Tag: टप न्यूज

  • एनपिएलमा आज दुई खेलः चितवन राइनोज र काठमान्डू गोर्खाज तथा कर्णाली याक्स र विराटनगर किङ्ग्स प्रतिस्पर्धा गर्दै

    एनपिएलमा आज दुई खेलः चितवन राइनोज र काठमान्डू गोर्खाज तथा कर्णाली याक्स र विराटनगर किङ्ग्स प्रतिस्पर्धा गर्दै

    काठमाडौँ । काठमाडौँमा जारी दोस्रो सिरिजको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछ । पहिलो खेल चितवन राइनोज र काठमान्डू गोर्खाजबीच बिहान ११ः४५ बजे हुने छ ।

    यस्तै, दोस्रो खेल कर्णाली याक्स र विराटनगर किङ्ग्सबीच अपराह्न ४ बजे हुनेछ । काठमाडौँको त्रिवि क्रिकेट मैदानमा खेल भइरहेको छ ।

    बिहीबार भएको खेलमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा पराजित भएको छ । जनकपुर बोल्ट्स बिहीबारको खेलमा पोखरा एभेन्जर्ससँग २५ रनले पराजित भएको हो ।

    यसअघि जनकपुर काठमान्डू गोर्खाजसँग पाँच विकेट तथा विराटनगर किङ्ग्ससँग नौ विकेटले पराजित भएको थियो ।

    बिहीबार नै भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई सात विकेटले पराजित गरेको थियो ।

  • २० करोड बराबरको क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा पक्राउ

    २० करोड बराबरको क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा पक्राउ

    काठमाडौँ । प्रहरीले अवैध रूपमा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा काठमाडौँ महानगरपालिका–१५ डल्लु बस्ने मोहम्मद सेफलाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी पवनकुमार भट्टराईका अनुसार अभौतिक मुद्रा किप्टो करेन्सीको कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा बारा कलैया नगरपालिका घर भई काठमाडौँको डल्लु बस्दै आएका सेफलाई पक्राउ गरिएको हो ।

    कारोबार गर्न प्रयोग भएको विभिन्न कम्पनीको मोबाइल दुई थानसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सेफलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा १९ करोड ८१ लाख ४९ हजार ५ सय ८१ रुपैयाँ भन्दा बढी बराबरको अभौतिक कारोबार भएको पाइएको प्रहरीको भनाइ छ ।

    प्रहरीले अभौतिक मुद्राको प्रयोग गर्न नहुनेसम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको समेत म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • जेन-जी आन्दोलनका घाइते प्रहरीले जिल्ला प्रशासनबाट उपचार खर्च पाउने 

    जेन-जी आन्दोलनका घाइते प्रहरीले जिल्ला प्रशासनबाट उपचार खर्च पाउने 

    काठमाडौं । भदौ २३-२४ को जेन-जी प्रदर्शनका क्रममा प्रदर्शनकारीका तर्फबाट घाइते भएका नेपाल प्रहरीका कर्मचारीले कार्यरत रहेको सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट भैपरी खर्च पाउने भएका छन् ।

    प्रहरी प्रधान कार्यालयले आन्तरिक परिपत्रबाट उक्त व्यवस्थाबारे जानकारी गराएको हो । प्रधान कार्यालय, प्रशासन शाखाद्वारा मंसिर ७ को मिति र चलानी नम्बर ९४५ को पत्रद्वारा उक्त जानकारी गराइएको हो ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले असोज २६ गते नै प्रहरीसँग घाइते कर्मचारीको विवरण माग गरेको थियो ।

    प्रहरी प्रधान कार्यालयद्वारा प्रेषित विवरण अनुसारका कर्मचारीलाई जिल्ला प्रशासन कार्यालय मार्फत भैपरी खर्चवापतको रकम उपलब्ध गराईने भएको व्यहोरा आन्तरिक परिपत्र मार्फत जानकारी गराएको छ ।

  • ब्ल्याकमेलिङ र असुली गरेको आरोपमा चारजना दुर्गा प्रसाईंको पार्टीबाट निष्कासित

    ब्ल्याकमेलिङ र असुली गरेको आरोपमा चारजना दुर्गा प्रसाईंको पार्टीबाट निष्कासित

    विराटनगर । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानमा लागेर चन्दा असुली गर्ने चार जना कारबाहीमा परेका छन् ।

    महाअभियानमा लागेर चन्दा असुली गरेको भन्दै प्रसाईं नेतृत्वको अभियानले कारबाही गरेको हो । कारबाहीमा पर्नेहरूमा नागरिक बचाउ महाअभियान नेपालका सचिवालय सदस्य, युवा तथा खेलकुद विभाग संयोजक विष्णुजङ्ग बस्नेत, केन्द्रीय सदस्य तथा पीडीएफ सह–संयोजक गोपाल बोहोरा रहेका छन् ।

    उनीहरूलाई सबै जिम्मेवारीहरूबाट हटाई निष्काशन गरिएको छ । विज्ञप्ति जारी गर्दै सचिवालय सदस्य ओमप्रकाश लुइँटेल र केन्द्रीय सदस्य तथा मेची अञ्चल सहसंयोजक प्रकाश उप्रेतीलाई पनि सबै जिम्मेवारीहरूबाट हटाई निलम्बन गरिएको प्रसाईं नेतृत्वको महाअभियानले जनाएको छ ।

    कारबाहीमा परेकाहरूले पीडितहरूबाट आर्थिक असुल गर्ने धन्दा चलाउने कार्य गरेको, सङ्गठनमा गुट बनाई अराजकता फैलाएको, पीडित नागरिकहरूको कागजपत्र जफत गरी, ब्ल्याकमेलिङ गरेको महाअभियानले जनाएको छ ।

    यस्तै सङ्‍गठनमा लागेर आर्थिक मोलमोलाइ गरेको सङ्गठनको चेनअफ कमान्ड पटक पटक अनुशासनको उल्लङ्घन गरेकाले कारबाही गरेको जनाइएको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘कारबाही गरिएकाहरूसँग महाअभियानका अभियान्ताहरुले कुनै पनि प्रकारको सङ्गत र गतिविधि नगर्न हुन सचेत गराउँदछौं । यदि पीडितहरू कारबाही गरेकाहरूसँग फसे महाअभियान अथवा हाम्रो सङ्गठन जिम्मेवार नहुने समेत सचेत गराउँदछौ ।’

    सङ्गठन विभागका सचिव प्रेमदीप लिम्बू र विभागका प्रमुख प्रेम थापा मगरले संयुक्त हस्ताक्षर गरी विज्ञप्ति जारी गरेका हुन् ।

  • प्रधानमन्त्रीसँग एमाले नेताहरुले भने- ओलीलाई स्थान हद लगाएर चुनाव हुन सक्दैन

    प्रधानमन्त्रीसँग एमाले नेताहरुले भने- ओलीलाई स्थान हद लगाएर चुनाव हुन सक्दैन

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार नेकपा एमालेका नेताहरूलाई बालुवाटार बोलाएर निर्वाचनका विषयमा साथ दिन आग्रह गरिन् । छलफलमा एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, नेता महेश बर्तौला सहभागी थिए भने सरकार पक्षबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल सहभागी थिए ।

    प्रधानमन्त्री कार्कीले चुनावको वातावरण बनाउनको लागि दलका नेताहरूसँग संवादका क्रममा एमालेसँग सम्बन्ध सुधार्न थालेको प्रयासका रूपमा एमाले नेताहरूले लिएका छन् तर यो बसाइँमा एमाले नेताहरूले राखेका केही गम्भीर विषयमा सरकार अनुत्तरित भएको नेताहरूले जनाएका छन्।

    एमालेले संसद पुनर्स्थापनाको मागसहित अदालतदेखि सडक संघर्षमा पनि उत्रिरहेको बेला गरिएको यो छलफलले कुनै निचोड निकालेको छैन तर सम्बन्ध सुधारको प्रयास गरेको छ ।

    नेता महेश बर्तौला भने,‘एमालेको अध्यक्ष केपी ओलीको स्थान हदका विषय किन आए भन्ने प्रश्न उठायौँ, मिडिया ट्रायल गरिएको छ । स्थान हद तोकिनु नै निर्वाचनको वातावरण बनेको छैन भन्ने प्रष्ट छ भनेर जनायौँ । तर यसमा उहाँको कुनै जवाफ आएन । यति ठूलो जनमत भएको पार्टी अध्यक्षलाई स्थान हद गरेर निर्वाचन हुन सक्दैन ।’

    उनले अहिलेको सरकार गठनको विषय कानुनी प्रश्न भएकाले अदालती प्रक्रियाबाट टुंगो लगाइनुपर्ने र अदालतको आदेश मान्न आफूहरु तयार रहेको बताए

    ‘सम्माननीय प्रधानमन्त्रीले एमालेलाई छलफलको लागि बोलाउनुभयो, निर्वाचनको विषयमा कुरा राख्नुभयो, एमालेले सहयोग गर्नुपर्ने कुरा राख्नुभयो’, उनले भने, ‘हामीले पहिले अहिलेको सरकार गठनकै सम्बन्धमा संवैधानिक परीक्षण टुंगो लगाउनुपर्छ र त्यसपछि निर्वाचनको निष्पक्षता र निर्भयताको विश्वासिलो वातावरण भएको छैन, शान्ति सुरक्षा र भयरहितको वातावरण छैन, मतदाताले भयरहित तरिकाले मतदानस्थलमा आउने वातावरण छैन भन्ने विषय उठायौँ ।’

    एमाले नेताहरूले निवर्तमान आइजीपीमाथिको स्थान हदले सुरक्षा निकायलाई गम्भीर बनाएको, भागेका कैदीबन्दी, लुटेका हतियारको विषयमा गम्भीर चासो राखेको जनाए ।

    यसको जवाफमा प्रधानमन्त्री कार्कीले सरकारले यो विषयमा चासो राखेको र दलहरूले निर्वाचनमा सहयोग पुराउनुपर्छ भनेर भनेको नेता बर्तौलाले जनाए । ‘हामीले जनताको बीचमा जान रुचाउने पाटी एमालेलाई निर्वाचनको अपिल गर्नुपर्ने होइन त्यसको वातावरण बनाउनुपर्छ भन्यौ ।’

    सर्वोच्चमा रिट दर्ता अनि निर्वाचनमा दल दर्ता पनि भयो किन भन्ने प्रश्नमा उनले भने, ‘जनादेशबाहिरबाट सरकार बन्ने विषय गलत हो, लोकतन्त्रमा यस्ता कुरा सच्चाउनुपर्छ संवैधानिक परीक्षणमा गएका हौं दल दर्ताको विषयमा हामी क्लियर छौँ एमाले जनताको बीचबाट अनुमोदन हुन चाहन्छौ, कानुन र संविधान मान्छौँ, कानुनी हिसाबले अद्यावधिक हुने हाम्रो दायित्व हो, एमाले निर्वाचनबाट भाग्दैन कसैलाई भ्रम नहोस् ।’

    उनले सबैतिरबाट घेराबन्दी गरेर एमालेलाई एक्ला बनाउने प्रयास भएपनि लोकतन्त्रमा एक्लै भए पनि उभिने दृढता  भएको बताए । उनले निर्वाचनको वातावरण बनाउन साथ तयार रहेको आफूहरुले प्रधानमन्त्रीलाई भनेको पनि बताए ।

  • एनपीएल-२ : पोखराको पहिलो जित, साविक विजेता जनकपुरले हार्‍यो लगातार तेस्रो खेल

    एनपीएल-२ : पोखराको पहिलो जित, साविक विजेता जनकपुरले हार्‍यो लगातार तेस्रो खेल

    काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा पहिलो जित निकालेको छ । सुरुआति दुई खेलमा पराजित भएको पोखराले बिहीबार भएको खेलमा जनकपुर बोल्ट्सलाई २५ रनले पराजित गर्‍यो ।

    पोखराले दिएको १५६ रनको लक्ष्य पछ्याएको जनकपुर २० ओभरमा ९ विकेट गुमाएर मात्र १३० रन बनाउन सक्यो । जनकपुरमाथि जित निकाल्न बलिङमा पोखराका स्पिनरले उत्कृष्ट प्रदर्शन गरे । स्पिनर विपिन खत्रीले सर्वाधिक ४ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले १५ रन खर्चेर ४ विकेट लिए ।

