Blog

  • मन्त्रीहरुको शपथग्रहण सम्पन्न, कसले कुन मन्त्रालय पाए (सूचीसहित)

    मन्त्रीहरुको शपथग्रहण सम्पन्न, कसले कुन मन्त्रालय पाए (सूचीसहित)

    काठमाडौं । पुनर्गठित मन्त्रिपरिषदका सदस्यहरुले राष्ट्रपतिबाट शपथग्रहण गरेका छन् । नवनियुक्त मन्त्रीहरुको कार्यविभाजन यसप्रकार भएको छ ।

    नयाँ तथा हेरफेर भएका मन्त्रीहरु :

    टोपबहादुर रायमाझी (उर्जा मन्त्री)

    मणि थापा (खानेपानी)

    प्रभु साह (शहरी विकास)

    प्रेम आले (वन मन्त्री)

    गणेश ठगुन्ना (सामान्य प्रशासनमन्त्री)

    गौरी शंकर चौधरी (श्रम मन्त्री)

    दावा लामा (युवा तथा खेलकुद)

    जुली कुमारी महतो (महिला बालबालिका)

    विमला विश्वकर्मा (उद्योग राज्यमन्त्री)

    हृदयेश त्रिपाठी (स्वास्थ्य मन्त्री)

    लीलानाथ श्रेष्ठ (कानून)

    शिवमाया तुम्बाहाङ्फे (भूमिसुधार)

    पद्मा अर्याल (कृषि मन्त्रालय)

    कृष्णगोपाल श्रेष्ठ (शिक्षामन्त्री)

  • प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद विस्तार, क-कसको हुँदैछ शपथ ग्रहण ?

    प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद विस्तार, क-कसको हुँदैछ शपथ ग्रहण ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् ।

    उपप्रधानमन्त्री ईश्वर पोखरेलका अनुसार अहिले केहीबेरमा राष्ट्रपति भवनमा शपथ ग्रहण हुँदैछ ।

    बालुवाटार स्रोतका अनुसार टोपबहादुर रायमाझी, मणि थापा, प्रेम आले, गणेश ठगुन्ना, गौरीशंकर चौधरी, दावा लामा र जुलीकुमारी महतोलाई मन्त्री बनाउने तयारी छ ।

    केही साबिकका मन्त्रीहरुको मन्त्रालय हेरफेर समेत गरिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । स्वास्थ्य, महिला बालबालिकालगायतका मन्त्रीहरुको मन्त्रालय परिवर्तन भएको छ ।

  • प्रचण्ड-माधव समूह सडकमा, माइतीघरबाट शुरु भयो ओलीविरुद्ध आन्दोलन

    प्रचण्ड-माधव समूह सडकमा, माइतीघरबाट शुरु भयो ओलीविरुद्ध आन्दोलन

    प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा उत्रिएको प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले आज पहिलो दिन काठमाडौंको माइतीघरमण्डलमा विरोध प्रदर्शन शुरु गरेको छ ।

  • ओली पक्षीय अनेरास्ववियूको १ हजार ९९ सदस्यीय केन्द्रीय कमिटी घोषणा

    ओली पक्षीय अनेरास्ववियूको १ हजार ९९ सदस्यीय केन्द्रीय कमिटी घोषणा

    काठमाडौं–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको भ्रातृ संगठन अनेरास्ववियूले अल्पमतले बहुमत पक्षलाई कारबाही गरें भन्नु हास्यास्पद रहेको बताएको छ ।

    ओली पक्षले दोस्रो केन्द्रीय कमिटीको बैठक बोलाएपछि प्रचण्ड–माधव पक्षले संयोजक ऐन महर पक्षलाई शुक्रबार कारबाही गरेको बताएको थियो ।

    सहसंयोजक रञ्जित तामाङ समूहले विज्ञप्ति जारी गर्दै ‘संगठनको नीति, निर्णय र विधान विपरीतका महरले काम जारी राखेकाले’ संगठनको बहुमतको निर्णयअनुसार कारबाही गरिएको बताएको छ।

    तर, संयोजक महरले भने अल्पमत पक्षले आफूलाई कारबाही गरेको भन्नु हास्यास्पद रहेकाे बताए। उनले भने, ‘सहसंयोजकले संयोजकलाई कारबाही गरे भन्नु हास्यास्पद हो ।’

    आफूहरुसँग बहुमत केन्द्रीय सदस्य भएको भन्दै उनले आजको बैठकले विधान संशाेधन गरेर साविकको ३३५ सदस्यीय केन्द्रीय कमिटीलाई १ हजार ९९ सय बनाएको बताए ।
    उनका अनुसार ३३५ मध्ये १७० केन्द्रीय सदस्य आजको बैठकमा उपस्थित थिए।

    काठमाडौंको नयाँबजारमा बसेको बैठकले ६५४ नयाँ सदस्य मनोनीत गरेको र बाँकी पछि थप गरिने उनले जानकारी दिए । अर्को बैठक आइतबार फेरि बस्नेछ ।

  • संसद पुनःस्थापनाको कुरै नगरौं–देउवा

    संसद पुनःस्थापनाको कुरै नगरौं–देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद पुनःस्थापनाको एजेण्डा पार्टीले नबोक्ने स्पष्ट पारेका छन् ।

    केन्द्रीय समितिको शुक्रबारको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेपछि आन्दोलनको एजेण्डा संसद पुनःस्थापना हुनुपर्ने बताएका थिए ।

    पौडेललाई जवाफ दिने क्रममा देउवाले संसद पुनःस्थापना एजेण्डा बन्न नसक्ने बताएका हुन् । ‘संसदको विषय अदालतमा छ । अहिले त्यसबारेमा कुरै हुँदैन’, देउवाले भने ।

    कांग्रेसले पुस १३ गते सरकारको कदमको विरुद्धमा देशव्यापी प्रदर्शन गर्दैछ । प्रदर्शनको तयारी र मेलमिलाप दिवस मनाउन कांग्रेसले पुस १९ गतेसम्म केन्द्रीय समितिको बैठक स्थगित समेत गरेको छ ।

    बैठक सकिनुअघि केही बोल्नुछ भन्दै पौडेलले समय मागेका थिए । सभापतिले समय उपलब्ध गराएपछि पौडेलले आन्दोलनको एजेण्डाबारे पार्टी प्रष्ट हुनुपर्ने बताए ।

    ‘आन्दोलनमा जाँदा पार्टीको बटमलाइन पनि त भन्नुपर्‍यो । संसद विघटन अवैधानिक हो भने पुनःस्थापना गर् भन्नु त पर्‍यो । झारा टार्ने गरी आन्दोलन तुहाउन खोजियो’, पौडेलले भनेका थिए । पौडेलको भनाइलाई कटाक्ष गर्ने क्रममा देउवाले अदालतमा विचाराधीन विषयमा सडकमा जान नसकिने बताएका हुन् ।

    लेखकले बोल्दा पौडेलको आपत्ति
    बैठकमा बोल्ने क्रममा केन्द्रीय सदस्य रमेश लेखकले संसद पुनःस्थापनाको विषय अदालतमा विचाराधीन रहेकोले त्यसबारे धेरै छलफल र आन्दोलन गर्न नहुने बताएका थिए । लेखकले त्यसो भन्नासाथ वरिष्ठ नेता पौडेलले ‘नियमापत्ति’ गरे ।

    पौडेलले संविधान मिचिएको र लोकतन्त्र मासिएको विषयमा बोल्न मिल्दैन भन्नु गलत भएको बताए । नेता पौडेलले लेखकलाई ‘सभापतिको फ्रेण्ड भएर त्यस्तो कुरा नगर्नुस्’ भनेका थिए ।

    केन्द्रीय समितिको बैठकमा पौडेल अन्य दिनभन्दा आक्रोशित देखिन्थे । बैठकबाट बाहिरिने क्रममा पनि पौडेल र सहमहामन्त्री डा. प्रकाशशरण महतबीच ‘चर्को स्वरमै’ कुरा भएको थियो । सो क्रममा महतले ‘लोकतन्त्र कसैले मास्दैन चिन्ता नगर्नुस्’ भनेका थिए ।

    यसैबीच कांग्रेस केन्द्रीय समितिको बैठकले सञ्चारमाध्यममा आएजस्तो पार्टीभित्रको छलफल अमर्यादित नभएको स्पष्टीकरण दिएको छ । बिहीबारको बैठकमा सभापति देउवा र पूर्व महामन्त्री प्रकाशमान सिंह तथा बुधबारको बैठकमा शंकर भण्डारी र गुरुराज घिमिरेबीच चर्काचर्की परेको थियो । तर सञ्चारमाध्यममा आएजस्तो ‘समस्या’ पार्टीभित्र नभएको दाबी गरिएको छ ।

  • सवारी लाइसेन्सको अनलाइन फारम १४ गतेदेखि खुल्ने

    सवारी लाइसेन्सको अनलाइन फारम १४ गतेदेखि खुल्ने

    काठमाडौं । सवारी चालक अनुमतिपत्रको अनलाइन फारम पुस १४ गतेदेखि खुल्ने भएको छ ।

    यातायात व्यवथा विभागका प्रवक्ता डा. लोकनाथ भुसालले शुक्रबार एक विज्ञप्ति जारी गरी मन्त्रालयले जारी गरेको स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्ने गरी फारम खुला गरिने जानकारी दिएका छन् ।

    विश्वभर फैलिएको कोरोना महामारीका कारण सरकारले चैत्र १० गतेदेखि अनलाइन फारम बन्द गरेको थियो ।

  • को को बन्दैछन् मन्त्री ? थपिनेमा दुई तिहाइ पूर्व माओवादी

    को को बन्दैछन् मन्त्री ? थपिनेमा दुई तिहाइ पूर्व माओवादी

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले ८ जना नयाँ अनुहार थपेर मन्त्रिपरिषद पुनर्गठन गर्न लागेका छन् । विस्तारित मन्त्रिपरिषदमा पूर्व माओवादीतर्फका धेरैलाई समेट्न लागिएको बालुवाटार स्रोतले जनाएको छ ।

    पूर्व माओवादीबाट टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, गौरीशंकर चौधरी र दावा तामाङ मन्त्रीको सूचीमा छन् । त्यस्तै पूर्व एमालेबाट प्रेम आले, गणेश ठगुन्ना र विमला विकको नाममा छलफल भएको छ । उनीहरुको टुंगो लाग्न बाँकी रहेको स्रोतले जनाएको छ ।

  • अनेरास्ववियूका संयोजक महरमाथि प्रचण्ड–माधव पक्षको कारबाही

    अनेरास्ववियूका संयोजक महरमाथि प्रचण्ड–माधव पक्षको कारबाही

    काठमाडौं । पार्टी विभाजनपश्चात कारबाही र प्रतिकारबाहीको लहर नेपाल कम्युनिष्ट पार्टीका भ्रातृ संगठनमा पनि प्रवेश गरेको छ।

    सग्लो नेकपाको भ्रातृ संगठन अनेरास्ववियूका संयोजक ऐन महरलाई प्रचण्ड–माधव पक्षले कारबाही गरेको छ।

    महर ओली पक्षका हुन् भने उनलाई कारबाही गर्ने सहसंयोजक रञ्चित तामाङको समूह प्रचण्ड–माधव पक्षका हुन्।

