Tag: कर्माछिरिङ

  • एन्फामा दोहोरिन चाहेका कर्माछिरिङमाथि तेर्सिएका प्रश्नहरु

    एन्फामा दोहोरिन चाहेका कर्माछिरिङमाथि तेर्सिएका प्रश्नहरु

    काठमाडौं । राष्ट्रिय टोलीका खेलाडी र प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबीच देखिएको विवाद छानबिन गर्न गठित समितिले गत साता सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) पुगेर प्रतिवेदन बुझाएको केही मिनेटमा खेलाडीहरु हतारिँदै त्यहाँ पुगे । प्रशिक्षकसँगको विवादका कारण बन्द शिविर छाडेका प्रायः सबै खेलाडीको उपस्थिति त्यहाँ देखिन्थ्यो । प्रतिवेदनमा के छ भन्दा पनि टिममा आफ्नो फिर्ती कहिले हुन्छ भन्नेमा उनीहरु जिज्ञासु थिए । छानबिन समितिले प्रतिवेदनभित्रका कुराहरुबारे केही नबोलेको थाहा पाएपछि खेलाडीहरु खिन्न भए ।

    ‘अब भोलि नै टीम खेल्न बाहिर उड्यो भने यो प्रतिवेदनको अर्थ के रह्यो र ?’, एक खेलाडी भन्दै थिए ।

    आफ्नो कुनै गल्ती नरहेको दावी गर्दै आएका खेलाडीहरुमा छानबिन समितिको प्रतिवेदनपछि टिममा फर्कने आशा देखिन्थ्यो । एन्फाले समिति गठन गरेपछि विवाद छिनोफानो हुनेतर्फ सकारात्मक थिए उनीहरु । छानबिन समितिले कुनै बोल्ड निर्णय गर्ला भन्नेमा खेलाडीहरुको नजर थियो । प्रशिक्षकसँगको द्वन्द्व यति धेरै चर्किसकेको थियो कि खेलाडीहरु नै भनिरहेका थिए, ‘अब अब्दुल्लाहको प्रशिक्षणमा खेल्न सम्भव नहोला ।’

    यही अन्योलबीच एन्फाले केही दिनअघि उक्त प्रतिवेदन सार्वजनिक गर्‍यो । तर त्यसको केही घण्टाअघि मात्र एएफसी कप छनोट खेल्ने नेपाली टोलीको घोषणा गरिएको थियो । अल्मुताइरी प्रमुख प्रशिक्षक रहेको उक्त टोलीमा बन्द शिविरबाट बाहिरिएका १० खेलाडी र उनीहरुको मागमा समर्थन गर्ने नियमित कप्तान किरणकुमार चेम्जोङलाई समावेश गरिएन ।

    उनीहरु किन समावेश भएनन् भन्नेबारे एन्फाले आधिकारिक रुपमा स्पष्ट पारेको छैन । तर, टोलीको घोषणा गरिएको केही घण्टापछि सार्वजनिक गरिएको छानबिन प्रतिवेदनमा गोलमटोल पारामा भनिएको छ, ‘एन्फाबाट समस्या समाधान गर्ने प्रयास र समझदारीको विकल्प हुँदाहुँदै खेलाडीहरुले प्रेस मिट गर्दा समस्याले झन् बढी उग्र रुप लियो । राष्ट्रिय खेलाडीले यस्तो अनुशासनहीन र गैरजिम्मेवारपूर्ण कार्य गरेको देखिएको हुँदा उनीहरुले यस्तो गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाएमा ती १० खेलाडीलाई एसिया कप छनोट प्रतियोगितामात्र सहभागी हुन बञ्चित गर्नुको साथै यस्ता किसिमका क्रियाकलाप भविष्यमा दोहोर्‍याएमा राष्ट्रिय फुटबल टिममा छनोट हुन अयोग्य हुनेबारे सचेत गराउन सिफारिस गरिन्छ ।’

    प्रतिवेदनमा योसहित अन्य केही बुँदा यस्ता छन्, जसको सम्बन्ध प्रतिवेदनमा तलमाथि उल्लेख भएका विवरणसँग कतै मेल खाँदैन । जबरजस्ती छिराइएका छन्, खेलाडीको पनि दोष देखाउन ।

    रोहित चन्दले बन्द शिविर छाडेको पर्सिपल्ट थप ९ जना खेलाडी बाहिरिएपछि घटना सार्वजनिक भएको थियो । एन्फा व्यवस्थापनले नै खेलाडीहरु निस्किएर हिँडेको र त्यसपछि सम्पर्कमा नआएको भनेपछि त्यसलाई स्पष्ट बनाउन उनीहरुले पत्रकार सम्मेलन आयोजना गरेका थिए । प्रशिक्षक अल्मुताइरीले नै ‘निस्किएर जा’ भनेको र आफ्नो कार्यकालभरि नेपाली टोलीबाट खेल्न नदिने धम्की दिएको पत्रकार सम्मेलनमा उनीहरुले बताएका थिए । खेलाडीहरुले अल्मुताइरीको प्रशिक्षणमा खेल्न नसक्ने संकेत गरेका थिए ।

