Tag: टप न्यूज

  • भारतले नदिने भयो पानी, गहुँकिसानलाई हैरानी

    भारतले नदिने भयो पानी, गहुँकिसानलाई हैरानी

    वीरगंज । गहुँ बालीको सिजन नजिकिँदै गर्दा भारतले यस वर्ष नहरमा पानी दिन नसक्ने बताएपछि किसान हैरानीमा परेका छन् ।

    भारतीय पक्षले नहरमा पानी नदिँदा नहर प्रणालीमा आश्रित पर्सा, बारा र रौतहटका किसान गहुँ बालीमा सिँचाइबाट वञ्चित हुनेछन् । यसले गहुँको उत्पादन घट्ने भन्दै नेपाली किसान चिन्तित भएका छन् ।

    नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगंजका सूचना अधिकारी इञ्जिनियर सुरेशप्रसाद साहले कार्यालयले संघीय सिँचाइ विभागलाई भारतीय पक्षले यस वर्ष गहुँ बाली सिजनमा पानी दिन असमर्थता जनाएकोबारे जानकारी गराउन पत्राचार गरिसकेको बताए ।

    नवलपरासीको त्रिवेणी भैसालोटनस्थित नेपाल भारत सीमामा निर्मित ब्यारेजबाट भारतीय पक्षले नहरमा पानी छोड्ने गर्छ । भारतमै ९२ किमि यात्रा गरेर यो नहर पर्साको जगरनाथपुर गाउँपालिकाबाट नेपाल प्रवेश गर्छ ।

    पर्सा, बारा र रौतहटमा १५ ब्लकमा विभाजित गण्डक नहरको लम्बाइ नेपालतर्फ भने ८१ किलोमिटर छ ।

  • चिसो बढ्दै जाँदा घटेन सर्पदंश, देशैभर आगलागी अत्यधिक

    चिसो बढ्दै जाँदा घटेन सर्पदंश, देशैभर आगलागी अत्यधिक

    काठमाडौँ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, मंसिर ११ गते बिहान १० बजेदेखि १२ गतेको बिहान १० बजेसम्म देशभर कूल १७ वटा विपदका घटना भए । विपदमा परेर कूल ४९ लाख १८ हजार पाँच सय रुपैयाँ बराबरको क्षति भयो ।

    कूल विपदका घटनामध्ये सबैभन्दा बढी १४ आगलागीका घटना थिए । त्यसदिन झापा जिल्लामा मात्रै चार आगलागीका घटना भएका थिए । कैलालीमा दुई तथा मोरङ, सङ्खुवासभा, रौतहट, बारा, काठमाडौँ, नवलपरासी पश्चिम, जुम्ला र कञ्चनपुरमा एक–एक आगलागीका घटना भएका थिए । चिसो बढ्दै गए पनि आगलागीका घटनामा बृद्धि भएको छ ।

    प्राधिकरणका अनुसार, मंसिर १० गते बिहान १० बजेदेखि ११ गतेको बिहानसम्म कूल १७ वटा विपदमा घटना भए । त्यस दिन पनि १३ वटा आगलागीका घटना भएका थिए भने सप्तरी, बर्दियामा सर्पदंश र मोरङमा दुई वटा जनावर आक्रमणका घटना भएका थिए । मोरङमा तीन, सिरहा, सर्लाही, ललितपुर,कास्की, बाग्लुङ,पर्वत, कपिलवस्तु र रुपन्देहीमा आगलागीका घटना भए । त्यसदिन कूल १९ लाख ९६ हजार रुपैयाँ बराबरको क्षति भयो ।

    प्राधिकरणका अनुसार, मङ्सिर नौ गते बिहान १० बजेदेखि १० गते बिहानसम्म कूल १३ विपदमा घटना भए । त्यसमा १० वटा आगलागीका मात्रै घटना भए । सोलुखुम्बुमा डढेलो, कञ्चनपुरमा सर्पदंश र पाँचथर र ताप्लेजुङमा जनावर आक्रमणका घटना भए । मोरङ, सुनसरी, दुई, झापा, ताप्लेजुङ, कास्की, दाङ र कञ्चनपुरमा आगलागीका घटना भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार, विपदका कारण १८ लाख ४३ हजार रुपैयाँ बराबरको क्षति भयो ।

    यस्तै, मङ्सिर ७ गते बिहानदेखि आठ गते बिहानसम्म कूल १८ वटा विपदका घटना भए । त्यसदिन झापामा सर्पदंश, सिन्धुपाल्चोक र हुम्लामा जनावर आक्रमणको घटना भएका थिए । सर्लाहीमा तीन, गुल्मीमा दुई तथा मोरङ, रौतहट, बारा, काठमाडौँ, कास्की, बाग्लुङ, कपिलवस्तु, बाँके र कैलालीमा एक एक आगलागीका घटना भए । त्यसदिन ५० लाख आठ हजार रुपैयाँ बराबरको क्षति भएको थियो ।

    सुक्खा मौसम शुरु भए लगत्तै देशव्यापी रुपमा आगलागीका घटनामा वृद्धि भएकाले सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ । छिट्टै आगो टिप्ने सामग्री नराख्न, ज्वलनशील पदार्थको पहुँचबाट टाढा रहन र आगजनीबाट जोगिन प्राधिकरणले सबैलाई आग्रह गरेको छ ।

  • आज नेकपाको एकता सन्देश सभा पोखरामा

    आज नेकपाको एकता सन्देश सभा पोखरामा

    काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज आइतबार गण्डकी प्रदेशलाई लक्ष्यित गरेर कास्कीको पोखरामा एकता सन्देश सभा गर्दैछ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाललगायतका नेताले सभामा सम्बोधन गर्ने कार्यक्रम छ ।

    नेकपाले यस्तै, भोलि सोमबार कोशीको विराटनगरमा, मङ्सिर १८ गते, कर्णालीको सुर्खेतमा, २० गते मधेशको जनकपुरमा र २३ गते बागमतीको हेटौँडामा सभा गर्ने मिति सार्वजनिक गरेको छ ।

    मङ्सिर २९ गते देशभरका पालिकामा एकता सन्देश सभाको तयारी नेकपाको छ ।

    यसअघि नेकपाले शनिबार लुम्बिनी प्रदेशको दाङ देउखुरीमा र शुक्रबार सुदूरपश्चिमको धनगढीमा एकता सन्देश सभा गरेर प्रदेशस्तरमा पार्टीको सन्देश प्रवाह गरेको छ ।

  • रास्वपा र विवेकशीलको आज एकता घोषणा

    रास्वपा र विवेकशीलको आज एकता घोषणा

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाको औपचारिक रूपमा आज पार्टी एकता घोषणा हुँदैछ । आइतबार दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।

    असल शासन र समुन्नतिसँग सरोकार राख्ने दुई दलबीच एकीकरण हुन लागेको रास्वपाले जनाएको छ । विवेकशीलले रास्वपाको नाम, नेतृत्व र चुनाव चिह्न स्वीकार गरी निःशर्त एकतामा जाने निर्णय गरेको थियो ।

    विसं २०६९ मा उज्ज्वल थापाको नेतृत्वमा विवेकशील अभियान शुरु भएको थियो । विसं २०७० मा विवेकशील नेपाली दल गठन भई चुनावी प्रतिस्पर्धामा गएको थियो । रास्वपा भने २०७९ असार ७ गते स्थापना भएको हो ।

  • एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

    एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज आइतबार कर्णाली याक्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । खेल अपराह्न ३ः३० बजे हुनेछ ।

    सोमपाल कामीको कप्तानीमा चारवटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले एउटामात्र जितेको छ । दुई अङ्कका साथ कर्णाली छैटौँ स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन उसलाई जित्नैपर्ने बाध्यता छ ।

    करण केसीको नेतृत्वमा रहेको काठमाडौँ पाँच खेलमा विजयी भएर तेस्रो स्थानमा छ । प्लेअफको यात्रामा पुग्न काठमाडौँका लागि पनि यो खेल महत्त्वपूर्ण छ ।

  • एमाले प्रतिनिधि छनोट : सुदूरपश्चिमका ६ क्षेत्रमा सर्वसम्मत हुँदा ५ क्षेत्रमा निर्वाचन

    एमाले प्रतिनिधि छनोट : सुदूरपश्चिमका ६ क्षेत्रमा सर्वसम्मत हुँदा ५ क्षेत्रमा निर्वाचन

    धनगढी । नेकपा एमालेको ११ औँ  महाधिवेशनका लागि सुदूरपश्चिमका केही जिल्लामा सर्वसम्मत प्रतिनिधि चयन भएका छन् भने केही जिल्लाहरूमा निर्वाचन भएको छ ।
     दार्चुला, बैतडी, डडेल्धुरा र बाजुरामा सर्वसम्मतिले प्रतिनिधि चयन भएका छन् । अछाम–२ र कैलाली–२ मा पनि सर्वसम्मति जुटेको छ ।
    सर्वसम्मत हुन नसकेको क्षेत्रमा निर्वाचन मार्फत प्रतिनिधि चयन गरिएको नेकपा एमाले प्रदेश कमिटीले जनाएको छ ।
    एमालेले प्रतिनिधि सभा निर्वाचन क्षेत्रलाई आधार मानेर प्रतिनिधि चयन गरिरहेको हो । कैलालीका ५ निर्वाचन क्षेत्रमध्ये १, ४ र ५ मा मतदान भएको छ । कञ्चनपुर–१ र ३ मा मतदान भएको छ । कैलालीको २ मा सर्वसम्मत प्रतिनिधि चयन भएका छन् भने ३ मा सर्वसम्मतको अन्तिम प्रयास जारी छ ।
     कञ्चनपुर–२, अछाम–१, बझाङ र डोटीमा पनि  नेताहरूले सर्वसम्मतिबाट प्रतिनिधि चयन गर्ने प्रयास गरिरहेका छन् ।
    कुन क्षेत्रमा को–को भए सर्वसम्मत ?
    दार्चुला
    खुलातर्फ
    १. ज्ञानेन्द्र घर्ती
    २. कृष्ण धामी
    ३. रामदत्त जोशी
    ४. जनक सिंह ठगुन्ना
    ५. धर्मानन्द सिंह मन्याल
    ६. रण बहादुर पाल
    महिलातर्फ
    १. माधवी जोशी
    २. ताराकेशरी कुँवर
    ३. निर्मला धामी
    दलिततर्फ
    १. लाल बहादुर बि।क
    २. मुरारी लाल टमटा
    युवातर्फ
    १.उमेशराज जोशी
    बैतडी 
    खुला
    १. सुरेन्द्र बहादुर पाल
    २. चक बहादुर कार्की
    ३. नरेन्द्र विष्ट
    ४. पुष्करराज जोशी
    ५. लोकेन्द्र भण्डारी
    ६. राम सिंह पुजारा
    महिलातर्फ
    १. धाना धामी
    २. शकुन्तला साउद
    ३. पार्वती कार्की
    ४. सरस्वती कोली
    दलित
    १. नरेश कुमार विश्वकर्मा
    २. सरस्वती नेपाली
    ३. बलभद्र दयाल
    ४. कालुराम सार्की ९कमल०
    युवातर्फ
    १. गोविन्द गिरी
    डडेल्धुरा
    खुला
    १. गजेन्द्र बहादुर शाही
    २. गजेन्द्र शाही अध्यक्ष
    दलित
    १. चक्र प्रसाद स्नेही
    महिला
    १. कृष्णा ओझा
    युवा
    १. ज्ञानेन्द्र भाट
    बाजुरा
    खुला
    १. लालबहादुर ओली
    २. जनक कुमार बोहरा
    ३. बल्देव रेग्मी
    ४. भरत थापा
    ५. गगन रावल
    ६. मनलाल विष्ट
    ७. मेघराज शाही
    महिला
    १. सीता कुमारी रोकाया (थापा)
    २. देवु खाती
    ३० पार्वती थापा विष्ट
    ४.बसन्ती गुरुङ
    दलित
    १. काँशी वि.क.
    २. अमर वि।क।
    ३.गौरी सार्की
    ४. राजकला सार्की
    युवा
    १. नरेश कुमार रोकाया
    कैलाली–२
    खुला
    १. कर्ण बहादुर कुवर
    २. डेजि पाण्डे
    ३. नरबहादुर खड्का
    महिला
    १. ममता रावल
    २. लक्ष्मी शाही
    युवा
    १. पवित्रा कुमारी माझी
    अछाम–२
    खुला
    १. चन्द्र बहादुर बोहरा
    २. यम बहादुर वि सी
    ३. बल बहादुर कुँवर
    ४० भीम बहादुर रावल (कालोटोपी)
    महिला
    १. सरिता उपाध्याय
    २. निर्मला कुमारी धमला
    युवा
    १. टोप बहादुर शाही
  • नेकपाको लमही जनसभा : एमाले र ओलीविरुद्ध खनिए नेता

    नेकपाको लमही जनसभा : एमाले र ओलीविरुद्ध खनिए नेता

    रुपन्देही । नेपाली कम्युनिस्ट पार्टीले १५ दलको एकतापछि सबै प्रदेशमा आयोजना गर्ने सन्देश सभाका लागि लुम्बिनी प्रदेशमा दाङको लमहीलाई रोज्यो ।

    यो क्षेत्र साबिक नेकपा एसका प्रभावशाली नेता मेटमणि चौधरीको हो, उनी माधव नेपालको विश्वास पात्रसँगै एमाले र केपी ओलीविरुद्ध कटु आलोचकका रूपमा चिनिन्छन् ।

    एमालेमै रहँदा उनले लामो समय यो क्षेत्रमा काम गरेकाले यहाँ उनको व्यक्तिगत प्रभाव राम्रै छ त्यसकारण पनि शनिवार यहाँको उपस्थिति राम्रो भएको सहभागीले आङ्कलन गरे । त्यसो त माओवादी युद्धकै समयमा चर्चामा रहेका नेता इन्द्रजीत थारुको पनि यही क्षेत्र हो ।

    मेटमणि र इन्द्रजित भएपछि जनसहभागिता जुटाउन सहज आङ्कलन र पहिलेदेखि नै माओवादीको आधार इलाका भएको रुकुम, रोल्पा, दाङका अन्य क्षेत्र, प्युठान,अर्घाखाँची र कपिलवस्तुबाट समेत यहाँ पुग्न सहजताका लागि प्रदेशस्तरीय सभाका लागि यहाँ रोजिएको हुनसक्छ । बाँके र बर्दियाका लागि पनि तुलनात्मक हिसाबले लमही नजिकमा पर्दछ । त्यो हिसाबले पनि सहभागीलाई सहज भयो ।

    शनिवारको सभामा शुक्रवार धनगढीको जस्तै अधिकांश वक्ताले नेकपा एमाले र त्यसका अध्यक्ष केपी ओलीविरुद्ध आलोचनामै खर्च गरे । १५ दलको एकता के का लागि ? अबको एजेन्डा के हुने ? पार्टीको दीर्घकालीन रणनीति कस्तो बनाउने भन्ने विषयमा सहभागी नेता कार्यकर्तालाई जानकारी दिनेभन्दा बढी एमाले र ओलीकै आलोचनामा खर्चेको विश्लेषण केही सहभागीको छ ।

    त्यसो त उनीहरूले अहिलेको राजनीतिक परिस्थिति ल्याउने अवस्थाको सृजना नै एमाले र केपी ओली भएकाले प्रस्ट पारेको हुनसक्ने तर्क गर्दछन् तर त्यो सँगै अबको पार्टीको एजेन्डाका विषयमा अझै प्रस्ट पार्न जरुरी भएको जनाए ।

    सभामा नेपाली कम्युनिस्ट पार्टी‘का संयोजक पुष्पकमल दाहाल प्रचण्ड’ले एमालेको अहङ्कार र दम्भ अझै नहटेको  बताउँदै हेलिकप्टर चढेर भाग्नुपर्ने अवस्था कसले ल्याएको भन्दै एमाले र केपी ओलीलाई प्रश्न गरे ।

    ‘केपी ओलीले आजभोलि प्रचण्डले हो यो सबै गराएको भन्दै गरेका छन्। त्यो उनीहरूको कुकर्मले गर्दा यस्तो भयो भन्ने चेतना अझै उनलाई आएको छैन। त्यो अहङ्कार र दम्भ अझै हटेको छैन’ उनले भने, ‘त्यो समय ओली नेतृत्वको सरकारमा एमाले कांग्रेसको दुईतिहाई थियो, अस्तिसम्म कांग्रेस र एमालेको दुई तिहाइ थियो नि त। के नाप्यो त्यो दुई तिहाइले, हेलिकप्टर चढेर भाग्नुपर्‍यो। दुई तिहाइले पनि केही गर्दो रहेनछ। जनताको एकता नै बलियो तागत भएको बुझ्नुपर्‍यो नि ।’

    उनले अब जनताको आवाज बुझ्न र कम्युनिस्ट एकता गर्न यो अभियान चलाएको बताए  । आफूले त्यतिबेला सदनमै जनता तपाईंहरुसँग रुष्ट भइसकेका छन् कुनै दिन जनताले लखेट्ने छन् भनेर भनिसकेको उनले बताए ।