    सुमित वर्माले २, कप्तान कुशल भुर्तेल र जिम्मी निशमले एक/एक विकेट लिए । ब्याटिङमा जनकपुरका लागि वायन पार्नेलले अर्धशतक बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । उनले ३८ बलमा ५० रन बनाएर रिटायर्ड आउट भए । माज सदाकतले २० र सञ्जय कृष्णमूर्तिले २५ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    त्यसअघि टीयू क्रिकेट मैदानमा पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । पोखराका लागि समिर वर्माले अविजित अर्धशतकीय इनिङ खेले । उनले २९ बलमा २ चौका र ४ छक्का प्रहार गरे । ओपनर दीनेश खरेल ३८, एडम रोसिङटोन २४, कप्तान कुशल भुर्तेल ०, जिम्मी निशम १, तिर्थराज दास २९ र डान डौथवेट ७ रनमा आउट भए । किरणकुमार ठगुन्ना १ रनमा अविजित रहे ।

    बलिङमा जनकपुरका सञ्जय कृष्णमूर्तिले सर्वाधिक ३ विकेट लिए । ललित राजवंशी र अनिलकुमार शाहले एक/एक विकेट लिए । साविक विजेता जनकपुरले भने लगातार तेस्रो हार बेहोरेको छ ।

  • प्रम कार्कीको सचिवालयले बर्खास्त गरेको विज्ञ समूहले भन्यो- प्रधानमन्त्री स्वार्थ समूहको चङ्गुलमा पर्नुभयो

    प्रम कार्कीको सचिवालयले बर्खास्त गरेको विज्ञ समूहले भन्यो- प्रधानमन्त्री स्वार्थ समूहको चङ्गुलमा पर्नुभयो

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा कार्यरत विज्ञ समूहका सदस्यले प्रधानमन्त्री सुशीला कार्की स्वार्थ समूहको चङ्‍गुलमा परेको बताएका छन् ।

    संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नियुक्ति खारेज गरिएका युवा तथा सामाजिक विज्ञ प्रदीप ज्ञवाली, सूचना तथा प्रविधि विज्ञ अरुण कटुवाल र शाखा अधिकृत आकृति घिमिरेले देश गम्भीर संकटमा रहेका बेला विभिन्न स्वार्थ समूहले चलखेल गरिरहेको बताएका छन् ।

    प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले नै घेराबन्दीमा पारी प्रतिशोध साँधेर तीनै जनाको नियुक्ति खारेज गरिएको उनीहरुको आरोप छ ।

    विज्ञप्तिमा उनीहरुले भनेका छन्- ‘हामी सचिवालयमा हुनु र नहुनुले अरेथ नराख्ला त यस्तो विषम परिस्थितमा सरकारको वरिपरि को र कस्ता मानिसहरु कुन स्वार्थबाट प्रेरित भएर रहेका छन् भन्ने कुराबारे भने प्रधानमन्त्रीज्यूले ध्यान दिनै पर्छ ।’

    विज्ञप्तिमा, सचिवालय विस्तारका क्रममा स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले नातावादलाई प्रश्रय दिँदै आफ्नै श्रीमती र अन्य आफन्तलाई नियुक्ति गरेको विषयमा आफूहरुले राजीनामा मागेको विषयमा अडिग रहेको उल्लेख गरेका छन् । प्रधानमन्त्री कार्कीले नै श्रेष्ठलाई बर्खास्त गर्नुपर्ने उनीहरुको माग छ ।

    जेन-जी आन्दोलनले दिएको म्याण्डेडबाट पछि हट्ने छुट नागरिक सरकारलाई नभएको उनीहरुले उल्लेख गरेका छन् । प्रधानमन्त्री कार्कीलाई सचेत गराउँदै विज्ञप्तिमा भनिएको छ- हिजो हामीले सडकमा लडेका मुद्दा, स्वेच्छाचारिताको विरुद्ध थियो । नातावादको विरुद्ध थियो । सबैले हेक्का राख्नै पर्ने कुरा, हिजोको सरकार यिनै दम्भको कारण ढल्नु परेको थियो ।

     

     

     

  • प्रसाईँले देखाएको भिडिओमा आफ्नो आवाज भएको गृहमन्त्रीद्वारा स्वीकार, अन्यथा नबोलेको दाबी

    प्रसाईँले देखाएको भिडिओमा आफ्नो आवाज भएको गृहमन्त्रीद्वारा स्वीकार, अन्यथा नबोलेको दाबी

    काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले राजावादी अभियन्ता दुर्गा प्रसाईँले सार्वजनिक गरेको भिडिओ फुटेजमा सुनिएको आवाज आफ्नै भएको स्वीकार गरेका छन् । बिहीबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा समितिका सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै उनले उक्त स्वीकारोक्ति गरेका हुन् ।

    बैठकमा सांसदले उक्त भिडिओको बारेमा गृहमन्त्रीसँग जिज्ञासा राखेका थिए । जवाफमा अर्यालले भने, ‘त्यो भिडिओमा बोलेको एउटा मान्छे म पनि हो । तर मैले त्यस्तो अन्यथा बोलेको छैन । आगजनी भएको पनि ठिक र मान्छेको हताहती भएको पनि ठिक भनेर मैले भनेको छैन । मैले त्यसो हुनु हुँदैन भन्ने कुरा बोलेको छु । त्यसैका लागि म त्यहाँ उपस्थिति थिएँ ।’

    उनले थपे, ‘तपाईँले यसो बोलिदिनुभयो भने कम होला कि, यो आगजनी रोकिएला कि भनेर अरूलाई पनि अनुरोध गरिएको थियो । त्यसलाई न्यूनीकरण गर्नको लागि धेरैलाई अनुरोध पनि गरियो । म अहिंसावादी हो । मैले अहिंसाकै पहल गरेको छु र गरिरहने छु । म त्यसमै प्रतिबद्ध छु । कोही पनि उपलब्ध नभएपछि म आफैँले आह्वान गरेको हुँ ।’

    के थियो भिडिओमा ?

    राजावादी अभियन्ता प्रसाईँले मंसिर १ गते आफ्नै निवासमा एउटा भिडिओ सामग्री सार्वजनिक गरेका थिए । सो भिडिओको ब्याक ग्राउन्डमा प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री अर्यालको आवाज सुनिएको छ ।

    भिडिओमा आकाशमा हेलिकप्टर उडिरहेको र घर जलेर निस्किएको धुवाँको मुस्लैमुस्लो देखिन्छ । त्यही बेला अर्याल भन्छन्- यी घरमा मान्छे नि परे होलान् कोही न कोही ? क्याजल्टी (हताहती) पनि छ होला ?

    अर्को आवाज सुनिन्छ- उ हेलिकप्टर भागेछ ।

    तेस्रो आवाज- उ अर्को अर्को…  हान्नु न ढुङ्गाले ! भाग्यो !! भाग्यो !!!

    चौथो आवाज- यिनीहरूलाई बचाउन के जरुरी थियो र ?

    फेरि अर्याल- हैन ठिक छ, मान्छे त बचुन् ।

    त्यसपछि अहिलेकी प्रधानमन्त्री सुशीला कार्की सुन्निन्छिन्- के बचाउनु ? के (बचाउने) सेना हो ? सेनाको हो ?

    अर्याल भन्छन्- हो, सेनाले भगाइदियो !

    एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि यो भिडिओका विषयमा सरकारले जवाफ दिनुपर्ने बताउँदै आएका छन् ।

  • नेपाल रेडक्रस प्रतिबन्धको संघारमा, प्रधानमन्त्री कार्की बैठकमै बस्न चाहिनन्

    नेपाल रेडक्रस प्रतिबन्धको संघारमा, प्रधानमन्त्री कार्की बैठकमै बस्न चाहिनन्

    काठमाडौं । राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रस प्रतिबन्धको जोखिम बढेको छ । प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले समेत रेडक्रसको मुद्दालाई गम्भीरताका साथ नलिएका कारण प्रतिबन्धको संघारमा पुगेको भन्दै रेडक्रसकर्मीले चिन्ता जनाएका छन् ।

    समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीसहित रेडक्रसको अन्तर्राष्ट्रिय संस्था (IFRC) ले पटकपटक अल्टिमेटम दिइसकेको छ । जेनेभामा नेपालको एजेन्डालाई लिएर आउँदो २ साताभित्र गभर्निङ बोर्डको बैठक बस्दैछ ।

    रेडक्रस प्रतिबन्धमा परे झण्डै ३ अर्ब रूपैँया वैदेशिक सहयोग तत्काल बन्द हुनेछ । ३ हजार बढीको जागिर जानेछ । सँगै द्विपक्षीय र बहुपक्षीय आर्थिक सहयोगमा असर पर्नुको साथै मानवीय संस्थामा चरम राजनीति गरेको भनी नेपालको छवि धुमिल हुने चिन्ता बढाएको छ । विपद् उद्धार तथा प्रतिकार्य क्षमतामा पनि ह्रास आउनेछ ।

    रेडक्रसको समस्या समाधानका लागि पटक पटक आग्रह गरे पनि मुद्दा मामिलाका कारण रेडक्रसको समस्या नभएपछि गत अक्टोबर २० मा आईएफआरसीकी अध्यक्ष केट फोर्व्सले प्रधानमन्त्री सुशीला कार्कीलाई भर्चुअल मिटिङका लागि अनुरोध गरेकी थिइन् । तर, प्रधानमन्त्रीले बेवास्ता गरेको स्रोतको भनाइ छ । नेपाल रेडक्रसको प्रतिबन्धबारेको गर्भनिङ बोर्डको निर्णयबारे बताउन फोर्व्सले समय मागेको थियो । रेडक्रसको विषयमा मुद्दाहरू विचाराधीन रहेकाले उनले यससम्बन्धी छलफलमा रुचि नदेखाएको बताइन्छ ।

    जेनेभाले नेपालको समस्या नेपालबाटै होस् भनेर पटक-पटक अवसर दिएको थियो । तर, प्रतिबन्धमा परेका केही व्यक्तिले मुद्दा मामिला गरेका कारण गम्भीर संकटको अवस्था उत्पन्न छ ।

    जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

    प्रतिबन्धमा परेका प्राध्यापक सुदर्शन प्रसाद नेपाल भूपति श्रेष्ठ, मनोज थापा, विनोद बस्नेत र नारायण तिम्सिना लगायतले जेनेभालाई चुनौती दिन सर्वोच्चमा मुद्दा हालेका छन् । विनोदकुमार शर्मा नेतृत्वको तदर्थ समितिविरुद्ध जेनेभाको प्रतिबन्धमा परेकाहरूले दायर गरेको रिटमा अल्पकालीन आदेशपछि अहिले फेरि रेडक्रस नेतृत्वविहीन छ ।

    बुधबारमात्र काठमाडौंका सीडीओ ईश्वरराज पौडेलले रेडक्रसको समस्या समाधान गर्ने विषयमा छलफल गरेको बताइएको छ । तर, प्रतिबन्धित व्यक्तिहरूलाई राखेर छलफल गरेपछि रेडक्रसकर्मीहरू सशंकित बनेका छन् । प्रशासनमा वार्तामा भूपति, नारायण तिम्सिनालगायतका प्रतिबन्धित व्यक्ति सहभागी थिए ।

    उक्त बैठकमा आईएफआरसीका प्रतिनिधि भने उपस्थित थिएनन् । उनीहरूलाई औपचारिक निम्तो नगरिएको बुझिएको छ । प्रतिबन्धमा परेकाहरूसँग कुनै पनि समन्वय र वार्ता नगर्ने यसअघि नै आईएफआरसीले प्रष्ट पारिसकेको छ ।

    कांग्रेस निकट लगायतका केही रेडक्रसकर्मीले महिना दिनअघि राष्ट्रपति रामचन्द्र पौडेललाई समस्या समाधानको पहलका लागि अनुरोध गरेका थिए । लगत्तै राष्ट्रपतिले गृहमन्त्रीलाई शीतल निवासमा बोलाएर रेडक्रसको समस्या समाधान गर्न आग्रह गरेको थियो । त्यसलगत्तै गृहमन्त्रीलाई समेत सोही टोलीले भेटेको थियो । आफ्नो पालामा रेडक्रस प्रतिबन्ध लागिहाले ‘अबगाल’ आइ लाग्नसक्ने भएकाले गृहमन्त्रीले सीडीओलाई निर्देशन दिएको बताइएको छ ।

