख्या तय हुने र ठूलो कमिटी नबनाइने महासचिव पोखरेलनिकट स्रोतले बताएको छ ।

    सामान्यतः केन्द्रीय कमिटीको एक तिहाई पोलिटब्यूरो र पोलिटब्यूरोको एक तिहाई स्थायी कमिटी रहने गरेको छ । २६४ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक कमिटीको एक तिहाई ८८ हुन्छ भने त्यसको एक तिहाई २९ सदस्यीय हुन्छ ।

    एमाले स्रोतका अनुसार पदेनबाहेक २५ सदस्यभन्दा माथि नहुने गरी स्थायी कमिटी गठन हुने सम्भावना छ । तत्कालीन नेकपाका ४३ स्थायी कमिटी सदस्यमध्ये विभाजनको बेला केपी ओली पक्षमा १६ जना थिए ।

    यी १६ जना निरन्तर

    केपी ओली, ईश्वर पोखरेल, रामवहादुर थापा बादल, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सत्यनारायण मण्डल, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, किरण गुरुङ, विष्णु रिमाल र मणि थापा स्वतः स्थायी कमिटी सदस्य हुनेछन् ।

    वामदेव गौतम बैठकमा आएर निर्णय प्रक्रियामा सहभागी भए उनी स्थायी कमिटीमा निरन्तर रहने बताइएको छ । आवश्यकता अनुसार पदाधिकारी समेत राख्ने अधिकार लिएका अध्यक्ष ओलीले गौतमलाई उपाध्यक्षमै कायम राख्ने सम्भावना पनि छ ।

    समानान्तर कमिटी गठनमा लागेका नेताहरूलाई स्थायी कमिटीमा नराख्ने हो भने ९ जनासम्म नयाँ सदस्य थपिने सम्भावना छ । त्यसमा माओवादीबाट प्रवेश गरेकामध्ये प्रभु साह थपिने र अन्य आठ जना वरिष्ठताका आधारमा एमाले नेताहरु थपिने बताइएको छ ।

    तत्कालीन पोलिटब्यूरोबाट दाबेदार

    तत्कालीन पोलिटब्यूरो सदस्यमध्ये काशिनाथ अधिकारी, थममाया थापा, विन्दा पाण्डे, भानुभक्त ढकाल, यमलाल कँडेल, राधा ज्ञवाली, लालबाबु पण्डित, विजय सुब्बालगायतका नेता स्थायी कमिटीका दाबेदार हुन् ।

    तर, तत्कालीन पोलिटब्यूरोमा नरहेका कृष्णगोपाल श्रेष्ठ स्थायी कमिटीमा पर्ने सम्भावना छ । उनी २०५४ सालकै केन्द्रीय सदस्य भएकाले स्थायी कमिटीका दाबेदार हुन् ।

    वरिष्ठताको हिसाबले गुरु बराल, युवराज कार्की, देवराज घिमिरेलगायतका नेता पनि स्थायी कमिटीका दाबेदार हुन् । दलबहादुर राना, शेरबहादुर तामाङ, कर्ण थापा, शेरधन राईलगायतका नेताको नाम पनि चर्चामा छ ।

    स्थायी कमिटीमा महिलासहित वरिष्ठता, क्रियाशीलता र आवश्यकता आधारमा व्यक्ति छनौट गरी केन्द्रीय कमिटी बैठकमा पेस गरिने एमाले स्रोतले जनाएको छ । माधव नेपाल पक्षलाई पर्खेर स्थायी कमिटी गठन गर्ने कि भन्ने छलफल भएपनि पछिल्लो समय सो समूह अलग पार्टी अभ्यासमा लागि सकेकाले त्यो च्याप्टर बन्द भएको नेताहरुले बताएका छन् ।

    यसबीचमा सबै प्रदेश कमिटी, जिल्ला कमिटीलगायत सबै संरचनामा माधव नेपाल पक्षका नेताहरुलाई सदस्यमा मात्र सीमित गरेर मूल नेतृत्व पार्टीको संस्थापन पक्षका नेताहरूले सम्हालेका छन् । स्थायी कमिटी पनि सोही अनुसार बन्ने उनीहरूको भनाइ छ ।

  • एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाइयो, स्थायी कमिटी गठन हुने सम्भावना

    एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाइयो, स्थायी कमिटी गठन हुने सम्भावना

    काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक वैशाख ६ गते बस्ने भएको छ ।

    अध्यक्ष केपी शर्मा ओलीले समसायिक विषयमा पार्टीको धारणा तय गर्न बैठक बोलाएको एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले नेपाल प्रेसलाई बताए ।

    यसअघि एमालेको केन्द्रीय कमिटीको दशौं, एघारौं र बाह्रौं बैठकले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरी पार्टीमा अध्यक्ष र महासचिवमात्र पदाधिकारी राखेको थियो ।

    माधव नेपाल पक्षको सहभागिताबिनाको बैठकले तीन नेताहरूसहितको २६४ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गरेकोमा यसबीचमा नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाललाई निलम्बन गरिएको छ ।

    बैठकले महाधिवेशन तयारीका साथै प्रदेश तथा जिल्ला र स्थानीय तहका कमिटीहरुलाई अधिवेशन आयोजक कमिटी बनाएर मंसिरअघि नै अधिवेशनहरू सम्पन्न गर्नका लागि कार्ययोजना बनाउने रिजालले बताए ।

    यही बैठकले एमालेको स्थायी कमिटी गठन गर्ने सम्भावना छ । यसअघिको बैठकले स्थायी कमिटीको नाम तय गरी केन्द्रीय कमिटीमा प्रस्ताव गर्ने जिम्मा अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेललाई दिएको थियो ।

    यही बैठकले स्थायी कमिटी गठन गर्ने सम्भावना रहेको एक नेताले बताए ।

  • माओवादी छाडेर एमालेमा गएका प्रदेश–२ का ४ सांसद कारबाही भोग्न तयार

    माओवादी छाडेर एमालेमा गएका प्रदेश–२ का ४ सांसद कारबाही भोग्न तयार

    जनकपुरधाम । सर्वोच्चबाट नेकपा एकता बदर भएपछि नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा गएका प्रदेश–२ को प्रदेशसभामा चार सांसद माओबादीमा नफर्किने बरु कारबाही भोग्न तयार हुने निर्णयमा पुगेका छन् ।

    माओवादी केन्द्रबाट निर्वाचित सांसदहरु रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दन प्रसाद कुशवाहा र मोहम्मद समीरले सांसद पद गुमे पनि एमालेमै बस्ने बताएका छन् ।

    शुक्रवार चारै सांसदलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २४ घण्टै स्पष्टीकरण सोधेका थिए । तर उनीहरु कोही पनि स्पष्टीकरणको जवाफ दिएनन् । सांसद मण्डलले भने, ‘स्पष्टीकरण बुझाउँदिन, कारबाहीबाट डराएको छैन ।’

    पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिए पनि कारबाही गर्ने भएपछि उनीहरु स्पष्टीकरणको जवाफ नदिने निष्कर्षमा पुगेका छन् । स्पष्टीकरण नबुझाएपछि सम्भवतः आजै उनीहरुले सांसद पद गुमाउनेछन् ।

    झण्डै ६ महिनापछि प्रदेश–२ को प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्दैछ । प्रदेशसभा बैठकमा पनि सहभागी नहुने उनीहरुले बताएका छन् । साँसद मण्डलले भने, ‘म त प्रदेशसभा बैठकमा जादिनँ । साथीहरु पनि जानुहुन्न होला ।’

    प्रदेश २ मा माओवादी केन्द्रका ११ सांसद छन् । जसमध्ये चार साँसद एमालेमा पुगेपछि माओवादी कमजोर बन्ने निश्चित छ । उनीहरुलाई पदमुक्त गरेमा माओवादीका मात्र ७ सांसद प्रदेशसभामा रहनेछन् ।

    सांसद मण्डल माओवादी केन्द्रका संसदीय दलका नेता थिए । तर उनी एमालेमा पुगेपछि सांसद भरत प्रसाद साहलाई माओवादी केन्द्रले शुक्रवार नै संसदीय दलका नेता चयन गरिसकेको छ । आजको प्रदेशसभा बैठकमा साहले नै संसदीय दलका नेताको मान्यता पाउनेछन् ।

    यस्तै नेकपा एमालेमा पनि विवाद देखिएको छ । एमालेका २१ सांसदमध्ये माधव नेपाल पक्षका १३ सांसदले बहुमतको आधारमा संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाएर शत्रुधन महतोलाई चयन गरेका छन् ।

    मण्डल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका हुन् । नयाँ संसदीय दलका नेतामा महतोलाई चयन गरिएको कुरा सभामुख सरोज कुमार यादवलाई पत्रमार्फत जानकारी गराइसकेको सांसद प्रमोद यादवले जानकारी दिए ।

  • प्रदेश २ का चारजना माओवादी सांसद एमालेमा, प्रचण्डले सोधे स्पष्टीकरण (पत्रसहित)

    प्रदेश २ का चारजना माओवादी सांसद एमालेमा, प्रचण्डले सोधे स्पष्टीकरण (पत्रसहित)

    जनकपुर । नेकपा विभाजनको बेला केपी ओलीलाई साथ दिएका माओवादीका चारजना प्रदेशसभा सदस्य एमालेमै रहने भएका छन् । माओवादी संसदीय दलका नेता नै एमालेतिर लागेपछि पार्टीले चारैजनालाई कारवाही प्रक्रिया अघि बढाएको छ ।

    एमालेमा लाग्ने चारमध्ये तीनजना प्रत्यक्ष निर्वाचित छन् । रामचन्द्र मण्डल धनुषा १ को ख बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । बारा क्षेत्र नम्बर ३ को क बाट निर्वाचित ज्वालाकुमारी साह र रौतहट ३ को ख बाट निर्वाचित कुन्दनप्रसाद कुशवाह पनि एमाले भएका छन् ।

    बाराबाट समानुपातिकतर्फ निर्वाचित मोहम्मद समिर पनि एमाले बनेका छन् । उनीहरु चारैजनालाई २४ घण्टे स्पष्टिकरण सोधिएको माओवादी संसदीय दलका प्रमुख सचेतक दिलिप साहले नेपाल प्रेसलाई बताए ।

    उनले भने, ‘शुक्रवार बेलुका नै स्पष्टिकरण पत्र पठाइसकिएको छ । तर उहाँहरुले जवाफ अहिलेसम्म पठाउनुभएको छैन । अब पद रिक्त गराउने प्रक्रियामा जान्छौं ।

    दलका नेता मण्डलसहित चारैजनालाई माओवादी अध्यक्ष प्रचण्डले नै हस्ताक्षर गरेर स्पष्टिकरण सोधिएको छ । चैत २७ गतै नै सोधिएको स्पष्टिकरणको जवाफ उनीहरुले दिएका छैनन् ।

