Tag: कार्यदल

  • एमाले एकताका लागि १० बुँदे कार्यान्वयनको नेतृत्व लिन कार्यदललाई सांसदहरूको आग्रह (भिडियो)

    एमाले एकताका लागि १० बुँदे कार्यान्वयनको नेतृत्व लिन कार्यदललाई सांसदहरूको आग्रह (भिडियो)

    काठमाडौं । नेकपा एमालेबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुले विघटित कार्यदलले तयार पारेको १० बुँदे प्रस्ताव अबिलम्ब कार्यन्वयनको माग गरेका छन् ।

    आइतबार १० सदस्यीय विघटित कार्यदलका नेताहरूसँगको छलफलपछि लिखित प्रस्ताव पारित गर्दै सांसदहरुले १० बुँदे कार्यन्वयनको नेतृत्व लिन आग्रह समेत गरेका छन् ।

    केपी ओली र माधव नेपाल दुवै समूहका सांसदहरूको सहभागिता रहेको छलफलको संयोजन यज्ञराज सुनुवारले गरेका थिए भने लिखित प्रस्ताव कृष्णप्रसाद दाहालले पेस गरेका थिए ।

    कार्यदलका दुवै संयोजक भीम रावल र सुवास नेम्वाङले १० बुँदे सहमति गर्दाको मेहनत र यसले पार्टीलाई एक बनाउन गर्ने सहयोगबारे बताएपछि सांसदहरूको तर्फबाट कार्यदललाई धन्यवाद दिइएको छ ।

    पार्टी एकताको लागि पारित गरेको १० बुँदे प्रस्तावले एमालेका आन्तरिक समस्या समाधान गरि पार्टी एकता गर्न सकिन्छ भन्ने साझा बुझाइ आफूहरूको रहेको सांसद सुनुवारले बताए ।

    सांसदहरूको भेलाले १० बुँदे सहमति अविलम्ब प्रभावकारी कार्यान्वयनका लागि सार्थकम पहलकदमी लिन कार्यदलका सदस्यहरूलाई आग्रह गरेको दाहालले बताए ।

  • झण्डै डेढ घण्टापछि एमाले कार्यदल बैठक शुरू

    झण्डै डेढ घण्टापछि एमाले कार्यदल बैठक शुरू

    काठमाडौं । पार्टीभित्रको विवाद मिलाउन गठित नेकपा (एमाले) को कार्यदल बैठक भर्खरै शुरू भएको छ ।

    बिहान साढे एघार बजे बस्ने भनिएको बैठक झण्डै डेढ घण्टा ढिलो शुरू भएको हो । माधव नेपाल पक्षका संयोजक भीम रावल बैठकस्थलमा अबेर आएपछि सिंहरदबारस्थित अर्थ मन्त्रालयमा बैठक शुरू भएको हो ।

    आजको बैठकमा रावल र विष्णु पौडेलले तयार पारेको सहमतिको मस्यौदामा छलफल गरेर अन्तिमरूप दिने कोसिस हुने नेताहरूले बताएका छन् ।

    सोमबारदेखि कार्यदल बैठक जारी छ । बिहीबार साँझको बैठकपछि प्रतिक्रिया दिँदै नेपाल पक्षीय कार्यदल सदस्य घनश्याम भुसालले एमाले विवादका सन्दर्भमा विगत १० दिनदेखि केही पनि प्रगति नभएको बताएका थिए ।

    कार्यदलमा ओली पक्षका संयोजक सुवास नेम्वाङले पनि भुसालको भनाइजस्तै आसय दिएका थिए । तर, उनले आजको बैठकमा धेरै विषय मिल्ने दावी गरेका थिए ।

    कार्यदलकै पहलमा बुधबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालीबच होटेल मेरियटमा वार्ता भएको थियो । वार्तामा दुई नेताहरुबीच पार्टीभित्र शक्ति बाँडफाँटबारे कुरा भए पनि सहमति जुट्न सकेको थिएन ।

