Blog

  • जिन्दगानी घाटको नौकाविहार : प्राकृतिक रसस्वादनको अवसर (तस्बिरहरू)

    जिन्दगानी घाटको नौकाविहार : प्राकृतिक रसस्वादनको अवसर (तस्बिरहरू)

    चितवन । नेपालको मुख्य पर्यटकीय गन्तव्य हो चितवन । पर्यटकीय नगरी चितवनको सौराहा विश्वभर परिचित छ ।

    चितवन राष्ट्रिय निकुञ्जको सीमाना- राप्ती किनाराको बस्ती हो सौराहा । यहाँ विशेष गरी एकसिङे गैँडा र बाघको अवलोकन गर्न सकिन्छ । यहाँको शान्त मनोरम दृष्यले पर्यटकलाई आह्लादित बनाउँछ ।

    भीडभाड र बढ्दो भौतिक संरचना निर्माणले प्राकृतिक सुन्दरतामा ह्रास आएको गुनासो सुनिन्छ । पर्यटकको गुनासो कम गर्न र प्रकृतिको प्रवर्धन गर्न सौराहामा जलविहारको सुविधा थप गरिएको छ ।

    चितवन राष्ट्रिय निकुञ्जको अनुमतिमा सौराहामा जलमार्गको गन्तव्य थप गरिएको हो । यहाँ नौकाविहार गर्न सक्ने तीन वटा गन्तव्य पहिले नै छन् । चितवन राष्ट्रिय निकुञ्जलाई सीमा बनाएर बग्ने राप्ती नदी, बुढी राप्ती, ढुङग्रेखोला र नारायणी नदीमा डुङ्गाशयर र जलयात्राको सुविधा छ ।

    यी सुविधाबाहेक नौकाविहारका लागि अर्को एउटा गन्तव्य थपिएको छ । जहाँ जङ्गल सफारीको मनोरञ्जन, सीमसार अवलोकन, विभिन्न प्रजातिका चरा, जङ्‍गली जनावर र गोहीलगायतका जलचरको अवलोकन गर्न पाइन्छ ।

    जिन्दगानी घाटदेखि भीमपुर घाटसम्म सञ्चालन भइरहेको जलयात्राले सौराहाको पर्यटनमा अझ विविधता थपेको छ । राप्ती नदीको सङ्लो र कलकल पानीको सङ्‍गीतमा पर्यटकले अनुपम आनन्द लिन सक्छन् ।

    स्थानीय पर्यटन व्यवसायीले सञ्चालन गरेको जलयात्राको दूरी करिब ६ किलोमिटर छ । एक घण्टादेखि सवा घण्टासम्म नौकाविहार गर्न सकिने यो गन्तव्य अद्भूत रहेको सञ्चालक बासु ढुङ्गाना बताउँछन् ।

    निकुञ्जको क्षेत्र विस्तारका लागि खाली गराइएको पुरानो बस्ती पदमपुर यो यात्राका क्रममा भेटिन्छ । जहाँ अधिकांश आदिवासी थारुको बसोबास थियो । सरकारले उनीहरुलाई हालको कालिका नगरपालिकामा स्थानान्तरण गराएको छ । खेतीपाती गरिएको र मलिलो माटो रहेको यो क्षेत्र वन्यजन्तु साथै चराचुरुङ्गीका लागि उपयुक्त बासस्थान रहेको ढुङ्गाना बताउँछन् ।

    सिङ्‍गो पदमपुर गाउँ स्थानान्तरणपछि यो क्षेत्र शान्त छ । यहाँको यात्रामा मानिसले निर्माण गरेका भौतिक संरचना देख्नु पर्दैन । केवल चराचुरुङ्गीको चिर्बिराहट, हात्ती, गैँडाका आवाज अनि मौसम खुलेको दिन राप्तिको कलकल बगेको पानी, पहाड र हिमालको अभूतपूर्व दृष्यावलोकन गर्न सकिन्छ ।

    डुङ्गा शयरका क्रममा दुई किसिमका गोही, चिसो मौसममा बसाइँ सरी आउने चरा, बाघ, गैँडा, जंगली हात्ती देख्न सकिने ३५ वर्षदेखि नेचरगाइडको काम गरिरहेका रामप्रसाद पराजुली बताउँछन् ।

    यहाँ भीडभाड छैन । मानव निर्मित भौतिक संरचना छैनन् । पर्यटकहरुले यो क्षेत्र रुचाउनुको कारण नै यहाँको शान्त र मनोरम वातावरण रहेको नेचरगाइड पराजुलीको भनाइ छ ।

    सौराहाको नयाँ गन्तव्य ‘जिन्दगानी घाट’ का केही तस्बिर हेरौँ

     

    तस्बिरहरू : कोमलचन्द्र भगत ।

  • ९ वटा भवनबाट सेवा दिइरहेको भरतपुर महानगरपालिकाको ५३ करोडको भवन बन्दै

    ९ वटा भवनबाट सेवा दिइरहेको भरतपुर महानगरपालिकाको ५३ करोडको भवन बन्दै

    चितवन । भरतपुर महानगरपालिकाको २२१ कोठाको निर्माणाधीन छ तले भवन प्रायः पूरा भएको छ ।

    महानगरपालिकाका इन्जिनियर सन्तोष आचार्यका अनुसार ५३ करोड ३२ लाख ४१ हजार रुपैयाँको लागतमा निर्माणाधीन भवनको ८८ प्रतिशत काम पूरा भएको छ ।

    आफ्नै भवन नहुँदा महानगरपालिकाले नौ वटा भवनबाट सेवा प्रवाह गरिरहेको छ ।

  • प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम पठाउन जसपा नेपालको परिपत्र

    प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम पठाउन जसपा नेपालको परिपत्र

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेर पठाउन परिपत्र गरेको छ । प्रत्यक्ष र समानुपातिक दुवैमा उम्मेदवारको नाम सिफारिस गरेर पठाउन जिल्ला र प्रदेश कमिटीलाई परिपत्र गरिएको जसपा नेपालका महासचिव लालबाबु राउतले जानकारी दिए ।

    प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय समितिले क्षेत्रीय भेलाबाट कम्तीमा तीन जना उम्मेदवारको नाम छनोट गरी पुस १० गतेभित्र जिल्ला समितिमा पठाउने र जिल्ला समितिले प्रत्येक क्षेत्रबाट कम्तीमा ३ जनाको नाम पुस १५ गतेभित्र प्रदेश समितिमा पठाउनुपर्ने गरी पार्टीले परिपत्र गरेको छ ।

    जिल्लाबाट प्राप्त उम्मेदवारको नाममा आवश्यक छलफल गरी प्रत्यक्षका लागि कम्तीमा तीन जनाको नाम पुस २० गतेभित्र केन्द्रमा सिफारिस गर्न जसपा नेपालले परिपत्र गरेको हो ।

    समानुपातिकतर्फ प्रत्येक जिल्लाबाट जिल्ला समितिले कम्तीमा तीन जना पुरुष र तीन जना महिला जातीय क्लस्टर अनुसार समावेशी हुने गरी प्रदेश समितिमा आगामी पुस १ गतेभित्र पठाउन उल्लेख गरिएको छ । प्रदेश समितिले प्राप्त गरेको नामावलीमाथि छलफल गरी राय सहित उम्मेदवारहरूको नाम पुस ५ गतेभित्र केन्द्रीय कार्यालयमा पठाउन परिपत्र भएको छ ।

  • कुलमान इंगित शंकरको टिप्पणी– लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले

    कुलमान इंगित शंकरको टिप्पणी– लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले

    दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोडसेडिङ हटाउन योजना बनाउनेले जस नपाई तेस्रो पक्षले त्यसकै नाममा पार्टी खोलेको टिप्पणी गरेका छन् ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले ‘उज्यलो नेपाल पार्टी’ घोषणा गरेकामा इंगित गर्दै महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा यस्तो टिप्पणी गरेका हुन् ।

    उनले फेसबुकमा लेखेका छन्, ‘लोडसेडिङविरुद्ध उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले । जसको योजना उसैलाई श्रेय दिने कहिले ?’

    उनले नेपाललाई लोडसेडिङमुक्त गर्ने योजना एमाले अध्यक्ष केपी शर्मा ओलीको भएको दाबी गर्दै आएका छन् ।

    पोखरेलले ७ मंसिर २०८१ मा काठमाडौँको दरबारमार्गमा एमालेले गरेको जागरणसभामा भनेका थिए, ‘केपी ओली पहिलोपटक प्रधानमन्त्री हुँदा नेपालमा १८ घण्टा लोडसेडिङ हुन्थ्यो । आधारभूत लोडसेडिङ एक वर्षभित्र हल गर्ने योजना तयार गर्ने प्रधानमन्त्रीका रूपमा पनि केपी शर्मा ओली रहनुभयो ।’

  • बाजुरामा सात मतदानस्थल थप

    बाजुरामा सात मतदानस्थल थप

    बाजुरा । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र १ सय १२ वटा मतदान केन्द्र कायम भएका छन् ।

    जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा प्रदेशसभा ‘क’मा बूढीनन्दा नगरपालिका, हिमाली, स्वामीकार्तिक खापर गाउँपालिका र प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’को त्रिवेणी नगरपालिकामा मतदानस्थल थप भएका हुन् ।

    जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी भीमबहादुर शाहीकाअनुसार स्वामीकार्तिक खापर गाउँपालिका–१ मा भगवती आधारभूत विद्यालय रुढी, मण्डाली माध्यमिक विद्यालय खोलीकोट र वडा नम्बर ३ जुकोटलाई फुटाएर शम्भुशुनन्दा माध्यमिक विद्यालय जुकुमा नयाँ मतदानस्थल कायम गरिएको छ ।

    यसैगरी, बूढीनन्दा नगरपालिका–३ मा मदनआश्रित आधारभूत विद्यालय बड्डाला, हिमाली गाउँपालिका–१ मा सुनन्दा आधारभूत विद्यालय बाम, वडा नम्बर ५ कुलामष्टाजन आधारभूत विद्यालयक्यिुरी र वडा नम्बर ६ खोलीकोट आधारभूत विद्यालयलाई नयाँ मतदानस्थल कायम गरिएको छ ।

    चार गाउँपालिका र पाँच नगरपालिका रहेको बाजुरामा मतदाता सङ्ख्या ८६ हजार ५ सय ५७ पुगेको छ । यी मध्ये एक हजार ५ सय १६ जना हालसालै थपिएका हुन् ।

  • सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

    सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

    चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी पर्यटकको होटलको छतबाट खसेर ज्यान गएको छ ।

    रत्नननगर नगरपालिका वडा नम्बर ६, सौराहामा रहेको होटल पार्क साइटको चार तला माथिबाट खसेर ज्यान गएको चितवन प्रहरीले जानकारी दिएको छ ।

    चितवनमा प्रहरी प्रवक्ता रविन्द्र खनालका अनुसार सिन्धुली कमलामाई नगरपालिका–६ बस्ने १८ वर्षकी स्नेहा पाख्रिनको ज्यान गएको हो ।

    बुधबार राति ११ बजेर १० मिनेट जाँदा होटलको छतबाट खसेर गम्भीर घाइते भएकी पाख्रिनको उपचारक्रममा बकुलहर अस्पतालमा ज्यान गएको डिएसपी खनालले जानकारी दिए ।

  • धोबीखोलामा पुरुष मृत भेटिए

    धोबीखोलामा पुरुष मृत भेटिए

    काठमाडौँ । काठमाडौँको मदन भण्डारी कलेज नजिक मदन भण्डारी कलेज नजिक खोलामा एकजना मृत फेला परेका छन् ।

    खोला किनारामा मृत व्यक्ति साइकलसहित देखिएका छन् । मृतकको पहिचान खुल्न बाँकी छ ।

  • आज अन्तरराष्ट्रिय बैंक दिवस र एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस

    आज अन्तरराष्ट्रिय बैंक दिवस र एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस

