Tag: नेकपा एमाले

  • एमाले केन्द्रीय कमिटी बैठक : समूहगत छलफलको सुझावमाथि नेतृत्वले जवाफ दिँदै

    एमाले केन्द्रीय कमिटी बैठक : समूहगत छलफलको सुझावमाथि नेतृत्वले जवाफ दिँदै

    काठमाडौं । नेकपा एमालेको आजको तेस्रो दिनको केन्द्रीय कमिटी बैठक सुरू भएको छ । केन्द्रीय कमिटीअघि स्थायी समिति बसेको थियो ।

    दुई दिनका लागि बोलाइएको केन्द्रीय समिति बैठक शनिबार नसकिएपछि एमालेले आज पनि निरन्तरता दिएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा नेतृत्वले समूहगत छलफलबाट आएको सुझावको जवाफ दिन थालेका छन् ।

    बैठकमा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि उठेको सवालबारे उपमहासचिव विष्णु पौडेलले जवाफ दिइरहेका छन् ।

    एमालेले प्रस्तावमाथि गर्न १० समूह बनाएको थियो । पौडेलपछि राजनीतिक प्रतिवेदनमाथिको सवालबारे अध्यक्ष केपी शर्मा ओली र सांगठनिक प्रतिवेदनमाथिको सुझावबारे महासचिव ईश्वर पोखरेलले जवाफ दिने कार्यसूची छ ।

  • एमाले स्थायी समिति बैठक जारी, समूहगत सुझाव र १० बुँदेमा उठेका विषयमाथि छलफल

    एमाले स्थायी समिति बैठक जारी, समूहगत सुझाव र १० बुँदेमा उठेका विषयमाथि छलफल

    काठमाडौं । नेकपा एमालेको आजको तेस्रो दिनको केन्द्रीय समिति बैठकअघि स्थायी कमिटी बैठक बसिरहेको छ । स्थायी कमिटीमा समूहगत छलफलबाट आएको सुझावले प्रवेश पाएको छ ।

    त्यस्तै भीम रावललगायतका नेताले उठाएको १० बुँदे कार्यान्वयनलगायतका विषय पनि स्थायी कमिटीको एजेण्डा छ ।

    दुई दिनका लागि बोलाइएको केन्द्रीय समिति बैठक शनिबार नसकिएपछि एमालेले आज पनि निरन्तरता दिएको छ ।

    शुक्रबारदेखि जारी बैठकको ती प्रस्तावमा छलफल गर्न बनाएको १० समूहको सुझावबारे पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेललगायतले जवाफ दिने छन् ।

    शनिबार समूहगत सुझाव पेस गर्ने काममात्रै भएकाले अध्यक्ष केपी शर्मा ओलीलगायतले जवाफ दिने काम नसकिएकाले बैठक लम्बिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

    अध्यक्ष ओलीले राखेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले राखेको सांगठानिक र उपमहासचिव विष्णु पौडेलले पेस गरेको विधान संधोधन प्रस्तावमा छलफल चलेको थियो ।

  • एमालेका १० टोलीको सुझाव: कार्यकारी पदमा दुई पटकभन्दा बढी रहन नपाइने, ७ उपाध्यक्ष राख्नुपर्ने

    एमालेका १० टोलीको सुझाव: कार्यकारी पदमा दुई पटकभन्दा बढी रहन नपाइने, ७ उपाध्यक्ष राख्नुपर्ने

    काठमाडौं । नेकपा (एमाले)मा कार्यकारी पदमा दुई पटकभन्दा बढी रहन नपाइने र उपाध्यक्ष र सचिव ७-७ जना राख्नुपर्ने सुझाव प्राप्त भएको छ।

    दुई दिनदेखि जारी केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनका लागि प्रस्तुत तीनवटा दस्तावेजमाथि समूहगत छलफल गर्दा नेताहरुले यस्तो सुझाव दिएका हुन् ।

    १० वटा समूह बनाएर तीन दस्तावेजमाथि छलफल भएको थियो। सबै समूहको निष्कर्ष नेताहरुको व्यवस्थापनका लागि ७ उपाध्यक्ष राखेर प्रदेश र्इन्चार्जको भूमिका दिनुपर्ने रहेको एक केन्द्रीय सदस्यले जानकारी दिए।

    हाल प्रस्ताव गरिएको विधान संशोधन प्रस्तावमा उपाध्यक्ष ३ जना मात्रै राख्ने उल्लेख गरिएको छ।

    अध्यक्ष ओली पुनः दोहोरिने भएकाले नेताहरु ईश्वर पोखरेल, सुवास नेम्वाङ, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र रामबहादुर थापाहरूको व्यवस्थापन कसरी गर्ने भन्ने प्रश्न छ।

    हाइप्रोफाइल नेता भएकाले उनीहरु महासचिवभन्दा तल नबस्ने भएकाले ३ उपाध्यक्ष मात्रै राख्दा अप्ठ्यारो हुने केन्द्रीय सदस्यहरुको सुझाव छ।

    विधान संशोधन प्रस्तावमा पोलिट्यू्रो नराख्ने उल्लेख छ । तर, समूहगत छलफलमा पोलिटब्यूरो कायमै राख्नुपर्ने आवाज उठेको छ।

    त्यस्तै अध्यक्षको नेतृत्वमा रहने गरी प्रस्ताव गरिएको ७ सदस्य रहने केन्द्रीय सचिवालय पनि नराख्न केन्द्रीय सदस्यहरुले सुझाव दिएका छन्।

    विधान संशोधन मस्यौदामा पदाधिकारीमध्येबाट ७ जनाको केन्द्रीय सचिवालय बनाउने प्रस्ताव गरिएको थियो। यो बनाउँदा बनाउँदा अध्यक्षको तजबिज चल्ने र स्थायी कमिटी अर्थहीन हुने चिन्ता कतिपयको थियो।

    यसअघि नेकपामा पनि सचिवालयको अभ्यास गरिएको थियो।

  • एमाले छाड्ने प्रभु साहको संकेत, चाँडै क्रान्तिकारीहरूको ध्रुवीकरण हुने दावी

    एमाले छाड्ने प्रभु साहको संकेत, चाँडै क्रान्तिकारीहरूको ध्रुवीकरण हुने दावी

    गौर। पूर्वमन्त्री प्रभु साहले देशलाई अग्रगामी निकास दिन क्रान्तिकारी ध्रुवीकरण भइरहेको बताएका छन् ।

    रौतहटको ईशनाथ नगरपालिकाको औरैयामा स्थानीयसँग अन्तरक्रिया तथा भेटघाट कार्यक्रमलाई सम्बोधन साहले संवैधानिक संकटमार्फत देशमा अस्थिरता र अराजकता बढ्दै गएको जीकिर गरे ।

    ‘देशमा राजनीतिक संकट गहिरिँदै गएको र उपलब्धि गुम्ने खतरा बढ्दै गएकोले क्रान्तिकारीहरूको ध्रुवीकरण आजको आवश्यकता बनेको छ । देशलाई अग्रगमनको बाटोमा डोर्‍याउने उद्देश्य बोकेका क्रान्तिकारीहरूबीच चाँडै एकता भएर एउटा सशक्त शक्ति निर्माण गर्नुपर्छ’, साहले भने ।

    यथास्थितिमा बसेर देशलाई सही निकास दिन नसकिने भन्दै उनले नयाँ ध्रुवीकरणमा जोडिन क्रान्तिकारी शक्तिहरूलाई आह्वानसमेत गरे ।

    देशमा गम्भीर प्रकृतिको राजनीतिक संकट गहिरिँदै गइरहेको दावी गर्दै साहले लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि गुम्ने खतरा बढ्दै गएको जिकिर गरे । एउटा मात्र जातिको वकालत गर्ने केही राजनीतिक दल तथा नेताहरू निहित स्वार्थमा तयार भएको वर्तमान संविधान र व्यवस्था नै यसको प्रमुख कारण भन्दै साहले कम्युनिष्टका नामधारी पार्टीहरु यथास्थितिमा विकल्प खोजिरहेको र यसको कुनै अर्थ नरहेको बताए ।

    ‘देशलाई अग्रगामी निकास दिनका लागि क्रान्तिकारीहरुको ध्रुवीकरण जरुरी छ । र छिटै क्रान्तिकारीहरुको एकीकृत शक्ति निर्माण हुँदैछ’, उनले भने ।

  • देशभर १० बुँदे कार्यान्वयन नभएकोबारे अध्यक्षसँग जवाफ मागेको हुँ : झपट रावल (भिडिओ)

    देशभर १० बुँदे कार्यान्वयन नभएकोबारे अध्यक्षसँग जवाफ मागेको हुँ : झपट रावल (भिडिओ)

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा सुदूरपश्चिमका नेताहरूले १० बुँदे सहमति लागू नभएको भन्दै असन्तुष्टी व्यक्त गरेका छन् ।

    शुक्रबार बैठक शुरू भएलगत्तै झपट रावलले सुदूरपश्चिममा १० बुँदे सहमति कार्यान्वयन हुन नदिइएको भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

    उपाध्यक्ष भीम रावल र अर्का नेता भानुभक्त जोशीले पनि १० बुँदे सहमति कार्यन्वयनमा असमानता देखिएको भन्दै समान कार्यान्वयनको लागि अध्यक्ष केपी शर्मा ओलीको जवाफ मागेका थिए ।

    तीन नेताले १० बुँदेबारे प्रश्न राखेपछि अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकलगत्तै स्थायी कमिटी बसेर सुदूरपश्चिममा देखिएको समस्या समाधान गर्ने आश्वासन दिएको एक केन्द्रीय सदस्यले बताए ।

    आफूले बैठकमा राखेको भनाइबारे झपट रावलले बाहिर संवाददाताहरुलाई जानकारी गराए । ‘भदौ १० गते बसेको केन्द्रीय कमिटीको बैठक एकताको पहिलो बैठक हो,’ आफूले बैठकमा राखेका भनाइबारे उनले भने, ‘त्यो १० बुँदे सहमति कार्यान्वनयको बैठक पनि थियो । त्यसपछि १३ गते अन्तर पार्टी निर्देशन समेत जारी गरेको थियो ।’

    रावलले थपे, ‘यसलाई व्यवहार नउतारिएको हुनाले यसको बारेमा के हो ? नेतृत्व तहका बीचमा यसबारेमा एक रुपता नभएको हुनाले यसबारे प्रष्ट पारियोस्, त्यसपछि अन्य विषयमा छलफल गरौं भनेर मैले पार्टी अध्यक्षसँग माग गरेँ ।’

    अध्यक्षले दिएको जवाफबारे जानकारी गराउँदै उनले भने, ‘पार्टी अध्यक्षले यसलगत्तै स्थायी कमिटी बैठक बस्नेछौं र त्यहाँ छलफल गर्नेछौं भनेर भन्नु भएको छ।’

     

  • एमालेमा ३ उपाध्यक्ष: कसरी होला ६ जना हाइप्रोफाइल नेताको व्यवस्थापन ?

    एमालेमा ३ उपाध्यक्ष: कसरी होला ६ जना हाइप्रोफाइल नेताको व्यवस्थापन ?

