Blog

  • अध्यादेशपछि नेकपाको विवाद वारपारको चरणमा

    अध्यादेशपछि नेकपाको विवाद वारपारको चरणमा

    काठमाडौं । पार्टी फुटको सँघारमा रहेकै बेला सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि नेकपाको संकट अझ गहिरिएको छ । राष्ट्रपतिबाट अध्यादेश जारी भए लगत्तै अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बसेको ५ जना सचिवालय सदस्यको अनौपचारिक बैठकमा पार्टी बिभाजनको सम्भावनाको आँकलन समेत भएको छ ।

    अध्यादेश जारी भए लगत्तै प्रचण्डले आफू पक्षधर सचिवालय सदस्यहरुलाई खुमलटारमा बोलाएका थिए । त्यसअघिनै प्रचण्ड,माधव नेपाल,झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ लगायत प्रचण्ड पक्षधर नेताहरुले अध्यादेश खारेजीको माग गरिसकेका थिए ।

    बुधवार बस्ने स्थायी कमिटी बैठकमा यहि विषयमा छलफल हुने र सरकारलाई बैठकबाट निर्देशन दिनेबारे छलफल भएको एक नेताले बताए । प्रधानमन्त्रीले यसअघि वैशाखमा जस्तै अध्यादेश फिर्ता नलिए स्थायी कमिटी बैठकबाटै पहिलो बरियताका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध गम्भिर निर्णय गर्नुपर्ने हुनसक्ने ती नेताको भनाइ छ ।

    यता प्रधानमन्त्री ओलीले पनि स्थायी आफ्नो ‘पोजिशन’ कस्तै लगेका छन् । विपक्षी दलका नेता शेरवहादुर देउवाले विहानै ओलीलाई अध्यादेश नल्याउन भनेका थिए । तर प्रचण्डले सभामुखलाई बैठकमा सहभागी हुनबाट रोकेर आफूविरुद्ध अन्तिम लडाइ खेलेको महशुस गरेका ओलीले सटाकसुटुक अध्यादेश जारी गराए ।

    अध्यादेश जारी भएपछि संवैधानिक परिषद् बैठक राखेर प्रधानमन्त्रीले बिभिन्न संवैधानिक पदका नियुक्तिका लागि सिफारिस हुने व्यक्तिको बारेमा छलफल समेत गराएका थिए । बैठक लगत्तै राष्ट्रपति भेट्न शीतल निवास पुगेका प्रधानमन्त्रीको अबको कदम के हुन्छ भन्ने धेरैमा कौतुहल छ ।

    नेकपा करीव आठ महिनादेखि पिलो जस्तो भएर बसेको नेकपाको विवाद अब फुट्ने चरणमा पुगेको छ । प्रधानमन्त्रीको पछिल्लो कदमपछि नेकपामा अन्तिम लडाइ शुरु भएको बुझ्न सकिन्छ । बुधवारको स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको सहभागिता निश्चित छैन ।

    प्रधानमन्त्री निकट स्रोतले भन्यो–ढिलोचाँडो फुट्नेनै हो । एकपटक राजनीति फेरि कन्फ्रन्टेशनतर्फ जाने परिस्थिति निर्माण भइरहेको थियो । प्रधानमन्त्रीले सबै परिस्थितिको सामना गर्ने सोच बनाएको जस्तो देखिन्छ ।

    अब नेकपामा सहमतिको सम्भावना कम देखिएको छ । प्रचण्ड र माधव नेपाल पक्ष प्रधानमन्त्रीमाथि पार्टी कमिटीको बहुमतको बलमा एक्सन लिने तयारीमा अघि बढेका छन् भने प्रधानमन्त्री पनि आफूसँग भएका सबै विकल्प प्रयोग गर्ने तयारीमा छन् ।

  • सिंगो सगरमाथा चीनले दाबी गर्दा माओसँग बीपीको त्यो अडान

    सिंगो सगरमाथा चीनले दाबी गर्दा माओसँग बीपीको त्यो अडान

    इटहरी । गत मंगलबार (मंसीर २२ गते) नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको उँचाइ सार्वजनिक गरे ।

    सात दशक अगाडि सन् १९५० को दशकमा स्थापित ८८४८ मिटर उँचाइ भन्दा ०.८६ मिटर अग्लियो सगरमाथा । यो उँचाइ मापन दुई कोणमा धेरै महत्वपूर्ण थियो । एक, सगरमाथालाइ सीमा बनाएका नेपाल र चीन दुवैले इतिहासमा पहिलोपटक एकै उँचाइमा सहमति भएर सार्वजनिक गरे । दुइ, सगरमाथाको देश नेपालले विश्वमा पहिलोपटक सर्वेयरहरुलाइ चुचुरोमै पुर्याएर सगरमाथाको सफल मापन गर्यो ।

    नेपाल र चीनले सगरमाथाको उचाइ संयुक्त रुपमा सार्वजनिक गरेपछि नेपाली सामाजीक संजालहरुमा एक प्रश्न आयोः सगरमाथा नेपालको तर किन चिनसँग मिलेर सार्वजनिक गरेको उचाइ ? तर, खासमा नेपाल र चिनको सिमाना हो सगरमाथा । दुइतर्फबाटै सगरमाथा आरोहण हुन्छ ।

    अझ प्रथम सगरमाथा आरोहणको प्रयास भने चिनतर्फबाटै भएको हो । जुन सन १९२१ मा बेलायती आरोहि जर्म मेलोरीले गरेका थिए । प्रथम सफल आरोहण भने नेपालतर्फबाट सन १९५३ को मे २९ मा भएको थियो । नेपालमा जन्मिएका तेन्जीङ र न्यूजिल्यान्डका एडमन्ड हिलारीले उक्त ऐतिहाँसिक सफलता पाएका थिए ।

    सगरमाथाः आरोहण पैले अनि मात्रै सिमा निर्धारण

    सगरमाथा बारेमा रोचक कुरा चै जतिबेला सगरमाथाको सफल आरोहण भयो त्यतिबेला नेपाल र चिनको औपचारिक कुटनैतिक सम्बन्ध समेत स्थापना भएको थिएन ।

    सगरमाथा आरोहणको दुइ बर्षपछि मात्रै सन १९५५ को अगस्ट १ मा नेपाल र चिनको औपचारिक रुपमा कुटनैतिक सम्बन्ध स्थापना भयो । दुवै देशबाट आरोहण भएको तथा दुवै देशमा आफ्नो–आफ्नो नाम र महत्व भएको सगरमाथा कताको हो भन्नेमा टुंगो भने कुटनैतिक सम्बन्धपछि पनि भएको थिएन । जसको बहस नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको चिन भ्रमणताका मात्रै नेतृत्व तहमा भएको थियो ।

    सगरमाथामा नेपालको स्वामित्व राख्न बीपीको त्यो ऐतिहाँसिक अडान

    बीपी कोइराला २०१६ जेठ १३ मा प्रधानमन्त्री बने । १८ महिना १८ दिन सम्म चलेको उनको कार्यकाल २०१७ पुष १ गते सम्म रह्यो । यहि कालमा उनले गरेका धेरै कुटनैतिक कामहरुमा एक महत्वपुर्ण काम हो सगरमाथा नेपालको हो भनेर चीनसँग दाबा गर्नु । यो दाबा उनले कुनै पत्रकार सम्मेलन गरेर वा लेख लेखेर अप्रत्यक्ष रुपमा गरेका थिएनन । उनले चिनका नेता माओसँगै भेटेर दाबा गरेका थिए ।

    कुरा २०१६ चैत्र ५ (सन १९६० मार्च १८) को हो । त्यो दिन चिन भ्रमणमा रहेका तत्कालिन प्रधानमन्त्री बीपीले तत्कालिन चिनियाँ प्रधानमन्त्री चाओएन लाइपछि माओलाइ भेटेर सगरमाथा बारेमा आफ्नो प्रष्ट कुरा राखे । चिनमा चोमालोङ्मा र नेपालमा सगरमाथा भनेर चिनिने विश्वको सर्वोच्च शिखरलाइ दुवै देशले पुरा भाग आफ्नो भनेर दाबा गरेका थिए ।

    कति सम्म भने चिनियाँ प्रधानमन्त्री चाओएन लाइले त सगरमाथा नेपालको हुँदै हैन भनेर विपीसँगको वार्तामा भनेका थिए । विपीले त्यो कुरामा आपत्ति जनाएर माओसँग कुरा गरेका थिए । किनभने माओ प्रधानमन्त्री र राष्ट्रपति नभएपनि चिनका सबैभन्दा शक्तिशाली नेता थिए । उनीसँग विपीले सगरमाथा बारेमा प्रष्ट कुरा राखे ।

    २०१६ चैत २२ मा चिन भ्रमण सकेर नेपाल फर्केपछि बीपीले पत्रकार सम्मेलन गरेरै नेपाल र चिनको सगरमाथा सकसको कुरा सार्वजनिक गरेका थिए । जगत नेपालको पुस्तक ‘पहिलो संसद’मा उल्लेख भए अनुसार बीपीले प्रधानमन्त्री निवाशमै पत्रकार सम्मेलन गरेका थिए । पत्रकार सम्मेलनमा बीपीले सगरमाथा चिनले आफ्नो सिमामा पर्छ भनेर दाबि गरेको बताउदै भनेका थिए, ‘तर हामीले सगरमाथा हाम्रो हो भनेका छौँ । संयुक्त सिमा समितिबाट यसको टुंगो लगाउनुपर्छ ।’

    बीपीले पत्रकार सम्मेलनमा भनेकै कुरा माओको पुस्तक ‘अन डिप्लोमेसि’मा समेत उल्लेख छ । सन १९९८ मा छापिएको उक्त पुस्तकमा उल्लेख भए अनुसार माओसँग विपीले राखेका सगरमाथाको कुरा यस्तो थियोः

    विपीः त्यहाँ अर्को प्रश्न छ । एक भावनात्मक प्रश्न । हामी यसलाइ सगरमाथा भन्छौँ । तपाइ झोमोलोङ्मा भन्नु हुन्छ । पश्चिमाहरु माउन्ट एभरेष्ट भन्छन । यो क्षेत्र सधै नेपालको भुभाग भित्र पर्छ । तर प्रधानमन्त्री चाउएनलाइले यो चिनभित्र पर्छ भन्नु भयो ।

    माओः यसमा तपाँइले असहज मान्नु हुँदैन ।

    विपीः यो भावनात्मक प्रश्न हो ।

    माओः यसलाइ आधा आधा गरेर समाधान गर्न सकिन्छ । दक्षिणि भाग तपाँइको । उत्तरी भाग हाम्रो ।

    विपीः अनि चुचुरो चै के गर्नु?

    माओः त्यो पनि आधा आधा । यसो गरे कसो हुन्छ? यदि यो समाधान गर्न सकिदैन भने पछिको लागी सार्न सकिन्छ । हिमाल धेरै अग्लो छ र यसले हाम्रो सिमा सुरक्षा गर्न सक्छ । हामी दुवैले पनि कुनै घाटा बेहोर्नु पर्दैन । यदि सबै सगरमाथा तपाँइलाइ दिए भावनात्मक रुपमा हामीलाइ दुःख हुन्छ । यदि सबै हामीलाइ दिए भावनात्मक रुपमा तपाँइलाइ दुःख हुन्छ । हामीले सिमा रेखा चुचुरोमा राख्न सक्छौँ । हिमालको नाम नयाँ राखौँ । माउन्ट एभरेस्ट त पश्चिमाहरुले दिएको नाम हो । यसलाइ सगरमाथा पनि नभनौँ । चोमोलोङ्मा पनि नभनौँ । यसलाइ नेपाल चिन मैत्र हिमाल भनौँ ।

    विपीः ठिकै छ ।

    बीपी माओकै संवादको लाइनमा सगरमाथा सेटलमेन्ट
    सन १९६० मार्च १८ (२०१६ चैत्र ५) मा बीपी र माओले गरेको सगरमाथा संवादकै लाइनमा सगरमाथाको सेटलमेन्ट भएको देखिन्छ । बीपीको भ्रमणमा सगरमाथाको बिषय थाति राखेर नेपाल चिन सिमा सहमति सन १९६० मार्च २१ मा भएको थियो ।
    बीपी माओको सगरमाथा कुराकानी भएको करिब दुइ बर्षपछि २०१८ साल असोज १९ (सन १९६१ अक्टोबर ५) गते नेपाल–चिन सिमा सम्झौता भयो । सम्झौताको धारा १ को उपधारा ११ मा सगरमाथाको चुचुरोहुँदै दक्षिणि भाग नेपालको र उत्तरी भाग चिनको भन्ने उल्लेख भयो । सन १९६५ मे ३० मा अमेरिकि स्टेट डिपार्टमेन्टले गरेको नेपाल चिन सिमा अध्ययन प्रतिवेदनमा समेत उक्त कुरा उल्लेख गरिएको छ । र, आजसम्म सगरमाथाको साझा सेटलमेन्ट सोहि कोणमा भएको छ ।

  • संक्रमित घटेपछि कोभिड अस्पतालका बेड खाली हुँदै

    संक्रमित घटेपछि कोभिड अस्पतालका बेड खाली हुँदै

    काठमाडौं- केही दिन यता नेपालका निजी तथा सरकारी अस्पतालमा कोभिड–१९का बिरामीका लागि छुट्याइएका बेड धमाधम खाली हुँदै गएका छन् । दुई सातायता बिरामीको संख्या पनि क्रमशः घट्दै गइरहेको अस्पतालहरूले जनाएका छन् ।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दुई हप्ताअघिसम्म कोभिडका बिरामीको चाप उत्तिकै थियो । एक महिनाअघि त कोभिडका बिरामीले बेडसमेत पाउन मुस्किल हुने अवस्था थियो । तर, केहीदिन यता अस्पतालमा कोभिडका बिरामी घट्न थालेपछि बेडहरू खाली हुन थालेका छन् ।

