Tag: नेकपा एमाले

  • माधव पक्ष आन्तरिक छलफलमा, सिंहदरवारमा पर्खिँदै संस्थापन पक्ष

    माधव पक्ष आन्तरिक छलफलमा, सिंहदरवारमा पर्खिँदै संस्थापन पक्ष

    काठमाडाैं । एमालेको आन्तरिक एकता कायम गर्न गठित १० सदस्यीय कार्यदलले सहमतिको मस्यौदामा हस्ताक्षर गर्ने समय विहान ८ बजे भने पनि माधव नेपाल पक्ष आन्तरिक छलफलमा जुटेपछि ढिला भएको छ ।

    स्रोतका अनुसार माधव पक्षधर वार्ता टोली सदस्यहरु नेपाल निवास कोटेश्वरमा छन् । बरिष्ठ नेता नेपाल सर्वोच्चको फैसलाअघि कुनै सम्झौताको पक्षमा छैनन् ।

    संस्थापन पक्षका भने पाँचै जना नेताहरु अर्थमन्त्रालयमा छन् । माधव पक्षका नेताहरु पुगेपछि सहमतिमा हस्ताक्षर हुने भनिएको छ ।

    यता सहमति लगत्तै बैठक बोलाउनका लागि अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गर्न महासचिव ईश्वर पोखरेल प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । एमालेको विधानमा अध्यक्षको परामर्शमा महासचिवले बैठक बोलाउने व्यवस्था छ ।

    कार्यदलले सहमतिमा हस्ताक्षर गरेपछि बैठक बस्ने महासचिव ईश्वर पोखरेलले बताए । कार्यदलको बैठक विहान ८ बजे राखिए पनि माधव नेपाल पक्षका कार्यदल सदस्यहरु अहिलेसम्म सिंहदरवारमा पुगेका छैनन् ।

  • कार्यदलको बैठकअघि नेपाल पक्षका नेताहरू माधव नेपाललाई भेट्न कोटेश्वरमा

    कार्यदलको बैठकअघि नेपाल पक्षका नेताहरू माधव नेपाललाई भेट्न कोटेश्वरमा

    काठमाडौं । एमालेमा एकता कायम गर्न बनेको कार्यदलको बैठक बस्न ढिलाइ भएको छ । कार्यदलका नेपाल पक्षका सदस्यहरू वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।

    बैठकका लागि सिंहदरबार आइसकेका कार्यदलका सदस्य त्यहाँबाट एकसाथ कोटेश्वरतिर लागेका हुन् । उनीहरु एक घन्टापछि आउने भनेर गएको एक नेताले बताए । ओली पक्षका कार्यदल सदस्यहरु भने सिंहदरबारमै छन् ।

    एमाले कार्यदलको हिजो बसेको बैठकले पार्टी एकताको अनौपचारिक सहमति गरेको थियो । सहमतिको मस्यौदालाई अन्तिम रूप दिन आज बैठक बस्न लागेको हो ।

    तर नेता नेपाल भने पावर सेयरिङमा कुरा नमिलेसम्म एकताको पक्षमा छैनन् । नेपाललाई मनाउनका लागि कार्यदलका सदस्यहरु कोटेश्वर गएका हुन् ।

    आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि कोटेश्वर पुगेर नेपाललाई भेटेका थिए । उनले एमालेमा एकता कायम हुन लागेको विषयमा चासो राखेका थिए ।

    नेपालले सर्वोच्च अदालतको फैसला प्रभावित हुने गरी आफूले कुनै सम्झौता नगर्ने प्रचण्डलाई आश्वासन दिएका छन् ।

  • कार्यदलको बैठकबारे रघुजी पन्तले भने- मस्यौदालाई अन्तिम रूप दिँदैछौँ

    कार्यदलको बैठकबारे रघुजी पन्तले भने- मस्यौदालाई अन्तिम रूप दिँदैछौँ

    काठमाडौं । एकताका लागि बनेको कार्यदलको आजको बैठक झण्डै ५ घन्टादेखि जारी छ । माधव नेपाल पक्षका नेता रघुजी पन्तले आजै टुंग्याउने गरी सकारात्मक छलफल भइरहेको बताए ।

    उनले पत्रकारहरूसँग भने, ‘पार्टी एकतालाई कसरी अगाडि बढाउन सकिन्छ भनेर सबै साथीले आ-आफ्नो विचार राख्नुभयो । सबैका धारणा र विचारहरूलाई राखेर मस्यौदालाई पूर्ण बनाउने प्रयास भइरहेको छ । आजै सकौं भनेर प्रयासरत छौं ।’

    उनले सहमतिको मस्यौदालाई अन्तिम रूप दिने काम भइरहेको बताए । मस्यौदामा भएका बुँदाहरू सार्वजनिक गर्ने बेला नभइसकेको उनको भनाइ छ ।

    ‘हामीले फाइनल गरेर दुवै नेताहरू त्यसमा सहमति भएपछि सार्वजनिक हुन्छ,’ उनले भने ।

  • झण्डै डेढ घण्टापछि एमाले कार्यदल बैठक शुरू

    झण्डै डेढ घण्टापछि एमाले कार्यदल बैठक शुरू

    काठमाडौं । पार्टीभित्रको विवाद मिलाउन गठित नेकपा (एमाले) को कार्यदल बैठक भर्खरै शुरू भएको छ ।

    बिहान साढे एघार बजे बस्ने भनिएको बैठक झण्डै डेढ घण्टा ढिलो शुरू भएको हो । माधव नेपाल पक्षका संयोजक भीम रावल बैठकस्थलमा अबेर आएपछि सिंहरदबारस्थित अर्थ मन्त्रालयमा बैठक शुरू भएको हो ।

    आजको बैठकमा रावल र विष्णु पौडेलले तयार पारेको सहमतिको मस्यौदामा छलफल गरेर अन्तिमरूप दिने कोसिस हुने नेताहरूले बताएका छन् ।

    सोमबारदेखि कार्यदल बैठक जारी छ । बिहीबार साँझको बैठकपछि प्रतिक्रिया दिँदै नेपाल पक्षीय कार्यदल सदस्य घनश्याम भुसालले एमाले विवादका सन्दर्भमा विगत १० दिनदेखि केही पनि प्रगति नभएको बताएका थिए ।

    कार्यदलमा ओली पक्षका संयोजक सुवास नेम्वाङले पनि भुसालको भनाइजस्तै आसय दिएका थिए । तर, उनले आजको बैठकमा धेरै विषय मिल्ने दावी गरेका थिए ।

    कार्यदलकै पहलमा बुधबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालीबच होटेल मेरियटमा वार्ता भएको थियो । वार्तामा दुई नेताहरुबीच पार्टीभित्र शक्ति बाँडफाँटबारे कुरा भए पनि सहमति जुट्न सकेको थिएन ।

  • ‘कामचलाउ’ प्रधानमन्त्रीको अधिकार कति ? यस्ता छन् ओलीका ८ तर्क

    ‘कामचलाउ’ प्रधानमन्त्रीको अधिकार कति ? यस्ता छन् ओलीका ८ तर्क

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटनपछि मन्त्रिपरिषद् विस्तार गरेको बारे सर्वोच्चमा लिखित जवाफ बुझाएका छन्। महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जावफ पेश गरेका ओलीले प्रधानमन्त्रीको अधिकारबारे आफ्ना तर्कअघि सारेका छन् ।

    सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन भइसकेपछिको सरकारलाई कामचलाउ सरकार भनेको छ । तर, ओलीले त्यसलाई अस्वीकार गरेका छन्। ओलीको तर्क जुनसुकै अवस्थमा पनि प्रधानमन्त्रीय प्रणालीमा प्रधामनमन्त्री सर्वेसर्वा हुने भन्ने छ । यस्ता छन् ओलीले लिखित जावफमार्फत व्याख्या गरेका प्रधानमन्त्रीको अधिकारः

    मन्त्रिपरिषद् गठन स्वविवेकीय अधिकार

    मन्त्रिपरिषद् गठन प्रधानमन्त्रीको स्वविवेकीय अधिकार हुने तर्क ओलीको छ। उनले भनेका छन्, ‘संविधानले मन्त्रिपरिषद्को गठनलाई प्रधानमन्त्रीको स्वविवेकमा हुने व्यवस्था गरेको छ ।’

    मन्त्रीहरुको हेरफेर नियन्त्रण गर्न मिल्दैन

    ओलीको अर्को तर्क मन्त्रीहरुको हेरफेर तथा कार्य विभाजन कुनै पनि अर्थमा नियन्त्रण गर्न नमिल्ने भन्ने छ। ‘प्रधानमन्त्रीले मुलुकको दैनिक प्रशासनिक कार्य संचालन गर्न मन्त्रीहरुको हेरफेर तथा कार्य विभाजन गर्नु पर्ने हुन्छ,’ लिखित जवाफमा भनिएको छ, ‘संविधानले मन्त्रिपरिषद् गठनको सम्बन्धमा गरेको नियन्त्रण भनेको धारा ८७ बमोजिमको योग्यता पूरा भएको हुनु पर्ने, पच्चीस सदस्य भन्दा बढीको मन्त्रिपरिषद् हुन नहुने, समावेशी सिद्धान्त कायम गर्ने तथा संसदको सदस्य नभएका मन्त्रीको हकमा छ महिनाभित्र संघीय संसदको सदस्य हुनुपर्ने भन्ने मात्र हो । सो बाहेक अन्य अवस्थामा कुनै किसिमबाट नियन्त्रण हुन सक्दैन र मिल्दैन ।

    कार्यकारिणी अधिकार संकुचन गर्न नसकिने

    कार्यकारिणी अधिकारलाई कुनै पनि आधारमा नियन्त्रण र संकुचन गर्न नसकिने भनाइ ओलीको छ। ‘कार्यकारिणी अधिकारलाई कुनै आधारमा नियन्त्रण गर्न, संकुचन गर्न तथा निर्देशित गर्न सकिदैन,’ उनको भनाइ छ, ‘आफूलाई सहज हुने मन्त्री बनाउने अधिकार प्रधानमन्त्रीको मुलुकमा आइपर्ने समस्या समाधानको लागि तत्कालै कार्यकारिणी निकायबाट निर्णय गर्न पर्ने हुन्छ । प्रचलित कानून बमोजिम मन्त्रिबाट निर्णय हुन पर्ने विषयमा अन्य पदाधिकारीबाट निर्णय हुन मिल्दैन । त्यसैले नियमित कार्यकारिणी कार्य सञ्चालनको लागि प्रधानमन्त्रीले मन्त्रीको छनौट गर्ने हो । आफूलाई सहज हुने, कार्य फौट गर्न सक्ने व्यक्तिलाई मन्त्रीमा नियुक्तिको लागि सिफारिस गर्ने कार्य र अधिकार प्रधानमन्त्रीको हो ।’