  • एमाले विवाद समाधानतर्फ, सहमतिको खाकाका लागि ओली र नेपालसँग बस्दै कार्यदल

    एमाले विवाद समाधानतर्फ, सहमतिको खाकाका लागि ओली र नेपालसँग बस्दै कार्यदल

    काठमाडौं । पार्टीभित्र सहमति खोज्न गठित नेकपा (एमाले) को कार्यदल सहमतिनजिक पुगेको छ । कार्यदलमा रहेका दुवै पक्षका नेताहरूले विवादका विषयमा ‘झण्डै-झण्डै सहमति’मा पुगेको बताएका छन् । कार्यदल लगातार तीन दिन छलफलमा बसेपछि नेताहरूले सकारात्मक माहोल बनेको बताएका हुन् ।

    बैठकको शुरूमै निस्किएका कार्यदल सदस्य प्रदीप ज्ञवालीले छलफल सकारात्मक निष्कर्षउन्मुख भएको बताए । ‘कार्यदलका तर्फबाट नेताहरुसँग परामर्श गर्ने, उहाँहरुका भावनाहरु बुझ्ने कुराहरु पनि भईरहेको छ,’ज्ञवालीले संवाददातासँग भने, ‘कार्यदलभित्र हाम्रा छलफलहरू सकारात्मक निष्कर्षउन्मुख छन् । हामी भोलि टुंग्याउने गरी लाग्छौँ ।’

    ओली पक्षबाट कार्यदल संयोजक रहेका नेता सुवास नेम्वाङले छलफल गम्भीर र सकरात्मक भएको बताए । उनले सहमतिमा पुग्न पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललगायतसँग छलफल गर्ने जानकारी दिए ।

    ‘अहिले जे जति तयारीहरू भएका छन्, त्यसमा टुंगोमा पुग्न आज दिनभर आवश्यक पर्छ भन्ने हामी टुंगोमा पुग्यौँ,’ नेम्वाङले भने, ‘तयारीको सिलसिलामा विभिन्न तहमा भएका प्रयासहरू समेतको कुरालाई ध्यानमा राखेर हाम्रा नेताहरू पार्टी अध्यक्ष केपी ओली र अर्का वरिष्ठ नेता माधवकुमार नेपाललगायत सबैसँग कुरा गर्दै, उहाँहरूको समेत ‘फिडब्याक’ लिएर हामीले टुंगोमा पुग्ने प्रयासहरू गरेका छौँ । त्यो समेतलाई ध्यानमा राख्दा आजको समय हामीले चाहिने आवश्यकता महसुस गर्‍यौँ र आज साँझ सम्ममा ती सबै काम भइसक्छन् ।’ उनले भोलि बिहान ११ फेरि छलफलमा बस्ने र भरसक चाँडै टुंगोमा पुग्ने बताए ।

    नेपाल पक्षका नेता एवम् कार्यदल सदस्य गोर्कण विष्टले विवादित मुद्दाहरूमा झन्डै-झन्डै निष्कर्षमा पुगेको बताए । ‘जुन-जुन मुद्दाहरूमा विवाद देखापरेको थियो, ती मुद्दामा समाधान खोज्ने सन्दर्भमा झन्डै-झन्डै निष्कर्षमा पुगिरहेका छौँ,’ उनले भने, ‘र, एउटा छोटो अवधिमा हामीले समस्याहरूको समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाउन सक्छौँ, सार्थक परिणाम प्राप्त गर्न सक्छौँ भन्ने कुरा कार्यदलको बैठकबाट हामीमा विश्वास आर्जन भएको छ ।’

