Tag: दैलेख

  • दैलेखमा बस दुर्घटना हुदाँ ४ जनाको मृत्यु, ४७ जना घाइते

    दैलेखमा बस दुर्घटना हुदाँ ४ जनाको मृत्यु, ४७ जना घाइते

    सुर्खेत । दैलेखमा बुधबार राति बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । कालीकोटको जितेगडाबाट सुर्खेत आउँदै गरेको म १ ख ६६० नम्बरको बस दैलेखको आठबीस नगरपालिका २ सिस्नेमा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

    घाइतेमध्ये ९ जनाको दैलेखमा सामान्य उपचार भइरहेको र ३८ जनालाई थप उपचारका लागि सुर्खेत पठाएको दैलखेका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार सुर्खेत पठाइएका पाँच जनाको अवस्था गम्भिर रहेको छ ।

    उनले भने, ‘कति जना बसमा सवार थिए भन्ने एकिन तथ्यांक आइसकेको छैन । सामान्य अवस्थाका घाइतेको घटनास्थल नजिकैको अस्पतालमा उपचार भइरहेको छ । गम्भिर घाइतेलाई उपचारका लागि सुर्खेत पठाईसकिएको छ । नेपाल प्रहरी र शसस्त्र प्रहरीले उद्धारको काम गरिरहेको छ ।’ अँध्यारो भएकोले उद्धार कार्यमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताए । उनका अनुसार बस दुर्घटनाको कारण खुलिसकेको छैन ।

    जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुर्घटना राति ८ बजे भएको हो । प्रहरीका अनुसार बस ५० मिटर तल खसेको छ ।

  • केन्द्रीय सदस्य भएका अधिकांश वडामा एमालेका उम्मेदवार पराजित, कार्यकर्ता रुष्ट

    केन्द्रीय सदस्य भएका अधिकांश वडामा एमालेका उम्मेदवार पराजित, कार्यकर्ता रुष्ट

    सुर्खेत । दैलेख एमालेको ‘राम्रो जिल्ला’ मध्येमा पर्छ । तर यहाँ यसपालिको स्थानीय तह निर्वाचन परिणाम एमालेको पक्षमा आएन ।

    यसपालिको चुनावमा एमालेले पहिले जितेका दुई पालिकाबाहेक सबै गुमाएको छ । २०७४ सालमा एमालेले नारायण, चामुण्डा विन्द्रासैनी, आठबीस नगरपालिका, महावु, भैरवी, भगवतीमाई र ठाँटीकाँध गाउँपालिकामा जितेको थियो । यसपटक भने आठबीस नगरपालिका र नारायण नगरपालिकाबाहेक सबै पालिकामा एमाले पराजित भयो ।

    एमालेले काँग्रेसको गढ भनिएको डुंगेश्वर र गुराँस गाउँपालिकामा यसपटक विजय प्राप्त गरेको छ ।

    र रोचक के छ भने यहाँका केन्द्रीय नेताको वडामा भने एमाले पराजित भएको छ । केन्द्रमा यो जिल्लाबाट धर्मराज रेग्मी, सूर्यकुमारी श्रेष्ठ, मिनासिंह रखाल, लक्ष्मीप्रसाद पोखरेल, राजबहादुर बुढा, विष्णु रिजाल र प्रदेश अध्यक्ष विनोद कुमार शाह प्रतिनिधित्व गर्छन् ।
    एमालेबाट पोलिटब्यूरो सदस्य तथा दैलेख इन्चार्ज रहेका लक्ष्मीप्रसाद पोखरेल दुल्लु नगरपालिकाका हुन् । उनको नगरपालिकामा एमाले पराजित भएको छ । २०७४ सालको निर्वाचनमा उपप्रमुख सहितबहुमत वडा जितेको एमालेले यो पालिका प्रमुख जित्न सकेन । जिल्लाको इन्चार्ज रहेका पोखरेलले वडाअध्यक्ष जिताउन सफल भए पनि पालिका जिताउन नसकेको भन्दै आरोप खेपिरहेका छन् ।

    नेकपा एमालेका केन्द्रीय सदस्य धर्मराज रेग्मीको पालिका भगवतीमाई गाउँपालिकामा एमाले क्लीनस्वीप भएको छ । यहाँ एमालेले २०७४ सालमा पालिका जिते पनि यसपटक वडा अध्यक्षसमेत जित्न सकेन ।

    सात वडा रहेको भगवतीमाई गाउँपालिकामा एमाले तेस्रो भएपछि रेग्मीले पनि आरोप खेपिरहेका छन् ।

    एमाले केन्द्रीय सदस्य मिनासिंह रखालको नारायण नगरपालिका वडा नम्बर ९ पनि एमाले पराजित भएको छ ।

    सूर्यकुमारी श्रेष्ठ पनि एमालेका केन्द्रीय सदस्य हुन् । उनी नारायण नगरपालिका वडा नम्बर १ की हुन् । उनको वडामा जहिल्यै एमाले जित्दै आएको थियो । तर यसपालि भने यहाँ एमाले पराजित भएको छ ।

    दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाको वडा नम्बर ६ मा पनि एमाले पराजित भएको छ । एमालेका केन्द्रीय सदस्य एवम् सांसद राजबहादुर बुढा, एमालेका मेयर उम्मेदवार सूर्यबहादुर शाहीले समेत प्रतिनिधित्व गर्ने वडामा नेता धेरै हुँदा पराजय भोग्नु परेको आरोप कार्यकर्ताले लगाएका छन् ।

    दुल्लु नगरपालिका– ११ प्रदेशसभा सदस्य शुशील थापाको वडा हो । यो वडा तत्कालीन कालभैरव गाविस थियो । यहाँ सधैं एमालेले जित्ने गरेको भए पनि यसपटक यो वडा पनि एमालेले गुमाएको छ ।

