Blog

  • खगेन्द्र सुनारको पार्टीले आफ्नै चिह्नबाट चुनाव लड्ने, कुलमानसँगको सहमति भंग

    खगेन्द्र सुनारको पार्टीले आफ्नै चिह्नबाट चुनाव लड्ने, कुलमानसँगको सहमति भंग

    काठमाडौँ । खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल आफ्नै निर्वाचन चिह्वन ‘गोलो घेराभित्र राम्रो जनाउने लाइक’ बाटै निर्वाचनमा भाग लिने भएको छ ।

    यसअघि उज्यालो नेपाल पार्टीको निर्वाचन चिह्न ‘बलेको चिम’ एकल चुनाव चिह्नबाटै आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि दर्ता भए पनि सहमति टुटेपछि सुनार नेतृत्वको पार्टी आफ्नै निर्वाचन चिह्न लिएर चुनावमा भाग लिन लागेको हो ।

    मंसिर १० गते कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको ‘बलेको चिम’ चिह्न लिएर निर्वाचनमा भाग लिने दुई पार्टीबीच सहमति भएको थियो ।  कानुनी झमेला हुने भएकाले पूर्वसहमतिबाट अलग भएर आफ्नै चुनाव चिह्न ‘गोलो घेराभित्र राम्रो जनाउने लाइक’ लिएर निर्वाचनमा सहभागी हुन गरी मंसिर १६ गते पुनरावलोकन गरेर दर्ता गरिएको निर्वाचन आयोगले जनाएको छ ।

  • एनसेल एपले पुर्‍यायो १ करोड डाउनलोड, सुरु गर्यो १० दिने उत्सव

    एनसेल एपले पुर्‍यायो १ करोड डाउनलोड, सुरु गर्यो १० दिने उत्सव

    काठमाडौं । एनसेलका ग्राहकहरु माझ लोकप्रिय रहेको एनसेलको सेल्फ–सर्भिस मोबाइल एप ‘एनसेल एप’ले १ करोड डाउनलोडको उपलब्धि हाषिल गरेको छ । यो सँगै एनसेल एप नेपालमा सबैभन्दा बढि प्रयोगहुने डिजिटल प्लेटफर्ममध्ये एक रहेको स्थापित भएको छ । ग्राहकको डिजिटल यात्रालाई अझ सहज र आधुनिक बनाउनका लागि तयार पारिएको यो एप प्रयोगकर्ताहरूका लागि भरपर्दो डिजिटल टुलको रूपमा झन् लोकप्रिय बन्दै गइरहेको छ ।

    एनसेल एपमार्फत ग्राहकहरूले कुनै कोड डायल नगरी, एनसेल सेन्टर वा आधिकारिक विक्रेताकोमा नगई सजिलै विभिन्न सेवाहरू लिन सक्छन् । साधारण ब्यालेन्स रिचार्जदेखि प्याक खरिद, उजुरी दर्ता, ब्यालेन्स ट्रान्सफर, अनलाइन/अफलाइन गेम, सेवा सक्रिय/निष्क्रिय गर्ने सुविधा लगायतका धेरै सेवाहरू उपलब्ध भएकाले यो एप सहज र निर्बाध डिजिटल सेवा अनुभव चाहने ग्राहकहरूको पहिलो रोजाइ बनेको छ ।

    एनसेलले १ करोड डाउनलोड नाघेको अवसरमा १० दिने उत्सव कार्यक्रमको घोषणा पनि गरेको छ । यस अन्तर्गत हरेक दिन १० जना भाग्यशाली ग्राहकले १० दिनसम्म प्रयोग गर्न सकिने १० जीबी अल टाइम डेटा पाउन सक्नेछन् । पहिलो पटक एप डाउनलोड गरी लग–इन गर्ने ग्राहकहरू वा एपमार्फत कुनै न कुनै प्याक खरिद गर्ने ग्राहकहरू १० जीबी डेटा जित्न योग्य हुनेछन् ।

    “एनसेल एपमार्फत १ करोडभन्दा बढी ग्राहकहरू हामीसँग जोडिनु भएकोमा हामी अत्यन्त खुसी छौं । यसले हाम्रो एप ग्राहकहरूको डिजिटल दैनिकीको एक महत्वपूर्ण हिस्सा बनिसकेको स्पष्ट देखाउँछ । ग्राहक सेवा अनुभवलाई अझ उत्कृष्ट बनाउँदै, एपले ग्राहकहरुको डिजिटल यात्रालाई सरल बनाउन सहयोग पुर्‍याएको छ र साथै सरकारको ‘डिजिटल नेपाल’ भिजनलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा योगदान गर्दै कागजरहित र प्रभावकारी सेवा प्रवाहलाई प्रवद्र्धन गर्दै आएको छ ।

    यो उपलब्धि केवल एउटा संख्या होइनस यसले हामीले ग्राहकहरूप्रति समर्पित हुँदै गरेको कार्य र उनीहरूलाई डिजिटल रूपमा जोड्ने हाम्रो प्रतिबद्धतालाई झल्काउँछ । हामीप्रति ग्राहकहरूले देखाउनुभएको विश्वासका लागि हामी हृदयदेखि आभारी छौं,” एनसेलका चीफ डिजिटल च्यानल्स एन्ड एक्सपिरियन्स अफिसर स्टिवन रोड्रिगेजले भने ।

    एनसेल एप सहज प्रयोग, क्विक नेभिगेसन र ग्राहक अनुभव उत्कृष्ट बनाउने किसिमले डिजाइन गरिएको छ । यसले ग्राहकहरूलाई आफ्नो सेवाको प्रयोग, सब्सक्रिप्सन, सक्रिय प्याकहरू सहज रूपमा हेर्न र मनपर्ने प्याकहरूको सूची बनाइ राख्न सहयोग गर्दछ, जसले आवश्यक सेवामा छिटो पहुँच सुनिश्चित गर्दछ ।

    यो एनसेल एप विदेशमा रहेका नेपाली कामदार तथा यात्रुहरूका लागि पनि महत्वपूर्ण डिजिटल सोलुसन साबित भएको छ, जसले लामो होस् वा छोटो बसाईका बेलामा ग्राहकहरूलाई रोमिङ्मा पनि सजिलै रिचार्ज गर्न, प्याक किन्न, र आफ्नो एनसेल सिम सहज रूपमा प्रयोग गर्न सहयोग पु याएको छ ग्राहकहरूले गुगल प्ले स्टोर वा एप्पल एप स्टोरमार्फत एनसेल एप डाउनलोड वा अपडेट गर्न सक्छन् ।

  • बलियो ठानिएको कर्णालीको ‘अर्ली एक्जीट’, कसको प्रदर्शन कस्तो ?

    बलियो ठानिएको कर्णालीको ‘अर्ली एक्जीट’, कसको प्रदर्शन कस्तो ?

    काठमाडौं । पाँचौं हारसँगै कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को प्लेअफको होडबाट बाहिरिएको छ । मंगलबार भएको आफ्नो छैटौं खेलमा पोखरा एभेन्जर्ससँग ३४ रनले पराजित हुँदै कर्णाली समूह चरणबाटै निस्किने पहिलो टिम बन्यो ।

    कर्णालीले अहिलेसम्म ६ म्याच खेल्दा एक मात्र जितका साथ २ अंक जोडेर अंकतालिकामा पुछारबाट दोस्रो स्थानमा छ । अब जनकपुरविरुद्धको अन्तिम खेल कर्णालीका लागि प्रतिष्ठाको विषय मात्रै हुनेछ । उक्त खेलमा जित निकाले पनि कर्णालीलाई प्लेअफमा पुग्न सम्भव छैन ।

    पहिलो सिजनमा भारतीय क्रिकेटर शिखर धवनलाई भित्र्याएर चर्चामा आएको कर्णाली यसपटक पनि कागजीरुपमा कमजोर थिएन । टिममा ब्याटिङ र बलिङको सन्तुलन राम्रो मिलेको थियो । कम्तिमा प्लेअफमा स्थान बनाउन सक्ने टिमका रुपमा हेरिएको थियो कर्णालीलाई । तर टोलीले आफ्नो क्षमता अनुसार खेल देखाउन सकेन ।

    अघिल्लो सिजनमा खराब सुरुवात गरेको कर्णालीले उत्कृष्ट कमब्याक गर्दै लगातार ४ खेलमा जित निकालेर प्लेअफमा स्थान बनाएको थियो । यसपाली भने कमब्याकको आशा निराशामा परिणत भयो । हारबाट दोस्रो सिजन सुरुआत गरेको कर्णालीले दोस्रो खेलमा लुम्बिनी लायन्समाथि ९ विकेटको शानदार जित दर्ता गरेको थियो । तर त्यसपछि लगातार चार हार बेहोर्दै प्लेअफको होडबाट बाहिरिनुपरेको छ ।

    विराटनगर किङ्सविरुद्धको म्याचमा बाहेक कर्णालीले अन्य म्याचमा प्रतिस्पर्धी टिमलाई कडा चुनौतीसमेत दिन सकेन । कर्णालीको न ब्याटिङ सन्तोषजनक रह्यो न बलिङ । कर्णालीविरुद्ध पोखरा एभेन्जर्सले एनपीएलकै दोस्रो ठूलो स्कोर बनाउन सफल भयो भने दोस्रो सिजनको दोस्रो सानो स्कोर पनि कर्णालीले नै बनायो ।

    टपअर्डरमा थिएन समस्या

    अक्सनपछि कर्णालीको समस्याको रुपमा हेरिएको थियो –टपअर्डर ब्याटिङ । तर, राम्रा विदेशी खेलाडी भित्र्याउँदै कर्णालीले टपअर्डर मजबुत बनाउने प्रयास गर्‍यो ।

    कर्णालीको ६ खेलमध्ये ५ खेलमा टपअर्डर चलेको छ । पहिलो खेलमा चितवन राइनोजविरुद्ध ओपनर प्रियान्क पञ्चालले ४८ बलमा ९० रन बनाएर शानदार ब्याटिङ गरे । अर्का ओपनर म्याक्स ओ’डाउड २० रनमा आउट हुँदा मार्क वाटले १६ रन बनाए । उक्त खेलमा कर्णालीले ३ विकेट मात्र गुमाएर १६६ रनको स्कोर खडा गरेको थियो, तर यो जितका लागि पर्याप्त रहेन ।

    दोस्रो खेलमा टपअर्डर झनै शानदार रह्यो । लुम्बिनी लायन्सले दिएको १५७ रनको लक्ष्य कर्णाली टपअर्डर ब्याटरले १३औं ओभर मै पूरा गरे । त्यसक्रममा ओपनर वाटले ४४ बलमा ११४ रनको शतकीय इनिङ खेले । उनले दोस्रो विकेटका लागि विलियम वोसिस्टोसँग अविजित १२३ रनको साझेदारी गरे ।

    तेस्रो खेलमा कर्णालीको टपअर्डरसहित सबै ब्याटिङ धरासायी बन्यो । सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा कर्णाली ९४ रनमै अलआउट हुन पुग्यो । चौथो खेलमा पुनरागमन गर्दै टपअर्डर ब्याटिङ उत्कृष्ट रह्यो । उक्त खेलमा ओपनर प्रियांकले ४७ बलमा ६३ रन बनाउँदा अर्का टपअर्डर ब्याटर बोसिस्टो ४८ रनमा अविजित रहे ।

    पाँचौ खेलमा ओपनर प्रियांक शून्य रनमै आउट हुँदा अर्का ओपनर वाटले कर्णालीको ब्याटिङ उकास्न प्रयास गरे । उनलाई पवन सर्राफले साथ दिए । लोअर्डरमा गुल्सन झाले आक्रामक ब्याटिङ गर्दा कर्णालीले १४९ रनको आँकडा तयार गर्‍यो ।

    छैटौं खेलमा २०२ रनको विशाल लक्ष्य पछ्याएको कर्णालीले सुरुआत शानदार गर्‍यो । ओपनर वाटले ३४ बलमा ५९ रन हान्दै कर्णालीलाई अघि बढाए । तर, त्यसपछिका ब्याटरबाट गतिलो साझेदारी हुन नसक्दा कर्णालीले पाँचौं हार बेहार्नुपर्‍यो ।

    चलेनन् स्पिनर

    अघिल्लो सिजनमा स्पिन आक्रमणलाई मुख्य हतियार बनाएको कर्णालीले यसपटक स्पिनरबाट निराशा बेहोर्‍यो । कुनै खेलमा कप्तान सोमपाल कामीले ५ स्पिनरसम्म प्रयोग गरे । तर, कुनै स्पिनरबाट चाहेअनुसार प्रदर्शन हुन सकेन । आफ्नो पाँचौं खेलमा काठमाण्डु गोर्खाजविरुद्ध कर्णालीका ५ स्पिनर प्रयोग भएका थिए । तर, आवश्यकता परेको बेला विकेट आउन सकेन ।

