Blog

  • नयाँ कोरोनाभाइरस भेटिएपछि दिल्लीमा कर्फ्यु

    नयाँ कोरोनाभाइरस भेटिएपछि दिल्लीमा कर्फ्यु

    दिल्ली /नयाँ प्रजातिको कोरोनाभाइरस संक्रमणको डरले दिल्लीमा रात्रीकालिन कर्फ्यु घोषणा गरिएको छ । दिल्ली सरकारले अंग्रेजी नयाँवर्ष २०२१ को छेकोमा संक्रमण फैलिने भन्दै विहिबार र शुक्रबार निषेधाज्ञा घोषणा गरेको हो ।

    नयाँवर्ष मनाउन मानिसहरुले रात्री समयमा भीडभाड गर्ने र त्यसले संक्रमण फैलाउन मद्दत गर्ने भएपछि कर्फ्यु लगाउनुपरेको जनाइएको छ ।

    दिल्ली विपद व्यवस्थापन प्राधिकरणले डिसेम्बर ३१ को राती ११ बजेदेखि बिहान ६ बजे र जनवरी १ को राती ११ बजेदेखि भोलिपल्ट ६ बजेसम्म कर्फ्यु लागु गर्ने जनाएको हो । सार्वजनिक स्थलमा पाँचजनाभन्दा बढी भेला हुन र नयाँवर्षको कुनैपनि उत्सव, कार्यक्रम र समारोह राती नगर्न भनिएको छ ।

    दिल्लीका आठ जनामा नयाँ प्रकारको कोरोनाभाइरस फेला परेपछि यस्तो आदेश गर्नुपरेको जनाइएको छ । पछिल्लो समय दिल्लीमा कोभिड संक्रमण कम हुँदै गएको छ । बुधबार मात्रै दिल्लीमा ७०३ जना संक्रमित थपिएका थिए ।

  • प्रदेश १ को नेकपा संसदीय दल विभाजन, प्रचण्ड–माधव पक्षको नेता भीम आचार्य चयन

    प्रदेश १ को नेकपा संसदीय दल विभाजन, प्रचण्ड–माधव पक्षको नेता भीम आचार्य चयन

    काठमाडौं । प्रदेश १ को नेकपा संसदीय दल आजबाट औपचारिक रुपमा विभाजन भएको छ । मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको प्रचण्ड–माधव नेपाल पक्षले राईलाई संसदीय दलको नेताबाट हटाउँदै भीम आचार्यलाई नेता चयन गरेपछि दल विभाजन भएको हो ।

    प्रचण्ड–माधव पक्षले आचार्यलाई भावी मुख्यमन्त्री प्रस्ताव गरि अविश्वास प्रस्दा दर्ता गराएको छ । आज बसेको संसदीय दलको बैठकले राईलाई नेताबाट हटाएको सांसद इन्द्र आङ्बोले बताए ।

    आचार्य राईसँग संसदीय दलको नेतामा पराजित भएका थिए । प्रदेश १ को प्रदेशसभामा नेकपाका ६७ सांसदमध्ये ३७ जनाले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए । तर एकजना हस्ताक्षरकर्ता कला घलेले आफूले हस्ताक्षर फिर्ता लिएको बताएकी छन् ।

  • तेस्रोलिंगी मोडल एन्जल लामाले ब्युटी पेजेन्टमा रचिन इतिहास

    तेस्रोलिंगी मोडल एन्जल लामाले ब्युटी पेजेन्टमा रचिन इतिहास

    काठमाडौं । तेस्रोलिंगी मोडल एन्जल लामाले प्रतिष्ठित अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिताको नेपाली संस्करणमा फाइनल यात्रा तय गर्दै इतिहास रचेकी छन् । राजधानीमा बुधबार सम्पन्न मिस युनिभर्स नेपाल २०२० को फिनालीमा उनी उत्कृष्ट १८ भित्र प्रवेश गरिन् ।

    लामाको यो उपलब्धीबारे अन्तराष्ट्रिय मिडियाले चर्चा गरिरहेका छन् । उनीहरुले ब्युटी पेजेन्टको यो कीर्तिमानलाई नेपालमा उपलब्ध एलजीबीटीआइ (लैंगिक अल्पसंख्यक)को स्वतन्त्रतासँग व्याख्या गरेका छन् । म्यानमार र मंगोलियापछि लैंगिक अल्पसंख्यकको स्वतन्त्रता दिलाउने मुलुकमा नेपाल पर्छ ।

    ‘नेपाली समाजमा रहेको विविधतालाई झल्काउन म यो प्रतियोगितामा आएकी हुँ’ २१ वर्षिया लामाले भनिन्, ‘यदि मैले जित्थेँ भने यो एउटा ठूलो सन्देश हुने थियो ।’ लैंगिक अल्पसंख्यकको सहभागितालाई आकर्षित गर्न आयोजकले उचाइ, तौल र सौन्दर्यको मापनमा लचिलो नियम ल्याएको थियो ।

    माओवादी शान्ति प्रक्रियामा आएको वर्ष २००६ र राजतन्त्र ढलेको कालखण्डपछि नेपालले लैंगिक अल्पसंख्यक पहिचानको नीति ल्याएको थियो । सर्वोच्च अदालतले २००७ मा कानुन नै बनाएको थियो । लामाका अनुसार उनका अशिक्षित अभिभावकले उनको विहे गराएर घरजम भएको देख्न चाहन्थें ।

    मिस पिंक नेपालको उपाधि जितेपछि भने ब्युटी पेजेन्टमा लामाको सहभागितालाई लिएर उनका अभिभावक खुशि भएका थिए । मिस युनिभर्स नेपाल २०२० को उपाधि भने अष्ट्रेलियाकी गैरआवसिय नेपाली अनिष्का शर्माले जितिन् ।

  • अनिष्का शर्मालाई मिस युनिभर्स नेपाल २०२० को ताज

    अनिष्का शर्मालाई मिस युनिभर्स नेपाल २०२० को ताज

    मिस युनिभर्स नेपाल २०२० को उपाधि अनिष्का शर्माले जितेकी छन् । राजधानीमा बुधबार आयोजित ग्रान्ड फिनालीमा पूर्व मिस युनिभर्स नेपाल नग्मा श्रेष्ठले शर्मालाई ताज लगाइदिइन् ।

    अष्ट्रेलिया निवासी २४ वर्षिया शर्माले आफ्नो उत्तरबाट निर्णायकलाई खुशि पारेकी थिइन् । कोभिड–१९ पछि तपाइँले सिकेको एउटा पाठ के हो भनेर निर्णायकले सोधेका थिए ।

    अनिष्काको जवाफ थियो : म कोभिड–१९ ले सिर्जना गरेको संकट फेस गर्न म जहिल्यै तयार छु । तर, यो संकटले अर्थतन्त्र महत्वपूर्ण हो भन्ने सिकाएको छ । यो कुरा ख्याल गरेर हामी अगाडि बढ्नुपर्छ ।’

    जितसँगै अनिष्काले १० लाख नगद र मिस युनिभर्सको अन्तराष्ट्रिय प्रतिस्पर्धामा भाग लिने मौका पाउनेछिन् । आफूलाई शैक्षिक अभियन्ता पनि मान्ने शर्माले मिस फियर्सको सब–टाइटल पनि जितिन् । मिस नेपाल अमेरिका सुजिता बस्नेतले फस्ट–रनरअपको उपाधि जितिन् ।

    नीनाकान्त मण्डलले सेकेन्ड रनरअपको उपाधि जितिन् । न्यान्सी खड्का फोर्थ रनरअप भइन् । फिनालीमा १८ जना सुन्दरीले भाग लिएका थिए । पूर्वमिस नेपाल माल्भिका सुब्बा, मेगा बैंककी सीइओ अनुपमा खुन्जेली, अभिनेत्री उषा रजक लगायत निर्णायकमा थिए ।

    मिस नेपाल आयोजक हिडन ट्रेजरबाट हटेर पहिलोपटक कुनै इन्डिपेन्डेन्ट संस्थाले पेजेन्ट गरेको हो । गतवर्ष मिस युनिभर्सको लाइसेन्स हिडन ट्रेजरबाट खोसेर नग्मा श्रेष्ठको कम्पनीलाई दिइएको थियो ।

  • पत्रकार खत्रीको नियात्रा संङग्रह ‘स्कार्फ’ सार्वजनिक

    पत्रकार खत्रीको नियात्रा संङग्रह ‘स्कार्फ’ सार्वजनिक

    काठमाडौं । डायनामिक स्काउट क्यूको चौथो वार्षिक उत्सवको अवसरमा पत्रकार एवम् स्काउट लिडर राजिब खत्रीको स्कार्फ नामक नियात्रा संङग्रह विमोचन गरिएको छ ।

    युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङ्गको प्रमुख आतिथ्यतामा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल तथा साहित्यकारहरु राधेश्याम लेकाली, युवराज नयाँघरे, लाइन्स क्लब इन्टरनेसनलका गभर्नर टंक श्रेष्ठ, स्काउट लिडरहरु डा. रविन्द्र प्रसाद पाण्डे, रविन दाहाल, अनन्तप्रसाद भेटुवाल, चन्दन कौसिक लगायतको उपस्थितिमा विमोचन गरिएको हो ।

    युवा तथा खेलकुद मन्त्री तामाङले खेलकुद र युवा उत्थानका लागि आफ्नो प्रयास सुरु हुने बताएका छन् । राजनीतिक संकटका बेला आफूले जिम्मेवारी पाएको बताउँदै खेलकूद र युवाका लागि विशेष कार्यक्रम ल्याउन आफू सक्रिय बन्ने उल्लेख गरे । उनले स्काउटमा देखिएका समस्या समाधान गर्दैै नेपाल स्काउटको विकासमा योगदान पुर्याउने प्रतिवद्धता जनाए ।

    कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले स्काउटले मानवलाई नै अनुशासनमा राख्ने उल्लेख गरे । खत्रीको पुस्तकमा स्काउटसंगै देश, भाषा, संस्कृत र विभिन्न समाजलाई जिवन्त पढ्न सकिने बताएका छन् ।

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष लेकालीले शुभकामना मन्तव्य व्यक्त गर्दै यात्रा साहित्य अहिले सबैभन्दा पढिने विधा भएको हुँदा यो कृतिले नेपाली पर्यटनका धेरै नदेखिने पक्ष समेटेको हुनाले अन्तर्राष्ट्रियस्तरमा यो विशेष कृतिका रुपमा जान सक्ने विचार पोखे ।

    कृतिको समीक्षा गर्दै नियात्राकार युवराज नयाँघरेले स्काउट र यात्रा अनि विभिन्न संस्कृतिको प्रचार प्रसारमा यो कृतिले अहम् भूमिका खेल्ने धारण राखे ।

    स्काउट लिडर डा. रविन्द्र प्रसाद पाण्डेले यात्रासँगै स्काउटिङ भित्रको तथ्यपरक चिरफार गरेको भन्दै स्काउटिङको क्षेत्रमा यो कृति कोषेढुङ्गा सावित हुने विश्वस व्यक्त गरे ।

    तीनकुने स्थित भिएस निकेतन स्कुलमा आयोजित कार्यक्रकमा उपस्थितिहरुले स्काउटीङ प्राविधिक कुरा भएकाले यस विषयमा बुझन यो पुस्तक महत्वपूर्ण हुने बताएका थिए ।

    १४ वटा निबन्ध संग्रहित पुस्तकका लेखक खत्रीको यो पहिलो कृति हो । यस कृति बाहेक लेखकका प्रशस्त फुटकर रचना प्रकाशित भइरहेका छन् ।

  • हिउँदे बिदामा पनि पठनपानठ शुरु

    हिउँदे बिदामा पनि पठनपानठ शुरु

    हुम्ला । हिमाली जिल्ला हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा बुधबारदेखि शैक्षिक संस्था सञ्चालनमा आएका छन् ।

    लामो समयको लकडाउनका साथै नौ महिनादेखि विद्यालय बन्द भएपछि अदानचुली गाउँकार्यपालिकाले यस वर्षको हिउँदे बिदामा पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेअनुसार बुधबारबाट गाउँपालिकामा रहेका १८ वटा सामुदायिक विद्यालय सञ्चालनमा आएका हुन् ।

    कोरोनाका कारण पाठ्यक्रम पूरा नभएपछि गाउँपालिकाले हिउँदे बिदामा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष दल फडेराले जानकारी दिए ।

    बुधबारदेखि विद्यालय सञ्चालनमा आए पनि विद्यार्थीको उपस्थित न्यून रहेको बताइएको छ । कोरोना त्रासका कारण जिल्ला बाहिरका शिक्षक आउन नमानेको र स्थानीय शिक्षकले विद्यालय खोलेर सञ्चालनमा ल्याएका हुन् ।

    जिल्ला बाहिरका शिक्षक उपस्थित नहुँदा बुधबारदेखि खोलिएका गाउँपालिकाभित्रका विद्यालय नियमित सञ्चालन गर्ने कि नगर्ने भन्ने विषयमा आज गाउँपालिका शिक्षा शाखाले निर्णय गर्ने भएको हो । विद्यार्थी कोरोनाको त्रासभन्दा चिसोका कारण विद्यालय उपस्थित हुन नसकेका हुन् ।

    अदानचुली गाउँपालिकामा चारवटा मावि, चारवटा निमावि र १० वटा प्रावि गरेर १८ सामुदायिक विद्यालय छन् । कर्णालीका हिमाली जिल्लामा पुस र माघमा जाडो बिदा हुने गरेको छ । कोरोनाका कारण वर्षभरि अवरुद्ध भएको पढाइ नियमित गर्न हिउँदे बिदामा पनि विद्यालय बन्द नगर्ने निर्णय गरिएको गाउँपालिकाको शिक्षा शाखा स्रोतले जानकारी दिएको छ ।

    फागुनमा वार्षिक परीक्षा सञ्चालन

    जिल्लाका अन्य छ वटा गाउँपालिकाले हिउँदमा चिसो अत्यधिक हुने भएकाले फागुनमा वार्षिक परीक्षा सञ्चालन गर्ने भएका छन् । गत वर्षको चैत महिनाबाट कोरोना सङ्क्रमण त्रासका कारण विद्यालय बन्द भएपछि हिउँदे बिदा सकाएर फागुनमा वार्षिक परीक्षा सञ्चालन गरेर नयाँ शैक्षिक सत्र शुरु गर्ने तयारीमा रहेको नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिए ।

    हिउँदको समयमा हुम्लासहित कर्णालीका उच्च हिमाली जिल्लामा चिसो अत्यधिक हुने भएकाले हिउँदको समयमा पठनपाठन नगरी फागुनमा नयाँ वार्षिक परीक्षा गरेर पुनः नयाँ शैक्षिक सत्र शुरु गरिने अध्यक्ष लामाले जानकारी दिए ।

    नाम्खा गाउँपालिकाको महाबौद्ध याल्वाङसहित अन्य विद्यालयमा अध्ययनरत विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि शैक्षिक संस्था बन्द गरेर फागुनमा हिमपात नभएमा वार्षिक परीक्षा गरिने भएको अध्यक्ष लामाले बताए ।

    मङ्सिरमा वार्षिक परीक्षा सम्पन्न गरेर पुस, माघ दुई महिना हिउँदे बिदा हुने भए पनि यो वर्ष कोरोनाका कारण पठनपाठन नहुँदा फागुनभित्रै परीक्षा सञ्चालन गरी शैक्षिक सत्र शुरु गरिने भएको हो ।

    उत्तरी नाम्खा गाउँपालिकामा चिसो अत्यधिक हुने भएकाले कात्तिक महिनामा नै वार्षिक परीक्षा सम्पन्न भएर फागुनमा नयाँ शैक्षिक सत्र शुरु हुने गथ्र्यो तर यो वर्ष कोरोनाका कारण सिधै फागुनमा गर्ने तयारी गरिएको उनले बताए ।

  • कमरेड माधवः अझै समय छ, बाटो मोड्नुस्

    कमरेड माधवः अझै समय छ, बाटो मोड्नुस्

    समकालीन राजनीतिक नेतृत्वसँग जनताले कुनै आशा र भरोसा त गरेकै छैनन् । कमरेड माधव नेपाल तपाईं पनि त्यही समूहको नेतामा पर्नुहुन्छ । तर तपाईं जीवन र राजनीतिको उत्तराद्र्धमा आएर थप गल्ती गर्ने दिशातर्फ मोडिनुभएको छ । जसका कारण तपाईंलाई जस्तोसुकै परिस्थितिमा साथ दिंदै आएका समर्थक र सहयोगी समेत गुमाउँदै हुनुहुन्छ । तसर्थ एउटा शुभ चिन्तकको हैसियतले प्रचण्डको कार्यकर्ता बनेर दोस्रो दर्जाको अध्यक्ष बन्नुभएकोमा तपाईंलाई बधाई दिन सकिएन । माफ गर्नुस् ।

    सबैभन्दा पहिला त स्थिरताको लागि जनताले दिएको दुईतिहाइको तपाइँहरू सबैले खिल्ली उडाई नै सक्नुभयो । तपाईं भने आवेग, हतास र प्रतिशोध साध्ने नाउँमा थप गल्ती गर्दै हुनुहुन्छ । विगतका दिनमा तपाइँलाई साथ दिंदै आएका ‘ग्रासरुट’का कार्यकर्ताले तपाईंको साथ छाडिसकेका छन् ।

    सबैभन्दा पहिला केही प्रश्न ! तपाईंका लागि यो विषम परिस्थितिमा ओली भन्दा प्रचण्ड कसरी प्रिय भए ? प्रचण्डमा त्यस्तो चामत्कारिक अद्भुत क्षमता के देख्नुभयो र उनकोे कार्यकर्ता बन्न तयार हुनुभयो ? पार्टीलाई डेढ दशक नेतृत्व गरिसक्नुभएको तपाईंले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने बेला बहकाउमा लागेर किन प्रचण्डको गोटी बन्नुभयो ?

