Tag: अन्य

  • आज नेकपाको एकता सन्देश सभा पोखरामा

    आज नेकपाको एकता सन्देश सभा पोखरामा

    काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज आइतबार गण्डकी प्रदेशलाई लक्ष्यित गरेर कास्कीको पोखरामा एकता सन्देश सभा गर्दैछ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाललगायतका नेताले सभामा सम्बोधन गर्ने कार्यक्रम छ ।

    नेकपाले यस्तै, भोलि सोमबार कोशीको विराटनगरमा, मङ्सिर १८ गते, कर्णालीको सुर्खेतमा, २० गते मधेशको जनकपुरमा र २३ गते बागमतीको हेटौँडामा सभा गर्ने मिति सार्वजनिक गरेको छ ।

    मङ्सिर २९ गते देशभरका पालिकामा एकता सन्देश सभाको तयारी नेकपाको छ ।

    यसअघि नेकपाले शनिबार लुम्बिनी प्रदेशको दाङ देउखुरीमा र शुक्रबार सुदूरपश्चिमको धनगढीमा एकता सन्देश सभा गरेर प्रदेशस्तरमा पार्टीको सन्देश प्रवाह गरेको छ ।

  • अघिल्लो दिन पार्टी कार्यालय उद्घाटन, भोलिपल्ट माधव नेपालको पार्टीबाट कारबाही, कारबाहीपछि मुनु सिग्देललाई ११ प्रश्न

    अघिल्लो दिन पार्टी कार्यालय उद्घाटन, भोलिपल्ट माधव नेपालको पार्टीबाट कारबाही, कारबाहीपछि मुनु सिग्देललाई ११ प्रश्न

    हेटौँडा । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्रसहित १२ घटक मिलेर नेपाली कम्युनिष्ट पार्टी स्थापना भइसकेको छ । निर्वाचन आयोगबाट मान्यता पाएको पार्टीले जिल्लामा समेत संयुक्त पार्टी कार्यालय खोलेका छन् ।

    तर आफूलाइ्र्र मन नपरेका नेतालाई खुइल्याउने काममा सधैँ अगाडि देखिने कम्युष्टि पार्टीका नेताहरुको संक्रमण मकवानपुरमा पनि देखिएको छ । माधव नेपाल नेतृत्वको पार्टीको अस्तित्वमै नभएको अवस्थामा त्यही पार्टीको लेटरप्याड प्रयोग गरेर उपसचिव कविन पन्तलाई कारबाही गरिएपछि यतिखेर मकवानपुरमा समाजवादी र माओवादीको मिलन समारोह पनि खल्लो देखिएको छ ।

    मंसिर ८ गते दुई पार्टी मिलेर नेकपाको पार्टी कार्यालय उद्घाटन भएको छ । जहाँ समाजवादी पार्टीकी नेतृ एवम् साविककी मकवानपुर इञ्चार्ज मुनु सिग्देल र माओवादी केन्द्रका मकवानपुरका साविकका इञ्चार्ज विजय गौतमसहित दुवै पार्टीको तस्बिर सार्वजनिक भएको छ ।

    संयुक्तरुपमा पार्टी सञ्चालन भएको भोलिपल्ट अर्थात मंसिर ९ गते भने समाजवादी पार्टीले आफ्ना उपसचिव कविन पन्तलाई कारबाही गरेको छ । पार्टी अध्यक्ष विष्णु दाहाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा गएपछि नेतृत्व चयन हुन बाँकी रहेको पार्टी माओवादीमा समाहित भइरहँदा कार्यबाहक अध्यक्षका रुपमा उपाध्यक्ष ध्रुव भुजेलले पन्तलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि मकवानपुरमा यसको चर्चा भइरहेको छ ।

    अघिल्लो दिन नयाँ पार्टी सञ्चालन गर्ने र भोलिपल्ट पुरानो पार्टीको लेटर प्याडमा कारबाही गर्दा कम्तीमा ढंग त मिलाउनु पर्छ नि भनेर आलोचना भइरहेको छ ।

    माओवादीसँग मिसिने तयारीपछि माधव कुमार नेपालले पनि घनश्याम भूसालहरुलाई साधारण सदस्यबाटै कारबाही गरेका थिए तर मिति अघिल्लो दिनको राखेर ढंग पुर्याइएको थियो । त्यही सिको गरेर मकवानपुरमा पनि कारबाही गरिँदा मिति नमिलेपछि अहिले समाजवादी पार्टीको कारबाही कुण्ठा मात्रै पो हो कि भनेर चर्चा भइरहेको छ ।

    यता आफूलाई कारबाही भएको विषयमा कविन पन्तले बुधबार बिहान सामाजिक सञ्जालमा लामो विवरण लेखेर ‘कोही बात छैन’ भनेर जवाफ दिएका छन् । उनले पार्टी नेतृत्व मुनु सिग्देललाई दर्जन हाराहारीमा प्रश्न पनि गरेका छन् । उनको तर्क यस्तो छः

    कमरेड पूर्वइन्चार्ज, माफ गर्नुहोस्, तपाईंले गर्नु भएको फोन उठाउन सकिनँ र उठाउनुको औचित्य पनि छैन, तपाईं केही तपाइंका लठैतहरुलाइ प्रयोग गरेर जो (डेट एक्सपायर भैसकेका छ्न्) कारबाही को मञ्चन गर्दै हुनुहुन्छ, त्यसले राजनीतिक क्षमता र हैसियत प्रस्ट देखाउँछ र सबैले बुझ्ने गरी देखाउनु भएकोमा धन्यवाद पनि छ ।
    अब प्रश्न गरौँ,

    १. तपाईंले नेतृत्वलाई पदका लागि धम्की दिँदा त्यो सही हुने, हामीले तपाईंलाइ प्रश्न गर्दा हामी गलत कसरी ?