    काठमाडौँ । आज अन्तरराष्ट्रिय बैंक दिवस हो । एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस पनि आजै परेको छ । यी दुवै दिवस संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न मुलुकमा मनाइन्छन् ।

    बैंक तथा वित्तीय संस्थाहरूलाई दिगो विकास लक्ष्य कार्यान्वयन, जलवायु अनुकूल वित्त, जीवनस्तर सुधार र समावेशी आर्थिक विकासमा सक्रिय भूमिका निर्वाहमा प्रेरित गर्नु यो दिवसको लक्ष्य हो ।

    एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस यसै वर्षदेखि मनाउन प्रारम्भ भएको हो । राष्ट्रसङ्घीय महासभाले यसै वर्षको जुनमा यो दिवस विश्वव्यापी रूपमा अन्तरराष्ट्रिय कानून र संयुक्त राष्ट्रसङ्घको चार्टरअनुसार नभएको एकपक्षीय दबाबका नकारात्मक प्रभावबारे चेतना फैलाउन र मुलुकहरूबीच सहकार्य र एकताका प्रयासलाई प्रोत्साहन गर्ने उद्देश्यका सात मनाउने घोषणा गरेको हो ।

    यो दिवसले अन्तरराष्ट्रिय सम्बन्ध र कूटनीतिक संवादको मूल आधार संवाद, पारस्परिक सम्मान, समझदारी, सहिष्णुता र बहुपक्षवादको आवश्यकतालाई जोड दिएको छ ।

    तस्बिर सौजन्यः संयुक्त राष्ट्रसङ्घ

  • मधेशमा राजनीतिक अस्थिरताः ५१ दिनमा ३ मुख्यमन्त्रीको राजीनामा

    मधेशमा राजनीतिक अस्थिरताः ५१ दिनमा ३ मुख्यमन्त्रीको राजीनामा

    काठमाडौँ । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार राजीनामा दिएका छन् । मुख्यमन्त्री नियुक्ति विवादलाई लिएर सर्वोच्च अदालतमा कार्तिक २४ गते र कार्तिक २५ गते रिट दर्ता भएपछि उनलाई सर्वोच्चकै आदेश अनुसार चाँडै विश्वासको मत लिनु पर्ने बाध्यता आइलाग्यो ।

    मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिनु प्रावधानमा पनि उनले टेक्न पाएनन् र २२ औँ दिनमा उनले राजीनामा दिए । मन्त्रिपरिषद् विस्तारसमेत गर्न भ्याएनन् ।

    सोमबार अबेर साँझ २४ घण्टा भित्र विश्वासको मत लिन परमादेश जारी भयो । विश्वासको मत लिन बुधबार बोलाइएको प्रदेशसभा बैठकमा मन्तव्य राख्दै उनले राजीनामा घोषणा गरे ।

    उसो त उनी अघिका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) को पनि उस्तै अवस्था बन्यो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबाट मुख्यमन्त्री बनेका सोनलले कार्तिक २२ गते राजीनामा दिनु पर्यो । आफ्नै गठबन्धनका दुई सांसद रहबर अन्सारी र माला कर्णले मत कसैलाई नदिने भनेपछि मुख्यमन्त्री सोनलले विश्वासको मत लिनु अघि नै राजीनामाको घोषणा गरे ।

    सोनलअघि जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सतिश कुमार सिंहले असोज २८ गते राजीनामा दिनु पर्यो । उनको आफ्नै पार्टी जनमत नै सरकारबाट फिर्ता भएपछि उनले विश्वासको मत लिन समय माग्दै राजीनामा दिएका हुन् ।

    २०८२ जेठ २३ गते जसपा नेपालबाट मुख्यमन्त्री बनेका सरोजकुमार यादवले प्रदेशसभाबाट विश्वासको मत गुमाएपछि २०८२ साल जेठ २५ गते जनमतबाट सतिश कुमार सिंह नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति र संघिय समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

    भदौ २३ गते देशभर चर्किएको जेन्जी आन्दोलनपछि मुख्यमन्त्री सिंहले सामाजिक सञ्जालमार्फत २०८२ साल भदौ २४ गते पदबाट राजीनामा दिएका थिए । तर पछि मुख्यमन्त्री सिंह सामाजिक सञ्जालमार्फत दिएको राजीनामाबाट पछि हटेपछि उनीविरुद्ध जनमत पार्टीका साथै सत्तारुढ दल नै विपक्षमा उभिएका थिए ।

    त्यसपछि लोसपाका जितेन्द्र सोनल ६ दलका ५७ प्रदेशसभा सदस्यहरुको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

    कात्तिक २२ गते संविधानको धारा १६८ को उपधारा ३ अनुसार तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमाले संसदीय दलका नेता सरोज यादवलाई कात्तिक २४ गते बिहानै साढे ५ बजे बर्दिबासको एक होटलमा मुख्यमन्त्रीको शपथ ग्रहण गराएकी थिइन् ।

    यो घटनाक्रमपटि संघीय सरकारको सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुख भण्डारीलाई पदमुक्त गरे भने पछि मधेश प्रदेश सभाका दुई तिहाइ बहुमत सदस्यले एमालेबाटै सभामुख भएका रामचन्द्र मण्डललाई पनि हटाए ।

    २२ औँ दिनमा मुख्यमन्त्री सरोज यादवले पनि बहुमत नपुग्ने देखिएपछि राजीनामा दिए । यसरी ५१ दिनमा मधेशमा ३ मुख्यमन्त्रीको राजीनामापछि अर्को मुख्यमन्त्री चयनका लागि प्रदेश प्रमुख सुरेन्द्र लाभले दाबी गर्न बुधबार आह्वान गरेका छन् ।

  • काठमाडौँमा आज दिनभर आंशिक बदली रहने

    काठमाडौँमा आज दिनभर आंशिक बदली रहने

    काठमाडौँ । देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । आज राति देशका अधिकांश भागमा मौसम मुख्यतया सफा रहने छ ।

    काठमाडौँ उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको थियो भने अधिकतम तापक्रम २० देखि २१ डिग्री सेल्सियसबीच रहने अनुमान छ ।

  • एनपिएलः आज दुई खेल हुने

    एनपिएलः आज दुई खेल हुने

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज बिहीबार दुई खेल हुँदैछन् ।

    पहिलो खेल ११ः४५ बजे पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज र अपराह्न ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुँदैछ ।

    पाँच खेलबाट चार अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ । काठमाडौँले भने छ खेलबाट आठ अङ्क जोडेको छ ।

    प्लेअफमा पुगिसकेको सुदूरपश्चिम र प्लेअफको बाटोमा रहेको चितवन आमनेसामने हुनेछन् ।

    सुदूरपश्चिम १० अङ्कका साथ शीर्ष स्थानमा छ । पाँच खेलबाट चार अङ्क जोडेको चितवनलाई प्लेअफका लागि जित्नैपर्ने बाध्यता छ ।

  • मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

    मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

    काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उँधौली पर्व मनाउँदैछन् ।

    किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उँधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम पर्वका नाममा उँधौली धुमधामसँग मनाउँदैछन् ।

    लिम्बूहरूले चासोक तङ्नाम पर्व तीन दिनअघि नै मनाउन शुरु गरेका थिए । यो पर्वको पहिलो दिन थियो । आज संयुक्त रूपमा यस समुदायका सबैले उँधौली सकेला अर्थात् उँधौली पर्व मनाउँछन् ।

    किरात संस्कृतिबारे अनुसन्धानरत कीर्तिकुमार दुमी राई किराँतभित्रका जातजातिले मनाउने यो पर्वलाई फरक फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने बताउँछन् ।

    किराँत समुदायले आपूmले लगाएको अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई पर्वका रूपमा मनाउँछन् । बाली लगाउने बेलामा भने किराँत जातिमा यावा अर्थात् उँभौली पर्व मनाइने प्रचलन छ ।

    भूमिपूजाका लागि बिहानैदेखि किराँत महिला तथा पुरुषहरू जातीय वेशभूषामा सजिएर च्याबु्रङ बाजाको तालमा धाननाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन् । पर्व र रीतिरिवाज एउटै भए पनि आ–आफ्नो भाषाअनुसार पर्वलाई पुकार्ने चलन छ ।

    ललितपुरको सानो हात्तीवन किराँतकालदेखिको ऐतिहासिक धार्मिक तीर्थस्थल मानिन्छ । आज त्यहाँ चाड विशेष रूपमा मनाइन्छ । लिम्बूहरूले युमासामाङ र थेवासामाङलाई आफ्नो इष्टदेवता मान्छन् भने किराँतहरू तागेरा निङ्वाफुमाङलाई आफ्नो देवताका रूपमा पुज्ने गर्छन् । तागेरा निङ्वाफुमाङलाई आकृति विनाको अदृश्य शक्ति मानिने भएकाले मूूर्ति वा प्रतिमा नहुने भनाइ छ ।

    पूजापछि आ–आफ्नो परम्पराअनुसार चण्डीनाच, च्याब्रुङनाच, ढोलनाचलगायतका नाच नाचेर मनोरञ्जन गर्छन् । पर्व मनाउन त्यहाँ भेला भएका किराँतहरूले आफ्नो परम्परगत सांस्कृतिक कार्यक्रम र विभिन्न खेलकुद प्रतियोगिता पनि आयोजना गर्ने परम्परा छ ।

    वैशाख शुक्ल पूर्णिमामा उँभौली पूजा गरेका किराँतले आज उँधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् । जसलाई पर्यावरण अनुकूलताअनुरुपका कामका रूपमा समेत लिइने अनुसन्धाता राईले बताए । जाडोमा तल झर्ने गर्मीमा माथि लेकमा जाने रूपमा पनि उँधौली र उँभौली पर्वलाई लिने गरिन्छ ।

    उँभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) लाई धन्यवाद दिने पर्वका रूपमा मनाउने गरिएको विश्वाससमेत किराँत जातिमा छ । दुवै पर्वलाई किराँत समुदायले भव्य रूपमा मनाउँछन् ।

    खस आर्यले मनाउने धान्य पूर्णिमा, नेवार समुदायले मनाउने यः मरि पुन्हि अर्थात् योमरी पूर्णिमा र किराँत समुदायले मनाउने उधौली पर्वको भाव भने एकै छ । नयाँ अन्न बाली भित्र्याएपछि आ आफूले मानेका देवी देवतालाई चढाएर खाने परम्परा । यस पर्वका अवसरमा विगतमा काटिएको बिदालाई सरकारले पुनः दिन थालेको छ । यस अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको छ ।

  • राष्ट्रपतिद्वारा उधौलीको शुभकामना

    राष्ट्रपतिद्वारा उधौलीको शुभकामना

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।

    प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको किराँत समुदायको यस पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग गरेको राष्ट्रपतिले सन्देशमा बताएका छन् ।

    ‘विभिन्न जातजाति र समुदायहरूको साझा फूलबारीको रूपमा रहेको नेपालमा उधौलीजस्ता चाडपर्वले हाम्रो सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपालीको पहिचान कायम गर्नमा महत्वपूर्ण भूमिका निर्वाह भएको छ । यस पर्वले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्ध, वातावरण अनुकूल जीवन व्यवस्थापन, एकता, सहकार्य, सांस्कृतिक संरक्षण, श्रमको सम्मान, पूर्वजप्रतिको आस्थालाई अझ मजबुत बनाउन सहयोग पु¥याएको महसुस गरेको छु,’ सन्देशमा उनले भनेका छन् ।

    उधौली पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास राष्ट्रपतिले सन्देशमा व्यक्त गरेका छन् ।

    किराँत समुदायका मूलत राई, लिम्बु, सुनुवार र याक्खाहरूले उधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिकस्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्दै विविध कार्यक्रमका साथ मनाउने गरेका छन् ।

    उधौलीपर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्दछ । यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृ पूजा गरिनुका साथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा पनि गर्ने गरिन्छ ।

