Tag: कांग्रेस महाधिवेशन

  • निष्ठावान् कांग्रेस कार्यकर्ता थिचोमिचोमा परेको पौडेलको दावी, आन्दोलनमा ऐक्यवद्धता

    निष्ठावान् कांग्रेस कार्यकर्ता थिचोमिचोमा परेको पौडेलको दावी, आन्दोलनमा ऐक्यवद्धता

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्यताका लागि पार्टीभित्र भइरहेका आन्दोलनप्रति समर्थन जनाएका छन् ।

    देशभर निष्ठावान कांग्रेसलाई अल्पमतमा पारेर पार्टी कब्जा गर्न खोजिएको भन्दै वरिष्ठ नेता पौडेलले पार्टी कार्यालय सानेपामा भएका ‘अनसन’ प्रति आफ्नो ऐक्यबद्धता रहेको जनाए । नेता पौडेलले सानेपा पुगेर क्रियाशील सदस्यताबारे अनसन बसेका नेता कार्यकर्ताको आन्दोलनमा समर्थनसमेत जनाएका छन् ।

    ‘देशभरीका कांग्रेसजनआज विचल्लीमा परेका छन् । निष्ठावान् कार्यकर्तालाई किनारा लगाउन खोजिदैछ । त्यसविरुद्ध पार्टी कार्यालयमै धर्ना र आमरण अनसन बस्नुपर्ने अवस्था आएको छ । यो अत्यन्तै दुःखद छ । यो आन्दोलनमा मेरो पूर्ण ऐक्यवद्धता छ’, पार्टी कार्यालयमा भइरहेका आन्दोलनमा समर्थन जनाउन सानेपा पुगेका पौडेलले नेपाल प्रेससँग भने ।

    नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा विभिन्न जिल्लाका नेता कार्यकर्ताहरुले क्रियाशील सदस्यता वितरणमा असन्तुष्टी जनाउँदै धर्ना दिइरहेका छन् । धनुषाका कांग्रेस नेता पूर्व सांसद चन्द्रमोहन यादवसहित रामपल्टन साह र दिनेश नायक आमरण अनसनमा बसेका छन् । त्यस्तै बारा, सर्लाही, मकवानपुर लगायत जिल्लाका कांग्रेस कार्यकर्ताहरु पनि सानेपामा धर्नामा रहेका छन् ।

    उनीहरूले समायोजनका नाममा जथाभावी क्रियाशील सदस्यता वितरण भएको, विधान र निर्देशिका उल्लंघन गरिएको लगायतका आरोप लगाउँदै आएका छन् । कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले विवाद निरुपणको जिम्मा पाएपनि अहिलेसम्म टुंग्याउन सकेको छैन ।

    महामन्त्री डा. शशांक कोइरालाको निवासमा संस्थापनइतर समूहका नेताहरुसँग छलफल सकिएलगत्तै पौडेल सानेपा पुगेर कार्यकर्ताको आन्दोलनमा सहभागी भएका हुन् ।
  • ‘भदौमा महाधिवेशन नहुने भए बेलैमा ‘प्लान बी’ सोच्नुपर्छ’

    ‘भदौमा महाधिवेशन नहुने भए बेलैमा ‘प्लान बी’ सोच्नुपर्छ’

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको अन्तिमपटक फेरिएको कार्यतालिका अनुसार काम भएको भए यतिबेला देशभरका सबै वडामा कांग्रेसको अधिवेशनको रौनक हुने थियो । यद्यपि साउन १२ मा हुनुपर्ने वडा तहको अधिवेशनका लागि एक हप्तामात्रै बाँकी रहँदा पनि कांग्रेसले क्रियाशील सदस्यहरूको टुंगो लगाउन सकेको छैन ।

    क्रियाशील सदस्यता छानबिन समितिले असार मसान्तसम्मको म्याद पाए पनि अझै काम सकिएको छैन । समितिका सदस्यहरूले क्रियाशील छानबिन अन्तिम चरणमा रहेको बताए पनि विवादित भनेर समितिले नै निर्णय गरेका ७० भन्दा बढी वडाबारे कांग्रेसमा ‘आम सहमति’ नबन्दासम्म अधिवेशनको प्रक्रिया शुरू हुने छैन । अधिवेशनका लागि अत्यावश्यक निर्वाचन निर्देशिका समेत पारित भइनसकेका कारण महाधिवेशन तोकिएकै मितिमा हुनेमा शंका बढ्दो छ ।

    महाधिवेशन सर्छ त ?

    कांग्रेस सभापति शेरबहादुर देउवा भर्खरै प्रधानमन्त्री बनेका छन् । मन्त्रिपरिषद्ले पूर्णता पाइनसकेका कारण कांग्रेसको आन्तरिक समीकरण अहिले तरल छ । सरकारमा सहभागिता चाहेका नेताहरू आन्तरिक विषयमा बोल्न छाडेका छन् । महाधिवेशनबाट सभापतिमा दोहोरिने इच्छा व्यक्त गरेका सभापति देउवाको व्यस्तता बढ्दो छ । यो व्यस्तताको असर कांग्रेस महाधिवेशनमा देखिने निश्चित छ ।

    पढ्नुहोस् : कांग्रेसभित्र ‘प्लान बी’ बहसमा, २०७९ जेठसम्म महाधिवेशन धकेल्न सकिने तर्क

    कांग्रेसका अधिकांश नेताहरू अहिले महाधिवेशनबारे चर्चा गर्न चाहँदैनन् । खुलेर कुरा गर्ने केहीले तल्लो तहको अधिवेशनसम्म सर्न सक्ने बताउँछन् । यद्यपि तल्लो तहको अधिवेशनमात्रै सारेर महाधिवेशन भदौ १६ मै गर्ने सम्भावना क्रमशः टर्दै गएको छ । डेढ महिनाभित्र वडादेखि केन्द्रसम्मको अधिवेशन गर्न कांग्रेसका लागि सहज हुने छैन । क्रियाशील सदस्यताको विवाद टुंगो नलागेका कारण समयको चाप अझ बढ्ने देखिन्छ ।

    विकल्प खोज्नुपर्छ : डा.खड्का

    कांग्रेस नेता डा. नारायण खड्का प्रष्टवक्ता मानिन्छन् । उदयपुरबाट लगातार तीनवटा निर्वाचन जितेका खड्का नेताभन्दा पार्टी बलियो हुनुपर्ने मान्यता राख्छन् । यहीकारण परम्परागत गुटभन्दा ‘गुण र दोषका आधारमा’ खड्काले व्यवहार गर्छन् । संविधान निर्माणका क्रममा तत्कालीन सभापति सुशिल कोइरालाको महत्वपूर्ण सहयोगी रहेका खड्का १३ औं महाधिवेशमा रामचन्द्र पौडेल नेतृत्वको समूहमा थिए ।

    पछिल्लो समय कांग्रेसको परराष्ट्र विभागको प्रमुख रहेका खड्का महाधिवेशनको प्रतिस्पर्धाका आधारमा सधैँ गुटबन्दी गर्न नहुने तर्क राख्छन् । यहीकारण कांग्रेसका सबै गुटका नेताहरू खड्कासँग सचेत व्यवहार गर्छन् ।

    महाधिवेशनबारे कांग्रेसमा अनिश्चितता बढ्दो छ । महाधिवेशनको सम्भावना टर्दै गएपनि विकल्पबारे बोल्ने जोखिम उठाउन कांग्रेसको कुनै गुटका कुनै नेता तयार छैनन् । डा. खड्का भने प्रष्ट छन्- सके महाधिवेशन नसके विकल्प ।

    महाधिवेशन कांग्रेसको विधानमात्रै होइन मुलुकको संविधानका कारणले पनि बाध्यकारी छ । यद्यपि कोरोना कहर र बाढीपहिरोका कारण तत्कालै देशैभरि कांग्रेसको अधिवेशन हुने स्थिति छैन । कांग्रेस नेता खड्का महाधिवेशनको ‘प्लान बी’का लागि पार्टी तयार हुनुपर्ने पक्षमा छन् ।

    केही साताअघिको छलफलमा डा. खड्काले नै महाधिवेशन हुन नसक्ने परिस्थितिमा के गर्ने ? भन्नेमा तयारी गर्नुपर्ने बताएका थिए । त्यतिबेला खड्काको धारणालाई महाधिवेशन सार्न खोजेको आरोप लाग्यो । तर, अहिले जति नै बल गरे पनि कांग्रेस महाधिवेशन भइहाल्ने अवस्था देखिदैन । त्यसैले खड्काले अघि सारेको प्लान बी कै विकल्पमा शीर्ष नेताहरू छलफल गर्न थालेका छन् ।

    कांग्रेस सभापति शेरबहादुर देउवा भर्खरै प्रधानमन्त्री बनेका छन् । मन्त्रिपरिषद्ले पूर्णता पाइनसकेका कारण कांग्रेसको आन्तरिक समीकरण अहिले तरल छ । सरकारमा सहभागिता चाहेका नेताहरू आन्तरिक विषयमा बोल्न छाडेका छन् । महाधिवेशनबाट सभापतिमा दोहोरिने इच्छा व्यक्त गरेका सभापति देउवाको व्यस्तता बढ्दो छ । यो व्यस्तताको असर कांग्रेस महाधिवेशनमा देखिने निश्चित छ ।

    ‘महाधिवेशन गर्ने नै हो तर कुनै कारणले अप्ठ्यारो पर्‍यो भने पार्टी त विकल्पहीन हुनुभएन नि । त्यसैले मैले धेरै पहिलो प्लान बीको कुरा गरेको थिएँ । अहिले बल्ल नेताहरू त्यसबारे सिरियस देख्छु’, खड्काले नेपाल प्रेससँग भने ।

    नेतृत्वले सधैँ वैकल्पिक उपाय सुरक्षित राख्नुपर्ने भन्दै खड्काले कांग्रेस विकल्पहीन बन्न नहुने बताए । ‘मेलमिलापको नीति लिएर मुलुक फर्कने वीपी कोइरालाको निर्णय पनि प्लान बी नै हो । त्यसैले वीपी कोइरालाको पार्टी जोगाउन पनि प्लान बी त हुनैपर्छ’, उनले भने ।

    यो पनि पढ्नुहोस् : तानातानमा गगन, कसलाई देलान् वचन ?

