हो, मलाई नर्सिङ पढ्ने बिल्कुलै इच्छा थिएन ! समाजमा मैले सबैभन्दा धेरै सुन्नु परेको आलोचना नै यही थियो कि नर्स बिरामीसँग झर्कोफर्को लगाउँछन्, नर्स छुच्चा हुन्छन् । मानवीय भावना बुझ्ने हुन थालेबाट नै दुःखीको पीडामा मलम लगाउन सकूँ भनेर संकल्प बोकेकी मैले छुच्चो बन्ने पेशा अँगाल्ने बारे कहाँ सोच्न सक्थें र ?
समाजमा नर्सिङ पेशाको बारेमा खासै चर्चा हुँदैन तर नर्सको बारे चाहिं व्यापक नै हुने गर्दछ । जसरी मान्छेलाई गन्तव्यमा पुग्न जुत्ता चाहिन्छ, न्यानो हुन या राम्रो देखिन लुगा चाहिन्छ तर तिनै लुगा या जुत्ता सिलाउने कर्मठ व्यक्तिको प्रशंसा कहिल्यै हुँदैन ।
त्यस्तै अस्पतालमा भर्ना हुँदा यो समाजलाई दिन रात त्यही नर्सले आँखा नझिम्क्याई आफ्नो सेवामा तल्लीन भैदिएर नर्सिङ सेवा उपलब्ध गराइदेओस् भन्ने अपेक्षा हुन्छ तर नर्सको महत्व भने शून्यमा शून्यसरी भै विलाइगएको हुन्छ । नर्सिङ सेवाको खासै प्रत्यक्षदर्शी हुन नसकेकी मलाई समाजले नर्सको बारेमा सकारात्मक पक्ष कहाँ बुझाएको थियो र ? सुनेको र सुनाउनेको भर गरेकाले हो, मलाई नर्स बन्ने बिल्कुलै इच्छा थिएन ।
नर्सिङ पेशाको गौरवमय इतिहास
नियतिको जालोमा कताकता जेलिंदै आईओएमको गेटमा म अनकनाउँदै पुगेकै पनि हो । त्यतिबेला परिस्थितिको अधीनमा परेर पुगेकै भए पनि त्यो परिवेशलाई आत्मसात् गर्नु दायित्व थियो मेरो, नर्सिङ क्षेत्रको पटाङ्गिनीले स्वागत गरेपछि । म अब त्यही आँगनमा खेल्नुपर्छ भन्ने कुरा स्वीकार गर्नु बाहेक अरू केही विकल्प रहेन । यतिबेलासम्म पनि म समाजका तिनै गैरनर्सिङ समुदायकै पात्र थिएँ ।
सन् १८५३, जताततै वेदनाका चीत्कार, आलो घाउ, रगताम्य शरीर अनि भन्किएका झिंगा र कीराहरू ! क्रिमियन युद्धमा शूरो भएर छातीमा गोली थापेका निर्भीक सिपाही, त्यहाँ जीवनदेखि हारेर बसेका ! डाक्टर आउँछन्, जाँच्छन्, औषधि पनि लेखिदिन्छन् । यद्यपि ती घाउ केही गरेर भरिन सकेका थिएनन् । तड्पिएर मृत्युवरण गर्नु नै शाश्वत सत्य बनिसकेको थियो । मट्टीतेल भरेको लाल्टिनमा जीवनामृतको उज्यालो बोकेर उनको आगमन भयो ।
समाजमा नर्सिङ पेशाको बारेमा खासै चर्चा हुँदैन तर नर्सको बारे चाहिं व्यापक नै हुने गर्दछ । जसरी मान्छेलाई गन्तव्यमा पुग्न जुत्ता चाहिन्छ, न्यानो हुन या राम्रो देखिन लुगा चाहिन्छ तर तिनै लुगा या जुत्ता सिलाउने कर्मठ व्यक्तिको प्रशंसा कहिल्यै हुँदैन ।
गहन अध्ययन गरेर वातावरण स्वच्छ राख्ने, साबुनपानीले हात धुने, पौष्टिक आहारा सेवन गर्ने र संक्रमण रोकथामका विधि अपनाउँदा यो मृत्युदरलाई न्यून पार्न सकिन्छ भन्ने वैज्ञानिक तथ्यमा आधारित नर्सिङ सेवाको प्रतिपादन गरेर सयौं घायल सिपाहीलाई पुनर्जीवन दिन सफल उनै फ्लोरेन्स नाइटिङ्गेल थिइन्, जसको नाम आज इतिहासको पानामा स्वर्णिम अक्षरमा लेखिएको छ ।