    अन्य पार्टीमा गतिविधि गरिरहेकाले उनीहरुलाई पदमुक्त गरिने माओवादी केन्द्रले जनाएको छ ।सोमवार प्रदेश २ को प्रदेशसभा बैठक पनि बस्दैछ । प्रदेशसभा बैठक अघि नै चारै साँसदलाई पदमुक्त गरिने एक नेताले जानकारी दिए ।

    रामचन्द्र मण्डल नेकपा माओवादी केन्द्र प्रदेश २ का संसदीय दलका नेता थिए । तर एमालेतिर लागेपछि उनलाई हटाएर माओवादी केन्द्रले शुक्रवार मात्रै भरतप्रसाद साहलाई संसदीय दलका नेता चयन गरेको छ ।

    संसदीय दलका उपनेता रहेका दिलिप साहलाई प्रमुख सचेतक र जगत यादवलाई दलका उपनेता चयन गरिएको छ । प्रदेशसभामा माओवादीका ११ सांसद रहेकोमा चारजनालाई कारवाही गरेपछि ७जनामा सिमित हुने भएको छ ।

    माओवादीले राजनीतिक दल सम्बन्धी ऐनको प्रयोग गरि एमालेमा प्रवेश गरेका चारजना प्रतिनिधिसभा सदस्यको पद रिक्त गराइसकेको छ । त्यस्तै प्रदेश १ र लुम्बिनीका तीनजा प्रदेशसभा सदस्यको पद रिक्त भइसकेको छ भने राष्ट्रियसभाका दुईजना र सुदूरपश्चिमका एकजना सदस्यको पद रिक्त गराउने प्रक्रियामा छ ।

  • सांसद पदबाट मुक्त भएका मन्त्री आज सिंहदरवार नजाने, पुनः सपथग्रहणको तयारी

    सांसद पदबाट मुक्त भएका मन्त्री आज सिंहदरवार नजाने, पुनः सपथग्रहणको तयारी

    काठमाडौं । नेकपा माओवादी केन्द्रको कारवाहीपछि प्रतिनिधिसभा सदस्य पदबाट मुक्त भएका चारजना मन्त्री आजदेखि मन्त्रालय नजाने भएका छन् ।

    उनीहरुलाई प्रधानमन्त्रीले चाँडै नै सोही मन्त्री पदमा पुनर्नियुक्ति गर्ने एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

    प्रतिनिधिसभा सदस्य नरहेपछि मन्त्रीबाट स्वतः पदमुक्त हुने भएकाले पुनर्नियुक्ति नहुन्जेल मन्त्रालय नजाने शहरी विकासमन्त्री प्रभु साहले बताए । उनीहरुले पुनः मन्त्री पदमा नियुक्त भएर सपथग्रहण गर्नुपर्ने हुन्छ ।

    प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार माओवादीबाट एमाले बनेका नेताहरुलाई पुनर्नियुक्ति दिइने नेम्वाङले बताए । सोही व्यवस्था अनुसार मणि थापा र दावा लामा मन्त्री कायम छन् ।

    ६ महिनाभित्र उपचुनाव हुनुपर्ने भएकाले टोपवहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी त्यतिन्जेल मन्त्री हुन पाउँछन् । उपचुनावमा उनीहरु एमालेबाट उम्मेदवार बन्ने निश्चित नै छ ।

    उनीहरुले प्रतिनिधिसभा सदस्यबाट पदमुक्त गर्ने निर्णयविरुद्ध कानूनी उपचार खोज्नेबारे समेत छलफल गरिरहेको स्रोतले जनाएको छ । यसबारेमा टुंगो भने लागेको छैन ।

    माओवादीले गृहमन्त्री रामवहादुर थापाको राष्ट्रियसभा सदस्य पदबाट खारेज गर्ने सूचना दिइ नसकेकाले बादल समेत पदमुक्त भएपछि एकैपटक पुनर्नियुक्ति गर्नेबारे पनि छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।

    ढिलोमा आइतवारसम्म पुनःनियुक्ति र सपथग्रहण हुने स्रोतले जनाएको छ ।

    ‘छबिलाललाई प्रचण्ड बनाउने इतिहास’

    यसैबीच प्रधानमन्त्रीका प्रेस सल्लाहकार समेत रहेका एमाले केन्द्रीय सदस्य सूर्य थापाले रायमााझी, भट्ट, प्रभु साह र गौरीशंकरले पद प्रतिष्ठाका लागि नभएर निष्ठाको राजनीति गरेकाले सबथोक हैसियत त्याग गर्ने स्पिरिटका साथ लामो यात्रामा अघि बढेको बताएका छन् ।

    थापाले भनेका छन्, ‘उहाँहरुले हिजो छविलाललाई प्रचण्ड बनाउन जीवन लगाएको गौरवमय इतिहास साक्षी छ ।’

  • प्रचण्डका युद्धकालीन कमाण्डर- जसले सांसद पद त्यागे तर ओलीलाई त्यागेनन्

    प्रचण्डका युद्धकालीन कमाण्डर- जसले सांसद पद त्यागे तर ओलीलाई त्यागेनन्

    काठमाडौं । पुस ५ गतेपछि राजनीतिक रुपमा विभाजित तर कानूनी रुपमा एउटै रहेको नेकपाका केपी ओलीलाई साथ दिएका माओवादी सांसदहरुले सायदै सोचेका थिए २ वर्ष कार्यकाल बाँकी रहदै सांसद पद गुमाउनुपर्छ ।

    नेकपा विभाजनको बेला माओवादी धार छाडेर ओलीलाई साथ दिएकामध्ये अधिकांशले एमाले-माओवादी ब्युँताउने सर्वोच्च अदालतको फैसलापछि पनि ओलीको साथ छाडेनन् । फलस्वरुप उनीहरुले धमाधम सांसद पद गुमाउँदैछन् ।

    फागुन २३ गते सर्वोच्च अदालतले नेकपाको नाम ऋषि कट्टेलकै हुने फैसला गर्दै एमाले र माओवादीको अवस्थामा पुर्‍याइदिएको थियो । त्यसै साँझ ओलीले रामवहादुर थापा बादल सहित माओवादी तर्फका नेताहरुलाई बोलाएर सोधेका थिए- अब तपाईहरु के गर्ने ?

    जवाफमा उनीहरुले भनेका थिए- हामीले विचारका आधारमा तपाईंलाई साथ दिएका हौं । हिजो संकटमा साथ दियौं आज पनि हाम्रो पद संकटमा पर्छ हामीलाई थाहा छ । तर हामी पद छाड्छौं, तपाईंलाई छाड्दैनौं ।

    आफ्नै साथीहरु प्रचण्डसँग पेरिसडाँडामा बसेर एमालेमा फर्केर ओली प्रवृतिविरुद्ध संघर्ष गर्ने भनिरहेका बेला माओवादीमा नफर्किने ती नेताहरुलाई ओलीले सम्बोधन गर्नै पर्ने थियो । फागुन २८ गते उनले माधव नेपाल पक्षबिनाकै बैठकबाट २३ जना माओवादी नेताहरुलाई केन्द्रीय सदस्य मनोनित गरे ।

    एमालेको केन्द्रीय सदस्य भइसकेपछि सांसद पद जाने निश्चित थियो । माओवादीले उनीहरुलाई फर्काउन निकै प्रयत्न पनि गरेको हो । तीमध्ये कर्णालीका बिन्दमान विष्टसहित प्रदेश २ का भरत साह लगायतका सांसद माओवादीमै फर्किए ।

    तर प्रदेश १ का टंक अंङबोहाङ, प्रदेश २ का ज्वालाकुमारी साह र रामचन्द्र मण्डल, लुम्बिनीका दधिराम न्यौपाने र दिनेश पन्थी तथा कर्णालीका धर्मराज रेग्मी र सुदूरपश्चिमका झपट बोहोराले प्रदेशसभा सदस्य पद माया मार्न तयार भए । उनीहरुले केपी ओलीको साथ छाड्न चाहेनन् ।

    यीमध्ये टंक आङबोहाङको ताप्लेजुङ, दधिराम न्यौपानेको रुपन्देही, दिनेश पन्थीको गुल्मी र धर्म रेग्मीको दैलेखेका निर्वाचन क्षेत्र अब रिक्त भएको छ । झपट बोहोराको रिक्त हुने क्रममा छ भने प्रदेश २ को रिक्त गराउने प्रक्रिया शुरु भएको छैन ।

    हाल मन्त्री रहेका टोपवहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरी शंकर चौधरीको पद पनि रिक्त भइसकेको छ । ती सबै निर्वाचन क्षेत्रमा ६ महिनाभित्र उपनिर्वाचन हुनेछ ।

    सांसद पद र पार्टी समेत त्यागेर आफूलाई साथ दिएकाहरुलाई ओलीले विशेष प्राथमिकता समेत दिने निश्चित छ । राजनीतिमा एक थान सांसद पदका लागि मान्छे दल त्याग्न वा जस्तासुकै हर्कत गर्न तयार हुन्छन् । तर यी सांसदले भने सांसद पद गुमाएर पनि अ‍ोलीलाई साथ दिनु आफैंमा अनौठो संयोग हो ।

    गृहमन्त्री रामवहादुर थापाको राष्ट्रियसभा सदस्य पद रिक्त गराउने प्रक्रिया सम्भवतः माओवादीले शुक्रवारै थाल्नेछ । कुनैबेला माओवादी पार्टीमा प्रचण्ड, मोहन बैद्य र बाबुरामपछिका कमाण्डर रहेका बादल अब केपी ओलीको नेतृत्वमा पुगेका छन् ।

    अझ महत्वपूर्ण कुरा त के पनि हो भने, सांसद पद गुमाएर पनि ओलीलाई साथ दिने माओवादी नेताहरुमध्ये झपट बोहोरा बाहेक सबै जनयुद्धकालमा आ-आफ्नो क्षेत्रमा कमाण्ड गरेकाहरु छन् ।

    बादलसहित लेखराज र टोपवहादुर जनयुद्धकालमा कमाण्ड इन्चार्ज नै थिए भने प्रभु साह पनि उनको क्षेत्रका कमाण्डर थिए । गौरीशंकर फौजी कमाण्डर थिए भने टंक आङबुहाङ लिम्बुवानको कमिसार थिए । दधिराम सुवेदी र दिनेश पन्थी पनि भूमिगत कालमा जिल्ला कमाण्ड गरेका नेता हुन् ।

    नेकपा एकीकरण अदालतबाट बदर भएपछि एमालेका कुनै पनि एकजना नेता कार्यकर्ता माओवादीमा लागेनन् । माधव नेपालले आफ्नो समूह आफैंसँग राखेका छन्, बरु उनलाई छाडेर केपी ओली पक्षमा केही सांसद र नेता कार्यकर्ता लागे । तर एमालेका दुवै समूहका कार्यकर्ता प्रचण्डतिर लागेनन् ।

    प्रचण्डले भने नेकपाबाट माओवादी केन्द्रमै फर्किदा आफ्ना धेरै युद्धकालीन कमाण्डर र नेता कार्यकर्ताहरु गुमाए । स्थायी कमिटीका बादल, टोपवहादुर, लेखराज र मणि थापा ओलीसँग लागे ।

