Blog

  • नेकपा आधिकारिकता विवाद निरुपण हुन अझै दुुई महिना लाग्न सक्ने

    नेकपा आधिकारिकता विवाद निरुपण हुन अझै दुुई महिना लाग्न सक्ने

    काठमाडौं । नेपाल कम्युुनिष्ट पार्टी (नेकपा)को आधिकारिकता र चुनाव चिह्नसम्बन्धी विवाद निरुपण हुन अझै कम्तीमा दुई महिना लाग्ने सङ्केत देखिएको छ । विवाद निरुपणका लागि अपनाउनुपर्ने विधि, प्रक्रिया र समयका आधारमा नेकपाभित्रको हालको विवाद छिनोफानो गर्न उक्त समयावधि लाग्ने अनुमान गरिएको हो ।

    केन्द्रीय समितिको निर्णयको आधिकारिता दाबी गर्ने पक्षले दलको केन्द्रीय समितिको ४० प्रतिशत सदस्यको हस्ताक्षरसहित विवाद प्रारम्भ भएको मितिले ३० दिनभित्र आयोगसमक्ष आधार तथा प्रमाण पेश गर्नुपर्ने ऐनमा व्यवस्था छ ।

    नेकपा (दाहाल–नेपाल) समूहले उक्त ऐनमा व्यवस्था भएअनुरुप केन्द्रीय सदस्य बहुमत रहेको भनी आयोगसमक्ष आधिकारिकता र चुनाव चिह्नको माग दाबी गरिसकेको छ । एउटै दलका दुई वा सोभन्दा बढी पक्षबीच दलको नाम, छाप, विधान, झण्डा वा चिह्न, पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयका विषयमा विवाद उत्पन्न भएमा त्यस्तो विवादको निरुपण आयोगबाट हुने ऐनमा व्यवस्था छ ।

    उक्त दाबीका सन्दर्भमा लिखित जवाफ पेश गर्नका लागि यस्तो दाबी तथा प्रमाण प्रतिलिपि संलग्न गराई आयोगले अर्को पक्षलाई १५ दिनको सूचना दिइने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

    उक्त सूचना प्राप्त भएपछि यस्तो अवधिभित्र सम्बन्धित पक्षले आफ्नो लिखित जवाफ र पुष्ट्याई गर्ने आधार तथा प्रमाण पेश गर्नुपर्नेछ । पहिलोपटक दिइएको अवधिभित्र लिखित जवाफ पेश गर्न नसकेमा सम्बन्धित पक्षको अनुरोधमा लिखित जवाफ पेश गर्न आयोगले १० दिनको म्याद थप गर्न सक्नेछ ।

    उक्त अवधिभित्र लिखित जवाफ पेश भए पनि नभए पनि आयोगले विवादका सम्बन्धित पक्षलाई निरुपणका लागि आयोगमा उपस्थित हुन अवधि तोकेर सूचना दिनेछ । विवादका पक्षहरु आयोगमा उपस्थित भई निरुपण गर्न सहमत भएमा आयोगले पक्षबीच कायम भएको सहमतिअनुरुप विवाद निरुपण गर्नेछ ।

    सहमति कायम हुुन नसकेमा आयोगले दुुवै पक्षको दाबी, लिखित जवाफ र प्रमाणसहितको आधारमा कुनै एक पक्षलाई मान्यता प्रदान गर्न सक्ने कानूनी व्यवस्था छ ।

    विवादका कुनै पक्षलाई मान्यता दिन सकिने रहेनछ भने आयोगमा दाबी पेश गर्नुअघि त्यस्तो दलका तर्फबाट आयोगमा पेश भएको केन्द्रीय समितिका पदाधिकारी र सदस्यका नाममध्ये जुन पक्षसँग बहुमत छ त्यस्तो पक्षलाई विवाद उत्पन्न हुनुअघिको दलको हैसियत र अर्को पक्षलाई छुट्टै राजनीतिक दलको मान्यता दिन सकिनेछ ।

    निर्णय गर्ने सन्दर्भमा कुनै पक्षको बहुमत नदेखिएमा आयोगले विवादका पक्षबाट पेश भएका प्रमाण, सम्बन्धित दलको विधान र अन्य सम्बद्ध प्रमाणका आधारमा निर्णय गर्ने ऐनमा व्यवस्था रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए। विवाद निरुपण गर्दा आयोगले विवादका पक्षको सुनुवाइ गर्नुपर्नेछ ।

    उक्त प्रयोजनका लागि आयोगमा तत्काल कायम रहेको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त रहेको इजलास कायम हुने ऐनमा व्यवस्था छ । सुनुवाइमा विवादका पक्षले आफ्नो कानून व्यवसायी मुकरर गरी इजलाससमक्ष बहस पैरवी गराउन सक्नेछन् । सुनुवाइ गर्दा आयोगले विवादका पक्षलाई सुनुवाइ हुने दिनभन्दा सात दिनअगावै सूचना दिनुपर्नेछ । सुनुवाइका क्रममा आयोगले अदालतलाई भएसरहको अधिकार प्रयोग गर्नेछ ।

    आयोगले यसरी सुनुवाइ गर्दा लिखित जवाफ पेश भएमा पेश भएको मितिबाट तथा जवाफ पेश नभएमा पेश गर्ने अवधि नाघेको मितिबाट ४५ दिनभित्र निर्णय गर्नुपर्ने राजनीतिक दलसम्बन्धी ऐनमा व्यवस्था छ ।

    प्रतिनिधिसभा विघटनको निर्णयसँगै नेकपाभित्र उक्त कदम ठीक वा बेठीक भनी समूह विभाजनका साथै दलको आधिकारिकता र निर्वाचन चिह्नसम्बन्धी विवाद उत्पन्न भएको छ । उक्त विवादको छिनोफानोको विषय अहिले निर्वाचन आयोगमा पुगेको छ ।

    रासस

  • बेलायतबाट फर्किएका पाँच जनामा नयाँ प्रजातिको कोरोना

    बेलायतबाट फर्किएका पाँच जनामा नयाँ प्रजातिको कोरोना

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नयाँ प्रजाति (भेरियन्ट)को उद्गमस्थल बेलायतबाट आएका १९३ जनालाई निगरानीमा राखेको छ । तीमध्ये पाँचजनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले निगरानीमा राखिएकालाई ज्वरो र रुघा लागेको लक्षण देखिए पीसीआर परीक्षण गरेर उपचार गरिने जानकारी दिए ।

    महाशाखाले आज मात्र तीमध्ये १२ जनाको पीसीआर परीक्षण गरेको छ । मन्त्रालयले यसअघि नै सूचना जारी गरी यही पुस १ गतेदेखि ७ गतेभित्र बेलायत अथवा बेलायतको बाटो हुँदै नेपाल प्रवेश गरेका सबैका अनिवार्य रुपमा १० दिन होटल क्वारेन्टिनमा बस्न अनुरोध गरेको थियो ।

    मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी कोभिड–१९ को विकसित रुप नै नयाँ प्रजातिको भाइरस रहेको बताए । “ भाइरस परिवर्तन हुन्छन् । त्यस्तै कोभिड–१९ भाइरस परिवर्तन भएर नयाँ भाइरस बनेको हो” उनले भने, “कोभिड–१९ जस्तै यसको लक्षण हुन्छ । यसको सर्ने क्षमता भने अलि बढी नै छ । थप अध्ययन हुन बाँकी छ ।”

    उनले कोभिड–१९ जस्तै यसले पनि फोक्सोमा असर गर्ने बताए । उनले बेलायत, अमेरिका र अफ्रिकाबाट आएका मानिसको पीसीआर परीक्षण र क्वारेन्टिनमा राखिएको जानकारी दिए ।

    महाशाखाका निर्देशक डा पाण्डेले पीसीआर परीक्षणबाट नै नयाँ प्रजातिको भाइरस पत्ता लगाउन समस्या भइरहेकाले पुनःपरीक्षणका लागि बाहिर पठाउने तयारी पनि भइरहेको जानकारी दिए ।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले नयाँ प्रजातिको भाइरसका बिरामी कोभिड–१९ जस्तै रहेको र यसले सङ्क्रमण सार्ने दर बढिरहेको जानकारी दिए । उनका अनुसार ती संक्रमितको उपचार पनि कोभिड–१९ का बिरामी जस्तै गरिन्छ ।

  • देउवा भन्छन्ः अदालतको फैसला मान्छौं, त्यतिन्जेल एक्लै प्रदर्शन गर्छौं

    देउवा भन्छन्ः अदालतको फैसला मान्छौं, त्यतिन्जेल एक्लै प्रदर्शन गर्छौं

    काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनका सन्दर्भमा अदालतको फैसला पर्खेर बस्ने बताएका छन् । संसद विघटनविरुद्ध देशव्यापी प्रदर्शनका क्रममा सोमबार भक्तपुरमा आयोजित कार्यक्रममा सभापति देउवाले अदालतको फैसला नआउन्जेल कांग्रेस एक्लैले प्रदर्शन गर्ने बताए । कांग्रेस अरु पार्टीसँग लागेर संयुक्त रुपमा आन्दोलनमा नजाने उनले बताए ।

    देउवाले भने– हामी अदालतको फैसला मान्ने पार्टी हौं । अदालतले स्वविवेकीय निर्णय जे गर्छ त्यो मान्छौं । हामी अदालतलाई धम्क्याउने, तर्साउने काम गर्दैनौं । आफ्नो भने बमोजिमको फैसला आएन भनेर विरोध पनि गर्दैनौं । फैसला आउँदै गर्ला त्यतिन्जेल ओली सरकारको अप्रजातान्त्रिक कदमविरुद्ध एक्लै आन्दोलन गर्छौ ।

    देउवाले पंचायतकालमा समेत न्यायालयले स्वतन्त्र रुपमा काम गरेकाले अदालतको स्वतन्त्र भूमिकामा कांग्रेसले विश्वास गरेको समेत बताए । देउवाले आफ्नो भाषणभरि प्रतिनिधिसभा पुन:स्थापनाकाे कुरा भने गरेनन् ।

     

  • नेप्सेमा ५ अंकको वृद्धिसँगै नागरिक लगानी कोष सकारात्मक सर्किट ब्रेक नजिक

    नेप्सेमा ५ अंकको वृद्धिसँगै नागरिक लगानी कोष सकारात्मक सर्किट ब्रेक नजिक

    आज नेप्से ५‍.५७ अंकले उकालो लागेको छ । मंगलबार ०.२८ प्रतिशतले बढ्दै नेप्से २ हजार १२.८९ विन्दुमा रोकिएको छ ।

    आज भएको ८० लाख १ हजार ३१४ कित्ताको किनबेचमा ४ अर्व ९ करोड २२ लाख २७ हजार ८०२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

    आज लगानीकर्ता नागरिक लगानी कोषमा ओइरिंदा कोषको शेयर मूल्य करीब १० प्रतिशतले बढेको छ ।

    त्यस्तै, नारायणी विकास बैंकको शेयर पनि करीब १० प्रतिशतले बढेको छ । आज भएको कारोबारमा सबैभन्दा बढी नबिल बैंकको ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

  • वैशाखमा चुनाव हुँदैन, आन्दोलनको विकल्प छैनः नेता पौडेल

    वैशाखमा चुनाव हुँदैन, आन्दोलनको विकल्प छैनः नेता पौडेल

    तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वैशाखमा कुनै हालतमा निर्वाचन नहुने ठोकुवा गरेका छन् । तनहुँमा आयोजित विरोधसभामा बोल्दै नेता पौडेलले प्रधानमन्त्री र राष्ट्रपति दुवै संविधान र लोकतन्त्र मास्न लागिपरेकोले निर्वाचन हुने भ्रममा पर्न नहुने पौडेलको भनाइ  थियो ।

    ‘प्रधानमन्त्री र राष्ट्रपति मिलेर लोकतन्त्र र संविधानकै हुर्मत लिएको बेलामा चुनाव हुन्छ भनेर बस्नुहुँदैन । आन्दोलनबाटै असंवैधानिक कदम सच्याउनुपर्छ’, पौडेलले भने । नेपाली कांग्रेसको पहिचान नै संघर्ष हो भन्दै नेता पौडेलले संघर्षबाट पछि हटे देश र जनताले दुःख पाउने बताए । ‘आज लोकतन्त्र मासिंदा पनि संघर्ष गर्न डराउने हो भने कांग्रेस हुनुको के अर्थ ? संविधान जोगाउन एकपटक सबैले सर्वसत्तावादविरुद्ध लड्नैपर्छ’, नेता पौडेलले भने ।

    सरकारको उद्देश्य नै भ्रष्टाचारीलाई संरक्षण गर्ने र लोकतन्त्र सिध्याउने रहेको भन्दै नेता पौडेलले वैशाखमा चुनाव गर्ने घोषणा राजनीतिक स्टन्ट मात्रै भएको बताए ।

