Tag: आम हड्ताल

  • झाँक्रीलाई रिहा नगरे आमहड्ताल गर्ने अनेरास्ववियूको चेतावनी

    झाँक्रीलाई रिहा नगरे आमहड्ताल गर्ने अनेरास्ववियूको चेतावनी

    काठमाडौं । विभाजित नेकपाको प्रचण्ड-माधव पक्षनिकट विद्यार्थी संगठन अनेरास्ववियूले नेतृ रामकुमारी झाँक्रीलाई रिहा नगरे आमहड्ताल गर्ने चेतावनी दिएको छ ।

    राज्यविरुद्धको कसुर आरोपमा पक्राउ परेकी झाँक्रीलाई आज साँझसम्म रिहा नगरिए आमहड्तालको कार्यक्रम घोषणा गर्ने भन्दै अनेरास्ववियूले विज्ञप्ति निकालेर चेतावनी दिएको हो ।

    सह संयोजक रञ्जित तामाङले जारी गरेको विज्ञप्तिमा झाँक्रीलाई रिहा नगरे भोलिदेखि सडकमा सरकारी गाडी गुड्न नदिने र हडतालसम्मका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिइएको छ ।

     

     

  • आम हड्तालबारे उद्योगी व्यवसायी भन्छन्: काल पल्किने चिन्ता भो

    आम हड्तालबारे उद्योगी व्यवसायी भन्छन्: काल पल्किने चिन्ता भो

    काठमाडौं । कोरोनाले थला परेको नेपालको अर्थतन्त्रलाई आजको आमहड्तालले थप चोट दिएको उद्योगी व्यवसायी तथा अर्थशास्त्रीले बताएका छन् । उनीहरुका अनुसार एक दिनको बन्दले देशमा अर्बौको आर्थिक क्षति हुने गर्छ ।

    अहिले अर्थतन्त्रलाई कसरी माथि उकास्ने भन्नेमा सरकार तथा राजनीतिक दल लाग्नु पर्ने बेला उल्टै आमहड्ताल गर्नु शुभ संकेत नभएको बताउँछन् अर्थविद् बिमल कोइराला । उनका अनुसार यसले देशको अर्थतन्त्रलाई दूरगामी असर पुर्‍याउनेछ ।

    ‘बन्द, हड्ताल, राजनैतिक अस्थिरताले देशमा दूरगामी असर ल्याउँछ,’ उनले भने, ‘खासगरि पर्यटन क्षेत्रमा यसले सबैभन्दा ठूलो असर गर्छ ।’

    नेपालमा भइरहेका घटनाक्रमको सूचना क्षणभरमै विश्वसामु पुग्ने भएकाले विदेशी पर्यटकमा नेपाल सुरक्षित छैन भन्ने सन्देश प्रवाह हुने उनको भनाइ छ ।

    कोइरालाका अनुसार उद्योगधन्दा, कलकारखाना, विद्यालय, साना व्यापारी र दैनिक गुजारा गर्ने मजदूरलाई बन्द, हड्तालले ठूलो असर गर्ने छ ।

    ‘यो दूरगामी असर हो । यसको शुरुवात गर्नै हुँदैनथ्यो । हामी लामो समय बन्द, हड्ताल जस्ता क्रियाकलापबाट गुज्रिएका थियौं । अव त देशले केही पाउने बेलामा फेरी पूरानै शैली दोहोरिएको छ । यो ठीक होइन,’ उनले भने ।

    कोरोनाले सबैभन्दा बढी क्षति गरेको पर्यटन क्षेत्रलाई आजको आमहड्तालले ठूलो नकारात्मक सन्देश फैलाउने बताउँछन् पर्यटन विभागका सिइओ डा. धनन्जय रेग्मी । उनका अनुसार पहिला पनि देशमा भएको जनयुद्ध, जन आन्दोलन, त्यसपछि भएका बन्द, हड्तालजस्ता कुराले विश्व सामु नेपाल असुरक्षित रहेको सन्देश गएको थियो ।

