Tag: आगलागी

  • जुम्लाकाे तिला गाउँपालिकामा ३५ गोठ जले, १० घन्टापछि आगो निभाउन पुग्यो प्रहरी

    जुम्लाकाे तिला गाउँपालिकामा ३५ गोठ जले, १० घन्टापछि आगो निभाउन पुग्यो प्रहरी

    सुर्खेत । जुम्ला जिल्लाको तिला गाउँपालिका वडा नम्बर ९ को ढिपु गाउँमा गएराति आगलागी भएको १० घण्टा पछि पुगेको प्रहरीले ३५ गोठ जलेको जनाएको छ ।

    प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवम प्रहरी वरिष्ठ उपरीक्षक अर्जुन चन्दका अनुसार गएराति साढे नौ बजे ढिपु गाउँको पाटनमा रहेका गोठहरुमा आगलागी भएको हो ।

    ‘हालसम्म आगालगीका कारण मानवीय क्षति भएको छैन । सदरमुकाम भन्दा धेरै टाढा रहेको र धेरै उचाईमा रहेका कारण प्रहरी अहिले विहान सात बजे घटना स्थलमा पुगेको छ । त्यहाँ पुग्ने क्रममा एक जना प्रहरीलाई लेक लागेको अवस्था छ,’ उनले भने, ‘त्यहाँ गोठ मात्रै भएका कारण मानवीय क्षति भएको जानकारी छैन । अन्य क्षति के-के भएको छ भन्ने बारेमा केहि समयपछि विस्तृत विवरण आउनेछ ।’

    उनका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको तीस जनाको टोली घटना स्थलमा पुगेको छ र आगोलाई नियन्त्रणमा लिने प्रयासमा छ । अहिले पनि तीन गोठमा लागेको आगो निभाउने प्रयास जारी छ ।

  • एक वर्षमा २२ सय ४१ ठाउँमा आगलागी, ८६ जनाको मृत्यु

    एक वर्षमा २२ सय ४१ ठाउँमा आगलागी, ८६ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न १४ ठाउँमा आगलागी भएको छ ।

    मोरङको, उदयपुर, बैतडी, सुनसरी, खोटाङ, कपिलवस्तु, ओखलढुंगा, महोत्तरी, काठमाडौं, सिरहालगायतका ठाउँमा आगलागी भएको हो । गृहमन्त्रालयअन्तर्गतका राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार बिहान १० बजेदेखि सोमबार बिहानसम्म आगलागीको घटना रेकर्ड गरिएको हो ।

    तीमध्ये अधिकांश घरमा विद्युत सर्ट भएर आगलागी भएको छ । भने काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-१ को जंगलमा डढेलो लागेको थियो ।

    उक्त स्थानमा लागेको आगो प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आइसकेको छ । ती घटनामा मानवीय क्षति भने नभएको प्राधिकरणले जनाएको छ ।

    शनिबार बिहानदेखि आइतबार बिहानसम्म भने ३४ ठाउँमा आगलागी भएको छ । त्यस घटनमा २ जनाको मृत्यु र २ जना घाइते भएका छन् ।
    गर्मी याम शुरू भएसँगै डढेलो र आगलागीका घटना बढ्नसक्ने भन्दै सचेतना अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।

    प्राधिकरणको तथ्यांक अनुसार गत बैशाख १ देखि चैत १६ सम्म २२ सय ४१ वटा आगलागीका घटना भएका छन् । ती आगलागीमा ८६ जनाको  मृत्यु भएको छ भने ३५० जना घाइते भएका छन् ।

    आगलागीबाट १ अर्ब ६९ करोड १७ लाख ४ हजार २८६ रूपैँया बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ ।

    देशका विभिन्न ठाउँमा लागिरहेको डढेलोको कारण वायु प्रदूषणसमेत बढेको छ ।

  • खाना पकाउने ग्यास जडान गर्ने क्रममा आगलागी हुँदा चार घाइते

    खाना पकाउने ग्यास जडान गर्ने क्रममा आगलागी हुँदा चार घाइते

    कैलाली । कैलालीको टीकापुर नगरपालिका–१ निवासी जीवन विष्टको भान्सा घरमा खाना पकाउने ग्यास चुहावट भई आगलागी हुँदा चार घाइते भएका छन् ।

