Tag: गगन थापा

  • कांग्रेस नेताहरूको टिप्पणी- तराईलाई मरुभूमी बनाउने नीतिगत भ्रष्टाचार

    कांग्रेस नेताहरूको टिप्पणी- तराईलाई मरुभूमी बनाउने नीतिगत भ्रष्टाचार

    काठमाडौं । सरकारले बजेटमार्फत खानीजन्य ढुंगा, गिटी र बालुवाको निकासी खुला गर्न खोजेकोमा नेपाली कांग्रेसका नेताहरूले आपत्ति जनाएका छन् ।

    सरकारले जेठ १५ मा अध्यादेशमार्फत ल्याएको बजेट वक्तव्यको १ सय ९९ नम्बर बुँदामा खानीजन्य निर्माण समाग्री निकासी गरी व्यापार घाटा कम गर्ने योजनाको कांग्रेसले विरोध गरेको हो ।

    पूर्वअर्थमन्त्रीसमेत रहेका कांग्रेस नेता महेश आचार्यले विगत ७ वर्षदेखि खानीजन्य निर्माण सामग्री निकासीमा लगाइएको प्रतिबन्ध बजेटमार्फत खुला गर्न खोजिएकोप्रति असन्तुष्टी व्यक्त गरेका छन् । यसले तराई मधेसका जनताको जीविका, वन सम्पदा र वातावरणीय सम्पदामा गम्भीर चोट पुर्‍याउने दावी उनको छ ।

    ‘चुरे क्षेत्रको विनाशले अहिले जीवन गुजारी रहेका जनताको मात्र होइन आउने सन्ततिको जीवन र भविष्य समेत जोखिममा पर्ने निश्चित छ । चुरे विनाशले तराईको उब्जाऊ जमिन विकराल बाढी, कटान र डुबानले अन्ततः मरुभूमि बन्न सक्छ, खानेपानीको हाहाकार हुनसक्छ’, आचार्यले सामाजिक सञ्जालमार्फत भनेका छन् । संघीय सरकारको कदम सच्याउन प्रदेश र स्थानीय सरकारले उपयुक्त कदम चाल्नुपर्ने आचार्यको सुझाव छ ।

    कांग्रेसकै नेता गगन थापाले बजेटमार्फत चुरेक्षेत्रको ढुंगा, गिट्टी र बालुवा निकासी खुला गरिनु नीतिगत भ्रष्टाचार भएको दावी गरेका छन् । थापाले प्रतिनिधिसभा विघटन गरी अध्यादेशमार्फत ल्याइएको बजेटमा अवैधानिक ढंगले प्राकृतिक स्रोतको दोहनलाई समावेश गरिएको जनाएका छन् ।

    ‘वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशील छ प्रष्ट भएको छ । यो नीतिगत भ्रष्टाचार हो । आफ्ना यारुलाई पोस्न सरकार कुन हदसम्म गिर्छ भन्ने कुरा पुनः छर्लंग भएको छ’, थापाले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

  • गगन थापाको आह्वान: १४९ जना सांसद् अदालत जाउँ

    गगन थापाको आह्वान: १४९ जना सांसद् अदालत जाउँ

    काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य गगन थापालले सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध अदालत जानुपर्ने बताएका छन् ।

    उनले १४९ जना सांसदको दाबीलाई संसदमा परीक्षण नगरिकन राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको बर्खिलाफ निर्णय गरेको भन्दै असन्तुष्टि प्रकट गरेका हुन् ।

    फेसबुकमा थापाले लेखेका छन्, ‘१४९ सांसदको ७६९५० बमोजिमको दाबीलाई संसदमा परीक्षण नै नगरी राप र प्रमले संविधानको बर्खिलाप गरेको निर्णयविरुद्ध हामी अदालत गएनौं भने त फागुन ११ को सर्वोच्चकै फैसलाको अपमान हुन्छ ।

    राजनीतिक लडाईसँगै १४९ जना सांसद आफूहरूको संवैधानिक हकका लागि अदालतमै उभिएर कानुनी लडाईं लड्न तयार रहनुपर्ने थापाको भनाइ छ ।

  • प्रधानमन्त्री र राष्ट्रपतिको मिसन संविधानको हुर्मत लिनु थियो : गगन थापा

    प्रधानमन्त्री र राष्ट्रपतिको मिसन संविधानको हुर्मत लिनु थियो : गगन थापा

    नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिसन संविधानको हुर्मत लिनु रहेको आरोप लगाएका छन् ।

    राष्ट्रपतिबाट केपी शर्मा ओली र शेरबहादुर देउवा दुवैजनाको बहुमतको आधार नदेखिएको भन्दै प्रधानमन्त्रीमा नियुक्त गर्न नमिल्ने विज्ञप्ति जारी गरेपछि बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रतिनिधिसभा भंग गरी नयाँ निर्वाचनको मिति तोकेको थियो ।

    पुन: प्रतिनिधिसभा विघटन भएसँगै नेता थापाले बिहान ट्वीटमार्फत्  प्रधानमन्त्री र राष्ट्रपतिलाई संविधान र संसद मन नपरेको बताए । ‘खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो,न संसद!विघटन,पुनर्थापित संसदको अपमान,विश्वासको मतको नाटक,७६(३)को सरकार गठन,विश्वास लिनुको सट्टा७६(५)को आव्हान,अनुकुल नभएपछि फेरी विघटन!कस्तो सेटिङ!प्रकृया त देखाउन मात्र थियो,यीनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो ।लिए !’ थापाले लेखेका छन् ।

    साथै उनले सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रधानमम्त्रीको कदमको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्न नागरिकलाई आग्रह गरेका छन् ।  ‘सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन्।महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिं र यत्तिमै रोकिने वाला छैनन् नेतागण!नअलमलिउँ,खुट्टा नकमाऔं,सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौ,’ उनले लेखेका छन् ।

  • बादल प्रवृत्तिको हार सुखद परिणाम हो : गगन थापा

    बादल प्रवृत्तिको हार सुखद परिणाम हो : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रिय सभा निर्वाचनमा गृहमन्त्री रामबहादुर थापा बादलको पराजय ‘सुखद परिणाम’ भएको बताएका छन् ।

    प्रतिनिधिसभाका सदस्य समेत रहेका नेता थापाले सत्तामा टिकीरहन जेपनि गर्न तयार हुने गृहमन्त्रीको पराजयले विधिको शासन मान्नेहरुको जित भएको बताए । ‘उहाँ जुन प्रवृत्ति बोकेर यो सरकारमा निरन्तर हुन चाहनुहुन्थ्यो त्यो प्रवृत्तिलाई हराउनैपर्ने थियो । अर्कोतिर डा. खिमलाल देवकोटा जत्तिको विज्ञ राष्ट्रियसभाका लागि उपयुक्त उम्मेदवार हुनुहुन्थ्यो । जित्नैपर्नेले जितेको र हार्नैपर्नेले हारेकोले यो परिणाम सुखद छ’, थापाले नेपाल प्रेससंग भने ।

    अर्को प्रसंगमा थापाले संसद अधिवेशन आह्वानसंगै सरकारले अध्यादेश जारी गर्नु विधिको शासन विपरीत भएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार संवैधानिक मर्यादा नाघिसकेको भन्दै थापाले पछिल्ला अध्यादेशहरु त्यसैको निरन्तरता भएको बताए । ‘संसदमा नीति तथा कार्यक्रम र प्रिबजेट छलफल दुवै हुनसकेन । संसदको समय सरकारले खाइदियो । अहिले संसद बोलायो तर अध्यादेश जारी गरेर फेरी संसदको हुर्मत लिने काम गर्यो’, थापाले भने । सरकार असफल भइसकेकोले हरेक मोर्चामा हार व्यहोर्न तयार हुनुपर्ने थापाको भनाई थियो ।

  • प्रधानमन्त्रीसँग बहस गर्छु : गगन, बोकाले दाइँ हुन्न : महेश (भिडियो)

    प्रधानमन्त्रीसँग बहस गर्छु : गगन, बोकाले दाइँ हुन्न : महेश (भिडियो)

    काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेकपा एमाले र नेपाली कांग्रेसका युवा सांसद बहसमा उत्रिए ।

    नेपाली कांग्रेसका सांसद गगन थापाले बिना योजना बिकास अयोजनको शिलान्यास र उद्घाटन गरेर तमासा देखाएको आरोप प्रधानमन्त्रीलाई लगाए । र, तथ्यांक टेकेर बहसमा आउन चुनौती दिए।

    एमाले सांसद महेश बस्नेतले बिकासका काम हुँदा किन टाउको दुखाएको भन्दै त्यसको प्रतिवाद गरे । हेर्नुहोस्, संसदमा महेशगगनको सवाल-जवाफ :

    गगन- २०६१/२०६२ मा सक्किनुपर्ने आयोजना आज २०७८ सालमा सकिदै गर्दा हामीले गल्ती गर्यौं, काठमडौंबासीलाई पानी खुवाउन ढिलो गर्यौं, त्योबाट धेरै कुरा सिकेका छौं, अब यस्तो गर्दैनौं भनेर प्रधानमन्त्रीले पनि हामीले पनि भन्नुपर्ने । यो बेलामा कहिले धारो खोलेर, कलिहे बाल्टिन थापेर, कलिहे उठेर, कहिले बसेर उद्घाटन गरेको छ । तमासा गरेको छ। चम्कार भयो भनेको छ।

    महेश- मेलम्चीलेको पानीले काठमाडौं उपत्यकामा खुसीको लहर ल्याइरहेको छ । काठमाडौं उपत्यकाका कतिपय मान्य जीहरुको प्रेसर बढेको छ । प्रेसर धेरै नबढाउनुहोस् । हुन त गंगालाल अस्पताल नकिजै छ । त्यसको स्तरउन्नती गरेर बनाइदिएकै छ । प्रेसर बढे छ भने पनि त्यसको उपचार गरौंला, त्यसको समस्या छैन् ।

