






काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहितले अध्यक्ष पंकज नेम्वाङको राजीनामा मागेका छन् ।
वरिष्ठ उपाध्यक्ष खड्कासहित उपाध्यक्ष विराटजंग शाही, सदस्यहरू रुपेश अधिकारी र रविन चन्दले सोमबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेम्वाङले नेपाली फुटबललाई माया मारेर विदेश गएको बताए ।
वरिष्ठ उपाध्यक्ष खड्काले फुटबलप्रति चिन्ता नभए राजीनामा दिन सुझाए ।
‘उहाँलाई नेपालको बारेमा चिन्ता नै छ । उहाँ साउदी अरब पुगिसक्नुभयो । वरिष्ठ उपाध्यक्षलाई उहाँले जानकारी गराउनुभएको छैन,’ उनले भने, ‘यदि तपाईं फुटबल नगर्ने हो भने देखि, तपाईंलाई फुटबलप्रति आस्था, चिन्ता छैन भनेपछि राजीनामा दिनुस् ।’


काठमाडौं । जनकपुर बोल्ट्सले वेष्ट इण्डिजका शिवनारायण चन्द्रपाललाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
सामाजिक सन्जालमार्फत जनकपुरले दोस्रो संस्करणको नेपाल प्रीमियर लिग (एनपीएल) का लागि चन्द्रपाललाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
चन्द्रपालले सन् १९९४ देखि २०१५ सम्म वेष्ट इन्डिजबाट खेलेका थिए । उनले वेष्ट इन्डिजबाट १६४ टेष्ट, २६८ एकदिवसीय र २२ टी-२०आई खेल खेलेका छन् ।
उनीसँग आईपिएल, सिपिएल जस्ता विश्वका उत्कृष्ट लिग खेलेको अनुभव छ । शिवनारायणले सन् २०२२ मा अमेरिकाको सिनियर महिला टोली र यू-१९ महिला टोलीको जिम्मेवारी सम्हालेका थिए ।
पहिलो संस्करणको च्याम्पियन टोली जनकपुरको मुख्य प्रशिक्षकको जिम्मेवारी पुबुदु दासानायकेले सम्हालेका थिए ।


काठमाडौं । दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट बलिङ र फिल्डिङमा नेपालले यूएईविरुद्ध रोमाञ्चक जित दर्ता गरेको छ ।
नेपाललाई १ रनको जित दिलाउन ऐरीले तीन महत्वपूर्ण विकेट लिए भने उत्कृष्ट फिल्डिङ गरे ।
ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको हो । नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको युएई २० ओभरमा ९ विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो ।
अन्तिम ओभरमा यूएईलाई जितका लागि १० रन चाहिएको थियो । ओभरमा एउटा छक्का निकाल्न सफल भएता पनि यूएई लक्ष्यसम्म पुग्न सकेन । पहिलो बलमा एक रन दिएका दिपेन्द्रले दोस्रो बल डट राखे । तेस्रो बलमा छक्का प्रहार गर्दै युएई जितनजिक देखियो । अब युएईलाई जितका लागि ३ बलमा ३ रनमात्र आवश्यक थियो । चौथो, पाँचौ र छैटौं बलमा लगातार विकेट लिदै नेपालले एक रनको रोमाञ्चक जित निकालेको हो ।
चौंथो बलमा दीपेन्द्रले क्याचआउट गराए भने पाचौं र छैटौं बलमा ब्याटरहरु रनआउट भए ।


काठमाडौं । ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले युएईविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
युएईविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
प्लेइङ-११ : रोहित कुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, गुलशन झा, नन्दन यादव, ललित राजवंशी र सोमपाल कामी ।


काठमाडौैं । स्कटल्यान्डका जर्ज मन्सेले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण खेल्ने भएका छन् । उनलाई विराटनगर किंग्सले दोस्रो संस्करणको एनपिएलमा अनुबन्ध गरेको हो ।
३२ वर्षीय ओपनिङ ब्याटर जर्जले सन् २०१७ देखि स्कटल्याण्डको राष्ट्रिय टोलीबाट खेल्दै आएका छन् । उनले स्कटल्याण्डका लागि ७० एकदिवसीय अन्तर्राष्ट्रिय र ८१ टी–२०आई खेल खेलेका छन् । एकदिवसीयमा २ हजार ६३० र टी–२०आईमा २ हजार ३०२ रन बनाएका छन् ।
लिष्ट ए क्रिकेटमा ९४ खेलमा ३ हजार १९८ र टी–२० खेलमा २ हजार ६४८ रन बनाएका छन् । जर्जले बिपिएल, आइएलटी–२० जस्ता फेन्चाइज लिग खेलिसकेका छन् । विराटनगरले पहिलो विदेशी खेलाडीको रुपमा जर्जलाई भित्राएको हो । एनपीएलको दोस्रो संस्करण आउँदो मंसिर १ देखि २७ सम्म हुँदैछ ।


काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को सम्झौतामा फर्किन तयार भएका छन् । यस विषयमा क्यानसँग उनको समझदारी बनिसकेको स्रोतले बताएको छ ।
क्यान स्रोतका अनुसार पछिल्लोपटक सन्दीपले नै सेन्ट्रल कन्ट्र्याक्टमा फर्किने प्रस्ताव गरेका हुन् । हाल ओमानमा रहेका उनी क्यान पदाधिकारीसँग संवादमा रहेका छन् । सेन्ट्रल कन्ट्र्याक्टमा उनलाई समेट्ने विषयमा क्यान पनि सकारात्मक रहेको बुझिएको छ ।
स्रोतले भन्यो, ‘उहाँसित एक किसिमको सहमति भइसकेको छ । तर, यसका लागि केही प्रक्रियाहरु पूरा गर्नुपर्ने हुन्छ ।’
सन्दीपले वैशाख २१ गते व्यक्तिगत कारण देखाउँदै आफू क्यानको सेन्ट्रल कन्ट्रायक्टबाट बाहिरिएको घोषणा गरेका थिए ।
त्यसबेला उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘सन्दीपले वैशाख २१ गते आफू क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिएको घोषणा गरेका थिए ।
उनले त्यसबेला सामाजिक सञ्जालमा लेखेका थिए, ‘धेरै सोचविचार पछि, मैले यस पटकको लागि नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौताअन्तर्गत निरन्तरता नदिने निर्णय गरेको छु। यो क्रिकेट वा मेरो राष्ट्रबाट एक कदम टाढा होइन – यो व्यक्तिगत र व्यावसायिक रूपमा विकास गर्ने दिशामा एक कदम हो ।’
क्यानको ग्रेडिङमा सन्दीपसहित ५ खेलाडीहरु रहेका थिए । उनले मासिक १ लाख रुपैयाँ पारिश्रमिक पाउँथे । सम्झौताबाट बाहिरिएपछि पनि उनले राष्ट्रिय टिमबाट खेलिरहेका छन् तर पारिश्रमिक पाएका छैनन् । उनले म्याच फि मात्र प्राप्त गर्छन् । ‘ए ग्रेड’ मा उनको स्थान अहिले पनि खाली रहेकाले तत्काल नै सेन्ट्रल कम्ट्र्याक्टमा फर्काउन सकिने क्यान स्रोत बताउँछ । क्यानले औपचारिक निर्णय लिन भने बाँकी छ ।
क्यानले खेलाडीहरुसँग गरेको पछिल्लो सेन्ट्रल कन्ट्र्याक्ट आगामी डिसेम्बरसम्मका लागि हो । त्यसपछि फेरि नयाँ सम्झौता गर्नुपर्ने हुन्छ ।
विश्वकप छनोटभन्दा अघि नेपालले युएइमा वेस्ट इन्डिजसँग तीन म्याचको श्रृंखला खेलेको थियो । पहिलो म्याचअघि सन्दीपले आफ्नो नाम फिर्ता लिएपछि उनले दोस्रो र तेस्रो म्याच पनि खेल्न पाएनन् ।
क्यानले पछि विज्ञप्ति निकाल्दै सन्दीपलाई दुई म्याचमा निलम्बन गरिएको जनाएको थियो । सोपश्चात सन्दीप टिमसँग ओमान प्रस्थान गरेका थिए । हाल नेपालले ओमानमा विश्वकप छनोट खेलिरहँदा सन्दीपले सन्तोषजनक प्रदर्शन गरेका छन् ।


