Tag: कांग्रेस महाधिवेशन

  • गुल्मी कांग्रेसको मतगणना स्थगित, मतपत्रमा संकेत गरेको देउवा पक्षको आरोप

    गुल्मी कांग्रेसको मतगणना स्थगित, मतपत्रमा संकेत गरेको देउवा पक्षको आरोप

    रुपन्देही । कांग्रेस गुल्मीमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना रोकिएको छ । पौडेल पक्षकाले मतपत्रमा संकेत लगाएर कार्यकर्तालाई झुक्काएको भन्दै देउवा पक्षले बहिष्कार गरेपछि गएरातिदेखि मतगणना कार्य रोकिएको हो ।

    धाँधली गरिएको भन्दै देउवा पक्षले पुनः मतदानको माग गरेका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै संस्थापन पक्षका जिल्ला सभापतिका उम्मेदवार वेदबहादुर थापा मगरले जिल्लाभर पुन: मतदान सुरू गर्न माग गरे ।

    सभापतिका अर्का दाबेदार खिलध्वज पन्थीले छापामार शैलीमा गतिविधि गरेको उनको आरोप छ । पन्थी रामचन्द्र पौडेल पक्षका हुन् । निर्वाचन प्रक्रिया जबरजस्ती अगाडि बढाउन खोजे आफूहरूले अवरुद्ध गर्नेसमेत उनले चेतावनी दिए ।

    निर्वाचन प्रक्रियामा कम्तीमा तीन दिनअघि मतदातालाई जानकारी हुनुपर्ने भए पनि त्यसको ठीकविपरीत पन्थीले मतपत्रमा संकेत गरेको थापाको आरोप छ ।

    कांग्रेसका सभापति भुवन श्रेष्ठले अहिले दुवै पक्षलाई राखेर छलफल भइरहेको र छिट्टै कुनै विकल्पमा अगाडि बढ्ने नेपाल प्रेसलाई बताए ।

  • पाल्पा कांग्रेसको सभापतिमा पौडेल पक्षका श्रेष्ठ निर्वाचित

    पाल्पा कांग्रेसको सभापतिमा पौडेल पक्षका श्रेष्ठ निर्वाचित

    स्याङ्जा । नेपाली कांग्रेस पाल्पाको सभापतिमा हिमालदत्त श्रेष्ठ विजयी भएका छन् । निकटतम प्रतिष्पर्धी कृष्ण बस्याललाई ५ सय ९ मतको फराकिलो अन्तरले पराजित गर्दै श्रेष्ठ सभापतिमा निर्वाचित भएका हुन् ।

    श्रेष्ठले ८ सय ९० मत ल्याउँदा बस्यालले ३ सय ८१ मत ल्याए । नवनिर्वाचित सभापित श्रेष्ठ केन्द्रीय राजनीतिमा बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री प्रकाशमान सिंहनिकट हुन् । उनी नेविसंघको अघिल्लो महाधिवेशनमा पौडेल पक्षबाट महामन्त्रीको उम्मेदवार रहेका थिए ।

  • कांग्रेस महाधिवेशनमा देखिने चर्चित सात जोडी !

    कांग्रेस महाधिवेशनमा देखिने चर्चित सात जोडी !

    काठमाडौं । नेपाली कांग्रेसका १४ औं महाधिवेशनको रौनक छ । अधिकांश जिल्लामा क्षेत्रीय र जिल्ला अधिवेशनको रौनक चलिरहँदा कांग्रेसमा महाधिवेशन प्रतिनिधि चयनको कामले तिव्रता पाइरहेको छ ।

    यसैबीच कांग्रेसको आगामी महाधिवेशनमा ‘जोडी महाधिवेशन प्रतिनिधि’ धेरै देख्न पाइने भएको छ । सभापति शेरबहादुर देउवादेखि पूर्वमहामन्त्री प्रकाशमान सिंहसम्मको जोडी कांग्रेस महाधिवेशनमा देखिनेछन् । कांग्रेसका अधिकांश केन्द्रीय नेताका पति वा पत्नी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । यहाँ हामीले केही जोडी महाधिवेशन प्रतिनिबिारे चर्चा गरेका छौं ।

    शेर-आरजु

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवा डडेलधुराबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । संस्थापनइतर पक्षले बहिष्कार गरेपछि भएको एकपक्षीय अधिवेशनबाट देउवाको जोडी नै महाधिवेशनमा निर्वाचित भएको हो । संविधानसभा सदस्य रहीसकेकी आरजुलाई आगामी महाधिवेशनमा केन्द्रीय सदस्यको प्रत्यासीको रूपमा हेरिएको छ । देउवा भने दोस्रो कार्यकालका लागि सभापति लड्दैछन् ।

    प्रकाश-सिर्जना

    कांग्रेस सभापतिका दाबेदार पूर्वमहामन्त्री प्रकाशमान सिंह स्वतः कांग्रेस महाधिवेशन प्रतिनिधि हुन् । उनकी पत्नी सिर्जना सिंह काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्विरोध महाधिवेशन प्रतिनिधि चुनिएकी छिन् । सो क्षेत्रबाट प्रकाश-सिर्जनाका छोरा प्रभासमान सिंहपनि महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । कुनैबेला पीके क्याम्पसमा नेविसंघको सक्रिय राजनीति गरेकी सिर्जना यसपटक पार्टी राजनीतिमा फर्किएकी छिन् । उनलाई प्रकाशमानको नेतृत्व रेसको महत्वपूर्ण सारथी मानिन्छ ।

    रामशरण-रोशना, प्रकाश-बीना

    नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा.रामशरण कांग्रेस केन्द्रीय सदस्यको हैसियतमा १४ औं महाधिवेशनमा स्वतः प्रतिनिधि छन् । महतकी पत्नी रोशना महत थापा भने नुवाकोटबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छिन् । केन्द्रीय राजनीतिमा दुई धारमा बाँडिएपनि नुवाकोटमा महत दाजुभाइबीच गठबन्धन भएको छ ।

    सह महामन्त्री डा.प्रकाशशरण महत स्वतः महाधिवेशन प्रतिनिधि रहनेछन् । उनकी पत्नी बीना महत नुवाकोटबाटै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छिन् ।

    प्रदीप-एञ्जिला

    कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका केन्द्रीय सदस्य प्रदीप पौडेल स्वतः र उनकी पत्नी एञ्जिला न्यौपाने रामेछापबाट महाधिवेशन प्रतिनिधि रहेका छन् । प्रदीप नेविसंघको अध्यक्ष छँदा पीके क्याम्पसमा नेविसंघको राजनीतिमा सक्रिय रहेकी एञ्जिला रामेछापबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन् । प्रदीप महामन्त्रीको उम्मेदवार रहँदा एञ्जिलालाई पनि केन्द्रीय सदस्यको सम्भावित प्रत्यासीका रूपमा लिइएको छ ।

    पुष्पा-चोपलाल

    नेपाली कांग्रेसकी सचेतक एवं केन्द्रीय सदस्य पुष्पा भुसाल स्वतः महाधिवेशन प्रतिनिधि छिन् । उनका पति डा.चोपलाल भुसाल अर्घाखाँचीबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । पूर्वराजदूतसमेत रहेका चोपलाल यसपटकदेखि कांग्रेस केन्द्रीय राजनीतिमा आउन चाहेका छन् । भुसाल भने सहमहामन्त्री पदको आकांक्षी रहेकी छिन् ।

    प्रकाश-झल

    कांग्रेस सांसद प्रकाश रसाईली बझाङबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । उनकी पत्नी झल विश्वकर्मा भने नवलपरासी क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी छिन् । नेविसंघ नेतृसमेत रहेकी अधिवक्ता झल र प्रकाशको जोडीलाई यसपटक कांग्रेसको महाधिवेशनमा देख्न पाइँनेछ । प्रकाश केन्द्रीय सदस्यको प्रत्यासीसमेत रहेका छन् ।

  • कांग्रेस महाधिवेशनः सिन्धुपाल्चोक प्रदेशमा पनि संस्थापन पक्षकै अग्रता

    कांग्रेस महाधिवेशनः सिन्धुपाल्चोक प्रदेशमा पनि संस्थापन पक्षकै अग्रता

    सिन्धुपाल्चोक । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्र्तगत मंगलबार बेलुकी सम्पन्न सिन्धुपाल्चोकको प्रदेश तहको अधिवेशनमा पनि संस्थापन पक्षकै बर्चश्व देखिएको छ । संस्थापन (देउवा) पक्ष र रामचन्द्र पक्षबीच चारै प्रदेशमा प्यानल खडा गरेर नेताहरु चुनावी मैदानमा उत्रिएका थिए ।

    सिन्धुपाल्चोकको दुई निर्वाचन क्षेत्रमा चार प्रदेशसभा निर्वाचन क्षेत्र छन् । चारवटै क्षेत्रमा संस्थापन पक्ष विजयी भएको छ ।

    क्षेत्र नम्बर–१ प्रदेश सभा ‘क’ मा संस्थापन पक्षका आङदोर्जे शेर्पा प्रदेशमा निर्वाचित भएका छन् । उनले ४३४ मत ल्याएका थिए भने अर्का प्रतिस्पर्धी कुमार श्रेष्ठले ५४ मत मात्रै ल्याए ।

    सिन्धुपाल्चोकमा संस्थापन पक्षको नेतृत्व केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले गर्दै आएका छन् भने पौडेल समूहको जिल्ला सभापति विकास लामाले गर्दै आएका छन् ।

    क्षेत्र नम्बर १ को प्रदेश सभा ‘क’ मा पनि बस्नेत समूहका देवेन्द्र खड्का प्रदेश सभापतिमा निर्वाचित भएका छन् । उनले २५९ मत ल्याएका थिए भने लामा समूहका चन्द्रंबहादुर सिलवालले १७१ मत ल्याएका थिए ।

    त्यस्तै प्रतिनिधिसभा क्षेत्र नम्बर २ प्रदेशसभा ‘क’ मा बस्नेत समूहका केशवराज गिरीले २११ मत ल्याएर सभापतिमा निर्वाचित भएका छन् भने जिल्ला सभापति विकास लामा समूहबाट देवप्रसाद बानियाँले २०४ मत ल्याएका थिए ।

    प्रदेशसभा ‘ख’ मा पनि बस्नेत समूहका जितबहादुर तामाङ विजयी भएका छन् ।

    महाधिवेशनको मिति नजिकिँदै गर्दा यसअघि सिटौला समूहमा रहेकाहरु पनि अहिले संस्थापन पक्षमा खुल्न थालेका छन् । संस्थापन पक्षका उमेदवारहरुलाई सिन्धुपाल्चोकमा सिटौला समूहका नेता कार्यकर्ताहरुले समेत सहयोग गरेको कांग्रेस नेताहरुले जानकारी दिएका छन् ।