    ‘विश्वसामु नेपाल सुरक्षित छ भन्ने सन्देश फैलाउन हामीले लामो समय खर्चियौं । नेपालका राजनीतिक दलले पनि अब बन्द, हड्तालजस्ता कार्यक्रम नगर्ने भनेर बाचा पनि गरेका थिए । तर, फेरी यसको शुरुवात भएको छ । यो पक्कै राम्रो होइन । यसले पर्यटन व्यवसायलाई मात्र होइन पूरै अर्थतन्नत्रलाई नै ठूलो क्षति पुग्ने छ ।’ उनले भने ।

    नेपाल एक दिन बन्द हुँदा २ अर्ब रुपैयाँभन्दा बढिको आर्थिक संकुचन हुने गरेको अर्थशास्त्री तथा उद्योगी बताउँछन् । आज भएको आमहड्तालको विरोध गर्दै नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, उद्योग परिसंघले संयुक्त रुपमा बुधबार नै विज्ञप्ती नै जारी गरेका थिए । उनीहरुले यस्ता क्रियाकलापको भर्सना गर्दै नेपालमा बन्द, हड्ताल जस्ता काम तुरुन्त बन्द गर्न आग्रह समेत गरेका छन् ।

    नाम नखुलाउने शर्तमा एक उद्योगीले भने ‘वास्तवमा यो हड्ताल जो सुकैले गरेको भए पनि ठूलो गल्ती हो । अहिलेको समयमा कसरी उद्योग, कलकारखाना बचाउने भन्ने समयमा बन्द, हड्ताल गर्नु भनेको देशलाई अधोगतितर्फ लैजानु हो ।’

    नेकपाले गरेको बन्दले भविष्यमा बन्द–हड्तालको पुरानै श्रृंखलाको पुनरावृत्ति हुन सक्ने उनको चिन्ता छ ।

    ‘…मरी भन्दा पनि काल पल्कने चिन्ता भयो, अब अरुले पनि भटाभट बन्द–हड्तालको कार्यक्रम ल्याए भने अर्थतन्त्र तहसनहस हुन्छ,’ उनले भने ।

    यातायात व्यवायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्मचार्यका अनुसार नेपाल बन्द भन्नासाथ पहिलो प्रहार यायातयलाई नै हुन्छ । सार्वजानिक यातायात मध्यवर्गीय र निमुखा जनताले प्रयोग गर्ने भएकाले बन्द, हड्तालजस्ता कुराले यिनै बर्गलाई सबैभन्दा बढी असर गर्ने उनको भनाइ छ ।

    ‘यातायात व्यवसायमा मजदूर तथा कर्मचारीले दैनिकको रोजीरोटी गुमाउनुका साथै लाखौको नोक्सानी व्यहोर्नु पर्छ । व्यवसायीलाई पनि दैनिक करोडौंको क्षति हुन्छ ।’ उनले भने ।

    कोरोनाको समयमा ६ महिना यातायात बन्द हुँदा अर्बौको क्षति भएको उनले स्मरण गरे ।

    कर्मचार्यका अनुसार यातायात व्यवसायले बन्द, हड्तालमा आर्थिक क्षति मात्र नभएर होइन मानसिक रुपमा पनि ठूलो प्रभाव पर्ने गरेको छ ।

    ‘बन्द हड्तालमा गाडी चलाउँदा ज्यानैको जोखिम हुन्छ । नचलाउँदा रोजिरोटी गुम्छ,’ उनले भने ।

  • आमहड्ताल : देशभर कहाँ के भयो ? (विवरणसहित)

    आमहड्ताल : देशभर कहाँ के भयो ? (विवरणसहित)

    काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव पक्षले आफूहरुरूको आमहड्तालाई बदनाम बनाउने कोसिस भएको दाबी गरेको छ ।

    प्रतिनिधिसभा विघटनविरूद्ध गरिएको आमहड्तालबारे देशभरका घटनाको ‘अपडेट’ पार्टीको फेसवुक पेजमा लाइभ गरेर जानकारी गराउँदै केन्द्रीय सदस्य विष्णु रिजालले यस्तो टिप्पणी गरे ।