    २. आजसम्म तपाईंले माथि नेतृत्व र तल कार्यकर्तालाई धम्क्याएरै पद प्रतिष्ठा आर्जन गरिरहनु भएको छ भन्ने प्रस्ट भएन र ?

    ३. पाउढोग गर्ने प्रवृत्ति गलत छ भनेर नै हामी बिद्रोही भएका हैनौँ र ?

    ४. त्यत्रो उत्साह भएको पार्टी जिल्ला अन्तत तपाईंको घरभित्र सीमित कसरी भयो, तपाईं र तपाईंको प्रवृत्तिले होइन र ?

    ५. जनताका लागि धेरै गरेका छौँ भन्ने घमण्ड हो भने एकपटक तल जनतापट्टि फर्किएर हेर्नुहोला, आफ्ना कुरा सुनाउन केही संख्या पनि उपस्थित गराउन नसक्ने अवस्थामा कसरी पुग्नु भो ?

    ६. समय सापेक्ष जिल्ला नेतृत्व हस्तान्तरणमा भूमिका खेल्नुस भन्दा गलत कसरी देख्नु भो ?

    ७. पार्टीको जिल्ला अधिवेशन तपाईं र तपाईंको घरको कारण लम्बिएको थियो भन्दा हामी अराजक ?

    ८. ६ महिनाअघि जिल्लाको विवाद सबै मिलाउँछु भनेर हामीलाई वचन दिनु भएको र त्यसपछि लगातार बैठक बोलाउदै निर्णय गर्दै अघि बढनु भएको होइन र ? खोइ छलफल कहाँ गर्नु भो ?

    ९. विद्रोह र एसको स्थापनापछि तपाईं र तपाईंको घरको धम्क्याइ सहन सकिन्न भन्दै लगातार ३ जना अध्यक्षले राजीनामा दिएको विसय असत्य हो र ?

    १०. नेतृत्वलाई धम्की दिएरै आफू बन्नका लागि तयार हुने तपाईं र तपाईंहरुबाट अरु पनि बिग्रन सक्छ्न् भनेर प्रश्न गर्न नपाउने हो र ?

    ११. उहाँहरुको पाउमोलाइ र दासत्व स्वीकारबिना नेता बन्न मुस्किल छ है जिल्लामा भनेर आमरुपमा सचेत गराउँदा गल्ती कता भो ?
    र, तपाईंहरुको आत्माकेन्दृत निर्णय र म नै सर्वेसर्वा भन्ने भावले पार्टी बिग्रेको हो, हामीजस्ता कार्यकर्ताको राजनीतिक भविष्य सकिएको हो भनेर प्रश्न गर्दा अराजक देख्ने तपाईंहरुकै कारण जिल्लाले नयाँ परिवर्तन खोजेको हो !

    अन्त्यमा जनताले कारबाही गरेका तपाईंहरुले हामी जस्ता इमान्दार कार्यकर्ताको हुर्मत लिने गरी गरेको कारबाहीको कुनै अर्थ छैन ! गलतलाई गलत भनेबापत आज भन्दा १३–१४ वर्षअघि पनि गुटका नाममा यस्तै भएकै थियो, त्यो इतिहास हो !

  • खगेन्द्र सुनार नेतृत्वको ‘हाम्रो पार्टी नेपाल’ निर्वाचन आयोगमा दर्ता, सोमबार बाजागाजासहित प्रमाणपत्र लिने तयारी

    खगेन्द्र सुनार नेतृत्वको ‘हाम्रो पार्टी नेपाल’ निर्वाचन आयोगमा दर्ता, सोमबार बाजागाजासहित प्रमाणपत्र लिने तयारी

    काठमाडौँ । अभियन्ता खगेन्द्र सुनार नेतृत्वको ‘हाम्रो पार्टी नेपाल पार्टी’ले निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार कात्तिक १८ गते आयोगमा दल दर्ताका लागि निवेदन दिएकोमा आइतबार हाम्रो पार्टी नेपाल दल दर्ता भएको हो ।

    गोलो घेराभित्र राम्रो जनाउने लाइक चुनाव चिन्ह रहेको सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल २१६ नम्बरमा दर्ता भएको आयोगले जनाएको छ । आयोगका अनुसार सुनारले सोमबार आयोगमा बाजागाजासहित दल दर्ताको प्रमाणपत्र लिन आउने जानकारी गराएका छन् ।

    सुनार नेतृत्वको हाम्रो पार्टी नेपालसँगै आइतबार सत्यवानकुमार सिंह नेतृत्वको स्वाभिमान पार्टी र रन्तप्रसाद श्रेष्ठ नेतृत्वको मुठीमाा धानको बाला निर्वाचन चिन्ह रहेको नागरिक सर्वोच्चता पार्टीसमेत दर्ता भएको छ । स्वाभिमान पार्टीले गत कात्तिक २८ गते र नागरिक सर्वोच्चता पार्टी नेपालले गत कात्तिक २१ गते आयोगमा दल दर्ताका लागि निवेदन दिएको थियो ।

    आइतबार थप ३ दल दर्ता भएसँगै जेनजी आन्दोलनपछि मात्रै दर्ता हुने दलको संख्या १३ पुगेको छ । अझै २५ वटा दल दर्ताको प्रक्रियामा रहेका छन् । मंसिर १० गते बिहानसम्म दल दर्ताको प्रमाणपत्र लिने दलले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिन पाउनेछन् ।

  • निर्वाचनमा भाग लिने दलको सङ्ख्या ५६, हर्क साङपाङको दलसहित आइतबार १६ दल दर्ता

    निर्वाचनमा भाग लिने दलको सङ्ख्या ५६, हर्क साङपाङको दलसहित आइतबार १६ दल दर्ता

    काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिन दर्ता हुने दलको सङ्ख्या ५६ पुगेको छ । निर्वाचन आयोगका अनुसार आइतबारसम्म ४० वटा दल दर्ता भएकोमा आइतबार मात्रै थप १६ दल दर्ता भएका छन् ।