    प्रधानमन्त्री ओलीका कमजोरीका चाङ होलान् । उनले जसरी दल र सरकारलाई अघि बढाउनुपर्ने थियो त्यसमा चुके होलान् । तर त्यसो भन्दैमा देशलाई राजनीतिक अस्थिरतातर्फ धकेलेर तपाईंलाई के फाइदा होला ? के उसो भए यो सब त्यही दोस्रो अध्यक्ष बन्नकै लागि थियो ? देशको एकपटक प्रधानमन्त्री भइसक्नुभएको तपाईं यी र यस्तै प्रश्नै प्रश्नको घेरामा हुनुहुन्छ ।

    ओलीका धेरै बैगुन हुनसक्छन् । सरकारको नेतृत्व गरिराख्दा स्वच्छन्दता देखाएका पनि होलान् । अहिले नेतृत्वमा रहँदा तपाईंलाई कर्नरमा पनि पारे होलान् । तर पनि हिजोका आम एमालेजनले प्रचण्डसँग घाँटी जोडेर ओलीलाई प्रहार गर्ने तपाईंको उल्टो यात्रालाई रुचाएका छैनन् । विगतमा प्रचण्डपथको माओवादीबाट कुिटएका, काटिएका, घाइते बनाइएका एमालेका नेता कार्यकर्ता प्रचण्डको कार्यकर्ता बन्न तपाईंसँग सती जाने छैनन् ।

    अहिलेको तपाईंको कदमले तपाईं माथि लाग्ने गरेको पदलोलुपको आरोपलाई थप पुष्टि गरेको छ । सिंगो पार्टीको अध्यक्ष बन्ने अवसरलाई लात हान्नुभयो । केही महिना समेत पर्खन नसक्ने अस्थिर स्वभाव देखाएर एउटा गुटको दोस्रो अध्यक्ष बन्न राजी हुनुभयो । फुटलाई जोगाउन भन्दा प्रश्रय दिनुभयो । टुटफुट, जालझेल र अस्थिरतासँग सधैं रमाउने प्रचण्डसँग घाँटी जोडेर अर्को गल्ती गर्नुभयो ।

    हिजोका दिनमा एमाले निर्माणमा पसिना बगाएका आम कार्यकर्ताको भावनामा चोट पुर्याउनुभयो । तसर्थ भावनामा बहेर क्षणिक आवेगमा आएर लिएको निर्णयबाट पछाडि फर्कनुस्, समय छ । गल्तीबाट पाठ सिक्नुस्, नदोहोर्याउनुस् ।

    कमरेड अहिले फुटेको हिजोको एमाले हो, माओवादी होइन । जुन प्रचण्डले चाहेका थिए । धेरै रापताप र हण्डार खाएर पनि सतिसाल झैं ठडिएको पार्टी हो एमाले । वि.सं. २०७४ सम्म आइपुग्दा सहजै एकल बहुमत ल्याउने स्थानमा पुगिसकेको थियो । वि.सं. २०६४ मा खाएको चोटको बदला २०७४ मा एकल रूपमै पूरा गर्न सक्षम भइसकेको थियो ।

    गाउँदेखि शहरसम्म, हिमालदेखि तराईसम्म राजनीतिक सुसंस्कारबाट प्रशिक्षित लाखौं कार्यकर्ता थिए । लोकतान्त्रिक अभ्यासमा अभ्यस्त चुस्त संगठन थियो । परिवर्तनका निम्ति आम जनताको आशा र भरोसा एमालेप्रति जाग्दो थियो । तर ठीक विपरीत हिजोको एमाओवादी नेपाल मजदूर किसान पार्टी र प्रजा परिषदको पथमा पुगिसकेको थियो ।

    रोल्पा र रुकुमलगायत केही जिल्लामा थोरै पकड भए पनि २०७४ सम्म आइपुग्दा चोइटिएर, टुटेर, फुटेर पूरापूर मक्किइसकेको थियो । कांग्रेससँगको गठजोड पनि असफल भइसकेको थियो । आफ्नै छोरीलाई चुनाव जिताउन मतपत्र च्यातेर धाँधली गर्नुको विकल्प थिएन । संगठन, आदर्श र सिद्धान्त विहीन भीडमा रूपान्तरण भइसकेको थियो ।

    यो सब देखि/भोगिरहेका प्रचण्डलाई एमालेप्रति अभूतपूर्व रूपमा बढेको जन आकर्षणले अवश्य बेचैन बनाएकै थियो । तसर्थ सबल र सक्षम बन्दै गएको एमालेलाई पनि उनी आफ्नै जस्तै दुर्बल र कमसल भएको हेर्न चाहन्थे । आफू पनि बनाउन नसक्ने र अरूले बनाएको पनि देख्न नसक्ने प्रचण्डको कुटिल रणनीति अहिले आएर पूरा भएको छ । जसलाई कमरेड माधव नेपालले बुझ्न सकेको देखिएन । औसत तपाईंको राजनीतिक जीवनलाई प्रचण्डसँगको गठजोडले थप धुमिल बनाउने निश्चित छ ।

    कमरेड माधव नेपाल एकपटक तपाईं २०६६/६७ सालतिर फर्केर हेर्नुस् त । जतिबेला तपाईं देशको ३४औं प्रधानमन्त्री हुनुहुन्थ्यो त्यतिबेला तत्कालीन नेकपा माओवादीले तपाईंको बहिर्गमनको माग राखेर राजधानी घेर्ने दुस्साहस गरेको थियो । त्यो कदमलाई असफल गराएर तपाईंलाई काँधमा बोकेर हिंड्ने कमरेड ओली नै हो ।

    यदि प्रचण्ड समूहबाट भोलि हुने चुनावमा उम्मेदवार बन्नुभयो भने पनि तपाईंको हालत २०६४ कै जस्तो हुने निश्चित छ । किनकि हिजोका आम एमाले कार्यकर्ताले प्रचण्डको छायाँ बन्न जानुभएको तपाईंलाई मत हाल्ने छैनन् । तसर्थ समय छँदै हिंडिरहेको बाटो मोड्नुहोस् । फेरि पनि प्रधानमन्त्री ओलीका कमजोरीलाई सच्याउने भनेको हिजोका एमाले एकठाउँमा उभिएरै हो । त्यसैले बाटो नबिराउनुस् ।

    ओलीका धेरै बैगुन हुनसक्छन् । सरकारको नेतृत्व गरिराख्दा स्वच्छन्दता देखाएका पनि होलान् । अहिले नेतृत्वमा रहँदा तपाईंलाई कर्नरमा पनि पारे होलान् । तर पनि हिजोका आम एमालेजनले प्रचण्डसँग घाँटी जोडेर ओलीलाई प्रहार गर्ने तपाईंको उल्टो यात्रालाई रुचाएका छैनन् ।

    विगतमा प्रचण्डपथको माओवादीबाट कुिटएका, काटिएका, घाइते बनाइएका एमालेका नेता कार्यकर्ता प्रचण्डको कार्यकर्ता बन्न तपाईंसँग सती जाने छैनन् । तपाईंमा देखिएको विचलनको बाढीमा उनीहरू हेलिने छैनन् । तसर्थ निर्दोष एमाले कार्यकर्ताले तपाईंप्रति विगतमा देखाएको सम्मान र प्रेमलाई क्षणिक आवेगमा आएर लात नहान्नुस् । तपाईंलाई पछुतो हुनेछ । फेरि पनि ओलीलाई सच्याउने भनेको हिजोका एमाले एकठाउँमा आएर नै हो ।

    तपाईंले प्रचण्डको साथ छोड्दा देशलाई कुनै घाटा हुने छैन । बरु देशलाई प्रयोगशाला बनाइराख्न खोज्ने जालझेल, षडयन्त्रकारी र विभाजनकारी एउटा पात्रको अवसान हुनेछ । जुन देशका लागि फाइदा नै हो । त्यस्ता पात्रको राजनीतिक पतन अहिलेको आवश्यकता पनि हो । जनमतले त्यो दिशातर्फ प्रचण्ड र उनका दललाई पु¥याइसकेको थियो । संसदीय निर्वाचनमा एमालेले दिएको सहकार्यको स्पेस नै प्रचण्ड र उनको पार्टीको पुनर्जीवनको लागि सञ्जीवनी बुटी बनेको थियो । प्रचण्डले राजनीतिमा पाएको पुनर्जीवन अहिले हेर्दा कतै घातक बन्ने त होइन भन्ने आशंका उब्जिएको छ ।

    एक पटक २०५४/५५ तिर फर्किऊँ । त्यतिबेला पनि एमाले फुटेकाले नै हत्या र हिंसाको बाटो रोजेको माओवादी लाभान्वित भएको थियो ।

    अर्थात् एमालेबाट विच्किएका कार्यकर्ता प्रचण्डको छत्रछायाँमा पुगेका थिए । जसले प्रचण्ड माओवादीको हिंस्रक प्रवृत्तिलाई झनै उग्र बन्न बल पुग्यो । परिणामतः निर्दोष हजारौं नेपालीले अनाहकमा ज्यान गुमाए । कति बालबालिका टुहुरा र असहाय भए । कति चेलीको सिन्दुर पुछियो । कति आमाहरू बेसहारा भए । निर्दोष मुक्तिरामहरू निर्मम रूपमा मारिए ।

    पढ्ने विद्यालयमा बम पड्किए । खोला तर्ने पुल भत्किए । फेरि त्यस्तै दिन त नआउला तर त्यही संस्कारबाट आएकालाई साथ दिंदै जाने हो भने देश अर्को अस्थिरतातर्फ नजाला भन्न सकिंदैन ।

    विगत हेरेर वर्तमानको मूल्यांकन गर्नुस् कमरेड माधव । फेरि पनि दोहोर्याऊः अहिले फुटेको एमाले हो माओवादी होइन । त्यसैले एमाले फुट्दा देशले दुःख पाएको तितो नजिर नभुल्नुस् । सत्ता र शक्तिका लागि आफ्नै सहयोद्धालाई पनि पाखा लगाउन पछि नपर्ने पात्र हुन् प्रचण्ड ।

    परिणामतः आज प्रचण्डसँग उनका सहयात्री बाबुराम, बादल, वैद्य, विप्लव कोही पनि छैनन् । न उनले आफ्नै सहयात्रीलाई राख्न सके, न उनीसँग सहयात्री बस्न सके । बादल, विप्लव, बाबुराम प्रिय नभएका प्रचण्डका लागि तपाईं हुनुहोला ? अवश्य हुन सक्नुहुने छैन । उसो भए यो दुईदिनको रमझमका लागि तपाईंको बचेखुचेको साखलाई किन धरापमा पार्नुहुन्छ ?

    एउटा तितो यथार्थता भन्नै पर्छ । विगतमा माओवादीको मारमा परेका धेरै इमानदार एमाले कार्यकर्तालाई सक्किन लागिसकेको माओवादीसँग मिलेको मन परेको थिएन । जसका कारण उनीहरू ओलीमाथि भएका कैयन् प्रहारको बचाउमा लागेका थिएनन् । तर आज हिजोकै एमाले ब्युँताउन चाहने त्यो समूह सक्रिय भएको छ । त्यो समूहमा हिजो तपाईंलाई सहयोग गर्ने कार्यकर्ताको पनि ठूलो संख्या छ । जो प्रचण्डको कार्यकर्ता भएर कुनै हालतमा बस्ने छैन । जो फेरि पनि भर्भराउँदो, शक्तिशाली सक्षम एमाले होस् भन्ने चाहन्छ ।

    तसर्थ ती आम कार्यकर्ताको मनोभावना ओलीले बुझिसकेको देखिन्छ । हिजोका एमाले कार्यकर्ताको साथ पाउने संकेत पाएर नै उनले जोखिम उठाइरहेका छन् । यसकारण कार्यकर्ताविहीन दुई–चार थान नेता लगेकै भरमा तपाईंलाई प्रचण्ड समूहले कहिलेसम्म स्पेस देला ? सोच्नुस् त

    जसले आफ्नै सहयात्रीलाई पटक–पटक पाखा लगायो

    यदि त्यही समूहबाट भोलि हुने चुनावमा उम्मेदवार बन्नुभयो भने पनि तपाईंको हालत २०६४ कै जस्तो हुने निश्चित छ । किनकि हिजोका आम एमाले कार्यकर्ताले प्रचण्डको छायाँ बन्न जानुभएको तपाईंलाई मत हाल्ने छैनन् । तसर्थ समय छँदै हिंडिरहेको बाटो मोड्नुहोस् । फेरि पनि प्रधानमन्त्री ओलीका कमजोरीलाई सच्याउने भनेको हिजोका एमाले एकठाउँमा उभिएरै हो । त्यसैले बाटो नबिराउनुस् ।

    अन्त्यमा फेरि भनौंः तपाईंले प्रचण्डको साथ छोड्दा जालझेल, अस्थिरता र विखण्डनमा रमाउने एक पात्रको राजनीतिक अवसान हुने हो, देशलाई कुनै फरक पर्ने छैन ।

  • नेकपा मिलाउन असफल चिनियाँ टोली, कांग्रेस मनाउन कति सफल ?

    नेकपा मिलाउन असफल चिनियाँ टोली, कांग्रेस मनाउन कति सफल ?

    काठमाडौं । गत नोभेम्बर १० मा चीनको ग्लोबल टाइम्सले ‘नेपालमा चीनविरोधी भावना फैलाउन भारतपरस्त नेपाली कांग्रेसको हात रहेको’ आशयको सामाग्री प्रकाशित गर्‍यो ।

    आधा दशकभन्दा लामो समयदेखि विश्वलाई चिनियाँ दृष्टिकोण पस्किरहेको ग्लोबल टाइम्सलाई चीन सरकारको मुखपत्र सरह मानिन्छ । ग्लोबल टाइम्सको यस्तो टिप्पणीको कांग्रेसले तत्काल प्रतिवाद गर्‍यो ।

    कात्तिक २८ गतेको केन्द्रीय समितिको बैठकबाट औपचारीक निर्णय गर्दै कांग्रेसले भन्यो– ग्लोबल टाइम्सको आधारहीन र आपत्तिजनक टिप्पणीको नेपाली कांग्रेस निन्दा गर्दछ । नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र सुरक्षा हाम्रो सर्वोच्च स्वार्थ हो । नेपाली कांग्रेस छिमेकी देशहरु लगायत सबै मित्रराष्ट्रहरुसँग सार्वभौम बराबरीको आधारमा सम्बन्ध राख्ने कुरामा विश्वास गर्दछ । नेपाली कांग्रेस नेपाल बाहेक कुनै पनि देशको परस्त पार्टी हुन सक्दैन ।

    कांग्रेसले जुनदिन ग्लोबल टाइम्सको आलेखको खण्डन गरेको थियो त्यसै दिन नेपालस्थित चिनियाँ दूतावासले कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाहीले हुम्लामा सीमा मिचेको भनी आधारहीन आरोप लगाएको भन्दै कांग्रेसलाई पत्र पठाएको थियो ।

    सो प्रसंगमा पनि कांग्रेसको कात्तिक २८ कै बैठकले प्रष्ट पार्दै शाहीको दावी प्रमाणमा आधारित भएको र नेपाल सरकारको ध्यानाकर्षको विषय भएको उल्लेख गरेको थियो ।

    माथि उल्लेखित प्रसंग हेर्दा चीन र नेपाली कांग्रेसबीच सम्बन्धमा ‘दरार’ उत्पन्न भएको बुझ्न गाह्राे छैन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रियामा चीनको सहयोग रहेको तथ्य छिपेको थिएन । त्यसैले पनि कांग्रेस र चीनका बीचमा दूरी बढ्दो थियो । नेकपा औपचारीक विभाजनको संघारमा पुगेसँगै चीनले कांग्रेससँगको सम्बन्ध सुधार्ने प्रयास थालेको छ ।

    यही प्रयासको निरन्तरता थियो चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको मंगलबारको भेटवार्ता । भेटका क्रममा चिनियाँ प्रतिनिधि मण्डलले देउवालाई चीन भ्रमणको औपचारीक निमन्त्रणमात्रै दिएन, चीन र नेपाली कांग्रेसबीचको सम्बन्ध इतिहासदेखि नै प्रगाढ रहेको समेत बतायो । आफ्नै मुखपत्र मार्फत् कांग्रेसलाई ‘भारत परस्त’ दावी गरेको चीनले यत्ति छिट्टै कांग्रेससंग सद्भावको हात किन बढायो ? राजनीतिक वृत्तमा चासोको विषय बनेको छ ।

    कांग्रेस र चीनबीचको समकालीन सम्बन्ध कस्तो छ भनी केलाउन अघिल्लो वर्ष भएको चिनियाँ राष्ट्रपति सी चिन पिङको भ्रमणको स्मरण गर्नुपर्छ । नेपाल भ्रमणका दौराना राष्ट्रपतिले सीले पहिलो राजनीतिक भेट देउवाबाटै सुरु गरेका थिए ।

    नेपाल आएकै साँझ २५ असोज २०७६ मा सी र देउवाबीच सोल्टी होटलमा १५ मिनेट भेटवार्ता भएको थियो । भेटमा दुई नेपाल–चीन सम्बन्धका बारेमा छलफल भएको औपचारीक प्रेस नोटमार्फत जनाइएको थियो । सीले देउवालाई त्यतिबेलै चीन भ्रमणमा आउन निम्तो दिएको बताइएको थियो ।

    यसयता देउवालाई पटक–पटक चीन भ्रमणको निम्तो आइसकेको छ । कांग्रेस स्रोतका अनुसार नेपाल भ्रमणमा आएर देउवालाई भेट्ने सबैजसो प्रतिनिधि मण्डलले चीन भ्रमणको निम्तो दिएका छन् । देउवा भने चीन भ्रमणमा जान ईच्छुक देखिदैनन् ।

    भ्रमणमात्रै होइन गत अक्टुबर १६ र १७ तारिखमा चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागले भर्चुअल रुपमा आयोजना गरेको ‘बेल्ट एण्ड रोड इनिसियटिभ’बारेको वेविनारमा वक्ता बन्न चीनबाट गरिएको प्रस्ताव देउवाले ठाडै अस्वीकार गरेका थिए ।

    खासगरी नेपालका कम्युनिष्टहरुलाई चीनले विशेष महत्व दिएको देउवालाई मन परेको छैन । यो प्रसंग उपमन्त्री येचौसँगको मंगलबारको भेटमा पनि चलेको थियो । यद्यपि येचौले ‘नेकपासँग चीनको विशेष सम्बन्ध नरहेको र सबै पार्टीसँग समान सम्बन्ध राख्न चाहेको’ प्रष्टीकरण दिएका थिए ।