    पार्टीका सहसंयोजक माधवकुमार नेपालले केपी ओलीलाई सम्झाउन र सुधार्न चाहे पनि त्यसो हुन नसकेको सुनाउँदै आलोचनाको फेहरिस्त सुनाए । ‘अहिले पनि मति सुध्रन्छ भने स्याबास भनौँला। नानीदेखि लागेको बानी सुध्रिँदो रहेनछ। मैले केही  साथीलाई तपाईँले सक्नुहुन्छ भने सुधार्नुस् भनेको पनि छु,   तर त्यो सम्भावनाको गुन्जाइस देखिएन खै ’ उनले भने ‘हाम्रो अरू केही चाहना छैन । किन भने देशको विकास गर्ने । यो देशलाई अग्रगतिको बाटोमा लिएर जाने हाम्रो चाहना हो ।’

    ओलीसँग एमाले अध्यक्षमा प्रत्याशीपछि एमाले छाडेका नेता भीम रावलले धोकेबाजहरूलाई सदाका लागि पराजित गर्न तयार हुन आह्वान गरे । ‘जनताले दिएको दुई तिहाइलाई खतम पार्दै त्यो नेकपालाई ध्वस्त गर्ने व्यक्तिको नाम थाहा छ तपाईँलाई रु’ सहभागीतर्फ उनले भने–‘अर्थात् पछिल्ला घटनामा भन्ने हो भने सिंहदरबार जलिरहेको थियो, देशको प्रधानमन्त्री हेलिकप्टर चढेर भागिरहेको थियो।

    यदि त्यस्तो व्यक्तिले फेरी यो देशको नेतृत्व गर्छु भनेर भक्तपुरको कुनाबाट म कम्युनिस्ट पार्टी बनाउँछु भन्दा के तपाई पत्याउनुहुन्छ रु मलाई आश्चर्य लाग्छ सिद्धान्त नभएपछि आफ्नो पदीय मर्यादाको रक्षा गर्न नसकेपछि के भनौँ र रु अनि हामीलाई वृद्धाश्रम भनेर भनेछन् आफ्नो उमेर कति रहेछ र रु सक्ने हो भने प्रचण्डसँग बिहान घुम्न जाउन त ओलीजी।’ रावलले अधिकांश समय यसमै बिताए ।

    सभामा नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वपूधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न पार्टीहरूको एकता चुनाव जित्नको लागि मात्रै नभएको बताए । उटपट्याङ गर्नेहरूले राजनीतिक नेतृत्व गर्न नसक्ने भन्दै उनले विगतमा दुई तिहाइको सरकार छिनभरमा ढलेको स्मरण गराउँदै जनताको सामु दुई तिहाइ पनि काम नलाग्ने उदाहरण भएको भन्दै एमाले अध्यक्ष ओलीलाई व्यङ्ग हाने ।

    उनले भने–‘मैले पहिल्यैदेखि पनि भन्दै आइरहेको थिएँ । अहिले पनि भनिरहेको छु, जनताको सामु चुनावबाट प्राप्त दुई तिहाइ पनि काम लागेन । जनताको मन नजितेर सुखै छैन ।’

    नेता वामदेव गौतमले देशको यो अवस्थामा पुर्‍याउने मुख्य दोषीको सहजै उत्तर केपी ओली भएको भन्दै उस्तै आलोचना गरे । ‘केपी ओली नै यो देशलाई यो अवस्थामा पुर्‍याउने पात्र हो, नेपाली जनताले सधैँभरि यहीँ रूपमा आलोचना गर्नेछन्’ बामदेवले भने–‘यति जान्दाजान्दै लाजै नमानी पार्टीको अध्यक्ष हुने रे, प्रधानमन्त्री हुने रे के का लागि होला रु ओलीजी अब केही गर्न सक्नुहुन्न शक्तिहीन भएको किन नबुझेको रु’

    उनले जेनजी आन्दोलन नेपालका राजनीतिक पार्टी र नेताहरूलाई घचघच्याउन भएको तर ओलीकै कारण शान्तिपूर्ण, संवाद गरेर समाधान गर्न नसकेर राज्य सत्ताको दम्भ, घमन्ड र कुनै पनि समस्यालाई गम्भीर रूपमा नलिने प्रवृत्ति वोकेकाले यस्तो अवस्था आएको आरोप लगाए ।

    ओली र एमालेको आलोचनाबाहेक के बोले ?

    नेकपा संयोजक प्रचण्डले सहभागीको भावनाअनुसार आफ्नो बोली मिलाउन पनि जानेका छन् र कमजोरी स्वीकार गर्न पनि सजिलै सक्छन् । शनिवार पनि उनले त्यो अवस्था देखाए । उनले विगतमा गरेको कमजोरीलाई आत्मलोचित हुन आएको भन्दै क्षमासमेत मागे र भने विगतमा कसको गल्ती कहाँबाट कसले ग¥यो भन्ने विषयमा सबैले ध्यान दिनुपर्ने समय आयो । प्रचण्डले ढिलो चाँडो सबै कम्युनिस्ट पार्टीमा रहेकाहरू नेपाली कम्युनिस्ट पार्टीमा जोडिने विश्वास व्यक्त गरे ।

    अपेक्षा गरेभन्दा बढी सहभागी सभाको रहेको आशयमा उनले भने– ‘हामी जहाँ गएका छौ, जेएनजेटदेखि सबैले हामीलाई साथ दिनुभएको छ । उहाँहरूले हामीहरूलाई विश्वास गर्नुभएको छ उपस्थितिले पनि हाम्रो विभिन्न घटकको एकतालाई अनुमोदन गरेको छ ।’  प्रचण्डले विगतमा गरेका गल्तीको समीक्षा गर्दै कमजोरी सच्चाउन जनतामाझ आएको बताए । ‘विगतबाट पाठ सिकेर सच्चिनको लागि हामी यहाँ आएका छौ, हामी सच्चिन्छौ भनेका छौ, नसच्चिएर सुखै छैन ।’ प्रचण्डले चुनाव जित्नको लागि मात्रै एकता नभएको बताए ।

    प्रचण्डले इतिहासमा योगदान नदिएका व्यक्तिहरूले सामाजिक सञ्जालबाट कमाएको साखले नेतृत्व गर्नै नसक्ने ठोकुवा गरे ।

    एकता सभालाई ’आत्मालोचना सभा’ र ’सङ्कल्प सभा’ को संज्ञा दिँदै विगतका कमजोरी दोहोरिन नदिने प्रतिबद्धता प्रचण्डले गरे । उनले सुशासन, आर्थिक समृद्धि र रोजगारीको क्षेत्रमा ठोस पहल गर्न नसकेको स्वीकार गर्दै अब जनताको सेवामा समर्पित हुने र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने सवालमा कम्युनिस्टहरू नै सबैभन्दा भरपर्दो शक्ति भएको दाबी गरे ।

    प्रचण्डले लामो सङ्घर्ष र बलिदानपछि संविधान सभाबाट संविधान जारी गरे पनि जनताको अपेक्षाअनुसार परिणाम दिन नसकेको स्वीकार गर्दै भने, ’हामीले विभिन्न समयमा राष्ट्र र जनताको पक्षमा काम गर्ने कोसिस गरे पनि भनेजस्तो परिणाम निकाल्न सकिएको थिएन। हामी बिस्तारै कहाँ त्रुटि भयो, कहाँ कमजोरी भयो भनेर समीक्षा गर्दै थियौँ।’  जेनजी आलनले आफूहरूलाई गल्ती कमजोरी सच्याएर अघि बढ्नका लागि घचघच्याएको प्रचण्डले बताए। ’

     

    पछिल्लो ’जेनजी’ आन्दोलन वा नयाँ युवा पुस्ताको आन्दोलनबाट जसरी हामी सबैलाई घच्घच्याउने काम भयो, हामीले अझ गम्भीर रूपले आत्मसमीक्षा गर्नुपर्ने र आफूलाई सच्याउनुपर्ने आवश्यकता महसुस भयो,’ उनले भने। युवाहरूको भावना र चाहना अनुसार नेपाली जनताको आवश्यकता पुरा गर्न आफूहरू बदलिनुको विकल्प नरहेको उनको भनाइ थियो । प्रचण्डले मजदुर, किसान, दलित, महिला, मुस्लिम र थारु लगायतका उत्पीडित समुदायको हकहितका लागि फेरि एक पटक नयाँ ढङ्गले सङ्घर्ष गर्ने उद्घोष गरे। हजारौँ जेनजी युवाहरूले नेकपालाई अभिभावक मानेर भित्रिरहेको उनले दाबी गरे ।

    माधव नेपालसँगको ४० वर्ष पुरानो सहकार्य

    सभामा प्रचण्डले माधव नेपालसँगको सहकार्य ४० वर्ष पुरानो भएको भन्दै व्याख्यासमेत गरे ।  ‘ २०४१–०४२ सालतिर कमरेड माधवकुमार नेपाल र म लगायत धेरै पञ्चायत विरोधी आन्दोलनबारेमा सहकार्य थियो, आजको कुरा होइन, ०४६ सालसम्म रह्यो पछि जनयुद्धपछि पनि निरन्तर सहकार्य भइरहेकै थियो, कसैकसैलाई यो चमत्कार कसरी भयो, एक्कासि कसरी भयो भन्ने लाग्न सक्छ’ उनले भने ।

    उनले संविधान निर्माणको प्रक्रिया, नेकपाभित्रको सङ्घर्ष र त्यसपछि पनि नियमित सहकार्य रहेको जनाए ।  कमजोर भयो भनेर समीक्षा गर्नुपर्ने उनले बताए ।

    विशिष्ट अतिथि पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधव नेपालले आफूहरू पछिल्लो समय पार्टीलाई उत्पादनसँग जोडेर लैजाने क्रममा रहेको जाने बताए । उनले भने–‘पार्टीलाई उत्पादनमा लगेर जानुपर्ने सुझाव पनि आएको छ, जनताको वास्तविक समस्यालाई नियालिरहेको रहेको छांै, त्यही आधारमा रहेर पार्टीलाई उत्पादनमा केन्द्रित गर्छौ।’ आफूहरूको एकता सामान्य नरहेको भन्दै पूर्वप्रधानमन्त्री नेपालले पछिल्लो राजनीतिक घटनाक्रम अनुसार पार्टीलाई रूपान्तरण गर्दै  लैजाने प्रतिबद्धता  जनाए ।

    पूर्व गृहमन्त्री बामदेव गौतमले सबै राजनीतिक दलहरू विगतबाट पाठ सिकेर सच्चिएर अघि बढ्नुपर्ने तर्क गर्नुभयो । पूर्व गृहमन्त्री भीम रावलले नेपालको राष्ट्रियताको रक्षाको लागि पार्टीले मुख्य एजेन्डा बनाउने बताए । यस्तै पूर्व अर्थमन्त्री वर्षमान पुनले लुम्बिनी प्रदेशको एकता सन्देश सभाले पार्टीको उपस्थिति हिजो र आजको मूल्याङ्कन गर्न सहज हुने विश्वास व्यक्त गरे ।

    पार्टीका प्रदेशका इन्चार्ज चक्रपाणि खनालको अध्यक्षतामा भएको सभा मेटमणि चौधरी, इन्द्रजित थारु, रेखा शर्मा लगायतले बोलेका थिए ।

  • राजा, दल र जेनजीबीच नवीन समझदारीका लागि प्रधानमन्त्रीसामू राप्रपाको औपचारिक प्रस्ताव

    राजा, दल र जेनजीबीच नवीन समझदारीका लागि प्रधानमन्त्रीसामू राप्रपाको औपचारिक प्रस्ताव

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजा, राजनीतिक दल र जेनजीबीच नवीन समझदारीकालागि प्रधानमन्त्रीसामु औपचारिक प्रस्ताव राखेको छ ।

    आज बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्न गएको प्रतिनिधिमण्डलले लिखितरूपमा सो प्रस्ताव गरेको हो ।

    भेटका अवसरमा राप्रपाको तर्फबाट अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री कार्कीलाई विभिन्न ५ बुँदे ज्ञापनपत्र बुझाएका थिए । सो ज्ञापनपत्रमा मुलुकको दीर्घकालीन हित र राजनीतिक निकासका लागि स नवीन समझदारीको अपरिहार्य रहेको उल्लेख छ । यसनिम्ति सर्वपक्षीय बैठकको पहल लिन राप्रपाले प्रधानमन्त्रीसँग आग्रह गर्यो ।

    जवाफमा प्रधानमन्त्री कार्कीले आफू सबै पक्षसँग संवादका लागि तयार रहेको बताइन् । राजाका सन्दर्भमा भने उनले ठोस प्रतिवद्धता नजनाएको एक नेताले बताए ।

    राप्रपाको प्रतिनिधिमण्डलमा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, वरिष्ठ उपाध्यक्ष रोशन कार्की, वरिष्ठ उपाध्यक्ष रबीन्द्र मिश्र, उपाध्यक्ष हेमजङ्ग गुरुङ्ग, महामन्त्री डा।धवल शमशेर राणा, महामन्त्री कुन्ती शाही, महामन्त्री राजेन्द्र गुरुङ्ग, महामन्त्री शरदराज पाठक, कोशी प्रदेश अध्यक्ष राम थापा, कोषाध्यक्ष निलकण्ठ काफ्ले, प्रवक्ता मोहन कुमार श्रेष्ठ र मुख्य सचिव केदार बहादुर अधिकारी सहभागी थिए ।

    राप्रपाले पेश गरेको ज्ञापनपत्र यस्तो छ:

    सम्माननीय प्रधानमन्त्रीज्यू,
    प्रधानमन्त्रीको कार्यालय, सिंहदरबार काठमाडौँ।

    बिषय : ज्ञापन पत्र सम्बन्धमा ।

    २०८२ साल भदौ २३ र २४ गते भएको ऐतिहासिक जेनजी विद्रोह र त्यस पश्चात निर्माण भएको वर्तमान सरकार केवल २०८४ सालमा हुनुपर्ने आवधिक संसदीय निर्वाचन २०८२ सालमा गर्नको लागि मात्रै भएको र बनेको होइन भन्ने राप्रपाको दृष्टिकोण छ।

    त्यसैले २०८२ फागुन २१ गते सम्पन्न हुने भनिएको आम निर्वाचन अगावै वर्तमान सरकारबाट तत्काल निम्न विषयहरूमा आफ्नो पहल प्रारम्भ हुन यो ध्यानाकर्षण प्रस्ताव प्रस्तुत गरेका छौं।

    १. आगामी निर्वाचन अगावै मुलुकको वर्तमान समस्याको दीर्घकालीन र स्थायी समाधानका लागि कोही कसैले भविष्यमा आन्दोलन गर्नु नपर्ने परिस्थिति निर्माणका लागि राजा, राजनीतिक दल र जेन्जी लगायतका सम्मिलित सर्वपक्षीय सम्मेलनको आयोजनाबाट देशलाई निकास दिने काम होस्।

    २.अब हुने आम निर्वाचनमै अन्तर जिल्ला र विदेशबाट मतदान गर्न पाउने सुनिश्चितता गर्न सम्भव छ र त्यसलाई सुनिश्चित गरेर मात्रै निर्वाचन प्रक्रियालाई अगाडि बढाइयोस्।

    ३. जेनजी प्रदर्शनमा सहभागी भएकै कारण देशका विभिन्न भागमा भएको प्रदर्शनका सहभागीहरूलाई पक्रने, मुद्दा लगाउने जस्ता कामहरू भइरहेको छ। यसप्रकारका कार्यहरू तत्काल रोकियोस्।

    ४.जेनजी आन्दोलनका सहिद परिवार, घाइतेहरूको माग अविलम्ब पुरा गरियोस्।

    ५.सरकारसँग विभिन्न मागहरू लिएर प्रदर्शनमा रहेका र प्रधानमन्त्रीसँग भेट गर्न चाहेका जेनजीहरु माथि भइरहेको दमन र उपेक्षा उपयुक्त छैन। यसप्रकारको कार्य तत्काल बन्द गरियोस् र वार्ता संवादबाट वातावरणलाई शान्त बनाउने प्रयास होस्।

    राजेन्द्र लिङ्देन

  • महाधिवेशनको गाँठो नफुक्दा कांग्रेस बैठक सरेको सर्यै

    महाधिवेशनको गाँठो नफुक्दा कांग्रेस बैठक सरेको सर्यै

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको फेरि एक दिन पछि सरेको छ ।

    यसअघि आइतबारदिउँसो २ बजे बस्ने तय गरिएको बैठक अब सोमबार दिउँसो २ बजे बस्ने भएको छ ।

    पार्टीको केन्द्रीय कार्यालयले शनिवार सूचना सार्वजनिक गर्दै बैठक एक दिन पछाडि सारिएको जानकारी दिएको हो । महाधिवेशनको गाँठो नफुक्दा कांग्रेस बैठक फेरि सरेको हो ।

  • एनपीएल–२ः सुदूरपश्चिमको अपराजित यात्रा कायमै, जनकपुरको लगातार चौथो हार

    एनपीएल–२ः सुदूरपश्चिमको अपराजित यात्रा कायमै, जनकपुरको लगातार चौथो हार

    काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा लगातार पाँचौं जित निकालेको छ ।