    काठमाडौं । नेकपा (एमाले) को आसन्न विधान महाधिवेशनमा पेस हुन लागेको विधान संशोधन मस्यौदामा उल्लेखित केही प्रावधान नेताहरूका लागि सकस बन्ने देखिएको छ।

    विशेषगरी दुई विषयले नेतृत्वको आकांक्षी नेताहरूलाई अप्ठ्यारो पार्ने देखिएको छ । ७० वर्षीय उमेर हद र ३ जनामात्रै उपाध्यक्ष रहने व्यवस्थाले नेताहरूका लागि चुनौती बन्नेछ ।

    विधानको प्रस्तावित मस्यौदामा अध्यक्ष र वरिष्ठ नेतासहित तीन उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र सात सचिव रहनेगरी पदाधिकारी व्यवस्था गरिएको छ ।

    अध्यक्ष केपी शर्मा ओलीले आउँदो महाधिवेशनमा अध्यक्ष दोहोरिने औपचारिक घोषणा गरिसकेका छैनन् । तर, उनीनिकट नेताहरूले ओली दोहोरिने बताइरहेका छन् । नेपाल प्रेससँगको हालैको अन्तर्वार्तामा शंकर पोखरेलले आउने एउटा चुनाव र महाधिवेशन एमाले केपी ओलीकै नेतृत्वमा जाने बताएका थिए।

    र, ७० वर्षे उमेर हदले पनि उनलाई अझै एकपटक अध्यक्ष हुन रोक्दैन । किनकी उमेरको हिसाबले पनि उनी फागुन १० गतेमात्र ७० वर्षका हुन्छन् तर मंसिरमै महाधिवेशन हुँदा उनलाई उमेर हद पनि लाग्दैन ।

    विधानको ७० वर्षे प्रावधान र ओली दोहोरिने अवस्थामा त्यसको प्रत्यक्ष असर भने हालका एमालेका उपाध्यक्ष र महासचिवलाई पर्नेछ । एमालेमा हाल रहेका शीर्ष नेतामध्ये ओलीपछिका सबैभन्दा सिनियर ईश्वर पोखरेल हुन् ।

    अध्यक्षमा ओली दोहोरिँदा दोस्रो पुस्ता भनिएका तर उमेर र राजनीतिक योगदानका आधारमा पहिलो पुस्ताकै नेता रहेका ईश्वर पोखरेल, सुवास नेम्वाङ, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र रामबहादुर थापाहरूलाई असर पर्ने छ ।

    उनीहरू अब एक कार्यकालमात्र कार्यकारी कमिटीमा रहन पाउँछन् । अध्यक्षबाहेक सबै पदको अनुभव लिइसकेका यिनीहरू सबैको अबको लक्ष्य नै पार्टी नेतृत्व अर्थात अध्यक्ष नै हो । तर, अप्ठ्यारो के छ भने केपी ओली अघि सरेको अवस्थामा उनीहरू अध्यक्ष हुने सम्भावना छैन ।

    यस्तोमा उनीहरूको व्यवस्थापन हुने भनेको उपाध्यक्षमै हो । अध्यक्ष बन्न नपाएकोमा सन्तुष्ट रहे पनि उनीहरूलाई सकसमा पार्ने अर्को विषय पनि छ । त्यो हो तीनजना मात्रै उपाध्यक्ष रहने व्यवस्था ।

    अधिकांश हाईप्रोफाइल नेता भएकाले उनीहरू महासचिवभन्दा तल बस्ने देखिन्न । महासचिवमा १ र उपाध्यक्षमा ३ जना गरी ४ जनाको व्यवस्थापन भए पनि ६ नेतामध्ये अरुको व्यवस्थापन कसरी हुन्छ भन्ने प्रश्न हो ।

    ३ उपाध्यक्षमात्रै रहने व्यवस्था विधान अधिवेशनले पनि अनुमोदन गरे माथि उल्लेखितमध्ये तीन नेता बाहिरिनुपर्ने छ । उनीहरू उपमहासचिव र सचिवमा बस्ने अवस्था पनि रहँदैन ।

    विधान संशोधन गरी नेकपा (एकीकृत समाजवादी) मा जस्तै धेरै उपाध्यक्ष राखेको खण्डमा भने नेता व्यवस्थापनको सकस हट्ने छ । अन्यथा उनीहरू पदाधिकारी नपाउँदा पनि चित्त बुझाएर पार्टीमै बस्नुपर्ने छ र ११ औं महाधिवेशनमा अध्यक्ष ओलीसँगै पार्टीबाट बाहिरिनुपर्ने छ ।

    एमाले केन्द्रीय कमिटी बैठकमा ७ उपाध्यक्ष राखेर प्रादेशिक इन्चार्जको जिम्मा दिँदा नेताहरूको व्यवस्थापन पनि हुने र सिनियर नेता कसैले बाहिरिन नपर्ने विषय पनि प्रवेश भएको छ ।

  • विधान महाधिवेशनमा पेस गर्ने प्रस्तावमाथि छलफल गर्न एमालेले बनायो १० समूह

    विधान महाधिवेशनमा पेस गर्ने प्रस्तावमाथि छलफल गर्न एमालेले बनायो १० समूह

    काठमाडौं । नेकपा (एमाले) ले आसन्न विधान महाधिवेशनमा पेस गर्ने विभिन्न प्रतिवेदनमाथि छलफल समूह बनाएको छ । शुक्रबार शुरू भएको केन्द्रीय कमिटी बैठकमा ती प्रस्ताव छलफल गर्न समिति बनाइएको हो ।

    सात प्रदेशसहित उपत्यका विशेष कमिटी, प्रवास र जनसंगठन तथा विभागहरू रहनेगरी १० वटा टोली बनाइएको केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिए ।

    ललितपुरस्थित तुल्सीलाल प्रतिष्ठानमा शुरू भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट प्रदीप ज्ञवालीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।

    त्यस्तै महासचिव ईश्वर पोखरेलले सांगठानिक र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गरेका थिए। भोलि बिहान ११ बजे पुनः बैठक बसेर समूहगत छलफलको निष्कर्ष समेटेर तीनवटै प्रस्ताव पारित गरिनेछ।

    दशवटै समूहले आ आफ्ना टोली नेता छानेर छलफल गर्ने र शनिवारको बैठकमा सुझाव पेश गरिने अर्का केन्द्रीय सदस्य तथा ओखलढुंगा जिल्ला इन्चार्ज यज्ञराज सुनुवारले जानकारी दिए ।

    एमालेको विधान महाधिवेशन आगामी असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा हुँदैछ ।

  • बैठकमा देखिन छाडेका प्रभु साहले एमालेमा राखे ८ बुँदे माग (सूचीसहित)

    बैठकमा देखिन छाडेका प्रभु साहले एमालेमा राखे ८ बुँदे माग (सूचीसहित)

    काठमाडौं । प्रभु साहको पार्टीगत हैसियत अहिले के हो ? उनी आइटी आर्मीको ब्यानरमा आफूलाई पूर्वमन्त्रीका रूपमा विभिन्न कार्यक्रमहरूमा उपस्थित गराइरहेका छन् ।

    तत्कालीन नेकपाका केन्द्रीय सदस्य साह पुस ५ को नेकपा विभाजनपछि केही दिन प्रचण्ड-माधव समूहमा थिए । त्यसपछि केपी ओली पक्षमा लागेर शहरी विकास मन्त्रीसमेत भएका साह सर्वोच्च अदालतको फैसलाबाट एमाले र माओवादी ब्युँतिएपछि पनि एमालेकै नेताका हैसियतमा थिए ।

    उनले विभिन्न मञ्चबाट प्रचण्डको चर्को विरोध पनि गरिरहेका थिए । तर, पछिल्लो समय भने उनी न त एमालेका बैठकमा उपस्थित छन्, न एमालेका कार्यक्रममै देखिन्छन् ।

    त्यसो भए प्रभु साह अहिले कुन पार्टीका नेता हुन् ? साहले आफू नेकपाको निरन्तरता भएको पार्टी खोजेको भन्दै एमाले नेतृत्वसमक्ष आफ्ना ८ बुँदे माग राखेका छन् । ती माग सम्बोधन नभए एमालेमा बस्न नसक्ने उनले बताएका छन् ।

    साह पछिल्लो समय रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्टहरुसहितको पूर्वमाओवादी समूहको बैठकमा थिए । पूर्वमाओवादी समूहको तर्फबाट विभिन्न कमिटी र जनवर्गीय संगठनमा समावेश गर्ने सदस्यहरूको नाम तय गर्ने बैठक थियो त्यो ।

    यसबीचमा साहका मागका सम्बन्धमा महासचिव ईश्वर पोखरेल रहेको कार्यदलले पनि काम गरिरहेको एमालेले जनाएको छ । साहको हैसियत अहिले एमालेको केन्द्रीय सदस्य छ ।

    तर, उनले एमालेका स्थायी कमिटी सदस्य माग गरेका छन् । उनको मुख्य अन्तरविरोध भने प्रदेश २ मै देखिएको छ । नेकपाकालमा प्रदेश २ को अध्यक्ष रहेका साहलाई एमाले भएपछि भने सो जिम्मेवारीबाट हटाएर माओवादीबाट प्रमु साहसँगै एमाले बनेकी ज्वालाकुमारी साहलाई अध्यक्ष बनाइएको छ । प्रभु र ज्वालाको अन्तरविरोधमा अध्यक्ष ओलीले ज्वालालाई साथ दिएकोमा उनको चित्त बुझेको छैन ।

    जिल्ला कमिटी अध्यक्षहरू चयन गर्दा पनि ज्वालाले एकलौटी गरेको भन्दै प्रभु साहले अश्वीकार गरेका थिए । रौतहटमा राम्रो प्रभाव रहेका साह माओवादीबाट एमाले बनेका प्रतिनिधिसभाका चार पूर्वसांसदमध्ये सबैभन्दा बलियो जनाधार भएका नेता हुन् ।

    प्रभु साह निकट स्रोतले भने ज्वाला साहसँगको अन्तरविरोध अ‍ोलीले नै सिर्जना गरेको भन्दै नेकपा एकता अदालतबाट बदर भएपछिको सहमति कार्यन्वयन नहुँदा एमालेमा बस्न समस्या रहेको दावी गरेको छ ।
    साह निकट एक नेताले भने–एमाले नाम राख्ने तर नेकपाकै विधान र विचारलाई निरन्तरता दिने कुरामा मिलेन । प्रदेश २ कै सन्दर्भमा १ महानगरसहित ३ जिल्ला इन्चार्ज र ४ जिल्ला अध्यक्ष पूर्व माओवादीले पाउने सहमति पनि लागु भएन । वैचारिक विमतिका कुराहरु छन्,पदको विवाद होइन ।
    ओलीले साहलाई स्थायी कमिटी सदस्य उतिबेलै प्रस्ताव गरेपनि समग्रमा पार्टी एकताको भावना अनुसार चल्नुपर्ने माग रहेको उनी निकटहरुले बताएका छन् । आइटी आर्मीकै सन्दर्भमा ओली नकारात्मक रहेको साहको आरोप छ ।

    उनी आजको अवस्थामा पनि चुनाव जित्ने हैसियत राख्छन् । अहिले उनले आइटी आर्मी नामको मोर्चाबाट जनपरिचालन र कार्यकर्ता परिचालनको काम गरिरहेका छन् । उनले एमालेसमक्ष आइटी आर्मीलाई जनवर्गीय संगठनको मान्यता दिन माग गरेका छन् ।

    माओवादीमा हुँदा उनको लिगेसी बाबुराम भट्टराई हुँदै टोपबहादुर रायमाझीसँग थियो । आइटी आर्मीको उद्घाटनमा रायमाझी प्रमुख अतिथि थिए । प्रभु साहले एमालेलाई जेठ २ अघिको होइन जेठ ३ पछिको अवस्थामा लैजानुपर्ने माग गरेका छन् ।

    उनको आठ बुँदे मागमा जनताको बहुदलीय जनवाद होइन नेकपाले अपनाएको जनताको जनवादलाई महाधिवेशनमा लैजानु पर्ने माग समेत राखेका छन् । त्यस्तै एमालेको जेठ २ अघिको वैधानिक कमिटी र पदाधिकारीलाई कायम गर्दा माओवादीको केन्द्रको वैधानिक कमिटी र पदीय हैसियतअनुसार मिलान गर्नुपर्ने माग राखेका छन् ।

    प्रभु साहले एमालेको विधान महाधिवेशन होइन एकताको पार्टी महाधिवेशन हुनुपर्ने माग समेत गरेका छन् । उनका कतिपय माग पूरा गर्न नसकिने भए पनि अरु विषय सम्बोधन हुने एमाले स्रोतले जनाएको छ ।

    तर, साह भने एमालेमा रहन नसकिने ठाउँमा पुगेको उनीनिकट नेताहरू बताउँछन् ।

    साहले राखेका माग यसप्रकार छन् :

     

     

  • तस्बिरमा हेर्नुस् विधान मस्यौदामा छलफल गर्न च्यासल पुगेका एमाले नेताहरू

    तस्बिरमा हेर्नुस् विधान मस्यौदामा छलफल गर्न च्यासल पुगेका एमाले नेताहरू

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिठी बैठक सुरू भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठान भवन च्यासलमा हुने बैठक भोलिसम्म चल्नेछ ।

    बैठकमा सहभागी हुन नेताहरू बैठकस्थल पुगिसकेका छन् ।

    बैठकमा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ । सम्भवतः यही वैठकले यी सबै विषयहरू पारित गर्नेछ ।

    अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठानिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    नेकपा एमालेको विधान महाधिवेशन यही असोज १५ देखि १७ सम्म काठमाडौंमा आयोजना हुँदैछ ।

    
    
     
     
    
  • केन्द्रीय सचिवालय र कार्यालयको नयाँ संरचना प्रस्ताव, पोलिटव्यूरो र वैकल्पिक सदस्य खारेज

    केन्द्रीय सचिवालय र कार्यालयको नयाँ संरचना प्रस्ताव, पोलिटव्यूरो र वैकल्पिक सदस्य खारेज

    काठमाडाैं । नेकपा एमालेको आसन्न विधान महाधिवेशनमा पेश हुन लागेको विधान संशोधन मस्यौदामा केन्द्रीय सचिवालयको व्यवस्था थपिएपछि खैलाबैला मच्चिएको छ ।

    यसअघि एमालेको विधानमा दैनिक कार्य सन्चालन लगायत पार्टीका देशभरका कार्यक्रमहरुको संयोजन तथा व्यवस्थापन गर्न महासचिवको संयोजकत्वमा केन्द्रीय सचिवालय रहने व्यवस्था थियो ।

    आजबाट शुरू केन्द्रीय कमिटी बैठकमा पेस भएको मस्यौदामा महासचिवको संयोजकत्वमा केन्द्रीय कार्यालय र अध्यक्षको नेतृत्वमा केन्द्रीय सचिवालयको प्रस्ताव गरिएको छ ।

