Tag: गुल्मी

  • ज्ञवाली र विष्टले गृहजिल्लामा पनि जोगाउन सकेनन् एमालेको विरासत

    ज्ञवाली र विष्टले गृहजिल्लामा पनि जोगाउन सकेनन् एमालेको विरासत

    रुपन्देही । एमाले उपमहासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण विष्टको गृहजिल्ला हो, गुल्मी । अघिल्लो स्थानीय तहको निर्वाचनमा जिल्लाका १२ पालिकामा बहुमत जित निकालेको एमाले अहिले तीन पालिकामा सीमित भयो । अहिले पाँच पालिका जितेर कांग्रेस पहिलो, चार पालिका जितेर माओवादी दोस्रो र तीन पालिका जितेर एमाले तेस्रो भएको छ । यद्यपि उपाध्यक्ष एमालेबाट थप चारवटा पालिकामा जितेको छ ।

    एमाले विभाजनपछि नेकपा एस बनेको समयमा पनि यी दुवै नेताहरु एकजुट बनेपछि अघिल्लो निर्वाचनमा जितेका जनप्रतिनिधि कसैले त्यो पार्टी रोजेनन् । तर अहिले पार्टी विभाजनको असर, जिल्लाका १० पालिकामा भएको पाँच दलीय गठबन्धन, पार्टीभित्र टिकट वितरणमा देखिएका केही समस्याका कारण पार्टी यो अवस्थामा पुगेको हो । उसो त केही पालिकामा उम्मेदार दोहोरिएका कारण पनि पार्टीभित्रै असन्तुष्टि चुलिएको थियो ।

    एमालेबाट मुसिकोट नगरपालिकाको मेयरमा जीवलाल खरेल र उपमेयरमा गंगा श्रेष्ठ निर्वाचित भए । छत्रकोटको अध्यक्षमा रामप्रसाद पाण्डे र उपाध्यक्षमा सावित्रा ज्ञवालीले जित निकाले । सत्यवती गाउँपालिकाको अध्यक्षमा टीकाराम पाण्डे र उपाध्यक्षमा निरमाया तरामुले जिते । तर अघिल्लोपटक सजिलोगरी जितेका पालिका यसपटक गुमाएको छ ।

    एमालेका लागि यो नजिता आगामी प्रदेश तथा संघीय निर्वाचनका लागि पनि चुनौती हो । यहाँ कालीगण्डकी, रुरु र मदानेमा थोरै मतले अध्यक्षमा पराजित भएको छ भने उपाध्यक्षमा जितेको छ । धुर्कोटमा माओवादीसँगको गठबन्धनमा उपाध्यक्ष जितेको छ । स्थानीय कार्यकर्ताले नेताहरुको आन्तरिक किचलोकै कारण यहाँ एमालेले जित्न नसकेको सामाजिक सन्जालमा लेखिरहेका छन् ।

    यसअघि एमालेले जितेका रेसुंगा नगरपालिका, मदाने, गुल्मी दरबार, कालीगण्डकी र ईस्मा गाउँपालिकामा गठबन्धनको बलमा कांग्रेसले जित्यो । रेसुंगा नगरपालिकामा कांग्रेसका जिल्ला सभापति समेत रहेका खिलध्वज पन्थी मेयर र उपमेयरमा पनि कांग्रेसकै अमृतादेवी कुँवरले जितिन् । मदानेमा कांग्रेसका महेन्द्र कुँवरले जीत निकाले भने उपाध्यक्षमा एमालेबाट सरिता खड्काले बाजी मारिन् । गुल्मी दरबारमा कांग्रेसकै अध्यक्ष सरोज थापा र तारा थापाले उपाध्यक्षमा जीत निकाले ।

    गठबन्धनको फाइदा लियो माओवादीले

    सत्ताका लागि जोसँग पनि गठबन्धन गर्ने रणनीति माओवादीले गुल्मीमा पनि प्रयोग गरेको छ । १० पालिकामा सत्तारुढ दलसँग गठबन्धन गरेको माओवादी २ पालिकामा एमालेसँग गठबन्धन गरेर फाइदा लिएको छ । धुर्कोट र कालीगण्डाकीमा सत्तारुढ दलको गठबन्धन रणनीतिविरुद्ध उसले एमालेसँग गठबन्धन गरेको हो । उनीहरुको सहमतिमा ५ दलभन्दा बाहिर कुनै दलसँग गठबन्धन गर्न नपाइने औपचारिक नीति बनेको थियो । तर त्यो नीति गुल्मीमा पालना भएन माओवादीबाट र फाइदा लियो ।

    २०७४ सालमा एउटा पालिका मात्र जितेको माओवादीले यसपटक ४ पालिकामा जित निकालेको छ । धुर्कोट, मालिका, चन्द्रकोट र रुरु गाउँपालिकामा माओवादीले जित निकालेको छ ।

    एमालेको प्रभाव क्षेत्र मानिएको रूरूक्षेत्र गाउँपालिका एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको पालिका हो । यहाँ माओवादीले जित्यो । गठबन्धनको तर्फबाट माओवादी केन्द्रका युवा नेता यदु ज्ञवालीले एमालेका हिमाल श्रेष्ठलाई पराजित गरे ।

    सचिव गोकर्ण विष्टले ३ दशकदेखि शर्चश्व कायम राखेको ईस्मा एमालेले गुमाएको छ । गाउँपालिका प्रमुखमा कांग्रेसका भगतसिंह खड्काले एमालेका हिरा केसीलाई १२५ मतान्तरले पराजित गरेका छन् । कांग्रेस नेता डा. चन्द्र भण्डारीको गृह पालिका छत्रकोटमा एमालेका रामप्रसाद पाण्डेय अध्यक्षमा विजयी भए ।

