Tag: टप न्यूज

  • मधेशमा जनमतले फिर्ता बोलायो मुख्यमन्त्री र मन्त्री

    हेटौँडा । मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीले मुख्यमन्त्री र सबै मन्त्रीलाई फिर्ता बोलाएको छ ।

    जनमत पार्टीको मधेश प्रदेश संसदीय दलका नेता महेश यादवले पार्टी प्रदेश सरकारबाट फिर्ता हुने निर्णयमा पुगेको भन्दै प्रदेश प्रमुखलाई पत्राचार गरेका छन् । उनले सरकारलाई दिइएको समर्थन फिर्ता लिँदै मुख्यमन्त्री र मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको जानकारी सहितको पत्र प्रदेश प्रमुख कहाँ पठाएका हुन् ।

    यसअघि दिउँसो मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले अहिलेको भाँडभैलोमा फेरि सरकार बनाउने र गिराउने खेल हुने भएकाले कुनै ठोस निकास नभएसम्म काम गर्नु पर्ने भएकाले राजीनामा नदिने बताएका थिए । उनले नेपालप्रेससँग भनेका थिए, ‘संसद विघटनसँगै प्रदेश सरकार पनि विघटन भएको छैन, केही सम्बोधन भएन, मैले राजीनामा दिँदा फेरि सरकार बनाउने र भत्काउने खेल हुन्छ, मधेश बनाउनु पर्ने मात्रै होइन, एउटा पनि मन्त्रालयको भवनमा बसेर काम गर्न सक्ने अवस्था नभएकाले पहिलो सरकार चलाउने भवन बनाउनु पर्ने चुनौती छ, म काम गर्न चाहन्छु ।’

    उनले आफ्नो फेसबुक पेजमा पनि लामो सन्देश लेख्दै भनेका छन्, ‘जनताको ज्यानभन्दा ठुलो पद होइन, राजीनामाले जनताको जीवन रक्षा र सम्पत्तिको क्षति रोक्न मदत पुग्छ भने सचिवालयमार्फत सामाजिक सञ्जालमा गरिएको राजीनामाको जानकारी सत्य हो नत्र संविधान र सङ्घीयताको रक्षार्थ म हरेक बाटो रोज्न तयार छु, तर सङ्घीयताको आत्मा मधेशलाई नेतृत्वविहीन बनाई अरूको खेल मैदान बनाउन दिने कुनैपनि प्रयास स्वीकार्य हुने छैन ।’

    उनले भने ‘सहमतिबाट नयाँ मुख्यमन्त्री चयन गर्ने बेला तत्काल राजीनामा दिन तयार छु र अहिलेलाई सबै मिलेर प्रदेशका संरचना पुनः साविक अवस्थामा फर्काऔँ, अझ मजबुत र जनमुखी बनाऔँ, सङ्घीयताको रक्षा गर्ने बाटो बनाऔँ ।’

  • रविलाई कारागार राखिने, थप सुरक्षाका लागि सशस्त्रलाई पत्राचार गर्दै प्रहरी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई अन्ततः नख्खु कारागारमा राखिने भएको छ । कारागारमा थप सुरक्षा व्यवस्था माग गरिएको प्रहरी स्रोतले बतायो ।

    पाँच दिनअघि कारागारबाट निस्किएका रवि आज आफैँ फर्किएका थिए । स्रोतका अनुसार उनले सुरक्षाको प्रत्याभूति गराउन माग गरेका छन् । कारागार प्रहरीले सुरुमा आनाकानी गरे पनि अहिले थप सुरक्षा व्यवस्थासहित उनलाई राख्ने पहल भएको छ ।

    नख्खु कारागार सशस्त्र प्रहरीको सुरक्षा नियन्त्रणमा छ । रविले अहिलेको परिस्थितिमा सुरक्षा व्यवस्था अपर्याप्त भएको बताएका थिए ।
    जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले रविको मागबारे कारागार सुरक्षामा तैनाथ सशस्त्र प्रहरीलाई पत्र लेखेर प्रहरीले ध्यानाकर्षण गराएको बताए ।

