नेकपा(प्रचण्ड–माधव) पक्षधर केन्द्रीय कमिटीको बैठकले गरेको निर्णय सुनाउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठ ।
Blog
-

कांग्रेसमा ध्रुवीकरण : देउवा ओलीतिर, पौडेल प्रचण्डतिर
काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोध गर्दै आएको नेपाली कांग्रेसभित्र आन्दोलन वा निर्वाचनमध्ये कुनलाई प्राथमिकता दिने भन्नेमा ध्रुवीकरण देखिएको छ । सभापति शेरबहादुर देउवा पक्षले ‘आन्दोलनभन्दा अदालतको निर्णय कुर्नुपर्ने’ तर्क गरेको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल ‘संविधान जोगाउन आन्दोलन गर्नुपर्ने’ पक्षमा उभिएका छन् ।
मंगलबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठकको सुरुमै विषय प्रवेश गराउँदै सभापति देउवाले संसद विघटनपछि मुलुकमा गम्भीर राजनीतिक वातावरण बनेकोले पार्टीभित्र बृहद छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने बताएका थिए ।
देउवाले सरकारको कदम अलोकतान्त्रिक र असंवैधानिक रहेको बताए पनि पार्टीको रणनीति के हुने भन्नेमा बैठकले सुझबुझपूर्ण निर्णय लिनुपर्ने उल्लेख गरेका थिए ।
‘हामीले सरकारको विरोध गरिसकेका छौं । अदालतमा मुद्दा परेको छ । अब आन्दोलन गर्ने वा निर्वाचनमा जाने साथीहरुले आफ्नो धारणा राख्नुहोला’ बैठकमा देउवाले भनेका थिए । देउवाले सत्तारुढ पार्टीको आन्तरिक किचलोका कारण संसद विघटन भएको भन्दै नेकपाको राजनीति कसरी अगाडि बढ्छ, सोहीअनुसार नै कांग्रेसको रणनीति बनाउनुपर्नेमा जोड दिएको केन्द्रीय सदस्यहरुले बताएका छन् ।
देउवालगत्तै बोलेका वरिष्ठ नेता पौडेलले भने संसदमात्रै नभएर संविधानविरुद्ध नै षड्यन्त्र भएकोले आन्दोलनको विकल्प नरहेको बताए ।
‘यो देशमा ठूल्ठूला अपराध गर्ने र अपराध लुकाउनलाई झन् ठूलो अपराध गर्ने श्रृखंलाको निरन्तरता हो प्रतिनिधिसभा विघटनको कदम । लोकतन्त्रप्रति घात गर्ने निर्णय उल्ट्याउनुपर्छ त्यसका लागि जेजे गर्नुपर्ने हो तयार हुनुपर्छ’, पौडेलले बैठकमा भने । पौडेलले ‘अध्यादेशदेखि विघटनसम्म’ मिलीभगत भएको हुनसक्ने आशंका गर्दै संविधान जोगाउनका लागि आन्दोलनमा जानुपर्ने बताएका छन् ।
‘संवैधानिक परिषद सम्बन्धी अध्यादेशमार्फत गरिएका संवैधानिक नियुक्ति पनि खारेज गर्नुपर्छ । कसैले भाग पाउँदैमा संवैधानिक नियुक्ति सदर हुँदैन’, बैठकमा पौडेलले भने ।
मंगलबारको केन्द्रीय समिति बैठकमा देउवा र पौडेलबाहेक तीन जना केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए । तीनै जनाले आन्दोलनभन्दा निर्वाचनलाई प्राथमिकता दिनुपर्ने बताए । ‘संसद विघटन प्रधानमन्त्री केपी ओलीको मात्रै कदम होइन । यो निर्णयको स्रोत प्रचण्ड र माधव नेपाल पनि हुन् । यसर्थ समग्र नेकपा यो प्रकरणमा दोषी छ’ केन्द्रीय सदस्य महेश आचार्यले भने ।
महेश आचार्यले नेकपाको प्रचण्ड पक्षसंग सडक वा अदालत कुनै पनि स्थानमा सहकार्य गर्न नहुने भन्दै अदालतको आदेश कुर्नुपर्ने बताए । आफ्नो ‘लाइन’ मा बोलेपछि सभापति देउवाले बैठकपछि आचार्यलाई आफ्नो चेम्बरमा बोलाएर एक्लै कुराकानीसमेत गरेका थिए ।
बैठकमा धारणा राखेका सभापति देउवा निकट केन्द्रीय सदस्य एनपी साउदले आन्दोलन अन्तिम विकल्प नभएको बताए । ‘संसद विघटनविरुद्ध अदालतमा मुद्दा परिसकेकोले हामीले मुद्दा दिन आवश्यक छैन । अदालतले नै यसको निरुपण गर्ने भएपछि हामी आन्दोलनमा जानैपर्ने पनि छैन । त्यसैले अब चुनावको तयारीमा लाग्नुपर्छ’, बैठकमा साउदले भने । उनले सरकारले गरेको कमजोरी कि त अदालतले कि त जनमतले उल्टाउने उल्लेख गरेका थिए ।
बैठकमा बोल्ने अर्का केन्द्रीय सदस्य डा. नारायण खड्काले पनि आन्दोलन खतरनाक विकल्प हुने बताए । ‘आन्दोलन डेन्जरस हुनसक्छ । भोलि सबैका एजेण्डा सडकमा आउँदा हाम्रो एजेण्डा लजिकल इन्डमा नपुग्न पनि सक्छ । त्यसैले पार्टीलाई एकताबद्ध गरेर चुनावमा जानुपर्छ’, बैठकमा खड्काले भने ।
कांग्रेस केन्द्रीय समितिको बैठक अझै केहीदिन लम्बिने निश्चित छ । सभापति देउवा संसद विघटनबारे अदालतमा परेका मुद्दाबारे प्रारम्भिक सुनुवाई नहुँदासम्म बैठक लम्ब्याउने पक्षमा छन् । सर्वोच्च अदालतले १० वटा रिटहरुमाथि बुधबार पेशी तोकेको छ भने संवैधानिक इजलास पुगेका दुई रिटमाथि शुक्रबार पेशी तोकिएको छ ।
देउवा ओलीतिर, पौडेल प्रचण्डतिर
कांग्रेस केन्द्रीय समितिको मंगलबारको परिदृश्य हेर्दा ध्रुवीकरण प्रष्ट देखिन्थ्यो । सभापति देउवा निकट केन्द्रीय सदस्यहरुले आन्दोलनभन्दा चुनावको तयारी गर्नुपर्ने धारणा राख्न थालिसकेका छन् ।
बैठकलगत्तै पौडेल पक्षका केही केन्द्रीय सदस्यहरु भने पौडेलको कोठामा परामर्शमा जुटेका थिए । पौडेल पक्षका एक केन्द्रीय सदस्यले संसद विघटनको निर्णयका कारण कांग्रेसमा पनि ध्रुवीकरण चुलिने बताए ।
‘शेरबहादुर दाइ ओलीले चुनाव गराउँछन् र कांग्रेसले बहुमत पाउँछ भन्नेमा ढुक्क देखिनुभयो । रामचन्द्र दाइ ओलीले चुनाव गराउनेमा कन्भिन्स हुनुहुन्न र प्रचण्डसँग मिलेर भएपनि आन्दोलन गर्नुपर्छ भन्नेमा हुनुहुन्छ । यसपटकको बैठकमा दुवै पक्षबीच कडा टक्कर हुने देखिन्छ’, ती केन्द्रीय सदस्यले नेपाल प्रेससँग भने ।
संसद विघटन लगत्तै सार्वजनिक भएको संवैधानिक नियुक्तिको सूचीमा सभापति देउवाले दिएका नामहरु समेटिएको थियो । यसकारण देउवा ओलीप्रति ‘सफ्ट’ हुने आकलन छ । वरिष्ठ नेता पौडेलले भने शुक्रबार नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालसँग गोप्यरुपमा भेटेर संयुक्त आन्दोलनका लागि तयार हुनसकिने संकेत गरेका थिए ।
प्रतिनिधिसभा विघटन प्रकरणले सत्तारुढ नेकपालाई ‘औपचारिक फुट’ मा पुर्याइसकेको छ । यही प्रकरणमा कांग्रेसभित्रको ध्रुवीकरण भने कहाँसम्म पुग्ने हो ? निश्चित छैन ।
-

प्रचण्ड पक्षले गर्यो यौन काण्डमा मुछिएका नेताको कारबाही फुकुवा
काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)को केन्द्रीय कमिटी बैठकले यौन अभियोग लागेका दुई नेतामाथि गरिएको कारबाही फुकुवा गरेको छ ।
मंगलबार बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बसेको बैठकले पूर्व सभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्यमा नियुक्त गरेको छ । महरामाथि संसद सचिवालयकी एक कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन ।
आफूमाथि यौन दुर्व्यवहारको अभियोग लागेपछि महराले सभामुखबाट राजीनामा दिएका थिए। सभामुख हुँदा पार्टी सदस्यबाट समेत राजीनामा दिएकाले उनी नेकपाको कुनै पनि कमिटीमा थिएनन्।
त्यस्तै बैठकले कैलाली जिल्ला कमिटी अध्यक्ष तथा सुदूरपश्चिम प्रदेशका तत्कालीन सामाजिक विकासमन्त्री दीर्घ सोडारीमाथिको कारबाही फुकुवा गर्दै पुरानै जिम्मेवारी सुम्पिएको छ ।
उन्नलाई एक महिलालाई मुख छाडेको आरोपमा पार्टीले कारबाही गरेको थियो।
सोडारीलाई ०७५ कात्तिक २७ गते मन्त्री पदबाट हटाउँदै ६ महिनासम्म पार्टी सदस्यसमेत नरहने गरी निलम्बन गरिएको थियो।
सोडारी कारबाहीअघि कैलाली जिल्ला अध्यक्ष एवम् सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री थिए।
-

