Blog

  • मार्तडी बजार आगलागीको कारण विद्युत सट, क्षति विवरण संकलन गरिँदै

    मार्तडी बजार आगलागीको कारण विद्युत सट, क्षति विवरण संकलन गरिँदै

    बाजुरा । जिल्ला सदरमुकाम मार्तडी बजारमा आगलागीबाट आगलागीबाट करोडौँको क्षति भएको छ ।

    बडीमालिका नगरपालिका-८ का प्रकाश थापाको पसलमा बिजुलीको तार ‘सट’ हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले बताए ।

    पसलमा काठको काम भइरहेको बेला तार सट भएर एक्कासि आगलागी भएको हो ।

    आगलागीबाट बडीमालिका-८ तल्लो जिउलामा सञ्चालनमा रहेको फर्निचर उद्योग, गाडीको ग्यारेजसहितमा सामान जलेर नष्ट भएको छ । सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा आगो निभाइएको जोशीले जानकारी दिए ।

    क्षतिको विवरण यकिन गर्ने काम भइरहेको उनले बताए ।

    -रासस

  • पूर्वमन्त्रीसहित ताप्लेजुङका २ नेतालाई एमालेले गर्‍यो निलम्बन

    पूर्वमन्त्रीसहित ताप्लेजुङका २ नेतालाई एमालेले गर्‍यो निलम्बन

    ताप्लेजुङ । ११औँ राष्ट्रिय महाधिवेशनको संघारमा एमालेले ताप्लेजुङका २ नेतालाई निलम्बन गरेको छ । ताप्लेजुङले महाधिवेशन प्रतिनिधि सर्वसम्मत छनौट गरेको थियो ।

    कोशी प्रदेश कमिटीले कोशी प्रदेश सल्लाहकार परिषद् सदस्य एवं पूर्वमन्त्री बलबहादुर साम्सोहाङ र कोशी प्रदेश पर्यटन विभाग सदस्य मणिशंकर पोमुलाई १५ दिनको स्पष्टीकरण सोध्दै जिम्मेवारबाट मुक्त गरी सो अवधिका लागि निलम्बन गरेको पत्र पठाएको हो ।

    महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचन प्रक्रियाको क्रममा निर्वाचन कमिटी संयोजक राजकुमार चुडालमाथि सांघातिक हमला र निर्वाचन प्रकियामा अवरोध खडा गरेको जिल्लाको सिफारिसअनुसार कारबाही गरिएको पत्रमा उल्लेख छ ।

    कारबाहीको पत्रमा अध्यक्ष घनश्याम खतिवडाले हस्ताक्षर गरेका छन् ।

  • एनपीएल-२ : जनकपुर बोल्ट्सको पहिलो जित

    एनपीएल-२ : जनकपुर बोल्ट्सको पहिलो जित

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा साविक विजेता जनकपुर बोल्ट्सले पहिलो जित निकालेको छ । सुरुआती ४ खेलमा हार बोहोरेको जनकपुरले आफ्नो पाँचौ खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गर्‍यो ।

    चितवनले दिएको १७७ रनको लक्ष्य जनकपुरले १७ ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टायो । जनकपुरको जितका ओपनर माज सदाकतले सर्वाधिक ६३ रन बनाए । अनिल शाह ६१, आसिफ शेख १६ र जोन निकोल लोफ्टी इन्टन ११ रनमा आउट भए । आदित्य मेहता १८ र सन्जय कृष्णमुर्ती ५ रनमा अविजित रहे ।

    बलिङमा चितवनका सोहिल तन्विर, कमलसिह ऐरी र अमरसिंह रौटेलाले एकएक विकेट लिए । त्यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७६ रन बनाएको थियो ।

    चितवनका लागि ओपनर डेविड मलानले सर्वाधिक ८० रन बनाए । उनले ५४ बलमा ४ चौका र ५ छक्का प्रहार गरे । उनले अर्जुन साउदसँग पहिलो विकेटका लागि ११२ रनको साझेदारी गरेका थिए । अर्जुन ५२ रनमा आउट भए । सैफ जैव ७, रवि बोपारा ३ रनमा आउट भए । कप्तान कुशल मल्ल ३० र अमरसिंह रौटेला एक रनमा अविजित रहे । अन्तिम ओभरमा कुशलले १८ रन जोडे ।

    बलिङमा जनकपुरका अनिल शाह, माज सदाकत, रुपेश सिंह र जोन निकोल लोफ्टी इन्टनले एकएक विकेट लिए ।

  • न्याय सेवाका ८ सहसचिवसहित ३८ कर्मचारीको सरुवा, १६ सहसचिवमा र ३३ उपसचिवमा बढुवा (सूचीसहित)

    न्याय सेवाका ८ सहसचिवसहित ३८ कर्मचारीको सरुवा, १६ सहसचिवमा र ३३ उपसचिवमा बढुवा (सूचीसहित)

    काठमाडौं । नेपाल न्याय सेवातर्फ ८ सहसचिवसहित शाखा अधिकृतसम्म गरेर २५ जना कर्मचारीको सरुवा भएको छ ।

    न्याय सेवा आयोगको सोमबार बसेको बैठकले न्याय सेवाका विभिन्न समूहतर्फका ८ सहसचिव, १७ उपसचिव र १३ शाखा अधिकृतको सरुवा गरेको हो ।

    यस्तै आयोगले न्याय सेवाकै विभिन्न समूहतर्फ गरेर १६ जना उपसचिवलाई सहसचिवमा बढुवा गरेको छ भने ३३ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा गरेको छ ।

    जसमा सहसचिवतर्फ ज्येष्ठता तथा कार्यसम्पादन मूल्यांकनबाट ८ जना र कार्यक्षमता मूल्यांकनबाट ८ जना सहसचिवमा बढुवा भएका हुन् ।

    यस्तै ज्येष्ठता तथा कार्यसम्पादन मूल्यांकनबाट १५ जना र कार्यक्षमता मूल्यांकनबाट १७ जनालाई उपसचिवमा बढुवा गरेको छ ।

  • नेकपा एस कोशीका उपसचिव लामा एमालेमा फर्किए

    नेकपा एस कोशीका उपसचिव लामा एमालेमा फर्किए

    विराटनगर । विघटित नेकपा एस कोशी प्रदेशका उपसचिव छिरिङ लामा एमाले प्रवेश गरेका छन । उनी जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख समेत हुन् ।

    एकीकृत समाजवादी र माओवादी सहितका दलहरूका बीचमा एकता भएर नेपाली कम्युनिष्ट पार्टी बनेपछि असन्तुष्ट लामा ‘घर फर्क’ अभियानअन्तर्गत एमालेमा प्रवेश गरेका हुन् ।

    पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्वो, कार्यवाहक अध्यक्ष दिपेन पोमु , पूर्व जिल्ला अध्यक्ष भूपेन्द्र थेबेलगायतले लामालाई स्वागगत गरे । लामासँगै २५ जना समाजवादीका नेता तथा एमाले प्रवेश गरेको राष्ट्रिय जनसांस्कृतिक महासंघ ताप्लेजुङ अध्यक्ष हेमराज निरौलाले बताए ।

  • विष्णु पौडेलसँगको पुरानो फोटो राख्दै ईश्वरले भने- जोखिम, प्रतिकूलता र दुःखका दिनमा हामी सँगै

    विष्णु पौडेलसँगको पुरानो फोटो राख्दै ईश्वरले भने- जोखिम, प्रतिकूलता र दुःखका दिनमा हामी सँगै

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उपाध्यक्ष विष्णु पौडेललाई जन्मदिनको शुभकामना दिँदै विगत सम्झिएका छन् ।

    ११ औँ महाधिवेशनमा पार्टी अध्यक्षमा केपी ओलीसँग भिड्ने घोषणा गरेका पोखरेलले आज पौडेललाई शुभकामना दिँदै विगतका दुःखमा साथ दिएको स्मरण गरेका हुन् ।

    फेसबुकमा पुरानो तस्बिर राख्दै पोखरेलले लेखेका छन्, ‘प्रिय विष्णु पौडेल कमरेड ! जन्म दिवसका अवसरमा हार्दिक शुभकामना ! जोखिम, प्रतिकूलता र दुःखका दिनमा हामीसँगै रहेको क्षण याद दिलाउने तस्बिरमा हामी दुई !’

    महाधिवेशनमा पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा हुँदा पौडेलसँग नतिजामा उलटफेर पार्नसक्ने शक्ति रहेको बताइन्छ । अध्यक्ष केपी ओलीनिकट रहेर काम गर्दै आइरहेका पौडेल ११ औँ महाधिवेशनमा कता खुल्छन् अझै तय भइसकेको छैन ।

    ओलीको पक्षमा खुलेको चर्चा भएपछि आन्तरिक सङ्घर्षमा अन्तिमसम्म पौडेल ‘पर्ख र हेर’ को अवस्थामा रहेको बताइन्छ ।

  • सूचना प्रविधिमा क्रान्ति र हाम्रा चुनौती

    सूचना प्रविधिमा क्रान्ति र हाम्रा चुनौती

    आज संसार नयाँ शितयुद्धमा उभिएको छ । दोस्रो विश्वयुद्ध पछिको शितयुद्धमा संयुक्त राज्य अमेरिका र सोभियत संघ (रुस) बीच राजनैतिक सँगै विज्ञान प्रविधि, अन्तरिक्ष गतिविधि, वातावरण संरक्षण, व्यापारिक साझेदारी, अधिकार आदि क्षेत्रहरूमा कडा प्रतिस्पर्धा देखिएको थियो । अहिले कोभिड महामारीपछि शुरु भएको नयाँ शितयुद्धले अमेरिका, रुस र चीनबीच अन्य विविध क्षेत्र जस्तै सूचना प्रविधिको क्षेत्रमा तीव्र शक्ति संघर्ष भइरहेको देखिन्छ ।

    सामान्यतया शक्ति भन्नाले कसैलाई नियन्त्रणमा राख्ने वा आफ्नो इच्छा अनुसार चलाउने खुवी हो । मूलतः ज्ञान, बल र साहसलाई शक्तिको श्रोत मानिन्छ । तर आजको सूचना–प्रविधिको दुनियाँमा डेटा शक्तिको नयाँ श्रोत बनेर आएको छ । सूचना प्रविधिको तीव्र विकासले विश्वमा आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक संरचनामा गहिरो परिवर्तन ल्याएको छ ।

    बिसौँ शताब्दीको अन्त्य र एक्काइसौँ शताब्दीको सुरुदेखि इन्टरनेट, कृत्रिम बुद्धिमता (AI), बिग डेटा र सामाजिक सञ्जालले विश्वभरको व्यापार, उत्पादन, संरचना र राजनीतिक चेतनामा समेत गहिरो प्रभाव पारेको छ । विश्वका दुई शक्तिशाली राष्ट्रहरू अमेरिका र चीनबीचको एक प्रकारको टेक युद्ध (AI, छन्, र सेमिकण्डकटर) नै चलेको छ । त्यस्तै नेपाल, श्रीलंका, बंगलादेश लगायतका देशमा भएका जेन जी आन्दोलनमा समेत सूचना प्रविधिको प्रचुर प्रयोग भएको देखिन्छ ।

    सन् १७६० को दशकमा आएको औद्योगिक क्रान्तिले सामन्ती उत्पादन प्रणालीलाई विस्थापन गरेर पुँजीवादी उत्पादन प्रणालीको उदय भयो । समाज मेसिन, पुँजी र बजारमुखी बन्न पुग्यो । ठिक त्यसरी नै सन् १९९७ पछि सूचना प्रविधिमा आएको चमत्कारिक परिवर्तनले समाजको आर्थिक, सामाजिक र दैनिक जीवनशैलीमा व्यापक बदलाव ल्याएको छ ।

    मार्क्स र एङ्गेल्सले कम्युनिष्ट मेनिफेस्टो (१८४८) मार्फत दाबी गरे जस्तै आज पूँजीवादले सारा विश्वलाई बजारमा रूपान्तरण गरिदिएको छ । आजको डिजिटल युगले डेटा, सूचना र प्रविधिलाई नयाँ उत्पादनको साधनका रूपमा स्थापित गरिदिएको छ । यस्ता उत्पादनका साधनमाथि शक्ति राष्ट्रहरूको एकाधिकार (monopoly) स्थापित हुँदै गएको छ । एकातिर अमेरिकी टेक कम्पनीहरू (Google, Meta, Microsoft, Amazon) आदि र अर्कोतर्फ चिनियाँ कम्पनीहरू (Huawei, Byte Dance, Aibaba) आदि बीच बजारको लागि चर्को प्रतिस्पर्धा चलिरहेको छ । यी दुवै देशहरूले यो नयाँ बजारका लागि वैचारिक आवरणमा संघर्ष गरिरहेका छन् ।

    नेपाल जस्ता विकाशोन्मुख र सानो अर्थतन्त्र भएका देशहरू यसका उपभोक्ता मात्र बनिरहेका छन् । हामीले विदेशी कम्पनीका सफ्टवेयर, क्लाउड सेवा, र हार्डवेयरमा निर्भर रहनु परेको छ । जुन देशले डेटा, सूचना र सांस्कृतिक सम्पत्तिमा नियन्त्रण गुमाउँछ, त्यो देश डिजिटल उपनिवेश बनिरहेको छ । हामीले स्वीकार गरे पनि नगरे पनि हाम्रो देश यही दिशा उन्मुख छ । नेपाल जस्ता देशको लागि डिजिटल साम्राज्यको कारण अनेकौँ नयाँ चुनौतीहरू थपिएको छ ।

    पहिलो त डेटा र प्रविधिमा परनिर्भरता बढाएको छ । डिजिटल अर्थतन्त्र मार्फत नेपाली अर्थतन्त्रको शोषण भएको छ । उत्पादन र पुँजीको एकीकरण, बैंक र औद्योगिक पुँजीको मिलन, विश्व बजारको पुनर्विभाजन, उपनिवेश र शक्तिशाली राष्ट्रबीचको प्रतिस्पर्धाका रूपमा प्रकट हुने गरेको साम्राज्यवाद आज डिजिटल साम्राज्यवादका रूपमा रूपान्तरण भएको छ । सामाजिक सञ्जालमा हामीले गर्ने हरेक क्रियाकलापहरूबाट बहुराष्ट्रिय कम्पनीहरूले नाफा कमाइरहेका छन् ।

    होशना जुबोफ (२०१९) ले Survifllance Capitalism मा मानिसको निजी व्यवहार पनि नाफाको वस्तु बन्दछ भनेर पुष्टि गरेका छन् । नेपालमा प्रयोग भइरहेका अधिकांश डिजिटल सेवाहरू जस्तै फेसबुक, इन्स्टाग्राम, टिकटक, गुगल, युट्युब आदि सबै विदेशी कम्पनीका उत्पादनहरू हुन् । यी कम्पनीहरूले हाम्रो डेटा संकलन गर्छन् र आफ्नो व्यापारिक प्रयोगमा ल्याउँछन् ।

