Blog

  • एक वर्षभित्र भन्सार कार्यालयहरूमा ई–पेमेन्ट प्रणाली शुरू हुने

    एक वर्षभित्र भन्सार कार्यालयहरूमा ई–पेमेन्ट प्रणाली शुरू हुने

    काठमाडौं । भन्सार विभागले एक वर्षभित्र देशभरिका भन्सार कार्यालयहरूलाई ‘फेसलेस’ गरिने बताएको छ । भन्सार विभागका अनुसार ‘फेसलेस’ अर्थात् भन्सार कार्यालयका कर्मचारी र व्यापारीबीच सम्पर्क नभई ई–पेमेन्टबाटै कारोबार हुनु ।

    भन्सार विभागका निर्देशक शिशिर घिमिरेका अनुसार ई–पेमेन्ट प्रणाली कार्यान्वयनमा आएपछि व्यापारीले देशका जुनसुकै ठाउँबाट पनि ई–पेमेन्टबाट भन्सार शुल्क तिर्न सक्नेछन् । अहिले व्यापारीहरूले भन्सार कार्यालयमै पुगेर भन्सारले तोकेको बैंकमा नै पैसा बुझाउने गरेका छन् ।

    यसरी ई–पेमेन्टबाट भन्सार शुल्क बुझाउँदा व्यापारी र भन्सार कार्यालयलाई धेरै कुरामा फाइदा पुग्ने बताउँछन् निर्देशक घिमिरे । उनका अनुसार यो प्रणालीले पहिला त व्यापारीलाई फाइदा पुग्छ, जस्तो व्यापारीले पैसा बोकेर भन्सार कार्यालयकै क्षेत्रमा भएको बैंक जानु पर्दैन ।

    पैसा वा चेक बोकेर भन्सार पुग्नुपर्ने झन्झटबाट व्यापारी मुक्त हुन्छन् । साथै समयको बचत हुन्छ । यस प्रणालीबाट भन्सार कार्यालयले पनि आफूलाई लागिरहने दागबाट मुक्त गर्न सक्छ ।

    जस्तो भन्सार कार्यालयका कर्मचारीले व्यापारीको मिलोमतोमा भन्सार शुल्क कम गरेर सामान पठाउँछन् भन्ने आरोपलाई ई–पेमेन्ट लागूले निर्मूल गर्नेछ । ई–पेमेन्ट लागू भएपछि व्यापारीले आफ्नो सामान कहाँ छ ? कस्तो अवस्थामा छ ? भन्ने कुराको जानकारी आफैंले ल्यापटपमा हेरेर थाहा पाउन सक्छ ।

    भन्सार विभागको सहकार्यमा अर्थ मन्त्रालयले वाणिज्य बैंकहरूसँग ई–पेमेन्ट प्रणालीका लागि छलफल गरिरहेको छ । र, यसै वर्ष लागू हुने योजनामा विभाग रहेको छ ।

    निर्देशक घिमिरेका अनुसार अहिले भन्सार कार्यालयले रिक्स इन्डिकेटरका आधारमा तीन किसिमले भन्सार जाँच गरी सामान नेपाल भित्र्याउने गरेको छ । यसमा रेड, ग्रीन तथा एल्लो च्यानल प्रयोग गरी सामान भित्र्याइन्छ ।

    रेड च्यानलमा रहेका सामानहरू भन्सारले सबै एक–एक गरी खोलेर हेर्छ । एल्लो च्यानलका वस्तु हेरिंदैन त्यसको डकुमेन्ट हेरिन्छ । ग्रीनमा सामान र डकुमेन्टेशन दुवै हेरिंदैन ।

  • ओली पक्षले तोक्यो प्रदेश कमाण्डर (सूचीसहित)

    ओली पक्षले तोक्यो प्रदेश कमाण्डर (सूचीसहित)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले सातै प्रदेश र जनवर्गीय संगठनका इन्चार्ज तोकेको छ ।

    बालुवाटारमा जारी बैठकले प्रदेश इन्चार्जहरु तोकेको हो ।

    सचिवालय सदस्य ईश्वर पोखरेल बाहेक अरु इन्चार्ज स्थायी कमिटीबाट तोकिएका छन् । राजधानीको लागि कृष्णगोपाल श्रेष्ठ छन् ।

    प्रदेश १ : सुवास नेम्वाङ

    प्रदेश २: सत्यनारायण मण्डल

    वागमती : ईश्वर पोखरेल

    गण्डकी : पृथ्वीसुब्बा गुरुङ

    लुम्बिनी : शंकर पोखरेल

    कर्णाली : मणि थापा

    सुदूरपश्चिम : लेखराज भट्ट

    जनवर्गीय संगठन : टोपबहादुर रायमाझी

    राजधानी उपत्यका : कृष्णगोपाल श्रेष्ठ

  • बालुवाटारबाट खोसियो प्रचण्डको कार्यकारी अध्यक्षको हैसियत

    बालुवाटारबाट खोसियो प्रचण्डको कार्यकारी अध्यक्षको हैसियत

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले साबिक पार्टीका अर्का अध्यक्ष प्रचण्डको कार्यकारी जिम्मेवारी खोसेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले प्रचण्ड कार्यकारी अध्यक्ष नभएको र केपी ओलीको मात्र हस्ताक्षर चल्ने गरी निर्णय गरेको छ ।

    नेकपाले पार्टीको आधिकारिकताका लागि ओली नेतृत्वको कमिटीको सबै विवरण समेत निर्वाचन आयोगमा बुझाएको छ ।

    ओली पक्षले  निर्वाचन आयोगमा विधान संशोधन सहित आवश्यक सबै कागजात बुझाए

    ओली पक्षले आजै निर्वाचन आयोगमा विधान संशोधन सहित आवश्यक सबै कागजात बुझाएको छ । आयोगमा दर्ता गराइएको संशोधनमा पार्टीका आधिकारिक दस्तावेज र पत्रहरुमा प्रथम अध्यक्षको मात्रै हस्ताक्षर ’चल्ने’ बनाइएको छ । यसअघि नेकपाका दुवै अध्यक्षको हस्ताक्षर चल्ने व्यवस्था थियो ।

    संशोधित विधानबाट दुई अध्यक्ष रहने प्रावधान भने हटाइएको छैन । त्यस्तै केन्द्रीय समितिको संख्या पनि ११९९ कायम गरिएको छ । ओली पक्षले मंगलबार नै निर्वाचन आयोग पुगेर केन्द्रीय कमिटी विस्तार गरेको जानकारी दिएको थियो । प्रचण्ड माधव पक्ष बुधवार आयोगमा गएको थियो ।

  • नेकपा विभाजन चीनका लागि ठूलो झट्का : भारतीय र अमेरिकी मिडिया

    नेकपा विभाजन चीनका लागि ठूलो झट्का : भारतीय र अमेरिकी मिडिया

    संसद विघटन र नेकपा विभाजन चीनका लागि ठूलो झट्का भएको टिप्पणी भारत र अमेरिकी मिडिया तथा थिंकट्यांकले गरेका छन् । नेकपा विभाजनपछि चिनियाँ राजदूत होउ यान्छीको दौडधुपलाई उनीहरुले आउँदो चुनावमा चीनले दुई कम्युनिष्ट शक्तिलाई सँगै देख्न चाहेको रुपमा टिप्पणी गरेका छन् ।

    टाइम्स अफ इन्डियाले हेडलाइनमै लेखेको छ : नेपालको गहिरिंदो राजनीतिक संकट चीनको लागि महँगो पर्नेछ ।’ उसले नेकपा विभाजनपछि चिनियाँ प्रभाव कम हुने विश्लेषण समेत गरेको छ । ‘पार्टी टुक्रिए पनि आउँदो चुनावमा दुई कम्युनिष्ट शक्तिले मिलेर अघि बढून् भन्ने चिनियाँ चाहना छ’ उक्त अखबारले लेखेको छ ।

    नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित रोय, भारतीय सेनाका पूर्व मेजर जनरल अशोक मेहताले पनि चीनको प्रभाव घटेको र भारतलाई फाइदा भएको टिप्पणी गरेका छन् । इकोनोमिक टाइम्समा प्रकाशित आलेखमा पूर्वराजदूत रोयले नेकपा मिलाउने चिनियाँ प्रयास असफल भएको लेखेका छन् ।

    ‘चीनले ओलीको नेतृत्वको निरन्तरताभन्दा नेकपा एक हुने विषयमा बढी चासो दिएपछि ओलीले आफ्नो रणनीति बदलेका हुन्’ रोयको विश्लेषण छ, ‘त्यसपछि प्रधानमन्त्री ओली भारतसँग नजिक भएका हुन् ।’