प्रचण्डले मलाई निकाल्ने रे ? पार्टीबाट कि उनको घरबाट ?
एउटा नयाँ पार्टीतर्फ अगाडि बढ्दैछौं हामी । अहिलेसम्म विधिवत् पार्टी विभाजित छैन । हामी पार्टी विभाजन पनि गर्न चाहँदैनौं । के निर्वाचन घोषणा हुँदा पार्टी फुट्नुपर्छ ? के पार्टी फुट्छ ? झन् एकजुट भएर अगाडि बढ्नुपर्दैन ?
मैले अस्तिको दिन प्रचण्डजीलाई भनें– ‘हामीले केहीलाई मिलाउन सकेनौं । अब निर्वाचनले मिलाउँछ कि ! निर्वाचनमा त हामी एकजुट भएर जानुप¥यो । हाम्रो शक्ति एकजुट भएर निर्वाचन लड्नुप¥यो । आपसी अन्तरविरोधहरू टुंग्याउनुप¥यो । एकजुट भएर हामी निर्वाचनका काममा अगाडि बढौं ।’
प्रधानमन्त्री बन्नु छ भने चुनावबाट बन्ने होला नि त ! यसले हामीलाई एकजुट तुल्याउँछ । अरू पार्टी पनि चुनावका लागि एकजुट हुँदैछन् चुनावको सामना गर्नको लागि । उहाँहरू त मान्नुभएन । उहाँहरू बेग्लै संसारमा, बेग्लै सपनामा, कसले हालेको ब्याट्री र पम्पबाट चल्दै हुनुहन्छ मलाई थाहा छैन तर उहाँहरू यस धर्ती, कार्यकर्ता र जनताको विश्वासको जगमा चलिरहनुभएको छैन । अहिलेको आवश्यकताअनुसार उहाँहरू चलिरहनुभएको छैन । देश र जनताको परिवर्तित चाहनाअनुसार चलिरहनुभएको छैन ।
जनताको पक्षमा उभिदा म माथि हमला
तपाइँहरूलाई थाहा छ, ममाथि हमला कति कति बेला हुन्छ । मेरै आफ्नै अनुभवको हिसाबले भन्दा जतिबेला देशमा निरंकुश राजतन्त्र थियो, तानाशाही पञ्चायती व्यवस्था थियो, अधिनायकवादी शासन थियो त्यसबेला । लोकतान्त्रिक गणतन्त्रका लागि हामीले आन्दोलन शुरू गर्यौं । आफ्नै व्यक्तिगत तवरमा पनि के कस्तो झमेला खेप्नुपरेको छ भन्ने कुरा सुझाउन खोजेको हुँ ।
त्यतिबेला हामी र मैले पनि आक्रमण सहनुप¥यो । जेलमा पनि बस्नुपर्यो । जतिबेला हामीले देश र जनताको लागि निर्णायक आन्दोलनको उद्घोष गरेर अघि बढ्यौं, त्यतिबेला हामीमाथि हमला भयो । त्यसपछिका दिनहरू पनि म थुप्रै सम्झन्छु ।
पछिल्लो समयको मात्र कुरा गरौं । म प्रधानमन्त्री भएपछि नाकाबन्दीका विरुद्ध हामीले संविधान जारी ग¥यौं । संविधान जारी गरेबापत हमला भयो । नाकाबन्दी हामीमाथि लगाइयो । नाकाबन्दीका विरुद्ध हामीले डटेर सामना ग¥यौं । त्यसविरुद्ध आलोचना र विरोध हामीविरुद्ध केन्द्रित गरियो ।
हामीले छिमेकीसँग सम्बन्ध बिगारेका थिएनौं । हामीले त नाकाबन्दी भोगेका थियौं । त्यसको विरुद्ध भोको पेटमा सामना गरेका थियौं । तर पनि हाम्रो राष्ट्रको स्वाभिमान, सार्वभौमसत्ताका लागि लड्दा देशभित्रै आलोचना गर्ने मान्छेहरू थिए, शक्तिहरू थिए । आफ्नै पार्टीका शीर्ष नेताहरूले एउटा व्यक्तिको दुर्बुद्धिको कारणले, बोल्न नजानेर, देश नै अप्ठ्यारो स्थितिमा पुग्यो अब नेतृत्व फेर्नुपर्छ भनेर सार्वजनिक ढंगले बोलेर अभियान चाल्नुभयो ।
हामी एउटा देशबाट घेरिएका थियौं । चीनतिरबाट पनि बाटो खोलेपछि सहिसक्नु नै भएन । चीनतिरबाट पारवहन र यातायात सम्बन्धी सन्धि भएपछि हामीले त्यहाँबाट नाका खोलेपछि, चीनसँग जोड्ने बाटो बनाइयो भनेर हामीमाथि हमला भयो ।
हाम्रा दुर्गम ठाउँहरू चीनसँग सिमाना जोडिएका छन् । दुर्गम ठाउँमा बाटा नबनाएर हामी देशको विकास कसरी गर्न सक्छौं ? यसकारण हामीले चीनसँग सम्बन्ध जोड्नैपथ्र्यो । बाटा र हवाईमार्गले जोड्नैपथ्र्यो । हवाई, दूरसंचार, रेलमार्ग हामीले विभिन्न माध्यमबाट खोल्यौं । त्यसो भएपछि हामीमाथि तीव्र हमला भयो कि त्यो सरकार ढलाइ छोडे ।
म तपाइँहरूलाई प्रश्न गर्न चाहन्छु : देशका लागि त्यति दृढता र स्पष्ट दृष्टिकोणका साथ केही हुँदैन भन्ने क्यारे भन्ने जनताका ओइलाएका सपना जगाएर, विकासको राष्ट्रिय भावना जगाएर, राष्ट्रिय स्वाभिमानलाई माथि उठाएर, देशलाई एक लय र तालमा हिंडाएर, समृद्धिको बाटोमा अगाडि बढाउने कामको साथ अगाडि बढेको सरकारलाई गिराउने काममा हाम्रै पार्टीका नेताहरू संलग्न भएर अविश्वासको प्रस्तावको समर्थन गरे ।
हाम्रै सांसदहरूको शिर निहुरिएको थियो त्यतिबेला । अब एउटा परिस्थिति फेरि आयो । हामीले हाम्रो देशको सम्पूर्ण भूभाग सामेल गरेर नक्शा छाप्यौं । अरूको भूभाग सामेल गरेर होइन ।
प्रचण्डको उद्देश्य के थियो?
भ्रम नरहोस् प्रचण्जी भन्दै हुनुहुन्छ, म एकताको विरोधमा थिइनँ । यो एकता गरेपछि नै एकता गरेको समूहसँग मिलेर केपी ओलीलाई हटाउन सकिन्छ भनेर, एकताको पक्षमा थिएँ म भन्न खोजेको हो । किनकि त्योसँग मिलेर केपी ओलीलाई हटाउन सकिन्छ । अथवा एकता चाहिएको किन रहेछ ? कम्यनिस्ट आन्दोलनलाई बलियो बनाउन हैन । म सुन्दैछु उहाँहरूले केपी ओलीलाई निकाल्नुहुन्छ अरे ! उहाँहरूले भन्दा १० वर्षअघि कम्तीमा मैले पार्टी सदस्यता लिएको हुँ ।
एउटा आन्दोलन शुरू गरेर जतिबेला आन्दोलन टुक्रा टुक्रा, धुजा–धुजामा थियो त्यस अवस्थामा एकता एकीकरणको एउटा अभियान थालेर आएको मलाई आज, फेरि यो पार्टीमा ताज्जुब के भने प्रचण्डले मलाई पार्टीबाट निकाल्दिने अरे ! म साथीहरूलाई भन्न चाहन्छु, हामी यस्ता कुराहरूमा अल्झिंदैनौं । प्रचण्डले पार्टीबाट निकाल्छन् कि उनका घरबाट पनि निकाल्छन् कि ! कहाँ कहाँबाट निकाल्छन् ! हामी एउटा आन्दोलनमा छौं । हामी हाम्रा महान् उद्देश्यहरूमा छौं । हामीले हाम्रा महान् उद्देश्यहरू तोकेका छौं । हामी समाजवादमा पुग्न चाहन्छौं । अहिले त्यसकारण समाजवाद उन्मुख छ ।
समाजवादउन्मुख भनेको लोककल्याणकारी राज्यको उदाहरणअनुसार काम गर्दै सामाजिक न्याय र समानताको अभिवृद्धि गर्दै सुशासन र विकासको बाटोमा अघि बढेर हाम्रो समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने हाम्रो उद्देश्य हो ।
हामी त्यस उद्देश्यतर्फ अगाडि बढिरहेका छौं । त्यस उद्देश्यका निम्ति हामीले एउटा वास्तवमै सशक्त आन्दोलन निर्माण गर्छौं । त्यो आन्दोलन निर्माण गर्न र सञ्चालन गर्नका लागि ठीक ढंगले अगाडि बढाउनका लागि हामीसँग एउटा सशक्त पार्टी चाहिन्छ । त्यो सशक्त पार्टी एकताबद्ध हुनुपर्दछ ।
सही विचारहरू माक्र्सवादी दर्शन, माक्र्स–लेनिनवादी सिद्धान्त र हामीले लिएको हाम्रो गन्तव्यतर्फ अगाडि बढ्ने स्पष्ट मार्गचित्र त्यसका निम्ति कार्यक्रम, योजना, नीतिका साथ हामी अगाडि बढ्छौं । त्यस्तो गर्नका लागि र त्यस्तो राष्ट्रिय आन्दोलन चलाउनका लागि हामीलाई सशक्त, मजबूत, एकताबद्ध गतिशील पार्टी चाहिन्छ । त्यस्तो पार्टी निर्माणको एउटा नयाँ चरणमा फेरि हामी प्रवेश गरेका छौं । काम्रेडहरूलाई लाग्ला केही साथीहरू आएनन् । यस्तो हुन्छ आन्दोलन । हुँदोरहेछ । हामीले नचाहेको कुरा हो ।
भरसक सबै साथीहरूलाई लिएर अगाडि बढौं भन्ने सोचेको हो । पहिले पनि तपाईंहरूले देख्नुभएको छ उहाँहरूको राजनीतिक दृष्टिकोण छैन, वर्गीय दृष्टिकोण छैन, आन्दोलनको दृष्टिकोण छैन । आफ्नो पद, आफ्नो लाभ त्यो कुरा मात्र थाहा छ । अघिल्लो पटक मैले नेतृत्व गरेको सरकार ढलाउनु किन प¥यो ? उहाँहरूसँग जवाफ छ ? अहिले आएर उहाँहरू भन्नुहुन्छ, अघिल्लो सरकार लोकप्रिय थियो भनेर । लोकप्रिय थियो भने ढालेको किन त ? अलिक पछि भन्नुहुन्छ अहिलेको सरकार लोकप्रिय थियो, त्यतिबेला चाहिं भएन ।
प्रचण्डले कार्यकर्तालाई खुट्टे लाए
मैले चुनावअगाडि भनेको थिएँ, अब वामपन्थीको सरकार हामी बनाउँछौं । र अत्यधिक बहुमतको सरकार बनाउँछौं । त्यो हामीले ग¥यौं । अब काम्रेडहरूमा अलिकति चिन्ता लाग्ला, त्यो चिन्ता नलिन म आग्रह गर्छु । पुराना पातहरू झर्ने, नयाँ पात पलाउने यो क्रम भइरहन्छ । हामीले नचाहँदै पनि हुन्छ । हामीले चाहेर के गर्नु ? अहिले पनि चाहिराख्या छौं । उहाँहरू जस्तो निकालेर निष्काशन गरेर हामी खोजिराख्या छैनौं ।
उहाँहरू यति उपद्रो गरिरहनुभएको छ । यति अन्तर्घात गरिरहनुभएको छ । बामपन्थी, कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्न कम्युनिष्ट पार्टीभित्रै विग्रहको खेती गरिरहनुभएको छ । तर पनि हामी कसैलाई निकालिरहेका छैनौं । उहाँहरू आफैं किनारा लाग्दै हुनुहुन्छ ।त्रिशूलीमा उहाँहरूले हेरिरहनुभएको छ, केही चिज नदीमा प¥यो भने त्यो विस्तारै बग्दै जाँदा किनारा किनारातिर लाग्दै जान्छ र नदीका किनारमा फोहोरहरू धकेलिएको देख्नुहुन्छ होला । नदीले बग्ने क्रममा किनारमा फोहोर फ्याँक्दै जान्छ, धकेल्दै जान्छ र सफा हुँदै अगाडि बढ्छ । भन्न त नहुने, नमिल्ने । नमिले पनि जीवन शर्माको एउटा गीत सम्झन मन लाग्छ– पिलो निचोरिएर तौल कम हुँदैन… ।
पिलो निचोरिन्छ, त्यसको खिल बाहिर जान्छ तर वजन घटेको हुन्न । पार्टीमा तपाईंहरूले कल्पना गर्न सक्नुहुन्छ, एकता गरेपछि कमिटीहरूले काम गर्न पाए ? तपाईंहरूले काम गर्न पाउनुभयो ? तपाईंहरूले गतिसाथ अगाडि बढ्न पाउनुभयो ?विभिन्न बहानामा तपाईंहरूलाई खुट्टे लगाउने काम भयो । गाईभैंसीलाई खुट्टे लगाइन्छ नि ! गाईगोरुलाई घाँटीमा डोरी लगाएर झुण्ड्याइन्छ नि ! त्यस्तै झुण्ड्याउने काम भयो । काम गर्न नपाउने, जनताका बीचमा स्पष्ट राजनीति लिएर गतिशील ढंगले जान नपाउने । संगठन एकढिक्का भएर अगाडि बढ्न नपाउने हामीले एकीकरण गर्यौं ।
तीन महीनाभित्र एकीकरणका काम टुंग्याउने निर्णय गरेका हैनौं ? त्यो तीन महीना कहिले आउँछ ? त्यतापट्टि कहिल्यै ध्यान गएन । दुई वर्षभित्रमा महाधिवेशन गर्ने भनियो, गएको जेठ ३ गते भन्दा उतै महाधिवेशन सम्पन्न भइसक्थ्यो । संभवतः विधानको धारा १७ मा होला, दुई वर्षभित्र महाधिवेशन सम्पन्न भइसक्नुपर्छ । तर महाधिवेशन गर्नेतर्फ कुनै सोच छैन । कुनै चिन्ता छैन । कुनै तयारी छैन ।
भुइँचालो जाँदा हामीले कार्यकर्ता परिचालन गर्ने । अरू पनि पार्टी हुँदा त्यसबेलाको सरकारले पनि केही पनि गर्न सकेन । तर, हामीले हाम्रो कार्यकर्ता शक्ति परिचालन गरेर आफैं एक कप चिया पनि खान नपाउने नियमका साथ बडो अनुशासित ढंगले एक महिनाको अभियान चलायौं ।२७ हजार २७६ वटा अस्थायी टहरा बनाएर हामीले जनतालाई हस्तान्तरण ग¥यौं । धेरै स्कुलहरू, लगभग १३ हजार विद्यालयहरू निर्माण गरेर हस्तान्तरण ग¥यौं । २२ हजार हामीले भग्नावशेषहरू सफा गर्ने काम ग¥यौं । जनतालाई अप्ठ्यारो परेका बेला ती कामहरू पार्टीले गर्न सक्छ । त्यस्ता राहतको काम गर्न सक्छ ।
तर अहिले यत्रो कोभिड–१९ को बिगबिगी छ पार्टी केही गर्न सक्दैन । केही गर्न सक्ने अवस्थामा कार्यकर्ता परिचालन गर्न सक्ने अवस्थामा पार्टी छैन । विरोध मात्रै गर्न सक्ने जस्ता विभिन्न प्रचारवाजीमा । टेलिभिजनमा गयो सरकारको गाली गर्ने । पत्रपत्रिकामा गयो सरकारको गाली गर्ने । रेडियोमा अन्तर्वार्ता दियो सरकारको गाली गर्ने । यसैमा समय खर्च गरिरहेको छ ।
हामीले त्यतिबेला त्यसको जवाफ पनि दिन पाएनौं । किनकि हामी अनुशासित छौं । हामीले एउटा अनुशासन सुसंस्कृति कायम गरेका छौं । त्यसकारण अब केही पनि गर्न नसक्ने अवस्था आयो । पार्टी अगाडि बढ्न नसक्ने अवस्था आयो ।
पार्टी सधैं रुमलिने अवस्था भयो । त्यसबाहेक महाभियोग लगाउने, अविश्वासको प्रस्ताव राख्ने, केन्द्रीय कमिटीबाट अध्यक्षलाई निकाल्ने, अरू नेताहरू निकाल्ने, यो बाटोतिर पो खेती गरिराख्नुभएको छ । पार्टी एकता एकीकरण टुंग्याउने एकीकरणको बाटोबाट अघि बढ्ने होइन, बरु उहाँहरू भत्काउने काममा लाग्नुभयो ।कसैलाई निष्काशन गर्ने, कसैलाई कारबाही गर्ने । कहिले कुदेर राष्ट्रपति कहाँ पुग्ने । कुदेर सभामुखकहाँ पुग्ने । कुदेर कहिले कहाँ पुग्ने । यही प्रकारको खेती । त्यसकारण हामीले निश्चित समयभित्र लगभग ११ महिनाभित्र अब महाधिवेशन गरिसक्ने विचार गरेका छौं । हामीले चुनावमा पनि जानु छ यसपछि । अब हामी चुनावको तयारीमा जुट्छौं । चुनावमा जान्छौं ।
दुई तिहाई ल्याउँछौं,अब आँधी सिर्जना गर्छौंअर्को हामी चुनावपछि अरू कामहरूलाई बढी व्यवस्थित गर्नु छ । चुनाव अगाडि हामीले कमिटीलाई व्यवस्थित गर्ने विभागहरूलाई व्यवस्थित गर्नुपर्ने मातहतका कमिटीहरूलाई पुनर्गठन गर्ने यावत् कामहरू गर्नुपर्ने अवस्था छ । यी सबै कामहरू गरेर हामी चुनावका लागि तयारी गछौं। चुनावमा हामीले समानुपातिकमा कम्तीमा ५० लाख लोकप्रिय भोट ल्याउनुपर्नेछ । हामीले दुई पार्टी मिलेर ११६ सिटमा जितेका थियौं । अहिले त्यसमा ४ सिट थप्नुपर्नेछ । १२० सिट पुग्नुपर्नेछ ।
हाम्रो अभियान कुन हिसाबले हामी सञ्चालन गर्न सक्छौं हाम्रो सफलता त्यसमा निर्भर रहन्छ । हामी एउटा आँधी तुफानका रूपमा राष्ट्रिय राजनीतिलाई अगाडि बढाएर लिएर जाँदैछौं । हामी राजनीतिमा सम्पूर्ण ढंगले समर्पित भएर काम गछौं । र, हामी सही विचारको सही उद्देश्यको तागत दुनियाँलाई देखाउँछौं ।हामी हाम्रो एकताको बलमा एकताबद्ध सक्रियताको तागत देखाउँछौं । हाम्रो व्यापक पार्टी पंक्तिको परिचालन, त्यसको तागत देखाउँछौं । हामी त्यसैगरी जनशक्ति परिचालन गरी हाम्रो तागत देखाउँछौं । देशभक्तिमा के तागत हुन्छ ? हाम्रो स्वच्छता कायम गर्ने भ्रष्टाचार नियन्त्रण र निर्मूल गर्ने हाम्रा इमानदार उद्देश्यहरूको तागत र सुशासन, शान्ति कायम गर्ने हाम्रा नीति र व्यवहारको तागत के हुन्छ ? हामी देखाउँछौं ।
हामी राजनीतिमा इमानदारीको तागत देखाउनेछौं । र, राजनीतिलाई तदनुसार सफल राजनीति, स्वच्छ राजनीति, देशभक्त राजनीति, लोकतान्त्रिक राजनीति, विधिको शासन भएको राजनीति, देश र जनताको हितमा केन्द्रित भएको राजनीति अगाडि बढाउँछौं र सफल हुन्छौं । यस्तो काम सञ्चालन गर्न हामीसँग सशक्त, विचारमा स्पष्ट र गतिशील पार्टी चाहिन्छ । त्यसर्थ मैले केन्द्रीय कमिटीमा केही साथीहरू थप गरेको छु ।
आन्दोलन टुक्राटुक्रामा विभाजित भएको अवस्थाबाट एकता, एकीकरण र पार्टी निर्माणको एउटा अभियान, आन्दोलन सञ्चालन गर्दै यहाँसम्म ल्याइपु¥याएको नेता पार्टीको प्रथम अध्यक्ष र जनताले विश्वास गरेको प्रधानमन्त्रीको हैसियतमा । त्यो अध्यक्षको हैसियत हो, जसमाथि जनताले विश्वास गरेर अभिभारा सुम्पिएका छन् र त्यो अभिभारा असफल हुन दिनुभएको छैन ।
पद,पैसा र परिवारमात्र सोच्ने रहेछन् देशभक्ति मनमा नभएका, लोकतान्त्रिक चिन्तन नभएका, देश र जनताबारे कहिल्यै नसोच्ने आफू, आफ्नो परिवार । खासगरी तीन पद पैसा र परिवारबारे मात्र सोच्नेहरूको हातमा देश सुम्पिन सकिंदैन । त्यसकारण विघटनमा जानुपर्यो ।अब यसपछिको परिस्थितिको हामीले कसरी सामना गर्ने ? उनीहरूले निहुँ त अगाडिदेखि खोजिरहेकै थिए, अब झन् उनीहरूले निहुँ बनाउँछन् । त्यो निहुँ बनाएर पार्टी विभाजन गर्न खोजिरहेका छन् र प्रयास गरिरहेका छन् । परामर्श पनि नगरेर अध्यक्षलाई निष्कासन गर्ने आदि इत्यादि गरिरहेका छन् ।
महाधिवेशन गर्नुपर्ने गरिरहेका छैनन् । त्यतापट्टि लागिराखेका छैनन् । त्यसैले आगामी अभिभाराहरू पूरा गर्न सक्ने गरी कमिटीलाई थपेर विस्तार वा अर्को भाषामा भन्ने हो भने पुनर्गठन गरेर विस्तार हो यो । अहिले तपाईंहरूले देखिहाल्नुभयो नि केन्द्रीय कमिटीको बैठकमा सबैलाई बोलाइएको छ, केही आउँदैनन् उतै बैठक बसेका छन् ।
यसखालको अराजक स्थितिमा आन्दोलन जोगाउनका लागि को कतापट्टि बस्छ छोडिदिऊँ हामी । आन्दोलन जोगाउन मैले केन्द्रीय कमिटीमा सदस्य विस्तार गरेको छु ।
मैले बुँदामा टिपेर ल्याएको छु कमडेरहरूलाई पनि काम लाग्छ । एउटा त अहिलेका कमिटीहरू निर्वाचित होइनन्, यी कमिटीहरू मनोनीत हुन् । महाधिवेशनबाट निर्वाचित होइनन् । कुनै कमिटी पनि होइनन् । सबै मनोनीत हुन् । यथार्थमा मौजुदा कमिटीहरू पनि यसै प्रक्रियाबाट जसरी मैले हिजो साथीहरू थप गरें, त्यस उद्देश्यका लागि मैले ४४१ केन्द्रीय कमिटी दुई जना आमन्त्रित केन्द्रीय सदस्य र चार जना पछि थपियो ।४४७ जना पहिले केन्द्रीय सदस्य र ५५६ जना मैले हिजो मनोनयन गरेका केन्द्रीय सदस्य गरेर १००३ जनाको केन्द्रीय कमिटी बनेको छ । १९६ जना खाली राखेर ११९९ जनाको कमिटी बनाइएको छ । यो कमिटीपछि हेरफेर हुन्छ ।
अहिले हामी एउटा विशेष परिस्थिति, विशेष अभिभारा र विशेष अभियानमा भएकाले हामीले कमिटीलाई ठूलो बनाउनु पर्यो । पार्टीमा एकथरी मान्छेहरू विभाजनका लागि उद्यत छन् । यस कुरालाई पनि ध्यानमा राख्नुप¥यो । विभाजित भएर छुट्टिए नै भने त्यस स्थितिमा हामीले आन्दोलनलाई कमजोर हुन नदिने गरी अगाडि बढ्नु पर्यो ।११९९ जनाको केन्द्रीय कमिटी हुनेछ । त्यसमा ४४७ पहिलाको र, २०७७ साल पुस ६ गते प्रथम अध्यक्षको हैसियतले यस विशेष परिस्थितिलाई ध्यानमा राखेर केन्द्रिय समितिमा ५५६ मनोनयन गरेको छु । अहिले १००३ जना यतिबेला मंजुर छौं । पहिला पनि कमिटीहरूको निर्माण यसैगरी भएका थिए । र, आफैं बनिसकेपछि स्वअनुमोदन गरिएको हो ।
अहिलेसम्म भएका कमिटीहरू पनि संक्रमणकालीन कमिटीहरू हुन् । ती कमिटीहरूको काम पार्टी एकीकरण गरेर पार्टी एकताको दुई वर्षभित्र महाधिवेशन गर्ने भनेर तोकिएको थियो । र, त्यो कुरा विधानमा पनि उल्लेख छ । जुन अभिभारा पूरा गर्न पहिलाको केन्द्रीय कमिटीबाट पूरा हुने देखिएन । त्यसकारण त्यो असमर्थतालाई सार्थक बनाउनका लागि त्यही कमिटीलाई गतिशील, संगठित बनाउन खोज्दा कुनै हिसाबले पनि संभव भएन ।
म अध्यक्षको हैसियतले मेरो कर्तव्य हो कि मैले कुनै पनि हिसाबले पार्टीलाई असफल हुन दिनुहुँदैन । गतिहीन हुन दिनुहुँदैन । आन्दोलनलाई सिद्धिन दिनुहुँदैन । पार्टीलाई ध्वस्त हुन दिनुहुँदैन । त्यसका लागि मैले सदस्यहरू थपेको छु ।
यथास्थितिमा पहिलाका कमिटीहरूबाट एकीकरणका बाँकी काम पूरा गर्न र एकताको महाधिवेशन आयोजना गर्न पनि संभव छैन । यी कमिटीहरूको कार्यविधि सहमतिको बाटोबाट कार्यसम्पादन गर्ने थियो । तर, यिनले कहिल्यै सहमतिको बाटो समातेनन् । उल्टै झन्झट सृजना गरे । केही तत्वहरूले समस्या सृजना गर्ने र त्यही समस्यामा रुमल्लिने । समस्यालाई छिचोलेर अगाडि बढेनन् । त्यो परिस्थितिबाट कमिटीलाई कसरी मुक्त गर्ने ?(पुस ६ गते प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न नेकपा केन्द्रीय कमिटीको बैठकमा गरेको सम्बोधन)
-

