जेनजी पुस्ता र राजनीतिक दलबीच रहेको विश्वासको संकटलाई बढाउने, एक आपसमा तिक्तता फैलाउने र समाजलाई विभाजित गर्नका निम्ति विभिन्न प्रयत्न भइरहेका छन् । थप हुन सक्छ । यसतर्फ सचेत हुँदै हामीले राजनीतिक विश्वास र सहकार्यको वातावरण विकास गर्नु जरुरी छ ।
भदौ २३ को जेनजी आन्दोलनमा भएको राज्यप्रशासनको दमन र त्यसपछि भड्किएको हिंसा र आतंकले अन्ततः सरकार ढल्यो । भदौ २८ गते पूर्वप्रधानन्ययाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्दै जननिर्वाचित प्रतिनिधिसभालाई विघटन गरियो । फागुन २१ गते नयाँ प्रतिनिधिसभाका निम्ति निर्वाचन मिति तोकिएको छ ।
जेन जी आन्दोलनका समर्थक र सहभागीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका सन्देश, प्रचार र आह्वानलाई हेर्ने हो भने, यस आन्दोलनको तीनवटा मात्र एजेण्डा रहेका थिए । पहिलो हो, भ्रष्टाचारको समूल अन्त्यका लागि बलियो र निष्पक्ष गैरदलीय राजनीतिक राष्ट्रिय निकाय, भ्रष्टाचारका आरोपी, जनताले गुनासा गरेका ब्यक्तिको निष्पक्ष र पारदर्शी छानवीन तथा सामाजिक सञ्जालमा गरिएको प्रतिबन्धको फुकुवा ।
यस आन्दोलनमा जेनजी पुस्ताले केवल आफ्नै पुस्ताको मात्र सहभागिताका लागि आह्वान गरेका थिए र त्यसअघिका जेन एक्स, मिलेनियल वा बेबी बुमरलाई सहभागी नभइदिन पनि अनुरोध गरेका थिए । अर्थात्, जेनजी पुस्ताले नेपालको राजनीतिक, शासकीय निर्णयमा आफ्नो विशिष्ट पहिचान, सहभागिता र सामथ्र्य प्रदर्शन गर्न खोजेको थियो ।
आन्दोलनको संरचना र सहभागिता
जेनजी आन्दोलनको सन्दर्भमा कुनै संगठित र संरचनागत व्यवस्थापन र संयोजन गरेका थिएनन् । उनीहरूले सामाजिक सञ्जालहरू, गेमिंग एप र स–साना साथी सर्कलबाट जेनजी आन्दोलनका माग, स्वरूप र सहभागिताका शैलीबारेमा सूचना प्रवाह र परामर्श गर्ने गरेका थिए । जेनजीले स्पष्ट रूपमा २८ वर्षसम्म उमेर समूहका युवाको सहभागिता आह्वान गरेको थियो । अर्थात्, १३ देखि २८ वर्ष उमेर समूह (२०५३/५४ देखि २०६८/६९) का बीचमा जन्म भएका) नै हाल नेपालको जेनजी पुस्ताको रूपमा लिन सकिन्छ ।
आन्दोलनमा घूसपैठ र दुरूपयोग
जेनजी पुस्ताको स्वतःस्फूर्त आन्दोलनलाई हिंसात्मक र अराजक बनाउने र यसमा राजनीतिको रोटी सेक्ने काम भएबाट जेनजी आन्दोलन घूसपैठमुक्त थिएन । भदौ २३ गतेकै आन्दोलनमा, स्वयं आन्दोलनका सहभागी-समन्वयकर्ताकै भनाइलाई आधार मान्ने हो भने पनि उनीहरू प्रहरीको सुरक्षा घेरा तोड्ने, संसद भवनमा आक्रमण गर्ने योजना र प्रयत्नमा थिएनन् ।
तर, मास्क लगाएका, हेल्मेट लगाएका, ३० वर्षभन्दा माथि उमेर देखिएका ब्यक्ति उक्त आन्दोलनमा प्रवेश गरी, भिडलाई उत्तेजित बनाए र योजनाभन्दा बाहिर गएर सिंगो देशलाई बर्बर दमन र हिंसामा धकेल्ने काम गरे । यसले जेनजी पुस्ता र आन्दोलनका सही सहभागीलाई भावनात्मक रूपमा नै चोट पुगेको कुरा त्यसपछि सामाजिक सञ्जालमा आएका उनीहरूको भनाइबाट पुष्टि हुन्छ । अर्थात्, जेनजीको अवोधपना, भावना र केही गरौँ भन्ने हुटहुटीलाई निश्चित राजनीतिक स्वार्थप्रेरित समूहले दुरूपयोग गर्यो, जसलाई विभिन्न जेनजी समूहले रोक्न सकेन र मुलुक ठूलो दुर्घटनामा पर्यो ।