र आज उनैको ‘इन्भाइरोमेन्टल थ्यौरी’ मा वर्णन गरिएका विधि नर्सिङ सेवाको मात्र नभएर सम्पूर्ण स्वास्थ्य जगतमा स्वस्थ जीवनको अचूक औषधि बनेको छ । दिनरात बिरामीको सेवामा समर्पित भएर कैयौं बिरामीको जीवनरक्षा गर्न सफल उनको विनम्रताले ओतप्रोत आचरण नै नर्सिङ पेशाको मुख्य सिद्धान्त बनेको छ । यो गौरवान्वित इतिहासको श्रोता बन्ने सौभाग्य प्राप्त भएसँगै अब मलाई नर्सिङप्रति नकारात्मक सन्देश दिने समाजदेखि म रुष्ट त हुनु नै थियो ।
नर्सिङ पेशामा मेरो पहिलो अनुभव
धैर्य गर्दै आफैं पनि केही अनुभव बटुलेर समाजले नर्सको बारेमा देखाएको चित्रको आलोचना गर्ने अवसर मलाई जुटिसकेकै थियो । महाराजगन्ज नर्सिङ क्याम्पसमा पढ्ने विद्यार्थीले चार वर्ष अध्ययन मात्र गर्दैनन्, बेतलबी जागिरेले जसरी ड्युटी गरेर राम्रै अनुभव बटुल्न पाउँछन् ।
त्यसमाथि बिरामीको ओइरो हुने शिक्षण अस्पताल, महाराजगन्जको पहिलो हप्ताको पोस्टिङ मेरो लागि काफी थियो नर्सिङ पेशाको माहोल बुझ्नका लागि । तथ्यहीन आरोपले भरिपूर्ण अस्तव्यस्त नर्सहरूको मलिन मन तर देखावटी चम्किलो अनुहार अनि थकित शरीरमा म अझै पनि खोट देखिरहेको थिइनँ ।
ड्युटीको पहिलो हप्तामै कलमा टाउको छिरेर असह्य घाउ बोकेर रुँदै भर्ना हुनुभएकी बूढी आमाको घाउको ड्रेसिङ गर्दा असिस्टेन्ट बनेकी म, घरपरिवारले पनि सम्झाउन नसकेका तिनै आमासँग निकै बेर सहारा झैं हात सुम्सुम्याउँदै बसेर दुखाइको परिमाण बुझ्दै, उहाँका मनका दुखेसो सुन्दै, अलिअलि ठट्टा गर्दैगर्दा त्यो मलिन अनुहारमा फिस्स हाँसो आएपछि मेरो मन एकैसाथ हर्ष र पीडाले नरोएको थिएन । त्यो मुस्कान नर्सले गर्ने टच थेरापी र थेरापेटिक कम्युनिकेसनको उपज पनि थियो ।
अस्पतालको घेरा बाहिर बसेर केही नदेखी नबुझी सुनेका भरमा धारणा बनाउने म नर्सलाई गाली गर्ने ठाउँ अझै देख्न सकिरहेको थिइनँ । नर्स भएपछि बहाना गर्नुपर्ने मेरा जिम्मेवारी देखेपछि नर्सिङ क्षेत्रप्रतिको मेरो धारणा परिवर्तन भयो र पेशाप्रतिको सम्मान सधैंका लागि चुलिएर गयो ।
नर्सिङ क्षेत्रमा श्रमशोषण
नर्सिङ पेशाप्रतिको यो सबै विरोधाभास र तिरस्कार बीच केही सत्य पनि त होला नि ! एकपल्ट इमर्जेन्सीमा ड्युटी हुँदा एकजना सिनियर दिदीले कुरुवालाई सूचना दिनुपर्दा झनक्क झर्किएको दृश्यले म झसङ्ग भएकी थिएँ । वास्तवमा इमर्जेन्सीमा एउटा नर्सले चार ओटासम्म बिरामी हेर्ने भन्ने मान्यता हुन्छ । सिकिस्त वा दीर्घ रोगी हुँदा त्यही अनुसारको नर्स बिरामी अनुपात हुन्छ ।