    आइतबार दर्ता हुने दलमा नेपाली कांग्रेस, नेपाल समावेशी पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, नेपालका लागि नेपाली पार्टी, सचेत नेपाली पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टी, राष्ट्रिय विकास पार्टी, नेसनल रिपब्लिकन नेपाल र युनाइटेड नेपाल डेमोक्र्याटिक पार्टी छन् ।

    यस्तै, जय मातृभूमि पार्टी, नेपाल नौलो जनवादी पार्टी, श्रम संस्कृति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, स्वाभिमान पार्टी, जनप्रजातान्त्रिक पार्टी र जनता प्रगतिशिल पार्टी नेपाल आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि शुक्रबार दर्ता भएका छन् ।

    निर्वाचन आयोगका अनुसार मङ्सिर १० गतेसम्म प्रतिनिधि सभा निर्वाचनमा भाग लिन चाहने दल र मङ्सिर ७ गतेसम्म राष्ट्रिय सभा निर्वाचनमा भाग लिन चाहने दलले दर्ता गराइसक्नुपर्नेछ । प्रतिनिधि सभामा भाग लिन पहिलो दिन मंसिर १ गते १२ दल, दोस्रो दिन २ गते ५ दल, तेस्रो दिन ३ गते र चौथो दिन ४ गते ८–८ दल, पाँचौ दिन ५ गते ७ दल र सातौँ ७ गते आइतबार १६ दल दर्ता भएका छन् ।

    यस्तै आगामी माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनमा भाग लिन दर्ता हुने दलको संख्या १३ पुगेको छ । आइतबार नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, श्रम संस्कृति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र तराई मधेश लोकतान्त्रिक पार्टी आगामी निर्वाचनमा भाग लिनका लागि आयोगमा दर्ता भएका छन् । राष्ट्रिय सभा निर्वाचनमा भाग लिन पहिलो दिन मंसिर १ गते ३ दल, दोस्रो दिन २ गते एउटा दल, तेस्रो दिन ३ गते २ दल, पाचौँ दिन २ दल र सातौँ दिन ४ दल दर्ता भएका हुन् ।

  • आज तीन नेताको पार्टी एकता हुँदै

    आज तीन नेताको पार्टी एकता हुँदै

    काठमाडौँ । बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियार नेतृत्वका पार्टी तथा घटकहरुले आज काठमाडौँमा एकता सभा गर्दैछन् ।

    भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार नेतृत्वको समूहको एकता सभा हुन लागेको हो ।

    राष्ट्रिय सभागृह काठमाडौँमा दिउँसो १२ः३० बजे कार्यक्रम हुने र यसको अध्यक्षता सन्तोष परियारले गर्ने बताइएको छ । उनीहरुबीच कात्तिक २८ गते एकता सहमतिमा हस्ताक्षर भएको थियो ।

    एकता घोषणापछि पार्टीमा थोरै समूहको अध्यक्ष परिषद् बनाइने भएको छ ।

    तीन पक्ष मिलेपछि पार्टीको नाम प्रगतिशील लोकतान्त्रिक पार्टी हुनेछ । पार्टी संरक्षकमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई रहने छन् भने माओवादी पूर्व उपमहासचिव जनार्दन शर्मा पार्टीको कार्यकारी भूमिकामा रहने छन् । पार्टीको चुनाव चिहृन आँखा हुने छ । दल दुर्गा सोबको नाममा निर्वाचन आयोगमा दर्ता भइसकेको छ ।

  • प्रकाश ज्वालाको दिग्दारीः केपी ओलीले वास्तै नगरेपछि माओवादीसँग एकता

    प्रकाश ज्वालाको दिग्दारीः केपी ओलीले वास्तै नगरेपछि माओवादीसँग एकता

    दाङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता प्रकाश ज्वालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वास्तै नगरेकाले माओवादीसँगको एकतामा जानु परेको भन्दै दिग्दारी व्यक्त गरेका छन् । तुलसीपुरमा पत्रकारहरूसँग कुरा गर्दै नेता ज्वालाले माओवादीसँगको एकता रहर नभई बाध्यताले भएको संकेत गरे ।

    उनले माओवादीसँगको एकताअघि एमालेमा फर्किन आफूले छलफल चलाए पनि एमालेबाट कुनै प्रतिक्रिया नआएको दुःखेसो पोखे । ‘एमाले फर्किन मैले एमालेका केही साथीहरूसँग छलफल पनि चलाएको हुँ,’ उनले भने, ‘तर, एमालेबाट रेस्पोन्स नै भएन ।’ केपी ओली निकै अंहकारी भएको टिप्पणी गर्दै नेता ज्वालाले ओलीले आफू सुध्रिने प्रतिवद्वता मात्रै जनाएको भए तत्कालीन नेकपा एसका धेरै नेता उतिबेलै एमालेमा फर्किन तयार भएको बताए ।

    ‘ओली सुध्रिने प्रतिवद्वता मात्रै खोजेका थियौँ, उनले प्रतिवद्धता पनि गरेनन्,’ उनले भने, ‘उनले सुध्रिने प्रतिवद्वता जनाएको भए धेरै नेता एमालेमा फर्किने थियौँ ।’ ओलीले बेवास्ता गरेपछि माओवादीसँगको एकतामा गएको उनको भनाई छ ।

  • बिहारमा कसरी असफल भयो राहुल गान्धी र तेजस्वी यादवको गठबन्धन ?

    बिहारमा कसरी असफल भयो राहुल गान्धी र तेजस्वी यादवको गठबन्धन ?

