Tag: उद्धार

  • माछा मार्न गएका ३ जनाको सकुशल उद्धार

    माछा मार्न गएका ३ जनाको सकुशल उद्धार

    कैलाली । माछा मार्न कर्णाली नदीमा गएका तीन जनालाई तीनदिन पछि सकुशल उद्धार गरिएको छ ।

    कैलाली लम्कीचुहा नगरपालिका -३ ढुङ्गे बजारका ६१ वर्षीय खडक बहादुर घर्ति मगर, ३५ वर्षीय बिक्रम घर्ती मगर र २६ वर्षीय खडक डाला मगरलाई प्रहरीले सकुशल उद्धार गरेको हो ।

    माछा मार्न कर्णाली नदीमा आएको बाढीले माछा मार्न गएका उनीहरु सम्पर्क विहिन भएका थिए । जानकी गाउँपालिका ९ र बर्दिया जिल्लाको बीचमा पर्ने कर्णाली नदिको लालमटिया टापुमा तिनै जनालाई फेला पारी उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय  कैलालीले जानकारी दिएको छ ।

  • महाकालीको टापुमा फसेका पाँचजनाको हेलिकप्टरबाट उद्धार (भिडिओ)

    महाकालीको टापुमा फसेका पाँचजनाको हेलिकप्टरबाट उद्धार (भिडिओ)

    कैलाली । महाकाली नदीको टापुमा फसेका पाँच जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका- ९ खल्ला मसेट्टीमा एकै परिवारका पाँचजना सोमबार रातिदेखि फसेका थिए ।

    नेपाली सेनाको हेलिकप्टरले उनीहरुको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । सबैको एक/एक गरेर उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सिद्धराज न्यौपानेले जानकारी दिए ।

    महाकालीमा बाढी बढेपछि टापुमा फसेका उनीहरुले रुखमा चढेर ज्यान जोगाएका थिए । नेपाली सेनाको हेलिकप्टरले उनीहरुलाई रुखमै रहेको अवस्थामा उद्धार गरिएको हो । मंगलबार दिउँसो नै उनीहरुको उद्धार गर्ने तयारी भएको थियो ।

    मौसम प्रतिकुल हुँदा उनीहरु रहेको स्थान सम्म हेलिकप्टर पुन्न नसक्दा ढिला भएको थियो । मौसमकै कारण केही समय हेलिकप्टर धनगढीमै रोकिएको थियो ।

     

  • अफगानिस्तानबाट २८८ नेपालीको उद्धार

    अफगानिस्तानबाट २८८ नेपालीको उद्धार

    काठमाडौं । रोजगारीको सिलसिलामा अफगानिस्तानमा रहेका २८८ जना नेपालीको उद्धार गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार बुधबार रातीसम्म २८८ जनाको उद्धार  गरिएको जनाएको छ ।

    उनीहरूलाई सामाखुशीस्थित सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्डअनुसार कोभिड–१९ को परीक्षणलगायत प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

  • काबुलस्थित क्यानाडेली दूतावासमा काम गर्ने १११ नेपालीलाई सुरक्षित स्थानमा सारियो

    काबुलस्थित क्यानाडेली दूतावासमा काम गर्ने १११ नेपालीलाई सुरक्षित स्थानमा सारियो

    काठमाडौं । तालिवान आक्रमणको त्रास बढेसँगै काबुलस्थित क्यानाडा दूतावासमा सेक्युरिटी गार्डको काम गर्ने १११ जना नेपालीलाई सुरक्षित स्थानमा सारिएको छ । क्यानाडा दूतावास भने दुई दिनअघि नै बन्द भइसकेको थियो ।

    हार्ट इन्टरनेसनल कम्पनीका तर्फबाट १११ जना नेपाली क्यानाडा दूतावासको सुरक्षामा खटिँदै आएका थिए । अफगानिस्तानमा तालिवानको चौतर्फी कब्जापछि क्यानाडाले आफ्नो विशेक्ष सुरक्षा दस्ता नै पठाएर दूतावास खाली गराएको थियो । त्यसको दुई दिनपछि नेपाली कामदारहरूलाई सो स्थानबाट सारिएको हो ।

