Tag: केपी ओली

  • एमाले एकताको लागि  माधवलाई दोस्रो अध्यक्ष बनाउन ओली तयार

    एमाले एकताको लागि माधवलाई दोस्रो अध्यक्ष बनाउन ओली तयार

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार रहेको घोषणा गरेका छन् । पार्टीको केन्द्रिय कमिटी बैठकमा बोल्दै उनले पार्टी एकताका लागि यस्तो प्रस्ताव गरेका हुन् ।

    ओलीले बैठकमा भने, ‘हामी एकताका लागि हदैसम्म लचिलो छौं । अन्तिमसम्म पनि एकताका लागि प्रयास जारी राख्छौं ।’

    १० बुँदे सहमिति कार्यान्वयमा आफू प्रतिवद्ध रहेको उनले बताए । एकता भएमा सबै संरचनाहरु २०७५ साल जेठ २ गतेकै अवस्थाबाट क्रियाशील हुने उनको भनाइ थियो ।

    उनले थपे, ‘माधव नेपालले दोस्रो अध्यक्ष मागे । मिल्ने हो भने पार्टी एकता बचाउनका लागि दोस्रो अध्यक्ष दिन तयार छु । तर मैले यति भन्दा पनि एकताप्रति इच्छा देखाइएको छैन । अनेक बहाना खोजिएको छ ।’

    पार्टीबाट आफूहरुलाई निकाल्न केन्द्रिय कमिटीमा बहुमत खोजिएको भन्दै ओलीले त्यसो हुन नदिइने बताए ।

    ‘ढुक्क हुनुस् कामरेडहरु, त्यसो हुन दिइने छैन,’ उनले भने ।

  • धरहरा र चुच्चे नक्सा हेर्दै जनताले केपी ओली सम्झिरहने छन्: प्रदीप ज्ञवाली

    धरहरा र चुच्चे नक्सा हेर्दै जनताले केपी ओली सम्झिरहने छन्: प्रदीप ज्ञवाली

    काठमाडौं । नेकपा (एमाले) का प्रवक्ता एवम् सांसद प्रदीप ज्ञवालीले केपी शर्मा ओलीको सरकारलाई धरहरा र चुच्चे नक्सामार्फत जनाले सम्झिरहने दावी गरेका छन् ।

    प्रधानमन्त्रीले विश्वासको मत लिने सम्बन्धी प्रयोजनका लागि प्रतिनिधिसभाको बैठकमा चलिरहेको छलफलमा एमालेको प्रतिनिधिका रूपमा भाग लिँदै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले कोरोना खोपका लागि पनि जनताले केपी ओलीलाई सम्झिने बताए।

    ‘प्रत्येक चोटी जब जनताले कोरोनाको खोप लगाउँछन्, यो सरकारलाई सम्झिने छन् किनभने एक करोड ६१ लाख खोप हामीले सुनिश्चित गरेका छौं,’ उनले भने, ‘ सुनधारामा धरहरा, दाहिनेपट्टी रानीपोखरी, चुच्चे नक्सा र बढेको सगरमाथाको उचाइका लागि सम्झिरहने छन्।’

    सरकारका उपलब्धीको चर्चा गर्दे उनले भूकम्पपछिको पुनर्निर्माणका लागि पनि जनाले सम्झिने बताए। उनले आफूहरू सत्ताबाट बाहिएकोमा कुनै पीडा नभएको बताए ।

  • बालुवाटार बाहिरको पहिलो बैठकमा सहभागी हुन एमाले नेताहरू च्यासलमा (तस्बिरहरू)

    बालुवाटार बाहिरको पहिलो बैठकमा सहभागी हुन एमाले नेताहरू च्यासलमा (तस्बिरहरू)

    काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा शुरू हुँदैछ । सरकारबाट बाहिरिएपछि पहिलोपटक एमालेको बैठक बसेको हो ।

    यसअघि पार्टीका बैठक अधिकांश प्रधानमन्त्री निवास बालुवाटारमा हुने गर्थे । अध्यक्ष केपी शर्मा ओली सर्वोच्चको परमादेशबाट प्रधानमन्त्री पदबाट हटेपछि पहिलोपटक बालुवाटार बाहिर एमालेको बैठक बस्न लागेको हो ।

    बिहान ११ बजे निर्धारित समयमै नेताहरू बैठकस्थलमा पुगेका थिए । आजको बैठकले १० बुँदे सहमति अनुमोदन,अदालतको फैसलाको समीक्षा र पार्टीको आगामी रणनीतिबारे छलफल गर्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

    तस्बिरहरु : सरोज बैजु
  • कार्यकर्तालाई संयम रहन आग्रह गर्दै ओलीले भने- फेरि सूर्य बादल हटाएर उदाउनेछ

    कार्यकर्तालाई संयम रहन आग्रह गर्दै ओलीले भने- फेरि सूर्य बादल हटाएर उदाउनेछ

    काठमाडौं । प्रधानमन्त्रीबाट बिदाई हुँदै गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई धैर्य र संयम रहन आग्रह गरेका छन् ।

    सर्वोच्च अदालतको राजनीतिक फैसला तत्कालका लागि एमालेविरुद्ध आए पनि यसको प्रभाव भविष्यमा अरुले पनि व्यहोर्नुपर्ने उनले बताए ।

    उनले भने, ‘म पार्टीका कार्यकर्ताहरूलाई धैर्य र संयम नगुमाउन र आत्मविश्वास कायम राख्न आह्वान गर्छु । मेरा लागि लोकतन्त्र जीविका होइन जीवन हो, हामीलाई बढीमा डेढ वर्ष प्रतिपक्षमा बसाउलान्, त्यसपछि त जनतामा जानैपर्ला, जनताबाट रोक्न कसले सक्छ ?’

    ओलीले सम्बोधनको अन्तिममा केही समयका लागि सूर्यलाई बादलले छेके पनि फेरि सूर्य बादल हटाएर उदाउने बताए । आफ्नै पार्टीका २३ जना अराजकले सरकार ढाल्न विपक्षीलाई बल पास गरेको भन्दै ओलीले घृणा व्यक्त गरे ।

    ओलीले भने, ‘बादलले एकछिन घामलाई छेक्न सक्ला तर सूर्यको प्रकाशलाई कसैले रोक्न सक्ने छैन्, एकछिन बादल लागेको छ, बादल हटेर फेरी सूर्य उदाउनेछ ।’

  • जाँदाजाँदै ओलीकाे घोषणा- सबै नेपालीलाई पुग्ने खोप प्रबन्ध गरिसकेका छौं, डेढ करोड डोज आपूर्ति प्रक्रियामा

    जाँदाजाँदै ओलीकाे घोषणा- सबै नेपालीलाई पुग्ने खोप प्रबन्ध गरिसकेका छौं, डेढ करोड डोज आपूर्ति प्रक्रियामा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली जनतालाई पुग्नेगरी खोप आपूर्तिको प्रबन्ध गरिसकिएको जानकारी दिएका छन् । पदबाट बाहिरिदै गर्दा देशबासीको नाममा सम्बोधन गर्दै ओलीले एक करोड ५० लाख डोज खोप सहुलियत मूल्यमा किन्ने प्रक्रिया जारी रहेको बताए ।

    ओलीले सम्बोधनमा भने, ‘खोपको लागि सबै प्रबन्ध भइसकेको छ र दक्षिण एशियामा भारतपछि नेपाल दोस्रो हो । तर, भरेदेखि पहिले नै लगाइएका खोपको फोटो राखेर हामीले गर्‍यौं भन्न थाल्नेछन् तर म प्रचार होइन काममा विश्वास गर्छु, जनतालाई खोपको प्रबन्ध गरेर जाँदैछु ।

    ओलीले बालबालिकालाई लगाइने फाइजर ६० लाख डोज खोप पनि खरिद प्रक्रियामा रहेको बताए । उनले भारतबाट १० लाख डोज, चीनबाट अनुदानसहित ५८ लाख डोज खोप प्राप्त भएको बताए ।

    त्यस्तै अमेरिकबाट उपहारस्वरूप १५ लाख डोज र जापानबाट १६ लाख डोज खोप प्राप्त भएको भन्दै कोभ्याक्सअन्तर्गत ३ लाख ४८ हजार डोज आइसकेको र ३ लाख ५० हजार आउने क्रममा रहेको ओलीले बताए ।

  • सर्वोच्चको फैसलामाथि ओलीका प्रश्नै-प्रश्न, रेफ्रीले नै गोल गर्न खोजेको आरोप

    सर्वोच्चको फैसलामाथि ओलीका प्रश्नै-प्रश्न, रेफ्रीले नै गोल गर्न खोजेको आरोप

    काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले गरेको फैसलाको तीव्र आलोचना गरेका छन् । प्रधानमन्त्रीका रूपमा बालुवाटारबाट अन्तिम सम्बोधन गर्दै उनले सर्वोच्चको फैसला त्रुटीपूर्ण भए पनि पालनामा आफू स्पष्ट रहेको बताए ।

    ओलीले आफ्नो सम्बोधनमा भने, ‘फैसलाका कतिपय प्रावधान र भाषाशैलीले लोकतन्त्रप्रति विश्वास राख्ने सबैलाई चिन्तत तुल्याएको छ । यो फैसलाको समयले अग्‍निपरीक्षा लिनेछ ।’

    सर्वोच्चको फैसलाले नेपालमा दलीय प्रणालीको आधारभूत प्रस्तावनालाई नै चुनौती दिने काम गरेको ओलीले आरोप लगाए ।

    उनले भने, ‘एउटै दलका सांसद सत्ता र प्रतिपक्ष बन्ने कल्पना संसारमा कुनै पनि लोकतान्त्रिक प्रणालीले गर्दैन । संविधानको यस्तो अपव्याख्याले पछि फर्किने गरी संविधानको संशोधन गर्ने काम गरेको छ । यसले सिर्जना गर्ने राजनीतिक विकृतिहरूको मूल्य भविष्यले चुकाउनुपर्ने हुन्छ ।’

    राष्ट्रका विभिन्न अंगबीचको सन्तुलन फैसलाले खल्बलिएको ओलीले बताए । ४६ सालपछि देखिएका राजनीतिक विकृतिका विभिन्न स्वरुपहरू देखेको भन्दै त्यसको पुनरावृत्ति हुने चिन्ता उनले व्यक्त गरे ।

    ओलीले थपे, ‘राजनीतिक मुद्दामा अदालतको अधिकतम संयमको अपेक्षा गरिन्छ । प्रत्येक राजनीतिक मुद्दामा हात हालेर अत्यधिक न्यायिक सक्रियता देखाउनु हुँदैन । तर, यहाँ अदालतले कहिले मागै नभएका त कहिले सन्दर्भै नभएका विषयहरूसम्ममा हात हालेको देखिन्छ । यसले न त गन्तव्यमा पुग्न सकिन्छ, न त त्यति ठूलो भारी अदालतले थेग्न सक्छ ।’

    ‘रेफ्री स्वयम्ले गोल गर्ने र खास पक्षलाई जिताउने इच्छा भयो भने जोखिम हुन्छ । त्यो मात्रै नभएर अहिले त अदालतबाट आउने सम्भावित फैसला एक हप्ताअघि नै खास व्यक्ति र समूहलाई आइसक्ने अवस्था पनि देखियो ‘, ओलीले भने ।

  • ओलीको आरोप : राष्ट्रिय जनमोर्चाको राजनीति एक सांसदलाई मन्त्री बनाउने प्रयासमा सिमित

    ओलीको आरोप : राष्ट्रिय जनमोर्चाको राजनीति एक सांसदलाई मन्त्री बनाउने प्रयासमा सिमित

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मदन भण्डारी जन्म जयन्तीको कार्यक्रममा बोल्दै आफ्ना विरोधिहरुमाथि चौतर्फी प्रहार गरे । यस क्रममा उनले हाल विपक्षी गठवन्धनमा सामेल भएको सानो पार्टी राष्ट्रिय जनमोर्चालाई पनि बाँकी राखेनन् ।

    राष्ट्रिय जनमोर्चाको राजनीति एक जना सांसदलाई मन्त्री बनाउनेमा खुम्चिएको आरोप प्रधानमन्त्री ओलीले लगाए ।

    उनले भने, ‘अहिले हामीले हेर्यौं भने राष्ट्रिय जनमोर्चाको एकजना प्रतिनिधि छन् । उनलाई कसरी मन्त्री बनाउन सकिन्छ ? यत्ति हो उहाँहरुको राजनीति । हामीसँग हुँदा पनि त्यत्ति हो, अहिले पनि त्यत्ति नै हो ।’

    उनले थपे, ‘त्यसका लागि उहाँहरु यताबाट हुँदैन भने कांग्रेसलाई समर्थन गरेर, कांग्रेस नेतृत्वको सरकार बनाएर भए पनि मन्त्री हुनेमा पुग्नुभयो । उहाँहरुको विचारको राजनीति समाप्त भयो । वर्गीयताको प्रश्न रहेन ।’

  • ओलीबारे देउवाको टिप्पणी : छुद्र भाषा बोल्नेले के देश चलाउँछ ? (भिडियो)

    ओलीबारे देउवाको टिप्पणी : छुद्र भाषा बोल्नेले के देश चलाउँछ ? (भिडियो)

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिमाथि छुद्र भाषा बोल्ने मान्छेले देश चलाउन नसक्ने टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओलीले सोमबार एक कार्यक्रममा देउवालाई लोकतान्त्रिक मुल्य मान्यता छोडेर प्रचण्डपथमा हिँडेको आरोप लगाएका थिए ।

    ओलीलाई जवाफ दिँदै विपक्षी गठवन्धनद्वारा आयोजित अन्तरक्रियामा देउवाले भने, ‘रेस्पेक्ट गर्न सक्ने व्यक्तिले देश बनाउँछ । छुद्र भाषामा बोलेर केही हुँदैन । छुद्र भाषा बोल्ने मान्छेले के देश चलाउँछ ?’

    देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति पदको गरिमालाई नै समाप्त पारेको आरोप लगाए । आफूले बहुमत पुर्याएर प्रस्ताव लैजादा पनि राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त नगरेर ओलीको कार्यकर्ता बनेको उनको आरोप थियो ।

    संविधानको अन्तिम व्याख्या गर्ने संस्था अदालत भएको र न्यायालयको निस्पक्षता तथा स्वतन्त्रतामा विश्वास गर्ने देउवाले उल्लेख गरे । उनले संविधानमा भएको व्यवस्था अनुसार नै अदालतको फैसला आउनेमा आफुहरु विश्वस्त रहेको बताए ।

  • प्रचण्डले भने- कठै ! विचरा केपी ओली, ओरालो लाग्नुभयो (भिडियो)

    प्रचण्डले भने- कठै ! विचरा केपी ओली, ओरालो लाग्नुभयो (भिडियो)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली अब ओरालो लागेको दावी गरेका छन् । यद्यपि अझै पनि ओलीले षडयन्त्रका गोटीहरू चाल्न सक्ने उनको आशंका छ ।

    विपक्षी गठवन्धनद्वारा आयोजित अन्तरक्रियामा बोल्दै प्रचण्डले भने, ‘केपीजी अब सिद्धिनुभयो र नेपालको इतिहासमा सबैभन्दा कलंकित र बदनाम प्रधानमन्त्रीको रुपमा, सबैभन्दा निरंकुशको पनि तुच्छस्तरको निरंकुश, झुठ, बेइमानबाहेक केहि नजान्ने निरंकुशको रुपमा नेपाली इतिहासमा बदनाम भएर जाने हुनुभयो । विचरा केपी ओलीजीलाई सम्झिँदा माया पनि लाग्छ । कठै बिचरा ! १४ वर्ष जेल पनि बसेको हो । तर दृष्टिकोण र प्रवृत्ति कुरा हो । उहाँ ओरालो लागेकै मैले बुझ्छु ।’

    ओलीले संकटकाल लगाउने सम्भवाना अझै रहेको प्रचण्डले ईंगित गरे ।

    उनले भने, ‘अझै पनि उहाँले षडयन्त्रका गोटी चाल्न सक्ने र जुनसुकै हदमा जाने खतरा पनि छ । प्रधानमन्त्री र राष्ट्रपति मिलेर जे गरे पनि हुने भएको छ अहिले । संकटकालका विषयमा उहाँहर”को सहमति बनेको वा नबनेको होला, कुरा भइरहेको होला । त्यसैले खतराको घन्टी अब सकियो, लोकतन्त्र र संविधान सुरक्षित भया भनेर ढुक्क हुने अवस्था बनको छैन । यद्यपि संकेत सकारात्मक छन् ।’

    प्रचण्डले राष्ट्रपति संस्था नै बदनाम भएको भन्दै चिन्ता व्यक्त गरे । उनले भने, ‘राष्ट्रपति भनेको गणतन्त्रको प्रमुख संस्था हो । राष्ट्रपति संस्था यति बदनाम होला भन्ने कल्पना गरेको थिएनौं । तर त्यस्तो भयो ।’

    प्रधानमन्त्री ओलीका लागि अहिले संविधान विरोधीहरू सबैभन्दा प्यारा बनेको प्रचण्डले बताए । ‘संविधानको विरोधमा आगो बालेका, अहिलेसम्म संविधानलाई समर्थन नगरेकाहरूसँग उहाँले घुँडा टेक्नुभएको छ,’ उनले भने, ‘उहाँको राष्ट्रवाद उदांगो भयो । अब उहाँ राष्ट्रघातीमा दर्ज हुनुभएको छ ।’

  • ओलीको प्रश्न- सर्वोच्चमा राष्ट्रपति र प्रधानमन्त्री काट्ने कुरा हुँदा न्यायमूर्ति किन मौन बसे ?

    ओलीको प्रश्न- सर्वोच्चमा राष्ट्रपति र प्रधानमन्त्री काट्ने कुरा हुँदा न्यायमूर्ति किन मौन बसे ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा हिंसालाई प्रोत्साहन गर्ने कुरा हुँदा न्यायधिसहरु मौन बसेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । केही दिनअघि विपक्षी गठवन्धनका तर्फबाट अधिवक्ता रमण श्रेष्ठले गरेको बहसलाई ईंगित गर्दै उनले यस्तो असन्तुष्टि जनाएका हुन् ।

    बालुवाटारमा आयाजित कार्यक्रममा ओलीले नेपाली कांग्रेस प्रचण्डपथमा गएको र सर्वोच्चमा पनि प्रचण्डपथ पसेको बताए । केही दिनअघि कांग्रेसका प्रदेश सांसदले नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएको प्रसंग उनले निकालेका थिए ।

    ओलीले भने, ‘प्रचण्डपथ यति व्याप्त भइसक्यो कि कांग्रेसले यसलाई आफ्नो मार्गदर्शक सिद्धान्त नै बनाइसकेको छ । प्रधानमन्त्रीलाई मार्न नाथुराम गोड्से बन्न तयार छु भनेको प्रचण्डपथ नै हो ।’

    ओलीले थपे, ‘अहिले सुप्रिम कोर्टमा पनि प्रचण्डपथको चर्चा हुन्छ । फ्रान्स र बेलायतमा किन काटिँदा रहेछन् त भन्दा अहिलेको राष्ट्रपति र प्रधानमन्त्रीले जस्तो गर्दा रहेछन् र पो काटिँदो रहेछन् त भनेर प्रचण्डका एक कार्यकर्ताले बहस गरे । भनेको मतलब अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि काट्नुपर्छ ।’

    ‘आश्चर्य लाग्छ, सर्वोच्चले हिंसालाई दुरुत्साहन गर्ने वक्तव्य दिँदा रोक्ने काम गरेको पाइएन । अदालतमा यस्तो कुरा गर्नुहुन्न विद्वान अधिवक्ताज्यू । आफ्नो वक्तव्य सम्हालेर राख्नुस् भनेर न्यायमूर्तिले त्यो सुझाव पनि राख्न सक्नुहुन र ?’ ओलीले प्रश्न गरे ।

  • प्रधानमन्त्रीको गुनासो- हाम्रो सांस्कृतिक अधपतन भयो, सामाजिक सञ्जाल हेरिसक्नु हुँदैन

    प्रधानमन्त्रीको गुनासो- हाम्रो सांस्कृतिक अधपतन भयो, सामाजिक सञ्जाल हेरिसक्नु हुँदैन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोभिडको महामारीभन्दा सांस्कृतिक अधपनको महामारी डरलाग्दो गरी फैलिएको बताएका छन् । अरुको नक्कल गर्ने नाममा अनुशासनहिनता मौलाएको पनि उनले गुनासो गरे ।

    अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले भने, ‘कोभिडलाई त हामी १-२ वर्षमा समाप्त गर्छौं । तर, यो सांस्कृति अधपतनको महामारी छ, त्यो भ्याक्सिन र मास्कले समाप्त हुँदैन । यसमा सावधानी नअपनाए पिँढी दरपिँढी हाम्रो समाजलाई यसले विकृत तुल्याउँछ ।’

    अहिले सामाजिक सञ्जाल हेरिनसक्नु भएको ओलीले बताए ।

    उनले भने, ‘हाम्रो सभ्यताको माखोल उडेको छ । हामी दुनियाँकै सबैभन्दा असभ्य, असंस्कृत र भद्दा अभिव्यक्ति दिनभित्र पर्छौंं । सामाजिक सञ्जाल हेरिसक्नु हुन्छ र ? सञ्जालमा एउटा लेख दिनुभयो भने त्यसमा एकाध टिप्पणी हुन्छन् बाँकी अश्लिल र छाडा गालीगलौज अनि कुष्ठा छरपष्ट हुन्छ ।’

  • कर्णाली प्रकरण : केपी ओलीको भ्याकेट निवेदन, एमाले केन्द्रीय कमिटी नै महाधिवेशन आयोजक कमिटी

    कर्णाली प्रकरण : केपी ओलीको भ्याकेट निवेदन, एमाले केन्द्रीय कमिटी नै महाधिवेशन आयोजक कमिटी

    काठमाडौं । नेकपा एमालेले कारवाही गरेका कर्णाली प्रदेशका ४ जना सांसदलाई पुनर्बहाली गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध पुनरावेदन निवेदन (भ्याकेट) दर्ता भएको छ ।

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासबाट भएको अन्तरिम आदेश बदर गर्न माग गर्दै सर्वाेच्चमा निवेदन दिएका हुन् । निवेदनमा नेकपा एमालेको केन्द्रीय कमिटी नै महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण भएकोले केन्द्रीय कमिटीको अधिकार प्रयोग गर्न बाधा नपर्ने जिकिर गरिएको बार एशोसिएसनको उपाध्यक्ष समेत रहेका अधिवक्ता ईश्वरीप्रसाद भट्टराईले जानकारी दिए ।

    सिंहको इजलासले गत जेठ ३० गते एमाले महाधिवेशन आयोजक कमिटीको निर्णयका आधारमा गरिएको कारवाही बदर गर्दै कर्णालीका चार सांसदहरुको पुनर्बहाली गरेको थियो । चारमध्ये ३ सांसद माओवादी नेतृत्वको कर्णाली सरकारमा मन्त्री रहेका छन् ।

    मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने क्रममा माधव नेपाल पक्षका एमाले सांसदहरू प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढाले फ्लोर क्रस गरेर विश्वासको मत दिएका थिए ।

  • प्रधानमन्त्रीमा ओली र देउवाको दाबी प्रस्तुत, राष्ट्रपतिले दुवैका आधार अध्ययन गर्ने

    प्रधानमन्त्रीमा ओली र देउवाको दाबी प्रस्तुत, राष्ट्रपतिले दुवैका आधार अध्ययन गर्ने

    काठमाडौं । संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार गठनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाबी पेश गरेका छन् ।

    राष्ट्रपतिले प्रतिनिधिसभाका दुई वा दुईभन्दा बढी दलको बहुमतसहित दावी पेश गर्न दिएको समयभित्र ओली र देउवाले आ-आफ्नो बहुमत रहेको भन्दै दाबी पेश गरेका हुन् ।

    साँझ ५ बजेभित्र दाबी पेश गर्न भनिएकोमा ओली साढे ४ बजे नै बहुमत दाबी गरेर शीतल निवासबाट बाहिरिएका थिए भने देउवा पौने पाँच बजे दाबी पेश गरेर बाहिरिएका हुन् ।

    ओलीले नेकपा एमाले र जसपाका १५३ जना सांसदको समर्थन रहेको दाबी गरेका छन् । उनलाई जसपा अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले पार्टीको समर्थन रहेको लिखित पत्र दिएका छन् ।

    त्यस्तै देउवाले कांग्रेस,माओवादी,जसपाका अध्यक्ष उपेन्द्र यादव र एमालेका माधव नेपाल पक्षको समर्थनमा १४९ जना सांसदको हस्ताक्षर बुझाएका छन् ।

    दुवै पक्षले बहुमत दावी गरेकाले अब राष्ट्रपतिले दुवैले प्रस्तुत गरेको आधार अध्ययन गर्ने राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले नेपाल प्रेसलाई जानकारी दिए । ढकालका अनुसार अध्ययनका लागि केही समय लाग्नेछ ।

  • बादललाई जिताउन एमाले अध्यक्ष ओलीको अपील

    बादललाई जिताउन एमाले अध्यक्ष ओलीको अपील

    काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले वागमती प्रदेशका लागि हुन गइरहेको राष्ट्रियसभा उपनिर्वाचनका लागि उम्मेदवार रहेका रामबहादुर थापा ‘बादल’ लाई जिताउन अपील गरेका छन् ।

    ‘जेठ ६ गते वागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त पदमा कमरेड रामबहादुर थापा हाम्रो पार्टीका उम्मेदवार हुनुहुन्छ ,’ ओलीले आज जारी गरेको अपीलमा भनेका छन्, ‘उहाँ नेपालको कम्युनिष्ट आन्दोलनको एकजना वरिष्ठ नेता हुनुहुन्छ। उहाँको विजयले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पुयाउने छ । तसर्थ, यस निर्वाचनमा एकतावद्ध भएर आफ्नो पार्टीका उम्मेदवारलाई विजयी बनाउनु हुन आग्रह गर्दछु ।’

    पार्टीप्रति बफादार हुने सपथ लिएको भन्दै त्यसलाई पालना नगर्ने विन्दुमा पुग्ने कुरा अकल्पनीय भएको ओलीको भनाइ छ । ‘हामी सबैले पार्टी सदस्यता लिँदा, विभिन्न तहका जिम्मेवारी बहन गर्दा प्रत्येक पटक पार्टीप्रति वफादार हुने र पार्टी हितविपरीत काम नगर्ने सपथ लिई आएका छौं,’ ओलीले भनेका छन्, आफ्नै सपथ कुन स्वार्थ, के कारण वा कस्तो बाध्यताले हामी पालन नगर्ने बिन्दुमा पुग्छौं ? पार्टी जीवनमा यो अकल्पनीय हो, यसो हुनै सक्दैन ।’

    पार्टीभित्र देखा परेका समस्याको समाधान गर्न कार्यदल बनेको उल्लेख गर्दै ओलीले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनु कल्पना बारिहको विषय भएको बताएका छन् ।

    उनले भनेका छन्, ‘पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनु, लाखौं जनताको हृदयमा रहेको निर्वाचन चिन्हलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने जस्ता विषय हाम्रो जस्तो पार्टीमा त कल्पनाबाहिरको कुरा हो ।

  • ओली र नेपालबीच सिंहदरबारमा वार्ता हुँदै, अरु नेतालाई पनि बोलाइयो

    ओली र नेपालबीच सिंहदरबारमा वार्ता हुँदै, अरु नेतालाई पनि बोलाइयो

    काठमाडौं । नेकपा एमालेको विवाद मिलाउन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच आज पनि पनि वार्ता हुने भएको छ ।

    दुई नेताबीच सिंहदरबारमा वार्ता हुने जानकारी आफूले पाएको स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले नेपाल प्रेसलाई जानकारी दिए ।

    आफूहरुलाई पनि वार्ताका लागि सिंहदरबार बोलाएको उनले बताए । दुई नेताबीच विहीवार भएको वार्ताको सहमति अनुसार कार्यदलमा रहने नेताहरुलाई वार्तामा बोलाइएको बताइएको छ ।

  • केपी ओली नै प्रधानमन्त्री बन्ने निश्चित, जसपा अध्यक्ष महन्थ बालुवाटारमा

    केपी ओली नै प्रधानमन्त्री बन्ने निश्चित, जसपा अध्यक्ष महन्थ बालुवाटारमा

    काठमाडौं । कांग्रेस-माओवादी गठबन्धनले वैकल्पिक सरकार गठनको दावी नगर्ने भएपछि अब एमाले अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री नियुक्त हुने निश्चित भएको छ ।

    ओली हटाउने सन्दर्भमा जसपाको महन्थ ठाकुर पक्ष असहमत हुनु र एमालेको माधव नेपाल पक्षले राजीनामा नदिनुले बहुमत नपुगेसँगै कांग्रेस माओवादी गठबन्धन शीतल निवास जाने कुराबाट ब्याक भएको हो ।

    राष्ट्रपतिले दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत दावी गरेर आउन दिएको समय आज राति नौ बजेबाट सकिदैछ । त्यसअघि नै कांग्रेस बैठकले वैकल्पिक सरकारको दावी नगर्ने निर्णय गरिसकेको छ ।