    रिजालले नेकपाको ओली पक्षतिर लक्षित गर्दै ‘साइबर सेना’ले त्यस्तो काम गरेको आरोप लगाए । ‘आज बिहानैदेखि साइबर अपराधमा अभ्यस्त व्यक्तिहरूले विभिन्न आन्दोलनका तस्बिर राखेर, अरु देशका आन्दोलनका तस्बिर राखेर परिस्थितिलाई भड्काउने, जनसमुदायलाई उत्तेजित बनाउने खोजको पनि पाइयो,’ उनको भनाइ छ, ‘किसानहरूको भक्तपुरको तस्बिर भन्दै बङ्गलादेशको तस्बिर राख्ने, २०७० सालको चुनावमा भएको आगजानीको तस्बिरलाई गाडीमा आगजानी भन्ने । किसानहरूका अरु सामग्रीहरु नष्ट गरियो भन्ने खालका कुराहरू पनि सामाजिक संजालमा भएका थिए। हिजो नै आमहड्ताल फिर्ता भयो भन्ने कुप्रचार सामाजिक संजालमा भएका थिए । केही समयअघि गठन गरिएको कथित ‘साइबर सेना’नामको ‘साइबर क्राइम ग्रुप’को काम हो भन्ने कुरामा ढुक्क हुनुहोस् भन्ने म निवदेन गर्न चाहान्छु ।’

    आमहड्ताललाई शान्तिपूर्ण बनाएको बताउँदै उनले भने, ‘हामीले मुलरूपमा आमहड्ताललाई शालीन र शान्तिपूर्ण बनाएका छौं । आन्दोलनका क्रममा आदरणीय जनसमुदायले भोग्नु परेको असजिलोप्रति पार्टीको तर्फबाट विनम्रतापूर्वक क्षमायाचना गर्न चाहान्छु । साथसाथै यस आन्दोलनलाई बदनाम गर्नलाई भएका प्रयासहरूलाई पनि चिनिदिनु हुने छ भन्ने आग्रह गर्न चाहान्छु ।’

    कहाँ के भए ?

    दिनभरका घटनाक्रमको जानकारी गराउँदै उनले स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलाई बिहानै ६ बजे कलंकीबाट गिरफ्तार गरिएको बताए । त्यहीबाट हितमान शाक्य, बिजय पौडेल, अमृता थापालगायत पनि पक्रउ परेका थिए।

    चाबहिलबाट केन्द्रीय सदस्य कृष्ण केसी लगायतलाई गिरफ्तार गरिएको र बागबजारबाट युवा नेता रमेश मल्ल गिरफ्तार गरिएको उनको भनाइ छ।

    प्रचण्ड-माधव पक्षले सार्वजनिक गरेको आजका मुख्य घटनाहरू :-

  • मध्यान्हपछि आम हड्ताल खुकुलो, सडकमा बाक्लिए सवारीसाधन (फोटो/भिडियो)

    मध्यान्हपछि आम हड्ताल खुकुलो, सडकमा बाक्लिए सवारीसाधन (फोटो/भिडियो)

    काठमाडौं । प्रचण्ड-माधव पक्षीय नेकपाका कार्यकर्ताले बिहानै सामाखुसीमा ट्याक्सी जलाएर आजको आमहड्ताल हिंसात्मक हुने संकेत दिए । तर, सो घटनाको चौतर्फी निन्दा भएपछि उनीहरुले थप आक्रामकता देखाएका छैनन् ।

    ट्याक्सी जलाइएसँगै बिहानैदेखि काठमाडौंका सडक सुनसान भए । मानिसहरू सडकमा निस्कन डराए । तर, मध्यान्नपछि भने बन्दको बिस्तारै खुकुलो हुन थालेको छ । हामीले काठमाडौंका विभिन्न स्थानको अवलोकन गर्दा सवारीसाधन बाक्लै संख्यामा देखिएका छन् ।

    आन्दोलनकारीको पनि मुड दिउँसोदेखि फेरिएको छ । उनीहरुले सडकमा निस्केका सवारीसाधनलाई आक्रमण तोडफोड गरेका छैनन् । अवरोध प्रयास भने गरिरहेका छन् ।