    त्यति मात्र होइन, हामीले content creation, clicks, engagement आदिका रूपमा गरेको निःशुल्क श्रम, डिजिटल श्रमिकहरू (कन्टेन क्रियटर, डाटा वर्कर्स, गिग वर्कर्स आदि) को श्रम र नेपाली डिजिटल बजार (ads, ecommerce, payment gateway, app store charges)आदि बाट हुने नाफा पनि विदेशी कम्पनीले नै लैजान्छ । यसरी विकासोन्मुख देशका नागरिकको डेटा प्रयोग गरेर बहुराष्ट्रिय कम्पनीहरूले नाफा कमाउँछन् तर प्रतिफल दिँदैनन् ।

    यसरी हेर्दा सूचना प्रविधिको नवक्रान्तिले मानव जीवनलाई सहज र गतिशील त बनाएको छ, भौतिक विकाश, प्रविधिको प्रयोग, लगानी, उत्पादकत्व वृद्धि र आर्थिक प्रगति जस्ता पक्षमा सकारात्मक योगदान त गरेको छ तर लाभांश वितरणको अति असमानताले विभेदको गहिरो खाडल पनि तयार हुँदैछ ।

    दोस्रो चुनौती सांस्कृतिक अतिक्रमण हो । हर्बर्ट शिलरले १९७० को दशकमा Communication and Cultural Domination नामक पुस्तकमा पश्चिमी देशहरूले सञ्चार माध्यम र प्रविधिको नियन्त्रणमार्फत विकासोन्मुख देशहरूको चेतना र संस्कृति कब्जा गर्छन् भनेका छन् । भनिन्छ, कुनै देश नष्ट गर्नु छ भने त्यसको भाषा, साहित्य र संस्कृति सबैभन्दा पहिले नष्ट गर्नुपर्दछ । आजको डिजिटल दुनियाँमार्फत पाश्चात्य संस्कृतिले नेपाली संस्कृतिलाई तीव्रतर रूपमा अतिक्रमण गरिरहेको छ ।

    सामाजिक सञ्जाल, स्ट्रिमिंग प्लेटफर्म (netflix, YouTube, TikTok) र विदेशी मिडिया तथा उनीहरूका दलाल मिडियाहरूमार्फत नेपालका युवा पुस्तामा उपभोक्तावादी र व्यक्तिवादी प्रवृत्ति तथा पुँजीवादी सोचलाई सामान्यकृत गरिएको छ । यी प्लेटफर्महरूले पश्चिमी जीवनशैली र उपभोक्तावादलाई विश्वव्यापी मानकका रूपमा प्रस्तुत गर्छन् । यसले स्थानीय भाषा र संस्कृतिलाई कमजोर बनाउँछ र उपभोक्तावादी चेतनालाई बलियो बनाउँछ । त्यसैले हाम्रा मौलिक संस्कार र संस्कृति नष्ट हुदै गइरहेको छ भने आयातित संस्कृति भित्रने क्रम तिव्र भएको छ । परिणामतः नेपाली समाज विघटनको दिशामा छ ।

    तेस्रो चुनौती राजनीतिक प्रभाव र सूचना नियन्त्रण हो । नोम चोम्स्कीले Manufacturing Consent (१९८८) मा मिडियाको प्रयोगबाट जनमत र चेतनामा साम्राज्यवादी प्रभाव बिस्तार गरिन्छ भनेका छन् । हामीले प्रयोग गर्ने सामाजिक सञ्जाल मार्फत हाम्रो रुचि, चाहाना र आवश्यकता पहिचान गरिन्छ सोही अनुसार सूचना सम्प्रेषण गरिन्छ । तर हामीले थाहै नपाउने गरी यस्ता सामाजिक सञ्जालहरूले विभिन्न एल्गोरिदमहरु प्रयोग गरी हाम्रो मस्तिष्क नियन्त्रण (ब्रेन कन्ट्रोल) गरेको हुन्छ । यो नियन्त्रित मस्तिष्कलाई व्यापारिक स्वार्थको लागि मात्र होइन राजनैतिक स्वार्थको लागि पनि सहजै प्रयोग गरिन्छ । यस्ता एल्गोरिदमको माध्यमबाट कुन समाचार प्राथमिकताका साथ देखाउने र कुन नदेखाउने सेटिङ समेत गर्न सकिने हुँदा जनमत सृजना गर्न वा भड्काउन सहजै सकिन्छ । दृष्टान्तको रूपमा हामी भाद्र २३ को जेनजी आन्दोलनलाई लिन सक्छौँ । अमेरिकाको जनसंख्यिक अध्ययनकर्ता र मिडिया विश्लेषकहरूले प्रयोगमा ल्याएको जेनेरेसन जेड शब्द जसलाई अमेरिकाको Pew Research Center ले सन् २०१९ मा सन् १९९७ पछि जन्मिएको पुस्तालाई Gen-Z भनी परिभाषित गर्‍यो ।

    अमेरिकी उत्पादन Gen-Z नेपालमा आइपुग्दा जेनजी भयो त्यसैको नाममा भएको आन्दोलनले एक दिनमै सत्तापलट गरिदियो । अन्य समयमा अति संवेदनशील तस्बिर तथा भिडियोहरू सामाजिक सञ्जालले कम्युनिटी स्टान्डर्ड गाइडलाइन्स अनुसार आफैँ हटाउने गरेको थियो तर यो आन्दोलनका तस्बिर तथा भिडियोहरू जति सुकै संवेदनशील भए पनि हटाएन र यो अझै सामाजिक सञ्जालभर छरपस्ट देख्न सकिन्छ । यसबाट पनि के स्पष्ट हुन्छ भने हाम्रो जस्तो संवेदनशील भूराजनीति भएको देशको लागि सूचना प्रविधिमा आएको क्रान्ति अझ बढी चुनौती बनेको छ ।

    केही समय अगाडी नेपाल सरकारले चिनिया कम्पनी बाइट डान्सको उत्पादन टिकटक प्रतिबन्ध लगाएको थियो । नेपाल सरकारका शर्त मानेपछि दर्ता गरी पुनः सञ्चालन भयो । तर फेसबुक, एक्स, इन्स्टाग्राम आदि दर्ता हुन तयार भएनन् । प्रतिबन्ध लगाउँदा देशमै अराजकताको अवस्था सृजना भयो ।

    यसको अर्थ नेपालले आफ्नो डिजिटल सार्वभौमिकता (Digital Sovereignty) गुमाएको छ । नेपाली प्रयोगकर्ताको डेटा विदेशी सर्भरमा संकलन भइरहेको छ । सामाजिक सञ्जालको एल्गोरिदमले जनचेतना र राजनीतिक धारणा प्रभावित गरिएको छ । कन्टेन्ट क्रियटर, अभियन्ता र कलाकारहरुलाई प्रयोग गरेर मास मेनुपुलेसन गरिएको छ । विदेशी विज्ञापन कम्पनीहरूले नेपालको डिजिटल बजारलाई नियन्त्रण गरेको छ । यसरी नेपाल डिजिटल उपनिवेशको स्थितिमा पुगेको छ ।

    हामीले यो अवस्थामा प्रतिरोधी क्षमता बढाउने रणनीतिहरू तय गर्नुपर्दछ । डिजिटल सार्वभौमिकताको नीति तय गर्नुपर्दछ । देशले आफ्ना नागरिकको डेटा र सूचना प्रणाली आफ्नै कानुन र प्रविधिको नियन्त्रणमा राख्नुपर्छ । त्यस्तै स्थानीय प्रविधि विकासमा जोड दिनु पर्दछ । स्वदेशी सफ्टवेयर, प्लेटफर्म र सामाजिक सञ्जालहरूको निर्माण र अनुसन्धानमा लगानी गर्नुपर्छ । डिजिटल साक्षरता र आलोचनात्मक चेतना सञ्चार गर्नु पर्दछ । ताकि विदेशी निर्भरता घटोस् र नागरिकले प्रविधिको प्रयोग मात्र होइन, यसको राजनीतिक आर्थिक अर्थ पनि बुझ्न सक्नुपर्छ । क्षेत्रीय सहकार्य (Regional Cooperation) लाई अगाडि बढाउनु पर्दछ । दक्षिण एसियाली राष्ट्रहरूले साझा नीति बनाएर डिजिटल साम्राज्यवादविरुद्ध प्रतिरोध गर्न सक्नु पर्दछ ।

  • मार्तडी बजारमा आगलागी, २ घण्टादेखि निभाउने प्रयास जारी

    मार्तडी बजारमा आगलागी, २ घण्टादेखि निभाउने प्रयास जारी

    बाजुरा । बाजुराको मार्तडी बजारमा भीषण भएको छ । बाजुराको एक पसलमा लागेको निभाउने क्रम जारी छ । दमकल नहुँदा आगो निभाउन समस्या भइरहेको छ ।

    जिल्ला प्रहरी कार्यालय मार्तडीका सूचना अधिकारी लक्ष्मीराज जोशीका अनुसार दिउँसो करिब १२:२० बजेतिर आगलागी सुरु भएको हो ।

    बजारवासीले प्रहरीको सहयोगमा स्थानीय स्रोत साधन प्रयोग गरी आगो निभाउने प्रयास गरिरहेका छन् ।

  • संकलन गरिएभन्दा कम खपत हुन थालेपछि विराटनगरमा पुन: पाउडर दूध उत्पादन

    संकलन गरिएभन्दा कम खपत हुन थालेपछि विराटनगरमा पुन: पाउडर दूध उत्पादन

    विराटनगर । स्थिर आपूर्ति व्यवस्थापनको उद्देश्य साथ विराटनगर दुग्ध वितरण आयोजनाले पुनः पाउडर दूध उत्पादन सुरू गरेको छ ।

    पूर्व क्षेत्रका कृषकबाट दैनिक करिब १२ हजार लिटर दूध संकलन हुने तर बजारमा दैनिक ४ हजार लिटर दूध तथा दुग्धजन्य पदार्थ मात्र बिक्री हुने अवस्थामा दूधको उपयोगका लागि पुनः पाउडर दूध उत्पादन सुरू गरिएको आयोजनाले जनाएको छ ।

    काठमाडौंस्थित मनराम हिमालयन ह्याण्डिक्राफ्ट प्रालिलाई करिब १ हजार किलो अर्ध-तयारी कच्चा चीज वितरण हुँदै आएकोमा कम्पनीको बैंक ग्यारेन्टी म्याद सकिएपछि हालका लागि सो सामग्री वितरण रोकिएको छ ।

    नयाँ सम्झौता प्रक्रियामा केही समय लाग्ने भएकाले सङ्कलित दूध नष्ट हुन नदिई पाउडर दूध उत्पादनतर्फ फर्कनु परेको आयोजनाका निमित्त प्रमुख हिरबहादुर मगरले बताए । अहिले तीन-चार दिनको अन्तरालमा एक पटक पाउडर दूध उत्पादन भइरहेको छ ।

    विराटनगर दुग्ध वितरण आयोजनामा हाल करिब ९८ मेट्रिक टन मक्खन र १०७ मेट्रिक टन पाउडर दूध मौज्दात रहेको छ । दूध संकलन वृद्धि, उत्पादन विविधीकरण र मौज्दात व्यवस्थापनमार्फत कृषकको दूध सुनिश्चितरूपमा उपयोग हुने वातावरण बन्न थालेको आयोजनाले जनाएको छ ।

  • भोजपुरको होम्ताङमा एम्बुलेन्स दुर्घटना : दुई गम्भीर घाइते

    भोजपुरको होम्ताङमा एम्बुलेन्स दुर्घटना : दुई गम्भीर घाइते

    भोजपुर । हतुवागढी गाउँपालिका–६ होम्ताङमा एम्बुलेन्स दुर्घटना भएको छ । दुर्घटनामा चालक सञ्जीव राई र गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जयकुमार राई गम्भीर घाइते भएका छन् ।

    प्रदेश १– ०२–००१ झ ०७३७ नम्बरको हतुवागढी गाउँपालिकाको एम्बुलेन्स दुर्घटना भएको हो । बिरामीलाई होम्ताङ पुर्‍याएर घोडेटार फर्किने क्रममा बिहान करिब पौने दश बजेको समयमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय घोडेटारले जनाएको छ ।

    घाइतेलाई हेलिकप्टरमार्फत थप उपचारमा पठाउने तयारी भइरहेको वडाध्यक्ष सुरेशकुमार राईले बताए ।

    – रासस

  • भन्सार छली नेपाल भित्र्याइएको लाखौं रुपैयाँको काजु बरामद

    भन्सार छली नेपाल भित्र्याइएको लाखौं रुपैयाँको काजु बरामद

    काठमाडौं । सशस्त्र प्रहरीले चोरीपैठारी गरी नेपाल भित्र्याइएको लाखौं रुपैयाँको काजु बरामद गरेको छ ।

    धनुषाको नगराइन नगरपालिका–२ जटहीस्थित खेतबारीबाट सोमबार १३ लाख ७० हजार रुपैयाँ मूल्य बराबरको काजु बरामद गरेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

    प्रहरीका अनुसार भारतबाट अवैध रुपमा भन्सार छली नेपालमा ल्याई लुकाई-छिपाई राखेको अवस्थामा १ हजार ३ सय ७० किलोग्राम काजु बरामद गरिएको हो ।

    बरामद काजु जनकपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल ८ नम्बर गण धनुषाले जनाएको छ ।

  • प्रशासनिक जीवनपछि त्रिलोचनको काव्यिक अवतार- महाकाव्यमा समकालीन समय र समाजको स्वर

    प्रशासनिक जीवनपछि त्रिलोचनको काव्यिक अवतार- महाकाव्यमा समकालीन समय र समाजको स्वर

    समय समस्याका चाङमा उभिएको छ, समाजको हालत त्यही छ । निराशा, छट्पटी र अनेकन वेदनायुक्त समय र समाजभित्र आधारित भएर कवि त्रिलोचन आचार्य ‘अविश्रान्त’ महाकाव्यका साथ पेश भएका छन् ।

    प्राध्यापक रामप्रसाद ज्ञवाली (विद्यावारिधि) ले भूमिकामा लेखेजस्तो महाकाव्यको आख्यान महाकाव्यकारको आदर्श चाहना र नेपाली समाजको बिडम्बनापूर्ण जटिल यथार्थको उद्घाटन गर्दै अघि बढ्छ । त्यसमा कविका निजी आस्था र विश्वासका कुरा आउँछन् । गाउँबाट दरिद्रता र अन्याय हटाउने कुरामा रुचि देखाउँदै समृद्धिको उच्च कल्पनशीलतामा महाकाव्य बगेको छ ।

    महासकाव्य २३ सर्गमा प्रस्तुत छ । त्यसमध्ये पहिलो सर्गको ६५ औँ हरफमा उनी यसरी पेश भएका छन्–

    खोज्छौ छोरा किन सफलता कामसम्मै नपुग्दै
    खौज्छौ छोरा किन सब कुर धामसम्मै नपुग्दै
    देख्छौ आर्जै लहर परको लामसम्मै नपुग्दै ?
    गर्छौ काम्ने थुरथुर चिसो यामसम्मै नपुग्दै

    भूमिका लेखक पुरुषोत्तम सिग्देलका अनुसार मंगलचरणका प्रयोजन राष्ट्रवन्दनाबाट काव्य अघि बढेको छ । आफ्नै गाउँका शिष्ट र सरल परिवार, जसमा बाबा महेश, आमा गंगा, छोरा रमेश र बुहारी सानी नामाकरण गरेर कवि उत्पाद्य पात्रहरु तीन अक्षर भएका पुरुष र दुई अक्षरका नारी र छोरो ज्ञानु छन् । सरल नामका पात्र चयन गर्नुमा पात्रहरुको जीवन चरीत्र सामान्य गाउँले छ भन्ने अभिलक्षणा पाइन्छ ।

