Tag: एमसीसी

  • एमसीसीलाई गठबन्धन दलहरुले सरकारमा बसिराख्ने अस्त्रको रुपमा प्रयोग गरेको लिङदेनको आरोप

    एमसीसीलाई गठबन्धन दलहरुले सरकारमा बसिराख्ने अस्त्रको रुपमा प्रयोग गरेको लिङदेनको आरोप

    सुर्खेत। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधि सभाबाट एमसीसी पारित गर्दा गरिएको ब्याख्यात्माक टिप्पणीलाई लाज ढाग्ने टालो भएको बताएका छन् ।

    शनिबार सुर्खेतमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न जिल्ला आएका अध्यक्ष लिङदेनले राजनीतिक दलहरुले एमसीसी पारित गर्दा गरेको ब्याख्यात्माक टिप्पणीलाई लाज ढाक्ने टालो भएको बताएका हुन् ।

    उनले एमसीसीलाई गठबन्धन दलहरुले सरकारमा बसिराख्ने अस्त्रको रुपमा प्रयोग गरेको आरोपसमेत लगाए । ‘देशका प्रमुख राजनीतिक दलहरुले वैदेशिक सम्बन्धलाई सत्ता आरोहरणको सिँढीको रुपमा प्रयोग गर्ने चेष्टा गरेका छन् ’, उनले भने, ‘यस्तो आलोकाँचो व्यवहारले नेपाल शक्ति राष्ट्रहरुको रणनीतिक प्रतिस्पर्धास्थलमा परिणत भएको छ ।’

  • एमसीसीविरोधी नेता संगठित हुँदै, झलनाथदेखि विप्लवसम्मले एउटै मञ्चबाट सम्बोधन गर्ने

    एमसीसीविरोधी नेता संगठित हुँदै, झलनाथदेखि विप्लवसम्मले एउटै मञ्चबाट सम्बोधन गर्ने

    काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन भएको विरोधमा यसअघिदेखि नै आन्दोलित भएका साना कम्युनिष्ट पार्टी र मोर्चाले शुक्रबार जनसभामा गर्ने भएका छन् ।

    खुल्लामञ्चमा हुने सभामा आन्दोलित साना वाम दलका साथै सत्ता गठबन्धनमा रहेका एमसीसीविरोधी नेताहरूले समेत सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

    सभालाई पूर्वप्रधानमन्त्री एवम एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र एमाले नेता भीम रावलले पनि सम्बोधन गर्ने भएका हुन् ।

    त्यस्तै हालै सत्ता गठबन्धनबाट बाहिरिएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य, आहुतीलगायतका नेताहरू पनि जनसभाका प्रमुख वक्तामा छन् ।

  • एमसीसीले टारेको गम्भीर राजनीतिक दुर्घटना

    एमसीसीले टारेको गम्भीर राजनीतिक दुर्घटना

    संसद बैठकबाट अमेरिकी सहायता परियोजना एमसीसी पारित भएको छ । यससँगै विभिन्न खाले प्रतिक्रियाहरु आइरहेका छन् । र यसको नालीबेली क्रमशः प्रकट हुँदैछ । अहिले आवेगमा कुनै प्रतिक्रिया जनाउनुअघि यसको इतिहासबारे बुझ्न जरुरी छ ।

    डा. बाबुराम भट्टराई माओवादीबाट प्रधानमन्त्री हुँदा पार्टीलाई कुनै जानकारी नै नदिइ उनले एमसीसी ल्याउने औपचारिक पहल गरेका थिए । जसका शर्तहरू के थिए भन्ने उनलाई मात्र थाहा थियो । सम्झौता सार्वजनिक भएपछि थाहा भयो कि त्यसमा नेपालको कानूनले बर्जित गरेका घातक शर्तहरू थिए ।

    ती घातक शर्तहरूलाई अझ नेपालको संसदले नै पारित गर्नुपर्ने अमेरिकी अडानलाई केपी शर्मा ओली पछिल्लोपटक प्रधानमन्त्री हुँदा उनका अर्थमन्त्री युवराज खतिवडाले सहर्ष स्वीकार गरे । ओलीका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले झन् यसलाई अमेरिकी सामरिक स्वार्थ जोडिएको इन्डोप्यासिफिकको अंगका रुपमा नै स्वीकार्ने सहमतिमा हस्ताक्षर गरे ।

    नेपाली कांग्रेस त उदार पुँजी पक्षधर शक्ति नै हो, जसले बजार पुँजी भित्रने नेपालको हीतविरुद्धका कुनै पनि सन्धि–सम्झौता आजसम्म बिनाहिच्किचाहट स्वीकार गर्ने गरेको छ । डा.भट्टराई, ओली र कांग्रेसको मिलिभगतमा जसरी नेपालमा एमसीसी थोपरियो, त्यसलाई राष्ट्रिय हीत हुनेगरी तार्किक निष्कर्षमा पुर्याउनैपर्ने बाध्यतामा देश पुगेको छ । अविछिन्न उत्तराधिकारीको रूपमा उक्त दायित्वबाट पन्छिने परिस्थिति यो सरकारलाई थिएन ।

    आज एमसीसी पारित गर्ने चरणमा पुग्दा सत्ता गठबन्धनमा हुनुका कारण माओवादी केन्द्रले त्यही दायित्वबोध गरेको छ । र, शक्तिकेन्द्र र तिनका एजेन्टका स्वार्थविपरीत संसदले एक विकास अनुदानको रूपमा मात्र एमसीसीलाई ग्रहण गर्न सफल भएको छ । संसदले एमसीसी पारित गर्दैगर्दा यसकै अंगका रूपमा जुन ११ बुँदे ब्याख्यात्मक विश्लेषण भएको छ, अमेरिकी सरकारी स्रोत र अन्तर्राष्ट्रिय कानून विज्ञहरूले यसलाई सम्झौतासरह नै हुने जनाउ दिइसकेका छन् ।

    खासमा एमसीसीलाई यत्रो हाउगुजीको रूपमा गिजोल्ने तत्कालीन प्रधानमन्त्री केपी ओली र उनका मण्डली हुन् । नेपाल र अमेरिका दुवै राज्यका सम्बन्धित निकायले सहमति गरेर लागू गरे हुने ५० करोड डलरको एक सामान्य परियोजनालाई संसदमा पुर्याउने कुरा अस्वाभाविक थियो । ‘संसदले नै पारित गर्ने’ जस्तो नसोचेको उपलब्धी पाएपछि अमेरिका त हौसिने नै भयो ।

    एमसीसी पारित गर्ने चरणमा पुग्दा सत्ता गठबन्धनमा हुनुका कारण माओवादी केन्द्रले त्यही दायित्वबोध गरेको छ । र, शक्तिकेन्द्र र तिनका एजेन्टका स्वार्थविपरीत संसदले एक विकास अनुदानको रूपमा मात्र एमसीसीलाई ग्रहण गर्न सफल भएको छ ।

    त्यसैले अमेरिकाले आफ्नै सुरक्षा कानून हाबी हुने र नेपालको कानूनभन्दा माथि हुने प्रारम्भिक शर्त अझ बलशाली हुनेगरी थोपर्न पायो । एमसीसीमा नेपाली जनमानसको आपत्ति यही हो । माओवादी केन्द्रले आपत्ति जनाएको मूल कुरा पनि यही हो ।

    तत्कालीन नेकपामा एमसीसीबारे जुन अन्तर्विरोध थियो, यो अमेरिकी इन्डोप्यासिफिक रणनीतिको अंग होइन र नेपालको संविधान वा कानूनभन्दा माथि छैन भन्ने संकल्पसहित निरुपण गरौं भन्नेमा थियो । प्रधानमन्त्री ओलीले यस धारणालाई बर्जित गरेर एमसीसी जस्ताको तस्तै पास हुनुपर्छ भनेकोले नै एक मत हुन हुन सकेन ।

    नेकपामा मतैक्य नभएकोले नै वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा सुझाव कार्यदल बन्यो । पाँच सदस्यीय कार्यदलमा एमसीसीलाई जस्ताको तस्तै पारित गर्नुपर्छ भन्ने पक्षमा प्रदीप ज्ञवाली मात्र भए । सुझाव कार्यदलले ओलीले चाहेबमोजिमको प्रतिवेदन नदिएको लगायतका कारण ओलीले संसद नै सिध्याउन खोजेको जगजाहेर नै छ ।

    ओली प्रतिगमन खारेज भएर आएको यो गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले समेत एमसीसी पारित गर्ने सन्दर्भलाई आफ्नो प्रतिष्ठाको विषय बनाएपछि गठबन्धनभित्र पनि यसबारे गम्भीर अन्तरविरोध भएकै हो । र, यसलाई सम्झौताकै अंग हुनेगरी संकल्प प्रस्ताव (व्याख्यात्मक विश्लेषण)सहित पारित गरौं भन्ने मत फेरि पनि माओवादी केन्द्रबाट आएकै हो ।

    एमालेमा भीम रावललगायतका एकाध नेता एमसीसीविरोधी भए पनि उक्त पार्टीलाई त्यसविरुद्ध उभिन दबाब दिने हैसियत उनीहरू कसैमा थिएन । एमालेको ठूलो हिस्सा एमसीसीकै पक्षमा थियो । यसै पनि कांग्रेस र एमालेबीच संविधानको लक्ष्यमा कसरी पुग्ने भन्ने एजेण्डागत बहस वा अन्तरविरोध कहिल्यै होइन । यो गठबन्धन आफैंमा पनि देउवाको बाध्यात्मक छनौट हो । त्यसकारण एमसीसी प्रकरणले कांग्रेस–एमालेको मिलन हुनु फेरि अर्को प्रतिगमन हुनु हो ।

    तर ओलीले जस्तै देउवाले समेत यो मतलाई अस्वीकार गरे । अस्वीकार मात्रै होइन, यथास्थितिको एमसीसीका लागि उनी ओलीको शरणमा नै परे । संविधान र समग्र परिवर्तन वा शान्ति प्रक्रिया नै भंग गर्ने नियत बोकेका ओलीलाई आफ्ना स्वार्थसिद्ध गर्ने यो एक महत्वपूर्ण मौका थियो, जसलाई उनले तत्कालै स्वीकार गरिहाले ।

    प्रतिगमनलाई एकछिन छाडेर हेरौं । ओलीमा अलिकति पनि देशभक्ति थियो भने उनले यथास्थितिको एमसीसी अस्वीकार गर्ने हैसियत अहिले पनि राख्दथे । संसदको सबैभन्दा ठूलो र प्रमुख प्रतिपक्षी दलले नचाही एमसीसी पास हुनसक्थ्यो र ? उनी त यो गठबन्धन, माओवादी केन्द्र र आफ्नो एकलौटी सत्ता उलटपलट गर्ने र एकीकृत समाजवादीलाई कसरी सखाप पार्ने ? भन्ने दाउ मात्रै हेर्दै थिए ।

    यही विषयको छलफलका लागि ओलीसहितका एमाले नेता र प्रचण्ड, नारायणकाजी श्रेष्ठ, देव गुरुङसहितका माओवादी नेताबीच भेटघाट भएकै हो । त्यहाँ एमसीसीलाई अस्वीकार गर्नेगरी फेरि वाम सहकार्यको संभावनाको खोजी पनि भएकै हो । तर उक्त छलफललाई ओलीले रसातलमा पुगिसकेको आफ्नो राजनीतिक नैतिकता बचाउने अवसरका रूपमा उपयोग त गरेनन् नै, उल्टै एमसीसी कहाँ राष्ट्रघाती छ ? भन्ने उत्ताउलो प्रश्न गरे ।

    एमालेमा भीम रावललगायतका एकाध नेता एमसीसीविरोधी भए पनि उक्त पार्टीलाई त्यसविरुद्ध उभिन दबाब दिने हैसियत उनीहरू कसैमा थिएन । एमालेको ठूलो हिस्सा एमसीसीकै पक्षमा थियो । यसै पनि कांग्रेस र एमालेबीच संविधानको लक्ष्यमा कसरी पुग्ने भन्ने एजेण्डागत बहस वा अन्तरविरोध कहिल्यै होइन । यो गठबन्धन आफैंमा पनि देउवाको बाध्यात्मक छनौट हो । त्यसकारण एमसीसी प्रकरणले कांग्रेस–एमालेको मिलन हुनु फेरि अर्को प्रतिगमन हुनु हो ।

    आवरणमा एमसीसीलाई देखाएर परिवर्तन र शान्तिप्रक्रिया ‘डिरेल’ गर्ने प्रतिगामी खेलको तानाबाना देखेर नै माओवादी केन्द्रले बाध्यत्मक रूपमा व्याख्यात्मक बुँदासहित अर्थात् एउटा संकल्पसहित एमसीसी पारित गर्ने ठाउँमा पुगेको हो । क्रान्तिकारीहरूको शक्ति सन्तुलन सीमाको बाध्यता पनि हो यो । अनावश्यक दायाँ–बायाँ हुँदा अर्को कटवाल प्रकरणको पुनरावृत्ति हुने वा संविधान र शान्तिप्रक्रिया नै भंग हुने खतरा निर्माण भैसकेको थियो, जुन माओवादी नेतृत्वको सुझबुझले टरेको छ । एमसीसी पारित भएन भने प्रचण्डलाई जेल हाल्ने, मार्ने वा विदेश भगाउनेसम्मका भविष्यवाणी धेरै दलाल पण्डितले गरिसकेका थिए ।

    संसदले यथास्थितिको एमसीसी खारेज गरेको छ । र, यस गन्जागोलमा प्रतिगमनविरोधी गठबन्धन भत्काउने, सभामुख हटाउने, माधव नेपालसहितका १४ सांसदको पद खारेज गर्ने ओलीको प्रतिगामी चाहना पनि खारेज गरेको छ । यसर्थ आज फेरि ओली प्रतिगमनको हार भएको छ । कांग्रेसका कारणले झण्डैझण्डै उत्साहित भएको यो बालहठी कुण्ठित प्रवृत्ति आज पुनः परास्त भएको छ । र, देखावटीमा यत्रो राष्ट्रिय मुद्दाप्रति निरपेक्षझैं भएर संसदमा नाराबाजीको अप्रासांगिक भूमिकामा मात्र पूर्ववत् सीमित छ एमाले ।

    अनावश्यक दायाँ–बायाँ हुँदा अर्को कटवाल प्रकरणको पुनरावृत्ति हुने वा संविधान र शान्तिप्रक्रिया नै भंग हुने खतरा निर्माण भैसकेको थियो, जुन माओवादी नेतृत्वको सुझबुझले टरेको छ । एमसीसी पारित भएन भने प्रचण्डलाई जेल हाल्ने, मार्ने वा विदेश भगाउनेसम्मका भविष्यवाणी धेरै दलाल पण्डितले गरिसकेका थिए ।

    ओली र बाबुराम जस्ताका स्वार्थ पूरा हुनेगरी अमेरिकाले एमसीसीलाई आइपिएसको अंग बनाउन चाहेको हो भने त्यसलाई पनि नेपालको संसदले खारेज गरेको छ । माओवादी केन्द्रको नेतृत्वदायी पहल, नेकपा एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादीसहितको सुझबुझ एवं आम क्रान्तिकारी शक्ति र परिवर्तनकामी जनताको सडक दबाबका कारण आज एमसीसी विशुद्ध अनुदान वा विकास परियोजनाका रूपमा स्वीकृत भएको छ । त्यसैले के–के न राष्ट्रघात भयो कि भनेर आम क्रान्तिकारी र देशभक्त तथा समाजवाद पक्षधरहरू तरंगित वा विचलित हुन जरुरी छैन ।

    एमसीसी प्रकरणले राष्ट्रियता र कम्युनिस्ट मूल्य-मान्यतामा गम्भीर विचलन पैदा गरेको नारायणकाजी श्रेष्ठलगायत माओवादी केन्द्रका नेताहरूको जुन चिन्ता छ, यो जायज हो । तर यहीं कारण पार्टी विभक्त हुने परिस्थिति निर्माण गरिनु हुँदैन । र, सहकर्मीको सैद्धान्तिक असहमतिप्रति भावनामा बहकिएर नेतृत्व पनि चिढिनु हुँदैन । देशका दलाल र विदेशका षडयन्त्रकारीले एमसीसीलाई सामरिक स्वार्थका लागि उपयोग गर्नसक्ने संभावनामाथि भने देशभक्त र क्रान्तिकारीहरू सधैं चनाखो हुनुपर्छ ।

     

  • अन्ततः गगनकै लाइनमा गठबन्धन

    अन्ततः गगनकै लाइनमा गठबन्धन

    काठमाडौं । बहुचर्चित अमेरिकी अनुदान सहयोगसम्बन्धी सम्झौता एमसीसी अन्ततः प्रतिनिधिसभाबाट पारित हुने भएको छ ।

    लामो समयदेखिको अलमललाई चिर्दै सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूले ‘व्याख्यात्मक टिप्पणी’ सहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेका छन् । एमसीसीमा सहमति जुटेसँगै गठबन्धन भत्कने खतरा तत्कालका लागि टरेको छ ।

    गठबन्धनको समन्वय समितिका संयोजक एवं कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार एमसीसी सम्झौतालाई विकास अनुदानका रुपमा स्वीकार गर्ने निर्णय भएको बताए । ‘एमसीसीबारे उठेका सवालहरू सम्बोधन गर्नेगरी व्याख्यात्मक टिप्पणीसमेत एट्याच गरेर पारित गर्ने निष्कर्षमा पुगेका छौं’, पौडेलले भनेका छन् ।