    ग्यास जडान गर्ने क्रममा आज भएको आगलागीबाट ३० वर्षीय निज विष्टसहित उनकी पत्नी २८ वर्षीया बबिता विष्ट, तीन वर्षीय छोरा जेनेल र सोही वडाको विजयनगर मुक्तकमैया शिविरका हरि चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतीक विष्टले बताए ।

    घाइतेमध्ये जीवन विष्ट र हरी चौधरीको अवस्था गम्भीर छ । अन्य दुईको अवस्था समान्य छ । घटनामा घाइते हुनेलाई तत्काल टीकापुर अस्पतालमा पुर्‍याइएकोमा थप उपचारका लागि कोहलपुर लगिएको छ ।

  • दाङमा बिजुलीको लाइन सर्ट भएर आगलागी, छ घर जलेर नष्ट

    दाङमा बिजुलीको लाइन सर्ट भएर आगलागी, छ घर जलेर नष्ट

    रुपन्देही । बिजुलीको लाइन सर्ट भएर आगलागी हुँदा दाङको लमही नगरपालिकाका ६ वटा घर जलेर नष्ट भएका छन् । प्रहरीका अनुसार फुसको छाना भएका घर जलेर नष्ट भएको हो ।

    वडा प्रहरी कार्यालय लमही दाङका अनुसार आगलागीबाट घरमा रहेको टिभी, दराज फर्निचरको सामग्री, अन्नपात, लत्ताकपडा जलेर नष्ट भएकोे छ । क्षतिको यकिन विवरण भने आएको छ ।

    आगो नियन्त्रणमा लिन लमही नगरपालिका र गढवा गाउंपालिकाको दमकल तथा वडा प्रहरी कार्यालय लमही, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयले सहयोग गरेका थिए ।

    प्रहरी कार्यालयका अनुसार स्थानीय प्रेम चौधरी, कान्छू चौधरी, बलिराम चौधरी, सर्जु चौधरी, बसन्त चौधरी, रेमशबहादुर बुढाको घर जलेर नष्ट भएको छ ।

     

  • बुटवलको दियालो फुडल्याण्डमा मध्यरातमा आगलागी, डेढ करोडको क्षति

    बुटवलको दियालो फुडल्याण्डमा मध्यरातमा आगलागी, डेढ करोडको क्षति

    रूपन्देही । बुधबार राती बुटवलमा रहेको एक रेष्टुरेण्टमा आगलागी भएको छ । बुटवलको मिलनचोकमा रहेको दियालो फुडल्याण्डमा मध्यराति करिब साँढे १ बजे आगलागि भएको हो ।

    आगलागिबाट रेष्टुरेण्ट सेक्टरको माथिल्लो तला पूर्णरुपमा क्षति भएको छ भने तल्लो तलामा कम क्षति भएको छ । आगलागीबाट डेढ करोड भन्दा बढीको क्षति भएको फुडल्याण्डका प्रबन्धक मदन भण्डारीले बताए ।

    बुटवल उपमहानगरपालिकाको दमकलको सहायतामा करिब ३ घण्टापछि आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यलय बुटवलले जानकारी दिएको छ । आगो कसरी लाग्यो त्यसको बारेमा थप अनुसन्धान भइ रहेको र क्षतिको बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

  • रुपन्देहीको उद्योगमा पनि भीषण आगलागी, पाँच दमकलले ४ घन्टामा निभाए

    रुपन्देहीको उद्योगमा पनि भीषण आगलागी, पाँच दमकलले ४ घन्टामा निभाए

    रुपन्देही । रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं ३ बेतहीमा रहेको एभरेष्ट डोर इन्डिष्टिज तथा सदिक्षा स–मिलमा भीषण आगलागी भएको छ । आगलागीमा ९ करोडको क्षति भएको अनुमान छ ।

    प्लाई, प्लाईका ढोका उत्पादन गर्ने उद्योगमा आगो लागेको हो । विद्युत् सट भएर आगलागी भएको बताइए पनि यकिन कारण भने खुलेको छैन । रुपन्देहीका ५ वटा दमकल, स्थानीय र प्रहरीको संयुक्त प्रयासमा आगलागी ४ घण्टापछि नियन्त्रणमा आएको थियो ।