    यो नगरपालिकाको मेयर पदमा उठेका रुद्र शाहीले समेत आफ्नो वडामा कांग्रेसको भन्दा ५५ मत कम ल्याए, वडा गुमाए ।
    कर्णाली प्रदेश कमिटीका अध्यक्ष विनोद कुमार शाहले ठाँटीकाँध गाउँपालिकामा आफ्नी श्रीमती लक्ष्मीदेवी शाहलाई अध्यक्षको टिकट दिलाए । शाह त पारजित भइन् नै, उनको वडा नम्बर एक समेत कांग्रेस जित्यो ।

    अहिले उनको वडासमेत जिताउन नसक्ने नेता भनेर आलोचना भइरहेको छ । यहीं पालिकाको वडा नम्बर ६ मा सभामुख राजबहादुर शाहीले समेत वडा जिताउन सकेनन् ।

    एमाले केन्द्रीय सदस्य विष्णु रिजाल र जिल्ला इन्चार्ज पोखरेलले मात्रै आफ्नो वडा जिताउन सफल भए । रिजालले भैरवी गाउँपालिकाको वडा नम्बर ५ जिताए । यो वडामा एमालेले पहिलोपटक जित हात पारेको हो । २०७४ सालमा पोखरेलको दुल्लु नगरपालिकाको वडा नम्बर ५ मा एमालेले हारेका थियो । तर यसपटक भने जितेको छ ।

  • निजामती कर्मचारी संगठन दैलेखको अध्यक्षमा महेन्द्र न्यौपाने

    निजामती कर्मचारी संगठन दैलेखको अध्यक्षमा महेन्द्र न्यौपाने

    सुर्खेत । नेपाल निजामती कर्मचारी संगठन दैलेखको एघारौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले महेन्द्र न्यौपानेको अध्यक्षमा नयाँ नेतृत्व पनि चयन गरेको छ ।

    नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सुनिल न्याैपाने र सचिवमा कृष्ण माझी चयन भएका छन् ।

  • दैलेखको ११ वटै स्थानीय तहमा माओवादीको नयाँ नेतृत्व (सूचीसहित)

    दैलेखको ११ वटै स्थानीय तहमा माओवादीको नयाँ नेतृत्व (सूचीसहित)

    सुर्खेत । नेकपा माओवादी केन्द्रले दैलेखका ११ वटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ । पार्टीको राष्ट्रिय सम्मेलनअन्तरगत माओवादीले दैलेखका स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको हो ।

    हेर्नुहोस्, कुन स्थानीय तहमा कसको नेतृत्व

    नौमुले गाउँपालिका– छवि सुवेदी
    महाबु गाउँपालिका – नवराज शाही
    नारायण नगरपालिका– ताराकेशर धमला
    भगवतीमाइ गाउँपालिका– नरेन्द्र सिंह
    डुङ्गेश्वर गाउँपालिका– श्याम राना
    गुराँस गाउँपालिका– वीर ब शाही
    भैरवि गाउँपालिका– गोपाल रिजाल
    दुल्लु नगरपालिका– टेकबहादुर खड्का
    चामुन्डाबिन्दासैनी नगरपालिका– रणबहादुर खड्का
    ठाटिंकाध गाउँपालिका– उमेशकुमार रावत
    आठबिस नगरपालिका– वसन्तबहादुर बस्नेत

  • दैलेख एमाले क्षेत्र नम्बर एकले टुंग्यायो महाधिवेशन प्रतिनिधि

    दैलेख एमाले क्षेत्र नम्बर एकले टुंग्यायो महाधिवेशन प्रतिनिधि

    सुर्खेत । नेकपा एमाले निर्वाचन क्षेत्र नम्बर एकले नौ जना महाधिवेशन प्रतिनिधिको टुंगो लगाएको छ । नेकपा एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माका अनुसार महाधिवेशन प्रतिनिधि छनौट हुनेमा खुला तर्फ रविन्द्रराज शर्मा, प्रेमबहादुर थापा, तेजबहादुर चन्द, रत्नबहादुर खड्का, लोमन शर्मा र टोपबहादुर बिसी छन् ।

    यस्तै महिलाबाट मिनासिंह रखाल र सुर्यकुमारी श्रेष्ठ, दलितबाट अमर नेपाली र गोपाल नेपाली महाधिवेशन प्रतिनिधि छनौट भएको अध्यक्ष शर्माले नेपाल प्रेसलाई बताए ।

    उता, निर्वाचन क्षेत्र नम्बर दुइमा पनि आजै प्रतिनिधि टुंगो लगाउने मतदान नगर्ने उनको भनाई छ । यसकालागि पार्टीको उच्च स्तरी कमिटि बसिरहेको र सोही कमिटिले छानेकाले मान्ने उम्मेदवारहरुले प्रतिबद्धता जनाएको उनले जानकारी दिए ।

  • दैलेखमा एमालेमा फर्कनेको लहर- समाजवादी युवा संघका केन्द्रीय सचिव एमालेमै फर्किए

    दैलेखमा एमालेमा फर्कनेको लहर- समाजवादी युवा संघका केन्द्रीय सचिव एमालेमै फर्किए

    सुर्खेत । कर्णाली प्रदेशमा एमालेको सबैभन्दा राम्रो पकड भएको जिल्ला हो– दैलेख । माधवकुमार नेपालले एमाले परित्याग गरी नयाँ पार्टी गठन गरेसँगै दैलेखबाट धेरै एमाले कार्यकर्ता नेकपा एकीकृत समाजबादीमा पुगेका थिए ।

    तर, पछिल्ला केहि दिनयता दैलेखमा नेकपा एस रोजेका नेता कार्यकर्ता एमालेमै फर्किन थालेका छन् ।