    तामाङ समूहले संगठनको नीति, निर्णय र विधान विपरीतका काम महरले जारी राखेकाले संगठनको बहुमतको निर्णयअनुसार कारबाही गरिएको बताएको छ।

    ‘विगतमा पटकपटक सम्झाउँदा पनि रूपान्तरण नभइ संगठनको नीति, निर्णय र विधान विपरीतका रवैया निरन्तर जारी राखेकाले अनेरास्ववियूको अन्तरिम विधान २०७६ को धारा ७ बमोजिम संगठनको बहुमतको निर्णय अनुसार ऐन महरलाई संयोजक पदमा नरहने गरी कारबाही गरिएको र उक्त कारबाहीलाई अनुमोदन गर्नका लागि नेकपाकाे केन्द्रीय कमिटी समक्ष सिफारिश गरिएको छ’ सहसंयोजक तामाङद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, ‘साथै निकट भविष्यमा बस्ने केन्द्रीय कमिटीको पूर्ण बैठकबाट अन्य राजनीतिक तथा सांगठनिक निर्णय लिइनेसमेत जानकारी गराउँछौँ ।’

    प्रचण्ड–माधव पक्षले कारबाही गरेपछि ओली पक्षले पनि यसको प्रतिवादस्वरुप तामाङ समूहलाई कारबाहीको तयारी थालेको छ।

  • मन्त्रिपरिषद बैठक सर्‍यो, नयाँ मन्त्रीसहित साँझ ८ बजे बस्ने

    मन्त्रिपरिषद बैठक सर्‍यो, नयाँ मन्त्रीसहित साँझ ८ बजे बस्ने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेपछि नयाँ मन्त्रीहरुसहित मन्त्रिपरिषद बैठक बस्ने भएको छ ।

    यसअघि साँझ ६ बजे बस्ने भनिएको बैठक मन्त्रीहरुको नाम तय हुन ढिलाइ भएका कारण सरेको हो ।

    प्रधानमन्त्रीले प्रचण्ड–माधव नेपाल समूहमा रहेका कतिपय नेताहरुलाई आफूतिर ल्याएर मन्त्री बनाउन लागेको बताइएको छ ।

    पूर्व माओवादीतर्फका टोपबहादुर रायमाझी, मणि थापा, दावा लामालगायत केही नेता मन्त्रीमा थपिने भएको स्रोतले जनाएको छ । यस्तै प्रभु साह र गौरीशंकर चौधरी पनि मन्त्री बन्न लागेको बताइएको छ।

  • महामारीमा बक्सअफिस : पहिलो दिनमै ३० प्रतिशत अकुपेन्सी, क्यूएफएक्सले थप हल खुलाउने

    महामारीमा बक्सअफिस : पहिलो दिनमै ३० प्रतिशत अकुपेन्सी, क्यूएफएक्सले थप हल खुलाउने

    महामारीकै बीचमा पनि नेपाली फिल्मले उत्साहजनक कमब्याक गरेको छ । नौ महिना बन्द रहेका नेपाली फिल्महरु शुक्रबार खुलेका थिए र दर्शकीय उपस्थिती सन्तोषजनक पाइयो ।

    मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले कोभिड–मापदण्ड पालना गर्दै सिभिल, लाबिम र छायाँ मलस्थित आफ्ना आउटलेट संचालनमा ल्याएको थियो । क्यूएफएक्स संचालन संस्था क्वेस्ट इन्टरटेनमेन्टका कार्यकारी अधिकृत रोशन अडिगाका अनुसार शुक्रबार ३० प्रतिशत अकुपेन्सी प्राप्त भयो ।

    ‘यो उत्साहजनक कमब्याक हो हाम्रा लागि । दर्शकहरु फिल्म हेर्न आतुर भएको संकेत मिल्छ’ नेपाल प्रेससँग उनले भने, ‘पहिलो दिनमै ३० प्रतिशत अकुपेन्सी हुनु भनेको धेरै राम्रो कुरा हो ।’ द इन्भिजिबल म्यान र ब्लडसटमा दर्शक धेरै पाइए ।

    प्रशासनको हस्तक्षेप र दबाबबिनै पहिलो दिन फिल्म हल चले । काठमाडौं उपत्यकाबाहिर हल खुलेनन् । पोखराको मुख्य मल्टिप्लेक्स मिडटाउन सिनेमाज्ले शनिबारदेखि हल संचालन तयारी गरेको छ । प्रमुख निकेश द्धाले चलचित्र संघ र सरकारबीचको शुक्रबारे वार्तालाई कुरेकाले शनिबारदेखि चलाइने बताए ।

    दर्शकीय फुटफल बढ्दै गएमा आफ्ना अन्य आउलेट खुलाउने तयारीमा छ क्यूएफएक्स । भक्तपुर, कुमारी, जयनेपाल र मोफसलका हल अहिलेसम्म बन्दै छन् । नौ महिनासम्म जिरोमा बसेको बक्सअफिस प्रदर्शन क्रमशः उकालो लाग्ने अनुमान गर्न सकिन्छ ।

  • चिनियाँ राजदूतले भेटिन् माधव नेपाल

    चिनियाँ राजदूतले भेटिन् माधव नेपाल

    काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष) का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेकी छिन् ।

    नेकपा केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार यान्छीले शुक्रबार दिउँसो नेपाल निवास कोटेश्वरमा गएर अध्यक्ष नेपालसँग शिष्टाचार भेट गरेकी हुन् ।

    भेटका अवसरमा उनीहरुबीच दुई मुलुकका आपसी हितका विषयमा छलफल भएको बताइएको छ। सत्तारुढ नेकपाभित्र विभाजन आएसँगै चिनियाँ राजदूतले दौडधुप बढाएकी छिन् ।

    उनले बिहीबार प्रचण्ड–नेपाल पक्षीय नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि भेटेकी थिइन् । त्यसअघि उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेट गरेकी थिइन् ।

    सत्तारुढ नेकपा विभाजन हुनुहुँदैन र नेपाल कुनै अस्थिरतामा जानुहुँदैन भन्ने चीनको मान्यता रहेको बताइन्छ।

  • कांग्रेस बैठक पुस १३ गतेसम्म स्थगन

    कांग्रेस बैठक पुस १३ गतेसम्म स्थगन

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जारी केन्द्रीय कार्य समिति बैठक स्थगन गर्ने प्रस्ताव राखेका छन् ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा सभापति देउवाले पुस १३ गतेको निर्वाचित क्षेत्र केन्द्रित विरोध प्रदर्शन र १६ गतेको मेलमिलाप दिवसको कार्यक्रम रहेको भन्दै देउवाले केही दिन बैठक स्थगनको प्रस्ताव राखेका हुन् ।

    कांग्रेस बैठकमा नेताहरुबीच आन्दोलनमा जाने कि सर्वोच्च अदालतको फैसला कुर्ने भन्नेमा विवाद चलिरहेको छ ।

    तीनदिनदेखि जारी बैठक सकिएको छ । अब केन्द्रीय समिति बैठक १९ गते बस्नेछ ।

  • चितवनमा बढे डेंगी र स्क्रब टाइफसका बिरामी

    चितवनमा बढे डेंगी र स्क्रब टाइफसका बिरामी

    चितवन । जिल्लाका अस्पतालमा उपचार गर्न आएकामध्ये २४३ जनामा डेंगी र २८६ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ । गत साउनयता विभिन्न अस्पतालमा उपचार गर्न आएका उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

    डेङ्गु सङ्क्रमितमध्ये चितवनका मात्रै १४९ र बाहिरी जिल्लाका ९४ जना छन् । डेंगीका सबै बिरामीको अवस्था सामान्य देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा डेङ्गुको सङ्क्रमण दर गत वर्षभन्दा यस वर्ष कम छ । गत आर्थिक वर्षमा चार हजार ८०३ जनामा डेंगी सङ्क्रमण देखिएको थियो । तीमध्ये तीन जनाको मृत्यु भएको कार्यालयले जनाएको छ ।

    कार्यालयका प्रमुख दीपक तिवारीले यस वर्ष डेंगी र स्क्रब टाइफस दुवैको जोखिम नरहेको जानकारी दिए। उनका अनुसार गत वर्ष रोकथामको काम प्रभावकारी भएकाले यस वर्ष कम संक्रमित भेटिएका हुन् । लकडाउनका समयमा चार/पाँच महिना मानिस घरभित्रै बसेकाले पनि यसको सङ्क्रमण दर बढ्न नपाएको उनले बताए ।

    डेंगीले हरेक तीन/तीन वर्षमा महामारीको रुप लिने बताइएको छ । जिल्लामा गत वर्ष नै डेङ्गुले महामारीको रुप लिएकाले यस वर्ष सङ्क्रमण दर कम भएको कार्यालय प्रमुख तिवारीको भनाइ छ ।डेंगी नियन्त्रणका लागि स्थानीय तहले पनि सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

    यसैगरी हालसम्म जिल्लाका अस्पतालमा आएका बिरामीमध्ये २८६ जनामा स्क्रब टाइफस सङ्क्रमण भेटिएको छ । तीमध्ये चितवनका मात्रै १४९ तथा जिल्ला बाहिरका १३७ जना छन् । स्क्रब टाइफसको पनि जोखिम नरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    गत आबमा १२७ जनामा सङ्क्रमण देखिएको तथा दुई जनाको मृत्यु भएको थियो । यस वर्ष एक जनाको मृत्यु भएको कार्यालयका सूचना अधिकारी गीताञ्जली ढकालले जानकारी दिए ।

    मुसाको शरीरमा हुने किर्नाको टोकाइबाट स्क्रब टाइफस रोग लाग्छ । खेतबारीमा एवं विशेषगरी घरबाहिर काम गर्ने व्यक्तिमा सो रोग लाग्ने उनले जानकारी दिए । रोग गर्मी र वर्षाका समयमा देखिन्छ । किर्नाले टोकेको सामान्यतया पाँचदेखि २० दिनभित्र सो रोगको लक्षण देखिन थाल्छ । यसमा उच्च ज्वरो आउने, शरीरमा टोकेका ठाउँमा घाउ हुने, कमलपित्त हुने र पेट दुख्ने लक्षण देखिने कार्यालयले जनाएको छ ।

  • नक्साल तरकारी बजारमा क्यूआर कोडबाट विद्युतीय भुक्तानी शुरु

    नक्साल तरकारी बजारमा क्यूआर कोडबाट विद्युतीय भुक्तानी शुरु

    काठमाडौं । काठमाण्डौंस्थित नक्साल तरकारी बजारमा क्यूआर कोडबाट विद्युतीय भुक्तानी शुरु भएको छ । राष्ट्रिय बैंक, सानिमा बैंक र नक्साल तरकारी बजारको समन्वयमा शुक्रबार उक्त विद्युतीय भुक्तानीको शुरुवात गरिएको हो ।

    यो प्रणाली लागूभएसँगै नक्सालका तरकारी बजारका संम्पूर्ण पसलहरुमा क्यूआर कोडबाट भुक्तानी गर्न सकिनेछ । डिजिटल भुक्तानी प्रणालीलाई सहजीकरण गर्नका लागि सानिमा बैंकले त्याहाँका व्यापारीहरुलाई निःशुल्क क्यूआर कोड वितरण गरेको छ ।

    साथै तरकारी बजारमा भायानेटले निःशुल्क वाइफाई व्यावस्था गरेको छ । यो प्रणाली लागूभएसँगै खुद्रा पैसाको झन्झटबाट मुक्त हुने, जुन सुकै समयमा पनि निःशुल्क कारोबार गर्न सकिने छ । ग्राहकबाट भुक्तानी भएको रकम बैंक खातामा जम्मा हुन्छ ।

  • संचारमन्त्रीलाई साक्षी राखेर राज्यमन्त्रीले चार घण्टा गीत गाउने !