    उद्योगमा तयारी ढोका र प्लाइउड, कच्चादेखि दुई करोड रुपैयाँसम्म पर्ने ठूला मेसिनसमेत पूर्ण रुपमा जलेर कामै नलाग्ने भएको इन्डष्ट्रिजका प्रबन्धक रामप्रसाद खनालले बताए । उद्योगमा आगोको मुस्लो देखेपछि छिमेकीले सञ्चालकलाई खवर गरेका थिए । ३ वर्ष अगाडि १५ करोड लगानीमा उद्योग सञ्चालनमा आएको थियो । उद्योगमा १ सयभन्दा बढी मजदुरले रोजगारी पाएका छन् ।

    आगलागीमा क्षति भएको उद्योग दुई महिला उद्योगी भगवती पाण्डे र गीता बस्याल सञ्चालन गरेका हुन् । उद्योग सञ्चालक सूर्यप्रसाद खनालले बजारमा पठाउन तयार भएको तयारी सामान जलेर नष्ट भएको बताए ।

    आगलागीबाट कच्चा पदार्थ, तयारी सामान सवै नष्ट भएको उद्योगीको भनाइ छ । करोडौ रुपैयांको क्षति भएपनि स्थानीय तहका पदाधिकारी तथा कर्मचारी हेर्नसमेत नआएको खनालले बताए । एभरेष्ट इन्डष्ट्रिज रुपन्देहीमा ठूलो धनराशी लगानी गरी सञ्चालनमा ल्याइएको उद्योगमध्ये पर्छ ।

  • चितवनमा आगलागीबाट ४५ लाख बराबरको क्षति

    चितवनमा आगलागीबाट ४५ लाख बराबरको क्षति

    काठमाडौं । चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी भएको हो ।

    आगलागीबाट करीब ४५ लाख बराबरको फर्निचर र काठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

    विद्युत् चुहावट भएर आगलागी भएको उनले बताए । राति ११ः१० बजे लागेको आगो १२:३५ मा नियन्त्रणमा आएको थियो । भरतपुर महानगरपालिकाको दुई र खैरहनी नगरपालिकाको एक दमकलसँगै स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका छन् ।

    रासस

  • दोभानको आगलागी पीडित परिवारलाई ५०-५० हजार दिने मुख्यमन्त्री राईको घोषणा

    दोभानको आगलागी पीडित परिवारलाई ५०-५० हजार दिने मुख्यमन्त्री राईको घोषणा

    विराटनगर । प्रदेश १ सरकारले ताप्लेजुङको मेरिङदेन-३ दोभानका आगलागी पीडितलाई प्रति परिवार ५० हजार नगद उपलब्ध गराउने भएको छ । बिहीबार आगलागी पीडितहरूको अवस्था बुझ्न घटनास्थल पुगेका मुख्यमन्त्री राईले राहतको घोषणा गरेका हुन् ।

    आगलागीले खरानी भएको बस्तीमा पुगेर प्रदेश नं. १ सरकारका मुख्यमन्त्री राईले राहत सामाग्री उपलब्ध गराउनुका साथै पीडितलाई थप राहत प्याकेजसमेत घोषणा गरेका हुन् ।

    बिहीबार नै प्रदेश सरकारको पक्षबाट मुख्यमन्त्री राईले आगलागी पीडित परिवारलाई तत्कालका लागि १८ सय केजी चामल, २५० केजी दाल, नुन, तेल लगायतका खाद्यान्न र म्याट्रेस लगायतका सामाग्री हस्तान्तरण गरेको छ ।

    मुख्यमन्त्री राईले पीडितहरूको माग अनुसार ग्यास सिलिन्डर, चुलो र प्रेसर कुकरसमेत उपलब्ध गराउने बचन दिएका थिए । मुख्यमन्त्री राईले संघीय सरकारसँग समन्वय गरेर पीडित परिवारलाई थप सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताएका थिए ।

    आगलागीमा परी घाइते भएका मेरिङदेन-३ दोभानका भोला पौडेललाई मुख्यमन्त्री राईको पहलमा थप उपचारका लागि काठमाडौं पठाइएको छ । ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब ४० करोड रूपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर आङ्देम्बेको संयोजकत्वमा गठित कार्यदलले ३९ करोड ८७ लाख ७४ हजार २९ बराबरको क्षति भएको विवरण तयार गरेको थियो ।

    आगलागीले पूर्णरूपमा घरसहित त्यहाँ रहेका पसल, अलैँची गोदाम, अन्य संरचनासमेत जलेर नष्ट हुँदा ठूलो परिमाणमा क्षति भएको थियो । नेपाल टेलिकमको टावरसहितका संरचना जल्दा एक करोड बराबरको क्षति भएको आङ्देम्बेले जानकारी दिएका छन् । मङ्गलबार भएको आगलागीबाट ४९ वटा घर जलेर नष्ट भएका थिए ।