    कतै नेकपाकालीन कार्यकारी निकायकै रूपमा केन्द्रीय सचिवालयलाई स्थापित गर्न खोजिएको हो कि भन्ने आशंका कतिपय केन्द्रीय सदस्यले गरेका छन् । प्रस्तावित विधान मस्यौदामा अध्यक्षको नेतृत्वमा पदाधिकारीमध्येबाट ७ सदस्यीय सचिवालय रहने भनिएको छ ।

    त्यस्तै महासचिवको नेतृत्वमा ५ सदस्यीय केन्द्रीय कार्यालय रहने भनिएको छ । केन्द्रीय कार्यालय भइसकेपछि सचिवालय किन चाहियो रु भन्ने प्रश्न कतिपयले उठाएका छन् ।

    स्थायी कमिटीले गरेका निर्णयहरू दैनिन्दिन कार्यान्वयन गर्नेगरी सचिवलाय प्रस्ताव गरिएको छ । यद्यपि एमालेका आधिकारिक कमिटीको संरचनामा भने सचिवालय राखिएको छैन ।

    एमालेका अध्यक्ष र वरिष्ठ नेतासहित तीन उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र सात सचिव रहनेगरी पदाधिकारी प्रस्ताव गरिएको छ । यीमध्येबाट ७ जनाको सचिवालय बनाउँदा अध्यक्षको तजबिज चल्ने भएकोले आशंकाको नजरले कतिपयले हेरेका छन् ।

    एमालेको प्रस्तावित विधानमा २२५ सदस्यीय केन्द्रीय कमिटी र ३५ सदस्यीय स्थायी कमिटी प्रस्ताव गरिएको छ । यसअघि एमालेमा रहेका पोलिटव्यूरो र वैकल्पिक केन्द्रीय सदस्यको संरचना खारेज गरिएको छ ।

    ७० वर्षे उमेर हद र कार्यकारी पदमा दुई कार्यकालको हद भने कायमै राखिएको छ ।

  • गठबन्धनलाई ओलीको सुझाव- एमालेसँग लड्ने भए ‘पञ्चेगुट’ एकताबद्ध भएर आऊ

    गठबन्धनलाई ओलीको सुझाव- एमालेसँग लड्ने भए ‘पञ्चेगुट’ एकताबद्ध भएर आऊ

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय सत्तारुढ गठबन्धनलाई ‘पञ्चेगुट’को संज्ञा दिएका छन् । एमालेसँग लड्ने भए एकताबद्ध भएर आउन उनले गठबन्धनलाई सुझाव दिए ।

    काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्द ओलीले भने, ‘यत्तिकै लिरिखिरी पाराले एमालेसँग लड्न सक्दैनौं । मन्त्रिमण्डल बनाउन नसक्नेले एमालेसँग लड्ने धाक लगाउने ?’

    अरु पार्टी सबै मिल्दा एमालेको कम्मर कम्मर आउने उनले बताए ।

    ‘एमालेविरुद्ध के-के न गरेउँ भन्छन् । एमालेलाई खुब नोक्सान पारेउँ भन्छन् । तर, सबै मिल्दा पनि कति छन् ? हाम्रो कम्मर-कम्मर आइपुग्छन् । त्यत्ति न हो ।’

    एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी पार्टी र अध्यक्ष माधव नेपाललाई उनले कटु व्यंग्य गरे ।

    ‘फुटेको एउटा टुक्रो एकीकृत पार्टी रे,’ ओलीले भने, ‘पदाधिकारी पनि भर्न मान्छे नभएर खाली छोडेका छन् । ’

    नेपाललाई लक्षित गर्दै उनले थपे, ‘यसो टिभीमा हेरेको अध्यक्ष माधव नेपालभन्दा (हाउभाउसहित) गमक्क परेर मुस्कुराउँदा रहेछन् ।’

  • ओलीको कटाक्ष – महासभामा हिँडेका परराष्ट्रमन्त्री प्लेनमा घुर्दै, सोच्दै ! (भिडिओ)

    ओलीको कटाक्ष – महासभामा हिँडेका परराष्ट्रमन्त्री प्लेनमा घुर्दै, सोच्दै ! (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवा सरकारले हतारमा परराष्ट्रमन्त्री नियुक्त गरेर संयुक्त राष्ट्रसंघमा भाग लिन पठाएको विषयमा आलोचना गरेका छन् । बिनातयारी सुटकेसमा कपडा बोकेर हतारमा हिँडेका परराष्ट्रमन्त्रीले देशको सही प्रतिनिधित्व गर्न नसक्ने उनले बताए ।

    काठमाडौंमा आयोजित कार्यकर्ता भेलामा बोल्दै ओलीले भने, ‘तराईतिर भन्छन् नि, चट् मंगनी पट सादी । एउटा मन्त्री फ्याट्ट तोकिए । नियुक्त गरिए । हतार-हतार सपथग्रहण भयो । सुटकेस लिएर एयरपोर्ट । के ताल हो ? के प्रतिनिधित्व गर्ने, के बोल्ने ? के भन्न जाने ? कपडाको ब्याग बोकेर प्रतिनिधित्व हुन्छ ? खोइ तयारी ?’

    उनले व्यंग्य कसे, ‘कपडा, टाइसुटले प्रतिनिधित्व हुन्छ ? प्लेनमा जाँदा सुतेर चिन्तन-मनन गर्ने हो ? विशिष्ट श्रेणीको सिटमा यसो ढल्केर, घुर्दै सोच्दै.. घुर्दै सोच्दै…। यो हालत छ देशको ।’

    राष्ट्रसंघको महासभा छ भनेर सरकारले हिजोमात्रै थाहा पाएको ओलीले बताए ।

    ‘७५ दिनसम्म महासभा छ भन्ने थाहा नपाउने सरकार । हिजो झल्यास्स सम्झेछ । अस्ति सुरु भइसक्यो सरकारले हिजो बिहानै थाहा पाएछ । एकजना भाग्यमानीलाई च्याप्प समातेर नियुक्ति दिइयो, अनि सपथग्रहण… ’

    एमालेसँग लड्नेहरूले एकताबद्ध भएर आउ पञ्चेगुट एकजुट भए आउ यत्तिकै लिरिखिरी पाराले । मन्त्रीमण्डल बनाउन नसक्ने एमालेसँग लड्ने धाक लाउने ?

  • ओलीले भने- सिस्नुजस्तो सरकार छ, जता छोयो त्यतै पोल्ने (भिडिओ)

    ओलीले भने- सिस्नुजस्तो सरकार छ, जता छोयो त्यतै पोल्ने (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारलाई सिस्नुसँग तुलना गरेका छन् । सरकारलाई जता छोयो त्यतै पोल्ने उनको टिप्पणी छ ।

    काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘कस्तो सरकार आयो आयो । अचम्म लाग्छ । सिस्नुजस्तो । जता छोयो त्यतै पोल्छ । अर्को चुनावमा यसलाई तातोपानी लगाएर ठीक पार्नुपर्छ ।’

    आफ्नो नेतृत्वको सरकार थप दुई वर्ष टिकेको भए अन्य पार्टीहरुको ‘सटर बन्द हुने’ दावी उनले गरे ।

    ‘हाम्रो एमालेको सरकार दुई वर्ष टिकेको भए विचराहरूको राजनीतिको सटर बन्द हुन्थ्यो । घ्यार्र सटर तान्नुहुन्थ्यो । त्यसैकारण हटाउनुपरो,’ ओलीले भने । आफ्नो सरकारले विकासको लहर ल्याएको उनले बताए ।

    ‘हामीले राजमार्गै राजमार्ग बनायौं, धरहरा उठायौं, रानीपोखरी बनायौं । अब हामीले बनाइदिएको नयाँ घरमा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा सर्दैछन् । एकपटक ताली बजाउनुस् न । उहाँले रिवन काट्नु्हनेछ, बत्ती बाल्नुहुनेछ । हामीले तार जोडिदिएका छौं, उहाँले प्लग ठ्याक्क थिच्नुहुनेछ । मलाई खुसी लाग्छ ।’

  • राष्ट्रिय सभागृहमा एमालेको बृहत् भेला (तस्बिरहरू)

    राष्ट्रिय सभागृहमा एमालेको बृहत् भेला (तस्बिरहरू)

    काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेको बृहत् भेला राष्ट्रिय सभागृह काठमाडौंमा जारी छ । भेलालाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।

    उपत्यका विशेष प्रदेश कमिटीले भेलाको आयोजना गरेको हो । भेलालाई महासचिव ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’ लगायतका नेताहरूले सम्बोधन गरेका छन् ।

    पार्टी फुटाएर माधव नेपालले नेकपा एस दर्ता गरेपश्चात एमालेले केन्द्रदेखि तल्लो तहसम्म अझ सशक्त भएर एकढिक्काका साथ अघि बढ्ने र जनताको अभिमतद्वारा पुन: सत्तामा आउने उद्घोषसहित भेला, बैठकलाई तीव्र बनाएको छ ।

     
     
     
     
     
     
     
     
     
  • एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

    एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

    काठमाडौं । नेकपा (एमाले) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठक भोलि बिहान ११ बजेदेखि तुल्सीलाल स्मृति प्रतिष्ठानमा शुरू हुने छ।

    दुई दिनसम्म चल्ने बैठकको मुख्य एजेन्डा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र संशोधन प्रस्तावमाथि छलफल गरेर पारित गरिने रहेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

    असोज ३ र ४ गते बसेको स्थायी कमिटी बैठकले विधान महाधिवेशनसम्बन्धी प्रस्तावहरूमाथि छलफल गरेर केन्द्रीय कमिटीमा पठाउने निर्णय गरेको थियो ।

  • भोजपुर एमालेमा १० बुँदे कार्यान्वयन, एकताको सन्देश दिँदै पदाधिकारी हेरफेर (सूचीसहित)

    भोजपुर एमालेमा १० बुँदे कार्यान्वयन, एकताको सन्देश दिँदै पदाधिकारी हेरफेर (सूचीसहित)

    भोजपुर । १० बुँदे सहमति कार्यान्वयन गर्दै जेठ २ मा फर्काइएको नेकपा एमाले भोजपुर कमिटीका पदाधिकारी हेरफेर गरिएको छ ।

    पार्टी विभाजनपछि पहिलोपटक हिजो एमाले जिल्ला कमिटीको बैठक तथा कार्यकर्ता भेला भएको थियो । पार्टीलाई तल्लो तहसम्म सशक्त उपस्थिति गराउने उद्घोषसहित जिल्ला नेतृत्वमा जुझारु टिम अघि बढाइएको हो । पदाधिकारी हेरफेरमा हिजो एमाले विभाजनको क्रममा समानान्तर कमिटीमा रहेकाहरूलाई पनि जिम्मेवारी दिइएको छ । भने केहीले त्याग गरेका छन् ।

    २०७५ जेठ २ को संरचनामा अध्यक्ष रहेका प्रेमकुमार राई अध्यक्ष नै छन् । उनी हतुवागढी गाउँपालिका प्रमुख पनि हुन् । उपाध्यक्ष देवीराम चौलागाईंको ठाउँमा शरणकुमार राईलाई जिम्मेवारी दिइएको छ । माधव पक्षको समानान्तर कमिटीका अध्यक्ष बनेका राईले पार्टी फुटप्रति असन्तुष्टी जनाउँदै एमालेमै रहने निर्णय गरेका थिए । साविक कमिटीमा सचिव रहेका राईको ठाउँमा मक्कर खड्कालाई ल्याइएको छ ।

    जिल्लामा समानान्तर कमिटी बनेपछि एमालेको संस्थापन पक्षले अखिलका नेता खड्कालाई उपाध्यक्ष र पौवादुङ्मा गाउँपालिका अध्यक्ष किरण राईलाई सचिव बनाइएको थियो । पदाधिकारी परिवर्तनसँगै किरणले संगठन विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । सहसचिवमा धर्म किरातीलाई ल्याइएको छ । उनी माओवादीबाट एमाले प्रवेश गरेका हुन् । साविकमा सन्देश पौडेल सहसचिव थिए ।

    जिल्ला कमिटीमा समानान्तर कमिटीमा रहेका सदस्यहरूलाई समेत मर्ज गरिएको छ । अब एमाले भोजपुर एकताको सन्देश बोकेर ठोस रणनीतिका साथ जनस्तरसम्म अभियान लिएर जाने सचिव खड्काले नेपाल प्रेसलाई बताए ।

    कात्तिक ६ गते वडा र कात्तिक ९ गते सबै स्थानीय तहका कमिटीको अधिवेशन गर्ने निर्णय पनि भेलाले गरेको छ । हिजोको कार्यक्रममा प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राई, केन्द्रीय सदस्य हरिबहादुर राई, अध्यक्ष प्रेमकुमार राई, उपाध्यक्ष देवीराम चौलागाईं, सचिव शरणकुमार राई, पूर्वसांसद धनहर्क राईलगायतका नेता/कार्यकर्ता उपस्थित छन् ।