    प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएपछि अब बिहीबार क्षेत्रको अधिवेशन हुँदैछ । क्षेत्रीय अधिवेशनमा समेत दुवै समूहका नेताहरु प्यानल बनाएर नै प्रतिस्पर्धाको तयारीमा रहेको कांग्रेस नेताहरुले जानकारी दिएका छन् ।

    क्षेत्रीय अधिवेशन मंसिर १० र ११ गते सम्बन्धीत क्षेत्रमा हुनेछ भने जिल्ला अधिवेशन मंसिर १३ र १४ गते सदरमुकाम चौतारामा हुनेछ ।

    जिल्ला सभापतिमा संस्थापन पक्षबाट हरिशरण श्रेष्ठ र प्रेमध्वज लामाको चर्चा रहेको छ भने संस्थापनइतर पक्षबाट यसअघि नै इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले उम्मेदवारी घोषणा गरिसकेका छन् । वडा, पालिकाहुँदै प्रदेश अधिवेशन सम्पन्न हुँदा अहिलेसम्म बस्नेत पक्षकौ अग्रता देखिएको छ ।

  • कांग्रेस जिल्ला सभापतिमा देउवाको अग्रता, कहाँ कसले जिते (सूचीसहित)

    कांग्रेस जिल्ला सभापतिमा देउवाको अग्रता, कहाँ कसले जिते (सूचीसहित)

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत २५ जिल्लाको नतिजा सार्वजनिक भएको छ ।

    २५ जिल्लाको सभापतिमध्ये सभापति शेरबहादुर देउवानिकट अर्थात संस्थापन पक्षका १३ जना रहेका छन् । त्यस्तै बरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको संस्थापनइतर समूहबाट ११ जना जिल्ला सभापति निर्वाचित भएका छन् । जाजरकोटमा सर्वसम्मत जिल्ला सभापति चयन भएका वेदराज सिंहले आफ्नो आबद्धता खुलाएका छैनन् ।

    १३ औं महाधिवेशनमा देउवा पक्षमा रहेका सिंह पछिल्लो समय संस्थापनइतर समूहमा आवद्ध थिए । सर्वसम्मत सभापति निर्वाचित भएकोले केन्द्रीय महाधिवेशनमा मात्रै आफ्नो मत व्यक्त गर्ने सिंहले बताएका छन् ।

    कुन जिल्लामा कसको सभापति ?

     

  • पूर्णबहादुरको गृहजिल्लामा देउवा पक्षको शतप्रतिशत नतिजा

    पूर्णबहादुरको गृहजिल्लामा देउवा पक्षको शतप्रतिशत नतिजा

    सुर्खेत । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुर्खेतमा संस्थापन पक्षले शतप्रतिशत नतिजा निकालेको छ । महामन्त्री पूर्णबहादुर खड्काको गृहजिल्ला सुर्खेतका दुवै निर्वाचन क्षेत्रबाट संस्थापन पक्षका महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।

    क्षेत्र नम्बर १ बाट महामन्त्री खड्का पनि सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । ८ सय ७४ मत खसेकोमा खड्काले ७ सय ३६ मत पाए । स्वतः महाधिवेशन प्रतिनिधि हुने भएपनि खड्का गृहजिल्लाबाट निर्वाचित भएका हुन् ।

    सुर्खेतको दुवै क्षेत्रका सबै महाधिवेशन प्रतिनिधि खड्कानिकट प्यानलले जितेको छ । संस्थापनइतर पक्षका जिल्ला सभापति कमलराज रेग्मी क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

  • देउवाको गृहजिल्लामा कांग्रेस किचलो : सानेपामा अनसन, डडेलधुरामा अधिवेशन

    देउवाको गृहजिल्लामा कांग्रेस किचलो : सानेपामा अनसन, डडेलधुरामा अधिवेशन

    कैलाली । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा नेपाली कांग्रेसको किचलो बढ्दै गएको छ । डडेलधुराका सभापति कर्ण मल्लसहितको समूहले पार्टी केन्द्रीय कार्यालय सानेपामा अनसन गरिरहेका बेला उता डडेलधुरामा भने नयाँ नेतृत्व चयन भएको छ ।

    सोमबार भएको कांग्रेस डडेलधुराको सातौँ जिल्ला अधिवेशनबाट ७ सय ३४ मत ल्याएर भीमबहादुर साउद सभापतिमा निर्वाचित भएका हुन् ।

    परशुराम नगरपालिकाका मेयरसमेत रहेका साउदको पुरै प्यानल नै विजयी भएको छ । साउदले सभापतिका अर्का प्रत्यासी चूडामणि ठकुराठीलाई ६ सय ५८ मतले पराजित गरेका हुन् । निर्वाचनमा विजेता भएका र पराजित भएका दुवै पक्षका हुन् ।

    यस्तै सचिवमा हेमराज चटौत र शेरबहादुर भण्डारी विजयी भएका छन् । उपसभापतिमा लक्ष्मीप्रसाद अवस्थी र डिल्लीराज जोशी, सहसचिवमा प्रेमराज महर र गोविन्दराज बोहरा निर्विरोध निर्वाचित भइसकेका छन् ।

    निवर्तमान सभापति कर्ण मल्ल समूहले उक्त निर्वाचन अवैध भनेको छ । साउद देउवानिकट हुन् भने सभापति देउवासँग हालै टाढिएका छन् ।

    ‘म सभापति हुँ मलाई बाहिर राखेर कांग्रेसको अधिवेशन हुन्छ ?’ उनले भने ‘त्यो गुटको भेला हो कांग्रेसको अधिवेशन होइन । ’

    डडेलधुरा कांग्रेसका निवर्तमान सभापति मल्ल र निर्वाचित सभापति साउद ।

    उनले यसअघि भएका अधिवेशनहरू पनि अवैध भएको भन्दै स्थगनको माग गरेका छन् । डडेलधुरामा कांग्रेसले भदौ २५ गते वडा र असोज ९ गते पालिका अधिवेशन गरेको थियो । मल्ल समूहले क्रियाशील विवाद टुङ्गो नलागेको भन्दै अधिवेशन स्थगित गरेको थियो । तर, केन्द्रीय सभापतिले बल प्रयोग गरेर अधिवेशन गराएको उनको दाबी छ ।

    ‘हरेक तहको सभापति र जिल्लाको समितिलाई बाहिर राखेर कहीँ अधिवेशन हुन्छ । केन्द्रीय सभापतिले शक्तिको दुरुपयोग गरेर आफ्नो गुटको अधिवेशन गर्नुभएको हो’, मल्लले भने ।

    मल्ल समूहले वडा सभापतिको सिफारिसमा गएका क्रियाशील सदस्यमध्ये ४ सय ६० जनाको नाम केन्द्रले काटेर थप ३ सय १२ जनाको नाम समावेश गरेको आरोप लगाउँदै आएको छ ।

    ‘सदस्यता पाउन वडा सभापतिको सिफारिस चाहिन्छ । वडा सभापतिले सिफारिस गरेको नाम काटेर आधिकारिक उम्मेदवारलाई हराउन लागेकाहरूको नाम समावेश गर्न पाइदैन । हामी यो अधिवेशन स्वीकार गर्दैनौ’, मल्लले भने । ५२ वडा मध्ये ४३ वडामा विवाद रहेकोले अधिवेशन स्थगित गरेको उनले जानकारी दिए । मल्ल समूहले सानेपामा अनसन जारी राखेको छ भने केन्द्रीय निर्वाचन समितिमा उजुरी दिएको छ । पहिलो चरणका आन्दोलनबाट माग सम्बोधन नभएपछि दोस्रो चरणको आन्दोलन स्वरूप केन्द्रीय कार्यालयमा अनसन सुरु गरेको मल्लले बताए ।

    यता मल्ल पक्षले आन्दोलन जारी राखेकै बेला जिल्लामा भएको अधिवेशनले थप किचलो बढ्ने देखिएको छ । यसको समाधान सभापति देउवाबाट मात्रै सम्भव रहेको मल्लको दाबी छ । ‘आफ्नै गृहजिल्लामा समस्या राखेर उहाँले पार्टी सुधार्न सक्नुहुन्न । अभिभावक बनेर उहाँले नै समाधानको पहल गर्नुपर्छ’, मल्लले भने ।

    उता देउवा पक्षले भने निर्वाचनमा पराजित हुने डरले मल्ल समूहले विवाद झिकेको आरोप लगाएको छ । ‘सभापतिलाई बदनाम गर्ने उद्देश्यले उहाँहरू लाग्नु भएको छ’ देउवा पक्षका एक नेताले भने ‘निर्वाचनमा हार्ने डरले उहाँहरूले निर्वाचन बहिष्कार गर्नुभएको हो ।’

  • सल्यान कांग्रेसको सभापतिमा ५ मतले विष्ट विजयी

    सल्यान कांग्रेसको सभापतिमा ५ मतले विष्ट विजयी

    सल्यान । नेपाली कांग्रेस सल्यानको जिल्ला सभापतिमा केशबहादुर विष्ट निर्वाचित भएका छन् ।

    अन्तिम मत परिणाममा निकटतम प्रतिस्पर्धी ध्रुवराज पुरीलाई ५ मतले पराजित गर्दै विष्ट सभापतिमा निर्वाचित भएका हुन् । उनी संस्थापन पक्षका हुन् ।

  • ओखलढुंगा कांग्रेसको फर्जी मतपत्र भेटिएपछि मतदान अवरुद्ध, तरुण दल उपाध्यक्षमाथि आक्रमण प्रयास

    ओखलढुंगा कांग्रेसको फर्जी मतपत्र भेटिएपछि मतदान अवरुद्ध, तरुण दल उपाध्यक्षमाथि आक्रमण प्रयास

    ओखलढुंगा । नेपाली कांग्रेस ओखलढुंगाको जिल्ला अधिवेशनअन्तर्गत मतदान कार्य स्थगित भएको छ । मतदान सुरू हुनुअघि नै केही व्यक्तिले मतपत्र बोकेर मतदानस्थल पुगेको पाइएपछि मतदान स्थगित भएको हो ।

    ओखलढुंगा कांग्रेसको सभापति बन्न संस्थापन पक्षका तेजेन्द्र खनाल र संस्थापनइतर समूहका बालकृष्ण दाहाल प्रतिस्पर्धामा छन् ।

