Tag: टप न्यूज

  • नेकपाको आज जनकपुरमा सन्देश सभा

    नेकपाको आज जनकपुरमा सन्देश सभा

    काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आज जनकपुरको तिरहुतिया गाछीमा सन्देश सभा गर्ने भएको छ ।

    प्रदेशस्तरीय सन्देश सभा गरिरहेको नेकपाले जनकपुरमा आफ्नो उपस्थिति जनाउन लागेको हो ।

    सन्देश सभामा पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, नेताहरु महिन्द्रा राय यादव, राजेन्द्र पाण्डे, मातृका यादवलगायतले सम्बोधन गर्ने तालिका छ ।

    कार्यक्रम दिउँसो १ बजे हुनेछ ।

     

  • निर्वाचन आयोगले दियो राजनीतिक दलहरुलाई २० बुँदे निर्देशन

    निर्वाचन आयोगले दियो राजनीतिक दलहरुलाई २० बुँदे निर्देशन

    काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे निर्देशन दिएको छ ।

    आयोगले आगामी पुस ११ गते राष्ट्रियसभाको निर्वाचनको मिति तय गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनका लागि आवश्यक सहयोग गर्न आग्रह गर्दै आयोगले निर्देशन दिएको छ ।

    निर्वाचनमा समावेशी समानुपातिक प्रतिनिधित्व कायम गर्दै निर्वाचनमा सुशासन कायम गर्नका लागि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम आयोगमा दर्ता भएका राजनीतिक दललाई आवश्यक निर्देशन दिइएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिए ।

    निर्वाचन प्रणालीमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न निर्वाचनमा प्रत्येक दलले प्रत्यक्षतर्फ उम्मेदवारी दिँदा त्यसको एकतिहाई नघटने गरी महिला उम्मेदवारको प्रतिनिधित्व सुनिश्चित गर्ने एवम लैङ्गिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवार मनोनयनको व्यवस्था गर्नुपर्नेछ ।

    राजनीतिक दलले दिगो विकासको लक्ष्यलाई ध्यानमा राखी सन् २०३० सम्म संसद्मा ४० प्रतिशत महिला प्रतिनिधित्व पुर्याउने नीति अख्तियार गर्ने विषयको प्रभावकारी कार्यान्वयनका लागि लैङ्गिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित हुनेगरी उम्मेदवार मनोनयनको व्यवस्था गर्नुपर्नेछ ।

    यस्तै, राजनीतिक दलले निर्वाचनसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्दा नेपालको संविधानप्रति निष्ठावान रही विभिन्न जातजाति, सम्प्रदाय, लिङ्ग, धर्म, भाषा, क्षेत्र र संस्कृतिको सम्मान गर्दै आपसी सुसम्बन्धमा खलल पार्ने कुनै गतिविधि गर्न पाइनेछैन ।

    मतदानस्थल, मतदान केन्द्र, मतगणनास्थललाई लैङ्गिक तथा अपाङ्गमैत्री बनाउन आवश्यक सहयोग गर्ने, राजनीतिक दलको घोषणा पत्र लगायतका दस्तावेजमा लैङ्गिक तथा समावेशीसम्बन्धी व्यवस्थालाई उचित सम्बोधन गर्नुपर्नेछ ।

    महिला, दलित वा अल्पसङ्ख्यक समुदायका लागि आरक्षण गरिएका पद बाहेकका पदमा उम्मेदवार मनोनयन गर्दा कम्तिमा एक तिहाई महिला र नेपालको सामाजिक विविधता प्रतिविम्वित हुने गरी समानुपातिक समावेशी सिद्धान्तका आधारमा उम्मेदवार मनोनयन गर्नुपर्नेछ । राजनीतिक दलबाट सञ्चालन गरिने प्रशिक्षण, गोष्ठी, तालिम, सेमिनार, छलफल तथा अन्तरक्रिया आदि कार्यक्रममा महिला, समावेशी समूह तथा लक्षित वर्गको सहभागितालाई सुनिश्चितता गर्नुपर्नेछ ।

    निर्वाचन प्रचारप्रसार गर्दा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति एवम समावेशी समूह वा अन्य कुनै पनि उम्मेदवारलाई प्रत्यक्ष वा अप्रत्यक्ष धम्की दिने, व्यक्तिगत लाञ्छना लगाउने, गालीगलौज गर्ने, हतोत्साहित गर्ने, चरित्र हत्याका प्रयास गर्ने एवम कमजोरी देखाउने जस्ता विभेदजन्य कार्य नपाइने व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैंगिक अल्पसङ्ख्यक तथा अपाङ्गता भएका व्यक्तिहरूको भावना, इज्जत, चरित्र एवम् प्रतिष्ठामा आँच आउन सक्ने, आत्मसम्मानमा चोट पुग्ने प्रकारले कुनै किसिमको प्रचारप्रसार गर्न पाइने छैन ।

    राजनीतिक दलले सामाजिक सञ्जालमा प्रयोग गर्ने भाषामा महिला तथा समावेशी समूहका व्यक्तिको भावनामा नकारात्मक असर पर्ने गरी गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह नहुने कुराको सुनिश्चितता गर्नुपर्ने आयोगको निर्देशनमा उल्लेख छ । राजनीतिक दलले निर्वाचनको प्रचारप्रसार गर्दा निर्वाचनमा लैङ्गिक तथा समावेशीता, निर्वाचनको महत्व र मतदान गर्ने तरीकालगायतका विषयमा मतदातालाई सुसूचित गर्ने गरी आवश्यक व्यवस्था मिलाउनुपर्नेछ ।

    राजनीतिक पदाधिकारी, सदस्य र कार्यकर्ताले पालना गर्नुपर्ने आचारसंहिता बनाई लागु गर्नुपर्ने र त्यस्तो आचारसंहिता सम्बन्धित दल, दलका पदाधिकारी, सदस्य र कार्यकर्ताले पालना गर्नुपर्नेछ । त्यस्तो आचारसंहिता पालना नगर्ने दलका पदाधिकारी, सदस्य तथा कार्यकर्तालाई दललको विधान बमोजिम कारवाही गर्नुपर्ने भन्ने कानुनी व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेछ ।

    राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रममा उल्लिखित समयभित्र निर्वाचन अधिकृतको कार्यालयमा समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेश गरेपछि त्यसरी पेश गरेको वन्दसूची सम्बन्धित दलले सार्वजनिक गर्नुपर्नेछ । राजनीतिक दलले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनतामा खलल पार्ने एवम् जातीय वा साम्प्रदायिक विद्धेष फैलाउने वा बिभिन्न जात,जाति, धर्म र सम्प्रदाय बीचको सुसम्बन्धमा खलल पार्ने जस्ता हिँसात्मककार्य गर्न बन्देज गरिएको छ । सरकारी, सार्वजनिक, सामुदायिक वा नीजि सम्पतिको तोडफोड हानि नोक्सानी वा क्षति पुर्याउने वा पुर्याउन लगाउने तथा सार्वजनिक नैतिकताको प्रतिकूल हुने कार्य नगर्ने र नगराउने व्यवस्था मिलाउनुपर्नेछ ।

    राजनीतिक दलले निर्वाचन घोषणापत्र बनाइ आयोगमा पेश गर्ने र सो घोषणापत्रको आधारमा निर्वाचन प्रचारप्रसार गर्ने व्यवस्था मिलाउनुपर्नेछ । राजनीतिक दलहरूले राजनीतिक गतिविधि गर्दा बालबालिकालाई प्रयोग नगर्ने नगराउने व्यवस्था मिलाउनुपर्नेछ । यस्तै, दलले राजनीतिक वा निर्वाचनसँग सम्बन्धित गतिविधि गर्दा एक दलले अर्को दललाई वाधा अरोध गर्ने, थुनछेक गर्ने वा गराउने, निषेध गर्ने वा गर्न लगाउने जस्ता अलोकतान्त्रिक कार्य गर्न पाइनेछैन ।

  • एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स तथा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा

    एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स तथा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा

    काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुने भएका छन् ।

    त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा बिहान ११ः१५ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स भिड्दा दिउँसो ३ः३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् ।

    सुदूरपश्चिम अपराजित रहेर छ खेलबाट १२ अङ्क जोडेर पहिलो क्वालिफायरमा पुगिसकेकाले उसलाई कुनै दबाब हुने छैन । आठ अङ्कसहित प्लेअफमा सुरक्षित भएको विराटनगरलाई भने पहिलो क्वालिफायर खेल्न आजको जित आवश्यक छ ।

    विराटनगरले राम्रो रनरेटका साथ जित निकाले सुदूरपश्चिमसँगै नै पहिलो क्वालिफायरमा खेल्नेछ । अन्यथा लुम्बिनी लायन्ससँग इलिमिलेटर खेल्नेछ । त्यसपछि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र काठमाडौँ गोर्खाज भिड्नेछन् ।

    दिउँसो हुने खेलमा प्लेअफ दौडबाट बाहिरिसकेका चितवन र पोखराबीच प्रतिष्ठाको लडाइँ मात्रै हुनेछ । दुवै टोलीको छ खेलबाट चार–चार अङ्क मात्रै रहेको छ ।

  • कान्ति राजमार्ग मर्मतका लागि आजदेखि दुई महिना बन्द हुने

    कान्ति राजमार्ग मर्मतका लागि आजदेखि दुई महिना बन्द हुने

    काठमाडौँ । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ ।

    जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमार्गका विभिन्न खण्डमा सडक विस्तारका लागि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बन्द हुने छ ।

    आगामी दुई महिनासम्म सवारी साधन सबै बन्द गरेर मर्मत एवम् विस्तारको काम अगाडि बढाउन लागिएको कान्ति राजमार्ग सडक योजनाले जनाएको छ ।

    जिल्ला प्रशासन कार्यालय ललितपुरले उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुनेछ ।यो अवधिभर कान्ति राजमार्ग हुँदै यात्रा गर्ने सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गर्न तथा गराउन आग्रह गरिएको छ ।

  • हेटौँडामा बिहानै चल्यो डोजर, ५३१ घर भत्काउन शुरु

    हेटौँडामा बिहानै चल्यो डोजर, ५३१ घर भत्काउन शुरु

    काठमाडौँ । सडक डिभिजन हेटौँडाले मंसिर ५ गते सूचना जारी गर्दै १५ दिनभित्र घर टहरा हटाउन आग्रह गरेको १५ दिने म्यादपछि आज बिहानै सडकमा उत्रिएको छ । उसले सडक विस्तारका लागि आवश्यक बन्दोबस्तीको सामान र जनशक्तिसहित हेटौँडाको राप्तीरोडबाट केही घरहरु भत्काउन शुरु गरेको छ ।

    २०३४ सालदेखि नै हेटौँडामा सडक विस्तारको प्रयास भए पनि रोकिँदै आएको थियो र शुक्रबार पनि रास्वपाकी समानुपातिक निवर्तमान सांसद विन्दबासिनी कंसाकारसहित केहीको घर नभत्काउन र मंसिर २६ गते सछलफलमा आउन सडक डिभिजन र सरोकारवालालाई भनिए पनि शुक्रबार ३ बजेसिम्म कुनै पत्र नआइपुगेको भन्दै सडक डिभिजनले सडक विस्तार नरोकिने बताएको थियो ।

    हेटौँडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकबाट सामरी पुलसम्म सडक विस्तार शुरु भएको हो । २५ मिटर क्षेत्रमा परेका घर टहरा हटाउँदै हेटौँडामा राजमार्गको आवागमनसमेत वैकल्पिक व्यवस्था गरिएको छ ।

  • गण्डकी प्रदेशको हिमाली हल्का वर्षा र हिमपातको सम्भावना

    गण्डकी प्रदेशको हिमाली हल्का वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

    आज राति गण्डकी प्रदेशको हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भूभागमा पनि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।

    आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

  • प्रधानमन्त्रीले बोलाएको सर्वपक्षीय बैठकमा निर्वाचनै विषय केन्द्रित, के भने दलका नेताहरूले ?

    प्रधानमन्त्रीले बोलाएको सर्वपक्षीय बैठकमा निर्वाचनै विषय केन्द्रित, के भने दलका नेताहरूले ?

    काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले शुक्रवार बोलाएको सर्वपक्षीय बैठकमा फागुन २१ को निर्वाचनकै विषयले प्राथमिकता पाएको छ ।

    सरकारी निवास बालुवाटारमा बसेको शुक्रवार साँझ बसेको बैठकमा निर्वाचन आयोग, सुरक्षा निकाय र राजनीतिक दलका प्रतिनिधिसहितको सहभागिता रहेको थियो ।

    दलका नेताहरूलाई प्रधानमन्त्रीले निर्वाचनका लागि सहयोग गर्न आग्रह गर्दै सरकारले यसको वातावरण बनाउन तयार रहेको बताइन् । ‘हामी निर्वाचन गराउन तत्पर छौँ । निर्वाचन गराएर नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौँ, हामीलाई सहयोग गर्नुस्’ प्रधानमन्त्री कार्कीले भनेकी थिइन् । बैठकमा निर्वाचन तयारी, सुरक्षा व्यवस्था र निर्वाचन वातावरणका विषयमा केन्द्रित रहेको नेताहरूले जनाएका छन् ।

    बैठकमा प्रधानमन्त्री कार्कीसहित मन्त्रीहरू, नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत राजनीतिक दलका प्रतिनिधि सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    सर्वदलीय बैठकमा कांग्रेसबाट महामन्त्री गगन थापा र पुष्पा भुसाल, एमालेबाट शंकर पोखरेल र महेश बर्तौला, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट प्रकाश ज्वाला सहभागी रहेका थिए । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट शिशिर खनाल र सोबिता गौतम, राप्रपाबाट राजेन्द्र गुरुङ र भुवन पाठक, जसपा नेपालबाट प्रकाश अधिकारी र जनमत पार्टीबाट नरेन्द्र चौधरी सहभागी भएका थिए ।

    बैठकमा निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुखसमेत सहभागी थिए । प्रतिनिधि सभा र राष्ट्रियसभा सदस्य निर्वाचनलाई केन्द्रित गर्दै सरकारले सरोकारवाला पक्षसँग निरन्तर छलफल गर्दै आएको छ। निर्वाचनका लागि आयोगले दुवै निर्वाचनको कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ। निर्वाचनमा भाग लिन भनी आयोगमा निवेदन दिएका दलहरूले निर्वाचन केन्द्रित गतिविधि अगाडि बढाइसकेका छन्।

    बैठकमा सबै पक्षबाट आ–आफ्ना तयारीबारे जानकारी गराउने काम भएको छलफलमा सहभागी नेताहरूले बताएका छन् ।

    कांग्रेस महामन्त्री गगन थापाले पार्टीले निर्वाचनमा सहयोग गर्ने तर त्यसको वातावरण बनाउन नसकेको जनाएका थिए । राप्रपाले नवीन समझदारीमा गएर अहिलेको समस्या समाधान गर्नुपर्ने प्रस्ताव राखेको थियो भने रास्वपाबाट नेतृ सोबिता गौतमले अहिलेको सरकारलाई पार्टीले पूरा साथ दिएको बताउँदै निर्धारित मितिमा चुनाव गराउनुको विकल्प नभएको बताएकी थिइन् ।