    गगन- प्रधानमन्त्री ज्यू तथ्य र तथ्यांकमा टेकर बसह गर्नका निम्ति म तपाईंलाई संसदमा निम्तो दिन चाहान्छु । चुनौती दिन चाहान्छु । हैन भने तपाईं बाहिरको सभा सम्मेलनमा उभिएर, प्रश्न नगर्ने ठाउँमा हुक्के, चिलिमे, बैठके, चौतारे राखेर तपाईंले माथिबाट ठोक्ने । तलकोले ताली बजाउने। अनि मान्य सांसदहरुले संसदमा आएर बाल कविता सुनाउने होइन । म, हामी तपाईंसँग बसह गर्न तयार छौं । तपाईंले प्रस्तुत गरेको तथ्यमा टेकर ल आउनुहोस्, एउटा–एउटा मन्त्रालयमा बहस गरौं । तीन वर्षमा कति चमत्कार भएको छ ? पानीमा बहस गरौं, सडकमा बहस गरौं, पुलमा बहस गरौं । राष्ट्रिय गौरबका आयोजनाको एउटा–एउटा कुरामा बसह गरौं ।

    महेश- यहाँ संसदमा प्रधानमन्त्रीको अनुपस्थिति भयो भन्ने ढंगले कुरा उठेको छ । प्रधानमन्त्रीको राजीनामा जबरजस्ती पनि मागिदै छ । प्रधानमन्त्रीलाई गलहत्याउने कुरा पनि गरिदै छ । कतिपय युवा साथीहरुले प्रधानमन्त्रीसँग ठाडठाडो बहस गर्ने चुनौती पनि दिइरहनु भएको छ। प्रधानमन्त्रीलाई च्यालेजन्ज गरे बालहठ देखाउने कतिपय साथीहरुलाई म भन्न चाहान्छु–यो बोकाको शैलीले दाइँ गरिदैन । दाइँ गर्नको लागि गोरुकै शैली चाहिन्छ ।

    गगन- गर्नुपर्ने काम गरेको छैन् । मिथ्यांक ल्याएको छ । अनि गफ चुटेको छ । यो भयो भनेको छ, त्यो भयो भनेको छ । हुँदा–हुँदा निर्माण समेत सकिएर दुई वर्ष अगाडि शुरू भएको पुलको उद्घाटन गरेको छ । चालु भएको दुई वर्ष भइसक्यो सिन्धुलीको पुल, राप्तीको पुल । हुँदा-हुँदा ठेक्का लागेको छैन्, सुनकोशी-मरिण डाईभर्सनको शिलान्यास गरेको छ। सबस्टेसन चार्ज भएको कहिले, अस्ती गएर थिचेको छ बटन । यो के को तमासा हो ? अस्ति भर्खर १ सय ६५ वटा बटन ट्याक्क थिचेर सडक उद्घाटन । कति सजिलो छ ।

    महेश- सडकहरू रणनीतिक सडकका रुपमा उद्घाटन गर्दा किन टाउको दुख्दै छ । सांसद भौतिक पूर्वाधार मन्त्रालयमा धाएर त्यसमा सडक प्रस्तुत गर्छ । ठीक छ, मेरो निर्वाचन क्षेत्रमा त्यो सडक चाहिँदैन भन्ने हिम्मत छ भने हिम्मतका साथ बोल्नुहोस् ।

    याे पनि पढ्नुस् :

    गगन थापालाई महेश बस्नेतको प्रश्न- रानीपोखरी बन्दा, धरहरा ठडिँदा किन टाउको दुख्दैछ ?

    गगन थापाको प्रश्न: कुनै हिसाब-किताब विनै शिलान्यास, यो के को तामासा हो ?

     

     

  • गगन थापाको प्रश्न: कुनै हिसाब-किताब विनै शिलान्यास, यो के को तामासा हो ?

    गगन थापाको प्रश्न: कुनै हिसाब-किताब विनै शिलान्यास, यो के को तामासा हो ?

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले बिना कुनै तयारी र लहडको भरमा विकास आयोजनाको शिलान्यास गरेर तमासा गरेको आरोप लगाएका छन्।

    ‘निर्माण सम्पन्न दुई वर्षअघि भएको पुलको उद्घाटन अहिले गरिएको छ। बीचबाटोमाा पुगेको कामको शिल्यान्यास गरेको छ,’ बिहीबारको प्रतिनिधिसभा बैठकमा थापाले भने, ‘प्रयोगमा आइसकेको चिजको उद्घाटन अहिले गरेको छ । यो के को तमासा हो ?’

    राष्ट्रिय गौरवका आयोजना थला परेर बसेको तर प्रधानमन्त्री गफ चुटेर बसेको अरोप थापाले लगाए। ‘राष्ट्रिय गौरवका आयोजना थला परेर बसेका छन्,’ थापाले भने, ‘गर्नु पर्ने काम गरेको छैन्, मिथ्यांक ल्याएको छ। गफ चुटेको छ, बसेको छ । यो भयो भनेको छ ।’

    बिना कुनै डिपिआर १सय ६५ वटा रणनीतिक सडकको शिलान्यास गरेको भन्दै उनले प्रधानमन्त्रीमाथि व्यंग्य समेत गरे।

    थापाले भने, ‘१ सय ६५ वटा सडक मात्रै किन शिलान्यास ? एकैपटक १६ सय गरिदिम यत्तिको बलियो प्रधानमन्त्री भएका बेला।’

    मिथ्यांक मात्रै पेस गरिरहेको भन्दै तथ्यांकमा टेकेर बहस गर्न संसदमा आउन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्ता समेत दिए। उनले भने, ‘प्रधानमन्त्रीज्यू तथ्य र तथ्यांकमा टेकेर बहस गर्न म तपाईंलाई संसदमा निम्तिो दिन चाहान्छु । चुनौती दिन चाहान्छु ।’

  • गगन थापाको चेतावनी- संसदको तिरस्कार र अपमानको बदला जनताले लिनेछन्

    गगन थापाको चेतावनी- संसदको तिरस्कार र अपमानको बदला जनताले लिनेछन्

    काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले संसद विघटन गर्ने आफ्नो कदमलाई सही सावित गर्न प्रधानमन्त्रीले संसदलाई कामविहीन बनाउने कोसिस गरेको आरोप लगाएका छन् ।

    मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै थापाले भने, ‘कहिले प्रश्न छल्न बैठक स्थगित, कहिले पार्टीभित्रको विरोधी तह लगाउन संसद भङ्ग । अनि अहिले प्रतिनिधिसभा भङ्ग गर्ने सनक सही थियो भन्ने स्थापित गर्नको लागि संसदलाई कामविहीन बनाउने प्रपञ्च ।’

    अध्यादेश पेश गर्न नदिएको भन्दै प्रधानमन्त्रीले अनावश्यक हल्ला गरेको थापाको टिप्पणी छ । ‘एसिड आक्रमणलाई नियन्त्रण गर्ने कानून बनाउँन दिइएन भन्ने हल्ला गर्ने तर संसदलाई एउटा विधेयक पनि नदिने,’ उनले भने, ‘अनि विधेयकलाई कानून बनाउनको निम्ति चाहिने राष्ट्रियसभाको बैठक नबोलाउने ।’

    उनले यो सरकार रहुन्जेल संसदको तिरस्कार र अपमान भइरहने आरोप समेत लगाए। ‘हामी स्पष्‍ट छौं- जतिदिन यो सरकार रहन्छ संसदको तिरस्कार र अपमान उपेक्षा गर्ने काम अझ बढ्दै जान्छ,’ थापाले भने, ‘किनकि प्रधानमन्त्रीलाई यो संसदसँग बदला लिनुछ । हामी हाम्रो ठाउँबाट डटेर संसदको गरिमा कायम राख्नका निम्ति लड्ने छौं । बाँकी जिम्मा जनताको । यथोचित समयमा जनताले यसको हिसाब किताब गर्ने छन् ।’

    आफूले बनाएको संसदको अपमान गरेकोमा जनताले यथोचित समयमा बदला समेत लिने थापाको चेतावनी थियो । ‘यो संसद र सांसदको अपमान, यो लोगो लगाउने केही सांसदको अपमान तिरस्कार उपेक्षा होइन ? यो जनताको अपमान हो । जसले यो संसद बनाएको छ । जसले हामीलाइ संसद बनाएको छ, आफ्नो अपमानको बदला जनताले यथोचित समयमा लिनेछन् ।’

  • नेकपा मर्दा मलामी जाने कोही भएनन्, नेता कार्यकर्ता नाचें, लड्डु खाएः नेता थापा (भिडियो)

    नेकपा मर्दा मलामी जाने कोही भएनन्, नेता कार्यकर्ता नाचें, लड्डु खाएः नेता थापा (भिडियो)

    सुर्खेत । नेपाली काँग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतले नेकपालाई मृत घोषणा गर्दा नेकपाको मलामी जाने नेपाली कम्युनिष्टमा कोही पनि नेता नभएको बताएका छन् । नेपाली काँग्रेस जिल्ला कार्य समिति सुर्खेतले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्वोधन गर्दै नेता थापाले यस्तो बताएका हुन् ।

    आफु संसदमा भर्‍याङ चढदै गर्दा सर्वोच्चको फैसला आएको र त्यसबाट आफू दुखी भएको बताए । ‘मैले यसो वरिपरी हेरें । नेकपा पार्टीको मृत्यू भएको छ । म त शोक वक्तव्य पो प्रकट गर्दैछु । मैले शोक वक्तव्य प्रकट गर्दा गर्दै पनि नेकपाको मलामी जाने कोही भेटिएनन् ।’