तर उहाँ दिदीले आफ्नो सिफ्ट शुरु भएदेखि नै लगातार २० जना भन्दा बढी बिरामी त हेरिसक्नुभएको थियो, भ्याईनभ्याई, तनाव र थकान थियो । उहाँ रुष्ट भएको त्यो स्वभाव क्षणभङ्गुरको लागि मलाई पनि कहाँ चित्त बुझेको थियो र ? उक्त कुरुवालाई राम्रोसँग सम्झाईबुझाई गरी सही सूचना दिएर पठाइदिएँ तर त्यहाँ खोट कसको त ? ४–५ ओटा बिरामी जिम्मा दिनुपर्ने ठाउँमा जति आउँछन् सबैको जिम्मा दिएपछि त्यो वेदना व्यवहारमा झल्किनु पनि स्वाभाविक नै त थियो । तर प्रशासनले नर्स बिरामी अनुपात नमिलाइदिएर गरेको गल्तीको अपजस त्यही नर्सले पाउनु नै थियो । श्रमशोषणको यो एउटा गतिलै पराकाष्ठा हो ।
सन् २००० मा न्यूनतम नर्स बिरामी अनुपातको जनादेश जारी गर्ने प्रथम मुलुक अस्ट्रेलिया थियो जसमा बिहानीको शिफ्टमा १ः४, दिउँसो १ः५ र बेलुकी १ः८ नर्स बिरामी अनुपात बनाउनुपर्छ भनेर उल्लिखित थियो । त्यस्तै २००४ मा क्यालिफोर्निया प्रदेशले कानूनी रूपमा न्यूनतम नर्स बिरामी अनुपातलाई परिभाषित गरेको थियो जसमा जनरल वार्डमा १ः५, इमर्जेन्सीमा १ः४ र जटिल बिरामीका लागि १ः२ हुनुपर्छ भनेर तोकिएको थियो । विश्वका धेरै विकसित मुलुकमा यसरी नै नर्स बिरामी अनुपात कायम गरिएको छ तर आजका दिनसम्म पनि नेपालमा एउटा नर्सले जनरल वार्डमै २४ भन्दा बढी बिरामीको जिम्मा लिनुपरेको अवस्था छ ।
कति भेला र गोष्ठीमा मैले सुन्ने गरेकी छु, नर्सहरूको श्रमशोषण गरियो, हाम्रो हकअधिकार कुण्ठित गरियो । अस्ति भर्खर एउटा प्राइभेट अस्पतालमा अन्तरवार्ता दिन गएका साथीले दुखेसो पोख्दै थिइन् । दुःख गरेर राम्रो अङ्कका साथ पास भएकी उनलाई मासिक १० हजार तलबमा काम गछ्र्यौ भनेर सोधिंदा स्वाभिमानमा ढुङ्गाले हिर्काएसरह भयो रे ! कुनै चलचित्रमा केटाले जिस्क्याउँदा केटीले चप्पल फुकालेर हिर्काएको दृश्य त्यही ठाउँमा रिप्ले गरिदिन पाए हुन्थ्यो झैं भयो मलाई ।
हाम्रो स्वाभिमान त उसै खिस्रिक्क परिसकेको थियो तर त्यो स्वाभिमान गिराउने दुष्प्रयास समाजका सबैभन्दा पढेलेखेका मानिने सिनियर डाक्टर र नर्सबाट हुँदैथियो अस्पतालको संचालकहरूको रूपमा । एक त तलब कम अनि अर्कोतर्फ कार्यभार धेरै, संक्रामक रोगसँग काम गर्दा हजार्ड भत्ताको प्रावधान त परै जाओस्, पन्जा र मास्कसहित नदिइने खतरनाक खेल चलिरहेकै हुन्छ । श्रम ऐन २०७४ ले सामाजिक सुरक्षा नदिई कसैलाई श्रमशोषण गरेमा, नियुक्तिपत्र विना कसैलाई काममा राखेमा, अवैध ढंगबाट कामबाट निकालेमा, संस्थालाई मुद्दा लाग्ने भनेर उल्लेख गरेकै छ ।