    येचौले आफ्नो भ्रमणलाई नेकपाको विभाजनसँग जोडेर नेपाली मिडियाले लेखेकोमा गुनासो गरेका थिए । त्यति नै बेला छलफलमा सहभागी कांग्रेस नेता डा.नारायण खड्काले ‘ग्लोबल टाइम्सले पनि त कांग्रेसका बारे जथाभावी लेख्यो नि !’ भन्ने प्रसंग निकालेका थिए । जवाफमा उपमन्त्री येचौले कहिलेकाहीँ आपसी सम्बन्धमा उत्पन्न हुने असमझदारी सुल्झाउन चीन इच्छुक रहेको बताए ।

    काठमाडाै‌ंस्थित चिनियाँ दूताबासले नेपाली कांग्रेसलाई लेखेकाे पत्र ।

    कांग्रेस नेता डा.नारायण खड्का चीनका तर्फबाट कांग्रेससंगको सम्बन्ध सुधार्न पहल भएको स्वीकार्छन् । ‘नेपाली कांग्रेस हाम्रा सबै मित्र राष्ट्रहरुलाई समान दृष्टिले हेर्छ तर हामीलाई हेर्ने चीनको दृष्टिकोण पूर्वाग्रही भयो कि भन्ने सबैलाई लागेको थियो । चीनले यसमा प्रष्टीकरण दिन खोजेको देखिन्छ’, खड्काले नेपालप्रेससँग भने । नेपालमा कम्युनिष्ट पार्टीसँग मात्रै विशेष सम्बन्ध राख्दा कुटनीतिक सन्तुलन कायम नहुने निष्कर्षमा चीन पुगेको हुनसक्ने खड्काको भनाई छ ।

    नेपाल–चीन सम्बन्धको हार्दिकता जोगाउन वीपी कोइरालाको पालादेखि भएको कामलाई चीनले स्मरण गराउनु सम्बन्ध सुधारको संकेत हो । नेपालमा कम्युनिष्ट पार्टीको विभाजन निश्चित भएपछि सम्भावित प्रमुख शक्तिका रुपमा पनि चीनले कांग्रेससँगको सम्बन्ध सुधार्न चाहेको हुनसक्छ ।

    चीनका तर्फबाट सम्बन्ध सुधारको पहल हुनुलाई सकरात्मक रुपमा लिएपनि कांग्रेसले यसमा थप अग्रसरता लिन खोजेको छैन । चिनियाँ कम्युनिष्ट पार्टीको शतवार्षिकी समारोहमा पनि देउवाको उपस्थिति निश्चित भइसकेको छैन ।

    कोरोनाका कारण सो समारोह नै भर्चुअल रुपमा हुनेसक्ने सम्भावना बढ्दै गएको छ । समारोह भौतिक रुपमा भएमा देउवाले प्रतिनिधि पठाउने र भर्चुअल भएमा भिडियो सन्देशबाट शुभकामनासम्म दिनसक्ने सम्भावना छ ।

  • पहाड खाेपेर निकालियो खानेपानी, बसाइँ सरेका गाउँले फर्कन थाले

    इलाम । खानेपानी अभाव भएपछि इलाम नगरपालिका–११ सोयाकमा पहाड खनेर पानी निकालिएको छ । सुक्खाग्रस्त क्षेत्रमा पानीको हाहाकार भएपछि बसाइँ सर्नेको संख्या बढेको थियो । नगरले डिप बोरिङमार्फत पानी निकालेपछि बसाइँ सर्ने फर्किन थालेका छन् । जमिनमुनि करिब १ सय २३ मिटर खनिएको छ तर ५० मिटरमुनि नै पानी भेटिएकाले त्यहीँबाट खानेपानी आपूर्ति हुन थालेको छ ।

    लामो बाटो हिँडेर पानी ल्याउनु पर्ने बाध्यताले आजित गाउँबासी बसाइँ सर्ने क्रम बढ्दो क्रममा थियो । पानीकै समस्याले गाउँले विस्तापित हुन थालेपछि इलाम नगरपालिकाले डिप बोरिङबाट पानी निकाल्ने योजना बनाएको हो ।

    जिल्लामै पहिलो परीक्षण भएकाले सफल हुने÷नहुनेमा द्विविधा थियो तर नगरको परीक्षण सफल भएपछि गाउँले खुसी भएका हुन् । लामो बाटो पानी बोक्नु नपर्ने भएपछि पुनः गाउँ फर्किएको ७० वर्षीया टीका पराजुली बताउँछिन् । पराजुली २०३२ सालमा विवाह गरेर सोयाक आउँदा खानेपानी लिन दैनिक एक घण्टा हिँड्नु पर्थ्यो । अहिले बोरिङबाट घरमै पानी झरेपछि भने पराजुलीलाई जीवनले काँचुली फेरेझैं भएको छ ।

    एक वर्षअघि दुई करोड ४७ लाख ८० हजार रुपैयाँको लागतमा बोरिङको काम शुरु गरिएको थियो । सुक्खा डाँडामा अन्य क्षेत्रबाट पानी ल्याउन सकिने अवस्था थिएन । सोही कारण नगरले यो नयाँ उपाय अपनाएको हो । गाउँमा सडक, बिजुली सबै विकासका पूर्वाधार पुगे पनि खानेपानी नभएपछि स्थानीयवासी चिन्तित थिए । पानीको समस्या सुल्झिएपछि गाउँमा फर्किनेको सङ्ख्या बढेको स्थानीयवासी नरेन्द्र आचार्य बताउँछन् । आचार्य पनि पानीको समस्याले विस्थापित थिए । उनी यही समस्याले गाउँ छाडेर बेसीमा बस्दै थिए । तर पछिल्लो समय वस्तीमा पानी झरेपछि फेरि गाउँ फर्किने तरखरमा रहेको आचार्यको भनाइ छ । यहाँ अधिकांश परिवार पानीको समस्याले झापातर्फ बसाइँ सरेका थिए ।

    झापाको छेउ भएकाले पनि गाउँले पानीको सुगमताका लागि त्यतै सरेका हुन् । पानीका लागि यो भन्दा पहिले पनि विभिन्न प्रयत्न चलेका थिए तर कुनै पनि योजना सफल भएनन् । गाउँमा पानी ल्याउन खोलाको पानी मोटरबाट ल्याउनेदेखि कुवाको पानी संकलन गर्ने कामसमेत गरियो तर कुनै काम सफल भएको थिएन । नगरको पछिल्लो प्रयत्न सफल भएपछि गाउँमा सिँचाइका लागि पनि पानी पुग्ने वडाध्यक्ष रविन एक्तेन बताउनुहुन्छ । खानेपानी समस्याले १८ घरपरिवार अन्यत्र बसाइँ सरेका छन् । खानेपानीका लागि एक लाख ६० हजार लिटर क्षमताका तीन वटा ट्याङ्की निर्माण भएका छन् ।

    वितरणका लागि चेम्बर, वास आउट चेम्बर एउटा-एउटा, भल्व बक्स चेम्बर सात वटा, एयर भल्व चेम्बर दुईवटा, सोलार सिस्टम १५ दशमलव ७५ किलोवाट रहेका छन् । बोरिङका लागि आवश्यक पर्ने सबै फिटिङको काम र एउटा घर निर्माण भइसकेको इलाम नगरपालिकाका इञ्जिनीयर दीपक गुरागाईंले जानकारी दिए । उनका अनुसार मेधश नजिक वेसी क्षेत्र भएकाले कम गहिराइमै पानी निकाल्न नगर सफल भएको हो । अहिले आयोजना १०० घरका लागि हो । अर्को पटक थप गर्दै लगिने नगरपालिकाले जनाएको छ ।रासस

  • कांग्रेसले खवरदारी सभा गर्दै ४५औं मेलमिलाप दिवस मनाउने

    काठमाडौं । नेपाली कांग्रेसले ४५औं राष्ट्रिय मेलमिलाप दिवस आज विभिन्न कार्यक्रम गरी मनाउँदैछ । २०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालासहितका नेताहरु आठ वर्षे निर्वासित जीवन बिताएर यसै दिन स्वदेश फर्केको सम्झनामा राष्ट्रिय मेलमिलाप दिवस मनाइने गरिएको छ ।

    नेपाली कांग्रेसले यो वर्षको दिवसलाई सरकारले गरेको गलत कदमलाई लिएर राष्ट्रिय एकताको रुपमा मनाउने जनाएको छ । सरकारको अलोकतान्त्रिक कदमको विरोधका लागि जनतालाई एकत्रित गर्न यो वर्षको मेलमिलाप दिवस केन्द्रीत हुने कांग्रेसको भनाइ छ ।

    कांग्रेसले २०३३ साल पुस १६ गते देखि हरेक वर्ष सोही दिन राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको छ । यो वर्ष मेलमिलाप दिवसको कार्यक्रम ७७ वटै जिल्लामा मनाउने निर्णय कांग्रेसले गरेको छ ।

    २०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको सरकार बर्खास्त गर्दै निर्दलीय पञ्चायती ब्यवस्था शुरु गरेपछि कोइरालासहितका नेतालाई ८ वर्ष जेल पठाइएको थियो । त्यसपछि २०२५ सालमा वीपीसहितका कांग्रेस नेता भारत प्रवास गएका थिए ।

  • जलेश्वरनाथमा बेथिती– मन्दिरको जग्गा गायव, जीर्णोद्वारका लागि युवाहरु अनसनमा

    जलेश्वरनाथमा बेथिती– मन्दिरको जग्गा गायव, जीर्णोद्वारका लागि युवाहरु अनसनमा

    जनकपुर । प्रदेश २ का पर्यटकीय स्थलहरुमध्ये महोत्तरीको जलेश्वर नगरपालिका–१ मा रहेका जलेश्वरनाथ महादेव मन्दिरको विशिष्ट महत्व रहेको छ । यो मन्दिरमा पूजापाठ गर्ने दर्शनार्थीहरुको दैनिक घुइँचो लाग्ने गर्छ ।

    महादेवको शिवलिंग जलभित्रै रहेकाले जलेश्वरनाथ महादेव नामकरण गरिएको छ । मन्दिरको मध्य भागमा पानीले भरिएको गुफाको १६ सिँढी तल एउटा चतुष्कोण आकारको जलकुण्डमा शिवलिङ्ग रहेको छ । यहाँ पूजापाठ गर्दा मनोकामना पुरा हुने जनविश्वास छ ।

    शिवरात्रीका दिन मन्दिरमा पूजा गर्न हजारौंको भीड लाग्ने गर्छ । यसबाहेक साउन महिनाभर मेला लाग्छ । तर मन्दिर जीर्ण बन्दै जाँदा सम्बन्धित निकायले चासो देखाएका छैनन् । पटक–पटक पहल गर्दा पनि जीणोद्वारको प्रयास नभएकोमा स्थानीयको गुनासो छ ।

    स्थानीय, प्रदेश र संघीय सरकारले मन्दिरको निर्णोद्धार गर्न आनाकानी गरेपछि पछिल्लो ६ दिनदेखि स्थानीय युवाहरु रिले अनसन सुरु गरेका छन् । जलेश्वर महादेव मन्दिर एवं उमा महोदरी शक्तिपीठ सेवा तथा संरक्षण संस्था विकास परिषद्को आयोजनामा जय बाबा जलेश्वरनाथ युवा क्लव, पासवान युवा क्लव र बखरी युवा क्लवका युवाहरुले अनसन सुरु गरेका हुन् ।

    मन्दिर समितिका अध्यक्ष अमरदीप साहले मन्दिर क्षेत्र विकासका लागि अनसन सुरु गरेको बताउँछन् । उनले विभिन्न निकायमा पटक पटक पहल गर्दा पनि मन्दिरको विकास नभएपछि बाध्य भएर अनसन बस्नु परेको सुनाए । उनले भने, ‘मन्दिरको स्वामित्तमा २५० विघा जग्गा थियो । तर सबै जग्गा व्यक्तिले कब्जा गरेका छन् । चार वटा पोखरी त जलेश्वर नगरपालिकाले ठेक्का लगाएर राम्रो आन्दानी गर्छ । मन्दिरको भने अस्तित्व समाप्त हुन लागेको छ ।’

    मन्दिर संरक्षण तथा पूजा अर्चनाका लागि १८६९ मा राजा गिर्वाणयुद्धविक्रम शाहको निगाहमा २७५ विघा जग्गा प्राप्त भएको थियो । तत्कालीन गाविसका मौजेहरू बहेडा जब्दी, बजराही, कञ्चनपुर, जलेश्वर, डाम्ही महेशपुर र महादेवपट्टीको उक्त जग्गा तत्कालीन महन्थलाई लालमोहर ताम्रपत्र दिइएको थियो । अहिले मन्दिरसँग एकधुर जग्गा पनि छैन ।

    अध्यक्ष साह भन्छन्, ‘जग्गा व्यक्तिहरुले आफ्नो नाममा गराइसके । पोखरी मन्दिरकै नाममा छ, तर नगरपालिकाले कब्जा गरेको छ । मन्दिरको नाममा विगतमा रहेका सबै जग्गा र पोखरी फिर्ता हुनुपर्छ ।’ सरकारले जग्गा र पोखरी फिर्ताका लागि पहल नगरे आफुहरु कठोर आन्दोलन गर्ने उनले चेतावनी दिए ।

    गुठी संस्थान जलेश्वरले मन्दिरको पूजा अराधना तथा प्रसाद अन्नलगायतका अन्य सामग्री सहयोग गर्दै आएको छ । संस्थानका प्रमुख कुलदेव चौधरीले अहिले मन्दिरको स्वामित्वमा कुनै अचल सम्पत्ति नरहेको जानकारी दिए । ‘जग्गा त धेरै थियो । तर प्रक्रिया पुर्याएर सबै जग्गा रैता नम्बरी भयो । पोखरी नगरपालिकाले ठेक्का लगाउने गरेको छ’, उनले थपे, ‘पोखरी कसरी नगरपालिकाले ठेक्क लगाउँछन् भन्ने कुरा मेयरलाई नै गएर सोध्नुस् । मलाई यसबारे केहि थाहा छैन । कानूनी रुपमै प्रयोग गरेको होला ।’ मन्दिरको संरक्षण तथा विकासको जिम्मेवारी नगरपालिकाकै भएको उनको भनाई छ ।

    विगतमा जलेश्वरमै रहेका बरुण सर, पुरन्द सर, पूर्णी सर र महन्थ पोखरीको संरक्षण र भोगचलन मन्दिर मातहत गरिँदै आएको थियो । बरुण सर महादेव पूजाका लागि सहस्र कमलको पुष्प भएको पोखरी, पुरन्द सर महादेव दर्शनपूर्व हात–खट्टा धुने गोरधोई पोखरीको नामले प्रचलित र पूर्णी सर महादेवलाई भोगराजका लागि मखानको पोखरी र महन्थ पोखरी पुजारी महन्थको वासस्थानमा प्रयोग हुने पोखरी हो । तर ती चारै पोखरी नगरपालिका मातहतमा छ ।

    चारै ऐतिहासिक पोखरी मन्दिरकै वरिपरि छन् । जलेश्वरका मेयर रामशंकर मिश्रले पोखरीहरु नेपाल सरकारको नाममा रहेकाले नगरपालिका ठेक्का लगाएको बताए । ‘मन्दिरको नाममा पोखरी छैन । नेपाल सरकारको नाममा रहेको छ, अनी नगरपालिकाको भएन ?’ नगरप्रमुख मिश्रले नेपालप्रेससँग प्रतिप्रश्न गरे । तर पोखरी भने मन्दिरको नाममा अझै दर्ता रहेको प्रमाण युवाहरुले उपलब्ध गराएका छन् ।

    मेयर मिश्रले जलेश्वरनाथ मन्दिरको विकासपछि मात्र जलेश्वरको विकास हुनसक्ने भन्दै नगरपालिकाले मन्दिरको विकासका लागि बिस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएर मन्त्रालयमा पेश गरिसकेको बताए । उनले मन्दिरमा गेट निर्माणदेखि अन्य विकास निर्माणका काम अगाडी बढाएको दावी गरे ।

    २५० विघा जग्गा विगतमा मन्दिरको नाममा रहेको मेयर मिश्र पनि स्वीकार गर्छन् । तर ती जग्गा कसरी व्यक्तिहरुले आफ्नो नाममा गराएको भन्नेमा उनी पनि अनभिज्ञ रहे । ‘जग्गा मन्दिरको नाममा थियो । तर त्यो जग्गा पहिले नै व्यक्तिको नाममा गइसकेको रहेछ । यसबारे मलाई थाहा छैन । हामीले चाहेर पनि फिर्ता ल्याउने नसक्ने कुरा अनसनमा बसेका भाइहरुलाई भनिसकेको छु,’ उनले थपे ।

    यो ऐतिहासिक मन्दिर विश्व सम्पदाको सूचीमा सूचिकृत गराउन स्थानीय युवाहरुले पहल गरेका छन् तर सरकारी निकायको उदासीनताले सम्भव नभएको उनीहरुको गुनासो छ ।

  • सिक्किम विलय र बंगलादेश स्वतन्त्र भएपछि वीपीको त्यो स्वदेश फिर्ती

    सिक्किम विलय र बंगलादेश स्वतन्त्र भएपछि वीपीको त्यो स्वदेश फिर्ती

    इटहरी । आज पुस १६ गते,नेपाली कांग्रेसले राष्ट्रिय मेलमिला दिवसका रुपमा यो दिनलाई मनाउने गर्छ । ४४ वर्षअघि आजकै दिन तत्कालीन प्रतिबन्धित नेपाली कांग्रेसका सभापति तथा महेन्द्रको ‘कू’ मा परेका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला पञ्चायती शासनले फाँसीको सजाय दिनेसम्मको जोखिम मोलेर मेलमिलापको प्रस्ताव राखी स्वदेश फर्केका थिए ।

    त्यसैले आज वीपी कोइराला लामो निर्वासित जीवन भारतमा बिताएर नेपाल फर्किएको विशेष दिन हो । ‘राष्ट्रिय एकता र मेलमिलाप नीति’ लिएर वीपी २०३३ पुष १६ गते नेपाली कांग्रेसका नेता कार्यताहरुसँगै नेपाल फर्किएका थिए ।

    उनी आठ बर्षे भारत निर्वासनबाट नेपाल आउँदा तत्कालीन पन्चायत समर्थकले उनीमाथि आक्रमण प्रयास समेत गरेका थिए । उनी २०२५ कात्तिक १४ मा जेलमुक्त हुनासाथ भारत निर्वासनमा गएका थिए ।

