Tag: आगलागी

  • नारायणगढमा आगलागी, ६ वटा पसलमा पूर्ण क्षति

    नारायणगढमा आगलागी, ६ वटा पसलमा पूर्ण क्षति

    चितवन । नारायणगढको कमलनगरमा आज बिहान आगलागी भएको छ । आज बिहान १ः३० बजे भएको आगलागीका कारण कमलनगर चोकका ६ वटा पसलमा पूर्णपमा क्षति पुगेको छ ।

    भरतपुर महानगरपालिका, नेपाली सेना, खैरहनी नगरपालिका र कावासोती नगरपालिकाको दमकलले बिहान ७ बजे आगलागी नियन्त्रणमा लिएको छ ।
    भरतपुरका मेयरका उम्मेदवार विजय सुवेदी घटनास्थल पुगेर घटनाका पीडितहरुलाई सान्त्वना दिँदै घटनाका पीडितहरुलाई महानगरपालिकाले सहयोग गर्नुपर्ने बताएका छन् । सुवेदीले पीडित र स्थानीयवासीलाई भेटेर उनीहरुको गुनासो समेत बुझेका थिए ।

    भरतपुर महानगरपालिका कार्यालयबाट करिब एक किलोमिटरको दूरीमा रहेको घटनास्थलमा बिहान २ः३० बजेपछि मात्रै दमकल पुगेको थियो । ढिलागरी दमकल पुग्नु र पुरानो दमकलले राम्रोसँग पानी हाल्न नसकेपछि आगलागी नियन्त्रणमा ढिलाइ भएको स्थानीयले सुवेदी समक्षसँग गुनासो गरेका थिए । महानगरपालिकाको दमकलले पानी निभाउन पानी फाल्दा आधा पानी भुईँमा पोखिएको भन्दै स्थानीयको गुनासो थियो ।

  • विराटनगरको हस्पिटल चोकमा आगलागी, ५० लाख बराबरको क्षति

    विराटनगरको हस्पिटल चोकमा आगलागी, ५० लाख बराबरको क्षति

    विराटनगर । विराटनगरस्थित हस्पिटल चोकमा आगलागी हुँदा ५० लाख बराबरको क्षति भएको छ। शोभादेवी घिमिरेको घरबाट सल्केको आगोले आसपासका चारवटा पसलमा समेत क्षति पुगेको छ ।

    घिमिरेको किराना पसल, विपन राजबंशीको चिया पसल, तुलसीप्रसाद उप्रेतीको कपडा पसल अबान्सु राजबंशीको चिसा पसल जलेर पूर्णरुपमा क्षति भएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।

    विराटनगर महानगरपालिका दुईवटा, दमक र दुहबी नगरपालिकाबाट आएका दुईवटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीले १ः४० बजे आगो नियन्त्रणमा लिइएको थियो ।

    त्यस क्रममा ग्यासको सिलिण्डर पड्केर विराटनगर वारुणयन्त्रमा कार्यरत तीनजना कर्मचारी घाइते भएका छन् ।

  • उदयपुरमा आगलागी: सात घर जले, एकजनाको ज्यान गयो

    उदयपुरमा आगलागी: सात घर जले, एकजनाको ज्यान गयो

    उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका– १ शिखरपुरमा आइतबार आगलागी हुँदा एक जनाको ज्यान गएको छ । आगलागीबाट ७ घर जलेर नष्ट भएका छन् । आगलागीबाट ६८ वर्षीया शिवमाया मगरको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । स्थानीय ओमबहादुर मगरको घरबाट एक्कासी आगलागी हुँदा उनकी आमा शिवमायाको ज्यान गएको हो ।

    आगलागीबाट भैरवबहादुर ग्राङ्जा मगर, पदमबहादुर ग्राङ्जा मगर, यम्बरबहादुर ग्राङ्जा मगर, दिपबहादुर ग्राङ्जा मगर, धनमाया ग्राङ्जा मगर, शेरबहादुर ग्राङ्जा मगर र ओमबहादुर ग्राङ्जा मगरको घरगोठ जलेर नष्ट भएको छ ।

    आगलागीबाट सात घर जलेर खरानीसँगै दर्जन बढी खसी, बोका, सुंगुर, कुखुरा जलेर नष्ट भएको स्थानीयबासी डण्डीकेशर मगरले जानकारी दिए । आगलागीबाट अन्नपात, लत्ताकपडा सवै जलेका छन् ।

  • नुवाकोटको ककनीमा आगलागी हुँदा तीन घर नष्ट, ५० लाख बढीको क्षति

    नुवाकोटको ककनीमा आगलागी हुँदा तीन घर नष्ट, ५० लाख बढीको क्षति

    नुवाकोट । नुवाकोटको ककनी गाँउपालिका–३ अचराङमा गएराति आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । आगलागीबाट मैते तामाङ, बुद्धिमान तामाङ र सागर तामाङको घर जलेर नष्ट भएको हो ।

    स्थानीय कृष्ण ढुङ्गानाका अनुसार आगलागीबाट तामाङ तीन दाजुभाइको घरमा रहेको अन्नपात, भाडावर्तन, लत्ताकपडा, गरगहनासहितको धनसम्पत्ति सबै जलेर क्षति पुगेको छ । स्थानीयवासी र ककनीबाट गएको नेपाल प्रहरीको संयुक्त टोलीले आगो नियन्त्रणमा लिए पनि घरमा भएका सामान सबै जलेर नष्ट भएको ककनी–३ का वडाध्यक्ष घननाथ बजगाईँले जानकारी दिए । तीन घरसहित घरमा रहेका धनसम्पत्ति सबै जलेर नष्ट हुँदा ५० लाख भन्दाबढीको क्षति पुगेको अनुमान गरिएको छ ।

    पीडित परिवारलाई जिल्ला प्रशासन कार्यालयले आज टेन्टलगायत राहत सामग्री उपलब्ध गराउने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए । पीडित परिवारका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखामार्फत टेन्टसहितका गैरखाद्य राहत सामग्री र नुवाकोट प्रशासनले नगद रुपैयाँ घटनास्थलमा नै पुगेर उपलब्ध गराउन लागेको उनको भनाइ छ ।

    आगलागीको कारण यकीन नभए पनि विद्युतीय मिटरबक्सबाट सुरु भएको देखिएकाले विद्युत् सर्ट भएर हुनसक्ने प्रहरीको अनुमान छ ।

  • चितवनको माडीमा आगलागी, ६० लाखको क्षति

    चितवनको माडीमा आगलागी, ६० लाखको क्षति

    चितवन । चितवनको माडी नगरपालिका–४ खैरहनीमा आगलागी हुँदा रु ६० लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार स्थानीय माधव लामिछानेको धन्सारमा अचानक आगलागी हुँदा उक्त क्षति भएको हाे ।

    आगलागीबाट धन्सारमा रहेको ७० क्विन्टल धान, तोरी पाँच क्विन्टल, गहुँ दुई क्विन्टल, ३५ क्विन्टल  (७० बोरा) कुखुराको दाना, फ्रिज एक थान, टिभी एक थान, डिजिटल मेसिन एक थान, सोलार प्यानल तीन थान, ब्याट्री तीन थान, इन्भर्टर एक थानलगायत ग्रिज, मोबिल, गियर आयल, हाइड्रोलिक पाइप, ड्रम अन्य भाँडावर्तन नष्ट भएको जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले बताए ।

    यस्तै कुखुरा फार्ममा रहेको तयारी कुखुरा एक हजार २०० र चल्ला एक हजार पूर्णरूपमा जलेर नष्ट भएको उनले जानकारी दिए । अधिकारीका अनुसार आगलागी आज बिहान ४ः३० बजे भएको हो । आगो स्थानीयवासी, प्रहरी र दमकलको सहायताले नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण भने खुल्न सकेको छैन ।

  • ताप्लेजुङकाे फुङलिङ बजारमा आगलागी, एक वृद्धाको मृत्यु

    ताप्लेजुङकाे फुङलिङ बजारमा आगलागी, एक वृद्धाको मृत्यु

    काठमाडौं । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा आगलागीमा परेर एक वृद्धाको जनाको मृत्यु भएको छ ।

    फुङलिङ नगरपालिका- ४  स्थित कोप्चेमा विहान ८ बजेदेखि  लागेकाे आगलागीमा परेर एक वृद्धाको मृत्यु भएको हो । ग्यास लिक भएर दुई वटा घरमा आगलागी हुँदा मैवाखोला गाउँपालिका घर भई शिव मादेनको घरमा डेरा गरी बस्नेत ६७ वर्षीय वृद्धा चुलीमाया लिम्बूको उपचारका क्रममा मृत्यु भएको भएको प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले नेपालप्रेसलाई बताए ।