    ६८ औँ हरफमा उनी भन्छन्–

    साना नानी रहस छ उडौँ भेट्न आकाश भन्छन्
    डाली डालीतिर वनचरी मुग्ध आवास बुन्छन्
    हेरौँ ऐले हर चिज यहाँ काम लागी रहेछ
    आँखा छोपी किन पर हुने ? त्रास–जागी रहेछ ।

    समाजको सामाजिक जीवनमात्रै होइन, राजनीतिक र सांस्कृतिक पनि अस्तव्यस्त छ । यद्यपि, कवि निराश छैनन् । उनका काव्यिक हरफमा आशाहरु सञ्चारित छन् । लेख्छन्–

    छैनन् कानूनका कुरा तर सधैँ निर्धा दपेट्ने कुरा
    छैनन् निर्धनका कुरा तर हुने सोझा लखेट्ने कुरा
    छैनन् काख बसाउँदै भर भुँडी खाना दिने को चुने
    हेर्ने हो सबले खिसी नजरले के स्वच्छता आउने ?
    (पृष्ठ २९३)

    महाकाव्यकार सेवा निवृत्त प्रशासक हुन् । उनले निजामती सेवामा ४० वर्ष बिताए । महाकाव्यलाई प्रशासनिक सेवामा बसेर गरिएको समाज अध्ययनको संग्रह पनि मान्न सकिन्छ । उनको जन्म २०२१ चैत १० गते सिन्धुपाल्चोक जिल्लाको इन्द्रवाती गाउँपालिका– १०, सिपाबडहरेमा भएको छ । हाल बूढानीलकण्ठ नगरपालिका– १२, कपनका बासिन्दा हुन् ।

    प्राध्यापक ज्ञवालीले भूमिकामै लेखेका छन्, ‘महाकाव्य कवि त्रिलोचन आचार्यको समाजबोध र जीवनदृष्टिको प्रबन्धकाव्यिक अभिव्यक्ति पनि हो । सबैजसो सर्गमा कवि आफ्नो युगबोध र जीवन दर्शन प्रस्तुत गरिरहन्छन् । कवि भौतिक सुखसुविधा र धनसम्पत्तिका निम्ति मरिहत्ते गरिरहेको मान्छे र पुँजीवादी प्रवृत्तिका विरुद्ध प्रश्न उठाइरहन्छन् र व्यंग्इ पनि गरिरहन्छन् ।’

  • चिनिया जल क्षेत्रमा जापानी जहाज प्रवेश गरेपछि चीनको चेतावनी

    चिनिया जल क्षेत्रमा जापानी जहाज प्रवेश गरेपछि चीनको चेतावनी

    काठमाडौं । चिनियाँ जल क्षेत्रमा अवैध रूपमा प्रवेश गरेको आरोपमा जापानी माछा मार्ने जहाजलाई निष्कासन गरेको चीनले मङ्गलबार घोषणा गरेको छ ।

    चाइना कोस्ट गार्ड (सिसिजी) का प्रवक्ता लिउ डेजुनलाई उदृत गर्दै चीनको दियाओउ दाओ क्षेत्रको क्षेत्रीय पानीमा अवैध रूपमा प्रवेश गरेपछि जापानी माछा मार्ने जहाजलाई चेतावनीसहित निष्कासन गरिएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।

    सिसिजीले कानुन अनुसार आवश्यक नियन्त्रण उपायहरू अपनाउनुका साथै चेतावनी जारी गरी जहाजलाई फर्काएको लिउले बताए । उनले दियाओउ दाओ र यसका टापुहरू अभिन्न चिनियाँ क्षेत्र रहेको बताए ।

    सीसीजीले चीनको क्षेत्रीय सार्वभौमिकता र समुद्री अधिकार र चासोको दृढतापूर्वक रक्षा गर्न दियाओउ दाओको पानीमा अधिकार–संरक्षण कानून प्रवर्तन अपरेसनहरू जारी राख्नेसमेत उनले बताएका छन् ।

  • सिकेसँग छुट्टिएका शरद सिंहले दर्ता गरे जनअधिकार पार्टी, चुनाव चिन्ह डुङ्गा

    सिकेसँग छुट्टिएका शरद सिंहले दर्ता गरे जनअधिकार पार्टी, चुनाव चिन्ह डुङ्गा

    काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट अलग भएका डा. शरद सिंह यादवले बेग्लै पार्टी दर्ता गरेका छन्। निर्वाचन आयोगमा आफैँ अध्यक्ष रहेर जनअधिकार पार्टी दर्ता गरेका हुन्।

    पार्टीको चुनाव चिन्ह डुङ्गा राखेको उनले बताए। जनमतमा हुँदा यादव प्रवक्ताको भूमिकामा थिए। उनीसँग जनमतबाट अलग भएका अब्दुल खानसहित केही नेताहरू भने रेशम चौधरीको नाउपा नेपालमा सामेल भएका छन्।

  • एनपीएल २: कुशल मल्लले छक्का हानेको बलले लागेर चियर लिडर घाइते

    एनपीएल २: कुशल मल्लले छक्का हानेको बलले लागेर चियर लिडर घाइते

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको म्याचका क्रममा एक चियरलिडर घाइते बनेकी छन् । चितवन टाइगर्सका ब्याटर कुशल मल्ले छक्का प्रहार गरेको बलले लागेर उनी घाइते बनेकी हुन् ।

    अन्तिम ओभरको तेस्रो र चौथो बलमा कुशलले लगातार छक्का प्रहार गरेका थिए । चौथो बल बाउन्ड्री बाहिर चियर गरिरहेकी युवतीको नाकमा लाग्यो । उनको नाकबाट रगत बग्न थालेपछि स्ट्रेचरमा राखेर निकालिएको छ । उनलाई अस्पताल लगिएको छ ।

  • ‘अभिमन्यु : च्याप्टर-१’ ले पायो प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया, कसले के भने?

    ‘अभिमन्यु : च्याप्टर-१’ ले पायो प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया, कसले के भने?

    काठमाडौं । निर्माता विनोद पौडेल निर्मित चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ ले प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको छ । निर्माण टिमले सोमबार साँझ ललितपुरस्थित लविम मलमा चलचित्रको प्रिमियर आयोजना गरेको थियो।

    प्रिमियरमा अभिमन्यु हेरेर निस्किएका अधिकांशले चलचित्रको कथा, कथ्य शैली र कलाकारको अभिनयको तारिफ गरेका थिए । कौतुहलता सिर्जना गर्ने सिनेमा बनेको बताउँदै कलाकारको कामले चलचित्रलाई थप बलियो बनाएको प्रतिक्रिया प्रिमियरमा उपस्थित निर्देशक, कलाकार तथा निर्माताहरूको थियो।

    ‘अभिमन्यु : च्याप्टर–१’ हेरेर निस्किएका अभिनेता दिव्यदेव पन्तले चलचित्रको तारिफ गर्दै भने,’चलचित्रको कथावस्तु, निर्देशन र कलाकारहरूको अभिनय अब्बल छ। सामान्यतया सिनेमामा महिला पात्रलाई जसरी देखाइन्थ्यो वा कन्भिन्स् गराइन्थ्यो, त्यो परम्परालाई यो फिल्मले तोडेको छ । पर्फर्मेन्सको हिसाबले एकदमै उत्कृष्ट छ।’

    पन्तले निर्माता पौडेलको ‘पूर्णबहादुरको सारङ्गी’ मा जस्तै यो चलचित्रमा पनि ‘अन्डररेटेड’ कलाकारहरूलाई विश्वास गरेर राम्रो निर्देशन र बलियो कथामा लगानी गरेको आफुलाई खुसी लागेको बताए।

    त्यस्तै, चलचित्र हेरेर निस्किएका निर्देशक सोभित बस्नेतले पनि पुरै टिमको तारिफ गरे। उनले भने,’अहिले जति पनि नेपाली चलचित्र चलिरहेका छन, त्यो कलाकारको चलचित्र चलेका हुन। पहिला स्टारका चलचित्र चल्थे, अहिले कलाकारका चलचित्र चल्छन् । दर्शकले अहिले अनुहार भन्दा पनि अभिनय र प्रतिभालाई प्राथमिकता दिन थालेका छन् र यो चलचित्रमा पनि त्यस्तै कलाकारको अब्बल काम देख्न सकिन्छ।’

    बस्नेतले चलचित्रको मुख्य पात्र कामेश्वर चौरसियाको कामको प्रशंसा गर्दै चलचित्रले अन्तिमसम्म बाँधेर राख्ने प्रतिक्रिया दिए।

    मोडल तथा अभिनेत्री अलिशा बास्तोलाले चलचित्र हेर्दा आफूलाई भित्रैबाट ‘ब्लकबस्टर’ हुन्छ जस्तो महसुस भएको बताइन् । उनले भनिन्,’हामीले जसरी साउथ इन्डियन फिल्महरू एकदम कौतुहलताका साथ हेर्छौँ, यो फिल्ममा पनि अब के हुन्छ, अब के हुन्छ भन्दै अन्तिमसम्म त्यसरी नै हेरिन्छ। चलचित्रको सबै पक्ष अथेन्टिक र उत्कृष्ट छ। म चाहन्छु, यसले ‘पूर्णबहादुरको सारङ्गी’ को रेकर्ड तोडोस।’

    त्यस्तै, कमेडीयन भरतमणी पौडेलले चलचित्रले दाइजो प्रथाजस्तो गम्भीर सामाजिक विषयवस्तु उठाएको र सस्पेन्सले भरिपूर्ण रहेको प्रतिक्रिया दिदै सबै टिमलाई बधाई दिए।

    चलचित्रका मुख्य अभिनेता कामेश्वर चौरासियाले लामो संघर्षपछि मुख्य भूमिका निर्वाह गर्न पाएकोमा खुसी व्यक्त गरे। उनले भने,’कलाकार बन्नको लागि स्क्रिप्ट नै चाहिदो रहेछ । अहिलेसम्म मैले जति काम गरेँ, सबैले तारिफ गर्नुभयो तर लिड क्यारेक्टरको लागि एउटा बलियो लिखित दस्तावेज नै चाहिन्छ । जे गरेँ, यहाँ आइपुग्नकै लागि रहेछ ।’

    त्यस्तै, चलचित्रकी मुख्य अभिनेत्री लक्ष्मी बर्देवाले आफू यो चलचित्रको सुटिङ गर्दा प्रेग्नेन्ट रहेको बताइन् । उनले स्क्रिप्ट पढ्दादेखि नै क्यारेक्टर मन परेको र शारीरिक अवस्था जटिल भए पनि चलचित्रको टिम र कथावस्तु उत्कृष्ट भएकाले काम गरेको बताइन् ।

    अर्की अभिनेत्री सरिता गिरीले पुरुष प्रधान फिल्महरू बनिरहेको समयमा ‘अभिमन्यु’ महिला केन्द्रित फिल्म बनेको र पुरुष पात्रहरूले त्यसलाई सपोर्ट गरेको देख्दा खुसी लागेको बताइन् ।

    ‘अभिमन्यु : च्याप्टर–१’ यही बिहीबारबाट रिलिज आउदैछ। सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रमा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल मुख्य भूमिकामा छन् ।

    सुशान्त गौतमले निर्देशन गरेको यो चलचित्रलाई मुकेश खनालले लेखेका हुन। चलचित्रलाई निर्माता विनोद पौडेल र गुञ्जन गिरीले मिलेर निर्माण गरेका छन् । चलचित्र नेपाली र हिन्दी दुवै भाषामा विश्वव्यापी प्रदर्शनमा आउँदैछ।

  • कांग्रेसमा विशेष महाधिवेशन पक्षधरको प्रश्न : माघ मसान्तसम्म कार्यकाल किन थपियो ?

    कांग्रेसमा विशेष महाधिवेशन पक्षधरको प्रश्न : माघ मसान्तसम्म कार्यकाल किन थपियो ?

    काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पुस २६–२८ को महाधिवेशन मिति पूर्व पार्टीका विभिन्न संरचनाका लागि विभिन्न चरणमा प्रस्ताव गरिएको कार्यतालिका प्रथम दृष्टिमै अव्यवहारिक र अवैज्ञानिक देखिएको निष्कर्ष निकालेको छ।

    विशेष महाधिवेशन पक्षधरले वक्तव्य जारी गर्दै तोकिएको समयमा नियमित नभए विशेष महाधिवेशन हुने प्रस्ट अडान दोहोर्‍याएको छ।

    विज्ञप्तिमा भनिएको छ, ‘हामीसँग समयको फराकिलो सुविधा छैन, न त घोषित मिति सार्ने कुनै नैतिक वा वैधानिक आधार नै छ । त्यसैले हामी स्पष्ट पार्न चाहन्छौँ, कुनै पनि बहाना वा अवस्थामा अधिवेशनका शृङ्खलाहरू अवरुद्ध गरिएमा वा भएमा असोज २९ मा दर्ता गरिएको विशेष महाधिवेशनको प्रस्ताव अझै जीवित छ र विधान बमोजिम पूर्ण रूपमा कार्यान्वयन योग्य छ ।’

    पुसमा महाधिवेशन सम्पन्न हुने मिति तोकिरहँदा माघ मसान्तसम्म केन्द्रीय समितिको समयावधि थप्नुको उद्देश्य के हो ? भन्दै प्रश्न गरेको छ।

    विज्ञप्तिमा भनिएको छ, ‘यसले समयमै अधिवेशन सम्पन्न हुँदैन भन्ने संशयलाई आधार दिएको छ । यस बिच हुने आम चुनावका विभिन्न सिफारिसहरूको अवस्था के हुन्छ ? यसको निष्पक्षता र वैधताको आधार के हो ? यसलाई गम्भिरतापूर्वक हेरिरहेका छौँ । लोकतान्त्रिक दलका लागि आवधिक महाधिवेशन केवल विधानको दायित्व मात्र होइन, यो त पार्टीको आन्तरिक लोकतन्त्रको श्वास, नयाँ पुस्ताको ऊर्जा र नेतृत्व नवीकरणको अनिवार्य प्रक्रिया हो ।’

    नीति र नेतृत्व दुवैलाई समयको मागअनुरूप परिमार्जन गरेर हरेक प्रतिकुलताको सामना गर्दै एकजुट भएर १५औँ महाधिवेशनलाई समयमै सम्पन्न गर्न सक्रियतापूर्वक सहभागी हुन अनुरोध गरेको छ।

    ‘१५औँ महाधिवेशनको घोषणा विशेष महाधिवेशन मागकर्ताहरूको हस्ताक्षरको परिणाम हो । यसका लागि हस्ताक्षरकर्ता सम्पूर्ण साथीहरूलाई हार्दिक आभार प्रकट गर्दछौँ । साथै, पार्टीको समग्र सुधार, रूपान्तरण र पुनर्गठनका लागि तपाईँहरूको साथ र समर्थन सधैँ रहिरहने विश्वास व्यक्त गर्दछौँ’ विज्ञप्तिमा उल्लेख छ।

  • कुमारी बैंक-नार खोला हाइड्रोबीच वित्तीय व्यवस्थापनमा हस्ताक्षर, जलविद्युत निर्माण सुरु