    अमेरिकी अग्रणी अखबार वालस्ट्रिट जर्नलले संसद विघटन र नेकपा विभाजनले चिनियाँ उद्देश्यमा गम्भीर धक्का लागेको हेडलाइन लेखेको छ । ‘हिमालय देशमा अब चीनप्रति कम झुकाव भएको दलले शासनलाई नियन्त्रण गर्न सक्छ’ जर्नलको विश्लेषण छ, ‘नेकपा विभाजन हुँदा आउँदो वैशाखमा हुने चुनाव भारतप्रति झुकाव राख्ने दल नेपाली कांग्रेसले जित्न सक्छ ।’

    अर्कोतर्फ भारतका केही विज्ञले चाहिं नेपाली प्रधानमन्त्रीको कदमले हिमालय क्षेत्रमा अस्थिरताको बीउ रोपेको तर्क गर्छन् । भारतीय रक्षा मन्त्रालय अन्तर्गतको थिंकट्यांक एमपीआइडीएसएका नेपाल विज्ञ निहार नायकले नेपालको अहिलेको अवस्था भारतका लागि पनि सहज नभएको बताउँछन् ।

  • प्रचण्ड समूहले फरक मतलाई निषेध गरेको प्रभु साहको आरोप

    प्रचण्ड समूहले फरक मतलाई निषेध गरेको प्रभु साहको आरोप

    काठमाडौं । प्रचण्ड–माधव नेपाल पक्षधर नेकपाका नेता प्रभु साहले माधव नेपाललाई अध्यक्ष बनाइएकोमा आफ्नो असहमति कायम राख्दै दुई अध्यक्ष प्रणालीलाई अश्वीकार गर्ने बताएका छन् ।

    बिहीबार प्रेस विज्ञप्ति जारी गरी नेकपा केन्द्रीय सदस्य साहले दुई अध्यक्ष प्रणालीले पार्टी र सिंगो व्यवस्थानै अस्तव्यस्त बनाएको भन्दै प्रचण्ड नेतृत्वको समूहले विगतको त्यही गल्तिलाई दोहोर्याएको आरोप लगाएका छन् ।

    साहले विज्ञप्ति भनेका छन्– असफल सिद्ध भइसकेको दुई अध्यक्षीय प्रणली जस्तो गम्भीर विषयमा छलफल नै नगरी भएको गलत निर्णयप्रति औपचारिक एवम् अनौपचारिक रुपमा पटक–पटक सुझाव एवम् विमति जाहेर गर्दागर्दै पनि निषेध एबम् निरंकुशताको शैलीमा अगाडि बढेकोप्रति मेरो गम्भीर असहमति एवम् आपत्ति छ ।

    उनले देश र जनतालाई घात गर्ने दुई अध्यक्षीय प्रणली अश्वीकार गर्न सबैमा अनुरोध गरेका छन् ।

  • प्रचण्ड–माधव पक्षको बैठक सकियो, महासचिव चुन्न गाह्रो नपरेको स्पष्टोक्ति

    प्रचण्ड–माधव पक्षको बैठक सकियो, महासचिव चुन्न गाह्रो नपरेको स्पष्टोक्ति

    काठमाडौं । बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बसेको प्रचण्ड–माधव नेपाल नेतृत्व नेकपाको केन्द्रीय कमिटी बैठक सकिएको छ । बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा २५ सय १ सदस्यीय आन्दोलन परिचालन समिति गठन गर्दै भोलि बिहान साढे ९ बजे माइतीघरमा प्रदर्शन गर्ने निर्णय गरेको छ ।

    बैठकका निर्णय सुनाउँदै प्रवक्ता श्रेष्ठले भने, ‘संसद विघटन प्रतिगामी कदम हो, त्यसलाई कुनै हालतमा सफल हुन दिने छैनौं ।’ पुरानो पार्टी ब्युँताउने प्रयास पनि सफल हुन नदिने गरी पार्टी लाग्ने निर्णय उनले बताए ।

    पार्टीको महासचिव चयनमा कुनै विवाद नरहेको भन्दै प्रवक्ता श्रेष्ठले भने, ‘बाहिर आएजस्तो गरी पार्टीको महासचिव चयनमा विवाद छैन ।’

    महासचिवका लागि सुरेन्द्र पाण्डेको नाममा सहमति जुटेको बताइएको थियो । तर, भीम रावलले पनि दावी गरेपछि विवाद बढेको समाचार सार्वजनिक भएको थियो ।

     

  • आन्दोलनकाे तयारी गर्दै जनता समाजवादी पार्टी

    आन्दोलनकाे तयारी गर्दै जनता समाजवादी पार्टी

    संसद विघटनकाे विराेधमा जनता समाजवादी पार्टीले आन्दाेलकाे घाेषणा गरेकाे छ। आन्दाेलनकाे क्रममा पुत्ला दहन, मसाल जुलुस तथा बृहत प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

  • लुकेर हात मिलाउनेलाई आन्दोलनको कमाण्डर ? खुट्टी देख्दै चाल पाइयो (भिडियो)

    लुकेर हात मिलाउनेलाई आन्दोलनको कमाण्डर ? खुट्टी देख्दै चाल पाइयो (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकीले अतिक्रमण गरेको हाम्रो भूमि फिर्ता माग्दा भारतसँग सम्बन्ध बिगारेको आरोप लगाउनेहरुले सरकार ढालेर पार्टी फुटाउन खोजेपछि प्रतिनिधिसभा भंग गर्नुपरेको प्रष्टीकरण दिएका छन् ।

    बालुवाटारमा जारी आफू नेतृत्वको नेकपा केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्ड–माधव नेपाल पक्षले आफूलाई अध्यक्षबाट निकाल्नु भनेको चेस खेल्ने खेलाडीले हात्ती खाएँ भनेजस्तै हुने बताए ।

    बैठकमा ओलीले भने– हाम्रो भूमि फिर्ता माग्दा सम्बन्ध बिगारेको आरोप लगाइयो । संविधान बनाएबापत नाकाबन्दी लाग्यो । नाकाबन्दीको सामना गरेबापत मलाई घेराबन्दीमा पारिएको थियो ।

    प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन गरेलगत्तै ओलीले त्यसप्रति पनि व्यंग्य कसे । उनले प्रचण्ड पक्षका नेताहरुलाई छचन्डाएर हिंड्नुको साटो आफूसँग मिल्न आए ठाउँँ खाली राखिएको र कसैलाई नहटाइएको बताए ।

    ओलीले भने– जसले न त कहिल्यै आन्दोलनमा भाग लियो न त जनयुद्ध नै लड्यो । लुकेर हात मिलाउनेलाई आन्दोलनको कमाण्डर ? खुट्टी हेर्दै चाल पाइयो ।

  • अबको लडाईं चानचुने हुँदैनः प्रचण्ड

    अबको लडाईं चानचुने हुँदैनः प्रचण्ड

    काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटन नभई वर्तमान सरकारको विघटन भएको टिप्पणी गरेका छन् । बबरमहलमा जारी आफू पक्षीय केन्द्रीय कमिटी बैठकमा बोल्दै प्रचण्डले भने, ‘ठूलो बेइमानी, जालझेल र षडयन्त्र भयो, प्रतिक्रान्तिको खतरा बढेको छ, अबको लडाईं चानचुने हुँदैन ।’

    संसद विघटनलाई कायरले गर्ने काम भन्दै प्रचण्डले भने, ‘बहादुरले त संसदको सामना गर्छ, संसद विघटन कायरले गर्ने काम हो ।’ समानुपातिक हक खोस्न खोजिएको आरोप लगाउँदै प्रचण्डले त्यो गरिए वर्तमान सरकारलाई निकै महँगो पर्ने टिप्पणी गरे ।

    पार्टी विभाजन गर्नेका पछाडि जनता नलाग्ने बताउँदै उनले गणतन्त्र नचाहने तत्वलाई गणतन्त्र बुझाउँदा दुःख पाइएको बताए । ‘गणतन्त्र जन्माउने एउटा तर जिम्मा अर्कोलाई लगाउँदा दुःख पाइयो’ दाहालले भने, ‘तर, हामीले एजेन्डा बुझाएका होइनौं ।’

     

  • चर्को आवाज निकाल्ने ३४२ वटा मोटरसाइकल कारबाहीमा

    चर्को आवाज निकाल्ने ३४२ वटा मोटरसाइकल कारबाहीमा

    काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विगत एक महिनादेखि चर्कोआवाज निकाल्ने तथा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउने चालकमाथि विशेष निगरानी गरी कारबाही गरेको छ ।