काठमाडौं । ओमनमा जारी आईसीसी टी-२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा नेपाल समूह ‘बी’ को विजेता बन्दै सुपर-६ मा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा जापानलाई ५ विकेटले हराउँदै नेपाल समूह ‘बी’ को विजेता बनेर सुपर-६ मा पुगेको हो ।
जापानले दिएको १३२ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ३८ रन बनाए । कुशल भुर्तेल २१, कप्तान रोहित पौडेल १८, सन्दीप जोरा ५ र कुशल मल्ल ४ रन बनाएर आउट भए । दीपेन्द्रसिंह ऐरी १४ र गुल्सन झा २८ रनमा अविजित रहे ।
बलिङमा जापानका शोमा स्लेटरले सर्वाधिक २ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३१ रन बनाएको बनाएको थियो । जापानका लागि कप्तान केन्डेल काडोवाकी-फ्लेमिङ ४६ बलमा सर्वाधिक ६० रन बनाएका थिए ।
उनले दोस्रो विकेटका लागि इसम रहमानसंग ८६ रनको साझेदारी गरेका थिए । रहमानले २५ बलमा ३१ रनको योगदान दिए । एक समय ठूलो स्कोरतर्फ उन्मुख जापानका मध्य क्रमका ब्याटर चल्न नसक्दा स्कोर १३१ मै रोकिन पुग्यो ।
बलिङमा नेपालका गुल्सन झा र सन्दीप लामिछानेले दुईदुई तथा सोमपाल कामी र गुल्सन झाले एक विकेट लिएका थिए।
जापानलाई हराएसंगै नेपालले २ अंक लिएर सुपर-६ मा गएको छ । अब नेपालले सुपर-६ मा समूह ए र सीबाट आउने २-२ टोलीसँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि शीर्ष ३ मा रहन सके अर्को वर्ष हुने टी-२० विश्वकपमा छनोट हुनेछ ।


काठमाडौं । ओमनमा जारी आईसीसी टी-२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा नेपालले जापानविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा जापानविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
दुवै टोली एक खेलअगावै सुपर-६ मा स्थान पक्का गरिसकेका छन् । यो खेलमा जित निकाल्ने टोलीले सुपर-२ मा २ अंक लिएर जानेछ ।
उक्त खेलमा नेपालले कुवेतसँगको प्लेइङ-११ मा कुनै परिवर्तन गरेको छैन ।
प्लेइङ-११ रोहित कुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, गुलशन झा, नन्दन यादव, ललित राजवंशी र सोमपाल कामी ।


काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट-एशिया प्यासिफिक छनोट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा आज नेपालले जापानसँग प्रतिस्पर्धा गर्दैछ । एक खेल अगाडि नै दुवै देश ‘सुपर सिक्स’मा प्रवेश गरिसकेकाले यो खेलले समूह विजेता र उप-विजेताको टुंगो लाग्नेछ ।
बिहीबार भएको समूह ‘बी’को खेलमा जापानले कुवेतलाई पराजित गरेपछि दुवै टोलीले सुपर सिक्समा स्थान सुरक्षित गरेका हुन् ।
नेपालसँग पहिले नै हार भोगिसकेको कुवेत जापानसँग पराजित भएसँगै समूह चरणबाट बाहिरिएको हो । समूह चरणको अन्तिम खेलको विजेताले ‘सुपर सिक्स’मा अतिरिक्त अंक लिएर जानेछ । त्यसैले दुवै देशमाथि आजको खेल जित्नै पर्ने दबाब छ ।
पहिलो खेलमा ५८ रनको शानदार जित निकालेको नेपाल उच्च मनोबलका साथ मैदानमा हुनेछ ।
यसैगरी विश्वकप छनोटका तीन खेल आजै हुँदैछ । आइसीसी पुरुष टी-२० विश्वकप छनोटमा आज तीन खेल हुँदैछन् ।
आज पहिलो खेलमा बिहान पौने १२ बजे मलेसिया र संयुक्त अरब इमिरेट्स, दोस्रो खेलमा दिउँसो ४ः१५ बजे नेपाल र जापान तथा तेस्रो खेलमा राति ८ः४५ बजे ओमान र पपुवा न्यूगिनी खेल्नेछन् ।


काठमाडौं । नेपाल र जापान ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर–६ मा प्रवेश गरेका छन् । छनोटको समूह ‘बी’ अन्तर्गत बिहीबार भएको खेलमा जापानले कुवेतलाई ५ विकेटले पराजित गरेसँगै नेपाल र जापानले सुपर–६ मा स्थान पक्का गरेका हुन् ।
दुवै खेलमा पराजित भएको कुवेत छनोटबाट बाहिरिएको छ । यसअघि बुधबार भएको खेलमा कुवेत नेपालसँग ५८ रनले पराजित भएको थियो । उक्त समूहको अन्तिम खेल शुक्रबार हुनेछ । उक्त खेलमा जित निकाल्ने टोलीले सुपर–२ मा २ अंक लगेर जानेछ ।
कुवेतले दिएको १७८ रनको लक्ष्य पछ्याएको जापानले १९ ओभर ३ बलमा ५ विकेट गुमाएर पुरा गर्यो । जापानको जितमा इसम रहमानले ३९ बलमा ९ छक्का र २ चौकासहित ६४ रनको उत्कृष्ट ब्याटिङ गरे । त्यसअघि ओमनमा पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७७ रन बनाएको थियो । कुवेतका अली जहिरले सर्वाधिक ४१ रन बनाएका थिए ।




काठमाडौं । टी-२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोट प्रतिस्पर्धामा आज नेपाली टिम कुवेतसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
नेपालसहित ९ देश सहभागी रहेको टी-२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा बुधवार नेपाल कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
खेल आज राति ८ः४५ बजे सुरु हुनेछ । समूह ‘बी’मा नेपालसँगै कुवेत र जापान रहेका छन् । नेपालले दोस्रो खेल शुक्रवार जापानसँग खेल्ने छ। जापान र नेपाल पहिलो पटक खेल्दै छन् ।
यो छनोट प्रतिस्पर्धाको समूह ‘ए’ मा युएई, मलेसिया र कतार छन् भने समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामोआ छन् ।


काठमाडौं । अन्तर्राष्ट्रिय टी-२० शृङ्खलाको फाइनलमा नेपाली महिला टिम आज मलेसियासँग खेल्दै छ ।
बुधवार मलेसियाको बायुमास ओभलमा हुने खेलमा नेपाली महिला टिम मलेसियासँग प्रतिस्पर्धा गर्न लागेका हुन् ।
पाँच खेलको सिरिजमा २-२ को बराबरी खेलेका नेपाल र मलेसिया आज फाइनल प्रतिस्पर्धा गर्न लागेका हुन् ।
पहिलो खेलमा तीन रनले पराजित भएको नेपाली महिला टिम दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो। तेस्रो खेलमा १३ रनको पराजय भोगेको नेपालले चौथो खेलमा ६ विकेटको सानदार जित निकालेको थियो ।
नेपाल र मलेसियाको फाइनल भिडन्त अहिले बिहान ७ः४५ बजे सुरु हुनेछ।