    संचारमन्त्रीलाई साक्षी राखेर राज्यमन्त्रीले चार घण्टा गीत गाउने !

    काठमाडौं | सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले गिनिज बुक अफ वर्ल्ड रेकर्ड राख्न लगातार चार घण्टा गीत गाउने कार्यक्रमको शुभारम्भ गरेका छन् । शुक्रबार बालाजुस्थित अष्टनारायण फिल्म हलमा आयोजित समारोहमा यसको सुरुआत भयो ।

    सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विभिन्न ६२ गीत लगातार गाएर विश्व कीर्तिमान राख्ने भन्दै गीत गाउन थालेका हुन् । कार्यक्रममा मन्त्री गुरुङले राज्यमन्त्रीले लगातार चार घण्टा गीत गाउन आँट गरेर विश्वमा ख्याती कामउने कार्यको प्रशंसा गरे ।

    कला र संस्कृतिमा संसारभर चर्चित नेपाललाई राज्यमन्त्री मानन्धरले वर्ल्ड बुकमा नाम लेखाएर थप चर्चामा ल्याउन गर्नुभएको कार्यप्रति खुसी व्यक्त गर्दै मन्त्री गुरुङले शुभकामना व्यक्त गरे । शुक्रवार दिनको १ बजेर ३६ मिनेट जाँदा राज्यमन्त्री मानन्धरले गीत गाउन सुरु गर्नु भएको थियो ।

    मन्त्रीस्तरका व्यक्तिले लामो समयसम्म गीत गाउने रेकर्ड सन्सारमै पहिलो हुनसक्ने भएकाले विश्व कीर्तिमान कायम गर्न बेलायतबाट पाँच जना निर्णायकहरु आएको राज्यमन्त्री मानन्धरका स्वकीय सचिव जयप्रकाश श्रेष्ठले जानकारी दिए ।

  • थप ६०९ संक्रमित थपिए, ८९२ जना कोरोनामुक्त

    थप ६०९ संक्रमित थपिए, ८९२ जना कोरोनामुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ६०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।योसँगै हालसम्म देशभर कोरोना संक्रमितको संख्या २ लाख ५५७ हजार २०० पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमित ७ हजार ९२ जना छन् ।

    यस्तै आज ८९२ जना कोरोनामुक्त भएर घर फर्केका छन् । साथै, कोरोनामुक्त हुनेको संख्या हालसम्म २ लाख ४८ हजार २९२ पुगेको छ ।

    यसैगरी कोरोना भाइरसको संक्रमणबाट ९ जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या १८१६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

     

  • बालुवाटारमा मन्त्रीको सूची बन्दै, शीतलनिवासमा आजै साँझ शपथ ग्रहण

    बालुवाटारमा मन्त्रीको सूची बन्दै, शीतलनिवासमा आजै साँझ शपथ ग्रहण

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार तथा पुनर्गठन गर्ने भएका छन् । मन्त्रीहरुको सूची बनाउन केही समय लागे पनि आजै साँझ नयाँ मन्त्रीहरुको शपथग्रहण हुने स्रोतले जनाएको छ ।

    मन्त्रीहरुको शपथग्रहणको लागि राष्ट्रपति कार्यालयलाई जानकारी गराइसकिएको बालुवाटार स्रोतले जनाएको छ । साँझ सात बजेसम्म शपथग्रहण हुनसक्ने र शीतलनिवासमा शपथग्रहणको लागि तयारी भइरहेको स्रोतले जनाएको छ ।

    २५ सदस्यीय मन्त्रिपरिषदमा ७ जना मन्त्रीले राजीनामा दिएपछि हाल १८ जना मन्त्री र राज्यमन्त्रीहरु छन् । त्यस्तै रक्षा मन्त्रालय पछिल्लो समय प्रधानमन्त्रीसँगै छ । प्रधानमन्त्रीले आठ वटा मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्न सक्ने अवस्था छ ।

    प्रतिनिधिसभा विघटनपछि प्रचण्ड माधव नेपाल पक्षका मन्त्रीहरु घनश्याम भुसाल, गिरिराजमणि पोखरेल, योगेश भट्टराई, वर्षमान पुन, शक्ति बस्नेत, रामेश्वर राय यादव र विना मगरले राजीनामा दिएका थिए ।

    उनीहरुको ठाउँमा अब सबै ओली नेतृत्वको नेकपाका मन्त्रीहरु थपिने भएका छन् । प्रधानमन्त्रीले कस कसलाई मन्त्री बनाउँछन् भन्ने निकटस्थहरुले पनि अनुमान लगाउन सकेका छैनन् ।

    माओवादी समूहबाट ओलीलाई साथ दिएका टोपबहादुर रायमाझी मन्त्री बन्ने पक्का भए पनि अरुको बारेमा अनुमान मात्र लगाउन सकिने एक नेताले बताए ।

    त्यस्तै पूर्व माओवादी समूहबाट ओली पक्षका मणि थापा र दावा तामाङ पनि मन्त्री बन्ने सूचीमा रहेको स्रोतले जनाएको छ । दावा लामाले खानेपानी मन्त्रालय पाउने बताइएको छ । सिन्धुपाल्चोकका लामा बादल निकट मानिन्छन् ।

  • पाँच वर्षमा निजी आवास पुनर्निर्माण ९० प्रतिशत सकियो

    पाँच वर्षमा निजी आवास पुनर्निर्माण ९० प्रतिशत सकियो

    काठमाडौं । २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट भएको क्षतिको पुनर्निर्माण र पुनर्स्थापनाका लागि स्थापना भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आज पाँच वर्ष पूरा गरेको छ ।

    यो अवधिमा प्राधिकरणले भूकम्प प्रभावित ३२ जिल्लामा ठूलो संख्यामा भूकम्प प्रतिरोधी संरचनाहरु तयार पारिसकेको बताएको छ । प्राधिकरणका अनुसार अहिलेसम्म निजी आवासको पुनर्निर्माणको काममा ९० प्रतिशत भन्दा बढी प्रगति भएको छ । अन्य संरचनाहरुको पुनर्निर्माणमा पनि उल्लेख्य प्रगति भएको प्राधिकरणको भनाइ छ ।

    २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट भएको क्षतिको पुनर्निर्माण र पुनर्स्थापनाका लागि २०७२ पुष १० गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको स्थापना भएको थियो । भूकम्प प्रभावित ३२ जिल्लामा क्षति भएका निजी आवास, सांस्कृतिक तथा पुरातात्विक सम्पदालगायतका भौतिक संरचनाहरुको पुनर्निर्माण गर्ने जिम्मेवारी प्राधिकरणले पाएको छ ।

    कोभिड–१९ का कारण पुनर्निर्माण कार्य प्रभावित भएपछि सरकारले प्राधिकरणको कार्यावधि एक वर्ष थप गरेको छ ।

    मन्त्रिपरिषद्को मंसिर १५ गते बसेको बैठकले प्राधिकरणको म्याद २०७७ पुष १० गतेबाट एक वर्षका लागि थप गरी २०७८ पुष १०गतेसम्म पुर्‍याएको छ । स्थापना भएको पाँच वर्ष पुरा हुँदै गर्दा प्राधिकरणले निजी आवासको पुनर्निर्माणमा ९० प्रतिशत भन्दा बढी प्रगति हासिल गरेको बताएको छ ।

    शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणका लागि ७ लाख ९६ हजार २४५ लाभग्राहीहरुसँग अनुदान सम्झौता गरेकोमा ५ लाख ५६ हजार ४८७ अर्थात् ७० प्रतिशत लाभग्राहीहरुले घर पुनर्निर्माण गरिसकेको बताए ।

    यस्तै १ लाख ६८ हजार ८३ अर्थात् २१ प्रतिशत लाभग्राहीहरु घर पुनर्निर्माणको अन्तिम चरणमा रहेका छन् । बाँकी लाभग्राहीहरुले यसै आर्थिक वर्ष भित्र पुनर्निर्माण सम्पन्न गर्ने पनि सिइओ ज्ञवालीले बताए । भूकम्पपछि असुरक्षित स्थानमा रहेका ४ हजार २५७ लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गा मिलाउने काम भएको छ भने ११ हजार ४३७ भूमिहीन तथा सुकुम्बासी लाभग्राहीलाई साविककै स्थानमा घर बनाउन अनुमति दिएको छ ।

    यस्तै १ हजार ३५१ लाभग्राहीले जग्गा खरिद गर्न अनुदान उपलब्ध गराउने निर्णय पनि प्राधिकरणले गरेको छ । निर्माणाधीन १३० एकीकृत बस्ती मध्ये ५० वटा एकीकृत बस्तीको पुनर्निर्माण सम्पन्न भइसकेको पनि सिईओ ज्ञवालीले बताए ।

    सांस्कृतिक तथा पुरातात्विक सम्पदाको जीर्णोद्धार तथा पुनर्निर्माणमा पनि महत्वपूर्ण उपलब्धि हासिल गरेको प्राधिकरणले बताएको छ । क्षतिग्रस्त ९२० वटा सम्पदामध्ये ४६५ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भएको पनि सिईओ ज्ञवालीले बताए ।

    रानीपोखरी पुनर्निर्माणको काम सम्पन्न भएको छ भने धरहराको २०औं तला पुनर्निर्माण भइरहेको र बाँकी दुई तला छिट्टै सम्पन्न हुने पनि उनले बताए । यसबाहेक सिंहदरबारको मुख्य प्रशासनिक भवनलगायतका विभिन्न सरकारी कार्यालयहरुको पुनर्निर्माण लगभग सम्पन्न हुने अवस्थामा पुगेको बताए।

    यस्तै ७ हजार ५५३ विद्यालय मध्ये ६ हजार ८५ पुनर्निर्माण सम्पन्न भइसकेको छ भने १ हजार ४६८ विद्यालय पुनर्निर्माणको क्रममा छन् । यस्तै कुल १ हजार १९७ वटा क्षतिग्रस्त स्वास्थ्य संस्थामध्ये ६९८ वटाको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने ३८ वटा पुनर्निर्माणको चरणमा छन् । सुरक्षा निकायका २१६ वटा संरचनामध्ये २१४ वटाको पुनर्निर्माण सम्पन्न भइसकेको छ । यस्तै सडक तथा खानेपानीतर्फको पुनर्निर्माणमा पनि उच्च प्रगति भएको सिईओ ज्ञवालीले बताए ।

    पुनर्निर्माणका लागि स्वीकृत भएको कुल बजेट ४ खर्ब ८८ अर्ब रुपैयाँ मध्ये हालसम्म नेपाल सरकार र दातृ निकायहरुको समेत गरी कुल ३ खर्ब ३९ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।