    गठबन्धनमा आवद्ध दलहरूमध्ये नेपाली कांग्रेसले प्रारम्भदेखि नै एमसीसी पारित हुनुपर्ने अडान लिएको थियो । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्षमा रहँदापनि एमसीसीको पक्षमा उभिएको उदाहरण दिँदै एमसीसी पारित गर्नुपर्ने अडान राख्दै आएका छन् । एमसीसीबारे नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीमा विगतदेखि नै अन्तरविरोध रहँदै आएको थियो ।

    ती पार्टीका अधिकांश नेता कार्यकर्ता एमसीसीको विपक्षमा उभिदै आएका छन् । एमसीसीमा एकै ठाउँमा उभिन नसक्दा गठबन्धन टुट्ने खतरा बढेपछि माओवादी र समाजवादीले विवादका बुँदाबारे व्याख्यात्मक टिप्पणी गरेर एमसीसी पारित गर्न सहमत भएका हुन् ।

    गगनको बाटोमा गठबन्धनमा

    माओवादी र नेकपा एसले औपचारिक रुपमै एमसीसीको विपक्षमा उभिने निर्णय गरेपछि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘व्याख्यात्मक टिप्पणी’ सहित एमसीसी पारित गरेर जान सकिने प्रस्ताव ल्याएका थिए ।

    गत फागुन ५ गते बालुवाटारमा बसेको गठबन्धन बैठकमा कांग्रेस महामन्त्री थापाले एमसीसीबारे जनस्तरमा उठाइएका प्रश्नहरूलाई प्रष्ट पार्ने गरी एमसीसीसँगै ‘व्याख्यात्मक टिप्पणी’ गर्न सकिने प्रस्ताव गरेका थिए । सो बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘विषय त्योभन्दा अगाडि बढिसकेको’ भन्दै गगनको प्रस्तावमा असहमति जनाएका थिए ।

    यो पनि पढ्नुस् : एमसीसीसँगै संकल्प प्रस्ताव पारित गर्ने कांग्रेसको प्रस्ताव, प्रचण्डले अस्वीकार गरेपछि ओलीसँग संवाद सुरू

    त्यसयता गगनकै अग्रसरतामा कांग्रेसले एमालेसँगको छलफललाई तीव्र बनाएको थियो । प्रधानमन्त्री देउवाले पनि ‘संविधान निर्माणको बेलामा जस्तै’ सहकार्यका लागि एमालेसँग प्रस्ताव गरेका थिए । माओवादी र समाजवादीले नमानेको अवस्थामा एमालेसँग सहमति हुने वातावरण बनिसकेको थियो । यहीबीचमा महामन्त्री थापाले माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालसँग छुट्टाछुट्टै भेट गरे ।

    अन्ततः गठबन्धन टुट्दा हुने राजनीतिक क्षति रोक्न गगनकै प्रस्तावमा सहमत हुँदै एमसीसी पारित गर्ने दिशामा प्रचण्ड-माधव आइपुगेका छन् । गगनले एमसीसी सम्झौताका कारण नेपालमाथि अमेरिकी स्वार्थ हाबी नहुने , आर्थिक सहायताका रूपमा मात्रै स्वीकार गर्ने र अमेरिकी हस्तक्षेपको गुञ्जायस रहेमा सम्झौता नै खारेज गरिनेसम्मको प्रावधानसहित ‘व्याख्यात्म टिप्पणी’ पारित गर्न सकिने बताएका थिए ।

    कांग्रेसको १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएयता राष्ट्रिय राजनीतिमा थापाको सक्रियता बढ्दो छ । एमसीसी पारित गराउने सन्दर्भमा प्रधानमन्त्री देउवालाई थापाले पर्याप्त सहयोग गरेका छन् ।

    वैकल्पिक प्रस्ताव निर्माण, दलहरूसँगको संवाद र निकासको खोजीमा थापाको सक्रियताले कांग्रेसको आन्तरिक एकतासमेत प्रस्तुत भएको छ ।

  • एमसीसी अनुमोदन गर्ने निर्णयमा माओवादीका पाँच नेताको असहमति

    एमसीसी अनुमोदन गर्ने निर्णयमा माओवादीका पाँच नेताको असहमति

    काठमाडौं । एमसीसी अनुमोदन गर्ने निर्णयप्रति माओवादी बैठकमा पाँच सिनियर नेताले असहमति जनाएका छन् ।

    अध्यक्ष प्रचण्डले गठबन्धन र संविधान जोगाउन एमसीसी पारित गर्ने प्रस्ताव राख्दा नारायणकाजी श्रेष्ठ, लीलामणी पोखरेल, देव गुरुङ, गिरिराजमणी पोखरेल र कृष्णबहादुर महराले असहमति जनाएका हुन् ।

    व्याख्यात्मक टिप्पणी आत्मरतिबाहेक केही नभएको र त्यो सम्झौताको अंग बन्न नसक्ने भन्दै पाँच नेताले आपत्ति जनाएका हुन् । यद्यपि उनीहरूले निर्णयमा लिखित असहमति भने जनाइसकेका छैनन् ।

    निर्णय गर्ने फोरम नै वैधानिक नभएका कारण माइन्यूट नै नभएकाले लिखित असहमति दर्ज नभए पनि आफूहरूको असहमति रहेको लीलामणी पोखरेलले बताए । यसले यसअघि आफूहरूले उठाएका एजेण्डा कमजोर बन्ने र अहिलेसम्मको विरोध औचित्यहीन हुने उनको भनाइ छ ।

    पोखरेलले नेपाल प्रेससँग भने, ‘त्यो व्याख्यात्मक टिप्प्णीको कुनै अर्थ छैन । यसको कुनै भ्यालिडिटी पनि छैन । त्यो व्याख्यात्मक टिप्पणीमा महत्वपूर्ण कुराहरू पनि छैनन् ।’

    बैठकमा प्रचण्डले व्याख्यात्मक टिप्पणीको ड्राफ्ट बाँडेका थिए । त्यसमा सामान्य छलफलमात्रै भएको उनले बताए ।

    यस्तै नेता श्रेष्ठले पार्टीको निर्णयप्रति गम्भिर असहमति र आपत्ति रहेको सामाजिक सञ्जालमा लेखेका छन् ।

  • एमसीसीबारे सहमति गर्न गठबन्धनको बैठक बस्दै

    एमसीसीबारे सहमति गर्न गठबन्धनको बैठक बस्दै

    काठमाडौं । एमसीसीबारे सहमति गर्न सत्ता गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा विहान १० बजे बैठक बस्न लागेको हो ।

    बैठकमा सहभागी हुन कांग्रेस नेताहरु बालुवाटार पुगिसकेका छन् । बैठकमा सरकारले संसदमा पेश गरेको एमसीसी बारे छलफल हुने भएको छ।   गठबन्धनकाे  बैठकपछि आजै दिउँसाे १ बजे  प्रतिनिधिसभाकाे बैठक बाेलाइएकाे  छ ।

    नेपाली कांग्रेसले सत्ता गठबन्धत तोडेर प्रमुख विपक्षी नेकपा एमालेका माग सम्बोधन गर्ने दिशामा पहल अघि बढाएपछि नेकपा माओवादी केन्द्र र नेकपा एसले एमसीसी अनुमोदनमा सघाउने वचन दिएका छन् ।

  • एमसीसीको व्याख्यात्मक ड्राफ्ट बन्दैछ: गोविन्द वन्दी

    एमसीसीको व्याख्यात्मक ड्राफ्ट बन्दैछ: गोविन्द वन्दी

    काठमाडौं । सत्ता गठबन्धनका दल एमसीसीमा युटर्न भएसँगै व्याख्यात्मक ड्राफ्टको काम अगाडि बढेको छ । यसको नेतृत्व अन्तर्राष्ट्रिय कानुनका ज्ञाता गोविन्द वन्दीले गरिरहेका हुन् । ‘एमसीसी सम्झौतामा रहेका प्रावधानको व्याख्या गर्नेगरी ड्राफ्ट बनिरहेको छ,’बन्दीले भने ।

    कांग्रेसबाट महामन्त्री गगन थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादीबाट अर्थमन्त्री जनार्दन शर्मा र शक्ति बस्नेत, नेकपा (एस)बाट स्वास्थ्यमन्त्री विरोध खतिवडा र सहरी विकासमन्त्री रामकुमारी झाक्रीलगायतका दोस्रो तहका नेताले तयार पारिरहेको ‘ड्राफट’मा गठबन्धनको बैठकमा छलफल गरे पछि १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सैद्धान्तिक छलफल सुरु गराउने योजनामा सरकार लागेको छ ।

    यसअघि संशोधन बिना एमसीसी परियोजना अनुमोदन नगर्ने अडान राख्दै आएका सत्तारुढ पाँच दलीय गठबन्धनका प्रमुख तीन दल अन्ततः लचिलो देखिएपछि नयाँ प्रक्रिया अगाडि बढेको हो ।

    एमसीसीका बारेमा ‘व्याख्यात्मक घोषणा’सहित अनुमोदन गराउन प्रधानमन्त्री शेरबहादुर देउवा सहमत देखिएको भन्दै नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र नेकपा (एकीकृत समाजवादी) लचिलो भएका छन् ।

  • एमसीसी अनुमोदनको निर्णय गर्न माओवादी र समाजवादीको बैठक बस्दै

    एमसीसी अनुमोदनको निर्णय गर्न माओवादी र समाजवादीको बैठक बस्दै

    काठमाडौं। निर्णायक चरणमा प्रवेश गरेको एमसीसी अनुमोदन प्रक्रियाबारे औपचारिक निर्णय लिन सत्तारुढ दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको बैठक आज बस्दैछन् ।

    एमसीसीको विपक्षमा उभिदा सत्ता गठबन्धन भंग हुने निश्चित भएपछि गठबन्धन जोगाउनेगरी निर्णय लिन दुवै पार्टीको बैठक बस्न लागेको हो । गठबन्धनको शीर्ष तहमा एमसीसीबारे प्रश्न उठेका विषयमा अन्तर्राष्ट्रिय अभ्यास अनुसार व्याख्यात्मक घोषणा गरेर एमसीसी अनुमोदन गर्ने सहमति बनिसकेको बताइन्छ ।

    यद्यपि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी र समाजवादीले औपचारिक निर्णय नलिए प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग सहकार्यको संकेत गरेका छन् । यहीकारण गठबन्धन जोगाउने गरी निर्णय लिन माओवादीको केन्द्रीय सचिवालयको विस्तारित बैठक बस्न लागेको हो ।

    नेकपा एसको भने स्थायी कमिटी बैठक बस्दैछ । आजको प्रतिनिधिसभा बैठक अघि नै दुवै दलले औपचारिक निर्णय लिए गठबन्धन जोगाएरै एमसीसी अनुमोदन हुने दावी नेताहरुले गरेका छन् ।

  • संसद बैठक आज बस्दै, अर्थमन्त्री शर्माले एमसीसीबारे प्रस्ताव गर्ने कार्यसूची

    संसद बैठक आज बस्दै, अर्थमन्त्री शर्माले एमसीसीबारे प्रस्ताव गर्ने कार्यसूची

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज आइतबार दिउँसाे बस्दैछ । दिउँसाे १ बजे बस्ने बैठकमा एमसीसीसम्बन्धी प्रस्तावमाथि सैद्धान्तिक छलफल सुरु हुने सम्भावना छ । साेही अनुसार आजकाे सम्भावित कार्यसूचीमा एमसीसी समावेश गरिएकाे छ ।

    संसद् सचिवालयले शनिबार प्रकाशित गरेको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने उल्लेख छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची पनि छ ।

    यसअघि सरकारको आग्रहमा बिहीबारका लागि तोकिएको बैठक शुक्रबार दिउँसो १ बजेका लागि सारिएको थियो। शुक्रबारको बैठकअघि एमसीसीको विषयमा सहमति नभएपछि बैठक आइतबारका लागि सारिएको हो ।

    संसद बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठक आइतबार बिहान साढे ११ बजे नयाँबानेश्वरस्थित शंकर हलमा बस्नेछ ।

    हाल प्रतिनिधिसभामा २ सय ७१ सदस्य कायम छन् । एमालेका ९८, कांग्रेसका ६१, सभामुखसहित माओवादीका ४९, एकीकृत समाजवादीका २३, जसपाका १९, लोसपाका १३ र राप्रपा, जनमोर्चा, नेमकिपा र स्वतन्त्र एक(एक सांसद छन् ।

    सरकार जसरी पनि एमसीसी संसदबाट पारित गर्न लागि परेको छ भने सत्तारुढ दल माओवादी केन्द्र र नेकपा एस एमसीसीको विपक्षमा छ । त्यस्तै सत्ताघटक जसपामा पनि एमसीसीबारे विवाद छ ।

    तर नेपाली कांग्रेसले सत्ता गठबन्धत तोडेर प्रमुख विपक्षी नेकपा एमालेका माग सम्बोधन गर्ने दिशामा पहल अघि बढाएपछि नेकपा माओवादी केन्द्र र नेकपा एसले एमसीसी अनुमोदनमा सघाउने वचन दिएका छन् ।

     

  • माधव नेपालले भने- एमसीसी पास हुनुपर्छ, तर सहमतिमा मात्रै

    माधव नेपालले भने- एमसीसी पास हुनुपर्छ, तर सहमतिमा मात्रै

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सहमतिमा मात्रै एमसीसी पास हुनपर्ने बताएका छन् । यथास्थितिमा एमसिसी पास गर्न नसकिने भन्दै उनले दलहरुबीच गहन छलफल गरी सहमति गर्नुपर्ने तर्क गरेका हुन् ।

    ‘एमसिसीका कारण देशमा राजनीतिक संकट पैदा भइरहेकाले सहमतिका आधारमा मात्रै पारित गर्नु पर्छ’, कैलालीको धनगढीमा युवासङ्घ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश भेलालाई बिहीबार सम्बोधन गर्दै उनले भने, ‘सबै राजनीतिक दलका बीचमा गहन अध्ययन र छलफल भएर मात्रै एमसीसी अगाडि बढाउनु पर्छ ।’

    सोही कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले एमसिसीका विषयमा पार्टीले जे धारणा अघि सार्छ सोही विषयमा आफूहरु अगाडि बढ्ने बताए ।

  • आजको संसदमा अघि बढ्ला एमसीसी ?

    आजको संसदमा अघि बढ्ला एमसीसी ?

    काठमाडौं । टेबल भएको अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे छलफलका लागि आज संसद बैठक बस्दैछ । दलहरुबीच सहमति नभएपछि हिजोका लागि बोलाइएको बैठक सरकारको आग्रहमा आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

    सरकार जसरी पनि एमसीसी संसदबाट पारित गर्न लागि परेको छ भने सत्तारुढ दल माओवादी केन्द्र र नेकपा एस एमसीसीको विपक्षमा छ । त्यस्तै सत्ताघटक जसपामा पनि एमसीसीबारे विवाद छ ।

    यसबीच प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको साथ लिन खोजेका छन् । हिजो भएका छलफल एवं बैठकमा सत्ताको नेतृत्व गरेको दल नेपाली कांग्रेस र एमालेबीच करिब सहमति भएको बताइएको छ ।

    एमालेले सभामुख हटाउनुपर्ने र आफूहरुले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने अडान राखिरहेको छ । यसप्रति सरकार सकरात्मक भएको बताइएको छ ।

    नेपाली कांग्रेसले हालको सत्तागठबन्धनको औचित्य सकिएको निष्कर्ष निकालिसकेकाके छ ।

    माओवादी केन्द्र र नेकपा एसका कार्यकर्ता एमसीसीको विरोधमा प्रदर्शन गरिरहेका छन् ।

  • युवा र विद्यार्थी नेतालाई गृहमन्त्रीको फोन- गठबन्धन र शान्ति सुरक्षामा असर पर्ने गरी आन्दोलन नगरौं

    युवा र विद्यार्थी नेतालाई गृहमन्त्रीको फोन- गठबन्धन र शान्ति सुरक्षामा असर पर्ने गरी आन्दोलन नगरौं

    काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसीविरुद्ध सत्तामा रहेका दलकै भ्रातृ संगठनले आन्दोलन चर्काउन थालेपछि गृहमन्त्री बालकृष्ण खाणले चासो दिएका छन् ।

    सत्तारुढ गठबन्धना आबद्ध नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका भ्रातृ संगठनहरू एमसीसीविरुद्ध आन्दोलित छन् ।

    एमसीसीलाई आज संसद बैठकमा छलफलका लागि पेस गरिने भएपछि उनीहरूले कडा प्रदशनको तयारी थालेका छन् ।

    संसद घेर्न लागेका उनीहरुलाई गृहमन्त्री खाणले बिहान फोन गरेर एमसीसीविरुद्धको प्रदर्शन हिंसात्मक नबनाउन आग्रह गरेका छन् ।

    खाणले वाईसीएल अध्यक्ष सुमन देवकोटा, अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियू अध्यक्ष सुदेश पराजुली, युवा संघ नेपालका अध्यक्ष नरेश शाहीलगायतलाई आज बिहान फोन गरेका थिए ।

    ‘आन्दोलन शान्तिपूर्ण गर्नुपर्‍यो, क्षति धेरै भयो,’ गृहमन्त्री खाणको आग्रह उद्धृत गर्दै अखिल क्रान्तिकारीकी अध्यक्ष सिंहले नेपाल प्रेससँग भनिन्, ‘तपाईंहरूले पनि दुःख पाउनुभयो, प्रहरीले पनि दुःख पायो ।’