    स्पिनरको रुपमा भित्र्याइएका स्कटल्याण्डका वाट बलिङमा चल्न सकेनन् । उनले ६ खेलबाट मात्र ४ विकेट लिए । बरु ब्याटिङमा भने उनले कमाल गरे । उनले एक शतक र एक अर्धशतकसहित २४२ रन बनाए । उनको योगदान बलिङमा खासै हुन सकेन ।

    पहिलो सिजनमा ट्यालेन्ट हन्टबाट आएर शानदार प्रदर्शन गरेका स्पिनर विपिन खत्री यसपटक चल्न सकेनन् । ५ खेलमा विपिनले मात्र २ विकेट लिए । अघिल्लो सिजनमा विपिनले ८ खेलबाट १३ विकेट लिएका थिए । यस्तै ठूलो आशासहित अक्सनबाट भित्रिएका युवराज खत्रीबाट पनि सोचेजस्तो प्रदर्शन हुन सकेन । ५ खेलबाट मात्र ३ विकेट लिए । तीन मुख्य स्पिनर नै चल्न नसक्दा कर्णालीबाट स्पिनर अट्याक प्रभावकारी बन्न सकेन । अन्य टोलीका स्पिनरले खेलको नतिजा परिवर्तन गर्दा कर्णालीका स्पिनर फितला देखिए ।

    सोमपाल र नन्दन ठिकठाक, चलेनन् ब्याटिङमा

    बलिङमा कप्तान सोमपाल कामी र नन्दन यादवले सन्तुलित प्रदर्शन गरे । ६ खेलमा सोमपालले ८ र नन्दनले ९ विकेट लिएका छन् ।

    पछिल्ला दुई खेलमा भने सोमपाल विकेटविहीन रहे । नन्दन पहिलो खेलबाहेक अन्यमा विकेटविहीन भएका छैनन् । पेस बलिङमा खासै विकल्प नभएको कर्णालीलाई सोमपाल र नन्दनले निराश पारेनन् । तेस्रो विकल्पको रुपमा रहेका गुल्सन झाबाट भने सोचेअनुरुप प्रदर्शन हुन सकेन ।

    बलिङमा ठिकठाक गरेका सोमपाल र नन्दन ब्याटिङमा भने चल्न सकेनन् । सोमपालले ३ खेलमा ब्याटिङको अवसर पाए । जहाँ उनले मात्र ३३ रन बनाए । ३ खेलमा ब्याटिङको अवसर पाएका नन्दनले मात्र ५ रन बनाए  ।

    गुल्सन र पवनको औसत प्रदर्शन

    पछिल्लो समय राष्ट्रिय टोलीमा रहेर उत्कृष्ट प्रदर्शन गरिरहेका गुल्सन झाबाट धेरैले उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेका थिए । युवा अलराउण्डर गुल्सनले बलिङमा प्रभाव देखाउन सकेनन् भने ब्याटिङमा पनि सोचेजस्तो भएन । काठमाण्डु गोर्खाजविरुद्ध २२ बलमा ४९ रन बनाउनुबाहेक एनपीएलका ६ खेलमा गुल्सनले उल्लेखनीय योगदान दिएका छैनन् । ६ खेलमा उनले मात्र ९१ रन बनाउनुका साथै ३ विकेट लिएका छन् । गुल्सनका विनिङ सटहरु यसपटक दर्शकले देख्न पाएनन् ।

    अर्का आश गरेका अलराउण्डर पवन सर्राफ ब्याटिङमा ठिकठाक रहे । घाइते भएका कारण एनपीएलको पहिलो सिजन गुमाएका पवनलाई दोस्रो सिजनमा कर्णालीले अधिकतम मूल्यमा अनुबन्ध गरेको थियो । मध्यक्रममा आएर उनले केही उपयोगी रन बनाए । यद्यपि, ठूलो स्कोर बनाउन भने चुके । काठमाण्डुविरुद्ध बनाएको ३५ रन नै उनको सर्वाधिक स्कोर हो । बलिङमा भने उनले मात्र २ विकेट लिए ।

    यस्तै युवा खेलाडी दीपक डुम्रे, युनिस सिंह ठकुरी, दीपेन्द्र रावतजस्ता खेलाडीबाट गतिलो प्रदर्शन हुन सकेन ।

  • मेची-महाकाली विद्यार्थी जागरण अभियानमा अखिल

    मेची-महाकाली विद्यार्थी जागरण अभियानमा अखिल

    झापा । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले मेची-महाकाली ‘विद्यार्थी जागरण यात्रा’ सुरू गरेको छ । केन्द्रीय अध्यक्ष दीपक धामीले झापाबाट अभियानको शुभारम्भ गरेका छन् ।

    नवपुस्ताका विद्यार्थी कृतिका शिवाकोटीलाई अखिलको झण्डा हस्तान्तरण गर्दै अभियान थालनी गरिएको धामीले बताए । अनेरास्ववियुका विद्यार्थीहरूको काँधमा देश बचाउने जिम्मेवारी आएको भन्दै उनले देशभित्र सामाजिक सद्भाव भड्काउने र अराजकताविरुद्ध प्रतिकारमा उत्रिनुपर्ने बताए । आन्दोलनका नाममा युवाहरूलाई देश जलाउने काममा प्रयोग गरिएको उनको भनाइ छ ।

    जेन-जी आन्दोलनपश्चातको गलत भाष्यलाई चिर्दै नवपुस्तालाई राजनीतिक रूपमा सचेत बनाउँदै स्वाधीनताको पक्षमा उभ्याउन साथै संगठन विस्तार र जागरणलाई प्राथमिकतामा राखेर अभियान चलाइएको धामीले बताए ।

    कार्यक्रममा महासचिव अञ्जना शिवाकोटीले अनेरास्ववियु अब हरेक शैक्षिक संस्थाहरूको कक्षा-कक्षामा पुग्ने बताइन् ।

  • वीरगञ्ज भन्सारले चार महिनामा उठायो ३३ अर्ब राजस्व

    वीरगञ्ज भन्सारले चार महिनामा उठायो ३३ अर्ब राजस्व

    वीरगञ्ज (पर्सा) । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम चार महिनामा पाँच प्रकारका पेट्रोलियम पदार्थको आयातबाट रु २२ अर्ब ९० करोड र यातायातका साधन एवं तिनका पार्टपुर्जाबाट रु १० अर्ब १० करोड राजस्व उठाएको छ ।

    कार्यालयले चालु आवको चार महिनामा फलाम तथा फलामबाट बनेका सामानबाट रु चार अर्ब ५८ करोड, कपडाबाट रु चार अर्ब २५ करोड, मेसिनरी तथा पार्टपुर्जाको आयातबाट रु तीन अर्ब १७ करोड राजस्व सङ्कलन गरेको छ ।

    इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जा आयातबाट रु तीन अर्ब सात करोड राजस्व सङ्कलन गरेको छ । चालु आवको चार महिनामा वीरगञ्जबाट रु दुई खर्ब ८४ अर्ब ८९ करोड मूल्य बराबरका वस्तु आयात भएका छन् । कार्यालयले चालु आवमा रु ७५ अर्ब ५९ करोड राजस्व सङ्कलन गरेको जनाएको छ । रासस

  • सुनचाँदीको मूल्य निरन्तर अकासिदो

    सुनचाँदीको मूल्य निरन्तर अकासिदो

    काठमाडौं । अन्तरर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनचाँदीको मूल्य निरन्तर उकालो लागेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५४ हजार १०० कायम भएको छ । आज चाँदीको मोल रु ११० ले बढेर तोलामा रु तीन हजार ६५५ निर्धारण भएको छ ।

    मङ्गलबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५३ हजार ३०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ५४५ मा कारोबार भएको थियो ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २२६ र त्यति नै परिमाणको चाँदी ५९ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

  • नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार

    नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार

    काठमाडौँ । नबिल बैंक लिमिटेडले मुलुकभरका विभिन्न २७ वटा शाखामा अन्तर्राष्ट्रिय भुक्तानी सेवा विस्तार गरेको छ । यसअघि बैंकको केन्द्रीय कार्यालयसहित सीमित शाखामा उपलब्ध यो सेवा अब अन्य शाखामा पनि विस्तार हुन लागेको बैंकले जनाएको छ ।

    “बैंकको यो सेवा यसअघि तीनधारास्थित केन्द्रीय कार्यालयसहित पुतलीसडक, महाराजगञ्ज, विराटनगर र पोखरास्थित शाखा कार्यालयमा मात्रै उपलब्ध थियो, अब भने काठमाडौँ उपत्यकाका १७ सहित २७ शाखामा सेवा विस्तार गर्न लागिएको छ”, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाँइले बताए ।

    बैंकका अनुसार यो सेवा अब उपत्यकाभित्रका तीनधारा, पुतलीसडक, महारागञ्ज, भाटभटेनी, कुलेश्वर, ठमेल, त्रिपुरेश्वर, विजुलीबजार, मैतीदेवी, हलचोक, सातदोबाटो, कौशलटार, बानेश्वर, गुंसिगाल, कोटेश्वर, भैँसेपाटी, जोरपाटीस्थित शाखामा उपलब्ध हुनेछ । साथै उपत्यकाबाहिर इटहरी, वीरगञ्ज, बिर्तामोड, हेटौँडा, बुटवल, भैरहवा, नारायणगढ, नेपालगञ्ज, विराटनगर र पोखरास्थित बैंकका शाखा कार्यालयमा यो सेवा उपलब्ध हुनेछ ।

    बैंकको डिजिटल सेवा तथा अन्तर्राष्ट्रिय बैंकिङ पहुँचलाई थप सुदृढ बनाउनका लागि सेवा विस्तार गरिएको डिसीइओ बजगाँइले जानकारी दिए । नबिल अनलाइन पेमेन्ट सेवामार्फत ग्राहकले सहज र सुरक्षित ढंगले अन्तर्राष्ट्रिय रुपमा भुक्तानी गर्न सक्नेछन् । जसमा भिसा आवदेन शुल्क, विश्वविद्यालय वा कलेजको आवेदन शुल्क, बीमा तथा एसिसिए भुक्तानीका साथै शैक्षिक तथा व्यापारिक सम्मेलनको पनि भुक्तानी गर्न सकिने बैंकको भनाइ छ । बैंकका अनुसार यो सेवा लिने ग्राहकले छुट्टै अन्तर्राष्ट्रिय कार्ड राख्नु पर्दैन ।

    नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । विगत चार दशकदेखि नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाका रूपमा काम गर्दै आएको छ ।

  • एमाले महाधिवेशन : धनकुटामा पनि पुन: प्रतिनिधि छान्न निर्देशन

    एमाले महाधिवेशन : धनकुटामा पनि पुन: प्रतिनिधि छान्न निर्देशन

    विराटनगर । नेकपा एमालेको महाधिवेशन प्रतिनिधिका लागि धनकुटामा पुन: निर्वाचन प्रक्रिया सुरू हुने भएको छ ।

    यसआघि भएको प्रतिनिधि छनौट निर्वाचन विधि सम्मत नभएको भन्दै केन्द्रबाट पुन: प्रतिनिधि छान्न निर्देशन दिइएको हो । धनकुटामा राजेन्द्र राई र इन्द्रमणि पराजुली समूहबीच प्रतिस्पर्धा छ ।

    राई समूहले एकलौटी गरेको भन्दै पराजुली समूहले निर्वाचन बहिष्कार गरेको थियो । बहिष्कारबीच पनि राई समूहले प्रतिनिधिको नामावली पठाएको थियो । पराजुली समूहले असन्तुष्टि जनाउँदै उजुरी दिएको थियो । यहाँ मतपत्र समेत च्यातिएको थियो ।

    प्रतिनिधि छनौट प्रक्रिया विधिविपरीत भएकाले केन्द्रले मान्यता नदिएको एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले बताए । उनका अनुसार धनकुटामा पुन: प्रतिनिधि छनौट गरिनेछ ।

