Blog

  • कर्णालीको सरकार पनि सुरक्षित, दुवै पक्षका सांसद तानातान

    कर्णालीको सरकार पनि सुरक्षित, दुवै पक्षका सांसद तानातान

    सुर्खेत । पार्टी नफुट्दै अविश्वास प्रस्ताव खेपिसकेका कर्णालीका मुख्यमन्त्री महेन्द्रवहादुर शाही पछिल्लो समय राहत महशुस गर्दैछन् । प्रदेश १ र वागमतीका मुख्यमन्त्रीविरुद्ध प्रचण्ड-माधव नेपाल पक्षले अविश्वास प्रस्ताव दर्ता गरेपछि कर्णालीमा केपी ओली पक्षले के गर्छ भन्ने चासो छ । तर ओली पक्षको त्यस्तो तयारी देखिदैन ।

    गत असोज २५ गते सरकारका मुख्यमन्त्री शाही विरुद्ध ओली,माधव नेपाल र प्रचण्ड पक्षकै सांसदहरु भएर ल्याएको अविश्वासको प्रस्ताव केन्द्रमा प्रचण्ड–माधवपक्षबीच भएको समिकरणका कारण असफल भएको थियो ।

    सबैभन्दा सुरुमा कर्णालीमा अविश्वासको खेल सुरु भएपनि अहिले अन्य प्रदेशमा त्यो रोग सरेको छ । केन्द्रमा पार्टी दुइ कित्ता भएपछि अन्य प्रदेशमा त्यसका वाछिटा पुगेपनि कर्णालीमा भने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा रहेको सरकार सुरक्षित रहने अनुमान गर्न थालिएको छ ।

    पछिल्लो हिसाब अनुसार मुख्यमन्त्री शाहीको पक्षमा ओली पक्षका एक सांसद गरी २० जना सांसदले सर्मथन जनाइसकेका छन् । ओली पक्षका एक प्रभावशाली सांसदसमेत प्रचण्ड-माधव समूहमा लागेका कारण शाही सुरक्षित भएको उनी निकट स्रोतले जनाएको छ ।

    हाल कर्णालीमा ३३ जना नेकपाका सांसद रहेका छन् । ती मध्ये ओली पक्षमा १२ जना (सभामुख राजबहादुर शाही बाहेक), प्रचण्ड नेपाल समूहमा २० जना छन् । यो समूहबाट दुइ जना सांसद ओली पक्षमा गएका छन भने ओली पक्षका एक सांसद नेपाल पक्षमा गएका छन् ।

    अहिले कर्णाली सरकार जोखिममा छ भन्ने अवस्था कमजोर हुँदै गएको छ । सरकारका प्रवक्तासमेत रहेका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी भन्छिन्– ‘हामी अविश्वास प्रस्ताव आएको खण्डमा डटेर सामाना गर्न सक्छौं ।’

    नेकपा श्रोतका अनुसार मन्त्री केसीले भनेझैं प्रचण्ड नेपाल समूह अन्य एक जना ओली समूहका सांसदलाई मन्त्री वा संसदीय समितिको अध्यक्ष दिएरै भएपनि आफ्नो पक्षमा तान्न प्रयासरत देखिएको छ ।

    प्रचण्ड माधव समूहका एक नेताले भने- ‘हामीसँग २० जना सांसद अहिले छन् । ४० मध्ये २०को संख्या पनि हाम्रा लागि ठिक छ । यदि कांग्रेस र राप्रपासहित ओली पक्ष मिले पनि उनीहरुको संख्या १९ नै पुग्छ । त्यस्तो भएको खण्डमा सभामुखले निर्णायक मतदान गर्ने अवस्था आउँदैन ।’

    माधव नेपाल समूहका एक सांसदले अब मुख्यमन्त्री शाहीले पहिले नेपाल समूहसँग गरेको लिखित सम्झौता कार्यान्वयनमा गम्भीर हुनुपर्ने बताए । उनीहरुले ओली पक्षका मन्त्री हटाएर नेपाल पक्षलाई मन्त्री बनाउने सम्झौतापछि अविश्वास प्रस्ताव फिर्ता लिएका थिए ।

    ओली पक्षले भने अहिले नै अविश्वासको प्रस्ताव दर्ता नगरी हाल्ने मनस्थिति बनाएको ओली पक्षीय एक सांसदले नेपाल प्रेसलाई बताए । उनले नेपाल पक्षका दुइ जना सांसदले आफूहरु आउन सक्ने सम्भावना भएको खबर पठाएकोा दावी गरे ।

    त्यो सम्भव भए र कांग्रेस र राप्रपासँग सहकार्य गर्ने परिस्थिति निर्माण भएको खण्डमा मात्रै अविश्वास प्रस्ताव आउने बताइन्छ । सरकारका मुख्यमन्त्री शाही आफूले अविश्वासको प्रस्ताव आएको खण्डमा सामना गर्ने बताउँछन् ।

    शाहीले भने- ‘हामी संविधान र कानूनको बर्खिलाफ हुने गरी कुनै काम गर्दैनौं । संसदमा हाम्रो पक्षमा बहुमत संसद छन् । अहिले नै आत्तिनुपर्ने वा सदनमा विश्वासको मत जाँच्नुपर्ने अवस्थामा हामी छैनौं ।’

  • प्रचण्ड-माधव पक्षको शक्ति प्रदर्शन आज, ५० हजार कार्यकर्ता उतार्ने दावी

    प्रचण्ड-माधव पक्षको शक्ति प्रदर्शन आज, ५० हजार कार्यकर्ता उतार्ने दावी

    काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-माधव पक्ष)ले सरकारविरुद्ध आज राजधानी काठमाडौंसहित देशभर शक्ति प्रदर्शन गर्दैछ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विटघन गरेपछि बसेको प्रचण्ड-माधव पक्षीय केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओलीलाई कारबाही गर्दै उनीविरुद्ध आन्दोलनका कार्यक्रम तय गरेको थियो ।

    केन्द्रीय कमिटीको (७-८ पुस) बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई आन्दोलनको कमाण्डर तोक्दै पहिलो चरणको आन्दोलनका कार्यक्रम तय गरेको थियो ।

    ७७ वटै जिल्लामा प्रदर्शन गर्ने कार्यक्रम भए पनि नेकपाले मुख्यगरी काठमाडौंमा शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ । विशेष गरी वागमती प्रदेशभरको शक्ति काठमाडौंमा केन्द्रित गर्न लागेको नेकपाले भृकुटीमण्डपमा कार्यक्रम गर्दैछ ।

    केन्द्रीय आन्दोलन परिचाल समितिका अनुसार बिहान ११ बजे सुरु हुने प्रदर्शन काठमाडौंका ६ ठाउँबाट जुलुस शुरु हुने छन् । काठमाडौंका टेकुचोक, लैनचौर, नक्साल, घण्टाघर, रत्नापार्क र बागबजार क्षेत्रबाट जुलुस निस्कनेछन् ।

    स्थायी कमिटी सदस्य वर्षमान पुनले राजधानीको प्रदर्शनमा ५० हजार मान्छे उतार्ने दाबी गरेका छन् । युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’ले काठमाडौंको शक्ति प्रदर्शनका लागि आफूहरुले व्यापक तयारी गरेको बताए ।

    प्रचण्ड-माधव पक्षले आजको प्रदर्शनलाई आफ्नो शक्ति देखाउने अवसरका रुपमा लिएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक रुपमा आफूहरुको विजय भइसकेको बताउँदै अब सडकबाट त्यो निर्धारण हुन बाँकी रहेको बताएका छन् ।

    आजको शक्ति प्रदर्शनबाट ओली र अदालतले यथार्थता बुझ्ने र प्रतिनिधिसभा पुनर्स्थापना गर्न दबाब पुग्ने नेताहरुले बताएका छन् । भृकुटीमण्डपको सभालाई अध्यक्ष प्रचण्ड, अर्का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायतले सम्बोधन गर्नेछन् ।

  • चिनियाँ टोली र जसपा अध्यक्ष भट्टराईबीच भेटवार्ता

    चिनियाँ टोली र जसपा अध्यक्ष भट्टराईबीच भेटवार्ता

    काठमाडौं । सत्ता संकट गहिरिँदै जाँदा नेपालको भ्रमणमा आएको चिनियाँ उच्चस्तरीय टोलीले जनता समाजबादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग सोमबार साँझ भेटवार्ता गरेको छ ।

    चिनियाँ कम्युनिस्ट पार्टीका विदेश बिभाग उपमन्त्री क्वो ये चौ नेतृत्वको टोलीले भट्टराईलाई उनकै निवास टोखामा पुगेर भेट गरेको हो । भेटमा चिनियाँ पक्षले चीनको कम्युनिस्ट पार्टी स्थापनाको एकसय वर्ष पुग्न लागेको अवसरमा नेपाल भ्रमण गरेको बताएको थियो ।

    यो सन्दर्भमा चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका प्रमुख पार्टीबीच आपसी सम्बन्ध र नेपाल–चीन सम्बन्ध अझै सुमधुर बनाउन आफूहरु नेपाल आएको उपमन्त्री चौले जानकारी दिएका थिए ।

    नेपालको आन्तरिक मामलामा छलफल वा हस्तक्षेप गर्न आफूहरु यहाँ आएको हल्लामा शतप्रतिशत सत्यता नभएको पनि चिनियाँ टोलीले प्रष्ट पारेको थियो ।

    उपमन्त्री गुओ यैचोले सन् २०१५ मा तिब्बत जाने क्रममा चेङ्दुमा भएको भेटको स्मरण गर्दै पुनः भेट्न पाउँदा खुशी व्यक्त गरे ।

     

  • ट्रम्पले सुरक्षा एजेन्सीलाई क्षतविक्षत पारे – बाइडेन

    ट्रम्पले सुरक्षा एजेन्सीलाई क्षतविक्षत पारे – बाइडेन

    एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जोय बाइडेनले ट्रम्पको कार्यकालमा अमेरिकाको महत्वपूर्ण सुरक्षा एजेन्सीमा गम्भीर क्षति पुर्‍याइएको टिप्पणी गरेका छन् ।

    बाइडेनका अनुसार उनको टोलीले रक्षा लगायतका महत्वपूर्ण विभागहरुबाट आवश्यक सूचनाहरु अहिलेसम्म पाउन सकेको छैन । अमेरिकी अभ्यासमा राष्ट्रपति निर्वाचित भएपछि राष्ट्रिय सुरक्षा लगायतका विषयमा जानकारी राख्ने र निर्णय गर्न पाउने अधिकार रहन्छ ।

    उनले राष्ट्रिय सुरक्षा र विदेश नीतिका सहयोगीहरुसँगको संक्षिप्त छलफलका क्रममा यो कुरा गरेका हुन् ।

    बाइडेन आगामी जनवरी २० मा अमेरिकाको राष्ट्रपति पदको सपथ लिँदैछन् । तर अहिलेसम्म वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले हार स्वीकार गर्न सकेका छैनन् ।

    नोभेम्बर ३ मा भएको निर्वाचनको एक सातापछि बाइडेनलाई जासुसी संस्थाको ब्रिफिङ लिनबाट रोकिएको थियो, जवकि राष्ट्रपति निर्वाचित जो कोहिका लागि पनि यो सामान्य प्रक्रिया हो ।

    भर्चुअल माध्यमबाट आफ्ना कुरा राख्दै बाइडेनले उनको टिम रक्षा विभाग, व्यवस्थापन र बजेटको अवरोधको कसरी सामना गरिरहेको छ भनेर खुलाएका थिए ।

    ‘अहिले हामीले पाउनुपर्ने सूचनाहरु पाइरहेका छैनौं, जुन राष्ट्रिय सुरक्षा क्षेत्राम निवर्तमान प्रशासनले उपलब्ध गराउनुपर्छ,’ उनले भने ।

  • चेल्सीको लगातार कमजोर प्रदर्शन, एस्टोन भिल्लासँग बराबरी

    चेल्सीको लगातार कमजोर प्रदर्शन, एस्टोन भिल्लासँग बराबरी

    एजेन्सी । इंग्लिस क्लब चेल्सीका पूर्व स्ट्राइकर क्रिस सटनले नियमित जितको निरन्तरता दिन नसक्ने हो भने क्लबका प्रशिक्षक फ्र्यांक लाम्पार्डको भविश्य खराव बन्दै गइरहेको टिप्पणी गरेका छन् ।