    सिंहले आफूहले पहिलेदेखि शान्तिपूर्ण प्रदर्शन गरेको र अब पनि गर्ने भन्दै प्रहरीलाई संयमित राख्न गृहमन्त्रीलाई आग्रह गरेको बताइन् ।

    गृहमन्त्री खाणले नेकपा एसनिकट अनेरास्ववियूका अध्यक्ष पराजुलीलाई आन्दोलन शान्तिपूर्ण बनाउन र गठबन्धनलाई असर नपरोस् भनेर सचेत हुन विशेष आग्रह गरेका थिए । पराजुली फिल्डमा देखिएपछि प्रहरी अफिसरहरू दबाबमा पर्ने गरेकाले पनि गृहमन्त्रीले उनलाई सचेत गराएका हुन् ।

    जवाफमा उनले गठबन्धनलाई असर पर्न नदिन आफूहरू सचेत रहेको बताएका थिए । गठबन्धन कुनै हालतमा तोडिन हुँदैन भन्नेमा आफूहरू पनि रहेको उनले बताए ।

    ‘आन्दोलन नै त नगर्नुहोस् भन्दिनँ तर गठबन्धनाई समेत असर पार्ने गरी गर्नु भएन,’ गृहमन्त्री खाणले पराजुलीलाई भनेका थिए ।

    माओवादीका वाईसीएल, अखिल (क्रान्तिकारी) तथा एकीकृत समाजवादीनिकट युवासंघ नेपाल र अनेरास्ववियूले संसद भवन नयाँ बानेश्वर वरपर प्रदर्शन गर्दै आएका छन् ।

    खाणको आग्रह बाबजुद सत्तारुढ दुई दलका भ्रातृ संगठनले आजको प्रदर्शन सुरू गरिसकेका छन् । आजको प्रदर्शनमा माओवादीका सबै जनवर्गीय संगठनहरुको सहभागिता हुने बताइएको छ ।

    त्यस्तै नेकपा एसनिकट अन्य भ्रातृ संगठनहरू पनि सामेल छन् । एमसीसी आज निर्णाक अवस्थामा पुग्ने भएकाले त्यसविरुद्धको प्रदर्शन पनि चर्किने ठानिएको छ ।

  • कांग्रेसले समेत सभामुखको राजीनामा माग्ने भएपछि एमसीसी टेबल गर्न दियौं : प्रचण्ड

    कांग्रेसले समेत सभामुखको राजीनामा माग्ने भएपछि एमसीसी टेबल गर्न दियौं : प्रचण्ड

    काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धनको ठूलो दल नेपाली कांग्रेस नै सभामुख हटाउने खेलमा लागेपछि संसदमा एमसीसी सम्झौता टेबल गर्न दिइएको खुलासा गरेका छन् ।

    माओवादी केन्द्रको वागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कांग्रेसले समेत सभामुखको राजीनामा माग्ने स्थितिमा पुगेपछि सभामुख अग्नि सापकोटाले एमसीसी टेबल गर्न दिएको बताएका हुन् ।

    कांग्रेससमेत सभामुखको विपक्षमा वेल घेराउ गर्न जाँदा देश दुर्घटनामा पर्ने भएपछि आफूहरू पछि हटेको प्रचण्डको दाबी छ । अध्यक्ष प्रचण्डले फागुन ८ गते एमसीसी पेस गर्न नदिएको भए सरकार र प्रमुख प्रतिपक्ष दुवै रोष्टममा पुगेर सभामुखको राजीनामा माग्ने अवस्था बनेको बताए ।

    प्रचण्डले भने, ‘सभामुख बचाउन र गठबन्धन जोगाउन एमसीसी टेबल गर्न दिइएको हो कमरेडहरू । हामीले संशोधनबिना टेबल हुन नदिने धेरै प्रयास गरेको हो तर सकेनौं । चुनावपछि गरौं भन्दा पनि भएन । संसदमा दर्ता भइसकेको प्रस्ताव रोक्ने सम्भव पनि छैन ।’

    अध्यक्ष प्रचडले एमसीसीमार्फत देशमा पुनः प्रतिगमन गराउने खेल भइरहेको भन्दै एमसीसीमार्फत जनयुद्धका उपलब्धीमाथि प्रहार गर्न खोजिएको बताए । प्रचण्डले एमसीसी माओवादीले पारित नगर्ने बैठकमा बताएका प्रदेश कमिटी सदस्य तारानारायण श्रेष्ठले जानकारी दिए ।

    प्रचण्डको भनाइ थियो, ‘कांग्रेससमेत सभामुखको राजीनामा माग्ने ठाउँमा पुग्न नदिन टेबल गर्न दिइएको हो । हामीले यसलाई संसदीय समितिमा पठाएर चुनावपछिसम्म लैजान चाहेको हो तर सकिएन । अब टेबल भएको छ तर हामी यसको विपक्षमा मतदान गर्छौं ।’

  • कांग्रेसको निष्कर्ष : माओवादी र समाजवादीले एमसीसीको विपक्षमा मत दिए गठबन्धन टुट्छ

    कांग्रेसको निष्कर्ष : माओवादी र समाजवादीले एमसीसीको विपक्षमा मत दिए गठबन्धन टुट्छ

    काठमाडौं । प्रतिनिधिसभामा टेबल भएको एमसीसी सम्झौताको विपक्षमा रहने निर्णय गरेका सत्तारुढ गठबन्धनका दलहरूसँग नेपाली कांग्रेसले थप सहकार्य नहुने प्रष्ट पारेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेताहरूसँग आन्तरिक छलफलका दौरान एमसीसीको पक्षमा मत नदिने दलसँग सत्ता सहकार्य हुन नसक्ने बताएका छन् ।

    सत्तारुढ गठबन्धनका ५ दलमध्ये कांग्रेसमात्रै एमसीसी पारित गर्ने पक्षमा उभिएको छ । नेकपा माओवादी केन्द्रले संसदमा टेबल हुनै नदिने, टेबल गरिए सरकार छाड्ने निर्णय संसदीय दलको बैठकबाट गरिसकेको छ । यद्यपि एमसीसी संसदमा टेबल भएको ३ दिन बितिसक्दा माओवादीले सरकारबाट बाहिरिने कदम चालेको छैन ।

    अर्को सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले पनि एमसीसी सम्झौताको विपक्षमा उभिने निर्णय गरेको छ । जनता समाजवादी पार्टीभित्र डा.बाबुराम भट्टराई समर्थनमा भएपनि जसपाले औपचारिक निर्णय गरिसकेको छैन । जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरू एमसीसीको विपक्षमा रहँदै आएका छन् । सत्ता गठबन्धनको अर्को घटक राष्ट्रिय जनमोर्चाले एमसीसी टेबल हुँदा नै संसदबाट विपक्षमा उभिने घोषणा गरिसकेको छ ।

    माओवादी र समाजवादीले गठबन्धन जोगाउने उद्देश्यले एमसीसीमा निर्णय हुने बेला संसदमा अनुपस्थित हुने सम्भावना यथावत छ । संसदमा अनुपस्थित हुँदा गठबन्धन र पार्टीको अडान दुवै जोगिने उनीहरूको बुझाइ छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत भने अनुमानमै भरमा कांग्रेसले धारणा नदिने बताउँछन् ।

    सहयात्री दलहरूको साथ नपाएपनि एमसीसी पारित गराउनेमा दृढ देखिएको कांग्रेसले निर्णय प्रक्रियामा विपक्षमा उभिने छुट माओवादी र समाजवादीलाई नदिने भएको छ । गठबन्धनमा रहेको कुनैपनि दलले एमसीसीको विपक्षमा मतदान गर्नुअघि सरकार र गठबन्धन छाड्नुपर्ने कांग्रेसको भनाइ छ ।

    कांग्रेस महामन्त्री गगन थापा नैतिक र राजनीतिक दुवै हिसाबले सत्तारुढ दलहरूले एमसीसीको विपक्षमा मतदान गर्न नमिल्ने बताउँछन् । एमसीसीमा ‘राष्ट्रघात’ देख्नेहरूले एमसीसी पारित गराउनुपर्छ भन्ने कांग्रेससँग कुम जोड्न जरुरी नरहेको गगनको भनाइ छ ।

    ‘एमसीसीमा राष्ट्रघात छ भनेर एमसीसी पक्षधरलाई राष्ट्रघाती करार गरिसकेपछि राष्ट्रघातीहरूसँग कुम जोडेर सरकारमा बसिरहन उहाँहरूलाई लाज हुन्छ कि हुँदैन ?’, थापाको प्रश्न छ । एमसीसी संसदको प्रक्रियाबाट टुंगिने निश्चित भएपनि सत्तारुढ दलहरूबीच साझा दृष्टिकोण नबने गठबन्धन निरन्तर नरहने उनले बताए ।

    ‘एमसीसी सामान्य प्रस्ताव मात्रै होइन राजनीतिक दृष्टिकोण पनि हो । हाम्रो दृष्टिकोण नै फरक भइसकेपछि एकै ठाउँमा उभिने अवस्था बन्दैन । उहाँहरू सरकारमा नरहने मात्रै होइन यो सहकार्य नै अगाडि नबढ्ने अवस्था बन्नसक्छ’, थापाले नेपाल प्रेससँग भने । कांग्रेसले गठबन्धनको निरन्तरता चाहेपनि गठबन्धनभित्रका दलहरूको व्यवहारमा भर पर्ने थापाको भनाइ छ ।

    सहयात्री दलहरूको साथ नपाएपनि एमसीसी पारित गराउनेमा दृढ देखिएको कांग्रेसले निर्णय प्रक्रियामा विपक्षमा उभिने छुट माओवादी र समाजवादीलाई नदिने भएको छ । गठबन्धनमा रहेको कुनैपनि दलले एमसीसीको विपक्षमा मतदान गर्नुअघि सरकार र गठबन्धन छाड्नुपर्ने कांग्रेसको भनाइ छ ।

    कांग्रेस नेता मीन विश्वकर्मा पनि एमसीसीको विपक्षमा मतदान गर्नु अघि माओवादी-समाजवादीलगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने बताउँछन् ।

    ‘सरकारले ल्याएको प्रस्तावको पक्षमा नउभिने हो भने उहाँहरूले पहिले सरकार छाड्नुपर्‍यो । सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्यो’, विश्वकर्माले नेपाल प्रेससँग भने । कांग्रेस र प्रधानमन्त्री देउवा एमसीसी पारित गर्नुपर्ने पक्षमा दृढ रहेको भन्दै विश्वकर्माले माओवादी र समाजवादीको अन्तिम निर्णय आएपछि आवश्यक कदम लिइने बताए ।

    ‘एमसीसी संसदमा निर्णयार्थ पेश हुने बेला उहाँहरूले लिने निर्णयका आधारमा कांग्रेस अगाडि बढ्छ’, उनले भने ।

    एमसीसी सम्झौता फागुन ८ गतेको प्रतिनिधिसभा बैठकमा टेबल भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक फागुन १२ गते विहीबार बस्दैछ । एमसीसीबारे फागुन १६ गतेभित्रै टुंगोमा पुग्नुपर्ने दबाब सरकारलाई रहेको छ ।

    कांग्रेसभित्र एमसीसीको पक्षमा नउभिने दलहरूसँग गठबन्धन गर्न नहुने मत बलियो छ । यद्यपि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी पनि पारित गर्ने र गठबन्धन पनि टुट्न नदिने भन्दै छलफल थालेका छन् ।

    माओवादी अध्यक्ष दाहालले पौडेलसँग सोमबार भएको भेटमा गठबन्धन जोगाउने प्रतिबद्धता गरेका थिए । कांग्रेसका अन्य नेताहरू भने एमसीसीको विपक्षमा मतदान गर्ने दलसँग कांग्रेसले सहकार्य नगर्ने बताउँछन् ।

    ‘यदि एमसीसीको विपक्षमा कसैले मतदान गर्छ भने त्यो सरकारलाई गरेको असहयोग हो । सरकारलाई असहयोग गर्नेहरूसँग मिलेर सरकार चलाउन सकिदैन । त्यसको विकल्पमा जे पर्छ कांग्रेसले व्यहोर्छ’, एक कांग्रेस नेताको भनाइ छ ।

    माओवादी र समाजवादीले गठबन्धन जोगाउने उद्देश्यले एमसीसीमा निर्णय हुने बेला संसदमा अनुपस्थित हुने सम्भावना यथावत छ । संसदमा अनुपस्थित हुँदा गठबन्धन र पार्टीको अडान दुवै जोगिने उनीहरूको बुझाइ छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत भने अनुमानमै भरमा कांग्रेसले धारणा नदिने बताउँछन् ।

    ‘माओवादी र समाजवादीले यसो गरे के होला, त्यसो गरे के होला भन्ने अनुमान कांग्रेसले गर्दैन । प्रक्रियामा जाँदा जे आवश्यक पर्छ त्यो निर्णय लिन कांग्रेस तयार छ’, महतले भने ।

    एमसीसी सम्झौता फागुन ८ गतेको प्रतिनिधिसभा बैठकमा टेबल भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक फागुन १२ गते विहीबार बस्दैछ । एमसीसीबारे फागुन १६ गतेभित्रै टुंगोमा पुग्नुपर्ने दबाब सरकारलाई रहेको छ ।

  • नेपालले पैसाका लागि सम्प्रभुता बेच्दैछ भन्ने चिनियाँ पत्रकारको ठोकुवामा झलनाथको समर्थन

    नेपालले पैसाका लागि सम्प्रभुता बेच्दैछ भन्ने चिनियाँ पत्रकारको ठोकुवामा झलनाथको समर्थन

    नेपालमा एमसीसीको पक्ष र विपक्षमा मत-मतान्तर छ । सडकदेखि सदन र सरकारमा समेत एमसीसीबारे मत बाझिएका छन् ।

    ५० करोड अमेरिकी डलरको अमेरिकी सहायता परियोजनाको पक्षमा हुने एमसीसी नेपालको इतिहासकै सबैभन्दा ठूलो अनुदान भएको बताइरहेका छन् । उनीहरु भन्छन्– विद्युत् प्रशारण लाइन र सडक चौडाइमा प्रयोग हुने उक्त सहायता नेपालले गुमाउन हुँदैन ।

    विपक्षमा बोल्नेहरुले ‘चीन घेर्ने रणनीति’ भएकोले एमसीसी नेपाल सहभागी हुनुहुन्न, यसले नेपालको राष्ट्रियता नै खतरामा पार्छ र असंलग्न परराष्ट्रनीतिको विरुद्ध हुने तर्क गरिरहेका छन् ।

    एमसीसीको विपक्षमा एक दशकदेखि काठमाडौंस्थित चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका प्रमुख चाउ सेङपिङ पनि थपिएका छन् । उनले नेपाली भाषामा अनुवाद गरेर हालसालै बजारमा ल्याएको पुस्तक ‘चिनियाँ पत्रकारको नजरमा नेपाल– सुधार वा समाप्त होऊ’मा सेङपिङले एमसीसीबारेमा खुलेर विपक्षमा तर्क गरेका छन् ।

    पुस्तकको पृष्ठ १२८ देखि १३५ सम्ममा ‘नेपालले एमसीसी किन अस्वीकार गर्नुपर्छ ?’ शीर्षकमा लेख्दै उनले एससीसीलाई नेपालले विगत दुई शताब्दीमा गरेका सम्झौतामध्ये ‘सबैभन्दा खत्तम सन्धि’ भनेका छन् । उनले एमसीसी सम्झौतालाई सुगौली सन्धिदेखि सन् १९५० को सन्धिसँग तुलना गर्दै एमसीसी पनि नेपालको सार्वभौमसत्तालाई क्षयीकरण गर्ने नयाँ सम्झौता भएको दाबी गरेका छन् ।

    उनी लेख्छन्, ‘विगत दुई शताब्दी यता नेपालले विदेशी राष्ट्रहरुसँग गरेका केही सम्झौताले लामो समयदेखि उच्च कायम गरेको सार्वभौमसत्तालाई क्षयीकरण गर्दै लगेको छ । वर्तमान सन्दर्भमा सुगौली सन्धि त्यस्तो पहिलो सम्झौता हो, जुन सन् १८१६ मा बेलायतसँग शान्ति सन्धिका रुपमा हस्ताक्षर गरिएको थियो । दोश्रो उत्तर–औपनिवेसिक इन्डियासँग गरिएको सन् १९५० को शान्ति तथा मैत्री सन्धि हो भने तेस्रो चाहिँ अमेरिकासँगको यहीं एमसीसी सम्झौता हो ।’

    पृष्ठ १३१ मा सुगौलीदेखि सन् १९५० को सन्धिसँग एमसीसी सम्झौतालाई तुलना गरेका चिनियाँ पत्रकार सेङपिङले पृष्ठ १२९ मा नेपालले एमसीसी स्वीकार गर्दा आफ्नो सम्प्रभुता ५० करोड अमेरिकी डलरमा बिक्रि भएको मानिने ठोकुवा गरेका छन् ।

    उनी लेख्छन्, ‘एउटा भनाइ छ, संसारमा सित्तैमा सियो पनि पाइन्नँ । एमसीसीले नेपाल सरकारलाई ५० करोड अमेरिकी डलरसम्म सहयोग उपलब्ध गराउने छ, जुन नेपालले अहिलेसम्म प्राप्त गरेको सबैभन्दा ठूलो आर्थिक सहायतालाई नेपालले स्वीकृत गर्नेछ तर यसको बदलामा वा नजरानास्वरुप नेपालले यो अमेरिकी कम्पनीलाई आफ्नो सम्प्रभुता, सर्वोच्च अधिकार र शक्ति हस्तान्तरण गर्नुपर्ने छ ।’

    पत्रकार सेङपिङले एमसीसीको विपक्षमा खुलेर लेखेको पुस्तक नेकपा एसका उपमहासचिव डाक्टर विजय पौडेलले नेतृत्व गरेको ‘जनता संचार गृह’ले बजारमा ल्याएको हो । सेङपिङले केही समय अगाडि अंग्रेजीमा ल्याएको पुस्तक ‘मेन्ड ओर एन्ड’मा भने एमसीसी बारेमा लेखिएको थिएन । नेपाली संस्करणमा भने लेखिएको छ ।

    पुस्तकमा पूर्वप्रधानमन्त्री तथा नेकपा एसका ‘सम्मानित नेता’ झलनाथ खनालले भूमिका लेखेका छन् । ‘नेपाललाई चीनको मैत्रीपूर्ण सुझाव’ भनेर खनालले भूमिका लेखेका छन् । पुस्तकमा चीनका लागि नेपाली पूर्वराजदूत, पूर्व मुख्य सचिव तथा हालका नेकपा (माओवादी केन्द्र)का नेता लिलामणि पौडेलले समेत भूमिका लेखेका छन् । पौडेलले ‘चीनबाट प्राप्त एक जागरण सन्देश’ शिर्षकमा भूमिका लेखेका छन् । तर, भूमिकामा पौडेलले एमसीसी बारेमा भने कुनै धारणा दिएका छैनन् ।

    पुस्तकमा नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेतीले ‘एक अध्ययनशील चिनियाँ पत्रकारले देखेको नयाँ नेपालको ययार्थ चित्र’ शीर्षकमा भूमिका लेखेका छन् । नेपाल चीन अध्ययन केन्द्रका अध्यक्ष मदन रेग्मीले लेखेको भूमिकामा शीर्षक राखेका छन्, ‘सही समयमा सत्य र उपयोगी सुझाव ।’ पौडेलले जस्तै उप्रेती र रेग्मी दुवैले भूमिकामा एमसीसी प्रकरण र त्यसमा आएको सेङपिङको टिप्पणीमा भने कुनै धारणा दिएका छैनन् ।

  • एमसीसी पास हुनेमा कांग्रेस किन कन्फिडेण्ट ?