    हेरफेरलाई नयाँ गठन मान्न मिल्दैन

    मन्त्रीहरु थप घट हुने कार्यलाई अर्को मन्त्रिपरिषद् गठन भएको मान्न नमिल्ने तर्क पनि ओलीको छ । उनको भनाइ छ, ‘प्रधानमन्त्रीय पद्धतिमा प्रधानमन्त्री नै मन्त्रिपरिषद्को अध्यक्ष रहने भएकोले प्रधानमन्त्री रहँदासम्म मन्त्रीहरु हेरफेर तथा थप घट हुने कार्य भई रहने भएकोले त्यसरी मन्त्रीहरु थप घट हुने कार्यलाई अर्को मन्त्रिपरिषद् गठन भएको जस्तो भनी भन्न र मान्न मिल्दैन।’

    हेरफेर राजनीतिक विषय

    ओलीले मन्त्रीहरु हेरफेर राजनीतिक विषय भएको भन्दै त्यसलाई कानूनी प्रश्न मान्न नमिल्ने तर्क गरेका छन्। ‘मन्त्रीहरु हेरफेर हुनु, थपघट हुनु भनेको कार्यकारिणीको नियमित कार्य हो,’ लिखित जवाफमा भनिएको छ, ‘यो नितान्त राजनीतिक विषय हो, तसर्थ यसलाई कानूनी प्रश्न मान्न मिन्दैन।’

    उनले मन्त्रिपरिषद् विस्तारमा सर्वोच्चका यसअघिका अभ्यास पनि सम्झाएका छन्। ‘यस अघि संविधान सभा नभएको अवस्थामा तथा निर्वाचनको मिति घोषणा भएपछि तत्कालीन प्रधानमन्त्री शेरबहादर देउवा तथा माधवकुमार नेपालले पटक पटक मन्त्रिपरिषद् विस्तार गरेको हामो आफ्नो अभ्यास छ,’ त्यस्ता विस्तार विरुद्ध परेका रिटमा अदालतबाट दरपिठमात्र हुने गरेका थिए । उक्त न्यायिक अभ्यासलाई अन्यथा हुने गरी निर्वाचन घोषणा भइसकेको परिप्रेक्ष्यमा प्रधानमन्त्रीले मन्त्री नियुक्तिको लागि सिफारिस गर्न नपाउने गरी सम्मानित अदालतबाट मिति २०७३ मा जारी अन्तरिम आदेश शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्तको प्रतिकूल छ ।’

    आवश्यक टीम बनाउने स्वतन्त्रतामा नियन्त्रण हुन सक्दैन

    मुलुकको कार्यकारिणी प्रमुखको हैसियतले संविधान तथा कानून बमोजिम आफ्नो कार्यलाई सहज रुपमा सञ्चालन गर्न आवश्यक टीम बनाउने कार्यमा कुनै रुपमा नियन्त्रण हुन नसक्ने तर्क ओलीको छ।

    नियुक्तिको तरिका फरक हुँदैमा अधिकार फरक हुँदैन

    ओलीले नियुक्तिको तरिका वा माध्यम फरक हुँदैमा प्रधानमन्त्रीको अधिकार फरक नहुने दावी गरेका छन्। ‘नियुक्तिका माध्यमहरु फरक भए तापनि नियुक्त तथा कार्यरत प्रधानमन्त्रीलाई त्यसरी नियुक्त भएका फरक धाराको वा अवस्थाको कारण कार्यकारिणी अधिकारको प्रयोग र अभ्यास पनि फरक हुने भनी संविधानले परिकल्पना गरेको छैन,’ ओलीको भनाइ छ, ‘संविधानको धारा ७६ को उपधारा (३) बमोजिमको प्रधानमन्त्रीले मुलुकको कार्यकारी अधिकार प्रयोग गर्न नमिल्ने तथा नपाउने भन्ने हुँदैन ।’

    प्रधानमन्त्री रहँदासम्म सबै अधिकार प्रयोग गर्न पाइन्छ

    ओलीको अर्को र्तक प्रधानमन्त्री रहँदासम्म सबै अधिकार प्रयोग गर्न पाइन्छ भन्ने छ । ‘मुलुकको प्रधानमन्त्री मौजुदा रहँदासम्म त्यस्तो मौजुदा प्रधानमन्त्रीले यो अधिकार प्रयोग गर्न मिल्ने तथा यो अधिकार प्रयोग गर्न नमिल्ने भन्ने हुँदैन,’ उनले भनेका छन्, ‘कार्यकारिणीले प्रयोग गर्ने अधिकारको सम्बन्धमा अनावश्यक रुपमा बन्देज लगाउन हुँदैन र मिल्दैन ।’

  • एमाले प्रदेश २ मा बाँकी तीन जिल्लाको पनि नेतृत्व मनोनीत (नामसहित)

    एमाले प्रदेश २ मा बाँकी तीन जिल्लाको पनि नेतृत्व मनोनीत (नामसहित)

    जनकपुरधाम । नेकपा एमाले प्रदेश २ ले बाँकी तीन जिल्लामा अध्यक्ष र सचिव मनोनीत गरिएको छ । प्रदेश अध्यक्ष ज्वालाकुमारी साहले रौतहट, बारा र सर्लाहीका अध्यक्ष र सचिव मनोनीत गरेको जानकारी गराएकी छन् ।

    उनका अनुसार बारा, रौतहट र सर्लाहीको अध्यक्षमा क्रमशः बलबीर चौधरी, तुलसी राज गिरी र राजनारायण साह मनोनित भएका छन् । उनी तिनैजना एमालेमा विगतदेखि लागेका नेता हुन् ।

    यस्तै बारा, रौतहट र सर्लाहीको सचिवमा क्रमशः मो. समिर, मनोजकुमार यादव र केदार खत्रीलाई मनोनीत गरिएको छ । सचिवमा मनोनीत भएका तीनैजना पूर्वनेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गर्नेहरू रहेका छन् ।

    मो. समिर प्रदेश २ का समानुपातिक सांसद थिए । तर, उनी एमालेमा प्रवेश गरेको भन्दै माओवादीले पदमुक्त गरे । उनी सांसद पद पुनर्वहालीका लागि सर्वोच्चमा रिट निवेदन पनि दिएका छन् ।

    एमाले प्रदेश कमिटीले यसअघि नै प्रदेश २ का ५ जिल्लामा अध्यक्ष र सचिव मनोनीत गरिसकेको छ । पछिल्लो समय तीन जिल्लामा गरेको मनोनीतमा विवाद देखिएको छ । केही पूर्वमाओवादी नेता तथा कार्यकर्ताले सहमती अनुसार मनोनीत नगरिएको भन्दै विरोध जनाइरहेका छन् ।

    मनोनीतमा देखिएको विवाद विषयमा प्रदेश अध्यक्ष साहले भन्छिन्, ‘हामी माओवादीबाट एमालेमा गएपछि कुनै सम्झौता भएको छैन । योग्यताको आधारमा सम्मानजनक ठाउँ पाएका छौं ।’ पद नपाएका केही नेताले गलत भ्रम फैलाइरहेको उनको भनाइ छ ।

  • एमालेमा वार्ता चलिरहँदा झाँक्रीको टिप्पणी- संसद पुन:स्थापना अनिवार्य सर्त, जालझेलमा पर्नुहुन्न

    एमालेमा वार्ता चलिरहँदा झाँक्रीको टिप्पणी- संसद पुन:स्थापना अनिवार्य सर्त, जालझेलमा पर्नुहुन्न

    काठमाडौं । नेकपा (एमाले) को विवाद समाधनका लागि कार्यदलमार्फत तारन्तर वार्ता चलिरहँदा नेतृ रामकुमारी झाँक्रीले भने संसद पुनःस्थापना सहमतिको अनिवार्य सर्त भएको भन्दै कुनै जालझेलमा पर्न नहुने बताएकी छन् ।

    ‘लोकतन्त्रको रक्षाको लागि संविधानलाई क्रियाशील गराउन संसदको पुन:स्थापना एउटा अनिवार्य सर्त हो,’ ट्वीटरमा उनले लेखेकी छिन्, ‘हामीले यसको लागि एउटा प्रक्रियाको मात्र थालनी गरेका हौँ । अदालतको फैसलापछि सरकार बन्ने र विश्वासको मत प्राप्त गर्ने काम बाँकी छ । त्यसकारण कुनै पनि जालझेलमा पर्नुहुन्न, झुक्किनु हुँदैन।’

    एमालेमा विवाद समाधानका लागि सोमबारदेखि लगातार कार्यदलको बैठक बसिरहेको छ। नेताहरुले सहमतिको नजिक-नजिक पुग्न लागिरहेको बताइरहेका छन्।

    यही सिलसिलामा हिजो एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच होटेल मेरियटमा दोस्रो तहका नेतासहित वार्ता पनि भएको छ । वार्ता सकरात्मक भएको बताइएको छ।

  • एमाले कार्यदल बैठकपछि नेताहरूले भने- ‘लगभग समाधानको विन्दुमा पुग्यौं’

    एमाले कार्यदल बैठकपछि नेताहरूले भने- ‘लगभग समाधानको विन्दुमा पुग्यौं’

    काठमाडौं । नेकपा एमालेका एकताका लागि गठिन कार्यदल सहमतिनजिक पुगेको छ । आजको बैठकपछि नेताहरूले सकारात्मक र समाधानउन्मूख छलफल भइरहेको बताए ।

    बैठकपछि पत्रकारसँग कुरा गर्दै माधव नेपाल पक्षका नेता गोकर्ण विष्टले अब निष्कर्षमा पुग्न लामो समय नलाग्ने प्रतिक्रिया दिए ।

    उनले भने, ‘हामी लगभग समाधानको विन्दुमा पुगेका छौं, २-४ घण्टा समय लिन सक्छ, तर निष्कर्षमा पुग्न लामो समय लाग्दैन ।’

    हरेक दिनको बैठकमा प्रगति भइरहेको उनले उल्लेख गरे । सकभर आज बेलुकाकै बैठकमा समाधानमा पुग्ने प्रयास रहने उनको भनाइ छ ।