    १२ डिसेम्बरमा एभर्टनलाई पराजित गर्न सकेको भए चेल्सी प्रिमियर लिगको शीर्ष स्थानमा पुग्ने थियो । तर त्यसो हुन सकेन ।

    पछिल्ला ५ मध्ये चौथो खेलमा चेल्सीले स्पष्ट तीन अंक हासिल गर्न नसकेको हो । गएराति उसले एस्टोन भिल्लासँग १–१ गोलको बराबरी खेल्यो ।

    ‘यो समयमा उनीहरु संघटग्रस्त क्लब हुन् । किनभने उनीहरुले राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन्,’ सटनले बीबीसी रेडियोसँग भने, ‘उनीहरु भुत्ते भएका छन् र फ्र्यांकले छिट्टै केहि गर्नुपर्छ । हामी सबैले बुझेका छौं चेल्सी खराव दिशामा छ ।’

    यो खेलमा जित हासिल गरेको अवस्थामा चेल्सी चौथो स्थानमा पुग्ने थियो । १६ खेलबाट उसको २६ अंक भएको छ र छैटौं स्थानमा छ । शीर्ष स्थानको लिभरपुलसँग ६ अंकको दूरीमा छ ।

    सोमबार रातीकै खेलमा क्रिष्टल प्यालेस र लेस्टर सिटीबीचको खेल पनि १–१ को बराबरीमै सकिएको छ । लिगमा लगातार दोस्रो बराबरी खेलेको लेस्टर दोस्रो स्थानमा यथावत छ । उसको १६ खेलबाट २९ अंक भएको छ ।

    कोरोना संक्रमित पाइएपछि म्यानचेस्टर सिटी र एभर्टनबीचको खेल स्थगित गरिएको छ ।

  • गृहजिल्ला पुगेर कमल थापाले भने–कम्युनिष्ट,कांग्रेस असफल भए, अब राप्रपाको पालो

    गृहजिल्ला पुगेर कमल थापाले भने–कम्युनिष्ट,कांग्रेस असफल भए, अब राप्रपाको पालो

    हेटौंडा । ताजा जनादेशको पक्षमा उभिएका राप्रपा अध्यक्ष कमल थापा सोमबार दिनभर गृहजिल्ला मकवानपुरमा कार्यकर्ता भेलामा सहभागी भएका छन् ।

    हिन्दू, राजसंस्था पुनःस्थापनाको पक्षमा पुस १७ गते हुन लागेको बृहत् प्रदर्शनको तयारीका लागि उनी हेटौंडा पुगेका हुन् । मकवानपुरको वागमती गाउँपालिकामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले २०६२/६३ को परिवर्तन पछि मुलुकले लिएको बाटो र मार्गचित्र नै त्रुटिपूर्ण भएको भन्दै थापाले त्यो मार्ग सच्याउन जरुरी भएको बताए ।

    उनले अब कांग्रेस र कम्युनिष्टको विकल्प राप्रपा भएको दाबी गरे । राईगाउँ र फापरबारीमा आयोजित छुट्टाछुट्टै कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आफूले चुनाव के कारणले हारेको बुझ्न नसकेको समेत बताए । थापाले आफूले मकवानपुरे जनताको थप माया खोजेको बताए। क्रान्ति र परिवर्तनको गफ दिने शक्तिहरु स्वार्थ, शक्ति र पदको भागबण्डामा रुमलिएर देशलाई बर्बाद गराउन उद्यत रहेको भन्दै थापाले आफूलाई ठूला भन्ने शक्ति कांग्रेस, कम्युनिष्ट असफल भएको बताए ।

    कार्यक्रममा बोल्दै पार्टीका कार्य सम्पादन समिति सदस्य राजाराम बर्तौलाले इमानदारिता, निष्ठा र सिद्धान्तप्रतिको प्रतिबद्धताको जगमा टेकेर राप्रपालाई मुलुकको बलियो र स्थायी शक्ति बनाउनुपर्ने आवश्यकतामा जोड दिए। भ्रष्ट र अक्षमलाई विस्थापित गरी राप्रपालाई स्थापित गर्न उनको आग्रह थियो ।

    कार्यक्रममा राप्रपा मकवानपुर अध्यक्ष रामहरि न्यौपाने, जिल्ला सचिव सागर थापा,  दिलबहादुर बल, शरणकाजी श्रेष्ठ, जोसेफ राई,  मदन रानालगायतले बोलेका थिए। थापाले विभिन्न पार्टी परित्याग गरेकालाई राप्रपामा स्वागत गरेका थिए ।

  • काठमाडौंमा प्रचण्ड–माधव पक्षधर विद्यार्थीको मसाल जुलुस

    काठमाडौंमा प्रचण्ड–माधव पक्षधर विद्यार्थीको मसाल जुलुस

    प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा उत्रिएको प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले मंगलवार गर्न लागेको शक्ति प्रदर्शनको पूर्वसन्ध्यामा विद्यार्थीहरुले राजधानीमा सोमवार साँझ मसाल जुलुस गरेका छन् ।

    प्रचण्ड–माधव निकट अनेरास्ववियूका कार्यकर्ताले केपी ओलीविरुद्ध नारा लगाउँदै मसाल जुलुस निकालेका हुन् । प्रहरीले हस्तक्षेप गरेपछि मीनभवन क्याम्पसबाट निस्केको जुलुस तितरबितर भएको थियो ।

  • काठमाडौंमा प्रचण्ड–माधव पक्षधर विद्यार्थीको मसाल जुलुस (फोटो फिचर)

    काठमाडौंमा प्रचण्ड–माधव पक्षधर विद्यार्थीको मसाल जुलुस (फोटो फिचर)

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा उत्रिएको प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले मंगलवार गर्न लागेको शक्ति प्रदर्शनको पूर्वसन्ध्यामा विद्यार्थीहरुले राजधानीमा सोमवार साँझ मसाल जुलुस गरेका छन् ।

    प्रचण्ड–माधव निकट अनेरास्ववियूका कार्यकर्ताले केपी ओली विरुद्ध नारा लगाउँदै मसाल जुलुस निकालेका हुन् । प्रहरीले हस्तक्षेप गरेपछि मीनभवन क्याम्पसबाट निस्केको जुलुस तितरबितर भएको थियो ।

     

          
  • आन्दोलन कांग्रेसको साझा, भाषण दुवै गुटको आधा–आधा

    आन्दोलन कांग्रेसको साझा, भाषण दुवै गुटको आधा–आधा

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले सोमबार देशभरका १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गर्‍यो । कांग्रेस सभापति शेरबहादुर देउवासहित पार्टीका केन्द्रीय नेताहरुले पनि विभिन्न क्षेत्रका सभालाई सम्बोधन गरे ।

    आन्दोलनमा उत्रने कि निर्वाचनको तयारी गर्ने भन्ने बहसलाई थाती राखेर एकदिने प्रदर्शनमा उत्रिएका कांग्रेस नेताहरुले साझा सन्देश भने दिन सकेनन् । सडकमा पनि कांग्रेसका नेताहरुको परस्पर विरोधी धारणाहरु सार्वजनिक भए ।

    देशभरको सभामा वक्ता बनेका केन्द्रीय नेताहरुले ‘गुटको लाइन’ अनुसारको वक्तव्य दिएका छन् । सभापति देउवाले भक्तपुरमा आयोजित विरोध सभामा बोल्दै अदालतमा विचाराधीन मुद्दाबारे नबोल्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

    भक्तपुरमा देउवाले यसो भन्दै गर्दा तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेल संसद पुनःस्थापना नै पार्टीको एजेण्डा रहेको बताउँदै थिए । ‘वैशाखमा निर्वाचन हुँदैन । संसद पुनःस्थापना नभए संविधान र लोकतन्त्र मासिन्छ’, पौडेलले भने ।

    अदालतले नगरे जनताले सडकबाटै संसद पुनःस्थापना गर्ने चेतावनी पौडेलले दिएका छन् । सभापति देउवाले भने अदालतप्रति कांग्रेसको विश्वास रहेको भन्दै सरकारको विरोध गरे पनि पुनःस्थापनाको माग पार्टीले नराख्ने स्पष्ट पारे ।

    देशभरका सभामा देउवा पक्षीय नेताहरुले संसद पुनःस्थापनाबारे कुरै उठाएनन् । सह–महामन्त्री डा.प्रकाशशरण महतले काठमाडौं क्षेत्र नम्बर ५ मा बोल्दै ‘अदालतले संसद विघटन सदर गर्नु पार्टीको हितमा हुने’, आशयको अभिव्यक्ति दिए । उनले संसद विघटन सदर भए निर्वाचन निश्चित हुने र निर्वाचनबाट कांग्रेस पहिलो पार्टी हुने बताए ।

    काठमाडौं क्षेत्र नम्बर १ को सभामा भने पूर्व महामन्त्री प्रकाशमान सिंहले सरकारविरुद्ध आन्दोलन अपरिहार्य भएको बताए । ‘संसद विघटनको विरुद्धमा जनताले आन्दोलन गर्नुपर्छ । ताजा जनादेश ओलीको देखावटी कुरा हो’, सिंहले भने ।

    नेपालगञ्ज पुगेका युवानेता गगन थापाले अदालतबाट न्याय मिल्ने आशा नमरेको बताए । तर उनले संविधान र लोकतन्त्र जोगाउन सडकबाट निरन्तर खबरदारी हुनुपर्नेमा जोड दिए ।

    काठमाडौं क्षेत्र नम्बर २ मा सम्बोधन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संसद विघटन गरेर प्रधानमन्त्री ओलीले ‘महागल्ती’ गरेको बताए । प्रधानमन्त्रीले गरेको गल्ती सच्याउने उपाय अदालत कि आन्दोलन भन्ने शर्माले खुलाएनन् ।

    संसद विघटनको कदमको आलोचना गरे पनि आन्दोलन कि निर्वाचन भन्नेमा कांग्रेसमा साझा मत बन्न सकेको छैन । जारी केन्द्रीय समितिको बैठकमा सभापति देउवा पक्षका नेताहरुले अदालतको आदेश शिरोपर गरेर निर्वाचनको तयारीमा होमिनुपर्ने बताउँदै आएका छन् ।

    वरिष्ठ नेता पौडेल पक्षका नेताहरुले भने संसद पुनःस्थापना पार्टीको बटमलाइन हुनुपर्ने र त्यसलाई सफल पार्न सडकबाट दबाब सिर्जना गर्नुपर्ने बताउँदै आएका छन् ।

  • चीनले भन्यो–नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौं

    चीनले भन्यो–नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौं

    काठमाडौं । नेकपा विभाजन रोक्न राष्ट्रपति सी जिनपिङको सन्देश बोकेर विशेष टोली काठमाडौं भेटवार्तामा व्यस्त रहेका बेला चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिप्रति आफू प्रतिबद्ध रहेको जनाएको छ ।

    सोमवार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियाले चीन-नेपालका सबै राजनीतिक दलहरुसँग मित्रवत् सम्बन्धमा रहेको बताए । उनले चिनियाँ कम्युनिष्ट पार्टी अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिमा प्रतिबद्ध रहेको बताए ।

    चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपविदेशमन्त्री गुओ येचौ नेतृत्वको प्रतिनिधिमण्डल महामारी नियन्त्रण र अन्य चासोका विषयमा केन्द्रित रहेर काठमाडौं पुगेको उनले बताए ।

    आइतबार नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिष्ट पार्टीको टोलीले राष्ट्रपति, प्रधानमन्त्री,सभामुख, विभाजित नेकपाका अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालसँग भेटवार्ता गरेको छ । टोली बुधवारसम्म काठमाडौंमा रहने बताइएको छ ।

    भेटमा चिनियाँ टोलीले नेकपा विभाजन दुर्भाग्यपूर्ण भन्दै एकतामै फर्किन दुवै पक्षका नेताहरुलाई सुझाव दिएको छ ।

  • सरकार र उखु किसानबीच ४ बुँदे सम्झौता, आन्दोलन स्थगित

    सरकार र उखु किसानबीच ४ बुँदे सम्झौता, आन्दोलन स्थगित

    काठमाडौं । सरकार र उखु किसान संघर्ष समितिबीच ४ बुँदे सम्झौतासँगै उखु किसानको आन्दोलन स्थगित भएको छ ।

    सम्झौता अनुसार २१ दिनभित्र उखु किसानको वक्यौता रकम सम्बन्धित चिनी मिलबाट भुक्तानी दिलाउने र म्यादभित्र रकम भुक्तानी नगर्ने उद्योगीलाई सरकारले कारवाही गर्नेछ ।