    क्यानाडा दूतावासमा काम गर्दै आएका हर्क बस्नेतले आफूहरूलाई आज कम्पनीले एयरपोर्टनजिकैको होटलमा ल्याएर राखेको जानकारी दिए ।

    ‘हामी यहाँ एक सय ११ जना नेपाली सबै अहिलेसम्म सुरक्षित छौं,’ उनले भने, ‘नेपाल फर्किनका लागि जहाजको पर्खाइमा छौं ।’ आफूहरूलाई अफगानिस्तानबाट आर्मीको जहाजमार्फत नेपाल वा भारतमा फर्काउने तयारी गरिएको सुनेको बस्नेतले बताए ।

    तस्बिर : क्यानाडा दूतावासमा कार्यरत हर्क बस्नेत ।

  • यार्सा टिप्न गएका ७० जनाको उद्धार

    यार्सा टिप्न गएका ७० जनाको उद्धार

    मनाङ । यार्सागुम्बा टिप्न मनाङको लेकमा पुगेका फू गाउँको ७० जनालाई उद्धार गरिएको छ । नार्पाभूमि गाउँपालिकाको फू गाउँस्थित लेकबाट ७० जनालाई उद्धार गरिएको हो ।

    उनीहरुलाई विघटित प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङको पहलमा हेलिकप्टरबाट उद्धार गरी फू गाउँमा सकुशल ल्याइएको नार्पाभूमि गाउँपालिकाले जनाएको छ । उनीहरु सोमबारदेखि लेकमा अलपत्र परेका थिए ।

    मनाङका स्थानीयहरु जेठ पहिलो सातादेखि हिमालमा यार्सागुम्बा टिप्न जाने गर्दछन् । यसपटक भने मनाङमा जेठ अन्तिम सातादेखि बाढी आएकाले उनीहरु अलपत्र फसेका थिए ।

  • मनाङमा रोकिएका विदेशी पर्यटकको उद्धार

    मनाङमा रोकिएका विदेशी पर्यटकको उद्धार

    काठमाडौं । नयाँ भेरियन्ससहितको कोरोना महामारीका कारण हिमालपारिको जिल्ला मनाङमा रोकिएर रहेका पर्यटकलाई उद्धार गरिएको छ । महामारीले जिल्लामा सङ्क्रमितकोसंख्या बढ्दै गएका बेला अन्नपूर्ण पदमार्गमा आएका पर्यटकको खोजी गर्दै फिर्ता पठाउने गरिएको छ ।

    केही दिनअघि मात्रै जिल्लाभित्र विभिन्न देशका पर्यटक रोकिएको जानकारी पाएसँगै जिल्ला प्रशासन कार्यालयले उनीहरूको खोजी कार्य थालेको थियो । कुन ठाउँमा कति पर्यटक छन् र उनीहरूको अवस्था कस्तो छ भन्ने सम्बन्धमा अन्नपूर्ण संरक्षण क्षेत्रसँग पर्यटकको तथ्याङ्क लिइएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले बताए ।

    उनका अनुसार अन्नपूर्ण संरक्षण क्षेत्रको तथ्याङ्कमा जिल्लाभित्र २२ विदेशी नागरिक रहेका र उनीहरूलाई फिर्ता पठाउने काम भइरहेको उनले जानकारी दिए। हालसम्म २२ मध्ये १० पर्यटकलाई उद्धार गरिएको छ भने अन्य बाँकी पनि फिर्ता पठाउने काम भइरहेको छ ।

    अन्नपूर्ण संरक्षण क्षेत्रका प्रमुख लेखनाथ गौतमका अनुसार जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र अन्नपूर्ण संरक्षण क्षेत्रको समन्वयमा ङिस्याङ गाउँपालिकाबाट पाँचजना फिस्टेल एयरबाट काठमाडौँ तथा पाँच जनालाई बलेरो जीपबाट पोखरा पठाइएको हो ।

    ङिस्याङ गाउँपालिकाको गाउँमा १४, खाङ्सार तिलिचो बेसक्याम्पमा चार, ङावोलगाउँमा तीन र पिसाङ गाउँमा एकजना गरी जम्मा २२ विदेशी पर्यटक यस जिल्लामा रोकिएका थिए । अब जिल्लामा १२ पर्यटक बाँकी रहेका अन्नपूर्ण संरक्षण क्षेत्रका प्रमुख गौतमले बताए ।