    उपाध्यक्षमा एमालेकी सावित्रा ज्ञवाली विजयी भइन् । शहरी विकास मन्त्री तथा नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीको पालिका मदाने हो । मदानेमा समाजवादीका कुनै उम्मेदवार थिएनन् । समाजवादीले धुर्कोट र मुसिकोटमा उपाध्यक्ष, उपप्रमुख पाएको थियो तर धुर्कोटको उपाध्यक्षमा चन्द्र सुनार २ हजार ५०० बढी र मुसिकोटको उपप्रमुखमा श्रीराम महत पराजित भएका छन् ।
    उम्मेदवार दोेहोरिँदा समस्या

    मालिका गाउँपालिकामा अघिल्लोपटक जितेका रितबहादुर थापा यसपटक पराजित भए । सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार देवीराम अर्यालले ६ हजार १७६ मतका साथ विजयी हुँदा थापा ४ हजार ६१७ मतमा सीमित भए ।

    उपाध्यक्षमा रनमाया पुनलाई पराजित गरी नेपाली कांग्रेसका उपेन्द्र अर्याल ६ हजार ३३४ मतका साथ विजयी भए । ईस्मा गाउँपालिकाको उपाध्यक्षमा एमालेले विमला खत्रीलाई दोहोर्याएर उम्मेदवार बनायो । एमाले सचिव गोकर्ण विष्टको गृह गाउँपालिकामा एमालेले भोगेको यो पराजयले आउने चुनावमा निश्चय नै क्षति पुर्याउने छ ।

    निवर्तमान उपाध्यक्ष विमलालाई पराजित गर्दै उपाध्यक्षमा कांग्रेसकी पार्वती कुँवर विजयी भइन् । अध्यक्षमा पनि कांग्रेसकै भगतसिंह खड्का ५ हजार ५८९ मतका साथ विजयी भए । एमालेले आफ्नो किल्ला बताउँदै आएको ईस्मा अहिले गठबन्धनको बलमा कांग्रेसले भत्कायो ।

    गुल्मीकै सत्यवती गाउँपालिकामा कांग्रेसका निवर्तमान अध्यक्ष पारिश्वर ढकाल पराजित भए । ढकाललाई हराउँदै यसपटक एमालेका टीकाराम पाण्डे (भीमप्रसाद) ले ६ हजार २६७ मतका साथ विजयी भए । दोहोरिएर उम्मेदवार बनेका ढकालले ५ हजार ६११ मत मात्र ल्याउन सके ।

    गुल्मीको चन्द्रकोट गाउँपालिकाको उपाध्यक्षमा दोहोरिएर राधिका अर्याल एमालेबाट उम्मेदवार थिइन् । तर, यसपटक अर्यालले जीत निकाल्न सकिनन् । उनी कांग्रेसका विष्णुप्रसाद भण्डारीसँग पराजित भइन् । भण्डारी ५ हजार १६ मतका साथ विजयी हुँदा अर्यालले ३ हजार ३४७ मत मात्र ल्याइन् ।

    गुल्मीकै कालीगण्डकी गाउँपालिकामा राष्ट्रिय जनमोर्चाकी तारा थापालाई पराजित गर्दै एमालेकी मन्जुकुमारी दर्लामीले बाजी मारिन् । थापालाई दर्लामीले १०० मतान्तरले हराइन् । थापाले ४ हजार ३८४ ल्याउँदा दर्लामीले ४ हजार ४८४ मत ल्याइन् । गाउँपालिका अध्यक्षमा कांग्रेसका वेदबहादुर थापा ४ हजार ८१० मतका साथ दोहोरिएन निर्वाचित भए ।

    झाँक्रीको गृहजिल्लामा नेकपा एस नौ वडा सदस्यमा सीमित

    नेकपा एसकी केन्द्रीय सचिव एवम् सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको गृहजिल्ला गुल्मीमा उक्त पार्टीका नौजना वडा सदस्यमा सीमित भएका छन् । जिल्लाका विभिन्न पालिकामा पाँच दलीय गठबन्धन बनाएर समाजवादीका सदस्यले निर्वाचनमा जित हासिल गरेका हुन् । जसअनुसार मदाने र मुसिकोटमा तीन–तीन, मालिकामा दुई र ईस्मा गाउँपालिकामा एकजना वडा सदस्यमात्रै विजयी भए ।

    मदानेमा ‘रुख’ चिन्ह लिएर वडानम्बर १ मा खिम बहादुर केसी, वडा नम्बर २ मा महेन्द्र जिसी र वडा नम्बर ३ मा सुन्तला विक वडा सदस्यमा विजयी भए । मालिकामा ‘हँसिया हथौडा’ चिन्ह लिएर वडा नम्बर २ मा तातीदेवी विक, वडा नम्बर ८ मा ‘रुख’ चिन्ह लिएर सागर गिरी निर्वाचित भएका छन् ।

    त्यस्तै ‘रुख’ चिन्हबाट इस्मा– ६ मा गोपाल सुनार, मुसिकोट – २ मा राधिका घिमिरे र रामबहादुर महत एवम् मुसिकोट –३ मा सावित्रा भण्डारी निर्वाचित भएको अध्यक्ष भण्डारीले जानकारी दिए । पार्टीले मुसिकोट र धुर्कोटमा उपमेयर, उपाध्यक्ष उठाए पनि सफलता पाएनन् । जिल्लाभरि समाजवादीका २० जना उम्मेदवार थिए ।

    गुल्मीमा कांग्रेसले पाँच, माओवादी केन्द्रले चार एवम् एमालेले तीन पालिकामा प्रमुख जितेका छन् । ०७४ को निर्वाचनमा एमालेले सात, कांग्रेसले चार एवम् माओवादी केन्द्रले एक पालिकामा प्रमुख जितेका थिए ।

    गुल्मीमा कसले कति मत ल्याएर जिते ?