    महाधिवेशन नगर्दा हुने संवैधानिक संकटको अध्ययन, विधिसम्मत विकल्पको खोजी र त्यसको पर्याप्त तयारीमा पार्टी लाग्नुपर्ने खड्काको बुझाइ छ । कोरोना कहरका कारण एक वर्षयता अधिकांश समय ‘लकडाउन’ को स्थिति रह्यो । २०७७ साल जेठ १५ गते सर्वोच्च अदालतले ‘लकडाउन’ को अवधिलाई शून्य अवधि करार गरेको थियो । सर्वोच्चको सोही फैसलाको जगमा महाधिवेशनका लागि थप समय प्राप्त गर्न सकिने बारे सोच्नुपर्ने खड्काको भनाइ छ ।

    त्यसबाहेकका अन्य विकल्पमा पनि पार्टीले तयारी गर्नुपर्ने उनी बताउँछन् । ‘सर्वोच्च अदातलको फैसलाको गहिरोसँग अध्ययन गर्नुपर्‍यो । राजनीतिक दलसम्बन्धी ऐनपनि हेरौं । निर्वाचन आयोगलाई महाधिवेशनको कार्यतालिका बुझाएर थप केही समय लिन सकिन्छ कि । त्यसबारे पनि सोच्नुपर्छ’, खड्काले भने । त्यसबाहेक अन्य विकल्पबारे पनि पार्टीभित्र पर्याप्त छलफल गरिनुपर्ने खड्काको भनाइ छ । ‘सकिन्छ महाधिवेशन भदौमै गरौ सकिदैन विकल्पबारे बेलैमा सोचौं’, खड्काले नेपाल प्रेससँग भने ।

  • कांग्रेसमा मन्त्रीको विवाद शुरू, टर्दै महाधिवेशन

    कांग्रेसमा मन्त्रीको विवाद शुरू, टर्दै महाधिवेशन

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन पुनः प्रभावित हुने भएको छ । सभापति शेरबहादुर देउवा गठबन्धन सरकारको प्रधानमन्त्री बनेसँगै कांग्रेसको महाधिवेशन कार्यतालिका संशोधनका लागि समेत बैठक बस्न सकेको छैन । मंगलबारदेखि बस्ने भनिएको कांग्रेस पदाधिकारी बैठक निरन्तर स्थगित भइरहेको छ ।

    महाधिवेशन कार्यतालिका अनुसार क्रियाशील सदस्यता छानविन समितिले असार २० भित्रमा टुंग्याउनुपर्ने क्रियाशील सदस्यताको सूची ११ दिन बित्दासम्म टुंगिएको छैन । महाधिवेशन कार्यतालिका अनुसार आज कांग्रेस सभापति देउवाले हस्ताक्षर गरेर क्रियाशील सस्दयको अन्तिम नामावली निर्वाचन समितिलाई बुझाउनुपर्ने थियो । तर, छानविन समितिले विवाद टुंग्याउन ढिलो गरेपछि महाधिवेशन प्रभावित हुने देखिएको हो ।

    कार्यतालिका अनुसार साउन १२ गते कांग्रेसको वडा तहको अधिवेशन हुनुपर्ने थियो । सदस्यता विवाद नटुंगिएपछि नेताहरु तत्काललाई तल्लो तहको अधिवेशनको कार्यतालिका केही दिन सार्ने पक्षमा छन् । यद्यपि त्यसबाट पनि भदौ १६ देखि १९ गतेसम्म हुनुपर्ने महाधिवेशन सुनिश्चित हुँदैन ।

    ‘जति नै कुरा लुकाए पनि अब भदौमा महाधिवेशन हुन गार्‍हो छ । एकातिर क्रियाशीलको विवाद टुंगिएको छैन अर्कोतिर सभापति व्यस्त हुनुहुन्छ । १ महिना त हाम्रो ध्यान मन्त्रिपरिषद् र विश्वासको मतमै जान्छ अनि कसरी महाधिवेशन हुन्छ ?’,कांग्रेसका एक नेताले भने ।

    ती नेताका अनुसार क्रियाशील सदस्यतामात्रै भएपनि टुंग्याउनुपर्नेमा अधिकांश नेताको जोड छ । ‘छानविन समितिलाई साता/दश दिनको समय दिएर क्रियाशीलमात्रै टुंग्याउन सक्यौं भने महाधिवेशन निश्चित हुन्छ । भदौ १६ मै भएन भने पनि थोरैमात्रै पर धकेल्न सकिन्छ’, ती नेताले भने । तल्लो तहको अधिवेशनको मिति सारेर मात्रै महाधिवेशन भदौ १६ मै हुने निश्चित छैन । महाधिवेशनका लागि आवश्यक अन्य तयारी शुरू नभएको, सभापति देउवा सत्ता सञ्चालनमा व्यस्त रहेको र राजनीतिक कोर्स नै निश्चित नभइसकेकोले कांग्रेस महाधिवेशन भदौमा नहुने ‘निश्चितजस्तै’ भइसकेको छ ।

    क्रियाशील होइन अब मन्त्रीको विवाद

    सभापति देउवाले प्रधानमन्त्रीको सपथ लिएसँगै सानो आकारको मन्त्रिपरिषद् गठन गरे । जसमा कांग्रेस र माओवादीका २-२ जना नेता समेटिए । कांग्रेसबाट सभापति देउवाले आफूनिकट बालकृष्ण खाँडलाई गहृमन्त्री र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानूनमन्त्री बनाएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेललगायतसँग प्रधानमन्त्रीले सरकारमा सहभागी हुने मन्त्रीबारे छलफल गरिसकेका छैनन् । यही कारण कांग्रेसभित्र देउवाप्रति असन्तुष्टि बढ्दो छ । विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने देउवाको तयारी छ ।

    ‘देउवाजीलाई प्रधानमन्त्री बनायौं तर उहाँले त्यसपछि छलफल गर्नुभएको छैन । जति नै व्यस्त भएपनि पार्टीभित्र पर्याप्त छलफल त गर्नुपर्ने हो नि’, एक कांग्रेस नेताले भने ।

    मन्त्री बन्नका लागि देउवा समूहमा मात्रै नभइ पौडेल पक्षमा पनि दौडधुप तीव्र छ । गठबन्धनभित्रै मन्त्रालय बाँडफाँडको विषय टुंगो नलागेकोले कांग्रेसको आन्तरिक भागबण्डा निश्चित भइसकेको छैन । पौडेल पक्षले सरकारमा सम्मानजनक उपस्थिति चाहेको छ । सुजाता कोइराला र मिनेन्द्र रिजाल देउवा सरकारमा उपप्रधानमन्त्रीको दाबेदार छन् । सभापति देउवाले सरकार विस्तारबारे छलफल नगरेको गुनासो गरेपनि संस्थापनइतर समूहमा अझ बढी समस्या छ । ‘देउवाले नाम मागिहाले पनि सर्वसहमत रूपमा मन्त्रीको नाम पठाउन गार्‍हो छ । सांसदजति सबै मन्त्री चाहियो भन्छन् । कसरी मिलाउने गार्‍हो छ’, पौडेल पक्षका एक नेताले भने ।

  • कांग्रेसमा युवा भनिने नै गुटका हर्ताकर्ता, कामभन्दा गफ धेरै

    कांग्रेसमा युवा भनिने नै गुटका हर्ताकर्ता, कामभन्दा गफ धेरै

    काठमाडौं । मुलुकको कानूनले युवाको परिभाषाभित्र ४० वर्षसम्म उमेर समूहलाई मान्छ । तर, नेपाली कांग्रेसभित्र ‘युवा नेता’ को हुन् भन्नेमै द्विधा छ । उमेरका हिसाबले युवाबारे बनाइने दृष्टिकोण कांग्रेसमा लागू हुँदैन । कांग्रेसको मूल नेतृत्वमा रहेकालाई पहिलो पुस्ता मान्ने हो भने त्यहाँ ७६-७८ वर्ष उमेर समूह हावी छ ।