    २०२५ को रिहाइसम्म वीपीले सुन्दरीजल जेलमा ८ बर्ष बिताएका थिए । २०१७ पुष १ गते नेपाली संसदिय इतिहाँसका पहिला निर्वाचित प्रधानमन्त्री वीपीलाइ राजा महेन्द्रले थुनेका थिए ।

    सिक्किम बिलयपछिको नेपाल आगमन

    पन्चायती जेल बसाइबाट निस्किएर वीपी भारत जाँदा र आउँदाको भूराजनीतिक नक्सा विल्कुल फरक थियो । वीपी भारत जाँदा स्वतन्त्र देश रहेको सिक्किम वीपी नेपाल आउने अघिल्लो साल भारतको २२ औं राज्य भएको थियो ।

    २०३२ जेठ २ (सन १९७५ मे १६)मा सिक्किम भारतमा गाभियो । विदेशी पत्रकार तथा पर्यवेक्षकहरुलाई निषेध गरेर सिक्किमका राजा (चोग्याल)लाई भारतीय सैन्य बलको घेराउमा २०३२ बैशाख १ (सन १९७५ अप्रिल १४)मा भएको जनमत संग्रहपछि स्वतन्त्र हिमाली राज्य सिक्किम भारतमा बिलय भएको थियो ।

    सन १९७५ को अप्रिल १६ मा प्रकाशित दि न्यु योर्क टाइम्स पत्रिकाले न्यूयोर्कमा निर्वासित अमेरिकी नागरिक समेत रहेकी तत्कालीन सिक्किमकी रानी होप कुकलाइ उदृत गर्दै जनमत संग्रह ‘अवैधानिक र असंवैधानिक’ भएको उल्लेख गरेको थियो ।

    मतदानमा ५९ हजार ६ सय ३७ जनाले भारतमा गाभिने तथा १ हजार ४ सय ९६ जनाले स्वतन्त्र मुलुक हुनुपर्ने पक्षमा मतदान गरेको भारतीय पक्षले सार्वजनिक गरेको दि न्यू योर्क टाइम्सले उल्लेख गरेको छ ।

    यसरी सिक्किमको विवादास्पद जनमनसंग्रह र भारतमा गाभिएको डेढ बर्षपछि वीपी नेपाल आएका थिए । सिक्किम प्रकरण भन्दा चार बर्ष अगाडि २०२७ चैत्र १३ (सन १९७१ मार्च २६) मा बंगलादेश पाकिस्तानबाट स्वतन्त्र भएको थियो । पूर्वी पाकिस्तानको रुपमा परिचित बंगलादेश स्वतन्त्र बनेको थियो । यिनै रोचक भूराजनितिक पृष्ठभुमिमा वीपी निर्वासित जीवन त्यागेर नेपाल आएका थिए ।

    विराटनगरको पन्च भेला, वीपीलाई फाँसीको माग

    वीपीको स्वदेश फिर्ती गाँइगुइ भएको थिएन । सार्वजनिक रुपमा चर्चा भएको फिर्ती अगाडि विराटनगरमा पन्च भेला भएको थियो । वीपी आएपछि पन्चायत विरोधी गतिविधिहरु बढ्ने र निर्दलीय व्यवस्थालाई घात हुनेमा पन्चहरु सशंकित थिए ।

    उक्त भेलामा एक कदम अगाडि बढेर राष्ट्रिय पन्चायतमा जुम्लाबाट मनोनित सदस्य धीरबहादुर हमालले वीपीलाइ फाँसीको सजायको माग गरे । आफू उक्त घटनाको साक्षी भएको बताउँदै पुराना नेपाली पत्रकार भैरव रिसालले आफ्नो पुस्तक ‘उहिलेको नेपाल’मा उल्लेख गरेका छन् ।

    रिसाल लेख्छन्– ‘वीपीलाइ फाँसीको माग पन्चायतको कुनै कोणबाट नआएकोले त्यो माग पहिलो र अत्यन्तै सनसनीपूर्ण थियो । मैले सम्झेसम्म सो भेलाको त्यो चरणको सभापतित्व (वीपका दाजु)मातृकाप्रसाद कोइरालाले गरेका थिए ।
    त्यो बेला अनुदारवादी पन्च मानिने डाक्टर तुल्सी गिरी प्रधानमन्त्री थिए । तत्कालिन राष्ट्रिय समाचार समिति (रासस)का पत्रकार रिसालले वीपीलाइ ८/९ वटा गम्भिर प्रकृतिका मुद्धाहरु भएको आफ्नो पुस्तकमा उल्लेख गरेका छन । रिसालका अनुसार वीपीले २०३६ फागुन २० मा मात्रै विशेष अदालतबाट सफाइ पाएका थिए ।

    पटनाकाे भाषणदेखि सुन्दरीजल जेलसम्म

    २०३३ पुष १६ गते नेपाल आएका वीपीको उक्त दिन अत्यन्तै व्यस्त दिन थियो । तत्कालीन शाही नेपाल वायु सेवा निगमबाट पटना हुँदै काठमाण्डौ ओर्लेका थिए वीपी । आफ्ना सहयोद्धा गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का, निलाम्बर पन्थी, रामबाबु प्रसाईसँग नेपाल आउनु अगाडि पटनामा वीपीलाइ प्रसिद्ध भारतीय समाजवादी नेता जयप्रकाश नारायणले विदाई गरेका थिए ।

    पटनाबाट विदा भएर आएका वीपी नेतृत्वको समुह काठमाडाैंमा ओर्लिनासाथ अलग्गै सोधपुछ भएको थियो । सोधपुछपछि उनीहरुलाइ सन्दुरीजल जेल लगिएको थियो ।

    गणेशमानसँगै सुन्दरीजलमा लगिएका वीपीलाई अन्चलाधीशले सोधपुध गरे । प्रहरी तथा सैन्य अधिकारीसँगै आएका अन्चलाधीशले विभिन्न सात प्रश्नहरु गरे । बयानको टेप रेकर्ड समेत गरिएको वीपीले उक्त दिनको आफ्नो जेल डायरी ‘फेरि सुन्दरीजल’मा उल्लेख गरेका छन् ।

    आफ्नो नेपाल भ्रमणको उद्देश्यदेखि गिरिजाप्रसाद भने किन भारतमै भएको हुँदै नेपालको शान्ति क्षेत्र प्रस्तावमा वीपीको धारणा लागायतका प्रश्नहरु अन्चलाधीशले सोधेका वीपीले लेखेका छन् ।

    नेपाल आएपछि जारी गरेको वक्तव्यमा नेपालको अस्तित्वकै खतरा भनेको बिषयमा पनि सोधपुछ भएको वीपीले उल्लेख गरेका छन् । २०१७ को ‘कू’पछि सुन्दरीजलमै आठ वर्ष लामो जेल जीवन सकेर पुनः आठ वर्ष भारतमा निर्वासित भएर आएपछिको पहिलो रात सुन्दरीजल जेलमा आएर वीपी आठ बजे ओच्छ्यानमा पुगेका थिए ।

    कस्ताे थियो वीपीको राष्ट्रिय एकता र मेलमिलाप नीति ?

    २०३३ पुष १६ गते (सन १९७६ डिसेम्बर ३०)मा वीपीले स्वदेश फिर्ती हुँदा नेपाली कांग्रेस सभापतिको रुपमा एक बक्तव्य सार्वजनिक गरे । यही राजनीतिक बक्तव्यमा भनिएका कुराहरुलाइ धेरैले ‘राष्ट्रिय एकता र मेलमिलाप नीति’को रुपमा व्याख्या गर्दै आएका छन् ।

    यस्तो थियो वीपीको बक्तव्यः

    लामो प्रवासकालपछि हामी स्वदेश फर्कंदैछौँ । यस अवसरमा एक दुई शब्द देशवासीहरूको नाममा सम्बोधन गर्नु उचित ठान्छु । हाम्रो देश आज राष्ट्रिय संकटमा छ । यता केही वर्षदेखि यो संकट चर्किंदै गएको कुरा सबैले महसुस गरेकै हो ।

    यसले गर्दा राष्ट्रिय अस्तित्व नै समाप्त हुने स्थिति आएको छ । यस तथ्यलाई अरूले पनि स्वीकार गरेका छन् । महाराजाधिराजलगायत सबैले बखत बखतमा राष्ट्रिय अस्तित्वमाथि परेको खतराको चर्चा गरेका छन् । यो गम्भीर वास्तविकतालाई बुझेर हामी स्वदेश फर्कंदैछौँ ।

    हाम्रो विचारमा अस्तित्वको संकट आइपर्नुको कारण राष्ट्रिय एकताको अभाव हो, जसले गर्दा हाम्रो देशमा विदेशी तत्व कुचक्र चलाउन र नेपाललाई अन्तर्राष्ट्रिय षडयन्त्रको अखडा बनाउन सफल हुन थालेका छन् ।

    राष्ट्रिय एकता सम्पूर्ण नेपाली जनताको सामूहिक प्रयासबाट हुने अभियान र कार्यले मात्र स्थापित हुन्छ । यस्तो सामूहिक अभियानले नेपाली जनताको भावनात्मक एकताको संस्थागत आधार पनि तयार पार्छ ।

    कोरा नाराले मात्र हुने भए वितेका १३ वर्षमा राष्ट्रिय एकता यसरी छिन्न भिन्न भएर यस सोचनीय स्थितिमा देशले पुग्नुपर्ने थिएन । आज देशमा स्वार्थपरायणता, साम्प्रदायित्व, व्यक्तिवादी मनोवृत्ति र विदेशपट्टि आमुख हुने प्रवृत्तिको बोलाबाला छ ।

    यस्तो परिस्थितिमा सबभन्दा पहिले हत्या राष्ट्रियताको हुन्छ । हिजोसम्म हाम्रो संघर्ष जनताको प्रजातान्त्रिक अधिकारको निम्ति मात्र थियो । त्यसो हुनाले हामीले प्रजातान्त्रिक पक्षमा मात्र बढी जोड दियौँ ।

    आज यसमा एउटा नयाँ आयम थपिएको छ । नेपाली कांग्रेसलाई आज दोहोरो जिम्मेवारी आइपरेको छ । त्यो दोस्रो जिम्मेवारी हो देशको अस्तित्वको रक्षा गर्ने । हामीले वर्तमान नेपालको परिस्थितिको दुईमुखे रूप देखेका छौं ।

    भन्नुको तात्पर्य के हो भने प्रजातन्त्र प्राप्ती र राष्ट्रको रक्षा दुवै जिम्मेवारी नेपालीले लिनुपरेको छ । यदि हामीले एउटै जिम्मेवारीको मात्र कुरा गर्‍यौं भने हामी एकपक्षीय भएर गलत बाटोतिर लागेको हुनेछौँ र यदि हामीले प्रजातन्त्र प्राप्तीमा मात्र जोड दियौँ भने राष्ट्रिय संकटको निवारणमा हाम्रो योगदन रहँदैन । त्यति मात्र होइन, यस्तो एक एकपक्षीय कार्यले हामी विदेशीहरूको चालमा पर्ने खण्डमा हुन्छौँ ।

    त्यस्तै, यदि हामीले केवल राष्ट्रियताको मात्र चर्चा गर्‍यौं भने १६ वर्षको खोक्रो राष्ट्रियताको नाराबाजीमा लाग्छौ‌ं । र अधिनायकवादको पक्षधर हुन पुग्छौं । यस्तो खोक्रो राष्ट्रियताले राष्ट्रको रक्षा गर्ने मनोबल देशवासीमा पैदा गर्न सक्दैन ।

    त्यसो हुनाले हामीले यो कुरा पनि बुझनुपरेको छ कि राष्ट्रिय एकता प्रजातन्त्रको जगमा मात्र खडा हुन सक्छ र प्रजातन्त्रको जगमा देशको उत्तरोत्तर आर्थिक विकास र न्यायपूर्ण आर्थिक व्यवस्थामा मात्र बलियो हुन सक्छ ।

    तसर्थ हाम्रो दृष्टिमा राष्ट्रियता, प्रजातन्त्र र विकास उन्नति एक अर्कामा आधारित तत्व हुन् । नेपाली कांग्रेसले आफ्नो जन्मकालदेखि नै बेलाबेलामा देश हितका लागि ऐतिहासिक र गम्भीर निर्णय लिएको सबैलाई थाहा छ । २००७ सालमा क्रान्तिको निर्णय र त्यसको कार्यान्वयन ।

    त्यसपछि आम चुनावलाई सदाका लागि स्थागित गर्ने बुझेर चुनाव गराउने राष्ट्रिय अभियानको नेतृत्व यसले लियो । त्यस आन्दोलनमा धेरै अन्य दलहरूको सहयोग पनि हामीलाई प्राप्त भएको थियो ।

    २०१७ सालमा प्रजातन्त्र उपरको निर्मम एवं सांघातिक प्रहारपछि नेपाली कांग्रेसले प्रजातन्त्रको पक्षमा सङ्घर्ष गर्यो । आज देशका उपरको खतरा बुझेर हामीले यो अर्को ऐतिहासिक निर्णय लिएका छौं, जुन निर्णय नेपाली कांग्रेसको परम्पराको अनुरूप छ ।

    प्रत्येक राष्ट्रको इतिहासमा यस्तो घडी पनि आउँछ, जब यसका बासिन्दाले आफ्नो ज्यानसमेत खतरामा हालेर यसको अस्तित्वको रक्षा गर्नुपर्छ । हामीलाई लाग्छ, आज नेपालमा त्यो घडी आएको छ ।

    हाम्रा शुभचिन्तकहरूले हाम्रो नेपाल फर्किने इरादामा निहित खतरालाई ध्यानमा राखेर नफर्किने सल्लाह दिएकोमा उनीहरूलाई हाम्रो यो भन्नु छ कि हामीमाथि यो सम्भावित खतरा राष्ट्रको अस्तित्व खतराकोसामु नगन्य भन्ठानेर नै यो एतिहासक निर्णय हामीले लिएका हौँ । नेपाली कांग्रेसका कार्यकर्ताहरूले पनि पार्टी निर्देशनअनुसार देश फर्केर अपूर्व साहस र देशप्रेमको उदाहरण प्रस्तुत गरेका छन् ।

    यस राष्ट्रिय सङ्कटको घडीमा हामी सबैले बितेका अप्रिय विवाद र अनुभव र मतभिन्नतालाई बिर्सेर र समाप्त गरेर एकताको सूत्रमा बाँधिनुपर्छ । राष्ट्र रहेन भने हामी रहन्नौँ भन्ने भावनाले प्रेरित हाम्रो कार्यक्रम हुनुपर्छ ।

    मलाई थाहा छैन देशभित्र फर्केर गएपछि म कुन परिस्थितिमा हुनेछु । यस वक्तव्यद्वारा म नेपाली कांग्रेसको अध्यक्षको हैसियतले सारा देशवासीलाई अपील गर्न चाहन्छु कि राष्ट्रको रक्षा देशको उन्नति, जनताको सुख र समृद्धिको पुनित कार्यमा हामी सबै एकमत भएर लागौं ।

    मैले अवसर पाएको खण्डमा महाराजधिराजका समक्ष पनि आफूलाई लागेका कुरा राख्नेछु । राष्ट्रलाई बचाउने जिम्मेवारी सबैको साझा जिम्मेवारी हो ।
    जय नेपाल

    वीपीको यहि वक्तव्यलाई कांग्रेसले राष्ट्रिय मेलमिलापको दस्तावेज र सिद्धान्तका रुपमा बोक्ने गरेको छ । वीपीको यो वक्तव्य विभिन्न धारका कांग्रेस र स्वयम् वीपीकै छोराहरुले पनि आ आफ्नो अनुकल व्याख्या गर्ने गरेका छन् ।

    वीपीका जेठा छोरा प्रकाश कोइराला जो नेपाली कांग्रेसमा लामो समय राजनीति गरेर सांसद पनि भए उनले राजतन्त्र फालेर कांग्रेसले वीपीको मेलमिलाप नीतिको हत्या गरेको बताउँदै आएका छन् । उनको परिभाषा अनुसार वीपीले भनेको मेलमिलाप देश जोगाउन राजा र कांग्रेस मिल्नुपर्छ भन्ने हो ।

    पन्चायतपछि राज्य व्यवस्थामा धेरै परिवर्तन आइरहे पनि कांग्रेसले पुस १६ को कर्मकाण्ड भने अहिलेसम्म मेलमिलाप दिवसकै रुपमा गरिरहेको छ । यद्यपी त्यसको सान्दर्भिकता आजको सन्दर्भमा कसरी हुनसक्छ भन्नेबारेमा कांग्रेसका पण्डितहरुले पनि ब्याख्या गर्न सकेका छैनन् ।

    वीपीको त्यो स्वदेश फिर्ती भारतमा इन्दिरा गान्धीको असहयोगका कारण बाध्यात्मक अवस्थाको उपज थियो कि,साँच्चिकै राजासँग मिलेर देश जोगाउन उनी आएका थिए ? यसमा आ आफ्ना तर्क हुनसक्छन् । तर भारत स्वतन्त्रता संग्रामकै बेलादेखि राम मनोहर लोहिया, जयप्रकाश नारायण जस्ता महान समाजवादी नेताहरुसँग निकट रहेका वीपीको सम्बन्ध कांग्रेस आइसँग घनिष्ठ हुन सकेको थिएन ।

    इन्दिरा गान्धीले संकटकाल लगाएपछि वीपीको लागि विदेशी भूमिमा अपमानित हुनुभन्दा आफ्नै राजाले फासी दिए पनि स्वीकार हुने उद्देश्यबाट पो थियो कि ? उनको वक्तव्य पढ्दा आज पनि यो प्रश्न चाहिँ उठिरहन्छ ।

  • यमनमा नयाँ सरकार आएलगत्तै विमानस्थलमा भयानक आक्रमण, प्रधानमन्त्री सुरक्षित

    यमनमा नयाँ सरकार आएलगत्तै विमानस्थलमा भयानक आक्रमण, प्रधानमन्त्री सुरक्षित

    एजेन्सी । यमनको दक्षिणी शहर अदनस्थित विमानस्थल नजिकै भएको विस्फाेटमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ, ५० भन्दा बढी घाइते भएका छन् ।

    सुरक्षा अधिकारीहरुका अनुसार नयाँ सरकारका सदस्यहरु लिएर साउदी अरबबाट आएको विमान जब विमानस्थलमा अवतरण भयो त्यतिबेलै ठूलो आवाजसहितको विस्फाेट भएको हो ।

