Tag: केपी ओली

  • कार्यकर्तालाई ओलीको निर्देशन- नयाँ मतदातालाई सूर्यमै भोट हाल्न लगाउनुपर्छ, अन्त हाले बिटुलिन्छ

    कार्यकर्तालाई ओलीको निर्देशन- नयाँ मतदातालाई सूर्यमै भोट हाल्न लगाउनुपर्छ, अन्त हाले बिटुलिन्छ

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावमा नयाँ मतदातालाई सूर्यमै भोट हाल्न लगाउने गरी लाग्न नेता/कार्यकतालाई निर्देशन दिएका छन् ।

    बुधबार एमाले वागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले ती नयाँ मतदाताले पहिलोपटक अन्त भोट हाले हात बिटुलिने बताए ।

    उनले भने, ‘नयाँ भोटरको पंक्तिलाई आकर्षित गर्नुपर्छ । उनीहरूलाई सूर्यमै भोट हाल्न लगाउनुपर्छ । अन्त हाल्यो भने बिटुलिन्छ । पहिलोपटक बिटुलियो भने फेरि वर्षौं लाग्छ ।’

    अन्त भोट हाले युवाको मत खेर जाने उनको भनाइ छ । ओलीले एमालेमा जित्छौं भन्ने आत्म विश्वास भएकाले आसन्न चुनावमा एमाले नै ठूलो दल हुने दावी गरे।

  • ओलीको टिप्पणीः एमाले-कांग्रेस प्रतिस्पर्धी हुन्, प्रचण्ड-माधव चुनावपछि च्याँखेबाट फालिन्छन् (भिडिओ)

    ओलीको टिप्पणीः एमाले-कांग्रेस प्रतिस्पर्धी हुन्, प्रचण्ड-माधव चुनावपछि च्याँखेबाट फालिन्छन् (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको मुख्य प्रतिस्पर्धा कांग्रेससँगै रहेको र आउने चुनावमा कांग्रेसले वैशाखी खोजिरहेको टिप्पणी गरेका छन् ।

    वागमती प्रदेश कमिटीको बैठकलाई बुधबार सभागृहमा सम्बोधन गर्दै ओलीले कांग्रेससँगको गठबन्धनलाई चुनावसम्म लैजान प्रचण्ड-माधवले प्राण लगाएको बताए ।

    ओलीले एक्लै चुनाव लड्दा एउटा वडा जित्न पनि नसक्ने भएकाले उनीहरूका लागि अहिलेको गठबन्धन चुनावमा लैजानुपर्ने बाध्यता रहेको र कांग्रेस कार्यकर्ताहरू कुन चिन्हमा भोट हाल्नुपर्ने हो भनेर अन्यौलमा रहेको बताए । उनले माओवादी र नेकपा एस कांग्रेस एमालेको जुवाखालमा च्याँखे थापेर बसेको आरोप लगाए ।

    अध्यक्ष ओलीले भने, ‘हाम्रो मुख्य प्रतिस्पर्धा कांग्रेससँगका छ । राजनीतिक,वैचारिक र सांगठानिक तथा चुनावी प्रतिस्पर्धा छ । तर, यी च्याँखे थापेर बसेका छन् । अबको चुनावबाट यी च्याँखेहरुलाई पन्छाउनुपर्छ ।’

    ओलीले अहिलेको सरकार नायबीद्वारा चलाइएको निमित्त सरकार हो भन्दै नायबी भने पर्दा पछाडि रहेको बताए ।

  • एउटा वडा जित्न सकिन्न भन्नेहरू देशकै ठूलो पार्टी बन्छौं भन्दैछन् : ओली (लाइभ)

    एउटा वडा जित्न सकिन्न भन्नेहरू देशकै ठूलो पार्टी बन्छौं भन्दैछन् : ओली (लाइभ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी अब महाधिवेशनमा जुटेको बताएका छन् । यो महाधिवेशनले कार्यकर्तामात्र होइन जनतालाई समेत परिचालन गर्नुपर्ने बताए ।

    ओलीले माओवादीले एउटा वडा पनि जित्न गाह्रो हुने भनेर प्रचण्डले बोलेको भन्दै आफूले त्यो ठीकै कुरा हो भन्दिएपछि अब देशकै ठूलो पार्टी बन्ने गफ दिन थालेको बताए ।

    वागमती प्रदेश कमिटीको बैठकलाई अहिले ओलीले सम्बोधन गरिरहेका छन् ।

     

  • यस्तो छ एमालेको संशोधित विधान, के-के प्रावधान थपिए (पूर्णपाठ)

    यस्तो छ एमालेको संशोधित विधान, के-के प्रावधान थपिए (पूर्णपाठ)

    काठमाडौं । नेकपा एमालेको नयाँ विधान प्रकाशनमा गएको छ । यही असोज १५-१७ मा गोदावरीमा सम्पन्न पहिलो विधान महाधिवेशनबाट पारित भएको मस्यौदालाई अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णु पौडैलसहितका नेताहरूले सोमबार अन्तिम टुंगो लगाएपछि संशोधित विधान प्रकाशनका लागि पठाइएको हो ।

    २०७१ मा भएको नवौं महाधिवेशनबाट पारित धेरै व्यवस्थाहरू यस विधानमा संशोधन गरिएको छ । पहिलो विधान महाधिवेशनमा प्राप्त सुझावको आधारमा केही प्रावधानहरू पनि हेरफेर गरिएको एमाले स्रोतले जनाएको छ ।

    अर्को पाँच वर्षसम्मको लागि पारित भएको संशोधित विधान र त्यसमा भएका प्रावधानहरू यस्ता छन् :-

  • गृहजिल्लामा ओलीको आकर्षण- बच्चादेखि बुढाबुढी यसरी झुम्मिए (तस्बिरहरू)

    गृहजिल्लामा ओलीको आकर्षण- बच्चादेखि बुढाबुढी यसरी झुम्मिए (तस्बिरहरू)

    झापा । एमाले अध्यक्ष केपी शर्मा ओली आज छोटो समयका लागि गृहजिल्ला झापा आए । उनी एउटा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भएर आजै काठमाडौं फर्किँदैछन् ।

    चाडबाडका बेला ओली झापा पुग्दा एमाले नेता-कार्यकर्ता उत्साहित भएका थिए । उनलाई स्वागत गर्न भद्रपुर विमानस्थलमा घुइँचो थियो । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यसहितका नेता-कार्यकर्ताले उनलाई स्वागत गरे । त्यहाँबाट ओली आफन्तसँग भेटघाटमा केहीबेर व्यस्त भए । अनि ढिला गरी शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थित भएका थिए ।

    ओलीको आगमनसँगै कार्यक्रमका सहभागीले ताली र नारावाजी गर्दै उनको स्वागत गरे । केही वृद्धवृद्धा र बालबालिकाले उनलाई मञ्चमै उक्लेर भेटे ।

    हेर्नुस् केही तस्बिर :-

  • ‘स्वप्नद्रष्टा पिता’ भन्दै केपी ओलीमाथि कोमल वलीको कविता र गीत (भिडिओ)

    ‘स्वप्नद्रष्टा पिता’ भन्दै केपी ओलीमाथि कोमल वलीको कविता र गीत (भिडिओ)

    काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा पुगेर एउटा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भए । उक्त कार्यक्रममा भाग लिन पुगेकी थिइन् एमालेकी समानुपातिक सांसद तथा लोकगायिका कोमल वली ।

    कार्यक्रममा भाषणसँगै सांस्कृति प्रस्तुति पनि समावेश गरिएका थिए । कोमलले पनि कार्यक्रममा छोटो भाषण गर्दै केपी ओलीमाथि कविता र गीत सुनाइन् । आफ्नो छोटो कवितामा कोमलले ओलीलाई ‘स्वप्नद्रष्टा पिता’ को संज्ञा दिएकी थिइन् ।

    कोमलले सार्दूलविकृडित छन्दमा सुनाएको कविताका चार पंति यस्ता छन्-

    यस्ता घोर कठोर कालहरुमा सत्कर्मका सञ्चिता

    नेपालीजनका अपूर्व सुखका हे स्वप्नद्रस्टा पिता,

    नेपाली मुटुभित्र बास अहिले बस्ने छ कोही त्यो भने

    केपी बा हुनुहुन्छ एक युगका भन्छन् सबै भन्छन् सबैका मन ।

    कोमलले आफ्नो भाषणमा देशलाई फेरि एकपटक केपी ओली चाहिएको बताइन् ।

    उनले भनिन्, ‘देशको दूरगामी विकासका लागि हामीलाई फेरि केपी ओली चाहिएको छ ।’

    त्यसपछि उनले ओलीमाथि नै रचिएको गीत पनि सुनाइन् ।

    गीतको बोल थियो :

    फेरि पनि ल्याउनुपर्छ केपी ओलीलाई

    देशका लागि आज अनि चाहियो भोलिलाई

    आजभन्दा झन्‌झन् खाँचो भयो भोलिलाई ।

  • जेठान-मन्त्रीबारे ओलीको आरोप- सरकार र अदालतबीच ‘बार्टर’ भएको देखियो (भिडिओ)

    जेठान-मन्त्रीबारे ओलीको आरोप- सरकार र अदालतबीच ‘बार्टर’ भएको देखियो (भिडिओ)

    काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो सरकार र अदालतबीच ‘बार्टर’ सिस्टममा पछिल्लो सत्ता परिवर्तन भएको आरोप लगाएका छन् । हालै मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशलाई कोटा दिइएको सन्दर्भ उल्लेख गर्दै ओलीले सो आरोप लगाएका हुन् ।