संयोजन, नेतृत्व र प्रतिनिधित्व
आन्दोलन नेतृत्व, संयोजनविहीनता र वहुप्रतिनिधित्वका रूपमा रह्यो । जेनजी पुस्ताको आन्दोलनका तर्फबाट जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका, आन्दोलनपछि कहीँकतै पनि प्रतिनिधिको रूपमा देखिएन, सुनिएन वा प्रतिनिधित्व गर्न दिइएन । वार्ताको शुरूवातमा सहभागी भएका जेनजी पुस्ताका प्रतिनिधि भनिएका तनुजा पाण्डे र उनका साथीले वार्तामा राजनीतिक षड्यन्त्रको गन्ध आएपछि बाहिरिएको बताए । त्यसपछि विभिन्न जेनजी समूहमा नै प्रतिनिधित्व र नेतृत्वको संकट रह्यो ।
धेरै व्यक्तिले आफूलाई असली जेनजी प्रतिनिधि दावी गरिरहे । तर, आन्दोलनको एजेण्डा र सहमति दुबै जेनजीको शुरुवाती मागभन्दा फरक देखिए । व्यक्ति पनि फरक देखिए । अझै पनि जेनजीको तर्फबाट कसले सहमति गर्यो ? कसैलाई थाह छैन । बाहिर केही जेनजी समूह सहमतिप्रति असहमतिसहित आफ्ना भनाइ राखि नै रहेका छन् । अर्थात्, जेनजी आन्दोलनको संयोजन र नेतृत्व अभावको कहीँ, कसैले पक्कै फाइदा उठाएका छन् । भविष्यले त्यसलाई थप पुष्टि गर्ने नै छ ।
सुशासन र असमानताको अन्त्य
भ्रष्टाचार, ढिलासुस्ती, बढ्दो आय असमानता मुलुकमा व्याप्त छ । विशेषतः सार्वजनिक सेवा प्रदायक निकायको सेवा प्रवाहमा रहेको असन्तुष्टि, झण्झटिलोपना र यही सन्दर्भमा हुने खुद्रा भ्रष्टाचारबाट आजित जेनजी पुस्ता सुधारिएको, द्रूत, सहज तथा सहयोगी सार्वजनिक सेवा प्रवाहको खोजी गर्दै थिए । अर्कोतर्पm सार्वजनिक पद र ओहदामा बसेकामध्ये (राजनीतिक र प्रशासनिक) केही अनुहार सार्वजनिक रूपमै देखिएको भ्रष्ट आचरण, प्रवृत्ति र शैलीबाट आजित पुस्ताले यी दुबैको संरक्षक वर्तमान राजनीतिक प्रणाली र नेतृत्व हो भन्ने ठम्याई गर्यो ।
यो ठम्याइ आफैँमा पूर्ण सही हैन, तर सबै प्रश्नको सहज र सरल समाधान खोज्ने जेनजी पुस्ताले आफ्नो अनुभूति र सूचनाका आधारमा निकालेको निष्कर्षलाई भने पूर्ण आत्मसात गरेका थिए । किनभने हाम्रो विद्यालय र विश्वविद्यालयमा अझ विशेष गरी निजी विद्यालय र कलेजमा राजनीतिक छलफल, बहस, गतिविधिलाई पूर्णनिषेध गरेको अवस्थामा आधारभूत सूचना र गैरराजनीतिक विश्लेषणलाई स्वीकार गर्नुको विकल्प जेनजी पुस्तासँग रहेन ।
समावेशी, परादर्शी, जवाफदेही र समृद्द राजनीतिक प्रणाली