    कोशी प्रदेशकै ओखलढुंगामा पनि पुन: प्रतिनिधि छनौट गर्न निर्देशन दिइएको छ ।

  • सामसङ नेपालको एनपीएल अफर, एआई टीभीमा विशेष छुट

    सामसङ नेपालको एनपीएल अफर, एआई टीभीमा विशेष छुट

    काठमाडौं । सामसङ नेपालले नेपाल प्रिमियर लिग (NPL) सिजनलाई लक्षित गर्दै आफ्ना विभिन्न श्रेणीका टेलिभिजनहरूमा आकर्षक छुट र एक्सचेन्ज बोनस योजना घोषणा गरेको छ। यस योजना अन्तर्गत प्रिमियम QLED टीभीदेखि HD टीभीसम्मका मोडेलहरूमा ३३% सम्म क्यासब्याक तथा रु ७,००० सम्म एक्सचेन्ज बोनस उपलब्ध छ, जसले ग्राहकहरूलाई आफ्नो घरको मनोरञ्जन अनुभव अपग्रेड गर्न उत्तम अवसर प्रदान गर्दछ।

    यो योजना नोभेम्बर २१ देखि डिसेम्बर ३१, २०२५ सम्म देशभरका अधिकृत सामसङ विक्रेता स्टोरहरूमा उपलब्ध हुनेछ। ग्राहकहरूले नजिकैको सामसङ अधिकृत स्टोरमा गई अफरका विस्तृत विवरण थाहा पाउन सक्छन्।

    ८५ इन्चसम्मका ठूलो स्क्रिन, अत्याधुनिक पिक्चर क्वालिटी, र उन्नत स्मार्ट फिचरहरूसहित, सामसङ टीभीहरूले प्रत्येक खेललाई शानदार स्पष्टता र आकर्षक विवरणसहित हेर्ने सुविधा प्रदान गर्छन्, जसले घरमै ‘स्टेडियम-जस्तो’ अनुभव प्रदान गर्दछ।

    सामसङका नवीनतम AI टीभी लाइनअप (QLED र UHD) मा प्रयोगकर्ताको हेर्ने अनुभवलाई अझ उचाइमा पुर्‍याउने अत्याधुनिक फिचरहरू समावेश छन्:

    • 4K AI Upscaling: जसले जुनसुकै स्रोतको सामग्रीलाई अझ स्पष्ट र धारिलो बनाउँछ।
    • Samsung Knox Security: जसले सुरक्षित, भरपर्दो, र संरक्षित स्मार्ट कनेक्टिभिटी सुनिश्चित गर्छ।

    सामसङले आफ्नो T, A, B, C, D, र F सिरिजका टीभीहरूमा ३ वर्षको फुल वारेन्टी प्रदान गर्दै आएको छ, जसले उत्पादनमा हुनसक्ने कुनै पनि प्रकारका उत्पादनगत समस्यामा प्रयोगकर्तालाई पूर्ण आत्मविश्वास दिन्छ।

    उपलब्ध अफरहरू:

    क्याटेगोरी इन्च छुट (सम्म) एक्सचेन्ज बोनस (सम्म)
    QLED 55” – 85” 19% रु ७,०००
    UHD 43” – 85” 21% रु ४,०००
    FHD 43” 33%  
    HD 32” 21%  

    साथै, सामसङ इन्स्टाफाइनान्स सेवा, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड द्वारा सञ्चालित, मार्फत ग्राहकहरूले आफूसुखद अनुसारका सामसङ होम अप्लायंस् ०% ब्याजदरमा सजिला ईयमआई विकल्पसँग प्राप्त गर्न सक्छन्। प्रक्रिया झन्झटमुक्त छ र केवल तपाईंको नागरिकता चाहिन्छ। साथै, नयाँ सामसङ टिभी वा होम अप्लायंस्मा अपग्रेड गर्न चाहने ग्राहकहरूले आर्कोस्टोर मार्फत वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरहरूबाट सिधै आफ्ना पुराना उपकरणहरू एक्सचेन्ज गर्न सक्छन्।

  • पाँच पटक रिलिज डेट सारेको ‘अभिमन्यु’ का निर्माता भन्छन्- रहर हैन, बाध्यता हो

    पाँच पटक रिलिज डेट सारेको ‘अभिमन्यु’ का निर्माता भन्छन्- रहर हैन, बाध्यता हो

    काठमाडौँ । अन्ततः चलचित्र ‘अभिमन्यु च्याप्टर १’ यही मंसिर १८ गते रिलिज हुने भएको छ । पाचौंपटक रिलिज सरेर यो मिति तय भएको हो ।
    यो चलचित्रलाई ‘पूर्णबहादुरको सांरगी’ फेम्ड निर्माता विनोद पौडेलले निर्माण गरेका हुन् । खासमा यो चलचित्र भदौ २७ गते नै प्रदर्शनमा आउनुपर्ने थियो, तर विभिन्न कारणले मिति सरेको सर्यै भयो । अब भने मिति सार्नु नपर्नेमा निर्माता पौडेल विश्वस्त छन् ।

    पटकपटक प्रदर्शन मिति सारिएकोबारे उनी भन्छन्, ‘हामी भदौ २७ गते नै आउथ्यौं । तर त्यो बेला जेनजी आन्दोलन भएपछि हामीले मिति सार्नै पर्ने भयो । हामी सल्लाह गर्न बस्यौं । एकचोटी डेट सरेपछि मार्केटिङको खर्च सबै सकियो । हामी जिरो फेजमा आयौं । सेफ ल्यान्डिङमा जाउँ न त भन्दाभन्दै मिति सरेको सर्यै भयो।’

    भदौ २७ बाट सारेर पौडेलले दशैंको फूलपाती अर्थात असोज १३ गते अभिमन्यु रिलिज गर्ने निर्णय गरे । त्यही अनुसार उनले फेरि मार्केटिङ गरे । तर दशैंमा पहिल्यै भारतीय चलचित्र ‘कान्तारा’ सँगै तीनवटा नेपाली चलचित्र आउने भएकाले अभिमन्युले सोचेजस्तो शो नपाउने भयो ।

    पौडेल सुनाउँछन्, ‘न्युन शो, त्यही पनि अफटाइममा दिने भएपछि हामीले फेरि रिलिज मिति सार्न बाध्य भयौं । त्यसपछि असोज २४ मा आउने सोच्यौं । हलसँग सहकार्य गरेर तयार भइसकेका थियौं । तर २० गतेबाटै नेपालमा भारी वर्षा भयो । पहिरो गयो । मानवीयताको हिसावले पनि त्यो समय चलचित्रको प्रोमोसन गर्न मन लागेन । त्यही भएर फेरि प्रदर्शन मिति सार्नुपर्यो ।’

    तेस्रो पटक निर्माण टिमले कात्तिक २१ लाई रिलिज मिति घोषणा गर्यो । तर कात्तिक २१ गते ‘जारी २’ पनि प्रदर्शनमा आउँदै थियो । हलवालाले ‘जारी २’ बहुप्रतिक्षित चलचित्र भएकाले शो दिन नसक्ने बताएपछि निर्माता पौडेल हच्किए ।

    बारम्बार रिलिज मिति सारेर थाकेका पौडेल भन्छन्, ‘हेर्नेले कति सारेको भन्नुहुन्छ । तर हाम्रो बाध्यता हामीलाई नै थाहा छ । तेस्रो पटक प्रदर्शन मिति सार्नुपरेपछि वितरकले कात्तिक २१ गतेको डेट दिए । तर पछि हलवालाहरुले जारी २ एकदमै प्रतिक्षित चलचित्र हो, त्यो डेटमा हामी शो दिन सक्दैनौं भन्नुभयो । अलिअलि दिए पनि नेपाल अधिराज्यभरी शो दिन सक्दैनौँ भनेर हलबाट सर्कुलर आयो । त्यसपछि के गर्ने ? अन्तिममा बाध्य भएर फेरि मंसिर १८ गतेलाई प्रदर्शन मिति तोक्नुपर्यो । अब भने कुनै पनि चलचित्र नभएको मिति पाएका छौं ।’

    उनी पटकपटक चलचित्रको रिलिज मिति सर्नुलाई मार्केटिङको हिसाबमा फाइदाजनक नै मान्छन् । पौडेल भन्छन, ‘रिलिज मिति सरिरहँदा दर्शक झुक्किन्छन् भनेर धेरैले भन्नुहुन्छ । ठिकै छ, हामी यसलाई मार्केटिङको हिसाबले नै हेर्छौं । नेपालमा सबैभन्दा धेरै रिलिज मिति सर्ने फिल्म भनेर मान्छेहरुलाई कहीँ न कहीँ याद होला नि । अभिमन्युुप्रति इन्ट्रेस्ट हुने दर्शक पक्कै कन्फ्युज हुनुहुन्न । कोही कन्फ्युज हुनुहुन्छ भनेपनि, फिल्मको ‘वर्ड अफ माउथ’ बलियो भयो भने फेरि थाहा पाइहाल्नुहुन्छ ।’

    खासमा पौडेलले ‘पूर्णबहादुरको सांरगी’ रिलिज गर्ने समय पनि झमेला व्यहोर्नु परेको थियो। उनलाई त्यो बेला पनि हलवालाले न्युन शो दिएका थिए । अफटाइममा न्युन शो पाएको ‘सांरगी’ ले दर्शकको अप्रत्याशित साथ पायो । वर्ड अफ माउथ बलियो भएपछि चलचित्रको शो संख्या पछि थप हुँदै गएको थियो ।

    पहिल्यै यस्तो झमेला पार गर्दै अलटाइम ब्लकबस्टर चलचित्र दिइसकेका निर्माता पौडेलले अहिले भने किन डराए ? चलचित्र राम्रो भए दर्शक हलसम्म जसरी पनि आउछन् भन्ने उदाहरण तपाईंकै चलचित्रले सेट गरेको हैन त ? हामीले प्रश्न गर्यौ।

    उनले जवाफ दिए, ‘होइन, यसपटक स्थिति अलि फरक भयो । पानी परेको समय दशैँमा टिका लगाउन घर गएको थिएँ । पहिरो आएर बाटो ब्लक भएपछि म आफैं फर्किन पाइनँ । अर्को डेटमा हामीलाई शो नै दिन्नौ भनेपछि के गर्ने भन्नु त ?’

  • संकट र सम्भावनाको दोबाटोमा देश

    संकट र सम्भावनाको दोबाटोमा देश

    नेपाल राजनीतिक अस्थिरता, आर्थिक मन्दी र सामाजिक असन्तोषको त्रिवेणीमा उभिएको छ । संविधान लागू भएको दशक बितिसक्दा पनि राज्यले स्थायित्व र सुशासनको दिशा पक्डन सकेको छैन । एकातिर भ्रष्टाचार, बेथिति र बेरोजगारीको दुष्चक्रले नागरिकलाई निराश बनाएको छ भने अर्कोतिर युवा पुस्तामा विद्रोही चेतना जागिरहेको छ । यो अन्तरविरोधको जड नेपालको अर्थ राजनीतिमा खोज्न आवश्यक छ ।

    राजनीतिक अनिश्चितता र सत्ता संघर्ष

    नेपालको राजनीतिले पछिल्ला वर्षमा स्थायित्वभन्दा बढी अस्थिरता उत्पादन गरेको छ । गठबन्धन सरकारको बारम्बारको फेरबदलले नीति र कार्यक्रम दीर्घकालीन र प्रभावकारी बन्न सकेका छैनन् । राजनीतिक दल विचारभन्दा बढी सत्ताको समीकरणमा केन्द्रित देखिन्छन् । सत्ता स्वार्थ केन्द्रित निर्णय प्रक्रियाले जनता र राज्यबीचको दूरी बढाएको हो ।

    स्थानीय तहमा राज्यको उपस्थिति सकारात्मक हुँदाहुँदै पनि संविधानले परिकल्पना गरेको संघीय शासनको मूल मर्म अझै पनि व्यवहारमा लागू हुन सकेको छैन । भ्रष्टाचार, प्रशासनिक बेथिति, बिचौलियाको बोलवाला र राजनीतिक संरक्षणले सरकारी संयन्त्रलाई लगभग निष्क्रिय बनाएको छ । भ्रष्टाचार नियन्त्रणका संस्था पनि दलगत प्रभाव र दलालीकरणबाट मुक्त छैनन् । जनताको आँखामा राजनीतिक लोभ र लाभको माध्यम देखिनु लोकतन्त्रका लागि दीर्घकालीन खतरा हो ।

    यस सन्दर्भमा नेपालको संविधान निर्माणका बखत अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा (माओवादी केन्द्र) ले राजनीतिक स्थायित्व र सुशासनका लागि प्रस्तुत गरेको शासकीय स्वरूप र निर्वाचन प्रणाली यावत समस्याको समाधानको एउटा विकल्प थियो कि भन्ने कुरा नागरिकले मनन गर्ने बेला भएको छ । जुन आवाज जेन-जी पुस्ताको आन्दोलनमा पनि सुनिएको छ ।