    बैठकमा सहभागी एमाले नेता महेश बर्तौलाले सबै दलले आफ्ना धारणाहरू राखेको र सरकारले निर्वाचनका विषयमा कुनै ठोस योजना नदिएको जनाए ।

    ‘हामीले बैठकमा चार प्रस्ताव राखेका थियौँ, पहिलो एमाले अध्यक्षलाई स्थान हद गरेर निर्वाचनको तयारी गरेको छैन, सुरक्षाको कुनै वातावरण नै बनेको छैन, सरकारको संवैधानिक परीक्षण बाँकी छ सरकारका विषयमा अदालतमा रहेका मुद्दाको टुंगो लाग्नुपर्छ, चुनावी कानुनका विषयमा सरकारले अनावश्यक प्रचार गरेको छ, यसले चुनावको वातावरण बनेकै छैन भन्ने प्रष्ट धारणा राखेका छौँ’ उनले नेपाल प्रेससँग भने ।

    उनले यो विषयमा सरकारबाट कुनै ठोस जवाफ नपाएको जनाएका थिए । बैठकमा सहभागी सुरक्षाकर्मीले सुरक्षा चुनौती भएपनि त्यसलाई थेग्न सकिने धारणा राखेका थिए ।

  • भदौमा जे भयो त्यो हामी कसैको हातमा थिएन, आगजनी गर्ने बानी बस्छ कि भन्ने चिन्ता छ : प्रधानमन्त्री

    भदौमा जे भयो त्यो हामी कसैको हातमा थिएन, आगजनी गर्ने बानी बस्छ कि भन्ने चिन्ता छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज बालुवाटारमा निर्वाचनसम्बन्धी बहुपक्षीय छलफल सम्पन्न भएको छ।

    बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा र सञ्चारमन्त्री जगदीश खरेलको पनि सहभागिता थियो।

    राजनीतिक दलहरूमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीका नेताहरूको सहभागिता थियो।

    निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित तीनै जना आयुक्त, सचिव र सहसचिवसमेत गरी ७ जनाको प्रतिनिधिमण्डलको उपस्थिति थियो। चार वटै सुरक्षा निकायका प्रमुखहरू पनि बैठकमा सहभागी थिए ।

    गृहमन्त्री अर्यालसहित चारै सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनका सन्दर्भमा सुरक्षाको अवस्था र तयारीका विषयमा स्पष्ट पारेका थिए ।

    कार्यवाहक प्रमुख आयुक्त भण्डारीले आयोगले पूर्ण रूपमा निर्वाचन गराउन तयारीका साथ अघि बढिरहेको र यसबीचमा धेरै उल्लेखनीय सफलता प्राप्त गरिसकेको विवरण प्रस्तुत गरे ।

    प्रधानमन्त्री सुशीला कार्कीले आजको भेला निर्वाचनको वातावरण बनाउने सन्दर्भमा अहिलेसम्मकै महत्त्वपूर्ण र उपलब्धिमूलक भएको बताइन् ।

    सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले बैठकमा व्यक्त गरेको समापन मन्तव्य:

    आज जुन भेला भयो, अहिलेसम्मकै महत्त्वपूर्ण हो भन्ने लागेको छ। समग्रमा निर्वाचन होस् र हुनुपर्छ भन्ने आवाज नै यहाँ सबैको रह्यो। कहीँ कतै आशंकाका कारण छन् भने पनि तिनले हामीलाई सचेत गराउँछन् र अगाडि बढ्न मद्दत गर्छन्।

    यहाँहरूले उठाउनुभएका कुरालाई हामी अन्यथा मान्दैनौँ। लागेको कुरा भन्नुपर्छ। अहिलेको परिस्थिति के छ, व्यवधान के कस्तो छ भन्ने बताइदिने यहाँहरूको धर्म हो। हामीले एउटा दृष्टिकोणबाट हेरेका हुन सक्छौँ, तपाईँहरूले आफ्नो दृष्टिकोणबाट थप भनिदिनुहुन्छ। यस सुधार गर्दै अगाडि बढ्ने मौका मिल्छ।

    भदौ २३ र २४ को घटना कसले कल्पना गरेको थियो र ? देशको जीवनमा एउटा मोड आयो। संसारका सबै मुलुकको जीवनमा यस्ता अप्रत्याशित मोड र उतारचढाव आउँछन्। यस्तो समयमा हामीले एकताबद्ध भएर अगाडिको बाटो पहिल्याउनुपर्छ।

    हामीकहाँ जुन घटना भयो, त्यसको विश्लेषण, व्याख्या समय क्रममा होला र निचोड पनि आउला। तर, यस घटनाले राष्ट्रको जीवनमा ठूलो परिवर्तन ल्याइदियो। भइरहेको निर्वाचित र बलियो सरकार परिस्थितिलाई वशमा लिन विफल भयो।

    अदालतले गर्ने कुरा आफ्नो ठाउँमा छ। हाम्रा विरुद्धमा अन्तरिम आदेश भएको भए हात बाँध्नुपर्थ्यो। तर, त्यो भएको छैन। हामी अगाडि बढ्नु नै पर्ने हुन्छ।

    युवा विद्रोहपछि के गर्ने त, अबको बाटो के त भन्ने सन्दर्भमा यो सरकार आएको हो। यो अन्तरिम कालको व्यवस्थापनका लागि आएको हो। यसले आफ्नो कर्तव्य पूर्ण जिम्मेवारीका साथ पूरै सक्रियताका साथ पूरा गर्दै छ। थकाइ पनि भनी काम गर्दै छौँ।

    जेनजीदेखि सबै दल, निर्वाचन आयोग, सुरक्षा निकाय, नागरिक समाज सबै पक्षसँग निरन्तर र कयौँ पटक छलफल गरेका छौँ। आशंकाहरू निवारण गरेका छौँ। मन माझामाझ गरेका छौँ।

    मुलुकप्रति हामी सबैको दायित्व छ। मुलुकले एउटा बाटो पाओस्। जेनजी आन्दोलनको मागअनुसार मुलुकले गति र दिशा लेओस्।

    निर्वाचन आयोगले तत्कालै सक्रिय भएर निर्वाचनको तयारी अघि बढाएको छ। सुरक्षा निकायको प्रस्तुतिले हामी सक्रिय र सक्षम छौँ भनेको छ।

    सेनाले पनि आफ्नो काम सुरु गरिसकेको छ। प्रहरीले निरन्तर कानुनी राज स्थापनाका लागि काम गरिरहेको छ।

    २३ गते निहत्था युवा मारिए। भोलिपल्ट आगजनी भयो। यो कसले किन गरेको, अध्ययनले बताउने नै छ।

    तर, यो आगजनी गर्ने बानी भयो भने भोलि जोकोहीले जोकसैलाई जलाउन सक्ने चिन्ता भएको छ। यस्तो हिंस्रक घटना फेरि नहोस्, कसैले रुन नपरोस्, यस्तो हृदय विदारक अवस्थाको सामना गर्नु नपरोस् भनेर सबैले सोच्नुपर्छ।

    काठमाडौँमा धेरै क्षति भयो, ललितपुरमा कम भयो। ललितपुरमा किन कम भयो भनेर पनि हेर्नुपर्छ। ललितपुरका जनताले धेरै ठाउँमा विध्वंसको प्रतिकार गरेको देखियो। यसरी खराब तत्त्वलाई रोक्ने सामर्थ्य पनि समाजमा हुनुपर्छ। हामीले आफ्नै छिमेकी, साथीभाइको घर किन जलाउनबाट जोगाउन सकेनौँ, यो चिन्ताको विषय हो। यसमा हामीले क्षमा याचना पनि गरौँ।

    चुनाव हुन्छ कि हुँदैन भन्ने अब नसोचौँ। कसरी चुनाव सफल पार्ने भनेर सोचौँ। सबैले एक चित्तले सोचेमा चुनाव नहुने कुरै छैन। १२६ वटै दलले चुनाव हुनुपर्छ भन्ने धारणा राख्नुपर्छ। हामी एकमत भयौँ भने निर्वाचनमा कसैले खलल पार्न सक्दैन। खराब तत्त्वले आक्रमण गर्न सक्दैन।

    सुरक्षाको पहिलो कडी जनता नै हो, समुदाय नै हो। त्यसपछि मात्र प्रहरी, सशस्त्र, सेना हुन्छ। भूतपूर्व सुरक्षाकर्मी पनि छन्।

    अहिलेको परिस्थितिमा हरेकले भनिरहेको एउटै मात्र बाटो निर्वाचन हो। यसबाहेक अर्को विकल्प छैन।

    हामीले जेनजी आन्दोलनबाट आयौँ तर दलका विरोधी होइनौँ। राजनीतिक दललाई स्थापित गर्न नै चुनाव चाहिएको हो भनेर यहाँहरूले बुझ्नुपर्छ।
    दलभित्र पनि युवाले स्थान पाउनुपर्छ भन्यौँ होला। तर कसलाई जिताउने र कसलाई हराउने भन्ने जनताको निर्णयको कुरा हुन्छ।

    म त झन् कुनै पार्टीको टिकट काटेको मान्छे होइन। जुन दल आए पनि हामी स्वागत गर्छौँ। खुसीखुसी आयोगले प्रमाणपत्र दिन्छ।

    हाम्रो कुनै निजी स्वार्थ र आकांक्षा छैन। केही अतिरिक्त प्राप्तिका लागि हामी कुनै काम गरिरहेका छैनौँ। एउटा विषम परिस्थितिमा हाम्रो माग भयो, देशले पत्यायो, हामी आयौँ। देशले सुम्पेको यो अभिभारा पूरा गर्नेबाहेक अर्को कुनै उद्देश्य हामीसँग छैन।

    तपाईँहरू चुनावका लागि एक ठाउँमा उभिइदिनुहोस्।

    अहिले नयाँ आएकाहरूप्रति तपाईँहरूले शंका गर्नुभएको होला। तर जेनजी पनि पहिलाभन्दा धेरै फरक भएका छन्। अझै पनि राजनीतिक व्यवहार र वातावरण दिन, शिक्षा दिन हामी तयार छौँ।

    कुनै दललाई अहित हुने कार्य गरेर कारबाही गर्ने आचार संहिता हुन्छ। त्यसैले हामीलाई अब शंका नगर्नुहोस्।

    भदौमा त्यो स्थिति जे आयो, त्यो त न तपाईँको हातमा थियो, न हाम्रो हातमा थियो। अब निर्वाचन गराएर बलियो सरकार बनाएर युवा शक्तिले खोजेको व्यवस्था ल्याउनुपर्छ।

  • मधेशबाट टुट्यो कांग्रेस-एमाले सहकार्य, राष्ट्रियसभा चुनावमा के होला ?

    मधेशबाट टुट्यो कांग्रेस-एमाले सहकार्य, राष्ट्रियसभा चुनावमा के होला ?

    काठमाडौं । मधेश प्रदेशबाट नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहकार्य टुट्न थालेको छ। एमालेका सरोजकुमार यादव मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर बिच्किएको कांग्रेसले एमालेको साथ छाडेको हो।

    एमालेको साथ छाडेसँगै सात दलीय गठबन्धनको बलमा पहिलो पटक मधेशको मुख्यमन्त्री पाएको छ। सात दलको समर्थनमा कृष्ण यादव मुख्यमन्त्री बनेका छन्।

    एमालेबाट मुख्यमन्त्रीमा नियुक्त भएका यादवलाई तत्कालीन प्रदेश प्रमुखले होटेलमा शपथ गराएपछि कांग्रेसले एमालेको साथ छाडेको थियो। कांग्रेसले साथ छाडेपछि एमालेले मधेशमा मुख्यमन्त्रीसँगै प्रदेश प्रमुख र सभामुख पनि गुमायो।

    मधेशमा एमाले साथ छाडे पनि अन्य ६ प्रदेशमा भने गठबन्धन कायमै छ। नेकपा एमालेका अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच ७ बुँदे सहमति भएपछि एमाले र कांग्रेसबीच सत्ता सहकार्य सुरु भएको थियो।

    त्यही सहमति अनुसार संघमा ओली प्रधानमन्त्री बनेको भएपनि जेनजी आन्दोलनपछि सत्ताच्युत भए। प्रदेशमा भने दुई दलबीचको सहमति अनुसार कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम, एमालेले कोशी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गरिरहेका छन्।

    मधेशमा कांग्रेसले सत्ता सहकार्य तोडेकै दिन ओलीले आज देउवालाई निवास महाराजगन्जमा पुगेर भेट गरे। जेनजी आन्दोलनपछि ओली र देउवाको यो पहिलो भेट हो। भेटमा देउवा पत्नी आरजु राणा र ओलीपत्नी राधिका शाक्य पनि सहभागी थिए।

    दुई नेताबीच जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमदेखि आगामी रणनीतिबारे छलफल भएको बताइएको छ। फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा दुवै दलले एक्ला एक्लै लड्ने घोषणा गरिसकेका छन्।

    तर त्यसअघि माघ ११ गते राष्ट्रियसभाको निर्वाचन हुँदै छ। मधेशबाट सहकार्य टुटाएको कांग्रेसमा एमालेसँग सत्ता सहकार्य तोड्न चर्को दबाब छ। हालै बसेको केन्द्रीय समितिको बैठकमा पनि यो कुरा उठेको थियो।

    एमालेसँगको सत्ता सहकार्यले पार्टीलाई क्षति गरेको भन्दै नेताहरूले प्रदेश सरकारमा पनि तोड्नुपर्ने धारणा राखेका थिए। तर कांग्रेसले त्यसबारे कुनै निर्णय लिएन। कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रियसभाको निर्वाचनमा कसै न कसैसँग मिल्नुपर्ने बताए।

    उनले नेपाल प्रेससँग भने, ‘राष्ट्रियसभाको चुनाव अरूजस्तो होइन, सङ्ख्याको खेल हो, हामी नमिल्दा अरू मिले परिणाम आउँदैन। त्यसैले कसै न कसैसँग मिल्नुपर्छ भन्ने हो तर त्यसबारे समय आएपछि पार्टीले निर्णय गर्छ।’

    परिस्थिति फेरिएपनि राष्ट्रियसभा निर्वाचनमा एमालेसँग विगतमा भएको सहमति अनुसार नै जान्छ ? भन्ने जिज्ञासामा उनले थपे, अहिले भन्न सकिने अवस्था छैन। अब परिस्थिति कसरी जान्छ हेरौँ। छलफल होला त्यसबारे पनि।

    उनले पार्टी राष्ट्रियसभाको निर्वाचनको आन्तरिक तयारी थालेर तल्लो तहबाट उम्मेदवार सिफारिस गर्न भनिसकेको बताए।

    तर एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतम भने अहिलेसम्म पार्टीले राष्ट्रियसभाको निर्वाचनबारे कुनै छलफल नगरेको बताए। उनले भने, ‘अहिले हाम्रो पार्टीको ध्यान महाधिवेशनतिर छ। महाधिवेशन सकिएपछि मात्रै राष्ट्रियसभाको निर्वाचन सोच्छ।’

    कुन दलसँग मिलेर जाने कि के भन्ने पछि नै थाहा हुने उनले बताए। मधेशबाट एमालेको कांग्रेससँग सहकार्य टुट्यो, राष्ट्रियसभाको निर्वाचनमा के हुन्छ ? भन्ने जिज्ञासामा गौतमले थपे, ‘मधेशको सत्ताबारे तलबाटै निर्णय भएको हो। राष्ट्रिय सभाको निर्वाचनबारे केन्द्रबाट निर्णय हुन्छ।’