    काठमाडौँ । भारतको बिहार विधानसभा चुनावमा राष्ट्रिय जनता दल (आरजेडी) र कांग्रेस पार्टीको महागठबन्धन पूर्ण रूपमा किन असफल भयो भनेर भारतीय सञ्चार माध्यमहरुले अनेक विश्लेष्ण गरिरहेका छन् ।

    गठबन्धन पराजयको मुख्य कारण भने गठबन्धनमा आन्तरिक विश्वासको कमी र मुख्यमन्त्री पदमा कांग्रेसले तेजस्वी यादव बोक्दा कांग्रेस नेता राहुल गान्धीको कमजोर प्रदर्शन र सिट बाँडफाँडमा ठूलो फाटो देखिएको विषय सतहमा आएको छ । यसले गठबन्धनलाई भारी मात्रामा क्षति पुर्याएको देखिएको छ ।

    यही कमजोरीको फाइदा उठाउँदै सत्तारुढ एनडीए गठबन्धन बिहार विधानसभा चुनावमा भारी विजय हासिल गरेर पुनः सत्तामा कायम रहने भएको छ भने आरजेडी–कांग्रेस महागठबन्धन फेरि जोडिनै नसक्ने पो हो कि भन्ने हिसाबले ध्वस्त भएको छ । यसले यो पुष्टि गरेको छ कि, सन २०१० पछिको सबैभन्दा खराब प्रदर्शन गठबन्धनले गर्दा तेजस्वी यादव र राहुल गान्धीको राजनीतिक यात्रामै ठूलो संकट देखिएको छ । मूलतः उनीहरु पराजित हुनुको कारण यस्ता छन्ः

    १. विश्वासको अभाव
    विधानसभा चुनाव घोषणा हुनुभन्दा अगाडि नै, महागठबन्धनका घटक दलहरू र ती सहयोगीहरू बीच विश्वासको गम्भीर अभाव देखिन्थ्यो । कोही पनि एक अर्काको सहयोगीको भूमिका खेल्न तयार थिएनन् । मतदाता अधिकार यात्रापछि राहुल गान्धी बिहारबाट गायब भएपछि र आन्तरिक कलहको गुनासोमा ध्यान दिन अस्वीकार गरेपछि विवाद सार्वजनिक भइसकेको थियो कि मुकेश साहनी र सीपीआई(एम) जस्ता साना दलले खुलेआम हिस्सा मागेर गठबन्धनमा भाँजो हालिसकेका थिए । राहुल र तेजस्वीले मिलाउन सकेनन् । तेजस्वी र राहुलको यो बीचमा भेटसमेत भएन ।

    बरु, तेजस्वी रिसाउँदै पटना फर्किएको रिपोर्ट बाहिरियो । सिट बाँडफाँटको विवादले महागठबन्धन विभाजित भइसकेको थियो । प्रत्येक दलले आआफ्नो अभियान शुरु गर्दा पार्टी कार्यकर्तामा तनाव निम्तियो । अविश्वास उत्पन्न भयो र अन्ततः मतहरू स्थानान्तरण भएन ।

    २. मुख्यमन्त्रीको उम्मेदवारमा कमजोरी
    तेजस्वी यादवलाई मुख्यमन्त्री उम्मेदवार घोषणा गर्नु महागठबन्धनको सबैभन्दा ठूलो गल्ती साबित भएको छ । कांग्रेसका धेरैले तेजस्वीलाई भ्रष्टाचारका मुद्दा र ‘जंगल राज’ को विरासतले थिचिएको भनेर चिन्थे । उनीहरु नै आफ्नो पार्टीको उम्मेदवारलाई विश्वास गर्दनथे ।

    यहीबेला तेजस्वीमाथि विश्वसनीयता र शैक्षिक योग्यताको प्रश्न उठ्यो । मतदाताहरू विभाजित भए । कांग्रेसले आफ्नो अनुभवी नेता अशोक गहलोतलाई मैदानमा उतारे पनि समस्या हल हुन सकेन । यतिखेर निकै ढिलो भइसकेको थियो । पोस्टरमा तेजस्वीको उपस्थितिले आरजेडीले आफ्नो निर्णय कांग्रेसमाथि लादेको सन्देश दियो भन्ने कांग्रेसलाई पर्न गयो । अर्को ठूलो गल्ती भनेको मुकेश सहनीलाई उपमुख्यमन्त्री उम्मेदवार घोषणा गर्नु थियो, जसले मुस्लिम समुदायलाई आक्रोशित बनायो ।

    ३. राहुल गान्धी फ्लप
    विपक्षी नेतृत्वको अभियान यस्तो फितलो थियो कि साझेदारहरूबीच समन्वय अभाव थियो । राहुल गान्धी आफ्नो अमेरिकी भ्रमणपछि राजनीतिक दृश्यमा फर्कंदासम्म कांग्रेसले आफ्नो बाटो बिराइसकेको थियो । राहुल गान्धीको ¥यालीले मतदातालाई प्रभावित गर्नै सकेन । किनभने उनी बसाइँसराइ र बिहारका मानिसलाई देशका अन्य भागमा कसरी धकेलिएको छ भन्नेबारे मात्रै कुरा गरिरहेका थिए । राहुल गान्धीका भाषण पुरानो देखिन्थे र समर्थन जुटाउन असफल भए । राहुल गान्धीको बिहारमा कुनै प्रभाव देखिएन ।

    बिहारका युवाले राहुल गान्धीसँग सम्पर्क गर्न सकेनन् र उनलाई बाहिरी व्यक्तिको रूपमा हेरे । प्रियंका गान्धीको करिश्मा पनि उत्तर प्रदेश र कर्नाटकमा जति राम्रोसँग काम गर्न सकेन, त्यति राम्रोसँग काम गर्न सकेन । कांग्रेसका स्टार प्रचारक बिहारमा पूर्ण रूपमा असफल भए ।