    रेसुङ्गा नगरपालिकाः खिलध्वज पन्थी (८६१४) नेपाली कांग्रेस
    मुसिकोट नगरपालिकाः जीवलाल खरेल जीवन (७३९९) नेकपा एमाले
    ईस्मा गाउँपालिकाः भगतसिंह खड्का (५५८९) नेपाली कांग्रेस
    काली गण्डकी गाउँपालिकाः बेदबहादुर थापा (४८१०) नेपाली कांग्रेस
    गुल्मी दरबार गाउँपालिकाः सरोजकुमार थापा (६१६६) नेपाली कांग्रेस
    चन्द्रकोट गाउँपालिकाः युवराज खत्री (५७००) नेकपा माओवादी केन्द्र
    छत्रकोट गाउँपालिकाः रामप्रसाद पाण्डे (६५८६) नेकपा एमाले
    धुर्कोट गाउँपालिकाः भूपाल पोखरेल (६०८९) नेकपा माओवादी केन्द्र
    मदाने गाउँपालिकाः महेन्द्रबहादुर कुँवर (४७०७) नेपाली कांग्रेस
    मालिका गाउँपालिकाः देवीराम अर्याल (६१७६) नेकपा माओवादी केन्द्र
    रुरुक्षेत्र गाउँपालिकाः यदु ज्ञवाली (५८१७) नेकपा माओवादी केन्द्र
    सत्यवती गाउँपालिकाः टीकाराम पाण्डे, (६२६७) नेकपा एमाले

  • गुल्मीका ६ स्थानीय तहमा सबै दल मिल्दा पनि एमाले नै बलियो, बाँकी ६ वटामा कडा प्रतिस्पर्धा

    गुल्मीका ६ स्थानीय तहमा सबै दल मिल्दा पनि एमाले नै बलियो, बाँकी ६ वटामा कडा प्रतिस्पर्धा

    रुपन्देही । नेकपा एमालेका दुई केन्दीय सचिव तथा पूर्वमन्त्रीहरु प्रदीप ज्ञवाली र गोकर्ण विष्टको गृहजिल्ला गुल्मीमा रहेका १२ स्थानीय पालिकामा गत निर्वाचनमा एमालेले ७ वटामा प्रमुख तथा ९ वटामा उपप्रमुख जितेर बर्चश्व जमाएको थियो ।

    कांग्रेस माओवादी गठबन्धन बनेर जाँदा पनि केही पालिकामा जीत निकालेको एमालेले अहिले त्यो विरासत कायम राख्न सक्छ वा सक्दैन भन्ने विषयमा अड्कलबाजी सुरु भएका छन् ।

    गुल्मीका केही पालिकामा सबै दल एकातिर भएपनि एमालेलाई जित्न कठिन नहुने देखिन्छ । एमाले एक्लै लडे पनि गठबन्धनलाई टक्कर दिनसक्ने स्थानीय तहमा मदाने, इस्मा, छत्रकोट, मालिका, चन्द्रकोट र रुरुक्षेत्र गाउँपालिका रहेका छन्््् । अघिल्लो निर्वाचनमा काँग्रेस–माओवादी गठबन्धनलाका बाबजुद एमालेले जितेको र अहिले माओवादीको पनि धेरै शक्ति एमालेमा आएकाले पार्टी विभाजनको खासै असर यी पालिकामा देखिँदैन ।

    पार्टी विभाजन गरेर नेकपा एसमा बनेपनि यति धेरै जनप्रतिनिधि कुनैले पनि त्यो पार्टी नरोजेका कारण र दुई प्रभावशाली नेताहरु एउटै मोर्चामा रहेका कारण जिल्लामा पार्टी कमजोर नभएको एमाले लुम्बिनीका सल्लाहकार देवराज खनाल तर्क गर्छन् । तर केही पालिकामा नेकपा एसले केही मत काट्ने र सत्तारुढ सबै दल एमालेविरुद्ध तालमेलका लागि अगाडि बढेकाले एमालेलाई विरासत जोगाउन चुनौती छ ।

    अघिल्लो निर्वाचनमा मदानेमा एमालेका दानबहादुर केसीले ४ हजार ४२३ मत प्राप्त गरी जित हासिल गरेका थिए भने उनका निकटनम प्रतिस्पर्धी नेपाली काँग्रेसका महेन्द्र कुँवरले २ हजार २६६ मत ल्याएका थिए । यस्तै, माओवादी केन्द्रका बेगमबहादुर चन्दले ७२५ मत हासिल गरेका थिए । यो पालिकामा एमालेका उम्मेदवार केसी २२६६ मतान्तरले विजयी भएका कारण पनि यहाँ गठबन्धन भएमा पनि एमाले नै बलियो रहेको आँकलन गरिएको हो । तर नेकपा एकीकृत समाजवादीमा लागेकी सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको जन्मस्थान समेत रहेको यो पालिकामा रहेकाले एमालेलाई प्रभावित पार्ने दावी सो पार्टी निकटतस्थहरुले गरेका छन् ।

    त्यस्तै इस्मा गाउँपालिकामा एमालेका लक्ष्मण बिष्टले ५ हजार ५५ मतका साथ जित हासिल गरेका थिए । यहाँ काँग्रेसका चन्द्रबहादुर महतले ४ हजार मत प्राप्त गरेका थिए भने माओवादी केन्द्रका उम्मेदवार दुर्गाचन्द्र बोहराले ५६९ मत पाएका थिए ।

    रुरुक्षेत्र गाउँपालिकामा अघिल्लो निर्वाचनमा काँग्रेस र माओवादीबीच तालमेल हुँदा पनि एमालेले जित हासिल गरेको थियो । एमालेबाट निलकण्ठ गौतमले ५ हजार २२२ मतका साथ जित हासिल गर्दा काँग्रेस–माओवादी गठबन्धनका उम्मेदवार यदु ज्ञवालीले ३ हजार ७६३ मतमात्र हासिल गरेका थिए ।