    विष्टले छलफल भइरहेको र टुंगोमा पुग्न लागेको विषयको पनि संकेत गरे। उनले भने, ‘अदालतको फैसला मुताविक २०७५ जेठ २ गतेको अवस्थामा नेकपा (एमाले) फर्किइसकेपछि पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई पूर्ववत्ः अवस्थामा फर्काएर क्रियाशील बनाउने नेकपा (एमाले) केन्द्रीय कमिटीको सन्दर्भमा, संख्यामा जे विवाद थियो त्यो सन्दर्भमा पनि समाधान खोज्ने, नेकपा (माओवादी) को तर्फबाट नेकपा (एमाले) मा एकताको सन्दर्भमै रहनुभएका साथीहरूको व्यवस्थापन गर्ने विषय र प्रतिनिधिसभा विघटन र अदालतमा परेको मुद्दाको सन्दर्भमा समाधान खोज्ने गरी हामीले जुन भाषामा सहमति खोज्नुपर्थ्यो त्यो सन्दर्भमा धेरै हिसाबले हामी नजिक आइपुगेका छौँ ।’

  • एमाले कार्यदलबीच वार्ता जारी

    एमाले कार्यदलबीच वार्ता जारी

    काठमाडौं । नेकपा एमालेको कार्यदलबीच सिंहदरबारमा वार्ता जारी छ । फुटको संघारमा रहेको पार्टी जोगाउन गठित कार्यदलको आजको बैठकले सहमतिको मस्यौदा टुंगो लगाउने तयारी छ । संस्थापन र नेपाल पक्षबाट गठन गरिएको कार्यदललाई हिजो ब्युँताइएको थियो ।

    संस्थापन पक्षका संयोजक सुवास नेम्वाङले आजको बेठकले पार्टी एकताका लागि महत्वपूर्ण सन्देश दिने बताएका थिए ।

    हिजो साँझ बसेको कार्यदल बैठक सकारात्मक भएको नेताहरूले बताएका थिए । एमाले स्रोतका अनुसार आजको वार्ताले पार्टी र सिंगो देशलाई नै केही सकारात्मक सन्देश दिने गरी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको संयुक्त वक्तव्य आउने सम्भावना बढी छ ।

  • एमाले कार्यदलको बैठक बस्दै

    एमाले कार्यदलको बैठक बस्दै

    काठमाडौं । पार्टीभित्रको विवाद समाधन गर्न गठित नेकपा एमालेको कार्यदलको बैठक आज पनि बस्दैछ ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा बस्न लागेको बैठकमा हिजो तय गरिएको कार्यविधिमा रहेर निरन्तर छलफल हुने संस्थापन पक्षका कार्यदलका संयोजक सुवास नेम्वाङले जानकारी दिए। ‘हिजो तय गरिएको कार्यविधि अनुसार निरन्तर छलफल हुन्छ,’ नेम्वाङले नेपाल प्रेससँग भने।

    हिजो बसेको बैठकले कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त तयार गरी लागू गर्ने निर्णय गरेको थियो ।

    पार्टी एकता र समझदारीलाई वृद्धि गर्न तथा एक-आपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने कामबाट अलग रहन पार्टी पंक्तिलाई आव्हान गर्ने निर्णय पनि कार्यदलले गरेको थियो ।

    एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको ‘वान टू वान’ वार्तापछि आइतबार १० सदस्यीय कार्यदल बनेको थियो ।

  • एक-आपसमा अन्तरविरोध हुने काम नगर्न पार्टी पंक्तिलाई आव्हान (भिडियो)

    एक-आपसमा अन्तरविरोध हुने काम नगर्न पार्टी पंक्तिलाई आव्हान (भिडियो)

    काठमाडौं । पार्टी विवाद समाधानको लागि नेकपा एमालेद्वारा गठित संस्थापन र माधव पक्षको कार्यदलबीच आजको पहिलो वार्ता सकिएको छ ।

    आजको भेटवार्तामा कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त तयार गरी लागू गर्ने निर्णय भएको माधव पक्षका कार्यदल संयोजक भीम रावलले जानकारी दिए ।

    सिंहदरबारमा भएको दुवै पक्षको कार्यदलको वार्तामा पार्टीमा देखिएका समस्यालाई यथोचित रूपमा समाधान गर्दै पार्टी पंक्तिलाई एकतावद्ध रूपमा अघि बढाउन सबैसँग सहयोग र सद्भावको लागि आग्रह गरेको उनले बताए ।