  • प्रचण्डको दाबीः ओली पराजित भइसके, हाम्रो विजयको सुरुवात भयाे

    प्रचण्डको दाबीः ओली पराजित भइसके, हाम्रो विजयको सुरुवात भयाे

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनपछि आफूहरुको विजयको सुरुवात भएको बताएका छन् ।

    ‘पार्टी भित्रको संघर्षलाई देशमा राजनीतिक संकट ल्याउने हदसम्म गएर ओलीजी इतिहासमा प्रतिगमनको बाहक बन्नु दुभाग्यपूर्ण त हो,’ सोमबार पेरिसडाँडामा आयोजित जनसांस्कृतिक महासंघको भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘तर मैले के भनेको छु भने केपी ओली इतिहासमा पराजित हुनुभयो । उहाँ कलंकित हुनुभयो। उहाँले कलंकको टीका लगाउनुभयो । फेरि एकचोटि हाम्रो विजय अभियानको सुरुवात भयो ।’

    प्रचण्डले ओलीलाई ‘श्री ३ महराज’ बन्न खोजेको आरोपसमेत लगाए। भने, ‘केपी ओली सामन्ती शासकजस्तो, श्री ३ महाराज जस्तो, जङ्गे (जङ्गबहादुर राणा) बन्ने बाटोमा हिंड्नुभयो।’

    प्रचण्डले सदन विघटित नभई ओली नेतृत्वको सरकारको विघटन भएको बताए । ‘सदन मरेको छैन, जीवित छ,’ उनको भनाइ थियो, ‘सदन विघटन भएको छैन । विघटन भएको केपी ओलीको सरकार हो ।’

    संविधान र जनताको भावनाविपरीत प्रतिनिधिसभा विघटन गरिएको भन्दै प्रचण्डले अदालतले त्यसको पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरे ।

    ‘सम्मानित अदालतले यति सामान्य कुरा, संविधानमा बडो प्रष्टसँग लेखिएको प्रावधान बुझ्दैन भनियो भने अदालतको अपमान गरेको ठहर्छ,’ प्रचण्डको भनाइ थियो, ‘म अदालतको भरोसा गर्न चाहन्छु । छिटो भन्दा छिटो प्रतिनिधिसभा सुरु गर्ने आदेश आउनेमा विश्वास छ ।’

    केहीले आफूहरु सडकमा पुग्यौं भनेर चिन्ता गरेको भन्दै प्रचण्डले आफूहरु सडकमा नभई जनताको बीचमा पुगेको बताए । ‘केपी ओलीलाई धन्यावाद’ उनको भनाइ थियो, ‘उहाँले हामीलाई जनताको बीचमा जाने बाटो देखाइदिनुभयो ।’

     

  • ‘स्मार्ट सिटी’ हाम्रो लक्ष्य हो: वालिङका नगर प्रमुख खाँण

    ‘स्मार्ट सिटी’ हाम्रो लक्ष्य हो: वालिङका नगर प्रमुख खाँण

    स्याङ्जाको वालिङ नगरपालिकालाई ‘स्मार्ट नगर’ बनाउने कार्यक्रमको घोषणापछि लक्ष्य प्राप्तिका लागि कार्यान्वयनकाे चरणमा छ । लक्ष्य प्राप्तिका लागि नगरपालिका बीसवर्षे बृहत् योजना, पाँचपाँचवर्षे आवधिक योजना र एकएक वर्षे रणनीतिक योजना बनाएर अगाडि बढेको छ ।

    विसं २०५३ मा साविकका वालिङ, पेखु बाघखोर र धनुबाँसे गाविसलाई मिलाएर वालिङ नगरपालिका बनेको हो ।

    राज्यको पुनःसंरचना अनुसार नगरपालिकामा थुमपोखरा, केवरेभञ्ज्याङ, माझकोट शिवालय, एलादी र सिर्सेकोटका सबै वडा तथा छाङ्छाङ्दी, स्वरेक, कालिकाकोट, तिन्दोबाटे, मनकामना र पेलाकोटका केही वडा समायोजन भई हालको वालिङ नगरपालिका बनेको हो ।

    उत्तरमा भीरकोट नगरपालिका, पूर्वमा बिरुवा गाउँपालिका र दक्षिणपूर्वमा चापाकोट नगरपालिका, दक्षिणमा गल्याङ नगरपालिका र पश्चिममा पर्वतको पैयूँ गाउँपालिकाले घेरिएको वालिङ स्याङ्जाको मध्यभागमा अवस्थित मुख्य व्यापारिक केन्द्रसमेत हो ।

    देशका १३ शहरलाई ‘स्मार्ट सिटी’ निर्माण गर्ने घोषणासँगै वालिङलाई पनि समावेश गरी काम अगाडि बढिरहेको छ । ‘स्मार्ट सिटी’ को अवधारणामा अगाडि बढ्दै गरेको वालिङका नगर प्रमुख दिलीपप्रताप खाँणसँग राससका वालिङ संवाददाता तोलाकान्त बगालेले गरेको कुराकानीको अंश

    वालिङ नगरपालिकामा यहाँले नेतृत्व प्राप्त गर्नुभएको साढे तीन वर्ष पूरा भएको छ, यस अवधिमा नगरपालिकाले हासिल गरेका मुख्यमुख्य उपलब्धि के के हुन् ?

    स्मार्ट सिटीका लागि आवश्यक पर्ने पूर्वाधारहरुको योजना बनाई सडक, खानेपानी, सिंचाइ, सञ्चार सञ्जाल (फाइबर लाइन) का कार्य अगाडि बढेका छन् । आधारभूत आवश्यकताका रुपमा तथ्याङ्क सङ्कलन, प्रशोधन, विश्लेषण गर्ने कार्य भएका छन् । आँधीखोला नियन्त्रण गर्ने, आँधीखोलाका दुवै किनारमा करिडोर निर्माण, नगरभित्रका सडक सुरक्षित गर्ने र विपद् न्यूनीकरण गर्ने कार्य भएका छन् । इनोभेसन सेन्टर, इन्कुवेशन सेन्टर, मेन्टर सिस्टम स्थापना भएका छन् । सुशासनका विभिन्न आयाममध्ये कानून, नियम र कार्यविधि निर्माण भएका छन् । डिजिटल प्रविधिको विकास गर्दै ‘गुड गभर्नेन्स’ स्थापित गरेका छौंँ । आर्थिक विकासका लागि स्वरोजगार सिर्जनाका लागि सीप हस्तान्तरण, लगानीको वातावरण र बजारीकरणको ब्यवस्था अगाडि बढाएका छौंँ । विशेष गरी नागरिकमा चेतनाको स्तर बढाउनका लागि सूचना प्रविधिको अधिकतम प्रयोग भएको छ र बुझाइमा नवीनता स्थापना गर्न प्रयासरत छौं ।

    नगरपालिकामा विकासनिर्माणको स्पष्ट खाका तयार गरी भौतिक पूर्वाधारका कार्य थालनी गरेका छौं। नगरवासीका आधारभूत आवश्यकता पूरा गर्नका लागि उहाँहरुकै चाहनाबमोजिम अगाडि बढेका छौंँ । सडक विस्तार, सडकको स्तरोन्नति, स्वास्थ्यको पहुँच विस्तार, शुद्ध प्रशोधित खानेपानी, व्यावसायिक कृषि, पशुपालनलाई प्राथमिकता, औद्योगिक ग्राम सञ्चालन गर्ने तयारी भइरहेको छ भने एकीकृत बस्ती विकास, सरसफाइ, शिक्षामा गुणस्तर वृद्धि गर्नाका साथै आधुनिक प्रविधिलाई पछ्याउँदै कार्यसम्पादनमा सुधारसहित फड्को मारेका छौंँ । नगरपालिकाले ‘स्मार्ट सिटी’ निर्माणका लागि कदम अगाडि बढाएको छ । वालिङको गन्तव्य भनेको ‘स्मार्ट सिटी’ हो, अहिले पाइला मात्रै चालेका छौंँ, यो पूरा हुन २० वर्ष लाग्ने अनुमान गरेका छौंँ । आशा छ, वालिङलाई तोकिएको अवधिभित्रै ‘स्मार्ट सिटी’ घोषणा गर्न सफल हुनेछौंँ । उक्त दिन वालिङ नगरपालिका देशकै पहिलो ‘स्मार्ट सिटी’ का रुपमा घोषित हुने छ ।

    विश्वभरि महामारीका रुपमा फैलिरहेको कोभिड– १९ ले गर्दा विकासनिर्माणमा के कस्तो असर पर्‍यो ?

    कोभिड –१९ का कारण वालिङ अछुतो रहने त कुरै भएन । कोभिडले यहाँ पनि असर गरेको छ । विकासनिर्माणका कार्यमा अवरोध सिर्जना भए । बजेट न्यून आएको छ जसका कारण थालिएका कार्य सम्पन्न हुन सकिरहेका छैनन् । भोलिका अवस्थामा यस्ता महामारीका बाबजुद वैकल्पिक उपाय अपनाउन सकिने अवस्थामा पुग्न कोशिश गरेका छौंँ । नागरिकको स्वास्थ्य पहिलो कुरा ठानेर अथवा नागरिकको स्वास्थ्यप्रति बढी सजग हुँदै नीति तथा कार्यक्रम बनायौंँ । नागरिकको मौलिक हकका रुपमा रहेको स्वास्थ्यप्रति सचेत हुँदै अगाडि बढ्यौंँ । नागरिकको जीवनरक्षा गर्न सक्यौंँ भने विकासनिर्माण त आगामी दिनमा पनि गर्न सकिन्छ, पाइन्छ भन्ने भावनाका साथ निरन्तर अगाडि बढेका छौ‌ ।

    विदेशबाट फर्केर रोजगारी गुमाएका स्थानीय बासिन्दाका लागि नगरपालिकाले रोजगारीको अवसर दिनका लागि केकस्तो योजना बनाएको छ ?

    विशेषतः नगरपालिकाले क्वारेन्टिन र आइसोलेशनमा बस्दा विदेशबाट आएका व्यक्तिसँग उनीहरुका विचार, योग्यता र फर्किने नफर्किने जस्ता प्रश्न सोधी तथ्याङ्क सङ्कलन गरेका थियौंँ । तिनै नागरिकलाई लक्ष्य गरी नगरपालिकाले युएनडिपीसँगको सहकार्यमा पोष्ट कोभिड –१९ का कार्यक्रम सञ्चालन गरेका छौंँ । उनीहरुसँग रहेको सीप परिमार्जित गर्ने, नयाँ सीप हस्तान्तरण गर्ने, उत्पादन र स्वरोजगारमा संलग्न गराउने र उत्पादित वस्तुलाई बजारीकरणमा पनि सामेल गराउने जस्ता कार्य सञ्चालन गरिएका छन् । साथै उनीहरुले यहीँ केही उद्यम गर्न चाहेमा त्यसका लागि आवश्यक वातावरण मिलाइदिने र नगरपालिकाका तर्फबाट विनाब्याज बीउपूँजी उपलब्ध गराउनाका साथै बैंक तथा वित्तीय संस्था, नगरपालिका जमानी बसेर सस्तो र सुलभ ब्याजदरमा व्यावसायिक कर्जा उपलब्ध गराउँदै आएका छौंँ ।

    नगरपालिकाले नीति तथा कार्यक्रममा कस्ता योजनालाई बढी प्राथमिकतामा राखेर काम गरेको छ ? नगरका गौरवका योजना केके हुन् ?