    रेडक्रसका निवर्तमान अध्यक्ष डा. विशालकुमार भण्डारीले भ्रष्टाचार र बेथितिमा संलग्नहरूलाई चोख्याउने र रेडक्रसको तालाचाबी सुम्पने काम नहोस् भन्दै ध्यानाकर्षण गराएका छन् ।

    ‘भ्रष्टाचार र रेडक्रसको मूल्य मान्यताविरुद्ध कार्य गर्नेहरूमाथि जेनेभाले प्रतिबन्ध लगाइसकेको छ । जेन-जी आन्दोलनको जगमा बनेको सरकारका गृहमन्त्री उनीहरूको बचाउ गर्लान् भन्ने लागेको छैन । यसमा प्रशासन पनि नलागोस् । यस्तो प्रयत्न भए दुर्भाग्यपूर्ण हुनेछ’, भण्डारीले नेपाल प्रेससँग भने ।

    निवर्तमान महामन्त्री दिपेन्द्रराज ढकाल सरोबारवाला सबैलाई नराखी गरिएको छलफलले निष्कर्ष ननिस्कने बताउँछन् ।

    ‘आधिकारिक समितिलाई पाखा लगाएर तदर्थवाद र राजनीतिक भागबण्डा रेडक्रस संकटको मूल समस्या हो । जरोमा नपुगी यसको निकास निस्किँदैन । अझै पनि कुनै पनि स्वार्थ समूहको चलखेल भइरहेको आभास भैरहेको छ । हामी खबरदारी गर्छौँ’, ढकालले भने ।

    उनले सीडीओको भूमिकालाई लिएर प्रश्नसमेत उठाए ।

    ‘किन पक्षपात ढंगले बैठक राखियो ? सरोकारवाला सबैलाई किन बोलाइएन ? यो गम्भीर विषय छ । आईएफआरसीले सबैलाई राउण्ड टेबलमा राखेर समाधानको उपाय खोज्न ढिला भइसकेको छ । रेडक्रसलाई बचाउन जरुरी छ’, उनले भने ।

    काठमाडौंका सीडीओ ईश्वरराज पौडेल निकास निस्कनेमा आफू आशावादी रहेको बताउँछन् । प्रतिबन्धमा परेकाहरूसँगको वार्ताले समाधान निस्केला त ? भन्ने जिज्ञासामा उनले भने, ‘प्रतिबन्धमा परेकाहरूले नै रेडक्रसलाई समस्या पारिरहेका छन् । मैले उहाँहरूलाई सतर्क गराएको छु ।’

    प्रतिबन्धमा परेकाको चलखेल बढेपछि जेनेभाले भन्यो- नेपाल रेडक्रसलाई स्वार्थी गतिविधिले बन्धक नबनाओस्

    रेडक्रसको यसअघिका सबै मुद्दा-मामिला र छानबिन प्रतिवेदनलाई आफूले अध्ययन गरिरहेको भन्दै उनले छिट्टै समाधान गर्ने बताए । बन्द भएको संस्थाको बैंक खाता पनि खुलाउने उनले आश्वासन दिएका छन् ।

    हिजै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले विधान विपरीत गतिविधि, कार्यसमितिको मनोमानी, आर्थिक अनियमितता गरिएका संघ-संस्थामाथि छानबिन गर्न एक समिति बनाएको छ । सीडीओ पौडेलले यो छानबिन रेडक्रसलाई मात्र लक्षित नभई बेथिति बोकेका सबै संस्थामाथि हुने बताए ।

    तर, रेडक्रसमाथि यसअघि नै प्रशासन, महिला-बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, समाज कल्याण परिषद्ले दर्जनौं पटक समिति बनाएर छानबिन गरिसकेको छ । ती निकायले औंल्याएका विषय कार्यान्वयन नहुँदा प्रतिवेदनको मात्र चाङ लाग्ने र संस्था झन्-झन् क्रोनिक बन्दै गएको छ ।

    रेडक्रस तदर्थ समिति खारेजी मागसहित सर्वोच्चमा मुद्दा, प्रतिबन्ध गराउने षड्यन्त्र भएको भन्दै चिन्ता

  • नेकपा ३ केन्द्रीय सदस्यसहित लुम्बिनीका १० नेताले छाडे प्रचण्ड-माधवको साथ, प्रलोपामा प्रवेश

    नेकपा ३ केन्द्रीय सदस्यसहित लुम्बिनीका १० नेताले छाडे प्रचण्ड-माधवको साथ, प्रलोपामा प्रवेश

    काठमाडौँ । विभिन्न बाम घटकहरुको एकीकरणपछि बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तीन जना केन्द्रीय सदस्यसहित १० जनाले पार्टी परित्याग गरेका छन् ।

    पुष्पकमल दाहाल प्रचण्ड संयोजक र माधव कुमार नेपाल सहसंयोजक रहेको नेकपा छाडेर उनीहरूले जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका हुन् ।

    पार्टी त्याग गर्नेहरुमा केन्द्रीय सदस्यहरु वामदेव क्षेत्री, गोविन्द केसी, किस्मत विक रहेका छन् । यस्तै कार्यालय प्रमुख सचिव यज्ञ पोखरेल लगायत तपशीलका नेताहरुले नेकपा परित्याग गरेका हुन् ।

     

  • ‘म्यान अफ द म्याच’ भएपछि विनोद भण्डारीको गुनासो : राम्रो खेल्दा पनि राष्ट्रिय टिममा परिनँ

    ‘म्यान अफ द म्याच’ भएपछि विनोद भण्डारीको गुनासो : राम्रो खेल्दा पनि राष्ट्रिय टिममा परिनँ

    काठमाडौं । सुदूरपश्चिम रोयल्सका ब्याट्सम्यान विनोद भण्डारीले राष्ट्रिय टिमको छनोट प्रक्रियामा सार्वजनिकरुपमै प्रश्न उठाएका छन् । आफूले एनपीएलमा राम्रो खेल्दा पनि राष्ट्रिय टिममा नपरेको उनको गुनासो छ ।

    भण्डारीले आज लुम्बिनी लायन्सविरुद्धको म्याचमा उत्कृष्ट अर्धसतक प्रहार गर्दै म्यान अफ द म्याच बनेका थिए । उनले ४९ बलमा ६९ रन बनाउँदै अविजित रहे । भण्डारीको इनिङमा ४ छक्का र ५ चौका समावेश थिए ।

    पोस्ट म्याच प्रेस मिटमा उपस्थित भएका उनलाई राष्ट्रिय टिममा फेरि ‘कमब्याक’को सम्भावनाबारे सोधिएको थियो । भण्डारीले अघिल्लो सिजनमा पनि आफूले राम्रो प्रदर्शन गरेको तर राष्ट्रिय टिमको ‘क्याम्प’मा समेत नपरेको गुनासो गरे । एनपीएल ‘सेलेक्सन गेम’ हो कि होइन भन्ने प्रश्न भण्डारीको छ ।

    उनले प्रधानमन्त्री कपमा सर्वाधिक रन जोड्ने ५ खेलाडीलाई राष्ट्रिय टिममा समावेश नगरिएको विषयमा पनि प्रश्न उठाएका छन् ।

    भण्डारीको भनाइ यस्तो थियो :

    एनपीएल ‘सेलेक्सन म्याच’ हो भनेर कसले भन्छ ? त्यो कुरा क्लियर गर्नुपर्‍यो । योभन्दा अगाडिको सिजनमा पनि राम्रो प्रदर्शन गरेको थिएँ, तर क्याम्पमा नै परिनँ । त्यसैले मलाई कुनै फरकै पर्दैन । मलाई कुनै फरकै पर्दैन कि यो ‘सेलेक्सन म्याच’ हो कि के हो भन्ने । पीएम कपमा पनि त्यस्तै भइरहेको छ, एनपीएलमा पनि त्यस्तै भइरहेको छ । त्यसैले केही सोच्नुपर्छ जस्तो लाग्दैन । ‘सेलेक्सन गेम’ हो भने ‘पर्फमेन्स’ गरेको मान्छे किन ‘सेलेक्सन’ हुँदैन ? पिएम कपमा पनि सबैभन्दा धेरै रन बनाउने टप ५ ब्याट्सम्यानहरु नै स्क्वाडमा थिएनन् । भनेपछि पिएम कपलाई कसरी ‘सेलेक्सन म्याच’ भन्नुहुन्छ ? यहाँ पफर्म गर्दैमा टिममा पर्छ भन्ने केही ग्यारेन्टी छैन । अब छनोटमा पर्छु वा पर्दिनँ भन्ने मेरो हातको कुरा होइन । मेरो काम खेल्ने हो । कसैले ‘सेलेक्सन’ गर्छ भने खेल्ने हो । तर सेलेक्सनमा नपर्दैमा खेल्न छोड्दिनँ । एनपीएल खेल्न छोड्दिनँ ।

    एनपीएलमा विदेशी खेलाडीहरुसँग खेल्दा सहज महसुस हुने अनुभव उनले सुनाए । विदेशी ब्याट्सम्यानहरुले सजिलै रन बनाउँदा आफूलाई प्रेसर कम हुने उनको भनाइ छ ।

    भण्डारीले भने, ‘उनीहरुसँग खेल्दा हिटिङ गर्ने प्रेसर हुँदैन । उनीहरुले चार्ज गर्छन् । त्यसैले लामो समयसम्म बस्न सकिन्छ जस्तो हुन्छ । नेपाली प्लेयरहरु छ भने चाहिँ कसले चान्स लिने भनेर क्याल्कुलेट गर्नुपर्छ । उनीहरु छन् भने इजिली रन बनाइरहेका हुन्छन् ।’

    भण्डारी कुनै समय नेपाली राष्ट्रिय टिमको नियमित सदस्य थिए । उनले नेपाली टिमबाट १७ एकदिवसीय र ४० टी २० अन्तर्राष्ट्रिय खेलेका छन् । एकदिवसीयमा १ अर्धसतक र टी २० मा २ अर्धसतक उनको नाममा छ । लगातार कमजोर प्रदर्शनका कारण उनले राष्ट्रिय टिमबाट स्थान गुमाएका थिए । पछिल्लो समय उनले नेपालको ए टिमलाई नेतृत्व समेत गरेका थिए ।

  • आफूनिकटका ‘७ भाइ’ सँग देउवाले के भने ?

    आफूनिकटका ‘७ भाइ’ सँग देउवाले के भने ?