    नेकपा एसले भने केही दिनअघि वीरजंग राईको नेतृत्वमा १५५ सदस्यीय जिल्ला कमिटी घोषणा गरिसकेको छ । वीरजंग साविक कमिटीमा सचिवालय सदस्य थिए ।

  • सरकारलाई ‘ग्रहण’ को संज्ञा दिँदै ओलीले भने- त्यतातिर नहेर्नू, अशुभ हुन्छ

    सरकारलाई ‘ग्रहण’ को संज्ञा दिँदै ओलीले भने- त्यतातिर नहेर्नू, अशुभ हुन्छ

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीको मुख थुन्न सरकारले पदक बाँडेको टिप्पणी गरेका छन् ।

    मंगलवार मदन भण्डारीको जीवनीबारे लेखिएको पुस्तक ‘श्वेत शार्दुल’ सार्वजनिकीकरण कार्यक्रममा ओलीले न्यायाधिश, वकिल र पत्रकारलाई पदक वितरण गरेपछि सरकारको विरोधमा कसैले नबोल्ने पनि बताएका हुन् । आफ्नो सरकारको पालामा विरोध गर्ने बुद्धिजिवी र नागरिक समाजहरूले अहिले देउवा नेतृत्वको सरकारले रत्नपार्कमा बसेर वितरण गरेको जस्तो ह्वारह्वार पदक वितरण गर्दा पनि विरोध नगरेकोप्रति असन्तुष्टी व्यक्त गरे ।

    ओलीले भने, ‘अस्तिको दिन वितरण गरिएको जस्तो पदक हामीले वितरण गरिएको भए बाबा । अहिले त निर्णय खारेज गर्ने अदालतलाई पनि वितरण गरिदिएको छ, बहस गर्ने वकिललाई पनि वितरण गरिदिएको छ कसले बहस गर्ने ? विरोधमा बोल्ने टेलिभिजन, अखबार आदी इत्यादीलाई पनि वितरण गरिदिएको छ ति पनि चुपचाप कसले बोल्ने ? कस्तो सबैतिर ढ्याकढ्याक्ती ढोका थुन्ने । कतैबाट आवाज नआओस् । कतैबाट विरोधको स्वर नआओस् । कतैबाट उज्यालो नछिरोस् । सबैतिर अन्धकारमा चलाउने । विरोधी नै रहेनन् ।’

    ‘म प्रधानमन्त्री भएको बेला यसरी वितरण गरेको भए ओहो । के हुन्थ्यो ? बुद्धिजिवीहरूले के भन्थे ? नागरिक समाज के भन्थ्यो ? आज रमाइलो छ सबै चुपचाप छन् । सञ्चो छ । शान्त छ ।’

    अध्यक्ष ओलीले गठबन्धनले आकांक्षीलाई २५ जनाभित्र समेट्न नसकेका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको टिप्पणीगरे । सरकारले युवापुस्तामा वर्तमान राजनीतिप्रति निराशा र वितृष्णा पैदा गर्ने काम गरेको ओलीको आरोप छ । उनले वर्तमान सरकारलाई ग्रहणको संज्ञा दिँदै त्यतातर्फ नहेर्न अनुरोध गरे ।

    सरकारतर्फ हेरे अशुभ हुने तर्क गर्दै ओलीले भने, ‘जनतामा राजनीतिप्रति निराशा, वैराग्य भाव, विरक्ति, वितृष्णा पैदा गर्ने कोसिस भएको छ । दिउँसै पनि ग्रहण लाग्यो भने ग्रहणतिर नहेर्नु भन्छन् । अहिले ग्रहण लागेको छ । यो ग्रहणतिर हेर्ने काम छैन । यो ग्रहण लागेको छ । अशुभ छ । २५ मा सहज हुन उहाँहरूलाई सहज भइराखेको छैन । देशको बहुमुल्य समय बर्बाद भो । चिन्ता हो । दुरुपयोग भो चिन्ता हो ।’

    उनले पदकका आँखा हुन्थे र आँशु हुन्थे भने सर्माएर बरबर रुन्थ्यो भनेर व्यंग्य गरे । ‘धरधर रुन्थ्यो पदक । बोल्न जान्दथ्यो भने त्यसले नारा लगाउथ्यो उफ्रिएर । जान्ने हो भने मान्छेले होइन पदकले पनि विद्रोह गर्थ्यो’, ओलीले भने ।

  • जेठ २ मा फर्कियो भोजपुर एमाले (तस्बिरहरू)

    जेठ २ मा फर्कियो भोजपुर एमाले (तस्बिरहरू)

    भोजपुर । नेकपा एमाले भोजपुर जिल्ला कमिटी जेठ २ मा फर्किएको छ । १० बुँदे सहमति कार्यान्वयनको क्रममा पार्टीलाई २०७५ जेठ २ को संरचनामा फर्काइएको हो ।

    पार्टी विभाजनपछि पहिलोपटक एमाले जिल्ला कमिटीको बैठक तथा कार्यकर्ता भेला आयोजना गरिएको छ । बैठकमा प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राई, केन्द्रीय सदस्य हरिबहादुर राई, अध्यक्ष प्रेमकुमार राई, उपाध्यक्ष देवीराम चौलागाईं, सचिव शरणकुमार राई, पूर्व सांसद धनहर्क राईलगायतका नेता तथा कार्यकर्ता उपस्थित छन् ।

    एमाले विवादमा समानान्तर कमिटीको अभ्यास गरेर पार्टी फुटलाई साथ नदिएका नेता/कार्यकर्ताहरू पनि बैठकमा सहभागी छन् । माधव नेपालको समानान्तर जिल्ला कमिटीमा अध्यक्ष बनेका शरणकुमार राई एमाले जिल्ला कमिटीको पुरानो संरचनाको सचिवकै हैसियतमा बैठकमा सहभागी छन् ।

    बीचमा एमाले भोजपुरले उपाध्यक्षमा मक्कर खड्का र सचिवमा किरण राईलाई जिम्मेवारी दिएको थियो । उपाध्यक्ष रहेका देवीरामलाई भने केन्द्रीय सदस्य मनोनीत गरिएको थियो ।

    यो बैठक तथा भेलाले पार्टीलाई तल्लो कमिटीसम्म पुरानै संरचनामा फर्काउने साथै नयाँ रणनीतिका साथ कार्ययोजना अघि सार्ने बताइएको छ ।

    नेकपा एसले भने केही दिनअघि वीरजंग राईको नेतृत्वमा १५५ सदस्यीय जिल्ला कमिटी घोषणा गरिसकेको छ ।

  • गोकुल बास्कोटाको टिप्पणी- माधव नेपाल घाम झु्ल्केपछि सुकेर जाने शीतको थोपा

    गोकुल बास्कोटाको टिप्पणी- माधव नेपाल घाम झु्ल्केपछि सुकेर जाने शीतको थोपा

    पोखरा । पूर्वसञ्चारमन्त्री तथा नेकपा एमालेका नेता गोकुल बास्कोटाले माधव नेपाललाई घाम उदायपछि सुकेर जाने शीतको संज्ञा दिएका छन् ।

    पोखरामा पत्रकारहरूसँग कुरा गर्दै नेता बास्कोटाले भने, ‘माधव नेपालको पार्टीको अस्तित्व घाम नझुल्किदासम्मको शीत जस्तो हो, घाम झुल्किएपछि सकिन्छ ।’

    चुनाव भएपछि माधव नेपालको अस्तित्व सकिने उनको भनाइ थियो । भ्रममा परेर माधव नेपालको पछि लागेकाहरू एमालेमा फर्कने उनको दावी छ । माधव नेपाल पार्टीद्रोही भएको आरोप उनले लगाए ।

    पार्टी फुटेको नभइ काचुँली फेरेको भन्दै उनले भने, ‘नेकपाले काँचुली फेरेको छ, कोईली कराउँदै गर्दा पार्टीले नयाँ पालुवा फेर्छ ।’

    अध्यादेशले बनाएको पार्टी र परमादेशले बनाएको सरकारले काम गर्न नसक्ने बास्कोटाले बताए । एमसीसीमा आफूहरू सकारात्मक भए पनि देशको राष्ट्रियता खल्बलाउने खालको सहमति एमालेलाई मान्य नहुने उनको भनाइ छ ।

  • संविधानसभा सदस्य फुर्वासहित मकवानपुरका माओवादी जिल्ला नेता एमालेमा प्रवेश

    संविधानसभा सदस्य फुर्वासहित मकवानपुरका माओवादी जिल्ला नेता एमालेमा प्रवेश

    काठमाडौं । नेकपा माओवादी नेता तथा मकवानपुरबाट २०६४ सालको पहिलो संविधानसभामा निर्वाचित सभासद दिलबहादुर घिसिङ (फुर्वा) नेकपा एमालेमा प्रवेश गरेका छन् । फुर्वा पछिल्लो समय मोहन वैद्य नेतृत्वको माओवादीमा थिए ।

    घिसिङसँगै मकवानपुरकी माओवादी नेता वरिना बल तामाङ, राजेश गहतराजलगायतका नेता मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर पार्टी प्रवेश गरेका हुन् ।वरिना माओवादी जनयुद्धमा लागेकी नेता हुन् । पछिल्लो सफल उद्यमीका रुपमा परिचित छिन् ।

    सो अवसरमा अध्यक्ष ओलीले नेकपाबाट प्रचण्ड माओवादीको एउटा हिस्सा लिएर अलग भए पनि अहिलेको एमाले नेकपाकै निरन्तरता रहेको भन्दै माओवादीमा रहेका कार्यकर्ता एमालेमै समाहित हुनुपर्ने बताए ।

    नवप्रवेशीलाई महासचिव ईश्वर पोखरेल, सांसद कृष्णप्रसाद दाहाल,मकवानपुरका एमाले नेताहरू हिदम लामा र महेश बर्तौलाले स्वागत गरेका थिए ।

  • ओलीको प्रतिवेदनमा घनश्यामको टिप्पणी- जबजलाई मार्गदर्शक सिद्धान्त भन्नु अतिशयोक्ति (दस्तावेजसहित)

    ओलीको प्रतिवेदनमा घनश्यामको टिप्पणी- जबजलाई मार्गदर्शक सिद्धान्त भन्नु अतिशयोक्ति (दस्तावेजसहित)

    काठमाडौं । नेकपा (एमाले) का नेता घनश्याम भुसालले पार्टी विभाजनलाई ‘वैरी हँसाउने घटना’को संज्ञा दिएका छन्। आइतबारदेखि जारी एमाले स्थायी कमिटी बैठकमा पेस भएका प्रतिवेदनमाथि टिप्पणी गर्दै भुसालले यस्तो धारणा राखेका हुन्।

    ‘पार्टी विभाजन अनपेक्षित, वैरी हँसाउने घटना थियो,’ भुसालले राखेको लिखित धारणामा भनिएको छ, ‘त्यसमा रहेका
    कमिकमजोरीबाट सिकेर, पार्टीका वैचारिक, सैद्धान्तिक तथा सांगठानिक प्रस्तावहरूमा समेत आधारित भएर भविष्यमा कम्युनिष्ट एकताको पहलकदमी हामी आफैंले लिनु पर्नेछ ।’

    बहुदलीय जनवादले मार्गदर्शक सिद्दान्तका रुपमा काम नगर्ने पनि भुसालको भनाइ छ । ‘जनताको बहुदलीय जनवादबारे हामीले क. मदन भण्डारीको देहान्तपछि छलफल गर्न छोडेका छौँ, ’ भनिएको छ, ‘उहाँले जनताको बहुदलीय जनवादलाई कार्यक्रमको रूपमा अगाडि सार्नुभएको थियो । छैठौँ महाधिवेशनमा त्यसलाई सिद्धान्त निर्माणको कुनै आधार नै नदिइकन सिद्धान्त भनियो ।’

    भण्डारीले कार्यक्रमका रूपमा थपेका सबै विशेषता अभ्यास गरिसकिएको भन्दै उनले यो मार्गदर्शक सिद्दान्त नबन्ने दावी गरेका छन् । ‘क. मदनले नयाँ जनवादी कार्यक्रममा १४ वटा विशेषता थपेको हुँदा त्यसलाई जनताको बहुदलीय जनवादी कार्यक्रम भन्नुपर्छ भन्नु भयो,’ भुसालको भनाइ छ, ‘ती १४ विशेषता हामीले अभ्यास नै गरिसकेका छौँ । यसर्थ अब पनि कार्यक्रमका रूपमा त्यसले हामीलाई मार्गदर्शन गर्छ भन्नु अतिशयोक्ति हुन्छ ।’

  • प्रचण्ड भन्छन्- घनश्याम, योगेश, गोकर्ण केपीलाई नेपालकै भ्रष्ट भन्थे, सबैले आत्मसमर्पण गरे

    प्रचण्ड भन्छन्- घनश्याम, योगेश, गोकर्ण केपीलाई नेपालकै भ्रष्ट भन्थे, सबैले आत्मसमर्पण गरे