    उनले भने,‘ एक जना वृद्ध आमा घरभित्रै हुनुहुदो रहेछ । घाइते अवस्था निकालेर अस्पताल पठाउने क्रममा मृत्यु भएको छ ।’ अहिले आगो नियन्त्रणमा आएको उनले बताए ।

    उनकाअनुसार मृतकको पहिचान खुलिसकेको छैन । आगलागी नियन्त्रणका लागि शसस्त्र प्रहरीऽ प्रहरी, सेना, स्थानीय र दमकलसहितको अग्निनियन्त्रक खटिएका थिए ।

     

     

     

  • दमौलीमा आगलागी, नियन्त्रणको प्रयास जारी (फोटो/भिडिओसहित)

    दमौलीमा आगलागी, नियन्त्रणको प्रयास जारी (फोटो/भिडिओसहित)

    काठमाडौं । तनहुँस्थित दमौलीको भुपाल हार्डवेयरमा भीषण आगलागी भएको छ ।

    विद्युत् लाइन सर्ट भएको आगो लागेको अनुमान गरिएको छ ।

    हार्डवेयर गोदाममा प्लाइउड, प्लास्टिकका सामान र रंग भएकाले सल्केको आगो छिटो फैलिएको बताइएको छ ।

    आगो नियन्त्रणको प्रयास भइरहेको तनहुँका पत्रकार नारायण खड्काले जानकारी दिएका छन् ।

     

  • मगमग चाउचाउ उद्योगमा आगलागी, आगो निभाउने प्रयास जारी

    मगमग चाउचाउ उद्योगमा आगलागी, आगो निभाउने प्रयास जारी

    झापा । झापाको मेचीनगर– १४ दुहागढीस्थित मनसा फुडद्वारा उत्पादित मगमग चाउचाउ उद्योगमा भीषण आगलागी भएको छ । चाउचाउ उद्योगमा बिहान साढे ४ बजेबाट आगलागी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    झापा र मोरङका ९ वटा दमकले आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहर कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । बाँकी दुईवटा दमकल आइरहेको उनले बताए ।

    निभाउने प्रयास भइरहेकाले क्षतिको विवरण, आगलागीको कारण खुल्न नसकेको उनले बताए ।

  • सुनसरीमा बस र ट्रक ठोकिएर आगलागी हुँदा ३ जनाको मृत्यु, २७ जना घाइते (अपडेट)

    सुनसरीमा बस र ट्रक ठोकिएर आगलागी हुँदा ३ जनाको मृत्यु, २७ जना घाइते (अपडेट)

    सुनसरी । सुनसरी भोक्राहा नरसिहं गाउँपालिका ३ खुनिया पुल स्थित पुर्व पश्चिम राजमार्गमा बस र ट्रक एकआपसमा ठोकिएर आगलागी हुँदा थप एक जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।

    मृत्यु हुनेमा बस चालक झापा गोलधाप- १ का ४५ वर्षीय सरोज राई, बसमा सवार भारत पश्चिम बंगाल कालचोनी बस्ने २५ वर्षीय निहाल प्रधान र ट्रक चालक बारा निजगढ नगरपालिका ९ का २७ वर्षीय शेख फिरोज रहेका छन् भने घाइते भएका २७ जनाको सुनसरी र विराटनगरको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

    हिजो राती साँढे ७ बजे पुर्वबाट पश्चिम तर्फ आउदै गरेको ना८ख ८४९३ नम्बरको बस र बिपरित दिशाबाट जादै गरेको ना ५ ख २९९६ नम्बरको ट्रक एक आपसमा ठक्कर खाएर दुर्घटना भएको थियो ।

    घटनाको जानकारी पाए लगत्तै खटिएको सुनसरी प्रहरीले सवारी साधनहरुबाट मानिसहरु उदार गर्ने क्रममा अचानक दुबै सवारी साधनमा आगलागी भएको थियो ।

    आगलागीबाट बस र ट्रकमा चेपिएका ३ जनाको जलेर मृत्यु भएको हो । उक्त आगो दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा हिजो राती ९ बजे नियन्त्रणमा आएको छ ।

    घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

  • सुनसरीमा बस र ट्रक ठोक्किँदा आगलागी, दुवै चालकको मृत्यु (भिडिओ)

    सुनसरीमा बस र ट्रक ठोक्किँदा आगलागी, दुवै चालकको मृत्यु (भिडिओ)

    सुनसरी । पूर्वपश्चिम राजमार्गअन्तगर्त सुनसरीको कोशी गाउँपालिका– १ लोकहीको खुनिया पुलस्थित ट्रक र बस एकआपसमा ठक्कर खाँदा दुवै सवारी चालकको मृत्यु भएको छ ।

    पूर्वको काकडभित्ताबाट काठमाडौं जादै गरेको ना ८ ख ८४९३ नम्बरको बस र पश्चिमबाट पूर्व आउँदै गरेको ना ५ ख २९९६ नम्बरको ट्रक एकआफसमा ठक्कर खाँदा गाडीमा आगलागी भएको थियो । आगलागीमा जलेर दुवै चालकको मृत्यु भएको हो ।

    सशस्त्र प्रहरी बल लौकहीका इन्सपेक्टर अरुण पाण्डेका अनुसार दुवै सवारी पूर्ण रुपमा नष्ट भएका छन् । बसमा के कति यात्रु थिए र कतिको मृत्यु भयो भन्ने खोजी भइरहेको पाण्डेले बताए । मृतकको संख्या बढ्न सक्ने उनले बताए ।

    घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय लौकही, सशस्त्र प्रहरी बल लौकहीको टोलिले पुगेर अन्य यात्रुहरुलाई उद्दार गरिरहेको छ ।

    आगोलाई कोशी गाउँपालिका, इनरुवा नगरपालिकाका वारुण यन्त्रले नियन्त्रण लिने प्रयास गरिरहेको ट्राफिक प्रहरी कार्यालय प्रदेश १ ले जानकारी दिएको छ । प्रतिकुल मौसम र तिब्र गतिका कारण दुर्घटना भएको ट्राफिक प्रहरीको भनाइ छ ।

  • पाँचथरको फालेलुङमा आगलागी: एकै परिवारका तीन घर जले

    पाँचथरको फालेलुङमा आगलागी: एकै परिवारका तीन घर जले

    पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका-३ ताङ्लेपामा आगलागी हुँदा तीनवटा घर जलेका छन् । ताङ्लेपाका पूर्णबहादुर केरुङको भान्साघरबाट मंगलबार मध्यरातदेखि सुरु भएको आगलागी केरुङकै अन्य दुई घर फैलिएको थियो ।

    काठ र टिनले बनेको भान्साघरमा लागेको आगो नियन्त्रण गर्न नपाउँदै अन्य घरमा सल्किँदा घरमा भएका सम्पूर्ण मालसामान, लत्ताकपडा, नगद तथा गरगहना जलेको जिल्ला प्रहरी कार्यालय पाँचथर जनाएको छ ।

    आगलागी बिहान १० बजे मात्रै पूर्ण नियन्त्रणमा आएको थियो । आगलागीमा करिब ५० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए । आगलागीको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

  • धान राखेको घरमा आगलागी, नियतबश आगो लगाइदिएको शंका

    धान राखेको घरमा आगलागी, नियतबश आगो लगाइदिएको शंका

    जनकपुरधाम । धनुषाका जनकनन्दनी गाउँपालिका– ५ का किसान सत्यनारायण मण्डलले धान राखेको घरमा अगलागी भएको छ । कसैले नियतबश आगो लगाइदिएको मण्डलको शंका छ ।

    आगलागीबाट पाँच लाखभन्दा बढीको क्षति भएको स्थानीय किशोर मण्डलले बताए । शुक्रबार राति १० बजे आगलागी भएको हो ।

    आगो लागेको कुरा थाहा पाएलगत्तै गाउँबासीले नियन्त्रणको प्रयास गरेका थियो । तर सम्भव भएन र धानसँगै घर तथा अन्य समानहरु पनि जलेर खरानी भएको छ ।

    आगोले घर, धान र दमकलसहितका कृषि उपकरण जलेर नष्ट भएपछि मात्रै प्रहरी पुगेको थियो । आगो लगाउनेको पहिचान नभएको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

  • मोरङको ग्लोबल बायो इनर्जी इन्भेष्टमेन्टमा आगलागी (भिडिओ)