    विस्फाेटमा मारिने मानिसहरु विमानस्थलका सहायक कर्मचारीदेखि अधिकृतसम्म थिए । प्रधानमन्त्री अब्दुल मल्लिक सइदले भनेका छन् कि उनी र उनकाे मन्त्रिमण्डल सुरक्षित छ ।

    सूचनामन्त्रीले यो आक्रमणको जिम्मेदार हुती विद्रोही समूह भएको भन्दै यसलाई कायरतापूर्ण चरमपन्थी आक्रमण भनेका छन् । सूचनामन्त्री इरियानीले ट्वीट गरेका छन्, ‘हामी सबैलाई यो निश्चित बनाउन चाहन्छौं कि सबै मन्त्रिपरिषद सदस्य सुरक्षित हुनुहुन्छ र विमानस्थलमा इरान समर्थित हुती विद्रोहीको चरमपन्थी हमलाले हाम्रो जिम्मेवारीमा कुनै आँच आउने छैन । हाम्रा जीवन अन्य यमनीको तुलनामा अधिक मूल्यवान हुने छैन ।’

    नयाँ मन्त्रीहरुको स्वागतका लागि विमानस्थलमा ठूलो भीड जम्मा भएको थियो । विस्फाेटको आवाजसहितको मुस्लो आएसँगै सबै तितरवितर भए । केही समयपछि त्यहाँ गोली चलेको आवाज पनि सुनिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

    यमनको समाचार वेबसाइट अल मसदरका अनुसार विस्फाेटमा परी श्रम मन्त्रालयका एकजना सहसचिवको मृत्यु भएको छ । युवा तथा खेलकुद मन्त्रालयका उपमन्त्री मोनेर अल वजिह, यातायात उपमन्त्री नसिर सरिफलगायतका मानिसहरु घाइते भएका छन् ।

    प्रधानमन्त्री र मन्त्रिपरिषद सदस्यलाई विशेष सुरक्षा घेरामा राखिएको थियो र सुरक्षित बाहिर निकालिएको थियो ।

  • २०२० मा संसारका १० उपलब्धि : नेपाल पनि समेटियाे

    २०२० मा संसारका १० उपलब्धि : नेपाल पनि समेटियाे

    सन् २०२० मा जब कोरोना कहर उत्कर्षमा पुग्दै थियो, तब केही मुलुक यो चपेटाबाट बाहिर निस्किए भने केहीले प्रियजन गुमाए । सबै जनालाई लाग्यो – यो संकटबाट मुक्त हुने उपाय भनेकै खोप हो ।

    यस वर्ष कोरोना र खोप शब्दावली चर्चित रहे । यसबीचमा केही ठूला उपलब्धि पनि सामुन्ने आए । यहाँ केही यस्ता उपलब्धिबारे चर्चा गरिन्छ, जसलाई कोरोनाले सम्झने मौका पनि दिएन ।

    १) चीनबाट काेराेना शुरु, पहिलो खोप बेलायतलाई

    दुनियाँमा कोरोनाभाइरस सबैभन्दा पहिले चीनबाट फैलियो । तर, पहिलो खोप लगाउने सुरुआत चाहिं बेलायतदेखि भयो । ८ डिसेम्बरदेखि भ्याक्सिन लगाउने काम शुरु भयो । ब्रिटेनले फाइजर–बायोइनटेकबाट ८ लाख डोज खरिद गर्यो । ४ लाखलाई डोज दिने बेलायतको तयारी छ । पहिलो खोप ९० सालकी बुज्रुक मारग्रेट किननलाई दिइयो । अहिलेसम्म चीनका ४, रुसका २ र अमेरिकाको एक भ्याक्सिनलाई अप्रुभल मिलेको छ ।

    २) अन्तरिक्षमा ३२८ दिन बस्ने कीर्तिमान

    अन्तरिक्षमा ११ महिना बिताएपछि अमेरिकी अन्तरिक्ष नियोग नासाकी अन्तरिक्षयात्री क्रिस्टिना कोच २०२० को फेब्रुअरी २६ मा धर्तीमा फर्किइन् । कुनै महिलाको लागि यो सबैभन्दा लामो मिसन हो । क्रिस्टिनाले अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा ३२८ दिन बिताइन् । यस क्रममा उनले पृथ्वीलाई ५ हजार २४८ पटक चक्कर लगाइन् । यसक्रममा उनले मंगल मिसन, गुरुत्वाकर्षण, स्पेस रेडिएसन र यससँग जोडिएका तथ्यहरुको संकलन गरिन् ।

    ३) नेपाल अब गरिब रहेन, २०२२ सम्म विकासशील बन्ने लक्ष्य

    नेपाल अब निम्नबाट निम्न मध्यमवर्गको अर्थतन्त्र बनेको छ । गत जुलाइमा विश्व बैंकले नेपालको यो वर्गोत्थानलाई औपचारिकता प्रदान गरेको थियो । तर पनि कोरोनाभाइरसले नेपालको पर्यटन र होटल व्यवसाय चौपट बनेको छ । आर्थिक संकट झेलिरहेको नेपाललाई यसबीचमा अन्तर्राष्ट्रिय मुद्रा कोषले १५८४ करोड रुपैयाँको फन्ड पनि दियो । संयुक्त राष्ट्रसंघले नेपाललाई सन् २०२२ सम्म विकासशील देश बन्ने लक्ष्य दिएको छ ।

    ४)  दक्षिण अफ्रिका पोलियो मुक्त

    एकातिर संसार कोरोनाभाइरससँग लड्दै थियो भने दक्षिण अफ्रिका पोलियो मुक्त हुँदै थियो । गत २५ अगस्टमा विश्व स्वास्थ्य संगठनले अफ्रिकालाई पोलियोमुक्त महादेश घोषणा गरेको छ । अहिलेसम्म नाइजेरियामा मात्र पोलियो भाइरस बाँकी थियो । सन् १९९६ मा सम्पूर्ण अफ्रिकामा ७५ हजार बालबालिका पोलियाे संक्रमित थिए । संसारमा अहिलेसम्म अफगानिस्तान र पाकिस्तानमा मात्र पोलियो भाइरस सक्रिय छ ।

    ५) इजरायल र युएईबीच शान्ति सम्झौता

    गत अगस्टमा चीर प्रतिद्वन्द्वी मुलुक इजरायल र संयुक्त अरब इमिरेट्स (युएई)बीच ऐतिहसिक शान्ति सम्झौता भयो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौता गराएका थिए । सन् १९४८ मा स्वतन्त्रता हासिल गरेपछि इजरायलले कुनै अरब मुलुकसँग तेस्रोपटक यस्तो सम्झौता गरेको थियो । यसअघि जोर्डन र मिश्रसँग उसले सम्झौता गरिसकेको छ । इजरायल र युएईको मित्रतालाई लिएर प्यालेस्टाइनले विरोध जनायो । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार यस्तो सम्झौता गराएर राष्ट्रपति ट्रम्पले एकै तीरमा दुई निशाना साधेका थिए ।

    ६) आकाशबाट सीधै समुन्द्रमा अवतरण

    अमेरिकाको निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सको ड्रागन क्याप्सुल अगस्ट २ मा पृथ्वीमा फर्कियो । इन्टरनेसनल स्पेस स्टेसनबाट पृथ्वीको सतहमा आउन यसलाई १९ घन्टा लाग्यो । ४५ वर्षपछि कुनै अमेरिकी स्पेसक्राफ्टले समुन्द्र सतहमा ल्यान्डिङ गरेको हो । यो मिसन चुनौतीपूर्ण थियो । ल्यान्डिङको क्रममा अमेरिकी राज्य फ्लोरिडमा इसायस नामक सामुन्द्रिक आँधी आउने चेतावनी जारी गरिएको थियो । यसको बाबजुद पनि यात्रा जारी रह्यो ।

    ७) २४ किलोमिटर टाढाबाट तस्बिर लिन सकिने ३२ सय मेगापिक्सलको क्यामेरा 

    अमेरिकी वैज्ञानिकले गत सेप्टेम्बरमा ३२०० मेगापिक्सलको संसारकै सबैभन्दा ठूलो डिजिटल क्यामेरा बनाए । यसलाई क्यालिफोर्नियाको एसएलएसी नेशनल एक्सिलेरेटर ल्याबमा राखियो । २४ किमी टाढाबाट पनि यसले फोटो खिच्न सक्ने दाबी गरिएको छ । आगामी दश वर्षभित्र यो क्यामेराबाट ब्रम्हाण्डको यस्तो तस्विर खिचिने भनिएको छ जसलाई अहिलेसम्म देखिएको छैन ।

    ८) संसारको पहिलो हाइड्रोजन इन्धन बस

    स्कटल्यान्डको एबरडिनमा हाइड्रोजनबाट चल्ने दुनियाँको पहिलो डबल डेकर बसको परीक्षण गरियो । अक्टोबरमा शुरु गरिएको यो पहलको लक्ष्य चाहिं कार्बन उत्सर्जनमा शून्यमा झार्नु हो । कार्बन र हाइड्रोजनलाई हावासँग मिलाएर बिजुली उत्पादन गर्ने भनिएको छ । एक बसलाई चार्ज गर्न १० मिनेटको समय लाग्छ ।

    ९) ४४ वर्षपछि चन्द्रमाबाट ल्याइयो चट्टान

    अमेरिकाको एपोलो र रुसको लुना मिसनपछि चीन विश्वको तेस्रो देश बन्यो जसले चन्द्रमाबाट चट्टान लिएर फर्कियो । चीनको चांग–ई यान २३ नोभेम्बरमा चन्द्रमातर्फ उडेको थियो । दुई किलो चट्टान लिएर यो यान १७ डिसेम्बरमा पृथ्वीमा फर्कियो । यसको ल्यान्डिङ राति डेढबजे भित्री मंगोलियामा भयो । चीनले यसलाई आफ्नो ठूलो उपलब्धि मानेको छ । ४४ वर्ष अगाडि अमेरिकाको एपोलो चट्टान लिएर पृथ्वीमा फर्किएको थियो । अमेरिका र रुसले मानवसहितको यान चन्द्रमामा पठाएका थिए तर, चिनियाँ यान भने मानवरहित थियो । यो रोबोटिक यान थियो ।

    १०) कमला ह्यारिस पहिलो अमेरिकी अश्वेत र महिला उपराष्ट्रपति

    डेमोक्रेटिक पार्टीको तर्फबाट अमेरिकामा जो बाइडेन राष्ट्रपति र कमला ह्यारिस उपराष्ट्रपति बन्दैछन् । कमला चाहिं उपराष्ट्रपति हुने पहिलो अमेरिकी महिला, अश्वेत र दक्षिण एशियाली मूलकी हुन् । ७८ वर्षे बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुने बढी उमेरका हुनेछन् । यसअघि वयोवृद्ध रेकर्डमा रोनाल्ड रेगन थिए ।

  • एट्लेटिको मड्रिड ला लिगाकाे शीर्षमै, रियल बराबरीमा रोकियो

    एट्लेटिको मड्रिड ला लिगाकाे शीर्षमै, रियल बराबरीमा रोकियो

    एजेन्सी । गएराति गेटाफेलाई पराजित गरेपछि एट्लेटिको मड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमै रहेर सन् २०२० लाई बिदाई गरेको छ ।

    घरेलु मैदान स्टाडियो मेट्रोपोलिटिनोमा पहिलो हाफमा लुइस स्वारेजले गरेको गोल नै एट्लेटिकोको जितमा निर्णायक बन्यो । एट्लेटिकोमा प्रशिक्षक डिएगो सिमोनीका लागि यो ५ सयौं खेल पनि थियो ।

    जितपछि एट्लेटिकोले शीर्ष स्थानमा स्पष्ट २ अंकको अग्रता बनाएको छ । किनभने त्यसअघि रियल मड्रिडले एल्चेसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो ।

    लुका मोड्रिचले पहिलो हाफमा गोल गरी लिएको अग्रता जोगाउन नसकेको रियलले दोस्रो हाफको सुरुमै पेनाल्टीमा गोल खान पुग्यो ।

    अंकतालिकामा एट्लेटिकोको १४ खेलबाट ३५ अंक छ । २ खेल बढी खेलेको रियलको २ अंक कम छ ।

    सिमोनीले एट्लेटिको सम्हालेयता सन् २०१४ मा टोलीले ला लिगाको उपाधि जितेको थियो । उनको प्रशिक्षणमा एट्लेटिकोले ३०१ खेले जितेको छ ।

     

  • सिरियामा सैनिक सवार बस एम्बुसमा, कम्तिमा २८ को मृत्यु

    सिरियामा सैनिक सवार बस एम्बुसमा, कम्तिमा २८ को मृत्यु

    पूर्वी सिरियामा यात्रुबाहक बसमा भएको एम्बुस आक्रमणमा कम्तीमा २८ जनाको मृत्यु भएको छ ।

    सिरियाको राज्य संचालित संचारमाध्यमका अनुसार बुधबार डेयर अल जोर प्रान्तमा भएको सो आक्रमणमा ‘नागरिक’हरु मारिएका छन् ।

    तर एउटा पर्यवेक्षक समूह र अन्य सूत्रहरुको दावीअनुसार आक्रमणमा मारिनेमा अधिकांश सैनिक हुन् । यति ठूलो संख्यामा सैनिकलाई निशाना बनाइएको पनि पछिल्लो एक वर्षमा पहिलो हो ।

    आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन । बेलायतमा आधारित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स (एसओएचआर)का अनुसार यो आक्रमण इस्लामिक स्टेटको जिहादी समूहले गरेको हो र आक्रमणमा कम्तीमा ३७ जनाको मृत्यु भएको छ ।

    आफ्ना श्रोतहरुलाई उदृत गरी एसओएचआरले भनेको छ, ‘यो इस्लामिक स्टेटका सदस्यहरुद्वारा पूरै योजनाबद्ध रुपमा गरिएको एम्बुस आक्रमण हो । उनीहरुले तीनवटा बसमा रहेका सैनिकहरुलाई निशाना बनाएका थिए ।’

    सन् २०१४ मा सिरियाको लगभग आधाभन्दा बढी क्षेत्रमा आईएस लडाकूको कब्जा थियो । करिव ८८ हजार वर्ग किलोमिटर क्षेत्रमा उनीहरु क्रुर शासन गर्दै आएका थिए । अमेरिकी सेनाको सहयोगमा सिरियाली सेनाले पाँच वर्षको अवधिमा अधिकांश क्षेत्रबाट आईएस गतिविधि नियन्त्रणमा लिइसकेको छ ।

    सन् २०१९ को मार्चमा आईएसबाट सिरिया र इराकमा कुनै खतरा नरहेको औपचारिक घोषणा गरिएको हो ।

  • प्रचण्ड–माधव र झलनाथलाई ओलीको एकमुष्ट जवाफ (भिडियोसहित)

    प्रचण्ड–माधव र झलनाथलाई ओलीको एकमुष्ट जवाफ (भिडियोसहित)

    काठमाडौं । प्रायः बिहे भोजका पाहुनाले भरिभराउ हुने बबरमहलस्थित कार्की पार्टी प्यालेस अहिले विभाजित नेकपाका दुवै समूहको अघोषित कार्यालय जस्तो बनेको छ ।

    जुन ठाउँबाट बैठक बसेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले आफ्नै दलका अध्यक्ष केपी शर्मा ओलीलाई हटाएको घोषणा गरेका थिए, त्यही ठाउँमा पुगेर ओलीले पुग्ने गरी जवाफ दिए ।

    पार्टी विभाजनपछि प्रचण्ड–माधवले आफूमाथि गरेका टीकाटिप्पणी र आरोपको एकमुष्ट जवाफ दिनका लागि बुधबार ओलीले त्यही ठाउँलाई नै रोजे । उपत्यकामा उपलब्ध सुदूरपश्चिम प्रदेशका ओली पक्षीय नेता कार्यकर्ताको भेला थियो त्यो ।

    पार्टी विभाजनपछि पहिलो पटक बालुवाटार बाहिरको सार्वजनिक कार्यक्रममा उपस्थित भएका ओलीले आफूलाई ‘कारबाही गरिएको आसन’बाटै प्रचण्ड, नेपाल र नेता झलनाथ खनालले लगाएका आरोप र गरेका टिप्पणीको जमेर जवाफ फर्काए ।

    प्रचण्डलाई जवाफ

    आफूलाई तानाशाही भनेको भन्दै ओलीले प्रचण्ड लामो समय विना निर्वाचन अध्यक्ष भएको, निर्वाचनमा जान नमानेको र निर्वाचनमा जाँदा पनि मतपत्र च्यातेको बताए । र, आफू सधैं निर्वाचनका माध्यमबाट मात्रै नेतृत्वमा आएको र पछिल्लो पटक पनि निर्वाचनबाट अध्यक्ष भएको सन्दर्भ झिक्दै आफू तानाशाही नभएको जवाफ फर्काए ।

    ‘छोरी जिताउन नसकेपछि मतपत्र च्यातेर प्रजातन्त्र धुजा–धुजा बनाउनुभयो’ प्रचण्ड लक्षित उनको भनाइ थियो, ‘छोरी जिताउनकै लागि कांग्रेससँग मिल्नुभयो तर खासै उपलब्धि भएन ।’

    प्रचण्डसँग सम्झौता गर्दा–गर्दा आफू थकित भएको बताएका ओलीले विम्बात्मक रुपमा सम्झौताले ‘ब्रिफकेस’ नै भरिएको टिप्पणी गरे । ‘आज एउटा सम्झौता गरेर पठायो, भोलि फेरि अर्को माग लिएर आउने’ओलीको टिप्पणी थियो, ‘प्रधानमन्त्री तपाईं नै हुनुहाेस्, जनताले तपाईंलाई नै चाहेका छन् भनेर आउनुभयो । मलाई कार्यकारी अध्यक्ष दिनुस् भनेपछि दिएँ । भोलिपल्ट त मैले गल्ती पनि गरें कि कमरेड भन्दै आउनुभयो ।’

    ओलीले तीन वर्षसम्म प्रचण्डसँगको सहकार्य कठिन भएको भाव व्यक्त गरे र त्यसलाई ठट्यौली पारामा भने, ‘तीन वर्षमा साबुनका धेरै डल्ला खेर गए, ड्रमका-ड्रम पानी खत्तम भयो । उहाँलाई धुनका लागि साबुन लायो, पखाल्यो फेरि जस्ताको तस्तै।’

    प्रचण्डले ओलीलाई ‘बाहिर मीठो कुरा गर्ने तर भित्र छुरा हान्ने खाले भएको’ भनी टिप्पणी गरेका थिए । ओलीले त्यसको जवाफ पनि दिए । ‘मैले मित्रताको अँगालो हाल्न खोज्ने तर उहाँ धृतराष्ट्र बन्न खोज्ने’ ओलीले भने, ‘वामपन्थीसँग मिलेर चुनाव लड्ने तर सरकार दक्षिणपन्थीसँग बनाउन खोज्ने। लाज लाग्नुपर्ने होइन ?’