    अर्थतन्त्र: वैदेशिक निर्भरता र रोजगारी संकट

    आर्थिकरूपमा देश रेमिट्यान्समा निर्भर छ । नेपाल राष्ट्र बैंकको तथ्यांकले भन्छ, देशमा औपचारिक माध्यमबाट मात्र दैनिक ६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिन्छ, तर त्यसको अधिकांश रकम उपभोग्य वस्तुको खरिद र भविष्य खोज्दै रहेका नागरिकसँगै बाहिरै उडेर जान्छ ।

    दैनिक वैदेशिक रोजगारीबाट आउने विदेशी मुद्राले अर्थतन्त्रलाई टिकाइरहेको छ, तर उत्पादनमुखी विकास थला परेको छ । घरेलु उद्योग बन्द हुँदै गएका छन्, लगानीकर्तामा विश्वास घटेको छ र बजेट घाटा बढ्दै गएको छ ।

    रोजगारी सिर्जनाको अवसर सीमित हुँदा युवा वैदेशिक रोजगारतर्फ धकेलिएका छन् । यसले श्रम शक्ति पलायन मात्र बढाएको छैन, देशको उत्पादन क्षमता र सामाजिक संरचनामा पनि गम्भीर असर पारेको छ । मूल्यवृद्धि, करको भार र आयमा असमानताले आम नागरिकको जीवनस्तर घटाउँदै लगेको छ ।

    हामी त्यस्तो मुलुकका नागरिक हौँ, जहाँ रोप्यो त्यहीँ फल्ने माटो र मनसुन छ, तर पाखुरा (श्रम शक्ति) बेच्छौँ र अर्बौँको खाद्यान्न, तरकारी र फलफूल किन्छौँ । हामीसँग जडिबुटीको अपार सम्भावना छ, तर घुइँयाको भाउमा निर्यात गर्छौँ र सट्टामा अर्बौँको औषधी आयात गर्छौँ । ऊर्जाको अथाह सम्भावना छ, तर पानीसँगै देशको जवानी बगिरहेको छ ।

    अझै पनि गर्मीमा विद्युत् आयात भइरहेको छ । कृषि, उद्योग, पर्यटन र रोजगारीका विविध क्षेत्रमा विद्युत् खपत वृद्धि गर्ने तथा १० वर्षमा १० हजार मेगावाट बिजुली उत्पादन र व्यापार गर्ने प्रचण्ड महत्त्वाकाङ्क्षा कार्यान्वयन हुन सके मुलुकको मुहार फेरिन सक्छ । उत्पादनलाई प्रोत्साहन, शासनमा पारदर्शिता र जबाफदेहिता तथा लगानीमैत्री वातावरण निर्माण हाम्रा अनुभवमा देखिएका चुनौती हुन् ।

    नेपाल नयाँ स्वरूपका औपनिवेशिक जालमा पर्दै गएको छ । उदाहरणका लागि, देशमा अर्बौँको विदेशी काठ आयात हुन्छ, तर आफ्नै जंगलमा खर्बौँको काठ कुहिएर खेर जान्छ । काठको ‘फर्मुला परिवर्तन’ प्रस्ताव क्याबिनेटमा पेस गर्न कार्यकारी प्रमुखले पटक पटक निर्देशन दिँदा पनि सत्ता गठबन्धनको बलमा महिनौँसम्म रोकियो । यसले देखाउँछ, देश कति गहिरोसम्म दलालीकरणको पञ्जामा परेको छ ।

    वातावरणको नाममा हामी नै लुटिन्छौँ । पछिल्लो पटक जलवायु संकट र त्यसको क्षतिपूर्तिको नेपाली आवाज विश्व मञ्चमा घन्कियो, तर कार्यान्वयनमा पुर्‍याउन मुद्दा र नेतृत्वको निरन्तरता आवश्यक छ । राजनीतिक स्थायित्व कमजोर हुँदा त्यो सम्भव भइरहेको छैन ।

    जेन-जी आन्दोलनः नयाँ सामाजिक शक्ति

    अर्थ राजनीतिक निराशाको पृष्ठभूमिमा अहिले नेपालमा जेन-जी पुस्ता राजनीतिक र सामाजिक चेतनाको नयाँ लहर लिएर उठ्दैछ । सरकारबाट सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोध स्वरूप सुरु भएको आन्दोलन अब केवल डिजिटल स्वतन्त्रताको सवालमा मात्रै केन्द्रित छैन, यो अभिव्यक्ति स्वतन्त्रता, पारदर्शिता र जबाफदेहिताको मागमा रूपान्तरित हुँदैछ ।

    जेन-जी पुस्ता परम्परागत दलको अकर्मण्यता, निष्क्रियता र नीतिगत गोलचक्रबाट असन्तुष्ट छ । उनीहरूको आन्दोलनले नयाँ प्रकारको डिजिटल लोकतन्त्रको चेतना फैलाइरहेको छ, जसले सामाजिक सञ्जाललाई नागरिक आवाजको सबल प्लेटफर्म बनाएको छ ।

    केपी ओली सरकारले यो असन्तोषलाई सकारात्मक सम्बोधन गर्नुको सट्टा नियन्त्रणको बाटो लियो, जसले विद्रोह, बलिदान र विध्वंसको बाटो समात्यो, जुन अकल्पनीय र दुःखद पनि भयो । तर यो आन्दोलनले नयाँ पुस्तामा राजनीतिक पुनर्जागरणको संकेत गरेको छ, जसको प्रभाव अब सडकदेखि संसदसम्म पुग्नेछ ।

    भूराजनीतिक सन्दर्भ र पश्चिमी प्रभाव

    नेपालको भूराजनीतिक स्थिति सधैँ संवेदनशील रहँदै आएको छ । भारत र चीनबीचको कूटनीतिक प्रतिस्पर्धा र पश्चिमी शक्तिको प्रभावले नेपालको आन्तरिक नीतिमा निरन्तर असर पार्दै आएको छ । जेन-जी आन्दोलन पश्चिमी मुलुकले प्रवर्द्धन गरेको ‘डिजिटल स्वतन्त्रता आन्दोलन’सँग कतै न कतै तुलना गर्न सकिने अवस्था देखिन्छ । यसले नेपालमा वैचारिक ध्रुवीकरण झन् तीव्र बनाएको छ ।

    नेपालले आफ्नो स्वतन्त्र विदेश नीति र आन्तरिक लोकतान्त्रिक अभ्यासबीच सन्तुलन कायम गर्न सकेन भने बाह्य प्रभावले राष्ट्रिय स्वाधीनता कमजोर पार्दै लैजानेछ । अहिले यही सन्तुलन कमजोर हुँदा नेपाल जटिल मोडमा पुगेको छ । यसको एक मात्र उपाय, विदेश नीति र राष्ट्रिय स्वाधीनताको विषयमा सबै राष्ट्रिय शक्तिबीच साझा समझदारी निर्माण गर्नु हो ।

    नयाँ दिशातर्फको खोज

    नेपाल अहिले संक्रमणको भारी बोकिरहेको छ । नागरिकमा परिवर्तनको अपेक्षा अझै प्रबल छ तर राज्यको संस्थागत प्रतिबद्धता कमजोर छ । राजनीतिक शक्ति, आर्थिक स्वार्थ र सामाजिक चेतनाको द्वन्द्वबीच अबको चुनौती भरोसायोग्य नेतृत्व, पारदर्शी शासन र उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्नु हो ।

    जेन-जीको विद्रोह केवल क्षणिक आन्दोलन होइन, यो एउटा पुस्ताको अस्तित्वको आवाज हो । यदि राज्यले यसलाई सुन्न सक्यो भने यो चेतना सुधारको शक्ति बन्न सक्छ । बेवास्ता गरियो भने यही लहर असन्तोषको अर्को सुनामीमा परिणत हुन सक्छ ।

    नेपालको भविष्य अब पुराना नाराभन्दा नयाँ सोचमा निर्भर रहनेछ, जहाँ आर्थिक स्वावलम्बन, डिजिटल स्वतन्त्रता र राजनीतिक जबाफदेहिताको एकीकृत बाटोले मात्र राष्ट्रलाई स्थिरता र समृद्धितर्फ लैजान सक्छ ।

    अबको मूल प्रश्न नयाँ र पुराना दुवै राजनीतिक दल तथा नेतृत्वले आफूलाई परिवर्तित गर्न तयार हुन्छन् कि पुनः पुरानै भाष्य दोहोर्‍याइरहन्छन् ? यो विचारणीय छ ।

    (मल्ल अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष र नेपाली कम्युनिष्ट पार्टीका नेता हुन्)

  • मधेशकी राप्रपा सांसद कञ्चन पदमुक्त

    मधेशकी राप्रपा सांसद कञ्चन पदमुक्त

    काठमाडौं । पार्टी निर्णय विपरीत एमाले सरकारमा मन्त्री बनेकी राप्रपा मधेशकी सांसद कञ्चन बिच्छा पदमुक्त भएकी छन् । राप्रपाको सिफारिसमा उनी बर्खास्तमा परेकी हुन् ।

    कार्य परामर्श समितिमा भएको सहमति अनुसार बुधबार (आज) मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने भएकोले भोलि मात्रै पदमुक्तको सूचना टाँस गरिने छ ।

    हाउस कल भएको दिन पदमुक्त गर्न नमिल्ने भएकोले बिहीबार सांसद बिच्छा बर्खास्त हुने सहभागी एक सदस्यले बताए ।

    बिच्छा कात्तिक २४ मा सरोजकुमार यादव नेतृत्वको सरकारमा वनमन्त्री बनेकी थिइन् । पार्टीले उनलाई फिर्ता हुन् भने पनि अटेर गरेपछि उनलाई स्पष्टीकरण सोधिएको थियो । जवाफ समेत नफर्काएपछि पार्टीले उनलाई साधारण सदस्य समेत नरहने गरी सांसदबाट फिर्ता बोलाउन सिफरिस गरेको थियो ।

    यो सँगै उनको मन्त्री र सांसदको पद पनि गएको छ ।

  • मुख्यमन्त्री नआएपछि मधेश सभा बैठक ३ मिनेटमै स्थगित

    मुख्यमन्त्री नआएपछि मधेश सभा बैठक ३ मिनेटमै स्थगित

    काठमाडौं । मधेश प्रदेशसभाको बैठक १० बजेपछि तीन मिनेट बसेर स्थगित भएको छ ।

    बिहान ८:३० बजेका लागि आह्वान भएको बैठक मुख्यमन्त्री सरोजकुमार यादव नआएपछि बस्न सकेको थिएन ।

    विश्वासको मत लिनका लागि मुख्यमन्त्रीले दिउँसो २ बजेको समय मागेका थिए । बैठक बिहान ८:३० बजे बोलाइएको थियो । मुख्यमन्त्री यादवले २ बजे मात्रै बैठकमा आउने जनाउ दिएपछि बैठक शुरू भएको ३ मिनेटमै स्थगित गरेर दिउँसो २ बजे बस्ने जानकारी प्रदेश सभाले दिएको छ ।

    उपसभामुख बबिता राउत ईसरले विश्वासको मतको प्रस्ताव पेस गर्न मुख्यमन्त्रीलाई अनुमति दिएकी थिइन् । तर, सरकारका तर्फबाट कोही पनि उपस्थित नभएपछि उनले आजै २ बजेसम्मका लागि स्थगित गरेकी छन् ।

    २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चले दिएको आदेशअनुरूप यादवले विश्वासको मत लिन लागेका हुन् ।

  • नक्कली नेपाली रुपैयाँसहित तीन पक्राउ

    नक्कली नेपाली रुपैयाँसहित तीन पक्राउ

    दाङ । रौतहटमा नक्कली नेपाली नोटसहित तीन जना पक्राउ परेका छन् । मंगलबार अपरान्ह जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले ईशनाथ नगरपालिका–४ लतमरीस्थित नेपाल–भारत सीमानाकाबाट एक भारतीय नागरिकसहित तीन जनालाई नक्कली रूपैयाँका साथ नियन्त्रणमा लिएको हो ।

    भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर०५एटी ०९८३ नम्बरको मोटरसाइकललाई नियमित चेकजाँच गर्दा नोट बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारत बिहार राज्य पूर्वी चम्पारण, कुण्डवा चैनपुर ग्राम पञ्चायतका २३ वर्षीय जय प्रकाश कुमार, रौतहटको देवाही गोनाही नगरपालिका–४ का २१ वर्षीय गोनालाल राउत र २० वर्षीय अजय पटेल छन् ।

    प्रहरीका अनुसार उनीहरूको साथबाट १ हजार रुपैयाँ दरका १ सय १८ थान नक्कली नेपाली नोट फेला परेको छ ।