    गृहजिल्ला झापा पुगेका ओलीले दसैँको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै भने, ‘तीन महिनापछि बल्लतल्ल सरकारले पूर्णता पायो, त्यो पनि जेठानलाई मन्त्री बनाएर । अहिले आएर थाहा भयो यो सरकार कसरी बनेको रहेछ । पहिले व्यापारमा पैसाको कारोबार हुन्नथ्यो । बार्टर सिस्टमबाट चल्थ्यो । अहिले सरकार परिवर्तन पनि बार्टर सिस्टममा भएको देखियो ।’

    उनले थपे, ‘पैसाको कारोबार भयो भएन थाहा भएन । सट्टापट्टा भएको स्पष्टै देखियो ।’

    ओलीले धर्तीमै पहिलोपटक परमादेशबाट सरकार बनेको भन्दै दसैँले यस्ता काम नगर्न सबैलाई सुमति दिने कामना गरे । आफ्नो भाषणको सुरूआतमा उनले आज दसैँको शुभकामनामात्रै दिने र कसैलाई कटाक्ष नगर्ने बताएका थिए ।

     

  • ओलीको टिप्पणी- विरोधीहरू म बाँचेको र जनता कार्यकर्ताले माया गरेको देखेर चिन्तित छन् (भिडिओ)

    ओलीको टिप्पणी- विरोधीहरू म बाँचेको र जनता कार्यकर्ताले माया गरेको देखेर चिन्तित छन् (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा नेतृत्व स्थापित नहोस् र झगडा होस् भन्ने सोचेर व्यक्तिको देवत्वकरणको हल्ला चलाइएको टिप्पणी गरेका छन् ।

    विधान महाधिवेशन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेमा कसेको देवत्वकरण नभएको भन्दै नेतृत्वको वरिपरि सबै गोलबन्द भएको बताए ।

    ओलीले भने, ‘मलाई पार्टीको अगुवा र प्रिय साथीको रूपमा जनविश्वास दिनुभएको छ एक थोपो पनि तलमाथि हुन दिने छैन । एमालेलाई बहुमतमा पुर्‍याएर मधुकैटवले हल्लाउन नसक्ने खालको सुदृढ स्थितिमा स्थापित गर्नेछु ।’

    ओलीले नास्यत बहुनायक भन्ने संस्कृत श्लोक सुनाउँदै नायकै नायकको बीचमा आफू नेतृत्वमा स्थापित भएको बताए । विगतमा पनि मदन भण्डारीमाथि यस्तै प्रहार हुने गरेको र पुष्पलाललाई महाधिवेशन गर्न समेत नदिइएको भन्दै ओलीले आफूमाथि प्रहार गरेर एमाले कमजोर बनाउने प्रयास भइरहेको ओलीले बताए ।

    अध्यक्ष ओलीले भने, ‘अहिले विरोधीहरू मुख्यतः दुई कुराले चिन्तित छन् । एउटा म बाँचिरहेकोमा चिन्तित छन् । अर्को कार्यकर्ता र जनताले माया गरेको देखेर चिन्तित छन् । म किड्नी फेरेर पनि बाँचिरहेकोमा उनीहरूलाई चिन्ता छ । म बाँचे त मेरो के दोष ?’

  • प्रचण्डबारे ओलीको टिप्पणी- अस्थिर, अवसरवादी एवं विभाजनकारी

    प्रचण्डबारे ओलीको टिप्पणी- अस्थिर, अवसरवादी एवं विभाजनकारी

    ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्थिर, अवसरवादी र विभाजनकारी नेता भएको आरोप लगाएका छन् ।

    एमालेको प्रथम विधान महाधिवेशनमा अध्यक्ष ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा प्रचण्डको सोच र व्यवहारप्रति असहमति रहेको उल्लेख छ ।

    ‘माओवादी केन्द्र, मुलतः ‘प्रचण्ड’ का अस्थिर, अवसरवादी एवं विभाजनकारी सोच र व्यवहारप्रति हाम्रो विमति छ’, प्रतिवेदनमार्फत ओलीले भनेका छन् ।

  • ओलीको प्रतिवेदन : यथास्थितिवादी कांग्रेससँगै मुख्य प्रतिस्पर्धा

    ओलीको प्रतिवेदन : यथास्थितिवादी कांग्रेससँगै मुख्य प्रतिस्पर्धा

    ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेससँग रहेको बताएका छन् । एमालेको प्रथम विधान महाधिवेशनमा अध्यक्ष ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा कांग्रेस मुख्य प्रतिस्पर्धी पार्टी भएको उल्लेख छ ।

    अध्यक्ष ओलीले कांग्रेसलाई पुँजीवादी वर्ग चरित्र, नवउदारवादी, यथास्थितिवादी र राष्ट्रियताका विषयमा ढुलमुढे रहेको आरोप लगाएका छन् । ‘नेपाली कांग्रेसको दलाल पुँजीवादी वर्ग चरित्र, नवउदारवादी पुँजीवादी बाटो, यथास्थितिवाद र राष्ट्रियताका विषयमा ढुलमुले एवं सम्झौतापरस्त क्रियाकलापप्रति हाम्रो विरोध छ । यो पार्टी हाम्रो मुख्य प्रतिस्पर्धी पार्टी हो’, ओलीले भनेका छन् ।

    ओलीले आफ्नो प्रतिवेदनमा बहुदलीय प्रतिस्पर्धाका आधारमा नेतृत्व हासिल गर्ने नीति लिएको पार्टी भएकाले एमालेले कुनै दल विशेषलाई प्रमुख दुश्मन घोषणा गर्ने नीति भने लिन नहुने उल्लेख गरेका छन् ।

  • अहिलेको एमाले नेकपाकै विरासत हो : ओली (भिडिओ)

    अहिलेको एमाले नेकपाकै विरासत हो : ओली (भिडिओ)

    ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको एमाले नेकपाको निरन्तरताको विरासत बोकेको पार्टी भएको बताएका छन् ।

    गोदावरीस्थित सनराइज हलमा सुरू भएको प्रथम विधान महाधिवेशन सम्मेलनलाई सम्बोधन गर्दै ओलीले एमालेले नेकपाको निरन्तरताको सकारात्मक विरासत बोकेको बताएका हुन् ।

    ‘ नेकपाको एकता निष्कर्षमा पुग्न नसकेपछि हामी एमालेका रूपमा क्रियाशील छौं । तर, यो नेकपा एमाले राजनीतिकरूपमा एकीकरण र नेकपाको निरन्तरतासहितको सकरात्मक विरासत बोकेको पार्टी हो । यो एकीकृत महाधिवेशन हो’, ओलीले भने ।

    उनले एमालेबाट बाहिरिनेहरू फुटपरस्त र संगठनात्मक अराजकता फैलाउनेहरू भएको बताए । ‘केही व्यक्तिहरू बाहिरिएका छन् । संगठनात्मक अराजकता र फुटलाई उनीहरूले प्रश्रय दिएका छन् । एमालेविरुद्ध संगठित प्रहार सुरू भएको छ’, ओलीले भने ।

     

  • एमसीसीबारे ओलीको टिप्पणी – नाइके नै मौन छन, हामी उफ्रेर के हुन्छ ?

    एमसीसीबारे ओलीको टिप्पणी – नाइके नै मौन छन, हामी उफ्रेर के हुन्छ ?

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी साहायता परियोजना एमसिसी सम्झौता गर्नेहरू सरकारमै रहेको भन्दै यसबारे नबोलेकोमा आफूले प्रश्न उठाएको बताएका छन् ।

    ‘गठबन्धनका नाइके सरकारमा छन्,’ मंगलबार सम्पादकहरूसँगको छलफलमा ओलीले भने, ‘ एउटा प्रधानमन्त्री छन्, अर्को ‘किङमेकर’(प्रचण्ड) छन् । यस्तो व्यक्ति भएको सरकारको न्यूनतम साझा कार्यक्रममा एमसीसी उल्लेख भएन । नआएपछि त्यो कुरा सम्झाएको हुँ ।’

    ओलीले सरकारले यसमा दृष्टिकोण अघि नसारेकाले आफूहरू मात्रै बोल्नुको औचित्य नहुने बताए । ‘जब सरकारले नै यसमा रुची राखेको छैन भने यस सम्बन्धमा मैले के भनिराख्नुपर्‍यो र ,’ उनले भने, ‘सरकारको दृष्टिकोण नै थाहा नपाइकन ताप्केभन्दा बिँड ताप्ने भन्छन् नि, हामी उफ्रेर के हुन्छ ?’

  • सम्पादकलाई ओलीको प्रश्न- आफ्ना बाआमालाई पनि तिमी भन्नुहुन्छ ?

    सम्पादकलाई ओलीको प्रश्न- आफ्ना बाआमालाई पनि तिमी भन्नुहुन्छ ?

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज आयोजना गरेको सम्पादकसँगको अन्तरक्रियामा फेरि एकपटक आदरार्थी शब्दबारे बहस भएको छ । एक सम्पादकले यो प्रसंग निकालेपछि ओलीले कडा जवाफ फर्काए ।

    ती सम्पादकले सञ्चारमाध्यमहरूले राष्ट्रपतिदेखि सर्वसाधारण सबैलाई एउटै भाषा प्रयोग गर्ने गरेको तर ओलीले बारम्बार गुनासो गरको भन्दै असन्तुष्टी जनाएका थिए । अबका १५ महिना यस्तो गुनासो सुन्नु नपर्ने भन्दै उनले सन्तोष व्यक्त गरेका थिए ।

    उनलाई बीचमा रोक्दै ओलीले प्रश्न गरे, ‘तपाईं आफ्नो बाआमालाई पनि तिमी भन्नुहुन्छ ?’