    महाशाखाले यसअवधिमा चर्को आवाज निकाल्ने ३४२ वटा मोटरसाइकलहरुलाई कारबाही गरेको छ ।

    महाशाखाले मोटरसाइकलहरुले ध्वनि प्रदूषण हुने गरी शहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने, स्वरुप परिवर्तन गरी चलाउने, लापरबाही ढङ्गले चलाउने, जिकज्याक रुपमा चलाउने कार्यहरु कानूनविपरित भएकोले कारबाही गरेको हो ।

    महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले त्यस्ता मोटरसाइकलका कारण दुर्घटना निम्तिनुका साथै सर्वसाधारणमा अनावश्यक आवाजका कारण आतंकित तुल्याउने र ध्वनि प्रदूषण हुने भएकाले कारबाही गरिएको जानकारी दिए ।

    जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकलहरुलाई उपत्यकाभित्र सञ्चालनमा कडाइ गरेको महाशाखाले जनाएको छ ।

  • कारोबारको अन्तिम दिन नेप्से २९ अंकले घट्यो

    कारोबारको अन्तिम दिन नेप्से २९ अंकले घट्यो

    काडमाडौं । धितोपत्र बजारको शेयर कारोबार मापक नेप्स बिहीबार २९.८३ अंकले ओराले लागेको छ । कारोबारको अन्तिम दिन १.४४ प्रतिशतले घट्दै नेप्से २,०३८ विन्दुमा बन्द भएको छ ।

    आज भएको खरीदविक्रीमा भएको कारोबार रकममा पनि कमी आएको छ । ९८ लाख ६० हजार ५३६ कित्ता कारोबारमा ५ अर्ब ३६ करोड ९० लाख ४६ हजार ३२२ रुपैया बराबरको कारोबार भएको हो ।

    गत आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सोही दिन नेप्सेमा ९७ अंकको गिरावट आएको थियो । त्यसपछि नेप्से ह्वातै बढ्ने र घट्ने क्रम रोकिएको छैन ।

    आज भएको कारोबारमा सबैभन्दा धेरै नविल बैंकको ६१ करोड ४९ लाख ६५ हजार ९४१ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसैगरी एनएलआइसीले ५९ करोड ८१ लाख ९३ हजार ५४१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै नाफा कमाउनेमा सोल्टी होटल रहेको छ भने सबैभन्दा धेरै गुमाउनेमा समृद्धि फाइनान्स लिमिटड रहेको छ

  • प्रचण्ड–माधव पक्षको केन्द्रीय कमिटी बैठकमा जे देखियाे (फाेटाे फिचर)

    प्रचण्ड–माधव पक्षको केन्द्रीय कमिटी बैठकमा जे देखियाे (फाेटाे फिचर)

    काठमाडौ‌ं । प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक बबरमहलस्थित कार्की पाटी प्यालेसमा बस्यो । बैठकले संसद विघटनविरुद्ध देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको छ ।

    उक्त बैठकमा देखिएका केही रोचक तस्वीर हेर्नुहोस्ः

     

     

               
  • प्रचण्डले भने– बादललाई ल्याउन सकिएन, २३ जना कमरेड फिर्ता ल्यायौं

    प्रचण्डले भने– बादललाई ल्याउन सकिएन, २३ जना कमरेड फिर्ता ल्यायौं

    काठमाडौं । विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बादललाई आफूतिर ल्याउन नसकिए पनि उनीसँँग रहेका २३ जना नेता फिर्ता आएको बताएका छन् ।

    बबरमहलमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले बादलसँग नजिक रहेर काम गरिरहेका नेताहरु आफूतिर आएको र यो संख्या बढ्दै जाने बताए ।

    प्रचण्डले भने– वामदेव र बादल आउने आशा गरेको थिएँ तर उहाँहरु यहाँ आउनुभएको छैन। वामदेव सकारात्मक हुनुहुन्छ। तर, बादललाई हामीले ल्याउन सकेनौं ।

    २३ जना कमरेड फिर्ता आउनुभएको छ। बादल कमरेडसँग नजिक रहेर काम गरिरहनुभएका केही कामरेड यहाँ आउनुभएको छ। आउने दिनमा यो संख्या बढ्दै जानेछ। तुवाँलो हट्दै जानेछ।

    प्रचण्डले अ‍ोली नेतृत्वको पार्टी आधिकारिक नभएर गुट मात्र भएको बताए ।

  • समयमा बारुण यन्त्र नआउँदा आगलागीबाट करोडौं क्षति

    समयमा बारुण यन्त्र नआउँदा आगलागीबाट करोडौं क्षति

    जनकपुरधाम । जनकपुरको शिव चोकस्थित मिथिला डिपार्टमेन्ट स्टोरमा भएको भीषण आगलगी ३ घण्टापछि नियन्त्रणमा आएको छ । आगलागीबाट स्टोरको माथिल्लो तलामा रहेका सबै समान जलेका छन् ।

    स्थानीयका अनुसार आगो बिहान साढे ९ बजे लागेको थियो । तर आगलागी भएको एकघण्टासम्म नियन्त्रणका लागि बारुण यन्त्र आएनन् ।
    पौने ११ बजे जनकपुर विमानस्थलको बारुण यन्त्र आइपुग्यो ।

    लगत्तै बर्दिबास, सबैला, जलेश्वर नगरपालिकाको पनि बारुण यन्त्र आए । तर तालिम प्राप्त जनशक्ति अभावमा आगलागी नियन्त्रण गर्न कठिन भएको स्थानीयले बताए ।

    स्टोरका सञ्चालक हरिकान्त मिश्रले आगलगी कसरी सुरु भएको भन्ने थाहा नपाएको बताए । ‘आगो लाग्ने वित्तिकै हामीलाई खबर आयो । तत्कालै म यहाँ आएपछि भित्र छिर्न सक्ने अवस्था थिएन । आगो बलिरहेको थियो,’ मिश्रले भने ।

    आगोलागीबाट करिब २ करोडभन्दा बढीको क्षति भएको उनले बताए ।

    उपमहानगरपालिकाको लापरबाही

    आगो लागेको स्टोरदेखि करिब ३ सय मिटरको दुरीमा मात्र जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय छ । उपमहानगरपालिकामा दुई बारुण यन्त्र पनि छ । तर दुबै बिग्रेका छन् ।

    उपमहानगरपालिकाको चरम लापरबाहीले आगलागीबाट ठूलो क्षति भएको स्थानीय बताउँछन् ।
    जनकपुरधाम उधोग वाणिज्य संघका महासचिव जीतेन्द्र महासेठले उपमहानगरपालिकाको बारुण यन्त्र नआउँदा आगलागीबाट ठूलो क्षति भएको बताए । उनले आगलगीबाट भएको व्यवसायीको क्षति व्यहोर्न स्थानीय सरकारसँग माग समेत गरे ।

    ‘प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम रहेपनि बारुण यन्त्र राख्न नसक्नु ठूलो बिडम्बना हो’, उनले भने, ‘तालिम प्राप्त जनशक्तिका कारण पनि आगलागी नियन्त्रणमा लिन ठूलो समस्या भयो । जलेश्वरबाट नगर प्रहरी आयो । तर नजिकैको उपमहानगरबाट आएन ।’

    मेयर साहको विरोधमा प्रदर्शन

    आगलागी नियन्त्रणका लागि बारुण यन्त्र खरीद गरेपनि बिगारेर राखेको भन्दै स्थानीय युवाहरू आक्रोशित भएर जनकपुरधामका मेयर लालकिशोर साहविरुद्ध प्रदर्शन गरेका छन् ।

    आक्रोसित युवाहरूले उपमहानगरपालिकाको कार्यालयअगाडि मेयर साहविरुद्ध नाराबाजी गर्दै कार्यालय तोडफोडको प्रयास समेत गरे । प्रहरीले कार्यालयभित्र युवाहरूलाई छिर्न नदिएपछि दुई पक्षबीच केहिबेर घम्साघम्सी समेत भएको थियो ।

  • पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा कांग्रेसको विरोध प्रदर्शन

    पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा कांग्रेसको विरोध प्रदर्शन

    काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पुस १३ गते १६५ वटै संघीय निर्वाचन क्षेत्रमा सरकारको असंवैधानिक कदमविरुद्ध विरोध कार्यक्रम गर्ने भएको छ ।