    किसान र चिनी उद्योगसँग सम्बन्धित अन्य समस्याबारे अध्ययन गरि १२० दिनभित्र सुझाव पेश गर्न सबैको प्रतिनिधित्व रहेको संयुक्त प्राविधिक समिति समेत गठन भएको छ ।

    सम्झौतामा उखु किसान संघर्ष समितिका अध्यक्ष रामस्वार्थ राय र सरकारको तर्फबाट उद्योग मन्त्रालयका सहसचिव नारायण रेग्मीले हस्ताक्षर गरेका छन् भने मध्यस्थकर्ताको रुपमा संविधानसभा सदस्य तथा नेकपा नेता हरि उप्रेतीले हस्ताक्षर गरेका छन् ।

  • कार्यकर्तालाई देउवाको निर्देशन–दुई गजको दूरीमा बस्नू, भ्याक्सिन नआउन्जेल जोगिनू (भिडियो)

    कार्यकर्तालाई देउवाको निर्देशन–दुई गजको दूरीमा बस्नू, भ्याक्सिन नआउन्जेल जोगिनू (भिडियो)

    काठमाडौं । पुसको चिसाेमा देशको राजनीति एकाएक तातिएका बेला राजनीतिक दलका नेता कार्यकर्ताले कोरोना महामारी पनि छ भन्ने बिर्सेजस्तो लाग्छ । प्रतिनिधिसभा विघटनपछि दलहरुले दिनहुँ जुलुस प्रदर्शन गरिरहेका छन् । कोभिडप्रतिको सचेतना पटक्कै देखिंदैन । तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने कोभिडको महामारीप्रति सचेत देखिएका छन् ।

    मन्चमा उभिएर चर्को भाषण गर्ने नेताहरुले कहिल्यै कोभिडबाट जोगिन जनता कार्यकर्तालाई सचेत गराएको सुनिंदैन । त्यसविपरीत देउवाले भने सोमबार भक्तपुरमा आयोजित कार्यक्रममा मन्चबाटै आफ्ना कार्यकर्तालाई दूरी कायम गरेर बस्न निर्देशन दिए । देउवाले महामारीको बेला पनि सडक आन्दोलनमा आउनु बाध्यता भएको सुनाउँदै महामारीबाट जोगिएर मात्र प्रदर्शनमा सहभागी हुन कार्यकर्तालाई आग्रह गरे ।

    देउवाले भने– यस्तो महामारीको बेला छ, टाढा टाढा बस्नुहोला, दुई गजको दूरी कायम राखनुहोला । त्यसो भयो भने महामारीबाट बँच्न सकिन्छ । अहिलेसम्म भ्याक्सिन आइसकेको छैन । कोही ६ महिनाभित्र आउला भन्छन् । तर नेपालसम्म आउँदा एक वर्ष लाग्न सक्छ । भ्याक्सिन नआउन्जेल दूरी कायम राख्नुपर्छ ।

    देउवाले कोभिड महामारीबाट जोगिएर दूरी कायम गर्दै प्रदर्शन र सभामा भाग लिन आफ्ना कार्यकर्तालाई आग्रह गरे ।

  • टेलिकमको सियुजी सेवा अब अभिभावकलाई पनि

    टेलिकमको सियुजी सेवा अब अभिभावकलाई पनि

    नेपाल टेलिकमले वितरण गरिरहेको ‘पाठशाला सियुजी सेवा’ सार्वजनिक विद्यालयका कर्मचारी, अभिभावक र विद्यालय सञ्चालक समितिका सदस्यले सहुलित दरमा प्रयोग गर्न सक्ने भएका छन् ।

    यसअघि विद्यालयका शिक्षक तथा विद्यार्थीका लागि प्रयोग भइरहेको सो सेवा अभिभावक तथा विद्यालय सञ्चालक समितिका सदस्यले समेत प्रयोग गर्न पाउने भएका हुन् ।

    टेलिकमले यसअघि देशभरका सार्वजनिक विद्यालयका शिक्षक तथा कक्षा १ देखि १२ सम्मका विद्यार्थीका लागि महामारीको अवस्थामा शिक्षाबाट वञ्चित हुनु नपरोस् भनी नेपाल सरकारले लागू गरेको आकस्मिक शैक्षिक योजना २०७७ अन्तर्गत पठनपाठनका लागि सहुलियत दरमा ‘पाठशाला सियुजी सेवा’ वितरण गरेको थियो ।

    यस सेवाअन्तर्गत कुनै एक सार्वजनिक विद्यालयसँग सम्बद्ध भई कम्पनीको संस्थागत प्रयोगकर्ता समूहमा आबद्ध हुन सेवाग्राहीलाई मासिक जम्मा ९९ रुपैयाँ मात्र सरकारी कर र स्वामित्व करबाहेक  लाग्दछ । यसमा आबद्ध सेवाग्राहीले क्लोज्ड ग्रुपभित्र असीमित कुराकानी गर्न सकिने भ्वाइस सेवा पनि उपलब्ध हुनेछ ।

    यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेबसाइटमा रहेका शैक्षिक सामग्री प्रयोग गर्न पाँच जिबी डाटा उपलब्ध भएकामा यसलाई बढाएर आठ जिबी डाटा उपलब्ध गराइएको टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए । उनका अनुसार यस समूहभित्र थप शुल्क बिना बल्क एसएमएस पठाउन सकिने सुविधा यथावत् रहेको छ ।

    साथै, कुनै पनि समयमा जुनसुकै प्रयोजनका लागि एक जिबी डाटा र समूहभित्र १०० वटा एसएमएस पठाउन सकिने सुविधा थप गरिएको छ । सहभागी कसरी हुने टेलिकमले ल्याएको ‘पाठशाला सियुजी सिम’ योजनामा आबद्ध हुन टेलिकमको जीएसएम वा सिडिएमए प्रिपेड मोबाइल नम्बर आवश्यक पर्दछ ।

    पहिलेदेखि नै प्रयोगमा रहेको प्रिपेड सिमकार्डलाई उक्त योजनामा आबद्ध गर्न सकिने र प्रिपेड सिमकार्ड नहुनेका लागि निःशुल्करुपमा नयाँ प्रिपेड सिमकार्ड लिन सक्नेछन् ।

    विद्यालयले ‘पाठशाला सियुजी सिम’मा आबद्ध हुने सम्पूर्ण शिक्षक, विद्यार्थी र अभिभावकको मोबाइल नम्बर र नामसहितको विवरण तोकिएको ढाँचामा तयार गर्नुपर्दछ । सो विवरण स्थानीय तहको सिफारिसका साथ नजिकैको नेपाल टेलिकम कार्यालयमा सम्पर्क गरी शुल्क भुक्तानी गर्नुपर्दछ ।

    त्यसपश्चात् सो ग्रुपमा आबद्ध सबै मोबाइल नम्बरमा एसएमएसमार्फत पाठशाला सियुजी सेवाको जानकारी उपलब्ध हुनेछ । यस अवधि सकिए पनि निःशुल्करुपमा प्रयोग गरिएको सिम अन्य प्रयोगकर्ता सरह नै निरन्तर प्रयोग गर्न सकिने प्रवक्ता जोशीले जानकारी दिए।

    उनका अनुसार आकस्मिक शैक्षिक योजना २०७७ बाहेक पनि विद्यालयको सिफारिसमा एकमुष्ट रुपमा प्रतिसदस्य ९९ रुपैयाँ  सरकारी कर र स्वामित्व करबाहेक प्रतिमहिनाका दरले नेपाल टेलिकमको काउन्टरमा रकम भुक्तानी गरी पाठशाला सियुजी सेवा प्राप्त गर्न सकिने छ । सो सेवाका लागि स्थानीय तहको सिफारिस आवश्यक नपर्ने जनाइएको छ

  • नेपाल प्रहरीका नौ एसएसपी डीआईजी बढुवा सिफारिश (सूचीसहित)

    नेपाल प्रहरीका नौ एसएसपी डीआईजी बढुवा सिफारिश (सूचीसहित)

    काठमाडौं । नेपाल प्रहरीका नौ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न प्रहरी प्रधान कार्यालयले सिफारिश गरेको छ ।

    रिक्त नौ डीआईजीका लागि एक नम्बरमा गणेशबहादुर ऐर सिफारिश भएका छन् भने ३३ किलो सुन काण्डमा परेर सफाइ पाएका दिवेश लोहनी पाँच नम्बरमा सिफारिश भएका छन् ।

    हेर्नुस् बढुवा सिफारिस सूची

  • महेश बस्नेत भन्छन्– ओली मिल्न खोज्ने, प्रचण्डको उद्देश्य एमाले निल्न खोज्ने

    महेश बस्नेत भन्छन्– ओली मिल्न खोज्ने, प्रचण्डको उद्देश्य एमाले निल्न खोज्ने

    सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (ओली पक्ष) का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले झलनाथ खनाल र माधव नेपालले प्रचण्डसँग ‘भागी विवाह’ गरेको टिप्पणी गरेका छन् ।

    युवा संघ नेपाल सुर्खेतले सोमबार वीरेन्द्रनगरमा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै उनले भागी बिहे गरेका नेताहरुलाई आफूहरुले केही दाइजो दिने तर सूर्य चिह्न नदिने बताए ।

    ‘पेरिसडाँडामा कसैको घर कब्जा गरेर कार्यालय बनाइएको थियो’ बस्नेतले भने, ‘हाम्रा कार्यालयहरु रगत र श्रमबाट निर्माण भएका हुन् । यी कार्यालयहरु कसैलाई दिन सकिंदैन ।’

    उनले प्रधानमन्त्री ओली प्रचण्डसँग मिल्न खोजे पनि प्रचण्डले एमाले निल्न खोजको आरोप लगाए । ‘हाम्रा प्रधानमन्त्री ओली प्रचण्डसँग मिल्न खोज्नुभयो तर प्रचण्डले एमालेलाई सधैं निल्न खोज्नुभयो’ उनको भनाइ छ, ‘त्यही कुरालाई हामीले सहन सकेनौं । उनीहरु अहिले विभाजित भएर गएका छन् । हामीलाई हाइसन्चो भएको छ ।’

    विगतमा जनताको बहुदलीय जनवाद प्रचण्डले नमानेको स्मरण गराउँदै बस्नेतले अहिले बल्खुमा गएर जननेता मदन भण्डारीलाई सलाम गर्नु स्वागतयोग्य कुरा भएको बताए।

    ‘कम्तीमा बहुदलीय जनवाद नमान्ने भन्ने नेता अहिले आएर जननेतालाई सलाम गर्न त पुग्नु भएछ नि’ उनले भने, ‘हामीले पूर्व माओवादीलाई यही रुपान्तरण गर्न खोजेका थियौं ।’

  • प्रतिनिधिसभा विघटनको विषय राष्ट्रियसभामा उठाउन नपाइने

    प्रतिनिधिसभा विघटनको विषय राष्ट्रियसभामा उठाउन नपाइने

    काठमाडौं । प्रतिनिधिसभा विघटनको विषयलाई राष्ट्रियसभाको बैठकमा उठाउन नपाइने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरे पनि राष्ट्रियसभाको बैठक भने आगामी पुस १७ गते बोलाइएको छ ।

    राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालले संसद विघटनको सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकोले निर्णय नआइकन राष्ट्रियसभामा छलफल चलाउनु नहुने बताइन् ।

    संघीय संसद सचिवालयले अधिवेशनको तयारी पूरा गरेको बताएको छ । यस्तै राजनीतिक दलहरु पनि आ–आफ्नो तयारीमा जुटेका छन् । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको विघटन गरेसँगै सबै राजनीतिक दलहरु यसको विरोधमा सडक संघर्षमा उत्रिएका छन् ।

    यस सन्दर्भमा राष्ट्रियसभाको अधिवेशनको प्रारम्भमा नै यस विषयमा विशेष रुपमा कुरा उठ्ने सम्भावनाबारे आशंकाहरु छन् । राष्ट्रियसभाको यस अधिवेशनतर्फ सबै राजनीतिक दल, नेता, कार्यकर्ता तथा आम जनताको ध्यान तानिएको छ ।

    खासगरी संसद विघटनको विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजनका निम्ति निर्वाचन आयोगमा दुई दलले नै आधिकारिकता माग गरेको अवस्थामा संसद विघटनको कदमप्रति राष्ट्रियसभा बैठकमा कसरी कुरा उठ्छ, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसदहरुको भूमिका यसपटक कस्तो रहन्छ र प्रतिपक्षी दलको भूमिका कस्तो रहन्छ भन्ने विषय नै मुख्य चासोको विषय बनेको छ ।

    राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहाल संसद विघटनको सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकोले सर्वोच्चबाट निर्णय नआइकन राष्ट्रियसभामा छलफल चलाउनु नहुने बताउँछिन् । राष्ट्रियसभाको यस अधिवेशनमा विधेयक पास गर्ने विषय नै मुख्य रहेको भन्दै उनले राष्ट्रियसभाले आफ्नो विधि, कानूनसंगत रहेर सदनलाई मर्यादित बनाउने तर्फ ध्यान दिने बताइन् ।

    नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संसदीय दलका नेता दिनानाथ शर्माले समसामयिक राजनीतिक विषय, विकास निर्माण र जनसरोकारका विषय राष्ट्रियसभामा स्वाभाविक रुपमा उठ्ने बताए । प्रतिनिधिसभा विघटनको विषय चर्को रुपमा उठ्ने सम्भावना भएकोले ती विषयलाई दलको नेताको हैसियतले संयोजन, समन्वय गरेर राष्ट्रियसभाको मर्यादालाई कायम राख्ने भूमिका आफूले निर्वाह गर्ने उनको भनाइ छ ।

    संसद विघटनको विषय सर्वोच्चमा पुगेको र नेकपा विभाजनको विषयमा पनि निर्वाचन आयोगको निर्णय आउन बाँकी भएकाले नेकपा विवादको झलक राष्ट्रियसभामा नदेखिने उनको भनाइ छ । राष्ट्रियसभाको गरिमा र मर्यादाको परिधिभित्र रहेर आफ्नो विचार अभिव्यक्त गर्न सबै सदस्य स्वतन्त्र रहेको भन्दै उनले राष्ट्रिय सभालाई अनावश्यक कुरा गर्ने थलो नबनाउने बताए ।

    राष्ट्रियसभा अधिवेशनको तयारी पूरा

    संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेले राष्ट्रियसभा बैठकका लागि आवश्यक व्यवस्थापकीय काम पूरा भएको बताए । राष्ट्रियसभा सदस्यहरुलाई भौतिक दूरी कायम गराएर राख्ने, सेनिटाइजरको व्यवस्था, तापक्रम नाप्ने सेन्सरजडित संयन्त्रहरुको व्यवस्था गरिएको र स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पूरा गरी व्यवस्था गरिएको उनको भनाइ छ ।

     

  • मुस्ताङमा खिचिएको बीबीसी फिल्मको विश्वव्यापी चर्चा, फिल्म पर्यटनमा सघाउने विश्वास

    मुस्ताङमा खिचिएको बीबीसी फिल्मको विश्वव्यापी चर्चा, फिल्म पर्यटनमा सघाउने विश्वास

    नेपालको हिमाली जिल्ला मुस्ताङमा छायांकन गरिएको बीबीसी वानको बहुचर्चित टिभी सिरिज ‘ब्ल्याक नर्सिसस’को लोकेसनलाई लिएर विश्वव्यापी चर्चा भैरहेको छ । अन्तराष्ट्रिय संचारमाध्यमले खिचिएको स्थानलाई लिएर चर्चा गरिरहेका छन् ।

    गतवर्षको शरद ऋतुमा फिल्म खिच्न नर्सिसस टोली मुस्ताङमा महिनौं बसेको थियो । मुस्ताङको नौरीकोट र कागबेनीमा गत दशैं छेकोमा फिल्म खिचिएको थियो । फिल्मको नेपाल व्यवस्थापन प्राविधिक संघका अध्यक्ष समेत रहेका पुष्कर लामा प्रेमले हेरेका थिए । पचास जनाको टोली नेपाल आएको थियो ।

    सन् १९३० को सेटिङमा खिचिएको सिरिजमा यसकी मुख्य पात्र सिस्टर क्लोडगसहितका उनका क्रिस्चियन भिक्षुणीले गरेको मुस्ताङको कथा छ । मुख्य भूमिकामा जेम्मा आर्टेटोनले अभिनय गरेकी छन् । मनै हर्ने खालको मुस्ताङी ल्यान्डस्केप र सौन्दर्यको प्रशंसामा यतिबेला विदेशी मिडिया व्यस्त छन् ।

    मुख्य पात्र जेम्मा आर्टेनले सिरिजको कथावस्तुसँग लोकेसनले मद्दत गरेको बताइन् । खासगरि, भिक्षुणीहरुको यात्रा र उनीहरुभित्र दबिएको यौन मनोविज्ञान यसमा चित्रित छ । ‘नेपालमा खिच्न पाउँदा हामीले भाग्यमानी महसुस गरिरहेका छौं । हामीलाई जोमसोम पुग्नै अढाइ दिन लागेको थियो । जतिबेला म त्यो लोकेसनमा पुगेको थिएँ, त्यहाँ मैले पात्रभित्र डुबेको महसुस गरेँ’ उनले भनिन् ।

    ‘हावा चाहिँ निकै पातलो थियो। हाइ अल्टिच्युडले बिरामी पनि भयौं तर हामीले आफूलाई जिवन्त महसुस गरेका थियौं । जीवनमा मैले पहिलोपटक यस्तो लोकेसन देख्न पाएँ । जहाँ फोन पनि थिएँन । यो एउटा म्याजिक जस्तै लाग्थ्यो । भगवानलाई प्रश्न गर्न मिल्ने टाइपको गजबको लोकेसन’ आर्टेनले भनिन् ।

    प्राविधिक संघका अध्यक्ष लामाले नेपालको पर्यटनमा यो सिरिजले महत्वपूर्ण भूमिका खेल्ने बताए । नेपाल पर्यटन बोर्डको एक तथ्यांकअनुसार अस्कर मनोनित फिल्म क्याराभानको छायांकनको कारण उपल्लो डोल्पा पुग्ने मध्ये ७० प्रतिशत पर्यटक फ्रान्सेली थिए ।

  • लुम्बिनी प्रदेश सरकार अप्ठ्यारोमा छैन–प्रवक्ता चौधरी

    लुम्बिनी प्रदेश सरकार अप्ठ्यारोमा छैन–प्रवक्ता चौधरी

    बुटवल । प्रतिनिधि सभा विघटन र नेकपाको विवादको असर प्रदेशश तहमा पुगेको छ । केही प्रदेशमा सरकारविरुद्ध मोर्चाबन्दी भएपनि लुम्बिनी प्रदेशमा भने त्यस्तो अवस्था छैन ।

    लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक बस्ने एसएमएस आएपछि नयाँ केही भएछ लौ भन्दै मन्त्रिपतिषद् कार्यालयको प्रेस ब्रिफिङ कार्यालयमा जुटेका पत्रकारलाई सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार तथा विकास मन्त्री बैजनाथ चौधरीले सुरुमै भने९–सरकारलाई कुनै अफ्ठौरो छैन ।

    पार्टी विभाजनको असर प्रदेश सरकारमा नदेखिएको उनले बताए । उनले सरकार र मुख्यमन्त्री शंकर पोखरेलको विरूद्धमा कोही पनि प्रस्तुत नभएको र हालसम्म केही नबोलेको बताए । सोमबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने क्रममा उनले भने, ‘पार्टीमा बिभाजन तहसम्मको अवस्था आए पनि हाम्रो क्याविनेट सौर्हादपूर्ण रुपमा चलेको छ र यहाँ त्यसको कुनै असर परेको छैन ।

    प्रवक्ता चौधरीले प्रदेश कसैलाई कारवाही गर्ने र कसैलाई मन्त्रीबाट निकाल्ने सोच र छलफल पनि नभएको बताए ।
    लुम्बिनी प्रदेश सरकारका सामाजिक विकस मन्त्री सुदर्शन बराल प्रचण्ड–माधव समूहमा छन् । उने गुल्मी पुगेर हिजोको सरकार विरोधी भेलामा सम्बोधन समेत गरेका थिए ।

    यस्तै पहिले रामबहादुर थापा बादल निकट रहेका आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसी हाल प्रचण्ड–माधव खुलेका छन् । यद्यपि उनी सरकार विरोधी भेलामा गएका छैनन् । उनीहरू दुबै जना सोमबारको मन्त्रिपरिषद बैठकमा सहभागी थिए ।

    लुम्बिनी प्रदेश सरकार नेकपा पार्टीमा देखिएका पछिल्ला घटनाक्रम पछि पनि पूर्ववत् अवस्थामा रहने सरकारका प्रवक्ता चौधरीको दाबी छ ।
    क्याविनेटमा अहिले प्रचण्ड नेपाल समूहमा आन्तरिक मामिला तथा कानूनमन्त्री केसी र सामाजिक विकास मन्त्री बराल रहेपनि सरकार छाडेर जाने वा अर्को समिकरण बनाउने बारे उनीहरूले बोलिसकेका छैनन् ।

    मुख्यमन्त्री शंकर पोखरेल सहित अन्य सबै मन्त्रीहरू प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओली निकटका छन् ।
    मन्त्रिपरिषद बैठकले दाङको तुलसीपुर उपमहानगरपालिका र बिलबाओ नगर परिषद, भिक्टोरिया प्राप्त स्पेनबीच भगिनी सम्बन्धी कायम गर्न नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको चौधरीले जानकारी दिए ।

     

  • अमेरिकी संसदको खर्च विधेयकमा ट्रम्पको हस्ताक्षर, नेपाललाई साढे १५ अर्ब

    अमेरिकी संसदको खर्च विधेयकमा ट्रम्पको हस्ताक्षर, नेपाललाई साढे १५ अर्ब

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बहुचर्चित खर्च विधेयकमा हस्ताक्षर गरेका छन् । जहाँ नेपालका लागि १३ करोड अमेरिकी डलर (साढे १५ अर्ब) भन्दा बढी विनियोजन गरिएको छ ।

    नेपालको लोकतन्त्र र विकास शीर्षकमा उक्त बजेट छुट्याइएको हो । यो विधेयकलाई लिएर अमेरिकी कंग्रेसमा रस्साकस्सी चलिरहेको थियो भने, केही रिपब्लिकन सांसदहरुले ट्वीटमार्फत असन्तोष व्यक्त गरिरहेका थिए ।

    वैदेशिक सैन्य आर्थिक सहायताको रकम भने नेपालको मानवीय कार्य, प्राकृतिक विपत्तिमा सहायता र अन्तर्राष्ट्रिय शान्ति कार्यक्रमहरुको लागि मात्र उपलब्ध हुने विधेयकमा जनाइएको छ ।

  • अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदसँग २४ घण्टे स्पष्टीकरण माग

    अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदसँग २४ घण्टे स्पष्टीकरण माग

    विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश १ को संसदीय दलले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रदेश सांसदहरुलाई स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । आज दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले अविश्वासको प्रस्ताव पेश गर्ने सांसदहरुलाई तत्काल प्रस्ताव फिर्ता गरी २४ घण्टा भित्र स्पष्टीकरण पेश गर्न निर्देशनसहितको पत्र पठाएका हुन् ।

    संसदीय दललाई जानकारी गराउनु भन्दा पहिले नै संसद सचिवालयमा ३७ जना सांसदहरुले आइतबार मुख्यमन्त्री शेरधन राईको विरुद्धमा अविश्वास प्रस्ताव पेश गरेका थिए । संसदीय दलमा छलफल नगरी पहिले नै प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गरेकोले प्रस्ताव फिर्तासहित स्पष्टिकरण पेश गर्न पत्र पठाएको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारील बताए ।

    अविश्वास प्रस्ताव संसदीय दलको विधानविपरी भन्दै फिर्ता लिएर स्पष्टीकरण नदिए राजनीतिक दल सम्बन्धी कानुन बमोजिम कारवाही गर्ने चेतावनीसमेत दिइएको छ ।

    सोधिएको स्पष्टिकरणपत्रमा भनिएको छ– नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, प्रचलित कानुनी ब्यवस्था तथा पार्टीको संसदीय दलको बिधान २०७६ को भाग ६ दफा २४ को (क, ख, ग, च, छ) आकर्षित भई बिधानको दफा २६ (ग) को देहाय (१०, २०, ४० र ५० बमोजिम तपाईलाई कारबाही किन नगर्ने ?