    सम्पादकले एउटा गीतको पंति भन्दै ‘तिमी’ भन्दा फरक नपर्ने बताए ।

    त्यसपछि ओलीले भने, ‘त्यो त गीतमा न हो । गीतमा त भगवानलाई पनि तँ भनिन्छ ।’

    उनले मुनामदनको ‘ईश्वर तैले रचेर फेरि..’ गीत सम्झाएका थिए । गीत र साहित्यमा तिमी, तँ जे भने पनि सञ्चारमाध्यमको भाषा आदरार्थी हुनुपर्ने उनको भनाइ छ ।

    यस विषयमा आफ्नो व्यक्तिगत गुनासो नभएको तर भाषिक समृद्धिको चिन्ता भएको उनले बताए ।

    ओलीले भने, ‘तपाईंहरूले भेदभावपूर्ण भाषा प्रयोग गर्नुभयो भनेको होइन । तिमी, तपाईं भन्ने, आदरभाव व्यक्त गर्ने, यो हाम्रो भाषिक समृद्धि हो । हाम्रो भाषा तिमी, तपाईं, हजुरमा व्यक्त हुन्छ । कसैले बोलाउँदा हामी ‘हजुर’भन्ने जवाफ दिन्छौं । हामी अरुको मात्रै सिको नगरौं ।’

    उनले थपे, ‘मलाई तिमी भनेको भनेर गुनासो गरेको होइन । मलाई त तिमी होइन तँ भने पनि हुन्छ ।’

  • सूचना निकालेर अध्यादेश फिर्ता हुँदैन, संसदबाट टुंग्याउनुपर्छ : ओली

    सूचना निकालेर अध्यादेश फिर्ता हुँदैन, संसदबाट टुंग्याउनुपर्छ : ओली

    काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एकपटक जारी भएको अध्यादेश सूचना निकालेको भरमा फिर्ता नहुने बताएका छन् । गठबन्धन सरकार संसदीय मूल्यमान्यता भत्काएर स्वेच्छाचार बन्दै गएको उनले आरोप लगाए ।

    काठमाडौंमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले एउटा अध्यादेश रद्द गर्न अर्को अध्यादेश वा कानून चाहिने बताए । संसद चलिरहेको बेलामा सांसदबाटै कानून बनाइनुपर्ने उनको भनाइ छ ।

    ओलीले भने, ‘दूषित मनसायका साथ अध्यादेश ल्याइयो । अहिले संसद छलेर सूचनामार्फत अध्यादेश फिर्ता भनिएको छ । अध्यादेशको कुरा, कानूनको कुरा संसदको विजनेस हो । अध्यादेश रद्द गर्न अर्को कानून चाहिन्छ । यत्तिकै फिर्ता हुँदैन । रद्द गर्नुपर्यो भने अर्को अद्यादेशको व्यवस्था गर्नुपर्छ ।’

    उनले थपे, ‘पहिलेको ऐन-कायम रद्द हुनेगरी सूचना जारी हुन सक्दैन । पहिलेको कानून अहिले कहाँ गयो ? सदनको बैठक चालु छ । सूचना जारी गर्न पाइँदैन । कानून परिवर्तन गर्न पाइँदैन ।’

    ओलीले संविधान, लोकतन्त्र र संसदीय परिपाटी भत्काएर सरकार अघि बढेको बताए ।

  • सम्पादकहरूलाई ओलीले भने- सरकारलाई तपाईंहरूको खबरदारी पुगेन कि ? (भिडिओ)

    सम्पादकहरूलाई ओलीले भने- सरकारलाई तपाईंहरूको खबरदारी पुगेन कि ? (भिडिओ)

    काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देउवा नेतृत्वको सरकारलाई सञ्चारमाध्यमको खबरदारी नपुगेको टिप्पणी गरेका छन् । आज विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै ओलीले संविधान मिचिँदा पनि सञ्चारमाध्यम मौन देखिएको गुनासो गरे ।

    ओलीले आफ्नो सरकारका पालामा सञ्चारमाध्यमबाट निकै खबरदारी भएको भन्दै धन्यवादसमेत दिएका थिए । सरकारले गल्ती नगरोस् भन्नका लागि खबरदारी आवश्यक रहेको उनको भनाइ थियो ।

    ओलीले भने, ‘एमाले आज सत्तापक्षबाट प्रतिपक्षमा गएको छ । सरकारमा छँदा हामीले सञ्चारमाध्यमबाट महत्वपूर्ण सहयोग पायौं । प्रधानमन्त्रीको हैसियतमा मैले पाएँ । त्यसका लागि धन्यवाद दिन चाहन्छु । सरकारले गल्ती नगरोस् भनेर अमूल्य सुझावहरू दिनुभयो । ती खबरदारीले हामीलाई गल्ती नगर्न प्रेरित गर्‍यो ।’

    त्यसपछि उनले थपे, ‘खबरदारी गरेन भने सरकार लापरवाह हुँदोरहेछ । जस्तो अहिलेको सरकारप्रति खबरदारी पुगेन कि जस्तो छ । संविधानको मतलब छैन । कानूनको मतलब छैन । सञ्चारमाध्यम उतै छन् । त्यसकारण सरकारले अनुकूलता ठानेको छ । जसले गर्दा सरकारले गल्ती गर्दैछ । संविधान मिचिँदा पनि सञ्चारमाध्यम चुपै लागेको जस्तो देखिएको छ ।’

  • बालकोट पुगेका कानूनमन्त्रीमार्फत ओलीले पठाए देउवालाई यस्तो सन्देश

    बालकोट पुगेका कानूनमन्त्रीमार्फत ओलीले पठाए देउवालाई यस्तो सन्देश

    काठमाडौं । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री शेरवहादुर देउवालाई दल विभाजन सम्बन्धी अध्यादेश जारी र खारेजी दुवै गैरकानूनी तथा असंवैधानिक रहेको यस्ता कुराले सरकार र प्रतिपक्षको सम्बन्ध राम्रो नहुने सन्देश पठाएका छन् ।

    प्रधानमन्त्री देउवाको दूतका रुपमा मंगलवार विहान एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका कानून मन्त्री ज्ञानेन्द्रवहादुर कार्कीमार्फत ओलीले आफ्नो गम्भीर आपत्ति जनाएका हुन् । ओलीलाई भेट्न देउवाको दूतका रुपमा उनी तेस्रो पटक बालकोट पुगेका हुन् ।

    ओलीले आफ्नो सन्देशमा भनेका छन्स ‘सरकारले पार्टी फुटाउने प्रयोजनका लागि गत भदौ २ गते जारी गरेको अध्यादेश हिजो असोज ११ गते फिर्ता गरेको सूचना जारी गरायो । जुन बिल्कुलै असंवैधानिक, षडयन्त्रपूर्ण र बदनियतपूर्ण रहेको पुष्टि भएको छ ।’

    प्रधानमन्त्री देउवालाई ओलीले पठाएका सन्देश ओलीको सचिवालयबाट रामशरण बजगाईले प्रेस नोटमार्फत सार्वजनिक गरेका छन् । ओलीले कानुन मन्त्रीसँगको भेटमा उहाँ मार्फत आफ्नो दलको गम्भीर आपत्ति र विरोध रहेको सन्देश प्रधानमन्त्री समक्ष पठाएको उनले बताएका छन् ।

    सन्देशमा भनिएको छ-

    चलिरहेको संसद् मध्यरातमा हठात् बन्द गरेर बिहानै अध्यादेश ल्याउने काम प्रमुख प्रतिपक्षी दलका विरुद्धको षडयन्त्र थियो, जुन संविधान विपरीत थियो ।

    अहिले संसद् अधिवेशन चालु छ । त्यो अध्यादेश प्रतिस्थापन गर्न संसदलाई सरकारले सूचित गरिसकेको अवस्था छ । कानुन बनाउने, संशोधन गर्ने र खारेज गर्ने अधिकार र काम संसद्को हो । संसद् चालु रहेका बेला कानुन निर्माण, परिवर्तन वा खारेजीजस्ता कुरा संसद्बाहेक अन्यत्रबाट हुन सक्दैन ।

    संसद्को अधिवेशन चालु नरहेको अवस्थामा तत्काल देशलाई आवश्यक परेको अवस्थामा मात्र सम्माननीय राष्ट्रपतिज्यूबाट अध्यादेश मार्फत कानुन सम्बन्धी काम हुन सक्ने हो । तर, हाल संसद् अधिवेशन चालु रहेकै बेला संसद्मा प्रस्तुत विधेयकको वास्ता नगरी, संसद्को मानमर्दन गर्दै जारी गरिएको अध्यादेश खारेजीको सूचना असंवैधानिक, गैरकानुनी र दुःषित मनसायबाट अभिप्रेरित, दलीय व्यवस्था र प्रमुख प्रतिपक्षी दल विरुद्ध लक्षित छ भन्ने कुरा प्रष्ट छ ।

  • माधव नेपाललाई ओलीको जवाफ- एमालेलाई टर्च बालेर खोज्ने कुरा मच्छरले हात्ती खाएजस्तै

    माधव नेपाललाई ओलीको जवाफ- एमालेलाई टर्च बालेर खोज्ने कुरा मच्छरले हात्ती खाएजस्तै

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी सरकारबाट हट्दैमा आत्तिनुनपर्ने बताएका छन् । क्षणिकरुपमा धक्का खाएको भए पनि पार्टी सम्हालिएर अगाडि बढेको भन्दै उनले चुनावमा के भनेर भोट माग्ने भन्ने अवस्था नरहेको बताए ।