तर धेरै नर्सहरू यी सब दुरवस्थाको सिकार भैरहनुपरेको छ । हजारौं दक्ष जनशक्ति यस्तै पढेलेखेका वरिष्ठ सामन्तीको शोषणका कारण समाजमा अझै पनि शासक र शोषित वर्गको बाहुल्य कायम छ । नर्सिङ क्षेत्रमा धनीहरू गरीबको बाध्यता लुटेर अनि गरीबहरू आफ्नो स्वाभिमान बेचेर हिंड्नुपरेको यो विडम्बनाले समाजवादको परिकल्पनालाई कति धक्का पुगिरहेको छ ! यो सोचेर म विचलित भएँ ।
नर्सिङ शिक्षाको अवस्था
हो छरपस्ट देखिन्छन् शोषणका कहानीहरू । तर के नेपालमा नर्सिङ पेशाको मूल समस्या शोषण हो त ? अहँ म बिल्कुलै मान्दिनँ । शोषण त ओइलाएका हाँगाबिंगा हुन् । जडको समस्या हामो कमसल शिक्षा प्रणाली र पेशागत अव्यवस्था नै हो । स्वास्थ्य क्षेत्र सबैभन्दा संवेदनशील क्षेत्र हो ।
यहाँ पलपलमा नयाँ खोज र अनुसन्धानबाट नयाँ किसिमका उपचारविधिको आविष्कार भैरहेको हुन्छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत चिकित्साशास्त्र अध्ययन संस्थानका केन्द्रीय तथा आङ्गिक क्याम्पसमा अध्ययनरत बीएस्सी नर्सिङका विद्यार्थीहरूले अझै पनि सन् २००५ मा बनेर २००८ मा संशोधनको नाममा मिडवाइफरीको कोर्स थपिएको पुरानो पाठ्यक्रम पढ्दै छन् । यसरी उत्पादित नर्सको गुणस्तर समयसापेक्ष होला त ? विभिन्न विकसित राष्ट्रहरूमा ३–५ वर्षको अन्तरालमा नर्सिङको पाठ्यक्रम परिमार्जन गर्ने अभ्यास छ ।
हुन त मिहिनेती र स्वाध्यायन गर्ने धेरै नर्सहरूले राष्ट्रकै राम्रो अस्पतालमा नाम निकालेर होस् वा अन्तर्राष्ट्रिय स्तरकै परीक्षामा उत्तीर्ण भएर विदेशमा पनि खपत भएका छन् तर एउटा समूहमा यस्तो नर्स उत्पादन भैरहेको हुन्छ जसले राज्यले लिने नर्सिङ लाइसेन्स परीक्षा नै पनि पटक पटकसम्म उत्तीर्ण गरिरहेको हुँदैन । उत्तीर्ण गरिनै हाले पनि प्रयोगात्मक शिक्षा कमजोर भएका कारण काम गर्ने अवसर पाउन धौ–धौ भैरहेको हुन्छ ।
समयानुकूल पाठ्यक्रम परिमार्जन नहुँदा नेपालमा उत्तीर्ण भएका कतिपय नर्सले विदेश गएपछि पनि पुनः केही महीना या वर्षको कोर्स या तालिम लिएर त्यसलाई पूर्ण गर्नुपर्ने अवस्था पनि छ । शिक्षण संस्थाको नियमन गर्न तथा चिकित्सा शिक्षालाई गुणस्तरीय बनाउनका लागि २०७५ मा चिकित्सा शिक्षा आयोगको गठन भएको थियो ।
चिकित्सा शिक्षा ऐन २०७५ को परिच्छेद ५, दफा १९ को उपदफा १ ले विश्वविद्यालय, प्रतिष्ठान वा अन्य शिक्षण संस्थाको पाठ्यक्रम, शिक्षण विधि र उपाधिको मापदण्ड आयोगले निर्धारण गर्ने बमोजिम हुनेछ भनेर उल्लेख गरेको छ । नर्सिङको नेतृत्व तहमा रहनुभएका नर्सलाई सदस्यको ठाउँ पनि दिएको छ र नर्सिङ शिक्षातर्फको जवाफदेही पनि बहन गरेको छ । यद्यपि आयोगद्वारा यो समय अन्तरालमा नर्सिङ क्षेत्रको सुधारका लागि कुनै प्रगतिशील कदम चालिएको अनुभव गर्न सकिएको छैन ।
नर्सिङ सेवामा कार्यविवरणको अभाव