    मोरङको ग्लोबल बायो इनर्जी इन्भेष्टमेन्टमा आगलागी (भिडिओ)

    काठमाडौं । पुरानो टायरहरु पघालेर फर्नेस आयल निकाल्ने मोरङको कटहरी गाउँपालिका -४ स्थित ग्लोबल बायो ईनर्जी ईन्भेष्टमेन्ट प्रालिमा आगलागी भएको छ ।

    बुधबार (आज) बिहान पौने ६ बजे आगलागि हुँदा उक्त उद्योगमा कच्चा पदार्थकोरुपमा प्रयोग हुने पुराना टायरहरु जलेर नष्ट भएको छ । यस्तै टायरबाट तार निकाल्ने मेसिन र टायर काट्ने मेशिनहरुमा क्षति पुगेको छ ।

    दुई सिफ्टमा संचालन हुने सो उद्योग गएरातिको बिहान २ बजे दोश्रो सिफ्ट पछि बन्द अवस्थामा थियो । सोहि समयमा आगलागी भएको हुनसक्ने उद्योग संचालक बिनित सिंघानियाले बताए । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने उनको अनुमान छ ।

    उद्योगको स्क्रयाप वार्डमा राखिएका पुराना टायरहरु जल्न थालेपछि आगलागिले भीषणरुप लिएको थियो । विराटनगर महानगरपालिका भित्रका दमकलले मात्र आगो नियन्त्रण हुन नसकेपछि रंगेली, बेलबारी, कानेपोखरीसहित सुनसरीको ईनरुवा र दुहबी लगायतका पालिकाबाट समेत दमकलहरु बोलाइएको उद्योग प्रशासनले जनाएको छ ।

    टायरहरुमा लागेको आगो पानीको फोर्सले मात्र निभाउन समस्या भएपछि स्काभेटर मंगाएर टायरहरुको चाङलाई खोतलेर आगो नियन्त्रणमा लिइएको थियो ।

    बिहान पौने ६ बजे लागेको आगो स्थानियबासी, दमकल र प्रहरी प्रशासनको सहयोगबाट ८ बजेपछि मात्र नियन्त्रणमा आएको थियो । सो उद्योगले पुराना टायरहरु संकलनगरि पघालेर फर्नेस आयलको उत्पादन गर्दै आएको छ । फर्नेस आयल उद्योगहरुमा ईन्धनकोरुपमा प्रयोग गरिन्छ ।

    बिद्युत सर्ट भएर आगलागि भएको हुनसक्ने अनुमान गरिएको भएपनि सो बिषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीले बताए ।

     

     

     

  • इन्डोनेसियाको जेलमा भएको आगलागीमा ४४ जनाको मृत्यु

    इन्डोनेसियाको जेलमा भएको आगलागीमा ४४ जनाको मृत्यु

    जकार्ता । इन्डोनेसियाको एक जेलमा भएको आगलागीमा परी मुत्यु हुनेको संख्या ४४ पुगेको बताइएको छ । इन्डोनेसियाको राजधानी जकार्ता नजिकैको तांगेराब भन्ने नगरमा रहेको एक जेलमा गत बुधबार आगलागी भएको इन्डोनेसियाको कानून तथा मानवअधिकार मन्त्रालयले जानकारी दिएको हो ।

    बुधबार भएको त्यस आगलागीमा परी तत्काल ४१ जनाको निधन भएको थियो । आगलागीमा परी घाइते भएकालाई अस्पतालमा राखिएको छ । अस्पतालमा रहेकामध्ये बिहीबार थप तीन जनाको मृत्यु भएपछि यो संख्या ४४ पुगेको बताइएको छ ।

    सो आगलागीमा परेर घाइते भएकामध्ये अझै केहीको उपचार भइरहेको र केही गम्भीर अवस्थामा रहेका सो मन्त्रालयले जनाएको छ । आगलागीको कारण थाहा नभएको र त्यस विषयमा अनुसन्धान जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ ।

  • लमजुङकाे एक घरमा आगलागी हुँदा श्रीमान श्रीमतीको मृत्यु

    लमजुङकाे एक घरमा आगलागी हुँदा श्रीमान श्रीमतीको मृत्यु

    लमजुङ । सेग्ले लमजुङ मस्र्याङ्दी गाउँपालिका-९ मा एक घरमा आगलागी हुँदा एक दम्पत्तिको मृत्यु भएको छ । आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उनकी श्रीमती ४५ वर्षीय पशुपति भण्डारीको गएराति जलेर मृत्यु भएको खुदी प्रहरी चौकीका हवल्दार उत्तम गुरुङले बताए।

    उनले भने,‘आगलागीको कारण यही हो भन्न नसकिए पनि उनीहरू दुवै जना बढी मादक पदार्थ सेवन गर्ने र ग्यासबाट चुरोट सल्काउने गर्दथे । त्यही समयमा ग्यास लिग भएर आगलागी भएको हुनसक्छ । बढी मादक पदार्थ सेवन गर्ने गरेकाले १०र१५ दिनअघि मात्रै दुवै जना सुधार केन्द्रमा बसेर घर फर्किएका थिए ।’

    ढुङ्गामाटाका गाह्रो र जस्तापाताको छानो भएको धन्सार जस्तो एकतले घर जलेर नष्ट भएको छ । घरभित्र रहेका केही पनि सामान निकाल्न नभ्याएको प्रहरीले जनाएको छ । त्यहाँका घरहरू पनि टाढाटाढा छन् ।

    प्रहरीले ढिलो खबर भएकाले समयमै पुग्न नसकेको बताएको छ । के कति भौतिक क्षति भयो भन्नेबारे यकिन भइ नसकेको प्रहरी हवल्दार गुरुङको भनाइ छ । धर्मराज पूर्वगोरखा सैनिक रहेका स्थानीयको भनाइ छ । रासस

  • टेकुको एक घरमा आगलागी, निभाउने प्रयास जारी

    टेकुको एक घरमा आगलागी, निभाउने प्रयास जारी

    काठमाडौं । काठमाडौंको टेकुस्थित एक घरमा आगलागी भएको छ । काठमाडौं प्रहरी परिसर टेकुको कार्यालय अगाडिको घरमा आगलागी भएको हो ।

    के कारणले आगलागी भएको हो भन्ने खुल्न नसकेको काठमाडौं प्रहरी परिसरका एसपी रमेश बस्नेतले नेपालप्रेसलाई बताए ।

    उनले भने,‘दिउँसो १ बजेदेखि घरमा आगलागी भएको थियो । अहिले आगो निभाउने प्रयास भइरहेको छ । आगलागी के कारणले लागेको हो भन्ने खुल्न सकेको छैन । बुझने कोशिस गरिरहेको छ ।’

    अहिले दमकलको साहयताले आगो निभाउने प्रयास भइरहेको छ । मानवीय क्षति भने नभएको उनले बताए ।

  • सुनसरीको झुम्कास्थित म्याजिक फिल्म हलमा आगलागी

    सुनसरीको झुम्कास्थित म्याजिक फिल्म हलमा आगलागी

    काठमाडौं । सुनसरीको झुम्कास्थित म्याजिक फिल्म हलमा आगलागी भएको छ । बिद्युत सर्ट हुँदा आगलागी भएको र नियन्त्रणमा लिन ४ वटा दमकल पुगेको जनाइएको छ ।

    साइराम मार्केटको भवनमा रहेको म्याजिक सिनेमा हल झुम्काको एक मात्र फिल्म हल हो ।

    आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, दमकल र स्थानीयबासी लागिपरेको जनाइएको छ ।

  • बालाजु औद्योगिक क्षेत्रमा आगलागी, राति दुई बजेदेखि लागेको आगो नियन्त्रणमा आएन

    बालाजु औद्योगिक क्षेत्रमा आगलागी, राति दुई बजेदेखि लागेको आगो नियन्त्रणमा आएन

    काठमाडौँ । काठमाडौंस्थित बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ । राति दुई बजेदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

    काठमाडौँ महानगरपालिका–१६ मा पर्ने औद्योगिक क्षेत्रको बिस्कुट उद्योगमा आगो लागेको हो ।

    आगो निभाउन दमकल, पानी ट्यांकरको प्रयोग भइरहेको छ ।

  • विद्युत् सर्ट हुँदा फर्निचर उद्योगमा आगलागी

    विद्युत् सर्ट हुँदा फर्निचर उद्योगमा आगलागी

    चितवन । भरतपुर-४ दुर्गाचोकमा रहेको फर्निचर उद्योगमा भएको आगलागी भएको छ । तेज इन्टरप्राइजेजमा तयारी फर्निचर, प्लाई, फर्माइका लगायतका सामग्री जलेर नष्ट भएका छन् ।

