Tag: एमाले

  • बालुवाटार बाहिरको पहिलो बैठकमा सहभागी हुन एमाले नेताहरू च्यासलमा (तस्बिरहरू)

    बालुवाटार बाहिरको पहिलो बैठकमा सहभागी हुन एमाले नेताहरू च्यासलमा (तस्बिरहरू)

    काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा शुरू हुँदैछ । सरकारबाट बाहिरिएपछि पहिलोपटक एमालेको बैठक बसेको हो ।

    यसअघि पार्टीका बैठक अधिकांश प्रधानमन्त्री निवास बालुवाटारमा हुने गर्थे । अध्यक्ष केपी शर्मा ओली सर्वोच्चको परमादेशबाट प्रधानमन्त्री पदबाट हटेपछि पहिलोपटक बालुवाटार बाहिर एमालेको बैठक बस्न लागेको हो ।

    बिहान ११ बजे निर्धारित समयमै नेताहरू बैठकस्थलमा पुगेका थिए । आजको बैठकले १० बुँदे सहमति अनुमोदन,अदालतको फैसलाको समीक्षा र पार्टीको आगामी रणनीतिबारे छलफल गर्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

    तस्बिरहरु : सरोज बैजु
  • एमालेबाट निर्वाचित चन्द्रागिरिका जनप्रतिनिधिद्वारा पार्टी नफुटाउन दबाब

    एमालेबाट निर्वाचित चन्द्रागिरिका जनप्रतिनिधिद्वारा पार्टी नफुटाउन दबाब

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाले फुट्न नदिन चन्द्रागिरि नगरपालिकाको एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले दबाब दिएका छन् । २०७४ को स्थानीय तहको निर्वाचनमा चन्द्रागिरि नगरपालिकाबाट निर्वाचित जनप्रतिनिधिले आज गुर्जुधारा सडकमा बसेर दबाब एवं खबरदारी गरेका हुन् ।

    ‘समृद्धिका लागि एमालेको अपरिहार्यता, सिङ्गो नेकपा एमाले आजको आवश्कता’ लेखिएको ब्यानरसहित प्रदर्शन गरिएको नेकपा एमाले काठमाडौं क्षेत्र नं १० का संयोजक एवं नेकपा एमाले जिल्ला सचिवालय सदस्य हरिभक्त महर्जनले जानकारी दिए । महर्जन चन्द्रागिरि नगरपालिकाका प्रवक्ता एवं वडा नं ११ का वडा अध्यक्षसमेत हुन् ।

    ‘यो दबाबले नेकपा एमाले टुटफुट नभई एकताबद्ध बनाउन र पुष्पलाल, मनमोहन, मदन भण्डारीले देखेको सपना पूरा गर्न मद्दत पुग्ने विश्वास लिएका छौँ’, उनले भने ।

    चन्द्रागिरि काठमाडौं उपत्यकाकै सबैभन्दा ठूलो नगरपालिका हो । यस नगरपालिकामा १५ वडा रहेका छन् । चन्द्रागिरिमा स्थानीय तहको निर्वाचनमा उपप्रमुखसहित नेकपा एमालेका ५८ जना जनप्रतिनिधि निर्वाचित भएका थिए ।

  • देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन एमालेको निर्देशन

    देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन एमालेको निर्देशन

    काठमाडौं । नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन निर्देशन दिएको छ ।

    बालुवाटारमा जाारी केन्द्रीय कमिटी बैठकले विघटित प्रतिनिधिसभाका माधव नेपाल र झलनाथ खनालसहितका २३ सदस्यलाई हस्ताक्षर फिर्ता लिएर पार्टीको पक्षमा उभिन निर्देशन दिएको हो ।

    माधव पक्षका १५ जना प्रत्यक्ष निर्वाचित र ८जना समानुपातिक सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरी सर्वोच्च अदालतमा रिट निवेदन समेत दिएका छन् । बैठकमा महासचिव ईश्वर पोखरेलले प्रस्ताव पेस गर्दै निवर्तमान सांसदलाई २ दिनको समय दिइएको बताए ।

    बैठकमा अध्यक्ष ओलीले पार्टीको नेता हो भन्ने तर अरु दलको नेतालाई प्रधानमन्त्री बनाउन लाग्ने र विपक्षीको हित ह’ने कार्य गर्ने कुरा स्वीकार्य नहुने बताए ।

  • एमाले केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बस्दै

    एमाले केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बस्दै

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटीको बैठक शुक्रबार बिहान ११ बजे बस्ने भएको छ ।

    पार्टीका केन्द्रीय कार्यालय सचिव शेर बहादुर तामाङका अनुसार केन्द्रीय कमिटीको १३औं बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बस्न लागिएको हो ।

  • जनकपुरमा विपक्षी गठबन्धन र एमालेका युवाहरु आमने सामने भएपछि (तस्वीरहरु)

    जनकपुरमा विपक्षी गठबन्धन र एमालेका युवाहरु आमने सामने भएपछि (तस्वीरहरु)

    जनकपुरधाम । जनकपुरमा विपक्षी गठबन्धनका युवाहरुले राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध गरेको प्रदर्शनको प्रतिकारमा एमाले सम्बद्ध युवाहरु सडकमा उत्रिएपछि तनाव सिर्जना भएको छ ।

    विपक्षी गठबन्धनका युवाहरु रेल्वे स्टेशनबाट र्याली निकालेका थिए। उनीहरु शिव चोकमा पुगेर कोणसभा गर्ने थाहा पाएपछि एमालेका राष्ट्रिय युवा संघका कार्यकर्ताले भानु चोकमा लखेट्ने प्रयास गरे । तर त्यहाँ ठूलो संख्यामा परिचालित सुरक्षाकर्मीले युवा संघका कार्यकर्ताहरुमाथि बल प्रयोग गरेर भएपनि रोकेका थिए ।

    प्रहरीले टसमस हुन नदिएपछि युवा संघका कार्यकर्ता अन्य बाटो भएर जनक चोक पुगे । त्यहाँ पनि सुरक्षाकर्मीले उनीहरुलाई घेरा हाले । त्यति बेलासम्म विपक्षी गठबन्धनका युवाहरु शिव चोक पुगिसकेका थिए । उनीहरु प्रहरीको घेरामा राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरे ।

    नेपाली काँग्रेस, जसपा, नेकपा माओवादी केन्द,एमालेको माधव पक्ष सहित विपक्षी पाँच दलका २०÷२५ जना युवाहरु मात्र प्रदर्शनमा सहभागी थिए । उनीहरुको प्रतिकार गर्न करिब एक सय बढी युवा संघका कार्यकर्ता उत्रेका थिए ।

    युवा संघका कार्यकर्ताले जसपा अध्यक्ष उपेन्द्र यादव मुर्दावाद, सरकार विरुद्ध गतिविधि गर्न पाइदैन, स्थिर सरकार कायम गर, विखण्डनकारी मुर्दावाद,केपी ओली जिन्दावाद जस्ता नारा लगाएका छन् ।

  • कर्णालीका तीन मन्त्रीलाई सरकारबाट फिर्ता हुन एमालेको निर्देशन

    कर्णालीका तीन मन्त्रीलाई सरकारबाट फिर्ता हुन एमालेको निर्देशन

    सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले सरकारमा सहभागी तीन मन्त्रीलाई तत्काल फिर्ता हुन निर्देशन दिएको छ ।

    शुक्रबार बसेको बैठकले सरकारमा सहभागी अम्बरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई फिर्ता बोलाउने निर्णय गरेको एमाले संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिए ।

    माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि उनीहरु सरकारमा गएका थिए ।

    माधव नेपाल पक्षका उनीहरुलाई एमालेले कारबाही गरेपछि पदमुक्त भएका थिए । सर्वोच्च अदालतले उनीहरुलाई पुनर्बहाली गरेको थियो ।

  • कर्णाली प्रदेश : नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न एमालेको ह्वीप

    कर्णाली प्रदेश : नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न एमालेको ह्वीप

    सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि पेस गरेको वार्षिक नीति तथा कार्यक्रमका विपक्षमा मतदान गर्न नेकपा एमालेले ह्वीप जारी गरेको छ ।

    फ्लोर क्रस गरेको आरोपमा पार्टीको कारवाहीपछि पदमुक्त भई सर्वोच्चको आदेशबाट पुनर्वहाली भएका एमालेका चार सांसदले के गर्छन् भन्नेबारे चासो छ ।