    आजको केन्द्रीय कार्य समिति बैठकले सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको असंवैधानिक एवम् अलोकतान्त्रिक कदमको विरोधमा पुस १३ गते १६५ वटै संघीय निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको महामन्त्री पूर्णबहादुर खड्काले बताएका छन् ।

    आजै रामचन्द्र पौडेल पक्षको भेलाले आन्दोलनका कार्यक्रम सहितको प्रस्ताव बैठकमा लगेको थियो ।

    बैठक अझै जारी छ ।

  • फिल्म सिटीको स्वामित्व प्रदेश सरकारलाई, संचारमन्त्रीले भने : काम चाँडै पुरा हुन्छ

    फिल्म सिटीको स्वामित्व प्रदेश सरकारलाई, संचारमन्त्रीले भने : काम चाँडै पुरा हुन्छ

    दोलखा फिल्म सिटीको स्वामित्व बागमती प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । संचार मन्त्रालयमा आयोजित छलफलमा मन्त्री पार्वत गुरुङले केन्द्र, प्रदेश र चलचित्र विकास बोर्डको स्वामित्व हुने गरि निर्माण अघि बढाउने जानकारी दिएका हुन् ।

    विहिबार मन्त्रालयमा मन्त्री, प्रदेश सरकारका सांसद, रजिस्टार र फिल्मकर्मीबीच फिल्म सिटीबारे छलफल चलेको थियो । दोलखा भीमेश्वर नगरपालिका–९ मा रहेको दुई हजार रोपनी क्षेत्रफलमा फैलिएको सिटीको काम अघि बढाउन संघिय सरकारले कानुनहरु निर्माण गरिरहेको बताए ।

    बागमती प्रदेश सरकारले अहिले साढे तीन करोड रुपैया विनियोजन गर्दै सिटीको प्रवेशद्धार र सूचना केन्द्र बनाइरहेको छ । छलफलमा बरिष्ठ फिल्मकर्मी मदनदास श्रेष्ठले संघिय सरकारले बजेट विनियोजन नगर्दा सिटीमा पूर्वाधार बनाउने काममा ढिलाइ भएको बताए ।

    ‘सिटी बनाउने दातृ निकायले चासो देखाएका छन् तर सरकारले बजेट विनियोजनमा रुचि देखाएन’ उनले भने, ‘यसले गर्दा काममा ढिलाइ भएको छ ।’ प्रदेश सरकारले उक्त साढे तीन करोड रुपैयाँ भीमेश्वर नगरपालिकालाई प्रदान गर्ने भएको छ ।

    अहिले उक्त फिल्म सिटीसम्म पुग्ने सडक कालोपत्रे भएको छ भने बिजुली प्रसारण पनि भएको छ । प्राकृतिक सौन्दर्यले समेत महत्वपूर्ण लाकुरीडाँडामा अहिले इन्डोर र आउटडोर स्टुडियो बनाउने काम भैरहेको छ । काठमाडौंदेखि ८० किमी टाढा रहेको सिटीलाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको छ ।

  • बादलले भने– प्रतिक्रान्तिको खतराबाट जोगाउन मूल नेतृत्वलाई साथ दिएँ

    बादलले भने– प्रतिक्रान्तिको खतराबाट जोगाउन मूल नेतृत्वलाई साथ दिएँ

    काठमाडौं । नेकपा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलले मुलुकलाई प्रतिक्रान्तिको खतराबाट जोगाउन मूल नेतृत्व (केपी ओली)लाई साथ दिनुपरेको बताएका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा जारी ओली नेतृत्वको नेकपाको बैठकलाई सम्बोधन गर्दै बादलले निकै सोच विचार गरेर आफूले मूल नेतृत्वलाई जोगाउन यस्तो निर्णय लिएको बताए ।

    उनले प्रचण्ड–माधव नेपाल समूहले प्रतिक्रान्तिलाई सघाउने निर्णय गर्दै अघि बढेको बताए । उनले पार्टीको नेतृत्वलाई जोगाउन आफू लाग्ने र गुटहरुलाई हावी हुन नदिने बताए । असारधारण अवस्थामा नेतृत्वले असाधारण निर्णय लिनुपर्ने भएकाले ओलीको नेतृत्वलाई सघाउन उनले आह्वान गरे ।

    बैठकलाई सम्बोधन गर्ने क्रममा गृहमन्त्री बादलले विदेशी प्रतिक्रियावादी शक्तिहरुको खेल प्रचण्ड–माधव समूहका कारण सफल भएको र एउटा गुट आफूहरुबाट बाहिरिएको बताए । उनले भने–एउटा गुट हामीहरुबाट बाहिरिएको छ तर क्रान्तिको नेतृत्व हामी गर्छौं । यहाँ हामी मूल नेतृत्वलाई साथ दिन सपथ खाँदैछौं ।

    अर्को प्रसंगमा उनले प्रतिनिधिसभा विघटन क्रान्तिकारी तथा अग्रगामी कदम भएको भन्दै त्यसलाई ब्युँताउनु वा कायम राख्नु पश्चगामी र अस्थिरता निम्त्याउने कदम हुने बताए ।

    पार्टीको विवादमा कतै नखुलेका र पछिल्लो समय दुवै पक्षका बैठकमा सहभागी नभएका बादल आजबाट ओलीको पक्षमा खुलेका हुन् । बैठकमा बादलको सम्बोधनअघि नयाँ केन्द्रीय सदस्यहरुलाई प्रधानमन्त्री ओली शपथग्रहण गराएका थिए ।

     

  • प्रचण्ड–माधव समूहको महासचिव आज चयन नहुने

    प्रचण्ड–माधव समूहको महासचिव आज चयन नहुने

    काठमाडौं । प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले आज महासचिव चयन नगर्ने भएको छ । केन्द्रीय सदस्य बिष्णु रिजाालका अनुसार महासचिव चयनको कार्यसूची आजको बैठकमा पेश भएको छैन ।

    सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीलगायतको पदपूर्ती  गर्ने जिम्मा बैठकले स्थायी कमिटीलाई दिने निर्णय गरेको रिजालले बताएका छन् । महासचिवमा सुरेन्द्र पाण्डेलाई जिम्मेवारी दिने समझदारी भए पनि अन्य नेताले समेत दावी गरेकाले मुख्य नेताहरुले छलफल गरेर स्थायी कमिटीबाट टुंगो लगााउने समझदारी भएको छ ।

  • बादल ओलीतिर लागेपछि सल्लाहकारले दिए राजीनामा

    बादल ओलीतिर लागेपछि सल्लाहकारले दिए राजीनामा

    काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले नेकपा विभाजनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएपछि उनका राजनीतिक सल्लाहकार सूर्य सुवेदी पथिकले राजीनामा दिएका छन् ।

    नेकपा केन्द्रीय सदस्य समेत रहेका सुवेदी तत्कालीन माओवादीका हरेक संघर्षमा बादलसँगै थिए । करीव तीन वर्षदेखि गृहमन्त्रीको सल्लाहकार रहेका सुवेदीले राजनीतिक लाइनमा बादलसँग सहमत नभएपछि राजीनामा दिएको बताइएको छ ।

    सुवेदीले फेसबुक स्टाटस लेख्दै भनेका छन्– गृहमन्त्री आदरणीय कमरेड रामबहादुर थापा बादलको सचिवालय र उहाँको राजनीतिक सल्लाहकारको भूमिकामा आजबाट राजनीतिक र नैतिक दृष्टिले नरहेको जानकारी गराउछु ।

    सुवेदी आजै प्रचण्ड माधव नेपाल पक्षको केन्दीय कमिटी बैठकमा सहभागी भएका छन् ।

  • आइसिटी अवार्डको ग्राण्ड फिनाले शनिबार हुने

    आइसिटी अवार्डको ग्राण्ड फिनाले शनिबार हुने

    काठमाडौं । ‘हुवावे आइसिटी अवार्ड­–२०२०’ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ ।
    सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रुपमा परिचित आइसिटी अवार्डको पाँचौं संस्करणको ग्राण्ड फिनाले शनिबार होटल सोल्टी क्राउन प्लाजामा आयोजना हुने भएको हो ।

    ‘आइसिटी अवार्ड­–२०२०’ आयोजनक समितिले बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी आगामी शनिबार ग्राण्ड फिनाले हुने जानकारी गराएको हो ।