नर्सहरू उत्पीडित हुनु पछाडिको अर्को समस्या शैक्षिक तह अनुसार कार्यविवरण पारदर्शी नहुनु पनि हो । स्नातकोत्तर गरेको नर्सले र डिप्लोमा गरेको नर्सले एउटै काम गर्नुपरेपछि उच्च शिक्षाको औचित्य कसरी साबित गर्न सकिन्छ र ? स्नातक गरेका अधिकांश नर्स ७ औंको ठाउँमा ५औं तहमा अनि डिप्लोमा गरेका नर्स अनमीको ठाउँमा पनि काम गरिरहेका छन् । राम्रो पढाइ भएका विद्यार्थीहरू आफ्नो पढाइको मूल्यांकन नहुँदा विदेशिनु स्वाभाविक हो ।
यो क्रममा एक त राज्यको श्रोत प्रयोग गरेर उत्पादन गरिएका दक्ष जनशक्ति विदेशी मुलुकले खपत गरिदिन्छ र राज्यलाई चाहिने बेला अभाव खट्कनेछ भने अर्कोतर्फ अध्यापन गराउने शिक्षकको गुणस्तरमा पनि पर्याप्तता नहोला कि भनेर आकलन गर्न सकिन्छ । अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने नर्सिङमा शिक्षाको तह अनुसार नै पेशालाई बृहत् वर्गीकरण गरी कार्यविवरण बनाएको भेट्न सकिन्छ ।
अस्ट्रेलियाकै कुरा गर्ने हो भने त्यहाँ इनरोल्ड नर्स (डिप्लोमा कोर्स गरेको) ले बिरामीको दैनिक जीवन सहज गराउने जस्तै– खुवाउने, नुहाइदिने, सफा राखिदिने इत्यादि काम गर्छन् । स्नातक गरेको नर्स रजिस्टर्ड नर्स बन्न सक्षम हुन्छन् जसले बिरामीलाई पूर्ण जवाफदेहिताका साथ जिम्मेवार भएर बिरामीको उपचारसँग सम्बन्धित सम्पूर्ण काम गर्न सक्दछन् ।
स्नातकोत्तर गरेका नर्सले नर्स प्राक्टिसनर भएर काम गर्छन् । उनीहरूसँग स्वास्थ्यको कुनै क्षेत्रको विशिष्टता हुन्छ र त्यही कार्यक्षेत्रमा रहेर बिरामीको डायग्नोसिस गरी उपचार गर्ने, औषधि लेखिदिने र जटिल अवस्थामा चिकित्सकसमक्ष रिफर गरिदिने अधिकार प्राप्त गरेका हुन्छन् ।
पीएचडी गरेका नर्सहरू अनुसन्धानकर्ता र नेतृत्वको तहमा रहेर काम गर्दछन् । सन् २००० मा स्वीट्जरल्यान्डमा स्नातकोत्तर गरेका नर्सले एड्भान्स नर्सिङ प्राक्टिस गर्न पाउने व्यवस्था ल्याइएको थियो जसको पाठ्यक्रम हरेक तीन वर्षमा परिमार्जन गरिन्छ । यी विभिन्न राष्ट्रमा नर्सिङ शिक्षाको गुणस्तरको ख्याल मात्र गरिंदैन, शिक्षाको तह अनुसारको जिम्मेवारी दिएर सम्मानजनक रोजगारीको सुनिश्चितता पनि गरिन्छ । तर नेपालको सन्दर्भमा बिरामीको सुगर एकदमै कम भएर बिरामी कोमामा जान लाग्दा पनि सुईबाट डेक्स्ट्रोज दिनलाई पनि डाक्टरको प्रेस्क्रिप्सन पर्खिनुपर्ने अवस्था भैरहेको हुन्छ ।
सरोकारवाला निकायको जिम्मेवारी
नेपालमा नर्सिङ शिक्षाको गुणस्तर निरीक्षणको जिम्मेवारी नेपाल नर्सिङ परिषद, चिकित्सा शिक्षा आयोग, सम्बन्धित विश्वविद्यालय, शिक्षण संस्थाहरूको हुने गर्दछ । नर्सिङको पाठ्यक्रम परिमार्जन मात्र नभएर नर्सिङमा हुने प्रयोगात्मक शिक्षाको अवस्था, शिक्षकहरूका लागि आवश्यकता अनुसार तालिमको व्यवस्था गरिनुपर्दछ ।