काठमाडौं ।नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले चेन्नईको एकेडेमीमा विशेष प्रशिक्षण गर्ने भएको छ ।
दोस्रो सिजनको एनपिएलका लागि कोइम्बटूरस्थित सुपर किंग्स एकेडेमीमा हाइ पर्फोर्मन्स क्याम्प गर्न लागिएको जनकपुरले सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो ।
दोस्रो संस्करण फ्लड लाइटमा हुने तयारीअनुसार खेलाडीलाई फ्लड लाइटमा खेल्न अभ्यस्त गराउन प्रशिक्षण गराउन लागिएको टोलीका प्रबन्ध निर्देशक निरोज खतिवडाले जानकारी दिए ।
‘विशेष गरी फ्लड लाइटमा नखेलेका खेलाडीहरु अभ्यस्त बनाउने उद्देश्यले यो क्याम्प आयोजना गरेका हौं । यो चेन्नईसँगको सहकार्यको पहिलो चरण हो । आगामी दिनमा पनि अन्य धेरै सहकार्य गर्नेछौं,’ उनले भने ।
प्रशिक्षणमा राष्ट्रिय टोलीको डिउटीमा रहेका आसिफ शेख र ललित राजवंशीबाहेकका खेलाडी सहभागी हुने टोलीका प्रबन्ध निर्देशक निरोज खतिवडाले जानकारी दिए ।
प्रशिक्षण असोज २४ देखि कात्तिक १५ गतेसम्म हुनेछ । पहिलो सिजनको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै जनकपुरले एनपिएलको उपाधि जितेको थियो ।


काठमाडौँ । ओमनविरुद्धको त्यो बलिङ, कतारविरुद्धको त्यो ब्याटिङ र युएईमा वेस्ट इन्डिजविरुद्धको ताजा प्रदर्शन ।
टी–२० विश्वकप छनोटअघि नेपाल पूर्ण आत्मविश्वासी देखिन्छ । खासगरि बलियो टेस्ट राष्ट्रविरुद्ध गरेको प्रदर्शनले नेपालको मनोबल उच्च बनेको छ । यो प्रतियोगितामा सहभागी टिमहरुमध्ये कागजी रुपमा नेपाललाई नै सबैभन्दा बलियो मान्न सकिन्छ ।वेस्ट इन्डिजले नेपाललाई कमजोर आँक्दा सिरिजमा १–२ को नमिठो हार चाख्नुप¥यो ।
विश्वकप छनोटअघि भएका वार्मअप खेलमा पनि ओमान र कतारका खेलाडीलाई नेपाली खेलाडीले खुलेर खेल्न दिएनन् । नेपालले टी–२० विश्वकप छनोटअघि देखाएको आत्मविश्वास आगामीको खेलको प्लस पोइन्ट हो ।
ओमनमा बुधवारदेखि आइसिसी टी–२० विश्वकप एसिया तथा इएपी छनोट सुरु हुँदै छ । यो छनोट नेपालका लागि तेस्रो पटक विश्वकपमा स्थान बनाउने मात्र होइन, आफ्नो स्तरोन्नीको आभास गराउने मौका पनि हो ।
९ देश सहभागी छनोटमा शीर्ष ३ टोलीले अर्को वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन् ।
नेपाल त्यही देश हो, जुन २०२४ मा भएको विश्वकपमा उपविजेता बनेको दक्षिण अफ्रिकामाथि ऐतिहासिक जित निकाल्नबाट एक रनले चुकेको थियो । नेपाल त्यही टिम हो, जोविरुद्ध बङ्गलादेश तथा श्रीलङ्काजस्ता देशले जित निकाल्न निकै मिहेनत गर्नुप¥यो ।
छनोटमा ९ टोलीलाई ३ समूहमा बाँडिएको छ । नेपाल रहेको समूहमा कुवेत र जापान छन् । यी मध्ये दुई टोली अर्को चरणमा प्रवेश गर्नेछन् । तुलनात्मक रूपमा नेपालभन्दा कमजोर टोली हुन्, कुवेत र जापान ।
आइसिसीको टी–२० वरियतामा नेपाल १८औँ स्थानमा रहँदा कुवेत २३औँ र जापान ४४औँ स्थानमा छन् । तर, तल्लो वरियतामा रहेका धेरै देशले माथिल्ला वरियताका राष्ट्रलाई हराएको रेकर्ड क्रिकेटमा धेरै छन् ।
नेपालसँगको पछिल्लो भेटमा कुवेतले ३ रनको अप्रत्याशित जित निकाल्दै त्रिदेशीय सिरिजको उपाधि जितेको थियो । जापानसँग भने नेपालले पहिलो पटक खेल्न लागेको हो । जापानले पहिलो पटक क्षेत्रीय छनोट खेल्दैछ ।
समूह चरणमा एक मात्र जित निकाले पनि नेपाललाई अर्को चरणमा पुग्न सहज हुनेछ ।दोस्रो चरणमा प्रवेश गरेमा नेपालले युएई, पपुवा न्यूगिनी, ओमन जस्ता चिरप्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्नेछ ।
दोस्रो चरणमा हरेक टोलीले ४ खेल खेल्नेछन् । समूह ‘बि’ मा रहेको नेपालले समूह ‘ए’ र ‘सी’का विजेता र उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ । यी राष्ट्रहरूसँग नेपालले कहिले जित निकालेको छ त कहिले हार बेहोरेको छ ।
ओमनमै भएको एसीसी प्रिमियर कप २०२४ मा सेमिफाइनलमा युएईसँग पराजित हुन पुग्यो । नेपालले युएईलाई हराउँदै २०२४ को टी–२० विश्वकपमा स्थान पक्का गरेको थियो ।
पपुवा न्यूगिनी तथा ओमन जस्ता देशहरूसँग पनि नेपालको हारजितको श्रृङ्खला चलिरहेको हुन्छ । यी देशलाई पन्छाएर शीर्ष ३ मा पर्ने सकेमा नेपालले तेस्रो पटक विश्वकपको ढोका खोल्नेछ ।
भर्खरै भएको एसिया कपमा अनुभव बटुलेका युएई, ओमन तथा बेलाबेला नेपालमाथि जित निकालेका पपुवा न्यूगिनी तथा कुवेतविरुद्ध नेपाली टोली सम्हालेर खेल्नुपर्ने देखिन्छ ।
महत्त्वपूर्ण खेलमा सम्हालिन नसक्दा थुप्रै हार चाखेको नेपालले जेन–जी आन्दोलनका कारण ध्वस्त भएर मलिन भएको नेपालीको मुहारमा विश्वकपको स्वाद चखाउने अपेक्षा धेरैको छ ।
टोलीका अधिकांश खेलाडी लयमा देखिन्छन् । कुनै न कुनै खेलाडी क्रिजमा जम्दै नेपालको स्कोरलाई माथि पु¥याउने क्षमता राख्छन् । ब्याटिङ कमजोर हुँदा बलिङबाट समेत नेपालले जित निकालेका उदाहरण धेरै छन् ।
त्यस कारण पनि नेपालको ब्याटिङ र बलिङलाई थप मजबुत मान्न सकिन्छ ।पछिल्लो समय नेपालको ओपनिङ जोडीले भने अपेक्षित प्रदर्शन गर्न सकिरहेको छैन ।
नियमित ओपनिङ गर्दै आएको कुशल भुर्तेल र आसिफ शेखको जोडी पछिल्ला धेरै खेलमा नेपाललाई राम्रो सुरुवात दिलाउन चुके । तर पनि प्रशिक्षक स्टुअर्ल लले भुर्तेल र आसिफको विकल्प पक्कै खोज्ने छैनन् । भुर्तेलले आक्रामक र आसिफले रक्षात्मक रूपमा नेपालको ओपनिङ गर्नेछन् ।
तेस्रो नम्बर कप्तान रोहित पौडेल, चौथो नम्बरमा कुशल मल्ल रहनेछन् । त्यसपछि दीपेन्द्रसिंह ऐरी र गुल्सन झा जस्ता खेलाडी छन् । प्रशिक्षक लले आवश्यकताअनुसार सन्दीप जोरा, मोहम्मद आदिल आलमलाई पनि ब्याटिङमा प्रयोग गर्न सक्नेछन् ।
विशेषज्ञ स्पिनरका रूपमा सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् । पार्ट टाइम स्पिनको विकल्प धेरै हुँदा प्रशिक्षकले आवश्यकताअनुसार सन्दीप र ललितमध्ये एक जनालाई मात्र पनि खेलाउन सक्नेछन् ।
पेस बलिङको डिपार्ट सोमपाल कामी, करण केसी र नन्दन यादवले सम्हाल्नेछन् । सोमपाल र करणको अनुभव र नन्दनको ‘बाउन्सर’ बलले विपक्षी ब्याटरलाई रोक्न मद्दत गर्नेछ ।