    यसैबीच जसपा अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री निवास बालुवाटारमा छन् । ओली र माधव नेपालबीच वार्ता चलिरहेको बेलै बालुवाटार छिरेका ठाकुर र महतोले प्रधानमन्त्रीसँग नयाँ सरकार गठनका सन्दर्भमा छलफल गर्दैछन् ।

    कांग्रेसले प्रधानमन्त्री ओली एमालेको १२१ सिट र जसपाको महन्थ ठाकुर पक्षको समर्थन लिएर बहुमतको प्रधानमन्त्री दावी गर्न जाने आशंका गरेको छ । तर बालुवाटार स्रोतले भने ९ बजेको डेडलाइन सकिएपछि अर्को प्रक्रिया शुरु हुने भन्दै ठूलो दलको हैसियतमा वा जसपासहितको बहुमत दावी गर्ने हैसियतमा दुवै अवस्थामा ओलीका लागि सहज रहेको जनाएको छ ।

  • ढलेको त्यो धरहरा बनाउने कुरा, केपी ओलीले गरे बचन पूरा (फोटो/भिडियो)

    ढलेको त्यो धरहरा बनाउने कुरा, केपी ओलीले गरे बचन पूरा (फोटो/भिडियो)

    काठमाडौं । २०७४ सालको तीनै तहको निर्वाचनमा एमालेको घोषणापत्र जस्तै ब्राण्ड गीत बनेको थियो- बद्री पंगेनी र प्रिया भण्डारीले गाएको सैं पनि एमाले, मै पनि एमाले ।

    गीतको एउटा बोल थियो- भत्किएको धरहरा बनाउने कुरा, एमालेको सरकार आए हुन्छ त्यो नि पूरा । एमालेको घोषणापत्रमा समेत समेटिएको र एमाले पंक्तिको मुखमा झुण्डिएको त्यो गीतको एउटा बोल अब पूरा भएको छ । संयोग कस्तो भने नेकपा खारेज भएर एमालेकै सरकार बनेका बेला धरहरा निर्माण पूरा भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको ‘म बनाउँछु मेरो धरहरा’ अभियान शनिवारबाट पूरा भएको छ । २२ तले धरहराको उद्घाटन गर्दै ओलीले आफूले जनता समक्ष गरेका बाचा पूरा गर्दै आएको बताए ।

    भत्किएको धरहरा बनाउने अभियानको शुरु गरेका ओली २०७३ सालमा सत्ताच्यूत भएपछि धरहरा निर्माण पनि अलपत्र परेको थियो । सरकारमा ओली र पुनःनिर्माण प्राधिकरणमा सुशील ज्ञवालीको पुनरागमनसँगै रफ्तार लिएको धरहरा पुनःनिर्माण लगभग सम्पन्न भएको छ ।

    शनिवार एक समारोहकाबीच पुनर्निर्मित धरहराको प्रवेशद्धारमा राखिएको शिलालेखको प्रधानमन्त्रीले अनावरण गरि धरहराको ऐतिहासिक धरहराको समुद्घाटन गरेका हुन् । त्यसपछि प्रधानमन्त्रीले लिफ्टबाट धरहराको २० औ तलामा पुगेर पुष्पपृष्टी गरेका थिए ।

    २०७२ बैशाख १२ गतेको महाभुकम्पबाट क्षतिग्रस्त भएको धरहरा पुर्ननिर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ फागुन ४ गते ‘मेरो धरहरा मै बनाउँछु’ अभियानको घोषणा गरेका थिए ।

    २०७५ साल पुस ५ गते प्रधानमन्त्री ओलीबाट नै सिलन्यास गरिएको पुनर्निर्मित धरहराको शनिवार प्रधानमन्त्री ओलीबाट नै समुद्घाटन भएको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको नेतृत्वमा पुनर्निर्मित धरहराका लागि ३ अर्ब ४८ करोड रुपैयाँमा ठेक्का दिईएको थियो ।
    धरहराको २२ औै तलामा पुरानो धरहराबाट निकालिएको पुरानो शिवलिंङ्ग राखिएको छ ।

    बाहिरबाट देखिदाँ ११ तले रहेपनि भित्र २२ तला रहेको छ । त्यसमा २ वटा लिफ्ट राखिएको छ । जमिन मुनि २ तला बनाईएको छ । ४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहराको वरपर विश्राम स्थल सहितको बगैचाको हुनेछ भने संक्षित ऐतिहासिक सुनधारामा २४ सै घण्टा पानी आउने व्यवस्था मिलाईएको छ ।

    त्यसैगरी ४ सय गाडी र ७ सय मोटरसाईकल पार्किङको पनि व्यवस्था छ । धरहराको पुर्ननिर्माणमा मैलिकताको संवद्र्धन गर्दै आधुनिकताको प्रचुर प्रयोग गरिएको छ ।

    हेरौं धरहरा उद्घाटनपछिका केही तस्बिर :

       

     

           
     
     
    
    तस्विर सौजन्य: राजन काफ्ले (प्रधानमन्त्रीकाे सचिवालय)
  • केपी ओली र शेरबहादुर तामाङ- ३० वर्षपछि दोहोरिएको रोचक संयोग !

    केपी ओली र शेरबहादुर तामाङ- ३० वर्षपछि दोहोरिएको रोचक संयोग !

    काठमाडौं । शुक्रबार दशौं महाधिवेशन आयोजक कमिटी बैठकमा आफूलाई एमाले केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी दिइएको घोषणा गरेपछि शेरबहादुर तामाङ ३० वर्षअघिको ‘नोस्टाल्जीया’मा फर्किए ।

    केपी ओलीसँगको उनको एकैखाले संयोग फर्कियो ३१ वर्षपछि । २०४७ सालमा एमालेको युवा संगठन तत्कालिन प्रजातान्त्रिक राष्ट्रिय युवा संघका संस्थापक अध्यक्ष थिए केपी शर्मा ओली । त्यही युवा संघको कार्यालय सचिव थिए शेरबहादुर तामाङ ।

    २०४६ सालको जनआन्दोलन सफल भएपछि एमालेले प्रजातान्त्रिक राष्ट्रिय युवा संघ गठन गरेको थियो । ओली संस्थापक अध्यक्ष र केशव स्थापित महासचिव रहेको युवा संघको कार्यालय थियो भिमसेनथानमा । अनि त्यो कार्यालय सचिव थिए तत्कालीन केन्द्रीय सदस्य तामाङ ।

    ओली युवा संघको अध्यक्षबाट बिदा भएर एमालेको अध्यक्षसम्म बनिसकेका छन् भने तामाङ युवा संघको उपाध्यक्षबाट बाहिरिएका थिए ।

    ३० वर्षपछि ठिक त्यस्तै संयोग जुरेको छ । ओली एमालेको अध्यक्ष भएको बेला कार्यालय सचिवको जिम्मेवारी उनै शेरबहादुर तामाङले पाएका छन् । सामान्यतः कार्यालय सचिव नेतृत्वले विश्वास गरेको र नेतृत्वको राजनीतिक तथा कार्यालय व्यवस्थापनदेखि देशभरको पार्टी पंक्तिसँग सम्पर्कमा रहने पद हो ।

    २०४७ यता प्रायः पार्टीभित्रको समिकरणमा ओलीभन्दा फरक बिचार समूहमा रहँदै आएका तामाङ ओलीले प्रतिनिधिसभा विघटन गरेपछि भने उनको पक्षमा उभिएका थिए । माधव नेपालको माओवादीकरणले एमाले बिचारधारा कमजोर हुने भन्दै उनले ओलीलाई साथ दिएका थिए ।

    तीस वर्षपछि ओलीकै नेतृत्वमा कार्यालय सचिव बन्ने मौका पाएका तामाङ त्यसबेला पनि युवासंघको नेतृत्व कुशलतापूर्वक हाँक्न कार्यालय सचिवका रुपमा आफूले ओलीलाई साथ दिएको बताए । आफ्नो योग्यता बुझेरै ओलीले ३० वर्षपछि पार्टी अध्यक्ष हुँदा पनि आफूलाई काबिल सम्झिएको हुनसक्ने आँकलन तामाङको छ ।

    उनले नेपाल प्रेससँग भने- यो मेरो लागि ३० वर्षपछि जुरेको संयोग पनि हो । अध्यक्ष कमरेडले दिएको जिम्मेवारी मेरो लागि अवसर र चुनौति दुवै हो । अहिले पार्टी जटिल मोडमा छ । नयाँ कार्यालय निर्माण गर्ने, नयाँ ठाउँमा कार्यालय व्यवस्थापन गर्ने, देशभरका पार्टी कार्यालय र सम्पतिको संरक्षण गर्ने जस्ता ठूला-ठूला दायित्व छन् । म मेरो जिम्मेवारीप्रति सजग छु ।

    तामाङलाई जीवनमा पहिलोपटक मन्त्री पनि ओलीले नै आफ्नो क्याबिनेटमा बनाएका थिए । अहिले उनी एमालेको वागमती प्रदेश कमिटी सहइन्चार्ज र सिन्धुपाल्चोक जिल्ला इन्चार्जको भूमिकामा पनि छन् ।

  • मेरियट होटलमा ओली-माधव नेपाल वार्ता, विष्णु पौडेल पनि सहभागी

    मेरियट होटलमा ओली-माधव नेपाल वार्ता, विष्णु पौडेल पनि सहभागी

    काठमाडौं । नेकपा एमाले विभाजनको उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता शुरू भएको छ ।

    नागपोखरीस्थित होटल मारियटमा अर्थमन्त्री विष्णु पौडेलसहितको वार्ता शुरू भएको हो ।

    आजमात्र योगेश भट्टराईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई भेटेर माधव नेपालसँग निर्णायक संवाद गर्न सुझाव दिएका थिए । उनले नेताहरुबीच सकारात्मक संवाद हुने अपेक्षा नेपाल प्रेससँग व्यक्त गरेका थिए ।

  • माधव नेपाललाई ओलीको चेतावनी- निष्कासन गर्न हामीलाई पनि आउँछ, पार्टीमाथि धावा बोल्नेलाई ठीक लाइन्छ

    माधव नेपाललाई ओलीको चेतावनी- निष्कासन गर्न हामीलाई पनि आउँछ, पार्टीमाथि धावा बोल्नेलाई ठीक लाइन्छ

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षले समानान्तर गतिविधि जारी राख्ने र पार्टीमाथि धावा बोल्ने क्रम नरोकेमा ठीक लगाउने चेतावनी दिएका छन् ।

    उत्पीडित जातीय मुक्ति समाजको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अझै पनि माधव नेपाललाई पार्टीको सदस्यबाट निश्कासन नगरी निलम्वन मात्र गरिएको बताए ।

    ओलीले विगतका अपराधप्रति पश्चाताप गर्दै जनतासमक्ष उभिएर माफी मागेमा माधव नेपाललाई एमालेमा काम गर्न दिइने बताए । प्रचण्डसँग मिलेर आफूहरुलाई निष्कासन गरेको शैली माधव नेपालले अहिले पनि कायमै राखेको भन्दै ओलीले पार्टीमाथि धावा बोले ठीक लगाउने चेतावनी दिए ।

    ओलीले भने, ‘समूहगत छलफल हुँदैन । व्यक्तिगतरूपमा माधव नेपाल आएर पार्टीमा काम गर्नुहुन्छ भने मसँग होइन, जनतातिर फर्केर क्षमायाचना गर्नुस् । तर, पार्टीमाथि धावा बोल्नुभयो भने ठीक लगाइनेछ । बघिनी तबसम्म चुप हुन्छ जबसम्म डमरुमाथि खतरा हुँदैन । निष्कासन गर्न हामीलाई पनि आउँछ तपाईंहरूलाई मात्र होइन ।’

    आफैं सांसद बन्दैनन्, कसलाई टिकट दिने ?

    माधव नेपालप्रति कटाक्ष गर्दै ओलीले अहिले पनि एमालेका नेताहरुलाई धमाधम निष्कासन गर्दै हिँडेको टिप्पणी गरे । तत्कालीन नेकपामा निष्कासन गरेजस्तै एमालेको नाममा एमालेकै नेताहरूलाई हटाएको घोषणा गर्दै हिँडेको आफूले नियालिरहेको ओलीले बताए ।

    ओलीले भने, ‘एमाले बलियो बनाउने भन्दै जिल्ला-जिल्लामा अर्को पार्टी बनाउँदै हिँडेका छन् । मलाई निकाले, ईश्वर पोखरेललाई निकाले, अहिले फेरि चारजना साथीहरूलाई हटायौं भन्दैछन् रे । ठीक छ धित मार, निकाल्ने रहर पुर्‍याऊ । हामीले टाँसिदिएको जुँगा अलि दिनपछि हामी निकाल्दिन्छौं । एमाले बाहेक सबैसँग मिल्ने भनेर हिँडेका छन्, यो मौका आउँदैन जे गर्ने हो गरे हुन्छ ।

    माधव नेपालले आफूलाई समर्थन गर्नेहरुलाई आउने चुनावमा टिकट पक्का भन्दै हिँडेकोमा ओलीले बसपार्कको टिकट बाँड्ने हैसियत पनि नेपालसँग नरहेको बताए ।

    उनले भने, ‘एउटा हल्ला छ,केपी ओलीले टिकट नदिए चिन्ता नगर्नुस म दिन्छु । टिकट त बसपार्कमा फालाफाल छ त । त्यो पनि उहाँले सक्नुहुन्न । तर उहाँले अब एकजना पनि सांसद बनाउन सक्नुहुन्न, आफैं त बन्नु हुन्न अरुको के जिम्मा लिने ?’