    नेकपा एस निकट युवा संघका केन्द्रीय सचिवको रुपमा कार्यरत दुल्लु नगरपालिका-१० का उपेन्द्र शाही एमालेमा फर्किएका छन् । पार्टी विभाजनको समयमा हुलमुलमा परेका कारण अर्को पार्टीमा लागे पनि भित्री राजनीति बुझेपछि मूल पार्टीमा फर्किएको र संगठित सदस्यता नवीकरण गरेको उनको प्रष्टोक्ति छ ।

    यस्तै, समाजवादीको आठबीस नगर कमिटिका अध्यक्ष छत्र माझी एमालेमै फर्केका छन् । विज्ञप्ती जारी गर्दै उनले समाजवादी पार्टीको नेतृत्वमा वर्गीय आन्दोलन सफल नहुने भएकाले मूल घरमै फर्किएको उनले बताएका छन् । उनले आगामी दिनमा एमालेमा निष्ठावान रहँदै काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    भैरवी गाउँ कमिटिको सचिव पदमा मनोनित भएका तिलक प्रसाद जैसीले पनि साजवादी त्यागेर एमालेमा समाहित भएको बताएका छन् । एक विज्ञप्ती जारी गर्दै उनले आफू राजनीतिक कारणले पार्टी विभाजनको समयमा समाजवादीमा लागेको बताउँदै आगामी दिनमा एमालेको पूर्ववत जिम्मेवारीमा फर्कदै काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

    साविक भैरवी गाविस वडा नं. एकबाट एमालेको उम्मेदवार बनेर २०५४ सालमा वडाध्यक्ष जितेका राजाराम जैसीले पनि मूलघरै फर्किएको भनेर विज्ञप्ती जारी गरेका छन् ।

    नेकपा एमालेका केन्द्रीय सदस्य एवम् विदेश विभाग उपप्रमुख विष्णु रिजालले दैलेखमा एमाले एक ढिक्का रहने दावी गरे । ‘अब केहि दिनमा पालिका र जिल्ला अधिवेशनहरु हुँदैछन् । हामी सबै एमाले एक ढिक्का बनाएर लैजान लागेका छौं,’ उनी भन्छन्, ‘एमालेलाई थप कमजोर बनाई आफ्नो स्वार्थ सिद्ध गर्ने कांग्रेस/माओवादीको व्यवहार कार्यकर्ताले बुझिसक्नु भएको छ । सोही कारण अहिले गाउँमा एमालेमा फर्किनेको लहर लागेको छ ।’

    उनले एमालेमा समाजवादीमा गएका मात्रै नभएर माओवादी र जनमोर्चाबाट पनि एमालेमा प्रवेश गर्नेहरुको ठूूलो संख्या रहेको उनले जानकारी दिए ।

  • दैलेख एमाले जेठ २ मा फर्कियो, स्थानीय तहका पदाधिकारी तोकिए (सूचीसहित)

    दैलेख एमाले जेठ २ मा फर्कियो, स्थानीय तहका पदाधिकारी तोकिए (सूचीसहित)

    सुर्खेत । नेकपा एमालेको पछिल्लो निर्णय वमोजिम दैलेख जिल्ला कमिटीले १० बुँदे कार्यन्वयन गर्दै पार्टीका संरचनाहरुलाई जेठ २ लाई आधार बनाएर क्रियाशील बनाउने निर्णय गरेको छ ।

    जिल्ला सचिवालयको बैठकले १० बुँदे सहमति, अन्तर पार्टी निर्देशन र विधानबमोजिम संगठनलाई अद्यावधिक गर्ने निर्णय गरेको केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज विष्णु रिजालले जानकारी दिए ।

    बैठकले विभिन्न स्थानीय तहमा सांयेजक र संयोजकको जिम्मेवारी तोकेको छ ।

    नारायण नगरपालिका
    संयोजक– गोपाल नेपाली
    सहसंयोजक– लोमन शर्मा

    महाबु गाउँपालिका
    संयोजक मीनबहादुर बुढा
    सहसंयोजक उपेन्द्रबहादुर सिंह

    नौमुले गाउँपालिका
    संयोजक शशीराम बिक

    भगवतीमाई गाउँपालिका
    संयोजक नरेन्द्रबहादुर शाही

    डुंगेश्वर गाउँपालिका
    संयोजक मानबहादुर विष्ट

    गुरॉस गाउँपालिका
    संयोजक पशुपति शर्मा
    सहसंयोजक कर्णबहादुर बिक

    दुल्लू नगरपालिका
    संयोजक खगेन्द्र थापा
    सहसंयोजक रुद्रबहादुर शाही

    भैरवी गाउँपालिका
    संयोजक प्रेमबहादुर बुढा
    सहसंयोजक सर्बराज महतारा

    चामुण्डा विन्द्रासैनी नगरपालिका
    संयोजक रंगबहादुर तामाङ
    सहसंयोजक हस्तप्रसाद शर्मा

    ठॉटीकॉध गाउँपालिका
    संयोजक धीरबहादुर शाही
    सहसंयोजक कर्णबहादुर शाही

    आठबीस नगरपालिका
    संयोजक ओमजंग शाही
    सहसंयोजक कलम बिक

  • दैलेख एमालेका ५३ मध्ये पाँचजना वडाध्यक्ष मात्रै नेकपा एसमा, केहि आज जाँदै

    दैलेख एमालेका ५३ मध्ये पाँचजना वडाध्यक्ष मात्रै नेकपा एसमा, केहि आज जाँदै

    सुर्खेत । नेकपा एमालेको मुख्य प्रभावक्षेत्रमध्येको एक दैलेख जिल्लामा नेकपा एमालेबाट स्थानीय तहमा निर्वाचित भएका ५३ वडाअध्यक्षमध्ये जम्मा पाँच वडाअध्यक्ष मात्रै नेकपा एकीकृत समाजवादीमा सनाखत गर्न जिल्ला निवर्पाचन आयोग दैलेख पुगेका छन् ।

    निर्वाचन आयोगले नयाँ पार्टीमा जाने हो भने सनाखत गर्नका लागि भदौ २२ सम्मको समयसीमा दिएको छ । दुई दिन समय बाँकी रहेकाले थप केहि जनप्रतिनिधि नेकपा एसमा जाने सम्भावना छ ।