    निर्वाचन समितिले मतपत्र छपाएकै स्थानबाट संस्थापन पक्षले फर्जी मतपत्र बनाएर मतदानस्थलसम्म पुर्‍याएको भन्दै संस्थापन इतर पक्षले पुनः नयाँ मतपत्र बनाएर निर्वाचन हुनुपर्ने माग गरेको छ । ओखलढुंगाको सदरमुकामस्थित सगरमाथा जनता माविको खेलमैदानमा अहिले असन्तुष्ट पक्षले नाराबाजी गरेको छ ।

    खनाल पक्षले निर्वाचन समितिले प्रयाेग गरेकै आकारको मतपत्रमा रेजा लगाएकाे मतपत्र बाँडेको हो । उम्मेदवारहरुले अर्को मतपत्र छपाई गरेपछि मात्रै मतदानमा जान सकिने शर्त अघि सारेका छन् ।

    संस्थापन र इतर पक्षका नेता कार्यकर्ताबीच आरोप प्रत्यारोप चलिरहेको छ । तरुण दलका उपाध्यक्ष उत्तम थापामाथि आक्रमण प्रयास भएको आरोपसमेत संस्थापनइतर पक्षले लगाएको छ ।

    निर्वाचन समितिले निकासबारे दुवै पक्षसँग छलफलको तयारी गरेको छ ।

  • दाङमा दीपकको दबदबा, ६ मध्ये ५ मा संस्थापनइतर विजयी

    दाङमा दीपकको दबदबा, ६ मध्ये ५ मा संस्थापनइतर विजयी

    दाङ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत दाङमा संस्थापनइतर पक्षले पकड कायम गरेको छ । कांग्रेस नेता स्व. खुमबहादुर खड्काको क्षेत्रमा पनि संस्थापनइतर पक्षले जितेको छ ।

    केन्द्रीय सदस्य दीपक गिरीको संयोजनमा दाङका ६ मध्ये ५ प्रदेशसभा क्षेत्रीय समितिमा संस्थापनइतर पक्षले जित हासिल गरेको हो । पूर्वमन्त्री एवं केन्द्रीय सदस्य गिरीको क्षेत्र नम्बर ३ (क) को सभापतिमा देवेन्द्रप्रसाद रिजाल र ३ (ख) को सभापतिमा खिमबहादुर वली विजयी भएका छन् । क्षेत्र नम्बर १ (क) को सभापतिमा श्रीपद चौधरी र १ (ख) को सभापतिमा दिनेश गिरी निर्वाचित भएका छन् । त्यस्तै क्षेत्र नम्बर २ (ख) मा अभियान बस्नेत सभापतिमा निर्वाचित भएका छन् ।

    उनीहरू सबै केन्द्रीय सदस्य गिरीनिकट हुन् । केन्द्रीय राजनीतिमा गिरी बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालानिकट मानिन्छन् । प्रदेश प्रतिनिधिमा पनि संस्थापनइतरकै बहुमत रहेको बताइन्छ ।

    संस्थापन पक्षले क्षेत्र नम्बर २ (क) मा मात्रै जित हात पारेको छ । सो प्रदेशसभा क्षेत्रमा प्रकाश श्रेष्ठ सभापतिमा निर्वाचित भएका छन् । तीन प्रतिनिधिसभा क्षेत्र रहेको दाङमा अब मंसिर ६ गते क्षेत्रीय अधिवेशन हुनेछ ।

  • देउवाविरुद्ध रणनीति : पहिलो चरणमा दोस्रो, दोस्रो चरणमा पहिलो

    देउवाविरुद्ध रणनीति : पहिलो चरणमा दोस्रो, दोस्रो चरणमा पहिलो

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप एक कार्यकालका लागि कांग्रेस सभापतिमा दोहोरिने तयारीमा छन् । मंसिर २४ गतेदेखि काठमाडौंमा सुरू हुने कांग्रेसको १४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने देउवाले बताइसकेका छन् ।

    संस्थापन पक्षको टिमभित्र उपसभापति विमलेन्द्र निधि र पूर्वउपसभापति गोपालमान श्रेष्ठले पनि सभापतिमा दाबी गरेका छन् । यद्यपि देउवाले आफू लड्ने निधो गरिसकेको दुवैलाई बताएका छन् । उपसभापति निधि देउवा लडे पनि आफ्नो उम्मेदवारी कायम रहने भन्दै तयारीमा जुटेका छन् । श्रेष्ठलाई सहमतिमा ल्याउन सक्ने विश्वाससहित देउवाले पनि आफ्नो तयारी थालेका छन् । प्रदेशगतरूपमा नेताहरूलाई नै जिम्मेवारी दिएर देउवाले महाधिवेशन तयारी थालेपनि देउवाविरुद्ध उम्मेदवार बन्न चाहनेहरूको तयारी अझै पुगेको छैन ।

    उपसभापति निधिले बानेश्वरमा सम्पर्क कार्यालय नै खोलेर सभापति लड्ने तयारी अगाडि बढाएका छन् । यद्यपि उनको टिमको टुंगो अझै लागिसकेको छैन । निधिको महामन्त्रीमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको नाम चर्चामा छ । त्यसबाहेक देउवा टिममा नअट्ने अन्य नेताहरूलाई समेट्ने निधिको तयारी छ ।

    देउवालाई नेतृत्वबाट विस्थापन गर्ने साझा एजेण्डा बोकेका प्रत्यासीहरूको रणनीति पनि साझा नै छन् । देउवाबाहेकका सबै उम्मेदवार पहिलो चरणको निर्वाचनमा दोस्रो बन्न चाहन्छन् । कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउँनुपर्ने हुन्छ । १३ औं महाधिवेशनमा देउवा, पौडेल र सिटौला उम्मेदवार रहँदा पहिलो चरणमा कसैको पनि ५० प्रतिशत मत नकटेपछि देउवा र पौडेलबीच दोस्रो चरणको निर्वाचन भएको थियो ।

    वरिष्ठ नेता रामचन्द्र पौडेल अघिल्लो महाधिवेशनमा देउवासँग व्यहोरेको हारको बदला लिन चाहन्छन् । त्यसका लागि संस्थापनइतर भनिने समूहलाई आफ्नै नेतृत्वमा एकताबद्ध राख्नुपर्ने चुनौती पौडेलसामु छ । १३ औं महाधिवेशनमा पौडेललाई साथ दिएका पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री डा. शशांक कोइराला तथा नेता डा. शेखर कोइराला आफैं सभापतिको प्रत्यासी बन्ने तयारीमा छन् ।

    पूर्वमहामन्त्री सिंहले पौडेल पक्षको बैठक नै बहिष्कार गरेर सभापति लड्ने तयारी थालेका छन् । शशांक र शेखरबीच जारी संवाद निष्कर्षमा पुगे दुईमध्ये एकजना उम्मेदवार रहन सक्छन् । अर्कोतिर १३ औं महाधिवेशनमा सभापति लडेर तेस्रो धार बनाएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला विस्तारित टिमसहित सभापति लड्ने तयारीमा छन् ।

    साझा एजेण्डा, रणनीति उस्तै

    देउवाबाहेक सभापतिमा दाबी गरिरहेका सबै नेताको एउटा एजेण्डा साझा छ । सबैले नेतृत्व परिवर्तन अपरिहार्य रहेको बताउँदै आएका छन् । आफूलाई देउवाको विकल्पका रूपमा प्रस्तुत गर्ने सबै उम्मेदवार देउवाको नेतृत्वमा कांग्रेस सुदृढ हुन नसक्ने बताउँछन् । यद्यपि देउवाविरुद्ध साझा उम्मेदवार बनाउन भने सफल भएका छैनन् ।

    देउवालाई नेतृत्वबाट विस्थापन गर्ने साझा एजेण्डा बोकेका प्रत्यासीहरूको रणनीति पनि साझा नै छन् । देउवाबाहेकका सबै उम्मेदवार पहिलो चरणको निर्वाचनमा दोस्रो बन्न चाहन्छन् । कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउँनुपर्ने हुन्छ । १३ औं महाधिवेशनमा देउवा, पौडेल र सिटौला उम्मेदवार रहँदा पहिलो चरणमा कसैको पनि ५० प्रतिशत मत नकटेपछि देउवा र पौडेलबीच दोस्रो चरणको निर्वाचन भएको थियो । पहिलो चरणमा परिणाम नआए सर्वाधिक मत ल्याउने शीर्ष २ उम्मेदवारबीच दोस्रो चरणको प्रतिस्पर्धा हुने कांग्रेस विधानको व्यवस्था छ । सोही विधान अनुसार देउवाविरुद्ध पहिलो चरणमा दोस्रो हुने र दोस्रो चरणमा पहिलो हुने रणनीति संस्थापनइतर पक्षका सबै उम्मेदवारहरूको रहेको छ ।

    राजनीतिक विश्लेषक पुरञ्जन आचार्य कांग्रेस विधानको विशिष्ट व्यवस्थाका कारण दोस्रो चरणसम्म पुगेर पनि जित्नुपर्छ भन्ने मानसिकता उम्मेदवारमा देखिनु स्वाभाविक रहेको बताउँछन् । देउवाविरुद्ध साझा उम्मेदवार बनाउन सक्रिय आचार्य रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा. शशांक कोइराला र डा. शेखर कोइराला एकठाउँमा उभिए पहिलो चरणमै देउवाविरुद्ध जित निस्कने दाबी गर्छन् ।

    ‘२ जनाभन्दा बढी उम्मेदवार बन्नेबित्तिकै पहिलो चरणमा नतिजा नआउन सक्छ । हाम्रो समूहमा २ भन्दा बढी उम्मेदवार बन्ने देखिएकोले पहिलो चरणमा दोस्रो बन्ने प्रयास सबैले गरेका छन्’, पौडेल पक्षका एक केन्द्रीय सदस्यले भने । ती सदस्यका अनुसार आन्तरिक बैठकमा सभापतिमा दाबी गरिरहेका नेताहरूले साझा उम्मेदवार भए पहिलो चरणमा नभए दोस्रो चरणमा भएपनि जित्नुपर्ने बताउँदै आएका छन् । ‘समूहको साझा उम्मेदवार बनाएर पहिलो चरणमै जित्ने भन्दा पनि चुनाव लडिहाल्ने र दोस्रो बनेको खण्डमा बाँकी हार्नेहरूको मत आश गर्ने नेताहरू धेरै भए’, ती नेताको भनाइ छ ।

    राजनीतिक विश्लेषक पुरञ्जन आचार्य कांग्रेस विधानको विशिष्ट व्यवस्थाका कारण दोस्रो चरणसम्म पुगेर पनि जित्नुपर्छ भन्ने मानसिकता उम्मेदवारमा देखिनु स्वाभाविक रहेको बताउँछन् । देउवाविरुद्ध साझा उम्मेदवार बनाउन सक्रिय आचार्य रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा. शशांक कोइराला र डा. शेखर कोइराला एकठाउँमा उभिए पहिलो चरणमै देउवाविरुद्ध जित निस्कने दाबी गर्छन् ।