    नगरपालिकाले बीसवर्षे बृहत् योजना, पाँचवर्षे आवधिक योजना र एक वर्षे रणनीतिक योजनाहरु बनाएको छ र स्मार्ट सिटी निर्माणका लागि आधारभूत विकासको शहर, स्वाबलम्बी शहर हुँदै २० वर्षमा स्मार्ट सिटी निर्माण गर्ने योजनाअनुसार आफ्ना नीति तथा कार्यक्रम अगाडि सारेको छ । सोहीअनुसार हरेक वर्ष निर्धारित कार्यक्रमअनुसार आफ्ना प्राथमिकतालाई अगाडि बढाएको छ ।
    पूर्वाधार निर्माण गर्दा तथा योजना बनाउँदा दूरगामी सोचका साथ अगाडि बढिरहेका छौंँ । हाम्रा पूर्वाधारहरुले आगामी नयाँ पुस्ताका लागि पछिसम्म धान्न सक्ने सडक सञ्जाल, खानेपानी प्रणाली, सिंचाइ प्रणालीमा दिगो विकासलाई लक्ष्य गरी योजना बनाएका छौंँ । वातावरणीय सुधार, नदी नियन्त्रण, नदीहरुमा करिडोर निर्माण, तालतलैया निर्माण, पानीको भूसतह उठान, प्राकृतिक चक्रीय प्रणालीको सन्तुलनका साथ आधुनिक स्वस्थकर हावापानी, शारीरिक परिश्रम गर्ने स्थलहरुको निर्माण गर्नाका साथै मानसिक सन्तुलनका लागि मनोरम पार्क निर्माणलाई प्राथमिकता दिएका छौंँ । सुनौली–पोखरा सिद्धार्थ राजमार्ग वालिङ नगरपालिकाभित्र १२ किलोमिटर पर्छ । नगरपालिकाकै पहलमा सडक चौडा गरी ‘डेडिकेटेड टु लेन’ बनाउने कार्य भइरहेको छ ।

    जिल्लाकै सभ्यता तथा धार्मिक आस्थासँग जोडिएको आँधीखोलाको दुवै किनाराबाट आँधीखोला करिडोर निर्माण भइरहेको छ भने नगरका विभिन्न वडाका गाउँमा बाह्रै महिना सवारी साधन सञ्चालनका लागि ग्रामीण सडक विस्तार तथा स्तरोन्नति भइरहेको छ । चौध वटा वडामा १७ वटा स्वास्थ्यचौकी तथा शहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । वालिङमा सुविधासम्पन्न अस्पताल निर्माणका लागि जग्गा खरीद गरी निर्माण प्रक्रिया थालिएको छ । स्वच्छ र सफा शुद्ध खानेपानीका लागि वडावडामा खानेपानीका योजना सञ्चालन भएका छन् । आधुनिक प्रविधिलाई पछ्याउँदै आइटी र आइओटीका क्षेत्रमा धेरै अगाडि बढेका छौंँ । फोहोर मैला व्यवस्थापनमा देशकै उत्कृष्ट भई पुरस्कृत भएको र अहिले सोही ठाउँमा दिसाजन्य लेदो व्यवस्थापनका लागि प्लान्ट निर्माण भईरहेको छ । वालिङ– ९ सुर्कौदीमा एकीकृत बस्ती विकास ९नयाँ शहर० बसाल्नका लागि तयारीलाई अन्तिम चरणमा पुृर्‍याइएको छ । कृषि तथा पशुपालनका क्षेत्रमा व्यवसायीलाई बीउपूँजी उपलब्ध गराएका छौंँ भने गाउँगाउँमा सहकारी गठन गरी सोहीमार्फत लगानीको व्यवस्था मिलाएका छौंँ ।

    कोरोना महामारी रोकथाममा वालिङ नगरपालिकाले के कस्ता गतिविधि गरेको छ ?

    यसको रोकथामका लागि हरेक घर, हरेक गाउँ, टोल र वडास्तरबाट नै सचेत हुन जरुरी थियो । त्यसैले समग्र नगरको सुरक्षाका लागि हरेक टोलटोलका समितिलाई चेतनामूलक कार्यक्रम गरियो, निगरानीको जिम्मा दिइयो । नगरस्तरीय समिति गठन गरी हरेक पलपलको सूचना र आवश्यक कार्य गरियो । विदेशमा रहेका वालिङबासीको तथ्याङ्क सङ्कलन गरी कति आउन सक्ने अनुमान गरियो। करीब १,२०० व्यक्तिहरु आउन सक्ने अनुमान गरी त्यहीअनुसारका क्वारेन्टिन निर्माण, आइसोलेशन र कोभिड अस्पतालको व्यवस्थापन गरियो र अहिले पनि पाँच शय्याको आइसोलेशन सञ्चालनमा छ जसमा सबै आवश्यक सुविधा मौजुद छन् । आइसोलेशनको व्यवस्था छ र नियमित पिसिआर परीक्षण जस्ता सम्पूर्ण कार्य निःशुल्करुपमा उपलब्ध छ । अहिलेसम्म क्वारेन्टिनमा १,५०० भन्दा बढी व्यक्ति बसिसक्नुभएको छ । करीब २,२०० जनाको पिसिआर परीक्षण गरिएको र २०० भन्दा बढी आइसोलेशनमा बस्नुभएको छ । तीस जनाभन्दा बढी कोभिड अस्पतालमा बस्नुभएको छ । नगरपालिकाले कोभिड– १९ का कारण रोजगारी गुमाएका तथा अतिविपन्नलाई लक्ष्य गरी १२ हजार नौ जनालाई खाद्यान्न तथा राहत वितरण गरेको थियो । वालिङ नगरपालिका कोभिड– १९ राहत कोष स्थापना गरी त्यहाँ विभिन्न सङ्घसंस्था तथा व्यक्तिबाट अर्थ तथा खाद्यान्न सङ्कलन गरी न्यून आय भएका अतिविपन्न, मजदूरलाई राहत वितरण गरिएको थियो । नगरपालिकाले सञ्चालन गरेको कोभिड कोषमा रु एक करोड १२ हजार ७६३ सङ्कलन भएको मध्ये राहत, आइसोलेशन र क्वारेन्टिन खर्चमा रु ८३ लाख ३४ हजार ७०३ खर्च भएको छ ।

    वालिङलाई स्मार्ट नगरपालिका बनाउनका लागि कार्यान्वयनका चरणमा हुनुहुन्छ, स्मार्ट पालिकाका लागि के काम भइरहेको छ ?

    वालिङ नगरपालिका स्मार्ट वालिङ बनाउने कार्यक्रमको घोषणा भएको हो । यसका लागि विभिन्न योजनाका साथ अगाडि बढेका छौँ । वालिङको विकासलाई तीन चरणमा विभाजन गरेर पहिलो आधारभूत आवश्यकता पूर्ण गर्ने गरी आधारभूत सिटीका रुपमा १७ वटा दिगो विकास लक्ष्यसहितको शहरका रुपमा र अन्तमा स्मार्ट वालिङका रुपमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ ९आइओटी० को पूर्ण उपयोग गरी २० आ्रैँ वर्षमा नेपालको सापेक्ष स्मार्ट वालिङका रुपमा घोषणा गर्नेछौंँ ।

    वालिङ नगरपालिकाले सूचना प्रविधिका क्षेत्रमा फड्को मार्दै अगाडि बढेको भन्ने सुनिन्छ, सूचना प्रविधिमा नगरपालिकाले प्राप्त गरेको हालको उपलब्धि के हो ?

    नगरपालिकालाई स्मार्ट सिटी बनाउने क्रममा हाम्रा चार वटा पिल्लरमध्ये एउटा पिल्लर स्मार्ट गभर्नेन्स हो । यसका विभिन्न आयाममध्ये महत्वपूर्ण आयाम डिजिटल गभर्नेन्स हो । डिजिटल गभर्नेन्सका लागि आइटीको अधिकतम उपयोग हुनुपर्छ, हाउस सर्भेदेखि लिएर जिआइएस प्रणालीसम्म, जिपिएस सिष्टमदेखि लिएर एप्लिकेशनसम्मका सफ्टवेयर प्रयोगमा आइसकेका छन् । त्यसैले हरेक नागरिकको सेवा, रेकर्ड सिष्टम, कार्यशैली, नगरपालिकाका सम्पूर्ण कार्य डिजिटल डाटाका रुपमा उपयोग गरी सम्पूर्ण सेवालाई सूचना प्रविधिका माध्यमबाट उपलब्ध गराई पेपरलेसका रुपमा कार्य गर्दै शून्य कागजका रुपमा स्थापित गर्ने कार्य अगाडि बढिरहेका छन् ।

    वालिङले फोहोर मैला व्यवस्थापनका क्षेत्रमा गरेको उपलब्धिको अध्ययन अनुगमनका लागि विभिन्न ठाउँबाट सङ्घसंस्था, व्यक्तिहरु आउने गर्नुहुन्छ, खासमा वालिङले फोहोर मैलाका क्षेत्रमा के गर्यो जुन यति धेरै चर्चामा छ ?

    वास्तवमा फोहोर भन्ने वस्तु नै हुँदैन । हामीले त्यसलाई फोहोर बनाइरहेका छौंँ । त्यसै हुनाले स्रोतमा नै हरेक वस्तुहरु अलगअलग गर्‍यौं भने त्यो फोहर होइन स्रोत हो । सबै एक ठाउँमा मिसायौं भने त्यस्ता वस्तु फोहर हुन्छन् । नगरपालिकाले स्रोतमै वस्तु अलगअलग छुट्टयाउने हुँदा हामीले स्रोतका रुपमा प्रयोग गरेका छौं । कुहिने वस्तुलाई मलका रुपमा उपयोग गर्ने, नकुहिने वस्तुलाई पुनः प्रयोगका रुपमा बिक्री गर्ने अथवा आफैँ प्रशोशन गर्ने कार्य गरेका छौं । त्यसैले हामीले फोहोरका रुपमा नभई स्रोतका रुपमा लिई स्रोतलाई व्यवस्थित गर्ने गरी हाम्रा कार्य अगाडि बढेका छन् । त्यस्तै हरेक घरका सेफ्टी ट्याङ्की भरिएपछि त्यस्ता सेफ्टी ट्याङ्की बाहिरी स्रोत ढल तथा खोलानालामा नमिसाउनका लागि दिसाजन्य लेदो व्यवस्थापनका लागि प्लान्ट निर्माण गरेका छौं । यसबाट कम्पोष्ट मल र बायोग्यास उत्पादन गरी प्रयोग गर्ने र पानीका स्रोत अन्य जमीनमा जीवाणु तथा विषाणु फैलिनबाट रोक्ने गरी अगाडि बढेका छाै।

    सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्व छ छैन, यहाँको अनुभव के छ ?

    तीन वटा सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वको मर्मअनुसार अगाडि बढ्ने भनिए पनि यसको कार्यान्वयन पक्ष खासै राम्रो हुन सकिरहेको छैन । अझै भनौं, कार्यान्वयनको पक्ष कमजोर भएको महसुस गरेको छु । विकासनिर्माणका क्रममा दोहोरोपन हुन नदिन, भ्रष्टाचार हुन नदिन, योजनाहरुको दिगोपना बनाउन पारदर्शिताका लागि पनि समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक छ जस्तो लाग्छ । जुन अपेक्षा संविधानमा राखियाे त्यसअनुसार नभएको पक्कै पनि हो । यसमा नगरपालिकाले कोशिश गरे पनि सन्तोषजनक परिणाम भने आउन सकेको अवस्था छैन ।

  • नेपाल-चीनको सम्बन्ध नयाँ उचाइमा : प्रधानमन्त्री ओली

    नेपाल-चीनको सम्बन्ध नयाँ उचाइमा : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनले पछिल्ला वर्षमा आपसी सम्बन्धलाई बलियो बनाउँदै विभिन्न क्षेत्रमा सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सक्षम भएको बताएका छन् ।

    प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको प्रतिनिधि मण्डलसँगको गए राति भएको शिष्टाचार भेटमा प्रधानमन्त्री ओलीले नजिकको छिमेकी र नेपालको मित्रका नाताले चीनले गर्दै आएको सहयोग र सहकार्य यथावत् रहने विश्वास पनि व्यक्त गरेका छन् ।

    सो अवसरमा उपमन्त्री क्वोले चिनियाँ राष्ट्रपति सि चीनफिङले नयाँ वर्ष २०२१ का लागि पठाएको शुभकामना सन्देश प्रधानमन्त्री ओलीलाई सुनाउँदै चीन र नेपालबीचको आपसी सम्बन्ध तथा दुई कम्युनिष्ट पार्टीबीचको भाइचारा सम्बन्ध गाढा हुँदै गएकाेमा खुशी व्यक्त गरेका थिए । प्रतिनिधि मण्डलले गए राति राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेट गरेको थियो ।

  • संसद विघटन असंवैधानिक हो तर अब चुनाव नै ठीक : महत

    संसद विघटन असंवैधानिक हो तर अब चुनाव नै ठीक : महत

    काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधि विघटनसम्बन्धी विषयमा सर्वोच्चले छिट्टै न्याय निरुपण गर्ने विश्वास व्यक्त गरेका छन् ।

    नेपाली कांग्रेसको काठमाडौं क्षेत्र नम्बर ५ समितिले आयोजना गरेको विरोध सभामा बोल्दै महतले कांग्रेसका दृष्टिमा संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम रहेको बताए ।

    ‘संविधानमा प्रधानमन्त्रीले चाहँदैमा संसद विघटन हुने व्यवस्था छैन । त्यसैले यो असंवैधानिक र अलोकतान्त्रिक छ । हामी आन्दोलनमा छौं तर यसको न्यायिक निरुपण अदालतले गरोस्’, महतले भने ।

    संसद विघटन असंवैधानिक भए पनि अब निर्वाचनको तयारी गर्नुपर्ने महतको भनाइ छ । संसद पुनःस्थापित भए जनता अझै दुई वर्ष कम्युनिष्ट सरकार भोग्न बाध्य हुने भन्दै नेता महतले निर्वाचन भए कांग्रेसको जित निश्चित रहेको बताए । ‘अब निर्वाचनका लागि दबाब बढाउनुपर्छ । निर्वाचनबाटै कम्युनिष्ट सरकारलाई विस्थापित गर्नुपर्छ’, महतको भनाइ थियो ।