काठमाडौं । महिला टी-२० अन्तरराष्ट्रिय शृङ्खलाको चौथो खेलमा नेपाल विजयी भएको छ ।
मलेसियामा आज भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो । योसँगै नेपाल र मलेसियाबीचको पाँच खेलको शृङ्खलामा २-२ को बराबरी भएको छ ।
यसअघि भएको पहिलो खेलमा नेपाल तीन रनले पराजित भएको थियो भने दोस्रो खेलमा मलेसियालाई छ विकेटले हराएको थियो । तेस्रो खेलमा नेपाल १३ रनले पराजित भएको थियो ।
आज मलेसियाले दिएको ११२ रनको लक्ष्य पछ्याएको नेपालले १७ दशमलव ३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको लागि कप्तान इन्दु बर्माले ३९ बलमा ४८ रनमा अविजित रहिन् । त्यस्तै रुबिना क्षेत्रिले २३ बलमा २३ रन बनाइन् ।
मलेसियाको लागि नुर दानिया स्युहादा, आइना हमिजा र माहिरा इजातीले समान एक/एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १११ रन बनाएको थियो । उसका लागि मास एलिसाले अविजित ५६ रन बनाइन् । माहिराले १८ तथा नुर दानियाले १५ रन बनाएकी थिइन् ।
नेपालकी कविता कुँवरले ३ विकेट लिइन भने पूजा महतो र कविता जोशीले समान एक/एक विकेट लिए । शृङ्खलाको अन्तिम खेल भोलि हुनेछ ।


कैलाली । कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ।
असोज ३० गतेदेखि कार्तिक २ गतेसम्म धनगढी रङ्गशालामा हुने प्रतियोगिताको तीव्र तयारी भइरहेको छ ।
गोदावरीको संस्कार मन्टेश्वरी स्कुलले आयोजना गर्न लागेको प्रतियोगिताको विजेताले ५० हजार नगद ,ट्रफी,मेडल र प्रमाणपत्र पाउने छ ।
त्यस्तै द्वितीय हुने टिमले नगद २५ हजार ट्रफी,मेडल र प्रमाणपत्र र तृतीय हुने टिमले नगद १५ हजार ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।यसैगरी व्यक्तिगत विद्यातर्फ समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
सुदूरपश्चिम प्रदेश भरका क्लबहरूले प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन्।


काठमाडौं । भरतपुर क्रिकेट क्लबले कार्तिक पहिलो सातादेखि ‘जेनजी मार्टयरस ममोरियल गोल्डेन वाक कप २०२५’ प्रतियोगिता गर्ने भएको छ।
सोमबार एक विज्ञप्ति जारी गर्दै क्लबले विद्यालय क्रिकेटलाई संवर्द्धन र विकासको लागि उक्त प्रतियोगिता आयोजना गर्न लागेको जनाएको हो । क्रिकेट मात्रै नभएर सो प्रतियोगितामा साङ्गीतिक प्रस्तुति, स्टाण्ड अफ कमेडियन र स्पोर्टस कुईजका साथै अन्य कार्यक्रम पनि गरिने भएको छ।
चितवनका छिमेकी जिल्ला नवलपरासी, मकवानपुर र काठमाडौंका विद्यालयसँग समन्वय गरी प्रतियोगिता गरिने विज्ञप्ति भनिएको छ । प्रतियोगितामा सहभागी हुन पाँच हजार शुल्क तिर्नुपर्ने छ।
प्रतियोगिताको उपाधि जित्ने विद्यालयले ट्रफीसहित ३० हजार नगद र दोस्रोले २० हजार नगद पाउनेछन् भने उत्कृष्ट खेलाडीले पाँच हजार प्राप्त गर्ने छ । यस्तै, प्रतियोगितामा सहभागी क्रिकेट खेलाडीहरूको प्रतिभा र तथ्याङ्क हेरी उत्कृष्ट टिम निर्माण गरी बङ्गलादेशको ढाकास्थित जुनिएर क्रिकेट एकेडेमीमा मैत्रीपूर्ण खेलका लागि लगिने व्यवस्था गरेको विज्ञप्तिमा भनिएको छ ।


काठमाडौं । भियतनामविरुद्धको एएफसी एसियन कप छनोट खेल्न भियतनाम जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाई गरिएको छ ।
सोमबार एन्फा कम्प्लेक्स सातदोवाटोमा आयोजित एक कार्यक्रमकाबीच राखेप सदस्य सचिव टंकलाल घिसिङ र एन्फा पदाधिकारीले नेपाली राष्ट्रिय फुटवल टोलीलाई बिदाई गरेका हुन् । नेपालले भियतनामसँग असोज २३ र २८ गते दुई खेल खेल्नेछ ।
नेपालले होम म्याच दशरथ रंगशालामा खेल्नुपर्ने भएपनि दशरथ रंगशाला अझै अयोग्य रहेको कारण होम र अवे दुवै खेल भियतनाममा नै खेल्न लागेको हो । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले एसियन कप छनोटका लागि राम्रो तयारी भएको बताए । यसअघिको बंगलादेशसँग एक मैत्रिपूर्ण खेल राम्रो भएको भन्दै उहाले भियतनामविरुद्ध नेपाली टोली उच्च मनोबलका साथ मैदान उत्रने गरे ।
नेपाली राष्ट्रिय फुटवल टोलीमा आयुष घलान, कृतिश रत्न छुन्जु र सुमित महर्जन फर्किएका छन् । सनिश श्रेष्ठ र विमल पाण्डेले टोलीमा पुनरागमन गरेका छन् भने गोलकिपर विशाल सुनार यसपटकको टोलीमा समावेश भएका हुन् ।


