
बाहिरबाट हेर्दा निर्वाचनप्रति सबैभन्दा उत्साहित कुनै दल छ भने त्यो हो, राष्ट्रिय स्वतन्त्र पार्टी। पुराना दल ‘अलोकप्रिय’ र ‘असान्दर्भिक’ रहेका भनिएको बेला जनमत स्वतः आफ्नो पक्षमा आउने विश्वासका कारण नै होला रास्वपा निर्वाचनप्रति अलि बढी नै उत्साहित भएको। भित्रको हिसाब–किताब तिनले गरेकै होलान् तर रास्वपाका नेताहरू बाहिर भने ‘स्पष्ट बहुमत’को गुण्डी हाँकिरहेका छन्। रास्वपा त्यस्तो पार्टी हो, जो दस्ताबेजमा विद्यमान निर्वाचन प्रणालीबाट कुनै एक दलको बहुमत सम्भव छैन भनेर लेख्छ। अनि, भाषणमा चाहिँ भन्छ– ‘फागुन २१ को चुनावमा हाम्रो स्पष्ट बहुमत !’
केहीअघि मैले रास्वपाको गैर–राजनीतिक चरित्र र निर्णयबारे नेपाल प्रेसमै लेखेको थिएँ। त्यो विश्लेषण पढेपछि कारागारमा रहेका सभापति रवि लामिछानेदेखि वडा समितिमा संगठित हरि भुसालसम्मले ‘आलोचनात्मक चेतसहितका यस्ता खबरदारीले हामीलाई परिपक्व बनाउँछ, धन्यवाद’ भनेका थिए। त्यसपछि झिनो आस पलाएको थियो, रास्वपाले राजनीतिक चरित्रमा हिँड्ने प्रयास गर्छ कि। म बबुरोले लेखेकै भरमा सिंगो पार्टीले चरित्र नै त के बदल्थ्यो, तर पनि उनीहरूले गरेको ‘रेस्पोन्स’को रफ्तार र मात्राले जगाएको झिनो आस नि !
पार्टीको स्थापनाकालदेखि नै घण्टी बोकेर हिँड्ने, संगठन बनाउन आफ्नो गाँस काटेर सहयोग गर्ने कयौँ योग्य र इमानदार कार्यकर्ता आज पचास हजार नभएकै कारण उम्मेदवारी दिनबाट वञ्चित हुने अवस्था ल्याइएको छ। योगदान र क्षमतालाई पैसाको तराजुमा जोख्नु एक प्रकारको ‘राजनीतिक अपराध’ हो।
नयाँ हुनुको उत्साहले हो या फरक देखाउनु पर्ने बाध्यताले, रास्वपालाई जे कुरा पनि अलि पहिले नै लाग्छ । र, लागेअनुसार गर्छ। रुपन्देही–३ को उप–निर्वाचन पहिले नै लाग्दा निर्वाचन आयोगले निर्वाचन तालिका सार्वजनिक गर्नुअघि नै आफ्नै सदस्यको हुर्मत लिएर ‘रियालिटी शो’ बाट उम्मेदवार छान्यो। मुलुकको राजनीति कता जाला भन्ने यकिन नहुँदै ‘लोकप्रिय’ बन्न संसदबाट आफ्ना सदस्यको राजीनामा घोषणा गर्यो । तर, सभामुखलाई राजीनामा पत्र चाहिँ बुझाएन।
जेन–जी आन्दोलनका बेला ‘प्रधानमन्त्री बनाउन’ भन्दै सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट निकाल्यो। र, चर्को आलोचनापछि फर्कायो। गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन नहुँदै केपी ओली र रमेश लेखकको राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाउन सरकारलाई ध्यानाकर्षण गरायो।
नयाँ हुनुको उत्साहले हो या फरक देखाउनु पर्ने बाध्यताले, रास्वपा यस्तै–यस्तै ‘उटपट्याङ’ गरिरहन्छ।
०००
रास्वपाले कात्तिक २१–२२ गते चितवनमा केन्द्रीय समितिको विस्तारित बैठकमा राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक जीवन बाहेक चुनाव केन्द्रित छलफल पनि भयो। बैठकमा उपसभापति डा। स्वर्णिम वाग्लेले ‘चुनावी बाचा पत्रको अवधारणा’ र सहमहामन्त्री विपिनकुमार आचार्यले ‘प्रस्तावित उम्मेदवार छनोट रूपरेखा’ प्रस्तुत गरेका थिए। चासो र चिन्ताले मात्र होइन सम्भावित आकांक्षी पनि रहेकाले होला बैठकका सहभागीले आचार्यको ‘प्रस्तावित उम्मेदवार छनोट रूपरेखा’ उपर चाख पूर्वक छलफल गरेर प्रशस्त सुझाव पनि दिए। समग्र छलफलपछि विस्तारित बैठकले चुनाव केन्द्रित दुई वटा निष्कर्ष निकाल्यो।