    नेपाली कम्युनिस्ट पार्टीका प्रवक्ता अग्नि सापकोटाले पनि पार्टीले राष्ट्रियसभा निर्वाचनको तयारी थालिसकेको बताए। चुनावी तालमेलबारे संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालले नै टुङ्ग्याउने उनले बताए।

    सापकोटाले भने, ‘राष्ट्रियसभाको निर्वाचनबारे संयोजक र सहसंयोजक आन्तरिक तयारी गरिराख्नुभएको छ। अहिले कसरी जाने भन्नेबारेमा, यो चुनावमा अन्य दलसँग सहकार्य हुनसक्छ।’

    कांग्रेस र एमालेमध्ये कुन दलसँग सहकार्यको सम्भावना छ ? भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले थपे, ‘आवश्यकताको आधारमा मिल्नुपर्छ भन्ने हो, तर कुनै दलसँग भन्ने अहिले नै भन्न सक्ने अवस्था छैन।’

    ०७६ मा भएको निर्वाचनबाट आए १९ सांसदको कार्यकाल आगामी फागुनबाट सकिँदै छ। उक्त रिक्त हुन लागेको स्थानमा माघ ११ गते राष्ट्रियसभाको चुनाव हुन लागेको हो। बिदा हुन लागेकोमध्ये वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत हुन्।

    एमालेबाट बिदा हुनेमा देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, सुमित्रा बिसी र शारदा देवी भट्ट रहेका छन्।

    नेपाली कम्युनिस्ट पार्टी (माओवादी र एकीकृत समाजवादी)बाट नारायणकाजी श्रेष्ठ, गोपीबहादुर सार्की अछामी, बेदुराम भुसाल, गङ्गाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, मायाप्रसाद शर्मा, राधेश्याम पासवान रहेका छन्।

    लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंह र जनता समाजवादी पार्टी नेपालका मृगेन्द्रकुमार सिंह यादव पनि कार्यकाल सकिएर बिदा हुँदै छन्।

  • लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए

    लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए

    काठमाडौं । जनकपुर बोल्ट्सलाई पराजित गर्दै लुम्बिनी लायन्स एनपीएल सिजन-२ को प्लेअफमा प्रवेश गरेको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी प्लेअफमा प्रवेश गरेको हो ।

    योसँगै प्लेअफमा पुग्ने टोलीको टुंगो लागेको छ । सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र विराटनगर किंग्सले यसअघि नै प्लेअफमा स्थान बनाइसकेका हुन् । पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स र चितवन राइनोज प्लेअफ दौडबाट बाहिरिएका छन् । कर्णाली याक्स यसअघि नै बाहिरिसकेको थियो ।

    जनकपुरले दिएको १३३ रनको लक्ष्य लुम्बिनीले १९ ओभर एक बलमा ६ विकेट गुमाएर पूरा ग¥यो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाए । डार्सी सर्ट ३०, सुमित महर्जन ०, निरोशन डिक्वेला १७, सन्दीप जोरा ०, जेजे स्मिथ २१ रनमा आउट भए । दिलीप नाथ १५ र रुवेन ट्रम्पल्म्यान ६ रनमा अविजित रहे ।

    बलिङमा जनकपुरका संगीत कुरे ३, मायन यादव २ र सञ्जय कृष्णमूर्तिले एक विकेट लिए । त्यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३२ रन बनाएको थियो ।

    जनकपुरका लागि संगीत कुरेले सर्वाधिक अविजित ४५ रन बनाए । माज सदाकत ६, असिफ शेख २०, अनिल शाह ७, शुभ कंशाकार ११, सञ्जय कृष्णमूर्ति १४ र कप्तान जान निकोल लोफ्टी इटन ० रनमा आउट भए । मायन यादव २७ रनमा अविजित रहे ।

    बलिङमा लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्ले दुईदुई तथा जेजे स्मिथ र रुवेन ट्रम्पलम्यानले एकएक विकेट लिए ।

  • रविलाई ‘ब्याक टु ब्याक’ भेटेका ज्ञानेन्द्र शाही भन्छन्- उहाँलाई फसाइएकै हो

    रविलाई ‘ब्याक टु ब्याक’ भेटेका ज्ञानेन्द्र शाही भन्छन्- उहाँलाई फसाइएकै हो

    काठमाडौं । फरक पार्टीको भए पनि रास्वपा सभापति रवि लामिछानेप्रति सदाशयता राख्ने एक नेता हुन् ज्ञानेन्द्र शाही । राप्रपाका प्रवक्ता शाहीले जेनजी आन्दोलनपछि नै कारागारमा गएर दुई पटक उनलाई भेटेका छन् ।

    रविसँग आफ्नो व्यक्तिगत सम्बन्ध रहेको त्यही आधारमा भेटेको उनको भनाइ छ । विगतको सरकारले रविप्रति राजनीतिक पूर्वाग्रह साँधेको भन्दै उनले अहिलेको सरकारले न्याय दिनुपर्ने माग गरे ।

    शाहीसँग गरिएको संक्षिप्त सवाल-जवाफः

    तपाईँले रविलाई कारागारमा गएर भेट्नुभएको कहिले हो ?

    मैले जेनजी आन्दोलनपछि मात्रै दुई पटक भेटेँ । आन्दोलनको ५-६ दिनपछि पहिलो चोटि भेटेर २-३ घण्टा कुराकानी भएको थियो । अस्ति एक हप्ता अगाडि फेरि भेटेँ ।

    रवि गृहमन्त्री हुँदा त उनको निकै आलोचना गर्नुहुन्थ्यो । अहिले सहानुभूति बटुल्नाका लागि भेट्नुभएको हो ?

    म कहिले पनि उनको आलोचक थिइन । गृहमन्त्री हुँदा दुई-चारजना आतंकवादी लाई नपक्रेको भनेर अलिकति असन्तुष्टि पोखेको हो । व्यक्तिगतरुपमा हामीबीच सँधै राम्रो सम्बन्ध छ ।

    भेटमा के के कुराकानीहरू भए ?

    पार्टीगतभन्दा भन्दा व्यक्तिगत तवरले भेटेको हो । अन्तरंग कुराकानीहरू भए ।

    राजनीतिक कुराकानी पनि त भयो होला नि ?

    पक्कै भयो । अब यसरी जानुपर्छ भन्ने कुराहरू भए ।

    उहाँको मनस्थिति के पाउनुभएको छ ?

    उहाँ आत्मविश्वासी नै हुनुहुन्छ । नर्मल हुनुहुन्छ ।

    अहिलेको सरकारप्रति कत्तिको आशावादी देखिनुहुन्छ ?

    त्यति आशावादी देखिनुहुन्न ।

    उहाँमाथि अन्याय नै भएको हो जस्तो लाग्छ ?

    दोषी-निर्दोषी अदालतले फैसला गर्ला । तर अहिले थुनेर नै अनुसन्धान गर्नुपर्ने आवश्यकता थिएन भन्ने मेरो धारणा हो ।

    उनीहरूले के गरिरहेका छन् दैव जानुन् । तर, राजनीतिक मुद्दा बनाइरहेका छन् । उहाँलाई फसाइएकै हो जस्तो लाग्छ मलाई चाहिँ ।

    अदालतले दिएको आदेशमा सरकारले त के गर्न सक्ला र ?

    अहिलेको सरकारले अरू केही नगरे पनि मुद्दाको छिटो फैसला गर्न लगाउन त सक्छ नि त । फैसला यो गर भनेर आदेश दिन पो नसक्ला । छिटो टुङ्ग्याऊ भनेर निर्देशन दिन नमिल्ने हुन्छ र ?

  • प्रभु बैंकका सीईओसहित चार जनाको अनुसन्धान म्याद दोस्रो पटक २ दिन थप

    प्रभु बैंकका सीईओसहित चार जनाको अनुसन्धान म्याद दोस्रो पटक २ दिन थप

    काठमाडौं । प्रभु बैंकका सीईओ अशोक शेरचनसहित चार जनामाथि दर्ता भएको बैंकिङ्ग कसूर मुद्दामा अनुसन्धानका लागि अदालतले दोस्रो पटक म्याद थप गरेको छ ।

    उच्च अदालत पाटनका न्यायाधीश सोमकान्त मैनाली र केशवप्रसाद बास्तोलाको को वाणिज्य इजलासले शुक्रबार २ दिन म्याद थप गर्ने निर्णय गरेको हो ।

    मुद्दामा प्रभु बैंकका सीईओ अशोक शेरचन, डिप्यूटी सीईओ मणिराज पोखरेल, सीसीओ रिवाश श्रेष्ठ, राजेन्द्र शाक्य समेतका भूमिकाबारे अनुसन्धान भइरहेको छ । उच्च अदालत पाटनको प्रशासन शाखाले म्याद थपबारे जानकारी दिएको हो ।

  • एनपीएल-२ : प्लेअफमा पुग्न लुम्बिनीलाई १३३ रनको लक्ष्य

    एनपीएल-२ : प्लेअफमा पुग्न लुम्बिनीलाई १३३ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को प्लेअफमा पुग्न लुम्बिनी लायन्सले १३३ रनको लक्ष्य पाएको छ ।

    टीयु क्रिकेट मैदानमा लुम्बिनीवविरुद्ध टस जितेर ब्याटिङ गरेको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३२ रन बनायो।

    जनकपुरका लागि संगीत कुरेले सर्वाधिक अविजित ४५ रन बनाए । माज सदाकत ६, असिफ शेख २०, अनिल शाह ७, शुभ कंशाकार ११, सञ्जय कृष्णमूर्ति १४ र कप्तान जान निकोल लोफ्टी इटन ० रनमा आउट भए । मायन यादव २७ रनमा अविजित रहे ।

    बलिङमा लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्ले दुईदुई तथा जेजे स्मिथ र रुवेन ट्रम्पलम्यानले एकएक विकेट लिए ।

    यो खेलमा जिते निकाले लुम्बिनीले प्लेअफमा प्रवेश गर्नेछ । प्लेअफमा पुग्ने सम्भावना कायमै राख्न जनकपुरले यो खेलमा जित निकाल्नुपर्नेछ ।

  • कोइराला परिवारमा सहमति : मिलेर जाने, मिलाएर लैजाने

    कोइराला परिवारमा सहमति : मिलेर जाने, मिलाएर लैजाने

    काठमाडौं । नेपाली कांग्रेसमा ‘कोइराला परिवार’ को आफ्नै भाष्य छ । कसैले यसलाई भावनात्मक मान्छन् । कसैले तागत मान्छन् । कसैले यसलाई ‘विरासतको राजनीति’मान्छन् र आलोचनात्मक दृष्टिकोण राख्छन् । कोइराला परिवारबारे अनेक धारणा भए पनि कांग्रेसभित्र कोइरालाहरुबीचको एकता वा मतभेदले प्रक्रियादेखि परिणामसम्मलाई असर पार्दछ ।

    १४ औँ महाधिवेशनमा कोइराला परिवारका नेताहरू एक ठाउँ उभिन सकेनन् । डा.शेखर कोइरालाले आफ्नो टिम निर्माणको प्रारम्भिक तयारी भाइ शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमै गरेका थिए । मतदानको दिनसम्म पुग्दा शशांकले शेखरलाई मत माग्ने परिस्थिति बनेन । शशांकले चुपचाप खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिए । शेखरकी बहिनी शशांककी दिदी सुजाता कोइराला उपसभापतिको उम्मेदवार बनिन् ।

    प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेकी सुजाताले दोस्रो चरणमा पनि दाजु शेखरलाई सहयोग गरिनन् । कोइराला परिवारका ३ सक्रिय नेताहरू तीनतिर बाँडिए । परिणाम तीनैजनाका लागि सुखद रहेन । पार्टीमा तीनैजनाको प्रभाव खुम्चियो । कोइराला परिवारको विरासतमा विश्वास गर्नेहरूले कमजोर महसुस गरे । निरन्तर तीन कोइरालाबीच एकताका लागि दबाब दिइरहे ।

    कांग्रेसमा कोइराला परिवारको पक्षमा पनि मत छ, विपक्षमा पनि मत छ । कोइराला परिवारका नेताहरूको राजनीतिलाई विरासतमा आधारित मान्ने पनि छन्, स्वाभाविक मान्ने पनि छन् ।

    कोइराला परिवारका समर्थक र आलोचक दुवैका केही साझा स्वीकारोक्ति पनि छन् । जस्तै: आजपनि कांग्रेसमा कोइराला परिवारको विरासतसँग कार्यकर्ताको मनमात्रै जोडिदैन, परिणाममा प्रभाव पार्नसक्ने मत पनि जोडिन्छ । त्यही मत जोगाउन यतिबेला कोइराला परिवारभित्र एकता भएको छ । विगतमा भएगरेका सबै अभ्यासलाई बिर्सेर अबका दिनमा एउटै दृष्टिकोण बनाउन शेखर, शशांक र सुजाता सहमत भएका छन् ।

    बुढानीलकण्ठको लञ्च : सुजाताको ताली

    कोइराला परिवारभित्र राजनीतिक सम्बन्ध सुधारका लागि पहिलो अग्रसरता उनीहरू स्वयंले लिए । विगतमा पटक पटक संवाद गरे पनि जेनजी आन्दोलनपछि कोइरालाहरूको असमझदारी कमजोर भयो । एकले अर्काको अस्तित्व स्वीकार्ने संकल्प गरे । कात्तिक २३ गतेको दिन बुढानीलकण्ठको एक होटेलमा शेखर, शशांक र सुजाताले सँगै लञ्च गरे । साढे २ घण्टा सँगै रहँदा उनीहरूले पारिवारिक संवादमात्रै गरेनन्, पिता पुर्खाको योगदानको स्मरण पनि गरे ।

    भावनात्मक बनेको त्यस क्षणमा शेखर र शशांकलाई जसरी पनि मिलेर जानुपर्छ भन्नेमा सुजाताले प्रेरित गरिन् । दाजुभाइ गम्भीर भएर आगामी दिनमा राजनीतिक रूपमा अलग नहुने वचन दिए । सुजाताले खुसीले ताली बजाइन् । त्यसयता कोइराला परिवारमा सुदृढ राजनीतिक समझदारी बनेको छ । उनीहरुबीच नियमित संवाद भइरहेको छ । आफू मिल्ने र अरूलाई मिलाउने ‘कमिटमेन्ट’ ले उनीहरू उत्साहित भएका छन् ।

    हामी मिल्छौ, पार्टी मिलाउँछौँ : डा.शेखर कोइराला

    कांग्रेस नेता डा.शेखर कोइराला अघिल्लो महाधिवेशनमा परिवारभित्र के भयो स्मरण गर्नसम्म चाहँदैनन् । ‘हिजो के भयो भन्ने कुरा मैले बिर्सिसकेको छु । अब सिंगो कांग्रेसलाई एकताबद्ध बनाएर लैजाने हो । त्यसका लागि परिवारभित्र एकता नहुने कुरै छैन’, शेखरले नेपाल प्रेससँग भने । उनले आफूलाई भाइ बहिनीको साथ रहेको प्रष्ट पार्दै उनीहरूलाई पनि आफूले साथ दिने बताए ।