    यसैगरि, ओली पक्षका नेता सुवास नेम्वाङले बाहिर चर्चा भएजस्तो अवस्था नभएको बताए । उनले भने, ‘बाहिरको चर्चामा विश्वास नगर्नुस् । वार्ता सकारात्मक छ ।’

  • एमाले कार्यदलको बैठक साँझ ७ बजे पुन: बस्ने, दुवै पक्ष आन्तरिक छलफलमा

    एमाले कार्यदलको बैठक साँझ ७ बजे पुन: बस्ने, दुवै पक्ष आन्तरिक छलफलमा

    काठमाडौं । एमाले कार्यदलबीचको वार्ता साँझ ७ बजेसम्मका लागि स्थगित भएको छ । करिब १ घण्टा छलफल गरेर नेताहरू उठेका छन् ।

    छलफलबाट निस्केर संस्थापन पक्षका कार्यदल संयोजक सुवास नेम्वाङले वार्ता सकारात्मक रहेको जानकारी दिएका छन् । उनले भने, आजै निष्कर्षमा पुग्ने प्रयास हुन्छ । बाहिरी चर्चाको पछाडि नलागौं, वार्ता सकारात्मक छ ।’

    संस्थापन पक्षका विष्णु पौडेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आन्तरिक छलफलमा जुटेका छन् ।

    माधव पक्षका कार्यदल सदस्यहरू वार्तास्थल अर्थमन्त्रालयमा आन्तरिक छलफलमा छन् ।

  • माधव नेपाललाई भेटेर भीम रावल फर्किएपछि एमाले कार्यदलको वार्ता शुरू

    माधव नेपाललाई भेटेर भीम रावल फर्किएपछि एमाले कार्यदलको वार्ता शुरू

    काठमाडौं । नेकपा एमालेको कार्यदलबीच अर्थमन्त्रालयमा वार्ता शुरू भएको छ ।

    बैठक शुरू हुनुअघि भीम रावल नेता माधव नेपाल भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए । वार्तामा आफ्नो पक्षबाट प्रस्तुत हुनेबारे रणनीतिको लागि छलफल गर्न रावलले नेपाललाई भेटेको बताइएको छ ।

    रावल सिंहदरवार फर्केलगत्तै अहिले वार्ता जारी छ । हिजो दिउँसो नेताहरूले विवाद समाधानउन्मुख भएको बताउँदै आजसम्ममा सहमति हुने बताएका थिए ।

    राति अबेरसम्म ओली र नेपाल दोस्रो तहका नेताहरूसहित छलफलमा बसेका थिए । तर, त्यो छलफलमा ठोस सहमति हुन भने सकेको थिएन ।

  • एमाले कार्यदलको बैठकमा ढिलाइ, माधव नेपाल भेट्न भीम रावल कोटेश्वरमा

    एमाले कार्यदलको बैठकमा ढिलाइ, माधव नेपाल भेट्न भीम रावल कोटेश्वरमा

    काठमाडौं । नेकपा एमालेको एकताका लागि बनेको कार्यदलको वार्ता अझै शुरू भएको छैन ।

    वार्तास्थल सिंहदरबार आएर माधव नेपाल पक्षको कार्यदल संयोजक भीम रावल नेता नेपाल भेट्न कोटेश्वर पुगेका छन् । उनी

    संस्थापन पक्षका कार्यदल सदस्यहरू सुवास नेम्वाङ, विष्णु पौडेल, विष्णु रिमाल र माधव पक्षका  सुरेन्द्र पाण्डे, घनश्याम भुसाल भने सिंहदरवारमा छन् ।

    यसअघि बिहान सिंहदरवारमै विष्णु पौडेल र भीम रावलबीच वार्ता भएको थियो ।

    एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल हिजो राति अबेरसम्म दोस्रो तहका नेतासहित मेरियट होटलमा वार्ता बसेका थिए ।

    हिजोको वार्तामा ठोस सहमति नभए पनि सकारात्मक रहेको नेताहरूले बताएका थिए ।

  • ओली र नेपाल मेरियट होटलमा एकसाथ प्रवेश, वार्तामा को-को छन् दोस्रो तहका नेता ?

    ओली र नेपाल मेरियट होटलमा एकसाथ प्रवेश, वार्तामा को-को छन् दोस्रो तहका नेता ?

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबीच मेरियट होटलमा ‘निर्णायक’ वार्ता जारी छ ।

    वार्तामा दुवै तर्फका दोस्रो तहका नेताहरु पनि सहभागी छन् ।

    स्रोतका अनुसार ओली पक्षबाट ईश्वर पोखरेल, सुवास नेम्वाङ र विष्णु पौडेल सहभागी छन् । यस्तै नेपाल पक्षबाट भीम रावल र सुरेन्द्र पाण्डेको उपस्थिति छ ।

    ओली र नेपाल दुवै आफ्ना सहकर्मीहरुसहित एक साथ मेरियट होटलमा प्रवेश गरेको स्रोतले जानकारी दियो । पार्टी एकताका लागि गठित कार्यदल सहमति नजिक पुग्दा शीर्ष दुई नेताहरुबीच वार्ता सम्भव भएको हो ।

  • एमाले विवाद समाधानतर्फ, सहमतिको खाकाका लागि ओली र नेपालसँग बस्दै कार्यदल

    एमाले विवाद समाधानतर्फ, सहमतिको खाकाका लागि ओली र नेपालसँग बस्दै कार्यदल

    काठमाडौं । पार्टीभित्र सहमति खोज्न गठित नेकपा (एमाले) को कार्यदल सहमतिनजिक पुगेको छ । कार्यदलमा रहेका दुवै पक्षका नेताहरूले विवादका विषयमा ‘झण्डै-झण्डै सहमति’मा पुगेको बताएका छन् । कार्यदल लगातार तीन दिन छलफलमा बसेपछि नेताहरूले सकारात्मक माहोल बनेको बताएका हुन् ।

    बैठकको शुरूमै निस्किएका कार्यदल सदस्य प्रदीप ज्ञवालीले छलफल सकारात्मक निष्कर्षउन्मुख भएको बताए । ‘कार्यदलका तर्फबाट नेताहरुसँग परामर्श गर्ने, उहाँहरुका भावनाहरु बुझ्ने कुराहरु पनि भईरहेको छ,’ज्ञवालीले संवाददातासँग भने, ‘कार्यदलभित्र हाम्रा छलफलहरू सकारात्मक निष्कर्षउन्मुख छन् । हामी भोलि टुंग्याउने गरी लाग्छौँ ।’

    ओली पक्षबाट कार्यदल संयोजक रहेका नेता सुवास नेम्वाङले छलफल गम्भीर र सकरात्मक भएको बताए । उनले सहमतिमा पुग्न पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललगायतसँग छलफल गर्ने जानकारी दिए ।

    ‘अहिले जे जति तयारीहरू भएका छन्, त्यसमा टुंगोमा पुग्न आज दिनभर आवश्यक पर्छ भन्ने हामी टुंगोमा पुग्यौँ,’ नेम्वाङले भने, ‘तयारीको सिलसिलामा विभिन्न तहमा भएका प्रयासहरू समेतको कुरालाई ध्यानमा राखेर हाम्रा नेताहरू पार्टी अध्यक्ष केपी ओली र अर्का वरिष्ठ नेता माधवकुमार नेपाललगायत सबैसँग कुरा गर्दै, उहाँहरूको समेत ‘फिडब्याक’ लिएर हामीले टुंगोमा पुग्ने प्रयासहरू गरेका छौँ । त्यो समेतलाई ध्यानमा राख्दा आजको समय हामीले चाहिने आवश्यकता महसुस गर्‍यौँ र आज साँझ सम्ममा ती सबै काम भइसक्छन् ।’ उनले भोलि बिहान ११ फेरि छलफलमा बस्ने र भरसक चाँडै टुंगोमा पुग्ने बताए ।

    नेपाल पक्षका नेता एवम् कार्यदल सदस्य गोर्कण विष्टले विवादित मुद्दाहरूमा झन्डै-झन्डै निष्कर्षमा पुगेको बताए । ‘जुन-जुन मुद्दाहरूमा विवाद देखापरेको थियो, ती मुद्दामा समाधान खोज्ने सन्दर्भमा झन्डै-झन्डै निष्कर्षमा पुगिरहेका छौँ,’ उनले भने, ‘र, एउटा छोटो अवधिमा हामीले समस्याहरूको समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाउन सक्छौँ, सार्थक परिणाम प्राप्त गर्न सक्छौँ भन्ने कुरा कार्यदलको बैठकबाट हामीमा विश्वास आर्जन भएको छ ।’

    विष्टले छलफल भइरहेको र टुंगोमा पुग्न लागेको विषयको पनि संकेत गरे। उनले भने, ‘अदालतको फैसला मुताविक २०७५ जेठ २ गतेको अवस्थामा नेकपा (एमाले) फर्किइसकेपछि पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई पूर्ववत्ः अवस्थामा फर्काएर क्रियाशील बनाउने नेकपा (एमाले) केन्द्रीय कमिटीको सन्दर्भमा, संख्यामा जे विवाद थियो त्यो सन्दर्भमा पनि समाधान खोज्ने, नेकपा (माओवादी) को तर्फबाट नेकपा (एमाले) मा एकताको सन्दर्भमै रहनुभएका साथीहरूको व्यवस्थापन गर्ने विषय र प्रतिनिधिसभा विघटन र अदालतमा परेको मुद्दाको सन्दर्भमा समाधान खोज्ने गरी हामीले जुन भाषामा सहमति खोज्नुपर्थ्यो त्यो सन्दर्भमा धेरै हिसाबले हामी नजिक आइपुगेका छौँ ।’

  • भीम रावल माधव नेपाललाई भेटेर फर्किएपछि एमाले कार्यदलमा एकताबारे छलफल

    भीम रावल माधव नेपाललाई भेटेर फर्किएपछि एमाले कार्यदलमा एकताबारे छलफल

    काठमाडौं । नेकपा एमालेको एकताका लागि क्रियाशील बनेको कार्यदल बैठक बस्नुअघि भीम रावल माधव नेपालसँग परामर्श गर्न कोटेश्वर पुगेका छन् ।

    नेपाल पक्षका संयोजक रावलले अहिलेसम्मका सहमतिका विषयमा नेपाललाई जानकारी गराएको बताइएको छ । नेपाल समूहभित्रै असन्तुष्टी बढिरहेकाले रावल छलफलका लागि कोटेश्वर गएका हुन् ।