    केन्द्रीय कमिटीका पनि टंक आङबुहाङ, कमल चौलागाई, ज्वालाकुमारी साह, रामचन्द्र मण्डल, विषमलाल अधिकारी दनुवार, पासाङ शेर्पा, श्रीप्रसाद जगेबु, लिलवहादुर थापा,निरु दर्लामी कुँवर लगायत माओवादीमा फर्किएनन्,उनीहरु एमालेमा पुगे । पूर्व लडाकुहरुको पनि एउटा समूह प्रचण्डसँग फर्किएन । ती सबैलाई संगठित गर्ने काम भइरहेको थापा बताउँछन ।

  • संसदीय सुनुवाईमा दलको टक्कर, यसकारण खोज्यो एमालेले ठूलो दलको हैसियत

    संसदीय सुनुवाईमा दलको टक्कर, यसकारण खोज्यो एमालेले ठूलो दलको हैसियत

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिसभाको बिहीबारको बैठकको शुरूमै सत्तारुढ नेकपा (एमाले) का सांसदको विरोध खेप्नुपर्यो । सांसद खगराज अधिकारीले संसदमा आफूहरु एमाले भए पनि ‘मिनी संसद’मा नेकपा हुन परिरहेको भन्दै सभामुखलाई त्यसबारे ध्यानाकर्षण गराए।

    ‘जब हामी समितिमा जान्छौं, हामी नेकपा हुन बाध्य छौं,’ अधिकारीको भनाइ थियो, ‘यस्तो हुनु स्वयं संसदको क्रियाशिलतामा प्रभाव पार्ने कुरा हो । यो संविधान र नियम प्रतिकूल छ । अब संसदले नेकपा जान्दैन।’ एमाले हुन्छौं भन्दा पनि मौका नपाएको भन्दै उनको गुनासो थियो–हामी यहाँ नेकपा एमाले हुने, मिनी समितिमा हामी संविधान विपरित नेकपा हुन सक्दैनौं । हामी संवैधानिक हुन चाहान्छौं भन्दा पनि हामीले मौका पाएनौं ।’

    संसदीय समितिका सदस्य हेरफेर गर्ने विषय सभामुखको क्षेत्राधिकार भित्र पर्छ । आफूसँगै जोडिएको विषयमा विरोध भएकाले सभामुख सापकोटाले पनि त्यसको जवाफ दिनुपर्यो । आजको कार्यव्यवस्था तथा परामर्श समितिमा छलफल भएको र नामावली प्राप्त हुने बित्तिकै हेरफेर हुने सभामुखले जानकारी गराए ।

    उनले भने, ‘प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको उपस्थितिको संख्याको अनुपातमा प्रतिनिधिसभाका विषयगत समितिको र संघीय संसदका समितिको हेरफेरका लागि कार्यव्यवस्था समितिमा छलफल गरिएको छ। दलबाट मान्य सदस्यको नामावली प्राप्त भएपछि समितिको हेरफेर हुने जानकारी गराउँछु ।’

    समिति बैठकमा विवाद संसदीय समितिका सदस्य हेरफेरकै विषयमा छलफल गर्न बिहीबार बिहान ११ बजे बैठक बस्यो । करिब दुई घण्टा चलेको बैठकमा कुनै सहमति जुरेन । यसबारेमा कार्यव्यवस्था समिति बैठकमा दलबीच विवाद भएपछि यो विषयलाई सांसद अधिकारीले प्रतिनिधिसभाको बैठकमै उठाएका थिए ।

    प्रतिनिधिसभा र राष्ट्रियसभामा गरि अहिले १६ संसदयि समिति छन्। जसमध्ये दुई संयुक्त समिति हुन् । विधानको धारा ९७ ले विषयगत समिति गठनको व्यवस्था गरेको छ। समितिमा सदस्यको मनोनयन गर्दा सदनमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सदस्य संख्या र समानुपातिक प्रतिनिधित्वका आधारमा सदस्य निर्धारण गरिन्छ।

    परिवर्तित सन्दर्भमा आकार अनुसारको प्रतिनिधित्व रहने गरि समितिमा हेरफेर गर्ने कुरामा विवाद नभए पनि संसदीय सुनुवाई समिति हेरफेर गर्ने या नगर्ने भन्ने विषयले बैठक कुनै टुंगोमा पुग्न सकेन । ‘नेकपा हुँदैका समिति छन्,’ एमाले प्रमुख सचेतक विशाल भट्टराई भन्छन्, ‘फागुन २३ पछि हामी एमाले भयौं । एक महिनादेखि बैठक भइरहेको छ, तर सभामुखले समिति पुर्नगठन गर्न नै चाहानुहुन्न ।’

    बैठकमा एमालले संसदीय सुनुवाई लगायत सबै समितिका सदस्य एकै पटक हेरफेर गर्नुपर्ने मत राखेको थियो । तर, कांग्रेस, माओवादी केन्द्र र जसपाले हाल संसदीय सुनुवाई समितिमा न्याया परिषदबाट सर्वोच्च अदालतका लागि सिफारिस भएका दुई न्यायाधीशमाथि सुनुवाईको प्रक्रिया शुरु भएको भन्दै त्यसमा अहिले हेरफेर गर्न नुहने भनाइ राखेका थिए ।

    एमाले प्रमुख सचेतक भट्टराई आफूहरुको कमजोर स्थितिलाई कायम राखिराख्न सभामुखदेखि सबै लागि परेको आरोप लगाउँछन्। ‘खास के देखियो भने सभामुखले पनि यसलाई टार्दै जाने, अरुले पनि टार्दै जाने,’ उनको भनाइ छ, ‘हिजोको स्थितिमा एमालेको स्थिति कमजोर थियो । कमजोर स्थितिलाई यथावत राखिदिने, लम्बयाउन चाहाने प्रवृत्ति देखियो ।’

    माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ भने संसदीय समितिमा सुनुवाई चलिरहेको हुनाले अरु सबैमा परिवर्तन गरे पनि त्यहाँ हाललाई परिर्वतन नगर्ने भन्नेमा एमाले बाहेक सबै सहमत भएको बताउँछन्। ‘सुनुवाई समितिमा सुनुवाई चलिरहेको हुनाले सकिएपछि मात्रै गर्ने भन्ने अरु सबै दलको कुरा रह्यो,’ उनी भन्छन्, ‘ सभामुखले पनि त्यही भन्नुभयो । तर, उहाँहरुले सुनुवाई भइरहेको भए पनि आजै परिर्वतन गर्नुुपर्छ, सुनुवाईमा प्रभावित पार्दैन भन्ने कुरा उहाँहरुले राख्नुभयो ।’

    सुनुवाई चल्दाचल्दै सदस्य हेरफेर गर्दा अदालतमा समेत प्रश्न उठ्न सक्ने तर्क गुरुङको छ। ‘अलिकति त्यहाँ प्रतिवाद जस्तो भयो,’ बैठकबारे जानकारी दिँदै उनले भने, ‘के उदेश्यले गर्न खोज्नुभयो ? निर्णयलाई प्रभावित पार्न खोज्नुभयो ? अहिले पुर्नगठन गर्ने बित्तिकै निर्णय प्रभावित हुँदैन ? भोलि यसबारे अदालतमा प्रश्न उठ्यो भने के जवाफ दिने ?’ कसको स्वार्थ के ?

    गत २८ फागुनमा न्यायपरिषद् बैठकले सर्वोच्च अदालताका नयाँ न्यायाधीशका लागि नहकुल सुवेदी र कुमार चुँडालको नाम सिफारिस गरेको थियो । न्याय परिषदको सिफारिस अनुसार ४ चैतमा संसदीय सुनुवाई समितिको बैठक बसेर संसदीय सुनुवाई प्रक्रिया शुरु गरेको थियो। सिफारिस व्यक्तिलाई नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार र प्रमाण खुलाएर १० दिनभित्र सूचना वा उजुरी दिन सूचना प्रकाशित गर्ने निर्णय बैठकले गरेको थियो । त्यो १० दिनको समय गुज्रिएको भए पनि त्यसमाथि निर्णय गर्न बैठक बसेको छैन् ।

    सभापति सहित १४ जना सदस्य रहेको सुनुवाई समितिमा अहिले एमाले, कांग्रेस र माओवादी केन्द्रका बराबर सदस्य छन् । सभापतिसहित जसपाका दुई र तीन दलका चार-चार जना सदस्य छन् । समिति सदस्यमा तत्काल हेरफेर गरिहाल्ने हो भने एमालेको संख्या अहिले भन्दा धेरै हुने अवस्था हुन्छ । आफ्नो बलियो उपस्थिति हुँदा संवैधानिक निकायमा हुने सिफारिसलाई अुनमोदन गर्न एमालेलाई सहज हुन्छ । र, हालै सिफारिस भएका न्यायाधीश अनुमोदनमा पनि एक्लै बहुमत नपुगे पनि जसपाको साथ लिएर कांग्रेस र माओवादीले विरोध गर्दा पनि अनुमोदन गराउन सकिन्छ भन्ने एमालेको बुझाइ हो ।

    विपक्षीदल सरकारका निर्णय उल्टाउने भित्री मनसायमा भएको आरोप भट्टराई लगाउँछन् । उनी भन्छन्, ‘हाम्रो उपस्थिति कमजोर छ भनेर सरकारको निर्णय उल्टाउन, सरकारको निर्णय पास नहोस् भन्ने भित्री मनसाय उहाँहरुको हो ।’

    उता नेपाली कांग्रेस र माओवादी केन्द्र पनि सहजै सरकारका निर्णय अनुमोदन हुन नदिने चाहानामा छन् । सुनुवाई समितिका सदस्यहरुमा तत्कालै हेरफेर नगरे कांग्रेस र माओवादीले रोक्न चाहेमा हाल सुनुवाईको प्रक्रियामा रहेका दुई न्यायाधीशलाई पनि रोक्न सक्ने हैसियतमा छन् । आफू ठूलो पार्टी हुँदाहुँदै पनि त्यस्तो होस् भन्ने एमाले चाहँदैन । बिनाकुनै रोकावट त्यो अनुमोदन गराउने चाहाना एमालेको हो ।

  • चाँगुनारायणका मेयर मिश्र माधव पक्षको समानान्तर कमिटीबाट अलग

    चाँगुनारायणका मेयर मिश्र माधव पक्षको समानान्तर कमिटीबाट अलग

    काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा भक्तपुरको चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्रले माधव नेपाल पक्षको समानान्तर कमिटीमा बस्न अस्वीकार गरेका छन् ।

    नवौं महाधिवेशनमा माधव नेपाल प्यानलबाटै चुनाव जितेका र पछिल्लो पार्टी विवादमा पनि प्रचण्ड-माधव पक्षमा उभिँदै आएका मिश्रलाई नेपाल पक्षले वागमती प्रदेश कमिटी तथा भक्तपुर जिल्ला इन्चार्जको जिम्मा दिएको थियो ।

    मिश्रले महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री तथा संगठन विभाग प्रमुख बिष्णु पौडेल र केन्द्रीय सदस्य महेश बस्नेत लगायतका नेताहरुसँग छलफलपछि समानान्तर कमिटी बनाउने माधव नेपाल पक्षको साथ छाड्ने निर्णय गरेका हुन् ।

