Blog

  • जसपाको प्रदर्शन : मुख्यमन्त्री र मन्त्रीहरु सहभागी भएनन्, राष्ट्रपति र प्रधानमन्त्रीलाई देश छाड्न माग

    जसपाको प्रदर्शन : मुख्यमन्त्री र मन्त्रीहरु सहभागी भएनन्, राष्ट्रपति र प्रधानमन्त्रीलाई देश छाड्न माग

    जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि अहिले देशभर विरोध भइरहेको छ ।

    जनता समाजवादी पार्टी (जसपा)ले घोषणा गरेको आन्दोलनको कार्यक्रम अनुसार आज देशभर प्रदर्शन भयो ।

    प्रदेश २ का सबै जिल्लामा जसपाले प्रधानमन्त्री ओली र राष्ट्रपतिको कदमविरुद्ध प्रदर्शन गरेको छ । प्रदेश २ मा जसपाको सरकार छ ।

    तर मुख्यमन्त्री र मन्त्रीहरु भने विरोध प्रदर्शनमा सहभागी भएनन् । प्रदेशको अस्थायी राजधानी जनकपुरको प्रदर्शनमा जसपा सांसद रामआशिष यादव मात्र सहभागी भए ।

    मुख्यमन्त्री लालबाबु राउत र भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल काठमाडौंमा छन् । त्यसबाहेक सबै मन्त्री र राज्यमन्त्री प्रदेशमै छन् । यद्यपि उनीहरु संसद विघटनविरुद्धको प्रदर्शनमा सहभागी नभएपछि नेता तथा कार्यकर्ताहरु सशंकित बनेका छन् ।

    जनकपुरको प्रदर्शनमा सहभागी एक नेताले भने, ‘प्रदेशका मन्त्रीहरु कुनै ठाउँको प्रदर्शनमा सहभागी हुनुभएको छैन । खै, उहाँहरु किन सहभागी हुनुभएन थाहा छैन ।’ मन्त्री मात्र होइन, राज्यमन्त्रीहरु समेत पार्टीको पूर्वनिर्धारित आन्दोलनको कार्यक्रममा सहभागी नहुनु शंकाको विषय हो– नेपाल प्रेससँग ती नेताले भने ।

    प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले मन्त्रीहरु मास परिचालनमा खटेको बताए । उनले भने, ‘सबै मन्त्री मास परिचालनमै खट्नुभएको छ । प्रदर्शनमा सहभागी नहुनुको कुनै अन्य कारण छैन ।’

    प्रधानमन्त्री र राष्ट्रपति देश छाड्न माग

    जनकपुरधाममा सहभागी जसपाका नेता तथा कार्यकर्ताहरुले ‘प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले देश छाड्न माग गरेका छन् । प्रदर्शनकारीहरुले संसद पुनर्स्थापना गर, केपी ओली मुर्दावाद जस्ता नारा समेत लगाए ।

    जनकचोकबाट निस्केको जुलुस शहरको विभिन्न भागको परिक्रमा पश्चात पुनः जनकचोकमा गएर कोणसभामा परिणत भयाे ।

    कोणसभालाई सम्बोधन गर्दै प्रदेश सांसद रामआशिष यादवले संविधानलाई लत्याएर ओलीले संसद् विघटन गरेको आरोप लगाए । उनले भने, ‘प्रधानमन्त्री अल्पमतमा परेको र अविश्वासको प्रस्ताव दर्ता भएको बेला मात्र संसद् विघटन गर्न पाउँछन् । तर न अल्पमतमा न अविश्वास प्रस्ताव दर्ता भएको अवस्थामा संसद् विघटन गरेर ओलीले संविधानलाई लत्याएका छन् ।’

    यस्तै जसपाकी केन्द्रीय सदस्य रेणु झाले संसद् विघटन गरेकोमा आक्रोश व्यक्त गर्दै प्रधानमन्त्री केपी ओली पागल र नालायक भएको बताइन् । उनले ओलीलाई पागलखानामा राख्नुपर्ने र सबै जनताले बहिष्कार गर्नुपर्ने पनि बताइन् ।

    ‘अहिले कोरोना महामारीले देश थलिएको छ । तर जनतालाई कोरोनाको उपचार आफैं गर्न भन्छन्’ उनले भनिन्, ‘तर अर्बौ रुपैयाँ खर्च हुने निर्वाचनको घोषणा गरेको छ । के राज्यको ढुकुटी ओली बाउको हो ?’ उनले संसद् पुनर्स्थापना गराउन जस्तोसुकै आन्दोलन गर्ने चेतावनी समेत दिइन् ।

  • बेलायतबाट नेपाल आएका व्यक्ति १० दिन क्वारेन्टिनमा बस्नू : स्वास्थ्य मन्त्रालय

    बेलायतबाट नेपाल आएका व्यक्ति १० दिन क्वारेन्टिनमा बस्नू : स्वास्थ्य मन्त्रालय

    काठमाडौं । सरकारले संयुक्त अधिराज्य (बेलायत)बाट नेपालमा आएका व्यक्ति अनिवार्यरुपमा १० दिन होटल क्यारेन्टिनमा बस्न अनुरोध गरेको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै बेलायतमा नयाँ प्रकारको कोभिड–१९ को प्रजाति देखिएकाले त्यहाँ आउने व्यक्ति अनिवार्य १० दिन क्वारेन्टिनमा बस्न आग्रह गरेको हो ।
    नयाँ जातको प्रजातिको भाइरसको रोकथाम र नियन्त्रणका लागि यही पुस १ गतेदेखि ७ गतेभित्र बेलायत वा बेलायतको बाटो हुँदै नेपाल प्रवेश गरेका सबै अनिवार्यरुपमा १० दिन होटल क्वारेन्टिनमा बस्नुपर्नेछ ।

    बेलायतमा देखिएको नयाँ प्रजातिको कोभिड–१९ को भाइरसको स‌ंक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले प्राथमिकतासाथ काम गरिरहेको जनाइएको छ । नेपाल प्रवेश गरेको मितिले सात दिनदेखि १० दिनभित्र नजिकको सरकारी स्वास्थ्य प्रयोगशालामा गई पिसिआर परीक्षण गराउनसमेत आग्रह गरेको हो । गर्नुभएको छ ।

    मन्त्रालयले यसरी आउने व्यक्तिको निःशुल्क परीक्षणको व्यवस्थासमेत मिलाउन सरकारी प्रयोगशालालाई भनेको छ ।

  • ईपिएस परीक्षामा नक्कली परीक्षार्थी बनेर  ठगी  धन्दा

    ईपिएस परीक्षामा नक्कली परीक्षार्थी बनेर ठगी धन्दा

    काठमाडौं । विभिन्न समयमा ईपिएस परीक्षामा नक्कली परीक्षार्थी बनी ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
    सुनसरी धरान उपमहानगरपालिका १९ घर भई काठमाडौं महानगरपालिका ५ रुद्रमतीमार्ग, कालोपुल बस्ने ५१ वर्षीय उत्तममान लिम्बुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
    सेन्ससेज कन्सल्टेन्स बागबजार काठमाडौंमा कोरियन भाषाको प्रशिक्षकको रुपमा काम गर्ने उत्तम मान समेतले विभिन्न समयमा कोरियन भाषाको ईपिएस परीक्षामा सहभागी हुन आएका विद्यार्थीलाई प्रभाव तथा प्रलोभनमा पारी विद्यार्थीहरुको प्रवेश पत्रमा आफ्नो फोटो राखी परीक्षा दिई उत्तिर्ण हुने र प्रतिव्यक्ति ७ लाख रुपैयाँसम्म लिई विद्यार्थीहरुलाई कोरिया पठाउने कार्यमा वर्षौदेखि संलग्न रहँदै आएको खुल्न आएको छ ।
    विशेष सूचना आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उत्तममानलाई पक्राउ गरी आवश्‍यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर, काठमाडौं पठाइएको जनाएको छ ।

     

  • कांग्रेस बैठकमा हुटिङ : रामचन्द्रविरुद्ध खनिए शंकर, प्रतिवादमा उत्रिए गुरु

    कांग्रेस बैठकमा हुटिङ : रामचन्द्रविरुद्ध खनिए शंकर, प्रतिवादमा उत्रिए गुरु

    काठमाडौं । संसद विघटनको विरुद्धमा तत्काल आन्दोलन गर्ने वा अदालतको फैसला कुर्ने भन्नेमा विभाजित भएको कांग्रेस केन्द्रीय समितिको बैठकमा चर्काचर्की परेको छ । नेताहरुले एक अर्कालाई बैठकमै हुटिङ समेत गरेका छन् ।

    बुधबारको केन्द्रीय समितिको बैठकमा बोलेका ४ मध्ये ३ जना केन्द्रीय सदस्यहरुले संविधान र लोकतन्त्र जोगाउन तत्काल आन्दोलनमा जानुपर्ने धारणा राखेका थिए । त्यसपश्चात सभापति शेरबहादुर देउवाले नेकपाको विवादमा निर्वाचन आयोग र अदालतले गर्ने फैसला अनुसार आन्दोलनको रणनीति बनाउन उपयुक्त हुने बताएका थिए ।

    देउवाको भनाइमा असहमत रहेका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटन असंवैधानिक भएको ठहर पार्टीले गरिसकेकोले जनतामा जाने कुनै न कुनै कार्यक्रम घोषणा गर्नुपर्ने बताए ।
    पौडेलको भनाइपछि सभापति देउवाले ‘पुस १६ गते मेलमिलाप दिवसको दिन देशव्यापी प्रदर्शन गरौ’ भन्ने प्रस्ताव गरे । जसमा पौडेलले ‘मेलमिलाप दिवसको दिन नभएर अगाडि वा पछाडिको कुनै मितिमा प्रदर्शन गरौं’ भन्ने धारणा राखे । यसलगत्तै देउवा र पौडेल पक्षका नेताहरुबीच बैठकमा चर्काचर्की सुरु भयो ।

    महामन्त्री पूर्णबहादुर खड्काले सभापति देउवा र पौडेललाई दुइजना छुट्टै बसेर टुंगो लगाउन सुझाव दिएका थिए । सह महामन्त्री डा.प्रकाशशरण महतले सभापति बोलेको बेला ‘बीचमै किन बोलेको ?’ भनी वरिष्ठ नेता पौडेललाई प्रश्न गरेका थिए ।

    यत्तिकैमा देउवानिकट केन्द्रीय सदस्य शंकर भण्डारी आक्रोशित भए । उनले ‘वरिष्ठ नेताले जे भन्यो त्यही मान्न नसकिने’ जिकिर गरे ।

    भण्डारीले केन्द्रीय समिति नसकिदै आन्दोलनको घोषणा नगर्न र सर्वोच्चको निर्णय कुर्न माग गर्दै वरिष्ठ नेता पौडेलको प्रतिवादमा उत्रिए । पौडेल नजिकै पुगेका भण्डारीलाई अर्का केन्द्रीय सदस्य गुरुराज घिमिरेले रोकेका थिए । ‘मेलमिलाप दिवसको दिन आन्दोलन गर्ने प्रचलन छैन’ पौडेल पक्षका केन्द्रीय सदस्य घिमिरेले प्रतिवाद गरे ।