    ‘मिल्ने भनेको मेरो लागि मात्रै मिल्ने कुरा होइन । उनीहरूका लागि पनि म छु, मेरा लागि उनीहरू छन् । हामी सबै कांग्रेसका लागि मिलेका छौँ, मिल्छौँ’, शेखरले भने । कांग्रेसभित्र सबैले सम्मानजनक भूमिका पाउने अवस्था सुनिश्चित गर्न र पार्टीलाई एक ढिक्का बनाएर जनतामा लैजान आफूले सधैँ प्रयास गरिरहेको बताए ।

    ‘कांग्रेस कमजोर हुँदा देश नै कमजोर भयो । कांग्रेसलाई सही दिशा दिन कोइराला परिवार मात्रै होइन सिंगो कांग्रेस मिलाउनुपर्नेछ । परिवार र पार्टी दुवै मिलाएर लैजान्छु’, शेखरले भने । उनले पारिवारिक विरासतभन्दा कार्यकर्ताको भरोसा मुख्य हुने भन्दै आफूले पार्टीमा योगदान भएका सबैसँग सहकार्यका लागि संवाद गर्ने बताए ।

    महाधिवेशनमा मिलेरै जान्छौँ : डा.शशांक कोइराला

    कांग्रेस महामन्त्री रहिसकेका डा.शशांक कोइरालाले १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा सबैभन्दा धेरै मत ल्याए । शालीन राजनीतिज्ञको छवि बनाएका उनले दाजुभाइमा अब समस्या नहुने प्रष्ट पारे ।

    ‘कोइराला परिवार एकै हुनुपर्छ भनेर सबैले भन्नुहुन्छ । हामीले पनि महसुस गरेका छौँ । अब हामी मिल्छौँ’, शशांकले नेपाल प्रेससँग भने । उनले पार्टीभित्र कोइराला परिवारको जत्तिकै योगदान भएकाहरू किनारा लाग्दै गएको भन्दै सबैलाई समेट्न पहल लिने बताए । ‘कांग्रेस इतिहास भएको पार्टी हो । यसको इतिहास जति गर्विलो छ भविष्य पनि उत्तिकै आशावादी हुनुपर्छ । त्यसका लागि कोइरालाहरू मात्रै होइन सबै कांग्रेस मिल्नुपर्छ’, उनले भने ।

    पार्टीभित्र एकताको वास्तविक सन्देश दिन जरुरी रहेको भन्दै शशांकले कार्यकर्ताको भावनालाई सम्बोधन गरेर अगाडि बढ्ने बताए । उनले कोइराला परिवारभित्र नियमित संवाद र सहकार्य कायम रहेको भन्दै अबको महाधिवेशनमा आफूहरू दुईतिर नहुने बताए ।

    शुभेच्छुकको चाहना पूरा गर्छौ : सुजाता

    १४ औँ महाधिवेशनमा उपसभापतिमा प्रतिस्पर्धा गरेकी नेतृ सुजाता कोइराला अबको महाधिवेशनमा तीन कोइराला तीनतिर नहुने बताउँछिन् । कांग्रेसभित्र बृहत्तर एकताको खाँचो रहेको भन्दै उनले कोइराला परिवारमा अब कुनै समस्या नरहेको बताइन् ।

    ‘अहिले देशको परिस्थिति गम्भीर बन्दै गएको छ । पार्टीहरुमा पनि समस्या छ । कांग्रेसभित्र सही नेतृत्व आयो भने त्यसले देशलाई पनि निकास दिनसक्छ । त्यसैले कांग्रेसमा एकता कायम गराउन कोइराला परिवार एकैठाउँ उभिन्छ’, सुजाताले नेपाल प्रेससँग भनिन् । उनले नेतृत्वको विषयमा अहिले नै बोल्न हतारो हुने भन्दै मूल कुरा एकता रहेको बताइन् ।

    ‘शेखर र शशांक दुवै नेतृत्वको लागि योग्य हुनुहुन्छ । दुईमध्ये को हुने भन्दापनि सबै जना सँगै हुने सहमति महत्त्वपूर्ण हो’, सुजाताले भनिन् । आफूलाई भेट्न आउने सबैजसो नेता कार्यकर्ताले कोइराला परिवार एकै ठाउँ उभिनुपर्ने सुझाव दिने गरेको भन्दै उनले अबको महाधिवेशनमा शुभेच्छुकको त्यो चाहना पूरा हुने बताइन् ।

    कोइरालाको तागत कति ?

    नेपाली कांग्रेसको स्थापनाकालदेखि नै नेतृत्वमा कोइरालाहरूको विशेष प्रभाव रही आएको छ । यो क्रम सुशील कोइरालाको निधन नहुँदासम्म कायम रह्यो । बिपीको निधनपछि कृष्णप्रसाद भट्टराईले सभापति भएर नेतृत्व गरे पनि महामन्त्रीका रूपमा गिरिजाप्रसाद कोइरालाले कांग्रेसमा विशेष प्रभाव राख्दथे ।

    २०५३ सालमा दशौं महाधिवेशनबाट सभापति भएका कोइराला २०६६ साल चैतमा निधन हुनुअघिसम्म कांग्रेसको केन्द्रमा रहे । कार्यवाहक सभापति हुँदै १२ औँ महाधिवेशनबाट सुशील कोइराला सभापतिमा निर्वाचित भए । २०७२ साल माघ २६ गते कांग्रेसको जिल्ला अधिवेशनकै दिन कोइरालाको निधन भयो । सोही वर्ष फागुनमा १३ औँ भएको महाधिवेशनबाट कांग्रेसको नेतृत्वमा शेरबहादुर देउवा उदाए ।

    महामन्त्रीमा शशांक कोइराला निर्वाचित भए । २०७९ मंसिरमा भएको १४ औँ महाधिवेशनमा देउवासँग सभापतिमा प्रतिस्पर्धा गर्दै डा.शेखर कोइराला निकटतम प्रतिस्पर्धी भए । त्यतिबेला कोइराला परिवारभित्र राजनीतिक एकता नभए पनि धनराज गुरुङ, चन्द्र भण्डारी, गगन थापा, डा.मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा.रामशरण महत लगायतका प्रभावशाली नेताहरूको साथ शेखरलाई रह्यो । १५ औँ महाधिवेशनको दृश्य स्पष्ट नभइसकेपनि कोइराला परिवारको आन्तरिक एकताले तरंग सिर्जना गर्ने निश्चित छ ।

    कांग्रेसको १४ औँ महाधिवेशनमा खुल्ला केन्द्रीय सदस्यतर्फ डा.शशांक कोइरालाले सबैभन्दा धेरै मत ल्याएका थिए । १३ औँ महाधिवेशनमा खुल्ला तर्फको सर्वाधिक लोकप्रिय मत डा.शेखर कोइरालाले ल्याएका थिए । १३ औँ महाधिवेशनमै खुल्लातर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित हुने एकमात्रै महिला सुजाता कोइराला थिइन् । शीर्ष २५ मा सुजाताबाहेक सबै पुरुष उम्मेदवारले जितेका थिए ।

    विगतको यस तथ्यले कोइरालाहरू कांग्रेसमा लोकप्रिय रहेको देखाउँछ । यद्यपि पारिवारिक एकतामात्रै कोइरालाहरुलाई कांगे्रेसको नेतृत्वमा पुर्याउन काफी छैन । यसका लागि पार्टीभित्रका अन्य समीकरणहरू मिल्नुपर्ने हुन्छ । त्यसप्रति आफूहरू सचेत रहेको डा.शेखर कोइराला बताउँछन् । ‘कोइरालाहरुमात्रै होइन कांग्रेसका सबै पक्षसँग मिल्ने हो । परिणाम ल्याउनका लागि हामीमात्रै मिलेर हुँदैन । त्यसैले पहिले आफूहरू मिल्ने र क्रमशः सबैलाई मिलाउने हाम्रो तयारी छ’, शेखरले भने ।

    कांग्रेसभित्र भावी नेतृत्वका लागि शेखर र शशांकबाहेक कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, पूर्व महामन्त्रीहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि र कृष्ण सिटौला र युवानेता कल्याण गुरुङले आकांक्षा देखाएका छन् ।

  • राजसंस्थाको पक्षमा खुले गण्डकी कांग्रेस सभापति, प्रजातन्त्रवादी राजा स्वीकार्नुपर्ने मत

    राजसंस्थाको पक्षमा खुले गण्डकी कांग्रेस सभापति, प्रजातन्त्रवादी राजा स्वीकार्नुपर्ने मत

    पोखरा । नेपाली कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले राजसंस्थाको पक्षमा अभिव्यक्ति दिएका छन् । उनले प्रजातन्त्रवादी राजालाई नेपाली कांग्रेसले स्वीकार गर्नुपर्ने बताए ।

    ‘प्रजातन्त्रवादी राजा आउँदा समस्याको समाधान हुने भए कांग्रेस तयार हुनुपर्छ,’ सभापति शर्माले भने ।

    शुक्रबार प्रदेश पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सभापति शर्माले स्थिरताका लागि प्रजातन्त्रवादी राजाका लागि पनि कांग्रेस तयार हुनुपर्ने बताएका हुन् ।

    ‘प्रजातन्त्रवादी राजा बनेर हाम्रो समस्याको समाधान हुन्छ र अस्थिरता उत्पन्न गर्ने वातावरण समाप्त हुन्छ भने कांग्रेस त्यसमा तयार हुनुपर्छ,’ उनले भने ।

    कांग्रेसले आफ्नो सिद्धान्त बिर्सिएर अरुको सिद्धान्त अँगाल्दा पार्टी कमजोर हुँदै गएको प्रदेश सभापति शर्माको भनाइ थियो । कांग्रेस कमजोर हुँदा देशको अवस्था यस्तो भएको शर्माले टिप्पणी गरे । ‘बिराएको बाटोबाट कांग्रेस फर्किनुपर्छ ।’ उनले भने ।

    प्रदेश सभापति शर्माले कांग्रेस जोगाउन समयमै महाधिवेशन हुनुपर्ने बताए । उनले नयाँ म्यान्डेट लिएर मात्रै कांग्रेस निर्वाचनमा जानुपर्ने उल्लेख गरे ।

  • कृष्ण यादव बने कांग्रेसबाट पहिलो, मधेशको छैटौं मुख्यमन्त्री

    कृष्ण यादव बने कांग्रेसबाट पहिलो, मधेशको छैटौं मुख्यमन्त्री

    काठमाडौं । मधेश प्रदेशको मुख्मयन्त्रीमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव नियुक्त भएका छन् ।

  • प्रमुख राजनीतिक दल र सुरक्षा निकायका प्रमुखसहित प्रधानमन्त्री निवासमा चुनावी छलफल

    प्रमुख राजनीतिक दल र सुरक्षा निकायका प्रमुखसहित प्रधानमन्त्री निवासमा चुनावी छलफल

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठक सुरु भएको छ। केहीबेरअघिबाट बालुवाटारमा प्रमुख राजनीतिक दल र सुरक्षा निकायका प्रमुखसहित चुनावी छलफल सुरु भएको हो ।

    छलफल निर्वाचन तयारी, सुरक्षा व्यवस्था र वातावरणबारे केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    छलफलमा एमालेबाट महासचिव शंकर पोखरेल र महेश बर्तौला, नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र पुष्पा भुसाल, नेपाली कम्युनिस्ट पार्टीबाट प्रकाश ज्वाला, रास्वपाबाट शिशिर खनाल र सोविता गौतमलगायत नेता सहभागी छन्।

  • सिन्धुलीमा अध्यक्षले नै गरे गाउँपालिका तालाबन्दी, उपाध्यक्ष प्रतिवादमा

    सिन्धुलीमा अध्यक्षले नै गरे गाउँपालिका तालाबन्दी, उपाध्यक्ष प्रतिवादमा

    सिन्धुली । मरिन गाउँपालिका अध्यक्षले नै लेखा शाखामा तालाबन्दी गरेपछि कार्यालयको काम अस्तव्यस्त बनेको छ ।

    अध्यक्ष प्रख्यात मुक्तानले लेखाबाट आफूलाई असहयोग भएको भन्दै ताला लगाएको त्यहाँका कर्मचारीहरुले नेपाल प्रेसलाई बताएका छन् ।

    लेखा शाखाले हरेक काममा बखेडा सिर्जना गरेको भन्दै केही दिनअघि अध्यक्ष मुक्तानले उपाध्यक्ष विमला माझीसँग असन्तुष्टि व्यक्त गरेका थिए । यसबारे प्रतिक्रिया लिनका निम्ति सम्पर्क गर्दा मुक्तानले फोन रिसिभ गरेनन् । उपाध्यक्ष माझीले अध्यक्षको यस्तो कार्यको आफूले प्रतिवाद गरिरहेको बताइन् ।

    गाउँपालिकाका एक कर्मचारीका अनुसार अध्यक्षले नै लेखा शाखामा ताला लगाइदिएपछि कार्यालयका काम ठप्प भएका छन् भने सेवाग्राही प्रभावित भएका छन् । विभिन्न शुल्क तिर्न आउने सेवाग्राहीलाई फर्काउनुपरेको ती कर्मचारीले बताए ।

    अध्यक्ष मुक्तान तत्कालीन माओवादी केन्द्र र हालको नेकपासम्बद्द हुन् । उनी सांसद राजन दाहालका निकटस्थ मानिन्छन् । गत असारमा अध्यक्ष मुक्तानले प्रक्रिया नपुगेको एउटा बिल भुक्तानीका लागि दबाब दिएका थिए । लेखा अधिकृतले उक्त कुराको प्रतिवाद गर्दा आक्रमणको प्रयास भएपछि सिडियो कार्यालयमा हाजिर भएर बसेका थिए ।

    केही दिनपछि ‘अनावश्यक दबाब नदिने’ सहमति भएको थियो । त्यसपछि पछि लेखा अधिकृत काममा फर्किएका थिए । सोही विवाद बढ्दै जाँदा अध्यक्ष मुक्तानले आफैँले लेखा शाखामा तालाबन्दी गरेका हुन् ।

  • राष्ट्रियसभाको उम्मेदवार र बन्दसूचीमा परेको व्यक्ति आगामी निर्वाचनमा उम्मेदवार बन्न नपाउने

    राष्ट्रियसभाको उम्मेदवार र बन्दसूचीमा परेको व्यक्ति आगामी निर्वाचनमा उम्मेदवार बन्न नपाउने

    काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार हुने व्यक्ति र आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार हुने व्यक्ति प्रचलित कानून बमोजिम फरक–फरक हुनुपर्ने भएको छ । एकै व्यक्ति दुवै निर्वाचनमा उम्मेदवार बन्न नपाउने निर्वाचन आयोगले जनाएको हो ।

    यस्तै समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्द सूचीमा नाम समावेश भएको व्यक्ति प्रतिनिधि सभा सदस्यको पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणाली तर्फको उम्मेदवार हुन नपाउने निर्वाचन आयोगका सचिव महादेव पन्थले जानकारी दिए ।

    उनका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० बमोजिम बन्दसूचीबाट नाम हटेको अवस्थामा बाहेक, उक्त सूचीमा रहेका व्यक्ति प्रत्यक्ष तर्फ उम्मेदवार हुन पाउने छैनन् ।

    यस्तो छ आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचन कार्यक्रम

    निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि विस्तृत निर्वाचन कार्यक्रम पनि सार्वजनिक गरेको छ ।