    उनले थप्दै भने ‘शोकगीत बजाउनुपर्नेमा लोकगीत बजाएको छ । कोही नाचेको छ, कोही लड्डु बाँडेको छ । नेकपा सकियो भनेको दिन कोही रोयो ? कोहि दंग परेको छ त कोहि खुशी भएको छ, कसैले माला लगाएको छ । काेहि नाचेको छ, बद्री पंगेनीको मै पनि एमाले सै पनि एमाले भन्ने गीत तछाड मछाड गरेर गाएर माधव नेपाल संसद छिर्नुभयो । त्यसपछि ओलीले एकपटक हकारेर पठाएपछि प्यालेस जानु भएको छ । उता आएको छ, यता आएको छ उनको बारेमा चिन्ता नगरौं ।’

    उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक आयोगलाई खल्तीका रुपमा प्रयोग गरिरहेको आरोप लगाए । ‘निर्वाचन आयोगदेखि अन्य संवैधानिक आयोग ओलीका दाँया र बाँया खल्ती भएका छन् । सरकारी आयोगलाई, अड्डा अदालतलाई उनले सके मिलाउने नसके तर्साउने रणनीति लिइ अघि बढिरहनु भएको छ । यो गलत छ ।’ उनले भने,

    ‘अब काँग्रेसले सरकारको नेतृत्व गर्नुपर्छ । सरकारले कोरोनाबाट ग्रसित नागरिकलाई राहत दिन, संविधानमा ओलीले पारेका भ्वाङ्ग पुर्न र निष्पक्ष चुनाव गराउन काँग्रेस सरकारमा जानै पर्छ । यसका लागि काँग्रेसले केन्द्रीय समितिको बैठकबाटै आवश्यक निर्णय लिन आवश्यक छ ।’ उनले नेकपालाई जनताले दिएको म्याण्डेट पुरा नभएको बताउँदै अब देश सम्हाल्ने जिम्मा काँग्रेसको हातमा आएको दाबी गरे ।

  • पोखरा पुगेर गगन थापाको प्रश्न- विद्या भट्टराई कुन पार्टीको सांसद ?

    पोखरा पुगेर गगन थापाको प्रश्न- विद्या भट्टराई कुन पार्टीको सांसद ?

    पोखरा । नेपाली कांग्रेसका नेता गगन थापाले कास्की क्षेत्र नम्बर २ की प्रतिनिधिसभा सदस्य विद्या भट्टराईको पदको वैधानिकतामाथि प्रश्न उठाएका छन् ।

    उनले सर्वोच्च अदालतको फैसलाबाट नेकपा मरिसकेकाले हुनाले विद्या भट्टराईलगायत उपचुनावबाट निर्वाचित जनप्रतिनिधिलाई मान्न नसकिने बताए ।

    बहालवाला मन्त्री रहेकै बेला पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हवाई दुर्घटनामा मृत्यु भएपछि कास्की २ खाली भयो । तत्कालीन समय नेकपा एमालेबाट विजयी भएका स्व. अधिकारीको निधनको समय एमाले र माओवादीबीच एकता भएर नेपाल कम्युनिष्‍ट पार्टी ‘नेकपा’ भइसकेको थियो ।

    अधिकारीको निधनपछि रिक्त बनेको कास्की २ मा उनकै श्रीमती विद्या भट्टराई तत्कालीन नेकपाबाटै चुनाव लडिन् । उनी सूर्य चिन्हबाटै गत मंसिर १४ मा भएको उपनिर्वाचनमा विजयी भएकी थिइन् । उनलाई केपी ओलीको एकल हस्ताक्षरमै टिकट दिइएको थियो ।

    नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ गण्डकीको शुक्रबार पोखरामा भएको दोस्रो अधिवेशनमा सांसद थापाले नेकपा मरिसकेकाले त्यसबाट निर्वाचित जनप्रतिनिधि पद पनि खारेज हुनुपर्ने माग राखे । उनले कास्की २ बाट निर्वाचित विद्या भट्टराईलगायतकलाई सांसद पनि मान्न नसकिने बताए ।

    ‘कास्कीमा आएर आज मेरो प्रश्न छ- नेपाल कम्युनिस्ट पार्टी सकियो । कोही एमालेतिर फर्कनुभो । कोही माओवादीतिर फर्कनु भो । कास्की २ बाट जितेको सांसद कुन पार्टीको ? एमाले कि माओवादीको ? उहाँहरू भन्नुहुन्छ छान्न पाउँनुहुन्छ । अहँ हिजो मत नेपाल कम्युनिष्ट पार्टीले पाएको हो,’ सांसद थापाले भने ।

    नेकपाबाट निर्वाचित सांसदले आफू नेकपा एमालेको या माओवादी केन्द्रको भन्ने छान्न पाउने कुरा उठिरहेकाले त्यसमा पनि विरोध गरे । मतदाताले नेकपालाई जिताएकाले फेरि जनताले नै छान्न पाउनुपर्ने उनको भनाइ छ ।

    ‘पद के हुने भन्ने त्यो निर्वाचित जनप्रतिनिधिले छान्ने होइन, यहाँका जनताले छान्न पाउँनुपर्छ । नेपाल कम्युनिष्‍ट पार्टीको नाममा निर्वाचनबाट आएको जनप्रतिनिधिलाई जनप्रतिनिधि मान्न सकिँदैन । किनकी त्यो पार्टी नै छैन अब,’ सांसद थापाले भने, ‘उहाँहरू कुन पार्टीको ? उहाँहरुले छान्न पाउने, नागरिकले छान्न नपाउने ? जनताले छान्न नपाउने ? मतदाताले छान्न नपाउने ? कास्केली मतदाताले त नेपाल कम्युनिष्ट पार्टीलाई मत दिएको हो नि त ! एमालेलाई, माओवादीलाई दिएको होइन ।’

    सांसद थापाले पार्टी नै मरिसकेपछि त्यसबाट निर्वाचित जनप्रतिनिधिलाई पनि बिदा गर्नुपर्ने माग राखे ।

    ‘नेकपाबाट निर्वाचित सांसद वडाध्यक्षहरू उपनिर्वाचनमा निर्वाचित बागलुङको, दाङको जति पनि हुनुहुन्छ, नेपाल कम्युनिष्ट पार्टीबाट निर्वाचित हुनुभएको हो । त्यो मरिसक्यो । छँदै छैन । पार्टी मरेपछि त्यसको जनप्रतिनिधि रहँदैन,’ उनले भने, ‘उपनिर्वाचनबाट जनप्रतिनिधिलाई बिदा गर्नुपर्छ ।’

    थापाले सर्वोच्चको अदालतको फैसलालाई उपनिर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले नै विरोध गर्नुपर्ने धारणा राखे । उनीहरुले नै निर्वाचनको मत परिणामलाई अस्वीकार गरेर गलत निर्णय भएको बताउनुपर्ने थापाको जिकिर छ ।

  • पोखरामा गगन थापाले भने- कांग्रेस नेतृत्वमा सरकार बनाइन्छ, चुनावमा गइन्छ

    पोखरामा गगन थापाले भने- कांग्रेस नेतृत्वमा सरकार बनाइन्छ, चुनावमा गइन्छ

    पोखरा । कांग्रेस नेता तथा सांसद गगन थापाले अब देश चुनावमा होमिइसकेको भन्दै तयारी थाल्न आफ्ना कार्यकर्तालाई आग्रह गरेका छन् । सरकारको नेतृत्व कांग्रेसले लिने र चुनावमा देशलाई लैजाने दाबी उनले गरे ।

    थापाले यसअघि कांग्रेस सरकारमा जान नहुने पक्षमा वकालत गर्दै आएका थिए । अहिले आफ्ना अडान फेरेका उनले कांग्रेसले अरु पार्टी मिलाएर सरकार बनाउने र देशलाई चुनावमा लैजाने बताएका हुन् ।

    नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ गण्डकीको शुक्रबार पोखरामा भएको दोस्रो अधिवेशनमा बोल्दै थापाले भने, ‘यो संसदले सरकार पनि दिन सक्दैन । छलफल पनि दिन सक्दैन । जनताको विषयलाई सम्बोधन पनि गर्न सक्दैन ।’

    उनले अगाडि थपे, ‘अबको शक्तिशाली प्रधानमन्त्री मै हो भनेर जुन भन्न खोजिएको छ, यसलाई रोक्न आवश्यक छ । यसलाई रोक्न नेपाली कांग्रेसले अग्रसरता लिने हो । अरु पार्टीलाई मिलाएर सरकार बनाउने हो । र, त्यसपछि देशलाई चुनावमा लैजाने हो ।’

    कांग्रेसले सरकार बनाएर २ वर्ष चलाउँला, सरकार बनाएर यो गरुँला, त्यो गरुँला भन्ने भन्ने नभएको तर, ओली सरकारले बिगारेका कामहरु सच्याउने उनको भनाइ थियो ।

    ‘प्रधानमन्त्री केपी शर्मा ओलीले बिगारेका कामहरु छन्, त्यललाई सच्याउने हो । सुशासन ल्याउने हो,’ उनले भने, ‘कोभिडबाट थला परेको अर्थतन्त्रलाई केही माथि उठाउने प्रयास गर्ने हो । संविधानमा परेका भ्वाङहरु टाल्ने हो ।’

    कांग्रेस नेतृत्वको सरकारले देशलाई चुनावमा लगेर निष्पक्ष चुनाव गराउने उद्देश्य राखेको सांसद थापाले बताए । प्रधानमन्त्री ओलीको नेतृत्वमा नेपालमा निष्पक्ष चुनाव सम्भव नभएको आरोप लगाउँदै उनले भने, ‘अड्डा-अदालत, निर्वाचन आयोग कसैले पनि ओलीको अन्डरमा निष्पक्ष काम गर्नै सक्दैन ।’