बेलायतबाट नेपाल प्रवेशमा प्रतिबन्ध
काठमाडौं । नेपाल सरकारले बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ। मंगलबार अपराह्न बसेको कोभिड नियन्त्रणसम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो।
यस्तै निर्देशक समितिले बेलायतबाहेक अन्य देशबाट बेलायतको ट्रान्जिट हुँदै नेपाल आउनसमेत रोक लगाएको छ। पुस १ गतेयता नेपाल आएकाहरुले अनिवार्य रुपमा ७ दिन क्यारेन्टिन बसी जाँच गरेपछि मात्र घर तथा गन्तव्य जान पनि अनुरोध गरेको छ।
यस्तै आज नेपाल आउन ट्रान्जिटमा रहनेले पनि अनिवार्य रुपमा १० दिन क्वारेन्टिन बसी परीक्षण गरेर मात्र गन्तव्यमा जान सरकारले अनुरोध गरेको छ ।
-

तत्काल संसद अधिवेशन बोलाउन सभामुखलाई जसपाको आग्रह
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समिति बैठकले संसद अधिवेशन आह्वान गर्न प्रतिनिधिसभाका सभामुखलाई आग्रह गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा संसद जीवितै रहेको निष्कर्षसहित सभामुख अग्निप्रसाद सापकोटालाई बैठक शुरु गर्न आग्रह गर्ने निर्णय गरेको हो ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा अहिले पनि जीवित रहेको निष्कर्षसहित सभामुखलाई बैठक आह्वान गर्न आग्रह गर्ने निर्णय भएको बताए ।
उनले भने, प्रतिनिधिसभा अहिले पनि जीवित छ त्यसकारणले हामीले सभामुखलाई प्रतिनिधिसभाको बैठक शुरु गर्नको निम्ति आव्हान गर्ने पनि निर्णय गरेका छौं ।’
प्रतिनिधिसभा विघटनको विरुद्धमा विभिन्न संघर्षका कार्यक्रम आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ । जस अनुसार पुस ८ गते सबै जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने, १० गते सबै जिल्ला सदरमुकाममा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने र १२ गते काठमाडौंमा केन्द्रीकृत जनप्रदर्शन गर्ने निर्णय भएको पनि संघीय परिषद अध्यक्ष डा. भट्टराईले बताए ।
बैठकले प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटनको घोषणा हुनु असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भएको भन्दै पूर्णरुपमा खारेज गरेको पनि डा. भट्टराईले बताए ।
-