    दाता सम्मेलनमा प्रतिबद्धता व्यक्त भएको रकम ४ खर्ब १० अर्ब रुपैयाँ मध्ये ६७ अर्ब राहत तथा उद्धार एवं अन्य कार्यक्रममा खर्च भएको र भारतीय एक्जिम बैंकको तर्फको ४९ अर्ब रुपैयाँ नेपाल सरकार तर्फ स्रोतान्तर भएको हुँदा वास्तविक प्रतिबद्धता रकम जम्मा २ खर्ब ९४ अर्ब रुपैयाँ मात्रै रहेको प्राधिकरणले बताएको छ । यसमध्ये २ खर्ब ३८ खर्ब रुपैयाँका लागि सम्झौता भई श्रोत सुनिश्चितता भएको छ । यस्तै गैरसरकारी संस्थाहरुसँग करिब ९० अर्ब रुपैयाँ परिचालन गर्नका लागि सम्झौता भई करिब ७२ अर्ब रुपैयाँ परिचालन भएको छ ।

  • झलनाथले भने–प्रचण्ड र माधव नेपालको हैसियत बराबर

    झलनाथले भने–प्रचण्ड र माधव नेपालको हैसियत बराबर

    काठमाडौं । विभाजित नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रचण्ड र माधव नेपाल बराबर हैसियतका अध्यक्ष बनेको बताएका छन् ।

    यसअघि नेकपामा माधव नेपाल भन्दा माथिल्लो वरियतामा रहेका खनालले केन्द्रीय कमिटी बैठकले नेपाललाई सर्वसम्मत रुपमा अध्यक्ष बनाएपछि आफू तल्लो वरियतामै रहने बताए । खनालले पार्टी काम र योगदानका आधारमा कोही वरिष्ठ भए पनि अध्यक्ष पदमा जो हुन्छ उही माथि हुने प्रष्ट पारे ।

    खनालले पत्रकार सम्मेलनमा भने–हिजोको वरियता के थियो अब अध्यक्ष जो हुन्छ उही वरिष्ठ हो । अब दुई अध्यक्ष पहिलो वा दोस्रो के हो उहाँहरुले गर्नुहोला (बीचमै) उहाँहरु दुवै बराबरी अध्यक्ष हो । खनालले केपी ओलीमा गोमन साप प्रवृत्ति रहेको आरोप समेत लगाए ।

  • नेकपाका कार्यालय र सम्पत्तिमा प्रचण्ड–माधव समूहको दाबी

    नेकपाका कार्यालय र सम्पत्तिमा प्रचण्ड–माधव समूहको दाबी

    काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले एकीकृत पार्टीका पार्टी कार्यालय र सम्पत्तिमा आफ्नो हक दाबी गरेको छ ।

    शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अर्का अध्यक्ष माधव नेपालले आफूहरु नै आधिकारिक पार्टी भएकाले पार्टीको सम्पत्ति र देशभरका पार्टी कार्यालयहरु आफ्नो समूहको हुने बताए । उनले भने–विभिन्न क्लब, प्रालि र फाउण्डेशनहरुका सम्पत्तिमा हामी दाबी गर्दैनौं तर नेकपाको नामका सम्पत्ति र कार्यालय हाम्रा हुन् ।

    प्रधानमन्त्री तथा अर्को नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफू नै नेकपाको वैधानिक र पहिलो अध्यक्ष रहेको भन्दै पार्टीका सबै कार्यालय र सम्पत्ति प्रचण्ड–माधव नेपाल समूहको दाबी नलाग्ने बताएका थिए ।

    आफूहरुले पेरिसडाँडामा दाबी नगर्ने भन्दै तत्कालीन एमालेका कार्यालय र सम्पत्ति आफ्नै नेतृत्वको पार्टीको हुने ओलीको भनाइ थियो ।

  • केपी ओलीले प्रदेशसभा पनि भंग गर्न सक्छन्– प्रचण्ड

    केपी ओलीले प्रदेशसभा पनि भंग गर्न सक्छन्– प्रचण्ड

    काठमाडौं । विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले अदालत र निर्वाचन आयोगसँगको सेटिङमा प्रतिनिधिसभा विघटन गरेको भन्ने आफूलाई विश्वास नरहेको बताएका छन् ।

    शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले अदालत र निर्वाचन आयोगले स्वच्छ र निष्पक्ष रुपमा संविधानको पक्षमा फैसला गर्ने विश्वास समेत व्यक्त गरे ।

    प्रचण्डले भने– कमरेड केपी ओलीले सोच्नुभएको होला म जस्तै सबै जालीझेली र सेटिङमै चल्छन् । तर उहाँ त्यस्तो भ्रममा नपरे हुन्छ । हामीले यो प्रतिनिधिसभा विघटन स्वीकार गरेका छैनौं र संसद जीवितै छ ।

    आफूहरुले ओलीका सामान्य कमजोरी औंल्याउँदा संसद नै विघटन गरिदिएको भन्दै त्यस्तै सनकले प्रदेशसभा पनि भंग गर्न सक्ने बताए । प्रचण्डले भने– उहाँले प्रदेशसभा पनि भंग गर्दिन सक्नुहुन्छ । त्यसपछि उहाँ सम्पूर्ण रुपमा ध्वस्त भएर इतिहासमै कलंकित नहुन्जेल यस्ता कर्म गरिरहनुहुन्छ । यो भनेको उहाँ सफल हुने बाटो होइन ।

    प्रचण्डलाई मटियामेट पार्ने मिसनमा ओलीले आफू बस्ने कुर्सी नै हटाइदिएको समेत उनले बताए । उनले माधव नेपालले आफूलाई कुर्सी बोकेर गएर ओलीलाई उता सार्नुस् भन्ने आग्रह समेत गरेको सुनाउँदै प्रचण्डले आफू त्यही दिनबाट सात जनाको लहरमा पुगेको बताए ।

    प्रचण्डले भने–माधवजीले त म भए कुर्सी बोकेर उता सर्नुस् भन्थें भन्नुहुन्थ्यो । तर म त लुत्रुक भएर उहाँहरुले जहाँ राख्यो कुर्सी त्यहीं गएर बसें ।

  • मिस नेपालले शुरु गरिन् चकलेट व्यापार, पुष्टकारी र गुँदपाकलाई प्रवर्द्धन गर्ने

    मिस नेपालले शुरु गरिन् चकलेट व्यापार, पुष्टकारी र गुँदपाकलाई प्रवर्द्धन गर्ने

    यो महामारीको समय कतिपय सेलेव्रिटीका लागि भविष्यको लागि एउटा अवसर पनि बन्यो । जस्तै हेरौं न पूर्वमिस नेपाल अनुष्का श्रेष्ठलाई । यी डिभाले शहरमा चकलेट व्यापारको नयाँ व्यवसाय शुरु गरेकी छन् ।

    उनले स्थापना गरेको ब्रान्ड माक्कुसेले पुष्टकारी र गुँदपाकको व्यापार गर्छ । यसलाई अन्तर्राष्ट्रिय रुपमै बजार विस्तार गर्ने सोचमा छिन् अनुष्का । मिस नेपालको एकवर्षे कार्यकाल सकिएको दुई साताभित्रै अनुष्काले उद्यमशीलता थालेकी हुन् ।

    सन् २०१९ की मिस नेपाल वर्ल्ड अनुष्का अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको लागि विदेशमा जाँदा उनमा चलकेट व्यापारसम्बन्धी आइडिया फुरेको हो । उनलाई लाग्यो, नेपालको मौलिक ब्रान्ड कुकिज, पुष्टकारी र गुँदपाकलाई ‘लक्जरी स्वीट’मार्फत विदेशमा प्रवर्द्धन गर्न सकिन्छ ।

    अष्ट्रेलियाको एउटा बैंककी जागिरे अनुष्का मिस नेपाल प्रतिस्पर्धामा भाग लिन नेपाल आएकी थिइन् । नेपालमै केही गर्ने उनको सोचलाई मिस नेपालले आकार दियो । नेवारी भाषामा माक्कुसेको अर्थ खानाको स्वाद भन्ने हुन्छ । काभ्रेबाट ल्याइएको दूधबाट बनाइएको रसायनविहीन चकलेट हुन् यी ।

    राजधानीको ठूलोभर्‍याङमा कारखाना रहेको माक्कुसे २५ लाख लगानीमा खुलेको हो । मिस नेपाल जितेर आइसकेपछि पनि अनुष्काले नेपाल प्रेससँग कुरा गर्दै उद्यमशीलताको थालनी गर्नु आफ्नो उद्देश्य रहेको बताउँदै आएकी थिइन् ।

  • माधव नेपालको आरोप–केपी ओली संघीयता र गणतन्त्र विरोधी हुन्

    माधव नेपालको आरोप–केपी ओली संघीयता र गणतन्त्र विरोधी हुन्

    काठमाडौं । विभाजित नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र संघीयताको विरोधी भएको आरोप लगाएका छन् ।

    पार्टी विभाजनपछि पहिलो पटक आयोजित पत्रकार सम्मेलनमा नेपालले ओलीसँगको ४९ वर्षको सहकार्यका अनुभव सुनाउँदै ओलीलाई मनपर्ने केपीवाद मात्र हो भने । उनले केपीवाद स्वीकार गरेर दास बनाउन खोजेको आरोप लगाए । ओलीले गणतन्त्रप्रति अपनत्वबोध नरहेको भन्दै कम्युनिष्ट आन्दोलन सिध्याउन अग्रसर रहेको आरोप समेत लगाए ।

    नेपालले भने– उहाँ गणतन्त्र नेपालमा आउन सक्दैन भनेर फरक विचार राख्ने मान्छे हो । गणतन्त्रप्रति मोह छैन, संघीयताको पनि विरोधी हो उहाँ । उहाँलाई बैठकबाट एलर्जी हुन्छ । तानाशाही प्रवृत्ति भएका व्यक्तिलाई बैठकबाट एलर्जी हुन्छ । आफूले छाड्नुपरे कुर्सी नै भाँच्ने मान्छे हो ।

    ओलीले तत्कालीन सभियत रुसका अन्तिम कम्युनिष्ट राष्ट्रपति मिखाइल गोर्भाचोभले जस्तै कम्युनिष्ट पार्टी सिध्याउन खोजेको आरोप नेपालले लगाए । उनले विधि र पद्धतिमा पार्टी चलाउन आफू र प्रचण्डबीच एकता भएको भन्दै आफूहरुबीचको एकता दीर्घकालीन रुपमा अघि बढ्ने बताए ।

     

  • गति लिने प्रयासमा सौराहाका होटल,  शुरु गर्दै  ‘घुमौं सौराहा’ अभियान

    गति लिने प्रयासमा सौराहाका होटल, शुरु गर्दै ‘घुमौं सौराहा’ अभियान

    काठमाडौं । कोभिड–१९ को महामारीपछि गत फागुनदेखि पर्यटन क्षेत्र ठप्प छ । विदेशी पर्यटकको आगमन शून्य बराबर छ ।
    ठूला होटल पूर्ण रुपमा बन्द छन् । तर, पछिल्लो समय  कोभिडको महामारीबीच पर्यटन व्यवसायीले आन्तरिक पर्यटकलाई जोड दिएका छन् ।

    रिजिनल होटल व्यवसायी संघ चितवन सौराहाले पुुस १० गतेदेखि देशव्यापी रुपमा ‘घुमौं सौरहा’ अभियान शुरु गरेको छ । संघका अध्यक्ष दीपक भट्टराईका अनुसार अभियानका लागि होटल व्यवसायी शुक्रबार विराटनगर आइपुगेका छन् ।