  • प्रधानमन्त्री कार्की र श्रीलङ्काली समकक्षी डा. अमरसुरियाबीच टेलिफोन वार्ता

    प्रधानमन्त्री कार्की र श्रीलङ्काली समकक्षी डा. अमरसुरियाबीच टेलिफोन वार्ता

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र श्रीलङ्काली समकक्षी डा. हरिणी अमरसुरियाबीच आज टेलिफोन वार्ता भएको छ ।

    वार्ताका क्रममा श्रीलङ्काका प्रधानमन्त्री अमरसुरियाले नेपालबाट दुई लाख अमेरिकी डलर बराबरको सहायता प्राप्त भएकामा आभार व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    नेपाल सरकारले श्रीलङ्कामा आएको बाढीमा परी फसेका जनताको उद्धार तथा राहतका लागि दुई लाख अमेरिकी डलर सहयोग प्रदान गरेपछि श्रीलङ्काली प्रधानमन्त्री अमरसुरियाले टेलिफोन गरी भनिन्, “हामी कहाँ विपद् परेकाबेला सहयोग पठाइदिनुभयो । यसका लागि धन्यवाद छ । आभारी छौँ ।”

    जवाफमा प्रधानमन्त्री कार्कीले भनिन्, “मित्रराष्ट्र हुनुको नाताले एउटालाई समस्या पर्दा अर्काले साथ दिनुपर्छ । त्यो हाम्रो कर्तव्य र धर्म नै हो । यो कठिन घडीसँग जुध्नका निम्ति हामी तपाईंहरूसँगै छौँ ।”

    प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलन र त्यसपछि मुलुकमा उत्पन्न परिस्थितिका विषयमा पनि जानकारी गराएकी थिइन् । दुवै देशका प्रधामन्त्रीबीच आज साँझ ८ः१५ बजेदेखि करिब चार मिनेट कुराकानी भएको थियो ।

  • महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्छ : सभापति देउवा

    महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्छ : सभापति देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्ने बताएका छन् ।

    सभापति देउवालाई भेट्न गएका पार्टीका युवा नेताहरूलाई १५औँ महाधिवेशनमा पार्टीलाई एकढिक्का बनाउन युवाको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

    सभापति देउवाले महाधिवेशनमार्फत केन्द्रीय समितिमा युवाको सहभागिता सुनिश्चित हुने वातावरण निर्माण गर्न आग्रह गरे । सभापति देउवाले पार्टीको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म तोकिसकेकाले समयमै महाधिवेशन हुने उल्लेख गरे ।

    सभापति देउवालाई भेट्न नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्ष एवं संविधानसभा सदस्य रञ्जित कर्ण, नेविसङ्घका पूर्वउपाध्यक्ष पुष्पकुमार शाही, नवीन राई, नेविसङ्घका पूर्वमहामन्त्री दीपक भट्टराई, नेविसङ्घका पूर्वकोषाध्यक्ष शिव रिमाल, कांग्रेसका युवा नेताहरू बद्री अर्याल, दिलीप ढुङ्गाना पुगेका थिए ।

  • श्रम संस्कृति पार्टी कुनै पनि दलसँग गठबन्धन गर्दैन : अध्यक्ष साम्पाङ

    श्रम संस्कृति पार्टी कुनै पनि दलसँग गठबन्धन गर्दैन : अध्यक्ष साम्पाङ

    धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ) ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने स्पष्ट गरेका छन् ।

    बराहक्षेत्र स्थित चक्रघट्टीमा आज आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले श्रम संस्कृति पार्टी स्वतन्त्र रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिने बताए ।

    “हामी कसैसँग गठबन्धन गरेर होइन, आफ्नै बल र विश्वासको आधारमा चुनाव लड्छौँ,” अध्यक्ष साम्पाङले भने, “नेपालको कुनै पनि राजनीतिक दल ‘चोखो र जनउत्तरदायी’ छैनन ।” जाति, धर्मवर्गका आधारमा फुटेको देशलाई जोड्न निस्केको हो श्रम संस्कृति पार्टी मुलुकको सामाजिक एकता र श्रमको सम्मानमा आधारित राजनीतिक संस्कृति विकास आफ्नो लक्ष्य रहेको उहाँले उल्लेख गरे ।

    अध्यक्ष साम्पाङले आफ्नो नेतृत्वमा गठन भएको श्रम संस्कृति पार्टीले हाल देशभर सङ्गठन विस्तारलाई आक्रामक रूपमा अघि बढाइरहेको जानकारी दिए । उनले भने, “जेनजी आन्दोलनपछि ठूला भनिने दलहरू ‘पर्ख र हेर’ को अवस्थामा रहेको बेला श्रम संस्कृति पार्टीले सङ्गठन विस्तारलाई तीव्रता दिएको छ । जनताको विश्वास र समर्थन वृद्धिले आफ्नो दल राष्ट्रिय विकल्पका रूपमा स्थापित भएको छ ।”

  • जेन्जी आन्दोलनमा तोडफोड र आगजनी गर्ने कांग्रेस कार्यकर्ताको क्रियाशील सदस्यता नवीकरण नहुने

    जेन्जी आन्दोलनमा तोडफोड र आगजनी गर्ने कांग्रेस कार्यकर्ताको क्रियाशील सदस्यता नवीकरण नहुने

    विराटनगर । नेपाली काङ्ग्रेस सुनसरीले जेनजी आन्दोलनका क्रममा संलग्न पार्टीका सदस्यहरूको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको छ ।

    आज बसेको जिल्ला समितिको बैठकले आन्दोलनका क्रममा सरकारी तथा निजी सम्पत्ति आगजनी, तोडफोड र लुटपाटमा संलग्न सदस्यको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको हो ।

    बैठकले आन्दोलनमा हिंसा भड्काउन प्रोत्साहित गर्ने कार्यकर्ताको वडादेखि नै नामावली संकलन गर्ने र प्राप्त नामावलीका आधारमा त्यस्तो घटनामा संलग्न सदस्यको सदस्यता नवीकरण नगर्ने निर्णय भएको जिल्ला सभापति केदार भण्डारीले बताए ।

    जिल्लाले गरेको निर्णयका आधारमा प्रदेश कार्यसमितिले पनि केन्द्रीय समितिलाई सिफारिस गर्ने प्रदेश महामन्त्री उमेश थापाले बताए ।

    उनका अनुसार गलत व्यक्तिलाई पार्टीले संरक्षण गर्ने छैन, खोजी खोजी निष्कासन गर्नेछ ।
    सुनसरीमा जेनजी आन्दोलनका क्रममा सरकारी कार्यालयमा तोडफोड आगजनी र लुटपाट हुँदा एक अर्ब १७ करोडभन्दा बढीको क्षति भएको थियो ।

    निजी क्षेत्रको क्षतिको अहिलेसम्म क्षतिको विवरण संकलन हुन सकेको छैन । जिल्लाका ३३ वटा सरकारी कार्यालयमा भएको आगजनी तथा तोडफोड भएको थियो ।

  • एनपीएलको २७औँ अर्धशतक डार्सी सर्टको नाममा

    एनपीएलको २७औँ अर्धशतक डार्सी सर्टको नाममा

    काठमाडौं । लुम्बिनी लायन्सका ओपनर ब्याटर डार्सी सर्टले नेपाल प्रिमियर लिगमा अर्धशतक प्रहार गरेका छन् ।

    विराटनगर किङ्सकाविरूद्ध उनले ३९ बलमा ५ चौका र २ छक्कासहित अर्धशतक प्रहार गरेका हुन् । दोस्रो संस्करणको यो २७औँ अर्धशतक हो । जसमा २३ खेलाडी सामेल छन् ।

    यसअघि, जारी सिजनमा चितवन राइनोजका रवी बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल र कर्णाली याक्सका प्रियान्क पन्चालले दुई/दुई अर्धशतक जोडेका छन् ।

    यस्तै, सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, इशान पाण्डे, विराटनगर किङ्ग्सका लोकेश बम, मार्टिन गुप्टिल, बसिर अहमद, पोखराका सुमित वर्माले, जिमी निशम, एडम रोसिङ्टन, चितवनका डेबिड मलान र अर्जुन साउद, काठमाडौँ गोर्खाजका जोन सिम्प्सन, कर्णालीका मार्क वाट, जनकपुर बोल्ट्सका वायन पार्नेल, सञ्जय कृष्णमूर्ति, माज सदाकत, अनिल शाह र आशिफ शेखले एक/एक अर्धशतक बनाएका छन् ।

    कर्णालीका मार्क वाट र पोखराका एडमरोसिङटनले मात्रै जारी प्रतियोगितामा शतक प्रहार गरेका छन् ।

  • जेन-जी आन्दोलनमा प्रहरीलाई घेरा हालेर कुटपिट र लुटपाट गर्ने २ जना पक्राउ

    जेन-जी आन्दोलनमा प्रहरीलाई घेरा हालेर कुटपिट र लुटपाट गर्ने २ जना पक्राउ

    काठमाडौं । जेन-जी आन्दोलनमा प्रहरीलाई घेरा हालेर कुटपिट र लुटपाट गर्ने दुई जना पक्राउ परेका छन् ।

    मंगलबार प्रहरीले काठमाडौंस्थित चिकामुगलका निरज चित्रकार र मरुटोल बस्ने राजकुमार क्षेत्रीलाई पक्राउ गरेको जनाएको छ ।

    पक्राउ परेका चित्रकारविरुद्ध ज्यान मार्ने उद्योगमा प्रहरीले मुद्दा चलाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

  • झमक घिमिरे भन्छिन्- जीवनलाई फूल भनेर लेखेँ, तर म स्वयंले काँडा भोग्दै छु

    झमक घिमिरे भन्छिन्- जीवनलाई फूल भनेर लेखेँ, तर म स्वयंले काँडा भोग्दै छु

    काठमाडौं । साहित्यकार झमक घिमिरे नेपाली साहित्य चर्चित नाम हो । उनको सर्वाधिक चर्चित किताब ‘जीवन काँडा कि फूल ?’ ले मदन पुरस्कार समेत प्राप्त गर्‍यो । खुट्टाले लेखेको उनको किताबले लाखौँ पाठकलाई उत्प्रेरित गर्‍यो ।

    तर, उनै घिमिरेले आफूले काँडाजस्तो जीवन भोगिरहेको बताएकी छन् । उनले सञ्जालमा लेखेकी छन्, ‘म आफैँले लेखेँ, जीवन काँडा होइन फूल हो । तर, म स्वयंले काँडा भोगिरहेछु ।’

    आफूले काँडा जस्तो जीवन भोगे पनि जीवनलाई फूलकै रूपमा परिभाषित गर्न पछि नपर्ने बताएकी छन् । नेपाल सरकारले काठमाडौंमा घर बनाइदिए पनि उनी धेरै समय बस्न सकिनन् । धनकुटाको कचिडेमा रहेको पुर्खौली घरमै सरिन् । अहिले कचिडेमै बसिरहेकी छन् ।

  • एमालेमा नयाँ ट्रेन्ड : पोस्टर हालेर कित्ता खुलाउँदै नेता

    एमालेमा नयाँ ट्रेन्ड : पोस्टर हालेर कित्ता खुलाउँदै नेता

    काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशन नजिकिएसँगै नेता-कार्यकर्ताबीच रस्साकस्सी सुरु भएको छ । नेतादेखि कार्यकर्तासम्म कित्ताकाटसहित प्रचारप्रसारमा लागेका छन् ।

    संस्थापन पक्ष अध्यक्ष केपी शर्मा ओली नेतृत्वको विकल्प नरहेको भन्दै प्रचारमा जुटेको छ । त्यस्तै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूह पनि काउन्टरसाथ प्रचारमा उत्रिएका छन् ।

    संस्थापन समूह प्रोष्टर प्रचारमा लागेसँगै पोखरेल समूह पनि सामाजिक सञ्जालमा तातिएका छन् । प्रतिनिधि छनौट सकिएसँगै महाधिवेशन लक्षित प्यानल निर्माण, आकांक्षीहरूको दौडधुप बढेको छ ।