    पत्र प्राप्त भएको २४ घण्टा भित्र उक्त अविश्वासको प्रस्ताव फिर्ता गरी लिखित स्पष्टीकरण पेश गर्न दलका नेताको निर्देशन बमोजिम पेश गर्न निर्देश गरिएको पत्रमा उल्लेख छ ।

    पत्रमा भनिएको छ– अन्यथा संविधान, राजनीतिक दलसम्बन्धी ऐन, कानुन र दलको बिधानबमोजिम कारबाही भई जाने ब्यहोरा अवगत गराउँदछु ।

  • ‘प्रस्तावित मुख्यमन्त्री’ आचार्य भन्छन्ः कांग्रेस, जसपासित मिलेर मिलेर सरकार बनाउँछौ

    ‘प्रस्तावित मुख्यमन्त्री’ आचार्य भन्छन्ः कांग्रेस, जसपासित मिलेर मिलेर सरकार बनाउँछौ

    विराटनगर । प्रचण्ड–माधव नेपाल पक्षीय समूहले पदेश १ को मुख्यमन्त्री प्रस्ताव गरेका नेता भीम आचार्यले कांग्रेस, जसपालगायतका दलसित मिलेर सरकार बनाउने बताएका छन् । विराटनगरको तीनपैनीमा पत्रकार सम्मेलन गर्दै आचार्यले भने, ‘सबै लोकतान्त्रिक शक्तिहरुसँग मिलेर सरकार बनाउछैं ।’

    आइतबार ३७ सांसदले मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गरेको अविश्वास प्रस्तावमा मुख्यमन्त्री प्रस्ताव गरिएका आचार्यले आफ्नै पार्टीसँग सरकार बनाउँन आवश्यक सांसद भए पनि अरु दलहरुसँग पनि मिलेर जाने बताए। प्रदेशका नेकपा नेताहरू टंक आङबुहाङ, इन्द्र आङ्बो र तुल्सी न्यौपानेसँगै बसेर गरेको पत्रकार सम्मेलनमा आचार्यले प्रदेश सरकारको आलोचना गरे ।

    जनताको काम गर्न नसेकेको, कानुन निर्माणमा ढिलाइ गरेको, आर्थिक अनुशासन कायम नगरेको भन्दै आचार्यले सरकारको विरोध गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सदन विघटन गरेर लोकतान्त्रिक गणतन्त्र नै धरापमा पारेको आचार्यले आरोप लाए । ओलीले घोषणा गरेको बैशाखमा चुनाव नहुने र ओली नेतृत्वमा भएको चुनाव दलहरुले अस्वीकार गर्ने आचार्यले बताए ।

  • प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको प्रदर्शन

    प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको प्रदर्शन

    नेपाली कांग्रेस संसद विघटनविरुद्ध सडकमा उत्रिएको छ । प्रतिनिधिसभा भंग गर्ने सरकारको कदम असंवैधानिक र अलोकतान्त्रिक रहेको आरोप लगाउँदै कांग्रेसले देशभरका १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको हो । प्रदर्शनलाई सम्बोधन गर्दै कांग्रेसका नेताहरुले सरकारको तीव्र आलोचना गरेका छन् भने सर्वसत्तावादको अभ्यासलाई सफल हुन नदिने घोषणा गरेका छन् ।

     

  • राष्ट्रियसभा संसदीय दलमा ओली पक्षको बहुमत (सूचीसहित)

    राष्ट्रियसभा संसदीय दलमा ओली पक्षको बहुमत (सूचीसहित)

    काठमाडौं । प्रतिनिधिसभा विघटनपछि संघीय संसदको अस्तित्व अब राष्ट्रियसभाले धान्दैछ । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुस १७ गते अपरान्ह ४ बजे राष्ट्रियसभाको बैठक आह्वान भइसकेको छ ।

    प्रतिनिधिसभा नभएको अवस्थामा कतिपय विधायकको कामहरु राष्ट्रियसभाले गर्नेछ । राष्ट्रियसभामा उत्पति भई समितिमा रहेका विधेयकहरु अघि बढाउन चाहँदा यो अधिवेशनमा ती प्रक्रिया अघि बढ्न सक्छन् ।

    राष्ट्रियसभामा सरकारको पक्षमा बहुमत सांसद हुनु र नहुनुले धेरै फरक अहिले नपर्न सक्छ तर पनि नेकपाको आन्तरिक राजनीतिमा भने राष्ट्रियसभाका सांसदहरुको टाउको गन्ने क्रम शुरु भएको छ ।

    ५९ सदस्यीय राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनीत तीन जना सहित नेकपाका ५० जना सांसद छन् । नेपाली कांग्रेसका ६ जना र जनता समाजवादी पार्टीका ३ जना सांसद बाहेक नेकपा एक्लैको दुई तिहाइ भन्दा बढीको बहुमत रहेको राष्ट्रियसभामा अब समीकरण फेरिन सक्छ ।

    नेकपाका ५० मध्ये अध्यक्ष गणेश तिमल्सिना तटस्थ भूमिकामा रहनुपर्छ । यद्यपि उनी केपी ओली पक्षका हुन् । तर निर्णायक अवस्थामा बाहेक अध्यक्षले मत व्यक्त गर्न सक्दैनन् । त्यस्तो वामदेव गौतम र संसदीय दलका नेता दिनानाथ शर्मा अहिले दुवैतिर नखुल्ने भनेर बसेका छन् ।

    बाँकी ४७ जनामध्ये केपी ओलीको पक्षमा २६ जना सांसद छन् भने प्रचण्ड माधव नेपालको पक्षमा २१ जना छन् । तीमध्ये महेश महरा र हरिराम चौधरी पूर्व माओवादीका लेखराज भट्टसँग नजिक मानिन्छन् । तर अहिलेसम्म उनीहरु ओली पक्षमा खुलेका छैनन् ।

    संख्याको हिसाबले राष्ट्रियसभा संसदीय दलमा केपी ओली पक्षको बहुमत देखिएको छ । तर सरकारले कुनै बिजनेश लगेर पारित गर्नुपर्ने अवस्था आएमा राष्ट्रियसभामा ओली पक्षधर सांसदहरुको मात्र बहुमत पुग्दैन । बहुमतका लागि ३० सांसद आवश्यक पर्छ ।

    यस्ताे छ सूची

  • कम्युनिष्टहरु जनता र लोकतन्त्रका पक्षमा छैनन : नेता खाँण

    कम्युनिष्टहरु जनता र लोकतन्त्रका पक्षमा छैनन : नेता खाँण

    रुपन्देही । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबाट संविधान, लोकतन्त्र र प्रजातन्त्रको रक्षा हुन नसक्ने बताएका छन् ।

    नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर ३ ले सोमबार भैरहवामा गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता खाँणले संविधानको मर्म र लोकतन्त्रको मान्यताविपरीत प्रतिनिधिसभा भंग गरिएको आरोप लगाए ।

    ‘जनताको बलिदानबाट प्राप्त उपलब्धी संकटमा पार्नेगरी प्रधानमन्त्री र राष्ट्रपतिबाट काम भयो । कम्युनिष्टहरु लोकतन्त्र र जनताका पक्षमा हुँदैनन् भन्ने यो भन्दा ठूलो उदाहरण के हुन सक्छ ?’, खाँणले प्रश्न गरे । उनले संविधान र लोकतन्त्र नमान्ने कोहीपनि सुरक्षित नरहेको भन्दै नेपालका कम्युनिष्टको पनि पतन निश्चित भएको दावी गरे ।

    कार्यक्रममा महासमिति सदस्य युवराज गिरि, जिल्ला उपसभापति फणीन्द्र शर्मा, महाधिवेसन प्रतिनिधि बालकुमारी भण्डारी, कांग्रेस नगर सभापति खेलराज पाण्डे, नेविसंघका केन्द्रीय उपाध्यक्ष मुक्ति पौडेल, तरुण दलका जिल्ला सचिव रमेश शाही लगायतले बोल्दै वर्तमान सरकार संविधान मिचेर अघि बढेको बताएका थिए ।

    क्षेत्रीय सभापति हरि लम्सालको सभापतित्वमा भएको सभामा अधिवक्ता महेन्द्र पाण्डेले संविधानका बुँदाबारे जानकारी दिएर सरकारले गैरसंवैधानिक काम गरिरहेको उल्लेख गरेका थिए । त्यसअघि बुटवलको अस्पताललाइनबाट सुरु भएको  र्‍याली अमरपथ हुँदै ट्राफिकचोकमा पुगेर सभामा परिणत भएको थियो ।

  • राष्ट्रिय महिला क्रिकेटमा कर्णाली प्रदेश फराकिलो अन्तरले पराजित

    राष्ट्रिय महिला क्रिकेटमा कर्णाली प्रदेश फराकिलो अन्तरले पराजित

    रुपन्देही । दाङको लमहीमा जारी प्रधानमन्त्री कप  राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता टी–२० अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा प्रदेश २ ले कर्णालीलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

    प्रतियोगितामा समूह चरणबाटै बाहिरिएको प्रदेश २ ले सान्त्वना जित हासिल गर्ने क्रममा कर्णालीलाई १ सय ४३ रनले पराजित गर्यो ।
    सोमबारको पहिलो खेलमा प्रदेश २ ले प्रस्तुत गरेको १ सय ६६ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको कर्णाली निर्धारित २० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर २२ रनमा सिमित भयो ।

    कर्णालीका लागि ओपनर ब्याटर त्रिशना विश्वकर्माले ७ रन र आयुशा टन्डनले अविजित रहँदै ४ रन जोडिन् । बलिङतर्फ प्रदेश २ का लागि सरस्वती कुमारी र कविता गौतमले समान ३(३ विकेट लिदा सन्तोषी चौधरी र आरती चौधरीले पनि १–१ विकेट लिएका थिए ।

    त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ३ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो। टिमले ठूलो योगफल खडा गर्ने क्रममा उसका लागि ओपनर ब्याटर अनुराधा चौधरीले अर्धशतकीय पारी खेलिन् । अविजित रहेकी उनले ६० बलमा ६ चौकासहित ६९ रन बनाइन् ।

    टिमले सुरुवाती देखिनै राम्रो सुरुवात गरेको थियो ओपनरद्वय अनुराधा चौधरी र सोभा आले ले ६६ रनको ओपनिङ साझेदारी गरेका थिए । ७.२ ओभरमा पहिलो विकेटका रुपमा पभेलियन फर्किएकी सोभाले २४ बलमा २ चौकासहित २३ रन बनाइन् । यस्तै टोलीका लागि विमला मगरले २१ रन र सन्तोषी चौधरीले ७ रनको योगदान गरिन् ।

    बलिङतर्फ कर्णालीका लागि निशा पराजुलीले २ तथा सुजाता बोगटीले १ विकेट हात पारिन् । यो सँगै प्रतियोगिताको समूह ए मा रहेको कर्णालीले समूह चरणका सबै खेल गुमाउँदै प्रतियोगिताबाट बहिरिएको छ । यता प्रदेश २ दुई खेलमा पराजित हुँदा एक खेलमा जित हासिल गर्न सफल भयो । यस समूहबाट लुम्बिनी प्रदेश र विभागीय टोली एपीएफ सेमिफाइनल पुगेको छ ।

     

  • हलिउड बक्सअफिसमा ‘वन्डर वुमन’को उछाल, नेपाल रिलिजमा निर्णय आउन बाँकी

    हलिउड बक्सअफिसमा ‘वन्डर वुमन’को उछाल, नेपाल रिलिजमा निर्णय आउन बाँकी

    सन् २०१७ को ब्लकबस्टर फिल्म ‘वन्डर वुमन’ले हलिउड बक्सअफिसमा उत्साहजनक व्यापार गरेको छ । भेराइटी म्यागजिनका अनुसार ‘वन्डर वुमन १९८४’ले महामारीको मध्यमा पनि सबैलाई ‘छक्क पार्ने’ खालको व्यापार गरेको हो ।

    भेराइटी लेख्छ : कोरोनाभाइरस युगमा पनि वन्डर वुमन १९८४ ले पहिलो सप्ताहन्तमा गरेको १६.७ मिलियन डलर सबैलाई छक्क पार्ने खालको छ ।’ अमेरिका र क्यानडाका २ हजार हलमा रिलिज भएसँगै वार्नर ब्रोजको यो फिल्म एचबीओ म्याक्समा समेत रिलिज भएको थियो ।

    वार्नर ब्रोजका अनुसार एकैसाथ ओटीटी र हलमा रिलिज गर्दा दर्शकको संख्या गजबले विस्तार भैरहेको छ । क्रिसमसको दिनमा मात्रै यस फिल्मलाई कूल दर्शकको आधाले हेरेका थिए । अघिल्लो महिनाको तुलनामा २५ डिसेम्बरमा तीन गुणा बढी दर्शकले हेरेका थिए ।