    अस्पतालका निर्देशक डा. सागर राज भण्डारीका अनुसार दुई हप्ताअघि ५५ जना संक्रमित उपचाररत थिए । अहिले २९ जना मात्र अस्पतालमा उपचाररत छन् । तर आइसियसुमा राख्नुपर्ने केसहरू भने पहिलेकै तुलनामा छन् । अस्पतालका निर्देशक डा. भण्डारीका अनुसार गम्भीर प्रकृतिका १८ जना बिरामी अस्पतालमा उपचाररत छन् । तीमध्ये अधिकांश वृद्धवृद्धा र दीर्घरोगीहरू छन् ।

    वीर अस्पतालमा कोभिडका बिरामीका लागि १ सय ४० बेड छुट्याएको छ । पहिले बिरामीको चाप बढेर बेडले धान्न नसक्ने स्थिति थियो । तर, केही हप्तायता कोभिडका बिरामीहरू ३० देखि ३५ जनाको हाराहारीमा उपचाररत छन् । अस्पतालका निर्देशक डा. केदार सेन्चुरीका अनुसार आइसियुमा राख्नुपर्ने केस भने घटेको छैन ।

    सरकारी अस्पतालमा मात्र हैन निजी अस्पतालमा पनि कोभिडका बिरामी घटिरहेका छन् । ह्याम्स अस्पतालका अध्यक्ष रामशरण भण्डारीका अनुसार अहिले अस्पतालमा कोरोनाका बिरामी ५० प्रतिशतले घटेका छन् ।

    ‘कोभिडका लागि हामीले ६० बेड छुट्याएका थियौं । पहिले त बेड नै नपाएर बिरामी राख्न नसकिने अवस्था थियो । दुई हप्तायता करिब २५ जना बिरामी छन्,’ अस्पतालका अध्यक्ष भण्डारी भन्छन् ।

    ह्याम्सले पहिले कोभिडको लागि बिरामीको चाप बढ्दा दुई वटा वार्ड छुट्याएको थियो । अहिले संख्या घट्दै गएपछि एउटै वार्डमा कोभिडका बिरामीको उपचार गर्ने गरिएको छ । अस्पतालको आइसियुमा १९ जना कोभिडमा बिरामी छन् । अध्यक्ष भण्डारीका अनुसार पहिलेको तथ्यांकको तुलनामा अहिले आइसियु केस ३० प्रतिशतले घटेको हो ।

    ‘पहिले आइसियु बेड चाहियो भनेर निकै फोन आउँथ्यो । केही दिन यता आइसियु चाहिने बिरामीहरूको कल समेत ९० प्रतिशत घटेको छ,’ अस्पतालका अध्यक्ष भण्डारी भन्छन् ।

    ‘संक्रमित घटेसँगै खाली भए बेड’

    नेपालमा कोरोना संक्रमितहरूको संख्या घटेसँगै अस्पतालमा बिरामीको संख्या घटेको विज्ञ तथा चिकित्सकहरूको दाबी छ । बितेको २४ घण्टामा ९ सय ३६ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा छ । जबकि कुनै समय ८ हजार भन्दा बढी नयाँ संक्रमित एकै दिनमा भेटिएका थिए ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पहिले परीक्षण गरिएको मध्ये २५ प्रतिशत भन्दा बढी नयाँ संक्रमित भेटिन्थे । तर, अहिले १५ प्रतिशत मात्र नयाँ संक्रमित भेटिने गरेका छन् । यो अनुपातलाई आधार मान्दा संक्रमण घटेको डा. गौतमको दाबी छ ।

    ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि पहिले परीक्षण गरिएका मध्ये ४२ प्रतिशतलाई कोरोना पोजेटिभ देखिन्थ्यो । अहिले करिब ३० प्रतिशत भन्दा कमलाई पोजेटिभ देखिने निर्देशक डा सागर राज भण्डारी बताउँछन् ।

    वीर अस्पतालमा कोभिडको आशंकामा परीक्षण गर्न आउनेको दैनिक संख्या नै ५ सयको हाराहारीमा हुन्थ्यो । अहिले परीक्षण गर्नेको दैनिक ८० देखि ९० सम्म मात्र हुने निर्देशक डा. केदार सेन्चुरी बताउँछन् ।

    दसैं तिहारपछि संक्रमण झन् बढ्न भन्ने विज्ञहरूको आँकलन थियो । तर, संक्रमतिहरू घट्दै जाँदा आँकलनहरू गलत भएको जनस्वास्थ्य वैज्ञानिक डा. समीरमणि दीक्षित बताउँछन् ।

    उनी भन्छन्, ‘जाडोमा झनै बढ्छ भन्ने आँकलन थियो तर बढेन । मृत्युदर पनि कम भयो । वर्षौं पुरानाको रोग त हामी बल्ल बुझ्दैछौं । यो भर्खर एक वर्ष भयो । त्यसैले धेरै आँकलन गलत भएका छन् ।’

    परीक्षण घटे र संक्रमित घरमै बस्न थाले

    कोरोनाका बिरामी अस्पतालनै जान छाडेपछि बेडहरू खाली हुँदै गएको कतिपय विज्ञको बुझाइ छ । यससँगै परीक्षण गराउन जानेहरूको संख्यामा पनि कमी आएको विज्ञहरू बताउँछन् ।

    जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे अहिले मानिसहरू परीक्षण गर्न जानै छाडेको बताउँछन् । ‘मानिसहरूले परीक्षण गर्न जान छाडे । अस्पतालहरूले कोभिडका बिरामीलाई धरौटी नलिई भर्ना नगर्ने भएपछि सामान्य नागरिकहरूले कि त परीक्षण नगर्ने कि त घरमै बसेर आराम गर्न थाले,’ डा. पाण्डे भन्छन् ।

    सरकारले गर्ने कोरोना परीक्षणको दर निकै कम भएर पनि संक्रमित कम भएका उनको दाबी छ । ‘अहिले सीमित मान्छेले मात्र परीक्षण गरिरहेका छन् । विदेशबाट आएका वा जानुपर्ने अवस्थाका मानिसले मात्र परीक्षण गर्ने गरेका छन्,’ डा. पाण्डे भन्छन् ।

    मन्त्रालयका प्रवक्ता डा. गौतम आवश्यकताअनुसार परीक्षण घटाएको स्वीकार गर्छन् । ‘अहिले अनावश्यक परीक्षण घटाएको हो । बिरामीको संख्या घटेपछि परीक्षण पनि घटाइएको हो,’ डा गौतम भन्छन् । उनका अनुसार अहिले दैनिक ५ हजारको हाराहारीमा परीक्षण गर्ने गरिएको छ ।

    गम्भीर बिरामी घरमै बस्दा संकट

    गम्भीर प्रकृतिकाख बिरामी पनि अक्सिजन लिएर घरमै बस्दा झन् संकट थपिएको ह्याम्सका अध्यक्ष रामशरण भन्डारी बताउँछन् । ‘घरमै अक्सिजन लिएर बस्ने ट्रेनका कारण अहिले अन्तिम अवस्थामा मात्र बिरामी आउने गरेका छन् । अहिले अक्सिजन लेभल घट्दै गर्दा पनि घरमै बस्ने गरेका रहेछन्,’ उनी भन्छन्, ‘अक्सिजन लिएर घरमै बसेकाहरू अन्तिम चरणमा अस्पतालमा मृत्युवरण गर्नुपरेको छ।’

    अहिले यस्तो किसिमको केस दैनिक बढ्दै गएको उनी सुनाउँछन् । उनका अनुसार अक्सिजन घटिसकेपछि घरमै बस्नु एकदमै खतरा हो । ९२ भन्दा तल अक्सिजन आयो भने तुरुन्तै अस्पताल नगइ घरमै लिएर बस्यो भने त्यसले ठूलो दुर्घटना निम्त्याउने भण्डारीको दाबी छ ।

    परीक्षण नबढाए खतरा बढ्न सक्छ

    जनस्वास्थ्य वैज्ञानिक डा. समीरमणि दीक्षित अस्पताल आउने मान्छे कम भयो भनेर ढुक्क भएर बस्नु गलत भएको बताउँछन् । यो बेलामा संक्रमण घटे भनेर परीक्षण पनि घटाउनाले झनै खतरा निम्तने उनको दाबी छ ।

    ‘अस्पताल र ल्याबमा मान्छे नआए पनि समुदायमा जानुपर्ने हो । राज्य समुदायमा खोज्दै जानुपर्छ । हामीसँग विकल्प भनेकै परीक्षण छ । ५ हजार परीक्षण गरेर यथार्थ पाउँदैनौ । हामी संक्रमणमुक्त भएका भने छैनौं,’ डा. दीक्षित भन्छन्, ‘एउटै मात्र व्यक्ति संक्रमित हुनु भनेको उसले ३ देखि १२ जनालाई समाजमा सार्न सक्छ ।’

    पछिल्लो समय विवाह भोज र पार्टीहरूको आन्दोलनले संक्रमण बढाउन सक्नेउनको चिन्ता छ । जनस्वास्थ्यविद् डा. पाण्डे पनि संक्रमण घट्यो भनेर खुसी हुनुपर्ने अवस्था नभएको बताउँछन् । ‘अहिले घटिरहेको छ भनेर हामीले ध्यान दिन छाडिरहेका छौं । झन् सजग हुने बेला आएको छ । यो बेला हामीले ख्याल राखेनौं भने दोस्रो लहर आउन सक्छ,’ उनी भन्छन् ।

  • संवैधानिक परिषद् बैठक सम्पन्न, प्रधानमन्त्री शीतलनिवासमा

    संवैधानिक परिषद् बैठक सम्पन्न, प्रधानमन्त्री शीतलनिवासमा

    काठमाडौं । संवैधानिक परिषद्को बैठक सम्पन्न भएको छ ।

    बैठकको निर्णयबारे केही जानकारी दिइएको छैन । तीन जना उपस्थित भएको बैठकले विभिन्न संवैधानिक अंगका पदाधिकारीहरुको नियुक्तिको सिफारिश माथि छलफल गरेको छ ।

    बैठक लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास गएका छन् ।

  • ‘संवैधानिक परिषद्लाई व्यक्तिको बन्धक बन्न नदिन अध्यादेश’

    ‘संवैधानिक परिषद्लाई व्यक्तिको बन्धक बन्न नदिन अध्यादेश’

    काठमाडौं । संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको आफ्नै पार्टीभित्र र विपक्षी दलबाट समेत बिरोध भइरहेका बेला सरकारले भने अध्यादेशको औचित्य पुष्टि गर्न खोजेको छ ।

    गणपुरक संख्या नपुगेर कहिल्यै बैठक बस्न नसक्ने र संवैधानिक अंगहरु लामो समयदेखि रिक्त रहने अवस्थाले गर्दा अध्यादेश आवश्यक परेको उपप्रधानमन्त्री ईश्वर पोखरेलले बताए ।

    कहिले को व्यक्ति,कहिले को अनुपस्थित हुने र कामै गर्न नसकिने परिस्थिति बनेपछि सरकारसँग अध्यादेश ल्याएर संवैधानिक परिषद्को काम सुचारु गर्नुको विकल्प नरहेको पोखरेलले बताए । नेपाल प्रेससँग कुरा गर्दै उपप्रधानमन्त्री पोखरेलले परिषद्लाई बन्धक बनाएर राख्न नमिल्ने बताउ ।

    उपप्रधानमन्त्री पोखरेलले भने–१० महिनादेखि एउटा एउटा व्यक्तिका कारण परिषद् बैठक बस्न नसकेर संविधान कार्यन्वयनमै समस्या आइसक्यो । त्यहि बाधा फुकाउन अध्यादेश ल्याइएको हो । यसबाट केही बिग्रेको छैन ।

    यस्तै उनले सरकार तथा राज्य सन्चालनमा निरन्तर अवरोध र अनिर्णयको बन्दी बनाइरहने दुस्प्रयासका बिरुद्ध संविधानलेनै गरेको व्यवस्थामा टेकेर अध्यादेश जारी गरिएको बताए । अध्यादेश जारी गरेर संविधानलाई गतिशील बनाउन खोजिएको उनकाे भनाइ छ ।

  • यस्ता छन् सहरी विकासमन्त्रीका दुई महिने योजना

    यस्ता छन् सहरी विकासमन्त्रीका दुई महिने योजना

    काठमाडौं- सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आफ्ना योजना व्यवस्थित बनाएर विकास निर्माणको कामलाई तिव्रता दिने प्रतिबद्धता जनाएका छन् ।

    मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूले अनुगमन गरेका सबै विकास निर्माणको काम तोकिएकै समयमा सम्पन्न हुने विश्वास दिलाए । ‘माघ मशान्तसम्म गोदाबरीको हल निर्माण सम्पन्न हुनेछ, धोबीखोला करिडोरको बिजुलीबजारको पुलको अन्डरपास तयार भएर सञ्चालनमा आउनेछ,’ मन्त्री श्रेष्ठले भने ।

    उनले दुई महिनाभित्र वीर अस्पतालको ५ सय क्षमताको बेडसहितको कोभिड संक्रमितको उपचार व्यवस्था गर्न लागिएको बताए ।

    सम्मेलनमा मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले दुई महिनाको अवधिमा मन्त्रालय र सो अन्तर्गतका निकायहरूबाट सम्पन्न भएका र आगामी दुई महिनाभित्र सम्पन्न गर्ने मु्ख्य कार्यहरूबारे जानकारी दिएका थिए ।

    दुई महिना अवधिमा मन्त्रालयले बञ्चरे डाँडामा फोहोर व्यवस्थापन गर्ने, देशभरका नगरपालिकाहरूको फोहोरमैलाको आधुनिक प्रविधिमार्फत् व्यवस्थापनका लागि विज्ञ प्राविधिकको संयोजकत्वमा उच्चस्तरीय टोली गठन गर्ने योजना सुनाइएको थियो ।