काठमाडौं । आईसीसी टी-२० विश्वकपको छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टीमले आज कतारसँग अभ्यास खेल खेल्दै छ ।
विश्वकप छनोट अघि अभ्यास खेल खेलिरहेको नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र कतारको अभ्यास खेल सोमबार दिउँसो ४ः१५ बजे सुरु हुनेछ ।
यसअघि शनिबार भएको ओमानविरुद्धको वार्मअप म्याचमा नेपाल ६ विकेटले विजयी भएको थियो। शनिबारको पहिलो वार्मअप म्याचमा ओमानले प्रस्तुत गरेको १ सय ११ रनको लक्ष्य नेपालले १७ ओभरको समाप्तिमा चार विकेटको क्षतिमा पूरा गरेको हो ।


काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले किरणकुमार लिम्बूको कप्तानीमा आज २३ सदस्यीय नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा गरेका छन् ।
एफसी एसिया कप छनोट २०२७ अन्तर्गत भियतनामविरुद्धको खेलको लागि मुख्य प्रशिक्षक म्याटले २३ सदस्य नेपाली टोलीको घोषणा गरेका हुन् ।
टोलीमा कप्तान लिम्बूसँगै अभिषेक लिम्बू, अनन्त तमाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, बिमल पाण्डे, विशाल सुनार, दिप कार्की, दिनेश हेञ्जन र जिलेस्पीजङ कार्की छन् ।
यसैगरी कृतिकरत्न छुन्जु, कुशल देउवा, लकेन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सुवास ठकुरी बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ र योगेश गुरुङ छन्
नेपालले भियतनामसँग दुई खेल खेल्नेछ । खेल यही असोज २३ गते भियतनाममा हुनेछ ।


काठमाडौं । मलेसियाविरुद्धको टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको तेस्रो खेलमा नेपाल पराजित भएको छ ।
मलेसियाको क्वालालम्पुरमा आज भएको खेलमा मलेलियासँग नेपाली महिला राष्ट्रिय क्रिकेट टोली १३ रनले पराजित भएको हो । यो पराजयसँगै पाँच खेलको उक्त शृङ्खलामा मलेसियाले नेपालसँग २–१ को अग्रता बनाएको छ ।
यसअघि भएको पहिलो खेलमा नेपाल मलेसियासँग ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो ।
मलेसियाले जितको लागि दिएको १२१ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०७ रन मात्रै बनाउन सक्यो । नेपालका लागि रुबी पोद्धारले सर्वाधिक ३१ रनको योगदान दिइन् ।
यसैगरी, कप्तान इन्दु बर्मा २२ रनमा अविजित रहिन् भने सम्झना खड्काले १८ रन बनाइन् । नेपालकी कविता जोशी र कविता कुँवरले समान दुई/दुई विकेट लिएका थिए ।


काठमाडौं । अन्तरराष्ट्रिय महिला ट्वान्टी-२० शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपाल विजयी भएको छ ।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास मैदानमा आज भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ६ विकेटले पराजित गर्दै जित हासिल गरेको हो । यससँगै यो शृङ्खलामा नेपालले पहिलो जित दर्ता गराएको छ । यसअघि नेपाल मलेसियासँग पहिलो खेलमा तीन ‘रन’ले पराजित भएको थियो ।
आज मलेसियाले जितका लागि दिएको ९२ रनको लक्ष्य पच्छ्याएको नेपाल १६ दशमलव २ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । नेपालका लागि पूजा महतोले सर्वाधिक ३९ रन बनाइन् । त्यस्तै कप्तान इन्दु बर्मा २७ रनमा अविजित रहिन् भने रुबी पोद्दारले १५ रन बनाइन् । मलेसियाकी आयना हमिजाले २ विकेट लिइन् भने नुर दानिया स्युहादा र नुर आलियाले समान एक/एक विकेट लिए ।
त्यसअघि ‘टस’ हारेर पहिले ‘ब्याटिङ’को निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ९१ रनको योगफल बनाएको थियो । मलेसियाका लागि आइना हमिजाले सर्वाधिक ५० रन योगदान दिएकी थिइन् । त्यस्तै कप्तान विनिफ्रेड दुरासिंघमले १५ रन बनाइन् ।
नेपालकी सोमु विष्टले २ तथा तथा कविता कुँवरले १ विकेट लिए । योसँगै नेपाल र मलेसियाबीचको पाँच खेलको शृङ्खला १–१ को बराबरीमा छ । नेपालले आगामी जनवरीमा घरेलु मैदानमा नै हुने आइसिसी महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटको तयारीस्वरुप उक्त शृङ्खला खेलेको हो ।


काठमाडौं । मलेसियाले अन्तरराष्ट्रिय महिला ट्वेन्टी २० अन्तरराष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपाललाई जितको लागि १०५ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ४ रनको योगफल बनाएको छ । मलेसियाको लागि कप्तान विनिफ्रेड डुरैसिंगमले सर्वाधिक २७ रन बनाइन्भने ओपनर ऐना हमिजा हसिमाले २६ रन बनाइन्।
यो समाचार तयार पारिरहँदासम्म नेपालको लागि सुमन विष्टले दुई तथा रुविना क्षेत्रीले एक विकेट लिएका छन् ।
नेपाली महिला टोलीले आगामी जनवरीमा यहाँ आयोजना हुने टी–२० विश्वकपको ग्लोबल छनोट खेल्ने छ । सोही प्रतियोगिताको तयारीस्वरुप नेपाल अहिले मलेसियामा प्रतिस्पर्धा गरिरहेको छ ।


काठमाडौं । वेष्ट इण्डिजविरुद्धको तेस्रो टी-२०आई खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।
युएईको शारजाह क्रिकेट रंगशालामा नेपालविरुद्ध वेष्ट इण्डिजका कप्तान अकिल होसेनले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
यो खेल जित्दै सिरिज क्लिन स्विप गर्ने अवसर नेपाललाई छ । सुरुवाती दुई खेलमा जित निकाल्दै नेपालले सिरिज एक खेलअगावै आफ्नो पक्षमा पारिसकेको छ । नेपालले वेष्ट इण्डिजलाई पहिलो खेल १९ र दोस्रो खेल ९० रनले पराजित गरेको थियो ।


गुवाहाटी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को महिला एकदिवसीय क्रिकेट विश्वकप २०२५ आजदेखि भारतको गुवाहाटीमा सुरु भएको छ । उद्घाटन खेलमा आयोजक भारत र श्रीलंकाले प्रतिस्पर्धा गर्दैछन् ।
आसाम क्रिकेट एसोसिएसन स्टेडियम (बारसापारा) मा भएको पहिलो खेलमा भारतले टस हारेर पहिले ब्याटिङमा उत्रिएको छ । भारत उपाधि दावेदार टिम पनि हो । अहिलेसम्म महिला क्रिकेटको उपाधि जित्न नसकेको भारतले यसपाली भने खडेरी तोड्ने लक्ष्य लिएको छ ।
भारतीय टोलीको नेतृत्व हरमनप्रीत कौरले गरेकी छन् भने स्टार ब्याटर स्मृती मन्धाना उपकप्तान रहेकी छन् । भारतीय टोलीमा प्रतिका रावल, हरलीन देओल, जेमिमाह रोड्रिग्स, रिचा घोष, उमा चेत्री, रेनुका सिंह ठाकुर, दीप्ति शर्मा, स्नेह राणा, श्री चरणी, राधा यादव, अमनजोत कौर, अरुन्धती रेड्डी र क्रान्ति गौड छन् ।
यसैगरी, श्रीलंकाको कप्तानी चामारी अतापाथ्थुले सम्हालेकी छन् । श्रीलंकाले पछिल्लो विश्वकपमा भाग लिएको थिएन, तर यसपटक ३१ अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेलेर तयारी गरेको छ । भारतले भने विगत एक वर्षमा ३८ एकदिवसीय खेल खेलेको छ ।
यो १३ औँ संस्करणको विश्वकपमा आठ टोली सहभागी छन्: भारत, श्रीलंका, अस्ट्रेलिया, इङ्ल्यान्ड, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, पाकिस्तान र बंगलादेश । राउन्ड–रोबिन ढाँचामा प्रत्येक टोलीले अन्य सात टोलीसँग एक–एक खेल खेल्नेछन् । सेमिफाइनलहरू नोभेम्बर १ मा र फाइनल नोभेम्बर २ मा हुने छ ।
खेलहरू भारतका गुवाहाटी, इन्डोर, विशाखापट्टनम र नवी मुम्बई तथा श्रीलंकाको कोलम्बोमा आयोजना गरिनेछन् । पाकिस्तानका खेलहरू भने श्रीलंकामा नै हुनेछन् ।
यो विश्वकपमा कुल पुरस्कार राशि १३.८८ मिलियन अमेरिकी डलर रहेको छ । अस्ट्रेलियाले सात टक उपाधि जितेको छ भने इङ्ल्यान्डसँग चार उपाधि छन् ।