    सन् २०१७ मा उत्तर अमेरिकाको ४ हजार हलमा रिलिज भएको वन्डर वुमनले बक्सअफिसमा १ सय मिलियन डलरभन्दा बढी व्यापार गरेको थियो । क्रिस्टोफर नोलनको टेनेटले सेप्टेम्बरको पहिलो सप्ताहन्त २०.२ मिलियन डलर आम्दानी गरेको थियो ।

    वन्डर वुमन १९८४ ले क्रिसमसको दिनमा अन्तराष्ट्रिय बजारमा ३६.१ मिलियन कमाउँदै कूल कमाइ ८५ मिलियन डलर कमायो । नेपालमा यसको रिलिज निश्चित भैसकेको छैन यद्यपी, वितरकहरुले हुन सक्ने सम्भावनालाई नकारेका छैनन् ।

  • थपिए ६५९ संक्रमित, ७ को मृत्यु

    थपिए ६५९ संक्रमित, ७ को मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ५ हजार ५७८ हजार नमुनाको पीसीआर परीक्षण गर्दा ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
    योसँगै हालसम्म देशभर कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार ८४० पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमित ६ हजार ४२७ जना छन् ।

    यस्तै आज ७१८ जना कोरोनामुक्त भएर घर फर्केका छन् । साथै, कोरोनामुक्त हुनेको संख्या हालसम्म २ लाख ५० हजार ५८१ पुगेको छ ।

    यसैगरी कोरोना भाइरसको संक्रमणबाट ७ जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या १८३२ पुगेको छ ।

  • नेकपा आधिकारिकता विवाद निरुपण हुन अझै दुुई महिना लाग्न सक्ने

    नेकपा आधिकारिकता विवाद निरुपण हुन अझै दुुई महिना लाग्न सक्ने

    काठमाडौं । नेपाल कम्युुनिष्ट पार्टी (नेकपा)को आधिकारिकता र चुनाव चिह्नसम्बन्धी विवाद निरुपण हुन अझै कम्तीमा दुई महिना लाग्ने सङ्केत देखिएको छ । विवाद निरुपणका लागि अपनाउनुपर्ने विधि, प्रक्रिया र समयका आधारमा नेकपाभित्रको हालको विवाद छिनोफानो गर्न उक्त समयावधि लाग्ने अनुमान गरिएको हो ।

    केन्द्रीय समितिको निर्णयको आधिकारिता दाबी गर्ने पक्षले दलको केन्द्रीय समितिको ४० प्रतिशत सदस्यको हस्ताक्षरसहित विवाद प्रारम्भ भएको मितिले ३० दिनभित्र आयोगसमक्ष आधार तथा प्रमाण पेश गर्नुपर्ने ऐनमा व्यवस्था छ ।

    नेकपा (दाहाल–नेपाल) समूहले उक्त ऐनमा व्यवस्था भएअनुरुप केन्द्रीय सदस्य बहुमत रहेको भनी आयोगसमक्ष आधिकारिकता र चुनाव चिह्नको माग दाबी गरिसकेको छ । एउटै दलका दुई वा सोभन्दा बढी पक्षबीच दलको नाम, छाप, विधान, झण्डा वा चिह्न, पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयका विषयमा विवाद उत्पन्न भएमा त्यस्तो विवादको निरुपण आयोगबाट हुने ऐनमा व्यवस्था छ ।

    उक्त दाबीका सन्दर्भमा लिखित जवाफ पेश गर्नका लागि यस्तो दाबी तथा प्रमाण प्रतिलिपि संलग्न गराई आयोगले अर्को पक्षलाई १५ दिनको सूचना दिइने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

    उक्त सूचना प्राप्त भएपछि यस्तो अवधिभित्र सम्बन्धित पक्षले आफ्नो लिखित जवाफ र पुष्ट्याई गर्ने आधार तथा प्रमाण पेश गर्नुपर्नेछ । पहिलोपटक दिइएको अवधिभित्र लिखित जवाफ पेश गर्न नसकेमा सम्बन्धित पक्षको अनुरोधमा लिखित जवाफ पेश गर्न आयोगले १० दिनको म्याद थप गर्न सक्नेछ ।

    उक्त अवधिभित्र लिखित जवाफ पेश भए पनि नभए पनि आयोगले विवादका सम्बन्धित पक्षलाई निरुपणका लागि आयोगमा उपस्थित हुन अवधि तोकेर सूचना दिनेछ । विवादका पक्षहरु आयोगमा उपस्थित भई निरुपण गर्न सहमत भएमा आयोगले पक्षबीच कायम भएको सहमतिअनुरुप विवाद निरुपण गर्नेछ ।

    सहमति कायम हुुन नसकेमा आयोगले दुुवै पक्षको दाबी, लिखित जवाफ र प्रमाणसहितको आधारमा कुनै एक पक्षलाई मान्यता प्रदान गर्न सक्ने कानूनी व्यवस्था छ ।

    विवादका कुनै पक्षलाई मान्यता दिन सकिने रहेनछ भने आयोगमा दाबी पेश गर्नुअघि त्यस्तो दलका तर्फबाट आयोगमा पेश भएको केन्द्रीय समितिका पदाधिकारी र सदस्यका नाममध्ये जुन पक्षसँग बहुमत छ त्यस्तो पक्षलाई विवाद उत्पन्न हुनुअघिको दलको हैसियत र अर्को पक्षलाई छुट्टै राजनीतिक दलको मान्यता दिन सकिनेछ ।

    निर्णय गर्ने सन्दर्भमा कुनै पक्षको बहुमत नदेखिएमा आयोगले विवादका पक्षबाट पेश भएका प्रमाण, सम्बन्धित दलको विधान र अन्य सम्बद्ध प्रमाणका आधारमा निर्णय गर्ने ऐनमा व्यवस्था रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए। विवाद निरुपण गर्दा आयोगले विवादका पक्षको सुनुवाइ गर्नुपर्नेछ ।

    उक्त प्रयोजनका लागि आयोगमा तत्काल कायम रहेको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त रहेको इजलास कायम हुने ऐनमा व्यवस्था छ । सुनुवाइमा विवादका पक्षले आफ्नो कानून व्यवसायी मुकरर गरी इजलाससमक्ष बहस पैरवी गराउन सक्नेछन् । सुनुवाइ गर्दा आयोगले विवादका पक्षलाई सुनुवाइ हुने दिनभन्दा सात दिनअगावै सूचना दिनुपर्नेछ । सुनुवाइका क्रममा आयोगले अदालतलाई भएसरहको अधिकार प्रयोग गर्नेछ ।

    आयोगले यसरी सुनुवाइ गर्दा लिखित जवाफ पेश भएमा पेश भएको मितिबाट तथा जवाफ पेश नभएमा पेश गर्ने अवधि नाघेको मितिबाट ४५ दिनभित्र निर्णय गर्नुपर्ने राजनीतिक दलसम्बन्धी ऐनमा व्यवस्था छ ।

    प्रतिनिधिसभा विघटनको निर्णयसँगै नेकपाभित्र उक्त कदम ठीक वा बेठीक भनी समूह विभाजनका साथै दलको आधिकारिकता र निर्वाचन चिह्नसम्बन्धी विवाद उत्पन्न भएको छ । उक्त विवादको छिनोफानोको विषय अहिले निर्वाचन आयोगमा पुगेको छ ।

    रासस

  • बेलायतबाट फर्किएका पाँच जनामा नयाँ प्रजातिको कोरोना

    बेलायतबाट फर्किएका पाँच जनामा नयाँ प्रजातिको कोरोना

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नयाँ प्रजाति (भेरियन्ट)को उद्गमस्थल बेलायतबाट आएका १९३ जनालाई निगरानीमा राखेको छ । तीमध्ये पाँचजनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले निगरानीमा राखिएकालाई ज्वरो र रुघा लागेको लक्षण देखिए पीसीआर परीक्षण गरेर उपचार गरिने जानकारी दिए ।

    महाशाखाले आज मात्र तीमध्ये १२ जनाको पीसीआर परीक्षण गरेको छ । मन्त्रालयले यसअघि नै सूचना जारी गरी यही पुस १ गतेदेखि ७ गतेभित्र बेलायत अथवा बेलायतको बाटो हुँदै नेपाल प्रवेश गरेका सबैका अनिवार्य रुपमा १० दिन होटल क्वारेन्टिनमा बस्न अनुरोध गरेको थियो ।

    मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी कोभिड–१९ को विकसित रुप नै नयाँ प्रजातिको भाइरस रहेको बताए । “ भाइरस परिवर्तन हुन्छन् । त्यस्तै कोभिड–१९ भाइरस परिवर्तन भएर नयाँ भाइरस बनेको हो” उनले भने, “कोभिड–१९ जस्तै यसको लक्षण हुन्छ । यसको सर्ने क्षमता भने अलि बढी नै छ । थप अध्ययन हुन बाँकी छ ।”

    उनले कोभिड–१९ जस्तै यसले पनि फोक्सोमा असर गर्ने बताए । उनले बेलायत, अमेरिका र अफ्रिकाबाट आएका मानिसको पीसीआर परीक्षण र क्वारेन्टिनमा राखिएको जानकारी दिए ।

    महाशाखाका निर्देशक डा पाण्डेले पीसीआर परीक्षणबाट नै नयाँ प्रजातिको भाइरस पत्ता लगाउन समस्या भइरहेकाले पुनःपरीक्षणका लागि बाहिर पठाउने तयारी पनि भइरहेको जानकारी दिए ।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले नयाँ प्रजातिको भाइरसका बिरामी कोभिड–१९ जस्तै रहेको र यसले सङ्क्रमण सार्ने दर बढिरहेको जानकारी दिए । उनका अनुसार ती संक्रमितको उपचार पनि कोभिड–१९ का बिरामी जस्तै गरिन्छ ।

  • देउवा भन्छन्ः अदालतको फैसला मान्छौं, त्यतिन्जेल एक्लै प्रदर्शन गर्छौं

    देउवा भन्छन्ः अदालतको फैसला मान्छौं, त्यतिन्जेल एक्लै प्रदर्शन गर्छौं

    काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनका सन्दर्भमा अदालतको फैसला पर्खेर बस्ने बताएका छन् । संसद विघटनविरुद्ध देशव्यापी प्रदर्शनका क्रममा सोमबार भक्तपुरमा आयोजित कार्यक्रममा सभापति देउवाले अदालतको फैसला नआउन्जेल कांग्रेस एक्लैले प्रदर्शन गर्ने बताए । कांग्रेस अरु पार्टीसँग लागेर संयुक्त रुपमा आन्दोलनमा नजाने उनले बताए ।

    देउवाले भने– हामी अदालतको फैसला मान्ने पार्टी हौं । अदालतले स्वविवेकीय निर्णय जे गर्छ त्यो मान्छौं । हामी अदालतलाई धम्क्याउने, तर्साउने काम गर्दैनौं । आफ्नो भने बमोजिमको फैसला आएन भनेर विरोध पनि गर्दैनौं । फैसला आउँदै गर्ला त्यतिन्जेल ओली सरकारको अप्रजातान्त्रिक कदमविरुद्ध एक्लै आन्दोलन गर्छौ ।

    देउवाले पंचायतकालमा समेत न्यायालयले स्वतन्त्र रुपमा काम गरेकाले अदालतको स्वतन्त्र भूमिकामा कांग्रेसले विश्वास गरेको समेत बताए । देउवाले आफ्नो भाषणभरि प्रतिनिधिसभा पुन:स्थापनाकाे कुरा भने गरेनन् ।

     

  • नेप्सेमा ५ अंकको वृद्धिसँगै नागरिक लगानी कोष सकारात्मक सर्किट ब्रेक नजिक

    नेप्सेमा ५ अंकको वृद्धिसँगै नागरिक लगानी कोष सकारात्मक सर्किट ब्रेक नजिक

    आज नेप्से ५‍.५७ अंकले उकालो लागेको छ । मंगलबार ०.२८ प्रतिशतले बढ्दै नेप्से २ हजार १२.८९ विन्दुमा रोकिएको छ ।

    आज भएको ८० लाख १ हजार ३१४ कित्ताको किनबेचमा ४ अर्व ९ करोड २२ लाख २७ हजार ८०२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

    आज लगानीकर्ता नागरिक लगानी कोषमा ओइरिंदा कोषको शेयर मूल्य करीब १० प्रतिशतले बढेको छ ।