    ‘नेतृत्व परिवर्तनका लागि १३ औं महाधिवेशमा देउवाविरुद्ध उभिएका नेताहरू १४ औं महाधिवेशनमा पनि एकताबद्ध भए पुग्छ । पहिलो वा दोस्रो जुनसुकै चरणमा भएपनि नेतृत्व परिवर्तन चाहिँ हुन्छ’, आचार्यले भने ।

    सभापति देउवा पक्षका नेताहरू भने पहिलो चरणमै परिणाम ल्याउने गरी काम भइरहेको छ । ‘पहिलो चरणमा होस् वा दोस्रो चरणमा देउवाविरुद्ध लडेर हुने भनेको दोस्रो नै हो’, देउवानिकट एक नेताले भने ।

  • शशांक-शेखर संवाद सकारात्मक दिशामा

    शशांक-शेखर संवाद सकारात्मक दिशामा

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै जाँदा सभापतिका प्रत्यासीहरूले आन्तरिक छलफललाई तीव्रता दिएका छन् ।

    सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी घोषणा गरेका संस्थापनइतर समूहका नेताहरू साझा उम्मेदवार खोजीका लागि दुईपक्षीय तथा बहुपक्षीय छलफलमा जुटेका छन् । कांग्रेसमा लामो इतिहास बोकेको ‘कोइराला परिवार’ भित्र पनि सहमतिका लागि संवाद सुरू भएको छ ।

    कोइराला परिवारबाट वीपीपुत्र महामन्त्री डा. शशांक कोइराला, गिरिजापुत्री केन्द्रीय सदस्य सुजाता कोइराला र नोनापुत्र केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सभापतिमा दाबी गरिरहेका छन् । मंगलबार शेखर र शशांकबीच महाधिवेशनकेन्द्रित विषयमा छलफल भएको छ । छलफलमा दुवैले एक अर्काको साथ खोजे पनि अन्तिमसम्म साझा उम्मेदवारका लागि प्रयत्न गर्ने सहमति गरेका छन् ।

    सभापतिका प्रत्यासी डा. शेखर कोइरालाले १४ औं महाधिवेशनका चुनौती, साझा उम्मेदवार र सहकार्यबारे छलफल भएको बताए । छलफल सकारात्मक दिशामा अगाडि बढेको भन्दै उनले कोइराला परिवारभित्रमात्रै नभएर संस्थापनइतर समूहमै साझा उम्मेदवार तय हुने दाबी गरे ।

    महामन्त्री कोइरालाले सोमबार कांग्रेसको एक आन्तरिक कार्यक्रममा संस्थापनइतर समूह एकढिक्का बनाउन शेखरसँग मिलेर जानुपर्ने भावनाको आफूले कदर गर्ने बताएका थिए । ‘शेखरदा सभापति हुने हो भने अरुलाई कन्भिन्स गर्नुपर्‍यो, मलाई त गरिहाल्नुहुन्छ’, शशांकले भनेका थिए ।

    ‘शशांकजीसँग मेरो सकरात्मक संवाद भएको छ । कोइराला परिवारबाट मात्रै होइन संस्थापनइतर समूहबाटै साझा उम्मेदवार बनाउन हामी प्रयासरत छौं । त्यसमा हामी सफल हुनेमा ढुक्क छौ’, शेखरले नेपाल प्रेससँग भने । दुवै नेताबीच केहीदिनमै सुजतासहित पुनः छलफल गर्ने सहमति भएको छ ।

    बैठकमा शेखरले महाधिवेशनको समय घर्किन लागेकोले अब निष्कर्ष लिएर कार्यकर्तामा जानुपर्नेमा जोड दिएका थिए । महामन्त्री शशांकले भने क्षेत्रीय अधिवेशनलगत्तै संवाद तीब्र पार्नुपर्ने बताए । ‘सहमतिका लागि सबैसँग संवाद भइरहेको छ । क्षेत्रीय अधिवेशनलगत्तै संस्थापनइतरबाटै साझा उम्मेदवार खोज्नुपर्छ भन्ने महामन्त्रीज्यूको धारणा छ’, शशांकनिकट एक नेताले नेपाल प्रेससँग भने ।

    महामन्त्री कोइराला बुधबार एक कार्यक्रममा सहभागी हुन संखुवासभा गएका छन् । त्यहाँबाट फर्केलगत्तै कोइराला परिवारबीच पुनः संवाद हुने बताइएको छ ।

  • बन्दले कैलालीका चार पालिकामा कांग्रेस अधिवेशन रोकियो

    बन्दले कैलालीका चार पालिकामा कांग्रेस अधिवेशन रोकियो

    धनगढी । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग राख्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको नेपाल बन्दका कारण कैलालीका चार स्थानीय तहमा कांग्रेस अधिवेशन प्रभावित भएको छ ।

    महाधिवेशन प्रचारप्रसार समिति कैलालीका संयोजक नृप सुनारका अनुसार विप्लवले गरेको बन्दका कारण धनगढी उपमहानगरपालिका, गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिका र भजनी नगरपालिकाको पालिका अधिवेशन रोकिएको हो ।

    बन्दका कारण मतदाता तथा उम्मेदवार अधिवेशनस्थलसम्म जान नसक्दा स्थगित गरिएको संयोजक सुनारले बताए । उनका अनुसार चारवटै पालिकामा भोलि बिहान ८ बजेदेखि अधिवेशन सुचारू गर्ने निर्णय भएको छ ।

    कैलालीका १३ मध्ये बाँकी ९ पालिकामा भने मंगलबारदेखि नै अधिवेशन सुरू भएको छ । उनका अनुसार कैलाली गोदावरी नगरपालिका, चुरे गाउँपालिका, मोहन्याल गाउँपालिका, कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका, बर्दगोरिया गाउँपालिका, लम्कीचुहा नगरपालिका, जानकी गाउँपालिका र टीकापुर नगरपालिकामा मंगलबारदेखि पालिका अधिवेशन सुरू भएको छ ।

    क्रियाशील सदस्यता विवादका कारण निर्धारित मितिमा अधिवेशन हुन नसकेको कैलालीमा २५ कात्तिकदेखि वडा अधिवेशन सुरू भएको थियो । ३० कात्तिकमा पालिका अधिवेशन सम्पन्न गर्दै ३ मंसिरमा प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन गर्ने तालिका रहेको छ । कैलालीमा ६ मंसिरमा संघीय निर्वाचन क्षेत्र अधिवेशन गर्ने र १० मंसिरमा जिल्ला अधिवेशन गर्ने कांग्रेसको कार्यतालिका छ ।

  • कांग्रेसले टुंग्यायो ७७ वटै जिल्लाका क्रियाशील सदस्य

    कांग्रेसले टुंग्यायो ७७ वटै जिल्लाका क्रियाशील सदस्य

    काठमाडौं । नेपाली कांग्रेसले ७७ वटै जिल्लाको क्रियाशील सदस्यता टुंगो लगाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले क्रियाशील सदस्यता टुंगो लागेको बताए ।

    कांग्रेस केन्द्रीय निर्वाचन समितिले बुधबार रौतहट जिल्लाको क्रियाशील सदस्य नामावली सार्वजनिक गरेसँगै देशभरका ७७ वटै जिल्लामा क्रियाशील सदस्यता टुंगो लागेको हो ।

    २७-२९ मंसिरमा तोकिएको कांग्रेस महाधिवेशनको तयारीअन्तर्गत रौतहटमा क्रियाशील सदस्यतामा विवाद देखिएको थियो । तर, त्यसलाई समाधान गरेर आज नामावली सार्वजनिक गरिएको सूचना अधिकारी अधिवक्ता केशव रिजालले बताए ।

    कांग्रेस रौतहटका केही नेता/कार्यकर्ता भने क्रियाशील सदस्यतामाथि प्रश्न उठाउँदै केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसिरहेका छन् ।

  • रसुवाको क्रियाशील विवाद टुंगियो, अब रौतहटको बाँकी

    रसुवाको क्रियाशील विवाद टुंगियो, अब रौतहटको बाँकी

    काठमाडौं । नेपाली कांग्रेस रसुवाको क्रियाशील सदस्यता विवाद टुंगिएको छ । १४ औं महाधिवेशनका लागि अब रौतहटको मात्रै क्रियाशील सदस्यता विवाद मात्रै टुंगो लाग्न बाँकी छ ।

    रसुवामा नयाँ शक्तिबाट कांग्रेस प्रवेश गरेकालाई क्रियाशील सदस्यता दिने विषयमा विवाद रहेको थियो । कांग्रेस केन्द्रीय कार्यालयका अनुसार रसुवा जिल्लाको कुल क्रियाशील सदस्य संख्या ३ हजार ८ सय ५७ हुनेगरी विवाद समाधान गरिएको हो ।

    वडा अधिवेशन हुन बाँकी रहेका जिल्लामा कात्तिक २७ गते वडा अधिवेशन हुँदैछन् । अब रसुवामा पनि सोही मितिमा वडा अधिवेशन गर्ने तयारी छ ।

    कांग्रेस केन्द्रीय कार्यालयले रौतहटको विवाद समाधानका लागि पनि छलफल भइरहेको जनाएको छ ।

  • कांग्रेसका स्थानीय अधिवेशन फेरि सुरू हुँदै

    कांग्रेसका स्थानीय अधिवेशन फेरि सुरू हुँदै

    काठमाडौं । दसैँतिहारजस्ता मुख्य चाडपर्व सकिएसँगै नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया पुनः सुरू हुँदैछ । कांग्रेसको १४ औं महाधिवेशन आगामी मंसिर २४ गतेदेखि २६ गतेसम्म तय गरिएको छ ।

    १४ औं महाधिवेशनअन्तगर्त वडा अधिवेशनसमेत नभएका १३ जिल्लामा तिहारलगत्तै अधिवेशनको रौनक सुरू भएको छ । प्रदेश २ का जिल्लाहरू सिरहा, सप्तरी, धनुषा, सर्लाही, महोत्तरी, बारा र पर्सासहित सिन्धुपाल्चोक, कैलाली, सुर्खेत , बाँके र डोल्पा गरी १२ जिल्लामा छठलगत्तै कात्तिक २७ गते वडा अधिवेशन हुँदैछ । ती जिल्लामा वडा अधिवेशन गराउन कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मतदान अधिकृत समेत परिचालन गरिसकेको छ ।