    प्रदेशसभामा सभामुखसहित एमालेका २०, कांग्रेस र माओवादीका १८ र राप्रपाका एक सांसद छन् ।

    ‘सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि नेकपा एमालेका सबै माननीयले अनिवार्य रूपमा विपक्षमा मतदान गर्ने निर्णय भएको छ ’, एमाले प्रमुख सचेतक गुलाबजङ्ग शाहले भने, ‘सबैजना पुनर्वहाली भइसकेका छन् । सबै एमाले हुनुहुन्छ ।’

    उनले सबै एमाले भइसकेको र संसदीय दलमा कुनैपनि विवाद नरहेको बताएका छन् ।

    एमाले संसदीय दलको बैठक सकिएलगत्तै कर्णाली प्रदेशसभाको बैठक शुरू भएको छ । अहिले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नीति तथा कार्यक्रममाथि उठेका सवालको जवाफ दिने कार्यसूची छ ।

    मुख्यमन्त्रीले जवाफ दिइसकेपछि मत विभाजनका आधारमा नीति तथा कार्यक्रमलाई निर्णयार्थ सभामुख राजबहादुर शाहीले सदनमा पेस गर्नेछन् । बजेट प्रसतुत गर्ने कार्य भने चार बजे बस्ने अर्को वैठकमा गरिने सचिवालयले जनाएको छ ।

  • वैद्यमाथि कारवाही अघि बढाउन सभामुखलाई एमालेको ध्यानाकर्षण

    वैद्यमाथि कारवाही अघि बढाउन सभामुखलाई एमालेको ध्यानाकर्षण

    काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्रीको हत्या गर्न आफू नाथुराम गोड्से बन्न तयार छु भनी अभिव्यक्ति दिने कांग्रेस सांसद नरोत्तम वैद्यमाथि कारवाही अघि बढाउन सभामुखको ध्यानाकर्षण गराएको छ ।

    शनिबार एमाले वागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक दिपक निरौलाले सभामुख सानुकुमार श्रेष्ठलाई लिखित ध्यानाकर्षण गराउँदै वैद्यको अभिव्यक्ति प्रदेशसभाको रेकर्डबाट हटाउन आग्रह गरेका छन् ।

    एमालेले वैठकको काम कारवाही मर्यादित ढंगले अघि बढाउन वैद्यमाथि प्रदेश सभा नियमावली २०७४ को नियम ३१ र ३२ बमोजिम कारवाही अघि बढाउन माग गरेको हो ।

  • एमालेले भन्यो- प्रधानमन्त्रीको हत्या गर्ने धम्की आपराधिक, फौजदारी कानून आकर्षित हुन्छ

    एमालेले भन्यो- प्रधानमन्त्रीको हत्या गर्ने धम्की आपराधिक, फौजदारी कानून आकर्षित हुन्छ

    काठमाडौं । नेपाली कांग्रेसका बाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले हिजो दिएको अभिव्यक्तिको नेकपा एमालेले भर्त्सना गरेको छ ।

    वैद्यको अभिव्यक्ति आपराधिक भन्दै पार्टीले यसमा फौजदारी कानूनसमेत आकर्षित हुने उल्लेख गरेको छ ।

    पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले आज विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको हत्या गर्न दिएको धम्कीलाई एमालेले अत्यन्त गम्भिररुपमा लिएको उल्लेख गरेका छन् ।

    उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ । उक्त अभिव्यक्तिको घोर भत्र्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ ।’

    ज्ञवालीले यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गराएका छन् ।

  • एमाले सम्बद्ध युवा संघको अध्यक्षमा किरण पौडेल चयन

    एमाले सम्बद्ध युवा संघको अध्यक्षमा किरण पौडेल चयन

    काठमाडौं । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा किरण पौडेल चयन भएका छन् ।

    युवा संघको सोमबार बसेको सचिवालयको भर्चुअल बैठकले पौडेललाई अध्यक्ष चयन गरेको सचिव जय गुरुङले जानकारी दिए ।

    नेकपा विभाजनपछि अध्यक्ष भएका वचनबहादुर सिंह आइतबारदेखि ४१ वर्ष उमेर पुगेकाले उनकै प्रस्तावमा पौडेललाई अध्यक्ष बनाइएको हो । पौडेल यसअघि युवा संघको सहअध्यक्ष थिए ।

    युवा संघको राष्ट्रिय सम्मेलन गरेर विधान संशोधन नहुन्जेल अब पौडेल नै अध्यक्ष रहने छन् भने नाम पनि राष्ट्रिय युवासंघ नै रहनेछ ।

    एमाले-माओवादी एकतापछि वाइसिएल र युवा संघ नेपालको एकीकरण भएर राष्ट्रिय युवा संघ बनेको थियो ।

    युवा संघको बैठकलाई एमाले अध्यक्ष केपी शर्मा ओली, युवा संघ इन्चार्ज महेश बस्नेत लगायतले सम्बोधन गरेका थिए ।

  • माओवादी सरकारमा सामेल ६ मन्त्रीसहित ७ जनालाई एमालेको कारवाही सिफारिस

    माओवादी सरकारमा सामेल ६ मन्त्रीसहित ७ जनालाई एमालेको कारवाही सिफारिस

    कैलाली । माओवादीको सरकारमा सहभागी भएको भन्दै एमाले सुदूरपश्चिम प्रदेश कमिटीले माधव पक्षका ६ मन्त्रीसहित ७ जनालाई कारवाहीको लागि सिफारिस गरेको छ ।

    गत सोमबार स्थायी कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन लिएको थियो । उक्त निर्णयविपरीत सरकारमा सहभागी भएका तीन मन्त्री, तीन राज्यमन्त्री र एक सचेतकलाई कारवाहीको लागि सिफारिस गरिएको प्रदेश कमिटी सचिव राजेन्द्र रावलले बताए ।

    रावलका अनुसार २४ घण्टे स्पष्टीकरणको जवाफ नआएकाले उनीहरूलाई कारवाहीको सिफारिस गरिएको हो ।

    भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउद र आर्थिक मामिला राज्यमन्त्री अर्चना गहतराजलाई कारबाहीका लागि केन्द्रीय कमिटीलाई सिफारिस गरिएको छ । त्यस्तै सचेतक दुर्गा विकलाई पनि कारवाहीको सिफारिस गरिएको रावलले बताए ।

    प्रदेश सरकारमा एमालेले समर्थन फिर्ता लिइसकेपछि एमालेको तर्फबाट ६ मन्त्री नियुक्त भएका थिए ।

  • एमालेको ओली र माधव पक्षीय नेताहरुबीच सिंहदरबारमा वार्ता सुरु

    एमालेको ओली र माधव पक्षीय नेताहरुबीच सिंहदरबारमा वार्ता सुरु

    काठमाडौं । नेकपा एमालेको विवाद मिलाउन दोस्रो तहका नेतासहित प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल वार्तामा बसेका छन् ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा वार्ता जारी छ । वार्तामा ओली पक्षबाट नेताहरू सुवास नेम्वाङ, ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल छन् । त्यस्तै माधव पक्षबाट नेपाल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, गोकर्ण विष्ट र भीम रावल सहभागी छन् । लुम्बिनी प्रदेशका मुख्मन्त्री शंकर पोखरेल पनि भर्खर वार्तामा सहभागी भएका छन् । 

    हिजो बूढानीलकण्ठस्थित व्यापारी रामेश्वर थापाकोमा नेताद्वयबीच भएको ‘वान टू वान’ वार्तामा २०७५ जेठ २ कै वरिपरिको एमाले रहने गरी सहमति खोज्ने र त्यसका लागि कार्यदल बनाउने सहमति भएको थियो ।

    त्यही सहमतिलाई कार्यान्वयन तहमा पुर्‍याउन दोस्रो तहका नेताहरूहरूसहित वार्ता शुरू भएको हो ।

    यो पनि पढ्नुस् :

    एमाले दोस्रो तहका नेतासँगैको वार्ताका लागि माधव पक्ष सिंहदरबारमा

  • ह्वीप उल्लंघनमा एमालेले तत्काल कारवाही नगर्ने, समानुपातिक सांसद पदमुक्त हुनसक्ने