  • अन्तरराष्ट्रिय अपाङ्गता दिवसमा प्रभातफेरी

    अन्तरराष्ट्रिय अपाङ्गता दिवसमा प्रभातफेरी

    काठमाडौँ । अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तरराष्ट्रिय दिवसका अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको नेतृत्वमा प्रभातफेरी भएको छ ।

    प्रभातफेरीमा अपाङ्गता भएका व्यक्तिमाथिको विभेद अन्त्य गरौँ, राज्यका निकाय, विद्यालय, सार्वजनिक सवारीसाधन, सडक, पार्क, मठमन्दिर, सरकारी र सार्वजनिक एवं निजी संरचना उहाँहरूको सहज रूपमा पहुँचको स्थापना गरौँ भन्ने नारा लेखिएका प्लेकार्ड प्रस्तुत गरिएका थिए ।

    खुलामञ्चबाट शुरु भएको प्रभातफेरी भृकुटीमण्डपमा आएर सभामा परिणत भएको थियो । प्रभातफेरीमा सङ्घ, प्रदेश र स्थानीय तहका प्रतिनिधि, सरोकार भएका निकाय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्काउटका प्रतिनिधि सहभागी थिए ।

    अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धनका लागि संयुक्त राष्ट्रसङ्घको पहलमा सन १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपाङ्गता भएका व्यक्तिहरूको अन्तरराष्ट्रिय दिवस मनाउन प्रारम्भ भएको हो ।

  • अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील

    अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अपाङ्गता भएका व्यक्तिका लागि आफ्नो पार्टीले सामाजिक सुरक्षा भत्ताको व्यवस्था उनीहरूलाई समाजले गर्दै आएको नकारात्मक व्यवहार, राजनीतिक एवम् सामाजिक आन्दोलनका माध्यमबाट परिवर्तन गर्दै आएको बताएका छन् ।

    अपाङ्गता भएका व्यक्तिहरूको अन्तरराष्ट्रिय दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले यस्तो बताएका हुन् ।

    राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक र नागरिक अधिकार प्राप्तिका लागि अपाङ्गता भएका व्यक्तिहरूलाई सङ्गठित गर्दै पार्टीले नेतृत्वमा स्थापनाको प्रयास जारी राखेको, अपाङ्गता भएका तमाम व्यक्तिले उठान गर्दै आएका विषयलाई पनि समावेश गर्दै आएको उनले बताए ।

    सन्देशमा अध्यक्ष ओलीले ‘अपाङ्गता भएका व्यक्तिहरूको स्वतन्त्र, स्वावलम्बी र मर्यादित जीवनयापन गर्न व्यक्तिगत सहयोगी सेवा, सहायक सामग्री तथा प्रविधि सेवा, पहुँच युक्तता, सामाजिक सुरक्षा, पारा खेलकुदको विकास, शिक्षा, स्वास्थ्य तथा रोजगारीका सवालमा नेकपा एमाले गम्भीर छ’ भनेका छन् ।

  • विभेद अन्त्यका लागि सबै पक्षसँग हातेमालो जरुरी

    विभेद अन्त्यका लागि सबै पक्षसँग हातेमालो जरुरी

    काडमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिमाथिको सामाजिक विभेद अन्त्य, उपचार र जीविकोपार्जनको सुनिश्चितता तथा सम्मानजनक जीवनयापनको वातावरण निर्माणका लागि सबै पक्षसँग हातेमालो गर्न अपरिहार्य भएको बताएका छन् ।

    ३४ औँ अन्तरराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण अपाङ्ग समुदायप्रति सम्मान तथा शुभकामना व्यक्त गर्दै उनले अपाङ्ग नागरिकको अधिकार, अवसर र सम्मानलाई राष्ट्र निर्माणको केन्द्रमा राख्नु हामी सबैको साझा जिम्मेवारी भएको बताए ।

    संयोजक दाहालले समावेशी विकास, पहुँचयोग्य पूर्वाधार, उपचार, शिक्षा तथा रोजगारमा समान अवसर र सम्मानजनक जीवनका आधारहरूमा टेकेर नै सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माण गर्न सकिने सन्देशमा उल्लेख गरेका छन् ।

  • मधेश प्रदेश सभामा सदस्यहरु उपस्थित, मुख्यमन्त्री अनुपस्थित, बैठक शुरु हुन सकेन

    मधेश प्रदेश सभामा सदस्यहरु उपस्थित, मुख्यमन्त्री अनुपस्थित, बैठक शुरु हुन सकेन

    काठमाडौँ । मधेश प्रदेश सभाको बैठक बुधबार बिहान ८ः३० बजे आह्वान भएपछि प्रदेश सभा सदस्यहरु जनकपुर पुगेका छन् । प्रदेश सभा भवनमा बिहान डाकिएको बैठकमा मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने तालिका छ । तर अहिलेसम्म मुख्यमन्त्री यादव प्रदेश सभामा पुगेका छैनन् ।

    उनले मंगलबार प्रदेश सभामा दिउँसो २ बजे विश्वासको मत लिने वातावरण बनाउन पत्र पठाएका थिए । सर्वदलीय बैठकले भने बुधबार बिहान ८ः३० बजेका लागि प्रदेशसभा बैठक आह्वान गर्ने निर्णय भएपछि आन्तरिक द्वन्द्व देखिएको हो ।

    उपसभामुख बबिता राउत ईश्वरको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले मुख्यमन्त्रीले मागेको समय भन्दा अगावै बिहान बैठक आह्वान गरेकी थिइन् ।

    सोमबार सर्वोच्च अदालतले मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र प्रदेशसभाबाट विश्वासको मत लिन परमादेश गरेपछि प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।

    सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेपछि मुख्यमन्त्री यादवले आफूलाई यसको औपचारिक रुपमा आदेशको प्रति प्राप्त नभएको बताउँदै प्रदेश सभाबाट प्रति ल्याएर प्रक्रिया अगाडि बढाउन आफूले अग्रसरता लिएको जानकारी दिएका थिए ।

    मुख्यमन्त्री यादव नआइपुगेपछि प्रदेश सभा बैठक शुरु हुन सकेको छैन । आइपुगेका प्रदेश सभा सदस्यहरु यतिकै बसिरहेका छन् ।

     

  • सामाजिक न्यायको पक्षमा निरन्तर उभिने कांग्रेसको प्रतिबद्धता

    सामाजिक न्यायको पक्षमा निरन्तर उभिने कांग्रेसको प्रतिबद्धता

    काडमाडौँ । नेपाली कांग्रेसले समावेशिता, समान अवसर, मानवअधिकार र सामाजिक न्यायको पक्षमा निरन्तर दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरेको छ ।

    पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अन्तरराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा आज सन्देश जारी गर्दै पार्टीको विधानअनुसार स्थानीय तहदेखि सङ्घीय संरचनासम्म अपाङ्गता भएका सदस्यहरूको सहभागिता सुनिश्चित गरेको बताए ।

    भविष्यमा पनि यस्तो सहभागितालाई अझ प्रभावकारी र जिम्मेवारीपूर्ण बनाउने पार्टीको प्रतिबद्धता उनले सन्देशमा दोहोर्याएका छन् ।

    नेपालको संविधानले सुनिश्चित गरेका समान अधिकार, सहभागिता, सामाजिक न्याय र समावेशितालगायत विषयहरूलाई कांग्रेसले निरन्तर संरक्षण गर्दै आएको कार्यवाहक सभापति खड्काले सन्देशमा उल्लेख गरेका छन् ।

  • अपाङ्गता भएका व्यक्तिका अधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री आचार्य

    अपाङ्गता भएका व्यक्तिका अधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री आचार्य

    रूपन्देही । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले अपाङ्गता भएका व्यक्तिका अधिकार, समावेशीकरण र सशक्तीकरण सुनिश्चित गर्न प्रदेश सरकार पूर्णरूपमा प्रतिबद्ध भएको बताएका छन् ।

    अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले प्रादेशिक तहमा अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन निर्माणको प्रक्रिया अघि बढाइएकाले एकीकृत र सहज सेवा प्रवाहलाई थप प्रभावकारी बनाइने बताएका हुन् ।

    सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ मा मनाइँदै आएको अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस यस वर्ष ‘अपाङ्गता समावेशी समाजको प्रवर्दन सामाजिक विकासको संवद्र्धन’ भन्ने नारासहित मनाइँदैछ । नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई मर्यादित र आत्मसम्मानपूर्ण जीवन, सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको उल्लेख गर्दै यसलाई व्यवहारमा उतार्न प्रदेश सरकारले निरन्तर काम गरिरहेको बताए ।

    प्रदेशभर अपाङ्गमैत्री पूर्वाधार निर्माण, अपाङ्गता समन्वय समिति गठन, र सार्वजनिक सेवामा सहज पहुँच सुनिश्चित गर्नका लागि पूर्वाधार तथा संरचनामा सुधार गरिएको उनको भनाइ छ । पुराना संरचनामा आवश्यक परिमार्जन र नयाँ संरचना पूर्ण रूपमा अपाङ्गमैत्री बनाउन काम भइरहेको पनि मुख्यमन्त्री आचार्यले जानकारी दिए ।

    शिक्षा, स्वास्थ्य, रोजगारीलगायत राज्यबाट प्रदान गरिने सेवामा अपाङ्गता भएका व्यक्तिहरूको समान पहुँच सुनिश्चित गर्दै राज्यका निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता बढाउन कानूनी आधार निर्माण गर्दै अघि बढ्ने प्रदेश सरकारले स्पष्ट पारेको छ ।

  • कुलमानको उपस्थितिमा आज उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा

    कुलमानको उपस्थितिमा आज उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा

    काठमाडौँ । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा हुँदैछ । पार्टीले दिउँसो १ बजेदेखि ४ बजे सम्म, प्रज्ञा भवन, कमलादी, काठमाडौँमा घोषणा सभा गर्न लागेको छ ।

    कार्यक्रममा प्रमुख अतिथि ऊर्जामन्त्री मन्त्री कुलमान घिसिङ हुनेछन् । कार्यक्रममा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२, औपचारिक रूपमा सार्वजनिक गरिने बताइएको छ ।

    पार्टीको सैद्धान्तिक दृष्टिकोण, प्राथमिकता र कार्य योजनालाई स्पष्ट रूपमा सार्वजनिक गर्ने पार्टीको तयारी छ ।

    पार्टीले यसअघि मंसिर १२ गते जारी गरेको विज्ञप्तिमा दलहरूको भीडमा थप एक नयाँ दलको रूपमा मात्रै नभई उज्यालो सपना साकार पार्नसक्ने नेतृत्व, कार्यकुशलता र अनुभव भएको दाबी गरेको थियो । पार्टीले आम नेपाली जनताले विश्वास र भरोसा गरेको नेतृत्व गर्ने बताएको थियो ।

    जेन्जी आन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गरी समृद्ध राष्ट्र निर्माणार्थ परिणाममुखी संवादमार्फत एकजुट हुन पनि आह्वान गरेको छ।

  • पत्नीको चक्कु प्रहारबाट नगर प्रहरी पति घाइते

    पत्नीको चक्कु प्रहारबाट नगर प्रहरी पति घाइते

    रूपन्देही । बुटवलमा श्रीमतीको चक्कु प्रहारबाट श्रीमान गम्भीर घाइते भएका छन् । बुटवल उपमहानगरपालिका–११, नहरपुरका ३० वर्षीय सुरज गुरुङलाई ३८ वर्षीया श्रीमती पवित्रा गुरुङले मध्यराति चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ।

    वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक विष्णुदेव गिरीका अनुसार राति करिब २ बजेतिर भएको घटनापछि गम्भीर घाइते सुरजलाई स्थानीयले तुरुन्तै लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याएका थिए । बुटवलमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि भैरहवा मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ।
    चक्कु प्रहारबाट सुरजको टाउको र घाँटीमा गहिरो चोट लागेको निरीक्षक गिरीले बताए ।

    छिमेकीसमेत रहेका वडा सदस्य नकुल शाही ठकुरीका अनुसार घाइते सुरज बुटवल नगर प्रहरीमा कार्यरत जवान हुन् । उनका अनुसार पवित्रा विगत तीन–चार वर्षदेखि डिप्रेसनको औषधी सेवन गरिरहेकी छिन् । श्रीमान–श्रीमतीबीच प्रायः झगडा हुने गरेको र पवित्राले परिवारका अन्य सदस्यसँग पनि विवाद गर्ने गरेको स्थानीय बताउँछन् ।