    कसको दोष ? छानबिन प्रतिवेदनमा यस्तो छ

    छानबिन समितिले घटना विवरणका आधारमा दोष प्रशिक्षक अल्मुताइरीको रहेको र उनी नेपाली टोलीको प्रशिक्षक रहन अयोग्य रहेको औंल्याएको छ । उनका कमजोरी र गल्तीका श्रृंखलाहरु उल्लेख गरिएका छन् ।

    खेलाडी बन्द प्रशिक्षणबाट भागेको आरोपलाई प्रतिवेदनमा खण्डन गरिएको छ ।

    ‘खेलाडी बन्द प्रशिक्षणबाट भागेर गएको तथ्यमा सत्यता देखिन्न । मुख्य प्रशिक्षकले ९ जना खेलाडीलाई बारम्बार अमर्यादित भाषामा प्रशिक्षणबाट बाहिर जान भनेपछि उनीहरु बाध्य भएको देखिन्छ । तर, मुख्य प्रशिक्षकले खेलाडीको चोट, कार्य दक्षता वा अनुशासन केको आधारमा खेलाडीलाई निष्काशन गरेको स्पष्ट छैन । मुख्य प्रशिक्षकले बन्द प्रशिक्षणमा खेलाडीहरु छनोट भएपछि एन्फा महासचिवलाई पत्राचार गरी क्लबहरुलाई खेलाडी पठाउन निर्देशन दिने गरेकोमा खेलाडी निष्काशन गर्दा सो प्रक्रिया नअपनाएको हुँदा त्यसको व्यवस्था गर्न उपयुक्त देखिन्छ ।’

    प्रशिक्षकका औंल्याइएका कमिकमजोरीहरु यत्तिमै सीमित छैनन् । चारवटा बुँदामा उल्लेखित कमजोरीहरुले उनी कुन हदसम्म गैरव्यवसायिक छन् भन्ने देखाउँछ । अल्मुताइरीले एन्फा सचिवालयको मातहतमा रही काम गर्नुपर्नेमा एकलौटी र स्वेच्छाचारी प्रवृत्ति बढिरहेको, खेलाडीको प्रशिक्षण, छनोट र मूल्याङ्कनको मात्र काम रहेकामा व्यवस्थापनसहित अन्य क्षेत्रमा पनि उनले हस्तक्षेप गरेको प्रतिवेदनमा उल्लेख छ ।

    त्यसबाहेक स्वास्थ्यस्थितिले गर्दा उत्तेजना र तनावमा देखिनु, बारम्बार विवाद र सामाजिक सञ्जालमा अनावश्यक टिकाटिप्पणीले राष्ट्रिय टोलीको वातावरण बिगारेकाले भविष्यमा अरु समस्या निम्तिन सक्नेतर्फ पनि सचेत गराएको छ ।

    अल्मुताइरीलाई अप्रत्यक्ष समर्थन गरिरहेको एन्फा नेतृत्वलाई बल पुग्ने गरी छानबिन समिति आफैले उल्लेख गरेका घटना विवरणहरुलाई बेवास्ता गर्दै लेख्छ, ‘एसिया कप छनोट प्रतियोगितापछि कतार एफएसँगको सहयोगलाई निरन्तरता र सहमति कायम राख्दै मुख्य प्रशिक्षकको अर्को विकल्प खोज्न सिफारिस गरिन्छ ।’

    एएफसी कप छनोटसम्म अल्मुताइरीलाई कायम राख्ने र बन्द शिविर छाडेका खेलाडीहरुलाई बाहिर राख्ने सुझाव समितिको क्षेत्राधिकारको विषय नभएको र त्यसमा ‘बाह्य शक्ति’ को प्रभाव देखिने सहिद स्मारक ए डिभिजन लिग क्लबका एक प्रशिक्षक बताउँछन् ।
    ‘कसको के कमजोरी भनेर छानबिन समितिले भन्ने हो । तर हचुवा पारामा कसैको फलानो मितिपछि मात्र विकल्प खोज भनेर लेख्न मिल्दैन । अनि खेलाडीहरुलाई तत्काल टिममा फर्काउन किन असम्भव छ भनेर पनि स्पष्ट लेखिनुपर्छ’, ती प्रशिक्षक भन्छन् ।