    ह्वीप उल्लंघनमा एमालेले तत्काल कारवाही नगर्ने, समानुपातिक सांसद पदमुक्त हुनसक्ने

    काठमाडौं । नेकपा एमालेले विश्वासको मत दिन अनुपस्थित भएर ह्वीप उल्लंघन गर्ने सांसदहरुलाई तत्कालै कारवाही नगर्ने भएको छ ।

    यद्यपी समानुपातिक सांसदलाई भने कानुन बमोजिम ह्वीप उल्लंघन गरेका कारण पदमुक्त गरेर, बन्दसूचीमा रहेका उम्मेदवारलाई जिताउने बारे नेतृत्व तहमा छलफल भएको छ ।

    एमाले स्रोतका अनुसार ८ जना समानुपातिक सांसदहरु रामकुमारी झाँक्री, कल्याणी खड्का, मुकुन्द न्यौपाने, सरला यादव, पुष्पा कर्ण, कलिला खान, लक्ष्मीकुमारी चौधरी र निरादेवी जैरीलाई ह्वीप उल्लंघनमा पदमुक्त गर्नेबारे छलफल भएको छ ।

    प्रत्यक्ष निर्वाचित २० जनाको हकमा अहिले केही नगर्ने र पार्टी एकताको लागि अझै पनि उनीहरुलाई मौका दिइने केपी ओली निकट नेताहरुले बताएका छन् । तर नेपाल पक्षले एकताका लागि आफ्नो पक्षमा रहेका समानुपातिक सांसदलाई पदमुक्त गर्न नपाइने अडान राख्ने निश्चित छ ।

    विश्वासको मत दिन अनुपस्थित हुनु ह्वीप उल्लंघन भए पनि के कारवाही गर्ने भन्ने बारे अहिले केही भन्न नसकिने संसदीय दलका उपनेता सुवास नेम्वाङले नेपाल प्रेसलाई बताए ।

    एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराई ह्वीप उल्लंघन गम्भीर घटना भएकाले राजनीतिक दल सम्बन्धी ऐन र एमालेको विधान बमोजिम कारवाही हुनसक्ने बताए ।

  • ओलीलाई महन्थले भने- विश्वासको मत दिँदैनौं, तटस्थ रहन्छौं

    ओलीलाई महन्थले भने- विश्वासको मत दिँदैनौं, तटस्थ रहन्छौं

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विश्वासको मत दिन नसक्ने स्पष्ट पारेको छ ।

    वरिष्ठ नेता राजेन्द्र महतोसहित बालुवाटार पुगेका ठाकुरले जसपाका मागहरू पूरा भइनसकेकोले विश्वासको मत दिन नसक्ने बताएका हुन् ।

    ‘हाम्रा मागहरू अझै पूरा भएका छैनन् । माग पूरा नभएको अवस्थामा हामीले तपाईलाई विश्वासको मत दिन सक्दैनौं’, ठाकुरलाई उद्धृत गर्दै स्रोतले भन्यो ।

    भेटमा प्रधानमन्त्री ओलीले जसपाको माग पूरा गर्ने क्रम शुरू भइसकेको र अन्य माग पूरा गर्न पनि सरकार सकारात्मक रहेको बताएका थिए । प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत नदिए पनि विपक्षी गठबन्धनमा सहभागी नहुन आग्रह समेत गरेका छन् ।

  • बालुवाटारमा एमालेका ६ भाइको दुई घण्टा : मध्यविन्दु पहिल्याउने सूत्र

    बालुवाटारमा एमालेका ६ भाइको दुई घण्टा : मध्यविन्दु पहिल्याउने सूत्र

    काठमाडौं । नेकपा (एमाले)का दोस्रो तहका नेताहरुबीचको छलफलमा सहमतिको सूत्र पहिल्याने प्रयास भएको छ । पार्टीको एकता जोगाउने अन्तिम प्रयासस्वरूप प्रधानमन्त्री निवास बालुवाटारमा दोस्रो तहका नेताहरुबीच चलेको छलफल टुंगोमा नपुगे पनि मध्य विन्दु पहिल्याउने सहमति बनेको छ।

    प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव अनुसार नै दुवै पक्षका नेताहरुबीच सहमतिको लागि बुँदागत रुपमा छलफल भएको थियो।

    छलफलमा नेपाल पक्षका नेताहरू घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराई सहभागि थिए भने अध्यक्ष ओलीको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र स्थायी कमिटी सदस्य तथा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल लगायतका नेताहरु थिए।

    छलफलमा दुवै पक्षले आ-आफ्ना अडान भने दोहोर्याएका छन् । छलफलमा नेपाल पक्षले पार्टीलाई जेठ २, २०७५ लाई कुनै न कुनै रुपमा सम्बोधन गनुपर्ने अडान राखेको थियो । पहिले आफूहरुले एजेन्डा बनाएको जेठ २ लाई सम्बोधन गरिसकेपछि २७ माघमा थपिएका माओवादी पक्षका केन्द्रीय सदस्यहरुलाई पनि मान्न सकिने भन्नेमा नेपाल पक्ष लचक भएको छ । केन्द्रका पहिलेका पदाधिकारी यथावत राख्नुपने र आफू पक्षीय जिल्ला अध्यक्षहरुलाई पनि यथावत जिम्मेवारीमा राख्नुपर्ने अडान नेपाल पक्षको छ ।

    ओली पक्ष भने २८ बाट अगाडि बढ्नुपर्ने । महाधिवेशन आयोजक कमिटीमा पहिलेको संरचनालाई परिवर्तन गरिसकेकाले पुनः पदाधिकारी बनाउने भन्दा पनि अन्य जिम्मेवारीमा नेपाल पक्षलाई समेट्न तयार भएको ओली पक्षको भनाइ थियो । त्यस्तै जिल्ला अध्यक्षहरुको हकमा नेपाल पक्षका जिल्ला अध्यहरुलाई एक तह वृद्धि गरेर जिल्ला इन्चार्ज बनाउने, अहिले अध्यक्ष भइसकेकालाई कायम नै राख्ने र दुवै पक्षले बनाएका समानान्तर जिल्ला कमिटीलाई ‘मर्ज’ गरेर जान सकिने विकल्प ओली पक्षले अघि सारेको छ।

    वार्तामा सहभागी एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टीलाई एकताबद्ध बनाउन गम्भीर छलफल भएको र मिलनबिन्दू पहिल्याउन प्रयास जारी रहने बताए ।

    कम्तिमा माथिल्लो तहमा एउटा मध्यविन्दू पहिल्याएपछि अन्य कमिटीहरुको व्यवस्थापन र विवाद समाधानका लागि उच्चस्तरीय कार्यदल बनाउन सकिनेबारे आजको छलफलमा लगभग दोस्रो तहका नेताहरु सहमत भएका छन् ।

    पुस ५ मा नेकपा विभाजनपछि केपी ओली पक्षले देशभर आफ्ना कमिटीहरु बनाइसकेको थियो । प्रचण्ड-माधव पक्षले पनि बनाएका थिए । ओलीले आफूलाई संकटमा साथ दिएका ती कार्यकर्तालाई हटाउन नसकिने बताइरहेका बेला त्यसको लागि कार्यदल बन्न लागेको हो ।

    आजको छलफलबारे दुवै पक्षका शीर्ष नेतालाई ‘ब्रिफिङ’गरेपछि शनिबार पुनः दुवै पक्षका यिनै नेताहरुबीच छलफल हुने बताइएको छ । छलफलमा सुरेन्द्र पाण्डे पनि सहभागी हुने भनिएकोमा विरामी परेर अन्तिममा उनी अनुपस्थित रहेको स्रोतले जनाएको छ ।

    भुसाल, भट्टराई र विष्ट नेपाल समूह भित्र पार्टीलाई मिलाएर लैजानु पर्ने पक्षमा छन् । बीचको मिलनबिन्दू खोजेर भए पनि मिल्नुपर्ने मत उनीहरुको छ । तर, नेता नेपाल र भीम रावल ओलीसँग मिल्ने कुरामा अनुदार छन्।

    बालुवाटारको वार्तापछि भुसाल, भट्टराई र विष्ट पुनः ‘याक एन्ड एती’ होटेलमा छुट्टै छलफलमा बसेका थिए ।

    एमाले जीवनका लागि वैशाख २७ गते महत्वपूर्ण दिन मानिएको छ। उक्त दिन प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदै छन् ।