    लिभिङ विथ आइसिटीको आयोजनामा हुने ‘हुवावे आइसिटी अवार्ड–२०२०’मा विभिन्न ११ विधाहरु रहेको भएपनि यसपटक अर्को एक विधा थप गरी ‘जुरी मेन्सन आइसिटी अवार्ड २०२०’ पनि प्रदान गरिने आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए । अवार्ड बिजेताहरुले विशेष सम्मान, सिल्ड लगायतका पुरस्कारहरु पाउनेछन् ।

    हुवावे आइसिटी अवार्ड २०२० मा रहेका विधाहरुमा स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड र एनसेल इन्नोभेसन आइसिटी अवार्डका विधाहरुमा विभिन्न चरणको छनौट पश्चात उत्कृष्ट ५ को घोषणा भएको छ ।

    डिजिटल एजुकेशन र डिजिटल गभर्नेन्स आइसिटी अवार्डमा उत्कृष्ट ३ को घोषणा भएको छ । यसैगरी पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, वुमन आइकन आइसिटी अवार्ड र मिडिया पर्सन आएसिटी अवार्ड २०२० को विजेताहरु भने फाइनल कार्यक्रममा नै घोषणा हुने आयोजकले बताएको छ ।

  • प्रचण्ड–माधव पक्षले आन्दोलन गर्ने, नारायणकाजी बने कमाण्डर

    प्रचण्ड–माधव पक्षले आन्दोलन गर्ने, नारायणकाजी बने कमाण्डर

    काठमाडौं । प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने प्रस्ताव पारित गरेको छ । बबरमहलको कार्की पार्टी प्यालेसमा जारी बैठकले नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २५ सय १ सदस्यीय आन्दोलन परिचालन समिति गठन गरेको छ ।

    आन्दोलन परिचालनका लागि सोही समितिबाट सानो सचिवालय गठन हुने बताइएको छ । प्रदेशमा काम संचालन गर्न स्थायी कमिटी र प्रदेश कमिटीका पदाधिकारीले काम थाल्ने र प्रदेशका पदाधिकारीले एक हप्ता भित्र प्रदेश कमिटी बैठक राख्नु पर्ने निर्देशन समेत बैठकले दिएको छ ।

    नेतृ रामकुमारी झाँक्रीले भने कमिटीको नाम आन्दोलन परिचालन समिति होइन, प्रतिगमनविरुद्धको आन्दोलन समिति बनाउनुपर्ने भन्दै फरक मत राखेकी थिइन् । अन्नतः झाँक्रीको मतअनुसार नै आन्दोलन समितिको नाम केन्द्रीय कमिटीबाट पारित भएको छ ।

  • संसद विघटनको विरुद्ध आन्दोलनको तयारीमा जसपा

    संसद विघटनको विरुद्ध आन्दोलनको तयारीमा जसपा

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले संसद विघटनको विरुद्धमा घोषणा गरेको आन्दोलनको तयारी शुरु गरेको छ ।
    जनता समाजवादी पार्टी, नेपाल केन्द्रीय कार्यकारिणी समितिको मंगलबार बसेको बैठकले संसद विघटनको विरोधमा आन्दोलनका कार्यक्रम तय गरेको थियो ।

    सोही आन्दोलनका कार्यक्रमलाई सफल बनाउन रणनीति तयार गर्न बिहीबार बैठक बसेको जसपाका नेता केशव झाले बताए । बैठकमा आन्दोलनको तयारी सम्बन्धमा छलफल भएको नेता झाले बताए ।

    जसपाले यस अघि नै केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट पुष १० गते प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गर्ने, पुष ११ गते मशाल जुलुस निकाल्ने र पुष १२ गते बृहत प्रदर्शन गर्ने कार्यक्रम तय गरिसकेको छ ।

    पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेसँगै जसपाले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

  • पुष्पलाल र मदन भण्डारीको फोटोमुनि ओली पक्षको बैठक शुरु

    पुष्पलाल र मदन भण्डारीको फोटोमुनि ओली पक्षको बैठक शुरु

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।

    आजको बैठकबाटै पूर्व माओवादीका प्रचण्डपछिका प्रभावशाली नेता रामबहादुर थापा बादल ओली पक्षमा लागेका छन् । उनी केपी ओलीको दायाँतर्फको कुर्सीमा बसेका छन् भने बायाँतर्फ अर्का नेता ईश्वर पोखरेल छन् ।

    पहिलो लहरमा पूर्व माओवादीका टोपबहादुर रायमाझी र लेखराज भट्ट पनि सँगै बसेका छन् । यसअघि बालुवाटारमा पार्टीको झण्डा र ब्यानर विनाको बैठक बस्ने गरेकोमा आजको बैठकमा कम्युनिष्ट पार्टीको झण्डा र सूर्य चिन्ह अंकित लोगोसहितको ब्यानर राखिएको छ ।

    त्यस्तै बैठकको ब्यानरमा कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र तत्कालीन नेकपा एमालेका महासचिव जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारीको तस्वीर राखिएको छ । प्रचण्ड माधव नेपाल पक्षको बैठकमा भने राष्ट्रिय अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका कुनै पनि नेताहरुको फोटो राखिएको छैन ।

     

  • प्रचण्ड–माधव पक्षधर नेकपाको केन्द्रीय कमिटी बैठक शुरु

    प्रचण्ड–माधव पक्षधर नेकपाको केन्द्रीय कमिटी बैठक शुरु

    काठमाडौं । प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपा केन्द्रीय कमिटी बैठक बबरमहलस्थित कार्की पार्टी प्यालेसमा शुरु भएको छ । केहीबेरअघिको स्थायी कमिटी बैठकले तय गरेका एजेण्डामाथि छलफल शुरु भएको केन्द्रीय सदस्य यज्ञराज सुनुवारले बताए ।

    बैठकले महासचिव चयन र प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताइएको छ । प्रचण्ड–माधव पक्षको महासचिवमा सुरेन्द्र पाण्डेलाई ल्याउने समझदारी बनेको बताइएको छ ।

  • राज्यमन्त्री मानन्धरले एकल गायनमार्फत् विश्व रेकर्ड कायम गर्दै

    राज्यमन्त्री मानन्धरले एकल गायनमार्फत् विश्व रेकर्ड कायम गर्दै

    काठमाडौं | शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व रेकर्ड कायम गर्ने भएका छन् । बिहीबार दिउँसो १ बजे बालाजुस्थित अष्टनारायण चलचित्रहलमा सुरु भएको कार्यक्रममा एकल गायनमार्फत् राज्यमन्त्री मानन्धरले विश्व रेकर्ड कायम गर्न लागेका हुन् ।

    राज्यमन्त्री मानन्धरले वर्ल्ड बुक अफ रेकर्ड युकेको बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड कायम गर्न लागेका हुन् । कन्सर्ट नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण भइरहेको छ । उनले यो विधामा विश्वमै पहिलोपटक गीत गाउन लागेका छन् । उनले करिब ४ घण्टासम्म गीत गाउनेछन् ।

    लाइभ कन्सर्टमा पुराना कलाकारहरूका नेवारी गीत गाउने राज्यमन्त्री मानन्धरले बताए । विश्व रेकर्ड कायम गराउनका लागि वर्ल्ड बुक अफ रेकर्ड युकेको टोली नेपाल आइसकेको छ ।

  • प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक, महासचिव चयनको एजेण्डा

    प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक, महासचिव चयनको एजेण्डा

    काठमाडौं । महासचिव चयनमा छलफल लम्बिएपछि प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक अझै शुरु हुन सकेको छैन ।

    बबरहमलस्थित कार्की पार्टी प्यालेसमा बैठकमा भाग लिन बिहान ११ बज्नुअघिनै केन्द्रीय सदस्यहरु पुगेका थिए । तर ११ बजे निर्धारित बैठक सचिवालय बैठकका कारण १ बजेलाई सारिएको थियो ।

    अहिले कार्की पार्टी प्यालेसमै प्रचण्ड माधव पक्षको स्थायी कमिटी बैठक बसिरहेको छ । महासचिव चयनबारे केन्द्रीय कमिटीमा लैजाने प्रस्तावमाथि छलफल गर्न स्थायी कमिटी बैठक बसेको हो ।

    उक्त समूहको महासचिवमा सुरेन्द्र पाण्डेलाई लैजाने समझदारी भएको स्रोतले जनाएको छ । यद्यपि, भीम रावललगायतका नेताले पनि महासचिवमा दावी छाडेका छैनन् । विधान संशोधन गरेर दुई महासचिव राख्नेबारेमा समेत कुरा उठे पनि यसमा निर्णय नभएको एक नेताले बताए ।

     