    एन्फा नेतृत्वको रुचिबाट छानबिन समिति प्रभावित देखिने प्रतिवेदनको अर्को एक ठाउँमा यस्तो लेखिएको छ, ‘हालको बन्द प्रशिक्षणलगायत विगतका राष्ट्रिय लिग तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीहरुले अमर्यादित र अनुशासनहीन कार्य गरेका उदाहरणहरु विद्यमान छन् । भविष्यमा त्यस्ता गतिविधि नहुन अनुशासनसम्बन्धी जिरो टोलेरेन्स पोलिसी लागू गर्न सिफारिस गरिन्छ ।’

    खेलाडीहरुले अनुशासनहीन काम गरेको उल्लेख गर्नेबाहेक त्यसलाई पुष्टि गर्ने तथा माफी नै माग्न लगाएरमात्र केही समयपछि टिममा फर्काउनुपर्ने अवस्थाका आधारहरु छानबिन समितिले दिन सकेको छैन ।

    कर्मा छिरिङ, अल्मुताइरी र कतार

    एन्फाका तत्कालीन अध्यक्ष गणेश थापाविरुद्ध चलाएको भ्रष्टाचारविरोधी अभियानकै कारण नेपाली फुटबलमा कर्माछिरिङ शेर्पाको उपस्थिति बलियो बनेको थियो । विश्व फुटबल महासंघ (फिफा) को अध्यक्षका लागि कतार फुटबल संघका तत्कालीन अध्यक्ष बिन हमामबाट घुस लिएको भन्दै थापालाई १० वर्ष प्रतिवन्ध लाग्यो, सन् २०१५ मा ।

    त्यतिबेला कर्माछिरिङ थापासँग जोडिएका फाइलहरु बोकेर विभिन्न सरकारी निकाय धाइरहेका थिए । संयोग नै मान्नुपर्छ, थापामाथिको प्रतिवन्धपछि नेपाली फुटबलले अन्तर्राष्ट्रिय फुटबलमा लगातार सफलता प्राप्त गर्न थाल्यो । २२ वर्षपछि पहिलो सिनियर अन्तर्राष्ट्रिय उपाधि जित्नेदेखि थुप्रै सफलताहरु नेपाली फुटबलमा भित्रिए ।

    अहिले टिम बाहिर रहेका सबै ११ जना खेलाडीहरु लगभग त्यही समय वा त्योभन्दा अघिदेखि नेपाली टोलीमा जोडिएका हुन् । नेपाली फुटबलको संकट टार्न, मुहार फेर्न अझ भनौं कर्माहरुले चलाएको आन्दोलनलाई उपाधिका रुपमा उपलब्धि दिएर यी खेलाडीहरुले सफल बनाएका हुन् ।

    सन् २०१८ मा कर्माछिरिङ एन्फाको अध्यक्ष निर्वाचित भएपछि पनि यी सफलताका क्रमहरु रोकिएनन् । तर, एन्फा नेतृत्वका रुपमा कर्माछिरिङको उचाइ भने घट्दो छ । खासगरी पछिल्लो प्रकरणपछि घरेलु फुटबलको अभिभावक उनी केमा अल्झिएका छन् वा उनलाई केले रोकिरहेको छ भन्ने प्रश्नको जवाफ उनले दिन सकेका छैनन् ।

    अल्मुताइरी कतार फुटबल संघको प्राविधिक सहयोगमा नेपाल आएका हुन् । कतारसँग नेपाली फुटबलको सम्बन्ध गणेश थापाकै पालादेखि राम्रो रहँदै आएको छ । अल्मुताइरी आएयता नेपाली टोलीले राम्रो प्रदर्शन र नतिजा पनि हात पार्दै आएको छ ।

    गत वर्ष नेपालले साफ च्याम्पियनसीपमै पहिलोपटक फाइनल यात्रा तय गरेको थियो । बाहिर सधैँ खेलाडीको प्रशंसा र कमजोरीको जिम्मा आफू लिने अल्मुताइरी किन एकाएक आक्रोशित बने भन्ने प्रश्न अनुत्तरित नै छ ।

    नेपाल दोस्रो रोजाइका खेलाडीहरु लिएर एएफसी कप छनोटमा उत्रँदैछ । यति महत्वपूर्ण प्रतियोगिताको नतिजाले ठूलो अर्थ राख्छ नेपाली फुटबलका लागि । यही पृष्ठभूमिमा कर्माछिरिङले सोमबार एन्फामा दोस्रो कार्यकालका लागि अध्यक्षको उम्मेदवारी दिएका छन् । तर, पछिल्लो विवाद सामान्य छैन ।

    मामुली विषयमा पहिलो रोजाइका ११ जना खेलाडीलाई टिम बाहिर राखिनु चानचुने कुरा होइन । उनीहरुलाई तत्काल टिममा बोलाउनबाट उनलाई केले रोक्यो र अल्मुताइरीसँग किन दबिनुपर्ने भन्ने प्रश्नको जवाफ कर्माछिरिङले अहिलेमात्र होइन आगामी दिनमा पनि दिइरहनु पर्नेछ ।