    शनिबार भएको खेलमा जनकपुर बोल्ट्सले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिम रोयल्सले १७ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा ग¥यो । सुदूपश्चिमको जितका लागि इसान पाण्डेले सर्वाधिक ५६ रन बनाए । इसानले ३५ बलमा ८ चौका र एक छक्का प्रहार गरे । जोश ब्राउन ०, विनोद भण्डारी ४२ र क्रिस लिन १ रनमा आउट भए । कप्तान दीपेन्द्रसिंह ऐरी १० र हर्मित सिंह २५ रनमा अविजित रहे ।

    बलिङमा जनकपुरका माज सदाकतले २ तथा सञ्जय कृष्णमूर्ति र आदित्य मेहताले एकएक विकेट लिए ।

    त्यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४५ रन बनाएको थियो । जनकपुरका लागि सञ्जय कृष्णमूर्तिले अर्थशतक प्रहार गरे । उनले ३८ बलमा २ चौका र २ छक्का प्रहार गरे ।

    जोन निकोल लोफ्टी इन्र्टन ३९, माज सदक्वात १२, आसिफ शेख ०, मयन यादव ६, आदित्य मेहता १५, शुभ कंशाकार ० र वायन पार्नेल १४ रनमा आउट भए । रुपेश सिंह १ रनमा अविजित रहे ।

    बलिङमा सुदूरपश्चिमका अभिनास बोहराले सर्वाधिक ४ विकेट लिए । स्कट कुइगेलेइन ३ र कप्तान दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।
    सुदूरपश्चिमले लगातार पाँचौं जित निकाल्दा साविक विजेता जनकपुर बोल्ट्सले लगातार चौथो हार बेहोरेको छ ।

  • सञ्जयको अर्धशतकमा जनकपुरले दियो १४६ रनको लक्ष्य

    सञ्जयको अर्धशतकमा जनकपुरले दियो १४६ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४५ रन बनायो ।

    जनकपुरका लागि सञ्जय कृष्णमूर्तिले अर्थशतक प्रहार गरे । उनले ३८ बलमा २ चौका र २ छक्का प्रहार गरे । जोन निकोल लोफ्टी इन्र्टन ३९, माज सदक्वात १२, आसिफ शेख ०, मयन यादव ६, आदित्य मेहता १५, शुभ कंशाकार ० र वायन पार्नेल १४ रनमा आउट भए । रुपेश सिंह १ रनमा अविजित रहे ।

    बलिङमा सुदूरपश्चिमका अभिनास बोहराले सर्वाधिक ४ विकेट लिए । स्कट कुइगेलेइन ३ र कप्तान दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।

  • १५ पार्टी एकताबद्ध भएर आत्मालोचना गर्न आएका छौँ, बदलिन्छौँ: प्रचण्ड

    १५ पार्टी एकताबद्ध भएर आत्मालोचना गर्न आएका छौँ, बदलिन्छौँ: प्रचण्ड

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेननी आन्दोलनले आफूहरूलाई गल्ती कमजोरी सच्याएर अघि बढ्नका लागि घचघच्याएको बताएका छन्।

    लुम्बिनीस्तरीय एकता सभालाई सम्बोधन गर्दै युवा पुस्ताको माग र जनताको चाहनाअनुसार बदल्नुपर्ने आवश्यकता देखिएको बताए। जेनजी आन्दोलनले विगतमा आफूहरूले गरेको कामलाई समीक्षा गर्न दबाब बढाएको उनको भनाइ छ।

    उनले भने, ‘हामीले समीक्षा गरेरै एकताबद्ध बनेका हौँ। यो सन्देश सभा आफ्नो कमीकमजोरी खोतल्ने र त्यसलाई सच्याउने प्रतिबद्धता गर्न आएका हौँ। यो आत्मालोचना सभा पनि हो। हामी १५ वटा पार्टी एकताबद्ध भएर नेपाली कम्युनिस्ट पार्टी बनेका हौँ।’

    उनले हजारौँ जेनजी युवाहरूले नेकपालाई अभिभावक मानेर भित्रिरहेको बताए। उनले आफूहरू बदलिएर जनताको सेवामा समर्पित भएर लाग्ने प्रतिबद्धता पनि व्यक्त गरे।

  • एनपीएल-२ : जनकपुरले टस जितेर पहिला ब्याटिङ गर्दै, अनिल बेन्चमा

    एनपीएल-२ : जनकपुरले टस जितेर पहिला ब्याटिङ गर्दै, अनिल बेन्चमा

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

    टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध जनकपुरका कप्तान वायन पार्नेलले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नियमित कप्तान अनिलकुमार शाह बेन्चमा हुँदा वायनले कप्तानी गर्न लागेका हुन् ।

    साविक विजेता जनकपुर जारी एनपीएलमा जितविहिन छ । सुदूरपश्चिम भने अपराजित टोली हो ।

  • ‘विशेष महाधिवेशनको अडानबाट महामन्त्री ब्याक हुन्छन्, चुनावी टिकटमा देउवाकै हस्ताक्षर’

    ‘विशेष महाधिवेशनको अडानबाट महामन्त्री ब्याक हुन्छन्, चुनावी टिकटमा देउवाकै हस्ताक्षर’

    काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधान गर्नको लागि सभापति शेरबहादुर देउवा आफैँ सक्रिय भएपनि अहिलेसम्म सहमतिको मिलनबिन्दु भेटिएको छैन।

    देउवाले बिहिबारदेखि कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित आफू निकट नेताहरूसँग निरन्तर संवाद गरिरहेका छन् ।

    छलफलमा कुनै सहमति बन्न नसकेपछि देउवाले शुक्रवार आफूनिकट नेता कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधिसँग पनि छलफल गरेका थिए। यद्यपि, देउवा विशेष महाधिवेशन पक्षधरको मागलाई सम्बोधन गर्न पुसभित्र कार्यतालिका ल्याउनुपर्नेमा सकारात्मक देखिएका छन्।

    तर, महामन्त्रीद्वयले आफूहरूलाई महाधिवेशनको कार्यतालिका नभई महाधिवेशन नै चाहिएको भन्दै अडान नछाडेपछि सहमति बन्न सकेको छैन । नियमित महाधिवेशनको सम्भावना टरेको भन्दै अब विशेष महाधिवेशनको विकल्प नभएको उनीहरूको अडान छ।

    महाधिवेशन विवाद चर्किँदै गएपछि देउवानिकट नेताहरू पनि विभाजित भएका छन्। अधिकांश पदाधिकारी चुनावअघिकै पक्षमा उभिँदा पूर्वपदाधिकारी विपक्षमा उभिएका छन्।

    चुनावपछि मात्रै महाधिवेशन गर्नुपर्ने उभिएका मध्ये एक हुन् पूर्वउपसभापति निधि। त्यसो त पूर्वपदाधिकारीहरूले पार्टीको महाधिवेशन रोकेको आरोप छ। कांग्रेसभित्र महाधिवेशन मितिमा चलिरहेको चुनावअघि कुनै महाधिवेशन गर्न नहुने पक्षमा उभिएका निधिसँग नेपाल प्रेसले गरेको संक्षिप्त कुराकानी–

    – महाधिवेशनको मितिमा कांग्रेस अल्झिरहेको छ, तपाईँहरूले किन महाधिवेशन चाहिराख्नुभएको छैन ?
    हाम्रो धारणा क्लियर नै छ, फागुन २१ को लागि निर्वाचनको मिति घोषणा भएर प्रक्रिया अघि बढिसकेको छ। धेरै समय छैन। त्यसैले हाम्रो सम्पूर्ण समय र शक्ति चुनावमा नै केन्द्रित हुनुपर्छ।
    महाधिवेशनतिर अलमल नगरी रुख छापलाई कसरी विजयी गराउन सकिन्छ त्यता एकताबद्ध भएर लाग्नुपर्छ भन्ने हाम्रो कुरा हो। चुनावपछि मात्रै महाधिवेशनबारे छलफल गर्नुपर्छ भन्ने हाम्रो धारणा हो।

    – तपाईँहरूले चुनावपछि मात्रै महाधिवेशन भन्दा त पार्टीमा विवाद भइरहेको छ नि?
    हामीले चुनावलाई प्राथमिकता दिनको लागि अहिले महाधिवेशन गर्न हुँदैन भनेका हौँ। हाम्रो अरू कुनै स्वार्थ छैन। अहिलेको चुनाव सामान्य अवस्थामा हुने प्रतिनिधि सभाको चुनाव होइन। चुनावपछि सरकार बनाउने र सत्तामा जाने भन्ने खालको यो चुनाव होइन।
    अहिलेको चुनाव भनेको क्षतिग्रस्त संविधानलाई रक्षा गर्ने, ट्र्याकमा ल्याउनुपर्छ। त्यसैले यसलाई प्राथमिकता दिनुपर्छ भनेका हौँ। अब कबिर दुई महिना बाँकी छ। त्यो समयमा प्रतिनिधि सभाको १६५ क्षेत्रको लागि उम्मेदवार तय, समानुपातिकको कुरा छ। अब महाधिवेशनका लागि समय छैन। अब सबै चुनावमा नै लाग्ने हो।

    – सभापतिसँग हिजोको भेटमा तपाईँहरूले के कुरा राख्नुभयो, उहाँको कस्तो जवाफ पाउनुभयो ?
    हामीले महाधिवेशनको लागि समय छैन, चुनावमा लाग्नुपर्छ भन्ने कुरा राख्यौँ। उहाँले मिलेर जानुस् भन्नुभएको छ। चुनावलाई प्राथमिकता दिनुपर्छ भन्नुभएको छ।

    – तपाईँहरूले महाधिवेशन हुँदैन भन्दैगर्दा महामन्त्रीहरू विशेष महाधिवेशनको विकल्प छैन भन्न थाल्नुभएको छ ?
    हामी विशेष महाधिवेशनमा जान्दैनौँ। हामी अब चुनावमा जाने हो महामन्त्रीले अब विशेष महाधिवेशनको अडान छाड्नुपर्छ। छाड्नुहुन्छ।

    – त्यसो भए विशेष महाधिवेशन पक्षधरको माग सम्बोधन कसरी हुन्छ ?
    त्यस्तो अहिले मध्यमार्गी विकल्प भन्ने नै छैन। प्रतिनिधि सभाको निर्वाचनलाई नै सर्वोपरि महत्वको विषय मानेर केन्द्रित हुनु नै अहिलेको आवश्यकता हो। अहिले कांग्रेसको विकल्प नै त्यही हो।

    – तपाईँहरू महाधिवेशन नचाहने, विशेष महाधिवेशन पक्षधर अडान नछाड्ने भएपनि पार्टी विभाजनतिर गएको हो ?
    पार्टी विभाजनतिर जाँदैन, हामी जान दिँदैनौँ। विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने सदस्यहरू पनि पार्टीको जिम्मेवार व्यक्ति नै हुनुहुन्छ। उहाँहरू कसैले पार्टी विभाजन चाहनुभएको छैन। पार्टी फुट्छ भन्ने कुरामा म सहमत छैन।

    – तर, पार्टीभित्रको विवादमा कार्यवाहक जिम्मेवारी दिनुभएको सभापति पनि सक्रियता बढाउनुभयो ?
    पूर्वराष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा आउनुभएको छ। रामवरण यादव पनि आफ्नो ठाउँमा सक्रिय हुनुहुन्छ नै।
    शेरबहादुर देउवा त अहिले पनि पार्टी सभापति नै हुनुहुन्छ। सक्रिय हुनुपनि पर्छ, देशको राजनीतिमा पनि उहाँको प्रभाव हुन्छ। पछि पनि सक्रिय रहन सक्नुहुन्छ। आगामी महाधिवेशनबाट पदीय राजनीतिमा बिदा भएपनि उहाँको सक्रियता घट्दैन।

    – भनेपछि कांग्रेस सभापति देउवाकै हस्ताक्षरमा चुनावमा जान्छ ?
    हो, अबको चुनावमा टिकट सभापतिकै हस्ताक्षर हुन्छ, उहाँकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जान्छ।

  • एमाले धनकुटाको प्रतिनिधि चयनमा पनि लफडा, मतपत्र च्यातियो

    एमाले धनकुटाको प्रतिनिधि चयनमा पनि लफडा, मतपत्र च्यातियो

    विराटनगर । नेकपा एमालेको महाधिवेशन प्रतिनिधि चयनमा एकलौटी गरिएको भन्दै धनकुटामा असन्तुष्ट समूहले निर्वाचन बहिस्कार गरेको छ।

    बहिस्कार गर्नु अघि केहि निर्वाचन बुथमा असन्तुष्ट समूहले तोडफोड समेत गरेका छन् । एमालेको महाधिवेशनमा प्रतिनिधि छनौट सर्व सम्मत नभएका ठाँउमा आज निर्वाचन हुँदै छ ।

    धनकुटामा राजेन्द्र राई र इन्द्रमणी पराजुली पक्ष गरेर २ वटा समूह रहेको छ । इन्द्रमणी समूहले मतदातालाई थाहा नै नदिइ एकलौटी हिसावले निर्वाचन गराएको आरोप लगाएको छ ।

    पराजुलीले राई पक्षले आफूहरुलाई थाहा नदिई एकलौटी आफू निकटका निर्वाचन अधिकृत तोकेको आरोप लगाए ।

    उनले भने,‘पार्टी कार्यालय निर्वाचन केन्द्रमा फर्जी मत हालेको भेटिएपछि विरोध स्वरुप मत पेटिका फालिएको छ । हामीले तालाबन्दी समेत गरेका छौँ ।’

    धनकुटामा लामो समयदेखि राजेन्द्र राई पक्षधरको वर्चस्व रहदै आएको छ। धनकुटामा हिजो साँझ ९/४ को सहमति भएको पराजुलीले बताए । उनका अनुसार ९ जना राई पक्ष बाट र ४ जना इतर समूहबाट प्रतिनिधि पठाउने सहमति भएको थियो ।

    सहमति अनुसार ४ जना बाहेकले मनोनयन फिर्ता लिएपछि आज बिहानबाट निर्वाचन प्रक्रिया शुरु भएको पराजुलीले दावी गरे । राजेन्द्र राईले भने सर्वसम्मत प्रतिनिधि छनौट हुन नसकेपछि निर्वाचन प्रक्रिया शुरु भएको बताए । उनले पराजय हुने निश्चित भएपछि अराजकता मच्चाएको बताए ।

  • एनपीएल–२ : पोखरामाथि लुम्बिनीको रोमाञ्चक जित

    एनपीएल–२ : पोखरामाथि लुम्बिनीको रोमाञ्चक जित

    काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्समाथि रोमाञ्चक जित निकालेको छ ।

    पोखराले दिएको १५१ रनको लक्ष्य लुम्बिनीले २ बल बाँकी छँदा ७ विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४० रन बनाए ।

    रोहितले निरोधन डिक्वेलासँग तेस्रो विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए । डिक्वेला ३७ रनमा आउट भएका थिए । डार्सी सर्ट ७, सुमित महर्जन ०, दिलिप नाथ १०, गुल्बदिन नाइब १७ र रुवेन ट्रम्पल्यान १७ रनमा आउट भए । सन्दीप जोरा २५ रनमा अविजित रहे ।

    बलिङमा पोखराका विपिन खत्री, म्याट टेयलर र सागर ढकालले दुईदुई विकेट तथा जिम्मी निशमले एक विकेट लिए । त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५० रन बनाएको थियो । पोखराका लागि ओपनर एडम वासिङटन र जिम्मी निशमले उत्कृष्ट ब्याटिङ गरे ।

    एडमले ६३ बलमा ८१ रन बनाए । ३३ रनमा ४ विकेट गुमाएको पोखराको ब्याटिङलाई एडम र जिम्मी निशमले उकासेका थिए । जिम्मीले अर्धशतक प्रहार गरे । उनी ३२ बलमा ५१ रनमा अविजित रहे । दिनेश खरेल ७, कप्तान कुशल भुर्तेल ०, सुमित वर्मा ०, तिर्थ दास १ रनमा आउट भए ।

    किरणकुमार ठगुन्ना एक रनमा अविजित रहे । बलिङ लुम्बिनीका शेर मल्ल र तिलक भण्डारीले दुईदुई विकेट लिए । गुल्ददिन नाइवले एक विकेट लिए । लुम्बिनीले लगातार तेस्रो हारपछि जित निकालेको छ । पोखराले भने एनपीएलमा तेस्रो हार बेहोरेको छ ।

  • एमाले मोरङमा प्रतिनिधि छनाैटलाई लिएर तनाव, आफूआफूमै हात हालाहाल

    एमाले मोरङमा प्रतिनिधि छनाैटलाई लिएर तनाव, आफूआफूमै हात हालाहाल

    विराटनगर । नेकपा एमालेको महाधिवेशनका लागि मोरङमा प्रतिनिधि छनोटकाे विषयमा विवाद हुँदा धक्कामुक्की भएको छ ।

    पार्टी कार्यालय विराटनगर मोरङ क्षेत्र नम्बर ६ को प्रतिनिधि चयनमा विवाद हुँदा हात हालाहाल भएको हो ।