    पार्टी केन्द्रीय कमिटीको बैठकमा समूहगत छलफलको क्रममा आएको सुझावबारे जवाफ दिँदै ओलीले आफ्नो नेतृत्वको सरकारले जनता र देशको पक्षमा काम गरेको बताए । ‘हामीले देश र जनतापक्षमा धेरै असाधारण कामहरू गरेका छौं, चुनावमा कसरी भोट माग्ने होला भन्ने अवस्था छैन,’ ओलीले भने, ‘एउटा पनि काम नगरेकाहरू त चुनावमा जाने भन्दैछन्, हामी किन डराउने ?’ एमालेलाई सरकारबाट हटाइए पनि पार्टीलाई ठूलो नोक्सान नभएको उनले बताए ।

    ‘अहिले एकछिन कुनै कारणले धक्का खायौं, सेटब्याक भयो तर हामीलाई खासै नोक्सान भएन । सम्हालिएर अघि बढ्यौं । फेरि पनि सम्हालिएरै अघि बढ्नेछौं,’ ओलीले भने । एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको अभिव्यक्तिलाई पनि ओलीले जवाफ दिए ।

    ‘मच्छरले निदाएको बेला सिंगै हात्ती खाएको सपना देख्नु र माधव नेपालले आगामी चुनावमा एमालेलाई टर्च बालेर खोज्नुपर्छ भन्नु उस्तै हो,’ ओलीले भने ।

  • गठबन्धनलाई ओलीको सुझाव- एमालेसँग लड्ने भए ‘पञ्चेगुट’ एकताबद्ध भएर आऊ

    गठबन्धनलाई ओलीको सुझाव- एमालेसँग लड्ने भए ‘पञ्चेगुट’ एकताबद्ध भएर आऊ

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय सत्तारुढ गठबन्धनलाई ‘पञ्चेगुट’को संज्ञा दिएका छन् । एमालेसँग लड्ने भए एकताबद्ध भएर आउन उनले गठबन्धनलाई सुझाव दिए ।

    काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्द ओलीले भने, ‘यत्तिकै लिरिखिरी पाराले एमालेसँग लड्न सक्दैनौं । मन्त्रिमण्डल बनाउन नसक्नेले एमालेसँग लड्ने धाक लगाउने ?’

    अरु पार्टी सबै मिल्दा एमालेको कम्मर कम्मर आउने उनले बताए ।

    ‘एमालेविरुद्ध के-के न गरेउँ भन्छन् । एमालेलाई खुब नोक्सान पारेउँ भन्छन् । तर, सबै मिल्दा पनि कति छन् ? हाम्रो कम्मर-कम्मर आइपुग्छन् । त्यत्ति न हो ।’

    एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी पार्टी र अध्यक्ष माधव नेपाललाई उनले कटु व्यंग्य गरे ।

    ‘फुटेको एउटा टुक्रो एकीकृत पार्टी रे,’ ओलीले भने, ‘पदाधिकारी पनि भर्न मान्छे नभएर खाली छोडेका छन् । ’

    नेपाललाई लक्षित गर्दै उनले थपे, ‘यसो टिभीमा हेरेको अध्यक्ष माधव नेपालभन्दा (हाउभाउसहित) गमक्क परेर मुस्कुराउँदा रहेछन् ।’

  • ओलीको कटाक्ष – महासभामा हिँडेका परराष्ट्रमन्त्री प्लेनमा घुर्दै, सोच्दै ! (भिडिओ)

    ओलीको कटाक्ष – महासभामा हिँडेका परराष्ट्रमन्त्री प्लेनमा घुर्दै, सोच्दै ! (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवा सरकारले हतारमा परराष्ट्रमन्त्री नियुक्त गरेर संयुक्त राष्ट्रसंघमा भाग लिन पठाएको विषयमा आलोचना गरेका छन् । बिनातयारी सुटकेसमा कपडा बोकेर हतारमा हिँडेका परराष्ट्रमन्त्रीले देशको सही प्रतिनिधित्व गर्न नसक्ने उनले बताए ।

    काठमाडौंमा आयोजित कार्यकर्ता भेलामा बोल्दै ओलीले भने, ‘तराईतिर भन्छन् नि, चट् मंगनी पट सादी । एउटा मन्त्री फ्याट्ट तोकिए । नियुक्त गरिए । हतार-हतार सपथग्रहण भयो । सुटकेस लिएर एयरपोर्ट । के ताल हो ? के प्रतिनिधित्व गर्ने, के बोल्ने ? के भन्न जाने ? कपडाको ब्याग बोकेर प्रतिनिधित्व हुन्छ ? खोइ तयारी ?’

    उनले व्यंग्य कसे, ‘कपडा, टाइसुटले प्रतिनिधित्व हुन्छ ? प्लेनमा जाँदा सुतेर चिन्तन-मनन गर्ने हो ? विशिष्ट श्रेणीको सिटमा यसो ढल्केर, घुर्दै सोच्दै.. घुर्दै सोच्दै…। यो हालत छ देशको ।’

    राष्ट्रसंघको महासभा छ भनेर सरकारले हिजोमात्रै थाहा पाएको ओलीले बताए ।

    ‘७५ दिनसम्म महासभा छ भन्ने थाहा नपाउने सरकार । हिजो झल्यास्स सम्झेछ । अस्ति सुरु भइसक्यो सरकारले हिजो बिहानै थाहा पाएछ । एकजना भाग्यमानीलाई च्याप्प समातेर नियुक्ति दिइयो, अनि सपथग्रहण… ’

    एमालेसँग लड्नेहरूले एकताबद्ध भएर आउ पञ्चेगुट एकजुट भए आउ यत्तिकै लिरिखिरी पाराले । मन्त्रीमण्डल बनाउन नसक्ने एमालेसँग लड्ने धाक लाउने ?

  • ओलीले भने- सिस्नुजस्तो सरकार छ, जता छोयो त्यतै पोल्ने (भिडिओ)

    ओलीले भने- सिस्नुजस्तो सरकार छ, जता छोयो त्यतै पोल्ने (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारलाई सिस्नुसँग तुलना गरेका छन् । सरकारलाई जता छोयो त्यतै पोल्ने उनको टिप्पणी छ ।

    काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘कस्तो सरकार आयो आयो । अचम्म लाग्छ । सिस्नुजस्तो । जता छोयो त्यतै पोल्छ । अर्को चुनावमा यसलाई तातोपानी लगाएर ठीक पार्नुपर्छ ।’

    आफ्नो नेतृत्वको सरकार थप दुई वर्ष टिकेको भए अन्य पार्टीहरुको ‘सटर बन्द हुने’ दावी उनले गरे ।

    ‘हाम्रो एमालेको सरकार दुई वर्ष टिकेको भए विचराहरूको राजनीतिको सटर बन्द हुन्थ्यो । घ्यार्र सटर तान्नुहुन्थ्यो । त्यसैकारण हटाउनुपरो,’ ओलीले भने । आफ्नो सरकारले विकासको लहर ल्याएको उनले बताए ।

    ‘हामीले राजमार्गै राजमार्ग बनायौं, धरहरा उठायौं, रानीपोखरी बनायौं । अब हामीले बनाइदिएको नयाँ घरमा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा सर्दैछन् । एकपटक ताली बजाउनुस् न । उहाँले रिवन काट्नु्हनेछ, बत्ती बाल्नुहुनेछ । हामीले तार जोडिदिएका छौं, उहाँले प्लग ठ्याक्क थिच्नुहुनेछ । मलाई खुसी लाग्छ ।’

  • राष्ट्रिय सभागृहमा एमालेको बृहत् भेला (तस्बिरहरू)

    राष्ट्रिय सभागृहमा एमालेको बृहत् भेला (तस्बिरहरू)

    काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेको बृहत् भेला राष्ट्रिय सभागृह काठमाडौंमा जारी छ । भेलालाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।

    उपत्यका विशेष प्रदेश कमिटीले भेलाको आयोजना गरेको हो । भेलालाई महासचिव ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’ लगायतका नेताहरूले सम्बोधन गरेका छन् ।

    पार्टी फुटाएर माधव नेपालले नेकपा एस दर्ता गरेपश्चात एमालेले केन्द्रदेखि तल्लो तहसम्म अझ सशक्त भएर एकढिक्काका साथ अघि बढ्ने र जनताको अभिमतद्वारा पुन: सत्तामा आउने उद्घोषसहित भेला, बैठकलाई तीव्र बनाएको छ ।

     
     
     
     
     
     
     
     
     
  • प्रचण्डको प्रश्न- मेरो निर्वाचन क्षेत्रमा केपीले राम, सीता र हनुमान राखिदिए, म कोसँग लड्नु ? (भिडिओ)

    प्रचण्डको प्रश्न- मेरो निर्वाचन क्षेत्रमा केपीले राम, सीता र हनुमान राखिदिए, म कोसँग लड्नु ? (भिडिओ)

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी ओली विचारको हिसाबले मार्क्सवादी र कम्युनिष्ट नभएको आरोप लगाएका छन् ।

    विहीबार काभ्रेको पाँचखालमा आयोजित वाईसीएलको भेलालाई सम्बोधन गर्दै उनले ओलीलाई ‘सामन्ती हिन्दू अतिवादी’ को संज्ञा दिए ।

    ‘तपाईंहरुले देख्नुभयो मैले १९ पृष्ठ लामो केपी प्रवृत्ति भनेको के हो भन्ने लेखेँ,’ प्रचण्डले भने, ‘विचारको हिसाबले यो मार्क्सवादी होइन, कम्युनिष्ट होइन । यो सामन्ती हिन्दू अतिवादी हो ।’

    उनले थपे, ‘तपाईंहरूले जलहरी चढाएको त सुन्नुभयो । मेरो निर्वाचन क्षेत्रमा गएर राम, सीता, हनुमान राखिदिएका छन् । अब म राम, सिता, हनुमानसँग लड्न त जाने कुरा त आएन । अनि यो कम्युनिष्टले यस्तो काम गर्छ त ?’