  • संसद विघटनको विरोधमा चार महिला संगठन सडकमा

    संसद विघटनको विरोधमा चार महिला संगठन सडकमा

    काठमाडौं । विभिन्न चार राजनीतिक दलका महिला संगठनले प्रतिनिधिसभा विघटनको विरोध गर्दै संयुक्त संघर्षका कार्यक्रम घोषणा गरेका छन् । बिहीबार अखिल नेपाल महिला संघ(अनेम), समाजवादी महिला संघ नेपाल, अखिल नेपाल महिला संघ र साझा विवेकशील (महिला) संघले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।

    पुस ५ गते मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपतिद्वारा गरिएको संसद विघटनको विरोधमा संघर्षका कार्यक्रम घोषणा गरेको समाजवादी महिला संघ नेपालकी अध्यक्ष निर्मला यादवले बताइन् ।

    सरकारको कदम व्यक्तिवादी सोच, अधिनायकवादी विचार, निरंकुश शासकको चरित्र, देश र जनताप्रतिको गैरजिम्मेवारी र नालायकीपन ठहर गर्दै आन्दोलनको घोषणा गर्नुपरेको उनको भनाइ छ ।

    सरकारको कदमविरुद्ध नेपाल बार एशोसिएसनका पदाधिकारीसँग छलफल गर्ने, संविधानविद्हरुसँग अन्तरक्रिया गर्ने, प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाउने र देशव्यापी जनप्रदर्शन गर्ने गरी संघर्षका कार्यक्रम घोषणा गरिएको पनि अध्यक्ष यादवले बताइन् ।

    प्रतिनिधिसभा विघटनले प्राप्त उपलब्धि संस्थागत नभई प्रतिगामी शक्तिहरु सल्बलाउने भन्दै महिला संगठनहरुले सरकारको यो कदम नस्वीकार्ने बताएका छन् । देश कोरोना कहर र आर्थिक संकटका बीच गुज्रिरहेकोले सरकारले गरेको चुनावी घोषणाले देशको आर्थिक अवस्था अझ धरासायी बन्ने निष्कर्ष उनीहरुको छ ।

  • बादल पुगे बालुवाटार, ओलीलाई साथ दिने निर्णय

    बादल पुगे बालुवाटार, ओलीलाई साथ दिने निर्णय

    काठमाडौं । लामो समयको तटस्थता तोड्दै अन्ततः नेकपाका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादल केपी ओलीको पक्षमा उभिएका छन् ।

    यसबीचमा दुवै पक्षका भेला बैठकहरुमा सहभागी नभएका बादल अहिले केही बेरअघि ओली नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठकमा भाग लिन प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका छन् ।

    बादललाई आफ्नो पक्षमा पार्न प्रचण्डले यसबीचमा पटक पटक भेटेर आग्रह गरेका थिए । उनीनिकट अधिकांश नेता प्रचण्ड पक्षमा लागिसकेका छन् । प्रधानमन्त्री ओलीसँग बुधबार भेटेर आफू प्रचण्डको पक्षमा नरहने जानकारी दिएका बादल बैठकमा भाग लिन बालुवाटार पुगेका हुन् ।

  • झारफुक गर्ने बहानामा जबरजस्तीकरणी गरेको आरोपमा धामी पक्राउ

    झारफुक गर्ने बहानामा जबरजस्तीकरणी गरेको आरोपमा धामी पक्राउ

    काठमाडौं । ३९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा शंखरापुर नगरपालिका ६ सलम्बुटारबाट एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका – २ हैबुङ घर भई शंखरापुर नगरपालिका – ६ सलम्बुटार बस्ने ४६ वर्षीय भीमबहादुर सुनारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

    भीमले ती महिलालाई झारफुक गर्ने बहानामा बोलाई सलम्बुटारस्थित टहरोमा जबरजस्ती करणी गरेको उजुरी परेको थियो । महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • पौडेल पक्षले कांग्रेस बैठकमा आन्दोलनका कार्यक्रमसहितको प्रस्ताव लैजाने

    पौडेल पक्षले कांग्रेस बैठकमा आन्दोलनका कार्यक्रमसहितको प्रस्ताव लैजाने

    काठमाडौं । सभापति शेरवहादुर देउवाले आन्दोलनमा जान आनाकानी गरेको भन्दै नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले आन्दोलनका कार्यक्रम र मोडालिटीसहितको अलग प्रस्ताव केन्द्रीय कार्य समिति बैठकमा लैजाने भएको छ ।

    काठमाडौंमा जारी पौडेल पक्षको भेलाले आजको बैठकमा आन्दोलनका कार्यक्रम सहितको प्रस्ताव लैजाने निर्णय गरेको केन्द्रीय सदस्य बलवहादुर केसीले नेपाल प्रेसलाई बताए । पार्टीको जारी बैठकमा आन्दोलनका बारेमा अन्यौल र गोलमटोल छलफल भइरहेकाले प्रष्ट कार्यक्रम र मोडालिटी सहितको प्रस्तावमा छलफल गराउन लागिएको उनले बताए ।

    बैठकमा प्रस्ताव छलफल गरी त्यसलाई पारित गराउन सभापति देउवालाई आग्रह गर्ने पौडेल पक्षको तयारी छ ।

  • सभामुखलाई भेटेर जसपाका नेताले भने–संसद बैठक बोलाउनुस्

    सभामुखलाई भेटेर जसपाका नेताले भने–संसद बैठक बोलाउनुस्

    काठमाडौं । जनता समाजवादी पार्टीका नेताहरुले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर विशेष अधिकार प्रयोग गरि प्रतिनिधिसभाको बैठक आह्वान गर्न आग्रह गरेका छन् ।

    आज संसद सचिवालयमा गएर जसपका नेताहरु डा.बाबुराम भट्टराई,उपेन्द्र यादव र लक्ष्मणलाल कर्णले सभामुखलाई बैठक बोलाउन माग गरेका हुन् ।

    जसपा नेताहरुले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएकाले संसद जीवितै रहेको बताएका थिए ।

    सभामुखले दलहरुसँगको छलफलका आधारमा आफूले कदम चाल्ने बताएका छन् ।

    सभामुख सापकोटाले बुधवार साँझ प्रेस वक्तव्यमार्फत प्रतिनिधिसभा जीवितै रहेको आशय व्यक्त गर्दै दलहरुसँग छलफल गरेर अघि बढ्ने बताएका थिए ।

  • ‘लप्पन छप्पन’ सिक्वेल आउँदो शिवरात्रिमा, अफिसियल पोस्टर लन्च

    ‘लप्पन छप्पन’ सिक्वेल आउँदो शिवरात्रिमा, अफिसियल पोस्टर लन्च

    मल्टिस्टारर फिल्म ‘लप्पन छप्पन’को दोस्रो श्रृंखलाले प्रदर्शन मिति तय गरेको छ । आगामी फागुन २७ गतेको शिवरात्रिमा फिल्म प्रदर्शन हुने जानकारी निर्माता कम्पनी गोल्डेन हिल्स पिक्चर्सले जनाएको छ ।

    कोरोनाभाइरस महामारीको कारण रिलिज रोकिएको फिल्मले आउँदो वर्षलाई थिएटर रिलिजको घोषणा गरेको हो । यो एक्सन थ्रीलर फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही लगायतको अभिनय छ ।

    मुकुन्द भट्टको निर्देशन रहेको फिल्ममा सुनिल निउरे र अमित शर्माको पटकथा, पुरुषोत्तम प्रधानको छायांकन, शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट, दीपक आरजे र बुलेट फ्लोको संगीत, मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

    सुरज अधिकारी र प्रजापति शिवाकोटी कार्यकारी निर्माता, प्रकाश कुवँर, निर्मलकुमार मिश्र, चिजकुमार श्रेष्ठ, सुदीपचन्द्र र सन्तोषचन्द्र भक्रेल निर्माता छन् । फिल्मको अधिकांश छायांकन नेपालसहित अष्ट्रेलियामा गरिएको छ ।

  • रामचन्द्र पक्षको भेलामा गगन–प्रदिप पनि सहभागी

    रामचन्द्र पक्षको भेलामा गगन–प्रदिप पनि सहभागी

    काठमाडौं । ५ वर्षअघिको महाधिवेशनदेखि अलग समूहमा रहेका कांग्रेसका युवा नेताहरु गगन थापा र प्रदिप पौडेल आज रामचन्द्र पौडेल पक्षको भेलामा सहभागी भएका छन् । उनीहरु कृष्ण सिटौला नेतृत्वको तेस्रो धारमा थिए ।