    ‘कात्तिक २७ देखि अधिवेशनको तालिका पुनः सुचारु हुन्छ । त्यसका लागि हामीले मतदान अधिकृत खटाइसकेका छौ’, निर्वाचन समितिका सदस्य अधिवक्ता सीताराम केसीले बताए । उनका अनुसार रसुवा र रौतहट बाहेकका जिल्लामा कात्तिक २७ देखि अधिवेशन सुरू हुनेछ । क्रियाशील सदस्यताको टुंगो लागेपछि ती दुई जिल्लामा पनि अधिवेशन गरिने केसीले बताए ।

    १४ औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन भइसकेका हिमाली जिल्लाहरू सोलुखुम्बु, दार्चुला र म्याग्दीमा भने कात्तिक २७ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन हुनेछ । यी तीन जिल्लासहित जुम्लामा मंसिर १ गते जिल्ला अधिवेशन हुनेछ । जुम्लामा वडा र स्थानीय तहको अधिवेशन भइसकेको छ ।

    निर्वाचन समितिका अनुसार वडा र स्थानीय तहको अधिवेशन सम्पन्न भइसकेका अन्य ४६ जिल्लामा मंसिर ३ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन हुनेछ । अधिवेशन हुन बाँकी सबै जिल्लामा मंसिर ६ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुनेछ भने मंसिर १० मा जिल्ला अधिवेशन हुनेछ ।

    महाधिवेशनको कार्यतालिका अनुसार मंसिर १६ र १७ गते प्रदेश अधिवेशन हुनेछ । निर्वाचन समितिले केन्द्रीय महाधिवेशनको निर्वाचन कार्यक्रम भने मंसिर २१ गतेदेखि नै कार्यान्वयनमा जाने जनाएको छ ।

  • तिहारअघि सबै जिल्लाको वडा अधिवेशन सक्ने कांग्रेसको तयारी

    तिहारअघि सबै जिल्लाको वडा अधिवेशन सक्ने कांग्रेसको तयारी

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन नै नभएका जिल्लाहरूमा तिहारअघि नै वडा अधिवेशन सम्पन्न गर्ने तयारी थालिएको छ ।

    मंसिर ९ गतेदेखि १३ गतेसम्म हुने भनिएको महाधिवेशन प्रभावित हुने निश्चित भएपनि तल्लो तहको अधिवेशन सुचारु गर्नुपर्नेमा शीर्ष तहमा छलफल थालिएको हो । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले आइतबार पाँचथर पुगेर ‘महाधिवेशन २-४ दिन यताउयता हुनसक्ने’बताएका थिए ।

    १३ जिल्लामा कांग्रेसको वडा अधिवेशनसमेत हुन सकेको छैन । प्रदेश नम्बर २ का ८ जिल्लासहित डोल्पा, सुर्खेत, कैलाली, बाँके र रसुवामा वडा अधिवेशन भएका छैनन् । तीमध्ये रसुवा र रौतहटको क्रियाशील सदस्यतासमेत टुंगो लाग्न बाँकी छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले तिहारअघि नै बाँकी जिल्लामा वडा अधिवेशन सक्नेगरी कार्यतालिका बनाउन छलफल सुरू गरेको छ । सोमबार बसेको निर्वाचन समितिको बैठकमा तिहारअघि वडा अधिवेशन सक्नेगरी नयाँ कार्यतालिका ल्याउन सहमति जुटेको छ । यद्यपि पार्टीका पदाधिकारीसँगको छलफलपछि मात्रै नयाँ कार्यतालिकाले आकार पाउने छ ।

    निर्वाचन समितिका सदस्य अधिवक्ता सीताराम केसीका अनुसार आज नै शीर्ष नेताहरुसँग परामर्श गरेर नयाँ कार्यतालिका निर्माणको प्रयास भइरहेको छ । ‘अधिवेशन प्रक्रिया सुचारु गर्नेबारे छलफल भएको छ । तिहारअघि सबै जिल्लाको वडा अधिवेशन सक्नेगरी काम थालेका छौं । शीर्ष नेताहरूसँग छलफल गरेर नयाँ तालिका बनाउँछौ’, केसीले नेपाल प्रेससँग भने ।

    निर्वाचन समितिमा तिहारअघि वडा अधिवेशन सकेर कात्तिक २७ मा पालिका अधिवेशन, ३० मा क्षेत्रीय अधिवेशन, मंसिर ४ मा जिल्ला अधिवेशन गर्न सकिनेबारे छलफल भएको थियो । यद्यपि सभापतिले नै महाधिवेशन सर्ने संकेत गरेकोले त्यसबारे निर्क्योल गरेरमात्रै तालिका बनाउनुपर्ने निष्कर्षमा निर्वाचन समिति पुगेको छ । सभापति देउवाले समय मिलाए निर्वाचन समितिले आजै छलफल गर्ने जनाएको छ ।

  • महाधिवेशन हुन नदिने चलखेलमा देउवा नै लागेको सिंहको आरोप (भिडिओ)

    महाधिवेशन हुन नदिने चलखेलमा देउवा नै लागेको सिंहको आरोप (भिडिओ)

    जनकपुरधाम । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवा नै समयमा महाधिवेशन हुन नदिने चलखेलमा लागेको आरोप लगाएका छन् ।

    आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो आरोप लगाए । उनले भने, ‘महाधिवेशन तोकिएको समयमा हुनुपर्छ । के गाह्रो छ ? निर्वाचन समिति त तयार छ । पार्टी सभापति ज्युले समितिमाथि समिति गठन गरेर बेकारमा आलटाल गरिरहनु भएको छ ।’

    लामो समयदेखि एउटै व्यक्तिले नेतृत्व गर्दा पार्टीमा बेतिथि देखिएको भन्दै नेता सिंहले समयमै महाधिवेशन हुनुपर्नेमा जोड दिए । क्रियाशिल सदस्यता वितरणमा समेत धांधलीको आरोप लगाउदै उनले पार्टी नेतृत्वको आलोचना गरे ।

    उनले उहिलेदेखि पार्टीको नेतृत्व गरिरहेको वर्गलाई तोड्न सबैले वुद्धि पुर्‍याउनुपर्ने बताए । पार्टीमा देखिएको बेतिथि हटाउन नयाँ पुस्ता एकजुट हुनुपर्ने भन्दै पार्टीमा पुस्तान्तरणका लागि सभापति पदमा उम्मेदवारी दिने बताए ।

    १४ औं महाधिवेशनमा नयाँ अनुहारलाई मौका दिनुपर्ने नेता सिंहको भनाइ छ । उनले भने, ‘नयाँ अनुहारलाई अवसर दिनुपर्छ भनेर मैले अभियान नै चलाएको छु । यो अभियानलाई साथीहरूले सघाइराख्नु भएको छ । १४ औं महाधिवेशनले नेतृत्व फेरिन्छ भन्ने विश्वास छ ।’

  • कांग्रेस महाधिवेशन मंसिरमा नहुने निश्चित, नयाँ मितिको टुंगो छठपछि

    कांग्रेस महाधिवेशन मंसिरमा नहुने निश्चित, नयाँ मितिको टुंगो छठपछि

    काठमाडौं । बारम्बार सर्दै आएको नेपाली कांग्रेसको १४ औं महाधिवेशन पछिल्लोपटक तोकिएको मितिमा पनि नहुने देखिएको छ । कार्यतालिका कार्यान्वयनको अवस्था, क्रियाशील सदस्यता विवाद र चाडपर्वका कारण मंसिरमा महाधिवेशन सम्भव नहुने भएको हो ।

    कांग्रेस महाधिवेशन आगामी मंसिर ९ गतेदेखि १३ गतेसम्म हुने तय भएको थियो । तर, महाधिवेशन कार्यतालिका यसअघि नै प्रभावित भइसकेको छ । नयाँ तालिका नबनेका कारण महाधिवेशन मंसिरमा हुने सम्भावना टर्दै गएको कांग्रेसकै नेताहरु अनौपचारिक कुराकानीमा बताउन थालेका छन् ।

    कार्यतालिका अनुसार काम भएको भए गत असोज १८ गते कांग्रेसका सबै जिल्लाको अधिवेशन सम्पन्न भइसक्नुपर्ने थियो । दसैंलगत्तै कात्तिक १०, ११ र १२ गते प्रदेश अधिवेशन हुनुपर्ने थियो । यद्यपि अहिलेसम्म १४ हिमाली जिल्लामा मात्रै कांग्रेसको अधिवेशन सम्पन्न भएका छन् । अधिकांश जिल्लामा क्षेत्रीय अधिवेशन नै भएका छैनन् । प्रदेश २ का ८ जिल्लासहित रसुवा, डोल्पा, बाँके, कैलाली र सुर्खेतमा वडा अधिवेशन नै भएका छैनन् । वडा अधिवेशन भएको सिन्धुपाल्चोकमा पालिका अधिवेशन नै भएको छैन ।

    दसैंलगत्तै जिल्ला अधिवेशन सकेर मंसिरमै महाधिवेशन गर्ने प्रतिवद्धता यसअघि पदाधिकारी बैठकमा जनाइएको थियो । यद्यपि दसैंलगत्तै बैठक बस्ने र नयाँ कार्यतालिकाअनुसार अधिवेशन सुचारु हुने सम्भावना न्यून छ । यही कारण कांग्रेस शीर्ष नेताहरु महाधिवेशन कति समय सार्ने भन्ने आन्तरिक छलफलमा जुट्न थालिसकेका छन् ।

    कांग्रेस महामन्त्री डा.शशांक कोइरालाले दुई दिनअघि चितवन पुगेर तिहारलगत्तै अधिवेशनहरु सुचारु हुने बताएका थिए । तिहारलगत्तै बाँकी अधिवेशन थाल्ने हो भने पनि मंसिरमा महाधिवेशन गर्न सम्भव देखिदैन । कांग्रेस नेताहरु छठपछि मात्रै नयाँ कार्यतालिका निर्माण गरेर अधिवेशन सुचारु हुने बताउँछन् । यसबारे औपचारिक छलफल सुरु भएको छैन ।

    ‘छठपछि धमाधम अधिवेशन हुँदा पनि महाधिवेशन कम्तीमा १ महिना त धकेलिन्छ नै । तर केही जिल्लाको विवाद समाधान नभएको अवस्थामा महाधिवेशन कति पर जान्छ भन्न सकिदैन’, एक नेताले भने । ती नेताका अनुसार महाधिवेशनबारे पछिल्लो समय संवादसमेत हुन सकेको छैन । शीर्ष नेताहरु चाडपर्व सकिएपछि मात्रै प्रक्रिया अगाडि बढाउने पक्षमा छन् ।

    कात्तिक २४ गते छठपर्व रहेको छ । त्यसअघि अधिवेशन सुचारु नहुने हुँदा मंसिर ९ मै महाधिवेशन नहुने निश्चित छ । ‘महाधिवेशन मंसिरमै हुने त सम्भावना छैन । माघ वा फागुनसम्ममा गर्नेबारे दसैपछि पार्टीमा छलफल होला’, कांग्रेस नेताको भनाई छ ।