    ४. उठाउन नसकिएको एउटा राष्ट्रिय मुद्दा
    राहुल गान्धीले राष्ट्रिय राजधानीमा ‘भोट चोरी’ (चुनावमा भएको धोखाधडी) सम्बन्धी आफ्नो मेगा पत्रकार सम्मेलनपछि, ‘मतदाता अधिकार यात्रा’ शुरु गरे । यद्यपि, प्रारम्भिक उत्साहपछि नै एसआइर मुद्दाले जनतामाझ समर्थन प्राप्त गर्न र समर्थन जुटाउन असफल भयो । जबकि राहुल गान्धीले भोट चोरीमा जोड दिए, जुन सायद राष्ट्रिय मुद्दा थियो । कांग्रेसले यो बुझ्न सकेन कि यो बिहारको राजनीतिक परिदृश्यमा प्रवेश गर्न कठिन थियो । यता, एनडीए तुरुन्तै सतर्क मोडमा गयो र सरकारी योजनाको श्रृंखलाको सामना ग¥यो र ‘लखपति दीदी योजना’मार्फत महिला मतदातालाई आकर्षित गर्न सफल भयो ।

    ५. सिट बाँडफाँटमा विवाद
    सिट बाँडफाँटलाई लिएर महागठबन्धनभित्रको आन्तरिक कलह पटनादेखि दिल्लीसम्म फैलिएको थियो । यसअघि लालुप्रसाद यादव र सोनिया गान्धीले धेरै गठबन्धनबीचको तनाव कम गरेका थिए, तर यसपटक वरिष्ठ नेताहरूको फिर्ताका कारण यो खुला युद्धमा परिणत भयो । यसपटक गठबन्धनसँग अनुभव र मतभेद कम गर्न सक्ने सन्देशवाहक अभाव भयो ।

    राहुल गान्धीका नजिकका विश्वासपात्र कृष्ण अल्लावरुले केही ‘जित्न सकिने’ सिटहरूमा आफ्नो अडानबाट पछि हट्न अस्वीकार गरे । आरजेडी र कांग्रेसबीचको तनाव यति बढ्यो कि धेरै दिनसम्म वार्ता रोकियो र दुई सहयोगीहरूले अन्ततः लगभग एक दर्जन सिटमा एकअर्का विरुद्ध प्रतिस्पर्धा गर्न थाले ।

    यसले महागठबन्धनको सम्पूर्ण चुनावी अभियानलाई मात्र असर गरेन, पार्टीको आन्तरिक सम्बन्धलाई पनि चिस्यायो र पार्टी कार्यकर्ताहरूबीचको एकता कमजोर बन्यो । एनडीएलाई फाइदा हुन गयो ।

    बिहारमा भाजपाको जित
    राज्यको २४३ विधानसभा सिटमध्ये भाजपाले सबैभन्दा धेरै ८९ सिट जित्यो । जबकि यसको सहयोगी जेडीयूले ८५ सिट जितेको छ । त्यही समयमा, एनडीएले २०२ सिट जित्दै भारी विजय हासिल ग¥यो । अर्कोतर्फ, आरजेडी–कांग्रेस नेतृत्वको महागठबन्धन ३५ सिटमा झरेको छ । (एजेन्सीहरुको सहयोगमा)

  • सुधन गुरुङको आरोप- गृहमन्त्री ओमप्रकाश अर्याल त एमालेको जस्तो लाग्न थाल्यो !

    सुधन गुरुङको आरोप- गृहमन्त्री ओमप्रकाश अर्याल त एमालेको जस्तो लाग्न थाल्यो !

    काठमाडौँ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार आफैँले बनाएको दाबी गर्ने जेन्जी आन्दोलनपछि चर्चामा आएका हामी नेपालका संयोजक सुदन गुरुङ गृहमन्त्री ओमप्रकाश अर्यालमाथि फेरि आक्रामक बनेका छन् ।

    नेपाल स्काउटको जग्गामा बनेका संरचना हटाउने क्रममा महानगर प्रहरीसँगै देखिएका गुरुङले गृहमन्त्री अर्याल एमालेजस्तो लाग्न थालेको टिप्पणी गरे । उनले जंगी अड्डादेखि शीतल निवाससम्म आफूहरुसँग संविधानविद्का रुपमा उपस्थित भएका अर्यालले अहिले आएर चुनावमात्र भन्दै ढाँट्ने काम गरेको आरोप लगाए ।

    गुरुङले भने, ‘उहाँको एजेण्डा भनेको चुनावमात्र रहेछ, हाम्रो एजेण्डा भनेको देशलाई न्याय हो र व्यवस्था परिवर्तन हो । यो व्यवस्थामा हामी चुनावमा जान्छौँ र ? देशलाई न्याय नभई हामीलाई न्याय नभई हामी चुनाव हुनै दिँदैनौँ । उहाँले त जेन्जीहरुलाई समातिराख्नु भएको, यतापट्टि पोलिटिकल पार्टीकालाई छोएको पनि छैन । मलाई त कहिलेकहिले उहाँ त एमालेको पो हो कि जस्तो लाग्छ, हाम्रो गृहमन्त्रीज्यू ।’

    उनले जेन्जीहरुलाई मिलाउन आफू २ महिनादेखि लागेको भन्दै वडासम्मै समितिहरु बनाइसकेको दाबी गरे । उनले चाँडै आफूले अबको योजना खुलासा गर्न लागेको बताए ।

  • रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी नेपाल पार्टी दर्ता, साढे ११ बजे प्रमाणपत्र दिइँदै

    रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी नेपाल पार्टी दर्ता, साढे ११ बजे प्रमाणपत्र दिइँदै

    काठमाडौं । रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी नेपाल दर्ता भएको छ । दल दर्ताका लागि चाहिने सबै प्रमाण पुर्याएपछि र केन्द्रीय समितिका सबै पदाधिकारी तथा सदस्यले सनाखत गरेपछि आयोगले मंगलबार दल दर्ता गर्ने निर्णय गरेको हो ।