    माधवकुमार नेपालबारे

    आफ्नो सम्बोधनमा ओली आफ्ना पूर्व सहकर्मी माधवकुमार नेपालप्रति पनि निकै कडा रुपमा प्रस्तुत भए । उनले नेता नेपाल प्रचण्डको कार्यकर्ता बन्न गएको टिप्पणी गरे ।

    ‘माधव नेपाल प्रचण्डका कार्यकर्ता हुन् । मलाई केही पनि भन्नु छैन’ उनले भने,‘ उहाँ (माधव नेपाल) सधैं उधारो सम्झौता हुँदैन भन्नुहुन्थ्यो। उहाँको बारेमा केही कमेन्ट गर्दिनँ, उहाँ दुःखी हुनुहुनेछ।’ नेता नेपालको क्यारिकेचर समेत गर्दै ओलीले भनेका थिए, ‘अपमान ! मान पाइनँ मैले !’

    ओलीले एउटा पुरानो सन्दर्भ सम्झिएर नेता नेपालको चरित्र चित्रण समेत गर्न भ्याए । पहिले माधव नेपाल इमानदार भए पनि अहिले बिग्रेको ओलीको भनाइ थियो । यस्तो थियो ओलीले स्मरण गरेको त्यो पुरानो सन्दर्भ :

    म जेलमा हुँदा एउटा कलिलो केटो पनि समाएर ल्याएछन्। मैले भेटाएको थिएँ । सम्झाएर, बुझाएर, राजनीतीकरण गरेर, वामपन्थी बनाएर अलिअलि काममा लगाइदिएँ । म पूर्णकालीन भएको पाँच वर्ष भएको थियो, भूमिगत भएको तीन वर्ष भएको थियो । मोरङ जाँदा विराटनगरको महेन्द्र मोरङ कलेजमा पढ्दै गरेको इमानदार विद्यार्थी थियो । राम्रो, सहयोगी भावनाको थियो । उसलाई मैले राजनीतिमा लाग, राम्ररी काम गर्नुपर्छ, देशमा परिवर्तन ल्याउनुपर्छ भनेर सम्झाएँ । उत्साहित गराएँ । प्रेरित गराएँ । त्यो मान्छे, त्यसको एक/डेढ वर्षपछि राजनीतिमा सामेल भयो । पहिले इमानदार थियो, सोझो थियो त्यो मान्छे । पछि बैंकमा काम गरेको मान्छे । आदत के परेछ भने, उदारो हुन्न। पछि कपट पसेछ । पहिले यस्तो थिएन त्यो मान्छे ।

    ओलीले नेता खनाललाई पनि जवाफ फर्काउन छुटाएनन् । नेता खनालले मंगलबार भृकुटीमण्डपमा आयोजित विरोध सभामा ‘धरहरा ओलीले नभई इन्जिनियरले बनाएको’ टिप्पणी गरेका थिए ।

    ओलीले त्यसको ठ्याक्कै यस्तो जवाफ दिए–

    ‘हिजो झलनाथ खनालजीले भाषण गर्नुभयो नि, धरहरा केपी ओलीले बनायो भन्छन् । नचाहिने कुरा, केपी ओलीले बनाएको हो र ? इन्जिनियरले बनाएको हो । उहाँलाई के थाहा रैनछ भने इन्जिनियरले डकर्मीको काम गर्दैन । त्यो त नाप्ने मात्रै हो । डकर्मीले बनाएको हो धरहरा । इन्जिनियरले बनाउँछ, इँटा लगाउँछ भन्ने परेको रहेछ उहाँलाई । कहिले नजिकै गएर हेरेको भए पो । त्यो कसले काम गर्छ भन्ने हेर्नुपर्‍यो नि । थाहा पाउनुपर्‍यो नि ।’

    चुनावबारे

    ओलीले चुनावलाई लिएर आफूप्रति गरिएका टीकाटिप्पणीको जवाफ पनि त्यही मञ्चबाट फर्काए । चुनाव आफूले शान्तिपूर्ण र निष्पक्ष रुपमा गराउने बताए । ‘यसपटकको निर्वाचनमा बत्ती निभ्दैन, मतपत्र च्यातिने छैन’ ओलीको भनाइ थियो, ‘मतपत्र च्यातेर बत्ती निभाउने भन्ने ठान्नुभएको छ भने त्यो हुन दिइँदैन ।’

    ओलीको थप भनाइ थियो, ‘अहिलेको निर्वाचन शान्तिपूर्ण हुन्छ, बक्सा साट्न पाइँदैन, मतपत्र च्यात्न पाइँदैन स्वच्छ निर्वाचन हुन्छ ।’

    ओलीले चुनाव हुने र त्यसमा प्रचण्ड–माधव पक्ष पत्तासाफ हुने आकलन समेत गरे । उनले चुनावको तयारी थाल्न भनी सुझाए । ‘चुनाव हुँदैन भन्नुहुन्छ तर अबको चुनावमा पत्तासाफ हुनुहुन्छ’ ओलीको सुझाव थियो, ‘चुनावको तयारीमा लाग्नुहोस्, माइतीघरको चिसो भुइँमा बसेर रमिता नदेखाउनुहोस् ।’

  • सीताको स्वास्थ्यलाभकाे कामना गर्दै प्रचण्डलाई प्रधानमन्त्रीको फोन

    सीताको स्वास्थ्यलाभकाे कामना गर्दै प्रचण्डलाई प्रधानमन्त्रीको फोन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजनपछि पहिलो पटक अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोनमा कुराकानी गरेका छन् ।

    बुधबार साँझ मन्त्रिपरिषद बैठक सकिएलगत्तै ओलीले प्रचण्डलाई टेलिफोन गरेर प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्यको बारेमा जानकारी लिएका हुन् ।

    प्रधानमन्त्रीले आफ्नो तर्फबाट स्वास्थ्य लाभको कामना गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेपाल प्रेसलाई बताए । पार्टी विभाजनपछि दुई नेताबीच संवाद भएको थिएन ।

    यसैबीच प्रधानमन्त्रीको तर्फबाट नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङ सीता दाहालको स्वास्थ्यस्थिति बुझ्न ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेका छन् ।

    सीताको स्वास्थ्यलाभको कामना लिएर प्रधानमन्त्रीको तर्फबाट विष्णु पौडेल र सुवास नेम्वाङलाई अस्पताल पठाइएको हाे ।

  • प्रदेश-२ : प्रचण्ड-माधव पक्षका पाँच सांसद ओली पक्षमा लागे

    प्रदेश-२ : प्रचण्ड-माधव पक्षका पाँच सांसद ओली पक्षमा लागे

    जनकपुरधाम । तत्कालीन माओवादीका पाँच सांसद प्रचण्ड–माधव नेपालको साथ छाडेर प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेका छन् ।

    तत्कालीन माओवादीका प्रदेश-२ मा संसदीय दलका नेता रहेका रामचन्द्र मण्डलसहित पाँच जना ओली समूहमा लागेका हुन् । धनुषा १ (ख) बाट निर्वाचन मण्डलले प्रदेश सांसदहरु दिलीप साह, कुन्दनप्रसाद कुशवाहा, मोहम्मद समिर, फुलियादेवी र ज्वालाकुमारी साह ओली पक्षमा आएको दावी गरे ।

    तर सिरहा ४ (क) बाट निर्वाचित प्रदेश सांसद दिलीप साहले आफू ओली पक्षमा नगएको प्रतिक्रिया दिए । उनले भने, ‘भविष्यमा के हुन्छ थाहा छैन । तर अहिले म प्रचण्डसँगै छु ।’ अन्यले गुट परिवर्तन गरेको कुरा थाहा नभएको उनको भनाइ छ ।

    तत्कालीन माओवादीका नेता तथा पूर्वमन्त्री प्रभु साह ओली पक्षमा लागेपछि प्रदेश-२ का प्रदेश सांसदहरुलाई आफूतिर तानेका हुन् । उनी नेकपाका प्रदेश-२ का संयोजक छन् ।

    प्रदेश-२ मा नेकपाका ३१ सांसद छन् । तत्कालीन माओवादीका पाँच सांसद ओली पक्षमा लागे पनि प्रचण्ड–माधव पक्षमै अधिकतर सांसद रहेका छन् । कतिपय तत्कालीन एमालेका सांसद पनि प्रचण्ड–माधव नेपाल पक्षमा खुलेर लागेका छन् ।

     

  • प्रचण्ड–माधव पक्ष दोस्रो चरणको आन्दोलनमा एक्लै नजाने

    प्रचण्ड–माधव पक्ष दोस्रो चरणको आन्दोलनमा एक्लै नजाने

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष) ले प्रतिनिधिसभा विघटनविरुद्धको पहिलो चरणको कार्यक्रम सफल भएको निष्कर्ष निकालेको छ ।

    बुधबार पेरिसडाँडामा बसेको नेकपा स्थायी कमिटीको अनौपचारिक बैठकले पहिलो चरणको आन्दोलनको समीक्षा गरेको हो ।

    ‘अनौपचारिक बैठक थियो’ स्थायी कमिटी सदस्य रघुजी पन्तले नेपाल प्रेससँग भने, ‘पहिलो चरणको आन्दोलनको समीक्षा भयो । देशभरिकै आन्दोलन राम्रो भयो भन्ने निष्कर्ष निकालिएको छ।’

    दोस्रो चरणको आन्दोलन भने एक्लै भन्दा संयुक्त रुपमा गर्न उचित हुने निष्कर्ष बैठकले निकालेको छ । दोस्रो चरणको आन्दोलनका लागि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग छलफल गर्ने समझदारी बनेको पन्तले बताए ।

    ‘अहिले विभिन्न दलहरुसँग पनि वार्ता भइरहेकाले दोस्रो चरणको आन्दोलनबारे ठोस निर्णय केही पनि भएन’ उनले भने, ‘जसपा र नेपाली कांग्रेसलगायतका पार्टीसँग पनि संयुक्त आन्दोलनका कार्यक्रम लिएर जाने कि भन्ने भइरहेको छ ।’

    अहिलेलाई अरु पार्टीहरुसँग छलफल गरेर संयुक्त संघर्षलाई नै प्राथमिकता दिने भन्ने भए पनि ढिला भए एक्लै आन्दोलनका कार्यक्रम घोषणा गरिने पन्तले जानकारी दिए।

    उनले भने, ‘मिलेर आन्दोलनमा जाने कुरामा अहिले ढिला भयो भने चाहिं हामी छिट्टै नै अर्को कार्यक्रम दिन्छौं ।’

  • ‘एमाले ब्राण्ड’ विभाजन: प्रचण्डको सफल प्रयोग

    ‘एमाले ब्राण्ड’ विभाजन: प्रचण्डको सफल प्रयोग

    नेकपा विभाजन भयो कि एमाले फुट्यो ? अहिले वाम राजनीतिक वृत्तमा यसको बहस भइरहेको छ । धेरैले अनुमान लगाएका थिए, नेकपा फुट्यो भने एमाले फुट्ने हो । तत्कालीन माओवादी पंक्ति प्रचण्डकै नेतृत्वमा एकढिक्का रहनेछ ।

    औपचारिक रुपमा नेकपा विभाजन हुँदा रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्ट, प्रभु साहदेखि दावा तामाङसम्मका प्रचण्डको जनयुद्धकालका सारथीहरुले उनको साथ छाडेर केपी ओलीतिर लागेपछि माओवादी पनि विभाजन भएको देखियो ।

    रुपमा माओवादी पनि विभाजन भयो तर सारमा तलदेखि माथिसम्म संगठित संरचना भएको एमाले नै फुटेको हो भन्न हतारो हुन्न । नेपालमा सबैभन्दा व्यवस्थित र व्युरोक्रेटिक संरचना भएको लोभलाग्दो जनसम्बन्ध स्थापित भएको एमाले फुटेको छ ।

    तत्कालीन एमाले र माओवादीले सत्तास्वार्थका लागि गरेको सम्झौतालाई पार्टी एकताको बिल्ला भिराइयो । मूलतः दुई पार्टीका अध्यक्षको शक्तिमोहबाट प्रेरित उक्त सम्झौता नै गलत थियो । राजनीतिक दल हुनका लागि विचार, आदर्श चाहिन्छ । त्यो एकतामा कुनै विचारले घर गरेको थिएन । दुई कम्पनी मर्जर गरेजस्तो गरियो । त्यो पनि नाफा, घाटा, योगदान र इतिहासको ख्यालै नगरी ।

    तर, उनीहरु मिलेजस्तो गरेसँगै पछार्ने खेल शुरु भइसकेको थियो । एकआन्द्रो भएको अभिनय गर्दै एकले अर्कोलाई सिध्याउने, लुछ्ने प्रपन्च शुरु भइसकेको थियो । किनकि, त्यो नाटकीय एकता दुवैको शक्तिशाली हुने अतिमहत्वाकांक्षाबाट ग्रस्त थियो । दुवैमा लोभको ग्रन्थी हावी थियो ।

    नाटकीय एकताबाट शक्तिशाली भएको भ्रममा अध्यक्ष केपी शर्मा ओलीले भावुक हुँदै भने, ‘महासागरमा कुन खोलाको पानी भनेर खोज्न सकिंदैन ।’ एउटै पार्टीमा दुई अध्यक्ष हुने गरी काइते भागबण्डा मिलाउँदा भने, ‘टेप्पो हो र एकजना मात्रै ड्राइभर हुन ? जेट विमानमा दुई पाइलट हुनु स्वाभाविक हो ।’ ओलीको बोलीमा प्रचण्डले लोली मिलाए ।

    तर, उनीहरु मिलेजस्तो गरेसँगै पछार्ने खेल शुरु भइसकेको थियो । एकआन्द्रो भएको अभिनय गर्दै एकले अर्कोलाई सिध्याउने, लुछ्ने प्रपन्च शुरु भइसकेको थियो । किनकि, त्यो नाटकीय एकता दुवैको शक्तिशाली हुने अतिमहत्वाकांक्षाबाट ग्रस्त थियो । दुवैमा लोभको ग्रन्थी हावी थियो ।

    देशभर कुनै निर्वाचन क्षेत्रबाट पनि चुनाव जित्न नसक्ने गरी थलिएका प्रचण्डका लागि एमालेसँग मिल्नु मौका थियो । १० वर्ष युद्ध गरेर २०६४ सालमा सबभन्दा ठूलो दल भएको माओवादी अर्को १० वर्षमा सिला खोज्नुपर्ने स्थितिमा पुग्यो ।

    देशभरबाट बढारिने निश्चित भएपछि प्रचण्डले एमालेको साथ खोजे । ओलीलाई एक्लै बहुमत ल्याएर प्रधानमन्त्री हुन प्रचण्ड बाधक भए । किनकि स्थानीय तहको निर्वाचनले एमालेलाई ठूलो पार्टी बनाए पनि बहुमतका लागि माओवादीको सहयोग चाहियो ।

    शक्तिशाली हुने ओली र प्रचण्डको स्वार्थ मिल्यो । अरु नेता तथा कार्यकर्तालाई गुमराहमा राखेर ‘सरप्राइज एकता’को मञ्चन गरियो ।

    जुटेको भए पो फुट्नु !

    अहिले नेकपा फुट्न लागेको वा फुटेको चर्चा छ । तर प्रष्ट छ कि, एमाले र माओवादीबीच एकता भएकै थिएन, के फुट्नु ? त्यतिबेला पनि तेलमा पानी वा तोरीमा कोदो मिसिएजस्तो मात्रै भएको हो ।

    त्यसैले नेकपा फुटेको होइन । बरु, एमालेभित्र छिरेर प्रचण्डले नराम्ररी लुछे, एमाले लुछियो । आज एमालेकै विरोध गर्नुमा माधवकुमार नेपाल, झलनाथहरुलाई गर्व गर्ने स्थिति बनाइदिए, प्रचण्डले ।

    देशभर कुनै निर्वाचन क्षेत्रबाट पनि चुनाव जित्न नसक्ने गरी थलिएका प्रचण्डका लागि एमालेसँग मिल्नु मौका थियो । १० वर्ष युद्ध गरेर २०६४ सालमा सबभन्दा ठूलो दल भएको माओवादी अर्को १० वर्षमा सिला खोज्नुपर्ने स्थितिमा पुग्यो ।

    प्रचण्ड चतुर र ट्याक्टफुल खेलाडी हुन् भन्ने कुरा थप प्रमाणित भएको छ । उनले एमालेलाई दुई फ्याक बनाएर आधा आफ्नो पोल्टामा पारिछाडे । अब माधव, झलनाथलाई आफूमुनि राखेर प्रचण्डले केही समय ओलीलाई ललकार्नेछन् । तर, त्यो पनि धेरै नटिक्ने निश्चित छ ।

    हिजो एक पद एक व्यक्तिको वकालत गरेका माधव नेपाल प्रचण्डमुनिको अध्यक्ष हुनुमा गर्व गर्दै ओलीको उछित्तो काढिरहेका छन् । माओवादीसित मिलेर एमालेका नेता कार्यकर्तालाई सरापिरहेका छन् । नेपालले प्रचण्डसँग मिलेर ओलीलाई सराप्दा अर्गानिक एमालेका कार्यकर्ताको चित्त कति दुख्दो हो ?

    विगतमा माओवादी ज्यादतीविरुद्ध ज्यान बाजी राखेर लडेका एमालेका कार्यकर्ताको मनमा कति चिसो पसेको होला ! जनताको बहुदलीय जनवाद घोकेर एमाले भएकाहरुले आज ‘प्रचण्डपथ’को स्तुति गर्नुपर्ने भयो । राजनीति कति निर्मम हुँदोरहेछ ।

    संसद विघटन र अविश्वास प्रस्ताव !