    ‘कांग्रेस अब गोलमोल हुने होइन’

    सांसद थापाले अब आफ्नै सरकार बनाउन कांग्रेसले कुनै गोलमोल गर्न नहुनेसमेत बताए । तत्काल केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाएर नेपाली कांग्रेस नेतृत्वको सरकार बनाउनेबारे निर्णय गर्नुपर्ने धारणा उनको थियो ।

    ‘नेपाली कांग्रेसले अब गोलमोल गर्नु हुँदैन । तत्काल केन्द्रीय समितिको बैठक बोलाउने, संसदीय दलको बैठक बोलाउने, हाम्रो नेतृत्वमा सरकार बनाउने हो भनेर निर्णय गर्ने हो । त्यो निर्णय गरेर जसपासँग वार्ता गर्ने, माओवादी केन्द्रसँग वार्ता गर्ने हो ।’

    थापाले जसपा र माओवादी केन्द्रले पनि अब अल्मल्याउने काम नगरेर प्रष्ट निर्णय दिनुपर्ने उल्लेख गरे । माओेवादी केन्द्रलाई पनि सरकारको समर्थन फिर्ता लिने भए तत्काल निर्णय लिन उनले सुझाए ।

    ‘कांग्रेसलाई समर्थन दिने हो भने दिने भन्नुस् । नदिएर केपी ओलीसँग टाँस्सिरहने हो भने जानुस्, गए हुन्छ केही फरक पर्दैन,’उनले भने ।

    नेपाली कम्युनिष्ट पार्टीले जनतालाई निराश बनाएको भन्दै उनले कांग्रेसले अन्तिम पटकका लागि जनतासँग मौका माग्ने र आफ्ना कमीकमजोरी सच्याउँदै अघि बढ्ने बताए ।

    उनले भने, ‘जनतालाई फेरि खुसी बनाएर अर्को ५ वर्षका लागि तपाईंहरुसँग मत माग्न आउने हैसियत बनाउँछौं भन्ने उद्घोष, संकल्प, प्रतिवद्धता गरेर जनतामाझ जाने स्थिति हामी बनाउँछौं ।’

    जसपा र माओवादी केन्द्रले नेपाली कांग्रेसलाई समर्थन नगरे आफूहरु फेरि प्रतिपक्षमै बस्ने र कामबाटै हस्तक्षेप गर्ने थापाले बताए ।

  • नेकपाले सरकार चलाउन पाएको म्याण्डेट सकिएको छ : गगन थापा (भिडियो)

    नेकपाले सरकार चलाउन पाएको म्याण्डेट सकिएको छ : गगन थापा (भिडियो)

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री ओलीले संविधानमा भ्वाङ पारेको भन्दै भ्वाङ टाल्न कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्नेमा जोड दिएका छन् ।

    काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले कांग्रेसले प्रतिपक्षमा बस्ने म्याण्डेड पाएको भएपनि संकटको बेलामा कांग्रेसले सम्हाल्नुपर्ने अवस्था आएको उनको भनाइ छ । थापाले भने, ‘नेपाल कम्युनिष्ट पार्टीको नाममा जुन म्याण्डेट उहाँहरुले पाउनुभयो, त्यो माण्डेट अस्तिको सर्वोच्च अदालतको फैसला र त्यो फैसलालाई उहाँहरूले स्वीकार गरिसकेपछि सकियो । त्यसैले यो संसदमा सरकार चलाउने म्याण्डेड पाएको पार्टी छैन । हामीले प्रतिपक्षमा बस्ने म्याण्डेट पाएको पाएको । तर, यो क्राइसिसको बेलामा अब हामीले सम्हाल्नुपर्ने छ । हामीले सम्हालेर यसलाई निकास दिने, निकास दिएर देशलाई चुनावमा लिएर जाने र त्यो चुनावबाट नयाँ म्याण्डेट प्राप्त गर्ने ।’

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई कायमै राखे राज्यका सम्पूर्ण संयन्त्रलाई दबाब र प्रभावमा पारेर कब्जा गर्ने र प्रजातन्त्रलाई कमजोर बनाउने थापाले दाबी गरे ।

    उनले भने, ‘सम्भव हुन्छ, सकिन्छ भने यही पटक प्रधानमन्त्री केपी शर्मा ओलीलाई घर पठाउनुपर्ने छ र नेपाली कांग्रेसको नेतृत्वमा अहिले सकिन्छ भने अहिले हामीले सरकार बनाएर, हामीले छ/आठ महिना, एक वर्ष चलाउनुपर्छ ।’

  • राजीनामा नदिए प्रधानमन्त्री हटाउँछौं : गगन थापा

    राजीनामा नदिए प्रधानमन्त्री हटाउँछौं : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प संसदले खोज्ने बताएका छन् ।

    संसद भवनमा पत्रकारहरुसँग कुरा गर्दै थापाले कांग्रेसको माग प्रधानमन्त्रीकाे राजीनामा रहेको बताए । ‘उहाँले राजीनामा दिनुपर्छ । राजीनामा नदिने भए विश्वासको मत लिनुपर्छ । त्यस्तो विश्वासको मत नदिन कांग्रेसले भूमिका खेल्छ’, थापाले भने ।

    नेकपा एकताको विषयमा सर्वोच्च अदालतले गरेको फैसलाले ‘जटिलता’ बढाएको थापाले बताएका छन् । अदालतको फैसला मान्नुपर्ने अवस्था भए पनि माग नगरिएको विषयमा अदालतले बोल्दा समस्या बढेको उनले बताए । ‘सर्वोच्चको फैसलाले झट्ट हेर्दा सजिलो बनाएझैं देखिन्छ तर यसले निकै जटिल अवस्थामा पुर्‍याएको छ’, थापाले भने ।

    कांग्रेस केन्द्रीय समिति र संसदीय दलले यसअघि नै नेकपाको औपचारिक विभाजनपछि थप छलफल गर्ने निर्णय गरेको भन्दै थापाले पार्टीभित्र नयाँ शिराबाट छलफल शुरु हुने बताए ।

  • सेटिङको होइन संविधानको शासन चाहन्छौं : गगन थापा

    सेटिङको होइन संविधानको शासन चाहन्छौं : गगन थापा

    चितवन । नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेस सेटिङको नभई संविधानको शासनका पक्षमा रहेको बताएका छन् ।

    चितवनको भरतपुरस्थित चौबीसकोठीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता थापाले संसद विघटनको कदम असंवैधानिक भएकोले कांग्रेस आन्दोलनमा उत्रिएको बताए ।

    संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने कुनै धारा नरहेको दाबी गर्दै नेता थापाले कांग्रेस र अदालतले हेर्ने संविधान एउटै भएको बताए । उनले सडकमा उत्रिएको भीड नभइ संविधान हेरेर अदालतले आदेश दिने विश्वास व्यक्त गरे ।

    ‘श्रीमान, ओलीको जुलुसपनि नहेर्नुस्, प्रचण्डको जुलुस पनि नहेर्नुस् , कांग्रेसको जुलुस पनि नहेर्नुस् । संविधान हेर्नुस् र संविधानको पक्षमा फैसला दिनुस्’, थापाले भने ।

    संविधान निर्माणको नेतृत्व र कार्यान्वयनको पहल कांग्रेसले लिएको स्मरण गराउँदै नेता थापाले संविधान जोगाउनकै लागि आन्दोलनको अपरिहार्य नरहेको बताए । उनले संसद विघटन सदर भए संविधान बदर हुने दाबीसमेत गरे ।

  • झाँक्रीको पक्राउले सत्यको मुख बन्द हुँदैन : गगन थापा

    झाँक्रीको पक्राउले सत्यको मुख बन्द हुँदैन : गगन थापा

    काठमाडौं । नेकपा प्रचण्ड-माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीको पक्राउको नेपाली कांग्रेसका नेता गगन थापाले भर्त्सना गरेका छन् ।

    थापाले सामाजिक सञ्जालमार्फत कर्तव्य निर्वाह गर्न छोडेर, संवैधानिक र अलोतान्त्रिक कार्य गर्नेलाई प्रश्न गर्दा झ्यालखानामा राखेर तर्साउन खोजिएको भन्दै विरोध गरेका हुन् ।

    सत्यको पक्षमा बोल्ने मुख सरकारले देखाएको त्रासले बन्द नहुने थापाको भनाइ छ । उनले अहिले राष्ट्रपतिले उहिलेका महाराजाको व्यवहार देखाएको भन्दै झ्यालखानाको संख्या थप्न भनेका छन् ।

     

  • लाइन मिलेपछि रामचन्द्र-गगन फेरि एक ठाउँ, महाधिवेशनसम्म गठजोडको चर्चा

    लाइन मिलेपछि रामचन्द्र-गगन फेरि एक ठाउँ, महाधिवेशनसम्म गठजोडको चर्चा

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र संसद पुनस्र्थापनाको विषयलाई लिएर सुषुप्त खालको मानसिक विभाजन छ । यो विभाजनले पार्टीभित्रको गुटगत राजनीतिलाई पनि प्रभावित बनाएको छ, र केही नेता आफ्नो क्याम्पबाट यताउता लस्किन थालेका छन् । अहिले वरिष्ठ नेता रामचन्द्र पौडेल र युवा नेता गगन थापाबीच देखिएको निकटता कांग्रेसभित्र चर्चाको विषय बनेको छ ।

    कांग्रेसको १३औं महाधिवेशनमा नेतृत्वका लागि त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो । पहिलो चरणमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला चुनावी मैदानमा थिए । दोस्रो चरणमा भिडेका थिए, देउवा र पौडेल ।