    पौडेल विरुद्ध आइलागेका भण्डारीलाई घिमिरेले रोकेपछि बैठकमा केहीबेर चर्काचर्की परेको थियो । ‘चुप लाग्नुस तपाई, बढी नबोल्नुस्’, भण्डारीले घिमिरेलाई भने । ‘ठूलो स्वर हुँदैमा तपाई बढी बोल्ने, मलाई सिकाउने तपाई को हो ?’ घिमिरेले जवाफ फर्काए । दुई नेताबीच लामो चर्काचर्की परेपछि सभापति देउवाले दुवैलाई आ–आफ्नो स्थानमा बस्न निर्देशन दिए । ‘बसेर सल्लाह गर’, देउवाले दुवै नेतालाई भनेका थिए ।

    पौडेल पक्षका नेताहरुले पार्टीभित्र आन्दोलनको पक्षमा उभिएकै कारण सुनियोजित रुपमा प्रतिवाद थालिएको आरोप लगाएका छन् । ‘सभापतिजीको भन्दा फरक धारणा राखियो भन्दैमा प्रतिवाद गर्ने शैली उहाँहरुमा देखियो । आजको बैठकमा जे भयो त्यसले राम्रो संकेत गरेन’, चर्काचर्कीमा मूकदर्शक बनेका एक नेताले भने ।

    केन्द्रीय सदस्य शंकर भण्डारीले भने पार्टीभित्र अनौपचारिक रुपमा छलफल हुनु सामान्य रहेको प्रतिक्रिया दिए । ‘बैठक नसकिंदै आन्दोलन किन गर्ने ? अदालतको फैसला कुरौं भनेर मैले भनेकै हो । त्यहीबेला सामान्य परेको हो’, भण्डारीले नेपाल प्रेससँग भने ।

    केन्द्रीय समितिको बुधबारको बैठकमा डा.रामशरण महत, बलबहादुर केसी र गगन थापाले अदालतको फैसला कुरेर चुपचाप बस्नुभन्दा सडकबाट सरकारलाई चुनौती दिनुपर्ने बताएका थिए । उनीहरुले तत्काल आन्दोलनको कार्यक्रम घोषणा गर्न माग गरेका थिए । देउवा पक्षका केन्द्रीय सदस्य आनन्द ढुंगानाले भने अदालतको क्षेत्राधिकारमा परेको विषयमा सडकमा गइहाल्न आवश्यक नरहेको बताए । कांग्रेस बैठक विहीबार पुनः बस्नेछ ।

    मेलमिलाप दिवसमा आन्दोलन नहुने
    बुधबारको बैठकको निर्णयका रुपमा कांग्रेसले पुस १६ गते देशव्यापी प्रदर्शन गर्ने जनाएको थियो । यद्यपि मेलमिलाप दिवसको दिन आन्दोलन नगर्न सभापति देउवा सहमत भएका छन् । ‘मेलमिलाप दिवसको दिन नियमित कार्यक्रम गर्ने र त्यसअगाडि नै प्रदर्शन गर्ने गरी विहीबारको बैठकबाट थप निर्णय गर्ने सल्लाह भएको छ’, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने ।

  • प्रचण्डको योजना–प्रतिनिधिसभा पुनर्स्थापना गरेर ओलीलाई सरकारबाट हटाउने

    प्रचण्डको योजना–प्रतिनिधिसभा पुनर्स्थापना गरेर ओलीलाई सरकारबाट हटाउने

    काठमाडौं । नेकपाको एउटा समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनर्स्थापना हुने र नयाँ सरकार गठन गर्ने योजना सुनाएका छन् ।

    विघटित प्रतिनिधिसभाका आफू पक्षधर सांसदहरुको बैठकमा प्रचण्डले केपी ओली नेतृत्वको सरकारलाई जति सक्दो चाँडो विदा गरिने बताए ।

    प्रचण्ड–माधव पक्षधर संसदीय दलको नेता सर्वसम्मत रुपमा चयन भएपछि उनले प्रतिनिधिसभा विघटन असंवैधानिक भएकाले यसलाई पुनर्स्थापना गरेर नयाँ सरकार बन्ने बताए । तर पुनर्स्थापना कसरी गर्ने भन्नेबारे उनले प्रष्ट पारेनन् । उनले नयाँ सरकारको नेतृत्वबारे पनि बताएनन् ।

    प्रचण्डले पार्टी र संसदीय दल दुवैतिर आफ्नो पक्षको बहुमत रहेकोले वैधानिक पार्टी आफ्नै नेतृत्वको रहेको र प्रतिनिधिसभा पुनर्स्थापनाका लागि अन्य विपक्षी दलहरुसँग पनि छलफल भइरहेको बताए ।

    सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटन विरुद्धका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ गर्ने आदेश दिएलगत्तै प्रचण्डको यस्तो भनाइ आएको हो । सभामुखले विशेष अधिकार प्रयोग गरेर संसद बैठक बोलाउनेबारे पनि छलफल भइरहेको उनले बताए ।

    बैठकमा प्रचण्डले भने–संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने दिशामा अब हामी जान्छौं । अरु दलका नेताहरुसँग पनि छलफल गरेर एउटा नयाँ परिस्थिति हामी निर्माण गर्छौं । केपी ओलीलाई चाँडो भन्दा चाँडाे सरकारबाट पनि निकालिन्छ ।

  • संसद विघटनको विरोधमा आज विराटनगरमा प्रदर्शन

    संसद विघटनको विरोधमा आज विराटनगरमा प्रदर्शन

    विराटनगर  । जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक संसद् विघटनको विरोधमा आज विराटनगरमा प्रदर्शन गरेको छ ।

    विराटनगरको संसारीमाईबाट निस्किएको र्‍यालीसहितको विरोध प्रदर्शन घाँसचाेकमा गएर कोणसभामा परिणत भएको थियो।

    कोणसभालाई सम्बोधन गर्दै उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीकाे संसद् विघटन गर्ने कार्य असंवैधानिक भएको भन्दै त्यसको विरुद्ध सशक्त आन्दोलन गर्ने बताएका छन् ।

    राजपा नेताहरुले संसद विघटन गर्ने प्रधानमन्त्रीको प्रस्ताव र त्यसलाई स्वीकृत गर्ने राष्ट्रपतिकाे निर्णय असंवैधानिक, लोकतन्त्र विरोधी र व्यवस्थाकै विपक्षमा रहेको पनि बताए ।

    उनीहरुले संसद विघटन गर्ने असंवैधानिक कार्यलाई तत्काल फिर्ता नलिएसम्मका लागि सरकारको असंवैधानिक कदमको विरोधमा जिल्लाभर विराेधका कार्यक्रमलाई निरन्तरता दिने उद्घोष समेत गरेका छन् ।

    कोणसभालाई प्रदेश सांसद जयराम यादव, पार्टीका केन्द्रीय सदस्यहरु अमरेन्द्र शाह, तवरेज हक, भुराज राई, रामलाल सुतिहार,वसन्धरा झा, महमत फैजारले सम्बोधन गरेका थिए ।

     

  • नेकपा सिन्धुपाल्चोकका नेता तथा जनप्रतिनिधिः को कता ? (सूचीसहित)

    नेकपा सिन्धुपाल्चोकका नेता तथा जनप्रतिनिधिः को कता ? (सूचीसहित)

    सिन्धुपाल्चोक । कम्युनिष्टको बर्चश्व भएको मानिने सिन्धुपाल्चोकमा पनि नेकपा विभाजनको असर परेको छ । विभिजित हुनुपूर्वको नेकपामा ७ जना केन्द्रीय सदस्य मनोनित भएको सिन्धुपाल्चोकमा नेकपाको केन्द्रीय कलहसँगै जिल्ला नेता, सांसद एवम् स्थानीय तहका जनप्रतिनिधि पनि दुई समूहमा कित्ताकाट भएका छन् ।

    तत्कालीन एमाले र माओवादी दुबैले आफ्नो पकड मान्ने सिन्धुपाल्चोक नेकपाका १ सय ४५ जिल्ला कमिटी समस्यामध्य एमालेले ७३ र माओवादीले ७२ सदस्य भाग दिएका थिए ।

    दुई संघीय सांसद दुईतिर

    ओली र माधव–प्रचण्ड समूहका सिन्धुपाल्चोकका दुई सांसद एक–तिर लागेका छन् । विगतमा नेपालसित नजिक भनिएका सांसद शेरबहादुर तामाङ ओली पक्षमा लागेपछि दुबैतिर संघीय सांसदको भाग पुगेको हो ।

    प्रचण्डका खास मानिने सभामुख अग्निप्रसाद सापकोटा र तामाङ अहिले बेग्लाबेग्लै पक्षमा उभिएका छन् । ओली सरकारकै पालामा कानुनमन्त्री भएका तामाङले क्याम्प परिवर्तन गरेसँगै सिन्धुपाल्चोकको समीकरण पनि बदलिएको छ ।

    तामाङले समूह परिवर्तन गरेसँगै उनीनिकट जिल्ला समन्वय समितिका संयोजक कृष्णगोपाल तामाङ पनि ओली पक्षमै आएका छन् ।

    तामाङसँगै संविधानसभा सदस्य डोल्मा तामाङ र तत्कालीन एमाले सिन्धुपाल्चोकका पूर्वअध्यक्ष हस्त पण्डित पनि ओली समूह नेकपाको केन्द्रीय सदस्य भएका छन् ।

    तामाङले चुनाव जितेको क्षेत्र नम्बर २ का ५ स्थानीय तहमध्ये पाँचपोखरी थाङपाल, मेलम्ची र चौतारामा नेकपाले जितेको थियो । तामाङले गुट परिवर्तन गरेपनि स्थानीय सरकारका प्रमुखहरु भने प्रचण्ड–माधव समूहको नेकपामा नै रहेका छन् ।

    प्रचण्ड–माधव समूहमा नेता धेरै

    सिन्धुपाल्चोकबाट नेकपा केन्द्रीय सदस्य भएकामध्ये शेरबहादुर तामाङबाहेक सबै प्रचण्ड–माधव समूहमा छन् । नेताहरु अमृतकुमार बोहोरा, अरुण नेपाल, कृष्णप्रसाद सापकोटा, माधव सापकोटा, युवराज दुलाल, रामप्रसाद सापकोटा र आरसी शर्मा प्रचण्ड–माधव समूहको नेकपाका केन्द्रीय सदस्य हुन् ।

    केन्द्रय सदस्य दावा तामाङ भने अझै खुलेका छैनन् । तामाङ रामबहादुर थापा बादलनिकटका हुन् ।

    जिल्ला अध्यक्ष झम्क नेपाल र पूर्वसांसद सुवास कर्माचार्य पनि प्रचण्ड–माधव समूहमा नै छन् । कर्माचार्यलाई भने ओली समूहले आफूतिर तान्न फकाइरहेको छ ।

    स्थानीय तहका प्रमुख, को कता ?