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले विभाजनको विपक्षमा उभिएका १० नेताहरूले आत्मसर्मपण गरेको टिप्पणी गरेका छन् ।

    सोमवार सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्टजस्ता आफूलाई अलि वैचारिक दावी गर्ने नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेपालकै भ्रष्ट नेता भन्ने गरेको बताए ।

    ‘जसले अलि वैचारिक भन्थे ती मान्छे सबैले आत्मसर्मपण गरे,’ उनले भने, ‘केपीको निरंशुकता पनि थाहा छ तिनीहरूलाई, नेपालको एउटा भ्रष्ट नेता हो । झेली नेता हो भन्ने पनि थाहा छ उहाँहरूलाई । मलाई त उहाँहरूले सिकाएको हो, यो यति भ्रष्ट, बेइमान, यति छली ।’

    प्रचण्डले थपे, ‘यति जाली मान्छे छ भनेर हामीलाई सिकाएको चाहिँ घनश्याम, योगेश, गोकर्ण लगायको १० जनाको टिम छ नि, उहाँहरूले हो हामीलाई सिकाएको छ । हामीलाई दरोसँग टेक्नुहोस्, हामी छौं साथमा भन्नेहरू पनि उहाँहरु नै हो । तर, लास्टमा त सबैले आत्मसमर्पण गर्नुभयो । अनौठो लागेको छ हामीलाई ।’

    झलनाथ खनाल, माधव नेपाल लगायतले नयाँ पार्टी गठन गरेकोलाई प्रचण्डले आफूहरूको मेहनतको फल लागेको रुपमा व्याख्या गरे । ‘पद प्रतिष्ठाका लागि विचार, सिद्धान्त पोलेर खान लाज नमान्नेहरुको जामात रहेछ त्यहाँ,’ उनले भने, ‘हामीले छन् त मान्छे त भन्ठान्यौं । धेरै मेहनत पनि गर्‍यौं । हुन त मेहनतको फल लागेको पनि छ । झलनाथ, माधवजस्ता पुरानो पिँढीका साथीहरू अगाडि बढ्न जमर्को पनि गरिराख्नु भएको छ । हामीले सहयोग गरेका छौं, त्यहाँ पनि ।’

  • एमाले स्थायी कमिटी बैठकका लागि च्यासल पुगे नेताहरू (तस्बिरहरू)

    एमाले स्थायी कमिटी बैठकका लागि च्यासल पुगे नेताहरू (तस्बिरहरू)

    काठमाडौं । नेकपा (एमाले) को दोस्रो दिनको स्थायी कमिटी बैठक भर्खरै शुरू भएको छ । हिजोदेखि जारी बैठकमा विधान महाधिवेशनमा पेस गरिने तीन प्रतिवेदनमाथि छलफल थालिएको छ ।

    विधान महाधिवेशनमा पेस गरिने राजनीतिक, विधान संशोधनसम्बन्धी र सांगठानिक प्रतिवेदनमाथिको छलफलमा बैठक केन्द्रित छ । यही असोज १५, १६ र १७ गते हुन गइरहेको विधान महाधिवेशनमा प्रस्तुत गर्ने प्रतिवेदनमाथि आइतबार स्थायी कमिटी सदस्यहरू अमृत बोहरा, केशव बडाल, पुष्प कँडेल, घनश्याम भुसाल र युवराज ज्ञवालीले विचार राखेका थिए ।

    आज बाँकी सदस्यले सुझाव राखेपछि आवश्यक सुझाव समेटेर प्रतिवेदन परिमार्जन गरी ८ र ९ गते बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गरिने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । केन्द्रीय कमिटीबाट पनि आएका सुझावलाई समेटेर विधान महाधिवेशनमा प्रतिवेदन पेस गरिनेछ ।

    राजनीतिक प्रतिवेदनमा पछिल्ला राजनीतिक घटनाक्रम र पार्टीको कार्यदिशा र समग्र कामको मूल्यांकन पनि बैठकका एजेण्डा छन् ।

    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
  • एमालेको ठहर- संसदमा जबर्जस्ती गरियो, आन्दोलन जारी रहन्छ

    एमालेको ठहर- संसदमा जबर्जस्ती गरियो, आन्दोलन जारी रहन्छ

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्तापक्षले एकतर्फीरूपमा बजेट पारित गरेको भन्दै असन्तुष्टी जनाएको छ । प्रतिनिधिसभाको आजको बैठकले विनियोजन विधेयक पारित गरेपछि एमालेले प्रतिपक्षको आवाजलाई संसदमा दवाउन खोजिएका आरोप लगाएको हो ।

    पत्रकारहरूसँग कुराकानी गर्दै एमाले मुख्य सचेतक विशाल भट्टराईले सभामुखको कार्यशैली अलोकतान्त्रिक र संसदीय मर्यादाविपरीत रहेको बताए । ‘संसदमा प्रस्तुत भएका विषयभन्दा पनि सभामुखको कार्यशैली र उहाँले एमालेप्रति गरेको विभेदका कारण हामी आन्दोलनमा छौं । उहाँले प्रवृत्ति नसच्याएसम्म र एमालेमाथि भएको अन्याय नहटेसम्म अवरोध जारी रहन्छ’, भट्टराईले भने ।

    उनले संसदको आठौं अधिवेशनमा विजनेश दिन नसक्ने सत्ता पक्षले अहिले एमालेले जनताको आवाज कुण्ठित गर्यो भनी आरोप लगाउनु हास्यास्पद रहेको बताए । ‘संसदको आठौं अधिवेशन सम्झना दिलाउन चाहन्छु । साउन ३ देखि ३२ गतेसम्म २९ दिन उहाँहरुले संसदलाई बिजनेश दिनुभएन । त्यतिबेला सोध्नुपर्‍थ्यो जनताको आवाज बन्द किन गरियो भनेर अहिले एमालेले ५ पटक संसदमा अवरोध गर्दैमा जनताको आवाज कसरी बन्द हुन्छ ?’, भट्टराईले प्रश्न गरे ।

    उनले सभामुखले एमाले सांसदमाथि कारवाहीको सूचना टाँस्ने वा मार्गप्रशस्त गर्नेमध्ये एक बाटो रोज्नुपर्ने बताए । संसदमा जबर्जस्ती गर्न खोजिएको भन्दै भट्टराईले निकास दिने जिम्मेवारी प्रतिपक्षको नभए सत्तापक्ष र सभामुखको हुने बताए ।

    विनियोजन विधेयक पारित भएलगत्तै एमाले नेताहरू संसद भवनमै छलफल जुटेका थिए । संसद भवनबाट बाहिरिने क्रममा ‘सत्तापक्षले पेल्यो नि ?’ भन्ने पत्रकारको प्रश्नमा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘पेल्न दिनु’ भन्ने जवाफ फर्काएका थिए ।

  • संसद भवनमा एमाले शीर्ष नेताबीच छलफल

    संसद भवनमा एमाले शीर्ष नेताबीच छलफल

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरू संसद भवनमै आन्तरिक छलफलमा जुटेका छन् ।

    एमालेको अवरोधका बाबजुद प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित गरिएपछि शीर्ष नेताहरू छलफलमा जुटेका हुन् । एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, प्रमुख सचेतक विशाल भट्टराईलगायतका नेताहरूबीचको छलफल जारी छ ।

    आफ्ना मागबारे सभामुखले सुनुवाइ नगरी संसद सुचारु राखेको विषयमा धारणा बनाउन छलफल गरिएको एक नेताले बताए । सभामुखको भूमिकाप्रति असन्तुष्टी जनाउँदै एमालेले निरन्तर सदन अवरुद्ध गरिरहेको छ । आफूले कारवाही गरेका १४ सांसदको पदमुक्तको सूचना टाँस गर्नुपर्ने वा राजीनामा दिएर मार्ग प्रशस्त गर्न एमालेले सर्त अघि सारेको छ ।

  • विधान महाविधेशनमा पेस गरिने प्रतिवेदनमाथि एमालेमा छलफल शुरु, भोलि पनि स्थायी कमिटी बैठक

    विधान महाविधेशनमा पेस गरिने प्रतिवेदनमाथि एमालेमा छलफल शुरु, भोलि पनि स्थायी कमिटी बैठक

    काठमाडौं । नेकपा (एमाले) को विधान महाधिवेशनमा पेस गरिने तीन प्रतिवेदनमाथि छलफल शुरू भएको छ ।

    आइतबार ललितपुरको च्यासलमा बसेको स्थायी कमिटी बैठकमा विधान महाधिवेशनमा पेस गरिने राजनीतिक, विधान संशोधनसम्बन्धी र सांगठानिक प्रतिवेदनमाथि छलफल शुरू भएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

    यही असोज १५, १६ र १७ गते हुन गइरहेको विधान महाधिवेशनमा प्रस्तुत गर्ने प्रतिवेदनमाथि आज स्थायी कमिटी सदस्यहरू अमृत बोहरा, केशव बडाल, पुष्प कँडेल, घनश्याम भुसाल र युवराज ज्ञवालीले विचार राखेका थिए ।

    भोलि १ बजे फेरि बैठक बस्ने र बाँकी सदस्यले सुझाव राखेपछि आवश्यक सुझाव समेटेर प्रतिवेदन परिमार्जन गरी ८ र ९ गते बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गरिने जानकारी भट्टराईले दिए । केन्द्रीय कमिटीबाट पनि आएका सुझावलाई समेटेर विधान महाधिवेशनमा प्रतिवेदन पेस हुने उनको भनाइ छ।

    राजनीतिक प्रतिवेदनमा पछिल्ला राजनीतिक घटनाक्रम र पार्टीको कार्यदिशा र समग्र कामको मूल्यांकन गरिएको बताइएको छ । त्यस्तै नवौं महाधिवेशनदेखि आजसम्म आइपुग्दा संगठनात्मकरूपमा प्राप्त गरेका उपलब्धी, कमिकमजोरी र प्राप्त शिक्षाबारे सांगठानिक प्रतिवेदनमा उल्लेख गरिएको भट्टराइले बताए ।

    विधान संशोधनसम्बन्धी प्रतिवदेनमा भने पार्टीको विधान संशोधनका विषय समेटिएको उनले जानकारी दिए ।

  • पदकबारे ओलीको प्रश्न- संविधान दिवस बाबु र श्रीमतीको मुख हेर्ने दिन हो ? (भिडिओ)

    पदकबारे ओलीको प्रश्न- संविधान दिवस बाबु र श्रीमतीको मुख हेर्ने दिन हो ? (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यले बाँड्ने विभूषण र पदकहरु सत्ता गठबन्धनका नेता, तीनका परिवार र एमाले सरकारविरुद्ध निरन्तर लागेका मिडियाकर्मी तथा वकिलहरूलाई बाँडिएको आरोप लगाएका छन् ।

    संविधान दिवसका अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले झलनाथ खनालदेखि प्रचण्ड पत्नीसम्मले पाएको पदकको बारेमा समेत प्रश्न उठाए ।

    ओलीको प्रश्न थियो, ‘संविधान दिवस भनेको पिताको मुख हेर्ने दिने हो ? श्रीमतीको मुख हेर्ने दिन हो ? यिनले बाँडेका मानपदवी देख्नुभयो नि ? मलाई चाहिँदैन भन्थे, आफ्नाहरूलाई बाँड्नका लागि डाडूपुन्यु समातेका रहेछन् ।’

    ओलीले एमाले नेतृत्वको सरकारले गरेका विकासका कामको निरन्तर विरोध गरेर खेदो खन्ने मिडियाका मालिक र मिडियाकर्मीहरूलाई छानी छानी मानपदवी बाँडेको आरोप लगाए ।

    त्यस्तै अदालतमा मुद्दा हाल्ने झगडिया, जिताइदिने न्यायाधीशलगायतलाई पदक बाँडिएको आरोप समेत उनले लगाए ।

     

  • संविधान बनाउन अगुवाइ गर्दा ममाथि माइकले हान्ने र भौतिक आक्रमणसमेत भए : ओली

    संविधान बनाउन अगुवाइ गर्दा ममाथि माइकले हान्ने र भौतिक आक्रमणसमेत भए : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस-माओवादीजस्ता दलहरू लकपकाएर खुट्टा कमाएका बेला एमालेको नेतृत्वमा संविधान बनेको भन्दै यसको रक्षाका लागि पनि एमालेले नै अगुवाइ गर्ने बताएका छन् ।

    संविधान दिवसका अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले संविधान जारी गर्ने पहल लिँदा आफूमाथि संविधानसभामै माइकले हान्नेदेखि भौतिक हमलाको प्रयास भएको स्मरण गरे ।

    ओलीले भने, ‘हामीमाथि संविधान जारी गर्न खोज्दा भौतिक आक्रमण भए । माइकले हाने । सबै झेलेर संविधान जारी गराइयो, त्यसवापत नाकाबन्दी भयो त्यसको पनि डटेर, राष्ट्रिय स्वाभिमानलाई झुक्न नदिएर कुनै सम्झौता नगरी संविधानको रक्षा गरेर अघि बढ्यौं । मलाई गर्व छ त्यसको नेतृत्व नेकपा एमालेले गर्‍यो ।’