    प्रतिनिधिसभा विघटन असंवैधानिक भएकाले यसका विरुद्ध सडक र न्यायिक लडाई लड्नुपर्ने धारणामा पार्टी नेतृत्वलाई सहमत गराउन पौडेल पक्षका नेताहरुको भेला भइरहेको छ ।

    सो भेलामा गगन र प्रदिप पनि सहभागी भएपछि कांग्रेसमा पौडेल सिटौला समूहबीच एकता हुन लागेको अर्थमा बुझिएको छ ।

    पौडेल पक्षको भेलामा सशांक कोइराला,प्रकाशमान सिंह,शेखर कोइराला,महेश आचार्य,अर्जुन नरसिंह केसी,रामशरण महत लगायतका नेताहरु सहभागी छन् ।

    सभापति शेरवहादुर देउवा ओलीसँग भित्रभित्रै मिलेको आशंका भएपछि पौडेल पक्ष र सिटौला पक्ष नजिकिएका हुन् ।
    प्रधानमन्त्रीले संसद विघटन गरे लगत्तै गगन थापा एक्लै सडकमा निस्किएका थिए ।

  • देउवालाई आन्दोलनमा जान दबाब दिन रामचन्द्र पौडेल पक्षको भेला

    देउवालाई आन्दोलनमा जान दबाब दिन रामचन्द्र पौडेल पक्षको भेला

    काठमाडौं । पार्टीको जारी केन्द्रीय कार्य समिति बैठकमा प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा जाने कि सर्वोच्च अदालतको फैसला पर्खिने भन्ने विवाद चर्किरहेका बेला नेपाली कांग्रेसमा गुटका भेला शुरु भएका छन् ।

    सभापति शेरबहादुर देउवा सरकारविरुद्ध आन्दोलन गर्न अनिच्छुक देखिएपछि रामचन्द्र पौडेल पक्षले दबाब बढाउन अलग्गै भेला गरेको हो ।

    काठमाडौंमा जारी भेलामा पार्टीलाई आन्दोलनमा लैजानका लागि बैठकबाट निर्णय गराउन कसरी प्रस्तुत हुने भनेर छलफल चलेको एक नेताले बताए ।

    बैठकमा रामचन्द्र पौडेल,महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, गगन थापा लगायतका नेताहरु सहभागी छन् । डा शेखर कोइराला र महेश आचार्य पनि बैठकस्थलमा पुग्दैछन् ।

    बैठकमा पौडेल पक्षका अधिकांश नेताहरु सहभागी रहेको बताइएको छ । कांग्रेस बैठक आज अपरान्ह पुनः बस्दैछ । हिजो आन्दोलन कि चुनावको तयारी भन्ने विषयमा विवाद हुँदा नेताहरुबीच भनाभन समेत भएको थियो ।

  • ‘महेन्द्रपछिका राष्ट्रवादी नेता ओली हुन्, त्यसैले प्रचण्डलाई छाडें’

    ‘महेन्द्रपछिका राष्ट्रवादी नेता ओली हुन्, त्यसैले प्रचण्डलाई छाडें’

    नेपाल कम्युनिष्ट पार्टी नेकपा अहिले दुई चिरा भएको छ । केन्द्रमा आएको पार्टी विभाजनको असर वडा तहसम्मै पुगेको छ भने प्रदेश तह अछुतो रहने कुरै भएन । यसबीचमा पूर्व एमाले र पूर्व माओवादीका कतिपय नेताहरुले आफ्नो विरासत छाडेर अर्को समूहका नेतालाई साथ दिइरहेका बेला कर्णालीमा प्रचण्ड पक्षले नसोचेको दृश्य देखिएको छ ।

    सबै पूर्व माओवादी एक ठाउँमा रहन्छन् भन्ने मान्यताविपरित प्रदेशसभाका सदस्य तथा केन्द्रीय नेता ठम्मर बिष्ट र धर्मराज रेग्मीले केपी ओलीलाई साथ दिएका छन् ।

    युद्धकालदेखि नै तत्कालीन नेकपा माओवादीमा सक्रिय रहेका सुर्खेत निर्वाचन क्षेत्र नं. १  ‘क’बाट प्रत्यक्ष निर्वाचित सांसद ठम्मर विष्ट अहिले केपी ओली समूहमा प्रवेश गरेका छन् ।

    उनले गत असोज २५ गते नै तत्कालीन माओवादीको भागमा परेको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध गरिएको अविश्वास प्रस्तावमा सही गरेपछि ओली पक्षमा लागेको अनुमान गरिएको थियो ।

    पछिल्लो समयमा आएर उनलाई ओली समूहले केन्द्रीय समिति सदस्यमा मनोनीत गरेपछि त्यो पुष्टि भएको छ । हाल काठमाडौंमा रहेका विष्टसँग ओली पक्षमा जानुको कारणलगायतका विषयमा टेलिफोनमार्फत नेपाल प्रेससँग गरिएको कुराकानीको सम्पादित अंशः

    तपाई ओली पक्षमा लागेको हो ?

    हो ।

    ओली पक्षमा लाग्नुको कारण के हो ?

    कारण भन्ने हो भने प्रचण्ड र केपीलाई नै सोध्नुपर्छ होला । उहाँहरुले पार्टी सम्हाल्न सक्नुभएन के रे । अब सम्हाल्न नसकेपछि, पार्टी हाँडी फुटेझैं फूटिसकेपछि, पार्टी कार्यकर्ता, जनता यताउता लाग्ने कुरा स्वाभाविक हुन्छ । त्यही हिसाबले हामीले पनि यो बाटो छानेको हो ।

    तपाईंले आफ्नो धरातल बिर्सेको जस्तो लाग्दैन ? के ओलीबाट सर्वहारा वर्गको उत्थान सम्भव देख्नुभयो ?

    कम्युनिष्ट पार्टी इतिहासमै एक बनायौं । दुई तिहाइको बहुमत पनि ल्यायौं । जसलाई मुख्य बनाउँदा ‘झाँडमा हाम्फाल्यो’ भन्या जस्तै भो । अब दोषी को छ, के छ समयक्रमसँगै पुष्टि होला ।

    नेता हामीले हिजो मानेका जानेका प्रचण्ड केपीलाई नै देश बनाउने कार्यभार सुम्पेको हो । पार्टीको, राजनीतिको र सत्ताको बागडोर उनकै हातमा आमजनताले दिएका थिए ।

    अब यो हिसाबले पार्टी दुई फ्याक भइसकेपछि माओवादी या एमाले फुटेको होइन नेकपा फुटेको हो । हिजोको मूल्य मान्यता कसले कसरी समाएर जान्छ भन्ने कुरा हेर्न बाँकी छ ।

    हिजोको विरासतमा तपाईं हामी, गणतन्त्र, संघीयताका लागि लडेका हौं । म पनि जनयुद्ध लडेको एक सिपाही हुँ । जनयुद्धको र परिवर्तनको लागि छुट्टै एउटाले सर्टिफिकेट लिएको र अरुले गर्नै नसक्ने भन्ने होइन ।

    साझा धाराणामा लडेर सबै आएका हौं । सर्वहारा वर्गका लागि सबै लडेका हौं । भावी दिनमा कसले के गर्न सक्छ भन्ने कुरा त इतिहासले नै देखाउला । अहिले त्यो विषयमा बोल्दा हतार होला, प्रमाणित गरेर देखाउने कुरा हो ।

    कर्णाली सरकारको विरुद्धमा अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने फेरि सामाजिक सञ्जालबाट फिर्ता लिएको वा माफी मागेको कुरा लेख्नुभएको थियो । दबाब र प्रभावमा परेर उक्त कुरा सञ्जालमा लेख्नुभएको थियो त्यति बेला ?