  • जंगलको आगो बस्तीमा पस्यो, तीन घर जले

    जंगलको आगो बस्तीमा पस्यो, तीन घर जले

    दाङ । सल्यानको छत्रेश्वरी गाउँपालिका-४ स्थित रैजेखोला चौखेढुंगा वनमा लागेको आगो बस्तीमा पसेको छ ।

    झिम्पे दुदिल्य बस्तीमा आगो सल्केपछि ३ वटा घर जलेका छन् । ददिराम खत्रीका २ घर र मोहलाल शर्माको घर नष्ट भएको वडाध्यक्ष नेवबहादुर खड्काले जानकारी दिए ।

    सुरक्षाकर्मी र स्थानीय जुटेर आगो निभाउने प्रयासमा छन् । भिरालो घाँसेमैदान भएकाले आगो फैलिएको वडाध्यक्ष खड्काले बताए ।

  • ताप्लेजुङका आगलागी पीडितलाई तत्काल राहात पुर्‍याउन सरकार समक्ष भट्टराईको माग

    ताप्लेजुङका आगलागी पीडितलाई तत्काल राहात पुर्‍याउन सरकार समक्ष भट्टराईको माग

    काठमाडौं। ताप्लेजुङको दोभान बजारमा भएको आगलागीबाट पीडितलाई भूकम्प पीडित सहर राहात तथा क्षतिपुर्ती उपलब्ध गराउन नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष) का नेता योगेश भट्टराईले माग गरेका छन्।

    ताप्लेजुङबाट निर्वाचित जनप्रतिनिधि समेत रहेका भट्टराईले आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै दीर्घकालीन पुर्नस्थापनाका लागि भूकम्प पीडित सहर राहत उपलब्ध गराउन सरकारसँग माग गरेका हुन्।

    उनले पीडितका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन्। ताप्लेजुङको दोभान बजारमा आज बिहान करिब साढे ९ बजेदेखि शुरू भएको आगलागीबाट ४७ घर जलेर नष्ट भएका छन् भने ७९ घर परिवार विस्थापित भएका छन्।

  • ताप्लेजुङको दोभान बजारमा आगलागी, ४० घर नष्‍ट

    ताप्लेजुङको दोभान बजारमा आगलागी, ४० घर नष्‍ट

    काठमाडौं । ताप्लेजुङको दोभान बजारमा आगलागी भएको छ । मेरिङदेन गाउँपालिका वडा नम्बर ३ स्थित सो बजारमा करिब एक घण्टादेखि आगो लागिरहेको छ ।

    ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी बालनरसिंह राणाले टेलिफोनमा दिएको जानकारी अनुसार अहिलेसम्म झण्डै ४० घर जलेर नष्ट भएको छ ।

    आगो नियन्त्रणका लागि सुरक्षाकर्मी परिचालन गरिएको ताप्लेजुङकी सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले नेपाल प्रेसलाई बताइन् । ‘हामी पनि बाटोमा जाँदैछौं । क्षतिको विवरण आउने क्रम जारी छ ।अहिले आगो लागिरहेको छ ।’

    उनका अनुसार आगो निभाउन दमकल परिचालन गरिएको छ ।

    आगलागी भएको दोभान बजार ताप्लेजुङ सदरमुकाम फुङलिङदेखि डेढ घण्टा टाढा पर्छ । दोभान बजार ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र हो ।

    तस्बिर: प्रेम गुरागाईको फेसबुकबाट ।

  • सोलु एफएममा आगलागी, १ करोड बराबरको क्षति

    सोलु एफएममा आगलागी, १ करोड बराबरको क्षति

    रासस । खाेलुखुम्बुमा योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । गएराति लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो सञ्चालक समितिका अध्यक्ष बुद्धिनारायण श्रेष्ठले जानकारी दिए ।

    सोलुदूधकुण्ड नगरपालिका-६ दोर्पुबजारमा सञ्चालित उक्त रेडियोको स्टुडियोबाट शुरु भएको आगोले रेकर्डिङसहित भवनसमेत जलेर नष्ट भएको जनाइएको छ । आगलागीबाट १ करोड बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिए पनि कारण खुल्न सकेको छैन ।

