Tag: कारवाही

  • बढी भाडा लिने ७७ सार्वजनिक यातायात कारवाहीमा

    बढी भाडा लिने ७७ सार्वजनिक यातायात कारवाहीमा

    काठमाडौं । सार्वजनिक यातायातमा तोकेभन्दा बढी भाडा लिने ७७ सवारीलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने सवारी साधनमा यही साउन १ गतेदेखि लागू हुने गरी असार ३१ गते भाडा बढाउने सूची वेबसाइटमार्फत सार्वजनिक गरेको थियो ।

    साउन १ गतेदेखि २८ प्रतिशत भाडा बढेको भन्दै काठमाडौँ उपत्यकालगायत प्रदेशभित्र चल्ने सवारीमा समेत मनपरि भाडा लिन थालेपछि ट्राफिक प्रहरी अनुगमन गरी कारवाही गर्न सक्रिय भएको महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले जानकारी दिए ।

    महाशाखाले शुक्रबारदेखि शनिबार बिहानसम्म बढी भाडा लिने १६० सवारीलाई कारवाही गरेको थियो । शनिबारदेखि आइतबार दिउँसो ४ बजेसम्म बढी भाडा लिने ७७ सवारीलाई कारवाही गरिएको हो । बढी भाडा लिने सवारीका बारेमा ट्राफिक प्रहरीको निःशुल्क नं १०३ मा फोन गरेर सूचना दिन महाशाखाले आह्वान गरेको छ । बढी भाडा लिने सवारीलाई ५०० देखि एक हजार ५०० रुपैयाँसम्म कारवाही भइरहेको छ ।

    एउटै सवारीले पटकपटक बढी भाडा लिएको पाइएमा पाँच हजार रुपैयाँ जरिवानासहित सवारी ‘सिज’ गर्नेसम्मका कारवाही गरिने तयारी भएको प्रवक्ता शर्मा दासले बताए । शुक्रबार कारवाही गरिएपछि शनिबारदेखि बढी भाडा लिने क्रम घट्दै गएको महाशाखाले जनाएको छ । रासस

  • निषेधाज्ञामा होटल खोलेको भन्दै सञ्चालकलाई ४ लाख जरिवाना, आठ ग्राहकबाट १५-१५ हजार असुल

    निषेधाज्ञामा होटल खोलेको भन्दै सञ्चालकलाई ४ लाख जरिवाना, आठ ग्राहकबाट १५-१५ हजार असुल

    काठमाडौं । निषेधाज्ञा उल्लंघन गर्दै होटल खोलेको आरोपमा प्रहरीले त्रिपुरेश्वरस्थित युनाइटेड विजनेस होटललाई कारवाही गरेको छ । होटलका सञ्चालक मात्र नभएर ग्राहकहरू पनि जरिवाना तिर्न वाध्य भएका छन् ।

    महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले आज बिहान ३ बजे अनुगमनका क्रममा सो होटल खोलेर मानिसहरू भेला भएको अवस्थामा भेटेको थियो ।

    प्रहरीले होटेलका म्यानेजर आश्विन श्रेष्ठ र ८ ग्राहकहरूलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाएको थियो । सरकारले हालै जारी गरेको कोभिड-१९ संकट व्यवस्थापन गर्न बनेको अध्यादेश २०६७८ को दफा २१ को प्रावधान अनुसार उनीहरुलाई प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जरिवानाको आदेश गरेका हुन् ।

    म्यानेजर श्रेष्ठलाई ४ लाख रूपैयाँ जरिवाना गराइएको छ । यसैगरी ग्राहकहरुले पनि १५-१५ हजार जरिवाना तिरेका छन् ।
    जरीवाना तिर्नेमा रोहित तामाङ, सुजन नेपाली, नितिश खड्का, योगिता तामाङ र दुई विदेशी नागरिक रहेका छन् । जरिवाना तिरेपछि सबैजना छुटेका छन् ।

  • कारवाही सिफारिस षड्यन्त्रपूर्ण र अनुचित भएको सुदूरपश्चिमका एमाले मन्त्रीहरूको दावी

    कारवाही सिफारिस षड्यन्त्रपूर्ण र अनुचित भएको सुदूरपश्चिमका एमाले मन्त्रीहरूको दावी

    कैलाली । सुदूरपश्चिम सरकारमा सहभागी एमालेका ६ मन्त्रीसहित ७ जनाले आफूहरूमाथि थालिएको कारवाही प्रक्रिया षड्यन्त्रपूर्ण र अनुचित भएको बताएका छन् ।

    तीन मन्त्री, तीन राज्यमन्त्री र एक सचेतकले संयुक्त विज्ञप्तिमार्फत आफूहरूमाथि लगाइएको आरोप निराधार र गलत रहेको जिकिर गर्दै कारवाही सिफारिसको विरोध गरेका छन् ।

    ‘हामीमाथि आवश्यक कारवाहीको लागि सिफारिस भन्नु षड्यन्त्रपूर्ण र अनुचित छ’ विज्ञप्तिमा भनिएको छ, ‘हामीविरुद्ध कारवाहीको लागि माग गरिएको आधारको रूपमा उल्लेख गरिएका पार्टी एकतालाई विखण्डन गर्ने पार्टी फुटाउने भन्ने लगायतका आरोपहरू निराधार र गलत छन् ।’

    भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउद, आर्थिक मामिला तथा योजना राज्यमन्त्री अर्चना गहतराज र सचेतक दुर्गाकुमारी कामीले संयुक्त रूपमा विज्ञप्ति जारी गरेका हुन् ।

    मुख्यमन्त्री त्रिलोचन भट्टको सरकारमाथिको समर्थन फिर्ता गर्न पार्टी सातैजनालाई पार्टी निर्णयविरुद्ध सरकारमा सहभागी भएको भन्दै एमाले प्रदेश कमिटीले स्पष्टीकरण सोधेको थियो । उनीहरूले निर्धारित समयमा स्पष्टीकरणको जवाफ नदिएपछि सोमबार कारवाहीको सिफारिस गरिएको छ ।

  • निर्वाचन आयोगमा उपेन्द्रको पत्र- जसपाको दर्ता किताबबाट महन्थको नाम हटाइयोस्

    निर्वाचन आयोगमा उपेन्द्रको पत्र- जसपाको दर्ता किताबबाट महन्थको नाम हटाइयोस्

    काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) आजबाट औपचारिक रूपमा विभाजन भएको छ । जसपाका पहिलो वरियताका अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निष्कासन गरिएको पत्र अर्का अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगमा पठाएपछि पार्टी विभाजनले औपचारिकता पाएको हो ।