    ओलीले संविधान संशोधन गर्छु भन्दै विदेशमा गएर सम्झौता गर्ने प्रवृत्ति नेपालकै कतिपय नेताले देखाएको भन्दै शेरबहादुर देउवाप्रति कटाक्ष गरे । अध्यक्ष ओलीले संविधान नमान्ने शक्तिलाई पनि एमालेले आफ्नो नेतृत्वको सरकारका पालमा सबैलाई समेटेको दावी गरे ।

    ओलीले भने, ‘जो पृथकतावादको वकालत गर्दै थिए, हिंसामा थिए ती सबै प्रवृत्तिलाई समेत समावेश गरियो । संविधान मान्दैनौं भन्ने कुरा अब जनतालाई धोका दिने मात्र हो । सबैले संविधान अनुसार सपथग्रहण गरेका छन् । सरकारमा सहभागी भएका छन् । विनासर्त संविधान स्वीकार गरेका छन् ।’

  • पदकप्रति संविधानसभा अध्यक्षको कटाक्ष- मुद्दा हाल्ने र परमादेश जारी गर्नेजति पुरस्कृत भएछन् (भिडिओ)

    पदकप्रति संविधानसभा अध्यक्षको कटाक्ष- मुद्दा हाल्ने र परमादेश जारी गर्नेजति पुरस्कृत भएछन् (भिडिओ)

    काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संविधान दिवसकै दिन केपी ओली सरकार हटाउन परमादेश जारी गर्ने न्यायाधीश र मुद्दा हाल्ने वकिलहरू पदकबाट विभुषित हुनु संयोगमात्र नरहेको भन्दै यसले गम्भीर आशंका पैदा गरेको बताएका छन् ।

    संविधान दिवसका अवसरमा एमालेले च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेम्वाङले साँझ चितुवा कराउनु र बिहान सिँगारी खसी हराउनुजस्तै परमादेश जारी गरेर सरकारमा ल्याइदिएको गुन तिर्न पदक दिएको हो भने त्यो बेठीक भएको बताए ।

    नेम्वाङले भने, ‘म सम्मानित न्यायाधीशज्यूहरूलाई यो पदक अश्वीकार गर्न सुझाव दिन्छु । नत्र यसले राम्रो सन्देश दिदैन । केपी ओली र एमालेलाई सरकारबाट विस्थापित गर्न मुद्दा लगाउने नेता र परिवार,बहस गर्ने वकिल र फैसला गर्ने न्यायाधीशले पदक पाउनुले चितुवा कराउनु र सिँगारी हराउनु भन्ने उखान मेल खान्छ ।’

    नेम्वाङले एमाले फुटाउन दिल्लीबाट भूमिका खेल्ने झलनाथ खनाल, प्रचण्डपत्नी सीता दाहाल र माधव नेपालका पिता स्वर्गीय मंगल उपाध्यायले पदक पाउँदा आफू खुसी भए पनि यसपटक मुद्दा लगाउने, मुद्दा जिताउने र परमादेश जारी गर्नेहरूले मात्र विभूषित हुनु संयोगमात्र नभएको बताए ।

  • परमादेशले संविधानको अपव्याख्या गरेको एमालेको आरोप, च्यासलमा राष्ट्रिय दिवस (लाइभ)

    परमादेशले संविधानको अपव्याख्या गरेको एमालेको आरोप, च्यासलमा राष्ट्रिय दिवस (लाइभ)

    काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा प्रमुख विपक्षी नेकपा एमालेले अलग्गै कार्यक्रम आयोजना गरेको छ ।

    च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली र संविधानसभा अध्यक्ष सुवास नेम्वाङले सम्बोधन गर्दैछन् ।

    संविधानको सहज कार्यन्वयनमा वाधा सिर्जना गर्न विभिन्न प्रयास भइरहेकाले एमालेले आफ्नो दृष्टिकोण सार्वजनिक गर्न लागेको कार्यक्रममा प्रवक्ता प्रदीप ज्ञवालीले बताए । एमालेले संविधानको अपब्याख्या गरेर परमादेशमार्फत सत्ता परिवर्तन गरिएको आरोप लगाएको छ ।

    कार्यक्रममा एमालेले संविधान जारी गर्नेदेखि कार्यान्वयनमा सबैलाई सहभागी गराउनेसम्मको नेतृत्व गरेको ज्ञवालीले बताए ।

  • च्यासलमा एमालेको संविधान दिवस (तस्बिरहरू)

    च्यासलमा एमालेको संविधान दिवस (तस्बिरहरू)

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सातौं संविधान दिवसको अवसर पारेर विशेष कार्यक्रमको आयोजना गरेको छ ।

    ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, संविधानसभा अध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतका नेता सहभागी छन् ।

    कार्यक्रमलाई ओली र नेम्वाङले सम्बोधन गर्दैछन् । आजै एमालेको स्थायी कमिटी बैठक पनि आजै बस्दैछ ।

  • ‘माधव नेपालको पार्टीले एमालेको २ प्रतिशत भोट काट्छ, क्षतिपूर्तिसहित बहुमत ल्याउँछौं’

    ‘माधव नेपालको पार्टीले एमालेको २ प्रतिशत भोट काट्छ, क्षतिपूर्तिसहित बहुमत ल्याउँछौं’

    नेकपा एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङ अहिले देशभरबाट एमाले विभाजनको असर तल्लो तहसम्म कति पर्‍यो भनेर विवरण संकलन गरिरहेका छन् । लामो समय एमालेको राजनीतिमा माधव नेपाल समूहमा रहेका तामाङ पछिल्लो नेकपाकालीन विवादको उत्कर्षका बेला प्रचण्डले माधव नेपाललाई प्रयोग गरेर एमालेको विरासत कब्जा गर्न खोजेको निष्कर्ष निकाल्दै केपी ओलीतिर लागेका थिए ।

    ओली पक्षमा लागेपछि उनी एमालेको राजनीतिमा एकाएक प्रभावी बने । केन्द्रीय कार्यालय सचिव, वागमती प्रदेश सह-इन्चार्ज र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाए । सभामुख अग्नि सापकोटा र उनी एउटै जिल्लाबाट निर्वाचित हुन् । तर, सभामुखको भूमिका सम्माननीय नरहेकाले १४ सांसदलाई पदमुक्त नगरे महाअभियोगको सामना गर्न तयार हुन समेत उनले चेतावनी दिएका छन् ।

    पूर्वकानूनमन्त्री समेत रहेका तामाङ सर्वोच्च अदालतका केही न्यायाधीशहरू एमालेप्रति राजनीतिकरूपमै पूवाग्रही बनेर आदेश दिन थालेको भन्दै उनीहरूको पनि हिसाबकिताब राखिएको बताउँछन् ।

    नेपाल प्रेससँगको अन्तवार्तामा उनले एमालेभित्रको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा समेत प्रष्ट पारेका छन् । तामाङले माधव नेपाल पक्षले एमालेको २ प्रतिशत मत प्रभावित पार्ने दावी गर्दै त्यो भन्दा बढी मत एमालेले यसबीचमा बढाइसकेको बताएका छन् ।

    प्रस्तुत छ, एमाले नेता तामाङसँग गरिएको कुराकानी नेपाल टकमा

    – पार्टी नै अर्को बनाएर गएका नेताहरूलाई कारवाही मागेर एमालेले संसद अवरोध गर्नु कति जायज हो ? यो त कानूनीभन्दा पनि राजनीतिक कुरा भएन र ?

    होइन, राजनीतिक समस्या राजनीतिक ढंगले नै समाधान गरिनुपर्छ । कसैलाई पनि पार्टीमा बाँधेर राख्न सकिँदैन । त्यसैले त राजनीतिक दलसम्बन्धी ऐन पनि छ । त्यसमा विभाजन सम्बन्धी व्यवस्था गरिएको छ । स्वतन्त्ररूपमा दल दर्ता गर्न पनि पाइन्छ ।

    कोही पार्टीसँग असहमत भएका अलग भएर जान पनि पाउँछ । लोकतन्त्रको रक्षाका लागि दलीय व्यवस्थामा राष्ट्रिय दल बलियो भएमा मुलुकले स्थायी सरकार बन्छ । भारतमा राजनीतिक दल राष्ट्रिय विभाजन हुदाँ नै मुलुक टुक्रिएको उदाहरण छ ।

    सामान्यतया दल विभाजन नहोस् भनेर नै २०७२ मा संविधान जारी गरेपछि दल विभाजन गर्नका लागि आधिकारिकता प्राप्त गर्न ४० प्रतिशत अनिवार्य चाहिन्छ भनेर बनाएको हो । त्यो पनि मिलेन भनेर ‘र’अथवा ‘वा’गरौं भन्ने बनाइएको हो । केन्द्रीय समितिमा ४० प्रतिशत वा संसदमा ४० प्रतिशत । दुवै गर्दा समस्या हुन्छ कि भनेर अलिकति सहज बनाइएको हो ।

    मान्छेको छुट्टिन पाउने अधिकार कुण्ठित भयो कि भनेर नै हामीले केपी ओली प्रधानमन्त्री भएको बेला ‘र’को ठाउँमा ‘वा’ बनाएको हो । तर, त्यसो नगरेर चलिरहेको संसद नै बन्द गरेर अध्यादेशमार्फत राजनीतिक दल र संसद गरेर दुवैतर्फ २० प्रतिशत बनाइयो ।

    उक्त अध्यादेश राष्ट्रपति कार्यालय पुगिसकेपछि २० प्रतिशत पनि पार्टीको केन्द्रीय समिति र संसदमा नपुग्ने भएपछि राष्ट्रपति कार्यालय पुगेको अध्यादेश आफैंले रोक्न लगाएर फेरि राष्ट्रपतिले रोक्यो भनेर पनि प्रचार गरियो । यस्तो सम्म पनि गर्न मिल्छ त ?

    आफैले २० प्रतिशत पनि पार्टीको केन्द्रीय समितिमा र संसदमा नपुग्ने देखेपछि सच्याउनका लागि रोक्न खोज्ने फेरि राष्ट्रपतिले प्रमाणित नगरेर रोक्यो भन्ने आरोप लगाउन मिल्छ ? राजनीतिमा यस्तो बेइमानी गर्नु हुँदैन ।

    उक्त अध्यादेश राष्ट्रपति कार्यालय पुगिसकेपछि २० प्रतिशत पनि पार्टीको केन्द्रीय समिति र संसदमा नपुग्ने भएपछि राष्ट्रपति कार्यालय पुगेको अध्यादेश आफैंले रोक्न लगाएर फेरि राष्ट्रपतिले रोक्यो भनेर पनि प्रचार गरियो । यस्तो सम्म पनि गर्न मिल्छ त ?

    अनि प्रतिनिधिसभाको सभामुख पनि कुनै पार्टीको पक्षमा लाग्न मिल्छ ? हिजो राष्ट्रपतिले आफ्नो जिम्मेवारी पूरा गर्दा उहाँलाई भए नभएका आरोप लगाउने सभामुख सत्तापक्षतिर ढल्किएर निर्णय गर्दा हामीले बोल्न नपाउने ? विरोध गर्न नपाउने ?

    – तपाईं आफै पनि यसअघि कानूनमन्त्री भएकाले अदालतमा विचाराधीन मुद्धामा संसदमा बहस गर्न पाइँदैन भन्ने छ । सभामुखले पनि ध्यानाकर्षण गराइरहनुभएको छ । नियमावली अनुसार त तपाईंहरूमाथि कारवाही हुन सक्छ नि ?

    हो हामीले संसद अवरुद्ध गरिरहेका छौं । संसदमा निरन्तर नारा जुलुस गरिरहेका छौं । सभामुखले हामीलाई बाहिर पठाइदिए भैगो नि । उहाँले आफ्नो तर्फबाट जे गर्न पाउनुहुन्छ गरे हुन्छ । संसद अवरुद्ध भयो भनेर अहिले सर्वदलीय बैठक बसाइरहनुभएको छ । हामी नै संलग्न नभएको बैठक कसरी सर्वदलीय बैठक भयो ? उहाँसँग अधिकाार छ हामीलाई निलम्बन गर्नुस्, मार्सल लगाएर बाहिर पठाउनुस् ।

    अदालतको फैसलामा पनि एमाले धेरै असन्तुष्ट देखियो नि किन ?

    अदालतका पछिल्ला फैसला पनि हामीले देखिरहेकै छौ । अहिले त अदालत तथा न्यायालय नै कब्जा गर्ने काम भइरहेको छ । अदालतमा बसेर गलत फैसला गर्नेहरूलाई पनि हामीले नियालिरहेका छौ । सधैँभरी अदालतको न्यायाधीश पनि त भइँदैन नि ।

    – तपाईहरूकै कारण मुलक अहिले ‘बजेट होली डे’ मनाइरहेको छ , यसको दोष पनि बोक्नु पर्ने भयो नि होइन ?