    महामन्त्रीमा देउवा पक्षबाट अर्जुननरसिंह केसी, पौडेल पक्षबाट डा.शशांक कोइराला र सिटौला पक्षबाट गगन थापाले प्रतिस्पर्धा गरेका थिए । महाधिवेशनका लागि केही दिन बाँकी रहँदासम्म पौडेल पक्षको रणनीति निर्माणमा खटिएका थिए युवा नेता गगन । अन्तिम समयमा ‘पदाधिकारी’ लड्ने निर्णयमा साथ नपाएपछि सिटौला समूहमा मिसिएर थापा महामन्त्रीको उम्मेदवार बने । सभापतिमा सिटौलाले ३२४ मत ल्याउँदा महामन्त्रीमा थापाले ५८४ मत ल्याए ।

    कांग्रेसका वरिष्ठ नेता पौडेल र युवा नेता थापाबीच पार्टीका आन्तरिक विषयमा लामो समय चलेको सहकार्य १३औं महाधिवेशनमा टुटेको थियो । यतिबेला संसद विघटनविरुद्धको आन्दोलनमा उभिएका दुवै नेताबीच पुनः तालमेल मिल्न थालेको छ । कतिपयले उनीहरू तत्कालका लागि मात्रै सँगै चर्चा गर्छन् भने कतिपयले महाधिवेशनसम्मै सहकार्यको सम्भावना देख्छन् ।

    कांग्रेसको चौधौं महाधिवेशन घोषित मिति फागुन ७ मा उद्घाटन नहुने निश्चित भए पनि संवैधानिक कारणले २०७८ भदौसम्म भइसक्नुपर्नेछ । सो महाधिवेशनको समीकरण अहिलेसम्म प्रष्ट भइसकेको छैन ।

    सहकार्यको पृष्ठभूमि

    वरिष्ठ नेता पौडेल र युवा नेता थापा पहिले पनि निकट थिए । २०६२ सालमा राजतन्त्रविरुद्धको आन्दोलन उत्कर्षमा छँदा राजद्रोहको मुद्दा खेपिरहेका थिए गगनले । पोखरामा नेविसंघको महाधिवेशन हुँदैथियो । अघिल्लो दिन थुनाबाट छुटेर पोखरा पुगेका उनलाई विद्यार्थीहरूले भव्य स्वागत गरे ।

    नेविसंघ अध्यक्षको बलिया प्रत्यासी थिए गगन । तर तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला नेविसंघ अध्यक्षमा केशव सिंहलाई नै दोहोर्‍याउने पक्षमा थिए । नेता पौडेलको समर्थन गगनलाई थियो । गगनलाई अध्यक्ष बनाउने पौडेलको प्रयास सफल भएन, तर त्यसले उनीहरूबीच विश्वासको वातावरण बन्यो ।

    २०६४ मा चितवनमा सम्पन्न नेविसंघ महाधिवेशनले गगन समर्थित उम्मेदवार प्रदीप पौडेललाई अध्यक्ष चयन गर्‍यो । काठमाडौं फर्किएर गगन पार्टी राजनीतिमा केन्द्रित भए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा युवालाई स्थान दिनुपर्ने आवाज कांग्रेसमा चर्को स्वरले उठ्यो । प्रत्यक्ष टिकट दिलाउन नसके पनि पौडेलकै प्रस्तावमा गगन समानुपातिक सभासद बन्न सफल भए । गगनको राजनीतिक जीवनमा निर्णायक यो उपलब्धिको श्रेय पनि पौडेलले पाए ।

    ‘गगनजीलाई सभासद बनाउन रामचन्द्र दाइले गिरिजाबाबुलाई समेत कन्भिन्स गर्नुभएको थियो । सभासद भएपछि नै गगनजीको राजनीति अझ उकालोतर्फ लाग्यो’, गगनका एक समकक्षी नेताले भने ।

    सभासद भइसकेपछि गुन तिर्ने पालो गगनको थियो । पौडेललाई संविधानसभामा दलको नेतामा निर्वाचित गराउन गगन कस्सिएर लागे । पौडेल कांग्रेस संसदीय दलको नेता बन्न सफल पनि भए । त्यसयता संविधान निर्माणदेखि पार्टीभित्र विचार निर्माण समेतमा पौडेल र गगनको गठजोड बन्यो । गगनको अगुवाइमा भएका वैचारिक लेखन र बहसहरूमा पौडेल समेतको विचार प्रवर्द्धन गरिए ।

    ‘पार्टीभित्र वैचारिक र व्यावहारिक दुवै कुरामा उहाँहरूबीच सहकार्य थियो । रामचन्द्र दाइको धारणालाई समर्थन हुने गरी गगनजीले धेरैपटक कार्यक्रमहरू सञ्चालन गराउनुभएको छ’, एक नेताले भने ।

    १२औं महाधिवेशनपछि पौडेल पार्टीको उपसभापति बन्दा गगन सर्वाधिक मतसहित केन्द्रीय सदस्य बनेका थिए । नीति तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखका रूपमा पौडेलले थालेको देशव्यापी अभियानमा गगनले राम्रै साथ दिएका थिए ।

    १३औं महाधिवेशनको पूर्वसन्ध्यामा तत्कालीन सभापति सुशील कोइराला सभापतिमा दोहोरिन इच्छुक देखिए । तर गगनले स्पष्टरूपमा ‘सभापतिले खुला हृदयले रामचन्द्र पौडेललाई सभापतिका रूपमा अगाडि सार्नुपर्ने’ धारणा राखे । कांग्रेसको नेतृत्वका लागि पौडेल उपयुक्त छन् भन्नेमा गगन जति विश्वस्त थिए त्यति नै आफू पदाधिकारीमा चुनाव लड्नैपर्ने दबाबमा थिए । पौडेलकै टिमबाट पदाधिकारीमा निर्वाचन लड्न गगनले अन्तिमसम्म प्रयास गरेका हुन् । तर १३औं महाधिवेशनमा पौडेलले वचन दिए पनि गगनले पदाधिकारीमा लड्न ठाउँ पाएनन् ।

    गगनसहितका युवाहरूको टिमले पौडेलको चुनावी अभियान र घोषणापत्रसमेत लेखिसकेको थियो । तर पौडेल र गगन एकै टिममा चुनाव लड्ने स्थिति भएन । पौडेलले महामन्त्रीका रूपमा डा.शशांक कोइराला रोजे, गगनले सभापतिका रूपमा कृष्ण सिटौला । त्यसयता पौडेल र गगनबीच दूरी बढेको थियो ।

    अहिले संसद विघटनको मुद्दामा सभापति देउवा पक्ष नरम देखिंदा पौडेल र गगन कडा विरोधमा छन् । केपी ओलीले चालेको कदम एकप्रकारले पौडेल र गगनलाई फेरि जोड्ने सुपरग्लु बनेको छ । उनीहरू आन्दोलनका धेरै कार्यक्रममा एकसाथ देखिएका छन् ।

    हालै सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित सभामा गगन स्वयंले संसद पुनस्र्थापना विरुद्ध पौडेलले लिएको अडानमा आफ्नो साथ रहेको बताएका थिए ।

    ‘निर्वाचन हुँदा रामचन्द्र पौडेलले पनि तनहुँमा जित्नुहुन्छ । सांसद भएर आएपछि प्रधानमन्त्री पनि बन्नुहोला । तर उहाँले तत्कालको लाभ नहेरेर संविधान र लोकतन्त्र जोगाउने पक्षमा अडान लिनुभयो । त्यहीकारण हामी एकठाउँमा छौं’, सभामा गगनले पौडेलको प्रशंसा गर्दै भनेका थिए ।

    पौडल र सिटौला मिलाउने गगनको प्रयास

    गगनले ‘आवश्यक परे सभापति लड्न तयार रहेको’ समेत बताउने गरेका छन् । यद्यपि उनी आफैं चाहिं कांग्रेसको पुरानो संस्थापनलाई एकैठाउँमा ल्याउने प्रयासमा छन् ।

    सभापतिमा दाबी गरिरहेका अधिकांश नेताले गगनको साथ चाहेका छन् । गगन भने छुट्टाछुट्टै प्रतिस्पर्धा गरेर पार्टीमा परिवर्तन सम्भव नहुने भएकोले संस्थापनइतर पक्षबाट एकमात्रै उम्मेदवार बनाउन सक्रिय छन् ।

    ‘रामचन्द्र र कृष्ण सिटौलाबीचको असमझदारीका कारण नेतृत्व शेरबहादुरमा पुगेको हो । त्यो असमझदारी हटाउने र सबैलाई मिलाउने भूमिका खेल्न उहाँ सक्रिय हुनुहुन्छ’, गगन निकट नेताले भने । पौडेल र सिटौलाबीच सहकार्य सम्भव देखेका गगन हाल आफ्नो भूमिका त्यसतर्फ केन्द्रित गरिरहेका छन् ।

    अघिल्लो महाधिवेशनमा कमजोर गुटको उम्मेदवार बनेकाले गगन महामन्त्रीमा पराजित भएका थिए । आगामी महाधिवेशनमा फेरि त्यो गल्ती दोहोर्‍याउन गगन चाहँदैनन् । त्यसैले उनी पौडेल-सिटौलालाई मिलाएर देउवालाई चुनौती दिने बलियो गुट निर्माणको चक्करमा छन् । र, त्यो गुटबाट आफू महामन्त्रीको उम्मेदवार बन्ने ध्याउन्न छ ।