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरिन् । संसद विघटन हुनुलाई प्रचण्ड–माधव पक्षसँगै केही अरुले पनि प्रतिगमनकारी कदम भनेका छन् । र, उनीहरु संसद पुनःस्थापनाको माग राख्दै सडक संघर्ष गरिरहेका छन् ।

    यससँगै एउटा तथ्य सार्वजनिक भएको छ कि, प्रचण्ड–माधवले आफ्नै पार्टीका प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न लागेको सुइँको पाएपछि ओलीले संसदै भंग गरिदिएछन् ।

    पार्टीभित्रको लडाइँका कारण संसद विघटन गर्नु सही थिएन । तर, संसद भंग गर्नु राजनीतिक परिस्थितिको उपज हो कि प्रतिगमन ? भन्ने बहस जीवित छ । आफूलाई सिध्याउने प्रपन्च भएपछि ओलीले उत्तेजित र आक्रामक हुँदै संसदै सिध्याइदिए ।

    तर सारमा प्रचण्ड–नेपाललाई पनि शक्तिको लोभले नै ओली नहटाएसम्म विश्राम नलिने झोक चलेको थियो । उनीहरुलाई देश र जनताको चिन्ता भएको होइन । छिटो सत्तामा पुग्न परेको हो । संसद भंग भएपछि चुनावमा गएर, जितेर सत्तामा पुग्न सकिन्छ भन्ने आत्मविश्वास र प्रतीक्षा गर्ने शक्ति उनीहरुमा छैन ।

    ओलीलाई हटाएर प्रचण्ड प्रधानमन्त्री भए पनि देशमा राजनीतिक स्थिरता हुने होइन । उही चलखेल, तानातान र रमिता नै हुने हो । संसद विघटन सही कदम नभए पनि गैरराजनीतिक कदम होइन । विगतका नजिर र अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने संसदीय व्यवस्थाको यो कुरुप सत्य हो ।

    पार्टीभित्रको लडाइँका कारण संसद विघटन गर्नु सही थिएन । तर, संसद भंग गर्नु राजनीतिक परिस्थितिको उपज हो कि प्रतिगमन ? भन्ने बहस जीवित छ । आफूलाई सिध्याउने प्रपन्च भएपछि ओलीले उत्तेजित र आक्रामक हुँदै संसदै सिध्याइदिए ।

    आज एमाले–माओवादीका कार्यकर्ता पनि नेतासँग कित्ताकाट छन् । त्यसैले उनीहरु आफ्नो पक्षका नेताले जे भन्यो त्यही सही भनिरहेका छन् । तर, प्रधानमन्त्री परिवर्तन भइरहनु भन्दा नयाँ निर्वाचन परिणामकै आधारमा नयाँ सरकार बन्नु बढी राजनीतिक प्रक्रिया हो ।

    प्रचण्डलाई प्रधानमन्त्री, झलनाथलाई राष्ट्रपति अनि माधव नेपाललाई पार्टी अध्यक्ष बनाउँदा अग्रगामी हुने भन्ने होइन । आफूले भाग पाए क्रान्तिकारी, गुमाए प्रतिगामी भन्ने उनीहरुको परिभाषा कतै मेल खाँदैन ।

    रोचक त के छ भने संसदीय व्यवस्था नै गलत र क्रान्तिबाटै समाजवाद ल्याउनुपर्छ भन्नेहरु पनि अहिले संसद पुनःस्थापना हुनुपर्छ भनेर रोइलो गरिरहेका छन् । उनीहरुका लागि समाजवाद ल्याउने सुन्दर मौका नै यही हो । तर, पब्लिक सेन्टिमेन्ट क्यास गर्न ओलीको विरोध गर्नैपर्ने बाध्यताबाट उनीहरु ग्रस्त छन् ।

    आफूइतर र आफ्नो मान्यता प्रतिकूल विचारलाई गलत देख्ने क्रान्तिकारीहरु पनि चुनावबाटै स्थापित हुनुपर्छ । यो अहिलेको व्यवस्थाको बाध्यता हो । कि त हामीले अहिलेको व्यवस्था वा प्रणालीकै विरुद्धमा संघर्ष गर्न सक्नुपर्छ । यही व्यवस्थालाई मान्ने हो भने संसद विघटन एउटा राजनीतिक घटना हो ।

    संसद पुनःस्थापना भयो भने के हुन्छ ?

    संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्जन बढी मुद्दा परेको छ । मुद्दाउपर संवैधानिक इजलासमा बहस जारी छ । र, धेरैको ध्यान अदालतको फैसलातिर केन्द्रित छ । ओलीइतरकाले संसद विघटनको विपक्षमा फैसला आउने आशा गरेका छन् । कतिपयले प्रधानन्यायाधीशकै नियतमाथि शंका गरिरहेका छन् ।

    प्रष्ट छ कि, संसद विघटनको पक्षमा फैसला आए वैशाख वा अलि पछि चुनाव होला । तर, विपक्षमा आए के हुन्छ ? स्वाभाविक छ कि, प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव हुन्छ । ओली हट्छन्, प्रचण्ड वा माधव नेपाल प्रधानमन्त्री हुन्छन् । राष्ट्रपतिलाई महाभियोग लगाउलान् । झलनाथलाई राष्ट्रपति बनाउलान् । भण्डारी, ओलीका ठाउँमा दाहाल, नेपाल वा खनाल आउलान् । तर, देश र जनताको लागि के हुन्छ ? केही पनि हुँदैन ।

    नेताका शक्तिको लडाईंमा पिल्सिने त जनता नै हुन् । पछि पर्ने देश नै हो । त्यसैले उत्तेजित विरोध वा अन्धभक्त समर्थन जरुरी छैन । एकअर्थमा, हाम्रो राजनीतिक अभ्यास, व्यवस्था वा प्रणाली नै खराब छ । वा, व्यवस्था वा प्रणाली आफैं खराब वा सही हुँदैन । त्यसको प्रयोग महत्वपूर्ण कुरा हो । यो अर्थमा व्यवस्था प्रयोगकर्ता नेता नै हुन् ।

  • माइतीघरमा छमछम नाचेर संसद विघटनको विरोध

    माइतीघरमा छमछम नाचेर संसद विघटनको विरोध

    ‘प्रतिनिधिसभा विघटनविरुद्ध नागरिक आन्दोलन’ का अभियन्ताहरुले बुधबार माइतीघरमा नौमती बाजा र कविता वाचनसहित प्रदर्शन गरेका छन् ।

  • वागमती र सहायक नदी किनारमा मापदण्डविपरीत बनेका संरचना हटाइने

    वागमती र सहायक नदी किनारमा मापदण्डविपरीत बनेका संरचना हटाइने

    काठमाडौं । अधिकारसम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले वागमती र यसका सहायक नदी किनारमा मापदण्डविपरीत बनेका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ ।

    समितिले यही पुस ८ गते सार्वजनिक सूचना प्रकाशन गरी वागमती र यसका सहायक नदी किनारमा बनेका मापदण्डविपरीतका संरचना हटाउन आह्वान गरेको हो । मन्त्रिपरिषद्ले विसं २०६५ मङ्सिर १ गते निर्णय गरी नदीकिनारमा मापदण्डविपरीत संरचना बनाउन नदिने निर्णय गरेको थियो ।

    मन्त्रिपरिषद्को निर्णयअनुसार समितिले पटकपटक सूचना जारी गरी मापदण्डविपरीतका संरचना हटाउन भने पनि कार्यान्वयन हुनसकेको थिएन जसका कारण एशियाली विकास बैंकको ऋण सहयोगमा शुरु भएको वागमती नदी सौन्दर्यीकरण कार्यक्रमसमेत प्रभावित भइरहेको छ ।

    यसपटक भने वागमती र यसका सहायक नदीलाई छुने स्थानीय तहका वडाध्यक्षको बैठक राखी निर्णय गरेर सूचना जारी गरिएको समितिका सूचना अधिकारी कमल अर्यालले जानकारी दिए । उपत्यकाका ११ स्थानीय तहका ३५ वडाध्यक्षले पनि मापदण्डविपरीत बनेका सबै संरचना हटाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

    सोअनुसार काठमाडौँ महानगरपालिका वडा नं ९ र ३१ स्थित सिनामङ्गल क्षेत्रको नदी किनारमा बनेका मापदण्डविपरीतका सात घर भत्काएर नदी सौन्दर्यीकरणका लागि पर्खाल निर्माण शुरु भएको जानकारी उनले दिए ।

    समितिले नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, काठमाडौँ उपत्यका विकास प्राधिकरण र ११ वटा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई समेत राखेर बैठक गरी मापदण्डविपरीतका संरचना हटाउने विषयमा छलफलसहित निर्णय गरेको छ ।

    तोकिएको ३५ दिने अवधिभित्र संरचना नभत्काए समितिले आफैँ भत्काउने सूचनामा उल्लेख छ । वागमती किनारको सिनामङ्गल, थापाथली, बल्खुलगायत क्षेत्रका नदी किनारमा मापदण्डविपरीतका धेरै संरचना निर्माण गरिएको छ जसका कारण नदीमा फोहाेरसमेत बढेको छ । नदीकिनारमा बसेकाका लागि इचङ्गुमा आवास निर्माण गरिए पनि त्यहाँ स्थानान्तरण हुनसकेको छैन ।

  • पौडेलले गरे जोशीको स्वास्थ्यलाभको कामना

    पौडेलले गरे जोशीको स्वास्थ्यलाभको कामना

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस पूर्व सहमहामन्त्री गोविन्दराज जोशीको स्वास्थ्यलाभको कामना गरेका छन् । राजनीतिक रुपमा कटु सम्बन्ध रहेका जोशीलाई ‘सहयात्री’ भन्दै पौडेलले स्वास्थ्यलाभको कामना गरेका हुन् ।

    सामाजिक सञ्जालमार्फत पौडेलले कोरोना संक्रमण भई उपचाररत जोशीको स्वास्थ्य लाभको कामना गरेका छन् ।

    पौडेलले लेखेका छ– मेरा सहयात्री, नेपाली कांग्रेसका पूर्व सह महामन्त्री एवं पूर्व मन्त्री श्री गोविन्दराज जोशीजी कोभिड १९ को संक्रमणको कारण अस्वस्थ भै हेम्स अस्पताल ९ काठमाडौंमा उपचाररत हुनुहुन्छ । उहाँको शीघ्र स्वास्थ लाभको कामना गर्दछु ।

    पौडेल र जोशी दुवैको गृहजिल्ला तनहुँ हो । गत आमनिर्वाचनमा जोशीले पौडेलविरुद्ध वागी उम्मेदवारी दिएका थिए । पौडेलको उजुरीपछि निर्वाचन आयोगले जोशीको उम्मेदवारी रद्द गरेको थियो ।

    पार्टीको उम्मेदवार हराउन भूमिका खेलेको भन्दै कांग्रेसले जोशीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । जोशी हाल ह्याम्स अस्पतालमा उपचाररत छन् ।

  • लिटरेचर फेस्टिभलमा उद्योगका कुरा

    लिटरेचर फेस्टिभलमा उद्योगका कुरा

    काठमाडौं । सरकारले गत चैतमा लगाएको लकडाउन चार महिनापछि खुल्यो । तर देशको उद्योग व्यवसाय क्षेत्र अहिले पनि लकडाउनमै रहेको उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् ।

    आइएमई लिटरेचर फेस्टिभलको छलफल सत्रमा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले अहिले पर्यटन क्षेत्र लगभग बन्द अवस्थामा रहेको र सेवा तथा उत्पादन क्षेत्र पनि लकडाउनकै अवस्थामा रहेको बताए । महामारीले कैयौंले रोजगारी गुमाएको प्रसङ्ग जोड्दै उनले भने ‘कोरोनाले देशको उद्योग व्यवसायलाई कोमामा नै पुर्यायो ।’

    आगामी दिनमा पनि नसोचेका महामारी आउनसक्ने भन्दै त्यसका लागि सरकार तथा निजी क्षेत्र सचेत हुनुपर्ने उनको भनाइ थियो ।

    ‘छलफलमा कोरोनाले अवसर पनि ल्याएको छ नि !’ भन्ने प्रश्नमा उनले भने ‘कोरोना महामारीले उद्योग व्यवसायलाई कठिन बनाएको भए पनि डिजिटल क्षेत्रमा भने फड्को मारेको छ ।’

    कोरोनाको समयमा धेरै काम डिजिटल प्रविधिबाट भएकाले नेपालको अर्थतन्त्रलाई डिजिटलमय बनाउन सहयोग पुगेको उनको तर्क छ । ‘आगामी दिनमा पनि नेपालले डिजिटल क्षेत्रमा फड्को मार्नेछ । यसका लागि सरकारले कानून बनाएर अगाडि बढ्नुपर्छ । निजी क्षेत्रले सधैं सरकारलाई सहयोग गर्ने नै छ’, उनले भने ।

    उनका अनुसार लकडाउनपछि नेपालको पर्यटन क्षेत्र ठप्प भए पनि पछिल्लो समय आन्तरिक पर्यटन बढेको छ । ‘निजी क्षेत्रलाई सरकारले हेर्ने परम्परागत दृष्टिकोणमा परिवर्तन गर्न जरुरी छ । निजी क्षेत्र नाफाखोरी मात्र हो भन्ने सोचाइलाई परिवर्तन गर्नुपर्छ’ उनले भने ।

    मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर बिन महम्मद नेपाल आउँदा घुमाउने मौका पाएको अनुभव सुनाउँदै उनले थपे– उहाँलाई घुमाउने मौका पाएको थिएँ । ‘तपाईँले छोटो समयमा मलेसियामा चामत्कारिक विकास गर्न सक्नुको कारण के होला ?’ भनेर सोधेथें । उहाँले भन्नुभयो ‘मैले सरकार शुरु गर्दा आन्तरिक तथा अनुदानमा आएका सबै लगानीलाई देशको तीनवटै तहले पार्टनरका रुपमा लियौं । र निजी क्षेत्रलाई सक्दो प्रवर्धन गर्यौं । यसबाट सरकारले विना लगानी राजश्व मार्फत आम्दानी गर्यो र त्यसको प्रतिफल नै विकसित मलेसिया हो ।’

    पछिल्लो समय नेपालमा विकासको लहर देखिन थालेको भन्दै उनले भने– केन्द्र र संघमा पनि विकासको प्रतिस्पर्धाको प्रारम्भिक रुप देखिन थालेको छ । यो सकारात्मक पक्ष हो । तर, हाम्रो देशमा कार्यान्वयनको पक्ष अत्यन्त फितलो छ । कुनै पनि कुरा कार्यान्वयन नहुँदासम्म विकास हुन सक्दैन ।

    महामारी अकस्मात् आयो । निजी क्षेत्रले महामारीमा धेरै काम गर्यो । तर पनि साना उद्योग व्यवसायलाई भने जति सहयोग गर्न नसक्दा ती व्यवसायी पलायन नै हुने अवस्था रह्यो ।

    अहिले पनि युरोपबाट नयाँ नयाँ प्रजातिको कोरोना आयो भन्ने छ । यसले पुनः निजी क्षेत्रलाई असर गर्ने निश्चित छ ।

     

  • खेलकुद गतिविधिले कोरोनालाई परास्त पार्छ : राखेप

    खेलकुद गतिविधिले कोरोनालाई परास्त पार्छ : राखेप

    काठमाडौं । कोभिडका कारण रोकिएको खेलकुद गतिविधि छिट फुट बाहेक अझै चल्न सकेको छैन । खेलकुदको सर्बोच्च निकाय राष्ट्रिय खेलकुद परिषदले खेल फर्काउन औपचारिक रुपमा निवेदन नगरे पनि खेलकुद गतिविधि सञ्चालन भइरहेका छन् । खेलाडी देखी खेलसँग आबद्ध पदाधिकारी खेल निर्वाध रुपमा फर्काउन आवज उठाइरहेका छन् ।

    छिटफुट रुपमा अहिले खेलकुद गतिविधि सञ्चलान हुन थालेका छन् । फुटबल देखी क्रिकेटका खेलाडीले पुरानो लयमा फर्किन अभ्यास थाल्दा अन्य व्यक्तिगत विधाका खेलाडीले पनि जुरमुराइसकेका छन् । ब्याडमिन्टनका केही प्रतियोगिता सञ्चालन पनि भइसकेका छन् ।

    भर्चुअल रुपमा केही प्रतियोगिता सुरु भएपनि कोभिड अगाडिको लय खेलकुदमा अझै देखिएको छैन । खेलकुद गतिविधिलाई निर्वाद रुपमा सचारु गर्न राष्ट्रिय खेलकुद परिषद तयार भएको उपाध्यक्ष शिव कोइरालाले बताए । फुटबल, क्रिकेट लगायतका संघहरुलाई खेललाई नियमित बनाउन निर्देशन दिइसकेको पनि उपाध्यक्ष कोइरालाले बताए ।

    खेलकुद गतिविधि कोरोना महामारीका कारण स्थगित गर्न नहुने भन्दै उपाध्यक्ष कोइरालाले खेलाडी पनि मानसिक रुपमा तयार हुन पर्ने बताए । खेलकुद गतिविधि स्वास्थको हिसाब राम्रो भएको र कोरोना परास्त गर्ने अस्त्रको रुपमा सबैले प्रचार प्रसार गर्नु पर्ने तर्क राखे ।

    सामान्य तरिकाले खेलकुद सञ्चालनमा आए पनि सहज तरिकाले अगाडि बढ्न खेलाडीलाई अभ्यासको जरुरी हुन्छ । काठमाडौंमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा दुई स्वर्ण पदक हात पारेका करातेका खेलाडी मन्डेकाजी श्रेष्ठले खेलाडीका लागि अभ्यास जरुरी हुने बताए ।

    अन्तर्राष्ट्रियस्तरमा सहभागिता जनाउने खेलकुद गतिविधि प्रशिक्षण सुचारु भइसकेका छन् । तर घरेलु प्रतियोगिता सुचारु गर्नेमा भने अझै अन्योल देखिएको छ ।

  • एमालेको बैंक खाता रोक्न प्रचण्डको पत्राचार

    एमालेको बैंक खाता रोक्न प्रचण्डको पत्राचार

    काठमाडौं । नेकपा विभाजनलगत्तै प्रचण्ड–माधव नेपाल पक्षले तत्कालीन नेकपा एमालेको नाममा रहेका बैंक तथा वित्तीय संस्थाहरुको खाता रोक्का गर्न सम्बन्धित संस्थामा पत्र पठाएको छ । पार्टी एकता भए पनि तत्कालीन एमाले र माओवादी नामका खाता अलग–अलग संचालनमा थिए ।