    यही कारण सुरज राति अलग्गै कोठामा सुत्ने गर्थे । मङ्गलबार राति पनि उनी अलग कोठामा सुतेका बेला पवित्राले ढोका फोरेर एक्कासी चक्कु प्रहार गरेको शाहीले बताए ।

    ज्यान जोगाउन भाग्ने क्रममा बाहिर पनि उनको टाउको र घाँटीमा पुनः प्रहार भएको घाइते सुरजको बयान उदृत गर्दै शाहीले जानकारी दिए।

    राति हो–हल्ला र रुवाबासीको आवाज आएपछि छिमेकीको ध्यान गएको थियो । बाहिर रगताम्य अवस्थामा पल्टिएका सुरजलाई देखेपछि स्थानीयले तत्काल अस्पताल पुर्‍याएका थिए । पवित्रालाई भने पक्राउ गरी प्रहरीको जिम्मा लागेको वडा सदस्य शाहीले बताए । उनीहरूको सात वर्षका छोरा छन् ।

  • ओखलढुङ्गामा महाधिवेशन प्रतिनिधि छनौट पुनः अघि बढाउन एमालेको निर्देशन

    ओखलढुङ्गामा महाधिवेशन प्रतिनिधि छनौट पुनः अघि बढाउन एमालेको निर्देशन

    विराटनगर । नेकपा (एमाले) केन्द्रीय कार्यालयले ओखलढुङामा भएको महाधिवेशन प्रतिनिधि चयन बदर गरेको छ । एकलौटी ढङगले प्रतिनिधि छनौट भएको उजुरी परेपछि महाधिवेशन प्रतिनिधि छनौट प्रक्रिया पुनः शुरु गर्न निर्देशन दिइएको हो । ओखलढुङ्गा जिल्ला कमिटीलाई निर्वाचन प्रक्रिया पाँच दिनभित्र पुनः शुरु गर्न निर्देशन दिइएको छ।

    एघारौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनौटका सम्बन्धमा अपानि–१३ को निर्देशन, आठमध्ये छवटा पालिका कमिटीको माग, बहुसंख्यक इच्छुक उम्मेदवारको असहमति तथा प्रदेश पार्टी कमिटी र केन्द्रीय संगठन विभागको निर्देशनसमेत उल्लङ्घन गरिएकाले प्रतिनिधि चयन मान्य नहुने निर्णय गरिएको निर्देशन केन्द्रीय कार्यालयले दिएको छ।

    यसका लागि सबै आम सदस्यलाई प्रभावकारी माध्यमबाट सूचना प्रवाह गरी पालिकास्तरमै मतदान केन्द्र स्थापना गरी पुनः निर्वाचन प्रक्रिया सञ्चालन गर्न निर्देशन दिएको छ। पुनः निर्वाचनलाई सहज बनाउन प्रदेश इञ्चार्ज शेरधन राई तथा केन्द्रीय नेताहरु विशाल भट्टराई, यज्ञराज सुनुवार र किशोर अधिकारीलाई आवश्यक समन्वय गरी सहयोग गर्न पनि जिम्मेवारी तोकिएको केन्द्रीय कार्यालयले जनाएको छ।

    नेकपा एमालेको एघारौँ महाधिवेशनमा प्रतिनिधि छनोटका लागि शनिबार भएको निर्वाचनमा १ हजार ५ सय १८ मत खसेको थियो। ओखलढुङ्गामा अ्म्बिरबाबु गुरुङ र यज्ञ राज सुनुवार पक्षका विचमा प्रतिस्पर्धा छ । महाधिवेशन प्रतिनिधि छनौटमा गुरुङ पक्षले सदरमुकाममा मात्रै निर्वाचन गराएर प्रतिनिधि छनौट भएको दाबी गरेको थियो ।

  • कस्तो छ मधेशमा मुख्यमन्त्री सरोज कुमार यादवका लागि अंक गणित ?

    कस्तो छ मधेशमा मुख्यमन्त्री सरोज कुमार यादवका लागि अंक गणित ?

    काठमाडौँ । सोमबार सर्वोच्च अदालतले परमादेश जारी गरेसँगै मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सर्वोच्चको आदेशलाई शिरोधार्य गर्दै विश्वासको मत लिएर देखाउने दाबी गरेका छन् ।

    नेपाली कांग्रेससहितका ७ दलले दायर गरेको रिटमाथि सर्वोच्चले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन नसके संविधानको धारा १६८(२) बमोजिम नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन प्रदेश प्रमुखको नाममा परमादेश जारी गरेको थियो ।

    सोही परमादेश अनुरुप आफूहरु विश्वासको मत लिने तयारी गरिरहेको र दलहरुसँगको परामर्शलाई अगाडि समेत बढाएको मुख्यमन्त्री यादवले जानकारी दिए । जबकि सर्वोच्चको परमादेशसँगै ७ दलीय गठबन्धनले नयाँ सरकार गठनकालागि तयारी थालिसकेको छ । यस हिसाबले मुख्यमन्त्रीको विपक्षमा मधेश प्रदेशसभाको अंकगणित छ ।

    एमालेसँग जम्मा २५ प्रदेशसभा सदस्य छन् जसमध्ये एक जना निलम्बित छन् । जबकि विश्वासको मत पाउनका लागि १ सय ७ सदस्यीय मधेश प्रदेशसभामा विश्वासको मत पाउनका लागि ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक हुन्छ ।

    नेपाल संघीय समाजवादी पार्टी र राप्रपाका एक–एक प्रदेशसभा सदस्य मुख्यमन्त्रीको पक्षमा देखिए पनि राप्रपाले आफ्ना मन्त्री कञ्चन बिच्छामाथि कारबाही प्रक्रिया अघि बढाइसकेको छ ।

    यता विपक्षमा रहेको गठबन्धनमा कांग्रेसको २२, जसपा नेपालको १८, जनमत पार्टीको १३, माओवादी केन्द्रको ९, लोसपाको ८, एकीकृत समाजवादी पार्टीको ७ र नागरिक उन्मुक्ति पार्टी १ गरी सातदलीय गठबन्धन दुई तिहाइ प्रदेशसभा सदस्य छन् । यस हिसाबले मुख्यमन्त्री यादवले विश्वासको मत पाउने सम्भावना कम देखिन्छ ।

  • मधेश प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, प्रदेश सभा आह्वान

    मधेश प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, प्रदेश सभा आह्वान

    काठमाडौँ । मधेश प्रदेश सभाको बैठक आज बुधबार बिहान ८ः३० बजेका लागि आह्वान भएको छ । बैठकमा मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने छन् ।

    मुख्यमन्त्री यादवले बुधबार दिउँसो २ बजे प्रदेश सभा बैठक आह्वान गरेर विश्वासको मत लिने वातावरण बनाउन प्रदेश सभामा पत्र पठाएका थिए । तर मधेश प्रदेश सभामा रहेका एमालेबाहेकका दलहरुको सर्वदलीय बैठकबाट बुधबार बिहान ८ः३० बजे नै प्रदेशसभा बैठक आह्वान गर्ने निर्णय भएको हो । प्रदेश सभाको बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

    बैठक आह्वानसम्बन्धी सूचना प्रदेशसभा सदस्यलाई पु¥याइएको छ । उपसभामुख बबिता राउत ईश्वरको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले बिहानका लागि बैठक आह्वान गर्ने सहमतिअनुसार बैठक आह्वान गरिएको हो । बिहान प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बिहान ७ बजे नै आह्वान गरिएको छ।

    सोमबार सर्वोच्च अदालतले मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र प्रदेशसभाबाट विश्वासको मत लिन परमादेश गरेपछि प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।

    सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेपछि मुख्यमन्त्री यादवले आफूलाई यसको औपचारिक रुपमा आदेशको प्रति प्राप्त नभएको बताउँदै प्रदेश सभाबाट प्रति ल्याएर प्रक्रिया अगाडि बढाउन आफूले अग्रसरता लिएको जानकारी दिए ।

  • एनपिएलः आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच खेल हुने

    एनपिएलः आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच खेल हुने

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको खेलअन्तर्गत आज बुधबार विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । दुवै टोलीबीच दिउँसो ४ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल हुनेछ ।

    विराटनगरले पाँच खेल खेलेर ८ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । विराटनगर आजको खेलमार्फत स्थान सुधार्ने लक्ष्यमा छ । समान पाँच खेलबाट ४ अंक जोडेको लुम्बिनी लायन्स भने छैटौँ स्थानमा छ। प्लेअफ सम्भावना जिउँदै राख्न लुम्बिनीका लागि आजको खेल जित्नैपर्ने अवस्था छ ।

    अहिलेसम्म सुदूरपश्चिम रोयल्सले प्रतियोगिताको प्लेअफमा स्थान पक्का गरेको छ । अब बाँकी तीन टोली प्लेअफ यात्रा सुरक्षित गर्ने लक्ष्यसहित मैदानमा उत्रिँदैछन् ।

  • अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा

    अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यस्तै, यूरो, पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलरलगायतका विदेशी मुद्राको भाउ पनि बढेको छ ।

    निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६७ रुपैयाँ २७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ ४३ पैसा र बिक्रीदर १९० रुपैयाँ २२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ०७ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९४ रुपैयाँ ३६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ५६ पैसा र बिक्रीदर १११ रुपैयाँ ०२ पैसा तोकिएको छ ।

    जापानी येन १० को खरिददर नौ रुपैयाँ २० पैसा र बिक्रीदर नौ रुपैयाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ३० पैसा र बिक्रीदर २० रुपैयाँ ३८ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३९ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५४ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ४८ पैसा र बिक्रीदर चार रुपैयाँ ५० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३९ रुपैयाँ २३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७७ पैसा र बिक्रीदर नौ रुपैयाँ ८१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ १७ पैसा र बिक्रीदर १५ रुपैयाँ २३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ३० पैसा र बिक्रीदर २२ रुपैयाँ ४० पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४३ पैसा र बिक्रीदर १८ रुपैयाँ ५१ पैसा, कुवेती दिनार एकको खरिददर ४६७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ४६९ रुपैयाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर ३८० रुपैयाँ ६४ पैसा र बिक्रीदर ३८२ रुपैयाँ २३ पैसा , ओमनी रियाल एकको खरिददर ३७२ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३७४ रुपैयाँ २८ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • राष्ट्र बैंकको सर्कुलर– केही सुविधा, ऋण प्रवाहमा नयाँ व्यवस्था

    राष्ट्र बैंकको सर्कुलर– केही सुविधा, ऋण प्रवाहमा नयाँ व्यवस्था

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत गरिएका नयाँ व्यवस्था कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थालाई सर्कुलर गरेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिको समिक्षा गर्दै केही थप व्यवस्था तथा संशोधन गरेको थियो ।

    बाढीपहिरोबाट प्रभावित इलामलगायतका जिल्लाका उद्यम व्यवसायका लागि प्रवाहित कर्जालाई ऋणीको अनुरोधमा कर्जाको पुनरसंरचा गर्न सकिने व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी आवश्यकता र औचित्यका आधारमा बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुल उपर गरी आगामी चैतसम्मको पुनरसंरचना गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।

    त्यसरी पुनरसंरचना वा पुनरतालिकीकरण गर्दाको समयमा कर्जालाई जुन वर्गमा वर्गीकरण गरिएको छ कम्तीमा सोही वर्गमा वर्गीकरण तथा कर्जा नोक्सानीको व्यवस्था कायम गर्नुपर्ने प्रावधान राखिएको छ ।

    यसैगरी अबदेखि बैंक तथा वित्तीय संस्थाले अधिविकर्षलगायतका प्रयोजनक नखुलेका व्यक्तिगत कर्जा एक करोड रुपैयाँसम्म प्रवाह गर्न सक्नेछन् । तोकिएको सीमा नाघी कर्जा प्रवाह गरेमा बैंक तथा वित्तीय संस्थाले यो सीमा नाघेजति रकममा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने प्रबन्ध गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

    त्यस्तै, इजाजतप्राप्त संस्थरुलाई प्रचलित ऐनमा भएको व्यवस्थाबमोजिम उपलब्ध गराइने कर्जाको व्याजदर पाँच दशमलव ७५ प्रतिशत कायम गरिएको छ । यसअघि त्यस्तो व्याजदर छ प्रतिशत थियो ।

    केन्द्रीय बैंकले ‘घ’ वर्गका वित्तीय संस्थालाई पनि कर्जाको पुनरतालिकीकरण एव्म पुनरसंरचनाका सम्बन्धमा केही नयाँ व्यवस्था गरेको छ । विपन्न तथा न्यून आय भएका समूहमा आवद्ध भएका वा नभएका व्यक्तिलाई स्वीकारयोग्य धितो लिई कृषि, लघु उद्यम वा व्यवसाय सञ्चालन गर्न प्रयोजन खुलाई प्रतिव्यक्ति १५ लाख रुपैयाँ बराबरको लघुकर्जा उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ ।