आन्दोलनमा सहभागीहरूसँग म आफैँले पनि २३ गते संवाद गर्ने अवसर पाएको थिएँ । उनीहरू देश र समाजप्रति जिम्मेवार छन् र सक्रिय योगदान गर्न चाहन्छन् । उनीहरू राजनीतिक चासो र सरोकार राख्छन् । तर, उनीहरूको यो अपेक्षालाई सम्बोधन गर्ने सन्दर्भमा हाम्रो राजनीतिक प्रणाली र दल उदासिन रहे । दलका भातृ संगठनका नेता आर्थिक र नैतिक अराजकतामा फस्दै गएको देखिए, परिवार र समाजले राजनीतिलाई फोहोरी खेलको संज्ञा दिँदै उनीहरूलाई टाढै राख्ने प्रयत्न गरिरह्यो, देशका कानून र आइडियलिष्ट मध्यमवर्गीय नागरिक समाजले विद्यालय र कलेजमा राजनीतिक क्रियाशिलता र गतिविधिलाई कानूनी र व्यवहारिक बन्देज लगाइरहे ।
स्कुले जीवनमा बाल क्लबमा केही सामाजिक गतिविधि गर्न पाएका जेनजी पुस्ता, स्कुले जीवनपछि कि त गैससका जागिरे बन्ने भए कि त परियोजनाका मुख ताक्नुपर्ने अवस्थामा रहे । अर्थात्, यो पुस्ताले मन पराउने, सुरक्षित महसूस गर्ने र भविष्य देख्ने राजनीतिक संरचना र प्रणाली हामीसँग रहेन । परिणामतः उनीहरूको राजनीतिक सक्रियता र भावनाको निषेध वा दुरूपयोग हुन पुग्यो, जसको मूल्य अकल्पनीय ढंगलो महंगो साबित भयो ।
लोकतान्त्रिक, संघीयता र बहुदलीय व्यवस्थाका पक्षधर
जेनजीको आन्दोलनपछि विकसित घट्नाक्रम र जेनजी समूहका विचारलाई हेर्ने हो भने, केही प्रायोजित वा उक्साइएका विचारबाहेक सबै विचार लोकतान्त्रिक व्यवस्थाका पक्षमा रहेको पाइन्छ । हुन त, आन्दोलनको शुरुवातमै जेनजी सहभागी र समन्वयकर्ताले भनेका थिए कि, यो आन्दोलन व्यवस्था र संविधानविरोधी हैन । वार्ताका क्रममा उनीहरूले राष्ट्रपतिको माग गरे, राजा ल्याउने षड्यन्त्रको पर्दाफास गरे, पपुलिष्टहरूको संविधान खारेजीको प्रस्तावलाई वहिष्कार गरे ।
यसैले पुष्टि गर्दछ कि, उनीहरू वर्तमान लोकतान्त्रिक गणतन्त्र, संघीयता र बहुदलीय संसदीय व्यवस्थाप्रति प्रतिवद्ध छन् । यसमा शंका गरिरहनुपर्दैन । तर, उनीहरूमा विद्यमान राजनीतिका जटिलता, कानूनी व्यवस्था र प्रणालीगत निरन्तरताका विषयमा भने अन्यौलता रहेकै देखिन्छ । त्यसैले प्रतिनिधिसभा विघटनको मागका बारेमा उनीहरूले अन्यौलतमा नै अडिरहे वा अड्याइरहियो ।
शीर्ष नेतृत्वप्रतिको अविश्वास
जेनजी पुस्ता लोकतान्त्रिक, बहुदलीय संसदीय व्यवस्थाका पक्षधर भइरहँदारहँदै पनि उनीहरूमा राजनीतिक दल र तिनका शीर्ष नेतृत्वप्रति चरम अविश्वास देखिन्छ । यसका मुख्य कारणमा राजनीतिक दलको नेतृत्व तहमा आफ्नो पुस्ताको प्रतिनिधित्व नदेख्नु, पुरानै शैली र ढाँचामा सञ्चालन हुनु, दलभित्र शीर्ष नेतृत्वको अधिक नियन्त्रण देखिनु र पछिल्लो समय दलहरूभित्र आलोचनात्मक चेतना र सक्रियता कमजोर हुँदै जानु नै हो ।
यी सबै जेनजी पुस्ताले आँखैले देखेका, कानैले सुनेक र अनुभव गरेका विषय हुन् । त्यसैले उनीहरूले वर्तमान संसदमा प्रतिनिधित्व गरिरहेका राजनीतिक दलहरूप्रति विश्वास गर्न सकेनन् र निरन्तर नागरिक सरकार र संसद विघटनको माग गरे । अर्थात्, जेनजी पुस्ता राजनीतिक दलको पक्षमा छन्, तर राजनीतिक दलले आफू व्यापक सुधार र पुनर्गठनको अभियान सञ्चालन गर्न जरुरी छ ।