    त्यस्तै छत्रकोट गाउँपालिकामा पनि अघिल्लो निर्वाचनमा काँग्रेस र माओवादीबीच गठबन्धन हुँदा पनि एमालेले प्रमुख र उपप्रमुख दुबै पद जितेको थियो । प्रमुख पदमा काँग्रेसका उम्मेदवार अनन्त पौड्यालले ५ हजार १५४ मत ल्याउँदा एमालेका उम्मेदवार मधुकृष्ण पन्तले ५ हजार ५५१ मत ल्याएर जित हासिल गरेका थिए ।

    तर अघिल्लो चुनावको मत परिणामलाई आधार मानेर हेर्ने हो भने रेसुङ्गा र मुसिकोट नगरपालिका तथा गुल्मीदरबार गाउँपालिका, सत्यवती गाउँपालिका, चन्द्रकोट गाउँपालिका, कालीगण्डकी गाउँपालिका, धुर्कोट गाउँपालिका र मालिका गाउँपालिकामा एमालेलाई गठबन्धनका अगाडि आफ्नो विरासत जोगाउन चुनौती छ ।

    सत्यवती र कालीगण्डकी गाउँपालिकामा अघिल्लो निर्वाचनमा एमाले र राष्ट्रिय जनमोर्चाबीच तालमेल भएको थियो । अर्कोतिर काँग्रेस र माओवादीबीच गठबन्धन भएको थियो ।

    यी दुई गठबन्धनमध्ये सत्यवतीमा एमालेले उपाध्यक्ष पद जितेको थियो भने काँग्रेस–माओवादी गठबन्धनबाट काँग्रेसका पारिश्वर ढकालले पालिका अध्यक्ष पदमा जित हासिल गरेका थिए । पालिका अध्यक्ष पदमा एमाले उम्मेदवार अमरसिंह सिंजापति जम्मा ४४ मतान्तान्तरले पराजित भएका थिए ।

    ढकालले ५ हजार १९७ मत प्राप्त गर्दा सिंजापतिले ५ हजार १५३ मत प्राप्त गरेका थिए । गठबन्धन हुँदा यस्ता पालिकामा असर पर्ने देखिन्छ । यस्तै, कालीगण्डकी गाउँपालिकामा पनि यी दुई गठबन्धनबीच चुनावी प्रतिस्पर्धा हुँदा एमाले उम्मेदवार टिकाराम ढकाललाई ५१९ मतान्तरले पराजित गर्दै काँग्रेसका बेद थापा मगरले पालिका प्रमुख पद जितेका थिए । थापाले ४ हजार २८९ मत प्राप्त गरेका थिए भने ढकालले ३ हजार ७७० मत र राप्रपाले ४१ मत प्राप्त गरेको थियो ।

    धुर्कोट गाउँपालिकामा पनि काँग्रेस–माओवादी र एमाले–जनमोर्चा गठबन्धनबीच अघिल्लो निर्वाचनमा प्रतिस्पर्धा भएको थियो । त्यहाँ माओवादीका भुपाल पोखरेलले एमालेका कृष्ण घिमिरलाई ३६३ मतान्तरले पराजित गर्दै पालिका प्रमुख पद जितेका थिए भने काँग्रेसका शिवहादुर केसी उपप्रमुखमा विजयी भएका थिए । पोखरेलले ५ हजार ११६ मत प्राप्त गर्दा घिमिरेले ४ हजार ७५३ मत प्राप्त गरेका थिए ।

    चन्द्रकोट गाउँपालिकामा काँग्रेसका द्रोणबहादुर खत्री ३ हजार ३४० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका मिनलाल श्रेष्ठले ३ हजार ६२ मत ल्याएका थिए । यहाँ माओवादी केन्द्रका युवराज केसीले २ हजार २३८ मत हासिल गरेका थिए ।

    त्यस्तै मालिका गाउँपालिकामा एमालेका रितबहादुर थापाले ४ हजार ४२ मत प्राप्त गरी जित हासिल गर्दा उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका ज्ञानबहादुर कार्कीले ३ हजार ४४७ मत प्राप्त गरेका थिए । माओवादी केन्द्रका प्रमुख पदका उम्मेदवार देवीराम अर्यालले २ हजार ४० मत प्राप्त गरेका थिए ।

    अघिल्लो निर्वाचनमा जिल्लाका दुई नगरपालिका रेसुङ्गा र मुसिकोटमा तीन प्रमुख दल एक्लाएक्लै लडेका थिए । एमालेबाट मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले नेपाली काँग्रेसका कृष्णहरि सापकोटालाई एक हजार ८१ मतले पराजित गरेका थिए । सोमनाथले ६ हजार ६६८ मत प्राप्त गर्दा कृष्णहरिले ५ हजार ५८७ प्राप्त गरेका थिए । माओवादी केन्द्रका उम्मेदबार खुमबहादुर थापाले ७१३ मत ल्याएका थिए

    तर अहिले त्यहाँका युवा नेता श्रीराम महतसहितका केही एमाले कार्यकर्ता एकीकृत समाजवादीमा लागेकाले केही मत उनले काट्ने आंकलन छ ।

    त्यस्तै रेसुुङ्गा नगरपालिकामा अघिल्लो निर्वाचनमा नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार भुवनप्रसाद श्रेष्ठलाई एमालेका डिल्लीराज भुसालले जम्मा १८७ मतान्तरले पराजित गरेका थिए । भुसालले ६ हजार ४०५ मत प्राप्त गरेका थिए भने श्रेष्ठले ६ हजार २१८ मत र माओवादी केन्द्रका उम्मेदवार अशोक थापाले ४४३ मत ल्याएका थिए ।

    यो नगरपालिकामा तीन प्रमुख दल एक्लाएक्लै चुनावमा प्रतिस्पर्धा गरेको अवस्थामा पनि एमालेलाई पराजित गर्न नेकपा एसले काट्ने केही मत र गठबन्धनका मत जोड्दा एमालेलाई धेरै चुनौती छ ।