    कुमारी बैंक-नार खोला हाइड्रोबीच वित्तीय व्यवस्थापनमा हस्ताक्षर, जलविद्युत निर्माण सुरु

    काठमाडौं । कुमारी बैंकको अगुवाइमा सिंगटी हाइड्रोको मुख्य लगानी हुने गरि मनाङ्गमा ६१.११ मोगावाटको नार खोला जलविद्युत आयोजना निर्माणका लागि वित्तिय ऋण लगानीसम्झौता सम्पन्न भएको छ । सोमबार आयोजित एक कार्यक्रममा नार खोला हाइड्रो इनर्जी प्रा.लि.का अध्यक्ष बटु लामिछाने र कुमारी बैंकका प्रमुख क्षेत्रीय कर्जा अधिकृत अर्पण पोखरेलले संयुक्त रुपमा हस्ताक्षर गर्दै वित्तिय व्यवस्थापन टुंगाएका हुन् ।

    मनाङ्ग स्थित नार्पा भूमि र नासोँ गाउँपालिकामा रहेको नार खोला र सोती खोलाको पानीलाई एकिकृत गरि ६१.११ मेगावाटको जलविद्युत आयोजना निर्माण प्रकृया अघि बढाइएको हो । आयोजनाको प्रवद्र्धक कम्पनी नार खोला हाइड्रो इनर्जी प्रा.लि.ले आयोजना निर्माणका लागि सबै प्रकृया पूरा भएको जनाएको छ ।

    नेपाल विद्युत प्राधिकरणसँग यस अघि नै विद्युत खरिद सम्झौता (पिपिए) भैसकेको उक्त आयोजना, कुमारी बैंकको अगुवाई तथा नेपाल एसबिआई बैंकको सह–अगुवाईमा कृषि विकास बैंक, एनआइसी एसिया बैंक र मुक्तिनाथ विकास बैंक सदस्य बैंकको रुपमा लगानी गर्ने गरी वित्तिय व्यवस्थापन टुङ्गिएर सोमबार हस्ताक्षर भएको हो ।

    नार खोला जलविद्युत आयोजनाको ग्रेस हेड ५८८.८२ मिटर रहने र वार्षिक ३६६.४८ गिगावाट विद्युत उत्पादन हुनेछ । आयोजनाको हेडरेस टनेल लगभग ८ किलोमिटर रहेको छ । आयोजनाको बाँध तथा हेडवर्कका संरचनाहरु नार्पा भूमि गाउँपालिकामा हुने, उक्त बाँधस्थलबाट नार्पा भुमि र नासोँ गाउँपालिका हुँदै आएको सुरुङमार्ग मार्फत पेनस्टक पाईपको प्रयोग गरि नासोँ गाउँपालिकामा रहको विद्युत गृहमा पानी पठाई बिजुली उत्पादन गरिने छ । आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको मनाङ्गस्थित निर्माणाधीन धारापानी सवस्टेशनमा जोडिने छ ।
    कुल लागत १२ अर्ब ८४ करोड रहेको यस आयोजनामा बैंकको कर्जा ९ अर्ब ६३ करोड र स्वपुजी ३ अर्ब २१ करोड रहेको छ, जस मध्य सिंगटी हाईड्रो ईनर्जी लिमिटेडको मुख्य लगानी रहने कम्पनीले जनाएको छ ।

  • डोमिनार डे : आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका

    डोमिनार डे : आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका

    काठमाडौं । बजाजले बहुप्रतिक्षित डोमिनार डे (Dominar Day) सुरु भएको घोषणा गर्दै सबै राइड प्रेमीहरूलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ । नोभेम्बर ३० देखि डिसेम्बर ५, २०२५ सम्म बाईकर्श क्याफे नक्सालमा सञ्चालन हुने यस कार्यक्रममा सहभागीहरूले डोमिनार४०० को पावर, कन्ट्रोल र पर्फमेन्स प्रत्यक्ष रूपमा अनुभव गर्ने अवसर पाउनेछन् ।

    ‘Dominar Day is on; and your upgrade starts now’ भन्ने सन्देशसहित संचालन भइरहेको यो क्याम्पेनले आफ्नो राइड अपग्रेड गर्न चाहनेहरूलाई विभिन्न आकर्षक अफर र सुविधाहरू उपलब्ध गराइरहेको छ ।

    कार्यक्रमका मुख्य आकर्षणहरूमा सहभागीहरूले Alpha CS ! Armored Riding Jacket /MT Helmet जस्ता सुरक्षित र स्टाइलिश राइडिङ गियर प्राप्त गर्नेछन् । साथै, ‘नागरिकताको भरमा EMI सुविधा मार्फत सरल र झन्झटमुक्त वित्तीय सेवा पाउने व्यवस्थासमेत गरिएको छ । पुराना बाईकको उत्कृष्ट मूल्यांकन (Best Valuation) र खेलप्रेमीहरूको लागि NPL Tickets जस्ता बोनस अवसरहरू पनि प्रदान गरिनेछन् ।

    साथै, सहभागीहरूले Sponsored Weekender Ride जित्ने मौका पाउनेछन् र टेस्ट राइडमा fO8df Dominar Merchandise पनि प्राप्त गर्न सक्नेछन् । आफ्नो डोमिनार भएपनि नयाँ मोडेलमा रुचि राख्ने लगायत सबैका लागि यो कार्यक्रम विशेष अवसर बन्ने विश्वास गरिएको छ । सहभागीहरूले डोमिनार ४०० को दमदार पावर, उत्कृष्ट पर्फमेन्स र आरामदाई अनुभव गर्ने मौका पाउनेछन् ।

    सहभागीहरूले बाइकर्श क्याफे, नक्सालमा पुगेर डोमिनार ४०० को वास्तविक राइड अनुभव गर्नुका साथै उपलब्ध अफरहरू तुरुन्तै प्राप्त गर्न सक्नेछन् । यो कार्यक्रम बाइकर्श क्याफे मा दैनिक रूपमा सञ्चालन हुनेछ ।

    साथै डोमिनार डे (Dominar Day) एक-हप्ता मात्रै सञ्चालन हुने भएकाले छिटो सहभागिता जनाउन बजाज नेपालले सबैलाई आग्रह गरेको छ ।

  • हङकङ आगलागीको छानबिन गर्ने नेता ‘जोन ली’ को घोषणा

    हङकङ आगलागीको छानबिन गर्ने नेता ‘जोन ली’ को घोषणा

    काठमाडौं । हङकङका नेता जोन लीले गत हप्ता अपार्टमेन्ट कम्प्लेक्समा भएको विनाशकारी आगलागीमा १५१ जनाको ज्यान गएपछि घटनाको व्यापक छानबिन गर्न न्यायाधीशको नेतृत्वमा ‘स्वतन्त्र समिति’ गठन गर्ने घोषणा गरेका छन् ।

    अधिकारीहरूका अनुसार आगलागी बाहिरी मचानमा प्रयोग गरिएको जालमार्फत तीव्र गतिमा फैलिएको थियो, जसले आवश्यक अग्नि–प्रतिरोध मापदण्ड पूरा गर्न नसकेको र अग्नि रोकथाम प्रणालीले भरपर्दो रूपमा काम गर्न नसकेको प्रारम्भिक जाँचले देखाएको छ ।

    नेता लीले भने, ‘भवन निर्माण तथा नवीकरण प्रणालीका कमजोरीहरू गहन रूपमा समीक्षा गरी भविष्यमा यस्ता त्रासदी दोहोरिन नदिने उद्देश्यले म न्यायाधीशको नेतृत्वमा एउटा स्वतन्त्र समिति गठन गर्नेछु ।’

    हङकङमा ‘अनुसन्धान आयोग’ गठन गर्ने कानूनी व्यवस्था विगतदेखि नै छ, जुन सामान्यतया जटिल घटनाका तथ्य पहिचानका लागि न्यायाधीशहरूले नेतृत्व गर्दै आएका छन, तर यसपटक लीले ‘स्वतन्त्र समिति’ भन्ने फरक शब्द प्रयोग गरेका छन् ।

    लीले एएफपीसँगको कुराकानीमा धेरै स्तरमा असफलता देखा परेकाले सुरक्षा, निगरानी, निर्माण र मर्मतसम्बन्धी मापदण्डमा तत्काल सुधार आवश्यक रहेको बताए ।

    उक्त घटनाको संयुक्त अनुसन्धान गर्दै आएको हङकङको भ्रष्टाचार–विरोधी प्रहरी र सामान्य प्रहरीले हालसम्म १४ जनालाई पक्राउ गरिसकेका छन् । तीमध्ये १३ जनालाई आगलागीका कारण भएका मृत्युमा संलग्न भएको शङ्कामा पक्राउ गरिएको हो ।

    घटनापछि सहरभरि ठूलो शोक वातावरण छाएको छ, साथै व्यापक जवाफदेहिताको माग पनि उठिरहेको छ । तर स्थानीय मिडियाले जिम्मेवारी माग्ने केही नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको उल्लेख गरेको छ । २४ वर्षीय विद्यार्थी माइल्स क्वानलाई सरकारी जवाफदेहिताको माग गर्दै फ्लायर वितरण गरेको आरोपमा ‘राजद्रोही अभिप्रेरणा’ शीर्षकमा पक्राउ गरिएको बताइएको छ । क्वानका चार मागसहितको अनलाइन निवेदनले सामग्री मेटिनु अघि एक दिनमै १० हजारभन्दा बढी हस्ताक्षर सङ्कलन गरेको थियो । स्थानीय समाचारअनुसार पूर्व जिल्ला पार्षद केनेथ चेउङसहित अन्य दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

    उत्तरी ताई पो जिल्लाको वाङ फुक कोर्टको अग्लो आवासीय भवनमा गत बुधबार आगलागी हुँदा सन् १९८० पछिको विश्वकै सबैभन्दा घातक आवासीय दुर्घटनामध्ये एकको रूपमा यसलाई लिइएको छ । प्रहरीले सोमबार प्रभावित सात टावरमध्ये पाँचमा खोजी कार्य पूरा गरी अपार्टमेन्ट, दलान र सिँढी क्षेत्रमा पीडितहरूका अवशेषहरू फेला पारेको छ ।

  • डेविड र अर्जुनको अर्धशतकमा चितवनले दियो १७७ रनको लक्ष्य

    डेविड र अर्जुनको अर्धशतकमा चितवनले दियो १७७ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ अन्तर्गत मंगलबारको पहिलो खेलमा चितवन राइनोजले साविक विजेता जनकपुर बोल्ट्ससामु १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७६ रन बनायो ।
    चितवनका लागि ओपनर डेविड मलानले सर्वाधिक ८० रन बनाए । उनले ५४ बलमा ४ चौका र ५ छक्का प्रहार गरे । उनले अर्जुन साउदसँग पहिलो विकेटका लागि ११२ रनको साझेदारी गरेका थिए । अर्जुन ५२ रनमा आउट भए । सैफ जैव ७, रवि बोपारा ३ रनमा आउट भए । कप्तान कुशल मल्ल ३० र अमरसिंह रौटेला एक रनमा अविजित रहे । अन्तिम ओभरमा कुशलले १८ रन जोडे ।

    बलिङमा जनकपुरका अनिल शाह, माज सदाकत, रुपेश सिंह र जोन निकोल लोफ्टी इन्टनले एकएक विकेट लिए ।

  • राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न कांग्रेसको परिपत्र

    राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न कांग्रेसको परिपत्र

    काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा र प्रतिनिधि सभाको निर्वाचनको लागि उम्मेदवारको नाम सिफारिस गर्न परिपत्र गरेको छ।

    केन्द्रीय समिति बैठकको निर्णय अनुसार माघ ११ गते हुने राष्ट्रियसभा र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको सिफारिस गर्न निर्देशन दिएको हो।

    केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको परिपत्रमा मंसिर मसान्तभित्र उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरिसक्नुपर्नेछ। कांग्रेसले प्रतिनिधि र राष्ट्रियसभाको उम्मेवारको टुंगो एकैपटक लगाउने तयारी गरेको छ।

  • शेखर दाइसँग कुरा भइरहेको छ, दुईमध्ये एक जना सभापतिको उम्मेदवार हुन्छौँ : शशांक कोइराला

    शेखर दाइसँग कुरा भइरहेको छ, दुईमध्ये एक जना सभापतिको उम्मेदवार हुन्छौँ : शशांक कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले १५ औँ महाधिवेशनमा आफू र शेखर कोइरालामध्ये एक जना सभापतिको उम्मेदवार हुने बताएका छन्। चितवन पुगेका कोइरालाले शेखरसँग आफ्नो कुरा भइरहेको बताए।

    उनले भने, ‘सभापतिका लागि लड्ने भनेको थिएँ। शेखर दाइ पनि इच्छुक हुनुहुन्छ। कुरा भइरहेको छ। दुईजनामध्ये एक जना लड्छौँ।’

    उनले महाधिवेशनका लागि कम्तीमा तीन महिना समय आवश्यक पर्ने बताए।

    उनले अगाडि भने, ‘समय कम भयो। महाधिवेशन पुसमा सम्भव भएन भने निर्वाचनपछि हुन्छ। पार्टीले पुसमा गर्ने निर्णय गरेको भए पनि हुन्छ या हुन्न भन्नेमा टुङ्गो छैन। तर हामी सबै महाधिवेशनको तयारीमा जुट्नुपर्छ।’

  • लागूऔषधसहित १७ जना पक्राउ, ब्राउनसुगर कारोबारी अत्यधिक

    लागूऔषधसहित १७ जना पक्राउ, ब्राउनसुगर कारोबारी अत्यधिक

    काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ ।

    काठमाडौंको गोंगबुस्थित न्यू दाङ बर्दिया होटल एण्ड लजबाट खैरो हेरोइन ५ सय २० मिलिग्रामसहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बाँकेका भुपेन्द्रकुमार बुढा र तनहुँका मनिष गुरुङ छन् । उनीहरुको साथबाट लागूऔषधसहित नगद ९ हजार ५ सय रूपैयाँ र डिजिटल तराजु बरामद गरिएको छ ।

    टोखास्थित नमस्ते नेपाल गेष्ट हाउसबाट १ ग्राम ५ सय ७० मिलिग्राम ब्राउनसुगर सहित धादिङ नीलकण्ठका किशोर मगर, कपिल खाती र डोटी पूर्वीचौकी गाउँपालिकाका लोकेन्द्र खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै चितवनस्थित भरतपुर गोब्रेनीका मनिस गुरूङ ४ ग्राम ८० मिलिग्राम खैरो हेरोइन सहित सोमबार दिउँसो पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय चनौलीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारेको जनाएको छ ।

    दाङको तुलसीपुरस्थित बिजौरीबाट ७ सय ८० मिलिग्राम ब्राउनसुगर र नगद ५ हजार ५ सय २५ रूपैयाँसहित दुई जना पक्राउ परेका छन् । सोमबार दिउँसो पक्राउ परेका पवन कुमार वली र सल्यान शारदास्थित शान्तिनगरका सन्तोष बुढाथोकीलाई प्रहरी चौकी विजौरीले रा.४ प १८७५ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।