    मिश्रले आफू समानान्तर कमिटीहरु गठन गरेर पार्टी विभाजनको पक्षमा उभिन नसकेको प्रतिक्रिया दिए । मिश्र पार्टी एकीकरणअघि पनि तत्कालीन एमालेको भक्तपुर जिल्ला इन्चार्ज थिए ।

    भक्तपुरका अधिकांश नेता कार्यकर्ता महेश बस्नेतको पक्षमा उभिएकाले पनि मिश्रलाई एक्लै अघि बढ्न अप्ठेरो परेको थियो । उनले आगामी चुनावलाई समेत मध्यनजर गर्दै संस्थापन पक्षलाई साथ दिने निर्णय गरेका हुन् ।

    भक्तपुरका चार नगरपालिकामध्ये तीनवटामा एमालेले जितेको थियो । तीमध्ये मध्यपुरका मेयर मदनसुन्दर श्रेष्ठ र सुर्यविनायकका बासुदेव थापा बस्नेतसँगै थिए ।

    यसअघि बुधवारमात्रै धादिङका प्रदेशसभा सदस्य डा.रामहरी अधिकारी र संविधानसभा सदस्य धनवहादुर घलेले नेपाल पक्षको समानान्तर कमिटीबाट अलग रहेको विज्ञप्ति निकालेका थिए ।

  • सुदूरपश्चिमका पूर्व अर्थमन्त्री बोहरालाई माओवादीको २४ घण्टे स्पष्टीकरण

    सुदूरपश्चिमका पूर्व अर्थमन्त्री बोहरालाई माओवादीको २४ घण्टे स्पष्टीकरण

    कैलाली । नेकपा माओवादी केन्द्रले एमालेमा गएका आफ्ना नेता झपटबहादुर बोहरालाई स्पष्टीकरण सोधेको छ ।

    अछाम निर्वाचन क्षेत्र नम्बर १ (ख)बाट प्रदेश सभा सदस्यमा निर्वाचित बोहरालाई बुधवार २४ घण्टे स्पष्टीकरण सोधिएको हो ।

    बोहरालाई माओवादी केन्द्र परित्याग गरेको हो भने पार्टीबाट किन निष्कासन नगर्ने भन्दै स्पष्टीकरण पेस गर्न भनिएको छ।

    ‘नेकपा माओवादी केन्द्र र नेकपा एमाले पार्टी पूर्ववत् अवस्थामै रहने भएपछि पनि तपाईंको राजनीतिक क्रियाकलाप नेकपा एमाले पार्टीमा देखिएको र नेकपा एमालेको केन्द्रीय समिति सदस्यसमेत नियुक्ति भएको देखिन आएकाले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३१ को उपदफा (१), (२) बमोजिम कार्य गर्नु भएको तथा उक्त ऐनको दफा ३२ को उपदफा १ (ख) बमोजिमको कार्य समेत गरेको बुझिन आएकोले तपाईंले पार्टी परित्याग गर्नु भएको हो भने तपाईंलाई किन पार्टी सदस्यबाट निष्कासन नगर्ने ?,’ माओवादीका सुदूरपश्चिम प्रदेश कमिटी सचिव नेपबहादुर चौधरीद्वारा सोधिएको स्पष्टीकरण पत्रमा उल्लेख छ ।

    बोहरा माओवादीमा रहँदा केन्द्रीय सल्लाहकार समिति सदस्य थिए। उनी नेकपामा विवाद बढेपछि प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा खुलेका थिए । उनले २२ पुसमा आर्थिक मामिला तथा योजना मन्त्रीबाट राजीनामा दिएका थिए ।

    पछिल्लो पटक २८ फागुनमा बोहरालाई एमालेले केन्द्रीय सदस्यमा मनोतित गरेको थियो ।

  • समानान्तर प्रदेश कमिटीमा राखिएकोमा एमालेका दुई नेताको असहमति

    समानान्तर प्रदेश कमिटीमा राखिएकोमा एमालेका दुई नेताको असहमति

    काठमाडौं । नेकपा एमालेका दुईजना नेताले माधव नेपाल पक्षको वागमती प्रदेश समानान्तर कमिटीमा बस्न अस्वीकार गरेका छन् ।

    वागमती प्रदेशसभा सदस्य समेत रहेका डा. रामकुमार अधिकारी र संविधानसभा सदस्य धनवहादुर घलेले संयुक्त विज्ञप्तिमार्फत समानान्तर कमिटीमा नाम राखिएकोमा असहमति जनाएका हुन् ।

    धादिङबाट २०७० को संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर १ बाट निर्वाचित घले र २०७४ को प्रदेशसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका अधिकारी नेकपा विभाजनको बेला प्रचण्ड-माधव पक्षमा थिए ।

    मंगलवार घोषणा भएको माधव नेपाल पक्षको प्रदेश कमिटीमा घले र अधिकारीलाई पनि सदस्य राखिएको छ । उनीहरु दुवैजनाले समानान्तर कमिटी गठन गरि एमालेलाई कमजोर पार्ने गतिविधिप्रति आपत्ति रहेको जनाएका छन् ।

    विज्ञप्तिमा भनिएको छ–विभिन्न सामाजिक सञ्चालमार्फत आएको जस्तो नेकपा एमाले वागमती प्रदेश कमिटीको समानान्तर कमिटीमा हामी दुईजना समेत सदस्य रहेको भन्ने सुन्नमा आएकाले उक्त प्रदेश कमिटीमा हामी नरहेको नभएको व्यहोरा जानकारी गर्दछौं ।

    विज्ञप्ति पार्टी एकता जोगाउन पर्नेमा समानान्तर कमिटी गठन गर्ने जस्तो अनौठो निर्णयप्रति असहमति जनाइएको छ । उनीहरुले यसलाई एमाले कमजोर पार्ने गतिविधि भनेका छन् ।

  • प्रभु साहको टिप्पणी– एमालेको समेत मतबाट निर्वाचित सांसदमाथि प्रचण्डको प्रतिगामी हमला

    प्रभु साहको टिप्पणी– एमालेको समेत मतबाट निर्वाचित सांसदमाथि प्रचण्डको प्रतिगामी हमला

    काठमाडौं । शहरी विकासमन्त्री प्रभु साहले तत्कालीन एमाले र माओवादीको साझा घोषणापत्र र संयुक्त मतबाट निर्वाचित जनप्रतिनिधिमाथि प्रचण्डले प्रतिगामी हमला गरेको आरोप लगाएका छन् ।

    रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद साहसहित माओवादीका चार प्रत्यक्ष निर्वाचित सांसदहरुको पद रिक्त गराउन माओवादी केन्द्रले संसद सचिवालयमा सूचना दर्ता गराएकोमा उनले यसलाई अनैतिक र प्रतिगामी हमला भनेका छन् ।

    साहले विज्ञप्तिमार्फत निर्वाचित जनप्रतिनिधिलाई त्रसित र सिंगै संसदलाई पंगु बनाउने खेलले आफूलाई कथित संसद पुनःस्थापनाको पक्षधर बताउनेहरु नांगो भएको टिप्पणी गरेका छन् ।

    साहले भनेका छन्- आफू चुनाव जित्नलाई नेकपा एमालेसँग एकता/सहकार्य गर्ने,नेकपा अध्यक्षको हैसियतमा सर्वोच्च अदालतमा पुनरावलोकन गर्ने र अहिलेसम्म सरकारलाई समर्थन दिईराख्नेहरुले हामी साझा घोषणापत्र एवं संयुक्त मतबाट निर्वाचित प्रतिनिधिप्रतिधिमाथि कथित दल त्यागको कानुनी डण्डा चलाउनु कुनै पनि नैतिकताले सुहाउँदैन ।

    एमाले केन्द्रीय सदस्य समेत रहेका साहले प्राविधिक र कानूनी आडमा संसद र जनताको सच्चा प्रतिनिधिको रुपमा क्रियाशील सांसदहरुको पदमाथि अनुचित हमलाको दुस्प्रयास गर्नु आफैंमा प्रतिगामी कार्य रहेको बताएका छन् ।

    साहले माओवादी पार्टीले आफूलाई सोधेको स्पष्टीकरणको जवाफ पनि सार्वजनिक गरेका छन् । चैत २ गते उनले अध्यक्ष प्रचण्डलाई सम्बोधन गरेर पठाएको स्पष्टीकरणमा आफू पार्टी एकताको अभियानमै दृढतापूर्वक लागेको यो अभियानमा लाग्दा अमूक पार्टीको केन्द्रीय कमिटी सदस्य जस्ता कुरा गौण रहेको जनाएका छन् ।

    माओवादीले मंगलवार संसद सचिवालयमा लेखराज भट्ट, टोपवहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले दल त्याग गरेको सूचनासहित सांसद पद खारेजीको निवेदन दर्ता गराएको छ ।

    नेकपा माओवादी केन्द्रले सोधेको स्पष्टीकरणमा साहकाे जवाफ

  • भीम रावलले सुदूरपश्चिममा समानान्तर कमिटी घोषणा गर्दै, २५ मध्ये १६ प्रदेश सांसद रावलको बैठकमा

    भीम रावलले सुदूरपश्चिममा समानान्तर कमिटी घोषणा गर्दै, २५ मध्ये १६ प्रदेश सांसद रावलको बैठकमा

    कैलाली । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको माधव नेपाल समूहले समानान्तर कमिटी बनाउने भएको छ । सोमबारदेखि धनगढीमा सुरु भएको माधव पक्षीय प्रदेशस्तरीय बिस्तारिक बैठकले समानान्तर कमिटी बनाउने तय गरेको हो ।

    एमालेबाट ६ महिनाका लागि निलम्बित माधव समूहका नेता भीम रावलको नेतृत्वमा सोमबारदेखि प्रदेश पार्टी कार्यालयमा बैठक सुरु भएको छ । सोमबार बैठक नसकिएपछि मंगलवार पनि जारी रहने भनिएको छ ।

    मङ्गलवार कमिटी बिस्तार गर्ने निर्णय गर्दै बैठक सकिने बैठकमा सहभागी एक नेताले बताए ।

    ‘सर्वोच्च अदालतले पूर्ववत् अवस्थामा फर्किन भनेपछि हामीले जेठ २ अघिका कमिटीहरूलाई सक्रिय बनाउँदै लैजाने तयारी गरेका छौँ’ उनले भने ‘त्यो बेलामा रहनु भएका पदाधिकारीहरू अहिले नभए नयाँले जिम्मेवारी पाउनु हुन्छ ।’

    ९ वटै जिल्लामा जिल्ला बैठक राखी कमिटीहरू तयार गर्न निर्देशन जारी हुने समेत उनले स्पष्ट पारे ।

    सोमबार एमाले माधव समूहका जिल्ला अध्यक्षहरूले पछिल्लो बस्तुस्थितिबारे जानकारी गराएका थिए । एमाले पूर्ववत् अवस्थामा फर्किसकेपछि देखिएको अन्तर्विरोध अन्त्य गर्न समेत उनीहरूले नेतृत्वलाई सुझाव दिए ।