    यादवपक्षीय जसपाको कार्यकारिणी समिति बैठकले आजै ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीको साधारण सदस्यसबाट निष्कासनको घोषणा गरेको थियो ।

    सो सम्बन्धी निर्णयको जानकारी तत्कालै यादवले निर्वाचन आयोगलाई गराई दलको दर्ता किताबबाट नाम हटाउन अनुरोध गरेका छन् । आयोगमा दुवै अध्यक्षको नाम दर्ता छ ।

    जसपा विवाद पनि अब तत्कालीन नेकपाको जस्तै निर्वाचन आयोगमा पुगेको छ । महन्थ ठाकुर पक्षले पनि उपेन्द्रमाथि निष्कासनको  कारवाहीको निर्णय गर्न लागेको छ ।

  • माओवादी सरकारमा सामेल ६ मन्त्रीसहित ७ जनालाई एमालेको कारवाही सिफारिस

    माओवादी सरकारमा सामेल ६ मन्त्रीसहित ७ जनालाई एमालेको कारवाही सिफारिस

    कैलाली । माओवादीको सरकारमा सहभागी भएको भन्दै एमाले सुदूरपश्चिम प्रदेश कमिटीले माधव पक्षका ६ मन्त्रीसहित ७ जनालाई कारवाहीको लागि सिफारिस गरेको छ ।

    गत सोमबार स्थायी कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन लिएको थियो । उक्त निर्णयविपरीत सरकारमा सहभागी भएका तीन मन्त्री, तीन राज्यमन्त्री र एक सचेतकलाई कारवाहीको लागि सिफारिस गरिएको प्रदेश कमिटी सचिव राजेन्द्र रावलले बताए ।

    रावलका अनुसार २४ घण्टे स्पष्टीकरणको जवाफ नआएकाले उनीहरूलाई कारवाहीको सिफारिस गरिएको हो ।

    भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउद र आर्थिक मामिला राज्यमन्त्री अर्चना गहतराजलाई कारबाहीका लागि केन्द्रीय कमिटीलाई सिफारिस गरिएको छ । त्यस्तै सचेतक दुर्गा विकलाई पनि कारवाहीको सिफारिस गरिएको रावलले बताए ।

    प्रदेश सरकारमा एमालेले समर्थन फिर्ता लिइसकेपछि एमालेको तर्फबाट ६ मन्त्री नियुक्त भएका थिए ।

  • स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न पोखरेलको निर्देशन

    स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न पोखरेलको निर्देशन

    काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई आज टेलिफोन गरी नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारको घटनामा संलग्नलाई हदैसम्मको कारवाही गर्न निर्देशन दिएका छन् ।

    कोरोना महामारीको बेला जनताको जीवनरक्षामा खटिएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमण ‘गम्भीर अपराध र अमानवीय’ भएको बताउँदै उपप्रधानमन्त्री पोखरेलले स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिएको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए । घटनाको सम्बन्धमा छानबिन समिति गठन भएको छ भने तीन जना पक्राउ परिसकेका छन् ।
    -रासस

  • आफूखुशी मूल्यवृद्धि गरे कारवाही

    आफूखुशी मूल्यवृद्धि गरे कारवाही

    काठमाडौं । जिल्लामा आफूखुशी मूल्यवृद्धि गरी दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने व्यपारीलाई उद्योग वाणिज्य सङ्घले कारवाही गर्ने भएको छ । कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा गरिएको निषेधाज्ञाका कारण यहाँका व्यपारीले आफूखुशी दैनिक उपभोग्य वस्तुमा चर्को मूल्यवृद्धि गर्दै आएका छन् ।

    उद्योग वाणिज्य सङ्घले आज एक विज्ञप्ति जारी गरी कोरोना महामारीका कारण जारी निषेधाज्ञाको मौका छोपी व्यापारीले आफूखुशी मूल्यवृद्धि गरेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    सङ्घका महासचिव दीपकबहादुर खड्काद्वारा जारी विज्ञप्तिमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा व्यवसायीले आफूखुशी चर्को मूल्य लिँदै आएको भन्ने खबरप्रति सङ्घको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

    महामारीको विषम परिस्थितिमा समस्याको फाइदा उठाउँदै कृत्रिम अभाव सिर्जना गर्ने, चर्को मूल्य असुल गर्ने, कालोबजारी गर्नेलगायत गरे कारबाही गर्ने सङ्घले जनाएको छ ।

  • युट्युबबाट विकृति फैलाउनेलाई कारवाही गर्न माग

    युट्युबबाट विकृति फैलाउनेलाई कारवाही गर्न माग

    काठमाडौं । अनलाइन टिभी पत्रकार सङ्घले पत्रकारिताको मर्म विपरित युट्युबमा माध्यममा गलत प्रसारण गर्नेहरुलाई तत्काल कारवाही गर्न प्रेस काउन्सिल नेपालसँग माग गरेको छ । सङ्घको तर्फबाट अध्यक्ष जीवन भण्डारीले काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीलाई बिहीबार ज्ञापनपत्र बुझाउँदै उक्त माध्यममा विकृति गर्नेहरुलाई कारवाही गर्न माग गरेका छन् ।

    युट्युबलगायतका विभिन्न माध्यमबाट भिडियो सामग्री सम्प्रेषण गर्ने क्रममा अधिकांशले पत्रकारिताको मर्म विपरीत गरेकाले गलत गर्नेलाई कारवाही गर्न र राम्रो गर्नेलाई संरक्षण गर्न पनि ज्ञापनपत्रमा आग्रह गरिएको छ । अनलाइन टिभीका क्षेत्रमा यसअघि पनि विकृति हुँदै आएकाेमा पछिल्ला दिनमा ‘प्र्यान्क’का नाममा थप विकृति देखिन थालेको भन्दै सङ्घले काउन्सिलको ध्यानकर्षण गराएको हो ।

    केही युट्युब च्यानलबाट अति उच्छ्रिङ्कल, अशिष्ट, अपाच्य र सञ्चारमाध्यमको सामान्य सिद्धान्त विपरीतका सामग्री प्रसारण भइरहेको सङ्घले जनाएको छ । सङ्घले पत्रकारिताको दायरामा रहेका सञ्चारमाध्यमलाई पत्रकारितासम्बन्धी कानून र त्यसभन्दा बाहिरकालाई अन्य कानून अनुसार कारवाही गर्न/गराउन काउन्सिललाई आग्रह गरेको छ ।