    तत्कालीन प्रतिनिधि सभा विघटन गरेर गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ का लागि तोकेको प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले विस्तृत निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।

    आयोगका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को अधिकार प्रयोग गरी निर्वाचन कार्यतालिका निर्धारण गरेको आयोगका सचिव महादेव पन्थले जानकारी दिए ।

    उनका अनुसार आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक तर्फको कार्यक्रम पनि सार्वजनिक गरेको छ । यो निर्वाचन प्रणाली अन्तर्गतको मतदान पनि २०८२ फागुन २१ गते नै हुने भए पनि यसको पूर्वतयारी र बन्दसूची पेश गर्ने प्रक्रिया निकै लामो र जटिल हुने भएकाले मङ्सिर महिनाबाटै प्रक्रिया सुरु हुने सचिव पन्थले बताए ।

    समानुपातिकमा भाग लिने राजनीतिक दलले २०/२१ गते निवेदन दिइसक्नुपर्ने

    समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले यहीँ मंसिर २० गतेदेखि मङ्सिर २१ गतेसम्म कार्यालय समयभित्र निर्वाचन अधिकृतको कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ । निवेदन पेश गर्ने दलको नामावली मङ्सिर २४ गते प्रकाशन गरिनेछ ।

    दलले नाम फिर्ता लिन चाहेमा मङ्सिर २५ गतेसम्म फिर्ता लिन सक्नेछन् भने मङ्सिर २६ गते दलको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गरिनेछ । यस निर्वाचनको सबैभन्दा महत्त्वपूर्ण भाग, उम्मेदवारको बन्दसूची पेश गर्ने कार्य आगामी १३ र १४ गते बिहान १० देखि बेलुका ५ बजेसम्म हुनेछ ।

    दलले पेश गरेको बन्दसूचीमाथि आयोगले पुस १५ देखि २० गतेसम्म छानबिन गर्नेछ । छानबिन पछि बन्दसूची सच्याउनुपर्ने भएमा आयोगले दललाई सूचित गर्नेछ र दलले पुस २१ देखि २७ गतेसम्म संशोधित बन्दसूची पेश गर्नुपर्नेछ ।

    बन्द सूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा पुस २८ गते बिहान १० देखि अपराह्न ४ बजेसम्म निवेदन दिन सक्नेछन् । नाम फिर्ता लिएको जानकारी आयोगले सम्बन्धित दललाई पुस २९ गते दिनेछ । नाम फिर्ता लिएको कारण रिक्त हुन आएको स्थानमा त्यसै समूहको अर्को उम्मेदवारको मनोनयन गरी दलले पुस ३० देखि माघ २ गतेसम्म आयोगमा पेश गर्नुपर्नेछ ।

    उम्मेदवारको बन्दसूची आयोगले आगामी माघ ४ गते सार्वजनिक गर्नेछ । उक्त सूचीमा समावेश उम्मेदवारको योग्यता सम्बन्धमा दाबी विरोध गर्न माघ ५ देखि १० गतेसम्मको समय दिइएको छ । दाबी विरोधमाथि छानबिन गरी माघ ११ देखि १७ गतेसम्म आयोगले निर्णय लिनेछ । बन्दसूचीबाट हटेको नामको सूचना माघ १९ गते प्रकाशन गरिनेछ भने उम्मेदवारको बन्दसूची अन्तिम रूपमा माघ २० गते प्रकाशन गरिनेछ ।

    आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन निवेदन पेश गर्ने राजनीतिक दलले उम्मेदवारको बन्दसूची अनिवार्य रूपमा तोकिएको मिति भित्र निर्वाचन अधिकृतको कार्यालय कान्तिपथमा पेश गर्नुपर्नेछ । एउटै व्यक्तिको नाम एकभन्दा बढी दलको बन्द सूचीमा राख्न पाइने छैन । साथै, प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानुपातिकको बन्द सूचीमा समावेश भएको व्यक्तिको नाम यस पटकको प्रतिनिधि सभाको बन्द सूचीमा समावेश गर्न पाइने छैन ।

    प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम माघ ६ बाट सुरु हुने

    यस्तै प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष तर्फको निर्वाचन कार्यक्रम आगामी माघ ६ गतेबाट सुरु हुनेछ । मतदान भने समानुपातिक तर्फसँगै फागुन २१ गते नै हुनेछ । प्रत्यक्ष तर्फका उम्मेदवारले माघ ६ गते बिहान १० देखि बेलुका ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन पत्र दर्ता गर्नुपर्नेछ । त्यसै दिन बेलुका ५ देखि ७ बजेसम्म मनोनयन पत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गरिनेछ ।

    उम्मेदवारको विरोधमा उजुरी दिन माघ ७ गते बिहान १० देखि दिउसो ३ बजेसम्मको समय तोकिएको छ । मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने कार्य माघ ७ गते दिउसो ३ बजेदेखि माघ ८ गते साँझ ५ बजेसम्म चल्नेछ । माघ ८ गते साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

    उम्मेदवारले नाम फिर्ता लिन चाहेमा माघ ९ गते बिहान १० देखि दिउँसो १ बजेसम्म निवेदन दिन सक्नेछन् । त्यसै दिन दिउँसो १ देखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । उम्मेदवारलाई माघ ९ गते अपराह्न ४ देखि बेलुका ७ बजेसम्म निर्वाचन चिन्ह प्रदान गरिनेछ । सम्बन्धित मतदान केन्द्रमा आगामी फागुन २१ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।

    प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान सुरु हुनुभन्दा ४८ घण्टा अगाडि अर्थात् आगामी फागुन १८ गते राति १२ बजेदेखि प्रचारप्रसार निषेध अवधि लागु हुनेछ । निर्वाचन क्षेत्रका सबै केन्द्रमा मतदान सम्पन्न भई मतदान भएका सबै मतपेटिका निर्वाचन अधिकृतबाट प्राप्त गरी सुरक्षित रूपमा भण्डारण भएपछि निर्वाचन अधिकृतले मतगणना कार्य सुरु गर्नेछन् ।

  • क्यानका महानिर्देशक अधिकारीको बयान सकियो, मुद्दा ‘हेर्न नमिल्ने’ मा

    क्यानका महानिर्देशक अधिकारीको बयान सकियो, मुद्दा ‘हेर्न नमिल्ने’ मा

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचार सम्बन्धी मुद्दा ‘हेर्न नमिल्ने’ मा परेपछि स्थगित भएको छ ।

    विशेष अदालतले आजका लागि तोकेको थुनछेक बहस सकिएको भए पनि अघि बढ्न नसकेपछि आउँदो आइतबारसम्मका लागि स्थगित भएको छ ।

    न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइराला रहेको इजलास नम्बर–२ मा पेशी तोकिएको थियो । भ्रष्टाचारको अभियोग लागेका अधिकारीसँग न्यायाधीशको केही नाता सम्बन्ध वा अरु कुनै कारणले जोडिएको हुनाले मुद्दा ‘हेर्न नमिल्ने’ मा गएपछि स्थगित भएको हो ।

  • कांग्रेस सांसद कृष्णप्रसाद यादवलाई मधेशको मुख्यमन्त्री नियुक्त गर्न सात दलको दाबी

    कांग्रेस सांसद कृष्णप्रसाद यादवलाई मधेशको मुख्यमन्त्री नियुक्त गर्न सात दलको दाबी

    काठमाडौं । नेपाली कांग्रेसलगायतका सात दलले मधेश प्रदेशको मुख्यमन्त्रीका लागि दाबी गरेका छन् ।

    सात दलको बहुमतसहित कांग्रेस सांसद कृष्णप्रसाद यादवलाई मधेशको मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख समक्ष दाबी पेश गरिएको हो ।

    प्रदेश प्रमुखबाट नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत पुर्‍याएर मुख्यमन्त्री दाबी गर्न आह्वान गरिएपछि कांग्रेससहित जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र लोसपा नेपालले ७८ जना प्रदेश सभा सदस्यसहित दाबी पेश गरेका हुन् ।

    कांग्रेसका २२, जसपा नेपालका १८, जनमतका १३, नेकपा माओवादी केन्द्रका ९, लोसपा नेपालका ८, नेकपा एसका ७ र नाउपाका १ प्रदेश सदस्यको समर्थन र हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि दाबी पेश गरिएको हो ।

     

  • जनकपुरले फेरि कप्तान फेर्‍यो : इटनलाई जिम्मेवारी

    जनकपुरले फेरि कप्तान फेर्‍यो : इटनलाई जिम्मेवारी

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफका लागि निर्णायक भिडन्तमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स प्रतिस्पर्धा गर्दैछन् । टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ ।

    जनकपुरले आजको एक महत्वपूर्ण परिवर्तन गर्दै कप्तानको जिम्मेवारी नामिबियाका अलराउन्डर जान लफ्टी इटनलाई दिएको छ ।

    यसअघि कप्तान बनाइएका दक्षिण अफ्रिकाका अलराउन्डर वायन पार्नेललाई प्लेइङ ११ मा नै राखिएन ।

    सिजनबीचमा दोस्रोपटक जनकपुरले कप्तानी परिवर्तन गरेको हो । नियमित कप्तान अनिल साह आउट अफ फर्म भएपछि उनको स्थानमा पार्नेललाई कप्तानी दिइएको थियो ।

    दुई म्याचमा कप्तानी गरेका उनी तेस्रो म्याचमा टिमबाटै बाहिरिएका छन् । पार्नेलको स्थानमा श्रीलंकन ब्याट्सम्यान संगीथ कुर्रेलाई ल्याइएको छ ।

  • देउवा भेट्न पुगे ओली

    देउवा भेट्न पुगे ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न पुगेका छन्।

    देउवा निवास महाराजगन्जमा केही बेरअघि ओली पुगेका हुन्।

    दुई नेताबीच अहिले भेटवार्ता जारी छ। जेनजी आन्दोलनपछि दुई नेताहरूबिच पहिलो पटक भेटवार्ता भएको हो।

  • नारायण गोपालकी धर्मपत्नीको आग्रहमा लोचनले रेकर्ड गराएकी थिइन्- माया गर्नेको…

    नारायण गोपालकी धर्मपत्नीको आग्रहमा लोचनले रेकर्ड गराएकी थिइन्- माया गर्नेको…

    काठमाडौं । आज स्वर सम्राट नारायण गोपालको ३५ औँ स्मृति दिवस । नेपाली संगीतको शिखर पुरुष नारायण गोपाल २०४७ साल मंसिर १९ गते परलोक भएका थिए । उनका गीतहरू पुराना श्रोतामाझ मात्रै होइन, जेनजी पुस्तामाझ पनि उत्तिकै लोकप्रिय छन् ।

    उनै नारायण गोपालसँग नजिक रहेका संगीतकर्मीमध्ये एक हुन्, वरिष्ठ गायिका लोचन भट्टराई । ‘रिटरिटिङ बजाऊ बिनायो’, ‘खोटाङ जिल्ला दिक्तेल बजार’, ‘ए दाजु नसमाऊ नाडीमा’, ‘तिहारै आयो लौ झिलिमिली’ लगायत कालजयी गीतमा स्वर भरेकी लोचनको सांगीतिक करियरमा ‘माया गर्नेको’ बोलको गीतको विशिष्ट स्थान छ । किनभने यो गीत नारायण गोपालसम्म पुगेर ठोक्किन्छ ।

    २०४४ सालमा रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा लोचन प्रथम हुँदा जज थिए नारायण गोपाल । तर, त्यस वेला उनको औपचारिक भेट भने भएको थिएन ।

    २०४५ सालको कुरा हो, एक दिन संगीतकार भूपेन्द्र रायमाझी लोचनकहाँ आए । भूपेन्द्रकै संगीतमा लोचनले रेडियो नेपालमा गीत गाएकी थिइन् । भूपेन्द्रले लोचनलाई भने, ‘नारायण गोपालले रेडियो नेपालमा फर्स्ट हुने गायिकालाई बोलाऊ भनेर भन्नुभएको छ ।’

    सुरुमा त लोचनले भूपेन्द्रको कुरालाई पत्याइनन् । रेडियोमा सुनेको नारायण गोपाल । क्यासेटको कभरमा मात्रै देखेको नारायण गोपाल । उनैले आफूलाई भेट्न बोलाएको कुरा उनले पत्याइहाल्न सकिनन् । तर, भूपेन्द्रले कन्भिन्स गरेपछि भने लोचन नारायण गोपाललाई भेट्न गइन्, कालिकास्थानमा ।

    म्युजिक नेपालको स्टुडियो भर्खरै खुलेको थियो । साढे तीन वर्षको छोरालाई लिएर लोचन कालिकास्थान पुगिन् । तर, नारायण गोपालको अघि के बोल्ने केही मेसो थिएन । उनले सिर्फ नमस्कार मात्रै गरिन् । नारायण गोपालले बस्न इशारा गरे । अनि सोध्न थाले-

    ‘तिमीलाई यो गीतको कोरस आउँछ ?’ लोचनले टाउको हल्लाइन् ।

    नारायण गोपालले फेरि अर्को गीतबारे सोधे । लोचनले टाउको हल्लाइन् । सोध्ने र टाउको हल्लाउने क्रम केही बेर चलिरह्यो । तबला वादक राजु अग्रवाललाई समोसा लिन न्युरोड पठाए नारायण गोपालले । सबैले समोसा खाए । छुटे । रिहर्सल नै भएन ।

    त्यसपछि एकै पटक प्रज्ञा भवनमा कार्यक्रम भयो । लोचनले कोरसमा नारायण गोपाललाई साथ दिइन् । यसपछि कहिले पोखरा, कहिले धनगढी, कहिले दार्जिलिङका कार्यक्रमहरूमा लोचन नारायण गोपालसितै गुन्जिइन् । युगल गीतहरूमा नारायण गोपाललाई साथ दिइन् ।

    एक दिन लोचन नारायण गोपालको घर गएकी थिइन् । नारायण गोपाल गीत रियाज गरिरहेका थिए । लोचनलाई नारायण गोपालले भने, ‘विश्वविद्यालयको एउटा कार्यक्रम छ । म दुईचार वटा गीत गाउँदै छु । एउटा नयाँ युगल गीत कम्पोज गरेको छु ।’

    अनि लोचनलाई सुनाए, ‘माया गर्नेको चोखो माया पनि देखियो ।’

    कालीप्रसाद रिजालले लेखेको यस गीतमा नारायण गोपाल स्वयंको संगीत थियो । यही गीतमा लोचनले पनि रियाज गरिन् ।

    छुट्ने वेला नारायण गोपालले भने, ‘अर्को एक जना साथी पनि खोज न गाउनलाई ।’

    लोचनले गायिका सुनिता सुब्बालाई भनिन् । सुनिताले एक वचनमै मानिन् । दुवैले गीत रियाज गरे । कार्यक्रम भयो । दुवैले गीत गाए र त्यही कार्यक्रम नै नारायण गोपालको जीवनको अन्तिम कार्यक्रम भयो । यसपछि २०४७ मंसिर १९ गते उनको निधन भयो ।

    नारायण गोपाल बिते पनि लोचनले यो गीतलाई हरेक स्टेजमा गाइन् । उनलाई फर्माइस पनि यही गीतको धेरै हुन्थ्यो । गीत रेकर्ड त भएको थिएन । तर, ज्यादै पपुलर बनिसकेको थियो ।