    दल दर्ता भएपछि चौधरीसहित पार्टीका पदाधिकारी निर्वाचन आयोगको कार्यालयमा आज बिहान साढे ११ बजे दल दर्ताको प्रमाणपत्र लिन लागेको रेशम चौधरीले नेपाल प्रेसलाई जानकारी दिए । रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीका संरक्षण रहेका चौधरीले छुट्टै दल दर्ता गराएका हुन् ।

    बामदेव गौतम नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एकता अभियान माओवादी र समाजवादी सहितको नेपाली कम्युनिष्ट पार्टीमा एकिकरण भएपछि  दल खारेजका लागि गौतमले मंगलबार निवेदन दिएपछि खारेज भएको छ । मंगलबार गौतमको दल खारेज र चौधरीको दल दर्ता भएसँगै निर्वाचन आयोगमा दर्ता भएका दलको संख्या १२५ पुगेको आयोगका प्रवक्ता समेत रहेका सहसचिव नारायणप्रसाद भट्टराईले नेपाल प्रेसलाई जानकारी दिए ।

  • बिहारमा आज दोस्रो चरणको विधानसभा चुनाव

    बिहारमा आज दोस्रो चरणको विधानसभा चुनाव

    काठमाडौँ । भारतको बिहारमा आज मंगलबार दोस्रो र अन्तिम चरणको विधानसभा निर्वाचन हुँदैछ । बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान तालिका भएकाले मतदाता मतदानमा सहभागी हुँदैछन् । १२२ सिटका लागि १ हजार ३ सय २ उम्मेदवार चुनावीमैदानमा छन् ।

    ३ करोड ७० लाखभन्दा बढी मतदाता मतदानमा सहभागी हुने अपेक्षा गरिएको छ। तीमध्ये १ करोड ७५ लाख महिला छन् । ४५ हजार ३ सय ९९ मतदान केन्द्रमा मतदान व्यवस्था मिलाइएको छ । ४० हजार ७३ मतदान केन्द्र ग्रामीण क्षेत्रमा छन् ।

    नवादा जिल्लाको हिसुआ क्षेत्र सबैभन्दा बढी मतदाता भएको भूगोल हो । यहाँ मात्रै ३.६७ लाख मतदाता छन् । त्यस्तै लौरिया, चनपटिया, रक्सौल, त्रिवेणीगंज, सुगौली र बनमखी निर्वाचन क्षेत्रहरूमा प्रत्याशीको संख्या सबैभन्दा बढी अर्थात् २२–२२ जना छन् । बिहारमा मतदानका कारण नेपालमा सीमा जोडिएका मधेशका थुप्रै जिल्लामा नेपाल भारत आउजाउ पनि निषेध गरिएको छ ।

    नेपाल सीमासँग जोडिएका पश्चिम चम्पारण, पूर्वी चम्पारण, सीतामढी, मधुबनी, सुपौल, अररिया र किशनगंज लगायतका जिल्लामा मतदान हुन लागेको हो ।

  • प्रभु साहको तर्कः वर्तमान व्यवस्था राजनीतिक लुट एवम् भ्रष्टाचारको ओढार

    प्रभु साहको तर्कः वर्तमान व्यवस्था राजनीतिक लुट एवम् भ्रष्टाचारको ओढार

    काठमाडौँ । आमजनता पार्टीका अध्यक्ष प्रभु साहले वर्तमान संविधान खारेजीको माग गरेका छन् । मधेश प्रदेशमा मु्ख्यमन्त्री नियुक्ति विषयलाई लिएर उनले वर्तमान संवैधानिक व्यवस्था असफल भएको बताएका छन् । उनले यो व्यवस्था अनैतिक राजनीतिक लुट र भ्रष्टाचारको ओढारमा सीमित भएको तर्क गरेका छन् ।

    उनले भनेका छन्, ‘मधेशमा मुख्यमन्त्रीको गोप्य नियुक्तिले फेरि एकपटक पुष्टि भयो कि वर्तमान संवैधानिक व्यवस्था असफल मात्र हैन अनैतिक राजनीतिक एवम् लुट–भ्रष्टाचारको ओढार हो ।’ उनले समस्याको मुख्य जडको रूपमा रहेको गलत संवैधानिक प्रावधानलाई छोडेर एक अर्कालाई मात्र दोषारोपण गर्नु फेरि अर्को बेइमानी हुने बताउँदै गलत संवैधानिक व्यवस्थाको विरोध गर्न र नक्कली संविधान निर्मातालाई दण्डित गर्न आग्रह गरेका छन् ।

    उनले भनेका छन्, ‘देशवासीसँग विनम्र आग्रह छ, वर्तमान लुटकारी व्यवस्थामाथी पुनर्बिचार गर्नुस् । खासगरी संविधान निर्माताहरूलाई भन्न चाहन्छु, तपाईंहरूले आफनो गल्ती स्वीकार्नुस् र आत्मलोचित भई समयमै संविधान खारेजीको पक्षमा आउनुस् । यसैमा सबैको भलाई छ ।’

  • राष्ट्रिय मुक्ति पार्टीको धारणा–सभामुखलाई महाभियोग लगाऔँ, प्रदेश प्रमुख हटाउन डेलिगेसन जाऔँ

    राष्ट्रिय मुक्ति पार्टीको धारणा–सभामुखलाई महाभियोग लगाऔँ, प्रदेश प्रमुख हटाउन डेलिगेसन जाऔँ

    काठमाडौँ । ठूलो दलको हैसियतमा मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि उनी विवादित भएकी छिन् ।

