Tag: नेकपा एमाले

  • दश बुँदेप्रति एमाले प्रतिबद्ध छ, षड्यन्त्रको सामना गरौं- शंकर पोखरेल

    दश बुँदेप्रति एमाले प्रतिबद्ध छ, षड्यन्त्रको सामना गरौं- शंकर पोखरेल

    काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले कार्यदलले तयार पारेको १० बुँदे सहमतिको बाटोबाट अघि बढ्न पार्टी तयार रहेको जनाएका छन् ।

    अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र पोखरेलले सहमतिको बाटो छोडेर माधव नेपालले नयाँ पार्टी खोल्नु दुखद भएको टिप्प्णी समेत गरेका छन् ।

    ‘झण्डै तीन कार्यकाल पार्टीको नेतृत्व गर्नुभएका माधव कमरेडले सहमतिको बाटो छोडेर नयाँ पार्टी खोल्नु दुःखद पक्ष हो । कार्यदलले तयार गरेको १० बुँदे सहमतिको बाटोबाट अघि बढ्न पार्टी प्रतिबद्ध छ’, पोखरेलले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

    पार्टीलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको भन्दै पोखरेलले विचलित नभई षड्यन्त्रविरुद्ध लाग्नुपर्ने पोखरेलको भनाई छ । ‘विचार र सिद्धान्तले नै यस पार्टीलाई संगठनात्मक रुपमा सुदृढ बनाउ, सबै प्रकारका षड्यन्त्रलाई सामना गरेर पार्टीलाई मुलुककै नेतृत्वकारी शक्तिका रुपमा स्थापित बनाउ’, पोखरेलले भनेका छन् ।

  • १४ सांसदलाई पदमुक्त गर्न सभामुखलाई एमालेको दबाब, आज छलफल हुँदै

    १४ सांसदलाई पदमुक्त गर्न सभामुखलाई एमालेको दबाब, आज छलफल हुँदै

    काठमाडौं । नेकपा एमालेले माधव नेपालसहित १४ जना प्रतिनिधिसभा सदस्यमाथि गरिएको कारवाहीको सूचनालाई तत्काल अघि बढाउन सभामुखलाई दबाब दिएको छ ।

    मंगलवार कारवाही सिफारिस गरे पनि सभामुखले प्रक्रियामा अघि नबढाएको भन्दै एमालेका प्रमुख सचेतक बिशाल भट्टराईले बुधवार सभामुख अग्नि सापकोटासँग भेट्न खोज्दा समय पाएका थिएनन् ।

    सापकोटा र भट्टराईबीच टेलिफोनमा कुराकानी हुँदा सभामुखले आफूले अध्ययन गरिरहेको बताएका थिए । भट्टराईले भने माओवादीले टोपवहादुर रायमाझीहरुलाई सांसदबाट पदमुक्त गरेको पत्र सचिवालयमा दर्ता हुनासाथ सभामुखले सूचना टाँस गरेको स्मरण गराउँदै एमाले फुटाउने षडयन्त्रमा नलाग्न चेतावनी दिएका थिए ।

    यसैबीच सभामुख र एमालेका नेताहरुबीच आज विहान ११ बजे यसबारेमा छलफल हुने भएको छ । एमालेले पार्टीको ह्वीप उल्लंघन गरेको र विभाजनकारी गतिविधिमा लागेको भन्दै माधव नेपालसहित १४ जना सांसदलाई कारवाही गरेको थियो ।

    राजनीतिक दलसम्बन्धी ऐन अनुसार सभामुखले सो सूचना १५ दिनभन्दा बढी रोक्न सक्दैनन् । सभामुखले यसअघि जसपाले सरिता गिरीलाई सांसदबाट पदमुक्त गर्दा तत्कालै कार्यन्वयन गरेका थिए ।

    कारवाहीमा परेका १४ जना सांसदले पनि बुधवार संसद सचिवालयमा विरोधको सूचना लगेर आफूहरुमाथिको कारवाही असंवैधानिक र गैरकानूनी भएकाले रोक्न माग गरेका छन् । तर उनीहरुको पत्र दर्ता भएको छैन ।

  • पहिलो महिला मुख्यमन्त्री बन्दै अष्टलक्ष्मीः अनुभवी नेतृको काँधमा वागमती प्रदेश

    पहिलो महिला मुख्यमन्त्री बन्दै अष्टलक्ष्मीः अनुभवी नेतृको काँधमा वागमती प्रदेश

    काठमाडौं । एमाले नेतृ अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बन्ने तय भएको छ । वागमती प्रदेशमा एमाले संसदीय दलको नेता चयन भएसँगै शाक्य मुख्यमन्त्री बन्ने निश्चित भएको हो ।

    शाक्य हिजोका दिनसम्म एमालेको माधव नेपाल समूहकी नेतृका रूपमा चिनिन्थिन् । आज नेपाल समूहले एमाले फुटाएर निर्वाचन आयोगमा नयाँ दल दर्ता गरिरहँदा उनी विभाजन प्रक्रियाबाट बाहिर भएकी छन् । माधव नेपालको साथ छोडेसँगै उनलाई मुख्यमन्त्री बनाउन एमाले संसदीय दल तयार भएको हो ।

    नेपालमा संघीय प्रणालीको शुरूआत भएर बनेका सात प्रदेश सरकारमा अहिलेसम्म महिला नेतृत्व थिएनन् । वागमतीले अष्टलक्ष्मीको रूपमा अनुभवले खारिएकी नेतृलाई मुख्यमन्त्री पाएको छ । यद्यपि, उनको कार्यकाल भने धेरै लामो छैन । वर्तमान प्रदेशसभाको बाँकी करिब डेढ वर्षे कार्यकाल उनले मुख्यमन्त्रीका रूपमा चलाउने छिन् ।

    २०७४ सालको चुनावमा प्रतिनिधिसभाको उम्मेदवार नबनी वागमती प्रदेशसभाको चुनाव लड्दा उनलाई भावी मुख्यमन्त्रीका रूपमा हेरिएको थियो । काठमाडौं ९ (ख) बाट प्रदेशसभा उम्मेदवार बनेकी शाक्य स्वयम् पनि मुख्यमन्त्रीकी आकांक्षी थिइन् । तर, पार्टीभित्रको गुटगत राजनीतिका कारण उनको चाहना पूरा भएन । शाक्यलाई पन्छाउँदै ओली समूहका डोरमणी पौडेलले मुख्यमन्त्री पाए । त्यसयता उनी वागमती प्रदेशमा डोरमणीकी प्रतिद्वन्द्वीका रूपमा थिइन् । तर, अहिले डोरमणीले त्यागको भावना देखाउँदै शाक्यलाई सौहार्दतापूर्वक पद हस्तान्तरण गरेका छन् ।

    लामो राजनीतिक संघर्ष र योगदानका कारणले सबैले सम्मान गर्ने नेतृ हुन् अष्टलक्ष्मी । उनका राजनीतिक जीवन धेरै महिलाहरुका लागि प्रेरणादायी छ । क्षमताको हिसाबले भने उनी औसत मानिन्छिन् । पार्टीको जिम्मेवारीमा छँदा होस वा मन्त्री बन्दा, उनको विशेष खुबी केही देखिएको छैन । अब मुख्यमन्त्रीका रूपमा उनले छोटो समयमा आफूलाई प्रमाणित गर्नुपर्ने चुनौती आइपरेको छ ।

    तत्कालीन नेपाल कम्युनिष्ट पार्टीमा विभाजन उत्पन्न भएपछि डोरमणीलाई हटाएर अष्टलक्ष्मीलाई मुख्यमन्त्रीबनाउने प्रयास भएका थियो । माधव समूहले उनलाई संसदीय दलको नेता चयनसमेत गरेर डोरमणीविरुद्ध अविश्वास प्रस्ताव दर्तासमेत गरेको थियो । तर, २३ फागुनमा सर्वोच्च अदालतले नेकपाको एकता भंग गरेर एमाले र माओवादी ब्युँताइदिएपछि उक्त अविश्वासको प्रस्ताव फिर्ता भयो ।

    तर, यसका बाबजुद पनि एमाले संसदीय दल दुई चिराकै अवस्थामा थियो । संस्थापन विरोधी समूहको नेतृत्व शाक्यले गरेकी थिइन् । गत ६ जेठमा सम्पन्न राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाल समूहसमेतको सहयोगमा विपक्षी गठवन्धनका उम्मेदवार डा. खिमलाल देवकोटाले एमाले उम्मेदवार रामबहादुर थापालाई हराएका थिए । पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको भनेर संस्थापन पक्षले शाक्यसहित १४ प्रदेश सांसदलाई स्पष्टीकरण सोधेको थियो । तर, पछि एकता प्रयास स्वरुप उक्त स्पष्टीकरण फिर्ता लिइयो । स्पष्टीकरण फिर्तासँगै एमालेभित्र मेलमिलापको वातावरण बनेको हो ।

    डोरमणी र अष्टलक्ष्मीबीचको कटुतापूर्ण सम्वन्धमा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनुअघि एकाएक सुधार आएको थियो । उनीहरूले संयुक्तरूपमा नीति-कार्यक्रम र बजेटको पक्षमा उभिन सांसदहरूलाई ह्वीप जारी गरेका थिए । यसले केन्द्रमा समेत एकताको सन्देश दिएको थियो ।

    यो पनि पढ्नुहोस् :

    विगतमा पार्टी अध्यक्ष केपी ओलीको कटु आलोचक बनेकी शाक्य पछिल्ला दिनमा एकताको पक्षमा थिइन् । त्यसैले उनले पार्टी विभाजन प्रक्रियाबाट आफूलाई बाहिर राखिन् । फलतः एमालेले उनलाई पुरस्कारस्वरूप मुख्यमन्त्री दिन तयार भएको छ ।

    वागमतीमा ११० सदस्यीय प्रदेशसभामा एमालेका ५७ सांसदमध्ये २२ जना माधव नेपाल पक्षका छन् । नेपाल पक्षकी प्रमुख नेतृ नै संस्थापनका तर्फबाट मुख्यमन्त्री बनेपछि अन्य सांसदहरु असमञ्जसमा परेका छन् । अझै पनि नेपाल पक्षका सांसदहरुले समर्थन फिर्ता लिएको खण्डमा अष्टलक्ष्मीको सरकार अल्पमतमा पर्ने देखिएको छ ।

    को हुन् अष्टलक्ष्मी ?