    ११ स्थानीय तह रहेको दैलेखमा ९० वडा छन् । तीमध्ये एमालेले ५२, कांग्रेसले ३३, नेमकिपाले तीन र राप्रपाले एक वडाअध्यक्ष जितेका थिए । एक वडाअध्यक्षले स्वतन्त्र जिते पनि एमालेमै प्रवेश गरेपछि एमालेको वडाअध्यक्षको संख्या ५३ पुगेको थियो ।

    ११ मध्ये सात स्थानीयत तहको प्रमुखमा एमालेका उम्मेदवार विजयी भएका थिए । एमालेले विजय प्राप्त गरेको पालिका मध्ये निर्वाचन क्षेत्र नम्बर एकको महावु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाही, उपाध्यक्ष प्रेमकुमारी बुढा, वडा नं. ४ का देव बहादुर शाही, पाँचका वडा अध्यक्ष जगत बहादुर हमाल र वडा नं. ६ का डम्बर बहादुर थापाले आयोगमा गई समाजवादी पार्टीमा सनाखत गरेका हुन । अन्य वडा अध्यक्षहरु भने सनाखत गर्न गएका छैनन् ।

    सोही क्षेत्रको भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा समाजवादीमा लाग्ने भने पनि उनी सनाखत गर्न गएका छैनन् । उक्त पालिकाका उपाध्यक्ष एमालेमै रहेकी छिन् । भवगवतीमाइ वडा नं. दुइ का कर्ण बहादुर शाही मात्र नयाँ दलमा सनाखत गर्न गएका छन् ।

    गाउँपालिका अध्यक्ष दानबहादुर थापाका अनुसार उनीसँगै वडाअध्यक्षहरु कृष्णबहादुर थापा, कृष्णबहादुर शाही, वीरशंकर रोकायाले आज सामाजवादी दलमा सनाखत गर्ने तयारी गरेका छन् । त्यहाँ पालिका उपाध्यक्ष र एक वडाअध्यक्ष मात्रै एमालेमा लाग्ने पक्का भएको छ ।

    नारायण नगरपालिकामा एमालेले ८ वडा जितेको थियो । नगरप्रमुख रत्नबहादुर खड्कासहित अधिकांश वडाअध्यक्ष एमालेमै छन् । दुइ जना वडाअध्यक्ष ढुुलमुल रहेको भनिए पनि हालसम्म वडा नं. तीनका वडाअध्यक्ष चन्द्रप्रसाद शर्माले मात्रै सनाखत गरेका छन् ।

    नारायण नगरपालिकामा तीर्थनारायण श्रेष्ठ, चन्द्रप्रसाद शर्मा, रेशम थापा, वीरबहादुर कटुवाल, लालबहादुर थापा, ढालबहादुर थापा, लोगबहादुर थापा र टंकबहादुर विष्ट अध्यक्ष रहेका छन् । नगरउप्रमुख सावीत्रि मल्लले भने नयाँ दलमा सनाखत गरिसकेकी छन् ।

    गुराँस गाउँपालिकामा एमालेले चार वडा जितेको छ । ती सबै एमालेमै रहने निश्चित भएको छ । वडाअध्यक्षहरु खड्क शाही, हिम ओली, पूर्ण विसी, नरबहादुर रामजाली एमालेमै रहने भएका छन् ।

    डुंगेश्वर गाउँपालिकामा एमालेले दुइ वडामा विजय प्राप्त गरेको छ । जसमा लोकबहादुर डाँगी र राजु केसी छन् । ती दुवै एमालेमै रहने बताइएको छ ।

    नौमुले गाउँपालिकामा गजबहादुर डेंगा हालसम्म कतै खुलेका छैनन् । अन्य भवानी शर्मा र मोहन शर्मा एमालेमै रहने निश्चित भएको छ ।
    क्षेत्र नम्बर २ मा समाजावादीमा जानेको संख्या न्यून

    दुल्लु नगरपालिकाका उपप्रमुख एमालेमै छिन् । उक्त पालिकाबाट वडा नं. ९ का रनबहादुर बोहोरा मात्रै नयाँ पार्टीमा गएका छन् ।

    दुल्लुमा नेकपा एमालेकातर्फबाट वडा नं. २ मा लक्षीराम थापा, ३ मा कलम खनाल, १० मा हर्कबहादुर खड्का, ११ मा खगेन्द्र थापा, १२ मा झुपाराम लम्साल र १३ मा भिमबहादुर शाही एमालेमै छन् ।

    भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बुढासहित एमालेबाट निर्वाचित सबै वडाअध्यक्ष एमालेमै छन् । कासीराम शर्मा, वीरेन्द्रबहादुर शाही, छविराम आचार्य, हरि बहादुर थापा एमालेमै रहेका हुन ।

    चामुण्डा विन्द्रासैनी नगरपालिकाका नगरउपप्रमुख तारा शाहीमात्रै समाजवादीमा लागेकी छिन् । नगरप्रमुख सुर्यबहादुर शाही, वडाअध्यक्षहरु रंग तामाङ, जंग विष्ट, टिकाराम शाही, बखत बोहोरा, वीरबहादुर शाही र नन्दप्रसाद न्यौपाने एमालेमै रहेका छन् । यो समाचार तयार पार्दासम्म उनीहरु सनाखत गर्नकालागि आयोगमा गएका छैनन् ।

    ठाँटीकाँध गाउँपालिकाका उपाध्यक्ष सुस्मीता सिंह नयाँ पार्टीमा लागेकी छिन् । अध्यक्ष धीरबहादुर शाही, वडाअध्यक्षहरु नरतम बुढा, रुपलाल विश्वकर्मा, कर्णबहादुर शाही, रमेश सिजापती, मनबहादुर सिजापती एमालेमै रहेका छन् ।

