Tag: घनश्याम भण्डारी

  • दुल्लुवासीलाई कर्णालीको टप नगर नासो दिन्छुः प्रमुख भण्डारी

    दुल्लुवासीलाई कर्णालीको टप नगर नासो दिन्छुः प्रमुख भण्डारी

    सुर्खेत । दुल्लु नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले दुल्लु नगरपालिकालाई आगामी डेढ वर्षमा कर्णालीकै टप नगरका रूपमा नासो हस्तान्तरण गर्ने बताएका छन् ।

    नेपाल प्रेससँग कुरा गर्दै उनले हालसम्म कुनै दलप्रति आग्रह /पूर्वाग्रह नराखेर काम गरेको दाबी गर्दै सिंजा सभ्यतासँग जोडिएको, बुद्ध र हिन्दू धर्मावलम्बीका लागि तीर्थस्थल रहेको दुल्लु क्षेत्रको विकासमा समग्र दुल्लुवासीले आफूलाई साथ दिएको बताए । उनले वितेको तीन वर्षमा दुल्लु नगर क्षेत्रमा धेरै काम गरेको जनाए ।

    प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सारसंक्षेप उनकै शब्दमा–

    हामीले चुनावको समय घोषणापत्रमा चार वटा महत्वपूर्ण घोषणा गरेका थियौं । दुल्लु शहरलाई कालोपत्रे गर्ने भन्ने कुरा थियो । गर्न सकिएला जस्तो लाग्दैन । नगरको आय १५ लाख छ । एघार करोड विकास बजेट आउँछ । २५० किलोमिटर सडक कालोपत्रे गर्न सकिने अवस्था छैन ।

    चार वटा हाइवे, कर्णाली हाइवे २२ किलोमिटर, पादुका मन्दिरसम्म १८ किलोमिटर मध्यपहाडी राजमार्ग छ । माथिल्लो डुंगेश्वर देउली नाग्म सडक निर्माण शुभारम्भ भएको छ । तल्लो डुंगेश्वर पिपलकोट सडक कालोपत्रे हुनसकेको छैन । बजेट नहुँदा सडकमा टोपी टालो लगाउने काम भएको छ ।

    दुल्लुको विकास संघले नै गर्नुपर्छ । सेनाको क्याम्प स्थापना गर्ने भनेर अहिलेका राष्ट्रपति विद्यादेवी भण्डारी रक्षामन्त्री रहेको समयमा घोषणा गरेकी थिइन् । प्रधानमन्त्री केपी ओली आए उनले जग्गा अधिग्रहण गरेर सेना क्याम्पको स्थापना गर्छौं भन्नुभएको थियो । त्यो उहाँले भुल्नुभयो जस्तो लाग्छ ।

    संरचना निर्माण करीब करीब पूरा

    म निर्वाचनमा जितेर आएको समयमा प्रशासनिक रूपमा भवन थिएन । अहिले १३ वडामा वडा कार्यालय, आठ नम्बरको बन्न बाँकी छ । चारतले नगरको भवन बनेको छ । प्रदेशमा नै सबैभन्दा राम्रो भवन बनाएको जस्तो लाग्छ । नापी मालपोतसहितको सेवा दिन हामी तयार छौं ।

    अस्पताल चलाउने एक्लो पालिका

    स्थानीय तहले नै अस्पताल चलाएका छौं । दुल्लु अस्पताल २०६८ सालमा स्वीकृत भएको हो । अछामसम्मका नागरिकलाई खोप दिनुपर्ने अवस्था हाम्रो छ ।

    पोस्टमोर्टम गर्न यसैले दैलेख, अछाममा समेत सुविधा दिनुपर्ने अवस्था छ । कर्णालीमा १२ अस्पताल प्रदेशको जिम्मामा पर्दा हामी भने पालिकाले नै चलाउने अवस्थामा छौं । चार मेडिकल अफिसर राखेका छौं । विशेषज्ञ सेवा प्रवाह गरिरहेका छौं । पचास शय्याको अस्पताल निर्माण गर्न खोजेका छौं ।

    नगरमा चार सामुदायिक स्वास्थ्य केन्द्र, तीन वटा शहरी स्वास्थ्य केन्द्रलगायत १७ स्वास्थ्य संस्थाको भवन छ, बनाएका छौं ।

    बाटो खन्ने काम सकियो, स्तरोन्नति गर्न बजेट छैन

    नगरपालिकामा बाटो खन्नुपर्ने स्थान बाँकी छैन । ३०० किलोमिटर बाटो खनेका छौं । स्तरोन्नति गर्न भने बजेट अभाव छ ।

    म निर्वाचित भएको समयमा नगरमा विद्युतीकरण १५ प्रतिशत थियो । अहिले हामीले ६५ प्रतिशत सम्पन्न गरेका छौं । मेरो कार्यकालसम्म ७५ प्रतिशत पुग्ला ।