    उनले भने, ‘आइसकेपछि फर्काउने कुरा हुँदैन । उहाँको मागलाई लिएर सशस्त्र प्रहरीमा ध्यानाकर्षण गराइएको छ ।’
    अहिले रवि लामिछानेसँगै कारागारभित्र पत्नी निकिता पौडेल, रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल लगायत प्रहरी–प्रशासनसँग सम्वादमा छन् । रवि करिब ५ बजे कारागार पुगेका थिए ।

    कारागारमा अन्य कैदीहरु पनि धमाधम फर्किरहेका छन् ।

  • जेनजी आन्दोलनमा गोली खाएका युवाले प्रधानमन्त्रीसँग राखे प्रदेश खारेजीको माग

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पदबहाली गर्नु अगावै आज जेनजी आन्दोलनमा घाइते भएर उपचाररत युवाहरूलाई भेटेकी छन् । देशको नयाँ कार्यकारीलाई आफू अगाडि पाउँदा घाइते युवाहरूको अनुहार उज्यालिएको थियो ।

    प्रधानमन्त्री कार्की वीर अस्पताल, ट्रमा सेन्टर, सिभिल अस्पताल लगायतमा पुगेर घाइतेहरूलाई हौसला र सान्त्वना दिइन् । ट्रमा सेन्टरमा एक घाइते युवकले बेडबाटै प्रधानमन्त्रीलाई शुभकामना दिए । तर, कार्कीले आफूलाई बधाई नदिन आग्रह गरिन् ।

    ‘मलाई अहिले कसैले पनि बधाई नदिनुहोला । मेरो कार्यकाल सफल भयो भने बधाई दिँदा हुन्छ,’ उनले भनिन् ।

    ट्रमा सेन्टरको ४३१ नम्बर बेडमा रहेका घाइते युवाले भने, ‘जुन जिम्मेवारी पाउनुभएको छ, त्यो पुरा गरेर सुनौला अक्षरले नाम लेखियोस् ।’

    कार्कीले जवाफ फर्काइन्, ‘मलाई कसैले बधाई नभनोस् । मेरो कार्यकाल सकिएको भोलिपल्ट मात्रै भनोस् । गर्न सकिएन भने केको बधाई ।’

    युवाले ३ करोड नेपालीको आमाको रूपमा लिएको बताए । कार्कीले पनि भनिन्, ‘तपाईँ पनि मेरो एउटा छोरा हो ।’

    अर्का घाइते युवाले संघीयता खारेजीका लागि प्रधानमन्त्री कार्कीसँग माग गरे । ती युवाले बेडबाट उठ्न खोज्दै नमस्कार गरेपछि कार्कीले सोधिन् घर कहाँ हो ? युवकले भने सिन्धुपाल्चोक ।

    कार्कीले नाम सोधेपछि उनले भने- मदन कार्की ।

    ‘ए… कुन कार्की ?’ आफू पनि कार्की भएकीले प्रधानमन्त्री जिज्ञासा राखिन् । युवकले भने– सुतार कार्की ।

    ‘के पढ्ने ?’ प्रधानमन्त्रीको अर्को जिज्ञासा ।

    युवाले जवाफ दिए, ‘पढ्दै भन्दा पनि काम गर्दै हो । तर, देशका लागि लडेँ । भोलि देश केही राम्रो होला कि भनेर हो ।’

    ‘हामीले नसके अब तपाईँहरूले गर्नुपर्छ’ कार्कीले भनिन् ।

    युवाले भने- ‘तपाईँले त हामीलाई आमाले जस्तो सल्लाह दिने हो । बाटोमा लगाउने हो । मेरो माग भनेको प्रदेश सरकार खारेज हुनुपर्‍यो । अनि कार्यकारी राष्ट्रप्रमुख हुनुपर्‍यो । ४८ सालदेखि सरकारी पद धारणा गरेकाहरुको सम्पत्ति शुद्धीकरण र राष्ट्रियकरण हुनुपर्‍यो ।

    कार्कीले ध्यान दिएर सुने पनि कुनै जवाफ फर्काइनन् । मुन्टो मात्रै हल्लाइन् ।

  • घोषित लक्ष्यहरुबाट सरकार च्यूत भए प्रतिरोध हुने रास्वपाको चेतावनी

    घोषित लक्ष्यहरुबाट सरकार च्यूत भए प्रतिरोध हुने रास्वपाको चेतावनी

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम महिला प्रधानमन्त्री नेतृत्वको अन्तरिम सरकारलाई संविधान पालना, भ्रष्टाचारविरुद्ध कडा कदम, पुनर्निर्माण र आर्थिक सुधारका पक्षमा सक्रिय बन्न आग्रह गरेको छ।