    सिन्धुपाल्चोकका १२ स्थानीय तह मध्ये तत्कालीन नेकपा एमालेले सात स्थानीय तहमा चुनाव जितेको थियो भने तत्कालीन एमाओवादी केन्द्रले एक नगरपालिकासहित दुई स्थानीय तहमा चुनाव जितेको थियो ।

    हाल नेकपाको नौ स्थानीय तहमध्ये जुगल गाउँपालिकाका अध्यक्ष होमनारयण श्रेष्ठ मात्रै नेकपाको ओली समूहमा छन् बाँकी आठ स्थानीय सरकारका प्रमुखहरु भने प्रचण्ड–माधव समूहकै नेकपामा छन् ।

    प्रदेशसभा सदस्य पनि बाँडिए

    बागमती प्रदेशमा सिन्धुपाल्चोकको तीन सिट जितेको नेकपामा अहिले दुई सदस्य प्रचण्ड–माधव समूहमा नै छन् । अरुण नेपाल र युवराज दुलाल त्यहीं रहेका छन् भने वागमती प्रदेश सदस्य सरेश नेपाल ओली समूहको केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।

    प्रचण्ड–माधव समूहमा लागेका केन्द्रीय सदस्यहरु

    अमृतकुमार बोहरा
    अरुण नेपाल
    दावा तामाङ (खुल्न बाँकी)
    युवराज दुलाल
    माधव सापकोटा
    कृष्णप्रसाद सापकोटा
    रामप्रसाद सापकोटा
    आरसी शर्मा
    झम्क नेपाल,जिल्ला अध्यक्ष

    ओली समूहमा लागेका केन्द्रीय सदस्यहरु

    शेरबहादुर तामाङ
    सरेश नेपाल
    हस्त पण्डित
    डोल्मा तामाङ
    होमनारयण श्रेष्ठ

    स्थानीय सरकार प्रमुखः प्रचण्ड–माधव समूह

    डम्बर अर्याल, मेलम्ची नगरपालिका
    अमान सिं तामाङ, चौतारा साँगाचोकगढी नगरपालिका
    निमफुञ्जो शेर्पा, बाह्रविसे नगरपालिका
    केदार क्षेत्री, बलेफी गाउँपालिका
    कमल नेपाल, लिसंखुपाखर गाउँपालिका
    टासी लामा, पाँचपोखरी थाङपाल गाउँपालिका
    भुपेन्द्र श्रेष्ठ, त्रिपुरासुन्दरी गाउँपालिका
    राजकुमार पौडेल, भोटेकोशी गाउँपालिका

    स्थानीय सरकार प्रमुखः ओली समूह

    होमनारयण श्रेष्ठ, जुगल गाउँपालिका

     

  • ७४३ कोरोना संक्रमित थपिए, पाँचको मृत्यु

    ७४३ कोरोना संक्रमित थपिए, पाँचको मृत्यु

    नेपालमा कोरोनाभाइरसको सक्रिय संक्रमति संख्या ७ हजार ५ सय १५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा ७४३ कोरोना संक्रमित थपिएका छन् । पाँच जनाको मृत्यु भएको छ ।

    पछिल्लो २४ घन्टामा ६ हजार ५ सय ५९ नमुनाको पीसीआर परिक्षण भएको छ । अहिलेसम्म मुलुकमा कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार ९७९ पुगेको छ । अहिलेसम्म १८ लाख ९० हजार ७४० नमुनाको पीसीआर परिक्षण भएको छ ।

    २४ घन्टामै ९ सय ५२ जना निको भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ४६ हजार ६६१ पुगेको मन्त्रालयले जनाएको छ । अहिले क्वारेन्टाइनमा ४०९ जना रहेका छन् । सोही अवधीमा पाँच जनाको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या १८०३ पुगेको छ ।

    यसैबीच, स्वास्थ्य मन्त्रालयले बुधबार विज्ञप्ती जारी गर्दै पुस १ गते यता बेलायत र त्यहाँको बाटो हुँदै नेपाल आइपुगेकालाई अनिवार्य १० दिन होटल क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ । नेपाल प्रवेश गरेको मितिले १० दिनभित्र अनिवार्य पीसीआर परिक्षण गर्न पनि भनिएको छ ।

    बेलायतमा नयाँ प्रकारको कोरोना भाइरसको प्रजाति देखिएपछि सरकारले बुधबार रातीदेखि लागु हुने गरि बेलायत जान र आउन रोक लगाएको छ । झन्डै दुईदर्जन मुलुकले बेलायतसँगको हवाइ सम्पर्क बिच्छेद गरेका छन् ।

  • कांग्रेस केन्द्रीय कार्यसमितिकाे बैठक सकियो, भोलि पुन :१ बजे बस्ने

    कांग्रेस केन्द्रीय कार्यसमितिकाे बैठक सकियो, भोलि पुन :१ बजे बस्ने

    काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भोलि पुन :१ बजे बस्ने गरी सकिएको छ ।

    संसद विघटन भएपछि बुधबार पनि पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा प्रतिनिधिसभा विघटनबारे छलफलमा केन्द्रीत रहेको थियो ।
    आजको बैठकमा गगन थापा, बलबहादुर केसी, आनन्द ढुंगाना र रामशरण महतले आफनो धारणा राखेका थिए ।

    कांग्रेस नेताहरुले कांग्रेस दुई धारमा नभएको भन्दै संसद विघटनको कदम असंवैधानिक रहेकाले राजनीतिक रुपमा प्रतिवाद गर्छौ भनेर कांग्रेसले सार्वजनिक रुपमै भनिसकेको बताएका छन् । नेताहरुले जसपा र नेकपासंग पनि कांग्रेसले छलफल गरेको बताउँदै यसको विरुद्धमा प्रष्ट रुपमा उभिने समेत बताए ।

    पुस १६ गते मेलमिलाप दिवसको दिन कांग्रेसले संसद विघटनका विरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्मा जानकारी दिए ।

    संसद विघटनका विरुद्ध ७७ वटै जिल्लामा प्रर्दशन गरिने समेत कांग्रेसले कार्यक्रम तय गरेको छ ।

    प्रवक्ता शर्माले भने,‘लोकतन्त्र र संविधानको पक्षमा कांग्रेस आफ्नै ब्यानरमा आन्दोलनमा जान्छ ।’ बैठक भोलि पनि जारी रहनेछ ।

  • सूर्य चिह्न दाबी गर्दै प्रचण्ड–माधव पक्ष निर्वाचन आयोगमा

    सूर्य चिह्न दाबी गर्दै प्रचण्ड–माधव पक्ष निर्वाचन आयोगमा

    काठमाडौं । नेकपाको आधिकारिकता दाबी गर्दै प्रचण्ड माधव पक्षले निर्वाचन आयोगमा आवश्यक कागजपत्र बुझाएको छ ।

    २८७ केन्द्रीय सदस्यको हस्ताक्षरसहितको नेकपा केन्द्रीय कमिटी बैठकको निर्णय आयोगमा दर्ता गरिएको स्थाायी कमिटी सदस्य लीलामणि पोखरेलले बताए ।

    पार्टीको दुई तिहाइ बहुमतले केपी ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाल चयन गरिएको निर्णयसमेत आयोगमा पेश भएको छ । आयोगमा यसअघि ओली पक्षले पनि आधिकारिकता दाबी गर्दै कागजात बुझाइसकेको छ ।

    निर्वाचन आयोगबाट निस्कने क्रममा प्रचण्ड–माधव नेपाल पक्षका नेता सुरेन्द्र पाण्डेले सूर्य चिह्नमा आफूहरुको हक लाग्ने भन्दै अल्पमत पक्षले नयाँ पार्टी दर्ता गर्नुपर्ने बताए ।

    निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दुवै पक्षका निवेदन र कागजात हेरी चाँडै निर्णय दिने बताएका छन् ।

     

  • भारतले नेपालसँगको संयुक्त लगानीमा दुई फिल्म निर्माण गर्ने

    भारतले नेपालसँगको संयुक्त लगानीमा दुई फिल्म निर्माण गर्ने

    भारतले नेपालसँगको संयुक्त लगानीमा दुई फिल्म निर्माण गर्ने भएको छ । भारतीय फिल्म बजारले दुईवटा फिचर फिल्मलाई संयुक्त लगानीका लागि छनाेट गरेको भेराइटी म्यागजिनले जनाएको छ ।

    जसमा पासाङ दावा शेर्पाले निर्देशन गर्ने ‘ने पासाङ कुहिरो पारिको शहर’ तथा पृथ्वीजोय गांगुली र शिवकुमार कपुरले निर्माण गर्ने ‘ह्वाट वी लस्ट इन द फायर’मा फिल्म बजारले फन्डिङ गर्ने भएको छ । आधा लगानी नेपाली निर्माताको हुनेछ ।

    सन् २०२१ को अनलाइन संस्करणको लागि फिल्म बजारले विभिन्न मुलुकका २१ प्रोजेक्ट छनाेट गरेको छ । छानिएका फिल्मका निर्माताले भर्चुअल रुपमा फिल्म प्रोजेक्टबारे प्रस्ताव राखेका थिए । फिल्म निर्माता, वितरक र एजेन्टको रुचिको आधारमा यी प्रोजेक्ट छानिएको जनाइएको छ ।

    आगामी जनवरी १६ देखि २१ सम्म संचालन हुने फिल्म बजारलाई भारतको नेसनल फिल्म डेभलपमेन्ट कर्पोरेसनले आयोजना गर्नेछ ।

  • प्रधानमन्त्रीद्वारा महान्यायाधिवक्ताको कार्यालयको नयाँ भवन उद्घाटन

    प्रधानमन्त्रीद्वारा महान्यायाधिवक्ताको कार्यालयको नयाँ भवन उद्घाटन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालयको नयाँ भवन आज उद्घाटन गरेका छन् ।

    २०७५ असोज २४ गते शिलान्यास भई ७३ करोड ६९ लाख ३५ हजारमा ठेक्का सम्झौता भई निर्माण सम्पन्न  भएकाे थियो । सो भवन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको केन्द्रीय आयोजनाअन्तर्गत बनाइएको हो ।

    समारोहमा सरकारी वकिलको तीनदिने तेस्रो राष्ट्रिय सम्मेलनको पनि उद्घाटन गरियो ।

  • महेश बस्नेतको उपस्थितिमा सिन्धुली पार्टी कार्यालय ओली पक्षलाई जिम्मा

    महेश बस्नेतको उपस्थितिमा सिन्धुली पार्टी कार्यालय ओली पक्षलाई जिम्मा

    काठमाडौं । नेकपा नेता महेश बस्नेतको उपस्थितिमा केपी ओली पक्षका कार्यकर्ताहरूले सिन्धुली जिल्ला पार्टी कार्यालयमा ताला लगाएका छन् ।

    माडी–२ बजारमा भेला भएका युवा कार्यकर्ताहरूले ताला लगाएर साँचो ओली पक्षधरका पूर्व जिल्ला सचिव महेन्द्र श्रेष्ठलाई जिम्मा लगाएका छन् ।

    विगतमा माओवादीको प्रभाव क्षेत्र भनेर चिनिएको सिन्धुलीका हालका पार्टी अध्यक्ष प्रचण्ड–नेपाल पक्षका राजन दाहाल जिल्ला अध्यक्ष छन् । ‘यो कार्यालय ओलीले शिलान्यास गरेर पूर्व एमालेले ११ वर्ष अगाडि निर्माण गरेको हो । यसमा हाम्रै हक लाग्छ’ भेलामा सहभागी भएका वागमती प्रदेश सदस्य कौशल कोइरालाले बताए ।

