Tag: तुइन

  • जयसिंह धामीका परिवारलाई १० लाख दिने सरकारको निर्णय

    जयसिंह धामीका परिवारलाई १० लाख दिने सरकारको निर्णय

    काठमाडौं । सरकारले भारतीय सीमा सुरक्षा बलले तुइन काटेपछि महाकाली नदिमा बेपत्ता भएका जयसिं धामीको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

    आज बसेको मन्त्रिपरिषद् बैठकले १० लाख रूपैयाँ सहायत दिने निर्णय गरेको सरकारका प्रवक्ता कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    करिब एक महिनाअघि भएको घटनामा सरकारले छानविन समिति बनाए पनि अहिलेसम्म समितिले प्रतिवेदन दिन सकेको छैन । भारतीय एसएसबीबाट क्षतिपूर्ति भराउनुपर्ने माग हुँदै आए पनि सरकारले आफैं १० लाख दिने निर्णय लिएको हो ।

  • तुइनबाट खसेका धामीको ड्रोनबाट खाेजी गरिने

    तुइनबाट खसेका धामीको ड्रोनबाट खाेजी गरिने

    दार्चुला। महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीलाई  खाेज्न सुरक्षा निकायले ड्रोनकाे प्रयाेग गर्ने भएकाे छ । नेपालतिर सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा भारततर्फ भारतीय एसएसबीले नदी छेउछाउ खोजी जारी राखे पनि अहिलेसम्म शव नभेटिएपछि ड्रोनको प्रयाेग गर्ने तयारी भइरहेको स्थानीय प्रशासनले जनाएको हाे ।

    सुरक्षाकर्मीले व्यास गाउँपालिका दुई मालदेखि महाकाली नगरपालिकाको खलङ्गा क्षेत्रसम्म निरन्तर खोजी जारी राखेका दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्टले नेपाल प्रेसलाई जानकारी दिईन । सरकारले गठन गरेको छानबिन समितिले एकपटक ड्रोन क्यामरामार्फत शव खोजी गर्ने जनाएको छानविन समितिको सदस्य समेत रहेकी भट्टले बताइन् ।

    छानविन समितिको छानविन पनि जारी

    साउन १९ गते खलङ्गा पुगेको सरकारी उच्चस्तरीय छानबिन समितिले पनि छानविनलाई निरन्तरता दिइरहेको छ । समितिका संयोजक समेत रहेका गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमले ड्रोनमार्फत धामीको शव खोजी गर्ने तयारी भइरहेको नेपाल प्रेससँग बताए । सशस्त्र प्रहरीले आफुसँग भएका सबै प्रविधि र सामग्रीको प्रयोग गर्दै नदी छेउछाउमा शव खोज्ने काम जारी राखे पनि अहिलेसम्म शब नभेटिएको सशस्त्र प्रहरी बल नम्बर ४४ नम्बर गणले जनाएको छ ।

    छानविन समितिका संयोजक गौतमले ड्रोन क्यामरा लिएर सुरक्षाकर्मीको टोली दार्चुला पुगिसकेको बताए । उनले नेपाल प्रेससँग भने, ‘हामीले सूचना संकलन गर्ने कामसँगै नदीमा बेपत्ता धामीको शव खोजी पनि जारी राखेका छौ ।’ उनका अनुसार समितिले अहिले बयान लिने र सोधपुछ गर्ने कार्य जारी राखेको छ ।

    साउन १७ गते सरकारले गठन गरेको उच्च स्तरीय छानविन समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउने समयसिमा दिएको छ । गृह मन्त्रालयका सहसचिव गौतम संयोजक रहेको छानबिन समितिमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखसमेत रहेका प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभाग सुदूरपश्चिम प्रदेशका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल सुदूरपश्चिम प्रदेशका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट रहेका छन् ।

    एक साताअघि दार्जुला पुगेको छानविन समितिले नेपाल र भारत दुवैतर्फबाट स्थलगत निरीक्षण गरिसकेको जनाएको छ । यस्तै जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, पत्रकार, मानवअधिकारकर्मी, स्थानीयवासी, घटनाका प्रत्यक्षदर्शी तथा सुरक्षा निकायसँग छलफल एवं सूचना सङ्कलन गरिरहेको समितिका संयोजक गौतमले बताए ।

  • पाँच विद्यार्थी संगठनको ज्ञापनपत्र: दार्चुला घटनाको तत्काल छानविन गरियोस्

    पाँच विद्यार्थी संगठनको ज्ञापनपत्र: दार्चुला घटनाको तत्काल छानविन गरियोस्

    काठमाडौं । विपक्षी गठबन्धननिकट पाँच विद्यार्थी संगठनले दार्चुलामा तुइनबाट खसेर एक व्यक्ति नदीमा बेपत्ता भएको घटनाको तत्काल छानविन गरी दोषीमाथि कारवाहीको माग गरेका छन् ।

    दार्चुलाको व्यास गाउँपालिका वडा नं.२ का जयसिंह धामी विदेश जानको लागि महाकाली नदी तर्ने क्रममा भारतीय सशस्त्र सीमा बलले तुइन काटिदिएपछि नदीमा बगेर बेपत्ता भएका छन् । संयुक्त विद्यार्थी संगठन भारतीय अपराधिक कार्यको विरोध र भत्सर्ना गर्दै घटनाको छानविन गरी तुइन काट्ने व्यक्तिलाई कारवाही गर्न र सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको उपमहासचिव जीपी मैनालीले जानकारी दिए ।