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकटका नेताहरूसँग सहमतिमा अघि बढ्न सुझाव दिएका छन्।

    महाधिवेशन चुनावअघि कि पछि गर्ने भन्ने विषयमा पार्टीभित्र विवाद चर्किएपछि आज देउवाले आफूनिकटका ७ भाइ नेताहरूलाई छलफलमा बोलाएका थिए।

    देउवासँगको छलफलमा विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्ण सिटौला विजय गच्छदार, डा शशांक कोइराला र डा. प्रकाशरण महतलगायत सहभागी थिए।

    देउवालाई भेटेर फर्किएका प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचनअघि महाधिवेशन गरे पार्टीलाई क्षति हुने कुरा आफूहरूलाई जानकारी गराएको बताए।

    उनले भने, ‘हामीले उहाँलाई चुनावअघि महाधिवेशन गर्दा पार्टीलाई क्षति पुग्छ भन्ने कुरा राख्यौँ। उहाँले आफूलाई पनि त्यो कुरा थाहा भएको भन्दै सहमतिमै मिलेर अघि बढ्न भन्नुभयो।’

    कांग्रेसमा महाधिवेशनको विवाद चर्किँदा केन्द्रीय समिति बैठक बस्न सकेको छैन। महाधिवेशनको एजेन्डामा कांग्रेस संस्थापन पक्ष पनि विभाजित छ। महाधिवेशन पूर्वपदाधिकारी रहेका यी ७ नेताहरूमाथि महाधिवेशन रोकेको आरोप छ।

    कार्यवाहक सभापति पूर्णबहादुर खड्का र केन्द्रीय सदस्य रमेश लेखकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग निरन्तर संवाद गरे पनि सहमति जुट्न सकेको छैन।

    निर्णयको लागि भोलि दिउँसो २ बजे बस्ने गरी केन्द्रीय समिति बैठक डाकिएको छ। कावा सभापति खड्काले पनि पार्टी विभाजित हुने गरी विवादित निर्णय गर्नुपरे जिम्मेवारी छाड्ने सन्देश दिएपछि देउवा आफैँ सक्रिय भएको हुन्।

    कांग्रेसमा अहिले पुस मसान्तभित्र महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याउनेगरी सहमतिको प्रयास भइरहेको छ। यद्यपि, महामन्त्रीद्वयले कार्यतालिका नभई महाधिवेशन हुनुपर्ने भन्दै विशेष महाधिवेशनको अडान लिइरहेका छन्।

  • एनपीएल-२ः सन्जयको अर्धशतकमा पोखराले जनकपुरलाई दियो १५६ रनको लक्ष्य

    एनपीएल-२ः सन्जयको अर्धशतकमा पोखराले जनकपुरलाई दियो १५६ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई १५६ रनको लक्ष्य दिएको छ ।

    टीयू क्रिकेट मैदानमा पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनायो । पोखराका लागि समिर वर्माले अविजित अर्धशतकीय इनिङ खेले । उनले २९ बलमा २ चौका र ४ छक्का प्रहार गरे ।

    ओपनर दीनेश खरेल ३८, एडम रोसिङटोन २४, कप्तान कुशल भुर्तेल ०, जिम्मी निशम १, तिर्थराज दास २९ र डान डौथवेट ७ रनमा आउट भए । किरणकुमार ठगुन्ना १ रनमा अविजित रहे ।

    बलिङमा जनकपुरका सुमित कृष्णमूर्तिले सर्वाधिक ३ विकेट लिए । ललित राजवंशी र अनिलकुमार शाहले एकएक विकेट लिए । सुरुआती २ खेलमा हार बेहोरेका दुवै टोली पहिलो जितमा हुनेछन् ।

  • राप्रपाले तत्काल महाधिवेशन नगर्ने, लम्ब्यायो ६ महिना कार्यकाल

    राप्रपाले तत्काल महाधिवेशन नगर्ने, लम्ब्यायो ६ महिना कार्यकाल

    काठमाडौं । राप्रपाले तत्काल महाधिवेशन नगर्ने भएको छ। आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक ६ महिना कार्यकाल थप गर्ने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले बताए।

    राजेन्द्र लिङ्देनले नेतृत्वको कार्यसमितिको कार्यकाल मंसिर १८ सकिँदैछ। बैठकले सबै तहको ६ महिना थप गर्ने निर्णय लिएको उनले बताए।

  • पोष्टिङलाई लिएर असन्तुष्टि पोखेका डीआईजीलाई हेडक्वार्टरले सोध्यो स्पष्टीकरण

    पोष्टिङलाई लिएर असन्तुष्टि पोखेका डीआईजीलाई हेडक्वार्टरले सोध्यो स्पष्टीकरण

    काठमाडौं । डीआईजी सरुवामा प्रश्न उठाउँदै सामाजिक सञ्जालमा असन्तुष्टि पोख्ने डीआईजी जयराज सापकोटालाई प्रहरी प्रधान कार्यालयले स्पष्टीकरण सोधेको छ ।

    प्रधान कार्यालयस्थित कार्य विभाग, कार्य निर्देशनालयमा कार्यरत डीआईजी सापकोटाले आफ्नो फेसबुक आईडीबाट ‘हम कभी नहि सुध्रेङ्गे’ भन्दै डीआईजी पोष्टिङप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।

    केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार उक्त कार्य प्रहरी नियमावली, २०७१ विपरीत भएकाले स्पष्टीकरण सोधिएको हो ।

    नियमावलीमा प्रहरी आचरण सम्बन्धी व्यवस्था, नेपाल प्रहरीको सञ्चार माध्यम (मिडिया) सम्बन्धी नीति २०६०, नेपाल प्रहरीका कर्मचारीहरूले पालना गर्नुपर्ने आचार संहिता सम्बन्धी कार्यादेश, २०७७ तथा सो को कार्यान्वयन गर्ने सम्बन्धमा यस कार्यालयबाट विभिन्न मितिमा भएका परिपत्रहरूको विपरीत पाइएको डीआईजी काफ्लेले बताए ।

    उक्त व्यवस्थाअनुसार डीआईजी सापकोटाविरुद्ध विभागीय कारबाहीको प्रक्रिया शुरु भएको हो । कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी रिक्त भएपछि सापकोटा त्यसका एक दाबेदार थिए । तर, त्यहाँ अर्का डीआईजी विनोद घिमिरे सरुवा भएपछि उनी असन्तुष्ट भएका हुन् ।

  • एमाले नेताहरुसँग प्रधानमन्त्रीले गरिन् छलफल (भिडिओ)

    एमाले नेताहरुसँग प्रधानमन्त्रीले गरिन् छलफल (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न नेकपा एमालेका नेताहरू बालुवाटार पुगेका छन्। अहिले प्रधानमन्त्री र एमाले नेताहरूबिचको छलफल जारी छ।

    छलफलमा एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, नेता महेश बर्तौला सहभागी छन्।

    सरकार पक्षबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल सहभागी छन्।

    प्रधानमन्त्री कार्कीले चुनावको वातावरण बनाउनको लागि दलका नेताहरूसँग संवाद थालेकी हुन्। एमालेले संसद पुनर्स्थापनाको मागसहित अदालतदेखि सडक संघर्षमा पनि उत्रिरहेको छ।

  • एमालेभित्र उठेको आवाज अब दब्नेवाला छैन, हामीले खुला मनले हात बढाउन चाहेका छौँ : प्रचण्ड

    एमालेभित्र उठेको आवाज अब दब्नेवाला छैन, हामीले खुला मनले हात बढाउन चाहेका छौँ : प्रचण्ड

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेमा उकुसमुकुस भइरहेको बताएका छन्। जसपासहित ४ घटकसँगको एकता सभालाई सम्बोधन गर्दै एमालेमा पनि वामपन्थी र सच्चा देशभक्त नेताहरू रहेको बताए।

    उनले भने, ‘त्यहाँ भएकाहरूलाई उकुसमुकुस भएको देखेका छौँ हामीले। हामी छलफलमा छौँ। हामीले तपाईंहरुसँग हातेमालो गर्न चाहेका छौँ। गलत प्रवृत्ति र नेतृत्व हुँदा कति ठुलो क्षति हुँदो रहेछ भन्ने कुरा हामीले देखिसक्यौँ।’

    एमालेभित्र रहेका वामपन्थी नेताहरूसँग खुला मनले हात बढाउन चाहेको बताए।

    उनले थपे, ‘तपाईँहरूले फेरि समीक्षा गर्नुस् इतिहासको, हामीले एकता त गरेकै थियौँ। तर नेतृत्व गलत मान्छेको हातमा पुग्दा केके भोग्नपर्‍यो ? समय आएको छ, त्यहाँभित्रका साथीहरूले सत्यको पक्षमा आवाज उठाउन थालिसक्नुभएको छ, त्यो दब्नेवाला छैन। दिनप्रतिदिन अगाडि बढ्नेछ। बृहत् वामपन्थी एकतामा पुगेर मात्रै विश्राम लिनेछ।’

    उनले राष्ट्र बचाउन कांग्रेससहित सबै दलसँग सहकार्य गर्नुपर्ने बताए।

  • उमेरका हिसाबले उत्तरार्द्धतिर भए पनि जेनजीभन्दा कम छैनौँ : प्रचण्ड

    उमेरका हिसाबले उत्तरार्द्धतिर भए पनि जेनजीभन्दा कम छैनौँ : प्रचण्ड

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरू जेनजी युवाभन्दा कम नभएको बताएका छन्।

    जसपासहित ४ घटकसँगको एकता सभालाई सम्बोधन गर्दै नेकपा जेनजी युवाहरूको असली अभिभावक भएको दोहोर्‍याए।

    उनले भने, ‘हामी यहाँ उपस्थित भएको नेताहरू उमेरको हिसाबले उत्तरार्धतिर छौँ। तर राष्ट्रप्रतिको जिम्मेवारीप्रति, समाजवादको यात्रामा अगाडि बढ्नुपर्छ भन्ने कुरामा हामी कुनै जेनजी युवाभन्दा कम छैनौँ। अन्तिम समयसम्म हामी त्यो भूमिका पूरा गर्न चाहन्छौँ।’

    उनले आफ्नो लागि अब पद ठुलो कुरा नभएको बताए। उनले थपे, ‘फेरि यहाँ पद छाड्नै चाहेन भन्छन्, हामीलाई सक्रिय राजनीति गर्ने वातावरण बन्यो भने पद ठुलो कुरा होइन। पदमा नभएपनि विश्वका ठुलठुला नेताहरूले राष्ट्र निर्माणमा भूमिका खेलेका छन्।’

    आगामी महाधिवेशनले नै नेकपाको नयाँ मोडेलको खाका कोर्ने बताए। उनले आजसम्म १७ घटक एकता प्रक्रियामा आएको भन्दै कुनै विमति नभएको बताए।

  • यो एकता चुनाव जित्नको लागि गरिएको होइन : प्रचण्ड

    यो एकता चुनाव जित्नको लागि गरिएको होइन : प्रचण्ड

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टीप्रति देशभर आकर्षण बढेको दाबी गरेका छन्। जसपासहित ४ घटकसँगको एकता सभालाई सम्बोधन गर्दै हिजो धादिङको प्रशासकीय भवन उद्घाटन कार्यक्रममा जनताको उपस्थिति उत्साहजनक भएको बताए।

    उनले भने, ‘हिजो धादिङमा राजेन्द्र पाण्डेजी र मैले बोलेका थियौँ। त्यहाँ जनताको उमङ्ग र उपस्थिति हेर्ने हो भने अभूतपूर्व थियो। त्यसले धादिङमा मात्रै होइन देशै भरी पनि त्यसले शक्तिशाली सन्देश गइसकेको छ। यो एकता कुनै लहड र आवेगमा गरेको अभियान होइन।’

    उनले देश अफ्ठेरो अवस्थामा रहेको भन्दै त्यसको रक्षाको लागि भएको बताए। उनले भने, ‘यो एकता चुनाव आउँदै छ, जित्नको लागि होइन, राष्ट्रको स्वाधीनताको रक्षा गर्न, जनताको सार्वभौम सत्ताको रक्षा गर्ने उद्देश्यको साथ बलियो तागत निर्माण गर्ने अभियान हो।’

  • महरालाई छोड्न अदालतले लिएका पाँच आधार

    महरालाई छोड्न अदालतले लिएका पाँच आधार

    काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्न आदेश दिएको छ ।न्यायाधीशद्वय तेजेन्द्रप्रसाद शर्मा र अर्जुनप्रसाद कोइरालाको संयुक्त इजलासले उनीसँग २० लाख धरौटी मागेको हो ।

    काठमाडौं जिल्ला अदालतले असोज २९ गते महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। भेपको बट्टाभित्र ९ किलो सुन तस्करी प्रकरणको आरोपमा महरालाई सीआईबीले पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।

    तर आज अदालतले महरालाई छोड्न पाँच आधार टेकेको छ।

    महराउपर जाहेरीमा नाम उल्लेख भएको नदेखिएको, प्रतिवादी बनाइएका सहअभियुक्तहरुले महरालाई पोल नगरेको, चोरी पैठारी भएको भनिएको सुन जफत भएर दसीका रूपमा पेस नभएको, पूरक अभियोगमा नयाँ तथा थप प्रमाण संकलन नभएको र महराको उमेर तथा स्वास्थ्य अवस्थासमेतलाई विचार गर्नुपर्ने आदेशमा उल्लेख छ।

  • सञ्चारकर्मीलाई मालिकले ‘परिवार’ मान्ने कि ‘कामदार’ मात्रै ?

    सञ्चारकर्मीलाई मालिकले ‘परिवार’ मान्ने कि ‘कामदार’ मात्रै ?