    मोरङमा सस्थापन पक्षा र इतर समूहकाे बीचमा प्यानल भिडन्त छ । सर्व सम्मत प्रतिनिधि छनाेट हुन नसकेपछि आज भइरहेको निर्वाचनमा डबल मत हालेको भन्दै विवाद भएको हो । विवाद पछि केहिबेर मतदान स्थगित समेत भएको थियो ।

  • वाम शक्तिहरुलाई एकतामा आउन नेकपाको आह्वान (पूर्णपाठ)

    वाम शक्तिहरुलाई एकतामा आउन नेकपाको आह्वान (पूर्णपाठ)

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले वाम, समाजवादी, लोकतान्त्रिक तथा देशभक्त शक्तिहरुलाई एकता र सहकार्यको प्रक्रियामा सहभागी हुन आह्वान गरेको छ।

    १५ समूहको गणितीय जोड मात्र नभएर विभाजित अवस्थामा रहेको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई एकतावद्ध गर्दै समाजवादको दिशामा अघि बढ्ने अर्को ऐतिहासिक प्रक्रियाको थालनी भएको भन्दै एकता प्रक्रिया आउन अपिल गरेको हो।

    यस्ताे छ नेकपाकाे अपिल

    नेपाली कम्युनिष्ट पार्टीको अपील
    आदरणीय जनसमुदाय,
    सात दशकभन्दा लामो कम्युनिष्ट आन्दोलनभित्रको विचारधारात्मक र राजनीतिक संघर्षको आरोह अवरोहसँगै पार्टी एकता, संघर्ष, विभाजन र पुनएकीकरणका शिक्षाहरुलाई आत्मसात गर्दै, पूँजिवादी जनवादी क्रान्तिको उपलब्धिकारुपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधिनताको रक्षा, सुशासन, सामाजिक न्याय र आर्थिक सामाजिक रुपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पुरागर्ने उद्देृश्यमा आधारित रहँदै विभिन्न १५ कम्युनिष्ट र समाजवादी पार्टीहरुबीचको एकीकरणबाट नेपाली कम्युनिष्ट पार्टी निर्माण गरिएको छ । पछिल्लो जेन जी आन्दोलनसमेतको पृष्ठभूमिमा पुनर्गठित नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट पार्टी पंक्ति र समर्थक शुभचिन्तकसहित आम न्यायप्रेमी जनसमुदायलाई हार्दिक अभिवादन गर्दछौं ।
    यस अवसरमा हाम्रो पार्टी संघीय लोकतान्त्रिक गणतन्त्रसहित आमूल परिवर्तन, सामाजिक न्याय र राष्ट्रिय स्वाधिनताका लागि नेपाली जनताद्वारा सञ्चालित ऐतिहासिक जनयुद्ध, संयुक्त जनआन्दोलन, मधेश आन्दोलनलगायत उत्पीडित वर्ग, समुदायको मुक्ति आन्दोलन र पछिल्लो जेनजी आन्दोलनका क्रममा प्राणोत्सर्ग गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै वेपत्ता योद्दाहरुप्रति उच्च सम्मान प्रकट गर्नुका साथै घाइते अपांग योद्दाहरुप्रति सम्मानसहित सिघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।
    आन्तरिक अर्थराजनीतिक समस्या र नयाँ भूराजनीतिसमेतका कारण देशको राजनीतिक परिस्थिति निकै गम्भीर र संवेदनशील रहेको छ । जनक्रान्तिबाट स्थापित नयाँ राजनीतिक व्यवस्था र पुरानो उत्पादन प्रणालीबीच अन्तर्बिरोधका कारण जनताको अवस्थामा अपेक्षित परिवर्तन हुन सकिरहेको छैन । यो स्थितिमा एकातर्फ प्रतिगामी यथास्थितिवादी शक्तिहरुबाट जनक्रान्तिका उपलब्धिहरुमाथि धावा बोल्ने प्रयास हुँदै आइरहेको छ भने अर्कोतर्फ जनक्रान्तिका उपलब्धिहरुको रक्षासहित सुशासन र आर्थिक सामाजिक रुपान्तरणको जनचाहना विभिन्न रुपमा प्रकट हुँदै आइरहेको छ ।
    आज राष्ट्रिय स्वाधिनता र नेपाली जनताको आत्मनिर्णयको अधिकारको प्रश्न थप संवेदनशील बन्दै गइरहेको छ । राष्ट्रिय सहमति निर्माण गर्दै संवैधानिक बाटोबाट जनआकांक्षालाई सम्बोधन गर्न जिम्मेवार पहल आजको आवश्यकता बन्न पुगेको छ ।
    परिस्थितिको यो गाम्भीर्यतालाई मनन गर्दै राष्ट्रिय सहमतिको वातावरण निर्माण गर्न र जन आकांक्षालाई मूर्तरुप दिन हामी प्रयत्नशील रहँदै आयौं । सरकारमा रहँदा हाम्रा तर्फबाट सुशासन, सामाजिक न्यायसहितको आर्थिक विकास एवं समृद्धिको अभियान सुरु गरिएको थियो । प्रतिगामी यथास्थितिवादी शक्तिहरुले उक्त अभियानलाई रोक्न सरकार परिवर्तनको अस्त्र प्रयोग गरे । प्रतिपक्षीय मोर्चामा रहँदा समेत सडक र सदनबाट सरकारलाई निरन्तर खबरदारी गरि नै रह्यौं । कांग्रेस एमालेको सरकारको गतिविधिका कारण लोकतन्त्रमाथि नै संकट आउन सक्ने र जनअसन्तुष्टि सडकमा विष्फोट हुनसक्ने अवस्थाप्रति हाम्रो तर्फबाट लगातार सचेत गराउँदै आएका थियौं । सरकारले हाम्रो खबरदारीको गाम्भीर्यता र संवेदनशीलतालाई पटक्कै बोध गरेन । दुई तिहाईको अहंकार र दुईदलीय तानाशाहीको मीठो सपनाबाट सरकार ब्यूझन सकेन ।
    फलतः अर्थराजनीतिक समस्या र तत्कालिन सरकारका जनविरोधी क्रियाकलापबाट संगठित हुँदै गएको जनअसन्तुष्टि जेनजी आन्दोलनका रुपमा प्रकट हुन पुग्यो । जनताको असन्तोष र आक्रोशलाई आफ्नो निहित स्वार्थमा उपयोग गर्न प्रतिगामी र प्रतिक्रियावादी शक्तिहरुका लागि यो उपयुक्त अवसर बन्न पुग्यो । गत भदौ २३ गते शान्तिपूर्णरुपमा सुरु भएको जेनजी प्रदर्शन नरसंहारमा रुपान्तरित हुन पुग्यो । भदौं २४ गते देशका प्रमुख ऐतिहासिक सम्पदाहरु सहित सार्वजनिक कार्यालय, लोकतान्त्रिक दलका नेताहरुको निवास, बैंक, वित्तिय संस्था, मिडिया तथा व्यवसायहरुमा भीषण आगजनी, लूटपाट, तोडफोड गरिनुका साथै भौतिक आक्रमण समेत गरियो । जुन नियोजित र योजनावद्ध थियो । त्यसका वावजूद जेनजी आन्दोलन बस्तुतः राजनीतिक दलहरुलाई खबरदारी, सुशासन, सामाजिक न्याय र अझ उन्नत लोकतन्त्रप्रति नयाँ पुस्ताको चाहना र आकांक्षाको अभिव्यक्ति थियो ।
    जेन जी आन्दोलनको यो भावनालाई एकथरिले बुझ्नै चाहिरहेका छैनन् । अर्को एकथरिले आफ्नो निहित स्वार्थ र प्रतिगामी उद्देश्यपूर्तिको साधन बनाउने कोशिस गरिरहेका छन् । यसप्रकारका प्रवृत्तिहरुप्रति सचेत रहँदै संवैधानिक प्रक्रियाबाट सुशासन, सामाजिक न्याय र समृद्धिको मार्गमा दृढतापूर्वक अघि बढन जेनजीलगायतका नवयुवाहरुमा हाम्रो पार्टी विशेष आग्रह गर्दछ ।

    जेन जी आन्दोलनसँगै उत्पन्न गम्भीर परिस्थितिमा गैर दलीय सरकार बनेपछि तत्कालको अनिश्चयपूर्ण तुँवालो केही हटेपनि जनक्रान्तिका उपलब्धिहरु र राष्ट्रमाथिको संकट पूर्णरुपले हटिसकेको छैन । बिभिन्न बहानामा अराजकता फैलाउने, संविधान खारेज गर्ने, लोकतान्त्रिक दलका नेता तथा कार्यकर्ताहरुलाई हतोत्साहित गर्ने, सभा सम्मेलन गर्न अवरोध सिर्जना गर्ने, निर्वाचनलाई कुनै बहानामा बिथोल्ने या निर्वाचन परिणामलाई अनुकुल बनाउन प्रतिगामी तथा प्रतिक्रियावादी चलखेलका सम्भावनाहरु अझैपनि विद्यमान छन् । तथापि मुलुकलाई संवैधानिक बाटोबाट परिवर्तनको मार्गमा हिँडाउन घोषित मितिमा निर्वाचन सम्पन्न गराउनु पर्ने कुरामा नेपाली कम्युनिष्ट पार्टी दृढ रहँदै आएको छ । हाम्रो पार्टी संविधान, लोकतन्त्र, सामाजिक न्याय र राष्ट्रिय स्वाधीनताको रक्षाका पक्षमा साझा पहलकदमीका लागि सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक र देशभक्त शक्तिहरुसँग विशेष अपील गर्दछ । राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथि चुनौतीहरु थपिँदै गएको वर्तमान सन्दर्भमा वामपन्थी, लोकतान्त्रिक र राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई एकीकृत गर्दै नेतृत्व प्रदान गर्नुपर्ने वस्तुगत आवश्यकतालाई आत्मसात गर्दैै समाजवादी मोर्चामार्फत् पार्टी एकतामा रुपान्तरण गर्ने ऐतिहासिक निर्णयमा पुगेका छौं । यो एकता जनक्रान्तिका उपलब्धिहरुको रक्षा गर्दै मुलुक र वामपन्थी लोकतान्त्रिक आन्दोलन सामु देखिएका नयाँ अवसर र चुनौती सम्बोधन गर्ने ऐतिहासिक संकल्प हो । एकताको यो पहल केवल १५ समूहको गणितीय जोड मात्र नभएर विभाजित अवस्थामा रहेको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई एकतावद्ध गर्दै समाजवादको दिशामा अघि बढ्ने अर्को ऐतिहासिक प्रक्रियाको थालनी हो । सही विचार, राजनीतिक कार्यक्रम र सबैखाले अनुभव र उर्जाको संकेन्द्रण पार्टी एकताको सार हो । श्रमजीवी वर्गको मुक्तिको वैचारिक अस्त्र मार्क्सवाद–लेनिनवाद हाम्रो पार्टीको मार्गनिर्देशक सिद्धान्त हो । मार्क्सवादी लेनिनवादी सिद्धान्तको आलोकमा एक्काइसौं शताब्दीका नवीन विशेषता, विगतका प्रतिक्रान्तिका अनुभव, नेपाली पूँजिवादी जनवादी क्रान्तिका मौलिक विशेषता र नेपाली समाजको विशिष्टताका आधारमा तयार गरिएको नेपाली विशेषताको समाजवाद हाम्रो रणनीतिक कार्यक्रम हो । यही मार्गनिर्देशक सिद्धान्त र कार्यक्रमको आलोकमा सुशासन, सामाजिक न्याय र समृद्धिको माध्यम हुँदै समाजवादको दिशामा अघि बढ्ने संकल्प हाम्रो एकताका मुख्य आधारहरु हुन । श्रमजीवी सर्वहारा वर्ग र उत्पीडित वर्ग समुदायको पहिचान र हितको प्रतिनिधित्व गर्ने लोकतान्त्रिक मूल्यसहितको संघीय समाजवादी राज्य, सहभागितामूलक समावेशी र समानुपातिक शासनप्रणाली, उत्पादनका साधनमाथि सार्वजनिक, सामुदायिक र नीजि स्वामित्व भएको उत्पादन प्रणालीसँगै सबैखाले प्रतिक्रियावादी हस्तक्षेप र शोषणका रुपहरुको अन्त्य गर्ने आर्थिक नीति, शिक्षा र स्वास्थ्यमा मूलतः राज्यको दायित्व बढाउँदै समाजमा विद्यमान सबैखाले असमानता र विभेदको अन्त्य गर्ने सामाजिक सांस्कृतिक नीति, स्वतन्त्र, सन्तुलित, असंलग्न परराष्ट्र नीति नेपाली विशेषताको समाजवादका आधारभूत पक्ष हुन । थप छलफल र अन्तक्रिया गर्दै पार्टीको एकताको राष्ट्रिय महाधिवेशनबाट यसलाई थप समृद्ध तुल्याइनेछ । यो प्रक्रियामा आ आफ्नो ठाउँबाट सकारात्मक भूमिका निर्वाह गर्न पार्टीका सम्पूर्ण पंक्ति, समर्थक शुभचिन्तकहरुमा आग्रह गर्दछौं । – स्वतन्त्रता (जनवाद) र अनुशासन (केन्द्रीयता) को समुचित सन्तुलनमा आधारित जनवादी केन्द्रीयता पार्टीको संगठनात्मक सिद्धान्त र विधि हुनेछ । नेपाली विशेषताको समाजवादद्वारा निर्देशित वैचारिक मूल्यहरुबाट जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्तलाई थप समृद्ध गरिनेछ । आदरणीय जनसमुदाय, विद्यमान राष्ट्रिय परिस्थिति, आवश्यकता र जनअपेक्षालाई दृष्टिगत गर्दै पुनर्गठित नेपाली कम्युनिष्ट पार्टीको नेतृत्वमा सुरु भएको एकता, ध्रवीकरण र सहकार्यको यो प्रक्रियामा सहभागी हुन सम्पूर्ण वामपन्थी, समाजवादी, सच्चा लोकतन्त्रवादी र देशभक्त शक्तिहरुलाई आव्हान गर्दछौं ।

  • पत्रकार आचार्यकाे दुर्घटना शंकास्पद भन्दै आन्दोलन, सवारी आवागमन ठप्प

    पत्रकार आचार्यकाे दुर्घटना शंकास्पद भन्दै आन्दोलन, सवारी आवागमन ठप्प

    सुर्खेत । वीरेन्द्रनगरमा गए राति भएको सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको ज्यान गएपछि आज बिहानैदेखि स्थानीय क्षेत्र तनावपूर्ण बनेको छ।

    आचार्यका आफन्त र स्थानीयले सडक अवरुद्ध गर्दै घटना ‘सन्दिग्ध’ भएको दाबी गर्दै छानबिन कडा माग गरेका छन्।

    मुलपानी चोक, एरिचोकलगायतका स्थानमा प्रदर्शनकारीले टायर बालेर अवरुद्ध गरेपछि सवारी आवागमन प्रभावित बनेको छ ।

    घटना शुक्रबार राति वीरेन्द्रनगर–२ को वडा कार्यालय अगाडिको सडकमा भएको हो । मुलपानीबाट भुरेली जाँदै गरेको यामबहादुर शाहीले चलाएको मोटरसाइकल र पत्रकार आचार्य चढेको स्कुटर एक–आपसमा ठोक्किँदा आचार्य गम्भीर घाइते भएका थिए। अस्पताल पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

    दुर्घटनामा मोटरसाइकल चालक शाही पनि घाइते छन्। उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

    तर आचार्यका आफन्तलाई घटनास्थलमै गम्भीर त्रुटि भएको शंका छ। प्रहरीले रातारात प्रमाण नष्ट गर्ने गरी काम गरेको, मुचुल्का नउठाई पानी खन्याएको जस्ता आरोप उनीहरूले सार्वजनिक गरेका छन्। यही कारण शनिबार बिहानदेखि उनीहरूले सडकमै उत्रिएर आवाज उठाएका हुन्।

    यता, जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी दीपक मगरातीले गम्भीर घाइतेलाई तुरुन्त उपचारमा पठाएकाे हुँदा अहिले उल्टै आरोप लगाएकाे बताएका छन् ।

    मृतक आचार्य रेडियो तिला आवाज कालिकोटका स्टेसन म्यानेजर र प्रेस सेन्टर कालिकोटका अध्यक्ष समेत थिए ।

  • एनपीएल २– एडम र जिम्मीको उत्कृष्ट ब्याटिङमा पोखराले दियो १५१ रनको लक्ष्य

    एनपीएल २– एडम र जिम्मीको उत्कृष्ट ब्याटिङमा पोखराले दियो १५१ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई १५१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टीयु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५० रन बनायो ।

    पोखराका लागि ओपनर एडम वासिङटन र जिम्मी निशमले उत्कृष्ट ब्याटिङ गरे । एडमले ६३ बलमा ८१ रन बनाए । ३३ रनमा ४ विकेट गुमाएको पोखराको ब्याटिङलाई एडम र जिम्मी निशमले उकासेका थिए । जिम्मीले अर्धशतक प्रहार गरे ।