    देशकै अग्रणी महिला नेतृको सूचीमा आउँछिन् ६८ वर्षिया अष्टलक्ष्मी । २०१० सालमा दशैंको अष्टमीका दिन जन्मेको भएर उनको नाम अष्टलक्ष्मी राखिएको हो ।

    काठमाडौंको झोँछेमा बसोबास गर्ने नेवार परिवारमा जन्मेकी अष्टलक्ष्मीले २०२९ सालमा एसएलसी पास गरेकी थिइन् । घरपरिवारले बिहेको लागि दबाब दिएपछि उनी २०३६ सालमा घर छोडेर भागिन् र पूर्णकालीन राजनीतिमा लागिन् ।

    शाक्यले पञ्चायतकालमा ११ वर्षसम्म भूमिगत जीवन बिताएकी थिइन् । उनको विवाह २०३७ सालमा पार्टीकै सहयोद्धा अमृतकुमार बोहरासँग भएको थियो । बोहरा अहिले एमालेका स्थायी समिति सदस्य हुन् । उनी माधव नेपाल समूहकै भए पनि अहिलेको विभाजनमा सहभागी छैनन् ।

    पार्टीको महिला संगठन स्थापनामा उनको ठूलो योगदान छ । उनल गौरा प्रसाइ सुशील श्रेष्ठ लगायतसँग मिलेर हेटौंडामा नेकपा मालेको गोप्य सम्मेलन आयोजना गरेकी थिइन् । सो सम्मेलनले नेपाल महिला संगठनको पुनर्गठन गरेको थियो ।

    शाक्य २०५४ सालको संसदीय चुनावमा काठमाडौंबाट सांसद निर्वाचित भएकी थिइन् । यस्तै, २०७१ सालमा भएको संविधानसभा चुनावमा पनि निर्वाचित भएकी उनी आफ्नो राजनीतिक जीवनमा दुईपटक मन्त्री बनिन् । एकपटक उनी महिला, बालबालिका तथा समाजकल्याण मन्त्री बनेकी थिइन् भने अर्कोपटक उद्योग तथा वाणिज्य मन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् ।

    लामो राजनीतिक संघर्ष र योगदानका कारणले सबैले सम्मान गर्ने नेतृ हुन् अष्टलक्ष्मी । उनका राजनीतिक जीवन धेरै महिलाहरुका लागि प्रेरणादायी छ । क्षमताको हिसाबले भने उनी औसत मानिन्छिन् । पार्टीको जिम्मेवारीमा छँदा होस वा मन्त्री बन्दा, उनको विशेष खुबी केही देखिएको छैन । अब मुख्यमन्त्रीका रूपमा उनले छोटो समयमा आफूलाई प्रमाणित गर्नुपर्ने चुनौती आइपरेको छ ।

  • मानन्धरले भने- माधवको पार्टीमा गइँदैन, १० बुँदे सहमतिबाट ओली पछि हट्न पाइँदैन

    मानन्धरले भने- माधवको पार्टीमा गइँदैन, १० बुँदे सहमतिबाट ओली पछि हट्न पाइँदैन

    काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला सहइन्चार्ज सुरेन्द्र मानन्धरले आफू माधव नेपाल नेतृत्वको नयाँ पार्टीमा संलग्न नरहेको प्रष्ट पारेका छन् ।

    एमालेको माधव नेपाल समूहमा रहँदै आएका मानन्धरले आफू पार्टी विभाजनको पक्षमा उभिन नसक्ने भन्दै पार्टी मिलाउन नसकेकोमा दुःख व्यक्त गरेका छन् ।

    मानन्धरले पार्टी विभाजनमा समर्थन नरहेको भन्दै अध्यक्ष ओली १० बुँदे सहमतिबाट एक इन्च पनि पछि हट्न नपाउने बताएका छन् ।

  • तस्बिरमा हेर्नुस् एमाले नेताका हैसियतमा निर्वाचन आयोगमा लम्किएका अन्तिम पाइलाहरू

    तस्बिरमा हेर्नुस् एमाले नेताका हैसियतमा निर्वाचन आयोगमा लम्किएका अन्तिम पाइलाहरू

    काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल आफ्ना पक्षका नेता तथा सांसदहरू लिएर नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् ।

    राजनीतिक दलसम्बन्धी ऐन दोस्रो संशोधन अध्यादेशका आधारमा माधवकुमार नेपालले नयाँ दल खोल्न आयोग पुगेसँगै अहिलेलाई एमाले एकताको च्याप्टर क्लोज भएको छ ।

    यसअघि २०५४ सालमा नेपाल महासचिव रहँदा वामदेव गौतमको नेतृत्वमा एमाले विभाजित भएर नेकपा माले बनेको थियो । २४ वर्षपछि एमालेका पूर्वमहासचिव नेपालकै नेतृत्वमा एमाले विभाजित भएको हो ।

    हेर्नुस् माधव नेपालसँगै नयाँ दल दर्ताका लागि आयोगमा लम्किएका एमाले नेताहरूको तस्बिरहरू :-

     
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    तस्बिरहरू : सरोज बैजु ।
  • फुट्यो एमाले, नयाँ दल दर्ताका लागि माधव नेपाल निर्वाचन आयोगमा

    फुट्यो एमाले, नयाँ दल दर्ताका लागि माधव नेपाल निर्वाचन आयोगमा

    काठमाडौं । नेकपा एमाले औपचारिकरूपमा विभाजित भएको छ । राजनीतिक दलसम्बन्धी ऐन दोस्रो संशोधन अध्यादेशका आधारमा वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा एमाले विभाजित भएको हो ।

    नेपालको संयोजकत्वमा नेकपा एमाले (समाजवादी) गठन गर्न लागिएको छ । नयाँ दल दर्ताको निवेदन लिएर नेपालसहितका नेताहरू निर्वाचन आयोग पुगेका छन् ।

    २०५४ सालमा नेपाल महासचिव रहँदा वामदेव गौतमको नेतृत्वमा एमाले विभाजित भएर नेकपा माले गठन भएको थियो । २४ वर्षपछि एमालेका पूर्वमहासचिव नेपालकै नेतृत्वमा एमाले विभाजित भएको हो । अध्यक्ष केपी शर्मा ओलीसँगको निरन्तरको राजनीतिक टकरावले अब विभाजनको रूप लिएको छ ।
    यद्यपि नेपालसँगै लामो राजनीतिक सहकार्य गरेका अधिकांश नेताहरूले विभाजनमा भने उनलाई साथ दिएनन् । भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, अमृत बोहोरा, रघुजी पन्त, घनश्याम भूसाल, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताहरूले विभाजनमा साथ दिन नसकिने बताएका छन् ।
  • माधव नेपालसहित १४ सांसदको कारवाही रोक्ने निवेदन दर्ता भएन

    माधव नेपालसहित १४ सांसदको कारवाही रोक्ने निवेदन दर्ता भएन

    काठमाडौं । नेकपा एमालेले कारवाही गरेका १४ जना सांसदहरूको निवेदन आज संसद सचिवालयमा दर्ता नहुने भएको छ ।

    संसद सचिवालयका महासचिवले कानूनीरूपमा निवेदन दर्ता हुन सक्ने वा नसक्ने निर्क्यौल गरेर भोलीमात्रै खबर गर्ने जानकारी दिएको सांसद जीवराम श्रेष्ठले जानकारी दिए ।

    एमालेले हिजो माधव नेपालसहित १४ जना सांसदलाई कारवाही गर्ने निर्णय गरेको थियो ।

  • माधव नेपाललाई दोस्रो तहका नेताले भने- हाललाई विभाजनमा साथ दिन सकिएन

    माधव नेपाललाई दोस्रो तहका नेताले भने- हाललाई विभाजनमा साथ दिन सकिएन

    काठमाडौं । नवौं महाधिवेशनदेखि नेकपाकाल हुँदै आजसम्म माधव नेपाललाई साथ दिएका स्थायी कमिटी सदस्यहरू पार्टी विभाजन गर्ने निर्णयमा भने असहमत भएका छन् ।

    नेकपा एमाले समाजवादी दर्ता गर्ने प्रक्रिया अन्तिममा पुगेका बेला यसअघि वार्ता कार्यदलमा रहेकासहित नेपाल निकट स्थायी कमिटी सदस्यहरूले पार्टी विभाजनमा साथ नदिने भन्दै हस्ताक्षर गर्न अश्वीकार गरेका हुन् ।

    केपी ओलीसँग जति असहमति र संघर्ष गरे पनि पार्टी विभाजन गर्न हुँदैन भन्नेमा स्थायी कमिटीका नेताहरू लगभग एकमत देखिएका छन् । कतिपय नेता मोबाइल अफ गरेर बसेका छन् भने कतिपय एकताको लागि अन्तिम प्रयास गरिरहेका छन् ।

    यद्यपि माधव नेपालले दल विभाजन निश्चित भएको भन्दै स्थायी कमिटीका अधिकांश नेताहरु आफ्नो पक्षमा आउने जानकारी अर्याल होटलका बैठकमा दिएका छन् । घनश्याम भुसालले त्यसको संयोजन गरिरहेको नेपाल निकट नेताहरुले बताएका छन् ।

    हाललाई माधव नेपालले स्थायी कमिटीका सदस्यहरुमध्ये मुकुन्द न्यौपाने र बेदुराम भुसालको मात्र साथ पाएका छन् । रघुजी पन्त समेत विभाजनको पक्षमा खडा हुन नमानेपछि एमाले विभाजनपछि पनि एउटा समूह मध्यस्थकर्ताका भूमिकामा रहन खोजेको देखिएको छ ।

    स्थायी कमिटी सदस्यहरूसँग संयोजन गर्ने जिम्मेवारी पाएका नेता सोमप्रसाद पाण्डेले सबैसँग सम्पर्क गरे पनि अधिकांशले हाललाई विभाजनमा साथ नहुने जवाफ दिएको उनले बताए ।

    एमाले स्थायी कमिटीमा माधव नेपाल पक्षका उनीसहित झलनाथ खनाल, भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डे, रघुजी पन्त, बेदुराम भुसाल, मुकुन्द न्यौपाने र अनुशासन आयोगका अध्यक्ष अमृत बोहरा छन् ।

  • नेपालसहित १४ जनाको जिकिर- अवैधानिक कमिटीको कारवाहीलाई मान्यता नदिइयोस् (पत्रसहित)

    नेपालसहित १४ जनाको जिकिर- अवैधानिक कमिटीको कारवाहीलाई मान्यता नदिइयोस् (पत्रसहित)