    महामन्त्री कवीन्द्र बुर्लाकोटीले शनिवार जारी गरेको विज्ञप्तिमा रास्वपाले कठिन संक्रमणकालीन अवस्थामा मुलुकलाई पार लगाउने जिम्मेवारी प्रधानमन्त्रीले पाएको उल्लेख गर्दै भदौ २३ गते नवयुवा जेनजी पुस्ताले गरेको निर्णायक हस्तक्षेपकै आधारमा यो परिवर्तन सम्भव भएको बताएको छ। तर, यस प्रक्रियाले संविधान पालना सम्बन्धी प्रश्न पनि उब्जाएको विज्ञप्तिमा जनाइएको छ।

    भदौ २६ गते रास्वपाले सार्वजनिक गरेको प्रस्तावलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय सभाको स्थायी स्वरूप र गतिशीलता कायम राखी अन्तरिम सरकारले आगामी प्रतिनिधिसभाको निर्वाचन ६ महिनाभित्र गर्ने गरी ताजा मतादेशको अपरिहार्यता र आन्दोलनको म्यान्डेटबीच सन्तुलन राख्न रास्वपा उचित ठान्दछ।’

    रास्वपाले यही वर्षको फागुन २१ मा तोकिएको आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्नुपर्नेमा जोड दिँदै शान्तिपूर्ण सत्ता हस्तान्तरण, लोकतान्त्रिक हकअधिकारको निर्बाध उपभोग र विधि अनुसारको असल शासन सुनिश्चित गर्न सरकारप्रति अपेक्षा गरेको जनाएको छ। साथै चरम भ्रष्टाचार र दण्डहीनता विरुद्ध कडा कदम चाल्न, पुनर्निर्माण तथा आर्थिक सुधारमा प्राथमिकता दिन, सुदृढ अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्न र विकासमा गुणस्तरीय दूतत्व देखाउन पनि रास्वपाले अन्तरिम सरकारलाई आग्रह गरेको छ।

    विज्ञप्तिमा घोषित लक्ष्यहरूबाट सरकार च्युत भए प्रतिरोध गर्ने चेतावनी दिँदै समग्र राष्ट्रिय हित, एकता र सौहार्द प्रवर्द्धनमा सधैँ सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

  • रविलाई राख्न नख्खु कारागारको आनाकानी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई राख्न नख्खु कारागार प्रशासनले आनाकानी गरेको छ । करिब दुई घन्टा अगाडि नै पुगेका भए पनि अहिलेसम्म रविलाई जेल हालिएको छैन ।

    रविलाई लिएर रास्वपा कार्यवाहक सभापति डिपी अर्याल र रविपत्नी निकिता नख्खु कारागार पुगेका थिए । अहिलेसम्म उनीहरू पनि भित्रै छन् ।

    सचिवालयका कर्मचारीहरू कागज बोकेर यताउता गरिरहेका छन् । असुरक्षाको कारण देखाएर रविलाई राख्न प्रशासनले नचाहेको आशंका गरिएको छ ।

    जेलभित्र अरू पनि केही कैदीबन्दीहरु आउन थालेका छन् ।

  • राष्ट्रपतिले भने- बडो जुक्तिले संविधान र संसदीय प्रणाली बाँचेको छ

    राष्ट्रपतिले भने- बडो जुक्तिले संविधान र संसदीय प्रणाली बाँचेको छ

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कठिन प्रयत्नपश्चात् शान्तिपूर्ण निकास निस्किएको भन्दै खुसी व्यक्त गरेका छन् ।

    संविधान र संसदीय प्रणाली बचेको उनको भनाइ छ ।

    आफ्नो विज्ञप्तिमा पौडेलले भनेका छन् ,‘संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ । ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर पाएका छन् ।’

    बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैँमा सम्हालिएर फागुन २१ मा चुनाव सम्पन्न गराउने काममा सहयोगका लागि उनले अपिल गरेका छन् ।