    उनी ३२ बलमा ५१ रनमा अविजित रहे । दिनेश खरेल ७, कप्तान कुशल भुर्तेल ०, सुमित वर्मा ०, तिर्थ दास १ रनमा आउट भए । किरणकुमार ठगुन्ना एक रनमा अविजित रहे । बलिङ लुम्बिनीका शेर मल्ल र तिलक भण्डारीले दुईदुई विकेट लिए । गुल्ददिन नाइवले एक विकेट लिए ।

  • विवेकशीलसँग एकता गर्ने निर्णय रास्वपाद्वारा अनुमोदन, भोलि राष्ट्रिय सभागृहमा घोषणासभा

    विवेकशीलसँग एकता गर्ने निर्णय रास्वपाद्वारा अनुमोदन, भोलि राष्ट्रिय सभागृहमा घोषणासभा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विवेकशील साझा पार्टीद्वारा राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गर्ने सर्वसम्मत प्रस्तावको सहर्ष स्वागत गरेको छ।

    केन्द्रीय समितिको विशेष बैठकले मंसिर १४ गते आइतबार राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना गर्ने निर्णय गरेको समेत गरेको प्रवक्ता मनिष झाले बताए।

    असल शासन, सुशासन र समुन्नति प्रवर्द्धन गर्ने उद्देश्यसहित विभिन्न परिवर्तनकामी तथा सुसंस्कृत राजनीतिक शक्तिहरूसँग संवाद र सहकार्यलाई थप सुदृढ गर्ने निर्णय गरेको छ।

    उनले भने, ‘असल शासन र समुन्नतिसँग सरोकार राख्ने सबै सुसंस्कृत एवं परिवर्तनकामी राजनीतिक शक्तिहरूसँग मुद्दागत र साङ्गठनिक सहकार्यका पृथक् विधिहरू अवलम्बन गर्दै संवाद प्रक्रियालाई घनिभूत बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीको उच्च संवाद समितिलाई केन्द्रीय समितिले दिएको निर्देशन अनुरूप पार्टी सचिवालयले गठन गरेको संयन्त्र सङ्घीय नेतृत्व मञ्च अनुमोदित भएको छ।’

  • पार्टीभित्रको विवाद सल्टाउन आज पनि छलफलमा जुट्दै देउवा

    पार्टीभित्रको विवाद सल्टाउन आज पनि छलफलमा जुट्दै देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि पार्टीका शीर्ष नेताहरूसँग छलफल गर्दैछन्। पार्टीभित्रको विवाद समाधान गर्नको लागि दिउँसो २ बजे महाराजगन्जस्थित निवासमा छलफल गर्न लागेको एक नेताले बताए।

    आजको छलफलमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहभागी हुँदै छन्। देउवाले बिहिबारदेखि नै निरन्तर खड्का र महामन्त्रीद्वयसँग छलफल गरिरहेका छन्। यद्यपि कुनै सहमति जुट्न सकेको छैन।

    हिजोको छलफलमा चुनावअघि महाधिवेशनको विपक्षमा उभिएका आफूनिकट नेताहरू कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधिलाई पनि बोलाएर छलफल गरेका थिए।

    महाधिवेशनको मितिमा सहमति नजुट्दा कांग्रेसको केन्द्रीय समिति बैठक पटक पटक सार्दै आइरहेको छ। अब अर्को बैठक भोलि दिउँसो २ बजेका लागि बोलाइएको छ।

  • एमाले पङ्क्तिलाई गोकर्ण विष्टको आह्वान- पार्टीलाई पुनर्गठन गर्नेगरी प्रतिनिधि चयन गर्नुहोस्

    एमाले पङ्क्तिलाई गोकर्ण विष्टको आह्वान- पार्टीलाई पुनर्गठन गर्नेगरी प्रतिनिधि चयन गर्नुहोस्

    काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टी पुनर्गठन गरेर अघि बढाउने गरी प्रतिनिधि चयनमा जिम्मेवार पूर्ण भूमिका खेल्न पार्टीपङ्क्तिमा आह्वान गरेका छन्।

    मंसिर २७ गतेबाट सुरु हुने महाधिवेशनका लागि देशभर अहिले प्रतिनिधि चयनको काम भइरहेको छ। नेतृत्वमा केपी ओलीको विकल्प खोज्नुपर्ने पक्षमा उभिएका विष्टले देशमा देखा परेको विषम परिस्थितिलाई सम्बोधन गर्नसक्ने नेतृत्व चाहिने बताएका हुन्।

    उनले भनेका छन्, ‘हामीले यति बेला देशमा देखा परेको विषम परिस्थितिलाई सम्बोधन गर्ने र पार्टीलाई थप गति, ऊर्जा, एकताका साथ जनताको विश्वास आर्जन गर्नेगरि बलियो बनाउनु पर्नेछ । यसका लागि समयको माग अनि आम जनता र कार्यकर्ताको चाहना अनुसार पार्टीलाई पुनर्गठन गरेर अघि बढाउने गरी प्रतिनिधि चयनमा जिम्मेवार पूर्ण भूमिका खेल्नुहुनेछ भन्ने विश्वास राखेको छु ।’

  • वीरगञ्जबाट ४ महिनामा ५४ अर्ब १२ करोडको पेट्रोलियम पदार्थ भित्रियो, झण्डै २३ करोड राजस्व संकलन

    वीरगञ्जबाट ४ महिनामा ५४ अर्ब १२ करोडको पेट्रोलियम पदार्थ भित्रियो, झण्डै २३ करोड राजस्व संकलन

    वीरगञ्ज (पर्सा) । चालू आर्थिक वर्षको चार महिनामा वीरगञ्ज नाका भएर ५४ अर्ब १२ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।

    डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयातबाट २२ अर्ब ९० करोड राजस्व सङ्कलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको चार महिनाको तुलनामा चालू आवको सोही अवधिमा रकमको आधारमा पाँच थरिका पेट्रोलिम पदार्थको आयातमा २ अर्ब ९३ करोडले बढी हो ।

    जबकी गत आवको चार महिनाको अवधिमा भने ५१ अर्ब १९ करोड मूल्य पर्ने पेट्रोलियम पदार्थको आयात हुँदा २० अर्ब ८९ करोड राजस्व सङ्कलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालू आवको चार महिनामा पेट्रोलियम पदार्थको आयातमा केही वृद्धि भएको जानकारी दिए ।

    ‘गत आवको चार महिनाको तुलनामा चालू आवको सोही अवधिमा पेट्रोलियम पदार्थको आयातबाट प्राप्त हुने राजस्वमा समेत ९ दशमलव ६० प्रतिशतले बढेको छ,’ उनले भने ।

    कात्तिक मसान्तसम्म २४ अर्ब ४० करोड मूल्य पर्ने दुई लाख ६८ हजार ६७६ किलोलिटर डिजेल आयात भएको छ । जसबाट १० अर्ब ७३ करोड राजस्व सङ्कलन भएको छ । जबकी गत आवको सोही अवधिमा भने २१ अर्ब ८३ करोड मूल्य पर्ने डिजेल आयात भएको थियो । सोबाट ९ अर्ब ७८ करोड राजस्व सङ्कलन भएको थियो ।

    चालू आवको ४ महिनामा १४ अर्ब २७ करोड मूल्य पर्ने एक लाख ६६ हजार ६६३ किलोलिटर पेट्रोल आयात भएको छ । सो पेट्रोल आयात हुँदा ९ अर्ब ४३ करोड राजस्व सङ्कलन भएको छ । जबकी गत आवको चार महिनामा भने १२ अर्ब ४३ करोड मूल्य पर्ने पेट्रोल आयात हुँदा ८ अर्ब ११ करोड राजस्व सङ्कलन भयो ।

    त्यस्तै यो अवधिमा ९ अर्ब ७७ करोड मूल्य पर्ने नौ करोड ७३ लाख ९६ हजार ४७२ किलोग्राम एलपी ग्यास आयात भएको छ । सो आयातबाट १ अर्ब ८३ करोड राजस्व सङ्कलन भएको छ ।

    गत आवको सोही अवधिमा भने ११ अर्ब १० करोड मूल्य पर्ने १० करोड तीन लाख ५९ हजार किलोग्राम एलपी ग्यास आयात भएको थियो । सो आयातबाट २ अर्ब आठ करोड राजस्व सङ्कलन भएको थियो ।

  • आहा ! लाङटाङ (तस्बिरहरू)

    आहा ! लाङटाङ (तस्बिरहरू)

    काठमाडौं । मनमोहक हिमशृङ्खलाले लोभ्याउने लाङटाङ पदमार्ग काठमाडौंबाट नजिकको पदमार्ग हो । असोज र कात्तिक यहाँ पदयात्राको लागि राम्रो सिजन मानिन्छ । यहाँ हिजोआज  विदेशीभन्दा बढी नेपाली भेटिन्छन् ।

    लाङटाङ खोला सँगसँगै अघि बढ्छ लाङटाङ पदमार्ग । बीचबीचमा भेटिने अनुपम झरना, हिमश्रृङ्खलाहरुले पर्यटकहरूलाई आकर्षित गरिरहेको हुन्छ।

    काठमाडौंबाट नजिक पर्ने पदमार्ग भएकाले पनि आन्तरिक पर्यटकको भिड लाग्ने गरेको हो । नजिकैबाट प्राकृतिक सौन्दर्य अवलोकन र अनुभूत गर्नका लागि लाङटाङ पदमार्ग प्रसिद्ध रहेको छ ।

    क्यामेराका लेन्सले सुन्दर हिमाल, झरना, नदीनाला र प्राकृतिक सौन्दर्य कैद गर्दै यात्रा गर्नु यस पदमार्गको अर्को आकर्षण हो ।

    ‘एकैपटक आधा दर्जन हिमशृङ्खलाहरूको अवलोकन गर्न पाइने, क्यान्जी गुम्बाबाट वरिपरि हिउँले ढाकेका हिमाल हेर्न पाइयो र सहज पदमार्ग र बसोबासका लागि पर्याप्त होटलहरू भएकाले पनि यस पदमार्गमा आन्तरिक र बाह्य पर्यटकहरुको आवागमन उस्तै देखिन्छ ।

    काठमाडौंबाट जानका लागि भने बालाजु माछापोखरीबाट सार्वजनिक यातायात वा निजी सवारीसाधनमा जान सकिन्छ । माछापोखरीमा बिहान ६ बजेदेखि ९ बजेसम्म सार्वजनिक बस पाइन्छ ।

    बालाजु, कलंकी, थानकोट, गल्छी, नुवाकोट धुन्चे हुँदै ६–७ घण्टामा स्याफ्रुबेँसी पुगिन्छ । त्यसपछि सुरु हुन्छ पैदलयात्रा । स्याफ्रुबेँसीबाट ३ घण्टाको पैदल यात्रापछि ब्याम्बोमा बास बस्न सकिन्छ । तर, समय रहेमा लामा होटल वा रिइभरसाइडमा गएर बास बस्दा उपयुक्त हुन्छ ।

    भोलिपल्ट उकाली ओराली गर्दै लाङटाङ वा क्यान्जिङ गुम्बा पुगिन्छ । यात्रामा लाङटाङ खोलाले साथ छोड्दैन । पहाडको चेपबाट झरिरहेका झरना,चरा चुरुङ्गीको चिरबिरचिरबिर आवाजले मन शान्त बनाउँछ ।

    यसरी अर्को दिन बिहानै क्यान्जिङ उपत्यकाबाट क्याजिङ री जान सहज हुन्छ । कतिपय भने क्यान्जिङ पुगेपछि यलापिक अथवा सेर्गोरीतर्फ जाने गर्दछन् ।

    हेरौं केही तस्बिर

    तस्बिर : क्षितिज तामाङ/ नेपाल फोटो लाइब्रेरी ।

  • चर्का नारालाई भन्दा कोमल आत्मालाई सुन्ने कवि हुँ : रिजन मायालु

    चर्का नारालाई भन्दा कोमल आत्मालाई सुन्ने कवि हुँ : रिजन मायालु

    पेसाले बैंकर रहेका इलामका कवि तथा गीतकार रिजन मायालुको कवितासंग्रह ‘घुम्ती बिक्रीमा छ’ सार्वजनिक हुँदैछ । यसअघि ‘चुचुरो अनि स्वास्नी मान्छेहरू’ नामक कवितासंग्रह सार्वजनिक गरेका उनको यो दोस्रो कवितासंग्रह हो । यही संग्रहको वरिपरि रहेर अर्का कवि शुभचन्द्र राईले रिजन मायालुलाई पाँच प्रश्न सोधेका छन् । प्रस्तुत छ कवितालाई कविकै प्रश्न अन्तर्गत गरिएको वार्ताको सम्पादित अंश  :

     प्रकृति र पर्यावरण अनि पर्यटनको केन्द्र इलामको जीवन–परिवेशले तपाईँको कविताको विचार निर्माण र लेखनमा कतिको भूमिका खेलेको छ ?

    बाल्यकालमा अदुवाको सुकेको झ्यास बटुलेर त्यसलाई बाँसको भाटाले दुईपट्टिबाट च्यापेर बार बनाउँथ्यौ । बारकै भित्ता र छानो लगाएर त्यही झ्यासकै डसना ओच्छ्याएर घर बनाउँथ्यौँ । सिमलको रातो गुलाबी फूल टिपेर, ढुङ्गाको भाँडाकुँडा बनाएर, जंगलको थरी थरीका फूल टिपेर र घरमा भएका काम नलाग्ने सामानहरू बटुलेर दोकान थाप्यौँ । कालीझारको पात टिपेर त्यसलाई पैसा भन्दै भाँडा कुटी खेल्थ्यौँ ।
    बिहानै पारिपट्टि घामले कञ्चनजंघालाई सिधै ताक्थ्यो । त्यो टल्केको घाम बिस्तारै सर्दै सर्दै तिनघरे, जहरसिँहगाउँ, मलिम, सिरवानी, मलबाँसे हुँदै घरसम्म आइपुग्थ्यो । हामी त्यही घामले चालेको पाइला हेर्दै कति बज्यो भनेर अन्दाज लाउन सक्थ्यौँ ।
    बिहान बस्तुभाउलाई एक भारी घाँस काटेर दुई/अढाई घण्टाको उकालो बाटोमा चियाका बुट्यान समाउँदै, धुपीका बोटमा अडेस लाग्दै, मार्से खोलामा हिलो र पसिना पखाल्दै अनि झरीमा मानेको पात ओढेर विद्यालय जान्थ्यौँ ।
    एक छाक मिठो मसिनो खानको लागि ठेला उठेको हात, पिल्सिएको ढाडले गरेको मेहनत देखेर होला, इलामको प्रकृतिले मलाई शान्त र संवेदनशील रहन सिकाएको छ । तसर्थ पक्कै पनि इलामको प्रकृति पर्यावरण अनि जीवन परिवेशले मेरो विचार निर्माण र लेखनमा प्रभाव पारेको छ । यहाँको परिवेश र जीवनशैलीको उपज नै मेरा कविताका मुख्य केन्द्र हुन् ।

    ‘चुचुरो अनि स्वास्नीमान्छेहरू’देखि ‘घुम्ती बिक्रीमा छ’सम्म आइपुग्दा तपाईँले आफ्नै लेखनमा के कस्ता रूपान्तरण वा फरक देख्नुभएको छ ?

    घर बनाउनु परेमा सबैभन्दा पहिला घरको नक्सा बनाइन्छ । त्यही नक्सा अनुरूप राम्रो मिस्त्री, गुणस्तरीय सामान प्रयोग गरेर, बलियो जग गाडेर, रंगरोगन गरेपछि राम्रो घर बन्छ । यसर्थ ‘चुचुरो अनि स्वास्नी मान्छेहरू’ नक्सा हो भने बनेको घर हो ‘घुम्ती बिक्रीमा छ’ ।

     ‘घुम्ती बिक्रीमा छ’ सम्ममा आइपुग्दा आफैलाई आलोचनात्मक र बहुआयामी भइरहेको देखेँ । शब्दको मितव्ययी प्रयोग, अस्तित्ववादी प्रश्नहरू थपिए । समय सँगै कविको चेत पनि फराकिलो हुँदै जाँदो रहेछ । म पनि त्यसमा अछुत रहन सकिनँ । म चाहिँ नाराभन्दा आत्मालाई सुन्ने कवि बन्न खोजेँ । र त्यसलाई आत्मसात् गर्दै अघि बढ्दैछु  ।

    हाल नेपाली कविता परिदृष्यामा विषयगत विविधता, शैली–शिल्पका प्रयोग र डिजिटल माध्यमको प्रभाव तीव्र छ । आजको पुस्ताका लेखक र कविहरूका अवसर र चुनौती के के हुन् ?

    कुनै पनि कुराको विकासको लागि हरेक कुरामा नयाँ प्रयोग आवश्यक छ । कवितामा पनि त्यस्तो प्रयोग हुनु नौलो कुरा होइन । तर यसो भन्दैमा विविधता, शैली–शिल्पका प्रयोग र डिजिटल माध्यमको प्रयोगले अन्य लैगिंक, भाषिक, राजनैतिक र सामाजिक सहिष्णुतालाई असर पुर्‍याउने खालको लेखनलाई कहिल्यै प्राथमिकतामा राख्नु हुँदैन ।
    सत्तालाई सधैँ प्रश्न गरिरहनु र दलनमा परेको भुईँमान्छेको आवाज बनेर बोल्नु कविको जिम्मेवारी हो । साथै आफैँले बाँचिआएको समय, परिवेश, रीतिथिति आदिबारे काव्यमार्फत बचाइराख्नु जिम्मेवार कविको लागि अवसर हो ।

    आजको राजनैतिक, सामाजिक र पर्यावरणीय उथलपुथलले नेपाली समाज नयाँ मोडमा पुगेको छ । यस्तो परिवर्तन बीचमा कविको भूमिकालाई तपाईँले कसरी हेर्नुहुन्छ ?