    त्यस्तै, नारायणी विकास बैंकको शेयर पनि करीब १० प्रतिशतले बढेको छ । आज भएको कारोबारमा सबैभन्दा बढी नबिल बैंकको ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

  • वैशाखमा चुनाव हुँदैन, आन्दोलनको विकल्प छैनः नेता पौडेल

    वैशाखमा चुनाव हुँदैन, आन्दोलनको विकल्प छैनः नेता पौडेल

    तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वैशाखमा कुनै हालतमा निर्वाचन नहुने ठोकुवा गरेका छन् । तनहुँमा आयोजित विरोधसभामा बोल्दै नेता पौडेलले प्रधानमन्त्री र राष्ट्रपति दुवै संविधान र लोकतन्त्र मास्न लागिपरेकोले निर्वाचन हुने भ्रममा पर्न नहुने पौडेलको भनाइ  थियो ।

    ‘प्रधानमन्त्री र राष्ट्रपति मिलेर लोकतन्त्र र संविधानकै हुर्मत लिएको बेलामा चुनाव हुन्छ भनेर बस्नुहुँदैन । आन्दोलनबाटै असंवैधानिक कदम सच्याउनुपर्छ’, पौडेलले भने । नेपाली कांग्रेसको पहिचान नै संघर्ष हो भन्दै नेता पौडेलले संघर्षबाट पछि हटे देश र जनताले दुःख पाउने बताए । ‘आज लोकतन्त्र मासिंदा पनि संघर्ष गर्न डराउने हो भने कांग्रेस हुनुको के अर्थ ? संविधान जोगाउन एकपटक सबैले सर्वसत्तावादविरुद्ध लड्नैपर्छ’, नेता पौडेलले भने ।

    सरकारको उद्देश्य नै भ्रष्टाचारीलाई संरक्षण गर्ने र लोकतन्त्र सिध्याउने रहेको भन्दै नेता पौडेलले वैशाखमा चुनाव गर्ने घोषणा राजनीतिक स्टन्ट मात्रै भएको बताए ।

  • प्रचण्डको दाबीः ओली पराजित भइसके, हाम्रो विजयको सुरुवात भयाे

    प्रचण्डको दाबीः ओली पराजित भइसके, हाम्रो विजयको सुरुवात भयाे

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनपछि आफूहरुको विजयको सुरुवात भएको बताएका छन् ।

    ‘पार्टी भित्रको संघर्षलाई देशमा राजनीतिक संकट ल्याउने हदसम्म गएर ओलीजी इतिहासमा प्रतिगमनको बाहक बन्नु दुभाग्यपूर्ण त हो,’ सोमबार पेरिसडाँडामा आयोजित जनसांस्कृतिक महासंघको भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘तर मैले के भनेको छु भने केपी ओली इतिहासमा पराजित हुनुभयो । उहाँ कलंकित हुनुभयो। उहाँले कलंकको टीका लगाउनुभयो । फेरि एकचोटि हाम्रो विजय अभियानको सुरुवात भयो ।’

    प्रचण्डले ओलीलाई ‘श्री ३ महराज’ बन्न खोजेको आरोपसमेत लगाए। भने, ‘केपी ओली सामन्ती शासकजस्तो, श्री ३ महाराज जस्तो, जङ्गे (जङ्गबहादुर राणा) बन्ने बाटोमा हिंड्नुभयो।’

    प्रचण्डले सदन विघटित नभई ओली नेतृत्वको सरकारको विघटन भएको बताए । ‘सदन मरेको छैन, जीवित छ,’ उनको भनाइ थियो, ‘सदन विघटन भएको छैन । विघटन भएको केपी ओलीको सरकार हो ।’

    संविधान र जनताको भावनाविपरीत प्रतिनिधिसभा विघटन गरिएको भन्दै प्रचण्डले अदालतले त्यसको पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरे ।

    ‘सम्मानित अदालतले यति सामान्य कुरा, संविधानमा बडो प्रष्टसँग लेखिएको प्रावधान बुझ्दैन भनियो भने अदालतको अपमान गरेको ठहर्छ,’ प्रचण्डको भनाइ थियो, ‘म अदालतको भरोसा गर्न चाहन्छु । छिटो भन्दा छिटो प्रतिनिधिसभा सुरु गर्ने आदेश आउनेमा विश्वास छ ।’

    केहीले आफूहरु सडकमा पुग्यौं भनेर चिन्ता गरेको भन्दै प्रचण्डले आफूहरु सडकमा नभई जनताको बीचमा पुगेको बताए । ‘केपी ओलीलाई धन्यावाद’ उनको भनाइ थियो, ‘उहाँले हामीलाई जनताको बीचमा जाने बाटो देखाइदिनुभयो ।’

     

  • ‘स्मार्ट सिटी’ हाम्रो लक्ष्य हो: वालिङका नगर प्रमुख खाँण

    ‘स्मार्ट सिटी’ हाम्रो लक्ष्य हो: वालिङका नगर प्रमुख खाँण

    स्याङ्जाको वालिङ नगरपालिकालाई ‘स्मार्ट नगर’ बनाउने कार्यक्रमको घोषणापछि लक्ष्य प्राप्तिका लागि कार्यान्वयनकाे चरणमा छ । लक्ष्य प्राप्तिका लागि नगरपालिका बीसवर्षे बृहत् योजना, पाँचपाँचवर्षे आवधिक योजना र एकएक वर्षे रणनीतिक योजना बनाएर अगाडि बढेको छ ।

    विसं २०५३ मा साविकका वालिङ, पेखु बाघखोर र धनुबाँसे गाविसलाई मिलाएर वालिङ नगरपालिका बनेको हो ।

    राज्यको पुनःसंरचना अनुसार नगरपालिकामा थुमपोखरा, केवरेभञ्ज्याङ, माझकोट शिवालय, एलादी र सिर्सेकोटका सबै वडा तथा छाङ्छाङ्दी, स्वरेक, कालिकाकोट, तिन्दोबाटे, मनकामना र पेलाकोटका केही वडा समायोजन भई हालको वालिङ नगरपालिका बनेको हो ।

    उत्तरमा भीरकोट नगरपालिका, पूर्वमा बिरुवा गाउँपालिका र दक्षिणपूर्वमा चापाकोट नगरपालिका, दक्षिणमा गल्याङ नगरपालिका र पश्चिममा पर्वतको पैयूँ गाउँपालिकाले घेरिएको वालिङ स्याङ्जाको मध्यभागमा अवस्थित मुख्य व्यापारिक केन्द्रसमेत हो ।

    देशका १३ शहरलाई ‘स्मार्ट सिटी’ निर्माण गर्ने घोषणासँगै वालिङलाई पनि समावेश गरी काम अगाडि बढिरहेको छ । ‘स्मार्ट सिटी’ को अवधारणामा अगाडि बढ्दै गरेको वालिङका नगर प्रमुख दिलीपप्रताप खाँणसँग राससका वालिङ संवाददाता तोलाकान्त बगालेले गरेको कुराकानीको अंश

    वालिङ नगरपालिकामा यहाँले नेतृत्व प्राप्त गर्नुभएको साढे तीन वर्ष पूरा भएको छ, यस अवधिमा नगरपालिकाले हासिल गरेका मुख्यमुख्य उपलब्धि के के हुन् ?

    स्मार्ट सिटीका लागि आवश्यक पर्ने पूर्वाधारहरुको योजना बनाई सडक, खानेपानी, सिंचाइ, सञ्चार सञ्जाल (फाइबर लाइन) का कार्य अगाडि बढेका छन् । आधारभूत आवश्यकताका रुपमा तथ्याङ्क सङ्कलन, प्रशोधन, विश्लेषण गर्ने कार्य भएका छन् । आँधीखोला नियन्त्रण गर्ने, आँधीखोलाका दुवै किनारमा करिडोर निर्माण, नगरभित्रका सडक सुरक्षित गर्ने र विपद् न्यूनीकरण गर्ने कार्य भएका छन् । इनोभेसन सेन्टर, इन्कुवेशन सेन्टर, मेन्टर सिस्टम स्थापना भएका छन् । सुशासनका विभिन्न आयाममध्ये कानून, नियम र कार्यविधि निर्माण भएका छन् । डिजिटल प्रविधिको विकास गर्दै ‘गुड गभर्नेन्स’ स्थापित गरेका छौंँ । आर्थिक विकासका लागि स्वरोजगार सिर्जनाका लागि सीप हस्तान्तरण, लगानीको वातावरण र बजारीकरणको ब्यवस्था अगाडि बढाएका छौंँ । विशेष गरी नागरिकमा चेतनाको स्तर बढाउनका लागि सूचना प्रविधिको अधिकतम प्रयोग भएको छ र बुझाइमा नवीनता स्थापना गर्न प्रयासरत छौं ।

    नगरपालिकामा विकासनिर्माणको स्पष्ट खाका तयार गरी भौतिक पूर्वाधारका कार्य थालनी गरेका छौं। नगरवासीका आधारभूत आवश्यकता पूरा गर्नका लागि उहाँहरुकै चाहनाबमोजिम अगाडि बढेका छौंँ । सडक विस्तार, सडकको स्तरोन्नति, स्वास्थ्यको पहुँच विस्तार, शुद्ध प्रशोधित खानेपानी, व्यावसायिक कृषि, पशुपालनलाई प्राथमिकता, औद्योगिक ग्राम सञ्चालन गर्ने तयारी भइरहेको छ भने एकीकृत बस्ती विकास, सरसफाइ, शिक्षामा गुणस्तर वृद्धि गर्नाका साथै आधुनिक प्रविधिलाई पछ्याउँदै कार्यसम्पादनमा सुधारसहित फड्को मारेका छौंँ । नगरपालिकाले ‘स्मार्ट सिटी’ निर्माणका लागि कदम अगाडि बढाएको छ । वालिङको गन्तव्य भनेको ‘स्मार्ट सिटी’ हो, अहिले पाइला मात्रै चालेका छौंँ, यो पूरा हुन २० वर्ष लाग्ने अनुमान गरेका छौंँ । आशा छ, वालिङलाई तोकिएको अवधिभित्रै ‘स्मार्ट सिटी’ घोषणा गर्न सफल हुनेछौंँ । उक्त दिन वालिङ नगरपालिका देशकै पहिलो ‘स्मार्ट सिटी’ का रुपमा घोषित हुने छ ।

    विश्वभरि महामारीका रुपमा फैलिरहेको कोभिड– १९ ले गर्दा विकासनिर्माणमा के कस्तो असर पर्‍यो ?

    कोभिड –१९ का कारण वालिङ अछुतो रहने त कुरै भएन । कोभिडले यहाँ पनि असर गरेको छ । विकासनिर्माणका कार्यमा अवरोध सिर्जना भए । बजेट न्यून आएको छ जसका कारण थालिएका कार्य सम्पन्न हुन सकिरहेका छैनन् । भोलिका अवस्थामा यस्ता महामारीका बाबजुद वैकल्पिक उपाय अपनाउन सकिने अवस्थामा पुग्न कोशिश गरेका छौंँ । नागरिकको स्वास्थ्य पहिलो कुरा ठानेर अथवा नागरिकको स्वास्थ्यप्रति बढी सजग हुँदै नीति तथा कार्यक्रम बनायौंँ । नागरिकको मौलिक हकका रुपमा रहेको स्वास्थ्यप्रति सचेत हुँदै अगाडि बढ्यौंँ । नागरिकको जीवनरक्षा गर्न सक्यौंँ भने विकासनिर्माण त आगामी दिनमा पनि गर्न सकिन्छ, पाइन्छ भन्ने भावनाका साथ निरन्तर अगाडि बढेका छौ‌ ।

    विदेशबाट फर्केर रोजगारी गुमाएका स्थानीय बासिन्दाका लागि नगरपालिकाले रोजगारीको अवसर दिनका लागि केकस्तो योजना बनाएको छ ?