    केही दिनअघि एमालेले माधव समूह रहेका जिल्लाका पदाधिकारीहरूलाई हटाएर उक्त स्थानमा संस्थापन पक्षकाहरुले जिम्मेवारी पाएका थिए । जिल्लामा जिम्मेवारीविहीन भएका अध्यक्षहरूले उक्त निर्णय नमान्ने बताए ।

    नेता रावलले बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र ओली समूहले गरेको एकपक्षीय निर्णयहरू कार्यान्वयन नहुने बताएका थिए । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले नेता रावललाई ६ महिनाको लागि निलम्बन गरेका छन् ।

    नेकपा एकताअघि एमालेको सुदूरपश्चिम इन्चार्ज समेत रहेका रावललाई हटाएर साबिक नेकपामै हुँदा लेखराज भट्टलाई सो जिम्मेवारी दिइएको थियो । एमलो ब्युँतिएपछि भट्ट नै इन्चार्ज कायम छन् ।

    बैठकमा नेपाल समूहका नेता रावलसहित, नेपाल पक्षका प्रदेश अध्यक्ष भानुभक्त जोशी, प्रतिनिधिसभा सदस्य झपट रावल, केन्द्रीय सदस्य, प्रदेश र जिल्लाका पदाधिकारीहरू उपस्थित छन् ।

    २५ मध्ये १६ सांसद उपस्थित

    बैठकमा सुदूरपश्चिम प्रदेश सभाका २५ जना मध्ये १६ जना प्रदेश सभा सदस्यहरू उपस्थित रहेका थिए । माधव समूहका तारा लामा तामाङ बाहेक सबै सांसदहरू उपस्थित रहेको प्रदेश कमिटी सदस्य दिनेश चन्द्र सुबेदीले जानकारी दिए ।

    तामाङले जिल्ला बाहिर रहेकोले नआएको र आउन नसकेको विषयमा जानकारी गराएको समेत उनले बताए ।

    बैठकमा एमालेका सांसद लीलाधर भट्ट, रतन थापा, नेपालु चौधरी, गेल्बुसिंह बोहरा,माया तामाङ बोहरा र पठानसिंह बोहरा उपस्थित थिएनन् ।

    प्रतिनिधिसभातर्फका सांसद भने माधव नेपाल पक्षमा भीम रावल, झपट रावल, दिपकप्रकाश भट्ट, निरा जैरु र बिना बुढाथोकी मगरमात्र छन् ।

  • कर्णाली सरकारको भविष्य माधव समूहको हातमा, आजको बैठक निर्णायक हुन सक्ने

    कर्णाली सरकारको भविष्य माधव समूहको हातमा, आजको बैठक निर्णायक हुन सक्ने

    सुर्खेत । सरकारविरुद्ध आएको अविश्वास प्रस्ताव र त्यसमाथिको राजनीतिक एवं संवैधानिक अन्योलले कर्णालीको राजनीति पनि केन्द्रकै जस्तो गञ्जागोल बनेको छ । आज बस्ने एमाले संसदीय दलको बैठकले सरकारको भविष्य निर्धारण गर्न सक्छ ।

    गत चैत ५ गतेदेखि नै लागु हुने गरी एमालेले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । संसदमा २० सिट रहेको एमालेले समर्थन झिक्दा सरकार अल्पमतमा परिसकेको छ । तर, यही सरकारमा एमालेको तीन मन्त्री छन् र उनीहरुले अहिलेसम्म राजीनामा दिएका छैनन् । माधव नेपाल खेमाका ती मन्त्रीलाई पार्टीले सरकारबाट फिर्ता आउन निर्देशन दिइसकेको छ ।

    चैत ४ गते बसकेको संसदीय दलको वैठकमा माधव नेपाल पक्षका सांसद सहभागी थिएनन् । एमाले संसदीय दलका नेता यामलाल कँडेलले बैठकमा सहभागी नहुने सांसदलाई स्पष्टीकरण सोध्ने तथा सरकारमा सहभागी मन्त्रीहरुलाई तत्काल राजीनामा गर्न ‘सुझाव’ दिने निर्णय गरेको बताएका थिए । यी दुवै निर्णय कार्यान्वयन भएका छैनन् । न वैठकमा अनुपस्थित सांसदलाई न स्पष्टीकरण सोधिएको छ, न मन्त्रीले राजीनामा दिएका छन् ।

    ओली समूहका एक सांसद भन्छन्, ‘संसदीय दलको बैठकले गरेका निर्णय कार्यान्वयन गर्न भएको ढिलाईले यस्तो समस्या आएको हो । दलले वैठकको निर्णयअनुसार तत्काल एक्सन लिनुपर्थ्याे ।’

    सरकारमा एमालेको नेतृत्व गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले संसदीय दलको निर्णय नमान्ने प्रारम्भिक प्रतिक्रिया दिएका थिए । सरकारलाई आफूहरुको सर्मथन कायमै रहेको उनले बताएका थिए । तर पछिल्लो समय माधव नेपाल पक्षका केही सांसदहरु यो सरकार ढालेर एमालेको एकल सरकार बनाउन सहमत देखिँदा ज्वाला मौन छन् ।

    सदनमा १२ सदस्य रहेको माओवादी केन्द्रका संसदीय दल नेता एवम् मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफूहरुसँग बहुमत सांसद रहेको भन्दै सदनबाट विश्वासको मत लिन आवश्यक नभएको प्रतिक्रिया दिएका थिए । हिजो बसेको माओवादी संसदीय दल वैठकले पनि विश्वासको मत तत्काल लिन आवश्यक नरहेको निश्कर्ष निकाल्यो ।

    ‘हामीलाई एमालेका १९ जना सांसदले हस्ताक्षर गरेर सरकार बनाउन समर्थन गर्नुभएको हो । हाल १० जनाले मात्र फिर्ता लिएको हामीलाई जानकारी छ,’ प्रमुख सचेतक सीता नेपालीले भनिन्, ‘सांसद धर्मराज रेग्मी कारवाहीमा परिसकेपछि सदनमा ३९ जना संसद रहेकोमा हामीसँग २१ जना सांसद कायम छन् । अहिले विश्वासको मत लिनुपर्ने कुनै कारण छैन ।’

    तर, आज एमाले संसदीय दलको बैठकमा माधव नेपाल पक्षधर सांसद पनि अविश्वास प्रस्तावको पक्षमा उभिए भने सरकार धरापमा पर्ने निश्चित छ । एमालेको संसदीय दलमा हाल नेपाल पक्षमा ९ जना सांसदहरु छन् । पार्टीको निर्णयलाई उनीहरुले समर्थन जनाएको खण्डमा सरकार स्पष्ट अल्पमतमा पर्ने छ । तर, माधव नेपाल पक्षप्रति माओवादी आशावादी छ ।

    सरकारमा सहभागी एक मन्त्रीले भने, ‘हामी सहभागी नभएको बैठकले गरेको निर्णयका बारेमा आज बस्ने दलको बैठकमा औपचारिक जानकारी पाउनेछौं । त्यसपछि मात्रै के गर्ने भन्ने बारेमा निर्णय लिइनेछ ।’

    अविश्वास प्रस्तावको विकल्प

    एमालेले समर्थन फिर्ता लिए पनि माधव नेपाल पक्षले त्यसलाई स्वीकार गरेन भने अर्को विकल्प भनेको अविश्वास प्रस्ताव ल्याउनु हो । त्यो अवस्थामा माधव नेपाल पक्षलाई संसदीय दलको ह्वीप लाग्छ ।

    ३९ सदस्यीय प्रदेश सभामा एमालेका (सभामुखसहित) २०, माओवादी केन्द्रका १२, काँग्रेसका ६ र राप्रपाका एक सांसद छन् । एमाले दलमा १९ सदस्य रहेकोमा नेपाल पक्षमा अहिले ९ जना सांसद छन् । एमाले एकढिक्का भयो भने सरकार सोझै अल्पमतमा पर्छ । तर, माधव नेपाल पक्षका ९ संसदले साथ दिएमा सरकारसँग बहुमत कायम रहनेछ । तर, त्यस्तो अवस्थामा पार्टीले उनीहरुलाई निलम्बन गर्न सक्छ ।

    एमालेले ९ जना सांसदलाई नै कारवाही गरेको खण्डमा सदनमा सबैभन्दा ठूलो दल माओवादी केन्द्र हुने छ । त्यसपछि अर्को गठवन्धनको खोजी गर्नुपर्ने हुन्छ ।

    ‘९ जनालाई कारवाही गरेको खण्डमा प्रदेश सभामा ३० मात्र रहन्छन् । बहुमतका लागि १६ जना भए पुग्छ,’ स्रोत भन्छ, ‘त्यसो गर्दा एमालेले सरकारको नेतृत्व वगर्न सक्ने सम्भावना क्षिण हुन्छ ।’

    अहिले मुख्यमन्त्रीमा दाबी गरेको एमालेले यो अवसर फुत्कन सक्ने भयले पनि कारवाही प्रक्रिाया अगाडी नसकेको स्रोत बताउँछ । एमाले एक भएको खण्डमा उसको एकल सरकार बन्न सक्ने अवस्था छ ।

    आज दिउँसो एक बजे बस्ने एमाले दलको बैठक सरकारको भविष्यका निम्ति निर्णायक हुने मानिएको छ । बैठकमा एमालेका सबै सांसदहरु उपस्थित हुने प्रमुख सचेतक गुलावजंग शाह बताउँछन् । माधव नेपाल पक्षका सांसद उपस्थित नभएको खण्डमा भने अन्योल लम्बिन सक्छ ।

  • माधव पक्षलाई पीएस गुरुङको प्रश्न– सूर्य र एमाले आइसक्यो, अब भागेर कहाँ जाने ?

    माधव पक्षलाई पीएस गुरुङको प्रश्न– सूर्य र एमाले आइसक्यो, अब भागेर कहाँ जाने ?