    सभापति शेरबहादुर देउवा ७६ औं वर्षमा छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल ७७ औं वर्षमा छन् । १४ औं महाधिवेशनले ५ वर्षे कार्यकालका लागि नेतृत्व चयन गर्छ । पहिलो पुस्ताबाटै नेतृत्व निरन्तर रहेमा कांग्रेसमा ८० काटेका नेताहरूले हाँक्ने निश्चित छ ।

    कांग्रेसमा दोस्रो पुस्ता भनिनेहरू अहिले पार्टीको पदाधिकारी तहमा छन् । केही पूर्वपदाधिकारी पनि छन् । उनीहरूमध्ये केहीले आसन्न महाधिवेशनमा सभापति पदको दावेदारी प्रस्तुत गरेका छन् । सभापतिमा चर्चा भएकामध्ये उपसभापति विमलेन्द्र निधि ६४, महामन्त्री डा. शशांक कोइराला ६२, प्रकाशमान सिंह ६५, डा. शेखर कोइराला ७० र गोपालमान श्रेष्ठ ७३ वर्ष भइसकेका छन् ।

    सभापतिमा दावी गर्नेमध्ये सबैभन्दा कान्छा कल्याण गुरुङ हुन्, उनी ५० वर्षका भए । कांग्रेसवृत्तमा युवा नेता भनेर चिनिएका अनुहारहरू उमेरका आधारमा युवाको परिभाषाभन्दा पार भइसकेका छन् । राजनीतिमा उमेरलाई कति प्राथमिकता दिने ? भन्ने विषय आफैंमा विवादित छ यद्यपि कांग्रेसवृत्तमा उमेरका आधारमा ४० देखि ५५ वर्षसम्मका नेताहरुले ‘तेस्रो पुस्ता’को प्रतिनिधित्व गर्छन् ।

    गगन थापा, गुरुराज घिमिरे, प्रदीप पौडेल, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, गोविन्द भट्टराई, डिला संग्रौला, सरिता प्रसाई, किरण यादव, सीता गुरुङ, सुजाता परियार , लक्ष्मी परियारलगायतका नेताहरू यही समूहमा पर्छन् ।

    युवाहरूको गफै धेरै

    कांग्रेसवृत्तमा युवा नेताहरु ‘गफ धेरै गर्छन्’ भन्ने चर्चा हुनेगर्छ । खासगरी पार्टीभित्र गुटको फेरो समातेर पदमा पुग्ने र आफू अनुकुल नभए ‘परिवर्तन र पुस्तान्तरण’ को हाँक दिने प्रवृत्ति कांग्रेसका युवा भनिने नेतामा देखिन्छ । युवा नेताहरूकै जोडबलमा कांग्रेसमा उल्लेखनीय निर्णय भएको उदाहरण भेटिँदैन । केन्द्रीय समितिमा अधिकांश ‘युवा भनिने’ नेता भए पनि निर्णयमा ‘बुढाहरू’ नै हावी छन् । केन्द्रीय समितिमा पर्याप्त छलफलअघि नै गुटगत आधारमा शीर्ष भनिने ‘बुढा नेताहरू’ को छलफल हुने गर्छ । सो छलफलमा भएको निर्णयमै केन्द्रीय समितिमा ताली बजाइन्छ । जसमा अधिकांश ताली ‘युवा भनिने’ नेताहरूकै हुन्छ ।

    पार्टीका भ्रातृ संस्थाहरू लथालिङ्ग भएको विषयमा पनि ‘युवा भनिने’ नेताहरूको न चासो देखिन्छ न हस्तक्षेप । नेपाल विद्यार्थी संघको पृष्ठभूमिबाट आएका सबैजसो नेताहरु नेविसंघको हालत खराब भइसक्दा पनि मौन छन् । नेविसंघलाई महाधिवेशन गर्नै नसक्ने र तदर्थको भरमा चलाउने अवस्था आउनुमा ‘युवा भनिने’ नेताहरूको मौन समर्थन नै निर्णायक छ ।

    ‘नेविसंघ र तरुण दललाई आजको हालतमा पुर्‍याउन युवा नेताहरू बढी जिम्मेवार छन् । भाषण चर्को गरेपनि पार्टीको निर्णय प्रक्रियामा युवा नेताहरूको केही चल्दैन । आफ्नो गुटको नेताले आदेश गरेपछि उहाँहरूको बोली फुट्दैन’, कांग्रेसका एक कार्यकर्ताको आक्रोश छ ।

    गुटको हर्ताकर्ता नै ‘युवा भनिने’

    पार्टीबाहिरका मञ्चमा नेतृत्व र पुस्तान्तरणको बहस गर्ने अधिकांश ‘युवा भनिने’ नेताहरु नै कांग्रेसभित्रका गुटका हर्ताकर्ता हुन् । सभापति शेरबहादुर देउवाको गुटमा महेन्द्र यादव, सुरेन्द्र पाण्डे, शंकर भण्डारी, मीन विश्वकर्मा , गोविन्द भट्टराई, विश्वप्रकाश शर्मालगायतका ‘युवा भनिने’ नेताहरू हावी छन् ।

    वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको गुटमा धनराज गुरुङ,बद्री पाण्डे , जीवन परियार, गुरुराज घिमिरे, किरण यादव, सरिता प्रसाइँ लगायतका ‘युवा भनिने’ हरू हर्ताकर्ता छन् । तेस्रो धार भनिने कृष्ण सिटौला नेतृत्वको गुटका मुख्य खम्बा नै चर्चित युवा नेताहरू छन् । सो गुटको हर्ताकर्तामा गगन थापा र प्रदीप पौडेल रहेका छन् ।

    पार्टीभित्रका आन्तरिक विवाद र विषयमा ‘युवा भनिने’ नेताहरूका बीचमा सहकार्य भएको पाइँदैन । बरु गुटगत पक्षपोषण र गुटको संरक्षणमा उनीहरुका बीचमा कडा प्रतिस्पर्धा छ । बेलाबखतमा युवा नेताका नाममा भेला वा समूहगत वक्तव्यबाजी भएपनि कांग्रेसभित्रको परिणाममा त्यस्ता प्रयत्नहरु सार्थक देखिएका छैनन् ।

    आसन्न महाधिवेशनमा पनि ‘बुढा नेता’ कै फेरो समातेर दौडन ‘युवा भनिने’ नेताहरु सक्रिय छन् । सबैजसो ‘बुढा नेता’ को ‘किचन क्याबिनेट’ सक्रिय रहेका ती नेताहरुले आसन्न महाधिवेशनमा ‘नयाँ सन्देश’ दिनसक्ने सम्भावना कमै छ ।

    अपवाद बन्लान् त कल्याण ?

    कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले १४ औं महाधिवेशनमा सभापति पदमा दावी गरेका छन् । यद्यपि अधिकांशले उनको उम्मेदवारी मैदानसम्मै कायम रहनेमा शंका गर्ने गरेका छन् । गुरुङ भने पार्टीमा नेतृत्व हस्तान्तरण, पुस्ता हस्तान्तरण वा परिवर्तनको पक्षमा हुनेहरूले आफूलाई सहयोग गर्नुपर्ने बताउँछन् ।

    ‘हामीले अरुको सहयोगी भएर होइन आफैं अगाडि बढेर सन्देश दिनुपर्छ । मैले सभापतिमा उम्मेदवारी दिँदैछु, अरु युवा साथीहरू पनि यसमा जोडिनुपर्‍यो । कि मभन्दा योग्य साथीले आएर उम्मेदवार बन्नुपर्‍यो होइन भने मलाई सघाउनुपर्‍यो’, गुरुङले नेपाल प्रेससँग भने । पार्टीभित्र आफू अपवाद बन्न तयार रहेको भन्दै गुरुङले १४ औं महाधिवेशनले पार्टीभित्र न्याय र परिवर्तनको आभाष दिलाउन सक्नुपर्ने बताए ।

    युवा नेता भन्छन्- गुट गलत होइन

    विभिन्न गुटमा सक्रिय कांग्रेसका युवा नेताहरू गुट आफैंमा गलत अवधारणा नभएको दावी गर्छन् । देउवा गुटमा रहेका कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा लोकतान्त्रिक दलभित्र फरक विचार समूह हुनु स्वभाविक रहने बताउँछन् ।

    ‘पार्टीको अधिवेशन र आन्तरिक प्रक्रियामा कसैलाई समर्थन गर्नु वा कसैको समर्थन खोज्न समूह बनाउनु स्वभाविक हो । तर आफूभन्दा फरक गुटमा छ भनेर कसैप्रति पूर्वाग्रही हुन चै गलत हो’, शर्माले नेपाल प्रेससँग भने । पार्टीभित्र गुटको नाममा क्षमता भएकालाई पनि ‘सिध्याउने’ खेल खेल्न नहुने शर्मा बताउँछन् । ‘गुटको अभ्यास लोकतान्त्रिक सौन्दर्यभित्र सीमित रहनुपर्छ’, उनले भने ।