    ‘यहाँबाट हिजो मात्रै जर्मनी, इजरायली, नेदरल्यान्ड, आइरिस र फ्रान्सका नागारिकलाई फिस्टेल हेलिकोप्टरबाट काठमाडौँ पठाइएको छ, केही पर्यटकलाई जिल्ला प्रशासन कार्यालयले सवारी पास बनाई पोखरा पठाएको छ, एकदुईजना आफैँ हिँडेर लमजुङतर्फ गएका पनि छन्’, उनले भने । अन्य जिल्लामा निषेधाज्ञा भए पनि यहाँ भएको छैन । जिल्लामा नेपाल सरकारको स्वास्थ्य मापदण्ड पालना गर्दै हिँड्डुल जारी छ ।

    वैशाखमा १४४ पुरुष र ९७ महिला गरी २४१ विदेशी पर्यटक जिल्ला भित्रिएका थिए । त्यस्तै १९७ ले थोरङ्ला पास गरी मुस्ताङ पुगेका छन् भने १० जना मनाङबाट फर्किएका छन् ।

    नेदरल्यान्डका नागारिक संक्रमित भेटिएपछि मात्र जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्र रहेका विदेशी पर्यटकको खोजी गर्न थालेको हो । अन्नपूर्ण संरक्षण क्षेत्रले तथ्याङ्क उपलब्ध गराएसँगै यहाँ रहेका पर्यटकको खोजी गरी उनीहरूको इच्छाअनुसार जिल्ला प्रशासन कार्यालयले सवारी पास बनाई गन्तव्यसम्म पठाउने काम गरिरहेको प्रजिअ लामिछानेले बताए ।

    उनका अनुसार केही पर्यटक यहाँ नै बस्न चाहेकाले उनीहरुलाई सुरक्षित साथ रहन आग्रह गर्दै जिल्लाबाहिर जान चाहनेलाई सवारी पासको व्यवस्था गरिएको हो ।

    विदेशी नागरिक अन्नपूर्ण क्षेत्रमा रहेका चेक पोष्टमा परमिट दर्ता गरेर आउने भए पनि अहिलेको अवस्थामा कतिपय दर्ता नभएका पनि रहेको अन्नपूर्ण संरक्षण क्षेत्रले जनाएको छ । कतिपय पर्यटक विना गाइड प्रवेश गरेको संरक्षण क्षेत्रका प्रमुख गौतमले बताए। ‘हाम्रो ठाउँठाउँमा चेक पोष्ट छ, चेक पोष्टमा दर्ता भएकाको तथ्याङ्क हामीसँग हुन्छ तर दर्ता नभएकाको तथ्याङ्क नहुँदा समस्या आउने गरेको छ’, उनले भने ।

    दुई भारतीय नागारिक, तीन इजरायली तथा अन्य फ्रान्स, नेदरल्यान्ड र ब्रिटिस नागरिक रहेका अन्नपूर्ण संरक्षण क्षेत्रले जनाएको छ । हालसम्ममा १० पर्यटकको उद्धार भइसकेको छ भने अन्य १२ जनालाई पनि उद्धार गरी गन्तव्यसम्म पु¥याइने अन्नपूर्ण संरक्षण क्षेत्रले जनाएको छ ।

  • अलपत्र पर्यटकको उद्धार गर्न पर्यटन बोर्डको अलग्गै संयन्त्र

    अलपत्र पर्यटकको उद्धार गर्न पर्यटन बोर्डको अलग्गै संयन्त्र

    काठमाडौं । कोरोना नियन्त्रणका लागि उपत्यकालगायत विभिन्न जिल्लामा जारी लकडाउनका कारण अलपत्र परेका पर्यटकको उद्धार र समन्वयका लागि नेपाल पर्यटन बोर्डले विपद व्यवस्थापन तथा संचार सेल गठन गरेको छ ।

    बोर्डका अनुसार सेलले पर्यटकहरूको उद्धार, समन्वय तथा भारतबाट एयर बबलमार्फत आउने यात्रुलाई सहजीकरण गर्नेलगायतको काम गर्नेछ । उद्धारको काममा गृह मन्त्रालय र मातहतका जिल्लास्थित कार्यालयसँग समन्वय गरिने बताइएको छ ।