  • नेप्सेमा उतारचढाव, लगानीकर्ता अन्योलमा

    नेप्सेमा उतारचढाव, लगानीकर्ता अन्योलमा

    काठमाडौं । बुधबार नेप्से परिसूचक ७ दशमलव ४ अंकले बढेको छ । बजार खुलेको १० मिनेटमा ३३ अंकले बढेको नेप्से पुनः ओरालो लाग्दै आधाघण्टाको कारोबारमा ३३ अंकले नै घट्न पुग्यो ।

    दिनभर उतारचढाब बेहोरेको नेप्से २,०६८ दशमलव ४६ अंकमा बन्द भयो । १ करोड १५ लाख ५८ हजार ९९१ कित्ताको किनबेचमा ६ अर्ब ८६ करोड २४ लाख ४५ अजार २१५ रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार ९५ अंकले बढेको थियो ।

  • नवलपरासीमा ट्रक दुर्घटना: तीन जनाको मृत्यु

    नवलपरासीमा ट्रक दुर्घटना: तीन जनाको मृत्यु

    नवलपरासी । नवलपरासी बर्दघाट सुस्ता पूर्वको गैंडाकोट नगरपालिका – ३ भोक्रोफाँटमा भीरबाट ट्रक खस्दा तीन जनाको मृत्यु भएको छ ।

    आज बिहान साढे ७ बजे बुलिङटारबाट गैंडाकोटतर्फ आउँदै गरेको ना ३ ख ५३३९ नम्बरको ट्रक सडकबाट १०० मिटर तल खस्दा दुर्घटना भएको हो ।

    दर्घटनामा ट्रक चालक मकवानपुरको हेटौंडा बस्ने ४५ वर्षीय सुरेश भुजेल र अन्य नाम थर ठेगाना नखुलेका दुई जना पुरुष गरी तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

    दुर्घटनाको कारण बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

  • ‘कांग्रेस ओली र प्रचण्ड–माधव दुवैको विपक्षमा उभिनुपर्छ’

    ‘कांग्रेस ओली र प्रचण्ड–माधव दुवैको विपक्षमा उभिनुपर्छ’

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको केही घण्टामै नेपाली कांग्रेसका युवा नेता गगन थापा सडकमै उत्रिए। बानेश्वरमा सभा गरेर थापाले संसद विघटनको विरोध मात्रै गरेनन् आन्दोलनबाट संसद पुनःस्थापना गरेरै देखाउने घोषणा पनि गरे। कांग्रेसको मूल नेतृत्व आन्दोलन कि चुनाव भन्नेमा अलमलमा देखिएका बेला थापा चुनावको विपक्षमा खरो उत्रिएका छन्।

    कांग्रेस केन्द्रीय समितिको जारी बैठकले आन्दोलन वा चुनावमध्ये कुन कार्यदिशा तय गर्छ ? यकिन भइसकेको छैन । यसै सन्दर्भमा थापासँग नेपाल प्रेसका लागि नकुल अर्याल ले गरेको कुराकानी प्रस्तुत छ नेपाल टक मा–

    प्रतिनिधिसभा विघटनपछि तपाईं पार्टीको निर्णय नआउँदै एक्लै सडकमा निस्किनुभयो, अबको राजनीतिबारे तपाइँको धारणा के हो ?

    प्रधानमन्त्रीले जुन संसद विघटन गर्नुभयो, त्यो विघटन गर्ने अधिकार हाम्रो संविधानले प्रधानमन्त्रीलाई दिएको छैन । प्रधानमन्त्रीले संविधानले नचिनेको काम गर्नुभएपछि त्यो कामलाई पनि हाम्रो संविधानले चिन्दैन ।

    जुन कामलाई नेपालको संविधानले चिन्दैन त्यो कामलाई नेपाली कांग्रेसले पनि चिन्दैन, मान्दैन । एउटा व्यक्तिको सनकले गरिएको असंवैधानिक कामको प्रतिरोध गर्ने कुरा अनिवार्य छ । यही कारण हाम्रो पार्टीको पदाधिकारी बैठकले यस असंवैधानिक कदमका विरुद्ध उभिने निर्णय गरिसक्यो ।

    नेपाली कांग्रेसका साथीहरुमा अब यो कदम पछाडि उत्पन्न अन्याेलले देशलाई अराजकतातर्फ लैजान्छ कि भन्ने चिन्ता देखिन्छ ।

    यसलाई सम्हाल्ने विषयमा आ–आफ्ना मतहरु रहेका छन् । त्यसलाई मैले अन्यथा मानेको छैन । तर यो असंवैधानिक कदम भएकोले यसलाई कुनै पनि बहानामा यो ठीक छ भन्यौं भने त्यसले असंवैधानिक कदमलाई नै मद्दत गरेको ठहर्छ । त्यसैले कुनै अलमल विना यसका विरुद्ध उभिनुपर्छ, यसको प्रतिरोध गर्नुपर्छ ।

    अर्को कुरा, प्रधानमन्त्री ओलीको कदमको विरुद्ध उभिंदै गर्दा यो पनि भन्न आवश्यक छ कि यो असफलता ओलीको मात्रै होइन नेपाल कम्युनिष्ट पार्टीको पनि हो । यो प्रचण्ड र माधव नेपालसहित सिंगो नेपाल कम्युनिष्ट पार्टीको असफलता हो । यसको कारक प्रचण्ड र माधव नेपाल पनि हुन् ।

    जुन कामलाई नेपालको संविधानले चिन्दैन त्यो कामलाई नेपाली कांग्रेसले पनि चिन्दैन, मान्दैन ।

    नेकपामा को कता लाग्छन् र पार्टीको नाम के हुन्छ हाम्रो चासोको विषय होइन। तर नेकपाको वैधता यो कदमसँगै टुंगियो भन्ने हाम्रो ठहर छ। यस्तो कदमको विरुद्धमा उभिने जनता समाजवादी पार्टी लगायतसँग सहकार्य गर्ने कुरा स्वाभाविक छ। हामीले जनताको बीचमा जाँदा नेकपाको एउटा पक्ष होइन ओली, प्रचण्ड, नेपाल सबैको विरुद्धमा उभिनुपर्छ ।

    कांग्रेसमा अदालतको निर्णय कुर्ने कि आन्दोलन गर्ने भन्नेमा मतान्तर देखियो नि ?

    यस विषयमा कांग्रेस केन्द्रीय समितिको बैठकमा छलफल शुरु भएको छ । यो कदम असंवैधानिक र अलोकतान्त्रिक भएकोले आन्दोलन गर्नुपर्छ भन्नेमा साथीहरुमा द्विविधा रहेको म देख्दिनँ ।

    संविधान मिचियो र संवैधानिकताको कसीमा यो निर्णय गलत छ भनिसकेका कारण हामीले संविधानको बाटो पनि छोड्नुहुन्न। यो निर्णय सच्याउने संवैधानिक बाटो अदालत पनि हो। त्यसैले अदालतको निर्णय कुर्ने त हो तर अदालतलाई हाम्रो कुरा प्रष्टसँग भन्नुपर्छ । हाम्रो अपेक्षा अदालतलाई भन्नु पनि पर्छ।

    यो बेलामा नेपाली कांग्रेस अदालतबाट संविधानको बर्खिलाप हुने गरी भएको निर्णय सच्याइन्छ भन्ने अपेक्षा राख्दछ। माग राख्दछ। विश्वास राख्दछ । यो विश्वास र अपेक्षा रहेको बेलामा अदालतले गरेन भने के गर्ने भन्ने कुरामा छलफल गर्नु उपयुक्त हुँदैन ।

    यसको मतलब कांग्रेसले निर्वाचन तयारी भन्दा आन्दोलनको बाटो लिनुपर्छ ?

    मैले नबुझिरहेको कुरा यो निर्वाचनको तयारी भनेको के हो ? निर्वाचनको तयारी चैं कहाँ गएर गर्ने हो ? जनताबाहेक निर्वाचनको तयारी गर्ने अर्को ठाउँ कहीं छ र ? आखिर निर्वाचनको मतदाता त जनता नै हो नि!

    आखिर जनताले त यो विषयमा कांग्रेसको स्थान कहाँ छ भनेर हेर्छ नि! आजको दिनमा प्रधानमन्त्री ओलीको कदम र नेकपाको अक्षमताको भण्डाफोर गर्ने त जनताको बीचमै हो नि!

    निर्वाचनभन्दा अर्को बाटो त छैन तर अहिले घोषणा गरिएको निर्वाचन अवैधानिक छ। अदालतबाट यस्तो निर्णय बदर हुने हाम्रो अपेक्षा छ। अदालतले यो कदम सच्याएपछि संसद पुनर्स्थापित हुन्छ।

    तर त्यसपछि पनि जाने त चुनावमै हो नि! हिजोको जनमतका आधारमा शासन गर्ने वैधता त सकिइसक्यो नि! विपक्षी दल त निर्वाचनको लागि हरदम तयार हुन्छ नि! त्यसैले निर्वाचनको तयारी त सधैं भइरहन्छ अहिले असंवैधानिक कदम विरुद्ध उभिने बेला हो ।

    प्रधानमन्त्रीले त आफ्ना एजेण्डा जनतामा लैजाने अवसर प्रतिपक्षलाई पनि छ भन्नुभएको छ। तपाईंले भनेका विषयमा निर्वाचनबाट जनताको समर्थन लिए हुन्न र ?

    त्यो प्रधानमन्त्रीले भनिराख्नै पर्दैन। त्यो राजा ज्ञानेन्द्रले भनेजस्तै हो। राजा ज्ञानेन्द्रले घोषणा गरेको निर्वाचन र अहिले प्रधानमन्त्री ओलीले गरेको निर्वाचनमा म कुनै फरक देख्दिनँ। राजाले प्रयोग गरेको धारा १२७ र अहिले राष्ट्रपतिले संसद भंग गर्न प्रयोग गरेको धाराका बीच कुनै फरक देख्दिनँ ।

    निर्वाचनभन्दा अर्को बाटो त छैन तर अहिले घोषणा गरिएको निर्वाचन अवैधानिक छ। अदालतबाट यस्तो निर्णय बदर हुने हाम्रो अपेक्षा छ। अदालतले यो कदम सच्याएपछि संसद पुनर्स्थापित हुन्छ।

    प्रधानमन्त्रीले वैशाखमा निर्वाचन गराउनका लागि घोषणा गर्नुभएको हो भन्नेमा मलाई रत्तिभर विश्वास छैन। यदि प्रधानमन्त्रीले वैशाखमा निर्वाचन गराउने, नेकपाका झुण्ड बोकेर निर्वाचनमा जाने, पराजय हुने निश्चित भएको निर्वाचनको सामना गर्ने, निष्पक्ष चुनावबाट जसले जित्छ उसलाई सत्ता हस्तान्तरण गर्नुहुन्छ भन्ने विश्वास गर्ने हो भने त केपी ओलीलाई किन गाली गर्ने ? प्रधानमन्त्रीमा अधिनायकवादी आकांक्षा रह्यो भनेर किन आरोप लगाउने ? यदि प्रधानमन्त्रीले भनेको सबै पत्याउने हो भने कांग्रेसले प्रधानमन्त्री ओलीप्रति अविश्वास नगरौं भन्नुपर्यो नि!

    भनेपछि सडकमा जानु नै उपयुक्त विकल्प हो ?