न्यायालयले जनताको भावनाविरुद्ध फैसला सुनाउँदैनः महेश बस्नेत
जनकपुरधाम । नेकपा नेता महेश बस्नेतले प्रधानमन्त्रीले घोषणा गरेको निर्वाचन आमजनताले स्वीकार गरिसकेको दाबी गरेका छन् ।
जनकपुरमा भएको ओली पक्षका युवाहरुको भेलालाई सम्बोधन गर्न जनकपुरधाम आइपुगेका नेता बस्नेतले यस्तो दाबी गरेका हुन् । उनले औपचारिक रुपमा नेपाली कांग्रेसले विरोध गरे पनि निर्वाचनलाई स्वीकार गरिसकेको दाबी गरे ।
‘केपी ओली मधेशविरोधी हो भनेर गलत प्रचार गरिएको छ’ उनले भने, ‘तर उहाँ मधेशविरोधी होइन । मधेशी जनता पनि उहाँको पक्षमा छन् भन्ने सन्देश दिन जनकपुरमा युवा भेला गरेका छौं ।’ मधेशमा पनि ओली पक्षको मजबुत पकड रहेको उनको भनाइ छ ।
‘चौतर्फी घेराबन्दीमा पारेर प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने र राष्ट्रपतिमाथि महाभियोग लगाउने योजना थाहा पाएपछि बाध्य भएर संसद विघटन गर्नुपरेको बताए । उनले भने, ‘घेराबन्दीमा परेपछि नराम्रा नेतालाई नेतृत्व सुम्पिनुभन्दा डेढ वर्ष अगाडि नै जनतामा जान्छु । जनता न्यायाधीश हुन् । जनताले नै दूध र पानी छुट्याउँछन् भनेर उहाँ (ओली)ले निर्वाचनको प्रस्ताव गर्नुभयो ।’
आवधिक निर्वाचनलाई असंवैधानिक भन्ने व्यक्तिहरु नै असंवैधानिक रहेको उनले तर्क गरे । ‘लोकतन्त्रमा बहुमत प्राप्त गरेका प्रधानमन्त्रीले चौतर्फी जनताको म्यान्डेड लिने भनिसकेपछि अर्को सरकार बन्ने विकल्प रहँदैन’, उनको धारणा छ ।
‘निर्वाचनको प्रक्रियालाई अदालतले अस्वीकार गर्छ भन्ने लाग्दैन’ उनले भने, ‘आमजनताले निर्वाचनलाई स्वीकार गरिसकेकाले न्यायालयले जनताको भावनाविरुद्ध फैसला लिंदैन । त्यसैले हामी चुनावी तयारीमा लागिसकेका छौं ।’
-

आन्दोलन होइन, चुनावको तयारी गर्नुपर्छः कांग्रेस नेता खड्का
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्काले संसद विघटनको विषय न्यायिक निरुपणका लागि छाडेर पार्टीले चुनावको तयारी गर्नुपर्ने बताएका छन् । कांग्रेस केन्द्रीय समितिको बैठकमा धारणा राख्दै नेता खड्काले सडक आन्दोलनमा जाँदा एजेण्डा र परिणामको ख्याल कांग्रेसले गर्नुपर्ने बताए ।
विगतमा कांग्रेसले पनि बहुमतको सरकार चलाउन नसकेर संसद भंग गरेको उदाहरण पेश गर्दै नेता खड्काले सडकमा जानु सबैभन्दा ‘खतरनाक विकल्प’ रहेको बताए । ‘हाम्रो अगाडि तीन वटा विकल्प छ । पहिलो अदालतमा परेका रिटहरुबारे के फैसला आउँछ त्यो कुर्नुपर्छ । संसदको पक्षमा फैसला आयो भने स्वागत गरेर जानुपर्छ । दोस्रो विकल्प सडक हो । सडक मस्ट डेन्जरस विकल्प हो। आन्दोलनको व्यवस्थापन, उद्देश्य, गन्तव्य र हामीले प्राप्त गर्ने कुरा के हुने र, हामीले आन्दोलन गर्ने फाइदा अरुले लिने हुनसक्छ । त्यसकारण चुनाव हुँदैन भनेर हुँदैन । पार्टीको नेतृत्वले अग्रसरता लिनुपर्छ । चुनाव गराउनका लागि दबाब सिर्जना गरौं । एकताबद्ध भएर चुनावमा जाने र संविधान जोगाउने विकल्प नै उत्तम हो’, खड्काले बैठकमा भने ।
नेपालका राजनीतिक दलहरुले बहुमतको सरकार सञ्चालन गर्न नसक्नु दुर्भाग्यपूर्ण रहेको भन्दै नेता खड्काले पार्टीहरुले बहुमत धान्ने क्षमता नराखेको बताए । ‘हिजो कांग्रेसले पनि बहुमतको सरकार चलाउन नसकेर संसद भंग गरेकै हो । अहिले पनि त्यस्तै भयो अब जनादेशबाटै सबै टुंगो लगाउनुपर्छ, खड्काले भने ।
-

माधव नेपाललाई अध्यक्ष बनाइएकोमा प्रभु साहको फरक मत
काठमाडौं । बबरमहलमा सम्पन्न केपी ओली विरोधी नेकपाको केन्द्रीय कमिटी बैठकमा पूर्व माओवादी समूहका नेता प्रभु साहले फरक मत राखेका छन् । माधव नेपाललाई अध्यक्ष चयन गरिएकोमा उनले फरक मत राखेका हुन् ।
साहले पार्टीमा दुई अध्यक्ष हुनु हुँदैन भनेर फरक मत राखे पनि उनको प्रस्तावमा आज छलफल भएन । आफू पार्टीमा एकल अध्यक्ष हुनुपर्छ भन्ने पक्षमा रहेको उनले बताए । माधव नेपाल र प्रभु साह दुवै रौतहटका हुन् ।
स्थानीय अन्तरविरोधका कारण साह माधव नेपालको विपक्षमा छन् । उनले नेपाललाई अध्यक्ष बनाइएकोमा आफ्नो सहमति नरहेको बताएका छन् ।
-

प्रचण्डपछिको वरियतासहित माधव नेपाल अध्यक्ष चयन
काठामाडौं । बबरमहलमा जारी नेकपाको प्रचण्ड पक्षधर केन्द्रीय कमिटीको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको छ ।
वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा नेपाललाई बैठकले सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको केन्द्रीय सदस्य बिष्णु रिजालले जानकारी दिए । नेपाल प्रचण्डपछिको दोस्रो वरियतामा रहनेछन् । यसअघि एमाले माओवादी एकीकरणका बेला ठूलो पार्टीको अध्यक्षको हैसियतमा केपी ओली पहिलो वरियताको अध्यक्ष बनेका थिए भने प्रचण्ड दोस्रो वरियतामा थिए ।
एकीकरणको बेला माधव नेपाललाई तेस्रो र झलनाथ खनाललाई चौथो वरियतामा राखिए पनि पछि खनाललाई दोस्रो वरियता दिइएको थियो । भोलि बस्ने संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेता चयन गर्ने प्रचण्ड माधव समूहको तयारी छ ।
उक्त समूहको अर्को केन्द्रीय कमिटी बैठक बिहीबार बस्नेछ । संसद विघटनबारे त्यहीं बैठकमा छलफल हुने जनाइएको छ ।
-

ओलीको चुनावी योजना– प्रत्यक्ष १२० सिट, समानुपातिकमा ५० लाख मत (भिडियो)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीबाट प्रचण्ड–माधव नेपालहरु आफ्नै कारणले किनारा लागे पनि आफू नेतृत्वको नेकपाले आगामी वैशाखमा हुने निर्वाचनमा दुई तिहाइ बहुमत ल्याउने गरी योजना बनाइने बताएका छन् ।
केन्द्रीय कमिटीको बालुवाटारमा सम्पन्न बैठकमा ओलीले महत्वाकांक्षी योजना सुनाउँदै भने– हामीले चुनावमा कम्तीमा ५० लाख लोकप्रिय मत ल्याउनुपर्छ, किनभने त्यो समानुपातिकमा जोडिन्छ । प्रत्यक्षमा हिजो दुई पार्टी मिलेर ११६ सिट जितेका थियौं अब कम्तीमा चार सिट बढाएर १२० सिट जित्नुपर्छ ।
प्रधानमन्त्री ओलीले अबको आफ्नो अभियान त्यस हिसाबले सञ्चालन हुने र आँधी तुफान सिर्जना गरिने बताए । बैठकमा सदस्यहरुलाई उत्साहित पार्दै ओलीले त्यो जित निकाल्ने योजना र सामर्थ्य आफूसँग रहेको दाबी गरे ।
यसबीचमा पार्टीका कमिटी तथा विभागहरुलाई पूर्णता दिने र सबै संरचनाहरु व्यवस्थित गरि चुनावमा होमिन सबैलाई निर्देशन दिए । ओलीले प्रचण्ड माधव नेपालहरु बैठकमा किन आएनन् ? भनेर निराश नहुन आग्रह गर्दै त्रिशूलीमा पसेका कतिपय वस्तु विस्तारै आफैं किनारामा लाग्ने उदाहरण दिंदै आफ्नै कारण उनीहरु किनारा लागेको बताए ।
-

ओलीलाई अध्यक्षबाट हटाउने प्रचण्ड–नेपाल समूहको निर्णय
काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल पक्षले केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्दै अध्यक्ष पदबाट हटाउने निर्णय गरेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् ।
उक्त निर्णयलाई बैठकले अनुमोदन पनि गरेको छ । त्यस्तै बैठकले प्रधानमन्त्री ओलीले संसद विघटन गर्नु गलत भएको निष्कर्ष निकाल्दै आन्दोलन गर्ने निर्णय पारित गरेको छ ।
-

थप ७२२ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ७ हजार नमुनाको पीसीआर परीक्षण गर्दा ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै हालसम्म देशभर कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार २३६ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमित ७ हजार ७२९ जना छन् ।यस्तै आज ९६६जना कोरोनामुक्त भएर घर फर्केका छन् । साथै, कोरोनामुक्त हुनेको संख्या हालसम्म २ लाख ४५ हजार ७०९ पुगेको छ ।
यसैगरी कोरोना भाइरसको संक्रमणबाट ३ जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या १७९८ पुगेको छ ।
-

आफ्नो पक्षमा दुई तिहाइ केन्द्रीय सदस्य आएको प्रचण्ड पक्षको दाबी
काठमाडौं । नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले आफ्नो समूहको केन्द्रीय कमिटी बैठकमा दुई तिहाइ केन्द्रीय सदस्य सहभागी भएको दाबी गरेको छ ।
बबरमहलस्थित कार्की पार्टी प्यालेसमा भएको केन्द्रीय कमिटी बैठकमा ४४७ सदस्यीय केन्द्रीय कमिटीका ३१० जना भन्दा बढी सदस्यले हस्ताक्षर गरेको प्रचण्ड पक्षको दाबी छ ।
प्रचण्डले बैठकलाई सम्बोधन गर्दै दुई तिहाइ कमिटी सदस्य आफ्नो पक्षमा रहेकाले बालुवाटारमा केपी ओली पक्षले गरेको बैठक अवैधानिक रहेको बताए ।
-