  • नरेन्द्र मोदीले भने- सुशीलाको आगमन नेपालको नवोदयको संकेत

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशिला कार्कीलाई बधाई दिँदै उनको आगमनले नेपालको नवोदयलाई संकेत गरेको बताएका छन् ।

    मणिपुरमा आयोजित एक सभालाई सम्बोधन गर्दै मोदीले कार्कीको नियुक्तिलाई महिला सशक्तीकरणको महत्वपूर्णका रूपमा व्याख्या गरेका छन् ।

    हिमालयको काखको नेपाल भारतको एक घनिष्ठ मित्र भएको भन्दै उनले दुई देश साझा इतिहास र आस्थाले जोडिएको साथै मिलेर अघि बढिरहेको बताए ।

    ‘म आज नेपालमा अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा १४० करोड भारतबासीहरूको तर्फबाट श्रीमती सुशीलाजीलाई हार्दिक बधाई दिन चाहन्छु । मलाई विश्वास छ, उहाँले नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्ग प्रशस्त गर्नुहुनेछ । नेपालको पहिलो महिला प्रधानमन्त्रीको रूपमा सुशीलाजीको आगमन महिला सशक्तीकरणको एक बहुत उत्तम उदाहरण हो’, मोदीले सभामा भने ।

    यस्तो अस्थिरताको वातावरणमा पनि लोकतान्त्रिक मूल्यमान्यतालाई सर्वोपरि राखेको भन्दै उनले भने, ‘नेपालमा भएको घटनाक्रममा अर्को एउटा विशेष कुरा पनि रहेको छ, जसमा मानिसहरूको ध्यान गएको छैन । पछिल्ला दुई-तीन दिनदेखि युवायुवती नेपालका सडकमा सरसफाइ र रङरोगनको मेहनत र पवित्र काममा जुटेको तस्बिरहरू सामाजिक सञ्जालमा देखेको भन्दै उनले भने, ‘यो सकारात्मक सोच, यो सकारात्मक कार्य प्रेरणादायी मात्र होइन, यो नेपालको नवोदयको स्पष्ट सङ्केत पनि हो । म नेपाललाई उसको उज्ज्वल भविष्यको लागि शुभकामना दिन्छु ।’

  • ओलीविरुद्ध ज्यानमुद्दा हाल्ने प्रयासमा कांग्रेस नेता साह, जाहेरी बुझाउने ठाउँ नपाएको गुनासो

    काठमाडौं । सामाजिक सञ्जालमा अहिले एउटा ज्यान मुद्दाको जाहेरी भाइरल बनिरहेको छ । त्यसमा कपिलवस्तुका कांग्रेस नेता अभिषेकप्रताप साहले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध ज्यान मुद्दामा जाहेरी लेखेको देखिन्छ । प्रहरीको नयाँ बानेश्वर वृत्तलाई सम्बोधन गरिएको छ ।

    गत भदौ २३ गतेको जेनजी आन्दोलनमा प्रहरीको गोली लागि मृत्यु भएको घटनासँग जोडेर तत्कालीन प्रधानमन्त्री ओलीविरुद्ध यो जाहेरी लेखिएको हो ।

    नेपाल प्रेसले यसबारे प्रहरी वृत्त, नयाँ बानेश्वरका डीएसपी हरि खतिवडालाई सोध्यो । उनको जवाफ छ, ‘हाम्रो कार्यालय नै छैन, कहाँ दर्ता गर्नु रु जाहेरी आएको पनि छैन ।’

    कांग्रेस नेता साहले जाहेरी आफैँले लेखेको, तर बुझाउने ठाउँ नपाएको बताए । यसबारे नेपाल प्रेसले सोध्दा उनले भने, ‘नयाँ बानेश्वरमा पुलिस अफिस नै रहेनछ, अनि मैले जिल्ला प्रहरी भद्रकालीको इमेल आइडीमा मेल गरेको छु ।’

    उनले जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमार्फत नेपाल सरकार, गृह मन्त्रालयले पाउने गरी पनि पठाएको बताए । ‘मैले होस् हवास र सुझबुझयुक्त रूपमै जाहेरी दिएको हो’, उनले भने ।