    वाईसीएललाई आक्रामक बन्न निर्देशन

    प्रचण्डले वाईसीएललाई जाग्न र २०६४ सालको अवस्थामा सक्रिय हुन निर्देशन दिए । माओवादीलाई तर्साउन खोजिरहेको भन्दै उनले इँटको जवाफ पत्थरले दिनुपर्ने बताए । ‘जाइलाग्ने होइन, आइलागे पनि इँटको जवाफ पत्थरले दिने,’ उनले भने।

    उनले अबको चुनाव २०६४ को जस्तै बनाउनुपर्ने बताए । ‘अबको चुनाव २०६४ को जस्तो बनाउनै पर्छ,’ उनले भने, ‘जालझेल गर्ने र बाकस साट्नेहरूलाई भ्याकुर लखेटेझैँ लखेट्नुपर्छ । सोझो हुँदै जाँदा हेपियो । गुण्डा र भ्रष्टहरुलाई ठोक्ने ।’

  • संविधानसभा सदस्य फुर्वासहित मकवानपुरका माओवादी जिल्ला नेता एमालेमा प्रवेश

    संविधानसभा सदस्य फुर्वासहित मकवानपुरका माओवादी जिल्ला नेता एमालेमा प्रवेश

    काठमाडौं । नेकपा माओवादी नेता तथा मकवानपुरबाट २०६४ सालको पहिलो संविधानसभामा निर्वाचित सभासद दिलबहादुर घिसिङ (फुर्वा) नेकपा एमालेमा प्रवेश गरेका छन् । फुर्वा पछिल्लो समय मोहन वैद्य नेतृत्वको माओवादीमा थिए ।

    घिसिङसँगै मकवानपुरकी माओवादी नेता वरिना बल तामाङ, राजेश गहतराजलगायतका नेता मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर पार्टी प्रवेश गरेका हुन् ।वरिना माओवादी जनयुद्धमा लागेकी नेता हुन् । पछिल्लो सफल उद्यमीका रुपमा परिचित छिन् ।

    सो अवसरमा अध्यक्ष ओलीले नेकपाबाट प्रचण्ड माओवादीको एउटा हिस्सा लिएर अलग भए पनि अहिलेको एमाले नेकपाकै निरन्तरता रहेको भन्दै माओवादीमा रहेका कार्यकर्ता एमालेमै समाहित हुनुपर्ने बताए ।

    नवप्रवेशीलाई महासचिव ईश्वर पोखरेल, सांसद कृष्णप्रसाद दाहाल,मकवानपुरका एमाले नेताहरू हिदम लामा र महेश बर्तौलाले स्वागत गरेका थिए ।

  • पदकबारे ओलीको प्रश्न- संविधान दिवस बाबु र श्रीमतीको मुख हेर्ने दिन हो ? (भिडिओ)

    पदकबारे ओलीको प्रश्न- संविधान दिवस बाबु र श्रीमतीको मुख हेर्ने दिन हो ? (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यले बाँड्ने विभूषण र पदकहरु सत्ता गठबन्धनका नेता, तीनका परिवार र एमाले सरकारविरुद्ध निरन्तर लागेका मिडियाकर्मी तथा वकिलहरूलाई बाँडिएको आरोप लगाएका छन् ।

    संविधान दिवसका अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले झलनाथ खनालदेखि प्रचण्ड पत्नीसम्मले पाएको पदकको बारेमा समेत प्रश्न उठाए ।

    ओलीको प्रश्न थियो, ‘संविधान दिवस भनेको पिताको मुख हेर्ने दिने हो ? श्रीमतीको मुख हेर्ने दिन हो ? यिनले बाँडेका मानपदवी देख्नुभयो नि ? मलाई चाहिँदैन भन्थे, आफ्नाहरूलाई बाँड्नका लागि डाडूपुन्यु समातेका रहेछन् ।’

    ओलीले एमाले नेतृत्वको सरकारले गरेका विकासका कामको निरन्तर विरोध गरेर खेदो खन्ने मिडियाका मालिक र मिडियाकर्मीहरूलाई छानी छानी मानपदवी बाँडेको आरोप लगाए ।

    त्यस्तै अदालतमा मुद्दा हाल्ने झगडिया, जिताइदिने न्यायाधीशलगायतलाई पदक बाँडिएको आरोप समेत उनले लगाए ।

     

  • संविधान बनाउन अगुवाइ गर्दा ममाथि माइकले हान्ने र भौतिक आक्रमणसमेत भए : ओली

    संविधान बनाउन अगुवाइ गर्दा ममाथि माइकले हान्ने र भौतिक आक्रमणसमेत भए : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस-माओवादीजस्ता दलहरू लकपकाएर खुट्टा कमाएका बेला एमालेको नेतृत्वमा संविधान बनेको भन्दै यसको रक्षाका लागि पनि एमालेले नै अगुवाइ गर्ने बताएका छन् ।

    संविधान दिवसका अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले संविधान जारी गर्ने पहल लिँदा आफूमाथि संविधानसभामै माइकले हान्नेदेखि भौतिक हमलाको प्रयास भएको स्मरण गरे ।

    ओलीले भने, ‘हामीमाथि संविधान जारी गर्न खोज्दा भौतिक आक्रमण भए । माइकले हाने । सबै झेलेर संविधान जारी गराइयो, त्यसवापत नाकाबन्दी भयो त्यसको पनि डटेर, राष्ट्रिय स्वाभिमानलाई झुक्न नदिएर कुनै सम्झौता नगरी संविधानको रक्षा गरेर अघि बढ्यौं । मलाई गर्व छ त्यसको नेतृत्व नेकपा एमालेले गर्‍यो ।’

    ओलीले संविधान संशोधन गर्छु भन्दै विदेशमा गएर सम्झौता गर्ने प्रवृत्ति नेपालकै कतिपय नेताले देखाएको भन्दै शेरबहादुर देउवाप्रति कटाक्ष गरे । अध्यक्ष ओलीले संविधान नमान्ने शक्तिलाई पनि एमालेले आफ्नो नेतृत्वको सरकारका पालमा सबैलाई समेटेको दावी गरे ।

    ओलीले भने, ‘जो पृथकतावादको वकालत गर्दै थिए, हिंसामा थिए ती सबै प्रवृत्तिलाई समेत समावेश गरियो । संविधान मान्दैनौं भन्ने कुरा अब जनतालाई धोका दिने मात्र हो । सबैले संविधान अनुसार सपथग्रहण गरेका छन् । सरकारमा सहभागी भएका छन् । विनासर्त संविधान स्वीकार गरेका छन् ।’

  • च्यासलमा एमालेको संविधान दिवस (तस्बिरहरू)

    च्यासलमा एमालेको संविधान दिवस (तस्बिरहरू)

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सातौं संविधान दिवसको अवसर पारेर विशेष कार्यक्रमको आयोजना गरेको छ ।

    ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, संविधानसभा अध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतका नेता सहभागी छन् ।

    कार्यक्रमलाई ओली र नेम्वाङले सम्बोधन गर्दैछन् । आजै एमालेको स्थायी कमिटी बैठक पनि आजै बस्दैछ ।

  • ओलीको टिप्पणी- प्रचण्ड उडेको जहाज हो, हेर्दै गयो बिलाउँदै जान्छ(भिडियाे )

    ओलीको टिप्पणी- प्रचण्ड उडेको जहाज हो, हेर्दै गयो बिलाउँदै जान्छ(भिडियाे )

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिलाउँदै गएको टिप्पणी गरेका छन् ।

    बिहीबार राजधानीमा आयोजित एमाले जिल्ला कमिटीको भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्डलाई उडिरहेको जहाजसँग तुलना गर्दै भने, ‘प्रचण्डरूपी यत्रो जहाज उडेको, अलिक पर जाँदा विस्तारै देख्न छोडिन्छ ।’

    माओवादीका कार्यकर्तालाई पार्टीको कार्यकर्ता कि प्रचण्डको सेवक भन्दै एमालेमा आउन आह्वान गरे । ‘हिजो हामी नेकपा भएर एकीकृत भइसक्यौं,’ ओलीले भने, ‘तपाईंहरू पार्टीको कार्यकता हो कि प्रचण्डको घरेलु कार्यकर्ता ? प्रचण्डलाई घाँस हालेर के दिन्छन् ? मन्त्री दिन्छु भन्थे अहिले त त्यो पनि दिन छाडे । दुई महिना भइसक्यो अहिले मन्त्री पनि बनाएको छैन ।’

    ‘माओवादी केन्द्रमा नाममा प्रचण्डका साथमा जो हुनुहुन्छ, उहाँहरूलाई पार्टीमा फर्किन म आग्रह गर्न चाहान्छु, यो एकीकृत पार्टी हो,’ ओलीले थपे, ‘प्रचण्डलाई मैले ८-१० वटा मन्त्री त दिएको थिएँ नि, धेरै खाउँला भनेर गएको हेर त ?’