    एमाले एक रहने वा नरहने भन्ने त्यही दिन तय हुने एमालेकै नेताहरुले बताउने गरेका छन् । त्यसअघि नै पार्टी एकता जोगाउने अन्तिम प्रयास स्वरुप एमालेका दोस्रो तहका नेताहरु सक्रिय भएका हुन् ।

    एमालेको एकता जोगाउन केन्द्रमा अन्तिम पहल भइरहेका बेला जिल्ला संयोजकहरुले पनि पार्टी जोगाउन अपील गर्दै संयुक्त विज्ञप्ति जारी गरेका छन्।

    शुक्रबार पार्टी एकता जोगाउन आग्रह गर्दै एमाले लुम्बिनी र गण्डकी प्रदेश अन्तर्गतका जिल्ला संयोजकहरुले छुट्टाछुट्टै अपील जारी गरे।

    पार्टीभित्र विगत वर्षहरुदेखि आन्तरिक अन्तरविरोधहरु देखा परिरहेको र यसले पार्टीलाई क्षति पुर्याइ रहेको भन्दै उनीहरुले एकतावद्ध एमालेका लागि आग्रह नेताहरुसँग गरेका छन् ।

  • पार्टी जोगाउन एमाले लुम्बिनीका जिल्ला संयोजकहरुको पनि अपील

    पार्टी जोगाउन एमाले लुम्बिनीका जिल्ला संयोजकहरुको पनि अपील

    काठमाडौं । पार्टी एकता जोगाउन आग्रह गर्दै नेकपा (एमाले)ले लुम्बिनी प्रदेश अन्तर्गतका जिल्ला संयोजकहरुले पनि अपील गरेका छन् ।

    पार्टीभित्र विगत वर्षहरुदेखि आन्तरिक अन्तरविरोधहरु देखा परिरहेको र यसले पार्टीलाई क्षति र्पुयाइ रहेको भन्दै उनीहरुले एकतावद्ध एमालेका लागि आग्रह गरको छन्।

    ‘यो अन्तर संघर्षले पार्टीलाई क्षति पुर्याइरहेको हामीले महशुस गरिरहेका छौं,’ संयुक्त वक्तव्यमा भनिएको छ, ‘कम्युनिष्ट पार्टीको इतिहास, आदर्श, मुल्य मान्यता र जनताप्रतिको जवाहदेहितालाई आत्मसाथ गर्दै हाम्रा आदरणीय नेताहरुलाई एकतावद्ध भई नेकपा एमाले पार्टीलाई जोगाउन अनुरोध गर्दछौं।’

    अहिले एकजुट हुन नसके इतिहासले कहिले पनि क्षमा नगर्ने उनीहरुको भनाइ छ । आजै गण्डकी प्रदेश अन्तर्गतका जिल्ला संयोजकहरुले पनि उस्तै आग्रह गरेको संयुक्त वक्तव्य जारी गरेका थिए।

    एमालेको एकता जोगाउन केन्द्रमा अन्तिम पहल भइरहेका बेला जिल्ला अध्यक्षहरुको विज्ञप्ति आएको छ। एमाले जीवनका लागि वैशाख २७ गते महत्वपूर्ण दिन मानिएको छ। उक्त दिन प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदै छन् ।

    एमाले एक रहने वा नरहने भन्ने त्यही दिन तय हुने एमालेकै नेताहरुले बताउने गरेका छन् । एमालेको माधव नेपाल पक्षले विश्वासको मत लिनुअघि नै सामूहिक राजनीनिमा दिएर प्रधानमन्त्रीलाई अप्ठ्यारोमा पार्ने चर्चा चलिरहेका छन् ।

  • एमाले वागमती प्रदेशको मुख्य सचेतकमा निरौला

    एमाले वागमती प्रदेशको मुख्य सचेतकमा निरौला

    हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी एमाले वागमती प्रदेशको मुख्य सचेतकमा दीपक निरौला मनोनीत भएका छन् ।

    तत्कालीन मुख्य सचेतक केशव पाण्डे प्रदेशको आन्तरिक तथा कानून मन्त्री भएपछि रिक्त रहेको सो पदमा निरौलालाई मनोनीत गरिएको हो ।

    दलका नेता एवम् वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले दलको विधान २०७७ को दफा १३ बमोजिम मनोनयन गरेका हुन् । निरौलालाई गत १७ गते मुख्य सचेतकमा नियुक्त गरी आज वागमती प्रदेशसभा सचिवाललाई जानकारी समेत गराइएको छ ।

    काठमाडौं क्षेत्र नम्बर ५ अन्तर्गत निर्वाचित प्रदेशसभा सदस्य निरौला नेकपा एमाले काठमाडौं जिल्ला कमिटी सचिव समेत हुन् ।

  • एमाले जोगाउन महासचिव पोखरेललाई योगेश र गणेश पहाडीको आग्रह

    एमाले जोगाउन महासचिव पोखरेललाई योगेश र गणेश पहाडीको आग्रह

    काठमाडौं । नेकपा एमाले विभाजनको उत्कर्षमा पुगेका बेला महासचिव ईश्वर पोखरेलले माधव नेपाल पक्षका नेता योगेश भट्टराई र गणेश पहाडीसँग छलफल गरेका छन् ।

    सिंहदरवारस्थित उपप्रधानमन्त्री पोखरेलको कार्यकक्षमा बुधबार अपरान्ह भट्टराई र पहाडी छलफलका लागि गएका हुन् । माधव पक्षका प्रत्यक्ष निर्वाचित सांसदहरुले सामुहिक राजिनामा दिएर संसदमा विपक्षको बहुमत पुर्याइदिने चर्चा चलिरहेका बेला नेताहरुबीच छलफल भएको हो ।

    महासचिव पोखरेललाई भेटेर सकेसम्म एमाले विभाजित हुन नदिन अन्तिम प्रयासको पहल गरेको केन्द्रीय सदस्य तथा सांसद गणेश पहाडीले नेपाल प्रेसलाई बताए ।

    व्यक्ति-व्यक्तिलाई भेटेर तान्ने भन्दा पनि माधव नेपाल, झलनाथ खनाल लगायतका नेतासँग कुरा गर्न र नेताहरुबीच कुरा मिलाउन आग्रह गरेको उनले बताए ।

    पहाडीले भने- हामीले महासचिवलाई पार्टी एकताको पहल गर्न र एमाले जोगाउन आग्रह गरेका छौं । उहाँ र अध्यक्ष नै एकताको पक्षमा नरहेको भन्ने चर्चा चले पनि महासचिवमा एकता जोगाउँ भन्ने नै भावना रहेको पाइयो । हामीले प्रयास गर्नुस्,व्यक्तिगत रुपमा हामी एक दुई जनालाई कन्भिन्स गर्नुको अर्थ छैन भन्यौं ।

  • एमाले छाडेका सांसद कांग्रेसमा प्रवेश, माओवादी संसदीय दलका नेताले गरे स्वागत

    एमाले छाडेका सांसद कांग्रेसमा प्रवेश, माओवादी संसदीय दलका नेताले गरे स्वागत

    रुपन्देही । बिहान नेकपा (एमाले)को लुम्बिनी संसदीय दलको बैठकमा सहभागी भएका कपिलवस्तुका सांसद दीर्घनारायण पाण्डेले दिउँसो एमालेमात्रै छाडेनन् सांसद पदबाट पनि राजीनामा दिए । सोमबार राजीनामा स्वीकृत भएपछि उनी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

    कांग्रेसबाट नै राजनीति शुरु गरेका उनी २०७४ सालको निर्वाचनमा टिकट नपाएपछि एमाले प्रवेश गरेर सूर्य चिन्ह लिएर चुनाव जितेका थिए । कपिलवस्तु क्षेत्र नम्बर २ ‘ख’ बाट प्रदेशसभा सदस्यमा उनी निर्वाचित भएका हुन् ।

    आइतबार लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल दोहोरिएपछि असन्तुष्टि जनाउँदै पाण्डेयले राजीनामा दिएका थिए । सोमबार बुटवलमा पत्रकार सम्मेलन गरेरै उनी कांग्रेस प्रवेश गरेको जनाए। उनलाई नेपाली कांग्रेस मात्रै होइन, माओवादी केन्द्रका नेता एवम् विपक्षी गठबन्धनका तर्फबाट मुख्यमन्त्री प्रस्तावित कुलप्रसाद केसीले समेत स्वागत गरे।