    नगरपालिकाको दमकल, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, स्थानीयवासी, रेडियोका कर्मचारी, प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाही, प्रहरी नायब उपरीक्षक दिनेश शर्मा, वडाध्यक्षलगायतको सहयोगमा करिब दुई घण्टापछि नियन्त्रणमा आएको थियो ।

    विसं २०६१ मा स्थापना भएको सोलु एफएम हाल १ हजार वाट क्षमतामा प्रसारण भइरहेको छ । रेडियोको सामग्री सबै जलेर नष्ट भएको हुँदा नियमित प्रसारणमा केही समय लग्न सक्ने समितिले जनाएको छ ।

  • काठमाडौंको पुतलीसडकमा आगलागी

    काठमाडौंको पुतलीसडकमा आगलागी

    काठमाडौं । काठमाडौंको पुतलीसडकमा बिजुलीको पोलमा आगलागी भएको छ ।

    आगोबाट तारहरू जलेका कारण वरपरको बिजुली, टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । त्यस्तै २ वटा घरको सिसा फुटेको छ । दमकलको सहायताबाट केहीबेरअघि आगो निभाइएको छ ।

    अहिले बागबजार र पुतलीसडकमा इन्टरनेट र फोन अवरुद्ध भएको छ ।

    क्षतिको विवरण यकिन गर्ने काम भइरहेको प्रहरीले बताएको छ।

  • जुम्लाको गोठीगाउँमा २५ घरगोठ जलेर नष्ट

    जुम्लाको गोठीगाउँमा २५ घरगोठ जलेर नष्ट

    रासस । तिला गाउँपालिका–७ जुम्ला पोखरीस्थित गोठीगाउँमा हिजो बेलुकादेखि लागेको आगोबाट २५ घरगोठ नष्ट भएका छन् । सदरमुकाम जुम्ला खलङ्गादेखि ३५ किलोमिटर दूरीमा रहेको उक्त गाउँमा मंगलबार सुधारिएको चुल्होको पाइपबाट छतमा भएको घासमा सल्केको आगो गाउँभरि फैलिएपछि २५ घर जलेर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका इन्सपेक्टर युवनकुमार चौधरीले जानकारी दिए ।

    इन्सपेक्टर चौधरीका अनुसार आगलागीबाट मानवी क्षति नभए पनि २० देखि २५ पशुचौपायाको मृत्यु भएको छ । ‘साँझ ७ बजेबाट आगलागी भएको रहेछ । हामीले जानकारी पाउने वित्तिकै तिला–१ रारालिही प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायब निरीक्षक भुपेन्द्रबहादुर शाहीको नेतृत्वमा तीन र कुडारी प्रहरी चौकीका प्रहरी जवान नरेन्द्र देउवासहित तीन गरी छ जनाको टोली तत्काल घटनास्थल पठाएका थियौं,’ इन्स्पेक्टर चौधरीले भने ।

    पछि सदरमुकाम जुम्लाबाट प्रहरी निरीक्षक नवीन थापा मगरको नेतृत्वमा १५, सशस्त्र प्रहरी सहायक निरीक्षक लक्ष्मीप्रसाद शर्माको नेतृत्वमा ११ गरी २६ प्रहरीको जनशक्ति घटना स्थालमा पठाइएको जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए ।

    गाउँमा एउटा मात्र खानेपानीको धारा भएको र विकट भूगोलका कारण पनि ठूलो क्षति हुन पुगेको प्रजिअ थापाले बताए । आगो पूर्णरूपमा ननिभेकाले क्षतिको यकिन विवरण आउन नसकेको प्रहरीले जनाएको छ ।

  • काठमाडौंको सोल्टी सिटी अपार्टमेन्टमा भीषण आगलागी (फोटो फिचर)

    काठमाडौंको सोल्टी सिटी अपार्टमेन्टमा भीषण आगलागी (फोटो फिचर)

    काठमाडौं । काठमाडौंको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा भीषण आगलागी भएको छ ।

    अपरान्ह शुरु भएको आगलागी नियन्त्रणमा आउन सकेको छैन । अहिलेसम्म केही अपार्टमेन्टका भागहरु जलेर नष्ट भइसकेको प्रत्यक्षदर्शीले बताएका छन् ।

    दमकल पुगेर सुरक्षाकर्मी सहित आगो नियन्त्रणमा लिने प्रयास भइरहेको कालिमाटी प्रहरीले जनाएको छ ।

            

     

     