    आजभोलि लेखकले भन्दा धेरै पुस्तक पाठकले पढ्ने गरेको भेटेको छु । पाठकहरू  धेरै बाठा छन् । त्यसो हुँदा चाहे राजनीतिक उथलपुथल होस् वा सामाजिक वा पर्यावरणीय उथलपुथल, पाठकले त्यस्ता हरेक उथलपुथलमा कविले कवितामार्फत् आवाज उठाइदेओस् भन्ने आस राख्छन् । र कवि, लेखकले जिम्मेवार तवरले जनताको आवाज बोल्नुपर्छ ।

    स्रष्टाले सत्ता र समयका विकृत संरचनाहरूसँग कति आलोचनात्मक हुनुपर्ने हो ? कविता प्रतिरोधको स्वर मात्रै हो कि, अरु केही पनि हो ?

    सत्ता भन्नाले केवल सरकार मात्र नबुझौँ । पुँजीवादको सत्ता, परम्पराको सत्ता, भेदभाव र मौनताको सत्ता इत्यादिको संरचनाप्रति आलोचनात्मक नहुने हो भने त्यो सिर्जना अपुरो रहन्छ । त्यस्ता बेतिथिलाई झाँगिन दिनु हुँदैन ।
  • दाङको प्रतिनिधि छनौट विवादमा : विधि मिचिएको भन्दै लिखित उजुरी

    दाङको प्रतिनिधि छनौट विवादमा : विधि मिचिएको भन्दै लिखित उजुरी

    दाङ । एमाले महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङमा महाधिवेशन प्रतिनिधि छनोट विवादित बनेको छ ।

    विधि र प्रक्रियाविपरीत गएर एकलौटी ढंगले प्रतिनिधि चयन गरिएको भन्दै लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्णप्रसाद भुसालले पार्टीको केन्द्रीय संगठन विभागमा उजुरी हालेका छन् ।

    केन्द्रीय संगठन विभागले जारी गरेको सर्कुलरविपरीत मतदाता नामावली र निर्वाचन कार्यतालिका नै प्रकाशित नगरी साढे १० हजार प्रतिनिधिको हक अधिकार कुण्ठित गरी हचुवाका भरमा प्रतिनिधि छानिएको भुसालले बताएका छन् ।

    यद्यपि आज बिहान २३ जना प्रतिनिधि सर्वसम्मत चयन भएको भनी निर्वाचन समितिले नामावली प्रकाशन गरेको छ ।

    त्यस्तै प्रतिनिधिका आकांक्षी सुरेश गौतमले स्वेच्छारी लादिएको भन्दै प्रतिनिधि छनौटको सम्पूर्ण प्रक्रिया तत्काल खारेज गर्न विज्ञप्तिमार्फत् माग गरेका छन् ।

    ‘जिल्लाका नेतृत्वहरूले प्रतिनिधि छनोटको यो विधिहीन र मनमानीपूर्ण निर्णय महासचिव कमरेड शंकर पोखरेलको निर्देशनमा भएको भनी सार्वजनिक रूपमा भनिरहेका छन् । यदि यो कुरा सत्य हो भने पार्टीको केन्द्रीय नेतृत्वबाटै विधानको धज्जी उडाइएको ठहरिनेछ, जुन अत्यन्त दुःखद र निन्दनीय छ । कुनै पनि नेताको निर्देशनले पार्टी विधानलाई मिच्न सक्दैन’, गौतमले भनेका छन् ।

    यस्तो छ गौतमको भनाइ-

    प्रेस विज्ञप्ति
    विषय : एमाले महासचिव शंकर पोखरेलको नाम जोडेर दाङमा विधि र विधानको हत्या ! निर्वाचन समिति र मतदाता नामावलीविना प्रतिनिधि छनोट अस्वीकार्य
    नेकपा (एमाले) को आगामी मंसिर २७, २८ र २९ गते हुने ११ औं राष्ट्रिय महाधिवेशनका लागि दाङ जिल्लाबाट प्रतिनिधि छनोट गर्ने सन्दर्भमा पार्टीको विधान, नियमावली तथा केन्द्रबाट तोकिएको मापदण्ड र निर्देशिकालाई पूर्ण रुपमा लत्याएर जबरजस्ती रुपमा प्रतिनिधि चयन गरिएकोमा हाम्रो गम्भीर असहमति रहेको जानकारी गराउन चाहन्छौं । पार्टीलाई विधि र पद्धतिमा चलाउने, लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउने तथा पार्टी सदस्यको भावनालाई कदर गर्ने प्रतिबद्धताका बाबजुद दाङ जिल्लामा भएको प्रतिनिधि छनोट प्रक्रिया अत्यन्तै अन्यायपूर्ण, अपारदर्शी र स्वेच्छाचारी रहेको छ ।
    हामी निम्न बुँदामा उल्लेखित प्रक्रियागत त्रुटि र मनमानीपूर्ण कार्यको घोर भत्र्सना गर्दछौं
    १.निर्वाचन प्रक्रियाको पूर्ण बेवास्ताः प्रतिनिधि छनोटका लागि आवश्यक निर्वाचन समिति गठन, मतदाता नामावली प्रकाशन तथा अन्य निर्वाचन प्रक्रिया नै सुरु नगरी एकलौटी ढंगले प्रतिनिधिहरूको नाम घोषणा गरिएको छ । यो पार्टीको लोकतान्त्रिक अभ्यासको ठाडो उपहास हो ।
    २.महासचिवको नाम जोडेर स्वेच्छाचारिताः जिल्लाका नेतृत्वहरूले प्रतिनिधि छनोटको यो विधिहीन र मनमानीपूर्ण निर्णय नेकपा (एमाले) का महासचिव कमरेड शंकर पोखरेलको निर्देशनमा भएको भनी सार्वजनिक रूपमा भनिरहेका छन । यदि यो कुरा सत्य हो भने पार्टीको केन्द्रीय नेतृत्वबाटै विधानको धज्जी उडाइएको ठहरिनेछ, जुन अत्यन्त दुःखद र निन्दनीय छ । कुनै पनि नेताको निर्देशनले पार्टी विधानलाई मिच्न सक्दैन ।
    ३.विधान र नियमावलीको उल्लंघनः प्रतिनिधि छनोटको लागि तोकिएको स्पष्ट विधि र प्रक्रियालाई मिचेर केही सीमित व्यक्तिहरूको स्वार्थ र दबाबमा मनलाग्दी ढंगले नामहरू समावेश गरिएको छ ।
    ४.संगठित सदस्यहरूको भावनामाथि कुठाराघातः मतदाता नामावली नै प्रकाशित नगरी प्रतिनिधि चयन गर्दा दाङका हजारौं संगठित सदस्यहरू आफ्नो मताधिकार प्रयोग गर्ने संवैधानिक हकबाट वञ्चित भएका छन्, जसले पार्टीप्रति निराशा र वितृष्णा पैदा गरेको छ ।
    ५.बलजफ्ती र एकलौटी निर्णयः लोकतान्त्रिक छलफल र सहमति निर्माणको प्रयास नगरी, निश्चित समूहको एकलौटी निर्णयका आधारमा प्रतिनिधिका नामहरू घोषणा गरिएका छन ।
    हाम्रा माग
    १. दाङ जिल्लाबाट भएका प्रतिनिधि छनोटको सम्पूर्ण प्रक्रिया तत्काल खारेज गरियोस ।
    २. पार्टी विधान, नियमावली र केन्द्रले तोकेको मापदण्डको पूर्ण पालना गरी निष्पक्ष र पारदर्शी ढंगले पुनः प्रतिनिधि छनोट प्रक्रिया सुरु गरियोस् ।
    ३.महासचिवको नाम जोडेर स्वेच्छाचारी निर्णय गर्ने जिल्ला नेतृत्वहरू माथि विधान अनुसार आवश्यक कारबाही गरियोस ।
    पार्टीका लाखौं कार्यकर्ताको आस्था र विश्वासको धरोहर बनेको नेकपा (एमाले) लाई यस्तो गैर–लोकतान्त्रिक र विधिहीन अभ्यासले ठूलो क्षति पु¥याउँछ भन्ने हाम्रो ठहर छ । पार्टीको आन्तरिक जीवनलाई स्वस्थ, पारदर्शी र लोकतान्त्रिक बनाउनु हामी सबैको कर्तव्य हो । पार्टीलाई सही बाटोमा हिँडाउन र महाधिवेशनलाई विधि र पद्धतिको संगम बनाउन सम्पूर्ण दाङवासी पार्टी सदस्य तथा शुभचिन्तकहरूलाई यस संघर्षमा साथ दिन हार्दिक अपिल गर्दछौं ।
    सुरेश गौतम
    महाधिवेशन प्रतिनिधि उम्मेदवार
    दाङ–२
    नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन
  • सुक्दै तिनाउ- कानून नबन्दा १२ वर्षदेखिको संरक्षण अभियानमा सकस

    सुक्दै तिनाउ- कानून नबन्दा १२ वर्षदेखिको संरक्षण अभियानमा सकस

    रुपन्देही । रुपन्देही र पाल्पाको मुख्य जलाधार तिनाउ नदीको स्रोत सुक्दै र बहाव क्षेत्र नासिँदै चिन्ता बढ्न थालेको छ । 

    विज्ञहरूका अनुसार संरक्षणको अभावमा तिनाउ नदीको मुहान सुक्दै गएको छ । तल्लो तटीय क्षेत्रका उपभोक्ताले यसको मुहान संरक्षणका लागि योजना बनाउनुपर्ने नै यसको मुख्य विषय हो ।

    तिनाउले रुपन्देहीको साढे १४ हजार हेक्टर जमिन सिँचाइ गरेको छ । रुपन्देहीको सोह्र–छत्तीस नहर र चार तपाह नहरबाट सिँचाइको व्यवस्थापन भएको छ भने अन्य धेरै सहायक नहरहरू रहेका छन् । तिनाउको मुहानदेखि भारतको सीमा दशगजासम्म ९७ किलोमिटर रहेको छ । यो नदीबाट १ मेगावाट क्षमताको बिजुली निकाल्ने योजना रहे पनि अहिले उत्पादन रोकिएको छ ।

    अहिले पनि रुपन्देहीको बुटवल उपमहानगरले दैनिक १ लाख १० हजार लिटर खानेपानी प्रयोग गरिरहेको छ भने अब ८० हजार लिटर झुम्साखोला खानेपानी आयोजनाबाट ल्याउनका लागि अन्तिम काम भइरहेको छ । यो नदीको पानी रुपन्देही र पाल्पाका १४ पालिकाले उपभोग गरिरहेका छन् । खासगरी ढुङ्गागिट्टीबापत बुटवल, तिलोत्तमा, सियारी, शुद्धोधनसहितका पालिकाले करोडौँ राजस्व लिएका छन् ।

    यसलाई जोगाउन तिनाउ जलाधार र वातावरणीय सेवा भुक्तानीसम्बन्धी अभियान चलाएको पनि एक दशकभन्दा बढी भइसक्यो, तर ऐन–कानुन नबन्दा सबै रोकिएको छ । तिनाउका उपभोक्ता अर्थात् यसको मुहानका संरक्षणकर्ताहरू वातावरणीय सेवा भुक्तानीका लागि १२ वर्षदेखि लडिरहेका छन् । तराई भूपरिधि तथा संरक्षण कार्यक्रमले मस्यौदा निर्माण तथा छलफल गर्नका लागि प्राविधिक सहयोग गरिरहेको छ ।

    यसको संरक्षणका लागि पाल्पाको तिनाउ सामुदायिक वन समन्वय समिति खटेको लामो समय भयो, तर कुनै ऐन–कानुन बनेको छैन । तिनाउको मात्रै छुट्टै ऐन बनाउन धेरै प्रयास भयो र अहिले ऐनसमेत प्रदेश सभामा दर्ता भए पनि टेबल (पेश) भएको छैन ।

    सांसद, वन क्षेत्रका विज्ञ र सरकारका अधिकारीहरूले पनि तिनाउ नदीलाई मात्रै केन्द्रित गरेर छुट्टै ऐन बनाउनुभन्दा यसलाई आधार मानेर लुम्बिनीका सबै नदीको संरक्षण नीति बनाउनुपर्ने भन्दै अघि बढेको प्रक्रियालाई समेत ढिलाइ गरेका छन् ।

    तिनाउको मुहान रहेको रैनादेवी–छहरा–४ का वडाध्यक्ष गोविन्द रायमाझीले आफ्नो वडाको मेहल्धापमा रहेको पानीको मुहानलाई जोगाउन सकेमा तिनाउ जलाधार सुरक्षित र संरक्षित हुनसक्ने भएकोले मुहान संरक्षणमा माथिल्लो तटीय क्षेत्रले गरेको योगदानको कदर हुनुपर्नेमा जोड दिएका छन् ।

    यस्तै, तिनाउ नदीको अर्को मुहान क्षेत्र पूर्वखोला गाउँपालिका–४ देवीनगर, लेमधेमको संरक्षण हुन सकेमा तिनाउमा पानीको बहाव कहिले पनि नघट्ने सो वडाका वडाध्यक्ष एवम् पालिका प्रवक्ता मेहरसिंह थापाको भनाइ छ ।

    लुम्बिनीमा जलाधार ऐन निर्माणको विषयमा मुख्य आधार तिनाउको विषयले प्रवेश पाएको छ । लुम्बिनी प्रदेशका वन तथा वातावरण सचिव प्रमोद भट्टराईले मन्त्रालयले लुम्बिनी जलाधार ऐन निर्माणका लागि प्रारम्भिक छलफल र स्थलगत अनुगमनको काम थालेको बताउँदै मुख्यमन्त्री, वनमन्त्री र सभामुखसँग आवश्यक परामर्श गरी आफू अघि बढ्ने जनाएका छन् ।

    ‘यो विषय माथिल्लो र तल्लो तटीय क्षेत्रका उपभोक्तालाई जोगाउने मात्रै होइन, नदी सभ्यतालाई जोगाउने र संरक्षण गर्ने गरी अघि बढाउनुपर्छ । तिनाउले सिङ्गो प्रदेशलाई मार्गदर्शन (गाइडलाइन) गरेको छ, ऐन नबन्दा यसको प्रभावकारी कार्यान्वयनमा समस्या हुन्छ नै तर सुरुमै कसरी जाने भन्ने विषय महत्त्वपूर्ण हो,’ उनले भने, ‘यसका विज्ञ र सरोकारवाला क्षेत्रको अवस्थालाई हेरेर सदनमा दर्ता भएको विधेयकलाई मन्त्रालयले पक्कै प्राथमिकतामा राख्नेछ ।’

    तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ लामो समयदेखिको प्रयासलाई छिटो टुङ्गो लगाउनुपर्ने बताउँछन् ।

    ‘तिनाउले वन, वातावरणको क्षेत्रमा लगानी गरेको छ । जलाधार संरक्षणका लागि सामुदायिक वन समन्वय समितिको सहयोगमा सचेतनामुखी काम गर्दै आए पनि वातावरणीय सेवा भुक्तानी ऐन प्रदेशबाट पास नहुँदा चिन्तित बनाएको छ,’ उनले भने, ‘सत्यवती, सुकेताल, सिमसार र चुरे क्षेत्रका तालहरू भए पनि संरक्षण गर्न सोचेजति सकिएको छैन ।’

    गाउँपालिका उपाध्यक्ष लालबहादुर थापाले तिनाउ नदीको संरक्षणका लागि सबैको चासो रहे पनि कानुन नबन्दा समस्या परेको बताए ।

    लुम्बिनी प्रदेशका सभामुख तथा सोही क्षेत्रका जनप्रतिनिधि तुलाराम घर्तीले सकेसम्म हिउँदे अधिवेशनमै यो ऐनलाई ‘फास्टट्रयाक’ बाटै भए पनि पास गर्न आफू तयार रहेको जनाएका छन् ।

    ‘लामो समयको मिहिनेतबाट यो प्रदेश सभामा दर्ता भएको हो, यो कुनै हचुवाको भरमा अघि बढेको होइन । यसले सिङ्गो प्रदेश र अन्य प्रदेशलाई पनि बाटो देखाउने गरी योजना बनाएको छ । सबैतिर नदीको मुहान सुक्दै गएको समयमा यसलाई सरकारले नै विशेष चासो दिएर विभागीय मन्त्रालयबाटै दबाबको रूपमा अघि बढाउनुपर्छ भन्ने हो । विज्ञ र सरोकारवाला क्षेत्रका माननीय सबै यसमा प्रस्ट भएपछि रोक्नुपर्ने कुनै कारण छैन,’ उनले भने ।