काठमाडौं । पाकिस्तानका कप्तान सलमान आघाले एसिया कप फाइनलमा भारतले देखाएको अस्वाभाविक रवैयाको आलोचना गरेका छन् । भारतले आफूहरूको मात्र नभएर क्रिकेटकै अपमान गरेको उनको टिप्पणी छ ।
एसिया कपको फाइनलमा हिजो पाकिस्तान भारतसँग पराजित भएको थियो । फाइनलपछि भारतीय टिमले ट्रफी लिन अस्वीकार गरेपछि उत्पन्न विवादमा आघाले प्रतिक्रिया जनाएका हुन् ।
दुबईमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘भारतले यो प्रतियोगितामा गरेको व्यवहार अत्यन्त निराशाजनक छ । उनीहरूले हात नमिलाएर हाम्रो अपमान गरेका होइनन्, क्रिकेटको अपमान गरेका छन् ।’
आफूहरूले जिम्मेवारी पूरा गर्न ट्रफीको साथमा फोटो खिच्न गएको र मेडल लिएर उभिएको उनले बताए । तर, भारतीय टिमले निकै अपमानजनक व्यवहार गरेको उनको भनाइ छ ।
फाइनलमा भारतले पाकिस्तानलाई हराएपछि पुरस्कार वितरण समारोह सुरु हुन ९० मिनेटभन्दा बढी ढिलाइ भएको थियो । भारतले एसीसी अध्यक्ष र पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्षसमेत रहेका पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीबाट ट्रफी लिन अस्वीकार गरेको थियो । आघाले भारतका कप्तान सूर्यकुमार यादवसँग कुनै समस्या नरहेको बताए । सूर्यकुमारको व्यक्तिगत निर्णय भएको भए उनले टसअघि हात मिलाउने उनको दाबी छ ।
आघाले भने, ‘प्रतियोगिताको सुरुमा उनले मसँग व्यक्तिगत रूपमा हात मिलाए । प्रि-टूर्नामेन्ट पत्रकार सम्मेलन र रेफ्रीको बैठकमा पनि हात मिलाए । तर क्यामेरा र विश्वको अगाडि उनीहरू हात मिलाउँदैनन् । मलाई लाग्छ, उनले पाएको निर्देशन पालना गरेका छन् । तर यदि उनको आफ्नो इच्छा भएको भए, उनले मसँग हात मिलाउँथे ।’
आघाले फाइनल अघिको आफ्नो अडान दोहोर्याउँदै क्रिकेटमा हात नमिलाउने परम्परा नभएको र यो क्रिकेटको भावनाका लागि हानिकारक भएको बताए । भारतले पुरस्कार समारोहमा काल्पनिक ट्रफी उचालेर गरेको व्यवहार ‘उनीहरूले पहिले गरेका सबै कुराको परिणाम’ भएको आघाको टिप्पणी छ ।
उनले भने, ‘मैले यस्तो पहिलो पटक देखेँ । यो प्रतियोगितामा जे भयो, त्यो निकै खराब थियो । मलाई आशा छ, यो कुनै बिन्दुमा रोकिनेछ, किनभने यो क्रिकेटका लागि हानिकारक छ । आज भएको सबै कुरा पहिलेका घटनाहरूको परिणाम हो । स्वाभाविक रूपमा एसीसी अध्यक्षले विजेतालाई ट्रफी दिन्छन् । यदि तपाईँ उनबाट ट्रफी लिनुहुन्न भने, कसरी प्राप्त गर्नुहुन्छ ?’
प्रतियोगिताको अघिल्ला दुई भारत-पाकिस्तान खेलहरूमा जस्तै, फाइनलमा पनि टस र खेलपछि हात मिलाइएन । पुरस्कार समारोहको प्रतीक्षा गर्दा दुवै टिम अलग-अलग समूहमा उभिएका थिए । आघाले यस्ता घटनाहरूले भारत वा पाकिस्तानमा खेल हेर्नेहरूलाई राम्रो सन्देश नदिएको र यसको जिम्मेवारी भारतको रहेको बताए ।
उनले भने, ‘म केवल पाकिस्तानको कप्तान होइन, क्रिकेटको प्रशंसक पनि हुँ । यदि भारत वा पाकिस्तानमा कुनै बच्चाले यो हेरिरहेको छ भने, हामीले राम्रो सन्देश दिइरहेका छैनौँ । मानिसहरू हामीलाई रोल मोडेल मान्छन्, तर यस्तो व्यवहारले उनीहरूलाई प्रेरणा दिँदैन । यो हुनु हुँदैनथ्यो, तर यो किन भयो भन्ने प्रश्न मलाई होइन, जिम्मेवार व्यक्तिहरूलाई भारतले सोध्नुपर्छ ।’