    यसअघि त्यस्तो कर्जा सात लाख रुपैयाँ बराबर मात्रै उपलब्ध गराउन सकिने व्यवस्था थियो । समूहमा आवद्ध भएको सदस्यलाई एकै अवधिमा कर्जा वा धितो कर्जा मध्ये कुनै एक कर्जा मात्र प्रवाह गर्न सकिनेछ ।

  • समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

    समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले दिगो विकासका लक्ष्य प्राप्तिको लागि अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धतालाई प्राथमिकतामा राखी अपाङ्गता समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

    अपाङ्गता भएका व्यक्तिहरूको अन्तरराष्ट्रिय दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेकी हुन् । सन्देशमा प्रधानमन्त्रीले अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी, सहभागिता, सामाजिक सुरक्षा एवम् पुनः स्थापनामा सहज पहुँचका लागि सरकार क्रियाशील रहेको बताएकी छिन् ।

    अपाङ्गता भएका व्यक्तिको आर्थिक–सामाजिक अवस्था एवं अपाङ्गताको गाम्भीर्यका आधारमा अपाङ्गता भएका व्यक्तिलाई सेवा सुविधामा प्राथमिकता दिई अपाङ्गता भएका सबैलाई सम्मानजनक र समतामूलक जीवनयापनको वातावरण निर्माण गर्ने राज्यको नीति रहेको प्रधानमन्त्रीले सन्देशमा स्पष्ट गरेकी छिन् ।

    अपाङ्गता भएका व्यक्तिले भोगिरहेका भौतिक, दृष्टिकोणजन्य, सञ्चारमा रहेका अवरोध, कानुनीलगायत अन्य सबै अवरोध हटाई सबै प्रकारका अपाङ्गता भएका व्यक्तिका लागि सहज, पहुँचयुक्त र सम्मानजनक अवस्थाको सिर्जना गर्नु आजको आवश्यकता भएको सन्देशमा उनले उल्लेख गरेकी छिन् ।

    अपाङ्गता भएका व्यक्तिको स्वावलम्बी र आत्मनिर्भर जीवनका लागि अपाङ्गता रोकथाम तथा पुनःस्थापनालगायत रोजगार तथा स्वरोजगारका कार्यक्रममा तीनवटै तहका सरकारको संयुक्त प्रयासले अपेक्षित उपलब्धि हासिल गर्न सकिने विश्वास प्रधानमन्त्रीले व्यक्त गरेकी छिन् ।

    नेपालको संविधान, नेपाल पक्ष राष्ट्र भएका अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी अन्तरराष्ट्रिय सन्धि, महासन्धि, विद्यमान कानुनहरूले अपाङ्गता भएका व्यक्तिको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनैतिक अधिकारलाई अधिकतम रूपमा सम्बोधन गरेका उनले बताइन् ।

    यस दिवसले अपाङ्गता भएका व्यक्तिको क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्था, सम्बन्धित सबै सरोकार भएकाहरूलाई अपाङ्गता भएका व्यक्ति एवम् तिनका अभिभावकको हक, हित, अधिकार, संरक्षण र सुविधाको क्षेत्रमा अझ धेरै कार्य गर्ने प्रेरणा र ऊर्जा मिलोस् भन्ने कामना गरेकी छिन् ।

  • सांसदले भत्काए मापदण्डभन्दा कम चौडाइको कल्भर्ट पर्खाल

    सांसदले भत्काए मापदण्डभन्दा कम चौडाइको कल्भर्ट पर्खाल

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ काउलेगौडामा मापदण्डभन्दा बाहिर गएर बनाएको कल्भर्ट पर्खाल भत्काइएको छ । मापदण्डभन्दा कम चौडाइ भएको कल्भर्टको पर्खाल आज अनुगमन टोलीले भत्काएको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत सञ्चालित गलेश्वर–पुलाश्रम–जगन्नाथ सडक योजनाको काउलेगौडास्थित खोल्सामा निर्माणाधीन कल्भर्टको पर्खालको चौडाइ ६० सेन्टिमिटर हुनुपर्नेमा ४९ सेन्टिमिटर बनाएको भेटिएपछि भत्काएको अनुगमन टोलीले जनाएको छ ।

    गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्री, पूर्वाधार विकास कार्यालयका प्रमुख डा महेन्द्र बानियाँसहितको टोलीले मापदण्डभन्दा कम चौडाइको पर्खाल भत्काएर नयाँ बनाउन निर्देशन दिएको हो ।

    “मापदण्डभन्दा कम चौडाइको पर्खाल भत्काउन पूर्वाधार विकास कार्यालयका प्राविधिकले दिएको निर्देशन मजदुरले नमानेपछि म आफैँ भत्काउन सुरु गर्नुपरेको थियो”, गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले भने, “सडकको पर्खालमा गुणस्तरीय मसला (सिमेन्ट र बालुवाको अनुपात मिलाएर) प्रयोग गर्न र ‘फिनिसिङ’ राम्रो बनाउन निर्देशन दिएका छौँ ।”

    बेनी नगरपालिकामा रहेका तीन वटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम ९पछै० र जगन्नाथ जोड्ने गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको उक्त योजना निर्माणका लागि बिबिपीएल बिएस डिएस धौलागिरिले गत असार महिनामा रु दुई करोड २३ लाख ४६ हजारमा ठेक्का सम्झौता गरेको थियो ।

    हालसम्म ५० प्रतिशत भौतिक प्रगति भएको योजनामार्फत ३०० मिटर ढलान र एक हजार ७०० मिटर ग्राभेलसहित स्तरोन्नति गर्ने लक्ष्य रहेको पूर्वाधार विकास कार्यालय, म्याग्दीका प्रमुख डा बानियाँले बताए ।

    टोलीले बेनी–पाखापानी सडकअन्तर्गत बेनी नगरपालिका–९ को किराखोरदेखि नेप्टेचौर हुँदै तोरीपानी जोड्ने चार किलोमिटर सडक स्तरोन्नति योजनाको पनि अनुगमन गरेको छ । किराखोर–नेप्टेचौर खण्डमा भइरहेको प्रिमिक्स कालोपत्र गर्ने कामको अनुगमन गरेको टोलीले उक्त योजनामा सन्तोषजनक काम भएको जनाएको छ ।

    आगामी असार महिनासम्म ठेक्काको म्याद रहेको उक्त योजनाको ६९ प्रतिशत भौतिक प्रगति भएको कार्यालय प्रमुख बानियाँले बताए । निर्धारित समयभित्रनै योजना निर्माण सम्पन्न गर्ने लक्ष्यसहित मजदुर र उपकरण परिचालन गरेको निर्माण कम्पनीका प्रतिनिधि सुवासचन्द्र कार्कीले बताए ।

  • नेपाल चाइनिज ताइपेसँग पराजित

    नेपाल चाइनिज ताइपेसँग पराजित

    इन्डोनेसिया । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली चाइनिज ताइपेसँग पराजित भएको छ ।

    इन्डोनेसियाको योग्यकर्तास्थित मागुवोहर्जो रङ्गशालामा आज सम्पन्न खेलमा नेपाली टोली चाइनिज ताइपेसँग १–० गोलले पराजित भएको हो । खेलको दोस्रो हाफमा नेपालविरुद्ध गोल भएको हो ।

    चाइनिज ताइपेको लागि हुङ के सिनले निर्णायक गोल गोल गरिन् । उनले खेलको ५३ औँ मिनेटमा गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरिन् । फिफा महिला फुटबलको वरियतामा चाइनिज ताइपे ४२ औँ स्थानमा रहँदा नेपाल ८९ औँ स्थानमा रहेको छ ।

    यस त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा नेपाल इन्डोनेसियासँग २–१ गोलअन्तरले पराजित भएको थियो । त्यस्तै चाइनिज ताइपेले इन्डोनेसियालाई ५–० गोलअन्तरले पराजित गरेको थियो ।

  • चलचित्र विधेयक संशोधनसहित अघि बढ्छ : सञ्चारमन्त्री खरेल

    चलचित्र विधेयक संशोधनसहित अघि बढ्छ : सञ्चारमन्त्री खरेल

    काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको आजको बैठकमा सरकारले प्रस्तुत गरेको चलचित्र विधेयक अघि बढाउने विषयमा सहमति जुटेको छ ।

    समितिको आज सिंहदरबारमा बसेको बैठकमा सरकार, सांसदहरू र सरोकारवालाहरूको छलफलपछि विधेयक चलचित्र क्षेत्रको आवश्यक बुँदाहरू थपेर संशोधनसहित अघि बढ्ने सहमति जुटेको हो ।

    बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विधेयकलाई संशोधनसहित अघि बढाइने बताए । उनले विधेयकमा संशोधन गर्न सकिने प्रावधान हुँदाहुँदै सरकार विधेयक फिर्ता गर्ने पक्षमा नरहेको स्पष्ट पारे ।

    सञ्चारमन्त्री खरेलले भने, “सरकारले विधेयक फिर्ता लिन चाहेको छैन । विधेयक प्रक्रिया अगाडि बढाउनुपर्छ भन्नेमा सरकार स्पष्ट छ, सरकार, समिति र चलचित्र क्षेत्रका सरोकारवालाको सुझावका आधारमा विधेयकमा व्यापक परिमार्जन गरेर अगाडि बढ्नुपर्छ ।”

    उनले विधेयकको दफावार छलफलको क्रममा संशोधन गर्न सकिने धारणा राखे । सरकारको तर्फबाट धारणा सुनिसकेपछि चलचित्रकर्मी, निर्माता सङ्घ र अन्य सरोकारवालाहरू पनि विधेयक संशोधनको पक्षमा देखिएका हुन् ।

    बैठकमा सुझाव दिन पुग्नुभएका चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, निर्माता सङ्घका महासचिव खगेन्द्र लामिछाने तथा चलचित्र पत्रकार सङ्घका अध्यक्ष समीर बलामीलगायतले चलचित्र विधेयक चलचित्र क्षेत्रको विधि आयामलाई समेट्ने गरी संशोधन गर्नु आवश्यक भएको बताए ।

    बैठकमा समिति सभापति तुलसाकुमारी दाहालले विधेयकमा विभिन्न चरणमा सरोकारवाला, विज्ञ र सांसदहरूसँग छलफल गरी दफावार छलफलमा अघि बढ्न समिति तयार रहेको बताइन् । समितिले संशोधनका लागि सरोकारवालाहरूसँग लिखित सुझाव पनि मागेको उनले जानकारी दिइन् ।

  • पर्सा प्रहरीले नियन्त्रणमा लियो लागूऔषधसहित सवारी साधन

    पर्सा प्रहरीले नियन्त्रणमा लियो लागूऔषधसहित सवारी साधन

    वीरगन्ज । प्रहरीले १०४ के.जी. ३२५ ग्राम गाँजा सहित ओसारपसारमा प्रयोग भएको सवारी साधन पनि नियन्त्रणमा लिएको छ ।

    पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं. २ रंगपुरबाट प्रहरीले उक्त परिमाणमा लागूऔषध बरामद गरेको हो ।

    इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले मनवाबाट रंगपुरतर्फ जाँदै गरेको बीएबी ९३९८ नम्बरको कारलाई रोकेर खानतलासी लिएको थियो ।

    प्रहरीले उक्त कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीले जनाएका छन् ।

    पक्राउ पर्नेमा मकवानपुर, भीमफेदी गाउँपालिका वडा नं. ८, महावीर टोल बस्ने ३२ वर्षीय भीम स्याङ्तान (चालक) र मकवानपुरगढी गाउँपालिका वडा नं. १, आपटार बस्ने ३८ वर्षीय कुमार स्याङ्तान छन् ।

  • स्थानीय उत्पादन र प्रदेशको संस्कृतिलाई राष्ट्रियकरण गर्ने सुदूरपश्चिम महोत्सव

    स्थानीय उत्पादन र प्रदेशको संस्कृतिलाई राष्ट्रियकरण गर्ने सुदूरपश्चिम महोत्सव

    कैलाली । २०६३ सालमा कैलाली महोत्सव आयोजना हुँदा देशभरि औलामा गणना हुने महोत्सवहरू आयोजना भएका थिए ।