    सबै स्थानमा पुर्‍याउने सपना भए पनि भूगोलका कारण समस्या भएको छ । दुई तीन घर छरिएर रहेका बस्तीमा करोडौं लगानी गर्न असम्भव हुने रहेछ ।

    दुल्लु क्षेत्रमा खानेपानीको ठूलो समस्या छ । खानेपानीका योजना हरेक वर्ष बनाइरहेका छौं । पानीको स्रोत नभएका कारण खानेपानी समस्या समाधान गर्न असहज भएको हो । विभिन्न निकायसँगको साझेदारीमा वर्षमा १०–१२ वटा मझौला आयोजना बनाएका छौं । १०० घरधुरी भन्दा बढी परिवारको घरमा धारा जडान गर्ने गरेका छौं ।

    दुल्लु बजारका लागि चार करोड लगानीमा छिउडी र गमौडीलाई सिस्ने खानेपानी आयोजना, अर्को बृहत् दुल्लु खानेपानी आयोजना पटाखानीदेखि घ्यातुंगसम्म, यो असारसम्म सान्टा दुल्लु खानेपानी आयोजना निर्माण हुने अपेक्षा छ । खानेपानीमा लिफ्ट गर्नुको विकल्प हामीसँग छैन ।

    बारातडी खानेपानी आयोजना दश वर्षदेखि अडिएको थियो । यो वर्ष अघि बढाउँछौं । यसका अलावा संघीय सरकारको ३२ करोडको लगानीमा कर्णाली कोटाथला दुल्लु खानेपानी, १८ करोडको लोहोरे मालिका बयक दुल्लु, खानेपानी, जनताले जम्मा गर्ने एक प्रतिशत व्यवस्था छ । स्थायी समस्या समाधान हुने देखिन्छ ।

    शिक्षा क्षेत्रमा एक उद्यमशील विद्यालय सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । वडा नं. २ मा स्थापित उक्त विद्यालयमा विद्यार्थीले चाहेको जस्तो शिक्षा दिने योजना बनाएका छौं ।

    पञ्चकोशी वेद विद्याश्रम धर्म संस्कृति जगेर्ना गर्न सञ्चालन गरेका छौं । नेपाल रामावि कीर्तिखम्बलाई दृष्टिविहीन स्रोत कक्षा बनाएका छौं । कानूनको कक्षा पनि सञ्चालन गरिरहेका छौं ।

    नगरपालिकाले सीटीईभीटीसँगको साझेदारीमा पञ्चकोशी बहुप्राविधिक शिक्षालय स्थापना गरेको छ । ओभरसियर अध्ययन गर्न डेढलाख, अर्थात् ६ महिनामा २५ हजार दिने व्यवस्था मिलाएका छौं ।

    पशु, कम्प्युटर र वन अध्ययन गर्नेले एक लाख तीस हजार लगानीमा पढ्न पाउँछन् । यसबाट कम आय भएका तर प्राविधिक शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई अवसर सिर्जना हुने अपेक्षा छ ।

    विनायकमा प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पस सञ्चालन गर्दैछौं । यो कर्णालीको पहिलो, प्राविधिक शिक्षालय हुनेछ ।

    हामीले यस वर्षको कोभिड महामारीमा २५० जनालाई आर्थिक सहयोग गरेर विभिन्न व्यवसायमा लाग्न प्रेरित गरेका छौं । एक जनालाई ३२ हजार नगद नै उपलब्ध गराएका छौं । कोभिडबाट ज्यान गुमाएका, अशक्त, अपांगलाई हामीले रकमदिएका छौं । त्यो रकमबाट उनीहरू व्यवसायमुखी हुने अपेक्षा हाम्रो छ ।

    मलाई के लाग्छ भने साझा काममा गति नआउने रहेछ । दाना मिल सञ्चालनमा छ । यदि निजी क्षेत्रले सञ्चालन गरेको भए त्यसको धेरै प्रगति भइसक्थ्यो । तर कसैले पैसा दिए सञ्चालन हुने, नदिए निजी लगानी कोही नगर्ने हुने रहेछन् । नगरपालिकामा ५८ वटा सहकारी हस्तान्तरण भएर आएका थिए ।

    थप बीस वटा सहकारी दर्ता भएका छन् । सहकारीले कृषि र पशुका क्षेत्रमा प्रगति गरेका छन् । तरकारी, मासु, दूधमा हामी आत्मनिर्भर छौं । धान, मकैको बीउ बाहिरबाट खरीद गर्नु परेको अवस्था छैन ।