    पोखरेलको टीमलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समर्थन छ । केन्द्रमा दुई समूह बनेपछि यसको छाया गाउँसम्म देखिन थालेको छ । संस्थापन पक्षले बनाएका प्रचार सामग्री स्थानीय तहसम्म रहेका उनी पक्षका कार्यकर्ताले प्रचार गरेका छन् भने पोखरेल पक्षले तयार गरेका सामग्री पनि बिस्तारै बाहिर आउन थालेका हुन् ।

    भावी अध्यक्षका लागि ओली-पोखरेल खुलेर मैदानमा उत्रिएसँगै ओलीनिकटकाले ‘ओलीको ब्राण्डिङ’ लाई केन्द्रमा राखेर अभियान चलाइरहेको छ ।

    संस्थापन पक्षका विष्णु पौडेल, शंकर पोखरेल, पीएस गुरुङ, प्रदीप ज्ञवालीलगायतका नेताले ‘मेरो होइन माटोको बोली, फेरि एक पटक केपी ओली’, ‘जोगाउन देशको अस्तित्व पुनः केपी ओलीको नेतृत्व’ जस्ता नारा लेखिएको पोष्टर बनाएर प्रचार गरेका छन् ।

    त्यस्तै पोखरेलको समूहकाले ‘जोगाउन लोकतन्त्र र देशको अस्तित्व, एमालेमा दृढ र सन्तुलित नेतृत्व’ लेखिएको पोष्टर सार्वजनिक गरेका छन् । यो समूहका नेताको पोष्टरको पृष्ठभूमिका मदन भण्डारीको फोटो राखिएको छ ।

    अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, योगेश भट्टराई, गोकर्ण विष्ट, गोकुल बास्कोटासहितले नेतृत्व परिवर्तनको आवाजसहितको पोष्टर प्रचारमा ल्याएका छन् । ईश्वर पोखरेल राखिएको एक पोष्टरमा ‘लोकतान्त्रिक पार्टी समुन्नत देश, नयाँ नेतृत्व नयाँ सन्देश’ नारा लेखिएको छ ।

    प्रतिनिधि छनोटसँगै दुवै पक्षमा विभिन्न पदका आकांक्षीको दौडधुप पनि सुरु भएको छ । महासचिवदेखि उपमहासचिव र सचिवसम्म पदाधिकारीमा दर्जनौँ आकांक्षी देखिएका छन् । यद्यपि अहिलेसम्म दुवै समूहले प्यानल सार्वजनिक गरेका छैनन् ।

    अहिलेसम्म दुवैतिरको प्यानल घोषणा भएको छैन । उनीहरू ‘पर्ख र हेर’ को स्थितिमा रहेको बताइन्छ । केही नेतालाई आफ्नो पक्षमा पार्न दुवैतिर संवादमा रहेको बताइन्छ ।

    एमालेको ११औँ महाधिवेशन यही २७-२९ मा काठमाडौंमा हुँदैछ ।

  • प्रधानन्यायाधीश र न्यायाधीशहरुले र्‍याखर्‍याख्ती पारेपछि इजलासमै फेन्ट भए युवा वकिल

    प्रधानन्यायाधीश र न्यायाधीशहरुले र्‍याखर्‍याख्ती पारेपछि इजलासमै फेन्ट भए युवा वकिल

    काठमाडौं । सर्वोच्च अदालतमा बहसका क्रममा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले फरक प्रसंग निकालेर र्याखर्याख्ती पारेपछि आज इजलासमै एक वकिल ढलेका छन् । एमालेले संसद विघटनविरुद्ध हालेको रिटमा बहस हुनुभन्दा अगाडिको इजलासमा यो घटना भएको हो ।

    राष्ट्रिय स्वतन्त्र पार्टी निकट युवा अधिवक्ता सुलभ खरेल एउटा भ्रष्टाचारसम्वन्ध व्यक्तिकेन्द्रीत मुद्दामा बहसका लागि खडा भएका थिए । उनीसँगै निवेदकको तर्फबाट बहस गरिरहेका थिए वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई । भट्टराईकै ल फर्ममा काम गर्छन् अधिवक्ता खरेल ।

    यो बहस लगत्तै एमालेको मुद्दामा बहस हुने भएकाले त्यसका निवेदक र वकिलहरूसमेत इजलासमा उपस्थित भइसकेका थिए । खरेलले बहस सुरु गर्नुअघि प्रधानन्यायाधीश र न्यायाधीशले उनीमाथि आचरणजन्य सवालहरू गर्न थाले । ती सवाल थिए खरेलले गत जेनजी आन्दोलनका क्रममा फेसबुकमा लेखेका स्टाटसहरुबारे ।

    गत भदौ २४ गतेको जेनजी आन्दोलन विध्वंसात्मक बनेपछि सर्वोच्च अदालतमा समेत आगजनी भएको थियो । उक्त आगजनी हुँदै गर्दा खरेलले विवादित स्टाटस लेखेका थिए, जसलाई लिएर उनले पछि माफी मागे ।

    स्टाटस यस्तो थियो:

    सर्वोच्च अदालत जल्दै गर्दा तपाईँको मन रोएको होला, तर मेरो मन एक रत्ती पनि रोएको छैन । नेपाल बार भवन जल्दै गर्दा पनि तपाईँको आँखा रसाएको होला, तर मेरो आँखा एक रत्ती रसाएको छैन । किनकि, त्यही अदालत र त्यही बारमा म शेरबहादुर र केपी ओलीका अनुहारहरू पटक–पटक देख्ने गर्छु । यिनीहरू मेरो आँखामा संवैधानिक चोरहरू हुन् । साँच्चिकै संवैधानिक फटाहाहरू हुन् ।

    अदालतलाई कब्जा गर्ने, बारलाई विकृत गर्ने, अनि जनताको अधिकार चुरोटजस्तै चुस्ने, राजनीतिक स्वार्थमा फैसला भनेर आफ्ना देउताको स्वार्थ अनुकूल निबन्ध लेख्ने यी नेतृत्वहरू नै आजको संकटका मुख्य जिम्मेवार हुन् । अब सर्वोच्च अदालत र उच्च अदालतका न्यायाधीशहरूको तथा नेपाल बार र मातहत बारहरूको सामूहिक राजीनामा माग्दछ र परीक्षाबाट मात्रै न्यायाधीश नियुक्तिको जोडदार माग राख्दछ । अब न्यायालयको भविष्य अवश्य सुलभ खरेलले लेख्नेछ । नेपालको न्यायालयको जय होस् । विकृत न्यायालय एक रत्ती चाहिँदैन ।

    प्रधानन्यायायीशले सर्वोच्च अदालत जल्दा खुसी मनाउने वकिललाई बहसमा उभिने नैतिकता हुन्छ ? भनेर सोधेका थिए । यसमा खरेलले आफ्नो बचाउ गर्दै पहिल्यै गल्ती महसुस गरेर माफी मागिसकेको बताए । तर, प्रधानन्यायाधीश राउतसहित संवैधानिक इजलासका सबै न्यायाधीशहरु एकसाथ खनिन थालेपछि खरेल रातोपिरो बने । अनुहारबाट चिटचिट पसिना आइरहेको थियो । ३–४ मिनेटपछि उनी भक्लक्कै लडे ।

    वकिल ढलेपछि अदालतमा स्तब्धता छाएको थियो । खरेलको पछाडि रहेका एमालेका नेता महेश बर्तौलाले उनलाई उठाए र कुर्सीमा राखे । पानी पिउन दिइयो । एक मिनेटभित्रै खरेलको होस खुलेको थियो ।

    खरेल होसमा आएपछि बहसलाई निरन्तरता दिइयो । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले खरेलको स्टाटसका लागि इजलाससामु माफी मागे ।

    खरेलले बल्लतल्ल उठेर आफ्नो थप बचाउ गरे । आफ्नो स्टाटसलाई तोडमोड गरिएको तर आफ्नो आशय अदालत जलाउनुपर्छ भन्ने नभएको दाबी गरे । यद्यपि, आफूले लेखेको विषयमा उनले फेरि क्षमा मागे ।

    यो बहस स्थगन गर्दै प्रधानन्यायाधीसले अधिवक्ता खरेललाई अस्पताल जान सुझाव दिएका थिए ।

    नेपाल प्रेससँग गर्दै खरेलले आफ्नो ब्लड प्रेसर लो भएर ढलेको बताए । उनले भने, ‘त्यहाँबाट निस्किएर ब्लड प्रेसर चेक गराऊँ लो भएको रहेछ । पहिले पनि यदाकदा यस्तो भएको थियो ।’

    प्रधानन्यायाधीश र न्यायाधीशहरुले सोधेका प्रश्नहरूबारे उनले धेरै बोल्न चाहेनन् । खरेलले यति मात्रै भने, ‘उहाँहरूले त्यो विषय कोट्याएपछि अलिकति असहज भएको हो । केही सञ्चारमाध्यममा आएका फेक न्युजहरूलाई आधार बनाएर प्रश्न सोध्दा अलिकति दुख लाग्यो । तर मलाई यसमा केही भन्नु छैन ।’

    खरेल रास्वपासँग निकट छन् । उनले रुपन्देहीमा हुन लागेको उपनिर्वाचनका लागि रास्वपाको प्राइमरी इलेक्सनमा भाग लिएका थिए । उनलाई बलियो दाबेदारका रूपमा हेरिएका थियो । तर, उनी सर्ट लिस्टमा परे पनि अन्तिममा उम्मेदवार छनोट हुन सकेनन् ।

  • एनपीएल–२ : डुप्लेसिस आएको खेलमा विराटनगरको हार, लुम्बिनी ५ विकेटले विजयी

    एनपीएल–२ : डुप्लेसिस आएको खेलमा विराटनगरको हार, लुम्बिनी ५ विकेटले विजयी

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ५ पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ । बुधबार भएको खेलमा विराटनगरले दिएको १४५ रनको लक्ष्य लुम्बिनीले १७ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा ग¥यो ।

    लुम्बिनीको जितमा ओपनर डार्सी सर्टले अर्धशतक प्रहार गरे । डार्सीले ४४ बलमा ५७ रनको योगदान दिए । सुमित महर्जन १०, कप्तान रोहित पौडेल ०, सन्दीप जोरा २४ र दिलिप नाथ १६ रनमा आउट भए । निरोशन डिक्वेला २९ र शेर मल्ल एक रनमा अविजित रहे ।

    बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछाने र सुवाश भण्डारीले दुईदुई तथा बसिर अहमदले एक विकेट लिए । त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन बनाएको थियो । विराटनगरका लागि लोकेश बमले सर्वाधिक ३५ रन बनाए । जर्ज मुन्से ०, फाफ डु प्लेसिस १२, साम हिटलेट २७, नारायण जोशी ५, बसिर अहमद २८, शाहिल पटेल ३ र प्रतिश जिसी ११ रनमा आउट भए । कप्तान सन्दीप लामिछाने ६ र मार्चेन्ट डि लिङ १० रनमा अविजित रहे ।

    बलिङमा शेर मल्ल नायक बने । शेरले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । जेजे स्मिथ, अभिषेश गौतम र रुवेन ट्रम्पलमेनले एकएक विकेट लिए । यो जितसँगै लुम्बिनीले ६ खेलबाट ६ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ । ६ खेलबाट ८ अंक जोडेको विराटनगर तेस्रो स्थानमा छ ।

  • क्यान्सर जितेर क्यान्सरपीडितको अभिभावक बनेकी सुरुङ्गाकी मेयर गीता

    क्यान्सर जितेर क्यान्सरपीडितको अभिभावक बनेकी सुरुङ्गाकी मेयर गीता

    रुपन्देही । सप्तरीको समशेरपुरमा एउटा साधारण मधेस-घरको आँगनमा जन्मेकी गीता चौधरी । जुन समुदायमा छोरीहरूलाई धेरै पढाउने होइन, सानैमा बिहे गरिदिए आनन्द हुन्छ भन्ने गलत संस्कार बसेको थियो त्यहीँ समाजमा अहिले आफ्ना असल अभ्यासले देशमै उदाहरणीय पात्र बनेकी छन् उनी ।