    बालाजु, सामाखुसी, नारायाणगोपाल चोक, चावहिल, पुरानो बानेश्वर, नयाँबानेश्वर क्षेत्रति सवारी सधान बाक्लै चलेका छन् । चक्रपथ क्षेत्रमा महानगर यातायात, ट्याक्सी, टेम्पु, माइक्रो र अन्य केही सवारी साधन पनि बाक्लै चल्न थालेका छन् ।

    मध्यान्ह हुनै थाल्दा आन्दोलनकारी नरम बनेका थिए । मुख्य चोकमा भएको जम्मा भएको भीडले पनि सवारी सधान रोक्न प्रयास गरे पनि बल प्रयोग गरेका देखिएन । बरु, ठाउँ-ठाउँमा प्रहरीले नै सवारीसधान चल्न रोकिरहेको थियो । एम्बुलेन्स, प्रेसलगायत अत्यावश्यक सेवाका सवारीसाधन भने निर्वाध चलेका छन् ।

    हिजो आमहड्तालको घोषणा भएदेखि नै सामाजिक सञ्जालमा तीब्र विरोध भइरहेको छ । प्रचण्ड-नेपाल पक्षले आमहड्तालमा धेरै कठोरता अपनाउन नसक्नुको कारण पनि यही हो । सो समूहका नेताहरुले आमहड्ताललाई बाध्यातत्मक भन्दै आएका छन् ।

  • ट्याक्सी जलेपछि अलपत्र परेका चालकलाई विद्यार्थीको आर्थिक सहयोग

    ट्याक्सी जलेपछि अलपत्र परेका चालकलाई विद्यार्थीको आर्थिक सहयोग

    काठमाडौं । प्रचण्ड-माधव नेतृत्वको नेकपाले आह्वान गरेको आम हड्तालको बिहानै ट्याक्सी जलाइएपछि अलपत्र परेका ट्याक्सी चालक कुम्भनारायण श्रेष्ठलाई एकजना विद्यार्थीले ८ हजार रूपैया आर्थिक सहयोग गर्दै उनको सहयोगका लागि बैंक खाता खोलिदिएका छन् ।

    ट्याक्सी जलेपछि चारजनाको परिवार पाल्न गाह्रो परेका कारण उनको सहयोगमा विद्यार्थी समुन्द्र तिमिल्सिनाले अभियान चलाएका हुन् ।

    ट्याक्सी जलेपछि अलपत्र परेका उनलाई सकेको सहयोग गर्न भन्दै लक्ष्मी बैंकमा खाता खोलिएको तिमिल्सिनाले बताए । उनले आफू पनि नेकपाकै शुभेच्छुक रहेको भन्दै घनश्याम भुसाल, जनार्दन शर्मा र योगेश भट्टराइजस्ता नेताहरूले यो घटनाबारे बोल्नुपर्ने बताए ।

  • यो केपी र मेरो जुहारी होइन, लोकतन्त्रको लडाइँ हो : प्रचण्ड (भिडियो)

    यो केपी र मेरो जुहारी होइन, लोकतन्त्रको लडाइँ हो : प्रचण्ड (भिडियो)

    काठमाडौं । विभाजित नेकपा प्रचण्ड-माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनलाई प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीचको लडाइँको रूपमा नबुझ्न आग्रह गरेका छन् ।

    ‘ यो केपी ओली र प्रचण्डबीचको जुहारी हुँदै होइन । नेपाली जनताले ७० वर्ष लडेर ल्याएको लोकतन्त्रको रक्षा गर्ने कि नगर्ने भन्ने मुद्दा हो’ आम हड्तालको अनुगमनको क्रममा प्रचण्डले भने, ‘एकथरीले यो प्रचण्ड र केपी ओलीको, माधव नेपाल र केपी ओलीको भन्‍न खोजेका छन् त्यो सत्य होइन । दोस्रो कुरा संविधान मिच्चिएको हुनाले सबै राजनीतिक दल पनि त सरकारले असंवैधानिक र अलोकतान्त्रिक कदम चाल्यो भनेर सडकमै छन् । यो लोकतन्त्र र लोकतन्त्रविरोधीको लडाइँ हो ।’