    प्रचण्ड-माधवको कारवाही किर्नाले भैंसी खाएजस्तै

    ओलीले आफूमाथि प्रचण्डसँग मिलेर माधव नेपालले गरेको कारवाहीलाई किर्नाले भैंसी खाएकोजस्तै हो भन्दै किर्नो ढाडिएपछि भैंसीको जिउबाट आफैं खसेको बताए । आपूलाई पार्टीको साधारण सदस्यबाट समेत निकाल्ने माधव नेपाललाई अहिले पनि सदस्य कायमै राखेर पार्टीमा फर्किने अवसर दिएको बताए ।

    ओलीले भने-‘यिनीहरूले साधारणसदस्यबाट मलाई निकालेका होइनन् ? सफल हुने भए त्यतिबेलै हुन्थे । मैले त्यतिबेलै भनेको थिएँ, उस्तै परे चेसमा प्यादाले मन्त्री खान्छ, भुसुनाले हात्ती खान्छ । किर्नेले भैंसी खान्छ । यिनीहरुले हामीलाई गरेको कारवाही त्यस्तै हो । किर्नाले भैंसी खाए जस्तै । सन्तोष गर्न पाइन्छ किर्नाले भैंसी खाएकै हो । भैंसी खायो खायो, पेट पटुक्क भयो फुत्रुक्क खस्यो ।’

  • कृष्ण खनाललाई ओलीको कटाक्षः डबलीमा ‘सो कल्ड’ बुद्धिजीवीलाई हेर्नुभयो होला, आहाहा…

    कृष्ण खनाललाई ओलीको कटाक्षः डबलीमा ‘सो कल्ड’ बुद्धिजीवीलाई हेर्नुभयो होला, आहाहा…

    काठमाडौं । गत शनिबार प्रज्ञा भवनमा नागरिक आन्दोलनका नाममा आयोजना गरिएको थियो, एउटा अन्तरक्रिया । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका वरिष्ठ नेता (हाल निलिम्बित) माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरलाई सँगै राखेर गरिएको अन्तरक्रियाका मोडरेटर थिए बुद्धिजिवी प्रा.डा. कृष्ण खनाल ।

    अन्तरक्रियामा सहजकर्ताको भूमिकामा रहेका खनालको प्रस्तुति सामाजिक सञ्जालमा चर्चाको विषय बन्यो । उनले केपी ओलीलाई कुर्सीबाट हटाउन नसकेको भनेर नेताहरुमाथि आक्रोश पोखेका थिए । नागरिक अगूवाको मुखुण्डो भिरेर ओलीविरोधि अभियान चलाएको भनेर एमाले समर्थकले उनको आलोचना गरे । यो विषयमा ओली स्वयम्को टिप्पणी प्रतिक्षित एवं अपेक्षित थियो । नभन्दै आज उनले बोले ।

    रिपोर्टर्स क्लवको वार्षिकोत्सव कार्यक्रममा भाषण गर्ने क्रममा ओलीले बारम्बार ‘डबली’ को प्रसंग निकालेका थिए । त्यहाँ प्रचण्डले गरेको भाषणमाथि उनले कडा टिप्पणी गरे । ओलीको तीर कृष्ण खनालतर्फ पनि सोझियो । तथापि उनले खनालको नाम भने लिएनन् ।

    ‘डबलीमा देख्नुभयो अस्ति । बुद्धिजिवीहरुको कामै ओहोहोहो…. त्यहाँ मोडरेटरको काम देख्नुभयो होला तपाईंहरुले । बुद्धिजीवी मोडरेटर आहाहाहा… । क्या स्ट्यान्डर्ड थियो…’ ओलीले भने ।

    ‘सो कल्ड मोडरेटर… डेमोक्रेसीका लागि कति योगदान गर्या छ, कसका स्वार्थ बोकेर कुद्या छ, अनि माखोल उडाका छन् डेमोक्रेसीको । किन तपाईंहरु केपी ओलीलाई हटाउनुहुन्न ? अहिलेको मुख्य काम नै केपी ओली हटाउनु हो । किनभने यता देश विकास गर्न थालिसक्यो केपी ओलीले । यस्तो गर्न दिइरहनुहुन्छ, महन्थ जी ? मोडरेटर है । तराइका समस्या समाधान गर्न आँटिसक्यो । त्यो गर्न दिनुहुन्छ महन्थजी ? दिनुहुन्न नि । विप्लवका समस्या समाधान गरिसक्यो, सिके राउतका समस्या समाधान गरिसक्यो, मेलम्चीको पानी खसाइसक्यो, तुइन हटाइसक्यो, झोलुंगे पुल बनाइसक्यो… हद भो नि यार । छिटो हटाउनुपरो नि । सो कल्ड मोडरेटर ।’

    बुद्धिजिवीहरुले देश संकटमा परेको भनेर हौवा फैलाएको प्रधानमन्त्रीले बताए ।

    उनले भने, ‘खोइ कहाँ के संकट छ ? केपी ओलीलाई संकट पर्यो होला, प्रचण्डलाई, माधव नेपाललाई संकट पर्यो होला, तर देशलाई के संकट छ ? लोकतन्त्रलाई के संकट छ ? यदि चुनाव गर्न लाग्दा देश संकटमा परेको हो भने २ वर्षपछि फेरि संकट पर्ने भो नि । अनि के चुनावै नगर्ने ?’

  • रंगशालामा केपी ओलीको ‘ह्यान्ड सेक’ र राष्ट्रिय टिमको ‘केपी बा क्रेज’ (भिडियो)

    रंगशालामा केपी ओलीको ‘ह्यान्ड सेक’ र राष्ट्रिय टिमको ‘केपी बा क्रेज’ (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आजकाल जतासुकै छाइरहेका छन् । हरेक दिन विभिन्न कार्यक्रममा रसिला भाषण गरेर ‘टिकटक कन्टेन्ट’ दिने ओली हिजो फुटबल मैदानमा देखापरे । त्यहाँ उनले त भाषण गरेनन्, तर पनि टिकटक कन्टेन्टको कमि भएन ।

    दशरथ रंगशालामा हिजो थ्रि नेसन्स कप अन्तरगत नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्न पुगेका थिए ओली । त्यहाँ देखिएका दुईवटा दृष्य चर्चा योग्य छन् । पहिलो, ओलीले खेलाडीहरुसँग गरेको ह्यान्डसेक र दोस्रो, नेपाली राष्ट्रिय टिमले ओलीको पक्षमा गरेको नारावाजी । राष्ट्रिय खेलाडीहरुले ‘केपी बा वि लभ यू’ भन्दै नारावाजी गरेको भिडियो क्लीप त अहिले भाइरल नै छ ।

    लामो समयपछि रंगशालामा फुटबल हेर्न दर्शक भरिभराउ थिए । प्रधानमन्त्री ओली पनि पुगेपछि खेलाडीहरुमा अतिरिक्त उत्साह थपिएकै थियो । नेपालले खेल जित्यो पनि । ३७ वर्षपछि घरेलु मैदानमा नेपालले उपाधि उचाल्दा दर्शकले रंगशाला जुरुक्कै उचाले ।

    प्रधानमन्त्री ओली हिजोको फाइनलमा आफ्नो उपस्थिति जनाउन मात्रै गएका थिएनन् । खेल नै हेर्न गएका थिए । प्रायः कार्यक्रममा ढिला पुग्ने आदत भएका ओली म्याच सुरु नहुँदै दलबलसहित रंगशाला पुगेका थिए । उनीसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पूर्व सभामुख सुभाष नेम्वाङ पनि खेल हेर्न पुगेका थिए । दर्शकले चर्को हुटिङका साथ उनीहरुलाई स्वागत गरे ।

    ओली जोशिलो चालमा मैदान प्रवेश गरे । दर्शकलाई हात हल्लाएर अभिवादन गरे । अनि लाइनमा रहेका खेलाडीहरुसँग परिचय गर्न थाले । त्यसक्रममा उनले दुवै टीमका प्रत्येक खेलाडीसँग भटाभट ‘ह्यान्ड सेक’ गरे ।

    धेरै समयपछि यसरी सार्वजनिक कार्यक्रममा लामो ह्यान्डसेक देखियो । कोरोनापछि नेपालमा मात्रै होइन, विश्वभर नै ह्यान्डसेकलाई निरुत्साहित गरिएको छ । खेलाडीसँग ओलीले नमस्ते आदानप्रदान मात्रै पनि गर्न सक्थे । तर, कोरोनालाई बिर्सेर उनले जानीबुझी हात बढाए । यद्यपि, मुखमा मास्क भने लगाएका थिए ।

    भीआइपी प्याराफिटमा बसेर ओलीले पुरा खेल हेरे । नेपालले गोल गर्दा उनले उठेर ताली बजाएका थिए । खेलपछि पनि उनी उत्साहीत मुद्रामा मैदानमा ओर्लिए । नेपाली राष्ट्रिय टिमसँग उपाधिसहित फोटोसेसन गरे । त्यही क्रममा अचानक नारा लाग्न थाल्यो- केपी बा वि लभ यू ।

    भट्याउने को थियो भन्ने स्पष्ट भएन, तर राष्ट्रिय टिमका खेलाडीहरुले जोशिएरै यो नारावाजीमा साथ दिएका थिए । ओलीले भने कुनै प्रतिक्रिया जनाएनन् । करिब एक मिनेटसम्म ‘केपी बा वि लभ यू’ को नारा लागेको थियो, जुन भिडियो फेसबुकदेखि टिकटकसम्म भाइरल भइरहेको छ ।

    नेकपा एमालेका कार्यकर्ताले सुरु गरेको ‘केपी ओली आइ लभ यू’ को नारालाई लिएर विभिन्न टिकाटिप्पणी हुँदै आएका छन् । तर, यो नारा अहिले युवायुवतीमा लोकप्रिय बन्दै गएको छ । टिकटकमा केही समयअघि ‘केपी ओली आई लभ यू’ ट्रेन्डिङ नै भएको थियो । यसरी टिकटक बनाउनेमा राजनीतिमा चासो नराख्नेहरु धेरै छन् ।

    त्यसो त ओलीलाई कार्यकर्ताले ‘बा’ भन्ने गरेको पनि पार्टीभित्रकै कतिपय नेतालाई चित्त बुझेको छैन । केहीअघि नेकपा एमालेका वरिष्ठ नेता (हाल निलम्बित) माधव कुमार नेपालले एउटा अन्तरवार्तामै ओलीलाई ‘बा’ भनिएकोमा आपत्ति जनाएका थिए । ‘उहाँलाई कामरेड भनेको मन पर्दैन, बा भनेको मन पर्छ,’ नेपालले भनेका थिए, ‘के कम्युनिष्ट पार्टीमा बा हुन्छ ?’

    तर, कसैले रुचाए पनि नरुचाए पनि ओलीलाई ‘बा’ भन्नेहरुको जमात निकै ठूलो भइसकेको दखिन्छ । हिजो रंगशालामा देखिएको दृष्यले पनि यही पुष्टि गर्छ । ओलीले नेपाल प्रेसलाई दिएको अन्तरवार्तामा आफूलाई ‘बा’ भन्न कसले अह्राइरहेको छ, अनुसन्धान गर्न चुनौति दिएका थिए ।

  • मेलम्चीको मैझारो : ती केपीको भाषण यी केपीको पालामा साकार

    मेलम्चीको मैझारो : ती केपीको भाषण यी केपीको पालामा साकार

    काठमाडौं । २०५१ सालमा चुनावी भाषण गर्दै पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले भनेका थिए- म काठमाडौंका सडक मेलम्चीको पानीले पखालिदिन्छु । उनले यस्तो भाषण गरेको २७ वर्षपछि बल्ल काठमाडौंमा मेलम्चीको पानी भित्रिएको छ । भट्टराई आजभन्दा ११ वर्षअगाडि नै बितिसकेका छन् ।

    नेपालका विकास आयोजनामा हुने ढिलासुस्तीको एउटा बिम्बको रुपमा मेलम्चीलाई लिने गरिएको छ । २०५८/५९ मा निर्माण सुरु भएर २०६४/६५ भित्र पुरा गर्ने प्रारम्भिक लक्ष्यभन्दा १२ वर्ष ढिला गरी आयोजना सम्पन्न भएको हो । झण्डै ३ दशकअघि केपी भट्टराइले गरेको भाषण आज केपी ओलीको पालामा साकार भएको छ ।

    बारम्बार धारामा पानी आउने मिति तोक्ने र विभिन्न बहानामा सार्ने सिलसिलाले मेलम्ची देशवासीहरुका लागि एउटा गम्भिर ठट्टामा परिणत भइसकेको थियो । मेलम्चीको पानी सुन्दरीजलमा खसाउने अघिल्लो दिनसम्म पनि धेरैले पत्याएका थिएनन् । आज धारामा पानी आउँदैछ भन्दा हिजोसम्म पनि कतिलाई विश्वास थिएन् ।

    पछिल्लो समयमा सरकारले यो आयोजनालाई उच्च महत्व दिएर काममा तदारुकता देखाएकै हो । प्रधानमन्त्री केपी शर्मा ओलीले यो आयोजनालाई प्रतिष्ठाकै विषय झैं बनाएका थिए । सुन्दरीजलमा मेलम्चीको पानीलाई स्वागत गर्न आफैं पुग्नुले पनि यो आयोजनामा उनको अभिरुची प्रष्ट हुन्छ । मेलम्चीको पानीको औपचारिक उद्घाटन केही दिनपछि राष्ट्रपतिबाटै गराउने उनको योजना छ ।

    मेलम्ची आयोजनाको सम्पन्नतासँगै यसको जस लिने होडवाजीहरु चल्न थालिसकेका छन् । प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो दलका पूर्वप्रधानमन्त्री भट्टराईले मेलम्चीको सपना देखेको भन्दै उनलाई जस नदिएकोमा सरकारसँग असन्तोष व्यक्त गरेका छन् । यद्यपि, मेलम्चीले सडक पखाल्ने भाषणबाहेक आयोजनामा भट्टराईको ठोस योगदान चाहिँ भेटिँदैन । भट्टराइले त्यो भाषण गर्नुअगावै मेलम्चीको सम्भाव्यता अध्ययन भइसकेको थियो । काकाकुल काठमाडौंवासीको भोट तान्न उनले त्यो भाषण गर्दा केपी ओलीले हावाबाट बिजुली निकाल्ने भाषण गरेजस्तै उपहास गरिएको थियो ।

    जस लिने होडमा माओवादी पनि छ । माओवादीकी पूर्वमन्त्री बीना मगर दुई दिनअघि आफ्नो दलबलसहित सुन्दरीजल पुगिन् । त्यहाँ प्रशोधन केन्द्रको अवलोकन गर्दै उनले ‘आफ्नो योगदानले मेलम्चीको पानी काठमाडौं आउन सम्भव भएको’ सन्देश दिन खोजिन् ।

    तर, यस्तो प्रकारले जस लिन खोज्नुको भने कुनै तुक छैन । कसको पालामा कति काम भएको थियो र कसको पालामा काम रोकिएको वा ढिलासुस्ती भएको थियो भनेर जनताले हिसाब गरेरै राखेका छन् । काम गर्नेलाई स्वतः जनताले जस दिन्छन्, मैले गरेको हो भनिरहनै पर्दैन ।

    लामो समयदेखि चर्चा भए पनि मेलम्ची आयोजनाको सुरुवात २०५८/५९ सालमा आएर भएको थियो । त्यसबेला ६ वर्षको लक्ष्य राखिएकोमा विभिन्न कारणले लक्ष्य टाढिँदै गयो । निर्माण अवधि लम्बिएसँगै लागत पनि चुलिँदै गयो । निर्माण अन्तिम चरणमा पुग्दै गर्दा दुई वर्षअघि यसमा अर्को संकट उत्पन्न भएको थियो, जब ठेकेदार आयोजना छोडेर भाग्यो । तत्कालीन खानेपानी मन्त्री बीना मगरले मेलम्चीको पानी उद्घाटन गर्ने तयारी भइरहेको बताउँदै गर्दा ठेकेदार भागेपछि आयोजना फेरि लथांलिग बनेको थियो । त्यसपछि फेरि नयाँ ठेक्का प्रक्रियामा गएर आयोजनाले पूर्णता पाएको हो ।