    सिटौला गुटमा रहेका युवा नेता गगन थापा कांग्रेसभित्र नेतृत्व चयनका लागि गुटहरु बन्ने कुरा स्वभाविक रहेको बताउँछन् । यद्यपि पार्टीको विचार र हितभन्दा माथि कुनै गुट नहुने बताउँछन् । ‘एउटा निश्चित सीमासम्म गुट हुन्छ । त्यो गुटभन्दा बाहिर पार्टीको संगठन र विचार सर्वोपरी हुन्छ’, थापाले नेपाल प्रेससँग भने ।

    पार्टीभित्र युवा पुस्ताका नेताहरू अलग-अलग गुटमा भएपनि पार्टीको विचार र पार्टीलाई विधानसम्मत चलाउने सन्दर्भमा गुटको सीमा भत्काउन सक्नुपर्ने बताउँछन् । ‘गुटमा लाग्ने निर्णय र गुट छनोटको आधारमा युवाहरू अलग-अलग गुटमा हुनसक्छौं । तर, पार्टीलाई आवश्यक पर्दा, विचार र संगठनको हितमा हुन्छ भने गुटको सीमा भत्काउन तयार हुनुपर्छ । कहिलेकाहीं हामीले त्यसो गरेका पनि छौं’,थापाले भने ।

    सिटौला गुटमै सक्रिय युवा नेता प्रदीप पौडेल पार्टीभित्र परिवर्तनकै लागि पनि गुट चाहिने बताउँछन् । ‘पार्टीभित्र राम्रो काम गर्न पनि गुट चाहिन्छ । तर गुटको आधार प्रष्ट हुन पर्‍यो । अहिले त कांग्रेसमा व्यक्ति हेरेर गुटमा लाग्ने प्रचलन भएर गुटको विरोध हुने गरेको हो । विचार, सिद्धान्त, संगठन र कार्यक्रमका आधारमा गुट बनाउन सक्नुपर्छ’, पौडेलले नेपाल प्रेससँग भने । अरुको फेरो समातेर आफूलाई सुरक्षित बनाउने प्रवृत्ति पार्टी रहेको स्वीकार्दै पौडेलले त्यसविरुद्ध उभिन सबैले हिम्मत गर्नुपर्ने बताए ।

    वरिष्ठ नेता पौडेल नेतृत्वको गुटमा रहेका युवा नेता गुरुराज घिमिरे पार्टीभित्र गुटका नाममा अस्वस्थ प्रतिस्पर्धा बढेको स्वीकार्छन् । परम्परागत गुटको संस्कृति परिवर्तन गर्नुपर्ने उनको भनाई छ । ‘निहित स्वार्थका लागि गुट बनाउने र गुटमा लाग्नेहरुको मात्रै उन्नति प्रगति हुने गरेको देखिन्छ । यस्तो खालको गुटको राजनीतिले पार्टीलाई फाइदा गर्दैन’, घिमिरेले नेपाल प्रेससँग भने ।

    सभापति देउवाको गुटमा सक्रिय पूर्वअर्थराज्य मन्त्री एवं युवा नेता उदयशमशेर राणा लोकतान्त्रिक पार्टीमा विश्वभर गुट व्यवस्था रहेको बताउँछन् । ‘लोकतान्त्रिक पार्टीमात्रै होइन चिनियाँ पार्टीमा पनि गुट छ । पञ्चायतमा पनि गुटहरू थिए । त्यसैले गुटमा नलागी राजनीति गर्न गार्‍हो भइसक्यो । गुटमा लाग्नु भनेको मानवीय स्वभाव पनि होला’, राणाले भने । कांग्रेसमा गुटमा नलागेको व्यक्तिले टिकट समेत पाउन गार्हो रहेको बताउँछन् । ‘टिकट दिने नै नेताले हो । नेताको नजिक नभए टिकट पाउन कठिन हुन्छ । त्यसैले कसैं न कसैसँग लाग्नैपर्यो । गुटमा नलाग्दा अवसर पाउन गार्हो चै छ’, राणाले भने । गुट बन्नु स्वभाविक देखिएपनि गुट संस्थागत भएर पार्टी नै समस्यामा पर्ने अवस्था चै आउन दिन नहुने राणाको भनाई छ ।

  • क्रियाशील नटुंगिए महाधिवेशन प्रभावित हुनसक्छ : महामन्त्री कोइराला (भिडियो)

    क्रियाशील नटुंगिए महाधिवेशन प्रभावित हुनसक्छ : महामन्त्री कोइराला (भिडियो)

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले निर्धारित मितिमा महाधिवेशन हुनेमा शंका रहेको बताएका छन् ।

    क्रियाशील सदस्यता छानविनमा भइरहेको ढिलाईले महाधिवेशन प्रभावित हुनसक्ने संकेत कोइरालाले गरेका हुन् ।

    महामन्त्री कोइरालाले क्रियाशील विवाद टुंग्याउन आफूहरूले भरमग्दुर प्रयास गरिरहेको बताए । ‘यो महिनाभित्र क्रियाशील टुंगिएन भने गार्‍हो हुन्छ । धेरै जिल्लामा विधानविपरीत काम भएको छ । छानविन समितिले टुंग्याएन भने त्यसलाई पार्टीले हेर्छ । तर, विवाद कायमै रह्यो भने महाधिवेशनबारे प्रश्न त उठ्छ नि ?’, कोइरालाले भने ।

    उनले क्रियाशील सदस्यताको टुंगो नलागेसम्म महाधिवेशन निश्चित नहुने दावी गरे ।

  • पौडेल समूहको बैठक जारी, समायोजन र क्रियाशील विवाद एजेण्डा

    पौडेल समूहको बैठक जारी, समायोजन र क्रियाशील विवाद एजेण्डा

    काठमाडौं । नेपाली कांग्रेसमा जारी क्रियाशील सदस्यता विवाद टुंग्याउने विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक अहिले बसिरहेको छ ।

    बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायतका नेताहरू उपस्थित छन् । बैठकमा समायोजन समिति र क्रियाशील छानविन समितिमा रहेका नेताहरूलाई पनि बोलाइएको छ ।

    ‘समायोजनका नाममा धेरै जिल्लामा मनपरी क्रियाशील बाँडेको पाइयो । त्यस्ता विषय कसरी निरुपण गर्ने भन्नेमा धारणा बनाउन छलफल गर्न लागिएको हो’, बैठकमा सहभागी एक नेताले भने ।

  • रामचन्द्रको आपत्तिपछि रोकियो नेतात्रयको टोखा भेला

    रामचन्द्रको आपत्तिपछि रोकियो नेतात्रयको टोखा भेला

    काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेलले आपत्ति जनाएपछि शुक्रबार हुने भनिएको नेतात्रयको ‘टोखा भेला’ स्थगित भएको छ ।

    उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले शुक्रबार महाधिवेशनबारे छलफल गर्ने भन्दै केन्द्रीय सदस्यहरूको भेला आह्वान गरेका थिए । टोखामा हुने भनिएको भेला पौडेलको असन्तुष्टिपछि स्थगित भएको हो ।

    महामन्त्री कोइराला निवास महाराजगञ्जमा बुधबार साँझ बसेको बैठकमा पौडेलले भेलाको उद्देश्यबारे प्रश्न गरेका थिए । ‘तीनजना नेताले भेला बोलाएको बारे देशभरीका साथीले फोन गरेका छन् । यस्तो भेलाबाट के सन्देश दिन खोजिएको हो ?’, पौडेलले भने ।

    ‘पछि उपयुक्त समयमा सबै नेतालाई समेटेर कार्यक्रम गर्नेगरी अहिलेलाई शुक्रबारको कार्यक्रम रोकिएको छ’, नेतात्रयनिकट स्रोतले भन्यो ।

    सोमबार पूर्वमहामन्त्री सिंहको निवासमा बसेको बैठकले शुक्रबार केन्द्रीय सदस्यहरूसँग महाधिवेशन र भावी नेतृत्वबारे छलफल गर्ने निर्णय गरेको थियो । निधि, कोइराला र सिंहबीच आसन्न महाधिवेशनमा सहकार्य गर्ने विषयमा निरन्तर संवाद भइरहेको छ ।

  • निधिलाई पौडेलको जवाफ- पहिले समायोजन र सदस्यतामा ध्यान दिनुस्, चुनावी कुरा पछि गरौंला

    निधिलाई पौडेलको जवाफ- पहिले समायोजन र सदस्यतामा ध्यान दिनुस्, चुनावी कुरा पछि गरौंला

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको समायोजन र क्रियाशील सदस्यताको विवाद टुंग्याएरमात्रै उम्मेदवारीबारे कुरा गर्न उपसभापति विमलेन्द्र निधिलाई सुझाएका छन् ।

    पौडेल निवास बोहोराटार पुगेका निधिलाई वरिष्ठ नेता पौडेलले समायोजन र सदस्यता विवाद समाधानमा गम्भीर हुन आग्रह गरेका हुन् । सभापतिमा उम्मेदवारी घोषणा गरेका उपसभापति निधिले पछिल्लो समय नेताहरूसँगको छलफललाई तीव्रता दिएका छन् । निधिसँग निर्वाचनबारे कुनै छलफल नगरेको पौडेलले बताए ।