    सङ्घको ज्ञापनपत्र बुझेपछि काउन्सिलका कार्यबाहक अध्यक्ष बुढाथोकीले युट्युबमा भइरहेको विकृतिले सीमा नाघेको भन्दै कारवाही प्रक्रिया अब तीव्र पारिने प्रतिबद्धता जनाए । उनले पत्रकार आचारसंहिता मान्नुपर्ने आफूहरुको पहिलो शर्त हुने र नमान्नेप्रति कुनै सहानुभूति हुनै नसक्ने स्पष्ट पारे ।

    अनलाइन टिभी सञ्चालन गर्दै आएकाहरुलाई काउन्सिलले सूचीकृत हुन आग्रह गर्ने र सूचीकृत हुन आउनेलाई आचारसंहिताको दायरामा ल्याएर परिस्कृत गर्दै लैजाने योजना बनाएको पनि बुढाथोकीले जानकारी दिए । सूचीकृत हुन नआउनेलाई काउन्सिलले नचिन्ने पनि बताए । उनले अनलाइन टिभीको क्षेत्रमा शुद्धीकरण र सुदृढीकरणका लागि सङ्घसँग सबै प्रकारका सहयोग, सहकार्य र समन्वय गर्न काउन्सिलले चाहेको जानकारी दिए ।

    नेपालमा इन्टरनेटको माध्यमबाट प्रसारण भइरहेका अनलाइन टिभीमा देखिएका समस्या र विकृति न्यूनीकरण गर्न पहल गर्ने, यस क्षेत्रको शुद्धीकरण र सुदृढीकरण गर्नेलगायतका उद्देश्यले सङ्घ गत वर्ष दर्ता भएको हो ।

    विसं २०७६ माघ २४ गते काठमाडौंमा भएको अनलाइन टिभी सञ्चालकहरुको प्रथम राष्ट्रिय भेलाले अनलाइन टिभी पत्रकार सङ्घ गठन गर्ने, प्रचलित पत्रकार आचारसंहिता पालना गर्ने, स्वनियमनमा आधारित निर्देशिका बनाएर लागू गर्नेलगायतका निर्णय गरेको थियो । भेलाको निर्णयअनुसार गठन भई दर्ता भएकोे सङ्घले पत्रकार आचारसंहिता र आफ्नै स्वनियमन निर्देशिका मान्नुपर्नेलगायतका सदस्यता मापदण्ड बनाएको अध्यक्ष भण्डारीले जानकारी दिए ।

    मापदण्ड मान्नेलाई मात्रै सदस्यता दिने, सदस्यहरुको हकहित र कल्याणका कार्य गर्ने, क्षमता वृद्धि गर्ने, जिम्मेवार बनाउने, अनलाइन टिभी क्षेत्रका बारेमा अध्ययन, अनुसन्धान गर्नेलगायतका काम पनि सङ्घले गर्दै आएको छ । नेपालमा अहिलेसम्म के-कति अनलाइन टिभी छन् र उनीहरुको अवस्था के छ भन्नेबारेमा कुनै विवरण छैन । अनलाइन टिभीमार्फत रचनात्मक र जिम्मेवार पत्रकारिताको अभ्यास गर्दै आएका सञ्चारकर्मीलाई राज्य र पत्रकारिताका निकायसँग समन्वय गराउने उद्देश्य पनि सङ्घले लिएको उनले बताएका छन् ।
    -रासस

  • विपक्षीको रिट- देउवाको पक्षमा लागेका एमाले सांसदमाथि कारवाही हुनबाट रोकियोस्

    विपक्षीको रिट- देउवाको पक्षमा लागेका एमाले सांसदमाथि कारवाही हुनबाट रोकियोस्

    काठमाडौं । विपक्षी गठबन्धनले सर्वोच्च अदालतसमक्ष कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको आधारमा एमाले र जसपाका सांसदमाथि कुनै कारवाही नहुने आदेश माग गरेका छन् ।

    राजनीतिक दल सम्बन्धी ऐन अनुसार जुन दलबाट निर्वाचित भएको हो उक्त दल त्याग गरेमा, दलको ह्वीप उल्लंघन गरेमा वा कारवाही गरेमा सांसद पद रिक्त हुने व्यवस्था छ ।

    राष्ट्रपतिले केपी ओली र शेरबहादुर देउवाको प्रधानमन्त्रीमा दावी अश्वीकृत गर्दा पनि एमाले र जसपाका केही सांसदको नाम दुवैतिर रहेको र राजनीतिक दल सम्बन्धी ऐनको व्यवस्था आकर्षित हुने भन्दै त्यही आधारमा विश्वासको मत प्राप्त गर्ने नदेखिएकाले धारा ७६(५) बमोजिमको सरकार गठन नहुने निर्णय गरेकी थिइन् ।

    विपक्षी गठबन्धनले आज सर्वोच्च अदालतमा लिएर गएको रिटको सारसंक्षेपमा देउवालाई प्रधानमन्त्रीका लागि समर्थन गरेको आधारमा प्रतिनिधिसभा सदस्यलाई दल त्याग गरेको भनी प्रत्यथी राष्ट्रपति कार्यालय समेतका नाममा परमादेश लगायत अन्य उपयुक्त आज्ञा आदेश वा पुर्जा जारी गरी संवैधानिकक हकको संरक्षण गरी पाउन माग गरिएको छ ।

    एमालेले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ मध्ये माधव नेपाल, झलनाथ खनाल र भीम रावलसहित ११ जनासँग स्पष्टीकरण माग गरिसकेको छ । स्पष्टीकरण दिने मिति आज सकिएको छ ।

    आजै स्थायी कमिटी बैठक बसेर थप कारवाही हुने सम्भावना छ ।

  • ऐन महर भन्छन्- पार्टीको कारवाही फिर्ता भए पनि अनेरास्ववियूको फिर्ता हुन्न

    ऐन महर भन्छन्- पार्टीको कारवाही फिर्ता भए पनि अनेरास्ववियूको फिर्ता हुन्न

    काठमाडौं । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष ऐन महरले पार्टीका नेताहरूको कारवाही फिर्ता भए पनि अखिलका नेताहरूमाथिको कारवाही फिर्ता नहुने दावी गरेका छन् ।

    महरले सामाजिक सञ्जालमै अनेरास्ववियूका नेताहरूमथिको कारवाही फिर्ताको कुनै सम्भावना नरहेको घोषणा गरेका छन् । अनेरास्ववियूले संगठनका सचिवहरू सुदेश पराजुली, आरती लामा र ओसिम आलमलाई साधारण सदस्य नरहने गरी निष्कासन गरेको थियो ।

    महरले भनेका छन्, ‘पार्टीको कारवाही फिर्ता भए पनि अनेरास्ववियूको कारवाही फिर्ताको कुनै सम्भावना छैन ।’