    उद्योग सञ्चालक तेजु निउरेका अनुसार क्षतिको यकिन विवरण तयार गरिँदै छ । ‘एक्कासी आगो बल्न थाल्यो, लाखौँ क्षति भएको छ’, उनले भने, “प्रहरीको रोहवरमा क्षतिको विवरण लिने काम भैरहेको छ ।’

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा डिएसपी सूर्यबहादुर थापाले विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने बताए । आगलागी दिउँसो १:१० बजे भएको थियो । भरतपुर महानगरको २ र खैरहनी नगरपालिकाको १ दमकलले करिब २ घण्टामा आगो नियन्त्रणमा लिएका छन् ।

    आगो नियन्त्रणमा आएको प्रवक्ता थापाले बताए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय सहितको टोली पनि आगो निभाउन खटिएको थियो । आगलागीबाट भएको क्षति विवरण आउन केही समय लाग्ने चितवन प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय क्षति  भने भएको छैन ।

  • भैरहवाकाे प्लाइबोर्ड गाेदाममा हिजाेदेखि लागेकाे आगाे नियन्त्रणमा

    भैरहवाकाे प्लाइबोर्ड गाेदाममा हिजाेदेखि लागेकाे आगाे नियन्त्रणमा

    रूपन्देही । सिद्धार्थनगर नगरपालिका ८ नारायणपथको सुन्दर ग्लास हाउसमा शनिबार रातीदेखि लागेको आगो २० वटा दमकलको प्रयोग गरी नियन्त्रणमा लिइएको छ । आगो अझै पूर्ण नियन्त्रणमा आइसकेको छैन ।

    हिजो राति सवा नौ बजेदेखि आगो लागेको थियो । रातभर नियन्त्रणमा नआएको आगो आइतबार बिहान ५ बजे नियन्त्रणमा आए पनि अहिले आगो निभाउने काम भइरहेको छ । शसस्त्र प्रहरी , नेपाली सेना र स्थानीयले नियन्त्रणमा सहयोग गरेका थिए ।

    भैरहवा, बुटवल, तिलोत्तमा, सैनामैना, लुम्बिनी, भैरहवा बिमानस्थल, नेपाल आयल निगममा रहेका दमकलका साथै छिमेकी जिल्लाहरु परासी, कपिलवस्तु र सुनवल नगरपालिका लगाएतका दमकलहरु बोलाइएको थियो।

    प्लाइबोर्डको ठूलो गोदाम रहेको घरमा विद्युत सर्किट सर्ट भएर आगोलागी हुँदा सबै प्लाइबोर्ड नष्ट भएको छ । माथिल्लो तल्लामा सोही पसलधनीको परिवार बस्दै आएकोमा उनीहरुको सकुशल उद्धार गरिएको थियो ।

    घरमै रहेको नगद, मोटरसाइल, लगाएत गरि करिब ५ करोड बढी को क्षति भएको घरधनी सुन्दर अग्रहरीले जानकारी दिए । आगलागीबाट दुई तल्ले घर ध्वस्त भएको छ । प्रहरीले सबै क्षतिको विवरण नआएको जनाएको छ ।

  • भारतीय रसायन कारखानामा आगलागी, १८ जनाको मृत्यु

    भारतीय रसायन कारखानामा आगलागी, १८ जनाको मृत्यु

    दिल्ली । पश्चिम भारतको पुनेनजिकै एउटा पानी प्रशोधन गर्न प्रयोग गरिने क्लोरिन डाइअक्साइड (रसायन) उत्पादन गर्ने कारखानामा आगलागी हुँदा १५ महिलासहित कम्तीमा १८ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । आगलागी सुरु हुँदा उक्त कारखानाभित्र ३७ जना कर्मचारी रहेका बताइएको छ ।

    कारखानाबाट सोमबार अपरान्ह् धुवाँको मुस्लो निस्किएपछि स्थानीयको सहयोगमा अग्निनियन्त्रकहरूले कारखानाको पर्खाल भत्काएर भित्र फसेका मानिसलाई बाहिर निकालेका थिए । आगलागीको कारण स्पष्ट हुनसकेको छैन ।

    पुनेको औद्योगिक क्षेत्रमा रहेको ‘एसभी एक्वा टेक्नोलजीज’ नामक कम्पनीको स्वामित्वमा रहेको उक्त कारखाना आगलागीमा ठूलो संख्यामा मानवीय क्षति भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनाप्रति शोक व्यक्त गर्दै प्रत्येक मृतकको परिवारलाई दुई लाख रुपैयाँ दिने घोषणा गरेका छन् । उनले घाइतेलाई केही राहत उपलब्ध गराइने पनि बताएका छन् ।

    महाराष्ट्र राज्यको सरकारले पनि पीडितको परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेको छ । घटनाबारे अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ ।

  • आगलागीमा परेर किरियापुत्री बसेका दम्पतीको मृत्यु

    संखुवासभा । संखुवासभाको मादी नगरपालिका–५ च्याङरिङमा आगलागीमा परेर किरियापुत्री बसेका दम्पतीको मृत्यु भएको छ ।

    बिहीबार राति आगलागीमा परेर किरियापुत्री बसेका ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र ४४ वर्षीया कमला भण्डारी दाहालको मृत्यु भएको वडा नं ५ का वडाध्यक्ष नेत्रप्रसाद दाहाल जानकारी दिए ।

    सात दिनअघि बितेका८४ वर्षीय बुबा कृष्णप्रसाद दाहालको काजकिरियाका लागि बसेका दम्पतीको गए राति आफ्नै घरमा आगलागीमा परेर मृत्यु भएको हो ।

    आगलागीमा परेर गम्भीर घाइते भएका राजेन्द्रबाबुको उपचारका लागि ओखरबोटे बजार ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको र उनकी श्रीमती कमलाको घटनास्थमै मृत्यु भएको उनले जानकारी दिए ।

  • सिंह कम्प्लेक्समा आगलागी : साढे तीन करोडको क्षति अनुमान

    सिंह कम्प्लेक्समा आगलागी : साढे तीन करोडको क्षति अनुमान

    रुपन्देही । बुटवलमा रहेको ठूलो व्यवसायिक सपिङ कम्प्लेक्स सिंह कम्प्लेक्समा बुधबार राती आगलागी हुँदा साढे तीन करोड बराबरको क्षति भएको छ ।

    विद्युत सर्ट भएर बजारको केन्द्रमा रहेको कम्प्लेक्समा भएको आगलागीबाट चौथो तल्लामा रहेको रेष्टुरेन्ट, भ्यू तथा तेस्रो तल्लामा आगलागीबाट भौतिक क्षति भएको संचालक महेशमान सिंहले बताए ।

    बुधबार राति १.३५ बजे लागेको आगो बुटवल उपमहानगरपालिकाको दमकल आएर डेढ घण्टामा निभाएको थियो । आगलागीबाट सबैभन्दा ठूलो क्षति लाबी फुडकोर्डमा भएको उनले बताए ।

    आगलागीबाट ४ टनको ४ वटा र २ टनका ७ वटा गरी ११ वटा एसी पूर्णरुपमा क्षति भएको छ । यसैगरि रेष्टुरेन्टमा रहेको फ्रिज, टिभि, ब्रान्डेड पेय पदार्थ, सजावटका फर्निचर, सोफा लगायत सबै ध्वस्त भएको उनले बताए ।

    लाबि फुडकोर्ड अन्तर्गत दुई वटा आकर्षक रेष्टुरेन्ट रहेका थिए । यो संगै रहेको भ्यूसिनेमाको बकस अफिस र काउन्टरमा समेत क्षति भएको छ । समयमा नै आगो नियन्त्रणमा लिन सफल हुदा थप क्षति हुन नपाएको उनले बताए ।

    प्रशासनबाट निशेषाज्ञा जारी भएसंगै कम्प्लेक्स बन्द रहेको थियो । आगलागीबाट तेस्रो तल्लामा रहेको समृद्धि सैलुन (निलडेभिड हेयर सैलुन) को समेत क्षति भएको छ ।

  • आगलागी हुदाँ पाँच घर जलेर नष्ट

    आगलागी हुदाँ पाँच घर जलेर नष्ट

    उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाको वडा नं ८ स्थित बिरेन्द्र बजारमा आगलागी हुदाँ ५ घर जलेका छन ।