    एमसीसी पास हुनेमा कांग्रेस किन कन्फिडेण्ट ?

    काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूको चर्को नाराबाजीबीच अमेरिकी सहयोग सम्झौता एमसीसी टेबल भयो । संसद बैठकबाट बाहिरिने क्रममा पत्रकारहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरे- एमसीसी अब के हुन्छ ?

    प्रधानमन्त्री देउवाले ‘कन्फिडेन्ट’देखाउँदै भने – अब पास हुन्छ ।

    प्रधानमन्त्री देउवामात्रै होइनन्, उनको पार्टी नेपाली कांग्रेसका प्रायः नेता र सांसदहरू एमसीसी पारित हुनेमा ढुक्क देखिन्छन् । संसदमा रहेकामध्ये कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीले मात्रै अहिलेसम्म एमसीसी पारित गर्नुपर्ने निर्णय गरेका छन् ।

    कांग्रेसको कन्फिडेन्सको अर्को कारण प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग जारी संवाद हो । गत विहीबार प्रधानमन्त्री देउवा आफैं बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग वार्ता गरेका छन् । एमसीसी पारित गर्ने शर्तमा गठबन्धनबारे पुनर्विचार गर्नुपर्ने मत कांग्रेसमा बलियो रहेको छ ।

    प्रमुख प्रतिपक्ष नेकपा एमालेले निरन्तर संसद अवरोध गरिरहेको छ भने माओवादी र नेकपा एकीकृत समाजवादी प्रष्टरूपमा एमसीसी अनुमोदनको विपक्षमा उभिएका छन् । प्रतिनिधिसभाको विद्यमान अंकगणित अनुसार एमसीसी पास हुन आवश्यक सामान्य बहुमत कांग्रेससँग छैन । यद्यपि कांग्रेस नेतृत्व एमसीसी पारित हुनेमा कन्फिडेन्ट देखिन्छ ।

    कांग्रेस किन कन्फिडेण्ट ?

    एमसीसी सन्दर्भमा सबैभन्दा प्रष्ट निर्णय लिने पार्टीमध्ये कांग्रेस पर्छ । संसदीय दल र केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाटै कांग्रेसले एमसीसी पारित गर्नुपर्ने निर्णय लिएको थियो ।

    पार्टीभित्रका आन्तरिक विवाद थाती भएपनि एमसीसीका सन्दर्भमा कांग्रेसमा सबै नेताहरूको साझा मत रहेको छ । प्रधानमन्त्री देउवालाई पार्टीभित्र एमसीसीका सन्दर्भमा कसैको असहयोग छैन । बरु देउवाविरोधी खेमाका नेताहरूपनि एमसीसी पारित गराउन सक्रिय छन् ।

    पार्टीभित्रको आन्तरिक एकताले कांग्रेसलाई कन्फिडेण्ट बनाएपनि त्यतिले मात्रै एमसीसी पारित हुने अवस्था भने छैन । कांग्रेसको कन्फिडेन्सको अर्को कारण गठबन्धनमा भइसकेको सहमति नै हो ।

    गत माघ १५ गते माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले एमसीसी पारित गर्न प्रधानमन्त्री देउवा र गठबन्धनका संयोजक रामचन्द्र पौडेलसँग सहमति जनाएका थिए । सो सहमति कार्यान्वयनका लागि प्रचण्डले १० दिनको समय पनि मागेका थिए ।

    कांग्रेस नेताहरू गठबन्धनमा भइसकेको सहमति र गठबन्धनको निरन्तरताका लागि पनि माओवादी र समाजवादी एमसीसीको पक्षमा उभिने दाबी गर्छन् । ‘पहिलो कुरा त गठबन्धनको आवश्यकता हामीलाई भन्दा उहाँहरूलाई छ । गठबन्धन जोगाउने भए एमसीसी पारित गर्नुपर्छ भनेर हामीले भनिसकेका छौं । अन्तिमसम्म उहाँहरू आउन सक्नुहुन्छ’, कांग्रेसका एक पदाधिकारी भन्छन् ।

    ‘एमसीसीमा कुरा मिलेन भने धेरै कुरा तलमाथि हुन्छ । पहिलो कदम भने कांग्रेसले प्रधान्यायाधीशविरुद्धको महाअभियोग फिर्ता लिनेछ’, एक सांसदले नेपाल प्रेससँग भने ।

    कांग्रेसको कन्फिडेन्सको अर्को कारण प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग जारी संवाद हो । गत विहीबार प्रधानमन्त्री देउवा आफैं बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग वार्ता गरेका छन् । एमसीसी पारित गर्ने शर्तमा गठबन्धनबारे पुनर्विचार गर्नुपर्ने मत कांग्रेसमा बलियो रहेको छ ।

    एमसीसीबारे एमालेले आफ्नो धारणा सार्वजनिक गरिसकेको छैन । यद्यपि गठबन्धन तोड्ने, सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाअभियोग लगाउने लगायतका विषयमा सहमति जुटे एमाले नेतृत्वले एमसीसीमा समर्थन गर्ने सम्भावना छ ।

    विगतमा आफ्नै नेतृत्वको सरकारले दर्ता गराएको प्रस्ताव भएकाले एमसीसीबारे एमालेको संस्थापन पक्ष आक्रामक देखिदैन । ‘एमसीसीमा गठबन्धनका दलहरूले मत नदिने हो भने गठबन्धन टुट्छ । त्यस्तो अवस्थामा एमालेसँग कांग्रेसले नयाँ सम्झौता गर्नसक्छ । त्यो सम्झौताको जगमा पनि एमसीसी पास हुने चान्स छ’, कांग्रेस नेताको भनाइ छ ।

    २०५४ सालमा एमाले विभाजनपछि कांग्रेसले वामदेव गौतम नेतृत्वको नेकपा मालेलाई सरकारमा सामेल गराएका थियो । एमाले विभाजनमा त्यसबेला कांग्रेसले सघाएको थियो । तर, ७ महिनामै कांग्रेसले मालेलाई सरकाबाट हटाएर एमालेसँग सहकार्य गर्‍यो ।

    कांग्रेस र एमाले मिलेर सरकार बनाए, चुनावमा प्रतिस्पर्धा गरे । कांग्रेसले बहुमत ल्यायो, मालेले देशभर एक सिट पनि जित्न सकेन । अहिले पनि गठबन्धनमा रहेका प्रचण्ड-माधव समूहलाई सरकारबाहिर पुर्‍याएर एमाले र कांग्रेसले सरकार बनाउने र चुनावमा प्रतिस्पर्धा गर्ने नीति लिए भने आश्चर्य हुने छैन ।

    महाअभियोगबाट पछि हट्ने चेतावनी

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाअभियोग लगाउने एजेण्डा माओवादी र एकीकृत समाजवादीको थियो । एमसीसी पारित हुने शर्तमा कांग्रेसले महाअभियोगमा समर्थन जनाएको थियो । कांग्रेस नेताहरू एमसीसीमा धोका भए राणाविरुद्धको महाअभियोगबाट कांग्रेस पछि हट्ने बताउँछन् ।

    ‘एमसीसीमा कुरा मिलेन भने धेरै कुरा तलमाथि हुन्छ । पहिलो कदम भने कांग्रेसले प्रधान्यायाधीशविरुद्धको महाअभियोग फिर्ता लिनेछ’, एक सांसदले नेपाल प्रेससँग भने ।

    २०५४ सालमा एमाले विभाजनपछि कांग्रेसले वामदेव गौतम नेतृत्वको नेकपा मालेलाई सरकारमा सामेल गराएका थियो । एमाले विभाजनमा त्यसबेला कांग्रेसले सघाएको थियो । तर, ७ महिनामै कांग्रेसले मालेलाई सरकाबाट हटाएर एमालेसँग सहकार्य गर्‍यो ।

    राणाविरुद्धको महाअभियोगमा हस्ताक्षर गर्ने ९८ जनामध्ये ३९ जना कांग्रेसका सांसद हुन् । उनीहरूले फिर्ता लिनासाथ महाअभियोग निष्क्रिय हुन्छ । यो सन्दर्भलाई कांग्रेसले एमसीसीका सन्र्दभमा गठबन्धनमा सहमति जुटाउन वा एमालेका साथ लिन प्रयोग गर्नसक्छ ।

    ‘हामीले महाअभियोगको हस्ताक्षर फिर्ता लिनासाथ माओवादी र समाजवादी समस्यामा पर्छन् । एमालेसँग विश्वासको वातावरण पनि बन्छ । एमसीसी पास गर्ने योपनि एउटा उपाय हो’, कांग्रेस सांसदको भनाइ छ ।

  • पार्टीको अवरोध- रावलको अवज्ञा, बोल्न दिएकोमा सभामुखसमक्ष एमालेको आपत्ति

    पार्टीको अवरोध- रावलको अवज्ञा, बोल्न दिएकोमा सभामुखसमक्ष एमालेको आपत्ति

    काठमाडौं । प्रतिनिधिसभामा एमसीसी सम्झौता अनुमोदनका लागि प्रस्ताव दर्ता हुँदै गर्दा नेकपा एमालेका सांसद भीम रावललाई व्यक्तिगतरूपमा बोल्न दिएकोमा सभामुखसमक्ष एमालेले आपत्ति जनाएको छ ।

    पार्टीले कारबाही गरेका १४ सांसदलाई कारवाही नगरी एमाले विभाजनको मतियार बनेको भन्दै सभामुखको राजिनामा वा कारबाही सदरको माग गर्दै एमालेले ६ महिनादेखि लगातार संसदको कारबाहीमा भाग लिएको छैन ।

    आइतबार पनि सभामुखले सदनको कारबाही सुरू गरेलगत्तै एमाले सांसदहरू नियमित प्रक्रियाअनुसार नाराबाजी गर्दै रोष्टम घेराउ गर्न पुगेका थिए । तर, भीम रावल भने आफ्नै कुर्सीमा बसिरहेका थिए ।

    एमसीसी सम्झौता पेस गर्न लागिएकोमा सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले आपत्ति जनाउँदै आफ्नो भनाइ राखेपछि सभामुखले एमाले सांसद रावललाई समय दिएका थिए । जबकी एमालेले संसदको नियमित प्रक्रियामा भाग लिएको छैन भने कार्यव्यवस्था परामर्श समितिको बैठकमा समेत गएको छैन ।

    सभामुखलाई नै अश्वीकार गरेर पार्टीले सदनको कारबाहीमा भाग नलिएका बेला एमालेको अध्यक्षमा पराजित भएका प्रभावशाली नेता रावलले नियमित कारबाहीमा भाग लिएपछि एमालेकै सांसदहरू अचम्मित भए । सत्तापक्षले भने एमालेको अहिलेसम्मको सदनको कारबाही बहिष्कार अन्त्य भएको अर्थमा परिभाषित गरेका छन् ।

    एमालेको आपत्ति, सभामुखको ध्यानाकर्षण

    आइतबारको संसद बैठक सकिएलगत्तै एमालेका प्रमुख सचेतक विशाल भट्टराईलगायतले सभामुख अग्नि सापकोटालाई च्याम्बरमै भेटेर रावललाई बोल्ने समय दिएकोमा आपत्ति जनाएका थिए । पार्टीले सदनको कारबाहीमा भाग नलिएको र संसदीय दलले कुनै पनि सांसदका नाम नटिपाएको अवस्थामा रावललाई कसरी बोल्न दिइयो भन्ने प्रश्न भट्टराईले गरेका थिए ।

    जवाफमा सभामुखले देव गुरुङले बोलिसकेपछि आफूसँग पर्याप्त समय पनि रहेको र रावलले समय मागेकाले बोल्न दिएको बताएका थिए ।
    एमालेले भने संसदीय दलले नाम नदिएका सांसदलाई बोल्न दिने हो भने भोलि ३० जनाको नाम दिए सभामुखले बोल्न समय दिने कि नदिने ? भन्ने प्रश्न गरेका थिए ।

    सभामुखले रावललाई बोल्न दिनुमा त्रुटी हुन पुगेको भन्दै एमालेको सरोकारप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका थिए । एमालेका प्रमुख सचेतक भट्टराईले यसबारेमा दलले सांसद रावलसँग पनि सोध्ने बताए ।

    रावल भन्छन्- देश नै नरहने अवस्था आइसक्यो

    यसैबीच एमाले नेता रावलले एमसीसीजस्तो संवेदनशील र राष्ट्रघाती सम्झौताका विषयमा एमालेको मौनता उपयुक्त नरहेकोले आफू सार्वभौम जनताको प्रतिनिधिका रुपमा नबोली रहन नसकेको प्रतिक्रिया दिए ।

    नेपाल प्रेससँग कुरा गर्दै रावलले भने, ‘दुनियाँमा यस्तै राष्ट्रघाती सम्झौताका कारण कतिपय देशहरू विश्वको मानचित्रबाटै हराइसकेका छन् । यस्तो विषयमा एमाले नबोली अन्य विषयमा नारा लगाएर बस्न मिल्छ ? मैले संसदीय दलसँग सोधेर होइन, आफ्नै विवेकले बोलेको हुँ ।’

  • सत्तारुढ गठबन्धन बैठक : एमसीसीको विरोध गर्ने खनाल र श्रेष्ठलाई बोलाइएन

    सत्तारुढ गठबन्धन बैठक : एमसीसीको विरोध गर्ने खनाल र श्रेष्ठलाई बोलाइएन

    काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोध गर्ने एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई आइतबार बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नबोलाएको पाइएको छ । सुरूमा खनाल र श्रेष्ठ आउँदै छन् भनिए पनि दुवै नेतालाई नबोलाएको पाइएको हो ।

    सत्ता गठबन्धनको यसअघिका बैठकमा दुवै नेता उपस्थित हुँदै आएका थिए ।

    पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले बैठकमा आफूलाई नबोलाइएको जानकारी दिए । उनले एमसीसी संसदमा टेबुल गर्ने सहमतिप्रति आफ्नो आपत्ति रहेको उल्लेख गरे । ‘मलाई त बैठकमा बोलाउँदै बोलाइएन, अमेरिकासँग झुक्नेले सम्झौता गरे अरे, तर मेरो यसमा सधैँ विरोध रहन्छ’, खनालले नेपाल प्रेससँग भने, ‘अहिले संसद नै चलिरहेको छैन, कहाँ लगेर टेबल गर्छन् ?’