    नेकपाभित्रको सत्ता संघर्षकै कारण संसद गुमेको प्रसंग केलाउँदै नेता महतले जहिले भए पनि कांग्रेसले चुनावको तयारी गर्नुपर्ने बताए । चुनावबाट नै कम्युनिष्ट सरकारका कदमविरुद्ध जनताले मत व्यक्त गर्ने महतको भनाइ थियो ।

  • एएफसीमा आर्मीलाई अवसर

    एएफसीमा आर्मीलाई अवसर

    काठमाडौं । शीर्ष डिभिजन खेल्ने नेपालको विभागीय टोलीले एसियाली फुटबल महासंघ (एएफसी)बाट केही दिन अगाडि मात्र लाइसेन्स प्राप्त गर्यो । ए डिभिजन लिग खेलेका १४ टोलीले मान्यता लिन पत्रचार गरे पनि केही मापदण्ड पूरा हुन नसक्दा एएफसीले सबैलाई मान्यता दिएन । त्रिभुवन आर्मी क्लबले मान्यता पाएसँगै अब आर्मीले मात्रै एएफसीका प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न पाउने भएको छ ।

    कुनै समय दक्षिण एसियामा बलियो मानिने नेपाली फुटबल पछिल्लो समय विभिन्न उतारचढावले गर्दा लयमा नदेखिनु तितो यथार्थ हो । एएफसीका प्रतियोगितामा बलियो चुनौति दिँदा दर्शकको वाह वाह बटुल्ने गरेको नेपाली क्लबले पछिल्ला केही संस्करण प्रतिनिधित्व गर्न सकेनन । कहिले विनाशकारी महाभूकम्प त कहिले फुटबल भित्रको आन्तरिक किचलोले नेपाली फुटबल भूमरीको भूंग्रोमा फस्यो । तर पनि विभागीय टोली हुनुको अर्थले आर्मीले एएफसीको लाइसेन्स पाउन सक्यो । अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता चुनौती नहुने फुटबलका विश्लेशक सञ्जीव मिश्रले बताए ।

    फुटबल विकासका लागि शीर्ष डिभिजन लिग खेल्ने क्लबलाई एएफसी लाइसेन्स प्रदान गर्दै फुटबल अगाडि बढाउने हेतु राखेको एएफसीले नेपालको एक मात्र क्लब त्रिभुवन आर्मी क्लबलाई मान्यता दिँदा अन्य शीर्ष डिभिजनका क्लबले मापदण्ड पूरा हुन नसकेको अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले स्विकार गरे ।

    विभागीय टोली त्रिभुवन आर्मी पछिल्लो पटक सम्पन्न शहिद स्मारक ‘ए’ डिभिजन लिगको उपविजेता हो । मोफसलका केही प्रतियोगितामा उपाधि जित्दै अन्य क्लबलाई बलियो चुनौति दिन आर्मीलाई अन्तर्राष्ट्रिय स्तरका क्लबसँग प्रतिस्पर्धा गर्न त्यति सहज भने छैन । त्यसो त विभागीय टोलीमा राष्ट्रिय टोलीको जर्सी पहिरिने खेलाडी पनि समावेश भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका केही प्रतियोगितामा अनुभव बटुलिसकेका छन् । जसले गर्दा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि हुन बलियो पक्ष हुनेछ ।

    अन्य क्लबलाई भन्दा आर्मीलाई साख जोगाइ राख्न वातावरण तुलना गर्दा केही सहज छ । आफ्नै मैदान, खेलाडीले पाउने सेवा र सुविधा आर्मीका लागि थप हौसलाका पाटा हुन । पूर्वाधारको अधिकतम सदुपयोग गर्दै अन्तर्राष्ट्रिय स्तरका क्लबलाई टक्कर दिने तयारीमा जुट्नु मिहिनेत जरुरी हुन्छ । यसका अलावा आर्मीलाई एएफसीले गरेको विश्वास र फुटबल विकासमा राखेको अपेक्षालाई पूरा गर्न दृढताका साथ लाग्नुको विकल्प छैन ।

  • बुधबार ४९ अकंले बढ्यो नेप्से, ४ अर्वको कारोबार

    बुधबार ४९ अकंले बढ्यो नेप्से, ४ अर्वको कारोबार

    काठमाडौं । बुधबार नेप्से परिसूचक ४९ दशमलव १७ अंकले बढेको छ । आज भएको कारोबारमा २ दशमलव ४४ प्रतिशतको वृद्धिहुदैं २,०६२ विन्दुमा रोकिएको छ ।

    ९९ लाख १० हजार ३ कित्ताको कारोबारमा ४ अर्व ४४ करोड ६२ लाख २२ हजार ५७९ रुपैयाँ बराबरको टर्न ओभर भएको छ । आज सबैभन्दा धेरै सिभम सिमेन्टको ३४ करोड ४४ लाख ६९ हजार ४७९ को कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै कमाउनेमा साल्ट ट्रेडिङ कर्पोरेशन (एसटीसी) ले करीब १० प्रतिशत वृद्धि भएको छ ।

  • किन आन्दोलनमा उत्रिए पठाओ राइडर ?

    किन आन्दोलनमा उत्रिए पठाओ राइडर ?

    काठमाडौं । मोटरसाइकल राइड शेयरिङ एप पठाओका राइडरहरुले आफ्नो माग पूरा नगरेको भन्दै पठाओको कार्यालयमा नाराबाजीसहित तोडफोड गरेका छन् ।

    कम्पनीले आफूखुशी निर्णय गरेको, कुनै सेवासुविधा नदिएको, राइडिङबापतको कमिसन धेरै लिएको भन्दै पठाओ राइडरहरु आन्दोलनमा उत्रिएका हुन् ।

    आन्दोलनमा उत्रिएका राइडरहरुले गत सोमबार आफ्नो माग पूरा गर्नुपर्ने भन्दै ११ बुँदे माग राखेका थिए ।

    उनीहरुले बीमा सेवा हुनुपर्ने, ग्राहकसँग जोडिंदा कम्पनीले लिंदै आएको सेवा शुल्क घटाउनुपर्ने, पूर्वजानकारी विना हटाउन नपाइने, कम्पनीले ग्राहकको मात्र नभई राइडरहरुको पनि दोहोरो कुरा सुनुवाई हुनुपर्ने, संकलन दर घटाउनुपर्ने माग राखेका थिए ।

    यस्तै राइडरहरुले कम्पनीलाई बुझाउनुपर्ने सेवा शुल्क बापतको बाँकी रकम बढाउनुपर्ने, खल्ती मोबाइल वालेटबाट जति पनि तिर्न पाउनुपर्ने, कस्टमर केयर नम्बरहरु टोल फ्रि हुनुपर्ने, विपीजीको कारण राइडरलाई हटाउन नपाइने, सस्पेण्ड रेकर्ड राख्नुपर्ने, राइडरले स्वेच्छाले क्यान्सिल गराउन पाउनुपर्नेलगायतका ११ बुँदे माग राइडरहरुले पठाओ कम्पनीमा राखेका थिए ।

    तर कम्पनीले आफनो माग सम्बोधन गर्न चासो नदिएको भन्दै आन्दोलनमा उत्रिनुपरेको पठाओ राइडर शान्तिका नेपालले बताए ।

    पठाओ एप मार्फत ग्राहकले आवश्यकता अनुसार मोटरसाइकल तथा ट्याक्सी सेवा लिनको लागि राइडर र ग्राहकलाई जोड्ने काम गर्छ ।

    दुई वर्ष अघिदेखि सञ्चालनमा आएको पठाओमा हाल ७५ हजार राइडरहरु आवद्ध भएका छन् ।

    ग्राहकलाई सेवा प्रवाह गर्दै आएका राइडरहरु समूहबद्ध भई कम्पनीमा आएर सेवा प्रवाह गर्न थप सजिलो होस् भनेर केही बुँदा मागहरु राखेकाेमा अनर्गल प्रचारबाजी गरी कम्पनीले गर्दै आएको काममा नकारात्मक असर परेको पठाओले विज्ञप्तिमार्फत जनाएको छ ।

    कम्पनीले भने राइडरहरुले राखेका कतिपय मागहरु कम्पनीको नियम विपरीत रहेको बताएका छन् ।

    कम्पनीले राइडरहरुको माग सम्बोधनको प्रयास भइरहेको बतायाे ।

    पठाओले राइडरले राखेका मागहरुको विषयमा स्पष्ट धारणा राखेकाले अनावश्यक विवाद निकाल्नु उचित नभएको समेत बताएको छ ।

     

  • विश्व चर्चित फेसन ब्रान्ड केन्जोले नेपालको बाघ संरक्षणमा सघाउने

    विश्व चर्चित फेसन ब्रान्ड केन्जोले नेपालको बाघ संरक्षणमा सघाउने

    पेरिसको फेसन ब्रान्ड क्यू केन्जोले नेपालको बाघ संरक्षणमा सहयोगी हात अघि बढाएको छ । इक्लेक्टिक र हाइ एनर्जी स्टाइलले विश्व चर्चित यो फेसन ब्रान्डले आफ्ना उत्पादन विक्री भएबापत १० प्रतिशत नेपालको बाघ संरक्षणमा जाने बताएको हो ।

    उक्त च्यारिटी रकम विश्व वन्यजन्तु कोषमार्फत नेपालमा लगानी हुने जनाइएको छ । केन्जोले केही महिना पहिले डब्लुडब्लुएफसँग मिलेर क्याप्सुल कलेक्सन सार्वजनिक गरेको थियो । टिसर्ट, स्वेटसर्ट र हुडिज विक्रीको १० प्रतिशत बाघ संरक्षणका लागि भैरहेको प्रयासमा खर्चिने जनाइएको छ ।

    यी पहिरनको मूल्य १९५ अमेरिकी डलरदेखि ४९५ सम्म छन् । सन् २०२० को अन्त्यसम्म यो फेसन ब्रान्डले बाघको संख्यालाई दोब्बर बनाउने डब्लुडब्लुएफको योजनालाई सघाउने भएको छ । यी दुई नामहरुको परियोजनालाई टीएक्सटु इनिसिएटिभ भनिएको छ ।

    ग्लोबल टेक्सटाइटलको मापदण्डमा रहेर बनाइएका विशुद्ध सूतीका पहिरन बिक्रीमा केन्जो अगाडि छ । रिहाना, बियोन्से, सेलेना गोमेज र लर्डी यो उत्पादनका प्रशंसक छन् । सन् १९७० मा जापानी फेसन डिजाइनर केन्जो ताकाडाले ब्रान्ड स्थापना गरेका थिए ।

    यसअघि पनि नेपालको बाघ संरक्षणमा हलिउड अभिनेता लियोनार्दो डिकाप्रियोले एक मिलियन अमेरिकी डलर सहयोग गरेका थिए । ‘टाइटानिक’ अभिनेता स्वयम नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज भ्रमणमा आएका थिए ।

  • विराटनगरबाट कांग्रेस नेताले भनेः संसद विघटन हुनुमा ओली मात्रै दोषी छैनन्

    विराटनगरबाट कांग्रेस नेताले भनेः संसद विघटन हुनुमा ओली मात्रै दोषी छैनन्

    विराटनगर । नेपाली कांग्रेसका नेताहरूले संसद विघटन हुनुमा प्रधानमन्त्री ओली मात्रै दोषी नभएको बताएका छन् । विराटनगरको विरोधसभालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय डाक्टर शेखर कोइराला र नेपाली कांग्रेस प्रदेश १ का मुख्य सचेतक केदार कार्कीले प्रधानमन्त्रीको असंवैधानिक कदममा प्रचण्ड र माधव नेपालको पनि हात रहेको बताएका हुन् ।

    सभालाई सम्बोधन गर्दै कोइरालाले सर्वोच्च अदालतले निर्वाचनकै पक्षमा फैसला गरेपनि निर्वाचन हुन नसक्ने बताए । उनले भने, ‘सर्वोच्चबाट निर्वाचनको पक्षमा फैसला आए पनि निर्धारित मितिमा चुनाव हुँदैन । त्यसैले काङ्ग्रेसको निरन्तर खबरदारी जरुरी छ ।’

    विराटनगरको महेन्द्र चोकमा भएको सभामा सम्बोधन गर्ने काङ्ग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले चुनाव हारेका नारायणकाजी र वामदेवलाई राष्ट्रियसभामा लाने प्रचण्ड र माधव नेपालनै भएको भन्दै उनीहरुको पनि काङ्ग्रेसले विरोध गर्नुपर्ने बताए।

  • सुरेन्द्र पाण्डेको टिप्पणी– केपी ओलीले बम ब्लास्ट गरे

    सुरेन्द्र पाण्डेको टिप्पणी– केपी ओलीले बम ब्लास्ट गरे

    काठमाडौं । विभाजित नेकपाका नेता सुरेन्द्र पाण्डेले २७५ सांसद रहेको प्रतिनिधिसभामा प्रधानमन्त्री केपी ओलीले बम ब्लास्ट गरेको आरोप लगाएका छन् ।

    पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विभाजित पार्टीको महासचिव दावी गरिरहेका पाण्डेले केन्द्रीय कमिटीमा अ‍ोलीको पक्षमा २५ प्रतिशतमात्र सदस्य रहेकाले आधिकारिक नेकपा प्रचण्ड–माधव पक्ष नै हुने बताए ।

    पाण्डेले भने– २७५ जनाको प्रतिनिधिसभामा केपी ओलीले बम ब्लास्ट गर्नुभयो। अहिले ओली र उहाँको केन्द्रीय कमिटीमा २५ प्रतिशत मात्रै उपस्थिति भए । ४३५ मध्य ३०० केन्द्रीय सदस्य हामीसँग हुनुहुन्छ । त्यसले नेकपा र सूर्य हामीसँगै रहनेछ। अब कोही पनि अलमल रहन आवश्यक छैन ।

    आफूहरु नै मूलधर भएकाले छाडेर जानेले नयाँ पार्टी बनाउनुपर्ने पाण्डेले बताए ।

  • ओलीलाई सरकार चलाउने अधिकार छैनः नेता सिंह

    ओलीलाई सरकार चलाउने अधिकार छैनः नेता सिंह

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता संचालनको नैतिक र राजनीतिक हैसियत गुमाएको बताएका छन् । काठमाडौं क्षेत्र नम्बर १ अन्तर्गत नेपाली कांग्रेसले नयाँबानेश्वरमा गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता सिंहले प्रधानमन्त्री ओली इतिहासकै असफल भएको दाबी गरे ।

    प्रतिपक्षमा बसेर नेपाली कांग्रेसले बारम्बार खबरदारी गरेपनि सरकार नसुध्रिएको भन्दै नेता सिंहले पार्टीको विवाद मिलाउन नसकेर जनतालाई दुःख दिन खोजेको आरोप लगाए । ‘जनताले त पाँच वर्षलाई म्याण्डेट दिएको हो । कम्युनिष्टहरु आफ्नो पार्टीको विवाद मिलाउन नसकेर फेरि जनतालाई दुःख दिन खोज्दैछन्’, सिंहको आरोप थियो । नेता सिंहले सरकारविरुद्ध कांग्रेस यसअघि नै सडकमा उत्रिएको स्मरण गराउँदै गैरसंवैधानिक कदमविरुद्ध आम जनता सडकमा उत्रिनुपर्ने बताए ।

    प्रधानमन्त्री ओलीले ताजा जनादेशको कुरा गरेर आफूलाई लोकतन्त्रवादी देखाउन खोज्नु हास्यास्पद भएको सिंहको तर्क छ । ‘जुन प्रधानमन्त्रीले जनमतअनुसार सरकार चलाउन नसकेर पार्टीभित्र झगडा गर्यो उसले लोकतन्त्रको पाठ नसिकाए हुन्छ’, सिंहले भने । नेता सिंहले नेपालका लागि कम्युनिष्ट नेतृत्वको सरकार उपयुक्त नभएको भन्दै जनताले विचार गर्नुपर्नेमा जोड दिए ।

    प्रधानमन्त्री हुनासाथ भ्रष्टाचारीको मुख हेर्दिनँ भन्ने प्रधानमन्त्री ओलीको वरपर भ्रष्टहरुको घेरा रहेको आरोप समेत सिंहले लगाए । ‘भ्रष्टाचारको मुख हेर्दिनँ भन्ने प्रधानमन्त्रीले दायाँ बायाँ भ्रष्टहरुलाई च्यापेर हिंडेको पनि देखियो’, सिंहले भने ।

    प्रतिनिधिसभा विघटन विरुद्ध कांग्रेसले सोमबार देशैभरि प्रदर्शन गरेको हो । बानेश्वरमा पुगेर सभामा परिणत हुनुअघि काठमाडौं क्षेत्र नम्बर १ ले विभिन्न स्थानबाट र्‍याली प्रदर्शन गरेको थियो ।

  • पूर्वमन्त्री पुनको आरोपः प्रधानमन्त्रीले मन्त्रीको वास्तै गरेनन्

    पूर्वमन्त्री पुनको आरोपः प्रधानमन्त्रीले मन्त्रीको वास्तै गरेनन्

    काठमाडौं । संसद विघटनपछि ऊर्जामन्त्रीबाट राजीनामा दिएका वर्षमान पुनले प्रधानमन्त्रीले मन्त्रीहरुको वास्तै नगरी निर्णय लाद्ने गरेको आरोप लगाएका छन् । प्रचण्ड–माधव नेपाल पक्षीय जनसांस्कृतिक मञ्चले सोमबार पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले मन्त्रिपरिषदमा मन्त्रीहरु पुगिनसक्दै संसद विघटनको निर्णय सुनाएको बताए ।

    ‘त्यो दिन मन्त्रिपरिषद बैठकमा पुग्ने नवौं मन्त्री मै थिएँ’ उनले भने, ‘२५ जनाको मन्त्रिपरिषदमा ९ मन्त्री मात्रै हुँदा प्रधानमन्त्रीले त्यस्तो निर्णय सुनाए ।’ उनले बैठक बस्नुपूर्व नै निर्णय तयार पारिसकेको बताए ।

    त्यस्तै उनले संवैधानिक परिषदसम्बन्धी अध्यादेश पनि अपारदर्शी रूपमा आएको बताए । प्रधानमन्त्रीले मनलाग्दी गर्दा पनि अनुशासनका कारण आफूहरु चुप लागेर बस्नुपरेको भन्दै उनले गुनासो गरे ।

     

  • नेपाल र भारतबीच संयुक्त लगानीका परियोजनालाई अघि बढाउनेबारे छलफल

    नेपाल र भारतबीच संयुक्त लगानीका परियोजनालाई अघि बढाउनेबारे छलफल

    काठमाडौं । ऊर्जामन्त्री टोपबहादुर रायमाझी र भारतीय राजदूत विनय मोहन क्वात्राबीच द्धिपक्षीय ऊर्जा एवं विद्युत सहयोगबारे सोमबार छलफल भएको छ ।

    संयुक्त लगानीका परियोजनालाई अघि बढाउने बारे पनि कुराकानी भएको राजदूत क्वात्राले जनाए ।

    ऊर्जा, जलस्रोत र सिंचाइ मन्त्रालयमा भएको भेटघाटमा राजदूत क्वात्राले नवनियुक्ती मन्त्री रायमाझीलाई बधाइ समेत दिएका छन् ।

  • प्रहरी हत्याका अभियुक्त राना पक्राउ

    प्रहरी हत्याका अभियुक्त राना पक्राउ

    कैलाली । धनगढी उपमहानगरपालिका–१० जुगेडास्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान राम बहादुर साँउदको हत्याका मुख्य अभियुक्त अमर राना पक्राउ परेका छन् । प्रहरीका अनुसार घटनाका मुख्य योजनाकार राना घटनापश्चात फरार थिए । घटनापछि भारत भएका उनको प्रहरीले खोजी गरिरहेको थियो ।

    रानालाई विशेष सूचनाको आधारमा सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–१९ फुलबारी क्षेत्रको नेपाल भारत सीमा नजिकबाट पक्राउ गरेको हो ।

    सिमावर्ति क्षेत्रमा हुने अपराध एवं तस्करी नियन्त्रण गर्ने उद्देश्यले जुगेडाको दक्षिणी भागमा नियमित गस्ती गर्ने क्रममा भारततर्फ गोरु गाडामा मटर तस्करी गरिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिने क्रममा तस्करहरुको समूहले गत कार्तिक १ गते प्रहरी सहायक निरिक्षक गोबिन्द र प्रहरी जवान राम बहादुरलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेर फालेको अवस्थामा प्रहरी सहायक निरीक्षक गोबिन्दको शव भोलिपल्ट बिहान मोहना नदीमा फेला परेको थियो । प्रहरी जवान राम बहादुरको शव कार्तिक ४ गते बिहान सोही नदीमा फेला परेको थियो ।

    घटनामा संलग्न ९ जना पर्कु भन्ने रोहित राना, राजेन्द्र राना, चोर भन्ने सुरेश राना, गब्बर भन्ने राज कुमार राना, राम निवास राना, टल्लु भन्ने दलराम राना, रोहित राना, गोपाल भन्ने राम गोपाल राना र राजिव गुप्तालाई यस अघिनै विभिन्न मितिमा पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत कैलालीमा पेश गरिएकोमा अदालतको आदेशले ८ जना पुर्पक्षका लागि कारागार चलान भएका थिए भने राजिव गुप्ता १ लाख ५० हजार रुपैयाँ धरौटी तिरी तारेखमा छुटेका थिए ।

    अमर रानालाई आजै जिल्ला अदालत कैलालीमा पेश गरिने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

     

  • तस्बिरमा हेर्नुस् प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको प्रदर्शन

    तस्बिरमा हेर्नुस् प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको प्रदर्शन

    काठमाडौ । नेपाली कांग्रेस संसद विघटनविरुद्ध सडकमा उत्रिएको छ । प्रतिनिधिसभा भंग गर्ने सरकारको कदम असंवैधानिक र अलोकतान्त्रिक रहेको आरोप लगाउँदै कांग्रेसले देशभरका १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको हो ।

    प्रदर्शनलाई सम्बोधन गर्दै कांग्रेसका नेताहरुले सरकारको तीव्र आलोचना गरेका छन् भने सर्वसत्तावादको अभ्यासलाई सफल हुन नदिने घोषणा गरेका छन् ।

              
  • नेकपा राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ कतै नलाग्ने

    नेकपा राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ कतै नलाग्ने

    काठमाडौं । राष्ट्रियसभाको नेकपाको संसदीय दलको नेता दिनानाथ शर्माले आफू पार्टी विभाजन रोक्न वामदेव गौतमसँग सहकार्यमा रहेको भन्दै केपी ओली र प्रचण्ड–माधव नेपाल दुवै खेमामा नलागेको बताएका छन् । राष्ट्रपतिबाट राष्ट्रियसभाको बैठक पुस १७ गतेबाट आह्वान भइसकेको बेला दलका नेता शर्मा तटस्थ बस्न लागेका हुन् ।

    ५९ सदस्यीय राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनित तीनजना समेत जोडेर नेकपाका ५० सांसद छन् । ५० जना मध्ये वामदेव गौतम दुवैतिर नलाग्ने भनेर बसेका छन् भने शर्मा प्रचण्ड–माधव नेपाल पक्षले बोलाएको सांसदहरुको बैठकमा सहभागी थिए । तर उनले आज नेपाल प्रेससँग कुरा गर्दै आफू स्वतन्त्र भूमिकामा रहने र राष्ट्रियसभामा दलको नेताको हैसियतले पार्टी मिलाउन लाग्ने बताए ।

    शर्माले भने– म स्वतन्त्र भूमिकामा रहने भएको छु । पार्टी मिलाउन वामदेव गौतमसँग पनि छलफल गर्दैछु । हामी दुवैजना एउटै कित्तामा भयौं अहिले । उसैपनि राष्ट्रियसभाले सरकार बनाउने र ढाल्ने होइन, त्यहाँ पक्ष विपक्षमा उभिनु पनि हुँदैन । मलाई कुनै पनि गुटमा सामेल नगर्नुस् ।

    आफू नेकपाको संसदीय दलको नेता भएकाले अलग अलग बैठक बस्न नदिन पनि तटस्थ भूमिकामा रहने उनले बताए ।

  • आकर्षक पर्यटकीय गन्तव्यः कुपिण्डे (फोटो फिचर)

    आकर्षक पर्यटकीय गन्तव्यः कुपिण्डे (फोटो फिचर)

    सुर्खेत । कर्णालीलाई ‘भर्जिन प्रदेश’ पनि भन्ने गरिन्छ । भौगोलिक विकटता तथा मनोरम पर्यटकीय क्षेत्रको धनी कर्णाली प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आवतजावत विस्तारै बढ्दै छ । धार्मिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यको धनी प्रदेशको रूपमा रहेको कर्णालीमा रारा, शे–फोक्सुण्डो जस्ता धेरै तालतलैया छन् ।

    पर्याप्त प्रचारप्रसारको अभाव तथा राज्यको समुचित ध्यान पुग्न नसकेकोले यी पर्यटकीय क्षेत्रहरूको विकास गर्न पछिल्लो समयमा स्थानीय तथा प्रादेशिक सरकारहरूले प्रचारप्रसार गर्ने, पहुँच मार्गहरू पुर्याउने तथा अन्य संरचनाहरू निर्माण गर्ने क्रमलाई तीव्रता दिएका छन् ।