    यस्तै मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकूलपतिले विद्यार्थीमाथि प्रशासन लगाएर दमन गर्ने, धम्क्याउने गरेका छन् । उपकूलपतिको कारण परीक्षाको वातावरण बिथोलिएको उल्लेख गर्दै विद्यार्थीहरूका जायज मागहरू सम्बोधन गरी परीक्षा सूचारु गर्न संगठले माग गरेको छ ।

    यसैगरी धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीहरुबाट भ्रष्टाचार, अनियमितता भएको पनि उनीहरुले प्रधानमन्त्री देउवालाई ध्यानकर्षण गरेका छन् ।

    प्रतिष्ठानका पदाधिकारीहरुले दादागिरी मच्याइरहेकाले पढाई, बिरामीको उपचारलगायत दैनिक काममा निकै बाधा उत्पन्न भएको संगठनले बताएको छ । त्यसैले  उपकूलपतिलाई बर्खास्त गरी प्रतिष्ठानका समस्या समाधान गर्न पाँच विद्यार्थी संगठनले माग गरेका छन् ।

  • एसएसबीले तुइन काटेकोमा अनेरास्ववियूको विरोध, दोषीलाई कारवाही र पीडितलाई क्षतिपूर्तिको माग

    एसएसबीले तुइन काटेकोमा अनेरास्ववियूको विरोध, दोषीलाई कारवाही र पीडितलाई क्षतिपूर्तिको माग

    काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले दार्चुलाको महाकाली नदीमा भारतीय सुरक्षाकर्मीले तुइन काटेको घटनाको निन्दा एवं भत्र्सना गरेको छ ।

    शुक्रबार भारतीय एसएसबीले दार्चुलाको व्यास गाउँपालिका -२ मालघाटमा महाकाली तर्ने क्रममा तुइन काटिदिँदा ३५ वर्षीय नेपाली नागरिक जय सिंह धामी बेपत्ता भएका थिए ।

    अनेरास्ववियुले उक्त घटना संलग्नलाई तत्काल कारबाही गरी पीडित पक्षलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न अनेरास्ववियूले माग गरेको छ ।घटनाको विषयमा सरकार नबोलेको भन्दै अनेरास्ववियुका संयोजक ऐन महरले आफ्ना नागरिकको जीवन रक्षा गर्ने कर्तव्य र जिम्मेवारीबाट बिमुख हुने छुट यो सरकारलाई नभएको बताए ।

    अनेरास्ववियुले आज विज्ञप्ति जारी गर्दै भारतीयले नेपालीमाथि ज्यादती गरेको बताउँदै भारतको दादागिरी कहिलेसम्म सहने भन्दै प्रश्न गरेको छ ।
    जारी विज्ञप्तिमा भनिएको छ,‘के नेपाली जनताले सधै नै उस्को ज्यादती र दादागिरी सहेर बस्नुपर्ने हो ? उस्को अगाडि निरीहता र लघुताभास बोध गर्नुपर्ने हो ? खोइ हाम्रो स्वाधीनता, सार्वभौमक्ता, स्वतन्त्रता र स्वाभिमान को रक्षा गरेको ? भारतको लागि बनेको कम्फर्टेबल सरकार किन मुखदर्शक बनेर बसेको छ ? आफ्ना नागरिकको जीवन रक्षा गर्ने कर्तव्य र जिम्मेवारी बाट बिमुख हुने छुट यो सरकार लाई छ ? अनेरास्ववियु यो सरकारलाई गम्भीर प्रश्न गर्दछ ।’
    धामीसदरमुकाम खलङ्गा आउने क्रममा तुइनबाट महाकाली नदी तर्दै गर्दा भारतीय एसएसबीले तुइन काटिदिएका थिए ।

    धामी बेपत्ता भएपछि अहिले स्थानीय आक्रोशित बनेका छन् । नेपालतर्फ सडक नहुँदा व्यास क्षेत्रका बासिन्दाले सदरमुकाम खलङ्गा आउनका लागि भारतको बाटो हुँदै महाकाली नदीमा तुइन तरेर आउनुपर्ने बाध्यता छ ।

     

  • महाकाली तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिँदा एक जना बेपत्ता

    महाकाली तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिँदा एक जना बेपत्ता

    दार्चुला । व्यास गाउँपालिका–२ मालघाटमा महाकाली तर्ने क्रममा एसएसबीले आज तुइन काटिदिँदा एक व्यक्ति नदीमा बेपत्ता भएका छन् । सदरमुकाम खलङ्गा आउने क्रममा ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन् ।

    महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएको स्थानीय विक्रमसिंह धामीले बताए ।

    ‘भारततर्फ पुग्ने बेला एसएसबीले एक्कासि तुइन काटिदियोे, नदीको बिच भागमा पुग्ने बेला तुइन काटिएपछि उनी बेपत्ता भएका हुन्, पाँच छ जना स्थानीय सामान लिन भारतको बाटो हुँदै आइरहेका थियौँ’ धामीले भने, ‘पाँच छ जना तुइनबाट भारत तरेका थिए, जयसिंह तर्ने बेला एसएसबी पुगेर तुइन काटिदिए, भारत पांगलमा रहेका एसएसबीले तुइन काटिदिएका हुन् ।’

    धामी बेपत्ता भएपछि अहिले स्थानीय आक्रोशित बनेका छन् । नेपालतर्फ सडक नहुँदा व्यास क्षेत्रका बासिन्दाले सदरमुकाम खलङ्गा आउनका लागि भारतको बाटो हुँदै महाकाली नदीमा तुइन तरेर आउनुपर्ने बाध्यता छ ।रासस