  • प्रधानमन्त्रीबाट हटेपछि गृहजिल्ला पुग्दा यस्तो देखियो ओली क्रेज (तस्बिरहरू)

    प्रधानमन्त्रीबाट हटेपछि गृहजिल्ला पुग्दा यस्तो देखियो ओली क्रेज (तस्बिरहरू)

    विर्तामोड । प्रधानमन्त्रीबाट हटेपछि पहिलोपटक गृहजिल्ला आइपुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफन्त, सर्वसाधारण, पार्टी कार्यकर्ता र वृद्धवृद्धाहरूले पछ्याउन छाडेनन् ।

    ओलीको गृहनगर दमक हो तर एमालेको जिल्ला कार्यकर्ता भेला विर्तामोडमा थियो । ओलीलाई भेट्नका लागि १०२ वर्षकी वृद्धा कौशिला सिलवालदेखि बालबालिकासमेत विर्तामोड पुगेका थिए ।

    कतिपय आफन्त र वृद्धवृद्धालाई ओलीले ढोगेको दृष्य पनि देखियो । समय अभावका कारण मन्चमै उनले आफन्त र वृद्धवृद्धासँग कुराकानी गरेका थिए । ओली प्रधानमन्त्री हुँदा भन्दा बढी क्रेज यसपटक देखिएको उनका प्रमुख स्वकीय सचिवसमेत रहिसकेका एमाले नता ईन्द्र भण्डारीले बताए ।

    ओलीसँग भेट्न चाहने बुढाबुढीको व्यवस्थापन गर्न सुरक्षाकर्मीलाई समस्या परेको थियो ।

    झापा क्रान्तिका अगुवा केपी ओलीले मंगलबार आफ्नो सम्बोधनमा नामै लिएर झापाली आफ्ना सहयोद्दाहरूलाई सम्झिएका थिए । ओली २०४८ सालदेखि पहिलो संविधानसभाबाहेक लगातार झापाबाटै निर्वाचित भइरहेका छन् ।

    ओलीको लागि यसपटक झापा आगमन यसकारण पनि सुखद रह्यो कि, पार्टी विभाजनमा समेत झापाका अगुवा नेता कार्यकर्ता कोही पनि माधव नेपालसँग गएनन् ।

    नेपालनिकटका प्रभावशाली नेता तथा सांसदहरू नरेश खरेल, पवित्रा निरौला खरेल, रविन कोइराला, चन्द्रा श्रेष्ठलगायत एमालेमै रहेपछि झापामा नेकपा एसको उपस्थिति देखिएको छैन ।

    ओलीले २०७४ सालको संविधानसभा निर्वाचनमा देशभरमै सबैभन्दा बढी मत प्राप्त गरेका थिए ।

    तस्बिरहरू : राजन काफ्ले ।

  • ओलीको दावी- प्रचण्डले माधव गुट लिएर गए, माओवादीको मूल हिस्सा एमालेसँगको एकतामै छ (भिडियो)

    ओलीको दावी- प्रचण्डले माधव गुट लिएर गए, माओवादीको मूल हिस्सा एमालेसँगको एकतामै छ (भिडियो)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले माधव नेपाल गुटमात्र आफूसँग लिएर गएको भन्दै आफूले नेकपा एकतालाई निरन्तरता दिएको बताएका छन् ।

    झापाको बिर्तामोडमा आयोजित जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कानूनी र भावनात्मकरूपमा एमाले विगतकै पार्टी भए पनि संगठन र राजनीतिको हिसाबले नेकपाकै निरन्तरता रहेको ओलीले बताए ।

    ओलीले भने, ‘फागुन २३ को फैसलाले एमाले र माओवादी आ-आफ्नो पार्टी भएका होइनन् । एकीकृत पार्टी यथावत छ । प्रचण्डले माधव नेपाल गुट र आफ्नो गुट लिएर हिँडेका हुन् । आमरूपमा एमाले र माओवादी यही पार्टीमा छन् ।’

    ओलीले विभिन्न तहका माओवादी नेताहरू अहिले पनि एमालेमै रहेको भन्दै प्रचण्ड गुटमात्र बाहिरिएको दावी गरे । उनले झापाका केही माओवादी नेताहरुलाई एमालेमा प्रवेश गराउँदै प्रचण्डको भ्रमबाट मुक्त भएर एमालेमा एकताबद्ध हुन आह्वान गरे ।’

    ओलीले भने, ‘प्रचण्डले लिएर गएको माधव गुटमात्र हो,अरु सबै साथी हामीसँगै छन् । एमाले कानूनी र ऐतिहासिक कुरा हो । प्रचण्डले पचण्ड गुट लिएर गएका हुन् । माओवादी केन्द्र लिएर गएको भनेको कानूनी रुपमा मात्र हो,राजनीतिकरूपमा होइन ।’

  • ओलीको आरोप- एमालेबाट खानुसम्म खाएर माधव नेपाल भागे, अब वडा सदस्य पनि जित्दैनन्(भिडिओ )

    ओलीको आरोप- एमालेबाट खानुसम्म खाएर माधव नेपाल भागे, अब वडा सदस्य पनि जित्दैनन्(भिडिओ )

    विर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले अर्को पार्टी चलाउनका लागि नभइ एमाले कमजोर पार्नमात्र पार्टी फुटाएको आरोप लगाएका छन् ।

    झापा जिल्ला कमिटीले विर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले १६ वर्षसम्म एमालेको नेतृत्व गरेर खानु खाएपछि पार्टीलाई रसातलमा पुर्‍याएर नेपाल आफैं राजीनामा गरेर हिँडेको बताए ।

    ओलीले भने- ‘यो पार्टीको १६ वर्षसम्म महासचिव भए, विपक्षी दलको नेता भएर खाए, हामीले प्रधानमन्त्री बनाइदियौं । खानु खाएपछि २४० सिटमा जम्मा ३३ सिटमा झारेर मैले पार्टी चलाउन सकिन महासचिवबाट आफैं राजीनामा गरेर हिँडे । त्यसपछि त चुप लाग्नु पर्दैन ? फेरि दुःख दिन थाले अध्यक्ष चाहियो भनेर ।’

    आफूले माधव नेपाललाई प्रधानमन्त्री बनाए पनि काँध थाप्दा थाप्दै कांग्रेसले समेत सहयोग गर्दा पनि राजीनामा दिएर भागेको आरोप लगाए । पार्टी र सरकार चलाउन नसकेर भाग्ने अनि फेरि त्यही पद चाहियो भनेर पार्टीमा रडाको मच्चाउने काम नेपालले गरेको ओलीको आरोप छ ।

    ओलीले भने- ‘हामीले काँधमा हालेका थियौं, तर म चलाउन सक्दिन भनेर भागे । राजीनामा दिएको हो, कसैले फालेको होइन । सकिन भनेर फालेर हिडेको होइन ? फेरि प्रधानमन्त्री चाहियो ?’

    माधव नेपालको पार्टीले आउने चुनावमा एउटा वडा सदस्य पनि जित्न नसक्ने दावी गरे । उनले भने-प्रचण्डले हिजो ठीक कुरा गरेछन्, हामी त वडा अध्यक्ष पनि जित्न नसक्ने भयौं भनेर । माधव नेपालले त सदस्य पनि जित्न सक्दैनन् ।’

  • झापा क्रान्तिका सहयोद्धा सम्झिँदै विर्तामोडमा ओलीको सम्बोधन (लाइभ)

    झापा क्रान्तिका सहयोद्धा सम्झिँदै विर्तामोडमा ओलीको सम्बोधन (लाइभ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृह जिल्ला झापामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्न झापा पुगेका छन् ।

    जिल्ला कमिटी झापाले आयोजना गरेको कार्यक्रममा ओलीले सम्बोधन गर्दै झापा क्रान्तिका आफ्ना सहयोद्धाहरुलाई सम्झिएका छन् ।

  • ओली हाम्रो सहारा भन्दै १०२ वर्षकी आमा जब मञ्चमा चढिन्.. (भिडिओ)

    ओली हाम्रो सहारा भन्दै १०२ वर्षकी आमा जब मञ्चमा चढिन्.. (भिडिओ)

    विर्तामोड । गायिका प्रिया भण्डारीले ‘सैं पनि एमाले,मै पनि एमाले’ गीत गाउँदै गर्दा दर्शकदिर्घाबाट नाचिरहेका दुईजना बयोवृद्धा एकाएक मञ्चतिर उक्लिए । उनीहरू सीधै एमाले अध्यक्ष केपी ओलीतिर लागे ।

    सुरक्षाकर्मी र आयोजकले रोक्न खोज्दा ओलीले उठेर उनीहरुलाई आफूतिर बोलाए । तीमध्येकी एक थिइन् १०२ वर्षीया कौशिला सिलवाल । उनी सिधै गएर ओलीलाई अँगालो मार्न खोजिन् ।

    यसक्रममा केहीबेर एमालेका नेता मनकुमार गौतमले ओलीलाई ती बा आमाको बारेमा खासखुस सुनाए । आमाको लौरो भुइँमा खसेछ, ओलीले टिपेर दिए । तर आमा रोकिइनन् ।

    गौतमका अनुसार ‘हामी बुढापाकाको सहारा’ भन्दै ती आमाले ओलीलाई आशिर्वाद दिइन् । वृद्धभत्ता दिने र बढाउने एमाले नै हो भन्दै उनले ओलीलाई धन्यवाद दिएपछि सुरक्षाकर्मीले हटाउन खोजे ।

    तर, ओलीले आफू बसेको सोफाबाट सरेर आमालाई बस्न ठाउँ दिए । आमालाई मास्क लगाइदिँदै थिए तर उनले ओलीको अनुहार हेर्छु भन्दै मास्क खोल्न लगाइन् । ओलीले मास्क खोलेर कुरा गरे ।