    धेरैलाई लाग्थ्यो- येस्ती छोरीको भविष्य रुदै बग्ने खोलाजस्तै हुन्छ- पहिले विवाह, पछि गृहस्थी, अनि जीवन सुक्दै जाने । तर गीता भने जन्मिँदैदेखि चुनौतीकै धूलोमाटोबाट आफ्नो बाटो पहिचान गर्ने फूल थिइन् छेउछाउको हावा कस्तो छ, उसको महत्त्व छैन; उसको सुगन्धले नै उसको अर्थ बनाउँछ ।

    तेह्र-चौध वर्षमै सहेलीसँग विवाह- गीत खेल्दै बस्ने उमेरमा गीता भित्री आत्मालाई सोधिरहेकी थिइन् “के एक महिला केवल घरभित्रको दैलोमै सीमित भएर जन्मिन्छ ? के शिक्षा छोराको मात्रै अधिकार हो ?” मधेस समाजमा यो प्रश्न उठाउनै विद्रोहको संकेत थियो । तर गीता रोकिइनन् । यही भित्रको चित्त-मर्मले उनलाई राजनीतिक चेतसहित समाजसेवाको बाटोमा कुदाइरह्यो ।

    सानो उमेरमा विवाह गर्नुपर्ने बाध्यता त उनले टार्न सकिनन् तर अध्ययनमा अडिग रहेकाले आफूलाई अहिलेको अवस्थामा पुराएको उनको निचोड छ । ‘मलाई पढाइले नै जोगायो’ उनले भन्छिन् । गीताको जीवनको पहिलो ठूलो धक्का- पढ्दापढ्दै विवाह थियो । थुप्रै छोरीहरूलाई जस्तै, गीतालाई पनि समाजले बुझायो- “छोरीलाई पढाइराखेर के हुन्छ ? राम्रो घर जाँदा बस्छ ।” तर उनी विवाहपछि पनि पुस्ताकै सहाराले अगाडि बढिन् । पति र परिवारको केही समर्थन थियो, तर सामाजिक वातावरण कठोर । “म पढ्न चाहन्छु” भन्ने एउटै वाक्यले कति सामाजिक चोट खाइन् उनले तर पढाइ नछाड्ने जिद्दी ।

    पढाइसँगै बिहान घर–धन्दा, दिनमा अध्ययन—यही चक्रले उनलाई स्नातक मात्र होइन, स्नातकोत्तरसम्म पुर्‍यायो । आज उनी भन्छिन् “म जुन सपना बोकेकी थिएँ । त्यो पूरा भएको छ । समाजमा गणनीय पात्र बन्ने थियो त्यो पूरा गरेकी छु । म आफैँ नगरप्रमुख भएर सयौँ महिलालाई सक्षम बनाउन सकेँ… त्यो भन्दा ठूलो खुसी के चाहिन्थ्यो ?” जीवन कहिलेकाहीँ चाहना अनुसार नचले पनि त्यसले अझै ठूलो अर्थ निकालेर दिन सक्छ । गीता त्यसकै ज्वलन्त उदाहरण बनिन् । २०४८ सालदेखि राजनीतिक सचेतनामा जोडिएर ‘समानताको अर्थ बुझ्न राजनीतिको यात्रा’मा जोडिएको उनी बताउँछिन् ।

    गीता सानैदेखि समाजका विभेद देख्थिन्, जातका आधारमा गरिएको असमानता, छोरी–छोरीबीचको भेदभाव, महिलालाई निर्णय प्रक्रियाबाट टाढा राख्ने प्रवृत्ति यही वेदनाले उनलाई २०४८ सालमै संगठन, महिला समूह, राजनीतिक गतिविधितर्फ आकर्षित गर्यो। राजनीतिको अर्थ उनले पार्टीको ब्यानरभन्दा ठूलो बुझिन्, “राजनीति भनेको समाजमा नदेखिएको पीडालाई देखिने बनाउने कला हो ।” अन्ततः उनलाई पार्टीभित्रबाट मेयरको सिफारिस आयो । सुरुमा हिचकिचाइन् । “जिम्मेवारी भारी छ, महिला भएर अझै भारी” भन्ने आन्तरिक द्वन्द्व । तर केही दिनमै आफूलाई सम्झाइन् — “अवसर महिलाको ढोकामा प्रत्येक दिन आउँदैन। यो दिन फर्कँदैन ।” त्यसपछि उनले पूर्णकालीन राजनीति रोजिन् ।

    क्यान्सरले दिएको जीवन-परीक्षा :  ‘म रोइनँ, तर जितिरहेँ’

    २०७५ साल उनको जीवनको सबैभन्दा अँध्यारो मोड आयो । आफैले चासो राखेपछि स्तनमा गिर्खा भेटियो । जाँचपछि रिपोर्ट आयो—क्भअयलम कतबनभ दचभबकत अबलअभच । छोरालाई सूचना दिएर उनी आफै अगाडि सरेर सबै चेकजाँच गराइन् । घरका सबै रोए । गाउँले डराए । धेरैले भने, “महिला हो, कसरी सामना गर्ला ? अब त जीवन…..” तर गीता भन्छिन्— “सबै रोए, तर म रोइनँ । मेरो शरीरले हार मान्यो कि ? छैन । म पनि किन मानूँ ?” उनले दिल्लीमा बसेर सबै उपचार पूरा गरिन् । बुबालाई क्यान्सर हुँदा आफैँले १९ दिन हेरचाह गरेको अनुभव, बुवाको मृत्यु देखेको पीडा—यी सबैले उनलाई अझ बलियो बनायो । उनी निको भइन् । तर यसले उनलाई बदलिदियो । तर उनलाई यो घटनाले थप परिपक्व बनायो । उनी भन्छिन्, “क्यान्सरले मेरो शरीरलाई होइन, मेरो डरलाई हरायो ।” अब उनी केवल एउटा महिला मात्र रहिनन्, क्यान्सर–सर्वाइभर र क्यान्सर–पीडितहरूको अभिभावक बन्ने अभियानमा लागिन् ।

    नगरपालिकाको जिम्मेवारीमा नआउँदै पनि उनले यसलाई अभियानका रूपमा सचेतना गर्न थालिन् तर जब उनी नगरको मुख्य जिम्मेवारीमा पुगिन् यसलाई पहिलो प्राथमिकतामा राखिन् । नगरपालिकामा नियमित क्यान्सर चेकजाँच, निःशुल्क परीक्षण र जोखिम चिनारी छुट्टै अभियान उनको नाममै चलेको छ । ‘हामीले निःशुल्क रूपमा यो चेकजाँचलाई अगाडि सारेका छौँ, हरिसिद्धिको क्यान्सर अस्पतालका विज्ञहरूलाई ल्याएर हरेक समयमा चेकजाँच गराएका छौँ, त्यही आधारमा धेरै जनाले समयमै उपचार पाउनुभएको छ, यो मेरो कार्यकालको ठूलो उपलब्धि हो ।’ उनले भनिन् ।

    सहकर्मी बागी उठे, तर जनता न्यायाधीश बने : ‘लडाइँ जितेँ, जित जनताले दिलाएको हो’

    २०७९ को स्थानीय चुनाव- सुरुङ्गा नगरमा प्रतिस्पर्धा चर्किएको थियो । सबैतिर उनलाई उम्मेदवारी नदिए जित्न सकिँदैन भन्ने स्वर बलियो बनेको थियो । उनी आस्था रहेको पार्टीले पनि त्यही निचोडमा गीता पार्टीको आधिकारिक उम्मेदवार बनिन् । तर आफूभन्दा नजिकका सहकर्मी नै बागी उठेपछि उनलाई भित्रैबाट आशंका थपियो ।

    ‘महिलालाई जिताउन हुँदैन’ भन्ने मानसिकताले केहीलाई समय कटाउने विषय बन्यो । कसैले भने- ‘महिलाले नगर हाँक्न सक्दैनन् ।’ कसैले उत्साह थप्दै भने- ‘देखाउँला, कसरी हानिन्छ !’ तर चुनाव नजिकिँदै जाँदा एक अद्भुत दृश्य देखियो- भिन्न पार्टीका महिलाले गीता चौधरीलाई अंगालो मारेर समर्थन गर्न थाले । ‘गीता जिते, हामी जित्यौँ’ भन्ने नारा दिदीबहिनीहरूको मनबाट नै उठ्यो । उनी त्यो बेलाको स्मरण गर्दै भन्छिन् । मतपरिणाम आयो— गीता भारी मतले विजयी । बागी, षड्यन्त्र, भ्रम-सबैलाई पराजित गरेको थियो जनताले । यी नै क्षणमा उनले महसुस गरिन्- ‘नेतृत्व पदले होइन, जनता र महिलाले बनाउँछन् ।’

    सुशासन, छोरी शिक्षा नीति र सामाजिक रूपान्तरण पहिलो प्राथमिकता

    सुरुङ्गा गाउँको नाम पहाडमा रहेको ऐतिहासिक “सुरुङ्गा” स्थानबाट आएको । तर आज यो नाम भिन्न कारणले चर्चामा छ— सुशासन, पारदर्शिता र महिला–मैत्री नेतृत्व । बालविवाहमुक्त नगरपालिका ०७९ सालमा आधिकारिक घोषण यो मधेसमै कठिन विषय थियो । किनकि छिमेकी गाउँको घटनाले पनि यहाँ संकट ल्याउँछ । तर गीता र टोलीले समन्वय, छलफल र निरन्तर अभियानले ‘बालविवाहमुक्त’ सम्भव बनाएको बताउँछन् ।

    छोरी शिक्षासँगै छोरी बीमा कार्यक्रम ल्याएर ‘छोरी सबैकी’ अभियान चलाएको गीता बताउँछिन् । गीता भन्छिन्, ‘म जन्मेको समाजमा छोरीको मूल्य कम थियो । अब त्यो सोचै तोड्ने समय हो ।’ नगरपालिकाले जन्मिँदै छोरी बीमा, शिक्षा सहयोग, छात्रवृत्ति, जोखिममा परेका किशोरीका लागि आपत्कालीन सुरक्षा, टाढा बस्नेलाई पाठशाला–सुगम योजना, यी नीति लागू गरिसकेको उनको भनाइ छ । यी आधारबाट सुरुङ्गामा छोरीलाई बोझ होइन भविष्य मान्ने सोच बढ्दै गएको छ । यो ठूलो उपलब्धि भएको उनको निचोड छ ।

    त्यसैगरी उनको साढे ३ वर्षे कार्यकालमा स्वास्थ्यमा ‘डोर–टु–डोर सेवा’ अर्को प्रभावकारी अभियान हो । मधेसमा घर–घरमा पुगेर स्वास्थ्य सेवा दिने अभियानले बढी चर्चा पायो त्यसमा पनि विशेष गरी क्यान्सर चेकजाँच । क्यान्सर सर्भाइभर मेयर भएकाले यस्तो सेवा “वैध कागजात” मात्र होइन, भावनात्मक अभियान बनेको धेरै स्थानीयको बुझाई छ । धेरै महिलाले गीतालाई “हाम्रो आमा–जस्तै” भन्छन् ।

    यो सँगै उनले महिला आत्मनिर्भरतालाई ध्यान दिएको बताउँछिन् । गीता भन्छिन्- ‘महिला जागिर खाने होइन, जागिर खुवाउने बन्नुपर्छ ।’ यहाँको कार्यक्रममा सीपमूलक तालिम, उद्यम सुरु गर्न ऋण र अनुदान, महिलाले बनाएका वस्तुलाई ‘कोशेलीघर’मार्फत बजार ग्यारेन्टी, घरेलु उद्योग–मैत्री नीतिजस्ता कारण आज सुरुङ्गामा महिला उद्यमी बढ्दैछन् । अर्थात् उनीहरू आत्मनिर्भर बन्दै गइरहेका छन् ।