    राजनीतिक नेतृत्वको अकर्मण्यताले मेलम्चीमा चाहिनेभन्दा बढि समय मात्रै खर्च भएन, लागत पनि उत्तिकै बढ्यो । लक्ष्यभन्दा १२ वर्ष ढिला गरी आयोजना सम्पन्न हुँदा पनि खुशी हुनुपर्ने अवस्था छ । आयाजनामा बढेको लागतको हिसाब गरेर कोही बसिरहेको छैन ।

    कृष्णप्रसाद भट्टराईले भाषण गरेजस्तो मेलम्चीको पानी सडकै पखाल्ने गरी वालछ्याल त नहोला, तर काकाकुल काठमाडौंको तिर्खा भने मेटाउन पक्कै पनि सहयोगी बन्ने छ । तर, त्योभन्दा महत्वपूर्ण भनेको सरकार र देशको शासन–व्यवस्थाप्रति गुम्दो जनविश्वासको पुनस्र्थापनमा यसले थोरै भए पनि मद्दत गर्न सक्छ । यही प्रकारले रुग्ण अवस्थामा रहेका अन्य आयोजनाहरुले पनि तीव्रता पाउने र देश विकासले गति लिने आशा बढेको छ ।

    मेलम्चीकै जस्तो अवस्थाबाट गुज्रिरहेका अन्य रुग्ण आयोजनाहरुमा पनि यस्तै आक्रामकताको खाँचो छ । तब मात्रै ‘सुखी नेपाली समृद्ध नेपाल’ को गफले मूर्तता पाउन सक्छ ।

  • माधव नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

    माधव नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति वैठकले वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भिम रावलसहित चार जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

    नेपाल र रावलसहित सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टी हितविरुद्ध काम गरेको र नेतृत्वलाई खुइल्याउन तल्लीन रहेको भन्दै स्पष्टीकरण सोध्ने बैठकले निर्णय लिएको हो ।

    साथै, बैठकले संघिय तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको बन्द सूचीमा रहेको नाम हाटाउने, राख्ने या हेरफेर गर्ने सबै अधिकार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रत्यायोजन गरेको एक नेताले जानकारी दिए ।

    पार्टी केन्द्रीय कमिटी तथा मातहत कमिटीको सदस्यहरूको बिदाइ, मनोनयन तथा कार्बाही गर्ने अधिकार पनि अध्यक्षलाई प्रत्यायोजन गरिएको छ ।

    अदालत, निर्वाचन आयोग र अन्य आधिकारिक निकायमा पार्टीको तर्फबाट गर्ने सबै कामका लागि पार्टी अध्यक्षलाई अख्तियारी दिने निर्णय भएको छ ।

    अपडेट :

    नेकपा एमालेकी युवा नेतृ रामकुमारी झाँक्री पार्टीबाट कारवाही पर्दापर्दै अन्तिम समयमा जोगिएकी छन् । स्पष्टिकरण सोधिने नेताहरुको सूचीमा उनको नाम भए पनि ओलीले पछि रोकेको एक नेताले बताए ।

    झाँक्रीको ‘वजन नपुग्ने’ भन्दै नाम हटाउन ‘कन्भिन्स’ गरेको ती नेताको भनाइ छ । बालुवाटारमा बसेको वैठकले माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र भीम रावललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

    साथै समानान्तररुपले जनसंगठन बनाउने सबै नेतालाई कारवाहीको प्रक्रिया अगाडि बढाउने निर्णय वैठकले गरेको छ । यससँगै आजको केन्द्रीय समिति वैठक सकिएको छ ।

  • ओलीको चेतावनी- कथित भेलाका आयोजक अगुवालाई स्पष्टिकरण सोध्छौं, माफी नमागे कारबाही

    ओलीको चेतावनी- कथित भेलाका आयोजक अगुवालाई स्पष्टिकरण सोध्छौं, माफी नमागे कारबाही

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षले गरेको राष्ट्रिय भेलालाई कम्युनिस्ट आन्दोलनको कलंक भन्दै त्यस भेलाका आयोजक अगुवालाई स्पष्टिकरण सोधिने बताएका छन् ।

    बालुवाटारमा आयोजित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले सच्चिएर आत्मालोचना गरेर आएमात्र सोच्न सकिने बताए । नत्र कारवाहीको प्रक्रिया अघि बढाइने अध्यक्ष ओलीले प्रष्ट पारेका छन् ।

    बैठकलाई सम्बोधन गर्दै ओलीले भने- नेतृत्वलाई खुइल्याउने र सरकारको बदनाम गराउने नियतले भएको उक्त भेला नगर्न मैले र महसचिवले निर्देशन दिदा दिदै पनि कथित भेला गरिएको छ । कम्युनिस्ट आन्दोलनको कलंकको रुपमा चिनिएको भेलाको आयोजक अगुवालाई कारवाही गरिनेछ ।

    ओलीले आफ्नो राजिनामा माग्नेहरुलाई अविश्वासको प्रस्ताव ल्याउन चुनौति दिँदै तर सरकारकोविरुद्ध अविश्वास प्रस्ताव आउने स्थिति नदेखिएको दावी गरे ।

    ओलीले पार्टीका बैठक बहिस्कार गरेर अरुकै लागि भेलाहरु गरिरहेको भन्दै माधव नेपालहरुमाथि अनुशासनको कारवाही शुरु हुने बताए । एमालेको चुनाव चिन्ह र झण्डा कब्जा गरेर प्रचण्डलाई बुझाउने नियतले फर्केको हो भने त्यो सपना नदेख्न समेत ओलीले चेतावनी दिए ।

    ओलीले भने- बरु प्रचण्ड ह्वाङ्गै, छ्याङ्गै छन् । बुटवल र सिन्धुलीबाट सबै कुरा छ्याङै पारे। मलाई त अध्यक्ष र पार्टी सदस्यबाट हटाए, धन्न नागरिकता खोसेनन् मेरो । उनीहरुले पार्टी र झण्डा चुनाव चिन्ह कब्जा गर्न खोजेका थिए । केपी ओली भएसम्म त्यो सपना नदेखे हुन्छ ।

    प्रचण्ड–माधवलाई कल गरेँ

    ओलीले अदालतले १५ दिनभित्र मिलेर जाने अवसर दिएकाले आफूले मिल्न नसके पनि भेटेरै सल्लाह गरौं भनेर आफूले फोन गरेको भन्दै त्यहि कुरालाई मिडियामा दम्भका साथ प्रचार गराएको बताए । माधव नेपाललाई पनि फोन गरेर आफूले कुरा गरेको भन्दै उनीहरुमा सुध्रिने लक्षण नदेखिएको टिप्पणी ओलीको छ ।

    ओलीले बैठकमा भने- मैले मिल्न सकेनी नसके पनि भेटेरै सल्लाहले नै गरौं भनेर प्रचण्डलाई कल गरेँ । मिटिङ्ग्मा छु सकेर कल गर्छु भन्नू भयो। तर, बाहिर मिडियामा ठूलो दम्भका साथा प्रचार गरे। माधब नेपाललाइ कल गरेँ । उहाँ यहाँ नआउने भनेपछि पार्टी कार्यालयमा बसियो। तर कुनै रियलाइजेसन भएन। माधब नेपालको प्रतिवेदन, बक्तब्य र गुटगत गतिविधिले हामीलाइ जुन ढंगले बदनाम गराउन खोजिदैछ। अब स्पष्टीकरणको प्रक्रिया अगाडि बढ्छ ।

    संसदीय दलको बैठकले विधान संशोधन मस्यौदा केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको सांसद महेश बस्नेतले नेपाल प्रेसलाई जानकारी दिए ।

  • ओलीको ग्ल्यामरबाट लठ्ठ म

    ओलीको ग्ल्यामरबाट लठ्ठ म

    म एक उदारवादी सोचकी महिला हुँ । राजनीतिबाट निरपेक्ष छु । राजनीतिका वाद वा सिद्धान्त, दलहरूका संगठन वा अनुशासन मेरो मतलबका विषय होइनन् । समाजमा प्रदर्शित विचार वा व्यवहारप्रति खुल्लमखुला टिप्पणी गर्ने गर्छु । मेरो टिप्पणीले कसलाई नाफा वा घाटा हुन्छ, मतलव पनि छैन ।

    मैले अवश्य पनि राजनीतिक दलमा सहभागी नभएका मेरो पुस्ताका युवाहरूको प्रतिनिधित्व गर्दछु । त्यसैले आज म मेरो पुस्ताका जनताले प्रधानमन्त्री ओलीका बारेमा के सोच्छन् भन्ने यस लेखमार्फत् उजागर गर्न गइरहेकी छु । राजनीतिक विषयवस्तुमा यो मेरो पहिलो लेख हो ।

    मलाई सबै राजनीतिज्ञ उस्तै लाग्थे । सबै नेता सरदर हुन् । त्यसैले एउटाले गरेको गल्तीमा सबैलाई गाली गर्ने र एउटाले गर्ने राम्रो काममा सबैलाई तारिफ गर्ने गर्थेँ । तर पछिल्लोपटक राजनीतिमा देखिएका घटनाक्रमले म प्रधानमन्त्री ओलीको फ्यान नै बन्न पुगेँ । मजस्ता राजनीतिबाट टाढा रहेको पुस्ताका लागि अहिले प्रधानमन्त्री ओली आकर्षणको केन्द्र बन्न पुगेका छन् ।

    कोरोनाका बेला ‘बेसार पानी र हाछ्युँ’ जस्ता कुरा गरेर ओलीले तर्क दिँदा मलाई उनी बकवास कुरा गर्छन् जस्तो लागेको थियो । देशको प्रधानमन्त्री जस्तो पदमा बसेर यस्तो हल्का कुरा गरेको देखेर मैले पनि सामाजिक सन्जालमा खुलेर बिरोध गरेको थिएँ । त्यो तर्कलाई आज पनि म स्वीकार्न सक्दिनँ । जति उनका सम्वादहरू सुन्थेँ त्यति धेरै उनीसँग रिस उठ्थ्यो । मैले प्रमको भाषण र अन्तर्वार्ताहरू ढुकेरै सुन्ने गरेकी थिएँ । उनले कहाँ गल्ती बोल्छन् र सामाजिक सञ्जालमा त्यो कुराको विरोध गरूँ भन्ने हेतुले हेर्थेँ र मन नपर्ने कुरा गर्नासाथ उनको विरोधमा ठोकेर लेख्ने गर्थेँ पनि ।

    यस्तै गरिरहँदा, प्रचण्ड र माधवकुमार नेपालसँग उनको विवाद सुरु भयो । प्रधानमन्त्री ओलीलाई बनाएको छ, तर उनलाई हलचल नै गर्न नदिनेगरी घेराबन्दी गरेको छ । बाहिर एउटा कुरा प्रदर्शन गरेको छ, भित्र अर्कै कुरामा लडाईँ लडेको छ । सरकार बनाउने र ढाल्ने, अनि त्यसबाट फाइदा लिने लत लागेका मिडियाले आफ्नो स्वार्थ अनुसारका प्रचार गर्ने नै भए ।

    यहाँ त मैले मिडिया नै देखिनँ । उनीहरूले यथार्थ समाचार कहिल्यै दिएनन् । बरु उनीहरू को कसको पक्षमा छन् र कसको विक्षमा छन् त्यो मात्रै लेखे । सँगसँगै ओली बिरुद्ध नागरिक आन्दोलन पनि अघि सर्‍यो । सडकमा उत्रिएका सबै जनाले ओलीलाई हटाउने सक्दो प्रयास गरे । त्यसपछि मलाई ओलीको विकल्प माधव नेपाल वा प्रचण्ड हुन सक्दैनन् भन्ने अनुभुति भयो ।

    नागरिक आन्दोलनले बाहिर भन्थ्यो एउटा कुरा भित्र उद्देश्य हुन्थ्यो अर्काे । भित्र उद्देश्य अर्कै लिएको, बाहिर अर्कै कुरा गरेको त्यस्तो नागरिक आन्दोलनको साथ दिनु भनेको ओलीलाई हटाउने र ओलीभन्दा पनि बत्तर नेतालाई कुर्सी दिलाउने मात्र थियो भन्ने देखिएकै हो । ओली होस् या अरु कोही हामीलाई के नै फरक पथ्र्याे र ? बेक्कारमा भैरहेको सरकारलाई किन गिराउने भन्ने लाग्न थाल्यो ।

    ओलीले ‘इगो’ वा हठले भए पनि गर्न खोजेको र गर्न चाहेको कुरा राम्रा नै छन् । विकासका परियोजनाहरू धमाधम निर्माण गर्ने र देशको सिमानाको रक्षा गर्ने उनी जत्तिको ह्याउ भएको अहिलेसम्म त यी नेताहरूमध्ये कोही देखिएको छैन । यसर्थ मलाई प्रचण्ड वा माधव नेपालभन्दा त ओली नै ठीक हुन् जस्तो लाग्यो ।

    कसैलाइ चित्त बुझोस् कि नबुझोस् ओलीलाई जनता र एमालेले आफैँ चुनेका हुन् । र उनी संवैधानिक प्रक्रियाबाट बनेका प्रधानमन्त्री हुन् । जम्मा २ बर्ष हो उनको बाँकी रहेको कार्यकाल । यसलाई अहिले नै किन गिराउनुपर्‍यो ? अरुले के–के गर्छन् भन्ने नदेखेको र परीक्षण नगरेको पनि होइन । उनको ठाउँमा प्रधानमन्त्रीका अरु आकांक्षीका अनुहार राखेर तुलना गरी हेरेँ ।

    प्रचण्ड ? माधवकुमार नेपाल ? शेरबहादुर ? नाइँ । यिनीहरू ओलीको छेउमा पनि पुग्न सक्दैनन् । उनीहरू आउँदा मिडियाले सरकारका कामको प्रगतिबारे सकारात्मक समाचार चाहिँ लेख्न सक्छन् । तर, काम त केही हुन्न । जनताको जीवन त झन् तलतल जान्छ । ओली त ‘इगो प्रब्लम’ का कारण पनि काम गर्छन् ।

    अनि मेरो ओलीप्रतिको गुनासो केही कम भयो र मलाई उनको कुरा सकारात्मक लाग्न थाल्यो । उनले दिएका आजसम्मका भाषण र अन्तर्वार्तालाई फर्किएर सोच्दा केही राम्रा कुराहरू देख्न थालेँ । उनी आलोचना र समर्थनको ख्याल गर्दैनन्, लागेको कुरा नलुकाई गर्छन् । आफ्नो कार्यकालमा मुलुकमा केही जग बसाल्ने र राजनीति नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उनको सोच देखिन्छ ।

    नेपालप्रेससँग उनले दिएको अन्तरवार्तामा उनको भनाईको सार मलाई मन पर्‍यो । राजनीति भनेको नेताका स्वार्थहरूको व्यवस्थापन मात्रै हो भन्ने जुन मानक मिडियाहरूले स्थापित गरेका छन् र नेताले बाँडीचुँडी खानुलाई सफलता ठान्ने जमात बन्दैछ, त्यसलाई ओलीले तोडे ।

    नेताहरू सबैलाई भाग मिलाएको खोइ ? मिडियामा प्राय आउने प्रश्नको सार यही नै हो । जनतालाई डेलिभरी दिने कुरामा मतलब छैन, नेतालाई भाग नदिएको कुरा नै हाम्रो राजनीतिको मुख्य प्रश्न बन्यो । ओलीले त्यसको विपरित अडान लिए र अनावश्यक झगडा छोडौँ देशका लागि काम गरौँ भने । ओलीप्रति मिडियाको चिड्चिडाहट त्यसैमा देखियो ।

    जनता के चाहन्छन्, ओली त्यही स्टेप चाल्छन् भन्ने कुरा मलाई पछिल्लोपटक अनुभूति भाइरहेको छ । अन्तरवार्ताकार मात्रिका पौडेलजीले सोध्नुभयो ‘पार्टीमा तपाईंपछि तपाईंको पद सम्हाल्ने नेता नै छैनन् भन्छन नि, यो साँचो हो ? र तपाई कसले नेतृत्व गरेको हेर्न चाहनुहुन्छ ?’