    यसैगरी ब्राउनसुगर ३ ग्राम ३८ मिलिग्राम र ३५ हजार ९ सय नेपाली रूपैयाँ साथै १ हजार २ सय ५० भारतीय रूपैयाँ सहित रूपन्देही सैनामैनाका सुदन चौधरी पक्राउ परेका छन् । कैलालीको धनगढीस्थित त्रिनगर व्यारेलबाट ६ सय ४० मिलिग्राम ब्राउनसुगरसहित डोटी दिपायल सिलगढीका दिपेन्द्र वड पक्राउ परेका छन् । धनगढीकै राजपुरबाट ब्राउनसुगर २ ग्राम २ सय ८० मिलिग्राम सहित आकाश राना पक्राउ परेका छन् ।

    यस्तै गोकर्णेश्वर माकालबारीबाट लागूऔषध फेनारगन १५ एम्पुल, डाईजेपाम १५ एम्पुल र नोर्फिन १५ एम्पुलसहित सिन्धुपाल्चोक भोटेचौरका सालिकराम खतिवडालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भक्तपुर मध्यपुर थिमीबाट ट्रामाडोल ६० ट्याब्लेटसहित सिन्धुली दुधौलीका विष्णु बानिया पक्राउ परेका छन् । भक्तपुरकै च्यामासिंहबाट ट्रामाडोल १ सय ७९ ट्याब्लेटसहित रबिन सुवाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    बाराको निजगढ तपशैयास्थित जंगलबाट ७ किलो गाँजासहित जीतपुरसिमराका हुसन अंसारी र अल्यास देवान पक्राउ परेका छन् । प्रहरीले ना.५८ प ७७२७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूबाट गाँजा बरामद गरेको हो । मोरङ कटहरी रिङरोडबाट १० किलोग्राम गाँजासहित जहदा महादेव टोलका शसी मण्डल पक्राउ परेका छन् । प्रहरीले प्र.१-००२-००४ ह २५४० नम्बरको सिटी सफारीमा गाँजा फेला पारेको हो ।

    पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

  • लुम्बिनी प्रदेश सभाले पायो पूर्णता, एमालेकी रेवती दुई वर्षका लागि बनिन् सांसद

    लुम्बिनी प्रदेश सभाले पायो पूर्णता, एमालेकी रेवती दुई वर्षका लागि बनिन् सांसद

    रुपन्देही । लुम्बिनी प्रदेश सभाले पूर्णता पाएको छ । भदौ महिनामा एमालेबाट समानुपातिक सांसद बनेकी सरिता पुनको मृत्यु भएपछि खाली रहेको स्थानमा सोमबार रेवती गुरुङको नियुक्ति भएसँगै प्रदेश सभाले पूर्णता पाएको हो ।

    लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरसमक्ष गुरुङले शपथ लिइन् । निर्वाचन आयोगको मंसिर ११ को निर्णयअनुसार रिक्त भएको स्थानमा गुरुङलाई नयाँ सदस्य घोषणा गरिएको हो । रुकुम पूर्व, पुथा उत्तरगंगा गाउँपालिका–१०, तकसेराकी ३२ वर्षीया सरिता पुनको गत भदौ १४ गते उपचारका क्रममा निधन भएको थियो ।

    पुनको निधनपछि रिक्त भएको समानुपातिक सूचीमा महिलाअन्तर्गत आदिवासी जनजाति कोटाबाट प्रतिनिधित्व गर्ने क्रमअनुसार रुपन्देहीको देवदह नगरपालिका–५ निवासी गुरुङलाई मनोनयन गरिएको हो । गुरुङ एमालेको बन्द सूचीमा क्रम नम्बर १३ मा रहेकी र प्राथमिकता सूचीको पहिलो स्थानमा परेकाले अवसर पाएकी हुन् । प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० (२) तथा निर्वाचन नियमावली, २०७४ को नियम ४७ (५) बमोजिम रिक्त स्थानमा सूचीकृत क्रमअनुसारका उम्मेदवार नियुक्त हुने व्यवस्था छ।

    एमाले रुपन्देहीमा तीन कार्यकाल जिल्ला सदस्य बनेकी गुरुङ यसअघि प्रदेश कमिटीमा रहेकी थिइन् । दुई छोरा र श्रीमानसहित देवदहमा बस्ने उनी अध्ययनमा साक्षर मात्रै रहे पनि लामो समयदेखि राजनीतिमा क्रियाशील थिइन् । ०७९ सालमै पहिलो सूचिमा सांसद बन्ने आशा राखेकी उनले नपाएपछि असन्तुष्ट रहेकी थिइन् ।

    चैतमा जनमतबाट राजीनामा दिएर खाली भएको स्थानमा केही समयअघि निलम पासवान नियुक्त भएकी थिइन् । पासवान र गुरुङ  दुई बाँकी दुई वर्षे कार्यकालका लागि सांसद बनेका हुन् ।

     

  • जेनजी आन्दोलनमा आगजनी र लुटपाटमा संलग्न ८ जना मोरङबाट पक्राउ

    जेनजी आन्दोलनमा आगजनी र लुटपाटमा संलग्न ८ जना मोरङबाट पक्राउ

    विराटनगर। जेन्जी आन्दोलनका नाममा सरकारी र व्यक्तीका सम्पत्ती तोडफोड आगजनी र लुटपाटका घटनामा सम्लग्न थप ८ जना पक्राउ परेका छ्न् । मोरङ प्रहरीले भदौ २४ गते रंगेलीमा भएको ‘जेनजी’ प्रदर्शनका क्रममा सरकारी कार्यालयहरूमा तोडफोड तथा आगजनी गरेको घटनामा संलग्न रहेको आरोपमा मोरङ प्रहरीले ८ जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा रङ्गेली नगरपालिका ३ का भुपाल भण्डारी – रंगेली ७ का आनन्द साह रङ्गेली ४ का रमेश कुमार मण्डल ,रंगेली-३ रुपक गौतम ,रुपेश यादव ,समिर क्षेत्री ,दोर्जे प्रतिक तामाङ, गणपत यादव रहेका छन् ।

    मोरङ जिल्ला अदालत, विराटनगरबाट ‘आपराधिक उपद्रो’ मुद्दामा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनीहरूको खोजतलास तीव्र पारेको थियो ।

    जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको विशेष प्रहरी टोलीले मंसिर १५ गते उनीहरूलाई आ-आफ्नो घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो । पक्राउ परेका सबै आरोपितहरूलाई हाल जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीमा ल्याई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको ।

  • पूर्वमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीको निधन

    पूर्वमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीको निधन

    सुर्खेत। कर्णाली प्रदेशका पूर्व सामाजिक विकास मन्त्री तथा कांग्रेस नेता यज्ञबहादुर बुढाक्षेत्रीको सोमबार निधन भएको छ।

    ७१ वर्षीय बुढाक्षेत्रीको मिर्गौला रोगको उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको हो । पश्चिम सुर्खेतको बराहताल–६ ब्यूरेनीका स्थायी बासिन्दा बुढाक्षेत्रीको निधनप्रति कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल, कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलगायत नेताहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

    बुढाक्षेत्रीले करिब १५ वर्ष शिक्षण पेशामा बिताए । २०२९ सालमा शिक्षक बनेका उनले २०४३ सम्म निरन्तर पढाए । त्यसपछि पोखरीडाँडा पञ्चायतका प्रधानपञ्च भएर उनले राजनीतिक यात्रा थाले ।

    २०४९ मा पोखरीकाँडा गाविस अध्यक्ष बने । २०५२ देखि २०७२ सम्म उनी कांग्रेस क्षेत्रीय सभापति रहे । २०७४ मा प्रदेशसभा सदस्य बनेका उनी २०७८ मा दुई कार्यकाल गरेर करिब १६ महिना कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री बने ।

    शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई प्राथमिकता दिने नेताका रुपमा बुढाक्षेत्री परिचित थिए । उनले गाउँ, गाउँमा विद्यालय तथा स्वास्थ्य संस्था विस्तारमा सक्रिय भूमिका खेलेका थिए । २०६२/६३ को जनआन्दोलन र कर्णालीलाई छुट्टै प्रदेश बनाउन गरिएको आन्दोलनमा पनि उनी अग्रमोर्चामा देखिएका थिए ।

  • युक्रेन सम्बन्धी महत्वपूर्ण वार्ताका लागि पुटिन र ट्रम्पका दूत तयार

    युक्रेन सम्बन्धी महत्वपूर्ण वार्ताका लागि पुटिन र ट्रम्पका दूत तयार

    काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार मस्कोमा अमेरिकी विशेष दूत स्टीव विटकफलाई भेट्ने भएका छन् । ह्वाइट हाउसले युक्रेन युद्ध अन्त्य गर्न सम्झौतामा पुग्ने बारेमा ‘धेरै आशावादी’ रहेको बताएपछि यो भेट हुन लागेको हो ।

    बीबीसीका अनुसार कूटनीतिक वार्तामा बाह्य सल्लाहकारको रूपमा काम गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर पनि उपस्थित हुने अपेक्षा गरिएको छ । रुसको पक्षमा रहेको अमेरिका समर्थित शान्ति योजनालाई परिष्कृत गर्ने उद्देश्यले विटकफ र कुशनर लगायत युक्रेनी र अमेरिकी अधिकारीहरूबीच फ्लोरिडामा दुई दिनको वार्तापछि यो उच्चस्तरीय भेट हुने भएको हो ।

    युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले वार्तालाई ‘रचनात्मक’ भनेर वर्णन गरेका छन् तर उनले ‘केही कठिन मुद्दाहरूमा काम गर्न बाँकी छ’ भनेका छन् ।

    सोमबार पेरिसमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको भेटपछि जेलेन्स्कीले शान्ति वार्तामा कीएभको प्राथमिकता ‘युक्रेनको सार्वभौमसत्ता कायम राख्नु र बलियो सुरक्षा ग्यारेन्टी प्राप्त गर्नु’ हो भनेका थिए ।

    ‘क्षेत्रीय मुद्दा शान्ति सम्झौताको सबैभन्दा कठिन तत्व हो, क्रेमलिनले युक्रेनलाई पूर्वमा रहेको क्षेत्र छोड्न दबाब दिइरहेको छ जुन अझै पनि यसको नियन्त्रणमा छ,’ जेलेन्स्कीले भने – ‘जुन किएभले लामो समयदेखि कायम राखेको छ र यो कहिल्यै गर्ने छैन ।’

    विटकफले बेलायती प्रधानमन्त्री सर केयर स्टारमर, जेलेन्स्की र युक्रेनका नयाँ प्रमुख वार्ताकार रुस्टेम उमरोभसँग पनि वार्ता गरेका छन् । धेरै प्रमुख युरोपेली नेताहरू जेलेन्स्की-म्याक्रोन बैठकमा भर्चुअल रूपमा सहभागी थिए ।

    बीबीसीका अनुसार ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले शान्ति सम्झौताको मस्यौदा ‘धेरै परिष्कृत’ भएको बताएकी छन् । ‘मलाई लाग्छ प्रशासन धेरै आशावादी छ । सोमबार लेभिटले भनिन्, ‘हामी आशावादी छौं कि यो युद्ध अन्ततः अन्त्य हुनेछ ।’

    गत हप्ता, पुटिनले अमेरिकाले प्रस्ताव गरेको शान्ति योजनाको मस्यौदा देखेको र यो युद्ध अन्त्य गर्न भविष्यमा हुने सम्झौताको ‘आधार’ बन्न सक्ने बताएका थिए । यद्यपि, कीएभ र युरोपेली सहयोगीहरूले यसमा ‘परिवर्तनहरू सुरक्षित गरेको’ बताएपछि क्रेमलिनका अधिकारीहरूले पछि प्रस्ताव स्वीकार गर्ने कि नगर्ने भन्नेमा शङ्‍का व्यक्त गरेका थिए ।

    नोभेम्बरमा प्रसारित अमेरिका-रूस शान्ति योजनाको प्रारम्भिक मस्यौदाले कीएभ र युरोपभरि त्रास फैलाएको थियो । मस्कोको मागप्रति धेरै झुकाव हुनुको साथै यसले युरोपेली वित्तीय संस्थाहरूमा हाल राखिएका धेरै अर्ब जम्मा भएका रूसी सम्पत्तिहरू कसरी लगानी गर्ने भनेर पनि निर्देशित गरेको थियो । साथै युरोपमा युक्रेनी बजार पहुँचको लागि सर्तहरूसमेत तय गरेको थियो ।

    ‘कुरा गर्नको लागि कुनै अन्तिम शान्ति योजना छैन’, यस्तो कुनै पनि प्रस्ताव युक्रेन र युरोपबाट इनपुट लिएर मात्र काम गर्न सकिन्छ ।’
    राष्ट्रपति जेलेन्स्कीले मात्र शान्ति वार्ताको अन्तिम रूप दिन सक्ने म्याक्रोनले बताएका थिए । जम्मा गरिएका रूसी सम्पत्ति, सुरक्षा ग्यारेन्टी र युक्रेनको ईयूमा प्रवेश सम्बन्धी प्रश्नहरूमा युरोपेली राष्ट्रहरूलाई संलग्न गराउन आवश्यक रहेको उनले औंल्याए।

    म्याक्रोनले २०१४ मा रूसले क्रिमियालाई अवैध विलय गराएको र त्यसपछि सन् २०२२ देखिको युक्रेनमाथिको आक्रामक द्वन्द्व अन्त्य गर्न ट्रम्प प्रशासनले गरेको प्रयासको पनि प्रशंसा गरे ।

    ईयूका विदेश नीति प्रमुख काजा कालासले यो हप्ता ‘निर्णायक’ हुन सक्ने बताइन् । उनले भनिन्, ‘मस्कोले उनीहरूसँग मात्र वार्ता गर्न चाहन्छ जसले उनीहरूलाई पहिले नै भएको कुराको माथि केही प्रस्ताव गरिरहेका छन् । मलाई डर छ कि सबै दबाब कमजोर पक्षमाथि पर्नेछ किनभने युक्रेनले आत्मसमर्पण गर्दा यो युद्ध रोक्ने सजिलो तरिका यही हो, तर यो कसैको हितमा छैन ।’

    हालैका महिनाहरूमा मस्कोले कहिलेकाहीं युद्ध अन्त्य गर्न सम्झौताको मध्यस्थता गर्ने अमेरिकी प्रयासहरूमा संलग्न भएको देखिन्छ । तर यसका धेरै मागहरू प्रत्यक्ष रूपमा युक्रेनको सार्वभौमिकताको विपरीत छन् र कीएभले अस्वीकार्य गर्दै आएको छ । यी क्षेत्रको प्रश्न प्रमुख विवादास्पद बिन्दु भए पनि, कीएभको लागि सुरक्षा ग्यारेन्टीको मुद्दा पनि विवादास्पद साबित भएका छन् । किएभ र यसका युरोपेली साझेदारहरू युक्रेनलाई फेरि आक्रमण हुनबाट जोगाउने सुरक्षा ग्यारेन्टीहरू – जस्तै नेटो सदस्यता – दिन इच्छुक छन् । तर रुसले यसको कडा विरोध गर्दै आएको छ । ट्रम्पले युक्रेनलाई सैन्य गठबन्धनमा सामेल हुन अनुमति दिने कुरा पनि अस्वीकार गरेका छन् ।