    सामुदायिक वन समन्वय समिति, पाल्पाका अध्यक्ष दलबहादुर गुरुङले वातावरणीय सेवा ऐनका लागि तल्लो र माथिल्लो तटीय क्षेत्रसँग आवश्यक छलफल गरी मस्यौदा ऐन तयार गरेर सरोकारवाला निकायमा बुझाइएकोले सक्दो छिटो पास हुन सकेमा दुवै तटीय क्षेत्रलाई फाइदा हुने बताए । उनले १२ वर्षदेखि यो काममा आफूहरू निरन्तर खटिए पनि टुङ्गोमा पुग्न नसकेको बताए ।

    यो अभियानलाई लामो समयदेखि प्राविधिक सहयोग गरिरहेको तराई भूपरिधि संरक्षणका सह–प्रबन्धक राजन रिजाल यसलाई उदाहरणीय बनाउने प्रयासले अघि बढेको बताउँछन् ।

    ‘यो ऐन पास भए नमुना बन्छ । अरु प्रदेशमा पनि काम गर्न सकिन्छ । यो प्रदेशका पनि धेरै यस्ता नदी छन् जसलाई यो ऐनअनुसार काम अघि बढाउन सकिन्छ, यसले कसैलाई नोक्सानी गर्नेछैन,’ उनले भने ।

    नेपालमा वातावरणीय सेवा भुक्तानीको प्रचलन त्यति धेरै छैन । विश्व बैंकमार्फत् कार्बन सिंकबाट केही अभ्यास भने भएको छ । बुटवल उपमहानगरपालिकाले तिनाउ नदीको मुहान संरक्षण गरेबापत वार्षिक १५ लाख रुपैयाँ पनि अनौपचारिक रूपमा तिर्दै आएको छ, तर कानुन नभएका कारण कुनै कारणले यसलाई बेरुजु देखाइए कसरी अघि बढ्ने भन्ने चिन्ता उपमहानगरलाई रहेको छ ।

    रुपन्देहीको तिलोत्तमा पनि यसमा तयार छ । कतिपय विषयको महत्त्व नबुझेर पनि यस्ता सवालहरू कमजोर हुने गरेको यसका अभियन्ताहरू बताउँछन् । तिनाउ जलविद्युत् आयोजना तिनाउमा बनेर पनि सोही पालिकाको नुवाकोटका जनताले विद्युत् बाल्न लामो समय कुर्नुपर्यो । स्थानीयले पाउनुपर्ने अधिकारलाई प्रयोगमा ल्याउन सकेको भए त्यस्तो अवस्था सिर्जना नहुने स्थानीयको भनाइ छ ।

    बुटवल उपमहानगरले तिनाउलाई तिर्दै आएको वातावरणीय सेवा भुक्तानीलाई कानुनसम्मत बनाउन अहिले तिनाउ जलाधार क्षेत्र संरक्षण विधेयक ल्याउने प्रयास भइरहेको छ । यसका लागि समन्वय समितिले विधेयकको मस्यौदा गरी प्रदेश सरकारलाई बुझाएको छ ।

    लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले सो विधेयक ल्याउने प्रतिबद्धता व्यक्त गरेको पनि धेरै समय भइसकेको छ । रुपन्देहीका १४ वटा स्थानीय तहबाट वातावरणीय सेवा लिने तयारी सो क्षेत्रका उपभोक्ताहरूले गरेका छन् । पाल्पाको तिनाउ गाउँपालिकामा ८४ वटा सामुदायिक वन रहेका छन् ।

    वातावरणका जानकार तथा अधिवक्ता महेन्द्र पाण्डेका अनुसार वातावरणीय सेवा भुक्तानी भनेको वातावरण संरक्षण गर्ने व्यक्तिलाई वा समुदायलाई प्रतिफलस्वरूप दिइने भुक्तानी हो । यो व्यवस्थाअन्तर्गत ती मानिसहरूलाई आर्थिक लाभ दिइन्छ जसले वनजंगल बचाउने, पानी स्रोत संरक्षण गर्ने, माटो कटान रोक्ने वा कार्बन सोस्ने काम गर्छन् ।

    जंगल बचाएर पानीका मुहानहरू संरक्षणबापत, कार्बन सञ्चित गरी जलवायु परिवर्तन रोक्न मद्दत गरेबापत, वन्यजन्तु र वनस्पतिहरूको संरक्षण अर्थात् जैविक विविधताको संरक्षणबापत र सांस्कृतिक र प्राकृतिक सौन्दर्यको संरक्षण अर्थात् पर्यटन विकासबापत शुल्क तिर्ने अभ्यास अहिले संसारव्यापी छ ।

    नेपालमा २२ हजारभन्दा बढी सामुदायिक वनहरू छन्, जसले करिब २८ लाख हेक्टर वन क्षेत्रको संरक्षण गरेका छन् । सो बापत रेड प्लस (REDD+) कार्यक्रममार्फत नेपालले विश्व बजारमा कार्बन क्रेडिट बिक्री गरेर लाखौँ डलर भित्राउन सुरु गरेको छ । तथापि, यस्ता अभ्यासहरू अझै परियोजना तहमै सीमित छन् । अर्थात् जति आउनुपर्ने हो त्यति आउन सकेको अवस्था छैन ।

    रुपन्देहीको मुख्य भाग भएर बग्ने तिनाउ अहिले नदीजस्तो नरहेकाले पनि यसलाई जोगाउन ऐन चाहिने यसका चिन्तकहरू बताउँछन् । ‘यहाँ पानीको प्रवाहमा धेरै कमी आएको छ र विभिन्न माछाका प्रजाति पनि नष्ट हुँदै गएका छन् । यसको कारण अव्यवस्थित विकास, अतिक्रमण र जंगलहरूको विनाश नै हो ।

    त्यसबाहेक विश्वव्यापी रूपमा परेको जलवायु परिवर्तनको प्रभावले पनि असर गरेकै छ । कुनै बेला तिनाउ जलाधार आयोजना सञ्चालन भएको थियो । शायद वैदेशिक सहयोगमा सञ्चालित सो आयोजनाबाट दाता बाहिरिएपछि सरकारको प्राथमिकतामा परेन । रुपन्देहीले पचास र साठीको दशकमा नदी दोहन गरेर पर्याप्त आम्दानी पनि गर्थ्यो । तर आज त्यो इतिहासको विषय बनेको छ,’ यो क्षेत्रमा लामो समय कलम चलाउँदै आएका पत्रकार माधव अर्यालले भनेका छन् ।

    जानकारहरूका अनुसार वातावरणीय सेवा भुक्तानीलाई जलवायु संकटसँग जुध्ने, प्राकृतिक स्रोतहरूको संरक्षण गर्ने र स्थानीय समुदायलाई सशक्त बनाउने विकल्पका रूपमा लिन थालिएको छ । नेपालमा काभ्रेको रोशी, चितवनको रानीवन र लमजुङको मर्स्याङ्दी जलाधार क्षेत्रमा यस्ता अभ्यास भएका छन् । उनीहरूले पानी खाएबापत घरधुरीका हिसाबले वार्षिक रूपमा शुल्क दिने गरेको पाइन्छ । कतै–कतै होटल र अन्य उद्योगबाट पनि शुल्क लिने गरेका छन् ।

    तिनाउ जलाधार संरक्षण विधेयकले तिनाउको विषय मात्र उठान गर्ने भएकाले यसलाई प्रदेशभर नै लागू गर्ने गरी कानुन बनाउनु अझ सान्दर्भिक हुने सुझाव रुपन्देही र पाल्पाका सांसदहरूले दिइसकेका छन् ।

    ‘जलाधार क्षेत्रको संरक्षण सबैका लागि अपरिहार्य छ । यो दिगो विकास र वातावरणीय उत्तरदायित्व स्थापित गर्ने अभियान पनि हो । त्यस अर्थमा यसलाई लुम्बिनी प्रदेशले अगुवाइ गर्दा अन्य प्रदेशले पनि सिक्न सक्नेछन्,’ प्रदेश सांसद तथा कानुन समिति सदस्य भोजप्रसाद श्रेष्ठ भन्छन् । प्रदेशले नीतिगत कानुनको व्यवस्था गरेपछि पालिका तहले पनि कानुन बनाएर मात्रै कार्यान्वयन गर्न सक्नेछन् ।

    ‘तिनाउले मिहिनेत गरेर यो काम अघि बढाएको हो तर अलग–अलग गर्दा समस्या हुन्छ कि भनेर प्रदेशका समग्र नदीहरूलाई जोडेर बनाउने कि भन्ने आएको छ । आवश्यकता छ भन्ने कुरामा सबै विश्वस्त हुनुहुन्छ । विशेषगरी वन मन्त्रालयको चासो हुनुपर्‍यो र मन्त्रिपरिषद् (क्याबिनेट) को चासो भएर अघि बढ्यो भने मात्रै सदनमा प्रवेश पाउने हो,’ उनले भने ।

    अधिवक्ता तथा वातावरण क्षेत्रका जानकार महेन्द्र पाण्डेले जतिसक्दो छिटो यो ऐन बनाएर तिनाउको सभ्यतालाई जोगाउनुपर्ने बताउँछन् । ‘जलाधार क्षेत्रको संरक्षण ऐन नै आवश्यक हो, यो एकीकृत अवधारणामा आधारित हुनुपर्छ । यो नहुँदा तल्लो र माथिल्लो तटीय क्षेत्र प्रभावित हुन्छ ।

    तत्काल सबैको बनाउन नसक्ने अवस्थामा यसलाई गति दिन तिनाउको विशेष योजना बनाउनुपर्छ । तिनाउ कञ्चन राख्न, दुवैतर्फको अपनत्व राख्न ऐन आवश्यक छ । ऐन बनाउनु प्रकृतिको हितमा हुन्छ भन्ने सबैलाई बुझाउनुपर्‍यो,’ उनले भने ।

    यसअघि रुपन्देही र पाल्पाबाट लुम्बिनी प्रदेशमा प्रतिनिधित्व गर्ने सांसदहरूसँग तिनाउ जलाधार संरक्षण र वातावरणीय सेवा भुक्तानीको विषयमा धेरै पटक सामूहिक छलफल भइसकेको छ ।

    सरोकारवालाले सांसदहरूलाई तिनाउ जलाधार क्षेत्रको संरक्षण र वनजंगल जोगाइ स्वच्छ वातावरण कायम राख्नका लागि ऐन ल्याउन आग्रह गर्दा सांसदहरूले तिनाउ नदीको उपल्लो तटीय क्षेत्रदेखि तल्लो तटीय क्षेत्रको संरक्षण र वातावरण कायम राख्न प्रदेश सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

    प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले तिनाउको जलाधार घट्दै गएको र अतिक्रमणमा परेको तिनाउ नदीको संरक्षण गर्नुपर्ने र जनसहभागितामा तिनाउको उपल्लो र तल्लो तटीय क्षेत्र र वनहरूको संरक्षणमा राज्यको ध्यान जानुपर्ने बताए ।

    लुम्बिनीका प्रदेश सांसद हेमा बेल्बासे केसी, जानकी न्यौपाने, शान्ति लोध र भगवती अधिकारीले तिनाउ नदी र वनजंगल संरक्षणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । आवश्यकता अनुसार ऐन–कानुन बनाउन र आर्थिक कोषका लागि पनि पहल गर्ने सांसदहरूको प्रतिबद्धता छ ।

    कानुन तथा सुशासन विज्ञ डाक्टर चिरञ्जीवी भट्टराईले तिनाउ लगायतका देशका थुप्रै नदी र वनहरू अतिक्रमणमा परेकाले यस विषयमा राजनीतिक नेतृत्वलाई सचेत हुन आग्रह गरेका छन् । मानव सभ्यतासँग जोडिएको तिनाउ नदी जोगाउन नसकिए भोलिको पुस्ताले ठूलो समस्या भोग्ने भएकाले उपल्लो र तल्लो तटीय क्षेत्रमा पर्ने स्थानीय सरकारलाई सचेत हुन सरोकारवालाले आग्रह गरेका छन् ।

    गत साल जेठ महिनामा वन समितिले तिनाउ जलाधार क्षेत्र संरक्षण विधेयकको मस्यौदा सभामुखलाई बुझाएर सदनमा दर्ता भइसकेको छ । तिनाउ नदीसँग प्रत्यक्ष सरोकार राख्ने बुटवल उपमहानगरपालिका, बुटवल हाइड्रोपावर, खानेपानी संस्थान, सोह्र–छत्तीस सिँचाइ कुलो समिति लगायत छन् ।

    तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका, सैनामैना र लुम्बिनी सांस्कृतिक नगरपालिकाका साथै शुद्धोदन, सियारी र मायादेवी गाउँपालिका छन् । तिनाउ वन समन्वय समितिको पहलमा तिनाउ नदीको उपल्लो तटीय क्षेत्रको संरक्षणका लागि तल्लो तटीय क्षेत्रबाट संरक्षण र संवर्धन हुने गरी कानुन बन्न लागेको र सदनमा विधेयक दर्ता भएपछि केही आशा जागेको समितिका वरिष्ठ उपाध्यक्ष प्रेमप्रसाद पाण्डेय बताउँछन् ।

    गाउँपालिकालाई प्राप्त हुने रकमले पछिल्ला वर्षमा स्थानीय वन समितिलाई वृक्षरोपण, मुहान सफा राख्ने, यस्तै डढेलो नियन्त्रणजस्ता कार्यका लागि प्रदान गर्ने गरिएको छ ।

  • नेकपाको लुम्बिनी प्रदेशस्तरीय एकता सन्देश सभा आज दाङमा

    नेकपाको लुम्बिनी प्रदेशस्तरीय एकता सन्देश सभा आज दाङमा

    रूपन्देही । नेपाली कम्युनिष्ट पार्टीले आज लुम्बिनी प्रदेशअन्तर्गत दाङको देउखुरीस्थित लमहीमा एकता सन्देश सभा गर्दैछ ।

    नेकपा गठनपछि देशभर एकता सन्देश सभा गर्ने निर्णय बमोजिम आज यहाँ कार्यक्रम गर्न लागिएको हो । शुक्रबार धनगढीमा एकता सन्देश सभा गरेको थियो ।

    आजको सभालाई संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल,भीम रावल, वर्षमान पुनलगायतका नेताहरूले सम्बोधन गर्ने छन् ।

    लमही बजारभित्र बगैँचामा हुने कार्यक्रमको तयारी तीव्र बनाइएको आयोजकले बताएको छ । प्रदेशका विभिन्न जिल्लाबाट नेता-कार्यकर्ता आउने क्रम जारी छ ।

    नेकपा माओवादी केन्द्र, नेकपा एससहित दर्जन घटक मिलेर बनेको नेकपाले सांगठानिक गतिविधिलाई देशव्यापी रूपमा अभियानमा लगेको छ ।

  • आज देशैभरबाट एमाले महाधिवेशन प्रतिनिधि छानिँदै, कुनै पनि बहानामा नसार्न निर्देशन

    आज देशैभरबाट एमाले महाधिवेशन प्रतिनिधि छानिँदै, कुनै पनि बहानामा नसार्न निर्देशन

    काठमाडौं । नेकपा एमालेको आसन्न महाधिवेशनलाई लिएर आज देशभर प्रतिनिधि चयन गरिँदैछ । केही जिल्लामा भने प्रतिनिधि सर्वसम्मत छानिसकेका छन् ।

    शुक्रबार साँझसम्म सर्वसहमतिका लागि अन्तिम प्रयास गर्ने र नभएमा आज निर्वाचन प्रक्रियामा गएर प्रतिनिधि छनौट गर्न निर्देशन जारी भइसकेको छ ।

    महाधिवेशन प्रतिनिधिका लागि तोकिएको कोटाभन्दा बढी उम्मेदवार भएपछि धेरै ठाउँमा चुनावमै जानुपर्ने अवस्था आएको छ ।

    पार्टीको संगठन विभागले केहै दिनअघि ५ बुँदे निर्देशन जारी गर्दै कुनै पनि बहानामा प्रतिनिधि छनौटलाई आजबाट नसार्न भनिसकेको छ । सबै प्रतिनिधिको नामावली पठाउन सोमबारको डेडलाइन छ ।

    एमालेका संगठित सदस्य ६ लाख ६७ हजार ६३० बाट प्रतिनिधि चुनिदै छन् । झण्डै २२ सय प्रतिनिधि रहने महाधिवेशनका लागि यसपटक प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट कम्तीमा एक जना युवा प्रतिनिधिको कोटा सुरक्षित गरिएको छ ।

  • महोत्तरीबाट भागेकामध्ये २७३ कैदीबन्दी अझै बाहिर

    महोत्तरीबाट भागेकामध्ये २७३ कैदीबन्दी अझै बाहिर

    जलेश्वर (महोत्तरी) । जेन-जीको आन्दोलनका क्रममा महोत्तरी जिल्लाको जलेश्वर कारागारबाट भागेका कैदीबन्दीमध्ये २७३ जना अझै फरार छन् ।

    जलेश्वर कारागार तोडेर भागेका ४० भारतीयसहित ५७६ कैदीबन्दी मध्ये ३०३ जना फर्किसकेका जेलर अशोककुमार क्षेत्रीले बताए ।