    सभापतिका आकांक्षी अन्य नेताले पनि गगनलाई आफूतिर तान्न चाहेका छन् । सभापतिमा दाबी गरिरहेका नेता डा.शेखर कोइरालाले त सार्वजनिक रूपमा गगनलाई महामन्त्री प्रस्ताव गरिसकेका छन् । गगनले भने सभापतिमा कसलाई समर्थन गर्ने भन्ने निर्णय लिइसकेका छैनन् । तर विगतको लामो सहकार्यको पृष्ठभूमि र संसद विघटनको विषयमा मिलेको लाइनले पौडेल र गगनलाई महाधिवेशनसम्म जोड्न सक्ने देखिन्छ । पौडेलले गत वर्ष सार्वजनिक रूपमै ‘गगन–प्रदीपलगायतका युवाहरू आफूसँगै रहने’ दाबी गरेका थिए ।

    ‘दुवैजना अबको महाधिवेशनमा लड्नैपर्ने भन्दा जित्नैपर्ने बाध्यतामा हुनुहुन्छ । यो बाध्यता र संसद पुनस्र्थापनाको पक्षमा उहाँहरूले लिएको अडानले नै महाधिवेशनमा दुवैलाई एकठाउँ ल्याउने सम्भावना छ’, दुवै नेताका निकटस्थहरूको समान बुझाइ छ ।

  • कमलपोखरी वरिपरिका कंक्रिट संरचना महानगरपालिकाले डोजर लगाएर भत्कायो

    कमलपोखरी वरिपरिका कंक्रिट संरचना महानगरपालिकाले डोजर लगाएर भत्कायो

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कमलपोखरी विस्तार योजनाअनुसार महानगरीय प्रहरी वृत्त कमलपोखरीको कार्यालय, कमलपोखरी स्पोर्टस् क्लबको भवन र राधे–राधेको सत्संग भवन भत्काएको छ । आज साँझ काठमाडौँ महानगरपालिकाले डोजर लगाएर ती भवन भत्काएको हो ।

    काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले कमलपोखरीको गुरुयोजना अनुसार कमलपोखरी पुनर्निर्माणका लागि ती कंक्रिट संरचना भत्काएको जानकारी दिए ।

    ‘कलपोखरी वरिपरि महानगरीय प्रहरी वृत्त कमलपोखरीको कार्यालय, कमलपोखरी स्पोर्टस् क्लबको भवन र राधे–राधेको सत्संग क्लब भवनलगायतका संरचना थिए’ उनले भने, ‘हामीले पूर्व योजना अनुसार नै ती संरचना भत्काएका हौँ ।’ ज्ञवालीले योजना अनुसारको काम अघि बढाउने र त्यहाँ सुन्दर पोखरी निर्माण गर्ने बताए ।

    ‘हामीले पोखरी क्षेत्रभित्रै रहेको महानगरीय प्रहरी वृत्तको भवन पनि भत्काएका छौँ’ उनले भने, ‘अब चारैतिरका कुनामा काठको कलात्मक मण्डप बनाउने योजना छ । त्यहाँ कंक्रिटको प्रयोग गर्दैनौं । सामान्य रुपमा सिमेन्टको प्रयोग भने हुन्छ ।’ ज्ञवालीले अहिले चर्चा गरे जस्तो पोखरीमा कंक्रिट संरचना प्रयोग गर्ने कुनै योजना नरहेको पनि दाबी गरे ।

    पछिल्लाे समय विघटित प्रतिनिधिसभाका सदस्य गगन थापाले कमलपोखरीमा अनावश्यक बखेडा झिकेको भन्दै महानगरपालिकाले पुनर्निर्माणको काम नरोक्ने चेतावनी दिएको छ । प्रमुख शाक्यले केही दिनभित्रै कमलपोखरी पुनर्निर्माणबारे पत्रकार सम्मेलन नै गरेर जानकारी दिने बताउँदै आएका छन् । कंक्रिट संरचना भत्काउँदा सम्पदाप्रेमी सुशन वैद्यलगायत पनि कमलपोखरी पुगेका थिए। उनीहरुले ती संरचना विना जानकारी भत्काएको भन्दै अवरोध गर्न खोज्दा केहीबेर प्रहरीसँग ठेलमठेल पनि भएको थियो ।

  • केपी ओली जनताको अधिकार खोस्ने शासक: थापा

    केपी ओली जनताको अधिकार खोस्ने शासक: थापा

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले जनमतको दुरुपयोग गरेको बताएका छन् ।

    काठमाडौंमा आयोजित विरोधसभामा बोल्दै नेता थापाले संविधान र शास्त्र नपढेका प्रधानमन्त्रीले जनताले दिएको अस्त्रको पनि सदुपयोग गर्न नसकेको टिप्पणी गरे ।

    प्रधानमन्त्री ओलीले संसद मात्रै नभएर संविधान नै विघटन गरेको भन्दै नेता थापाले संविधान जोगाउन कांग्रेसले आन्दोलन गरेको बताए ।

    प्रधानमन्त्री ओलीलाई नेपाली जनताले ‘अधिकार खोस्ने शासक’ का रुपमा वर्षौसम्म चिनिरहने थापाको भनाई थियो । ‘जनतालाई अपमान गर्ने प्रधानमन्त्री ओलीको नाम अधिकार खोस्ने शासकको रुपमा लेखिनेछ । जनताले खराब शासकका रुपमा ओलीलाई चिन्नेछन् ’, थापाले भने ।

    उनले संसद विघटन असंवैधानिक भएकोले निर्वाचन वैधानिक हुननसक्ने बताए । अदालतको आदेशबाट संसद विघटन खारेज हुने विश्वास व्यक्त गर्दै थापाले संसद ब्यूँतिएपछि संसदले नै नयाँ निर्वाचनको बाटो देखाउने बताए ।

    ‘पहिले संसद ब्यूतन्छ । त्यसपछिसंविधान विपरीत काम गर्नेहरुलाई संसदले तह लगाउँछ । त्यसपछि चुनाव हुन्छ ।’, थापाले भने ।

  • अदालतसँग अर्को संविधान छैन, संसद विघटन असंवैधानिक भन्छ : गगन थापा

    अदालतसँग अर्को संविधान छैन, संसद विघटन असंवैधानिक भन्छ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतसँग अलग्गै संविधान नभएकाले ढिलो भएपनि संसद विघटनको विरुद्धमा फैसला हुने विश्वास व्यक्त गरेका छन् ।

    कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरुसंग कुराकानी गर्दै नेता थापाले कांग्रेसले आफैले बनाएको संविधान पढेर नै संसद विघटनलाई असंवैधानिक भनेको बताए । ‘हाम्रै नेतृत्वको संविधान पढेर कांग्रेसले संसद विघटनलाई असंवैधानिक भनिसकेको छ ।

    अदालतसंग भएको पनि त्यही संविधान हो । त्यसैले अदालतले ढिलो गरेपनि असंवैधानिक नै भन्छ भन्ने विश्वास छ’, थापाले भने । उनले अदालतको आदेश जे आएपनि कांग्रेसको धारणा प्रतिनिधिसभा विघटन असंवैधानिक हो भन्ने नै रहेको बताए ।

    ‘अदालतको विषयमा बोल्न हुँदैन भन्ने हो भनेपनि हामी बोलिसक्यौ । यो असंवैधानिक छ भनेर हामीले भनिसक्यौ । अदालतको आदेश जे आएपनि कांग्रेसको निष्कर्ष बदलिदैन’, थापाले भने ।

    उनले अदालतबाट संसद पुनःस्थापना भएपछि संसदबाटै नयाँ राजनीतिक कोर्स हुने र संविधानविरुद्ध काम गर्नेहरुलाई दण्डित गर्ने बताए ।

  • प्रधानमन्त्री ओली क्रान्तिकारी होइन, कायर हो : गगन थापा

    प्रधानमन्त्री ओली क्रान्तिकारी होइन, कायर हो : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली ‘क्रान्तिकारी’ नभई ‘कायर’ व्यक्ति भएको आरोप लगाएका छन् । काठमाडौं क्षेत्र नम्बर ४ प्रदेशसभा ‘ख’ मा आयोजित विरोध सभामा बोल्दै नेता थापाले संविधान र लोकतन्त्रको कदर नगर्ने व्यक्ति क्रान्तिकारी नभई कायर सावित हुने बताएका हुन् ।

    प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरुलाई संविधान पढ्न आग्रह गरेकोतर्फ इंगित गर्दै थापाले खुलामञ्चमा संविधान बोकेर बहस गर्न तयार रहेको बताए । थापाले भने– प्रधानमन्त्रीज्यू तपाई संविधानसभाको अध्यक्ष सुवास नेम्वाङ लिएर आउनुस् । हामी संविधान जारी गर्ने पूर्व राष्ट्रपति रामवरण यादव लिएर आउँछौं । संविधान कसले पढ्यो पढेन खुल्ला बहस गरौं ।

    संसद र संविधान पुनःस्थापना नै कांग्रेसको एजेण्डा रहेको भन्दै थापाले संसद पुनःस्थापनापछि राजनीतिक कोर्स सच्याएर बल्ल चुनाव हुने बताए । उनले अदालतले संविधानको भावना अनुसार फैसला गर्ने आशा पनि व्यक्त गरे । ‘यो अदालतप्रति हामीलाई विश्वास छ । श्रीमानले हिजो जय नेपाल भन्नुभयो कि मुठ्ठी कस्नुभयो मतलब भएन । तर अहिले दायाँबायाँ नहेरी संविधान हेरेर निर्णय दिनुहोला’, थापाले भने ।

    संसद पुनःस्थापनापछि कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपतिलाई पदीय जिम्मेवारीबाट बिदा गर्ने थापाले बताए । जनमतको अपमान गर्ने काम प्रधानमन्त्रीबाटै भएकाले सरकारले सजिलै चुनाव गराउँछ भनेर उत्साहित हुनुको अर्थ नभएको थापाको भनाई छ ।