    नेपालकै सबैभन्दा ठूलो रारा तालमा जाने पर्यटकहरूको घुइँचो बढिरहेको छ । रारापछिको दोस्रो तालको रूपमा रहेको शे–फोक्सुण्डो तालमा विदेशी पर्यटकहरू निरन्तर जाने गर्छन् । अहिले वीरेन्द्रनगरबाट बढीमा साढे दुई घण्टाको मोटर यात्रामा पुग्न सकिने आकर्षक गन्तव्य सल्यानको कुपिण्डे दह (ताल) मा पनि आन्तरिक पर्यटकहरू ओइरिन थालेका छन् । लकडाउनका कारण थिलथिलो भएको पर्यटन क्षेत्रलाई प्रोत्साहन दिने गरी कुपिण्डे दहमा दैनिक सयौंको संख्यामा आन्तरिक पर्यटकहरू रमाइलो गर्न र वनभोजका लागि पुग्ने गरेका हुन् ।

    ३४ मिटर गहिरो कुपिण्डे दहको अहिलेसम्म वैज्ञानिक रूपमा नाप–जाँच भने गरिएको छैन । २३.५३ हेक्टर क्षेत्रफलमा फैलिएको कुपिण्डे दहको लम्बाइ ८३४ मिटर र चौडाइ ५३८ मिटर रहेको छ । कुपिण्डे दह समुद्री सतहदेखि ११२० मिटर उँचाइमा रहेको छ ।

    सल्यानको तत्कालीन सेजुवाल टाकुरा, मार्के, माझकाँडा, धाजीपिपल र कजेरी गाविसको बीचमा रहेको कुपिण्डे दह प्राकृतिक रूपले सुन्दर छ । यो दहले वर्षमा तीन पटक बर्खा, हिउँद र गर्मी महीनामा पानीको रङ बदल्ने गरेको स्थानीयहरू बताउँछन् ।

    हरियाली, सुन्दरबस्ती र सल्यानी संस्कृतिको जनजीवनले जो–कोहीलाई पनि कुपिण्डे दह पुग्दा आनन्दको महसूस हुन्छ । त्यहाँ पुग्ने वित्तिकै पर्यटकले सबै दुःखकष्ट भुलेको महसूस गर्न पाउँछन् ।

    दहको किनारमा बराहको मन्दिर छ । पत्रकार दीपक बुढाका अनुसार यो मन्दिरमा इच्छाइएको बर मागे प्राप्त हुने किंवदन्ती छ । बराह मन्दिरमा पूजा गर्न रुकुम, सुर्खेत र जाजरकोटबाट हिन्दू धर्मावलम्बीहरू पुग्छन् ।

    २२ वटा डुंगामा झण्डा हल्लाउँदै सयर

    पंक्तिकारसहित मंसीर तेस्रो साता कुपिण्डे दहको भ्रमण अवलोकनका लागि सुर्खेत, दैलेख र बाँकेका पत्रकार पुगे । वरिपरि डाँडा र बीचमा गहिरो खाल्डो अनि त्यसैमा नीलो जमेको पानी; अर्थात् स्वच्छ आकाश जस्तै देखिने कुपिण्डे दहले मनै लोभ्यायो । अझ भनौं, त्यहाँको कञ्चन पानीले उनीहरू सबैको मुहारमा चमक ल्याइदियो । हामीले १५० रुपैयाँको टिकट खरिद गरेर डुंगामा एक फन्को लगायौं । पत्रकार वीरबहादुर गिरी भन्छन्, ‘शुरूमा डराए पनि विस्तारै आनन्द लियौं । स्वर्गमा पुगेको अनुभूति भयो ।’

    अर्का पत्रकार सूर्य कँडेल पनि कुपिण्डे दहमा एक पटक मात्र होइन बारम्बार जानुपर्ने बताउँछन् । यहाँ एक पटक आएर मात्रै धीत नमर्ने रहेछ । उनले भने, ‘आन्तरिक पर्यटनको विकास गर्ने सबैले सहकार्य गर्दै अघि बढ्नुपर्छ ।’

    चौडा बाटो बन्दै

    आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले केही समयअघि मात्रै दहसम्म जाने बाटो कालोपत्रे गर्न शिलान्यास समेत गरेका छन् । निर्माण कम्पनीले अहिले बाटो फराकिलो बनाउँदैछ भने १८ करोडको लागतमा कालोपत्रेको काम शुरू हुने तरखरमा छ ।

    पहिले बाटो असाध्यै साँघुरो थियो । स्थानीय कमल पोखरेल भन्छन्, ‘अहिले बाटो असाध्यै राम्रो भएको छ । कालोपत्रे भइसकेको खण्डमा बढीमा २० मिनेटमा यहाँबाट दह पुग्न सकिन्छ ।’

    यहाँ २२ वटा काठका डुंगाहरू रहेका छन् । दहको फन्को लगाउन आधा घण्टा लाग्ने गरेको छ । दहमा रु.५०, १०० र १५० गरी तीन थरीका टिकट काटेर डुंगामा सयर गर्न सकिन्छ ।

    यसरी बन्यो दह

    किंवदन्ती अनुसार, कुपिण्डे दह भएको स्थानमा ठूलो गाउँ थियो । एक दिन एक जना साधु बासको खोजीमा गाउँ आएछन् । धेरै घरमा बास माग्दा पनि उनले बास पाउन सकेनछन् । निरासहुँदै एकजना वृद्धको घरमा पुगेछन् । आफू बासका लागि आएको कुरा वृद्धलाई सुनाएछन् ।

    घरमा रहेकी वृद्ध महिलाले आफ्नो घरमा खाना र बस्नका लागि केही प्रबन्ध हुन नसक्ने बताए पनि साधुले त्यही घरमा बस्ने अनुमति मागेछन् । वृद्धको गरीबी थाहा पाएपछि भोलिपल्ट बिहान साधुले ती वृद्ध महिलालाई भनेछन्– म कैलुबराह हुँ । अरूलाई बास बस्न नदिने यो गाउँका पापीलाई म छिनभरमै डुबाइदिन्छु ।

    अहिलेको कुपिण्डे दहतर्फको पहाड देखाउँदै भनेछन्, ‘त्यो पहाडसम्म जाऊ । हिंड्दा पछि फर्किएर नहेर्नू ।’ महिला पहाडतर्फ लागिन् । पहाडको चुचुरोमा पुगेर पछि फर्किएर हेर्दा सबै गाउँ पानीले भरिएको दह बन्न पुगेछ ।

    पर्यटनलाई प्राथमिकता

    सल्यानको यसै क्षेत्रबाट निर्वाचित कर्णाली सरकारका आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला कुपिण्डेलगायतका अन्य क्षेत्रको विकासका लागि आफूहरू लागिरहेको बताउँछन् । यो दहको मात्रै कुरा गर्ने हो भने पनि धेरै पर्यटक आएको खण्डमा यस क्षेत्रमा रोजगारीका अवसरहरू सिर्जना हुनेछन् । उनी भन्छन्, ‘त्यसले यो क्षेत्रका आम नागरिकलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’

    उनी भन्छन्– संघीय सरकारसँग बारम्बार गरेको पहलका कारण यो सडक निर्माणको काम तीव्र रूपमा अघि बढिरहेको छ । दह क्षेत्रमा आवश्यक विकास निर्माण र संरचना निर्माणका लागि प्रदेश सरकारले पनि आवश्यक बजेटको व्यवस्था गर्दै आइरहेको छ ।

    उनले पर्यटनको विकास गर्न सकेको खण्डमा कर्णाली समृद्धिको आधार तयार पार्न सकिने बताए । कर्णाली भर्जिन ल्याण्ड हो । यहाँ आउनेहरूका लागि हरेक चिज नयाँ हुन्छ । उनले भने, ‘यहाँका प्राकृतिक सम्पदाहरूको उचित प्रचारप्रसार गर्ने र यसलाई व्यवस्थित बनाउन सकेको खण्डमा यसबाट नागरिकले मनग्ये आम्दानी लिन सक्छन् । यसले राज्यलाई पनि बलियो बनाउने हाम्रो अपेक्षा छ । यसैले यहाँ लगानी बढाउने बारेमा हामी सोचिरहेका छौं ।’

    प्रकृतिप्रेमी हरेक व्यक्ति कुपिण्डे पुग्नुपर्ने बताउँछन्, उनी ।

     

  • युगअनुसार सञ्चार क्षेत्रको विकासमा लाग्न सञ्चारमन्त्रीकाे आग्रह

    युगअनुसार सञ्चार क्षेत्रको विकासमा लाग्न सञ्चारमन्त्रीकाे आग्रह

    ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आधुनिक युग अनुसार सञ्चार क्षेत्रको विकासमा लाग्न पत्रकारहरुलाई आग्रह गरेका छन् ।

    नेवाः पत्रकार राष्ट्रिय दबूले सोमबार ललितपुरमा आयोजना गरेको सत्यनारायण बहादुर श्रेष्ठको १०५ औं स्मृति सभामा बोल्दै उनले आधुनिक युग सुहाउँदो सञ्चार क्षेत्रको विकासमा लाग्न पत्रकारहरुलाई आग्रह गरेका हुन् ।

    मन्त्री गुरुङले नेपालको सञ्चार, सूचना र प्रविधिको क्षेत्रमा संस्थागत विकास गर्न स्वर्गीय सत्यनारायण बहादुर श्रेष्ठले दुुरदृष्टि राखेको उल्लेख गदै स्वर्गीय श्रेष्ठले नेपालको पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको उल्लेखनीय रहेको बताएका छन् ।

    सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले २००८ सालमै नेपाल पत्रकार महासंघको स्थापना गरेर स्वर्गीय श्रेष्ठले नेपालको प्रजातान्त्रिक आन्दोलन र पत्रकारिता क्षेत्रको विकासमा पुु¥याएको योगदानको स्मरण गरेका छन् ।

    कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूूका अध्यक्ष सूरबीर बज्राचार्यले स्वर्गीय श्रेष्ठलाई नै महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न मन्त्री गुरुङको ध्यानाकर्षण गराएका थिए ।

  • धान उत्पादनमा वृद्धि, ७१ हजार मेट्रिकटनले बढ्यो

    धान उत्पादनमा वृद्धि, ७१ हजार मेट्रिकटनले बढ्यो

    काठमाडौं । गत वर्षको तुलनामा यो वर्ष धानको उत्पादनमा वृद्धि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सोमबार जारी गरेको प्रतिवेदन अनुसार यो वर्ष करीब ७१ हजार मेट्रिकटनले धानको उत्पादनमा वृद्धि भएको हो ।

    चैते धान र वर्षे धान दुवैमा ७० हजार ८ सय ३१ मेट्रिक टन उत्पादन वृद्धि भएको मन्त्रालययको तथ्याङका उल्लेख छ ।
    गत वर्ष ५५ लाख ५० हजार ८ सय ७९ मेट्रिकटन धान उत्पादन भएकोमा यो वर्ष ५६ लाख २१ हजार ७ सय १० मेट्रिकटन पुगेको छ ।

    यो वर्षको उत्पादकत्व ३ दशमलव ८२ पुगेको हो । जुन गत वर्षकोभन्दा शून्य दशमलव २८ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षमा चैते र वर्षे गरी कूल १४ लाख ७३ हजार ४ सय ७४ हेक्टर जमीनमा धानखेति गरिएको थियो ।

    यो वर्ष पनि गत वर्षको भन्दा १५ हेक्टर बढी जमीनमा धान खेति गरिएको थियो । यो वर्ष धान उत्पादन वृद्धि हुनुमा मनसुन र कामदारको सहज उपलव्धताले भएको मन्त्रालयले जानकारी दिएको छ ।

  • २०२२ देखि पारिश्रमिक १३५ करोड भारु तय गर्ने अक्षय कुमारको घोषणा

    २०२२ देखि पारिश्रमिक १३५ करोड भारु तय गर्ने अक्षय कुमारको घोषणा

    कुनै यस्तो दिनपनि छैन जहाँ अक्षयकुमार खाली बसेको होस् । घरको भान्सामा पाककलाको ज्ञान बाँड्ने काममा होस् या फिल्म सेटमा स्क्रिप्ट सुन्ने र टीमसँग रमाइलो गर्ने ।

    यी बलिउड सुपरस्टार सन् २०२१ वर्षभर पुरै काममा व्यस्त तालिकामा हुनेछन् । नयाँ खबरअनुसार अक्षयले सन् २०२२ देखि आफ्नो पारिश्रमिकमा वृद्धि गर्दै एउटा फिल्म खेलेको १३५ करोड भारु तय गरेका छन् ।

    ११७ करोड भारु लिने गरेका अक्षयले लकडाउनदेखि चार्जमा वृद्धि गर्न थालेका हुन् । २०२२ देखि भने पारिश्रमिकमा वृद्धि गर्ने निर्णय उनको छ । बलिउड निर्माताका लागि डार्लिङ एक्टर मानिने अक्षयलाई आफ्ना फिल्ममा लिँदा कम जोखिम हुने, लगानी फिर्ता हुने सम्भावना र बजारको माग पुरा हुने विश्वास धेरैको हुन्छ । मागमा वृद्धि भएसँगै आफ्नो मूल्यमा वृद्धि गर्ने अक्षयको बजार सूत्र छ ।