    पोखरा । पार्टी हितविपरित गतिविधि गरेको र सोधेको स्पष्टीकरणसमेत उचित नदिएको भन्दै नेकपा एमालेबाट वरिष्ठ नेता माधवकुमार नेपाल, उपमहासचिव घनश्याम भुसालसहित ४ जना नेता कारबाहीमा परिसकेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पार्टी सदस्यसमेत नरहने गरी ६ महिनाका लागि निलम्बन गरेका छन् ।

    पार्टीबाटै कारबाहीमा परेपछि नेपाल पक्षले शनिबारमात्रै देशव्यापी संगठन निर्माण गर्ने अभियान घोषणा गरेको छ । २ महिनामा वडातहसम्मै आफू पक्षीय कमिटी गठन गर्ने घोषणापत्रमा उल्लेख छ ।

    त्यसअघि बिहीबारमात्रै गण्डकी प्रदेशमा नेपाल पक्षले प्रदेशस्तरीय समानान्तर कमिटी गठन गरेको थियो । नेता नेपाल र सुरेन्द्र पाण्डेको उपस्थितिमा भएको अगुवा कार्यकर्ता भेलाले ७५ सदस्यीय समानान्तर जिल्ला कमिटी गठन गरेको थियो । जसको अध्यक्षमा धनराज आचार्य र सचिवमा होमबहादुर नेपाली चुनिएका थिए । सोही दिनको भेलाले प्रदेशस्तरीय समानान्तर कमिटी बनायो । जसको नेतृत्व सुरेन्द्र पाण्डेले गर्नेछन् । सोही भेलाले गण्डकीको १० जिल्लामा आफू पक्षीय नेतृत्वमा जिम्मेवारी पनि बाँडफाँड गरेको थियो ।

    केन्द्रमा समानान्तर गतिबिधि गर्ने माधव नेपाल लगायतकालाई नेताहरुलाई अध्यक्ष केपी शर्मा ओलीले कारबाही प्रक्रिया अघि बढाइरहेका छन् । तर, कारवाही पछि पहिलो प्रदेशस्तरीय समानान्तर कमिटी गठन गण्डकीमै गरेका नेपाल पक्षलाई भने आफू कारबाही नगर्ने मुडमा मुख्यमन्त्री तथा पार्टी इन्चार्ज पृथ्वीसुब्बा गुरुङ छन् । ‘यो पार्टीका लागि अत्यन्तै हानिकारक काम हो । पार्टीको विधिविधानले पार्टीविरुद्ध अर्को पार्टी गठन गर्दै हिँड् भन्छ र ?’ नेकपा एमाले गण्डकी इन्चार्ज तथा मुख्यमन्त्री गुरुङले नेपाल प्रेससँग भने, ‘… कारबाही गर्दिनँ । पार्टीमै समेटेर टिम निर्माण गर्छु । सँगै लिएर जान्छु ।’

    नेपाल समूहमा लागेर केही नहुने र बरु कार्यकर्ताको विचल्लीमात्रै हुने भएकाले संस्थापन पक्षमै आउन गुरुङले आग्रहसमेत गरे । ‘सबै साथीहरुलाई, बसिहाल्नु भएको छ भने छाडेर आउनुप¥यो भन्छु । हाम्रोमा कुनै प्रकारको भेदभाव, अन्याय, अत्याचार गरिँदैन । योग्यताअनुसारको काम दिन्छौं,’ उनले भने । यहि परिप्रेक्षमा एमाले गण्डकी प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री गुरुङसँग गरिएको कुराकानी नेपाल टकमा ।

    तुलनात्मक रुपमा हेर्दा गण्डकी प्रदेश तपाईंहरुको राम्रो प्रभाव छ । यही प्रदेशमा आएर नेपाल पक्षले प्रदेशस्तरीय समानान्तर कमिटी नै बनायो । यसलाई कसरी हेर्नु भएको छ ?

    समानान्तर कमिटी गठन गर्दै हिँड्ने पार्टीका लागि यो अत्यन्त गलत र हानिकारक काम हो । किनकी पार्टीका विधि, विधानले पार्टीकै विरुद्ध अर्को पार्टी गठन गर्दै हिँड्, त्यस्तो भन्छ र ?

    उहाँले यो काम कसको इशारामा गर्नुभाछ ? किन गर्नुभाछ ? कमिटीको बैठक बोलाउँदा नआउने, अर्को मिटिङ गर्दै बस्ने, समानान्तर कमिटी गठन गर्दै बस्ने ? यसले नेपाल कम्युनिस्ट पार्टी एमालेलाई नै कमजोर बनाउने काम गर्छ । यसले धेरै कार्यकर्ताको विचल्ली पनि बनाउनुहुन्छ उहाँहरुले ।

    गण्डकीबाट प्रदेशस्तरीय कमिटी गठन सुरु गर्नु भएको छ । कारबाही प्रक्रिया केही हुन्छ ?

    म त अहिले कारबाही गर्दिनँ । मलाई के विश्वास छ भने उहाँहरुको समानान्तर कमिटीमा बसेर पनि कसलाई के हुने हो र ? त्यसकारण सबै साथीहरुलाई, बसिहाल्नु भएको छ भने छाडेर आउनुपर्‍यो भन्छु । हाम्रोमा कुनै प्रकारको भेदभाव, अन्याय, अत्याचार गरिँदैन । योग्यताअनुसारको काम दिन्छौं ।

    हामीले हिजै निर्णय गरेका छौं । पार्टी एकता हुनेबेलामा एमालेको जुन कमिटी थियो, त्यही कमिटी पुनस्र्थापित गर्छाैं, काम अघि बढाउँछौं भनेका थियौं । यसबीचमा विभिन्न पार्टीबाट आएका व्यक्तिहरुलाई पनि थप्नु छ, थप्छौं । तर, मुख्य आधार भनेको पहिलेकै प्रदेश कमिटी, जिल्ला कमिटी, नगर, गाउँ कमिटीहरु त्यही अनुसार नै हुन्छन् ।

    सम्भवतः अध्यक्ष र सचिवहरु पहिले जो थिए, तिनैलाई पुनस्र्थापित गर्छौं । अब हामी बस्दैबस्दैनौं भन्नेलाई त के भनौं र ? मिटिङ राख्न भन्छौं । त्यसमा पनि पहिलो पटक आएन, दोस्रो पटक आएन, तेस्रो पटक भने विधानतः पदबाट हटाउने हो । तर, पार्टीबाटै हटाउँदैनौं ।

    भनेपछि आफूइतर गतिविधि गर्नेलाई तपाईं कारबाहीको मुडमा हुनुहुन्न ?

    होइन म त कारबाही गर्दिनँ । कारबाही गर्ला र भागौंला भन्ने सोच राख्नु भएको होला ! म साथीहरुलाई भागेर जाने स्थिति नै बनाउँदिन नि । पार्टीमै समेटेर टिम निर्माण गर्छु । सँगै लिएर जान्छौं । अरु प्रदेशमा के भएको छ म जान्दिनँ । मेरो प्रदेशमा पार्टीलाई नोक्सान नहोस् भनेर, आन्दोलनलाई नोक्सान नहोस् भनेर अघि बढ्छु ।

    साथीहरुले खोजेकै सूर्य चिन्ह थियो, नेकपा एमाले थियो । अहिले दुवै चिज प्राप्त भइसकेको छ । व्यक्ति, व्यक्तिबीचको लडाइँ छोड्नुपर्छ । यो हाम्रो आन्दोलनका लागि हुँदैन । त्यो परिवर्तनका लागि हुँदैन, व्यक्तिका लागि हुन्छ ।

    व्यक्तिका लागि त हामीले हिजो पञ्चायतमा लडिसक्यौं नि ! आज आएर किन गर्नुपर्‍यो र ? सबैले पार्टीको पक्षमा, क्रान्तिको पक्षमा, परिवर्तनको पक्षमा लाग्नुपर्छ । नेपाल र नेपाली जनतको पक्षमा लाग्नुपर्छ भन्ने म ठान्छु ।

  • माधव नेपाल पक्षको बैठक बस्दै, अलग अभियानको घोषणा हुने

    माधव नेपाल पक्षको बैठक बस्दै, अलग अभियानको घोषणा हुने

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीबाट चार नेतालाई पार्टी सदस्यबाट निलम्बन गरिएपछिको रणनीति बनाउन स्थायी कमिटी सदस्यहरुको बैठक बोलाएको छ ।

    आज बस्ने माधव नेपाल पक्षधर स्थायी कमिटी बैठकपछि अब के गर्ने भन्ने बारे ठोस नीति तय हुने बताइएको छ । देशब्यापी पार्टी पुनर्गठनको अभियान चलिरहेको र आज स्थायी कमिटीको बैठकले थप घोषणा गर्ने नेता युवराज ज्ञवालीले बताए ।

    एमालेले साबिकका पदाधिकारी र स्थायी कमिटी भंग गरी महाधिवेशन आयोजक समिति बनाइसकेको छ । तर माधव नेपाल पक्षले त्यसलाई मानेको छैन । नेपाल पक्षमा तत्कालीन एमाले स्थायी कमिटीका ११ जना सदस्य छन् ।

    झलनाथ खनाल, माधव नेपाल, भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र मुकुन्द न्यौपानेसहितको बैठक बस्न लागेको हो । बैठकमा अनुशासन आयोगका अध्यक्ष अमृत बोहोरा पनि सहभागी हुनेछन् ।

    स्रोतका अनुसार अब एमालेमा ओलीसँगै रहन नसकिने निष्कर्षमा धेरै नेता पुगेका छन् । कतिपयले अझै पनि एकताको प्रयास जारी राखेका छन् । गोकर्ण विष्ट, योगेश भट्टराईहरु पार्टी एकता जोगाउने प्रयासमा छन् ।

    माधव नेपालले भने अब शुरुमा एमाले पुनर्गठन अभियानका नाममा तलदेखि माथिसम्म कमिटीहरुमा कार्यकर्ता संगठित गरेर एक महिनापछि अलग पार्टी दर्ताको मनस्थिति बनाएका छन् । त्यसपछि प्रचण्ड,मोहन वैद्य लगायतका समूहसँग एकताको पहल गरिने नेपालको भनाइ छ ।

    नेपाल पक्षले विहीवारमात्र माधव नेपालकै उपस्थितिमा गण्डकी प्रदेशका सबै जिल्लामा समानान्तर कमिटी घोषणा गरिसकेको छ ।

    भोजपुर, अर्घाखाँची, गोरखामा कमिटी त्यसअघि नै गठन भइसकेको छ भने शनिवार उदयपुरमा घोषणा हुने नेता जगन्नाथ खतिवडाले बताए ।

  • ओली गढमा माधव नेपालले आज कार्यकर्ता भेटघाट गर्दै

    ओली गढमा माधव नेपालले आज कार्यकर्ता भेटघाट गर्दै

    पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि तत्कालीन नेकपा विभाजनोन्मुख हुँदा कास्कीमात्रै नभई समग्र गण्डकीमै प्रचण्ड-माधव पक्ष कमजोर थियो । सुरुआती समयदेखि नै नेकपा एमाले र त्यसमा पनि ओली पक्षको दबदबा रहेको यस क्षेत्रमा सर्वोच्च अदालतले एकीकृत पार्टीलाई पुरानै अवस्थामा पुर्‍याइदिएपछि यहाँ एमालेभित्रको माधव पक्ष झनै कमजोर हुन पुग्यो ।

    आफूइतर गतिविधिमा लागेको भन्दै अध्यक्ष केपी शर्मा ओलीले पार्टी सदस्यसमेत नरहने गरी ६ महिनाका लागि वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरिसकेका छन् । पार्टीको कारबाहीमा परेपछि नेपाल बुधबार पोखरा आइपुगेका छन् ।

    पार्टीबाट कारबाहीमा परिसकेपछि माधव नेपाल पहिलो पटक उपत्यकाबाहिरको कार्यक्रममा सहभागी हुन पोखरा आएका हुन् । ओली पक्षको दबदबा रहेको ठाउँमै पहिलो कार्यक्रममा सहभागी हुन आएका नेपालको उपस्थितिलाई अर्थपूर्ण रुपले हेरिएको छ ।

