Tag: दिनेशकुमार थपलिया

  • चुनाव तलमाथि सारे दुघर्टना निम्त्याउन सक्छ: प्रमुख निर्वाचन आयुक्त थपलिया

    चुनाव तलमाथि सारे दुघर्टना निम्त्याउन सक्छ: प्रमुख निर्वाचन आयुक्त थपलिया

    जनकपुर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्धारित मितिमै स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन हुने बताएका छन् ।

    जनकपुरधाममा आज आयोजित स्थानीय तह निर्वाचन–२०७९ ‘मिडिया अभिमुखीकरण’ कार्यक्रममा उनले अब निर्वाचनको मिति सार्न सक्ने अवस्था नरहेकाले निर्धारित समयमै निर्वाचन आयोगले स्वच्छ र निष्पक्ष निर्वाचन गराउने बताएका हुन् ।

    प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनको मितिलाई तलमाथि वा अन्य तरिकाले सारेमा मुलुकमा दुर्घटना निम्त्याउन सकिने उल्लेख गर्दै निर्धारित समय वैशाख ३० गते नै निर्वाचन हुने र निर्वाचनबाट कसैले डराउन नहुने बताए ।

    निर्वाचनको क्रम भङ्ग गर्ने अवस्था नरहेको बताउँदै उनले स्थानीय तहको निर्वाचनसँगै यसै वर्ष प्रतिनिधिसभा, प्रदेशसभा, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसमेत सम्पन्न हुने दाबी गरे। प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई लोकतन्त्रको सबैभन्दा ठूलो गहना भनिने गरेको उल्लेख गर्दै पछिल्लो समय निर्वाचन विपरित हुने खालको अभिव्यक्ति आइरहनु दुःखद् भएको जिकिर गरे।

    निर्वाचन आचारसंहितालाई सामान्यरुपमा नलिन आग्रह गर्दै यसको उल्लङ्घन गरे कारबाही हुने र केही सँग स्पष्टीकरणसमेत सोधिसकेको जानकारी दिए। रासस

  • चुनाव सरे मुलुक दुर्घटनामा जाने प्रमुख निर्वाचन आयुक्तको ठहर

    चुनाव सरे मुलुक दुर्घटनामा जाने प्रमुख निर्वाचन आयुक्तको ठहर

    विराटनगर । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन नभए मुलुक दुर्घटनामा जाने बताएका छन्। उनले निर्वाचनका सम्पूर्ण तयारी पूरा भएकाले अब निर्वाचनको मिति सार्ने काम कोही कसैबाट हुन नहुने पनि बताए ।

    निर्वाचन आयोग नेपालले विराटनगरमा आज आयोजना गरेको मिडिया अभिमुखीकरण कार्यक्रमलाई सम्धबोधन गर्दै आयुक्त थपलियाले भने– निर्वाचन प्लेनको उडानमा हैन, रकेटको गतिमा अघि बढेको छ । अब स्थगित गर्न खोजे मुलुक दुर्घटनामा जान्छ ।

    उनले जिल्ला जिल्लामा निर्वाचन अधिकृत तोक्ने र मतपत्र छाप्ने काम पनि पूरा भएको जानकारी दिए । कार्यक्रममा नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारलाई राजनीति नगर्न सुझाव दिए ।

  • प्रधानमन्त्रीसँगको छलफलमा निर्वाचन आयोगले राखेका ६ सरोकार

    प्रधानमन्त्रीसँगको छलफलमा निर्वाचन आयोगले राखेका ६ सरोकार

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सरकारका प्रभावशाली मन्त्रीहरूसँगको छलफलमा निर्वाचन आयोगले आगामी निर्वाचनका सन्दर्भमा आफ्ना आधा दर्जन सरोकार राखेको छ । आयोगले औपचारिक विषयबाहेक अरुमा चासो नराख्ने भन्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गराउन सकिने समेत जनाएको छ ।

    आयोगले वैशाख १७ र २७ मा निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि १ करोड ६३ लाख ४५ हजार मतदाताको नाम संकलन भएको जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पुस ६ देखि नै शुरू भएको मतदाता नामावली संकलन सकिएको बताएका हुन् ।

    पुस ५ गतेसम्म १८ वर्ष उमेर पुगेका नागरिक मतदाता सूचीमा समेटिएका छन् । फागुन २१ गते अन्तिम मतादाता नामावली सार्वजनिक गरिने जानकारीसमेत आयोगले सरकारलाई गराएको छ । अहिले मतदान केन्द्र निर्धारणको गृहकार्य भइरहेको र निर्वाचन प्रयोगजनका लागि दल दर्ता तथा आचारसंहिताको मस्यौदा तयार भइरहेको थपलियाले बताए ।

    आयोगका तर्फबाट प्रमुख आयुक्तले प्रधानमन्त्रीसमक्ष मुख्यगरी ६ वटा सरोकार राखिएको स्रोतले जनाएको छ । प्रमुख आयुक्त थपलियाले बुँदागतरूपमा प्रधानमन्त्रीसँग आयोगको धारणा राखेका थिए ।

    छलफलमा सहभागी स्रोतले नेपाल प्रेसलाई उपलब्ध गराएको नोट अनुसार आयोगको सरोकार यसप्रकार छन् ।

    १. कानून- निर्वाचन सम्पन्न गराउन कानुनी समस्या नरहेको भन्दै आयोगले कार्यविधि,निर्देशिका,आचारसंहिताजस्ता आन्तरिक कामहरू गरिरहेको थपलियाले बताएका छन् ।

    २. बजेट- कोभिड महामारीका कारण यो चुनावमा अतिरिक्त खर्च लाग्न सक्ने भन्दै आयोगले करिब ७ अर्ब रूपैयाँ माग गरेको जानकारी थपलियाले गराएका थिए ।

    ३. सुरक्षा- आयोगले निर्वाचनको लागि सुरक्षाा योजना बनिरहेको भन्दै स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्न पूर्णसुनिश्चितता गर्ने थपलियाले बताए ।

    ४. प्राविधिक कार्य- आयोगको तर्फबाट गर्नुपर्ने प्राविधिक कार्यमा कुनै कमी नहुने थपलियाले बताए ।

    ५. अन्तर्राष्ट्रिय मान्यता- प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको पर्यवेक्षणका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षक बोलाउने तयारी भइरहेको बताए । त्यसका लागि आवश्यक कार्य अघि बढाउने थपलियाको भनाइ थियो ।

    ६. राजनीतिक वातावरण- आगामी प्रतिनिधिसभा निर्वाचनमा सबैको सहभागिता सुनिश्चित गर्ने थपलियाले बताए । उनले नेकपा विवादको सन्दर्भमा माघ ११ गते आयोगले एउटा निर्णय गरिसकेको भन्दै एउटा पक्षले माघ २० गते राजनीतिक दल सम्बन्धी दफा ४३ र ४४ बमोजिम निवेदन दिएको जानकारी गराएका थिए ।

    थपलियाले निर्वाचन आयोग औपचारिक जानकारी बाहेकका विषयमा नअल्मलिने भन्दै वैशाख १७ गते शुक्रवार र २७ गते सोमवारका लागि तोकिएको निर्वाचन सम्पन्न गर्न दृढ रहेको जानकारी दिएका थिए ।

    प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री बिष्णु पौडेल, कानूनमन्त्री लिलानाथ श्रेष्ठसहितको छलफलमा निर्वाचन तयारीकै विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । उनले नेकपा विवादको बारेमा कुनै छलफल नभएको दाबी गरे ।