    स्थानीय भरत राईको घरमा आइतबार बिहान बिद्युतसट भई अचानक आगलागी हुँदा पदमा कुमारी मगर, भरत राई, शिसिर कुमार राई, बादल बिक्र राई र कृष्ण मगरको घर जलेर नष्ट भएको हो ।

    आगलागीबाट करिब १ करोड ३० लाख भन्दा माथीको क्षती भएको जिल्ला प्रहरी कार्यालय उदयपुरको प्ररम्भिक अनुमान रहेको छ ।

    घना बस्तीको विचमा लागेको आगो नियन्त्रण गर्न चौदण्डीगढी नगरपालिकाको दमकललाई दुई घण्टा लागेको थियो । स्थानीयवासी, प्रहरी कार्यालय बेल्टार, सशस्त्र प्रहरी बेस बेल्टारको सहयोगमा कारीब दुई घण्टापछि नियन्त्रणमा लिएको उदयपुरका प्रहरी उपरीक्षक भिमबहादुर दाहालले जानकारी दिए ।

  • आगलागीबाट पच्चीस लाख क्षति

    आगलागीबाट पच्चीस लाख क्षति

    काभ्रे । तामाघाट बजारको एक किराना पसलमा शुक्रवार बिहान आगलागी हुँदा करीब २५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । बजार क्षेत्रमा रहेको स्थानीय बासिन्दा घलबहादुर दनुवारको ट्रसले बनाएको एकतले घरको सटरमा सोही नगरपालिका-२ घर भई सटर भाडामा लिई सञ्चालन गर्नुभएका दयाराम कोइरालाको किराना पसलमा बिहान करिब साढे १ बजे अचानक विद्युत् चुहावट भई आगलागी हुँदा पसलका सबै सामान नष्ट भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए ।

    वडा नं ४ का वडाध्यक्ष सुन्दर तामाङका अनुसार पसललगायत पछाडिको गोदाममा रहेको सबै सामान जलेर नष्ट भएको छ । कोरोना सङ्क्रमणको प्रभावका कारण बन्दाबन्दी हुने आशङ्कामा पसलका लागि थप सामान ल्याएर गोदाम गरेर राखेको पसलमा राति अचानक विद्युत् चुहावट भएर आगलागी भएको हुनसक्ने उनको भनाइ छ ।

    आगलागी भएपछि प्रहरी चौकी पाँचखाल, सशस्त्र प्रहरी बल १५ नं गण हेडक्वार्टर पाँचखालको दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाइएको वडाध्यक्ष तामाङले बताए। आगलागीबाट पसलसँग रहेको स्थानीय प्रितीमान तामाङको फेन्सी पसलमा समेत सामान्य क्षति भएको प्रहरीले जनाएको छ ।

  • शिवपुरीको जंगलमा फेरि आगलागी

    शिवपुरीको जंगलमा फेरि आगलागी

    काठमाडौं । काठमाडौंको नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा पुन आगलागी भएको छ ।

    दिउँसो १ बजदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन ।  आगाे  निभाउनका लागि २ वटा दमकल परिचालन गरिएको छ ।

    चण्डेश्वरी मन्दिरको बीचमा रहेको जंगलमा आगालागी भइरहेको बुढानिलकण्ठ नगरपालिकाका नगरप्रमुख उद्धव प्रसाद खरेलले नेपालप्रेसलाई बताए ।

    उनले भने,‘ २ घण्टा देखि सल्लाको रुख भएकै ठाउँमा आगलागी भएको छ । कसले कहाँबाट लगाइदियो खै सखापै हुने भयो । ’

    अहिले स्थानीय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी लगायत शिवपुरी निकुञ्जका कर्मचारी मिलेर आगो निभाउन प्रयास भइरहेको छ । यसअघि गत चैत २९ गते पनि निकुञ्जमा आगलागी भएको थियो ।

    सुन्दरीजलबाट हेलिकप्टरमा पानी ओसारेर आगो निभाइएको थियो ।

  • आगलागी हुँदा सिरहामा ८ घर जलेर नष्ट

    आगलागी हुँदा सिरहामा ८ घर जलेर नष्ट

    सिरहा । आगलागी हुँदा करीब ५० लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको छ । स्थानीय रवीन्द्र साहको घरबाट गएराति अचानक सल्केको आगो फैलिएर आगलागी हुँदा सचिन्द्र, वीरेन्द्र, आनन्द , लाले , धीरेन्द्र , लछुराम र रामलोचन साह लगायतको ८ घर जलेर खरानी भएको प्रहरीले जनाएको छ ।

    आगलागीमा परी आन्नपात, गरगहना, लत्ताकपडा, नगद, राईस मिललगायतका सम्पूर्ण सरसमान जलेर नष्ट हुँदा सो परिमाणको क्षति भएको लक्ष्मीपुर गाउँपालिका-२ का वडाध्यक्ष धर्मेन्द्र राय दनुवारले जानकारी दिए ।

    लहान नगरपालिकाबाट गएको बारुण यन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको स्थानीयवासीले बताएका छन् । यसैबीच आगलागीपीडित परिवारलाई गाउँपालिकाबाट तत्काल राहतस्वरुप प्रतिपरिवार २५ केजी चामल, २ केजी दाल, २ किलो नून, १ लिटर खाने तेल, आधाकिलो स्वायविन, २ वटा साबुन, १ हजार रुपैया नगद र १ थान त्रिपाल वितरण गरेको गाउँपालिकाले जनाएको छ ।

  • आइसीयूमा आगलागी हुँदा मुम्बईको एक अस्पतालमा १३ कोरोना बिरामीको मृत्यु

    आइसीयूमा आगलागी हुँदा मुम्बईको एक अस्पतालमा १३ कोरोना बिरामीको मृत्यु

    भारत । कोभिडका बिरामी उपचाररत मुम्बईको एक अस्पतालको सघन उपचार कक्ष, आईसीयूमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार शुक्रबार बिहान लागेको आगो निभाइएको र जीवित चार बिरामीलाई अन्य अस्पतालमा सारिएको छ ।

    भारतमा कोरोनाको दोस्रो लहर चलिरहँदा यस्तो घटना भएको हो । दोस्रो लहरका कारण अस्पतालमा बिरामीको भीड छ र तिनमा अक्सिजन, आईसीयू शय्या र भेन्टिलेटरको कमी भएको छ।

    शुक्रवार भारतमा तीन लाख ३२ हजार सात सय ३० जनामा सङ्क्रमण पुष्टि भएको छ । यो संक्रमित र मृत्यु संख्या अहिलेसम्मकै सर्वाधिक भएको बताइएको छ ।

    शुक्रबार थप २,२६३ जनाको मृत्यु भएको छ जुन भारतमा हालसम्मको सर्वाधिक दैनिक मृत्यु सङ्ख्या हो।

    महाराष्ट्र राज्यमा पर्ने मुम्बईभन्दा ७० किलोमिटर पर रहेको विरार क्षेत्रको विजय वल्लभ अस्पतालमा आगलागी भएको हो । आगलागीको कारण खुलेको छैन । मुख्यमन्त्रीले घटनाबारे अनुसन्धान गर्न आदेश दिएका छन् ।

    प्रधानमन्त्री नरेन्द्र मोदीले घटनालाई दुःखद भनेका छन्। मोदीले बढ्दो संक्रमणले स्वास्थ्य सेवामा दबाब परेपछि प्रभावित राज्यका मुख्यमन्त्रीसँग आज छलफल गरेका छन् ।

    भारतको उच्च न्यायलयले शुक्रवारसम्म अक्सिजन, औषधि र खोप आपूर्ति एवम् उपचारको राष्ट्रिय योजना बुझाउन सरकारलाई आदेश दिएको छ।

    दुई दिनअघि महाराष्ट्रको अर्को अस्पतालमा भेन्टिलेटरमा अक्सिजन रोकिँदा २४ कोभिड बिरामीको मृत्यु भएको बताइएको थियो। नासिकको जाकिर अस्पतालमा अक्सिजन ट्याङ्की भरिँदै गर्दा अक्सिजन फुस्किएर त्यस्तो भएको जनाइएको थियो।

  • किन लाग्छ डढेलो ? ९ वर्ष यताकै धेरै आगलागी यसपालि

    किन लाग्छ डढेलो ? ९ वर्ष यताकै धेरै आगलागी यसपालि

    काठमाडौं । आइतबार नेपाली सेनाको सुरक्षा घेरा भित्र रहेको शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा डढेलो लाग्यो । ८ घण्टापछि हेलिकप्टरबाट पानी खन्याएर आगो नियन्त्रणमा लिइयो । तर डढेलो के कारणले लाग्यो ? अझै खुल्न सकेको छैन ।

