Tag: अलपत्र

  • जनजाति संग्राहलयको निर्माणाधीन भवन एकदशकदेखि अलपत्र

    जनजाति संग्राहलयको निर्माणाधीन भवन एकदशकदेखि अलपत्र

    खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको अल्छेढुंगामा रहेको जनजाती संग्रहालयको भवन अलपत्र परेको छ । २०६७ सालमा निर्माण सुरु गरिएको आदिवासी जनजाति संग्रहालयको भवन निर्माणको काम आर्थिक अनियमितताका कारण सुरुवाती चरणमै अलपत्र परेको हो ।

    तत्कालीन भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष जयबहादुर राई, भवन निर्माणको जिम्मा लिएका विष्णुराज राई र भक्तकर्ण राईले कोषाध्यक्षको कीर्ते हस्ताक्षर गरेर बैंकबाट रकम झिकेको भन्दै बढेको विवादका कारण भवन निर्माणको काम बीचमै अलपत्र बनेको हो । आदिवासी जनजातिका पुर्खाले आदिम कालमा प्रयोग गरेका हातहतियार, लुगाफाटा, गरगहना, बाजागाजालगायतका सामग्री राख्नका लागि निर्माण सुरु गरिएको संग्रहालय भवनको जग र पर्खाल उठाउने बाहेकका काम अघि बढ्न सकेको छैन । निर्माणाधीन भवनको जगमा झार, झाडी र उत्तिसको रुख हुर्किसकेका छन्।

    भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष जयबहादुर, कामको जिम्मा लिएका विष्णुराज र भक्तकर्णले कोषाध्यक्ष रामकुमारी राईको कीर्ते हस्ताक्षर गरी बैंकबाट रकम निकासा गरेको भन्दै २०७० सालमा अख्तियार र जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । संग्रहालय भवन निर्माण उपभोक्ता समितिको दिक्तेलस्थित राष्ट्रिय वाणिज्य बैंकमा रहेको चल्ती खाता नम्बर २५८३ को रकम आफ्नो कीर्ते हस्ताक्षर गरी १३ लाख ८३ हजार निकासा गरिएको भन्दै कोषाध्यक्ष राईले उजुरी दिएकी थिइन् । गुणस्तरहीन भवन बनेकाले आफूले रकम निकासा गर्न हस्ताक्षर नगरेको तर कीर्ते गरेर रकम निकासा गरिएको कोषाध्यक्ष राईको भनाइ छ ।

    आर्थिक अनियमितता भएको भन्दै अख्तियार र प्रशासनमा उजुरी परेकाले थप रकम छुट्टयाउन नमिल्ने भएपछि अलपत्र भवन निर्माणको कामलाई अघि बढाउन सकिने अवस्था छैन । भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष जयबहादुर राई र भवन निर्माणको काममा संलग्न भक्तकर्ण राईको मृत्यु भइसकेका कारण पनि यस विषयमा कुनै काम कारबाही हुन सकेको छैन ।

  • ५० जना भन्दा बढी चिनियाँ आरोहीहरु काठमाडौंमा अलपत्र

    ५० जना भन्दा बढी चिनियाँ आरोहीहरु काठमाडौंमा अलपत्र

    काठमाडौं । सगरमाथा आरोहण गरी फर्केका ५० जना भन्दा बढी चिनियाँ आरोहीहरु काठमाडौंमा अलपत्र परेका छन् । अन्तर्राष्ट्रिय उडान बन्द भएकाले स्वदेश फर्किन नपाएर काठमाडौंमा रोकिएका हुन् ।

    सेभेन समिट ट्रेकबाट आरोहण गर्न आएका १६ जना र एसियन ट्रेक, काइतु ट्रेक, सेभेनसमिट क्लव ट्रेकबाट ५० भन्दा बढी चिनियाँ नागरिकहरु स्वदेश फर्किन पाएका छैनन् । अन्य देशका आरोहीहरु भने ९० प्रतिशत फिर्ता भइसकेको पर्यटन विभागका महानिर्देशक रुद्र सिंह तामाङले बताए ।

    भिसा सकिएका र घर फर्कन समस्या भएको भन्दै निवेदन आएपछि परराष्ट्र मन्त्रालयले सहायता गर्ने गरेको पर्यटकका प्रमुख प्रहरी निरीक्षक चन्द्रकिसोर शाहले बताए । सरकारले टर्की, कतार, चीन र भारतका लागि भने सातामा एक पटक उडान गर्न दिने गरी खोल्ने निर्णय गरेको छ ।

    यता नागरिक उडड्यन प्राधिकरणले उडान अनुमती लिन चीनलाई एक साता अघिनै पत्राचार गरे पनि हालसम्म अनुमति नलिए पछि चीनका पर्यटकहरु स्वदेश फर्कन समस्या परेको हो ।

  • महाकालीमा पानीको सतह बढ्यो, १० कामदार टापुमा अलपत्र

    महाकालीमा पानीको सतह बढ्यो, १० कामदार टापुमा अलपत्र

    कैलाली । महाकाली पुलमा काम गर्ने १० जना कामदार महाकालीको टापुमा फसेका छन् ।

    महाकाली नदीमा पानीको सतह बढ्दा उनीहरु नदिको बिचभागमा रहेको टापुमा फसेका हुन्।

    २ दिन परेको लगातारको वर्षातले पानीको सतह बढेपछि कामदारहरु टपुमै अलपत्र परेका थिए ।
    जिल्ला प्रहरी कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर थापा क्षेत्री उनीहरुको उद्धारको लागि टोली परिचालन गरेको बताए ।