    सडकबाट दुइटा कुरा गरिन्छ। सडकबाट अराजकता पनि सिर्जना हुन्छ, सडकबाटै सच्याउन पनि सकिन्छ। हिजो पनि हामीले सडकबाट राजा ज्ञानेन्द्रलाई सच्याएको होइन ? त्यही सडकबाट हामीले प्रतिगमन फिर्ता गराएको हो नि! त्यसैले सडक भनेको नै जनता हो।

    संसदमा भोटे ताल्चा लगाएपछि सडकमा नगएर कहाँ जाने ? कांग्रेस संविधानवादको पक्षमा उभिन्छ भन्ने सन्देश दिनुपर्छ। त्यसका लागि संसद विघटनको कोर्स सच्याउनुपर्छ।

    कसैलाई लागेको होला नेकपा फुटेको बेलामा कांग्रेसको १०–२० सीट बढिहाल्छ भनेर निर्णय लिने हो भने त कांग्रेसले संविधानको माया मारे हुन्छ। भोलिको दिनमा हाम्रो फाइदाका लागि संविधान कुल्चिए पनि केही फरक पर्दैन भनेर हिंड्नुपर्छ ।

    जारी बैठकबाट कांग्रेसले आफूलाई प्रष्ट पार्नुपर्छ। संविधानको हत्या गर्नेसँग हाम्रो कुनै उठबस हुनुहुँदैन। हिजो हामीले राजा ज्ञानेन्द्रसँग उठबस गरेनौं नि त्यसरी नै अब नेकपा भन्ने पार्टी वा समूहसँग हाम्रो उठबस हुनुहुँदैन। एकातिर संविधान मिचियो भन्ने अर्कोतिर सहकार्य खोज्ने हो भने त हामी दुइजिब्रे भैहाल्यौं नि!

    संवैधानिक नियुक्ति हेर्दा त कांग्रेस नेतृत्व र सरकारबीच सहकार्य छ भन्ने देखिन्छ नि ?

    पार्टी सभापतिको सचिवालयले निर्णय गरेर हामीले कुनै नाम दिएका छैनौं भनेर स्पष्टीकरण दिइसकेको छ। मलाई के लाग्छ भने केन्द्रीय समितिबाट हामीले त्योभन्दा कडा निर्णय गर्यौं भने स्पष्टीकरण दिइराख्नै पर्दैन ।

    हाम्रो निर्णयले बोल्नुपर्यो। यस्तो जालझेल गरेर बनाइएका ‘शाही आयोग’ हरुलाई हामीले मान्नुहुँदैन। संवैधानिक नियुक्ति फर्जी छ र प्रधानमन्त्रीलाई किर्ते मुद्दा लाग्न सक्छ। त्यसैले यस्तो फर्जी कुरालाई कांग्रेसले खारेज गरेन भने जनताले सहयोग गर्दैनन्।

    तर कांग्रेसवृत्तमा निर्वाचनबाटै सरकारलाई गलत सावित गर्नुपर्छ भन्ने आवाज पनि उठेको छ नि ?

    म पार्टीका साथीहरुलाई भन्छु कि, जाने निर्वाचनमै हो। तर त्यो असंवैधानिक कदमका बलमा घोषणा भएको निर्वाचन होइन। कांग्रेसका सबै साथीहरुले निर्वाचनको तयारी गर्नुस्। त्यसभन्दा पहिले संसद पुनर्स्थापना हुन्छ। संसद पुनर्स्थापित भएपछि त्यसैले निर्वाचनको निर्क्याेल गर्छ । त्यो निर्वाचन हामीले लड्ने पनि हो, जित्ने पनि हो।

    सरकारले वैशाखमा चुनाव गराइदिन्छ र कांग्रेसलाई माला लगाइदिन्छ भनेर सोच्नुभन्दा ठूलो मूर्खता केही हुँदैन। यसलाई हाम्रो छलफलको मेनुमै राख्नुपर्दैन। असंवैधानिक कदमका विरुद्ध लड्नुपर्छ। विषय अदालतमा पुगेको छ ।

    अदालतसामु हाम्रा अपेक्षा पनि राख्नुपर्छ । हाम्रो धारणा अदालतलाई थाहा दिनका लागि पनि आन्दोलन अपरिहार्य छ ।

     

  • माघदेखि खुल्दै नेपाली नाटक घरहरु

    माघदेखि खुल्दै नेपाली नाटक घरहरु

    कोरोनाभाइरस महामारीले बन्द भएका नेपाली नाटक घरहरु पुस अन्त्यदेखि खुल्ने भएका छन् । स्वास्थ्य मापदण्ड पालना गर्दै अंग्रेजी नयाँवर्षदेखि नाटकका गतिविधि सुरु गर्न लागिएको हो ।

    ‘अंग्रेजी नयाँवर्षलाई आशाको किरण मानेर सोही छेकोदेखि नाटक घरहरु खुल्नेछन्’ नेपाल प्रेससँग थिएटर हबका संयोजक देव न्यौपानेले भने, ‘कोभिड मापदण्ड पालना गर्दै नाटकका गतिविधि सुरु हुनेछन् । तर, सुरुआतमै नाटक देखाउने स्थिति भने छैन ।’

    माघदेखि नाटक सम्बन्धी इभेन्ट आयोजना गरेर घर खुलाइनेछ भने खुलेको तीन महिनापछि नाटकको नियमित मंचन हुनेछ । लकडाउनअघि सुदाम सिके निर्देशित ‘एनिमल फार्म’सहित तीन नाटक रिहर्सलमा थिए । केही महिनामै यी तीन नाटकको मंचन सुरु गर्ने तयारी छ ।

    थिएटर मलका संचालक केदार श्रेष्ठले आउँदो साता बस्ने नाट्यकर्मीको बैठकमा नाटक घर खुलाउने मिति यकिन हुने बताए । ‘सुरुमा माहाेल बनाउने काम हुनेछ र यसका लागि साथीहरुसँग छलफल पनि हुँदैछ’ श्रेष्ठले भने, ‘सुरुमा गतिविधि खुलाउने तरिकाले काम अघि बढ्नेछ ।’

    उनका अनुसार माहाेल बनाउन र दर्शकलाई नाटकतिर आकर्षण गर्न केही गतिविधि हुनेछन् । ‘एकडेढ महिना परिस्थिति हेरेर नियमित नाटक मंचनको काम सुरु हुन्छ’ न्यौपानेले जनाए । अहिले काठमाडौंमा ६ सहित देशभर ८ नाटक घर छन् । थप तीन नाटकघर खुल्ने तयारीमा छन् ।

    एउटा नाटक घरमा झन्डै बीस जनाको समूह हुन्छ । अधिकांश नाट्यकर्मी कामलाई निरन्तरता दिने पक्षमा छन् । केही प्रतिशत चाहिं पेशाबाट पलायन भएको अनुमान गरिन्छ ।

  • प्रचण्ड–माधव पक्षीय नेकपाको संसदीय दलको नेतामा प्रचण्ड चयन

    प्रचण्ड–माधव पक्षीय नेकपाको संसदीय दलको नेतामा प्रचण्ड चयन

    काठमाडौं । प्रचण्ड–माधव नेपाल पक्षीय नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेतामा अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन् ।

    बुधबार नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा बसेको बिघटित प्रतिनिधिसभाका सांसदहरुको बैठकले प्रचण्डलाई दलको नेतामा चयन गरेको हो।

    प्रचण्डलाई दलको नेता बनाउने बारे अर्का अध्यक्ष माधवकुमार नेपालले प्रस्ताव गरेका थिए। नेपालको प्रस्तावलाई प्रचण्ड–माधव पक्षका उपस्थित सांसदहरुले सर्वसम्मतले अनुमोदन गरेका थिए।

    प्रचण्ड भन्छन्– संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउँछौं

    दलको नेतामा चयन भएका प्रचण्डले संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने दावी गरे। सांसदहरुलाई सम्बोधन गर्दै प्रचण्डले संसद विघटन अवैधानिक भएकाले पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने बताएका हुन् ।

    आफूहरू नै वैधानिक र ठूलो दल भएको उनको भनाइ थियो। मंगलबारको केन्द्रीय कमिटीमा ७० प्रतिशत सदस्य उपस्थित भएको र त्यसलै नै आफूहरु बैधानिक र ठूलो भएको प्रमाणित गर्ने उनको भनाई थियो।

  • लुम्बिनी प्रदेशसभामा ओली पक्ष बलियो, वामदेव र बादल निर्णायक

    लुम्बिनी प्रदेशसभामा ओली पक्ष बलियो, वामदेव र बादल निर्णायक

    रुपन्देही । विभाजित नेकपाको लुम्बिनी प्रदेशसभा सदस्यको गणितमा प्रधानमन्त्री एवम् अध्यक्ष केपी ओली पक्ष बलियो देखिएको छ ।

    प्रदेशसभामा नेकपाबाट प्रतिनिधित्व गर्ने ६१ सांसदमध्ये ३५ जना ओली पक्षमा छन् भने २६ सांसद प्रचण्ड–माधव नेपाल पक्षका छन् । लुम्बिनी प्रदेशसभामा कुन ८७ सांसद छन् ।

    यो प्रदेशमा तत्कालीन एमालेबाट ४१ र माओवादीबाट २० सांसदले प्रदेशसभा चुनाव जितेका थिए । लुम्बिनी प्रदेशसभामा कांग्रेसका १९, जनता समाजवादी पार्टीका ६ र जनमोर्चाका एक सांसद छन् ।

    नेकपा विभाजित हुँदा प्रदेशसभाको सत्ता समीकरणबारे पनि बहस शुरु भएको छ । पार्टी विभाजन हुँदा मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा पर्ने सम्भावना पनि उत्तिकै छ । सरकारलाई बहुमत पुग्न ४४ सांसद आवश्यक पर्छ । पूर्वमाओवादीले मात्रै साथ छोड्दा पनि लुम्बिनी प्रदेश सरकार अल्पमतमा पर्न सक्छ ।

    नेपाल पक्षका सांसद विष्णु पन्थीले मुख्यमन्त्री पोखरेल अल्पमतमा पर्ने भएपछि आफ्नो खेमाका चार सांसदलाई मंगलबार ओली पक्षले केन्द्रीय सदस्यमा मनोनीत गरेको बताए ।

    प्रदेशसभामा तत्कालीन एमालेले जितेको ४१ सिटमा ओली पक्षका ३१ र नेपाल पक्षका १० सांसद थिए । तर अहिले केही फेरबदल भएको छ ।

    वामदेव र बादल पक्ष निर्णायक

    त्यस्तै, तत्कालीन माओवादीले २० सिट जितेको थियो । गृहमन्त्री रामबहादुर थापा बादलनिकटका तीन सांसद अहिलेसम्म कतै खुलेका छैनन् । बादल जता लागे उनीहरू पनि उतै लाग्ने अनुमान गरिएको छ । त्यसैगरी उपाध्यक्ष वामदेव गौतमनिकट मानिने कृषिमन्त्री आरती पौडेल पनि नखुलेका कारण उनीहरुको मत निर्णायक हुनेछ ।