    यस प्रश्नमा प्रम ओलीको उत्तर थियो ‘हज्जारौ छन् र अरु पनि निस्किन्छन् ।’

    अन्तर्वार्ताको अन्तिमतिर सोधिएको प्रश्नको उत्तरले ओलीप्रति मेरो सम्मान जाग्यो ।

    ओली आफैँले मेरो विकल्प छैन भनेका छैनन् । उनी कसरी घमण्डी भए ? पदकै लागि राजनीति गर्नेहरूलाई हामीले किन साथ दिने ? हामीले किन भइरहेको सरकार ढाल्ने ? ओली कुरा लुकाउदैनन्, उनी सबै कुरा प्रष्ट भन्छन्, उनलाई मिडियाले के भन्ला भन्ने डर छैन ।

    मिडियाले आफ्नो स्वार्थका लागि जे पनि लेखेको हामीले देखेका छौँ । नेताले भन्दा धेरै राजनीति त ठूला भनिएका मिडियाका सम्पादकहरूले गर्दैछन् । तिम्रा समाचार पढेपछि हामीलाई भ्रमको खेती गर्न खोजेको जस्तो लाग्छ । मजस्ता जनताले तिमीहरूको असलियत बुझिसकेका छन् ।

    कुर्सीमा बसेको भोलिपल्टदेखि कुर्सी जोगाउने अभियान सुरु गर्न नेपाली नेतालाई बाध्य बनाइन्छ । यी ठूला मिडियाहरूले ढुक्कसँग देशको लागि काम गर्न दिँदैनन्, जनता भड्काउँछन् ।

    मलाई पछिल्लोपटक त के लागेको छ भने, आजसम्म नेपालमा ओलीजस्तो उच्च मनोबल भएको प्रम थिएन र सायद भविष्यमा पनि सायद नहोला । दुईपटक मिर्गौला प्रत्यारोपण गरिसकेका उनलाई के कुराले यति धेरै ऊर्जा र जाँगर दिन्छ होला म छक्क पर्छु । म आफू पनि बिरामी भएका कारण उनको आत्मबल देख्दा खुसी हुन्छु ।

    नेताहरूका अनुहारमा देखिने गम्भीरताको म कहिल्यै सकारात्मक परिणाम आउँछ भन्नेमा विश्वास गर्दिनँ । बरु उनीहरू लोभी, स्वार्थी र आत्मविश्वासबिहीन छन् भन्ने लाग्छ । जहिले पनि ठुस्स परेर बस्ने उनीहरूबाट कसरी जनता खुसी हुन सक्छन् ? ओली उनीहरूभन्दा फरक छन् । जहिले पनि चिटिक्क, हँसिलो, ग्ल्यामरस मुद्रा प्रस्तुत हुने जोश–जाँगर उनीमा कताबाट आउँदो हो ?

    उनले नेपालको राजनीतिलाई नयाँ मोड दिएका छन्, नयाँ नाम दिएका छन् । ‘आइ हेट पोलिटिक्स’ भन्ने म जस्ता युवाहरू प्रमको भाषण सुन्छन्, उनको बोलीमा नै नशा भएकोजस्तो महसुस गर्छन् ।

    आजसम्म अँध्यारो अनुहारका, हाँस्न र हँसाउन नजान्ने कथित सिरियस प्रधानमन्त्री मात्र देखेका नेपालीले पहिलोपटक रसिक स्वभावका प्रधान्मन्त्री पाएका छन् । अन्त्यमा यति भन्न चाहन्छु, ओलीले नेपालको राजनीतिमा ‘ग्ल्यामर’ थपेका छन् ।

  • ओलीको हास्यरस : उठिरहेका बूढानीलकण्ठको पाउमा पर्नुभयो साथीहरू ! (भिडियो)

    ओलीको हास्यरस : उठिरहेका बूढानीलकण्ठको पाउमा पर्नुभयो साथीहरू ! (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृह जिल्ला झापाको आफ्नै निर्वाचन क्षेत्रमा पुगेर हास्यव्यंग्यको बिस्कुन लगाएका छन् । इतर समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग सहकार्यका लागि गरेको प्रस्तावमा ओलीले रमाइलो मजाक गरे ।

    झापाको ‘नेपाल-चीन मैत्री औद्योगिक पार्क’ को शिलान्यासका क्रममा ओलीले प्रचण्ड र नेपालको नाम नलिइकन यसरी मजाक गरेः-

    ‘प्रतिनिधिसभा पुन:स्थापना भो । के भो त राम्रै भो । अनि के देखियो भने, चितवनको सभा छोडेर प्लेन चढेर काठमाडौं आए । एयरपोर्टबाट यिनीहरूको घर दक्षिणपट्टि, तर लागे उत्तर । सेक्युरिटीले कहाँ जाने सा’ब भनेर सोध्दा बूढानीलकण्ठ भन्छन् । सुतिरहेका बूढानीलकण्ठको पाउमा पूजा गर्न जान्छन् कि भनेको त होइन रहेछ । उनीहरू त उठिरहेका बूढानीलकण्ठ पो खोज्दै गए । गएर निवेदन गरे, ‘प्रभू, संसद पुन:स्थापना भइसक्यो । केही गरे पनि केपी ओलीलाई हटाउन सकिएन । प्रभूले अब प्रधानमन्त्री स्वीकारिदिनुपर्याे । हामी सभामा हाजिर छौं ।’

    विभिन्नथरी रंगीविरंगी, नन्दीभृंगी जम्मा भएर सरकार बनाउँ । केपी ओलीलाई त हटाउनै पर्याे, नत्र देशको विकास गर्छ त्यसले, विकास रोक्नका लागि हटाउनैपर्याे भनेपछि प्रभूले यसो विचार गरे, यी मान्छे त भरपर्दा छैनन् । अनि विचार गर्छु, साथीभाइसँग छलफल गर्छु भनेर पठाइदिए । अँध्यारो मुख लाएर फर्किए ।’

    त्यसपछि ओलीले प्रचण्ड-माधवले जनता समाजवादी पार्टीका नेताहरुसँग गरेको भेटलाई यसरी बयान गरेः-

    ‘फेरि अर्को ठाउँमा गएछन् । हामी मिलेर सँगै काम गर्नुपर्याे । मिलेर जाउँ । उनीहरुले सोधे, कुन पार्टीबाट आउनुभएको तपाईंहरु ? नाम के हो ? भन्न सकेनन् । झस्याङ्ग भए साथीहरू । कुन पार्टी भन्ने भन्ने । संसद पुन:स्थापना भयो, दलको नेता केपी ओली । पार्टी अध्यक्ष केपी ओली । प्रधानमन्त्री केपी ओली नै छ । अनि, अहिले उहाँहरू मसँग हात थाप्न थाल्नुभएको छ, राजीनामा गर्दिनुस् न ।’

    ओलीले त्यसपछि चुनौतीको भाषामा भनेः-

    ‘तपाईंहरुले जब संसद पुन:स्थापना गरेर ल्याउनुभएको छ भने केपी ओलीलाई हटाएर देखाउनुस् न । अविश्वास राख्नुस्, हटाउनुस् । पहिले पनि मलाई अविश्वास प्रस्ताव ल्याएर हटाएकै हो । फेरि जनताबाट निर्वाचित भएर आएँ । फेरि हटाउनुभयो भने तीन करोड नेपाली जनताबाट दुईतिहाइ लिएर फेरि आइन्छ । कुनै चिन्ताको विषय छैन ।’

    ओलीले आफूले जिन्दगीमा कैयौं मुद्दा लडेको र हारेको बताए ।

    ‘म त जिन्दगीमा मुद्दा हार्दा-हार्दा गरेको मान्छे । उहिले पनि धेरै मुद्दा हारेँ । गल्ती नगर्ने, मुद्दा हार्दै जाने । मलाई मुद्दा जिताइदिएर कसैले प्रधानमन्त्री बनाइदिएको होइन । तपाईंहरुले प्रधानमन्त्री बनाएको हो । जबसम्म तपाईंहरु मेरो साथमा हुनुहुन्छ, जबसम्म मेरो साथमा जनता छ, जबसम्म मेरो टाउकामाथि तपाईंहरूको आशीर्वाद छ, तबसम्म मुद्दा त के भो र ?’

    ओलीले आफू ५० वर्षअघि आजकै दिन आफू पक्राउ परेको सम्झिए ।

    उनले भने, ‘संघर्ष हामीले आज थालेका होइनौं । आज मैले सम्झेँ । ५० वर्ष अगाडि… विष्णु प्रसाई र म सँगै पक्राउ परेका थियौं । विष्णु प्रसाईजी यस्सो अगाडि देखिदिनुस् त… हामी २०२७ साल, फागुन १६ गते आइतबार सँगै गिरफ्तार भएका थियौं । आज ५० वर्ष पूरा भो । मैले दुब्लो-पातलो भएर अलि कम कुटाइ खाएँ । उहाँलाई धेरै चर्को कुटाइ भयो ।

    ओलीले थपे, ‘यसरी जेलनेल गरेर, भूमिगत बसेर, मुद्दा झेलेर, दुखकष्ट सहेर हामीले आज यहाँसम्म ल्याएको हो देश । म भन्न चाहन्छु, अहिले पनि हामी सही बाटोमा छौं । देश बनाउने संकल्पमा छौं । त्यसकारण बच्छिउँ खायौं के भन्छन् नि… झुसे बारुलाहरुले फुर्ति नलगाए हुन्छ ।

    ओलीले आज भने उखान राम्ररी भन्न सकेनन् ।

    दुईदिन अघि प्रचण्डले दिएको एक अन्तर्वार्ताले निकै विवाद निम्तियो । त्यसमा उनले भारतका लागि आफूहरुको सरकार सबैभन्दा ‘कम्फर्टेबल’ हुने बताएका थिए । त्यसलाई पनि ओलीले छुटाएनन् ।

    ‘टिभीमा एकजनाले अन्तर्वार्ता दिंदै हुन्छन् हौसिएर । अविर जात्रा गर्दै गर्दा, लड्डु ख्वाईख्वाई गर्दागर्दै एउटा फोन गर्छन् । आवाज सुनिन्छ, त्यो अन्तर्वार्तामा- हेलो.. कैसे हे आप । आपके सहयोगके लिए बहुत-बहुत धन्यवाद । कसलाई भनेको मलाई थाहा छैन । तर, सुनियो त्यस्तो । त्यो हामीले बनाएको होइन । एउटा त्यस्तो अर्को कम्फर्टेबल । एउटा मिस्टर हेल्लो, अर्को मिस्टर कम्फर्टेबल । यी दुई मिस्टरहरूले नेपाललाई बर्बाद पार्न चाहेका छन् ।’

     

  • जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली आज विराटनगर जाँदै

    जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली आज विराटनगर जाँदै

    काठमाडौं । नेकपा (ओली पक्ष) प्रदेश १ ले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज विराटनगर जाँदैछन् ।

    प्रधानमन्त्रीसँगै गृहमन्त्री रामबहादुर थापा ‘बादल’, सुवास नेम्वाङ, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलगायतका नेताले जनसभालाई सम्बोधन गर्नेछन् ।

    लुम्बिनी प्रदेश कमिटीले फागुन १ गते बुटवलमा गरेको जनसभालाई सम्बोधन गर्न पनि प्रधानमन्त्री ओली बुटवल पुगेका थिए ।

  • बुटवलमा ओलीपक्षको शक्ति प्रदर्शन, सूर्य चिन्हबारे कार्यकर्तालाई यस्तो सन्देश (फोटोफिचर)

    बुटवलमा ओलीपक्षको शक्ति प्रदर्शन, सूर्य चिन्हबारे कार्यकर्तालाई यस्तो सन्देश (फोटोफिचर)

    बुटवल । १५ दिनको बीचमा बुटवलमा विभाजित नेकपाका दुवै पक्षले ठूलो जनसभा सहित शक्ति प्रदर्शन गरे । माघ १५ गते प्रचण्ड–माधव पक्षले गरेको शक्ति प्रदर्शनलाई काउन्टर दिन केपी ओली पक्षले फागुन १ गते शनिवार गरेको शक्ति प्रदर्शन तथा जनसभामा उल्लेख्य सहभागिता देखिएपछि यहाँका नेता उत्साहित भएका छन् ।

    लुम्बिनी प्रदेशस्तरीयसभा आयोजक शंकर पोखरेलले माघ २८ को प्रचण्ड-माधव पक्षको काठमाडौं केन्द्रित सभालाई चुनौति दिदै साच्चिकै जनप्रदर्शन र सभा कस्तो हुन्छ भन्ने फागुन १ गते लुम्बिनीमा देखाइने बताएका थिए ।

    ओली पक्षको जनसभामा सहभागी हुन प्रदेशका विभिन्न जिल्लाबाट ठूलो संख्यामा कार्यकर्ता र सर्वसाधारण आएका थिए । प्रधानमन्त्री केपी ओली, बुटवलकै जनप्रतिनिधि समेत रहेका अर्थमन्त्री बिष्णु पौडेल,मुख्यमन्त्री शंकर पोखरेल,लुम्बिनीकै नेता तथा मन्त्री टोपवहादुर रायमाझी, लेखराज भट्ट लगायतका नेता सहभागी भएको सभामा आयोजकले २ लाखको सहभागिता रहेको दावी गरेका छन् ।

    सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा विभाजित नेकपाका अध्यक्ष केपी शर्मा ओली र महासचिव बिष्णु पौडेलले कार्यकर्तालाई प्रष्ट सन्देश दिए– सूर्य चिह्न अन्त जान्छ कि भन्ने मनमा नराख्नु,आत्मविश्वासका साथ सूर्यको झण्डा फहराउनु ।

    यो संकेत यसकारण अर्थपूर्ण छ कि,माघ २८ को काठमाडौंको सभामा अर्काे पक्षका अध्यक्ष प्रचण्डले निर्वाचन आयोगप्रति शंका जनाएका थिए । पार्टीको आधिकारिकता र चुनाव चिन्ह बहस गरिरहनु नपर्ने विषय भएको बताउँदै प्रधानमन्त्रीले आफूले अहिलेसम्म सूर्य चिन्हबाट मात्र चुनाव लडिरहेको बताए ।

    बुटवलको सभालाई सम्बोधन गर्दै ओलीले जनमतको परीक्षण निर्वाचनको मत परिणाममार्फत गर्न प्रचण्ड- माधवसमूह लगायतका राजनीतिक शक्तिहरुलाई आह्वान गरे ।

    उनले भने– चुनावमा गयो भने प्रतिगमन हुन्छ अरे ! ताजा जनादेश हुँदैन भने कस्तो व्यवस्था खोजिएको ? प्रतिनिधिसभा विघटन र चुनावको घोषणा संविधानसम्मत ढंगले गरिएको हो ।

    देशको अतिक्रमित भूभाग समेटेर नक्सा प्रकाशन गर्ने र त्यसलाई संविधानको अंग बनाउने काम गरेपछि आफूलाई हटाउने चलखेल सुरु भएको प्रधानमन्त्रीको दावी थियो ।

    ‘गत वैशाखमा मलाई हट्न भनियो, मैले सोधेँ किन ? जवाफ अरु छैन, मलाई प्रधानमन्त्री हुन मन लाग्यो मात्र । फेरि मलाई अध्यक्षबाट हट्न भनियो, मैले सोधेँ किन ? जवाफ आयो, म आफैं अध्यक्ष हुनुपर्‍यो । मैले ‘प्रधानमन्त्री हुने भए चुनावसम्म र अध्यक्ष हुनेभए महाधिवेशनसम्म पर्खन भनेँ । भनियो, उधारो हुँदैन हाताहाती, नगद चाहिन्छ’, प्रधामन्त्रीको भनाई थियो ।

    भएका कुरा देख्नै चाहेनन्
    सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले करिब तीन वर्षअघि आफ्नो नेतृत्वमा सरकार बनेपछि भएका दूरगामी प्रभाव राख्ने कार्यहरु आफूलाई हटाउन खोज्नहरुले देख्नै नचाहेको र स्वीकार्ने हिम्मतसमेत नगरेको आरोप लगाए ।

    ‘मुलुकमा प्रत्येक दिन पाँच किलोमिटरका दरले सडक कालो पत्रे भएको छ । धेरै विमानस्थलहरु रातमा पनि चल्ने भएका छन् । २०७८ साललाई सडक बालबालिका र सहयोगापेक्षी मानवमुक्त घोषणा गर्ने गरी काम भइरहेको छ । अहिले ६८ जिल्ला र पछि सबै ठाउँमा फोर जी सेवा पुग्दैछ’, ओलीले भने ।

    प्रधानमन्त्रीले अहिले नेपाल अन्तर्राष्ट्रियस्तरमै चिनिन र सुनिन समेत थालेको समेत उल्लेख भने– विश्वकै अर्थतन्त्रलाई प्रभावपार्न सक्ने जी—२० मुलुकको सम्मेलनमा नेपाललाई बोलाइयो र नेपालको प्रधानमन्त्रीलाई सम्बोधन गर्ने अवसर दिइयो, त्यो सानो कुरा होइन’।

    जनयुद्ध लडेकालाई रोजगारी र राजनीतिक नियुक्तिसम्म
    प्रधानमन्त्रीले पुष्पकमल दाहाल प्रचण्डबाट १० वर्षसम्म जनता झुक्किएको बताउँदै अब यस्तो सम्भव नहुने आश्वासन दिए । ओलीले जनयुद्ध लडेकालाई परिचपत्र, परिवारको एक सदस्यलाई रोजगारी र राजनीतिक नियुक्तिमा क्षमताअनुसार प्राथमिकता दिइने समेत बताउनुभयो ।

    सभालाई सम्बोधन गर्दै अर्थमन्त्री महासचिव विष्णु पौडेलले नेकपा विभाजन नभई केही नेता चोइटिएर गएको कुरालाई सभाको उपस्थितिले पुष्टि गरेको बताए ।

    ‘बुटवलमा जुटेको जनमतले पार्टी फुटेको छैन, पार्टी एक छ र ओली नेतृत्वमै छ भन्ने पुष्टि गरेको छ,’ पौडेलले भने ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनसभाले लुम्बिनी प्रदेशमा नेकपाले विगतका चुनावमा पराजित स्थानमा समेत विजयी हुने संकेत गरेको बताए । ‘प्रचण्डले जे चाह्यो त्यही हुने भनिएको रोल्पा रुकुम जस्ता स्थानमा समेत अब उहाँ पराजित हुने कुरा आजको सभाले देखाएको छ’, उनले भने ।

    उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझीले जनआन्दोलन, जनयुद्ध तथा सबै लोकतान्त्रिक आन्दोलनको उपलब्धिको रक्षा तथा शहित, घाइते तथा बेपत्ता परिवारको संरक्षण प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा हुने दावी गरे ।

    तस्विरहरु : राजन काफ्ले

  • लुम्बिनी प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली बुटवल जाने

    लुम्बिनी प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली बुटवल जाने

    रुपन्देही । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली आज बुटवल आउने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेश कमिटीले आज बुटवलमा गर्न लागेको लुम्बिनी प्रदेशस्तरीय बृहत जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली आउनलागेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा प्रदेश इन्चार्ज शंकर पोखरेलले जानकारी दिएका छन् ।

    उनले बुटवलको सभा अहिलेसम्मकै ठूलो हुने दाबी गर्दै यसले देशलाई विशेष सन्देश दिने बताए । बिहान ११ बजे बुटवलस्थित सिद्देश्वरी मैदानमा हुने जनसभालाई सम्बोधन गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, ऊर्जामन्त्री तथा स्थायी कमिटी सदस्य टोपबहादुर टोपबहादुर रायमाझी, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट बुटवल आइसकेको नेकपा लुम्बिनी प्रदेश अध्यक्ष लिला गिरीले जानकारी दिएका छन् ।

    आजको जनसभाका लागि बुटवलमा तयार गरिएको मञ्‍च ।

    गिरीले बुटवलको जनसभा अहिलेसम्मकै ऐतिहासिक जनसहभागिता हुने बताउँदै सबै जिल्लाबाट आउने सहभागीलाई व्यवस्थित बनाउन विभिन्न स्थानमा व्यवस्था गरिएको बताए ।

    उनले दुई लाख भन्दा बढीको जनसहभागिता रहने दाबी गरेका छन् । रुपन्देहीबाट १ लाख अन्य जिल्लाबाट १ लाख सहभागिता रहने र विभिन्न क्षेत्रबाट आउनेलाई अस्पताललाइन, मिलनचोक, चौराहाबाटकार्यक्रमस्थल पुराइने उनले बताए ।

  • कोइरालाले छाडेको अनुत्तरित प्रश्नः ओलीसँग ‘हार्ने चुनाव’ लड्न किन अग्रसर भए ?

    कोइरालाले छाडेको अनुत्तरित प्रश्नः ओलीसँग ‘हार्ने चुनाव’ लड्न किन अग्रसर भए ?

    काठमाडौं । २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा.रामवरण यादवले नेपालको नयाँ संविधान जारी भएको घोषणा गरे । प्रमुख राजनीतिक दलहरूबीच राजनीतिक सहमति निर्माणपछि संविधान जारी हुँदा प्रधानमन्त्री थिए, सुशील कोइराला ।

    पहिलो संविधानसभाबाट बनेका चारवटा सरकार संविधान निर्माणको नेतृत्व गर्न असफल भएका थिए । ती चारवटै सरकार वामपन्थी नेतृत्वको हुनु संयोग मात्र पनि हुन सक्छ । तर, जे भए पनि आफ्नो प्रधानमन्त्रीत्वकालमा संविधान बन्दा कोइराला र नेपाली कांग्रेसले यसको जस लिन पाए । कांग्रेसजनले त कोइरालालाई ‘संविधानको पिता’ कै उपमा समेत दिने गरेका छन् ।

    संविधान जारी भएपछि कोइरालालाई भावी राष्ट्रपतिको रूपमा समेत हेरिएको थियो । तर संविधान बनेलगत्तै भएको प्रधानमन्त्रीको निर्वाचनमा कोइराला उम्मेदवारका रूपमा खडा भएर धेरैलाई आश्चर्यमा पारिदिए । आफ्नै सत्ता सहयात्री दल नेकपा एमालेसँग भएको सहमति विपरीत उनको निर्णयले राजनीति तरंगित मात्र भएन, कोइरालामाथि अनेक आशंकाहरू उब्जिए ।

    कांग्रेसकै केही नेताहरूले सभापतिको निर्णय ‘गलत’ भएको प्रतिक्रिया दिएका थिए । कांग्रेसका तत्कालीन सहमहामन्त्री पूर्णबहादुर खड्काले त असन्तुष्टिकै कारण पदबाटै राजीनामा दिए । नेकपा एमालेले कोइरालाविरुद्ध केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदको उम्मेदवार बनाउने निर्णय गर्‍यो । माओवादी, लोकतान्त्रिक फोरम, राप्रपा नेपाललगायत दलको समर्थनमा ओली प्रधानमन्त्रीमा चुनिए । त्यसबेला राष्ट्रवादी छवि बनाएका ओलीलाई भारतले प्रधानमन्त्रीका रूपमा हेर्न चाहेको थिएन । त्यसैले ओलीलाई हराउन भारतले नै कोइरालालाई उभ्याएको चर्चा समेत चल्यो । संविधान निर्माणपछि आफ्नो राजनीतिक कद बढाएका कोइराला प्रधानमन्त्री पदमा लोभिंदा बुमर्‍याङ हुन पुगे ।

    आखिर कोइरालाले आफ्नो छविमा आँच आउने गरी अलोकप्रिय निर्णय किन लिए त ? पाँच वर्षअघि अचानक कोइरालाको निधन भएपछि यो प्रश्न अनुत्तरित रह्यो । यद्यपि केपी ओलीसँग प्रधानमन्त्रीमा भिड्ने कोइरालाको ‘त्यो निर्णय’ कांग्रेसभित्र मात्रै नभई राष्ट्रिय राजनीतिमै एक चर्चाको विषयका रूपमा रहेको छ ।

    विश्राम लिन्छु भन्थे

    २०७० सालमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा कांग्रेस पहिलो दल बनेपछि कोइराला एमालेको समर्थनमा प्रधानमन्त्री भए । मन्त्री वा उपप्रधानमन्त्री समेत कहिल्यै नबनेका उनी एकैपटक मुलुकको कार्यकारी पदमा पुगेका थिए । आफ्नो कार्यकालभरि ‘सहमतिमै संविधान जारी गराएर विश्राम लिन्छु’ भन्न उनले कहिल्यै छुटाएनन् ।

    अन्तिम समयसम्म संविधान निर्माण प्रक्रियालाई सर्वस्वीकार्य बनाउने पक्षमै थिए कोइराला । यद्यपि मधेशी मोर्चाका केही दलहरू ‘१६ बुँदे सहमति’ प्रति सकारात्मक रहेनन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक फोरमबीचको १६ बुँदे सहमति नै संविधान निर्माणका लागि ऐतिहासिक दस्तावेज थियो । सो सहमतिपछि कोइरालाले निकटस्थहरूसँग भनेका थिए, ‘सहमति बन्यो अब संविधान पनि बन्छ । मेरो उद्देश्य पूरा भयो ।’

    संविधान बनेपछि २०७२ सालको असोज २४ गते रूपान्तरित व्यवस्थापिका संसदमा भएको प्रधानमन्त्री निर्वाचनमा कोइराला उम्मेदवार बने । तर, ३३८ मतसहित एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा निर्वाचित भए । लोकतान्त्रिक मधेशी मोर्चाको सहयोगका बावजूद कांग्रेस सभापति कोइराला २४९ मतसहित पराजित भए ।

    कोइराला उम्मेदवार बन्नुअघि कांग्रेस केन्द्रीय समितिको बैठक बसेको थियो । तर, बैठकले कुनै निर्णय लिन सकेन । बैठकमा मतान्तर बढेपछि निर्णयको जिम्मा सभापति कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेललाई दिइएको थियो । शीर्ष तीन नेताको बैठकले कोइरालालाई उम्मेदवार बनाउने निर्णय गर्‍यो । संसदको अंकगणितमा ‘हार’ निश्चित भए पनि देउवा कोइरालाको प्रस्तावक बने, पौडेल समर्थक ।

    प्रधानमन्त्रीमा ओलीसँग पराजित भएपछि कोइरालाले त्यसलाई सहज रूपमा लिए । संसद भवनबाट बाहिरिने क्रममा उनले भनेका थिए– यो बहुदलीय प्रजातन्त्रको जित हो । मैले प्रजातान्त्रिक अभ्यासलाई साथ दिएँ, प्रधानमन्त्री ओलीलाई बधाई छ ।’

    एमालेसँग तोडिएको त्यो सहमति

    दोस्रो संविधानसभामा कांग्रेस पहिलो पार्टी त छँदै थियो, नेकपा एमाले पनि हाराहारीकै थियो । कांग्रेसभन्दा २४ सीट कम रहेको एमालेले संविधानसभा निर्वाचनलगत्तै ‘संसदले राष्ट्रपति र उपराष्ट्रपति नचिन्ने’ बतायो । आफ्नै नेतृत्वमा सरकार बनाउने मात्रै होइन संविधान जारी नहुँदासम्म डा. रामवरण यादवलाई नै राष्ट्रपतिमा कायम राख्ने कांग्रेसको चाहना थियो ।

    २०७० माघ २६ गते कांग्रेस र एमालेबीच सातबुँदे सहमति भयो । प्रतिनिधिसभामा अनुमोदन गरी राष्ट्रपति र उपराष्ट्रपति कायम राख्ने, कांग्रेसको नेतृत्वमा सरकार बनाउने, सभामुख एमालेले पाउने, एक वर्षभित्रै संविधान जारी गर्ने, संविधान घोषणा अगावै राष्ट्रपति र उप–राष्ट्रपतिको निर्वाचन गर्नेलगायतका बुँदा सो सहमतिमा उल्लेख थिए ।