    उनलाई जेठ ६ मा हुने राष्ट्रिय सभा सदस्यमा उम्मेदवार बनाइने छ । माओवादीकाबाट राष्ट्रिय सभा सदस्य बनेका अर्घाखाँचीका चन्द्रबहादुर खड्कालाई कारबाही गरेपछि खाली रहेको सो पदमा उपनिर्वाचन हुँदैछ ।

    उपनिर्वाचनमा उनलाई विपक्षी गठबन्धनबाट साझा उम्मेदवार बनाउने सहमति भएको कांग्रेसका प्रमुख सचेतक फकरूद्दिन खानले बताए ।

  • माओवादी छाडेर एमाले प्रवेश गरेकालाई लुम्बिनीमा महत्वपूर्ण जिम्मेवारी

    माओवादी छाडेर एमाले प्रवेश गरेकालाई लुम्बिनीमा महत्वपूर्ण जिम्मेवारी

    रुपन्देही । नेकपा एमालेले लुम्बिनी प्रदेशबाट माओवादी केन्द्र छाडेर आएका करिब आधा दर्जन नेताहरूलाई पार्टीको महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको छ ।

    लामो समय माओवादी पार्टीमा काम गरेका यी नेताहरूलाई लुम्बिनी प्रदेशमा एमालेले सम्मानजनक जिम्मेवारी दिएको हो ।

    आफ्नै पार्टीमा माधव नेपाल समूहले केही जिल्लामा समानान्तर कमिटी गठन गरेको र माओवादी केन्द्रले पार्टी छाडेर एमालेमा गएका नेताहरुलाई बढी आलोचनाको विषय बनाएकाले पहिलेदेखि नै अग्रपंक्तिमा रहेर काम गरेका नेताहरुलाई यस्तो जिम्मेवारी दिइएको एमाले केन्द्रीय प्रचार विभागका सदस्य डिआर घिमिरेको विश्लेषण छ ।

    यसरी जिम्मेवारी पाउनेहरू धेरै एमालेमा लागेकै कारण माओवादी केन्द्रले कारवाही गरी संघीय, राष्ट्रिय सभा तथा लुम्बिनी प्रदेशबाट पदमुक्त भएका छन् । उनीहरूले पदभन्दा पनि नेकपा एमालेलाई आफ्नो जिम्मेवारी रोजेका कारण पार्टीले विशेष जिम्मेवारी दिएको हुनसक्ने घिमिरेको अनुमान छ ।

    एमालेले अर्घाखाँचीबाट प्रतिनिधि सभामा निर्वाचित हाल सो पदमुक्त भएका ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई पार्टीको महत्वपूर्ण मानिने मोर्चा संगठनको इन्चार्ज बनाइएको छ भने खानेपानी मन्त्री समेत रहेका प्युठानका पुराना नेता मणिचन्द्र थापालाई लुम्बिनी प्रदेशको सह-इन्चार्ज र खानेपानी तथा सरसफाइ विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।

    त्यसैगरी कपिलवस्तुका पुराना नेता गिरिधारीलाल न्यौपानेलाई लुम्बिनी प्रदेशको सह-इन्चार्ज, रुपन्देहीबाट लुम्बिनी प्रदेशसभामा निर्वाचित भई हाल पदमुक्त भएका नेता दधिराम न्यौपानेलाई रुपन्देहीको इन्चार्ज, अर्घाखाँचीबाट राष्ट्रिय सभा सदस्य भई हाल पदमुक्त भएका नेता चन्द्रबहादुर खड्कालाई अर्घाखाँची इन्चार्ज, गुल्मीबाट लुम्बिनी प्रदेश सभा सदस्य भई हाल पदमुक्त भएका दिनेश पन्थीलाई गुल्मी इन्चार्ज र नविन रोकालाई रोल्पाको इन्चार्ज बनाइएको छ ।

    अन्य पार्टी छोडेर आउनेहरूलाई विगतमा यति महत्वपूर्ण जिम्मेवारी दिने प्रचलन नभए पनि यसपटक एमालेले माओवादी केन्द्र छोडेर एमाले प्रवेश गर्नेहरूलाई महत्वपूर्ण भूमिकासहितको जिम्मेवारी दिइएको एमाले केन्द्रीय विज्ञान प्रविधि विभागका सदस्य बसन्तराज खनाल बताउँछन् ।

  • वामदेव भन्छन्- स्थायी कमिटीमा ल्याउन मसँग सल्लाह भएको छैन

    वामदेव भन्छन्- स्थायी कमिटीमा ल्याउन मसँग सल्लाह भएको छैन

    काठमाडौं । नेकपा एमालेका तत्कालीन उपाध्यक्ष वामदेव गौतमले १० औं महाधिवेशन आयोजक कमिटी बैठकले गरेका निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।

    दुई दिनसम्म चलेर शुक्रबार सकिएको १० औं महाधिवेशन आयोजक कमिटी बैठकले १९ सदस्यीय स्थायी कमिटी गठन गरेको थियो । जसमा गौतमलाई स्थायी कमिटीमा राखिएको छ भने अन्य जिम्मेवारी दिइएको छैन्।

    गौतमले आफूलाई स्थायी कमिटीमा राखेको जानकारी नभएको भन्दै आफू महाधिवशेनबाट निर्वाचित आधिकारिक उपाध्यक्ष भएको बताएका छन्। ‘आज बनाएको स्थायी कमिटीबारे मलाई जानकारी छैन्,’ गौतमको भनाइ उद्धृत गर्दै उनका प्रेस संयोजक विश्वमणि सुवेदीले नेपाल प्रेससँग भने, ‘मसँग सल्लाह गरेर पनि बनाएको होइन । म महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष हुँ । त्यसलै यो राख्ने, हटाउने भन्ने कुरा ठीक होइन् ।’

    एमाले अध्यक्ष केपी शर्मा ओली र गौतमबीच विहीबार बालुवाटारमा डिनर बैठक वार्ता भएको थियो। उक्त वार्तामा ओलीले गौतमलाई आजको बैठकमा सहभागि हुन आग्रह गरेका थिए।

    गौतमले फागुन २८ गतेको निर्णय फिर्ता लिन आफूले गरेको आग्रह अध्यक्ष ओलीले अश्वीकार गरेपछि बालुवाटारबाट हिँडेको बताएका थिए। उनी आजको बैठकमा सहभागि भएनन्।

    गौतम नेकपा विभाजन कालदेखिनै ओली र प्रचण्डमाधव दुवै पक्षमा नलागी अलग अभियान चलाइरहेका छन् । पछिल्लो समय एमाले पुनःस्थापनापछि पनि गौतम कुनै पक्षमा छैनन् ।

  • राप्रपाका तीन नेता एमालेमा प्रवेश

    राप्रपाका तीन नेता एमालेमा प्रवेश

    काठमामडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व केन्द्रीय सदस्य रहेका लुम्बिनी प्रदेशका तीन जना नेताहरु बुधबार नेकपा एमालेमा प्रवेश गरेका छन् ।

    एमाले प्रवेश गर्नेहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवं रुपन्देहीका नेता राजेन्द्र पाण्डे, अर्घाखाँचीका नेता एवं केन्द्रीय सदस्य नारायण आचार्य तथा रुपन्देहीकै अर्का नेता एवं केन्द्रीय सदस्य नवीन पौडेल छन् ।

    तीन जना नेताहरुलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानी मन्त्री मणिराज थापाले पार्टीमा स्वागत गरे । सो अवसरमा प्रधानमन्त्री ओलीले तीन जना नेताहरुले नेकपा एमालेको सांगठनिक जीवनमा उल्लेख्य भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

  • सांसद ओलीको स्पष्टीकरण- झुक्किएर दिएको विश्वासको मत सच्याएँ, एमालेको निर्देशन मान्छु

    सांसद ओलीको स्पष्टीकरण- झुक्किएर दिएको विश्वासको मत सच्याएँ, एमालेको निर्देशन मान्छु

    सुर्खेत । कर्णाली प्रदेशसभाकी एमाले सांसद देवी ओलीले प्रदेशसभामा गत वैशाख ३ गते भएको मतदानका क्रममा झुक्किएर मुख्यमन्त्री महेन्द्रवहादुर शाहीलाई मत दिए पनि तत्कालै सच्याएको प्रष्टीकरण दिएकी छन् ।