    ‘पार्टी एकता र समझदारीलाई वृद्धि गर्न तथा एक-आपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने कामबाट अलग रहन पार्टी पंक्तिलाई हार्दिक आव्हान गर्ने निर्णय गरेको छ ‘, रावलले भने ।

    संस्थापन पक्षतर्फका कार्यदलका सदस्य प्रदीप ज्ञवालीले पनि यिनै निर्णयको जानकारी गराउँदै कार्यदलले गरेको कामलाई रचनात्मक ढंगले सहयोग गर्न आग्रह गरे ।

    आजको वार्तामा विष्णु पौडेल र शंकर पोखरेल काम विशेषले अनुपस्थित रहेको भन्दै नेता रावलले बैठक पुन: भोलि तय गरिएको बताए ।

  • एमाले कार्यदलको पहिलो भेट आज

    एमाले कार्यदलको पहिलो भेट आज

    काठमाडौं । पार्टी पुनर्मिलनका लागि आधार तय गर्न बनेको एमाले कार्यदलको पहिलो बैठक दिउँसो तीन बजे बस्ने भएको छ ।

    संस्थापन पक्षतर्फका कार्यदल संयोजक सुवास नेम्वाङले बैठक दिउँसो तीन बजे बस्न लागेको जानकारी दिए । ‘सबैसँग हाइ-हेलो गर्दै दिउँसो तीन बजे बैठक बस्ने कुरा भएको छ,’ उनले नेपाल प्रेससँग भने ।

    कार्यदलमा सबै सदस्य उपस्थित हुने या नहुनेबारे भने केही खुलेको छैन । कायर्दल सदस्य शंकर पोखरेल दाङ गएका छन् भने अर्का संयोजक भीम रावल आँखामा समस्या भएका कारण आराम गरिरहेका छन् । नेम्वाङले भने, ‘को-को सदस्य उपस्थित हुनुहुन्छ, त्यो अझै तय भएको छैन ।’

    कार्यदलको हिजो तय बैठक रावलको आँखा अस्वस्थताका कारण बस्न सकेको थिएन ।

    प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार भएको सहमति अनुसार दुवै पक्षबाट पाँच-पाँच जना सदस्य रहेको वार्ता टोली गठन भएको थियो ।

    वार्ता टोलीलाई २०७५ जेठ २ को आधारमा रहेर सहमति खोज्ने जिम्मेवारी दिइएको छ ।

  • कार्यदल बनाउन ओली-नेपाल भेट्दै, बादलको इन्ट्रीले माधव पक्षमा आशंका

    कार्यदल बनाउन ओली-नेपाल भेट्दै, बादलको इन्ट्रीले माधव पक्षमा आशंका

    काठमाडौं । नेकपा एमालेलाई २०७५ जेठ २ मा फर्काउनुपर्ने सर्त राखिरहेका वरिष्ठ नेता माधवकुमार नेपालसँग आज जेठ २ कै दिन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विवाद समाधानका लागि छलफल गर्ने भएका छन् ।

    शुक्रबार दुई पक्षबीच भएको वार्तामा पार्टीलाई जेठ २ को वरिपरिको अवस्थामा लगेर समाधान निकाल्ने सहमति भए बमोजिम कार्यदल गठनका लागि दुई शीर्ष नेताबीच छलफल हुन लागेको हो ।

    दिउँसोसम्म दुई नेताबीच कुराकानी हुने र नेताहरूले आ-आफ्नो तर्फबाट कार्यदलमा रहने सदस्यको नाम टुंगो लगाउने एमाले संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताए ।

    पार्टीलाई कसरी जेठ २ मा फर्काउने भन्ने सन्दर्भमा कार्यदल बनाउने सहमति ओली र नेपालबीच वैशाख ३० गतेको वार्तामै भएको थियो । त्यसपछि शुक्रबार भएको वार्तामा पूर्वमाओवादी पक्षका रामबहादुर थापा ‘बादल’ समेत सहभागी भएपछि माधव पक्षको बैठकमा आशंका व्यक्त भएको छ ।