    काठमाडौं । नेकपा एमालेद्वारा कारवाही गरिएका १४ जना सांसदले आफूमाथिको कारवाही अवैधानिक भएको जिकिर गर्दै कुनै कारवाही नगर्ने व्यवस्था मिलाउन संसद सचिवालयसँग अनुरोध गरेका छन् ।

    एमालेले नेपालसहित १४ सांसदलाई निष्कासन गरेर सचिवालयलाई मंगलबार सूचना दिएको थियो ।

    कारवाहीमा परेका १४ सांसदहरूले संसद सचिवालयलाई पत्र लेख्दै नेकपा एमालेको वैधानिक केन्द्रीय कमिटीको बैठक नबसेको, अवैधानिक भेलाबाट गरिएको कारवाही स्वतः अवैधानिक रहनेलगायतको दावी गरेका छन् ।

    यस्तो छ संसद सचिवालयमा १४ सांसदले पेस गरेको पत्र –

  • एमालेको कारवाही रोक्न माधव नेपालसहित १४ सांसद संसद सचिवालय जाँदै

    एमालेको कारवाही रोक्न माधव नेपालसहित १४ सांसद संसद सचिवालय जाँदै

    काठमाडौं । नेकपा एमालेले गरेको १४ जना प्रतिनिधिसभा सदस्यमाथिको निष्कासन र सांसदबाट पदमुक्त गर्ने निर्णय कार्यन्वयन नगर्न माग गर्दै माधव नेपाल संसद सचिवालय जाने भएका छन् ।

    अर्याल होटलमा बसेको अनौपचारिक बैठकपछि नेपालसहित १४ जना आफूहरूमाथिको कारवाही गैरकानूनी र पार्टीको विधानविपरीत रहेको लिखित दावीसहित सभामुखलाई भेट्न जान लागेको एक नेताले बताए ।

    यसको जानकारी निर्वाचन आयोगलाई पनि गराइने उनले बताए । एमालेले नेपालसहित १४ सांसदलाई निष्कासन गरेर सचिवालयलाई मंगलबार सूचना दिएको थियो ।

  • एमाले विभाजनमा कर्णालीका दुई नेताको हस्ताक्षर

    एमाले विभाजनमा कर्णालीका दुई नेताको हस्ताक्षर

    सुर्खेत । नेकपा एमाले विभाजनको अन्तिम तयारी भइरहेको समयमा पार्टी विभाजनको पक्षमा अहिलेसम्म कर्णालीबाट दुईजनाले हस्ताक्षर गरेका छन् ।

    पोलिटब्यूरो सदस्य प्रकाश ज्वाला र केन्द्रीय सदस्य हंसबहादुर शाहीले नयाँ पार्टी खोल्ने माधव नेपालको प्रस्तावमा हस्ताक्षर गरेका हुन् ।

    कर्नालीमा एमालेका १५ जना केन्द्रीय सदस्य छन् ।

  • अध्यादेश जारी भएलगत्तै अर्याल होटेलमा माधवको इन्ट्री, निर्णायक बैठक शुरू

    अध्यादेश जारी भएलगत्तै अर्याल होटेलमा माधवको इन्ट्री, निर्णायक बैठक शुरू

    काठमाडौं । राष्ट्रपतिले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेसँगै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह छलफलमा जुटेको छ ।

    नयाँ दल दर्ता लागि सबै तयारी पूरा गरेको नेपाल समूह बानेश्वरस्थित अर्याल होटेलमा निर्णायक बैठकका लागि भेला भएका छन् ।

    बैठकमा पार्टी विभाजनका लागि तयार भएका केन्द्रीय सदस्य र सांसदहरू उपस्थित छन् । राष्ट्रपतिबाट अध्यादेश जारी हुनेबित्तिकै माधव नेपाल बैठक स्थलामा आएका छन् । उनी आएसँगै बैठक शुरू भएको छ ।

    बैठकपछि नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा जाने नेपाल समूहको तयारी छ । एक नेताका अनुसार पार्टीको केही नाममध्ये प्राथमिकतामा नेकपा एमाले (समाजवादी) राखिएको छ । चुनाव चिन्ह भने कलम, हँसिया हथौडा वा कुनै रूपमा सूर्यको विकल्पमा छलफल भइरहेको छ ।

  • विभाजनतर्फ बढेका पाइलाहरू, एमालेका नाममा माधव समूहको निर्णायक बैठक (तस्बिरहरू)

    विभाजनतर्फ बढेका पाइलाहरू, एमालेका नाममा माधव समूहको निर्णायक बैठक (तस्बिरहरू)

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले नयाँ दल दर्ता लागि सबै तयारी पूरा गरेको छ । त्यसअघि नेपाल समूह बानेश्वरस्थित अर्याल होटेलमा निर्णायक बैठकका लागि भेला भएका छन् ।

    राष्ट्रपति कार्यालयबाट अध्यादेश जारी भइ निर्वाचन आयोगमा नयाँ दल दर्ता हुनुअगावै कुनै ‘सरप्राइज सहमति’ नभए एमालेका नाममा यो उनीहरूको अन्तिम बैठक हुनेछ । बैठकमा पार्टी विभाजनका लागि तयार भएका केन्द्रीय सदस्य र सांसदहरूको सहभागिता छ।

    नयाँ दल दर्ताका लागि सबै तयार पूरा भइसकेको र अध्यादेश जारी हुनेबित्तिकै निर्वाचन आयोगमा जाने केन्द्रीय सदस्य मेटमणि चौधरीले जानकारी दिएका छन् । नयाँ दलका लागि पार्टीको नामको वैकल्पिक सूची तयार गर्नेदेखि विधान निर्माणसम्मका सबै काम सकिसकिएको छ ।

    नयाँ पार्टीको नामका लागि नेकपा एमाले (समाजवादी), नेकपा एमाले (जनवादी), नेकपा (एकीकृत) सहितका विकल्प तयार छन् ।

  • दल दर्ताका लागि माधव समूह ‘स्ट्यान्डबाइ’, अध्यादेश जारी हुनेबित्तिकै निर्वाचन आयोग जाने

    दल दर्ताका लागि माधव समूह ‘स्ट्यान्डबाइ’, अध्यादेश जारी हुनेबित्तिकै निर्वाचन आयोग जाने

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले नयाँ दल दर्ता लागि सबै तयारी पूरा गरेको छ ।

    राष्ट्रपति कार्यालयबाट अध्यादेश जारी हुनेबित्तिकै नयाँ दल दर्ता हुने नेपाल समूहका केन्द्रीय सदस्य एवम् मेटमणि चौधरी बताए ।

    ‘नयाँ दल दर्ताका लागि सबै तयार पूरा भइसकेको छ,’ नेपाल प्रेससँग चौधरीले भने, ‘अध्यादेश जारी हुनेबित्तिकै निर्वाचन आयोगमा जान्छौं । हामी तयार अवस्थामा छौं ।’

    नयाँ दलका लागि पार्टीको नामको वैकल्पिक सूची तयार गर्नेदेखि विधान निर्माणसम्मका सबै काम सकिएको छ ।

    नयाँ पार्टीका लागि माधव समूहले नेकपा एमाले (समाजवादी), नेकपा एमाले (जनवादी), नेकपा (एकीकृत) सहितका विकल्प तयार गरेको छ ।

    पार्टीको चुनाव चिह्न कलम वा कुनै रूपमा सूर्य राखेर जाने सोचाइमा नेपाल समूहको तयारी छ । आयोगले विकल्पहरुमध्ये जुनलाई स्वीकृत गर्छ त्यसलाई दर्ता गरिने बताइएको छ ।

    एमालेको नवौं महाधिवशेनबाट तयार भएको विधानलाई केही परिमार्जन गरेर नयाँ पार्टीको विधान तयार गरिएको एक नेताले जानकारी दिए ।

    बेदुराम भुसाल, डा. विजय पौडेल, राजेन्द्र पाण्डेलगायतका नेताहरु अध्यादेश जारी हुनेबित्तिकै आयोग जान तयारी अवस्थामा रहेको बताइएको छ ।

    हिजो ढिलो आइपुगेकाले अध्यादेश जारी हुन नसकेको राष्ट्रपति कार्यालयले जनाएको थियो । राष्ट्रपति कार्यालय स्रोतले केहीबेरमा अध्यादेश जारी हुने जानकारी नेपाल प्रेसलाई दिएको छ ।

    राष्ट्रपति बाट अध्यादेश जारी भएर राजपत्रमा प्रकाशित भएपछि अध्यादेश कार्यान्वयनमा जानेछ ।

  • झलनाथ, माधव र वामदेवको एउटै पार्टी : एकताका लागि यी हुन् अन्तिम तीन सर्त

    झलनाथ, माधव र वामदेवको एउटै पार्टी : एकताका लागि यी हुन् अन्तिम तीन सर्त

    काठमाडौं । नेकपा एमाले विभाजन गरेर नयाँ पार्टी स्थापना गर्न वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतम एक ठाउँमा उभिने भएका छन् । राष्ट्रपतिबाट अध्यादेश जारी भएलगत्तै राजनीतिक रूपमा पुस ५ पछि नै फुटिसकेको एमाले कानूनीरूपमा पनि विभाजित हुनेछ ।

    एमाले विभाजनमा माधव नेपाल समूहका दोस्रो पुस्ताका नेताहरू डराए पनि पहिलो, तेस्रो तथा चौथो पुस्ता भने एक ठाउँमा छन् । त्यसैले पछिल्लो समय नेपालले वार्ताकार दोस्रो तहका नेताभन्दा तेस्रो र चौथो तहका नेता कार्यकर्तासँग सघन संवाद गरिरहेका छन् ।

    यसबीचमा एमाले विभाजन रोक्न साथ खोज्दै दिल्ली पुगेका सुरेन्द्र पाण्डे र भीम आचार्यलाई झलनाथ खनालले ‘केपी ओलीसँग मिल्न सकिँदैन’ भनेर फर्कादिएपछि नेपाल समूह उत्साही छ । माधव नेपाल र झलनाथ खनालले अलग पार्टी बनाए आफू त्यसमा सहभागी हुने अर्का नेता वामदेव गौतमले बताइसकेका छन् ।