पहिलो– घोषित निर्वाचनको परिणाम देश र जनताको सर्वोपरि हित एवं राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा हुने गरी जनमत निर्माणमा लाग्न पार्टीका सम्पूर्ण संरचना, सदस्य एवं शुभेच्छुकलाई आह्वान गर्ने। पार्टीले अगाडि सारेका दृष्टिकोण, एजेन्डा र उम्मेदवारको पक्षमा मतमार्फत जनविश्वास व्यक्त हुने गरी प्रभावकारी योजना निर्माण एवं परिचालनमा केन्द्रित हुन पार्टी संरचना र पङ्क्तिलाई विशेष आग्रह गर्ने।
दोस्रो– प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार छनोटलगायत चुनावी प्रक्रिया पूर्णतः पारदर्शी, निष्पक्ष र जनविश्वासयोग्य हुनेमा प्रतिबद्धता व्यक्त गर्ने। त्यस्तै, चुनाव केन्द्रित संयन्त्र, मापदण्ड र विधि निर्माण गर्दा पार्टी संरचना र पङ्क्तिको अपनत्व हुने वातावरण बनाउन केन्द्रीय समितिलाई विशेष ध्यानाकर्षण गराउने।
विस्तारित बैठकले ‘चुनाव केन्द्रित संयन्त्र, मापदण्ड र विधि निर्माण गर्दा पार्टी संरचना र पङ्क्तिको अपनत्व हुने वातावरण बनाउन केन्द्रीय समितिलाई विशेष ध्यानाकर्षण गराउने’ निष्कर्ष त निकाल्यो। तर, केन्द्रीय समितिले त्यो निष्कर्ष प्रतिकूल काम तत्क्षण गर्यो, तमाम सुझावलाई बेवास्ता गर्दै समानुपातिकतर्फ उम्मेदवारी आह्वान गरेर। आफ्ना सुझावअनुसार ‘प्रस्तावित उम्मेदवार छनोट रूपरेखा’ संशोधन हुनेमा ढुक्क रहेका प्रतिनिधि तब छक्क परे, जब उनीहरुले विस्तारित बैठकको हल नछोड्दै उम्मेदवारी आह्वान गरियो।
कार्यकर्ताकै भावना नसमेटी उम्मेदवारी आह्वानको हतार के का लागि थियो ? रास्वपा भन्छ एउटा गर्छ अर्को भन्ने यहाँ पनि प्रमाणित भयो।
०००
रास्वपाले दाबी गर्दै आएको छ नि, ‘फागुन २१ को चुनावमा हाम्रो स्पष्ट बहुमत !’ अहिलेलाई शुभेच्छा नै छ।
‘प्रस्तावित उम्मेदवार छनोट रूपरेखा’मा कार्यकर्ताको सुझावसमेत नसमेटी आफूले जे ल्याएको छ त्यही लादेर उम्मेदवारी आह्वान गर्ने प्रवृत्तिले धेरैलाई बिच्क्याएको छ। ‘कार्यकर्ताको भावनासमेत नसमेट्ने पार्टीले जनताको भोट कसरी समेट्ला ?’ सिन्धुलीबाट विस्तारित बैठकमा प्रतिनिधित्व गर्ने एक कार्यकर्ताले प्रश्न गरे।
अझ, आश्चर्य कुरा त– रास्वपाको ‘प्रस्तावित उम्मेदवार छनोट रूपरेखा’ अनुसार उम्मेदवार छनोटमा पार्टीका संरचनाहरूको संलग्नता हुने छैन। पार्टीले गरेको आह्वानअनुसार ‘व्यक्ति’हरूले आन्तरिक प्रतिस्पर्धा गर्नेछन् । र, तीमध्ये अब्बललाई उम्मेदवार बनाइने छ।
चुनावी मोर्चाको स्थानीय नेतृत्व गर्ने वडा, पालिका, निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश समितिहरू उम्मेदवार सिफारिस र छनोट प्रक्रियामा कतै संलग्न हुँदैनन् । विधि–प्रक्रियाको निर्धारणसहित उम्मेदवार छनोट (सिफारिसको पनि होइन, हुन्थ्यो त सिफारिस समिति भनिन्थ्यो होला) को सर्वाधिकार केन्द्रमा विपीनकुमार आचार्यको संयोजकत्वमा रहेको ‘उम्मेदवार छनोट समिति’ लाई दिइएको छ।