    माओवादी केन्द्रका नेता श्रेष्ठले पनि बैठकबारे आफूलाई कुनै जानकारी नदिएको उल्लेख गरे । एमसीसी संसदमा टेबुल गर्ने विषयमा पार्टीमा कुनै छलफल नभएको भन्दै उनले आफ्नो विरोध कायमै रहेको उनको भनाइ छ ।

    खनाल र श्रेष्ठ सुरुदेखि नै एमसीसीको विपक्षमा उभिँदै आएका छन् ।

  • एमसीसी सकसः पाँच दलीय गठबन्धनमा पाँचथरी धारणा

    एमसीसी सकसः पाँच दलीय गठबन्धनमा पाँचथरी धारणा

    काठमाडौं । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का बारेमा सत्तारुढ पाँच दलीय गठबन्धनमा पाँचथरी धारणा देखा परेका छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्व गरेको गठबन्धनमा एमसीसी बिनासर्त पारित गर्ने, एमसीसी टेबुल गर्न दिने तर संसोधनबिना अनुमोदन नगर्ने, एमसीसी टेबुल गरिए सरकारबाट बाहिरिनेलगायतका धारणा निर्माण भएका छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्व गरेको नेपाली कांग्रेस बिना सर्त एमसीसी संसदमा टेबुल गरेर अनुमोदन गराउने पक्षमा उभिएको छ ।

    गत साता सम्पन्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय अनुसार सरकारको नेतृत्वकर्ता कांग्रेस १६ फागुन भित्र एमसीसी अनुमोदन गराउने पक्षमा स्पष्ट देखिएको छ ।

    ‘गठबन्धन टुटे टुटोस तर एमसीसी पारित गराउने पक्षमा कांग्रेस छ,’ गठबन्धन बैठकमा सहभागी कांग्रेस महामन्त्री गगन थापाले पार्टी धारणा सार्वजनिक गर्दै आएका छन् ।

    यसअघि एमसीसीका बारेमा ‘हार्डलाइनर’ को रुपमा देखा परेको नेकपा एस शनिबारको स्थायी कमिटी बैठकपछि भने केही हदमा लचिलो भएको छ । नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार एमसीसीलाई संघीय संसदमा बिना अबरोध टेबुल गर्न दिने तर संसोधन बिनाअनुमोदन भने नगराउने पक्षमा स्थायी कमिटीले निर्णय लिएको जानकारी गराइसकेका छन् ।

    ‘एमसीसीलाई संसदीय प्रक्रिया अघि बढाउन टेबुल गर्न दिने पक्षमा नेकपा एसले निर्णय गरेको छ,’ प्रवक्ता खतिवडाले भने, ‘तर, बिनासंसोधन एमसीसी अनुमोदन गराउने पक्षमा पार्टी भने रहेको छैन ।’ उनका अनुसार सम्झौताको संसोधन भएपछि मात्रै एमसिसी अनुमोदन हुने नेकपा एसको बटमलाइन कायमै छ ।

    नेकपा माओवादी केन्द्रले एमसीसीलाई ‘जबरजस्ती’ टेबुल गरिएमा सरकारबाट बाहिरिने चेतावनी दिइसकेको छ । गत साता सम्पन्न माओवादी संसदीय दलको बैठकले गरेको निर्णय प्रधानमन्त्री देउवालाई अध्यक्ष प्रचण्डले जानकारीसमेत गराईसकेका छन् ।

    ‘एमसीसी टेबुल गरिए माओवादी गठबन्धन सरकारबाट बाहिरिन्छ, यो हामीलाई मान्य हुन्न्,’ प्रमुख सचेतक देवप्रसाद गुरुङले पार्टीको औपचारिक निर्णय यसअघि नै सुनाइसकेका छन । जुन निर्णयबाट माओवादी पछि हटेको अझैसम्म सार्वजनिक भएको छैन ।

    उता, तराई मधेस केन्द्रित जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) भने माओवादी केन्द्र र नेकपा एसले गर्ने निर्णयका आधारमा एमसीसीका पक्ष वा विपक्षमा उभिने निष्कर्षसहित गठबन्धनको बैठकमा सहभागी भइरहेको छ ।

    उता गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चा भने गठबन्धन छाडेर एमसीसीको विरोधमा सडक आन्दोलनमा होमिएको छ । ‘खसी देखाएर फर्सी खुवाउन लागेको’ भन्दै असन्तुष्ट जनमोर्चा ६ साना वममपन्थी दलसँग मिलेर सडक आन्दोलनमा छ ।

  • आजको संसदमा एमसीसी टेबल होला ?

    आजको संसदमा एमसीसी टेबल होला ?

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठकमा एमसीसी टेबल हुने कि नहुने भन्ने अन्योल छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकको सम्भावित कार्यसूचीमा भने एमसीसीको विषय राखिएको छैन ।

    सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्ने उल्लेख छ । तर बिहीबार बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले आज संसदमा एमसीसी टेबल गर्ने बताएका छन्।

    बैठकको अन्तिम कार्यसूची भने कार्यव्यवस्था परामर्श समितिको बैठकबाट तय हुनेछ । संसद बैठक बस्नुअघि आज फेरि सत्तागठबन्धनको बैठक बस्दैछ ।

    हिजो बैठकमा सहमति जुट्न नसकेपछि आजका लागि बैठक राखिएको हाे । आजको बैठकमा पनि सहमति जुट्ने सम्भावना भने न्यून छ । आजको बैठक १० बजे बालुवाटारमा डाकिएको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता छिटोभन्दा छिटो संसदबाट अनुमोन गराउन चाहे पनि सत्तारुढ माओवादी केन्द्र, नेकपा एस र जसपाले सहमति दिएका छैनन् । माओवादी केन्द्रले यथास्थितिमा एमसीसी अनुमोदन भए सरकारबाटै बाहिरिने निर्णय गरिसकेको छ । नेकपा एस र जसपा पनि यथास्थितिमा एमसीसी पारित गर्न नहुने अडानमा छ ।

    यद्यपि, नेकपा एसका अध्यक्ष माधव नेपाललाई एमसीसीमा सहमति दिएरै भए पनि गठबन्धन जोगाउन निकटका नेताहरुले दबाब दिएका छन् । र जसपाभित्र पनि एमसीसीबारे नेताहरुको एकमत छैन ।

    हिजोको बैठकमा सहमति नजुटेपछि प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओलीनिवास बालकोट गएका थिए । देउवाले ओलीलाई सत्तासाझेदारीको प्रस्ताव राखेको बताइएको छ ।

    पछिल्लो घटनाक्रमले एमसीसीका कारण सत्तागठबन्धन धरापमा परेको संकेत गरेको छ ।

  • एमसीसीसँगै संकल्प प्रस्ताव पारित गर्ने कांग्रेसको प्रस्ताव, प्रचण्डले अस्वीकार गरेपछि ओलीसँग संवाद सुरू

    एमसीसीसँगै संकल्प प्रस्ताव पारित गर्ने कांग्रेसको प्रस्ताव, प्रचण्डले अस्वीकार गरेपछि ओलीसँग संवाद सुरू

    काठमाडौं । नेपाली कांग्रेसले एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउने सन्दर्भमा उठेका प्रश्नहरूको निवारणका लागि संसदबाटै साझा संकल्प पारित गरेर जान सकिने प्रस्ताव गरेको छ ।

    सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसी अनुमोदनसँगै एमसीसी पूरकरूपमा संकल्प प्रस्ताव पारित गर्न सकिने प्रस्ताव गरेका हुन् ।

    एमसीसी संसदबाट अनुमोदन गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको अडानपछि कांग्रेस महामन्त्री थापाले ‘एमसीसीबाट नेपालको हितविपरीत कुनै काम हुन नदिने र त्यसो भएको खण्डमा सम्झौता खारेज गरिने’ आशयको संकल्प प्रस्ताव पारित गर्न सकिने बताएका थिए ।

    माओवादी र समाजवादीले एमसीसी पारित गर्न असहयोग गरे गठबन्धनमा समस्या आउने चेतावनी देउवाले दँदै आएका छन् । शुक्रबार बिहानका लागि गठबन्धनको बैठक राखेर विहीबार बेलुकी सपरिवार देउवा बाल्कोट पुग्नुले राजनीतिक तंरग पैदा गरेको छ ।

    ‘जे जति प्रश्न उठेका छन् त्यसलाई प्रष्ट पारौं । यदि भविष्यमा नेपालको हितविपरीत कुनै काम भएमा सम्झौता खारेज गर्न तत्पर छौं भनेर संकल्प प्रस्ताव पनि पारित गरौं । यसो गर्दा सबैको सरोकार सम्बोधन हुन्छ’, थापाको प्रस्ताव थियो ।

    थापाको प्रस्तावमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमत देखिएनन् । ‘गगनजी चीज त्योभन्दा धेरै अगाडि बढिसक्यो । अब संसदमा एमसीसीको पक्षमा मत दिन सक्दैनौं’, प्रचण्डको जवाफ थियो ।

    बैठकमा के भयो ?

    गठबन्धन बैठकको सुरूमै प्रधानमन्त्री शेरबहादुर देउवाले कुनैपनि हालतमा शुक्रबारको संसद बैठकमा एमसीसी टेबल गर्ने प्रस्ताव बैठकमा राखेका थिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी टेबल भए माओवादीले विपक्षमा मतदान गर्नुपर्ने अवस्था रहेको सुझाएका थिए ।

    प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच कुरा नमिलेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको बैठक ७ गतेका लागि तय भएकाले त्यतिञ्जेल पर्खिन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

    प्रधानमन्त्री देउवाले एमसीसीबारे आफ्नो निर्णय फेरिने कुनै सम्भावना नरहेको भन्दै तत्काल निर्णय दिन प्रचण्ड र नेपाल दुवैलाई आग्रह गरेका छन् ।

    प्रधानमन्त्रीले एमसीसी टेबल गराउन जस्तोसुकै निर्णय लिन पनि पछि नहट्ने बताएपछि प्रचण्ड र माधव दुवैले संसद सुचारु हुने ग्यारेण्टी खोजेका थिए ।

    एमसीसी संसदबाट अनुमोदन गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको अडानपछि कांग्रेस महामन्त्री थापाले ‘एमसीसीबाट नेपालको हितविपरीत कुनै काम हुन नदिने र त्यसो भएको खण्डमा सम्झौता खारेज गरिने’ आशयको संकल्प प्रस्ताव पारित गर्न सकिने बताएका थिए ।

    ‘एमालेले संसद अवरोध गरिरहेको छ । उसले संसद चल्न नदिए एमसीसी कसरी टेबल हुन्छ ?’, देउवालक्षित प्रश्न थियो । जवाफमा देउवाले संसद सुचारु गर्ने विषयमा एमालेसँग पनि आफूले संवाद गर्ने बताएका थिए । एमसीसीबारे कोहीपनि पूर्ववत् अडानबाट पछि नहटेपछि शुक्रबार बिहान पुनः बस्नेगरी बैठक टुंगियो ।

    बैठकलगत्तै प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट पुगेका छन् ।

    बैठकमा सहभागी जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले भने संसदबाट एमसीसी अनुमोदन गरेर जानुपर्ने बताएका थिए । एमसीसीबारे गठबन्धनभित्र २ धार देखिनु गलत भएको भन्दै उनले एजेण्डा सहकार्य नभए गठबन्धनको औचित्य नहुने बताएका थिए ।

    बैठकमा सहभागी नेताहरूका अनुसार माओवादी अध्यक्ष प्रचण्ड विगतमा भन्दा विहीबारको बैठकमा कडा मिजासमा प्रस्तुत भएका थिए ।

    बैठकपछि प्रतिक्रिया दिँदै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री फेब्रुअरी २८ भित्र प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन गराउने पक्षमा स्पष्ट रहेको बताए । ‘प्रधानमन्त्रीले एमसीसी अनुमोदन गराउन स्पष्ट प्रस्ताव गर्नुभएको छ । सहमतिका लागि फेरि पनि प्रयास गर्छौं’, मन्त्री कार्कीको भनाइ छ ।

    प्रचण्ड कडा माधव नरम

    बैठकमा सहभागी नेताहरूका अनुसार माओवादी अध्यक्ष प्रचण्ड विगतमा भन्दा विहीबारको बैठकमा कडा मिजासमा प्रस्तुत भएका थिए ।

    ‘यसअघि पार्टीमा छलफल गर्छु , मिलाउँछु भन्नुहुन्थ्यो । आज एमसीसी संसदमा आए विपक्षमा मतदान गर्छौं भन्नुभयो । एमसीसी टेबल समेत गर्न नदिने कडा कुरा गर्नुभयो’, प्रचण्डको प्रस्तुतिबारे एक नेताले भने ।

    बैठकमा नेकपा एसका अध्यक्ष नेपाल भने संयमितरूपमा प्रस्तुत भए । उनले एमालेले संसद अवरोध गरिरहेको अवस्थामा एमसीसी टेबल गर्नपनि गार्‍हो हुने बताएका थिए । फागुन ७ गते आफ्नो पार्टीको बैठक बस्न लागेको भन्दै नेपालले २ दिन समय दिन प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।

    ओलीसँग संवाद सुरू

    बालुवाटारमा गठबन्धन बैठक सकिएलगत्तै प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग भेट गरेका छन् । ओली निवास बालकोट पुगेका प्रधानमन्त्री देउवाले एमसीसीमा एमालेको साथ खोजिरहेका छन् । यसअघि पनि ओलीसँग संवाद गर्न देउवाले कांग्रेस नेताहरू खटाएका थिए ।

    माओवादी र समाजवादीले एमसीसी पारित गर्न असहयोग गरे गठबन्धनमा समस्या आउने चेतावनी देउवाले दँदै आएका छन् । शुक्रबार बिहानका लागि गठबन्धनको बैठक राखेर विहीबार बेलुकी सपरिवार देउवा बाल्कोट पुग्नुले राजनीतिक तंरग पैदा गरेको छ ।

  • गठबन्धनको ‘निर्णायक बैठक’ मा एमसीसी बोक्ने र रोक्नेको यस्तो छ तयारी

    गठबन्धनको ‘निर्णायक बैठक’ मा एमसीसी बोक्ने र रोक्नेको यस्तो छ तयारी

    काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) पास गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ । गठबन्धनमा पेचिलो बन्दै गइरहेको एमसीसीबारे छलफल गर्न बोलाइएको बैठकलाई निर्णायक बैठकका रूपमा बुझिएको छ ।

    दिउँसो ३ बजे बस्न लागेको बैठकमा नेपाली कांग्रेसले एमसीसी टेबल गर्न सत्ता घटकका अन्य दलहरूलाई आग्रह गर्ने तयारी गरेको छ । नेपाली कांग्रेसले भोलिको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गर्ने गरी तयारी गरेको छ र त्यसमा आजको बैठकमा सहमति जुटाउने प्रयास हुने कांग्रेस प्रवक्ता प्रकाश शरण महतले बताए ।

    ‘भोलि एमसीसी अगाडि बढ्नु पर्छ भन्ने हाम्रो मान्यता छ । भोलि बाट फेरी त्यो सार्ने कुरा हुँदैन ’ उनले भने ‘उहाँहरूको अन्तिम कुरा सुन्न आज बैठक आह्वान गरिएको हो । ’

    महतले माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले एमसीसी टेबल गर्ने नदिने भन्ने कुरा गलत रहेको बताए । ‘माओवादी र एकीकृत समाजवादीले आज पनि एमसीसी स्विकार नगरे के हुन्छ ’ नेपाल प्रेसको प्रश्नमा उनले भने, ‘उहाँहरूले स्विकार गरे पनि नगरे पनि केही हुँदैन । उहाँहरूले नै अगाडी बढाउँछौ भन्नु भएको । त्यो टेबल हुनुपर्छ । छलफल हुनु पर्छ ।त्यो टुङ्गो लाग्नु पर्छ । ’

    अमेरिकाले सम्झौतामा परिमार्जन हुन नसक्ने र फागुन १६ सम्म पारित नभए सम्झौता रद्द हुने ‘अल्टिमेटम’ दिएपछि काँग्रेसले त्यसलाई अघि बढाउने निर्णय समेत गरिसकेको छ । नेपालको अन्तरदेशीय प्रसारण लाइन र राजमार्ग निर्माणका लागि ५५ करोड अमेरिकी डलर बराबरको सहायता अमेरिकाले दिने गरी सम्झौता भएको छ ।

    बुधबारको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गर्ने तयारी गरेका प्रधानमन्त्री शेर बहादुर देउवाले माओवादी अध्यक्ष पुष्प कमल दाहालसँगको छलफल पछि आजको लागि गठबन्धनको बैठक बोलाएका थिए ।

    कांग्रेस प्रवक्ता महतका अनुसार आज एमसीसी पारित गराउन सत्तारुढ घटकका अन्य दलहरूलाई मनाउन अन्तिम प्रयास हुनेछ । अन्य दलहरूले असहमति जनाए पनि कांग्रेसले एमसीसी टेबल गरेरै छोड्ने तयारी गरेको छ । सभामुखले एमसीसी रोकेर राख्न नमिल्ने महत बताउँछन् ।

    ‘उहाँहरूले स्वीकार गर्ने वा नगर्ने त्यो उहाँहरूको कुरा हो उहाँहरूको विश्वसनीयताको कुरा हो ’ महतले भने, ‘हामी यो कुरामा स्पष्ट छौँ । एमसीसी टेबल हुनुपर्छ भोलि नै हुनुपर्छ । भोलिलाई पर्सि लैजाने कुरा स्वीकार्य छैन ।’

    यस्तो छ रोक्ने रणनीति

    नेपाली कांग्रेसले भोलि नै एमसीसी टेबल गर्ने गरी छलफल सुरु गरे त्यो मान्य नहुने एकीकृत समाजवादी पार्टी र माओवादी केन्द्रले बताएका छन् । उनीहरु दुवै दलले अहिलेको अवस्थामा एमसीसी टेबल गर्न नसकिने बताउँदै आइरहेका छन्।