काठमाडौं । युएइमा जारी युनिटी कपमा नेपालले पहिलो म्याच वेस्ट इन्डिजलाई हराउँदै शानदार सुरुवात गर्यो । बाँकी दुई खेलमा कम्तिमा एक जित निकाले नेपालले टेस्ट राष्ट्रविरुद्ध सिरिज विजयको अभूतपुर्व उपलब्धी हासिल गर्ने छ ।
भोली र पर्सी हुने दुई म्याचमा नेपाली खेलाडीहरु उच्च मनोबलमा साथ उत्रिने छन् । तर, अहिले टीमका प्रमुख दुई बलरहरु सन्दीप लामिछाने र नन्दन यादवको विषयमा अन्योल देखिएको छ । फास्ट बलर नन्दन हिजो भएको पहिलो म्याचमा घाइते भएकाले १ ओभर मात्रै बलिङ गरे । सन्दीप भने टिममै परेनन् । बाँकी म्याचमा यी दुवै खेलाडीहरु उपलब्ध हुन्छन् कि हुँदैनन् भन्ने चासो र चिन्तामा समर्थकहरु छन् ।
प्रमुख प्रशिक्षक स्टुअर्ट लले नन्दनलाई ‘रिस्क’ लिएर बाँकी दुई म्याच नखेलाउने संकेत गरेका छन् । उनले हिजो पोस्ट म्याच प्रिजेन्टेसनमा बोल्दै नन्दनलाई विश्राम दिइन सक्ने बताए ।
उनले भने, ‘हामीले चाँडै टि २० विश्वकप छनोट खेल्नुपर्ने छ । उक्त प्रतियोगिताका लागि नन्दन एकदमै महत्वपूर्ण खेलाडी हुन् । त्यसैले वेस्ट इन्डिजविरुद्धको बाँकी खेलमा उनी छुट्न सक्छन् ।’
बुझिएअनुसार नन्दन हिजोको खेलअघि पूर्ण फिट थिएनन् । तर, पनि उनलाई टिममा राखिएको थियो । उनले आफ्नो प्रभाव पनि देखाए, पहिलो ओभरमै विकेट लिएर । तर, बलिङ गर्दै गर्दा उनी समस्यामा देखिएका थिए । बल्लतल्ल ओभर पुरा गरे पनि उनले थप बल फ्याँक्न सकेनन् ।
प्रशिक्षक ल भन्छन्, ‘उनी डेथ ओभरका लागि एकदमै राम्रा बलर हुन् । हामीलाई विश्वकप छनोटमा उनको उपस्थिति अपरिहार्य छ । अहिले हामी उनलाई जोगाउने पक्षमा छौं ।’
स्पिनर सन्दीप लामिछानेबारेमा भने प्रष्ट भएको छैन । प्रशिक्षक लले सन्दीपले व्यक्तिगत समस्याका कारणले नखेलेको बताएका थिए । तर, के समस्या हो भन्ने आफूलाई पनि राम्ररी थाहा नभएको उनको भनाइ छ ।
उनले भने, ‘सन्दीप केही व्यक्तिगत समस्यासँग जुझिरहेको छ, त्यसैले नखेल्ने निर्णय गर्यो । मलाई योभन्दा बढी थाहा छैन । यदि तपाइं जान्न चाहनुहुन्छ भने उसैलाई सोध्नु राम्रो हुन्छ ।’
सन्दीपले भने केही पनि बताएका छैनन् । उनले आज दिउँसो नेपालले वेस्ट इन्डिजलाई हराएकोप्रति खुशी व्यक्त गर्दै सबैलाई बधाइ दिएका छन् । तर, आफू नखेल्नुको कारणबारे मौनता साँधेका छन् ।
यस विषयमा क्यानका पदाधिकारीहरुसँग नेपाल प्रेसले सम्पर्क गर्दा पनि कुनै पनि जानकारी पाउन सकिएन । यद्यपि, क्यानले चाँडै औपचारिक धारणा ल्याउने बुझिएको छ ।नेपाली टिमले म्याच रेफ्रीलाई बुझाएको १५ सदस्यीय स्क्वाडमा नै सन्दीपको नाम नहुँदा कतै उनी प्रतियोगिताबाटै बाहिरिएका हुन् कि भन्ने आशंका पनि बढेको छ । यद्यपि, क्यानका म्यानेजर विनोद दास भने हिजो दिइएको १५ सदस्यको सुची एक म्याचका लागि मात्रै भएको बताउँछन् ।
यूएईमा रहेका उनले नेपाल प्रेससँग भने, ‘हामीसँग १६ जना खेलाडी छन्, तर १५ जनाको नाम मात्रै दिनुपर्ने प्रावधान रहेको छ । सम्भवतः सन्दीपले नखेल्ने पहिल्यै तय भएकाले उनको नाम स्क्वाडमा नराखिएको हुन सक्छ ।’


काठमाडौं । डब्लुकेएफ कराते वान सिरिज ‘ए’ मा सहभागी हुन नेपाली कराते टोली मलेसियाको क्वालालम्पुर जाने भएको छ।
मलेसिया कराते महासङ्घको आयोजनामा यही असोज १७ गतेदेखि १९ गतेसम्म हुने प्रतियोगितामा चार महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
एरिका गुरुङले ६८ केजीमाथि, वर्षा बुढामगरले ५० केजीमुनि, सविना श्रेष्ठले ५५ केजीमुनि र सानुमाया थिङले एकल कातामा प्रतिस्पर्धा गर्नेछन्। प्रशिक्षकमा कुशल श्रेष्ठ छन् । तारा गुरुङले निर्णायकको भूमिका निर्वाह गर्नेछिन् ।
टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य(सचिव टङ्कलाल घिसिङ र नेपाल राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठले आयोजित कार्यक्रममा बिदाइ गरे। नेपाली टोली बुधबार मात्रै मलेसिया जानेछन्।


काठमाडौं । नेपालले टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध हुने तीन खेलको युनिटी कप अन्तरराष्ट्रिय टी ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत पहिलो खेल आज खेल्दैछ ।
संयुक्त अरब इमिरेट्स (युएई)को शारजाह क्रिकेट रङ्गशालामा हुने खेलमा नेपालले पहिलोपटक दुईपटकको विश्वकप विजेता टोली वेस्ट इन्डिजसँग ऐतिहासिक खेल खेल्न लागेको हो ।
त्यसैगरी नेपालले आफ्नो दोस्रो खेल यही असोज १३ गते खेल्ने छ भने तेस्रो खेल १४ गते खेल्नेछ । यस सिरिज खेलेर नेपाली टोली आइसिसी टी ट्वान्टी विश्वकपको एसिया तथा इस्ट एसिया पेसिफिक छनोट खेल्न ओमान जाने तालिका रहेको छ । उक्त प्रतियोगिताको तयारीस्वरूप नै नेपालले वेस्ट इन्डिजसँग खेल्न लागेको हो ।
रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल र आसिफ सेख छन् । त्यसैगरी आदिल आलम, करण केसी, नन्दन यादव, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुलशन झा र साहब आलम छन् ।
यता अकिल होसेनको कप्तानीमा रहेको वेष्ट इन्डिज टोलीमा भने फाबियन एलेन, जेवेल एन्ड्र्यू, अकिम अगस्ट, नभिन बिडाइस, जेडियाह ब्लेड्स, किएसी कार्टी, करिमा गोरे र जेसन होल्डर छन् । त्यस्तै अमिर जान्गू, काइल मेयर्स, ओबेड मेकोए, जिसान मोटारा, रामोन सिमन्ड्स, शमार स्प्रिङ्गरजस्ता खेलाडी रहेका छन् ।