    संविधान, लोकन्त्र र गणतन्त्र सबै धरापमा परेको हुनाले आम हड्ताल बाध्यात्मक स्थिति भएको प्रचण्डको दाबी छ ।

    ‘यस्तो नभइदिए हुन्थ्यो भन्ने जनताको भावना हामीले बुझेका छौं सम्मान पनि गर्छौं । यो जनताकै लागि हो, लोकतन्त्रकै लागि हो र समृद्धिकै लागि हो । र, यसखालको आन्दोलन जनताको निम्ति उनीहरूको अधिकार स्थापना गर्ने आन्दोलन भएकोले केही दु:ख र अप्ठ्यारो भएपनि जनताले साथ दिंदै आएका छन् । अहिले पनि दिन्छन् भन्ने हाम्रो विश्‍वास छ ।’

  • आम हड्तालमा सर्वसाधारणको पैदलयात्रा- प्रचण्ड गाडीमा, माधव स्कुटरमा (भिडियो/फोटो)

    आम हड्तालमा सर्वसाधारणको पैदलयात्रा- प्रचण्ड गाडीमा, माधव स्कुटरमा (भिडियो/फोटो)

    काठमाडौं । आम हड्ताल अनुगमन गर्न विभाजित नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल राजधानी काठमाडौंका विभिन्न चोकमा आफैं पुगेका छन् ।

    सर्वसाधारणका लागि बन्द गरिए पनि प्रचण्ड र माधव नेपाल भने सबै ठाउँमा हिँडेर पुग्न सम्भव नभएको भन्दै सवारीसाधनमै एक ठाउँबाट अर्को ठाउँ पुगेका छन् ।

    खुमलटारबाट गाडीमा निस्केका प्रचण्ड सातदोबाटो, कोटेश्वर, पुल्चोक हुँदै विभिन्न ठाउँमा आफ्नै गाडीमा गएका छन् । आफैंले गरेको बन्दको अवज्ञा गर्दै बा. १७ च ३० ७१ को ल्याण्ड क्रुजर गाडीमा चढेर प्रचण्डले आम हड्ताल सफल बनाउन कार्यकर्ताहरुलाई निर्देशन दिए ।

    माधव नेपाल भने केही ठाउँमा गाडी र केही ठाउँमा कार्यकर्ताको स्कुटरमा सवार भएर आम हड्तालको अनुमगन तथा धर्नामा सहभागी भएका छन् ।

    आमहड्ताल सफल बनाउन प्रचण्ड माधव समूहले काठमाण्डौका प्रमुख स्थानका लागि कमाण्डर नै तोकेको थियो । जस अनसार युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य कलंकीमा तोकिएकामा शाक्यलाई बिहानै प्रहरीले पक्राउ गरेको थियो ।

    त्यस्तै बेदुराम भुसाल बल्खु, देव गुरुङ सातदोबाटो, लीलामणि पोखरेल कोटेश्वर, हरिबोल गजुरेल र बर्षमान पुन चावहिल, शक्ति बस्नेत महारागञ्ज, भीम रावल गोंगबु, रघुजी पन्त बालाजु, नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा रत्नपार्क र पम्फा भुसाललाई पुल्चोकको कमाण्डरको जिम्मेवारी दिइएको थियो । उनीहरूकै नेतृत्वमा कार्यकर्ताहरू बन्द सफल बनाउन सडकमा निस्किएका थिए ।

  • माधव नेपालको प्रष्टोक्ति : जनतालाई कष्‍ट छ तर आम हड्ताल हाम्रो बाध्यता (भिडियो)

    माधव नेपालको प्रष्टोक्ति : जनतालाई कष्‍ट छ तर आम हड्ताल हाम्रो बाध्यता (भिडियो)

    काठमाडौं । विभाजित नेकपा प्रचण्ड-माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले संविधान मिचेर एकपछि अर्को अधिनायकवादी चरित्र देखाएकोले आफूहरू आन्दोलित भएको बताएका छन् ।