    नेपालनिकट एक नेताले भने, ‘दोस्रो तहका केही नेता अझै पनि खुट्टा कमाइरहेका छन् । तर, हामीले विद्रोह गरेपछि उनीहरू पनि माधव नेपालको पछिपछि आउन बाध्य हुन्छन् । झलनाथले हप्काएर पठाएपछि उनीहरू हच्किएका छन् । अबको एमाले विभाजन २०५४ सालको भन्दा ठूलो स्केलको हुनेछ ।’

    माधव नेपाल समूहले तलसम्मका कार्यकर्तालाई सर्कुलरमार्फत अब झलनाथ, माधव र वामदेवको नेतृत्वमा पार्टी पुनर्गठन हुने र वडादेखि केन्द्रसम्म समानान्तर संरचनाहरू बनिसकेकाले एमालेभन्दा ठूलो पार्टी बन्ने भनेर उत्साहित बनाइरहेको छ । आउने चुनावमा कांग्रेससहित अहिलेको सत्तारुढ गठबन्धनले एमालेविरुद्ध एक भएर चुनाव लड्ने जानकारीसमेत तलैसम्म पठाइएको छ ।

    माधव नेपाल समूहले अध्यादेश मंगलबारै जारी भएको अवस्थामा सोही दिन अबेरसम्म दल दर्ता गर्नेगरी कागजपत्र तयार पारेको थियो । केन्द्रीय सदस्य र सांसदहरुको हस्ताक्षरसहित आवश्यक कागजात बोकेर राजेन्द्र पाण्डे निर्वाचन आयोगको सम्पर्कमा थिए ।

    तर, घनश्याम भुसालले एकताको लागि अन्तिम प्रयास गर्छु भन्दै अर्याल होटलमा पुगेर माधव नेपालको अनुमति मागे । त्यतिन्जेल १४ जनामाथि कारवाहीको पत्र संसद सचिवालयमा पुगिसकेको थिएन । नेपालले भुसाललाई फागुन २८ पछि केपी ओलीले गरेका सबै निर्णय फिर्ता र समान हैसियत र हस्ताक्षरको अध्यक्ष आफ्नो बटमलाइन भनेका थिए ।

    तर, त्यसबीच माधव नेपालसहित १४ जनालाई कारवाही गरिएपछि नेपाल पक्षले एकताको अन्तिम सर्त भनेर कारवाही फिर्ता, हालसम्मका सबै निर्णय खारेज र समान हैसियत र हस्ताक्षर चल्ने अर्को अध्यक्षमा ओली सहमत भएमात्र एमाले विभाजन रोकिने बताएको छ ।

    मंगलबार साँझ अध्यक्ष ओलीलाई भेट्न उपमहासचिव भुसाल बालकोट गएका थिए । उनले माधव नेपालसहित १४ जनामाथिको कारवाही फिर्ता लिए एकताको प्रयास गर्न सजिलो हुने बताए । तर, ओलीले माधव नेपाल पार्टी फुटाउन अग्रसर भइसकेको र उनकै आग्रहमा अध्यादेश ल्याइएकाले कारवाही फिर्ता नहुने जवाफ दिए ।

    ओलीसँगको वार्ता सकारात्मक नभएको जानकारी भुसालले नेपाल समूहका नेताहरूलाई गराएका छन् । भीम रावल, सुरेन्द्र पाण्डेलगायतका नेताहरू विभाजन रोक्न सक्रिय रहे पनि एक-दुई दिनयता उनीहरूको सक्रियता घटेको छ ।

    माधव नेपाल समूहले तलसम्मका कार्यकर्तालाई सर्कुलरमार्फत अब झलनाथ, माधव र वामदेवको नेतृत्वमा पार्टी पुनर्गठन हुने र वडादेखि केन्द्रसम्म समानान्तर संरचनाहरू बनिसकेकाले एमालेभन्दा ठूलो पार्टी बन्ने भनेर उत्साहित बनाइरहेको छ । आउने चुनावमा कांग्रेससहित अहिलेको सत्तारुढ गठबन्धनले एमालेविरुद्ध एक भएर चुनाव लड्ने जानकारीसमेत तलैसम्म पठाइएको छ ।

    राजनीतिक दलसम्बन्धी अध्यादेशले स्थानीय तहका जनप्रतिनिधिले समेत दल रोज्न पाउने र एमाले छाडेवापत पद नजाने भनेकाले वडा सदस्यदेखि संघीय सांसदम्मका जनप्रतिनिधिको ठूलो हिस्सा आफूतिर तान्न माधव पक्षले सबै तहका नेता/कार्यकर्तालाई आ-आफ्नो ठाउँबाट खटिन भनेको छ ।

  • १४ जनामाथि कारवाही गरेर ओलीले एमाले फुटाए, अब हामी विद्रोह गर्छौं : जीवनराम श्रेष्ठ

    १४ जनामाथि कारवाही गरेर ओलीले एमाले फुटाए, अब हामी विद्रोह गर्छौं : जीवनराम श्रेष्ठ

    काठमाडौं । नेकपा एमालेले पार्टीबाट निष्कासन गरेर सांसदबाट पदमुक्त गर्न सूचना दिएका १४ जनामध्येका एक नेता जीवनराम श्रेष्ठले आफूहरूमाथिको कारवाही फिर्ता नभए विद्रोह गरेर नयाँ पार्टी निर्माण शुरू हुने बताएका छन् ।

    नेपाल प्रेससँग कुरा गर्दै श्रेष्ठले पार्टी एकताको अन्तिम प्रयास गरौं भनेर घनश्याम भुसाल माधव नेपालको पक्षबाट बालकोटमा वार्ता गर्न गइरहेका बेला अध्यक्ष केपी ओलीले माधवसहित १४ सांसदको पद रिक्त गराउन पत्र पठाएपछि एकताको ढोका बन्द भएको बताए ।

    श्रेष्ठले भने, ‘पहिले यताको कुरा टुंग्याउँ भनेर हामी अर्को पार्टी दर्तामा ढिला गर्दै थियौं । बाहिर जे जति कुरा गरे पनि पार्टी एकताको अन्तिम प्रयास गरौं भनेर घनश्याम भुसाल जानुभएको हो । तर, बिनाकारण षड्यन्त्रमूलक र कायर ढंगले हामीमाथि कारवाही भएपछि एकताको ढोका बन्द भएको छ । अब हामी विद्रोह गरेर अघि बढ्छौं ।’

    अब एमाले एकताको पहिलो सर्त कारवाही फिर्ता त्यसपछिमात्र वार्ता हुने उनले बताए । माधव नेपालसहितलाई कारवाही गरेर ओलीले पार्टी एकता नचाहेको सन्देश दिएको भन्दै श्रेष्ठले माधव नेपालबिनाको एमाले एकता असम्भव रहेको समेत प्रष्ट पारे ।

  • एमालेले १४ जनालाई मात्र कारवाही गर्नुको कानूनी अर्थ

    एमालेले १४ जनालाई मात्र कारवाही गर्नुको कानूनी अर्थ

    काठमाडौं । नेकपा एमालेले माधव कुमार नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्न संसद सचिवालयलाई सूचना दिएपछि बाँकी ८ जनालाई किन कारवाही भएन भन्ने प्रश्न उठेको छ । साउन ३ गते २२ जनाले शेरवहादुर देउवालाई विश्वासको मत दिएका थिए ।

    एमालेले भने १४ जनामाथिको कारवाही साउन ३ को ह्वीप उल्लंघनमात्र नभएर त्यसअघि नै वैशाख २७ गते विश्वासको मत दिने बेला गरेको ह्वीप उल्लंघनको आधारमा भएको जनाएको छ ।

    एमालेका प्रमुख सचेतक विशाल भट्टराईले वैशाख २७ गते आफ्नै पार्टीको प्रधानमन्त्रीलाई विश्वासको मत दिने बेला ह्वीप उल्लंघन गरेकाले कारवाहीको आधार बनिसकेको र साउन ३ समेत तीनै व्यक्तिले दोहोर्याएर पार्टीको नीति तथा निर्णयविपरित गएकाले कानूनी प्रक्रिया पूरा गरेर सूचना दिइएको बताए ।

    वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले विश्वासको मत लिने बेला माधव नेपाल, झलनाथ खनालसहित २८ जना एमाले सांसदले पार्टीको ह्वीप उल्लंघन गरेर अनुपस्थित भएका थिए ।

    त्यसपछि सबैजनालाई एमालेले स्पष्टीकरण सोधेर कारवाहीको प्रक्रिया अघि बढाएको थियो । पछिल्लो पटक साउन ३ मा २८जनामध्ये १४ जनाले फेरि सोही गल्ति दोहोर्‍याएको र अन्यले सच्याएकाले १४ जनालाई मात्र कारवाही गरिएको एमालेले जनाएको छ ।

    एमालेका अर्का एक नेताले भने, ‘देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालय र सर्वोच्च अदालत गएका आधारमा कारवाही भएको होइन । साउन ३ गते विश्वासको मत दिएको आधारमा कारवाही गरिएको भए प्रेम आलेसहित ८ जना माथि पनि हुन्थ्यो । तर १४ जनाले पटक पटक पार्टी ह्वीप उल्लंघन गरेको र समानान्तर पार्टी निर्माण गरेर अर्को दल खोलेकाले कारवाही भएको हो ।’

    एमालेले संसद सचिवालयलाई लेखेको पत्रमा राजनीतिक दल सम्बन्धी ऐनको दफा २८ (१) को क बमोजिम ह्वीप उल्लंघन गरेकाले साउन २५ गतेको पार्टीको निर्णयले प्रतिनिधिसभा सदस्य समेत नरहने गरी दलबाट निष्काशन गरिएको जनाएको छ ।

    ऐनको सो दफामा सरकारको विश्वास वा अविश्वासको प्रस्तावमा मतदान हुने बेला संसदीय दलको नेताको निर्देशन बमोजिम दलको सचेतकले पक्ष वा विपक्षमा मतदान गर्न संसदीय दलको सदस्यलाई ह्वीप जारी गर्न सक्ने उल्लेख छ ।

    सोही दफा अनुसार एमालेले जारी गरेको ह्वीप १४ जनाले पटक पटक उल्लंघन गरेको र त्यसमा स्पष्टीकरण समेत सोधिएको एमालेले जनाएको छ । पछिल्लोपटक माधव नेपाल र निरा जैरुबाहेक सबैले स्पष्टीकरण दिदै केपी ओलीलाई सत्ताबाट हटाउनु आफूहरुको राजनीतिक उद्देश्य रहेको बताएका थिए ।