    संविधान निर्माणलगत्तै कांग्रेसले सरकार छाड्ने र एमालेले सरकारको नेतृत्व गर्ने भद्र सहमति दुवै पार्टीका नेताहरूबीच भएको थियो । एक वर्षभित्र संविधान जारी हुन नसकेपछि सत्तारुढ एमालेले कोइरालामाथि दबाब बढाउँदै लगेको थियो । दोस्रो संविधानसभाको एक वर्ष बितेसँगै एमाले नेताहरूले संविधान नबनेपछि कोइरालाले सरकार छोड्नुपर्ने बताउन थालेका थिए । यसबाट कोइराला र एमालेबीचको दूरी बढ्न गयो ।

    संविधान जारीपूर्व प्रदेशको सिमांकनमा विवाद बढेपछि सिमांकन थाती राखेर भए पनि संविधान जारी गर्नुपर्ने धारणा एमालेले राख्यो । एमालेको यस्तो धारणालाई तत्कालीन प्रधानमन्त्री कोइरालाले ‘रुढिवादी’ भनी टिप्पणी गरेका थिए । सरकारमै भएर पनि एमालेले आफूलाई सहयोग नगरेको बुझाइ कोइरालामा थियो । कोइरालाको ‘किचेन क्याबिनेट’ मा रहेका एक कांग्रेस नेता ओलीविरुद्ध उभिने निर्णयका पछाडि एउटा मात्रै कारण नरहेको बताउँछन् ।

    ‘एमालेले सरकारमा आउनुअगाडि मात्रै होइन आएपछि पनि बार्गेनिङ गर्‍यो । प्रधानमन्त्रीलाई बारम्बार एमालेबाट असहयोग भएको अनुभूति भएको थियो । मधेशवादीलाई समेत समेटेर संविधान जारी गर्न चाहनुभएको थियो । त्यसमा एमाले रिजिड देखियो । यस्ता धेरै कारण छन् जसले गर्दा उहाँले सहज रूपमा छोड्ने अवस्था बनेन’, ती नेताले भने ।

    प्रधानमन्त्रीमा उठ्ने निश्चय गरेपछि कोइरालाले बालुवाटारमा पदाधिकारी बैठक बोलाए । सो बैठकमा उनले ‘केपी ओलीसँग कुनै भद्र सहमति नभएकोले प्रधानमन्त्री निर्वाचनमा कांग्रेसले उम्मेदवारी दिनुको विकल्प नरहेको’ बताएका थिए ।

    भारतको हात ?

    प्रधानमन्त्रीका रूपमा कोइरालाको कार्यकाल २० महिना लामो रह्यो । मित्रराष्ट्र भारतले आफ्नो कार्यकालभरि कोइरालालाई भ्रमणको औपचारिक निम्तो दिएन । जबकि नेपालमा प्रधानमन्त्री फेरिनासाथ आफ्नो देशमा डाक्न हतारिने गर्थो भारत ।
    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा अतिथिका रूपमा सहभागी हुनुबाहेक कोइरालाले भारत भ्रमण गरेनन् । नेपालमा सार्क शिखर सम्मेलन हुँदा भारतका प्रधानमन्त्री मोदी र पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफलाई हात मिलाउन लगाएर कोइरालाले अन्तर्राष्ट्रिय मिडियामा चर्चा कमाएका थिए । आन्तरिक विषयमा बोलेको भन्दै भारतीय वाणिज्यदूत र राजदूत समेतलाई ‘हकारेका’ थिए उनले ।

    उनै कोइराला दोस्रोपटक प्रधानमन्त्रीको उम्मेदवार बनेपछि भने उनलाई भारतपरस्तको आरोप लाग्यो । राजनीतिक मञ्चहरूमा भारतले नै उनलाई ओलीविरुद्ध खडा गराएको पनि भनियो । संविधान जारी भएलगत्तै शुरु भएको मधेश आन्दोलन, भारतले लगाएको अघोषित नाकाबन्दीलगायतका घटनाले यस्तो आकलन गर्नेहरूलाई अझ बल पुग्यो । यस विषयमा कोइरालाले कुनै स्पष्टीकरण दिएनन् । यद्यपि, आफ्नो उम्मेदवारीले संविधान बहिष्कार गरेका मधेशवादी दललाई संसद र संविधानकै बाटोमा फर्काएको दाबी कोइरालाले गर्दै आएका थिए ।

    कांग्रेसवृत्तमा अहिले पनि कोइरालाको त्यस निर्णयको पक्ष विपक्षमा बहस हुने गरेको छ । कोइरालाको निर्णयमा असन्तुष्ट भई पद त्यागेका तत्कालीन सह–महामन्त्री पूर्णबहादुर खड्का अहिले कांग्रेसको महामन्त्री छन् । संविधान निर्माण भएपछि पनि मुलुकमा सहमतिको राजनीति आवश्यक रहेकोमा कोइरालाको निर्णयले त्यसलाई बिथोलेको खड्काको बुझाइ अहिलेसम्म कायम छ ।

    ‘उहाँले स्वतन्त्र रूपमा निर्णय गर्नुभयो भन्ने लाग्दैन । त्यतिबेला अन्तिमसम्म उहाँ उम्मेदवार बन्दिनँ भन्दै हुनुहुन्थ्यो । जसले उहाँलाई उम्मेदवार बनाए तिनले नै यसको जवाफ दिनुपर्छ’, खड्का भन्छन् ।
    कोइरालाको निर्णयमा सहमत नेताहरू भने उनको उम्मेदवारी स्वाभाविक रहेको बताउँछन् । ‘उहाँको उम्मेदवारी पार्टीको निर्णय थियो । संसदीय अभ्यासमा उहाँको उम्मेदवारी कुनै कारणले गलत छैन । जति पनि अफवाह फैलाइएका छन् त्यो त संविधान बनाएको जस उहाँ र कांग्रेसले नपाओस् भनेर गरिएको हो’, त्यसबेला कोइराला निकट रहेका कांग्रेस नेता दिलबहादुर घर्तीले भने ।

    ओलीसँग प्रधानमन्त्रीमा पराजित भएको चार महिनामै कोइरालाको निधन भयो । सर्वसम्मत रूपमा राष्ट्रपति बन्न सक्ने सम्भावनाका बीच ‘पराजित हुने निश्चित रहेको’ प्रधानमन्त्री पदमा उम्मेदवार बन्न तत्पर हुनुको रहस्यको पर्दा नउघारी उनी विदा भए । आज कोइरालाको स्मृति दिवस । उनलाई सादगी वा बेदागी नेताका रूपमा कांग्रेसजनले स्मरण गरिरहेका छन् । यद्यपि, संविधान निर्माणपछिको राजनीतिक जोडघटाउमा चाहिं कोइराला चुकेकै मान्छन् उनीहरू ।

  • प्रचण्ड-माधवलाई ओलीको जवाफ- मुंगेरीलालहरु रंगीन सपना देख्दैछन्

    प्रचण्ड-माधवलाई ओलीको जवाफ- मुंगेरीलालहरु रंगीन सपना देख्दैछन्

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड र माधव नेपाललाई हिन्दी फिल्मको पात्र मुंगेरीलालसँग तुलना गर्दै दुई नेताले आफ्नो र परिवारको बाहेक अरुको बारेमा कहिल्यै नसोचेको आरोप लगाएका छन् ।

    काठमाडौंमा शुक्रवार आयोजित पेशागत संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कार्यकर्तालाई ‘मुंगेरीलालके हँसिन सपने’ नामको पूरानो हिन्दी फिल्म युट्युवमा खोजेर हेर्न र प्रचण्ड माधवसँग तुलना गर्न सुझाव दिए ।

    ओलीले भने- ‘मुंगेरीलालके हँसिन सपने’ भन्ने फिल्ममा एउटा पात्र थियो । यहाँ त एउटा होइन दुईटा मुंगेरीलाल छन् । मुंगेरीलालले आफ्नो लागिमात्र अनौठा अनौठा सपना देख्छ । हाम्रा मुंगेरीलालहरु पनि जनताको लागि कहिल्यै सपना देख्दैनन् । खाली म र मेरो परिवार, मेरा छोरी ज्वाइँ भन्नेमात्र सपना देख्छन् ।

    ओलीले प्रतिनिसभा पुनःस्थापनाको प्रावधान संविधानमा नरहेको भन्दै प्रचण्ड माधवले चाहदैनमा नहुने बताए । उनले वकिलहरुले अदालतमा गफ फिट्ने काम गरे पनि त्यसको अर्थ नरहेको बताए ।

    प्रधानमन्त्री ओलीले प्रचण्ड माधव पक्ष बाहिरिएपछि नेकपा अझ अनुकुल परिस्थितिमा पुगेको र मुंगेरीलालहरूको सपना पूरा नहुने बताए ।

  • छोरीको लागि मतपत्र च्यात्ने, ज्वाइँलाई घरघडेरी किन्दिने अनि योद्धाका छोराछोरी खेलौना हुन् ? (भिडियो)

    छोरीको लागि मतपत्र च्यात्ने, ज्वाइँलाई घरघडेरी किन्दिने अनि योद्धाका छोराछोरी खेलौना हुन् ? (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निसन्तान हुनुमा हीनताबोध नभएको तर प्रचण्डले आफ्ना छोरीज्वाइँलाई अवसर दिएर आफ्नो आह्वानमा जीवन दिने योद्धाका छोराछोरीको बिजोग बनाएको आरोप लगाएका छन् ।

    प्रेस संगठन नेपालको ओली पक्षीय भेलालाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले परिवारवाद र नातागोताको कुरा गर्दा आफूलाई केपी ओलीका छोराछोरी छैनन् भनेर प्रचण्डले जवाफ दिएको भन्दै कटाक्ष गरेका हुन् ।

    ओलीले भने, ‘केपीका छोराछोरी छैनन्, मेरा त छोरी छन् ज्वाइँ छन् हेर्नै पर्‍यो । छोरीलाई मेयर बनाउनै पर्‍यो, मतले नपुगे मतपत्र च्यात्नै पर्‍यो । ज्वाइँलाई घरघडेरी किन्दिनै पर्‍यो । मेरा त सन्तान छन् दिन्छु भनेछन् एकजनाले । गज्जब बहादुर हो । सुसुरो होस् त्यस्तो होस् ।’

    ओलीले आफूले देशका सबै केटाकेटीलाई आफ्नै सन्तान मानेको भन्दै ओलीले आफू निसन्तान हुनुमा हर्ष वा विस्मात नरहेको बताए । तर प्रचण्डलाई त्यो ठाउँमा पुर्याउने योद्धाहरुका छोराछोरी कहाँ छन् ? भनेर प्रश्न गर्दै ओलीले ज्यान दिने बेला आफ्ना छोराछोरी विदेशमा राखेको टिप्पणी गरे ।

    प्रधानमन्त्रीले भने– उहाँलाई त्यो ठाउँमा पुर्याउने योद्धाहरुका छोराछोरी छन् कि छैनन् ? उनीहरुका ज्वाइँ छन् कि छैनन् ? ज्यान दिने बेला जनताका छोराछोरी चाहियो,लड्ने बेला आफ्ना छोराछोरी विदेशमा राख्ने अनि तर मार्ने बेला मेरा त छोराछोरी छन् भन्ने ? जनताका छोराछोरी खेलाउने पुतली हुन् ? उनीहरुको अवस्था के छ ?

  • ओलीले भने- पार्टी कब्जा गर्न नसकेपछि प्रचण्ड फर्किए, पूर्व लडाकुको यथोचित व्यवस्था गर्छु

    ओलीले भने- पार्टी कब्जा गर्न नसकेपछि प्रचण्ड फर्किए, पूर्व लडाकुको यथोचित व्यवस्था गर्छु

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभाजित नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चटकेको संज्ञा दिएका छन् । प्रधानमन्त्री ओलीले प्रचण्ड पार्टी कब्जा गर्ने उद्देश्यले नेकपामा आएको र त्यो पूरा नभएका कारण फर्किएको टिप्प्णी गरेका छन् । प्रचण्डलाई पार्टी कब्जा गर्नवाट आफूले जोगाएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

    अखिल नेपाल महिला संघको केन्द्रीय समितिको दोस्रो बैठकमा सहभागी महिला नेतालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने–प्रचण्ड चटके छन्, माधवकुमार नेपाल उनका मामुली कार्यकर्ता हुन् ।

    प्रधानमन्त्री ओलीले माधव नेपाललाई पनि प्रचण्डले छक्याएको बताएका छन् । ‘तपाई नै अन्तिम वक्ता हो पार्टीको अध्यक्ष भइसक्नुभयो भन्दै झुक्याउँदै छन् भोलि के गर्छन हेर्दै जानुहोला ’ प्रधानमन्त्री ओलीको टिप्पणी थियो । उनले आफू समृद्ध नेपाल र सुखी नेपालीको एजेण्डा लिएर हिँडेका कारण सबैलाई हँसाउने बताए ।

    अहिलेको राजनीतिक घटनाक्रमलाई लिएर चिन्तित नहुन र भ्रममा परेकाहरुलाई पनि समेट्न ओलीलेआग्रह गरेका छन । उनले जनयुद्ध कुहिएको फर्सी भन्दै गरेको टिप्पणीको पनि स्पष्टीकरण दिएका छन् । उनले भने- मैले पूर्व माओवादी आन्दोलनमा लागेकाहरुलाई भनेको होइन, ठूला सपना देखाएर महान क्रान्ती भन्दै लाखौं युवालाई सहभागी गराउने प्रचण्डलाई भनेको हुँ ।

    उनले जनयुद्धमा लागेर आफ्नो जीवन वर्वाद बनाएकाहरुलाई प्रचण्डले कहिल्यै नसम्झिएको र आफ्ना परिवारलाई मात्र फाइदा दिएको बताए ।
    ‘देशमा परिवर्तन ल्याउन भन्दै लडाइयो तर अहिले कहाँ ल्याए त्यो कुरा सम्झाउन खोजेको हुँ, वहिर्गमनमा परेका लडाकुहरुलाई यथोचित ब्यवस्था गर्छु’ प्रधानमन्त्री ओलीले प्रतिवद्धता जनाए ।

  • केपी ओलीको समर्थनमा काठमाडौंमा धोती जुलुस ! (भिडियो)

    केपी ओलीको समर्थनमा काठमाडौंमा धोती जुलुस ! (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको राजनीतिक कदमको समर्थनमा शनिवार काठमाडौंमा धोती जुलुस निकालिएको छ । नेकपा सम्बद्ध युवा संघको २ नम्बर प्रदेश कमिटीले ओलीको समर्थनमा मधेशीहरुको धोती जुलुस निकालेको हो ।