    प्रदेशसभा संसदीय दलका नेता यमलाल कँडेललाई बुझाएको स्पष्टिकरणमा सांसद ओलीले आफू नेकपा एमालेको नीति, निर्णय र ह्वीप पालना गर्न प्रतिबद्ध रहेको समेत प्रष्ट पारेकी छिन् ।

    ओलीले शुरूमा विश्वास दिए पनि सभामुखले मत सच्याउन दिएको समयमा मत सच्याएर विपक्षमा मतदान गरेकी थिइन् ।

    एमालेले भने फ्लोर क्रस गर्ने सांसदको संख्या पुगेर शाही सरकार जोगिएपछि ओलीले योजनाबद्ध रुपमा मत सच्याएको ठहर गरेको छ ।

    उनलाई पार्टी केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष केपी शर्मा ओलीले समेत स्पष्टीकरण सोधेर मंगलवारै पत्र पठाइसकेका छन् । रुकुमबाट समानुपातिक तर्फ निर्वाचित सांसद ओलीले आफूले तत्कालै सोही दिन पनि मौखिक स्पष्टिकरण दिएको बताएकी छन् ।

  • एमाले नेताको हैसियतमा बादल पुनः गृहमन्त्री, आजै साँझ सपथग्रहण

    एमाले नेताको हैसियतमा बादल पुनः गृहमन्त्री, आजै साँझ सपथग्रहण

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामवहादुर थापा बादललाई गृहमन्त्रीमै पुनःनियुक्ति गर्ने भएका छन् ।
    छन् ।

    बादलको आजै साँझ ५ बजे राष्ट्रपति भवनमा सपथग्रहण हुने भएको छ । आजै सपथग्रहणको समय तय भइसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेपाल प्रेसलाई जानकारी दिए ।

    नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका बादल एमालेमा लागेपछि उनको पद रिक्त गराउन माओवादीले लिखित पत्र दिएको थियो । संसद सचिवालयले आज विहान बादलको पद रिक्त भएको सूचनामार्फत जानकारी गराएको छ ।

    यसअघि माओवादीले प्रतिनिधिसभाका चारजना सदस्य एमाले प्रवेश गरेपछि उनीहरुको पद रिक्त गराइसकेको छ । त्यस्तै एमाले प्रवेश गरेका प्रदेसशभा सदस्यहरुको पद पनि रिक्त गराइएको छ ।

  • फ्लोर क्रस गर्ने एमाले सांसद भन्छन्ः मन्त्री बन्नलाई होइन !

    फ्लोर क्रस गर्ने एमाले सांसद भन्छन्ः मन्त्री बन्नलाई होइन !

    काठमाडौं । चार एमाले सांसदहरुले पार्टीको ह्वीप उल्लंघन गर्दै सरकारलाई विश्वासको मत दिएपछि कर्णालीमा महेन्द्रबहादुर शाहीको सरकार जोगिएको छ । फ्लोर क्रस गर्ने चारै जना सांसद एमालेको माधव नेपाल समूहका हुन् ।

    सरकार जोगाइदिएपछि नेपाल प्रेससँग प्रतिक्रिया दिँदै फ्लोर क्रस गर्नेमध्येका एक सांसदले पार्टीबाट कारवाही भोग्न तयार रहेको बताए ।

    विगतमा संविधानसभा सदस्य समेत रहेका सांसद अम्बरबहादुर थापाले भने, ‘कारवाही हुन्छ भन्ने थाहा हुँदाहुँदै ह्वीप उल्लंघन गरेको हुँ । देशको कानून बनाउने पनि मै हुँ ।’आफूले एमालेलाई धोका नदिएको उनले बताए ।

    ‘एमालेलाई केपी ओलीले धोका दिएका हुन्, मैले होइन,’ थापाले भने । संसदीय दलका नेता यामलाल कँडेललाई आफूले सँधै सहयोग गरेको तर उनले कहिल्यै आफूलाई ‘सहयोग’ नगरेको गुनासो थापाको छ ।

    मन्त्री बनाउने शर्तमा सरकारलाई विश्वासको मत दिनुभएको हो भन्ने प्रश्नमा उनले भने, ‘होइन, मलाई मन्त्री बन्नु छैन । सक्रिय राजनीति नै गरिन्छ ।’

  • संसदीय समितिमा नेकपा हुन बाध्य बनाउन खोजेको भन्दै एमालेको विरोध

    संसदीय समितिमा नेकपा हुन बाध्य बनाउन खोजेको भन्दै एमालेको विरोध

    काठमाडौं । संसदीय समितिमा सर्वोच्च अदालतले अबैध घोषणा गरेको नेकपा अनुसारै प्रतिनिधित्व गराउन खोजेको भन्दै एमालेले विरोध जनाएको छ।

    प्रनितिधिसभाको बिहीबारको बैठकको शुरुमै एमाले सांसद खगराज अधिकारीले यसप्रति विरोध जनाए। ‘नेकपा एमाले संसदीय समितिमा एमाले भएर बस्न चाहान्छ,’ अधिकारीले भने, ‘सहमति भनेको सत्ता पक्ष भनेर बाध्य पारेर नेकपा हुनै पर्छ भनेर हुँदैन । संसदको समितिमा एमालेको प्रतिनिधित्व त्यही अनुसार हुन जरुरी छ ।’

    परिवर्तित अवस्था अनुसार संसदीय समिति सदस्यमा चाँडै हेरफेर नगरे संसदीय समिति बैठक र संसदीय कारबाहीमा भाग नलिने चेतावनी अधिकारीले दिए।

    सर्वोच्च अदालतले तत्कालीन नेकपाको एकता खारेज गरिदिएसँगै संसदमा प्रतिनिधित्व गर्ने दलको अवस्थामा परिर्वतन आएपछि संसदी समितिमा पनि हेरफेर गर्न छलफल शुरु भएको छ।

    यसलाई एजेडन्डा बनाएर प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिमा बिहान ११ बजे बैठक बसेको थियो । यसबारे बैकमा आज कुनै सहमति हुन सकेन।

    नेकपा एमालेले संसदीय समितिमा रहेका सांसद हेरफेरका लागि सभामुख अग्निप्रसाद सापकोटासँग आग्रह गरिसकेको छ। आफू संसदको ठूलो दल भएको भन्दै त्यसै अनुसार सदस्य हेरफेर गरिदिन एमालेले आग्रह गरेको हो।

    संविधानको धारा ९७ ले विषयगत समिति गठनको व्यवस्था गरेको छ। समितिमा सदस्यको मनोनयन गर्दा सदनमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सदस्य संख्या र समानुपातिक प्रतिनिधित्वका आधारमा सदस्य निर्धारण गरिन्छ।

    प्रतिनिधिसभा र राष्ट्रियसभामा १६ समिति छन्। जसमध्ये दुई संयुक्त समिति छन्।

  • एमाले प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज गर्न संसद सचिवालयमा माओवादीको पत्र

    एमाले प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज गर्न संसद सचिवालयमा माओवादीको पत्र

    काठमाडौं । नेकपा माओवादी केन्द्रले एमालेमा गएका आफ्ना चार संसदलाई कारबाही गरेको छ। प्रतिनिधिसभा सदस्य रहेका चार जनालाई कारबाहीको पत्र सचिवालयमा दर्ता भएको संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले नेपाल प्रेसलाई जानकारी दिए।

    माओवादी केन्द्रले टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभू साह, र गौरीशंकर चौधरीलाई पार्टीबाट कारबाही गर्दै संसद पद निलम्बन गर्न संसद सचिवालयमा पत्र पठाएको हो।

    उर्जामन्त्री रहेका रायमाझी अर्घाखाँची-१, उद्योगमन्त्री रहेका भट्ट कैलाली-४, शहरी विकासमन्त्री रहेका साह रौतहट-३ र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रहेका चौधरी कैलाली-३ बाट निर्वाचित भएका थिए।

  • यी हुन् बागमतीका माधव पक्षीय एमालेका जिल्ला पदाधिकारी र इन्चार्ज (सूचीसहित)

    यी हुन् बागमतीका माधव पक्षीय एमालेका जिल्ला पदाधिकारी र इन्चार्ज (सूचीसहित)

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले बागमती प्रदेशका सबै जिल्लामा पदाधिकारीसहितको नयाँ कमिटी पुनर्गठन गरेको छ ।