    कांग्रेसमा अहिलेसम्म २ निर्वाचन क्षेत्र भएको गोरखा र १ निर्वाचन क्षेत्र भएका दोलखा, रामेछाप, ताप्लेजुङ, संखुवासभा, मनाङ, मुस्ताङ, कालिकोट, हुम्ला, मुगु, रुकुम पूर्व, बझाङ र बाजुरामा जिल्ला अधिवेशन सम्पन्न भएका छन् । बाँकी ६४ जिल्लामा अधिवेशन सम्पन्न नगरी कांग्रेस महाधिवेशन उद्घाटन हुँदैन ।

    मंसिरमा महाधिवेशन नहुने निश्चित भइसक्दा कांग्रेसमा स्थानीय निर्वाचनअघि अधिवेशन गर्ने वा पछि गर्ने भन्ने बहस पनि चर्चामा छ । फागुनमा स्थानीय निर्वाचन गर्नुपर्ने हुँदा त्यसअघि नै महाधिवेशन सक्ने वा नसक्ने भन्ने दुवै धारणा कांग्रेसमा रहेका छन् ।

    ‘यसैपनि महाधिवेशन सर्ने नै भइसक्यो । विधान उल्लघंन भइसकेको छ । पुसभित्रै सकिन्छ भने महाधिवेशन गर्दा राम्रो हुन्छ । अन्यथा पार्टीमा सहमति कायम गरेर निर्वाचनपछि गर्दा पनि हुन्छ’, एक केन्द्रीय सदस्यले नेपाल प्रेससंग भने ।

  • रामचन्द्र र शशांकको साथ छोडेको सुजाताको घोषणा

    रामचन्द्र र शशांकको साथ छोडेको सुजाताको घोषणा

    काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइरालाको साथ छोडेको घोषणा गरेकी छिन् । मन्त्रिपरिषद्ले पूर्णता पाएकै दिन सुजाताले पौडेल र कोइरालाले कांग्रेस चलाउन नसक्ने बताइन् ।

    ‘रामचन्द्रजी र शशांकबाट यो पार्टी चल्न सक्दैन । उहाँहरूमा ईर्श्या, घमण्ड, अहंकार र स्वार्थभन्दा केही देखिएन । अब उहाँहरुलाई मेरो साथ रहदैन’, सुजाताले नेपाल प्रेससँग भनिन् ।

    आफूलाई मन्त्रिपरिषद्‍मा सहभागी नगराउने कुरा ३ महिना पहिले नै थाहा भएको भन्दै सुजाताले कांग्रेसभित्र धोकाको राजनीति गर्नेले पार्टी चलाउन नसक्ने बताइन् । ‘रामचन्द्रजी कहिल्यै फस्टम्यान हुने मान्छे होइन । उहाँले कांग्रेसलाई सधैँ विभाजित गर्नुभएको छ । शशांकले पनि महामन्त्रीमा पर्फमेन्स दिन सकेनन् । अब यी दुवैजनालाई मेरो सहयोग हुँदैन’, सुजाताले भनिन् ।

    अब कसलाई साथ दिने त ? भन्ने जिज्ञासामा उनले पार्टीभित्र सबैसँग छलफल गरेर निर्णय लिने बताए । ‘कसलाई साथ दिने छलफल गर्नै बाँकी छ । यत्ति हो रामचन्द्र र शशांकसंग अब म छैन’, उनले भनिन् ।

  • देउवाकै गढमा सभापति जितेपछि रामचन्द्र उत्साहित

    देउवाकै गढमा सभापति जितेपछि रामचन्द्र उत्साहित

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आसन्न रहँदा वरिष्ठ नेता रामचन्द्र पौडेल उत्साहित देखिएका छन् । सभापति शेरबहादुर देउवाको आधार क्षेत्र मानिने सुदूरपश्चिमको बाजुरामा आफूनिकट रामसिंह रावल सभापतिमा विजयी भएपछि पौडेलले ‘सुदूरपश्चिममा पनि परिवर्तन सम्भव छ’भन्दै ट्वीट गरेका हुन् ।

    पौडेलले सभापति देउवा आफ्नै गृहजिल्ला डडेल्धुरामा निर्विवाद नरहेको तर्फ संकेत समेत गरेका छन् । ‘परिवर्तन सम्भव छ, सुदूरपश्चिममा पनि परिवर्तन सम्भव छ । बाजुरामा रामसिंह रावलको विजयले संकेत गरिसक्यो । डडेल्धुराले सन्देश दिइसक्यो’, पौडेलले लेखेका छन् ।

    बाजुरामा देउवा पक्षका उम्मेदवार कविराज पण्डितलाई पौडेल पक्षका रामसिंह रावलले पराजित गरेका छन् ।

  • कांग्रेस चुनाव जितेका सरकारी कर्मचारी र शिक्षकको पद रोक्का गर्न अदालतको आदेश

    कांग्रेस चुनाव जितेका सरकारी कर्मचारी र शिक्षकको पद रोक्का गर्न अदालतको आदेश

    काठमाडौं । उच्च अदालत पाटनले नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत क्षेत्रीय प्रतिनिधिमा चुनिएका शिक्षक, प्राध्यापक तथा कर्मचारीलाई तत्काल राजनीतिक कार्यमा संलग्न नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

    सिन्धुपाल्चोकका सुनिल बोहराले दायर गरेको रिटमा उच्च अदालत पाटनका न्यायाधीश मोहम्मद जुनैद आजादको इजलासले सो आदेश जारी गरेको हो । रिटमा नेपाली कांग्रेस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाअन्तर्गत कांग्रेस वडा अधिवेशनमा निर्वाचित भएका शिक्षक, प्राध्यापक र सरकारी कर्मचारीसहित १९ व्यक्ति तथा निकायलाई विपक्षी बनाएर रिट दाय भएको थियो ।

    उच्च अदालतले विपक्षीहरूलाई बाटाको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेस गर्नसमेत आदेश गरेको छ । त्यस्तै आगामी कात्तिक ७ गते दुवै पक्षको छलफबाट अन्तरिम आदेशबारे टुंगो लगाइने आदेशसमेत गरिएको छ । ‘उक्त मितिसम्मको विपक्षीहरूलाई राजनीतिक कार्यहरूमा सामेल नगर्नू/नगराउनू भनी विपक्षीहरूको नाउँमा अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ’, आदेशमा उल्लेख छ ।

    यो आदेशसंगै कांग्रेसका सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा अधिवेशनबाट निर्वाचित भएका शिक्षक, प्राध्यापक तथा सरकारी कर्मचारीको पद रोक्का भएको छ । क्षेत्रीय प्रतिनिधिमा त्रि.वि. नेपाली इतिहास संस्कृति तथा पुरातत्व केन्द्रीय विभाग कीर्तिपुरमा कार्यरत स्थायी उपप्रध्यापक प्रेमध्वज लामा तथा स्थायी शिक्षकहरू वेदविक्रम कार्की, रिताकुमारी शर्मा बोहरा, सुस्मा पराजुली, स्वस्थानी थापा बोहरा, मुना थापा, अम्बरबहादुर बोहरा, तुलसीराम श्रेष्ठ, रमेश बोहरालगायत निर्वाचित भएका थिए ।

  • जिल्ला सभापतिमा पौडेल पक्षको अग्रता, पछ्याउँदै देउवा पक्ष (सूचीसहित)

    जिल्ला सभापतिमा पौडेल पक्षको अग्रता, पछ्याउँदै देउवा पक्ष (सूचीसहित)

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत हिमाली जिल्लाहरूको अधिवेशनको परिणाम आउने क्रम जारी छ । हालसम्म प्राप्त भएका ११ जिल्लाको परिणाममा वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समूह अगाडि देखिएको छ ।

    सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन समूहले पौडेल समूहलाई पछ्याइरहेको छ । परिणाम आएका ११ मध्ये ६ जना पौडेल पक्षका छन् । सभापति देउवा पक्षका ५ जना जिल्ला सभापतिमा निर्वाचित भएका छन् । बाजुरामा दोस्रो चरणको मतदान भइरहेको छ । हालसम्म प्राप्त परिणाम यसप्रकार छ ।

  • सिटौलाको बैठकमा गएनन् गगन, चाक्सीबारीमा प्रकाशमानसँग छुट्टै छलफल

    सिटौलाको बैठकमा गएनन् गगन, चाक्सीबारीमा प्रकाशमानसँग छुट्टै छलफल

    काठमाडौं । नेपाली कांग्रेसभित्र ‘तेस्रो धार’ भनिने कृष्णप्रसाद सिटौला नेतृत्वको समूहको बैठकमा केन्द्रीय सदस्य गगन थापा अनुपस्थित भएका छन् । सिटौलानिकट नेताहरूले बैठकमा थापालाई बोलाइएको भएपनि नआएको जनाएका छन् ।

    पूर्वमहामन्त्री सिटौलाले मन्त्रिपरिषद विस्तार र महाधिवेशनको सन्दर्भमा आफूनिकट नेताहरूसँग छलफल गर्न बैठक डाकेपनि थापा अनुपस्थित भएका हुन् । यसअघि नै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका बैठकमा नियमित सहभागी हुँदै आएका थापाले काठमाडौंको स्थानीय अधिवेशनमा पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग गठबन्धन गरेका थिए ।

    काठमाडौं महानगरसहित अधिकांश पालिकामा सिंह-थापा गठबन्धनका उम्मेदवारले जितेका छन् । संस्थापन पक्षसँग सिटौला पक्षले काठमाडौंलगायत अधिकांश स्थानमा तालमेल गरेको छ । औपचारिकरूपमा सिटौला समूह छाडेको उद्घोष नगरेपनि थापा संस्थापनइतर समूह एक हुनुपर्ने पक्षमा उभिँदै आएका छन् ।

    यसैबीच सिटौलाले जमलमा बोलाएको बैठकमा नगएका थापा चाक्सीबारीस्थित सिंह निवासमा ‘अलग बैठक’ मा उपस्थित हुँदै छन् । ‘काठमाडौंको पालिका अधिवेशन समीक्षा गरी क्षेत्र र जिल्लाका उम्मेदवारको व्यवस्थापन गर्ने विषयमा प्रकाश दाइ र गगन दाइसहित नेताहरू छलफलमा जुट्दै हुनुन्छ’, बैठकमा एक नेताले नेपाल प्रेससँग भने ।