    एक दिन लोचनलाई नारायण गोपालकी धर्मपत्नी पेमलाले भनिन्, ‘तपाईँको आवाजमा रेकर्ड गर्नुस् यो गीत ।’

    अनि लोचनले २०४९ सालमा रेडियो नेपालमा यो गीत पहिलो पटक रेकर्ड गराइन् ।

    ०००

    नारायण गोपाल सिकिस्त बिरामी थिए । उनको मिर्गौलाको डाइलाइसिस भइरहेको थियो । सुगरले निकै साह्रो गरी च्यापेको थियो । खुट्टाहरू सुन्निएका थिए । तर, गायनमा भने सक्रिय नै थिए । २०४७ सालको एक दिन गायिका लोचन भट्टराई नारायण गोपालको घरमा गइन् । नारायण गोपालसँग दिनभरि बसेर गफ गरिन् ।

    र, अन्त्यमा लोचनले भनिन्, ‘दाइ अहिले त धेरै सजिलो छ, हजुरलाई म किड्नी दिन्छु ।’

    नारायाण गोपालले भने, ‘म कसैको आभारी भएर बाँच्न चाहन्नँ ।’

    बरु आफू तराईको कुनै ठाउँमा थोरै जग्गा लिएर बस्न चाहेको बताए । जहाँ केराघारी होस् । लिचीका बोटहरू होउन् । आँपका बोटहरू होउन् । माछा पोखरी होस् । गाईको हुल होस् । सबै गाईहरूको घाँटीमा घण्ट होस् । गाईहरू लस्करै हिँड्दा घण्टहरू बज्छन्, मधुर आवाज निस्कन्छ । जसले आफूलाई शान्ति दिनेछ ।

    नारायण गोपालले भनेका थिए, ‘गाईहरू लाम लागेर हिँड्छन् । उनीहरूको घण्ट बज्छन् । कस्तो मधुर आवाज आउँछ होला ।’

    ०००

    २०४७ साल । नारायण गोपाललाई वीर अस्पतालमा राखिएको थियो । स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि आईसीयुमा राखिएको थियो । लोचन अस्पताल पनि गइरहन्थिन् ।

    अहिले आएर लोचनलाई थकथक लाग्छ, ‘नारायण गोपाल दाइको जीवनको कति महत्त्वपूर्ण कुरा क्यामेरामा कैद हुनै पाएन ।’

    नारायण गोपाल बिरामी भएको थाहा पाएपछि शुभचिन्तकहरूले अस्पतालको भित्ताभरि चिठी र सन्देशहरू कागजमा लेखेर टाँसेका थिए । कति कागजमा लेखिएका थिए, ‘म किड्नी दिन्छु ।’

    लोचन अस्पतालको त्यो दृश्य सम्झिन्छिन्, ‘यति धेरै कागजहरू टाँसिएका थिए कि म शब्दमा भन्न सक्दिनँ । मेरो आँखामा झलझली छ । बाहिर बाटोदेखि नै नारायण गोपालको स्वास्थ्यको कामना गर्दै ठूलो भीड लागेको हुन्थ्यो ।’

    मिर्गौलाको बिरामीलाई खानै मन नलाग्ने । अनि नारायण गोपालको परिवार भने झोल तरकारी भए पनि खुवाउन चाहने । एक दिन लोचनलाई नारायण गोपाल पत्नीले भनिन्, ‘दाइले खानुहुन्छ कि बहिनी, एक पटक दाइलाई भन्नू न !’

    तर, लोचनलाई नारायण गोपालले भन्थे, ‘तिमीलाई भाउजूले पठाएकी हो ?’ अनि खानै मान्थेनन् ।

    लोचनका अनुसार नारायण गोपाल एकदमै सिकिस्त हुँदा उनको एउटै चाहना थियो, आफ्नो तत्कालको अवस्थाको कुनै पनि फोटो नखिचियोस् । हुन पनि त्यसवेलाको नारायण गोपालको फोटो पनि छैन । बरु आफूलाई दर्शक, श्रोताले जुन रूपमा देखेका छन्, त्यही रूपमा नै सधैँ उनीहरूको मनमा बस्ने चाहना लोचनलाई सुनाएका थिए ।

    लोचन भन्छिन्, ‘तर, उहाँका शुभचिन्तकहरूले हातले लेखेका कागजका चिर्कटोहरू भित्ताभरि नै थियो । पछि उप्काएर कता फालियो होला ? कसैले क्यामेराले भिडियो पनि खिचेन । संकलन गरेको भए अहिले पुस्तककै रूपमा तयार हुन्थ्यो ।’

  • लुम्बिनी लायन्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै जनकपुर बोल्ट्स

    लुम्बिनी लायन्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै जनकपुर बोल्ट्स

    काठमाडौं । लुम्बिनी लायन्सविरुद्ध टस जितेको जनकपुर बोल्ट्स ब्याटिङमा उत्रिएको छ ।

    टियू क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लुम्बिनीले ६ खेलबाट ६ अङ्क जोडेको छ । लुम्बिनीले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरनेछन् । जनकपुरले हालसम्म ५ खेलबाट २ अङ्क मात्र पाएको छ ।

  • मधेशको मुख्यमन्त्रीमा सात दलीय गठबन्धनबाट कांग्रेसका कृष्ण यादव प्रस्ताव

    मधेशको मुख्यमन्त्रीमा सात दलीय गठबन्धनबाट कांग्रेसका कृष्ण यादव प्रस्ताव

    काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्ण प्रसाद यादव प्रस्ताव भएका छन् ।

    सात दलीय गठबन्धनले प्रदेश प्रमुखले दिएको समयभित्रै नियुक्तिका लागि उनको नाम प्रस्ताव गरेको लोसपाका सांसद उपेन्द्र महतोले बताएका छन् ।

  • कानून संशोधन ‘पेण्डिङ’ हुँदा मुद्दा खेपेका नेतालाई चुनाव लड्न छूट, पुर्पक्षमा गएकालाई बन्देज

    कानून संशोधन ‘पेण्डिङ’ हुँदा मुद्दा खेपेका नेतालाई चुनाव लड्न छूट, पुर्पक्षमा गएकालाई बन्देज

    काठमाडौं । सरकारले भदौ २८ गते प्रतिनिधिसभा विघटन गरेपछि फागुन २१ मा उक्त सभाका निम्ति निर्वाचन मिति तय गरेको छ । तर, राजनीतिक परिदृश्यका केही शीर्ष एवं चर्चित नेतामध्ये कतिपयमाथि विभिन्न अभियोगमा मुद्दा चलेका छन् । विद्यमान कानूनी व्यवस्था आपसमा बाझ्दा तीमध्ये केहीले चुनावमा भाग लिन पाउँदा केही भने प्रतिस्पर्धाबाट वञ्चित हुँदैछन् । यही कुरालाई दृष्टिगत गर्दै निर्वाचन आयोगले २०८० सालमै अगाडि बढाएको एक विधेयक विचाराधीन रहेकै अवस्थामा प्रतिनिधिसभा विघटन भएपछि बाझेका कानुनका झमेला ज्यूँकात्यूँ रहेको छ ।

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालमाथि पतञ्जलि जग्गा हिनामिना प्रकरणमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । उक्त मुद्दा दायर भएकै मितिदेखि नेपाल तत्कालीन प्रतिनिधिसभा सदस्य पदबाट निलम्बित थिए ।

    नेपाली काँग्रेसका नेता मोहन बस्नेत नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि प्रकरणमा भ्रष्टाचारको मुद्दा खेपिरहेका छन् । अर्का कांग्रेस नेता बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा पुर्पक्षका निम्ति जेल चलान भएका थिए । उनलाई उच्च अदालत पाटनले २०८० मङ्सिर २८ मा धरौटीमा रिहा गर्न आदेश दिएको छ । यद्यपि, उनीविरुद्धको मुद्दा अझै विचाराधीन छ ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमै एमाले सांसद टोपबहादुर रायमाझी पुर्पक्षका लागि कारागारमा छन् । सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने पनि पुर्पक्षका लागि कारागारमै छन् । टीकापुर घटनामा जन्मकैदको सजाय पाएका नागरिक उन्मुक्तिका नेता रेसम चौधरी राष्ट्रपतिबाट आम माफी पाएर थुनामुक्त छन् । यद्यपि, कानूनी दृष्टिले उनी अभियोगमुक्त भएका छैनन् ।

    नेकपा नेता कृष्णबहादुर महरा सुन काण्डमा पक्राउ परी गत मङ्सिर ११ गते २० लाख धरौटीमा रिहा त भए । तर, उनीविरुद्धको मुद्दा विचाराधीन अवस्थामै छ । उदयपुरको त्रियुगा नगरपालिकाका तत्कालीन मेयर बलदेव चौधरीविरुद्ध राजश्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपको मुद्दा विचाराधीन अवस्थामा छन् । नेकपाकै नेता सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री दीर्घ सोडारीविरुद्ध पनि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि प्रदेश सभा सदस्यबाट निलम्बित छन् ।

    विघटित प्रतिनिधि सभाका सदस्य समेत रहेका दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठविरुद्ध पनि अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । एमालेका गुप्ता र नागरिक उन्मुक्तिकी अध्यक्ष श्रेष्ठ पनि कानूनतः उम्मेदवार बन्न योग्य भएका छन् । यद्यपि व्यक्तिको नैतिकता र पार्टीले भ्रष्टाचार आरोपीलाई उम्मेदवार बनाउँदा जनताले के भन्छन् भन्ने लोक लाजका कारणबाहेक उनीहरूलाई रोक्ने कानून छैन ।

    यसरी विभिन्न अभियोग लागेका नेतामध्ये आगामी निर्वाचनमा कतिपय नेता उम्मेदवार बन्न योग्य र केही अयोग्य हुने भएका छन् । कानुनका दफा नै एकापसमा ‘बाझेका’ कारण मुद्दा विचाराधीन रहेका एकथरि नेताले चुनावमा उम्मेदवार हुन पाउने र अर्काथरिले हुन नपाउने भएका हुन् ।

    प्रतिनिधिसभा निर्वाचन ऐन– २०७४ को दफा १२ र १३ ले तोकेको उम्मेदवारीसम्बन्धी व्यवस्थाअनुसार विभिन्न अदालतमा मुद्दा विचाराधीन रहेको र कैदमा रहेका नेताका हकमा फरक फरक व्यवस्था हुने भएको छ । निर्वाचन ऐनको दफा १२ को ‘घ’ अनुसार ‘कुनै संघीय कानूनले अयोग्य नभएको...’ भनेको छ । दफा १३ (घ) ले भन्छ– ‘भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाई वा कुनै कसूरमा जन्म कैद वा बिस वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको…।’

    यो व्यवस्थाअनुसार कुनै पनि अदालतमा मुद्दा चलेकै नाममा कोही पनि उम्मेदवारीबाट वञ्चित हुनुपर्दैन । वा, एक तहको अदालतबाट मुद्दा ठहर भए पनि फैसला अन्तिम नहुँदासम्म उम्मेदवारी दिन पाइने व्यवस्था छ । तर, दफा १३ को ‘झ’ ले भन्छ, ‘कैदमा बसेकोमा कैद बसेको अवधिभर… ।’ यसरी कानूनको एउटा दफाका उपदफाहरु बाझिँदा मुद्दा परेर तारेख धाइरहेका नेताले उम्मेदवार बन्न पाउँदैछन् । तर, मुद्दा विचाराधीन रहेकै अवस्थामा पुर्पक्षका लागि थुनामा रहेका नेता भने उपदफा ‘झ’ को सिकार बनेर उम्मेदवारी वञ्चित हुने भएका हुन् ।

    यस्तो हुँदा विशेष अदालतमा मुद्दा विचाराधीन रहेका नेतामध्ये माधवकुमार नेपाल, मोहन बस्नेतदेखि बलदेव चौधरीसम्मले उम्मेदवार हुन पाउँछन् । तर, पुर्पक्षका लागि थुनामा रहेकै कारण रवि लामिछाने, टोपबहादुर रायमाझीहरु उम्मेदवारीबाट वञ्चित हुँदैछन् ।

    २०७४ को निर्वाचनमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेकै अवस्थामा कांग्रेस नेता विजयकुमार गच्छदार चुनावमा भाग लिएका थिए । चुनाव पनि जिते । एमाले नेता लक्ष्मी महतो कोइरीलाई सशस्त्र प्रहरीका असई थमन विकको हत्या अभियोग लागेर २०७२ भदौ २५ गते उच्च अदालत जनकपुरले थुनामा राख्न आदेश दिएको थियो । यद्यपि, उनी थुनाबाहिरै थिए ।

    त्यही अवस्थामा २०७९ को प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी– १ बाट उम्मेदवार बने । चुनाव जितेर निर्वाध संसद प्रवेश गरे । शपथअघि नै प्रहरीले पुस ७ को मितिमा संसद सचिवालयलाई चिठी लेखेर उनी ज्यान मुद्दाका फरार अभियोगी भएको जानकारी दियो । तर, सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको नयाँ नियमावली पारित भएका कारण पुरानो पत्रका आधारमा कोइरीलाई निलम्बन गर्न नमिल्ने भन्दै शपथ गराए ।

    यो घटनापछि निर्वाचन आयोगले कानून बाझेको स्थितिलाई हल गर्नका निम्ति निर्वाचन सम्बन्धी कानूनलाई संशोधित र एकीकरण गर्न बनेको विधेयक अगाडी बढायो । मुद्दा विचाराधीन रहेकै अवस्थामा पनि उम्मेदवार बन्न नपाउनेदेखि कोइरीको जस्तो स्थितिमा स्वतः उम्मेदवार बन्न अयोग्य हुनेजस्ता प्रावधान त्यसमा थिए । यद्यपि, उक्त विधेयक संसदमै अल्झिरहेको छ ।

    त्यसको दफा ६६ को (ग) मा भनिएको थियो, ‘भ्रष्टाचारसम्बन्धी कसुरमा मुद्दा दायर भएको वा सुरु अदालतबाट भ्रष्टाचार ठहर भई पुनरावेदनको रोहमा मुद्दा विचाराधीन रहेको वा भ्रष्टाचार ठहर भई अन्तिम भएको… ।’ यो व्यवस्थाले भ्रष्टाचार मुद्दा दायर भएकै स्थितिमा पनि उम्मेदवार बन्न पाइँदैन ।

    कोइरीको स्थितिलाई सम्बोधन गर्दै विधेयकको दफा ६६ को (त) मा भनिएको थियो, ‘प्रचलित कानूनबमोजिम पक्राउ पुर्जी जारी भएकोमा पक्राउ हुन नसकी फरार रहेको वा अदालतले थुनामा राख्ने गरी आदेश दिएकोमा त्यस्तो आदेश कायम रही थुनामा नबसेको…।’

    निर्वाचन आयोगले २०८० को जेठ महिनामै प्रतिनिधिसभामा दर्ता गरेको उक्त विधेयक गत भदौ २८ मा प्रतिनिधिसभा विघटन हुनुअघिसम्म पनि संसदको कार्यसूचीमा समावेश भएको थिएन । अहिले प्रतिनिधिसभा नै बहाल नभएको अवस्थामा उक्त विधेयक त्यसै पेण्डिङमा रहेको छ ।

    के भन्छन् संविधानविद् ?

    वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई यसलाई ‘संगतिपूर्ण व्यवस्था नभएको’ बताउँछन् । ‘कसैलाई अदालतले अन्तिम रुपमा दोषी ठहर नगरेसम्म निर्दोष सम्झिनुपर्छ भन्ने सिद्धान्त छ, पुर्पक्षमा परेको अवस्थामा पनि अन्तिम ठहर भएको हुँदैन’, उनले भने, ‘निर्दोषिताको सिद्धान्तका आधारमा त्यो गरिएको हो, त्यसलाई विधायिकाले कानून बनाएर भ्रष्टाचार मुद्दा विचाराधीन रहेको अवस्थामा उम्मेदवार बन्न नदिने भन्न सक्छ ।’

    निर्वाचन आयोगले तिनै असङ्गतिलाई व्यवस्थापन गर्नका निम्ति संसदमा दर्ता गरेको विधेयक पेण्डिङमा बस्नु दुःखद् कुरा भएको भट्टराई बताउँछन् । ‘मिलेका कानूनलाई मिलाउँदै लैजानुपर्छ, त्यही नियतले यदि आयोगले विधेयक अगाडि सारेको थियो भने संसदले पेण्डिङमा राख्ने कुरा राम्रो भएन’, उनले भने ।

  • प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रवक्तामा सन्तोष परियार

    प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रवक्तामा सन्तोष परियार

    काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को प्रवक्ताको जिम्मेवारी सन्तोष परियारले पाएका छन् ।

    आज बसेको अध्यक्ष परिषद्को बैठकले परियारलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।  प्रलोपाले ओजस्वी भट्टराईलाई सह-प्रवक्ताको जिम्मेवारी दिएको छ । परियार र भट्टराई दुवै अध्यक्ष परिषद्का अध्यक्ष हुन् ।

    पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको अभिभावकत्वमा खुलेको यो पार्टीमा ५ जना अध्यक्ष छन् ।

  • राप्रपाको निष्कासनपछि मधेश प्रदेश सांसद कञ्चन बिच्छा पदमुक्त

    राप्रपाको निष्कासनपछि मधेश प्रदेश सांसद कञ्चन बिच्छा पदमुक्त

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले निष्कासन गरेपछि मधेश प्रदेश सांसद कञ्चन बिच्छा पदमुक्त भएकी छन् ।

    मधेश प्रदेशसभाले आज सूचना निकाल्दै सांसदबाट हटाएको जानकारी गराएको हो ।

    पार्टीको नीतिविपरीत अनुशासन उल्लंघन गरेको भन्दै यही १२ गते बसेको राप्रपाको बैठकले हटाउने निर्णय गरेको थियो । उनी समानुपातिक सांसद हुन्।

  • महाधिवेशनमा प्रतिस्पर्धातिर जाँदा पार्टी विघटनतिर जान्छ, एमालेमा ओलीको विकल्प छैन : बादल

    महाधिवेशनमा प्रतिस्पर्धातिर जाँदा पार्टी विघटनतिर जान्छ, एमालेमा ओलीको विकल्प छैन : बादल

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले ११ औँ महाधिवेशनमा नेतृत्व चयन गर्न प्रतिस्पर्धामा जान नहुने बताएका छन् । प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्दै महाधिवेशनलाई एकताको बनाउनुपर्ने उनको भनाइ छ

    उनले भने, ‘हामी एकताबद्ध भएर नेतृत्वको रक्षा गर्नुपर्छ, प्रतिगामी शक्तिहरूले नेतृत्वलाई सिद्ध्याउन चाहन्छन्। नेतृत्वको रक्षा गरेर मात्रै प्रतिक्रान्तिको षड्यन्त्र चिर्न सकिन्छ।’

    अध्यक्षले महाधिवेशनलाई एकताको महाधिवेशन बनाएर जानुपर्ने सन्देश दिइसकेको बताए। विधानलाई संशोधन गरेर भएपनि नेतृत्व चयन सर्वसम्मत हुने उनले बताए।

    उनले भने, ‘वरिष्ठ उपाध्यक्ष (ईश्वर पोखरेल)ले अध्यक्षको उम्मेदवारी घोषणा गर्नुभएको छ। उहाँले नयाँलाई अवसर दिनुपर्छ, नयाँ नेतृत्व आवश्यक छ भन्नुभएको छ। पार्टीलाई अगाडि बढाउन वर्तमान अध्यक्षको कार्यशैली उचित छैन। त्यसैले निकास दिनुपर्छ भन्ने उहाँको तर्क छ।’

    एमालेलाई वामपन्थी आन्दोलनको मूल धारको रूपमा स्थापित गर्न, लोकप्रिय पार्टी बनाउन ओलीको महत्त्वपूर्ण योगदान रहेको बताए। उनले अहिले पनि एमाले र देशलाई केपी ओलीको आवश्यकता रहेको जिकिर गरे। अहिलेको महाधिवेशनमा प्रतिस्पर्धामा जाँदा पार्टीलाई विघटन र विसर्जनतिर लाने उनको बुझाइ छ ।

  • बादलले भने : जेन-जी आन्दोलन प्रतिक्रान्ति हो

    बादलले भने : जेन-जी आन्दोलन प्रतिक्रान्ति हो

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले जेनजी आन्दोलन क्रान्ति नभई प्रतिक्रान्ति भएको टिप्पणी गरेका छन्

    प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्दै बादलले जनताद्वारा जनताको निम्ति जेनजी आन्दोलन नभएको बताए ।

    उनले भने, ‘जनताको हातबाट प्रतिगामी शक्तिहरूको हातमा राजनीतिक सत्ता जानु प्रतिक्रान्ति हो ।

    यो परिघटनालाई हेर्दा दुई तिहाइ जनमत भएको निर्वाचित सरकारलाई बलपूर्वक अपदस्थ गरियो । एमाले नेतृत्वको सरकारलाई संविधानको धारा मिचेर बलपूर्वक हटाइयो, यो क्रान्ति थिएन । नागरिकहरूको हातबाट गैरनागरिकको हातमा सत्ता गएको छ ।’

    उनले आफूहरूले राजाको हातबाट जनताको हातमा सत्ता ल्याउनको लागि ०६२/६३ को आन्दोलन गरेको स्मरण गरे ।

    प्रतिक्रान्तिलाई स्थापित गर्नको लागि अहिले राजनीतिक दलको नेतृत्व फेर्ने प्रयास भइरहेको बादलले आरोप लगाए ।

    उनले भने, ‘लोकतन्त्र स्थापना गर्न लागेका सबै राजनीतिक दलहरूको नेतृत्व विस्थापित गरेर प्रतिक्रान्तिलाई स्थापित गर्ने षड्यन्त्र अहिले भइरहेको छ । राजनीतिक दलका शीर्ष नेताहरूलाई सिध्याएर मात्रै प्रतिक्रान्तिलाई वैधानिकता दिने प्रयास हुँदैन ।’

    निर्वाचनबाट जेलेन्सकीहरूको सरकार बनाउने प्रयास भइरहेको उनले टिप्पणी गरे । अहिलेको समस्याको निकास संसद् पुनर्स्थापना नभएको बादलको भनाइ छ ।

  • हर्क साम्पाङ भन्छन्ः मलाई रोक्न देशी-विदेशी तत्त्वले कुलमान भन्ने मान्छेलाई अघि सारेका छन्

    हर्क साम्पाङ भन्छन्ः मलाई रोक्न देशी-विदेशी तत्त्वले कुलमान भन्ने मान्छेलाई अघि सारेका छन्

    काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तथा नवगठित श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ऊर्जामन्त्री कुलमान घिसिङविरुद्ध खनिएका छन् । आउँदो चुनावमा आफ्नो पार्टीलाई बहुमत ल्याउन नदिन देशी विदेशी तत्त्वले कुलमानलाई प्रयोग गरेको उनको दाबी छ । फेसबुक लाइभमा बोल्दै साम्पाङले नेपालमा काम गर्ने मान्छे सत्तामा नपुगुन् र देश दरिद्र भइराखोस् भनेर षडयन्त्र भइराखेको बताए ।

    त्यसका बाबजुद आफ्नो श्रम संस्कृति पार्टीले बहुमत ल्याएर छोड्ने उनको भनाइ छ । साम्पाङले घिसिङलाई चुनौती दिँदै भने, ‘तपाईँविरुद्ध यसरी प्रयोग भइराख्नुभयो भने हाम्रो श्रम संस्कृति पार्टीले साइड लगाउँछ वा नाघेर जान्छ । त्यो हुनुभन्दा पहिले बचेखुचेको छविलाई बचाउनुस् र मन्त्रीको काममा केन्द्रित हुनुस् ।’

    साम्पाङको भनाइका मुख्य अंश

    काम गर्ने मान्छे सत्तामा नपुगुन् र नेपाल देश दरिद्र भइहराखोस् भन्ने एकथरि र विदेशी इशारामा नाच्ने दुवै तत्त्वहरू सलबलाएका छन् । ती तत्त्वहरूले हर्क साम्पाङलाई रोक्नका लागि कुलमान भन्ने मान्छेलाई अघि सारेको देखिन्छ । आन्दोलनपछि तहसनहसको स्थितिमा विदेशी हस्तक्षेप हुन सक्छ भने पनि म यो देशलाई सम्हाल्न सक्छु भनेर साहस देखाउँदा जेन-जीले समर्थन गरेर माहौल बनाउनुभयो । मैले चाहेको भए त्यस बेला धेरै कुरा हुन सक्थ्यो । तर म ‘सुद्ध र बुद्ध मन’ ले लागेको, कसैको रगतमाथि टेकेर सत्ताको कुर्सीमा पुग्ने नियत छैन । कमिला र किराफट्याङ्ग्राको पनि माया गर्ने मान्छे हुँ । मैले त्यस्तो रक्तपात चाहिनँ । तर, त्यहाँ ठूलो माहौल सिर्जना भएपछि मलाई रोक्न छेक्न कुलमानलाई अघि ल्याइयो । उहाँलाई प्रधानमन्त्री बनाउने भनेर मिडिया ट्रायल गरियो । अहिले पनि त्यस्तै धृष्टता भइराखेको छ ।

    हर्क सत्तामा नआओस् भनेर कुलमानजीलाई अघि सारिएको छ । उहाँ प्रयोग भइराख्नुभएको छ । हर्क आयो भने नेपालमा विदेशी चलखेल रोकिन्छ, उत्पादन हुन्छ, गरिबी निवारण हुन्छ, गरिब मान्छे नरहे कसलाई सानोतिनो प्रलोभनमा किनेर र्‍याली गर्ने ? सबैको दोकान बन्द हुन्छ । अन्य धेरै कारणहरू छन्, जुन खुलाउन वाञ्छनीय ठान्दिनँ । त्यसैले जसरी पनि रोक्नुपर्छ भनेर (हाँसो) । यो देशमा दुई धारको राजनीति छ । यो देश बचाउ, माटो बचाउ स्वाभिमान बचाउ इज्जत बचाउ भन्ने एउटा हर्कवादी विचार । अर्को विचार चाहिँ विदेशी चलखेल, विदेशी सिद्धान्त, विदेशी ऋण लिएर व्यक्तिगत स्वार्थपूर्ति गर्न खोज्ने ।

    कुलमानजी आफैँ पनि एमसीसी लगायत राष्ट्रघाती सन्धि-सम्झौतामा मुछिएको व्यक्ति हो । उहाँलाई बोर्डिङ पासको रूपमा प्रयोग गरिँदै छ । बोर्डिङ पास भनेको यहाँबाट काठमाडौं जाँदा एउटा कार्ड दिइन्छ । त्यो कार्ड नदेखाई जान सकिँदैन (हाँसो) । त्यो कार्ड गन्तव्यसम्म पुगेपछि काम हुँदैन । (लामो हाँसो) कुलमानजीलाई बोर्डिङ पासको रूपमा प्रयोग गरिँदै छ । मसित यसको प्रमाण छ । अहिले आएको एउटा पार्टी छ, जसमा उहाँको नाम जोडिएको छ । उहाँले त्यो मेरो पार्टी होइन भन्नुभएको थियो । हेर्दाखेरि लिस्टमा उहाँको नाम छैन । तर, उहाँले त्यो भन्नुभयो ।

    अहिले घोषणा सभामा गएर उहाँ नै सबै थोक हो भनेर वक्तव्यबाजी गरिराख्नुभएको छ । यसले देखाउँछ या त उहाँ अन्योलमा हुनुहुन्छ या दोहोरो चरित्रको मान्छे हो । दोहोरो चरित्रको मान्छे खतरा रहस्यमयी हुन्छन् । यो कुरा सुन्दा कति उहाँलाई मन पराउने समर्थक मसित रिसाउन सक्नुहुन्छ, तर मलाई मतलब छैन । हर्क बोल्दा कसैलाई मन पर्दैन, तर एक साता, एक महिना बितेपछि सबैले बुझ्न थाल्छन् । अहिले जेन-जीलाई यो सरकार बनाएकोमा कति पछुतो भइरहेको छ । जाति समुदायको कुरा पनि आउला । तर, मैले जाति विशेषलाई दोषेको होइन । व्यक्तिलाई भनेको हो । हि इज बिङ युज्ड । मलाई सरकारमा जान्न भनेर उहाँले प्रष्टरुपमा भन्नुभएको थियो । २४ घण्टा नबित्दै… (हाँसो) ।

    त्यसले गर्दा मित्रहरू ह्वाट यु थिंक यु सुड स्पिक द सेम, ह्वाट यु स्पिक यु सुड डु द सेम । त्यो भयो भने मात्रै बोली र कर्ममा एकरूपता आउँछ । सत्यवादी मान्छेले मात्रै सही नेतृत्व दिन सक्छ । मलाई मन नपराउने मान्छेहरूले उहाँलाई अघि सारेर जेन-जीको आन्दोलनमा मेरो बाटो छेकियो, त्यसै गरी बाँसको भाटाको रूपमा मेरो यात्रामा आइराख्नुभएको छ । हाम्रो बाटो त्यसरी छेकिँदैन । बहुमत जसरी पनि ल्याउँछौँ । आइसकेको छ । हरेक मान्छेलाई श्रम संस्कृतिले छोइसकेको छ । तपार्ईं त्यसरी प्रयोग हुनुभयो भने हाम्रो श्रम संस्कृतिले साइड लगाउँछ वा नाघेर जान्छ । त्यो हुनुभन्दा पहिले बचेखुचेको छविलाई बचाएर मन्त्रीको काममा केन्द्रित हुनुपर्छ ।

  • ११६ संस्थानमा ५ खर्ब २६ अर्ब बढी सरकारी ऋण लगानी

    ११६ संस्थानमा ५ खर्ब २६ अर्ब बढी सरकारी ऋण लगानी

    काठमाडौँ गत आर्थिक वर्ष २०८१/८२ सम्ममा सरकारले विभिन्न १५९ सार्वजनिक संस्थान तथा निकायमा शेयर तथा ऋण लगानीका रुपमा नौ खर्ब ३० अर्ब ८८ करोड चार लाख ६८ हजार रुपैयाँ लगानी गरेको छ ।

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको ‘नेपाल सरकारको शेयर तथा ऋण लगानीको वार्षिक प्रतिवेदन’ अनुसार गत आर्थिक वर्ष २०८१/८२ सम्ममा सरकारको कूल शेयर लगानी ११६ संस्थानमा चार खर्ब चार अर्ब ८१ करोड ४१ लाख ५८ हजार रुपैयाँ रहेको छ ।