हिजो पुराना राजनीतिक दलहरूले समानुपातिक सांसदको पद बिक्री गरे, पैसावालालाई मात्र काखी च्यापे भनेर रास्वपाले नै सबैभन्दा ठूलो स्वरमा विरोध गरेको थियो। पुराना दलले टेबुलमुनिबाट पैसा लिए होलान्, तर रास्वपाले त विधि र पद्धतिको लेप लगाएर हाकाहाकी फारम नै बेच्न सुरु गर्यो ।
उम्मेदवार छनोटमा स्थानीय समिति र नेतृत्वको सहभागिता र अपनत्वलाई पूरै बेवास्ता गरिएको छ, मानौँ ती चाहिँ मतदाता हुन्। आन्तरिक प्रतिस्पर्धाका लागि पार्टीले उम्मेदवारी आह्वान गरेपछि दरखास्त दिन पार्टीका कुनै पनि संरचनाको सिफारिस समेत नचाइने व्यवस्थाले पार्टीलाई होइन व्यक्तिलाई केन्द्रमा राखेको छ। पार्टी संरचना र उम्मेदवार हुन चाहने व्यक्ति कतै नजोडिँदा पनि केन्द्रको ‘उम्मेदवार छनोट समिति’ले उम्मेदवार त छान्ला। तर, त्यसरी छानिएर जाने उम्मेदवारलाई पार्टीका स्थानीय संरचना र नेतृत्वले बेवास्ता गरिदियो भने के हुन्छ ?
चुनावी योजना बनाउनु पर्ने स्थानीय समिति र नेतृत्वले, खट्नुपर्ने स्थानीय कार्यकर्ता। तर, उम्मेदवारी छनोटमा तिनी चाहिँ रमिते ! आफूले सिफारिस समेत नगरेकालाई प्राइमरी कलेक्सनका नाममा भोट दिएर स्वयम ‘अपनत्व’ ग्रहण गर्नुपर्ने यो कस्तो विधि हो ?
विधि-पद्धतिको कुरा गर्ने तर उम्मेदवार छनोटमै पार्टीका स्थानीय संरचना, नेतृत्व र कार्यकर्तालाई बेवास्ता गरेर व्यक्तिलाई केन्द्रमा राख्ने यो अभ्यासले पार्टीलाई बलियो बनाउँछ कि व्यक्तिलाई ‘जान्नेलाई छान्ने’ले थप प्रस्ट पार्न आवश्यक छ।
चुनावी परिणाम चाहिँ स्पष्ट बहुमतको ल्याउँछु भनेर गुण्डी हाँक्ने अनि, उम्मेदवार चाहिँ स्थानीय आवश्यकताभन्दा ‘रियालिटी-शो’ को आधार एवं कार्यकर्ताको भावना विपरीत र संलग्नता बिना छान्ने यस्ता केन्द्रीकृत सोचलाई फरक शैली भनेर मानिदिनुपर्ने ?
यस्तै सोचले हो पार्टी कमजोर हुने व्यक्ति बलियो हुने !
०००
रास्वपाले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवार बन्न चाहनेहरूका लागि आन्तरिक प्रतिस्पर्धा खुल्ला ग¥यो, कात्तिक २२ गते नै। लोकतान्त्रिक विधि र प्रक्रियाबाट उम्मेदवार छान्ने अभ्यास सुन्दा कर्णप्रिय लागे पनि, यसका लागि तोकिएको पचास हजार रूपैयाँ (फिर्ता नहुने) आवेदन शुल्कले रास्वपाको नियत र राजनीतिक नैतिकतामाथि गम्भीर प्रश्न चिन्ह खडा गरेको छ। यसबारे केही बुँदामा चर्चा गरौँ ।
पहिलो- पार्टी निर्माणका लागि अहोरात्र खटिने, संगठन विस्तारमा पसिना बगाउने र ‘जान्नेलाई छान्ने’नारा बोकेर गाउँ–गाउँ पुग्ने आफ्नै सदस्यहरूसँग फारम भर्नकै लागि पचास हजार असुल्नु कति न्यायोचित हो ? सांसद बन्नु त धेरै परको कुरा, केवल ‘म पनि योग्य छु’ भनेर दाबी गर्नकै लागि पचास हजारको तगारो तेर्स्याउनु आफ्नै इमानदार कार्यकर्तामाथिको ‘लुट’ हो। यसले रास्वपाले आफ्ना सदस्यहरूलाई ‘राजनीतिक पुँजी’को सट्टा ‘आर्थिक स्रोत’को रूपमा मात्र हेरेको सन्देश दिएको छ। फारम भरेको मात्रै पचास हजार असुल्ने पार्टीले भोलि सांसदको टिकट पक्का गर्न वा मन्त्री बनाउन कति ‘लेबी’ तोक्ला ?