    रावल फर्किएसँगै अर्थमन्त्रालयमा दुवै पक्षको कार्यदलबीच छलफल शुरू भएको छ ।

    मंगलबार वार्ता टोलीको छलफल चलिरहेका बेला माओवादी अध्यक्ष प्रचण्ड माधव नेपाललाई भेट्न गएका थिए । त्यसपछिको विकासक्रमलाई समेत बुझेर रावल माधव नेपाल भेट्न गएका हुन् ।

  • एमाले कार्यदल : यी हुन् दुवै पक्षका अडान

    एमाले कार्यदल : यी हुन् दुवै पक्षका अडान

    काठमाडौं । नेकपा (एमाले)को एकतालाई पुनर्जिवन दिन ब्युँताइएको कार्यदल आइतबारदेखि निरन्तर छलफलमा छ । कार्यदलको आइतबार र सोमबार बसेको बैठक सकारात्मक भएको दुवै पक्षका नेताहरुले प्रतिक्रिया दिइरहेका छन् ।

    एमाले नेता एवम् नेपाल पक्षबाट कार्यदल संयोजक रहेका भीम रावलले हिजोको छलफलफलमा विषय प्रवेश नभएको र आज त्यसमा छलफल भएको जानकारी दिए ।

    ‘संगठनात्मक प्रणालीसँग सम्बन्धित विषयमा पनि छलफल गर्‍यौं,’ रावलले बैठकबारे संवाददाताहरुसँग भने, ‘अदालतको आदेशपछि नेकपा एमाले पुनर्जिवित भइसकेको अवस्थामा संगठनात्मक रुपमा जे जति समस्या थिए, त्यसको समाधान कसरी हुन्छ भनेर छलफल भयो । अब हामी कसरी अगाडि जान सक्छौं भनेर भोलि कुरा गर्छौं ।’

    ओली पक्षका संयोजक सुवास नेम्वाङले पनि कार्यदलको छलफल गहन, विस्तृत र विशाल भएको बताए ।

    विभाजनउन्मुख एमालेका दुवै पक्ष सहमति खोज्न फेरि कार्यदलमार्फत जुटेपछि धेरै नेता कार्यकर्ताहरु उत्साहित पनि भएका छन् । तर, बाहिर भएको जत्तिको उत्साह भने छलफलमा दुवैक्षले अगाडि सारेका अडानबाट मिल्ने देखिदैन ।

    कार्यदल ब्युँतिएपछिको पहिलो बैठकमा विषय प्रवेश नगरेकाले मंगलबार भएको बैठकमा अलि विस्तृतमा छलफल भएको छ । यो छलफल मुलतः तीन विषयको वरिपरि केन्द्रित छ, जहाँ दुवै पक्षले आ-आफ्ना अडान अघि सारेका छन् ।

    पहिलो अडान

    नेपाल पक्ष चाहान्छ सहमतिपछिको एमालेमा आफ्नो सम्मानजनक स्थान होस् । त्यसको अर्थ नेता नेपाल पनि पार्टीको निर्णायक पोजिसनमा रहुन्।

    नेपाल पक्षले पार्टीमा नेता नेपाललाई कार्यवाहक अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद वा पार्टीका महत्वपूर्ण निर्णयमा दुवै नेताको हस्ताक्षर हुनुपर्ने सहमति बनोस् भन्ने चाहान्छ । अर्थात, माधव नेपालले ‘नो’ भनेका निर्णय कार्यान्वयनमा जाने अवस्था नहोस् ।

    तर, संस्थापन पक्ष यस्ता कुरामा सहमति गर्न तयार छैन् । पार्टीभित्र केपी ओलीको मुट्ठी बाँध्ने गरि कुनै पनि सहमति नहुने कार्यदलमा रहेका ओली पक्षका एक नेता बताउँछन् ।

    पार्टी मिल्दा र नमिल्दा पनि केपी ओलीलाई ‘सेन्टर पावर’ बनाउने कुरामा दायाँ-बायाँ गर्न नसकिने उनको भनाइ छ। ‘केपी ओलीलाई सेन्टर पावर बनाउने विषय नै मुख्य हो,’ उनको भनाइ छ, ‘पार्टी मिल्दा पनि र नमिल्दा पनि केपी ओलीलाई नै सेन्टर पोइन्ट बनाएर जाने कुरा हो, यसमा दायाँ-बायाँ गर्न सकिन्न ।’

    दोस्रो अडान

    नेपाल पक्ष चाहान्छ- पार्टीका सबै कमिटीलाई २०७५ जेठ २ गते अघिको अवस्थाबाट क्रियाशील गराउन गराइयोस् । २०७५ जेठ ३ गते नेकपा एकताअघि एमालेको अन्तिम बैठकबाट मनोनीत भएका ४१ सदस्यलाई पनि सहमतिको आधारमा मात्र समावेश गरियोस् ।

    त्यस्तै रामबहादुर थापा (बादल)सहित माओवादी पक्षबाट नेकपा विघटनसँगै एमाले बनेका २३ जना नेताहरूलाई पनि सामेल गर्ने विषयमा पछि मात्रै निर्णय लिने अहिले नमान्ने ।

    यी विषयलाई अडान बनाउँदै नेपाल पक्षले असार १८ गते बोलाइएको केन्द्रीय कमिटी बैठकमा सहभागी भएन । तर, ओली पक्ष नेपाल पक्षको यस्तो अडानलाई स्वीकार गर्न तयार छैन् । जेठ २ मा आंशिक रुपमा फर्किए पनि पूर्णरुपमा त्यही जाने भन्ने कुरा मान्न नसकिने अडान ओली पक्षको छ।

    बरु मिलन बिन्दूको रुपमा नेकपाकालीन कमिटी ब्युँताउन सकिने ओली पक्षबाट कार्यदल सदस्य रहेका ती नेता बताउँछन् । ‘भाषा जे सुकै राखे पनि नेकपाकालीन कमिटी ब्युँताउने भन्ने कुरामा जाने हो,’ उनी भन्छन्, ‘तर पूर्ण रुपमा जेठ २ कै कमिटी क्रियाशिल बनाउने भन्ने कुरा बेक्कार हो।’

    माधव पक्ष बादल समूह र ४१ जना नेकपामा थपिएका एमालेहरुबाहेकको पहिलो बैठक राख्ने र केन्द्रीय कमिटीमा नवौं महाधिवेशनबाट निर्वाचित भएको अनुपातमा आफ्नो पक्षबाट पनि सदस्यहरु थपेरमात्र टुंगो लगाउनु पर्ने पक्षमा छ । अहिले कार्यदल यीनै विषयमा अल्झिएको छ ।

    तेस्रो अडान

    दोस्रो पटक संसद विघटन भएको विषयमा सर्वोच्च अदालतमा मा मुद्दा परेपछि त्यसको सुनुवाई समेत सकिएको छ । नेपाल पक्षसमेत शेरबहादुर देउवाको पक्षमा रिट लिएर सर्वोच्चमा गएको थियो । सर्वोच्चले यस विषयमा २८ गते फैसला गर्दैछ ।

    ओली पक्षले सर्वोच्च अदालको फैसला जे आउँछ त्यसमा पार्टीको संस्थागत धारणा बनाउने र अगाडि बढ्ने प्रस्ताव ल्याएको छ । यदि सर्वोच्चले संसद पुर्नस्थापित गरिदिएको खण्डमा सरकार कसको हुने भन्नेमा दुवै पक्षबीच विवाद छ ।

    ओली पक्ष संसद पुर्नस्थापित भएको खण्डमा पनि अहिले कै सरकारलाई निरन्तरता दिने भन्ने निर्णय कार्यदलबाट गराउन चाहान्छ । तर, नेपाल पक्ष एमाले कै नेतृत्वमा सरकार बनाउन प्रयास गर्ने भन्ने भाषा राख्नेमा जोड गरिरहेको छ । सरकार एमालेकै बनाउने तर प्रधानमन्त्रीका रुपमा ओलीको निरन्तरता नहोस् भन्ने नेपाल पक्ष चाहान्छ ।

    कार्यदलको बैठक भोलि फेरि बस्दै छ । भोलिको बैठकले यी बिषयलाई कतिको छिमोल्न सक्छ भन्ने कुराबाट नै एमालेले पुर्नजीवन पाउँछ या पाउँदैन भन्ने टुंगिने छ ।

  • एमाले कार्यदलको बैठक सकियो, ठोस प्रगति भएन

    एमाले कार्यदलको बैठक सकियो, ठोस प्रगति भएन

    काठमाडौं । नेकपा एमालेमा एकता कायम गर्न बनेको कार्यदलको बैठक सकिएको छ । बैठकबाट निस्किँदै नेताहरूले ठोस प्रगति नभएको संकेत गरेका छन् ।

    स्थायी समिति सदस्य रघुजी पन्तले भने, ‘हिजो बैठकमात्र बसिएको थियो, आज बुँदागत छलफल भयो । छलफल जारी रहन्छ । टुंगिन पनि सक्छ नटुंगिन पनि सक्छ ।’

    उनले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले संयुक्त वक्तव्य जारी गर्ने विषयमा कुनै छलफल नभएको जानकारी दिए ।
    अर्का नेता गोकर्ण विष्टले पनि छलफल जारी रहने बताएर बाहिरिए ।

    माधव पक्षका कार्यदलका नेता भीम रावलले पनि सबै सदस्यहरूले आ-आफ्नो सुझाव दिएको भन्दै भोलि पुन: छलफल हुने जानकारी दिए ।

  • एमाले कार्यदलबीच वार्ता जारी

    एमाले कार्यदलबीच वार्ता जारी

    काठमाडौं । नेकपा एमालेको कार्यदलबीच सिंहदरबारमा वार्ता जारी छ । फुटको संघारमा रहेको पार्टी जोगाउन गठित कार्यदलको आजको बैठकले सहमतिको मस्यौदा टुंगो लगाउने तयारी छ । संस्थापन र नेपाल पक्षबाट गठन गरिएको कार्यदललाई हिजो ब्युँताइएको थियो ।

    संस्थापन पक्षका संयोजक सुवास नेम्वाङले आजको बेठकले पार्टी एकताका लागि महत्वपूर्ण सन्देश दिने बताएका थिए ।

    हिजो साँझ बसेको कार्यदल बैठक सकारात्मक भएको नेताहरूले बताएका थिए । एमाले स्रोतका अनुसार आजको वार्ताले पार्टी र सिंगो देशलाई नै केही सकारात्मक सन्देश दिने गरी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको संयुक्त वक्तव्य आउने सम्भावना बढी छ ।

  • एमाले कार्यदल सहमति नजिक, आउला त ओली र नेपालको संयुक्त वक्तव्य ?