    सबैभन्दा बढी शेयर लगानी रहेका संस्था नेपाल विद्युत् प्राधिकरण, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल टेलिकम, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक रहेका छन् ।

    त्यस्तै, गत आर्थिक वर्षसम्मको सरकारको कूल ऋण लगानी पाँच खर्ब २६ अर्ब छ करोड ६३ लाख १० हजार रुपैयाँ रहेको छ । त्यसमध्ये आन्तरिक स्रोतबाट एक खर्ब ५८ अर्ब १८ करोड २१ लाख ८४ हजार रुपैयाँ र वैदेशिक स्रोतबाट तीन खर्ब ६७ अर्ब ८८ करोड ४१ लाख २६ हजार रुपैयाँ रहेको कार्यालयले जनाएको छ ।

    बढी ऋण लगानी भएका संस्थानमा नेपाल विद्युत् प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल खानेपानी संस्थान रहेका छन् ।

    गत आर्थिक वर्षमा सरकारले साँवा फिर्तातर्फ दुई अर्ब ६२ करोड २९ लाख ९४ हजार ६९५ रुपैयाँ र ब्याज असुलीतर्फ पाँच अर्ब २९ करोड चार लाख ३० हजार ३५६ रुपैयाँ प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ ।

    त्यस्तै, गत आर्थिक वर्षमा मात्र शेयर लगानीतर्फ पाँच अर्ब ५२ करोड छ लाख ३४ हजार ५४९ रुपैयाँ र ऋण लगानीतर्फ ३५ अर्ब ९५ करोड ९७ लाख ८७ हजार ६९८ रुपैयाँ गरी कूल ४१ अर्ब ४८ करोड चार लाख २२ हजार २४७ रुपैयाँ लगानी भएको छ ।

    विभिन्न संस्थान र निकायमा सरकारको ठूलो लगानी भए पनि त्यसको प्रतिफल भने कमजोर देखिन्छ । ऋण तथा शेयर लगानी भएका निकायले समयमा सरकारलाई साँवाब्याज भुक्तानी नगर्दा त्यसको दायित्व क्रमशः बढ्दै गएको देखिन्छ ।

    आर्थिक वर्ष २०८१/८२ सम्ममा भाका नाघेको साँवा दुई खर्ब ५९ अर्ब १९ करोड ९७ लाख तीन हजार १२६ रुपैयाँ र भाका नाघेको ब्याज एक खर्ब ४० अर्ब ८८ करोड २३ लाख ९६ हजार १६९ रुपैयाँ गरी कूल भाका नाघेको रकम चार खर्ब आठ करोड २० लाख ९९ हजार २९५ रुपैयाँ रहेको छ, प्रतिवेदनमा भनिएको छ ।

    भाका नाघेको साँवा ब्याज बढी भएका सार्वजनिक संस्थानमा नेपाल विद्युत् प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, नेपाल खानेपानी संस्थान, नेपाल नागरिक उड्डयन प्राधिकरणलगायत रहेका छन् ।

    रासस

  • एमाले केन्द्रीय कमिटीमा डेब्युको तयारी गर्दै युवा नेता, ४० वर्षमुनिको क्लस्टर थपिने

    एमाले केन्द्रीय कमिटीमा डेब्युको तयारी गर्दै युवा नेता, ४० वर्षमुनिको क्लस्टर थपिने

    रुपन्देही । नेकपा एमालेको ११ औं महाधिवेशनबाट उल्लेख्य संख्यामा युवाहरूले केन्द्रीय कमिटीमा पहिलोपटक प्रवेश गर्ने प्रयास थालेका छन् । उनीहरूले ४० वर्षमुनिको युवा प्रतिनिधित्व विधानमा सुनिश्चित गर्न पनि संगठितरूपमै पार्टी नेतृत्वलाई दबाब बढाएका छन् । अनेरास्ववियु र युवा संघको नेतृत्वबाट बिदा भएका धेरै नेता पहिलोपटक केन्द्रीय कमिटीमा डेब्युको तयारी गर्दैछन् ।

    जेन-जी आन्दोलनपछिको अवस्थामा विधान संशोधनको आवश्यकता रहेकाले ४० वर्षमुनिका युवालाई क्लस्टर नै तोकेर केन्द्रीय कमिटीमा प्रतिनिधित्व गराउने तयारी छ । महाधिवेशन प्रतिनिधि छनौटमै युवा कोटा तोकिएकाले विधानमा संशोधन गरेर युवको प्रतिनिधित्व सुनिश्चित गर्न लागिएको उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

    एमालेले पार्टीमा युवा प्रतिनिधित्व ग्यारेन्टी गराउने गरी प्रत्येक निर्वाचन क्षेत्रबाट १ जना गरी १ सय ६५ जना (४० वर्ष मुनिका) युवा महाधिवेशन प्रतिनिधि छनौट भइसकेका छन् भने युवा क्लस्टरबाहेक खुलाबाट पनि केही युवा प्रतिनिधि छानिएकाले पार्टी जिम्मेवारीमा जानेहरूको दौडधुप सुरू भएको हो ।

    अनेरास्ववियुका पूर्वउपाध्यक्ष यम पाण्डेका अनुसार अहिले युवासंघमा भन्दा अनेरास्ववियुबाट पार्टीको नेतृत्वमा जान चाहेका अनुहार धेरै छन् ।

    ‘प्रतिनिधि छनौटमा आएका धेरै साथीहरूको अनुहार पढ्दा अखिलबाटै आएकाहरू धेरै आकांक्षी भएको देखिन्छ, युवासंघबाट सीमित हुनुहुन्छ, महाधिवेशनको मिति नजिकिएसँगै उम्मेदार आकांक्षी अझै बढ्न सक्छन्, अहिले युवाको निश्चित प्रतिशत ग्यारेन्टी गरिएकाले पनि यस्ता भएको हो’ उनले भने ।

    उपमहासचिव प्रदीप ज्ञवालीले करिब २ सयको हाराहारी युवा प्रतिनिधि छनौट भएको र यसपटक केन्द्रीय कमिटीमा युवालाई १० प्रतिशत कोटा सुरक्षित गरिने तयारी भएपनि यसको आधिकारिक निर्णय भने महाधिवेशनको हलबाटै गरिने जनाएका छन् । यसपटक एमालेको केन्द्रीय कमिटी २५१ सदस्यीय हुनेछ । जसअनुसार १० प्रतिशतले करिब २५ जना युवाले एमालेको केन्द्रीय कमिटी सदस्य बन्ने अवसर पाउनेछन् ।

    ‘नेपालका राजनीतिक दलमध्ये कोटा छुट्याएरै पालिकादेखि केन्द्रीय कमिटीमा युवाको प्रतिनिधित्व गराउने एमाले नै हो, एमाले यसअघि सेल कमिटीहरूमा एक तिहाइ, वडा कमिटीमा २५, पालिका कमिटीमा २० र जिल्ला कमिटीमा १५ प्रतिशत युवाको प्रतिनिधित्व गराइसकेको छ । अब यसै आधारमा संगठनबाट पार्टीमा प्रतिनिधित्व हुनेछ’ उनले भने ।

    केन्द्रसहित सबै प्रदेशमा यसका बलिया संरचनाहरू भएकाले र उमेर हदबन्दीका कारण पनि विद्यार्थी संगठन र युवा संघका नेताहरू पार्टीको जिम्मेवारीमा जान चाहेका हुन् । पार्टीको जिम्मेवारीमा जान चाहेकाहरू केही प्रतिनिधिमै रोकिएका छन् भने केही निर्वाचनमै उठेर पनि पराजित भएका छन् ।

    पार्टीको महाधिवेशन नजिकिएसँगै र प्रतिनिधि छनौट पूरा भइसकेपछि यसको जिम्मेवारीमा जान अनेरास्ववियु र युवा संघका नेताहरू आफू निकटस्थ नेता कार्यकर्ताहरूलाई साथ दिन दौडधुपमा लागेका छन् । अहिले प्रतिनिधि नछानिए मनोनीत कोटामा पर्ने आश गरेकाहरू पनि भने भित्री तयारीमा छन् ।

    अखिलको विरासतबाट केन्द्रमा जान खोज्नेहरू

    अनेरास्ववियुका हालसम्मका सबै अध्यक्ष केन्द्रीय सदस्य भइसकेकाले अब निवर्तमान अध्यक्ष समिक बडाल केन्द्रीय कमिटीको स्वभाविक दाबेदार देखिएका छन् ।

    बडाल ४० वर्ष कटेकाले उनी खुला वा भूगोल प्रदेशबाट केन्द्रीय सदस्य बन्ने तयारी छ । त्यस्तै बडालसँगै बिदा भएका अखिलका पूर्वमहासचिव नरेश रोकाय बाजुराबाट प्रतिनिधि बनेर आएसँगै केन्द्रीय सदस्यको दाबेदार देखिएका छन् । बडालकै कमिटीका उपाध्यक्षहरू गोविन्द गिरी, धर्म गिरी, नारायण घर्तीलगायत पनि केन्द्रीय सदस्यका आकांक्षी छन् ।

    नविना लामा र ऐन महरको कार्यकालका उपाध्यक्षमध्ये रश्मी आचार्यमात्र एमालेको केन्द्रीय सदस्य बन्न नपाएका युवा नेता हुन् । गण्डकीबाट प्रतिनिधि बनेका आचार्य यसपटक केन्द्रीय कमिटीमा उम्मेदवार बन्दैछन् । पूर्व वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने केन्द्रीय सदस्यका स्वाभाविक दाबेदार हुन् भने अखिलकै अनुशासन आयोगको अध्यक्षबाट बिदा भएकी जुम्लाकी मेनका पछाई पनि डेब्युको तयारीमा छन् ।

    यी बाहेक अखिलबाट बिदा भएका रामप्रसाद न्यौपाने, निशा अधिकारी, राधिका खतिवडा, कल्पना वाइबा, सुदर्शन शिवाकोटी, सञ्जिव धिताल, विनिता काफ्लेलगायत पनि केन्द्रीय सदस्यका सम्भावित उम्मेदवार हुन् ।

    अखिलबाटै गएका अछामका मोति विक, रुपन्देहीका बालकृष्ण पाण्डेले प्रदेशगत रूपमा युवा क्लष्टरबाट प्रतिनिधित्व गर्ने अवस्थामा जाने मनस्थिति बनाएका छन् । त्यसैगरी एमाले रुकुमपूर्वको अध्यक्ष बनिसकेका लीलामणि गौतम पनि युवाबाटै प्रतिनिधित्व गरेका छन् उनको बढी सम्भावना रहेको छ । उनी अनेरास्ववियुमै काम गरेर पार्टीको जिल्ला अध्यक्ष बनेका हुन् ।

    जेन-जी आन्दोलनपछि अनेरास्ववियुको अध्यक्षबाट बिदा लिएका डा. सुजन कडेरिया पनि प्रतिनिधि मनोनीत भएर पार्टी राजनीतिमा जोडिने तयारी गरेका छन् ।

    अरु युवा नेता को-को ?

    उता युवासंघबाट सर्वसम्मत रुपमा अध्यक्ष क्षितिज थेबेलाई उम्मेदारी बनाउने निर्णय गरिए पनि क्लष्टरबाट जिम्मेवारी आउँदा अरु नेताहरूले पनि तयारी गरेका छन् ।

    युवासंघका नेताहरूका अनुसार थेबे पार्टी जिम्मेवारीमा जाँदा उपाध्यक्ष रहेका महाराज गुरुङ त्यसको नेतृत्वमा जाने भद्र सहमति छ । निर्वाचनका बेला यो अनौपचारिक समझदारी पनि भएको विषय बाहिर आएको थियो । त्यसैगरी अर्का उपाध्यक्ष विनय शाह पनि संघकै जिम्मेवारी रहने इच्छा गरेका छन् ।

    युवासंघको अध्यक्ष उठेर पराजित भएका सुमन पुरी प्रतिनिधि बनेर एमालेको नेतृत्वमा जाने तयारी गरे पनि रुपन्देहीमा भएको प्रतिनिधि छनौटको निर्वाचनमा पराजित भएर थन्किएका छन् । युवासंघबाट केन्द्र तथा जिल्लाबाट थेबे समूहमै लागेकाहरू प्रतिनिधि छनौट भएका छन् । पुरीको समूहमा लागेका धेरै सहमति र निर्वाचन दुवै विधिबाट गरिएको प्रतिनिधि छनौटमै फालिएका छन् ।

    युवासंघको पूर्वउपाध्यक्ष बनेका र नेकपा एसको केन्द्रीय कमिटी सदस्य बनेर अहिले एमालेमा आएका राजु गुरुङ पनि अहिले प्रतिनिधि बनेका छन् ।

    युवा संघका अध्यक्ष क्षितिज थेबे, पूर्व अध्यक्ष बचनवहादुर सिंह, पूर्वउपाध्यक्ष अमित लामा, क्रान्ति बुर्लाकोटी पनि केन्द्रीय सदस्यको रूपमा पहिलोपटक प्रवेश गर्ने तयारीमा छन् ।

    इलामका पूर्वसांसद सुहाङ नेम्वाङ केन्द्रीय सदस्यको प्रबल दाबेदार हुन् । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई पनि युवा पुस्ताबाट सम्भावित केन्द्रीय सदस्यका रूपमा हेरिएको छ । यद्यपि उनी महाधिवेशन प्रतिनिधिको चुनावमा भने सहभागी भइनन् । सम्भवतः उनलाई मनोनीत गर्ने सूचीमा राखिएको नेताहरूले बताएका छन् ।

  • २३ गते राष्ट्रिय झन्डासहित सडकमा निस्किन राप्रपाको आव्हान

    २३ गते राष्ट्रिय झन्डासहित सडकमा निस्किन राप्रपाको आव्हान

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २३ गते काठमाडौंमा हुने प्रदर्शनमा सहभागी हुन आह्वान गरेको छ । आज पत्रकार सम्मेलन गरेर आन्दोलनका कामाण्डर ज्ञानेन्द्र शाही पार्टीभन्दा माथि उठेर देश जोगाउने आन्दोलनमा सहभागी हुन आग्रह गरे ।

    उनले भने, ‘आयोजक राप्रपा हो तर राप्रपाको मात्रै झन्डा सहभागी गर्दैनौँ । राष्ट्रिय झन्डामा जो जति साथीहरू हुनुहुन्छ, एकजुट भएर आउनुस् ।’

    उनले जेनजीहरूले सडकमा युद्ध जिते पनि सम्झौतामा हारेको टिप्पणी गरे । जेन-जीको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीले ७५ जनाले किन ज्यान फालेका थिए ? त्यसको जवाफ दिनुपर्ने बताए ।

    संविधान संशोधनको माग गर्दै उनले प्रदेश खारेजी, हिन्दू राज्य, संवैधानिक राजा, संवैधानिक आयोगमा राजनीतिक नियुक्ति बन्द, स्थानीय तह गैर दलीय, भ्रष्टाचारीलाई आजीवन कारावास र जेनजी आन्दोलनको हत्यारालाई कारबाहीको माग राखे ।

    राजा, जेन-जी र दलहरूबीचको त्रिपक्षीय सम्झौता गर्न माग गर्दै आफूहरूले उठाएको एजेन्डामा समर्थन गर्नेहरूलाई एकैठाउँमा उभिन आह्वान समेत गरे ।