    एमालेले १४ सांसदमाथि गरेको कारवाहीमा राजनीतिक दल सम्बन्धी ऐनको दफा ३२ (२)लाई पनि समातेको छ । सो दफामा दलको ह्वीप उल्लंघन नगर्ने सदस्यको विवरण सचेतकले सम्बन्धित दलको केन्द्रीय समितिलाई दिएपछि त्यस्तो सदस्यले दल त्याग गरेको मानिने उल्लेख छ ।

    सो दफामा भनिएको छ–केन्द्रीय समितिले त्यस्तो सदस्यलाई यस दफाको अधीनमा रही सम्बन्धित दलबाट निष्कासन गर्न सक्नेछ र त्यसरी कुनै सद्यस्य निष्कासन भएमा त्यस्तो सदस्य सम्बन्धित दलबाट समेत निष्कासन भएको मानिने छ ।

    एमाले विशेष अधिवेशनमा जान सक्ने

    राजनीतिक दलको दफा २८ देखि ३५ सम्मलाई आधार मानेर एमालेले संसद समक्ष कारवाहीको सूचना दिएपछि अब सभामुख निर्णायक भएका छन् । दफा ३४ र ३५ बमोजिमको कारवाही अघि बढाउने जिम्मेवारी संसद सचिवालय र सभामुखको हो ।

    दफा ३४ बमोजिम दल त्यागको सूचनदा प्राप्त भएपछि संसद सचिवालयले त्यसतो सूचना सभामुख समक्ष पेश गर्नुपर्छ । सभामुखले सूचना दर्ता भएको मितिले १५ दिनभित्र सम्बन्धित सदनमा सूचनाको जानकारी दिनुपर्छ र सदन अन्त्य भएको बेला सूचना पाटीमा टाँस गर्नुपर्छ ।

    यो प्रक्रियामै अब सभामुखले केही दिन यसलाई यथास्थितिमा राख्ने र यसबीचमा दल दर्ता भएर माधव नेपालको नयाँ पार्टी खुलिसक्ने अवस्था रहेको छ । सभामुख निकट स्रोतले तत्काल एमालेले चाहे जस्तो सांसद सदस्य रिक्त गराउन प्रक्रिया अघि नबढ्ने जनाएको छ ।

    सभामुखलाई एमालेले कानून बमोजिम कारवाही अघि बढाउन आजैबाट दबाब दिने बुझिएको छ । यदि सभामुखले कानून बमोजिम कारवाही अघि नबढाए अदालत जान सकिने एमाले नेताहरु बताउछन् । यसले एमाले विवाद एकपटक फेरि कानूनी छिद्रहरुमा फस्नेछ र न्यायिक निरुपणको विषय बन्न सक्छ ।

    कानूनले १५ दिनभित्र पदमुक्त भएको सूचना टाँसिने भनेकाले सभामुखले चाहेर पनि १५ दिनभन्दा रोक्न नसक्ने पूर्व महान्यायाधिवक्ता रमेश बडाल बताउछन् । त्यसो गर्नुभन्दा आजै एमालेले दिएको सूचनामा हस्ताक्षर गरेर प्रक्रिया अघि बढाउनु उपयुक्त हुने उनले बताए ।
    बडालले भने–सभामुख भाग्ने ठाउँ छैन ।

    यसबीचमा २५ प्रतिशत सांसदले संसदमा रहेका विधेयकहरु अघि बढाउन र सबै प्रस्तावहरुको बारेमा छलफल गर्नका लागि विषय खुलाएर संसदको विशेष अधिवेशन बोलाउन राष्ट्रपति समक्ष माग गरे भने हालै लुम्बिनीले नजिर बनाइसकेको छ । तत्काल बोलाउनुपर्छ र त्यहाँ सदनलाई जानकारी गराउनैपर्छ ।

    एमालेले माधव नेपालसहित जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मी कुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण कायस्थ, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरीलाई पदमुक्त गर्न सूचना दिएको छ ।

  • माधव नेपालको घोषणा- नयाँ पार्टी बनाउँछौ, केपी ओली सुध्रिए चुनावमा सिट बाँड्न सकिन्छ

    माधव नेपालको घोषणा- नयाँ पार्टी बनाउँछौ, केपी ओली सुध्रिए चुनावमा सिट बाँड्न सकिन्छ

    काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले अब नयाँ पार्टी गठन गर्नुपर्ने बाध्यता आइसकेको भन्दै केपी ओलीका कारण एकता सम्भावना सकिएको घोषणा गरेका छन् ।

    आन्तरिक बैठकलाई सम्बोधन गर्दै नेपालले आफूसहित १४ सांसदलाई निष्कासनको पत्र पठाएपछि एकताका लागि अन्तिम प्रयास गर्छु भन्ने घनश्याम भुसालको प्रयास पनि असफल भएको बताए ।

    नेपालले भने, ‘अब पार्टीको क्रान्तिकारी पुनर्गठन गर्छौ र नेपाल कम्युनिष्ट पार्टीलाई क्रान्तिकारीकरण गर्छौं । अहिले नयाँ दल दर्ता गरे पनि हामी तत्कालै अरु पार्टीसँग एकीकरण गर्दैनौं । ओली सुध्रिए भने त्यसपछि पनि एकता हुन सक्छ र चुनावमा सिट बाँडेर लड्न सकिन्छ ।’

    नेपालले अहिले विभाजन भए पनि एकताको ढोका खुला रहने र अन्य कम्युनिस्ट पार्टीहरुसँग पनि सहकार्य हुने बताए । उनले उत्साहका साथ मैदानमा खटिन कार्यकर्तालाई आग्रह गरे ।

     

  • एमालेले पदमुक्त गरेका १४ सांसदबारे कानून के भन्छ ? सभामुखको भूमिका निर्णायक

    एमालेले पदमुक्त गरेका १४ सांसदबारे कानून के भन्छ ? सभामुखको भूमिका निर्णायक

    काठमाडौं । नेकपा एमालेले माधव नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरी पदमुक्त गर्न संसद सचिवलालाई सूचना दिएको छ । कारवाही गरिएको व्यहोरा निर्वाचन आयोगमा समेत पुगिसकेको छ ।

    एमालेले विश्वासको मत दिने बेला माधव पक्षमा गएका प्रेम आले, किसान श्रेष्ठसहित ८ जनालाई जोगाएर माधव नेपालसहित १४ जनालाई मात्र कारवाही गरेको छ ।

    यसबीचमा माधव नेपालपक्षीय सांसदले संसदीय दलको ह्वीप उल्लंघन दुईपटक गरिसकेकाले कारवाहीको कानूनी आधार पुगेको दावी एमाले नेताहरुको छ ।

    राजनीतिक दलसम्बन्धी ऐनको दफा ३४ मा कुनै सांसदलाई निष्कासन गरिएमा त्यसको निर्णयसहितको सूचना सम्बन्धित संसदीय दलले संसद सचिवालयलाई दिनुपर्ने व्यवस्था छ ।

    सो कारवाहीको सूचना सचिवालयले सभामुख समक्ष पेस गर्नुपर्छ । सभामुखले सो सूचना दर्ता भएको मितिले १५ दिनभित्र सदनलाई दिनुपर्ने कानूनी व्यवस्था छ ।

    तर, संसद अधिवेशन अन्त्य भएको अवस्थामा सचिवालयले सूचना पाटीमा टाँस गर्नुपर्छ ।

    सभामुखले चाहेमा कारवाहीको सूचना दर्ता भए लगत्तै सम्बन्धित दलको कारवाहीमा परेका सांसद पदमुक्त हुन्छन् । लुम्बिनी र गण्डकीका सभामुखले यही प्रक्रिया अपनाएर राजमो र जसपाको महन्थ पक्षका सांसदलाई तत्कालै पदमुक्त गरेका थिए ।

  • माधव नेपाललाई ठाकुर गैरेको आग्रह- विष पिएर पनि विभाजन रोक्नुहोस्

    माधव नेपाललाई ठाकुर गैरेको आग्रह- विष पिएर पनि विभाजन रोक्नुहोस्

    काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ठाकुर गैरेले विष पिएर भएपनि पार्टी एकता बचाउन माधवकुमार नेपालसंग आग्रह गरेका छन् ।

    नेपालपक्षका केन्द्रीय सदस्य र सांसदहरूको बैठकमा बोल्दै गैरेले नेपालको कम्युनिष्ट आन्दोलन बचाउने दायित्व नेपालको काँधमा आएको बताए ।

    ‘विष पिएर भए पनि कम्युनिष्ट आन्दोलन बचाउनुहोस् । विभाजनलाई रोक्नुहोस् । त्यो तपाईले मात्रै गर्न सक्नुहुन्छ’, बैठकमा गैरेले भने ।

    एमालेभित्रका विसंगतिविरुद्धको लडाइँमा आफ्नो साथ रहेको भन्दै गैरेले एकतावद्ध एमालेका लागि अग्रसर हुनुको विकल्प नरहेकोमा जोड दिएका थिए ।

  • एमालेको केन्द्रीय कमिटी अद्यावधिक, २६० जनाको विवरण निर्वाचन आयोगमा पुग्यो

    एमालेको केन्द्रीय कमिटी अद्यावधिक, २६० जनाको विवरण निर्वाचन आयोगमा पुग्यो

    काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीको संख्या र नाम अद्यावधिक गर्न निर्वाचन आयोगमा निर्णयको आधिकारिक माइन्युटसहित विवरण पेस गरेको छ ।

    आयोग स्रोतका अनुसार एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेल र बाबुराम दाहालसहितको टोली आज दिउँसो गएर केन्द्रीय कमिटीको विवरण अद्यावधिक गर्न लिखित आग्रह गरेको हो ।

    यसअघि २०७५ जेठ २ अघिको २०३ सदस्यीय केन्द्रीय कमिटी रहेकोमा अब २६० रहने गरी पार्टीको निर्णय पठाइएको छ । २०३ जनामध्ये ४ जनाको निधन भएको र प्रकाश ज्वाला निष्कासनमा परेकाले २६० जनाको विवरण आयोगमा पुगेको छ ।

    एमालेले नेकपा एकीकरणसँगै थपिएका सदस्यसहित २६५ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ । सो कमिटीलाई हालै सर्वोच्च अदालतले पनि मान्यता दिएको छ ।

    सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत भए दल विभाजन गर्न पाउनेगरी अध्यादेश पारित गरे लगत्तै एमालेले केन्द्रीय कमिटीको विवरण अद्यावधिक गरेको हो ।