    गएको शुक्रबार बिहान चोभारको जंगलमा डढेलो लाग्यो । स्थानीयले देखेपछि दमकल बोलाएर आगो निभाइयो । दमकलले आगो निभाएर गएको केही समयमै पुनः सोही क्षेत्रमा आगलागी भयो । स्थानीय जुटेर आगो निभाए । चोभार जंगलमा कसरी बारम्बार आगलागी भयो ? अझैं खुल्न सकेको छैन ।

    यी त प्रतिनिधि उदाहरण मात्रै हुन् । देशका विभिन्न जिल्लामा अवस्थित वनहरुमा दैनिक जसो डढेला लाग्ने गर्छ । अहिले काठमाडौं लगायतका शहरमा बढेको प्रदूषणको मुख्य कारण डढेलो पनि हो । विगत ९ वर्षयताको तथ्यांक हेर्ने हो भने । हाल डढेलो चार गुणाले बढेको छ ।

    राष्ट्रिय विपद तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विगतका वर्षहरुमा नेपालमा वार्षिक सरदर २ हजार ५ सय डढेलोको घटना दर्ता हुने गर्थे । यो वर्ष एकैदिन ५ सय वटासम्म डढेलोको घटना दर्ता भएका छन् । डढेलोका कारण वार्षिक २ हनार हेक्टर वन क्षेत्र नोक्सान हुने गरेको प्राधिकरणको तथ्यांक छ ।

    किन लाग्छ वनमा वर्षेनी डढेलो ?

    एक अध्ययनका अनुसार नेपालमा हुने अधिकांश डढेलो ‘नियोजित’ हो । झण्डै ६४ प्रतिशत डढेलोका घटना कृत्रिम छन् । प्राकृति कारणले वनमा डढेलो लाग्ने घटना ज्यादै न्यून रहेको अध्ययनको प्रक्षेपण छ । विज्ञहरुका अनुसार मानवीय लापरवाही र वन पैदावरको अनुचित लाभ लिने उद्देश्यले नै धेरै डढेलो लाग्ने गरेका छन् । वनविज्ञ भोला भट्टराई विगतमा जस्तो प्राकृति डढेलोका घटनाहरु नगन्य रहेको बताउँछन् । ‘पहिले प्राकृतिक हिसाबले वनमा डढेलो लाग्थ्यो । अहिले मान्छेले कि त जानेर कि त लापरवाही गरेर डढेलो लाग्ने गरेको छ । वन पैदावरको चोरी शिकारी वा नयाँ पालुवाका लागि पनि डढेलो लगाइदिने क्रम बढेको छ’, भट्टराईले भने ।

    उनका अनुसार वनजंगलमा डढेलो लाग्नुको मुख्य कारण ३ वटा छन् । पहिलो लापरवाही, दोस्रो नियोजित र तेस्रो जंगली जनावर भगाउने उपाय स्वरुप । उनी भन्छन्, ‘बाटो हिड्दा चुरोट विँडी खाएर ननिभाई फाल्दिने, गोठाला गएकाहरुले घासको लोभमा आगो लगाइदिने, तथा जगंली जनावरलाई भगाउन आगो लगाउने प्रवृति धेरै देखिएको छ ।’

    सरकारले डढेलो नियन्त्रणमा प्रभावकारी कदम नचालेको उनी बताउँछन् । सरकारले जनतालाई डढेलो नियन्त्रणबारे पर्याप्त जानकारी गराउन नसकेको उनको भनाइ छ । ‘सरकार आफैंले सिकेको छैन , अरुलाई के सिकाउँला ? अहिलेको विल्कप भनेको नै सबैलाई जिम्मेवार हुन सिकाउनु हो । नियोजित रुपमा डढेलो लगाउनेलाई कारवाही गर्नुपर्ने हो तर कारबाही हुँदैन । कानून फितलो हुँदा दैनिक यस्ता घटना बढिरहेका छन्’, उनले भने ।

    डढेलोका कारण प्रदूषण मात्र होइन तर विभिन्न लोपोन्मुख बोटबिरुवा र जनावरहरूको अस्तित्व समेत संकटमा पर्दै गएको छ ।

    तर्साउने तथ्यांक

    राष्ट्रिय विपत न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो केही दिनको तथ्यांक हेर्ने हो भने अवस्था गम्भीर छ । सोमबार मात्रै २ सय ३० ठाउँमा आगलागी हुँदा ४० जिल्ला प्रभावित भएका छन् भने आइतबार ३ सय ९७ ठाउँमा आगलागी हुँदा ४७ जिल्ला प्रभावित भए । गत शनिवार ४ सय ४० ठाउँमा आगो लागेको थियो भने ४६ जिल्लामा क्षति पुग्यो । गत शुक्रबार २ सय ७८ वटा वनमा डढेलो लाग्दा ४१ जिल्ला प्रभावित बन्न पुग्यो । बिहीबार १ सय ८५ वनमा आगो लाग्दा ३८ जिल्ला प्रभावित बन्यो ।

    डढेलोबाट सबैभन्दा धेरै पश्चिम तराईका जिल्लाहरु प्रभावित भएका छन् । पहाडदेखि तराईसम्म जताततै डढेलो लागेको छ । गत चैत २२ गते एकैदिन सबैभन्दा धेरै ७ सय ९८ वनमा डढेलो लागेको थियो । जसबाट ६१ जिल्ला प्रभावित भएका थिए । यस्तो डढेलोको घटना जेठसम्म नै निरन्तर रहने विज्ञहरुको अनुमान छ ।

    डढेलोबाट कसरी जोगिने ?

    राष्ट्रिय विपद तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सुन्दरप्रसाद शर्मा डढेलोबाट बस्ती र वन्यजन्तु जोगाउन बढी संवेदनशील हुनुपर्ने बताउँछन् । डढेलो लागेको वनमा मान्छेहरुको आवतजावत रोक्नुपर्ने शर्माको सुझाव छ ।

    आगो लागिहालेको अवस्थामा अग्निय रेखा बनाएर वन तथा बस्ती जोगाउन उनको सुझाव छ । ‘डढेलो नियन्त्रणमा स्थानीय समूदायको भूमिका एकदमै महत्वपूर्ण हुन्छ । स्थानीयको सहयोग विना डढेलो नियन्त्रण गर्न गाह्रो पनि छ । सकभर डढेलो लाग्न नदिऔं, लागिहाले स्थानीय नै सचेत हुनुपर्छ’, शर्माले भने ।

    चुरोटको ठुटा निभाएर मात्र फाल्ने, वनभोज खान जाँदा आगोलाई राम्रो सँग निभाउने, सकभर सलाई लाइटर लिएर वनमा नजाने, वनमा डढेलो लागेको देखे सबैभन्दा पहिला प्रहरी वा नगरपालिकालाई खबर गर्ने लगायतका काम गर्न शर्माको सुझाव छ ।

    डढेलो नियन्त्रणमा साधनको अभाव

    नेपालमा डढेलो नियन्त्रणका लागि भरपर्दो साधन र उपकरणकै अभाव रहेको विज्ञहरु स्वीकार्छन् । डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालयबाट टोली खटिने गरे पनि अत्याधुनिक प्र्रविधिको प्रयोग हुन सकेको छैन । त्यस्ता टोलीले स्याउलाकै भरमा डढेलो नियन्त्रणको प्रयास गर्दै आएका छन् । डढेलो नियन्त्रणका लागि सरकारले पर्याप्त बजेट र साधन उपलब्ध गराउनुपर्ने देखिन्छ ।

    डढेलो लगाउनेलाई के कारबाही हुन्छ ?