    र आठबीस नगरप्रमुख खड्गराज उपाध्याय पनि एमालेमै छन् । चार वडा जितेको एमालेले त्यहाँबाट कोही पनि समाजवादी पार्टीमा गएका छैनन् । उक्त नगरपालिकाबाट पर्वसिंह विश्वकर्मा, प्रयाग शाही, रणबहादुर माझी र कर्णबहादुर आले एमालेबाट निर्वाचित भएका थिए ।

  • भूकम्पले घर भत्काएपछि पालमुनि बस्न बाध्य दैलेखको दलित परिवार

    भूकम्पले घर भत्काएपछि पालमुनि बस्न बाध्य दैलेखको दलित परिवार

    सुर्खेत । साउन ३ गते राति ९ बजे पश्चिमी दैलेख केन्द्र बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गयो । भूकम्पको धक्का त्यति ठूलो त होइन तर ढुंगामाटाेले बनेकाे कच्ची घर भत्किएपछि यहाँका एक दलित परिवारको पालमूनि बस्न बाध्य भएकाे छ ।

    भूकम्पले आठबीस नगरपालिका–३ कुमालखाडाकी जुना विकको घर भत्काएको हो । आर्थिक अवस्था अत्यन्तै दयनीय एकल महिला जुना विक गाउँमै ज्यालादारी गरेर जीवन चलाउँदै छिन् ।

    भूकम्पले घर भत्काएपछि गाउँलेको सहयोगमा बनेको पालको अस्थायी निपासमा छोरा र छोरीसहित बस्दै आएकी छन् । गाउँमा अरु कसैलाई केहि भएन । उनकै घरमात्र भत्कियो । ‘जसको यो संसारमा केहि छैन, जो सँग कोहि छैन, भूकम्पले पनि त्यस्तैलाई दुख दियो,’ निराश हुँदै उनले भनिन् ।

    उनले ज्याला मजदुरी गरेर छोरा छोरी पाल्दै आएकी छन् । ‘गाउँमा काम गरेर कसरी घर बनाउन सकौंला र ? भारतमा गई काम गर्न सक्ने मेरो अवस्था पनि छैन । छोराछोरी सानै छन्,’ उनले भनिन्, ‘कसैले सहयोग गरि घर मात्रै बनाइदिएको भए मेरो उद्दार हुन्थ्यो ।’

    यता, आठबीस नगरपालिकाका नगरप्रमुख खडगराज उपाध्यायले उनको घर बनाई दिने आश्वासन दिएका छन् । ‘म अहिले सुर्खेतमा छु । नयाँ बजेट अब कार्यान्वयनमा जान्छ । म नगरपालिका पुग्दा वित्तिकै नगरपालिकाले उनको घर बनाउन सहयोग गर्छ,’ उनले नेपालप्रेससँग टेलिफोन कुराकानीमा भने, ‘धेरै ठूलो सहयोग गर्न नसके पनि उहाँको परिवारलाई पालबाट छानामा ल्याउन हामी पहल गर्छौं ।’

  • दैलेखको आठबीस नगरद्वारा अक्सिजनसहितको आइसोलेसन सेन्टर सन्चालन

    दैलेखको आठबीस नगरद्वारा अक्सिजनसहितको आइसोलेसन सेन्टर सन्चालन

    सुर्खेत । दैलेखको आठबीस नगरपालिकाले कोरोना संक्रमणको बढदो खतराबाट नागरिकलाई जोगाउन अक्सिजनसहितको आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको छ ।

    ‘हाम्रो पालिकामा भारतबाट आउने नागरिकको संखया उल्लेख्य छ । नयाँ भेरियन्टसहितको कोरोना संक्रमितको संख्या दिनानुदिन बढदै जाँदा अीक्सजनको आवश्यकता पर्ने भएका कारण हाललाई हामीले दश वटा ठूला अीक्सजन सिलिण्डर खरिद गरेर आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएका छौं,’ आफैं पनि कोरोना संक्रमित भइ होम आइसोलेसनमा रहेका नगरप्रमुख खड्गराज उपाध्यायले भने, ‘नगरपालिकाले निर्माण गरेको आइसोलेसन भवनमा ३६ वटा शय्या जडान गरेका छौं । हालसम्म ७ जना कोरोना संक्रमित उपचारका लागि यहाँ भर्ना भइसक्नु भएको छ ।’

    उनले शय्या भन्दा पनि अक्सिजनको समस्या भएको गुनासो गरे । ‘हामीकहाँ शय्याको समस्या छैन । सामूदायिक विद्यालय भवनलाई पनि प्रयोग गर्न सकिन्छ । मुख्य समस्या अक्सिजन कै हो’, नगरप्रमुख उपाध्याय भन्छन्, ‘अहिले दशवटा मात्रै सिलिण्डर खरिद गर्न सफल भएका छौं । संघीय सरकारबाट अक्सिजन सिलिण्डर पाउनेमा हामी आशावादी छौं ।’

    उनले नगरवासीलाई सामाजिक दुरी कायम गर्न, मास्क लगाउन र सकभर घरमै बसेर नगरपालिकालाई सहयोग गर्न अपिल गरे ।

    ‘भारतबाट आएका हरेक व्यक्तिलाई १४ दिन होम आइसोलेसनमा बस्न हामीले अनुरोध गरेका छौं । सबैजना बसिरहनु भएको छ,’ उनले भने, ‘कोरोनाबाट जोगिन सबैको भूमिका महत्वपूर्ण हुन्छ । यसमा सबै सजग र सचेत बन्न अनुरोध गर्दछु ।’ आठबीसका ७० प्रतिशत युवा रोजगारीका लागि भारत जाने गरेका छन् ।

  • दैलेखको राकममा टिपर दुर्घटना

    दैलेखको राकममा टिपर दुर्घटना

    सुर्खेत । कणरली राजमार्ग अन्तर्गत दैलेखको आठबीस नगरपालिका-४ राकम, कोटेसल्लामा मंगलबार राती टिपर दुर्घटना भएको छ ।