    बुधबार मात्र २२ पर्यटकलाई उद्धार गरिएको छ । त्यस्तै लाङटाङबाट ५, पोखराबाट ४ युक्रेनी र लुक्लाबाट २ अमेरिकनको उद्धार गरिएको छ ।

    महामारीको समयमा आवश्यक सूचनाको अभावमा कोही पनि पर्यटक अलपत्र नपरुन भनेर बोर्डले उद्धारका लागि अनलाइन ट्राभलर लोकेटरबाट तथ्याङ्क संकलन गरिरहेको छ ।

  • युवतीलाई अपहरणशैलीमा भारत पुर्‍याउन खोजिएपछि…

    युवतीलाई अपहरणशैलीमा भारत पुर्‍याउन खोजिएपछि…

    विराटनगर। गाडीमा राखेर भारत लाने तयारी गरीरहेको अवस्थामा विराटनगरकी एक युवतीलाई मोरङ प्रहरीले उद्धार गरेको छ ।

    विराटनगर महानगरपालिका–४ की २४ वर्षीया युवतीलाई भारत कटाउन खोजिएको अवस्थामा कञ्चनपुरबाट सकुशल उद्धार गरेर मंगलबार साँझ विराटनगर ल्याएको हो ।

    प्रहरीका अनुसार ती युवतीलाई अपहरणशैलीमा भारत लैजान खाज्ने विराटनगर महानगरपालिका–१९ का २५ वर्षीय दिनेश मण्डललाई नियन्त्रणमा लिएको छ ।

    मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार सुन लगायतका बहुमूल्य धातुको लोभ देखाउँदै अभिभावकलाई नै प्रलोभनमा पार्दै मण्डलले युवतीलाई गत माघ १० गते विराटनगरबाट लिएर हिँडेका थिए ।

    घटना अनुसार टुनामुना गरेर घरबाट सुन निकालिदिन्छु भन्दै युवती र उनका अभिभावकसँग भेट गर्न मण्डल माघ ८ गते घरमै पुगेका थिए ।प्रहरीका अनुसार आफू धामीझाँक्रीको काम गर्ने बताएका मण्डलले जादु र टुनामुना गरेर घरबाट सुन निकालिदिन्छु भन्दै परिवारलाई नै प्रलोभनमा पारेर ती युवतीलाई भगाउन सफल भएको थिए ।

    उनले विराटनगरकै एउटा ज्वेलर्स सुनचाँदी पसलबाट ५० हजार रुपैयाँमा सुन किनेर लग्दै युवतीको घर परिसरमा जमिनमुनी गाडेका थिए । पछि उनले टुनामुना गर्ने भन्दै विभिन्न गतिविधी गरी त्यही सुन निकालेर देखाएकाले परिवारका सदस्य र आफन्त पनि विश्वासमा परेको पाइएको प्रहरी उपरिक्षक खड्काको भनाइ छ ।

    अझै धेरै सुन, चाँदी लगायतका बहुमूल्य धातु निकाल्नलाई सातवटा खोलाको पानी बिहे नगरेको कन्या युवतीले जम्मा गरेर ल्याउँदै शुद्ध जलका रुपमा चढाउनुपर्ने बताएर थप विश्वासमा पार्दै मण्डलले युवतीलाई लिएर हिँडेको पाइएको उनको भनाइ छ ।

    घरबाट हिँडेकी छोरी र उनलाई लिएर गएका मण्डल नफर्किएपछि आफन्तले प्रहरीमा जाहेरी दिएका थिए । त्यसपछि प्रहरीले मण्डल र युवतीको खोजी थालेको थियो ।

    भारत लगिएको आशंकामा प्रहरीले आवश्यक समन्वय गर्दै खोजतलासका लागि सहयोग गर्न भारतीय प्रहरीलाई पनि आग्रह गरिएको थियो ।
    लामो समयको अध्ययन एवं अनुसन्धानपछि युवतीलाई सकुशल उद्धार गर्न प्रहरी सफल भएको हो । विराटनगर ल्याइएकी युवती भने मानसिक रुपमा विक्षिप्त अवस्थामा छिन् ।