    ‘चुनाव हुन्छ तर यो सरकारले गराउँदैन । संसद पुनःस्थापनापछि यो सरकार हट्छ । राष्ट्रपतिलाई पनि शीतलनिवासबाट बिदा गर्छौ । अनि जुन –जुन चुनाव हुनुपर्ने हो त्यतिबेला हुन्छ’, थापाले भने । उनले प्रधानमन्त्रीले आफ्नै घर जलाएर खरानीको टीका लगाएर देश दौडाहामा हिडेको आरोप समेत लगाए ।

  • संविधानमा ५ वर्ष अघि संसद विघटनको परिकल्पना समेत गरिएको छैन : गगन थापा

    संविधानमा ५ वर्ष अघि संसद विघटनको परिकल्पना समेत गरिएको छैन : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर अनाधिकृत काम गरेको बताएका छन्।

    प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध शुक्रबार भक्तपुरमा आयोजित बिरोध सभामा बोल्दै नेता थापाले नेपालको संविधानमा ५ वर्ष अघि संसद विघटन गर्ने कुराको कल्पना समेत नगरिएको बताए । उनले संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद भंग गर्न पाउने कुरा कहिँकतै नलेखेको भन्दै उनले प्रधानमन्त्रीको कदम असंवैधानिकको साथै अनाधिकृत रहेको बताए ।

    संविधानमा नलेखेको कुरा सार्वजनिक पदाधिकारीले गर्न नपाउने भन्दै थापाले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानले अधिकार दिएको बाहेक केही गर्न नपाईने बताए । कांग्रेसले असंवैधानिक, अधिनायकवादी तथा प्रतिगामी कदम भन्दै बिरोधमा उत्रिएको नेता थापाको भनाई छ । सर्वोच्च अदालतले संविधान पल्टाएर हेरी फैसला गर्नुपर्ने र अदालतप्रतिको आस्था कायम राख्नुपर्ने थापाले बताए । उनले भने- ‘प्रधानमन्त्री ओलीले अदालतमाथि मनोवैज्ञानिक दबाब सिर्जना गरेको भन्दै अदालत डराउँदैन भन्ने प्रमाणित गर्नुपर्ने छ ।’

    थापाले अदालतले संसद पुर्नस्थापना गर्ने र राष्ट्रपति र प्रधानमन्त्रीलाई घर पठाउने दाबी गरे । असंवैधानिक कदमका विरुद्ध कांग्रेस दह्रोगरी उभिने र देशलाई संवैधानिक संकटमा पर्न नदिने उनको भनाई छ । नेपाली कांग्रेसले सरकारको यस कदमका विरुद्ध विभिन्न विरोधका कार्यक्रम गर्दै आएको छ ।

  • सुवास नेम्वाङप्रति गगनको कटाक्ष– संविधान संकटमा पर्दा भाग्नेमाथि दया लाग्याे

    सुवास नेम्वाङप्रति गगनको कटाक्ष– संविधान संकटमा पर्दा भाग्नेमाथि दया लाग्याे

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले आफ्नै अध्यक्षतामा जारी भएको संविधान संकटमा पर्दा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ भागेर हिँडेको आरोप लगाएका छन् ।

    सामाजिक सञ्जालमार्फत थापाले प्रतिनिधिसभा विघटनको संवैधानिक प्रश्नबारे सर्वोच्च अदालतमा बहस सुरु हुँदै गर्दा संविधानसभाका अध्यक्षको निरिहता देखेर दया लागेको टिप्पणी समेत गरे ।

    संविधानका अक्षर र त्यसको विधायकी मनाशय बुझेर पनि संविधानसभाका अध्यक्ष नेम्वाङ प्रश्नबाट भागेर लुक्नु गलत भएको थापाको भनाई छ । उनले संविधान बनाएको नेताले संविधानको पक्षमा उभिने साहस नगरे पनि सर्वोच्च अदालत संविधानको पक्षमा उभिने विश्वास समेत व्यक्त गरेका छन् ।

    गगन थापाले लेखेका छन्–

    प्रतिनिधिसभा विघटनको संवैधानिक प्रश्नमा आजबाट सर्वोच्च अदालतमा बहस शुरु हुँदैछ। म यतिवेला संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सम्झिरहेको छु, जसलाई संविधानका अक्षर त्यसको स्पन्दन अनि त्यससँग जोडिएका सन्दर्भ र त्यस समयका सभा समिति अनि कोठादेखि चोटासम्मका बहसको बारेमा थाहा छ।

    मलाई लागेको थियो यो संकटमा मेरो अध्यक्षले अदालतमै उभिएर श्रीमान् प्रधानमन्त्री ओलीले गर्नुभएको प्रतिनिधिसभा विघटन असंवैधानिक हो। मेरो नेतृत्वमा बनाएको संविधानमा यस्तो प्रावधान लेखिएकै छैन र विधायिकी मनसाय (Legislative Intent) यस्तो हुँदै होइन भनेर सन्दर्भ सहित जमेर बहस गर्नुहुनेछ।

    अपसोच उहाँ त कसैले केही सोध्लान कl भनेर लुकेर बस्नुभएको छ, प्रश्नबाट भाग्नुभएको छ। आफैले बनाएको संविधानमा ‘कु’ हुँदैगर्दा त्यस विरुद्ध चुइँक्क बोल्न नसक्ने मेरो अध्यक्षको यो तहको ‘निरिहता’ देख्दा दया लागेको छ।

    संविधान बनाएको संविधान सभाको नेताले त संविधानको पक्षमा उभिने साहस गर्न सक्नु भएन। मलाई विश्वास छ, संविधानको व्याख्या गर्ने जिम्मेवारी पाएको सम्मानित सर्वोच्च अदालतले संविधानको पक्षमा उभिने साहस राख्नेछ।

  • ‘कांग्रेस ओली र प्रचण्ड–माधव दुवैको विपक्षमा उभिनुपर्छ’

    ‘कांग्रेस ओली र प्रचण्ड–माधव दुवैको विपक्षमा उभिनुपर्छ’

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको केही घण्टामै नेपाली कांग्रेसका युवा नेता गगन थापा सडकमै उत्रिए। बानेश्वरमा सभा गरेर थापाले संसद विघटनको विरोध मात्रै गरेनन् आन्दोलनबाट संसद पुनःस्थापना गरेरै देखाउने घोषणा पनि गरे। कांग्रेसको मूल नेतृत्व आन्दोलन कि चुनाव भन्नेमा अलमलमा देखिएका बेला थापा चुनावको विपक्षमा खरो उत्रिएका छन्।

    कांग्रेस केन्द्रीय समितिको जारी बैठकले आन्दोलन वा चुनावमध्ये कुन कार्यदिशा तय गर्छ ? यकिन भइसकेको छैन । यसै सन्दर्भमा थापासँग नेपाल प्रेसका लागि नकुल अर्याल ले गरेको कुराकानी प्रस्तुत छ नेपाल टक मा–

    प्रतिनिधिसभा विघटनपछि तपाईं पार्टीको निर्णय नआउँदै एक्लै सडकमा निस्किनुभयो, अबको राजनीतिबारे तपाइँको धारणा के हो ?

    प्रधानमन्त्रीले जुन संसद विघटन गर्नुभयो, त्यो विघटन गर्ने अधिकार हाम्रो संविधानले प्रधानमन्त्रीलाई दिएको छैन । प्रधानमन्त्रीले संविधानले नचिनेको काम गर्नुभएपछि त्यो कामलाई पनि हाम्रो संविधानले चिन्दैन ।

    जुन कामलाई नेपालको संविधानले चिन्दैन त्यो कामलाई नेपाली कांग्रेसले पनि चिन्दैन, मान्दैन । एउटा व्यक्तिको सनकले गरिएको असंवैधानिक कामको प्रतिरोध गर्ने कुरा अनिवार्य छ । यही कारण हाम्रो पार्टीको पदाधिकारी बैठकले यस असंवैधानिक कदमका विरुद्ध उभिने निर्णय गरिसक्यो ।

    नेपाली कांग्रेसका साथीहरुमा अब यो कदम पछाडि उत्पन्न अन्याेलले देशलाई अराजकतातर्फ लैजान्छ कि भन्ने चिन्ता देखिन्छ ।

    यसलाई सम्हाल्ने विषयमा आ–आफ्ना मतहरु रहेका छन् । त्यसलाई मैले अन्यथा मानेको छैन । तर यो असंवैधानिक कदम भएकोले यसलाई कुनै पनि बहानामा यो ठीक छ भन्यौं भने त्यसले असंवैधानिक कदमलाई नै मद्दत गरेको ठहर्छ । त्यसैले कुनै अलमल विना यसका विरुद्ध उभिनुपर्छ, यसको प्रतिरोध गर्नुपर्छ ।

    अर्को कुरा, प्रधानमन्त्री ओलीको कदमको विरुद्ध उभिंदै गर्दा यो पनि भन्न आवश्यक छ कि यो असफलता ओलीको मात्रै होइन नेपाल कम्युनिष्ट पार्टीको पनि हो । यो प्रचण्ड र माधव नेपालसहित सिंगो नेपाल कम्युनिष्ट पार्टीको असफलता हो । यसको कारक प्रचण्ड र माधव नेपाल पनि हुन् ।

    जुन कामलाई नेपालको संविधानले चिन्दैन त्यो कामलाई नेपाली कांग्रेसले पनि चिन्दैन, मान्दैन ।

    नेकपामा को कता लाग्छन् र पार्टीको नाम के हुन्छ हाम्रो चासोको विषय होइन। तर नेकपाको वैधता यो कदमसँगै टुंगियो भन्ने हाम्रो ठहर छ। यस्तो कदमको विरुद्धमा उभिने जनता समाजवादी पार्टी लगायतसँग सहकार्य गर्ने कुरा स्वाभाविक छ। हामीले जनताको बीचमा जाँदा नेकपाको एउटा पक्ष होइन ओली, प्रचण्ड, नेपाल सबैको विरुद्धमा उभिनुपर्छ ।

    कांग्रेसमा अदालतको निर्णय कुर्ने कि आन्दोलन गर्ने भन्नेमा मतान्तर देखियो नि ?