    कैलाली महोत्सव अहिले सुदूरपश्चिम महोत्सव भएको छ । देशभरि सयौँ महोत्सव आयोजना भइरहेका छन् । तर, कैलाली उद्योग वाणिज्य सङ्घले आयोजना गर्ने गरेको सुदूरपश्चिम महोत्सव अहिले पनि पर्वझैँ लाग्छ ।

    महोत्सवको १९ औँ संस्करण आगामी २२ गतेबाट सुरु हुँदै छ । महोत्सवको तीव्र तयारी भइरहेको छ । यस वर्ष पनि अघिल्ला वर्षजस्तै उत्सवको रूपमा महोत्सव आयोजना गर्ने तयारी भइरहेको कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्करराज ओझाले जानकारी दिए ।

    उनले यस पटक अघिल्लो वर्ष भन्दा अझै भव्य र आकर्षक हुने बताए । स्थानीय उत्पादन र प्रदेशको संस्कृतिलाई राष्ट्रिय स्तरमा पुराउन महोत्सवले ठुलो भूमिका खेल्ने उनको भनाइ थियो।

    ‘हामी महोत्सवको अन्तिम तयारीमा छौँ । यस पटक स्थानीय उत्पादन र प्रदेशको संस्कृतिलाई बढी महत्त्व दिएका छौँ ’ उनले भने ‘यो महोत्सव सुदूरपश्चिमको पर्व हो । हामी वार्षिक उत्सव र पर्वझैँ मनाउने तयारीमा छौँ ।’

    महोत्सवमा ५५० बढी स्टलहरू रहने छन् । ती मध्ये अधिकांश स्थानीय उत्पादन र घरेलु उद्योगलाई प्राथमिकता दिइएको महासचिव समेत रहेका महोत्सव प्रवक्ता दिनेश लम्सालले जानकारी दिए ।

    सांस्कृतिक प्रस्तुति, कृषि तथा उद्योग प्रदर्शनी, महिला तथा युवाका उद्यम स्टल, विविध प्रतियोगिता र मनोरञ्जनात्मक कार्यक्रम रहने उनको भनाई छ । साथै बालबालिकाका लागि खेलकुद क्षेत्र, कृषि प्रविधि प्रदर्शन र घरेलु उत्पादनहरूको बिक्री समेत हुने उनले बताए।

    ‘अहिले सुदूरपश्चिमका उद्योगी व्यवसायीहरूलाई पहिलो प्राथमिकता दिएका छौँ । स्थानीय स्टलका लागि छुट दिएका छौँ । घरेलु तथा कृषि उत्पादनको ५० स्टलहरू निःशुल्क छन् । स्थानीय परिकार र जाति विशेषको परिकारको लागि पनि निःशुल्क व्यवस्था गरेका छौँ’ मूल आयोजक समितिका सहसंयोजक समेत रहेका उनले भने, ‘यस पटकको महोत्सव स्थानीय उत्पादनको प्रदर्शन र व्यापार दुवै ढङ्गले महत्त्वपूर्ण रहेको छ ।’

    प्रदेशको कला, संस्कृति, परम्परा, खानपान र कृषिको प्रवर्द्धन गर्नुका साथै व्यापारिक गतिविधि विस्तार गर्ने महोत्सवको उद्देश्य रहेको उनले बताए। उनले महोत्सवले स्थानीय उत्पादन, हस्तकला, कृषि उपज, उद्यमशीलता र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने बताए।

    अघिल्ला प्रत्येक वर्षहरूमा सरकार प्रमुख वा राष्ट्र प्रमुखबाट महोत्सवको उद्घाटन हुने गरेको थियो । अहिले उद्योगी व्यवसायीहरूलाई प्राथमिकतामा राखेर अर्थमन्त्री वा गभर्नरबाट उद्घाटनको तयारी भइरहेको छ ।

    महोत्सवमा १५ करोड बढीको कारोबार हुने सचिव प्रकाश चन्दले बताए । ७ लाख बढिले अवलोकन गर्ने अपेक्षा गरिएको उनको भनाइ छ ।

    ‘अघिल्लो वर्ष एकै दिन १ लाखले महोत्सव हेरेका छन् । यस पटक त्यो भन्दा अझै भव्य छ ’ कलाकार तथा युवा परिचालन समितिका संयोजक चन्द भन्छन् ‘अहिले सुदूरपश्चिमका अधिकांश कलाकारहरूको प्रस्तुति रहने छ ।’

    वृद्ध तथा शारीरिक अशक्तता भएकाहरूलाई महोत्सवमा निःशुल्क अवलोकनको व्यवस्था गरिएको छ । कैलाली उद्योग वाणिज्य सङ्घसँग आबद्ध भएका व्यापारीले पनि निःशुल्क अवलोकन गर्न पाउने छन् भने विद्यार्थी ,खेलाडीलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । टिकटबाट केही रकम छुट्टाएर सामाजिक काममा पनि खर्च गरिने सचिव चन्दले बताए ।

    शालीन आन्दोलनको माध्यम बनेको महोत्सव

    राष्ट्रप्रमुख तथा नेतृत्वलाई महोत्सव उद्घाटनमा बोलाएर आफ्ना मागका बुँदा अनुसार फूलमाला बोकाउने सुदूरपश्चिमीलीको आन्दोलनले १८ वर्ष पार गरेको छ ।

    महोत्सवको माध्यमबाट सुदूरपश्चिमको समग्र विकासका लागि २०६३ सालमा २१ बुँदे माग राख्दै साङ्केतिक माला बोकाउने आन्दोलन सुरु भएको थियो ।

    अहिलेसम्म पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड , शेरबहादुर देउवा, बाबुराम भट्टराई, पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, नेता भीम रावल, नारदमुनि राना, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलगायतलाई उद्योग वाणिज्य सङ्घले सुदूरपश्चिमको विकास र संवृद्धिका लागि माग राखिसकेको छ ।

    ‘समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवको पहिलो संस्करणमा २१ बुँदे माग राख्दै तत्कालीन प्रधानमन्त्री देउवालाई २१ किलोग्रामको माला बोकाइएको थियो ।

    ती २१ मागमध्ये सेती प्रादेशिक अस्पतालमा आइसियू स्थापना, क्षेत्रीय खेलकुद रङ्गशाला, विश्वविद्यालय स्थापना, अप्टिकल फाइबर विस्तार र दुग्ध प्रशोधन केन्द्रको स्थापना गरी पाँच बुँदा मागको सुनुवाइ भइसकेको छ ।

    अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, प्रदेशसभा सम्मेलन गृह, दोधारा–चाँदनी सुक्खा बन्दरगाह, प्रदेशस्तरीय पर्यटन केन्द्र निर्माण, गेटा विमानस्थल धावनमार्ग कालोपत्रे तथा अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास गरिनुपर्ने र सेती प्रादेशिक अस्पताललाई सुविधा सम्पन्न बनाउने बुँदाहरू आंशिकरुपमा सरकारले सुनुवाइ गरेको र अहिले केही मात्रामा भए पनि अन्य माग पनि सम्बोधनका चरणमा रहेकाले यसपालि पनि उद्योग वाणिज्य सङ्घले माग सम्बोधनको लागि आग्रह गर्ने जनाएको छ ।

    अहिले गौरिफण्टा नाकाको स्तरोन्नति गरिनुपर्ने, दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान, खप्तड, शुक्लाफाँटा, घोडाघोडी जस्ता पर्यटकीय क्षेत्रको प्रवर्द्धन, औद्योगिक क्षेत्र र विशेष औद्योगिक प्याकेज, जडीबुटी प्रशोधन केन्द्र, शीतगृह, चिनी मिल, सेती हाइड्रोपावर, गेटा विमानस्थललाई वैकल्पिक अन्तर्राष्ट्रिय मार्ग, सबै जिल्लामा पक्की सडक, सूचना प्रविधि, बह्मदेव सडक, चिसापानीदेखि गड्डाचौकीसम्मका स्थानीय राजमार्गका बजारको जग्गा दर्ता, प्रदर्शनी स्थल, नेपाल टेलिभिजनको प्रसारण केन्द्र र सुदूरपश्चिम सांस्कृतिक सङ्ग्रहालयलगायतका मागहरू पुरा गर्न सरकारसँग उद्योग वाणिज्य सङ्घले सरकारसँग आग्रह गर्ने छ ।

    पहिले सुदूरपश्चिमको विकासका लागि केन्द्रलाई ताक्नुपर्ने बाध्यता थियो अब भने सुदूरपश्चिम प्रदेश सरकारसँगै ८८ वटा स्थानीय सरकार छन् । सबैसँग समन्वय गरेर तीनै तहको सरकारले प्रदेशको विकासमा भूमिका खेल्न उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज ओझाले आग्रह गरेका छन् ।

    ‘हामी सुदूरपश्चिमलाई सुन्दर पश्चिम भएको हेर्न चाहन्छौ यहाँ प्रचुर सम्भावना छ तर, विकास हुन सकिरहेको छैन’ उनले भने ‘तीनै तहको सरकार सुदूरपश्चिमको विकास र संवृद्धिमा एकताबद्ध भएर हाम्रो माग सम्बोधन गरिदिन आग्रह गर्दछौँ । ’

  • लुम्बिनी विकास कोषको सदस्य-सचिवमा नियुक्त दीपक श्रेष्ठ, धर्मको हेक्का राखी काम गर्न प्रधानमन्त्रीको निर्देशन

    लुम्बिनी विकास कोषको सदस्य-सचिवमा नियुक्त दीपक श्रेष्ठ, धर्मको हेक्का राखी काम गर्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । सरकारले लुम्बिनी विकास कोषको सदस्य-सचिव पदमा गोरखाका दीपक श्रेष्ठलाई मनोनीत गरेको छ।

    मन्त्रिपरिषद्ले ३६ वर्षीय श्रेष्ठलाई सदस्य सचिवमा मनोनीत गरेपछि प्रधानमन्त्री एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुशीला कार्कीले धार्मिक संस्थामा धर्मको हेक्का राखेर काम गर्न निर्देशन दिएकी छन् ।

    उनले भनिन्, ‘तपाईँलाई सरकारले विश्वास गरेर जुन जिम्मेवारी दिएको छ, इमानदारीसाथ त्यो पूरा गर्नुहोला। त्यो (लुम्बिनी) धार्मिक संस्था हो। धर्मको हेक्का राखेर काम गर्नुहोला। तपाईँको अहिलेको कामले भविष्यमा तपाईँका सन्ततिले पनि शिर ठाडो पारेर हिँड्न सकुन्। गौरव गर्न सकुन्।’

    श्रेष्ठले पनि उक्त संस्था र पदको गरिमामा आँच आउन नदिने गरी इमानदारीसाथ काम गर्ने वचन व्यक्त गरेका छन् ।  गोरखाको सहिद लखन गाउँपालिका वडा नं ६ का श्रेष्ठले इन्जिनियरिङ, व्यवस्थापन र प्रशासनमा १७ वर्षको अनुभव सँगालेका छन् ।

    मेकानिकल इन्जिनियरिङमा डिप्लोमा गर्नुभएका उहाँले सिभिल इन्जिनियरिङमा स्नातक र यातायात इन्जिनियरिङ तथा व्यवस्थापनमा एमएस्सी गरेका छन् ।

    केही समय नागरिक उड्डयन प्राधिकरणमा काम गरेपछि श्रेष्ठ २०६७ बाट नेपाल खानेपानी संस्थानमा प्रवेश गरेका थिए ।

    संस्थानका बनेपा र धरानका शाखा प्रमुख सम्हालेपछि उनी २०७० मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खटिएका थिए ।

    अख्तियारमा उनले ८ वर्ष भ्रष्टाचारसम्बन्धी अनुसन्धानको काम गरे । उनलाई खानेपानी संस्थान र अख्तियार गरी दुवै संस्थाले उत्कृष्ट कार्यसम्पादनका लागि पुरस्कृत पनि गरेका थिए।

    इमानदारीसाथ राम्रो अनुसन्धान गरेकै कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ मा उत्कृष्ट कर्मचारी घोषित गरी पुरस्कार नै दिएको र संस्थानले पनि विभिन्न समयमा पुरस्कृत गरेको उनले बताए ।

    अख्तियारमा रहेकै बखत बढुवा भएपछि श्रेष्ठ २०७८ मा खानेपानी संस्थानमै फर्किए । पछिल्लो समय उहाँले संस्थानको प्राविधिक अनुगमन तथा निरीक्षण शाखाको प्रमुख भएर काम गरिरहेका थिए ।

    उनको भनाइ छ, ‘हामी केवल जागिर मात्र खाने होइन। जहाँ पुगे पनि जागिरे मानसिकताबाट माथि उठेर नतिजा देखिने गरी काम गर्नुपर्छ।’