दोस्रो- नेपालको संविधानले समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था किन गर्यो ? यसको मुख्य उद्देश्य राज्यको मूलधारबाट उपेक्षामा परेका, आर्थिक रूपमा विपन्न, दलित, महिला र सीमान्तकृत समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नु हो। तर, आन्तरिक उम्मेदवारी दर्तामै पचास हजारको तगारो राखेर रास्वपाले यो प्रणालीको मर्ममाथि नै प्रहार गरेको छ।
दैनिक गुजारा चलाउन धौ-धौ पर्ने तर राजनीतिक चेतना र क्षमता भएका भुइँमान्छेहरूले अब रास्वपाबाट उम्मेदवार बन्ने सपना देख्न पनि नसक्ने भए। के रास्वपाले पचास हजार तिर्न सक्नेलाई मात्र ‘सक्षम’ र नसक्नेलाई ‘अक्षम’ को कित्तामा राख्न खोजेको हो ? यो निर्णयले समानुपातिक सिटलाई पनि ‘हुनेखाने’ वर्गको पेवा बनाउने दुस्साहस गरेको छ।
नयाँ हुनुको उत्साहले हो या फरक देखाउनु पर्ने बाध्यताले, रास्वपालाई जे कुरा पनि अलि पहिले नै लाग्छ । र, लागेअनुसार गर्छ।
तेस्रो- हिजो पुराना राजनीतिक दलहरूले समानुपातिक सांसदको पद बिक्री गरे, पैसावालालाई मात्र काखी च्यापे भनेर रास्वपाले नै सबैभन्दा ठूलो स्वरमा विरोध गरेको थियो। पुराना दलले टेबुलमुनिबाट पैसा लिए होलान्, तर रास्वपाले त विधि र पद्धतिको लेप लगाएर हाकाहाकी फारम नै बेच्न सुरु गर्यो । शैली फरक होला, तर नियत उस्तै देखियो- राजनीतिमा पैसाको हालीमुहाली। पुराना दलको विकृति सच्याउन आएको दाबी गर्ने नयाँ शक्तिले आफ्नै सदस्यलाई चर्को मूल्यमा फारम बेचेर कुन नयाँपनको अभ्यास गर्दैछ ?
चौथो- पार्टीको स्थापनाकालदेखि नै घण्टी बोकेर हिँड्ने, संगठन बनाउन आफ्नो गाँस काटेर सहयोग गर्ने कयौँ योग्य र इमानदार कार्यकर्ता आज पचास हजार नभएकै कारण उम्मेदवारी दिनबाट वञ्चित हुने अवस्था ल्याइएको छ। योगदान र क्षमतालाई पैसाको तराजुमा जोख्नु एक प्रकारको ‘राजनीतिक अपराध’ हो। पैसा तिर्न सक्ने नवधनाढ्य वा अवसरवादीहरूले फारम भरेर प्रक्रियामा आउने, तर इमानदार कार्यकर्ता पैसाकै अभावमा ‘रिङ आउट’ हुने अवस्थाले पार्टीभित्र चरम निराशा निम्त्याउनेछ। यसले राजनीतिलाई सेवा होइन, लगानी र मुनाफाको व्यापार बनाउन प्रेरित गर्छ नै।
पाँचौँ- रास्वपाको यो कदमले ‘भन्छ एउटा, गर्छ अर्को’ भन्ने भाष्यलाई पुष्टि गरेको छ। सुशासन, पारदर्शिता र मेरिटोक्रेसी (योग्यतातन्त्र) को कुरा गर्ने दलले योग्यताको पहिलो मापदण्ड नै ‘पैसा’ बनाउनु लज्जास्पद छ। विधि र पद्धतिको हवाला दिएर गरिब तर योग्य नागरिकलाई प्रतिस्पर्धाबाटै बाहिर राख्ने प्रपञ्चले रास्वपाको ‘फरक दल हुँ बन्ने दाबीलाई गिज्याइरहेको छ।
रास्वपाजन देखेको कुरा लेखेको हो, बाँकी आफैँ बुझ्नु है !