    २०७५ जेठ २ अघिको एमालेकालका अध्यक्षहरुलाई कायमै राखिएको छ भने अध्यक्ष आफ्नो पक्षका नभएका ठाउँमा नयाँलाई ल्याइएको छ ।

    मंगलबार काठमाडौंमा भएको भेलाले जिल्ला कमिटीका पदाधिकारी र जिल्ला इन्चार्जहरु तोकेको केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले नेपाल प्रेसलाई जानकारी दिए ।

    प्रदेशका सबै जिल्लामा इन्चार्ज सहइन्चार्ज र केन्द्रीय प्रतिनिधिहरु समेत तोकिएको छ । चाँडै नै नेपाल पक्षीय बैठकका निर्णयहरु अन्तरपार्टी निर्देशनमार्फत तलसम्म पठाइने माधव नेपालले सो बैठकमा बताएका छन् ।

  • प्रचण्डको माग अस्वीकार, एमाले-माओवादी ब्युँताउने फैसलामा पुनरावलोकन नहुने

    प्रचण्डको माग अस्वीकार, एमाले-माओवादी ब्युँताउने फैसलामा पुनरावलोकन नहुने

    काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता बदर गर्ने सर्वोच्च अदालतको आदेशमा पुनरावलोकन नहुने भएको छ ।

    माओवादी अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतमा दिएको पुनरावलोकन सम्बन्धी मुद्धामा अनुमति नहुने आदेश दिइएको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको पूर्ण इजलासले पुनरावलोकन नगर्ने आदेश दिएको हो ।

    इजलासमा न्यायाधीशद्धय तेजवहादुर केसी र प्रकाश ढुंगाना थिए ।

    फागुन २३ गते न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले नेकपा ऋषि कट्टेलको हुने ठहर गर्दै साबिक नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई १५ दिनभित्र अर्को नाम लिएर निर्वाचन आयोगमा जान वा साबिककै एमाले र माओवादीमा फर्किन भनेको थियो ।

    सर्वोच्चको सो फैसलाबाट मर्माहत बनेका प्रचण्ड र माधवकुमार नेपालबीच सल्लाह भएरै बरिष्ठ अधिवक्ता शम्भु थापाले न्यायिक पुनरावलोकनका लागि प्रचण्डलाई सहयोग गरेका थिए ।

    पुनरावलोकनमा जानुअघि कोटेश्वरका ब्यापारीको घरमा लगातार तीन दिन प्रचण्ड र माधव नेपालबीच छलफल भएको थियो । प्रचण्ड मंगलवार न्यायिक पुनरावलोकनको निवेदन लिएर अदालत गएका थिए ।

    उनले सोही दिन साबिक एमालेको बहुमत माधव नेपाल र झलनाथ खनालको समेत सहमतिमा आफू पुनरावलोकनमा गएको भन्दै यसलाई सर्वोच्चले ध्यान दिनुपर्ने बताएका थिए ।

    पूर्ण इजलासले पुनरावलोकन नहुने फैसला गरेसँगै अब नेपाल कम्युनिस्ट पार्टी (इतिहास) बनेको छ । अदालतले पुनः नेकपामा फर्काउँछ र केपी ओलीलाई सत्ता र पार्टीबाट सधैंका लागि हटाउछौं भन्ने प्रचण्ड–माधवको अन्तिम अभिलाशा पूरा नहुने भएको छ ।

  • एमाले प्रवास कमिटीको अध्यक्षमा गुरुङ, सचिवको जिम्मेवारी पाण्डेलाई

    एमाले प्रवास कमिटीको अध्यक्षमा गुरुङ, सचिवको जिम्मेवारी पाण्डेलाई

    काठमाडौं । नेकपा एमालेले प्रवास कमिटीको अध्यक्षमा भक्त गुरुङ र सचिवमा रमेश पाण्डेलाई जिम्मेवारी दिएको छ ।

    हालै बसेको केन्द्रीय कमिटी बैठकले भारतबाहेक सिंगो प्रवासको कामलाई व्यवस्थित गर्न गुरुङ र पाण्डेको नेतृत्वमा नयाँ कमिटी गठन गरेको हो ।

    गुरुङ प्रवासी नेपाली संघ बेलायतका अध्यक्ष हुन् भने पाण्डे अष्ट्रेलियाका अध्यक्ष हुन् । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको उपाध्यक्षबाटका बिदा भएका गुरुङ पछिल्ला वर्ष बेलायतमा बसोबास गर्छन् ।

    गुरुङ देशकै ठूलो पृथ्वीनारायण क्याम्पस पोखराको पूर्व स्ववियु सभापति पनि हुन् । नेकपा विभाजनपछि तत्कालिन केपी ओली पक्षले गुरुङलाई बेलायतको अध्यक्ष बनाएको थियो भने पाण्डेलाई अष्ट्रेलियाको जिम्मा दिएको थियो ।

    अध्यक्षको जिम्मेवारी पाएपछि गुरुङले प्रवाशमा रहेका नेपालीहरुले आर्जन गरेको सिप, ज्ञान र पुँजीलाई ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानमा संगठित रुपले जोड्ने बताएका छन् ।

    अध्यक्ष गुरुङले ‘हाम्रो एनआरएन, शुद्ध परादर्शी, जिम्मेवार र प्रभावकारी एनआरएन’ बनाउन मद्दत गर्ने बताएका छन् ।

  • माधव पक्षधर एमालेको बैठक जारी, साबिक नेकपामै फर्किन पौडेलको लिखित प्रस्ताव

    माधव पक्षधर एमालेको बैठक जारी, साबिक नेकपामै फर्किन पौडेलको लिखित प्रस्ताव

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरुको बैठक आज पनि जारी रहेको छ । एमालेमै बसेर संघर्ष गर्ने कि अलग पार्टी गठन गरेर माओवादी केन्द्रसँग एकीकरणमा जाने भन्ने विषयमा सदस्यहरुको फरक फरक राय आएको बैठकका एक सहभागीले बताएका छन् ।

    कलंकीस्थित मेगा पार्टी प्यालेसमा जारी बैठकमा केन्द्रीय सदस्य डा. विजय पौडेलले लिखित प्रस्ताव पेश गर्दै कुनै पनि हालतमा केपी ओलीको नेतृत्व स्वीकार गरेर, सानातिना शर्त राखेर बस्न नहुने बताएका छन् । उनले चाँडो साबिक नेकपाकै संरचनाहरुमा फिर्ता हुनपर्ने मत राखेका छन् ।

    पौडेलले भनेका छन्- हामीभित्रको यौटा प्रवृति देखेर म धेरै दुःखी भएको छु । कमरेडहरू एकताको लागि चिन्तित हुनुहुन्छ । यो राम्रो कुरा हो तर बनिसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता जोगाउन विल्कुलै चिन्तित नहुने तर प्रतिगमनकारी भनेर आफैंले त्यति ठूलो संघर्ष गरेको प्रवृति संग झिना-मसिना शर्त राखेर एकता गर्न तयार हुने प्रवृति आफैंमा पश्चगामी दिशातिर अभिमुख छ । यसो नगरौं, सही बाटो रोजौं । त्यो भनेको नाम जेसुकै होस्, बनिसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सांगठनिक संरचनामा फर्कौं । अनि बाँकी अरु कम्युनिस्ट घटकसँग पनि एकताका लागि पहल गरौं ।

    माधव नेपाल र झलनाथ खनालसहितका नेताहरु सहभागी बैठकमा २०७५ जेठ २ गतेको अवस्थामा फर्किए मिल्न सकिने, नत्र समस्या हुने आम राय आएको केन्द्रीय सदस्य देवशंकर पौडेलले बताए । पार्टी विभाजन गर्ने कि भित्रै बस्ने भन्नेमा ठूलो मतान्तर नरहेको उनको भनाइ छ ।

    शुक्रवार बसेको माधव पक्षधर बैठकले एमालेमै बसेर संघर्ष गर्ने भन्दै संसदीय दलको बैठकमा भाग लिने निर्णय गरेको थियो । अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल र भीम रावलको स्पष्टिकरण नकारात्मक ढंगले आएको भन्दै कारवाहीको भागिदार हुने बताएको सन्दर्भमा बैठकमा थप कदमबारे छलफल भइरहेको छ ।