    विहीबार आव्हान गरेको देशव्यापी आमहड्तालको औचित्य पुष्टि गर्दै नेपालले भने, ‘प्रधानमन्त्रीले संवैधानिक परिषद्ले गरेको नियुक्ति प्रक्रियानै गलत छ । सभामुखले प्रक्रिया नपुगेको भन्दै अस्वीकार गरेको अवस्थामा जबर्जस्ती शपथ गरियो । काम चलाउ सरकारले एकातिर चुनावको घोषणा गर्छ अर्कोतिर धमाधम नियुक्ति गर्छ त्यही भएर उनको अधिनायकवादको विरुद्धमा जनतालाई हामीले विरोध जनाउनुस् भनेर आव्हान गर्‍यौं । जनतालाई कष्ट पक्कै पनि भएको छ ।’

    ओलीमा लोकतन्त्र, संविधान, संघीयता र गणतन्त्रप्रति अपनत्व भावना नभएको नेपालले टिप्पणी गरे ।

     

  • प्रचण्डको दाबी : केपीले गर्ने पञ्‍चर्‍याली हामीले गरेको जनआन्दोलन (भिडियो)

    प्रचण्डको दाबी : केपीले गर्ने पञ्‍चर्‍याली हामीले गरेको जनआन्दोलन (भिडियो)

    काठमाडौं । विभाजित नेकपा प्रचण्ड-माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध आफूहरूले गरेको संघर्ष जनआन्दोलन भएको दाबी गरेका छन् ।

    नेकपाको ओलीपक्षबाट काठमाडौंमा शुक्रबार आयोजना गरिएको जनसभाको पूर्वसन्ध्यामा तपाईंहरूले गरेको आम हड्तालले मुठभेडको बाटोतर्फ धकेल्दैन ? भन्‍ने पत्रकारको प्रश्नको जवाफमा उनले सरकार आफैंले जुलुस निकालेर हिजोको पञ्‍चर्‍यालीको झल्को दिएको टिप्पणी गरे ।

    ‘सरकारले जसरी संविधान मिच्ने र दिउँसै रात पार्ने काम गरेको छ । सबैले विरोध गरेका छन् । हिजो पञ्‍चायतको बेलामा पैसामा खरिदेर ठूलाठूला र्‍याली हुन्थे । त्यो निभ्ने बेलाको बत्ती थियो’ प्रचण्डले भने, ‘आफैंले संविधान मिच्ने । आफैंले लोकतन्त्रमाथि प्रहार गर्ने । अनि सरकार आफैंले मान्छे बटुलेर जुलुस गर्ने भनेको पञ्‍चर्‍यालीबाहेक केही होइन । हामीले गरेको जनआन्दोलन हो । केपीजीले गर्ने भनेको पञ्‍चर्‍यालीबाहेक केही पनि हुँदैन ।’

  • ओली पक्षीय नेकपाका युवा विद्यार्थीले आज काठमाडौंमा मार्चपास गर्ने

    ओली पक्षीय नेकपाका युवा विद्यार्थीले आज काठमाडौंमा मार्चपास गर्ने

    काठमाडौं । आम हड्ताल र आगजनीको विरोध तथा भोलिको जनसभाको तयारीस्वरुप केपी ओली नेतृत्वको नेकपाका युवा विद्यार्थीले आज राजधानी काठमाडौंमा मार्चपास गर्ने भएका छन् ।

    यसअघि बैठकमात्र बस्ने भनिएकोमा आकस्मिक निर्णयअनुसार हिंसात्मक घटनाको विरुद्ध मार्चपास गर्ने निर्णय उनीहरुले गरेका हुन् ।

    अनेरास्ववियूका नेता आरसी लामिछानेका अनुसार अपरान्ह २ बजे प्रदर्शनीमार्गबाट शुरु हुने मार्चपास कान्तिपथ हुँदै शहर परिक्रमा गर्नेछ ।

    मार्चपासका सहभागीले एकै प्रकारका पोशाक लगाउनेछन् । उपत्यकाका आठ स्थानबाट युवा विद्यार्थीहरु जम्मा भई मार्चपासमा सहभागी हुने बताइएको छ । बुधवारको मोटरसाइकल र्यालीमा जस्तै ठूलो सहभागिता जुटाउने आन्तरिक तयारीमा अ‍ोली पक्षका युवा विद्यार्थी नेताहरु लागेका छन् ।