    मन्त्रालयको पहलमा ३ हजार २ सय ५५ फुसको छाना विस्थापित गरी जस्तापाताले छाना छाउने कार्य सम्पन्न यही बीचमा सम्पन्न भएको थियो । त्यसैगरी प्रधानमन्त्री निवास परिसरमा एमआई सत्र हेलिकोप्टर अवतरण गर्न सक्ने गरी हेलीप्याड तयार भई सञ्चालनमा रहेको कार्यप्रगति प्रवकक्ता दवाडीले सुनाएका थिए । भूकम्पप्रतिरोधी भवनहरूको निर्माण गर्न भवन संहिता १०५ (एनबिसि) लाई परिमार्जन गरी कार्यान्वयनमा ल्याइएको समेत उनले जानकारी दिए ।

    २ महिनाभित्र ३७ हजार ५ सय लाभग्राहीहरू छनोट गर्ने, सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवन, ललितपुर भैंसेपाटीमा निर्माणाधीन प्रदेश प्रमुख तथा मुख्यमन्त्रीका लागि आवास तथा सम्पर्क कार्यालयको निर्माण सम्पन्न गर्ने, बुढानिलकण्ठमा निर्माणाधीन कालिका पार्क, नौलिन भद्रकाली, जगन्नाथ र भूकम्प स्मृति पार्कको निर्माण, ललितपुरको गणशेमान पार्क , देवीस्थान पार्क, फ्रेण्डस कोलोनी पार्क, नागदह पार्क निर्माण सम्पन्न गर्ने लक्ष्य प्रस्तुत गरिएको थियो ।

    निर्माणाधीन सय मिटर उचाईको दमक भ्यू टावरको निर्माण तिव्रता दिने, मोरङको उर्लावारीको लोपोन्मूख सन्थाल जातिको एकीकृत वस्ती विकास कार्यक्रमको कार्ययोजना तयार गरी निर्माण प्रकया अघि बढाइने, देशभित्रका स्वास्थ्य भवन अन्तर्गतका थप १० वटा रुग्ण आयोजनाहरूको व्यवस्थापन गरिने, सहरी सडक मापदण्ड लागू गराउने, सहरी सडकहरूमा समेत साइकल लेन व्यवस्थापन गर्नका लागि गठित प्राविधिक टोलीका सुझाव कार्यान्वयनमा ल्याइने कार्ययोजना प्रस्तुत गरिएको थियो ।

  • बैठक बहिष्कारबारे सभामुख सापकोटाको स्पष्टीकरण

    बैठक बहिष्कारबारे सभामुख सापकोटाको स्पष्टीकरण

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले राज्य संचालनमा दीर्घकालीन महत्व राख्ने निर्णयमा संवैधानिक परिषद्का सदस्यहरुबीच पर्याप्त गृहकार्य र समन्वय हुनुपर्ने बताएका छन् ।

    संवैधानिक परिषद् बैठकमा अनुपस्थित भएर संवैधानिक दायित्व भुलेको आरोप लागेपछि सापकोटाको सचिवालयले विज्ञप्ति जारी गरी सभामुख संवैधानिक दायित्वप्रति सचेत रहेको जनाएको छ ।

    आइतबारको बैठकमा पूर्वनिर्धारित कार्यक्रम अनुसार सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठक स्वयम् सभामुखले अध्यक्षता गर्नु पर्ने भएकोले उपस्थित हुन नसकेको र मंगलबारको बैठकमा प्रधानमन्त्रीलाई जानकारी गराएरै अनुपस्थित भएको प्रेस नोटमा उल्लेख छ ।

    पेस नाेटमा भनिएको छ– जहाँसम्म आज (मंसिर ३० गते) को संवैधानिक परिषद् बैठकमा अनुपस्थित भएको विषय छ, यसमा सम्माननीय सभामुखज्यूले बैठकको पूर्वतयारी, गृहकार्य, आपसी परामर्श र आवश्यक समन्वय अभावका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई जानकारी गराउनुभएको थियो ।

    सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जारी गरेको प्रेस नोटमा संघीय संसदको गरिमा कायम राख्दै संवैधानिक परिषदको मर्यादा र जिम्मेवारीप्रति सभामुख सचेत रहेको उल्लेख छ ।

  • देउवाले बोलाए कांग्रेसका शीर्ष नेताको बैठक

    देउवाले बोलाए कांग्रेसका शीर्ष नेताको बैठक

    काठमाडौं । सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि नेकपाभित्रै प्रचण्ड माधव नेपाल पक्षले आपत्ति जनाइरहेका बेला कांग्रेस सभापति शेरवहादुर देउवाले पार्टीका शीर्ष नेताको बैठक बोलाएका छन् ।

    विहानको संवैधानिक परिषद् बैठकमा सहभागी हुन बालुवाटार पुगेको देउवा अध्यादेश जारी भएपछि साँझको बैठकमा भने बिरोध जनाउँदै सहभागी भएनन् ।

    देउवाले अध्यादेश जारी भएपछिको अवस्थाबारे छलफल गर्न पदाधिकारी र पूर्व पदाधिकारी सहितको शीर्ष नेताको बैठक बुधवार अपरान्ह बस्नेगरि बोलाएको कांग्रेसले जनाएको छ ।

  • संवैधानिक अध्यादेशमा कमल थापाको टिप्पणी- सर्वसत्तावादको ज्वलन्त उदाहरण

    संवैधानिक अध्यादेशमा कमल थापाको टिप्पणी- सर्वसत्तावादको ज्वलन्त उदाहरण

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले संवैधानिक परिषद् सम्बन्धी ‘विवादास्पद अध्यादेश’ ल्याउनु सर्वसत्तावादको ज्वलन्त उदाहरण भएको टिप्पणी गरेका छन्।

    थापाले ट्वीट गर्दै यस कार्यले व्यवस्था असफल भएको प्रमाणित भएको बताएका छन्।

    निहित स्वार्थवका लागि संवैधानिक परिषद् बैठकमा जिम्मेवार पदाधिकारी उपस्थित नहुनु गलत भएको उनले लेखेका छन्।

  • संवैधानिक परिषद्को बैठक शुरु, देउवा र सभामुख अनुपस्थित

    संवैधानिक परिषद्को बैठक शुरु, देउवा र सभामुख अनुपस्थित

    काठमाडौं । संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।

    बैठकमा प्रधानमन्त्री, प्रधानन्यायाधीश र राष्ट्रिय सभाका अध्यक्ष सहभागी भएका छन्। विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित छन् ।

    अध्यादेश अनुसार तीन जनाको उपस्थितिले निर्णय गर्न बाटो खुलेको छ ।

    आजै राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी अध्यादेश २०७७ जारी गरेकी छन् ।

    मन्त्रिपरिषद्को मंगलबारको बैठकले सो अध्यादेश पारित गरी राष्ट्रपतिसमक्ष स्वीकृतिका लागि पठाएको थियो । तर अध्यादेशबारे मन्त्रिपरिषद्मा छलफल नभएको मन्त्रीहरुले बताएका छन् ।

  • माइतीघरमा उखु किसानको प्रदर्शन (फोटो फिचर)

    माइतीघरमा उखु किसानको प्रदर्शन (फोटो फिचर)

    सर्लाहीबाट काठमाडौं आएका उखु किसानले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्। गत वर्ष पुसमा सरकारले उखु किसानसँग गरेको सम्झौता कार्यान्वयन नभएपछि सर्लाहीका उखु किसान पुनः आन्दोलनका लागि आइतबार काठमाडौं आएका छन् ।

  • सिटी स्क्यान खरीद गर्न टिचिङ अस्पताललाई महानगरले अनुदान दिने

    सिटी स्क्यान खरीद गर्न टिचिङ अस्पताललाई महानगरले अनुदान दिने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिवि शिक्षण अस्पताललाई अत्याधुनिक सिटी स्क्यान मिसिन खरीदका लागि आर्थिक अनुदान दिने भएको छ।

    मंगलबार उपप्रधानमन्त्री ईश्वर पोखरेलको उपस्थितिमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य र त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. दिनेश काफ्लेबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

    ७ करोड ५० लाख रुपैयाँ बराबरको अत्याधुनिक सिटी स्क्यान मेसिन खरिद गरिने अस्पतालले जानकारी दिएको छ।

  • यस्तो छ संवैधानिक परिषद् सम्बन्धी अध्यादेश,तीन जनाले निर्णय गर्न सक्ने

    यस्तो छ संवैधानिक परिषद् सम्बन्धी अध्यादेश,तीन जनाले निर्णय गर्न सक्ने

    कठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशले प्रधानमन्त्री सहित तत्काल बहाल रहेका सदस्यको बहुमतबाट निर्णय हुन सक्ने व्यवस्था गरेको छ।

    यसअघि प्रधानमन्त्री बाहेक चार सदस्य हुनुपर्ने व्यवस्था थियो । राजपत्रमा प्रकाशित अध्यादेश अनुसार प्रधानमन्त्री सहित बहुमत सदस्य उपस्थित भएर निर्णय गर्न सक्नेछन् ।

    संवैधानिक परिषदमा प्रधानमन्त्री सहित ६ जना सदस्य रहने संवैधानिक प्रावधान छ ।

    प्रधानमन्त्री अध्यक्ष रहने परिषद्मा प्रधानन्यायाधीश,सभामुख,राष्ट्रियसभाका अध्यक्ष,विपक्षी दलका नेता र उपसभामुख सदस्य रहन्छन् । हाल उपसभामुख पद रिक्त छ । तत्काल बहाल रहेका ५ जनाको बहुमत भन्नाले प्रधानमन्त्री सहित तीन जनाले निर्णय गर्न सक्छन् ।

     

  • कोरोना अपडेट : १४ जनाको मृत्यु ,९३६ संक्रमित थपिए

    कोरोना अपडेट : १४ जनाको मृत्यु ,९३६ संक्रमित थपिए

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट १७३० जनाले ज्यान गुमाइसकेका छन् ।
    यस्तै  आज थप ९३६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ९३६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

    यो सँगै नेपालमा संक्रमितको संख्या दुई लाख ५० हजार १८० पुगेको छ । हालसम्म ९ हजार ८८१ सक्रिय संक्रमित छन् । यस्तै मंगलबारै १९९६ जना कोरोना मुक्त भएर घर फर्केका छन् ।

  • ‘मिसन इम्पोसिबल’ सुटिङ सेटमा खनिए टम क्रुज, कोभिड गाइडलाइन उल्लंघन गर्नेमाथि आक्रोशित

    ‘मिसन इम्पोसिबल’ सुटिङ सेटमा खनिए टम क्रुज, कोभिड गाइडलाइन उल्लंघन गर्नेमाथि आक्रोशित

    हलिउड एक्सन स्टारर टम क्रुज अहिले मिसन इम्पोसिबलको सातौं श्रृंखला छायांकनमा व्यस्त छन् । फिल्म छायांकन यस्तो बेला भैरहेको छ जतिबेला अमेरिका र युरोपमा कोरोना भाइरस महामारी उत्कर्षमा छ ।

    बेलायतस्थित फिल्मको सेटमा हालै एउटा रोचक घट्ना भयो । जहाँ अभिनेता क्रुज कोभिड–१९ गाइडलाइन उल्लंघन गर्ने क्रु मेम्बरमाथि खनिए । भेराइटी म्यागजिनका अनुसार ती दुईजना सदस्यमाथि क्रुज निकै आक्रोशित भए ।

    ती दुईजना सदस्यहरु मास्क बिनै कम्प्युटर स्क्रिन नेर सँगै उभिएका थिए । अनि क्रुजले यो देखेपछि तत्कालै प्रतिक्रिया जनाए : आइन्दा यस्तो देखेँ भने तिमीहरुले फिल्म सुटिङ नै छाड्नुपर्छ ।

    द सन् म्यागजिनले क्रुजले ती उल्लंघनकर्ता क्रु सदस्यहरुलाई गाली गरेको अडियो प्राप्त गरेको छ । जहाँ क्रुजले भनेका छन् : हामी सुनजत्तिकै महंगा छौं । हाम्रै कारणले तिमीहरु हलिउडमा फिल्म गर्न पाइरहेका छौं । किनभने तिनीहरु हामीमाथि विश्वास गर्छन् । मलाई प्रत्येक रातीजसो स्टुडियो, बिमा कम्पनी र निर्माताबाट फोन आउँछ । हामीले हजारौं रोजगारी सिर्जना गरिरहेका छौं । म अब आइन्दा यस्तो हर्कत कहिल्यै हेर्न चाहन्न ।’

    अभिनेता क्रुज सुटिङ सेटमा कोभिड–१९ मापदण्ड पालनालाई लिएर निकै कडा देखिएका छन् । अहिले बेलायतमा कडा लकडाउनकै बीचमा फिल्म छायांकन भैरहेको छ ।

    क्रुज अगाडि भन्छन् : यो कुरा तिनीहरुलाई भन्दिनु जो हाम्रो उद्योग ठप्प हुँदा घरवारविहिन भएका छन् । फिल्म नबन्दा टेबुलमा खाना र बच्चाको कलेज शुल्क पनि उठ्दैन तिमीहरुको । यही कारण म फिल्मको भविष्यसँगै प्रत्येक रात सुत्ने गर्छु । म यो गल्तीका लागि माफी माग्ने पक्षमा छैन ।

    ‘मैले भनिसकेको छु । म यस्तो कुरा दोहोरिएको हेर्न चाहन्न । यदि तिमीहरुले मैले भनेको मान्दैनौं भने काम छोडेर गए हुन्छ । तिमीहरुको गल्तीले फिल्म उद्योगलाई बन्द गर्नु छैन । बुझेऊ ? यदि मैले फेरि यस्तो पारा देखेँ भने, तिमीहरु जान सक्छौ ।’