    एमाले कार्यदल सहमति नजिक, आउला त ओली र नेपालको संयुक्त वक्तव्य ?

    काठमाडौं । नेकपा एमालेको एकताका लागि गठित कार्यदलको बैठकले आज सहमतिको मस्यौदा टुंगो लगाउने भएको छ । दिउँसो बस्ने कार्यदल बैठकले पार्टी एकताका लागि महत्वपूर्ण सन्देश दिने वार्ता टोलीमा अध्यक्ष केपी ओली पक्षका संयोजक सुवास नेम्वाङले बताए ।

    सोमवार साँझ बसेको कार्यदल बैठक सकारात्मक भएको र अहिलेसम्म अनौपचारिक वार्तामा भएका सहमतिबारे छलफल भएको उनले बताए । आजको वार्ताले पार्टी र सिंगो देशलाई नै केही सकारात्मक सन्देश दिने उनको दावी छ ।

    एमाले स्रोतका अनुसार कार्यदलमा पार्टी एकताको सन्देश दिने मस्यौदामा समेत छलफल भएको छ । अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालले एमाले एकताको पक्षमा संयुक्त वक्तव्य निकाल्ने तयारी छ ।

    यसअघि आइतवार नेपाल निवास पुगेका सुवास नेम्वाङ, बिष्णु पौडेल र शंकर पोखरेलले एमाले एक छ भन्ने सन्देश दिन दुवै नेता भेटेर कुरा गर्न र संयुक्त वक्तव्य दिन आग्रह गरेका थिए ।

    नेपालले आफू त्यसमा सकारात्मक रहेको भन्दै कार्यदलमा छलफल गर्न सुझाव दिएका थिए । त्यसपछि अध्यक्ष ओलीले माधव नेपाल पक्षका कार्यदल संयोजक भीम रावललाई बोलाएर लामो कुराकानी गरेका थिए ।

    ओलीसँगको कुराकानीपछि रावल पार्टी एकता कायम गराउन अग्रसर भएको उनी निकट स्रोतले जनाएको छ । माधव नेपाललाई मनाउन सक्ने क्षमता पनि रावलमै रहेकाले ओलीले उनीसँग छलफल गरेको बताइन्छ ।

    कार्यदलमा सहमतिपछि सम्भवतः आज बेलुकासम्म दुई नेताको संयुक्त वक्तव्य आउनेछ । तर वक्तव्यको मस्यौदामा अझै टुंगो नलागेको एमाले स्रोतले जनाएको छ ।

    सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन सम्बन्धी शेरहवादुर देउवासहित माधव नेपाल पक्षले दायर गरेको रिटमाथिको सुनुवाइ सकिएर फैसलाको मिति तोकिएको एक साताको अवधिलाई पार्टी एकता कायम गर्ने अवसरका रुपमा लिन एमाले नेतृत्वमाथि दबाब छ ।

    सर्वोच्च अदालतको फैसला बमोजिम पार्टीले संस्थागत निर्णय गरेर अघि बढ्ने आशयको भाषा राखेर एमालेको सांगठानिक जीवनलाई २०७५ जेठ २ को प्रस्थानविन्दूबाट अघि बढाउने विषयमा वार्ता टोली सहमति नजिक पुगेको छ ।

  • कार्यदलको बैठकपछि माधव पक्षका नेताले भने : सकारात्मक भयो

    कार्यदलको बैठकपछि माधव पक्षका नेताले भने : सकारात्मक भयो

    काठमाडौं । नेकपा एमालेको एकता कायम गर्नकालागि सिंहदरबारमा बसेको कार्यदल बैठक सकिएयो छ । बैठक सौहार्दपूर्ण र सकारात्मक रहेको नेताहरुले बताएका छन् ।

    बैठकबाट निस्केर एमाले उपाध्यक्ष भीम रावलले पार्टीभित्रका आन्तरिक समस्यामाथि गम्भीर विश्लेषण भएको बताए ।

    उनले भने, ‘आज कुनै निश्चित विषयवस्तुमा प्रवेश गरेनौं । समस्या समाधानका लागि सबैले प्रयास गर्ने र पार्टीमा एकता कायम गर्ने विषयमा छलफल भयो । यो बैठकलाई निरन्तरता दिने सहमति भएको छ ।’

    माधव पक्षकै अर्का नेता गोकर्ण विष्टले पनि बैठक हार्दिक र सकारात्मक भएको बताए । एमालेका सबै कार्यकर्ता तथा आमजनताले पनि पार्टी एकताको अपेक्षा राखेको भन्दै उनले यसका लागि आफूहरु गम्भीर रहेको बताए ।

    ‘आजको बैठकमा विभिन्न विषयमा रिपोर्टिङ भएका छन् । यसअघि अनौपचारिक तवरमा भएका कुराहरुलाई औपचारिक छलफलमा ल्याइएको छ । शीर्ष नेतृत्वमा पनि औपचारिक संवादको वातावरण बनेको छ,’ उनले भने ।

  • ओलीको अल्टिमेटम माधव पक्षलाई अश्वीकार्य, देउवालाई दिएको समर्थन फिर्ता नहुने

    ओलीको अल्टिमेटम माधव पक्षलाई अश्वीकार्य, देउवालाई दिएको समर्थन फिर्ता नहुने

    काठमाडौं । नेकपा एमालेले कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको समर्थन फिर्ता लिन माधव नेपाल पक्षलाई दिएको अल्टिमेटम आज साँझ सकिँदैछ ।

    एमाले केन्द्रीय कमिटीको असार १८ र १९ गते बसेको बैठकले देउवालाई दिएको समर्थन फिर्ता लिन आज साँझ ५ बजेसम्मको समय दिएको छ ।

    अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चको फैसला आउँदासम्म ज जसको हस्ताक्षर देउवाको पक्षमा कायम रहन्छ उनीहरु एमाले हुन नसक्ने बताइसकेका छन् ।

    बैठकपछि पनि उपमहासचिव बिष्णु पौडेलसहित नेताहरु सुवास नेम्वाङ र शंकर पोखरेलले माधव नेपाललाई भेटेर एमाले एक छ भनेर सन्देश दिन अध्यक्ष ओली र नेपालको संयुक्त वक्तव्य जारी गर्न सुझाव दिएका थिए ।

    नेपालले आफू सकारात्मक रहे पनि वक्तव्यको मस्यौदा कार्यदलले तयार पारोस् भनेका थिए । त्यसका लागि ओलीसँग भेटेर छलफल गर्न गर्न आफूहरुले गरेको आग्रह नेपालले अश्वीकार गरेको पौडेलले बताएका छन् ।

    विघटित प्रतिनिधिसभाका २३ जना एमाले सांसदले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश माग गरिएको रिटमा हस्ताक्षर समेत गरेका छन् । संवैधानिक इजलासमा भइरहेको उक्त रिटमाथिको सुनुवाई सम्भवतः आज सकिदैछ ।

    प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले अदालतमा सुनुवाइ नसिकदै एमालेका सांसदहरुको समर्थन देउवालाई नरहेको र एमालेका १२१ जना सांसद एक ठाउँमा रहेको सन्देश दिन खोजेका छन् ।

    त्यसका लागि केन्द्रीय कमिटी बैठकमार्फत उनले हस्ताक्षर फिर्तालाई पार्टी एकताको शर्त बनाएका हुन् । तर नेपाल पक्षले भने सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको फैसला कुर्ने भन्दै हस्ताक्षर फिर्ता नलिने अडान राखेको छ ।

    हस्ताक्षर फिर्ताको कुरा बाहेक अन्य कुरामा सहमति गरेर पार्टी एकताको प्रक्रिया अघि बढाउन सकिने नेपाल पक्षको भनाइ छ । तर अध्यक्ष ओलीले हस्ताक्षर फिर्ता नभए एमाले एकताको च्याप्टर बन्द हुने बताएका छन् ।

    यसबीचमा वार्तामा सहभागी माधव पक्षका नेताहरुले माधव नेपाललाई प्रभावित पार्न सक्ने नेता भीम रावलसँग छलफल गर्न ओलीलाई सुझाव दिएका थिए । ओलीले रावललाई आइतवार साँझ बोलाएर बालुवाटारमा करीव डेढ घण्टा कुरा गरेका थिए ।

    अ‍ोलीलाई भेट्नुअघि रावल माधव नेपाललाई भेट्न कोटेश्वर गएका थिए । अ‍ोली र रावलबीच के कुरा भयो भन्ने दुवै पक्षले खुलाएका छैनन् । तर सर्वोच्च अदालतको फैसला जे आउँछ त्यस आधारमा एमाले एकता हुनसक्ने भन्दै रावलले हस्ताक्षर फिर्ता नहुने जानकारी दिएको बताइएको छ ।

    ओलीले सर्वोच्च अदालतको फैसला आएको भोलिपल्ट विहान ११ बजे केन्द्रीय कमिटीको बैठक बस्ने र त्यस बैठकले असाधारण निर्णय गर्ने बताएका छन् ।

    माधव नेपाल निकट नेता जगन्नाथ खतिवडाले सर्वोच्चको फैसलाअघि एमालेका २३ जनामध्ये कुनै पनि सांसदले देउवालाई प्रधानमन्त्री बनाउन दिएको समर्थन फिर्ता नलिने बताए ।

  • माधव नेपाललाई विपक्षी गठबन्धनबाट फर्काउने प्रयास असफल

    माधव नेपाललाई विपक्षी गठबन्धनबाट फर्काउने प्रयास असफल

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई विपक्षी गठबन्धनबाट फर्काउने प्रयास असफल भएको छ ।

    पार्टी एकताका लागि वार्ता गरिरहेका नेताहरूले आइतबार बिहान नेपाललाई उनकै निवास कोटेश्वरमा पुगेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिएर पार्टी एकतामा फर्किन आग्रह गरेका थिए ।

    नेपाल गठबन्धनबाट फर्किए उनले भने बमोजिम नै पार्टी अघि बढ्ने भन्दै आफूहरूले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न सुझाव दिएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङ नेम्वाङले बताए ।