    यसैबीच ओली पक्षधर अनेरास्ववियूले आम हड्तालका कारण परीक्षामा दिन समस्यामा परेका र अन्य सर्वसाधारणलाई सघाउन मोटरसाइकलसहित स्वयंसेवीहरु खटाएको छ ।

    विभिन्न चोक चोकमा खटिएका उनीहरुको नाम र नम्बर सामाजिक संजालमार्फत सार्वजनिक गरी समस्यामा परेकाहरुले सम्पर्क गर्न भनिएको छ ।

    बिहानैदेखि प्रकाश भुजेल, नविन पन्थि, आदित बोहोरा, सागर भट्टसहित केन्द्रीय सदस्यहरुको नेतृत्वमा स्वयंसेवकले सर्वसाधारण र विद्यार्थीको उद्दार गरिरहेको लामिछानेले बताए ।

  • प्रदेश २ मा आम हड्तालको प्रभाव– सडकमा टायर बालेर प्रदर्शन

    प्रदेश २ मा आम हड्तालको प्रभाव– सडकमा टायर बालेर प्रदर्शन

    जनकपुरधाम । नेकपा प्रचण्ड–नेपाल समूहले गरेको आमहड्तालको असर प्रदेश–२ मा पनि उस्तै छ । फाट्टफुट्ट बाहेकका सवारी साधन ठप्प छ । निजी विद्यालय संचालनमा रहे पनि विद्यार्थी न्यून संख्यामा आएको शिक्षकहरु बताउँछन् ।

    प्रदेश–२ को राजधानी जनकपुरका अधिकांश पसल बन्द छन् । यस प्रदेशका अन्य जिल्ला पनि प्रभावित बनेका छन् । प्रचण्ड–नेपाल समूहका नेता कार्यकर्ता सिरहाको लहानस्थित राजमार्गमा विहानैदेखि टायर बालेर सडकमा छन् । राजमार्ग सुनसान देखिएको छ ।

    मोटरसाइकल पनि न्यून संख्यामा सडकमा गुडेको छ । बजारहरु विहानैदेखि सुनसान छ । सडकमा मात्र सुरक्षाकर्मी तैनाथ देखिन्छन् । प्रदेश२ मा अहिलेसम्म तोडफोड र आगजनीको घटना नभएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

  • ओलीविरुद्ध नारा लगाउँदै प्रचण्ड पनि सडकमा

    ओलीविरुद्ध नारा लगाउँदै प्रचण्ड पनि सडकमा

    काठमाडौं । आम हड्ताल सफल बनाउन विभाजित नेकपाका अध्यक्ष प्रचण्ड पनि सडकमा निस्केका छन् । बन्दकर्तासँगै प्रदर्शनमा केहीबेर सहभागी भएका प्रचण्डले आन्दोलन सशक्त बनाउन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

    खुमलटारबाट सातदोबाटोमा प्रदर्शनकारीबीच केहीबेर बसेर उनी निस्केका थिए । सो मोर्चाको नेतृत्व देव गुरुङले गरेका छन् । आम हड्ताल सफल बनाउन र पसल ब्यवसाय बन्द गर्न नेता कार्यकर्ता हुल बाँधेर निस्केका छन् ।

    प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रामक नाराबाजी गरिरहेका छन् । प्रचण्ड पनि अ‍ोलीविरुद्ध नारा लगाउँदै केहीबेर प्रदर्शनकारीलाई उत्साह थपेर निस्केको ललितपुरका प्रदेशसभा सदस्य राजकाजी महर्जनले बताए ।

  • आम हड्ताल सफल बनाउन प्रचण्ड–माधव पक्षका नेता कार्यकर्ता सडकमा

    आम हड्ताल सफल बनाउन प्रचण्ड–माधव पक्षका नेता कार्यकर्ता सडकमा

    काठमाडौं । देशब्यापी आम हड्ताल घोषणा गरेको विभाजित नेकपाको प्रचण्ड–माधव पक्षका नेता कार्यकर्ता सडकमा उत्रिएका छन् ।