    मुख्यमन्त्री पोखरेललाई बहुमत जुटाउन नौ सांसद आवश्यक पर्छ । यस्तो अवस्थामा उनले कांग्रेसको साथ लिनुपर्ने हुन्छ । बादल र वामदेवले ओलीलाई साथ दिएको खण्डमा प्रदेशसभामा रहेका उनका ४ सांसद पनि मुख्यमन्त्री पोखरेलको पक्षमा खुल्ने विश्वास यो खेमाले गरेको छ ।

    जसपा र जनमोर्चाका सांसदलाई साथ लिएर पनि पोखरेलले सरकारको नेतृत्व गर्न सक्नेछन् । त्यस्तै, प्रचण्ड–नेपाल पक्षलाई सरकारको नेतृत्व गर्न कांग्रेसको समर्थन आवश्यक पर्छ । लुम्बिनी प्रदेशमा पार्टी स्थायी समिति सदस्य शंकर पोखरेल नेतृत्वमा नेकपाको दुई तिहाइ बहुमतको सरकार छ ।

    प्रधानमन्त्री ओली पक्षका सांसद भूमिश्वर ढकाल भने आफूहरुको पक्षमै बहुमत सांसद रहने र सरकार नढल्ने दाबी गर्छन् ।

    शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा पर्ने भएमा प्रचण्ड–माधव पक्ष, कांग्रेस र जनता समाजवादी मिलेर सरकार बनाउनसक्ने सम्भावना रहने नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खान बताउँछन् । नेकपाभित्रको भावी कदमलाई हेरेर कांग्रेसले रणनीति बनाउने खानले बताए ।

  • बस्तीमा दुइटा मात्रै शौचालय

    बस्तीमा दुइटा मात्रै शौचालय

    बाँके । बाँकेको कोहलपुर नगरपालिका वडा नं ११ डुडुवा बस्तीमा पानी र शौचालयको अभाव हुँदा स्थानीयले सास्ती भोग्दै आएका छन् । ४२ घरधुरी रहेको उक्त बस्तीमा दुई वटा पानीको धारा र दुई वटा शौचालय मात्रै रहेको छ । जसका कारण बस्तीका मानिसहरुको दैनिक जीवन नै कष्टपूर्ण बनेको छ ।

    बाँकेको कोहलपुर नगरपालिका वडा नं ११ डुडुवा भूमिहीनहरुको बस्ती हो । यो बस्तीमा बस्ने सबै मानिस भूमिहीन छन् र उनीहरु दैनिक मजदूरी गरेर छाक टार्ने गर्छन् ।

    यो बस्तीमा ४२ घरधुरी रहेका छन् । तर सबै घरका लागि जम्मा दुई वटा शौचालय र दुई वटा पानीको धारा छन् । उनीहरुका लागि हिंडने बाटो समेत छैन । जसले गर्दा डडुवावासीको दैनिक जीवन नै कष्टपूर्ण बनेको छ ।

    शौचालय र पानीको समस्या अहिलेको होइन । यो समुदायका मानिसहरुमा आफैं पानीको धारा र शौचालय बनाउने क्षमता पनि छैन । आर्थिक रुपले विपन्न यो बस्तीको समस्या समाधानमा अहिलेसम्म कुनै पनि सरकारको ध्यान जान सकेको छैन। दिनभर काम गरेर साँझ खानुपर्ने यस बस्तीका मानिसहरुले कोरोना महामारी नियन्त्रणका लागि लकडाउन भएपछि झनै समस्या बेहोर्नु परेको छ ।

    डुडुवा बस्तीका मानिस सानो सानो झुप्रो बनाएर बसिरहेका छन् । आफैं शौचालय र धारा निर्माण गर्न सक्ने अवस्था नरहेकाे हुँदा उनीहरु पटकपटक समस्या समाधानका लागि नगरपालिका धाएका पनि छन् । तर नगरपालिकाले उपेक्षा गरेका कारण समस्या झेलेरै बस्न बाध्य भएको उनीहरु बताउँछन् ।

  • प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा संवैधानिक इजलासमा

    प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा संवैधानिक इजलासमा

    काठमाडौं । सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिट निवेदनहरुमाथिको सुनुवाइ संवैधानिक इजलासबाट गर्ने भएको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि आगामी शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ हुने आदेश जारी भएको हो ।

     

  • रोकियो ‘मुलान’को नेपाल रिलिज, ‘द इन्भिजिबल म्यान’ रिलिज गर्दै क्यूएफएक्स

    रोकियो ‘मुलान’को नेपाल रिलिज, ‘द इन्भिजिबल म्यान’ रिलिज गर्दै क्यूएफएक्स

    अन्ततः शुक्रबार रिलिज हुने फिल्मको टुंगो लागेको छ । ‘मुलान’ सेन्सर हुन नसकेपछि क्यूएफएक्सले ‘द इन्भिजिबल म्यान’लाई पुनः रिलिज गर्न लागेको हो ।

    अन्तिम समयमा ‘मुलान’ र ‘ब्लडसट’ रिलिज रोकिएपछि लेग वानेल निर्देशित हरर फिल्म ‘द इन्भिजल म्यान’लाई रि–रिलिज गर्न लागिएको हो । चल्दाचल्दै रोकिएका ‘आमा’ र ‘सेन्टी भाइरस’ पनि क्यूएफएक्समा लाग्नेछन् ।

    यसको अर्थ शुक्रबार नयाँ फिल्म रिलिज हुनेछैनन् । पहिले नै रिलिज भएका फिल्मलाई पुनः रिलिज गर्न लागेको एप्पल इन्टरटेनमेन्टका रुबेन श्रेष्ठले बताए ।

    शुक्रबारदेखि नेपाली फिल्म हाइव्रिड मोडेलको वितरण प्रणालीमा प्रवेश गर्दैछ । अर्थात, ओटीटी र हल दुबैमा फिल्म लन्च हुनेछन् ।

    वितरण कम्पनी गोपिकृष्ण मूभिजले शुक्रबारदेखि ज्याकी च्यान स्टारर फिल्म ‘भ्यानगर्ड’लाई नेटटिभी र डीसहोमसहितका नेपाली ओटीटी प्लेटफर्ममा रिलिज गर्दैछ । कम्पनी प्रमुख नीरज पौडेलका अनुसार जनवरी ७ मा सलमान खानको फिल्म ‘कागज’ र १४ मा फिल्म ‘पावर’ ओटीटीमा रिलिज हुनेछन् ।

    ‘तत्काल हलमा फिल्म रिलिज गर्ने तयारी हाम्रो छैन’ पौडेलले भने, ‘अवस्था हेरेर हल रिलिजबारे निर्णय गर्छौ ।’ उनका अनुसार वरुण धवन स्टारर बलिउड फिल्म ‘कुली नम्बर वान’ नेपालमा ओटीटी र हल दुबै प्लेटफर्ममा रिलिज हुनेछैन ।

  • यस्तो देखियो ओली पक्षको प्रदेशगत प्रशिक्षण भेला (फोटो फिचर)

    यस्तो देखियो ओली पक्षको प्रदेशगत प्रशिक्षण भेला (फोटो फिचर)

    काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टी (ओली पक्ष)ले नयाँ थपिएका केन्द्रीय सदस्यहरुलाई प्रशिक्षण दिन प्रदेशगत भेला सुरु भएका छन्।

    काठमाडौंका विभिन्न स्थानमा छुट्टाछुट्टै सुरु भएका भेलालाई विभिन्न नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार विभाग उप्रमुख सूर्य थापाले जानकारी दिए।

    ओली पक्षको मंगलबार बसेको केन्द्रीय कमिटी बैठकले ५५६ जना नयाँ केन्द्रीय सदस्य थप्दै ११९९ जनाको महाधिवेशन आयोजक कमिटी बनाएको थियो।

    नयाँ थपिएका ती ५५६ जनालाई नयाँ परिस्थितिबारे ओली पक्षले नेताहरु नै खटाएर प्रशिक्षित गर्न लागेको हो।

                               
  • नेकपाको आधिकारिकता दाबी गर्दै प्रचण्ड–माधव पक्ष निर्वाचन आयोगमा

    नेकपाको आधिकारिकता दाबी गर्दै प्रचण्ड–माधव पक्ष निर्वाचन आयोगमा

    काठमाडौं । नेकपाको आधिकारिकता दाबी गर्दै प्रचण्ड र माधव नेपाल पक्ष बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित निर्वाचन आयोगमा पुगेको छ ।

    मंगलबार कार्की पार्टी प्यालेसमा बसेको केन्द्रीय कमिटी बैठकको निर्णय लिएर आफू निर्वाचन आयोगमा दलको आधिकारिकताका लागि पुगेकाे नेकपा नेता लीलामणि पोखरेलले नेपाल प्रेसलाई बताए ।

    यसअघि सोमबार पोखरेल नै आयोगमा पुगेर अध्यक्ष केपी ओलीमाथि अनुशासनको कारबाही गर्ने निर्णय भएको पत्र बुझाएका थिए । नेकपाको केपी ओली पक्षले मंगलबारै केन्द्रीय कमिटी पुनर्गठन र विधान संशोधनको निर्णय आयोगमा बुझाएर अ‍ोली नेतृत्वको नेकपा नै आधिकारिक रहेको बताएको थियो ।

    अब दुवै पक्षले मूल पार्टी दाबी गरेपछि यसको छिनोफानो आयोगले गर्नुपर्ने भएको छ ।

  • बिहीबार सुनको मूल्यमा १०० ले वृद्धि

    बिहीबार सुनको मूल्यमा १०० ले वृद्धि

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन तोलामा १०० रुपैयाँले बढेको हो । सुनचाँदी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९४ हजार १०० मा कारोबार भइरहेको छ ।

    बुधबार छापावाला सुन प्रतितोला ९४ हजारमा खरीदविक्री भएको थियो । चाँदी प्रतितोला १२८० मा कारोबार भएको छ । बुधबार चाँदी तोलाको १२६५ मा कारोबार भएको थियो ।

  • नागढुंगा­ सुरुङमार्ग खन्ने काम शुरु

    नागढुंगा­ सुरुङमार्ग खन्ने काम शुरु

    काठमाडौं । काठमाडौंको नागढुंगादेखि धादिङको सिस्नेखोला जोडने सुरुङ्मार्गको निर्माण कार्य शुरु भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको १४ महिनापछि सुरुङ खन्ने काम शुरु भएको हो । सन् २०२२ को अन्तिमसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने यो सुरुङमार्ग कोभिडका कारण प्रभावित भएपछि सुरुङ खन्ने काम ढिलो गरी शुरु भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको १४ महिनापछि काठमाडौंको नागढुंगादेखि धादिङ्को सिस्नेखोला जोड्ने सुरुङमार्ग खन्ने कार्य मंगलबारदेखि शुरु भएको छ ।

    २ दशमलव ६८ किलोमिटर लम्बाइ रहेको यो सुरुङमार्ग सन् २०२२ को अन्त्यसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । गत वर्षको कात्तिक ४ गते प्रधानमन्त्री ओलीले शिलान्यास गर्नुभए पनि मुआब्जा विवाद, विस्फाेटक पदार्थको आयातमा भएको ढिलाइ र कोभिडका कारण निर्माण उपकरण आयातमा भएको ढिलाइका कारण १४ महिना ढिलो गरी निर्माण कार्य शुरु भएको सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए ।