    नेम्वाङले नेपाल प्रेससँग भने, हामीले उहाँलाई भेटेर आग्रह गरेका छौं । तपाईहरू दुई नेता मिल्नुस्, मिल्नुको विकल्प छैन भनेका छौं । अध्यक्षले भेटेर कुरा गर्न खोज्नु भएको छ, तपाईं कुरा गर्नुस् भन्यौं । तर उहाँले कुनै प्रतिक्रिया जनाउनुभएन ।

    नेता नेम्वाङले आफूहरुले दुई नेता मिलेको सन्देश दिन आग्रह गरेको बताए । नेपालले वार्तामा रहेका अन्य नेताहरुसँग समेत सल्लाह गरेर खबर गर्ने बताएको उनको भनाइ छ । नेम्वाङले भने, ‘उहाँले हाम्रो कुरा सकारात्मक छ भन्नुभयो । अरु साथीहरूसँग पनि सल्लाह गर्छु भन्नुभएको छ । एमाले मिलेको सन्देश दिन दुई नेता बसेर कुरा गर्नुस् भनेका छौं हामीले, त्यो भनेको विपक्षी गठबन्धनबाट फर्किनुस् भनेको हो । नेपाललाई भेट्न उपमहासचिव विष्णु पौडेल र नेताहरू सुवास नेम्वाङ तथा शंकर पोखरेल पुगेका थिए । नेपाल निवासमै वार्ताकार अर्का सदस्य घनश्याम भुसाल पनि थिए । भुसालले नै वार्ताको वातावरण बनाइरहेका छन् ।

    नेपालले सर्वोच्चमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने र एमालेका सांसदको समर्थन देउवालाई छैन भनेर अदालतमा लेखेर पठाउने उद्देश्यले ओलीले जालझेल गर्न खोजेको भन्दै आफू गठबन्धनबाट पछि नहट्ने बताएको स्रोतले जनाएको छ ।

    नेपाललाई भेट्न वार्ता टोलीमा रहेका दुवै पक्षका नेताहरू गएका थिए । यसअघि वार्ता टोलीबीच तीन बुँदे अनौपचारिक सहमति समेत भएको थियो । तर सर्वोच्चको फैसलाअघि ओलीसँग कुनै सम्झौता गर्ने पक्षमा नेपाल छैनन् ।

    उनले अदालतमा चलिरहेको मुद्दालाई बाहेक राखेर एमालेको एकताका लागि अघि बढ्न सकिने र त्यसका लागि आफू र ओलीले गठन गरेको वार्ता टोलीलाई नै पुनः सक्रिय बनाउनुपर्ने बताएका छन् ।

  • ओली र माधवबीच एक-अर्काको रिस नमरुन्जेल पार्टी एकता जटिल : वामदेव

    ओली र माधवबीच एक-अर्काको रिस नमरुन्जेल पार्टी एकता जटिल : वामदेव

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता जोगाउन आफू प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीतिर लागेको बताएका छन् ।

    संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुराकानी गर्दै उपाध्यक्ष गौतमले पार्टी एकतामा देखिएको बाधा हटाउन आफूले प्रयास गरिरहेको बताएका छन् ।

    ‘अहिले हाम्रो पार्टीमा माधव, झलनाथ एकातिर केपी एकातिर हुनुभयो । पार्टी एकता गराउनकै निम्ति भनेर म केपी ओलीतिर लाग्या छु । मैले एकताको प्रस्ताव अस्ति केन्द्रीय कमिटीको बैठकमा राखेँ । बैठकले नै मलाई एकताको प्रयत्न गर्न जिम्मेवारी दिएको छ’, गौतमले भने । उनले अहिले अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल एक-आपसमा रिसाएको अवस्था रहेको भन्दै रिस शान्त नभएसम्म एकता जटिल रहेको बताए ।

    ‘माधव कमरेड धेरै रिसाउनुभएको छ केपी ओलीजी सँग, केपी ओली पनि माधवसित बेस्सरी रिसाउनुभएको छ । यी दुईटाको रिस नमर्दासम्म उहाँहरूको मातहतमा रहेका साथीहरूको पनि चिन्ताले काम लाग्नेवाला छैन । म यी दुईटैको रिसलाई कसरी शिथिल बनाउन सकिन्छ । हो, त्यतातिर लागिरहेको छु’, गौतमको भनाइ छ ।

    सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दामा फैसला दिएपछि पार्टी एकतामा सहजता हुने गौतमको दावी छ । ‘एकता सम्भव छ । अहिले संभव नहोला । सर्वोच्चको निर्णय आएपछि एकता संभव होला भन्ने लागेको छ’ गौतमले भने ।

  • माधव नेपालले के भनेर फर्काए ओली पक्षका नेताहरूलाई ? (भिडियाेसहित)

    माधव नेपालले के भनेर फर्काए ओली पक्षका नेताहरूलाई ? (भिडियाेसहित)

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न अस्वीकार गरेको बताएका छन् ।

    संस्थापनपक्षबाट पौडेलसहितको टोलीले विपक्षी गठबन्धन छाडेर एमालेमा फर्किन आग्रह गर्दै नेता नेपाललाई उनकै निवास कोटेश्वरमा भेटेको थियो । भेटमा प्रधानमन्त्रीसँग भेटेर समस्या समाधान खोज्न आग्रह गर्दा नेता नेपालले रुची नदेखाएको नेता पौडेलले बताए ।

    ‘माधव कमरेडको म, सुवासजी र शंकर जी भएर गएका थियौं । उहाँसँग एकछिन कुराकानी भयो । पार्टीलाई एकताबद्ध गरेर लिएर जाउँ । हाम्राबीचमा समाधान गर्न नसकिने त्यस्ता कठिन र जटिल समस्याहरू छैनन् । तपाईंहरू एक-आपसमा बस्नुहोस्’,पौडेलले संचारकर्मीसँग भने, ‘ हामी पनि आपसमा विभिन्न साथीहरूसँग छलफलमा छौं । समाधान खोजेर अगाडि जाउँ । पार्टी अध्यक्ष र तपाईंको बीचमा मिटिङ होस् हामी त्यो चाहन्छौँ । भनेर हामीले प्रस्ताव राख्यौँ । खासगरी प्रधानमन्त्रीसँग भेट्नका लागि उहाँले अरुची प्रकट गर्नुभयो । ठीकै छ छलफल गर्दे जाउँ भनेर हामी उठ्यौँ ।’

  • नेताहरुलाई माधव नेपालको निर्देशन- नमिठो नबोल्नू, ओली प्रवृत्तिबाहेक व्यक्तिको विरोध नगर्नू

    नेताहरुलाई माधव नेपालको निर्देशन- नमिठो नबोल्नू, ओली प्रवृत्तिबाहेक व्यक्तिको विरोध नगर्नू

    काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफू निकट नेता कार्यकर्तालाई मान्छे भड्किने खालका कुनै पनि अभिव्यक्ति नदिन निर्देशन दिएका छन् । नेपालले आफैं फोन गर्दै र बैठकहरुमा समेत एमाले विवादका सन्दर्भमा झगडालु अभिव्यक्ति नदिन भनेका छन् ।

    केही दिनअघि नेपालले स्वकीय सचिव मोहन गौतममार्फत जगन्नाथ खतिवडा, मेटमणि चौधरी, झपट रावल, निरा जैरु, विरोध खतिवडा, राजेन्द्र राई लगायतका नेतालाई फोन गरेर संयमित अभिव्यक्ति दिन सुझाएको एक नेताले बताए । कतिपय नेतालाई नेपाल आफैंले कोही पनि नेता कार्यकतालाई घोचपेच हुने झगडालु अभिव्यक्ति नदिन सुझाएका हुन् ।

    नेपालको निर्देशन पाएका एक नेताले भने, ‘केपी ओली प्रवृतिको विरोध गर्ने तर व्यक्तिगत रुपमा कसैलाई गाली नगर्ने भन्ने उहाँको निर्देशन छ । पार्टी एक हुन पनि सक्छ नहुन पनि सक्छ । तर नजिक भएकालाई टाढा बढाउने र टाढा भएकालाई नजिक आउन बाटो नराख्ने गरी कसैले पनि अभिव्यक्ति नदिनु भनेर उहाँलाई बारम्बर भनिरहनुभएको छ ।’

    केही समययता पार्टी एकताका लागि वार्तामा रहेका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम आचार्य, योगेश भट्टराई लगायतका नेताहरुको भूमिकालाई लिएर माधव पक्षकै नेता कार्यकर्ताले टिप्पणी गरिरहेका छन् ।

    माधव नेपालको तर्फबाट वार्ता गरिरहेको नेताहरुको आलोचना केन्द्रीय सदस्यहरुबाटै भएपछि नेपालले नमिठो नबोल्न निर्देशन दिएका छन् ।

    ‘आफूले भ्याएसम्म आफैंले पनि हामीलाई कयौं चोटी मान्छेलाई नकारात्मक बनाउने अभिव्यक्ति नदिनुस् है ! ठिक्क बोल्नुस् है ! ओलीतिर रहेका मान्छेलाई पनि गाली नगर्नुस्, आउने बाटो बन्द नगर्नुस् भन्नुभएको छ,’ एक केन्द्रीय सदस्यले भने, यसपटक माधव कमरेड आफ्नो अडानबाट तलमाथि नहुने तर अभिव्यक्ति संयमित दिने भन्ने लाइनमा हुनुहुन्छ’ ।

  • माधव नेपाललाई मनाउन वार्ता टाेलीका नेताहरु कोटेश्वर पुगे

    माधव नेपाललाई मनाउन वार्ता टाेलीका नेताहरु कोटेश्वर पुगे

    काठमाडौं । नेकपा एमालेको एकता कायम गर्नका लागि अनौपचारिक वार्ता गरिरहेका दुवै पक्षका वार्ताकार नेताहरु माधव नेपाललाई मनाउन उनकै निवास कोटेश्वर पुगेका छन् ।

    केही दिनयता लगातार छलफल गरेर सहमतिको मस्यौदा समेत बनाइसकेका नेताहरुले संयुक्त रुपमा नेपाललाई वार्तामा भएका विषयको ब्रिफिङ गरेका छन् । यसअघि नेपाल पक्षधर नेताहरुले मात्र ब्रिफिङ गरेकामा आज ओली पक्षबाट वार्तामा रहेका उपमहासचिव बिष्णु पौडेलसहित शंकर पोखरेल र सुवास नेम्वाङ पनि नेपाललाई मनाउन गएका छन् ।