    गुल्मीदरबार गाउँपालिकामा काँग्रेसका अशोककुमार थापाले ५ हजार ५७५ मत ल्याएर जित हासिल गरेका थिए । यहाँ एमालेका कृष्ण भुसालले ४ हजार ७५० मत ल्याएका थिए । एमाले विभाजन भइसकेका कारण अहिले यो पालिकामा आफू एक्लै लडे पनि सहजै जित्ने काँग्रेसको आँकलन छ ।

    गठबन्धनलाई भाग मिलाउनै सकस

    गुल्मीमा एमालेविरुद्ध सबै दल गठबन्धन बनाएर चुनावै मैदानमा जान तयार भएर संयन्त्र त बनाएका छन् तर उनीहरु बीच भागवण्डा मिलाउनै नसक्दा चुनौती थपिएको छ ।

    गठबन्धनमा बलियो शक्ति मानिएको कांग्रेसले आफ्नो जित्ने निश्चित मानेका पालिका र गठबन्धन बन्दा जित्न सकिने पालिकामा दावी छोडेको छैन भने माओवादी र नेकपा एसले पनि सोही अनुसारको दावी गरेको छ ।

    गत निर्वाचनमा एमालेसँग केही पालिकामा गठबन्धन गरेको जनमोर्चाले पनि आफ्नो बलियो उपस्थिति खोजेको छ । सबै दलका दावी आवश्यकताभन्दा बढी देखिएका कारण समस्या परेको छ, कांग्रेसका एक जिल्ला नेताले भने, एउटा वडा पनि जित्न नसक्ने पार्टीलाई पालिकाको जिम्मेवारी दिन कसरी सकिन्छ अनि जनाधार नै नभएपछि सबै अरुका मत ल्याएर जित्छु भनेर हुन्छ अनि पछि गठबन्धनमा बैमानी भयो भन्ने उनीहरु नै हुन्छन् ।

    गत स्थानीय निर्वाचनमा दलहरुले पाएको मत परिणाम

    १.इस्मा गाउँपालिका– एमाले(५०५५), कांग्रेस(४०००), माओवादी(५६९)
    २.कालीगण्डकी गाउँपालिका– कांग्रेस(४२८९), एमाले(३७७०),राप्रपा(४१)
    ३.गुल्मीदरवार गाउँपालिका– कांग्रेस(५५७५), एमाले(४७५०), माओवादी(२४४)
    ४. चन्द्रकोट गाउँपालिका– कांग्रेस(३३४०), एमाले(३०६२), माओवादी(२२३८)
    ५. छत्रकोट गाउँपालिका– एमाले(५५५१), कांग्रेस(५१५४)
    ६. धुर्कोट गाउँपालिका– माओवादी(५११६), एमाले(४७५३ )
    ७. मदाने गाउँपालिका– एमाले(४४२३), कांग्रेस(२९५७), माओवादी(७२५)
    ८. मालिका गाउँपालिका– एमाले(४०४२), कांग्रेस(३४४७), माओवादी(२०४०)
    ९.मुसिकोट नगरपालिका– एमाले(६६६८), कांग्रेस(५५८७), माओवादी(७१३)
    १०. रुरु गाउँपालिका– एमाले(५२२२), माओवादी(३७६३)
    ११. रेसुङ्गा नगरपालिका– एमाले(६४०५), कांग्रेस(६२१८), माओवादी(४४३)
    १२. सत्यवती गाउँपालिका– कांग्रेस(५१९७), एमाले(५१५३)

  • गुल्मीमा एमालेविरुद्धको गठबन्धनमा कुरा मिलेन, बन्यो पाँच सदस्यीय संयन्त्र

    गुल्मीमा एमालेविरुद्धको गठबन्धनमा कुरा मिलेन, बन्यो पाँच सदस्यीय संयन्त्र

    रुपन्देही । स्थानीय तहको निर्वाचनमा गठबन्धनको तयारीका लागि गुल्मीमा सत्तारुढ गठबन्धन दलहरुबीच बसेको बैठकमा दलहरुबीच सहमति जुट्न सकेन । नेपाली कांग्रेसको जिल्लास्थित पार्टी कार्यालय बीपी स्मृति भवन तम्घासमा बसेको बैठकले जिल्लाका १२ वटै पालिकामा ‘एमालेलाई क्लिनसीप पार्ने’ रणनीति तथा भागवण्डा मिलाउने बारेमा छलफल भएपनि सहमति जुट्न नसकेको हो ।

    नेपाली कांग्रेसका जिल्ला सभापति खिलध्वज पन्थीको सभापतित्वमा बसेको बैठक आसन्न निर्वाचनलाई केन्द्रित गरी पाँच सदस्यीय जिल्ला संयन्त्र गठन गर्ने निर्णय गरेको पार्टीका जिल्ला सचिव भगतसिंह खड्काले जानकारी दिए ।

    नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बिहीबार बसेको सत्ता गठबन्धन दलका शीर्ष नेता सम्मिलित केन्द्रीय संयन्त्रको बैठकले गरेको निर्देशनअनुसार जिल्ला तहमा पाँच सदस्यीय संयन्त्र गठन गर्ने निर्णय गरिएको सचिव खड्काले बताए । उनका अनुसार केन्द्रीय संयन्त्रको निर्देशन अनुसार नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीको संयोजकत्वमा पाँच सदस्यीय संयन्त्र गठन गरिएको छ ।

    त्यस्तै सदस्यहरुमा नेकपा माओवादी केन्द्र गुल्मीका संयोजक बुद्धि जिसी, नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला इन्चार्ज गणेश खनाल, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष वीरबहादुर गुरुङ्ग र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष जीवन राना रहेका छन् ।