    अब एमाले विभाजनका लागि माधव नेपाललाई कम्तीमा ५२ जना केन्द्रीय सदस्य आवश्यक पर्छ । ज्वालाबाहेक सबै सदस्य यथावत राखेर विवरण पठाइएको छ ।

  • गोकर्ण विष्ट भन्छन्- दल विभाजन गर्ने अध्यादेश प्रतिगामी निर्णय हो, फिर्ता लिन बाध्य पारौं

    गोकर्ण विष्ट भन्छन्- दल विभाजन गर्ने अध्यादेश प्रतिगामी निर्णय हो, फिर्ता लिन बाध्य पारौं

    काठमार्डौ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले राजनीतिक दल विभाजनका लागि अध्यादेश ल्याउने सरकारको निर्णयलाई प्रतिगामी भन्दै यसलाई फिर्ता लिन बाध्य पार्न अपिल गरेका छन् ।

    एमाले एकताका लागि क्रियाशील माधव नेपाल पक्षका नेता विष्टले अध्यादेश ल्याउने कार्य खेदजनक रहेको र यसले दलहरूप्रति विकर्षण र वितृष्ण पैदा गर्ने बताएका छन् ।

    विष्टले आफ्नो वक्तव्यमा भनेका छन्, ‘यसले दलभित्र उत्पन्न हुने अन्तरबिरोध र समस्यालाई दलभित्रै विधिसम्मत ढङ्गले समाधान खोज्नुको सट्टा बिभाजनलाई प्रोत्साहित गर्नेछ । राजनीतिक अस्थिरता, अन्यौलता र अराजकता सृजना गर्नेछ । दलहरुप्रति विकर्षण र वितृष्णा पैदा गर्नेछ । अन्ततः यसले नेपालको राजनीतिमा दु:खद परिणाम निम्त्याउने छ । यसप्रकारको प्रतिगामी निर्णयको सबैले बिरोध गरौँ । फिर्ता लिन बाध्य पारौँ ।’

    माधव नेपालकै आग्रहमा सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको हो ।

  • अर्याल होटल पुगेका माया र तुलसा संस्थापन पक्षमै फर्किए, दलको बैठकमा सहभागी

    अर्याल होटल पुगेका माया र तुलसा संस्थापन पक्षमै फर्किए, दलको बैठकमा सहभागी

    काठमाडौं । माधव नेपालपक्षीय सांसदहरूको भेलामा पुगेकी वामदेव गौतमपत्नी कुमारी तुलसी थापा अर्याल होटलबाट सीधै संसद भवनमा पुगेकी छन् ।

    अध्यक्ष केपी ओलीले बोलाएको संसदीय दलको बैठकमा भाग लिन उनी ल्होत्से हलमा आइपुगेको बैठकस्थलमा एमाले नेता गोकुल बास्कोटाले जानकारी दिए । तीन बजेदेखि बस्ने बैठकमा भाग लिन माधव नेपाल पक्षका राष्ट्रियसभाका केही सांसद पनि बैठकस्थलमा पुगेका छन् । तुलसी थापा यसअघि अर्याल होटलमा पनि पुगेकी थिइन् ।

    उनले आफू माधव नेपाललाई भेट्नका लागि अर्याल होटलमा गएको भन्दै गुट परिवर्तनको निर्णय भइनसकेको बताएकी छन् । यसैबीच माधवपक्षीय सांसदहरूको भेलामा सहभागी भएकी माया ज्ञवाली पनि संसदीय दलको बैठकमा उपस्थित भएको एमालेकी सचेतक शान्ता चौधरीले जानकारी दिइन् ।

  • अर्याल होटलमा तुलसा थापाले भनिन्- माधव कमरेडलाई भेट्न आएकी हुँ

    अर्याल होटलमा तुलसा थापाले भनिन्- माधव कमरेडलाई भेट्न आएकी हुँ

    काठमाडौं । नेकपा एमालेकी सांसद एवं उपाध्यक्ष वामदेव गौतमकी पत्नी तुलसा थापाले आफू वरिष्ठ नेता माधवकुमार नेपालसँग व्यक्तिगत भेटघाटका लागिमात्रै अर्याल होटल पुगेको बताएकी छिन् ।

    नेपाल प्रेससँग कुराकानी गर्दै थापाले आफूलाई नेता नेपालले भेट्नका लागि समय दिएकोले आइपुगेको बताइन् । ‘माधव कमरेडलाई भेट्न आएकी हुँ । व्यक्तिगत हिसाबले उहाँसँग छलफल गर्छु । कुनै राजनीतिक निर्णय भइसकेको छैन’, थापाले भनिन् ।

  • माधव पक्षमा २४ सांसद खुले, वामदेवपत्नी र माया ज्ञवाली पनि थपिए

    माधव पक्षमा २४ सांसद खुले, वामदेवपत्नी र माया ज्ञवाली पनि थपिए

    काठमाडौं । नेकपा एमालेको माधव पक्षका केन्द्रीय सदस्य र सांसदहरू छलफलमा जुटेका छन् ।

    नेपालले अर्याल होटलमा विशेषगरि आफूलाई साथ दिने सांसदहरुसँग छलफल गरिरहेका छन् । विश्वासको मत दिने बेला आफूसँग रहेका २२ जना सांसदसँग नेपालले छलफल गरेका हुन् । सरकारले ल्याउन लागेको राजनीतिक दलसम्बन्धी अध्यादेश र नयाँ पार्टी खोल्ने विषयमा छलफल केन्द्रित रहेको बताइएको छ ।

    आजैबाट यसअघि केपी ओलीलाई साथ दिएका वामदेव गौतम पत्नी तुलसा थापा र माया ज्ञवाली पनि माधव नेपाल पक्षमा लागेका छन् । अर्याल होटलका बैठकमा उनीहरु दुवैजना सहभागी छन् ।

    ज्ञवालीले पटक-पटक गुट परिवर्तन गरिरहेकी छन्। उनका छोरा डा.सागर ज्ञवाली भने एमालेको विदेश विभागका सदस्य छन् ।

    भीम रावलसहित संस्थापन पक्षसँगको वार्तामा रहेका कार्दलका सदस्यहरू भने बैठकमा देखिएका छैनन् । तर उनीहरू पनि आउने केन्द्रीय सदस्य गंगालाल तुलाधरले जानकारी दिए

    नेता नेपालले आज आफूनिकट केन्द्रीय सदस्यहरूलाई फोन गरेर ‘आजै दल दर्ता गर्नुपर्ने हुनसक्छ’ भन्दै तयारी अवस्थामा रहन भनिसकेका छन् । नेपाल पक्षले केन्द्रीय सदस्य र सांसदहरूको हस्ताक्षरसमेत संकलन गरिसकेको छ ।

    विभाजन गर्ने बेलासम्म क-कसले साथ दिने भन्ने समेत नेपालले एक-एक सोधिरहेका छन् ।

  • केन्द्रीय सदस्यहरूलाई माधव नेपालको फोन- पार्टी आजै दर्ता गर्नु पर्ने हुनसक्छ

    केन्द्रीय सदस्यहरूलाई माधव नेपालको फोन- पार्टी आजै दर्ता गर्नु पर्ने हुनसक्छ

    काठमाडौं । नेकपा एमाले आजै विभाजनको प्रक्रिया आजैबाट शुरू हुने भएको छ । सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेलगत्तै अलग दल दर्ता गर्ने तयारी भइरहेको माधव नेपालनिकट स्रोतले जनाएको छ ।

    नेपालले आफूनिकट केन्द्रीय सदस्यहरूलाई फोन गरेर ‘आजै दल दर्ता गर्नुपर्ने हुनसक्छ’ भन्दै तयारी अवस्थामा रहन भनेका छन् । नेपाल पक्षले केन्द्रीय सदस्य र सांसदहरूको हस्ताक्षरसमेत संकलन गरिसकेको छ ।

    विभाजन गर्ने बेलासम्म क-कसले साथ दिने भन्ने समेत नेपालले सोधिरहेका छन् । विशेषगरी भीम रावलसहित वार्ता टोलीमा रहेका नेताहरू विभाजनको विपक्षमा उभिएपछि माधव नेपाल तेस्रो र चौथो पुस्ताका नेताहरूसँग भर परेका छन् ।

    एक केन्द्रीय सदस्यले नेपाल प्रेससँग भने, ‘माधव कमरेडले भर्खरै फोन गरेर अध्यादेश आउँदैछ, आजै दल दर्ता गर्नु पर्ने हुनसक्छ । तयार भएर बस्नु भन्नुभयो । हस्ताक्षर पनि चलिरहेको छ । सायद २५ प्रतिशतको थ्रेसहोल्ड राखेर अध्यादेश जारी गर्दा हामीलाई दलको मान्यता पाउन सहज हुन्छ ।’

    माधव नेपालनिकट युवा नेता जीवन राईको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता भएको नेकपा (एकीकृत) लाई नै नयाँ दलका रूपमा अघि बढाउने सम्भावना छ ।

    नेपाल पक्षले अध्यादेशका आधारमा एमाले विभाजन गरेपछि नेकपा एकीकृतको दर्ता किताबमा अद्यावधिक गर्नुपर्ने हुन्छ । त्यसका लागि राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि नेपाल समूह निर्वाचन आयोगमा जानेछ ।

    तर, त्यसअघि नै केपी ओलीले २२ सांसदलाई कारवाही गरि सांसद पदबाट मुक्त गर्न संसद सचिवालयमा सूचना दिने सम्भावना पनि छ । तर सभामुखले तत्काल कारवाही अघि नबढाए के गर्ने ? त्यो अवस्थामा राष्ट्रपतिले पनि अध्यादेश तत्कालै जारी नगरे के गर्ने ? दुवै पक्षमा यी संशय पनि फैलिएका छन् ।

    वरिष्ठ नेता नेपालले सांसद समेत रहेका नेताहरूसँग सिंहदरबारमा आज छलफल गरेका छन् । छलफलमा सहभागी हुन नभ्याएका र काठमाडौंबाहिर रहेकाहरुलाई टेलिफोनबाट जानकारी गराइएको स्रोतले जनाएको छ ।

  • स्थायी कमिटी बैठकमा एमाले नेताहरूको इन्ट्री (तस्बिरहरू)

    स्थायी कमिटी बैठकमा एमाले नेताहरूको इन्ट्री (तस्बिरहरू)

    काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक शुरू हुन लागेको छ । ललितपुर च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठकको लागि अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरू आउनेक्रम जारी छ ।