    पोकरोभ्स्क – जसलाई रूसी भाषामा क्रास्नोआर्मेस्क भनेर चिनिन्छ – र पूर्वी युक्रेनको भोभ्शान्स्क – का प्रमुख रणनीतिक शहरहरू कब्जा गरेको दाबी गरेका बेला मंगलबार मस्कोमा वार्ता हुन लागेको हो । युक्रेनी अधिकारीहरूले दुवै शहर रूसको कब्जामा गएको कुरा स्वीकार गरेका छैनन् । अग्रपंक्तिमा रहेर युद्धको निरन्तर निगरानी गरिरहेका खुला स्रोत गुप्तचर परियोजनाहरूका अनुसार भोभ्शान्स्क र पोकरोभ्स्क दुवै शहर अझै रूसी सेनाले पूर्ण रूपमा कब्जा गरेका छैनन् ।

  • उपत्यका विकास प्राधिकरणको शरणमा ‘लगानी बोर्ड’- साँघुरो कोठाबाट फराकिलो सपना बुन्दै

    उपत्यका विकास प्राधिकरणको शरणमा ‘लगानी बोर्ड’- साँघुरो कोठाबाट फराकिलो सपना बुन्दै

    काठमाडौं । जेनजी आन्दोलनको त्यो पहिलो दिन (भदौ २३ गते)। जब प्रदर्शनकारीको भीड संसद् भवनतर्फ सोझिएको थियो, तब एउटा अनिष्टको सङ्केत देखिइसकेको थियो। सुरक्षाकर्मीको घेरा तोडेर संसद् भवनमा आक्रमण गर्ने पहिलो दिनको त्यो ‘प्रयास’ विफल त भयो, तर त्यसक्रममा ठूलो विपत्तिको पूर्वसङ्केत देखिइसकेको थियो।

    पहिलो दिनको अवस्थाले भोलिपल्ट अर्कै कथा लेख्दै थियो। नभन्दै, दोस्रो दिन आन्दोलनको राप यति विध्वंसक बन्यो कि देशको सार्वभौम संसद् भवनसँगै विदेशी लगानी भित्र्याउने मुलुकको ‘द्वार’ मानिने लगानी बोर्डको कार्यालय पनि एकै चिहान भयो।

    नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको त्यो भव्य परिसर, जहाँ बसेर खर्बौँ डलर भित्र्याउने र देशको मुहार फेर्ने योजना बुनिन्थ्यो; आज त्यो ठाउँ खरानीको थुप्रोमा परिणत भएको छ। हिजोसम्म विदेशी पाहुना र अर्बपति लगानीकर्तालाई स्वागत गर्न रातो कार्पेट ओछ्याउने लगानी बोर्ड आज आफैँ काठमाडौँ उपत्यका विकास प्राधिकरणको एउटा कुनामा शरण लिन विवश छ।

    प्राधिकरणको साँघुरो कोठामा विदेशी दातृ निकायले दिएको पुरानो कुर्सीमा बसेर नयाँ मार्गको खोजीमा रहेका लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीको मुहारमा त्यो त्रासदीपूर्ण दिनको झझल्को अझै ताजै देखिन्छ। सीईओ ज्ञवालीका लागि त्यो आगलागी केवल एउटा भवन जल्नु मात्र थिएन; त्यो इतिहास जल्नु थियो र त्योसँगै वर्तमानको ठूलो सपना खरानी हुनु थियो।

    ‘पहिलो दिनको प्रयास असफल भएपछि दोस्रो दिन जसरी आक्रमण भयो, त्यसले हामीलाई सम्हालिने मौका नै दिएन’, ज्ञवाली सुनाउँछन्, ‘अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हाताभित्र रहेकाले हाम्रो कार्यालय जोगिन सकेन। एकैछिनमा कार्यालय ध्वस्त भएको खबर पाएँ।’

    जेनजी आन्दोलनको समयमा ज्ञवाली नेपालमा थिएनन्। उनी नेपालमा लगानी ल्याउने खोजीमा देशबाहिर पुगेका थिए। लगानीकर्ता ‘फकाउन’ विदेश पुगेका ज्ञवालीको ध्यान भने नेपालको आन्दोलनमै थियो। कार्यक्रमस्थलमा रहेर पनि नेपालको अवस्थाबारे जानकारी लिन उनी छिनछिनमै मोबाइल हेर्थे।

    ‘आन्दोलनको समयमा नेपालमा थिइनँ, देशबाहिर थिएँ’, उनले भने, ‘लगानी ल्याउन हिँडेको मान्छे, देश खरानी भएको खबर पाएँ। त्यो रातभर निदाउन सकिनँ।’

    कार्यालय ध्वस्त भएसँगै सीईओ ज्ञवालीको मनमा थपिएको अर्को पीडा थियो– अब कसरी काम अगाडि बढाउने? लगानीकर्ता फकाउने चिन्ता उनमा छँदै थियो, त्यसमा थपिएको थियो अर्को चिन्ता– अब कार्यालय कहाँ, कसरी चलाउने भन्ने।

    ‘एकातर्फ कार्यालय व्यवस्थापन र आफ्ना कर्मचारीलाई कहाँ राख्ने भन्ने चिन्ता थियो। अर्कोतर्फ लगानीकर्ताको मनोबल खस्किन दिनु भएन। यो दुई कुरालाई ब्यालेन्स मिलाउन ठूलो दबाब रह्यो’, त्यो बेलाको समय सम्झिँदै उनले सुनाए।

    नेपाल फर्केर उनी तत्कालै नयाँ ठाउँको खोजीमा लागे। विभिन्न ठाउँ पुगे र सबैसँग हारगुहार मागे। र, अन्ततः प्राधिकरणको शरण पाए।

    ‘यहाँ आउँदा हामीसँग केही थिएन। हामीले बेलायती सहयोग नियोगसँग सहयोग माग्यौँ। उनीहरूको ‘ग्रिन ग्रोथ नेपाल’ परियोजनामार्फत हामीलाई केही कुर्सी, टेबल र कम्प्युटरहरू सहयोग गर्नुभयो’, उनले भने।

    अहिले ज्ञवाली बसिरहेको कुर्सीमा पनि विदेशी दातृ निकायको सहयोगको छाप छ। एउटा फ्ल्याटमा दुई–चारवटा कोठा लिएर कोचाकोच गरेर कर्मचारीहरू काम गरिरहेका छन्। ‘एउटै फ्ल्याट पनि पाइएन। ग्राउन्ड फ्लोरमा एउटा कोठा छ, माथि अर्को छ। तीन तलामा छरिएर बस्नुपरेको छ’, उनले बाध्यता सुनाए।

    ध्वस्त भए २५ सवारीसाधन, करिब सात करोडको क्षति

    जेनजी आन्दोलनको दोस्रो दिन (भदौ २४ गते) आन्दोलनकारीहरूको भीडले संसद् भवनसँगै बोर्डको संरचनामा समेत आगो झोसेका थिए। जसबाट बोर्डले आफ्नो भौतिक अस्तित्व नै गुमायो। बोर्डको कार्यालयसँगै महत्त्वपूर्ण कागजातदेखि सवारीसाधनसम्म क्षतिग्रस्त भए।

    ‘करिब सात करोडको क्षति भएको छ। यो क्षति कार्यालयबाहेक सवारीसाधन, कम्प्युटर र फर्निचरको हो। सबै स्वाहा भयो’, उनले सुनाए।

    ‘बोर्डको भौतिक पूर्वाधार र सामानको हिसाब गर्दा करिब ७ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ’, उनले भने, ‘हाम्रो अफिसमा रहेका करिब २५ सवारीसाधन पूर्ण रूपमा जले। बोर्डका कर्मचारी र केही कम्पनीका गाडीहरू पनि त्यहाँ थिए, ती सबै आगोमा परे। करोडौँको सामान क्षणभरमै खरानी हुँदा बोर्डको दैनिक कार्यसम्पादनमा ठूलो धक्का लाग्यो।’

    भौतिक सम्पत्ति त फेरि किन्न सकिएला, भवन फेरि बनाउन सकिएला तर त्यो आगलागीमा मुलुकको लगानी इतिहाससँग जोडिएका महत्त्वपूर्ण दस्तावेजहरू जले, जसलाई अब चाहेर पनि पुनः प्राप्त गर्न सकिँदैन।

    ज्ञवालीका अनुसार नेपालको कानुनबमोजिम नेपाली कागजमा हस्ताक्षर गरेर राखिएका ठूला परियोजनाका ‘ओरिजिनल प्रोजेक्ट एग्रिमेन्ट’हरू आगोमा जलेर नष्ट भए।

    ‘हामीले विदेशी लगानीकर्तासँग वर्षौँ लगाएर गरेको नेगोसिएसनपछि तयार भएका सम्झौताका ओरिजिनल कपीहरू त्यहाँ थिए। दुवै पक्षले हस्ताक्षर गरेका ती ऐतिहासिक दस्तावेजहरू खरानीमा परिणत भए’, उनले भने।

    ती कागजातहरूमा परियोजनाको इतिहास, अध्ययन प्रतिवेदन र महत्त्वपूर्ण रिभ्युहरू समेटिएका थिए। यस्ता महत्त्वपूर्ण कागजातहरू जल्नु मुलुकका लागि ठूलो अभिलेखीय क्षति हो। तर, ‘डिजिटल मेमोरी’ र माइन्युट भने सुरक्षित फेला पऱ्यो।

    सबै थोक जल्दा पनि एउटा सुखद संयोगले बोर्डको तथ्याङ्क भने पूर्ण रूपमा नष्ट हुन पाएन। नेपाल प्रेससँगको कुराकानीमा ज्ञवालीले राहतको सास फेर्दै सुनाए, ‘एउटा लक्की कुरा के भयो भने बोर्डको माइन्युट (निर्णय पुस्तिका) चाहिँ बच्यो। त्यो अलि भित्री कोठाको दराजमा थियो। त्यहाँसम्म आगोको लप्का पुग्न पाएनछ। त्यो जोगिनु हाम्रो लागि ठूलो सम्पत्ति जोगिएसरह भयो।’

    त्यसबाहेक, बोर्डको डिजिटल सिस्टम र सर्भर कोठा पनि तुलनात्मक रूपमा भित्री भागमा भएकाले आगोले पूर्ण रूपमा छुन पाएन। डिजिटल रेकर्डलाई रिभाइभ गरिएको छ। केही डकुमेन्ट लगानीकर्तासँग मगाएर र यताबाट पठाएको इमेल रेकर्डबाट निकालेर रिकभर गरिँदै छ।

    सीईओ ज्ञवालीसहित उनको टिम जोगिएका केही फाइल बोकेर खरानी टकटक्याउँदै जलेका सपनाहरूलाई पुनः जोड्ने प्रयासमा अनामनगरमा शरणमा छन्। आन्दोलनको त्यो भयानक चोट व्यहोरेका ज्ञवालीले भग्नावशेषबाट कसरी बोर्डलाई पुनः खडा गरिँदै छ र विदेशी लगानीकर्ताको गुमेको विश्वास फर्काउन के गरिँदै छ भन्ने फेहरिस्त नेपाल प्रेसलाई सुनाए।

    ज्ञवालीका अनुसार बोर्डको आफ्नै स्थायी भवन बनाउने योजना पनि अघि सारिएको छ। ‘हामी सधैँ यसरी शरणमा बस्न सक्दैनौँ। सरकारले जग्गा उपलब्ध गरायो भने हामी आफ्नै भवन बनाउने छौँ। यसका लागि डिजाइनको काम अघि बढाउने निर्णय भइसकेको छ’, उनले भने।

    निराशाभन्दा बढी अठोट

    संसद् भवन परिसरमा हुँदाको त्यो ‘स्पिड’ र अहिलेको यो साँघुरो कोठाको काम गराइमा आकाश–पातालको फरक छ। तर, ज्ञवालीको अनुहारमा निराशाभन्दा बढी अठोट देखिन्छ। उनी भन्छन्, ‘हाम्रो भवन जल्यो, कुर्सी–टेबुल जले, तर हाम्रो ‘स्पिरिट’ जलेको छैन। लगानी बोर्डको जुन स्पिरिट थियो, त्यो अझै पनि जीवित छ र हामी त्यही स्पिरिटलाई समातेर अघि बढ्ने कोसिसमा छौँ।’

    जेनजी आन्दोलनले भौतिक संरचना मात्र भत्काएन, विदेशी लगानीकर्ताको नेपालप्रतिको विश्वास पनि डगमगाइदियो। जुन देशको न्यायालयदेखि सिंहदरबार परिसर नै सुरक्षित छैन भने त्यहाँ हाम्रो लगानी कसरी सुरक्षित हुन्छ भन्ने प्रश्न लगानीकर्ताले तेर्स्याउन थाले।

    ‘स्वाभाविक रूपमा उहाँहरूमा एक खालको ठूलो चिन्ता देखियो। सुरक्षाको हिसाबले हाम्रो लगानी के हुन्छ भन्ने प्रश्न हाम्रो बीचमा आयो। आइसकेका लगानीकर्तामा त्रास मात्रै देखिएन कि नेपाल आउने तयारीमा रहेका कतिपय लगानीकर्ताहरू ‘पर्ख र हेर’को अवस्थामा पुगे’, उनले भने।

    विदेशी लगानीकर्ताले सीईओ ज्ञवालीसँग गर्ने एउटै तर्क थियो– नेपालमा लगानी सुरक्षित छ कि छैन ? यो प्रश्नको सामना गर्न ज्ञवालीलाई निकै कठिन थियो। त्यो दृश्यमा देखिएको विध्वंसलाई ढाकछोप गर्न सकिने अवस्था थिएन। तर पनि लगानी सुरक्षित रहने प्रतिबद्धता भने जनाइरहे।

    सङ्कटको यो घडीमा सीईओ ज्ञवालीले हात बाँधेर बस्न चाहेनन्। उनले तत्कालै ‘ड्यामेज कन्ट्रोल’ को रणनीति अपनाए। घटना भएको केही दिनभित्रै उनले नेपालस्थित शक्तिशाली राष्ट्रका राजदूतहरू र लगानीकर्ताहरूसँगको संवादलाई तीव्रता दिए।

    ‘मैले सबै लगानीकर्तालाई बोलाएँ। यहाँका नेपाल प्रतिनिधिहरू, सीएनआई (नेपाल उद्योग परिसंघ), एफएनसीसीआई, चेम्बर अफ कमर्सका अध्यक्षहरूलाई राखेर छलफल गरेँ। हामीले अर्थमन्त्रीको नेतृत्वमा अमेरिकी, बेलायती, भारतीयलगायतका राजदूतहरू र बहुराष्ट्रिय कम्पनीका सीईओहरूलाई राखेर विशेष कार्यक्रम गर्यौँ’, उनले भने।

    त्यो बैठकमा ज्ञवाली र नेपाल सरकारको एउटै सन्देश थियो– ‘वी विल राइज’ । यो एउटा दुर्घटना थियो, तर हामी उठ्ने छौँ र उठ्नैपर्छ।

    उनले निजी क्षेत्रका ठूला लगानीकर्ताहरू रहेका कम्पनीका प्रतिनिधिहरूसँग खुलेर कुरा गरे। ‘उहाँहरूले पनि आफ्नो कुरा राख्नुभयो। तर खुसीको कुरा, उहाँहरूले जे भयो भयो, हामी नेपाल छोड्दैनौँ। हामी पनि रिकभरीमा लाग्छौँ भनेर प्रतिबद्धता जनाउनुभयो। सरकार र निजी क्षेत्रको यो संवादले लगानीकर्तामा गुमेको विश्वास फर्काउन ठूलो भूमिका खेल्यो’, ज्ञवालीले भने।