काठमाडाैं । भारतीय क्रिकेट टोलीका कप्तान सूर्यकुमार यादवलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आचारसंहिता उल्लंघन गरेकोमा दोषी ठहर गरेको छ । उनलाई सेप्टेम्बर १४ मा एसिया कपको समूह चरणको खेलपछि भारत र पाकिस्तानबीच भएको सैन्य भिडन्तबारे टिप्पणी गरेको आरोप लागेको हो ।
आईसीसी म्याच रेफ्री रिची रिचर्डसनले सूर्यकुमारले आफू दोषी नभएको भनी गरेको अपिललाई खारेज गरेका थिए । उनलाई कस्तो कारवाही गरियो भन्ने यकिन नभए पनि डिमेरिट अंक र÷वा जरिवाना हुन सक्ने सम्भावना छ । भारतले यो फैसलाविरुद्ध पुनरावेदन गरेको छ ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले सूर्यकुमारमाथि आईसीसी आचारसंहिताको सबैभन्दा गम्भीर उल्लंघनका लागि गरिने तह-४ को कारबाही गर्न माग गरेको थियो । पीसीबीले विगतमा राजनीतिक सन्देश दिएको भन्दै खेलाडीलाई रोक लगाइएको वा जरिवाना गरिएको उदाहरणहरू प्रस्तुत गरेको थियो ।
साथै, पीसीबीले आईसीसीले इजरायल–गाजा युद्धले निम्त्याएको मानवीय संकटबारे दिइने सन्देशलाई पनि राजनीतिक मानेको र हालसालै उस्मान ख्वाजालाई ‘स्वतन्त्रता मानव अधिकार हो’ लेखिएको जुत्ता लगाउनबाट रोकेको कुरा पनि उल्लेख गरेको छ ।
भारतले गरेको पुनरावेदनमाथि सुनुवाइ भयो वा भएन भन्ने कुरा यकिन हुन सकेको छैन ।
सामान्यतया, म्याच रेफ्रीले नै समय र स्थान तय गर्छन्, तर भारतले शुक्रबार साँझ श्रीलंकासँग सुपर फोरको अन्तिम खेल खेल्दैछ भने आइतबार पाकिस्तानसँग फाइनल खेल्दैछ । यदि पुनरावेदनपछि पनि सूर्यकुमार दोषी ठहर भएमा उनको सजाय थप बढ्न सक्नेछ ।
के थियो घटना ?
सेप्टेम्बर १४ को खेलपछि सूर्यकुमारले पुरस्कार वितरण समारोह र पत्रकार सम्मेलनमा ‘आजको जित हाम्रो सशस्त्र बललाई समर्पित छ’ भनेर टिप्पणी गरेका थिए ।
पछि उनले यो समर्पण मे महिनामा पाकिस्तानविरुद्धको अपरेशन सिन्दूरमा भाग लिने भारतीय सशस्त्र बलका लागि भएको स्पष्ट पारेका थिए, जसले दुई देशबीच भिडन्त निम्त्याएको थियो ।
पाकिस्तानका दुई खेलाडी पनि अनुसन्धानको दायरामा
यसैगरी, पाकिस्तानका दुई खेलाडी साहिबजादा फरहान र हरिस रउफले पनि शुक्रबार अनुशासनात्मक सुनुवाइको सामना गरेका छन् ।
उनीहरूलाई सेप्टेम्बर २१ मा भएको सुपर फोरको खेलमा गरेको व्यवहारका लागि कारवाहीको माग गरिएको हो । फरहानले अर्धशतक बनाएपछि बन्दुक चलाएको जस्तो इशारा गरेका थिए भने रउफले फिल्डिङ गर्दा विमान खसालेको जस्तो संकेत गरेका थिए ।
ईएसपीएन क्रिकइन्फोका अनुसार, फरहान र रउफले पनि आफूहरू दोषी नभएको र आफ्नो इशारा राजनीतिक प्रकृतिको नभएको दाबी गरेका छन् । यद्यपि, उनीहरूबारे कुनै आधिकारिक फैसला नआए पनि पीसीबीले उनीहरूलाई पनि जरिवाना हुन सक्ने कुरालाई निजी रूपमा स्वीकार गरेको छ ।
बढ्दो तनाव
सेप्टेम्बर १४ को खेलअघि नै भारत र पाकिस्तानबीच तनाव बढेको थियो । भारतले टस गर्दा र खेलपछि पाकिस्तानसँग हात मिलाउन अस्वीकार गरेको थियो । उक्त खेल भारतले सात विकेटले जितेको थियो ।
सुपर फोरको खेलमा पनि पाकिस्तानका बलर र भारतका ओपनरहरूबीच पटक–पटक भनाभन भएको थियो । पछि अभिषेक शर्माले पाकिस्तानले ‘बिनाकारण जाइलागेको’ आरोप लगाएका थिए ।


काठमाडौं । कर्णाली याक्स स्पोट्र्स प्रा.लि र होटेल याक एण्ड यतिबीच सहकार्य भएको छ ।
पहिलो संस्करणमा सम्झौता गरिएको हिल्टन होटेल जेनजी प्रदर्शनको क्रममा आगोलागी भएपछि कर्णाली याक्सले याक एण्ड यति सङ आगामी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको हस्पिटालिटी पार्टनरको रुपमा आज आधिकारिक सम्झौता गरेको हो ।
प्रतियोगिताका दौरान कर्णाली याक्सका खेलाडी तथा अफिसियल दरबारमार्ग स्थित याक एण्ड यति होलटमै बस्नेछन् ।
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण २०२५ नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म हुने छ ।


काठमाडौं । भारतका कप्तान सूर्यकुमार यादवले पाकिस्तानसँगको भिडन्त अब ‘प्रतिद्वन्द्वीता’ भन्न नमिल्ने बताएका छन् ।
दुबईमा जारी एसिया कपमा पाकिस्तानमाथि लगातार दोस्रो जित निकालेपछि भारतका कप्तान सूर्यकुमारले पाकिस्तानसँगको भिडन्त प्रतिद्वन्द्वीता हो भन्ने धारणालाई खारेज गरेका हुन् ।
‘मापदण्ड र प्रतिद्वन्द्वीता उस्तै हो’, उनले भने, ‘मेरो विचारमा, यदि दुई टोलीले १५-२० खेल खेल्छन् र यदि [हेड-टू-हेड] ७-७ वा ८-७ छ भने, त्यसलाई प्रतिद्वन्द्विता भनिन्छ । तर १३-०, १०-१…मलाई तथ्याङ्क के हो थाहा छैन। तर यो अब प्रतिद्वन्द्वीता होइन। तर हो, मलाई लाग्छ कि हामीले उनीहरूभन्दा राम्रो क्रिकेट खेल्यौं।’
एसिया कपमा भारतले पाकिस्तानमाथी पहिलो खेलमा ७ विकेट र दोस्रो खेलमा ६ विकेटले जित निकाल्यो ।


काठमाडौं । यूएईले आसन्न नेपाल र वेस्ट इन्डिजको क्रिकेट सिरिजका लागि नेपाली खेलाडीहरूलाई भिसा दिने संकेत गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले इमरेट्स क्रिकेट बोर्डमार्फत गरेको पहलमा यूएईले सकारात्मक प्रतिक्रिया दिएको हो ।
नेपालमा जेनजी आन्दोलनकै क्रममा हजारौं कैदीहरू जेलबाट निस्किएपछि यूएईले नेपालीहरूलाई भिसा दिन रोकेको छ । खेलाडीहरूले केही दिन अगाडि भिसाका लागि आवेदन गरे पनि अहिलेसम्म पाएका छैनन् । शुक्रबार नेपाली क्रिकेट टीम यूएई प्रस्थान गर्ने तालिका भए पनि भिसा नआएकाले रोकिएका छन् ।
नियमित प्रक्रियाबाट भिसा नआएपछि क्यानले इमरेट्स क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) मा समेत पहल गरेको थियो । यूएईको बोर्डबाट भिसा प्राप्त हुने प्रत्याभूति गराइएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।
उनले नेपाल प्रेससँग भने, ‘भिसा आउने कुरामा निश्चिन्त छौं, वेस्ट इन्डिजसँसगको सिरिज निर्धारित तालिकामा नै आयोजना हुन्छ ।’
लामाले आजभोलिमै खेलाडीहरूले भिसा प्राप्त गर्न सक्ने आशा व्यक्त गरे । वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि क्यानले शारजाह क्रिकेट रंगशाला बुक गरेर टिकट बिक्री गर्न थालिसकेको छ । अस्तिबाट अनलाइनमार्फत टिकट बुकिङ खुला गरिएको हो ।
नेपालले २७, २९ र ३० सेप्टेम्बरमा तीनवटा टी २० म्याच वेस्ट इन्डिजसँग खेल्नेछ । प्रतियोगिताको सबै खर्च र व्यवस्थापन नेपाल क्रिकेट संघको हुनेछ ।