    मिसन इम्पोसिबलको सातौं सिक्वेलको इटाली सुटिङमा हालै ढिलाइ भएको थियो जतिबेला फिल्मका १२ जना क्रु मेम्बर कोभिड–१९ पजेटिभ पाइएका थिए । त्यसको दुई सातापछि अहिले बेलायतमा सुटिङ सुचारु भएको हो । फिल्मलाई क्रिस्टोफर म्याक्वरीले निर्देशन गर्दैछन् । सन् २०२१ को नोभेम्बर १९ मा फिल्म रिलिज हुँदैछ ।

  • सगरमाथामा छायांकन तयारीमा सेलेना गोमेजको फिल्म

    सगरमाथामा छायांकन तयारीमा सेलेना गोमेजको फिल्म

    सगरमाथा आरोही सिल्भिया भास्केज लाभाडोको जीवनमाथि बन्ने बायोपिक फिल्मलाई सेलेना गोमेजले निर्माण गर्ने भएकी छन् । हलिउड रिपोर्टर म्यागजिनका अनुसार गोमेज उक्त फिल्ममा लेस्बियन पात्रको भूमिकामा आफूलाई प्रस्तुत गर्दैछिन् ।

    पेरुभियन सगरमाथा आरोही लाभाडोको आत्मकथा ‘इन द स्याडो अफ दी माउन्टेन’कै नाममा फिल्म नामाकरण हुनेछ । लाभाडोले सगरमाथासहित सातै महादेशका अग्ला हिमाल चढिसकेकी छिन् । फिल्मलाई सेलेनाको मुन पिक्चर्सले निर्माण गर्ने जनाइएको छ ।

    लाभाडो सगरमाथा चढ्ने पहिलो पेरुभियन महिला हुन् । उनले आफूलाई खुलारुपमै गे महिलाको रुपमा चिनाउने गरेकी छिन् । मायान्स एमसी फेम्ड निर्देशक एवं लेखक एल्गिन जेम्सले फिल्मलाई निर्देशन गर्ने भएका छन् । फिल्म निर्माणमा सेलेनाले अस्कर विजेता डोना गिग्लिवटीसँग टीमअप गर्ने भएकी छिन् ।

    लाभाडोले यौन दुव्र्यहार पीडितको उद्दारमा खट्ने सामाजिक संस्थाको स्थापना पनि गरेकी छिन् । स्रोतका अनुसार उक्त फिल्मको छायांकन नेपालमा गर्ने सम्भावना छ । सेलेना यसअघि युनिसेफको कार्यक्रमको सिलसिलामा नेपाल आएकी थिइन् । त्यसबेला नेपाली संस्कृतिको प्रशंसा गर्दै नेपाल पुनः घुम्ने बताएकी थिइन् ।

    ‘सिल्भिया एउटा बहादुरीको प्रतीक हुन्’ गिग्लिटीले भनिन्, ‘साहस, एड्भेन्चर र मानवताको कथा भन्नको लागि स्कट र सेलेनासँग सहकार्य गर्न पाउँदा म हर्षित छु ।’ सेलेनाले यससँगै निर्माता सन् लेभीसँग हरर फिल्म ‘डल हाउस’ निर्माणमा सहकार्यको घोषणा गरेकी छिन् ।

  • नेकपामा अध्यादेश विवाद, प्रचण्ड निवासमा ओलीविरोधी नेताहरुको बैठक

    नेकपामा अध्यादेश विवाद, प्रचण्ड निवासमा ओलीविरोधी नेताहरुको बैठक

    काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले सत्तारुढ नेकपाको विवाद झन् चर्किएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट अध्यादेश जारी भए लगत्तै कार्यकारी अध्यक्ष प्रचण्डले अध्यादेश खारेजीको माग गरेका छन् ।

    अध्यादेश जारी भए लगत्तै प्रचण्डनिवास खुमलटारमा पाँच सचिवालय सदस्यसहित प्रचण्ड–माधव नेपाल पक्षका प्रभावशाली नेताहरुको बैठक बसिरहेको छ । अबको रणनीतिबारे छलफल गर्न प्रचण्डले आफू पक्षधर नेताहरुको आकस्मिक बैठक बोलाएका हुन् ।

    प्रचण्डको निजी सचिवालयका अनुसार तत्काल बदनीयतपूर्ण ढंगले ल्याइएको अध्यादेश खारेज गरी संसद अधिवेशन बोलाउनुपर्ने बताएका छन् । स्थायी कमिटी बैठकको एक दिनअघि पार्टीको पहिलो बरीयताका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले अध्यादेश ल्याएपछि विभाजन नजिक पुगेको नेकपामा विवाद थपिएको हो ।

    प्रचण्ड–माधव नेपाल पक्षले अध्यादेश खारेजीको एजेण्डा बुधवारको बैठकमा लैजानेछ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यादेशबारे पार्टीलाई जानकारी नभएको बताए ।

    अध्यादेश जारी भएलगत्तै प्रचण्ड–माधव नेपाल पक्षका नेताहरुबीच अबको कदमका बारेमा समेत छलफल भएका छन् । स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्रीको निर्णयले मदन भण्डारीको अपमान  भएकाे बताए ।

    रावलले प्रधानमन्त्रीको कदम अलोकतान्त्रिक र स्वेच्छाचारी भएको भन्दै अध्यादेशले पार्टीलाई थप संकटमा धकेलेको बताए । उनले भोलिका स्थायी कमिटी बैठकमा प्रधानमन्त्री उपस्थित भएर स्पष्टिकरण दिनुपर्ने बताए ।

  • चिसोसँगै क्षयरोगको विरामी बढ्दै

    चिसोसँगै क्षयरोगको विरामी बढ्दै

    मोरङ । नेपालमा क्षयरोग टिबीबाट प्रत्येक वर्ष पाँचदेखि सात हजार मानिसको मृत्यु हुने गरेको छ ।

    नेपाल क्षयरोग निवारण संस्था विराटनगर शाखाका कार्यक्रम संयोजक घनश्याम कोइरालाले जनचेतनाको अभावका कारण र औषधि नियमित सेवन नर्गनाले बर्सेनि सो सङ्ख्यामा मानिसको मृत्यु हुने गरेको जानकारी दिए ।

    अहिले चिसो बढेसँगै क्षयरोगीको सङ्ख्या बढ्न थालेको कोइरालाले जानकारी गराए।

    समयमा उपचार नगराउने, खानपानमा ध्यान नदिने, मानिसमा चेतनाको कमी हुनु र पूरा समय औषधि सेवन नगर्नाले मृत्यु दर र रोगीको सङ्ख्यामा वृद्धि भइरहेको हो ।

    मोरङ जिल्लामा आर्थिक वर्ष २०७५÷७६ मा एक हजार १५० र आव २०७६÷७७ को चैत मसान्तसम्ममा ७४१ रोगी शाखामा उपचारका लागि आएका संयोजक कोइरालाले बताए।

    क्षयरोग सुन्ने बित्तिकै बिरामी शुरुमा आत्तिने र डराउने गरेको, आफूहरुलाई सम्झाउन निकै गाह्रो पर्ने गरेको र धेरै मानिसमा क्षयरोगबारे ज्ञान नभएकाले यस्तो समस्या आउने गरेको छ ।

    क्षयरोग आँखाले देख्न नसकिने सूक्ष्म कीटाणुबाट हुने एक प्रकारको सरुवा रोग हो । एक क्षयरोगीले उपचार नगराउँदा एक वर्षमा १० देखि १५ जनासम्मलाई सो रोग सर्ने सम्भावना हुन्छ ।

    नियमित क्षयरोगीका बिरामीले उपचार र औषधि सेवन गरेमा यो रोग ९१ प्रतिशत निको हुने संयोजक कोइरालाको भनाइ छ । उनले यो रोगबाट भयभित हुन नहुने तर्क गर्दै उपचारमा आएमा निको हुन्छ भने ।

    दुई हप्ता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लागिरहनु क्षयरोगको मुख्य लक्षण हो । ज्वरो आउनु, खान नरुच्नु, छाती दुख्नु र खकारमा रगत देखापर्नु क्षयरोगका लक्षण रहेका छन् । यदि कसैमा यस्ता लक्षणहरु देखापरेमा नजिकको स्वास्थ्य संस्थामा गएर सम्पर्क गर्न संयोजक कोइरालाले आग्रह गरे ।

    क्षयरोगका बिरामीलाई निःशुल्क औषधि वितरण गरिँदै आएको र औषधिको अभाव नरहेको जनाइएको छ । गत आवमा विराटनगर महानगरपालिकामा १८६ जना क्षयरोगी उपचारमा आएका छन् ।

    हालको तथ्याङ्कअनुसार देशभरमा ८० हजारभन्दा बढी क्षयरोगीले उपचार गराइरहेका जानकारी उनले दिए ।

    यस्तै सामान्य क्षयरोगको उपचार नगराउँदा वा नियमित औषधि सेवन नगरेमा यो जीर्ण क्षयरोगमा परिणत हुने गर्छ । यो पनि नियमित उपचार गराएर नियमित औषधि सेवन गरेमा निको हुन्छ । जीर्ण क्षयरोगीले २० देखि २४ महिनासम्म औषधि नियमित खानुपर्ने हुन्छ ।

    जीर्ण क्षयरोगीको उपचार लामो समयसम्म चलिरहने भएकाले क्षयरोग निवारण संस्था विराटनगरले जीर्ण क्षयरोगीका बिरामीलाई डिआर आभासगृहमा राखी उपचार गराउँदै आएको छ ।

    जीर्ण क्षयरोगी ५६ जनामध्ये हाल १५ जना सो गृहमा बसेर आफ्नो उपचार गराउँदै आइरहेका छन् । सो गृहमा उपचार गराइरहेकालाई खाना र खाजाको समेत व्यवस्था गरिएको छ ।
     

  • भीम रावल भन्छन्ः प्रधानमन्त्रीको निर्णयले मदन भण्डारीको अपमान भयो

    भीम रावल भन्छन्ः प्रधानमन्त्रीको निर्णयले मदन भण्डारीको अपमान भयो

    काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा नयाँ विवाद उत्पन्न गरेको छ । पार्टीको स्थायी कमिटी बैठक जारी रहेको बेला पार्टीभित्र छलफल नै नगरी अध्यादेश ल्याइएको भन्दै प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री ओलीको आलोचना गरेका छन् । उनीहरुले जारी स्थायी कमिटी बैठकमा यस विषयमा छलफल हुने र प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले जवाफ दिनुपर्ने बताएका छन् ।

    नेकपा स्थायी कमिटी सदस्य भीम रावलले यो बेला संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउने कदमले स्वर्गीय मदन भण्डारीको योगदान र नेतृत्वको अवमूल्यन भएको टिप्पणी गरेका छन् । नेपाल प्रेससंग कुराकानी गर्दै नेता रावलले अहिले उक्त अध्यादेश ल्याउनुलाई सरकारकाे ‘आपत्तिजनक र स्वेच्छाचारी कदम’  भनेका छन् ।

    ‘संसदको अधिवेशन बोलाउनुपर्ने, नेकपाको स्थायी कमिटीको बैठक जारी रहेको र सडकदेखि पार्टीका बैठकमा समेत सरकार लोकतान्त्रिक मूल्य मान्यताअनुसार चल्नुपर्ने माग भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले जसरी संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याउनुभएको छ, यो अत्यन्तै आपत्तिजनक र स्वेच्छाचारी काम हो’, रावलले भने, ‘म यतिबेला २०४७ सालको संविधान र वर्तमान संविधान निर्माणको बेला सम्झिरहेको छु । संवैधानिक परिषद्का लागि तत्कालीन नेकपा एमालेले निर्वाह गरेको भूमिका र कमरेड मदन भण्डारीको योगदानको समेत अहिले पूरै बेवास्ता भएको छ ।’

    प्रधानमन्त्री ओलीले नै संवैधानिक परिषद्बारे आफैंले अघि सार्नुभएका मान्यताहरुमाथि आज आफैले प्रहार गरेको उनको भनाइ छ ।

    संविधानको मर्म, पार्टीको मान्यता र लोकतन्त्रको मूल्यविपरीत अध्यादेश ल्याइएको भन्दै नेता रावलले अध्यादेश तत्काल खारेज गर्नुपर्ने बताए । ‘यस्तो अध्यादेश खारेज हुनुपर्छ । यसबारे प्रधानमन्त्रीले पार्टीमा जवाफ दिनपर्छ’, नेता रावलले भने ।

    याे पनि पढ्नुहाेस्

    फेरि आयो संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
    सभामुखको ‘बंक’बारे विज्ञ भन्छन्: संवैधानिक दायित्व विपरीत
    अध्यादेशबारे पार्टीलाई जानकारी छैनः नेकपा प्रवक्ता
    संवैधानिक परिषद्ः अध्यादेशप्रति कांग्रेस असन्तुष्ट, देउवा बैठकमा नजाने
  • उखु किसानको रकम भुक्तानी नगर्ने उद्योगीलाई पक्राउ गर्ने

    उखु किसानको रकम भुक्तानी नगर्ने उद्योगीलाई पक्राउ गर्ने

    काठमाडौं । उखु किसानको रकम भुक्तानी नगर्ने चिनी उद्योगीलाई सरकारले पक्राउ गर्ने भएकाे छ ।

    मंगलबार गृहमन्त्रालयमा भएको  बैठकमा उखु किसानको रकम भुक्तानी नदिने उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको हो ।

    बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योगमन्त्री लेखराज भट्ट, कृषिमन्त्री घनश्याम भुसाल, र स‌घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीसमेत सहभागी थिए ।

    गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले मंगलबार मन्त्रालयमा उखुको भुक्तानी नदिने उद्योगीलाई कारबाही गर्ने बारे छलफल भएको बताए ।
    उनले नेपालप्रेसँग भने,‘अब उद्योगीहरु को को छन् त्यसको खोजी गरेर कारबाही गर्ने तयारी गरिराखेको छ ।’

    गत वर्ष पुसमा सरकारले उखु किसानसँग गरेको सम्झौता कार्यान्वयन नभएपछि सर्लाहीका उखु किसान पुनः आन्दोलनका लागि आइतबार काठमाडौं आएका हुन् ।

     

  • ‘चिसो मान्छे’को लिड लेडीमा स्वस्तिमा, १८ लाखमा अनुबन्धित

    ‘चिसो मान्छे’को लिड लेडीमा स्वस्तिमा, १८ लाखमा अनुबन्धित

    दीपेन्द्र के. खनालले निर्देशन गर्ने फिल्म ‘चिसो मान्छे’को लिड लेडीमा स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् । उनी मुख्य भूमिकामा तय भएसँगै उनको जोडी अर्पण थापासँग बाँधिनेछ ।

    यही फिल्मसँगै स्वस्तिमा महंगीमध्येकी अभिनेत्रीको सूचिमा परेकी छिन् । यो सोसल ड्रामामा उनी १८ लाख रुपैयाँ पारिश्रमिकमा अनुबन्धित भएकी निर्माता एवं निर्देशक खनालले पुष्टि गरे । ‘कम्तीमा एकवर्ष अन्यत्र सक्रिय नहुने सर्तमा उक्त पारिश्रमिक दिलाएका हौं’ खनालले भने ।

    माघ अन्त्यदेखि छायांकन सुरु हुने फिल्मलाई आगामी भदौ ११ गते रिलिज गर्ने लक्ष्य राखिएको छ । फिल्मको निर्देशक, छायांकन र पटकथा लेखनलाई दीपेन्द्र स्वयमले सम्हाल्दै छन् । डीएस डिजिटलको ब्यानरमा शर्मिला पाण्डेसँग खनालले सहकार्य गर्दैछन् ।

    लकडाउनपछि सर्वाधिक पारिश्रमिक सम्झौता भएको यो पहिलो हो । उक्त मूल्यमा अनुबन्धित भएसँगै स्वस्तिमा उच्च पारिश्रमिक लिने टप थ्रीको सूचिमा आएकी छिन् । यसअघि ‘पोइ पर्‍यो काले’बाट पूजा शर्माले २० लाख र ‘रातो टीका निधार’मा बाट साम्राज्ञी शाहले १६ लाख रुपैयाँ पारिश्रमिक लिएको चर्चा छ ।

  • अध्यादेशबारे पार्टीलाई जानकारी छैनः नेकपा प्रवक्ता

    अध्यादेशबारे पार्टीलाई जानकारी छैनः नेकपा प्रवक्ता

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्नेबारे पार्टीलाई कुनै जानकारी नभएको बताएका छन् ।

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी गरिएकोमा प्रतिक्रिया दिँदै प्रवक्ता श्रेष्ठले भने– यो प्रधानमन्त्रीजीको व्यक्तिगत निर्णय हो, यसबारे पार्टीमा कुनै छलफल भएको छैन ।

  • सभामुखको ‘बंक’बारे विज्ञ भन्छन्: संवैधानिक दायित्व विपरीत

    सभामुखको ‘बंक’बारे विज्ञ भन्छन्: संवैधानिक दायित्व विपरीत

    काठमाडौं । लगातार दुईपटक संवैधानिक परिषद् बैठक ‘बहिष्कार’ गरेपछि सभामुख अग्निप्रसाद सापकोटाको संवैधानिक भूमिकामाथि विज्ञहरुले प्रश्न उठाएका छन् । प्रधानमन्त्रीले सरसल्लाह नगरी बैठक राखेको भन्दै सापकोटा संवैधानिक परिषद् बैठकमा गएका छैनन् ।

    यसअघि प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित हुँदा दश महिनादेखि संवैधानिक परिषद् बैठक बस्न सकेको थिएन । देउवाले लगातार बहिष्कार गरेपछि गत वैशाखमा सरकारले अध्यादेशमार्फत संवैधानिक परिषद्को बैठकसम्बन्धी कानून नै संशोधन गर्न खोजेको थियो ।

    कानूनअनुसार ६ सदस्यीय संवैधानिक परिषदमा प्रधानमन्त्रीबाहेक चार सदस्य उपस्थित भएमात्र कोरम पुग्ने व्यवस्था छ । परिषदमा प्रधानमन्त्री अध्यक्ष र प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, विपक्षी दलका नेता र उपसभामुख सदस्य रहने संवैधानिक व्यवस्था छ ।

    उपसभामुख पद रिक्त रहेको अवस्थामा हाल कायम रहेका सबै सदस्य उपस्थित भएमात्र बैठक बस्न सक्छ । १० महिनादेखि देउवाका कारण बन्धक बनेको संवैधानिक परिषद अब सभामुखका कारण बन्धक बन्न पुगेको छ । नेकपा विवादको छायाँ परिषदमा पर्नु नै दुःखद रहेको पूर्व सभामुख दमननाथ ढुंगाना बताउँछन् ।

    नेपाल प्रेससँग कुरा गर्दै ढुंगानाले भने– प्रचण्डजीले प्रधानमन्त्रीलाई अप्ठेरो पारेर निर्णय लिन असहयोग गर्न खोजेको हो । सभामुखको स्वतन्त्र निर्णय भन्दा पनि यसमा प्रचण्डजी जोडिनुहुन्छ । पार्टीको वा कुनै नेताको निर्देशन मान्नुभएको हो भने त्यो गलत हो । उहाँ जानुपर्थ्याे बैठकमा ।

    मंगलबार बिहान परिषद्को अनौपचारिक बैठकमा पनि सभामुखको संवैधानिक दायित्व र पदीय आचरणका बारेमा चर्चा भएको थियो । सभामुख निर्वाचित भइसकेपछि स्वतन्त्र भूमिकामा रहने भनेर पार्टीबाट समेत राजीनामा दिएको व्यक्तिले नेकपा विवादमा एउटाको पक्ष लिएर संवैधानिक दायित्व उल्लंघन गरेको आरोप सरकारको छ ।

    एक मन्त्रीले भने– विपक्षी दलको नेताले असहयोग गर्नु स्वाभाविक हो तर सभामुख नेकपाको कुनै एक नेताको निर्देशन मानेर बैठक नै बहिष्कार गर्ने ठाउँमा पुग्नु उहाँको संवैधानिक भूमिका विपरीत भयो ।

    मंगलबारको मन्त्रिपरिषद् बैठकपछि नेपाल प्रेससँग कुरा गर्दै एक मन्त्रीले भने– विपक्षी दलको नेताले असहयोग गर्नु स्वाभाविक हो तर सभामुख नेकपाको कुनै एक नेताको निर्देशन मानेर बैठक नै बहिष्कार गर्ने ठाउँमा पुग्नु उहाँको संवैधानिक भूमिका विपरीत भयो । उहाँले बैठकमै गएर आफ्नो असहमति राख्नुपर्थ्याे ।

    सभामुख स्वतन्त्र भूमिकामा रहने भएकाले पार्टीलाई वा कुनै नेतालाई सोधेर जिम्मेवारी पूरा नहुने संविधानविद् विपिन अधिकारी बताउँछन् । सभामुखले संवैधानिक दायित्वभित्र रहेर बैठकमै आफ्ना विमतिहरु राख्नुपर्ने भन्दै उनले बैठक बहिष्कार गर्नु पदीय आचरण विपरीत हुने बताए ।

    नेकपा विभाजनको सँघारमा पुगेका बेला प्रचण्ड पक्षले सभामुखलाई संवैधानिक परिषद् बैठकमा जानबाट रोकेर प्रधानमन्त्रीमाथि दबाब बढाएको ढुंगानाले बताए । तर सभामुखको भूमिका निर्देशित भन्दा पनि स्वतन्त्र र संवैधानिक हुनुपर्ने उनको भनाइ छ ।

    सभामुखनिकट स्रोतले भने संवैधानिक परिषद् बैठकमा प्रधानमन्त्रीले देउवासँग भागबण्डा गरेर एकलौटी निर्णय गर्न लागेकाले बैठकमा जानकारी दिएरै नगएको जनाएको छ । ४८ घण्टाअघि नियुक्तिका लागि सिफारिश गरिने व्यक्तिको सूची उपलब्ध गराउनुपर्नेमा सभामुखलाई नदिइएको सचिवालयका एक सदस्यले बताए ।

    नेकपा सचिवालयले यसअघि नै संवैधानिकलगायत महत्वपूर्ण नियुक्तिहरु गर्दा प्रधानमन्त्रीले पार्टीमा छलफल गर्नुपर्ने भने पनि देउवासँग मिलेर पार्टीलाई जानकारी नदिई आफूनिकट व्यक्तिहरु नियुक्त गर्न लागेको प्रचण्ड माधव नेपाल पक्षको आरोप छ ।

    देउवा बैठकमा सहभागी हुने भएपछि प्रचण्ड पक्षकै आग्रहमा सभामुख अनुपस्थित भएका हुन् । सभामुख सहभागी नभएपछि बैठक बस्न नसक्ने र प्रधानमन्त्रीले आफूखुसी नियुक्ति गर्न नपाउने भएरै सभामुखलाई प्रचण्डले निर्णायक बेलामा आफ्नो अनुकूल प्रयोग गरेको नेताहरु बताउँछन् ।

    तर विज्ञहरुले भने यो गलत अभ्यास भएको र यसले संवैधानिक दायित्व र संविधानको कार्यान्वयन नै असफल हुने बताएका छन् ।

    यसमा प्रचण्डजी जोडिनुहुन्छः दमननाथ ढुंगाना,पूर्व सभामुख

    सभामुख भन्ने पद स्वतन्त्र भूमिकाको हो । पार्टीलाई सोधेर वा नेतालाई सोधेर जिम्मेवारी पूरा गर्ने होइन । अहिले सभामुखजी किन बैठकमा जानुभएन भन्दा नेकपाको विवादको झिल्को त्यहाँ पुग्यो । तर यो ठीक अभ्यास भएन ।

    संविधान संवैधानिक परिषद्को सदस्य भनेको ठूलो जिम्मेवारी हो । स्वतन्त्र भूमिकामा हुने सभामुख विवादमा पर्नुहुँदैन । खासमा संवैधानिक परिषदमा सभामुखको कुनै राजनीतिक भूमिका हुन्न ।

    नेकपामा एकले अर्कोलाई कमजोर पार्न पोजिशन लिएको बेला प्रचण्डजीले प्रधानमन्त्रीलाई अफ्ठेरो पारेर निर्णयलाई असहयोग गरेको हो । सभामुखको स्वतन्त्र निर्णय भने पनि यसमा प्रचण्डजी जोडिनुहुन्छ ।
    निर्वाचनबाट बनेको संवैधानिक परिषदले काम गर्न सकेन अर्थात् संविधानले काम गर्न सकेन । यो त संवैधानिक दुर्घटना हो । यस्तो सुविधाजनक बहुमत भएको सरकारले पनि संवैधानिक परिषद्बाट निर्णय गर्न सकेन भने राम्रो हुन्न ।

    दश महिनादेखि बैठक भएको छैन । संवैधानिक अंग भनेको संविधानलाई गति दिने इन्द्रिय हो । यो गम्भीरतापूर्वक संवैधानिक परिषद्का सदस्यहरुले पनि सोच्नुपर्ने विषय हो ।

    संवैधानिक परिषद सभामुखले बहिष्कार नगरेको भए हुन्थ्यो । उहाँले व्यक्ति विशेष र पार्टीको निर्देशन मान्नुभएको हो भने गलत हो । म भन्छु, सभामुख बैठकमा जानुपर्थ्याे ।

    विमति भए बैठकमा गएर राख्नुपर्छः विपिन अधिकारी, संविधानविद्

    संवैधानिक परिषद भनेको देशका सबैभन्दा उच्च पदस्थ मान्छेहरु रहने महत्वपूर्ण राष्ट्रिय दायित्व बोकेको निकाय हो । देशका तीनै अंगका प्रमुख व्यक्तिहरु रहेको, एक प्रकारले भन्ने हो भने विशिष्ट व्यक्तिहरु रहेर मुलुकको लागि निर्णय गर्नुपर्ने ठाउँ हो ।

    संवैधानिक परिषद्मा राजनीतिक दलको वा गुटको छायाँ देखिनु निकै गम्भीर विषय हो । सभामुख बैठकमा किन जानुभएन त्यो लगभग खुला छ । नेकपाको विवादमा उहाँ प्रयोग हुनुभयो । तर उहाँको अनुपस्थितिले उहाँको संवैधानिक दायित्वमाथि प्रश्न उठाएको छ ।

    सभामुख भनेको स्वतन्त्र पद हो । एउटा प्रक्रियाबाट बैठक बस्ने जानकारी भइसकेपछि बहिष्कार गर्ने कुरा पदीय दायित्वभित्र हुन्न । कार्यविधिअनुसार संवैधानिक पदमा नियुक्ति सिफारिश हुने व्यक्तिको योग्यता, क्षमता र सूची उपलब्ध गराउनुपर्छ ।

    ती नाममा वा योग्यतामा उहाँको विमति हो भने पनि बैठकमा उपस्थित भएर आफ्नो कुरा राख्नु संवैधानिक दायित्व हो । बैठकनै बस्न नदिने, संवैधानिक अंगहरुलाई वर्षौसम्म खाली राख्ने र निर्देशित भूमिकामा रहने कुराले पद अनुसारको योग्यता देखाउँदैन ।

     