    त्यसपछि उनले ओलीलाई आफूले ल्याएको खादा लगाएर फूलको गुच्छा दिइन् र भनिन्, ‘हाम्रो सहारा हौ, तिमी धेरै वर्ष बाँच । एमाले नै हामी बुढाबुढीको सहारा हो । आज केपी ओलीलाई भेट्न पाएँ, मेरो इच्छा पूरा भयो ।’

    ओलीले सायद आमालाई विगतमा भएको भेटको पनि स्मरण गराए । १०२ वर्षकी आमालाई आफ्नो छेउमा राखे अनि कार्यक्रम अघि बढ्यो ।

    एमाले नेता ईन्द्र भण्डारीका अनुसार झापा बनियानीकी १०२ वर्षीया सिलवाल पहिलेदेखि नै एमालेलाई माया गर्ने आमा हुन् । उनी केपी ओली आउने थाहा पाएपछि परिवारका सदस्यलाई आग्रह गरेर विर्तामोड पुगेकी थिइन् ।

    तस्बिरहरू : राजन काफ्ले ।

  • कार्यकर्ता भेलालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली झापामा (तस्बिरहरू)

    कार्यकर्ता भेलालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली झापामा (तस्बिरहरू)

    झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी विभाजन र प्रधानमन्त्री पदबाट हटेपछि पहिलोपटक गृहजिल्ला झापा आएका छन् ।

    झापा जिल्ला कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली झापा आएका हुन् । बिर्तामोडमा आयोजना गरिएको भेलालाई एमालेका अन्य नेताले पनि सम्बोधन गर्दैछन् ।

    झापामा एमाले विभाजनको असर लगभग न्यून छ । माधव नेपाल पक्षमा रहेका प्रभावशाली नेताहरू सांसद पवित्रा निरौला खरेल, नरेश खरेल, रविन कोइरालालगायत सबै एमालेमै बसेपछि पार्टी विभाजनको असर छैन ।

  • ६५ काटेका यी नेता- ओलीसँगै एमालेको कार्यकारी भूमिकाबाट बाहिरिनेछन्

    ६५ काटेका यी नेता- ओलीसँगै एमालेको कार्यकारी भूमिकाबाट बाहिरिनेछन्

    काठमाडौं । सरकारी सेवामा रहेकाहरू आफ्नो अवकासबारे प्रष्ट हुन्छन् र सकेसम्म सेवा अवधिभित्र माथिल्लो पदमा पुग्न चाहन्छन् । त्यसै अनुसार मेहनत र पहुँच लगाउँछन् ।

    राजनीतिमा अक्सर त्यस्ता हुँदैन । बाचुन्जेल पदमा बसिरहने प्रचलन नेताहरूको छ । तर, नेकपा एमालेको हकमा कम्तीमा अहिलेको विधानले त्यो छुट दिँदैन ।

    प्रहरीमा तीस वर्षे सेवा अवधि लागेर आईजीपीसँगै उनका ब्याजीहरू घर फर्केजस्तै एमालेमा पनि पार्टीको अब ५ वर्षपछि हुने एघारौं महाधिवेशनपछि अध्यक्ष ओलीसँगै आधा दर्जन नेता कार्यकारी भूमिकाबाट अवकास हुनेछन् ।

    एमालेको नवौं महाधिवेशनले पारित गरेको ७० वर्षे उमेर हदबाट अनिवार्य अवकासमा पर्ने भरतमोहन अधिकारी र सिद्धिलाल सिंह थिए । त्यसपछि एमाले र माओवादी एकता भएसँगै शीर्ष नेताहरूकै स्वार्थमा नेकपाको विधानमा ७० वर्षे प्रावधान राखिएन ।

    तर, अब फेरि एमालेको विधान क्रियाशील भएको छ । एमालेको विधानको धारा ६५ को उपधारा ३ मा सबै कार्यकारी कमिटीमा निर्वाचित वा मनोनित हुन उमेरको हद ७० वर्ष हुनेछ भनिएको छ ।

    अध्यक्षबाहेक सबै पदको अनुभव लिइसकेका यिनीहरू सबैको अबको लक्ष्य नै पार्टी नेतृत्व अर्थात अध्यक्ष नै हो । तर, अप्ठ्यारो के छ भने केपी ओली अघि सरेको अवस्थामा उनीहरू अध्यक्ष हुने सम्भावना छैन । अर्कातिर, यही महाधिवेशनमा नेतृत्वमा नपुगे ११ औं महाधिवेशनबाट बाहिरिनु पर्ने दबाब छ ।

    असोज दोस्रो साता हुने विधान महाधिवेशनका लागि प्रस्तावित मस्यौदामा यो धारा संशोधनको प्रस्ताव पनि गरिएको छैन । यदि विधान महाधिवेशनले उमेर हद चलाएन भने मंसिरमा प्रस्ताव गरिएको १० औं महाधिवेशनमा विधानको त्यही व्यवस्था लागू हुने छ ।

    तोकिएको समयमै महाधिवेशन भए एमालेका स्थायी कमिटी सदस्यमध्ये अमृतकुमार बोहरा, सत्यनारायण मण्डल र केशव बडाल पार्टीको कार्यकारी भूमिकाबाट बिदा हुनुपर्ने छ । हाल उनीहरू रहेको स्थायी र केन्द्रीय कमिटी पनि कार्यकारी कमिटी नै हो ।

    बोहरा ७३, मण्डल ७० र बडाल ७२ वर्षका भए ।

    जसलाई यसैपटक नेतृत्वमा नपुगी हुँदैन

    अध्यक्ष केपी शर्मा ओलीले आउँदो महाधिवेशनमा अध्यक्ष दोहोरिने घोषणा गरिसकेका छैनन् । तर, शंकर पोखरेलले नेपाल प्रेससँगको अन्तर्वार्तामा हालैमात्र भनेका छन्-आउने एउटा चुनाव र महाधिवेशन एमाले केपी ओलीकै नेतृत्वमा जान्छ ।

    हुन त ओलीले नेकपा हुँदा आफू अध्यक्षमा नदोहोरिने बताएका थिए । विधानको व्यवस्थाले उनलाई अझै एकपटक अध्यक्ष हुन रोक्दैन । किनकी उमेरको हिसाबले पनि उनी फागुन १० गतेमात्र ७० वर्षका हुन्छन् तर मंसिरमै महाधिवेशन हुँदा उनलाई उमेर हद पनि लाग्दैन । एमालेको विधानले २ पटकभन्दा बढी अध्यक्ष हुन पाइँदैन । ओली दोहोरिन खोज्दा यो दोस्रोपटक हुन्छ ।

    विधानको ७० वर्षे प्रावधान र ओली दोहोरिने अवस्थामा त्यसको प्रत्यक्ष असर भने हालका एमालेका उपाध्यक्ष र महासचिवलाई पर्नेछ ।

    दोस्रो पुस्ता भनिएका तर उमेर र राजनीतिक योगदानका आधारमा पहिलो पुस्ताकै नेता रहेका ईश्वर पोखरेल, सुवास नेम्वाङ, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र रामबहादुर थापाहरू अब एक कार्यकालमात्र कार्यकारी कमिटीमा रहन पाउँछन् ।

    यदि यसपटक अध्यक्ष हुन पाएनन् भने यी नेताहरू ११ औं महाधिवेशनपछि ओलीसँगै कार्यकारी भूमिकाबाट बिदा हुनुपर्नेछ । यिनीहरू कुनै न कुनै रूपमा नेतृत्वको आकांक्षी हुन् ।

    अध्यक्षबाहेक सबै पदको अनुभव लिइसकेका यिनीहरू सबैको अबको लक्ष्य नै पार्टी नेतृत्व अर्थात अध्यक्ष नै हो । तर, अप्ठ्यारो के छ भने केपी ओली अघि सरेको अवस्थामा उनीहरू अध्यक्ष हुने सम्भावना छैन । अर्कातिर, यही महाधिवेशनमा नेतृत्वमा नपुगे ११ औं महाधिवेशनबाट बाहिरिनु पर्ने दबाब छ ।

    यस्तोमा कि त ओलीलाई सम्झाएर अध्यक्षमा उठ्नबाट रोकेर आफू अघि सर्नुपर्‍यो कि त ओलीसँग अध्यक्षमै भिड्ने हिम्मत देखाउनुपर्‍यो । एमालेको दशौं महाधिवेशनमा ओली अध्यक्षको उम्मेदवार बन्ने हो भने उनलाई तत्काल कसैले चुनौती दिन सक्ने देखिन्न ।

    एमालेको स्थायी कमिटीमा रहेका नेताहरूमध्ये ११ औं महाधिवेशनमा पुग्दा हालका दुई उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल तथा सचिवहरू पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, भीम आचार्य, गोकर्ण विष्ट र योगेश भट्टराईको पुस्ता नेतृत्वको दाबेदार हुनेछन् ।

    अध्यक्षका मुख्य र स्वाभाविक दाबेदार ईश्वर पोखरेल हुन् । पोखरेल आफैंले भन्ने गरेका छन्- अहिले मुलुकको राजनीतिक केपी ओली भर्सेस अरु गठबन्धनको रुपमा ध्रुवीकरण भएको बेला ओली कमजोर हुनु भनेको पार्टी र राष्ट्रियता कमजोर हुने हो ।

    यसको अर्थ पोखरेल ओलीका प्रतिस्पर्धी होइनन् बरु स्वाभाविक उत्तराधिकारी हुन चाहन्छन् । त्यो भनेको कि त ओलीले नै पोखरेललाई अध्यक्ष बनाउनुपर्‍यो कि त, बीचमा पोखरेललाई कार्यवाहक दिनुपर्छ ।