    जिल्ला संयन्त्रका बैठकहरु निरन्तर सञ्चालन गरी गठबन्धन रणनीति बनाउने, भागवण्डा मिलाउने मात्रै औपचारिक सहमति गरेका छन् । बैठकमा सत्तारुढ गठबन्धन दलका जिल्लास्थित नेताहरुको सहभागिता रहेको र भागवण्डाका विषयमा समेत छलफल भएपनि मुख्य पालिकामै नमिलेको एक नेताले बताए ।

  • गुल्मीमा पनि आकांक्षी धेरै भएपछि एमालेलाई महाधिवेशन प्रतिनिधि छान्न सकस

    गुल्मीमा पनि आकांक्षी धेरै भएपछि एमालेलाई महाधिवेशन प्रतिनिधि छान्न सकस

    रूपन्देही । नेकपा एमालेका प्रभावशाली दुई सचिव प्रदीप ज्ञवाली र गोकर्ण विष्ठको गृहजिल्ला गुल्मीमा महाधिवेशन प्रतिनिधिका आंकांक्षी धेरै देखिएका छन् ।

    दुई निर्वाचन क्षेत्र रहेको गुल्मीमा १८ जना प्रतिनिधि हुन पाउने छन् । आकांक्षी धेरै भएपछि जिल्ला पार्टी अध्यक्ष मधुकृष्ण पन्तसहितको ५ जनाको सचिवालयलाई छनौटका लागि जिम्मेवारी दिइएको नेता हरि पोखरेलले जानकारी दिए । उनका अनुसार १८ जनामध्ये ३ जना दलित कोटाबाट निर्विरोध भएका छन् ।

    पार्टीका दुवै नेताले सर्वसम्मत प्रतिनिधि छनौटका लागि निर्देशन गरेकाले चुनाव नहुने नेता पोखरेलले बताए । सचिव गोकर्ण विष्टले सामाजिक सन्जालमै अहिलेको अवस्थामा पार्टीलाई बलियो बनाउन सहमतिमा प्रतिनिधि चयन गर्नुपर्ने बताएका छन् ।

  • गुल्मीको रेसुंगा नगर कमिटीमा एमालेको सर्वसम्मत नेतृत्व

    गुल्मीको रेसुंगा नगर कमिटीमा एमालेको सर्वसम्मत नेतृत्व

    रूपन्देही । पाँच दिनअघि एमाले सचिव प्रदीपकुमार ज्ञवालीले उद्घाटन गरेको गुल्मीको रेसुङ्गा नगर कमिटीले बिहीबार राति सर्वसम्मत नेतृत्व पाएको छ ।

    नेता ज्ञवाली निकट हरि पोखरेल र पदम अर्याल दुवैले नेतृत्व नछाडेपछि यति धेरै समय लागेको एमाले नेताहरूको भनाइ छ ।

    बिहीबार साँझ नगर अध्यक्ष हरि पोखरेललाई सर्वसम्मत चयन गरिएको एमाले गुल्मी अध्यक्ष मधुकृष्ण पन्तले जानकारी दिए । सोही पदमा आकांक्षा राखेका अर्याललाई अन्यत्र व्यवस्थापन गर्ने सहमति भएको छ ।

    कमिटीको उपाध्यक्ष देवीराम खनाल, सचिव सालिक बस्नेत तथा उपसचिव महेश काउछा र मिठू बोहरा निर्विरोध चयन भएको अध्यक्ष पन्तले बताए ।

    १२ पालिका रहेको गुल्मीमा यसअघि ९ पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने धुर्कोट र मदानेमा रोकिएको छ ।

  • गुल्मीमा विद्युत अनियमित, प्राधिकरणलाई एक हप्ते अल्टिमेटम

    गुल्मीमा विद्युत अनियमित, प्राधिकरणलाई एक हप्ते अल्टिमेटम

    गुल्मी । गुल्मीमा विद्युत अनियमित भएपछि उपभाेक्ताले हैरानी खेपिरहेका छन् । साँझ बत्ती झ्यापझ्याप जान थालेपछि नेपाल विद्युत प्राधिकरणलाई एक हप्ते अल्टिमेटमसमेत दिएका छन् ।

    प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले विद्युत प्राधिकरणकाे कार्यालय, नेपाल टेलिकम, जिल्ला प्रहरी कार्यालय, ट्राफिक कार्यालयका प्रमुख र उद्योग वाणिज्य संघसँग छलफल गरेका थिए ।

    पौडेलका अनुसार विद्युत कार्यालयले एक हप्ताभित्र जिल्ला तथा क्षेत्रको सहयोगमा प्राविधिक समस्याको पहिचान गरेर सेवा नियमित गर्ने प्रतिवद्धता जनाएकाे छ ।

    माेबाइल फाेन नलाग्ने समस्या पनि उस्तै छ । नेपाल टेलिकम गुल्मीका प्रमुख रुक्मागत सापकोटाले नेटवर्कको समस्या भएका हाडहाडे, नयाँगाउँ, जैसिथोक, आपचौर, दौंघा र नेटा दर्लिङका टावर एक महिनाभित्र संचालनमा ल्याइने बताए ।

  • चट्याङ लागेर गुल्मीमा २ जनाको मृत्यु, ६ जना घाइते

    चट्याङ लागेर गुल्मीमा २ जनाको मृत्यु, ६ जना घाइते

    रूपन्देही । गुल्मीको मालिका गाउँपालिका र ईस्मा गाउँपालिकामा चट्याङ लागेर ११ वर्षीय वालकसहित २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

    मालिका गाउँपालिका-२ पाटाखर्ककी २८ वर्षीया कमला प्रतेलको गएराति चट्याङ लागेर ज्यान गएको छ ।

    जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पान्डेयका अनुसार राति परेको चट्याङले कमलाको ज्यान गएको जानकारी दिए । प्रतेलको घर समेत चट्याङले ढलेको छ ।