    कीर्तिखम्ब व्यक्तिको नाउँमा थियो । पहिलो शिलालेख पनि अरूकै नाममा थियो । व्यक्तिको नाउँमा भएका जग्गा खरिद गरियो । सबै ठाउँमा हामीले संरक्षणका लागि घेराबारा गर्ने गरेका छौं । बालेश्वरको मन्दिरलाई विकास गरेका छौं । धुलेश्वर वनस्पति पार्क बनाएका छौं । पार्कमा सबै जातका बिरुवा रोपेका छौं । डुंगेश्वरको मन्दिरको सुरक्षा गरेका छौं ।

    नगरपालिकामा मात्र होइन, जिल्लाका ११ वटै पालिकामा होर्डिङ बोर्ड राख्ने, सिंढी बनाउने । पादुकाको मन्दिर बगेर जाने अवस्था थियो, तटबन्धनको काम गरेका छौं । पहिले घेराबारा, बत्ती थिएन । सबै स्थानमा बत्ती पनि राखिएको, सबै मन्दिरमा सीसीटीभी राखेका छौं । मन्दिरमा को–को गए, के भयो भन्ने अभिलेख इलाका प्रहरी कार्यालय दुल्लुमा छ । प्रहरीको प्रत्यक्ष निगरानीमा मन्दिर क्षेत्र छन् ।

    दैलेख चिनाउने, लोक साहित्य प्रकाशित भएको छ । पौवामा संग्रहालय स्थापना गरेका छौं । जनताबाटै सहयोग मागेर निर्माण गरेका हौं । व्यवस्थापनका लागि सहयोग माग्ने गरी अघि बढेका छौं । दश वटा कम्प्युटर राखेर पर्यटन सूचना केन्द्र स्थापना गरेका छौं । तस्वीरमा दैलेख भन्ने पुस्तक प्रकाशित गरेका छौं । धार्मिक प्रचारप्रसारका लागि वर्षमा उच्चस्तरीय कार्यशाला, गोष्ठीहरू युनेस्कोको समन्वयमा कार्यक्रम गरेका छौं ।

    दश किलोमिटर फाइबर विछ्याएका छौं । सिफारिश नामको सफ्टवेयर शुरु गर्दैछौं । यो सफ्टवेयरले दुल्लु क्षेत्रका नागरिकलाई कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्नेछ । सुर्खेत, काठमाडौंबाट नागरिकले सेवा लिन सक्नेछन् । इसेवामार्फत राजस्व तिर्न पाइने व्यवस्था मिलाएका छौं ।

    यी सपना पूरा गर्न सकिएनन्

    दुल्लु दरबार पुनर्निर्माण गर्न सकेको छैन । जग्गाको स्वामित्व जंगबहादुर शाहका छोराका नाउँमा छ । यता नआएका कारण बनाउन सकिएको छैन । फोटो खिच्ने काम भने भएको छ ।

    पञ्चकोशी क्षेत्रको रिंगरोड व्यवस्थित गर्न सकिएन । तल्लो डुंगेश्वरबाट स्वामी कार्तिके, पादुका मन्दिर, धुलेश्वर, दुल्लु क्षेत्रका सबै स्थानमा हेरेर नाभिस्थान, श्रीस्थान, मालिका हुँदै तल्लो डुंगेश्वर स्तरोन्नति गर्न सकेको खण्डमा राम्रो हुन्थ्यो । अहिले सामान्य काम भएको छ । बुद्धिष्टका लागि पनि यो ठाउँ उपयुक्त छ । टुरिजम मार्ग हो । अरबौं पैसा आवश्यक छ । संघ र प्रदेशलाई आग्रह गरेका छौं । खै के खै के भइरहेको छ ।

    औद्योगिक ग्राम स्थापित गर्ने भनेका हौं । चार वटा हाइवे पनि छन् । संघीय सरकारलाई आग्रह गरेका छौं । जग्गा दान गर्न सक्छौं । विकास हुनुपर्छ भनेपछि विकास प्रेमी छन् । त्यसले यो क्षेत्रको कायापलट नै हुन्थ्यो । वनमा र कृषिमा काम गर्न सकिन्थ्यो । हरेक वर्ष नगरसभामा कापी रंग्याउने काम भएको छ, कार्यान्वयन गर्न सकेका छैनौं ।

    विकासप्रेमी दुल्लुवासी

    नगरपालिकामा कोही पनि जनप्रतिनिधिको डोजर छैन । विकास निर्माणको जिम्मा लिएका छैनौं । विगत दुई वर्षमा रकमान्तर गर्ने काम गरेका छैनौं ।

    नेतृत्वले लोभ नगरेको खण्डमा कर्मचारी लोभ नगर्ने रहेछन् । लोभ नगर्ने हुन भने विकास गर्न सजिलो हुने रहेछ । यहाँका हरेक नागरिकले विकासमा सहयोग गर्दै आएका छन् । मप्रति जनताको विश्वास कायमै छ जस्तो लाग्छ ।