    आजको बैठकमा एमसीसीमा संशोधन आवश्यक रहेको हुँदा तत्काल टेबल गर्न नसकिने अडान लिइने एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले बताए ।

    ‘यथास्थितिमा एमसीसी पास गर्न सकिँदैन ’ उनले नेपाल प्रेसलाई भने, ‘आजको बैठकमा पनि हामी यही कुरा स्पष्ट रूपमा राक्छौँ । ’
    कांग्रेसले भोलि एमसीसी टेबल गर्ने तयारी गरिरहेको भएपनि हमालले भने भोलि टेबल नहुने दाबी गरेका छन् । ‘उहाँहरूले पटक पटक डेटहरू राख्नु भएको छ । सहमतिमा त्यो डेट पछाडि पनि सर्दै गइरहेको हुन्छ ’ उनले भने, ‘आज त्यो बारे पनि कुरा होला । हामी सहमतिको लागि प्रयत्न गर्छौ ।’

    अहिले सम्म एकीकृत समाजवादी दलको बैठकले यस विषयमा कुनै निर्णय गरेको छैन । तर, केही समय भित्रै स्थायी कमिटिको बैठक आह्वान गरेर यस विषयमा निर्णय गरिने हमालले जानकारी दिए ।

    यता माओवादी केन्द्रले पनि आजको बैठकमा एमसीसी पारित गर्न नसकिने अडान राख्ने तयारी गरेको छ । माओवादी केन्द्रले बुधबारनै दलको बैठकबाट एमसीसी टेबल गरे सरकारबाट फिर्ता हुने समेत निर्णय गरिसकेको छ ।

    आजको बैठकमा पनि त्यही अडान राख्ने माओवादी नेता लिलामणी पोख्रेलले बताए । ‘संशोधन विना कुनै पनि हालतमा एमसीसी टेबल हुँदैन ’ उनले भने, ‘हामी आजको बैठकमा पनि हामी त्यही त्यही कुरामा जोड दिन्छौँ ।’

  • एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

    एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

    काठमाडौं।अमेरिकी सहयोग परियोजना (एमसीसी) पास गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे बस्न लागेको हो ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दलका शीर्ष नेताहरूसँग आज दिउँसो ३ बजे हुने छलफलबाट एमसीसीबारे छिनोफानो हुनेछ ।

    बुधबार एमसीसी प्रतिनिधि सभाको बैठकमा टेबल गर्न जोडबल गरिरहेका प्रधानमन्त्री त्यसमा सफल हुन सकेनन् । गठबन्धनमा रहेका दलहरुकै असहयोगपछि देउवाको एमसीसी जसरी नि टेबल गर्ने योजना सफल हुन सकेन ।

    गठबन्धनको प्रमुख दल नेकपा माओवादी केन्द्रले एमसीसी यथास्थितिमा पास गर्न जबरजस्ती गरे सरकारबाट बाहिरिने निर्णय गरेको छ भने अर्को दल एकीकृत समाजवादीले निर्णय गरेको छैन तर उ पनि संशोधनपछि मात्र पारित गर्नुपर्ने पक्षमा रहेपछि देउवाले निर्णायक छलफल गर्न लागेका हुन् ।

    माओवादी केन्द्रको संसदीय दलको बैठकको निर्णयबारे जानकारी गराउन र एमसीसीबारे थप छलफल गर्नका लागि अध्यक्ष प्रचण्ड बुधबार बिहान बालुवाटार पुगे । जहाँ उनले पार्टीको निर्णय र आफ्नो बाध्यताबारे प्रधानमन्त्रीलाई भनेका थिए ।

    आफ्नो पार्टीका अधिकांश नेता कार्यकर्ता एमसीसीको विपक्षमा रहेकाले आफूले एक्लै निर्णय गर्न नसक्ने प्रचण्डले देउवासँग बताएका थिए । चुनाव नजिकिएको भन्दै उनले एक वर्षपछि सार्न प्रयास गर्न देउवालाई आग्रह गरे । तर देउवाले त्यसमा सहमति जनाएनन् ।

    तत्काल एमसीसी पास गर्नुपर्ने दबाबमा रहेका देउवाले अमेरिकासँगको सम्बन्धमा समस्या आउने र आगामी दिनमा विश्वस्तरबाट आउने अनुदान, सहयोग रोकिने उनको भनाइ थियो । एक्ला एक्लै भएको भेटबारे दुवै नेताले आफूहरु निकट नेतालाई जानकारी गराएका थिए ।

    गठबन्धन सरकारको नेतृत्व गरे सहयात्री दलनै बिरोधमा उत्रिँदा आफू समस्यामा परेको देउवाको भनाइ थियो । पार्टीले गठबन्धनमा कुरा नमिले पनि अघि बढ्नु पर्ने दबाब दिइरँदा सहयात्री दलको यस्तो निर्णयले समस्या पर्ने बताए ।

    त्यसपछि देउवाले भने, ‘यसरी अघि बढ्न समस्या हुन्छ, गठबन्धनको निर्णायक बैठक बोलाएर निर्णय गरौं ।’

    देउवाको प्रस्तावलाई प्रचण्डले स्वीकार गरे । गठबन्धनमा छलफल गरेर साझा विन्दू खोजी गर्न सकिने प्रचण्डको विश्वास थियो ।

     

  • संसद भवन वरपर सुरक्षा ‘हाइ अलर्ट’ (तस्बिरहरू)

    संसद भवन वरपर सुरक्षा ‘हाइ अलर्ट’ (तस्बिरहरू)

    काठमाडौं । प्रतिनिधिसभा बस्ने समय नजिकिँदै गर्दा संसद भवन आसपास निगरानी बढाइएको छ ।

    नयाँ बानेश्वरस्थित संसद भवनको चारै कुनामा जनपद र सशस्त्र प्रहरीको टोली बसेको छ । ती निकायका उच्च अधिकारी फिल्डमा खटेका छन् । एमसीसी र सरकारविरुद्ध हुनसक्ने गतिविधिलाई ध्यान दिँदै प्रहरीलाई ‘हाइ अलर्ट’ गराइएको एक सुरक्षा अधिकारीले बताए ।

    आजको बैठकमा एमसीसी टेबल गर्ने सरकारको तयारीमा गठबन्धनबीचकै दल विभाजित देखिएका छन् ।

    एमसीसीविरुद्ध ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाले नेपाल बन्दको आव्हान गरेका छन् । त्यस्तै माओवादीनिकटको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीलगायतले एमसीसीविरुद्ध विरोध प्रदर्शन गरिरहेका छन् ।

  • एमसीसीको विरोध गर्न ‘सडक अभाव’, माइतीघरदेखि बानेश्वरसम्म सात प्रर्दशन

    एमसीसीको विरोध गर्न ‘सडक अभाव’, माइतीघरदेखि बानेश्वरसम्म सात प्रर्दशन

    काठमाडौं । अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा आज राजधानी काठमाडौंको माइतीघरदेखि संसद भवन रहेको बानेश्वर चोकसम्म सात वटा कार्यक्रम राखिएको छ ।

    सरकारले आज हुने प्रतिनिधिसभा बैठकमा एमसीसी अनुमोदनको लागि टेवल गर्ने सम्भवना बढेपछि विरोधका कार्यक्रम राखिएका हुन् ।

    बिभिन्न राजनीतिक दल, भ्रातृ संगठनहरुले विरोध कार्यक्रमको आयोजना गरेका छन् । विरोध कार्यक्रमका कारण माइतीघरदेखि बानेश्वरसम्मको सडकखण्ड दिनभरी प्रभावित हुने देखिएको छ ।

    एकैदिन धेरै पार्टी तथा भातृ संगठनले विरोधक कार्यक्रम राखेपछि उनीहरुको कार्यक्रमको समय पनि जुधेको छ ।

    नेकपा (माओवादी केन्द्र)निकट अनेरास्ववियू (क्रान्तिकारी) र वाइसीएल नेपालले यथास्थितिमा एमसीसी टेबल गर्ने कदमविरुद्ध संसद भवन बानेश्वर घेराउ कार्यक्रम राखेको छ । नयाँ बानेश्वरस्थित एभरेस्ट होटल अगाडि बिहान ११ बजे विरोध कार्यक्रम गरिने अनेरास्ववियू (क्रान्तिकारी) र वाइसीएलले जनाएका छन् ।

    पूर्वसुरक्षाकर्मी परिषद् र नेपालका लागि नेपाली पार्टीले एमसिसीको विरोधमा मौन जुलुसको आयोजना गरेको छ । मौन जुलुस बिहान साढे ११ बजे माइतीघर मण्डलाबाट सुरु हुने जनाइएको छ ।

    हाम्रो नेपाल हामी नेपाली अभियानले पनि एमसिसीको विरुद्ध विरोध प्रदर्शन आयोजना गर्दैछ । मध्यान्ह १२ बजे माइतीघर मण्डलाबाट अभियानले विरोध प्रदर्शन सुरु गर्ने जनाएको छ ।

    राप्रपाका भातृसंगठनहरूले एमसिसी विरुद्ध बृहत विरोध प्रदर्शन गर्ने जनाएका छन् । मध्यान्ह १२ बजे बबरमहलमा जम्मा भइ संसदभवन नयाँ बानेश्वरसम्म नारा लगाउँदै जाने उनीहरुको कार्यक्रम छ ।

    नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) र नेपाल कम्युनिस्ट पार्टी लगायत ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले एमसिसी सम्झौताविरुद्ध माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शनको कार्यक्रम राखेको छ। कार्यक्रम मध्यान्ह १२ बजेत सुरु हुने जनाइएको छ ।

    नेकपा (एकीकृत समाजवादी)निकट विद्यार्थी संगठन अनेरास्ववियूले एमसीसीको बिरोधमा संसद भवन घेराउ गर्ने कार्यक्रम राखेको छ ।

  • एमसीसीमा सत्ताघटक दलकै मत तीनतिर, के होला आजको संसदमा ?

    एमसीसीमा सत्ताघटक दलकै मत तीनतिर, के होला आजको संसदमा ?

    कैलाली । बहुचर्चित र विवादित अमेरिकी सहायता परियोजना (एमसीसी) टेबल गर्ने–नगर्ने विषयमा साढे ११ बजे संसद् भवन नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । संसद सचिवालयको सम्भावित कार्यसूचीमा एमसीसी उल्लेख नभए पनि नेपाली कांग्रेसले भने कार्यव्यवस्था परामर्श समितिको बैठकमार्फत एजेन्डा तय गर्ने रणनीति तयार गरेको छ ।

    अमेरिकाले सम्झौतामा परिमार्जन हुन नसक्ने र फागुन १६ गतेसम्म पारित नभए सम्झौता रद्द हुने ‘अल्टिमेटम’ दिएपछि कांग्रेसले आजकै बैठकमा टेबल गर्ने तयारी गरेको हो ।

    कांग्रेस प्रवक्ता प्रकाशशरण महतले एमसीसी टेबल हुने समझदारी भएको भन्दै कार्यव्यवस्था परामर्श समितिमा सहमति गर्ने दाबी गरेका छन् ।
    ‘एमसीसी टेबल हुने समझदारी भएको छ’ उनले नेपाल प्रेसलाई भने, ‘सम्भावित कार्यसूचीमा छैन तर, हामी कार्यव्यवस्था परामर्श समितिमा राख्छौँ । त्यही सहमति हुन्छ ।’

    प्रमुख सत्तारुढ नेपाली कांग्रेसको हिजो बसेको संसदीय दलको बैठकले एमसीसी सम्झौता संसदमा टेबल गर्ने र अनुमोदनको पक्षमा उभिने निर्णय गरेको थियो ।

    सहमतिमा हुन्छ, नत्र हुँदैन- नेकपा एस

    एमसीसी आजको बैठकमा टेबल गर्ने–नगर्ने भन्ने विषयमा सत्ता गठबन्धन भित्रै साझा धारणा बनिसकेको छैन । नेपाली कांग्रेसले एमसीसी टेबल गर्ने अन्तिम तयारी गरिरहेको बेला माओवादी र एकीकृत समाजवादी दलले भने अहिलेसम्म कांग्रेसलाई साथ दिइसकेको छैनन् ।

    दुवै दलले अहिलेकै अवस्थमा एमसीसी पारित गर्न सकिने अवस्था नरहेको बताउँदै आइरहेका छन् । आजको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि कांग्रेसको प्रस्तावमा सहमति जनाउने वा विरोध गर्ने भन्नेबारे निर्णय भइसकेको छैन । बैठकबाटै टेबल गर्ने वा नगर्ने सहमति हुने एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले बताए । ‘साढे ११ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक रहेको छ’ उनले भने ‘त्यहाँ सहमति भएका टेबल हुन्छ नभए टेबल हुँदैन ।’

    सहमति गर्ने नगर्ने भन्ने विषयमा पनि अहिले सम्म केही सहमति नभएको उनले जनाकारी दिए ।

    टेबल हुँदैन– माओवादी

    यता माओवादी केन्द्रले एमसीसी टेबल हुन नसक्ने दाबी गरेको छ । ‘संसद् खुलेकै छैन कसरी एमसीसी टेबल हुन्छ ?’ माओवादी नेता लिलामणि पोख्रेलले भने, ‘बलजफ्ती एमसीसी टेबल गर्न हुँदैन ।’

    उनले काँग्रेसले एमसीसी टेबल गर्ने प्रस्ताव ल्याए त्यस प्रस्ताव माथि छलफल हुनै नसक्ने बताए ।

    ‘त्यो विषयमा अहिले छलफल नै गर्न आवश्यक छैन’, उनले भने, ‘कार्यव्यवस्था परामर्श समितिको बैठकमा अहिले त्योमाथि छलफल नै अघि बढ्दैन ।’

    माओवादीले एमसीसीबारे धारणा बनाउन दलको बैठक पनि बोलाएको छ । पोख्रेलले उक्त बैठकमा पनि यही निर्णय हुने विश्वास व्यक्त गरे ।

    एमालेले विरोध जारी राख्ने

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि प्रतिनिधि सभाको बैठक चल्न नलिने जनाएको छ । एमसीसी टेबल भए पनि नभए पनि बैठकमा विरोध जारी रहने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

    ‘अहिलेको अवस्थामा सदन चल्न सक्दैन’ उनले भने ‘हामीले हाम्रो विरोधलाई निरन्तरता दिन्छौँ ।’

    कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि एमाले जाने वा नजाने भन्ने विषयमा पनि परामर्श भइरहेको उनले जानकारी दिए ।

    ‘साढे ११ बजे बन्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा हामी उपस्थिति हुने वा नहुने भन्ने विषयमा पनि छलफल चलिरहेको छ’ उनले भने ‘यस विषयमा पनि हामी केही समय पछि आधिकारिक धारणा सार्वजनिक गर्छाै ।’

    अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका कार्य व्यवस्था परामर्श समितिको बैठकमा जाने नजाने भन्ने यकिन हुने उनले जानकारी दिए ।

    जसपामा विवाद

    एमसीसीबारे जसपा अध्यक्ष उपेन्द्र यादव माओवादी र एकीकृत समाजवादीसँग नजिक छन् भने संघीय अध्यक्ष बाबुराम भट्टराई कांग्रेससँग एकमत छन् । यो विषयले पार्टी विवाद चर्किएको छ । भट्टराई यथास्थितिमै एमसीसी अनुमोदनको पक्षमा छन् ।

    भट्टराईले एमसीसीको विरोध गर्नेहरू गठबन्धनकै समर्थकसँग मिलेर सरकारमा बस्न नमिल्ने बताउँदै आइरहेका छन् । एमसीसीको समर्थक र विरोधी एकै गठबन्धनमा बस्नै नमिल्ने उनको तर्क छ ।

    ‘एमसीसीको मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति, राज्य प्रणाली र विकास नीतिको विषय बनाउने हो भने यसका समर्थक र विरोधीहरू एउटै गठबन्धन–सरकारमा बस्न मिल्दैन’, भट्टराईले ट्वीटरमा भनेका छन्, ‘सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट हुनुहुँदैन।’

  • एमसीसीको विरोधमा वाइसियल र नेकपा एसनिकट विद्यार्थीले संसद भवन घेर्ने

    एमसीसीको विरोधमा वाइसियल र नेकपा एसनिकट विद्यार्थीले संसद भवन घेर्ने

    काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी आजको संसदमा टेबल हुने सम्भावना बढेपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भ्रातृ संगठनले संसद भवन घेर्ने भएका छन् ।

    माओवादीको युवा संगठन वाइसियल र नेकपा एसको विद्यार्थी संगठन अनेरास्ववियूले एमसीसीको विरोधमा संसद भवन घेर्न लागेका हुन् । सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेसले एमसीसी संसदबाट पारित गर्ने निर्णय गरिसकेको छ । माओवादी र नेकपा एसले भने यथास्थितिमा एमसीसी पास हुन नहुने बताइरहेको छ ।

    आजको संसदमा एमसीसी सम्झौता टेबल हुने सम्भावना छ । संसद बैठकभन्दा अघि बस्ने कार्यव्यवस्था समितिले आजको संसद बैठकको कार्यसूची तय गर्नेछ ।