    यसैगरी स्थायी नगर भवन र सेवाग्राही मैत्री प्रशासन उनको कार्यकालमा भौतिक विकासको अर्को उपलब्धि हो । वर्षौँदेखि भाडामा चलेको नगरपालिकालाई व्यवस्थित बनाउन उनले संकल्प गरिन् अबको केही महिनामा त्यो पूरा हुने उनको भनाइ छ । तर गीता भन्छिन्, “सुरुङ्गालाई आफ्नै घर चाहिएको थियो ।”

    अब स्थायी भवन अन्तिम चरणमा पुगेको छ, अब एकै छानामुनि पारदर्शी र छिटो सेवा उपलब्ध हुनेछ । उनलाई चिन्ता लाग्ने मुख्य विषय हो मेयर महिला भएकाले स्थानीयले यो भन्न पाइएन, यो गर्न पाइएन भन्ने नहोस् र उनलाई महिला नभनेर मेयरका रूपमा जतिबेला पनि काम परे खोजोस् भन्ने छ । महिला भएकै कारण राति १ बजे घटना खोज्न नजाऊ भन्ने सल्लाह कुरा आएपछि दुःख लागेको उनको भनाइ छ । नेतृत्व गीता जस्ता महिलाका लागि सजिलो थिएन । तर उनी भन्छिन्- ‘मलाई कहिल्यै ‘महिला भएर’ रोकेन ।’ राती १ बजे दुर्घटना हुँदा उनी एक्लै मोटरसाइकल लिएर घटनास्थल पुगिन् । सहकर्मीले भने, “मेयर साप, तपाईं महिला हो । यस्तो नगर्नु ।’ गीताले जवाफ दिइन्, ‘दिमागमा ‘महिला’ भन्ने शब्द नहुँदो हो त ? नेतृत्व त्यही बेला सिद्धिन्छ ।’

    थारु समुदायबाट उठेको नेतृत्व : ‘म पहिचान लिएर आएको हुँ, अहंकार होइन’

    मधेसमा थारु, मुस्लिम र मधेसी समुदायका पीडा फरक-फरक । गीता थारु समुदायकी । तर उनी सबैका भावनालाई समान महत्त्व दिन्छिन् । उनको सांस्कृतिक संरक्षण अभियानले धेरैको मन जितेको छ- मघिहा, झमटा, थारु नृत्य, लोकगीत, थारु इतिहास संरक्षण सबै मुहानबाट अघि सारिरहेकी छन् । पहाडी समुदायका सबै पर्वहरू, मधेसी मुस्लिम परिवारका सबै पर्वहरूमा यहाँ सामूहिक रूपमा बनाउन थालिएको छ यसले समान संस्कृतिको विकास गराउन सकेको छ । यसकारण गीता चौधरी मेयर मात्र होइन, महिलाको सामूहिक स्वर बनेकी हुन् । सुरुङ्गामा महिलाहरू भन्छन्, ‘गीता मेयर होइन, हामी सबै मिलेर बनेको शक्ति हो ।’ उनको नेतृत्व शैलीअनुसार सहानुभूति, पारदर्शिता, तल्लो वर्ग-जातिको आवाज सुन्ने ठूलो मन, निर्णयमा कडाइ, जनताको बीचमा बस्ने बानी यी गुणले उनलाई जनताको वास्तविक प्रतिनिधि बनाएको छ ।

    बाँकी साढे वर्षको संकल्पः फिनिसिङ र मानवीय विकास

    उनले भन्छिन्,’भौतिक विकास त धेरै भयो । अब त्यसको प्रयोग कसरी गर्ने ? अब सूचकांक बढाउने विकास चाहिन्छ ।’ अघिल्ला तीन वर्षका लक्ष्य- सबै वडामा अस्पताल स्तरका सेवा, छोरी शिक्षा १००%, महिला उद्यम ५०% ले बढाउने, डिजिटल सेवा, सुशासनमा प्रदेशकै नम्बर- १ कायम राख्ने थियो त्यो धेरै लक्ष्य पूरा भएको छ । उनलाई अहिलेसम्म कुनै पछुतो छैन । ’जीवनको रहस्य सायद यही हो कहिलेकाहीँ अधूरा सपना नै ठूलो रूपान्तरणको स्रोत बन्छन् ।’

    मधेसको कुरीतिबाट उठेर, क्यान्सर जितेर, सुशासन निर्माण गर्दै गीता चौधरीले आज छोरीहरूको सामूहिक भविष्य भएकी छन् । गीता चौधरी अब केवल एक महिला नेतृ होइनन्, मधेसको सामाजिक रुपान्तरणको प्रतीक हुन् । उनले छोरीहरूलाई दिएको सन्देशले उनले भन्दै आएको ’महिला जागिर खान जन्मिँदैन, जागिर खुवाउन जन्मिन्छ । छोरी बोझ होइन, भविष्य हो । र नेतृत्व ‘पुरुष’ होइन, ‘साहस’ खोज्छ ।’ भन्ने विषयलाई अबको बाँकी जीवनमा कार्यान्वयनमा लैजाने उनको संकल्प छ ।

    (नेपाली महिला जनप्रतिनिधिहरूको सुकर्मलाई सञ्चार गर्ने अभियान शि लिड्स आइकन दोस्रो संस्करणको ३१ प्रेरणादायी महिला जनप्रतिनिधि रूपमा उनी छनोट भएकी छन्।)

  • हेटौँडा सडक विस्तारमा अवरोध पुर्‍याउनेलाई स्थानीय प्रशासनले कारबाही गर्ने

    हेटौँडा सडक विस्तारमा अवरोध पुर्‍याउनेलाई स्थानीय प्रशासनले कारबाही गर्ने

    बागमती । हेटौँडाको मुख्य सडक विस्तारमा अवरोध पुर्‍याउनेलाई कारबाहीको दायरामा ल्याउने स्थानीय प्रशासनले बताएको छ ।

    मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले आज सूचना जारी गर्दै हेटौँडा बजार क्षेत्रको सडक विस्तार कार्यमा अवरोध पुर्‍याउने र व्यवसायीलाई धम्की दिने समूहलाई कारबाहीको दायरा ल्याउने बताएका छन् ।

    सडक डिभिजिन कार्यालय हेटौँडाले गर्न लागेको सडक विस्तार अभियानमा बाधा नपुर्‍याउन आग्रह गर्दै प्रजिअ अधिकारीले सडक विस्तार अभियानमा सरोकारवाला र हेटौँडावासीको उत्साहजनक सहभागिता देखिएको र धेरैजसो व्यवसायीहरूले तोकिएको समयसीमा मङ्सिर २० गतेअगावै आफ्ना पसल अन्यत्र सार्ने र समान ‘सेल’ लगायतका अफर राखेर बिक्रीवितरण गरी सहयोग गरिरहेको उल्लेख गरे ।

    केही व्यक्तिहरूले व्यवसायीहरूको यस सकारात्मक कार्यलाई निरुत्साहित गर्न धाकधम्की दिने, जबर्जस्ती पसल बन्द गराउने र सार्वजनिक विकास निर्माणको कार्यमा अवरोध पुर्‍याउने गतिविधि गरिरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको प्रजिअ अधिकारीको सूचनामा उल्लेख छ ।

    सडक विस्तारमा अवरोध खडा गर्ने उद्देश्यले प्रेरित कुनै पनि गतिविधि गर्ने व्यक्तिहरुप्रति पूर्ण सचेत रहेको उल्लेख गर्दै प्रजिअ अधिकारीले सडक डिभिजन कार्यालयको यस अभियानमा कानुनविपरीत कार्य नगर्न/नगराउन अनुरोध गरेका छन् ।

    -रासस

  • एसिया कपको खेल तालिका सार्वजनिक, नेपालको पहिलो खेल श्रीलङ्कासँग

    एसिया कपको खेल तालिका सार्वजनिक, नेपालको पहिलो खेल श्रीलङ्कासँग

    काठमाडौँ । एसीसी पुरुष यू–१९ एसिया कपको खेल तालिका सार्वजनिक भएको छ ।

    संयुक्त अरब इमिरेट्स (युएई) मा डिसेम्बर १२ देखि हुने उक्त प्रतियोगिताको तालिका सार्वजनिक भएको हो ।

    प्रतियोगितामा सहभागी हुने आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र मलेसिया रहेका छन् । समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान र नेपाल रहेका छन् ।

    एसिसी यू–१९ प्रिमियर कप: नेपाल च्याम्पियन बन्ने लक्ष्यमा, यूएईसँग भिड्दै

    प्रतियोगिताका खेलहरू आइसीसी एकेडेमी र द सेभेन्स स्टेडियममा हुनेछन् ।

    नेपालको पहिलो खेल श्रीलङ्कासँग डिसेम्बर १३ तारिखमा राखिएको छ । दोस्रो डिसेम्बर १५ मा बङ्गलादेश र तेस्रो डिसेम्बर १७ मा अफगानिस्तानसँग रहेको छ ।

    नेपालका सबै खेल सेभेन्स स्टेडियममा हुनेछन् । दुवै समूहबाट शीर्ष दुईमा रहने टोली डिसेम्बर १९ तारिखमा सेमिफाइनल खेल्नेछन् । उपाधि भिडन्त डिसेम्बर २१ तारिखमा हुनेछ ।

    यू-१९ प्रिमियर कप : फाइनलमा चुक्यो नेपाल, युएईले जित्यो उपाधि

  • लुम्बिनी विकास कोषका सदस्य सचिव श्रेष्ठद्वारा पदभार ग्रहण

    लुम्बिनी विकास कोषका सदस्य सचिव श्रेष्ठद्वारा पदभार ग्रहण

    रुपन्देही। लुम्बिनी विकास कोषको सदस्य सचिवमा दीपक श्रेष्ठले बुधवार लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालयमा हाजिरी गरेर पदभार ग्रहण गरेका छन् ।

    श्रेष्ठलाई सदस्य सचिवमा मनोनीत प्रधानमन्त्री एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुशीला कार्कीले गरेकी हुन् ।

    केही समय नागरिक उड्डयन प्राधिकरणमा काम गरेपछि श्रेष्ठ २०६७ बाट नेपाल खानेपानी संस्थानमा प्रवेश गरेका थिए । संस्थानका बनेपा र धरानका शाखा प्रमुख सम्हालेपछि उनी २०७० सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए ।

    अख्तियारमा उनले ८ वर्ष भ्रष्टाचारसम्बन्धी अनुसन्धानको काम गरे । उनलाई खानेपानी संस्थान र अख्तियार गरी दुवै संस्थाले उत्कृष्ट कार्यसम्पादन लागि पुरस्कृत गरेको थियो। पछिल्लो समय उनले संस्थानको प्राविधिक अनुगमन तथा निरीक्षण शाखाको प्रमुख भएर काम गरिरहेका थिए ।

    पदभार ग्रहणपछि नेपाल प्रेससँग कुरा गर्दै उनले आफू काम गरेर देखाउनका लागि लुम्बिनी आएको जनाए । ‘मैले काम गरेर देखाउनु छ, सबैको सल्लाहमा काम गरेर लुम्बिनीलाई नयाँ उचाइमा पुराउनुपर्ने छ’ उनले भने–‘यति लामो समय काम गरेको क्षेत्र छाडेर लुम्बिनीलाई बनाउनेगरी आएको हुँ ।

  • नेकपा एसको रुपन्देही जिल्ला कमिटी संयुक्तमा समाहित

    नेकपा एसको रुपन्देही जिल्ला कमिटी संयुक्तमा समाहित

    भैरहवा । साविक नेकपा एसको रुपन्देही जिल्ला कमिटी नेकपा (संयुक्त) मा समाहित भएको छ ।

    तत्कालीन एसको जिल्ला भेलाले उक्त निर्णय गरेको हो । भेलाको निर्णयअनुसार हिराध्वज शाह, अविराम विक, मीरा श्रेष्ठ, बाबुराम अर्याल, श्रीराम यादव, टंक पोखरेलसहितका जिल्ला नेताले नेकपा (संयुक्त) रोजेका हुन् ।