    ‘आन्तरिक पर्यटकलाई लक्षित गरी पाँचै प्रदेशमा ‘घुमौं सौराहा’ अभियान गरिनेछ । यसको शुरुवात विराटनगरबाट गर्न लागेका छौं,’ उनले भने ।

    संघले आज दिउँसो विराटनगरका होटल व्यवसायी, उद्योगी, सामाजिक अभियन्ताआदिका बीचमा ‘घुमौं सौराहा’ अभियान कार्यक्रम गर्ने अध्यक्ष भट्टराईले जानकारी दिए ।

    भट्टराईका अनुसार ‘घुमौं सौराहा’ अभियानअन्तर्गतको प्याकेजमा आन्तरिक पर्यटकलाई चितवनमा घुमाएर सौराहामा नाइट–स्टे गराउने र सौराहाका सबै पर्यटकीय स्थलको भ्रमण गराउने रहेको छ ।

    संघले पुस ११ गते प्रदेश नं २ जनकपुर र पुस १२ गते वीरगञ्जमा ‘घुमौं सौराहा’ अभियान कार्याक्रम गर्ने बताएको छ । साथै केही दिन भित्रमा नै अन्य बाँकी पाँच प्रदेशमा पनि कार्यक्रम गर्ने अध्यक्ष भट्टराईले जानकारी दिए ।

    उनका अनुसार अहिले सौराहामा दैनिक एक हजारको हाराहारीमा आन्तरिक पर्यटकले भ्रमण गर्ने गरेका छन् । लकडाउनपछि गत असोजमा खुलेको सौराहाका होटलहरुले आन्तरिक पर्यटकलाई होटलको स्तर हेरी ३० देखि ४० प्रतिशतसम्म खाना र बस्नमा छुट दिएका छन् ।

    कोभिड–१९ का कारण शून्यमा झरेको होटलको अकुपेन्सी हाल १० देखि २० प्रतिशत पुगेको छ । आन्तरिक पर्यटन ‘घुमौं सौराहा’ अभियानले होटलको अकुपेन्सी ३५ देखि ४० प्रतिशत पुग्ने संघको आशा छ ।

  • प्रदेशसभा भंग होलान् ? के छ संवैधानिक प्रावधान ?

    प्रदेशसभा भंग होलान् ? के छ संवैधानिक प्रावधान ?

    काठमाडौं । प्रतिनिधिसभा विघटनको प्रभाव प्रदेशसभाहरुमा देखिन थालेको छ ।

    प्रतिनिधिसभा विघटनपश्चात सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी विभाजन भइसकेको छ । विभाजनको बाछिटा प्रदेशसम्म पुगेको छ । यहीकारण वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपा प्रचण्ड पक्षका प्रदेश सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गरेपछि संघीय सरकारले थप कदम चाल्न सक्ने आकलन गरिएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि नै प्रदेशसभामा ‘केही गरिए थप कदम चाल्ने’ संकेत गरेका थिए । आज साँझ मन्त्रिपरिषदको बैठक समेत बस्दैछ । ओली पक्षका मुख्यमन्त्री भएका अन्य प्रदेशमा पनि अविश्वास प्रस्तावको तयारी भएपछि प्रदेशसभा भंग हुनसक्ने आकलन समेत गरिएको छ ।

    प्रदेशमा संघीय शासन ?

    नेपालको संविधानले प्रदेशमा संघीय शासन लागू हुनसक्ने व्यवस्था गरेको छ । संविधानको धारा २३२ मा प्रदेशसभा विघटनसम्बन्धी प्रावधान रहेको छ । सो धाराको उपधारा ३ मा ‘कुनै प्रदेशमा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता वा स्वाधीनतामा गम्भीर असर पर्ने किसिमको कार्य भएमा राष्ट्रपतिले त्यस्तो प्रदेश मन्त्रिपरिषद्लाई आवश्यकताअनुसार सचेत गराउन, प्रदेश मन्त्रिपरिषद् र प्रदेशसभालाई बढीमा ६ महिनासम्म निलम्बन गर्न वा विघटन गर्न सक्ने’ व्यवस्था छ ।

    सोही धाराको उपदफा ४ मा प्रदेश मन्त्रिपरिषद् र प्रदेश सभालाई निलम्बन वा विघटन गरिएको कार्य ३५ दिनभित्र संघीय संसदको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट अनुमोदन गराउनुपर्ने उल्लेख छ ।

    सो कार्य अनुमोदन भएकामा सम्बन्धित प्रदेशमा ६ महिनाभित्र प्रदेशसभाको निर्वाचन हुने पनि उल्लेख छ । हाल प्रतिनिधिसभा विघटित भएका कारण संघीय सरकारले प्रदेश मन्त्रिपरिषद् र प्रदेशसभा भंग गरेमा अनुमोदन गराउन ‘वैधानिक चुनौती’ देखिन सक्छ । यद्यपि राष्ट्रियसभा जीवितै छ ।

    पार्टीभित्रको आन्तरिक किचलोका कारण प्रतिनिधिसभा विघटनको निर्णयमा पुगेका प्रधानमन्त्री ओलीले संविधानका उल्लिखित धारा प्रयोग गरेर संकटकाल घोषणा गरी प्रदेशमा संघीय शासन लगाउन सक्ने अनुमान कतिपयले गरेका छन् ।

  • नौ महीनापछि पर्दा खुल्दा (फोटो फिचर)

    नौ महीनापछि पर्दा खुल्दा (फोटो फिचर)

    काठमाडौं । कोरोनाभाइरस महामारीले बन्द भएका नेपाली फिल्म हलहरु नौ महिनापछि शुक्रबारदेखि खुलेका छन् । व्यवसायीले एकपक्षीय निर्णय गर्दै सिनेमा घर संचालनमा ल्याएका हुन् ।

    पहिलो दिन काठमाडौंस्थित फिल्म हलहरुले चल्दाचल्दै रोकिएका फिल्मलाई पुनः रिलिज गरे । कोभिड–१९ मापदण्ड पालना गर्दै संचालनमा ल्याइएको हलमा सामाजिक दूरी, सरसफाइ र मास्क अनिवार्य देखियो ।

     

    गत चैत ११ गते लागू गरिएको लकडाउनपछि बन्द भएका हल बल्ल खुलेका हुन् । यद्यपि मोफसलमा भने हल शुक्रबार खुलेनन् । सरकारले शुक्रबार बेलुकासम्म फिल्म हललाई मापदण्ड पूरा गर्दै संचालनको अनुमति दिने अपेक्षा गरिएको छ ।

    शुक्रबारै चलचित्र विकास बोर्ड र चलचित्र संघका अध्यक्षहरुसित काठमाडौंका प्रमुख जिल्ला अधिकारीले छलफल गरेका थिए । छलफलमा फिल्म हल खुलाउन आग्रह गर्नेसहितको पत्र सीसीएमसीलाई लेखेर पठाउने निर्णय भएको छ । उक्त निर्णयलाई मन्त्रिपरिषदले पारित गर्ने अपेक्षा छ ।

    शुक्रबार आमा, सेन्टी भाइरस, इन्टु मिन्टु लन्डनमा, ब्लडसट र इन्भिजिबल म्यान प्रदर्शन भए । पहिलो दिन दर्शकको संख्या न्यून देखिए पनि माहाेल चाहिं गजबको देखिन्थ्यो ।

  • पुस १९ भित्र प्रतिनिधिसभा विघटनबारे लिखित जवाफ पेश गर्न आदेश

    पुस १९ भित्र प्रतिनिधिसभा विघटनबारे लिखित जवाफ पेश गर्न आदेश

    काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनका सन्दर्भमा कारण देखाऊ आदेश जारी गरेको छ । संवैधानिक इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि कारण देखाऊ आदेश जारी भएको छ ।

    इजलासले पुस १९ गतेसम्ममा लिखित जवाफ पेश गर्न आदेश दिएको छ । नेपाल बार र सर्वोच्च बार एशोसिएसनबाट एमिकस क्युरी माग्ने आदेशसमेत दिइएको छ । अदालतले राष्ट्रपति र प्रधानमन्त्री कार्यालयबाट प्रतिनिधिसभा विघटन गर्ने निर्णयको सक्कल फाइल मगाउने आदेश समेत दिएको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षताको इजलासमा हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी न्यायाधीश सदस्य छन् ।

  • प्रचण्ड–माधव समूह निर्वाचन आयोगमा (भिडियो)

    प्रचण्ड–माधव समूह निर्वाचन आयोगमा (भिडियो)

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी‍ (नेकपा) का  पुष्पकमल दाहाल प्रचण्ड –माधव कुमार नेपाल समूह पार्टीको आधिकारिकता माग गर्दै निर्वाचन आयोग पुगेको छ ।

    बिहीबार नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत पार्टीका केन्द्रीय कमिटी सदस्य तथा विघटित प्रतिनिधिसभाका सांसदहरुसहितको टोली पार्टीको आधिकारिकता माग गर्दै निर्वाचन आयोग पुगेको हो ।

    उक्त समूहले आफ्नो पक्षका २९५ केन्द्रीय समिति सदस्यको हस्ताक्षर र बिहीबार सम्पन्न केन्द्रीय कमिटी बैठकको निर्णयको आधिकारिक प्रतिलिपि निर्वाचन आयोगलाई बुझाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

    पेश गरिएका कागजातलाई नेपालको संविधान, राजनीतिक दल सम्बन्धी कानूनका आधारमा हेरेर छिट्टै नेकपा विवादको कानूनी निरुपण गरिने वचन प्रमुख निर्वाचन आयुक्तले दिनुभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

    सो अवसरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपामा वैधानिकताको प्रश्न आएको भन्दै आफूहरु आधिकारिक भएको बताए । केन्द्रीय कमिटीका करिब दुई तिहाइको हाराहारीका सदस्यहरु आफूहरुतिर रहेको बताउँदै अध्यक्ष प्रचण्डले सबै सशरीर उपस्थित भएको र आगामी दिनमा पनि निर्वाचन आयोगले चाहे २९५ सदस्य नै सशरीर उपस्थित हुन सकिने बताए ।

    सशरीर उपस्थित हुनुभन्दा ठूलो कुनै प्रमाण हुन नसक्ने जिकिर गर्दै प्रचण्डले पार्टीको आधिकारिकता, चुनाव चिन्ह र केन्द्रीय सदस्यहरुको नामावलीलाई वैधानिक व्यवस्था अनुसार छिट्टै निर्क्याेल तथा निर्णय गरिदिन निर्वाचन आयोगसमक्ष माग गरे ।

  • सर्वोच्चअघि नेविसंघको प्रदर्शन, प्रदर्शनकारी प्रहरीको नियन्त्रणमा

    सर्वोच्चअघि नेविसंघको प्रदर्शन, प्रदर्शनकारी प्रहरीको नियन्त्रणमा

    काठमाडौं । नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले संसद विघटनको विरुद्धमा सर्वोच्च अदालत अगाडि प्रदर्शन गरेका छन् । नेविसंघको झण्डासहित सर्वोच्च गेटअगाडि नाराबाजी गर्ने नेविसंघ कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    उनीहरुले संसद विघटनको कदम असंवैधानिक भन्दै नाराबाजी गरेका थिए ।