    वन जंगलमा लाग्ने डढेलो अधिकांश स्थानीयले नै लगाउने गरेको अध्ययनले देखाएको छ । वनजंगलमा आगो लगाउनेलाई सरकारले कारबाही गर्ने व्यवस्था पनि गरेको छ ।

    वन ऐन २०७६का अनुसार राष्ट्रिय वनमा आगो लगाउने र आगलागी हुने कुनै कार्य गरेमा क्षति भएको बिगो असुल गरी ३ वर्षसम्म कैद वा ६० हजार जरीवाना अथवा दुवै सजाय हुनसक्छ ।

    सुराक दिने वा अपराधी पक्राउ गर्न सहयोग गर्ने संस्था वा व्यक्तिलाई कसुरदारले तिर्ने जरिवानाको दश प्रतिशत पुरस्कार स्वरुप दिने व्यवस्था रहेको छ । तर हालसम्म प्राधिकरणसँग कति कारबाहीमा परे भन्ने जानकारी छैन । वनजंगलमा आगो कसले लगायो ? भन्ने समेत पत्ता लाग्दैन ।

    प्राधीकरणका उपसचिव सुन्दरप्रसाद शर्मा भन्छन्,‘डढेलो लगाउने व्यक्तिलाई पत्ता लगाउनु गाह्रो काम रहेछ । अब कहिलेकाहीँ लगाएको हुन्छ । पर्याप्त प्रमाणको अभावमा उनीहरुलाई छोड्नुपर्ने बाध्यता रहन्छ । अहिलेसम्म कति कारवाहीमा परे जानकारी छैन ।’

    धेरै डढेलो यसपालि

    विशेष गरी कात्तिक देखि जेठसम्म बढी डढेलोको घटना हुने गर्दछ । यसवर्ष डढेलोको मुख्य समय सुरु नहँुदै ३ हजार भन्दा बढी आगलागीका घटना भइसकेका छन् । पछिल्लो ९ वर्षको तथ्यांक हेर्ने हो भने यसपालि ४ गुणा बढी डढेलो लागेको छ ।

    प्राधीकरणको तथ्यांकअनुसार २०६८ कात्तिकदेखि चैतसम्म ३ सय ७९ डढेलोको घटना भए जसमा ४० जिल्ला प्रभावित बन्यो । ०७० कात्तिकदेखि चैतसम्म २ सय ६९वटा डढेलोको घटना भएकोमा ४० जिल्ला डढेलोबाट प्रभावित भयो । ०७१ मा १ सय ९ डढेलोबाट ३१ जिल्लाको जंगलमा क्षति पुग्यो । त्यस्तै ०७२ सालमा मात्रै ६७ जिल्लामा ९ सय ८९ वटा डढेलोको घटना घट्यो । ०७३ मा ५२ जिल्लामा ३ सय २४ वटा डढेलोको घटना घट्यो । त्यसैगरी ०७४ मा ६ सय १७ वटा डढेलो घटनाबाट ६४ जिल्ला प्रभावित भएको थियो ।

    यस्तै ०७५ मा ८ सय २९ वटा डढेलोको घटना भएको थियो । जसबाट ६३ जिल्लाको वनमा क्षति पुगेको थियो । गत वर्ष १ सय ८८ वटा आगलागीको घटना भयो जसबाट ४० जिल्ला प्रभावित भयो । यस वर्ष कात्तिकदेखि चैतको दोस्रोसातासम्म २ हजार ७ सय १३ घटना भइसकेका छन् । जसबाट ७३ वटा जिल्ला प्रभावित भएको तथ्थाङकले देखाएको छ ।

    हेलिकप्टरबाट आगो निभाउन सम्भव छैन- प्राधीकरण

    शिवपुरी राष्ट्रिय निकुञ्जको वनमा लागेको आगो हेलिकप्टरबाट पानी ओसारेर निभाइएको थियो । आगो निभाउन हेलिकप्टर उत्तम विकल्प भए पनि सबै स्थानमा सम्भव नहुने प्राधीकरणको भनाइ छ । डढेलो नियन्त्रणमा हेलिकप्टरको प्रयोग खर्चिलो र झन्झटिलो हुने गरेको छ ।

    ‘बस्ती र सांस्कृति धरोहर नजिकै ठूलो डढेलो लाग्यो भने आपतकालीन रुपमा हेलिकप्टरको प्रयोग हुनसक्छ तर जताततै हेलिकप्टरबाट डढेलो निभाउन सम्भव छैन’, प्राधीकरणका उपसचिव शर्माले भने । डढेलो नियन्त्रणका लागि अन्य प्राविधिक तयारीसँगै जनचेताना अभिवृद्धि नै महत्वपूर्ण माध्यम रहेको जानकारहरु बताउँछन् ।

  • आगलागी हुँदा कालिकोटमा ६ घर जलेर नष्ट

    आगलागी हुँदा कालिकोटमा ६ घर जलेर नष्ट

    कालिकोट । जिल्लाको पचालझरना गाउँपालिका-८ मा आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन् । शनिबार भएको आगलागीमा गाउँपालिका-८ खोलीबजार, भुराबगरमा आगलागीमा ६ घर जलेर नष्ट भएका हुन् ।

    आगलागी हुँदा दुर्गा सार्की, वीरमान सार्की, भैरे सार्की, अति सार्की, धनराज सार्की र अमृत सार्कीलगायत ६ जनाको घर जलेर पूर्णरुपमा नष्ट भएको पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले बताए ।

    आगलागी हुँदा मानवीय क्षति नभएको र अन्य एउटै घरको करीब १० देखि १५ लाखसम्मको धनमालको क्षति भएको अध्यक्ष सेजुवालले जानकारी दिए । “घरमा रहेका सबै धनमाल जलेर नष्ट भएका छन्”, उनले भने, “एउटै घरको करीब १० लाखदेखि १५ लाखसम्म धनमालको क्षति भएको छ ।”

    आगलागीपीडितलाई तत्काल खान र बस्नका खाद्यान्न वितरण गरिएको अध्यक्ष सेजुवालले बताए । “तत्काल खान र बस्नका लागि खाद्यान्नको व्यवस्था गरेको छौँ”, उनले भने, “आगलागी पीडित अहिले त्रिपाल टासेर बसेका छन् ।” आगलागी पीडितलाई घर निर्माणका लागि नेपाल सरकारको जनता आवास कार्यक्रममार्फत घर निर्माणको पहल थालिने अध्यक्ष सेजुवालले बताए ।

  • शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा आगलागी (भिडियो)

    शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा आगलागी (भिडियो)

    काठमाडौं । काठमाडौंको नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा आगलागी भएको छ ।

    बिहान १० बजदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन । निभाउनका लागि दमकल परिचालन गरिएको छ ।

    हेलिकोप्टरबाट पनि पानी हालेर निभाउने प्रयास भइरहेको छ ।

  • मध्यरातमा फर्निचरमा आगलागी, अझै नियन्त्रणमा आएन

    मध्यरातमा फर्निचरमा आगलागी, अझै नियन्त्रणमा आएन

    काठमाडौं । बागलुङ नगरपालिका-३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा लाखौँको क्षति भएको प्रहरीले जनाएको छ ।

    गए राति २ः०० बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन । फर्निचरमा रहेका सबै काठपात तथा तयारी सामग्री जलेका छन् । आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र बागलुङ नगरपालिकाको दमकल प्रयोग भइरहेको छ ।

    रातिदेखि सुरु भएको आगलागी आज बिहानसम्म नियन्त्रणमा नआएको हो । क्षतिको पूर्ण विवरण आइनसकेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए । फर्निचरका सबै सामग्री जलेका छन् ।

  • आगलागीबाट पाँच घर जलेर नष्ट, पीडित खुल्ला आकाशमुनी

    आगलागीबाट पाँच घर जलेर नष्ट, पीडित खुल्ला आकाशमुनी

    जाजरकोट । नलगाड नगरपालिका–८ मङ्सिरीमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् । स्थानीय नौंँधारी जङ्गलमा लगाएको आगो गाउँ पस्दा पाँच घर जलेको हिमालय आधारभूत विद्यालयका शिक्षक मनोद शर्माले जानकारी दिए । उनका अनुसार अम्मरबहादुर सिंह, खड्क सिंह, वेदराज सिंह, चन्द्रबहादुर सिंह र यज्ञबहादुर सिंहको घर जलेका हुन् । घरभित्र रहेका लत्ताकपडा र पशुचौपाया समेत जलेका छन् ।

    गए राति भएको सो घटनापछि पीडित परिवार खुल्ला आकाशमुनी बस्न बाध्य भएको प्रहरीले जानकारी दिएको छ । नलगाड नगरपालिकाका सबैभन्दा उच्च भाग र हावाहुरी अत्याधिक लाग्ने ठाउँ भएका कारण आगो नियन्त्रणमा लिन नसकिएकाले बढी क्षति भएको हो ।

    आगलागी हुँदा घर र गोठ नष्ट

    दक्षिण पर्वतको पैयुँ गाउँपालिका–६ डाँडाकाहुँमा शुक्रबार आगलागी हुँदा पाँच घर र १५ गोठ जलेर पूर्ण रुपमा क्षति पुगेको छ ।