    उनी कसैलाई केही पनि कुरा भन्न सक्ने अवस्थामा नरहेकाले थप ‘काउन्सिलिङ’ गर्दै घटनाका बारेमा बुझ्ने र वास्तविकता पत्ता लगाउने प्रयास भइरहेको जानकारी खड्काले दिए ।

    प्रहरीले मण्डललाई पनि पक्राउ गरेर हिरासतमा राखेर घटनाका बारेमा अनुसन्धान थालेको छ । प्रहरीले खोजी गरिरहेको थाहा पाएपछि तीन महिनासम्म आफ्नो कब्जामा राखेर युवतीलाई उनले कञ्चनपुर हुँदै भारतको वनवासातिर पु¥याउन खोजेको पुष्टि भएको एसपी खड्काको भनाइ छ ।

  • अनि तीन भाईनै खोरमा थुनिनुपर्‍याे

    अनि तीन भाईनै खोरमा थुनिनुपर्‍याे

    सर्लाहीको हरिवन नगरपालिका–४ पटौनाका उनबहादुर कार्कीका कान्छा छोरा रुद्रबहादुर (विष्णु) को बिहे धुमधामका साथ हुँदै थियो । आमा हीराकुमारी खुशीले गद्गद् हुँदै बुहारी भित्र्याउन साँझको चाँजोपाँजोमा गर्दै गर्दा बेहुली घर सिन्धुलीस्थित छोराकै कारण सन्नाटा छाउँदै थियो ।

    सिन्धुलीमा लगनगाँठो कसेर सिन्दूरपोतेपछि बिहे अन्तिम सङ्कल्प गर्ने बेला रुद्रबहादुरले एक्कासि ‘ल तेरी छोरी लान्न’ भनेपछि बेहुली घरको त्यो वैवाहिक रौनक एकाएक बदलियो । “दुलही घरमा छोराको त्यो वचन सुनेर म छाँगाबाट खसे झैँ भएँ, दिउँसै सपना देखेँ, त्यसपछि मलाई चौकी पुर्‍याए”, बाह्र वर्षअघिको क्षण सम्झँदै बुबा उनबहादुरले भने, “मैले बेहुली पक्षलाई रु एक लाख १० हजार जरिवाना तिरेर छोरो फर्काएँ ।”

    त्यो बेला रुद्रबहादुरमा मनोरोगको शिकार भइसकेका थिए । भारतको राँचीमा उपचार गराउँदा ठीक भएपछि बिहेको चाँजोपाँजो मिलाइएको थियो । उनलाई छोराको बिहे गराउने मन त कत्ति पनि थिएन तर गाउँले र आफन्तबाट बिहेपछि रोग पूर्ण निको हुने भनेर आएको सुझावलाई नकार्न सकेनन् । निको भइहाल्छ कि भन्ने झिनो आशा बोकेर छोराको बिहे गराउन राजी भएका उनबहादुरका सपना छोराकै कारण चकनाचुर भयो । त्यो चिन्ताले झण्डै उनी आफैँ मनोरोगीको सिकार हुनु परेको छिमेकी सम्झन्छन् । बेलाबेलामा उन्को मन पनि एकोहोरिन्छ । पुराना गाविस उपाध्यक्ष गाउँको गन्यमान्य उनबहादुर पीडा सहेर छोराका उपचारमा लागेको सुनाउँछन् ।

    त्यसबेला साहिँलो छोरा हेमबहादुर (भगवान्) मनोरोगी भएको झण्डै पाँच वर्ष बितिसकेको थियो । उनको उपचार चल्दै गर्दा कान्छोलाई रोगले समातेपछि कार्की परिवारमा पीडामाथि पीडा बल्झियो । परिवारको चिन्ताले जेठो पवनलाई पनि केही महिनादेखि मनोरोगले समातेको छ । तीनै छोराको चिन्ताले आमा हीराकुमारीको मस्तिष्कमा पनि असर परिसकेको छिमेकी बताउँछन् । हरिवन नगरपालिका–११ का सदस्य सुकदेव कार्की उनको परिवार नै कुनै न कुनै प्रकारको मनोरोगबाट प्रभावित रहेको सुनाए ।