    ‘निधिजी पार्टीको उपसभापति पनि हो । उहाँले पहिले महाधिवेशन गराउन आफ्नो तर्फको जिम्मेवारी पनि पूरा गर्नुपर्‍यो । समायोजनको विवाद टुग्याउनुपर्‍यो । क्रियाशील सदस्यताको मापदण्ड तत्काल पारित गर्नुपर्‍यो । त्यसपछि बाँकी कुरा गरौंला भने’, भेटबारे पौडेलले नेपाल प्रेससँग भने ।

    उपसभापति निधिले महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्न आफ्नो तर्फबाट गर्नुपर्ने काम जारी रहेको बताएका थिए । सभापतिमा उम्मेदवारी घोषणा गरेकोबारे निधिले पौडेलसँग संवाद गर्न चाहेपनि पौडेलले त्यसबारे पछि कुरा गर्ने बताएका थिए ।

    आसन्न महाधिवेशनमा सभापति पदका दाबेदार रहेका दुवै नेताबीच क्रियाशील सदस्यताको विवाद टुंगिएपछि थप छलफल गर्ने सहमति भएको छ । ‘अहिले क्रियाशीलको विवाद गम्भीर छ । यो विवाद मिलाउन उपसभापतिले भूमिका खेल्ने र चुनावी छलफल पछि गर्ने कुरा भएको छ’, पौडेलले भने ।

  • तीन नेताको तीन छाक खाना तर अपूरै छ मिल्ने चाहना

    तीन नेताको तीन छाक खाना तर अपूरै छ मिल्ने चाहना

    काठमाडौं । महाधिवेशनको मिति नजिकिँदै जाँदा नेपाली कांग्रेसभित्र नेताहरूबीच भेटवार्ताले तीव्रता पाएको छ ।

    सभापति शेरबहादुर देउवाले एक कार्यकाल दोहोरिने इच्छासहित केन्द्रीय सदस्यहरूसँग प्रदेशगत रूपमा छलफल गरेपछि बाक्लिएको कांग्रेस नेताहरूको भेटवार्ताको क्रम बढेको छ ।

    सभापतिमा दावी गरिरहेका सबैजसो नेताहरू दिनहुँ भेटवार्तामा व्यस्त छन् । सोमबार बिहानै नेता कृष्णप्रसाद सिटौंलाले पार्टीका युवा नेताहरूसँग छलफल गरे भने दिउँसो सुजाता कोइराला निवासमा वरिष्ठ रामचन्द्र पौडेलसहित छलफलमा जुटे । वरिष्ठ नेता पौडेलले सुजाता निवास जानुअघि आफ्नै निवासमा डा. शेखर कोइरालासँग छलफल गरिसकेका थिए भने साँझ प्रकाशमान सिंहसँग पनि संवाद भएको थियो । मंगलबार उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहले तेस्रो ‘लञ्च मिटिङ’गरे ।

    उनीहरूबीच असार ७ गते सोमबार निधि निवास र असार ११ गते शुक्रबार कोइराला निवासमा दुई चरण ‘लञ्च मिटिङ’ भइसकेको थियो । कांग्रेसको पुराना नेताहरूका पुत्र भएका कारण नेतात्रयको बैठकलाई कांग्रेसवृत्तमा चासोका साथ हेरिएको छ । तर परिणामका दृष्टिले नेतात्रयको ३ छाक खानाको बैठक उपलब्धीपूर्ण देखिँदैन ।

    निधि, कोइराला र सिंह तीनैजनाले आसन्न महाधिवेशनमा सभापति लड्ने घोषणा गरिसकेका छन् । १३ औं महाधिवेशनमा कोइराला र सिंह रामचन्द्र पौडेल नेतृत्वको समूहमा थिए भने निधि सभापति शेरबहादुर देउवा नेतृत्वको समूहमा थिए । अहिले पनि आफूलाई संस्थापन तर्फकै उम्मेदवार बनाउन निधिको प्रयास जारी छ । यद्यपि सभापति देउवाले ‘निधिलाई पनि सभापति लड्ने अधिकार रहेको’ बताएपछि संस्थापनभित्र निधिको उम्मेदवारीबारे नयाँ कोर्स सिर्जना भएको छैन ।

    नेताहरुबीच निरन्तर संवाद हुनु स्वभाविक हो । यद्यपि महाधिवेशनको बेला संवाद बढ्दै जाने तर सहमति टर्दै जाने हो भने उपलब्धी शून्य हुने सम्भावना बढी रहन्छ ।

    ‘शेरबहादुर दाइले म नै लड्छु भनिसकेपछि कसैले विरोध गरेको अवस्था छैन । निधिलाई पनि मिलाएर लैजान सुझाव दिएका थियौं तर त्यसमा सभापतिको रुची देखिएन’,देउवानिकट एक नेताले भने । ती नेताका अनुसार महाधिवेशनको अन्तिम चरणसम्म निधिलाई मनाउने वा निधि रिक्तता पौडेल समूहका नेतालाई ‘रिझाएर’ पूर्ति गर्ने देउवाको योजना छ ।

    यता सभापतिमा उम्मेदवार बनेका तीन नेता भने आपसी बैठकमै व्यस्त छन् । तीन पटकको लञ्च बैठकमा समसामयिक राजनीतिको समिक्षा , महाधिवेशन तयारी र सबैसँग सल्लाह गर्ने बाहेकका औपचारिक धारणा नेतात्रयले सार्वजनिक गरेका छैंनन् । यद्यपि आफूहरुको बैठकले कार्यकर्तामा उत्साह भरेको उनीहरुको दावी छ ।

    ‘हामीले छलफल थालेको पार्टीभित्र सहमति, सहकार्य र एकतालाई बल पुर्‍याउन हो । देशभरका नेता कार्यकर्ताले यसलाई सकरात्मक रुपमा लिनुभएको छ । त्यसैले हामीले छलफलको दायरा बढाएर अरुसँग पनि परामर्श गर्दैछौं’,पूर्वमहामन्त्री सिंहको भनाइ छ । नेतात्रयले शुक्रबार टोखामा पार्टीका केन्द्रीय सदस्यहरुको भेला बोलाएका छन् । भेलामा पार्टीको महाधिवेशन सफल बनाउने र अधिकतम एकता कायम गर्ने भन्नेमा छलफल हुनेछ ।

    नेतात्रयको बैठकका औपचारिक विषय सार्वजनिक हुँदा आम कार्यकर्ताको चासो भने नेतृत्वमै छ । तीनजना मिलेर जान्छन् वा को सभापतिको उम्मेदवार बन्छ ? भन्नेमा धेरैको चासो छ । नेताहरु भने अहिले नै फल नपाकेको बताउँछन् । ‘सभापतिको उम्मेदवार हुनकै लागि हामीले छलफल गरिरहेका हौं । हामी तीन जनाले निर्णय गर्दैमा हुने पनि होइन नि । यसबारे सबैसँग छलफल हुनै बाँकी छ । अहिले पाकिसकेको छैन, काँचो फल खान नि भएन नि’, सिंहले भने ।

    नेतात्रयबीच निरन्तर छलफल भएपनि न्यूनतम सहमति बनिसकेको छैन । खासगरी एकले अर्काको नेतृत्व स्वीकार्ने स्थिति अझै बनिसकेको देखिँदैन । ‘तीनैजनाले मै सभापति लड्छु भनेपछि यस्तो छलफलबाट के निष्कर्ष निस्कन्छ र । यो त पोलिटिकल सन्देश दिने कुरा हो’, नेतात्रयनिकट एक नेताले भने । नेतात्रयको श्रृखंलाबद्ध छलफललाई अन्य नेताहरूले पनि चासोका साथ हेरेका छन् ।

    पौडेल पक्षको बैठकमा केही केन्द्रीय सदस्यहरूले बैठकबारे जानकारी गराउन अनुरोध नै गरेका थिए । वरिष्ठ नेता पौडेलले त सार्वजनिक रुपमै सभापति देउवाको कमजोरीका सारथी निधि पनि भएकोले निधिसंगको सहकार्यबारे विचार गर्न कोइराला र सिंहलाई सचेत गराएका छन् । कोइरालाले आफूहरुले थालेको प्रयास कसैका विरुद्ध नभई पार्टी एकताको पक्षमा रहेको बताउने गरेका छन् । ‘हामी कसैको विरुद्धमा छैनौं । पार्टीभित्र कसरी अधिकतम सहमति बनाउने भनेर हामीले छलफलमात्रै गरेका हौं । सबै कुरा मिल्यो भने महाधिवेशनमा सहकार्य हुन्छ’, कोइरालाको भनाइ छ । यद्यपि महाधिवेशनसम्म सहकार्यको सम्भावनाको ढोका खुलिसकेको देखिँदैन ।