    १३ औं महाधिवेशनमा सिटौला नेतृत्वको टिमबाट थापा महामन्त्रीको उम्मेदवार रहेका थिए । लामो समय सिटौलाको साथ रहेका थापाले १४ औं महाधिवेशनमा महामन्त्रीमा लड्ने घोषणा गरिसकेका छन् । सिटौलाले भने थापाको विकल्पमा प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवारको रूपमा अघि बढाउने तयारी गरेका छन् ।

  • गोरखा कांग्रेसको सभापतिमा नन्दप्रसाद न्यौपाने सर्वसम्मत निर्वाचित

    गोरखा कांग्रेसको सभापतिमा नन्दप्रसाद न्यौपाने सर्वसम्मत निर्वाचित

    गोरखा । नेपाली कांग्रेस गोरखाको पार्टी सभापतिमा नन्दप्रसाद न्यौपाने सर्वसम्मत निर्वाचित भएका छन् ।

    आज जिल्ला अधिवेशनका लागि उम्मेदवारी दर्ताको समयभित्र न्यौपानेले मात्रै उम्मेदवारी दर्ता गराएका छन् । महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मत ल्याएका न्यौपाने वर्तमान पार्टी सचिव थिए ।

    उनी संस्थापनइतर समूहका हुन् ।

  • प्रकाशमानको गुनासो – कांग्रेसमा अलोकतान्त्रिक गतिविधि बढ्यो (भिडिओ)

    प्रकाशमानको गुनासो – कांग्रेसमा अलोकतान्त्रिक गतिविधि बढ्यो (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अझै केही जिल्लाको क्रियाशील सदस्यता नटुंगिनु विडम्बना भएको बताएका छन् ।

    सोमबार नेपाली कांग्रेस काठमाडौं महानगरपालिकाको नेतृत्व चयनपछि पदाधिकारीहरूलाई बधाई दिँदै उनले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहनगरमै जिल्ला कार्यसमितिको निर्णयलाई लत्याएर एकलौटी निर्णय भएको भन्दै टिप्पणी गरे । पार्टीमा अलोकतान्त्रिक गतिविधि हुन थालेको र केही व्यक्तिले त्यसलाई साथ दिएको उनको गुनासो थियो ।

    ‘१४ औँ महाधिवेशनको प्रक्रिया सुरू भइसकेको छ । तर ४ वटा जिल्लामा अझै पनि क्रियाशील सदस्यताको टुंगो लागिसकेको छैन, डेमोक्रेटिक पार्टीमा यस्तो असंवैधानिक कुराले न्याय गर्दैन’, सिंहले भने, ‘डेमोक्रेटिक पार्टी भन्ने अनि त्यसभित्र भएको अन डेमोक्रेटिक कुराहरूको विरोधमा बोल्नु नहुने भनेर स्यालको हुइयाजस्तो कराइरहेका छन्, गर्न नहुने काम आफूले गर्ने, कसैले बोल्नै नपाउने भन्ने ? सिनियर लिडरहरूले त अनावरत रुपमा लिइराख्नुभएको छ, अब युवालाई सत्ता हस्तान्तरणको समय भइसक्यो ।’

    नेता सिंहले केही नेताहरूले पदमा पुगेकाहरूको गुनगान गाउने र चाकडी गर्ने प्रवृत्ति ठीक नभएको टिप्पणी गरे ।

     

  • कांग्रेस जिल्ला सभापतिको प्रारम्भिक रुझान- देउवा र पौडेलबीच कडा टक्कर (सूचीसहित)

    कांग्रेस जिल्ला सभापतिको प्रारम्भिक रुझान- देउवा र पौडेलबीच कडा टक्कर (सूचीसहित)

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरुको परिणाम आउने क्रम जारी रहँदा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच कडा टक्कर देखिएको छ ।

    पहिलो चरणमा हिमाली जिल्लाहरूमा अधिवेशन हुने भनिए पनि हालसम्म १३ जिल्लामा मात्रै अधिवेशनको प्रक्रिया प्रारम्भ भएको छ । जिल्ला अधिवेशनको परिणाम आएका ८ जिल्लामा देउवा र पौडेल पक्ष दुवै तर्फका ४-४ जना सभापति निर्वाचित भएका छन् ।

    देउवा पक्षका जिल्ला सभापतिहरू :

    १. मनाङ- शंकर गुरुङ

    २. हुम्ला- मोहनविक्रम सिंह

    ३. ताप्लेजुङ – गजेन्द्र तुम्याहाङ

    ४. रामेछाप- पूर्णबहादुर तामाङ (कान्छाराम)

    पौडेल पक्षका जिल्ला सभापतिहरू :

    १. मुस्ताङ – रोमी गौचन थकाली

    २. कालीकोट – अम्मबहादुर शाही

    ३. रुकुमपूर्व – केशरमान रोका

    ४. संखुवासभा – दीपक खड्का

  • कांग्रेस अधिवेशन : ३०० मत गन्दा नीलकाजीको २२० मत

    कांग्रेस अधिवेशन : ३०० मत गन्दा नीलकाजीको २२० मत

    काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं महानगर कार्यसमितिको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको ३०० मत गणना सकिएको छ । अहिलेसम्मको नतिजाअनुसार सभापतिमा नीलकाजी शाक्यको अग्रता कायमै छ ।

    शाक्यले २२० मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी प्रगतिमान रञ्जितको ८० मत छ । राष्ट्रियसभा गृहमा काठमाडौं महानगरको मतगणना भइरहेको छ ।

    सभापतिका दाबेदार संस्थापनइतर समूहको समर्थन रहेको छ भने रञ्जितलाई संस्थापन पक्षले सहयोग गरेको छ ।

  • कांग्रेस अधिवेशन : काठमाडौंमा नीलकाजीको अग्रता

    कांग्रेस अधिवेशन : काठमाडौंमा नीलकाजीको अग्रता

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत काठमाडौं महानगर कार्यसमितिको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ । प्रारम्भिक नतिजाअनुसार सभापतिमा नीलकाजी शाक्यले तीन गुणाले अग्रता लिएका छन् ।

    अहिलेसम्मको गणनाअनुसार शाक्यले ९० मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी प्रगतिमान रञ्जितले ३० मत प्राप्त गरेका छन् ।

    राष्ट्रियसभा गृहमा काठमाडौं महानगरको मतगणना भइरहेको छ ।

    सभापतिका दाबेदार संस्थापनइतर समूहको समर्थन रहेको छ भने रञ्जितलाई संस्थापन पक्षले सहयोग गरेको छ ।

  • डडेलधुरा पुगेर शेखरले भने- शेरबहादुरजी गल्ती सच्याउनुस्

    डडेलधुरा पुगेर शेखरले भने- शेरबहादुरजी गल्ती सच्याउनुस्

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र कार्यकर्तामाथि गरिएको अन्याय तत्काल सच्याउन सभापति शेरबहादुर देउवासँग माग गरेका छन् ।

    देउवाको गृहजिल्ला डडेलधुरामा क्रियाशील सदस्यता विवादका विषयमा जारी आन्दोलनलाई ऐक्यवद्धता जनाउँदै कोइरालाले डडेलधुराका इमान्दार कार्यकर्ताको आवाज बालुवाटारले सुन्नुपर्ने बताए ।

    ‘डडेलधुराको यो भेलाले सभापति र छानविन समितिले गरेको गल्ती सच्याउन माग गरेको छ । मलाई विश्वास छ डडेलधुरामा भएको गल्ती सभापतिजीले सच्याउनुहुनेछ’, कोइरालाले भने ।

    डडेलधुरा एनडीप्रकाश चटौत, भीमदत्त पन्त र द्वारिकादेवी ठकुरानीको पनि जिल्ला रहेको स्मरण गराउँदै कोइरालाले देउवाले गल्ती सच्याउनुको विकल्प नभएको बताए ।

    ‘सत्यको बाटो अप्ठ्यारो हुन्छ तर सत्यको जित अवश्य हुन्छ । मर्कामा पारिएका देशभरका कांग्रेस कार्यकर्ताको न्यायका लागि हामी संगै लड्नेछौ’, कोइरालाले भने ।

  • कांग्रेस अधिवेशन : काठमाडौं महानगरको मतगणना सुरू

    कांग्रेस अधिवेशन : काठमाडौं महानगरको मतगणना सुरू

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत काठमाडौं महानगर कार्यसमितिको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना सुरू भएको छ ।

    राष्ट्रियसभा गृहमा काठमाडौं महानगरको मतगणना सुरू भएको हो । काठमाडौं महानगरको नयाँ नेतृत्वका लागि आज बिहान ९ बजेदेखि १ बजेसम्म मतदान भएको थियो ।

    काठमाडौं महानगरको कांग्रेस सभापतिका लागि नीलकाजी शाक्य र प्रगतिमान रञ्जित प्यानलगत प्रतिस्पर्धामा रहेका छन् ।

    शाक्यलाई संस्थापनइतर समूहको समर्थन रहेको छ भने रञ्जितलाई संस्थापन पक्षले सहयोग गरेको छ ।

  • डेढ दशकपछि काठमाडौं महानगरमा कांग्रेसको चुनावी रौनक (भिडिओसहित)

    डेढ दशकपछि काठमाडौं महानगरमा कांग्रेसको चुनावी रौनक (भिडिओसहित)

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत काठमाडौं महानगर कार्यसमिति चयनका लागि अहिले निर्वाचन भइरहेको छ ।

    कांग्रेसको काठमाडौं महानगर समितिको अधिवेशन नभएको १५ वर्ष पुगिसकेको छ । ११औं महाधिवेशनबाट निर्वाचित महानगर सभापति देवरत्न डंगोलको कार्यकाल सकिएपछि बाह्रौं र तेह्रौं महाधिवेशनका बेला काठमाडौं महानगरको अधिवेशन भएको थिएन ।

    राष्ट्रिय सभागृहमा जारी निर्वाचनबाट १ सभापति, २ उपसभापति, २ सचिव र २ सह सचिवसहित कार्यसमिति चयन हुनेछ । नेतृत्वका लागि संस्थापन पक्षबाट प्रगतिमान रञ्जित र संस्थापनइतर समूहबाट नीलकाजी शाक्य चुनावी मैदानमा रहेका छन् ।

    रञ्जितलाई सभापति शेरबहादुर देउवासहित नेताहरू ध्यानगोविन्द रञ्जित, भीमसेनदास प्रधान, तीर्थराम डंगोललगायतको समर्थन रहेको छ । शाक्यलाई वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य गगन थापालगायतको समर्थन छ ।

    अधिवेशन शनिबार उद्घाटन भएपनि आज मतदान भइरहेको हो । एक बजेसम्म मतदान हुने र लगत्तै मतगणा सुरु गरिने निर्वाचन समितिले जनाएको छ ।