    काठमाडौं । आज आठौँ सामाजिक सुरक्षा दिवस । सरकारले ‘सहभागिता, योगदान र सामाजिक सुरक्षा: सबै श्रमिकको हक, सबैको सुरक्षा’ भन्ने नाराका साथ भव्यताका साथ यो दिवस मनाइरहँदा, मुलुकको ‘चौथो अंग’ मानिने पत्रकारिता क्षेत्र भने बाहिरै रुमल्लिइरहेको छ । नेपालमा सामाजिक सुरक्षा कोषमार्फत औपचारिक रूपमा योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू भएको आठ वर्ष पूरा भइसक्यो । तर, अरूको अधिकार, न्याय र सुरक्षाको वकालत गर्ने पत्रकार र सञ्चारकर्मी नै यो सुरक्षा घेराबाट सबैभन्दा टाढा र उपेक्षित अवस्थामा छन् ।

    जसरी गत चैत १५ गते घरको खाना खाएर काममा निस्किएका क्यामेरा पर्सन सुरेश रजकले आगोको मुस्लोमा पर्छु र जीवन गुमाउँछु भन्ने कल्पनासमेत गरेका थिएनन्, अक्सर नेपाली पत्रकारको हालत उनको जस्तै छ । अर्थात्, समाचारको पछि दौडिँदा–दौडिँदै पत्रकारले कति बेला आफ्नो ज्यान जोखिममा पार्छ, पत्तै हुँदैन ।

    सडक आन्दोलनको रिपोर्टिङ होस् वा महामारीको प्रकोप वा प्राकृतिक विपत्ति– पत्रकार सधैँ अग्र पङ्क्तिमा हुन्छन् । जब एउटा पत्रकार कार्यक्षेत्रमा ढल्छ, उसको परिवारको भविष्य अन्धकार हुन्छ । कोषमा आबद्ध नहुँदा उसले गुमाएका अवसर र परिवारले भोग्नुपरेको आर्थिक सङ्कटको कथा अत्यन्तै दारुणिक छ ।

    असुरक्षित जीवन र ‘…यदि’ मा सीमित राहत

    पत्रकारिता आफैँमा उच्च जोखिमपूर्ण पेसा हो । तर, यो जोखिम न्यूनीकरणका लागि राज्यले ल्याएको सामाजिक सुरक्षा योजनालाई सञ्चार गृहले बेवास्ता गर्दा धेरै पत्रकारले अकालमै ज्यान गुमाएका छन् । आश्रित परिवार बिचल्लीमा परेका छन् ।

    पत्रकार एलबी विश्वकर्माले कोभिड– १९ को महामारीबीच काठमाडौँको सिभिल अस्पतालमा उपचार नपाएर, छटपटाउँदै ज्यान गुमाउनुपरेको थियो । टिभी टुडेमा कार्यरत विश्वकर्माको खल्तीमा ६ सय रुपैयाँ नहुँदा र अस्पतालले भर्ना लिन नमान्दा उनको ज्यान गयो । यदि उनी कार्यरत संस्थाले उनलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको हुन्थ्यो भने, कोषको ‘औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना’ अन्तर्गत उनको सम्पूर्ण उपचार खर्च कोषले व्यहोर्ने थियो । अझ दु:खद् कुरा, उनको मृत्युपछि श्रीमतीले कोषको ‘आश्रित परिवार सुरक्षा योजना’ अन्तर्गत आजीवन मासिक पेन्सन पाउने थिइन्, जसले उनको परिवारलाई बाँच्ने आधार दिने थियो ।

    त्यस्तै कथा छ, पत्रकार सुरेश रजकको । राजावादीको तीनकुने आन्दोलनको रिपोर्टिङका क्रममा एउटा भवनभित्रै जलेर ज्यान गुमाए । कार्यक्षेत्रमा खटिएकै बेला भएको यो घटनामा यदि उनी कोषमा आबद्ध भएको भए, दुर्घटना वा कार्यस्थलको जोखिम अन्तर्गत उनको परिवारले ठूलो आर्थिक राहत र पेन्सन सुविधा पाउने थियो ।

    हृदयघातका कारण अचानक ज्यान गुमाएका पत्रकार श्यामसुन्दर पुडासैनीको परिवारको पीडा उस्तै छ । घरको मुख्य व्यक्ति गुमाउँदा परिवारमा जुन आर्थिक बज्रपात पर्‍यो, सामाजिक सुरक्षा कोषमा आबद्ध भएको भए त्यो पीडामा मलम लाग्न सक्थ्यो ।

    कोषको नियम अनुसार, योगदानकर्ताको मृत्यु भएमा विवाहितको हकमा पति वा पत्नीले योगदानकर्ताको आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम जीवनभर मासिक पेन्सन (निवृत्तिभरण) को रूपमा पाउने व्यवस्था छ । अविवाहितको हकमा आश्रित आमा वा बाबुले यो सुविधा पाउँछन् । साथै, छोराछोरीको हकमा २१ वर्ष उमेर नपुगुन्जेल शैक्षिक वृत्ति पाउने व्यवस्था छ । तर, सञ्चार गृहको कन्जुस्याइँले यी दिवंगत पत्रकारका परिवारले राज्यबाट पाउने लाखौँ रुपैयाँको सुविधा गुमाए ।

    कोरोना कहर: १९ पत्रकारको मृत्यु र राज्यविहीनताको आभास

    नेपालको पत्रकारिता इतिहासमा कोरोना महामारी एउटा कालो अध्यायको रूपमा रह्यो । जनतालाई सुसूचित गराउने क्रममा अग्र पङ्क्तिमा खटिएका १९ जना पत्रकारले कोभिडकै कारण ज्यान गुमाए । उनीहरूको नाम श्रद्धाञ्जलीको ब्यानरमा त आयो, तर उनीहरूको परिवारले राज्य वा सञ्चार गृहबाट पाउनुपर्ने दीर्घकालीन सुरक्षा पाएनन् । सामाजिक सुरक्षा कोषमा आबद्ध भएको भए, तल उल्लेखित पत्रकारका परिवारले आजको दिनमा मासिक पेन्सन बुझिरहेका हुने थिएः

    १. चन्द्रप्रसाद न्यौपाने (सञ्चालक, सप्तकोसी एफएम/अध्यक्ष, बान)

    २. रवीन्द्र गौतम (अन्नपूर्ण दैनिक, दोलखा)

    ३. एकराज भण्डारी (पाँचथर)

    ४. माधव आचार्य (धनुषा)

    ५. कृष्णप्रसाद ओझा (रेडियो नेपाल, खोटाङ)

    ६. हिक्मत चौधरी (रेडियो लुम्बिनी, रुपन्देही)

    ७. लक्ष्मण बस्नेत (स्टेसन मेनेजर, रेडियो हापुरे, दाङ)

    ८. शान्तिराम कार्की (सम्पादक, जनता टाइम्स/सहसम्पादक, सौर्य दैनिक)

    ९. गणेश पौडेल (निर्देशक, गण्डकी टिभी, कास्की)

    १०. रमादेवी यादव (अध्यक्ष, रेड टेलिभिजन, रौतहट)

    ११. सुमन मल्ल (नागरिक दैनिक, मुगु)

    १२. मनोज चौधरी (स्टेसन म्यानेजर, मधेश एफएम/संवाददाता, जनकपुर टुडे)

    १३. दिनेश दाहाल (सम्पादक/प्रकाशक, सि पोस्ट न्युज)

    यसबाहेक कोरोनाको पहिलो लहरमा ६ जना पत्रकार तथा पूर्व पत्रकारको ज्यान गयो । यी १९ पत्रकारको मृत्यु केवल संख्या होइन, १९ परिवारको सपना भत्किएको क्षण हो । कोषमा आबद्ध नहुँदा उनीहरूका वृद्ध आमाबुवा, विधवा श्रीमती र टुहुरा बालबच्चाले राज्यबाट पाउनुपर्ने भरपर्दो आर्थिक आधार गुमाए ।

    सञ्चार गृहको बेइमानी: सूचीकरणको नाटक, योगदान शून्य

    सामाजिक सुरक्षा कोषको तथ्याङ्कले मिडिया सञ्चालकहरूको नियत उदाङ्गो पारेको छ । मुलुकका ७ प्रदेशमध्ये सबैभन्दा बढी मिडिया र पत्रकार रहेको बागमती प्रदेशमा करिब ७० वटा मिडिया हाउस मात्र कोषमा आबद्ध (सूचीकृत) भएका छन् । यो संख्या आफैँमा लज्जास्पद हो ।

    अन्य प्रदेशको अवस्था झन् दयनीय छ । कोशी प्रदेशमा ३ वटा, गण्डकी र सुदूरपश्चिम प्रदेशमा २–२ वटा र मधेश प्रदेशमा केवल एउटा मिडिया हाउस कोषमा सूचीकृत भएको तथ्याङ्क छ । लुम्बिनी र कर्णाली प्रदेशको अवस्था त तथ्याङ्कमा उल्लेख गर्न लायक पनि छैन ।

    सबैभन्दा गम्भीर विषय त के छ भने, सूचीकृत भएका मिडिया हाउसले पनि इमानदारिता देखाएका छैनन् । कोषका अनुसार, सूचीकृत भएकामध्ये करिब २० प्रतिशत मिडियाले मात्रै मासिक रूपमा नियमित योगदान रकम (कर्मचारीको ३१ प्रतिशत रकम) जम्मा गरिरहेका छन् । बाँकी ८० प्रतिशत मिडियाले केवल कानुनी प्रक्रिया पुर्‍याउन वा सरकारी विज्ञापन लिनका लागि मात्रै संस्था सूचीकरण गराएका छन्, तर पत्रकारको खातामा पैसा जम्मा गरेका छैनन् ।

    किन जरुरी छ पत्रकारलाई सामाजिक सुरक्षा कोष ?

    श्रमजीवी पत्रकार ऐनले तोकेको सेवा सुविधा नपाउने पत्रकारका लागि सामाजिक सुरक्षा कोष ‘सञ्जीवनी बुटी’ सरह हो । यसका प्रमुख फाइदा यस प्रकार छन्:

    १. औषधि उपचार तथा स्वास्थ्य सुरक्षा: बिरामी पर्दा लाग्ने खर्च (वार्षिक १ लाखसम्म) र बिरामी बिदाको रकम कोषले व्यहोर्छ । एलबी विश्वकर्मा जस्ता पत्रकारले उपचार नपाएर मर्नुपर्ने अवस्था आउँदैन ।

    २. दुर्घटना तथा अशक्तता सुरक्षा: समाचार संकलनका क्रममा हुने दुर्घटनाको सम्पूर्ण उपचार खर्च र काममा फर्कन नसक्दा अशक्तता वृत्ति पाइन्छ ।

    ३. आश्रित परिवार सुरक्षा: सुरेश रजक वा एलबी विश्वकर्माजस्तै मृत्युवरण गर्नुपरेमा श्रीमान्/श्रीमती वा आमाबुवाले आजीवन पेन्सन पाउँछन् ।

    ४.वृद्ध अवस्था सुरक्षा: पत्रकारिताबाट रिटायर्ड भएपछि पेन्सन र उपदानको व्यवस्था हुन्छ, जसले बुढेसकालमा कसैको अगाडि हात फैलाउनु पर्दैन ।

    कोषको सफलताको ग्राफ र पत्रकारको निराशा

    एकातिर पत्रकारिता क्षेत्रको यो टिठलाग्दो अवस्था छ भने अर्कोतिर समग्रमा सामाजिक सुरक्षा कोषले ठूलो फड्को मारेको छ । कोषमा आजको दिनसम्म औपचारिक क्षेत्रबाट २२ हजार ३३२ रोजगारदाता र ६ लाख ४९ हजार ५११ योगदानकर्ता आबद्ध भइसकेका छन् । वैदेशिक रोजगारीमा जाने १९ लाख ९६ हजार ५७९ युवा, अनौपचारिक क्षेत्रका ७९९ र स्वरोजगारतर्फ ५८२ जना पनि यो सुरक्षा छातामुनि आएका छन् । समग्रमा २६ लाख ४७ हजार ४७१ जना योगदानकर्ता कोषमा जोडिएका छन् ।

    कोषको वित्तीय स्वास्थ्य पनि बलियो बन्दै गएको छ । हालसम्म ९५ अर्ब ६८ करोड रकम जम्मा भइसकेको छ भने २ लाख ५३ हजार १४२ योगदानकर्ताले १७ अर्ब ७२ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी लिइसकेका छन् । अरू क्षेत्रका मजदुर र कर्मचारीले १७ अर्बको सुविधा लिइरहँदा, अरूकै समस्या उजागर गर्ने पत्रकारले भने रित्तो हात चित्त बुझाउनुपरेको छ ।