  • कर्णाली नेकपामा प्रचण्ड–नेपाल समूह बलियो, सुर्खेतका जनप्रतिनिधि बराबर बाँडिए

    कर्णाली नेकपामा प्रचण्ड–नेपाल समूह बलियो, सुर्खेतका जनप्रतिनिधि बराबर बाँडिए

    सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजन हुँदा कर्णाली प्रदेश कमिटीमा प्रचण्ड–नेपाल समूह बलियो देखिएको छ ।

    प्रदेश इन्चार्ज पूर्व मन्त्री जनार्दन शर्मा, सहइन्चार्जमा प्रकाश ज्वाला र कालिबहादुर मल्ल प्रचण्ड–नेपाल पक्षका हुन् भने सहइन्चार्ज यामलाल कँडेल ओली पक्षका हुन् । प्रदेश अध्यक्ष गोरख बोगटी ओली पक्षका हुन् भने प्रदेश सचिव मायाप्रसाद शर्मा प्रचण्ड–नेपाल पक्षधर हुन् ।

    पदाधिकारीमा पनि प्रचण्ड–नेपाल पक्षको बहुमत भएको नेकपा स्रोतको दाबी छ । कर्णाली प्रदेश कमिटी १७७ सदस्यीय रहेको छ जसमा ओली पक्षमा ५५ जना उभिएका छन् भने नेपाल पक्षका ३३ जना र तत्कालीन माओवादी पक्षका ८९ जना गरी १२२ जना प्रचण्ड–नेपाल समूहमा खुलेर लागेका छन् ।

    कर्णाली प्रदेशबाट नेकपा केन्द्रीय सदस्यको संख्या जम्मा ३० जना थियो । त्यसमध्ये तत्कालीन माओवादी पक्षबाट १६ जना, नेपाल पक्षबाट ६ जना थिए भने ओली पक्षबाट ८ जना केन्द्रीय सदस्य थिए । केन्द्रीय सदस्यको संख्या हेर्दा पनि प्रचण्ड–नेपाल समूहमा २२ जना सदस्य पुगेका छन् ।

    सुर्खेतको अवस्था के छ ?

    पार्टी एकता कायम रहेका समयमा सुर्खेतबाट नेकपाका चार जना केन्द्रीय सदस्य रहेकोमा तीन जना प्रचण्ड–नेपाल पक्षमा लागेका छन् । नरबहादुर विष्ट नेकपाका सुर्खेत इन्चार्ज हुन् । सहइन्चार्जको रूपमा विन्दमान विष्ट र झकबहादुर मल्ल रहेका छन् । यी तीनै जना नेपाल–प्रचण्ड समूहका हुन् ।

    सुर्खेतका जनप्रतिनिधि बराबर बाँडिए

    दुई संघीय तथा चार प्रदेश निर्वाचन क्षेत्र रहेको कर्णालीको राजधानी सुर्खेतका जनप्रतिनिधि बाँडिएका छन् । निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद ध्रुवकुमार शाही प्रचण्ड–नेपाल पक्षमा लागेका छन् । उनीसँगै प्रदेश सभा सदस्यहरू विन्दमान विष्ट, पदमा खड्का, सीता नेपाली र पुष्पा घर्ती मगर नेपाल–प्रचण्ड पक्षमा खुलेर लागेका छन् ।

    ओली पक्षमा निर्वाचन क्षेत्र नं. २ का सांसद एवं स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतसँगै प्रदेशसभा सांसद यामलाल कँडेल, ठम्मर विष्ट, खड्कबहादुर खत्री, राजु नेपाली खुलेर लागेका छन् । नेकपामा दश जना जनप्रतिनिधिमा पाँच–पाँच जना बाँडिएका छन् ।

    जिल्ला कमिटीमा प्रचण्ड–नेपाल समूह बढी

    जिल्ला कमिटी अध्यक्षमा ध्रुवकुमार शाही र सचिवमा जितेन्द्र जिसी रहेका छन् । यी दुवै प्रचण्ड–नेपाल समूहमा खुलेर लागेका छन् । ओली समूहमा ३८ जना जिल्ला कमिटी सदस्य छन् ।

    निर्वाचन क्षेत्रीय कमिटीमा पनि प्रचण्ड–नेपाल समूह नै धेरै

    सुर्खेतमा निर्वाचन क्षेत्र समन्वय कमिटी ६ वटा छन् । निर्वाचन क्षेत्र नं. १ मा बखत खत्री संयोजक हुन् भने सचिवमा गणेश विक छन् । प्रदेश सभा ‘क’ मा कमिटी गठन गरिएको छैन भने ‘ख’ मा बोधविक्रम जिसी संयोजक छन् । यी सबै प्रचण्ड–नेपाल पक्षमा छन् ।

    निर्वाचन क्षेत्र नं. २ मा संयोजक गोविन्द तिमिल्सेना नेकपा प्रचण्ड–नेपाल समूहमा छन् भने सचिव इन्द्र केसी ओली समूहमा छन् । ‘क’ मा टोपबहादुर विसी संयोजक र रत्न गाहा मगर सचिव छन् । यी दुवै प्रचण्ड–नेपाल समूहमा नै छन् । ‘ख’ मा खडक विक प्रचण्ड–नेपाल समूहमा छन् भने घनश्याम पाण्डे ओली समूहमा छन् ।

    नौ पालिकामा को कता ?

    सुर्खेतमा नौ वटा स्थानीय तह छन् । ती सबै तहका पार्टी कमिटीमा प्रचण्ड–नेपाल समूहकै पदाधिकारीको बहुमत देखिएको छ । वीरेन्द्रनगर नगरपालिकाका अध्यक्ष गंगाराम तिमिल्सेना प्रचण्ड–नेपाल समूह, सचिव गणेश ओली ओली समूहमा रहेका छन् । बराहताल गाउँपालिकाका अध्यक्ष ओम महतारा र बलबहादुर कठायत प्रचण्ड–नेपाल समूहमा छन् ।

    पञ्चपुरी नगरपालिकाका अध्यक्ष मनबहादुर विक र सचिवमा केशव शाही तथा चौकुने गाउँपालिकाका अध्यक्ष गंगाराम विश्वकर्मा र सचिव हरि अधिकारी प्रचण्ड–नेपाल समूहमा रहेका छन् ।

    भेरीगंगा नगरपालिकाका अध्यक्ष नरेन्द्र कार्की प्रचण्ड–नेपाल समूहमा छन् । सचिव टिकाराम सुवेदीले मुख भने खोलिसकेका छैनन् । गुर्भाकोट नगरपालिकामा अध्यक्ष देवबहादुर खत्री र मोती विश्वकर्मा, लेकबेसी नगरपालिकामा टीकाराम सोमै र मदन गाहा प्रचण्ड–नेपाल समूहमा आवद्ध रहेको नेकपा स्रोतको दाबी छ ।

    चिंगाड गाउँपालिकामा समर विक अध्यक्ष प्रचण्ड–नेपाल समूहमा तथा सचिव हर्क राना कुन समूह जाने भन्ने अलमलमा रहेका छन् । सिम्ता गाउँपालिकामा कविन्द्र केसी अध्यक्ष छन् भने सचिवमा झुपबहादुर बुढा रहेका छन् । ती दुवै प्रचण्ड–नेपाल समूहमा लागेका छन् ।

    पालिकाका जनप्रतिनिधि पनि प्रचण्ड–नेपाल समूहमै बढी

    सुर्खेतमा नेकपाले तीन वटा पालिकामा जितेको छ । सिम्तामा अध्यक्ष कविन्द्रकुमार केसी, चौकुनेमा धीरबहादुर शाही र लेकबेसी नगरपालिकाका नगरप्रमुख गगनसिंह सुनार प्रचण्ड–नेपाल समूहका हुन् । वीरेन्द्रनगर नगरपालिकामा उपप्रमुख मोहनमाया ढकाल ओली पक्षमा छिन् ।

  • कोभिडकाे कारण अब लिग रोकिँदैन : एन्फा

    कोभिडकाे कारण अब लिग रोकिँदैन : एन्फा

    काठमाडौं । विश्व भर महामारीको रुप लिएको कोभिड–१९ को असर नेपाली फुटबलमा पनि देखियो । चैत ४ बाट रोकिएको ‘बी’ डिभिजन लिग सुचारु गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले चासो देखाइ सकेको छ । सँगै सी डिभिजन लिगको आयोजनाका लागि काम भइरहेको छ । एन्फाले आगामी दिनमा कोभिडका कारण फुटबल स्थगित नगर्ने समेत बताएको छ ।

    सहिद स्मारक सी डिभिजन लिग चैत १ गतेबाट सुरु हुने सर्वविदितै भएको छ । एन्फाले सी डिभिजन लिगका पदाधिकारीसँग छलफल गर्दै चैतको सूरुवातमै स्थगित रहेको लिग सञ्चालन गर्ने सहमती बनाएको हो । कोरोनाका कारण गत वर्षको अन्तिममा सुरु गर्ने तयारी गरिएको सी डिभिजन लिग स्थगित बनेको थियो र अब कोरोनाका कारण प्रतियोगिता नरोकिने अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताए ।

    विभिन्न ठाउमा देखिएको असर पछि कोरोनका कारण फुटबल पनि अछुतो रहेन । संक्रमणको डरले फुटबल बन्द रह्यो । एन्फाले गत वर्ष स्थगित बनेका घरेलु फुटबलका प्रतियोगितालाई यथास्थानमा सुचारु गरेर अगाडि बढाउने भएको छ ।

    एन्फा सी डिभिजन लिगका लागि क्लबको तयारी खर्च बढाउन समेत सहमत बनेको छ । सहमती पछि एन्फाले क्लबका पदाधिकारीलाई फिफा र एएफसीको स्वास्थ्य प्रोटोकलका विषयमा समेत जानकारी गराएको र सोही मापदण्डलाई पूरा गरेर प्रतियोगिता सुचारु गर्ने लिग निर्देशक सञ्जीब मिश्रले बताए ।

    विश्व महामारीको चपेटा परे पनि तोकिएका स्वाथ्य प्रावधान अपनाउँदै चर्चित फुटबल प्रतियोगिता सुचारु भइसकेका छन् । तर नेपाली फुटबल फर्किनलाई अझै राम्रो र सहज वातावरण मिलेको छैन । फुटबलको सर्बोच्च निकाय एन्फाले कोरोनाको डर भन्दा पनि कोरोनालाई परास्त गर्दै कदम चाल्नु पर्ने अवस्था आएको बताउँछ । फुटबल ठप्प हुँदा खेलाडीमा परेको नकारात्मक असरलाई समयमा केलाउनु पर्ने दायित्व पनि एन्फाको काधमा थपिने देखिन्छ ।

  • प्रधानन्यायाधीशको प्रश्न– जनतामा जान्छु भन्दा तिमीले नै चलाऊ भन्न मिल्छ ?

    प्रधानन्यायाधीशको प्रश्न– जनतामा जान्छु भन्दा तिमीले नै चलाऊ भन्न मिल्छ ?

    काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथिको सुनुवाइ जारी रहँदा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र बहसकर्ता वकीलहरुबीच रोचक सवाल जवाफ चलिरहेका छन् ।

    रिट निवेदकको तर्फबाट बहस गर्ने वकीलहरुले बहुमतप्राप्त प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नु संविधानसम्मत नहुने बताएपछि प्रधानन्यायाधीशले विघटनको व्यवस्था संविधानमै रहेको बताएका छन् ।

    इजलासमा बहस सुन्दै गर्दा तत्कालै प्रष्ट हुन खोजेका प्रधानन्यायाधीशले भने– संविधानमा संसद विघटनको व्यवस्था छ । तर त्यसको माध्यम के हो ? यसबारेमा बहस गरौं । यसबारेमा कुरा आवस् ।

    अर्को एक प्रसंगमा प्रधानन्यायाधीश राणाले प्रधानमन्त्रीले ‘अब म सरकार चलाउँदिनँ’ भनेर जनतामा जान्छु भन्दा उसैलाई तिमीले नै सरकार चलाऊ भन्न मिल्छ ? भनेर प्रश्न समेत गरेका छन् ।

    राणाले भने– संविधानमा संसद विघटनको सिद्धान्त राखिएको छ । २०४७ सालको संविधानमा पनि थियो । माध्यम के हो त्यो भन्नुस् । निर्वाचन भएर संविधानको धारा ७६ को उपधारा १ बमोजिम सरकार गठन भयो । अब म जनतामा जान्छु भन्यो भने तिमीले नै अनिवार्य सरकार चलाऊ भन्ने हो र ?

  • बाढी पीडितको उद्धार गर्न पाए हुन्थ्योः अध्यक्ष बस्नेत

    बाढी पीडितको उद्धार गर्न पाए हुन्थ्योः अध्यक्ष बस्नेत

    सुर्खेत । सुर्खेत जिल्लाको पश्चिममा पर्ने बराहताल गाउँपालिकामा तीन वर्षअघि एकाध वडा बाहेक अन्यमा सडक पुगेको थिएन । पुगेका वडाका सडकको अवस्था पनि दयनीय नै थियो ।

    खानेपानी, शिक्षा, स्वास्थ्य क्षेत्रको अवस्था कमजोर थियो । दुईवटा वडामा बाहेक अन्यत्र बिजुली बलेको थिएन । कृषिमा आम किसानहरू व्यावसायिक रूपमा लागिसकेका थिएनन् ।

    त्यही बीचमा चुनाव भयो । चुनावमा लामो समय शिक्षण पेशामा भिजेका अनुभवी तेजबहादुर बस्नेत नेपाली कांग्रेसबाट चुनाव लडे । उनले चुनावताका शिक्षा क्षेत्रको विकास गर्ने, स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याउने, रोजगारी सिर्जना गर्ने, सडक निर्माण गर्नेलगायतका धेरै प्रतिबद्धता जनाए । फलतः उनले चुनाव पनि जिते ।

    दश वटा वडा रहेको बराहताल गाउँपालिकामा आजसम्म के काम भयो, चुनावताका गरिएका प्रतिबद्धता कति पूरा भए भन्ने बारेमा नेपाल प्रेसले बस्नेतसँग कुराकानी गरेको थियो । प्रस्तुत छ, कुराकानीको सारसंक्षेप उनकै शब्दमाः

    चुनावमा शिक्षा, खानेपानी, रोजगारी, बेसहारा, असहायका लागि अलग्गै व्यवस्था गर्छौं भनेका थियौं । हामीले अहिले यहाँ विद्यार्थीलाई छात्रवृत्ति वृद्धि गरेका छौं । बाबुआमा नभएका, दलित, असहाय, विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिने चलन छ । बाबु पनि भएको, आमा पनि भएको, तर आमा अर्कैसँग गएको वा बाबुले अर्की आमा ल्याएको अवस्थामा विद्यार्थीलाई समस्या पर्ने गरेको हामीले देख्यौं । यस्ता १५ जनाभन्दा बढी विद्यार्थीलाई नियमित रूपमा नेपाल सरकारले तोके बमोजिमको छात्रवृत्ति दिइरहेका छौं ।
    विद्यालय मर्ज अभियान शुरू गरेका छौं । यसो गर्नुको मुख्य कारण के हो भने, टोलटोलमा विद्यालय खोल्ने तर दक्ष जनशक्ति राख्न नसकिने अवस्था आयो । स्थानीय तथा पालिकाले शिक्षक राख्न नसक्ने अवस्था आएपछि नजिकका विद्यालयमा ती विद्यालयलाई मर्ज गर्ने अभियान शुरू गरेका छौं । मर्ज गर्ने विद्यालयलाई हामीले सहुलियत दिने काम गर्दै आइरहेका छौं ।
    जनमावि बड्डिचौरले दुई विद्यालयलाई मर्ज गरेको छ । त्यसका लागि विद्यालयलाई गाडी खरीद गर्नका लागि हामीले पैसाको व्यवस्था गरेका छौं ।
    हाम्रो पालिकामा ५६ वटा विद्यालय छन् । विद्यालय मर्ज गर्ने अभियान वडा नं. १ बाट शुरू गरेर १० नम्बरमा पुगेर अभियान टुङ्ग्याउँछौं । १२ वटा विद्यालय मर्ज हुन्छन् । यसका फाइदा भनेको शिक्षकको संख्या थप्नु परेन । विद्यालय गाभ्दा दक्ष शिक्षक राख्न सकिन्छ ।
    बरु सडकको पहुँच भएका विद्यालयमा साधनको व्यवस्थापन मिलाउने, यातायातको व्यवस्था नभएको स्थानमा एक मिटर चौडा बाटो बनाउने, दिवा खाजा दिने जस्ता काम गर्छौं । यसका अलावा हामीले हरेक वर्ष तीनदेखि चार वटा विद्यालय भवन निर्माण गर्दै आइरहेका छौं । साथै; शौचालय, खानेपानीको व्यवस्थापन गर्दै आइरहेका छौं ।
    प्राविधिक शिक्षालयमा बीएस्सी एजी अध्यापन गराउने योजना बनाएका छौं । मावि दमारमा अभ्यास भइरहेको छ । प्राविधिक शिक्षालय स्थापना गर्ने प्रक्रियामा जाँदा लामो समय लाग्ने रहेछ । भने जसरी फ्याट्ट गर्न नसकिने रहेछ ।

    १० वडामा ११ स्वास्थ्य केन्द्र, ६० पुगेका गैरदलित महिला स्वयंसेविकालाई ५०० भत्ता
    स्वास्थ्य क्षेत्रमा १० वटै वडामा स्वास्थ्य केन्द्र खोलेका छौं । पाँच वटा पुराना स्वास्थ्य केन्द्र थिए । बाँकी पाँच वटा थप गरेका छौं । वडा नं. ७ मा एक थप गरेका छौं । योसहित ११ पुगेका छन् । हरेक केन्द्रमा भवन बनाएका छौं । वडा नं. ५ मा सुत्केरी सेवा शुरू हुँदैछ ।
    नेपाल सरकारले दिएको नम्स अनुसार हरेक केन्द्रमा औषधि दिइरहेका छौं । स्थानीय तहबाटै कर्मचारी राखेका छौं । अहेव, अनमी एक–एक पर्ने गरी नियुक्त गरेका छौं ।
    ६० वर्षपछि दलित महिला स्वयंसेविकालाई राज्यले नै वृद्ध भत्ता दिन्छ तर अन्य जातिको हकमा यो लागू भएको हुँदैन । जीवनभर स्वयंसेविकाले गरेको त्याग अनुसार त्यसको सम्मान गर्नका लागि यही वर्षदेखि त्यस्ता स्वयंसेविकालाई महिनाको ५०० भत्ता दिने निर्णय गरेका छौं ।
    यहाँका नागरिक बिरामी हुँदा उपचारका लागि टाढा लैजानुपर्दा भोग्नु परेको समस्यालाई ध्यान दिएर दुई वटा एम्बुलेन्स खरीद गरेका छौं । ती एम्बुलेन्सले सुत्केरी हुन नसकेका महिलालाई वीरेन्द्रनगरसम्म निःशुल्क रूपमा लैजाने व्यवस्था गरेका छौं ।
    स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलाको संख्या अत्यधिक कम थियो । हामीले सुत्केरी भत्ता २८०० पु¥याएका छौं । अहिले अधिकांश महिला स्वास्थ्य संस्थामा नै सुत्केरी हुन आउनुहुन्छ । जनचेतनामूलक कार्यक्रमहरू पनि हामीले संचालन गरेका छौं । यसको अलावा प्राथमिक स्वास्थ्य केन्द्रका लागि अक्सिजन खरीद गरेका छौं ।

    वडा नं. ३ बाहेक अन्यत्र सडक पुर्‍यायौं
    वडा नं. ३ को वडा कार्यालयमा बाहेक अन्यत्र सबै वडा कार्यालयमा सडक पहुँच पुगेको छ । वडा नं. ६ को इखिनीलगायतका भित्री बाटाहरू धनिकाँडा, तेलपानी बनाउँदा तीन वर्ष वितेको छ । दर्नाकोट थारी, धनिगाड बनेकाँडा श्रीचौर, रानीघाट तेलपानी, ज्यामिरे कुटालगायत क्षेत्रमा ४०० किलोमिटर भन्दा बढी कच्ची सडक निर्माण गरेका छौं । अब ती सडकको स्तरोन्नति गर्छाैं । कालोपत्रे गर्न हाम्रो सामथ्र्यले नभ्याए पनि ती सबै सडकलाई ग्राभेल गर्छौं ।

    सिंचाइमा लिफ्ट प्रविधिको प्रयोग
    कुनाथरी, बेल्चौरमा सिंचाइ आयोजना सम्पन्न हुने क्रममा छन् । तरंगामा ६ करोडको लिफ्टिङ सिंचाइ आयोजना निर्माण भइरहेको छ । वडा नं.२ रानीघाट पाग्म, वडा नं. ८ को दमार, वडा नं. ६ बुटीमा पक्की सिंचाइ नहर बनाइरहेका छौं । यी सबै आयोजना एक–दुई वर्षमा सम्पन्न हुनेछन् । यसले यहाँका किसानको आयआर्जन वृद्धि गर्नुका साथै समृद्ध बराहताल निर्माण गर्न महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा छ ।

    सात वडामा उज्यालो
    म निर्वाचित हुँदा वडा नं.२ र ९ मा मात्रै बिजुली थियो । अहिले वडा नं. ९, १०, ८, ५, १, २ मा बिजुली बलेको छ । वडा नं. ४ मा काम भइरहेको छ । ६, ७ र ३ मा बाँकी छ । वडा नं. ३ मा सोलार उज्यालो कार्यक्रम छ । ६० लाखको उक्त योजना अबको केही समयमा नै सकिन्छ ।
    कृषि क्षेत्रमा तरकारी उत्पादनका लागि पकेट क्षेत्र तोकेका छौं । मासु उत्पादन क्षेत्र छुट्याएका छौं । दूध उत्पादन क्षेत्र, बाख्रा प्रोत्साहन कार्यक्रम लागू गरेका छौं । यसका लागि आवश्यक सहयोग, अनुदानका कार्यक्रम पालिकाभरि लागू गरेका छौं ।
    कृषकले उत्पादन गरेको वस्तु खेर नजाओस् भनेर बजारीकरणको व्यवस्था पनि गरेका छौं । पहिले अधिकांश स्थानमा फोन लाग्दैनथ्यो । अहिले सबै स्थानमा फोन लाग्छ ।