जीर्णोद्धार र संरक्षणको पर्खाइमा ऐतिहासिक लिगलिगकोट
गोरखा । नेपाल एकीकरणको उद्गमस्थलका रुपमा परिचित ऐतिहासिक लिगलिगकोट दरबारको संरचना भत्किएको वर्षौ भयो ।
करीब २८ रोपनी क्षेत्रफलमा फैलिएको लिगलिगकोटको मूल दरबार मात्र होइन, दरबार परिसरभित्रका अधिकांश भौतिक, पुरातात्विक तथा ऐतिहासिक महत्वका संरचना जीर्ण छन् ।
दरबार परिसरभित्रको मूल दरबारको पर्खालको थोरै जग मात्र भत्किन बाँकी छ । त्यसबाहेकका गढी, गढी सुरक्षाका लागि निर्माण गरिएका खाइ (सुरुङ), उपासे घरलगायत सबै संरचना भत्किएका छन् । द्रव्य शाह राजमार्गको ठाँटी पोखरी–आँपपीपल सडकखण्डमा पर्ने बिजुली डाँडाबाट करीब ५०० मिटर उकालो चढेपछि लिगलिगकोटको मूल गढीमा पुगिन्छ ।
त्यहाँ पर्खालजस्तो देखिने करीब पाँच सय वर्ष पुरानो ऐतिहासिक दरबार छ । पालुङटार नगरपालिका–२ स्थित आँपपीपलमा पर्ने लिगलिगकोट दौड जितेर राजा छान्ने परम्परा बोकेको ऐतिहासिकस्थल पनि हो ।
वर्तमान नेपाल एकीकरणका अभियन्ता लमजुङका राजा यशोब्रह्मा शाहाका कान्छा छोरा द्रव्य शाह विसं १६१५ मा दौड जितेर लिगलिगकोटको राजा बनेपछि त्यहींबाट नै वर्तमान नेपाल एकीकरण प्रारम्भ भएको मानिन्छ ।
लिगलिगकोट दरबारको पुनःनिर्माण र संरक्षणमा ध्यान नपुग्दा ऐतिहासिकस्थलको अध्ययन र अवलोकनका लागि त्यहाँ पुग्ने पर्यटक जीर्ण बनेको भौतिक संरचना मात्र हेरेर फर्कनुपर्ने बाध्यता रहेको लिगलिगकोट विकास अभियानका अध्यक्ष पूर्णबहादुर राना बताउनुहुन्छ ।
सयौं वर्षअघि निर्मित दरबारको भग्नावशेष मात्र बाँकी छ । ऐतिहासिक ठाउँको संरक्षणमा स्थानीय एकजुट भए तापनि पर्याप्त बजेटको अभावमा पुनःनिर्माण, जीर्णोद्धार र संरक्षणको काम अगाडि बढाउन नसकिएको उनको भनाइ छ ।
“विसं १६१६ भदौ २५ गतेदेखि तत्कालीन राजा द्रव्य शाहले माझकोट (हालको गोरखा दरबार) बाट राजकाज शुरु गरेपछि लिगलिगकोट दरबारको संरक्षणमा कसैको ध्यान पुगेको देखिंदैन” उनले भने, “सङ्घीय संरचनापछि पछिल्लो समय भने सङ्घ, प्रदेश र स्थानीय सरकारले बल्ल चासो दिन थालेका छन् ।” बजेटको अभावमा लिगलिगकोट दरबारको परिसरमा रहेका मठमन्दिरको संरक्षण तथा दरबार क्षेत्रको घेराबार लगाउनसमेत नसकिएको अध्यक्ष राना बताउँछन् ।
“बडादशैंमा नौ दिनसम्म पुजारी बस्नुपर्ने उपासे घर पनि जीर्ण छ” रानाले भने, “अन्य भौतिक संरचनाको अवस्था उस्तै छ कालिका मन्दिरमा छानासमेत छैन ।” बडादशैंमा पुजारी जीर्ण भएकोे उपासे घरमा बसेर कालिका भगवतीको उपसना गर्नुपर्ने बाध्यता रहँदै आएको उनी बताउँछन् । दरबार परिसरभित्र मूल गढीसहित पाँचवटा ऐतिहासिक गढी छन् ।
“ठूलो गढी, बैठक भवन, सुरक्षा हेर्न दुईवटा भवन, सूचना प्रवाह गढीलगायतको अवस्था उस्तै छ” अध्यक्ष रानाले भने, “संरक्षणको अभावमा सबै संरचना लोप हुने अवस्थामा पुगेका छन् ।”
दरबार परिसरभित्र मूल दरबारदेखि करीब २५० मिटर दूरीमा रहेका गढीलाई मूल गढी, ठूलो गढी, मसिनो गढी, चारपाटे गढी, दर्खे गढी नामले चिनिन्छ । लिगलिगकोटको मूल गढी भाइभारदारहरूको बैठकका लागि प्रयोग हुने गरेको पाइन्छ ।
ठूलो गढी पश्चिमतर्फबाट हुनसक्ने शत्रुको आक्रमणबाट जोगाउने, पूर्व तथा उत्तरतर्फको सुरक्षा हेर्ने काम चारपाटे गढी, दक्षिण पश्चिमको सुरक्षा हेर्ने काम दर्खे गढीबाट हुने गर्दथ्यो । गढीको सुरक्षाका लागि दरबार परिसरमा बनाइएका खाइ खाडल पनि पुरिएको अवस्थामा रहेको उहाँ बताउनुहुन्छ । आक्रमणका लागि शत्रु पस्ने प्रयास गरे खाइमा खसेर निस्कन नसकोस् भनेर निर्माण गरिएको पाइन्छ ।
विसं १६०४ देखि लिगलिगकोटमा दौडिएर राजा हुने परम्पराको शुरुआत भएको मानिन्छ । विसं १६१५ मा द्रव्य शाहले दौड जितेर राजा भएपछि लिगलिगमा दौडिएर राजा हुने परम्पराको पनि अन्त्य भयो ।
लिगलिगकोट दरबारको नाम कसरी रहन गयो भन्ने कुराको यकिन तथ्य नभए पनि यहाँ मगर समुदायको बाहुल्य रहेकाले मगर भाषाको ‘लिङलिङ’ शब्द अपभ्रंश भएर दरबारको नाम लिगलिगकोट रहन गएको मानिन्छ ।
नेपालको इतिहासका अध्येताहरू एकपटक आउनैपर्ने स्थानका रुपमा लिगलिगकोटको विकास गर्नुपर्छ भन्ने सोचमा पालुङटार नगरपालिका रहेको नगरपालिकाका प्रमुख दीपकबाबु कँडेल बताउँछन् ।
लिगलिगकोटमा दौडेर राजा हुने पुरानो परम्परालाई बचाइराख्न हरेक वर्ष लिगलिगे दौड प्रतियोगिता हुँदै आएको छ । उक्त दौड प्रतियोगितामा विजयी हुने धावकलाई एक वर्षका लागि लिगलिगे राजा घोषणा गर्ने परम्परा अहिले पनि छ ।
समुद्र सतहबाट करीब ११५० मिटर उँचाइमा रहेको लिगलिगकोट गोरखा लम्जुङ र तनहुँ जिल्लाको सङ्गमस्थल पनि हो । लिगलिगकोट दरबारबाट तीनवटै जिल्लाका धेरैजसो रमणीय क्षेत्रलाई नजिकबाट नियाल्न सकिन्छ भने मनोरम हिमशृङ्खलाको दृश्यले त्यहाँ पुग्ने पर्यटकहरु लोभिने गर्दछन् ।
दरबार परिसरका कलात्मक मठमन्दिरको अवस्था उस्तै
लिगलिगकोट दरबारभित्र ऐतिहासिक मात्र नभएर धार्मिक महत्व बोकेका मठमन्दिर पनि थुप्रै छन् । घले राजाका पालामा स्थापित मठमन्दिरसँगै द्रव्य शाह राजा भएपछि पनि स्थापना गरिएका मठमन्दिरले लिगलिगकोटको कलात्मकता झनै बढाइदिएको छ ।
लिगलिगकोट दरबारको मध्य भागमा लिगलिग कालिका मन्दिर, पूर्वतर्फ भूमे मन्दिर, उत्तरतर्फ चण्डीथान, दक्षिणतर्फ भीमसेन थान, दर्खेदेवी र पश्चिमतर्फ शिव मन्दिर छन् ।
ती मठमन्दिरहरुको अवस्था पनि उस्तै रहेको लिगलिग विकास अभियानका अध्यक्ष रानाले जानकारी दिनुभयो । परिसरमा कतै मन्दिरमा छाना नभएको त कुनै मन्दिरका भग्नावशेष मात्र बाँकी रहेको उनले बताए ।
दरबार परिसरभित्रका मन्दिरहरूमा अहिले पनि निरन्तररुपमा परम्परानुसार नै नियमित पूजाआजा गर्ने गरिएको उनी बताउँछन् ।
“दशैंमा विशेष पूजा गर्ने प्रचलन अहिले पनि छ, दरबारभित्रका मठमन्दिरमा हरेक दिन परियार थरका व्यक्तिले कर्नाल, नगरा, रासा बजाएर बर्सेनि पूजा गरिन्छ” उनले भने, “यसअघि लिगलिगकोट विकास अभियानले उहाँहरूलाई पारिश्रमिक दिने गरेको भए पनि अहिले भने पालुङटार नगरपालिकाले पारिश्रमिक उपलब्ध गराउँदै आएको छ ।”
विनियोजित बजेट कार्यान्वयनमा ढिलाइ
पछिल्लो पटक लिगलिगकोटको विकासका लागि बजेट विनियोजन नभएको भने होइन । तर विनियोजन भएका बजेटसमेत समयमा कार्यान्वयन नहुँदा दरबार पुनःनिर्माण र जीर्णोद्धारमा ढिलाइ हुँदै आएको छ ।
गण्डकी प्रदेश सरकारले लिगलिगकोटमा ऐतिहासिक सङ्ग्रहालय निर्माण गर्नका लागि आर्थिक वर्ष २०७५/७६ मा रु१ करोड बजेट विनियोेजन गरेको भएता पनि काम शुरु नै हुन सकेन ।
जग्गा विवादका कारण समयमा काम हुन नसकेको पालुङटार नगरपालिकाका प्रमुख कँडेल स्वीकार्छन् । गत आर्थिक वर्षमा लिगलिगकोटको विकासका लागि नगरपालिकाले विनियोजन गरेको रु ५० लाख पनि खर्च हुन नसकेको नगरप्रमुख कँडेल बताउँछन् ।
चालु आवमा समेत नगरपालिकाले ६० लाख लिगलिगकोटको विकासका लागि विनियोजन गरेको नगरप्रमुख कँडेलले जानकारी दिए।
“लिगलिगकोट आफैंमा एउटा भ्यू टावर भएका कारण त्यहाँबाट मनोरम दृश्यावलोकनका लागि दुरबिन राख्ने योजना नगरपालिकाकाे रहेको छ” नगरप्रमुख कँडेलले भने, “बिजुली डाँडादेखि लिगलिगसम्म पुग्ने सिंढी निर्माणमा समेत गण्डकी प्रदेश सरकारद्वारा विनियोजित बजेटबाट काम भइरहेको छ ।” त्यस्तै दरबारको पुनःनिर्माणका लागि समेत पुरातत्व विभागमार्फत काम गर्न आफूहरू लागिपरेको उनको भनाइ छ ।
पर्यटकको आकर्षणका लागि पूर्वाधार निर्माण जोड
लिगलिगकोटमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणका लागि अहिले तीनवटै तहका सरकारले पूर्वाधार विकासको कार्यलाई जोड दिएका छन् ।
नगरपालिकाले स्थानीय केही सङ्घसंस्थाको सहयोगमा पर्यटक लक्षित गरी त्यहाँ आउने पर्यटकहरूलाई स्थानीय उत्पादनको स्वाद चाख्न पाउने र बास बस्नका लागि होमस्टे सञ्चालनमा ल्याएको छ ।
त्यस्तै गण्डकी प्रदेशले ऐतिहासिक सङ्ग्रहालय निर्माणका लागि बजेट विनियोजन गरेको नगरप्रमुख कँडेलले जानकारी दिनुभयो । त्यस्तै लिगलिगकोट दरबार परिसर नजीकै नेपालकै सबैभन्दा ठूलो राष्ट्रिय झण्डा राखिएको उनले बताए ।
“करीब ६० फिट अग्लो फलामको पोलमा ४० फिट ठूलो राष्ट्रिय झण्डा राखिएको छ” प्रमुख कँडेलले भने, “यो झण्डाले लिगलिगकोटको शोभा मात्र बढाएको छैन, यसले राष्ट्रिय एकताको सन्देश पनि दिएको छ ।” इतिहास बचाइराख्न हरेक वर्ष दौड प्रतियोगितामार्फत राजा छान्ने परम्परालाई पनि निरन्तरता दिंदै आएको बताउँदै उनले लिगलिगकोटलाई जोडेर पालुङटार नगरपालिकालाई खेल पर्यटनका रुपमा विकास गर्न लागिपरेको जानकारी दिए ।
त्यस्तै लिगलिगकोटसम्म पुग्न फूट ट्रेल निर्माणको काम पनि भइरहेको उनको भनाइ छ ।
पर्यटकको आकर्षण उस्तै
लिगलिगकोटको पर्यटन प्रवर्धनका लागि अभियान शुरु भएसँगै त्यहाँ आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढ्न थालेको छ ।
ऐतिहासिकस्थलका रुपमा चिनिने लिगलिगकोटमा अहिले दिनानुदिन घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको स्थानीयवासी सरिता गान्धारी बताउँछिन् ।
प्रत्येक हप्ता शुक्रबार र शनिबार धेरै पर्यटक आउने गरेको बताउँदै उहाँले शनिबारको दिन त दरबार हेर्न एक हजारभन्दा बढी नै आउने गरेको जानकारी दिए । पर्यटक बढेपछि यहाँका स्थानीयवासीको दैनिकी फेरिन थालेको छ ।
त्यसैले पनि लिगलिगकोट दरबार परिसरको उचित संरक्षण नहुँदा ऐतिहासिक सम्पदाको लोप हुन्छ कि भन्ने चिन्ता स्थानीयवासीमा बढेको देखिएको छ ।
ऐतिहासिक क्षेत्रको संरक्षण र प्रवर्धन गर्न सके लिगलिगकोट मात्र नभई यसले गोरखाको इतिहासलाई नै विश्वसामु चिनाउन मद्दत पुग्ने बताउँदै गान्धारीले राज्यले उचित ध्यान नदिंदा यहाँका ऐतिहासिक महत्व बोकेका पुरातात्विक वस्तुहरुको संरक्षणमा चुनौती कायमै रहेको बताइन् ।
राज्यले लिगलिगकोट क्षेत्रको व्यापक प्रचारप्रसार गर्न सके यहाँ बर्सेनि लाखाैं पर्यटक भित्र्याउन सक्ने प्रचुर सम्भावना रहेको स्थानीयवासीले बताए । दरबार परिसरका सबै संरचना भग्नावशेष भएको र त्यहाँ रहेको बहुमूल्य वस्तु चोरी हुने तथा हराउन सक्ने भएकाले तत्कालै दरबारको सुरक्षा घेराबार आवश्यक भएकाले पुरातत्व वा नेपाल सरकारका सरोकारवाला निकायले ध्यान दिनुपर्ने स्थानीयवासीको भनाइ छ ।
-

कांग्रेस केन्द्रीय समिति बैठक भोलि १ बजे बस्ने गरी सकियो
काठमाडौं । कांग्रेस केन्द्रीय समिति बैठक भोलि पुन: १ बजे बस्ने गरी सकिएको छ ।
संसद विघटन भएपछि मंगलबार पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा आज सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले अहिलेको स्थितिमा पार्टी संयमित हुँदै जिम्मेवार ढंगमा प्रस्तुत हुने बताएका छन् ।
त्यस्तै बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले समसामयिक विषयमा धारणा राखेका थिए ।
यस्तै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले निर्वाचन मात्रै नभइ दलीय फाइदाभन्दा माथि उठेर संविधान र परिवर्तन जोगाउने गरी कांग्रेसले उपयुक्त निर्णय लिने प्रतिक्रिया दिए ।
बैठकमा सबै सदस्यले धारणा राख्ने कार्यसूची छ । बैठक केही दिन लम्बिने बताइएको छ ।
-