    तीनमध्ये मनोरोगबाट सबैभन्दा बढी प्रभावित रुद्रबहादुरको उपचारमा लाखौँ खर्च गरे पनि निको हुनुको साटो रोग बल्झिँदै गयो । रुद्रबहादुर बिस्तारै आक्रामक हुँदै युवती देख्न नहुने, छरछिमेकका सामान फुटाउने तोडफोड गर्ने, मानिसलाई आक्रमण गर्ने, घरका झ्यालढोका, मोटरसाईकल, साइकल फोर्न थाले । त्यसैले दुई वर्षअघि घरमा फलामे बारको खोर बनाएर परिवारले थुन्नु परेको थियो । उनलाई फलामे खोरमा राख्नसमेत मुस्किल भयो । हातमा लगाएको साङ्लो चुँडाल्न थालेपछि र खोर भत्काउन थालेपछि झन् समस्या भयो । परिवारले चारैतिरबाट डोरीको लट्ठाले उनी राख्ने खोरलाई बाहिरबाट मोरेर राखेका थिए ।

    त्यति गर्दासमेत रुद्रको उद्दण्डपन रोकिएन । उनले खोरबाट निस्कने अनेक उपाय रचे । विगत छ महिनाअघि भुइँ कहिले हातले त कहिले भेटिएका सामग्रीले खोरभित्र खन्न थालेपछि परिवार नै छक्क परेको थियो । एक हप्ताअघि भने पल्लो कोठासम्मै सुरुङ खनेर बाहिर निस्किएको आमा हीराकुमारीले सुनाइन् । “शुरुमा कसैलाई पनि किन खोतल्लो भन्ने भेउ भएन, सुरुङ नै बनाएर भाग्यो, त्यसपछि पो भाग्न बनाएको भन्ने चाल पाइयो”, छोराले खनेको सुरुङ देखाउँदै उनबहादुरले घटना विवरण सुनाएका  थिए । परिवारले उनलाई फेरि खोरमा राखी सुरुङको ढोकामा खाट घोप्ट्याए बन्द गरेका थिए ।

    रुद्रबहादुरलाई बाह्र वर्षअघि सम्म कुनै समस्या थिएन । राति चल्ने सवारी साधनको चालक भएर निकै समय काम गरेका थिए । त्यसपछि रुद्रबहादुर २२ महिना कतारमा वैदेशिक रोजगारी गरेरसमेत फर्किएका थिए । काम गर्दै गर्दा एकपटक काम गर्ने कम्पनीका व्यवस्थापकलाई तैले कम्पनी चलाउन सकिनस् ले म चलाउँछु भनेर धम्क्याएपछि कम्पनीले टिकट काटेर घर पठाइदिएको बुबा उनबहादुर सुनाउनुहुन्छ । त्यसपछि एक वर्ष राँचीमा पुर्‍याएर उपचार गरिएको थियो । केही ठीक भएपछि पुनः रोग बल्झियो । मान्छेलाई नै मार्न खोजेपछि भने बाध्य भएर थुन्न परेको उनबहादुर गुनासो गर्छन् ।

    साहिँला हेमबहादुर शुरुमा वीरगञ्ज नेशनल कलेजमा काम गर्दागर्दै एक व्यक्तिले २० हजार जागिर लगाइदिने लोभमा दिल्ली पुर्‍याएको र त्यहाँ दलालले फसाएपछि मनोरोगी बनेर घर आएको परिवारले जनाएको छ । उनीहरुलाई परिवारले धामी, झाँक्री, औषधिमूलो गर्नेदेखि सुधारगृहमा राख्दासमेत उपचार सफल हुन नसकेको जनाएको छ । दाजुभाइको पीडाले माइलो छोरा भने घर छाडेर अन्यत्रै काम गर्दै आएका छन् ।

    परिवारकै चिन्ताले जेठामा समस्या

    दुई भाइ मनोरोगी भएपछि जेठो दाइ पवनले वैदेशिक रोजगारबाट कमाएको सबै पैसा उनीहरुकै उपचारमा खर्च गरेको छिमेकी सुनाउँछन् । परिवारको चिन्ताका कारण जेठो पवन पनि विगत केही महिनादेखि मनोरोगी भएका छन् । एक वर्षदेखि सामान्य समस्या देखापरेकामा दशैँदेखि भने अलि बढी भएको श्रीमती देवकी भनिन् ।