  • संवैधानिक परिषद्ः अध्यादेशप्रति कांग्रेस असन्तुष्ट, देउवा बैठकमा नजाने

    संवैधानिक परिषद्ः अध्यादेशप्रति कांग्रेस असन्तुष्ट, देउवा बैठकमा नजाने

    काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज साँझ बोलाइएको संवैधानिक परिषद्को बैठकमा उपस्थित नहुने भएका छन् ।

    विपक्षी दलको नेताको हैसियतामा संवैधानिक परिषद्को सदस्य रहेका देउवा आज बिहान बसेको परिषद्को बैठकमा सहभागि थिए ।

    परिषद्का सदस्य रहेका सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि परिषद बैठक औपचारिक रुपमा बस्न सकेको थिएन । सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका कारण कांग्रेस बैठकमा उपस्थित नहुने भएको हो ।

    कांग्रेसले अध्यादेशबाट देश चलाउन खोज्नु प्रधानमन्त्रीको गल्ती भएको जनाएको छ । अध्यादेश जारी भएपछिको राजनीतिक अवस्थाबारे अहिले देउवाले निकट नेताहरुसंग परामर्श गरिरहेका छन् । सभापति देउवानिकट एक नेताले संवैधानिक परिषद्को गरिमा घटाउने गरी अध्यादेश ल्याइएको भन्दै सभापति देउवा उपस्थित नहुने जानकारी दिए ।

     

  • उखु किसान वार्तामा नजाने

    उखु किसान वार्तामा नजाने

    काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार उखु किसान संघर्ष समितिलाई वार्तामा बोलाएको छ । तर, उखु किसान संर्घष समितिका अध्यक्ष रामस्वार्थ रायले आजको वार्तामा आफूहरु उपस्थित नहुने बताएका छन् ।

    नेपाल प्रेससँग कुरा गर्दै अध्यक्ष रायले पहिला पैसा खातामा आउनु पर्‍यो । त्यसपछिका छलफलमा जान सकिने बताए । ‘वार्ता मात्र गरेर के गर्ने पैसा पाउनु पर्‍ यो पहिला । हाम्रा खातामा पैसा आएपछि अन्य कुराका लागि छलफलमा बसौला,’ उनले भने ।

    मन्त्रालयकी सह–प्रवत्ता उर्मिला केसीका अुनसार किसानलाई आज दिउँसो ३ बजे वार्ताका लागि बोलाइएको थियो । यसका लागि मन्त्रालयले वार्ताको तयारी समेत गरेका केसीको भनाइ छ ।

    गत वर्ष पुसमा सरकारले उखु किसानसँग गरेको सम्झौता कार्यान्वयन नभएपछि सर्लाहीका उखु किसान पुनः आन्दोलनका लागि आइतबार काठमाडौं आएका हुन् ।

     

  • फेरि आयो संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

    फेरि आयो संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश २०७७ जारी गरेकी छन् ।

    मन्त्रिपरिषदको मंगलवारको बैठकले सो अध्यादेश पारित गरि राष्ट्रपति समक्ष स्वीकृतिका लागि पठाएको थियो ।

    सभामुख अग्नि सापकोटा अनुपस्थित भएर बैठक अनिर्णित बनेपछि सरकारले अध्यादेश ल्याएको हो । अब परिषद बैठकमा गणपूरक संख्या पुग्न ४ जना सदस्य अनिवार्य उपस्थित हुनुपर्ने कानुनी प्राबधान हटाइएको छ ।

    यसअघि विपक्षी दलका नेता शेरवहादुर देउवा पटक पटक अनुपस्थित भएपछि गत वैशाखमा सरकारले यहि अध्यादेश जारी गरेको थियो । तर राजनीतिक दल सम्बन्धी अध्यादेशको तीब्र बिरोध भएपछि सरकारले दुवै अध्यादेश फिर्ता लिएको थियो ।

    अध्यादेश जारी गर्ने निर्णयपछि प्रधानमन्त्रीले आजै साँझ पाँच बजे संवैधानिक परिषद् बैठक बोलाएका छन् । अध्यादेश जारी भएपछि विपक्षी दलका नेता शेरवहादुर देउवा बैठकमा जाने नजाने टुंगो लागेको छैन ।
    सरकारले अध्यादेश जारी गरेपछि नेकपा विवाद थप बढ्ने भएको छ ।

  • माइतीघरमा उखु किसानको प्रदर्शन

    माइतीघरमा उखु किसानको प्रदर्शन

    सर्लाहीबाट काठमाडौं आएका उखु किसानले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्। गत वर्ष पुसमा सरकारले उखु किसानसँग गरेको सम्झौता कार्यान्वयन नभएपछि सर्लाहीका उखु किसान पुनः आन्दोलनका लागि आइतबार काठमाडौं आएका छन् ।

  • प्रमुख सचेतक गुरुङसँग प्रधानमन्त्रीले मागे राजीनामा

    प्रमुख सचेतक गुरुङसँग प्रधानमन्त्रीले मागे राजीनामा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङको राजीनामा मागेका छन् ।

    प्रधानमन्त्री ओलीले गुरुङलाई बोलाएरै सत्तापक्षको प्रमुख सचेतको जिम्मेवारी पूरा गर्न नसकेको भन्दै राजीनामा मागेको स्रोतले जनाएको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार उनलाई केही दिनअघि नै राजीनामा दिन भनिएको हो ।

    संसदीय दलको नेताले प्रमुख सचेतक र सचेतक नियुक्ति गर्ने प्राबधान रहे पनि पार्टी एकीकरणपछि गुरुङ माओवादी कोटाबाट प्रमुख सचेतक भएका थिए । गुरुङले प्रधानमन्त्रीले राजीनामा मागेको स्वीकार गरेका छन् ।

  • प्रहरीलाई दुर्व्यवहार गर्ने दुई पक्राउ

    प्रहरीलाई दुर्व्यवहार गर्ने दुई पक्राउ

    भक्तपुर । भक्तपुर नगरपालिका – ९ च्यामासिंह सूर्यमढीस्थित डिउटीमा खटिएको प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा २ जना पक्राउ परेका छन् ।

    उनीहरुलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेहरुमा भक्तपुर नगरपालिका–९ च्यामासिंह सूर्यमढी बस्ने ३२ वर्षीय विजय नकर्मी र सोही ठाउँ बस्ने १९ वर्षीय रितिक प्रजापती रहेका छन् ।
    सूर्यमढी बस्ने गिता कोजुको मोबाईल हराएको उजुरी परेपछि प्रहरीले मोबाइल खोजेर कोजुलाई दिने क्रममा विजय र रितिकले प्रहरीलाई एक्कासी हातपात एवं दुर्व्यवहार गरेपश्चात उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
    थप अनुसन्धान भइरहेको  छ ।

  • किसानलाई रुवाएर समाजवाद आउँछ सरकार ?

    किसानलाई रुवाएर समाजवाद आउँछ सरकार ?

    वर्षभरि खनजोत गर्‍यो, जाडोयाममा उखु रोप्यो, कालोबजारीमा मल खरीद गर्‍यो, गोडमेल गर्‍यो, सिंचाइ गर्‍यो, उखुका लाँक्रा काट्यो, छिमल्यो र गाडी भाडामा लिएर चिनी मिलसम्म पुर्‍यायो । यति गरुञ्जेल किसानको रगत पसिना बनेर कैयन् पटक बगिसकेको हुन्छ ।

    सरकारले तोकिदिएको मुख्य नगदेबाली उखु भने हाताहाती पैसा लिएर बिक्री गर्न पाइँदैन । चिनी मिललाई उधारोमा दिनुपर्छ । एक दिन नगद पाइएला भनेर उखु मिल मालिकलाई दिएर किसान घर फर्किन्छन् ।

    घरमा अनेक कुराको खाँचो हुन्छ । नयाँ खेती लगाउन पूँजी हुँदैन । छोराछोरीको स्कूल फिस, लत्ताकपडा र औषधि उपचार । आफूले उत्पादन गरेको उखु उधारोमा बिक्री गर्ने किसानले खुदको गर्जो टार्न सयकडा तीन प्रतिशत मासिक ब्याजदरमा साहुसँग ऋण लिन्छन् ।

    तोकिएको दिन किसान भुक्तानी माग्न मिलमा जान्छन् । कहिले मालिक हुन्नन् । कहिले लेखापाल हुन्नन् । आज रकम आएन भनिन्छ । किसान हैरान हुन्छन् ।

    किसानले चिनी मिलका निर्दयी साहुलाई कमिज उचालेर दोब्रिएको पेट देखाउँछन् । ‘हजुर भोकै छौं’ भनेर पैसा माग्छन् । चिनी मिलले कहिले रातो र हरियो मसीले चेक भरेर दिन्छ । कहिले हस्ताक्षर गलत गरेर वा स्ट्याम्प नलगाई चेक दिएर पठाइन्छ । सोझासाझा किसान चेक लिएर बैंक आउँछन् । चेक साटिंदैन । फेरि फर्केर मिल पुग्छन् । यस वर्षको उखुको पैसा तीन वर्षसम्म पनि भुक्तानी हुँदैन ।

    धाउँदा धाउँदा थकित हुन्छन् । उखुको भुक्तानी लिन दौडाहामा रहेका किसानलाई सोध्नुस्, खुईए… गर्छन् । सुस्केरा काढ्छन् । भन्छन्, हजुर बाँसको खुट्टा भए खिइएर घुँडासम्म आइसक्थ्यो । कति पटक कुद्नु, कति पटक धाउनु ?

    त्यति गर्दा पनि रकम नपाएपछि आन्दोलनमा उत्रिए किसान । स्थानीय ठाउँमा आन्दोलन गर्दा पनि भएन । काठमाडौं पुगे । सिंहदरबार घेरे । प्रहरीको लाठो आङमा थापे । जाडोमा कठ्याङ्ग्रिएर बसे । सरकारले अनेक आश्वासन दियो तर पनि भुक्तानी पाएनन् । अब के गर्ने र कहाँ जाने !

    यही हो कटुसत्य । किसानले भोग्नु परेको सास्ती, भुक्तमान र दुर्दशा । यो प्रक्रिया एक परम्परा नै बनेको छ । किसान भोकले लम्पट लागेर कंकाल जस्तै बनेका छन् । तर चिनी मिल मालिक भुँडी फुटुञ्जेल खाएर उघ्राएको साँढे जस्तो डुक्रिन्छ । पाउर गर्दै विलासी भवनमा सञ्चो सुविस्ताले बसेका छन् ।

    किसानको उखु सित्तैंमा लिएर चिनी बनाएर नगदमा बिक्री गर्छन् । सके चिनीको कृत्रिम अभाव सिर्जना गरेर कालोबजारीमा अतिरिक्त मुनाफा लिएर बेच्छन् । तीन, चार वर्षसम्म किसानलाई भुक्तानी नदिएर सोही रकम लिएर अन्य उद्योग र कारखाना खोल्छन् । चिनी मिल मालिक करोडपतिबाट अर्बपति र अर्बपतिबाट खर्बपति बन्छन् । किसानको खेत पाँच वर्षमा साहुले लिलाम गर्छन् वा बैंकले लिलाम गर्छ । यही हो त नेपाली समाजवादको मोडल ?

    उखु किसान दुई चार वर्ष अघिदेखि मात्र शोषणमा परेका होइनन् । यो सबै राजनीतिक कालको व्यवस्था र विवशता हो ।

    तर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुई तिहाइ बहुमतको सरकार बनेपछि उखु किसानले उद्धार होला भन्ने आश गरेका थिए । कम्युनिष्ट सरकारले त्राण देला भन्ने भरोसा थियो । शोषणपूर्ण उखु अर्थराजनीतिको अन्त्य होला भन्ने चिताएका थिए । उखु मिल र तिनका मालिकहरूलाई कानूनको दायरामा ल्याइन्छ भन्ने विश्वास थियो । उखु नगद नारायणमा बिक्री हुने वा निश्चित समयभित्र विना कुनै झमेला भुक्तानी पाइने व्यवस्था लागू होला भन्ने आश थियो । तर किसानका सबै आशा भरोसाको चिहान बन्यो सिंहदरबार ।

    अन्नदाता किसानको हुर्मत लिने र शोषण गर्नेहरूलाई ठीक लगाइन्छ भनेर चुनावमा बहुमत मागिएको थियो । जनताले चुनावी घोषणापत्रमा बोलकबोल गरेको सुन्दर भविष्यलाई पढेर सुनेर पत्याएर मतपत्रमा सूर्य हेर्दै छाप लगाएका थिए । किसानको घरमा पनि समृद्धि पुग्छ भनेर ह्वारह्वार्ती मत खन्याइएको थियो ।

    झन् समाजवादका व्याख्याता घनश्याम भुसाल कृषिमन्त्री बनेपछि चाउरी परेका पेट देखाउन उखु किसानहरू काठमाडौंसम्म पुगे र मुटुको रगत जमाउने चिसोमा माइतीघर मण्डलमा कैयन् रात गुजारे ।

    सरकार नामको संस्थाले किसानलाई तीन महीनामा जुनै हालतमा पनि उखु किसानको बक्यौता भुक्तानी गराउने वचनबद्धता गर्‍यो । भोको पेटमा आश्वासनको खीर खाएर किसान मुख मिठ्याउँदै फर्किए । तर किसानको दुर्दशा उस्तै छ ।

    किसान फेरि पनि ठगिए । सरकारले पनि ठग्यो किसानलाई । आफैंले आश्वासन दिएर पठाएको किसान एक दिन भोको पेट लिएर फेरि माइतीघरमण्डलमा आइपुग्लान् भन्ने पटक्कै हेक्का रहेन । उखुको बक्यौता राख्ने मिल मालिकहरूलाई पाता फर्काउनु त के ठूलो स्वरमा ताकेता पनि गरेन सरकारले ।