    अर्बौँ डलरको नयाँ रोडम्याप, सम्झौतामै कानुनी सुरक्षाको ग्यारेन्टी

    खरानीबाट उठ्दै गरेको लगानी बोर्डले आफ्नो लक्ष्यलाई भने घटाएको छैन। ज्ञवालीका अनुसार अहिले पनि १६ सय अर्ब (१६ खर्ब) रुपैयाँ बराबरका परियोजनाहरू बोर्डको ‘पाइपलाइन’ मा छन्। यो नेपालको अर्थतन्त्रको आकारको तुलनामा निकै ठूलो रकम हो।

    ज्ञवालीले अझ ठूलो र महत्त्वाकांक्षी योजना रहेको बताउँदै भने, ‘हामीले नेपाल उद्योग परिसंघसँग मिलेर एउटा स्टडी गरेका छौँ। अबको ५ वर्षमा नेपालमा १०० अर्ब डलर बराबरको लगानी भित्र्याउने रोडम्याप तयार पार्दै छौँ।’

    उनले १६ सय अर्बको पाइपलाइनमा रहेका प्रोजेक्टहरूलाई कुनै पनि हालतमा ‘ड्रप’ हुन नदिने अठोट व्यक्त गरे। लगानीकर्ताको मनोबल खस्किन नदिनु हाम्रो पहिलो कर्तव्य रहेको समेत उनले सुनाए।

    मौखिक आश्वासनले मात्र विदेशी लगानीकर्ता आश्वस्त हुँदैनन् भन्ने कुरा ज्ञवालीले राम्रोसँग बुझेका छन्। त्यसैले उनले अब लगानीकर्तासँग गरिने सम्झौतामै सुरक्षाको ग्यारेन्टी खोज्ने नीति लिएका छन्।

    ‘हिजो सुरक्षाको कुरा सामान्य थियो। आज विदेशी लगानीकर्ताले कानुनी रूपमै सुरक्षाको ग्यारेन्टी खोजेका छन्। हामी अब गर्ने एग्रिमेन्टमा लगानीको सुरक्षाको दफालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार बलियो बनाउँदै छौँ’, ज्ञवालीले भने।

    यदि भोलि कुनै कारणले लगानीकर्ताको परियोजनामा क्षति भयो भने त्यसको जिम्मा राज्यले लिने गरी ‘सोभरेन ग्यारेन्टी’ सरहको कानुनी प्रबन्ध गर्ने तयारी बोर्डले गरेको छ। यसले लगानीकर्तालाई आफ्नो पुँजी डुब्ने डरबाट मुक्त गराउने विश्वास ज्ञवालीको छ।

    लगानीकर्ताको अर्को चासो भनेको ‘रिटर्न’ (नाफा) लैजाने कुरामा हो। उनीहरूले कमाएको पैसा सहजै लैजान पाउने वातावरण बनाइदेऊ भन्ने उनीहरूको माग छ। त्यसमा पनि बोर्डले सहजीकरण गरिरहेको छ।

    सङ्कट व्यवस्थापनको पुरानो अनुभवले दिएको धैर्यता

    सीईओ ज्ञवालीसँग सङ्कट व्यवस्थापनको पुरानो अनुभव छ। २०७२ सालको विनाशकारी भूकम्पपछि गठन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्व उनैले गरेका थिए। त्यतिबेला पनि शून्यबाट काम सुरु गरेर ८ लाख निजी घर र हजारौँ विद्यालय, सम्पदा ठड्याएको अनुभवले उनलाई अहिलेको सङ्कटमा विचलित हुन दिएन।

    ‘त्यतिबेला पनि हामी जिरोमा थियौँ। कुर्सी थिएन, टेबल थिएन। तर हामीले संसारकै ठूलो हाउजिङ रिकभरीको काम गर्यौँ। त्यो अनुभवले मलाई अहिले धैर्य हुन सिकाएको छ। त्यही अनुभवकै कारण संसद् भवन जल्दा र आफ्नो अफिस खरानी हुँदा मन रोयो तर हिम्मत हराएन।’

    उनले सिंहदरबार जल्दाको पीडा पनि सुनाए। जुन लगानीभन्दा माथि कला र इतिहाससँग जोडिएको थियो।

    ‘म पुनर्निर्माण प्राधिकरणमा हुँदा सिंहदरबारको रेट्रोफिटिङ (प्रबलीकरण) गरेको थिएँ। त्यहाँ भित्रका कलाकृति, पेन्टिङ र वास्तुकला यति बेजोड थिए कि त्यो संसारकै उत्कृष्ट नमुना थियो। बकिंघम प्यालेसमा भएको घडी र त्यहाँको घडी उस्तै थियो’, उनले सम्झिए।

    त्यो सबै खरानी बन्दा आफू रातभर निदाउन नसकेको सुनाउँदै ज्ञवालीले भने, ‘त्यो राणाकालीन कला, त्यो काठको बुट्टा, त्यो इतिहासलाई भत्काउन दिइनँ, बचाएँ भनेर गर्व लाग्थ्यो । तर, त्यो दनदनी जलेको देख्दा म राति निदाउन पनि सकिनँ।’

    लगानी र पैसा त फेरि कमाउन सकिएला, तर त्यो जलेको इतिहास अब कहिल्यै फर्काउन नसकिने उनले सुनाए। यी सबै पीडाबाट माथि उठ्ने कोसिस गर्दै ज्ञवालीको निष्कर्ष छ– अब पछाडि फर्केर हेर्ने समय छैन। नेगेटिभिटीको एउटा क्लाइमेक्स सकियो। अब हामी पोजिटिभ भाइब्सका साथ अघि बढ्नुपर्छ।

    आगामी फागुन २१ गतेपछि देशमा नयाँ सरकार बन्ने र त्यसले ५ वर्षका लागि स्थिरता दिने अपेक्षासहित बोर्डले ‘फास्ट ट्र्याक’ मा काम गर्ने योजना बनाएको छ। जेनजी आन्दोलनले दिएको पीडालाई शक्तिमा बदल्दै लगानी बोर्ड ‘एक्सन’ मा उत्रिएको उनले सुनाए। लगानीको दीर्घकालीन सपना बोकेर प्राधिकरणको साँघुरो कोठाबाट बोर्डले विश्व नियालिरहेको ज्ञवालीले बताए ।

    ०००

    ज्ञवालीसँग गरेको कुराकानीको थप अंशः 

    –आन्दोलनपछि लगानी बोर्डले कसरी काम गर्दै छ ?

    आन्दोलनमा कार्यालय ध्वस्त भए पनि हामीले अहिले काठमाडौँ उपत्यका विकास प्राधिकरणको कार्यालयमा शरण लिएर काम गर्नु परेको छ। हाम्रो डिजिटल रेकर्ड पनि धेरै लस भयो। त्यसलाई बाहिरबाट अरू डिफरेन्ट ढङ्गले रिभाइभ गर्नुपर्ने अवस्था भयो। हाम्रो सम्पूर्ण लगानीसँग सम्बन्धित सबै खालका तथ्याङ्कहरू, डकुमेन्टहरू, रिपोर्टहरू, एग्रिमेन्टलाई रिभाइभ गर्ने कोसिस गरिरहेका छौँ।

    –जेनजी आन्दोलन पछाडि विदेशी लगानीकर्ताहरूसँगको कुराकानीमा कस्तो प्रतिक्रिया पाउनुभयो?

    स्वाभाविक ढङ्गले उहाँहरूमा एक खालको चिन्ता देखियो। सुरक्षाको हिसाबले पनि के हुन्छ हाम्रो सम्पत्तिहरू भन्ने प्रश्न आयो। अहिले कतिपय लगानीकर्ताहरू ‘वेट एन्ड सि’ (पर्ख र हेर) को अवस्थामा पनि हुनुहुन्छ। तर अब सबै हातै झिकिहाल्ने भन्ने चाहिँ छैन।

    मुलुकमा निजी क्षेत्रको लगानी आउन सकेन, निजी क्षेत्रको मनोबल कमजोर भयो र मनोबल खस्कियो भने त बर्बाद हुन्छ भनेर यो बीचमा हामीले महत्त्वपूर्ण कार्यक्रमहरू गर्यौँ। कार्यक्रममा अर्थमन्त्रीदेखि ठूलो क्षति व्यहोरेको भाटभटेनीलगायत निजी क्षेत्रबाट सहभागिता भयो। जहाँ उहाँहरूले पनि आफ्नो कुराहरू राख्नुभयो र ओपन छलफल गर्यौँ। त्यहाँ हामीले सुरु गर्यौँ ‘वी विल राइज’, हामी उठ्ने छौँ र हामी उठ्नैपर्छ भन्ने लेभलको निष्कर्ष निकाल्यौँ।

    मनोबल खस्केर स्वाट्टै एकदम तल झर्ने जुन खतरा हुन सक्थ्यो, त्यसलाई हामीले सुरक्षित बनाएका छौँ, बचाएका छौँ। तर, पनि यो बीचमा जुन स्पिड थियो, त्यो स्पिडमा अलिकति केही ब्रेक त लाग्यो नै। लगानी ल्याउँछौँ भन्ने केही लगानीकर्ताहरूले ‘हामी पर्खन्छौँ, हामी हेर्छौँ, अझै थप अध्ययन गर्छौँ’ भनिरहेका छन्। बाहिरबाट आउने लगानीकर्ताहरूमा अलिकति केही–केही प्रोजेक्टहरूमा त्यस्तो देखिएको छ। तर हामीले उनीहरूमा सकारात्मक म्यासेज भने दिइरहेका छौँ। हामीले उनीहरूको मनोबल बढाउने कुरामा काम गरिरहेका छौँ।

    लगानीकर्ताहरूले नेपालमा खोजिरहेको सुरक्षा नै हो। लगानीकर्ताहरूले दुई–तीनवटा अर्को प्लस कुराहरू खोजिराखेका छन्। एउटा छिटो–छरितो काम हुनुपऱ्यो। किनभने उहाँहरूलाई जति ढिलो हुन्छ, काम उति नै कष्ट बढ्छ। प्रोजेक्ट चाहिँ महँगो पर्न जान्छ। त्यही भएर फास्ट ट्र्याकमा काम गरिदिनुपऱ्यो। सरकारले दिनुपर्ने सेवा–सुविधा जे–जे चिजहरू छन्, त्यो फास्ट गरिदिनुपऱ्यो। लामो समय लाग्यो भनेदेखि प्रोजेक्ट भायबल चाहिँ हुँदैन। रिटर्न राम्रो आउने खालकै हुँदैन। त्यहीँनिर लस हुन्छ। एउटा कन्सर्नको विषय त्यहाँनिर छ।

    अब अर्को, उहाँहरूको केही इन्सेन्टिभहरू नेपालले के दिन्छ? अरू देशहरूभन्दा तुलनात्मक हिसाबको फाइदा के छ यहाँ भन्ने खालको कुराको तुलनात्मक ढङ्गले उहाँहरू अध्ययन गर्न चाहन्छन्।

    उनीहरूमा हामीले जे कमाउँछौँ, देशका लागि एग्रिमेन्ट गरेअनुसारको टर्म्स एन्ड कन्डिसनमा काम गर्छौँ। नेपाललाई दिनुपर्ने सेवा तथा फाइदाहरू जे–जे छ, त्यो दिन्छौँ। तर हामीले कमाएको जुन नाफा हुन्छ, त्यो नाफा हामीले लैजान पाउनुपऱ्यो भन्ने छ। लगानी गरेपछि नाफै लान पाएन भने लगानी किन गर्ने भन्ने छ। नाफा सहज ढङ्गले लान पाउनुपऱ्यो भन्ने उनीहरूको कुरा छ।

    –सरकारले राजदूतहरूलाई फिर्ता बोलाउँदा वैदेशिक लगानीमा कस्तो असर परेको छ ?

    राजदूतहरूलाई फिर्ता बोलाउँदा वैदेशिक लगानी भित्र्याउने काममा केही हदसम्म असर परेको छ। राजदूत आवास र राजदूतहरूले लगानी प्रवर्द्धनमा भर्खरै सक्रिय भूमिका खेल्न थालेका थिए। कामले गति लिन लागेको अवस्थामा फिर्ता बोलाउँदा त्यसको प्रभाव देखिएको छ।

    तर, लगानी बोर्डले यसलाई संस्थागत रूपमा अघि बढाउन आर्थिक कूटनीति र लगानी कूटनीतिको रणनीति बनाएर काम गरिरहेको छ। बोर्डले परराष्ट्र मन्त्रालयसँग समन्वय गरी राजदूत र कूटनीतिक कर्मचारीहरूलाई भर्चुअल माध्यमबाट ओरिएन्टेसन दिएको छ। यसअन्तर्गत बेलायत, कोरिया, चीन, भारत, सिङ्गापुर, युएई र कतारलगायतका देशमा रहेका दूतावासहरूले लगानीकर्ताहरूसँग प्रत्यक्ष वा भर्चुअल कार्यक्रमहरू आयोजना गरिसकेका छन्।

    दूतावासमा फोकल पर्सन तोकेर काम गर्ने प्रणाली बसालिएको हुनाले राजदूत परिवर्तन भए पनि संस्थागत काम रोकिँदैन। अहिले बोर्ड आफैँ भौतिक रूपमा उपस्थित हुनु नपर्ने, भिडियो कन्फ्रेन्सिङबाटै काम हुने र आवश्यक पर्दा मात्र भौतिक उपस्थिति जनाउने गरी प्रविधिको प्रयोग बढाइएको छ। राजदूत फिर्ता हुँदा केही सुस्तता देखिए पनि संस्थागत प्रणालीमार्फत लगानीको वातावरण बिग्रन नदिने प्रयास भइरहेको छ।

    –अहिले लगानी बोर्डले परियोजना छनौट र विकासका लागि कस्तो मोडालिटी अपनाएको छ ?

    विगतमा सरकारले परियोजना पहिचान गरेर लगानीकर्ता खोज्ने चलन थियो भने अहिले लगानी बोर्डले लगानीकर्तालाई नै तपाईँहरूसँग के प्रस्ताव छ, लिएर आउनुस् भन्ने खुला नीति अपनाएको छ। यस नयाँ मोडालिटीअनुसार लगानीकर्ताले सीधै परियोजनाको प्रस्ताव पेस गर्न सक्छन् र बोर्डले उनीहरूलाई अध्ययन अनुमति पत्र दिन्छ। लगानीकर्ता आफैँले डीपीआर तयार गरेपछि त्यो प्रस्ताव नेपालका लागि कत्तिको फाइदाजनक छ भनेर यकिन गरिन्छ। त्यसपछि सो प्रस्तावलाई प्रतिस्पर्धामा लगिन्छ।

    यदि प्रतिस्पर्धाका क्रममा अर्को कुनै लगानीकर्ताले सोही परियोजनामा देशलाई बढी फाइदा हुने प्रस्ताव ल्यायो भने नयाँले अवसर पाउँछ। तर सुरुमा अध्ययन गर्ने प्रवर्द्धकको खर्च दोस्रो पक्षले शोधभर्ना गरिदिनुपर्ने व्यवस्था गरिएको छ। यदि प्रस्ताव बराबर भएमा सुरुको प्रवर्द्धकले नै प्राथमिकता पाउँछ। यो विधिले गर्दा सरकारी अध्ययन प्रतिवेदन दराजमा थन्किने समस्या हट्छ र लगानीकर्ताले उत्कृष्ट प्रविधि र पुँजी लिएर आउँछन्।

    यही मोडालिटीमा हाल १६०० अर्बको पाइपलाइनमध्ये ७०० अर्बको लगानी सम्झौता गर्ने लक्ष्य राखिएको छ। जसमा १५ हजार जनालाई रोजगारी दिने सूचना प्रविधि पार्क, कृषिलाई आधुनिकीकरण गर्दै माथि सौर्य ऊर्जा उत्पादन गर्ने एग्रो भोल्टेक, पिक आवरको लोडसेडिङ व्यवस्थापन गर्न ब्याट्री स्टोरेजसहितको सोलार सिस्टम र हाइड्रोजन उत्पादन जस्ता नवीन र ठूला परियोजनाहरू अघि बढेका छन्।

    –लगानी सुरक्षाको प्रत्याभूति दिन बोर्डले कस्ता योजना बनाएको छ ?