    सोमबार कानून व्यवसायीहरुसँग परामर्शपछि सरकार गठन आह्वान गर्ने तयारीमा रहेकी भण्डारीले त्यसो नगरी सोमबार बिहान हठात् प्रदेश राजधानी बाहिर होटलमा धारा १६८ उपधारा ३ अनुसार मुख्यमन्त्री नियुक्त गरेपछि उनलाई हटाउनु पर्ने आवाज उठेको छ ।

    रष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव केशव झाले मधेश प्रदेशमा संविधानको घोर उल्लंघन भएको बताउँदै सभामुख रामचन्द्र मण्डलमाथि महाभिवयोग लगाउन र प्रदेश प्रमुख भण्डारी हटाउन मधेशको सर्वदलीय डेलिगेसन राष्ट्रपतिकहाँ जानु पर्ने सझुाएका छन् ।

    उनले फेसबुकमा लेखेका छन्, ‘झुठ, फरेब, धोकाधढी गरेरै सत्ता सञ्चालन गरेका राज्यधारीहरुले फेरि एकपटक मधेश प्रदेशमा संविधानको घोर उलंघन र लोकतान्त्रिक मूल्यमान्यताको धज्जी उडाएका छन् । दुईवटा काम सँगै गरौँ, पहिलो सभामुखमाथि महाअभियोग लगाउँ र सर्वदलीय डेलिगेसन राष्ट्रपति कहाँ पुगि प्रदेश प्रमुख हटाउन लगाऔं । साथै सबै मिलेर एमालेविहीन मधेश प्रदेशको संकल्प लिउँ। विधि प्रक्रिया नमान्ने पार्टी चाहिदैँन।’

  • अघिल्लो दिनसम्म धारा २ बारे ध्यानाकर्षण, भोलिपल्ट धारा ३ अनुसार मन्त्री

    अघिल्लो दिनसम्म धारा २ बारे ध्यानाकर्षण, भोलिपल्ट धारा ३ अनुसार मन्त्री

    काठमाडौँ । कामचलाउ मुख्यमन्त्रीसँगै बिदा भएर उपचारका लागि काठमाडौँ हिँडेकी मधेश प्रदेश प्रमुख सुमित्रा देवी भण्डारीले बर्दिबासको होटल पानसमा ठूलो दलको हैसियतमा नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि मधेशको राजनीतिले देशै तरंगित पारेको छ । निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले नै मधेशमाथि धोका भएको प्रतिक्रिया दिइसकेका छन् । यता, उनै सोनलले दोस्रोपटक धोका पाएका छन् ।

    आइतबारसम्म सोनलसहितको गठबन्धनमा संविधानको धारा १६८ उपधारा २ अनुसार सरकार बनाउन अपिल गर्दै प्रदेश प्रमुख कार्यालय पुगेको नेपाल संघीय समाजवादी पार्टीकी सांसद बिमला अन्सारी सोमबार बिहानै उपधारा ३ अनुसार बनाइएको सरकारमा विनाविभागीय मन्त्री बनेकी छिन् ।

    उनीसँगै बर्दिवासको कालापानीस्थित होटल पानसमा एमालेका लखन दास तत्मा र राप्रपाकी सांसद कञ्चन बिच्छा पनि विना विभागीय मन्त्री बनेका छन् । उनीहरुले मुख्यमन्त्री यादवपछि विनाविभागीय मन्त्रीको शपथ खाएका छन् ।

  • मधेशमाथि धोका भयोः सोनल

    मधेशमाथि धोका भयोः सोनल

    काठमाडौँ । मधेश प्रदेशमा निवर्तमान मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले मधेशका जनतामा माथि प्रदेश प्रमुखले धोका दिएको प्रतिक्रिया दिएका छन् ।
    उनले केहीबेरअघि फेसबुकमा सानो भिडियो क्लिप राख्दै भनेका छन्, ‘मधेश प्रदेशको जनतासँग धोका भयो । स्वास्थ्य उपचारका नाममा निस्केकी मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिन्धुली र महोत्तरीको सिमानाको एउटा होटेलमा प्रदेशको अस्मिता समाप्त पार्ने खेल गरिन् । एक त महिला अर्को स्वास्थ्यको कुरा गरिन् ।’
    उपचारका लागि काठमाडौँ जाने भन्दै सोमबार बिहान सोनलले नै प्रदेश प्रमुख भण्डारीलाई बिदाइ गरेका थिए ।
  • सुकुम्बासी बस्तीमा दुर्गा प्रसाईको भाषण–तपाईको वस्तीमा डोजर ल्याए बालेनको घर भत्काउन जानुस्

    सुकुम्बासी बस्तीमा दुर्गा प्रसाईको भाषण–तपाईको वस्तीमा डोजर ल्याए बालेनको घर भत्काउन जानुस्

    काठमाडौं । मंसिर ७ गते आन्दोलनको घोषणा गरेका मातृभूमि बचाउ अभियानका प्रमुख दुर्गा प्रसाईले सुकुम्बासी बस्ती भत्काउन काठमाडौं महानगरका मेयर बालेन शाहको प्रयास सफल हुन नदिने बताएका छन् ।

    आइतवार विहान मनोहराको सुकुम्बासी बस्तीमा कोणसभा गर्दै प्रसाईले बालेन र राजु पाण्डेविरुद्ध लड्न आफूले सहयोग गर्ने बताए । उनले बालेनमाथि विभिन्न आरोप लगाउँदै सुकुम्बासी बस्तीमा महानगरको डोजर आउनुभन्दा पहिले बालेनको घरमा पुगेर श्रीमती र परिवारलाई बाहिर निकाल्न उक्साए ।