    बजेटको त धेरै चिन्ता गर्नुपर्दैन । अहिले प्रतिस्थापन विधेयकका नाममा क्याल्कुलेटर थिचेर हिसाब ल्याइएको छ । यस्तो बजेटले मुलुक चल्छ त ? यसअघि जेठ १५ गते आएको बजेटलाई कुनै पनि तोडमोड नगरेर अघि बढाइनुपर्छ । यसलाई प्रतिस्थापना गर्न खोजिएको छ ।

    – जेठ १५ मा सार्वजनिक भएको बजेट पारित गरियो भने यहाँहरू समर्थन गर्नुहुन्छ ?

    हो, पक्कै पनि त्यो अगाडस बढायो भने हामी पास गर्न तयार छौं ।

    – सभामुखले बैठक बोलाउँदा जानु भएन । सभामुखसँगको टसल सकिन्छ कि जारी रहन्छ ?

    नेकपा एमाले यो मुलुकको प्रमुख पार्टी हो । कसैले फुर्ती नलगाए हुन्छ । आगामी निर्वाचनमा नेकपा एमाले बहुमतसहित जितेर आउँछ । यो हाम्रो दावी हो । त्यसैले यो पार्टीलाई नजर अन्दाज नगरे हुन्छ । त्यतिबेला कसको के हैसियत हुन्छ पर्खिए हुन्छ । त्यतिबेला कसका मुखा कता फर्किन्छन् हामीले अनुमान गरेका छौं ।

    – कि १४ सांसदको सूचना टाँस गर्नुस् कि राजीनामा दिनुस् भन्ने हो ?

    हो नि, उहाँले जुन संसदमा सम्माननीय सभामुख भन्ने ओहोदा छ, त्यसलाई कायम गर्न सक्नुभएन । सभामुखले यसबारे चाँडै निर्णय गर्नुपर्छ । यदी उहाँले निर्णय गर्न भएन भने सभामुखको कुर्सीमा बस्न सक्नुहुन्न । त्यसैले म भन्छु कि, नेकपा एमालेलाई धेरै नजिस्काइयोस् । अहिले पछिल्लो समय न्यायालयमा गलत निर्णय भइरहेका छन् । संवैधानिक निकायका मान्छेलाई महाअभियोग लगाउने हैसियत पनि नेकपा एमालेसँग छ । त्यतातिर पनि ध्यान दिए हुन्छ ।

    हामी अदालत जोगाउन खोजिरहेका छौ । अहिले कतिपय न्यायाधीश बेञ्चमा बस्नेबित्तिकै गलत नियतले काम गरिरहेका छन् । राजनीतिक खोल ओढेर फैसला गरिरहेका छन् । त्यसको हामीले हिसाव-किताव राखिरहेका छौं र राख्छौं पनि ।

    – पारित नहुने महाअभियोग त राष्ट्रपतिलाई पनि लगाउन सकिहाल्नुहुन्छ नि उहाँहरूले पनि ?

    उहाँहरूले पनि लगाए हुन्छ । हामीले नलगाउनुस् भनेर कहाँ पो भनेका छौ । यसमा त हामी खुला छौं नि । सीधा रूपमा भन्दा हामी सीधा प्रतिस्पर्धामा छौं । हामी अग्रगमन चाहान्छौं । उहाँहरू पश्चगमनमा हुनुहुन्छ । उहाँहरूलाई जे लाग्छ त्यो गरे हुन्छ । हामी तयार भएर बसेका छौं । हरेक मोर्चामा हामी लड्न तयार छौं ।

    – संवैधानिक आयोगमा भएका नियुक्ति बदरका लागि ठूलो प्रयास भइरहेको छ नि ?

    अहिलेको सरकारको पक्षमा फैसला आवस् न । हामी पनि हेरिरहेका छौं । यदि त्यस्तो फैसला आयो भने अदालत, अदालत रहन्छ कि रहँदैन भन्ने पनि होला नि ।

    – बदर गर्ने ढंगले आयो भने एमाले प्रतिवाद गर्छ त ?

    हो हामी कुरिरहेका छौ, कसरी आउँछ भनेर । न्यायालयका फैसला अराजक त हुनुभएन नि ।

    – एमालेका धेरै मुद्दा अदालतमा छन् र अधिकांस विचाराधीन छन् । यो अवस्थामा अदालततिर आश्रित हुनुपर्ने भयो होइन ?

    नेकपा एमालेले निर्वाचन आयोगमा २ सय ६० सदस्य छन् भनेर निवदेन दिएका थियौ । अहिलेसम्म अयोगले कुनै पनि निर्णय गरेको छैन । तर दल विभाजन भएपछि पार्टी दर्ताका लागि दिएको निवेदन आयोगमा पुग्नेवित्तिकै प्रमाणपत्र दिइएको छ ।

    नफर्किँदासम्म उहाँहरू माधव नेपाल पक्षको हो । अहिले पार्टीमा आइसकेपछि भने कोही पनि पक्ष विपक्ष भन्ने छैन । जस्तै डा. भीम रावल पनि कुनै पक्ष र विपक्षको मान्छे होइन । उहाँ सिंगो नेकपा एमालेको उपाध्यक्ष हो ।

    पार्टी दर्ता भएको प्रमाणपत्र पाइसकियो तर अहिले पनि सनाखत गरिरहेको देखिन्छ । सभामुखले रामबहादुर थापालगायतका सांसदलाई कारवाही गर्दा २४ घण्टा नबित्दै सूचना टाँस गर्नुहुन्छ । तर, एमालेले सांसदलाई कारवाही गरेको जानकारी गराएको गर्दा १५ दिनसम्म पनि केही छैन ।

    त्यसपछि बल्ल यसमा केही गर्न सकिँदैन भनेर निर्णय आउँछ । यस्तो पनि हुन्छ ? अदालतमा पनि हामी हेरिरहेका छौं ।

    – नेकपा एमालेलाई अहिले अदालत आफ्ना लागि कम्फरटेबल भएन भन्ने हो ?

    होइन, अदालत जहिले पनि स्वतन्त्र हुन्छ र हुनु पनि पर्छ । अदालतको गरिमालाई हामीले सम्मान गर्नुपर्छ । निष्पक्ष हुन्छ भन्ने नै हो । तर, पछिल्लो समय त्यसस्तो भइरहेको छैन । त्यसैले हामी अदालत जोगाउन खोजिरहेका छौ । अहिले कतिपय न्यायाधीश बेञ्चमा बस्नेबित्तिकै गलत नियतले काम गरिरहेका छन् । राजनीतिक खोल ओढेर फैसला गरिरहेका छन् । त्यसको हामीले हिसाव-किताव राखिरहेका छौं र राख्छौं पनि ।

    – के हिसाब-किताब हुन्छ ?

    लोकतन्त्रमा जनता सधैँभरी सार्वभौम सत्ता सम्पन्न हुन्छन् । जनताभन्दा माथि न त प्रधानमन्त्री हुन्छ न त न्यायाधीश नै । सबैको संवैधानिक जिम्मेवारी र दायित्व हुन्छ । त्यसैले सबैले आफुलाई दिइएको संवैधानिक दायित्व पुरा गर्ने हो । त्यो भइरहेको छैन ।

    अदालतले न्यायिक फैसला गर्ने हो । तर, न्यायिक फैसलाभित्र राजनीतिक गन्ध आउनुहुँदैन भन्ने हाम्रो भनाइ हो । यसलाई बचाउने जिम्मेवारी अहिले नेकपा एमालेको काँधमा छ । हामी यसमा लागिपरेका छौं । न्यायालयमा राजनीतिक रंग देखियो भने राम्रो हुँदैन । कसैले सुरक्षित छु भन्ने नठाने हुन्छ । सबैले सचेत भएर बसे हुन्छ ।

    – तपाई न्याय परिषद्को सदस्य पनि हुनुभयो कानूनमन्त्री हुँदा । अदालतभित्र पनि प्रधानन्यायाधीश आफैं घेराबन्दीमा परेको देखिन्छ नि होइन ?

    त्यसभित्र त के छ हामीलाई थाहा भएन । जुन खालका अदालतबाट क्रमश: फैसला आइरहेका छन् नि, त्यसमा राजनीतिक गन्ध आइरहेको छ । त्यस कारण अदालतलाई बचाउनका लागि नेकपा एमालले ठूलै निर्णय गर्नुपर्ने अवस्था आउनसक्छ । हामी त्यतातिर सोचिरहेका छौं ।

    – त्यस्ता न्यायाधीशमाथि महाअभियोग लगाउनेतिर संकेत गर्नुभएको हो ?

    कुनै व्यक्तिले सहि निर्णय नगरेर राजनीतिक आवरणमा निर्णय गर्‍यो भने नेपाली जनताले त्यो अधिकार पनि संसदलाई दिएको हुनाले त्यो पनि हुनसक्छ । हुँदैँन भन्ने छैन ।

    – अब अलि फरक प्रसंग, एमालेको विधान महाधिवेशन किन सारिएको हो ? माधव नेपाल पक्षका दोस्रो तहका नेता फर्किएपछि समस्या आएको हो र ?

    होइन त्यस्तो केही पनि । हाम्रो पुरानो विधानले तय गरेको संख्या सीमित थियो । विधानमा केही संख्या थप्नुपर्ने र मिलाउनु पर्ने देखिएपछि सारिएको हो । २६ गते बसेको स्थायी समिति बैठकले विधानको बाधा अड्काउ फुकाउको काम गरेर प्रतिनिधि थप गर्ने व्यवस्था गरेको छ । जसमा ३ हजारभन्दा धेरै प्रतिनिधि हुने व्यवस्था गरिएको छ । उनीहरूको सबै विवरण तयार पार्नुपर्ने भएकाले ढिलाइ भएको हो । अरु हिसाबले तयार छौं । राजनीतिक दस्तावेजको हिसावले पनि हामी पूर्णरूपमा तयार भइसकेका छौं । अब असोज १५ देखि १७ मा गोदावरी सनराइज सम्मेलन केन्द्रमा भव्य रूपमा अधिवेशन सम्पन्न हुन्छ ।

    मतको हिसाबले देशभरमा अहिलेको हकमा माधव नेपाल पक्षले सिट त शून्य प्राप्त गर्ने नै हो । एमालेको मतमा २ प्रतिशतमात्र उनीहरूले लिन सक्ने हो ।

    अध्यक्ष निर्वाचित हुने र अरु पदाधिकारी केन्द्रीय कमिटिले चयन गर्ने भनेर विधान संशोधनको प्रस्ताव छ नि,अब अरु नेता समेत आइसकेपछि त्यही हुन्छ कि फेरिन्छ ?

    २६ गते बसेको बैठकले दस्तावेज तयार गरेर स्थायी समितिका सदस्यलाई पठाइसकेको छ । त्यो सबै स्थायी समितिका सदस्य कहाँ पुगिसकेको छ । २-३ गते बस्ने स्थायी समिति बैठकले जे तय गर्छ त्यहि हुन्छ । त्यसपछि ८ र ९ गते केन्द्रीय समितिको बैठक बस्छ । त्यसले पारित गरेपछि खुला छलफलमा छोडिदिन्छौ । त्यसपछि महाधिवेशनमा आएर प्रतिनिधिले आफ्नो धारण राख्छन् । त्यसै अनुसार पारित हुने हो ।

    – यसअघि माधव नेपाल पक्षमा रहेका नेताहरूको असहमति भयो भने के हुन्छ ?

    अहिले कोही पनि पक्ष विपक्ष भन्ने नेकपा एमालेमा छैन् र हुनु पनि हुँदैन । नफर्किँदा सम्म उहाँहरू माधव नेपाल पक्षको हो । अहिले पार्टीमा आइसकेपछि भने कोही पनि पक्ष विपक्ष भन्ने छैन । जस्तै डा. भीम रावल पनि कुनै पक्ष र विपक्षको मान्छे होइन । उहाँ सिंगो नेकपा एमालेको उपाध्यक्ष हो । पार्टीको जुन प्रणाली छ त्यसभित्र सबै पर्छन् । उनीहरू नेकपा एमाले भएर काम गर्छन् र गर्नुपर्छ ।

    – १० बुँदे कार्यान्वयनमा समस्या आएको भनिन्छ नि ?

    त्यस्तो केही पनि छैन । बाहिर हल्लामात्र भएको हो । तर, अब कार्य विभाजनको काम हुन्छ । पद खोसिएको दिइएको भन्ने सबै निराधार हल्लामात्रै हुन् । त्यस्तो कुनै पनि निर्णय भएको छैन र कसैलाई नयाँ जिम्मेवारी पनि दिइएको छैन ।

    त्यतिबेला नेकपा एमालेले प्राप्त गरेको ४१ लाख मतमध्ये ३२ लाख मत सदर भएको हो भने ९ लाख बदर भएको हो । ती ४१ लाखमा भोटममध्ये २ प्रतिशत मतमात्र माधव नेपाल पक्षले प्राप्त गर्ने हो । यसैमा पनि हामी थप भोट प्राप्त गर्छौं । नेपाली कांग्रेसले करिव २५ देखि २६ लाख भोट प्राप्त गर्ने हो ।

    – प्रदेश १ को इञ्चार्ज भीम आचार्य, वागमतीको अष्टलक्ष्मी शाक्य र सुदूरपश्चिमको भीम रावल हो कि होइन ?