नेपाली सुपरमोडलको संगीत डेब्यु, न्यूयोर्क फेसन विकदेखि गायनसम्म
न्यूयोर्क फेसन विकको चर्चित नाम हो वर्षा थापा । सुपरमोडलको रुपमा विश्व चर्चित यी नेपाली डीभाले अब संगीत कम्पोजमा समेत डेब्यु गरेकी छन् । उनले यसैसाता आफ्नो मातृभाषा नेपालीमा चार गीत रिलिज गरेकी छन् ।
ती चारै गीतको लेखन एवं कम्पोज उनी स्वयंले गरेकी हुन् । यीमध्ये अधुरो बोलको गीतमा निर्माण भएको म्युजिक भिडियो इन्टरनेट लन्च भएको छ । गत वर्ष सीता भर्जिन ब्यान्डका सदस्य रब मास्ट्रियानीले वर्षालाई गिटार सिकाएका थिए ।

एल्बमको नाम ‘माया’ राखिएको छ । गत अप्रिलमा रिलिज भएको एल्बममा अधुरो बोलको गीत संग्रहित छ । ‘यो एल्बम मेरो सिकाइको सुरुआत हो’ उनले भनिन्, ‘समय सबथोक हो । बितेको वर्षदेखि मैले यो कुरा महसूस गरिरहेकी छु ।’
‘नेपालीमै गीत लेख्नुको अर्थ चाहिं भावना व्यक्त गर्न असमर्थ नेपाली महिलाहरुलाई उत्प्रेरणा दियोस् भन्ने उद्देश्यले हो’ भन्छिन्, ‘अर्को वर्ष यिनै गीतलाई अंग्रेजी भाषामा रुपान्तरण गर्नेछु जसले गर्दा अन्तर्राष्ट्रिय दर्शक र श्रोता बढ्नेछन् ।’ गीतमा वर्षा स्वयमको सुरिलो आवाज सुन्न सकिन्छ । ‘अधुरो’ बोलको उक्त गीत चाहिं उनले आफ्ना दिवंगत पिताको सम्झनामा लेखेकी हुन्। वर्षा आठ वर्षकी छँदा उनका पिताको देहान्त भएको थियो ।
विश्व फेसनका चर्चित नाम बोर्टेगा भेनेटा, प्रबल गुरुङ, राल्फ लाउरेन, मुग्लेर, अलेक्जेन्डर वाङ, हर्मिज र हालै ब्रान्डेल म्याक्सवेलको डिजाइनमा वर्षाले रनवे नापिसकेकी छन् । प्रायः उनी हलिउडका नेपाली फेसन डिजाइनर प्रबल गुरुङको डिजाइनमा देखिने गर्छिन् ।
-

प्रचण्डको गुनासो–साढे दुई वर्ष विचित्रले बिताइयो, बैठकमा मलाई बोल्न दिइएन
काठमाडौं । विभाजन हुने चरणमा रहेको नेकपाका अध्यक्ष प्रचण्डले पार्टी एकीकरणपछिको साढे दुई वर्ष विचित्रको अवस्थामा बिताइएको भन्दै आफूलाई बैठकमा बोल्न समेत नदिइएको गुनासो गरेका छन् ।
आफू पक्षधर केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले बैठक बस्न अनुनय विनय गर्नुपर्ने र सचिवालय बैठकमा बोल्न पाइँदैन भन्ने खालका व्यवहार पनि अर्का अध्यक्ष केपी ओलीबाट भोग्नुपरेको उनले सुनाए ।
बैठकमा प्रचण्डले भने–‘पार्टी र जनताबीचको सम्बन्ध पनि कम्युनिष्ट पार्टीको जस्तो भएन। सुशासन पनि भएन। अनेक अनियमितताका कुरा आए। हामीले सोचेको जस्तो पार्टी नबन्ने भयो भन्ने चिन्ता १८ बुँदे पत्रमा थियोे । त्यो मेरो मात्रै थिएन । हामी सबैको थियोे । बैठक बस्न पनि अनुनय विनय गर्नुपर्ने । अढाइ वर्ष विचित्रको अवस्थामा बिताइयो । सचिवालय बैठकमा बोल्न पाइँदैन भनियो। अध्यक्षलाई पनि बोल्न पाइँदैन भनियो ।’
प्रचण्डले बामदेव गौतम र रामवहादुर थापा बादललाई पनि आफ्नो समूहमा आउन आग्रह गरे । उनले दुवै नेतासँग आफ्नो भावनात्मक सम्बन्ध रहेको भन्दै बैठक हलमा बामदेव र बादलको आवश्यकता रहेको सुनाए । दुवै नेता अहिले कुनै गुटमा नलागी तटस्थ बसेका छन् ।
-

युवराज खतिवडा अमेरिकी राजदूतमा नियुक्त
काठमाडौं । पूर्वअर्थमन्त्री युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त भएका छन् । मन्त्रिपरिषद्ले गरेको सिफारिस सदर गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडालाई राजदूतमा नियुक्त गरेकी हुन् ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा संविधानको धारा २८२ बमोजिम खतिवडालाई राजदूतमा नियुक्त गरिएको उल्लेख छ ।
-

विवेकशील साझा पार्टीको प्रवक्तामा पाठक
काठमाडौं । विवेकशील साझा पार्टीको प्रवक्तामा केन्द्रीय सदस्य शरदराज पाठक चयन भएका छन् ।
पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पाठकलाई प्रवक्तामा चयन गरिएको जानकारी दिएका छन् ।
पाठक गत संघीय निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट पार्टीका उम्मेदवार थिए ।
-

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेकपा सांसदहरु सर्वोच्चमा
काठमाडौं । प्रतिनिधिसभा विघटन बदर गर्न माग गर्दै प्रचण्ड–माधव नेपाल पक्षधर नेकपाका सांसदहरुले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । विघटित प्रतिनिधिसभाका संसदीय दलका प्रमुख सचेतक देव गुरुङसहितका सांसद मंगलबार अपराह्न सर्वोच्च पुगेर रिट दर्ता गराएका हुन् ।
प्रतिनिधिसभा विघटन गर्दा पाँच वर्षसम्म जनताको प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएको भन्दै उत्प्रेषणको आदेशबाट प्रतिनिधिसभा विघटन बदर गराउन माग गरिएको नेकपा नेता तथा विघटित प्रतिनिधिसभाका सदस्य कृष्णभक्त पोखरेलले बताए ।
यसअघि नै सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनको माग गर्दै ११ वटा रिट दर्ता भइसकेका छन् भने एउटा रिट संवैधानिक इजलासमा पठाइएको छ । रिटहरुमाथिको पहिलो सुनुवाई बुधवार हुँदैछ ।
कानूनविद् समेत रहेका नेकपा नेता पोखरेलका अनुसार रिट निवेदनसँगै नेकपाको अध्यक्ष प्रचण्डको विज्ञप्ति र कांग्रेस तथा जसपाको विज्ञप्ति पनि समावेश गरिएको छ । त्यसले बहुमत सांसद विघटनको विपक्षमा रहेको पुष्टि हुने पोखरेलले बताए ।
रिट निवेदन लिएर गुरुङ र पोखरेलका साथै नेकपा नेताहरु शशि श्रेष्ठ र रामकुमारी झाँक्री अदालत पुगेका थिए । यसअघि बहुमत सांसदको हस्ताक्षरसहित अदालत जाने भनिए पनि त्यसो नगरिएको उनले बताए ।
-

केन्द्रीय समिति बैठकमा देउवाले भनेः कांग्रेस जिम्मेवार र संयमित भएर अघि बढ्छ
काठमाडौं । कांग्रेस केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले अहिलेको स्थितिमा पार्टी संयमित हुँदै जिम्मेवार ढंगमा प्रस्तुत हुने बताएका छन् ।
संसद विघटन भएपछि मंगलबार पार्टी कार्यालय सानेपामा शुरु भएको बैठकमा उनले शान्त, संयमित र भद्र ढंगमा प्रस्तुत हुने बताएका हुन् । बैठकमा विषय प्रवेश गर्दै सभापति देउवाले भने, ‘अहिलेको स्थितिमा कांग्रेस जिम्मेवार भएर प्रस्तुत हुन्छ ।’
त्यस्तै बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले समसायिक विषयमा धारणा राखे ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले निर्वाचन मात्रै नभई दलीय फाइदाभन्दा माथि उठेर संविधान र परिवर्तन जोगाउने गरी कांग्रेसले उपयुक्त निर्णय लिने प्रतिक्रिया दिए ।
बैठकमा सबै सदस्यले धारणा राख्ने कार्यसूची छ । बैठक केही दिन लम्बिने निश्चित छ ।
-

ओलीमाथि झलनाथको कटाक्षः उहाँ अति नै तानाशाही र स्वेच्छाचारी हुनुभयो
काठमाडौं । प्रचण्ड–माधव नेपाल पक्षीय नेकपा केन्द्रीय कमिटी बैठकमा नेता झलनाथ खनाल प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीमाथि खनिएका छन् । उनले ओली अति तानाशाही र स्वेच्छाचारी भएको आरोप लगाउँदै संसद् विघटन गर्नुलाई असंवैधानिक कदम भएको टिप्पणी गरे ।
ओलीकै कारण पछिल्लो समय पार्टी निकै कठिन मोडबाट गुज्रिएको बताउँदै खनालले ओली विधि भन्दा मनलाग्दी तरिकाले अघि बढेको टिप्पणी गरे । ‘मनलाग्दी मन्त्री बनाए, कहिल्यै हाम्रो कुरा सुनेनन्’ बैठकमा खनालले गुनासो गरे ।
-

मंगलबार शेयर बजारमा उछाल ९५ अंकले बढ्यो नेप्से
काठमाडौं । नेपालको धितोपत्र बजार नेप्से परिसूचक (मंगलबार ९५ दशमलव ४६ अंकले बढेको छ । ४ दशमलव ८६ प्रतिशतले बढेको शेयर बजार २,०५७ दशमलव ७७ विन्दुमा बन्द भएको छ ।
गत आइतबार करीब ९७ अंकले ओरालो लागेको नेप्से सोमबार तारचढाब बेहो¥दै १९६५ दशमलव ९६ विन्दुमा बन्द भएको थियो । आज भएको १ करोड २७ लाख १७ हजार १४६ कित्ताको कारोबारमा ६ अर्ब ७४ करोड ७ लाख ४४ हजार ४३२ रुपैयाँ बराबरको टर्नओभर भएको छ ।
देशमा घटेको पछिल्लो राजनीतिक घटनाक्रमले प्रभावित बनेको नेप्सेले सोमबार उतार–चढाबको सामाना ग¥यो । मंगलबार बजार खुलेसँगै बढ्न थालेको नेप्सेले आफ्नो वेगलाई रोकेन । देशमा भइरहेको राजनीतिक घटनाक्रमलाई प्रवाह नगरी लगानीकर्ता आफ्नो मनोबललाई उच्च राखेका कारण बजार बढेको पूर्व नेप्सेका महाप्रवन्धक सिताराम थपलीयाले बताए ।आज भएको शेयर किनबेचमा सबैभन्दा धेरै एनएलआईसी कम्पनीले ८६ करोड ३६ लाख ८२ हजार ७७५ रुपैयाको कारोबार गरेको छ । त्यस्तै एनआईसी एसियाको ४६ करोड ८१ लाख ३४ हजार १७२ रुपैयाँको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कमाउने कम्पनीमा शिखर इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यसैगरी ९ प्रतिशतले बढेका कम्पनीहरुमा राष्ट्रिय बीमा कम्पनी, नबिल बैंक, एनएलआइसीलगायत अन्य ११ ओटा रहेकाछन् ।
सबैभन्दा धेरै गुमाउनेमा नारायणी डेभ्लपमेण्ट बैंकले ९ दशमलव ९१ त्यस्तै सनराइज फष्ट म्युचल फण्डले ९ दशमलव ८९ प्रतिशतले गुमाएका छन् ।
-

नेपाल–अमेरिका फिल्म फेस्टिभलले माग्यो फिल्म, विश्वभरबाट आवेदन दिन सकिने
नेपाल–अमेरिका फिल्म फेस्टिभलको चौथो संस्करण आगामी असार ४ देखि ६ सम्म वासिङ्टनमा हुने भएको छ । फेस्टिभलका लागि आयोजकले विश्वभरबाट आवेदन खुलाएको छ ।
फेस्टिभलमा नेपाली फिचर, वृत्तचित्र, छोटा फिल्म, एनिमेसनलगायत विधाका फिल्म देखाइने भएको छ । नेपालबाहेक अमेरिका र दक्षिण एसियाली मुलुकका इन्डिपेन्डेन्ट फिल्मलाई उच्च महत्व दिने आयोजकले जनाएको छ ।
वासिङ्टन डीसी, मेरिल्यान्ड र भर्जिनियाका स्थानीय फिल्म निर्मातालाई प्रोत्साहन गर्न डीएमभी क्लोजअप समेत प्रदर्शन हुने भएको छ । ग्लोबल पिस फिल्म फेस्टिभल फ्लोरिडाको सहकार्यमा फिल्महरु समेत प्रदर्शन हुने भएका छन् ।
आवेदन परेकामध्येबाट उत्कृष्ट हुने फिल्मलाई पुरस्कृत गरिने भएको छ । फेस्टिभल अवधlमा फिल्म संस्कृति र सूचनाप्रविधिबारे प्यानल छलफल समेत हुने भएको छ । फिल्म प्रदर्शनपछि निर्माता, कलाकार एवं निर्देशकसँग छलफल चलाइने भएको छ ।
अमेरिकाको मेरिल्यान्ड राज्यमा स्थापित गैरनाफामूलक संस्था नेपाल–अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि महोत्सव आयोजना गर्दै आएको छ । कोरोनाभाइरस महामारीले गत वर्षको संस्करण स्थगित भएको थियो ।
-