    एमालेले बिहीबार माधव नेपालसहित चार नेतामाथिको कारवाही फुकुवा गरेको थियो ।

    यसबीचमा माधव नेपाल पक्षले अनेरास्ववियूको भेला गरी पराजुली अध्यक्ष, आलाम सहअध्यक्ष र आरती लामालाई महासचिव चयन गरेको थियो । लामाले पनि सामाजिक सन्जालमार्फत नै ऐन महरलाई अध्यक्ष स्वीकार नगर्ने र एमाले मिले पनि अनेरास्ववियूको अध्यक्ष नविना लामा हुनुपर्ने बताएकी छन् ।

    तत्कालीन एमालेका पालामा लामा अध्यक्ष थिइन् । नेकपा एकीकरणपछि अनेरास्ववियूको अध्यक्ष महर भएका थिए । लामा र महर दुवैजना अहिले एमालेको संस्थापन पक्षमा छन् ।

  • भक्तपुर इन्टरनेशनल अस्पताल कारवाहीमा, मृतक संक्रमितका परिवारलाई क्षतिपुर्ति दिने

    भक्तपुर इन्टरनेशनल अस्पताल कारवाहीमा, मृतक संक्रमितका परिवारलाई क्षतिपुर्ति दिने

    भक्तपुर । अस्पतालको गम्भीर लापरवाहीका कारण कोरोना संक्रमित दुई जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमि-३, कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्ने भएको छ ।

    भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले आइतबार अस्पताललाई स्पष्टीकरणको पत्र पठाउने र सोहीअनुसार कारवाही गर्ने तयारी भइरहेको जानकारी दिए । शुक्रबार पीडित पक्ष र अस्पताल व्यवस्थापन पक्षबीच छलफल गराउने क्रममा कारवाही प्रक्रिया अघि बढाउन नसकिएको उनले वताए । ‘आज सो अस्पतालमा भएको घटनाका बारेमा पीडित पक्ष र अस्पतालको व्यवस्थापनबीच छलफल ग¥र्यौ । आइतबार हामी अस्पताललाई स्पष्टीकरण सोध्नेलगायतका कारवाही अघि बढाउँछौ’, उनले भने ।

    पन्ध्र शय्याको स्वीकृति पाएको सो अस्पतालले क्षमताभन्दा दोब्बर बिरामी भर्ना लिएको र समयमा अक्सिजनको व्यवस्था गर्न नसक्दा बिहीबार राति अस्पतालमा उपचाररत कोरोना संक्रमिको दुई जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा भक्तपुर कमलविनायकका ४५ वर्षीय र पोखरा स्थायी घर भएका ६० वर्षीय गरी दुई पुरुष छन् । कमलविनायकका पुरुषको सोही अस्पतालमा र पोखराका पुरुषको ललितपुरस्थित अल्का अस्पतालमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।

    स्रोतका अनुसार सो अस्पतालमा बिहीबार साँझ २८ कोरोना संक्रमितलाई भर्ना लिइएको थियो । अस्पतालमा दिउँसोदेखि नै अक्सिजनको अभाव भएको र राति एक संक्रमितको अक्सिजन नभएकै कारण मृत्यु भएपछि अस्पतालले धमाधम बिरामीलाई अन्त लैजान आफन्तलाई दबाब दिएको थियो । सोही क्रममा एक संक्रमितको अल्का अस्पताल ललितपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

    अस्पतालको चरम लापरवाहीका कारण बिरामीको मृत्यु भएपछि पीडित आफन्तले राति नै अस्पतालमा नाराबाजी गरेका थिए । सो क्रममा झडपको स्थिति आएको थियो । अस्पतालले बिरामीलाई अन्यत्र रिफर गरेको कागजसमेत नदिई बिरामीका आफन्तलाई जहाँ सकिन्छ त्यहीँ लैजानु भन्दै १४ बिरामीलाई बाहिर निकालेर अलपत्र पारेको आफन्तको आरोप छ । पीडित परिवार अस्पतालको चरम लापरवाहीका कारण बिरामीको ज्यान गएको भन्दै उचित क्षतिपूर्ति र अस्पताललाई कारवाहीको माग गर्दै शुक्रबार जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।

    अस्पतालले बिहीबार राति १४ बिरामीलाई अन्यत्र लैजान दबाब दिएको थियो । सो अनुसार चारलाई भक्तपुर अस्पताल तथा दुईलाई समिट अस्पताल लगिएको बताइएको छ ।

    यसैबीच उक्त अस्पतालमा उपचारका क्रममा मृत्यु भएका दुई कोरोना संक्रमितको परिवारलाई अस्पतालले क्षतिपूर्ति दिने भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको रोहबरमा भएको पीडित पक्ष र अस्पताल व्यवस्थापनबीच भएको छलफलमा पीडित परिवारलाई क्षतिपूर्ति दिने सहमति भएको सहायक प्रमुख जिल्ला अधिकारी केशरीले जानकारी दिए । के कस्तो क्षतिपूर्ति दिने भन्नेबारेमा थप छलफल हुने उनले बताए । ‘आजको छलफलमा पीडित पक्षलाई क्षतिपूर्ति दिने भन्ने सहमति भएको छ । आइतबार थप छलफल गरेर क्षतिपूर्ति तय गर्ने सहमति भएको छ’, उनले भने ।

    त्यस्तै अस्पताल व्यवस्थापन पक्षले अस्पतालको व्यवस्थापनमा कमी कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा सुधार गरेर अघि बढ्ने प्रतिबद्धता बैठकमा गरेको सहायक प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।

  • धनुषाका चार जनप्रतिनिधिलाई माओवादीले सोध्यो स्पष्टीकरण, एमालेमा लागेको आरोप

    धनुषाका चार जनप्रतिनिधिलाई माओवादीले सोध्यो स्पष्टीकरण, एमालेमा लागेको आरोप

    जनकपुरधाम । एमालेमा लागेको आरोपमा धनुषामा एक मेयरसहित चार जनप्रतिनिधिलाई नेकपा माओवादी केन्द्रले स्पष्टीकरण सोधेको छ ।

    माओवादी केन्द्र धनुषाका इन्चार्ज योगनारायण बरबरिया र सचिव दिपक यादवले विदेह नगरपालिकाका मेयर बेचनदास तत्मा, उपमेयर निलमदेवी मण्डल, सबैला नगरपालिकाकी उपमेयर निलुदेवी कापर र शहिदनगर नगरपालिकाकी उपमेयर शिलादेवी कापरलाई लिखित स्पष्टीकरण सोधेका हुन् ।