    यस विषयमा कांग्रेस केन्द्रीय समितिको बैठकमा छलफल शुरु भएको छ । यो कदम असंवैधानिक र अलोकतान्त्रिक भएकोले आन्दोलन गर्नुपर्छ भन्नेमा साथीहरुमा द्विविधा रहेको म देख्दिनँ ।

    संविधान मिचियो र संवैधानिकताको कसीमा यो निर्णय गलत छ भनिसकेका कारण हामीले संविधानको बाटो पनि छोड्नुहुन्न। यो निर्णय सच्याउने संवैधानिक बाटो अदालत पनि हो। त्यसैले अदालतको निर्णय कुर्ने त हो तर अदालतलाई हाम्रो कुरा प्रष्टसँग भन्नुपर्छ । हाम्रो अपेक्षा अदालतलाई भन्नु पनि पर्छ।

    यो बेलामा नेपाली कांग्रेस अदालतबाट संविधानको बर्खिलाप हुने गरी भएको निर्णय सच्याइन्छ भन्ने अपेक्षा राख्दछ। माग राख्दछ। विश्वास राख्दछ । यो विश्वास र अपेक्षा रहेको बेलामा अदालतले गरेन भने के गर्ने भन्ने कुरामा छलफल गर्नु उपयुक्त हुँदैन ।

    यसको मतलब कांग्रेसले निर्वाचन तयारी भन्दा आन्दोलनको बाटो लिनुपर्छ ?

    मैले नबुझिरहेको कुरा यो निर्वाचनको तयारी भनेको के हो ? निर्वाचनको तयारी चैं कहाँ गएर गर्ने हो ? जनताबाहेक निर्वाचनको तयारी गर्ने अर्को ठाउँ कहीं छ र ? आखिर निर्वाचनको मतदाता त जनता नै हो नि!

    आखिर जनताले त यो विषयमा कांग्रेसको स्थान कहाँ छ भनेर हेर्छ नि! आजको दिनमा प्रधानमन्त्री ओलीको कदम र नेकपाको अक्षमताको भण्डाफोर गर्ने त जनताको बीचमै हो नि!

    निर्वाचनभन्दा अर्को बाटो त छैन तर अहिले घोषणा गरिएको निर्वाचन अवैधानिक छ। अदालतबाट यस्तो निर्णय बदर हुने हाम्रो अपेक्षा छ। अदालतले यो कदम सच्याएपछि संसद पुनर्स्थापित हुन्छ।

    तर त्यसपछि पनि जाने त चुनावमै हो नि! हिजोको जनमतका आधारमा शासन गर्ने वैधता त सकिइसक्यो नि! विपक्षी दल त निर्वाचनको लागि हरदम तयार हुन्छ नि! त्यसैले निर्वाचनको तयारी त सधैं भइरहन्छ अहिले असंवैधानिक कदम विरुद्ध उभिने बेला हो ।

    प्रधानमन्त्रीले त आफ्ना एजेण्डा जनतामा लैजाने अवसर प्रतिपक्षलाई पनि छ भन्नुभएको छ। तपाईंले भनेका विषयमा निर्वाचनबाट जनताको समर्थन लिए हुन्न र ?

    त्यो प्रधानमन्त्रीले भनिराख्नै पर्दैन। त्यो राजा ज्ञानेन्द्रले भनेजस्तै हो। राजा ज्ञानेन्द्रले घोषणा गरेको निर्वाचन र अहिले प्रधानमन्त्री ओलीले गरेको निर्वाचनमा म कुनै फरक देख्दिनँ। राजाले प्रयोग गरेको धारा १२७ र अहिले राष्ट्रपतिले संसद भंग गर्न प्रयोग गरेको धाराका बीच कुनै फरक देख्दिनँ ।

    निर्वाचनभन्दा अर्को बाटो त छैन तर अहिले घोषणा गरिएको निर्वाचन अवैधानिक छ। अदालतबाट यस्तो निर्णय बदर हुने हाम्रो अपेक्षा छ। अदालतले यो कदम सच्याएपछि संसद पुनर्स्थापित हुन्छ।

    प्रधानमन्त्रीले वैशाखमा निर्वाचन गराउनका लागि घोषणा गर्नुभएको हो भन्नेमा मलाई रत्तिभर विश्वास छैन। यदि प्रधानमन्त्रीले वैशाखमा निर्वाचन गराउने, नेकपाका झुण्ड बोकेर निर्वाचनमा जाने, पराजय हुने निश्चित भएको निर्वाचनको सामना गर्ने, निष्पक्ष चुनावबाट जसले जित्छ उसलाई सत्ता हस्तान्तरण गर्नुहुन्छ भन्ने विश्वास गर्ने हो भने त केपी ओलीलाई किन गाली गर्ने ? प्रधानमन्त्रीमा अधिनायकवादी आकांक्षा रह्यो भनेर किन आरोप लगाउने ? यदि प्रधानमन्त्रीले भनेको सबै पत्याउने हो भने कांग्रेसले प्रधानमन्त्री ओलीप्रति अविश्वास नगरौं भन्नुपर्यो नि!

    भनेपछि सडकमा जानु नै उपयुक्त विकल्प हो ?

    सडकबाट दुइटा कुरा गरिन्छ। सडकबाट अराजकता पनि सिर्जना हुन्छ, सडकबाटै सच्याउन पनि सकिन्छ। हिजो पनि हामीले सडकबाट राजा ज्ञानेन्द्रलाई सच्याएको होइन ? त्यही सडकबाट हामीले प्रतिगमन फिर्ता गराएको हो नि! त्यसैले सडक भनेको नै जनता हो।

    संसदमा भोटे ताल्चा लगाएपछि सडकमा नगएर कहाँ जाने ? कांग्रेस संविधानवादको पक्षमा उभिन्छ भन्ने सन्देश दिनुपर्छ। त्यसका लागि संसद विघटनको कोर्स सच्याउनुपर्छ।

    कसैलाई लागेको होला नेकपा फुटेको बेलामा कांग्रेसको १०–२० सीट बढिहाल्छ भनेर निर्णय लिने हो भने त कांग्रेसले संविधानको माया मारे हुन्छ। भोलिको दिनमा हाम्रो फाइदाका लागि संविधान कुल्चिए पनि केही फरक पर्दैन भनेर हिंड्नुपर्छ ।

    जारी बैठकबाट कांग्रेसले आफूलाई प्रष्ट पार्नुपर्छ। संविधानको हत्या गर्नेसँग हाम्रो कुनै उठबस हुनुहुँदैन। हिजो हामीले राजा ज्ञानेन्द्रसँग उठबस गरेनौं नि त्यसरी नै अब नेकपा भन्ने पार्टी वा समूहसँग हाम्रो उठबस हुनुहुँदैन। एकातिर संविधान मिचियो भन्ने अर्कोतिर सहकार्य खोज्ने हो भने त हामी दुइजिब्रे भैहाल्यौं नि!

    संवैधानिक नियुक्ति हेर्दा त कांग्रेस नेतृत्व र सरकारबीच सहकार्य छ भन्ने देखिन्छ नि ?

    पार्टी सभापतिको सचिवालयले निर्णय गरेर हामीले कुनै नाम दिएका छैनौं भनेर स्पष्टीकरण दिइसकेको छ। मलाई के लाग्छ भने केन्द्रीय समितिबाट हामीले त्योभन्दा कडा निर्णय गर्यौं भने स्पष्टीकरण दिइराख्नै पर्दैन ।

    हाम्रो निर्णयले बोल्नुपर्यो। यस्तो जालझेल गरेर बनाइएका ‘शाही आयोग’ हरुलाई हामीले मान्नुहुँदैन। संवैधानिक नियुक्ति फर्जी छ र प्रधानमन्त्रीलाई किर्ते मुद्दा लाग्न सक्छ। त्यसैले यस्तो फर्जी कुरालाई कांग्रेसले खारेज गरेन भने जनताले सहयोग गर्दैनन्।

    तर कांग्रेसवृत्तमा निर्वाचनबाटै सरकारलाई गलत सावित गर्नुपर्छ भन्ने आवाज पनि उठेको छ नि ?

    म पार्टीका साथीहरुलाई भन्छु कि, जाने निर्वाचनमै हो। तर त्यो असंवैधानिक कदमका बलमा घोषणा भएको निर्वाचन होइन। कांग्रेसका सबै साथीहरुले निर्वाचनको तयारी गर्नुस्। त्यसभन्दा पहिले संसद पुनर्स्थापना हुन्छ। संसद पुनर्स्थापित भएपछि त्यसैले निर्वाचनको निर्क्याेल गर्छ । त्यो निर्वाचन हामीले लड्ने पनि हो, जित्ने पनि हो।

    सरकारले वैशाखमा चुनाव गराइदिन्छ र कांग्रेसलाई माला लगाइदिन्छ भनेर सोच्नुभन्दा ठूलो मूर्खता केही हुँदैन। यसलाई हाम्रो छलफलको मेनुमै राख्नुपर्दैन। असंवैधानिक कदमका विरुद्ध लड्नुपर्छ। विषय अदालतमा पुगेको छ ।

    अदालतसामु हाम्रा अपेक्षा पनि राख्नुपर्छ । हाम्रो धारणा अदालतलाई थाहा दिनका लागि पनि आन्दोलन अपरिहार्य छ ।