बूढानीलकण्ठ नगरपालिकाको सामाजिक विकास समिति संयोजकमा शान्ता ढकाल
काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले सामाजिक विकास समिति संयोजकको जिम्मेवारी नगर कार्यपालिका सदस्य शान्ता ढकाललाई दिएको छ ।
बूढानीलकण्ठ नगर कार्यपालिकाको पुस १ गते बसेको बैठकले ढकाललाई उक्त जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको थियो ।
करिव दुई दशक नेपालको शिक्षा क्षेत्रमा सक्रिय रहेकी ढकाल स्थानीय निर्वाचनमा बूढानीलकण्ठ नगरपालिका वडा नं १२ बाट विजयी बनेकी थिइन् ।
समितिमा संयोजक ढकालसँगै वडा नं ४ का अध्यक्ष राजु खड्का, वडा नं ८ का अध्यक्ष सुमन तामाङ, नगर कार्यपालिका सदस्य तारा रोक्का र नगरको सार्वजनिक लेखा समितिका संयोजक पुरुषोत्तम नेपाल सदस्य रहेका छन् ।
-

नेकपाको तुलसीलाल प्रतिष्ठानमा जसपाको बैठक
काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध आन्दोलन घोषणा गरेको जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक काठमाडौंमा जारी छ ।
ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको हलमा जसपाको बैठक बसेको हो ।
नेकपाका वरिष्ठ नेता माधव नेपाल पक्षको पकडमा रहेको प्रतिष्ठानको हलमा जसपाको बैठक बस्नुलाई प्रधानमन्त्री केपी ओलीविरुद्ध दुई पक्षको गठबन्धन बन्न लागेको अर्थमा बुझिएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा सोमबार दुवै पक्ष सहभागी भएका थिए । नेकपा अध्यक्ष प्रचण्डले जसपालाई पनि प्रधानमन्त्रीको कदम विरुद्ध सहकार्यको प्रस्ताव राखेका छन् । महन्थ ठाकुर, डा.बाबुराम भट्टराई, राजेन्द्र महतोलगायतका नेताले बैठकलाई सम्बाोधन गर्दैछन् ।

-

गुलियो उखु बेचेर नुनिलो आँशु पिइरहेकाहरू
काठमाडौं । प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि देशमा राजनीतिक माहोल तातेको छ । पार्टीका झण्डा र ब्यानरसहित कार्यकर्ता सडकमा ओर्लिएका छन् ।
एकीकरण भएको तीन वर्ष नबित्दै नेपाल कम्युनिष्ट पार्टी विभाजनको सँघारमा छ । अचानक फरक मोड लिएको नेपालको राजनीतिमाथि धेरैको चासो छ– अब के हुन्छ ?
तर, आफ्नो उखुको भुक्तानी नपाएर भोको पेट सडकमा उत्रिएका उखु किसान यो माहोलबारे बेखबर छन् । उनीहरूलाई एउटै चिन्ता र चासो छ– हाम्रो उखुको पैसा कहिले आउँछ ?
चिसो काठमाडौंबाट पोहोर पनि कठ्याग्रिंदो मन लिएर फर्किएका थिए उनीहरू । यसपालि पैसा लिएरै फर्किने आशा मरेको त छैन । सरकारसँग वार्तामा बस्दा झिनो आशा त पलाएको छ तर, पनि ग्यारेन्टी भने छैन ।
गगनदेव रायलाई देशको घटनाबारे उतिसारो चासो छैन । उनलाई आफ्नै चिन्ता छ– रित्तो हात गाउँ गए घाटको बास हुन्छ । रुन्चे अनुहार लगाउँदै उनी भन्छन्, ‘मेरो कमाइ नपाए म कसरी बाँच्नु ?’

०००
कृषि विकास बैंकले पठाएको पत्र भतिजाले हातमा थमाइदिए । पत्र पाएपछि गगनदेव राय खङ्ग्रङ्ग भए । मुजा परेको उनको निधारबाट चिट्चिट् पसिना चुहुन थाल्यो । हत्केलाले जमेका आँसु पुछ्दै उनी सुँक्सुकाउन थाले, ‘अब हम् क्या करे ?’उमेरले ७० वर्ष काटेका गगनदेवसँग जीवनका थुप्रै अनुभव छन् । बुढेसकालको यो बिन्दुमा आएपछि उनको जोश हराउन थालेको छ ।
सर्लाहीको रामनगर गाउँपालिका–१ मा पर्छ उनको घर । मुख्य खेती– उखु । त्यही खेती गर्न महाजनसँग ऋण लिए । खेती गरे, उखु मिललाई उत्पादित उखु पठाए ।
सोचेका थिए– यही उखुले तिर्छु ऋण, यही उखुले बनाउँछु घर, यही उखुले पाल्छु जहान !साहुको कागजमा कर्जामाथि चर्को ब्याज थपिंदै गयो । तर, उखु मिलका मालिकले पैसा पठाएनन् । ऋण नतिरी सुखै पाएनन् । त्यसपछि गगनदेवले घरजग्गा धितो राखेर कृषि विकास बैंकबाट १० लाख ऋण लिए । उखुको पैसाबाट कर्जाको ब्याज तिर्ने आशा थियो । दिन, महिना र वर्ष बित्दा पनि गगनदेवले उखुको भुक्तानी पाएनन् ।
२९ मंसिरमा गगनदेवको हातमा परेको पत्रले उनलाई घर न घाटको बनायो । उनको घरजग्गा लिलामी भएको पत्र बैंकले पठाएको थियो । ‘अब मसँग कुनै बल छैन । न कुनै सम्पत्ति, न घर । मेरो त सबै सकियो’ हातमा कृषि विकास बैंकको पत्र देखाउँदै गगनदेवले भने ।
१० लाख ऋण लिएका गगनदेवको थाप्लोमा ब्याजसहित १६ लाखको बोझ थपिएको थियो । अब २० जनाको परिवार कसरी पाल्ने ? उनलाई यसैको पिरलो छ ।
उखु मिलले गगनदेवलाई चार लाख भुक्तानी गर्न बाँकी छ । त्यो चार लाखको निम्ति उनले थुप्रै कष्ट झेल्नु प¥यो । ‘भन्न र हात जोड्न केही गर्न बाँकी राखेको छैन । न नेताले हाम्रो दुःख सुने, न सरकारले’, गगनदेव सुनाउँछन् ।
अघिल्लो वर्षझैं फेरि पनि आन्दोलन गर्न भनेर उनी ८ दिन अघि काठमाडौं आइपुगे । ‘चिसो छ । खानको राम्रो ठेगान छैन । थाहा छैन कुन दिन बिरामी भइने हो अब’, उनी सुनाउँछन् ।

गगनदेव मात्र हैन, ६५ वर्षका राम आश्रय चौधरी पनि खालीहात घर जाने अवस्थामा छैनन् । यही पैसाबाट उनले नून, तेल किन्नु छ । सावाँको ऋण तिर्नुछ ।
चार दिनअघि कठ्याग्रिंदो जाडोमा सर्लाही हरिऔनबाट उनी काठमाडौं आए । न ज्याकेट छ, न ट्राउजर, न मोजा । जाडोमा काम्दै काम्दै उनी आन्दोलनमा निस्किए । ‘यही पैसाले जाडो कटाउनु थियो, यही नपाएपछि वर्षमा एक जोर कपडा किन्न पनि सकिएन’ राम आश्रय मलिन स्वरमा भन्छन् ।
अन्नपूर्ण मिलले कति दिन बाँकी छ ? उनी कागज पल्टाउँदै भन्छन्, ‘यी हेर्नोस् त । एक लाख भन्दा धेरै तिर्नुछ । हाम्रो कमाइ यसरी चुस्न पाइन्छ ?’
अघिल्लो साल पनि उनी यसैगरी काठमाडौं आएका थिए । आशा बोकेर फर्किएका थिए । सरकारले दुःख सुन्यो भन्ने लागेको थियो उनलाई । तर, आशालाग्दो अनुहार बोकेर गएका राम आश्रय फेरि निराश हुँदै तेस्रो पटक पनि यही जाडोमा काठमाडौं फर्किए ।२०७३ सालदेखि नै जुट मिलले राम आश्रयलाई झुलाउँदै आयो । ‘अहिलेसम्म न सरकारले भलाइ ग¥यो, न जुट मिलले’ उनी दुःखेसो पोख्छन् ।
चुनावमा उम्मेदवारहरूले भोट माग्दा भनेका थिए, ‘तपाईंको बाँकी रकम हामी जसरी पनि उठाइदिन्छौं ।’ त्यही आश्वासनले भोट हाले । चुनाव जिताए । तर, ती नेताले फेरि मुख देखाउन कहिल्यै आएनन् ।तीन लाखभन्दा धेरै ऋण थियो राम आश्रयको । अघिल्लो पटक खेत बेचेर चुक्ता गरेका थिए । यसपालि पनि ऋण थपिएको छ । उनलाई थाहा छैन, त्यो ऋण कसरी तिर्ने ?
००० -

बिजुक्छेले भने–प्रधानमन्त्रीले ‘कु’ गरेका होइनन्, देश जोगाए
भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भङ्ग गरेर देशलाई ठूलो सङ्कटबाट जोगाएको बताएका छन् ।
उनले प्रधानमन्त्रीले चालेको कदम उपयुक्त र राम्रो भएकाले त्यसको विरोधमा नलागी नयाँ जनादेशमा जानुपर्नेमा जोड दिए ।
वर्तमान राजनीतिक घटनाक्रमका बारेमा रासस प्रतिनिधि रमेश गिरीसँग कुरा गर्दै उनले भने, “प्रधानमन्त्रीको कदमले देशलाई खतराबाट रोकेको छ, तत्काल देशलाई भड्खालोमा जानबाट जोगाएको छ, पार्टी फुटे अर्को बन्ला, देश फुटे के गर्ने ? यतिखेर ओलीले देश फुट्नबाट जोगाउनुभएको छ, तर यो सङ्कट अझै टरेको छैन, आगामी दिनमा अझै खतरा छ, चलखेल अझै हुन्छ, यसतर्फ अब जनता सजग हुनु जरुरी छ ।”
संविधानले परिकल्पना गरेको मान्यता र संविधानभित्रै रहेर प्रधानमन्त्रीले कदम चालेको जिकिर गर्दै पूर्वसांसद बिजुक्छेले संविधानभित्रका केही कमजोरीलाई संशोधन गरेर जानुपर्ने आवश्यकता भने औंल्याए ।प्रधानमन्त्री ओलीले ‘कु’ गरे भन्नु गलत भएको टिप्पणी गर्दै नेता बिजुक्छेले राज्य विद्रोह, सैनिक विद्रोह गराएर सत्ता कब्जा गर्ने खेललाई मात्रै ‘कु’ भन्न मिल्ने तर्क राखे । उनले भने, “प्रधानमन्त्रीले ‘कु’ गर्नुभएको होइन, बरु ‘कु’ असफल चाहिं पार्नुभएको हो ।”
दुई तिहाइ बहुमत नजिकको सरकारका राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध आफ्नै नेताहरु नै लाग्नु बाह्य चलखेल भएको जिकिर गर्दै उहाँले यसमा प्रधानमन्त्री ओली निकै सचेत भएको र अझै सचेत हुनु जरुरी रहेको बताए ।
८२ वर्षीय नेता बिजुक्छेले भने, “देशमाथि आएको यस्तो सङ्कटमा पनि यो कदम नचालेको भए इतिहासले ओलीलाई लाछी प्रधानमन्त्री भन्थ्यो, उहाँले देशलाई विभाजन हुनबाट जोगाउन यो कदम चाल्नुभएको हो ।”
गुमेको नेपाली भूमि नक्शामा समावेश गरी भूमि फर्काउने अडान ओलीले कायम राखेकाले पनि अहिलेको परिस्थिति आएको तर्क उहाँले दिए । उनले नयाँ जनादेशका लागि चुनावमा जानुको विकल्प नभएको जनाउँदै सरकारले तोकिएकै मितिमा निष्पक्ष र धाँधलीरहित चुनाव गराउनुपर्नेमा जाेड दिए ।
-

भैंसेपाटीमा वामदेव र बादलको बेग्लै बैठक
काठमाडौं । नेकपाका दुवै पक्ष एक अर्कालाई निषेध गरेर पार्टी फुटाउने प्रक्रियालाई वैधानिकता दिन लागेका बेला दुवै पक्षमा नखुलेका उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा बादल भने बेग्लै छलफलमा जुटेका छन् ।
बबरमहलमा प्रचण्ड–माधव नेपाल पक्षको बैठक चलिरहेका बेला वामदेवलाई भेट्न बादल भैंसेपाटी पुगेका छन् । दुवै नेतालाई बैठकमा सहभागी हुन आग्रह गर्दै प्रचण्ड माधव नेपाललगायतका नेताहरु आज बिहान पनि उनीहरुको निवासमा पुगेका थिए ।
वामदेव र बादलबीच तेस्रो समूह बनाउने बारेमा छलफल भइरहेको स्रोतले जनाएको छ । वामदेवलाई भेट्न बादल पौने दुई बजे भैंसेपाटी पुगेका थिए ।
-