    प्रसाईले भने–घर जलाउन र मान्छे निकाल्न उनीहरुले सिकाएका हुन् । तपाईहरुकोमा भत्काउन आयो भने तपाईहरु हुरुरु उसको घरतिर जानुस् । श्रीमतीलाई बाहिर निकाल्नुस् । तपाईहरुको बच्चालाई निकाल्छ भने उसको बच्चामात्रै बच्चा हो ? उसको पनि भत्काउने हो । यो सरकारी जमिन बालेनको बाउको होइन र राजु पाण्डेको बाउको पनि होइन । जसले लछारपछार गर्छ उसको स्वास्नीलाई पनि लछारपछार गर्नुस् ।

    अब छाड्ने होइन,मंसीर ७ को तयारीमा लाग्नुस् । प्रसाईले बालेनसँग मिलेर भिक्टर पौडेलले बब्लु गुप्तालाई मन्त्री बनाउन २ करोड खाएको आरोप समेत लगाएका छन् । दलहरुले सुकुम्बासीहरुलाइ भोट बैंक मात्र बनाएको बताउँदै उनले आफूले भोट नमाग्ने बरु सबैलाइ पक्की घर दिलाउन मद्दत गर्ने आश्वासन दिए । सम्पूर्ण दल र बालेनलाई आफूले ठेगान लगाउने चेतावनी उनले दिए। सुकुम्बासी बस्ती खाली गर्न महानगरले दिएको एक हप्ताको अल्टिमेटम आज सकिँदैछ । अल्टिमेटम सकिएसँगै बस्ती खाली गराउने महानगरको योजना छ ।

  • नेपाली कम्युनिष्ट पार्टीले पदाधिकारीको उमेर हदसँगै २० प्रतिशत जेनजी सहभागिता सुनिश्चित गर्ने 

    नेपाली कम्युनिष्ट पार्टीले पदाधिकारीको उमेर हदसँगै २० प्रतिशत जेनजी सहभागिता सुनिश्चित गर्ने 

    काठमाडौं । विभिन्न १० वटा वामपन्थी पार्टीको एकताबाट गठन भएको ‘नेपाली कम्युनिष्ट पार्टी’ ले नेतृत्व विकास र हस्तान्तरणको वैज्ञानिक विधि स्थापित गर्दै पार्टी पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने भएको छ ।
    बुधबार आयोजित पार्टी एकता घोषणा तथा एकताको राष्ट्रिय सम्मेलनमा प्रस्तुत घोषणापत्रमा पार्टीका सबै कमिटीमा ३५ प्रतिशत महिला, २० प्रतिशत जेनजी नवयुवा तथा युवा, १५ प्रतिशत दलित र पाँच प्रतिशत मुस्लिम समुदायबाट प्रतिनिधित्व गराइने उल्लेख छ ।
    घोषणापत्रअनुसार जनवादी केन्द्रीयताको सिद्धान्तका आधारमा सामूहिक नेतृत्व एवं व्यक्तिगत उत्तरदायित्व वहन गर्नेगरी पार्टीको निर्माण र सञ्चालन गरिनेछ भने पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद राखिएको छ ।
    राज्यसत्ता सञ्चालनमा आमजनताको संस्थागत सहभागिता र सरकारको काममा निगरानी गर्ने व्यवस्था सुनिश्चित गरिनेछ । जनअपेक्षाअनुरूप काम नगर्ने जनप्रतिनिधिलाई प्रत्याश्वान गर्ने व्यवस्था गरिनेछ ।
    पहिलो चरणमा सामान्यतः तीनखम्बे अर्थतन्त्रका रूपमा सार्वजनिक क्षेत्र, सामूहिक वा सहकारी क्षेत्र र निजी क्षेत्रमा उद्योगधन्दा विकास गरिनेछ । सार्वजनिक क्षेत्रको क्रमशः विस्तार गर्दै लगिनेछ । वित्तीय एकाधिकार तथा दलाल पुँजीवादको शोषण र हस्तक्षेपबाट मुक्त एवं सार्वजनिक, सहकारी र निजी क्षेत्रको समन्वय, सहकार्य र गतिशील भूमिकासहितको समाजवादी अर्थतन्त्र निर्माण गरिनेछ ।
  • प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति यादवबीच शिष्टाचार भेट

    प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति यादवबीच शिष्टाचार भेट

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा. रामवरण यादवबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ।

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आगामी निर्वाचनको तयारी र राजनीतिक वातावरणका विषयमा चर्चा भएको थियो । प्रधानमन्त्री कार्कीले आफू जेनजी आन्दोलनको भावनाअनुसार मुलुकमा सुशासन कायम गर्दै जननिर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न लागिपरेको बताइन् ।

    त्यस क्रममा पूर्वराष्ट्रपति यादवले सबै राजनीतिक दल चुनावमा जानैपर्ने र चुनावबाट कोही पनि भाग्न नहुने धारणा राखे । उनले सरकारका तर्फबाट चुनावका लागि भइरहेको तयारी र विभिन्न पक्षसँग गरिएको संवादको सह्राना गरे ।

    पूर्वराष्ट्रपति यादवले भने, ‘राजनीतिक दलहरु चुनावमा जानैपर्छ। मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा लैजान चुनाव नै सर्वोत्तम बाटो हो ।’

    उनले सुरक्षा व्यवस्था सुदृढ गराउन सबै सुरक्षा निकायहरुबीचको समन्वयमा जोड दिए । दलहरुले पनि चुनावको अपरिहार्यता बुझेको कारण आउँदो फागुन २१ मा हुने चुनावमा सबैले भाग लिने कुरामा आफू विश्वस्त रहेको पूर्वराष्ट्रपति यादवले बताए ।

    भेटमा अर्थमन्त्री रामेश्वर खनाल सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललगायतको उपस्थिति थियो । मंगलबार मात्रै गृहमन्त्री ‌ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति यादवको ललितपुरस्थित निवासमै पुगेर भेट गरेका थिए । सरकारले आगामी फागुन २१ को निर्वाचनको वातावरण बनाउन विभिन्न पक्षहरुसँग संवाद तीव्र रुपमा अघि बढाएको छ ।