    ‘मरता क्या नहीं करता’ भने झैं भोका किसान फेरि निन्याउरो अनुहार लिएर पुनः काठमाडौं गएका छन् । घरमा बालबच्चा भोकै छन् । आङ ढाक्ने कपडा छैन । साहुको ऋण सावाँ र ब्याजको कचकच छ । अनेक पिरलो छ । तर आन्दोलनमा उत्रिनुको विकल्प छैन ।

    भँगेरे टाउका जत्रा अक्षरमा राष्ट्रिय अखबारहरूमा उखु किसानका पीडा र दुःख छापिएका छन् । समाजवादी धाराका नेकपाका नेता तथा समृद्धि ल्याउँछु भनेर ठोकुवा गर्ने सरकारका मन्त्रीका टेबुलमा एकाबिहानै पत्रिका पुग्छ । तर किसानका बारेमा छापिएका सवालमा कम्युनिष्ट नेता र सरकारका मन्त्रीलाई कुनै वास्ता छैन । माइतीघरमा किसान रोएको, चिच्याएको सिंहदरबारमा सुनिन्छ । तर कम्युनिष्ट सरकार यति बहिरो बनेको छ कि किसानको क्रन्दन पटक्कै सुन्दैन ।

    उखु किसानले भुक्तानी नपाउनु कम्युनिष्ट सरकारको मुखमा पोतिएको कालोमोसो हो । किसान आन्दोलनमा उत्रिनु र माइतीघरमण्डलको चिसोमा सुत्नु कम्युनिष्ट सरकार रसातलमा पुग्नु हो । समाजवादी पक्षधर भनिने कम्युनिष्ट नेताहरूको आस्था र विश्वासको चिहान खनिनु हो ।

    कवीर दासले भनेका छन्–‘अजहु चेत गवाँर’ । समाजवादका खोल ओढेका दुई तिहाइ बहुमतको कम्युनिष्ट सरकार चेत समय छँदै चेत । हुन त समय घर्किसक्यो । कम्युनिष्ट सरकारको बदनामीको फेहरिस्त समाजको हातमा परेको छ । अझै सम्हालिन सकिन्छ । तर यही रवैया रहिरह्यो भने उखुको पतकर झैं कम्युनिष्ट सरकारको हालत हुनेछ । उखु किसानको व्यथाले कम्युनिष्टलाई भत्भती पोल्नेछ ।

    कम्युनिष्टहरू हो, समाजवाद निर्वाचनको बेला मत माग्ने भिक्षापात्र नबनाऊ । उखु किसानको पीडाले बर्लिनको पर्खाल भत्किए झैं धुम्बाराहीको महल गल्र्यामगुर्लुम्म ढल्नेछ ।

    सोभियत संघ कित्ताकाट भएझैं कम्युनिष्ट टुटफुट हुनेछ । पूर्वी युरोपमा सफाया भएको कम्युनिष्ट शक्तिको हविगत नेपालमा नहोस् । भारतमा आज कंग्रेस आईको के हालत छ ? पश्चिम बंगालबाट कम्युनिष्ट ताकत कता हरायो ? बेलैमा विचार गरे हुन्छ ।

    उखु किसान डुबेकै छन् । तर कम्युनिष्ट सरकारलाई लिएरै डुब्नेछन् ।

  • फिल्म छायांकनलाई अनुमति दिने मन्त्री परिषद्को निर्णय, हल खुलाउनेबारे मौन

    फिल्म छायांकनलाई अनुमति दिने मन्त्री परिषद्को निर्णय, हल खुलाउनेबारे मौन

    झन्डै नौ महिनादेखि बन्द फिल्म गतिविधि शर्तसहित सञ्चालन गर्न सरकारले अनुमति दिएको छ । मंगलबार बसेको मन्त्री परिषद् बैठकले कोभिड–१९ मापदण्ड पालना गर्दै छायांकन गर्न सशर्त अनुमति दिएको हो । तर, फिल्म हल खुलाउने निर्णय चाहिं भएको छैन ।

    मन्त्री परिषद्को निर्णयबारे संचारमन्त्री पार्वत गुरुङले नेपाल प्रेसलाई यस्तो जानकारी दिएका हुन् । मन्त्रालयले फिल्म गतिविधि सशर्त खुला गर्ने प्रस्ताव मन्त्री परिषद्मा लगेको थियो । फिल्म हलको छाता संस्था चलचित्र संघले पुस १० गतेदेखि एकपक्षीय रुपमा हल खुला गर्ने घोषणा गरिसकेको छ । तर, सरकार यस कुरामा भने मौन छ ।

    फिल्म छायांकन गर्दा अब कास्ट एन्ड क्रिउले अनिवार्य कोभिड–१९ मापदण्ड पालना गर्नुपर्ने हुन्छ । विश्वव्यापी कोरोना महामारीको असर नेपालमा पनि देखिन थालेपछि २०७६ चैत ११ गतेबाट लकडाउन घोषणा गरिएको थियो । लकडाउन लगत्तै फिल्मको छायांकन रोकिएको थियो ।

    सरकारले अनुमति नदिए पनि केही फिल्म छायांकन सुचारु भएको थियो भने, म्युजिक भिडियो छायांकन निरन्तर थियो । मोफसलमा जातीय फिल्म छायांकन पनि धमाधम भैरहेका थिए ।

  • वाणिज्य मन्त्रालयले उखु किसानलाई वार्तामा बोलायो

    वाणिज्य मन्त्रालयले उखु किसानलाई वार्तामा बोलायो

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार उखु किसान संघर्ष समितिलाई वार्तामा बोलाएको छ । मन्त्रालयकी सह–प्रवक्ता उर्मिला केसीका अुनसार किसानलाई आज दिउँसो ३ बजे वार्तामा बोलाएको हो । यसका लागि मन्त्रालयले वार्ताको तयारी समेत गरेको छ ।

    तर, उखु किसान संघर्ष समितिले वार्तामा जाने कि नजाने भनेर तय गरेको छैन । ‘हामीले ३ बजेका लागि किसानलाई वार्तामा बोलाएका छौं तर, वहाँहरु वार्तामा उपस्थित हुने नहुने कुनै जानकारी अहिलेसम्म पाएका छैनौं,’ केसीले नेपाल प्रेसलाई बताइन् ।

    गत वर्ष पुसमा सरकारले उखु किसानसँग गरेको सम्झौता कार्यान्वयन नभएपछि सर्लाहीका उखु किसान पुनः आन्दोलनका लागि आइतबार काठमाडौं आएका हुन् ।

     

  • सुन्दरीजलमा  थप एक पानी प्रशोधन केन्द्र निर्माण गरिने

    सुन्दरीजलमा थप एक पानी प्रशोधन केन्द्र निर्माण गरिने

    काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले  सुन्दरीजलमा थप एक पानी प्रशोधन केन्द्र निर्माण गर्ने भएको छ । यसअघि दुईवटा पानी प्रशोधन केन्द्र निर्माण गरिएको थियो ।

    अहिले रहेका दुई केन्द्रले मेलम्ची खोलाबाट आउने दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने आयोजनाले जनाएको छ ।

    दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाबाट आउने थप १७÷१७ करोड लिटर पानी प्रशोधनका लागि अर्को संरचना आवश्यक पर्ने आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए ।

    एशियाली विकास बैंक (एडिबी) को आग्रहमा दोस्रो चरणका लागि केन्द्र बनाउन तयारी थालिएको र त्यसका लागि डिजाइन भइसकेको उनले जानकारी दिए । एडिबीले सो डिजाइन रिभ्यु गर्ने काम अघि बढाइरहेको छ ।

    सरकारले चालू आवमा रु ३५ करोड छुट्याएकाले यो वर्ष ठेक्कामा जान सकिने उनको भनाइ छ । उनले भने, “यो आवमा ठेक्कामा जान सकेमा अर्को वर्ष निर्माणको काम हुनेछ ।”

    सरकारले छुट्याएको रकम कम भए पनि दातृ निकायले लगानी सुनिश्चित भएकाले चालू आवमै ठेक्कामा जान सकिने प्रमुख पन्तले बताए । आयोजनाले नयाँ केन्द्र निर्माणसँगै पहिले निर्माण भइसकेका दुवै केन्द्रको क्षमता विस्तारसमेत अघि बढाउने भएको छ ।

    पहिलो चरणमा मेलम्चीका लागि १७ करोड लिटर क्षमताको केन्द्र बनेको थियो । दोस्रो चरणमा याङ्ग्री र लार्केको पानी प्रशोधनका लागि थप ३४ करोड लिटर क्षमताको केन्द्र आवश्यक रहेको छ ।

    सुन्दरीजलमा दुई केन्द्रको क्षमता विस्तार गरेर २५ दशमलव पाँच बनाउन सकिन्छ । उनले भने, “अहिले भइरहेका पूर्वाधारको क्षमता बढाउँदा अर्को एउटा पनि २५ दशमलव पाँच करोड लिटर क्षमताको निर्माण गरे पुग्छ ।”

    आयोजनाअन्तर्गत सुरुङ, हेडबक्स र दुई पानी प्रशोधन केन्द्र निर्माण भएको हो । सुन्दरीजलमा दुई केन्द्रको निर्माण गत वर्ष नै सम्पन्न भइसकेको थियो । यहाँको प्रशोधन केन्द्र दुवैको क्षमता साढे आठ करोड लिटर रहेको छ ।

    तीमध्ये एउटाको निर्माण जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र अर्को एडिबीको आर्थिक सहयोगमा निर्माण भएकोे थियो । सुरुङ, हेडबक्स र प्रशोधन केन्द्रको निर्माण आयोजनाले र पाइपलगायत अरू पूर्वाधारको निर्माण आयोजना कार्यान्वयन निर्देशनालयले गरिरहेको छ ।

  • आफैं‌‌‌‌ले बनाएको संविधानविरुद्ध कांग्रेस उभिंदैन : नेता सिंह

    आफैं‌‌‌‌ले बनाएको संविधानविरुद्ध कांग्रेस उभिंदैन : नेता सिंह

    जनकपुरधाम । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली कांग्रेस संविधानले सुनिश्चित गरेका उपलब्धि उल्टिन नदिन सचेत रहेको बताएका छन् ।

    जनकपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता सिंहले धर्मनिरपेक्षतासहितको संघीय लोकतान्त्रिक गणतन्त्र नै कांग्रेसको बटमलाइन भएको बताए ।

    ‘कांग्रेसकै नेतृत्वमा जारी भएको संविधानले दिएका राजनीतिक उपलब्धि निरन्तर रहनुपर्छ । राजतन्त्र वा हिन्दूराष्ट्रका नाममा परिवर्तनको विरुद्धमा कांग्रेस उभिंदैन’, सिंहले भने ।

    कांग्रेसका केही नेताहरुले हिन्दू राष्ट्र वा राजतन्त्रको पक्षमा बोलेको सन्दर्भलाई पार्टीको आधिकारिक धारणा मान्न नमिल्ने सिंहको भनाइ छ । ‘कसले के भन्यो वा भने त्यसमा मेरो टिप्पणी छैन । नेपाली कांग्रेस पार्टी संघीयता, समावेशिता, धर्मनिरपेक्षता र गणतन्त्रप्रति प्रतिबद्ध छ’, उनले भने ।

    फरक प्रसंगमा नेता सिंहले केपी ओली नेतृत्वको कम्युनिष्ट सरकार पूर्ण रुपमा असफल भएको दावी गरे । सरकारकै संरक्षणमा अपराध र भ्रष्टाचार मौलाएको दावी गर्दै नेता सिंहले सरकार बहुमतको भए पनि अत्यन्त कमजोर सावित भइसकेको बताए ।

    कोरोनाका कारण ठप्प भएका गतिविधि विस्तारै सामान्य बनाउँदै लैजानुपर्नेे सिंहको भनाइ छ । उनले सीमा नाका बन्द गर्दा सीमा क्षेत्रका जनता समस्यामा परेको हुनाले विस्तारै सुचारु गर्न सरकारसँग माग गरे ।

    सरकारले लामो समयसम्म संसद अधिवेशन स्थगित गरेर आफ्नो उत्तरदायित्व बिर्सिएको आरोपसमेत नेता सिंहले लगाए । ‘जनताका आवाज उठ्छन् र सरकारको आलोचना हुन्छ भनेर संसद ठप्प राखिएको छ’ सिंहले भने ।

  • इतिहास सहुलियतमा टुङ्गिनुहुन्न !

    इतिहास सहुलियतमा टुङ्गिनुहुन्न !

    न डुङ्गा सडकमा हिंडोस् ! न गाडा पानीमा हिंडोस् ! ! अँध्यारो विगत खेप्दै–खेप्दै उज्यालोको सँघारमा भविष्य खोजिएका आँखाहरूको वर्तमान रिमरिम जस्तो प्रसवपीडा झेल्दै रहेको मेरो भूगोलको स्वतन्त्रता, कसोकसो बर्सन नसकेको आकाशसँग मीतको साइनो बाँधिएर प्रेमको धुन रच्दैछ । म भावी विजयको उत्सव गीत रच्दैछु । यतिखेर सागरको वल्लो किनारबाट म डुङ्गामा यात्रा हिंडिसकेको छु; ऊ सडकको पल्लो किनारबाट गाडामा यात्रा हिंडिसकेको छ । म पल्लो किनार पुग्दा ऊ वल्लो किनार आइपुग्नेछ । अब डुङ्गा सडकमा नहिंडे पनि, गाडा पानीमा नहिंडे पनि अवश्य नै दुई किनारको मिलन हुनेछ ।

    किनकि यहाँ आफ्नो मर्यादा आफैं बनाउनु छ र मर्यादाभित्र पनि आफैं रहनु छ । आफ्नै अन्तर्मनको उन्मुक्त संवेदनहरूको चमकमा आफ्नै जिन्दगी जीवन्त बाँच्नु छ अर्थात् हामीले महामानवका रूपमा आफ्नो ईश्वर आफैं खडा गर्नु छ । यथार्थतः ईश्वर र पशुबीचको वक्रयात्रा हो मान्छे; ऊ भयानक जरूर छ, खतरनाक जरूर छ तर भव्यतासहितको रुचिकर पनि जरूर छ । मानौं, जो सूर्यबाट उछिट्टिएर तेजस्वरूप धर्तीमा झरेको होस् र उसैका लागि सूर्य आफ्नो उज्यालो र न्यानो मृदुल किरण छरिरहेको होस्; जो बादलबाट बर्सेको एक सुन्दर बुँद होस् र उसैको प्यास भर्न बादल बर्सिरहेको होस्; जो हावाहुरीबाट उछिट्टिएको एक झोक्का प्राण होस् र उसैको प्राण भर्न हावा बहिरहेको होस्; जो पृथ्वीकै आत्मीय एक अंश होस् र उसैका लागि पृथ्वी अन्नपात भरिरहेको होस्; जो आकाशकै एक सितारा होस् र उसैका लागि आकाश जगमगाउँदो अनन्त स्पेस उभिएको होस् ! … ! ! … ! ! !