  • एमसीसीसँग साटिएको महाअभियोग र यसको असर

    एमसीसीसँग साटिएको महाअभियोग र यसको असर

    प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध महाअभियोग दर्ता भएपछि नेपालको राजनीति गर्माएको छ । त्यसो त अमेरिकी सहयोग परियोजना एमसीसीका कारण नेपालको राजनीति त्यसै पनि गर्माएकै थियो । महाअभियोग प्रकरणले आगोमा घ्यू थप्ने काम गरेको छ ।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९८ जना सांसदहरुको दस्तखतसहित हठात् दर्ता गरिएको महाअभियोग प्रस्तावको दृश्यमा प्रधानन्यायाधीश राणाको न्याय निरुपणमा देखिएको क्षमता, नेपाल बार एशोसीयसनको आन्दोलन र सर्वोच्च अदालतको व्यथिति बहाना बनाइएको छ । तर अदृश्यरुपमा नेपाली कांग्रेसको एमसीसी स्वार्थ, नेकपा एकीकृत समाजवादीको १४ सांसदको पद गुम्ने भय र नेकपा माओवादी केन्द्रको अस्थिर चरित्रले काम गरेको छ ।

    न्यायालयमाथि राजनीतिक प्रहारको यो दोस्रो प्रयत्न हो । पहिलोपटक आजभन्दा चार वर्षअघि तत्कालीन प्रधानन्यायाधीश शुशीला कार्कीलाई पनि यसैगरी राजनीतिक स्वार्थबाट प्रेरित भएर महाअभियोग प्रस्ताव दर्ता गरिएको थियो । संयोग कस्तो भने त्यतिबेला पनि कांग्रेस र माओवादी केन्द्रकै गठजोड थियो र अहिले पनि मुख्य त कांग्रेस र माओवादीकै गठजोड छ ।

    दुःखद बिडम्बना त के भने त्यतिबेला राजनीतिक स्वार्थमा ल्याइएको महाअभियोगलाई तत्कालीन सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शम्सेर जबरा (वर्तमान प्रधानन्यायाधीश)ले कानूनीरुपमा परास्त गरिदिएका थिए । तर अहिले उनीविरुद्ध नै राजनीतिक स्वार्थप्रेरित महाअभियोग दर्ता गरिएको छ ।

    यो राजनीतिक दुष्कर्मलाई यतिबेला कानूनीरुपमा पराजय गर्न सर्वोच्च अदालतको न्यायाधीशहरुले आँट गर्ने छाँट पनि देखिएको छैन । किनभने सर्वोच्च अदालत लामो समयदेखि राजनीतिक दलका तथाकथित कानूनी सल्लाहकारहरुको खेलमैदान बनेको प्रष्टै छ । कानूनी क्षेत्रलाई शुद्ध राख्ने मुख्य दायित्व भनेको न्याय क्षेत्रमा सक्रिय कानून व्यवसायी र न्यायाधीशहरुकै हो । त्यसैले अपेक्षा गरौं, योपटक पनि कुनै त्यस्तो न्यायाधीश निक्सने छन्, जसले राजनीतिकरुपमा आएको अहिलेको महाअभियोगलाई पनि कानूनीरुपमा पराजित गरिदिने छन् ।

    महाअभियोगको यो हठात् कदम दुई छुट्टाछुट्टै पृष्ठभूमिको उपज हो ।

    पहिलो, हामी यदाकदा सुन्ने गथ्र्यौं– नेपाली कांग्रेसभित्र कोइराला परिवार भारतसंग नजिक भए पनि शेरबहादुर देउवाको कनेक्सन भने अमेरिकासँग जोडिएको छ । यसको तथ्यगत पुष्टि एमसीसीको लफडाले गर्दैछ । किनभने अहिले एमसीसी पास गर्ने सबैभन्दा बढी हतारो नेपाली कांग्रेस र त्यसभित्र पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई छ ।

    दुःखद बिडम्बना त के भने त्यतिबेला राजनीतिक स्वार्थमा ल्याइएको महाअभियोगलाई तत्कालीन सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शम्सेर जबरा (वर्तमान प्रधानन्यायाधीश)ले कानूनीरुपमा परास्त गरिदिएका थिए । तर अहिले उनीविरुद्ध नै राजनीतिक स्वार्थप्रेरित महाअभियोग दर्ता गरिएको छ ।

    त्यसो त मुख्य ठूला दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुले खुलेर एमसीसीको विरोध गर्न सकिरहेका छैनन् । पार्टी कार्यकर्ता तह र ठूलो संख्यामा जनता तहमा एमसीसीको विरोध नभएको अवस्था थियो भने ठूला दलका शीर्ष नेताहरुले उफ्री–उफ्री थपडि मारेर यसलाई उतिबेलै पास गरिसकेका हुन्थे । तर समस्या सभामुख अग्नि सापकोटा, पूर्वसभामुख कृष्णबहादुर महरा, एमाले नेता भीमबहादुर रावल, सबैदलका निस्वार्थी कार्यकर्ता र इमान्दार जनता भइदिए ।

    एमसीसीको विषयमा नेकपा एमालेले आफू सत्तामा नभएकोले पहिले गठबन्धन बीचमा एकता भएर निर्णय आउनु पर्ने र बल्ल आफ्नो दलले धारणा प्रष्ट गर्ने अड्को थापिदियो । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले यथास्थितिमा संसदमा टेबल नै गर्न नसकिने प्रष्ट पारिदियो ।

    अमेरिकाको डेटलाईन फागुन १६ गतेभित्रै एमसीसी पास गर्ने मान्यताका साथ सत्तारोहण गरेका प्रधानमन्त्री शेरबहादुर देउवालाई यो परिस्थितिले अफ्ठेरोमा फसायो । त्यसैले उनले एमसीसी पास गर्न सघाउने हो भने प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध महाअभियोग ल्याउन सहमत हुने कुरा गठबन्धनका मुख्य दुई दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग राखे ।

    सुनिएअनुसार प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जवरालाई महाअभियोग लगाउन सहयोग भयो भने एमसीसी संसदमा टेबल गर्न र पास गर्न सहयोग गर्ने वचन माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले दिएको छ । उनीहरुले एमसीसी निर्णयार्थ पेश गर्ने बेला अनुपस्थित भएर सहयोग गर्ने वचन देउवालाई दिएको चर्चा अहिले राजनीतिक वृत्तमा व्यापक छ । हो या होइन भन्ने पुष्टि फागुन ४ गतेको संसद बैठकबाट थाहा होला ।

    एक पक्षले एमसीसी भनेको अमेरिकाले नेपालमा सञ्चालन गर्दै आएको अन्य परियोजना जस्तै हो भनेर प्रचार गरिरहेका छन् । तर यो अन्य परियोजना जस्तै सहयोग मात्र हो कि अमेरिकी सैन्य गठबन्धनको अंगसहितको परियोजना भन्ने विषयमा स्पष्ट भइसकेको छैन । राजनीतिक दलहरुले पनि यस विषयमा नागरिकलाई प्रष्ट पार्न सकेका छैनन् ।

    यो सामान्य परियोजना मात्र भए अमेरिकाको मन्त्रीले नै फोन गरेर राजनीतिक दलका नेताहरुलाई धम्कीको शैलीमा एमसीसी पास गर्न दबाब दिन जरुरी थिएन होला । सहयोगको मात्र कुरा भए त अमेरिकी सरकारको चासोभन्दा पनि नेपाल सरकारकै चासो हुनुपर्ने हैन र ! यहाँ त लिनेकोभन्दा दिनेको बढी चासो देखिएको छ । दिनेको बढी चासोकै कारण प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसीको विषयमा निकै ठूलो दवबाबमा परेका छन् ।

    एमसीसीको विषयमा नेकपा एमालेले आफू सत्तामा नभएकोले पहिले गठबन्धन बीचमा एकता भएर निर्णय आउनु पर्ने र बल्ल आफ्नो दलले धारणा प्रष्ट गर्ने अड्को थापिदियो । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले यथास्थितिमा संसदमा टेबल नै गर्न नसकिने प्रष्ट पारिदियो ।

    यसको अर्थ एमसीसी परियोजना शुद्ध सहयोगको लागि मात्र हो भन्ने अवस्था छैन । जलविद्युत् र सडकको क्षेत्रमा सहयोग गर्ने बहानामा अमेरिकाले नेपालबाट केही कुराको अपेक्षा त पक्कै गरेको छ ।

    दोस्रो, प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले आइतबार नेकपा एकीकृत समाजवादीका १४ सांसदसँग सम्बन्धित मुद्दा पेशीमा चढाए । यसको सुराक एकीकृत समाजवादीका नेताहरुले पहिले नै पाइसकेका थिए ।

    संविधानको धारामै नभएको व्यवस्था प्रयोग गरी परमादेशबाट प्रधानमन्त्री नै तोक्ने ल्याकत राखेका प्रधानन्यायाधीश राणाको निर्णय ठोस खालको नहुने कुरामा समाजवादीका नेताहरु प्रष्ट थिए । किनभने उनीहरुलाई परमादेशबाट प्रधानमन्त्री पाउने कुरामै विश्वास थिएन त्यतिबेला ।

    परमादेशबाट प्रधानमन्त्री बनाउने चोलेन्द्रले १४ सांसदको पद खाइदिनसक्ने आँकलन गरेपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालसँगको सहमतिमा प्रधानन्यायाधीश राणाविरुद्धको महाअभियोगसँग एमसीसी साटेको चर्चा अहिलेको राजनीतिक वृत्तमा मुख्य विषय बनेर फैलिएको छ ।

    पुष्पकमल दहाल र माधवकुमार नेपालले शनिबार बेलुका महाअभियोगसँग एमसीसी सम्झौता साट्ने सहमति गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई मनाएका थिए ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाललाई पनि आफूले डिजाइन गरेको सत्तागठबन्धन तीन तहको निर्वाचन सम्पन्न नहुँदासम्म जोगाउने र आफूले समेत हस्ताक्षर गरेर एमसीसी मुख्यालयमा पठाएको पत्रको मान राख्ने दबाब थियो । त्यसैले उनी पनि एमसीसी र महाअभियोगको साटासाटमा मुख्य साझेदारी बन्न सहमत भइदिएका हुन् ।
    अबको प्रभाव

    महाअभियोग जस्तो गम्भीर र दीर्घकालीन असर गर्ने विषयलाई प्रमुख तीन राजनीतिक दलले खेँलाचीरुपमा लिएर जसरी राजनीतिक तर गैरकानूनी कदम चालेका छन्, त्यसको तरङ्गले स्थानीय निर्वाचनसंगै प्रमुख प्रतिपक्ष दलसंगको सम्बन्धलाई नै धुमिल बनाइदिने खतरा बढेको छ ।

    नेकपा एमालेले महाअभियोग प्रस्तावलाई गम्भीर षड्यन्त्र भन्दै प्रतिवाद गर्ने निर्णय गरिसकेको छ । यसको अर्थ केपी ओली नेतृत्वको सरकारलाई विस्थापित गर्न परमादेश जारी गर्ने बाँकी चारजना न्यायाधीशविरुद्ध वा कानूनीरुपमै विभेदपूर्ण निर्णय गर्ने सभामुख अग्नि सापकोटाविरुद्ध महाअभियोग दर्ता गर्नसक्ने आँकलन राजनीतिक वृत्तमा छ ।

    सँगै एमालेले चार न्यायाधीश र सभामुखविरुद्ध महाअभियोग प्रस्ताव ल्याए सत्तागठबन्धनका तीन दलले राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने चर्चासमेत सुरु भएको छ ।

    नेपाली राजनीतिमा मडारिएको यो कालो बादलले अन्ततः कानूनी मूल्य मान्यता र राजनीतिक स्थिरतालाई नै धरासायी बनाउने छ । राजनीतिको छत्रछायाँमा कानून व्यवसायी र न्यायाधीशहरुले न्यायालयमा गर्दै आएको आक्रमणले वैधानिकता पाउने छ । र मुलुकबाट न्याय हराउने छ ।

    त्यसैले यस्तो गम्भीर विषयलाई राजनीतिक इगो या स्वार्थ पूरा गर्ने हतियारको रुपमा प्रयोग गर्ने गम्भीर भुल नेताहरुले गर्नुहुन्न ।

  • एमसीसीका कारण गठबन्धन नटुट्ने सञ्चारमन्त्री कार्कीको दाबी

    एमसीसीका कारण गठबन्धन नटुट्ने सञ्चारमन्त्री कार्कीको दाबी

    काठमाडौँ । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीका कारण गठबन्धन नटुट्ने दावी गरेका छन् संसद्बाट पारित गर्ने स्पष्ट पारेको छ । ११ औँ विश्व रेडियो दिवसको अवसरमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपाल लगायतका प्रसारण संस्थाले आइतबार ललितपुरमा गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री कार्कीले एमसीसी परियोजना संसदबाट पारित गर्ने तयारी रहेको जानकारी गराउदैँ यस्तो दाबी गरेका हुन् ।

    एमसीसी परियोजना विशुद्ध आर्थिक पाटो मात्र रहेको दाबी गर्दै उनले सत्ता अहिलेकाे गठबन्धन विशेष परिस्थितिमा बनेकाले एमसीसीका कारण नटुट्ने दाबी गरेका हुन् ।

  • एमसीसीलाई रणनीतिकरुपमा पन्छाउने असफल प्रचण्ड प्रयास

    एमसीसीलाई रणनीतिकरुपमा पन्छाउने असफल प्रचण्ड प्रयास

    काठमाडौं । अमेरिकी अनुदान साहायता परियोजना (एमसीसी)लाई लेखिएको पत्र सार्वजनिक भएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चर्को आलोचना भइरहेको छ, यतिबेला । प्रचण्ड एकप्रकारले दबाबमा छन् ।

    खासगरी अमेरिकासँग अनुमोदनको प्रतिवद्धता जनाउने तर नेपालमा रोक्ने काम गरेको भन्दै प्रचण्डको आलोचना भइरहेको छ । धेरैले प्रचण्डले एमसीसीमा दोहोरो नीति लिएको भन्दै आलोचना गरेका हुन् ।

    दोहोरो कुरा किन गरेको ? भन्ने प्रश्न प्रचण्डप्रति तेर्सिएका बेला माओवादी केन्द्रका नेताहरु भने यसमा दोधारे नीति नभइ कूटनीतिरुपमा एमसीसीलाई हल गर्न खोजेको भन्दै प्रतिरक्षा गरिरहेका छन् ।

    माओवादी केन्द्रीय सदस्य एवम वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीशिखा’का अनुसार प्रचण्डले एमसीसीलाई ‘कूटनीतिक र ट्याक्टिकल’रुपमा प्रयोग गर्न खोजेका हुन् ।

    ‘अरू धेरै थाहा भएन, नेकपा माओवादी केन्द्रले एमसीसी सदनबाट पारित गर्दैन,’ उनले सामाजिक संजालमा लेखेका छन्, ‘आज र अहिले होइन, एमसीसी पारित गर्नेसँग सत्ता साझेदारी हुने कुरै भएन । कूटनीतिक र ट्याक्टिकल विषयलाई त्यहीं रूपमा बुझौं ।’

    प्रचण्डको सचिवालयले त गठबन्धन जोगाउनका लागि त्यतिबेला पत्र लेखिएको समेत बताएको छ ।

    रणनीतिकरुपमा पन्छाउने असफल प्रयास

    दीपशिखाले भनेझैं प्रचण्डले एमसीसीलाई ट्याक्टिकल अर्थात् रणनीतिकरुपमा पन्छाउने नीति लिएको देखिन्छ । राजनीतिक दस्तावेजमा एमसीसी यथास्थितिमा अनुमोदन गर्न नसकिने लेखे पनि प्रचण्डको रणनीति त्यसलाई पन्छाउने नै रहेको माओवादीनिकट नेताहरु बताउने गर्छन् ।

    आठौं महाधिवेशनमा जवाफ दिने क्रममा पनि प्रचण्डले ‘एमसीसीलाई रणनीतिकरुपमा प्रयोग गर्नुपर्छ, अहिले धेरै नबोलौं है’ भनेर कार्यकर्ताहरुलाई सम्झाउने प्रयास गरेका थिए । एमसीसी खारेज गर्नुपर्छ भन्ने मत बोक्ने कार्यकर्ताहरुको बाहुल्य भएको महाधिवशेन हलमा प्रचण्डले उनीहरुलाई ‘न खुसी पार्ने, न दुःखी’ बनाउने खालको जवाफ दिएका थिए ।

    ‘मैले जे लेखेको छु, त्यही ठिक हो । तपाईंले जे भन्नु भएको छ, त्यो पनि ठिक हो,’ उनको भनाइ थियो, ‘यसलाई रणनीतिकरुपमा प्रयोग गर्नुपर्छ । योभन्दा धेरै नबोलौं है !’