    टिपर कोटेसल्लाबाट झण्डै दुई सय मिटर तल कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

    बा५ख २१८३ नम्बरको टिप्पर दाङ लमहीबाट जुम्ला जाँदै थियो । दैलेख प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठका अनुसार दुर्घटनाग्रस्ट्ट टिपर नदीभित्र रहेकाले  उद्धारमा समस्या भएको हो ।

    टिपरमा के ल्याइएकाे थियाे र कतिजना सवार थिए भन्नेबारे कुनै जानकारी नआएकाे डीएसपी श्रेष्ठले जनाएका छन् ।

  • करेन्ट लाग्दा दैलेखमा एकको मृत्यु

    करेन्ट लाग्दा दैलेखमा एकको मृत्यु

    दैलेख । जिल्लाको गुराँस गाउँपालिका वडा नं. ५ को राउटे गल्छीना नजिक करेन्ट लागेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठले बताए ।

    विद्युत पोलमा तार खिचिरहेको अवस्थामा करेन्ट प्रवाह हुँदा एक जनाको निधन भएको उनको भनाई छ । अहिले त्यहाँ प्रहरीले सम्पर्क गरिरहेको र प्राविधिक ल्याएर शव झारेपछि मात्रै मृत्यु हुने व्यक्ति को हुन भन्ने खुल्ने उनको भनाई छ ।

  • चार छोराछोरीसहित आमाले कर्णालीमा हाम्फालिन्, दुई छोरीको शव फेला

    चार छोराछोरीसहित आमाले कर्णालीमा हाम्फालिन्, दुई छोरीको शव फेला

    सुर्खेत । दैलेखको आठबिस नगरपालिका वडा नम्बर ३ निमायलकी एक महिलाले चार छोराछोरीसहित कर्णाली नदीमा हाम्फालेर आत्महत्या गरेकी छन् । दुई छोरीको शव सोमबार साँझ भेटिए पनि अन्य तीनजना बेपत्ता छन् ।

    वडाध्यक्ष प्रयागबहादुर शाहीका अनुसार आइतबार दिउँसो श्रीमान् मानबहादुर बडुवाललाई बजारमा लिन गएकी सुकी बडुवाल आइतबार राति नै घरबाट छोराछोरीसहित निस्किएकी थिइन् ।

    ‘उनी आइतबार राति नै घरबाट निस्किएको थाहा भयो । श्रीमान् मदिरा सेवन गर्ने गरेका थिए । शायद घर झगडा भएको हुनुपर्छ’ वडाध्यक्ष शाहीले भने, ‘साथमा उनले तीन छोरी र एक छोरालाई समेत लगेर गएकी रहिछन् । सोमबार साँझ दुई छोरीको शव फेला परेपछि मात्रै पाँचै जनाले कर्णालीमा हाम्फालेको हामीले थाहा पायौं ।’

    मध्यपहाडी लोकमार्गको अछाम जोड्ने पुल भन्दा दुई सय मिटर माथि पाँचै जनाको चप्पल नदी किनारमा भेटिएकाले पाँचै जनाले कर्णालीमा हाम्फालेको बताए । दुइ छोरीको शव डोरीले हात बाँधिएको अवस्थामा सोमबार अबेर फेला परेको थियो । बाँकीको खोजी भइरहेको उनले बताए ।

    जिल्ला प्रशासन कार्यालय दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी हरि देवकोटाले सोमबार साँझ छोरीहरु १६ वर्षीया कल्पना बडुवाल, १२ वर्षकी सरिता बडुवालको शव फेला परेको जानकारी दिए ।

    उनले सुकी बडुवाल र उनको एक छोरा र एक छोरी अहिले पनि बेपत्ता भएको र प्रहरी तथा समुदायले खोजी कार्य जारी राखेको बताए ।

    जिल्ला प्रहरी कार्यालय दैलेखबाट डीएसपी अनुपम श्रेष्ठको नेतृत्वमा टोली राकम कर्णाली गएको छ । उनले भने, ‘उनका श्रीमान् प्रहरी नियन्त्रणमा छन् । घटना कसरी भयो भन्ने बारेमा अहिले नै भन्न सकिने अवस्था छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ ।’

  • भैरवी गाउँपालिका अध्यक्ष भन्छन्- श्रीस्थानको पेट्रोलियम चाँडो उत्खनन् गरौं

    भैरवी गाउँपालिका अध्यक्ष भन्छन्- श्रीस्थानको पेट्रोलियम चाँडो उत्खनन् गरौं

    सुर्खेत । साढे तीन वर्षअघिको स्थानीय चुनावमा दैलेखको भैरवी गाउँपालिका अध्यक्षमा तत्कालीन नेकपा एमालेबाट उम्मेद्वार बनेका प्रेम बुढाले भैरवीमा विमानस्थल र श्रीस्थानमा पेट्रोलियम उत्खनन् गर्ने घोषणापत्र जारी गरेका थिए ।

    जनताको सामान्य आशाभन्दा माथिका यी दुई घोषणाबारे उनले बल्ल बुझेका छन्, यी त स्थानीय सरकारबाट सम्भव हुने काम होइन रहेछन् ।

    भैरवीमा विमानस्थल निर्माण प्राविधिक रुपमा कठिन हुने बुझेर पछि हटेका उनी सम्भावित पेट्रोलियम उत्खनन्को कामले ठोष उपलब्धी हासिल भएमा आफ्नो सपना पूरा हुने बताउँछन् । अन्य जनचासोका काममा जनताले गुनासो गर्ने ठाउँ नरहेको उनको दावी छ ।