  • आगलागीबाट ७० लाखको क्षति

    आगलागीबाट ७० लाखको क्षति

    पाँचथरको कुम्मायक गाउँपालिकामा आइतबार भएको आगलागीबाट दुई घर जलेर नष्ट हुँदा रु ७० लाखको क्षति भएको छ ।

    कुम्मायक–१ ओखलढुङ्गा बस्ने तेजबहादुर थापाको गोठमा आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

    गाेठबाट सल्किएकाे आगाेले थापाको ढुङ्गा माटोले बनेको फुसको छानो भएको तीनतले घर,  ढुङ्गा माटोले बनेको फुसको छानो भएको दुईतले भान्छाघर, चौपाया राख्ने ढुङ्गा माटोले बनेको फुसको छानो भएको एकतले ग्वाली, नगद, सुनचाँदीका गरगहना र अन्नपातसमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

    यस्तै डिकबहादुर थापाको ढुङ्गा माटोले बनेको फुसको छानो भएको तीनतले घर, चौपाया राख्ने ढुङ्गा माटोले बनेको फुसको छानो भएको एकतले ग्वाली, चौपाया भेडा एउटा, नगद, सुनचाँदीका गरगहना र अन्नपातसमेत जलेर नष्ट भएको उनले बताए । स्थानीयवासी र इलाका प्रहरी कार्यालय यासोकबाट गएको टोलीले तीन घण्टापछि आगो निभाएको थियो ।

  • पाथीभरा मन्दिरलाई आगलागीबाट जोगाउन हेलिकप्टरबाट पानी खन्याइयो

    पाथीभरा मन्दिरलाई आगलागीबाट जोगाउन हेलिकप्टरबाट पानी खन्याइयो

    रासस/ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा पाँच दिनदेखि लागेको डढेलो मन्दिर परिसरमा नै पुगेपछि आगो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग गरिएको छ । बिहीबारदेखि लागेको डढेलो सोमबार बिहान मन्दिर परिसरमा नै पुगेको थियो ।

    स्थानीयवासीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले हरसम्भव प्रयास गर्दासमेत आगो नियन्त्रणमा नआएको र मन्दिर नै जोखिममा परेपछि सिम्रिक एयरको हेलिकप्टर झिकाइएको थियो । हेलिकप्टरले जोरपोखरीबाट पानी लगेर मन्दिर परिसरको आगो निभाएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिए ।

    उनका अनुसार विशेष प्रविधिको बकेटमा पानी ल्याएर हेलिकप्टरले आकाशबाटै आगलागी क्षेत्रमा पानी खन्याएको थियो । उक्त हेलिकप्टरले पाँच पटक पानी खन्याएपछि आगलागीबाट मन्दिरसहित त्यहाँका संरचना बचेका छन् । अब मन्दिर आगलागीको जोखिमबाट मुक्त रहेको बताइएको छ ।

    शनिबार साँझदेखि आगलागी आंशिक रूपमा नियन्त्रणमा आए पनि सोमबार बिहान एक्कासि फैलिएर मन्दिर परिसरमा नै पुगेको थियो । अहिले पाथीभराको मन्दिर आगलागीको जोखिममा नरहे पनि जंगलमा लागेको आगो अझै पूर्णरूपमा नियन्त्रणमा आएको छैन ।

    बिहीबारदेखि लागेको डढेलोका कारण ठूलो क्षेत्रफलको जङ्गल नष्ट भएको छ भने सो क्षेत्रमा रहेका दर्जनौँ गोठसमेत जोखिममा परेका छन् । जङ्गलमा अझै आगो सल्किरहेकाले सिरिजङ्घा गाउँपालिकामा पर्ने सिकैचास्थित ढाँडे साथै हर्कटे क्षेत्रमा रहेका गोठहरु जोखिममा परेका हुन् ।

    पाथीभरा क्षेत्रमा दुर्लभ वन्यजन्तु रेडपाण्डा समेत पाइने गरेको छ । आगलागीले फेदी बस्तीका बासिन्दाले प्रयोग गर्ने खानेपानीको पाइपसमेत जलेर नष्ट भएपछि त्यहाँका बासिन्दालाई समस्या भएको छ ।