    यो आयोजना जापान सरकारको १६ अर्ब ऋण सहयोग र नेपाल सरकारको करिब ६ अर्ब लगानी गरी झण्डै २२ अर्ब लगानीमा निर्माण सम्पन्न हुनेछ ।

    आयोजना स्थलमा सुरुङ खन्नका लागि निर्माणस्थलसम्म पहुँचमार्ग, खोलामा कल्भर्ट बनाउने कार्य पूरा भइसकेको छ । तोकिएको समयभन्दा केही ढिलो गरी काम शुरु भए पनि समयमै निर्माण कार्य सम्पन्न हुने पनि थापाले बताए। जापानको हाज्मा एन्दो कर्पोरेसनले निर्माण कार्यको जिम्मा लिएको छ ।

    ड्रिलिङ एन्ड ब्लास्टिङ प्रविधिबाट सुरुङ खन्ने काम हुनेछ । आयोजनाका अनुसार सुरुङ मार्गको कुल लम्बाइ २ दशमलव ६८ किलोमिटर छ भने ३ दशमलव ५ मिटर चौडाइ रहेका दुई लेन हुनेछन् । यस्तै अत्यावश्यक रेस्क्युका लागि समेत छुट्टै एक्सिस रोड पनि निर्माण हुनेछ ।

    नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागले सुरुङमार्ग निर्माण गर्न २०६९ साल माघदेखि २०७२ सालसम्ममा विभिन्न चरणको सर्वेक्षण गरेको थियो ।

    सोही सर्वेक्षणको आधारमा सुरुङ मार्ग निर्माण कार्य शुरु भएको छ । सन् २०२२ को अन्त्यसम्म निर्माण सम्पन्न गर्नुपर्ने लक्ष्य भए पनि कोभिडका कारण सुरुङ खन्ने कार्य नै ढिलाइ भएपछि सन् २०२३ को मध्यसम्ममा निर्माण सम्पन्न हुने सम्भावना रहेको आयोजनाले बताएको छ ।

  • इजरायलमा पनि संसद विघटन, मार्चमा चुनाव घोषणा

    इजरायलमा पनि संसद विघटन, मार्चमा चुनाव घोषणा

    संसदमा बजेट पारित हुन नसकेपछि इजरायलको सरकारले संसद विघटन गरेको छ । बुधबार प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन सरकारले संसद भंगको घोषणा गरेको हो ।

    संसद विघटनपछि आउँदो २३ मार्च तारिखमा चुनाव घोषणा समेत गरिएको छ । कोभिड–१९ महामारी नियन्त्रणमा सरकारले उदासीनता देखाएको भन्दै आलोचना खेपिरहेका प्रधानमन्त्री नेतान्याहुले संसद विघटन गरेपछि इजरायलमा राजनीतिक अस्थिरता सुरु भएको छ ।

    राजनीति अस्थिर हुने मुलुकमध्ये इजरायल अगाडि छ । पछिल्लो दुई वर्षमा चौथोपटक चुनाव हुन लागेको हो । यही बीचमा सत्तारुढ गठबन्धन बीचमै मतभिन्नता देखिएको थियो ।

    नेतान्याहु १८ महिना र गान्ट्ज १८ महिनाका लागि आलोपालो प्रधानमन्त्री बन्ने सहमति थियो । २०२१ को नोभेम्बरबाट गान्ट्ज प्रधानमन्त्री बन्ने कुरा थियो । उनै गान्ट्जले सन् २०२१ का लागि प्रस्तुत गरेको बजेट नेतान्याहुले अस्वीकार गरेका हुन् ।

  • मिस युनिभर्स नेपालका उत्कृष्ट १८ घोषणा, पहिलो सबटाइटल नीना मण्डललाई

    मिस युनिभर्स नेपालका उत्कृष्ट १८ घोषणा, पहिलो सबटाइटल नीना मण्डललाई

    मिस युनिभर्स नेपाल २०२० का उत्कृष्ट १८ घोषणा भएका छन् । यो प्रतिष्ठित ब्युटी पेजेन्टले पहिलो सबटाइटल मिस ब्रेभ बोल्ड ब्युटीफूलको विजेता समेत सार्वजनिक गरेको छ ।

    जसमा नीनाकान्त मण्डलले यो सबटाइटल जितेकी छन् । मिस एसिया रसिया २०१८ की विजेता समेत रहेकी उनले महामारीको समयमा भएको मानसिक स्वास्थ्यको मुद्दालाई भिडियोमार्फत उठान गरेकी थिइन् ।

    यो सबटाइटल जितेसँगै उनी उत्कृष्ट १० भित्र सीधै प्रवेश गरेकी छन् । ‘म स्वयं मानसिक स्वास्थ्यसँग जुधिरहेकी थिएँ । एक्लै हुँदा कसरी समस्यासँग जुध्नुपर्छ भन्ने अनुभव मलाई थियो’ जितपछि इन्स्टाग्राममा प्रतिक्रिया दिंदै उनले भनिन् ।

    मिस युनिभर्स नेपालले उत्कृष्ट १८ पनि घोषणा गरेको छ । क्वाटरफाइनलमा प्रवेश पाउनेहरुमा परीक्षा विष्ट, रजनी मिश्र, रोजिना श्रेष्ठ, सौरभी खनाल, नीनाकान्त मण्डल, सुदती श्रेष्ठ, रोजी, जित बस्नेत, प्रिया हाडा, अन्सिका शर्मा, प्रिया सिग्देल, ज्योती भट्टराई, रोशनी खत्री, दिक्त थापा, एन्जल लामा, अरीका रानाभाट, परमिता राणा, न्यान्सी खड्का छन् ।

    मिस युनिभर्स नेपालको घोषणा चाहिं डिसेम्बर ३० मा हुनेछ ।

  • बुधबार  ९ सयले घट्यो सुनको मूल्य

    बुधबार ९ सयले घट्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

    आज सुनको मूल्य प्रतितोला ९ सयले घटेर छापावाला सुन प्रतितोला ९४ हजार कायम गरिएको छ । छापावाला सुन मंगलबार प्रतितोला ९४ हजार ९ सयमा कारोवार भएको थियो ।

    यस्तै तेजाबी सुन आज प्रतितोला ९३ हजार ५ सय मा कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुन सोमबार प्रतितोला ९४ हजार ४ सय मा सोमबार कारोवार भएको थियो ।

    यसैगरी चाँदी प्रतितोला ५० रुपैयाले ले घटेको छ । प्रतितोला १३१५ मा मंगलबार कारोवार भएको चाँदी आज भने प्रतितोला १२६५ मा रहेको छ ।

     

  • अविश्वास प्रस्ताव दर्ता समय सभामुखको सचिवालयबाट हेरफेर ?

    अविश्वास प्रस्ताव दर्ता समय सभामुखको सचिवालयबाट हेरफेर ?

    काठमाडौं । संसद सचिवालयले प्रतिनिधिसभा विघटनपछि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नेकपाका अध्यक्ष प्रचण्डसहितका सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गर्न ल्याएको प्रष्ट पारेको छ । दर्ताको समय १० बजेर ५० मिनेट कि साढे ३ बजे भन्ने दुई थरी दाबी आएपछि सचिवालयले विज्ञप्तिमार्फत प्रष्ट पारेको हो ।

    संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जारी गरेको विज्ञप्तिमा सभामुखको तोक आदेश बमोजिम पुस ५ गते दिउँसो साढे ३ बजे प्रस्ताव दर्ता भएको उल्लेख छ ।

    अविश्वासको प्रस्ताव सभामुख समक्ष पेश गरी कार्यव्यवस्था शाखामा दर्ता हुने प्रचलन रहेको विज्ञप्तिमा उल्लेख छ । कार्यव्यवस्था शाखाले १० बजेर ५० मिनेटमा दर्ता भएको समय राखेको थियो । नेकपाका नेताहरुले पनि सोही समयमा आफूहरुले प्रस्ताव दर्ता गरेको भन्दै प्रतिनिधिसभा विघटन बदरयोग्य रहेको बताउँदै आएका छन् ।

    संसद सचिवालयमा नेकपा नेताहरु अविश्वास प्रस्ताव दर्ता गर्न गएपछि राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिश बमोजिम प्रतिनिधिसभा विघटन गरेकी थिइन् । प्रतिनिधिसभा विघटन अघि नै अविश्वास प्रस्ताव दर्ता भएको जनाउन सभामुखको सचिवालयबाट दर्ताका क्रममा समय हेरफेर गरेको पाइएको सचिवालय स्रोतले जनाएको छ ।

  • प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सुनुवाइ शुरु, के हुनसक्छ आज ?

    प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सुनुवाइ शुरु, के हुनसक्छ आज ?

    काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटहरुलाई एकै ठाउँमा राखेर सुनुवाइ शुरु भएको छ । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासमा सुनुवाइ शुरु भएको हो ।

    रिट निवेदकको पक्षबाट बहस गर्न वरिष्ठ अधिवक्ता शम्भु थापा, गोविन्द बन्दीलगायत उपस्थित भएका छन् । जबराले आफ्नै इजलासमा राखेर सुनुवाइ थालेका हुन् ।

    प्रतिनिधिसभा विघटनविरुद्ध राष्ट्रपति र प्रधानमन्त्रीलाई विपक्षी बनाएर १२ वटा रिट दर्ता भएका छन् । ती सबैलाई एकै इजलासमा राखिएको छ ।  सर्वोच्च अदालतका अनुसार नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङसहितका सांसदहरुले मंगलबार दर्ता गरेको रिट पनि त्यसैमा राखिएको छ ।

    त्यस्तै कन्चनकृष्ण न्यौपाने, समृत खरेल, लोकेन्द्र ओली, ज्ञानेन्द्रराज आरण, शालिकराम सापकोटा, कमलबहादुर खत्री, मनिराम उपाध्याय, दिनेश त्रिपाठी,अमिता गौतम पौडेल, दिपक राई, तुलसी खतिवडा सहितले रिट दायर गरेका छन् । यी मध्ये न्यौपाने र खरेल बाहेक सबै अधिवक्ता हुन् ।

    सरकारको सिफारिशमा राष्ट्रपतिले आइतबार प्रतिनिधिसभा विघटन गरेपछि सोमबार मात्रै सर्वाेच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध १२ वटा रिट दर्ता भएका थिए ।

    सत्तारुढ नेकपाको प्रचण्ड माधव नेपाल पक्षका सांसदहरुले मंगलबार रिट दर्ता गराएका थिए ।

    के हुन सक्छ ?