    एमाले र माओवादी ब्युँताउने सर्वोच्चको फैसलापछि पार्टी पुरानै अवस्थामा फर्किएपनि पार्टीको कार्यक्रमहरूमा के कति कारणले सहभागी नभएको ? भनी उनीहरूसँग जवाफ मागिएको छ । तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ ।

    चारैजनालाई पठाइएको एकै व्यहोराको पत्रमा आफ्नो स्थानीय तहमा पार्टीको पक्षमा क्रियाशीलता नदेखाएको भन्दै नेकपा माओवादी केन्द्र त्याग गरेको हो वा होइन् ? भन्ने प्रश्नसमेत सोधिएको छ ।

    उनीहरूले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई साथ दिएको भन्दै एक माओवादी नेताले भने, ‘पदमुक्त गर्ने प्रक्रिया पूरा गर्न स्पष्टीकरण सोधेका हौं । उनीहरूलाई कारवाही हुन्छ ढुक्क हुनुस् ।’

  • एमाले स्थायी कमिटी बैठक : ७ जनालाई सांसदबाट कारवाहीको तयारी

    एमाले स्थायी कमिटी बैठक : ७ जनालाई सांसदबाट कारवाहीको तयारी

    काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बस्नुअघि स्थायी कमिटी बैठक बसेको छ । विहान १० बजे बोलाइएको आयोजक कमिटी बैठक स्थायी कमिटी बसेका कारण निर्धारित समयमा बस्न नसकेको हो ।

    एमाले स्रोतका अनुसार आकस्मिक रूपमा बोलाइएको आयोजक कमिटी बैठकअघि स्थायी कमिटीमा पार्टीलाई अपूरणीय क्षति पुर्‍याउन लागेको ठहर गर्दै तत्कालै सांसद पदबाट माधव नेपाललगायत केही नेतालाई निलम्बन गर्नेबारे छलफल भएको स्रोतले जनाएको छ ।

    स्रोतका अनुसार स्पष्टीकरण सोधिएका २७ जनामध्ये केहीलाई कारवाही गरिने सम्भावना छ । त्यो संख्या घटीमा सात र बढीमा १० सम्म हुन सक्ने बैठकमा सहभागी एक नेताले बताए ।

    झलनाथ खनाल, माधव नेपाल, भीम रावललगायतका नेताहरूमाथि कारवाही नगर्दा थप क्षति हुने भएकाले सांसद पदबाट निलम्बन गरि संसदका गतिविधिहरूमा भाग लिन नदिने दलको विधानअनुसार अघि बढ्नेबारे छलफल भइरहेको एमाले स्रोतले जनाएको छ ।

  • स्पष्टीकरण सोधिएका एमाले सांसदको आवश्यक निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई

    स्पष्टीकरण सोधिएका एमाले सांसदको आवश्यक निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई

    काठमाडौं । नेकपा एमालेले स्पष्टीकरण सोधिएका र पेस गरेका सांसदहरूलाई कस्तो कारवाही गर्ने भन्ने जिम्मा स्थायी कमिटीलाई दिएको छ ।

    केन्द्रीय कमिटीको शुक्रबारको बैठकले स्पष्टीकरण र व्यवहार हेरेर आवश्यक निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई दिएको एक केन्द्रीय सदस्यले बताए । अध्यक्ष ओलीले स्पष्टीकरणमा आग्रहपूर्ण दृष्टिकोण राख्ने र विगतमा गुटगत गतिविधि गरेको भए पनि सच्चिएर आउनेलाई पार्टीमा स्पेस दिने बताएका छन् ।

    ओलीको भनाई उदृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘तर, निहुँ खोजेर उद्ण्डता देखाउने र एमाले समाप्त गर्न लाग्छु भन्नेलाई कारवाही गरिने छ। उनीहरूको स्पष्टीकरण र व्यवहार हेरेर आवश्यक निर्णय हुनेछ ।’

    एमालेले माधव नेपाल, झलनाथ खनालसहित प्रतिनिधिसभाका २७ जना र कर्णाली प्रदेशका ५ जनालाई स्पष्टीकरण सोधेको थियो । तीमध्ये कर्णालीका ४ जनालाई पार्टी र संसद सदस्यबाट निष्कासनको निर्णय भएको छ । योगेश भट्टराईसहित ५जनाले स्पष्टीकरण पेस गरेका छैनन् ।

  • कर्णालीका चार सांसदको पद रिक्त गराउने एमालेको निर्णय

    कर्णालीका चार सांसदको पद रिक्त गराउने एमालेको निर्णय

    काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरी माओवादी सरकार जोगाइदिने चारजना सांसदलाई पार्टी र संसद सदस्य नरहने गरी कारवाही गरेको छ ।

    माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने सांसद प्रकाश ज्वाला र हाल मन्त्री बनेका अमरबहादुर थापा,नन्दसिंह बुढा र कुर्मराज शाहीलाई पार्टी सदस्य र सांसद सदस्य नरहने गरी कारवाही गर्ने निर्णय केन्द्रीय कमिटीको बैठकले गरेको हो ।

    निर्णय कार्यन्वयनका लागि प्रदेशसभा सचिवालयलाई पत्र लेख्ने निर्णयसमेत भएको छ ।

    त्यस्तै कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरेर पछि मत सच्याएकी देवी ओलीलाई दोस्रो पटक स्पष्टीकरण सोध्ने निर्णय भएको एक केन्द्रीय सदस्यले जानकारी दिए । देवी ओलीलाई पनि कारवाही गर्न बैठकमा कर्णबहादुर थापा, कर्णाली प्रदेशका अध्यक्ष गोरखबहादुर बोगटी लगायतका नेताले माग गरेका थिए ।

  • सर्वोच्चमा एमालेका ४ नेताको रिट दर्ता, सांसदबाट नहटाउन अन्तरिम आदेश माग (पूर्णपाठ)

    सर्वोच्चमा एमालेका ४ नेताको रिट दर्ता, सांसदबाट नहटाउन अन्तरिम आदेश माग (पूर्णपाठ)

    काठमाडौं । नेकपा एमालेबाट निलम्बनमा परेका चारजना नेताले आफूहरूसहित २७ जना सांसदको पद खारेजी हुने प्रक्रिया रोक्न र पुनःस्थापित एमालेको केन्द्रीय कमिटी बैठक बोलाउने अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । बुधबारै पेस भएको रिट सर्वोच्च प्रशासनले आज दर्ता प्रक्रियामा लगेको हो ।