    आठ वर्ष पूरा भइसक्दा पनि सञ्चार जगत् सामाजिक सुरक्षाको दायरामा नआउनु सञ्चार गृहको अटेरीपन र नियामक निकायको कमजोरी हो । जबसम्म सञ्चार गृहले आफ्ना पत्रकारलाई केवल ‘कामदार’ नभई ‘संस्थाको सम्पत्ति’ ठान्दैनन्, तबसम्म यो समस्या ज्युँका त्युँ रहनेछ ।

    एलबी, सुरेश र श्यामसुन्दर त गए, तर अब आउने पुस्ताका पत्रकारले त्यही नियति भोग्न नपरोस् । राज्यले सञ्चार गृहलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध गराउन कडा नीति लिनुको विकल्प छैन । तब मात्र ‘सामाजिक सुरक्षा दिवस’ ले पत्रकारका लागि सार्थकता पाउनेछ ।

  • महरालाई २० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

    महरालाई २० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

    काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ । न्यायाधीशद्वय तेजेन्द्रप्रसाद शर्मा र अर्जुनप्रसाद कोइरालाको संयुक्त इजलासले उनीसँग २० लाख धरौटी मागेको हो ।

    काठमाडौं जिल्ला अदालतले असोज २९ गते महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

    भेपको बट्टाभित्र ९ किलो सुन तस्करी प्रकरणको आरोपमा महरालाई सीआईबीले पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।

    २०७९ पुस १० गते गते Fly Dubai को Flight number FZ0587 बाट नेपाल आएका चिनियाँ नागरिक राहदानी LI HANSONG ले २ वटा सुटकेशभित्र ७३ बट्टामा रहेको ७३० थान भेप त्रिभुवन विमानस्थल हुँदै भित्र्याएको विषयमा अनुसन्धान हुँदै जाँदा महरा तानिएका हुन् ।

    त्रिभुवन विमानस्थल भन्सार कार्यालयको स्टोरमा नासु रेवन्त खड्का समेतको जिम्मा र संरक्षणमा राखिएको ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बराबरको सुन बेचबिखन गरी आपराधिक समूहमार्फत आपराधिक लाभ लिएको देखिएको सीआईबीले जनाएको छ ।

  • चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिले दिए स्वीकृति

    चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिले दिए स्वीकृति

    काठमाडौं । निर्वाचनको सुरक्षार्थ राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालनको स्वीकृति दिएका छन् ।

    राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले एक विज्ञप्ति जारी गर्दै फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि सेना परिचालनको स्वीकृति दिइएको हो ।

    मंसिर ८ गते मन्त्रिपरिषद् बैठकले निर्वाचनलक्षित सुरक्षार्थ सेना परिचालनका लागि राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको थियो ।

  • स्व. उज्ज्वल थापाको बिरासत १२ वर्षपछि मासिँदै, रास्वपामा विवेकशीलको ‘बाध्यात्मक विलय’

    स्व. उज्ज्वल थापाको बिरासत १२ वर्षपछि मासिँदै, रास्वपामा विवेकशीलको ‘बाध्यात्मक विलय’

    काठमाडौं । १२ वर्षअघि राजनीतिक दलको रूप लिएको ‘विवेकशील नेपाली अभियान’ औपचारिक विघटनको संघारमा आइपुगेको छ । विवेकशीलको अस्तित्व जीवित राखिरहेको सानो समूह रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा विलय हुने भएको हो ।

    समीक्षा बास्कोटा अध्यक्ष र रञ्जु दर्शना महासचिव रहेको ‘विवेकशील साझा पार्टी’ अस्तित्व रक्षाको संघर्षमा थियो । तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले राजावादी धार समात्दै पार्टी त्यागेर राप्रपातिर लागेपछि विवेकशील साझा राष्ट्रिय राजनीतिको मूलधारमा रहन सकेन । मिश्रको बहिर्गमनपछि कार्यवाहक अध्यक्षको भूमिका पाएकी बास्कोटाले २०७९ माघमा पार्टीको पहिलो महाधिवेशन आयोजना गरेकी थिइन् । उक्त महाधिवेशनले उनैलाई अध्यक्षमा निरन्तरता दिँदै रञ्जु दर्शनालाई महासचिवमा निर्वाचित गरेको हो ।

    अध्यक्ष र महासचिव दुवै महिलालाई बनाएर विवेकशीलले नयाँ सन्देश दिएको थियो । तर, पार्टीले राष्ट्रिय राजनीतिमा आफ्नो कुनै स्पेस बनाउन सकेन । फलतः बाध्यकारी रूपमा यो पार्टीलाई विघटन गर्ने निर्णयमा नेतृत्व पंति पुगेको छ ।

    ‘पार्टी एकता’ भनिए पनि व्यवहारिकरूपमा विवेकशील रास्वपामा मर्ज हुन लागेको हो । आइतबार हुने ‘एकता घोषणा’ सँगै विवेकशील साझा पार्टीको अस्तित्व समाप्त हुने छ । सो पार्टीका नेताहरू रास्वपामा समाहित हुनेछन् ।

    रास्वपामा विवेकशीलले कस्तो र कति हिस्सा पाउँछ भन्ने प्रष्ट भएको छैन । यस विषयमा सहमति जुट्न बाँकी नै रहेको नेताहरूले बताएका छन् । विवेकशीलमा हाल ९ जना पदाधिकारी र ३७ जना केन्द्रीय सदस्य रहेका छन् । उनीहरूलाई रास्वपा एडजस्टमेन्ट गर्ने विषयमा कुनै मोडालिटी बनिसकेको छैन ।

    एकताको मोडालिटीबारे छलफल जारी नै रहेको र चाँडै टुंगो लाग्ने रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।

    ‘सौहार्दपूर्ण संवादबाट हामी एक हुने निर्णयमा पुगियो । साथीहरूलाई के-कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा एक प्रकारको मार्गचित्र आएको छ । तर टुंगिएको छैन,’ उनले भने ।

    विवेकशीलबाट कुनै कडिकडाउ शर्त नआएको भन्दै उनले सबै विषय वार्ता टोलीले नै टुंग्याउने जानकारी दिए ।

    वार्ता टोलीका सदस्य रहेका शिशिर खनालले पदीय समायोजन कसरी गर्ने भन्ने टुंगिन बाँकी रहेको बताए ।

    ‘समायोजनका विषयमा थुप्रै काम बाँकी नै छ । हामी गुड फेथमा अगाडि बढेका छौं र सम्मानजनक हिसाबले गर्ने भनेका छौँ । उहाँहरूले कुनै शर्त र अडान राख्नुभएको छैन,’ उनले भने ।

    रास्वपाले विवेकशीलसँग एकता प्रक्रिया टुंग्याउन उसभापति डा. स्वर्णिम वाग्ले नेतृत्वको समितिलाई जिम्मा दिएको छ । समितिमा शिशिर खनाल र डा. तोसिमा कार्की सदस्य छन् । समितिले भोलि विवेकशीलका नेताहरूसँग छलफल गर्ने बुझिएको छ ।

    विवेकशीलका नेताहरूले रास्वपासँग ‘निशर्तरूपमा एकता गर्न लागिएको’ बताइरहेका छन् । पदका लागि आफूहरूले कुनै पनि अडान नलिएको र नलिने उनीहरूको भनाइ छ ।

    पार्टीका उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द परियारले एकताको मोडालिटीबारे एक दुई दिनमा टुंग्याइने बताए ।

    उनले भने, ‘पदीय मिलानको विषयमा अहिलेसम्म प्रवेश नै गरिएको छैन । कुरा मिल्छ भन्ने आशामा छौँ ।’

    परियारले रास्वपासँग एकीकरण गर्ने भनेर दुई तिहाइको हस्ताक्षरसहित निर्वाचन आयोगमा बुझाइसकेको पनि जानकारी दिए । ऐनअनुार अबको तीन वर्ष यही नाम र चुनावचिन्हमा अर्को दल बन्न नसक्ने उनको भनाइ छ ।

    स्व. उज्ववल थापाको बिरासत मासिँदै

    सन् २०१२ मा स्वतन्त्र युवाहरूको समूहले वैकल्पिक राजनीतिको आवश्यकतालाई मध्यनजर गर्दै विववेकशील अभियानको सुरूवात गरेका थिए । यसको प्रमुख नेतृत्वकर्ता थिए स्व. उज्ज्वलबहादुर थापा ।

    विवेकशील अभियानलाई २०७० सालमा निर्वाचन आयोगमा दर्ता गरेर विवेकशील नेपाली दल बनाइयो । २०७० सालमा भएको दोस्रो संविधानसभा चुनावमा उक्त दलले कुकुर चुनावचिन्हमा उम्मेदवारहरू उठाएको थियो ।

    २०७४ सालमा उज्ववल थापाको विवेकशील नेपाली र रवीन्द्र मिश्रको साझा पार्टीबीच एकता भएर विवेकशील साझा पार्टी बन्यो । सो दलमा मिश्र र थापा समान हैसियतमा सहसंयोजक बनेका थिए । विवेकशील साझाले २०७४ सालको आमचुनावमा उत्साहसाथ भाग लियो र दुई लाखभन्दा बढी भोट ल्याएर पाँचौ ठूलो दल बन्यो । संघीय थ्रेस होल्ड कटाउन नसके पनि बाग्मती प्रदेशमा थ्रेसहोल्ड काटेर ३ जना प्रदेशसभा सदस्यसमेत जिताउन सफल भएको थियो ।

    सो निर्वाचनपछि भने विवेकशील साझा अधोगतितिर लाग्यो । मिश्रसँग टकरावसँगै उज्ववल थापा पार्टीबाट बाहिरिए । … सालमा उनको कोरोना संक्रमणबाट दु:खद निधन भयो । उनको असामयिक निधनमा सिंगो देश स्तब्ध बनेको थियो ।

    विवेकशील साझामा मिश्रले हिन्दू राज्यको पुन:स्थापना र संघीयता खारेजीको एजेन्डा अघि सारे । उनको एजेन्डा पार्टीको बहुमतबाट पारित भएपछि केही प्रमुख नेताहरू असन्तुष्ट बने । त्यसपछि उज्ज्वल थापाको उत्तराधिकारीका रुपमा मिलन पाण्डे उदाए । उनले पुन: मिश्रसँग एकता गरे । त्यो एकता पनि टिक्न सकेन ।

    पछिल्लो समय समीक्षा बास्कोटा, रञ्जु दर्शना लगायतले विवेकशीलको धङधङी जोगाइरहेका थिए । अब त्यसमा पनि पूर्णविराम लागेको छ ।

  • एनपीएल-२ : पोखराले जनकपुरविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै

    एनपीएल-२ : पोखराले जनकपुरविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

    टीयू क्रिकेट मैदानमा जनकपुरविरुद्ध पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

    सुरुआती २ खेलमा हार बेहोरेका दुवै टोली पहिलो जितमा हुनेछन् ।

  • एनपीएल–२ : सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित

    एनपीएल–२ : सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित

    काठमाडौं नेपाल प्रिमियर लिग (एनपीएल) सिजन२ मा सुदूरपश्चिम रोयल्सले अपराजित यात्रा कायम गरेको छ । सुदूरपश्चिमले आफ्नो चौथो खेलमा लुम्बिनी लायन्सलाई ७ विकेटले पराजित ग¥यो । लुम्बिनीले दिएको १४४ रनको लक्ष्य सुदुरपश्चिमले १८ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा ग¥यो ।

    सुदुरपश्चिमको जितमा ओपनर विनोद भण्डारीले सर्वाधिक अविजित ६९ रन बनाए । उनले ४९ बलमा ५ चौका र ४ छक्का प्रहार गरे । ओपनर जोश ब्राउन ९, क्रिस लिन १६ र आरिफ शेखले ३९ रनको योगदान दिए । हर्मित सिंह ७ रनमा अविजित रहे । बलिङमा लुम्बिनीका रुवेन ट्रम्पल्मेन, अभिषेश गौतम र तिलक भण्डारीले एकएक विकेट लिए ।

    त्यसअघि टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरको लुम्बिनी १९ ओभर ४ बलमा १४३ रनमा अलआउट भएको थियो । टपअर्डरमा मध्यम प्रदर्शन गरेको लुम्बिनीका मिडल र लोअर्डरका ब्याटर चल्न नसक्दा १४३ रनमा समेटिन पुग्यो ।

    लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाइन् । डार्सी सर्ट १८, सुमित महर्जन १८, दीलिप नाथ ३१, गुल्वदिन नाइव ११, सन्दीप जोरा ७, शेर मल्ल ४, थोमस ड्राका ६ र अभिषेश गौतम ६ रनमा आउट भए । तिलक भण्डारी र रुवेन ट्रम्पेल्मेनले कुनै पनि रन जोड्न सकेनन् । बलिङमा सुदूरपश्चिमका पेस बलर हाबी गए । अभिनास बोहराले ३, हेमन्त धामी ३ र स्कट कुगेलेइजन स्पिनर हर्मित सिंहले पनि ३ विकेट लिए ।

    सुदूरपश्चिम एनपीएलमा हालसम्म अपराजित हुने एकमात्रै टोली हो । जसले ४ खेलबाट ८ अंक जोड्दै शीर्ष स्थानमा छ । लुम्बिनीले लगातार तेस्रो हार बेहोरेको छ । लुम्बिनीले ४ खेलमा एकमात्र खेलमा जित निकालेको छ ।

  • नेपालले थप २० मेगावाट विद्युत बंगलादेश निर्यात गर्ने, यस्तो छ दुई पक्षीय सहमती

    नेपालले थप २० मेगावाट विद्युत बंगलादेश निर्यात गर्ने, यस्तो छ दुई पक्षीय सहमती

    काठमाडौं । नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत निर्यात गर्ने सहमती भएको छ । बंगलादेशको ढाकामा बिहीबार सम्पन्न नेपालबंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त बैठकले ४० मेगावाट विद्युत निर्यात भइरहेको अवस्थामा थप गर्ने निर्णय गरेको हो ।

    बैठकले सुनकोशी३ जलविद्युत आयोजनामा लगानी प्रक्रिया अगाडि बढाउन बंगलादेशले विशेषज्ञ समिति गठन गरी मूल्याङ्कन तीव्रता गर्ने तथा संयुक्त उपक्रम शीघ्र टुंग्याउने निर्णयसमेत गरेको छ ।

    बैठकमा दुई देशबीच दीर्घकालीन ऊर्जा सहकार्य, विद्युत व्यापार, जलविद्युत आयोजनामा लगानी, अन्तरदेशीय प्रसारण लाइनका संरचना विकास लगायतका विषयमा व्यापक छलफल भएको बैठकको सहअध्यक्षता गरेका नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव चरणजीवी चटौतले जानकारी दिए ।

    के के भयो प्रगति ?

    १. बंगलादेशले नेपालबाट हाल आयात गर्दै आएको ४० मेगावाट विद्युतमा थप २० मेगावाट आयात गर्ने प्रक्रिया दुवै देशले शीघ्र पूरा गर्ने ।

    २. सुनकोशी३ जलविद्युत आयोजनामा लगानी प्रक्रिया अगाडि बढाउन बंगलादेशले विशेषज्ञ समिति गठन गरी मूल्याङ्कन तीव्रता गर्ने तथा संयुक्त उपक्रम शीघ्र टुंग्याउने ।

    ३. नेपालभारतबंगलादेशबीच प्रसारण लाइनमार्फत विद्युत विनिमयको सम्भाव्यता अध्ययन गर्ने विशेष गरी नेपालबाट भारत हुँदै बंगलादेशका बरापुकारिया, पञ्चगढ/ठाकुरगञ्ज, भेरामारा र कोसमलला सबस्टेशनसम्म ऊर्जा प्रवाह गर्ने सम्भावना मूल्याङ्कन गर्ने ।

    ४. दुवै देशले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता सम्बन्धी :आआफ्नो आन्तरिक प्रक्रिया पूरा गरेर हस्ताक्षर गर्ने । यस अन्तर्गत बंगलादेशले नेपाललाई ऊर्जा संरक्षण, चार्जिङ, रूफटप सोलार लगायतका क्षेत्रमा प्राविधिक सहयोग प्रदान गर्ने ।

    ५. नेपाल र बंगलादेशबीच क्षमता अभिवृद्धि कार्यक्रम शुरू गर्नेपहिलो चरणका तालिमहरू काठमाडौंमा र दोस्रो चरण बंगलादेशमा सञ्चालन गरिने ।

    ६. नेपालभारतबंगलादेश त्रिपक्षीय ऊर्जा सहकार्यसम्बन्धी भारतको सहमति जुटाउन दुवै देशले संयुक्त पहल गर्ने ।

  • नेकपा र जसपा राजेन्द्र समूहबीच एकता, १० बुँदे सहमतिमा के छ ?

    नेकपा र जसपा राजेन्द्र समूहबीच एकता, १० बुँदे सहमतिमा के छ ?

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र जसपा एकता पक्षधरबीच एकता गर्ने १० बुँदे सहमति भएको छ ।

    सहमतिपत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव नेपाल र जसपाको तर्फबाट संघीय परिषद् राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

    जसपासहित ४ घटकबीचको एकता सभा अहिले जारी छ ।

  • रसुवा नाका ५ महिनादेखि ठप्प : चीनतर्फ पुनर्निर्माण धमाधम, नेपालको तयारी शून्य

    रसुवा नाका ५ महिनादेखि ठप्प : चीनतर्फ पुनर्निर्माण धमाधम, नेपालको तयारी शून्य

    सिन्धुपाल्चोक । नेपाल-चीन जोड्ने मितेरी पुल गत असार २४ गते ल्हेन्दे खोलाले बगाएपछि रसुवा नाकाबाट हुने व्यापारिक कारोबार ठप्प छ ।

    चिनियाँ पक्षले धमाधम काम गरिरहँदा नेपालको तयारी शून्य छ । विगत ५ महिनाको अवधिमा रसुवास्थित टिमुरे सडकको अस्थायी ट्रयाक खोल्नुबाहेक नाका क्षेत्रमा नेपालले निर्माणको काम अगाडि बढाएको छैन ।

    बाढी आएको एक महिनापछि चिनियाँ पक्षले अस्थायी बेलीब्रिज निर्माण सुरु गरेको थियो । केही महिनाभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण थालिएको पुल मध्यभागमा लच्किएपछि पुन: निर्माण सुरु गरिएको थियो ।

    सीडीओ पन्थी ।

    चिनियाँ पक्षले अस्थायी बेलीब्रीज निर्माण कार्य अन्तिम चरणमा पुर्‍याएको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले बताए । उनका अनुसार केही साताअघि सम्पन्न सीमा बैठकमा चिनियाँ पक्षले डिसेम्बर अन्तिमसम्ममा पुल निर्माण सम्पन्न हुने जानकारी दिएको छ ।

    टिमुरे सडकको अस्थायी ट्रयाकमा ठूला कन्टेनर आउन नसक्ने नाकाको स्थलगत निरीक्षणमा पुगेका नेपाल हिमालय सीमापार वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सागर घिमिरे बताउँछन् ।

    सुनसान केरुङ नाका

    वार्षिक अर्बौंको कारोबार हुने केरुङ नाका पाँच महिना यता सुनसान छ । पहिलो चौमासिकमा राजश्व सङ्‍कलन शून्य छ । डिसेम्बर पहिलो साताबाट मितेरी पुल सञ्चालनमा आउने सम्भावना भए पनि नेपालको तयारी नहुँदा पार्किङ गर्ने ठाउँसमेत छैन ।

    नेपाल इन्टरमोडल यातयात विकास समितिले पार्किङको जिम्मेवारी लिएको छ । तर इन्टरमोडलले काम नगरेको रसुवा भन्सारका प्रमुख तुलसीप्रसाद भट्टराई बताउँछन् ।

    ‘भन्सार विभाग र इन्टरमोडल यातयातलाई यहाँको अवस्थाको बारेमा जानकारी गराएका छौं तर केही पनि प्रतिक्रिया आएको छैन’, भन्सार प्रमुख भट्टराईले भने, ‘भन्सार सञ्चालन हुनका लागि पहिलो प्राथमिकता सडक हो, सडक नै क्षतविक्षत छ ।’

    भन्सार प्रमुख भट्टराईले थपे- ‘अस्थायी रुपमा सडक सञ्चालनमा आयो भने पनि भन्सार यार्ड नै छैन ।’

    नेपाल इन्टरमोडल यातयात विकास समितिले ६० वटा सवारी साधन पार्किङ गर्न मिल्ने यार्ड निर्माण गरेको दाबी गर्छ । ‘हामीले पहिलो चरणमा अस्थायी रुपमा गाडी राख्न सक्ने गरेर काम गरिसकेका छौं, अन्य काम बिस्तारै गर्दै जानेछौं ।’ विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल भन्छन् ।

    गजुरेलले यार्ड निर्माण गरेको दाबी गरे पनि भन्सार विभाग भने गजुरेलको दाबी अस्वीकार गर्छ । बाढी पछिको यार्डको अवस्था उस्तै रहेको भन्सारको भनाइ छ ।


    रसुवा भन्सारको पहिलो चौमासिक शून्य राजस्व

    रसुवा भन्सारले अघिल्लो आर्थिक वर्षमा ३० अर्ब राजस्व सङ्‍कलन गरेको थियो । अघिल्लो आर्थिक वर्षमा ३० अर्ब २० करोडको लक्ष्य लिए पनि जेठ १५ सम्म ३० अर्ब १५ करोड राजस्व सङ्‍कलन भएको थियो । जुन लक्ष्यको ९९ दशमलव ८१ प्रतिशत हो ।

    बाढीले समस्या नगरेको भए रसुवाबाट १०३ प्रतिशत राजस्व उठाउने योजना रहेको भन्सार प्रमुख भट्टराई बताउँछन् । चालु आर्थिक वर्षका लागि ४० अर्ब १६ करोडको लक्ष्य दिइएको छ । पहिलो चौमासिकमा मात्रै १४ अर्बको लक्ष्य भए पनि नाका सञ्चालन नहुँदा राजस्वको अवस्था शून्य छ ।

    ६ अर्बको सडक निर्माण सम्झौता, एक वर्षदेखि फाइल अड्कियो

    चीन सरकारले गल्छी-त्रिशुली-मैलुङ-स्याप्रफुबेशी-रसुवागडी सडकअन्तर्गत तेस्रो खण्डको स्याफ्रुबेशी-रसुवागढी सडक निर्माण अगाडि बढाउन सकेको छैन । अर्थ मन्त्रालयले कर छुटको निर्णय नगर्दा एक वर्षअगाडि सम्झौता भए पनि सडक निर्माणको काम अघि बढ्न नसकेको सडक योजनाका प्रमुख कृष्णनाथ ओझा बताउँछन् ।

    झण्डै ६ अर्ब रुपैयाँको लागतमा चिनियाँ ठेकेदारमार्फत सडक निर्माणको सम्झौता भएको थियो ।

    ‘ठेकेदारहरु साइटमा आएर बसेको १ वर्ष भयो तर कर छुटको निर्णय नहुँदा काम अघि बढ्न सकेको छैन ।’ गल्छी-त्रिशुली-मैलुङ-स्याफ्रुबेशी सडक योजनाका प्रमुख ओझाले भने । सडक निर्माणका लागि आवश्यक पर्ने नदीजन्य पदार्थ उत्खनन् गर्दा नेपाल सरकारको तर्फबाट कर छुट दिने सम्झौता भएको छ तर नदीजन्य पदार्थ उत्खनन् गर्ने स्थल निकुञ्जभित्र रहेकाले त्यससम्बन्धी निर्णय अर्थ मन्त्रालयले गर्नुपर्ने हुन्छ ।

    ‘मन्त्रालयमा एउटा फाइल अड्केको छ, हाम्रो तर्फबाट धेरै पहल गरेका छौं तर अहिले सम्म केही प्रगति भएन ।’ रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले भने ।

    केरुङमा ६ सय कन्टेनर अलपत्र

    बाढीले मितेरी पुल बगाएपछि चिनियाँ सामग्री बोकेका करिब ६ सय कन्टेनर अहिले पनि चिनियाँ भूमिमा अलपत्र छन् । नेपाल हिमालय सीमापार वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सागर घिमिरेका अनुसार सामान बोकेका कन्टेनर केरुङमा रोकिँदा व्यापारी समस्यामा छन् ।