    हिजो मात्रै गुल्मीको ईस्मा गाउँपालिकाको ४ का विभिन्न स्थानमा परेको चट्याङले ११ वर्षीय वालकको ज्यान गएको थियो भने ६ जना घाइते भएका थिए । घाइतेहरुको लुम्बिनी मेडिकल कलेज पाल्पा परवासमा उपचार भैरहेको छ ।

  • जीप दुर्घटना हुँदा गुल्मीमा तीनजनाको मृत्यु

    जीप दुर्घटना हुँदा गुल्मीमा तीनजनाको मृत्यु

    रूपन्देही । गुल्मीमा जीप दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ ।

    बुधबार बिहान करिब ११ बजे मुसिकोट-४ दोभानमा लु. १ ज ४५५१ नम्बरको जीप दुर्घटना भएको हो । जीपमा सवार केही यात्रु घाइते भएका छन् । मुसीकोट नगरपालिका-४ दोभानबाट निस्ती खोलामा सडकबाट ५ सय मिटर तल जीप खसेको थियो ।

    जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सन्तोष चन्दको टोली घटनास्थलतर्फ पठाइएको छ । दुर्घटनाबारे थप विवरण आउनेक्रममा रहेको गुल्मी प्रहरीले जनाएको छ ।

  • गुल्मीमा नेकपा विभाजन- प्रदीप ज्ञवाली र गोकर्ण विष्टको शक्ति परीक्षण

    गुल्मीमा नेकपा विभाजन- प्रदीप ज्ञवाली र गोकर्ण विष्टको शक्ति परीक्षण

    रुपन्देही । गुल्मीबाट केन्द्रीय नेतृत्वमा पुगेका प्रभावशाली नेताद्वय प्रदीप ज्ञवाली र गोकर्ण विष्ट नेकपाको दुई खेमामा  छन् । दुवै नेता यसअघिको वर्चश्व आफ्नो पक्षमा पार्न कसरत गरिरहेका छन् । दुवै पक्षले भेला तथा विभिन्न कार्यक्रम गरेर खुल्न नसकेका कार्यकर्तालाई आफूतर्फ तान्ने प्रयास गरिरहेका छन् ।

    केपी ओली पक्षीय नेकपाका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रचण्ड-माधव पक्षीय नेता एवम् पूर्वमन्त्री विष्ट दुवैले जिल्लामा आफ्नो पक्ष बलियो भएको दावी गरिरहेका छन् ।

    प्रतिनिधिसभामा दुई निर्वाचन क्षेत्र रहेको गुल्मीमा प्रत्यक्षतर्फका दुवै सिट र प्रदेशसभाका ४ वटै सिट नेकपाले जितेको थियो । गुल्मी क्षेत्र नम्बर एकबाट प्रदीप ज्ञवालीले जितेका हुन् विष्टले दुई नम्बर क्षेत्रबाट चुनाव जितेका हुन् ।

    २०७४ को प्रतिनिधिसभा निर्वाचनमा माओवादीसँग समीकरण गरेर निर्वाचनमा जाँदा ज्ञवालीले २ हजार मतान्तरले कांग्रेसका नेता चन्द्र भण्डारीलाई पराजित गरेका थिए भने विष्टले १५ हजारको मतान्तरमा विपक्षी कांग्रेसका चन्द्र केसीलाई पराजित गरेका थिए ।

    प्रतिनिधिसभा सदस्य बराबरी

    गुल्मीबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ जितेका प्रदीप ज्ञवाली र गोकर्ण विष्ट हुन् । ज्ञवाली ओली पक्ष र विष्ट प्रचण्ड–नेपाल पक्षमा छन् ।

    त्यसैगरी प्रतिनिधिसभामा समानुपातिकबाट प्रतिनिधित्व गर्ने मैना भण्डारी ओली पक्षमा खुलेकी छन् भने गुल्मीबाटै राजनीतिमा स्थापित भएकी रामकुमारी झाँक्री प्रचण्ड-नेपाल पक्षमा खुलेर लागेकी छन् ।

    प्रदेशसभामा प्रचण्ड–माधव पक्षको एक सांसद बढी

    गुल्मीबाट लुम्बिनी प्रदेशसभामा प्रत्यक्षमा ४ र समानुपातिकमा १ गरी ५ जनाले प्रतिनिधित्व गरेका छन् । निर्वाचनको समयमा माधव नेपाल पक्षमा रहेका गुल्मी क्षेत्र नम्बर १ बाट प्रदेशसभामा निर्वाचित कमलराज श्रेष्ठ अहिले ओली पक्षमा लागेका छन् भने अर्का सांसद सुदर्शन बराल प्रचण्ड–नेपाल पक्षमा छन् । उनी लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्री छन् ।

    जिल्लाको क्षेत्र नं २ बाट प्रदेशसभामा निर्वाचित खड्ग केसी ओली पक्ष र दिनेश पन्थी प्रचण्ड-माधव पक्षमा लागेका छन् ।

    केसी पूर्वएमाले हुन् भने पन्थी पूर्वमाओवादी हुन् । प्रदेशसभामा समानुपातिकतर्फ प्रतिनिधित्व सांसद गीता थापा प्रचण्ड–नेपाल पक्षमा लागेकी छन् । उनी पूर्वमाओवादी खेमाकी हुन् ।

    स्थानीय तहका जनप्रतिनिधि तानातानमा

    १२ वटा स्थानीय तहमध्ये आठ वटा स्थानीय तहमा तत्कालीन नेकपाबाट प्रमुख उपप्रमुख विजयी भएका थिए । त्यसमध्ये धेरै स्थानीय तहका प्रमुख–उपप्रमुख प्रचण्ड–नेपाल पक्षमा लागे पनि वडास्तरमा त्यसखालको अवस्था छैन ।