आधारभूत मागको सम्बोधन
जेनजी पुस्ताले माग गरेको आधारभूत विषय हुन्, भ्रष्टाचारको समूल अन्त्यका लागि विश्वासिलो राजकीय संरचना निर्माण । यससँगै भ्रष्टाचारका अभियोग वा शंका गर्नुपर्नेमाथि निष्पक्ष र पारदर्शी छानवीन तथा न्यायीक अभियोजन, सामाजिक सञ्जालको उपयोगको निरन्तरताको सुनिश्चितता हुन् ।
उनीहरू चाहन्छन्, यस आन्दोलनमा भएका हिंसा, क्षति र घूसपैठको निष्पक्ष अनुसन्धान, कार्वाही, न्याय र क्षतिपुर्तिका लागि शक्तिशाली उच्चस्तरीय छानवीन आयोग र दोषीमाथि कारवाहीको सुनिश्चितता ।
अर्को चाहना हो, कुनै पनि उच्च सरकारी वा राजनीतिक ओहदामा रहेका व्यक्तिको आम्दानी र सम्पत्तिका छानवीन तथा भ्रष्टाचार गरी कमाएका सम्पत्तिको सरकारीकरणका लागि विश्वसनीय, सक्षम नागरिक आयोग ।
भ्रष्टाचारको अनुसन्धान र अभियोजनका लागि संवैधानिक रूपमा नै व्यवस्था गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कामलाई निष्पक्ष, पारदर्शी, काविल, विश्वसनीय बनाउन राष्ट्रिय रूपमा नै परमर्श गरी पुनर्संरचना हुनुपर्ने उनीहरूको अर्को चाहना हो ।
राजनीतिक विश्वास र सहकार्यको वातावरण
जेनजी पुस्ता र राजनीतिक दलबीच रहेको विश्वासको संकटलाई बढाउने, एक आपसमा तिक्तता फैलाउने र समाजलाई विभाजित गर्नका निम्ति विभिन्न प्रयत्न भइरहेका छन् । थप हुन सक्छ । यसतर्फ सचेत हुँदै हामीले राजनीतिक विश्वास र सहकार्यको वातावरण विकास गर्नु जरुरी छ ।
त्यसका लागि राजनीतिक दलका भातृ संगठन तथा स्थानीय संगठनले आफ्नो क्षेत्रमा रहेका गैरदलीय जेनजी पुस्तासँग छलफल, अन्तरसंवाद र समुदाय पुनर्जागरण अभियान चलाउनु जरुरी हुन्छ ।
गैरदलीय जेनजी समुदायसँग राजनीतिक दलको सुधार र पुनर्गठनका सन्दर्भमा सुझाव लिने र आफ्नो दलभित्र आवश्यक पैरवी थाल्नुपर्दछ । आन्दोलन र हिंसाका दौरान भत्किएका सार्वजनिक संरचनाको पुनःनिर्माण, सरसफाइका लागि संयुक्त रूपमा परिचालन हुन जरुरी छ । आन्दोलन र हिंसाका दौरान क्षति पुर्याइएका निजी भवन, सम्पत्तिका सन्दर्भमा सम्बन्धित व्यक्तिसँग (जो भ्रष्ट हैनन्) सामाजिक रूपमा माफी माग्ने र उनीहरूलाई पुनस्र्थापनामा सहकार्य गर्न जरुरी छ ।
क्षति पुगेका उद्योग, व्यवसायको पुनः सञ्चालनका लागि उद्यमी व्यवसायीलाई उत्साहित गर्न उनीहरूको उद्योग धन्दामै गएर, जेनजी पुस्ता र समाजका सबै पुस्ताका प्रतिनिधिले ऐक्यवद्धता, साथ सहयोग र भावनात्मक समर्थन गर्दै स्वदेशमा नै लगानी गर्न र उद्योग व्यवसाय पुनः सञ्चालन गर्न प्रोत्साहित गर्ने अभियान चलाइनुपर्दछ ।
वर्तमान अन्तरिम सरकारलाई तोकिएको समयमा निर्वाचन गर्न र लोकतान्त्रिक व्यवस्थाको पुनस्र्थापना गर्न दलहरूले आ–आफ्नो दलबाट सक्षम, इमान्दार, पारदर्शी युवा नेतृत्वको साझा समूह बनाएर सहयोग गर्ने कार्य अघि बढाउनुपर्दछ ।