    कांग्रेस नेताहरूसँग लामो संगत गरेका विश्लेषक पुरञ्जन आचार्य निधि, कोइराला र सिंहको संवाद श्रृखंला ‘लञ्च’मै सीमित हुने दावी गर्छन् । ‘तीनैजनाको आकांक्षा र तयारी हेर्दा एकले अर्कालाई स्वीकार्ने अवस्था रहँदैन । अन्तिमम आ-आफ्नै बाटो लाग्ने सम्भावना बढी देख्छु’, आचार्यले नेपाल प्रेससँग भने । उपसभापति निधि १२ औं महाधिवेशनमा महामन्त्रीमा सिंहसँग पराजित भएका थिए ।

    सिंहले २०७४ को निर्वाचनपछि संसदीय दलको नेतामा सभापति देउवासँग प्रतिस्पर्धा गरेका थिए । सो प्रतिस्पर्धाका दौरान सिंहले कोइरालाबाट पर्याप्त सहयोग भएको महसुस गरेनन् । यस्तै व्यक्तिगत कारणहरुले पनि हालसम्म नेतात्रयलाई सहज राजनीतिक सहकार्य गर्न रोकिरहेको थियो । आपसमा सल्लाह गरेर पार्टीभित्र प्रभाव बढाउन नयाँ प्रयत्न गर्न खोजिएपनि कसको नेतृत्वमा अगाडि बढ्ने भन्नेमै द्विविधा देखिन्छ । यहीकारण शुक्रबार केन्द्रीय सदस्यहरूको भेला बोलाएर नेतात्रयले महाधिवेशनबारे छलफल गर्दैछन् । ‘उहाँहरू कांग्रेसको सम्मानित नेताहरू हुनुहुन्छ तर तीनजनाले लञ्च गर्दैमा कांग्रेसको कायापलट हुन्छ भन्ने ठान्नु कमजोरी हुनेछ’, नेतात्रयको क्रियाशीलताप्रति कटाक्ष गर्दै एक नेताले भने ।

    नेताहरुबीच निरन्तर संवाद हुनु स्वभाविक हो । यद्यपि महाधिवेशनको बेला संवाद बढ्दै जाने तर सहमति टर्दै जाने हो भने उपलब्धी शून्य हुने सम्भावना बढी रहन्छ ।

  • पौडेल र सिटौलालाई सुजाताले भनिन्- मिल्ने भए मिल्नुस् नत्र मलाई सघाउनुस्

    पौडेल र सिटौलालाई सुजाताले भनिन्- मिल्ने भए मिल्नुस् नत्र मलाई सघाउनुस्

    काठमाडौं । नेपाली कांग्रेसभित्र संस्थापनइतर समूहमा एकता गराउन प्रयास सुरू भएको छ । कांग्रेस नेतृ सुजाता कोइरालाले १३ औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरेका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई मिलेर जान दबाब दिएकी छन् ।

    आफ्नै निवासमा ‘लञ्च’ का लागि बोलाएका नेताहरू पौडेल र सिटौलालाई १४ औं महाधिवेशनमा विभाजित नहुन सुजाताले आग्रह गरेकी हुन् ।

    छलफलका क्रममा सुजाताले आसन्न महाधिवेशनमा आफू पनि नेतृत्वको आकांक्षी रहेको भन्दै सहमति र सहकार्यका लागि आग्रह गरेकी थिइन् । पौडल र सिटौलालाई पार्टीभित्र सहमति र एकताको सन्देश दिन अनुरोध गर्दै कोइरालाले कांग्रेस एक नभए लोकतन्त्र संकटमा पर्ने बताइन् । ‘अहिले कांग्रेसको मात्रै कुरा छैन मुलुक नै संकटमा परेको छ । हामी सबै मिलेर गयौं भने कांग्रेस र लोकतन्त्र दुवै जोगिन्छ । सबै आ-आफ्नै लड्ने हो भने त समस्या झन् बल्झिन्छ’, कोइरालाले भनिन् ।

    उनले १३ औं महाधिवेशनमा पनि एकताका लागि आफूले त्याग गरेको स्मरण गराउँदै कोइरालाले यसपटक एकता नभए आफूलाई कसैले रोक्न नसक्ने बताइन् । ‘तपाईंहरू मिल्ने भए मिल्नुस् । यो बेला सबै मिलेर जाँदा पार्टी जोगाउन सकिन्छ । तपाईंहरु मिल्नुहुन्न भने म त अगाडि बढे । सभापतिमा लड्छु’, कोइरालाको भनाइ थियो ।

    महाधिवेशन नजिकिएको सन्दर्भमा समग्र विषयमा छलफल गर्न आफूले नेताहरूलाई डाकेको उनले बताइन् । ‘पहिलो कुरा महाधिवेशन तोकिएकै मितिमा हुनुपर्‍यो । अर्को कुरा नेतृत्वका लागि पनि छलफल हुनुपर्‍यो । सबैजना मिलेर जाँदा राम्रो हुन्छ भनेर छलफल गरेका हौं’, कोइरालाले नेपाल प्रेससँग भनिन् । पार्टी सभापतिमा दोहोरिने शेरबहादुर देउवाको घोषणालाई उनले ‘अधिकार’ को रूपमा व्याख्या गरिन् । ‘शेरबहादुरजी सभापति लड्न पाउने उहाँको अधिकार हो । मेरो पनि अधिकार छ, त्यस्तै अधिकार रामचन्द्रजी सिटौलाजीको पनि छ तर सकभर मिलेर लडौं भनेर हो’, कोइरालाले भनिन् ।

    छलफलमा वरिष्ठ नेता पौडेल र सिटौलाले महाधिवेशनबारे छलफलहरू सुरू भएको भन्दै साझा धारणा बनाएर जान आफूहरू सकारात्मक रहेको बताएका थिए । ‘आज सामान्य छलफल भएको हो । महाधिवेशनसम्म यस्ता धेरै छलफलहरू हुन्छन् । हाम्रो टिमलाई कसरी एकतावद्ध राख्ने भन्ने मै आजको छलफल केन्द्रित भयो’, छलफलमा सहभागी एक नेताले भने ।

  • झापामा कांग्रेस महाधिवेशनको चहलपहल, यी हुन् जिल्ला सभापतिका दाबेदार

    झापा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तिथि नजिकिँदै जाँदा झापामा सो पार्टीको चुनावी सरगर्मी बढेको छ । चुनावी सरगर्मी बढेसँगै जिल्लाका नेताहरुले विभिन्न पदमा आफ्नो उम्मेदवारी दाबी गर्न सुरु गरेका छन् ।

    पार्टीका जिल्ला उपसभापति राम कट्टेलले आसन्न जिल्ला अधिवेशनमा सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उनी कांग्रेस झापाको कोषाध्यक्ष हुँदै उपसभापति पदमा बसेर काम गरिसकेका छन् । पार्टीमा लामो अनुभव प्राप्त गरिसकेका उनी पुराना कांग्रेसी नेताका रुपमा परिचित छन् ।

    कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रवक्ता विश्वप्रकाश शर्माले झापामा कार्यकर्तासँग भेटघाट र बैठकलाई तीव्रता दिइरहेका छन् । उनीहरुको सक्रियता पार्टीको केन्द्रीय महाधिवेशन तथा प्रदेश, जिल्ला र स्थानीय तहका अधिवेशनतर्फ केन्द्रीत छ । कोरोना महामारीका कारण पार्टीको जिल्ला समितिले नेताद्वय सिटौला र शर्मालाई सहभागी गराएर भर्चुअल बैठक पटकपटक सञ्चालन गरिसकेको छ । बैठकमा महामारीले सिर्जना गरेको अप्ठेराका बीच कसरी महाधिवेशन र अधिवेशन गर्ने भन्ने विषयमा छलफल हुने गरेको छ ।

    करिब ३४ हजार क्रियाशील सदस्य रहेको झापामा पार्टीका जिल्ला सभापति उद्धव थापाले आफू दुई कार्यकाल सभापति बनिसकेको हुँदा अब तेस्रो पटक उम्मेदवार नबन्ने बताउँदै आएका छन् । उनले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण स्थान ओगट्ने झापामा कांग्रेसको नयाँ नेतृत्व आउने बताए । उनले भने- ‘अब नयाँ साथीहरु नेतृत्वमा आउनुहुन्छ ।’

    पार्टीका उपसभापति राम कट्टेलबाहेक अरुले सभापति पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छैनन् । तर, पार्टीका पूर्वउपसभापति देउमान थेबे, पूर्वसचिव भगिरथ पोद्धार, सचिव प्रेम सम्बाहाम्फे, कोषाध्यक्ष केशवराज पाण्डे र प्रचार विभाग प्रमुख लोकराज ढकाल पनि सभापतिको आकांक्षी हुन् । पूर्व उपसभापति थेबेले क्रियाशील सदस्यको टुङ्गो लागिसकेपछि उम्मेदवारीका विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने बताए । कांग्रेस केन्द्रीय समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार झापामा पार्टीको जिल्ला अधिवेशन आगामी साउन २६ गते हुनुपर्नेछ ।