    ओलीले कार्यदलमा आफ्नोतर्फबाट बादलको नाम पनि समावेश गर्ने माधव पक्षको बुझाइ छ । अहिले एमालेको स्थायी कमिटी सदस्यकै हैसियतमा रहेका बादल सिनियर नेता भएकाले कार्यदलमा उनी रहने सम्भावना पनि छ ।

    बादलसहितको कार्यदल बनेपछि माधव पक्षले फागुन २८ को निर्णय मानेको अर्थ लाग्ने भएकाले त्यसमा नजान माधव नेपालमाथि दबाब छ । नेम्वाङले भने दुवै नेताको सहमतिमा कार्यदल बन्ने बताए ।

  • अक्सिजन आपूर्ति सहज बनाउन कार्यदल गठन

    अक्सिजन आपूर्ति सहज बनाउन कार्यदल गठन

    काठमाडौं । अस्पतालमा कोभिड–१९ का सङ्क्रमितको उपचारार्थ अक्सिजन अभाव भएपछि सरकारले आपूर्ति सहज बनाउन कार्यदल गठन गरेको छ ।

    अक्सिजन अभाव हुन नदिनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठका संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरेको हो ।

    कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक ईश्वर पोखरेलका निर्देशनमा गृह र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव तथा वीरेन्द्र अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल र नेपाल प्रहरी अस्पतालका एकएक चिकित्सक संलग्न कार्यदल गठन गरिएको उपप्रधानमन्त्री पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।

    कार्यदलले अस्पतालमा सङ्क्रमितका लागि अक्सिजन उपलब्ध गराउने छ ।
    नेपालमा अहिले अक्सिजन सिलिण्डर छ हजार २८८ रहेको र दैनिक एक हजार ४११.५ लिटर खपत भइरहेको जनाइएको छ । सरकारले अक्सिजन अभाव हुन नदिन चीन सरकारबाट खाली अक्सिजनका २० हजार सिलिण्डर ल्याउने तयारी गरेको छ ।

    सर्वसाधारणलाई कोभिड–१९ महामारीमा कुनै समस्या भए केन्द्रले तीन हटलाइन नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ । उपप्रधानमन्त्रीका प्रेस सल्लाहकार पाण्डेका अनुसार सर्वसाधारणलाई ०१–४२७१७३०, ०१–४२८६६६० र टोलफ्री नम्बर ११४० मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

    रासस

  • जसपा संसदीय दलको बैठक बस्दै,  एमालेसँग कार्यदलस्तरको वार्ता पनि आजै

    जसपा संसदीय दलको बैठक बस्दै, एमालेसँग कार्यदलस्तरको वार्ता पनि आजै

    काठमाडौं । जनता समाजवादी पार्टीले संसदीय दलको बैठक बोलाएको छ । सत्ता सहकार्यका लागि नेकपा एमाले, माओवादी केन्द्रसँग छलफल भइरहेको बेला जसपाले संसदीय दलको बैठक डाकेको हो ।

    दिउँसो बस्ने बैठकमा संसदीय दलको नेता चयनको विषयमा छलफल हुने बताइएको छ ।

    हिजो प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भएको वार्ता सकारात्मक बनेपछि आज कार्यदलस्तरमा वार्ता पनि तय गरिएको छ । संसदीय दलको बैठक सकेर दुईपक्षीय कार्यदलबीच वार्ता हुने भएको हो ।

    कार्यदलमा एमालेबाट उपमहासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रधानमन्त्रीका सल्लाहकार डा.राजन भट्टराई छन् । त्यस्तै जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण छन् ।

    सरकारमा सहभागी हुन जसपाले रेशम चौधरीसहित पार्टीका कैदीबन्दीको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधनलाई मुख्य शर्त बनाएको छ । यसमा प्रधानमन्त्रीले सकारात्मक जवाफ दिएको जसपा नेताहरूले बताएका छन् ।