माधव नेपालले भने– कुनै समूहले पार्टी नामबाट गर्ने निर्णय वैधानिक हुँदैन
काठमाडौं । आफू पक्षधर केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता माधवकुमार नेपालले कुनै समूहले पार्टीको नामबाट गरेका निर्णय वैधानिक नहुने बताएका छन् ।
ओली नेतृत्वको नेकपा केन्द्रीय कमिटी बैठक र निर्वाचन आयोगलाई केन्द्रीय कमिटी पुनर्गठनबारे जानकारी दिएको विषयलाई लक्षित गर्दै नेता नेपालले भने, ‘पहिलो अध्यक्ष हुँ, मेरै निर्णय आधिकारिक हुन्छ भन्ने कसैले नसोचे हुन्छ ।’
‘सचिवालय बैठक बस्न हामीले धेरै पापड बेल्नुपर्यो’ उनले भने, ‘हाम्रो चाहना आज पनि धुम्बाराहीमा बैठक बस्ने थियो, तर विभिन्न कारणले सकेनौं ।’ उक्त समूहको बैठक बबरमहलस्थित एक पार्टी प्यालेसमा बसेको छ ।
अध्यक्ष ओलीबाट आफूहरु पटक–पटक अपमानित भएको पनि उनले बैठकमा बताए ।
-

फ्राइडे रिलिज : ज्याकी च्यानको ‘भ्यानगर्ड’देखि डिज्नेको ‘मुलान’सम्म
कोरोना महामारीकै बीच शुक्रबारदेखि नेपाली फिल्म हल खुल्दैछन् । ओभर द टप (ओटीटी) प्लेटफर्ममा पनि फिल्म रिलिज हुनेछन् । शुक्रबारदेखि नेपाली फिल्म हाइव्रिड मोडेलको वितरण प्रणालीमा प्रवेश गर्दैछ । अर्थात, ओटीटी र हल दुबैमा फिल्म लन्च हुनेछन् ।
नेपाल प्रेसलाई वितरकले उपलब्ध गराएको विवरणअनुसार हलमा चल्दाचल्दैका फिल्म पुनः रिलिज हुनेछन् । ओटीटीमा शुक्रबारदेखि नयाँ फिल्म लाग्नेछ । नौ महिनापछि हल खुलाउन अहिले धमाधम हलको सरसफाइ र उपकरण मर्मतको काम भैरहेको छ ।
एप्पल इन्टरटेनमेन्टले डिज्नेको ‘मुलान’ र भिन डिजेलको ‘ब्लडसट’लाई पुनः रिलिज गर्ने निश्चित भएको छ । कम्पनीका रुबेन श्रेष्ठका अनुसार दुबै फिल्मको कन्टेन्ट तयारी अवस्थामा छ । गत चैत ११ गते लकडाउन लगत्तै यी दुईको प्रदर्शन रोकिएको थियो । ‘मुलान’को भने पहिलो रिलिज हो ।
चल्दाचल्दै रोकिएका ‘आमा’ र ‘सेन्टी भाइरस’ फिल्मको पनि प्रदर्शन सुचारु हुने भएको छ । ‘नेपालीतर्फ यी दुईवटा फिल्मसहित अन्य हिट फिल्म पनि पुनः प्रदर्शन गर्ने तयारी छ’ चलचित्र संघका अध्यक्ष मधुसुधन प्रधानले भने, ‘सबै हललाई शुक्रबारदेखि खोल्न र यी फिल्मलाई देखाउन सर्कुलर गरेका छौं ।’
वितरण कम्पनी गोपिकृष्ण मूभिजले शुक्रबारदेखि ज्याकी च्यान स्टारर फिल्म ‘भ्यानगर्ड’लाई नेटटिभी र डीसहोमसहितका नेपाली ओटीटी प्लेटफर्ममा रिलिज गर्दैछ । कम्पनी प्रमुख नीरज पौडेलका अनुसार जनवरी ७ मा सलमान खानको फिल्म ‘कागज’ र १४ मा फिल्म ‘पावर’ ओटीटीमा रिलिज हुनेछन् ।
‘तत्काल हलमा फिल्म रिलिज गर्ने तयारी हाम्रो छैन’ पौडेलले भने, ‘अवस्था हेरेर हल रिलिजबारे निर्णय गर्छौ ।’ उनका अनुसार वरुण धवन स्टारर बलिउड फिल्म ‘कुली नम्बर वान’ नेपालमा ओटीटी र हल दुबै प्लेटफर्ममा रिलिज हुनेछैन ।
चलचित्र संघले शुक्रबारदेखि संचालनमा ल्याउन लागेका हलमा कोभिड मापदण्डको कडाइका साथ लागु गर्ने भएको छ । अध्यक्ष प्रधानका अनुसार सबै हलमा एकजना स्वास्थ्यकर्मीलाई राखिनेछ । ‘संक्रमणको बीचमै फिल्म माहौल निर्माण हुनेछ’ उनले भने ।
-

पार्टी विभाजन भएको छैन, जिम्मेवारी हेरफेर भएको हो : प्रदीप ज्ञवाली
काठमाडौं । परराष्ट्रमन्त्री तथा केपी ओली नेतृत्वको नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले पार्टी विभाजन नभई केन्द्रीय कमिटीको विस्तार मात्र भएकाे बताएका छन् ।
बालुवाटारमा बसेको केन्द्रीय कमिटीको निर्णय सुनाउने क्रममा प्रवक्त ज्ञवालीले भने, ‘ प्रधानमन्त्री ओलीको तर्फबाट पार्टी विभाजित भएको छैन । कमिटीको विस्तारका लागि साथीहरू थपिनुभएको छ । नेकपा एकताबद्ध छ ।’ बैठकमा कुनै पनि नेतालाई कारबाही नगरिएको उनले बताए ।
प्रधानमन्त्री ओलीमाथि षड्यन्त्रपूर्वक अविश्वासको प्रस्ताव तयारी गरेपछि बाध्य भएर संसद विघटन गर्नुपरेको ज्ञवालीको आशय थियो ।
‘एकाबिहानै दौडेर एउटा प्रयोजनका निम्ति प्रयोग गरिएको हस्ताक्षरलाई कपी पेस्ट गरी टाँसेर ओलीमाथि अविश्वास प्रस्ताव तयारी किन गर्नुपर्दथ्यो’ ज्ञवालीले भने, ‘उहाँले हाम्रो पार्टीलाई केही कुराले पनि एक बनाउन नसकेपछि निर्वाचनले एकता गर्छ भन्ने सन्देश दिनुभएको छ ।’
बैठकले नारायणकाजी श्रेष्ठलाई प्रवक्ता पदबाट हटाएर ज्ञवालीलाई जिम्मेवारी दिएको थियो । यो प्रसंगमा ज्ञवालीले भने, ‘पार्टी प्रवक्ताको काम पार्टीका आधिकारिक विचारहरूको सम्प्रेषण गर्ने हो । आफ्ना निजी आकांक्षा बुझाइलाई व्यक्त गर्ने होइन । त्यसकारण पार्टी अध्यक्षले मलाई आधिकारिक कुरा सम्प्रेषण गर्न प्रवक्ताको जिम्मेवारी दिनुभएको हो ।’
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्नु संविधानविपरीत नभएको ज्ञवालीको आशय थियो ।
उनले भने, ‘पार्टी र संसदलाई देश र जनताको एजेण्डामा हैन, कोभिड १९ मा हैन, अरु प्राकृतिक विपत्तिमा परेका जनताका पीडामा हैन, राष्ट्रिय स्वाभिमानको, राष्ट्रियता सुदृढीकरणको एजेण्डामा हैन केही नेताहरूको कहिल्यै पनि सन्तुष्ट नहुने आकांक्षाहरूको बन्धक जस्तो बनाएर अगाडि बढ्नै नसक्ने स्थिति सिर्जना गरिसकेपछि प्रतिनिधिसभाकोे ६४ प्रतिशत सदस्यहरूको समर्थन प्राप्त दलका नेता र प्रमको हैसियतले उहाँले सभा विघटन गरेको जानकारी गराउनुभयो ।’
सरकारलाई काम गर्न नदिन चार वर्षअगाडिकै परिस्थितिको पुनरावृत्ति प्रचण्ड पक्षले गर्न लागेको ज्ञवालीको आरोप थियो ।
बैठकमा गरिएको निर्णयबारे बोल्दै उनले थपे, ‘ सरकारले गरेको राम्रो काम र पार्टीका विचार लिएर जनताको बीचमा जाने निर्णय भएको छ । लोकतन्त्र, राष्ट्रियता र सामाजिक आर्थिक रुपान्तरण समृद्धिको मुख्य एजेण्डालाई स्थापित गर्ने गरी सिंगो पार्टी पंक्तिलाई परिचालित हुन अध्यक्षले निर्देशन दिनुभएको छ । ’
कमिटीको अर्को बैठक ९ गते दिउँसो एक बजे बस्ने तय भएको उनले बताए । अर्को बैठक निर्वाचन केन्द्रित हुने कुरामा तय भएको ज्ञवालीले जानकारी दिए ।
‘महासचिव र माइन्युट विना बैठक हुन्छ ?’
प्रवक्ताकाे जिम्मेवारी पाएका ज्ञवालीले अर्को प्रचण्ड–माधव पक्षले बसेको बैठक आधिकारिक रुपमा मान्य नहुने बताए । पार्टीको अध्यक्ष, महासचिव र माइन्युट विना बैठक नहुने उनको जिकिर थियो ।
‘पार्टीको अध्यक्ष, महासचिव, माइन्युट विना पनि बैठक बस्छ र ? त्यो बैठकको निर्णय वैधानिकता हुने कुरा पनि भएन । पार्टीको मौजुदा विधानले महासचिवले सूचना जारी गर्नुपर्छ भन्छ। महासचिवले बैठकको एजेण्डा र सूचना तया गर्नुपर्छ,’ उनले भने ।
एकल अध्यक्षको निर्णयलाई मान्यता दिन मिल्छ भन्ने प्रश्नमा उनले भने, ‘उहाँलाई त बोलाएकै हो । किन आउनु भएन थाहा भएन ।’ यद्यपि, पार्टीमा ओली पहिलो अध्यक्षको हैसियतमा भएको हुँदा पहिलो अध्यक्ष र महासचिवसहितको बैठक मान्य हुने उनले बताए ।
लोकतान्त्रिक दल निर्वाचनबाट पन्छिन्न
विघटन भएको संसद नब्युँतने र सबै दल निर्वाचनको तयारीमा भित्रभित्रै जुटेको प्रवक्ता ज्ञवालीको आशय थियो । उनले भने, ‘कुनै पनि लोकतान्त्रिक दल निर्वाचनबाट पन्छिन्न । निर्वाचनका लागि तयारी भित्रभित्रै गर्न थालिसकेका छन् ।’
कुराकानीका क्रममा सरकारले यो बीचमा गरेका कामहरूबाट आफूहरू सन्तुष्ट रहेको ज्ञवालीले बताए । हामीले केही समयअघि मात्र एकैसाथ ३९६ वटा पालिकामा न्यूनतम ५ देखि १५ शय्या अस्पतालको शिलान्यास गर्यौं। यो काम विगतमा कुनै सरकारले गरेका थिएनन् ।’
-

प्रचण्ड–माधव पक्षको बैठक: ओलीलाई अध्यक्षबाट हटाउने प्रस्ताव
काठमाडौं । नेकपाको प्रचण्ड-माधव नेपाल पक्षले पार्टीका पहिलो वरियताका अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गरी अध्यक्षबाट हटाउने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा औपचारिक रुपमा लगेको छ ।
बबरमहलस्थित कार्की पार्टी प्यालेसमा भइरहेको बैठकमा ओलीमाथि अनुशासनको कारबाही गर्ने प्रस्ताव पेश भएको हो । आजको बैठकको एजेण्डामा अनुशासनको कारबाहीपछिको नेतृत्व चयन पनि समावेश भएको छ ।
बैठकले ओलीको ठाउँमा माधव नेपाललाई अध्यक्ष चयन गर्ने तयारी छ । पार्टीका अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरुले पार्टीको आन्तरिक समस्याका बारेमा बैठकलाई जानकारी गराउने कार्यसूची छ ।
बैठकमा कृष्णaहादुर महरालाई स्थायी कमिटी सदस्यमा मनोनीत गर्ने प्रस्ताव पनि पेश भएको छ । -

जनकपुरमा ओली पक्षका युवाको भेला, महेश बस्नेत सहभागी
जनकपुर । कडा सुरक्षाबीच जनकपुरमा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नेकपाको युवा भेला हुँदैछ । सांसद महेश बस्नेतको प्रमुख आतिथ्यमा जनकपुरस्थित उद्योग वाणिज्य संघको सभाहलमा भेला हुन लागेको हो ।
भेलाका लागि हिजै नेता बस्नेत जनकपुरधाम आएका थिए ।