  • कोरोनाविरुद्धको खोप ४ महिनाभित्र ल्याइने, यस्तो छ तयारी

    कोरोनाविरुद्धको खोप ४ महिनाभित्र ल्याइने, यस्तो छ तयारी

    काठमाडौं। नेपालमा कोरोना भाइरसविरुद्धको खोप ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । भ्याक्सिन भण्डारण गर्न ८ करोड लगानीमा सातवटै प्रदेशमा कोल्ड चेन (चिस्यान केन्द्र) निर्माण गर्न लागिएको स्वास्थ्य मन्त्रालयअन्तर्गतको खोप महाशाखाले जनाएको छ।
    धेरै भ्याक्सिन राख्‍न भने त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलमा रहेको कोल्ड चेन प्रयोग गरिने बताइएको छ। महाशाखाका अनुसार कोरोना भ्याक्सिन नेपाल भित्र्याउन ४ वटा मापदण्ड अनिवार्य गरिएको छ।
    सअनुसार खोप सुरक्षित र प्रभावकारी हुनुपर्ने, खोपको पर्याप्त उपलब्धता हुनुपर्ने, नेपालका परिवेश अनुसार उपयुक्त कोल्ड चेन भण्डारण र कम लागतको खोप रहेको छ।
    नेपालले खोजेजस्तो मापदण्डको खोप अहिले विश्व बजारमा नआइसकेकोले खोप खरिद प्रक्रिया अघि नबढाइएको भएपनि कोरोना खोप छिटो भित्र्याउन तीब्र रूपमा समन्वय र पहल भइरहेको खोप माहाशाखाका प्रमुख डा. झलक गौतमले जानकारी दिए। खोप पहिलो चरणमा स्वास्थ्यकर्मी र ८० वर्षमाथिकालाई सरकारले प्राथमिकतामा राखेको छ।
    सरकारले कोरोनाविरुद्धको खोप ल्याउन खोपविज्ञ डा.श्यामराज उप्रेतीको नेतृत्वको विज्ञ समिति गठन गरेको छ । समितिले खोप निर्माण गर्ने कम्पनी र सम्बन्धित देशका सरकारलाई पत्राचार गरिसकेको उप्रेतीले बताए । चार महिनाभित्रमा नेपालमा खोप आइसक्ने उनको भनाइ छ ।
  • एभरेष्ट होटलमा माधव नेपाल र चिनियाँ प्रतिनिधिमण्डलबीच वार्ता

    एभरेष्ट होटलमा माधव नेपाल र चिनियाँ प्रतिनिधिमण्डलबीच वार्ता

    काठमाडौं । नेकपा विभाजन रोक्ने प्रयासका लागि चीनिया राष्ट्रपतिको सन्देश लिएर काठमाडौं आएको चिनियाँ कम्युनिस्ट पार्टीको विशेष प्रतिनिधिमण्डलले विभाजित नेकपाका दुबै अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालसँग छलफल गरेको छ ।

    आज विहानै प्रचण्ड निवास खुमलटारमा पुगेको टोली माधव नेपाललाई भेट्न नयाँ बानेश्वरको एभरेष्ट होटलमा पुगेको थियो ।

    डेढ घण्टा लामो छलफल सकेर चिनियाँ टोली एभरेस्ट होटलबाट बाहिरिएको छ । भेटमा नेपालका लागि चिनियाँ राजदूत हौ यान्छी पनि सहभागी थिइन् ।

  • पार्टी एकताका लागि प्रधानमन्त्री सच्चिएर आउनुपर्छ : भट्टराई

    पार्टी एकताका लागि प्रधानमन्त्री सच्चिएर आउनुपर्छ : भट्टराई

    नेपालगन्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल—नेपाल समूहका नेता योगेशकुमार भट्टराईले आफ्नो समूह अहिले पनि पार्टी एकताकै पक्षमा रहेको बताएका छन् । । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओली सच्चिएर आउनुपर्ने उनको भनाइ छ ।
    प्रेस सङ्गठन नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सो समूहका स्थायी कमिटी सदस्य भट्टराईले संविधानमा कहीँकतै प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने व्यवस्था नभएको विचार व्यक्त गरे । निर्वाचन अहिले मुलुकका लागि आवश्यक नभएको तर्क राख्दै पूर्वमन्त्री भट्टराईले प्रतिनिधिसभा विघटनको निर्णय सच्चिनेमा आफूहरु विश्वस्त रहेको बताए ।

  • मंगलबार सुन तोलामा ८ सयले घट्यो

    मंगलबार सुन तोलामा ८ सयले घट्यो

    काठमाडौं । मंगलबार नेपाली सुन तोलामा ८०० ले कमी आएको छ । आइतबार तोलामा ७०० ले वृद्धि भएको सुन मंगलबार पुनः घट्न पुगेको हो ।

    नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ९४, १०० रहेको छ । त्यस्तै, तेजावी सुन तोलाको ९३,६०० रहेको छ ।

    त्यस्तै चाँदीमा पनि तोलाको १५ रुपैयाँले गिरावट आएको छ । आज चाँदी तोलाका १३०० रुपैयाँ रहेको छ ।

  • नेपाल लिटरेचर फेस्टिभल पोखरामा सुरु, पहिलो दिन गजल मेहफिल

    नेपाल लिटरेचर फेस्टिभल पोखरामा सुरु, पहिलो दिन गजल मेहफिल

    नेपाली साहित्य मेलाको नवौं संस्करण आज बेलुका (सोमबार)देखि सुरु भएको छ । पोखरामा हुने फेस्टिभल भर्चुअल माध्यमबाट हुन लागेको हो । कोरोनाभाइरस महामारीले गर्दा फेस्टिभललाई इन्टरनेटमा सीमित गरिएको हो ।

    प्रदीप रोदन र अमृत सुवेदीको गजल मेहफिलसँग महोत्सव सुरु भएको फेस्टिभल निर्देशक अजित बरालले बताए ।

    मंगलबार बिहान विश्व पौडेलको साहित्यको अर्थ नामक विद्धत प्रवचनबाट फेस्टिभलको औपचारिक सुरुआत हुँदैछ । लगत्तै मदन पुरस्कार विजेता चन्द्रप्रकाश बानियाँले महारानी उपन्यासमाथि चर्चा गर्नेछन् ।

    लगत्तै बोनिता शर्मा, आयुषी केसी, सोनिका मानन्धरले कर्मठ केटीहरु विषयमा सत्र चलाउँदैछन् । के सम्पदा के बसोबास विषयमा रवीन्द्र पुरी र मिलन बगालेबीच छलफल हुँदैछ । कोरोनापछिको सिनेमा शीर्षकमा यज्ञशसँग मीनबहादुर भाम, प्रियंका कार्की र भाष्कर ढुंगानाबीच छलफल हुँदैछ ।

    पढ्ने पढाउन हुटहुटी शीर्षकमा हरि खनाल, विकेश कबिन र मानुश्री महतबीच छलफल हुनेछ । कोरोनाले गलाएको जनस्वास्थ्य, अद्भूत व्यक्तित्व असाधारण लेखन शीर्षकमा छलफल सत्र समेत छन् ।

    दुई दिनसम्म चल्ने फेस्टिभलको दोस्रो दिन जलवायु परिवर्तन र हाम्रो भविष्य, प्रदेशबाट देखिने देश, कोरोनाकालिन उद्योग वाणिज्य, सङघीयताका अवसरहरु लगायतका सत्र छन् ।

  • प्रवासी नेपाली एकता मञ्चद्धारा संसद विघटनको स्वागत

    प्रवासी नेपाली एकता मञ्चद्धारा संसद विघटनको स्वागत

    प्रतिनिधिसभा विघटन गरि चुनाव घोषणा गर्ने प्रधानमन्त्रीको कदमलाई नेकपाको प्रवासस्थित भातृ संगठन प्रवासी नेपाली एकता मञ्चले स्वागत गरेको छ ।

    ‘संसदको केही वर्षको अवधी बाँकी छँदै आमनिर्वाचनमा जाने अवस्था बन्नु अवश्य पनि सुखद हैन’ मञ्चद्धारा जारी वक्तव्यमा उल्लेख छ, ‘तथापी यस विषम परिस्थितीको एकमात्र उपयुक्त विकल्प जनताको ताजा जनादेश लिनु नै हो ।’

    जनताले गर्ने फैसलाबाटै देश अगाडि बढ्नुपर्ने निष्कर्ष रहेको मञ्चले उल्लेख गरेको छ । ‘लोकतन्त्रमा जहिले पनि जनता न्यायाधीश हुने भएकाले नेपाली जनताको ताजा जनादेश लिन निर्वाचनमा सहभागि हुन आम नेपाली जनसमुदायमा हार्दिक अपिल गर्छौं’ वक्तव्यमा भनिएको छ ।

    पार्टीभित्र अराजक र शत्रुतापूर्ण अवस्था बनाइएकाले नै आजको यो अवस्था आएको जनाइएको छ । विज्ञप्ती जारी गर्नेहरुमा प्रभु थापा अमेरिका अध्यक्ष, रमेश पाण्डे अष्ट्रेलिया अध्यक्ष, चानक पोखरेल कतार अध्यक्ष, रमेश थापा क्यानडा अध्यक्ष, लोकनाथ भण्डारी भारत अध्यक्ष छन् ।

    साथै, तीर्थ गौतम इजरायल अध्यक्ष, गोविन्द पौडेल पोर्चुगल अध्यक्ष, भक्त वाग्ले फ्रान्स अध्यक्ष, विश्वास बजगाइँ नर्वे अध्यक्ष, हेम शेर्पा स्पेन अध्यक्ष, टंक कटुवाल पोल्यान्ड अध्यक्ष, उत्तम आचार्य चेक रिपब्लिक अध्यक्ष, धर्मराज पाण्डे इटाली अध्यक्ष छन् ।

    साथै, कोमल पौडेल फिनल्यान्ड अध्यक्ष, शालिग्राम पन्त बहराइन अध्यक्ष, आत्मराम खनाल न्यूजिल्यान्ड अध्यक्ष, चन्द्रकान्त आचार्य जर्मनी अध्यक्ष, मनमूर्ति भुर्तेल रसिया अध्यक्ष, शिव थापा मकाउ अध्यक्ष, पे्रमकाजी गुरुङ नेदरल्यान्ड अध्यक्ष, परशुराम सापकोटा दक्षिण कोरिया अध्यक्ष छन् ।

    साथै, राजकुमार थापा कुवेत अध्यक्ष, विक्रम केसी स्वीटजरल्यान्ड सचिव, बोधराज पौडेल बेल्जियम सचिव, गंगा घिमिरे स्वीडेन सचिव, चन्द्रकला निरौला आयरल्यान्ड सचिव, श्यामराज पाठक युएई सचिव, दयाराम कुमाल मलेसिया सचिव, यदुराम पन्थी चेक रिपब्लिक सचिव, मनोज भुषाल फिनल्यान्ड सचिव, मनोज जिसी न्यूजिल्यान्ड सचिव, महेशप्रसाद न्यौपाने ओमान सचिव र विनोदकुमार आचार्य पोल्यान्ड सचिव छन् ।

  • सुर्खेत पुगेर ओलीविरुद्ध खनिए माधव नेपाल पक्षधर नेताहरु

    सुर्खेत पुगेर ओलीविरुद्ध खनिए माधव नेपाल पक्षधर नेताहरु

    सुर्खेत । प्रचण्ड–माधव नेपाल पक्षधर नेकपाका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगमनको मतियार भएको आरोप लगाएका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सोमवार विहान पत्रकार सम्मेलन गरी उनीहरुले सबै कमिटीमा बहुमत रहेकाले आफूहरुनै आधिकारिक पार्टी हुने दावी गरे ।

    नेकपा केन्द्रीय सदस्य एवम विदेश विभाग उपप्रमुख विष्णु रिजालले प्रधानमन्त्री ओली प्रतिगमनको मतियार भएको आरोप लगाए । संसदमा प्रयाप्त बहुमत हुँदा हुँदै पनि एकलौटी रुपमा संसद विघटन गरेर प्रतिगमनतर्फ गएको उनको आरोप थियो ।

    चिनियाँ टोली नेपाल आएको प्रसंगबारे उठेको प्रश्न दिँदै उनले चिनियाँ मित्रहरुले नेकपा एकीकृत रहोस भन्ने चाहेको बताए । यसलाई चीनले नेपालको राजनीतिमा खेलेको भन्दा पनि सद्भावका रुपमा लिनुपर्ने उनले बताए ।

    रिजालले भने– ‘दक्षिणतिरबाट यो बीचमा लगातार आएका छन् । केहि देखिने र केहि नदेखिने भ्रमणहरु भारतबाट भएका छन् । कतै त्यसले हाम्रो अन्तरपार्टी संघर्षलाई बढावा दिएको त होइन ? जुन संसदले नेपालको भूमि माथिको अधिकार स्थापित गर्यो र जसलाई यो संसद मन परेको थिएन कतै तिनीहरुकै कारण त यस्तो भएको होइन ?’