    राज्यको तर्फबाट सहयोग नभएको उपाध्यक्ष घिमिरेको गुनासो छ । उनले भने, ‘हामी सरकारलाई राजश्व तिरेर खुला रुपमा व्यापार व्यावसाय गर्न चाहान्छौं तर राज्यले वातवरण नै बनाइदिएन ।’

  • विशेष महाधिवेशन पक्षधरको वक्तव्य- नहुने महाधिवेशनको तालिका मान्दैनौँ, मंसिर २८ डेडलाइन

    विशेष महाधिवेशन पक्षधरको वक्तव्य- नहुने महाधिवेशनको तालिका मान्दैनौँ, मंसिर २८ डेडलाइन

    काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले ‘नहुने महाधिवेशन’ को कार्यतालिका नमान्ने अडान लिएको छ । चुनावअघि नियमित महाधिवेशनको कार्यतालिका ल्याएर सहमति जुटाउने प्रयास भइरहे पनि त्यसलाई नमान्ने अडान लिएका हुन् ।

    विशेष महाधिवेशन पक्षधरले आज विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘जनताको अपेक्षा अनुसार पार्टीमा आमूल रूपान्तरण र नवीकरण आवश्यक छ भन्ने गहिरो अनुभूति गर्दै हामीले विशेष महाधिवेशनको माग गरेका हौँ । करिब ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी विधानअनुसार वैधानिक रूपमा अघि सारेको यो मागलाई नेतृत्वले आजसम्म बेवास्ता गरेकोमा हामी गहिरो दुःख व्यक्त गर्छौँ ।’

    नियमित महाधिवेशनको मिति तोक्न समेत आनाकानी गर्ने, विशेष महाधिवेशनको मागलाई सम्बोधन नगरी केन्द्रीय समितिको बैठकलाई अनावश्यक रूपमा लम्ब्याइरहने प्रवृत्ति अस्वीकार गर्ने जनाएका छन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘हामी स्पष्ट पार्न चाहन्छौँ- हामीले केवल महाधिवेशनको कार्यतालिका मागेका होइनौँ । हामीले महाधिवेशन मागेका हौँ । हामीले चुनावअघिको शक्ति–व्यवस्था होइन, नयाँ नीति र नयाँ नेतृत्व खोजेका हौँ ।’

    उनीहरूले पुस २८ भित्रको अल्टिमेटमा दिएका छन् ।

  • महाधिवेशनको गाँठो फुकाउन कस्सिए देउवा, आफूनिकट नेताहरूसँग छलफलमा

    महाधिवेशनको गाँठो फुकाउन कस्सिए देउवा, आफूनिकट नेताहरूसँग छलफलमा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीभित्रको विवाद मिलाउन आफैँ सक्रिय भएका छन्।

    महाधिवेशनबारे चर्किएको विवाद कार्यवाहक उपसभापति पूर्णबहादुर खड्काले मिलाउन नसकेपछि देउवा आफैँले छलफल थालेका हुन्।

    अहिले देउवासँग उनीनिकटका शीर्ष नेताहरूबिच छलफल जारी रहेको एक नेताले बताए।

    देउवासँगको छलफलमा गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्ण सिटौला विजय गच्छदार, डा शशांक कोइराला र डा. प्रकाशरण महतलगायत सहभागी छन्।

    देउवासँग छलफलमा रहेका नेताहरू चुनावपछि वैशाखमा महाधिवेशन गर्नुपर्ने पक्षमा छन्। तर महामन्त्रीद्वयले चुनावअघि नियमित नभए विशेष महाधिवेश गर्नुपर्ने अडान लिइराखेका छन्।

  • नेकपा एस पुनर्गठन अभियान अब नेकपा संयुक्तको ब्यानरबाट चल्ने, चुनाव चिन्ह हँसिया

    नेकपा एस पुनर्गठन अभियान अब नेकपा संयुक्तको ब्यानरबाट चल्ने, चुनाव चिन्ह हँसिया

    काठमाडौं । एकीकृत समाजवादी पुनर्गठन अभियान र नेकपा (संयुक्त) बीच एकता घोषणा भएको छ। आज पत्रकार सम्मेलन गरेर नेकपा एस पुनर्गठन अभियान अब नेकपा संयुक्तको ब्यानरबाट चल्ने निर्णय भएको जानकारी गराइएको हो।

    अब चुनाव चिन्ह हँसिया रहनेछ। दुई महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने सहमति पनि भएको छ।

    यस्तै, मार्क्सवाद–लेनिनवाद तथा मानव जातीले प्राप्त गरेका स्वतन्त्रता र मुक्तिका मूल्यहरूको मार्गदर्शनमा कम्युनिष्ट आन्दोलनको अभ्यास र विकास गर्दै वैज्ञानिक समाजवादको ध्येयमा अगाडि बढ्ने, विश्व साम्राज्यवाद तथा वित्तीय पुँजीवादले सिर्जना गरेका सबै खालका असमानता, शोषण–दमन, विभेद, युद्ध, गरिबी आदिको विरुद्ध सबै राष्ट्रहरूको स्वतन्त्रता, स्वाधीनता, समानता, भ्रातृत्व, शान्ति तथा समाजवादको पक्षमा योगदान गर्ने सहमति भएको छ।

    दलाल पुँजीवादको ठाउँमा राष्ट्रिय पुँजीको विकास गर्दै, १०/१२ वर्षमा सबै नेपालीलाई रोजगारी दिने र भ्रष्टाचार, अपारदर्शिता, ढिलासुस्ती तथा अनियमितताको अन्त्य गरी सुशासनको स्थापना गर्दै, समाजवादको आधार तयार गर्ने कार्यभारलाई विस्तृतीकरण गरी आगामी राष्ट्रिय सम्मेलनबाट समाजवादको आजको ठोस कार्यभार रूपमा अगाडि सार्ने सहमति पत्रमा उल्लेख छ।

  • एनपीएल-२ : सुदूरपश्चिमको बलर हाबी हुँदा लुम्बिनी १४३ रनमा रोकियो

    एनपीएल-२ : सुदूरपश्चिमको बलर हाबी हुँदा लुम्बिनी १४३ रनमा रोकियो

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्ससामु १४४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरको लुम्बिनी १९ ओभर ४ बलमा १४३ रनमा अलआउट भयो । टपअर्डरमा मध्यम प्रदर्शन गरेको लुम्बिनीका मिडल र लोअर्डरका ब्याटर चल्न नसक्दा १४३ रनमा समेटिन पुग्यो ।

    लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाइन् । डार्सी सर्ट १८, सुमित महर्जन १८, दीलिप नाथ ३१, गुल्वदिन नाइव ११, सन्दीप जोरा ७, शेर मल्ल ४, थोमस ड्राका ६ र अभिषेश गौतम ६ रनमा आउट भए । तिलक भण्डारी र रुवेन ट्रम्पेल्मेनले कुनै पनि रन जोड्न सकेनन् ।

    बलिङमा सुदूरपश्चिमका पेस बलर हाबी गए । अभिनास बोहराले ३, हेमन्त धामी ३ र स्कट कुगेलेइजन स्पिनर हर्मित सिंहले पनि ३ विकेट लिए ।

  • पालिका कमिटीको हैसियत नहुनेहरू पोलिटब्युरोमा पुगे भन्ने गुनासो आउन थाल्यो : प्रचण्ड

    पालिका कमिटीको हैसियत नहुनेहरू पोलिटब्युरोमा पुगे भन्ने गुनासो आउन थाल्यो : प्रचण्ड

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सबै घटकहरूसँग अब केन्द्रीय सदस्यहरूको सङ्ख्या मात्रै बढाउनेतिर ध्यान नदिनेबारे छलफल भएको बताएका छन्।

    बागमती प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरूको बैठकहरूको बैठकलाई सम्बोधन गर्दै हिजो एउटा पक्षमा पालिका कमिटीमा राख्न पनि उपयुक्त हुँदैन भनेकाहरू अहिले केन्द्रीय समिति र पोलिटब्युरो भएर आइसके भन्ने पनि सुनिएको बताए।

    उनले भने, ‘त्यसो हुँदा इमान्दारहरुलाई अपमान र हीनताबोध हुन जान्छ त्यसले राष्ट्रिय राजनीतिमा जस्तो आन्दोलन तयार गर्नुपर्ने हो त्यो नहुन सक्छ, हामीले अलग अलग घटकहरूसँग छलफल गर्दा केन्द्रीय सदस्यहरूको सङ्ख्या मात्रै बढाउनेतिर ध्यान नदिऔँ भन्ने छ।’

    नेकपाले देशको नेतृत्व गर्ने गरी अघि बढेको देखेपछि देशभित्र र बाहिरका प्रतिक्रियावादीहरूमा आतङ्क सिर्जना भएको बताए।

    उनले थपे, ‘हाम्रो एकताले अवसरवादीहरूलाई पनि छटपटी भएको छ, त्यसले झूट बोलेर, सोसल मिडियाको प्रयोग गरेर भ्रम छर्ने काम भइरहेको छ।’

    बैठकले प्रदेश स्तरीय एकता सभा मंसिर २३ गते हेटौँडामा गर्ने र जिल्ला स्तरीय र पालिका स्तरीय सभा पनि गर्ने निर्णय गरेको छ।

  • सर्वोच्च जलाएको आरोपमा पक्राउ परेका विष्णु ढुङ्गेललाई तत्काल छाड्न अखिल क्रान्तिकारीको माग

    सर्वोच्च जलाएको आरोपमा पक्राउ परेका विष्णु ढुङ्गेललाई तत्काल छाड्न अखिल क्रान्तिकारीको माग

    काठमाडौं । अखिल (क्रान्तिकारी) उपत्यका विशेष प्रदेश समितिले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा सहभागीहरूलाई फोटो र भिडियोको आधारमा पक्राउ गरिएको भन्दै आपत्ति जनाएको छ।

    समितिका इन्चार्ज निरोज श्रेष्ठले विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनमा सहभागी विद्यार्थीमाथि भएको दमन, गिरफ्तारी र राजनीतिक प्रतिशोधको कार्य तत्काल बन्द गर्न सरकारलाई माग गरेका हुन्।

    विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो संगठन अखिल (क्रान्तिकारी) नेपाल ल क्याम्पसका पूर्व अध्यक्ष, नेपाल ल क्याम्पसका पूर्व स्ववियु सभापति, अधिवक्ता विष्णु ढुङ्गेललाई सर्वोच्च अदालतमा लागेको आगलागीको प्रमुख अभियुक्तका रूपमा देखाई सरकारले गरेको गिरफ्तारीप्रति अखिल (क्रान्तिकारी) उपत्यका विशेष समितिले घोर भर्त्सना गर्दछ ।’ ढुङ्गेल सर्वोच्च अदालत जलाएको आरोपमा पक्राउ परेका थिए।

    आन्दोलनका क्रममा विद्यार्थीमाथि दमन गरी ७२ जनाको हत्या गर्न आदेश दिने तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, काठमाडौँका तत्कालीन सिडिओ, प्रहरी नेतृत्व तथा आन्दोलनलाई हाइज्याक गरेर प्रहरीको हत्या गराउने व्यक्तिहरूलाई छानबिन र कारबाही नगरी उल्टै विद्यार्थीमाथि सरकार खनिनु अत्यन्तै आपत्तिजनक रहेको उल्लेख छ।

    विज्ञप्तिमा भनिएको छ, ‘भदौ २३/२४ गतेका घटनाहरूको छानबिन गर्न जाँचबुझ आयोग गठन भइसकेको सर्वविदितै छ । ती घटनाहरूको छानबिन आयोगभित्रबाटै निष्पक्ष रूपमा हुनुपर्छ भन्दै हामी गम्भीर ध्यानाकर्षण पनि गराउन चाहन्छौँ । भदौ २३ र २४ गतेको तस्बिर र भिडियो क्लिप मात्रलाई आधार बनाएर योजनाबद्ध रूपमा गरिएको गिरफ्तारी किमार्थ स्वीकार्य छैन ।’

    भदौ २४ मा देखिएका तोडफोड तथा हिंसात्मक गतिविधिमा संलग्न वास्तविक घुसपैठ समूह माथि मात्र कानुनी कारबाहीको माग गर्दै विष्णु ढुङ्गेललगायत अन्य युवा विद्यार्थीलाई बिना सर्त तुरुन्त रिहाइ गर्न माग गरेको छ।