    बराहताल चिनाउन हामीले दश वटा पर्यटकीय क्षेत्र

    बराहताल चिनाउन हामीले दश वटा पर्यटकीय क्षेत्रलाई गन्तव्यको रूपमा छानेका छौं । बराहताल, पाइथापे ढुंगा, चमेरी गुफा, बौद्ध विहार, कालिका मन्दिर, बटु भैरवलगायतका पर्यटकीय क्षेत्रको विकास गर्ने योजनामा हामी छौं ।
    अहिले बराहताललाई ध्यान दिएका छौं । आठ करोडको डीपीआर निर्माण गरेका छौं । बजेटको व्यवस्थापनमा हामी जुटेका छौं । तालसम्म पुग्ने पहुँच मार्ग खोलेका छौं । अन्य संरचना पनि विस्तारै निर्माण गर्दै जानेछौं ।

    वडा नं. ४ मा बृहत् खानेपानीको उद्घाटन
    वडा नं. ४ मा बृहत् खानेपानीको उद्घाटन भएको छ । ७०० घरपरिवार यो आयोजनाबाट लाभान्वित भएका छन् । वडा नं. १० मा सम्पन्न, ९ मा सुचारु, ६ मा आउने वर्षमा खानेपानी, ८ र ५ मा खानेपानी योजना सञ्चालनमा छन् । बराहतालमा खानेपानीको समस्या खासै छैन । एकाध टोल छुटेका होलान् ।
    शुद्धीकरण गर्नका लागि नाप्ने यन्त्रहरू ल्याएका छौं । सबै पानीका मुहानहरूमा शुद्धता परीक्षण गरेका छौं । खानेपानीका कारण कोही बिरामी नपरुन् भन्नेमा हामी सचेत छौं ।
    मैले निर्वाचनताका गरेका प्रतिबद्धता अनुसार सबै कामको शुरुआत गरेको छु । कहिलेकाहीं सबै व्यक्तिलाई सन्तुष्ट बनाउन सकेनछु जस्तो लाग्छ । सबैलाई सन्तुष्ट बनाउन सकिंदो पनि रहेनछ ।

    अबको मेरो सपना भनेकै भेरी नदीमा पुल बनाउने हो । रानीघाटमा ठेक्का परे पनि पुल बनेको छैन । हारगुहार गर्दा पनि पुल निर्माण कार्य अघि बढाउन सकिएन । तरंगा र चेपांग क्षेत्रमा पुल बनिदिएको भए हुन्थ्यो जस्तो लाग्छ ।
    खेतीयोग्य जमीन पर्याप्त भए पनि सिंचाइ खट्किएको छ । तल बगिरहेको भेरीबाट माथि पानी ल्याउन सकेको भए हुन्थ्यो जस्तो लाग्छ । अहिले ४०० भन्दा बढी बाढी पीडितहरू पालिकामा छन् । उनीहरूको व्यवस्थापन गर्न सकें भने चुनाव जितेको सार्थक हुन्थ्यो । चुनावमा गरेका प्रतिबद्धता पूरा हुन्थे ।

    २०७१ सालमा आएको बाढीले उनीहरूलाई सडकमा ल्याएको छ । उनीहरू जाडोयाममा कठ्यांग्रिन बाध्य छन् । त्यसबाट उनीहरूको उद्धार गर्ने चाहना छ ।
    यसका अलावा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको प्याकेजमा नै विकास गर्न पाए अति राम्रो हुनेथियो ।

  • किन भइरहेको छ नेपाली बजारमा ल्यापटप अभाव

    किन भइरहेको छ नेपाली बजारमा ल्यापटप अभाव

    काठमाडौं । भक्तपुरका राजेश केसी ल्यापटप किन्नलाई गत सोमबार न्यूरोड पुगे । आफूले किन्न खोजेको ल्यापटपका लागि उनले दुई-चार ओटा पसल चहारे ।

    केसीले आफूले खोजेको मोडल र ब्राण्डको ल्यापटप त पाएनन् नै मूल्य सुनेर उनी छक्क परे ! ६ महिना अघि र ६ महिनापछिको ल्यापटपको मूल्यमा ४० प्रतिशतसम्म वृद्धि भएको उनले पाए ।
    न्यूरोडमा भेटिएका राजेश भन्छन्, ‘आफूले भनेको ब्राण्डको ल्यापटप त पाउँदै पाइनँ । मूल्य पनि आकाशिएको रहेछ ।’

    गत जनवरीमा चीनमा देखापरेको कोरोनाभाइरस विश्वव्यापी रूपमा फैलिंदा त्यसको असर उद्योगधन्दा, कलकारखाना, व्यापार व्यवसाय सबैमा पर्‍यो ।

    एकातिर उद्योगधन्दा बन्द भए, अर्कोतिर सामान ओसारपसार गर्ने जहाज कार्गो पनि बन्द नै रहे । जसले गर्दा विश्वबजारमा धेरै सामान एक ठाउँबाट अर्को ठाउँमा जान सकेनन् । त्यसको असर इलेक्ट्रोनिक सामानमा पनि पर्‍यो ।

    कोरोना महामारीका कारण विश्वव्यापी रूपमा विद्यालय तथा विश्वविद्यालयहरू पनि बन्द भए । विद्यालयले अनलाइन कक्षा शुरु गरेपछि विद्यार्थीहरू घरमा नै अनलाइन कक्षा पढ्न थाले । जसका कारण नेपाली बजारमा ल्यापटपको माग ह्वात्तै बढेको बताउँछन् न्यूरोडस्थित सोनी इलेक्ट्रोनिक्सका व्यापारी दीपक श्रेष्ठ । ‘बजारमा ल्यापटपको माग अनुसार आपूर्ति नै गर्न सकेका छैनौं’, श्रेष्ठले भने नेपालमा पनि गत पाँच महिनाको तथ्याङ्कले ल्यापटपको आयातमा कमी आएको देखाउँछ । गत आव २०७६-७७ को पहिलो पाँच महिनामा ९४ हजार ३५० थान ल्यापटप नेपाल भित्रिएकोमा आव २०७७-७८ मा ३७ हजार ५९० थान मात्र ल्यापटप नेपाल भित्रिएको छ ।

    अहिले श्रेष्ठका पसलमा ल्यापटप राख्ने र्‍याक धेरैजसो खाली छन् । ब्राण्ड–ब्राण्डका ल्यापटप पनि उनका पसलमा कम छन् । ‘मैले हिजो मात्र ५० थान डेल ल्यापटप अर्डर गरेको थिएँ । तर, तीन थान मात्र डिलरले पठाइदिएछ’, उनले भने ।

    कोरोनाले गर्दा प्लेनबाट सामान ल्याउनुपर्ने बाध्यताले नेपाली बजारमा ल्यापटप अभाव हुनुका साथै मूल्यमा वृद्धि भएको बताउँछन् न्यूरोडका व्यापारी सुजन रायामाझी । उनका अनुसार अहिले बजारमा रोजीछाडी ल्यापटप छैनन् । ‘अत्यावश्यक’ नभए ल्यापटपै नकिन्न सुझाउँछन् उनी । ‘कोरोनाका कारण बजारमा ल्यापटपको अभावसँगै मूल्य पनि आकासिएको छ । यो वेलामा अत्यावश्यक भए ल्यापटप किन्नुस् नभए पुरानोले काम चलाउनुस्’ उनले भने ।

    उनका अनुसार पसलमा पनि मागे जति ल्यापटप डिलरले पठाउन सकेको छैन । ‘हामीले पसलमा २० थान मागेकोमा डिलरहरूले १० थान, ५ थान मात्र पठाउँछ’, उनले भने ।

    नेपालमा धेरैजसो ल्यापटप दुबई र सिंगापुरबाट आउने भए पनि सीधै त्यहाँबाट नेपाल आउँदैनन् । व्यापारीका अनुसार चीन हुँदै नेपाल भित्रिने ल्यापटपमा चीनको वर्चस्व रहेको छ । चीनबाट मात्र आव २०७७-७८ साउनदेखि मंसिरसम्ममा ३५ हजार २४७ थान ल्यापटप आएका छन् ।

    त्यसैगरी गत आवमा चीनबाट नै ८२ हजार ५८३ थान ल्यापटप नेपाल भित्रिएको छ । अन्य देशबाट नगन्य रूपमा मात्र ल्यापटप नेपाल भित्रिने गरेको तथ्याङ्कले देखाउँछ ।

    भन्सार विभागको तथ्याङ्क अनुसार नेपालमा सबैभन्दा धेरै आयात गरिने वस्तुमा इलेक्ट्रिक सामग्री रहेका छन् । नेपालमा विशेषगरी डेल, एचपी, एसर, एप्पल, लेनोभोलगायतका ल्यापटपको माग बढी रहेको व्यापारीहरू बताउँछन् ।

  • शेरधनविरुद्ध अविश्वास दर्ता गर्न केन्द्रको निर्देशन कुर्दै प्रचण्ड–माधव समूह

    शेरधनविरुद्ध अविश्वास दर्ता गर्न केन्द्रको निर्देशन कुर्दै प्रचण्ड–माधव समूह

    इटहरी । वाग्मती प्रदेशमा मुख्यमन्त्रीलाई अविश्वासको प्रस्ताव दर्ता भएको परकम्पन प्रदेश १ मा पनि परेको छ।

    वागमतीमा झैं प्रदेश १ मा पनि नेकपा ओली समूहका मुख्यमन्त्री भएकोले अविश्वासको प्रस्तावको अनुमान बढेको छ।

    प्रदेश १ को संसदीय दलका उपनेता तथा प्रचण्ड समूहका शीर्ष नेता टंक आम्बुहाङले अहिले नै अविश्वासको प्रस्ताव दर्ता नगर्ने नेपाल प्रेसलाई बताए। केन्द्रको निर्देशन आएपछि भने दर्ता हुनसक्ने आम्बुहाङले जानकारी दिए ।

    प्रदेश १ को प्रदेशसभा साउन ९ बाट स्थगन भएको छ । ९३ सदस्यीय प्रदेशसभामा नेकपाका ६७ सांसद छन् । जसमा मुख्यमन्त्री शेरधन राईलाई पूर्व एमालेतर्फका २६ सांसदले भोट दिएर तत्कालीन एमालेको संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बनाएका थिए ।

    नेकपा एकीकरणपछि पनि राई दलको नेता र मुख्यमन्त्री छन् । प्रमुख सचेतक बुद्धिकुमार राजभन्डारी पनि ओली समूहकै हुन्। ओली र प्रचण्ड समूहले अविश्वास आएको खण्डमा कांग्रेससँग तालमेलको तयारी समेत गरेका छन् ।

    कांग्रेस संसदीय दलका नेता राजिव कोइरालाले घुमाउरो रूपमा यसको स्वीकार गरेका छन् । नेपाल प्रेससँग बोल्दै कोइरालाले भने- अहिले सरकार बनाउने औपचारिक प्रस्ताव आएको छैन। तर,दुई पक्षका साथीहरूसँग स‌ंवादमा चैं म छु। प्रदेश १ सभाको प्रमुख प्रतिपक्षी दल कांग्रेससँग २१ सिट छन् । नेकपा फुटेपछिको नयाँ सत्ता समीकरण हुँदा कांग्रेस दुवै समूहलाई निर्णायक छ।