    प्रचण्ड–माधव पक्षका कार्यालय सचिव श्रीराम ढकालले दुवै अध्यक्ष प्रचण्ड र माधव नेपालले हस्ताक्षर गरेर पत्राचार भएको बताए । त्यसबारे विस्तृतमा आफूलाई जानकारी नरहेको उनको भनाइ छ ।

    यता ओली पक्षका केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले भने एमालेको नाममा संचालित खाता माओवादीका अध्यक्ष प्रचण्डले रोक्का गर्ने भन्ने कुरा नै हास्यास्पद रहेको बताए । एमालेका बैंक खाता यथावत् संचालनमा रहेको उनको भनाइ छ ।

    तत्कालीन एमालेको बैंक खाता विष्णु रिमाल, कृष्णगोपाल श्रेष्ठ र खेम पौडेलको नाममा संचालित छन् । चेकमा तीनजनाको हस्ताक्षर चल्नेमा रिमाल र श्रेष्ठ ओली नेतृत्वको नेकपाका नेता हुन् भने पौडेल कर्मचारी हुन् ।

    रिजालका अनुसार खाता उनको नाममा ल्याउने प्रक्रिया चलिरहेका बेला पार्टी विभाजन भएको छ । पार्टीको चल अचल सम्पत्ति एमालेकै नाममा रहेको र एमालेको निर्वाचित अध्यक्ष केपी ओली भएकाले अर्को पक्षको हक नलाग्ने अ‍ोली पक्षको भनाइ छ ।

  • ‘माधव नेपाल प्रचण्डका कार्यकर्ता हुन्, मलाई भन्नु केही छैन’

    ‘माधव नेपाल प्रचण्डका कार्यकर्ता हुन्, मलाई भन्नु केही छैन’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पूर्व सहकर्मी माधवकुमार नेपाल प्रचण्डको कार्यकर्ता भएको टिप्पणी गरेका छन्। ‘माधव नेपाल प्रचण्डका कार्यकर्ता हुन्’ राजधानीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘मलाई केही भन्नु छैन।’

    ओलीले आफूसँग रहँदा सधैं नगद सम्झौताको कुरा गरेको भए पनि अहिले प्रचण्डसँग लागेर पनि खासै केही नपाएको बताए। ‘उहाँ सधैं उधारो सम्झौता हुँदैन भन्नुहुन्थ्यो’ उनले भने, ‘उहाँको बारेमा केही कमेन्ट गर्दिनँ, उहाँ दुःखी हुनुहुन्छ।’

  • शान्ति महर्जनको योमरी इतिहास (भिडियो कथा)

    शान्ति महर्जनको योमरी इतिहास (भिडियो कथा)

    काठमाडौं । योमरी पुन्हि नेवा समुदायको विशेष पर्व । मार्ग शुक्लपूर्णिमाको दिन मनाइने यो पर्वमा विशेष परिकार योमरी बनाएर खाने प्रचलन प्राचीनकालदेखि चलिआएको छ ।

    पछिल्लो समय व्यावसायिक रुपमै योमरी बनाइन्छ । तर यसको सांस्कृतिक र परम्परागत पक्ष के हो भने–जाडो बेलामा मात्र योमरी बन्छ । यसले शरीरलाई तागत र तातो दुवै दिन्छ भन्ने मान्यता छ ।

    नेपाल प्रेस टिम योमरी पुन्हिको अवसरमा काठमाडौंको बसन्तपुर पुग्दा शान्ति महर्जन परम्परागत रुपमा योमरी बनाइरहेकी भेटिइन् । योमरीको इतिहास र इतिवृत्तान्त उनले कसरी सुनाइन् ? त्यसका लागि यो भिडियो कथा सुन्न र हेर्न सकिन्छ ।

  • बुधबार थपिए ५११ संक्रमित, ७ जनाको मृत्यु

    बुधबार थपिए ५११ संक्रमित, ७ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ५ हजार ५१० नमुना पीसीआर गर्दा ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या २ लाख ६० हजार ५९ पुगेको छ। नेपालमा हाल संक्रिय संक्रमित ६ हजार ३०० जना छन् ।

    यस्तै आज ६०० जना कोरोनामुक्त भएर घर फर्केका छन् । साथै, कोरोनामुक्त हुनेको संख्या हालसम्म २ लाख ५१ हजार ९१२ पुगेको छ ।

    यसैगरी कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८४७ पुगेको छ।

  • प्रचण्डसँग गरेका सम्झौताले एउटा ब्रिफकेस भरियो– ओली

    प्रचण्डसँग गरेका सम्झौताले एउटा ब्रिफकेस भरियो– ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डसँग गरेका सम्झौताले आफ्नो एउटा ब्रिफकेस भरिएको टिप्पणी गरेका छन् । बबरमहलस्थित कार्की पार्टी प्यालेसमा आयोजित सुदूरपश्चिम प्रदेशका कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हरेक दिन एउटा माग लिएर आउने र त्यसमा सम्झौता गर्दै जाँदा सम्झौताहरुले ब्रिफकेस भरिएको बताए ।

    ओलीले भने– आज एउटा सम्झौता गरेर पठायो, भोलि फेरि अर्को माग लिएर आउने । प्रधानमन्त्री तपाईं नै हुनुस् जनताले तपाईंलाई नै चाहेका छन् भनेर आउनुभयो । मलाई कार्यकारी अध्यक्ष दिनुस् भनेपछि दिएँ । भोलिपल्ट त मैले गल्ती पनि गरेँ कि कमरेड भन्दै आउनुभयो ।

    प्रचण्डलाई धुँदा धुँदा डोभ साबुनका डल्ला र स्याम्पू सकिएको भन्दै ट्यांकीका ट्यांकी पानीले धुँदा पनि प्रचण्डलाई सफा गर्न नसकेको टिप्पणी ओलीले गरे । ओलीले प्रचण्ड र माधव नेपाल मिल्दा बहुमत हुन्छ भन्ने जान्दा जान्दै आफूले पार्टी एकता गरेको बताए ।

  • मैले सधैं मित्रताको अँगालो हाल्न खोज्ने, प्रचण्ड सधैं धृतराष्ट्र बन्न खोजेः ओली

    मैले सधैं मित्रताको अँगालो हाल्न खोज्ने, प्रचण्ड सधैं धृतराष्ट्र बन्न खोजेः ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सधैं कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मित्रता गर्न खाेजेको बताएका छन् ।

    ‘मैले मित्रताको अँगालोे हाल्न खोज्ने तर उहाँ धृतराष्ट्र बन्न खोज्ने’ राजधानीमा आयोजित आफू पक्षीय सुदूरपश्चिम प्रदेशको भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘वामपन्थीसँग मिलेर चुनाव लड्ने तर सरकार दक्षिणपन्थीसँग बनाउन खोज्ने। लाज लाग्नुपर्ने होइन ?’

    ओलीले छोरी जिताउन प्रचण्डले मतपत्र च्यातेर प्रजातन्त्र धुजा–धुजा पारेको टिप्पणी गरे। ‘छोरी जिताउन नसकेपछि मत पत्र च्यातेर प्रजातन्त्र धुजा–जुधा बनाउनुभयो’ उनले भने, ‘छोरी जिताउनकै लागि कांग्रेससँग मिल्नुभयो तर खासै उपलब्धि भएन ।’

  • गाउँपालिकाले बिल तिर्ने भन्दै अध्यक्षले आफन्तलाई बाँडे मोटरसाइकल

    गाउँपालिकाले बिल तिर्ने भन्दै अध्यक्षले आफन्तलाई बाँडे मोटरसाइकल

    सुर्खेत । कालिकोट जिल्लाको पलाता गाउँपालिकाको नाममा खरिद गरिएका मोटरसाइकल गाउँपालिका अध्यक्ष लक्ष्मणवहादुर वमका आफन्तलाई बाँडिएको खुलासा भएको छ । वीरेन्द्रनगरमा रहेको एक मोटरसाइकल सोरुमबाट खरिद गरिएका मोटरसाइकल उनले आफ्ना साला विमलकुमार शाहीसहितलाई बाँडेको आरोप लागेको छ ।

    आफ्ना बुवा आमाको नाउँमा स्थापना गरिएको अस्पतालसहितका सातजना व्यक्तिलाई गाउँपालिकाको विलमा मोटरसाइकल खरिद गरेर दिएपछि यो प्रसंग बाहिर आएको हो । यद्यपी पालिका अध्यक्ष बमले पालिकाको नाउँमा मोटरसाइकलको विल काटेर लगेपनि हालसम्म पालिकामा दाखिला गरेका छैनन् ।

    श्रोतका अनुसार उनले अहिलेसम्म शोरुमलाई बुझाउनुपर्ने रकम पनि बुझाएका छैनन भने पालिकाले मोटरसाइकल अध्यक्षले खरिद गरेको भन्ने सुइको समेत पाउन सकेको छैन । आफ्ना बुवा र आमाको नाममा पलातामा स्थापना गरेको ए एन बी अस्पतालको नाममा समेत मोटरसाइकल खरिद गरि वितरण गरेका अध्यक्ष बमले मोटरसाइकलको बिल पलाता गाउँपालिकाले तिर्ने भन्दै उद्यारोमा लिएका हुन् ।

    गाउँपालिकाका एक पदाधिकारीले भने- ‘केही वडाध्यक्षले मोटरसाइकलको माग गरेका भन्ने खबर सुन्नमा आएको थियो । तर विधी प्रक्रियाबिना मनपरि ढंगमा कसलाई मोटरसाइकल दिइएको हो हामीलाई जानकारी छैन ।’

    पलाता गाउँपालिकाका एक वडाध्यक्षले पालिका अध्यक्षले मनपरि रुपमा मोटरसाइकल बाँडेको बताए । ‘कसलाई मोटरसाइकल दिएका छन्, त्यो थाहा छैन । कार्यपालिका बैठकमा निर्णय हुनुपर्थ्याे, हामीलाई जानकारी हुनुपर्थ्याे त्यो भएको छैन ।’

    पालिका अध्यक्षले सरकारी सम्पती आफ्नै विर्ता भए जसरी निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बमको अनुमति बेगर दबंग शैलीमा खर्च गर्दै आइरहेको दावी उनले गरे ।

    पलाता गाउँपालिकाको दाखिला फाँटमा काम गर्दै आइरहेका विअराज बमले नेपालप्रेसलाई सात वटा मोटरसाइकल खरिद बारे आफूहरुलाई कुनै पनि जानकारी नभएको बताए ।

    वीरेन्द्रनगरको एक शोरुमबाट सातवटा मोटरसाइकल खरिद गरिएको बारे शोरुम सञ्चालकले नाम उल्लेख नगर्ने शर्तमा भने- ‘पालिका अध्यक्षले सातवटा मोटरसाइकल पालिकाले तिर्ने भन्दै उद्यारोमा खरिद गरेर असारमै लैजानु भएको हो । हालसम्म पनि यी मोटरसाइकलको विल भुक्तानी भने भएको छैन ।’

    विक्रेता शोरुमले प्रतिमोटरसाईकल दुई लाख ७५ हजार नौ सयका दरले २२ लाख सात हजार दुइ सय रुपैंया भुक्तानी लिन बाँकी रहेको छ ।

    निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बमले आफूलाई त्यसबारेमा कुनै जानकारी नभएको बताए । ‘मैले पनि सातवटा मोटरसाइकल गत असारमै अध्यक्षद्धारा खरिद गरिएको भन्ने हल्ला सुनेको हो । आधिकारीक रुपमा मलाई कुनै जानकारी छैन ।’ उनले भने ।

    उनले आफूले खरिद प्रक्रिया अन्तर्गत दाखिला नभएका मोटरसाइकलको विल भुक्तानी गर्न नसक्ने बताउँदै वडा कार्यालयका लागि खरिद गर्ने भएपनि प्रक्रिया अपनाएर मात्रै खरिद गर्नुपर्ने कानूनी प्रावधान रहेको बताए । यसअघि पालिकाले कोटेशनमार्फत नै मोटरसाइकल खरिद गर्ने गरेको बताए ।

    कसको नाउँमा कुन मोटरसाईकल ?

    असारमा अध्यक्ष बम ले पलाता गाउँपालिका वडा नं. ६ का लागि भन्दै लु ५८ प ५५६६ (४४३१) नम्बरको मोटरसाइकल लिएका छन भने त्यहाँ रहेको आफ्ना बुवा र आमाको नाउँमा खोलिएको ए एन बी अस्पतालका नाउँमा लु ५८ प ५८२८ (४४५५) नम्बरको बाईक लगेका छन् ।

    पलाता गाउँपालिका वडा नं. तीनका नाउँमा लु५८प ५८१९, वडा नं. ७ का नाउँमा लु ५८ प ४४५८, वडा नं. पाँचका नाउँमा लु ५८ प ५८०६ र उनका साला विमल कुमार शाहीका नाउँमा लु५७प११३४ नम्बरको मोटरसाइकल पालिकाको विलमा खरिद गरेर लिएका हुन ।

    यता, पालिका अध्यक्ष लक्ष्मण बमका तीन वटै सम्पर्क नम्बरमा फोन गर्दा उनको नम्बरमा सम्पर्क हुन सकेन ।

    गाउँपालिका उपाध्याक्ष दाना न्यौपानेले भने वडाअध्यक्षले मोटरसाइकल मागेका कारण दिइएको बताइन् । उनले आफूहरुले वडाअध्यक्षको जिम्मा लगाएको बताउँदै दाखिला गरे नगरेको जानकारी नभएको बताइन्

    उनले निजी अस्पताल र अध्यक्षका सालाले प्रयोग गरेको मोटरसाइकलको पैसा पालिकाले नतिर्ने बताइन् ।

    पालिकामा चर्को आलोचना भएपछि अध्यक्ष बमले अहिले शोरुमबाट गएको फोनको रेस्पोन्स गर्न छोडेको शोरुमका एक कर्मचारीले नेपालप्रेसलाई बताए ।

  • ऐन महरको चेतावनी : प्रचण्ड–माधव सदनबाट सडक पुगे, अब जेलमा पुग्छन्

    ऐन महरको चेतावनी : प्रचण्ड–माधव सदनबाट सडक पुगे, अब जेलमा पुग्छन्

    काठमाडौं । नेकपा निकट अनेरास्ववियूका संयोजक ऐन महरले प्रचण्ड र माधव नेपालहरु सदनबाट सडकमा पुगेको भन्दै अब जेलको बास हुने चेतावनी दिएका छन् ।

    कार्की पार्टी पार्टी प्यालेसमा आयोजित ओली पक्षधर नेकपाको सुदूरपश्चिम प्रादेशिक भेलाको उद्घोषक रहेका महरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्चमा बोलाउँदै प्रचण्ड–माधव नेपालविरुद्ध कटाक्ष गरेका हुन् ।

    ओलीलाई राजनेताको सम्बोधन गर्दै महरले भने,‘प्रचण्ड र माधव नेपालहरु आज सदनबाट सडकमा पुगेका छन् । उनीहरु आफ्नै कर्मले त्यहाँ पुगेका हुन् । केपी ओलीको नेतृत्वमा मुलुक अघि बढ्दै जाँदा उनीहरुको बास अब जेलका कोठरीमा हुनेछ । हामी उनीहरुलाई जेलमा पुर्‍याउँछौ ।’

    प्रचण्डपथले नेकपा सिध्याएको र मुलुक सिध्याउन लागेको भन्दै महरले प्रचण्डले अहिले नेकपामा महाविपत्ति ल्याएको बताए ।

    उनले भने, ‘प्रचण्डपथको सिद्धान्त भनेकै धक्का, महाविपत्ति अनि छलाङ हो । त्यो कुरा लेखराज भट्टहरुले बुझेर उहाँहरु आज हामीसँग हुनुहुन्छ । प्रचण्डले अहिले महाविपत्ति ल्याएका छन् तर छलाङ हान्न दिइदैन,जेलका काला कोठरीमा पुर्याउछौं ।प्रचण्ड पथले नेकपा सिध्याएको छ । हामी केपी विरुद्धका कुनै पनि अरोप सहन सक्दैनौं ।’

     

     

  • प्रचण्डप्रति लेखराजको कटाक्ष–पूर्व माओवादी चाहिएको हो भने माधव–झलनाथ फिर्ता गर

    प्रचण्डप्रति लेखराजको कटाक्ष–पूर्व माओवादी चाहिएको हो भने माधव–झलनाथ फिर्ता गर

    काठमाडौं । विभाजित नेकपाका स्थायी कमिटी सदस्य तथा उद्योगमन्त्री लेखराज भट्टले आफूहरुलाई प्रचण्डले अन्तिम बेलासम्म पनि पूर्व माओवादी जति सबै एकजुट हुनुपर्ने भनेर एकतामा आउन आग्रह गरेको बताएका छन् ।

    बुधवार बबरमहलस्थित कार्की पार्टी प्यालेसमा आयोजित सुदूरपश्चिमका कार्यकर्ता भेलामा ओली पक्षीय नेकपाको प्रदेश इन्चार्ज समेत रहेका भट्टले प्रचण्डमा बैचारिक विचलन आएको आरोप लगाए ।

    अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई सामुन्ने राखेर उनले भने–प्रचण्डले मलाई वैचारिक बिचलन भएको भन्ने गरेका छन् तर उनी आफैंमा वैचारिक विचलन भएको हो । उनीहरु सडकमा गएर हामी यहाँ छौं भन्दैछन तर अहिले कहाँ छन् भनेर प्रचण्ड–माधव नेपाललाई खोज्ने बेला आएको छ ।

    पूर्व माओवादी एकतामा जोड दिने प्रचण्डले पूर्व एमालेमा खेलेर पार्टी विभाजन गरेको भन्दै उनले आफूहरु प्रचण्डसँग जाने हो भने पूर्व एमालेका माधव नेपाल र झलनाथ खनाललाई फिर्ता गर्नुपर्ने बताए ।

    भट्टले प्रचण्डले आफूलाई एक नम्बर दुश्मन ठानेको टिप्पणी गर्दै प्रचण्डले आफ्ना गुरुको सम्मान गर्न नजानेका बताए । भट्टले माधव नेपालमाथि हारेर नेता हुने बानी लागेको आरोप लगाए ।
    उनले भने– प्रचण्ड यस्तो चेला हुन् जसले मोहन वैद्य जस्तो गुरुको सम्मान गरेनन् । जुन चेलाले गुरुको सम्मान गर्न स्क्दैन त्यसले कसैको सम्मान गर्न सक्दैन