    देवकी कार्की गएको दशैँदेखि अन्य दुई भाइ जस्तै गरी श्रीमान् पवन पनि टोलाएर गाउँगाउँ डुल्न थालेको बताउँछिन् । मनोरोगी तीन भाइ र बुबाआमाको पालनपोषण र जिम्मेवारी देवकीको गर्दै आएकी थिइन् । छ सन्तानकी आमा उनी रातदिन भारोपर्म मेलापात गरेर परिवार पाल्दै आएकी छिन् ।

    छिमेकीका अनुसार ३५ वर्षका होमबहादुर १७ वर्षदेखि, कान्छो रुद्रबहादुर १२ वर्षदेखि र जेठो पवन गएको दशैँदेखि मनोरोगी भएका छन् । छोराहरुको पीरले आमाको बोलीमा ठेगान हुन्न । बुबा उनबहादुर पनि बेलाबेलामा विक्षिप्त हुनुहुन्छ । कार्की परिवारलाई छरछिमेक तथा स्थानीय तहले बेलाबेलामा सहयोग दिँदै आएको थियो तर दीर्घकालीन समाधान हुन सकेको थिएन ।

    यसरी गरियो उद्धार

    सोमबार पुग्दा उनलाई घरको अघिल्लो भागमा रहेको चारकुने फलामे खोरमा बसिरहेका थिए मनोरोगी रुद्रबहादुर । उनी भाग्लान् भन्ने डरले बाहिर सुरुङको प्वाललाई खाट खोप्ट्याएर टालिएको थियो । खाटलाई डोरीको लट्ठाले कसेर राखिएको थियो । त्यही बेला मानवसेवा आश्रमको राष्ट्रिय उद्धार अभियानअन्तर्गत मेची¬महाकाली सडक यात्रामा निस्किएको समूहले उहाँको उद्धार गरेको हो ।

    बुबा उनबहादुरले पूजापाठ गर्ने भएर होला रुद्रबहादुरको मुखबाट हरेक पटक भगवान् शब्द निस्किरहन्छ । बेलाबेलामा उनले बुबालाई समेत आक्रमणको प्रयास पनि गर्छन । “यसलाई म छुँदैछुन्न, मार्ला भन्ने डर हुन्छ, मनपरी बोल्छ”, आँखामा टिलपिल आँसु पारेका उनबहादुरले भने, “मलाई भगवान्सँग विश्वास छ, तपाईंहरु आश्रमलाई देखाउँदै भगवान्को कृपाले मेरो समस्या हेर्न आउनुभयो, छोरालाई ठीक पारिदिनोस् ।”

    आश्रमका अध्यक्ष रामजी अधिकारीले भरोसा दिँदै भने, “हाम्रो प्रेमको औषधि पाएपछि छिट्टै कर्म भूमिमा फर्कनुहुन्छ, ढुक्क हुनुहोला ।” जवाफमा उनबहादुरले आश्रमलाई शुभकामना दिए अनि भने , “म जस्ता पीडित धेरै छन्, समाजमा उहाँहरुको पनि यसैगरी उद्धार गरिदिनुहोस् ।” उनीहरुलाई हरिवन नगरपालिकाकी उपप्रमुख रेणुका पौडेलको उपस्थितिमा उद्धार गरिएको थियो । इन्द्रबहादुरलाई थप उपचार गर्नुपर्ने भएकाले तत्कालै एम्बुलेन्समा राखेर काठमाडौँ पठाइएको र अन्य दुई दाजुभाइलाई हरिवनस्थित आश्रममा राखिएको आश्रमका उपाध्यक्ष धर्मप्रसाद पौडेलले जानकारी दिए ।

    “दोस्रो भगवान् बनेर आएको आश्रमले पुण्य काम गर्‍यो, उनीहरु राम्रो भएर फर्किएको हेर्ने चाहना छ”, छिमेकी श्रीध्वज उद्धारका क्रममा सुनाए । छोराहरुलाई उद्धार गरेर एम्बुलेन्समा हाल्दै गर्दा आमा हीराकुमारी एकछिन खुशीले बेहोस् नै भइ । टम्म उभिएका छिमेकीहरुले उद्धार भएकामा खुशी साटेका थिए ।रासस