    होइन, अहिले प्रदेश १ को पार्टीको आन्तरिक विवाद मिलाउनका लागि भीम आचार्यसहितको कार्यदललाई दिइएको हो । अन्य प्रदेशमा पनि त्यही हो । कार्यदलको संयोजक भएकाले पार्टी मिलाइसकेपछि कार्यविभाजन हुन्छ । स्थायी कमिटिमा प्रस्ताव आउला र पास भएपछि मात्र इन्चार्ज तोकिने हो । यो बाहिर विवाद सृजना गर्ने काममात्र भएको हो । पार्टी कमिटीमा छलफल भएपछि मात्र जिम्मेवारी तोकिने हो ।

    – तपाईं केन्द्रीय कार्यालयको सचिव पनि हुनुहुन्छ, देशभरबाट विवरण आएको होला । समग्रमा पार्टी विभाजित भएपछि नेकपा एमालेले कति क्षति व्यहोर्ने आँकलन गरिएको छ ?

    नेकपा एमालले स्थानीय तहमा ६ प्रतिशतजति घाटा व्यहोर्ने देखिएको छ । त्यो हिजो एमाले भएर प्राप्त गरेको भोटको आधारमा हामीले हिसाब-किताब गर्दा भेटिएको हो । मतको हिसाबले देशभरमा अहिलेको हकमा माधव नेपाल पक्षले सिट त शून्य प्राप्त गर्ने नै हो । एमालेको मतमा २ प्रतिशतमात्र उनीहरूले लिन सक्ने हो । २ प्रतिशत मतले मात्र जित्न सकिने र सिट लिन सकिने कुरा भएन ।

    जसरी अहिले पार्टीको केन्द्रीय समिति र संसदमा २० प्रतिशत पुयाइएको छ, त्यो त सबैले थाहा पाएकै कुरा हो कसरी पुर्‍याइएको भनेर । २०७४ सालको निर्वाचनमा नेकपा एमालेले प्राप्त गरेको भन्दा धेरै मत अब हामीले पाउँछौं ।

    त्यतिबेला नेकपा एमालेले प्राप्त गरेको ४१ लाख मतमध्ये ३२ लाख मत सदर भएको हो भने ९ लाख बदर भएको हो । ती ४१ लाखमा भोटममध्ये २ प्रतिशत मतमात्र माधव नेपाल पक्षले प्राप्त गर्ने हो । यसैमा पनि हामी थप भोट प्राप्त गर्छौं । नेपाली कांग्रेसले करिव २५ देखि २६ लाख भोट प्राप्त गर्ने हो । हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओली त दुई तिहाई दावी गरिहनुभएको छ । तर, त्यस्तै नभए पनि बहुमत हामी प्राप्त जसरी पनि गर्छौं ।

    तस्बिर/भिडियो : नविन स्थापित ।

  • ऐन महर अनेरास्ववियूबाट बिदा हुँदै- अध्यक्षमा चारजनाको दाबेदारी, समिक महासचिव

    ऐन महर अनेरास्ववियूबाट बिदा हुँदै- अध्यक्षमा चारजनाको दाबेदारी, समिक महासचिव

    काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूको नेतृत्व परिवर्तन हुने भएको छ । राष्ट्रिय सम्मेलनबिनै अनेरास्ववियूको नेतृत्व फेरिन लागेको हो ।

    अनेरास्ववियूका वर्तमान अध्यक्ष ऐन महर पार्टीको एमालेको प्रदेश कमिटी सदस्य हुँदै केन्द्रीय कमिटीमा लैजाने आश्वासन नेतृत्वबाट पाएपछि अखिल छाड्न तयार भएका छन् ।

    महर अनेरास्ववियूको २२ औं राष्ट्रिय सम्मेलनबाट महासचिव निर्वाचित भएका थिए । ५ वर्षअघि भएको सम्मेलनबाट अध्यक्षमा निर्वाचित नविना लामा नेकपा एकीकरणसँगै अखिलबाट बिदा भएकी थिइन् ।

    एकीकृत अखिलको संयोजक महर र सहसंयोजक रन्जित तामाङ थिए । नेकपा एकता बदरपछि पनि महर अध्यक्ष निरन्तर रहे । सम्मेलनको हिसाबले ऐन महरले आफ्नो कार्यकाल पूरा गरिसकेकाले उनलाई बिदा गरेर जाम हुन लागेको नेतृत्व खुलाउन खोजिएको एमाले स्रोतले जनाएको छ ।

    अनेरास्ववियूका पूर्वअध्यक्ष तथा हालका इन्चार्ज खिमलाल भट्टराईले शनिबार बस्ने सचिवालय बैठकले नयाँ नेतृत्व चयन गर्ने नेपाल प्रेसलाई बताए । उनका अनुसार नेतृत्वका आकांक्षीहरूबीच छलफल चलिरहेको छ ।

    आज महासचिव ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा अखिलको स्थायी कमिटी बैठक बसिरहेको छ । शनिबारको सचिवालय बैठकले अध्यक्षसहित पदाधिकारी र केन्द्रीय कमिटी टुंगो लगाउने भट्टराईले जानकारी दिए ।

    अखिल अध्यक्षका लागि हालका उपाध्यक्षमध्ये शैलेस लामाबाहेक अन्यले आ-आफ्नो दावी छाडेका छैनन् । उपाध्यक्षहरू रश्मी आचार्य, महेश बर्तौला र सुनिता बराल अध्यक्षका दाबेदार हुन् ।

    त्यस्तै २२ औं सम्मेलनबाट निर्वाचित सचिव तथा प्रवक्ता आरसी लामिछाने पनि अध्यक्षको प्रतिस्पर्धामा छन् । एमालेका विद्यार्थी इन्चार्ज भट्टराईले यी चारजनामध्येबाट एकजना अध्यक्ष हुने र बाँकी उपाध्यक्षहरू संगठनबाट बिदा हुने बताए ।

    अध्यक्षका अर्का दाबेदार समिक बडाललाई भने महासचिव बनाइने भएको छ । २३ औं राष्ट्रिय सम्मेलनबाट निर्विकल्प अध्यक्षका रूपमा बडाललाई खडा गर्न लागिएको अखिल स्रोतले जनाएको छ ।

    अध्यक्षका दाबेदारमध्ये रश्मी आचार्य देशकै ठूलो पृथ्वीनारायण क्याम्पस पोखराका स्वतन्त्र विद्यार्थी यूनियनका सभापति हुन् । २०६५ सालमा उनी निर्वाचित भएपछि पिएनमा स्ववियू चुनाव भएको छैन ।

    त्यस्तै महेश बर्तौला मकवानपुर बहुमुखी क्याम्पसका पूर्वस्ववियू सभापति हुन् भने सुनिता बराल एमालेको विद्यार्थी विशेष जिल्ला कमिटीकी सचिव पनि हुन् ।

    पार्टी नेतृत्वको ग्रिन सिग्नल सुनितालाई रहेको चर्चा अखिलमा चलेको छ । यद्यपी उपाध्यक्षहरुबीच सहमतिको लागि छलफल भइरहेको भट्टराईले बताए ।

    आरसी लामिछाने लामो समय विद्यार्थी आन्दोलनमा छन् । उनलाई अध्यक्ष बनाउन नसकिए वरिष्ठ उपाध्यक्ष बनाउनेबारे छलफल भइरहेको एमाले स्रोतले जनाएको छ ।

    अखिलका निर्वाचित सचिवमध्ये सुदेश पराजुली, आरती लामा र वसिम आलम नेकपा एसमा लागेका छन् । नयाँ पदाधिकारी चयनसँगै स्थायी कमिटी, सचिवालय र केन्द्रीय कमिटीमा केही सदस्य थपिने भएका छन् ।

    माधव नेपाल समूह छाडेका र पूर्वमाओवादीबाट एकता प्रक्रियामा आएकासहितलाई समेटेर केन्द्रीय कमिटी बनाउन लागिएको हो । अध्यक्षमा सहमति जुटाउन नेताहरू अनौपचारिक छलफलमा छन् ।

    २२ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित कोषाध्यक्ष झपिन्द्र खत्रीसहित स्थायी कमिटीमा रहेका यमराज पाण्डे, नरेश रोकाय, कल्पना वाइबा, नारायण घर्ती, उमेश आचार्य, मर्यादा विष्टलगायतलाई उपाध्यक्ष, सचिव, उपसचिव र कोषाध्यक्षसहितका पदाधिकारीमा व्यवस्थापन गरिने भएको छ ।

  • ओलीको टिप्पणी- प्रचण्ड उडेको जहाज हो, हेर्दै गयो बिलाउँदै जान्छ(भिडियाे )

    ओलीको टिप्पणी- प्रचण्ड उडेको जहाज हो, हेर्दै गयो बिलाउँदै जान्छ(भिडियाे )

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिलाउँदै गएको टिप्पणी गरेका छन् ।

    बिहीबार राजधानीमा आयोजित एमाले जिल्ला कमिटीको भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्डलाई उडिरहेको जहाजसँग तुलना गर्दै भने, ‘प्रचण्डरूपी यत्रो जहाज उडेको, अलिक पर जाँदा विस्तारै देख्न छोडिन्छ ।’

    माओवादीका कार्यकर्तालाई पार्टीको कार्यकर्ता कि प्रचण्डको सेवक भन्दै एमालेमा आउन आह्वान गरे । ‘हिजो हामी नेकपा भएर एकीकृत भइसक्यौं,’ ओलीले भने, ‘तपाईंहरू पार्टीको कार्यकता हो कि प्रचण्डको घरेलु कार्यकर्ता ? प्रचण्डलाई घाँस हालेर के दिन्छन् ? मन्त्री दिन्छु भन्थे अहिले त त्यो पनि दिन छाडे । दुई महिना भइसक्यो अहिले मन्त्री पनि बनाएको छैन ।’

    ‘माओवादी केन्द्रमा नाममा प्रचण्डका साथमा जो हुनुहुन्छ, उहाँहरूलाई पार्टीमा फर्किन म आग्रह गर्न चाहान्छु, यो एकीकृत पार्टी हो,’ ओलीले थपे, ‘प्रचण्डलाई मैले ८-१० वटा मन्त्री त दिएको थिएँ नि, धेरै खाउँला भनेर गएको हेर त ?’

  • ओलीको प्रश्न- एमालेमा अब माधव नेपाललाई किन ल्याउने, फेरि पार्टी फुटाउन ?(भिडियाे)

    ओलीको प्रश्न- एमालेमा अब माधव नेपाललाई किन ल्याउने, फेरि पार्टी फुटाउन ?(भिडियाे)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको आवश्यकता अब पार्टीलाई नरहेको प्रष्ट पारेका छन् । काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले माधव नेपाललाई पार्टीमा आउनुस् भन्ने नेताहरूलाई नै प्रश्न गरे ।

    ओलीले भने, ‘अझै पनि हाम्रा केही कमरेडहरूले माधव कमरेड आउनुस् भन्दै हुनुहुन्छ । फेरि किन आउने ? फेरि पार्टी फुटाउन ? माधव नेपालको आवश्यकता किन ? म बुझ्दिन । पार्टीमा छइन्जले माधव नेपालले कहिल्यै पार्टी र सरकारको पक्षमा बोलेको सुन्नुभयो ?’

    सोही कार्यक्रममा अष्टलक्ष्मी शाक्यले माधव नेपालले लिएको बाटो गलत भएको भन्दै एमालेमै फर्किन आग्रह गरेकी थिइन् । ओलीले आफूले कसैको जवाफ दिन नचाहेको भन्दै बेला बेला यस्ता कुरा आउने गरेकाले जवाफ दिएको बताए ।

    उनले भने, ‘आज कसैले यहाँ बोलेको रहेछ भने जवाफ दिएको जस्तो होला । तर, यो सवाल-जवाफ होइन । म घरमा थिएँ, कसैले बोलेको भए मैले सुनेको छैन । तर साथीहरुले बेला बेलामा भन्ने गरेका छन् । त्यसलाई जवाफ दिएको हो ।’

    साढे ३ वर्षसम्म पार्टीमा गुटबन्दी गर्ने र पार्टीलाई सिध्याउने बाहेक कुनै काम नगरेको भन्दै ओलीले एमालेलाई सिध्याउन माधव नेपालले विपक्षीसँग साँठगाठ गरेको आरोप लगाए ।

    ओलीले भने, ‘नराम्रो नभनौं, प्रतिक्रियावादी काम माधव नेपालजीको नेतृत्वमा भयो, यो पार्टी सिध्याउन उहाँले कुनै कसर बाँकी राख्नुभएन ।’