    सिम्रिक एयरका पाइलट सुरेन्द्र पौडेलका अनुसार हेलिकप्टरबाट पानी खसालेर आगो नियन्त्रण गरिएको यो पहिलो पटक हो । ‘हामीसँग तालिमप्राप्त जनशक्ति थिए, विशेष प्रविधिको बकेट राखेर पानी निकाल्ने र खसाल्ने तालिम बर्सेनि भइरहेको हुन्छ, पहिलो पटक हामीले आगो निभाउन उक्त प्रविधि र जनशक्तिलाई प्रयोगमा ल्याएका हौं’, उनले भने, ‘यसरी आगो निभाउन प्रविधिसहित जनशक्ति सिम्रिक एयरसँग मात्रै छ ।’

    फुङलिङ नगरपालिका–११ स्थित पाथीभरा सिम्बु सामुदायिक बनबाट बिहीबारदेखि शुरु भएको आगो पाथीभरा क्षेत्रको जंगलमा फैलिएको थियो । आगो कसले लगायो भन्ने खुलेको छैन ।

  • समयमा बारुण यन्त्र नआउँदा आगलागीबाट करोडौं क्षति

    समयमा बारुण यन्त्र नआउँदा आगलागीबाट करोडौं क्षति

    जनकपुरधाम । जनकपुरको शिव चोकस्थित मिथिला डिपार्टमेन्ट स्टोरमा भएको भीषण आगलगी ३ घण्टापछि नियन्त्रणमा आएको छ । आगलागीबाट स्टोरको माथिल्लो तलामा रहेका सबै समान जलेका छन् ।

    स्थानीयका अनुसार आगो बिहान साढे ९ बजे लागेको थियो । तर आगलागी भएको एकघण्टासम्म नियन्त्रणका लागि बारुण यन्त्र आएनन् ।
    पौने ११ बजे जनकपुर विमानस्थलको बारुण यन्त्र आइपुग्यो ।

    लगत्तै बर्दिबास, सबैला, जलेश्वर नगरपालिकाको पनि बारुण यन्त्र आए । तर तालिम प्राप्त जनशक्ति अभावमा आगलागी नियन्त्रण गर्न कठिन भएको स्थानीयले बताए ।

    स्टोरका सञ्चालक हरिकान्त मिश्रले आगलगी कसरी सुरु भएको भन्ने थाहा नपाएको बताए । ‘आगो लाग्ने वित्तिकै हामीलाई खबर आयो । तत्कालै म यहाँ आएपछि भित्र छिर्न सक्ने अवस्था थिएन । आगो बलिरहेको थियो,’ मिश्रले भने ।

    आगोलागीबाट करिब २ करोडभन्दा बढीको क्षति भएको उनले बताए ।

    उपमहानगरपालिकाको लापरबाही

    आगो लागेको स्टोरदेखि करिब ३ सय मिटरको दुरीमा मात्र जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय छ । उपमहानगरपालिकामा दुई बारुण यन्त्र पनि छ । तर दुबै बिग्रेका छन् ।

    उपमहानगरपालिकाको चरम लापरबाहीले आगलागीबाट ठूलो क्षति भएको स्थानीय बताउँछन् ।
    जनकपुरधाम उधोग वाणिज्य संघका महासचिव जीतेन्द्र महासेठले उपमहानगरपालिकाको बारुण यन्त्र नआउँदा आगलागीबाट ठूलो क्षति भएको बताए । उनले आगलगीबाट भएको व्यवसायीको क्षति व्यहोर्न स्थानीय सरकारसँग माग समेत गरे ।

    ‘प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम रहेपनि बारुण यन्त्र राख्न नसक्नु ठूलो बिडम्बना हो’, उनले भने, ‘तालिम प्राप्त जनशक्तिका कारण पनि आगलागी नियन्त्रणमा लिन ठूलो समस्या भयो । जलेश्वरबाट नगर प्रहरी आयो । तर नजिकैको उपमहानगरबाट आएन ।’

    मेयर साहको विरोधमा प्रदर्शन

    आगलागी नियन्त्रणका लागि बारुण यन्त्र खरीद गरेपनि बिगारेर राखेको भन्दै स्थानीय युवाहरू आक्रोशित भएर जनकपुरधामका मेयर लालकिशोर साहविरुद्ध प्रदर्शन गरेका छन् ।

    आक्रोसित युवाहरूले उपमहानगरपालिकाको कार्यालयअगाडि मेयर साहविरुद्ध नाराबाजी गर्दै कार्यालय तोडफोडको प्रयास समेत गरे । प्रहरीले कार्यालयभित्र युवाहरूलाई छिर्न नदिएपछि दुई पक्षबीच केहिबेर घम्साघम्सी समेत भएको थियो ।