    एमालेको प्रस्तावित विधान मस्यौदामा अध्यक्षमात्र प्रत्यक्ष निर्वाचित हुने भनिएको छ । यदि यही प्रावधान पास भएमा अरु पदाधिकारी केन्द्रीय कमिटीले चयन गर्नेछ ।

    झलनाथ खनाल, माधव नेपाल र वामदेव गौतमको वहिर्गमनसँगै एमालेमा ओलीपछिको दोस्रो नेता पोखरेल हुन् । सम्भवतः पोखरेलले ५ वर्षको बीचमै अध्यक्षको जिम्मेवारी सम्हाल्नेगरी एमाले अघि बढ्नसक्छ ।

    कतिपयले एमालेबाट वामदेव गौतमको वहिर्गमनको पनि विधानको यही व्यवस्थाकै कारण भएको ठान्छन् । गौतमले विधानमाथि छलफल गर्ने उनी सहभागी अन्तिम स्थायी कमिटी बैठकमा आफ्नो फरक मतलाई कमिटीमा छलफलका लागि लैजान अध्यक्ष ओलीसँग माग गरेका थिए ।

    उनले उमेर हद समेत हटाउने प्रस्ताव राखेका थिए । तर, गौतमको माग सुनुवाइ नभएपछि ‘अब तपाईसँग रहन्न’ भनेर उनी उठेका थिए । ओलीले आफूलाई कम्फरटेबल हुन्जेल विधान संशोधन नगर्ने देखिएपछि गौतमले एमाले छाडेको उनी निकटहरू बताउँछन् । एमालेमै बस्दा पनि मंसिरपछि कार्यकारी कमिटीमा बस्न नपाइने भएपछि उनका लागि बहिर्गमन बाध्यात्मक बनेको बताइन्छ ।

    ७० वर्षीय उमेर हदका कारण ११ औं महाधिवेशनमा माथि उल्लेखित कोही पनि पार्टीको कार्यकारी कमिटीमा रहन पाउँदैनन् । अहिले महासचिव रहेका पोखरेल ६७ वर्षका भए ।

    संसदीय दलका उपनेता रहेका नेम्वाङ ६९ वर्षका भए । त्यस्तै उपाधयक्षहरू रावल, शाक्य र ज्ञवाली क्रमशः ६६, ६७ र ६८ वर्षका भए । बादल पनि ६६ वर्षका भए । यसैपाली नेतृत्वमा नपुगे उनीहरू कोही पनि ६ वर्षपछि हुने ११ औं महाधिवेशनमा कार्यकारी कमिटीमा बस्न पाउँदैनन् ।

    एमाले स्थायी कमिटीमै रहेका लेखा आयोगका अध्यक्ष डा. पुष्प कडेल पनि ६६ वर्षका भए । उनले पनि ११ औं महाधिवेशनपछि कार्यकारी भूमिका त्याग्नुपर्नेछ ।

    नेतृत्वमा पुग्न सक्ने दोस्रो पुस्ता

    ११ औं महाधिवेशनबाट पहिलो पुस्ताका लगभग सबै नेता बाहिरिनुपर्ने भएकाले त्यसपछि एमाले नेतृत्वमा पुग्ने अवसर दोस्रो पुस्ताका नेताहरूले पाउने देखिन्छ ।

    एमालेको स्थायी कमिटीमा रहेका नेताहरूमध्ये ११ औं महाधिवेशनमा पुग्दा हालका दुई उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल तथा सचिवहरू पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, भीम आचार्य, गोकर्ण विष्ट र योगेश भट्टराईको पुस्ता नेतृत्वको दाबेदार हुनेछन् ।

    स्थायी कमिटी सदस्यद्वय शंकर पोखरेल र सुरेन्द्र पाण्डे ११ औं महाधिवेशनबाट एमाले नेतृत्वको दाबेदार हुन् । स्थायी कमिटीमै रहेका किरण गुरुङ, टोपबहादुर रायमाझी, रघुवीर महासेठ, मणी थापा पनि ११ औं महाधिवेशनसम्म कार्यकारी भूमिकामै रहनेछन् ।

    उमेरको हिसाबले शंकर पोखरेल, योगेश भट्टराई, टोपबहादुर रायमाझीहरू अझै १५ वर्ष पार्टीको कार्यकारी नेतृत्वमा रहने सुविधा छ । जुन अरु नेतालाई नहुन सक्छ ।

    ठाकुर र विन्दाको प्रस्ताव

    यो महाधिवेनमा नेतृत्वमा नपुगे पनि अर्को वर्ष नेतृत्वको दावेदार बन्न यिनीहरूलाई विधानको व्यवस्थाले छेक्दैन । त्यसैले अहिले नै नेतृत्वमा पुगिहाल्नुपर्ने प्रेसर यिनीहरूलाई छैन ।

    यद्यपि उमेरको हिसाबले राजनीतिमा पुस्ता छुट्याउनु ठीक नहुने केन्द्रीय सदस्य ठाकुर गैरेको धारणा छ । राजनीतिक आन्दोलनमा भाग लिएको र शासकीय सुविधा भोग गरेको आधारमा भने पुस्ता छुट्याउन सकिने उनको भनाइ छ ।

    गैरे भन्छन्- ‘हिजो पञ्चायतविरुद्धको आन्दोलनको नेतृत्व जसले गर्‍यो, २०४६ सालको आन्दोलन र २०६२/०६३ को आन्दोलनको पनि नेतृत्व गर्‍यो र सँगसँगै संविधान निर्माणको पनि नेतृत्व गर्‍यो । ती तीन/चार वटा आन्दोलनको नेतृत्व गरेको नेतृत्व नै पहिलो पुस्ता हो । उनीहरूको वर्हिगमनलाई स्वभाविक मान्नुपर्छ।’

    एमाले पोलिटब्यूरो सदस्य विन्दा पाण्डे भने पार्टीमा नेताहरूका लागि प्रवेशद्वार भए पनि बहिर्गमन नभएको भन्दै नेतृत्व विकासमा समस्या आएको बताउँछिन् । उनको माग आउँदो महाधिवेनबाट ६५ वर्ष नाघेकालाई कार्यकारी कमिटीमा बस्न नदिने व्यवस्था गरेर जानुपर्ने छ ।

    ‘हाम्रो पार्टीमा नेताहरूका लागि प्रवेशद्वार भयो तर बहिर्गमन भएन,’पाण्डे भन्छिन्, ‘अब आउने महाधिवेशनमा ६५ वर्ष नाघेकालाई कार्यकारी समितिमा उम्मेदवारी नै दिन नपाउने व्यवस्था पनि गरेर जान सकिन्छ ।’

    अघिल्लो पुस्ता क्रान्तिको नेतृत्व गर्न सफल देखिए पनि त्यसको व्यवस्थापन र उपलब्धीहरूलाई संस्थागत गर्न असफल देखिएकाले सहजै नेतृत्व हस्तान्तरण गनुपर्ने गैरे बताउँछन् ।

    तर, दोस्रो पुस्ताले पनि पहिलो पुस्ता भन्दा आफू अब्बल रहेको देखआउनुपर्ने चुनौती भने रहेको उनको भनाइ छ । ‘पुरानो पुस्ताले गर्न सकेन भनेर भन्दै गर्दा त्यो पुस्ताभन्दा हामी यस अर्थ योग्य छौं, हामी यस अर्थ पुरानो पुस्ताले गर्न नसकेको काम गर्न सक्षम छौं भनेर देखाउन सक्नुपर्छ,’  गैरे भन्छन् ।

    दोस्रो पुस्तामा नेतृत्व आएको खण्डमा त्यो पहिलेजस्तो एकल नभइ सामूहिक हुने उनको भनाइ छ । उनी भन्छन्, ‘आजको दोस्रो पुस्ताले एकल नेतृत्वमा जिम्मेवारी पूरा गर्ने भन्दा सामूहिक नेतृत्वमा अबको जिम्मेवारी पुरा गर्छौं ।

    गैरे थप्छन्, ‘सुशासन, कानूनी राज्य, पारदर्शिता जस्ता जनतासँग गरेका प्रतिबद्धताको कार्यन्वयन सामूहिक र संस्थागत रुपमा गर्छौं भनेर दोस्रो पुस्ताले आम कार्यकर्ता र जनतालाई विश्वास दिलाउन सक्नुपर्छ ।’

  • सभामुखले बोलाएको बैठकमा एमाले अध्यक्ष ओली नजाने

    सभामुखले बोलाएको बैठकमा एमाले अध्यक्ष ओली नजाने

    काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली उपस्थित नहुने भएका छन् ।

    सभामुखले प्रमुख विपक्षी दलका नेताको हैसियतमा ओलीलाई व्यक्तिगत पत्र पठाएर निम्ता गरेका थिए ।

    आज दिउँसो बस्ने बैठकमा एमालेबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराईलगायतका नेता सहभागी हुने बताइएको छ । ओली सभामुखले बोलाएका कुनै बैठकमा जाने गरेका छैनन् ।

    सभामुखले आफू अध्यक्ष रहेको संवैधानिक परिषद् बैठक पटक-पटक प्रचण्डको निर्देशनमा बहिष्कार गरेको भन्दै ओली नेकपाकालदेखि नै सभामुखसँग असन्तुष्ट छन् । एमालेले सदन अवरोध जाारी राखेपछि सभामुखले निकासका लागि सर्वदलीय बैठक बोलाएका छन् ।