    नेपालसहित स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे पोखरामा ‘समानान्तर कमिटी’ बनाउने तयारीसहित पोखरा आइपुगेको दावी गरिएको छ । तर, उनले तत्काल समानान्तर कमिटी भने बनाउने छैनन् । बिहीबार पोखरामा बस्ने माधव पक्षीय भेलाले ‘ओलीविरुद्ध लाग्न कार्यकर्तालाई हौसला’ नेपाल पक्षीय एक नेताले जनाएका छन् ।

    ‘समानान्तर कमिटी अहिल्यै  त बन्दैन, तर त्यसैको तयारीका लागि उहाँहरु पोखरा आउनु भएको हो,’ नेपाल समूहका एक नेताले भने, ‘खासमा जिल्लाका कार्यकर्ता भेटघाट, कार्यकर्ताहरुमा उत्साह थपेर संगठन निर्माण गर्ने र ओली प्रवृत्तिविरुद्ध लाग्न अभिप्रेरित गर्ते तयारीमा आउनु भएको हो ।’

    माधव नेपाल, सुरेन्द्र पाण्डे बिहीबार सिटी स्क्वायर बैंक्युटमा हुने कार्यक्रममा सहभागी हुने तालिका तय छ । कार्यक्रममा उनले जिल्लका युवा विद्यार्थी, जिल्ला, केन्द्र सबै पार्टी कमिटी सदस्यहरुलाई सम्बोधन गर्ने ती नेताले जानकारी दिए । उनले भने, ‘एकहिसाबले प्रशिक्षण भेला नै भन्न सकिन्छ । तर, समानान्तर कमिटी गठन भने हुँदैन ।’ पाण्डे तत्कालीन नेकपा प्रचण्ड÷माधव पक्षको प्रदेश इन्चार्ज नियुक्त भएका थिए ।

  • उदयपुर एमालेका स्थानीय नेतृत्व अद्यावधिक, पार्टीविपरीत लाग्ने जनप्रतिनिधिको पद खोसिने चेतावनी

    उदयपुर एमालेका स्थानीय नेतृत्व अद्यावधिक, पार्टीविपरीत लाग्ने जनप्रतिनिधिको पद खोसिने चेतावनी

    काठमाडौं। नेकपा (एमाले) उदयपुरले पार्टीको हित र विधान विपरित काम गरेको भन्दै विभिन्न्न पालिका कमिटीका पदाधिकारीलाई समेत गराएको छ। एमालेले बुधबार ९ स्थानीय नेतृत्वको विवरण अद्यावधिक गर्दै गुटगत भेलामा सहभागि हुनेलाई समेत गराएको हो।

    विज्ञप्तिमा भनिएको छ, ‘नेकपा एमाले उदयपुरको आधिकारिक अस्तित्वलाई समाप्त पार्ने सिङ्गो कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने उद्देश्यले पार्टी विधान विपरित अनाधिकृत व्यक्ति तथा समुहबाट पार्टीको भेला बैठक, सम्मेलनको आयोजना नगर्न र पार्टीलाई कमजोर बनाउने जस्ता गतिविधीमा पार्टीका नेता कार्यकर्ता तथा जनप्रतिनिधी संलग्न नहुन सवैलाई सचेत गराउन चाहान्छौं।’

    यस्ता गतिविधी जारी राखे पार्टीको विधान र जनप्रतिनिधिहरुको हकमा राजनितिक दल सम्बन्धी ऐन अनुसार कारबाही गर्ने चेतावनी दिएको छ।

  • माधव नेपाल पक्षले खोज्यो बेग्लै कार्यालय, एमालेको नयाँ भवनमा नजाने

    माधव नेपाल पक्षले खोज्यो बेग्लै कार्यालय, एमालेको नयाँ भवनमा नजाने

    काठमाडौं । नेकपा एमालेभित्रै बसेर अन्तर संघर्ष गर्ने भनिरहेका माधव नेपाल पक्षले अलग्गै पार्टी कार्यालय सञ्चालन गर्ने भएको छ । धुम्वाराहीबाट पार्टीको कार्यालय थापाथली हाइटमा सर्न लागेका बेला नेपाल पक्ष भने त्यहाँ नजाने भएको छ ।

    आफूपक्षीय युवा संघको केन्द्रीय कार्यालय उद्घाटन गर्दै एमालेबाट निलम्बित नेता माधवकुमार नेपालले नयाँ केन्द्रीय कार्यालय खोज्ने काम भइरहेको बताए ।

    नेता नेपालले भने, ‘हाम्रो पनि भवनको खोजी जारी छ । कतै राम्रो ठाउँ पाउनुभए खबर गर्नुहोला, त्यो भन्दा (थापाथलीको) पनि ठूलो र सानदार भवन हामीलाई चाहिन्छ । हामी धन्यवाद नै भन्ने छौं सहयोगका लागि ।’

    नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले अघि बढाइने भन्दै सबै जिल्लासम्म संगठन विस्तार गर्न निर्देशन दिए । उनले सबै जनसंगठनहरुमा नयाँ नेतृत्वसहित कार्यालय सन्चालन गर्नुपर्ने बताए ।

    माधव नेपालनिकट नेता जगन्नाथ खतिवडाले पार्टी केन्द्रीय कार्यालयको लागि ठाउँ खोज्ने क्रम चलिरहेको बताए ।

  • घनश्याम भुसालप्रति सूर्य थापाको टिप्पणी- चुनाव जित्यो कि पार्टी फुटाउन सक्रिय

    घनश्याम भुसालप्रति सूर्य थापाको टिप्पणी- चुनाव जित्यो कि पार्टी फुटाउन सक्रिय

    काठमाडौं । केपी ओलीमाथि केही गम्भीर प्रश्न र आरोप तथा आग्रहसहित स्पष्टीकरण दिएर बसेका एमाले नेता घनश्याम भुसालबारे प्रधानमन्त्रीका सल्लाहकार समेत रहेका अर्का एमाले नेता सूर्य थापाले कटाक्ष गरेका छन् ।

    बिगतका दृष्टान्त पेश गर्दै थापाले संसदीय चुनाव दुईपटकमात्र जितेका भुसाल चुनाव जितेपछि पार्टी फुटाउन सक्रिय हुने गरेको आरोप लगाएका छन् । थापाले यसलाई संयोग कि नियति भन्दै विगतको प्रसंग उठाएका हुन् ।

    भुसालले २०५१ को उप चुनाव जितेपछि २०५५ मा पार्टी विभाजनमा लागेकाले मनमोहन अधिकारीले निश्कासन गरेको स्मरण गरेका छन् । भुसाल धनपति उपाध्यायको निधनपछि रुपन्देही २ बाट सांसद निर्वाचित भएका थिए ।

    यसपटक पनि भुसाल पुस ५ पछि फेरि विभाजनमा जुटेको भन्दै थापा लेख्छन्, ‘घनश्याम भुसालजीले जीवनमा दुई वटा मात्रै निर्वाचन जित्नुभयो  पहिलाे २०५१ पछि उपनिर्वाचन जित्नुभयो र ०५५ फागुनमा पार्टी विभाजनमा लागेकाले मनमोहन अधिकारीले निश्कासन गर्नुभयो । दाेस्राे २०७४ मा जित्नुभयो र पुस ५ पछि फेरि विभाजनमै जुट्नुभयो। चुनाव जित्यो कि फुटमा सक्रिय, संयोग कि नियति ?’

  • माधव नेपाल पक्षको रणनीति- ओलीसँग तत्काल  न सम्बन्ध, न सम्बन्ध बिच्छेद !

    माधव नेपाल पक्षको रणनीति- ओलीसँग तत्काल न सम्बन्ध, न सम्बन्ध बिच्छेद !

    काठमाडौं । माधवकुमार नेपाल र भीम रावललाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले कारबाही गरेको भोलिपल्ट झलनाथ खनाल र नेपाल सहितका ओली विरोधी नेताहरुबीचको छलफलको निश्कर्ष हो- तत्काल एमालेकै नाममा तलदेखि माथिसम्म समानान्तर अभ्यास गर्ने ।

    मंगलबार कलंकीस्थित एक पार्टी प्यालेसमा दिनभरजसो भएको छलफलपछि नेपाल पक्षका ११ स्थायी कमिटी सदस्यले कारवाहीको भर्त्सना गर्दै संयुक्त विज्ञप्ति जारी गरे ।

    ‘ओलीले राज्यसत्ताको दुरुपयोग गरेर तानाशाही लाद्न खोजेको’ आरोप विज्ञप्तिमा लगाइएको छ । र, ‘एमालेलाई विभाजन गर्दै छिन्नभिन्न गर्ने दुराशय’बाट यस्तो कदम चालेको आरोप उनीहरुले लगाएका छन् ।

    ‘यस्तो कार्य पार्टी भित्र विचार र संगठनको सम्बन्धमा छलफल र बहसको ढोका बन्द गरी नेकपा (एमाले) लाई विभाजन गर्दै छिन्नभिन्न गर्ने दुराशयकै परिणाम हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो पार्टी विधान, पद्धति र मान्यता विपरीतको कार्यको हामी भर्त्सना गर्दछौं ।’

    पार्टीको सिद्धान्त र विचारको पक्षमा दृढतापूर्वक एकताबद्धरुपमा संगठित हुन उनीहरुले कार्यकर्ताहरुलाई आव्हान गरेका छन् ।

    अलग पार्टी अभ्यासलाई निरन्तरता

    अध्यक्ष ओलीले कारबाही बढाउँदै लगिरहेकासन्दर्भमा अब के गर्नुहुन्छ भन्ने प्रश्नमा नेपाल पक्षमा नेताहरु अलमलमा छन् । उनीहरु पार्टी फुटाउन चाहँदैनौं भन्छन् तर एमालेभित्रै रहेर अलग पार्टीको अभ्यासले अन्ततः अलग पार्टी नै हुने हो ।

    ‘हामीले नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनको नीति, विधान र यसका मान्यताहरुलाई संरक्षण गर्नका लागि पार्टीका नेता कार्यकर्तालाई एकताबद्ध भएर संगठित भएर अगाडि बढ्न आह्वान गरिसक्यौं,’ नेता भीम रवाल भन्छन् ‘संगठित हुन आवह्वान गर्नुको अर्थ के हो भने, हाम्रा राष्ट्रिय महाधिवेशनपछि बनेका जति पनि संरचनाहरु थिए, ती संगठनलाई यथावतरुपमा क्रियाशील बनाउने ।’

    ४ र ५ चैतमा ललितपुरको सानेपास्थित हेरिटेज ब्याक्वेटमा चलेको दुई दिने राष्ट्रिय कार्यकर्ता भेलाले नवौं महाधिवेशनबाट बनेका देशभरका संगठनलाई ब्यूँताउने घोषणा गरेको थियो ।