    अर्का केन्द्रीय सदस्य निरज आचार्यले आधिकारिक पार्टी प्रचण्ड–माधव नेपालकै हुने भन्दै अब अब केपी ओलीको चुनाव चिन्ह बयलगाडा र पार्टी कार्यालय बालकोट हुने भन्दै व्यंग्य गरे । उनले सूर्य र नेकपाका कार्यालयमा आफूहरुको दावी रहने बताए ।

    मंगलवार हुने आन्दोलनको तयारीका लागि नेताहरु सुर्खेत पुगेका हुन् । रिजाल र आचार्य दुवैजना माधव नेपाल निकट हुन् ।

  • शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङ ‘सेफ जोन’मा !

    शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङ ‘सेफ जोन’मा !

    काठमाडौं । प्रदेश १ र वागमती प्रदेशको सरकार ढाल्न अविश्वास प्रस्ताव दर्ता गराइसकेको प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले अन्य प्रदेशका मुख्यमन्त्रीलाई भने तत्कालै नचलाउने भएको छ । सात प्रदेशमध्ये ६ वटामा नेकपाको सरकार छ भने तीमध्ये चार मुख्यमन्त्री प्रधानमन्त्री केपी ओली निकट छन् ।

    तत्कालिन एमालेले पाएका चार मुख्यमन्त्रीमध्ये प्रदेश १ का शेरधन राईले पार्टीका प्रदेश इन्चार्ज भीम आचार्य र वागमतीका डोरमणि पौडेलले पनि प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यलाई दलको नेतामा पराजित गरेर सरकारको नेतृत्व पाएका थिए ।

    गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीका शंकर पोखरेल दलको नेतामा सर्वसम्मत भएका थिए । कर्णालीका महेन्द्रवहादुर शाही र सुदूरपश्चिमका त्रिलोचन भट्ट तत्कालीन माओवादीबाट मुख्यमन्त्री बनेका थिए । माधव नेपाल पक्षले पहिलेदेखिनै राई र पौडेलविरुद्ध सांसदहरुको हस्ताक्षर चलाइरहेको थियो ।

    प्रचण्ड-माधव नेपाल पक्षले संसदीय दलमा आफ्नो संख्या बहुमतमा रहेका कारण प्रदेश १ र वागमतीमा अविश्वास प्रस्ताव दर्ता गरे पनि कांग्रेसको साथबिना सरकार ढाल्न सम्भव छैन । कांग्रेसले अहिलेनै नेकपाको कुन पक्षलाई सघाउने भनेर केन्द्रबाट रणनीति नबनाएको संघीय मामिला विभागका प्रमुख रमेश रिजालले बताए ।

    गण्डकी प्रदेशमा प्रचण्ड-माधव नेतृत्वको नेकपा एक्लैले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न प्रदेशसभाको एक चौथाई सांसद संख्या पुग्दैन । ६० सदस्यीय गण्डकी प्रदेशसभामा तत्कालीन एमालेले २८ र माओवादीले जितेका १२ गरि नेकपाको एक्लै ५० सिट थियो ।

    तत्कालिन एमालेका २८ मध्ये २७ जना सांसद अहिले पनि केपी ओली पक्षमा छन् । प्रचण्ड-माधव नेपाल पक्षका १३ मध्ये सभामुख नेत्रराज अधिकारी बाहेक १२ जना सांसदले मात्र चाहेर पनि अविश्वास प्रस्ताव दर्ता गर्न सक्दैनन् । उनीहरुलाई नेपाली कांग्रेसको साथ चाहिन्छ ।

    प्रदेशसभामा ३ सांसद रहेको राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई साथ दिनासाथ कांग्रेससँग मिलेर पनि प्रचण्ड–माधव पक्षले सरकार ढाल्न सक्दैन । त्यसैले अहिले अविश्वास प्रस्ताव ल्याउने तयारी नरहेको स्रोतले जनाएको छ । प्रदेशका गृहमन्त्री हरिवहादुर चुमान जो प्रचण्ड पक्षका हुन्,उनलेनै यहि सरकार निरन्तर रहने बताएका छन् ।

    लुम्बिनीमा पनि तत्काल अविश्वास प्रस्ताव ल्याउने तयारी नरहेको प्रचण्ड पक्षका नेता दधीराम न्यौपानेले बताएका छन् । प्रचण्ड–माधव पक्षले अविश्वास प्रस्ताव ल्याए भने मुख्यमन्त्री शंकर पोखरेललाई ४ जना सांसद अपुग हुन्छन् । अहिले पार्टी विभाजनसँगै कतिपय सांसदले गुट परिवर्तन गर्ने क्रम चलेकाले नेकपाकै सांसद तानेर बहुमतमा रहने प्रयास पोखरेल पक्षले गरेको छ ।

    ८७ सदस्यीय प्रदेशसभामा तत्कालिन एमालेले ४१ सिट जितेको थियो । यी ४१ जना सांसदमध्ये अहिले प्रचण्ड–माधव समूहमा मात्रै एक जना सांसद देखिएका छन् । बाँकी ४० जना सबै केपी ओली पक्षमा रहेको दावी पोखरेल पक्षको छ ।

    तत्कालीन माओवादीले २० सिट जितेको थियो । लुम्विनीमा पनि प्रदेशसभामा कांग्रेसका १९ सांसद छन् । जनता समाजवादी पार्टीका ६ र जनमोर्चाका एक सांसद छन् । जनमोर्चाले लुम्विनीमा पनि ओली पक्षलाई साथ दिने भएको छ ।

    माओवादीका मुख्यमन्त्री रहेका प्रदेशमा केपी ओली पक्षले भने अविश्वास प्रस्ताव नराख्ने भएको छ । पार्टी विभाजन नभएको र आफ्नो पक्षले प्रचण्डलाई अध्यक्ष कायमै राखेकाले अलग पार्टीको रुपमा त्यस्ता गतिबिधि नगरिने ओली पक्षका नेताहरुले बताएका छन् ।

    ओली पक्षले प्रदेश १ र वागमतीमा पनि कांग्रेसलाई साथमा लिएर सरकार जोगाउने प्रयास गरिरहेको छ ।

  • चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरु प्रचण्ड निवासमा

    चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरु प्रचण्ड निवासमा

    काठमाडौं । नेकपा विभाजनपछिको अवस्था बुझ्न र नेकपा नेतृत्वलाई अझै पनि मिलाउने प्रयासका लागि काठमाडौं आइपुगेको चिनियाँ कम्युनिस्ट पार्टीको विशेष प्रतिनिधि मण्डल प्रचण्डलाई भेट्न खुमलटार पुगेको छ ।

    चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री गुओ येझाउको नेतृत्वमा आएको टोलीले प्रचण्डसँग छलफल पछि आजै विभाजित नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपाललाई भेट्दैछ ।

    आइतवार विशेष विमानबाट काठमाडौं आइपुगेको चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको थियो ।

  • पाण्डा व्यवस्थित गर्दै पर्यटकीय क्षेत्र बनाउन ७८ करोड

    पाण्डा व्यवस्थित गर्दै पर्यटकीय क्षेत्र बनाउन ७८ करोड

    इलाम । सन्दकपुर गाउँपालिकाले लोपोन्मुख रातो हाब्रे (रेड पाण्डा) व्यवस्थित गर्न ७८ लाख रुपैयाँको ठेक्का लगाएको छ । सन्दपुरस्थित सुलुबुुङको माइपातालमा करिब २०० रोपनी जग्गामा रेडपाण्डा व्यवस्थित गरिने भएको हो ।

    माइपाताल हाब्रे पाइने ठाउँका रूपमा प्रख्यात हो । पर्यटक आगमन गराउन गाउँपालिकाले ‘रेडपाण्डा नेटवर्क’को सहकार्यमा यो काम गर्न लागेको हो । पालिकाले यस क्षेत्रमा हाब्रे व्यवस्थित गर्न उपयुक्त वातावरण बनाउन र आक्रमणबाट जोगाउन ठेक्का दिएको हो । गाउँपालिकाका प्रवक्ता गिरिराज खनालका अनुसार हाब्रे व्यवस्थापनका लागि हेरालुसमेत राखिने भएको छ ।

    खनालका अनुसार हाब्रे बस्ने वातावरण मिलाउन गाउँपालिकाले ठूला रुखसमेत काट्ने छ । ‘हामी रेडपाण्डालाई प्रभावित पार्ने रुखबिरुवा काट्दै छौं’, प्रवक्ता खनालले भने, ‘स्थानीय प्रजातिका रुख बिरुवा रोप्ने छौं ।’ हेरालुका लागि व्यवस्थित गर्नैका लागि संरचना समेत गाउँपालिकाले बनाएको हो । गाउँपालिकाको केन्द्र देउरालीबाट ‘अल वेदर’ सडक लगिने गाउँपालिकाले जनाएको छ । यसै आर्थिक वर्षको अन्त्यसम्ममा यो काम सम्पन्न गरिने छ ।

    उच्च पहाडी क्षेत्र भएकाले रेडपाण्डासँगै अन्य वस्तुको अवलोकनसमेत यस ठाउँमा हुनसक्ने अनुमान गाउँपालिकाको छ । यस क्षेत्रमा लेकाली वनस्पति र अन्य जीवजन्तुसमेत पाइने बताइएको छ । पर्यटकीय क्षेत्र छिन्टापु जाने बाटो भएकाले भावी दिनमा यस ठाउँमा जाने पर्यटकसमेत हाब्रे अनुगमनमा आउने अनुमान छ ।

    हाब्रे व्यवस्थित गर्न वृक्षरोपण

    यस्तै, सन्दकपुर गाउँपालिकाकै हाब्रे व्यवस्थापनका लागि जौवारीमा ७०० रोपनी जग्गामा वृक्षरोपण गर्न थालिएको छ । रेडपाण्डा आवतजावत गर्ने जैविक मार्ग संरक्षण गर्नका लागि निजी आवादी जमिन खरिद गरेर सरकारको मातहतमा ल्याई रेडपाण्डा संरक्षणका लागि वृक्षरोपण थालिएको हो । रेडपाण्डा संरक्षणका लागि रेडपाण्डा नेटवर्कको सहयोगमा उच्च पहाडी संस्थाले जिल्ला वन कार्यलयको रोहबरमा जग्गा संरक्षण गरेको उच्च पहाडी संस्थाका कार्यक्रम संयोजक धनबहादुर खाम्दाक बताउँछन् । ‘नेपाल र भारतको सीमा क्षेत्रमा पर्ने भएकाले भारततर्फ सिंहलीला नेशनल पार्क छ’, उनी भन्छन्, ‘त्यो क्षेत्र संरक्षित छ, नेपालतिर जंगल विनाश भएर गएको छ ।’

    नेपालतिरको जङ्गल विनाश भएकाले वन्यजन्तु आवतजावतको लागि समस्या भएको बताइएको छ । त्यसको समाधानको लागि नेपाल र भारतबीचको जैविक मार्ग जोड्न पनि वृक्षरोपणको काम थालिएको उनको भनाइ छ । रेडपाण्डाको चरिचरन तीव्र भएको र वनजंगल विनाश भएसँगै निजी बसोबास क्षेत्रमा रेडपाण्डाको वासस्थान मासिएका कारण संरक्षण थालिएको हो ।

    संस्थाले गत वर्ष १७५ रोपनी जग्गा र यस वर्ष १९८ रोपनी जग्गा खरिद गरेर वृक्षरोपणको काम शुरु गरेको हो । उक्त ठाउँमा विभिन्न व्यक्तिका नाममा रहेको जग्गा खरिद गरी तारबार गर्ने काम थालिएको खाम्दाकको भनाइ छ । करिब तीन हजार मिटर क्षेत्रमा तारबारको तयारी गरिएको छ भने त्यस क्षेत्रको आसपासमा रहेका सरकारी जग्गासमेत समेटेर करिब ७०० रोपनी क्षेत्रफलमा वृक्षरोपणको काम थालिएको छ ।

    रेडपाण्डाको आहाराको रूपमा रहेको वनस्पति मालिङ्गो टेङ्गा, कुलिङ्गा चिमाल, वाण्टे, भालुचिन्डे गुराँसजस्ता वनस्पति लगाइएको छ । संस्थाले रेडपाण्डाको गतिविधि र क्रियाकलाप दैनिक अनुसन्धान गर्न एक वर्षका लागि १० वटा रेडपाण्डामा सेटेलाइट कलरिङ गरेको छ ।-रासस