    बन्द सफल बनाउन आन्दोलन परिचालन कमिटीका संयोजक नारायणकाजी श्रेष्ठसहितका नेता कार्यकर्ता विभिन्न ठाउँबाट सडकमा निस्किएका हुन् ।

    ठाउँमा आन्दोलनकारीका जुलुस निस्केर मुख्य चोकहरुमा पुगेका छन् । सवारी साधन र व्यवसाय बन्द गराउँदै हिडेका ८० जना भन्दा बढीलाई काठमाडौंबाट पक्राउ गरिएको छ ।

  • तोकिए आम हड्तालका लागि ११ स्थानका कमान्डर

    तोकिए आम हड्तालका लागि ११ स्थानका कमान्डर

    काठमाडौं। आम हड्ताललाई सफल बनाउन नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–माधव पक्षले राजधानीका प्रमुख स्थानका लागि कमान्डार तोके छ।

    राजधानीका विभिन्न विभिन्न ११ स्थानमाका लागि स्थायी कमिटी सदस्यहरुलाई नै हड्तालका कमान्डर तोकिएको हो।

    को कहाँ ?

    कलङ्की– युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य

    बल्खु– बेदुराम भुसाल

    सातदोबाटो– देव गुरुङ

    पुल्चोक– पम्फा भुसाल

    कोटेश्वर– लीलामणि पोखरेल

    चाबहिल– वर्षमान पुन र हरिबोल गजुरेल

    नारायणगोपालचोक– महाराजगञ्जमा शक्ति बस्नेत

    गोंगबु– भीम रावल

    बालाजु– रघुजी पन्त

    रत्नपार्क– नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा

  • प्रचण्ड-माधव पक्षद्वारा आमहड्तालको घोषणा

    प्रचण्ड-माधव पक्षद्वारा आमहड्तालको घोषणा

    काठमाडौं । विभाजित नेकपाको प्रचण्ड-माधव पक्षले बिहीबार देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।

    संवैधानिक निकायमा पदाधिकारीहरूलाई नियुक्त तथा शपथ गराएको विरोधमा आमहड्ताल गर्ने निर्णय गरेको केन्द्रीय संघर्ष समितिले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।

    आकस्मिक रूपमा सार्वजनिक गरिएको संघर्षको नयाँ कार्यक्रमअनुसार बुधबार साँझ देशभर मसाल जुलुस र बिहीबार आमहड्ताल तय गरिएको छ । संघर्षका कार्यक्रम सार्वजनिक गर्दै समितिका संयोजक नारायणकाजी श्रेष्ठले आमहड्ताल आफूहरूको बाध्यता भएको बताए ।

    देशव्यापी आह्वान गरिने आमहड्तालमा अत्यावश्‍यक सेवामा भने कुनै रोक नलगाउने श्रेष्ठले जानकारी दिए ।

  • आमहड्तालको घोषणा गर्ने प्रचण्ड-माधव पक्षको तयारी

    आमहड्तालको घोषणा गर्ने प्रचण्ड-माधव पक्षको तयारी

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव पक्षले आकस्मिक पत्रकार सम्मेलन आयोजना गरेको छ।

    केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार बुधबार २ बजे पेरिसडॉडास्थित पार्टी कार्यालयमा आकस्मिक पत्रकार सम्मेलन आयोजना गर्न लागिएको हो।

    पत्रकार सम्मेलनअघि केन्द्रीय संघर्ष समितिको बैठक समेत बोलाइएको छ । बैठकले संवैधानिक निकायमा सिफारिस भएकाहरूलाई नियुक्त गरेको विरोधमा आमहड्ताल गर्ने निर्णय गर्ने तयारी भइरहेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए।

    केन्द्रीय संघर्ष समितिको बैठकले आमहड्तालको निर्णय गरेपछि आकस्मिक रूपमा बोलाइएको पत्रकार सम्मेलनमा त्यसको घोषणा गरिने बताइएको छ ।

    नेकपाको अ‍ोली पक्षले शुक्रबार राजधानीमा आमसभा गर्दै छ। ओली पक्षकै आमसभाकै पूर्वसन्ध्यामा प्रचण्ड-माधव पक्षले आमहड्तालको तयारी गरेको छ ।