    केही पालिकाका जनप्रतिनिधि दुवै पक्षका भेलामा पुगेका छन् । दुवै प्रभावशाली नेताहरु आउँदा उनीहरुलाई अफ्ठेरो परेको छ ।

    जिल्लाको छत्रकोट गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थ र उपप्रमुख नर्मदा भण्डारी पहिलेदेखि नै खुलेर ओली पक्षमा लागेका छन् ।

    मदाने गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीलाई प्रचण्ड-माधव पक्षले आफ्नो कित्तामा राखे पनि उनी वामदेव गौतमले गठन गरेको पार्टी एकता अभियानको केन्द्रीय सदस्य हुन् ।

    मदानेकी उपाध्यक्ष रीता खड्का, इस्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मण विष्ट र उपाध्यक्ष विमला केसी, मालिका गाउँपालिकाका अध्यक्ष रीतबहादुर थापा र उपाध्यक्ष देवा अर्याल, धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेल प्रचण्ड-माधव पक्षमा लागेका छन् ।

    रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसाल र उपप्रमुख सीता भण्डारी शुरुमा प्रचण्ड-माधव पक्षमा लागेपनि अहिले तटस्थजस्तै बनेका छन् । उनीहरु दुवै पक्षको कार्यक्रममा गइरहेका छन् ।

    मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटा प्रचण्ड-माधव पक्षको जिल्ला नेतृत्वमा छन् भने उपप्रमुख कमला शर्मा ओली पक्षमा छिन् ।

    रूरू गाउँपालिकाका अध्यक्ष नीलकण्ठ गौतम वामदेव गौतमको एकता अभियानमा केन्द्रीय सदस्यमा छन् । त्यसैगरी उपप्रमुख लक्ष्मी पन्त प्रचण्ड-माधव पक्षमा लागेकी छिन् ।

    गुल्मीका चन्द्रकोट, सत्यवती र कालीगण्डकी, गुल्मीदरबार गाउँपालिकाको प्रमुखमा कांग्रेस विजयी भएको थियो भने धेरै उपप्रमुखहरु नेकपाबाटै जितेका थिए । तीमध्ये चन्द्रकोटको उपाध्यक्ष राधिका अर्याल ओली पक्षमा खुलेकी छिन् भने सत्यवतीकी उपाध्यक्ष सुवर्णा शेरचन शाही र कालीगण्डकी उपाध्यक्ष तारा थापा तटस्थ छन् । उनीहरुलाई ओली पक्षले आफूतिर रहेको भनेको छ । कालीगण्डकी उपाध्यक्ष तारा थापाले जनमोर्चा निकट भएपनि चुनावमा सूर्य चिह्न लिएर जितेकी थिइन् ।

    पार्टी कमिटीमा प्रचण्ड-माधव पक्ष बलियो

    साबिकको नेकपाको लुम्बिनी प्रदेश कमिटीमा गुल्मीबाट ११ जना प्रदेश कमिटी सदस्य रहेको बहुमत सदस्य प्रचण्ड-नेपाल पक्षमा खुलेका छन् । प्रदेश कमिटीका एक सदस्य बोमबहादुर खड्कको मत्यु भएको छ । प्रदेश कमिटीका ११ मध्ये आठ जना प्रचण्ड-नेपाल पक्षमा छन् भने दुई जना ओली पक्षमा छन् ।

    नेकपा गुल्मीमा पार्टी एकीकरणपछि बनेको १ सय ४५ सदस्यीय जिल्ला कमिटीमा प्रचण्ड-नेपाल समूहतर्फ ९४ र ओलीतर्फ ४१ जना खुलेका छन् । बाँकी सदस्य तटस्थजस्तै छन् ।

    ४९ सदस्यीय जिल्ला सचिवालय कमिटीमा २८ जना प्रचण्ड-माधव पक्षमा छन् भने १८ जना ओली पक्षमा खुलेका छन् ।

    सचिवालयमा रहेका तीन जना तटस्थजस्तै छन् ।

     आफू बलियो भएको दुवै पक्षको दावी

    ओली पक्षका जिल्ला अध्यक्ष मधुकृष्ण पन्तले प्रचारमा केही स्थानीय तहको नेतृत्वमा रहेका व्यक्तिलाई लिएर प्रचण्ड-माधव पक्ष भनिए पनि जिल्लामा नेकपाको जनमत ओली पक्षमा रहेको बताउँछन् । पन्तले नेपाल प्रेससँग भने, ‘केही पालिका प्रमुख उताको समूहमा गए पनि सबै वडाअध्यक्ष हामीसँग हुनुहुन्छ । बाहिर केही मिडियामा आएजस्तो प्रचण्ड-नेपाल पक्ष बलियो नभइ वास्तविकता उल्टो छ ।’

    प्रचण्ड-माधव पक्षका जिल्ला अध्यक्ष सोमनाथ सापकोटाले आफ्नो पक्ष बलियो भएको तथ्यांकले प्रष्ट पारेको बताए । सापकोटाले ओली पक्षले ४ सय ९९ कमिटी गठन गरेपनि पूर्ववत् कमिटीमा आफूहरु बहुमत रहेको दावी गरे ।

    विभाजनको विपक्षमा जनमत बलियो

    गुल्मीमा पूर्वमाओवादी समूह करिब करिब एउटै समूहमा छ भने पूर्वएमालेका दुई प्रभावशाली नेताहरु दुवै खेमामा रहेकाले कार्यकर्तालाई अफ्ठेरो परेको नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालको विश्लेषण छ ।

    धेरै कार्यकर्ता र केही नेताहरु समेत दुवै पक्षको भेला तथा कार्यक्रममा पुगेकाले दुवै पक्षले आफूलाई बलियो मानेका हुनसक्ने उनको बुझाइ छ । उनको विश्लेषणमा गुल्मीमा पार्टी विभाजनको विपक्षमा ठूलो मत छ ।