    अध्यक्ष ओलीले सोमबार साँझ एक अपीलमार्फत एमाले विभाजनका लागि अध्यादेश ल्याउन लागिएको भन्दै पार्टी विभाजनविरुद्ध एकजुट हुन आव्हान गरेका थिए । सरकारले हिजोमात्रै संसद अधिवेशन अन्त्य गरेको थियो ।

    संसद अधिवेदन अन्त्यपछि पार्टी विभाजनसम्बन्धी अध्यादेशको चर्चासँगै बोलाइएको स्थायी कमिटी बैठकप्रति सबैको चासो बढेको छ ।

    आजै ३ बजेदेखि एमाले संसदीय दलको बैठक पनि बस्दैछ ।




     
    
    तस्बिरहरू : उमेश कार्की
  • कवितामार्फत भीम रावलले भने- पार्टी विभाजन आफ्नै लागि गलपासो नहोस्

    कवितामार्फत भीम रावलले भने- पार्टी विभाजन आफ्नै लागि गलपासो नहोस्

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी विभाजनविरुद्ध उभिन आह्वान गर्दै कवितामार्फत देशभरका नेता कार्यकर्तालाई ठण्डा दिमागले सोच्न आह्वान गरेका छन् ।

    रावलले २०७८ भदौ १ गतेको मितिमा लेखेको कवितामा आज हुने काम कुराले भोलि पश्चाताप नहोस् भन्दै पार्टी विभाजन आफ्नै लागि गलापासो हुन सक्ने सन्देश दिएका छन् ।

    रावल एमाले विभाजन हुन नदिन सक्रिय छन् । माधव नेपालले अलग पार्टी खोले आफू त्यसमा नरहने जानकारी समेत नेपाललाई गराइसकेको बताइन्छ । रावल माधव नेपालसहितको एमाले एकताका पक्षमा क्रियाशील छन् । उनले १० बुँदे सहमति नै एमाले एकताको आधार हो भन्दै आएका छन् ।

    रावलको कविता यस्तो छ:-

     

  • २२ सांसदलाई कारवाही गर्न कानूनी छिद्र, सभामुखले १५ दिन झुलाउँदा अर्को दल बनिसक्छ

    २२ सांसदलाई कारवाही गर्न कानूनी छिद्र, सभामुखले १५ दिन झुलाउँदा अर्को दल बनिसक्छ

    काठमाडौं । सरकारले अध्यादेश ल्याउनुभन्दा अगाडि नै शेरबहादुर देउवालाई विश्वासको मत दिने माधव नेपालसहित २२ जना सांसदलाई कारवाही गरेर संसद सचिवालयलाई सूचना दिनेबारे एमालेमा छलफल चलेको छ ।

    नेपालसहित २२ सांसदलाई एमालेले कारवाही प्रक्रिया अघि बढाएर स्पष्टीकरण सोधिसकेको छ । उनीहरुले स्पष्टीकरण दिए पनि त्यसपछि कुनै कारवाही अघि बढेको छैन ।

    पार्टी विभाजन गर्ने अध्यादेश ल्याउनुभन्दा अगाडि उनीहरुलाई कारवाही गरिएको पत्र संसद सचिवालयमा एमालेले दर्ता गर्न सक्छ । तर सभामुखले त्यसलाई अघि बढाउनुभन्दा अघि नै सरकारले अध्यादेश ल्याइदिएर अर्को दलको मान्यता पाउने अवस्था रहन्छ ।

    यसबीचमा माधव नेपालपक्षीय सांसदले संसदीय दलको ह्वीप उल्लंघन दुईपटक गरिसकेकाले कारवाहीको कानूनी आधार पुगेको दावी एमाले नेताहरुको छ । विभाजनको बेलासम्म को को माधव नेपालको पक्षमा रहन्छन् भन्ने टुंगो नलागेका कारण कारवाही गर्ने वा नगर्ने भन्ने अन्योलमा एमाले नेतृत्व छ ।

    राजनीतिक दल सम्बन्धी ऐनको दफा ३४ मा कुनै सांसदलाई निष्कासन गरिएमा तयसको निर्णयसहितको सूचना सम्बन्धित संसदीय दलले संसद सचिवालयलाई दिनुपर्ने व्यवस्था छ ।

    सो कारवाहीको सूचना सचिवालयले सभामुख समक्ष पेश गर्नुपर्छ । सभामुखले सो सूचना दर्ता भएको मितिले १५ दिनभित्र सदनलाई दिनुपर्ने कानूनी व्यवस्था छ ।

    तर संसद अधिवेशन अन्त्य भएको अवस्थामा सचिवालयले सूचना पाटीमा टाँस गर्नुपर्छ । सभामुख अग्नि सापकोटाको भूमिका एमाले विभाजनकै पक्षमा हुने भएकाले १५ दिनको कानूनी प्रावधानमा टेकेर उनले कारवाही धकेल्ने र यहीबीचमा अध्यादेश आउने आशंका एमालेको छ ।

    सभामुखले चाहेमा कारवाहीको सूचना दर्ता भए लगत्तै सम्बन्धित दलको कारवाहीमा परेका सांसद पदमुक्त हुन्छन् । लुम्बिनी र गण्डकीका सभामुखले यहि प्रक्रिया अपनाएर राजमो र जसपाको महन्थ पक्षका सांसदलाई तत्कालै पदमुक्त गरेका थिए ।

    २२ प्लस पाँचको जमघट

    संसद अधिवेशन अन्त्य भएकै दिन माधव नेपाललाई अन्तिम अवस्थासम्म साथ दिएका २२ जना सांसदको जमघट सोमवार साँझ किसान श्रेष्ठको निवासमा भएको थियो । सो जमघटको अन्तिममा माधव नेपाल समेत मिसिएको एक सहभागीले बताए ।

    देउवालाई विश्वासको मत दिने २२ जना भवानी खापुङ, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, मेटमणि चौधरी, प्रेम आले, रामकुमारी झाँक्री, निरा जैरु, कल्याणी खड्का, पुष्पा कर्ण, सरला यादव, लक्ष्मी चौधरी, मुकुन्द न्यौपाने, किसान श्रेष्ठ, धनवहादुर बुढा, गोपाल बम, पार्वती विसुंखे लगायतका सांसद एक ठाउँमा छन् ।

    त्यस्तै सोमवारको जमघटमा विश्वासको मतका बेला अनुपस्थित भएका यज्ञराज सुनुवार, झपट रावल, राजवहादुर बुढा र सोमप्रसाद पाण्डे पनि थपिएका थिए भने विश्वासको मतको विपक्षमा उभिएका जयकुमार राई पनि सहभागी रहेको स्रोतले जनाएको छ ।

    त्यसअघि माधव नेपाल प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा सहभागी भएका थिए । नेपालले अब आफूहरु सरकारमा सहभागी हुन तयार रहेको भन्दै आवश्यक कानूनी प्रबन्ध मिलाउन आग्रह गरेको स्रोतले जनाएको छ ।

  • कर्णालीमा एमाले र माओवादीबीच अंश विवाद, नेकपाकालीन सम्पत्तिमा दुवैको दावी

    कर्णालीमा एमाले र माओवादीबीच अंश विवाद, नेकपाकालीन सम्पत्तिमा दुवैको दावी

    सुर्खेत । नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचमा एकता भइसकेपछि बनेको नेकपा सर्वोच्च अदालतको आदेश पश्चात पूर्ववत अवस्थामा फर्किएपछि कार्यालयका सम्पत्तिमा विवाद देखिन शुरु भएको छ ।

    नेकपा कर्णाली प्रदेश कमिटीको लागि भन्दै सुर्खेतमा माओवादी केन्द्रको कार्यालय प्रयोग भइरहेको थियो भने एमालेको जिल्ला कार्यालय जिल्ला कमिटीका लागि भन्दै प्रयोग भइरहेको थियो ।

    सर्वोच्चको फैसलाका कारण एमालेले आफूले खरिद गरेको सामान पाउनुपर्ने अडान राखेको स्रोतले बताएको छ ।

    ‘तत्कालीन एमालेसँग साढे तीन लाख नगद थियो । सभामुख, सरकारका मन्त्रीहरुसँगको सहकार्यमा एमालेले दश लाख बराबरको सामान कार्यालयमा जोडेको थियो,’ स्रोत भन्छ, ‘इन्चार्ज जनार्दन शर्मा, सहइन्चार्ज यामलाल कंडेल, पार्टी अध्यक्ष गोरख बोगटी र सचिव मायाप्रसाद शर्माको क्याविन बनाइएको थियो । उक्त क्याविनमा सोफा सेट, कुर्सी, टेवल, पार्टीसिफेसन आदि काम भएको थियो ।’

    तर पछिल्लो समयमा एमालेले आफ्–आफ्ना कार्यालय रहेका कोठाका सामान आफै प्रयोग गरौं भन्दा माओवादी केन्द्रले भने मानिरहेको छैन ।

    ‘हामीले चार कार्यकक्ष मध्येका दुई कार्यकक्ष माओवादी केन्द्र तथा दुई कार्यकक्ष एमालेका रहेका थिए । ती सामान आफैं प्रयोग गरौं भनेर प्रस्ताव राखेको हो,’ एमाले अध्यक्ष वोगटीले भने, ‘आधा आधा गरेको खण्डमा बराबर हुने भएका कारण यस्तो प्रस्ताव राखिएको हो । उहाँहरुले यसमा फरक मत राखिरहनु भएको छ ।’

    उनले आफूहरुले कार्यालय बनाउँदा हल मात्रै भएको र त्यसमा ठूलो लगानी गरिएको बताउँदै, एमाले प्रदेश कमिटिको कार्यालयका लागि तत्काल सामान आवश्यक परेकोले उक्त प्रस्ताव राखेको जानकारी दिए ।

    यता, तत्कालीन पार्टी सचिव शर्माले भने आफू अहिले काठमाडोंमा रहेको बताउँदै केहि दिनमा सहमति मै उक्त कुरा टुंग्याउन तयार रहेको बताए ।

    ‘पार्टी एउटा भइसकेपछि जिल्ला र प्रदेश कमिटीमा कार्यालयहरु राखिएको हो । सिँगै पार्टी भएको समयमा कार्यालय व्यवस्थापन गरेका हौं,’ शर्माले भने, ‘यो समस्याको बारेमा हामी सल्लाह गर्ने, छलफल गर्ने गरी अघि बढछौं । हामीले मन दुखाउन आवश्यक छैन । पार्टी विभाजन होला भनेर सामान बनाएको होइन । सल्लाह गरेर लिँदा हुन्छ । चित्त बुझ्ने गरी मिलाउँला । उहाँका कागजपत्र उहाँहरु लिनुहुन्छ त्यसमा समस्या छैन ।’