    एमालेको केन्द्रीय कमिटी बैठकले सोमवार साँझसम्म शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिने समय दिएको छ । त्यस बेलासम्म हस्ताक्षर फिर्ता नभए एकताको औचित्य सकिने अध्यक्ष ओलीले बताइसकेका छन् ।

    एमाले बैठकले माधव नेपाललाई विपक्षी गठबन्धन वा एमालेमध्ये एक रोज्न विकल्प दिएको भोलिपल्ट वार्ताकार नेताहरुले नेपाललाई भेटेका हुन् ।

    समिट होटलमा पछिल्लो समय दिनहुँ भइरहेका वार्तामा ओली पक्षबाट बिष्णु पौडेल,सुवास नेम्वाङ र शंकर पोखरेल सहभागी छन् । वार्तामा प्रदीप ज्ञवाली र बिष्णु रिमाल पनि बेला बेला सहभागी हुने गरेका छन् ।

    त्यसतै नेपाल पक्षबाट घनश्याम भुसाल,सुरेन्द्र पाण्डे,भीम आचार्य र गोकर्ण विष्ट सहभागी हुने गरेका छन् । यी नेताहरुबीच विहीवार साँझ सहमतिको मस्यौदा समेत बनेको थियो । तर माधव नेपाल शुक्रवार आफ्नै समूहका नेताहरुको समेत सम्पर्कमा नरहेपछि मस्यौदा अलपत्र परेको बताइएको छ ।

  • माधव पक्षलाई केन्द्रीय कमिटीको अल्टिमेटम– एमाले रोज्ने कि विपक्षी गठबन्धन ? (भिडियो)

    माधव पक्षलाई केन्द्रीय कमिटीको अल्टिमेटम– एमाले रोज्ने कि विपक्षी गठबन्धन ? (भिडियो)

    काठमाडौं । माधव नेपाल पक्षको सहभागिताबिनै नेकपा एमालेको १३ औं केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । अब १४ औं केन्द्रीय कमिटी बैठक प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले फैसला गरेको भोलिपल्ट बस्ने निर्णय समेत भएको छ ।

    माधव नेपाल पक्षसँग सहमति हुन नसकेपछि एमालेले अब आइतबार साँझसम्मको डेडलाइन तोकेको छ । आइतबार साँझसम्म विपक्षी गठबन्धनमा लागेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन विघटित प्रतिनिधिसभाका २३ जना सदस्यलाई निर्देशन दिएको छ ।

    आइतबार साँझसम्म हस्ताक्षर फिर्ता नभए उनीहरु एमालेमा नरहेको स्वतःसिद्ध हुने बैठकपछि प्रचार विभागका उपप्रमुख सूर्य थापाले बताए । अध्यक्ष ओलीले पनि सर्वोच्चको फैसला आउँदासम्म ज–जसको हस्ताक्षर कायम रहन्छ उनीहरु एमाले नहुने बताइसकेका छन् ।

    सर्वोच्चको फैसलासँगै एमाले विभाजनको औपचारिक प्रक्रिया पूरा हुने संकेत देखिएका छन् । वरिष्ठ नेता माधव नेपालले हस्ताक्षरकर्ता सांसदहरुसँग शनिबारै छलफल गरेका थिए । उनले हस्ताक्षर फिर्ता लिनु आत्महत्यासरह हुने भन्दै केपी ओलीसँग मिल्न नसकिने बताइसकेका छन् ।

    माधव नेपाल पक्षधर वार्ताकार नेताहरुले समेत उनलाई मनाउन गरेको प्रयास असफल भएको छ । बिहीबार साँझ दुवै पक्षका दोस्रो तहका नेताहरुबीच भएको सहमति लागू नभएपछि एकताको सम्भावना टरेको हो । यद्यपि, माधव नेपाल पक्षका वार्ताकार नेताहरुले अझै सम्भावना बाँकी रहेको बताइरहेका छन् ।

    तर शनिबार दिउँसो समिट होटलमा बसेको बैठक निष्कर्षमा पुग्न सकेन । माधव नेपालले हस्ताक्षर फिर्ताको ओलीको शर्त मानेर एकताको औचित्य नरहेको बताएपछि परिस्थिति अर्को दिशामा गएको छ । संसद विघटन र अदालतमा विचाराधीन मुद्दासँग एमालेको एकताको सम्बन्ध नरहेको नेपाल पक्षको तर्क छ ।

    तर एमालेले भने विपक्षी गठबन्धन रोज्ने कि एमाले रोज्ने भन्ने अन्तिम विकल्प दिएको छ । यसबीचमा विपक्षी गठबन्धन छाडेर फर्किनेलाई एमालेमा पूर्ववत् जिम्मेवारी दिइने महासचिव ईश्वर पोखरेलले बताए । तर विपक्षी गठबन्धनमा जानेहरु एमालेबाट स्वतः बाहिरिएको मानिने उनको भनाइ छ ।

    एमालेको दशौं महाधिवेशन आयोजक कमिटी भंग गरेर केन्द्रीय कमिटी बैठक बोलाउनुको मुख्य उद्देश्य सर्वोच्च अदालतको आदेश कार्यन्वयन र माधव पक्षको मागको सम्बोधन नै थियो । माधव पक्ष बैठकमा सहभागी नभए पनि अब केन्द्रीय कमिटी बैठकको निर्णयका आधारमा भोलि विपक्षी गठबन्धनमा लागेका सांसदलाई कारवाही गर्ने आधार ओलीले बनाएका छन् ।

    माधव नेपाल ओलीसँग वार्ता गर्ने वा एमालेमा क्रियाशील हुने सम्भावना कम्तिमा पनि सर्वोच्च अदालतको फैसलाअघि छैन । उनी आफ्नो पक्षका नेताहरुको दबाबमा परिन्छ भनेर शुक्रबार सम्पर्कविहीन समेत भए । नेपालले अलग पार्टीको अभ्यास गरिसकेका छन् ।

    नेपालनिकट स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले सर्वोच्च अदालतको फैसला आएको भोलिपल्ट आफूहरुले पनि नयाँ पार्टीको फैसला गर्ने बताइसकेका छन् । तर पनि सुरेन्द्र पाण्डेलगायतका नेताहरु माधव नेपालसहितको एमाले एकताका लागि प्रयास गरिरहेका छन् ।

    अहिलेको अवस्था भनेको माधव नेपालले विपक्षी गठबन्धन छाड्न नसक्ने र दोस्रो तहका वार्ताकार नेताले माधव नेपाल छाड्न नसक्नेमा देखिन्छ । माधव नेपाल समूह सग्लै एमालेबाट अलग हुन्छ कि केही नेता एमालेमै रहन्छन् ? अबको प्रश्न यतिमात्र हो ।

  • एमालेको विधान महाधिवेशन किन ? मुख्य नेतालाई तोकियो जिम्मेवारी

    एमालेको विधान महाधिवेशन किन ? मुख्य नेतालाई तोकियो जिम्मेवारी

    काठमाडौं । नेकपा एमालेले साउन २५ देखि २७ सम्म हुने विधान महाधिवेशनका लागि तयारी गर्न मुख्य नेताहरूको जिम्मेवारी तोकेको छ ।
    शनिबार बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन लेखनको जिम्मेवारी दिएको छ ।

    त्यस्तै, महासचिव ईश्वर पोखरेलले महाधिवेशनमा सांगठनिक प्रतिवेदन पेश गर्ने भएका छन् । बैठकले उपमहासचिव विष्णु पौडेललाई विधान संशोधन सम्बन्धी प्रस्ताव तयार पार्ने जिम्मा दिएको छ भने स्थायी कमिटी सदस्य रामवहादुर थापा बादललाई विधान महाधिवेशन व्यवस्थापन कमिटीको जिम्मा दिएको छ ।

    एमालेको नवौं महाधिवेशनले विधान महाधिवेशनको निर्णय गरेको थियो । विधान संशोधन तथा पार्टीको नीति कार्यक्रम र विचारका बारेमा छलफल गर्न विधान महाधिवेशन परिकल्पना गरिएको हो ।

    दशौं राष्ट्रिय महाधिवेशन अब नेतृत्व चयनका लागि मात्र हुनेछ । पार्टीको महाधिवेशनमै नीति र नेतृत्वको बहस हुँदा सबैको ध्यान नेतृत्व चयनमा केन्द्रित हुँदा व्यवस्थित ढंगले कार्यदिशा, विधान र विचारमाथि छलफल हुन नसकेकाले अब नीतिको बहस विधान महाधिवेशनमा हुने एमाले नेताहरू बताउँछन् ।

  • पुनर्बहाली पाएका सांसदले सर्वोच्चको आदेश कार्यान्वयन नगरेको एमालेको आरोप

    पुनर्बहाली पाएका सांसदले सर्वोच्चको आदेश कार्यान्वयन नगरेको एमालेको आरोप

    सुर्खेत । नेकपा एमालेले सर्वोच्चबाट पुनर्बहाली पाएका कर्णालीका आफ्ना चारमध्ये तीन जना सांसदले आदेश कार्यान्वयन नगरेको आरोप लगाएको छ ।

    एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले सर्वोच्च अदालतले जिम्मेवारीमा फर्काइदिए पनि आफ्ना सांसद भने दलको नियमित वैठकमा नफर्किएको बताए । ‘आदेश हामीले कार्यान्वयन गरिसकेका छौं । उहाँहरुले ढिलाई गर्नुभएको छ,’ कँडेलले भने, ‘उहाँहरु एमाले सांसदकै हैसियतमा पुनर्वहाली हुनुभएको हो । सोही अनुसार भूमिका निर्वाह हुने अपेक्षा गरेका छौं ।’

    उनले सदनमा दुईवटा एमाले नभएको बताउँदै एमालेले सबै माग सम्वोधन गर्ने प्रतिबद्धता जनाए पनि तीन जना सांसदहरु दलको बैठकमा नआउनु आश्चर्यजनक रहेको बताए ।

    ‘उहाँहरुले एमालेमै रहन पाउँ भनेर मुद्दा हाल्नुभएको हो । उहाँहरु अहिले एमाले मै हुनुहुन्छ तर उहाँहरु दलको वैठकमा आउनु भएको छैन,’ कनडेलले भने, ‘उहाँहरुलाई सहज होस भनेर धेरै प्रयास गरेका छौं ।’ उनले दलको विधान बमोजिम अघि बढनुपर्ने बताउँदै तीनै जना मन्त्रीलाई मार्ग प्रशस्त गरेर आउन आव्हानसमेत गरे ।