    तीन/चार महिना देशभरि पार्टीका बैठक, भेला र प्रशिक्षणमा केन्द्रित हुने भेलाले निश्कर्ष निकालेको थियो । सोही अनुसार अखिल नेपाल महिला संघ, युवा संघ र अनेरास्ववियूको राष्ट्रिय कार्यकर्ता भेला भएर अलग केन्द्रिय कमिटी गठन भइसकेको छ। अब जिल्ला कमिटीहरु गठन हुने नेताहरुले बताएका छन् ।

    यसबीचमा भोजपुर, गोरखा र अर्घाखाँचीमा माधव नेपाल पक्षले अलग जिल्ला कमिटी बनाइसकेको छ । यो क्रम अब सबै जिल्ला र वडा तहसम्म पुग्ने रावल बताउँछन् । नेता युवराज ज्ञवाली भन्छन्, ‘हामी राष्ट्रिय कार्यकर्ता भेलादेखि देशव्यापी रुपमा एमालेलाई नै पुनर्गठित, रुपान्तरित र सुदृढ गर्ने कामको अभियानमा हामी लागि रहेका छौं ।’

    ‘एमालेलाई पुनर्गठन’ भने पनि त्यहाँ ओली पक्षलाई राखिएको छैन । त्यसैले सामान्तर संगठन संरचना हो भन्ने बुझ्न कठिन छैन्।

    विभाजनको संकेत

    प्रष्ट शब्दमा नेताहरुले अन्तरसंघर्ष जारी राख्दै अन्तिममा पार्टी विभाजनसम्म जान्छौं भनेर नभनेका भए पनि त्यसको संकेत भने गरिरहेका छन् ।

    नेता रावल पहिलो चरणमा नेकपा एमालेको सिद्धान्त, नीति र संगठनको रक्षाका लागि पाइला चाल्ने र त्यति गर्दा पनि नभए अगाडि बढ्ने बताउँछन् ।

    ‘पहिलो चरणमा नेकपा एमालेको सिद्धान्त, नीति र संगठनको रक्षाका लागि पाइला चाल्छौं,’ उनी भन्छन्, ‘र, पार्टी विभाजन गर्ने, त्यहाँ गुटवन्दी गर्ने र यो पार्टीलाई सिध्याउन दिशातर्फ अग्रसर हुने काम केपी शर्मा ओलीजी र उहाँलाई सर्मथन गर्ने मानिसबाट भइरहेको हुनाले अब भोलि उहाँले पार्टी विभाजन गर्नुभएछ भने हामी त्यतिबेला संगठनात्मक रुपमा पनि अगाडि बढ्छौं ।’

    अर्का नेता ज्ञवाली पार्टी अझैं फुटको तहसम्म पुगि नसकेको र भविष्यमा के हुन्छ भन्ने कुरा चाहिं अध्यक्ष ओलीका क्रियाकलपामा भर पर्ने बताउँछन् ।

    ‘विधिवत् रुपमा एमाले अहिले फुटेको छैन्, त्यो यथार्थ कुरा हो,’ एमाले फुटिसकेको हो ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘एमालेको संसदीय दल पनि एकै ठाउँमा छ । तर पार्टीको आन्तरिक सांगठनिक जीवनमा अलग–अलग ढंगले क्रियाकलाप तथा गतिविधिहरु अगाडि बढिरहेका छन् । अहिले त्यो फुटको तहसम्म पुगेको छैन । अहिले नै यो फुटिसक्यो भनेर निश्कर्ष निकाल्ने अवस्था छैन । तर भविष्यमा के हुन्छ त्यो केपी ओलीजीका क्रियाकलापमा भरपर्छ ।’

    नेता नेपाल स्वयं आफूहरु पार्टी एकताको रक्षाका लागि लागेको बताइरहेका छन् । यद्यपि उनले मोहन बैध, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायतसँग तारन्तार भेटघाट गरिरहेका छन् ।

    ‘तत्काल हामी अर्को पार्टी घोषणा गर्ने अवस्थामा छैनौँ,’ यसबारे प्रष्टीरकण दिँदै ज्ञवाली भन्छन्, ‘हामी राजनीतिक व्यक्ति हौं । नेपालका तमाम वामपन्थीहरु, देशभक्तहरु, प्रजातन्त्रवादीहरु सबैसँग हाम्रो कुराकनी चलिरहन्छ ।’

    अहिले माधव नेपाल पक्षको तत्कालीन रणनीति भनेको ओलीले गरेको कारवाही अश्वीकार गर्ने र एमालेकै नाममा अलग पार्टी अभ्यास गरेर तलैसम्म आफ्ना पक्षधर कार्यकर्तालाई एउटै छातामुनी राख्ने देखिएको छ ।

    त्यसो भयो भने कुनै पनि बेला अलग पार्टी गठन गर्दा तलदेखि माथिसम्मकै पंक्ति हुने र त्यो शक्तिका आधारमा माओवादी केन्द्रसँग पुनः एकीकरण गर्न सकिने निश्कर्ष नेताहरुको छ ।

    यसबीचमा प्रचण्ड र माधव नेपालबीच लगातार घण्टौं छलफल भइरहेका छन् । ती छलफलको मुख्य विषय ओलीलाई सत्ताबाट हटाउने नै हो । तर विपक्षीहरु तयार नहुँदा प्रचण्ड–माधव विलखबन्धनमा परेका छन् ।

    ओलीलाई सत्ताबाट हटाउन सकियो भने एमालेमा उनी कमजोर बन्ने आँकलन प्रचण्ड-माधवको छ । सर्वोच्चको फागुन २३ को फैसलाविरुद्ध न्यायिक पुनरावलोकनमा जाने निर्णय पनि झलनाथ र माधवको सहमति लिएरै भएको प्रचण्डले बताइसकेका छन् ।

    माधव नेपाल पक्ष आफैंमा अहिले स्पष्ट छैन । केही नेताले प्रचण्डलाई छाडेर ओलीकै नेतृत्वमा फर्किनु नै गलत थियो भनिरहेका छन् । केहीले ओलीले कारवाही नै गरे पनि एमालेमै बसेर संघर्ष गर्ने अलग पार्टीमा नजाने बताइरहेका छन् ।

    यो स्थितिमा एमालेभित्रै अलग पार्टीको अभ्यास गरेर एमालेकै नाममा कार्यकर्ता संगठित गर्ने र सत्ता समीकरण कस्तो बन्छ त्यस आधारमा नयाँ निर्णय लिने निचोडमा माधव नेपाल पक्ष पुगेको बुझ्न सकिन्छ । यो भनेको तत्काललाई न सम्बन्ध, न सम्बन्ध बिच्छेदको रणनीति हो ।

  • भोजपुरमा माधव पक्षले बनायो एमालेको समानान्तर कमिटी, को के बने ?

    भोजपुरमा माधव पक्षले बनायो एमालेको समानान्तर कमिटी, को के बने ?

    भोजपुर । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले भोजपुरमा समानान्तर कमिटी गठन गरेको छ ।

    काठमाडौंको कलंकीस्थित मेघा पार्टी प्यालेसमा बसेको माधव पक्षधरका स्थायी कमिटी सदस्यहरूको बैठकले देशभर समानान्तर कमिटी ब्युँताउने निर्णय गरेकै दिन भोजपुरमा माधव पक्षको जिल्ला कमिटी गठन गरिएको हो ।

    पार्टीको विस्तारित बैठक राखेर शरणकुमार राईको अध्यक्षतामा १७५ सदस्यीय अलग्गै कमिटी बनाइएको हो । समानान्तर कमिटीको उपाध्यक्षमा विष्णुबहादुर राउत, सचिवमा वीरजंग राई र उपसचिवमा इन्दिरा घलेलाई चयन गरिएको छ ।

    राई पुन:स्थापित एमालेका सचिव हुन् । तत्कालीन नेकपाको प्रचण्ड-माधव पक्षले गठन गरेको जिल्ला कमिटीमा उनलाई अध्यक्षको जिम्मेवारी दिइएको थियो ।

    विस्तारित बैठकमा बेदुराम भुसाल, पर्शुनेगी गुरुङ, जयन्ती राई, राजेन्द्र राई र हरिबहादुर राईलगायतका नेताहरू उपस्थित थिए । करिब तीन सय कार्यकर्ताको सहभागतिमा भएको बैठकले रिक्त ठाउँहरूमा बहुमत निर्णयबाट पदाधिकारी थप गरिएको उक्त पक्षको दाबी छ ।

    भ्रातृ संगठनसँगै, वडा तहसम्म भेला र बैठक गर्ने तथा कमिटी विस्तार गर्नेगरीको योजना पनि बनेको बताइएको छ ।

  • यस्तो छ सुरेन्द्र पाण्डेले एमाले अध्यक्षलाई पठाएको स्पष्टीकरण (पत्रसहित)

    यस्तो छ सुरेन्द्र पाण्डेले एमाले अध्यक्षलाई पठाएको स्पष्टीकरण (पत्रसहित)

    काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले आफूलाई सोधेको स्पष्टीकरणको जवाफ अध्यक्ष केपी शर्मा ओलीलाई फर्काएका छन् ।

    पाण्डेको स्पष्टीकरणका प्रायः सबै कुरा यसअघि घनश्याम भुसालले दिएको प्रष्टीकरणकै यथावत छन् ।

    पाण्डेले ओलीमाथि पार्टी विभाजन गर्न खोजेको भन्दै २०७५ जेठ २ मा नफर्किए एमालेको एकता नजोगिने बताएका छन् ।

    पाण्डेले केपी ओलीमाथि कंगारु अदालत खडा गर्न खोजेको र आफूलाई सोधिएको स्पष्टीकरणपत्र शत्रुलाईजस्तै भाषा प्रयोग गरेको उल्लेख गरेका छन् ।

  • माधवपक्षीय नेताहरूको आरोप- ओलीले राज्यसत्ताको दुरुपयोग गरेर तानाशाही लाद्न खोजे (विज्ञप्तिसहित)

    माधवपक्षीय नेताहरूको आरोप- ओलीले राज्यसत्ताको दुरुपयोग गरेर तानाशाही लाद्न खोजे (विज्ञप्तिसहित)

    काठमाडौं । एमालेको माधव पक्षधर नेताहरूले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यसत्ताको दुरुपयोग गर्दै तानाशाही लाद्ने दुष्प्रयास भएको आरोप लगाएको छ ।

    माधव पक्षधरका स्थायी कमिटी सदस्यहरूको बैठकले देशभर समानान्तर कमिटी ब्युँताउनेसमेत निर्णय गरेको छ ।

    माधव नेपाल, झलनाथ खनालसहित ११ जनाले संयुक्त विज्ञप्ति निकालेका छन् । विज्ञप्तिबारे जानकारी दिँदै बैठकपछि नेता भीम रावलले पुन:स्थापित एमालेलाई विभाजन गरी कम्युनिष्ट आन्दोलनलाई ध्वस्त गर्न षड्यन्त्र गरिरहेको टिप्पणी गरे ।

    विधि र प्रक्रियागत ढंगले पार्टीलाई पूर्ववत अवस्थामा फर्काउन गरेको आग्रहविपरीत ओलीले स्वेच्छाचारी कदम चालेको उनको आरोप थियो ।