नेपाल नर्सिङ परिषद्ले डिप्लोमा गरेका र बीएस्सी गरेका नर्सको लाइसेन्स पनि एउटै प्रश्नावलीबाट गराइने अभ्यासलाई सच्याएर छुट्टाछुट्टै परीक्षा लिने व्यवस्थामा जोड दिनुपर्दछ । साथै स्वास्थ्य मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयको सहकार्यबाट नर्सिङमा शिक्षाको तह अनुसारको कार्यविवरणको निर्माण गरी सो अनुसारको रोजगारी उपलब्ध गराउने व्यवस्था लागू गर्नुपर्दछ । नेपालबाट डिप्लोमा कोर्स विस्तारै फेज आउट हुने क्रममा छ । अबको केही वर्षमा स्नातक गरेका नर्स जनशक्तिकै संख्या बढी हुनेछ ।
नेपालको नर्सिङ क्षेत्रमा ५औं तहको सरकारी दरबन्दी धेरै संख्यामा छ तर स्नातक गरेपछि पाउने ७औं तहका दरबन्दी असाध्यै कम छन् । र स्नातक गरेका नर्सहरू ५औं तहमा काम गर्न बाध्य छन् । यसर्थ अहिले रहिरहेका ५औं तहका दरबन्दीहरूलाई आवश्यकता अनुसार ७औं मा स्तरोन्नति गर्नु आवश्यक छ ।
साथसाथै नर्स बिरामी अनुपात मिलाउने हो भने एक त नर्सलाई अत्यधिक कार्यभारबाट मुक्ति मिल्छ र बिरामीको हेरचाह गुणस्तरीय बनाउन सकिन्छ भने अर्कोतर्फ धेरैभन्दा धेरै जनशक्ति सरकारी अस्पतालमै खपत हुन्छन् । फलास्वरूप नर्स बेरोजगारी न्यूनीकरण गर्न सकिन्छ । निजी अस्पतालमा थोरै तलबमा रोजगारी गर्नुपर्ने बाध्यता पनि अन्त्य गर्न सकिन्छ ।
नर्समा हुनुपर्ने प्रतिबद्धता
एउटा नर्सको काम केबल डाक्टरले लेखेको औषधि बिरामीलाई खुवाउने हो भन्ने अधुरो बुझाइ जनमानसमा रहेको छ । सतहबाट बुझ्दा सबैलाई त्यस्तै लाग्न सक्छ । तर सेवाको गहिराइ बुझ्ने हो भने वार्डको सम्पूर्ण व्यवस्थापन, बिरामीको भर्ना र डिस्चार्ज, समयसमयको जाँच, औषधिपान, क्यर, वार्डको वातावरण व्यवस्थापन, सूचना सम्प्रेषण, जाँच नमूना संकलन, बिरामी र कुरुवालाई काउन्सिलिङलगायतका जिम्मेवारी एउटी नर्सले बहन गरेकी हुन्छिन् ।
डाक्टरले लेखेको औषधि खुरुक्क दिएर मिल्ने भए त २–४ हप्ताको तालिम लिएर बस्दा नै हुन्थ्यो नि ! तर नर्सले त्यो औषधि सही बिरामीलाई, सही रोगका लागि, सही मात्रामा, सही समयमा तीन पटक हेरेर बल्ल दिनुपर्ने हुन्छ । डाक्टरले गलत औषधि र गलत मात्रा लेखिदिंदा धेरै बिरामीको जिन्दगी धरापमा पुगी औषधि खुवाउने नर्स दण्डित हुनुपरेको तीतो यथार्थलाई नकार्न सकिन्न भने कतिपय अवस्थामा डाक्टरले लेखेको गलत औषधि वा गलत मात्रालाई सच्याएर नर्सले बिरामीको जीवन जोगाएको महानता भने नेपथ्यमा बिलाउने गर्छन् ।
नर्सका लागि राज्य वा अस्पतालमा जस्तो व्यवस्था भए पनि एउटा नर्स कदापि पनि कर्तव्य विमुख बन्नुहुँदैन । बिरामीको बाहिरी घाउ मात्र नभएर मानसिक स्वास्थ्यको पनि ख्याल गर्नुपर्ने भएकाले ड्युटीका बेलामा यथाशक्य मीठो बोली र सेवामा समर्पणभावलाई कायम गर्नुपर्दछ । मानिसको जीवन र मरण अनि भावनात्मक संवेदनासँग प्रत्यक्ष साइनो गाँसिएको पेशा भएकाले यो क्षेत्रमा हामीले काम गरेबापत पाउने तलब संस्थागत औपचारिकता मात्र हो ।