    प्रिय सूर्यतेज ! ओ महान् सितारा ! ! साँच्चै जराथुष्ट्रले भने जस्तै यदि यो संसार नहुँदो हो त तिमी कसका लागि उज्यालो छथ्र्यौ ! के त्यतिबेला पनि तिमी यत्तिकै खुशी हुन्थ्यौ ! एकादेशको कथादेखि आजसम्म पनि मान्छेभित्रको अँध्यारोको अन्त्य गर्न हर–बिहान तिमी यो संसारमा प्रवेश गर्छौ र हरसाँझ तिमी हामीबाट ओझेल पर्छौ । अब मेरो जीवनको प्याला छल्किनुपहिले सिर्फ एकपटक मानवमनको अँध्यारो कन्दरा हुँदै मान्छेको निधारमा एक प्रभात चमक प्रसारित होइदेऊ, तत्पश्चात् मेरो जीवनको प्याला छचल्किएर पोखिनुमा, रित्तिनुमा या तिमी होइन आफैं ओझेल पर्नुमा ममा कुनै खेद बाँकी रहने छैन ।

    प्रिय जलधि ! प्रिय बादल ! ! तिमी बर्सिनुको मजासँग सारा जीवन अस्तित्वमा झुम्दै आएको कथा सबैभन्दा पुरानो भएर पनि आजसम्मको सबैभन्दा नयाँको लेबल स्वीकृत छ । अब झन् नयाँको मेरो विशिष्ट सोखमा एक प्यासभरि नेपाली माटोका नाममा सीमान्त तृप्ति बर्सिदेऊ, त्यहींनेर म पूर्णविरामित हुन चाहन्छु ! त्यसपश्चात् मेरो कुनै गुनासो बाँकी रहने छैन ।

    प्रिय वायुचेत ! प्रिय हावा ! ! तिम्रो स्पर्शचेतमा पुलकित म तिम्रो प्रचूर दृश्यअस्तित्व खोजिरहेछु । जीवात्माको एकमुठी प्राण धान्न मात्र तिमी कति नर्मिएर धाइरहन्छौ ! यहाँका सारा अदृढ, भ्रष्ट र अस्वस्थ मूलहरू भाँचिने गरी एक भूगोलभरिको झोक्का हुरी हुर्रिएर आऊ ! यहाँ हामीलाई आफ्नो कमजोरीस्वरूप स्थापन गरिएको अर्को लोकको सुन्दरता कल्पनु छैन । यही लोकको दृढनिश्चयी स्वस्थ सिर्जनामा डुल्नु छ, रम्नु छ ! पश्चात् अर्को कुनै आकाङ्क्षा बाँकी रहने छैन ।

    प्रिय धर्ती ! प्रिय माता ! ! ! तिम्रै अंश यो अस्तित्व तिमीलाई सहृदय सम्मानगारत अर्पण गर्न चाहन्छ । नसा–नसामा तिम्रै सुगन्ध बहेको मेरो रक्तप्रवाहमा अझ तिम्रोपन भर्न चाहन्छु । तिम्रो तत्परता, तिम्रो आत्मीयता र तिम्रो मायालुपनले किन सधैं–सधैं यस्तरी आकर्षित गरिरहन्छ मलाई ! तर, मान्छेको विशिष्ट चेतना नभइदिए तिम्रो अनुगृहीत पात्र अरू को हुन्थ्यो होला र ! आफ्नै सापेक्षमा भए नि तिमीलाई विशिष्ट अर्थ दिने उही मान्छे न हो ! आऊ ! आज तिम्रो मौलिक सुगन्धले आम नसामा एक नेपाली भूगोलभरिको एउटै गर्विलो नश्लचेत भरिदेऊ ! सबैसबै तिम्रो इशारामा एक आवाजले दर्बिलो महत्ता उठ्न सकून् ! !

    प्रिय आकाश ! तिम्रो जुन स्पेस ममा समाहित छ; म त्यतिभरि नै छु र त्यही स्पेस म, तिम्रो वन्दना गरिरहेछु । तर म जुन स्पेसको जुन मर्यादामा उभिएको छु; त्यो मेरो आफ्नो कामना हो, मर्यादा हो । यद्यपि, म उभिएको भीडमा ममात्र छैन । भीडभित्र पनि आफ्नै मर्यादाको उँचाइतिर उन्मुख म आफैंमा बेग्लो छु; जुन उँचाइ मात्र मेरो हो; जो सँगैको भीडले पनि देख्न सक्नेछन् । यद्यपि एउटै छतको मतमा ओत लागेर पनि दुई ताराबीचको स्पेसमा बेग्लो–बेग्लो अनेकौं सिताराहरू जग्मगाउन सक्छन् ! यसैले प्रिय ! अविभाजित सग्लो छत ओढाइदेऊ धरतीलाई ! ताकि कसैको गर्विलो प्रेमिल अनुरोधमा एउटै छतमुनि एकसाथ एउटै सुर र तालमा प्रेमगीत गाउन सकियोस् ।

    यहाँसम्म आइपुग्नुमा जति दृश्यहरू बदलिएका छन्, जति दृश्यहरू छुटेका छन्– तेज, जल, थल, वायु, आकाश ! यिनै पाँच संवेदनहरूमा आवद्ध म, मेरा चरणबद्ध अनुभूतिहरूको सगोल एकल काव्य, मेरो अस्तित्वको प्रथम प्रमाण र साक्षी ! तिनलाई मेरो संचेतनाको प्रथम वन्दना !
    यद्यपि, आफ्नै एकल काव्यमा प्रमाणित म अनि मेरो मर्यादा, मेरै विचारभन्दा अलग कुरा हुन् मेरै कर्म ! अनि कर्मभन्दा पनि फरक कुरा हुन् कर्मप्रतिको धारणा ! ! यहींनेर मान्छे सभ्यताको निर्माणमा बारबार फेर पर्दछ र यहींनेर हिलो छ्यापिएको मन लिएर मान्छेले कति मान्छे र मान्छेत्वको हत्या गरिसकेको छ । बाँकी रह्यो केवल मान्छेले उल्टा हिंड्नु ! … सभ्यताको चिहानघारीतिर ! ! … ! ! ! यतिखेर मान्छे बाटोखर्च जुटाउन आफ्नो खुट्टा बेचिरहेछ, तर म होसमै पुनः सम्भावनाको शिखरयात्रा प्रारम्भ गर्न चाहन्छु !

    जीवन्त हिंड्दामा आफूबाहेकको मतलब गरेर आफू, आफैंमा नरहेको कैयौं परम आनन्दको रमरम पल झङ्कृत भइरहँदा पनि कालान्तरमा आफ्नै अस्तित्वले सचेत धिक्कार्दा उही तथ्य कस्तरी पीडामा रूपान्तरित हुन पुग्दोरहेछ ! त्यहींनेर थप दुःखहरू कम्प्लिमेन्ट्रीका रूपमा प्राप्त हुन्छन् । प्रिय भावक ! यसर्थमै जीवन तिमीले भनेजस्तो सोच्नलायक भन्दा बढी भोग्नलायक छ । हुन त सोच्दामा पनि जीवन दुई आत्मगत समन्वयको सङ्ग्रहालय जस्तो लाग्छ, तर त्यसको रहस्य पछि उद्घाटित हुन्छ; र भोग्दामा पनि जीवनले आत्मगत समन्वयमै पूर्णता प्राप्त गर्दछ, तर त्यो तत्क्षण नै परम आनन्दको क्षण हुनेछ … । यद्यपि, सुन्दर पुस्तकका परिच्छेदहरू जस्तै जीवनका हरेक पहेंलीहरू रुचिकर छन् !

    वर्षा ऋतु हँुदै यतिखेर चिसोको साम्राज्य मौसममा छायाङ्कित छ । र मानिस अप्राकृतिक हुँदै जानुको उपहारस्वरूप शायद मानिसलाई पोल्टा भरिभरि बाढी, पहिरोसँगै कोरोना पनि पीडा मिलेको छ । प्रिय मान्छे ! यहाँनेर तिम्रो अक्कलहीन विद्रोह होइन; म चाहन्छु प्रथमतः तिमी पनि मसितै प्रकृतिस्थ होइदेऊ ! र, त्यही निर्धारित प्रारम्भ र अन्त्यबीचको मध्यान्तरमा अनि अस्तित्वको कुरा गर, पीडाको कुरा गर, प्रेमको कुरा गर, आँसुको कुरा गर, सुखको कुरा गर, जीवनको कुरा गर ! ! ! ! अन्ततः मृत्युसँग अँगालिएर प्रकृतिमै शरणागत हुनु त छँदैछ… ! फेरि पनि मेरा सपनाहरू जलिरहेको साँझ नै किन नहोस् ! भोलिको उज्यालो पक्षमा हस्ताक्षर गर्न म चुक्नेछैन ! … ! ! सपनाको हार विपनामा खोज्ने आदतबाट पूर्णतः मुक्त छु म ।

    हुन त विचारको आ–आफ्नै महल हुन्छ, माहोल हुन्छ, तर पनि महान् लेखकहरू आफ्नो गहन स्नेह दिएर त्यसको तरङ्गमा आफ्ना भावकलाई पनि आफूसँगै डुबाउँछन् । यसर्थ व्यक्तिको हत्याबाट विचारको हत्या गर्न सकिन्न, व्यक्तिको हत्याबाट व्यक्तित्व मर्दैन । बरु, एक विचारको फैलावटमा अर्को विचार छोपिन सक्छ, मधुरिन सक्छ; तर अन्त्य होइन ।

    विचारकै फैलावटमा उभिएर भन्दा भौगोलिक सीमा मात्र राष्ट्र होइन, भौगोलिक सीमामा बाँधिनु नै राष्ट्रियताको उद्घोष होइन, त्यहाँको प्रकृति जप्नु मात्र राष्ट्रप्रेम होइन; यदि त्यो भूगोल जनता विनाको छ भने त्यो राष्ट्र नै हुन सक्दैन, यदि जनताको रगत आँसु बगिरहन्छ भने त्यस राष्ट्रको अस्मिता स्वयंमा पहाडजत्रो प्रश्न हो; जुन पहाडको पहिरोमा जोकोही पुरिन सक्छ, जुन पहिरोले जोकोहीको घर बगाउन सक्छ र देश भनिएको भूगोल पनि नामेट हुनसक्छ । यसर्थमा पोल्टामा आगो थाप्नु महान् भूल हो जानेर जानाजानी लुगा डढाउनु छैन, अस्तित्व नङ्ग्याउनु छैन ।
    चराहरू गुँड फर्कने बेला भएको छ, म पनि आफ्नो वासतिर फर्कन चाहन्छु । धीत नमरुन्जेल शान्तिमा निदाउन चाहन्छु, तर मलाई रातभन्दा लामो सपना देख्नु पनि छैन ।

    विपरीतमा जीवन जति विपत्तिपूर्वक बाँच्छु, घृणाको प्रहारले जति घाइते बन्छु; तिनै पीडाको झङ्कारमा पीडामुक्तिको आकाङ्क्षासहित आफूलाई सुरक्षित महसूस गर्छु । मेरा तिनै पीडाहरूको पासोमा झुन्डिएर मेरो वर्तमानले आत्महत्या गरेको त्यो बदनाम रूख हिजोआज कुनै सपनाहीन एकै ठाउँमा कुँजो भएर झोक्राइरहन्छ । लाग्छ, ऊ कुनै निचोडहीन सोचमा मौन छ । उसबेलाको पीडाको भारले लच्किएका हाँगाहरूमा नानीहरू सैसैला खेल्छन् ।

    अब अरू आत्महत्या थाम्ने सम्भावना भने छैन, तर कम्तीमा ऊ मान्छेजस्तो कृतघ्न छैन । अफसोस छ आफ्नै कृतघ्न बस्तीप्रति; जुन बस्तीबाट मेरो भूगोलका खुशीहरू वर्षेनि मुग्लान झर्छन् । यदि म उभिएको भूमि आम जिन्दगीको करोडौं आँसुको सामूहिक सङ्कलनहीन सङ्ग्रहालय बन्दछ भने, यदि प्रिय भूमि तथ्य इतिहास रित्तिएको अभिलेखालय हुन्छ भने चिसोतातो सम्झौता नमिलेर कुनै घरलाई नसुहाउने पसाङ्गिएको ढोकाजस्तो विरुपताबाट या घरको छेउमा कतै निरर्थक थुप्रिनुपर्ने नियतिबाट पूर्ण मुक्ति खोज्नु छ । इतिहास सहुलियतमा टुङ्गिनुहुन्न । यसरी पीडाको जादूमय मन्त्रोच्चारणमा नै अस्तित्वजनित जीवनांश लिपिबद्ध हुँदोरहेछ ।