    अभिषेकप्रताप कांग्रेसका निवर्तमान सांसद हुन् । उनले २०६४ मा तत्कालीन मधेसी जनअधिकार फोरमबाट कपिलवस्तु ३ मा चुनाव जितेका थिए । ७० सालको चुनावमा पनि फोरमबाटै जिते । २०७४ सालमा भने कांग्रेस प्रवेश गरेर फेरि त्यही क्षेत्रबाट जिते । तर, ७९ को चुनावमा भने एमालेसँग हारेका थिए । भारतसँग सीमा जोडिएको कपिलवस्तुको कृष्णनगरमा उनको घर छ ।

  • प्रधानमन्त्रीसमक्ष आन्दोलनका घाइतेले भने- हाम्रो योगदान खेर नजाओस्

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भई मीनभवनस्थित निजामती अस्पतालमा उपचाररत युवालाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् । प्रधानमन्त्री कार्कीले आज अपराह्न उक्त अस्पतालमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको अस्पतालका कार्यकारी निर्देशक प्राडा मोहनचन्द्र रेग्मीले जानकारी दिए ।

    ‘प्रधानमन्त्रीले घाइतेको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभयो । त्यसक्रममा उहाँहरूले आफ्नो स्वास्थ्यबारे प्रधानमन्त्रीलाई जानकारी गराउँदै आफूले देशका लागि दिएको बलिदान खेर नजाओस्, प्रधानमन्त्रीले देशलाई निकास दिनुपर्छ । पुनःअर्को पुस्ताले आन्दोलन गर्नु नपरोस्,’ डा रेग्मीले भने । प्रधानमन्त्री कार्कीले मुलुकको अवस्था परिवर्तन गर्न हरसम्भवन प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

    कार्यकारी निर्देशक रेग्मीका अनुसार गत सोमबार यता चार सय ५७ घाइते अस्पताल पुगेकामा ४४ जनालाई अन्यत्र ‘रेफर’ गरिएको थियो । तीन सय ६४ जना उपचारपछि घर फर्किसकेका छन् । अस्पताल भर्ना भएका ४९ मध्ये ११ जना हाल उपचाररत छन् । गम्भीर घाइते एक जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छभने ४५ जनाको शल्यक्रिया तथा सात जनाको पुनः शल्यक्रिया गरिएको छ । निजामती अस्पतालमा उपचारका क्रममा छ जनाको मृत्यु भएको थियो ।

  • मधेश केन्द्रित दलका यी नेताको घरमा पनि आगजनी र तोडफोड भएकाे दावी

    काठमाडौं । जेन जी आन्दोलनका क्रममा उत्रिएको भीडले मधेश केन्द्रित दलका ७ नेताको घरमा लगाइदिएका छन्।

    प्रदर्शनकारीले मधेशकेन्द्रित दलका ७ नेताको घर तोडफोड, लुटपाट र आगजनी गरिदिएको राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले बताए।

    उनका अनुसार पार्टी अध्यक्ष राजेन्द्र महतो, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, नेता लालबाबु राउत, लोसपा नेताहरू सर्वेन्द्रनाथ शुक्ला, शरदसिंह भण्डारी र जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीको घर जलेको छ।

  • रवि लामिछाने नख्खु कारागार फर्किए

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुनः कारागार फर्केका छन् ।

    केही दिनअघि जेनजी आन्दोलनका क्रममा रिहा भएका उनले आज स्वैच्छिक गिरफ्तारी दिएका हुन् ।

    रविलाई रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले कारागारसम्म साथ दिए। जानुअघि रविले फेसबुक लाइभमा बोल्दै आफ्नो जन्मदिनमा कारागार जान लागेको बताएका थिए ।

    आफ्नो कारणले देशभरका कैदीहरु जेलबाट भागेको भनेर बदनाम गर्न खोजिएको रविको गुनासो छ ।

  • रवि लामिछाने नख्खु कारागार फर्किए

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुनः कारागार फर्केका छन् ।

    केही दिनअघि जेनजी आन्दोलनका क्रममा रिहा भएका उनले आज स्वैच्छिक गिरफ्तारी दिएका हुन् ।

    रविलाई रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले कारागारसम्म साथ दिए। जानुअघि रविले फेसबुक लाइभमा बोल्दै आफ्नो जन्मदिनमा कारागार जान लागेको बताएका थिए ।

    आफ्नो कारणले देशभरका कैदीहरु जेलबाट भागेको भनेर बदनाम गर्न खोजिएको रविको गुनासो छ ।