  • एमाले सांसद सुनुवारको आग्रह : एमसीसी, एमसीसी भनेर बुरुक्क-बुरुक्क नउफ्रौं, अफगानिस्तानबाट सिकौं (भिडियो)

    एमाले सांसद सुनुवारको आग्रह : एमसीसी, एमसीसी भनेर बुरुक्क-बुरुक्क नउफ्रौं, अफगानिस्तानबाट सिकौं (भिडियो)

    काठमाडौं । नेकपा (एमाले)का सांसद यज्ञराज सुनुवारले केवल विदेशी सेना र सहयोले सत्ता टिकाउन नसकिने रहेछ भन्ने अफगानिस्तानको घटनाले पुष्टि गरेको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सुनुवारले भने-केवल बाहिरको सेना र सहयोगले मात्रै त्यो देशको सत्ता टिक्दो रहेन छ भन्ने कुरा अफगानि राष्ट्रपति र त्यहाँका शासकले देश छोड्नु परेको घटनाले देखाएको छ। हामीलाई झस्काइरहेको छ ।’

    उनले यो घटनाबाट अमेरिकी सहयोग एमसीसी स्वीकार गर्ने विषयमा पनि सोच्नुपर्नेमा जोड दिएका छन् । ‘हामी पनि अमेरिकी सहयोग एमसीसी, एमसीसी भनेर बुरुक्क-बुरुक्क नउफ्रौं, त्यसतर्फ ध्यान दिऊ,’ सुनुवारको भनाइ छ।

  • यो मापसे सरकार हो : महेश बस्नेत (भिडियो)

    यो मापसे सरकार हो : महेश बस्नेत (भिडियो)

    काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले शेरबहादुर देउवा नेतृत्वको सरकार ‘मापसे सरकार’ भनेका छन् ।

    परमादेशी सरकार भन्दा सत्तापक्षका माननीयहरूलाई चित्त दुखेको भन्दै बस्नेतले देउवा सरकारलाई ‘मापसे सरकार’ को उपमा दिएका हुन् । ‘माधव नेपालको आडमा, प्रचण्डको सहयोगमा शेरबहादुर देउवाले नेतृत्व गरेको हुनाले यो मापसे सरकार हो’, बस्नेतले भने ।

    प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरेर दल विभाजसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै सांसद बस्नेतले सरकारको आलोचना गरे । पुनःस्थापनाको डेढ महिनासम्म संसदलाई बिजनेश दिन नसक्ने सरकारले संसदीय इतिहासमै गलत काम गर्न खोजेको उनको टिप्पणी थियो ।

    बस्नेतले केपी ओलीको मात्रै नभएर कांग्रेसका नेताहरूको उपचार खर्चबारे पनि छानविन गर्न माग गरे । उनले वीर अस्पतालको उपकरण खरिद र भीसी नियुक्तिबारे पनि छानविन हुनुपर्ने बताए ।

    उनले न्यायालयभित्रका विकृतिहरू सतहमा आएको भन्दै संसदमा बहस हुनुपर्ने माग गरे । सर्वोच्च अदालतको संसद पुनःस्थापनासम्बन्धी फैसला त्रुटीपूर्ण रहेको भन्दै बस्नेतले गलत काम गर्ने न्यायाधीशलाई महाभियोग लगाउन पछि हट्न नहुने बताए ।

     

  • भूतपूर्व गोर्खा सैनिकको आन्दोलनबारे रावलद्वारा सरकारको ध्यानाकर्षण

    भूतपूर्व गोर्खा सैनिकको आन्दोलनबारे रावलद्वारा सरकारको ध्यानाकर्षण

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भूतपूर्व गोर्खा सैनिकले बेलायतमा १० दिनदेखि जारी राखेको आमरण अनसनप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

    ब्रिटिश गोर्खा संयुक्त संघर्ष समितिका तर्फबाट सञ्चालित आमरण अनसनमा बसेकाहरूको स्वास्थ्य अवस्था बिग्रिएको भन्दै कूटनीति संवादका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् । ब्रिटिश गोर्खा आन्दोलनका सन्दर्भमा संसदमा सरकारको धारणा आउनुपर्ने रावलको माग छ ।

    ‘लण्डनमा १० दिनदेखि नेपालका नागरिक एवं भूतपूर्व गोर्खा सैनिक आमरण अनसनमा बसेका छन् । उनीहरूको आन्दोलन र जायज माग पूरा गराउनेबारे सरकारले के गरिरहेको छ । सम्मानित सदनमा जानकारी गराउन माग गर्दछु’, रावलले भने ।

    प्रतिनिधिसभाको शून्य समयमा बोल्दै नेता रावलले कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न सरकार गम्भीर नदेखिएको आरोप समेत लगाए ।

  • ओलीको आरोप – एमाले भलाइमा गरिएका कामको माधव गिरोहले अपमान गर्‍यो

    ओलीको आरोप – एमाले भलाइमा गरिएका कामको माधव गिरोहले अपमान गर्‍यो

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाल र उनको समूहलाई गिरोहको संज्ञा दिँदै पार्टी भलाइका लागि गरिएका असल प्रयासको अपमान गरेको आरोप लगाएका छन् ।

    एमालेको १० औं र ११ औं केन्द्रीय कमिटी बैठकका निर्णय कार्यान्वयन गर्न जारी गरिएको अन्तर पार्टी निर्देशन भनिएको छ, ‘माधव नेपाल र उनको गिरोहले देश, जनता र पार्टीको भलाइको असल मनसायका साथ गरिएका सम्पूर्ण प्रयासहरूलाई तिरस्कार र अपमान गर्दै अश्वीकार गर्‍यो । यसरी समस्या समाधानका हाम्रा प्रयासहरू असफल भए ।’

    अपानीमा माधव नेपाल समूहले खुलेआम गुटगत भेला गरेको र पार्टी फुटाउने उद्देश्यले माथिदेखि दलसम्म समानान्तर कमिटी गठन गरिएको उल्लेख गरिएको छ । भनिएको छ, ‘माधव गुटले खुलेआम गुटगत भेला, बैठकहरू गर्ने, पार्टी फुटाउने उद्देश्यले माथिदेखि तलैसम्म पार्टी र जनवर्गीय संगठनका कमिटीहरू समानान्तररूपमा गठन गर्ने, विपक्षीहरूसँग मिलेर देशैभरि सम्माननीय राष्ट्रपति, प्रधानमन्त्री एवं पार्टी अध्यक्षका पुत्ला दहन गर्ने, पार्टी र पार्टी नेतृत्वका विरुद्ध झुठा, अभद्र र अमर्यादित प्रचार अभियान चलाउनेजस्ता आपराधिक कार्यहरू गर्दैरहे ।’

    त्यस्ता गतिविधिहरूलाई रोक्न पार्टीका तर्फबाट अनकौं प्रयासहरू लगातार गरिएको सो दस्तावेजमा उल्लेख छ। ‘फोनमा कुराकानी, भेटघाट र छलफलका सिलसिला चलाइए,’अध्यक्ष ओलीद्वारा हस्ताक्षरित अपानीमा भनिएको छ, ‘यसै प्रसंगमा कार्यदल बनाइयो र त्यसले समस्या समाधानको लागि सर्वसम्मत सिफारिस पनि गर्‍यो । पार्टीले त्यसलाई ग्रहण पनि गर्‍यो ।’

    कुनै पनि दुष्प्रयासहरूबाट हरेस नखाइ पार्टी अघि बढ्ने उल्लेख गरिएको छ ।

  • अफगानिस्तान मामला र नेपालीको उद्धारबारे संसदमा एमालेले माग्यो सरकारको जवाफ

    अफगानिस्तान मामला र नेपालीको उद्धारबारे संसदमा एमालेले माग्यो सरकारको जवाफ

    काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री गोकुल बास्कोटाले अफगानिस्तामा उत्पन्न भएको राजनीतिक संकटप्रति नेपाल सरकारले कुनै दृष्टिकोण लिन नसकेको र आफ्ना नागरिकको उद्धारका लागि पहल नगरेको भन्दै सरकारको आलोचना गरेका छन् । एउटा दक्षिण एसियाली राष्ट्रमा संकट उत्पन्न हुँदा सार्कको अध्यक्ष राष्ट्र मौन बस्नु स्वभाविक नभएको उनको टिप्पणी छ ।

    संसद् बैठकमा बोल्दै बास्कोटाले अफगानिस्तानमा रहेका नेपालीले आफ्नो देशमा सरकार छ भन्ने अनुभूति गर्न नपाएको बताए । उनीहरूको उद्धारका लागि सरकारबाट प्रतिबद्धतामात्र नभएर तत्काल ‘एक्सन’ मा जानुपर्ने उनले सुझाए ।

    बास्कोटाले भने, ‘हामी सार्कको अध्यक्षता गरिरहेको राष्ट्र हौं । त्यसमाथि परमादेशबाट बनेको कम्फर्टेबल सरकार छ । तर, दुनियाँभर मादल बज्दा पनि यो सरकार ब्युँझिएन । उसले केही थाहा पाएन ।’

    यसप्रकारको गैरजिम्मेवार र उत्तरदायी सरकारको कल्पना नगरिएको भन्दै उनले अफगानिस्ताको घटनालाई लिएर सरकारको दृष्टिकोण संसदमा सार्वजनिक हुनुपर्ने माग गरे ।

    ‘कुनै पनि देश यस प्रकारका वैदेशिक हस्तक्षेप कुनै पनि स्वाधीन राष्ट्रका लागि कामयाबी हुँदैनन् । त्यही देशमा बलियो राष्ट्रवादी शक्तिको निर्माण हुनुपर्छ भन्ने पाठ हो यो,’ बास्कोटाले भने ।

    २०७३ सालमा अफगानिस्तानमा रहेका नेपालीमाथि हमला हुँदा तत्कालीन ओली सरकारले २४ घन्टाभित्रै उद्धार तथा राहतको काम गरेको बास्कोटाले स्मरण गराए ।

    ‘अहिलेको कम्फर्टेबल सरकारले त्यो गर्न सक्छ कि सक्दैन ?’ उनले प्रश्न गरे ।