  • माधव नेपालको स्पष्टीकरण-१३ बुँदामा ओलीलाई प्रतिप्रश्न (पत्रसहित)

    माधव नेपालको स्पष्टीकरण-१३ बुँदामा ओलीलाई प्रतिप्रश्न (पत्रसहित)

    काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन्।

    उनले पठाएको स्पष्टीकरण पत्र बालुवाटारमा पुगेको छ।

    नेता नेपालले पार्टीले स्पष्टीकरणमा सोधेका प्रश्नको जवाफ नदिइ उल्टै अध्यक्ष केपी शर्मा ओलीलीलाई प्रतिप्रश्न गरेका छन् ।

    नेता नेपालले १३ बुँदामा अध्यक्ष ओलीमाथि विभिन्न आरोप लगाउँदै स्पष्ट पार्न माग गरेका छन्।

    नेता नेपालले बुझाएको स्पष्टीकरणमा सर्वोच्चको फैसला विपरित फागुन २८ मा बैठक राखेर पार्टी विभाजनको दुराशय राखेको आरोप लगाइएको छ।

    ‘नेकपा एमाले पुनःस्थापित भएपछि म समेत नेकपा एमाले र देश तथा जनताको उज्यालो भविष्य चाहने नेता र कार्यकर्ताहरुबाट तपाईं समेतका नेताहरुसंग विगतको तथ्यसंगत समीक्षा गर्दै कमी कमजोरी सच्च्याउँदै पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउन गरिएको आग्रहलाई किन अस्वीकार गर्नुभयो ?’

    प्रतिप्रश्न गर्दै भनिएको छ, ‘त्यस्तै यही चैत्र २ गते नेकपा एमाले, केन्द्रीय कार्यालय, धुम्बाराहीमा तपाईं समेत तपाईं निकटका नेताहरुसंग भएको म समेत सहभागी छलफलमा पार्टी एकता र मेलमिलाप कायम गर्दै विगतका कमी कमजोरी हटाएर सशक्त नेकपा एमाले निर्माण गर्न सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्दै पार्टी तथा जनसंगठनहरुको संरचना पार्टी एकीकरण पूर्वको स्थितिमा रहेको स्वीकार गरौं र तपाईबाट फागुन २८ गते अवैधानिक रुपमा गरिएको निर्णय बदर गरौं भन्दा तपाईंले किन मान्नु भएन ? यसको तात्पर्य तपाईमा पार्टी विभाजनको दुराशय रहेको देखियो किन नभन्ने ?’

    स्पष्टीकरणको अन्तिममा पार्टीले स्पष्टीकरण गर्दा उल्लेख गरेका पार्टी विधानको धारा उल्लेख गर्दै अध्यक्षको गतिविधि कार्वाई गरिनुपर्ने प्रकृतिका रहेको उल्लेख गरिएको छ।

    भनिएको छ, ‘तपाईले गर्नुभएका उक्त गतिविधिहरु नेकपा एमाले को नवौं राष्ट्रिय महाधिवेशनबाट पारित विधानको अध्याय सातका विभिन्न धारामा स्थापित मान्यताका विपरीत हुनुका साथै धारा ४९ को १, २, ३, ४, ५, ६, ७, ९ र १४ आकर्षित हुनेभई कार्वाई गरिनुपर्ने प्रकृतिका रहेको देखिन्छ।

  • एमालेले माग्यो स्पष्टीकरण : रावलले नुबझेपछि लेटर बक्समा, घनश्यामको स्वीच अफ

    एमालेले माग्यो स्पष्टीकरण : रावलले नुबझेपछि लेटर बक्समा, घनश्यामको स्वीच अफ

    काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टीकरण मागेको छ । पार्टी केन्द्रीय कार्यालयबाट गएका कर्मचारीले खामबन्दी स्पष्टीकरणपत्र बुझाएका हुन् ।

    एमाले स्रोतका अनुसार वरिष्ठ नेता नेपालका स्वकीय सचिव नितेज पौडेलले पत्र बुझेका छन् । त्यस्तै सुरेन्द्र पाण्डेका स्वकीय सचिव सन्जिव पाण्डेलाई पत्र बुझाइएको छ ।

    अर्का नेता भीम रावलले भने स्पष्टीकरणपत्र बुझ्न अश्वीकार गरेका छन् । गेटबाट भित्र छिर्न नदिएपछि कर्मचारीले टोखास्थित कोलोनीको सी १४ नम्बर घरको लेटर बक्समा पत्र छिराएर फर्किएका छन् ।

    घनश्याम भुसालको भने मोबाइल स्वीच अफ रहेकाले उनको पत्र बुझाउन बाँकी रहेको एमाले कार्यालय स्रोतले जनाएको छ ।

    शनिवार सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले पार्टीविरुद्ध गुटबन्दी गरेको,समानान्तर कमिटीहरु बनाउन थालेको र पार्टी तथा सरकारविरुद्ध षड्यन्त्र गरेको भन्दै चार नेतासँग स्पष्टीकरण लिने निर्णय गरेको थियो ।

    स्पष्टिकरणपत्रमा ती अभियोगमाथि चित्त बुझ्दो स्पष्टीकरण तीन दिनभित्र पेश गर्न भनिएको छ । महासचिव ईश्वर पोखरेलले हस्ताक्षर गरेको पत्रमा तीन दिनभित्र चित्त बुझ्ने जवाफ नआएमा कारवाही किन नगर्ने भन्ने व्यहोरा उल्लेख रहेको स्रोतले जनाएको छ ।

  • एमालेले बैशाख ९ गते पार्टी कार्यालय शिलान्यास गर्ने

    एमालेले बैशाख ९ गते पार्टी कार्यालय शिलान्यास गर्ने

    काठमाडौं । नेकपा एमालेले बैशाख ९ गतेको दिन मदननगर बल्खुमा पार्टी कार्यालयको शिलान्यास गर्ने भएको छ ।

    पार्टीको बालुवाटारमा जारी केन्द्रीय समिति वैठकले सो निर्णय गरेको हो । पार्टी कार्यालयको शिलान्यासको व्यवस्थापन महासचिव ईश्वर पोखरेलको नेतृत्वमा सचिवालयले गर्ने छ ।

    वैठकले पार्टीको स्थायी कमिटीको पुनर्गठनका लागि अध्यक्ष र महासचिवलाई जिम्मेवारी दिएको छ ।

  • एमाले बनेका कर्णालीका सांसद विष्ट माओवादीमै फर्किए

    एमाले बनेका कर्णालीका सांसद विष्ट माओवादीमै फर्किए

    सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी माओवादीका तर्फबाट कर्णाली प्रदेशसभामा सुर्खेतबाट निर्वाचित सांसद ठम्मर विष्ट फेरि नेकपा माओवादी केन्द्रमै फर्किएका छन् ।

    दुई दिनअघिमात्रै नेकपा एमालेको केन्द्रीय सदस्य भएका सांसद विष्ट ४८ घण्टामै फेरि माओवादी केन्द्रमै फर्किएका हुन् ।

    आइतबार सांसद विष्ट अध्यक्ष प्रचण्डसँगको वार्तापश्चात पार्टीमा फर्किएको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मायाप्रसाद शर्मा ‘पारसमणि’ ले नेपाल प्रेसलाई बताए ।

    ‘हामीले उहाँसँग विभिन्न वैचारिक र सैद्धान्तिक बहस गरेका थियौं । त्यो बहसका आधारमा उहाँ नेकपा माओवादी केन्द्रमा आजै फर्किनुभएको छ । अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत पनि गर्नुभएको हो ’, शर्माले भने ।

    पदको लोभमा फर्किएको भन्ने टिप्पणीबारे शर्माले भने, ‘उहाँलाई मन्त्री बनाउने या अन्य पद दिने भन्नेबारेमा केही सहमति भएको छैन । उहाँ आफै माओवादी आन्दोलनको जिम्मेवार नेता भएका कारण आत्मालोचना गरेर फर्किनुभएको हो ।’

    विष्ट गत असोज २५ गते मुख्यमन्त्री महेन्द्र शाहीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेमध्येका एक हुन् । उनले केही समयपछि उक्त हस्ताक्षर फिर्ता लिएको सामाजिक सञ्जालमा लेखेका थिए ।

    मुख्यमन्त्री शाहीले एमालेमा प्रवेश गरेका सांसदहरूलाई कारबाही गर्ने भनेका थिए ।