    अविश्वास प्रस्तावमा मैले सही गरेकै हो । कर्णालीमा गुटको कुरा भन्दा पनि सरकारको पर्फमेन्स राम्रो नभएको कारण उहाँहरुले सच्याउनुपर्छ र पार्टीलाई माथि पुर्याउनुपर्छ भन्ने नै हाम्रो इमानदार प्रयास थियो ।

    उहाँहरुले त्यसलाई गलत ढंगले बुझ्नु भो, व्याख्या गर्नु भो । दोस्रो कुरा मैले माफी मागेर सामाजिक सञ्जालमा लेखेको होइन । बरु त्यो बेला प्रचण्ड र केपीले काठमाडौंमा बोलाइसकेपछि अविश्वास प्रस्तावको कुरा टुंगिसकेको थियो ।

    अब कार्यकर्तामा पार्टी फुट्ने भो भनेर चिन्ता बढेपछि अहिले नआत्तिन, त्यसरी पार्टी फुटाउने कुरा होइन सरकारको पर्फमेन्सको कुरा हो । त्यो विषयमा संसदमा उठाउँदै जानेछौं भनेर मैले समग्र पार्टी एकताको पक्षमा कुरा उल्लेख गरेको हो ।

    नेताहरुलाई सहयोग गरेर जाने भन्ने कुरा उल्लेख गरेको हो । मैले हिजो गल्ती गरें भनेर कतै लेखेको छैन । कसैको खेतीपाती हुन सक्छ, त्यो उनीहरुको कुरा हो । मैले माफी मागेको वा एजेन्डा नै छोडेको भन्ने होइन ।

    महेन्द्र शाहीलाई मुख्यमन्त्री बनाउन तपाईले मतदान गर्नुभएको थियो । यो सरकार धरापमा परेको भन्ने कुरा सर्वत्र चर्चाको विषय बनेको छ । यो सरकार जोगाउने कि फाल्ने ?

    त्यो त महेन्द्र शाहीलाई नै सोध्नुपर्ने हुन्छ । यो सरकार जोगाउने र फाल्ने कुरा उनकै हातमा छ । अब हामीले त स्थिरताको पक्षमा हिजो मतदान गरेर नै मुख्यमन्त्री बनाएका हौं ।

    मुद्दाहरु अहिले पनि हाम्रा बाँकी नै छन् । त्यो कुरा प्रदेश सभामा उठ्ने नै छन् । जनताको पक्षमा कसरी काम गर्न सकिन्छ भन्ने सवालमा कुनै पनि अप्सनलाई खुला राखेर छलफलहरु अगाडि बढछन् । त्यो हिसाबले कहाँ कहाँ के पुग्छ, के हुन्छ ? भावी दिनमा तपाईं हामीले हेरेर जाने कुरा हो ।

    तत्कालीन एमाले त्यसमा पनि ओली पक्षका कार्यकर्ताले आफूलाई चुनाव जिताएकोले गुन तिर्न ओली पक्षमा लागेको भन्ने आरोप तपाईंलाई लागेको छ नि ?

    मैले भोट ओली पक्षको मात्रै लिएको होइन । माधव पक्षकाले पनि दिए । प्रचण्ड पक्षकाले पनि दिए । कांग्रेसले पनि दिए । हिजोको हाम्रो पार्टी एकताबद्ध भएर नै मैले चुनाव जितेको हुँ त्यसमा कुनै शंका छैन ।

    नुन तिर्नुपर्ने, गुन तिर्नुपर्ने, हिजोको कुनै असुल उपर गर्नुपर्ने वा त्यस्ता कुनै कारणले म ओली समूहमा लागेको होइन । म अहिले पनि जनप्रतिनिधि हुँ । जनतामा समर्पित नै छु । पार्टीको कुरा मेरो विचारको कुरा हो ।

    जनप्रतिनिधिको हिसाबले सबै पार्टीको हुँ । कम्युनिष्ट पार्टीको त अहिले जे जे गुटमा लागे पनि त्यो त म हुँदै हुँ । बरु के हो भने म बीसौं वर्ष माओवादी आन्दोलनमा लागे‌ं । चुनाव जितेर पनि आइयो । कम्युनिष्ट पार्टी पनि दुई अढाइ वर्ष हामीले हेर्यौं, व्यहोर्यौं ।

    यो कम्युनिष्ट पार्टी एकताबद्ध हुनुपर्छ र यसबाट नै समृद्धिको यात्रा सम्भव छ भन्ने मेरो व्यक्तिगत बुझाइ थियो । नेताहरुले विभिन्न दाउपेच गरेर पार्टी फुटाइसकेपछि हिजोकै धंगधंगीबाट हामी अघि बढ्ने अर्थात् माओवादी नै हुनुपर्ने बाध्यता छैन । त्यो खालको आदर्श, मूल्यमान्यता र विचारबाट निर्देशित भएको पार्टी पनि होइन ।

    माओवादी टुट्दै फुट्दै नेकपा बनिसकेको छ । नयाँ धरातलमा आइसकेको छ । मान्छे कोही होलान हिजो जो सँगै लडेका थिए । त्यो व्यक्तिगत कुरा भयो । राजनीति बदलिइसकेको छ । क्रमभंग, छलांग र महाविपत्ति हुँदै हामी अघि बढेका छौं । त्यही क्रममा म पनि अघि बढेको हो । यो कसैलाई नुन तिर्न वा गुन तिर्न वा केही पाउनका लागि मैले टिम बदलेको होइन । त्यसरी बुझ्दाखेरी वस्तुवादी हुन्छ जस्तो मलाई लाग्छ ।

    अब वैशाखमा चुनाव भएको खण्डमा प्रतिनिधिसभाको उम्मेदवार बन्नका लागि ओली समूहमा प्रवेश गर्नुभएको हल्ला बजारमा छ । यो हल्ला कत्तिकाे सत्य नजिक छ ?

    म अहिले प्रदेशको माननीय हुँदै हुँ । मेरो कार्यकाल दुई अढाइ वर्ष बाँकी नै छ । मेरो क्षेत्रमा नेतै नभएको जसरी म नै जानुपर्ने भन्ने कुरै होइन । दोश्रो कुरा पार्टीले आवश्यक ठान्यो भने प्रतिनिधिसभामा उठ्ने, प्रदेश सभामा उठ्ने वा छोड्ने या अगाडि बढ्ने भन्ने कुरा हो ।

    पार्टीले जे निर्णय गर्छ त्यहीअनुसार म अघि बढ्ने हो । कसैले त्यस्तो टिप्पणी गरेका छन् भने उनीहरु राजनीति बुझ्दैनन् अथवा सतही टिप्पणी गर्छन् भन्ने मलाई लाग्छ ।

    म कुनै भूमिकामा हुँदैन थिएँ भने त्यो आकांक्षा राख्नु स्वाभाविक नै हुन्थ्यो । चुनाव शतप्रतिशत नै जितिन्छ भन्ने हुँदैन । अहिले हत्तपत्त म निर्वाचित प्रतिनिधि नै भएको समयमा मलाई नै उठाइनुपर्ने, मान्छे नै नभएको जस्तो, मेरो विकल्प नै नभएको जस्तो त्यो सत्य होइन । त्यो निराधार हल्ला मात्र हो । यी सब मनगढन्ते कुरा मात्र हुन् ।

    गणतन्त्र नै ओलीले धरापमा पारेको आरोप लागेको समयमा तपाई किन त्यो समूहमा जानुभयो ?

    गणतन्त्र कसले धरापमा पार्यो भन्ने कुरा सस्तो लोकप्रियताका लागि गरेका कुरा हुन् । राष्ट्रियताका लागि लड्ने नेता नेपालमा केपी ओली नै हुन् । राजा महेन्द्रपछि केपी शर्मा ओलीनै राष्ट्रवादी हुन् । यसमा दुईमत छैन । भारतसँग चूँ गरेर बोल्न सक्ने आँट कसैसँग हुँदैनथ्यो । ओलीले नै बोलेका छन् ।

    अहिलेसम्म विकास निर्माणको आधार तयार पार्ने, मेरुदण्ड बनाउने ओली नै देखिएका छन् । नेपालको दीर्घकालीन सोचका साथ अघि बढ्ने दूरदर्शी नेता ओली नै हुन् । यो कुरा घाम जस्तै छर्लंगै छ । सस्तो लोकप्रियता कमाउनेहरुले विभिन्न आरोप लगाउँछन्, त्यो कुरामा बहस गर्नुपर्ने जरुरी नै छैन ।

    मेरो निर्वाचन क्षेत्रका जनतालाई के भन्न चाहन्छु भने पार्टी अहिले जसरी फुटेको छ नेताहरुकै कारणले हो । दुर्भाग्यवश हामीले यो व्यहोर्नुपर्ने अवस्था आएको छ । जनताका हरेक काममा म दृढतापूर्वक लागिरहनेछु यसमा जनताले शंका मान्नु पर्दैन । सबै आमजनता, कार्यकर्तालाई अहिलेको वास्तविकता के हो भन्ने कुरा बुझ्न आग्रह गर्दछु । संयमित भएर, आवेगमा नआएर, विचार र बहसलाई अगाडि बढाउने, काम गरेर देखाउने, अपनत्व र स्वामित्व ग्रहण गरेर पार्टी निर्माणमा जुट्न सबैलाई आग्रह गर्दछु ।