    निर्णयमा २९ जनाको हस्ताक्षर छ ।

  • निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १४३ पुग्यो, कुन दलको चिन्ह के ? (सूचीसहित)

    निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १४३ पुग्यो, कुन दलको चिन्ह के ? (सूचीसहित)

    काठमाडौं । निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १४३ पुगेको छ । निर्वाचन आयोगले भर्खरै मात्रै सार्वजनिक गरेको अद्यावधिक दलको सूची अनुसार आयोगमा अहिलेसम्म दर्ता हुने दलको संख्या १४३ पुगेको छ ।

    दर्ता भएका दलको सूचीको पहिलो नम्बरसँगै दर्ता नम्बर १ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) रहेको छ भने सूचीको अन्तिम तथा दर्ता नम्बर २३० मा जनअधिकार पार्टी रहेको छ ।

    नारायणमान बिजुक्छे अध्यक्ष रहेको नेमकिपा २०७३ मंसिर ३० मा दर्ता भएको हो भने शरदसिंह यादव संयोजक रहेको जनअधिकार पार्टी सबैभन्दा अन्तिममा यहीँ मंसिर १४ गते दर्ता भएको हो ।

    गत भदौ २३ र २४ गते भन्दा अघिसम्म १२२ दलको दर्ता कायम रहेकोमा त्यसपछि नयाँ दल दर्ता, दल एकीकरण तथा दल खारेजसमेत गरेर १४३ पुगेको आयोगले जनाएको हो । जसमा २५ वटा नयाँ दल दर्ता भएका छन् भने ४ वटा पुराना दल एक आपसमा एकीकरण भएका छन् ।

    एकीकरण हुनेमा तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, नेकपा (समाजवादी) र नेकपा माओवादी समाजवादीसहित ५ दल मिलेर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बनेको छ । नेकपा बन्दा ५ दल खारेज थप एक दल बनेको छ ।

  • कांग्रेसमा नेतृत्व दौड : शेखर-गगन दुवै सभापतिका आकांक्षी, संस्थापनमा देउवाकाे आशीर्वाद कसलाई ?

    कांग्रेसमा नेतृत्व दौड : शेखर-गगन दुवै सभापतिका आकांक्षी, संस्थापनमा देउवाकाे आशीर्वाद कसलाई ?

    काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको मिति घोषणा गरेसँगै नेतृत्वको आकाङ्क्षीहरू खुल्न थालेका छन्। पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेसँगै आकाङ्क्षीहरूले दाबी गर्न थालेका हुन्।

    यद्यपि, निर्धातिर समयमा महाधिवेशन हुनेमा कांग्रेसका नेताहरू नै ढुक्क हुन सकेको छैनन्। महाधिवेशनको सबैभन्दा महत्त्वपूर्ण हिस्सा क्रियाशील सदस्यताको विषय अझै टुङ्गिएको छैन। महामन्त्री गगन थापाले क्रियाशील सदस्यताको विषय टुङ्ग्याउने गृहकार्य थालिसकेका छन्।

    अब हुने महाधिवेशनबाट कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वबाट बिदा हुँदैछन्। अहिले नै उनले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइसकेका छन्। देउवालाई नेतृत्वमा दोहोरिने विधानले पनि दिँदैन।

    देउवा नेतृत्वमा नआउने भएपछि आगामी महाधिवेशनमा उनको आशीर्वाद लिएर नेतृत्व हत्याउने दाउमा उनी निकट नेताहरूको हानथाप छ। देउवाले अहिले महाधिवेशन गर्ने जिम्मेवारीका साथ उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएका छन्।

    अहिले कार्यवाहक भूमिकामा रहेका खड्काको आगामी नेतृत्वमा दाबी स्वाभाविक हो। तर, महाधिवेशनको मिति विवाद सल्टाउन समेत देउवाकै मुख ताकेको भन्दै उनको कार्यक्षमतामाथि नेताहरूले प्रश्न उठाएका छन्।

    असोज २८ गतेबाट सुरु भएको बैठकले महाधिवेशनको मिति विवाद समाधान गर्न नसकेपछि देउवा आफैँ सक्रिय भएर पार्टीभित्रको विवाद समाधान गरेका थिए। देउवाको उत्तराधिकारी बन्न सात पूर्वपदाधिकारीहरूले निरन्तर छलफलमा छन्।

    संस्थापन पक्षबाट गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशमान सिंह र डा. प्रकाशशरण महत निरन्तर संवादमा छन्।

    हिजो पनि श्रेष्ठ र कोइरालाबाहेक पूर्वपदाधिकारीहरू आफूनिकट केन्द्रीय सदस्यहरूसँग छलफलमा बसेका थिए। सभापति देउवासँग परामर्श लिएर पूर्व पदाधिकारीहरूबाट एक जनाको नाममा सहमति जुटाउन केन्द्रीय सदस्यले दबाब दिएका छन्।

    यो टिममा कार्यवाहक सभापति खड्का, उमाकान्त चौधरी, बालकृष्ण खाण र एनपी साउदलगायत नेताहरू पनि एक ठाउँमा उभिनसक्ने बताइन्छ। उनीहरूको एउटै बटमलाइन छ– आगामी सभापति आफूहरूभन्दा बाहिरबाट नहोस्।

    ‘हाम्रो टिमबाट सहमतिमै टुङ्ग्याउँछौँ’

    तर प्रवक्ता डा. प्रकाशशरण महत नेतृत्वबारे अहिलेसम्म आफ्नो टिममा कुनै छलफल नभएको जिकिर गर्छन्। टिममा सल्लाह गरेरै नेतृत्व तय गर्ने बताए।

    उनले भने, ‘नेतृत्वको दाबी त सबैले गरिरहेका छन्। आगामी सभापति त महाधिवेशनले नै निर्णय गर्छ। टिममा सल्लाह भएर सबैको सहमतिमा अघि बढ्ने हो। सभापतिसँग नेतृत्वबारे अहिलेसम्म कुरा भएको छैन।’

    कार्यवाहक सभापति खड्काको सम्भावनालाई पनि उनले नकारेनन्। उनले निर्धारित समयमा महाधिवेशन हुनेमा नै आशंका व्यक्त गरे।

    उनले भने, ‘महाधिवेशनको मिति भर्खरै तय भएको छ। नेतृत्वबारे बिस्तारै छलफल हुन्छ। महाधिवेशनको मिति तोकिएको भएपनि समय टाइट छ निर्धारित समयमा हुन्छ हुँदैन भन्न सकिँदैन।’

    कार्यसमितिको माघसम्म म्याद थपबारे उनले थपे, ‘काम गर्दै जाँदा सकिए पुसभित्रै हुन्छ, माघमा त महाधिवेशन हुँदैन। ढिला भयो भने आम निर्वाचन पछि नै हो। चुनावको तयारी गर्ने बेलामा माघमा महाधिवेशन गर्न सकिँदैन। माघमा सम्भव छैन। जति तहसम्म हुन्छ नभए पछि हुन्छ।’ समयमै महाधिवेशन गर्नको लागि चुनौती रहेको बताए।

    ‘शेखर र गगन एक ठाउँमा उभिनुपर्छ’

    सहमहामन्त्री जीवन परियारले अहिले नेतृत्वको बहसमा आफूहरू नपुगेको बताए। १४ औँ महाधिवेशनको टिम एक ढिक्का भएर अघि बढ्नुपर्ने बताए।

    उनले भने, ‘१४ औँ महाधिवेशनमा शेखर दाइ र गगनजीहरू एक ठाउँमा हुनुहुन्थ्यो। त्यो टीमका साथीहरू एक ढिक्का नै हुनुपर्छ। र अरू थप साथीहरूलाई जोडेर आगामी महाधिवेशनमा चुनाव जित्ने प्रयत्न गर्नुपर्छ भने हो।’ शेखर कोइराला र गगन थापा बसेर एक ठाउँमा दृढतापूर्वक उभिने सङ्कल्प गर्नुपर्ने उनको मत छ।

    उनले भने, ‘शेखर दाइ सभापतिमा नलड्ने भए गगन थापाको पालो हो। शेखर दाइले नै एक पटक लड्छु भन्नुहुन्छ भने गगन थापाले नमान्नुपर्ने कारण नहोला। शेखर दाइले लड्दिनँ भन्नुभयो भने मात्रै विकल्पमा जाला।’ उनले संस्थापन पक्षका नेताहरू पनि संवादमा रहेको र महाधिवेशनसम्म खुल्ने जिकिर गरे।

    गगनको बेग्लै तयारी

    जेनजी आन्दोलनपछि पार्टीमा रूपान्तरणको मुद्दा उठाएका महामन्त्री थापाले आगामी नेतृत्वको लागि तयारी गरिरहेका छन्। उनीनिकट केन्द्रीय सदस्य मधु आचार्यले निर्वाचनअघि महाधिवेशन कार्यतालिका विशेष महाधिवेशनको हस्ताक्षरकर्ताहरूबाटै मात्रै सम्भव भएको बताए।

    उनले भने, ‘यो कार्यतालिका २४८८ को हस्ताक्षरले नै सम्भव भएको हो। कांग्रेसमा नयाँ नेता, नयाँ नीति, जेनजी आन्दोलनले उठाएको एजेन्डा सम्बोधन गर्ने र हिजो भएको गल्ती कमजोरी सुधार गरेर जानुपर्ने कुरा महामन्त्री गगन थापाले नै उठाउनुभएको हो। परिवर्तनको आवाजको नेतृत्व जसले गरेको छ, अबको नेतृत्व पनि त्यही हुनुपर्छ भन्ने हाम्रो कुरा हो।’

    १४ औँ महाधिवेशनमा शेखर कोइराला जिताउन आफूहरू लागेको भन्दै अहिलेको महाधिवेशनमा गगनले साथ पाउनुपर्ने उनको मत छ।

    उनले थपे, ‘अहिले परिस्थिति र आवश्यकता पनि नयाँ भएको छ। त्यसैले हामीले नेता पनि नयाँ ल्याउनुपर्छ भनेका हौँ। हिजो गगनको समर्थनमा शेखर कोइराला, आज शेखरको समर्थनमा गगन थापा हुनुपर्छ भन्ने हाम्रो कुरा हो।’

    पार्टीभित्र सर्वसम्मत सभापति गगनलाई नै बनाउँदा उपयुक्त हुने पार्टीपंक्तिको माग रहेको जिकिर गरे।

    उनी भन्छन्, ‘विमलेन्द्र निधि दाइले सर्मसम्मत सभापति छानौँ भन्ने प्रस्ताव ल्याउनुभएको छ, त्यसलाई सकारात्मक रूपमा लिनुपर्छ, अहिलेको माग अनुसार नेतृत्व हस्तान्तरणको राम्रो सन्देश जाने भएकाले सभापतिले पनि युवा पुस्ता गगनजीलाई नेतृत्व दिन सकारात्मक हुनुपर्छ भन्ने हाम्रो बुझाइ हो, हुनुहुन्छ होला पनि।’

    गगनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्मा, युवा नेता प्रदीप पौडेलसहित युवा नेताहरूको साथ छ। गगनकै अगुवाइमा विशेष महाधिवेशनको लागि हस्ताक्षर संकलन गर्दा ५४ प्रतिगत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गर्न सफल भएका थिए।

    १४ औँ महाधिवेशनमा देउवाको प्यानलबाट जितेका सहमहामन्त्री फरमुल्लाह मन्सुरले गगन थापालाई सभापति र अबको प्रधानमन्त्री प्रस्ताव गरेर पार्टी चुनावमा जानुपर्ने बताएका थिए।