    महाकालीको पानी गाउँ पस्दा भीमदत्त नगरपालिकाको वडा नं. ११, १२ र १३ का नगरीकन समेत प्रभावित भएका छन् ।

  • लकडाउनले अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटक अलपत्र

    लकडाउनले अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटक अलपत्र

    पोखरा । नयाँ भेरिएन्टसहितको कोरोना बढेसँगै विदेशी पर्यटक मनाङमा अलपत्र परेका छन् । वर्षौँ दिनदेखि सुनसान रहेको अन्नपूर्ण पदमार्गमा केही सहज भएयता मनाङ आएका उनीहरु हाल मनाङ ङिस्याङ गाउँपालिकाका साङसार, भ्राका, मनाङ टङ्की मनाङ, हुम्डे र पिसाङलगायतका गाउँहरुमा बसोबास गर्दै आएको बताइएको छ ।

    स्थानीयवासी राम गुरुङले बन्दाबन्दीका कारण हिँडडुल गर्न नपाएका कारण अनुसार उनीहरु त्यहीँ रहनु परेको बताए । उनका अनुसार ती विदेशी पर्यटकहरु सकुशल रहेका छन् ।

    यस गाउँपालिकामा अहिले नयाँ भेरिएन्टसहितको कोरोनाभाइरस देखिन थालेपछि सबैजसो गाउँहरु ‘सिल’ जस्तै भएका छन् । विश्वकै १०औँ नम्बरमा रहेको पर्यटकीय गन्तव्य अन्नपूर्ण पदमार्ग बन्द भएको छ । यहाँका मानिस होटल व्यवसाय बन्द गरेर घरभित्रै छन् ।

    गत मङ्गलबारको पीसीआर रिपोर्टअनुसार एक विदेशी नागरिकसहित जिल्लाभर २८ जना कोरोना संक्रमित पुष्टि भएका छन् । हाल जिल्लाभर कोरोना संक्रमित ४४ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय मनाङले जनाएको छ ।

    अहिलेसम्म जिल्लाका दुईवटा गाउँपालिकामा मात्र संक्रमित भेटिएका छन् । यसमध्ये चामे गाउँपालिकामा सात र मनाङ ङिस्याङ गाउँपालिका ३७ जना संक्रमित रहेका छन् ।

    मनाङमा रहेका विदेशी नागारिक मनाङ ङिस्याङ गाउँपालिका मनाङ गाउँमा १४ जना खाङ्सार तिलिचो बेसक्याम्पमा ४, ङावोलगाउँमा ३ र पिसाङगाउँमा १ गरी जम्मा २२ विदेशी पर्यटक जिल्लामा रहेका अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए ।

    उनका अनुसार वैशाख महिनामा १४४ पुरुष र ९७ महिला गरी २४१ विदेशी पर्यटक मनाङ भित्रिएका थिए । त्यस्तै १९७ जनाले थोरङ्ला पास गरी मुस्ताङ पुगेका छन् भने १० जना मनाङबाट फर्किएका अन्नपूर्ण संरक्षण क्षेत्र मनाङले जनाएको छ ।

    नेदरल्याण्डका नागरिक संक्रमित भेटिएपछि मात्र जिल्ला प्रशासनले जिल्लाभित्र रहेका विदेशी पर्यटकको खोजी गर्न थालेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र मनाङमा तथ्याङ्क रहने भए पनि कुन ठाउँमा कति पर्यटक छन् भन्ने आधिकारिक नभएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले बताए । उनका अनुसार विदेशी नागरिक अन्नपूर्ण क्षेत्रमा रहेका जाँचचौकीमा परमिट दर्ता गरेर आउने हुँदा हामीकोमा कुनै तथ्याङ्क हुँदैन । हामीले अहिले तथ्याङ्क खोजिरहेका छौं’, उनले भने । त्यस्तै अन्नपूर्ण संरक्षण क्षेत्र मनाङले तथ्याङक सङ्कलन गर्दै गरेको र कुन पर्यटक कुन ठाउँमा बसेका छन् खोजी भइरहेको जनाएको छ ।

    अहिले कोरोना ‘हटस्पोट’ जस्तै बनेको मनाङमा रहेका विदेशी नागरिक अलपत्र परेको जानकारीसँगै जिल्ला प्रशासन कार्यलयमनाङले तथ्याङ्क सङ्कलन गर्दै उनीहरुको इच्छाअनुसार चाहेको ठाउँमा पठाउने कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए । उनका अनुसार १ जना नेदरल्याण्डका नागरिक संक्रमित भएको र उनलाई हेलीचार्टर्ड गरी काठामाडौं पुर्‍याइएको छ भने अरु यहाँ सकुसल रहेका छन् ।

    मनाङमा हाल अलपत्रमा रहेका अधिकांश युरोपियाली मुलुकका नागरिक छन् । दुई भारतीय, तीन इजरायली, अरु फ्रान्स, नेदरल्याण्ड र ब्रिटिसका नागरिक रहेको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङले जनाएको छ । देशका ठूला शहरमा भयवह स्थिति आउँदै गर्दा मनाङ छिरेका उनीहरु अहिले मनाङ ङिस्याङ गाउँपालिकाका विभिन्न गाउँमा बसिरहेका छन् ।

    (सांकेतिक तस्बिर)