    सरकारमा अहिले एमालेका कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढा मन्त्रीका रुपमा छन् । पार्टी निर्णयविपरित फ्लोर क्रस गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको भन्दै पार्टीले कारबाही गरेका उनीहरुलाई सर्वोच्चले थमौती दिएको थियो ।

    मुख्यमन्त्रीले मन्त्री पुरस्कार दिएपछि उनीहरु दलको बैठकमा भने सहभागी भइरहेका छैनन् ।

  • गणेश पहाडीसँगै कमलजंग राई दनुवारले पनि छाडे माधव समूह

    गणेश पहाडीसँगै कमलजंग राई दनुवारले पनि छाडे माधव समूह

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले बहिष्कार गरेको शुक्रबारको केन्द्रीय कमिटी बैठकमा सो समूहका दुई केन्द्रीय सदस्य सहभागी भएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्‍मा १२ दिन मन्त्री बनेका गणेश पहाडीसहित उनकै गृहजिल्ला सिन्धुलीका तत्कालीन नेकपा एमालेका इन्चार्ज कमलजंग राई दनुवार पनि शुक्रबारबाट ओली पक्षमा खुलेका छन् ।

    बालुवाटारमा भएको बैठकमा पहाडी र राई पहिलोपटक सहभागी भएका हुन् । यसअघि नवौं राष्ट्रिय महाधिवेशनमा दुवैजना माधव नेपाल प्यानलबाट निर्वाचित भएका थिए ।

    नेकपा विभाजनपछि पनि दुवै नेता प्रचण्ड-माधव पक्षमा थिए । नेकपा एमाले व्युँतिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिने बेलासम्म पहाडी माधव पक्षमै रहेर अनुपस्थित भएका थिए ।

    तर, शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा उभिन नमानेका उनी पछिल्लोपटक संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री थिए । पहाडी र दनुवार एमाले ब्युँतिएपछिको बैठकमा पहिलोपटक सहभागी भएका हुन् ।

    यसअघि तत्कालीन नेकपा विभाजनका बेला पूर्वमाओवादी पृष्ठभूमिका केन्द्रीय सदस्य विषमलाल अधिकारी दनुवार र पूर्व सांसद निरु दर्लामी कुँवर केपी ओली पक्षमा लागेका थिए ।

    शुक्रबारको बैठकमा उपाध्यक्ष वामदेव गौतमसहित उनीनिकट नेता हरि पुाजुली पनि पहिलोपटक सहभागी भएका छन् ।

  • एमाले केन्द्रीय कमिटी बैठक सकियो, भोलि पुन: बस्ने

    एमाले केन्द्रीय कमिटी बैठक सकियो, भोलि पुन: बस्ने

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको आजको बैठक सकिएको छ । बैठक भोलि पुन: बस्नेछ ।

    एमालेले १० औं महाधिवेशन आयोजक कमिटी भंग गर्दै २०७५ जेठ २ को अवस्थामा पार्टी फर्किएको घोषणासहित आज केन्द्रीय कमिटीको १३ औं बैठक डाकेको थियो । यथास्थितिमा केन्द्रीय कमिटी बैठक डाकिएको भन्दै माधव नेपाल पक्ष भने सहभागी भएन । वामदेव गौतम भने उपस्थित भएका छन् ।

    नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन निर्देशन दिएको छ ।विघटित प्रतिनिधिसभाका माधव नेपाल र झलनाथ खनालसहितका २३ सदस्यलाई हस्ताक्षर फिर्ता लिएर पार्टीको पक्षमा उभिन निर्देशन दिएको हो ।

  • ओलीको घोषणा- देउवालाई दिएको समर्थन दुई दिनभित्र फिर्ता नलिए पार्टी एकता हुन्न

    ओलीको घोषणा- देउवालाई दिएको समर्थन दुई दिनभित्र फिर्ता नलिए पार्टी एकता हुन्न

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई दिनभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर माधव पक्षले फिर्ता नलिए पार्टी एकता नहुने प्रष्ट पारेका छन् ।

    केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन एमालेका सांसदले हस्ताक्षर गर्ने कुरा कुनै हालतमा स्वीकार्य नहुने बताए ।

    ओलीले भने, ‘यदि सोमवार साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता भएन भने पार्टी एकता हुन्न । कांग्रेसको नेतालाई प्रधानमन्त्री बनाउन एमालेका सदस्यलाई छुट छैन । यो कुरा किमार्थ स्वीकार्य छैन । त्यसो गर्नु भनेको पार्टी फुटको घोषणा हो ।’

  • ‘माधवजीलाई भेटौं भनेर फोन गरेँ तर साथीहरुको दबाबले मात्र फोन उठाएँ भन्नुभयो’

    ‘माधवजीलाई भेटौं भनेर फोन गरेँ तर साथीहरुको दबाबले मात्र फोन उठाएँ भन्नुभयो’

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालले आफूसँग कुरै गर्न नचाहेको गुनासो गरेका छन् । केन्द्रीय कमिटीको शुक्रवारको बैठकमा ओलीले आफूसँग नेपालले वार्ता गर्न नचाहेको सुनाएका हुन् ।

    बिहीबार बेलुका आफूले भेटौं भनेर आग्रह गरेको बताउँदै ओलीले २०-२५ मिनेट फोनमा कुरा भएको पनि जानकारी दिए ।

    ओलीले भने, ‘मैले भेटौं भनेर हिजो बेलुकी माधवलाई फोन गरें । २०-२५ मिनेट कुरा गरेँ । भेटौँ भन्दा माधवले मान्नुभएन । ‘मलाई तपाईंको फोन नै उठाउने मन थिएन, साथीहरूको दबाबले मात्र उठाएको हुँ’ भन्नुभयो ।

  • वामदेवले भने- म भए एमालेबाट राजीनामा दिएरमात्र देउवाको पक्षमा हस्ताक्षर गर्थेँ

    वामदेवले भने- म भए एमालेबाट राजीनामा दिएरमात्र देउवाको पक्षमा हस्ताक्षर गर्थेँ

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले व्यक्तिगत रूपमा आफू पार्टी अध्यक्ष केपी ओलीको पक्षमा रहेको भन्दै एकताको प्रयासलाई सार्थक निष्कर्षमा पुर्याउन आग्रह गरेका छन् ।

    केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै गौतमले मुख्य नेतालाई सम्मानजनक व्यवहार गरिएन भने तलको पंक्ति भड्किने भन्दै माधव नेपालसहितको एकता हुनुपर्ने बताए ।

    उनले भने, ‘मैले आजसम्म मित्रघात गरेको छैन, जे भनिरहेको छु यो हाम्रो हितमा छ । व्यक्तिगत रूपमा म ओलीकै पक्षमा छु । तर, मुख्य नेतालाई अपमान गरेर एकता हुँदैन, हतार गर्नुहुन्न, माधव नेपालसहितको एकता हुनुपर्छ ।’

    गौतमले एमालेका सांसदले कांग्रेस सभापतिलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नु अनैतिक भएको समेत बताए ।

    उनले भने, ‘म भएको भए पार्टीबाट राजीनामा दिएर मात्रै देउवाका पक्षमा हस्ताक्षर गर्ने थिएँ ।’

    गौतमले माधव नेपालसहितको एमाले एकतामा जोड दिदै महाधिवेशनबाट निर्वाचन हुँदा केन्द्रीय कमिटीमा माधव नेपालका ९ जना मात्र सदस्य कम रहेको स्मरण गराउँदै पार्टी आधा आधा विभाजित अवस्थामा रहेको बताए ।

  • वामदेवलाई ओलीको स्वागत : तपाईं अब आउने-जाने होइन सधैँ आइरहनुपर्छ

    वामदेवलाई ओलीको स्वागत : तपाईं अब आउने-जाने होइन सधैँ आइरहनुपर्छ

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्ष वामदेव गौतमलाई पार्टी बैठकमा आएकोमा स्वागत गर्दै अब निरन्तर आइरहन आग्रह गरेका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकमा वामदेव सहभागी भएपछि ओलीले खुसी व्यक्त गरे । नेकपा विभाजन र एमाले पुनःस्थापनापछि पार्टी बैठकमा वामदेव पहिलोपटक सहभागी भएका हुन् ।

    बैठकमा गौतमलाई स्वागत गर्दै ओलीले भने, ‘कमरेड वामदेव गौतम पार्टी एकता जोगाउन यो बैठकमा आउनुभएको छ । उहाँलाई स्वागत गर्दै अन्य कमरेडहरूलाई पनि भोलि हुने बैठकमा सहभागी हुन आग्रह गर्दछु । वामदेवजीलाई पनि आउने-जाने क्रम जारी नगरी आको आई गर्न अनुरोध गर्छु ।’

  • तस्बिरमा एमाले केन्द्रीय कमिटीको १३ औं बैठक, वामदेव पनि सहभागी

    तस्बिरमा एमाले केन्द्रीय कमिटीको १३ औं बैठक, वामदेव पनि सहभागी

    काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बालुवाटारमा जारी छ । एमालेले १० औं महाधिवेशन आयोजक कमिटी भंग गर्दै २०७५ जेठ २ को अवस्थामा पार्टी फर्किएको घोषणासहित आज केन्द्रीय कमिटीको १३ बैठक डाकेको हो ।

    बैठकमा माधवकुमार नेपाल पक्ष भने सहभागी छैन । नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूको हिजोको भेलाले यथास्थितिमा केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको थियो । सबै कमिटीलाई २०७५ जेठ २ गते अघिको अवस्थामा क्रियाशील गराउन महाधिवेशन आयोजक कमिटीको निर्णयले अवरोध पुर्‍याएको नेपाल पक्षको निष्कर्ष छ ।

    जारी बैठकमा अध्यक्ष ओलीले हजारौं प्रयासका बाबजुद पार्टीलाई एक हुन नदिने खेल भइरहेको बताएका छन् ।

    बैठकको पूर्वसन्ध्यामा बिहीबार राति प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच अनौपचारिक संवाद भएको थियो । ओलीले आजको बैठकमा उपस्थित भएर आफ्ना कुरा राख्न र पार्टी विभाजनतर्फ नजान नेता नेपाललाई आग्रह गरेको बताइएको छ ।

    आजको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन माधव पक्षका नेताहरूलाई २०७५ जेठ २ कै हैसियत अनुसारको पद तोकेर पत्र पठाइएको थियो । उपाध्यक्ष वामदेव गौतम भने बैठकमा सहभागी छन् ।