किनकि कसैको जीवनरक्षाको मूल्य तोकेर तोकिंदैन । त्यसैले त यो पेशा अरूभन्दा पृथक् छ । एउटा नर्सको गल्तीले सम्पूर्ण नर्सिङ समुदाय नै बारम्बार आलोचित बन्नुपर्ने बाध्यता पनि जन्मिरहेको हुन्छ । तर निराश हुनुपर्ने म आवश्यकता देख्दिनँ । किनकि जुन कुरा धेरै महत्वपूर्ण हुन्छ, चर्चा, प्रशंसा र आलोचना पनि उसैको हुने गर्दछ भन्ने बुझ्नुपर्दछ । नर्स भएर मेरो दायित्व लोककल्याण हो भन्ने कुरा आत्मसात् गरी आफ्नो पेशा अरू जागिर भन्दा माथि राखेर नर्स हुनुको आफ्नो अस्तित्व पहिचान गरी कर्तव्यप्रति कटिबद्ध रहनु आवश्यक छ । यो नै एउटा नर्सको वास्तविक धर्म हो ।
अन्त्यमा
विदेश गएर काम गर्ने नेपाली नर्सहरूमा मीठो बोलीवचन र कर्तव्यनिष्ठता हुने भएकाले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपाली नर्सहरूको माग राम्रो छ । यद्यपि नेपालको सन्दर्भमा भने नर्सिङ शिक्षा र पेशागत मूल्यमान्यताको अवस्था दयनीय छ । अधिकांश नर्सहरू महिला छन् । महिला मात्र रहेको पेशा भएकाले पेशाको उत्थान नभएको पो हो कि भन्ने कुरालाई मनले स्वीकार गर्न पनि मान्दैन । पेशागत हकहितका लागि अनवरत लडिरहेकै छन् । कैयौं क्रान्तिकारी आवाजहरूको उपलब्धिस्वरुप आज समाजबाट अन्धविश्वास र कुरीति न्यून हुँदै गएको छ ।
छोरा र छोरी, जात र धर्मका नाममा निम्तिएका कलहको न्यूनीकरण हुँदै जाँदा समाजमा न्यायिक समानताले घर बसाउँदैछ कि जस्तो लाग्थ्यो तर नर्सिङ क्षेत्रका तमाम समस्या देख्दा विभेदले फरक फरक रूपमा बाहुल्य जमाइरहेका हुन्छन् भन्ने निष्कर्ष बनाउनुपर्ने ठाउँमा म पुगेकी छु । ठूलो संख्यामा उत्पीडित नर्स छन् अनि शोषण गर्ने शासकको पनि कमि छैन । छोरीको बाहुल्य भएको पेशामा कहीं पितृसत्तात्मक संरचनाले छोरीमाथि नै गर्ने गरेको विभेदको अप्रत्यक्ष निरन्तरता त होइन भन्ने शंका पनि मनमा उब्जिरहन्छ ।
विभेदको यो अर्को स्वरूपलाई श्रोता र पाठकले सुन्न र पढ्न सक्छन् तर आफ्नो स्वाभिमानलाई हत्केलामा राखेर अतुलनीय दक्षता र क्षमतालाई दबाएर दासत्वको जीवन निर्वाह गर्न बाध्य ती अधिकांश नर्सहरूले मात्र यो पीडालाई महसूस गर्न सक्दछन् । क्रान्तिको बिगुल फुक्न शुरू गरिएको यो लडाइँ न्यायको आभास नहुञ्जेलसम्म निरन्तर चलिरहनेछ । नर्सिङ क्षेत्रको तमाम दुखेसोको अन्त्य भने यो पूर्णविराम पक्कै होइन ।
(घिमिरे महाराजगन्ज नर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनकी कोषाध्यक्ष हुन् ।)