राजनीतिक दलहरूको पुनर्गठन
जेनजी आन्दोलनले नेपालका राजनीतिक दललाई समाजको साझा प्रतिनिधित्व गर्ने दलका रूपमा विकास गरेनन् भने त्यसले समाजको विश्वास गुमाउँछ भन्ने यथार्थतालाई पुनः एकपटक पुष्टि गरेको छ । मदन भण्डारीले तत्कालीन मार्क्सवादी र मालेको एकतापछि अनुभवी तथा पाका नेता मनमोहन–भरतमोहन अधिकारीहरूको अभिभावकत्व र युवा पुस्ताका मदन र उनका पुस्ताको कार्यकारी भूमिकासहितको संगठन निर्माण गरेर विश्वभर कमजोर भइरहेको कम्युनिष्ट पार्टीलाई नेपालमा शक्तिशाली पार्टी बनाएको उदाहरण हामीसँगै छ । त्यसैले राजनीतिक दलहरूले बदलिएको परिवेशमा राजनीतिक संगठनको पुनर्गठन अभियान चलाउनु जरुरी छ ।
अब दलहरूले आफ्नो विधानमा नै कार्यकाल र दोहोरिने अवधिका विषयमा सीमा तोक्नुपर्दछ । संसदीय तथा राजकीय अवसर प्रदान गर्ने विषयमा मापदण्ड, कार्यसम्पादन मूल्यांकन र अवधीका विषयमा सीमा तोक्नुपर्दछ ।
आफ्नो राजनीतिक विचार, दर्शन र दृष्टिकोण तथा कार्ययोजनाले हाल विद्यमान समाजका सबै पुस्ता (बेबी बुमरदेखि जेन बिटासम्म) लाई कसरी समेट्न र सम्बोधन गर्दछ भन्ने कुरा स्पष्ट गर्नुपर्दछ ।
आफ्ना संगठनलाई समाजका नवीन पुस्तालाई राजनीतिक प्रशिक्षण, सूचना प्रवाह र राजनीतिक संस्कार निर्माणका लागि परिचालन गर्नुपर्दछ । विचारको राजनीति, वस्तुगत विश्लेषणका आधारमा निष्कर्ष र समाजमा हुने मिथ्या र भड्काव प्रचारको प्रतिवादका लागि प्रशिक्षित गर्न परिचालन गर्नुपर्दछ ।
फागुनमा निर्वाचन तोकिएको सन्दर्भमा, तत्काल दलका विभिन्न तहको नेतृत्वको पुनर्गठनको प्रक्रिया अविलम्ब शुरु गरी निर्वाचनभन्दा न्यूनतम पनि केही महिनाअघि नै सम्पन्न गर्नुपर्दछ ।
षड्यन्त्र र वैदेशिक हस्तक्षेपको प्रतिरोध
मुलुक संक्रमणमा छ र यसलाई लम्ब्याएर फाइदा लिन चाहने वाह्य तत्व सल्बलाउने लगभग निश्चित नै छ । यसप्रकारका षडयन्त्र र सम्भावित भूराजनीति प्रेरित वैदेशिक हस्तक्षेपलाई प्रतिरोध गर्न र निस्तेज पार्नु हामी सबैको दायित्व हो ।
त्यसैले नेपालमा सहयोगी संस्थाका आवरणमा क्रियाशील संस्था वा पपुलिष्ट इन्फ्ल्युयन्सरहरूको आम्दानीको स्रोतको निगारानी बढाइनुपर्दछ । नागरिक स्वतन्त्रताका नाममा हुने अराजक हर्कत, अफवाह र मिथ्या प्रचारलाई तत्काल कानूनी कारवाहीको दायरामा ल्याइनुपर्दछ ।
राजनीतिक संगठन, दल, नागरिक समाजले आफ्ना अन्तर्राष्ट्रिय सम्पर्क, सम्बन्धमा नेपालको लोकतान्त्रिक व्यवस्था र सार्वभौमसत्तामाथि देखिएका सम्भावित जोखिमका बारेमा सचेत रहन र यसका विरुद्ध अन्तर्राष्ट्रिय लविङ बढाउन पहलकदमी लिनुपर्दछ ।
आम सञ्चारमाध्यम, लेखक, विश्लेषकले सम्भावित जोखिम भइरहेका गलत अभ्यासका सन्दर्भमा तथ्यमा आधारित भएर, उक्साउने हैन, संयमित बनाउने र सचेत बनाउने लेख विचार व्यापक बनाउनुपर्छ ।