    तस्बिरहरू : सरोज बैजु । 

  • रामचन्द्रको आरोप- सभापति देउवालाई कांग्रेसमाथि नै विश्वास छैन

    रामचन्द्रको आरोप- सभापति देउवालाई कांग्रेसमाथि नै विश्वास छैन

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनमा सामूहिक भावनासहित आफ्नो समूहबाट एकजना मात्रै सभापतिको प्रत्याशी बन्ने बताएका छन् ।

    गृहजिल्ला तनहुँको आबुखैरहनीमा आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलले पार्टीभित्र नेतृत्वका लागि आकांक्षी धेरै भएपनि आफ्नो समूहबाट एकजना उम्मेदवार बन्ने बताए ।

    ‘हामी पार्टीभित्र आन्तरिक लोकतन्त्रका लागि लडिरहेका छौं । हामीले अहिलेसम्म मै हुँ सभापति भनिसकेका छैनौं । सामूहिकरूपमा सल्लाह गरेर एकजना सभापतिको उम्मेदवार हुन्छौं भनेका छौं । हाम्रो यही सामूहिक भावनाले उम्मेदवार पनि एक हुन्छौ, कांग्रेस पनि एक बनाउँछौ’, पौडेलले भने ।

    पार्टीभित्र अल्पमतमा रहेकाले जबर्जस्ती बहुमत पुर्‍याउन खोज्दा क्रियाशील सदस्यताको विवाद बढेको उनले बताए ।

    ‘सभापतिजीलाई कांग्रेसमाथि नै विश्वास छैन । त्यसैले गैरकांग्रेसलाई सदस्यता दिएर भए पनि बहुमत पुर्‍याउँछु भनेर लाग्नुभएको छ । पार्टी भन्दा नेता बलियो हुन खोजेकोले आज कांग्रेसमा समस्या बढेको छ’, उनले भने ।

    पौडेलले कांग्रेसमा पुस्तान्तरणको नभएर रुपान्तरण खाँचो रहेको समेत औल्याए । ‘प्रकृतिको नियम हो पुरानो पात झर्छ, नयाँ पात पलाउँछ । झरेको पातले पनि मल बनेर रुखलाई नयाँ पालुवा दिन्छ । भएको पातलाई झटारो हाल्ने कुरा अप्राकृतिक हो । त्यस्तै कांग्रेसमा पुस्तान्तरण होइन, रुपान्तरणको खाँचो छ’, पौडेलले भने ।

    फरक प्रसंगमा नेता पौडेलले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद चल्न नदिएर संसद विघटनको औचित्य पुष्टी गर्न खोजेको आरोप लगाए ।

    ‘हिजो बहुमत गुमाएपछि २ पटक संसद भंग गरेको कुरा सही थियो भन्ने देखाउन आज एमालेले संसद चल्न दिएको छैन । मुद्दा लिएर अदालत गएपछि संसदमा किन अवरोध ?’, पौडेलले प्रश्न गरे ।

  • काठमाडौं महानगरमा डेढ दशकपछि कांग्रेसकाे चुनाव, सभापतिमा नीलकाजी कि प्रगति ?

    काठमाडौं महानगरमा डेढ दशकपछि कांग्रेसकाे चुनाव, सभापतिमा नीलकाजी कि प्रगति ?

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत काठमाडौं महानगरपालिकाको सभापति पदका लागि दुईपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । लामो समयदेखि कांग्रेसको काठमाडौं महानगर समिति रिक्त रहँदै आएको थियो । यतिबेला संस्थापन र संस्थापइतर समूहका नेताहरू महानगर समितिको नेतृत्वका लागि आन्तरिक तयारीमा छन् ।

    संस्थापनबाट प्रगतिमान रञ्जित र संस्थापनइतर समूहबाट नीलकाजी शाक्य चुनावी प्रतिस्पर्धा गर्दैछन् । कांग्रेसको काठमाडौं महानगर समितिको अधिवेशन नभएको १५ वर्ष पुगिसकेको छ । ११औं महाधिवेशनबाट निर्वाचित महानगर सभापति देवरत्न डंगोलको कार्यकाल सकिएपछि बाह्रौं र तेह्रौं महाधिवेशनका बेला काठमाडौं महानगरको अधिवेशन नभएको हो । लामो समयपछि अधिवेशन हुन लागेकोले पनि काठमाडौं महानगरको कांग्रेस नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बन्दै गएको छ ।

    काठमाडौंमा संस्थापन समूहको अगुवाइ सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरू ध्यानगोविन्द रञ्जित, अम्बिका बस्नेतलगायतले गर्दै आएका छन् । संस्थापन पक्षका उम्मेदवार रञ्जितलाई काठमाडौं जिल्ला सभापतिका दाबेदार उपेन्द्र कार्कीको समेत समर्थन छ । काठमाडौंमा कृष्णप्रसाद सिटौला समूहका नेता भीमसेनदास प्रधानको समर्थनसमेत रञ्जितलाई रहने बताइएको छ ।

    अर्कोतिर संस्थापनइतर समूहको अगुवाइ पूर्वमहामन्त्री प्रकाशमान सिंहले गरेका छन् । महानगर सभापतिका दाबेदार शाक्यलाई महामन्त्री सिंह, काठमाडौं जिल्ला सभापति सबुज कृष्ण बानियाँ, महानगर मेयरका प्रत्याशी राजुराज जोशी, क्षेत्र नम्बर ७ का सभापति मुकुन्द रिजाललगायतको समर्थन छ ।

    नीलकाजीको एजेण्डा : महानगरमा सशक्त कांग्रेस

    काठमाडौं महानगरको २५ नम्बर वडाका निर्वाचित अध्यक्ष नीलकाजी शाक्य स्थानीय निर्वाचनमा कांग्रेसले आफ्नो क्षमताअनुसार जित हासिल गर्न नसकेको बताउँछन् । काठमाडौं महानगरको नेतृत्वसहित बहुमत वडामा कांग्रेस जिताउने एजेण्डा बोकेका शाक्य पार्टीलाई एकताबद्ध बनाउन आफू सक्रिय रहने बताए ।

    ‘देशकै राजधानी र ठूलो सहर भएकोले काठमाडौं महानगरको कांग्रेस सभापतिको जिम्मेवारी धेरै हुन्छ । यो महानगरमा बलियो कांग्रेस बनाएर देशैभरी ऊर्जा भर्ने काम गर्छु’, शाक्यले नेपाल प्रेससँग भने ।

    २०३६ सालको विद्यार्थी आन्दोलनदेखि सक्रिय राजनीतिमा जोडिएका शाक्य २०४४ सालमा पब्लिक युथ क्याम्पसको स्ववियू सभापति निर्वाचित भएका थिए । नेपाल तरुण दलको संस्थापक केन्द्रीय सदस्य रहेका शाक्य पार्टीको नयाँ र पुरानो दुवै पुस्ताको भावना समेटेर आफू महानगर नेतृत्वको प्रत्याशी बनेको बताउँछन् ।

    प्रगतिमानको एजेण्डा : कांग्रेस-कांग्रेसबीचको दूरी घटाउँछु

    डेढ दशकपछि अधिवेशनबाट काठमाडौं महानगरको पार्टी नेतृत्व छानिन लागेकोले पुराना र नयाँ कांग्रेस कार्यकर्ताबीच ‘ग्याप’ बढेको महानगर सभापतिका प्रत्याशी प्रगतिमान रञ्जितको बुझाइ छ । आफ्नो उम्मेदवारी कांग्रेसमा बढेको ‘ग्याप’ घटाउनका लागि भएको उनी बताउँछन् ।

    ‘लामो समयदेखि महानगरमा समिति नहुँदा कांग्रेसको क्रियाशील घटेको छ । नयाँ र पुराना नेता कार्यकर्ताबीच दूरी बढेको छ । त्यसलाई अन्त्य गरेर काठमाडौंमा बलियो कांग्रेस बनाउने उद्देश्यसहित म उम्मेदवार बनेको हुँ’, रञ्जितले नेपाल प्रेससँग भने ।

    नेपाल तरुण दलको काठमाडौं महानगरको संस्थापक सभापति रहेका रञ्जित पार्टीको क्षेत्र नम्बर ६ को पूर्वसचिवसमेत हुन् । पार्टीको काठमाडौं जिल्ला कार्यसमितिको आमन्त्रित सदस्य रहीसकेका रञ्जित महानगर सभापति बनेपछि सबै वडा र नगरकार्यपालिकामा कांग्रेस जिताउने आफ्नो लक्ष्य रहेको बताउँछन् ।

    २०७४ सालमा सम्पन्न स्थानीय निर्वाचनमा काठमाडौं महानगरको मेयरमा कांग्रेस एमालेसँग १९ हजार बढी मतले पराजित भएको थियो । कांग्रेसले उपमेयरसहित १४ वटा वडामा अध्यक्ष जितेको थियो । कांग्रेसको महानगर समितिको सभापतिका दुवै प्रत्याशीले आउने निर्वाचनमा मेयरसहित बहुमत वडा कांग्रेसलाई जिताउने दावी गरेका छन् ।

  • कांग्रेसको भविष्यका लागि यो महाधिवेशन महत्वपूर्ण छ : सांसद चौधरी

    कांग्रेसको भविष्यका लागि यो महाधिवेशन महत्वपूर्ण छ : सांसद चौधरी

    काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले पार्टीको अधिवेशनबाट आफू निकै उत्साहित रहेको बताएका छन् ।
    नवलपरासी बर्दघाट सुस्तापूर्वको देवचुली नगरपालिकाको नेतृत्वका लागि मतदान गरेपछि चौधरीले १४ औं महाधिवेशनले पार्टीको भविष्य र आगामी बाटो निर्धारण गर्ने बताएका हुन् ।

    ‘हामी सम्पूर्णरूपले महाधिवेशनमा होमिएका छौं । पार्टीको भविष्य र आगामी बाटो निर्धारण गर्ने यो उल्लासमय राजनीतिक महोत्सवलाई लिएर म निकै उत्साहित छु’, चौधरीले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

    नेपाली कांग्रेसको लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवं दिगो परियोजना विशेष समितिको संयोजक समेत रहेका चौधरी १४ औं महाधिवेशनमा पदाधिकारीको प्रत्याशी बन्ने तयारीमा छन् । उनको नेतृत्वमा ‘गरिखाने अभियान’ सञ्चालित छ ।

    महाधिवेशनको सन्दर्भमा सामाजिक सञ्जालमार्फत उनले कार्यकर्तालाई आफ्नै खुट्टामा उभ्याउन र देशलाई आर्थिक रुपमा समृद्ध बनाउन राजनीतिले योगदान गर्नुपर्नेमा जोड समेत दिएका छन् ।