    २०७६ सालको असोजदेखि फागुन मसान्तसम्म श्रीस्थानमा चिनियाँ कम्पनीले इन्धनको सम्भावित खानीबारे अनुसन्धान सुरु गरेको थियो । प्राप्त नतिजा लिएर फर्किएको चिनियाँ टोली अहिलेसम्म फर्केको छैन । अध्यक्ष बुढाले सुनेका छन्, ‘श्रीस्थानको जमिनमूनि तेल भए–नभएको ल्यावमा अनुसन्धान भइरहेको छ, कोरोना महामारीका कारण नतिजासहित टोली आउन ढिला भएको हो ।’

    उनले श्रीस्थानको पेट्रोलियम उत्खनन गर्न संघीय र प्रदेश सरकारलाई बारम्बार आग्रह गरिरहेको बताए । ‘हाम्रो क्षेमताको त्यो काम होइन । संघीय र प्रदेश सरकारले छिटो भन्दा छिटो काम अगाडी बढाई हाम्रो कार्यकालमा तेल निकाल्न सकेको खण्डमा भैरवीगाउँपालिका मात्रै नभएर देशकै विकासमा एक सुनौलो इटा थपिने थियो,’ उनी भन्छन् ।

    विमानस्थलबारे उनको बुझाइ र वास्तविकता फरक रहेछ । ‘रावतकोटको रतिखालमा विमानस्थल निर्माण गर्ने पालिकाको योजना थियो । थोरै सल्लाको रुख काटेर विमानस्थल निर्माण गर्न सजिलो नै थियो तर छलफल संवाद अगाडि बढाउँदा विमानस्थल बनाउन भन्दा पनि त्यसलाई सञ्चालन गर्न अप्ठयारो हुने रहेछ । सीमित श्रोतले विमानस्थल सञ्चालन गर्न कठिन हुने भएपछि हामी हटेका हौं ।’ उनी भन्छन्, ‘बरु यहाँ एक क्रसर उद्योग सञ्चालन गर्ने तयारी हामीले गरिरहेका छौं ।’

    सडक नै प्राथमिकता

    अध्यक्ष बुढाले भैरवी गाउँपालिकाको विकास गर्न सडक नै पहिलो प्राथमिकतामा राखेर काम अघि बढाएको बताए । माथिल्लो डुङगेश्वर–दुल्लू–डाँडिमाडी–कुसापानी, कालिकोट, जुम्ला हुँदै मुगु जिल्लाको नाग्चेलाग्ना सडक निर्माणमा जोड दिएको उनको भनाई थियो । यसका लागि प्रदेश सरकारसँग आवश्यक बजेटका लागि कुराकानी भइरहेको छ ।

    ‘यो सडक निर्माण गर्न सकिएको खण्डमा जुम्ला–कालिकोटका नागरिकलाई कर्णाली राजमार्ग भन्दा ६८ किलोमिटर छोटो पर्नेछ । यस्तै, बडालम्जी–डाँडिमाडी–कुसापानी र बडालम्जी–रावतकोट सडकलाई स्तर उन्नती र कालोपत्रे गर्ने प्रतिवद्धता जनाएका थियौँ । डाँडिमाडी बजारको सडकलाइ हामिले ग्राभेल गरेर नालीसमेत बनाएका छौं,’ उनले थपे, ‘मध्यपहाडी लोकमार्गमा पर्ने जगत्रादेखि रावतकोट हुँदै भिरखेतको पुलसम्म १० किलोमिटर सडकसंघिय सरकारको उक्त सडक आयोजनाले नै कालोपत्रे गर्दैछ । अन्य सडकहरु स्तरोन्नतीको काम भइरहेको छ । कालिकोटको सिमाना नजिकैको व्याउलीसम्म सहज तरिकाले गाडि जान्छ ।’

    बाजथला–बगौरा, बगना–गडाजिउला, डाँडिमांडी–गडाजिउला, डाँडिमांडी–सैन, डोक्रा–कुसापानी साथै कुसापानी–गैरासरु –कडेनी–गोर्ती–काशिकाँध, कुसापानी–घुम्नेखाली–कुर्माकोट–कुटी–काशिकाँध सडक पनि चुनावी प्रतिवद्धताअनुसार काम भइरहेको छउनले बताए ।
    उनले यो डेढ वर्षको अवधीमा भैरवीका ९८ प्रतिशत जनताको घरमा विजुली बल्ने बताए । ‘सडक पछिको महत्वपूर्ण विकासको रुपमा हरेक घरमा विजुली पुर्‍याउने काम हो । बाँकी कार्यकालमा हामीले ९८ प्रतिशत घरमा विजुली बालीसक्छौं ।’

    भैरवी गाउँपालिकामा खानेपानीको धेरै समस्या थियो । बडालम्जी खानेपानी आयोजना विसं २०४० सालमा निर्माण सुरु भएपनि बीचमा रोकिएको थियो । अहिले त्यो पुर्ननिर्माणको अन्तिम चरणमा छ । अहिले पानी धारमा आइसकेको छ । अहिले भैरी, बडालम्जी र रावतकोटसम्मका जनताले पानी खाइरहेका छन् । त्यस्तै ग्रामिण जलस्रोत परियोजनाले रावतकोटमा लिफ्ट खानेपानी आयोजना गतवर्ष सम्पन्न गरेको छ । साना तिना आयोजना धेरै सम्पन्न भइसकेका छन् ।

    ‘हाम्रो गाउँपालिकामा उत्तरी क्षेत्रमा जडिबुटी र दक्षिणी क्षेत्रमा तरकारी , फलफूल र मत्स्यपालन पकेट क्षेत्र हनाई कृषिमा आधुनिकीकरण प्रविधि अपनाउन सुरु गरेका छौं,’ उनी भन्छन्, ‘उत्तरी क्षेत्रमा अलैंची र कीबी खेतीको सुरुवात गरेका छौं । त्यसका साथै २ वटा दूध संकलन केन्द्र पनि स्थापना गरेका छौं । डेरीले छुर्पी उत्पादन गरेर दैलेख र सुर्खेतको बजारमा विक्री गर्ने गरेको छ ।’