    कोभिड-१९ को महामारी नियन्त्रण नभइसकेको हुँदा कुन प्रक्रियाबाट जिल्ला अधिवेशन गर्ने भन्ने विषयमा छलफल चलिरहेको सभापति थापाले जानकारी दिए । उनले प्रत्यक्ष रुपमा भौतिक उपस्थितिभन्दा पनि प्रविधिको प्रयोग गर्दै अधिवेशन गर्ने कि भनेर विकल्पको खोजी भइरहेको जानकारी दिए । ‘परम्परागत ढङ्गले अधिवेशन हुने सम्भावना छैन, विकल्प के हुन सक्छ भनेर छलफल गरिरहेका छौं’, उनले भने ।

  • पौडेलपक्षीय केन्द्रीय सदस्यहरूको बैठक बोलाइयो

    पौडेलपक्षीय केन्द्रीय सदस्यहरूको बैठक बोलाइयो

    काठमाडौं । महाधिवेशन नजिकिँदै जाँदा नेपाली कांग्रेसभित्र नेताहरूले आफ्ना पक्षका भेला तथा छलफलको क्रम पनि बढेको छ ।

    यसैबीचमा वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूपक्षीय नेताहरूसँग छलफल गर्दैछन् । बिहीबार दिउँसो २ बजे दियालो फुडल्याण्डमा केन्द्रीय सदस्यहरूको बैठक तय गरिएको छ ।

    कांग्रेस सभापति शेरबहादुर देउवाले सभापतिमा पुन: दोहोर्‍याउने र विमलेन्द्र निधिले पनि नेतृत्वको लागि तयारी थालेपछि पौडेलले पनि बैठक बोलाएका हुन् ।

  • विमलेन्द्र, शशांक र प्रकाशमानको लञ्च मिटिङ, देउवाको विकल्पबारे छलफल

    विमलेन्द्र, शशांक र प्रकाशमानको लञ्च मिटिङ, देउवाको विकल्पबारे छलफल

    काठमाडौं । नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा सभापति पदको दाबेदार रहेका ३ नेताबीच आज छलफल भएको छ । कांग्रेस उपसभापति विमलेन्द्र निधिको निवासमा भएको छलफलमा महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह सहभागी छन् ।

    निधिले आफ्नो वैवाहिक वार्षिकोत्सव (एनिभर्सरी) को सन्दर्भमा ‘लन्च’ का लागि कोइराला र सिंहलाई निम्तो गरेका थिए । निधिको मध्यबानेश्वरस्थित निवासमा नेतात्रयबीच पारिवारिक र राजनीतिक छलफल भइरहेको छ । निधिले आसन्न महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

    सभापति शेरबहादुर देउवानिकट निधिको उम्मेदवारीले देउवालाई अप्ठ्यारो पर्नसक्ने आँकलन गरिएको छ । देउवाले प्रदेशगतरूपमा आफूनिकट नेताहरूसँग छलफल गरिरहेका बेला निधिले पनि महाधिवेशनकेन्द्रित छलफल थालेका हुन् ।

    जारी छलफलमा निधिले आफ्नो उम्मेदवारीबारे अवगत गराउँदै सहयोग गर्न अनुरोध समेत गरेका छन् ।

    ‘मुख्यतः यो पारिवारिक भेट हो तर नेताहरू भेटेपछि राजनीतिक कुरा भैहाल्छ । महाधिवेशनबारे एक अर्काको कुरा सुन्ने सुनाउने काम भएको छ’, निधिनिकट स्रोतले भन्यो । यसअघिल्लो अघिल्लो वर्ष साउनमा निधिले कोइराला र सिंहलाई उनीहरूकै निवासमा पुगेर सहयोगका लागि आग्रह गरेका थिए ।

    आजको लञ्च मिटिङमा पनि तीनैजना नेताले नेतृत्वका लागि आफ्नो दावी पेस गरेका छन् । महामन्त्री कोइरालाले १४ औं महाधिवेशनबाट नेतृत्वमा परिवर्तन ल्याउनै पर्ने भएकोले सबै पक्षसँग छलफल आवश्यक रहेकोमा जोड दिएका छन् । उनले वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत पार्टीका सिनियर नेताहरूसँग छलफल गरेर आफू अगाडि बढ्ने बताएका छन् ।

    पूर्वमहामन्त्री सिंहले पनि आफू सभापतिको तयारीमा रहेको भन्दै सहयोग गर्न निधि र कोइरालालाई आग्रह गरे । सिंह र कोइरालाले सभापति देउवाको विकल्पमा जोड दिएका थिए भने निधिले देउवाको सद्भाव पनि आफूले जुटाउनसक्ने र पार्टीमा एकताको सन्देश जाने बताएका थिए । छलफलमा जुटेका नेतात्रय नै कांग्रेसका संस्थापक नेताहरु विपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोरा हुन् ।

  • कांग्रेसलाई प्रधानमन्त्रीको आश्वासन- महाधिवेशनको कानूनी जटिलता फुकाइदिन तयार छु

    कांग्रेसलाई प्रधानमन्त्रीको आश्वासन- महाधिवेशनको कानूनी जटिलता फुकाइदिन तयार छु

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसको महाधिवेशन भदौमा गर्न सम्भव नहुँदा आइपर्ने संवैधानिक र कानूनी जटिलता फुकाइदिनुपर्ने हो भने सरकार तयार रहेको आश्वासन दिएका छन् ।

    शनिवार बालुवाटारमा बसेको सर्वदलीय बैठकमा कांग्रेस नेताहरुले रिक्त रहेका संसदीय क्षेत्रमा उपचुनाव र कांग्रेसको महासधिवेशनको चाप पर्ने कुरा उठाएपछि प्रधानमन्त्रीले कांग्रेसको प्रष्ट धारणा मागेको स्रोतले जनाएको छ ।

    कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र उपसभापति विमलेन्द्र निधीले यो कुरा उठाएपछि प्रधानमन्त्रीले कानूनी कुरामा सरकारले केही निर्णय गर्नुपर्छ भने आफू त्यसका लागि सघाउन तयार रहेको बताएका थिए ।

    संविधान अनुसार ५ वर्षभित्र हरेक पार्टीको महाधिवेशन गर्नुपर्छ । कांग्रेसको महाधिवेशन भएको ५ वर्ष पुगिसकेको छ र भदौ ७ गते १४ औं महाधिवेशनको मिति तोकिएको छ । भदौमा महाधिवेशन नगर्दा कानूनी जटिलता समेत आउनेछ ।

    प्रधानमन्त्रीको भनाइ उदृत गर्दै बैठकका एक सहभागीले भने, ‘तपाईहरुले भदौ ७ गते गर्ने भन्नुभएको छ । उसै पनि त्यो दिन गाइजात्राको दिन रहेछ । सरकारले सहयोग गर्नुपर्छ भने कांग्रेसले प्रष्ट भनोस् । लामो लोकतान्त्रिक इतिहास भएको पार्टीको हरकोही अप्ठेरोमा सहयोग गर्न सरकार तयार छ ।’

    ओलीले गाइजात्राको प्रसंग उठाएपछि देउवाले ‘कहाँ गाइजात्रा ? त्यसै गाइजात्रा भन्दिने ? भन्देखिन्लाई’ भनेर सो विषय अन्यत्र मोडेका थिए ।

  • कांग्रेस महाधिवेशन कार्यतालिका हेरफेर हुने

    कांग्रेस महाधिवेशन कार्यतालिका हेरफेर हुने

    काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका फेरि हेरफेर हुने भएको छ ।

    पूर्व निर्धारित कार्यतालिका अनुसार काम सम्पन्न नभएपछि कार्यतालिका संशोधन गर्न कांग्रेस केन्द्रीय समितिको बैठक चैत २० गतेका लागि बोलाइएको छ ।

    कांग्रेसको महाधिवेशन आगामि भदौ ७ गतेदेखि १० गतेसम्म काठमाडौंमा हुँदैछ । निर्धारिता कार्यतालिका अनुसार चैत १० गतेसम्म जिल्ला र क्षेत्रीय कार्यसमितिले नयाँ र नवीकरण भएका क्रियाशील सदस्यको सूची केन्द्रमा बुझाइसक्नुपर्ने थियो ।

    हालसम्म ६९ जिल्लाबाट क्रियाशील सदस्यता कांग्रेसको सफ्टवेयरमा हाल्ने क्रम शुरु भएको छ । सबै जिल्लाले क्रियाशील सदस्यको सूची सफ्टवेयरमा इन्ट्री गर्न समय लाग्ने भएपछि कार्यतालिका हेरफेर गर्न लागिएको हो ।

  • कांग्रेसले बिसायो आन्दोलनको भारी, अब महाधिवेशनकै तयारी

    कांग्रेसले बिसायो आन्दोलनको भारी, अब महाधिवेशनकै तयारी

    काठमाडौं । नेपाली कांग्रेसले सरकारविरुद्धको आन्दोलनको भारी बिसाएको छ ।

    प्रतिनिधिसभा विघटनलाई अलोतान्त्रिक करार गर्दै कांग्रेसले यसअघि तीन चरणसम्म आन्दोलन गरेको थियो । आन्दोलनभन्दा अदालतको निर्णय कुनुपर्ने पक्षमा रहेका सभापति शेरबहादुर देउवा थप कार्यक्रम घोषणा गर्न तयार नभएपछि केन्द्रीय कार्यसमिति बैठकले पार्टीको तर्फबाट संस्थागत रुपमा आन्दोलनका कुनै कार्यक्रम घोषणा गरेन ।