    रिटको प्रारम्भिक सुनुवाइका लागि आइतबारलाई पेसी तोकिएको सर्वोच्चले जनाएको छ ।

    माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावलको तर्फबाट संयुक्तरूपमा पेस गरिएको १४ बुँदे मागसहितको रिटमा आफूहरूमाथि गर्न लागिएको निष्कासनको कारवाही उत्प्रेषण, प्रतिशोधको आदेशद्वारा बदर तथा रोक्का गरिपाउँ भनिएको छ ।

    ती नेताहरूले निर्वाचन आयोगमा कायम रहेको एमालेका अभिलेख र विवरणमा कुनै परिवर्तन नगर्नु नगराउनु भन्ने परमादेश आयोगका नाममा समेत जारी हुनुपर्ने माग गरेका छन् ।

    त्यस्तै आफूहरूले दल त्याग गरेको भनी एमालेले कारवाही गर्न सक्ने पूर्ण आशंका भएकाले सो कार्य रोक्न र संघीय संसद सचिवालयलाई पनि सांसद पद रिक्त गर्ने प्रक्रियाको पत्र गएमा सो कार्य नगर्न परमादेश माग गरिएको छ ।

    रिट निवेदनमा वैशाख १० गते नै एमालेको अर्को बैठक राखिएकोले सो बैठकबाट थप कारवाही गर्ने र त्यही आधारमा निर्वाचन आयोगले समेत विवरण सच्याउने भएकाले रिट निवेदनको किनारा नलागेसम्म सबै कारवाही यथास्थितिमा राख्न अन्तरिम आदेश माग गरिएको छ ।

    एमालेले यी पाँच नेतासहित २७ जना सांसदलाई स्पष्टीकरण माग गरेको छ । ‘फ्लोर क्रस’ गरेर सरकार ढाल्ने सहमति शेरबहादुर देउवा र प्रचण्डसँग गरेको जानकारी पाएपछि अध्यक्ष तथा संसदीय दलका नेता ओलीले सांसद पदबाट किन कारवाही नगर्ने भन्ने व्यहोरोका स्पष्टीकरण मागेका छन् ।

    राजनीतिक दल सम्बन्धी ऐन र संविधानको धारा ८९ बमोजिम एमालेले कारवाही गरेमा सांसद पद जाने भएकाले माधव नेपाल पक्षले अदालत गुहारेको हो ।

     

     

  • माधव नेपाललाई ५ बुँदे पत्र: दुई दिनभित्र एमालेमा फर्किन अन्तिम मौका (पूर्णपाठ)

    माधव नेपाललाई ५ बुँदे पत्र: दुई दिनभित्र एमालेमा फर्किन अन्तिम मौका (पूर्णपाठ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहितका चार नेतालाई एमालेको पक्षमा आउने प्रतिबद्धतासहितको स-प्रमाण जवाफ आएमा सांसद पदबाट कारवाही नगरिने भन्दै दुई दिनभित्र जवाफ मागेका छन् ।

    यसअघि निलम्वनमा परिसकेका नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाललाई पठाइएको ५ बुँदे स्पष्टीकरणमा एमालेको नाम,झण्डा र चिन्ह दुरुपयोग गरी अर्को दल सन्चालन गरेको आरोप लगाइएको छ ।

    कर्णाली प्रदेशसभा सदस्यलाई उचाल्दै फ्लोर क्रसजस्तो अनुशासनहीन र आपराधिक कार्य गराएकोले पार्टी र संसदीय दल परित्याग गरेको हुनाले ‘सांसद सदस्य पदबाट मुक्त किन नगर्ने ?’ भनी प्रश्न सोधिएको छ ।

    पत्रमा भनिएको छ, तपाईंलाई यसअघि पनि तपाईंका यस्तै क्रियाकलापहरूलाई लिएर स्पष्टीकरण सोधिएकोमा तपाईंले गल्ती महसुस गर्नुको सट्टा उल्टै मर्यादाहीन, झुठ्ठा र नसच्चिने उद्घोषसहितको उद्दण्ड जवाफ प्रस्तुत गर्नुभएको पृष्ठभूमिसमेत तपाईंलाई स्मरण गराउँदै यस्तै गतिविधिहरू कायम रहेमा तपाईंलाई जुनसुकै बेला पनि थप कडा कारवाही गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ सचेत गराउँदै यस्ता गतिविधि बन्द गर्न र सही बाटोमा फर्किने मौका दिन यो स्पष्टीकरण पत्र लेखिएको छ ।’

    ओलीले नेपालमाथि नयाँ राजनीतिक दल खोलेको आरोपसमेत लगाएका छन् । दुई दिनभित्र एमालेमा फर्किने प्रतिबद्धता र प्रमाण नदिए कुनै पनि बखत कारवाही हुने भनिएको छ ।

     
     
     
  • माधव नेपालसहित २० जनामाथि थप कारवाही हुने, अन्तिम चेतावनीसहित २ दिने स्पष्टीकरण माग

    माधव नेपालसहित २० जनामाथि थप कारवाही हुने, अन्तिम चेतावनीसहित २ दिने स्पष्टीकरण माग

    काठमाडौ । नेकपा एमालेले माधव नेपालसहितका केन्द्रका चार निलम्बित नेता र प्रकाश ज्वाला लगायत कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने ५ जनालाई अन्तिम चेतावनीसहितको स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

    सोमवार बसेको केन्द्रीय कमिटी बैठकले प्रकाश ज्वालासहितका सांसद र ‘फ्लोर क्रस’ गर्न लगाउने थप २० जनालाई २ दिनको समयसीमासहित अन्तिम स्पष्टीकरण सोध्ने निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

    अन्तिम चेतावनीपूर्वक स्पष्टीकरण सोधिनेहरूमा भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे साथै प्रकाश ज्वालासहित ५ जना लगायत छन् ।

    उनीहरूले चित्तबुझ्दो स्पष्टीकरण नदिएमा १० गतेको बैठकले कारवाही गर्ने बताइएको छ । कानूनबमोजिम मनासिव माफिकको सफाइ पेस गर्ने मौका दिनका लागि २ दिनको अन्तिम चेतावनीसहितको स्पष्टीकरण मागिएको एक नेताले बताए । त्यसपछि माधव नेपालसहितका नेताहरूमाथि थप कडा कारवाही हुने अध्यक्ष ओलीले बताएका छन् ।

  • प्रेस चौतारीका तीन पदाधिकारी पदमुक्त

    प्रेस चौतारीका तीन पदाधिकारी पदमुक्त

    काठमाडौं । प्रेस चौतारी नेपालको संस्थापन पक्षले उपाध्यक्ष विश्वमणि सुवेदीसहित तीन पदाधिकारीलाई पदमुक्त गरेको छ ।

    चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा बिहीबार बसेको सचिवालय बैठकले हालै सम्पन्न नेपाल पत्रकार महासङ्घको निर्वाचनमा अवाञ्छित र अनाधिकृत रूपमा अन्य पक्षसँग मिलेर सङ्गठनका मूलधारका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको जनाउँदै कारवाही गरेको हो ।

    बैठकले वाग्मती प्रदेशका उपाध्यक्ष सुवेदी, सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष नरेन्द्र साउद र महासचिव राजेश राईलाई साधारण सदस्यता कायम रहने गरी पदमुक्त गरेको हो । उनीहरू माधवकुमार नेपालनिकट मानिन्छन् ।

    बैठकले उपमहासचिव हीरामान लामालाई विधानबमोजिम कार्यवाहक महासचिवको जिम्मेवारी दिएको तथा आजको बैठकमा अनुपस्थित उपमहासचिव रामकुमार एलन, सचिव अमृतनाथ तिमिल्सना र सुरोजङ्ग पाण्डेलाई यही वैशाख ३ गतेको सचिवालयको बैठकमा अनिवार्यरूपमा उपस्थित हुन निर्देशन गरेको छ ।

    यस्तै जिल्लास्तरमा गरिनुपर्ने कारवाही र सङ्गठन विस्तारका लागि सम्बन्धित प्रदेश समितिलाई अख्तियारी दिइएको छ ।

    रासस

  • एमालेमा लागेका दुई सांसदलाई कारवाही गर्ने माओवादीको तयारी, सांसदद्वय कारबाही भोग्न तयार

    एमालेमा लागेका दुई सांसदलाई कारवाही गर्ने माओवादीको तयारी, सांसदद्वय कारबाही भोग्न तयार

    रुपन्देही । लुम्बिनी प्रदेशसभामा नेकपा माओवादी केन्द्रबाट निर्वाचित दुई सांसद एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्र लुम्बिनी प्रदेशले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । तर दुवै सांसदहरुले त्यसको जवाफ दिनुपर्ने कुनै कारण नभएको विचार सार्वजनिक गरेका छन् ।

    रुपन्देहीबाट निर्वाचित सांसद दधिराम न्यौपाने र गुल्मीबाट निर्वाचित सांसद दिनेश पन्थीले माओवादी केन्द्रको संसदीय दललाई स्पष्टीकरण बुझउन आवश्यक नरहेको बताएका हुन् । पार्टीले स्पष्टीकरण बुझाउन दिएको समय पूरा भइसकेको छ । उनीहरु दुवैजनाले स्पष्टीकरणको पत्र प्राप्त भएको भएपनि फोनमार्फत जवाफ दिनु नपर्ने भन्दै प्रमुख सचेतकलाई जानकारी गराएको बताए ।

    तर माओवादी केन्द्रका प्रमुख सचेतक तुलबहादुर घर्तीले भने पार्टीको निर्णयविपरीत एमालेको केन्द्रीय सदस्यमा मनोनित भएका रुपन्देहीका सांसद दधिराम न्यौपाने र गुल्मीका सांसद दिनेश पन्थीलाई कारबाही प्रक्रिया अगाडि बढाइएको बताए ।

    पार्टीको संसदीय दलको बैठकमा बोलाउँदा दुवै सांसद नगएपछि स्पष्टिकरण सोधिएको बताउँदै घर्तीले दुवै सांसद निलम्बन गरेको सूचना केही दिनमा नै प्रदेशसभा सचिवालयमा दिने र संसद सचिवालयमा सूचना पुग्नसाथ सांसदबाट हट्ने बताएका छन् ।

    रुपन्देहीका सांसद दधिराम न्यौपानेले आफ्नो धारण पहिले नै सार्वजनिक गरिसकेकाले स्पष्टीकरणको जवाफ दिन आवश्यक नै नरहेको बताए । न्यौपानेले सांसद पद गएपनि एमाले नछाड्ने भनेर यसअघि नै सार्वजनिक गरिसकेको बताए ।
    एमालेमा लागेका गुल्मीका सांसद दिनेश पन्थीले पनि स्पष्टीकरण दिनुको कुनै औचित्य नभएको बताए ।

  • मैदान छोडेर नभाग्ने माधव नेपालको उद्घोष

    मैदान छोडेर नभाग्ने माधव नेपालको उद्घोष

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफूलाई पार्टी अध्यक्ष केपी ओलीले कारवाही गरेको विषयमा थप प्रतिक्रिया दिँदै आफू मैदान छाडेर नभाग्ने बताएका छन् । ‘स्वघोषित’ महाधिवेशन आयोजक कमिटीको अध्यक्षलाई आफूहरुमाथि कारवाही गर्ने कुनै अधिकार नभएको उनको भनाइ छ ।

    नेपालले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै भनेका छन्, ‘टुक्रा–टुक्रामा विभाजित कम्युनिष्ट आन्दोलनलाई एकिकृत, विस्तार र विकास गरेको हामीले हो । यसको रक्षा पनि हामीले नै गर्ने हो, मैदान छोडेर भागिने छैन ।’ नेकपा (एमाले) को निर्माण आफूहरुले गरेको र नवौं महाधिवेशनमा पनि आफ्नो नीति पास भएको भन्दै नेता नेपालले निराश होइन दृढ बनेर कम्युनिष्ट आन्दोलनको रक्षा गर्न अपिल गरेका छन् ।

    नेपालको वक्तव्य यस्तो छः ‘सञ्चारमाध्यममा आएअनुसार आज म र कमरेड भीम रावललाई निलम्वन गरिएको भन्ने कुरालाई म अस्विकार गर्दछु । विधानविपरित एकपक्षीयरूपमा गरिएका फागुण २८ गतेका निर्णय अमान्य भएको र त्यसको आधारमा स्वघोषित महाधिवेशन आयोजक कमिटिको अध्यक्षलाई कार्वाही गर्ने कुनै अधिकार नभएको स्पष्ट पार्दछु ।

    नीति, विधि, नैतिकता, मुल्य–मान्यता र मापदण्डको पक्षमा दृढतापूर्वक उभिनुभएका सबै नेता कार्यकर्तालाई कत्ति पनि विचलित नभई सबैखाले अतिवाद, स्वेच्छाचारिता र गलत प्रवृत्तिका विरूध्दमा दृढतापूर्वक लाग्न र प्रतिवाद गर्न हार्दिक अपिल गर्दछु । टुक्रा–टुक्रामा विभाजित कम्युनिष्ट आन्दोलनलाई एकिकृत, विस्तार र विकास गरेको हामीले हो, यसको रक्षा पनि हामीले नै गर्ने हो, मैदान छोडेर भागिने छैन,

    नेकपा (एमाले) हामीले निर्माण गरेको पार्टी हो, नवौं महाधिवेशनमा हाम्रो नीति पास भएको हो, अतः निराश होइन दृढ बनेर कम्युनिष्ट आन्दोलनको रक्षा गरौं ।’

  • भाउ बढाउने तेल उद्योगमाथि सरकारको कारबाही, घट्ला त महंगी ?