    भैरवी गाउँपालिका वडा नम्बर ६ मा डिप्लोमा तहको ३ वर्षे वालिविज्ञान र पशु विज्ञानको अध्यापन सुरु भएको छ । अन्यत्रका माध्यमिक विद्यालयलाई डिजीटल विद्यालयको रुपमा विकास गर्दै लैजाने योजनाका साथ पालिका अघि बढेको उनको भनाई छ ।

    ‘यो अवधीमा हामीले ६ वटा आधारभूत स्वास्थ्य चौकी स्थापना गरिसकेका छौं भने सबै वडाका कार्यालयहरु हाम्रो कार्यकालभरि सक्ने गरी काम गरिरहेका छौं,’ उनी भन्छन्, ‘यी बाहेक कृषि, पशु क्षेत्रमा पर्याप्त काम गरेका छौं ।’

    उनले हालसम्म सबै नागरिकले काम गरेको देखेर सन्तुष्ट भएको महसुस गरेको बताए । ‘जनताका सबै अपेक्षा पुरा गर्न गाह्रो हुँदो रहेछ । यद्यपी पालिकामा आउने सीमित बजेटलाई सकेसम्म नागरिकको पक्षमा काम गरेर अधिकतम उपयोग गरेका छौं,’ उनी भन्छन्, ‘अब आगामी वाँकी कार्यकालमा भैरवी वासीलाई पहिलेको तुलनमा विकसित पालिका नासोको रुपमा छोडेर जान्छु ।’

  • महावु गाउँपालिकाको दुःख– दोब्बर तलव दिँदा पनि पाइएन डाक्टर

    महावु गाउँपालिकाको दुःख– दोब्बर तलव दिँदा पनि पाइएन डाक्टर

    सुर्खेत । कर्णालीका विकट बस्तीमा स्थानीय सरकार आइसकेपछि जनतालाई स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन प्रतिस्पर्धा छ । स्थानीय तहहरुले स्वास्थ्य संरचना धमाधम स्वास्थ्य संरचना निर्माण गरिरहेका छन् । संरचना र उपकरणको व्यवस्था भए पनि दुर्गम क्षेत्र स्वास्थ्यकर्मीको रोजाईमा नपर्दा सेवा सन्चालन गर्न कठिन भएको छ । यसको उदाहरण दैलेखको महावु अस्पताललाई लिन सकिन्छ ।

    महाबु गाउँपालिकाले कोभिड–१९ अस्थायी अस्पताल तथा १० शय्या अस्पताल सञ्चालनका लागि कात्तिक १८ गते चिकित्सकसहित ३ पदका लागि दरखास्त आह्वान गर्‍यो । उक्त विज्ञापन भएको लामो समय भइसक्दासमेत स्वास्थ्यकर्मी पाउन नसक्दा अस्पतालको सेवा सुरु हुन सकेको छैन ।

    ‘गाउँपालिकाले करार नियुक्ति गर्ने गरी मेडिकल अधिकृत आठौं तह, स्टाफ नर्स सहायक पाचौं तह र हेल्थ असिस्टेन्ट सहायक पाचौं तहका लागि दरखास्त आह्वान गरेको तीन महिना भयो,’ गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले भने, ‘हालसम्म मेडिकल अधिकृतका लागि कुनैपनि निवेदन नपरेपछि उम्मेद्वार छनोट गर्न सकिएन ।’

    अस्पताल संचालनमा आउन नसकेपछि नागरिक चिकित्सक सहितको स्वास्थ्य सेवाबाट बञ्चित ‘गाउँपालिकाभित्रै अस्पताल बनेपछि सजिलो हुन्छ जस्तो लागेके थियो । भवन बनेको यत्रो समय भइसक्यो, खै डाक्टरहरु कहिले आउने हुन्,’ एक स्थानीयले भने ।

    स्टाफ नर्स र हेल्थ असिस्टेन्टमा मात्रै केही निवेदन परेका छन् भने मेडिकल अधिकृतका लागि कसैको पनि आवेदन परेको छैन ।

    ‘अस्पतालको लागि चाहिने स्तरीय ल्याव, शय्या, उपकरण, भवन लगायतका सम्पूर्ण संरचना तयारी अवस्थामा राखेका छौं,’ अध्यक्ष शाहीले भने । उनले तलबमा शतप्रतिशत तलब थप गरेर विज्ञापन निकाल्दा पनि एमबीबीएस डाक्टर पाउन नसकेको गुनासो गरे ।

    ‘हामी शतप्रतिशत तलब थप्छौं, अन्य भत्ता त छँदैछ,’ उनले भने, ‘एमबीबीएस अध्ययन गरेका कोही भए हाम्रो सम्पर्कमा आइदिनुपर्‍यो ।’
    उनले बारम्बार विज्ञापन गर्दा पनि दक्ष जनशक्ति नआउँदा अस्पताल सञ्चालनमा अप्ठ्यारो परेको बताउँदै इच्छुक उम्मेदवारलाई सोझै गाउँपालिकामा सम्पर्क गर्न आग्रह गरेका छन् ।

    टेलिमेडिसिन सेवा सुरु गर्न सुझाव

    यता, प्रदेश अस्पताल कालागाउँका वालरोग विशेषज्ञ डा. नवराज केसीले टेलिमेडिसिन सेवा सुरु गर्न सुझाव दिएका छन् ।

    ‘त्यहाँ चौबीसै घण्टा चल्ने इन्टरनेट राखेर टेलिमेडिसिन सेवा सुरु गरेको खण्डमा डाक्टर नहुञ्जेल हामी सेवा गर्न तयार छौं,’ उनले भने, ‘भिडियो कलमार्फत अधिकतम सेवा सञ्चालन गर्न सकिन्छ । पालिकाले आग्रह गरेमा हामी सहयोग गर्न तयार छौं ।’