    भागेका कैदीबन्दीलाई भदौ २५ गते कारागार प्रशासनले फर्किन आह्वान गरेको थियो । जेलर क्षेत्रीले फर्की नआउने फरार कैदीबन्दी उपर कारागार ऐन २०७९ र अन्य नेपालको प्रचलित कानुन बमोजिम कारबाही हुने तथा कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्ति उपर पनि कानुन बमोजिम कारबाही हुने बताए ।

    जलेश्वर कारागारबाट भागेकामध्ये १३ कैदीबन्दीलाई भारततर्फ भाग्दै गरेको अवस्थामा भारतीय प्रहरीले पक्राउ गरी पुनः कारागार फर्काउन मद्दत गरेका थिए भने बाँकी कैदीबन्दी आफैँ स्वेच्छाले कारागारमा फर्किएका हुन् ।

    फरार कैदीबन्दीको खोजतलास गरिरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

    -रासस

  • एसीसी प्रिमियर कप : सेमिफाइनलमा नेपाल मलेसियासँग खेल्दै

    एसीसी प्रिमियर कप : सेमिफाइनलमा नेपाल मलेसियासँग खेल्दै

    काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज मलेसियासँग खेल्दैछ ।

    यो खेल अजमान मैदानमा बिहान ९ बजेदेखि सुरू हुनेछ ।

    नेपाल समूह ‘ए’ को र मलेसिया समूह ‘डी’ को विजेताका रूपमा सेमिफाइनलमा पुगेका हुन् । समूह चरणको खेलमा नेपालले लगातार दुई जीत हात पार्दै सेमिफाइनलको यात्रा सुरक्षित गरेको छ ।

    नेपालले आफ्नो पहिलो खेलमा साउदी अरेबियालाई आठ विकेटले र दोस्रो खेलमा हङ्कङलाई एक सय १९ रनको फराकिलो अन्तरले हराएको थियो ।

    चौध टोलीको सहभागिता रहेको यो प्रतियोगिताबाट तीनवटा टोली आगामी एसीसी यू–१९ एसिया कपमा छनोट हुने जनाएको छ ।

    यो प्रतियोगिताको फाइनलमा पुग्ने दुबै टोली सिधै आगामी एसीसी यू–१९ एसिया कपमा छनोट हुनेछन् । सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुनेछ । तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्नेछ ।

    यू–१९ एसिया कप आगामी डिसेम्बरमा यूएईमै हुँदैछ ।

    -रासस

  • लुम्बिनीले नभेटेको लय, फेरि समूह चरणबाटै बाहिरिने भय

    लुम्बिनीले नभेटेको लय, फेरि समूह चरणबाटै बाहिरिने भय

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो सिजनमा खराब प्रदर्शन गर्दै पुछारमा रहेको लुम्बिनी लायन्सको दोस्रो सिजन पनि खासै सुखद भइरहेको छैन । अहिलेसम्म खेलेका ४ म्याचमा ३ हार व्यहोरेको लुम्बिनीको प्लेअफ सम्भावना जटिल बनेको छ ।

    पहिलो खेलमा जित दर्ता गरे पनि त्यसपछिका ३ खेलमा लगातार हार खेपेको हो । पहिलो खेलमा चितवन राइनोजलाई पराजित गरेको लुम्बिनी दोस्रो खेलमा कर्णाली याक्स, तेस्रो खेलमा काठमाण्डु गोर्खाज र चौथो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित हुन पुग्यो । पहिलो सिजनमा लुम्बिनीले दुई खेलमा मात्रै जित निकालेको थियो ।

    चलेनन् विदेशी खेलाडी

    लुम्बिनीले आश गरेका विदेशी खेलाडीबाट अहिलेसम्म बलियो आड पाउन सकेको छैन । पहिलो खेलमा आक्रामक ब्याटिङ गरेका गुल्बदिन नाइबको त्यसयता न ब्याटिङ चलेको छ न बलिङ । उनले पहिलो खेलमा २५ बलमा ४४ रन बनाएका थिए । त्यसयताका ३ खेलमा उनले मात्र २९ रन बनाएका छन् । पहिलो खेलमा २ विकेट लिएका गुल्बदिनले त्यसयताका ३ खेलमा पनि मात्र २ विकेट लिएका छन् ।

    ओपनर डार्सी सर्ट पनि चल्न सकेका छैनन् । ४ खेलमा उनले ७० रन बनाएका छन् । बलिङ पनि उनको खासै प्रभावकारी छैन । टप अर्डरमा हुने ठूलो स्कोर बनाउन नसक्दा टोली ठूलो स्कोर बनाउन चुकिरहेको छ ।

    नामिबियाका जेजे स्मिथले ३ खेलमा ३१ रन बनाउँदा उनी विकेटविहीन छन् । नामिबियाका बलिङ अलराउन्डर स्मिथ बलिङमै फ्लप भएका छन् । नामिबियाका तीब्र गतिका बलर बेन ट्रम्पलम्यानको प्रदर्शन औसत छ । उनले ४ खेलबाट ६ विकेट लिएका छन् । पहिलो खेलमा ३ विकेट लिएका उनले त्यसयताको ३ खेलबाट ३ विकेट लिएका हुन् । ब्याटिङमा दोस्रो खेलमा १४ बलमा २९ रन बनाउनुबाहेक उल्लेख्य योगदान दिन सकेका छैनन् । एक खेलमा मात्रै अवसर पाएका थोमस ड्राका पनि चल्न सकेनन् । चौथो खेलमा उनी ३ ओभर बलिङ गर्दै २२ रन खर्चिएर विकेटविहीन बने ।

    अन्य टोलीमा विदेशी खेलाडीको दबदबा रहँदा लुम्बिनीमा भने विदेशी खेलाडी फ्लप भए । जसका कारण लुम्बिनी ४ खेलमा ३ खेलमा पराजित हुन पुग्यो ।

    कप्तानले पाएनन् साथ

    लुम्बिनीका कप्तान रोहित पौडेलले ४ खेलमा १३४ रन बनाएका छन् । पहिलो खेलमा ३९, दोस्रो खेलमा ४९, तेस्रो खेलमा ११ र चौथो खेलमा ३५ रन बनाए । अर्काेतर्फ लगातार विकेट गइरहँदा रोहितलाई विकेट होल्ड गरेर खेल्नुपर्ने बाध्यता आइलाग्यो । कुनै पनि खेलाडीले क्रिजमा टिकेर खेल्न सकेनन् । ४ वटै खेलमा लुम्बिनीका खेलाडीले ठूलो साझेदारी गर्न सकेनन् ।

    पहिलो खेलमा गुल्बदिन र कप्तान रोहितले चौथो विकेटका लागि गरेको ६० रनको साझेदारी नै सर्वाधिक साझेदारी हो । उक्त खेलमा लुम्बिनीले ६ विकेटको जित निकालेको थियो । त्यसयता कुनै खेलमा ठूलो साझेदारी हुन सकेन । जसका कारण लुम्बिनी ठूलो स्कोरतर्फ लम्किन सकेन । दोस्रो खेलमा बनाएको १५६ रन नै लुम्बिनीको ठूलो स्कोर हो ।

    मिडलअर्डरमा समस्या

    चौथो खेलमा लुम्बिनी कुनै समय ठूलो स्कोरतिर उन्मुख थियो । १६ ओभर एक बलमा लुम्बिनी ३ विकेट गुमाएर ११९ रन बनाएको थियो । तर, त्यसपछि लगातार विकेट जाँदा लुम्बिनी १४३ रनमा समेटिन पुग्यो । मिडलअर्डरमा रहेका गुल्बदिन, सन्दीप जोरादेखि रुबेनसम्म चल्न सकेनन् । जसले लुम्बिनीको स्कोरलाई साँघुरो बनायो । अन्य सबै खेलमा फ्लप हुन पुग्यो । टपअर्डरमा ठिकठाक प्रदर्शन भएपनि मिडलअर्डर र लोअर्डरमा ब्याटिङ चल्न नसक्दा लुम्बिनी धरासायी बन्दै आएको छ ।

    ४ वटै खेलमा लुम्बिनीका कुनै पनि खेलाडीले अर्धशतक प्रहार गर्न सकेका छैनन् । कप्तान रोहितले दोस्रो खेलमा बनाएको ४९ रन नै लुम्बिनीका खेलाडीले बनाएको सर्वाधिक रन हो । टी–२० क्रिकेटमा एउटा खेलाडीले मात्रै ठूलो स्कोर बनाउन सकेको खण्डमा पनि टोलीको स्कोर उठ्न सक्छ । तर, कुनै पनि खेलाडीले ठूलो स्कोर बनाउन नसक्दा टोलीले हार बेहोनुपरेको छ ।

    कप्तानले चिनेनन् स्पिनर

    एनपीएल सिजन–२ को लिग चरणमा खेल सकिँदा विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने सर्वाधिक विकेट लिने सूचीको पहिलो नम्बरमा छन् । दोस्रो नम्बरमा सुदूरपश्चिमका हरमित सिंह र तेस्रो नम्बरमा काठमाण्डुका मिलिन्द कुमार छन् । उनीहरू सबै स्पिनर हुन् ।

    बिहीबार भएको खेलमा पोखरा एभेन्जर्सलाई पहिलो जित दिलाउन स्पिन बलरले उत्कृष्ट प्रदर्शन गरे । पोखराका स्पिनर विपिन खत्री एक्लैले ४ विकेट लिए । अर्का स्पिनर सुमित वर्माले २, कप्तान कुशल भुर्तेलले एक विकेट लिए । पेस बलर आकाश चन्द र डान डाउथवैट विकेटविहीन रहे । विराटनगरलाई पहिलो हार चखाउन चितवनका स्पिनर रञ्जितकुमार एक्लैले ५ विकेट लिए ।

    यीबाहेक अन्य खेलमा स्पिन बलर हाबी भएका छन् । पिच स्पिन बलर अनुकूल हुँदा पनि लुम्बिनी कप्तान रोहितले आफ्ना स्पिन बलरलाई विश्वास गरेको देखिँदैन । युवा स्पिनर अभिषेक गौतमले एक खेलबाहेक अन्यमा आफ्नो स्पेल पुरा गर्न पाएका छैनन् । उनले चौथो खेलमा ४ ओभर बलिङमा २० रन खर्चेर एक विकेट लिए । लुम्बिनीको बलिङमा सबैभन्दा उत्कृष्ट इकोनोमी उनकै थियो । उक्त खेलमा अर्का स्पिनर तिलक भण्डारी र शेर मल्लले आफ्नो स्पेल पूरा गर्न पाएनन् ।

    पहिलो खेलमा ३ ओभरमा २ विकेट लिएका अभिषेकले पूरा स्पेल बलिङ गर्न पाएनन् । दोस्रो खेलमा अभिषेकले मात्रै एक ओभर बलिङ गर्न पाए । शेर मल्ल पनि ३ ओभरमा रोकिए । तेस्रो खेलमा पनि अभिषेकले आफ्नो स्पेल पूरा गर्न पाएनन् । उनीसँगै स्पिनर तिलकले पनि आफ्नो स्पेल पूरा गर्न पाएनन् ।

    आक्रामक ब्याटिङको अभाव

    लुम्बिनीका लागि सर्वाधिक रन बनाएका कप्तान रोहित कमजोर स्ट्राइक रेटका कारण आलोचित बनिरहेका छन् । उनले रक्षात्मक शैलीमा ब्याटिङ गर्दा अन्य ब्याटरलाई ठूला सट हान्न दबाब हुन्छ । जसले गर्दा विकेट खस्ने गर्छ । दोस्रो खेलमा कर्णालीविरुद्ध रोहितले ४३ बलमा ४९ न बनाए । सोही खेलमा कर्णालीका मार्क वाटले ४४ बलमा ११४ रन बनाएका थिए । अन्य खेलमा पनि रोहितको ब्याटिङमा आक्रामकता छैन । यो उनको शैली र परिस्थितिको बाध्यता दुवै हो ।

    पौडेलले पहिलो खेलमा ४४ बलमा ३९, तेस्रो खेलमा १६ बलमा ११ रन र चौथो खेलमा ३६ बलमा ३५ रन बनाए । उनी मात्रै होइन, लुम्बिनीका अन्य ब्याटरबाट पनि आक्रामक ब्याटिङ देख्न पाइएको छैन । ४ खेलमा लुम्बिनीले जम्मा १८ छक्का प्रहार गरेको छ । लुम्बिनीविरुद्ध कर्णालीका मार्क वाटले एक्लैले १२ छक्का प्रहार गरेका थिए । निकै आशा गरिएका स्वदेशी ब्याटर सन्दीप जोरा नचल्नु पनि लुम्बिनीको दुर्भाग्य बनिरहेको छ ।

    साझेदारी तोड्न नसक्नु

    कुनै पनि फर्म्याटको क्रिकेटमा साझेदारीले एकदमै महत्त्वपूर्ण भूमिका खेल्छ । साझेदारीबिना ठूलो स्कोर सम्भव हुँदैन । विपक्षीलाई लामो साझेदारी गर्न दिनु भनेको हारतर्फ उन्मुख हुनु हो । दोस्रो खेलमा लुम्बिनीविरुद्ध कर्णालीका मार्क वाट र विलियम बोसिस्टोले १२३ रनको अविजित साझेदारी गरे । चौथो खेलमा सुदूरपश्चिमका विनोद भण्डारी र आरिफ शेखबीच ९९ रनको साझेदारी भयो । जुन लुम्बिनीका लागि घातक बन्यो । यी साझेदारी लुम्बिनीले तोड्न नसक्दा हारको भारी बोक्नुपर्‍यो ।

    डेथ ओभरमा रन खर्चिनु

    लुम्बिनीले अधिकांश खेलमा डेथओभरमा अत्यधिक धेरै रन खर्चिएको छ । पहिलो खेलमा चितवन राइनोजविरुद्ध अन्तिम २८ बलमा ५५ रन खर्चियो । दोस्रो खेलमा कर्णालीविरुद्ध लुम्बिनीविरुद्ध अन्तिम २७ बलमा ७५ रन बगायो । तेस्रो खेलमा काठमाण्डुविरुद्ध १४ बलमा ४० रन । चौथो खेलमा सुदूरपश्चिमविरुद्ध १४ बलमा २८ रन खर्चियो । जुन लुम्बिनीलाई हारको कारण बन्यो ।

  • एनपीएल-२ : बसिरको उत्कृष्ट ब्याटिङमा कर्णालीमाथि विराटनगरको रोमाञ्जक जित

    एनपीएल-२ : बसिरको उत्कृष्ट ब्याटिङमा कर्णालीमाथि विराटनगरको रोमाञ्जक जित

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा कर्णाली याक्समाथि विराटनगरले रोमाञ्चक जित निकालेको छ । कर्णालीले दिएको १६१ रनको लक्ष्य विराटनगरले एक बल बाँकी छँदा ७ विकेट गुमाएर पूरा गर्‍यो ।

    विराटनगरका लागि बसिर अहमदले उत्कृष्ट ब्याटिङ गरे । बसिर ४३ बलमा ६२ रन बनाएर अविजित रहे । लोकेश बम ६, जर्ज मुन्से ०, साम हिजलेट १६, शाहिल पटेल १९, मार्चेन्ट डि लिङ २, नारायण जोशी २५ र प्रतिश जिसी ६ रनमा आउट भए । कप्तान सन्दीप लामिछाने ६ रनमा अविजित रहे ।

    बलिङमा कर्णालीका कप्तान सोमपाल कामी र गुल्सन झाले दुई/दुई तथा पवन सरार्फ, नन्दन यादव र विलियम बोसिष्टोले एक/एक विकेट लिए ।

    त्यसअघि टीयू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १६० रन बनायो ।

    कर्णालीका लागि ओपनर प्रियांक पन्चालले सर्वाधिक ६३ रन बनाए । मार्क वाट ६ र गुल्सन झा २० रनमा आउट भए ।

    विलियम वोसिष्टो ४८ र नजिबुल्लाह १२ रनमा अविजित रहे । बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछाने र मार्चेन्ट डि लिङले एक/एक विकेट लिए ।

  • सिंहदरबारमा गृहमन्त्री र दुर्गा प्रसाईँबीच वार्ता

    सिंहदरबारमा गृहमन्त्री र दुर्गा प्रसाईँबीच वार्ता

    काठमाडौं । सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्याल र राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँबीच वार्ता गरेका छन् ।

    विभिन्न माग राख्दै आएका प्रसाईँ पाँच दिन अगाडि प्रहरी हिरासतबाट मुक्त भएका थिए । गत सोमबार मध्यराति प्रसाईंलाई भक्तपुरस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको थियो।

    सार्वजनिक शान्तिमा खलल पुर्याउने अभिव्यक्ति दिएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेका थियो । सर्वोच्चको आदेशपछि उनी रिहा भएका थिए ।

    गृहमन्त्रीसँगको वार्तापछि उनले शनिबार आफ्नो निवासमा पत्रकार सम्मेलन हुने जानकारी पनि दिएका छन् । सम्मेलनमा समसामयिक विषय, गृहमन्त्रीसँग सम्पन्न वार्ताका निष्कर्षहरू र आगामी कदमबारे विस्तृत जानकारी दिने बताएका छन् ।