    डाँडाकाहुँको भीरमा रहेको जङ्गलमा लागेको आगो बस्तीमा प्रवेश गरेपछि घर र गोठ जलेर नष्ट भएका हुन् । आगलागीबाट स्थानीय शेरप्रसाद गौतम, रेशमलाल गौतम, नमप्रसाद सापकोटा, रेशमलाल सापकोटा, जयकला सापकोटाको घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने खड्काप्रसाद गौतम, एकनारयण गौतम, चोलाकान्त सापकोटा, छविलाल गौतम, उमेश गौतमको घरमा आंशिक क्षति पुगेको छ त्यसैगरी स्थानीयका १५ वटा गोठ जलेर पूर्ण रुपमा क्षति पुगेको इलाका प्रहरी कार्यालय हुवासका प्रहरी निरीक्षक विजयकुमार सिंहले जानकारी दिनुभयो । घरवारविहीन भएका अहिले आफन्तकोमा आश्रम लिएर बसेका छन् ।

    आगालागीबाट पूर्ण क्षति भएका पाँच परिवारलाई तत्काल स्थानीय पैंयु गाउँपालिकाले नगद १० हजार, खाद्यान्न र लत्ताकपडा वितरण गरेको प्रमुख प्रशासकिय अधिकृत केशव लामिछानेले जानकारी दिए । त्यसैगरी अन्य सामान्य क्षति पुगेकालाई टेण्ट र त्रिपाल वितरण गरिएको उनले बताए । घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।

    आगलागीबाट मानवीय क्षति नभए पनि केही पशुचौपाया मरेका छन् । आगो नियन्त्रणका लागि पर्वतको सदरमुकाम कुश्मा बजारबाट २१ जना सशस्त्र प्रहरी र २१ जना नेपाली सेनाको टोली घटनास्थलमा पुगेको थियो । आगो राति अबेर नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

    रासस

  • गोठमा आगलागी भएपछि भाग्न नसक्दा दाजु-बहिनीको जलेर मृत्यु

    गोठमा आगलागी भएपछि भाग्न नसक्दा दाजु-बहिनीको जलेर मृत्यु

    रुपन्देही । आफ्नै गोठमा आगलागी भएपछि भाग्न नसक्दा प्युठानको गौमुखी गाउँपालिका–३ रजवारामा दुई बालबालिकाको जलेर मृत्यु भएको छ ।

    बुवा पोखरामा काम गर्नका लागि गएका र आमा घाँस काट्न गएको समयमा भएको आगलागीबाट गोठमा भएका सबै गाईवस्तु स्थानीयको पहलमा भगाउनसके पनि दुवै बच्चालाई भने बचाउन सकेनन् ।

    गौमुखी गाउँपालिका वडा नं ३ रजवारा रिमबहादुर (रमेश) रानाको गोठमा भएको आगलागीमा परेर उनका सात वर्षीय छोरा हिमाल राना र २ वर्षीया छोरी चन्द्रकला रानाको मृत्यु भएको लिवासे प्रहरी चौकीका सई हरि गुरुङले जानकारी दिए ।

    उनले घरदेखि केही टाढा रहेको गोठमा आगो बाल्ने क्रममा आगलागी भएको र उनीहरुको सबै शव जलेको अवस्थामा भेटिएको बताए । स्थानीयको पहलमा गोठमा भएका गाईवस्तुलाई जोगाउन सकेपनि आगलागी भएपछि गोठबाट भाग्न नसक्दा जलेको हुनसक्ने गुरुङले बताए ।

    गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले घरमा बुवा-आमा नभएको समयमा आगलागी भएको र बच्चा भाग्न नसकेर नै जलेर यस्तो दुःद घटना भएको बताए ।

  • म्याग्दीमा ४७ सामुदायिक वनका १२ सय हेक्टर क्षेत्रमा आगलागी

    म्याग्दीमा ४७ सामुदायिक वनका १२ सय हेक्टर क्षेत्रमा आगलागी

    रासस । यस वर्षको वसन्त ऋतु शुरु भएसँगै हिमाली जिल्ला म्याग्दीमा ६ स्थानीय तहका ४७ वटा सामुदायिक वनमा आगलागी हुँदा करिब १२ सय हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ ।

    वनमा आगलागी हुँदा साना तथा ठूला सयौँ रूखबिरुवा जल्नुका साथै बहुमूल्य जडीबुटी, जङ्गली पशुपक्षी र अन्य वन पैदावार नष्ट भएका छन् । म्याग्दीमा हावाहुरीको मौसम शुरु भएसँगै सदरमुकाम बेनी तथा विभिन्न स्थानमा दिनहुँजसो आगलागीका घटना भइरहेका छन् । सामुदायिक वनमा १० हेक्टरदेखि १५० हेक्टर क्षेत्रफलमा आगलागीले क्षति पुगेको डिभिजन वन कार्यालयको तथ्यांकले देखाउँछ ।

    केही दिनअघि मात्र बेनी नगरपालिका–२ ज्यामरुककोटको गौश्वारा सामुदायिक वनको ६५ हेक्टर जङ्गल आगलागीबाट सखाप भयो । सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा लिन डिभिजन वन कार्यालयले ४३ सुरक्षाकर्मी स्थानीयवासी परिचालन गर्यो । स्थानीयवासी र सुरक्षाकर्मीले दुई दिनसम्म खटिए पनि आगो निभाउन सकेनन् । आगलागीबाट सो वनका बहुमूल्य जडीबुटी, जङ्गली जनावर र वन पैदावार नष्ट भएका गौश्वाराका रत्नबम मल्लले बताए ।

    पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानी सामुदायिक वनमा आगलागी हुँदा करिब ६० हेक्टर जङ्गलमा क्षति पुगेको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ । भौगोलिक कठिनाइ र भिरालो वनमा आगो लागेकाले निभाउन कठिन हुने गरेको कार्यालयले जनाएको छ ।

    सामान्यतया सुक्खा र गर्मी मौसममा डढेलो बढी लाग्ने गरे पनि म्याग्दीमा हरियो घाँसको लोभमा पाखो डाँडा तथा जङ्गलमा आगो लगाउने गरिएको कार्यालयका निमित्त प्रमुख सन्तोष खनालले बताए ।

    ‘यस वर्ष म्याग्दीमा आगलागीबाट धेरै क्षति भयो, मानवीय लापरवाहीले आगलागी हुने गरेको छ,’ खनालले भने । उनका अनुसार मानवीय कारणबाट लगाउने गरिएको डढेलोको असर लामो समयसम्म हुने भएकाले घाँसको लोभमा प्राकृतिक स्रोतसाधनको नष्ट गर्ने गरिएको छ ।

    डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालयले विभिन्न शीर्षकमा १० लाख रुपैयाँ बजेटमा विभिन्न उपकरणसहितको साम्रगी व्यवस्थापन, जनशक्ति परिचालनलगायतका गतिविधि गर्ने गरेको छ ।

    भौगोलिक विकटता र स्रोतसाधन अभावमा डढेलो तथा आगो नियन्त्रण गर्न कठिन भएकाले सुरक्षा निकायलाई समेत उपकरण सहयोगसहित नियन्त्रणमा पुग्न लाग्ने खर्चसमेत कार्यालयबाटै व्यवस्थापन गर्न आगामी वर्ष थप बजेट माग गरिएको निमित्त प्रमुख खनालले बताए।

    जङ्गलमा जथाभावी लगाइएको डढेलोको तथ्यांक गण्डकी प्रदेशको वन निर्देशनालयमा समेत पठाइएको छ । डढेलोले वातावरण प्रदूषणसमेत बनाएको उनको भनाइ छ ।

    जिल्लाको अति दुर्गम क्षेत्रमा जथाभावी डढेलो लाग्दा भूगोलका कारण स्थानीयवासीसहित अन्य जनशक्तिसमेत पुग्न नसक्ने भन्दै उनले हरियो घाँसको लोभमा जथाभावी डढेलो लगाउने कार्यलाई निरुत्साहित गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताए । वनमा जाँदा सावधानी अपनाउनसमेत उनले अनुरोध गरेका छन् ।

    सामुदायिक वनमा आगलागी भएपछि वातावरणीय प्रदूषण बढेको छ । आगलागीबाट एकातिर वनजङ्गल, जङ्गली जनावर र जडीबुटी नष्ट भएका छन् भने अर्कातिर मानव स्वास्थ्यमा समेत गम्भीर असर परेको वन तथा वातावरण क्षेत्रका जानकारहरुले बताएका छन् ।