    केन्द्रीय समितिको बैठकमै भनेका उनले भनेका थिए, ‘म कुरा लुकाउने मानिस होइन। गगन थापा सभापति र प्रधानमन्त्री भए राम्रो हुन्छ भनेर मानिसहरूले भनेका छन्। उनी १४ औँ महाधिवेशनमा पनि धेरै मतसहित महामन्त्री जितेका हुन्। अहिले उनकै पहलमा ५४ प्रतिशतले विशेष महाधिवेशन गर्न हस्ताक्षर पनि गरेको अवस्था छ। त्यसैले आउने चुनावमा गगन थापालाई प्रधानमन्त्री उम्मेदवार र सभापति बनाएर नयाँ नेताको नेतृत्वमा प्रतिनिधि सभा चुनावमा पार्टी जानुपर्छ।’ गगनले स्वंयमले पनि आगामी महाधिवेशनमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन्।

    नयाँ समीकरणको संकेत

    कांग्रेसमा देउवा नेतृत्वमा नदोहोरिने निश्चित भएपछि समीकरणमा उलटफेर आउने संकेत देखिएको छ। संस्थापन पक्षका नेताहरू मात्रै नभई १४ औँ महाधिवेशनमा एउटै टिममा रहेका शेखर र गगन थापा पनि अलग हुने सम्भावना बढेको छ। उनीहरूले दुवैले आआफ्नै तयारी गरिरहेका छन्।

    नेता डा. शशांक कोइरालाले १५ औँ महाधिवेशनमा आफू र शेखर कोइरालामध्ये एक जना सभापतिको उम्मेदवार हुने बताएका छन्। चितवन पुगेका कोइरालाले शेखरसँग आफ्नो कुरा भइरहेको बताए।

    उनले भने, ‘सभापतिका लागि लड्ने भनेको थिएँ। शेखर दाइ पनि इच्छुक हुनुहुन्छ। कुरा भइरहेको छ। दुई जनामध्ये एक जना लड्छौँ।’ उनले विगतमा कुरा नमिलेको भएपनि अहिले मिलेको र दाजुभाइ एक ठाउँमा उभिनुपर्ने निष्कर्ष निकालेको बताए।

    आजै मात्रै पनि शेखर कोइरालानिकट नेताहरूको बेग्लै भेला बसेको थियो। बैठकमा सहभागी ती नेताले भने, ‘आज पनि शेखर दाइको टिमको बैठक बसेको थियो। शेखर दाइलाई सभापति र गगनलाई पनि सँगै लिएर जानुपर्छ भनेर निष्कर्ष निकालेका छौँ। छलफल जारी छ।’

    भेला कोइरालासहित सहमहामन्त्रीद्वय जीवन परियार, बद्री पाण्डे, नेता गुरुराज घिमिरे, केन्द्रीय सदस्य गोविन्द्र पोखरेलसहित एक दर्जन नेताहरू सहभागी थिए।

  • दुई वर्षपछि स्टेजमा फर्किए प्रकाश सपूत

    दुई वर्षपछि स्टेजमा फर्किए प्रकाश सपूत

    काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपूत दुई वर्षपछि स्टेज शोमा फर्किएका छन् । गत शनिवार दाङ र सोमबार कपिलवस्तुमा सांगितिक प्रस्तुति दिएसँगै उनी स्टेजमा फर्किएका छन् । अब भोलि सुनवल महोत्सव, त्यसपछि कपिलवस्तु महोत्सव र त्यसपछि सुदूरपश्चिम महोत्सवमा प्रस्तुति दिनेछन् । यो बीचमा आफूले दर्शकहरूलाई निक्कै सम्झिएभन्दै भावुक स्टाटस समेत लेखेका छन् ।

    ‘ओहो, दुई वर्ष भएछ । दुई हिउँद यसै बितिगएछ । यो बीचमा तपाईंहरुलाई निकै सम्झिएँ । देशैभरिका सहर, गाउँघर सम्झिएँ । पारिलो घाममा रंगीचंगी कपडा लगाएर हँसिलो मुहारसहित आउने तपाईंहरुलाई सम्झिएँ । यात्रा सम्झिएँ । यात्राका दुःख, सुख सम्झिएँ,’ केही दिनअघि सपूतले लेखेका थिए, ‘यात्राका घुम्तीहरूमा भेटिने स–साना चिया नास्ता सम्झिएँ । हाइवे छेउमै छाप्रो होटलका मीठा खानाहरू सम्झिएँ । हाम्रोतिर कहिले आउनुहुन्छ भनेको सम्झिएँ । गीतमा सँगै रोएको, हाँसेको र नाचेको सम्झिएँ । अब यसरी सम्झिएरै बस्नुभन्दा यो वर्ष तपाईंहरुलाई भेट्नै आउने निधो गरेँ ।’

    बितेको दुई वर्ष गायकको रूपमा स्थापित भएका सपूत चलचित्रहरूमा व्यस्त भए । ‘परदेशी २’, ‘पूर्णबहादुरको सारंगी’, ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’, ‘सोल्टिनी’ लगायत चलचित्रमा अभिनेताको रूपमा देखिए । ‘वसन्त’ चलचित्रमा अभिनयको अलावा निर्देशन पनि गरे । अहिले पुनः स्टेजमा फर्किएका छन् । उनका ‘मिरमिरे’ र ‘परालको आगो’ चलचित्र प्रदर्शनको तयारीमा छन् ।

  • बूढानीलकण्ठ नगरपालिकाले मनायो स्थापना दिवस

    बूढानीलकण्ठ नगरपालिकाले मनायो स्थापना दिवस

    काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाको १२औँ स्थापना दिवस मनाइएको छ । मंगलबार हात्तीगाँडास्थित शुभकामना आदान प्रदान कार्यक्रममा मेयर मिठाराम अधिकारी, बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापालगायतको उपस्थिति थियो ।

    कार्यक्रममा राष्ट्रिय दलित आयोगका सदस्य माननीय सुन्दर पुर्कोटी, जिल्ला समन्वय समिति काठमाडौँकी उपप्रमुख शान्ति पाण्डे, नगर उपप्रमुख अनिता लामा, प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तोला, पूर्व नगर प्रमुख उद्धव खरेल, पूर्व माननीय नुच्छे नारायण, पूर्व प्रमुख प्रशासकीय अधिकृत भुवनेश्वर लामिछाने, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका अधिकारी, कर्मचारी, शिक्षक, विद्यार्थी तथा स्थानीयवासीहरू पनि कार्यक्रममा सहभागी थिए ।

    नगर प्रवक्ता नवराज भट्टराईका अनुसार उपमेयर लामाले स्वागत मन्तव्य प्रस्तुत गर्दै नगरपालिकाले शिक्षा, स्वास्थ्य तथा सेवा प्रवाहका क्षेत्रमा पुर्‍याएको प्रगतिबारे प्रकाश पारेकी थिइन् ।

    जुगल नवगुरुकुलका विद्यार्थीहरूले स्वस्तिवाचन तथा बालउद्धार माध्यमिक विद्यालय र गणेश माध्यमिक विद्यालयका विद्यार्थीहरूले आकर्षक सांस्कृतिक प्रस्तुति दिए। विभिन्न विद्यालय, कलाकार तथा स्थानीय समूहहरूले नृत्य, संगीत र सांस्कृतिक प्रस्तुति दिँदा वातावरण उत्साहपूर्ण बनेको थियो ।

    मन्त्री जयराम थापाले बुढानीलकण्ठ नगरपालिका विकासको तीव्र गतिमा अघि बढिरहेको भन्दै खानेपानी समस्याको समाधान स्थानीय सरकार र प्रदेश सरकारको समन्वयमा छिट्टै लागू हुने प्रतिवद्धता जनाए ।

    मेयर अधिकारीले नगरबासीका आवश्यकता, माग र आवाजलाई प्राथमिकतामा राख्दै सुव्यवस्थित, समृद्ध र नागरिकमैत्री नगरपालिका बनाउन निरन्तर काम भइरहेको बताए । उनले स्थानीय तहका सेवाहरूमाथि जनआस्थालाई अझ मजबुत बनाउन प्रतिबद्धता व्यक्त गरे।

    कार्यक्रममा विभिन्न क्षेत्रका सक्रिय व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको थियो ।

  • एनपीएल–२ : विराटनगरले लुम्बिनीलाई दियो १४५ रनको लक्ष्य

    एनपीएल–२ : विराटनगरले लुम्बिनीलाई दियो १४५ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई १४५ रनको लक्ष्य दिएको छ ।

    टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन बनायो ।

    विराटनगरका लागि लोकेश बमले सर्वाधिक ३५ रन बनाए । जर्ज मुन्से ०, फाफ डु प्लेसिस १२, साम हिटलेट २७, नारायण जोशी ५, बसिर अहमद २८, शाहिल पटेन ३ र प्रतिश जिसी ११ रनमा आउट भए । कप्तान सन्दीप लामिछाने ६ र मार्चेन्ट डि लिङ १० रनमा अविजित रहे ।

    बलिङमा शेर मल्ल नायक बने । शेरले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । जेजे स्मिथ, अभिषेश गौतम र रुवेन ट्रम्पलमेनले एकएक विकेट लिए ।

  • एमाले महाधिवेशनको तयारी तीव्र

    एमाले महाधिवेशनको तयारी तीव्र

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको तयारी तीव्र रुपमा अघि बढाइएको छ ।

    महाधिवेशन व्यवस्थापन तयारीका विषयमा आज सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा महासचिव शङ्कर पोखरेलसहितका नेताहरूबीच छलफल भएको छ ।

    छलफलमा उपमहासचिवहरू प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल, सचिवहरू, तोकिएका सङ्गठन विभागका प्रमुखसहित विभागीय प्रमुखहरू, स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य तथा व्यवस्थापन समिति सचिवालयमा रहेका अन्य नेताहरू सहभागी थिए ।

    महाधिवेशनका लागि जिल्ला र प्रवासहरूबाट प्राप्त प्रतिनिधिको सूचीलाई केन्द्रीय सङ्गठन विभागले अन्तिम रूप दिने कार्य गरिरहेको बैठकमा जानकारी गराइएको छ ।

    गत मङ्सिर १३ गते सबै मातहतका कमिटी र जनसङ्गठनमा देखिएका विवाद समाधान भएपछि प्रतिनिधि सूची पूर्णरूपमा केही दिनमै टुङ्गो लाग्ने जनाइएको छ ।

    ओखलढुङ्गा र धनकुटाका विवाद बाहेक अन्यका महाधिवेशन प्रतिनिधिको सूची तयार भइसकेको छ ।

    बैठकपछि उपमहासचिव ज्ञवालीले महाधिवेशनका सबै तयारीहरू उत्साहजनक रूपमा अगाडि बढिरहेको जानकारी दिनुभयो । महाधिवेशनमा करिब दुई हजार चार सय भन्दा बढी प्रतिनिधि सहभागी हुने प्रारम्भिक अनुमान गरिएको छ ।

    देशभरका प्रदेश, जिल्ला, जनसंगठन तथा मोर्चा संगठनहरूबाट चयन हुने प्रतिनिधिहरूले नेतृत्वसम्बन्धी महत्त्वपूर्ण निर्णयमा सहभागी हुनेछन् ।

    महाधिवेशन यही मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीमा हुने कार्यक्रम छ ।

  • मधेश प्रदेशमा नयाँ सरकार गठनको लागि आह्वान

    मधेश प्रदेशमा नयाँ सरकार गठनको लागि आह्वान

    काठमाडौं । मधेश प्रदेशमा नयाँ सरकार गठनको लागि आह्वान भएको छ।

    मुख्यमन्त्री सरोज यादवको राजीनामा स्वीकृत गर्दै शुक्रवारसम्मका लागि समय दिएर नयाँ सरकार गठनको लागि आह्वान गरिएको हो।

    संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई शुक्रवार ५ बजेसम्म दाबी पेश गर्न प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको छ।

    सर्वाेच्चले पनि मुख्यमन्त्रीले विश्वासकाे मत नपाए १६८ (२) अनुरूप नयाँ सरकार गठनकाे प्रक्रिया थाल्न आदेश दिएकाे थियाे ।