  • सुकुम्बासी बस्तीमा आगलागी: घरसँगै जले आशाका सपना

    सुकुम्बासी बस्तीमा आगलागी: घरसँगै जले आशाका सपना

    काठमाडौं । ‘मेरो सबै संसार सकियो’ निधारमा हात लगाउँदै आशा परियार रुँदै बर्बराइरहेकी थिइन् । उनको वरिपरि बाक्लै भीड थियो । वरपरका मानिस उनलाई सम्झाउँदै भनिरहेका थिए, ‘नरुनुस् । जे हुनु भै’गयो । सांसदले पनि सहयोग गर्छु भनेका छन् । मन बुझाउनुस् ।’

    तर, आशाको मन निराशाको कुहिरोले ढाकेको थियो । धुवाँ पुतपुताइरहेको घरतर्फ हेर्दै उनी भनिरहेकी थिइन्, ‘अब कहाँ बस्ने, के खाने, के गर्ने केही टुंगो छैन ।’

    बिहान ११ बजे घर अगाडि गाडामा चट्पटे बेचिरहेकी थिइन्, आशा । घरको भुइँ तलामा नाति खेलिरहेको थियो । अचानक घरमा केही पड्केको जस्तो आवाज आयो । के भयो, उनले चालै पाइनन् ।

    ‘ए दिदी माथि धुवाँ उडिरहेको छ, के भयो घरमा ?’ छिमेकी अस्मिता तामाङ अत्तालिंदै आशाको घर अगाडि आइन् । ‘पछि हेर्दा त जलिसकेछ । म त अचेत भएछु, धन्न नातिलाई बोकेर भाग्न भ्याएछु’ आशा सोमबार घटेको दुःखान्त घटना सुनाउँछिन् ।

    वरिपरिका छिमेकीले थाहा पाएपछि सबै जनाले पानी खन्याउन थाले । तर, आगो झन्झन् दन्कियो । ‘केही समयपछि दमकल आयो । प्रहरीहरू आए । आगो निभाउन सहज भयो’ छिमेकी अस्मिता भन्छिन् । आगो नियन्त्रणका लागि काठमाडौं, ललितपुर महानगरसहितका पाँच वटा दमकल प्रयोग गरिएका थिए ।

    आगो त निभ्यो तर आशाको मन भने झन् जलिरहेको थियो । ३५ हजार नगद पैसा केही दिन अघि दराजमा राखेकी थिइन् । पाँच तोला सुन, पाँच तोला चाँदी दराजमै थियो । घरभरि सामान अटाई नअटाई थियो । ‘सबै जल्यो । अब त अहिले लगाएको कपडा बाहेक केही बाँकी रहेन’ आशा पुनः सुँकसुकाउँछिन् ।

    आशाका पति दलबहादुर ज्यामी काम गर्छन् । उनी बिहानै काममा निस्केका थिए । ‘उहाँलाई त अहिलेसम्म थाहै छैन । फोन गर्न मोबाइल पनि छैन’ आशा सुनाउँछिन् ।

    आशाका दुई भाइ छोरा र बुहारी पनि घरमा थिएनन् । यसपालि एसईई दिएको सानो छोरा भने बाहिरतिर निस्केको थियो ।

    एक महीना नबित्दै आशाको परिवारमा दुईवटा ठूला घटना घटे । नाति बितेको एक महीना पनि पुगेको छैन । ‘नातिलाई निमोनिया भएको थियो । एक महीना अस्पताल बस्दा डेढ लाख भन्दा बढी खर्च भयो । नाति बाँच्ला भन्ने आश थियो, बचाउन सकिएन’ आशा सुनाउँछिन् ।

    आशाको परिवार सर्लाहीबाट काठमाडौं आएको १० वर्ष भयो । ‘यही सानो घर पनि पाँच वर्षअघि दुःख पाएरै बनाएका थियौं । अब त त्यो पनि रहेन’ आशा सुस्केरा हाल्छिन् ।

    काठमाडौंको बानेश्वरस्थित शान्तिनगरमा रहेको सुकुम्बासी बस्तीमा सोमबार अचानक आगलागी हुँदा एउटा घर जलेर नष्ट भएको छ । ग्याँस लिक भएर शुरू भएको आगोले अन्य घर तथा झुपडीमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ । दमकलको सहायताले आगो करीब एक घण्टापछि नियन्त्रणमा लिइएको थियो ।