    आज रिट निवेदकहरुको तर्फबाट एकतर्फी बहस हुनेछ । रिट निवेदकको माग बमोजिम आदेश गर्नुपर्ने परिस्थिति भए आजै अन्तरिम आदेश जारी हुने सर्वोच्च अदालत स्रोतले जनाएको छ ।

    दुवै पक्षको कुरा सुनेर आदेश दिनुपर्ने भएमा छलफलका लागि अर्को पक्षलाई बोलाउन सक्छ । तर प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै रिट परेकाले एकल इजलासले संवैधानिक इजलासमा पठाउन सक्छ । यही प्रकृतिको एउटा रिटमाथि संवैधानिक इजलासमा शुक्रवार सुनुवाइ हुँदैछ ।

  • मध्यपुर थिमि एशियन अवार्डबाट पुरस्कृत

    मध्यपुर थिमि एशियन अवार्डबाट पुरस्कृत

    भक्तपुर । कलात्मक, परम्परागत एवं सांस्कृतिक सम्पदाले भरिपूर्ण शहरको रूपमा रहेको मध्यपुर थिमि नगरपालिका यस वर्षको ‘एशियन टाउनस्केप अवार्ड’बाट पुरस्कृत भएको छ ।

    विश्वमा बढ्दो शहरीकरणले कैयौं महत्वपूर्ण ऐतिहासिक सम्पदा नासिंदै गएको अवस्थामा परम्परागत, ऐतिहासिक धरोहर तथा प्राकृतिक क्षेत्र संरक्षणको क्षेत्रमा महत्वपूर्ण काम गरी प्रगति हासिल गरेका एशियाली शहरहरुलाई प्रत्येक वर्ष युएन हेबिट्याटको एशिया प्यासिफिक क्षेत्रीय कार्यालयले दिंदै आएको यो पुरस्कार यस वर्ष मध्यपुर थिमि नगरपालिकाले पाएको युएन हेबिट्याटका कार्यक्रम प्रबन्धक पिएस जोशीले जानकारी दिए।

    ऐतिहासिक तथा सांस्कृतिक सम्पदा पुनःनिर्माणमा पाएको सफलतालाई आधार मान्दै वितरण गरिने उक्त पुरस्कार पाउने मध्यपुर थिमि नगरपालिका नेपालकै एक मात्र नगरपालिका हुन सफल भएको छ ।

    एशियाका स्थानीय सरकार, विभाग, शहरी व्यवस्थापन निकाय, गैरसरकारी तथा सामुदायिक संस्थाहरु, अनुसन्धान केन्द्र, योजना निर्माण विज्ञलगायतको प्रतिस्पर्धामा दक्षिण कोरियाका चार, जापानका तीन, चीनका दुई तथा मलेशिया, नेपाल र थाइल्याण्डका एक–एक नगरपालिकाले उक्त पुरस्कार प्राप्त गरेको जोशीले जानकारी दिए।

    शहरी क्षेत्रको विकासमा लामो समयदेखि सक्रिय रहँदै आएको युएन हेबिट्याटको एशिया प्यासिफिक क्षेत्रीय कार्यालयले गत अगष्टसम्म भएको प्रगतिको समीक्षा गर्दै उक्त पुरस्कार प्रदान गरेको हो ।

    पुरस्कार पाएपछि मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले मध्यपुर थिमिको ऐतिहासिक कला, संस्कृति, सम्पदा, सांस्कृतिक धरोहर एवं परम्पराको संरक्षणसँगै विकासमा पुर्याएको योगदानले पुरस्कार पाउन सफल भएको उल्लेख गर्दै यसले आफूलाई अझै जिम्मेवार बनाउँदै सम्पदा संरक्षणको अभियानमा थप प्रेरणा दिएको बताए ।

    नगरपालिकाले यो पुरस्कार पाउनमा नगरपालिकाको सम्पदा संरक्षणको अभियानमा सक्रिय रहेका उपभोक्ता समिति, नगरपालिका परिवार, जनप्रतिनिधि, कर्मचारी, सम्पूर्ण मध्यपुरथिमिका बासिन्दा एवं सरोकारवाला निकायको योगदान रहेको उनी बताउँछन् ।

    लोपोन्मुख अवस्थामा पुगेका, वर्षौंदेखि बन्द भएका मध्यपुर थिमिका कला, संस्कृति, सांस्कृतिक परम्पराको जगेर्ना गर्नेदेखि पुरिएका, भत्किएका, जीर्ण भएका ऐतिहासिक सम्पदा संरक्षण अभियानको नगरप्रमुख श्रेष्ठले नेतृत्व गरेका थिए ।

    उनले भने, “हामीले जनप्रतिनिधि निर्वाचित भएर आएपछि मध्यपुर थिमिभित्रका पाँच पोखरी, दुई विहार, २० ढुङ्गेधारा, २५ पाटी, आठ इनार र दुई उद्यान पुनःनिर्माण एवं जीर्णोद्वार गरेका छौं, अन्य सम्पदाको संरक्षण तथा जीर्णोद्धार पनि भइरहेको छ, यो पुरस्कारले मसँगै सिङ्गो नगरपालिकाको टिमलाई थप जिम्मेवार बनाएको छ ।”

    यो पुरस्कारले मध्यपुर थिमि नगरपालिका मात्रै नभई विश्वमा सिङ्गो नेपालकै नाम राख्न सफल भएको बताउँदै उनले सम्पदा संरक्षण अभियानलाई अझै सशक्त रूपमा लैजाने बताए ।

    मध्यपुर थिमि नगरपालिकाले सम्पदा संरक्षणसँगै पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सम्पदा एवं परम्परागत बस्तीलाई जीवित सङ्ग्रहालयको रूपमा विकास गर्ने, नगरका प्रत्येक सम्पदास्थल र परम्परागत बस्तीमा पुग्ने गरी पदमार्ग निर्माण, रात्रिकालीन पर्यटनको विकास गर्दै विदेशी पर्यटकलाई आकर्षित पार्ने परम्परागत सांस्कृतिक पहिचानलाई जीवन्तरूपमा प्रस्तुत गर्ने गरी नगरपालिका अगाडि बढेको छ ।

    शङ्खधरचोकमा निर्माण भइरहेको शङ्खधर उद्यानदेखि बोडेको कुमारी उद्यानसम्म, दक्षिण बाराहीदेखि नीलबाराहीसम्मका सम्पदाको संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई पुर्याउने गुरुयोजना बनाएर अगाडि बढेको नगरप्रमुख श्रेष्ठले बताए ।

  • रघुवीर ओली पक्षमै फर्किए, आज प्रदेश-२ को प्रशिक्षणमा वक्ता

    रघुवीर ओली पक्षमै फर्किए, आज प्रदेश-२ को प्रशिक्षणमा वक्ता

    काठमाडौं । मंगलवार दिउँसोसम्म प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटी बैठकमा भाग लिएका नेकपा नेता रघुवीर महासेठ पुनः केपी ओली पक्षमा लागेका छन् । उनी पछिल्लो समय ओली पक्ष छाडेर प्रचण्ड–माधव पक्षमा लागेका थिए ।

    मंगलवार दिउँसो बबरमहलस्थित कार्की पार्टी प्यालेसमा पुगेर स्थायी कमिटी बैठकमा बसेका महासेठ केन्द्रीय कमिटी बैठकमा भने थिएनन् ।

    स्थायी कमिटीमा बसेर निस्केका महासेठ केन्द्रीय कमिटीले केपी ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गर्दासम्म नआएको र उनले माइन्युटमा हस्ताक्षर पनि नगरेको माधव नेपाल निकट एक नेताले बताए ।

    स्रोतका अनुसार महासेठ हिजै साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीसँग कुरा गरिसकेपछि उनी आज प्रदेश-२ को प्रशिक्षणमा वक्ताका रुपमा राखिएका छन् ।

    महासेठ पत्नी केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधिसभा सदस्य जुलीकुमारी महतो भने ओली पक्षकै बैठकमा सहभागी भइरहेकी छन् ।

  • आफूले खोजेको केटासँग विवाह नगरेको भन्दै दाजुले गरे बहिनीको हत्या

    खोटाङ । आफैँले रोजेको केटासँग प्रेम विवाह गर्दा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको हत्या भएको छ । पटकपटक आफूले रोजेको केटासँग विवाह गर्न आग्रह गर्दै आएका ठूूलो बुबाका छोरा सञ्जीव राईले बहिनी सकुन्तलाको हत्या गरेको खुलासा भएको हो ।

    करिब सात वर्षदेखि प्रेम सम्बन्धमा रहेकी सकुुन्तलाले शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २६ वर्षीय दिनेश कटवालसँग प्रेम विवाह गरेकी थिइन् । विवाह गरेको तीन दिनपछि सोमबार दाजुु सञ्जीवले बहिनी सकुुन्तलाको घरैबाट उनलाई जङ्गलमा लगेर हत्या गरेको खुल्न आएको हो ।

    हत्या हुुनुुभन्दा अघिल्लो राति दाजुु सञ्जीवको फोनबाट पटकपटक धम्की आइरहेको र बिहान आफैँ हाम्रो घरमा आएर सकुुन्तलालाई लगेर हत्या गरेको उनका श्रीमान् दिनेशले बताए ।

    “हाम्रो घरायसी व्यवहार छ भन्दै दाजुु सञ्जीवले सकुुन्तलालाई साथैमा लगेर जानुुभयो”, उनले भने, “घरबाट हिँडेको केही समयपछि नै सकुुन्तलासँग फोन सम्पर्क नभएपछि खोजतलास गर्दा सेखुवा र निर्मणलीडाँडाको सिमानामा पर्ने साप्सुुखोला नजिकैको जङ्गलमा हत्या भएको अवस्थामा फेला पर्यो ।”

    भिनाजुुको घरबाट हिँडेको करीब एक घण्टामै दिदीको हत्या भएको हुनसक्ने सकुुन्तलाका भाइ समीर राईले बताए । “दाजुु सञ्जीवले दिदीलाई जङ्गलमा लगेर कुुट्दै गरेको भेडा गोठालाले देखेका रहेछन्”, उनले भने, “आफूूले रोजेको केटासँग विवाह नगरी अर्कै केटासँग विवाह गरेको झोँकमा हत्या गरिएको छ । हत्यामा संलग्न दाजुु सञ्जीवलाई कडाभन्दा कडा कारवाही गरियोस् ।”

    विद्यालय तहको अध्ययन गर्दादेखि नै प्रेम सम्बन्धमा रहेका दिनेश वैदेशिक रोजगारीको सिलसिलामा तीन वर्ष मलेशिया बसेर हालै घर आएका थिए । भाइ समीरका अनुुसार सकुुन्तला प्रेमी दिनेश वैदेशिक रोजगारीको सिलसिलामा मलेशिया रहेको समयमा काठमाडौँमा सिलाइ÷कटाइ पेशा गर्दै आएकी थिइन् ।

    केही समय अगाडि मात्रै माइतीघर सेखुवा आएकी सकुुन्तलाले आफूूसँग पनि दाजुु सञ्जीवले ‘मैले रोजेको केटासँग विवाह गर्नुपर्छ’ भन्दै दबाब दिने गरेको जानकारी दिएको भाइ समिरले बताए । सकन्तलासँग तीन दिन अघिमात्र विवाह गरेका दिनेशले पनि श्रीमतीको हत्यामा संलग्नलाई कडा कारवाही गर्न माग गरेका छन् ।

    घटनामा संलग्न राईलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताए । “घटनाका बारेमा अनुसन्धान भइरहेको छ”, उनले भने “हत्यारा नियन्त्रणमा रहेकाले केही समयपछि सत्यतथ्य सार्वजनिक गरिनेछ ।”

    दाजुुको कुटाइबाट ज्यान गुमाएकी सकुन्तलाको शरीरको विभिन्न भागमा चोट तथा नीलडाम देखिएको आफन्तले बताएका छन् । उत्तिसको लौरोले हानेर हत्या गरिएकी सकुन्तलाको शव मङ्गलबार जिल्ला अस्पताल खोटाङमा परीक्षण गरेपछि माइतीपक्षले जिम्मा लिएर दाहसंस्कार गरेको छ ।