    जेनजी आन्दोलन वा अन्य राजनीतिक घटनाक्रमले लगानीकर्तामा सुरक्षाको चिन्ता उत्पन्न हुनु स्वाभाविक भए पनि लगानी बोर्डले लगानीकर्ताहरूलाई सुरक्षाको ग्यारेन्टी गरेको छ। बोर्डले लगानीकर्तासँग गर्ने सम्झौतालाई अन्तर्राष्ट्रिय स्तरको द्विपक्षीय सन्धि सरहको मान्यता दिने तयारी गरेको छ। यसले गर्दा लगानीमा कुनै जोखिम आएमा लगानीकर्ताले अन्तर्राष्ट्रिय अदालतमा समेत मुद्दा लड्न सक्ने कानुनी बाटो खुल्छ, जसले उनीहरूको लगानी डुब्न दिँदैन।

    बोर्डले आगामी निर्वाचित सरकारलाई सहज होस् भनेर लगानीको स्पष्ट ‘रोडम्याप’ र दस्तावेज तयार गरिरहेको छ। जसले नीतिगत स्थिरता प्रदान गर्छ। नेपालमा लगानी गर्दा अरू देशको तुलनामा उच्च प्रतिफल प्राप्त हुने र जोखिम देखिएका क्षेत्रमै बढी अवसर लुकेको हुन्छ भन्ने सन्देश बोर्डले दिएको छ। निजी क्षेत्र र विदेशी लगानीकर्तालाई समान व्यवहार गर्दै, प्रतिस्पर्धी वातावरण सिर्जना गरी ‘फास्ट ट्र्याक’ मार्फत काम गर्ने र बोर्डले लगानीको वातावरण बनाउने विश्वास दिलाएको छ।

  • एनपीएल–२ : जनकपुरविरुद्ध टस जितेको चितवन, पहिला ब्याटिङ गर्दै

    एनपीएल–२ : जनकपुरविरुद्ध टस जितेको चितवन, पहिला ब्याटिङ गर्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा चितवन राइनोजले जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

    टीयु क्रिकेट मैदानमा जनकपुरविरुद्ध चितवनका कप्तान कुशल मल्लले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

    साविक विजेता जनकपुर हालसम्म जितविहीन रहदै अङ्‍क तालिकाको पुछारमा छ । चितवन ४ खेलबाट २ जितसहित चौंथो स्थानमा छ ।

  • निर्बाध रुपमा चुनावी गतिविधि गर्न पाउने वातावरण बनाउँदैछौं : गृहमन्त्री अर्याल

    निर्बाध रुपमा चुनावी गतिविधि गर्न पाउने वातावरण बनाउँदैछौं : गृहमन्त्री अर्याल

    कैलाली । प्रदेशस्तरीय सुरक्षा गोष्ठीका क्रममा कैलालीको धनगढी पुगेका गृहमन्त्री ओमप्रकाश अर्यालले ‘तोकिएकै समयमा निष्पक्ष निर्वाचन हुने’ दाबी गरेका छन् ।

    सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै अर्यालले फागुन २१ गतेको निर्वाचन ‘पर नसर्ने’ बताए ।

    ‘सरकारको मुख्य जिम्मेवारी नै निर्वाचन हो,’ गृहमन्त्री अर्यालले भने, ‘भयरहित र शान्तिपूर्ण चुनाव तोकिएकै समयमा हुन्छ ।’

    अर्यालका अनुसार निर्वाचनको वातावरण निर्माण गर्न सरकारका सबै संयन्त्र परिचालन भइसकेको छ । राजनीतिक दललाई निर्बाध रुपमा चुनावी गतिविधि गर्ने वातावरण सरकारले बनाइरहेको छ ।

    ‘यो साझा सरकार हो, हामी कसैलाई पनि विभेद गर्दैनौं । कुनै पनि दलको चुनावी गतिविधिमा अवरोध हुँदैन ।’ गृहमन्त्री अर्यालले भने ।

    देशलाई ट्र्याकमा ल्याउन निर्वाचनको विकल्प छैन : मुख्यमन्त्री शाह

    गोष्ठीमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले देशलाई ट्र्याकमा ल्याउन निर्वाचनको विकल्प नभएको बताएका छन् । सबै मिलेर निर्वाचनको वातावरण बनाउनु पर्नेमा मुख्यमन्त्री शाहले जोड दिए ।

    प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले भयरहित निर्वाचनको वातावरण बन्न नसकेको बताए ।

    उद्घाटनसत्रपछि दोस्रो चरणको कार्यक्रम सुरु भएको छ । प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सुरक्षाको वस्तुगत अवस्था, समस्या तथा चुनौतीहरु, अपराध नियन्त्रण, सीमा सुरक्षाबारे छलफल हुने बताइएको छ । गोष्ठीमा फागुण २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाबारे पनि छलफल हुने छ ।

    गोष्ठीमा गृहसचिव रामेश्वर दंगाल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसी र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की पनि सहभागी छन् ।

  • वनभोज स्थलका रुपमा विकास हुँदै इटहरीको तालतलैया

    वनभोज स्थलका रुपमा विकास हुँदै इटहरीको तालतलैया

    सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–२ र ३ मा रहेको तालतलैया वनभोज स्थलका रूपमा लोकप्रिय बन्दै गएको छ ।

    पाँच सयभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक वनभोजका लागि तालतलैया आउने गरेको तालतलैया व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर रायमाझीले बताए ।

    एकैपटक ७० भन्दाबढी समूहले वनभोज कार्यक्रम आयोजना गर्न सक्ने तालतलैया क्षेत्रको क्षमता रहेको अध्यक्ष रायमाझी बताउँछन् । वनभोजमा आउनेले दुई–चार दिन अगाडि बुकिङ गराउनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

    जाडो छल्न तालतलैयामा पाहुना चराको चहलपहल

    पर्यटकको आकर्षणलाई ध्यानमा राखी तालतलैया परिसरभित्र छ वटा पोखरी निर्माण गरिएको छ । दुई वटा मोटरबोट सञ्चालनमा ल्याइएको छ । मङ्सिरदेखि माघसम्म पर्यटकको चाप अत्यधिक हुने गरेको छ । अध्यक्ष रायमाझीका अनुसार भारतका विभिन्न सहरदेखि पर्यटक आउने गरेका छन् । नेपालका सिरहा, सप्तरी क्षेत्रबाटसमेत आन्तरिक पर्यटक आउँछन् ।

    आर्थिक वर्ष २०८१/८२ मा सहरी विकास मन्त्रालयबाट विनियोजन भएको ८५ लाख रुपैयाँले तालतलैयाभित्र पर्यटकीय संरचना थप निर्माण गरिएको छ । उक्त बजेटबाट शौचालय, चिडियाखानाका थप संरचना, तथा अन्य पर्यटकमैत्री सुविधा निर्माण गरिएको छ । तालतलैयाभित्र नर्सरी, वाटरफाउन्टेन, बालबालिकाका लागि चिल्ड्रेन पार्क निर्माण गरिएको छ ।

    स्कुल बिदाका समयमा अभिभावकले बालबालिकालाई खेलाउन ल्याउनेको सङ्ख्या पनि उल्लेखनीय छ ।

    इटहरी आसपासका आठ आकर्षक पर्यटकीय गन्तव्य

    तालतलैया पूर्वक्षेत्रका प्रमुख मनोरञ्जन र वनभोज गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । यहाँ रहेका विभिन्न संरचनाको जीर्णोद्धार, जनावरको बासस्थान संरक्षण र पर्यटकीय पूर्वाधार निर्माण तथा प्रवर्द्धनका लागि प्रदेश र सङ्घीय सरकारबाट सहयोग प्राप्त भइरहेको अध्यक्ष रायमाझी बताउँछन् । तालतलैयाभित्र अहिले घुम्न आउने पर्यटक विश्राम गर्न दर्जनौँ चौतारा, बगैँचा साथै अवलोकनका लागि विभिन्न प्रकारका मूर्तिसमेत सरकारी सहयोगमा निर्माण गरिएको छ ।

    तालतलैया २१ दशमलव पाँच हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

    -रासस

  • ४ वर्षसम्म कामको मेलो नसरेपछि इनरुवा-कप्ताङगञ्ज सडकको ठेक्का तोडियो

    ४ वर्षसम्म कामको मेलो नसरेपछि इनरुवा-कप्ताङगञ्ज सडकको ठेक्का तोडियो

    काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा-कप्ताङगञ्ज २२.६६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ ।

    सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सडक निर्माणका लागि गौरीपार्वती-देव एण्ड सायर-भूमि संयुक्त उपक्रम (जेभी), विराटनगरसँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ ।

    सडक स्तरोन्नतिका लागि उक्त जेभीसँग २ माघ २०७८ मा ५२ करोड ७० लाख रुपैयाँमा (करसहित) ठेक्का सम्झौता भएको थियो । सडक निर्माण साउन २०८१ भित्र सम्पन्न गरी ठेक्का सम्झौता भएकोमा निर्माण प्रगति करिब १८ प्रतिशत मात्र छ । ठेक्का सम्झौता २०८३ असारसम्म थप गरिएकोमा पटक-पटक ताकेता गर्दा काम नगरेको, प्रतिबद्धता बमोजिम काम नगरेको र साइट ठप्प बनाएकाले ठेक्का तोडिएको हो ।

    ठेक्का सम्झौता रद्ध गरिएका निर्माण व्यवसायीकले कार्य सम्पादन जमानत वापतको १६ करोड ९४ लाख र पेश्की २ करोड ३१ लाख १ करोड ७१ लाख रूपैयाँ जफत गरिने छ । पेश्की रकममा १० प्रतिशत व्याजसहित असुल हुनेछ । निर्माण व्यवसायीयले अनुमानित लागतभन्दा करिब ५० प्रतिशत कम रकम कबोल गरेको थियो ।

    योजना कार्यालय इटहरीबाट गत साउनमा ठेक्का किन नतोड्ने ? भन्दै सोधिएको १५ दिने स्पष्टीकरणको निर्माण व्यवसायीबाट चित्तबुझ्दो जवाफ नआएको कार्यालयले जनाएको छ ।

  • बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा स्तरोन्नति

    बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा स्तरोन्नति

    म्याग्दी । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डमा १९ वर्षपछि कालोपत्र भएको छ । बेनीदेखि मुस्ताङको सिमाना काभ्रेभिरसम्म ३३ किलोमिटरमध्ये २६ किलोमिटरमा कालोपत्र भएको हो ।

    सडक आयोजनाका इन्जिनियर विष्णु चापागाईँका अनुसार सडकलाई ११ मिटर चौडा बनाएर कालोपत्र र ढलान गरिएको छ । नागढुङ्गा–कैकुखोला खण्डको १६.५ किलोमिटरमध्ये ११ किलोमिटर ६३ करोड रुपैयाँमा कालोपत्र र ढलान भएको छ । राहुघाट–नागढुङ्गा खण्डको १९ किलोमिटरमध्ये १५ किलोमिटर ६६ करोड रुपैयाँमा काम सम्पन्न भएको छ ।

    त्यसैगरी, राहुघाट, बेगखोला, महभिर र पोखरेबगरस्थित कालीगण्डकी, दानाको घट्टेखोलामा मोटरेबल पुल निर्माण, भुरुङ्गखोला र रुप्सेखोलामा बेलिब्रिज जडान भएका छन् ।

  • हेटौँडामा भत्कँदै ५३१ घर, विस्थापित व्यवसायीलाई हेटौँडा उपमहानगरको तीन विकल्प

    हेटौँडामा भत्कँदै ५३१ घर, विस्थापित व्यवसायीलाई हेटौँडा उपमहानगरको तीन विकल्प

    हेटौँडा । सडक डिभिजन हेटौँडाले २५–२५ गज सडक बिस्तार गर्दा हेटौँडा उपमहानगरपालिकाले बिस्थापित हुने व्यवसायीलाई बजार क्षेत्रमा व्यवस्थापन गर्न सकिने जनाएको छ । विस्थापित व्यवसायीलाई हेटौँडा बसपार्कमा रहेका ४० वटा सटरमा राख्न सकिने र यसका लागि मकवानपुर उद्याग वाणिज्य संघको समन्वय हुनसक्ने बताइएको हो ।

    यस्तै, हेटौँडा–११ स्थित तरकारी फलफूल तथा थोक बजारका लागि निर्माण भएका ६० वटा कोठामा समेत विस्थापित व्यवसायीलाई राख्न सकिने मेयर मीनाकुमार लामाले बताइन् । उनले भूटनदेवी माध्यमिक विद्यालयले निर्माण गरेका खाली सटरमा समेत व्यवस्थापन गर्न सकिनेबारे उपमहानगरपालिकामा छलफल भएको जानकारी दिइन् ।

    धेरैजसो व्यवसायीले हेटौँडा बजार क्षेत्रमा २ वटा पसल राखेर व्यवस्थापन गरिसकेको उपमहानगरपालिकाको दाबी छ । बजार क्षेत्र भत्कने हल्लासँगै लामो समयदेखि खाली रहेको नारायणी मलसमेत व्यवसायीले बुक गरिसकेका छन् । बजार क्षेत्रमा खाली रहेका सुपर मार्केटमा समेत व्यवसायीलाई व्यवस्थापन गर्न सकिने बताइएको छ ।

    विस्थापित व्यवसायीको पुनःस्थापनामा आवश्यक सहयोग र समन्वय गर्न मकवानपुर उद्योग वाणिज्य संघलाई हेटौँडा उपमहानगरपालिकाले आग्रह गरेको छ ।

    सडक डिभिजन हेटौँडाले मंसिर ५ गते १५ दिने सूचना जारी गर्दै मंसिर २० गतेदेखि हेटौँडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरीसम्मका ५ सय ३१ घर टहरा हटाउने तयारी गरेको छ ।

    घरटहरा भत्काउन आवश्यक बन्दोबस्ती गरेर सडक डिभिजनले मेनरोडका पेट्रोल पम्पहरुलाई इन्धन बेच्नसमेत रोक लगाइसकेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले घर टहरा हटाउने र सडक विस्तार गर्ने कार्यमा अवरोध नगर्न अनुरोध गरिसकेको छ ।