    भाउ बढाउने तेल उद्योगमाथि सरकारको कारबाही, घट्ला त महंगी ?

    काठमाडौं । दुई महीनादेखि खाने तेलको मूल्य अत्यधिक बढेपछि सरकारले कारवाही शुरु गरेको छ । बिनाकारण तेल उद्योगहरुले एकलौटी मूल्य वृद्धि गरेपछि सरकारले तेल उत्पादन गर्ने दुईओटा उद्योगलाई मंगलबार कारवाही गरेको हो ।

    करीब दुई महिनादेखि खानेतेलको मूल्य प्रतिलिटर १० देखि ५० रुपैयाँसम्म वृद्धि भएको छ । बजारमा खाने तेलको मूल्य अत्यधिक बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले केही समय अघि तेलको मूल्य बढाउनुको कारण पेस गर्न उद्योगलाई पत्र काटेको थियो ।
    तर, उद्योगले खाने तेलको मूल्य बढाउनुको कारण अझैसम्म विभागलाई पेश गर्न सकेका छैनन् । नेपालमा अहिले १७ ओटा उद्योगले खाने तेल उत्पादन गर्दै आएका छन् । ती सबै उद्योगबाट उत्पादित खानेतेलको मूल्यमा वृद्धि भएको छ ।

    मूल्य वृद्धिका कारण उपभोक्ताको गुनासो बढेसँगै विभागले उद्योगहरुमा अनुगमन थालेको छ । अनुगमनका क्रममा विभागले मंगलबार बारा जिल्लामा सञ्चालित दुई उद्योगले खानेतेलको मूल्यमा वृद्धि गरेको पाएको थियो ।

    विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीका अनुसार बजार अनुगमका क्रममा उत्पादन लागतको अनुपातमा बढी मूल्य लिएको भेटिएपछि तेल उत्पादक उद्योगलाई कारवाही गरिएको छ ।

    विभागले बारामा रहेको अन्नपूर्ण भेजिटेवल प्रालि र महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाइनरी प्रालिलाई पनि केही दिन अघि कारवाही गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार ती उद्योगलाई तीन\तीन लाख रुपैयाँ जरिवाना गरेको छ ।

    त्यस्तै विभागले काठमाडौंको नार्गाजुन नगरपालिकाको श्री भण्डारी स्टोरले बढी मूल्य लिएर तेल विक्री गरेको पाइएपछि उक्त स्टोरलाई दुई लाख ५० हजार जरिवना गरिएको सुवेदीले बताए ।

    उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले विभागले अहिले गरिरहेको अनुगमन न्यून भएको बताएका छन् । उनका अनुसार अहिले विभागले कारवाही गरेको जस्तो मात्रै गरेको छ । ‘दुई ओटा तेल उद्योगलाई कारवाही गरेर तेलको मूल्य घट्छ,’ उनले भने ।

    बानियाँका अनुसार अहिले सरकारले प्रत्येक जिल्ला प्रशासनलाई अनुगमन गर्ने अधिकार दिएको छ । सबै जिल्लामा अनुगमन गर्ने हो भने मात्रै उद्योगले मनलाग्दी तरिकाले तेलमा गरेको मूल्य वृद्धि घट्ला नभए घट्दैन ।

    खुद्रा व्यापारसंघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार दुई महिना अघि बजारमा भटमासमको तेलको मूल्य प्रतिलिटर एक सय ६५ रुपैयाँ थियो । हाल सो तेलको मूल्य वृद्धि भई दुई सय १० रुपैयाँ पुगेको छ ।

    त्यस्तै सनफ्लावर तेलको मूल्य एक महिना अघि प्रति लिटर एक सय ८५ रुपैयाँबाट वृद्धि भई हाल दुई सय २० रुपैयाँ पुगेको छ । तोरीको तेलमा भने दुई सय ५० रुपैयाँबाट बढेर हाल दुई सय ६० रुपैयाँ पुगेको छ ।

    श्रष्ठका अनुसार विभागले उद्योगलाई कारवाही गरे पनि उनीहरुले तेलको मूल्य भने घटाएका छैनन् ।

     

  • खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही

    खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही

    काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही गरेको छ ।

    केही दिनयता बजारमा खाने तेलको मूल्यमा अस्वभाविक रुपमा वृद्धि भएको गुनासो आएपछि विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ ।

    विभिन्न जिल्लामा सञ्चालन भएको तेल उद्योगको अुनगमनका क्रममा मङ्गलबार बारामा सञ्चालित दुई उद्योगले मूल्य बढाएको भेटेपछि कारवाहीस्वरुप जरिवाना गरिएको जनाइएको छ ।

    विभागका निर्देशक एवं सूचना अधिकारी शिवराज सेढाइँ बजार अनुगमका क्रममा उत्पादन लागतको अनुपातमा बढी मूल्य लिएको भेटिएपछि कारवाही गरिएको बताउँछन् ।

    उनका अनुसार बारामा रहेको अन्नपूर्ण भेजिटेवल प्रालि र महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाइनरी प्रालिलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारवाहीस्वरुप रु तीन÷तीन लाख जरिवाना गरिएको हो ।

    पछिल्लो समय बजारमा खाने तेलको मूल्य अस्वभाविक रुपमा वृद्धि भएको छ । तीन महिनाअघिको तुलनामा हाल तोरीको तेलको मूल्य प्रतिलिटर रु ४०, सनफ्लावर तेल प्रतिलिटर ४० र भटमासको तेल लिटरमा २० भन्दा बढीले मूल्य बढाइएको छ ।

    अनुगमनका क्रममा अस्वभाविक रुपमा बढाइएको खाने तेलको मूल्यवृद्धि सच्याउन निर्देशन दिइएको छ भने निर्देशनका पालना नगरे कानूनअनुसार थप कारवाही हुने जनाइएको छ ।

    मागअनुसार स्वदेशी उत्पादनले नपुग्ने र अन्तर्राष्ट्रिय बजारमा निर्भर हुनुपर्दा पछिल्लो समय खाने तेलको मूल्यमा वृद्धि भएको व्यवसायी बताउँछन् ।