    वरिष्ठ नेता रामचन्द्र पौडेलले सशक्त आन्दोलनको कार्यक्रम ल्याउन माग गरे पनि कांग्रेसले सरकारविरुद्ध आन्दोलनको जिम्मा मातहतका समिति र भ्रातृसंस्थालाई लगाएको छ । विहीबार पोखरामा रामचन्द्र पौडेल रहेकै मञ्चबाट देउवाले आन्दोलन गर्न कांग्रेससँग पैसा नभएको र कार्यकर्ता पनि उपस्थित नहुने भन्दै आन्दोलनका थप सशक्त कार्यक्रमप्रति सार्वजनिक रुपमै अरुचि देखाएका थिए ।

    कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले पार्टीको महाधिवेशन कार्यतालिका प्रभावित नहुने गरी मातहतका समिति र भ्रातृसंस्थाले विरोध कार्यक्रम गर्न सक्ने निर्णय भएको बताए । यस्तो निर्णयले आन्दोलन गर्नुपर्ने वरिष्ठ नेता पौडेलको अडान र सशक्त आन्दोलन नगर्ने सभापति देउवा दुवैको इच्छा पूरा गरेको छ । केन्द्रीय सदस्य घिमिरेले पार्टी आफैंले आन्दोलन कार्यक्रम नतोकी मातहतका समितिलाई जिम्मा लगाएकोले आन्दोलन नरोकिएको बताए ।

    सभापति देउवा पक्षका नेताहरुले भने अदालतको आदेशले सबै कुराको टुंगो लाग्ने भएकोले आन्दोलनको आवश्यकता नरहेको बताए ।

    ‘कांग्रेसले अब कुनै आन्दोलनको कार्यक्रम घोषणा गरेको छैन । महाधिवेशनमा सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने भएकोले अब आन्दोलन भन्दा आन्तरिक तयारीमै पार्टी व्यस्त हुन्छ’, देउवा निकट एक केन्द्रीय सदस्यले भने । ती नेताका अनुसार तीन चरणमा कांग्रेसले आन्दोलन गरिसकेकाले पछिल्लो निर्णय आन्दोलनको ‘भारी बिसाउने’ निर्णय भएको उल्लेख गरे ।

    यसअघि कांग्रेसले १६५ निर्वाचन क्षेत्र, ३३० प्रदेशसभा क्षेत्र, ७५३ स्थानीय तह र ६ हजार ७४३ वडामा संसद विघटनविरुद्ध प्रदर्शन गरेको थियो । अब भने संसद विघटनविरुद्ध कांग्रेसको कुनै घोषित आन्दोलन रहने छैन ।

  • फागुनमा नहुने कांग्रेस महाधिवेशनको नयाँ मिति कहिले ?

    फागुनमा नहुने कांग्रेस महाधिवेशनको नयाँ मिति कहिले ?

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको आइतबारको बैठकले क्रियाशील सदस्य नवीकरण र नयाँ वितरणको अन्तिम मितिका सम्बन्धमा निर्णय लियो । निर्णय अनुसार जिल्ला कार्यसमितिले क्रियाशील सदस्यताको अन्तिम विवरण र आवश्यक कागजात केन्द्रमा बुझाउने मिति २०७७ साल माघ मसान्तसम्म थप गरिएको छ ।

    कांग्रेस केन्द्रीय समितिको २०७६ साल माघ १३ गते बसेको बैठकले सर्वसम्मत रुपमा पार्टीको १४ औं महाधिवेशन २०७७ साल फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो ।

    महाधिवेशनका लागि महत्वपूर्ण मानिने क्रियाशील सदस्यताको प्रारम्भिक टुंगो समेत नलागेका कारण महाधिवेशन कार्यतालिका पटक–पटक प्रभावित हुँदै आएको छ । माघ मसान्तसम्म क्रियाशील सदस्यता केन्द्रमै बुझाउने अन्तिम मिति तोकिए पनि कार्यतालिकाका अन्य सबै कार्यक्रम प्रभावित भएका छन् ।

    कांग्रेस महाधिवेशन फागुन ७ मा उद्घाटन हुने सबै सम्भावना टरिसकेका छन् । तर पनि कांग्रेसले महाधिवेशनको नयाँ मिति तोकेको छैन । नयाँ मिति नतोक्नुका कारणबारे नेताहरुको फरक–फरक बुझाई छन् ।

    संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक करार गर्दै कांग्रेसले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । आन्दोलनसंगै अदालतको निर्णयसमेत कांग्रेसले कुरिरहेको छ । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा देखिएको विवादको निष्कर्ष पनि कांग्रेसले पर्खिरहेको छ ।

    संसद विघटनपछिको राजनीतिक परिदृश्य प्रष्ट नभइसकेका कारण कांग्रेसले फागुनमा नहुने महाधिवेशनको नयाँ मिति नतोकेको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा महाधिवेशन तोकिएकै मितिमा नहुने निश्चित भएपनि नयाँ कार्यतालिकाबारे छलफल जारी रहेको बताउँछन् ।

    ‘कोरोनाका कारण प्रभावित महाधिवेशन कार्यतालिकालाई व्यवस्थित गर्दै महाधिवेशन सम्पन्न गर्न पार्टी प्रतिवद्ध छ । महाधिवेशनको नयाँ मिति र थप कार्यतालिकाबारे उपयुक्त समयमा निर्णय हुनेछ’, प्रवक्ता शर्माले भने ।

    महाधिवेशन तोकिएको मितिमा नहुने निश्चित भइसकेपछि पनि नयाँ कार्यतालिका नआउनुका पछाडि राष्ट्रिय राजनीतिका पछिल्ला घटनाक्रम निर्णायक छन् ।

    संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक करार गर्दै कांग्रेसले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । आन्दोलनसंगै अदालतको निर्णयसमेत कांग्रेसले कुरिरहेको छ । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा देखिएको विवादको निष्कर्ष पनि कांग्रेसले पर्खिरहेको छ ।

    जारी केन्द्रीय समितिको बैठकमै सभापति देउवाले पार्टीका निर्णयहरु राष्ट्रिय राजनीतिका परिवेश अनुसार हुनुपर्ने बताएका थिए । ‘संसद विघटनबारे अदालतले के भन्छ ? नेकपा औपचारिक रुपमा फुटिसकेको छैन । यसबारे निर्वाचन आयोगले के भन्छ ? यो सबै विचार गरेर हामीले निर्णय लिनु उपयुक्त हुन्छ’, देउवाले जारी बैठकमा भनेका थिए ।

    कांग्रेस नेता प्रकाशमान सिंह तोकिएको मितिमा महाधिवेशन नहुने निश्चित भएपनि जतिसक्दो चाडै महाधिवेशन सक्नुपर्ने बताउँछन् । केन्द्रीय समितिको पुस ९ गतेको बैठकमा बोल्ने क्रममा सिंहले नै क्रियाशील सदस्यता बुझाउने अन्तिम मिति माघ मसान्तसम्म तोक्नुपर्ने बताएका थिए ।

    महाधिवेशन तोकिएको मितिमा नहुने निश्चित भइसकेपछि पनि नयाँ कार्यतालिका नआउनुका पछाडि राष्ट्रिय राजनीतिका पछिल्ला घटनाक्रम निर्णायक छन् ।

    ‘क्रियाशील सदस्यताको लागि नयाँ मिति दिइएको छ । अब महाधिवेशनको उपयुक्त मिति तोक्न पनि ढिला गर्नुहुँदैन । आन्दोलनसंगै पार्टीको आन्तरिक काम पनि अगाडि बढाउनुपर्छ’, सिंहको भनाई छ ।

    कांग्रेस विधानमा नयाँ कार्यसमितिको कार्यकाल चार वर्षको हुने व्यवस्था छ । देउवा नेतृत्वको वर्तमान कार्यसमिति २०७२ साल फागुनमा निर्वाचित भएको थियो । विधानमै रहेको १ वर्ष कार्यकाल लम्बयाउन पाउने सुविधा प्रयोग गर्दै वर्तमान कार्यसमितिको कार्यकाल २०७७ फागुनसम्म बढाइएको थियो ।

    अब कांग्रेस विधानअनुसार नभई नेपालको संविधानअनुसार वर्तमान कार्यसमितिको म्याद अधिकतम ६ महिना थप हुनसक्छ । त्यस्तो अवस्थामा संवैधानिक हिसाबले पनि २०७८ भदौंसम्म कांग्रेस महाधिवेशन भइसक्नुपर्नेछ । कांग्रेस सभापति देउवा भदौंमा महाधिवेशन गर्नेगरी कार्यतालिका संशोधन गर्ने तयारीमा छन् । इत्तर पक्षले भने जेठभित्रमा महाधिवेशन सक्नेगरी नयाँ मिति तोक्नुपर्ने बताउँदै आएको छ ।