    स्वीकार नै गर्नुहुन्न भन्ने बाहुल्यता भएकाले प्रचण्डले एमसीसी स्वीकार गरौं भनेर प्रस्ताव पार्टीमा लान सक्ने अवस्था नै थिएन, छैन । अर्कोतिर उत्तरी छिमेकी चीनले अनुमोदन नगर्न तारान्तार दबाब बढाइहेकै थियो ।

    यस्तोमा प्रचण्डले दोधारे (उनका अनुसार रणनीति) नीति अवलम्बन गरे । एकातिर अमेरिकालाई पत्र लेखेर समय लम्ब्याउने, अर्कोतिर गठबन्धनमा एमसीसी अगाडि बढाउन नदिने । यस्तो गर्दा अमेरिका आफैं एमसीसी फिर्ता लिने अवस्थामा पुग्छ र अप्ठ्यारोबाट जोगिन्छ भन्ने प्रचण्डको बुझाइ हुनसक्छ ।

    तर परिस्थिति प्रचण्डले चाहेजसरी अघि बढेन । सत्ता राजनीतिका चतुर खेलाडी शेरबहादुर देउवाले एमसीसी पास गर्नुपर्ने भन्दै गठबन्धन भित्र दबाब बढाए । प्रचण्डले नमानेपछि एमसीसीलाई लेखेको पत्र नै सार्वजनिक गराइदिए । यसले प्रचण्ड र माओवादीलाई प्रतिरक्षात्मक बनाइदियो ।

    देउवानिकट स्रोत भन्छ– युद्धकालमा माओवादीहरुले भौतिकरुपमा जनकारबाही र भाटे कारबाही गर्थे । यसपटक प्रधानमन्त्रीले मनोवैज्ञानिक भाटे कारबाही गर्नुभयो । जसले प्रचण्डलाई रक्षात्मक बनाइदियो ।

    यसका बाबजुद एमसीसीलाई धकेल्दै लैजाने प्रयत्न प्रचण्डले छाडेका छैनन् । हिजो बालुवाटारमा भएको बैठकमा पनि एमसीसीलाई ‘चुनावपछि विचार गरौं’ भन्ने प्रस्ताव राखेका थिए । योबीचमा उनले सर्वोच्च अदालत प्रयोग गरेर पनि एमसीसी रोक्न खोजको खुलेको छ ।

    कमजोर खण्डन

    प्रधानमन्त्री देउवाले जलवायु सम्मेलन सकेर बेलायतबाट फर्किँदा पहिलोपटक १८ कात्तिकमा एमसीसीलाई केही समय लिएर अनुमोदन गर्ने पत्र आफू र प्रचण्डले लेखेको खुलासा गरेका थिए ।

    ‘एमसीसीको सम्बन्धनमा हाम्रो कोलिसन पार्टनरसँग कुरा भइरहेको छ,’ देउवाले भनेका थिए, ‘पत्रकार सम्मेलन गरेर चाँडै पास गराउने भनेर प्रचण्ड जी र मैले हस्ताक्षर गरेर पठाएका छौं । उनीहरु (अमेरिका)ले एमसीसी अनुमोदन नगरी किन संसद बैठक स्थगित गरेको भनेको छ । हामीले अर्कै कारणले राकिएको हो । यसमा हाम्रो मतभेद छैन ।’

    प्रचण्डले भोलिपल्ट देउवाको भनाइको खण्डन गरे तर निकै कमजोर तरिकाले । प्रचण्डले पत्र लेखेको भन्ने देउवाको भनाइ अस्वीकार त गरेनन् तर ‘अनुमोदन गर्छौं’ भनेर पनि नभनेको बताएका थिए ।

    ‘हिजो प्रधानमन्त्री शेरबहादुरजीले बोलिदिनुभएछ– प्रचण्ड र मैले चिठी पठाइसकेका छौं, हामीले गर्छौं भनेर,’ प्रचण्डको भनाइ छ, ‘देशैभर साथीहरुमा तरङ्ग पैदा भएको छ । हामीले भनेको के हो भने देशमा सबै दलहरुसँग छलफल नगरी, राष्ट्रिय सहमति नबनाइ यसलाई पारित गर्न सकिँदैन । त्यसको निम्ति हामीलाई समय पनि चाहिन्छ, हामी छलफल गर्छौं । समस्या कहाँ छ, त्यसको निदान निकाल्छौं भन्ने कुरा भनेर लेखिएको छ । हामीले पास गर्छौं भनेर लेखिएको चिठी होइन ।’

    देउवाको उतिबेलाको भनाइको दह्रोसँग खण्डन गर्न नसकेका प्रचण्डले यतिबेला सार्वजनिक पत्रको पनि खण्डन गर्न सकेनन् । राष्ट्रको सम्पत्ति खर्चेर जनतालाई बुझाउँदै एमसीसी अनुमोदन गर्ने भनेर प्रतिवद्धता जनाएको पत्र सार्वजनिक भएपछि उनी रक्षात्मक बन्न पुगे ।

    पत्रलाई लिएर प्रचण्डको सार्वजनिक आलोचना बढेपछि उनको निजी सचिवालयले गठबन्धन र सरकार जोगाउन यस्तो गरेको प्रष्टीकरण दिएको छ।

    ‘प्रतिगमनलाई परास्त गरी भर्खरै गठबन्धन सरकार निर्माण भएको समयमा प्रधानमन्त्रीमाथि एमसीसी पारित गर्नै पर्ने दबाब भएकोले राष्ट्रिय हित तथा गठबन्धन र सरकारको रक्षाका लागि उक्त पत्र लेखिएको थियो,’ सचिवालयले भनेको छ, ‘र, पत्रमा एमसीसीका लागि राष्ट्रिय सहमति आवश्यक हुने र राष्ट्रिय सहमति निर्माणका लागि सरकारलाई केही समय आवश्यक पर्ने कुरा उल्लेख गरिएको हो ।’

    प्रचण्डले पत्र पठाएको विषयमा भएको आलोचनाको प्रतिवाद गर्न माओवादी कार्यकर्ताहरुलाई सकस भइरहेको छ । एमसीसीको खुलेर विरोध गरिरहका उनीहरुसामू प्रचण्डले लेखेको पत्रबारे दिने खास जवाफ भेटिँदैन ।

    ‘यो पत्रमा जेसुकै कुरा लेखिएको भए पनि पार्टीको आधिकारिक निर्णय नभइकन यस्तो राष्ट्रिय महत्वको विषयमा निर्णय हुँदैन,’ प्रचण्डनिकट एकजना नेता भन्छन्, ‘यही अवस्थामा एमसीसी पास गर्ने पक्षमा माओवादी केन्द्र पनि छैन ।’

    पत्रमा प्रचण्डले हस्ताक्षर गर्नु आवश्यक नभएको उनको भनाइ छ । ‘पत्रमा हस्ताक्षर नगरेको भए पनि हुन्थ्यो,’ नेपाल प्रेसँग ती नेताले भने, ‘गठबन्धनमा अरु पनि थिए, उहाँले मात्रै किन गर्नुभयो ? त्यो कुरा उहाँले पार्टीमा राख्नुहोला ।’

    प्रचण्डलाई ‘डिमोरलाइज’ गर्ने प्रयास !

    यहीबेला एमसीसीलाई लेखेका पत्र सार्वजनिक हुनु र प्रचण्डलाई मात्रै आलोचनाको तारो बनाउनुको पछाडि उनलाई ‘डिमोरलाइज’ गर्न खोजेको बुझाइ माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको छ ।

    ‘पत्रबारे त हामीलाई पहिलेदेखि नै थाहा थियो,’ मओवादी केन्द्रका स्थायी समिति सदस्य गणेश साहले नेपाल प्रेससँग भने, ‘दुईजना (देउवा र प्रचण्ड)ले मिलेर दिनुभयो, राष्ट्रिय सहमति बनाउनलाई समय चाहियो भने । अहिले पत्र सार्वजनिक गरेर प्रचण्डलाई ‘डिमोरलाइज’ र ‘प्रेसरराइज’ गर्न खोजिएको हो ।’

    एमसीसीको विरुद्धमा रहेको एकीकृत समाजवादीको पनि त्यही बुझाइ छ । ‘पत्र सार्वजनिक गर्नुका धेरै अर्थ लगाउन सकिन्छ,’ एकीकृत समाजवादीका पदाधिकारीसमेत रहेका एकजना नेता भन्छन्, ‘त्यसको एउटा उद्देश्य प्रण्डलाई डिमोरलाइज गर्नु पनि हो ।’

    प्रचण्डको दोहोरो भूमिकाले माओवादी पंक्ति रक्षात्मक बनेको अवश्य हो । सम्भवतः आसन्न बैठकमा यो विषय आलोचना, आत्मालोचनाको परम्परागत कम्युनिस्ट एजेण्डा बन्न सक्छ ।

  • देउवा-प्रचण्डलाई एमसीसीको ताकेता – पारित गर्न फेब्रुअरी २८ सम्मको सीमा (पत्रसहित)

    देउवा-प्रचण्डलाई एमसीसीको ताकेता – पारित गर्न फेब्रुअरी २८ सम्मको सीमा (पत्रसहित)

    काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेसनले एमसीसी सम्झौतालाई निरन्तरता दिने वा नदिने भन्ने विषय नेपालको सार्वभौम छनोट भएको बताएको छ ।

    फेब्रुअरी ३ मा एमसीसीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृतले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई लेखेको पत्रमा नेपालका नेताहरूले आवश्यक ठानेमा मात्रै नेपाली जनताको गरिबी निवारण र दिगो आर्थिक विकासका लागि सहयोग गर्ने जनाएको हो ।

    ‘कम्याक्टको निरन्तरता नेपालको सार्वभौम छनोट हो भन्नेमा एमसीसी विश्वस्त छ । हामीले नेपाल सरकारसँग मिलेर लामो समयदेखि नेपाली जनताका लागि काम गर्दै आएका हौं । यदि नेपालका नेताहरूले एमसीसी चाहन्छन् भने नेपालको गरिबी निवारण गरी समावेशी र दिगो आर्थिक वृद्धिको लागि सहयोग गर्न तयार छौं’, पत्रमा भनिएको छ ।

    प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले गत सेप्टेम्बर २९ मा एमसीसी पारित गर्ने प्रतिबद्धता जनाउँदै एमसीसीलाई पत्र लेखेका थिए । एमसीसीले लेखेको पत्रमा सो पत्रको स्मरण गराउँदै २०२२ को फेब्रुअरी २८ भित्र एमसीसीबारे निधोमा पुग्न आग्रह गरिएको छ ।

    फेब्रुअरी २८ सम्म एमसीसीबारे नेपालले निर्णय दिन नसकेमा मार्चमा बस्ने एमसीसीको बोर्ड बैठकमा छलफल हुने पत्रमा जनाइएको छ । पत्रमार्फत एमसीसीले देउवा र प्रचण्डलाई सेप्टेम्बर २९ को पत्रमार्फत गरेको प्रतिबद्धता पूरा गर्न आग्रह गरेको हो ।

  • माधव नेपालको गाडी छेक्दै युवाले भने- एमसीसी खारेज गर (भिडिओ)

    माधव नेपालको गाडी छेक्दै युवाले भने- एमसीसी खारेज गर (भिडिओ)

    काठमाडौं । सत्ता गठबन्धनको एक घटक नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई केही युवाहरूले अमेरिकी सहायता परियोजना (एमसीसी) खारेज गर्न आग्रह गरेका छन् ।

    पार्टीनिकट अनेरास्ववियूले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा केही युवाहरूले नेपालको गाडी रोक्दै एमसीसीबारे धारणा मागेका थिए ।

    उनीहरूले एमसीसी खारेज गर्नुपर्ने भन्दै नाराबाजी समेत गरेका थिए ।

  • गठबन्धनका संयोजक भन्छन्- एमसीसी पारित गर्न सबै पोजेटिभ छौं

    गठबन्धनका संयोजक भन्छन्- एमसीसी पारित गर्न सबै पोजेटिभ छौं

    काठमाडौं । सत्तारुढ ५ दलीय गठबन्धनका संयोजक एवं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी पारित गर्ने विषयमा गठबन्धनका सबै दल ‘पोजेटिभ’ रहेको बताएका छन् ।

    गठबन्धनका शीर्ष नेताबीच एमसीसी पारित गर्ने सहमति भएको सन्दर्भमा नेपाल प्रेससँग कुराकानी गर्दै नेता पौडेलले राष्ट्रिय महत्वका विषयमा गठबन्धनले साझा धारणा बनाउँदै जाने बताए । एमसीसीबारे सार्वजनिक भएका चासोहरुलाई सम्बोधन गर्नेगरी संसदबाट अनुमोदन गराइने पौडेलले बताए ।

    गठबन्धनमा एमसीसीबारे कुनै विवाद नरहेको बताउँदै नेता पौडेलले बुझाइ फरक भए पनि विस्तारै ‘साझा धारणा’ बन्दै गएको बताए ।

    ‘गठबन्धन सरकारले राष्ट्रिय महत्वका धेरै विषयमा साझा धारणा बनाएको छ । त्यसमध्ये एमसीसी पनि एक हो’, पौडेलले भने । उनले एमसीसीबारे अलमलमा बस्नुभन्दा टुंगो लगाउनु उत्तम हुने कुरा आफूले गठबन्धनमा राखेको बताए । नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीले एमसीसीबारे प्रष्ट कुरा गर्नुपर्ने भन्दै नेता पौडेलले अब संसदले निकास खोजनुपर्ने बताए ।

    ‘एमसीसी नचाहिने नै हो भने उहाँहरूले रिजेक्ट गर्छौं भन्नसक्नुपर्‍यो । होइन भने दोहोरो कुरा गरेर जनतालाई अलमलमा पार्नु हुँदैन । राष्ट्रघाती छ भने कहाँ छ देखाउनुपर्‍यो भनेर हामीले भनेका छौं । उहाँहरू पनि पोजेटिभ हुनुहुन्छ । केही दिन समय माग्नुभएको छ’, पौडेलले नेपाल प्रेससँग भने ।

    पौडेलले एमसीसी अमेरिकी ईण्डोप्यासिफिक रणनीतिको अंग नभएको दाबी गर्दै वैदेशिक अनुदान लिने विषयमा विवाद गर्न नहुने बताए ।

    ‘निकास त देशलाई दिनुपर्‍यो । गठबन्धन अब निरीह बसिरहन सक्दैन । सबै विषयमा गठबन्धन क्लियर कट हुनुपर्छ’, पौडेलले भने । उनले मुलुक सधैँ ऋणमा नचल्ने भन्दै अनुदानमा प्राप्त सहयोग लिनु अन्यथा नहुने बताए ।

    ‘हामीले विकासका लागि अन्तर्राष्ट्रिय सहयोग त जुटाउनै पर्छ नि । अमेरिकामात्रै होइन भारत, चीन, जापान, बेलायत जसले दिए पनि विकासका लागि सहयोग त लिनुपर्‍यो नि’ पौडेलले भने ।

  • एमसीसी संसदमा पुगेपछि पारित हुने सम्भावना छ, संसदमै लैजान दिनुहुँदैन: सिपी गजुरेल (भिडिओ)

    एमसीसी संसदमा पुगेपछि पारित हुने सम्भावना छ, संसदमै लैजान दिनुहुँदैन: सिपी गजुरेल (भिडिओ)

    काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले एमसीसी संसदमा पुगेपछि पारित हुने सम्भावना रहेकाले संसदमै लैजान दिनु नहुने बताएका छन् ।

    आइतबार माइतीघर मण्डलामा आयोजित बिरोध प्रदर्शनमा अध्यक्ष गजुरेलले एमसीसी संसदमै लैजान दिनु नहुने बतएका हुन् । उनले अमेरिकाले एमसीसी सम्झौतामार्फत् दिने भनिएको रकम भन्दाबढी रकम एनसीएलको कर उठाउँदा जम्मा हुने भन्दै रकम भन्दा पनि परिणाम घातक रहेको उल्लेख गरे ।

    अध्यक्ष गजुरेलले अमेरिका नेपालमा आइसकेपछि पछि नहट्ने र रणनीतिक महत्वका ठाउँहरुमा आफ्नो अखडा खडा गर्ने भएकोले एमसीसी पास गर्नु नहुने बताए ।

    अध्यक्ष गजुरेलले भने,‘एनसीएलसँग बाँकी रहेको कर उठायो भने त्यसको डेढि रकम त त्यहीँ हुँदो रहेछ । ७५ अर्ब बाँकी छ भनेर चर्चा भइरहेको छ । त्यो रकम ठूलो होइन, तर त्यसको परिणाम कति घातक छ ? किनभने यहाँ एमसीसीको बहानामा अमेरिका नेपालभित्र पसिसकेपछि यहाँबाट पछि हट्ने छैन ।एमसीसी खारेजीको अभियान नेपालकै लागि चलाइएको हो । हामीले यसलाई संसदमा एजेण्डाको रुपमा लैजान दिनु हुँदैन । लग्ने र टेबुल गर्ने बित्तिकै पारित हुनेवाला छ ।’

    अध्यक्ष गजुरेलले चीनसँग लड्नका लागि अमेरिकाले नेपाललाई अखडा बनाउन एमसीसी सम्झौंताका लागि दवाव दिएकाले आफूहरुले विरोध गर्नु परेको तर्क समेत गरे ।

  • एमसीसीको विरोधमा नेमकिपाको खबरदारी (तस्बिरहरू)

    एमसीसीको विरोधमा नेमकिपाको खबरदारी (तस्बिरहरू)

    काठमाडौं । अमेरिकी अनुदान सम्झौता (एमसीसी) खारेजको मागसहित नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले राजधानीमा विरोध प्रदर्शन गर्दै खबरदारी गरेको छ ।

    एमसीसी देशघाती सम्झौता भएको भन्दै नेमकिपाले खबरदारी जुलुस गरेको हो । एमसीसी पारित नगराउन दबाब दिँदै सरकार र सांसदहरूलाई खबरदारी गरिएको नेमकिपाले जनाएको छ ।

    कोटेश्वर, माइतीघर, पुरानो बानेश्वरलगायतका ठाउँबाट जुलुससहित आएका नेमकिपाका कार्यकर्ताहरू बानेश्वरको सभामा भेला भएका थिए ।