    विशेषतः नगरपालिकाले क्वारेन्टिन र आइसोलेशनमा बस्दा विदेशबाट आएका व्यक्तिसँग उनीहरुका विचार, योग्यता र फर्किने नफर्किने जस्ता प्रश्न सोधी तथ्याङ्क सङ्कलन गरेका थियौंँ । तिनै नागरिकलाई लक्ष्य गरी नगरपालिकाले युएनडिपीसँगको सहकार्यमा पोष्ट कोभिड –१९ का कार्यक्रम सञ्चालन गरेका छौंँ । उनीहरुसँग रहेको सीप परिमार्जित गर्ने, नयाँ सीप हस्तान्तरण गर्ने, उत्पादन र स्वरोजगारमा संलग्न गराउने र उत्पादित वस्तुलाई बजारीकरणमा पनि सामेल गराउने जस्ता कार्य सञ्चालन गरिएका छन् । साथै उनीहरुले यहीँ केही उद्यम गर्न चाहेमा त्यसका लागि आवश्यक वातावरण मिलाइदिने र नगरपालिकाका तर्फबाट विनाब्याज बीउपूँजी उपलब्ध गराउनाका साथै बैंक तथा वित्तीय संस्था, नगरपालिका जमानी बसेर सस्तो र सुलभ ब्याजदरमा व्यावसायिक कर्जा उपलब्ध गराउँदै आएका छौंँ ।

    नगरपालिकाले नीति तथा कार्यक्रममा कस्ता योजनालाई बढी प्राथमिकतामा राखेर काम गरेको छ ? नगरका गौरवका योजना केके हुन् ?

    नगरपालिकाले बीसवर्षे बृहत् योजना, पाँचवर्षे आवधिक योजना र एक वर्षे रणनीतिक योजनाहरु बनाएको छ र स्मार्ट सिटी निर्माणका लागि आधारभूत विकासको शहर, स्वाबलम्बी शहर हुँदै २० वर्षमा स्मार्ट सिटी निर्माण गर्ने योजनाअनुसार आफ्ना नीति तथा कार्यक्रम अगाडि सारेको छ । सोहीअनुसार हरेक वर्ष निर्धारित कार्यक्रमअनुसार आफ्ना प्राथमिकतालाई अगाडि बढाएको छ ।
    पूर्वाधार निर्माण गर्दा तथा योजना बनाउँदा दूरगामी सोचका साथ अगाडि बढिरहेका छौंँ । हाम्रा पूर्वाधारहरुले आगामी नयाँ पुस्ताका लागि पछिसम्म धान्न सक्ने सडक सञ्जाल, खानेपानी प्रणाली, सिंचाइ प्रणालीमा दिगो विकासलाई लक्ष्य गरी योजना बनाएका छौंँ । वातावरणीय सुधार, नदी नियन्त्रण, नदीहरुमा करिडोर निर्माण, तालतलैया निर्माण, पानीको भूसतह उठान, प्राकृतिक चक्रीय प्रणालीको सन्तुलनका साथ आधुनिक स्वस्थकर हावापानी, शारीरिक परिश्रम गर्ने स्थलहरुको निर्माण गर्नाका साथै मानसिक सन्तुलनका लागि मनोरम पार्क निर्माणलाई प्राथमिकता दिएका छौंँ । सुनौली–पोखरा सिद्धार्थ राजमार्ग वालिङ नगरपालिकाभित्र १२ किलोमिटर पर्छ । नगरपालिकाकै पहलमा सडक चौडा गरी ‘डेडिकेटेड टु लेन’ बनाउने कार्य भइरहेको छ ।

    जिल्लाकै सभ्यता तथा धार्मिक आस्थासँग जोडिएको आँधीखोलाको दुवै किनाराबाट आँधीखोला करिडोर निर्माण भइरहेको छ भने नगरका विभिन्न वडाका गाउँमा बाह्रै महिना सवारी साधन सञ्चालनका लागि ग्रामीण सडक विस्तार तथा स्तरोन्नति भइरहेको छ । चौध वटा वडामा १७ वटा स्वास्थ्यचौकी तथा शहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । वालिङमा सुविधासम्पन्न अस्पताल निर्माणका लागि जग्गा खरीद गरी निर्माण प्रक्रिया थालिएको छ । स्वच्छ र सफा शुद्ध खानेपानीका लागि वडावडामा खानेपानीका योजना सञ्चालन भएका छन् । आधुनिक प्रविधिलाई पछ्याउँदै आइटी र आइओटीका क्षेत्रमा धेरै अगाडि बढेका छौंँ । फोहोर मैला व्यवस्थापनमा देशकै उत्कृष्ट भई पुरस्कृत भएको र अहिले सोही ठाउँमा दिसाजन्य लेदो व्यवस्थापनका लागि प्लान्ट निर्माण भईरहेको छ । वालिङ– ९ सुर्कौदीमा एकीकृत बस्ती विकास ९नयाँ शहर० बसाल्नका लागि तयारीलाई अन्तिम चरणमा पुृर्‍याइएको छ । कृषि तथा पशुपालनका क्षेत्रमा व्यवसायीलाई बीउपूँजी उपलब्ध गराएका छौंँ भने गाउँगाउँमा सहकारी गठन गरी सोहीमार्फत लगानीको व्यवस्था मिलाएका छौंँ ।

    कोरोना महामारी रोकथाममा वालिङ नगरपालिकाले के कस्ता गतिविधि गरेको छ ?

    यसको रोकथामका लागि हरेक घर, हरेक गाउँ, टोल र वडास्तरबाट नै सचेत हुन जरुरी थियो । त्यसैले समग्र नगरको सुरक्षाका लागि हरेक टोलटोलका समितिलाई चेतनामूलक कार्यक्रम गरियो, निगरानीको जिम्मा दिइयो । नगरस्तरीय समिति गठन गरी हरेक पलपलको सूचना र आवश्यक कार्य गरियो । विदेशमा रहेका वालिङबासीको तथ्याङ्क सङ्कलन गरी कति आउन सक्ने अनुमान गरियो। करीब १,२०० व्यक्तिहरु आउन सक्ने अनुमान गरी त्यहीअनुसारका क्वारेन्टिन निर्माण, आइसोलेशन र कोभिड अस्पतालको व्यवस्थापन गरियो र अहिले पनि पाँच शय्याको आइसोलेशन सञ्चालनमा छ जसमा सबै आवश्यक सुविधा मौजुद छन् । आइसोलेशनको व्यवस्था छ र नियमित पिसिआर परीक्षण जस्ता सम्पूर्ण कार्य निःशुल्करुपमा उपलब्ध छ । अहिलेसम्म क्वारेन्टिनमा १,५०० भन्दा बढी व्यक्ति बसिसक्नुभएको छ । करीब २,२०० जनाको पिसिआर परीक्षण गरिएको र २०० भन्दा बढी आइसोलेशनमा बस्नुभएको छ । तीस जनाभन्दा बढी कोभिड अस्पतालमा बस्नुभएको छ । नगरपालिकाले कोभिड– १९ का कारण रोजगारी गुमाएका तथा अतिविपन्नलाई लक्ष्य गरी १२ हजार नौ जनालाई खाद्यान्न तथा राहत वितरण गरेको थियो । वालिङ नगरपालिका कोभिड– १९ राहत कोष स्थापना गरी त्यहाँ विभिन्न सङ्घसंस्था तथा व्यक्तिबाट अर्थ तथा खाद्यान्न सङ्कलन गरी न्यून आय भएका अतिविपन्न, मजदूरलाई राहत वितरण गरिएको थियो । नगरपालिकाले सञ्चालन गरेको कोभिड कोषमा रु एक करोड १२ हजार ७६३ सङ्कलन भएको मध्ये राहत, आइसोलेशन र क्वारेन्टिन खर्चमा रु ८३ लाख ३४ हजार ७०३ खर्च भएको छ ।

    वालिङलाई स्मार्ट नगरपालिका बनाउनका लागि कार्यान्वयनका चरणमा हुनुहुन्छ, स्मार्ट पालिकाका लागि के काम भइरहेको छ ?

    वालिङ नगरपालिका स्मार्ट वालिङ बनाउने कार्यक्रमको घोषणा भएको हो । यसका लागि विभिन्न योजनाका साथ अगाडि बढेका छौँ । वालिङको विकासलाई तीन चरणमा विभाजन गरेर पहिलो आधारभूत आवश्यकता पूर्ण गर्ने गरी आधारभूत सिटीका रुपमा १७ वटा दिगो विकास लक्ष्यसहितको शहरका रुपमा र अन्तमा स्मार्ट वालिङका रुपमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ ९आइओटी० को पूर्ण उपयोग गरी २० आ्रैँ वर्षमा नेपालको सापेक्ष स्मार्ट वालिङका रुपमा घोषणा गर्नेछौंँ ।

    वालिङ नगरपालिकाले सूचना प्रविधिका क्षेत्रमा फड्को मार्दै अगाडि बढेको भन्ने सुनिन्छ, सूचना प्रविधिमा नगरपालिकाले प्राप्त गरेको हालको उपलब्धि के हो ?

    नगरपालिकालाई स्मार्ट सिटी बनाउने क्रममा हाम्रा चार वटा पिल्लरमध्ये एउटा पिल्लर स्मार्ट गभर्नेन्स हो । यसका विभिन्न आयाममध्ये महत्वपूर्ण आयाम डिजिटल गभर्नेन्स हो । डिजिटल गभर्नेन्सका लागि आइटीको अधिकतम उपयोग हुनुपर्छ, हाउस सर्भेदेखि लिएर जिआइएस प्रणालीसम्म, जिपिएस सिष्टमदेखि लिएर एप्लिकेशनसम्मका सफ्टवेयर प्रयोगमा आइसकेका छन् । त्यसैले हरेक नागरिकको सेवा, रेकर्ड सिष्टम, कार्यशैली, नगरपालिकाका सम्पूर्ण कार्य डिजिटल डाटाका रुपमा उपयोग गरी सम्पूर्ण सेवालाई सूचना प्रविधिका माध्यमबाट उपलब्ध गराई पेपरलेसका रुपमा कार्य गर्दै शून्य कागजका रुपमा स्थापित गर्ने कार्य अगाडि बढिरहेका छन् ।

    वालिङले फोहोर मैला व्यवस्थापनका क्षेत्रमा गरेको उपलब्धिको अध्ययन अनुगमनका लागि विभिन्न ठाउँबाट सङ्घसंस्था, व्यक्तिहरु आउने गर्नुहुन्छ, खासमा वालिङले फोहोर मैलाका क्षेत्रमा के गर्यो जुन यति धेरै चर्चामा छ ?

    वास्तवमा फोहोर भन्ने वस्तु नै हुँदैन । हामीले त्यसलाई फोहोर बनाइरहेका छौंँ । त्यसै हुनाले स्रोतमा नै हरेक वस्तुहरु अलगअलग गर्‍यौं भने त्यो फोहर होइन स्रोत हो । सबै एक ठाउँमा मिसायौं भने त्यस्ता वस्तु फोहर हुन्छन् । नगरपालिकाले स्रोतमै वस्तु अलगअलग छुट्टयाउने हुँदा हामीले स्रोतका रुपमा प्रयोग गरेका छौं । कुहिने वस्तुलाई मलका रुपमा उपयोग गर्ने, नकुहिने वस्तुलाई पुनः प्रयोगका रुपमा बिक्री गर्ने अथवा आफैँ प्रशोशन गर्ने कार्य गरेका छौं । त्यसैले हामीले फोहोरका रुपमा नभई स्रोतका रुपमा लिई स्रोतलाई व्यवस्थित गर्ने गरी हाम्रा कार्य अगाडि बढेका छन् । त्यस्तै हरेक घरका सेफ्टी ट्याङ्की भरिएपछि त्यस्ता सेफ्टी ट्याङ्की बाहिरी स्रोत ढल तथा खोलानालामा नमिसाउनका लागि दिसाजन्य लेदो व्यवस्थापनका लागि प्लान्ट निर्माण गरेका छौं । यसबाट कम्पोष्ट मल र बायोग्यास उत्पादन गरी प्रयोग गर्ने र पानीका स्रोत अन्य जमीनमा जीवाणु तथा विषाणु फैलिनबाट रोक्ने गरी अगाडि बढेका छाै।

    सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्व छ छैन, यहाँको अनुभव के छ ?

    तीन वटा सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वको मर्मअनुसार अगाडि बढ्ने भनिए पनि यसको कार्यान्वयन पक्ष खासै राम्रो हुन सकिरहेको छैन । अझै भनौं, कार्यान्वयनको पक्ष कमजोर भएको महसुस गरेको छु । विकासनिर्माणका क्रममा दोहोरोपन हुन नदिन, भ्रष्टाचार हुन नदिन, योजनाहरुको दिगोपना बनाउन पारदर्शिताका लागि पनि समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक छ जस्तो लाग्छ । जुन अपेक्षा संविधानमा राखियाे त्यसअनुसार नभएको पक्कै पनि हो । यसमा नगरपालिकाले कोशिश गरे पनि सन्तोषजनक परिणाम भने आउन सकेको अवस्था छैन ।